अगुवा र कामदारहरूका जिम्मेवारीहरू (६)
आज हामी अगुवा र कामदारहरूका जिम्मेवारीहरू र झुटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरूबारे सङ्गति जारी राख्नेछौँ। यसअघिको भेलामा, हामीले अगुवा र कामदारहरूका जिम्मेवारीको विषयवस्तु छबारे सङ्गति गऱ्यौँ। यो विषयवस्तुको मुख्य कुरा के हो? (विषयवस्तु छ यस्तो छ: “सबै किसिमका योग्य प्रतिभालाई प्रवर्द्धन र संवर्धन गर्ने ताकि सत्यता पछ्याउने सबैले तालिम लिने मौका प्राप्त गर्न सकुन् र जतिसक्दो चाँडो सत्यता वास्तविकतामा प्रवेश गरून्।”) यसअघि, हामीले मुख्यतः परमेश्वरको घरले गर्ने मानिसहरूको प्रवर्द्धन र संवर्धनका सिद्धान्तहरूबारे, अनि परमेश्वरको घरले किन मानिसहरूको प्रवर्द्धन र संवर्धन गर्छ भन्नेबारे सङ्गति गऱ्यौँ। हामीले विभिन्न प्रकारका प्रतिभावान् मानिसहरूको प्रवर्द्धन र संवर्धन गर्ने विषयमा झुटा अगुवाहरूमा रहेका समस्याहरूको पनि चिरफार गऱ्यौँ। त्यसोभए, यी दुई विषयवस्तुहरूभित्र, झुटा अगुवाहरूका मुख्य प्रकटीकरणहरू के-के छन्? हामी किन तिनीहरू झुटा अगुवा हुन् भनेर भन्छौँ? यसमा मुख्यतः दुइटा पक्षहरू छन्। एउटा पक्ष के हो भने, झुटा अगुवाहरूले विभिन्न प्रकारका मानिसहरूको प्रवर्द्धन, संवर्धन र प्रयोग गर्ने सिद्धान्तहरू बुझ्दैनन्, न त तिनीहरूले यी सिद्धान्तहरूको खोजी नै गर्छन्। तिनीहरूलाई अगुवा वा कामदार बन्नका लागि मानिसहरूसँग क्षमताका कुन-कुन पक्ष हुनु महत्त्वपूर्ण हुन्छ वा तिनीहरूले कुन-कुन मापदण्डहरू पुरा गर्नु महत्त्वपूर्ण हुन्छ भन्ने थाहै हुँदैन। परिणामस्वरूप, तिनीहरूले मानिसहरूलाई आफ्नै धारणा र कल्पनाका आधारमा जथाभाबी प्रयोग गर्छन्। अर्को गम्भीर समस्या के हुन्छ भने, यी मानिसहरूलाई प्रवर्द्धन, संवर्धन र प्रयोग गरिसकेपछि, तिनीहरूले तिनीहरूको काम अनुगमन वा निरीक्षण गर्ने गर्दैनन्, न त तिनीहरूले कति राम्ररी काम गरिरहेका छन्, वा तिनीहरूले वास्तविक काम गरिरहेका छन् कि छैनन्, वा तिनीहरू आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्षम छन् कि छैनन्, वा तिनीहरूको चरित्र कस्तो छ, वा यी मानिसहरूले पूरा गरिरहेका कर्तव्यहरू तिनीहरूका लागि उपयुक्त छन् कि छैनन् भनेर नै पत्ता लगाउँछन्, र तिनीहरूले प्रवर्द्धन, संवर्धन र प्रयोग गर्ने मानिसहरू मानकअनुरूप र सिद्धान्तहरूअनुरूप छन् कि छैनन् भनेर ध्यान दिँदैनन्—तिनीहरूले यी कुराहरूको निरीक्षण कहिल्यै गर्दैनन्। झुटा अगुवाहरूले यो त मानिसहरूको प्रवर्द्धन गर्ने, तिनीहरूका लागि काम प्रबन्ध गर्ने मामला मात्र हो, र योभन्दा बढी अरू केही होइन, अनि त्यसपछि तिनीहरूको जिम्मेवारी पूरा भइहाल्यो भन्ने सोच्छन्। झुटा अगुवाहरूले यसरी नै आफ्नो काम गर्छन्, र तिनीहरूले काम गर्दा तिनीहरूको मनोवृत्ति र दृष्टिकोण पनि यही हुन्छ। त्यसोभए, मानिसहरूको प्रवर्द्धन, संवर्धन र प्रयोग गर्ने सन्दर्भमा, के झुटा अगुवाहरूका यी दुई मुख्य प्रकटीकरणहरूले तिनीहरू आफ्ना जिम्मेवारी पूरा गर्दैनन् र गर्न सक्दैनन् भन्ने प्रमाणित गर्न सक्छन्? (सक्छन्।) झुटा अगुवाहरूले काम निरीक्षण गर्ने वा विभिन्न प्रकारका मानिसहरूलाई अवलोकन गर्ने गर्दैनन्, अनि सत्यता र सिद्धान्तहरूको कुरामा झनै कम ध्यान दिन्छन्, र विभिन्न प्रकारका मानिसहरूका प्रकटीकरण र स्थितिहरूलाई आफूले बुझ्ने सत्यतासँग र परमेश्वरको घरले तोक्ने सिद्धान्तहरूसँग तुलना गर्दैनन्; तिनीहरूले विभिन्न प्रकारका मानिसहरूको मानवता र सबल पक्षहरू परमेश्वरको घरले मानिसहरूलाई प्रयोग गर्नका लागि माग गर्ने सिद्धान्तहरूअनुरूप छन् कि छैनन् भनेर खुट्ट्याउन पनि सक्दैनन्। यी कारणहरूले गर्दा, मानिसहरूको प्रवर्द्धन र प्रयोग गर्ने अनि तिनीहरूका लागि कामको प्रबन्ध गर्ने कुरामा तिनीहरू अत्यन्तै अलमल्ल हुन्छन् र ढङ्ग पुर्याउँदैनन्, र तिनीहरू केवल आफ्ना धारणा र कल्पनाहरूमा आधारित भएर झारा टार्छन् र सतही काम गर्छन्। यस्तो अवस्थामा, यदि झुटा अगुवाहरूलाई विभिन्न प्रकारका मानिसहरूको मानवता र सबल पक्षहरूका आधारमा तिनीहरूलाई समझदारीपूर्वक र उचित रूपमा प्रयोग गर्न भनियो भने, के तिनीहरूले यसो गर्न सक्छन् त? (अहँ, सक्दैनन्।) अहिलेका लागि झुटा अगुवाहरूको क्षमता कस्तो छ भन्ने कुरालाई थाती राखौँ। कामप्रतिको तिनीहरूको मनोवृत्ति र काम गर्ने तिनीहरूको तरिका र विधिहरू, अनि तिनीहरूले वास्तविक काम पटक्कै नगरी साधारण मामलाहरू मात्र सम्हाल्ने र आफूलाई चर्चामा ल्याउने अलिअलि सतही काम मात्र गर्ने, र तिनीहरूले मानिसहरूलाई सत्यता आपूर्ति पटक्कै नगर्ने, र समस्याहरू समाधान गर्नका लागि सत्यता प्रयोग गर्न नजान्ने तथ्यलाई मात्र हेर्दा पनि—झुटा अगुवाहरूले मण्डलीको वास्तविक काम गर्नै सक्दैनन् भनी प्रमाणित गर्न यी कुरा नै पर्याप्त छन्। झुटा अगुवाहरूले वास्तविक काम नगर्ने, वा वास्तविक समस्याहरू समाधान गर्न दाजुभाइ-दिदीबहिनीहरूसँग गहन रूपमा नजोडिने, बरु मै हुँ भन्ने र हुकुम गरिरहने तथ्यका आधारमा मात्र हेर्दा पनि, तिनीहरू परमेश्वरको घरका लागि मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्न मण्डलीको कामका सबै पक्षहरू राम्ररी निर्वाह गर्न असक्षम हुन्छन् भन्ने पुष्टि गर्न सकिन्छ।
विषयवस्तु सात: फरक-फरक किसिमका मानिसहरूलाई तिनीहरूको मानवता र सबल पक्षका आधारमा समझदारीपूर्वक खटनपटन र प्रयोग गर्ने, ताकि हरेकलाई सर्वोत्तम रूपमा प्रयोग गर्न सकियोस् (भाग एक)
विभिन्न प्रकारका मानिसहरूलाई तिनीहरूको मानवताका आधारमा समझदारीपूर्वक प्रयोग गर्ने
विभिन्न प्रकारका मानिसहरूको प्रबन्ध र प्रयोग कसरी गर्ने भन्नेबारे तिमीहरूको बुझाइ के छ? (प्रवर्द्धन र संवर्धन गरिने विभिन्न प्रकारका मानिसहरूका लागि परमेश्वरको घरले फरक-फरक आवश्यक मानकहरू तोकेको हुन्छ, र मानिसहरूलाई प्रवर्द्धन र प्रयोग गर्दा परमेश्वरको घरका सिद्धान्त र मानकहरूअनुसार नै गर्नुपर्छ। यदि केही मानिसहरू अगुवा र कामदार बन्न उपयुक्त छन् भने, तिनीहरूलाई अगुवा, कामदार र सुपरिवेक्षकका रूपमा संवर्धन गरिनुपर्छ; यदि केही मानिसहरूसँग निश्चित विधाका पेसागत सबलताहरू छन् भने, तिनीहरूले पूरा गर्ने कर्तव्य तिनीहरूका पेसागत सबलताअनुसार प्रबन्ध गरिनुपर्छ, ताकि तिनीहरूलाई समझदारीपूर्वक खटनपटन र प्रयोग गरिएको होस्।) कसैलाई केही थप्नु छ? (अर्को कुरा भनेको मानिसहरूलाई तिनीहरूको मानवताका आधारमा मापन गर्नु हो। यदि कसैको मानवता तुलनात्मक रूपमा राम्रो छ, उसले सत्यतालाई प्रेम गर्छ, र उसमा बुझ्ने क्षमता छ भने, ऊ प्रवर्द्धन र संवर्धनको लायक व्यक्ति हो। यदि उसको मानवता औसत छ, तर ऊसँग सबलताहरू छन् र उसले परमेश्वरका घरमा कर्तव्य पूरा गर्न र सेवा प्रदान गर्न सक्छ भने, यस प्रकारको व्यक्तिलाई उसका सबलताका आधारमा उचित कर्तव्यमा खटाउन पनि सकिन्छ, ताकि उसलाई सर्वोत्तम प्रयोग गरियोस्। यदि ऊ अलि खराब मानवता भएको व्यक्ति हो र उसले बाधा र अवरोधहरू पुऱ्याउन सक्छ भने, उसलाई कर्तव्य पूरा गर्न लगाउनु चाहिँदोभन्दा बढी समस्या हुनेछ, त्यसैले उसलाई कर्तव्य पूरा गर्ने प्रबन्ध गर्नु उचित हुँदैन।) यदि मानिसहरूलाई तिनीहरूको मानवताका आधारमा छुट्टाइयो भने, जबसम्म तिनीहरू दुष्ट मानिस होइनन्, बाधा र अवरोध पुऱ्याउँदैनन्, र कर्तव्य पूरा गर्न सक्छन्, तबसम्म तिनीहरू मानिसहरूलाई प्रयोग गर्ने परमेश्वरको घरका सिद्धान्तहरूअनुरूप ठहर्छन्। दुष्ट मानिसहरू र दुष्टात्माहरूबाहेक, प्रयोग गर्न नसकिने अर्को प्रकारका मानिसहरू ती हुन् जोसँग पर्याप्त बौद्धिकता हुँदैन, अर्थात्, जसले केही पनि हासिल गर्दैनन्, जो कुनै पनि कार्य पूरा गर्न, कुनै पनि पेसा सिक्न असक्षम, सरल सामान्य मामलाहरू सम्हाल्न, र शारीरिक श्रमसमेत गर्न सक्दैनन्—अपर्याप्त बौद्धिकता र मानवता भएका मानिसहरूलाई प्रयोग गर्न सकिँदैन। अपर्याप्त बौद्धिकता हुने यो वर्गमा कस्ता-कस्ता मानिसहरू पर्छन्? जसले मानव भाषा बुझ्दैनन्, जसमा विशुद्ध बुझाइ हुँदैन, जो सधैँ कामकुरालाई गलत बुझ्छन्, कामकुरामा गल्ती गर्छन्, र प्रश्नहरूको असान्दर्भिक जबाफ दिन्छन्, र जो पटमूर्ख वा मानसिक रूपमा असक्त मानिसहरूकै प्रकारका छन्—यी सबै अपर्याप्त बौद्धिकता भएका मानिसहरू हुन्। त्यसपछि, अत्यन्तै बेतुके मानिसहरू पनि छन्, जो हरप्रकारका कुरालाई सामान्य मानिसले भन्दा फरक रूपमा बुझ्छन्—तिनीहरूमा पनि बौद्धिकताको समस्या हुन्छ। के अपर्याप्त बौद्धिकतामा कुनै पनि कुरा सिक्न असक्षम हुने कुरा पनि समावेश हुन्छ? (हो, हुन्छ।) त्यसोभए लेखहरू लेख्न सिक्न असक्षम हुनुलाई अपर्याप्त बौद्धिकता भएको मानिन्छ? (अहँ, मानिँदैन।) यस्ता खालका मानिसहरू त्यसमा पर्दैनन्। उदाहरणका लागि, गाउन र नाच्न सिक्ने, कम्प्युटर सीप सिक्ने, वा विदेशी भाषा सिक्ने कुरालाई लिऊँ; यी कुराहरू सिक्न असक्षम हुनुलाई अपर्याप्त बौद्धिकता भएको मानिँदैन। त्यसोभए, कस्ता प्रकारका कुरा सिक्ने असक्षमताले अपर्याप्त बौद्धिकतालाई सङ्केत गर्छ? उदाहरणका लागि, कतिपय मानिसहरूमा अलिअलि ज्ञान हुन्छ, तर तिनीहरू अरूसँग कुराकानी गर्दा आफ्नो भाषालाई कसरी सुव्यवस्थित गर्ने भनी सिक्न असक्षम हुन्छन्। त्यसोभए के यस प्रकारका मानिसहरूले परमेश्वरमा विश्वास गर्दा सत्यताबारे सङ्गति गर्न, प्रार्थना गर्न, र अरूसँग सामान्य रूपमा अन्तरक्रिया गर्न सक्छन्? (अहँ, सक्दैनन्।) जब तिनीहरूका मनमा कुनै विचार आउँछ वा जब तिनीहरू कुनै स्थितिमा हुन्छन्, र तिनीहरू मानिसहरूसँग त्यसबारे खुलस्त भएर कुराकानी गर्न अनि समाधानको मार्ग खोज्न चाहन्छन्, तब तिनीहरू लगातार कैयौँ दिनसम्म त्यसबारे मनन गर्छन्, र तिनीहरूलाई कहाँबाट सुरु गर्ने र आफ्नो कुरा कसरी व्यक्त गर्ने भन्ने नै थाहा हुँदैन। तिनीहरू बोल्नेबित्तिकै अन्योलमा पर्छन् र अल्मलिँदै बोल्छन्, तिनीहरूको मुखले तिनीहरूको आदेश नमानेजस्तो देखिन्छ, र तिनीहरूका विचारहरू जताततै छरपस्ट हुन्छन्। उदाहरणका लागि, तैँले तिनीहरूलाई, “आज मौसम राम्रो छ, र घाम लागिरहेको छ,” भनेर भनिस् भने, तिनीहरूले यस्तो जबाफ दिनेछन्, “हिजो पानी परेको थियो, र त्यो बाटोमा कार दुर्घटना भएको थियो।” तिनीहरू आफूले कुराकानी गरिरहेको व्यक्तिसँग साझा बुझाइमा हुँदैनन्। के यस्तो प्रकारको व्यक्तिमा अपर्याप्त बौद्धिकता हुन्छ? (हो, हुन्छ।) उदाहरणका लागि, यदि उसको टाउको दुखिरहेको छ र तैँले उसलाई के भयो भनेर सोधिस् भने, उसले उसको हृदयलाई अलि असहज भइरहेको छ भनेर भन्नेछ। यो जबाफ प्रश्नसँग असान्दर्भिक भयो, होइन र? (हजुर, हो।) यो बौद्धिकताको अत्यन्तै कमी हुनु हो। यस्ता प्रकारका धेरै मानिसहरू हुन्छन्। के तिमीहरूले एउटा उदाहरण दिन सक्छौ? (कति मानिसहरू प्रश्नहरूको जबाफ दिँदा जहिले पनि विषयबाहिर जान्छन्, अरू मानिसहरूले तिनीहरूलाई के सोधिरहेका छन् भनेर तिनीहरूले बुझ्नै सक्दैनन्।) कुराकानी गर्दा बारम्बार विषयबाहिर जानु—यो अपर्याप्त बौद्धिकता हो। त्यसपछि यस्ता मानिसहरू पनि हुन्छन् जो कुराकानी गर्दा भित्रका र बाहिरका मानिसहरू छुट्टयाउन सक्दैनन्, र बोल्दा कहिलेकाहीँ थाहै नपाई आफैलाई घात गर्छन्—यो पनि अपर्याप्त बौद्धिकता नै हो। उदाहरणका लागि, कति दाजुभाइ-दिदीबहिनीहरू परिवारमा गैरविश्वासी सदस्यहरूसँग बस्छन्, र तिनीहरूले तिनीहरूलाई यस्तो सोध्छन्, “तिमीहरूको परमेश्वरले तिमीहरूलाई के गर्न भन्नुहुन्छ?” तिनीहरूले यस्तो प्रतिक्रिया दिन्छन्: “हामीले विश्वास गर्ने परमेश्वर निकै असल हुनुहुन्छ। उहाँले हामीलाई इमानदार मानिस बन्न सिकाउनुहुन्छ, हामीलाई कसैसँग झूट बोल्न दिनुहुन्न, र हामीले सबैसँग इमानदारीपूर्वक बोल्न जरुरी छ।” सतही रूपमा, तिनीहरूले परमेश्वरले गर्नुहुने कामको गवाही दिइरहेका, परमेश्वरलाई महिमित तुल्याइरहेका, र सुन्नेहरूलाई विश्वासीहरूको असल छाप पर्ने र भरोसा गर्ने तुल्याइरहेको जस्तै सुनिन्छ, तर के कुरा साँच्चै यही हो त? यो सुनेपछि गैरविश्वासीहरूले के भन्नेछन्? तिनीहरूले यस्तो भन्नेछन्, “तिमीहरूको परमेश्वरले तिमीहरूलाई इमानदार मानिस बन्न भन्नुभएकोले, हामीलाई इमानदारीपूर्वक भन: तिमीहरूको मण्डलीसँग कति पैसा छ? सबैभन्दा बढी भेटी कसले दिन्छ? तिमीहरूको मण्डलीको अगुवा को हो? तिमीहरूको भेलास्थल कति वटा छ?” त्यो सुनेको भए तँ झस्किनेथिस्, होइन र? के यस्ता मानिसहरू बुद्धु हुँदैनन् र? तँ किन दियाबलस र गैरविश्वासीहरूसँग इमानदार व्यक्ति बन्नेबारे कुरा गर्छस्? वास्तवमा, तँ परमेश्वरसामु त्यति इमानदार पनि छैनस्। त्यसैले, के तैँले गैरविश्वासीहरूसँग त्यसबारे त्यति गम्भीर भएर आफैलाई घात गरिरहेको त छैनस्? के यो आफ्नै लागि खाल्डो खनेर पासो थाप्नु होइन र? के तँ मूर्ख होइनस् र? कसैसँग आफ्नो मन खोलेर कुरा गर्दा वा इमानदारीपूर्वक बोल्दा, तैँले तँ कोसँग बोलिरहेको छस् भन्ने कुरालाई ध्यान दिनैपर्छ—यदि त्यो दियाबलस वा शैतान हो भने, के तैँले वास्तवमा के भइरहेको छ भनेर त्यसलाई भन्न मिल्छ त? त्यसैले, यस्ता मानिसहरूको कुरामा, “सर्पहरूझैँ बुद्धिमान् र ढुकुरहरूझैँ अहानिकारक” हुने अभ्यास गर्नु आवश्यक हुन्छ—यो परमेश्वरले मानवजातिलाई दिनुभएको शिक्षा हो। मूर्खहरू यसो गर्न जान्दैनन्। तिनीहरू त प्रावधानमा टाँसिन, र “हामी विश्वासीहरू निकै इमानदार छौँ, हामी कसैलाई छल गर्दैनौँ। हेर त तिमी गैरविश्वासीहरू, तिमीहरू झुटले भरिएका छौ, तर हामी सबै इमानदारीपूर्वक बोल्छौँ” भन्नेजस्ता कुराहरू बोल्न मात्र जान्दछन्। अनि तिनीहरूले इमानदारीपूर्वक बोलिसकेपछि, मानिसहरूसँग तिनीहरूविरुद्ध प्रयोग गर्ने गलचेप हुन्छ। के यो तिनीहरू भित्रका र बाहिरका मानिसहरू छुट्टाउन असफल भइरहेका होइनन् र? के यो दिमाग अलि ठीकसँग नचल्नु होइन र? तिनीहरूले केही धर्मसिद्धान्तहरू बुझ्छन् तर ती कसरी लागु गर्ने भनेर जान्दैनन्। तिनीहरूले केही नाराहरू चिच्याउँछन् र त्यसपछि आफू निकै आत्मिक भएको महसुस गर्छन्, अनि आफूले सत्यता बुझ्ने र आफूसँग सत्यता वास्तविकता भएको ठान्छन्, र तिनीहरू सबैतिर धाक देखाउँछन्, तर अन्त्यमा, शैतान र दियाबलसहरूले यसको फाइदा उठाउँछन् र यसलाई तिनीहरूविरुद्ध प्रयोग गर्छन्। यो अपर्याप्त बौद्धिकता हो।
हामीले भर्खर अपर्याप्त बौद्धिकता भएका केही प्रकारका मानिसहरूबारे कुरा गऱ्यौँ। एउटा प्रकारमा ती पर्छन् जो मानव भाषा बुझ्दैनन्, र अरूका शब्दहरूको चुरो र मुख्य बुँदा बुझ्न र बोध गर्न असफल हुन्छन्; अर्को प्रकारमा मूर्खहरू पर्छन्, जो कुनै पनि कुरा हासिल गर्न असक्षम हुन्छन्, र जे-जसरी कार्य गरे पनि सिद्धान्त वा मुख्य बुँदाहरू बोध गर्न सक्दैनन्; अर्को प्रकार भनेको सबथोकबारे अत्यन्तै पूर्वाग्रही र बेतुके विचार भएकाहरू हुन्। अझै अर्को प्रकार भनेको कुनै पनि कुरा सिक्न नसक्ने, र बोल्न वा कुराकानी गर्न, वा आफ्ना विचार र रायहरू अरूले बुझ्ने गरी स्पष्ट रूपमा व्यक्त गर्नसमेत सिक्न नसक्नेहरू हुन्; तिनीहरू अलिअलि त शिक्षित नै हुन्छन्, तर दिमागमा आफ्नो भाषा मिलाउन, वा स्पष्ट रूपमा बोल्न सक्दैनन्, न त सही दृष्टिकोणहरू व्यक्त गर्न, वा केही कुरा हासिल गर्न नै सक्छन्। यी सबै अपर्याप्त बौद्धिकता भएका मानिसहरू हुन्। चाहे जुनसुकै कला वा सीप सिके पनि, तिनीहरू सिद्धान्त र नियमहरू बोध गर्न निरन्तर असक्षम हुन्छन्। तिनीहरूले कहिलेकाहीँ कुनै कला वा सीप राम्ररी प्रदर्शन गरे पनि, त्यो संयोगले गर्दा मात्रै भएको हुन्छ; तिनीहरूलाई त्यो राम्रो कसरी भयो भन्ने थाहा हुँदैन। अर्कोपटक त्यो राम्ररी गर्न असफल हुँदा पनि, त्यस्तो किन भयो भनेर तिनीहरूलाई थाहा हुँदैन। तिनीहरू कुनै पनि कुरा सिक्न वा त्यसमा पोख्त बन्न असक्षम हुन्छन्। यदि तिनीहरूलाई कुनै कला वा प्राविधिक सीप सिक्न भनियो भने, तिनीहरूले चाहे जतिसुकै समय लगाएर त्यो सिके पनि त्यसको सिद्धान्त मात्र बुझ्नेछन्। तिनीहरूले कैयौँ वर्षदेखि प्रवचनहरू सुनेका हुन्छन् तर सत्यता बुझेका हुँदैनन्। यदि तिनीहरूलाई परमेश्वरको घरले बारम्बार सङ्गति गर्ने यी वचन र निश्चित कथनहरूलाई लिएर, तिनलाई अभ्यासका सिद्धान्त र मार्गमा परिणत गर्न भनियो भने, तिनीहरूले मरून्जेल काम गरे पनि, र तिनीहरूलाई जतिसुकै सिकाए पनि, तिनीहरू त्यसो गर्न असक्षम नै हुनेछन्। यसले यी मानिसहरूमा अपर्याप्त बौद्धिकता हुन्छ भन्ने पुष्टि गर्छ। कति मानिसहरूले त ५०-६० वर्षका उमेरमा पनि, ठ्याक्कै तिनीहरूले ३० वर्षको हुँदा हासिल गरेका नतिजा मात्र हासिल गर्छन्, तिनीहरूले बिलकुलै प्रगति गरेका हुँदैनन्। तिनीहरूले आफ्नो जीवनकालमा एउटा कुरा पनि सफलतापूर्वक सिकेका हुँदैनन्। तिनीहरूले समय खेर फालेका हुँदैनन्, तिनीहरू अत्यन्तै ध्यान दिन्छन् र मेहनत गर्छन्, तर केही पनि सिक्न सफल भएका हुँदैनन्; यसले तिनीहरूमा अपर्याप्त बौद्धिकता छ भन्ने देखाउँछ। हामीले गरेको सङ्गतिका आधारमा हेर्दा, जे कुरालाई अपर्याप्त बौद्धिकता मानिन्छ, त्यसको दायरा फराकिलो भएको छ, होइन र? के तिमीहरू आफूलाई अपर्याप्त बौद्धिकता भएको ठान्छौ? (हजुर।) अलिअलि ठान्छौ, धेरथोर मात्रामा। म किन त्यसो भन्दै छु? धेरैजसो मानिसहरूले पाँच वर्ष प्रवचन सुनेका हुन्छन्, तर तिनीहरूले अझै पनि सत्यता के हो, वा परमेश्वरका अभिप्रायहरू के-के हुन् भनेर बुझ्दैनन्; र कति मानिसहरूले त १० वर्ष, वा २०-३० वर्ष प्रवचन सुनेका हुन्छन् तर अझै पनि सत्यता वास्तविकता के हो र शब्द र धर्मसिद्धान्तहरू के हुन् भनेर बुझ्दैनन्, तिनीहरूका मुख धर्मसिद्धान्तहरूले भरिएका हुन्छन्, र तिनीहरूले ती धर्मसिद्धान्तहरू उत्कृष्ट रूपमा फलाक्छन्—यो तिनीहरूको बौद्धिकताको समस्या हो। अहिलेका लागि सत्यताको बुझाइलाई थाती राखेर, मानिसहरूले मानव जीवनमा केही बाहिरी कामकुराहरूप्रति र सामान्य समझका मामलाहरूप्रति निम्न प्रकटीकरणहरू प्रदर्शन गर्छन् भनेर मात्र भनौँ; तिनीहरूले कुनै कार्य चाहे जति नै लामो समयदेखि गर्दै आएका भए पनि, तिनीहरूको परिस्थिति, स्थिति र बुझाइ तिनीहरूले त्यो सिक्न सुरु गर्ने बेलाको जस्तै रहन्छ, र तिनीहरूलाई चाहे जति नै मार्गदर्शन गरे पनि, चाहे जति नै सिकाए पनि, वा तिनीहरूले जे-जसरी अभ्यास गरे पनि, तिनीहरूले अझै कुनै प्रगति गर्दैनन्। यो अपर्याप्त बौद्धिकता हो।
मानिसहरूलाई तिनीहरूसँग मानवता छ कि छैन भन्ने आधारमा छनोट र प्रयोग गर्नु सिद्धान्तहरूअनुरूप हो; त्यसोभए मलाई भन् त, के हामीले कमजोर मानवता, अपर्याप्त बौद्धिकता, वा दुष्टात्माको काम भएका मानिसहरूलाई संवर्धन र प्रयोग गर्नुपर्छ? त्यो त पटक्कै हुँदैन। मानिसहरूलाई प्रयोग गर्ने परमेश्वरको घरका सिद्धान्तहरूसँग नमिल्ने यी केही प्रकारका मानिसहरूबाहेक, अरू धेरैजसो मानिसहरूलाई तिनीहरूको मानवताका आधारमा समझदारीपूर्वक प्रयोग गर्न सकिन्छ। औसत मानवता भएकाहरू, जसलाई असल वा खराब दुवै भन्न सकिँदैन, तिनीहरू केवल समूहका साधारण सदस्य हुन सक्छन्। जोसँग राम्रै मानवता छ, जो अलिक चेतनशील छन् र जोसँग अलिक विवेक छ, जो सकारात्मक कुराहरूलाई प्रेम गर्छन्, जो निकै सोझा छन्, जसमा इन्साफको बोध छ, र जसले परमेश्वरको घरका हितहरू प्रतिरक्षा गर्न सक्छन्, यी मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्नमा जोड दिन सकिन्छ। तिनीहरूलाई अगुवा वा समूह अगुवाका रूपमा, वा कुनै महत्त्वपूर्ण काम गर्न संवर्धन र प्रयोग गर्ने कि नगर्ने भन्ने कुरा तिनीहरूको क्षमता र सबलतामा निर्भर हुन्छ। यो भनेको विभिन्न प्रकारका मानिसहरूलाई तिनीहरूको मानवताका आधारमा कसरी प्रयोग गर्ने भनेर गरिने मापन हो।
विभिन्न प्रकारका मानिसहरूलाई तिनीहरूका सबलताका आधारमा प्रयोग गर्ने
विभिन्न प्रकारका मानिसहरूलाई तिनीहरूका सबलताका आधारमा कसरी प्रयोग गर्ने भन्नेबारे थप कुराकानी गरौँ। क्षमताको अतिरिक्त, कतिपय मानिसहरूसँग केही पेसागत सीपहरू पनि हुन्छन् जसमा तिनीहरू उत्कृष्ट हुन्छन्। “सबलताहरू” भन्ने शब्दको अर्थ के हो? (कुनै विशिष्ट क्षेत्रमा कुनै सीप हुनु, जस्तै सङ्गीत रचना गर्न, कुनै वाद्यवादन गर्न, वा चित्र कोर्न सक्नु।) सङ्गीत शास्त्र, कला, र नृत्य अनि लेखन पनि—यी सबै सबलताहरू हुन्। अभिनय र निर्देशन गर्नु चलचित्र निर्माणसँग सम्बन्धित सबलता हुन्, अनुवाद भनेको भाषागत सबलता हो, र भिडियो निर्माण र स्पेशल इफ्फेक्टस् पनि विशिष्ट विधा अन्तर्गतका सबलता हुन्। जब हामी सबलताबारे कुरा गर्छौँ, तब हामी मण्डलीको केन्द्रीय कामसँग सम्बन्धित पेसागत सीपहरू जनाइरहेका हुन्छौँ। कति मानिसहरूमा पहिल्यै आधारभूत तहको प्रवीणता हुन्छ, र कति मानिसहरूले परमेश्वरका घरमा आएपछि नै यी कुराहरू अध्ययन गर्छन्। यदि कुनै व्यक्तिमा आधारभूत प्रवीणता छ तर उसको मानवताले मानक पूरा गर्दैन, र ऊ अपर्याप्त बौद्धिकता भएको, दुष्ट व्यक्ति, वा दुष्टात्मा हो भने, उसलाई प्रयोग गर्न सकिन्न। यदि त्यो व्यक्तिको मानवताले मानक पूरा गर्छ र ऊसँग परमेश्वरको घरलाई आवश्यक परेको सबलता छ भने, उसलाई प्रवर्द्धन, संवर्धन र प्रयोग गर्न सकिन्छ, उसलाई उसका सबलताहरू उपयुक्त हुने, वा उसमा भएका पेसागत सीपहरूसँग सम्बन्धित समूहमा खटाउन, र तुरुन्तै काममा लगाउन सकिन्छ। कति मानिसहरूमा अझै पनि पेसागत सबलता हुँदैन, तर तिनीहरू सिक्न इच्छुक हुन्छन्, अनि एकदम चाँडो पनि सिक्छन्। यदि तिनीहरूको मानवताले मानक पूरा गर्छ भने, परमेश्वरको घरले तिनीहरूलाई संवर्धन गर्न र तिनीहरूका लागि सिक्ने परिस्थितिहरू सृजना गर्न सक्छ, र त्यस्ता मानिसहरूलाई प्रयोग पनि गर्न सकिन्छ। सारांशमा भन्नुपर्दा, कर्तव्यको खटनपटन मानिसहरूको क्षमता र सबलताका आधारमा हुन्छ, र सम्भव भएसम्म, विभिन्न सबलता भएका मानिसहरूलाई तिनीहरूको आफ्नै दक्षताका विधामा काम गर्ने प्रबन्ध मिलाउनुपर्छ, ताकि तिनीहरूले यी सबलताहरूलाई राम्ररी प्रयोग गर्न सकुन्। यदि परमेश्वरको घरलाई अबउप्रान्त तिनीहरूका सबलताहरू चाहिएको छैन भने, तिनीहरूलाई, आफ्नो क्षमता र मानवताका आधारमा, तिनीहरूले जे गर्न सक्छन्, त्यही गराउने प्रबन्ध गर्नुपर्छ; यसलाई मानिसहरूलाई समझदारीपूर्वक प्रयोग गरेको भनिन्छ। यदि परमेश्वरको घरलाई तिनीहरूका सबलताहरूको अझै पनि आवश्यकता छ भने, तिनीहरूलाई यही क्षेत्रमा कर्तव्य पूरा गरिरहन दिनुपर्छ, र जथाभाबी स्थानान्तरण गर्नु हुँदैन, तर यो पेसामा अति धेरै मानिसहरूले भएको काम गरिरहेको अवस्थामा, आफ्नो पेसामा सबैभन्दा कम दक्ष रहेका मानिसहरूलाई अरू कर्तव्यहरूमा खटाएर अवस्थाअनुसार मानिसहरूको सङ्ख्या घटाउनुपर्छ; यो मानिसहरूलाई समझदारीपूर्वक प्रयोग गर्नु हो।
एउटा निश्चित प्रकारको व्यक्ति हुन्छ जोसँग कुनै विशेष सीप हुँदैन—उसले थोरै लेखहरू लेख्न सक्छ, उसले गीत गाउँदा सुर समात्न, र कुनै पनि कुरा कसरी गर्ने भनी सिक्न सक्छ, तर ऊ यी कुरामा सर्वश्रेष्ठ हुँदैन। ऊ के कुरामा सर्वश्रेष्ठ हुन्छ त? उसमा अलिकति क्षमता हुन्छ, ऊसँग तुलनात्मक रूपमा इन्साफको बोध हुन्छ, र मानिसहरूलाई कसरी मूल्याङ्कन र प्रयोग गर्ने भन्ने कुरा उसले थोरै जान्न सक्छ। त्यसबाहेक, ऊसँग उल्लेखनीय रूपमा सङ्गठनात्मक सीपहरू हुन्छन्। यदि तैँले त्यस्तो व्यक्तिलाई कुनै कार्य वा काम दिइस् भने, उसले त्यो गर्नलाई मानिसहरू सङ्गठित गर्न सक्छ। साथसाथै ऊसँग काम गर्ने सक्षमता पनि हुन्छ; अर्थात्, यदि तैँले उसलाई कुनै कार्य दिइस् भने, ऊसँग त्यसलाई राम्ररी गर्ने र सक्काउने क्षमता हुन्छ। उसको मनमा योजना हुन्छ, जुन चरणबद्ध र सुसंरचित हुन्छ। मानिसहरूको प्रयोग कसरी गर्ने, समयको बाँडफाँड कसरी गर्ने र यस कार्यका निम्ति कसलाई प्रयोग गर्ने भन्ने कुरा उसलाई थाहा हुन्छ। यदि कुनै समस्या देखा परेमा, कसरी सबैसँग समाधानबारे छलफल गर्ने भन्ने कुरा उसलाई थाहा हुन्छ। उसलाई यी सबै कुराहरूलाई कसरी सन्तुलन र समाधान गर्ने भन्ने कुरा थाहा हुन्छ। यस्तो व्यक्तिसँग काम गर्ने सक्षमता हुने मात्र होइन, उसले तुलनात्मक रूपमा राम्ररी बोल्छ पनि। उसका शब्दहरू स्पष्ट र व्यवस्थित हुन्छन्, र उसले मानिसहरूलाई अलमलमा पार्दैन। जब उसले काम अह्राएको हुन्छ, तब कसले के गर्नुपर्ने हो भन्ने कुरा सबैले स्पष्टसँग बुझ्छन् र थाहा पाउँछन्; कोही पनि निष्क्रिय भई बस्दैन र काममा कुनै भुलचुक हुँदैन। उसले कामका विवरणबारे गरेको व्याख्या पनि तुलनात्मक रूपमा स्पष्ट र व्यवस्थित हुन्छ, अनि विशेष रूपमा जटिल रहेका विषयहरूमा उसले विश्लेषण, सङ्गति प्रदान गर्छ, र विवरणहरू सुचीबद्ध गर्छ ताकि सबैले मामलाहरू बुझून्, काम कसरी गर्ने, र कसरी अघि बढ्ने भनेर थाहा पाउन्। त्यसबाहेक, कार्य गर्ने कुन तरिका त्रुटिपूर्ण हुन सक्छ, काम गर्ने कस्ता विधिहरूले प्रभावकारितामा प्रभाव पार्छन्, मानिसहरूले आफ्नो कामको क्रममा के-के कुराहरूमा ध्यान दिनुपर्छ, आदि इत्यादि कुराहरूमा उसले सङ्गति पनि गर्न सक्छ। भन्नुको मतलब, उसले काम सुरु गर्नुअगाडि अरूले भन्दा बढी सोच्छ—उसले अरूले भन्दा विस्तृत रूपमा, बढी यथार्थपरक ढङ्गले, र बढी वृहत् रूपमा सोच्छ। एक हिसाबमा, ऊसँग दिमाग हुन्छ र अर्को हिसाबमा ऊ कुशल वक्ता हुन्छ। ऊसँग दिमाग छ भन्नुको अर्थ उसले कुनै काम गर्दा व्यवस्थित ढङ्गले, चरणबद्ध रूपमा, योजनाअनुसार र धेरै प्रस्टताका साथ गर्छ। कुशल वक्ता हुनुको अर्थ उसले स्पष्टसँग र बुझिने गरी आफ्नो मनका विचार, योजना र हिसाबकिताब अभिव्यक्त गर्नका लागि भाषा प्रयोग गर्न सक्छ, र उसलाई सरल र संक्षेपमा कसरी बोल्ने ताकि सुन्नेहरू अलमलमा नपरून् भन्ने कुरा थाहा हुन्छ। उसले आफ्नो कुरा स्पष्ट, सही, सत्य र उचित शब्दहरूमा अभिव्यक्त गर्छ। कुशल वक्ता हुनुको अर्थ यही हो। यस्ता मानिसहरू कुशल वक्ता हुन्छन्, तिनीहरूसँग काम गर्ने सक्षमता, सङ्गठनात्मक सीपहरू, र त्यसमाथि, जिम्मेवारीबोध पनि हुन्छ, र तिनीहरू तुलनात्मक रूपमा अलिक इन्साफको बोध भएका पनि हुन्छन्। तिनीहरू मान्छे खुसी पारिहिँड्ने वा शान्ति कायम राख्ने मानिस होइनन्। दुष्ट मानिसहरूले मण्डलीको काममा बाधा वा अवरोधहरू पुऱ्याएको देख्दा, वा आफ्ना उचित मामलाहरूमा ध्यान नदिने र लापरवाह रूपमा कार्य गर्ने मूर्ख र फोहोरी मानिसहरू देख्दा, तिनीहरूलाई रिस उठ्छ, तिनीहरू अप्रसन्न हुन्छन्, र तिनीहरूले तुरुन्तै यी समस्याहरू समाधान गर्न र सम्हाल्न, अनि परमेश्वरको घरको काम र हितहरूको सुरक्षा गर्न सक्छन्। जिम्मेवारीबोध हुनु र इन्साफको बोध हुनु—के यी प्रकटीकरणहरू यस प्रकारको व्यक्तिको मानवताका प्रमुख विशेषताहरू होइनन् र? (हुन्।) यस्ता मानिसहरूले सामाजिक रूपमा घुलमिल हुन नजान्लान्, वा तिनीहरू कुनै निश्चित पेसागत सीपमा त्यति अब्बल नहोलान्, तर यदि तिनीहरूसँग मैले भर्खरै वर्णन गरेका विशेषताहरू छन् भने, तिनीहरूलाई अगुवा र कामदारका रूपमा संवर्धन गर्न सकिन्छ। यी विशेषताहरू तिनीहरूका सबलता पनि हुन्, अर्थात् तिनीहरू कुशल वक्ता हुन्, तिनीहरूसँग काम गर्ने सक्षमता र सङ्गठनात्मक सीपहरू छन्, र तिनीहरूमा तुलनात्मक रूपमा इन्साफको बोध हुन्छ। इन्साफको बोध हुनु अत्यन्तै महत्त्वपूर्ण छ। के दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूमा इन्साफको बोध हुन्छ? (अहँ, हुँदैन।) ख्रीष्टविरोधीहरूमा दुष्ट प्रकृति हुन्छ; तिनीहरूसँग इन्साफको बोध हुनु असम्भव छ। अर्को महत्त्वपूर्ण कुरा भनेको यस प्रकारको व्यक्तिमा आत्मिक बुझाइ र सत्यता बोध गर्ने क्षमता हुन्छ; यो उसको क्षमतासँग सम्बन्धित कुरा हो। यस प्रकारको व्यक्तिका सबलताहरूले मैले भर्खर उल्लेख गरेका मानवताका विशेषताहरू र प्रतिभाहरू जनाउँछन्, र साथै सत्यता बोध गर्ने, मण्डलीका लागि बोझ वहन गर्ने, र काम गर्ने क्षमता हुने तीन मानकहरू पनि जनाउँछन्। यस्ता मानिसहरूलाई अगुवाका रूपमा संवर्धन गर्न सकिन्छ; त्यसमा कुनै समस्या छैन। दिमाग र क्षमता हुनुका साथै, एउटा अगुवामा सत्यता बोध गर्ने क्षमता, सङ्गठनात्मक सीपहरू अनि आफ्नो कार्यमा काम गर्ने सक्षमता, साथसाथै वाक्-कौशल हुनैपर्छ। कति मानिसहरूमा निकै राम्रो क्षमता हुन्छ, तिनीहरूसँग आत्मिक बुझाइ हुन्छ, तर जब भेलाहरूमा सङ्गति गर्ने समय आउँछ, तिनीहरूले भन्न खोजेको कुरा पूरै बिगार्छन्, तिनीहरूसँग आफ्नो भाषा सुव्यवस्थित गर्ने क्षमता नै हुँदैन, र तिनीहरूले भन्ने कुरा पूरै तर्कहीन हुन्छ। के त्यस्ता मानिसहरूलाई अगुवाका रूपमा संवर्धन गर्न सकिन्छ त? (अहँ, सकिँदैन।) कति मानिसहरू थोरै मानिसहरूसँग मात्र बल्लतल्ल कुरा गर्न सक्ने हुन्छन्; तिनीहरूले केही स्थितिहरू, रायहरू र सत्यताको बुझाइबारे सङ्गति गर्न सक्छन्, अनि तिनीहरूले अरूलाई साथ, आपूर्ति, र मदत दिन सक्छन्, तर अलि धेरै मानिसहरूमाझ तिनीहरू बोल्ने आँटै गर्दैनन्, र भयभीत हुन्छन्, अनि हडबडाएर आँसु समेत झार्न सक्छन्। के त्यस्ता मानिसहरूलाई संवर्धन गर्न सकिन्छ? अलि कमजोर र डरपोक मानवता भएको, र मञ्चमा जान डराउने यस प्रकारको व्यक्तिका सन्दर्भमा, यदि ऊसँग अगुवा बन्ने मानवता, सबलता, र बुझ्ने क्षमता छ भने, उसलाई समूह अगुवा वा मण्डली अगुवा बन्नका लागि संवर्धन गर्न सकिन्छ। सुरुमा उसलाई संवर्धन गर्ने र तालिम दिने काम मात्र गर्; केही समयका लागि अनुभव लिएपछि, उसले अन्तर्ज्ञान पाउनेछ र त्यसरी ऊ अलि बढी साहसी बन्नेछ, र त्यसउप्रान्त उसले बोल्न वा मञ्चमा जान डर मान्नेछैन। सारांशमा भन्नुपर्दा, हामीले भर्खर सङ्गति गरेका मानवताका विशेषता र सबलता भएका मानिसहरूको कुरा आउँदा, तिनीहरूको मानवताले मानक पूरा गरेसम्म, तिनीहरूलाई अगुवा बन्न संवर्धन गर्न सकिन्छ। हामीले यसभन्दा अघिल्लोपटक भनेजस्तै, कोही अगुवाका रूपमा संवर्धन हुनका लागि, उसले सबै सत्यताहरू बुझ्नैपर्छ, परमेश्वरमा समर्पित हुन सक्नैपर्छ, ऊसँग परमेश्वरको डर मान्ने हृदय, आदि इत्यादि हुनैपर्छ भन्ने हुँदैन। यी मापदण्डहरू पूरा गर्नु एकदमै अनिवार्य हुन्छ भन्ने हुँदैन। यदि कसैमा निश्चित क्षमता र आत्मिक बुझाइ छ, र ऊ सत्यता स्विकार्न सक्षम छ भने, उसलाई प्रवर्द्धन र संवर्धन गर्न सकिन्छ। के यो मानिसहरूलाई समझदारीपूर्वक प्रयोग गर्नु होइन र? (हो।) सबैभन्दा महत्त्वपूर्ण मापदण्ड भनेको व्यक्तिको मानवताले मानक पूरा गर्छ कि गर्दैन भन्ने नै हो।
मैले भनेका कुरा सुनेपछि, कति मानिसहरू त आफूले अगुवा बन्ने मापदण्ड पूरा गरिसकेको र त्यसैले आफूलाई प्रवर्द्धन गरिनुपर्ने महसुस गर्छन्। यो तिनीहरूमा हुने गलतफहमी हो, होइन र? के अगुवा हुनु त्यति सरल मामला हो? तिनीहरू यस्तो सोच्छन्, “म निकै विधिबद्ध छु, मसँग सङ्गठनात्मक सीपहरू छन्, र म कुशल वक्ता हुँ, जसले गर्दा म सबैभन्दा जटिल मामलाहरू पनि प्रस्ट रूपमा व्याख्या गर्न सक्छु भने, परमेश्वरको घरले मलाई किन प्रवर्द्धन गर्दैन? किन दाजुभाइ-दिदीबहिनीहरूले मलाई अगुवा छनोट गर्दैनन्? किन वरिष्ठ अगुवाहरूले म प्रतिभावान् छु भनेर देख्न सक्दैनन्?” चिन्ता नगर्। यदि तैँले अगुवा वा कामदार बन्ने मापदण्ड साँच्चै पूरा गर्छस् भने, ढिलोचाँडो, तँलाई प्रवर्द्धन गरिनेछ र तालिमको मौका दिइनेछ। अहिले महत्त्वको कुरो चाहिँ तैँले सत्यता अभ्यास गर्न र सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्न, र सक्रिय रूपमा अरूलाई मदत गर्न, अनि परमेश्वरका चुनिएका मानिसहरूका लागि वास्तविक समस्याहरू समाधान गर्न आफूले आफैलाई धेरै मात्रामा प्रशिक्षित गर्नु हो। जब परमेश्वरका चुनिएका मानिसहरूले तँसँग राम्रो क्षमता छ र तैँले वास्तविक समस्याहरू समाधान गर्न सक्छस् भन्ने देख्छन्, तब तिनीहरूले तँलाई सिफारिस र चयन गर्नेछन्। यदि तैँले अलिकति पनि वास्तविक काम गर्ने पहल नगरेर माथिले तँलाई अपवादका रूपमा अगुवा छनोट गर्ने वा प्रवर्द्धन गर्ने दिन कुरेर बसिस् भने, त्यो कहिल्यै हुनेवाला छैन। तैँले केही वास्तविक काम गर्नैपर्छ ताकि सबैले त्यो देख्न सकून्; एकपटक सबैले तेरा सबलताहरू आफै देखेपछि र तँ प्रवर्द्धन, संवर्धन र प्रयोग गरिनुपर्ने व्यक्ति होस् भन्ने महसुस गरेपछि, तिनीहरूले तँलाई स्वतः सिफारिस र चयन गर्नेछन्। यदि तँलाई अहिले नै आफू अगुवा हुन उपयुक्त भएको महसुस हुन्छ, तर कसैले पनि तँलाई चयन गरेको छैन, र परमेश्वरको घरले पनि तँलाई प्रवर्द्धन गरेको छैन भने, त्यो किन हो त? एउटा कुरा पक्का छ: तँ दाजुभाइ-दिदीबहिनीहरूका नजरमा अझै पनि स्विकारिएको छैनस्। सायद त्यो तेरो मानवताले हुन सक्छ, सायद त्यो तेरो पछ्याइले हुन सक्छ, अथवा त्यो तेरो सबलता वा क्षमताले हुन सक्छ। यदि दाजुभाइ-दिदीबहिनीहरूले तेरा यीमध्ये कुनै एउटा पक्षलाई स्वीकार र अनुमोदन गर्दैनन् भने, तिनीहरूले तँलाई चयन वा सिफारिस गर्नेछैनन्। त्यसैले तैँले कडा मेहनत र पछ्याइ जारी राख्नुपर्छ अनि आफूले आफैलाई प्रशिक्षित गरिरहनुपर्छ, अनि जब तैँले वास्तवमै सत्यता बुझ्छस् र सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्न सक्छस्, तब मानिसहरूले स्वतः तँलाई सिफारिस र चयन गर्नेछन्; यो त अनुकूल अवस्थामा कामकुरा स्वाभाविक रूपमा अघि बढ्ने कुरा हो। हरसमय अगुवा हुने आशा गरिरहने वा त्यसबारे सोचिरहने कुनै आवश्यकतै छैन; यो त एउटा अनर्गल चाहना हो। तँसँग साधारण हृदय हुनुपर्छ, तँ सत्यता पछ्याउने व्यक्ति हुनुपर्छ, तैँले परमेश्वरका अभिप्रायहरू ख्याल गर्नुपर्छ, साथै समर्पित र धैर्य हुन सिक्नुपर्छ। तँ अन्धाधुन्ध अगुवा बन्ने पछ्याइमा लाग्नु हुँदैन; त्यो त एउटा महत्त्वाकाङ्क्षा हो, र त्यो सही मार्ग होइन। तैँले जहिले पनि यही महत्त्वाकाङ्क्षा र चाहना राखिराख्नु हुँदैन। यदि तँसँग साँच्चै क्षमता भए पनि, तँ अगुवा वा कामदारका रूपमा सेवा प्रदान गर्ने कार्य गर्न योग्य हुनुअघि, सत्यता वास्तविकतामा प्रवेश गरुन्जेल तैँले कुर्नैपर्छ। यदि तँ सत्यता बुझ्दैनस् र तँलाई सत्यता कसरी अभ्यास गर्ने भन्ने थाहा छैन भने, तँलाई अगुवा वा कामदार बन्न छनोट गरिए पनि, तैँले कुनै वास्तविक काम गर्न सक्नेछैनस् र तँलाई बर्खास्त गर्नुपर्ने वा हटाउनुपर्ने हुनेछ, जुन प्रायः भई नै रहने कुरा हो। यदि तँ आफू अगुवा हुन योग्य भएको, आफूमा अगुवाइका लागि प्रतिभा, क्षमता र मानवता भएको ठान्छस्, तैपनि परमेश्वरको घरले तँलाई प्रवर्द्धन गरेको छैन र दाजुभाइ-दिदीबहिनीहरूले तँलाई चुनेका छैनन् भने, तैँले यस मामलालाई कुन रूपमा लिनुपर्छ? यहाँ तैँले पछ्याउन सक्ने एउटा अभ्यासको मार्ग छ। तैँले आफूलाई राम्ररी चिन्नैपर्छ। मुख्य कुरा तेरो मानवतामै समस्या हो कि, वा तेरो भ्रष्ट स्वभावको केही पक्षको प्रकाशले मानिसहरूलाई विकर्षित गरेको हो कि; वा तँसित सत्यता वास्तविकता नभएको र तँ अरूका लागि विश्वसनीय नभएको, वा तेरो कर्तव्य निर्वाहले मानक पूरा नगरेको हो कि भनेर हेर्। तैँले यी सारा कुराहरूबारे चिन्तन गरेर तेरो कमीकमजोरी ठ्याक्कै कहाँनेर छ भनेर हेर्नैपर्छ। तैँले केहीबेर चिन्तन गरेर आफ्नो समस्या कहाँ छ भनी पत्ता लगाइसकेपछि, तैँले त्यसलाई समाधान गर्न तत्कालै सत्यता खोज्नुपर्छ, र सत्यता वास्तविकतामा प्रवेश गर्नुपर्छ, अनि परिवर्तन हासिल गर्न र वृद्धि हुन लागिपर्नु पर्छ, ताकि तेरा वरिपरिकाले त्यो देखेपछि यसो भनून्, “आजकाल ऊ पहिलेभन्दा धेरै राम्रो भएको छ। उसले दह्रो काम गर्छ र आफ्नो पेसालाई गम्भीर रूपमा लिन्छ, साथै ऊ विशेष गरी सत्यता सिद्धान्तहरूमा केन्द्रित छ। उसले हडबडीमा र झाराटारुवा शैलीमा कामकुरा गर्दैन, र ऊ आफ्नो कामबारे झनै कर्तव्यनिष्ठ र जिम्मेवार छ। उसले बारम्बार ठूला कुरा गर्न मन पराउने, र लगातार सान देखाउने गर्थ्यो, तर अहिले ऊ धेरै नै विनम्र छ र हाबी हुँदैन। ऊ केही कामकुरा गर्न सक्षम भए पनि, उसले त्यसबारे धाक लगाउँदैन, र उसले केही गरिसकेपछि केही गलत पो गरियो कि भन्ने डरले त्यसबारे बारम्बार चिन्तन गर्छ। ऊ पहिलेभन्दा धेरै सावधानीपूर्वक र परमेश्वरको डर मान्ने हृदयले कार्य गर्छ—र सबैभन्दा बढी त उसले केही समस्याहरू समाधान गर्नका लागि सत्यताबारे सङ्गति गर्न सक्छ। ऊ वास्तवमै ठूलो भइसक्यो।” तँसित केही समय अन्तरक्रिया गरेका तेरा वरपरका मानिसहरूले तँमा स्पष्ट परिवर्तन र वृद्धि भएको पाउँछन्; तेरो मानव जीवन, आचरण र मामलाहरूको व्यवस्थापनमा, अनि आफ्नो कामप्रतिको तेरो मनोवृत्तिमा, र सत्यता सिद्धान्तहरूप्रतिको तेरो व्यवहारमा पनि, तँ पहिलेभन्दा धेरै मेहनत लगाउँछस्, र तैँले आफ्नो बोली र व्यवहारमा अत्यन्तै ध्यान पुर्याउँछस्। दाजुभाइ-दिदीबहिनीहरूले यो सबै कुरा देख्छन् र त्यसलाई हृदयमा लिन्छन्। सायद, त्यसपछि तैँले अर्को चुनावमा उम्मेदवारी दिन सक्नेछस्, र तँ अगुवाका रूपमा चुनिने आशा हुनेछ। यदि तैँले साँच्चिकै केही महत्त्वपूर्ण कर्तव्य पूरा गर्न सक्छस् भने, तैँले परमेश्वरको आशिष् प्राप्त गर्नेछस्। यदि तँमा साँच्चिकै बोझ र यस्तो जिम्मेवारी बोध छ, र तैँले भार बोक्ने इच्छा गर्छस् भने, चाँडो गरेर तालिम लिई। सत्यता अभ्यास गर्नमा ध्यान दे र सिद्धान्तहरूअनुसार कार्य गर्। तैँले जीवन अनुभव पाएर गवाहीका लेखहरू लेख्न सक्ने भएपछि, तँ साँच्चै परिपक्व भएको हुनेछस्। अनि यदि तैँले परमेश्वरका निम्ति गवाही दिन सक्छस् भने, तैँले निश्चय नै पवित्र आत्माको काम पाउन सक्छस्। यदि पवित्र आत्माले तँमा काम गरिरहनुभएको छ भने, यसको मतलब परमेश्वरले तँलाई निगाहका साथ हेर्नुहुन्छ, अनि तैँले पवित्र आत्माको मार्गदर्शन पाएपछि, तेरो अवसर चाँडै आउनेछ। अहिले तँसित बोझ होला, तर तेरो कद पर्याप्त छैन र तेरो जीवन अनुभव अति सतही छ, त्यसकारण यदि तँ अगुवा बनिहालिस् भने पनि, तैँले ठेस खाने सम्भावना हुन्छ। तैँले जीवन प्रवेश पछ्याउन, पहिला आफ्ना रवाफी चाहनाहरू सुल्झाउन, इच्छापूर्वक अनुयायी बन्न, र परमेश्वरले जे योजनाबद्ध वा प्रबन्ध गर्नुभए पनि त्यसप्रति कुनै गुनासो नगरी उहाँप्रति साँचो रूपमा समर्पित हुन जरुरी छ। जब तँसँग यो कद हुन्छ, तब तेरो अवसर आउनेछ। तैँले गह्रौँ भार बोक्ने इच्छा गर्नु र तँमा यो बोझ हुनु राम्रो कुरा हो। यसले तँमा प्रगति गर्न खोज्ने सक्रिय हृदय छ र तैँले परमेश्वरका अभिप्रायहरूको ख्याल राख्न र परमेश्वरको इच्छा पछ्याउन चाहन्छस् भन्ने देखाउँछ। यो कुनै महत्त्वाकाङ्क्षा नभई साँचो बोझ हो; यो सत्यता पछ्याउनेहरूको जिम्मेवारी र तिनीहरूको पछ्याइको लक्ष्य हो। तँसित कुनै स्वार्थी मनसायहरू छैनन् र तँ आफ्नै निम्ति काम गरिरहेको छैनस्, बरु परमेश्वरका निम्ति गवाही दिन र उहाँलाई सन्तुष्ट पार्न खोजिरहेको छस्—परमेश्वरद्वारा सबैभन्दा आशिषित् कुरा यही हो, र उहाँले तेरा लागि उचित प्रबन्धहरू गर्नुहुनेछ। अहिलेका लागि, तैँले केवल जीवन प्रवेश पछ्याउनमा ध्यान दे, सुरुमा आफ्नो कर्तव्य राम्ररी पूरा गर्, अनि त्यसपछि परमेश्वरको गवाही दिन केही अनुभवात्मक गवाही लेखहरू लेख्। यदि तेरा गवाहीहरू साँचो र व्यावहारिक छन् भने, ती पढ्ने मानिसहरूले तँलाई कदर गर्नेछन् र मन पराउनेछन्, र तिनीहरू तँसँग अन्तरक्रिया गर्न र तँलाई सिफारिस गर्न इच्छुक हुनेछन्, अनि त्यसरी तेरो अवसर आउनेछ। त्यसकारण, तैँले अवश्य नै अवसर आउनुअगावै आफूलाई सत्यताले सुसज्जित गर्नुपर्छ। सुरुमा व्यावहारिक अनुभव लिई, अनि त्यसपछि तँसँग स्वतः साँचो गवाही हुनेछ; तेरा कर्तव्यका नतिजाहरू झन्झन् राम्रा हुँदै जानेछन्, र त्यो बेलासम्म तैँले चाहे पनि तँ लुक्न सक्नेछैनस्, र तेरा वरपरका दाजुभाइ-दिदीबहिनीहरूले तँलाई सिफारिस गर्नेछन्। यस्तो किन हुन्छ भने, सत्यता वास्तविकता भएका मानिसहरू परमेश्वरको घरलाई मात्र होइन, परमेश्वरका चुनिएका मानिसहरूलाई पनि आवश्यक हुन्छन्; सत्यता वास्तविकता भएका मानिसहरूसँग सबैजना उठबस गर्न मन पराउँछन्, र सत्यता वास्तविकता भएका मित्रहरूसँग सबैजना जोडिन चाहन्छन्। यदि तैँले यो हदसम्म अनुभव गर्छस्, र सबैले तँसँग साँचो गवाही छ भन्ने देख्छन् र तँसँग सत्यता वास्तविकता छ भन्ने मान्छन् भने, तैँले चाहेर पनि तँ अगुवा बन्नबाट उम्किन सक्नेछैनस्, र दाजुभाइ-दिदीबहिनीहरूले तँलाई चयन गर्न जिद कस्नेछन्। कुरा त्यही होइन र? जब खर्चालु पुत्र पछाडि फर्किन्छ अनि परमेश्वरकहाँ फिर्ता आउँछ, तब परमेश्वर प्रसन्न र खुसी हुनुहुन्छ र उहाँलाई हृदयमा सान्त्वना मिल्छ। सत्यता वास्तविकता भएको व्यक्ति भएपछि, तँ कसरी परमेश्वरद्वारा प्रयोग नगरिन सक्छस् र? त्यो त असम्भव हुनेछ। परमेश्वरको अभिप्राय उहाँका निम्ति गवाही दिन सक्ने अझ धेरै मानिसहरू प्राप्त गर्नु हो; उहाँलाई प्रेम गर्ने सबैलाई सिद्ध पार्नु, र उहाँसँग एउटै हृदय र मन भएका मानिसहरूको एउटा समूहलाई सकेसम्म चाँडो पूर्ण बनाउनु हो। त्यसकारण, परमेश्वरका घरमा, सत्यता पछ्याउनेहरू सबैका ठूला सम्भाव्यताहरू छन्, र सच्चा रूपमा परमेश्वरलाई प्रेम गर्नेहरूको सम्भाव्यता असीमित छ। सबैले परमेश्वरको अभिप्राय बुझ्नुपर्छ। यो बोझ हुनु वास्तवमै सकारात्मक कुरा हो, र यो विवेक र समझ भएकाहरूमा हुनुपर्ने कुरा हो, तर गह्रौँ भार बोक्न सबै जना सक्षम हुनेछन् भन्ने छैन। यो अन्तर कहाँबाट आउँछ? तेरा तागत र सामर्थ्यहरू जति नै भए पनि, र तेरो बौद्धिक क्षमता जति उच्च भए पनि, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तेरो पछ्याइ र तैँले हिँड्ने मार्ग हो। यदि तेरो मानवताले मानक पूरा गर्छ र तँसँग निश्चित क्षमता पनि छ, तर तँ सत्यता पछ्याउने व्यक्ति होइनस्, र तँसँग असल मानवता र बोझको बोध अलिअलि मात्र छ भने, के तैँले मण्डलीको अगुवाइको काम राम्ररी गर्न सक्छस्? के तैँले सत्यता प्रयोग गरेर समस्याहरू सुल्झाउने प्रत्याभूति दिन सक्छस्? यदि तैँले त्यो प्रत्याभूति दिन सक्दैनस् भने, तँ आफ्नो काममा अझै पनि अयोग्य छस्। यदि तँलाई अगुवा बन्न चुनियो वा खटाइयो भने पनि, तँ काम गर्न अझै असक्षम नै हुनेथिइस्, त्यसैले त्यसको के फाइदा होला र? त्यसले तेरो आडम्बर पूरा गरे पनि, दाजुभाइ-दिदीबहिनीहरूलाई हानि पुऱ्याउनेछ र मण्डलीको काममा ढिलाइ गराउनेछ। यदि तैँले अगुवा वा कामदार बन्ने मापदण्ड पूरा गर्छस्, तँ सत्यता पछ्याउने व्यक्ति होस्, र तँसँग केही अनुभवात्मक गवाहीहरू पनि छन् भने, तैँले अगुवाइको काममा पक्कै पनि राम्रो गर्न सक्नेछस्, किनकि तँसँग अनुभवात्मक गवाहीहरू छन्, तँ सत्यता बुझ्ने व्यक्ति होस्, र तैँले मण्डली अगुवा हुनुको गह्रौँ बोझ वहन गर्न सक्छस्। तेरो मानवताले मानक पूरा गर्नु र तँसँग निश्चित सबलताहरू पनि हुनु त परमेश्वरको घरद्वारा प्रवर्द्धन, संवर्धन, र प्रयोग गरिनका लागि चाहिने आधारभूत मापदण्डहरू मात्र हुन्, तर तैँले अगुवाको काममा राम्रो कार्य गर्न सक्छस् कि सक्दैनस् भन्ने कुराचाहिँ तँसँग वास्तविक अनुभव र सत्यता वास्तविकता छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। कति मानिसहरू सही मानिस हुन्छन् र सत्यता पछ्याउँछन्, तर तिनीहरूले केवल ३ देखि ५ वर्ष मात्र विश्वास गरेका हुन्छन् र तिनीहरूसँग कुनै व्यावहारिक अनुभव हुँदैन। के त्यस्ता मानिसहरूले मण्डलीको अगुवाइको काम राम्ररी गर्न सक्छन्? अफसोस तिनीहरू काममा योग्य नै हुँदैनन्। तिनीहरू कहाँ चुक्छन्? तिनीहरूसँग व्यावहारिक अनुभव हुँदैन र तिनीहरूले अझै सत्यता बुझेका हुँदैनन्। तिनीहरूले धेरै शब्द र धर्मसिद्धान्तहरू बोल्न सक्ने भए पनि सत्यता प्रयोग गरेर समस्याहरू सुल्झाउन अझै सक्दैनन्। त्यसकारण, तिनीहरू अगुवाइको काममा अझै योग्य हुँदैनन् र तिनीहरूले सत्यताको बुझाइ र सत्यता वास्तविकतामा प्रवेश हासिल गर्नका लागि आफूले आफैलाई निरन्तर प्रशिक्षण दिइरहनुपर्छ। उदाहरणका लागि, एउटा व्यक्तिलाई लिऊँ जसको मानवता मानकअनुरूप छ र जो निकै इमानदार छ, र बिरलै झुटो बोल्ने वा छलछाम गर्ने गर्छ, र जसले बाधा वा अवरोध सिर्जना नगरी आफ्नो कर्तव्य पूरा गर्छ, तर ऊ सत्यता पछ्याउनमा कमजोर छ; के त्यस्तो व्यक्तिलाई अगुवा वा कामदार बन्नका लागि संवर्धन गर्न सकिन्छ? यो अति कठिन हुनेछ। यदि प्रवर्द्धन, संवर्धन र प्रयोग गरिनका लागि मापदण्ड पूरा गर्ने, तर सत्यता नपछ्याउने व्यक्तिलाई अगुवा वा कामदार बन्न प्रवर्द्धन गरियो भने, के ऊ सत्यता पछ्याउने व्यक्ति बन्न सक्षम हुन्छ? के उसले सत्यता पछ्याउन सुरु गर्न सक्छ? केही समयसम्म अगुवा वा कामदारका रूपमा काम गरेपछि, के ऊ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम हुन्छ? त्यो असम्भव हुनेछ। व्यक्तिले चाहे जुनसुकै मापदण्डहरू पूरा गरे पनि, ऊ सत्यता पछ्याउने व्यक्ति नहोउन्जेल, उसलाई अगुवा वा कामदारका रूपमा बिलकुलै चुन्नु वा प्रवर्द्धन गर्नु हुँदैन। यदि कुनै व्यक्तिसँग मानक पूरा गर्ने मानवता र क्षमता छ, र ऊ सत्यता स्विकार्न र केही परिवर्तनहरू भोग्न पनि सक्षम छ भने, उसलाई प्रवर्धन, संवर्धन र प्रयोग गर्न सकिन्छ, र फलस्वरूप, उसले त्यसपछि तालिम लिने, सत्यता वास्तविकतामा प्रवेश गर्ने, साथै मुक्ति र सिद्धताको मार्गमा हिँड्ने अवसर पाउनेछ। त्यसकारण, परमेश्वरको घरले चाहे जसलाई अगुवा, कामदार, वा सुपरिवेक्षकका रूपमा प्रवर्द्धन गरे पनि, त्यसको उद्देश्य तेरा व्यक्तिगत चाहना र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नु होइन, न त तेरा आकाङ्क्षाहरू नै पूरा गर्नु हो, बरु तँलाई मुक्तिको मार्गमा लाग्ने र सिद्ध व्यक्ति बन्ने अधिकार दिनु हो।
अलिक अपर्याप्त बौद्धिकता भएका मानिसहरूको कुरा गर्नुपर्दा, तिनीहरूमा पनि आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने तत्परता हुन्छ र तिनीहरू पनि परमेश्वरको घरका हितहरूको रक्षा गर्न चाहन्छन्, तर तिनीहरूमा बुद्धि हुँदैन, तिनीहरू सिद्धान्तहरूअनुसार कार्य गर्न जान्दैनन्, र तिनीहरूले कुनै पनि मामला छर्लङ्ग देख्न सक्दैनन्। कुनै न कुनै बेला, तिनीहरूले परीक्षा सामना गर्छन् र तिनीहरू त्यसमा फस्छन्, र फलस्वरूप, तिनीहरूले मण्डलीका हितहरूलाई विश्वासघात गर्छन्, दाजुभाइ-दिदीबहिनीहरूलाई विश्वासघात गर्छन्, र परमेश्वरको घरको काममा हानि पुऱ्याउँछन्। हामीले यस्ता प्रकारका पटमूर्ख र अपर्याप्त बौद्धिकता भएका मानिसहरूलाई कसरी निराकरण र व्यवहार गर्नुपर्छ? जब त्यस्ता आत्मिक बुझाइ नभएका र अपर्याप्त बौद्धिकता भएका मूर्खहरूको कुरा आउँछ, ती हरेकलाई बर्खास्त गर्नुपर्छ र तिनीहरूको कर्तव्य खटनपटन समायोजित गरिनुपर्छ, र ती एउटैलाई पनि प्रयोग गर्नु हुँदैन। यदि त्यस्ता मानिसहरूलाई प्रयोग गरियो भने, तिनीहरूले कुनै पनि बेला परमेश्वरको घरका काममा समस्या ल्याउन सक्छन्—यस्ता पाठहरू अत्यन्तै धेरै छन्। अचेल, बाहिरी रूपमा केही मानव रूप भएका मानिसहरू धेरै हुन्छन्, तर तिनीहरूले कुनै पनि सत्यता वास्तविकता सङ्गति गर्न सक्दैनन्। तिनीहरूले धेरै वर्ष परमेश्वरमा विश्वास गरेका हुन्छन् तैपनि तिनीहरू यही स्थितिमै रहिरहन्छन्। यो समस्याको जडलाई स्पष्ट रूपमा हेर्नुपर्छ; यो अत्यन्तै कमजोर क्षमता र आत्मिक बुझाइको अभाव रहेको समस्या हो। यस्ता मानिसहरूले चाहे जति धेरै वर्ष परमेश्वरमा विश्वास गरेका भए पनि तिनीहरू परिवर्तन हुनेछैनन्, र तिनीहरूले त्यतिका धेरै प्रवचन सुनेका बाबजुद कुनै उल्लेखनीय प्रगति गरेका हुँदैनन्। तिनीहरूलाई त छेउमा राखेर जेजति थोरै भए पनि सेवा प्रदान गराउन मात्र सकिन्छ। के यो तिनीहरूसँग व्यवहार गर्ने राम्रो तरिका हो कि होइन र? (यो राम्रो तरिका हो।) अपर्याप्त बौद्धिकता भएका र सबलता नभएका कति मानिसहरूले परमेश्वरका वचनहरू कैयौँ वर्ष पढे पनि ती पटक्कै बुझ्न सक्दैनन्, र कैयौँ वर्ष प्रवचनहरू सुनेका भए पनि ती बुझ्न सक्दैनन्। के यस्ता मानिसहरूलाई अझै परमेश्वरका वचनका पुस्तकहरू प्रदान गर्नु उपयोगी नै हुन्छ त? (अहँ, हुँदैन।) परमेश्वरका वचनका पुस्तकहरू अपर्याप्त बौद्धिकता भएका मानिसहरूलाई प्रदान गर्नु हुँदैन, किनभने त्यसो गर्नु अत्यन्तै व्यर्थ छ र त्यो खेर फाल्नुसरह हो, र तिनीहरूलाई प्रदान गरिएको कुनै पनि पुस्तक तुरुन्तै फिर्ता लिइनुपर्छ। यो तिनीहरूलाई परमेश्वरका वचनहरू पढ्ने अधिकारबाट वञ्चित गर्नलाई होइन, बरु तिनीहरूको बौद्धिकता नपुग्ने भएकोले हो। त्यस्ता मानिसहरूले मण्डली जीवन जिए पनि सत्यता बुझ्न सक्दैनन्, कर्तव्य पूरा गर्न सक्ने त कुरै छाडौँ। त्यस्ता मानिसहरू रद्दी हुन्, होइन र? तिमीहरूले रद्दीलाई सम्हाल्ने तरिका थाहा पाउनुपर्छ। कति मानिसहरू बाहिर निकै निष्कपट देखिन्छन्, तर तिनीहरूको बौद्धिकता यति खराब हुन्छ कि तिनीहरूले कुनै पनि शारीरिक कार्यसमेत राम्ररी पूरा गर्न सक्दैनन्, र तिनीहरू जे काम गर्छन्, त्यसलाई बिगारिदिन्छन्। यदि तिनीहरूलाई कुनै काम गर्न भनियो भने, तिनीहरूले निश्चय नै केही न केही क्षति गर्नेछन्, त्यसैले यस्ता मानिसहरूलाई प्रयोग गर्न मिल्दैन। यदि तैँले तिनीहरूलाई एक बाल्टिन पानी उचाल्न भनिस् भने, तिनीहरूले एक बोतल तेल पोखाउनेछन्। यदि तैँले तिनीहरूलाई एउटा कचौरा धुन भनिस् भने, तिनीहरूले एउटा थाल फुटाउनेछन्। यदि तैँले तिनीहरूलाई खाना पकाउन भनिस् भने, तिनीहरूले कि त अति धेरै कि त अति थोरै खाना पकाउनेछन्, अथवा त्यो कि त अति नुनिलो कि त अति खल्लो हुनेछ। तिनीहरूले मन लगाएरै त्यो काम गर्छन्, तर तिनीहरूले जति प्रयास गर्दा पनि त्यो काम राम्ररी गर्न सक्दैनन्, साथै तिनीहरूले शारीरिक श्रमका कार्यसमेत राम्ररी गर्दैनन्। के त्यस्ता मानिसहरूलाई प्रयोग गर्न सकिन्छ? (सकिँदैन।) त्यसोभए, यदि तिनीहरूलाई प्रयोग गर्न सकिँदैन भने, तिनीहरूलाई के गराउनुपर्छ? के त्यसको अर्थ तिनीहरूलाई परमेश्वरमा विश्वास गर्ने अनुमति छैन र परमेश्वरको घरले तिनीहरूलाई चाहँदैन भन्ने हो? अहँ, होइन। तिनीहरूलाई कर्तव्य निभाउन मात्र नदे। यदि तिनीहरूले सामान्य मानव जीवनको दायराभित्र हुने—सामान्य सुझबुझका कामकुरा र दैनिक जीवनका दिनचर्याका मामलाहरूलगायतका कुराहरू राम्ररी गर्दैनन् भने—वा तिनीहरू यी कामकुरा गर्न असक्षम छन् भने, तिनीहरू परमेश्वरका घरमा कर्तव्य निभाउन योग्य हुँदैनन्।
कति मानिसहरूसँग असल मानवता वा कुनै विशेष प्रतिभाहरू नहुने, र तिनीहरूलाई अगुवा बन्नका लागि संवर्धन गर्न झनै नसकिने भए पनि, तिनीहरूले अझै केही शारीरिक कार्यहरू गर्न सक्छन्। उदाहरणका लागि, कुखुरा र हाँसलाई चारो खुवाउनु, सुँगुरलाई चारो खुवाउनु, र भेडाको रेखदेख गर्नु तिनीहरूले राम्ररी गर्न सक्ने कार्यहरू हुन्। यदि तैँले तिनीहरूलाई सामान्य कार्य दिइस् भने, तिनीहरूले त्यसमा आफ्नो हृदय लगाउन्जेल त्यो कार्य राम्रोसँग गर्न सक्नेछन्, तसर्थ त्यस्ता मानिसहरूले परमेश्वरका घरमा कर्तव्य निर्वाह गर्न सक्छन्। त्यो एउटै सरल कार्य भए पनि, तिनीहरूले त्यसमा आफ्नो हृदय लगाउन र जिम्मेवारी पूरा गर्न सक्छन्, र तिनीहरूले परमेश्वरका वचनहरू र सत्यता सिद्धान्तहरूअनुसार आफूमाथि मागहरू राख्न पनि सक्छन्। चाहे कार्य ठुलो होस् वा सानो, अथवा काम महत्त्वपूर्ण होस् वा महत्त्वहीन, अन्ततः तिनीहरूले आफूलाई दिइएको एउटा काम त राम्ररी नै गर्न सक्छन्। तिनीहरूले कुखुरालाई सामान्य रूपमा अण्डा पार्ने गरी राम्रोसँग चारो खुवाउन सक्ने मात्र नभई ब्वाँसोले लानबाट पनि बचाउन सक्छन्। यदि ब्वाँसो कराएको सुनिएमा, तिनीहरूले तुरुन्तै आफ्नो सुपरिवेक्षकलाई भन्नेछन्, र परमेश्वरको घरले तिनीहरूलाई सुम्पेको कार्य र दायित्व निर्वाह गर्दा हुनसक्ने कुनै पनि दुर्घटनाबाट जोगिन लागिपर्नेछन्। यदि तिनीहरूले यसरी काम गर्छन् भने तिनीहरू तुलनात्मक रूपमा समर्पित नै हुन्छन्, र यसलाई आफ्नो जिम्मेवारी पूरा गर्न सकेको र काम राम्ररी गर्न सकेको मानिन्छ। बाँकी रहेको कुरामा—तिनीहरूको व्यक्तिगत जीवन, र तिनीहरूले कसरी व्यवहार गर्छन् र कामकुरा कसरी सम्हाल्छन् भन्ने कुरामा—तिनीहरू अलिक पछि पर्छन्; उदाहरणका लागि, तिनीहरूलाई अरूसँग कसरी अन्तरक्रिया वा कुराकानी गर्ने, वा अरूसँग आफ्नो स्थितिबारे कसरी सङ्गति गर्ने भन्ने थाहा हुँदैन, र तिनीहरू कहिलेकाहीँ मुरमुरिन्छन्। के यसलाई समस्या मानिन्छ? के तिनीहरूलाई यी समस्याकै कारण प्रयोग नगर्नु ठिक हो? (अहँ, होइन।) कति मानिसहरूको व्यक्तिगत सरसफाइ कमजोर हुन्छ; तिनीहरूले कम्तीमा १० दिनसम्म आफ्नो कपाल धुँदैनन् र तिनीहरू सामान्यतया गन्हाउँछन्। कति अरूचाहिँ, आफू वरपरका मानिसहरू विश्राम गरिरहँदा, खाँदैपिउँदै चर्को होहल्ला गर्छन्, र अरूबेला पनि हल्ला नै गर्छन्, जस्तै हिँड्दा, ढोका लाउँदा, र बोल्दा—तिनीहरू अशिक्षित हुन्छन् र तिनीहरूमा कुनै शिष्टता हुँदैन। त्यस्ता मानिसहरूलाई कस्तो व्यवहार गर्नुपर्छ? सबैजनाले बुझ्नुपर्छ, तिनीहरूलाई प्रेमिलो हृदयले सहयोग र साथ दिनुपर्छ, सामान्य मानवता के हो भन्नेबारे तिनीहरूसँग सङ्गति गर्नुपर्छ, र तिनीहरूलाई अलिअलि गर्दै परिवर्तन हुन दिनुपर्छ। तिमीहरू सबैजना सँगै भएकाले, तिमीहरूले मिलेर अघि बढ्न सिक्नुपर्छ। त्यस्ता मानिसहरूले आफ्नो कार्य उचित रूपमा गर्न, र कार्य वहन गर्न सकुन्जेल, र बाधा र अवरोध पुग्ने कुनै कुरा नगरुन्जेल तिनीहरूलाई प्रयोग गर्न सकिन्छ। कति मानिसहरू चलाख हुन्छन्, तिनीहरूसँग राम्रो क्षमता हुन्छ, र तिनीहरू लगनका साथ काम गर्छन्, साथै तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गर्न र अह्राइएको कार्य राम्ररी गर्न सक्छन्, त्यसैले तिनीहरूलाई संवर्धन र प्रयोग गर्न सकिन्छ। तर कति मानिसहरू अत्यन्तै कमजोर क्षमताका हुन्छन् र तिनीहरूले एउटा कार्यसमेत राम्ररी गर्न सक्दैनन्; तिनीहरूले कुखुरालाई चारो खुवाउने कार्य मात्र बल्लतल्ल सम्हाल्न सक्छन्, तर यदि तिनीहरूले हाँस र बतकलाई पनि चारो खुवाउनुपऱ्यो भने, तिनीहरू आत्तिनेछन् र तिनीहरूले त्यो काम गर्न जान्नेछैनन्। तिनीहरूले त्यो राम्ररी गर्न नचाहने होइन, बरु तिनीहरूको क्षमता नै अत्यन्तै कमजोर हुन्छ। तिनीहरूको दिमागको आफ्नै सीमा हुन्छ, तिनीहरूले एउटा मात्र कार्य गर्न जानेका हुन्छन्, र यदि तिनीहरूलाई अर्को एउटा कार्य गर्न दिइयो भने, तिनीहरूले त्यसलाई सम्हाल्नै सक्दैनन्। तिनीहरूलाई कसरी योजना गर्ने भन्ने नै थाहा हुँदैन, त्यसैले तिनीहरूले काम सबै भद्रगोल पार्छन्। त्यस्ता मानिसहरू एक समयमा एउटा कार्य गर्न मात्र योग्य हुन्छन्। तिनीहरूलाई धेरै कार्यहरू नदे, किनभने तिनीहरू ती वहन गर्न असक्षम हुन्छन्। तिनीहरूले एउटा कार्य राम्ररी गर्न सक्छन् भने निश्चय नै दुई-तीनवटा कार्य पनि गर्न सक्छन् भन्ने नसोच्; त्यस्तै नै हुन्छ भन्ने छैन, र यो तिनीहरूको क्षमतामा निर्भर हुन्छ। सुरुमा तिनीहरूलाई दुइटा कार्य गर्ने प्रयास गर्न दे। यदि तिनीहरूको क्षमता राम्रो छ र तिनीहरूले त्यो वहन गर्न सक्छन् भने, त्यसपछि तैँले तिनीहरूका लागि त्यस्तै प्रबन्ध गर्न सक्छस्। यदि तिनीहरूले सँगसँगै दुइटा कार्य राम्ररी गर्न सक्दैनन्, र काम अस्तव्यस्त पारिदिन्छन् भने, त्यसको अर्थ त्यो तिनीहरूको क्षमताभन्दा बाहिर छ भन्ने हुन्छ, त्यसैले तैँले तिनीहरूको दोस्रो कार्य तुरुन्तै फिर्ता लिनुपर्छ। किनभने अवलोकन र परीक्षणमार्फत तैँले तिनीहरू एक समयमा विविध जटिल कार्यहरूभन्दा एउटा कार्य गर्न मात्र योग्य छन्, र तिनीहरूसँग यसो गर्ने क्षमता छैन भन्ने पत्ता लगाइसकेको छस्। कति मानिसहरू तुलनात्मक रूपमा चलाख र राम्रो क्षमताका हुन्छन्, र यदि तैँले तिनीहरूलाई धेरै कार्यहरू गर्न दिइस् भने, तिनीहरूले ती राम्ररी गर्न सक्छन्। उदाहरणका लागि, यदि तैँले तिनीहरूलाई खाना पकाउन, चल्लालाई खुवाउन, अनि तरकारी बारी सम्हाल्न भनिस् भने, तिनीहरूले हरेक दिन समयमै खाना तयार गर्न सक्छन्, फुर्सदको समयमा तरकारी बारी सम्हाल्न सक्छन्, समयमै मलजल गर्न र झार उखेल्न सक्छन्, र चल्लालाई समयमै खुवाउन सक्छन्। कति मानिसहरूले भन्न सक्छन्, “तिनीहरूसँग यो क्षमता भएकोले, तिनीहरूलाई नै मण्डलीको कामको जिम्मेवारी लिन र मण्डली अगुवा बन्न दिनुस्।” के त्यो ठिक हुनेछ? तिनीहरू केही शारीरिक काम र दैनिक कार्यहरू वहन गर्न सक्षम भए पनि, मण्डली अगुवा बन्नका लागि छुट्टै मूल्याङ्कन गर्नुपर्ने हुन्छ; त्यो तिनीहरूले यी सरल बाहिरी कार्यहरू गरेको आधारमा मापन गर्न सकिने कुरा होइन। किनभने मण्डली अगुवा हुनु भनेको शारीरिक कार्य होइन, त्यसलाई त अगुवाइका सिद्धान्तहरूद्वारा नै मापन गर्नुपर्छ। तर, यदि यो व्यक्तिसँग मण्डली अगुवा बन्ने क्षमता र प्रतिभा छ, र उसको मानवता राम्रै छ भने, तैँले उसलाई बाहिरी कार्यहरूमा खटाउनु अनुचित हुन्छ; त्यसलाई मानिसहरूलाई अनुचित रूपमा प्रयोग गरेको भनिन्छ। बढीमा, मण्डली अगुवाहरूले दैनिक जीवनसँग सम्बन्धित थप एउटा अंशकालिक कार्य गर्न सक्छन्, र आफू व्यस्त नहुँदा यसमा अलिकति बढी चासो राख्न सक्छन्—यसले तिनीहरूलाई थकित बनाउनेछैन। जब मामुली, दैनिक मामलाहरू र यी शारीरिक कार्यहरूको कुरा आउँछ, मानिसहरूले सकेजति गरे हुन्छ। के ती सबै वहन गर्न सक्ने कोही छ? के त्यस्तो क्षमता भएको कोही छ? (छैन।) उसको क्षमता र सक्षमता पर्याप्त हुन सक्छ, तर ऊसँग एउटा कुरा पर्याप्त हुनेछैन, र त्यो हो, ऊर्जा। मानिसहरू मरणशील हुन्छन्, तिनीहरूको ऊर्जा सीमित हुन्छ, र तिनीहरूले जिम्मा लिन सक्ने कार्यहरूको सङ्ख्या पनि सीमित हुन्छ। धेरै ऊर्जा भएका मानिसहरूले दिनमा १२ घण्टा काम गर्न सक्लान्, जबकि औसत ऊर्जा भएका मानिसहरूले सामान्यतया आठ घण्टा काम गर्न सक्छन्, र कम ऊर्जा भएका मानिसहरूले त चारपाँच घण्टा मात्र काम गर्न सक्छन्। त्यसकारण, तैँले कुनै व्यक्तिलाई चाहे शारीरिक कार्य गर्न प्रयोग गर्, मण्डली अगुवाइको काममा प्रयोग गर्, वा पेसागत सीप सम्बन्धी काममा प्रयोग गर्, तैँले ऊ केका लागि सबैभन्दा उपयुक्त छ भनेर ख्याल गर्नुपर्छ, र उसलाई सबैभन्दा उपयुक्त काममा खटाएपछि, यदि उसले त्यो गर्न सकेन भने, उसलाई कुनै अर्को काममा खटाउनुपर्छ। यदि ऊ जे गर्नका लागि सबैभन्दा उपयुक्त छ, त्यसअनुसार तैँले उसलाई काम अह्राइनस् भने, मानिसहरूलाई प्रयोग गर्ने तेरो तरिका नै गलत छ। प्रवर्द्धन, संवर्धन, र प्रयोगका लागि प्राथमिकतामा पर्न नसक्ने मानिसहरूलाई शारीरिक कार्यहरू गराउँदा पनि तिनीहरूलाई क्षमता र सक्षमताका आधारमा नै यी कार्यहरूमा खटाइनुपर्छ। यदि तिनीहरूले एउटा अह्राइएको काम राम्ररी गरिरहेकै समयमा अझै अरू कार्यहरू गर्न सक्छन् भने, तिनीहरूलाई अल्पकालीन रूपमा थोरै अरू शारीरिक कार्यहरू गराउन सकिन्छ, तर त्यसले तिनीहरूको मुख्य काममा असर पार्नु हुँदैन। कति मानिसहरू शारीरिक रूपमा बलवान् हुन्छन् र लगालग तिन्टा काम गर्न सक्छन्; एउटा काम सकाएपछि तिनीहरूसँग अझै ऊर्जा बाँकी हुन्छ, र तिनीहरू धेरैजसो समय फुर्सदमै नै हुन्छन्। तर झुटा अगुवाहरू अन्धा हुन्छन् र तिनीहरूलाई कामको खटनपटन गर्न आउँदैन, र तिनीहरूले यो समस्या हो भनेर महसुस गरेका हुँदैनन्, त्यसैले तिनीहरूले ती मानिसहरूलाई एउटा मात्र कार्य गर्न खटाउँछन्, जुन गल्ती हो।
म भर्खरै कुनै विशेष सीप नभएका र शारीरिक श्रम मात्र गर्न सक्ने अपर्याप्त बौद्धिकता भएका मानिसहरूबारे कुरा गरिरहेको थिएँ। कतिपय त्यस्ता मानिसहरू पनि हुन्छन् जसले कुनै रोगका कारण शारीरिक श्रमसमेत गर्न सक्दैनन्, अनि अलिकति कुनै शारीरिक काम गर्नेबित्तिकै तिनीहरूलाई टाउको दुख्ने, पेट दुख्ने, र ढाड दुख्ने हुन्छ। यदि यस प्रकारका मानिसहरू कर्तव्य निर्वाह गर्न उपयुक्त छन् भने तिनीहरूलाई कर्तव्यमा खटाउँदा के गर्नुपर्छ? तिनीहरू परमेश्वरका घरमा कुन-कुन कर्तव्य निर्वाह गर्न उपयुक्त छन् भनी निश्चित गर्न तिनीहरूको स्वास्थ्य स्थिति साथसाथै मानवता र क्षमताजस्ता विभिन्न पक्षहरूलाई हेर्नैपर्छ। यदि तिनीहरूको स्वास्थ्य अति खराब छ र तिनीहरूले कुनै कार्य गर्न सक्दैनन्, र केही समय काम गरेपछि नै तिनीहरूले विश्राम गर्नुपर्ने हुन्छ, र कसैले तिनीहरूको ख्याल राख्नुपर्छ भने, यदि तिनीहरूले आफै राम्ररी कर्तव्य पूरा गर्न सक्दैनन् र तिनीहरूको हेरचाह गर्न कोही खटाउनैपर्छ भने, त्यो बिलकुलै सार्थक हुँदैन। त्यस्ता मानिसहरूले कर्तव्य निर्वाह गर्न उचित हुँदैन, त्यसैले तिनीहरूलाई घर गएर निको हुन दे। तैँले चाहे जे गरे पनि, हावाको झोँकाले नै लडाउला झैँ गर्ने गम्भीर बिरामी कसैलाई प्रयोग नगर्। यदि तिनीहरूको स्वास्थ्य अत्यन्तै कमजोर छैन र बस तिनीहरूले गलत खाना खाएमा तिनीहरूको पेट दुख्ने, र दिमाग धेरै चलाएमा तिनीहरूको टाउको दुख्ने मात्र हो, त्यसैले तिनीहरूले साधारण मानिसहरूभन्दा तीनचार घण्टा कम काम गर्न सक्छन्, वा साधारण व्यक्तिले गर्नेभन्दा आधा काम गर्न सक्छन् भने, त्यस्ता मानिसहरूले अरू मापदण्डहरू पूरा गरेसम्म तिनीहरूलाई अझै प्रयोग गर्न सकिन्छ। तर यदि तिनीहरूले आफै कुरा उठाएर “मेरो स्वास्थ्य यो कठिनाइ सहनका लागि अत्यन्तै कमजोर छ। म निको हुन घर जान चाहन्छु। म निको भएपछि फर्केर आउनेछु र आफ्नो कर्तव्य पूरा गर्नेछु” भनेर भनेमा, ढिलाइ नगरी सहमति जना र तिनीहरूको सोच्ने तरिकाबारे तिनीहरूलाई परामर्श दिने प्रयास नगर्; तैँले त्यसो गरे पनि त्यसले कुनै नतिजा दिनेछैन। एउटा भनाइ नै छ, “मन नलगाई गोरु जोते, खेत बाँझो रहन्छ”; सबैका आस्था, सङ्कल्प, र पछ्याइहरू फरकफरक हुन्छन्। कति मानिसहरूले भन्न सक्छन्: “तिनीहरूले कहिलेकाहीँ असहज र कम ऊर्जावान् महसुस गर्ने मात्र होइन र? मानिसहरूले गलत खानेकुरा खाए भने तिनीहरूलाई असहज हुन सक्छ, तर केही दिनपछि तिनीहरू ठिक हुनेछन्; के तिनीहरू घर गएर निको हुनु आवश्यक छ र? के एक रात मस्त निदाएपछि तिनीहरूलाई टाउको दुख्न र चक्कर लाग्न छोड्नेछैन र? के तिनीहरूले त्यसपछि सामान्य रूपमा काम गर्न सक्नेछैनन् र? के यो त्यस्तो ठूलो कुरा हो र?” यो तेरा लागि ठुलो कुरा नहुन सक्छ, तर कति मानिसहरू आफ्नो देहलाई कति हदसम्म प्रिय ठान्छन् भन्ने सन्दर्भमा अरूभन्दा फरक हुन्छन्, र कति मानिसहरूमा वास्तवमै स्वास्थ्य समस्याहरू हुन्छन्। त्यस्ता अवस्थामा, यदि तिनीहरूले विश्राम गरेर निको हुनका लागि घर फर्कने अनुरोध प्रस्ताव गरेमा, मण्डलीले तुरुन्तै सहमति जनाउनुपर्छ, तिनीहरूमाथि माग थोपर्नु हुँदैन, तिनीहरूका लागि कामकुरा कठिन बनाउनु हुँदैन, र विशेष गरी तिनीहरूलाई तिनीहरूको सोच्ने तरिकाबारे परामर्श दिने प्रयास गर्नु हुँदैन। कति झुटा अगुवाहरूले त यसो भन्दै यस्ता मानिसहरूमाथि निरन्तर काम गर्छन्: “परमेश्वरको काम अहिले कुन हदमा पुगेको छ, हेर। विपत्तिहरू झन्झन् ठूला भइरहेका छन्, चार रक्त चन्द्रहरू देखा परेका छन्, र अहिले महामारी यति व्यापक भएको छ कि गैरविश्वासीहरू बाँच्ने कुनै उपाय नै छैन! तिमी परमेश्वरका घरमा आफ्नो कर्तव्य निर्वाह गरिरहेका छौ र परमेश्वरको अनुग्रहमा रमाइरहेका छौ—तिमी खतराको जोखिममा हुनेछैनौ र तिमीले सत्यता र जीवन पनि प्राप्त गर्न सक्नेछौ—त्यो कति ठुलो आशिष् हो! तिम्रो यो सानो समस्या केही पनि होइन। तिमीले त्यसमाथि विजय प्राप्त गरेर परमेश्वरलाई प्रार्थना गर्नुपर्छ। परमेश्वरले तिमीलाई पक्कै निको पार्नुहुनेछ। बस परमेश्वरका वचनहरू पढ्यौ, र अझै केही भजनहरू सिक्यौ भने, तिमीले आफ्नो रोगलाई दिमागमा नराखेको खण्डमा, त्यो स्वतः निको हुनेछ। के परमेश्वरका वचनहरूले, ‘बिमारबारे मात्र सोचेर बस्नु भनेको बिरामी हुनु हो’ भन्दैनन् र? तिमी अहिले बिमारबारे मात्र सोचिरहेका छौ। यदि तिमीले बिरामी हुनेबारे सोचिरह्यौ भने त्यो बिमारले गम्भीर रूप लिनेछ। यदि तिमीले त्यसबारे सोचेनौ भने तिम्रो रोग हराउनेछ, होइन र? त्यसरी, तिम्रो आस्था बढ्नेछ र तिमी आराम गर्न घर जान चाहनेछैनौ। तिमी आराम गर्न घर जानु भनेको देहसुखको लालच गर्नु हो।” तिनीहरूको सोच्ने तरिकाबारे तिनीहरूलाई परामर्श गर्न नखोज्, त्यसो गर्नु मूर्खता हो। तिनीहरू थोरै क्षणिक असहजतामा पनि टिक्न सक्दैनन् र आराम गर्न घर जान मात्र चाहन्छन्, र सानो कठिनाइ पनि पार गर्न सक्दैनन्, तिनीहरू सच्चा रूपमा आफ्नो कर्तव्य निर्वाह गरिरहेका छैनन् भन्ने प्रमाणित गर्छ। वास्तवमा, यस प्रकारका मानिसहरूसँग लामो समय कर्तव्य निर्वाह गर्ने कुनै अभिप्राय हुँदैन, तिनीहरूले कुनै सच्चाइका साथ कर्तव्य निर्वाह गर्दैनन्, तिनीहरू मूल्य चुकाउन अनिच्छुक हुन्छन्, र अहिले तिनीहरूले बल्ल पूर्ण रूपमा उम्कने एउटा अवसर र बहाना भेट्टाएका हुन्छन्। हृदयमा, तिनीहरू आफू अति बाठो भएको र यो बिमार एकदम ठिक समयमा आएको भनेर रमाइरहेका हुन्छन्। त्यसैले तैँले चाहे जेसुकै गर्, तर तिनीहरूलाई बस्न अनुरोध नगर्। तिनीहरूलाई बस्न अनुरोध गर्ने जोकसैलाई तिनीहरूले घृणा गर्नेछन् र तिनीहरूको सोच्ने तरिकाबारे परामर्श दिन खोज्नेलाई तिनीहरूले सराप्नेछन्। के तैँले यो बुझ्दैनस्? अवश्य नै, कति मानिसहरू त साँच्चै बिरामी हुन्छन्, र लामो समयदेखि बिरामी रहेका हुन्छन्, र अझै धेरै लागिरहे तिनीहरूको जीवन खतरामा हुनेछ भन्ने डर मान्छन्। तिनीहरू परमेश्वरका घरमा कुनै समस्या ल्याउन, वा अरू मानिसहरूको कर्तव्य निर्वाहमा असर पार्न चाहँदैनन्। तिनीहरू एकपटक आफ्नो स्वास्थ्य बिग्रेपछि आफ्नो हेरचाहका लागि दाजुभाइ-दिदीबहिनीहरूको भर पर्नुपर्नेछ भन्ने महसुस गर्छन्, र परमेश्वरको घरलाई आफ्नो हेरचाह गराउन तिनीहरूलाई नराम्रो लाग्छ, त्यसैले तिनीहरूले बुद्धिमानीपूर्वक बिदा माग्ने पहल गर्छन्। यो परिस्थितिलाई कसरी सम्हाल्नुपर्छ? त्यसैगरी, ढिलाइ नगरी तिनीहरूलाई घर गएर आराम गर्न दिएर सम्हाल्नुपर्छ। परमेश्वरको घरलाई समस्यासँग डर हुँदैन, तर यसले मानिसहरूको इच्छाविपरीत तिनीहरूमाथि कामकुरा लाद्न चाहँदैन। त्यसबाहेक, सबै मानिसहरूसँग केही न केही व्यक्तिगत र वास्तविक कठिनाइहरू हुन्छन्। देहमा जिउने मानिसहरू सबै बिरामी हुन्छन्, र देहगत रोग वास्तवमै अस्तित्वमा हुने समस्या हो—हामी तथ्यहरूलाई सम्मान गर्छौँ। कति मानिसहरू गम्भीर अस्वस्थताका कारण साँच्चै आफ्नो कर्तव्य पूरा गर्न असक्षम हुन्छन्, र यदि तिनीहरूलाई परमेश्वरको घरले सुविधा दिनुपर्ने, वा दाजुभाइ-दिदीबहिनीहरूले औषधि वा केही उपचार परामर्श दिनुपर्ने अवस्था छ भने, परमेश्वरको घर यी कुरा प्रदान गर्न खुसी नै हुनेछ। यदि तिनीहरू परमेश्वरको घरलाई असहजतामा पार्न चाहँदैनन् र तिनीहरूसँग आफ्नो रोगको उपचार गर्ने पैसा, उपाय र क्षमता छ भने, त्यो पनि ठिकै हो। सारांशमा, यदि तिनीहरूको स्वास्थ्यले तिनीहरूलाई परमेश्वरका घरमा निरन्तर कर्तव्य निर्वाह गर्न वा परमेश्वरको घरद्वारा निरन्तर संवर्धित हुन दिँदैन भने, तिनीहरूले जायज रूपमा अनुरोध राख्न सक्छन्, र परमेश्वरको घरले त्यसमा तुरुन्तै सहमति जनाउनेछ। कसैले पनि तिनीहरूलाई तिनीहरूको सोच्ने तरिकाबारे परामर्श दिनु हुँदैन, वा मागहरू लाद्नु हुँदैन, किनकि त्यसो गर्नु अनुचित र तर्कविहीन हुनेछ। यस्ता प्रकारका मानिसहरूका लागि गरिएका प्रबन्धहरू यिनै हुन्।
केही विशेष प्रकारका मानिसहरूलाई कसरी व्यवहार गर्ने
अ. आफ्नो उचित काममा ध्यान नदिने मानिसहरूलाई कसरी व्यवहार गर्ने
कतिपय मानिसहरूमा सन्तोषजनक मानवता हुन्छ, तिनीहरूसँग सबलता र तेज दिमाग हुन्छ, तिनीहरू सामान्य रूपमा बोल्छन्, तिनीहरू सामान्यतया निकै आशावादी हुन्छन्, र तिनीहरू कर्तव्य निर्वाह गर्नमा निकै सक्रिय हुन्छन्, तर तिनीहरूमा एउटा खोट हुन्छ, र त्यो के हो भने, तिनीहरू अत्यन्तै भावुक हुन्छन्। परमेश्वरलाई पछ्याउँदा र मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्दा, तिनीहरूले निरन्तर आफ्ना परिवार र आफन्तहरूलाई याद गर्ने, वा आफ्नो गृहनगरमा मिठो खाना खाएकोबारे सोच्ने गर्छन्, र ती खानेकुरा खान नपाउँदा तिनीहरूलाई पीडा हुन्छ, र त्यसले तिनीहरूको कर्तव्य निर्वाहमा असर गर्छ। अर्को प्रकारका व्यक्ति पनि हुन्छ, जो आफ्नै निजी ठाउँमा, एक्लै एउटै स्थानमा जिउन मन पराउँछ। जब ऊ दाजुभाइ-दिदीबहिनीहरूसँग हुन्छ, उसलाई कामको गति अति तीव्र भएको अनि जिउनका लागि ऊसँग निजी स्थान नै नभएको महसुस हुन्छ। उसले निरन्तर दबाब महसुस गर्छ, र दाजुभाइ-दिदीबहिनीहरूसँग जिउँदा सधैँ बन्धनमा परेको र असहज महसुस गर्छ। ऊ सधैँ आफूखुसी गर्न अनि लिप्त हुनका लागि स्वतन्त्र हुन चाहन्छ। ऊ अरू सबैसँग कर्तव्य निर्वाह गर्न चाहँदैन, र ऊ घर फर्कनेबारे निरन्तर सोच्छ। उसलाई परमेश्वरका घरमा आफ्नो कर्तव्य निर्वाह गर्नु सधैँ अप्रिय लाग्छ। दाजुभाइ-दिदीबहिनीहरूसँग सजिलै मिल्न सक्ने भए पनि र परमेश्वरका घरमा उसलाई कसैले नहेप्ने भए पनि, उसलाई काम र आरामको तालिकामा अडिग रहन अलिक गाह्रो नै हुन्छ—बिहान सबै जना उठिसकेपछि, ऊ सुतिरहन नै चाहन्छ, तर उसलाई त्यसो गर्न लाज लाग्छ, र जब राति सबै जनाले आराम गर्न थालिसकेका हुन्छन्, ऊ सुत्न जान चाहँदैन र आफूलाई चाख लाग्ने केही कुरा गर्न चाहन्छ। कहिलेकाहीँ उसलाई कुनै कुरा निकै खान मन लागेको हुन्छ, तर त्यो चमेनागृहमा उपलब्ध हुँदैन, र उसलाई त्यो माग्न निकै लाज लाग्छ। कहिलेकाहीँ ऊ हिँडडुल गर्न जान चाहन्छ, तर अरू कसैले पनि त्यसो गरौँ भनेर भन्दैन, त्यसैले उसले आफै त्यसो गर्ने आँट नै गर्दैन। ऊ सधैँ होसियार र सावधान रहन्छ, र हाँसोको पात्र हुन, हेयको दृष्टिले हेरिन, वा बचकाना कहलिन डराउँछ। यदि उसले आफ्नो कर्तव्य राम्ररी पूरा नगरेमा, कहिलेकाहीँ ऊ काटछाँटमा पर्छ। ऊ हरदिन बेचैन महसुस गर्छ, मानौँ उसले पातलो बरफमा टेकिरहेको छ, र ऊ अत्यन्तै बेखुसी हुन्छ। उसले यसो सोच्छ, “मलाई याद छ जब म घरमा थिएँ, म परिवारको सानो बाबु थिएँ, स्वतन्त्र र नबाँधिएको, एउटा सानो स्वर्गदूतजस्तै थिएँ। म कति खुसी थिएँ! म अहिले परमेश्वरका घरमा कर्तव्य निर्वाह गरिरहेको छु, मेरो पुरानो अस्मिताका चिन्हहरू कसरी मेटिए? म उप्रान्त, मैले गर्ने गरेको जस्तो, जे मन लाग्यो त्यो गर्न सक्दिनँ,” र त्यसैले ऊ यस प्रकारको जीवन जिउन चाहँदैन। तर उसले यो कुरा आफ्नो अगुवालाई सुनाउने आँट नै गर्दैन, र आफू वरपरका मानिसहरूमा यी सोचहरू निरन्तर फैलाउँछ, उसलाई सधैँ घरको याद आउँछ, र ऊ राति खाटमा अरूले थाहा नपाउनेगरी रुन्छ। यस्ता प्रकारका मानिसहरूलाई के गर्नुपर्छ? यो मामलाबारे सचेत हुने जोकोहीले ढिलाइ नगरी यसको रिपोर्ट गर्नुपर्छ, अगुवाले त्यो रिपोर्ट साँचो हो कि होइन भनेर तुरुन्तै निश्चित गर्नुपर्छ, र हो भने, त्यस व्यक्तिलाई घर जाने अनुमति दिन सकिन्छ। उसले परमेश्वरको घरको खानपान, र सत्कारमा रमाइरहेको हुन्छ, तर ऊ अझै पनि आफ्नो कर्तव्य निर्वाह गर्न अनिच्छुक हुन्छ र सधैँ आफ्नै मुडमा हुन्छ, दुखी र अप्रसन्न महसुस गर्छ, त्यसैले उसलाई सक्दो चाँडो आफ्नो बाटो लगाइदे। यस्ता खालका मानिसहरूका यी मुडहरू क्षणिक हुँदैनन्, र तिनीहरूले सोचविचार गरेर यी मुड समाधान गर्दैनन्—तिनीहरूको अवस्था त्यस्तो हुँदैन। कति मानिसहरूको आत्मगत इच्छा भनेको दृढतापूर्वक कर्तव्य निर्वाह गर्ने हुन्छ, र घरको याद आए पनि तिनीहरूलाई त्यो कस्तो खालको समस्या हो भन्ने थाहा हुन्छ, र तिनीहरू सत्यता खोजेर त्यसलाई समाधान गर्न सक्षम हुन्छन्। यी मानिसहरूका हकमा, तिनीहरूलाई जान दिनु वा तिनीहरूबारे चिन्ता गर्नु जरुरी हुँदैन। हामीले कुरा गरिरहेको अवस्थाचाहिँ आफ्नो जीवनको तेस्रो दशकमा हुँदा पनि अझै बच्चाजस्तै व्यवहार गर्ने, कहिल्यै वयस्क नहुने, र सधैँ अस्थिर रहने मानिसहरूको हो। तिनीहरू अह्राइएको कुरा मात्र गर्छन्, र केही काम नहुँदा, रमाइलो गर्ने र असान्दर्भिक विषयहरूबारे गफगाफ गर्नेबारे सोच्छन्, तर आफ्नो उचित काममा ध्यान दिन कहिल्यै चाहँदैनन्। गैरविश्वासीहरू ३० वर्षको उमेरमा स्थापित भइसक्नेबारे कुरा गर्छन्। स्थापित हुनु भनेको आफ्नो उचित काममा ध्यान दिनु, कार्य वहन गर्न र आफ्नो भरणपोषण आफै गर्न सक्षम हुनु, आफ्नो उचित व्यवसायमा ध्यान दिन जान्नु, रमाइलोमा कम समय बिताउनु, र आफ्नो उचित काममा ढिलाइ नगर्नु हो। “बच्चाजस्तै व्यवहार गर्नु” भन्नुको अर्थ के हो? त्यसको अर्थ कुनै पनि उचित काम वहन गर्न असक्षम हुनु, सधैँ मनलाई बरालिन दिन चाहनु, र निरन्तर डुल्न, घुम्न, मस्ती गर्न, खाजा खान, नाटक हेर्न, असान्दर्भिक कुराहरूबारे गफ गर्न, गेम खेल्न, र इन्टरनेटमा असामान्य घटना र असाधारण कथाहरू खोज्न चाहनु हो। त्यसको अर्थ भेलाहरूमा सहभागी हुने झुकाव कहिल्यै नराख्नु, भेलाहरू हुँदा सधैँ सुत्न चाहनु, निन्द्रा लाग्नेबित्तिकै ढल्कन चाहनु, र भोक लाग्नेबित्तिकै खान चाहनु, स्वेच्छाचारी हुनु र उचित काममा ध्यान नदिनु हो। यस्ता मानिसहरूमा खराब मानवता नै हुन्छ भनेर भन्न सकिँदैन, यति मात्र हो कि, तिनीहरू कहिल्यै वयस्क हुँदैनन् र सधैँ अपरिपक्व रहिरहन्छन्। तिनीहरू ३० वर्षको उमेरमा पनि यस्तै हुन्छन्, र ४० वर्षको उमेरमा पनि अझै यस्तै नै हुन्छन्; तिनीहरू परिवर्तन हुन सक्दैनन्। यदि तिनीहरूले छोडी जाने अनुरोध गर्छन् र उप्रान्त आफ्नो कर्तव्य निर्वाह गर्न चाहँदैनन् भने, यसलाई कसरी सम्हाल्नुपर्छ? परमेश्वरको घरले तिनीहरूलाई बस्न अनुरोध गर्दैन। तैँले तिनीहरूलाई तुरुन्त जबाफ दिनुपर्छ—तिनीहरूलाई तुरुन्तै जान दे र गैरविश्वासीहरूमाझ फर्कन दे, र तिनीहरूलाई परमेश्वरमा विश्वास गर्छु भनेर बिलकुलै नभन्नू भनेर भन्दे। के आफ्ना उचित कामहरूमा ध्यान नदिने मानिसहरूले सत्यता प्राप्त गर्न सक्छन् त? यदि तँ तिनीहरूले परमेश्वरका घरमा कर्तव्य निर्वाह गर्दै आफ्नो मानवताको हिसाबले परिपक्व हुने र आफ्नो उचित काममा ध्यान दिने, कुनै महत्त्वपूर्ण काम काँधमा लिन सक्षम हुने, र त्यसपछि सत्यता बुझ्ने र अभ्यास गर्ने र मानव रूपमा जिउने अपेक्षा राख्छस् भने, तँ त्यसमा बिलकुलै ढुक्क हुनु हुँदैन। तैँले कुनै पनि समूहमा यस्ता मानिसहरू भेट्नेछस्। गैरविश्वासीहरूसँग यस्ता मानिसहरूको उपनाम हुन्छ: “लाठे बच्चाहरू।” यस्ता मानिसहरू त आफ्नो उचित काममा कहिल्यै ध्यान नदिई ६० वर्ष पुगेका हुन सक्छन्। तिनीहरूले अनुचित रूपमा बोल्ने र कामकुरा सम्हाल्ने गर्छन्, तिनीहरू जहिल्यै हाँसिरहने, जिस्किरहने, र यताउता उफ्रिरहने गर्छन्, तिनीहरू कुनै पनि कुरा गम्भीरतापूर्वक गर्दैनन्, र रमाइलो गर्न मात्र विशेष चाख राख्छन्। परमेश्वरको घरले यस्ता मानिसहरूलाई प्रयोग गर्न सक्दैन।
के तिमीहरूलाई यी “लाठे बच्चाहरू” खराब हुन्छन् जस्तो लाग्छ? के तिनीहरू दुष्ट मानिस हुन्? (होइनन्।) तीमध्ये केहीचाहिँ दुष्ट मानिस होइनन्, र तिनीहरू निकै सरल हुन्छन्, र खराब हुँदैनन्। तीमध्ये केहीचाहिँ निकै दयालु हृदयका अनि अरूलाई मदत गर्न इच्छुक हुन्छन्। तर तिनीहरू सबैमा एउटा खोट हुन्छ—तिनीहरू स्वेच्छाचारी हुन्छन्, रमाइलो गर्न मन पराउँछन्, र आफ्नो उचित काममा ध्यान दिँदैनन्। उदाहरणका लागि, मानौँ कि एउटी महिलाले विवाह गरेपछि घरगृहस्थीको काम गर्न सिक्दिन। उसले खुसी हुँदा मात्र खाना पकाउँछे, बेखुसी हुँदा पकाउँदिन—उसलाई हरसमय फकाउनुपर्छ। यदि कसैले उसलाई केही गराउन चाहन्छ भने, ऊसँग सम्झौता गर्नुपर्ने, र उसको निगरानी गर्नुपर्ने हुन्छ। उसलाई सधैँ राम्रोसँग सजिन मन पर्छ ताकि ऊ किनमेल गर्न, कपडाहरू र सौन्दर्य सामाग्रीहरू किन्न अनि सौन्दर्य उपचार गर्न बाहिर जान सकून्। जब ऊ घर फर्किन्छे, उसले एउटा पनि काम गर्दिन, तास र माह्जोंग खेल्न मात्र चाहन्छे। यदि तैँले उसलाई एक किलो बन्दाको कति मूल्य पर्छ भनेर सोधिस् भने, उसलाई थाहा हुँदैन; यदि तैँले उसलाई भोलि उसले के खाने हो भनेर सोधिस् भने, उसलाई त्यो पनि थाहा हुँदैन; र यदि तैँले उसलाई केही पकाउन भनिस् भने, उसले त्यसलाई भद्रगोल पार्छे। त्यसोभए ऊ के कुरामा चाहिँ सबैभन्दा पोख्त हुन्छे? ऊ कुन रेस्टुराँले सर्वोत्तम खाना बनाउँछ, कुन पसलमा सबैभन्दा फेसनेबल कपडाहरू पाइन्छ, र कुन पसलले किफायती र प्रभावकारी सौन्दर्य-सामाग्री बेच्छ भन्नेजस्ता कुरामा पोख्त हुन्छे, तर उसले कसरी दिन बिताउने, वा सामान्य मानव जीवनमा आवश्यक सीपहरू के-के हुन् भन्नेजस्ता अरू कुराहरू बुझ्दिन वा सिक्दिन। के उसमा अपर्याप्त क्षमता भएकोले उसले यी कुराहरू नसिक्ने हो त? होइन, त्यस्तो होइन। ऊ जे कुरामा पोख्त छे त्यो मूल्याङ्कन गर्दा, ऊसँग क्षमता छ, तर ऊ आफ्नो उचित काममा ध्यान दिँदिन। ऊसँग खर्च गर्नका लागि पैसा भएसम्म, ऊ रेस्टुराँमा खान र मेकअपका सरसामान र कपडा किन्न बाहिर जान्छे। यदि घरमा दिउरी र तावा नभएर उसलाई ती किन्न भनियो भने, उसले भन्छे, “मीठो खाना बाहिर नै किन्न पाइन्छ, मैले त्यो सबै किन किन्नुपर्यो?” यदि घरमा भ्याक्युम क्लिनर बिग्रिएको छ, र उसलाई नयाँ भ्याक्युम क्लिनर किन्ने पैसा जोगाउन एउटा कपडा कम किन्न भनियो भने, उसले भन्छे, “जब म भविष्यमा पैसा कमाउँछु, म घर सफा गर्न कामदार राख्नेछु, त्यसैले भ्याक्युम क्लिनर किन्नु पर्दैन।” सामान्यतया, यदि ऊ गेम वा माह्जोंग खेलिरहेकी छैन भने, ऊ चलेको पहिरन किनिरहेकी हुन्छे, र उसले कहिल्यै घर सफा गर्दिन। यो आफ्नो उचित काममा ध्यान नदिनु हो, होइन र? अनि केही पुरुषहरू पनि छन्, जो अलिकति पैसा कमाउनेबित्तिकै त्यो पैसाले कार किन्छन् वा जुवा खेलेर उडाउँछन्। यदि घरमा केही बिग्रिएको छ भने, तिनीहरूले त्यसलाई मर्मत गर्दैनन्। तिनीहरूले उचित तरिकाले दिन बिताउँदैनन्। तिनीहरूका घरमा, फ्रिज चल्दैन, न वासिङ् मेसिन नै चल्छ, नालीहरू जमेका हुन्छन्, र पानी पर्दा छाना चुहिन्छ, र तिनीहरूले यी कुराहरू लामो समयसम्म मर्मत गर्दैनन्। तिमीहरू यस्ता पुरुषहरूबारे के सोच्छौ? तिनीहरूले आफ्नो उचित काममा ध्यान दिँदैनन्। पुरुष होऊन् वा महिला, परमेश्वरको घरले अति स्वेच्छाचारी र आफ्नो उचित काममा ध्यान नदिने मानिसहरूलाई प्रयोग गर्न सक्दैन।
कति मानिसहरूले आमाबाबुका रूपमा आफ्नो उचित काममा ध्यान दिँदैनन्, र तिनीहरू छोराछोरीको उचित हेरचाह गर्न असफल हुन्छन्। फलस्वरूप, तिनीहरूका छोराछोरीहरूलाई उम्लेको पानीले पोल्छ वा ठक्कर वा घर्षणको चोट लाग्छ; कति छोराछोरीहरूले नाक भँचाउँछन्, कति अरूले तातो चुलोमा बसेर नितम्ब पोल्छन्, र कति अरूले उम्लेको पानी पिएर घाँटी पोल्छन्। यस्ता मानिसहरूले आफूले गर्ने कुनै पनि कुरामा ध्यान दिँदैनन्, र कुनै पनि कुरा उचित तरिकाले गर्न सक्दैनन्। तिनीहरूले आफ्नो उचित काममा ध्यान दिँदैनन्, नौटङ्की गर्छन्, र तिनीहरू स्वेच्छाचारी हुन्छन् र रमाइलो गर्न मन पराउँछन्, र तिनीहरू एउटा व्यक्तिले वहन गर्नुपर्ने जिम्मेवारी वहन गर्न असक्षम हुन्छन्। तिनीहरू आमाबाबुका रूपमा आफ्ना जिम्मेवारी पूरा गर्न असक्षम हुन्छन् र ध्यानशील हुँदैनन्। त्यसैले, के त्यस्ता मानिसहरूले परमेश्वरका घरमा सामान्य मानिसहरूले वहन गर्नुपर्ने जिम्मेवारी वहन गर्न सक्छन् त? अहँ, पटक्कै सक्दैनन्। आफ्नो उचित काममा ध्यान नदिने मानिसहरूलाई प्रयोग गर्न सकिँदैन। यदि तिनीहरूले अबउप्रान्त आफ्नो कर्तव्य निर्वाह गर्न चाहँदिनँ भनेर भन्छन् र घर फर्कने अनुरोध गर्छन् भने, तिनीहरूलाई तुरुन्तै जान दे। कसैले पनि तिनीहरूलाई बस भनेर जोड दिनु वा आग्रह गर्नु हुँदैन, किनकि यो तिनीहरूको प्रकृतिसँग सम्बन्धित समस्या हो, यो कहिलेकाहीँ हुने, अस्थायी प्रकटीकरण होइन। परमेश्वरका घरमा कर्तव्य निर्वाह गर्न आउँदा ती मानिसहरू भ्रमहरूले भरिएका थिए; तिनीहरूले कर्तव्य निर्वाह गर्नु र परमेश्वरलाई पछ्याउनु भनेको अदनको बगैँचामा आउनु, र कनानको असल भूमिमा हुनुजस्तै हो भन्ठान्थे। तिनीहरूले कल्पना गरेको जीवन अद्भुत थियो, त्यहाँ दिनभर खानपिन गर्नका लागि राम्रा कुराहरू हुन्थे, स्वतन्त्रता हुन्थ्यो र कुनै बन्धन हुन्थेन, र कुनै पनि काम बिलकुलै गर्नुपर्थेन। तिनीहरू फुर्सदै फुर्सदको मस्त जीवन जिउन चाहन्थे, तर त्यो त तिनीहरूको कल्पनाभन्दा एकदम फरक हुन पुग्यो। यी मानिसहरूले चाहिँदोभन्दा बढी अनुभव गरिसकेका छन्, र तिनीहरूलाई यो ठाउँ झ्याउलाग्दो र निरस लाग्छ, र तिनीहरू छोडिजान चाहन्छन्, त्यसैले ढिलाइ नगरी तिनीहरूलाई जान दे, परमेश्वरको घरले ती मानिसहरूलाई बस्न आग्रह गर्दैन। परमेश्वरको घरले मानिसहरूलाई जोरजबर्जस्ती गर्दैन, र तिमीहरूले पनि गर्नु हुँदैन; यो नै सत्यता अभ्यास गर्नु र सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्नु हो। तिमीहरूले सत्यता सिद्धान्तहरूअनुरूप काम गर्नुपर्छ, तिमीहरू परमेश्वरका अभिप्रायहरू बुझ्ने, बुद्धिमान् व्यक्ति बन्नुपर्छ—अन्योलमा परेको व्यक्ति नबन, वा अन्धाधुन्ध मान्छे खुसी पारिहिँड्ने व्यक्ति नबन। आफ्नो उचित काममा ध्यान नदिने मानिसहरूलाई यसरी सम्हाल—के यसलाई प्रेमिलो नहुनु वा मानिसहरूलाई पश्चात्ताप गर्ने मौका नदिनु मान्न सकिन्छ? (अहँ, सकिँदैन।) परमेश्वर सबैप्रति निष्पक्ष हुनुहुन्छ, र परमेश्वरको घरसँग तँलाई प्रवर्द्धन, संवर्धन र प्रयोग गर्ने अधिकार हुन्छ। यदि तँ कर्तव्य निर्वाह गर्न अनिच्छुक छस्, र तैँले मण्डली छोड्ने अनुरोध गर्छस् भने, त्यो तेरो स्वतन्त्र छनोटको कुरा हो, त्यसैले मण्डली तेरो अनुरोधसँग सहमत हुनुपर्छ, त्यसले तँलाई पटक्कै जोरजबर्जस्ती गर्नेछैन। यो नैतिकताअनुरूप हुनु हो, मानवताअनुरूप हुनु हो, र अवश्य नै, यो विशेष रूपले सत्यता सिद्धान्तहरूअनुरूप हुनु हो। यो एकदम उचित कार्यविधि हो! यदि कसैले निश्चित समयसम्म कर्तव्य निर्वाह गर्छ, र उसलाई त्यो थकाइलाग्दो र कठिन लाग्छ, र अब ऊ त्यो कर्तव्य निर्वाह गर्न खुसी छैन, र फलस्वरूप कर्तव्य त्याग्न र परमेश्वरमा विश्वास गर्न छोड्न चाहन्छ भने, आज म तँलाई यसको स्पष्ट जबाफ दिन्छु, र त्यो के हो भने, परमेश्वरको घर यसमा सहमत हुनेछ, र यसले कहिल्यै तँलाई जबरजस्ती बस्न लगाउनेछैन, वा तेरो लागि परिस्थिति कठिन बनाउनेछैन। यसमा कुनै दुबिधा छैन, र तैँले आफू अप्ठ्यारोमा परेको, वा आफूले इज्जत गुमाएको महसुस गर्नुपर्दैन। यो परमेश्वरको घरका लागि त झन् समस्या नै बन्दैन, र परमेश्वरको घरले तँमाथि पनि कुनै मागहरू थोपर्दैन। अझ भन्ने हो भने, यदि तँ छोडी जान चाहन्छस् भने, परमेश्वरको घरले तेरो निन्दा गर्ने वा तेरो बाटो छेक्नेछैन, किनकि यो तैँले रोजेको मार्ग हो, र परमेश्वरको घरले तेरा मागहरू पूरा गरिदिन मात्र सक्छ। के यो उचित कार्यविधि हो? (हो।)
मैले भर्खरै मानिसहरूले आफ्ना काममा ध्यान नदिने कैयौँ अवस्थाहरूको सूची प्रस्तुत गरेको छु। परमेश्वरको घरले यी मानिसहरूलाई जोरजबर्जस्ती गर्नेछैन; यदि तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्न अनिच्छुक छन् वा तिनीहरूका कुनै व्यक्तिगत कठिनाइहरू छन् र तिनीहरूले उप्रान्त कर्तव्य निर्वाह नगर्ने अनुरोध गर्छन् भने, परमेश्वरको घर सहमत हुनेछ। यसले उप्रान्त तिनीहरूलाई प्रयोग गर्नेछैन, र तिनीहरूलाई कर्तव्य निर्वाह गर्न दिनेछैन। त्यस्ता मानिसहरूलाई यसरी नै सम्हालिन्छ, र यो पूर्ण रूपमा उचित कार्यविधि हो।
आ. यहूदाहरूलाई कसरी व्यवहार गर्ने
कति मानिसहरू अत्यन्तै कमजोर हृदयका हुन्छन्, र तिनीहरू कुनै दाजुभाइ वा दिदीबहिनी पक्राउ परेको खबर सुन्दा आफू पक्राउ परिन्छ भनेर अत्यन्तै डराउँछन्। यो स्पष्ट छ कि, यदि तिनीहरू पक्राउ परे भने, तिनीहरूले मण्डलीलाई घात गर्ने खतरा हुन्छ। त्यस्ता मानिसहरूलाई कसरी सम्हाल्नुपर्छ? के यी मानिसहरू केही महत्त्वपूर्ण कर्तव्य निभाउन उपयुक्त हुन्छन्? (अहँ, हुँदैनन्।) कति मानिसहरूले यस्तो भन्न सक्छन्, “कसले चाहिँ आफू यहूदा बन्नेछैन भनेर प्रत्याभूति दिन सक्छ र?” यदि यातना दिइयो भने, कसैले पनि तिनीहरू कहिल्यै यहूदा बन्नेछैनन् भनेर प्रत्याभूति दिन सक्दैन। त्यसोभए, परमेश्वरको घरले यहूदा बन्न सक्ने डरपोक मानिसहरूलाई किन प्रयोग गर्दैन? किनकि जो मानिसहरू स्पष्ट रूपमा डरपोक हुन्छन्, तिनीहरूले कुनै पनि बेला पक्राउ परेर विश्वासघात गर्न सक्छन्; यदि त्यस्ता मानिसहरूलाई महत्त्वपूर्ण कर्तव्य निर्वाह गर्न प्रयोग गरियो भने, कामकुरा बिग्रने अत्यन्तै धेरै सम्भावना हुन्छ। मूलभूमि चीनको खतरनाक वातावरणमा मानिसहरू छनोट र प्रयोग गर्दा, यो बुझ्नैपर्ने एउटा सिद्धान्त हो। एउटा विशेष परिस्थिति छ, त्यो के हो भने, कतिपय मानिसहरूलाई गम्भीर रूपमा लामो समयसम्म यातना दिइएको छ, जसले तिनीहरूको जीवन खतरामा पारेको छ, र अन्ततः तिनीहरूले त्यो साँच्चै सहनै सकेनन्, त्यसैले तिनीहरू कमजोरीका कारण यहूदा बने र तिनीहरूले केही नगण्य कुराहरूमा विश्वासघात गरे। त्यस्ता मानिसहरूलाई कसैले पनि छर्लङ्ग देख्न सक्दैन, र ती मानिसहरूलाई अझै पनि प्रयोग गर्न सकिन्छ। तर पक्राउ पर्नुअघि नै आफू उम्किने बाटो तयार पारेर राखेका मानिसहरू पनि हुन्छन्। तिनीहरूले पक्राउ परेपछि कुनै पनि यातना भोग्नु नपर्ने गरी कसरी तुरुन्तै रिहाइ सुरक्षित गर्ने—पहिलो कुरा, यातनाबाट जोगिने, दोस्रो कुरा, सजाय सुनाइनबाट जोगिने, र तेस्रो कुरा, कैद पर्नबाट जोगिने—भनेर लामो समय गहन रूपमा सोचविचार गरेका हुन्छन्। तिनीहरूले सोच्ने भनेकै यसरी नै हो। तिनीहरूमा यहूदा बन्नुभन्दा त बरु कष्ट वा कैद भोग्छु भन्ने सङ्कल्प हुँदैन। तिनीहरू त यातना नै नभोगी विश्वासघातमा लाग्न सक्छन्, त्यसैले के तिनीहरू पक्राउ र कैद पर्नुअघि नै यहूदा भइसकेका हुन्छन् भनी भन्न सकिन्छ? (सकिन्छ।) वास्तविक यहूदाहरू यिनै हुन्। के मण्डलीले यस प्रकारका मानिसहरूलाई प्रयोग गर्ने आँट गर्छ? (अहँ, गर्दैन।) यदि तिनीहरूलाई पहिचान गर्न सकियो भने, तिनीहरूलाई संवर्धन र प्रयोग बिलकुलै गर्नु हुँदैन। यी मानिसहरू सामान्यतया कसरी प्रकट हुन्छन्? तिनीहरू अत्यन्तै कमजोर हृदयका हुन्छन्। केही गडबड हुनेबित्तिकै, तिनीहरू पहिलो मौकामै आफ्ना जिम्मेवारीहरूबाट पन्छिन्छन्, र अलिकति जोखिम सामना गर्दैमा तिनीहरू कर्तव्य त्यागेर भाग्छन्। हरेक पटक वातावरण खतरनाक बनेको छ भन्ने सुन्दा, तिनीहरूले लुक्नका लागि सुरक्षित ठाउँ खोज्छन्; कसैले पनि तिनीहरूलाई भेट्टाउन सक्दैन, र तिनीहरू कसैको सम्पर्कमा रहँदैनन्। तिनीहरूले अत्यन्तै राम्ररी गर्ने कार्य भनेकै लुकेर बस्नु हो। तिनीहरू मण्डलीको कामले के-कस्ता कठिनाइहरू भोगिरहेको छ भनेर वास्ता गर्दैनन्, र तिनीहरू हरप्रकारको महत्त्वपूर्ण काम पन्छाउन सक्षम हुन्छन्; तिनीहरू आफ्नो सुरक्षालाई अरू कुनै पनि कुराभन्दा महत्त्वपूर्ण ठान्छन्। त्यसमाथि, खतरा सामना गर्दा, जबजब केही कुरा आइपर्छ, तिनीहरूले अरूलाई खतरा र जोखिम उठाउन लगाउँछन्, जबकि तिनीहरू चाहिँ आफ्नै सुरक्षा गर्छन्। तिनीहरूले अरूलाई चाहे जति नै धेरै खतरामा पारे पनि आफ्नो सुरक्षाका खातिर यसो गर्नु सार्थक र उचित हुन्छ भन्ने सोच्छन्। साथै, खतरा सामना गर्नुपर्दा, तिनीहरू प्रार्थना गर्न हतारिँदै परमेश्वरसामु आउने गर्दैनन्, न त तिनीहरूले खतरामा हुन सक्ने दाजुभाइ-दिदीबहिनी वा मण्डलीको सम्पत्ति स्थानान्तर गर्ने प्रबन्ध नै गर्छन्। बरु, तिनीहरूले सुरुमा कसरी उम्किने, कसरी लुक्ने र कसरी आफूलाई खतराबाट निकाल्ने भनेर निकै गहन रूपमा सोचविचार गर्छन्। तिनीहरूसँग त उम्केर भाग्ने योजना—अर्थात् पक्राउ परेमा सुरुमा कसलाई घात गर्ने, यातनामा पर्नबाट कसरी जोगिने, कैद सजाय हुनबाट कसरी जोगिने, र सङ्कष्टबाट कसरी जोगिने—भन्ने युक्ति पहिल्यै तयार हुन्छ। जबजब तिनीहरूलाई कुनै प्रकारको सङ्कष्ट आइपर्छ, तिनीहरू अत्यन्तै डराउँछन् र तिनीहरूसँग एकरत्ती पनि आस्था हुँदैन। के यस प्रकारका मानिसहरू खतरनाक हुँदैनन् र? यदि तिनीहरूलाई जोखिमयुक्त काम लिन आग्रह गरियो भने, तिनीहरू त्यसबारे गनगन गरिरहन्छन्, तिनीहरू डराउँछन् र भागेर जानेबारे निरन्तर सोच्छन्, र त्यो काम गर्न अनिच्छुक हुन्छन्। यस्ता खालका मानिसहरूले पक्राउ पर्नुभन्दा अघि नै यहूदा बन्ने सङ्केत देखाइसक्छन्। अनि पक्राउ परेपछि, तिनीहरूले मण्डलीलाई घात गर्ने कुरा शतप्रतिशत निश्चित हो। परमेश्वरका घरमा आफ्नो कर्तव्य निर्वाह गर्दा, तिनीहरू आफूलाई जोखिममा नपारी चर्चामा ल्याउने सबथोकमा निकै सक्रिय हुन्छन्; तर जोखिम लिने कुरा आउँदा, तिनीहरू पछि हट्छन्, र तैँले तिनीहरूलाई कुनै जोखिमपूर्ण कार्य गर्न भनिस् भने, तिनीहरूले त्यो गर्नेछैनन्, जिम्मेवारी नै लिनेछैनन्। एक पटक कतै भएको खतराबारे सुनेपछि, उदाहरणका लागि, ठूलो रातो अजिङ्गरले पक्राउ गरिरहेको छ, वा केही विश्वासीहरू पक्राउ परेका छन् भन्ने कुरा सुनेपछि, तिनीहरू भेलाहरूमा सहभागी हुन छोड्छन्, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूसँग सम्पर्क गर्न छोड्छन्, र तिनीहरूलाई कसैले भेट्टाउन सक्दैन। अफवाहहरू सेलाएपछि र सबथोक ठिक भए पछि, तिनीहरू फेरि देखा पर्छन्। के यस प्रकारका मानिसहरू भरपर्दा हुन्छन्? के तिनीहरूले परमेश्वरका घरमा कर्तव्य निर्वाह गर्न सक्छन्? (सक्दैनन्।) किन सक्दैनन्? तिनीहरूसँग यहूदा नबन्ने सङ्कल्प वा कामनासमेत हुँदैन; तिनीहरू डरपोक, रुन्चे, र केही न कामका हुन्छन्। यस्ता खालका मानिसहरूको एउटा स्पष्ट विशेषता हुन्छ, र त्यो के हो भने, तिनीहरूसँग जेसुकै सबलता वा क्षमताहरू भए पनि, यदि परमेश्वरको घरले तिनीहरूलाई प्रयोग गर्छ भने, तिनीहरूले परमेश्वरको घरका हितहरूको रक्षा गर्न कहिल्यै सम्पूर्ण हृदयले आफूलाई समर्पित गर्नेछैनन्। के तिनीहरू परमेश्वरको घरका हितहरूको रक्षा गर्न असक्षम हुने हुनाले तिनीहरूले त्यसो नगर्ने हुन् त? अहँ, कुरो त्यो होइन; तिनीहरूसँग यो क्षमता भए पनि तिनीहरूले परमेश्वरको घरका हितहरूको रक्षा गर्नेछैनन्। तिनीहरू खाँटी यहूदाहरू हुन्। आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा जबजब तिनीहरूले गैरविश्वासीहरूसँग व्यवहार गर्नुपर्ने हुन्छ, तबतब तिनीहरूले तिनीहरूसँग सामञ्जस्यपूर्ण सम्बन्ध कायम राख्छन् र आफूलाई तिनीहरूले उच्च ठान्ने, सम्मान र प्रशंसा गर्ने कुरा सुनिश्चित गर्छन्। त्यसोभए यो सब प्राप्त गर्नका लागि तिनीहरूले तिर्ने मूल्य के हो त? त्यो भनेको, व्यक्तिगत महिमा र स्वार्थको सट्टामा परमेश्वरको घरका हितहरूमा घात गर्नु हो। यस प्रकारको व्यक्ति पक्राउ पर्नुअघि नै अत्यन्तै डरपोक हुन्छ, र पक्राउ परेपछि त ऊ विश्वासघातमा लाग्ने शतप्रतिशत निश्चित हुन्छ। परमेश्वरको घरले यस्ता मानिसहरू—यी यहूदाहरूलाई बिलकुलै प्रयोग गर्न मिल्दैन—र त्यसले तिनीहरूलाई सक्दो चाँडो हटाउनैपर्छ।
यहूदा प्रकारका मानिसहरूको कुरा गर्नुपर्दा, बाहिर दुष्ट मानिसझैँ नदेखिए पनि, तिनीहरू वास्तवमै अत्यन्तै कम निष्ठा र दुष्ट चरित्र भएका मानिसहरू हुन्। तिनीहरूले जति धेरै प्रवचन सुने पनि वा परमेश्वरका वचनहरू पढे पनि सत्यता बुझ्नै सक्दैनन्, न त तिनीहरूले परमेश्वरको घरका हितहरूमा हानि पुऱ्याउनु सबैभन्दा लज्जास्पद, दुष्ट, र दुर्भावपूर्ण कुरा हो भन्ने नै महसुस गर्छन्। तिनीहरू त्यस्ता कामकुरामा अघि सर्न इच्छुक हुन्छन् जसले तिनीहरूलाई अरूका नजरमा पार्छन्, तर जब कामकुरा जोखिमपूर्ण, वा सम्हाल्न जटिल हुन्छ, तब तिनीहरूले ती अरूलाई जिम्मा लिन र सामना गर्न दिन्छन्। तिनीहरू कस्ता प्रकारका मानिस हुन्? के तिनीहरू अत्यन्तै कम निष्ठा भएका मानिस होइनन् र? कति मानिसहरूले परमेश्वरको घरका लागि सामानहरू किन्छन्, र त्यसो गर्दा, तिनीहरूले परमेश्वरको घरका हितहरूलाई ख्याल गर्नुपर्ने, अनि निष्पक्ष र समझदार हुनुपर्ने हुन्छ। तर, यहूदा प्रकारका मानिसहरू परमेश्वरको घरका हितहरूको रक्षा गर्न असफल हुने मात्र हुँदैनन्, बरु उल्टै परमेश्वरको घरलाई घाटा हुनेगरी गैरविश्वासीहरूलाई सहयोग गर्छन्, र हरेक मौकामा गैरविश्वासीहरूका मागहरू पूरा गर्छन्, र यदि त्यसले तिनीहरूलाई गैरविश्वासीहरूको चापलुसी गर्न मदत गर्छ भने बरु परमेश्वरको घरका हितहरूमा हानि पुग्न दिन्छन्। यसलाई जुन थालमा खानु त्यही थालमा चुठ्नु भनिन्छ, र यो सद्गुणहीन हुनु हो! के यो घृणास्पद मानवता हुनु होइन र? यो यहूदाले प्रभु र आफ्ना मित्रहरूलाई घात गर्नु भन्दा त्यति राम्रो कुरा होइन। परमेश्वरको घरले तिनीहरूलाई चाहे जे सुम्पे पनि तिनीहरूले परमेश्वरको घरका हितहरूलाई ख्याल गर्दैनन्। केही कुरा किन्न लगाउँदा, तिनीहरू ठगीबाट जोगिन, परमेश्वरको घरको अलिकति भए पनि पैसा जोगाउन, र परमेश्वरको घरका हितहरूलाई हानि हुन नदिन विभिन्न पसलहरू घुमेर विभिन्न विक्रेताहरूले प्रस्ताव गर्ने मूल्य, गुणस्तर र बिक्रीपछिका सेवाहरू तुलना गर्ने, र त्यसपछि विकल्पहरूबारे ध्यानपूर्वक सोचविचार गर्ने र उचित जाँच गर्ने गर्दैनन्—तिनीहरूले कहिल्यै त्यसो गर्दैनन्। यदि कुनै दाजुभाइ वा दिदीबहिनीले पसलहरू घुम्नु उत्तम हुन्छ भनेर सुझाव दियो भने, तिनीहरूले यसो भन्छन्, “पसलहरू घुमिरहनु आवश्यक छैन; विक्रेताले उसको समान सर्वोत्कृष्ट छ भनेको छ।” त्यो दाजुभाइ वा दिदीबहिनीले तिनीहरूलाई “त्यसोभए तिमीले ऊसँग मोलतोल गर्न सक्छौ?” भनेर सोध्दा, तिनीहरूले यस्तो जबाफ दिन्छन्, “किन मोलतोल गर्नु? उसले मलाई मूल्य भनिसकेको छ, र मैले ऊसँग मोलमोलाइ गर्न थालेँ भने, त्यो त निश्चय नै लाजमर्दो हुनेछ, र हामीसँग पैसा नै छैन जस्तो देखिनेछ। परमेश्वरको घर धनवान् छ, होइन र?” कुनै वस्तुको मूल्य चाहे जतिसुकै नै होस् वा त्यसको गुणस्तर जस्तोसुकै होस्, तिनीहरूलाई त्यो उपयुक्त लागेसम्म, तिनीहरूले तुरुन्तै कसैलाई त्यो किन्न लगाउनेछन्, र त्यो किन्न ढिलाइ गर्ने जोकोहीलाई आलोचना, गाली वा निन्दासमेत गर्नेछन्। तिनीहरूको अगाडि कसैले पनि “हुँदैन” भन्ने आँट गर्दैन, र कसैले पनि कुनै राय राख्ने आँट गर्दैन। चाहे तिनीहरूले परमेश्वरको घरका लागि कुनै ठूलो काम गरिरहेका होऊन् वा सानो कार्य गरिरहेका होऊन्, तिनीहरूका सिद्धान्तहरू के हुन्छन्? “परमेश्वरको घरले त केवल पैसा तिर्नुपर्छ, र परमेश्वरको घरका हितहरूमा हानि पुग्छ कि पुग्दैन भन्ने कुराको मसँग कुनै सरोकार हुँदैन। म यसरी नै कामकुराहरू पूरा गर्छु; मैले गैरविश्वासीहरूसँग राम्रो सम्बन्ध स्थापित गर्नुपर्छ। गैरविश्वासीहरूले जे भन्छन्, त्यो सही हुन्छ, र म त्यसमा सहमत हुनेछु। म परमेश्वरको घरका मागहरूअनुसार मामलाहरू सम्हाल्नेछैनँ। यदि तिमी मलाई प्रयोग गर्न चाहन्छौ भने, प्रयोग गर; यदि तिमी मलाई प्रयोग गर्न चाहँदैनौ भने, प्रयोग नगर—त्यो तिमीमै भर पर्ने कुरा हो। म यस्तै नै छु!” के यो दुष्ट प्रकृति होइन र? त्यस्ता मानिसहरू गैरविश्वासी र अविश्वासी हुन्। के तिनीहरूलाई परमेश्वरको घरका लागि मामलाहरू सम्हाल्न प्रयोग गर्न सकिन्छ? यस प्रकारको व्यक्तिसँग केही शिक्षा, केही सबलताहरू, र केही बाहिरी क्षमताहरू हुन्छन्, ऊ बोल्न सिपालु हुन्छ, र उसले केही मामलाहरू सम्हाल्न सक्छ। तर उसले परमेश्वरको घरका लागि चाहे जे मामलाहरू सम्हाले पनि अपरिहार्य रूपमै त्यो जथाभाबी र स्वेच्छाचारी शैलीमा गर्छ, जसले गर्दा परमेश्वरको घरका हितहरूमा हानि पुग्छ। उसले निरन्तर परमेश्वरको घरलाई छल्ने र वास्तविक परिस्थितिलाई लुकाउने काम पनि गर्छ, र उसले एक पटक कामकुरा भद्रगोल पारेपछि, त्यो सफा गर्न परमेश्वरको घरले कोही प्रबन्ध गर्नुपर्छ। यो परमेश्वरको घरका हितहरूमा घात गर्न बाहिरी मानिसहरूसँग मिलेमतो गर्नुको ठेट उदाहरण हो। यो यहूदाले प्रभु र आफ्ना मित्रहरूलाई घात गरेकोभन्दा कसरी फरक छ र? जब यस प्रकारका मानिसहरूलाई कर्तव्य निर्वाह गर्न प्रयोग गरिन्छ, तिनीहरू परमेश्वरको घरलाई सेवा प्रदान गर्न असफल हुने मात्र नभई अन्त्यमा निकम्मा र दुर्भाग्यको संवाहकसमेत बन्छन्। तिनीहरू सेवाकर्ता हुनसमेत योग्य हुँदैनन्; तिनीहरू पूर्णतया पतित हुन्! त्यस्ता मानिसहरू ठ्याक्कै शैतानका नोकर र ठूलो रातो अजिङ्गरका सन्तान हुन्, र एक पटक खुलासा भएपछि, तिनीहरूलाई तुरुन्तै निकाल्नु र हटाउनुपर्छ। परमेश्वरको विश्वासी र परमेश्वरको घरको सदस्यका रूपमा, तिनीहरूले परमेश्वरको घरका हितहरू रक्षा गर्ने जिम्मेवारीसमेत पूरा गर्न सक्दैनन्, के तिनीहरूमा अझै पनि विवेक र समझ हुन्छ? तिनीहरू त चौकीदार कुकुरभन्दा पनि खराब हुन्छन्!
यहूदा प्रकारका मानिसहरूको निधारमै “यहूदा” भन्ने शब्द पोतिएको त हुँदैन, तर तिनीहरूका गतिविधि र व्यवहार ठ्याक्कै यहूदाकै प्रकृतिका हुन्छन्, र तैँले कहिल्यै पनि यस प्रकारका मानिसहरूलाई प्रयोग गर्नु हुँदैन। मैले “कहिल्यै पनि प्रयोग गर्नु हुँदैन” भन्नुको अर्थ के हो? त्यसको अर्थ के हो भने, तिनीहरूलाई कहिल्यै महत्त्वपूर्ण मामलाहरू सुम्पनु हुँदैन। यदि त्यो मामुली मामला हो जसले परमेश्वरको घरका हितहरूमा कुनै प्रभाव पार्दैन भने, तिनीहरूलाई अस्थायी रूपमा प्रयोग गर्दा हुन्छ, तर यस प्रकारको व्यक्ति पक्कै पनि मानिसहरूलाई प्रयोग गर्ने परमेश्वरको घरका सिद्धान्तहरूअनुरूप हुँदैन, किनभने ऊ यहूदा भएरै जन्मेको हुन्छ, र ऊ जन्मजात रूपमै खराब हुन्छ। छोटकरीमा भन्दा, यी मानिसहरू खतरनाक चरित्रका हुन्छन्, र तिनीहरूलाई बिलकुलै प्रयोग गरिनु हुँदैन। तैँले जति लामो समय यस प्रकारका मानिसहरूलाई प्रयोग गर्छस्, तँलाई त्यति नै असहज महसुस हुनेछ, र भविष्यमा त्यसले त्यति नै धेरै दुष्परिणामहरू ल्याउनेछन्। त्यसकारण, यदि तैँले पहिले नै तिनीहरू यहूदा प्रकारका मानिसहरू हुन् भनेर स्पष्ट देख्छस् भने, तैँले तिनीहरूलाई बिलकुलै प्रयोग गर्नु हुँदैन—यो सबै सत्य हो। के तिनीहरूप्रति यस्तो व्यवहार गर्नु उचित हुन्छ? कति मानिसहरूले भन्न सक्छन्: “तिनीहरूप्रति यस्तो व्यवहार गर्नु प्रेमहीन कुरा हो। तिनीहरूले कसैलाई घात गरेका छैनन्; तिनीहरू कसरी यहूदा हुन सक्छन् र?” के तैँले तिनीहरूले कसैलाई घात गरुन्जेल कुर्नु जरुरी छ? यहूदाले आफूलाई कसरी प्रकट गऱ्यो? के उसले प्रभुलाई घात गर्न लागेको छ भन्ने कुनै सङ्केतहरू थिए? (हो, उसले प्रभु येशूको पैसाको थैलीबाट पैसा चोरेको थियो।) परमेश्वरको घरका हितहरूमा निरन्तर घात गर्ने मानिसहरूको प्रकृति थैलीको पैसा चोर्ने यहूदाको जस्तै हुन्छ। एक पटक यस्ता मानिसहरू पक्राउ परेपछि, तिनीहरू विश्वासघात गर्नतिर लाग्छन्, र कुनै पनि कुरा बाँकी नराखी आफूलाई थाहा भएको सबथोक शैतानलाई सुम्पिदिन्छन्। यस प्रकारको व्यक्तिमा यहूदाको सार हुन्छ। उसको सार पहिले नै स्पष्ट रूपमा प्रकाश र खुलासा भएको हुन्छ; तैपनि यदि तैँले उसलाई प्रयोग गरिस् भने, के तैँले समस्या निम्त्याइरहेको हुँदैनस् र? के यो जानाजान परमेश्वरको घरलाई हानि गर्नु होइन र? कति मानिसहरूले खुल्लमखुल्ला यसो भन्छन्, “यदि कसैले मलाई काटछाँट गर्छ, वा यदि कसैले मेरा हितहरूलाई हानि गर्छ वा मैले यहाँ गरिरहेका राम्रा कामकुराहरू बिगार्छ भने, उसले त्यसको परिणाम भोग्नुपर्नेछ!” विशेषगरी यस प्रकारको व्यक्तिमा यहूदाको सार हुने गर्छ; यो सब एकदम स्पष्ट छ। तिनीहरू यहूदा भएको कुरा तिनीहरू आफैले अरूलाई भन्छन्, त्यसैले यस प्रकारको व्यक्तिलाई पक्कै प्रयोग गर्न मिल्दैन।
इ. मण्डलीका मित्रहरूलाई कसरी व्यवहार गर्ने
अर्को खाले मानिसहरू हुन्छन्, जसलाई न त राम्रो न नराम्रो नै मान्न सकिन्छ, र जो नाम मात्रका विश्वासी हुन्छन्। यदि तैँले कहिलेकाहीँ तिनीहरूलाई केही गर्न भनिस् भने, तिनीहरूले गर्न सक्छन्, तर यदि तैँले नै तिनीहरूका निम्ति कर्तव्यको बन्दोबस्त गरिनस् भने, तिनीहरूले सक्रिय रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नेछैनन्। फुर्सद हुनेबित्तिकै तिनीहरू भेलाहरूमा सहभागी हुन्छन्, तर आफ्नो निजी समयमा, तिनीहरूले परमेश्वरका वचनहरू खाने र पिउने, भजनहरू सिक्ने, वा प्रार्थना गर्ने गर्छन् कि गर्दैनन् भन्ने कुरा थाहा हुँदैन। तर, तिनीहरू परमेश्वरको घर र मण्डलीप्रति तुलनात्मक रूपमा मित्रवत् हुन्छन्। तुलनात्मक रूपमा मित्रवत् भन्नुको अर्थ के हो? यसको अर्थ के हो भने, यदि दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई केही गर्न भनेमा, तिनीहरू त्यो काम गर्न सहमत हुनेछन्; सँगैका विश्वासी हुनका खातिर, तिनीहरूले आफ्नो क्षमताले भ्याएसम्म केही कामहरू फत्ते गर्न मदत गर्न सक्छन्। तर, यदि तिनीहरूलाई ठूलो मेहनत लगाउन वा कुनै प्रकारको मूल्य चुकाउन भनियो भने, तिनीहरूले कदापि त्यसो गर्नेछैनन्। यदि कुनै दाजुभाइ वा दिदीबहिनी कुनै कठिनाइमा परेको छ र उसलाई तिनीहरूबाट कहिलेकाहीँ घरको रेखदेख गरिदिने, खाना पकाइदिने, वा कहिलेकाहीँ सानातिना घरायसी कामहरू गरिदिने जस्ता मदतहरू चाहिएको छ—अथवा तिनीहरूले कुनै विदेशी भाषा जानेका छन् र दाजुभाइ-दिदीबहिनीहरूलाई चिठीहरू पढ्न मदत गर्न सक्छन् भने—तिनीहरूले यस्ता कुरामा मदत गर्न सक्छन् र तिनीहरू तुलनात्मक रूपमा मित्रवत् हुन्छन्। तिनीहरू सामान्यतया अरूसँग राम्ररी मिलेर बस्छन् र मानिसहरूसँग हिसाबकिताब राख्दैनन्, तर तिनीहरू भेलाहरूमा नियमित रूपमा सहभागी हुँदैनन् र कुनै कर्तव्य निर्वाह गरूँ कि भनेर सोध्दैनन्, कुनै महत्त्वपूर्ण वा खतरनाक कामको जिम्मा लिने त कुरै छाडौँ। यदि तैँले तिनीहरूलाई कुनै खतरनाक काम गर्न भनिस् भने, तिनीहरूले पक्कै पनि तेरो अनुरोधलाई यसो भन्दै नकार्नेछन्, “म त शान्ति खोज्नका निम्ति परमेश्वरमा विश्वास गर्छु, त्यसकारण मैले कसरी खतरनाक कामहरू गर्न सक्छु त? के त्यो मैले आफैलाई समस्यातिर धकेलिरहेको हुनेछैन र? म कदापि त्यसो गर्न सक्दिनँ!” तर यदि दाजुभाइ-दिदीबहिनीहरू वा मण्डलीले तिनीहरूलाई कुनै सानो काम गर्न अनुरोध गरे भने, तिनीहरू साथीले जस्तै सानो सहयोग र नाम मात्रको प्रयास गर्न सक्छन्। यसरी लागिपर्नु र सहयोग गर्नुलाई कर्तव्य निर्वाह गरेको भन्न मिल्दैन, न त यसलाई सत्यता सिद्धान्तहरूबमोजिम कार्य गरेको नै भन्न मिल्छ, र यसलाई सत्यता अभ्यास गरेको त झन् भन्नै मिल्दैन; यो त केवल तिनीहरूमा परमेश्वरका विश्वासीहरूको राम्रो छाप बसेको र तिनीहरू उनीहरूप्रति मित्रवत् भएको, र कसैलाई सहायता चाहिएमा तिनीहरूले सहयोग गर्न सक्ने कुरा हो। यस्ता खाले मानिसहरूलाई के भनिन्छ? परमेश्वरको घरले तिनीहरूलाई मण्डलीका साथीहरू भन्छ। मण्डलीका साथी हुने खालका मानिसहरूलाई कस्तो व्यवहार गरिनुपर्छ? यदि तिनीहरूमा क्षमता र केही सबलता छ र तिनीहरूले मण्डलीलाई केही बाह्य मामलाहरू सम्हाल्न मदत गर्न सक्छन् भने, तिनीहरू पनि सेवाकर्ता र मण्डलीका साथी हुन्। किनभने यस्ता खाले मानिसहरूलाई परमेश्वरका विश्वासीका रूपमा लिइँदैन, र परमेश्वरको घरले तिनीहरूलाई मान्यता दिँदैन। अनि यदि तिनीहरूलाई परमेश्वरको घरले मान्यता दिँदैन भने, के परमेश्वरले तिनीहरूलाई विश्वासीका रूपमा मान्यता दिन सक्नुहुन्छ? (सक्नुहुन्न।) त्यसकारण, यस्ता खालका मानिसहरूलाई कहिल्यै कतै पनि पूर्णकालीन रूपमा कर्तव्य निर्वाह गर्नेहरूका पङ्क्तिमा सामेल हुन अनुरोध नगर्। यस्तो भन्नेहरू पनि छन्: “कतिपय मानिसहरूले पहिलोपटक विश्वास गर्न थाल्दा थोरै आस्था बोकेका हुन्छन् र तिनीहरू मण्डलीका साथी बन्न मात्र चाहन्छन्। तिनीहरूले परमेश्वरमा विश्वास गर्नेबारे धेरै कुरा बुझ्दैनन्, त्यसकारण तिनीहरू कसरी कुनै कर्तव्य निर्वाह गर्न इच्छुक हुन सक्छन् त? तिनीहरू कसरी सम्पूर्ण हृदयले आफूलाई समर्पित गर्न इच्छुक हुन सक्छन् त?” हामी तीनदेखि पाँच महिना वा एक वर्षसम्म परमेश्वरमा विश्वास गरेका मानिसहरूबारे कुरा गरिरहेका छैनौँ, बरु भन्नका लागि मात्र परमेश्वरमा तीन वर्षभन्दा बढी वा पाँचदेखि दश वर्षसम्म समेत विश्वास गरेका मानिसहरूबारे कुरा गरिरहेका छौँ। यस्ता मानिसहरूले परमेश्वर मात्र एउटै साँचो परमेश्वर हुनुहुन्छ र सर्वशक्तिमान् परमेश्वरको मण्डली मात्र साँचो मण्डली हो भनेर मुखले जतिसुकै स्विकारे पनि, यसले तिनीहरू साँचो विश्वासी हुन् भन्ने कुरा प्रमाणित गर्दैन। यस्ता खाले मानिसहरूका विभिन्न प्रकटीकरणहरू र तिनीहरूको आस्थाको तरिकालाई आधार मानेर, हामी तिनीहरूलाई मण्डलीका साथीहरू भन्छौँ। तिनीहरूलाई दाजुभाइ वा दिदीबहिनीका रूपमा व्यवहार नगर्—तिनीहरू दाजुभाइ वा दिदीबहिनी होइनन्। यस्ता मानिसहरूलाई पूर्णकालीन मण्डली कर्तव्यमा आबद्ध हुन नदे, र तिनीहरूलाई पूर्णकालीन कर्तव्य निर्वाह गर्नेहरूको पङ्क्तिमा सामेल हुन नदे; परमेश्वरको घरले यस्ता मानिसहरूलाई प्रयोग गर्दैन। कतिपयले भन्लान्: “के तपाईँ यस्ता खाले मानिसहरूविरुद्ध पक्षपाती हुनुहुन्छ? तिनीहरू बाहिरबाट हेर्दा कम जोसिला देखिए पनि, वास्तवमा तिनीहरू भित्री रूपमा निकै जोसिला हुन्छन्।” सच्चा विश्वासीहरूले पाँच-दस वर्ष परमेश्वरमा विश्वास गरेर पनि तिनीहरू कम जोसिला हुनु असम्भव छ; यस्ता खाले मानिसहरूको व्यवहारले नै तिनीहरू अविश्वासी हुन्, परमेश्वरका वचनहरूभन्दा बाहिरका मानिस हुन्, र गैरविश्वासी हुन् भनेर पूर्ण रूपमा प्रकाश गर्छ। यदि तैँले अझै पनि तिनीहरूलाई दाजुभाइ-दिदीबहिनी भनेर बोलाउँछस्, र अझै तिनीहरूलाई अनुचित व्यवहार गरिँदै छ भनेर भन्छस् भने, त्यो तेरा धारणा र भावनाहरू बोलेको हो।
हामीले जो मण्डलीका मित्र हुन् त्यस प्रकारका मानिसहरूलाई कसरी व्यवहार गर्नुपर्छ? तिनीहरू न्यानो हृदयका हुन्छन् र थोरथोरै मामलाहरू सम्हाल्ने कुरामा मदत गर्न इच्छुक हुन्छन्। यदि तिनीहरूको आवश्यकता पर्छ भने, तैँले तिनीहरूलाई थोरथोरै मामलाहरू सम्हाल्ने अवसर दिन सक्छस्। यदि तिनीहरूले केही गर्न सक्छन् भने, गर्न दे। तिनीहरूले राम्ररी गर्न नसक्ने, र भद्रगोलसमेत पार्न सक्ने कामकुराहरू निश्चित रूपमै तिनीहरूको जिम्मामा नछोड्, ताकि समस्या सिर्जना नहोस्—तिनीहरूका असल अभिप्रायहरूको कारण तैँले तिनीहरूलाई काम गर्न दिन बाध्य महसुस गर्नु हुँदैन। तिनीहरूले सत्यता बुझ्दैनन्, न त सिद्धान्तहरू नै बुझ्छन्। यदि तिनीहरूले सम्हाल्न सक्ने बाहिरी मामलाहरू छन् भने, तिनीहरूलाई ती काम गर्न दे। तर तिनीहरूलाई मण्डलीको काममा प्रभाव पार्ने ठूला मामलाहरू कहिल्यै सम्हाल्न नदे—त्यस्तो अवस्थामा, तिनीहरूका असल अभिप्राय र उत्साहजनक सहयोग अस्वीकार गर्नुपर्छ। जब तैँले यस प्रकारको व्यक्ति भेट्छस्, तिनीहरूसँग सतही रूपमा मात्र व्यवहार गर्; तर त्यसलाई त्यतिमै सीमित राख्; तिनीहरूसँग गम्भीर नबन्। तँ तिनीहरूसँग किन गम्भीर बन्नु हुँदैन? किनभने तिनीहरू मण्डलीका मित्र मात्र हुन्, र तिनीहरू दाजुभाइ वा दिदीबहिनी बिलकुलै होइनन्। के त्यस्ता मानिसहरू मानिसहरूलाई प्रयोग गर्ने परमेश्वरको घरका सिद्धान्तहरूअनुरूप हुन्छन्? (अहँ, हुँदैनन्।) त्यसकारण, यदि यस्तो व्यक्ति भेलाहरूमा सहभागी हुँदैन, उसले प्रवचनहरू सुन्दैन, वा कर्तव्य निर्वाह गर्दैन भने, उसलाई आमन्त्रित गर्नुपर्ने कुनै आवश्यकता छैन। यदि उसले परमेश्वरका वचनहरू खाने र पिउने वा प्रार्थना गर्ने गर्दैन भने, यदि उसलाई कामकुराहरू आइपर्दा उसले सत्यता सिद्धान्तहरू खोज्दैन भने, र यदि ऊ दाजुभाइ-दिदीबहिनीहरूसँग संलग्न हुन अनिच्छुक हुन्छ भने, उसलाई साथ दिनुपर्ने वा मदत गर्नुपर्ने कुनै आवश्यकता छैन। बस तीन वटा शब्द—उसलाई ध्यान नदे। मण्डलीका मित्र र अविश्वासी प्रकारका मानिसहरूसँग गम्भीर नबन्, र तिनीहरूलाई ध्यान नदे। तिनीहरूबारे चिन्तित हुनुपर्ने, र तिनीहरूको हालखबर सोध्नुपर्ने कुनै आवश्यकता छैन। तिनीहरूको हालखबर किन नसोध्ने? हामीसँग सरोकार नै नरहेका मानिसहरूको हालखबर सोधेर के अर्थ हुन्छ? त्यो वाहियात हो, होइन र? के तिमीहरू यस प्रकारका मानिसहरूलाई ध्यान दिन चाहन्छौ? सायद तिमीहरू लाउके हुन मन पराउँछौ चिन्तित हुन चाहन्छौ, र सोच्छौ, “तिनीहरूलाई अहिले कस्तो छ? तिनीहरूले विवाह गरे कि गरेनन्? के तिनीहरू ठिकै छन्? तिनीहरूले अहिले के काम गरिरहेका छन्?” तिनीहरूलाई चाहे जस्तो भए पनि त्यो तेरो सरोकारको कुरा होइन। तैँले त्यसबारे चिन्ता गरेर के अर्थ हुन्छ? तिनीहरूलाई कुनै ध्यान नदे, र तिनीहरूबारे कुनै टिप्पणी पनि नगर्। कति मानिसहरू टिप्पणी गर्न मन पराउँछन्, जस्तै: “देख्यौ? तिनीहरू परमेश्वरमा राम्ररी विश्वास गर्दैनन्, तिनीहरू हरदिन निराशाजनक र दुर्बल अस्तित्व जिउँछन्, र तिनीहरू हरसमय निकै थकित र ऊर्जाहीन देखिन्छन्,” वा “देख्यौ? तिनीहरू परमेश्वरमा राम्ररी विश्वास गर्दैनन्, त्यसैले तिनीहरूमा शान्ति छैन, र तिनीहरूको परिवारमा फेरि केही नराम्रो घटना घट्यो।” यो सब बकवास हो, र यो अनावश्यक छ। तिनीहरूले आफ्नो जीवन कसरी जिउँछन् र आफ्नो मार्ग कसरी हिँड्छन् भन्ने कुरा तेरो सरोकारको विषय होइन। तिनीहरूलाई उल्लेखसमेत नगर्; तँ तिनीहरूसँग एउटै मार्गमा छैनस्। तँ सच्चा रूपमा आफूलाई परमेश्वरप्रति समर्पित गर्छस् र पूरै समय आफ्नो कर्तव्य निर्वाह गर्छस्, तँ केवल सत्यता प्राप्त गर्ने र मुक्ति हासिल गर्ने पछ्याइ गर्न चाहन्छस्, र परमेश्वरले चाहे जे भन्नुभए पनि तँ उहाँलाई सन्तुष्ट पार्नका लागि सक्दो कोसिस गर्न चाहन्छस्; ती मानिसहरूका हृदयमा यी कुराहरू हुँदैनन्। जब तैँले दुष्ट प्रचलनहरू देख्छस्, तँ तीबाट विकर्षित र घिन महसुस गर्छस्, तँलाई यो संसारमा जिउँदा खुसी मिल्दैन भन्ने लाग्छ, र तैँले परमेश्वरमा विश्वास गरेर मात्र खुसी भेट्टाउन सक्छस्; जबकि तिनीहरू तँभन्दा ठ्याक्कै विपरीत हुन्छन्: यसले तिनीहरू तँसँग एउटै मार्गमा छैनन् भन्ने प्रमाणित गर्छ। यस प्रकारको व्यक्तिलाई सम्हाल्ने परमेश्वरको घरको सिद्धान्त के हो भने, यदि ऊ मदत गर्न इच्छुक छ भने, कुनै सम्भावित दुष्परिणामहरू नभएसम्म परमेश्वरको घरले उसलाई एउटा अवसर दिन सक्छ। यदि परमेश्वरको घरका लागि उसको उपयोग बिलकुलै छैन भने, विनम्रतापूर्वक इन्कार्नु नै उत्तम हुन्छ—आफ्नै लागि समस्या सृजना नगर्। विश्वासीहरूले हरदिन सत्यतामा सङ्गति गर्छन् र काटछाँट स्विकार्छन्, तैपनि झाराटारुवा तरिकाले काम गर्न सक्छन्, त्यसैले के मण्डलीका मित्रहरूले बदलामा कुनै पारिश्रमिक नलिई मामलाहरू राम्ररी सम्हाल्न सक्छन् त? (अहँ, सक्दैनन्।) मलाई भन् त, के यो मानिसहरूबारे झन् खराब सोच्नु हो? के यो मानिसहरूलाई अत्यन्तै नकारात्मक रूपमा हेर्नु हो? (अहँ, होइन।) यो त तथ्यमा आधारित भएर, मानिसहरूको सारमा आधारित भएर बोल्नु हो। अज्ञानी नहो, मूर्ख नहो, र कुनै मूर्खतापूर्ण काम नगर्। विश्वासीहरूले अझै काटछाँट, न्याय र सजाय, कठोर अनुशासन, ताडना, र खुलासा भोग्नुपर्ने हुन्छ, अनि मात्र तिनीहरूको कर्तव्य निर्वाह परमेश्वरको अभिप्रायअनुरूप हुन सक्छ। मण्डलीको मित्र वा गैरविश्वासीले सत्यता बिलकुलै स्विकार्दैन, र उसले केवल आफ्नै स्वार्थहरूबारे सोच्छ, त्यसैले उसले परमेश्वरको घर वा दाजुभाइ-दिदीबहिनीहरूका लागि मामलाहरू सम्हाल्दा त्यसबाट राम्रो नतिजा के आउन सक्छ र? त्यो पूरै असम्भव छ! यस प्रकारका मानिसहरूलाई कुनै ध्यान नदिनु नै उचित हुन्छ, होइन र? (हो।) “तिनीहरूलाई कुनै ध्यान नदिनु” भन्नुको अर्थ के हो? त्यसको अर्थ परमेश्वरको घरले तिनीहरूलाई विश्वासी मान्दैन भन्ने हो। तिनीहरूले जसरी मन लाग्यो त्यसरी परमेश्वरमा विश्वास गर्न सक्छन्, तर परमेश्वरको घरका काम र मामलाहरू तिनीहरूसँग कहीँकतै सम्बन्धित हुँदैनन्। तिनीहरू मदत गर्न इच्छुक हुन्छन्, तर हामीले परिस्थितिलाई तौलनुपर्छ र तिनीहरू त्यो गर्न उपयुक्त छन् कि छैनन् भनेर मापन गर्नुपर्छ, र यदि तिनीहरू उपयुक्त छैनन् भने, हामीले तिनीहरूलाई यो अवसर दिन मिल्दैन। मलाई भन् त, के यसरी काम गर्नु सिद्धान्तअनुरूप हुन्छ? के हामीसँग यस्ता मानिसहरूलाई यसरी व्यवहार गर्ने अधिकार छ? एकदमै छ!
ई. बर्खास्त गरिएका मानिसहरूलाई कसरी व्यवहार गर्ने
अर्को खाले मानिसहरू पनि छन्, अर्थात् ती, जो बर्खास्त भएका छन्। हामीले तिनीहरूलाई कसरी व्यवहार गर्नुपर्छ? चाहे यी मानिसहरू वास्तविक काम गर्न असमर्थ भएका कारण र झूटा अगुवाका रूपमा वर्गीकृत भएका कारण बर्खास्त भएका होऊन्, वा चाहे तिनीहरूले ख्रीष्टविरोधीहरूको मार्ग पछ्याएका कारण र तिनीहरूलाई ख्रीष्टविरोधी मानिसका रूपमा वर्गीकृत गरिएका कारणले बर्खास्त भएका होऊन्, तिनीहरूलाई उचित तरिकाले अन्य काममा खटाउन, र तिनीहरूका लागि उचित प्रबन्धहरू गर्न जरुरी छ। यदि तिनीहरू धेरै दुष्ट कामकुरा गरेका ख्रीष्टविरोधीहरू हुन् भने, तिनीहरूलाई अवश्यै निष्कासित गर्नुपर्छ; यदि तिनीहरूले धेरै दुष्ट कामकुरा गरेका छैनन्, तर तिनीहरूमा ख्रीष्टविरोधीको सार छ र तिनीहरूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गरिन्छ भने, तिनीहरूले अझै पनि अवरोध वा बाधा नदिई कुनै न कुनै रूपमा सेवा प्रदान गर्न सकुञ्जेल, तिनीहरूलाई निष्कासित गर्नुपर्दैन—तिनीहरूलाई सेवा प्रदान गरिरहन दे र पश्चात्ताप गर्ने एउटा मौका दे। बर्खास्त गरिएका झूटा अगुवाहरूलाई तिनीहरूका सबलता र तिनीहरूले निर्वाह गर्न सुहाउँदा कर्तव्यहरूका आधारमा फरक काम गर्ने प्रबन्ध गर्, तर अबउप्रान्त तिनीहरूलाई मण्डली अगुवाका रूपमा सेवा गर्ने अनुमति दिनु हुँदैन; अत्यन्तै कमजोर क्षमता भएका र कुनै पनि काम गर्न असमर्थ भएका कारण बर्खास्त भएका अगुवा र कामदारहरूलाई पनि तिनीहरूका सबलता र तिनीहरूले निर्वाह गर्न सुहाउँदा कर्तव्यहरूका आधारमा फरक काम गर्ने प्रबन्ध गर्, तर तिनीहरूलाई अबउप्रान्त अगुवा वा कामदारमा बढुवा गर्न मिल्दैन। किन मिल्दैन? तिनीहरूलाई पहिल्यै प्रयोग गरेर हेरिसकिएको छ। तिनीहरू प्रकाश भए, र यस्ता मानिसहरूको क्षमता र कार्यक्षमताले तिनीहरूलाई अगुवा हुन अयोग्य तुल्याउँछ भन्ने कुरा प्रस्टै देखिन्छ। यदि तिनीहरू अगुवा हुन अयोग्य छन् भने, के तिनीहरू अन्य कर्तव्य निर्वाह गर्न असक्षम हुन्छन् त? हुन्छन् नै भन्ने छैन। तिनीहरूको कमजोर क्षमताले तिनीहरूलाई अगुवा हुन अयोग्य बनाउँछ, तर तिनीहरूले अन्य कर्तव्यहरू निर्वाह गर्न सक्छन्। यस्ता मानिसहरू बर्खास्त भएपछि, तिनीहरूले आफूसुहाउँदो जे काम पनि गर्न सक्छन्। तिनीहरूको कर्तव्य निर्वाह गर्ने अधिकार खोस्नु हुँदैन; भविष्यमा तिनीहरूको कद वृद्धि भएपछि तिनीहरूलाई पुनः प्रयोग गर्न सकिन्छ। कतिपयलाई सानै भएकाले र जीवनको कुनै अनुभव नभएकाले, र कामको अनुभव पनि नभएकाले बर्खास्त गरिन्छ, त्यसकारण तिनीहरू काम वहन गर्न असमर्थ हुन्छन् र अन्त्यमा बर्खास्त हुन्छन्। यस्ता मानिसहरूलाई बर्खास्त गर्दा त्यसमा केही लचकता अपनाइन्छ। यदि तिनीहरूको मानवताले मापदण्ड पूरा गर्छ र तिनीहरूको क्षमता पर्याप्त छ भने, तिनीहरूलाई पदावनति गरेपछि प्रयोग गर्न सकिन्छ, वा तिनीहरूलाई उपयुक्त हुने अरू काममा लगाउन सकिन्छ। सत्यताबारे तिनीहरूको बुझाइ प्रस्ट हुनुका साथै तिनीहरू मण्डलीका काममा केही परिचित र अनुभवी भएपछि, यस्ता मानिसहरूलाई अझै पनि तिनीहरूको क्षमताका आधारमा पुनः प्रवर्धन र संवर्धन गर्न सकिन्छ। यदि तिनीहरूको मानवताले मानक पूरा गर्छ तर तिनीहरूको क्षमता अत्यन्तै कमजोर छ भने, तिनीहरूलाई प्रवर्धन गर्नुको कुनै मूल्य हुँदैन, र तिनीहरूलाई बिलकुलै प्रवर्धन गर्न वा राख्न मिल्दैन।
बर्खास्त गरिएकाहरूमध्ये, दुई प्रकारका मानिसहरूलाई पुनः प्रवर्द्धन र संवर्धन गर्न कदापि मिल्दैन। एउटा त ख्रीष्टविरोधीहरू हुन्, र अर्कोचाहिँ अत्यन्तै न्यून क्षमता हुनेहरू हुन्। त्यसपछि केही मानिसहरू हुन्छन्, जसलाई ख्रीष्टविरोधी मानिँदैन, तर तिनीहरू कमजोर मानवताका, स्वार्थी र छली मात्र हुन्छन्, र कतिपय यस्ता मानिसहरू अल्छी हुन्छन्, देहसुखको लालसा गर्छन् र कष्ट सहन असक्षम हुन्छन्। यस्ता मानिसहरू अत्यन्तै राम्रो क्षमताका भए पनि, तिनीहरूलाई पुनः प्रवर्द्धन गर्न मिल्दैन। यदि तिनीहरूमा थोरै क्षमता छ भने, तिनीहरूलाई तिनीहरू जे गर्न सक्षम छन्, त्यही गर्न दे, तर त्यसका लागि उचित प्रबन्धहरू गरिएको हुनुपर्छ; छोटकरीमा भन्दा, तिनीहरूलाई अगुवा वा कामदारमा बढुवा नगर्। क्षमता र कार्य सामर्थ्य हुनुबाहेक, अगुवा र कामदारहरूले सत्यता बुझ्न, मण्डलीका लागि बोझ बोक्न, कडा परिश्रम गर्न र कष्ट सहन सक्षम हुन आवश्यक छ, साथै तिनीहरू लगनशील हुनैपर्छ र अल्छी हुनु हुँदैन। त्यसमाथि, तिनीहरू तुलनात्मक रूपले इमानदार र सोझा हुनैपर्छ। तैँले छली मानिसहरूलाई किमार्थ चयन गर्नु हुँदैन। जो अत्यन्तै कुटिल र छली छन् तिनीहरू सधैँ दाजुभाइ-दिदीबहिनीहरू, आफूभन्दा माथिका व्यक्तिहरू र परमेश्वरको घरका विरुद्ध षडयन्त्र गर्छन्। तिनीहरूले कपटपूर्ण कुरा मात्र सोचेर दिन बिताउँछन्। यस्ता व्यक्तिहरूसँग व्यवहार गर्दा, तिनीहरूले वास्तवमा के सोचिरहेका छन् भनेर तैँले अनुमान लगाउनैपर्छ, तैँले हालसालै तिनीहरूले ठ्याक्कै के गर्दै आएका छन् भनेर सोधपुछ गरिरहनुपर्छ, र तैँले सधैँ तिनीहरूमाथि आफ्नो नजर राख्नुपर्छ। तिनीहरूलाई प्रयोगमा ल्याउनु अत्यन्तै थकानयुक्त र अत्यन्तै चिन्ताजनक काम हो। यदि यस्तो व्यक्तिलाई कर्तव्य निभाउनका लागि प्रवर्द्धन गरियो भने, तिनीहरूलाई थोरै धर्मसिद्धान्त बुझेका भए पनि, तिनीहरूले त्यसलाई अभ्यास गर्नेछैनन्, तर आफूले गर्ने हरेक कामबाट लाभ र फाइदाहरूको अपेक्षा राख्नेछन्। यस्ता मानिसहरूलाई प्रयोग गर्दा अत्यन्तै चिन्ताजनक हुन्छ र धेरै समस्या आउँछ, त्यसैले यस्ता मानिसहरूलाई प्रवर्द्धन गर्न मिल्दैन। त्यसकारण, जब ख्रीष्टविरोधीहरू, अत्यन्तै कमजोर क्षमता भएकाहरू, खराब मानवता भएकाहरू, अल्छी गर्ने, देहसुखको लालसा गर्ने र कष्ट सहन नसक्नेहरू, र अत्यन्तै कुटिल र छलीहरूको कुरा आउँछ—यस्ता मानिसहरूलाई प्रयोगमा ल्याएर प्रकाश र बर्खास्त गरिएपछि, तिनीहरूलाई दोस्रो पटक प्रवर्द्धन नगर्; तिनीहरूलाई छर्लङ्गै देखिसकेपछि फेरि पनि गलत काममा प्रयोग नगर्। कतिले यसो भन्न सक्छन्, “यो व्यक्तिलाई पहिला ख्रीष्टविरोधी भनेर चित्रण गरिएको थियो। अहिले केही समययता उसले राम्रो प्रदर्शन गर्दै आएको हामीले देखेका छौँ, ऊ दाजुभाइ-दिदीबहिनीहरूसँग सामान्य रूपमा अन्तरक्रिया गर्न सक्षम भएको छ र उसले अरूलाई नियन्त्रित गर्न छोडेको छ। के उसलाई प्रवर्द्धन गर्न सकिन्छ?” त्यस्तो हतार नगर्—एक पटक उसलाई प्रवर्द्धन गरेर उसले हैसियत प्राप्त गरेपछि, उसको ख्रीष्टविरोधी प्रकृति खुलासा हुनेछ। अरूले यसो भन्न सक्छन्: “पहिले यो व्यक्तिको क्षमता अत्यन्तै कमजोर थियो; दुई जनाको काम सुपरिवेक्षण गर्न भनिँदा उसलाई कामकाज कसरी खटनपटन गर्ने थाहै हुँदैनथ्यो, र यदि एकैचोटि दुइटा कुरा हुन्थे भने, उसलाई मनासिब प्रबन्ध गर्नै आउँदैनथ्यो। अब त ऊ अलिक बुढो भएकोले, ऊ यी कुराहरूमा राम्रो भएको होला, होइन र?” के यो दाबी मनासिब छ? (अहँ, छैन।) जब एकै समयमा दुइटा घटना घट्छ, तब त्यो व्यक्ति दुबिधामा पर्छ र ती कसरी सम्हाल्ने भनेर उसलाई थाहै हुँदैन। उसले कसैलाई वा कुनै पनि कुरालाई छर्लङ्ग देख्न सक्दैन। उसको क्षमता यति कमजोर हुन्छ कि ऊसँग कार्य सामर्थ्य र बुझ्ने क्षमता नै हुँदैन। त्यस्तो व्यक्तिलाई फेरि अगुवाका रूपमा बिलकुलै प्रवर्द्धन गर्न सकिँदैन। यो उमेरको कुरा होइन। कमजोर क्षमता भएका मानिसहरू असी वर्ष पुग्दा पनि कमजोर क्षमताकै हुन्छन्। यो मानिसहरूले कल्पना गरेजस्तो, व्यक्ति बुढो हुँदै जाँदा र उसले अझ बढी अनुभवहरू प्राप्त गर्दै जाँदा, उसले सबै कुरा बुझ्न सक्छ भन्ने हुँदैन—कुरा त्यस्तो हुँदैन। ऊसँग जीवनका केही अनुभवहरू मात्र हुन्छ, तर जीवनका केही अनुभव हुनु भनेको क्षमता हुनुसमान होइन। व्यक्तिले चाहे जति नै धेरै कुराहरू अनुभव गरे पनि वा जति नै धेरै पाठहरू सिके पनि त्यसको अर्थ उसको क्षमता सुध्रिन्छ भन्ने हुँदैन।
यदि कसैको मानवता अत्यन्तै स्वार्थी, अत्यन्तै छली, र अत्यन्तै दुष्ट छ, यदि ऊ धूर्त षड्यन्त्रहरूले भरिएको छ, र उसले आफ्नो बारेमा मात्र सोच्छ भने, के यस्तो प्रकारको व्यक्ति परिवर्तन हुन सक्छ? ऊ यिनै कारणले गर्दा बर्खास्त भएको थियो; अहिले दस वर्ष बितेको छ र उसले धेरै प्रवचनहरू सुनेको छ—के उसको मानवता अब स्वार्थी, बदमास र छली छैन? म तँलाई भन्छु: यस्तो प्रकारको व्यक्ति परिवर्तन हुनेछैन, ऊ आगामी २० वर्षमा पनि उस्तै नै रहनेछ। त्यसकारण, यदि तैँले उसलाई २० वर्षपछि फेरि भेटिस् र ऊ उत्तिकै स्वार्थी र छली छ कि छैन भनेर सोधिस् भने, उसले त्यो आफैले समेत स्विकार्नेछ। कमजोर मानवता भएका मानिसहरू किन परिवर्तन हुनेछैनन्? के तिनीहरू परिवर्तन हुन सक्छन्? तिनीहरू परिवर्तन हुन सक्छन् भनेर मान्ने हो भने, त्यसका आधार र सर्तहरू के-के हुनुपर्छ? तिनीहरूले सत्यता स्विकार्न सक्नैपर्छ। कमजोर क्षमता भएका मानिसहरूले सत्यता स्विकार्दैनन्, र तिनीहरूले भित्रभित्रै सकारात्मक कुराहरूलाई घृणा, तिरस्कार, र उपहास गर्छन् र तिनीहरू तीप्रति शत्रुवत् हुन्छन्—तिनीहरू परिवर्तन हुन सक्दै सक्दैनन्। त्यसकारण, चाहे जतिसुकै वर्ष बितेको भए पनि तिनीहरूलाई प्रवर्द्धन नगर्, किनकि तिनीहरू परिवर्तन हुन असक्षम हुन्छन्। २० वर्षको समयमा, तिनीहरूले अझै बढी कपटी हुन सिकेका, र कर्णप्रिय अनि अरूलाई छल्ने कुराहरू बोल्न अझै बढी जानेका हुन सक्ने सम्भावना हुन्छ। तर यदि तैँले यी मानिसहरूको सङ्गत गरिस् र तिनीहरूका गतिविधिहरू नियालिस् भने, तैँले एउटा तथ्य पत्ता लगाउनेछस्, र त्यो के हो भने तिनीहरू बिलकुलै परिवर्तन भएका हुँदैनन्। तँ सोच्छस् कि यति धेरै वर्ष बितिसकेपछि, तिनीहरूले यति धेरै प्रवचनहरू सुनेपछि, र लामो समय परमेश्वरका घरमा कर्तव्य निर्वाह गरेपछि, तिनीहरू परिवर्तित भएको हुनुपर्छ—तँ गलत छस्! तिनीहरू परिवर्तन हुनेछैनन्। किन? तिनीहरूले अत्यन्तै धेरै प्रवचनहरू सुनेका र परमेश्वरका अत्यन्तै धेरै वचनहरू पढेका हुन्छन्, तर तिनीहरूले एउटा वाक्यसमेत स्विकार्ने वा अभ्यास गर्ने गर्दैनन्, त्यसैले तिनीहरू अलिकति पनि परिवर्तित भएका हुँदैनन्, तिनीहरू परिवर्तन हुन असम्भव छ। एक पटक यस्ता मानिसहरू खुलासा र बर्खास्त भएपछि, तिनीहरूलाई फेरि प्रयोग गर्न मिल्दैन, र यदि तैँले तिनीहरूलाई प्रयोग गरिस् भने, तैँले परमेश्वरको घर र दाजुभाइ-दिदीबहिनीहरूलाई हानि पुऱ्याइरहेको हुन्छस्। यदि तँ निश्चित छैनस् भने, बस तिनीहरूले कसरी व्यवहार गर्छन् भनेर मात्र अवलोकन गर्, र तिनीहरूले आफ्ना स्वार्थहरू र परमेश्वरको घरका हितहरूबीच द्वन्द्व ल्याउने कुराहरू सामना गर्दा तिनीहरूले कसका हितहरूको रक्षा गर्छन् भनेर हेर्; तिनीहरू आफ्ना स्वार्थहरू त्यागेर परमेश्वरको घरका हितहरू रक्षा गर्न बिलकुलै लागिपर्नेछैनन्। यसलाई यो हिसाबले हेर्दा, तिनीहरू भरोसायोग्य हुँदैनन्, र तिनीहरू परमेश्वरको घरद्वारा प्रवर्द्धन र प्रयोग गरिन लायक हुँदैनन्। त्यसैले त्यस्ता मानिसहरू प्रयोग नगरिने नियति बोकेर आएका हुन्छन्। के सत्यता नस्विकार्ने मानिसहरू अझै पनि परिवर्तन हुन सक्छन् त? यो सम्भवै छैन, र यो मूर्खको सपना हो!
अल्छे, देहसुखको लालच गर्ने, र अलिकति पनि कठिनाइ सहन नसक्ने मानिसहरूको कुरा गर्नुपर्दा, तिनीहरू परिवर्तित हुन झनै कम सक्षम हुन्छन्। तिनीहरू अगुवा रहेको अवधिमा, तिनीहरूले कुनै कठिनाइ भोग्दैनन्, तिनीहरूले त साधारण दाजुभाइ-दिदीबहिनीहरूले सहन सक्ने कठिनाइसमेत सहँदैनन्। तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा झारा मात्र टार्छन्—भेलाहरू बोलाउने र केही धर्मसिद्धान्तहरू प्रचार गर्ने, अनि आफ्नो राम्रो हेरचाह गर्न सुत्न गइहाल्ने गर्छन्। यदि राती तिनीहरू अलिकति मात्रै ढिलो सुत्न गए भने, बिहान अरू दाजुभाइ-दिदीबहिनीहरू उठ्दै गर्दा तिनीहरू अझै मस्त निदाइरहेका हुनेछन्। तिनीहरू अलिकति थकित वा अलिकति व्यस्त हुन, वा अलिकति कठिनाइ सहनसमेत इच्छुक हुँदैनन्। तिनीहरूले कुनै मूल्य चुकाउँदैनन् र कुनै वास्तविक काम गर्दैनन्। तिनीहरू जहाँ गए पनि मिठो खानपान देख्नेबित्तिकै यति खुसी हुन्छन् कि तिनीहरूले अरू सबथोक बिर्सिन्छन्, र तिनीहरू कहीँ नगई त्यहीँ खानपान गर्दै रमाएर बस्छन्, र कुनै किसिमको काम गर्दैनन्। माथिले तिनीहरूलाई काटछाँट गर्दा तिनीहरूले सुन्दैनन्, न त दाजुभाइ-दिदीबहिनीहरूले गरेका ताकेता र खुलासा नै स्विकार्छन्। तिनीहरू कुनै मूल्य नचुकाई, र आफ्ना जिम्मेवारीहरू वा कर्तव्य पूरा नगरी, सम्भव भएसम्म सबैभन्दा सहज रूपमा जीवन जिउन रोज्छन्, र त्यसैले तिनीहरू निकम्मा बन्छन्। के त्यस्ता मानिसहरू परिवर्तन हुन सक्षम हुन्छन्? त्यस्ता मानिसहरू अत्यन्तै अल्छे, र देहसुखको लालच गर्ने हुन्छन्; तिनीहरू परिवर्तन हुन सक्दैनन्। तिनीहरू अहिले त्यस्ता छन् र भविष्यमा पनि त्यस्तै नै हुनेछन्। कति मानिसहरूले यस्तो भन्न सक्छन्: “त्यो व्यक्ति परिवर्तित भएको छ, उसले अहिले केही समययता आफ्नो काममा निकै मेहनत लगाइरहेको छ।” त्यस्तो हतार नगर्। यदि तैँले उसलाई अगुवाका रूपमा प्रवर्द्धन गरिस् भने, ऊ पुरानै तरिकाहरूमा फर्किहाल्छ—ऊ त्यस्तै नै छ। ऊ त एउटा जुवाडेजस्तै हो, जो पैसा सकिँदा सापट नै लिनु परे पनि, घरै बेच्नुपरे पनि, वा आफ्ना पत्नी र छोराछोरीसमेत बेच्नुपरे पनि जुवा खेली नै रहन्छ। यदि उसले हालसालै जुवा खेलिरहेको छैन भने, त्यो जुवा घर बन्द भएको र जुवा खेल्ने ठाउँ नभएको कारण, वा उसका जुवाडे साथीहरू सबै पक्राउ परेका र ऊसँग जुवा खेल्ने कोही बाँकी नरहेका कारण, वा उसले बेच्न सक्ने सबै कुरा बेचिसकेको र ऊसँग जुवा खेल्ने पैसा बाँकी नभएको कारणले गर्दा हुन सक्छ। हातमा पैसा परेपछि, उसले फेरि जुवा खेल्न थालिहाल्छ र त्यो लत छोड्न सक्दैन—ऊ त्यस्तै नै हुन्छ। त्यसैगरी, अल्छे र देहसुखको लालच गर्नेहरू पनि परिवर्तन हुन असक्षम हुन्छन्। तिनीहरूले एक पटक अलिकति हैसियत पाएपछि तुरुन्तै पहिलेकै लयमा फर्कनेछन्, र तिनीहरूको साँचो रङ्ग खुलासा हुनेछ। जब तिनीहरूसँग कुनै हैसियत हुँदैन, तिनीहरूलाई कसैले पनि उच्च मान्दैन र कसैले पनि कुरेर बस्दैन, र यदि तिनीहरूले केही काम गर्दैनन् भने, तिनीहरूलाई निकाल्नुपर्छ, किनकि मण्डलीले निष्क्रिय रहने मानिसहरूलाई सहयोग गर्दैन, त्यसैले मन नलागीनलागी भए पनि केही कामकुरा गर्नुबाहेक तिनीहरूसँग अर्को विकल्प हुँदैन। तिनीहरू अरूले भन्दा फरक तरिकाले काम गर्छन्। अरूले सक्रिय रूपमा काम गर्छन्, जबकि तिनीहरूले निष्क्रिय रूपमा गर्छन्। बाहिर कुनै पनि भिन्नता नभए पनि सारमा भिन्नता हुन्छ। हैसियत हुँदा, अरूले आफूले गर्नुपर्ने काम गर्छन् र आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छन्; तर एक पटक हैसियत पाएपछि, यी मानिसहरू आफ्नो हैसियतका लाभहरूमा लिप्त हुने मौका छोप्छन् र कुनै पनि काम गर्दैनन्, अनि तिनीहरूको अल्छीपन र सहजताको लालसा गर्ने प्रकृति सार त्यसरी खुलासा हुन्छ। त्यसकारण, यस प्रकारका मानिसहरू कुनै पनि परिस्थितिमा परिवर्तन हुनेछैनन्, र एक पटक खुलासा र बर्खास्त गरिएपछि, त्यस्ता मानिसहरूलाई फेरि कहिल्यै प्रवर्द्धन र प्रयोग गरिनु हुँदैन—सिद्धान्त यही हो।
जब विभिन्न अवस्थाका मानिसहरूको कुरा आउँछ, तिनीहरूलाई प्रवर्द्धन र प्रयोग गर्ने सिद्धान्तहरू यिनै हुन्। न्यूनतम मानक भनेको तिनीहरू परमेश्वरका घरमा बाधा नदिई मेहनत लगाउन र सेवा प्रदान गर्न सक्ने हुनुपर्छ भन्ने हो; यो अवस्थामा, तिनीहरूले परमेश्वरका घरमा कर्तव्य पूरा गर्न सक्छन्। यदि तिनीहरूले यो न्यूनतम मानक पनि पूरा गर्न सक्दैनन् भने, तिनीहरूको मानवता र सबलता चाहे जे-जस्तो भए पनि तिनीहरू कर्तव्य पूरा गर्न उपयुक्त हुँदैनन्, र यस प्रकारका मानिसहरूलाई कर्तव्य पूरा गर्ने मानिसहरूको श्रेणीबाट हटाइनुपर्छ। यदि कुनै व्यक्तिको मानवता दुर्भावपूर्ण र ख्रीष्टविरोधीको मानवतासरह छ भने, ऊ ख्रीष्टविरोधी हो भनेर एक पटक पुष्टि भइसकेपछि, परमेश्वरको घरले उसलाई कहिल्यै प्रयोग, प्रवर्द्धन वा संवर्धन गर्नेछैन। कति मानिसहरूले यस्तो भन्न सक्छन्: “के उसलाई सेवा प्रदान गर्न दिँदा हुन्छ?” त्यो त अवस्था कस्तो छ भन्नेमा भर पर्छ। यदि उसले सेवा प्रदान गर्दा त्यसले परमेश्वरका घरमा नकारात्मक प्रभाव पार्न सक्छ र प्रतिकूल परिणामहरू ल्याउन सक्छ भने, परमेश्वरको घरले उसलाई सेवा प्रदान गर्ने अवसरसमेत दिनेछैन। यदि उसलाई ऊ आफै निष्कासित गरिएको दुष्ट व्यक्ति वा ख्रीष्टविरोधी हो भन्ने थाहा छ, तर ऊ सेवा प्रदान गर्न इच्छुक छ, र मण्डलीले उसका निम्ति जे-जस्तो कामको प्रबन्ध गरे पनि उसले त्यो काम गर्छ, र उसले परमेश्वरको घरका कुनै पनि हितहरूमा हानि नपुऱ्याई शिष्ट रूपमा सेवा प्रदान गर्न सक्छ भने, त्यो अवस्थामा उसलाई राख्न सकिन्छ। यदि उसले राम्ररी सेवा प्रदान गर्नसमेत सक्दैन, र उसको सेवाले राम्रो गर्नुभन्दा बढी हानि पुऱ्याउँछ भने, उसले सेवा प्रदान गर्ने अवसरसमेत पाउनेछैन, र उसले सेवा प्रदान गर्छ नै भने पनि परमेश्वरको घरले उसलाई प्रयोग गर्नेछैन, किनकि ऊ त्यसका लागि योग्यसमेत हुँदैन वा उसले सेवा प्रदान गर्ने मापदण्डहरू नै पूरा गर्दैन। त्यसैले यस प्रकारका मानिसहरू फिर्ता आउनु हुँदैन—तिनीहरूलाई जहाँ जान मन लाग्छ त्यहीँ जान दे। कति मानिसहरूले यस्तो भन्न सक्छन्, “यदि परमेश्वरको घरले मलाई प्रयोग गर्दैन भने, म आफै सुसमाचार प्रचार गर्नेछु, र मैले सुसमाचार प्रचार गरेर प्राप्त गरेका मानिसहरू परमेश्वरको घरलाई सुम्पनेछु।” के त्यो ठिक हुनेछ? (हुनेछ।) कतिले यस्तो भन्न सक्छन्, “तपाईँले त्यो व्यक्तिलाई सेवा प्रदान गर्नका लागि समेत प्रयोग गर्नुहुन्न भने, उसले सुसमाचार प्रचार गरी प्राप्त गरेका मानिसहरू केका आधारमा तपाईँलाई दिनुपर्छ? उसले केका आधारमा तपाईँका लागि सुसमाचार प्रचार गर्नुपर्छ?” परमेश्वरको घरले विभिन्न पक्षहरूका कारण तिनीहरूलाई प्रयोग गर्दैन। एउटा पक्ष हो, तिनीहरूले मानिसहरूलाई प्रयोग गर्ने परमेश्वरको घरका सिद्धान्तहरू पालना गर्दैनन्। अर्को पक्ष हो, परमेश्वरको घरले यस प्रकारका मानिसहरूलाई प्रयोग गर्ने आँट नै गर्दैन, किनकि एक पटक तिनीहरूलाई प्रयोगमा ल्याएपछि समस्याको अन्त्य कहिल्यै हुनेछैनन्। त्यसैले, तिनीहरू सुसमाचार प्रचार गर्न इच्छुक हुने यो मामलालाई हामीले कसरी व्याख्या गर्नुपर्छ? तिनीहरूले सुसमाचार प्रचार गर्दा गवाही दिने भनेको परमेश्वरलाई नै हो, र परमेश्वरका वचनहरू र परमेश्वरको कामकै कारण तिनीहरू मानिसहरू प्राप्त गर्न सक्षम हुन्छन्। यी मानिसहरू त्यो व्यक्तिको सुसमाचार प्रचारमार्फत प्राप्त भएका भए पनि यसको श्रेय कसैगरी त्यो व्यक्तिलाई जाँदैन। धेरै भए, यो उसले व्यक्तिका रूपमा आफ्नो जिम्मेवारी पूरा गरेको मात्र हो। चाहे तँ ख्रीष्टविरोधी या दुष्ट व्यक्ति भए पनि, वा तँलाई निकालिएको वा निष्कासित गरिएको भए पनि, व्यक्तिका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको तैँले गर्नुपर्ने कार्य नै हो। मैले यो तैँले गर्नुपर्ने कार्य हो भनेर भन्नुको कारण के हो? तैँले परमेश्वरबाट सत्यताहरूको यति ठूलो आपूर्ति पाएको छस्, र यो परमेश्वरको रगत-पसिना पनि हो। परमेश्वरको घरले कैयौँ वर्षदेखि तँलाई मलजल गरेको र तेरो आपूर्ति गरेको छ, तर के परमेश्वरले तँबाट केही माग्नुहुन्छ र? अहँ। परमेश्वरको घरले वितरण गरेका विभिन्न किसिमका सबै पुस्तकहरू निःशुल्क हुन्छन्, यसका लागि कसैले पनि एक पैसा खर्च गर्नु पर्दैन। त्यसैगरी, परमेश्वरले मानिसहरूलाई प्रदान गर्ने शाश्वत जीवनको साँचो मार्ग र जीवनका वचनहरू निःशुल्क हुन्छन्, अनि परमेश्वरका घरका प्रवचन र सङ्गतिहरू सबै नै मानिसहरूले निःशुल्क सुन्न पाउँछन्। त्यसकारण, चाहे तँ साधारण व्यक्ति होस् वा विशेष समूहको सदस्य होस्, तैँले परमेश्वरबाट अति धेरै सत्यताहरू निःशुल्क पाएको हुनाले तैँले मानिसहरूलाई परमेश्वरका वचन र परमेश्वरको सुसमाचार प्रसार गर्नुपर्छ अनि मानिसहरूलाई परमेश्वरको उपस्थितिमा ल्याउनुपर्छ भन्ने कुरा निश्चित रूपमै सही हुन्छ, होइन र? परमेश्वरले मानवजातिलाई सबै सत्यता प्रदान गर्नुभएको छ; यति ठूलो प्रेमको ऋण कसले तिर्न सक्छ? परमेश्वरको अनुग्रह, परमेश्वरका वचनहरू र परमेश्वरको जीवन अमूल्य छन्, र कुनै पनि मानवले तिनको ऋण तिर्न सक्दैन। के मानिसको जीवन त्यति मूल्यवान् छ र? के त्यो सत्यता जत्तिकै मूल्यवान् हुन सक्छ र? त्यसकारण, कसैले पनि परमेश्वरको प्रेम र अनुग्रहको ऋण तिर्न सक्दैन, र त्यसमा मण्डलीद्वारा निकालिएका, निष्कासित गरिएका र हटाइएकाहरू पनि पर्छन्—तिनीहरू अपवाद होइनन्। तँसँग अलिकति विवेक, समझ, र मानवता छ भने, परमेश्वरको घरले तँलाई जसरी व्यवहार गरे पनि तैँले परमेश्वरका वचनहरू प्रसार गर्ने र उहाँको कामको गवाही दिने आफ्नो दायित्व पूरा गर्नुपर्छ। यो मानिसहरूले टार्नै नमिल्ने जिम्मेवारी हो। त्यसकारण, तैँले जति मानिसहरूलाई परमेश्वरका वचनहरू र उहाँको सुसमाचार प्रचार गरे पनि, वा जति मानिसहरू प्राप्त गरे पनि, यो तँलाई तारिफ गर्नुपर्ने कुरै होइन। परमेश्वरले अत्यन्तै धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ, तैपनि तँ ती सुन्ने वा स्विकार्ने गर्दैनस्। थोरै सेवा प्रदान गर्नु र अरूलाई सुसमाचार प्रचार गर्नु त तैँले गर्नैपर्ने कुरा हो, होइन र? तँ आज यति टाढा आइपुगेको हुनाले, के तैँले पश्चात्ताप गर्नुपर्दैन र? के तैँले परमेश्वरको प्रेमको ऋण तिर्ने अवसरहरू खोज्नुपर्दैन र? वास्तवमै पर्छ! परमेश्वरको घरसँग प्रशासनिक आदेशहरू हुन्छन्, र मानिसहरूलाई निकाल्ने, निष्कासित गर्ने, र हटाउने भनेको प्रशासनिक आदेशहरू र परमेश्वरका मागहरूअनुसार गरिने कामकुरा हुन्—यी कामकुरा गर्नु सही हो। कति मानिसहरूले भन्लान्, “निकालिएका र निष्कासित गरिएका मानिसहरूको सुसमाचार प्रचारद्वारा प्राप्त मानिसहरूलाई मण्डलीभित्र स्विकार्नु अलिक लज्जास्पद हुन्छ।” वास्तवमा भन्ने हो भने, यो नै मानिसहरूले पूरा गर्नुपर्ने कर्तव्य हो, र यसमा लाज मान्नुपर्ने कुनै कुरा छैन। सबै मानिसहरू सृजित प्राणी हुन्। तँलाई निकालिएको वा निष्कासित गरिएको छ, दुष्ट व्यक्ति वा ख्रीष्टविरोधी भनेर निन्दा गरिएको छ, वा तँ हटाइने निशानामा छस् भने पनि, के तँ अझै सृजित प्राणी नै होइनस् र? तँलाई निकालिएपछि, के परमेश्वर अझै पनि तेरो परमेश्वर हुनुहुन्न र? के परमेश्वरले तँलाई भनेका वचनहरू र तँलाई आपूर्ति गरेका कुराहरू स्वात्त मेटिन्छन् र? के ती अस्तित्वमा हुनै छोड्छन् र? ती अझै अस्तित्वमै हुन्छन्, यति हो तैँले तिनको कदर मात्रै गरेको हुँदैनस्। विश्वासमा ल्याइएका सबै मानिस, चाहे तिनीहरूलाई जसले विश्वासमा ल्याएका भए पनि, तिनीहरू सबै सृजित प्राणी हुन् र तिनीहरूले सृष्टिकर्तासामु आफूलाई समर्पित गर्नुपर्छ। त्यसकारण, यदि निकालिएका र निष्कासित भएका यी मानिसहरू सुसमाचार प्रचार गर्न इच्छुक छन् भने, हामी तिनीहरूलाई रोक्नेछैनौँ; तर तिनीहरूले जसरी प्रचार गरे पनि मानिसहरूलाई प्रयोग गर्ने परमेश्वरको घरका सिद्धान्तहरू अनि परमेश्वरको घरका प्रशासनिक आदेशहरू अपरिवर्तनीय हुन्छन्, र यो कहिल्यै, कुनै हालतमा परिवर्तन हुनेछैन।
बर्खास्त गरिएका यी विभिन्न प्रकारका मानिसहरूमध्ये अधिकांशले साँचो पश्चात्ताप गर्ने सम्भावना हुँदैन र तिनीहरूलाई फेरि प्रयोग गरिनै हुँदैन। कामको अनुभव नभएर अस्थायी रूपमा आफ्नो काम गर्न असक्षम भएर बर्खास्त गरिएका वा कर्तव्य खटनपटन समायोजन गरिएका मानिसहरूलाई मात्र प्रवर्द्धन र प्रयोग गर्न सकिन्छ। यस प्रकारका मानिसहरू पर्याप्त क्षमताका हुन्छन् र तिनीहरूको मानवतामा कुनै ठूलो समस्या हुँदैन, र तिनीहरूमा स-साना कमजोरी, दुर्गुण वा परिवारबाट जन्मजात आएका खराब बानीहरू मात्र हुन्छन्—यीमध्ये कुनै पनि कुरा ठूला समस्या होइनन्। यदि परमेश्वरको घरलाई तिनीहरूको आवश्यकता पऱ्यो भने, सही समयमा तिनीहरूलाई फेरि प्रवर्द्धन र प्रयोग गर्न सकिन्छ; यो मनासिब छ, किनकि तिनीहरू दुष्ट मानिस होइनन् र ख्रीष्टविरोधीहरू बन्नेछैनन्। तिनीहरूको क्षमता पर्याप्त छ, यति मात्र हो कि तिनीहरूले लामो समय काम गरिरहेका थिएनन् र तिनीहरूसँग कुनै अनुभव थिएन, त्यसैले तिनीहरू काम गर्न योग्य थिएनन्, जुन गम्भीर समस्या होइन। यदि तिनीहरूलाई यी कारणले बर्खास्त गरिएको भए, भविष्यमा तिनीहरूको विकास हुने सम्भावना हुन्छ र तिनीहरू परिवर्तन हुन सक्छन्। कसैसँग कार्य सामर्थ्य छ, ऊसँग क्षमता छ, र उसको मानवता मानकअनुरूप छ भने, यस प्रकारका मानिसहरू परमेश्वरको काम अनुभव गर्ने र कर्तव्य पूरा गर्ने अवधिमा बिस्तारै परिवर्तन हुनेछन्, तिनीहरूको मानवता परिवर्तन हुनेछ, तिनीहरू आफ्नो जीवन प्रवेशमा वृद्धि हुनेछन्, तिनीहरूको स्वभावमा सोहीअनुरूपका केही परिवर्तनहरू हुनेछन्, र तिनीहरूको सत्यता बुझाइमा केही प्रगति हुनेछ। तिनीहरू आफ्नो वातावरण, आफूले पूरा गर्ने कर्तव्यहरू, र आफ्ना व्यक्तिगत सङ्कल्पका आधारमा विभिन्न हदसम्म परिवर्तन र वृद्धि हुनेछन्, त्यसैले यस प्रकारका मानिसहरूलाई प्रवर्द्धन र प्रयोग गरिनुपर्छ भनेर भन्न सकिन्छ। पहिला बर्खास्त भएका विभिन्न प्रकारका मानिसहरूलाई फेरि प्रवर्द्धन र प्रयोग गर्ने सिद्धान्तहरू सामान्यतया यिनै हुन्।
अगुवा र कामदारहरूका जिम्मेवारीहरूको विषयवस्तु सात हो, “फरक-फरक किसिमका मानिसहरूलाई तिनीहरूको मानवता र सबल पक्षका आधारमा समझदारीपूर्वक खटनपटन र प्रयोग गर्ने, ताकि हरेकलाई सर्वोत्तम रूपमा प्रयोग गर्न सकियोस्।” हाम्रो भर्खरको सङ्गतिमा, मानिसहरूलाई सर्वोत्तम रूपमा प्रयोग गर्नुको अर्थ पहिल्यै स्पष्ट रूपमा व्याख्या गरिएको थियो। कसैको संवर्धनमा अलिकति पनि मूल्य भएसम्म, र उसको मानवता मानकअनुरूप भएसम्म, परमेश्वरको घरले उसलाई अवसरहरू दिनेछ। कसैले सत्यता पछ्याएसम्म र सकारात्मक कुराहरूलाई प्रेम गरेसम्म, परमेश्वरको घरले त्यति सजिलै उसलाई त्याग्ने वा हटाउनेछैन। तेरो मानवता र क्षमताले मैले भर्खर सङ्गति गरेका मानकहरू पूरा गर्छन् भने, परमेश्वरका घरमा तेरा लागि कर्तव्य पूरा गर्ने स्थान पक्कै हुनेछ, र यसले तँलाई पक्कै समझदारीपूर्वक प्रयोग गर्नेछ, र तँलाई आफ्नो क्षमता प्रयोग गर्ने पर्याप्त ठाउँ दिनेछ। छोटकरीमा भन्दा, यदि तँसँग मण्डलीका काममा आवश्यक पर्ने निश्चित पेसाका सबलता र विज्ञता छ भने, परमेश्वरको घरले पक्कै तँलाई उपयुक्त कर्तव्य पूरा गर्न दिनेछ। तर, यदि तँमा कुनै सङ्कल्प वा इच्छा छैन र तँ उँभो लाग्न चाहँदैनस् भने, जे सक्छस् त्यही गर्, तैँले आफ्नो क्षमताअनुसार गर्न सक्ने कुनै कर्तव्य पूरा गर्, र त्योभन्दा बढी केही नगर्। यदि तँसँग सङ्कल्प छ, र तँ “म अझै बढी सत्यताहरू बुझ्न र प्राप्त गर्न चाहन्छु, र जतिसक्दो चाँडो मुक्तिको मार्गमा लाग्न र सत्यता वास्तविकतामा प्रवेश गर्न चाहन्छु। म परमेश्वरको बोझको ख्याल राख्न इच्छुक छु, परमेश्वरका घरमा गह्रौँ जिम्मेवारी वहन गर्न, अरूले भन्दा बढी कष्टहरू भोग्न, अझ बढी शारीरिक रूपमा लागिपर्न र अरूले भन्दा बढी त्याग्न इच्छुक छु” भनेर भन्छस् भने, र यदि तँ सबै हिसाबमा उपयुक्त छस्, तैपनि कसैले तँलाई सिफारिस गर्दैन भने, तैँले आफूलाई अघि सार्न पनि सक्छस्। के त्यो उचित हुँदैन र? सारांशमा भन्दा, यी सबै कुरा हरप्रकारका मानिसहरूलाई प्रयोग गर्ने परमेश्वरको घरका सिद्धान्तहरू हुन्, जसको उद्देश्य मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्ने अधिकार दिनुभन्दा बढी केही होइन। सत्यता वास्तविकतामा प्रवेश गर्नुका प्रकटीकरणहरू के-के हुन्? ती हुन्: सत्यता बुझ्नु, विभिन्न किसिमका सबै कामहरू गर्दा सत्यता सिद्धान्तहरू बुझ्नु, अनि कुनै कुरा आइपर्दा अन्योलमा र अरकच्च पर्नुभन्दा, दैनिक जीवनमा हरप्रकारका मानिस, घटना र कामकुराहरूसँग अन्तरक्रिया गर्दा सान्दर्भिक सत्यताहरू अभ्यास गर्न सक्नु—उद्देश्य यही हो। यो उद्देश्य तय गरिएको हुँदा, तैँले त्यसतर्फ नै पछ्याउनुपर्छ!
अगुवा र कामदारहरूका जिम्मेवारीहरूको विषयवस्तु सातबारे हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ। कति मानिसहरूले भन्लान्, “तपाईँले अझै सङ्गति सकाउनुभएको छैन, तपाईँले यस विषयवस्तुका सन्दर्भमा झुटा अगुवाहरूको खुलासा गर्नुभएकै छैन।” मेरो जबाफ के हो भने, तिनीहरूको खुलासा गर्नुपर्ने आवश्यकता नै छैन। एक हिसाबमा, झुटा अगुवाहरू कमजोर क्षमताका र वास्तविक काम गर्न नसक्ने हुन्छन्; अर्को हिसाबमा, तिनीहरूमा विवेक र समझ हुँदैन, तिनीहरू बोझ वहन गर्दैनन्, आफ्नो काममा हृदय बिलकुलै लगाउँदैनन्, र केही सरल कामकुरासमेत राम्ररी गर्न सक्दैनन्। तिनीहरूले कुनै जटिल समस्या, वा सत्यता सिद्धान्तहरूसँग सम्बन्धित समस्या सामना गर्दैपिच्छे, त्यसलाई बिलकुलै छुट्ट्याउन सक्दैनन्, र उक्त समस्याको सार छर्लङ्ग देख्न त झनै सक्दैनन्। त्यसैले, तिनीहरूको खुलासा गर्नु आवश्यक छैन। यदि तिनीहरूको खुलासा गरियो भने पनि, तिनीहरूले त्यो स्विकार्दैनन्, र वचनहरू मात्र खेर जानेछन्। अझ भन्ने हो भने, तिनीहरूले गरेका कुराहरूबारे बोल्नु वाकवाकलाग्दो हुनेछ र त्यसले गर्दा मानिसहरू भित्रभित्रै रिसाउनेछन्। यी झुटा अगुवाहरूलाई यस्तो महत्त्वपूर्ण काममा खटाउनु मानिसहरूको प्रयोगमा भएको गल्ती थियो। आफ्नो काम गर्न असक्षम हुँदा त्यसले नै तिनीहरूलाई निकम्मा महसुस गराउँछ, र यदि तिनीहरूलाई खुलासा र चिरफार गरियो भने, तिनीहरूलाई झन् बढी सन्ताप हुनेछ। त्यसैले यी झुटा अगुवाहरूलाई सक्दो रूपमा आफूलाई दाँज्न र आफ्ना समस्याहरूलाई जाँच्न दे। यदि तैँले आफ्ना समस्याहरू पत्ता लगाउन सक्छस् भने, भविष्यमा सुधार गर्न सकिन्छ कि सकिँदैन, त्यो हेर्; यदि तैँले ती समस्या पत्ता लगाउन सक्दैनस् भने, तैँले जाँच जारी राख्नुपर्छ, र तैँले तिनलाई विश्लेषण गर्न र ठिक पार्न आफू वरपरका मानिसहरूलाई पनि मद्दत माग्न सक्छस्। यदि अरूले तँसँग सङ्गति गरेका छन् र तैँले त्यसमा आफ्नो हृदय लगाएको छस्, तर तैँले अझै आफ्ना समस्याहरू पत्ता लगाउन सकेको छैनस्, र तिनलाई कसरी पहिचान र समाधान गर्ने भनी जानेको छैनस् भने, तँ साँच्चै झुटो अगुवा होस् र तँलाई हटाइनुपर्छ।
मार्च ६, २०२१