परिशिष्ट ३: मानिसलाई परमेश्वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ
हरेक व्यक्तिको नजरमा, परमेश्वरको व्यवस्थापन अत्यन्तै अपरिचित कुरा हो किनभने उहाँको व्यवस्थापन तिनीहरूबाट पूर्ण रूपमा हटाइएको छ भन्ने मानिसहरूलाई लाग्छ। मानिसहरूले परमेश्वरको व्यवस्थापन उहाँको काम मात्रै हो र यो उहाँसँग मात्रै सम्बन्धित छ भन्ने सोच्छन्—त्यसैले, मानवजाति उहाँको व्यवस्थापनप्रति उदासीन छ। यसरी, मानवजातिको मुक्ति अस्पष्ट र अप्रस्ट बनेको छ, र अब यो खोक्रो गफ बाहेक केही पनि रहेन। मानिसले मुक्ति प्राप्त गर्न र सुन्दर गन्तव्यमा प्रवेश गर्नका लागि परमेश्वरलाई पछ्याउने भए तापनि, परमेश्वरले आफ्नो काम कसरी गर्नुहुन्छ त्यसको उसलाई कुनै चासो छैन। परमेश्वरले जे योजना बनाउनुभएको छ त्यसको चासो मानिसलाई छैन, न त मुक्ति पाउनका लागि उसले निर्वाह गर्नुपर्ने आफ्नो भूमिका बारेमा नै उसलाई चासो छ। यो साँच्चै नै दुःखद कुरा हो। मानिसको मुक्तिलाई परमेश्वरको व्यवस्थापनबाट अलग गर्न सकिँदैन न त यसलाई उहाँको योजनाबाट नै छुट्टयाउन सकिन्छ। तैपनि मानिसले परमेश्वरको व्यवस्थापनलाई जुनै महत्त्व दिँदैन, त्यसैले ऊ उहाँबाट झन्-झन् टाढिन्छ। यसले मुक्तिको प्रश्नसँग अत्यन्तै नजिक रूपमा सम्बन्धित रहेका विषयहरू—जस्तै, सृष्टि के हो, परमेश्वरमाथिको विश्वास के हो, परमेश्वरलाई कसरी आराधना गर्ने, इत्यादि—प्रति पूर्ण रूपमा अनभिज्ञ रहेका बढ्दो सङ्ख्याका मानिसहरूलाई उहाँका अनुयायीहरूको दर्जामा संलग्न हुने तुल्याएको छ। यसकारण, हामीले अहिले, परमेश्वरलाई पछ्याउनु र उहाँमा विश्वास गर्नु भनेको के हो सो उहाँका हरेक अनुयायीले स्पष्ट रूपमा बुझून् भनेर परमेश्वरको व्यवस्थापनको बारेमा छलफल गर्नैपर्छ। त्यसो गरेमा हरेक व्यक्तिलाई आशिषहरू प्राप्त गर्नका लागि, वा विपत्तिहरूबाट बच्नका लागि, वा अरूभन्दा उच्च हुनका लागि नभई उसले हिँड्ने बाटो अझै ठीक तरिकाले छनौट गर्न सहयोग गर्नेछ।
परमेश्वरको व्यवस्थापन गहन भए तापनि, यो मानिसको बुझाइभन्दा बाहिर छैन। किनभने परमेश्वरको सबै काम उहाँको व्यवस्थापन र मानवजातिलाई मुक्ति दिने उहाँको कार्यसँग जोडिएको छ, र यसले मानवजातिको जीवन, जीवनशैली, र गन्तव्यसँग सरोकार राख्छ। मानिसको बीचमा र मानिसमा परमेश्वरले गर्ने काम अत्यन्तै व्यावहारिक र अर्थपूर्ण छ भनेर भन्न सकिन्छ। यसलाई मानिसले देख्न र अनुभव गर्न सक्छ, र यो कुनै अमूर्त कुराभन्दा पर छ। यदि मानिस परमेश्वरले गर्नुहुने सबै काम स्वीकार गर्न असमर्थ हुन्छ भने, उहाँको कामको महत्त्व के हुन्छ? अनि त्यस्तो व्यवस्थापनले कसरी मानिसलाई मुक्तिमा डोऱ्याउन सक्छ? परमेश्वरलाई पछ्याउने धेरै जनालाई कसरी आशिषहरू प्राप्त गर्ने वा विपत्ति टार्ने भन्नेको मात्रै चिन्ता छ। परमेश्वरको कार्य र व्यवस्थापनको बारेमा उल्लेख गर्ने बित्तिकै, तिनीहरू चुप बन्छन् र सबै रुचि गुमाउँछन्। त्यस्तो अरोचक कुराहरूलाई बुझेर यसले तिनीहरूको जीवन वृद्धि गर्न वा तिनीहरूलाई कुनै पनि लाभ प्रदान गर्न सहयोग गर्नेछैन भन्ने तिनीहरू ठान्छन्। परिणामस्वरूप, तिनीहरूले परमेश्वरको व्यवस्थापनको बारेमा सुनेका भए तापनि, त्यसप्रति अगम्भीर शैलीले व्यवहार गर्ने गर्छन्। यसलाई तिनीहरू स्वीकार गर्नुपर्ने कुनै बहुमूल्य कुराको रूपमा देख्दैनन्, यसलाई तिनीहरूले जीवनको पाटोको रूपमा स्वीकार गर्ने कुरा त परै जाओस्। त्यस्ता मानिसहरूसँग परमेश्वरलाई पछ्याउने एउटै मात्र सरल उद्देश्य हुन्छ, र त्यो उद्देश्य हो, आशिषहरू प्राप्त गर्नु। त्यस्ता मानिसहरूले यो उद्देश्यसँग सिधै संलग्न नहुने अरू कुनै कुरालाई ध्यान दिने झमेला लिँदैनन्। तिनीहरूका लागि, आशिषहरू प्राप्त गर्न परमेश्वरमा विश्वास गर्नु जत्तिको न्यायसंगत अरू कुनै उद्देश्य हुँदैन—तिनीहरूको विश्वासको मूल्य यही नै हो। यदि कुनै कुराले यो उद्देश्यमा योगदान दिँदैन भने, यसले तिनीहरूको हृदय छुँदैन। आज परमेश्वरलाई विश्वास गर्ने धेरैजसो मानिसहरूको अवस्था यस्तै छ। तिनीहरूको उद्देश्य र अभिप्राय न्यायसंगत देखिन्छन्, किनभने तिनीहरूले परमेश्वरमा विश्वास गर्ने क्रममा तिनीहरू परमेश्वरमा समर्पित पनि हुन्छन्, आफैलाई परमेश्वरमा अर्पित पनि गर्छन्, र आफ्नो कर्तव्य पनि निर्वाह गर्छन्। तिनीहरूले आफ्नो जवानी त्याग्छन्, परिवार र पेशा त्याग्छन्, र आफैलाई व्यस्त राख्दै कैयौँ वर्ष घरदेखि टाढा बिताउँछन्। तिनीहरूको आखिरी उद्देश्यका लागि, तिनीहरूले आफ्नै अभिरुचिहरू, जीवनप्रतिको तिनीहरूको दृष्टिकोण, र तिनीहरूले खोजी गर्ने दिशालाई समेत परिवर्तन गर्छन्; तैपनि परमेश्वरमाथिको तिनीहरूको विश्वासको उद्देश्यलाई तिनीहरूले परिवर्तन गर्न सक्दैनन्। तिनीहरू आफ्नै आदर्शहरूको व्यवस्थापन गर्दै दौडधूप गर्छन्; बाटो जति टाढा भए पनि, र बाटोमा जति धेरै कठिनाइ र बाधाहरू भए पनि, तिनीहरू दृढ रहन्छन् र मृत्युको डर मान्दैनन्। आफैलाई निरन्तर रूपमा यस तरिकामा समर्पित गर्नका लागि कुन शक्तिले तिनीहरूलाई बाध्य तुल्याउँछ त? के तिनीहरूको विवेकले हो त? के यो तिनीहरूको महान् र आदर्शमय चरित्रले हो? के यो अन्त्यसम्मै दुष्टताका शक्तिहरूसँग युद्ध गर्ने तिनीहरूको संकल्पले हो? के यो इनामको खोजी नगरिकन परमेश्वरको गवाही दिने तिनीहरूको विश्वासले हो? के यो परमेश्वरको इच्छा पूरा गर्न सबै कुरा त्याग्न इच्छुक हुने तिनीहरूको बफादारीले हो? अथवा के यो विलासी व्यक्तिगत मागहरूलाई सँधै त्याग्ने तिनीहरूको भक्तिको आत्मा हो? परमेश्वरको व्यवस्थापनको कामलाई कहिल्यै नबुझेको कुनै व्यक्तिले त्यति धेरै त्याग गर्नु भनेको वास्तवमा चमत्कार नै हो! अहिलेका लागि, यी मानिसहरूले कति दिएका छन् त्यसको बारेमा छलफल नगरौं। तैपनि, तिनीहरूको आचरणलाई हामीले चिरफार गर्नु अत्यन्तै योग्य हुन्छ। तिनीहरूसँग अति निकट रूपले सम्बन्धित रहेका लाभहरू बाहेक, परमेश्वरलाई कहिल्यै नबुझ्ने मानिसहरूले उहाँका लागि त्यति धेरै त्याग गर्नुका अरू कुनै कारणहरू हुन सक्छन्? यसमा, हामी पहिले पहिचान नगरिएको समस्या पत्ता लगाउँछौं: परमेश्वरसँगको मानिसको सम्बन्ध एउटा नाङ्गो स्वार्थको मात्रै हो। यो आशिषहरू प्राप्त गर्ने र दिने बीचको सम्बन्ध हो। यसलाई सरल रूपमा भन्दा, यो मालिक र कर्मचारी बीचको सम्बन्ध हो। मालिकले दिने इनामहरू प्राप्त गर्नका लागि मात्रै कर्मचारीले कडा मेहनत गर्छ। त्यस्तो स्वार्थ-आधारित सम्बन्धमा कुनै आत्मीयता हुँदैन, लेनदेन मात्रै हुन्छ। प्रेम गर्ने वा प्रेम पाउने कुरा हुँदैन, परोपकार र कृपा मात्रै हुन्छ। कुनै बुझाइ हुँदैन, असहाय दबाइएको आक्रोश र धोका मात्रै हुन्छ। कुनै घनिष्ठता हुँदैन, पार गर्न नसकिने दरार मात्रै हुन्छ। यी कुराहरू यो अवस्थासम्म आइपुगेकाले, अब यस्तो क्रमलाई कसले उल्ट्याउन सक्छ? अनि यो सम्बन्ध कति भयानक बनेको छ, त्यसलाई साँचो रूपमा बुझ्न सक्ने मानिसहरू कति छन्? मलाई विश्वास छ, जब मानिसहरूले आफैलाई आशिषित हुनुको आनन्दमा डुबाउँछन्, परमेश्वरसँगको त्यस्तो सम्बन्ध कति लाजमर्दो र कुरूप हुन्छ, त्यसको बारेमा कसैले पनि कल्पना गर्न सक्दैन।
परमेश्वरमाथिको मानवजातिको विश्वासको सबैभन्दा दुःखलाग्दो कुरा यो हो कि परमेश्वरको कामको बीचमा मानिसले आफ्नै व्यवस्थापन सञ्चालन गर्छ, तैपनि परमेश्वरको व्यवस्थापनमा कुनै ध्यान दिँदैन। मानिसको सबैभन्दा ठूलो असफलता यसैमा छ कि मानिसले परमेश्वरमा समर्पित हुन र उहाँको आराधना गर्न खोजिरहेको समयमा नै, उसले आफ्नै आदर्श गन्तव्यको निर्माण गरिरहेको हुन्छ र सबैभन्दा ठूलो आशिष् र सबैभन्दा उत्तम गन्तव्य कसरी प्राप्त गर्ने भनी षड्यन्त्र गरिरहेको हुन्छ। तिनीहरू कति दयनीय, घृणास्पद, र बिचरा छन् भन्ने कुरा कसैले बुझे तापनि, कति जनाले आफ्ना आदर्श र आशाहरूलाई सहजतापूर्वक त्याग्न सक्छन्? अनि आफ्नै पाइलाहरूलाई रोकेर, आफ्नै बारेमा मात्रै सोच्न छोड्न सक्ने को छन्? परमेश्वरलाई उहाँको व्यवस्थापन पूरा गर्नका लागि उहाँसँग नजिकबाट सहकार्य गर्नेहरूको खाँचो छ। उहाँलाई उहाँको व्यवस्थापन कार्यका निम्ति आफ्नो सम्पूर्ण मन र शरीर अर्पण गरेर उहाँमा समर्पित हुनेहरूको खाँचो छ। उहाँलाई हरेक दिन आफ्ना हातहरू पसारेर माग्ने मानिसहरूको खाँचो छैन, थोरै दिएर इनामको प्रतीक्षा गर्नेहरूको कुरा त परै जाओस्। थोरै योगदान दिएर आफ्ना विगतका उपलब्धिहरूमा सन्तुष्ट हुनेहरूलाई परमेश्वर घृणा गर्नुहुन्छ। उहाँको व्यवस्थापनको कार्यलाई घृणा गर्ने, अनि स्वर्ग जाने र आशिषहरू प्राप्त गर्ने बारेमा मात्रै कुरा गर्न चाहने कठोर हृदय भएका मानिसहरूलाई उहाँ घृणा गर्नुहुन्छ। मानवजातिलाई मुक्ति दिने क्रममा उहाँले गर्नुहुने कामले प्रस्तुत गर्ने अवसरको फाइदा उठाउनेहरूप्रति उहाँको घृणा अझै ठूलो छ। किनभने यी मानिसहरूले परमेश्वरले आफ्नो व्यवस्थापन कार्यद्वारा के हासिल गर्न र प्राप्त गर्न चाहनुहुन्छ भन्ने बारेमा कहिल्यै वास्ता गरेका छैनन्। परमेश्वरको कामले प्रदान गरेको अवसरलाई आशिषहरू प्राप्त गर्नका लागि कसरी प्रयोग गर्न सकिन्छ भन्ने मात्रै तिनीहरूलाई चासो छ। तिनीहरू आफ्नै भविष्य र भाग्यबारे पूर्ण रूपमा तल्लीन भएका हुनाले, तिनीहरू परमेश्वरको हृदयबारे विचारशील छैनन्। परमेश्वरको व्यवस्थापनको कार्यलाई घृणा गर्ने अनि परमेश्वरले मानवजातिलाई कसरी मुक्ति दिनुहुन्छ त्यस कुरामा र उहाँका अभिप्रायहरूको बारेमा अलिकति पनि रुचि नदेखाउनेहरूले परमेश्वरको व्यवस्थापनको कार्यबाट अलग रहेर तिनीहरूलाई प्रसन्न पार्ने कुराहरू मात्रै गरिरहेका हुन्छन्। तिनीहरूको आचरणलाई न त परमेश्वरले स्मरण गर्नुहुन्छ न त अनुमोदन नै—परमेश्वरले यसलाई निगाहको साथ हेर्ने कुरा त परै जाओस्।
ब्रह्माण्ड र आकाश-मण्डलको विशालतामा, अनगिन्ती प्राणीहरू जिउँछन् र प्रजनन गर्छन्, जीवनको चक्रीय नियम पछ्याउँछन्, अनि अपरिवर्तनीय नियम पालन गर्छन्। मर्नेहरूले आफूसँग जिउँदाहरूका कथा लिएर जान्छन्, अनि जिउँदाहरूले मरेकाहरूका उही दुःखद इतिहासलाई दोहोऱ्याउँछन्। त्यसकारण, मानवजातिले आफैलाई यो प्रश्न नगरी बस्न सक्दैन: हामी किन जिउँछौँ? अनि हामी किन मर्नुपर्छ? कसले यो संसारलाई आदेश दिन्छ? अनि कसले यी मानवजातिलाई सृष्टि गऱ्यो? के मानवजातिलाई साँच्चै नै प्रकृति माताले नै सृष्टि गरेकी हुन् त? के मानवजाति साँच्चै आफ्नै भाग्यको नियन्त्रणमा छ? … मानवजातिले निरन्तर रूपमा हजारौँ वर्षदेखि सोध्दै आएका प्रश्नहरू यिनै हुन्। दुःखको कुरा, यी प्रश्नहरूले मानिस जति एकोहरो बनेको छ, उसमा विज्ञानको तृष्णा त्यति नै बढी जागेको छ। विज्ञानले देहका लागि क्षणिक सन्तुष्टि र अस्थायी आनन्द दिन्छ, तर मानिसलाई उसको प्राणभित्रको गहिराइमा रहेको एकान्तपन, एकलोपन, र त्यति लुक्न नसक्ने आतङ्क र असहायपनबाट स्वतन्त्र गर्नका लागि त्यो पटक्कै पर्याप्त छैन। मानवजातिले आफ्नो हृदयलाई लट्याउनका लागि आफ्नो नाङ्गो आँखाले देख्न सक्ने र उसको मस्तिष्कले बुझ्न सक्ने वैज्ञानिक ज्ञानलाई मात्रै प्रयोग गर्छन्। तैपनि त्यस्तो वैज्ञानिक ज्ञान, रहस्यहरूको अन्वेषण गर्नबाट मानवजातिलाई रोक्न पर्याप्त छैन। मानवजातिलाई ब्रह्माण्ड र यावत् थोकका सार्वभौम को हुनुहुन्छ भन्ने थाहै छैन, झन् मानवजातिको सुरुवात र भविष्यबारे जान्ने कुरा त परै जाओस्। मानवजाति यो व्यवस्थाबीच केवल विवश भएर जिउँछन्। यसबाट कोही पनि उम्कन सक्दैन र यसलाई कसैले परिवर्तन गर्न सक्दैन, किनभने यावत् थोकको बीचमा र स्वर्गहरूमा अनन्तदेखि अनन्तसम्म रहनुहुने एउटा मात्र जन हुनुहुन्छ, जसको सबै कुरामाथि सार्वभौमिकता छ। उहाँलाई कुनै पनि मानिसले कहिल्यै देखेको छैन, जसलाई मानवजातिले कहिल्यै चिनेको छैन, जसको अस्तित्वलाई मानिसले कहिल्यै विश्वास गरेको छैन—तैपनि मानवजातिका पुर्खाहरूमा सास फुकिदिने र मानवजातिलाई जीवन दिने उहाँ नै हुनुहुन्छ। मानिसलाई अस्तित्वमा रहन दिँदै, उसको लागि आपूर्ति गर्ने र उसलाई पोषण दिने उहाँ नै हुनुहुन्छ; मानवजातिलाई आजको दिनसम्म डोऱ्याउने उहाँ नै हुनुहुन्छ। यसबाहेक, मानवजातिले बाँच्नका लागि भर पर्ने एकमात्र जन उहाँ नै हुनुहुन्छ। यावत् थोकमाथि उहाँको सार्वभौमिकता छ र ब्रह्माण्डका सारा जीवित प्राणीमाथि उहाँले नै शासन गर्नुहुन्छ। चार ऋतुमाथि उहाँकै नियन्त्रण छ अनि बतास, तुसारो, हिउँ, र पानी ल्याउने उहाँ नै हुनुहुन्छ। मानवजातिलाई सूर्यको ज्योति दिने र रात ल्याउने उहाँ नै हुनुहुन्छ। मानिसलाई पहाड, ताल, नदी र तीभित्रका सबै प्राणी दिँदै, स्वर्ग र पृथ्वी पसार्ने उहाँ नै हुनुहुन्थ्यो। उहाँका कार्यहरू सर्वव्यापी छन्, उहाँको शक्ति सर्वव्यापी छ, उहाँको बुद्धि सर्वव्यापी छ, र उहाँको अख्तियार सर्वव्यापी छ। यी हरेक व्यवस्था र नियमहरू उहाँका कार्यहरूका मूर्तरूप हुन्, र हरेकले उहाँको बुद्धि र अख्तियारलाई प्रकाश गर्छ। उहाँको सार्वभौमिकताबाट कसले आफूलाई उम्काउन सक्छ? उहाँका प्रबन्धबाट कसले आफूलाई छुटाउन सक्छ? यावत् थोक उहाँकै नजरमुनि अस्तित्वमा छन्, र यसबाहेक, सबै थोक उहाँकै सार्वभौमिकतामा जिउँछन्। उहाँका कार्यहरू र उहाँको शक्तिले मानवजातिलाई उहाँ वास्तवमा नै अस्तित्वमा हुनुहुन्छ र यावत् थोकमाथि उहाँको सार्वभौमिकता छ भन्ने तथ्यलाई स्वीकार गर्नेबाहेक कुनै विकल्प दिँदैनन्। उहाँबाहेक कसैले पनि ब्रह्माण्डलाई नियन्त्रण गर्न सक्दैन, झन् यो मानवजातिलाई अटुट रूपमा आपूर्ति गर्ने कुरा त परै जाओस्। तैँले परमेश्वरका कार्यहरूलाई पहिचान गर्न सके पनि वा नसके पनि, र तैँले परमेश्वरको अस्तित्वमा विश्वास गरे पनि वा नगरे पनि, तेरो भाग्य परमेश्वरले निर्धारण गर्नुहुन्छ भन्ने कुरामा कुनै शङ्का छैन, र यावत् थोकमाथि सँधै परमेश्वरकै सार्वभौमिकता हुनेछ भन्ने कुरामा पनि कुनै शङ्का छैन। मानवजातिले उहाँको अस्तित्व र अख्तियार पहिचान गर्छन् कि गर्दैनन् र बुझ्छन् कि बुझ्दैनन् भन्ने आधारमा ती अस्तित्व र अख्तियार निर्धारित हुँदैनन्। उहाँलाई मात्रै मानिसको विगत, वर्तमान, र भविष्य थाहा छ, र उहाँले मात्रै मानिसको भाग्य निर्धारित गर्न सक्नुहुन्छ। तैँले यो तथ्यलाई स्वीकार गर्न सके पनि वा नसके पनि, चाँडै नै सारा मानवजातिले आफ्नै आँखाले यी सबै देख्नेछन्, र परमेश्वरले चाँडै नै ल्याउनुहुने तथ्य यही नै हो। परमेश्वरकै नजर सामु मानवजाति जिउँछन् र मर्छन्। मानिस परमेश्वरको व्यवस्थापनका लागि जिउँछ, र जब उसले अन्तिम पटक आफ्ना आँखा चिम्लन्छ, ती यही व्यवस्थापनकै खातिर नै बन्द हुन्छन्। मानिस घरीघरी, आउँछ-जान्छ, आउँछ-जान्छ। कुनै अपवादबिना, यी सबै परमेश्वरको सार्वभौमिकता र उहाँको योजनाका भाग हुन्। परमेश्वरको व्यवस्थापन कहिल्यै रोकिएको छैन; यो सदा अघि बढिरहेको छ। उहाँले मानवजातिलाई उहाँको अस्तित्वप्रति सचेत रहने, उहाँको सार्वभौमिकतामा भरोसा गर्ने, उहाँका कार्यहरूलाई हेर्ने, र उहाँको राज्यमा फर्कने तुल्याउनुहुनेछ। यो उहाँको योजना हो, उहाँले हजारौँ वर्षदेखि व्यवस्थापन गर्दै आउनुभएको काम यही नै हो।
परमेश्वरको व्यवस्थापन कार्य संसारको सृष्टिबाट सुरु भयो, र यो कार्यको केन्द्रविन्दु मानिस नै हो। मानिसकै खातिर परमेश्वरले यावत् थोक सृष्टि गर्नुभयो भनेर भन्न सकिन्छ। उहाँको व्यवस्थापनको कार्य हजारौँ वर्षसम्म फैलिने हुँदा, र मिनेट वा सेकेन्डमा, वा आँखाको निमेसमा, वा एक-दुई वर्षमा नगरिने हुँदा, उहाँले मानवजातिको अस्तित्वको लागि आवश्यक धेरै कुराहरूको सृष्टि गर्नुपऱ्यो, जस्तै सूर्य, चन्द्रमा, सबै किसिमका जीवित प्राणी, खानेकुरा, र बस्न योग्य वातावरण। यो परमेश्वरको व्यवस्थापनको सुरुवात थियो।
त्यसपछि, परमेश्वरले मानवजातिलाई शैतानको हातमा सुम्पनुभयो, अनि मानिस शैतानको शक्तिअन्तर्गत जियो, जसले बिस्तारै परमेश्वरको पहिलो युगको काममा लग्यो: व्यवस्थाको युगको कथा…। व्यवस्थाको युगको अवधिको हजारौं वर्षमा, मानवजातिलाई व्यवस्थाको युगको मार्गदर्शनको बानी पर्यो र उसले यसलाई बेवास्ता गर्यो। क्रमिक रूपमा, मानिसले परमेश्वरको हेरचाहलाई छोड्दै गयो। त्यसैले, व्यवस्थालाई पछ्याउने क्रममा, तिनीहरूले मूर्तिहरूलाई पनि पुजे र दुष्ट कार्यहरू पनि गरे। तिनीहरू यहोवाको सुरक्षा विहीन थिए, र तिनीहरूले मन्दिरको वेदी अगाडि मात्रै आफ्नो जीवन जिए। वास्तवमा, परमेश्वरको कामले तिनीहरूलाई धेरै पहिले नै छोडिसकेको थियो, र इस्राएलीहरू अझै पनि व्यवस्थामा टाँसिरहेका, र यहोवाको नाम पुकार्ने गरेका साथै, तिनीहरू मात्रै यहोवाका मानिसहरू हुन् र तिनीहरू यहोवाका चुनिएकाहरू हुन् भनेर तिनीहरूले गर्वका साथ विश्वास गर्ने गरेका भए तापनि, परमेश्वरको महिमाले तिनीहरूलाई चुपचाप छोड्यो …
जब परमेश्वरले आफ्नो काम गर्नुहुन्छ, उहाँले सधैँ चुपचाप एउटा ठाउँलाई छोड्नुहुन्छ र अर्को ठाउँमा उहाँले सुरु गर्नुहुने नयाँ कार्यलाई शान्तसाथ अघि बढाउनुहुन्छ। अचेत मानिसहरूका लागि यो अविश्वसनीय देखिन सक्छ। मानिसहरूले सँधै पुरानोलाई मूल्यवान् ठानेर नयाँ, अपरिचित कुराहरूलाई वैमनस्यताको साथ व्यवहार गर्ने वा तिनलाई घृणित ठान्ने गरेका छन्। त्यसैले, परमेश्वरले जेसुकै नयाँ काम गर्नुभए तापनि, सुरुदेखि अन्त्यसम्मै, यसबारेमा जान्ने सबै कुराहरूमध्ये अन्तिममा जान्नेचाहिँ मानिस हो।
सँधैझैँ, व्यवस्थाको युगमा गरिएको यहोवाको कामपछि, परमेश्वरले दोस्रो चरणको आफ्नो नयाँ काम सुरु गर्नुभयो: देहलाई धारण गरेर—मानिसको रूपमा दश-बीस वर्षसम्म देहधारी हुनुभएर—अनि विश्वासीहरूका बीचमा बोलेर अनि काम गरेर। तैपनि कुनै अपवादविना, कसैले पनि यो थाहा पाएन, अनि प्रभु येशू क्रूसमा टाँगिएर पुनरुत्थान हुनुभएपछि थोरै सङ्ख्याका मानिसहरूले मात्रै उहाँ देह बन्नुभएका परमेश्वर हुनुहुन्छ भनेर स्वीकार गरे। समस्याको रूपमा, पावल भन्ने एक जना देखा परे, जसले आफैलाई परमेश्वरका ठूलो शत्रुको रूपमा प्रस्तुत गरे। उसलाई प्रहार गरिएर उनी प्रेरित बनेपछि पनि, पावलले आफ्नो पुरानो प्रकृति परिवर्तन गरेनन्, र तिनले परमेश्वरको विरुद्धको बाटोमा हिँड्ने कार्यलाई जारी राखे। उनले गरेको कामको दौरान, पावलले धेरै पत्रहरू लेखे; दुर्भाग्यबस, पछिल्ला पुस्ताहरूले उनका पत्रहरूलाई परमेश्वरका वचनहरूका रूपमा लिए, र तिनलाई नयाँ करारमा समेत समावेश गरियो अनि परमेश्वरले बोल्नुभएको वचनसँग मिसाइयो। यो धर्मशास्त्रको उदयपछिको अत्यन्तै ठूलो अपमान हो! अनि के मानिसको चरम मूर्खताको कारणले गर्दा यो गल्ती गरिएको थिएन र? अनुग्रहको युगको परमेश्वरको कामका अभिलेखहरूमा, परमेश्वरको काम र वचनहरूको नक्कल गर्ने मानव पत्रहरू वा आत्मिक लेखहरू हुनु हुँदैन भन्ने तिनीहरूलाई थाहा थिएन। तर यो हाम्रो चासोको विषय होइन, त्यसकारण हामी हाम्रो मुख्य शीर्षकमा फर्कौं। परमेश्वरको कामको दोस्रो चरण पूरा हुने बित्तिकै—क्रूसीकरणपछि—मानिसलाई पापबाट पुन: प्राप्ति गर्ने (भन्नुको अर्थ, मानिसलाई शैतानको हातबाट पुन: प्राप्ति गर्ने) परमेश्वरको काम पूरा भयो। त्यसकारण, त्यो क्षणदेखि, मानिसले प्रभु येशूलाई मुक्तिदाताको रूपमा स्वीकार मात्रै गर्नुपर्थ्यो, र उसको पाप क्षमा हुनेथियो। सरल रूपमा भन्दा, मानिसले मुक्ति हासिल गर्न र परमेश्वरको अघि आउनका लागि उसको पापहरू त्यस उप्रान्त बाधा रहेनन्, र ती त्यस उप्रान्त शैतानले मानिसलाई दोष दिने आधार रहेनन्। किनभने परमेश्वर स्वयमले व्यावहारिक काम गर्नुभएको थियो, उहाँ पापी देह जस्तै र त्यसको नमुना बन्नुभएको थियो, र परमेश्वर स्वयम् नै पापबलि हुनुहुन्थ्यो। यसरी, मानिस क्रूसबाट ओर्लियो, र उसलाई परमेश्वरको देह, अर्थात्, यो पापी देहको स्वरूपद्वारा उद्धार गरियो र मुक्त गरियो। त्यसैले, शैतानद्वारा कैदीको रूपमा लगिएपछि, मानिस परमेश्वरको अघि उहाँको मुक्तिलाई स्वीकार गर्न एक कदम नजिक आयो। अवश्य नै, कामको यो चरण व्यवस्थाको युगको परमेश्वरको व्यवस्थापनभन्दा अझै गहन र अझै विकसित थियो।
परमेश्वरको व्यवस्थापन यस्तै छ: मानवजातिलाई शैतानको हातमा सुम्पिने—परमेश्वर के हुनुहुन्छ, सृष्टिकर्ता के हुनुहुन्छ, परमेश्वरलाई कसरी आराधना गर्ने, वा परमेश्वरमा समर्पित हुनु किन अत्यावश्यक छ सो नजान्ने मानवजातिलाई—अनि उसलाई भ्रष्ट तुल्याउन शैतानलाई अनुमति दिने। त्यसपछि चरणबद्ध रूपमा, मानिसले परमेश्वरलाई पूर्ण रूपमा आराधना गरेर शैतानलाई इन्कार नगरुञ्जेल, परमेश्वरले मानिसलाई शैतानको हातबाट पुन: प्राप्त गर्नुहुन्छ। परमेश्वरको व्यवस्थापन यही हो। यो काल्पनिक कथाजस्तो सुनिन सक्छ, र यो अचम्मको सुनिन सक्छ। मानिसहरूलाई यो काल्पनिक जस्तो लाग्छ किनभने विगतका हजारौं वर्षको अवधिमा मानिसलाई के भएको छ, तिनीहरूलाई त्यसको आभास नै छैन, ब्रम्हाण्ड र आकाश-मण्डलमा कति वटा कथाहरू घटे, तिनीहरूले त्यो थाहा पाउने कुरा त परै जाओस्। यसको साथै, यसको कारण के हो भने, भौतिक संसारभन्दा बाहिर अझै अचम्मको, अझै डरलाग्दो संसार अस्तित्वमा छ, तर जसलाई देख्नबाट तिनीहरूलाई आफ्ना मरणशील आँखाले रोक्छन् भन्ने कुरा तिनीहरूले बुझ्न सक्दैनन्। मानिसलाई यो बुझने नसकिने जस्तो लाग्छ किनभने मानवजातिलाई परमेश्वरले दिनुहुने मुक्तिको महत्त्व वा उहाँको व्यवस्थापनको कार्यको महत्त्वलाई मानिसले बुझ्दैन, र परमेश्वरले आखिरमा मानिस कस्तो भएको चाहनुहुन्छ, सो बुझ्दैन। के यो आदम र हव्वाजस्तै शैतानद्वारा पटक्कै भ्रष्ट नगरिएको झैँ हुन हो? होइन! परमेश्वरको व्यवस्थापनको उद्देश्य भनेको परमेश्वरलाई आराधना गर्ने र उहाँमा समर्पित हुने मानिसहरूको एउटा समूहलाई प्राप्त गर्नु हो। यी मानिसहरू शैतानद्वारा भ्रष्ट तुल्याइएका भए पनि, तिनीहरूले त्यस उप्रान्त शैतानलाई आफ्ना पिताका रूपमा हेर्दैनन्; तिनीहरूले शैतानको घिनलाग्दो मुहारलाई पहिचान गर्छन् र यसलाई इन्कार गर्छन्, अनि परमेश्वरको न्याय र सजायलाई स्वीकार गर्नका लागि तिनीहरू परमेश्वरको सामु आउँछन्। तिनीहरूले कुरूप र पवित्रबीचको अन्तर थाहा पाउँछन्, र परमेश्वरको महान्ता र शैतानको दुष्टतालाई पहिचान गर्न जान्दछन्। यस्तो मानवजातिले त्यस उप्रान्त शैतानका सेवा गर्ने, वा शैतानको आराधना गर्ने वा शैतानलाई पवित्र मान्ने छैन। किनभने तिनीहरू परमेश्वरले साँच्चै प्राप्त गर्नुभएका मानिसहरूका एउटा समूह हुन्। मानवजातिलाई व्यवस्थापन गर्ने परमेश्वरको कामको महत्त्व यही नै हो। यस पटकको परमेश्वरको व्यवस्थापनको कार्यको अवधिमा, मानवजाति शैतानको भ्रष्टता र परमेश्वरको मुक्ति दुवैको लक्षित पात्र हो, र मानिस त्यो उपज हो जसका लागि परमेश्वर र शैतानले लडाइ गरिरहेको छ। परमेश्वरले आफ्नो काम गर्ने क्रममा, उहाँले मानिसलाई क्रमिक रूपमा शैतानको हातबाट पुन: प्राप्ति गर्दै हुनुहुन्छ, र त्यसकारण मानिस परमेश्वरको झन्-झन् नजिक आउँछ …
त्यसपछि राज्यको युग आयो, जुनचाहिँ कामको अझै व्यावहारिक चरण हो, र तैपनि यो मानिसलाई स्वीकार गर्नका लागि सबैभन्दा कठिन छ। यसको कारण के हो भने, मानिस जति परमेश्वरको नजिक आउँछ, परमेश्वरको डण्डा त्यति नै मानिसको नजिक आउँछ, र परमेश्वरको मुहार मानिसका निम्ति त्यति नै स्पष्ट रूपमा प्रकट हुन्छ। मानिसको छुटकारापछि, मानिस आधिकारिक रूपमै परमेश्वरको परिवारमा फर्किन्छ। अहिले नै आनन्द गर्ने समय हो भन्ने मानिसले सोच्यो, तैपनि उसले परमेश्वरको पूर्ण प्रहार भोग्छ, जुन कस्तो छ भन्ने कुरा कसैले पनि पहिले देख्न सक्दैनथ्यो: के देखिन्छ भने, यो परमेश्वरका मानिसहरूले “आनन्द” लिनुपर्ने बप्तिस्मा हो। त्यस्तो व्यवहार गरिँदा, मानिसहरूले रोकिएर आफ्नो बारेमा यस्तो विचार गर्ने बाहेक कुनै विकल्प हुँदैन, “म धेरै वर्षसम्म हराएको थुमा हुँ जसलाई खरिद गरेर फिर्ता पाउन परमेश्वरले धेरै खर्च गर्नुभयो, त्यसैले परमेश्वरले किन मलाई यस्तो व्यवहार गर्नुहुन्छ? के यो मप्रति हाँस्ने, र मलाई खुलासा गर्ने परमेश्वरको तरिका हो? …” वर्षौं बितेपछि, शोधन र सजायको कठिनाइ अनुभव गरिसकेपछि, मानिस जीर्ण बनेको छ। मानिसले विगतका समयहरूको “महिमा” र “रोमान्स” लाई गुमाएको भए तापनि, उसले थाहै नपाई, मानव आचरणका सिद्धान्तहरू बुझ्न पुगेको छ, र मानवजातिलाई मुक्ति दिन परमेश्वरले कैयौँ वर्षको अवधिमा लगाउनुभएको विचारशील मेहनतलाई अनुभूति गर्न पुगेको छ। मानिसले उसको आफ्नो जङ्गलीपनलाई बिस्तारै घृणा गर्न सुरु गर्छ। ऊ कति असभ्य भन्ने कुरालाई, परमेश्वरप्रतिको उसका सबै गलत बुझाइहरू, र उहाँलाई उसले गरेका अनुचित मागहरूलाई उसले घृणा गर्न थाल्छ। समयलाई पछाडि फर्काउन सकिँदैन। विगतका घटनाहरू मानिसका अपसोचपूर्ण यादहरू बन्छन्, र परमेश्वरका वचनहरू र प्रेम मानिसको नयाँ जीवनशैलीको प्रेरणा-शक्ति बन्छ। दिन-प्रतिदिन मानिसका घाउहरू निको हुन्छन्, उसको सामर्थ्य फर्की आउँछ र … उहाँ सँधै नै उसकै साथमा हुनुहुँदो रहेछ, अनि उहाँको मुस्कान र उहाँको सुन्दर मुहार अझै कति मोहक छ भन्ने पत्ता लगाउन, ऊ खडा भएर सर्वशक्तिमान्को अनुहारमा हेर्छ। उहाँको हृदयले अझै पनि आफूले सृष्टि गरेको मानवजातिबारे चिन्ता गर्छ, र उहाँका हातहरू प्रारम्भमा जस्ता थिए त्यस्तै न्याना र शक्तिशाली छन्। यो चाहिँ मानिस अदनको बगैंचामा फर्केजस्तै हुन्छ, तैपनि यस पटक मानिसले त्यस उप्रान्त सर्पको प्रलोभनलाई सुन्दैन र त्यस उप्रान्त यहोवाको नजरबाट अन्तै फर्कँदैन। मानिस परमेश्वरको अघि घुँडा टेक्छ, परमेश्वरको मुस्कुराइरहेको अनुहारलाई हेर्छ, र उसको सबैभन्दा बहुमूल्य बलिदान चढाउँछ—अहो! हे मेरा प्रभु, मेरा परमेश्वर!
परमेश्वरको प्रेम र करुणाले उहाँको व्यवस्थापन कार्यको प्रत्येक र हरेक विवरणलाई भिजाउँछ, र मानिसहरूले परमेश्वरका असल अभिप्रायहरूलाई बुझ्न सके पनि वा नसके पनि, आफूले पूरा गर्ने भनी तय गर्नुभएको कामलाई उहाँले अझै अथक रूपमा गरिरहनुभएको छ। परमेश्वरको व्यवस्थापनको बारेमा मानिसहरूले जति बुझे पनि, परमेश्वरको कामले मानिसलाई दिने सहयोग र लाभहरूलाई हरेकले सराहना गर्न सक्छन्। सायद, आजको दिनमा, परमेश्वरले प्रदान गर्नुभएको कुनै पनि प्रेम वा जीवनको अनुभव तैँले गरेको छैनस् होला, तर जब सम्म तैँले परमेश्वरलाई त्याग्दैनस् र सत्य खोजी गर्ने तेरो सङ्कल्पलाई त्याग्दैनस्, तब परमेश्वरको मुस्कान तँलाई प्रकट हुने दिन आउनेछ। किनभने परमेश्वरको व्यवस्थापन कार्यको लक्ष्य भनेको शैतानको शक्तिमा रहेका मानिसहरूलाई पुन: प्राप्ति गर्नु हो, शैतानद्वारा भ्रष्ट तुल्याइएका र परमेश्वरको विरोध गर्ने मानिसहरूलाई त्याग्नु होइन।
सेप्टेम्बर २३, २००५