३८४ परमेश्वरको विश्वासीले के पछ्याउनुपर्छ?
१
पत्रुसले पछ्याएका सबै कुरा परमेश्वरका अभिप्रायअनुरूप थिए। उसले परमेश्वरका अभिप्रायहरूको पूर्ति पछ्यायो, अनि उसले कष्ट र प्रतिकुलता भोग्नुपरे पनि, ऊ अझै पनि परमेश्वरका अभिप्राय पूरा गर्न इच्छुक थियो। परमेश्वरको विश्वासीका लागि योभन्दा राम्रो पछ्याइ हुँदैन। पावलले पछ्याएको कुरा उसको आफ्नै देहद्वारा, उसका आफ्नै धारणाहरूद्वारा, र उसका आफ्नै योजना र युक्तिहरूद्वारा कलङ्कित थियो। ऊ कुनै पनि हालतमा मानकअनुरूपको सृजित प्राणी थिएन, ऊ परमेश्वरका अभिप्राय पूरा गर्न खोज्ने व्यक्ति थिएन। पत्रुस परमेश्वरका योजनाबद्ध कार्यहरूको कृपामा रहन पछ्याउँथ्यो, र उसले गरेको काम ठूलो नभएको भए तापनि, उसको पछ्याइ पछाडिको प्रेरणा र उसले हिँडेको मार्ग सही थिए; उसले धेरै मानिसहरूलाई प्राप्त गर्न नसकेको भए तापनि, उसले सत्यताको मार्ग पछ्याउन सक्यो। यही कारणले गर्दा ऊ मानकअनुरूपको सृजित प्राणी थियो भनेर भन्न सकिन्छ।
२
पत्रुस र पावलका सारहरूमा रहेका भिन्नताबाट तैँले जीवन नपछ्याउने सबैले व्यर्थमा परिश्रम गर्छन् भन्ने बुझ्नुपर्छ! तँ परमेश्वरमा विश्वास गर्छस् र परमेश्वरलाई पछ्याउँछस्, त्यसैले तँमा परमेश्वरलाई प्रेम गर्ने हृदय हुनैपर्छ। तैँले आफ्नो भ्रष्ट स्वभाव फाल्नैपर्छ, तैँले परमेश्वरका अभिप्रायहरूको पूर्ति पछ्याउनैपर्छ, र सृजित प्राणीको कर्तव्य पूरा गर्नैपर्छ। तैँले परमेश्वरमा विश्वास गर्ने र उहाँलाई पछ्याउने हुनाले, तैँले सबै कुरा उहाँलाई नै चढाउनुपर्छ, र तैँले व्यक्तिगत छनौट वा मागहरू गर्नु हुँदैन, अनि तैँले परमेश्वरका अभिप्राय पूरा गर्नुपर्छ। तँलाई सृष्टि गरिएको हुनाले, तँ तँलाई सृष्टि गर्नुहुने प्रभुमा समर्पित हुनुपर्छ, किनभने तँ अन्तर्निहित रूपमा नै आफूमाथिको प्रभुत्वरहित छस्, र तँसँग तेरो आफ्नै भवितव्यलाई नियन्त्रण गर्ने कुनै प्राकृतिक क्षमता छैन। तँ परमेश्वरमा विश्वास गर्ने व्यक्ति भएको हुनाले, तैँले पवित्रीकरण र परिवर्तन पछ्याउनुपर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ