अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (५)

यस अघिको भेलामा, हामीले अगुवा र कामदारहरूका जिम्मेवारीहरूको पाँचौँ विषयवस्तुबारे सङ्गति गऱ्यौँ। पाँचौँ विषयवस्तुमा सङ्गति गर्ने क्रममा, हामीले झूटा अगुवाहरूका केही प्रकटीकरण र कार्यहरूलाई चिरफार गऱ्यौँ, र हामीले यस विषयवस्तुमा सङ्गति गरेर सक्कायौँ। अब हामी अगुवा र कामदारहरूका जिम्मेवारीहरूका छैटौँ र सातौँ विषयवस्तुमा सङ्गति गर्नेछौँ। यी दुई विषयवस्तुको विशिष्ट अन्तर्वस्तु के हो? (छैटौँ विषयवस्तु: सबै किसिमका योग्य प्रतिभाको प्रवर्धन र संवर्धनमा सहयोग पुर्‍याउने ताकि सत्यतालाई पछ्याउने सबैले तालिम लिने मौका प्राप्त गर्न सकून् र जति सक्दो चाँडो सत्यता वास्तविकतामा प्रवेश गरून्। सातौँ विषयवस्तु: फरक-फरक किसिमका मानिसहरूलाई तिनीहरूको मानवता र सबल पक्षका आधारमा समझदारीपूर्वक खटनपटन र प्रयोग गर्ने, ताकि हरेकलाई सर्वोत्तम रूपमा प्रयोग गर्न सकियोस्।) त्यसोभए हामी झूटा अगुवाहरूका विभिन्न कार्य र प्रकटीकरणलाई यी दुई विषयवस्तुका हिसाबमा चिरफार गरौँ। यी दुई विषयवस्तु एउटै वर्गका हुन्, जुन मण्डलीद्वारा गरिने हर प्रकारका मानिसहरूको प्रवर्द्धन, संवर्धन, र प्रयोगसँग सम्बन्धित छ। सुरुमा हामी हर प्रकारका योग्य प्रतिभाहरूको प्रवर्द्धन र संवर्धन गर्नेबारे परमेश्‍वरको घरका सिद्धान्तहरूमा सङ्गति गरौँ। त्यसरी, के तिमीहरूले मूल रूपमा यो काम गर्दा अगुवा र कामदारहरूले पालना गर्नुपर्ने केही सिद्धान्तहरू बुझ्न सक्नेछैनौ र? तिमीहरूलाई यस्तो लाग्ला, “अगुवा र कामदारका रूपमा, हामी बारम्बार यी मामलाहरूसँग सम्पर्कमा आउँछौँ, हामी पहिल्यै यो कामसँग परिचित छौँ र हामीसँग यसको केही अनुभव छ, त्यसैले यदि तपाईँले यसबारे थप केही भन्नुभएन भने पनि हामी यसबारे स्पष्ट छौँ, र तपाईँले यसबारे विशेष रूपमा थप सङ्गति गर्नु आवश्यक नै छैन।” त्यसोभए, के यसमा सङ्गति गर्नु आवश्यक छैन त? (हामीलाई यसमा तपाईँको सङ्गति चाहिन्छ। हामीले अझै पनि यस सन्दर्भमा सिद्धान्तहरू बोध गरेका छैनौँ, र हामीले अझै पनि खुट्ट्याउन नजानेका केही प्रतिभावान् मानिसहरू छन्।) धेरैजसो अगुवा र कामदारहरू अझै पनि यो कार्य कसरी गर्ने भन्ने कुरामा निकै अन्योलमा छन्, र परिक्षण गर्दै अघि बढ्ने क्रममै छन्, र तिनीहरूले सही सिद्धान्तहरू बोध गर्न सकिरहेका छैनन्, त्यसैले हामीले अझै पनि विवरणहरूबारे सङ्गति गर्नु आवश्यक छ।

विषयवस्तु छ: सबै किसिमका योग्य प्रतिभाको प्रवर्धन र संवर्धनमा सहयोग पुर्‍याउने ताकि सत्यतालाई पछ्याउने सबैले तालिम लिने मौका प्राप्त गर्न सकून् र जति सक्दो चाँडो सत्यता वास्तविकतामा प्रवेश गरून्

परमेश्‍वरको घरले हर प्रकारका प्रतिभावान् मानिसहरूको प्रवर्द्धन र संवर्धन गर्नुको महत्त्व

परमेश्‍वरको घरले किन हर प्रकारका प्रतिभावान् मानिसहरूको प्रवर्द्धन र संवर्धन गर्छ? के हर प्रकारका मानिसहरूको प्रवर्द्धन र संवर्धन विज्ञान, शिक्षा, र साहित्यमा संलग्न हुनका खातिर हो? परमेश्‍वरका चुनिएका मानिसहरू सबैलाई पहिल्यै थाहा हुनुपर्छ कि, जब परमेश्‍वरको घरले विभिन्न प्रकारका प्रतिभावान् मानिसहरूको प्रवर्द्धन र संवर्धन गर्छ, यो कुनै प्रकारको उच्चतम-प्राविधिक सामग्री उत्पादन गर्न र चमत्कार सृजना गर्न वा मानव विकासको इतिहासबारे अनुसन्धान गर्न गरिएको हुँदैन, र मानवजातिको भविष्यका लागि कुनै प्रकारको योजना बनाउन गरिएको त झनै हुँदैन। त्यसोभए, परमेश्‍वरको घरले किन हर प्रकारका प्रतिभावान् मानिसहरूको प्रवर्द्धन र संवर्धन गर्छ त? तिमीहरू यो कुरा बुझ्छौ कि बुझ्दैनौ? (राज्यको सुसमाचार फैलाउनका लागि।) राज्यको सुसमाचार फैलाउनका लागि—यो एउटा कारण हो। अरू के छ? (सत्यता पछ्याउने सबै जनाले तालिम प्राप्त गर्ने अवसर पाउन सकून् भन्नका लागि।) ठीक भन्यौ, यो उत्तर निकै मनासिब र सटिक छ। यसो गर्नुको कारण सत्यता पछ्याउने अझ धेरै मानिसहरूले तालिम प्राप्त गर्ने अवसर पाउन सकून्, र तिनीहरू जतिसक्दो चाँडो सत्यता वास्तविकतामा प्रवेश गरून् भनेर हो। तिमीहरूले भर्खरै दिएका यी दुवै उत्तर सही र सटिक छन्। परमेश्‍वरको घरले गर्ने हर प्रकारका मानिसहरूको प्रवर्द्धन र संवर्धन, एक हिसाबमा राज्यको सुसमाचार फैलाउने कामसँग र परमेश्‍वरको कामसँग सम्बन्धित हुन्छ, अनि अर्को हिसाबमा, यो व्यक्तिगत पछ्याइ र प्रवेशसँग सम्बन्धित हुन्छ। सबैभन्दा महत्त्वपूर्ण दुई पक्षहरू यिनै हुन्। ठ्याक्कै भन्नुपर्दा, परमेश्‍वरको घरले हर प्रकारका प्रतिभावान् मानिसहरूको प्रवर्द्धन र संवर्धन गर्नुको महत्त्व के हो? प्रवर्द्धन र संवर्धन गरिने यी मानिसहरूले मण्डलीमा विशेष गरी के काम गर्छन्? जब परमेश्‍वरको घरले कुनै व्यक्तिलाई समूह अगुवा, सुपरिवेक्षक, वा मण्डली अगुवा वा कामदार बन्न प्रवर्द्धन र संवर्धन गर्छ, के उसलाई अधिकारी बनाइएको भन्न मिल्छ? (मिल्दैन।) परमेश्‍वरको घरले मानिसहरूले सुसमाचारको काम, लेखन-पठनको काम, चलचित्र निर्माणको काम, मलजल गर्ने काम, साथै केही साधारण मामला, इत्यादि जस्ता मण्डलीका विभिन्न कामका विशिष्ट परियोजना वा कामहरूको जिम्मेवारी लिन सकून् भनेर तिनीहरूलाई प्रवर्द्धन र संवर्धन गर्छ। त्यसोभए, तिनीहरूले यी विशिष्ट कार्यहरू कसरी गर्छन्? परमेश्‍वरका मागहरू, परमेश्‍वरका वचनका सत्यता सिद्धान्तहरू, र परमेश्‍वरको घरका कामका प्रबन्धहरूअनुसार मण्डलीको कामका विभिन्न विषयवस्तुको जिम्मेवारी लिएर, र यसरी परमेश्‍वरका मागहरूअनुसार आफ्नो कर्तव्य पूरा गरेर अनि सत्यता सिद्धान्तहरूअनुसार कार्य गरेर। यी मानिसहरूलाई कामको जिम्मेवारी लिन प्रवर्द्धन र संवर्धन गरिन्छ भन्ने तथ्यलाई हेर्दा, तिनीहरूसँग कुनै आधिकारिक पदवी वा हैसियत भएकाले तिनीहरूले आफ्नो काम राम्ररी गर्न सक्ने होइन। बरु, विशिष्ट कार्य वहन गर्नका लागि, अर्थात् परमेश्‍वरले तिनीहरूलाई सुम्पनुभएको कुरा, अर्को शब्दमा भन्दा, जिम्मेवारी बोकेको कुनै कर्तव्य र दायित्व, वहन गर्नका लागि तिनीहरूसँग निश्चित क्षमता हुनुपर्छ। अगुवा र कामदारहरूका जिम्मेवारीहरूको विषयवस्तु छमा उल्लेख गरिएअनुसार विभिन्न प्रकारका प्रतिभावान् व्यक्तिहरूको प्रवर्द्धन र संवर्धन गर्नुको विशिष्ट महत्त्व र परिभाषा यही हो। त्यसकारण, मानिसहरूको प्रवर्द्धन र संवर्धन गर्नुमा, परमेश्‍वरको घरको उद्देश्य भनेको परमेश्‍वरका मागहरू र परमेश्‍वरको घरको कामका प्रबन्धहरूअनुसार मण्डलीका विभिन्न कामहरू राम्ररी गर्नका लागि हर प्रकारका प्रतिभावान् मानिसहरूको संवर्धन गर्नु हो; यो यी मानिसहरूलाई मण्डलीका विभिन्न विशिष्ट कार्यहरू वहन गर्न सक्षम तुल्याउनका लागि हो। साथसाथै, परमेश्‍वरको घरले यी मानिसहरूले परमेश्‍वरका वचनबारे कसरी चिन्तन गर्ने भन्ने सिकून्, सत्यताबारे सङ्गति गरून्, र सिद्धान्तहरूअनुसार कार्य गरून् भनेर तिनीहरूलाई संवर्धन गर्छ र तालिम दिन्छ, जसले तिनीहरूलाई सत्यता अभ्यास गर्न र परमेश्‍वरका वचनहरूअनुसार जिउन, अनि सत्यता वास्तविकतामा प्रवेश गर्न अगुवाइ गर्छ, र तिनीहरूलाई वास्तविक अनुभव र गवाहीहरू प्राप्त गर्न सक्षम तुल्याउँछ, त्यसपछि तिनीहरूले अरूलाई अगुवाइ, मलजल र आपूर्ति गर्न, अनि मण्डलीका विभिन्न कामहरू राम्ररी गर्न सक्छन्, र साथसाथै, परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरमा समर्पित हुन, परमेश्‍वरको गवाही दिन, र सुसमाचार प्रचार गर्ने कर्तव्य पूरा गर्न सक्षम तुल्याउन सकिन्छ। हर प्रकारका प्रतिभावान् मानिसहरूको प्रवर्द्धन र संवर्धन गर्ने अभ्यासको विधि भनेको, एक हिसाबमा, मानिसहरूलाई परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्न, आफैलाई चिन्न, आफ्ना भ्रष्ट स्वभावहरूलाई फाल्न र सत्यता वास्तविकताभित्र प्रवेश गर्न अगुवाइ गर्नु हो; अर्को हिसाबमा, अगुवा र कामदारहरूले बफादारी र समर्पणको आफ्नै व्यावहारिक अनुभव प्रयोग गरेर मानिसहरूलाई तिनीहरूका कर्तव्य पूरा गर्न र परमेश्‍वरको जोरदार गवाही दिन अगुवाइ र संवर्धन गर्नका लागि हो। विभिन्न प्रकारका प्रतिभावान् मानिसहरूको संवर्धन गर्ने अभ्यासका दुई प्रमुख मार्ग यिनै हुन्। विभिन्न प्रकारका प्रतिभावान् मानिसहरूको प्रवर्द्धन र संवर्धनमा संलग्न विशिष्ट काम यही हो, र यो तिनीहरूको प्रवर्द्धन र संवर्धन गर्नुको वास्तविक महत्त्व पनि हो।

परमेश्‍वरको घरले प्रवर्द्धन र संवर्धन गर्ने विभिन्न प्रकारका प्रतिभावान् मानिसहरूका लागि आवश्यक मापदण्डहरू

अ. विभिन्न कामका अगुवा र कामदार र सुपरिवेक्षकहरूका लागि आवश्यक मापदण्डहरू

“परमेश्‍वरको घरले प्रवर्द्धन र संवर्धन गरेका विभिन्न प्रकारका प्रतिभावान् मानिसहरू” ले क-कसलाई जनाउँछ? त्यसले कुन-कुन क्षेत्रहरू समेट्छ? पहिलो भनेको विभिन्न कामका सुपरिवेक्षक हुन सक्ने प्रकारका मानिसहरू हुन्। विभिन्न कामका सुपरिवेक्षकहरूका लागि आवश्यक मानकहरू के-के हुन्? तीन वटा प्रमुख मानक छन्। पहिलो, तिनीहरूसँग सत्यता बुझ्ने क्षमता हुनैपर्छ। जसले विकृतिविना शुद्ध रूपमा सत्यता बुझ्न सक्छन् र त्यसबाट निष्कर्ष निकाल्न सक्छन् तिनीहरू मात्र राम्रो क्षमता भएका मानिस हुन्। राम्रो क्षमता भएका मानिसहरूसँग कम्तीमा पनि आत्मिक बुझाइ हुनैपर्छ र तिनीहरूले स्वतन्त्र रूपमा परमेश्‍वरका वचनहरू खान र पिउन सक्नैपर्छ। परमेश्‍वरका वचनहरू खाने र पिउने क्रममा, तिनीहरूले परमेश्‍वरका वचनहरूको न्याय, सजाय, र काटछाँट स्वतन्त्र रूपमा स्विकार्न, र आफ्ना धारणा र कल्पनाहरू अनि आफ्नै इच्छाका मिसावटहरू, साथै आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्नका लागि सत्यता खोज्न सक्नैपर्छ—यदि तिनीहरू यो मानकसम्म पुगे भने, त्यसको अर्थ तिनीहरूले परमेश्‍वरको काम अनुभव गर्न जानेका छन्, र यो राम्रो क्षमताको प्रकटीकरण हो। दोस्रो, तिनीहरूले मण्डलीको कामका लागि बोझ बोक्नैपर्छ। साँच्चै बोझ बोक्ने मानिसहरूसँग जोस मात्र होइन, वास्तविक जीवन अनुभव पनि हुन्छ, तिनीहरूले केही सत्यताहरू बुझेका हुन्छन् र केही समस्याहरू छर्लङ्ग देख्न सक्छन्। तिनीहरूले मण्डलीका काममा र परमेश्‍वरका चुनिएका मानिसहरूमा समाधान गरिनुपर्ने कैयौँ कठिनाइ र समस्याहरू छन् भन्ने देख्छन्। तिनीहरूले यो आफ्नै आँखाले देख्छन् र हृदयमा यसबारे चिन्ता लिन्छन्—मण्डलीको कामका लागि बोझ बोक्नु भनेको यही हो। यदि कसैमा राम्रो क्षमता मात्र छ र ऊ सत्यता बुझ्न मात्र सक्षम छ, तर ऊ अल्छे छ, उसले देहसुखको लोभ गर्छ, ऊ वास्तविक काम गर्न इच्छुक छैन, र माथिले काम सम्पन्न गर्नुपर्ने मिति जारी गर्दा, काम नगरी उम्किन नमिल्ने अवस्थामा, उसले अलिकति मात्रै काम गर्छ भने, यो कुनै बोझ नबोक्ने व्यक्ति हो। कुनै बोझ नबोक्ने मानिसहरू सत्यता नपछ्याउने, इन्साफको बोध नभएका, र केही न कामका मानिसहरू हुन्, जो सारा दिन कुनै पनि कुराका बारेमा गम्भीरतापूर्वक नसोची, खानेकुरा हसुर्दै बिताउँछन्। तेस्रो, तिनीहरूसँग काम गर्ने क्षमता हुनैपर्छ। “काम गर्ने क्षमता” भनेको के हो? सरल रूपमा भन्दा, यसको अर्थ के हो भने, तिनीहरूले काम अह्राउन र मानिसहरूलाई निर्देशन दिन सक्ने मात्र नभई समस्याहरू पहिचान गर्न र समाधान गर्न पनि सक्छन्—काम गर्ने क्षमता हुनु भनेको यही हो। यसका साथै, तिनीहरूलाई सङ्गठनात्मक सीप पनि चाहिन्छ। सङ्गठनात्मक सीप भएका मानिसहरू मानिसहरूलाई एकै ठाउँमा ल्याउन, कामको बन्दोबस्त र प्रबन्ध गर्न, र समस्या समाधान गर्न निकै कुशल हुन्छन्, अनि कामको प्रबन्ध गर्दा र समस्या समाधान गर्दा, तिनीहरूले मानिसहरूलाई राम्रोसँग मनाउन र पालन गराउन सक्छन्—सङ्गठनात्मक सीप हुनु भनेको यही हो। साँच्चिकै काम गर्ने क्षमता हुनेहरूले परमेश्‍वरको घरले प्रबन्ध गरेका विशिष्ट कार्यहरू गर्न सक्छन्, अनि कुनै लापरवाहीविना तीव्र र निर्णायक रूपमा त्यसो गर्न सक्छन्, र त्यसमाथि तिनीहरूले विभिन्न कार्यहरू राम्ररी गर्न सक्छन्। अगुवा र कामदारहरूको संवर्धन गर्नका लागि परमेश्‍वरको घरका तीन मानकहरू यिनै हुन्। यदि कसैले यी तीन मानकहरू पूरा गर्छ भने, ऊ एक दुर्लभ, प्रतिभावान् व्यक्ति हो र उसलाई तुरुन्तै प्रवर्द्धन र संवर्धन गरिनुपर्छ र तालिम दिइनुपर्छ, अनि केही समय अभ्यास गरिसकेपछि, उसले कामको जिम्मेवारी लिन सक्छ। जोसँग क्षमता छ, जसले बोझ बोक्छ, र जोसँग काम गर्ने क्षमता छ, मानिसहरूले उसका बारेमा सधैँ चिन्ता गर्ने र उसलाई काममा सुपरिवेक्षण अनि प्रेरित गर्ने गरिरहनुपर्दैन। ऊ सक्रिय हुन्छ, उसलाई कुन समयमा कुन कार्य गर्नुपर्छ, कुन कार्यको निगरानी र सुपरिवेक्षण गर्ने, र कुन कार्यहरूलाई नजिकबाट परिक्षण र अवलोकन गर्नुपर्छ भन्ने थाहा हुन्छ। ऊ यी कुराहरूबारे राम्रोसँग सचेत हुन्छ। यस्ता मानिसहरू आफ्ना काममा तुलनात्मक रूपमा भरपर्दा र विश्‍वासयोग्य हुन्छन्, र कुनै ठूलो समस्या आइपर्नेछैन। यदि समस्याहरू देखा परिहाले पनि, ती ठूलो परिदृश्यलाई असर नगर्ने सानातिना मामला हुनेछन्, र यी मानिसहरूले गर्ने कामबारे परमेश्‍वरले चिन्ता लिनुपर्दैन। जो साँच्चिकै आफ्नै दुई खुट्टामा उभिएर आफ्नो काम गर्न सक्छन् तिनीहरूसँग मात्र साँच्चिकै काम गर्ने क्षमता हुन्छ। जो आफ्ना दुई खुट्टामा उभिन सक्दैनन् र अरूले सधैँ जसका बारेमा चिन्ता लिनुपर्छ, जसमाथि नजर राख्नुपर्छ, जसलाई सुपरिवेक्षण गर्नुपर्छ र जसलाई हात समाएर के गर्ने भनेर सिकाइदिनुसमेत पर्छ, तिनीहरू अत्यन्तै कमजोर क्षमता भएका प्रकारका मानिसहरू हुन्। साधारण क्षमता भएका मानिसहरूले गर्ने कामका नतिजाहरू निश्चित रूपमा साधारण नै हुन्छन्, र यी मानिसहरूले केही गर्न सक्नका लागि तिनीहरूलाई अरूको निगरानी र सुपरिवेक्षणको खाँचो पर्छ। यसको विपरीत, राम्रो क्षमता भएका मानिसहरूलाई केही अवधिका लागि तालिम दिइएपछि, तिनीहरू आफ्नै दुई खुट्टामा उभिन सक्छन्, र हरेक पटक माथिले तिनीहरूलाई कुनै कार्यको निर्देशन दिँदा र केही सिद्धान्तहरू सङ्गति गर्दा, तिनीहरूले ती सिद्धान्तहरू बोध गर्न, तीअनुसार काम कार्यान्वयन गर्न, र धेरै ठूला विचलन वा त्रुटिहरूविना मूलतः सही बाटो पछ्याउन, अनि आफूले हासिल गर्नुपर्ने नतिजाहरू हासिल गर्न सक्छन्—काम गर्ने क्षमता हुनु भनेको यही हो। उदाहरणका लागि, परमेश्‍वरको घरले मण्डलीलाई पखाल्न, अनि ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूलाई पहिचान गरेर मण्डलीबाट निष्कासन गर्न आह्वान गर्छ, र यो कार्य गर्दै गर्दा काम गर्ने क्षमता भएका मानिसहरू मूलतः विचलित हुँदैनन्। एउटा ख्रीष्टविरोधी देखा परेपछि, ऊ प्रकाश हुन र निकालिन कम्तीमा पनि छ महिना लाग्छ। यस अवधिमा, काम गर्ने क्षमता भएकाहरूले उसलाई पहिचान गर्न, त्यो ख्रीष्टविरोधीका प्रकटीकरणहरू चिरफार गर्नका लागि सत्यताबारे सङ्गति गर्न, र उसलाई खुट्ट्याउन अनि बहकाउमा नपर्नका लागि दाजुभाइ-दिदीबहिनीहरूलाई मदत गर्न सक्छन्, जसले तिनीहरूलाई एकजुट भएर उठ्न र त्यो ख्रीष्टविरोधीलाई खुलासा र निष्कासन गर्न सक्षम तुल्याउँछ। जब ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरू काम गर्ने क्षमता भएका मानिसहरूको कामका क्षेत्रमा देखा पर्छन्, मूलतः धेरैजसो दाजुभाइ-दिदीबहिनीहरू बहकाउ वा प्रभावमा पर्दैनन्। केही अन्योलमा परेका र निकै कमजोर क्षमता भएका मानिसहरू मात्र भ्रममा पर्छन्, र यो एक सामान्य घटना हो। राम्रो क्षमता भएका र काम गर्ने क्षमता भएका मानिसहरूले आफ्नो काममा यी नतिजाहरू हासिल गर्न सक्छन्, अनि त्यस्ता मानिसहरूसँग सत्यता वास्तविकता हुन्छ र तिनीहरू मानकअनुरूपका अगुवा र कामदार हुन्।

मैले भर्खरै उल्लेख गरेका विभिन्न प्रकारका प्रतिभावान् मानिसहरूमध्ये, पहिलो प्रकार भनेको विभिन्न कामका सुपरिवेक्षक हुन सक्नेहरू थिए। तिनीहरूबाट गरिने पहिलो माग भनेको तिनीहरूसँग सत्यता बुझ्ने सक्षमता र क्षमता हुनुपर्छ। यो न्यूनतम माग हो। दोस्रो माग भनेको तिनीहरूले बोझ बोक्नुपर्छ—यो अपरिहार्य छ। कतिपय मानिसहरूले साधारण मानिसहरूभन्दा निकै चाँडो सत्यता बुझ्छन्, तिनीहरूमा आत्मिक बुझाइ हुन्छ, तिनीहरू राम्रा क्षमताका हुन्छन्, तिनीहरूसँग काम गर्ने क्षमता हुन्छ, र केही समय अभ्यास गरेपछि, तिनीहरू पूर्ण रूपमा आफ्नै दुई खुट्टामा उभिन सक्छन्। तर यी मानिसहरूमा एउटा गम्भीर समस्या हुन्छ—तिनीहरूले कुनै बोझ बोक्दैनन्। तिनीहरू खान, पिउन, रमाइलो गर्न, र चहारिरहन मन पराउँछन्। तिनीहरू यी कुराहरूमा अत्यन्तै रुचि राख्छन्, तर यदि तिनीहरूलाई कष्ट भोग्नुपर्ने र मूल्य तिर्नुपर्ने, र आफूलाई अलिकति रोक्नुपर्ने कुनै विशिष्ट काम गर्न लगाइयो भने, तिनीहरूको जाँगर हराउँछ र तिनीहरू आफूलाई कुनै रोग लागेको वा पीडा भएको, र तिनीहरूको हरेक अङ्गमा असहजता महसुस भइरहेको दाबी गर्छन्। तिनीहरू अनियन्त्रित, अनुशासनहीन, बेफिक्र, हठी, र उच्छृङ्खल हुन्छन्। तिनीहरू जहिले मन लाग्यो तहिले खान्छन्, सुत्छन्, र रमाइलो गर्छन्, अनि मुड आएको बेला मात्र अलिकति काम गर्छन्। यदि काम अलिकति कठिन वा थकाइलाग्दो छ भने, तिनीहरूले रुचि गुमाउँछन् र त्यस उप्रान्त आफ्नो कर्तव्य पूरा गर्न नै चाहँदैनन्। के यो बोझ बोक्नु हो? (होइन।) प्रवर्धन र संवर्धन गर्ने भनेको अल्छे र देहसुखको लोभ गर्ने मानिसहरूलाई होइन। कुनै कार्यका लागि चाहिनेभन्दा बढी क्षमता भएका मानिसहरू पनि हुन्छन्, तर दुर्भाग्यवश तिनीहरूले बोझ नै बोक्दैनन्, तिनीहरू जिम्मेवारी लिन मन पराउँदैनन्, तिनीहरूलाई समस्या मन पर्दैन, र चिन्ता लिन मन लाग्दैन। तिनीहरू पूरा गरिनुपर्ने कामप्रति अन्धा हुन्छन्, र तिनीहरूले त्यो काम देख्न सके पनि त्यसलाई सम्हाल्न नै चाहँदैनन्। के यस्ता प्रकारका मानिसहरू प्रवर्धन र संवर्धनका उम्मेदवार हुन् त? बिलकुलै होइनन्; प्रवर्द्धन र संवर्धन गरिनका लागि मानिसहरूले बोझ बोक्नैपर्छ। बोझ बोक्नुलाई जिम्मेवारीको बोध हुनु भनेर पनि व्याख्या गर्न सकिन्छ। जिम्मेवारीको बोध हुनु मानवतासँग बढी सम्बन्धित हुन्छ; बोझ बोक्नु परमेश्‍वरको घरले मानिसहरूलाई मापन गर्न प्रयोग गर्ने मानकहरूमध्ये एउटा मानकसँग सम्बन्धित हुन्छ। बोझ बोक्ने र साथसाथै अरू दुइटा कुरा—सत्यता बुझ्ने सक्षमता र क्षमता, अनि काम गर्ने क्षमता—हुने मानिसहरू त्यस प्रकारका मानिस हुन् जसलाई प्रवर्द्धन र संवर्धन गर्न सकिन्छ, र यस प्रकारका मानिसहरू विभिन्न कामका सुपरिवेक्षक बन्न सक्छन्। विभिन्न प्रकारका सुपरिवेक्षक बन्नका लागि मानिसहरूलाई गरिने प्रवर्द्धन र संवर्धनका आवश्यक मानकहरू यिनै हुन्, र यी मानकहरू पूरा गर्नेहरू प्रवर्द्धन र संवर्धनका उम्मेदवारहरू हुन्।

आ. विभिन्न पेसामा रहेका विशेष प्रतिभा र वरदान भएका प्रतिभावान् मानिसहरूका लागि आवश्यक मापदण्डहरू

विभिन्न कामका सुपरिवेक्षक हुन सक्ने प्रकारका मानिसहरूबाहेक, प्रवर्द्धन र संवर्धन गर्न सकिने अर्को प्रकारका मानिसहरू भनेको विशेष प्रतिभा वा वरदान भएका अथवा कुनै पेसागत सीपमा निपुणता हासिल गरेका मानिसहरू हुन्। यस्ता मानिसहरूलाई टोली अगुवाहरूमा संवर्धन गर्न परमेश्‍वरको घरले माग गर्ने मानक के हो? सुरुमा तिनीहरूको मानवतालाई हेर—तिनीहरूले तुलनात्मक रूपमा सकारात्मक कुराहरूलाई प्रेम गरेसम्म र तिनीहरू दुष्ट मानिस नभएसम्म, त्यो पर्याप्त हुन्छ। कतिपय मानिसहरूले सोध्लान्, “तिनीहरूलाई किन सत्यता पछ्याउने व्यक्ति हुन माग गरिँदैन?” किनभने टोली अगुवाहरू मण्डली अगुवा वा कामदार होइनन्, न त तिनीहरू मलजल गर्ने व्यक्ति नै हुन्, र तिनीहरूलाई सत्यता पछ्याउने मानक पूरा गर्न माग गर्नु अति ठूलो माग हुनेथियो, र तिनीहरूमध्ये धेरै जसोका लागि त्यो पहुँचभन्दा बाहिरको कुरो हुनेथियो। साधारण मामलाका काम गर्ने वा विशिष्ट पेसागत काम गर्ने मानिसहरूबाट यो माग गरिँदैन; यदि गरिन्थ्यो भने, थोरै मात्र योग्य हुनेथिए, त्यसैले मानकहरू तल झारिनुपर्छ। यदि मानिसहरूले आफ्नो पेसा बुझ्छन् र काम वहन गर्न सक्छन्, दुष्टता गर्दैनन् वा कुनै बाधा सिर्जना गर्दैनन् भने, त्यो नै पर्याप्त हुन्छ। केही सीप र पेसाहरूमा विज्ञता भएका, र केही सबलता भएका यी मानिसहरूको कुरा गर्नुपर्दा, यदि तिनीहरू परमेश्‍वरका घरमा सीपको अलिकति ज्ञान चाहिने र तिनीहरूको पेसासँग सम्बन्धित काम गर्न गइरहेका छन् भने, तिनीहरू चरित्रको हिसाबले तुलनात्मक रूपमा निर्दोष र सोझा छन्, दुष्ट छैनन्, बुझाइमा विकृत छैनन्, कष्ट सहन सक्छन्, र मूल्य चुकाउन इच्छुक छन् भने, त्यो नै पर्याप्त हुन्छ। तसर्थ, त्यस्ता मानिसहरूलाई टोली अगुवाहरूमा संवर्धन गर्नका लागि पहिलो माग भनेको तिनीहरूले तुलनात्मक रूपमा सकारात्मक कुराहरूलाई प्रेम गर्नैपर्छ, र त्यसका साथै, तिनीहरू कष्ट सहन र मूल्य चुकाउन सक्षम हुनैपर्छ। अरू के छ? (तिनीहरूसँग सोझो चरित्र हुनुपर्छ, तिनीहरू दुष्ट हुनु हुँदैन, र तिनीहरूले विकृत बुझाइ बोक्नु हुँदैन।) तिनीहरूको चरित्र तुलनात्मक रूपमा सोझो हुनुपर्छ, तिनीहरू दुष्ट मानिस हुनु हुँदैन, र तिनीहरू आफ्नो बुझाइमा विकृत हुनु हुँदैन। कतिपय मानिसहरूले यस्तो सोध्लान्, “त्यसोभए के सत्यता बुझ्ने तिनीहरूको क्षमतालाई उच्च मान्न सकिन्छ? सत्यता सुनेपछि, के तिनीहरू सत्यता वास्तविकताप्रति जागृत हुन सक्छन्, र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्?” यी सब मागहरू राख्नु आवश्यक छैन; त्यस्ता मानिसहरूको बुझाइ विकृत हुनु हुँदैन भनी माग गर्नु नै पर्याप्त हुन्छ। जब बुझाइमा विकृत नभएका मानिसहरूले आफ्नो काम गर्छन्, त्यसको एउटा फाइदा भनेको, तिनीहरूले अवरोध पुऱ्याउने वा कुनै हास्यास्पद कार्य गर्ने सम्भावना हुँदैन। उदाहरणका लागि, परमेश्‍वरको घरले अभिनेताहरूको पहिरनको रङ्गसम्बन्धी सिद्धान्तहरूबारे बारम्बार सङ्गति गरेको छ, जुन मर्यादित र सभ्य हुनुपर्छ, र भद्दा भन्दा पनि रङ्गीचङ्गी हुनुपर्छ। तैपनि त्यस्ता मानिसहरू छन् जसले तिनीहरूलाई भनिएको कुराको भेउ पाउनै सक्दैनन्, आफूले सुनेका कुराहरू बुझ्दैनन्, बोध गर्न सक्दैनन्, र परमेश्‍वरको घरका यी मागहरूभित्र रहेका सिद्धान्तहरू पहिचान गर्न नै सक्दैनन्, र अन्ततः तिनीहरूले पूरै खैरो पहिरन रोज्छन्—के यो विकृत बुझाइ होइन र? (हो।) विकृत बुझाइ हुनु भनेको यही हो। तुलनात्मक रूपमा सकारात्मक कुराहरूलाई प्रेम गर्नुको मुख्य अर्थ के हो? (सत्यतालाई स्विकार्न सक्नु।) ठीक भन्यौ। त्यसको अर्थ सत्यताअनुसारका शब्द र कामकुरालाई स्विकार्न सक्नु हो, अनि परमेश्‍वरका वचन र सत्यताका सबै पक्षलाई स्विकार्न र तिनमा समर्पित हुन सक्नु हो। त्यस्ता मानिसहरूले यी कुराहरू अभ्यास गर्न सके या नसके पनि, कम्तीमा, अन्तरात्मामा तिनीहरूले तिनको प्रतिरोध गर्नु हुँदैन वा तीदेखि घिन मान्नुहुँदैन। त्यस्ता मानिसहरू असल मानिस हुन्, र बोलीचालीका भाषामा, तिनीहरूलाई सभ्य मानिस भन्न सकिन्छ। सभ्य मानिसहरूका विशेषताहरू के-के हुन्? तिनीहरू गैरविश्‍वासीहरूले गर्न मन पराउने दुष्ट कार्यहरूप्रति, साथै गैरविश्‍वासीहरूले पछ्याउने दुष्ट प्रचलनहरूप्रति घिन, विकर्षण, र तिरस्कार महसुस गर्छन्। उदाहरणका लागि, गैरविश्‍वासी संसारका प्रचलनहरूले दुष्ट शक्तिहरूको वकालत गर्छन्, र धेरै महिलाहरू कुनै धनी व्यक्तिसँग विवाह गर्ने वा कसैको प्रेयसी बन्ने पछ्याइमा लाग्छन्। के यो दुष्ट होइन? सत्यतालाई प्रेम गर्ने मानिसहरूलाई यी कुरा निकै घृणास्पद लाग्छ र कतिपयले यस्तो भन्छन्, “यदि मैले विवाह गर्नका लागि कोही पाउन सकिनँ, यदि म गरिबीको कारण मर्न लागेँ भने पनि म कहिल्यै ती मानिसहरूजस्तो व्यवहार गर्नेथिइनँ,” अर्को शब्दमा भन्दा, उनीहरू त्यस्ता मानिसहरूलाई तिरस्कार र अवहेलना गर्छन्। सभ्य मानिसहरूको एउटा विशेषता यो हुन्छ कि उनीहरूलाई दुष्ट प्रचलनहरू घृणास्पद र तिरस्कारयोग्य लाग्छन्, र उनीहरू त्यस्ता प्रचलनहरूका जालमा फसेकाहरूलाई तिरस्कार गर्छन्। यी मानिसहरू धेरै नै सोझा हुन्छन्; परमेश्‍वरमा विश्‍वास गर्ने र एक असल व्यक्ति बन्‍ने, सही मार्गमा हिँड्ने, परमेश्‍वरको आराधना गर्ने र दुष्टताबाट अलग बस्‍ने, दुष्ट प्रचलनहरूबाट अलग बस्‍ने, र संसारका सबै दुष्ट व्यवहारहरूबाट अलग बस्‍ने कुरा सुन्नेबित्तिकै, अन्तस्करणमा उनीहरूलाई यो राम्रो कुरा हो भन्ने लाग्छ। उनीहरू यो सब हासिल गर्नका निम्ति तीव्र रूपमा लाग्न सके पनि नसके पनि, परमेश्‍वरमा विश्‍वास गर्ने र सही मार्गमा हिँड्ने उनीहरूको सङ्कल्प जति ठूलो भए पनि, अन्त्यमा, अन्तरात्मामा उनीहरू ज्योतिमा जिउन र धार्मिकताको शक्ति चल्ने स्थानमा रहन लालायित हुन्छन्। यस्ता सोझा मानिसहरू त्यस प्रकारका हुन्छन् जो सकारात्मक कुराहरूलाई धेरै नै प्रेम गर्छन्। परमेश्‍वरको घरद्वारा प्रवर्द्धन र संवर्धन गरिनुपर्ने मानिसहरूसँग कम्तीमा पनि सोझो मानवताको र सकारात्मक कुराहरूलाई प्रेम गर्ने चरित्र हुनुपर्छ। यो पेसागत सीप र सामर्थ्य भएका प्रतिभावान् प्रकारका मानिसहरूलाई प्रवर्द्धन गर्नका लागि आवश्यक पहिलो मानक पनि हो। दोस्रो मानक भनेको, त्यस्ता मानिसहरू कठिनाइ भोग्‍न र मूल्य चुकाउन सक्षम हुनैपर्छ। भन्नुको मतलब, उनीहरू जुन उद्देश्य वा कामका विषयमा उत्साही हुन्छन् त्यसका निम्ति उनीहरूले आफ्ना चाहनाहरू, देहसुख वा आरामदायी जीवनशैलीलाई पन्छाउन सक्छन्, र यहाँसम्म कि उनीहरूले आफ्नै भविष्यका सम्भावनाहरू त्याग्‍न सक्छन्। यसबाहेक, थोरै कठिनाइ हुनु वा केही थकित महसुस हुनु उनीहरूका लागि ठूलो कुरा हुँदैन; जबसम्म उनीहरूले केही अर्थपूर्ण र आफूलाई सही लाग्‍ने कुनै कार्य गरिरहेका हुन्छन्, तबसम्म उनीहरूले खुसीसाथ देहसुख र लाभहरू त्याग्छन्—वा, कम्तीमा पनि, उनीहरूसँग त्यसो गर्ने सङ्कल्प र कामना हुन्छ। कतिपय मानिसहरू भन्छन्, “कहिलेकाहीँ त्यो व्यक्तिले अझै देहसुखको लालसा गर्छ: कहिलेकाहीँ ऊ सुत्‍न चाहन्छ, वा मिठो भोजन गर्न चाहन्छ, र कहिलेकाहीँ ऊ बाहिर घुम्‍न जान वा उट्पट्याङ गर्दै समय खेर फाल्न चाहन्छ—तर अधिकांश समय ऊ कठिनाइ भोग्‍न र मूल्य चुकाउन सक्षम हुन्छ; यति मात्र हो कि कहिलेकाहीँ उसको मनस्थितिले उसलाई त्यस्ता सोचहरूतर्फ डोर्‍याउँछ। के यसलाई समस्या मानिन्छ?” मानिँदैन। विशेष परिस्थितिहरूमा बाहेक उनीहरूलाई देहसुख पन्छाउन लगाउनु अति नै ठूलो माग हुनेछ। सामान्यतः तैँले त्यस्ता मानिसहरूलाई केही कार्य गर्न दिँदा, चाहे त्यो कार्य ठूलो होस् वा नहोस्, र त्यो उनीहरूले गर्न मन पराउने कार्य होस् वा नहोस्, र चाहे त्यो कार्य जति नै कठिन होस्, वा उनीहरूले जतिसुकै ठूलो कठिनाइ भोग्नुपर्ने होस्, वा जेसुकै मूल्य तिर्नुपर्ने होस्, जबसम्म तैँले उनीहरूलाई त्यो काम अह्राउँछस्, तबसम्म उनीहरूले त्यो कार्य आफ्नो क्षमताले भ्याएसम्म राम्रो गर्ने प्रत्याभूति दिन्छन् र तैँले उनीहरूमाथि नजर राख्नु वा उनीहरूलाई सुपरिवेक्षण गर्नु पर्दैन। त्यस्ता मानिसहरूले कठिनाइ भोग्न र मूल्य चुकाउन सक्छन्, र यो सभ्य मानिसहरूको अर्को प्रकटीकरण हो। कठिनाइ भोग्न र मूल्य चुकाउन सक्‍नुको अर्थ के हो? यसको अर्थ मिहिन हुनु, अत्यन्तै समर्पित हुनु र ध्यान दिनु हो, र कामकुराहरू राम्ररी पूरा गर्नका निम्ति कुनै पनि कष्ट भोग्न र मूल्य चुकाउन इच्छुक हुनु हो। कामकुरा पूरा गर्ने सन्दर्भमा, त्यस्ता मानिसहरूले आफ्नो वाचा कायम राख्छन् र तिनीहरू भरपर्दा हुन्छन्, घिचुवा र अल्छे, आरामलाई प्रेम र श्रमलाई घृणा गर्ने, नाफालाई सबै कुराभन्दा अगाडि राख्ने मानिसहरूका विपरीत हुन्छन्। ती मानिसहरूले आफ्ना वाचा तोड्छन्, अरूलाई छल्न र फकाउन निरन्तर झूटा शब्दहरू बोल्छन्, अनि आफ्ना लक्ष्यहरू हासिल गर्नका लागि झूट बोल्न र झूटा कसम खान हिचकिचाउँदैनन्—परमेश्‍वरले ती मानिसहरूलाई मुक्ति दिनुहुनेछैन। परमेश्‍वरलाई इमानदार मानिसहरू मन पर्छ। इमानदार मानिसहरूले मात्र आफ्नो वचन कायम राख्छन् र तिनीहरू आफ्ना कर्तव्यप्रति बफादार हुन्छन्, अनि परमेश्‍वरको आज्ञा पूरा गर्नका लागि कष्ट भोग्न र मूल्य चुकाउन सक्नेहरूले मात्र परमेश्‍वरको मुक्ति पाउन सक्छन्। कष्ट भोग्न र मूल्य चुकाउन सक्षम हुनु भनेको परमेश्‍वरको घरद्वारा प्रवर्द्धन र संवर्धन गरिनका निम्ति व्यक्तिसँग हुनुपर्ने दोस्रो विशेषता र प्रकटीकरण हो। तेस्रो मानक भनेको आफ्नो बुझाइमा विकृत नहुनु हो। भन्नुको मतलब, परमेश्‍वरका वचनहरू सुनेपछि, उसले, कम्तीमा पनि, ती वचनहरूले के जनाउँछन् भनी थाहा पाउन सक्छ, परमेश्‍वरले भन्नुभएको कुराको अर्थ बुझ्न सक्छ, र उसको बुझाइमा कुनै विचलित वा निरर्थक हुँदैन। उदाहरणका लागि, यदि तैँले निलो रङ्गका बारेमा कुरा गरिस् भने, उसले त्यसलाई कालो रङ्ग भनेर गलत अर्थ लगाउने छैन, र यदि तैँले खैरो रङ्गका बारेमा कुरा गरिस् भने, उसले त्यसलाई बैजनी रङ्ग भनेर गलत अर्थ लगाउने छैन। यो न्यूनतम कुरा हो। कहिलेकाहीँ उसको बुझाइ विकृत भइहाले पनि, अरूले त्यो औँल्याइदिँदा उसले स्विकार्न सक्छ, र यदि उसले अरू कसैको बुझाइ आफ्नोभन्दा शुद्ध रहेको देख्यो भने, उसले त्यसलाई सहजै स्विकार्न सक्छ—यस प्रकारको व्यक्तिसँग विशुद्ध बुझाइ हुन्छ। चौथो, ऊ दुष्ट मानिस हुनुहुँदैन। के यो बुझ्न सजिलो छ? दुष्ट व्यक्ति नहुनु भनेको कम्तीमा पनि एउटा काम गर्नु हो, जुन के हो भने, परमेश्‍वरको घरले ऊबाट माग गरेको कुरा हासिल गर्न नसकिएपछि, वा सिद्धान्तहरू उल्लङ्घन गरेर केही गलत कुरा गरेपछि, काटछाँटमा पर्दा, त्यस्तो व्यक्तिले प्रतिरोध नगरी र नकारात्मकता वा धारणाहरू नफैलाई स्विकार्न र समर्पित हुन सक्नुपर्छ। यसका साथै, ऊ जुनसुकै समूहमा भए पनि, ऊ धेरै जसो मानिसहरूसँग मिल्न र तिनीहरूसँग सामञ्जस्यताका साथ जोडिन सक्छ। कसैले केही अप्रिय कुरा भनेर उसको चित्त दुखायो भने पनि, उसले त्यसलाई मनमा नराखी सहन सक्छ, र यदि कसैले उसलाई हेप्यो भने, उसले दुष्टतालाई दुष्टताले नै दण्डित गर्दैन, बरु केवल बुद्धिमानीपूर्वक दूरी कायम राख्ने र टाढा रहने उपाय अपनाउँछ। त्यस्ता व्यक्तिहरू इमानदार मानिसका स्तरसम्म नपुगे पनि, कम्तीमा पनि तिनीहरू धेरै सोझा हुन्छन् र दुष्टता गर्दैनन्, र यदि कसैले तिनीहरूलाई चिढ्यायो भने, तिनीहरूले त्यस व्यक्तिसँग प्रतिकार गर्ने वा उसलाई यातना दिने वा दमन गर्ने गर्दैनन्। त्यसमाथि, त्यस्ता मानिसहरूले आफ्नै स्वतन्त्र राज्यहरू स्थापना गर्ने, परमेश्‍वरको घरका विरुद्धमा कार्य गर्ने, परमेश्‍वरबारे धारणाहरू फैलाउने, उहाँको आलोचना गर्ने र अवरोध वा बाधा सिर्जना गर्ने कार्य गर्ने प्रयास गर्दैनन्। माथिका चारवटा बुँदाहरू सामर्थ्य भएका अनि केही पेसागत सीपहरू बुझेका प्रतिभावान् मानिसहरूको प्रवर्द्धन र संवर्धन गर्ने आधारभूत मापदण्ड हुन्। तिनीहरूले यी चारवटा मापदण्डहरू पूरा गर्न सकेको खण्डमा, तिनीहरूले मूलतः केही कर्तव्यहरू वहन गर्न र केही कार्यहरू उचित तरिकाले गर्न सक्छन्।

कतिपय मानिसहरूले सोध्न सक्छन्: “प्रवर्द्धन र संवर्धन गरिनका लागि प्रतिभावान् मानिसहरूले पूरा गर्नुपर्ने मापदण्डमा सत्यता बुझ्ने, सत्यता वास्तविकता प्राप्त गरेको, र परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने कुरा किन समावेश हुँदैनन्? तिनमा किन परमेश्‍वरलाई चिन्न सक्ने, परमेश्‍वरमा समर्पित हुन सक्ने, परमेश्‍वरप्रति बफादार हुने, र मानकअनुरूपको सृजित प्राणी बन्ने कुरा समावेश हुँदैनन्? के यी कुराहरू पछाडि नै छाडिएका छन्?” ल भन्, यदि कसैले सत्यता बुझ्छ र ऊ सत्यता वास्तविकतामा प्रवेश गरेको छ, परमेश्‍वरमा समर्पित हुन सक्छ, परमेश्‍वरप्रति बफादार छ, ऊसँग परमेश्‍वरको डर मान्ने हृदय छ, र त्यसमाथि, उसले परमेश्‍वरलाई चिन्छ, उहाँको प्रतिरोध गर्दैन, र ऊ मानकअनुरूपको सृजित प्राणी हो भने, के उसलाई अझै संवर्धन गर्नुपर्छ? यदि उसले साँच्चै यो सबै हासिल गरेको छ भने, के संवर्धनको नतिजा हासिल भइसकेको हुँदैन र? (हुन्छ।) त्यसकारण, प्रवर्द्धन र संवर्धन गरिनका लागि प्रतिभावान् मानिसहरूबाट गरिने मागहरूमा यी मापदण्ड समावेश हुँदैनन्। सत्यता नबुझ्ने र भ्रष्ट स्वभावहरूले भरिएका मानवमध्येबाट नै उम्मेदवारहरूलाई प्रवर्द्धन र संवर्धन गरिने हुनाले, यी प्रवर्द्धन र संवर्धन भइरहेका उम्मेदवारहरूसँग पहिल्यै सत्यता वास्तविकता हुनु, वा तिनीहरू पहिल्यै परमेश्‍वरमा समर्पित हुनु असम्भव छ, पहिल्यै परमेश्‍वरप्रति पूर्ण रूपमा बफादार हुनु त झनै सम्भव छैन, र तिनीहरू निश्चित रूपमा नै परमेश्‍वरलाई चिन्न र आफूसँग परमेश्‍वरको डर मान्ने हृदय हुनबाट अझ टाढा हुन्छन्। प्रवर्द्धन र संवर्धन गरिनका लागि सबै प्रकारका प्रतिभावान् मानिसहरूले सबैभन्दा पहिला हामीले भर्खरै उल्लेख गरेका मापदण्डहरू नै पूरा गर्नुपर्छ—यी नै सबैभन्दा व्यावहारिक र विशिष्ट मापदण्ड हुन्। कतिपय झूटा अगुवाहरूले “हामीसँग यहाँ कोही प्रतिभावान् मानिस छैनन् जसलाई प्रवर्द्धन र संवर्धन गर्न सकियोस्। फलानोले सत्यता बुझ्दैन, फलानोले परमेश्‍वरको डर मान्ने हृदयविना कामकुरा गर्छ, फलानोले काटछाँट स्विकार्न सक्दैन, फलानोमा बफादारी छैन…” आदि भन्छन् र धेरै त्रुटिहरू औँल्याउँछन्। यी झूटा अगुवाहरूले यी कुराहरू भन्नुको तात्पर्य के हो? मानौँ ती मानिसहरूले सत्यता नबुझ्ने, र परमेश्‍वरको काम अनुभव नगर्ने, अनि तिनीहरूसँग अझै सत्यता वास्तविकता नभएको, इत्यादि कारणहरूले गर्दा तिनीहरूलाई प्रवर्द्धन र संवर्धन गर्न सकिन्न, जबकि अगुवाहरू चाहिँ तिनीहरूसँग पहिल्यै केही व्यावहारिक अनुभव र सत्यता वास्तविकता भएका कारण अगुवा बन्न सकेका थिए। के यी झूटा अगुवाहरूले भन्न खोजेको त्यही होइन र? तिनीहरूका नजरमा, तिनीहरूजत्तिको असल कोही पनि हुँदैन, र तिनीहरूबाहेक कोही पनि अगुवा बन्न उपयुक्त हुँदैन। यो झूटा अगुवाहरूको अहङ्कारी स्वभाव हो; परमेश्‍वरको घरले मानिसहरूको प्रवर्द्धन र संवर्धन गर्ने सन्दर्भमा, तिनीहरू धारणा र कल्पनाहरूले भरिएका हुन्छन्।

इ. सामान्य मामला सम्बन्धी कामका कर्मचारीका लागि आवश्यक मापदण्डहरू

मैले भर्खरै परमेश्‍वरको घरले संवर्धन गर्नमा ध्यान दिने दुई प्रकारका मानिसहरू उल्लेख गरेँ। एउटा प्रकार भनेको अगुवा र कामदार हुन सक्ने मानिसहरू हुन्, र अर्को प्रकार भनेको विभिन्न पेसागत कार्यहरूको जिम्मेवारी लिन सक्ने मानिसहरू हुन्। अर्को प्रकारको व्यक्ति पनि हुन्छ। ऊसित निश्चित सामर्थ्य वा पेसागत सीपहरू हुन्छ भन्न सकिँदैन; उसको काममा कुनै उच्चस्तरीय प्रविधि संलग्न हुँदैन, अर्थात् यी मानिसहरूले मण्डलीमा कुनै निश्चित सामान्य मामला सम्बन्धी काम गर्छन्, तिनीहरूले मण्डलीको मूलभूत कामसित असम्बन्धित निश्चित मामिलाहरू सम्हाल्छन्। तिनीहरू त्यस प्रकारका मानिस हुन् जो सामान्य मामला सम्बन्धी काम गर्छन्। त्यस्ता मानिसहरूका लागि परमेश्‍वरको घरका प्रमुख मागहरू के-के हुन्छन्? सबैभन्दा महत्त्वपूर्ण माग के हुन्छ भने, तिनीहरूले परमेश्‍वरको घरको हितको प्रतिरक्षा गर्न सक्नुपर्छ, परमेश्‍वरको घरलाई हानि पुर्‍याएर बाहिरका मानिसहरूलाई सहयोग गर्नु हुँदैन, र शैतानको कृपापात्र बन्न परमेश्‍वरको घरका हितहरूलाई घात काम गर्नु हुँदैन। त्यति नै हो। तिनीहरू चाहे वरदानप्राप्त वक्ता, समाजको सबैभन्दा उत्कृष्ट व्यक्ति, वा विशेष प्रतिभा जेसुकै होऊन्, परमेश्‍वरको घरका लागि बाहिरी मामलाहरू सम्हाल्दा, तिनीहरूले परमेश्‍वरको घरको हितको रक्षा गर्न सक्नुपर्छ। परमेश्‍वरको घरका हितहरूमा के-के कुराहरू समावेश हुन्छन्? पैसा, सामाग्रीहरू, परमेश्‍वरको घरको र मण्डलीको प्रतिष्ठा, र दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा—यी हरेक पक्ष हरेक महत्त्वपूर्ण हुन्छ। जो परमेश्‍वरको घरका हितहरूको प्रतिरक्षा गर्न सक्षम छ, ऊसँग सामान्य मानवता हुन्छ, र ऊ पर्याप्त मात्रामा सोझो, अनि सत्यता अभ्यास गर्न इच्छुक हुन्छ। कतिपय मानिसहरूले खुट्ट्याउन सक्दैनन्, र यसो भन्छन्, “दुष्ट मानवता भएको एउटा व्यक्ति छ, तर उसले परमेश्‍वरको घरको कामको प्रतिरक्षा गर सक्छ।” के त्यो सम्भव छ? (अहँ, छैन।) दुष्ट मानिसहरूले कसरी परमेश्‍वरको घरको कामको प्रतिरक्षा गर्न सक्छन्? तिनीहरूले त आफ्नै स्वार्थको मात्र प्रतिरक्षा गर्न सक्छन्। तसर्थ, यदि कोही परमेश्‍वरको घरका हितहरूको प्रतिरक्षा गर्न साँच्‍चै सक्षम छ भने, उसको चरित्र र मानवता निश्‍चय नै राम्रो हुन्छ; यो गलत हुन सक्दैन। यदि कसैले परमेश्‍वरको घरका लागि कार्यहरू गर्दा परमेश्‍वरको घरलाई हानि पुग्‍ने गरी बाहिरका व्यक्तिहरूलाई सहयोग गर्छ, र परमेश्‍वरको घरका हितहरूलाई विश्‍वासघात गर्छ, र परमेश्‍वरको घरलाई ठूलो आर्थिक र भौतिक हानि मात्र नभई परमेश्‍वरको घर र मण्डलीको प्रतिष्ठामा पनि ठूलो क्षति पुर्‍याउँछ भने, के ऊ असल व्यक्ति हो त? त्यस्ता मानिसहरू निश्चित रूपमा राम्रा होइनन्। तिनीहरू परमेश्‍वरको घरले कति ठूलो भौतिक र आर्थिक घाटा बेहोर्छ भन्नेबारे वास्ता गर्दैनन्; तिनीहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा आफैलाई फाइदा पुऱ्याउनु र गैरविश्‍वासीहरूको कृपापात्र बन्नु हो; तिनीहरूले गैरविश्‍वासीहरूलाई उपहारहरू पठाउने मात्र नभई, वार्ताका क्रममा, पटक-पटक तिनीहरूसँग सम्झौता समेत गर्छन्—तिनीहरूमा परमेश्‍वरको घरको हितका लागि लड्नुपर्छ भन्ने चेत आएकै छैन। तैपनि, तिनीहरू, आफूले काम पूरा गरेको र परमेश्‍वरको घरका हितहरूको प्रतिरक्षा गरेको भन्दै परमेश्‍वरको घरलाई ढाँट्छन्—जबकि वास्तवमा, मण्डलीको कामले घाटा बेहोरिसकेको हुन्छ र परमेश्‍वरको घरबाट गैरविश्‍वासीहरूले ठूलो फाइदा उठाइसकेका हुन्छन्। यदि, हरेक हिसाबमा, बाह्य मामिलाहरू सम्हाल्दा, कुनै व्यक्ति परमेश्‍वरको घरका हितहरूको रक्षा गर्न सक्षम छ भने, के ऊ असल व्यक्ति हो? (हो।) अनि यदि यस प्रकारको व्यक्ति परमेश्‍वरका घरमा कुनै अरू काम गर्न असमर्थ छ, र उसलाई यस प्रकारको सामान्य मामिलाको काम गर्न मात्र सुहाउँछ भने, के उसलाई परमेश्‍वरको घरले प्रवर्द्धन गर्नुपर्छ? (गर्नुपर्छ।) उसमा काम गर्ने क्षमता हुनु, र ऊ परमेश्‍वरको घरले माग गरेका सिद्धान्तहरूअनुसार आफ्नो काम गर्न सक्षम हुनुका साथै, ऊ परमेश्‍वरको घरका हितहरूको प्रतिरक्षा गर्न पनि सक्षम हुन्छ, त्यसैले ऊ मानकअनुरूप हुन्छ, त्यस्ता मानिसहरूलाई प्रवर्द्धन गरिनुपर्छ। अर्कोतर्फ, जसले परमेश्‍वरको घरका हितहरूलाई निरन्तर हानि पुऱ्याउँछन्, जसले दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षालाई निरन्तर जोखिममा पार्ने सम्भावना हुन्छ, र जसले निरन्तर परमेश्‍वरको घर र मण्डलीको प्रतिष्ठामा प्रतिकूल असर र परिणामहरू ल्याउँछन्—त्यस्ता मानिसहरूलाई प्रवर्द्धन वा संवर्धन गर्नुहुँदैन; यदि तिनीहरूलाई प्रवर्द्धन र प्रयोग गरिएको छ भने, तिनीहरूलाई चाँडै बर्खास्त गर्नुपर्छ। कतिपय त्यस्ता मानिस पनि हुन्छन् जो आफ्ना कार्य गर्दा जहिल्यै समस्यामा फस्छन्, जस्तै सवारी चलाउँदा दुर्घटनामा पर्ने, आफूले सम्हाल्ने मामलाहरूमा गडबडी गर्ने, वा द्वन्द्व निम्त्याएर त्यसको परिणामस्वरूप निरन्तर गुनासाहरू आउने, र यदि केही त्रुटिहरू छन् भने तिनीहरूलाई ती कसरी ठिक गर्ने भनेर थाहा हुँदैन। त्यस्ता मानिसहरू कमजोर मनका, साथै दुर्भाग्य निम्त्याउने, र कुलाङ्गार पनि हुन्छन्। यदि यस्तो प्रकारको व्यक्ति टोली अगुवा, सुपरिवेक्षक, अगुवा वा कामदार बन्यो भने, उसलाई तुरुन्तै बर्खास्त गर्नुपर्ने मात्र नभई उसलाई मण्डलीबाट निकाल्नु पनि पर्छ। किनभने यस प्रकारको व्यक्ति विपत्तिको कारक हुन्छ र उसले दुर्भाग्य निम्त्याउँछ। जबसम्म मण्डलीमा यस्ता एक-दुई जना मानिसहरू रहन्छन्, तबसम्म मण्डलीमा शान्ति हुन सक्दैन। यस्ता मानिसहरूभित्र दुष्ट आत्माहरू, वा महामारी भए जस्तो देखिन्छ। तिनीहरूको सम्पर्कमा आउने जोसुकैले दुर्भाग्य भोग्नेछ, त्यसैले यस्तो प्रकारको व्यक्तिलाई ढिलाइ नगरी जरै देखी उखेल्नुपर्छ। यी मानिसहरूको मुखाकृतिसमेत एकदम नमिल्दो हुन्छ, धूर्त वा दुष्ट विशेषताले भरिएको वा घिनलाग्दो गरी कुरूप हुन्छ, र तिनीहरूको सम्पर्कमा आउने जो कोहीलाई पनि अपसगुन महसुस हुन्छ। यस्ता प्रकारका मानिसहरूलाई बर्खास्त वा निकाला गरिनुपर्छ, तब मात्र मण्डलीका लागि कामकुराहरू राम्रा हुन सक्छन्। मण्डलीमा विभिन्न मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्नका लागि सिद्धान्तहरूको पालना र समझशक्तिको प्रयोग आवश्यक हुन्छ, ताकि सिद्धान्तहरूअनुसार कार्य गर्न सकियोस्। प्रवर्द्धन र संवर्धन गरिने विभिन्न प्रकारका मानिसहरूमध्ये, मण्डली अगुवा र कामदारका रूपमा सेवा गर्ने मानिसहरू हुन्छन्, मण्डलीभित्र विभिन्न पेसाका लागि जिम्मेवार मानिसहरू हुन्छन्, र मण्डलीका लागि सामान्य मामलाहरू सम्हाल्ने मानिसहरू पनि हुन्छन्। यी विविध प्रकारका प्रतिभावान् मानिसहरूले पूरा गर्नुपर्ने विभिन्न मापदण्डहरूबारे पनि स्पष्ट रूपमा सङ्गति गरिएको छ। जब तिमीहरू अगुवा र कामदारहरूको छनोट कसरी गर्ने र मानिसहरूलाई कसरी प्रवर्द्धन र संवर्धन गर्ने भन्ने सिद्धान्तहरूबारे स्पष्ट हुन्छौ, तब मण्डलीको सम्पूर्ण काम सही मार्गमा प्रवेश गर्नेछ।

कतिपय मानिसहरूले सोध्न सक्छन्, “परमेश्‍वरको घरले प्रवर्द्धन र संवर्धन गर्ने यी मानिसहरूलाई किन प्रतिभावान् भनिन्छ?” हामीले कुरा गर्ने प्रतिभावान् मानिसहरूले प्रवर्द्धन र संवर्धन गरिने उम्मेदवारहरूलाई जनाउँछ। फरक-फरक कर्तव्यहरू पूरा गर्न सक्ने मानिसहरूका लागि फरक-फरक मागहरू हुन्छन्, र तिनीहरू प्रवर्द्धन र संवर्धन गरिने क्रममा नै रहेकाले, यी तथाकथित प्रतिभावान् मानिसहरूले हामीले भर्खरै उल्लेख गरेका ती मापदण्डहरू पूरा गर्न सक्नु नै पर्याप्त हुन्छ। यी व्यक्तिहरूबाट तिनीहरूमा पहिल्यै सत्यता वास्तविकता हुनुपर्ने, तिनीहरू पहिल्यै समर्पित र बफादार हुनुपर्ने, र तिनीहरूले पहिल्यै परमेश्‍वरको डर मान्नुपर्ने अपेक्षा गर्नु अव्यावहारिक हुनेथियो। यसर्थ, हामीले कुरा गर्ने प्रतिभावान् मानिसहरू भनेको सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने केही गुण र निष्ठा भएका, अनि सत्यता बुझ्ने क्षमता भएका मानिसहरू मात्रै हुन्—यसरी तिनीहरूलाई योग्य मानिन्छ। यसको अर्थ तिनीहरूले सत्यता बुझिसकेका छन् र सत्यता वास्तविकतामा प्रवेश गरिसकेका छन् भन्ने होइन, न त यसको अर्थ तिनीहरूले परमेश्‍वरको न्याय र सजाय, इत्यादि कुरा स्विकारेपछि परमेश्‍वरप्रति पूर्ण समर्पण हासिल गरिसकेका छन् भन्ने नै हो। अवश्य नै, “प्रतिभावान् मानिसहरू” भन्नाले विश्‍वविद्यालयमा पढेका वा विद्यावारिधि गरेका मानिसहरू, वा सुविधा-सम्पन्न पारिवारिक पृष्ठभूमि भएका वा उच्च सामाजिक हैसियत भएका मानिसहरू, अथवा विशेष क्षमता वा वरदान भएका मानिसहरूलाई जनाउँदैन—यसले यी मानिसहरूलाई जनाउँदैन। तिनीहरूलाई प्रवर्द्धन र संवर्धन गरिने हुनाले, पेसागत काम गर्न गइरहेका कतिपय मानिसहरूले त्यो पेसा पहिले कहिल्यै नगरेका वा त्यो अध्ययन नगरेका हुन सक्छन्, तर जबसम्म तिनीहरूले प्रवर्द्धन र संवर्धनका ती केही मापदण्डहरू पूरा गर्छन्, साथै तिनीहरू सिक्न इच्छुक हुन्छन् र एउटा निश्चित पेसा सिक्नमा कुशल हुन्छन्, तबसम्म परमेश्‍वरको घरले तिनीहरूलाई प्रवर्द्धन र संवर्धन गर्न सक्छ। मैले यसो भन्नुको तात्पर्य के हो? मेरो तात्पर्य यो होइन कि कुनै व्यक्ति एउटा निश्चित पेसामा प्राकृतिक रूपमै अब्बल छ भने मात्र उसलाई प्रवर्द्धन र संवर्धन गर्न सकिन्छ। बरु, यो हो कि, यदि ऊसँग सिक्ने रुझान र अवस्था छ, वा ऊसँग यस पेसाका केही आधारभूत कुराहरू मात्र छन् भने पनि, उसलाई प्रवर्द्धन र संवर्धन गर्न सकिन्छ—सिद्धान्त यही हो। परमेश्‍वरको घरले प्रवर्द्धन र संवर्धन गर्न चाहने विभिन्न प्रतिभावान् मानिसहरूले पूरा गर्नुपर्ने मापदण्डहरूबारे हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ।

परमेश्‍वरको घरले सबै प्रकारका प्रतिभावान् मानिसहरूको प्रवर्द्धन र संवर्धन गर्नुको उद्देश्य

यसपछि हामी परमेश्‍वरको घरले किन सबै प्रकारका प्रतिभावान् मानिसहरूको प्रवर्द्धन र संवर्धन गर्छ भन्नेबारे सङ्गति गर्नेछौँ। कतिपय मानिसहरूले यो त्यत्ति बुझ्दैनन्, र यस्तो सोच्छन्, “परमेश्‍वरको घरले विभिन्न प्रतिभावान् मानिसहरूलाई सिधै प्रवर्द्धन र प्रयोग गरे पर्याप्त हुने थिएन र? त्यसले किन तिनीहरूलाई केही समयसम्म संवर्धन गर्नु र तालिम दिनु पर्‍यो र?” तिमीहरू यो बुझ्छौ कि बुझ्दैनौ? सुरुमा, हामी त्यस्ता मानिसहरूको कुरा गरौँ, जो अगुवा र कामदार बन्छन्। परमेश्‍वरको घरले बुझ्ने क्षमता भएका, मण्डलीका लागि बोझ बोक्ने, र काम गर्ने क्षमता भएका मानिसहरूलाई किन प्रवर्द्धन र संवर्धन गर्छ? किनभने तिनीहरू क्षमताका हिसाबले योग्य भएको र तिनीहरूले मापदण्ड पूरा गर्ने भए पनि, तिनीहरूले अझैसम्म वास्तविक अनुभव पाएका हुँदैनन् र सत्यता बुझ्दैनन्, सत्यता कसरी अभ्यास गर्ने र सिद्धान्तहरूअनुसार कसरी कार्य गर्ने भनेर त तिनीहरूलाई झनै थाहा हुँदैन। तिनीहरूलाई केही समयसम्म तालिम दिनैपर्छ र मार्गदर्शन गर्नैपर्छ, र तिनीहरू आफ्नो कर्तव्य पूरा गर्ने सिद्धान्तहरूमा निपुण भएपछि र तिनीहरूसँग वास्तविक अनुभव भएपछि मात्र तिनीहरूलाई औपचारिक रूपमा प्रयोग गर्न मिल्छ। यदि तिनीहरूले मण्डलीका दाजुभाइ-दिदीबहिनीजस्तै परमेश्‍वरका वचनहरू खाने र पिउने, प्रवचनहरू सुन्ने, मण्डलीको जीवन जिउने, र कर्तव्य निर्वाह गर्नका लागि तालिम लिने गरेका भए, र तिनीहरूको जीवन वृद्धि भइसकेपछि मात्र तिनीहरूलाई प्रवर्द्धन र संवर्धन गरिने भएको भए, तिनीहरूको प्रगति अति सुस्त हुने थियो। त्यस अवस्थामा, तिनीहरू परमेश्‍वरद्वारा प्रयोग गरिनका लागि उपयुक्त हुन कति वर्ष लाग्ने थियो? के यसले मण्डलीका काममा असर गर्ने थिएन? त्यसकारण, जोसँग सत्यता बुझ्ने क्षमता छ, काम गर्ने सक्षमता छ, र बोझको बोध छ, उसलाई प्रवर्द्धन र संवर्धन गरिनुपर्छ र अगुवा वा कामदारको कर्तव्य निर्वाह गर्नका लागि तालिम लिन लगाउनुपर्छ, साथै उसलाई बोझ दिइनुपर्छ। एक हिसाबमा, त्यसले उसलाई आफ्ना सबल पक्षहरूको अधिकतम प्रयोग गराउँछ। अर्को हिसाबमा, उसले विशेष परिस्थितिहरू सामना गर्दा, उसका कठिनाइहरूलाई हटाउनका लागि ऊसँग सत्यताबारे सङ्गति गर्नु आवश्यक हुन्छ। कहिलेकाहीँ उसलाई काटछाँट पनि गर्नुपर्छ, र आवश्यक परेमा, उसलाई ताडना पनि दिनैपर्छ अनि उसले कैयौँ परीक्षा र शोधन भोग्नुपर्छ, र धेरै कष्ट सहनुपर्छ। त्यस्तो व्यावहारिक तालिम लिएर मात्र उसले वास्तविक प्रगति गर्न सक्छ, र चरणबद्ध रूपमा सत्यता बुझ्न अनि सिद्धान्तहरूमा निपुणता हासिल गर्न सक्छ, र त्यसपछि चाँडोभन्दा चाँडो अगुवा र कामदारको कामको जिम्मेवारी वहन गर्न सक्छ। अगुवा र कामदारहरूलाई यसरी संवर्धन गर्दा र तालिम दिँदा नतिजाहरू झनै राम्रा हुनेछन् र त्यो छिटो पनि हुनेछ, जुन परमेश्‍वरको घरको कामका लागि फाइदाजनक हुन्छ र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशका लागि अझ बढी फाइदाजनक हुन्छ, किनभने व्यावहारिक अनुभव भएका अगुवा र कामदारहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई सिधै मलजल र आपूर्ति गर्न सक्छन्। जब परमेश्‍वरको घरले कसैलाई अगुवा बनाउनका लागि प्रवर्द्धन र संवर्धन गर्छ, तब त्यसले उसलाई तालिम लिन, परमेश्‍वरमा निर्भर हुन, र सत्यतातर्फ लागिपर्न अझै ठूलो बोझ दिन्छ; त्यसपछि मात्रै उसको कद सक्दो चाँडो बढ्छ। उसलाई जति ठूलो बोझ दिइन्छ, ऊ त्यति नै बढी दबाबमा पर्छ, र ऊ त्यति नै सत्यताको खोजी गर्न र परमेश्‍वरमा निर्भर हुन बाध्य हुन्छ। अन्त्यमा, उसले आफ्‍नो काम राम्ररी गर्न र परमेश्‍वरको इच्‍छा पछ्याउन सक्छ, र त्यसरी उसले मुक्ति पाउने र सिद्ध पारिने सही मार्गमा पाइला राखेको हुन्छ—परमेश्‍वरको घरले मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्दा हासिल हुने नतिजा यही हो। यी निश्‍चित कार्यहरू नगरीकन, तिनीहरूलाई आफूमा के कुराको कमी छ, सिद्धान्तहरूअनुसार कसरी कामकुरा गर्ने, र सत्यता वास्तविकता हुनु भनेको के हो भनेर थाहै हुनेथिएन। त्यसकारण निश्‍चित काम गर्दा, तिनीहरूलाई आफ्‍नो कमीकमजोरी पत्ता लगाउन र तिनीहरूका वरदान बाहेक, तिनीहरूसँग सत्यता वास्तविकता छैन भनी देख्न मद्दत गर्छ; यसले तिनीहरूलाई तिनीहरू कति विपन्‍न र दयनीय छन् भनी बुझ्न मद्दत गर्छ, जसले तिनीहरूलाई तिनीहरू परमेश्‍वरमा निर्भर भएनन् र तिनीहरूले सत्यताको खोजी गरेनन् भने, तिनीहरूले कुनै पनि काम गर्न सक्नेछैनन् भन्‍ने महसुस गराउँछ; यसले तिनीहरूलाई साँच्चै आफूलाई चिन्ने अनि यदि तिनीहरूले सत्यता र स्वभाव परिवर्तन पछ्याएनन् भने, परमेश्‍वरद्वारा प्रयोग गरिन योग्य हुनु तिनीहरूका लागि असम्‍भव हुनेछ भनी स्पष्ट रूपमा देख्ने तुल्याउँछ। अगुवा र कामदारहरूलाई संवर्धन गरिँदा र तालिम दिइँदा हासिल हुनैपर्ने परिणामहरू यिनै हुन्। यी पक्षहरू बुझेर मात्र मानिसहरूले व्यावहारिक रूपमा सत्यता पछ्याउन, विनम्र रूपमा आफूलाई आचरणमा ढाल्न, आफ्नो काम गर्दा आफूबारे धाक नलगाउने प्रत्याभूति दिन, आफ्नो कर्तव्य पूरा गर्दा लगातार परमेश्‍वरलाई उच्च पार्न र परमेश्‍वरको गवाही दिन, र चरणबद्ध रूपमा सत्यता वास्तविकताभित्र प्रवेश गर्न सक्छन्। जब कसैलाई अगुवा बन्नका लागि प्रवर्द्धन र संवर्धन गरिन्छ, तब उसले विभिन्न मानिसहरूको स्थिति खुट्ट्याउने तरिका सिक्ने, विभिन्न मानिसहरूका कठिनाइहरू समाधान गर्नका लागि सत्यता खोजी गर्ने, र विभिन्न प्रकारका मानिसहरूलाई सहयोग र आपूर्ति गर्ने, साथै मानिसहरूलाई सत्यता वास्तविकतामा डोर्‍याउने तालिम पाउँछ। साथसाथै, उसले कामको दौरान सामना गरिने विभिन्न समस्या र कठिनाइहरू समाधान गर्न, र विभिन्न प्रकारका ख्रीष्टविरोधीहरू, दुष्ट मानिसहरू, र अविश्‍वासीहरूलाई खुट्ट्याउने र निराकरण गर्ने, अनि मण्डलीलाई पखाल्ने तरिका सिक्न पनि तालिम लिनैपर्छ। यसरी, उसले अरूका तुलनामा धेरै मानिस, घटना र कामकुराहरू, अनि परमेश्‍वरद्वारा प्रबन्ध गरिएका अझ बढी वातावरणहरू अनुभव गर्न सक्छ, परमेश्‍वरका वचनहरू झन्-झन् बढी खान र पिउन सक्छ, र अझ धेरै सत्यता वास्तविकताहरूमा प्रवेश गर्न सक्छ। यो त तिनीहरूले आफैलाई तालिम दिने अवसर हो, होइन र? तालिम लिने अवसरहरू जति धेरै छन्, मानिसहरूका अनुभवहरू त्यति नै प्रशस्त हुन्छन्, तिनीहरूको अन्तर्ज्ञान त्यति नै फराकिलो हुन्छ, र त्यति नै चाँडो तिनीहरूको वृद्धि हुनेछ। तर, यदि मानिसहरूले अगुवाइको काम गर्दैनन् भने, तिनीहरूले व्यक्तिगत अस्तित्व र व्यक्तिगत अनुभवहरू मात्र सामना गर्नेछन् र भोग्नेछन्, साथै व्यक्तिगत भ्रष्ट स्वभावहरू र विभिन्न व्यक्तिगत स्थितिहरू मात्र चिन्नेछन्—जुन सबै तिनीहरू आफैसित मात्रै सम्बन्धित हुन्छन्। तिनीहरू अगुवा बनेपछि, तिनीहरूले अझ धेरै मानिस, घटना र वातावरणहरू सामना गर्छन्, जसले तिनीहरूलाई सत्यता सिद्धान्तहरू खोज्नका लागि बारम्बार परमेश्‍वरसामु आउन प्रोत्साहित गर्छ। तिनीहरूका लागि, यी मानिस, घटना र कामकुराहरू थाहै नपाई एउटा बोझ बन्छन्, र तिनले प्राकृतिक रूपमै सत्यता वास्तविकतामा तिनीहरूको प्रवेशका लागि अत्यन्तै अनुकूल वातावरण पनि सृजना गर्छन्, जुन राम्रो कुरा हो। त्यसैले, क्षमता भएको, बोझ बोक्ने, र काम गर्ने सक्षमता भएको व्यक्ति साधारण विश्‍वासीका रूपमा बिस्तारै, र अगुवा वा कामदारका रूपमा झन् छिटो प्रवेश गर्नेछ। मानिसहरूका लागि, सत्यता वास्तविकतामा छिटो प्रवेश गर्नु राम्रो हो कि ढिलो प्रवेश गर्नु? (छिटो प्रवेश गर्नु।) त्यसकारण, क्षमता भएका, बोझ बोक्ने र काम गर्ने सक्षमता भएका मानिसहरूको कुरा आउँदा, परमेश्‍वरको घरले अपवादका रूपमा त्यस्ता मानिसहरूलाई प्रवर्द्धन गर्छ, तर यदि तिनीहरू सत्यता पछ्याउने र सत्यतातर्फ लागिपर्ने मानिस होइनन् भने, त्यस अवस्थामा, परमेश्‍वरको घरले तिनीहरूलाई जबरजस्ती गर्नेछैन। व्यक्तिसँग परमेश्‍वरमाथिको विश्‍वासको जग भएसम्म, उसले अगुवा वा कामदार बन्ने मापदण्ड पूरा गरेसम्म, र ऊ सत्यता पछ्याउन र परमेश्‍वरद्वारा प्रयोग गरिन इच्छुक भएसम्म, परमेश्‍वरको घरले उसलाई प्रवर्द्धन र संवर्धन गर्नेछ, अगुवा वा कामदार बन्न तालिम लिने अवसर दिनेछ, र मण्डलीको काम गर्न सिक्ने, मानिसहरूलाई खुट्टयाउन सिक्ने, मण्डलीमा भएका सबै विविध समस्याहरूलाई निराकरण गर्न सिक्ने, र कामका प्रबन्धहरूअनुसार विभिन्न कार्यहरू गर्न सिक्ने अधिकार दिनेछ। तालिम लिने अवधिमा, यदि मानिसहरूले सत्यता र काटछाँट स्विकार्न सक्छन्, परमेश्‍वरका योजनाबद्ध कार्यहरू र प्रबन्धहरूप्रति समर्पित हुन सक्छन्, विभिन्न समस्याहरू समाधान गर्नका लागि सत्यता खोज्न सक्छन्, र परमेश्‍वरका वचनहरूअनुसार सबै प्रकारका मानिसहरूसँग व्यवहार गर्न अनि सबै प्रकारका मानिसहरूलाई छुट्ट्याउन र सम्हाल्न सक्छन् भने, तिनीहरूले सान्दर्भिक सत्यता सिद्धान्तहरू बुझ्न थाल्छन्, साथै तिनीहरू सत्यता बुझ्न र वास्तविकतामा प्रवेश गर्न सक्षम हुन्छन्—यी कुराहरू साधारण विश्‍वासीहरूले अनुभव वा प्राप्त गर्न सक्दैनन्। त्यसैले, यस दृष्टिकोणबाट हेर्दा, परमेश्‍वरको घरले कसैलाई प्रवर्द्धन र संवर्धन गर्नु राम्रो हो कि नराम्रो? के यो उसका लागि फाइदाजनक हुन्छ, कि यो ऊमाथि थोपरिएको कठिनाइ हो? यो उसका लागि फाइदाजनक हुन्छ। अवश्य नै, भर्खरै प्रवर्द्धन गरिएको बेला, कतिपय मानिसहरूलाई आफूले कुन कार्यहरू गर्नुपर्छ वा ती कसरी गर्ने भन्ने थाहा हुँदैन, र तिनीहरू अलि अन्योलमा पर्छन्। यो सामान्य हो; को चाहिँ सबथोक गर्न सक्षम भएर जन्मेको थियो र? यदि तैँले सबथोक गर्न सक्थिस् भने, त पक्कै पनि सबैभन्दा अहङ्कारी र अभिमानी मानिस हुने थिइस्, र कोहीसामु झुक्ने थिइनस्—त्यस अवस्थामा, के तैँले अझै पनि सत्यतालाई स्विकार्न सक्ने थिइस् त? यदि तैँले सबथोक गर्न सक्थिस् भने, के तँ अझै पनि परमेश्‍वरमा निर्भर हुने थिइस् र के तैँले उहाँलाई आदरभावले हेर्ने थिइस्? के तैँले अझै पनि तेरो आफ्नै भ्रष्टताका समस्याहरू समाधान गर्न सत्यता खोज्ने थिइस्? तैँले निश्चय नै खोज्ने थिइनस्। त्यसको विपरीत, तँ अहङ्कारी र अभिमानी हुने थिइस् र ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने थिइस्, तँ शक्ति र हैसियतका लागि लड्नेथिइस् र कसैसामु झुक्ने थिइनस्, साथै तैँले मानिसहरूलाई बहकाउने र फसाउने थिइस्, र मण्डलीका काममा बाधा र अवरोध पुऱ्याउने थिइस्—यस अवस्थामा, के तँ अझै पनि परमेश्‍वरको घरद्वारा प्रयोग गरिन सक्थिस् र? यदि तँलाई तँमा धेरै कमी-कमजोरीहरू छन् भन्ने थाहा छ भने, तैँले पालन गर्न र समर्पित हुन सिक्नुपर्छ, र परमेश्‍वरको घरका मागहरूअनुसार विभिन्न कार्यहरू राम्ररी गर्नुपर्छ; यसले तँलाई बिस्तारै, मानकअनुसार आफ्नो कर्तव्य पूरा गर्न सक्ने अवस्थासम्म पुग्न मद्दत गर्नेछ। तर धेरैजसो मानिसहरू पालन गर्ने र समर्पित हुनेजस्तो सरल काम पनि गर्न सक्दैनन्, त्यसैले तिनीहरूलाई प्रवर्द्धन र संवर्धन नगरेकोमा तिनीहरूले परमेश्‍वरको घरलाई दोष दिनुहुँदैन। तैँले पालन गर्नै नसक्ने भएपछि, पालन गर्नुसमेत तेरो क्षमताभन्दा बाहिरको कुरा भएपछि, के परमेश्‍वरको घरले तँलाई प्रवर्द्धन र संवर्धन गर्ने आँट गर्छ होला त? (गर्दैन।) अनि किन गर्दैन? तँलाई प्रयोग गर्नु निकै जोखिमपूर्ण, निकै झन्झटिलो, निकै चिन्ताजनक हुने थियो! किनभने यदि परमेश्‍वरको घरले तँलाई कहिल्यै प्रयोग गऱ्यो भने, तैँले मानिसहरूमाथि नियन्त्रण जमाउन, र तिनीहरूलाई दुष्टताको मार्गमा डोर्‍याउन सक्छस्—त्यसैले त्यो अत्यन्तै जोखिमपूर्ण हुन्छ। यदि तँलाई प्रयोग गरिएको भए, तैँले जथाभाबी दुष्कर्म गरेर कामलाई पूर्णतः अस्तव्यस्त पार्न सक्थिस् अनि परमेश्‍वरको घरले तँलाई बर्खास्त गर्नुपर्ने हुन्थ्यो र तैँले बिगारेको काम ठिक पार्नुपर्ने हुन्थ्यो—त्यसैले त्यो अत्यन्तै झन्झटिलो हुन्छ। अनि यदि तँलाई प्रयोग गरिएको भए, तँलाई कुनै पनि काम गर्न आउनेथिएन, र तैँले आफ्नो कामका सन्दर्भमा बिलकुलै प्रभाव पार्ने थिइनस्; तैँले गर्ने सबै काममा, तँलाई माथिले नै प्रोत्साहन, सुपरिवेक्षण, र निगरानी गर्नुपर्ने हुन्थ्यो, जसले सबै मामलामा हस्तक्षेप गर्नुपर्ने हुन्थ्यो—त्यसोभए तँलाई किन प्रयोग गर्नुपऱ्यो त? तँ अति चिन्ताजनक छस्! यस प्रकारको व्यक्तिलाई कदापि प्रयोग गर्न सकिन्न। यदि उसलाई संवर्धन गरियो भने पनि, त्यो व्यर्थ हुने थियो, अनि त्यसले कैयौँ समस्या समेत निम्त्याउनेथियो र अरूको संवर्धनमा समेत असर पार्नेथियो; के त्यसमा लाभभन्दा बढी घाटा हुनेथिएन र? (हुनेथियो।)

परमेश्‍वरको घरद्वारा कहिल्यै प्रवर्द्धन वा प्रयोग नगरिएका कारण, कतिपय मानिसका दिमागमा विचारहरू फुर्छन् र तिनीहरूले यस्तो भन्छन्, “माथिले किन कहिल्यै मलाई देख्दैनन्? परमेश्‍वरको घरले मलाई किन कहिल्यै प्रवर्द्धन र संवर्धन गर्दैन? यो त न्यायोचित होइन!” त्यसोभए, सुरुमा, तैँले पालन गर्न सक्छस् कि सक्दैनस्, र तँ परमेश्‍वरको घरका प्रबन्धहरूमा समर्पित हुन सक्छस् कि सक्दैनस् भनी तैँले लेखाजोखा गर्नुपर्छ। दोस्रो कुरा, तैँले अगुवा र कामदार बन्नका लागि मानिसहरूलाई परमेश्‍वरको घरले प्रवर्द्धन र संवर्धन गर्दा आवश्यक पर्ने तीन मापदण्डहरू—सत्यता बुझ्न सक्नु, बोझ बोक्नु, अनि काम गर्ने सक्षमता हुनु—लाई तैँले पूरा गर्छस् कि गर्दैनस् भनी लेखाजोखा गर्नुपर्छ। यदि तैँले यी मापदण्डहरू पूरा गर्छस् भने, तैँले ढिलो-चाँडो प्रवर्द्धन, संवर्धन र प्रयोग गरिने अवसर पाउनेछस्। परमेश्‍वरको घरले तँलाई प्रवर्द्धन गर्नका निम्ति, तँबाट माग गरिने केही कुराहरू हुन्छन्। अनि यी कुराहरू के-के हुन्? तैँले परमेश्‍वरको घरका सिद्धान्त र मापदण्डहरूअनुसार कार्य गर्नुपर्ने हुन्छ; तैँले आफूलाई आग्रह गरिएको कुरा गर्नैपर्छ, र आग्रह गरिएकै शैलीमा गर्नुपर्छ, यसरी तँलाई सुरुमा सिद्धान्तनिष्ठ रूपमा कार्य गर्न सिक्न, साथै सत्यता खोज्न र सत्यतामा समर्पित हुन सिक्न, अनि सामञ्जस्यका साथ सहकार्य गर्न सिक्न संवर्धन गरिन्छ। तँलाई संवर्धन गर्ने दौरान, परमेश्‍वरको घरले कहिलेकाहीँ तँलाई काटछाँट गर्नेछ; कहिलेकाहीँ त्यसले तँलाई नराम्रोसँग गाली गर्नेछ; कहिलेकाहीँ त्यसले तेरो कामको प्रगतिका बारेमा सोध्नेछ; कहिलेकाहीँ त्यसले तँलाई काम ठ्याक्कै कसरी अघि बढिरहेको छ भनेर सोध्नेछ, र तेरो काम जाँच्नेछ; र कहिलेकाहीँ, त्यसले कुनै निश्चित कामकुराप्रति तेरो दृष्टिकोण के छ भनेर जाँच्नेछ। यी जाँचहरूको उद्देश्य तँलाई कठिनाइमा पार्नु होइन, बरु तँलाई यी मामलाहरूमा परमेश्‍वरका अभिप्रायहरू के-के हुन्, र तँसँग के-कस्ता मनोवृत्ति र सिद्धान्तहरू हुनुपर्छ भनी बुझाउनु हो। परमेश्‍वरको घरले तँलाई तालिम दिन र अभ्यास गराउनका लागि यसो गर्छ। अनि मानिसहरूलाई तालिम दिनुको लक्ष्य र उद्देश्य के हो त? तिनीहरूलाई सत्यता बुझ्न सक्षम तुल्याउनु हो। सत्यता बुझ्नुको उद्देश्य भनेको मानिसहरूले सत्यतामा समर्पित हुन र सिद्धान्तहरूअनुसार कार्य गर्न, आफ्नो स्थानमा दृढ रहन र बफादारीसाथ आफ्नो कर्तव्य पूरा गर्न, अनि, कर्तव्य निर्वाह गर्ने क्रममा, विभिन्न सत्यता वास्तविकताहरूमा प्रवेश गर्न र आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न सकून् भन्ने हो। परमेश्‍वरको घरले अगुवा र कामदारहरूलाई यसरी तालिम दिन्छ। यदि अगुवा र कामदारहरूले सत्यता बुझ्छन् भने, तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता बुझ्नमा अगुवाइ गर्न सक्ने आशा रहन्छ। अगुवा र कामदारहरूले जति धेरै सत्यता बुझ्छन्, तिनीहरूले अगुवाइ गर्ने मानिसहरूले त्यति नै सत्यता बुझ्ने आशा हुन्छ। जब अगुवा र कामदारहरूले आफ्नो कामका सत्यता सिद्धान्तहरू बोध गर्छन्, तिनीहरूले अगुवाइ गर्ने मानिसहरूले पनि ती सिद्धान्तहरू बोध गर्न सक्छन् अनि आफ्नो काममा सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्। त्यसकारण, तालिम लिने अगुवा र कामदारहरूसँग अरू मानिसकोभन्दा राम्रो क्षमता हुनैपर्छ। तिनीहरूलाई नै सबैभन्दा पहिला सत्यता सिद्धान्तहरू बुझ्न र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम तुल्याइन्छ, अनि त्यसपछि तिनीहरूले अझ धेरै मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न र सत्यता सिद्धान्तहरू बुझ्नमा अगुवाइ गर्छन्। तिमीहरूलाई त्यस्तो तौर-तरिकाबारे के लाग्छ? (त्यो राम्रो हो।) त्यस्ता मानिसहरू निकै शिक्षित वा बोल्नमा सिपालु नहुन सक्छन्, वा तिनीहरूले प्रविधि वा समसामयिक मामला र राजनीतिबारे धेरै नबुझ्न सक्छन्। तिनीहरू कुनै पेसामा त त्यति दक्ष नहुन पनि सक्छन्। तर तिनीहरू सत्यता बुझ्न सक्षम हुन्छन्, र परमेश्‍वरका वचनहरू सुनेपछि, ती अभ्यास र अनुभव गर्न, र सत्यता सिद्धान्तहरू भेट्टाउन सक्षम हुन्छन्, साथै अझ धेरै मानिसहरूलाई परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न र सत्यता सिद्धान्तहरू पालना गर्नमा अगुवाइ गर्न सक्षम हुन्छन्। अगुवाका रूपमा सेवा गर्नका लागि प्रवर्द्धन र संवर्धन गरिने प्रतिभावान् मानिसहरूको प्रकारका बारेमा कुरा गरिरहँदा हामीले यिनैका बारेमा कुरा गरिरहेका हुन्छौँ। के यो अमूर्त हो? (अहँ, होइन।) कतिपय मानिसहरूले सोध्न सक्छन्: “तपाईँ प्रतिभावान् मानिसहरूको कुरा गर्नुहुन्छ, त्यसोभए के तिनीहरू समाजका उत्कृष्ट तप्का हुन्? के तिनीहरूले कुनै प्रकारको व्यवसाय चलाएको, वा तिनीहरू समाजमा कुनै प्रकारको प्रमुख कार्यकारी अधिकृत वा व्यवसायी भएको हुनुपर्छ? के तिनीहरू राजनीतिक पृष्ठभूमि भएका राजनेताहरू, वा उद्योगपति, वा कला र साहित्यिक वृत्तका प्रतिभाहरू हुन्? के तिनीहरू अद्भुत वरदान पाएका मानिसहरू हुन्?” परमेश्‍वरका घरमा उल्लेख गरिने प्रतिभावान् मानिसहरू बाहिरी संसारमा भएका ती प्रतिभावान् मानिसहरूभन्दा फरक हुन्छन्। हामीले भन्ने गरेको यो “प्रतिभावान् मानिसहरू” शब्दको अर्थ के हो? यसको अर्थ सत्यता बुझ्न सक्नु, मानिसहरूलाई सत्यता वास्तविकतामा अगुवाइ गर्न सक्नु, र विभिन्न प्रकारका मानिसहरूलाई खुट्ट्याउने तरिका, अनि मानिसहरूले आफूमाथि आइपर्ने विभिन्न स्थिति र कठिनाइहरूलाई समाधान गर्ने तरिका जान्नु, र समस्याहरू सामना गर्दा सही विचार र मनोवृत्ति राख्नु, र परमेश्‍वरमा विश्‍वास गर्ने अनि उहाँलाई पछ्याउने मानिसहरूमा हुनुपर्ने विचार र मनोवृत्ति हुनु हो। यसले कुनै आत्मिक बुझाइ नभएका मानिसहरूलाई, वा पाखण्डी मानिसहरूलाई, वा सुन्दा ठूला लाग्ने शब्दहरू बोल्ने र बयानबाजी गर्ने मानिसहरूलाई जनाउँदैन। बरु, यसले सत्यता वास्तविकता भएका मानिसहरूलाई जनाउँछ। “प्रतिभावान् मानिसहरू” को अर्थ यही हो। के यो खोक्रो हो? (होइन।) के परमेश्‍वरको घरले अगुवा र कामदारहरू बनाउनका लागि प्रवर्द्धन र संवर्धन गर्ने यस प्रकारका प्रतिभावान् मानिसहरूसँग माग गर्ने यी मापदण्डहरू निकै व्यावहारिक छैनन् र? (छन्।) अत्यन्तै व्यावहारिक छन्! यस्ता उम्मेदवारहरूमा उच्च शैक्षिक योग्यता आवश्यक छैन, तर तिनीहरूमा कम्तीमा पनि सत्यता बुझ्ने क्षमता हुनैपर्छ। कतिपय मानिसहरूले यसो भन्न सक्छन्: “यदि तिनीहरूमा उच्च शैक्षिक योग्यता हुनु पर्दैन भने, के तिनीहरू निरक्षर भए पनि हुन्छ?” थोरै शिक्षा नभई त परमेश्‍वरका वचनहरू पढ्न सम्भव नै हुने थिएन नि। तिनीहरूले लिखित शब्द बुझ्नु आवश्यक हुन्छ, तर तिनीहरूलाई उच्च शैक्षिक योग्यता चाहिँदैन। परमेश्‍वरका घरमा प्रवर्द्धन गरिनेहरूमा उच्च शिक्षा हासिल गरेका, विश्‍वविद्यालय शिक्षा हासिल गरेका र विद्यावारिधि हासिल गरेकाहरू समावेश हुन्छन्, त्यसैले शैक्षिक स्तरका हकमा त्यसमा कुनै सीमा हुँदैन। त्यसका साथै, व्यक्तिको सामाजिक हैसियतका हकमा पनि कुनै सीमा हुँदैन। किसान र बुद्धिजीवीदेखि, व्यापारी र गृहिणीसम्म—सबै प्रकारका मानिसहरूलाई स्वागत गरिन्छ। शैक्षिक स्तर र सामाजिक हैसियतमा कुनै प्रतिबन्ध नहुने बाहेक, आवश्यक मापदण्डहरू भनेका मैले उल्लेख गरेका ती केही कुराहरू नै हुन्। के त्यो व्यावहारिक छ? (छ।) अत्यन्तै व्यावहारिक छ! अब “परमेश्‍वरको घरले प्रवर्द्धन र संवर्धन गर्ने प्रतिभावान् मानिसहरू” भनेर मैले भन्नुको अर्थ के हो भनेर तिमीहरूले अलिक बढी बुझ्यौ? (बुझ्यौँ।) सत्यता बुझ्न सक्नु, बोझ बोक्नु, र काम गर्ने सक्षमता हुनु जस्ता यी केही मापदण्डहरू पूरा गर्ने मानिसहरू परमेश्‍वरको घरद्वारा गरिने प्रवर्द्धन र संवर्धनका उम्मेदवारहरू हुन्। यदि तिनीहरूले यी मापदण्डहरू पूरा गर्छन् भने, तिनीहरू योग्य हुन्छन्। शिक्षा, पारिवारिक पृष्ठभूमि, सामाजिक हैसियत, व्यक्तिको रूप, इत्यादि जस्ता कुराहरूका लागि, मापदण्डहरू त्यति उच्च छैनन्। यो मानिसहरूलाई अगुवा र कामदार बनाउनका लागि गरिने प्रवर्द्धन र संवर्धनसँग सम्बन्धित कुरा हो।

हामीले भर्खरै सीप वा पेसा भएका प्रतिभावान् मानिसहरूले प्रवर्द्धन र संवर्धन गरिनका लागि पूरा गर्नुपर्ने केही मापदण्डहरूबारे छलफल गऱ्यौँ, जुन के हुन् भने, तिनीहरूले सकारात्मक कुराहरूलाई प्रेम गर्नुपर्छ र सत्यतालाई स्विकार्न सक्नुपर्छ, तिनीहरू आफ्नो बुझाइमा विकृत हुनु हुँदैन, बफादारीसाथ आफ्नो कर्तव्य पूरा गर्न सक्षम हुनुपर्छ, गुनासो नगरी कठिनाइ भोग्नुपर्छ र मूल्य तिर्नुपर्छ, र कम्तीमा पनि दुष्टता गर्नु हुँदैन—यी मानिसहरूका हकमा यी केही मापदण्डहरू अत्यावश्यक छन्। त्यसोभए यी मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्नुको उद्देश्य के हो? त्यसैगरी, यी मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने र निश्चित काम गर्दै गर्दा जब पनि समस्याहरू सामना गर्छन्, तिनीहरूले ती समस्याहरू समाधान गर्नका लागि सत्यता खोज्न सकून्, र सिद्धान्तहरूअनुसार कार्य गरून् भन्ने हो। प्रवेश अभ्यास गर्ने क्रममा, थाहै नभई तिनीहरूको तालिम र नियमन भइरहेको हुन्छ, र तिनीहरूले आफ्ना अभिप्रायहरू त्याग्ने, सांसारिक मानिसहरूबारे आफ्ना गलत र वाहियात दृष्टिकोणहरू सच्याउने, केही बचकाना सोचहरू त्याग्ने, र परमेश्‍वरमाथिको आस्थाबारे पूर्वाग्रह, धारणा, र कल्पनाहरू त्याग्ने, इत्यादि कुराहरू अभ्यास गर्छन्। अवश्य नै, जे भए पनि, यो अभ्यासको प्रक्रिया मानिसहरूलाई बिस्तारै सत्यता बुझ्न, समर्पित हुन सिक्न, र विभिन्न सत्यता वास्तविकताहरूमा प्रवेश गर्न सिक्न सक्षम बनाउनका लागि हो। सिक्ने क्रममा, तिनीहरूले बिस्तारै सत्यता वास्तविकताहरूमा निपुणता हासिल गर्छन्, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो, सत्यता अभ्यास गर्नु भनेको के हो, र आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको के हो भनी थाहा पाउँछन्, अनि अन्त्यमा, तिनीहरूले बिस्तारै मानकअनुरूप आफ्नो कर्तव्य निर्वाह गर्न तिनीहरूले के गर्नुपर्छ, विश्‍वासीले गर्नुपर्ने तरिकाले तिनीहरूले कामकुराहरू कसरी गर्नुपर्छ, इत्यादि कुरा बुझ्छन्—मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गरिएपछि तिनीहरू बिस्तारै यी सबै कुरामा प्रवेश गर्छन्। मानिसहरूको क्रमिक प्रवेशको प्रक्रिया नै संवर्धनको प्रक्रिया हो, र संवर्धन गरिने प्रक्रिया नै वास्तवमा मानिसहरू सत्यता वास्तविकतामा प्रवेश गर्ने अभ्यासको प्रक्रिया हो। तर यदि तँलाई प्रवर्द्धन र संवर्धन गरिएको छैन, र तैँले भेलाहरूमा सहभागी हुने, परमेश्‍वरका वचनहरू पढ्ने, सत्यताबारे सङ्गति गर्ने, वा भजनहरू सिक्ने साधारण विश्‍वासी जस्तै कार्य गर्छस् भने, यसरी परमेश्‍वरमा विश्‍वास गरेर तैँले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य साँचो रूपमा पूरा गरिरहेको छैनस्, त्यसैले तँ मानकअनुरूप तरिकाले आफ्नो कर्तव्य पूरा गर्नबाट धेरै टाढा छस्। तँ त आफ्नो कर्तव्य पूरा गर्दा आफूले कुन सिद्धान्तहरू बोध गर्नुपर्छ भन्नेबारे समेत स्पष्ट छैनस्, र तैँले केही धर्मसिद्धान्त र नाराहरू मात्र फलाक्न सक्छस्; त्यसकारण, तँ अझैसम्म सत्यता वास्तविकतामा प्रवेश गरेको छैनस्, र तेरो जीवन प्रवेश ढिलो छ। त्यसैगरी, पेसागत कार्यहरूमा संलग्न हुने यी मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्नुको लक्ष्य र उद्देश्य भनेको तिनीहरू सत्यता वास्तविकतामा झन् चाँडो प्रवेश गरून् र तिनीहरूले सत्यता सिद्धान्तहरूबारे अझ राम्रो र सही बोध प्राप्त गरून् भन्ने हो। जो सत्यता सिद्धान्तहरू बोध गर्न र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्—परमेश्‍वरको घरद्वारा प्रवर्द्धन र संवर्धन गरिने प्रतिभावान् मानिसहरू यिनै हुन्। यस प्रकारका प्रतिभावान् मानिसहरूले केलाई जनाउँछ? यसले ती मानिसहरूलाई जनाउँछ जसले—सकारात्मक कुराहरूलाई प्रेम गर्ने, कठिनाइ भोग्न र मूल्य चुकाउन सक्ने, र आफ्नो बुझाइमा विकृत नहुने, अनि दुष्ट मानिसहरू नहुने आधारमा—सत्यता सिद्धान्तहरूको बुझाइ हासिल गरेका हुन्छन् र सत्यता वास्तविकतामा प्रवेश गरेका हुन्छन्, तिनीहरू परमेश्‍वरप्रति अनि परमेश्‍वरको घरका प्रबन्धहरूप्रति समर्पित हुन सक्षम हुन्छन्, र तिनीहरूसँग धेरथोर परमेश्‍वरको डर मान्ने हृदय हुन्छ। यो मैले बताइरहेको प्रतिभावान् मानिसहरूको दोस्रो प्रकार हो। तिनीहरूबाट गरिने मागहरू पनि व्यावहारिक, पर्याप्त रूपमा निर्दिष्ट छन्, र अमूर्त छैनन्। त्यसोभए के यस प्रकारका प्रतिभावान् मानिसहरू समाजको उत्कृष्ट तप्का हुनु, र सामाजिक रूपमा अनुभवी, र निश्चित शैक्षिक योग्यता, अनि निश्चित सामाजिक हैसियत भएका हुनु आवश्यक छ? (छैन।) परमेश्‍वरको घरले मानिसहरूबाट सामाजिक हैसियत, ख्याति, शैक्षिक योग्यता वा उच्च स्तरको ज्ञान माग गर्दैन—यी कुराहरू कहिल्यै आवश्यक हुँदैनन्। मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्दा, परमेश्‍वरको घरले तिनीहरूको रूप, अर्थात्, तिनीहरू कति कुरूप वा आकर्षक छन् भनेर हेर्दैन। गैरविश्‍वासीहरूजस्ता देखिने, वा अत्यन्तै कुरूप वा दुष्ट रूप भएका मानिसहरूलाई प्रवर्द्धन र संवर्धन नगर्नु बाहेक, अरू मापदण्डहरू मैले भर्खरै उल्लेख गरेकाहरू नै हुन्—यी सबैभन्दा व्यावहारिक छन्। गैरविश्‍वासीहरूले कसैलाई प्रवर्द्धन गर्दा, तिनीहरूले सुरुमा त्यस व्यक्तिको रूप हेर्छन्; पुरुषहरू अधिकारीझैँ रूपवान् हुनुपर्छ, र महिलाहरू परीझैँ सुन्दर हुनुपर्छ। त्यसका साथै, तिनीहरूले मानिसहरूको शैक्षिक योग्यता, सामाजिक हैसियत, पारिवारिक पृष्ठभूमि, र युक्तिहरूको पनि तुलना गर्छन्। यदि तँसँग उच्च शैक्षिक योग्यताहरू छन् तर युक्तिहरू छैनन् भने, त्यसले पनि काम गर्नेछैन, तँलाई कहिल्यै प्रवर्द्धन गरिने छैन र तँलाई कसैले पनि उच्च ठान्ने छैन। यदि तँसँग उच्च शैक्षिक योग्यता र वास्तविक प्रतिभा छ, तर तँ त्यति राम्रो देखिँदैनस्, होचो छस्, र तँलाई आफूभन्दा वरिष्ठहरूको चापलुसी गर्न वा तिनीहरूसँग नजिकिन आउँदैन भने, तँ जिउँदो रहुन्जेल तँलाई कहिल्यै प्रवर्द्धन वा संवर्धन गरिनेछैन, र तँलाई कसैले पनि पत्ता लगाउनेछैन। त्यसकारण, गैरविश्‍वासीहरूमा यस्तो भनाइ छ, “द्रुत घोडाहरू धेरै हुन्छन्, तर थोरैले मात्रै तिनीहरूलाई चिन्न सक्छन्।” के परमेश्‍वरका घरमा यो लागू हुन्छ? (अहँ, हुँदैन।) त्यसोभए, “साँचो सुन अन्तमा चम्किन्छ” भन्ने भनाइ लागू हुन्छ त? के त्यो मान्य हुन्छ? (हुँदैन।) संशयवादी र कसैको सामु नझुक्ने मानिसहरूले बारम्बार यसो भन्ने गर्छन्। सधैँ चम्कन चाहनु—यो एउटा मानव महत्त्वाकाङ्क्षा हो। परमेश्‍वरको घरले प्रवर्द्धन र संवर्धन गर्ने विभिन्न प्रकारका प्रतिभावान् मानिसहरू सुन होइनन्, तिनीहरू साधारण मानिस मात्र हुन्। हामीले भन्ने प्रवर्द्धन र संवर्धन त बोल्ने शैली मात्र हो; वास्तवमा, यसले परमेश्‍वरद्वारा उत्थान गरिनुलाई जनाउँछ। के तँ, एउटा सृजित प्राणी, सृष्टिकर्ताको सामु सुन होस्? तँ त धुलो मात्र होस्, तामा वा फलाम समेत होइनस्। म किन तँ सुन होइनस्, बरु धुलो होस् भन्छु? मानिसहरूबारे प्रशंसनीय कुरा केही पनि हुँदैन। कतिपयले सोध्न सक्छन्: “तपाईँले भन्नुभएको कुरा विरोधाभासी छैन र? के तपाईँले भर्खरै, कसैले सकारात्मक कुराहरूलाई प्रेम गर्ने मापदण्ड पूरा गर्छ भने उसलाई प्रवर्द्धन गर्न सकिन्छ भन्नुभएको होइन?” व्यक्तिका रूपमा, के तैँले सकारात्मक कुराहरूलाई प्रेम गर्नुपर्दैन? यदि तैँले केही सकारात्मक कुराहरूलाई प्रेम गर्छस् भने, के त्यसले तँलाई सुन बनाउँछ? के त्यसले तँलाई चम्किने तुल्याउँछ? यदि तैँले केही सकारात्मक कुराहरूलाई प्रेम गर्छस् भने, के त्यसको मतलब तँसँग सत्यता छ भन्ने हुन्छ? सत्यता भएमा मात्र व्यक्ति चम्किन्छ। यदि तँसँग सत्यता छैन भने, तँ चम्किन्छस् भनेर कसरी भन्न सकिन्छ? तथ्य के हो भने, एउटा सृजित प्राणीले कुनै पनि सत्यता बुझ्दैन। अलिकति मानवता हुनु, र सत्यता बुझ्ने अलिकति सक्षमता र क्षमता हुनुको अर्थ व्यक्तिसँग स्वतः सत्यता हुन्छ भन्ने होइन। मानिसहरूमा सत्यता हुँदैन, र तिनीहरूको मानवता सोझो र दयालु भए पनि, यी कुराहरू सत्यता होइनन्, ती त सामान्य मानवतामा हुनुपर्ने गुणहरू मात्र हुन्। त्यसकारण, चम्किनेबारे कुरा नगर्। त्यसोभए, व्यक्ति कहिले चाहिँ अलिकति चम्किन सक्छ त? जब उसले अय्यूबका यी शब्दहरू बोल्न सक्छ, “यहोवाले दिनुभयो, र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१), तब ऊ अलिकति चम्किन्छ र ज्योतिमा जिउँछ भनेर भन्न सकिन्छ। जब तैँले आफूसँग भएको सत्यता वास्तविकता र तैँले बुझ्ने सत्यता अरूलाई आपूर्ति गर्न, अरूलाई सहयोग गर्न र अगुवाइ गर्नका लागि प्रयोग गर्न सक्छस्, जसमार्फत तिनीहरू परमेश्‍वरसामु अनि सत्यता वास्तविकतामा ल्याइन, परमेश्‍वरमा समर्पित हुन र परमेश्‍वरको आराधना गर्न सक्छन्, तब मात्र तँ अलिकति चम्किन सक्छस्।

परमेश्‍वरको घरले प्रवर्द्धन र संवर्धन गर्ने विभिन्न प्रकारका प्रतिभावान् मानिसहरूले अलौकिक वरदान पाएका हुँदैनन्, तिनीहरू केवल साधारण, भ्रष्ट मानिस हुन्। यदि तिनीहरूले सत्यता स्विकार्न, पालन गर्न र समर्पित हुन सक्छन्, र तिनीहरूसँग निश्चित क्षमता छ भने, परमेश्‍वरको घरले अपवादका रूपमा तिनीहरूलाई प्रवर्द्धन र संवर्धन गर्नेछ। जब म मानिसहरूलाई अपवादका रूपमा प्रवर्द्धन र संवर्धन गर्ने कुरा गर्छु, यो परमेश्‍वरद्वारा उत्थान गरिनु हो, यो तँलाई परमेश्‍वरसामु आएर परमेश्‍वरको अगुवाइ स्विकार्न, अनि परमेश्‍वरले गर्नुहुने संवर्द्धन र दिनुहुने तालिम स्विकार्न मौका दिने कुरा हो, ताकि यस अवधिमा तैँले सक्दो चाँडो सत्यता वास्तविकतामा प्रवेश गर्न र सत्यता सिद्धान्तहरू सही रूपमा बोध गर्न, मानकअनुरूप आफ्नो कर्तव्य पूरा गर्न, र मानव रूपमा जिउन सक्। परमेश्‍वरका घरमा “प्रतिभावान् मानिसहरू” भन्ने शब्दको अर्थ यही हुन्छ। त्यस्ता मानिसहरू अलिकति पनि ठूला वा प्रभावशाली हुँदैनन्, बस तिनीहरूले सत्यता बुझ्छन् र तिनीहरूसँग सत्यता वास्तविकता हुन्छ, र तिनीहरूले आफ्नो कर्तव्य निष्ठापूर्ण र जिम्मेवार रूपमा पूरा गर्न सक्छन्, र तिनीहरू अलिकति निष्कपट हुन्छन् र तिनीहरूले अलिकति मूल्य चुकाउन सक्छन्, अनि आफ्ना धारणा र कल्पनाहरूका आधारमा जथाभाबी कार्य गर्दैनन्। यी मापदण्डहरू पूरा गर्ने मानिसहरूलाई अपवादका रूपमा प्रवर्द्धन र संवर्धन गर्दा, र तिनीहरूलाई तालिम दिँदा, के परमेश्‍वरको घरले यसो गर्नु उचित हुन्छ? के यो मानिसहरूका लागि फाइदाजनक हुन्छ? यो मानिसहरूका लागि अत्यन्तै फाइदाजनक हुन्छ! अरू विश्‍वासीहरूजस्तै, प्रवर्द्धन र संवर्धन गरिएकाहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्, परमेश्‍वरका वचनहरू पढ्छन्, प्रवचनहरू सुन्छन्, र आफ्नो कर्तव्य पूरा गर्छन्, तर अरू विश्‍वासीहरूका तुलनामा, तिनीहरूको चाँडो वृद्धि हुनेछ र तिनीहरूले धेरै लाभ प्राप्त गर्नेछन्। के तिमीहरू धेरै लाभ प्राप्त गर्न चाहन्छौ, कि थोरै मात्र? (धेरै।) धेरैजसो मानिसहरूमा यो चाहना हुन्छ, अर्थात् तिनीहरू सकारात्मक कुराहरूलाई प्रेम गर्छन्। कहिलेकाहीँ म केही समूहहरूसँग जीवन प्रवेशबारे सङ्गति गर्छु, र धेरै नै मानिसहरू सँगसँगै सुन्न आउँछन्, जसले के देखाउँछ भने, धेरैजसो मानिसहरूमा सत्यताको उत्कट चाहना छ, तिनीहरू सत्यताबारे अझ धेरै बुझ्न इच्छुक छन्, र सत्यता वास्तविकतामा प्रवेश गर्न पनि इच्छुक छन्। सुरुमा, मैले केही मानिसहरूसँग सङ्गति गरेँ र तिनीहरू निकै भावशून्य थिए। म लामो समयसम्म बोल्थेँ तर तिनीहरूले प्रतिक्रिया दिँदैनथे, वा मुस्कानको थोरै सङ्केतसमेत देखाउँदैनथे। म तिनीहरूसँग एक-दुई वर्षसम्म सम्पर्कमा रहेपछि, तिनीहरूमध्ये धेरैजसोको अनुहारका भावहरू केही स्वाभाविक बने र तिनीहरूले प्रतिक्रिया दिन थाले, र समय बित्दै जाँदा, तिनीहरूको प्रतिक्रिया केही छिटो आउन थाल्यो। अर्थात्, तिनीहरू मृत मानिसबाट जीवित मानिसमा रूपान्तरित भए, र तिनीहरूको आत्मा जागृत भयो। यो कसरी हासिल भयो? यदि मानिसहरूले सत्यता बुझ्दैनन् भने, तिनीहरूले सकारात्मक कुराहरूलाई जतिसुकै प्रेम गरे पनि, वा तिनीहरू जतिसुकै चलाख वा बुद्धिमान् भए पनि, तिनीहरू अझै पनि मृत मानिस नै हुन्। कतिपय मानिसहरू सुरुमा मूर्ख र मन्दबुद्धिका हुन्छन्, बाहिरी संसारमा तिनीहरूबारे कसैले पनि राम्रो सोच्दैनन्, साथै तिनीहरू धेरै शिक्षित हुँदैनन् र तिनीहरूको दायरा त्यति फराकिलो हुँदैन। तर परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, तिनीहरूले धेरै सत्यताहरू बुझ्न र धेरै कुराहरू स्पष्ट रूपमा देख्न सक्छन्, अनि त्यसपछि मानव रूपमा जिउँछन्, र त्यसरी जीवित मानिस बन्छन्। “जीवित मानिस” भनेको के हो? यो तेरो भौतिक शरीर जीवित छ कि मृत छ, वा तेरो शरीर चल्न वा त्यसले सास लिन सक्छ कि सक्दैन भन्ने कुरा होइन, बरु तेरो आत्मा परमेश्‍वरका वचनहरू र सत्यताप्रति चेतनशील र संवेदनशील छ कि छैन भन्ने कुरा हो। जीवित मानिसहरूले सत्यता र परमेश्‍वरका वचनहरूप्रति प्रतिक्रिया जनाउँछन्। परमेश्‍वरका वचनहरू सुनेपछि, तिनीहरूमा चेतना, मार्ग, योजना, र उद्देश्य हुन्छ। मृत मानिसहरूमा यी प्रकटीकरणहरू हुँदैनन्। त्यसैले, यदि परमेश्‍वरको घरले कसैलाई प्रवर्द्धन र संवर्धन गर्छ भने, त्यो व्यक्तिले तुलनात्मक रूपमा धेरै प्राप्त गर्नेछ। त्यसोभए यी मापदण्डहरू पूरा नगर्ने र प्रवर्द्धन वा संवर्धन नगरिने मानिसहरूले कसरी पर्याप्त लाभ प्राप्त गर्न सक्छन्? तिनीहरू कसरी चाँडै सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्? तिनीहरूले परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्न सिक्नैपर्छ, कैयौँ सत्यताहरूको बुझाइ हासिल गर्नैपर्छ, र मानिसहरूलाई खुट्ट्याउन र समस्याहरू समाधान गर्न सत्यता लागू गर्न पनि सक्नुपर्छ—त्यसपछि तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्।

कतिपय मानिसहरू भन्छन्: “परमेश्‍वरको घरले सबै प्रकारका प्रतिभावान् मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्ने र तिनीहरूलाई सत्यता वास्तविकतामा सक्दो चाँडो प्रवेश गर्न दिने कुरालाई ध्यानमा राख्दा, के त्यसको अर्थ प्रतिभा नभएका मानिसहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्दैनन् भन्ने होइन र?” के त्यसो भन्नु सही हो? (अहँ, त्यो गलत हो।) त्यसोभए, यस विषयबारे सङ्गति गरेपछि, के यसले केही मानिसहरूलाई उत्साहित र अरूलाई दिक्दार र निराश बनाएको छ? यसलाई यसरी हेर्नुपर्छ: प्रवर्द्धन र संवर्धन गरिएकाहरूले घमन्ड गर्नु हुँदैन। तैँले धाक लगाउनुपर्ने कुनै कुरा छैन, यो परमेश्‍वरको अनुग्रह र आशिष् हो। जब परमेश्‍वरले तँलाई बढी दिनुहुन्छ, तब उहाँले तँलाई पनि आफ्नो तर्फबाट बढी दिन भन्नुहुन्छ। यदि परमेश्‍वरको घरले तँलाई अपवादका रूपमा प्रवर्द्धन र संवर्धन गर्छ भने, त्यसको अर्थ तैँले अझ उच्च मूल्य चुकाउनुपर्ने हुन्छ। यदि तँ यो कठिनाइ सहन सक्छस् भने, तैँले अवश्य नै बढी लाभ प्राप्त गर्नेछस्। यदि तँ “म यो कठिनाइ सहन इच्छुक छैन,” भन्छस् भने, तैँले सत्यता प्राप्त गर्नेछैनस्, न त परमेश्‍वरको आशिष् नै प्राप्त गर्नेछस्। कतिपय मानिसहरू भन्छन्, “म ती कुराहरू प्राप्त गर्न चाहन्छु तर मलाई सक्छु जस्तो लाग्दैन, किनभने परमेश्‍वरको घरले अपवादका रूपमा मलाई प्रवर्द्धन र संवर्धन गर्नेछैन। मैले मापदण्ड नै पूरा गर्दिनँ।” यदि तैँले मापदण्ड पूरा गर्दैनस् भने त्यसले फरक पार्दैन। जबसम्म तँ सत्यता पछ्याउँछस् र त्यसप्रति मेहनतका साथ लागिपर्छस्, परमेश्‍वरले तँसँग अन्यायपूर्ण व्यवहार गर्नुहुनेछैन। प्रवर्द्धन र संवर्धन गरिने यी मानिसहरू तिनीहरूको क्षमता र विभिन्न अवस्थाका कारण सत्यता वास्तविकतामा चाँडो प्रवेश गर्न मात्र सक्छन्। तर, यो चाँडो प्रवेशको अर्थ तिनीहरू मात्र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन् भन्ने होइन। यसको अर्थ तिनीहरूले अलि चाँडो लाभ प्राप्त गर्न सक्छन्, र तिनीहरू अलि चाँडो सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन् भन्ने मात्र हो। प्रवर्द्धन नगरिएकाहरू तिनीहरूभन्दा अलि पछि पर्नेछन्, तर यसको अर्थ तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्दैनन् भन्ने होइन। कोही सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छ कि सक्दैन भन्ने कुरा उसको पछ्याइमा भर पर्छ। प्रवर्द्धन र संवर्धन गरिएका यी मानिसहरूले संवर्धनको प्रक्रियाको क्रममा सत्यता सिद्धान्तहरू छिटो बोध गर्न र सत्यता वास्तविकतामा छिटो प्रवेश गर्न सक्छन्, जसले परमेश्‍वरको घरको कामलाई फाइदा पुऱ्याउँछ। त्यसकारण, राम्रो क्षमता भएका र सत्यतालाई प्रेम गर्ने मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्नु ठीक हो। यदि कसैले यी मानिसहरू भेट्टाउन सक्छ र तिनीहरूको ईर्ष्या नगरी वा तिनीहरूलाई नगिराई, बरु हेरचाहका साथ, तिनीहरूलाई प्रवर्द्धन र संवर्धन गर्न सक्छ भने, उसले परमेश्‍वरका अभिप्रायहरूको ख्याल गरिरहेको हुन्छ। त्यस विपरीत, यदि केही मानिसहरूले यी मानिसहरू आफूभन्दा राम्रा छन् र तिनीहरूले आफूलाई उछिन्छन् भन्ने ईर्ष्या, चिन्ताले तिनीहरूलाई बहिष्कार गर्छन् र गिराउँछन् भने, यो स्पष्ट रूपमा एउटा दुष्ट कार्य हो र ख्रीष्टविरोधीले प्रायः गरिरहने कुरा हो। दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले मात्र दाजुभाइ-दिदीबहिनीहरूलाई आक्रमण र बहिष्कार गर्न सक्छन्।

परमेश्‍वरको घरले मानिसहरूलाई गर्ने प्रवर्द्धन र संवर्धनका सन्दर्भमा व्यक्तिमा हुनुपर्ने बुझाइ र मनोवृत्ति

हामीले भर्खरै सङ्गति गरेका कुराहरू परमेश्‍वरको घरले सबै प्रकारका प्रतिभावान् मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्नुपछाडिका उद्देश्यहरू हुन्। प्रवर्द्धन र संवर्धन गर्न चुनिएकाहरूले चाहे जस्तो प्रकारको काम गरून्—चाहे त्यो प्राविधिक काम होस्, साधारण काम होस्, वा मण्डलीको साधारण मामला होस्—छोटकरीमा भन्दा, त्यो सब तिनीहरूलाई सत्यता सिद्धान्तहरू बुझ्ने र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम तुल्याउनका खातिर हो, ताकि तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न मानकअनुरूप सक्दो चाँडो कर्तव्य पूरा गर्न सकून्—परमेश्‍वरले मानिसहरूबाट यही माग गर्नुहुन्छ, र अवश्य नै, मण्डलीको कामका लागि चाहिने पनि यही नै हो। के अब तिमीहरूले परमेश्‍वरको घरले सबै प्रकारका मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्नुको महत्त्व बुझ्यौ? के अझै पनि कुनै गलतफहमीहरू छन् र? (छैनन्।) कतिपय मानिसहरू यसो भन्छन्, “अब यो व्यक्ति आगुवामा प्रवर्द्धन भएकाले, र ऊसँग हैसियत भएकाले, ऊ अब साधारण व्यक्ति रहेन।” यसो भन्नु सही हो कि गलत हो? (यो गलत हो।) अरूले यसो भन्न सक्छन्: “जो अगुवा बन्छन् तिनीहरूको हैसियत हुन्छ, तर टुप्पोमा एक्लै भइन्छ। जति अल्गो चढ्यो, त्यति नै नराम्ररी झरिन्छ!” यसो भन्नु सही हो कि गलत हो? यो स्पष्ट रूपमा गलत हो। “जति अल्गो चढ्यो, त्यति नै नराम्ररी झरिन्छ” भन्ने भनाइले कुन मानिसहरूलाई जनाउँछ? यसले महत्त्वाकाङ्क्षा र चाहनाहरू भएका मानिसहरूलाई जनाउँछ, यसले ख्रीष्टविरोधीहरूलाई जनाउँछ। सत्यता पछ्याउनेहरू अगुवा बन्दा, त्यो अल्गो चढ्नु होइन—त्यो त परमेश्‍वरले अपवादका रूपमा तिनीहरूको उत्थान गर्नुभएको हो, र तिनीहरूमाथि यो बोझ राख्ने र तिनीहरूलाई अगुवाइको काम गर्न सक्षम बनाउने त परमेश्‍वरको आशिष् नै हो। “जति अल्गो चढ्यो, त्यति नै नराम्ररी झरिन्छ” भन्ने भनाइ गैरविश्‍वासीहरूले निकालेको निष्कर्ष हो, र त्यसले निजामती सेवामा करियर पछ्याउने गैरविश्‍वासीहरूका परिणामहरू वर्णन गर्छ। ती गैरविश्‍वासीहरूमा कुनै समझशक्ति हुँदैन र तिनीहरूले यो भनाइ सकारात्मक मानिसहरूमा लागू गर्छन्, जुन गम्भीर गल्ती हो। अरूले यसो भन्न सक्छन्: “ऊ ग्रामीण क्षेत्रमा जन्मेको थियो, र अहिले ऊ मण्डली अगुवा बनेको छ—निम्न स्तरबाट सुरु गरी उच्च स्थानमा पुगेको एउटा अमर पक्षी।” यसो भन्नु सही हो कि गलत? यी गैरविश्‍वासीहरूका दुष्ट शब्दहरू हुन् र तिनलाई परमेश्‍वरका चुनिएका मानिसहरूमा लागू गर्न मिल्दैन। परमेश्‍वरका घरमा, परमेश्‍वरले सत्यता पछ्याउनेहरू, इमानदार हुनेहरू, दयालु-हृदय हुनेहरू, र परमेश्‍वरको घरको कामको प्रतिरक्षा गर्नेहरूलाई आशिष् दिनुहुन्छ। यी मानिसहरूले सत्यता बुझेपछि र अलिकति कद प्राप्त गरेपछि, झुटा अगुवाहरू र ख्रीष्टविरोधीहरूलाई प्रतिस्थापन गर्नका लागि, तिनीहरूलाई ढिलो-चाँडो संवर्धन र अभ्यासका लागि प्रवर्द्धन गरिनेछन्। परमेश्‍वरका घरमा, धेरै परीक्षा र जाँच भोगेका अनि निरन्तर परमेश्‍वरको घरका हितहरूको प्रतिरक्षा गरेका सकारात्मक मानिसहरू नै परमेश्‍वरको अनुमोदन प्राप्त गर्ने मानिसहरू हुन्छन्, र यी मानिसहरूको वर्णन गर्न गैरविश्‍वासीहरूका दुष्ट शब्दहरू प्रयोग गर्नु अनुपयुक्त हुनेछ। त्यसकारण, परमेश्‍वरको घरका मामलाहरू वर्णन गर्न र आफ्नै विचार व्यक्त गर्न सधैँ गैरविश्‍वासीहरूका दुष्ट शब्दहरू प्रयोग गर्ने मानिसहरू सत्यता नबुझ्ने अनि कामकुराहरूबारे वाहियात विचारहरू राख्ने मानिस हुन्। कामकुराबारे तिनीहरूका विचार पटक्कै परिवर्तन भएका हुँदैनन्, र ती अझै पनि गैरविश्‍वासीहरूकै विचार हुन्छन्, र तिनीहरूले कैयौँ वर्ष परमेश्‍वरमा विश्‍वास गरे तापनि कुनै सत्यता प्राप्त गरेका हुँदैनन्, र तिनीहरूले अझै पनि कामकुरालाई परमेश्‍वरका वचनहरूअनुसार हेर्न सक्दैनन्—त्यसैले, यी मानिसहरू अविश्‍वासी र गैरविश्‍वासीहरू हुन्। जब कसैलाई अगुवा वा कामदारका रूपमा सेवा गर्न बढुवा गरिन्छ, वा उसलाई कुनै प्राविधिक कामको सुपरिवेक्षक बन्नका लागि संवर्धन गरिन्छ, तब त्यो परमेश्‍वरको घरले उसलाई एउटा बोझ सुम्पनुभन्दा बढी केही होइन। यो एउटा आज्ञा, एउटा जिम्मेवारी हो, र यो अवश्यै एउटा विशेष कर्तव्य, एउटा विशेष अवसर पनि हो, र यो असाधारण उत्थान हो—उसमा प्रशंसायोग्य कुरा केही हुँदैन। जब कसैलाई परमेश्‍वरको घरले प्रवर्धन र संवर्धन गर्छ, त्यसको मतलब यो होइन कि परमेश्‍वरको घरमा उसको विशेष स्थान वा हैसियत छ, ताकि उसले विशेष व्यवहार र निगाह पाउन सकोस्। बरु, परमेश्‍वरको घरले उसलाई असाधारण रूपमा उत्थान गरेपछि, उसलाई परमेश्‍वरको घरबाट तालिम प्राप्त गर्ने, मण्डलीको कुनै ठूलो काम गर्न अभ्यास गर्ने उत्कृष्ट अवस्थाहरू दिइन्छ, र त्यो सँगसँगै परमेश्‍वरको घरले यस व्यक्तिका लागि अझ उच्च आवश्यक मानकहरू राख्नेछ, जुन उसको जीवन प्रवेशका लागि निकै लाभदायक हुन्छ। जब कुनै व्यक्तिलाई परमेश्‍वरका घरमा प्रवर्धन र संवर्धन गरिन्छ, यसको अर्थ ऊबाट कडा मागहरू गरिन्छ र उसलाई कडाइका साथ सुपरिवेक्षण गरिन्छ भन्ने हुन्छ। उसले गर्ने कामलाई परमेश्‍वरको घरले कडाइका साथ निरीक्षण, सुपरिवेक्षण गर्छ र अघि धकेल्छ, र उसको जीवन प्रवेशलाई बुझ्ने र ध्यान दिने प्रयास गर्छ। यी दृष्टिकोणहरूबाट हेर्दा, के परमेश्‍वरको घरले प्रवर्धन र संवर्धन गरेका मानिसहरूले विशेष व्यवहार, विशेष हैसियत, र विशेष पद पाउँछन् त? अवश्य नै पाउँदैनन्, र तिनीहरूले कुनै विशेष पद-प्रतिष्ठा त झनै पाउँदैनन्। यदि प्रवर्धन र संवर्धन गरिएका मानिसहरूले आफ्नो कर्तव्य धेरथोर प्रभावकारी रूपमा पूरा गरेको प्रतिफलस्वरूप आफूसँग पुँजी छ भन्ने ठान्छन्, र गतिहीन भई सत्यता पछ्याउन छोड्छन् भने, परीक्षा र सङ्कष्टहरू सामना गर्दा तिनीहरू खतरामा पर्नेछन्। यदि मानिसहरूको कद अत्यन्तै सानो छ भने, तिनीहरू दृढ रहन नसक्ने सम्भावना हुन्छ। कतिले भन्छन्, “यदि कसैलाई अगुवाका रूपमा प्रवर्धन र संवर्धन गरिएको छ भने, ऊसँग पद-प्रतिष्ठा हुन्छ। ऊ ज्येष्ठ पुत्रहरूमध्येको एक नभए पनि, उसमा कम्तीमा पनि परमेश्‍वरका मानिसहरूमध्येको एक बन्ने आशा हुन्छ। मलाई कहिल्यै प्रवर्धन वा संवर्धन गरिएको छैन, त्यसोभए के म परमेश्‍वरका मानिसहरूमध्येको एक बन्ने आशा नै छैन?” यस तरिकाले सोच्नु गलत हो। परमेश्‍वरका मानिसहरूमध्येको एक बन्नका लागि, तँसँग जीवन अनुभव हुनैपर्छ, र तँ परमेश्‍वरमा समर्पित हुने व्यक्ति हुनैपर्छ। चाहे तँ अगुवा, कामदार, वा साधारण अनुयायी जे भए पनि, जोसँग सत्यता वास्तविकताहरू छन् ऊ परमेश्‍वरका मानिसहरूमध्येको एक हो। तँ अगुवा वा कामदार नै भए पनि, यदि तँमा सत्यता वास्तविकताहरू छैनन् भने, तँ अझै पनि श्रमिक नै हुन्छस्। वास्तवमा, प्रवर्द्धन र संवर्धन गरिने मानिसहरूमा कुनै विशेष कुरा हुँदैन। अरूभन्दा भिन्न एउटै कुरा भनेको तिनीहरूसँग केही अनुकूल वातावरण हुन्छ, केही अनुकूल अवसरहरू हुन्छन्, र सत्यता सिद्धान्तहरूसँग सम्बन्धित विशिष्ट कामहरू गर्ने केही राम्रा अवस्थाहरू हुन्छन्। तैँले गर्ने अधिकांश काम निश्चित पेसासँग सम्बन्धित भए पनि, यदि त्यसलाई नियमन र जाँच गर्ने कुनै सत्यता सिद्धान्तहरू छैनन् भने, तैँले पूरा गर्ने कर्तव्य सिद्धान्तहरूअनुरूप हुनेछैन, र तँ केवल श्रम गरिरहेको हुन्छस्, र तैँले पक्कै पनि परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछैनस्। प्रवर्द्धन र संवर्धन गरिने विभिन्न प्रतिभावान् मानिसहरूबाट परमेश्‍वरको घरले गर्ने मागहरू के-के हुन्? परमेश्‍वरको घरद्वारा प्रवर्द्धन र संवर्धन गरिनका लागि, कम्तीमा पनि तिनीहरू विवेक र समझ भएका, सत्यता स्विकार्न सक्ने, बफादारीका साथ आफ्नो कर्तव्य पूरा गर्ने, अनि परमेश्‍वरका योजनाबद्ध कार्यहरू र प्रबन्धहरूमा समर्पित हुन सक्ने मानिस हुनुपर्छ, र कम्तीमा पनि तिनीहरूले काटछाँट सामना गर्दा स्विकार्न र समर्पित हुन सक्नुपर्छ। परमेश्‍वरको घरद्वारा गरिने प्रवर्द्धन र दिइने तालिम भोगिरहेका मानिसहरूले हासिल गर्नुपर्ने परिणाम यो होइन कि तिनीहरू अधिकारी र हाकिम बन्न सकून्, वा तिनीहरूले समूहको अगुवाइ गरून्, र यो होइन कि तिनीहरूले मानिसहरूलाई सोच्ने तरिकामा परामर्श दिन सकून्, र अवश्य नै, तिनीहरूसँग झनै राम्रा पेसागत सीपहरू वा उच्च तहको शिक्षा, वा अझ ठूलो प्रतिष्ठा होस्, वा तिनीहरूलाई पेसागत सीप वा राजनैतिक उपलब्धिहरूका लागि संसारमा प्रतिष्ठित व्यक्तिहरूसँग तुलना गर्न सकियोस् भन्ने त झनै होइन। बरु, हासिल गर्नुपर्ने परिणाम भनेको त तिनीहरूले सत्यता बुझून् र परमेश्‍वरका वचनहरू जिऊन्, र तिनीहरू परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मानिस होऊन् भन्ने हो। तिनीहरूले तालिम लिँदै गर्दा, तिनीहरू सत्यता बुझ्न र सत्यता सिद्धान्तहरू बोध गर्न, अनि परमेश्‍वरमाथिको आस्था ठ्याक्कै के हो र परमेश्‍वरलाई कसरी पछ्याउने भनी अझ राम्ररी जान्न सक्षम हुन्छन्—सिद्धता हासिल गर्नहेतु सत्यता पछ्याउनेहरूका लागि यो अत्यन्तै फाइदाजनक हुन्छ। सबै प्रकारका प्रतिभावान् मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गरेर परमेश्‍वरको घरले हासिल गर्न चाहने परिणाम र मानक यही हो, र यो प्रवर्द्धन र प्रयोग गरिनेहरूले पाउने सबैभन्दा ठूलो मेहनतको फल पनि हो।

कतिपय मानिसहरूले तुलनात्मक रूपमा जिम्मेवार भएर आफ्‍नो कर्तव्य पूरा गर्छन् र परमेश्‍वरका चुनिएका जनहरूले तिनीहरूलाई अनुमोदन गर्छन्, त्यसकारण मण्डलीले तिनीहरूलाई अगुवा वा कामदार बन्नका लागि संवर्धन गर्छ। हैसियत पाएपछि, तिनीहरूले आफू भीडभन्दा माथि छु भन्ने महसुस गर्न थाल्छन् र सोच्छन्, “परमेश्‍वरको घरले किन मलाई छनौट गर्‍यो? म तिमीहरूभन्दा राम्रो भएर होइन र?” के यो बच्चाले बोल्ने कुराजस्तो सुनिँदैन र? यो अपरिपक्व, हास्यास्पद, र भोलाभाला कुरा हो। वास्तवमा, तँ अरू मानिसहरूभन्दा अलिकति पनि राम्रो छैनस्। यति मात्र हो कि, तैँले परमेश्‍वरको घरद्वारा संवर्धन गरिन चाहिने मापदण्डहरू पूरा गर्छन्। तैँले यो जिम्मेवारी वहन गर्न, यो कर्तव्य राम्ररी पूरा गर्न वा सुम्पिइएको यो काम पूरा गर्न सक्नु वा नसक्नु अर्कै कुरा यो। जब कसैलाई दाजुभाइ-दिदीबहिनीहरूले अगुवा बन्न चयन गर्छन्, वा उसलाई कुनै एक निश्चित काम गर्न वा एक निश्चित कर्तव्य निर्वाह गर्नका लागि परमेश्‍वरको घरद्वारा प्रवर्धन गरिन्छ, तब यसको अर्थ उसको विशेष हैसियत वा पद छ, वा उसले बुझेका सत्यताहरू अन्य मानिसहरूले बुझेका सत्यताभन्दा गहिरो र धेरै छन् भन्ने होइन—उसले आफूलाई परमेश्‍वरमा समर्पित गर्न सक्छ, र उहाँलाई धोका दिनेछैन भन्ने त झनै होइन। निश्चय नै, यसको अर्थ उसले परमेश्‍वरलाई चिन्छ, र ऊ परमेश्‍वरको डर मान्ने व्यक्ति हो भन्ने पनि होइन। वास्तवमा, उसले यीमध्ये कुनै पनि कुरा हासिल गरेको हुँदैन। प्रवर्धन र संवर्धन त सिधा अर्थको प्रवर्धन र संवर्धन मात्रै हो, र यो उसलाई परमेश्‍वरले पूर्वनिर्धारण र अनुमोदन गर्नुभएको बराबर होइन। उसको प्रवर्धन र संवर्धनको अर्थ उसलाई प्रवर्धन गरिएको छ, र ऊ संवर्धन हुने प्रतीक्षामा छ भन्ने मात्र हो। अनि यो संवर्धनको अन्तिम परिणाम यो व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन, र सत्यता पछ्याउने मार्ग छनौट गर्न सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर हुन्छ। तसर्थ, जब मण्डलीमा कसैलाई अगुवा हुनका निम्ति प्रवर्धन र संवर्धन गरिन्छ, उसलाई केवल सिधा अर्थमा प्रवर्धन र संवर्धन गरिएको हुन्छ; यसको अर्थ अगुवाका रूपमा ऊ पहिलेदेखि नै मानकअनुरूप र दक्ष छ, ऊ पहिल्यै अगुवाइको काम गर्न सक्षम छ, र उसले वास्तविक काम गर्न सक्छ भन्‍ने होइन—कुरा त्यस्तो होइन। धेरैजसो मानिसहरूले यी कुराहरूलाई छर्लङ्ग देख्न सक्दैनन्, र तिनीहरू प्रवर्धन गरिएकाहरूलाई आफ्नै कल्पनाहरूका आधारमा आदरभावले हेर्छन्। यो गल्ती हो। ती प्रवर्धन गरिएकाहरूले परमेश्‍वरमा जति नै वर्ष विश्‍वास गरेका भए पनि, के तिनीहरूसँग साँच्चै नै सत्यता वास्तविकता हुन्छ? हुन्छ नै भन्ने हुँदैन। के तिनीहरू परमेश्‍वरको घरको कामका प्रबन्धहरू लागू गर्न सक्षम हुन्छन्? हुन्छन् नै भन्ने हुँदैन। के तिनीहरूसँग जिम्मेवारी बोध हुन्छ? के तिनीहरू बफादार हुन्छन्? के तिनीहरू समर्पित हुन सक्छन्? कुनै समस्याको सामना गर्नुपर्दा, के तिनीहरूले सत्यताको खोजी गर्न सक्छन्? यो सब अज्ञात हुन्छ। के यी मानिसहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुन्छ? अनि, परमेश्‍वरको डर मान्ने उनीहरूको हृदय कति ठूलो हुन्छ? के तिनीहरू कामकुरा गर्दा आफ्नै इच्छा नपछ्याउन सक्षम हुन्छन्? के तिनीहरू परमेश्‍वरको खोजी गर्न सक्षम हुन्छन्? तिनीहरूले अगुवाइको काम गरिरहेका बेला के तिनीहरू परमेश्‍वरका अभिप्रायहरू खोज्न बारम्बार परमेश्‍वरसामु आउन सक्छन्? के तिनीहरूले मानिसहरूलाई सत्यता वास्तविकतामा डोर्‍याउन सक्छन्? तिनीहरू निश्चय नै त्यस्ता कुराहरू गर्न असक्षम हुन्छन्। तिनीहरूले तालिम प्राप्त गरेका हुँदैनन् र पर्याप्त अनुभवहरू पाएका हुँदैनन्, त्यसकारण तिनीहरू यी कामकुरा गर्न असक्षम हुन्छन्। यही कारणले गर्दा कसैलाई प्रोत्साहन र संवर्धन गर्नुको अर्थ उसले पहिल्यै सत्यता बुझेको छ भन्‍ने होइन, न त यसको अर्थ ऊ पहिलेबाटै मानकअनुरूप आफ्नो कर्तव्य पूरा गर्न सक्षम छ भन्‍ने नै हुन्छ। त्यसोभए, कसैलाई प्रवर्द्धन र संवर्धन गर्नुको उद्देश्य र महत्त्व के हो त? यही कि यो व्यक्तिलाई, एउटा व्यक्तिगत रूपमा प्रवर्द्धन गरिन्छ ताकि उसले अभ्यास गरोस्, र उसले विशेष रूपमा मलजल र तालिम प्राप्त गरोस्, यसरी ऊ सत्यता सिद्धान्तहरू, अनि विभिन्न कामकुरा गर्ने र विभिन्न समस्याहरू समाधान गर्ने सिद्धान्त, उपाय, र विधिहरू बुझ्न, साथसाथै उसले सामना गर्ने विभिन्न प्रकारका वातावरण र मानिसहरूलाई परमेश्‍वरका अभिप्रायहरूअनुसार, र परमेश्‍वरको घरका हितहरूको सुरक्षा गर्ने तरिकाले कसरी सम्हाल्ने र व्यवहार गर्ने भनी बुझ्न सक्षम होओस्। यी बुँदाहरूका आधारमा मूल्याङ्कन गर्दा, के परमेश्‍वरको घरद्वारा प्रवर्द्धन र संवर्धन गरिने प्रतिभावान् मानिसहरू प्रवर्द्धन र संवर्धन गरिने अवधिमा वा प्रवर्द्धन र संवर्धनको अगावै राम्रोसित आफ्नो काम गर्न र आफ्नो कर्तव्य पूरा गर्न पर्याप्त रूपमा सक्षम हुन्छन् त? अवश्य नै हुँदैनन्। यसैले, संवर्धनको दौरान, यी मानिसहरूले काँटछाँट, न्याय र सजाय, खुलासा र बर्खास्ती समेत भोग्‍नु अपरिहार्य हुन्छ; यो सामान्य कुरा हो, यो तालिम र संवर्धन हो। मानिसहरूले प्रोत्साहन र संवर्धन गरिएकाहरूबाट कुनै उच्च आशाहरू राख्‍नु वा उनीहरूमा अवास्तविक मागहरू थोपर्नु हुँदैन; त्यसो गर्नु अनुचित हुनेछ, र तिनीहरूलाई अन्याय हुनेछ। तिमीहरूले तिनीहरूको काम सुपरिवेक्षण गर्न सक्‍छौ। यदि तिमीहरूले तिनीहरूको कामको दौरान समस्याहरू वा सिद्धान्त उल्लङ्घन गर्ने कुराहरू पत्ता लगायौ भने, तिमीहरूले यी समस्याहरूबारे कुरा उठाउन सक्छौ र यी मामलाहरूलाई सुल्झाउन सत्यता खोजी गर्न सक्छौ। तिमीहरूले तिनीहरूलाई आलोचना, निन्दा, आक्रमण वा बहिष्कारचाहिँ गर्नु हुँदैन, किनकि तिनीहरू केवल संवर्धनका क्रममा हुन्छन्, र तिनीहरूलाई सिद्ध पारिएका मानिसका रूपमा हेरिनु हुँदैन, र निर्दोष वा सत्यता वास्तविकता भएका मानिसका रूपमा त झनै हेरिनु हुँदैन। तिमीहरू जस्तै, तिनीहरू केवल तालिम लिने क्रममा हुन्छन्। फरक यति हो कि तिनीहरूले सामान्य मानिसहरूले भन्दा धेरै काम र जिम्मेवारीहरू लिन्छन्। तिनीहरूसँग धेरै काम गर्ने जिम्मेवारी र दायित्व हुन्छ; तिनीहरूले बढी मूल्य चुकाउनुपर्छ, बढी कठिनाइ भोग्नुपर्छ, बढी मानसिक मेहनत लगाउनुपर्छ, बढी समस्याहरू समाधान गर्नुपर्छ, मानिसहरूबाट बढी आलोचना सहनुपर्छ, र अवश्य नै तिनीहरूले मेहनत पनि बढी नै लगाउनुपर्छ, र—आफ्ना कर्तव्य पूरा गर्ने साधारण मानिसहरूका तुलनामा—तिनीहरू अलिकति कम सुत्नुपर्छ, राम्रा चिजहरूको आनन्द अलि कम लिनुपर्छ, र त्यति धेरै गफगाफमा संलग्‍न हुनु हुँदैन। तिनीहरूको विशेष कुरा यही हो; यसबाहेक, तिनीहरू अरूजस्तै हुन्। मैले यो कुरा भन्‍नुको उद्देश्य के हो? सबैलाई परमेश्‍वरको घरले प्रोत्साहन र संवर्धन गर्ने विभिन्‍न प्रकारका प्रतिभावान् मानिसहरूलाई तिनीहरूले सही ढङ्गले हेर्नुपर्छ, तिनीहरूले कठोर भएर यी मानिसहरूबाट मागहरू गर्नु हुँदैन, र अवश्यै तिनीहरूले तिनीहरूबारे अव्यावहारिक राय पनि बोक्नु हुँदैन भनी थाहा दिनु हो। तिनीहरूलाई अत्यधिक प्रशंसा गर्नु वा आदरभावले हेर्नु मूर्खता हो; तिनीहरूलाई अत्यधिक कठोर मागहरू राख्नु अमानवीय र अव्यावहारिक हुन्छ। त्यसोभए, तिनीहरूसित व्यवहार गर्ने सबैभन्दा मनासिब तरिका के हो? तिनीहरूलाई साधारण मानिसका रूपमा लिनु र कुनै समस्याको सम्बन्धमा कोही व्यक्तिकहाँ जान आवश्यक परेमा तिनीहरूसँग सङ्गति गर्नु र एकअर्काको सबल पक्षबाट सिक्‍नु र एकअर्काको परिपूरक बन्‍नु। यसबाहेक, अगुवा र कामदारहरूले वास्तविक काम गरिरहेका छन् कि छैनन्, तिनीहरूले समस्या सुल्झाउनहेतु सत्यता प्रयोग गर्न सक्छन् कि सक्दैनन् भनी सुपरिवेक्षण गर्नु सबैको जिम्मेवारी हो; कुनै अगुवा वा कामदार मानकअनुरूप छ कि छैन भनेर मापन गर्ने मानक र सिद्धान्तहरू यिनै हुन्। यदि कुनै अगुवा वा कामदारले साधारण समस्याहरू सम्‍हाल्‍न र समाधान गर्न सक्छ भने, ऊ सक्षम छ। तर यदि उसले साधारण समस्याहरू समेत सम्‍हाल्‍न र समाधान गर्न सक्दैन भने, ऊ अगुवा वा कामदार हुन लायक छैन, र उसलाई पदबाट तुरुन्तै हटाइनुपर्छ। अरू कसैलाई नै छनोट गर्नुपर्छ, र परमेश्‍वरको घरका काममा ढिलाइ गर्नु हुँदैन। परमेश्‍वरको घरका काममा ढिलाइ गर्नु भनेको आफैलाई र अरूलाई चोट पुर्‍याउनु हो, यो कसैका लागि राम्रो हुँदैन।

कतिपय मानिसहरूलाई मण्डलीले प्रवर्द्धन र संवर्धन गर्छ, र तिनीहरूले तालिम लिने राम्रो मौका पाउँछन्। यो राम्रो कुरा हो। यो भन्‍न सकिन्छ कि तिनीहरूलाई परमेश्‍वरले उत्थान गर्नुभएको र अनुग्रह दिनुभएको हो। त्यसोभए, तिनीहरूले आफ्नो कर्तव्य कसरी पूरा गर्नुपर्छ? तिनीहरूले पालन गर्नुपर्ने पहिलो सिद्धान्त भनेको सत्यतालाई बुझ्नु हो, तिनीहरूले सत्यता नबुझ्दा सत्यताको खोजी गर्नैपर्छ, र यदि आफैले खोजी गरेपछि पनि तिनीहरूले अझै बुझ्दैनन् भने, तिनीहरूले सङ्गति र खोजी गर्न सत्यता बुझ्‍ने व्यक्तिलाई खोज्‍नुपर्छ, र यसरी समस्यालाई शीघ्र र समयमै समाधान गर्न सकिन्छ। यदि तैँले सत्यताको बुझाइ हासिल गर्न र समस्या समाधान गर्नका लागि आफैले परमेश्‍वरका वचनहरू पढ्नमा र यी वचनहरू मनन गर्नमा धेरै समय दिन मात्रै ध्यान दिन्छस् भने, यो अत्यन्तै ढिलो हुन्छ; र यो “सुस्त समाधानले तात्कालिक आवश्यकता पुरा गर्न सक्दैन” भनेजस्तै हुन्छ। यदि तँ सत्यताका हकमा चाँडो प्रगति गर्न चाहन्छस् भने, तैँले अरूसँग सौहार्दपूर्ण सहकार्य गर्न, अनि अझ बढी प्रश्‍नहरू सोध्न, र अझ बढी खोजी गर्न सिक्‍नुपर्छ। त्यसपछि मात्रै तेरो जीवन शीघ्र रूपमा वृद्धि हुनेछ, र तैँले समस्याहरू तुरुन्तै समाधान गर्न सक्‍नेछस्, दुवै कुरामा कुनै ढिलाइ हुनेछैन। तँलाई भर्खरै प्रवर्द्धन गरिएको र तँ अझै पनि परीक्षण अवधिमा रहेको, अनि तैँले साँचो रूपमा सत्यतालाई बुझिनसकेको वा तँमा सत्यता वास्तविकता नभएको हुनाले—तँमा अझै पनि यो कदको कमी भएको हुनाले—तँलाई प्रवर्द्धन गर्नुको अर्थ तँमा सत्यता वास्तविकता छ भन्‍ने नसोच्; यस्तो हुँदैन। तँमा कामप्रति बोझको बोध भएको र तँसित अगुवाको क्षमता भएको हुनाले मात्रै प्रवर्द्धन र संवर्धन गर्नको लागि तँलाई छनौट गरिएको हो। तँमा यो समझ हुनुपर्छ। यदि प्रवर्द्धन भएर तँ अगुवा वा कामदार बनेपछि, तैँले आफ्नो हैकम जमाउन थाल्छस्, र आफू सत्यता पछ्याउने व्यक्ति भएको र आफूमा सत्यता वास्तविकता भएको विश्‍वास गर्छस् भने—र दाजुभाइ-दिदीबहिनीहरूको समस्या जे-जस्तो भए पनि, यदि तैँले ती समस्या बुझेको, र आफू आत्मिक व्यक्ति भएको ढोँग गर्छस् भने—यो मूर्खतापूर्ण तरिका हो, र यो पाखण्डी फरिसीहरूकै तरिका हो। तैँले सत्यतामा आधारित भएर बोल्‍ने र काम गर्ने गर्नुपर्छ। नबुझेको बेला, तैँले अरूलाई सोध्‍न वा माथिबाट सङ्गति खोज्न सक्छस्—यसो गर्नु कुनै लाजमर्दो कुरा होइन। तैँले सोधिनस् भने पनि, माथिलाई तेरो साँचो कद थाहा हुन्छ, र तँमा सत्यता वास्तविकता छैन भन्‍ने थाहा हुन्छ। तैँले गर्नुपर्ने काम भनेको खोजी र सङ्गति गर्नु हो; यो सामान्य मानवतामा पाइनुपर्ने समझ हो, र अगुवा र कामदारहरूले पालना गर्नुपर्ने सिद्धान्त हो। यो लाज मान्‍नुपर्ने कुरा होइन। यदि तँलाई अगुवा भएपछि सिद्धान्तहरू नबुझ्नु, वा निरन्तर रूपमा अरू मानिसहरू वा माथिलाई प्रश्नहरू सोध्नु लाजमर्दो कुरा हो भन्‍ने लाग्छ, र तँलाई अरूले हेप्लान् भन्‍ने डर लाग्छ, त्यसपछि यसको फलस्वरूप, तैँले नाटक गर्छस्, आफूले सबथोक बुझेको, आफूलाई सबथोक थाहा भएको, आफूमा कार्यक्षमता भएको, आफूले मण्डलीको कुनै पनि काम गर्न सक्ने, र आफूलाई कसैले सम्झाउनु वा सङ्गति गर्नु नपर्ने, वा तँलाई कसैले भरणपोषण वा साथ दिनु नपर्ने भनी ढोँग गर्छस् भने, यो खतरनाक कुरा हो, र तँ अत्यन्तै अहङ्कारी र आत्मधर्मी छस्, तँमा समझको एकदमै कमी छ। तँलाई आफ्‍नै औकातसमेत थाहा छैन—के यसले तँलाई अन्योलमा परेको व्यक्ति बनाउँदैन र? त्यस्ता मानिसहरूले वास्तवमा परमेश्‍वरको घरबाट प्रवर्धन र संवर्धन पाउने मापदण्ड पूरा गर्दैनन्, र ढिलोचाँडो तिनीहरू बरखास्त हुनेछन् र हटाइनेछन्। त्यसकारण, भर्खरै प्रवर्द्धन गरिएका हरेक अगुवा वा कामदार आफूमा सत्यता वास्तविकता छैन भन्ने कुरामा प्रस्ट हुनुपर्छ, तिनीहरूमा यो आत्मचेतना हुनुपर्छ। तँलाई परमेश्‍वरले नियुक्त गर्नुभएकाले तँ अहिले अगुवा वा कामदार भएको होइनस्, बरु अरू अगुवा र कामदारहरूले तँलाई अगुवा वा कामदार बन्नका लागि प्रवर्द्धन गरेकाले वा परमेश्‍वरका चुनिएका मानिसहरूले तँलाई चुनेकाले त्यसो भएको हो; यसको अर्थ तँसित सत्यता वास्तविकता र साँचो कद छ भन्‍ने होइन। जब तैँले यो कुरा बुझ्छस्, तब तँसित थोरै समझ हुनेछ, जुन अगुवा र कामदारहरूमा हुनैपर्ने समझ हो। के तिमीहरूले अब बुझ्यौ? (बुझ्यौँ।) त्यसोभए, तिमीहरूले ठ्याक्कै कसरी काम गर्नुपर्छ? तिमीहरूले कसरी सामञ्जस्यपूर्ण सहकार्य अभ्यास गर्नुपर्छ? तिमीहरूले जब-जब समस्याहरू सामना गर्छौ, तब ती समाधान गर्न कसरी सत्यता खोज्नुपर्छ? यी कुराहरू बुझ्नैपर्छ। यदि भ्रष्ट स्वभावहरू प्रकाश भए भने, सत्यता खोजेर तिनलाई सक्दो चाँडो समाधान गर। यदि ती समयमा नै समाधान भएनन् र तिनले तिमीहरूका काममा असर गरे भने, यो समस्या हो। यदि तँ कुनै पेसासँग परिचित छैनस् भने, तैँले ढिला-सुस्ती नगरी सिक्नु पनि पर्छ। कतिपय कर्तव्यहरूमा पेसागत ज्ञान संलग्न हुने भएकाले, यदि तैँले कुनै पेसागत ज्ञान नलिई सत्यता मात्र बुझ्छस् भने, त्यसले पनि तेरो कामका नतिजाहरूलाई असर गर्नेछ। कम्तीमा पनि, तैँले केही आधारभूत पेसागत ज्ञान बोध गर्न र बुझ्न जरुरी छ, ताकि तैँले प्रभावकारी रूपमा मानिसहरूको कामको अनुगमन र त्यसलाई निर्देशन गर्न सक्। यदि तँ केवल एउटा पेसामा पोख्त छस् तर सत्यता बुझ्दैनस् भने, तेरा काममा पनि कमीकमजोरीहरू हुनेछन्, त्यसकारण तैँले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नका लागि, सत्यता पछ्याउन अनि सत्यता बुझ्ने मानिसहरूसँग सहकार्य गर्न पनि आवश्यक पर्नेछ। तँ पेसागत सीपहरूमा वा निश्चित ज्ञानका क्षेत्रमा पोख्त छस् भन्दैमा, तैँले सिद्धान्तहरूअनुसार कामकुरा गर्न सक्छस् भन्ने हुँदैन, त्यसैले सत्यता बुझ्ने मानिसहरूसँग सङ्गति खोज्नु अत्यावश्यक हुन्छ—यो तिमीहरूले पालना गर्नुपर्ने सिद्धान्त हो। तैँले जेसुकै गरे पनि, ढोँग चाहिँ गर्नै हुँदैन। तँ तालिम र संवर्धनको अवधिमा छस्, र तँमा एउटा भ्रष्ट स्वभाव स्वभाव छ, अनि तैँले सत्यता बिलकुलै बुझ्दैनस्। ल भन् त, के परमेश्‍वरलाई यी कुराहरूबारे थाहा हुन्छ? (हुन्छ।) त्यसोभए यदि तैँले ढोँग गरिस् भने, के तँ मूर्ख देखिनेछैनस् र? के तिमीहरू मूर्ख मानिस हुन चाहन्छौ? (अहँ, चाहँदैनौँ।) यदि तिमीहरू मूर्ख मानिस हुन चाहँदैनौ भने, तिमीहरू कस्तो प्रकारका मानिस हुनुपर्छ? समझ भएको, विनम्र भएर सत्यता खोज्न र सत्यता स्विकार्न सक्ने मानिस बन। ढोँग नगर, पाखण्डी फरिसी नहोऔ। तँलाई जेजति थाहा छ त्यो केही पेसागत ज्ञान मात्र हो, त्यो सत्यता सिद्धान्तहरू होइन। तैँले आफ्ना पेसागत सामर्थ्यको उचित रूपमा लाभ लिने र आफूले हासिल गरेको ज्ञान र सिकाइलाई सत्यता सिद्धान्तहरूको बुझाइका आधारमा प्रयोगमा ल्याउने उपाय खोज्नैपर्छ। के यो एउटा सिद्धान्त होइन र? के यो अभ्यासको मार्ग होइन र? तैँले एकपटक यसो गर्न सिकेपछि, तँसित पछ्याउनका लागि मार्ग हुनेछ र तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम हुनेछस्। तैँले जे गरे पनि, जिद्दी नहो, र ढोँग नगर्। जिद्दी हुनु र ढोँग गर्नु कामकुरा गर्ने विवेकी तरिका होइन। बरु, यो त कामकुरा गर्ने सबैभन्दा मूर्ख तरिका हो। जो आफ्ना भ्रष्ट स्वभावहरूअनुसार जिउँछन् तिनीहरू सबैभन्दा मूर्ख मानिस हुन्। जसले सत्यता खोज्छन् र सत्यता सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्छन् तिनीहरू मात्र सबैभन्दा अक्कली मानिस हुन्।

यस सङ्गतिमार्फत, के अब तिमीहरूले परमेश्‍वरको घरद्वारा सबै प्रकारका प्रतिभावान् मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्ने सन्दर्भमा सही बुझाइ र दृष्टिकोण प्राप्त गरेका छौ? (गरेका छौँ।) अब तिमीहरूसँग यसबारे सही दृष्टिकोण भएकाले, के तिमीहरूले यी मानिसहरूप्रति सही व्यवहार अपनाउन सक्छौ? तिमीहरूले तिनीहरूको सामर्थ्यप्रति, साथै तिनीहरूको मानवता, काम, पेसा र अरू विभिन्न पक्षमा रहेका तिनीहरूका त्रुटि र कमीकमजोरीहरूप्रति सही तौरतरिका अपनाउनुपर्छ—यी सबै कुराहरूलाई सही तौरतरिकाअनुसार व्यवहार गर्नुपर्छ। यसका साथै, चाहे तिमीहरूलाई अगुवा वा कामदारमा प्रवर्द्धन र संवर्धन गरिएको होस् वा नहोस्, वा तिमीहरू विभिन्न पेसाका प्रतिभावान् व्यक्तिहरू भए पनि नभए पनि, तिमीहरू सबै साधारण छौ, तिमीहरू सबै शैतानद्वारा भ्रष्ट तुल्याइएका छौ, र तिमीहरूमध्ये कसैले पनि सत्यता बुझ्दैन। त्यसकारण, तिमीहरूमध्ये कसैले पनि आफ्नो भेष बदल्नु वा आफूलाई ढाकछोप गर्नु हुँदैन; बरु तिमीहरूले सङ्गतिमा आफ्नो कुरा खुलस्त पार्न सिक्नुपर्छ। यदि तिमीहरूले बुझ्दैनौ भने, बुझ्दैनौँ भनेर स्वीकार गर। यदि तिमीहरूलाई कुनै कुरा गर्न आउँदैन भने, त्यो गर्न आउँदैन भनेर स्वीकार गर। जे-जस्ता समस्या वा कठिनाइहरू उत्पन्न भए पनि, समाधान पत्ता लगाउनका लागि सबैले सँग-सँगै सङ्गति गर्नुपर्छ र सत्यता खोज्नुपर्छ। सत्यताको अगाडि हरेक व्यक्ति नवजात शिशुजस्तै हुन्छ, हरेक व्यक्ति विपन्न र दयनीय हुन्छ, र उसमा अत्यन्तै अभाव हुन्छ। मानिसहरूले गर्नुपर्ने भनेकै सत्यताको अगाडि समर्पित हुनु, नम्र र तृषित हृदय लिएर सत्यता खोज्नु र स्विकार्नु अनि त्यसपछि सत्यता अभ्यास गर्नु र परमेश्‍वरप्रति समर्पण हासिल गर्नु हो। यसो गरेर, मानिसहरू आफ्ना कर्तव्य निर्वाह गर्ने क्रममा र आफ्नो वास्तविक जीवनमा परमेश्‍वरका वचनहरूको सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्। सत्यताको अघि सबै जना बराबर छन्। प्रवर्द्धन र संवर्धन गरिएका मानिसहरू अरूभन्दा धेरै उत्तम हुँदैनन्। सबैले परमेश्‍वरको कामलाई लगभग उति नै समय अनुभव गरेका हुन्छन्। प्रवर्द्धन र संवर्द्धन नगरिएका मानिसहरूले पनि आफ्‍नो कर्तव्य पूरा गर्दा सत्यता पछ्याउनुपर्छ। कसैले पनि अरूलाई सत्यताको खोजी गर्ने अधिकारबाट वञ्चित गर्नु हुँदैन। कतिपय मानिसहरू सत्यताको खोजीमा बढी उत्सुक हुन्छन् र तिनीहरूमा केही क्षमता हुन्छ, त्यसकारण तिनीहरूलाई प्रवर्द्धन र संवर्धन गरिन्छ। यो परमेश्‍वरको घरको कामका आवश्यकताका कारण गरिन्छ। त्यसोभए, परमेश्‍वरको घरले मानिसहरूलाई प्रवर्द्धन र प्रयोग गर्ने यस्ता सिद्धान्तहरू किन राखेको हो? किनभने मानिसहरूको क्षमता र चरित्रमा भिन्‍नता हुन्छ, र हरेक व्यक्तिले फरक मार्ग रोज्छ, जसले गर्दा परमेश्‍वरप्रतिको मानिसहरूको विश्‍वासमा फरक-फरक परिणामहरू आउँछन्। सत्यता पछ्याउनेहरूले मुक्ति पाउँछन् र तिनीहरू राज्यका मानिस बन्छन्, जबकि जो सत्यतालाई पटक्‍कै स्विकार्दैनन् र आफ्‍नो कर्तव्य पूरा गर्नमा बफादार छैनन्, तिनीहरू हटाइन्छन्। मानिसहरूले सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन्, र तिनीहरू आफ्‍नो कर्तव्य पूरा गर्नमा बफादार छन् कि छैनन् भन्‍ने आधारमा परमेश्‍वरको घरले तिनीहरूलाई संवर्धन र प्रयोग गर्छ। के परमेश्‍वरको घरका विभिन्‍न मानिसहरूको ओहदामा कुनै भिन्‍नता हुन्छ? अहिलेका लागि, विभिन्‍न मानिसहरूको पद, मूल्य, हैसियत वा स्थानका आधारमा कुनै ओहदा छुट्याइएको छैन। कम्तीमा पनि, मानिसहरूलाई मुक्ति दिन र अगुवाइ गर्नका लागि परमेश्‍वरले काम गर्ने अवधिमा, विभिन्‍न मानिसहरूको श्रेणी, पद, मूल्य, वा हैसियतमा कुनै भिन्‍नता हुँदैन। भिन्‍नता भएको कुरा केवल कामको विभाजनमा र निर्वाह गरिने कर्तव्यका भूमिकाहरूमा मात्र हो। अवश्य नै, यस अवधिमा, विशेष कार्यहरू गर्नका लागि अपवादका रूपमा कतिपय मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गरिन्छ, जबकि कतिपय मानिसहरूले तिनीहरूको क्षमतासम्बन्धी वा पारिवारिक वातावरणसम्बन्धी समस्याजस्ता विभिन्‍न कारणहरूले गर्दा त्यस्तो अवसर पाउँदैनन्। तर के त्यस्ता अवसरहरू नपाउनेहरूलाई परमेश्‍वरले मुक्ति दिनुहुन्‍न? त्यस्तो त हुँदैन। के तिनीहरूको मूल्य र स्थान अरूको भन्दा सानो हुन्छ? हुँदैन। सत्यताको अगाडि सबै समान हुन्छन्, सबैले सत्यता पछ्याउने र प्राप्त गर्ने अवसर पाउँछन्, र परमेश्‍वरले सबैलाई निष्पक्ष र उचित रूपमा व्यवहार गर्नुहुन्छ। कुन बिन्दुमा मानिसहरूको पद, मूल्य, र हैसियतमा उल्लेखनीय भिन्नताहरू आउँछन्? जब मानिसहरू आफ्नो मार्गको अन्त्यमा पुग्छन्, र परमेश्‍वरको काम सम्पन्न हुन्छ, अनि हरेक व्यक्तिले मुक्ति पछ्याउने र आफ्नो कर्तव्य पूरा गर्ने क्रममा प्रदर्शन गरेका मनोवृत्ति र दृष्टिकोणहरूबारे, साथै परमेश्‍वरप्रति तिनीहरूका विभिन्न प्रकटीकरण र मनोवृत्तिहरूबारे अन्ततः एउटा निष्कर्ष निकालिन्छ—अर्थात्, जब परमेश्‍वरको नोटबुकमा पूर्ण अभिलेख हुन्छ—त्यस बेला, मानिसहरूका परिणाम र गन्तव्यहरू फरक हुने भएकाले, तिनीहरूको मूल्य, पद र हैसियतमा पनि भिन्नताहरू हुनेछन्। तब मात्र यी सबै कुराहरूको झलक देख्न र तिनलाई मोटामोटी रूपमा निश्चित गर्न सकिन्छ, तर अहिले सबै जना उस्तै छन्। के तिमीहरूले बुझ्यौ? के तिमीहरू त्यो दिनको प्रतीक्षामा छौ? के तिमीहरू त्यसको प्रतीक्षा गरिरहेका र सँगसँगै त्यसको डर पनि मानिरहेका छौ? तिमीहरू अन्ततः त्यो दिन नतिजा आउने, र सबै कठिनाइका बाबजुद, अन्ततः त्यस दिनमा पुग्ने प्रतीक्षामा हुन्छौ; र तिमीहरू केको डर मानिरहेका छौ भने, तिमीहरू मार्गमा राम्ररी हिँडेका हुनेछैनौ, र बाटोमै लडेका र असफल भएका हुनेछौ, र अन्तिम परिणाम असन्तोषजनक हुनेछ, तिमीहरूले कल्पना र अपेक्षा गरेभन्दा खराब हुनेछ—त्यो कति दुःखलाग्दो, पीडादायी, र निराशाजनक हुन्छ होला! त्यत्ति अगाडिसम्म नसोच्, त्यत्ति अगाडिसम्म सोच्नु अव्यावहारिक हुन्छ। सुरुमा, आफ्नो आँखाकै अगाडि भएको कुरालाई हेर्, आफ्नो पाउमुनिको मार्गमा राम्ररी हिँड्, आफ्नो हातको काम राम्ररी गर्, र परमेश्‍वरले तँलाई सुम्पनुभएका कर्तव्य र जिम्मेवारीहरू पूरा गर्। यो सबैभन्दा गम्भीर र सबैभन्दा महत्त्वपूर्ण कुरा हो। सत्यता र आफ्नो कर्तव्य पूरा गर्न अहिले नै बुझ्नुपर्ने सिद्धान्तहरू बुझ्, अनि ती विषयमा पूर्ण रूपमा स्पष्ट नभएसम्म सङ्गति गर्—ताकि ती कुरा तेरा मनमा प्रस्ट बनून्, र तैँले गर्ने सबै कुरामा सिद्धान्तहरू के हुन् भनी स्पष्ट र सही रूपमा थाहा पा—र तैँले सिद्धान्तहरू उल्लङ्घन गर्दैनस्, वा तँ तीबाट विचलित हुँदैनस्, वा तैँले बाधा वा अवरोध पुऱ्याउँदैनस्, वा परमेश्‍वरको घरका हितहरूलाई हानि गर्ने कुनै कुरा गर्दैनस् भन्ने सुनिश्चित होस्—यो सबै तिमीहरूले अहिले नै प्रवेश गर्नुपर्ने कुराहरू हुन्। हामीले यसपछि कुनै पनि कुराबारे थप कुराकानी गर्नु आवश्यक छैन, न त तिमीहरूले यसबारे प्रश्न सोध्नु वा सोच्नु नै आवश्यक छ। त्यत्ति अगाडिसम्म सोच्नु बेकार छ—तैँले सोच्नुपर्ने कुरा त्यो होइन। कतिपयले सोध्न सक्छन्: “हामीले यसबारे किन सोच्नुपर्दैन र? अहिले विपत्ति यति भयावह स्थितिमा पुगेको छ, हामीले त्यस्ता कुराहरूबारे सोच्ने बेला भएन र?” बेला भयो र? के विपत्ति भयावह बनेको कुराले सत्यतामा तेरो प्रवेशलाई प्रभाव पार्छ र? (अहँ, पार्दैन।) विपत्ति यति भयावह स्थितिमा पुगेको छ, तैपनि, विशेष गरी विपत्तिका सन्दर्भमा मैले कहिलेचाहिँ भेला गर्ने वा प्रवचन प्रचार गर्छु र? म विपत्तिका मामलामा कहिल्यै ध्यान केन्द्रित गर्दिनँ, म जहिल्यै केवल सत्यताका बारेमा बोल्छु, ताकि तिमीहरूले सत्यता र परमेश्‍वरका अभिप्रायहरू बुझ्न सक, र ताकि तिमीहरूले आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने र सत्यता वास्तविकतामा प्रवेश गर्ने तरिका बुझ्न सक। अचेल, कतिपय मानिसहरूले सत्यता वास्तविकता के हो र धर्मसिद्धान्तहरू के हुन् भन्ने समेत बुझ्दैनन्। तिनीहरू दिनहुँ उही थोरै शब्द र धर्मसिद्धान्तहरू र खोक्रा कुरा मात्र फलाक्छन्, तैपनि आफू सत्यता वास्तविकतामा प्रवेश गरेको महसुस गर्छन्। म तिनीहरूका लागि चिन्तित छु, तर तिनीहरू आफूबारे चिन्ता गर्दैनन्। तिनीहरू अझै पनि भविष्यका ती टाढाका कुराहरूबारे सोच्छन्—ती कुराहरूबारे सोच्नु व्यावहारिक हुँदैन।

सबै प्रकारका प्रतिभावान् मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्नुको उद्देश्य तिनीहरूलाई सक्रिय मानिसहरूमा परिणत गर्नु होइन, न त तिनीहरू भविष्यमा कुनै प्रकारको आधार-स्तम्भ बनून् भन्ने योजना बनाउनु नै हो, बरु तुलनात्मक रूपमा भन्नुपर्दा, बढी सत्यता पछ्याउने र प्रवर्द्धन र संवर्धनका मापदण्डहरू पूरा गर्ने केही मानिसहरूलाई उपयुक्त वातावरणमा र बढी अनुकूल अवस्थाहरूमा तालिम प्राप्त गर्ने अवसर दिनु हो। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तिनीहरूले परमेश्‍वरका वचनहरू बुझ्न, सत्यता बुझ्न र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्नु हो। के परमेश्‍वरमा विश्‍वास गरेर मानिसहरूले हासिल गर्नुपर्ने कुरा यही होइन? के परमेश्‍वरमा विश्‍वास गरेर मानिसहरूले प्राप्त गर्नुपर्ने कुरा यही होइन? सत्यता वास्तविकतामा प्रवेश गर्नका लागि, तिमीहरूले अहिले पछ्याउनुपर्ने प्रमुख कुरा के हो? के त्यो गर्नका लागि तिमीहरूसँग कुनै योजना वा कदम छ? म तिमीहरूलाई एउटा सरल, सजिलो र द्रुत युक्ति बताउँछु। सरल भाषामा भन्दा, सत्यता वास्तविकतामा प्रवेश गर्नु भनेको वास्तवमा सत्यता अभ्यास गर्नु हो। सत्यता अभ्यास गर्नका निम्ति, सुरुमा व्यक्तिका भ्रष्ट स्वभावहरूलाई निराकरण गर्न जरुरी छ। व्यक्तिका भ्रष्ट स्वभावहरू समाधान गर्नका लागि सबैभन्दा द्रुत सुरुआती बिन्दु के हो? तिमीहरूका लागि, सबैभन्दा सरल, द्रुत र सबैभन्दा झन्झटमुक्त उपाय भनेको सुरुमा आफ्नो कर्तव्यमा झाराटारुवा हुने समस्या समाधान गर्नु हो, आफ्ना भ्रष्ट स्वभावहरू क्रमशः समाधान गर्नु हो। तिमीहरूलाई त्यो समाधान गर्न कति लामो समय लाग्ला? के तिमीहरूसँग कुनै योजना छ? धेरैजसो मानिसहरूसँग योजना हुँदैन, तिनीहरू केवल त्यसलाई आफ्नो मनमा खेलाइरहन्छन्, तर औपचारिक रूपमा त्यसको सुरुआत कहिले गर्ने भनेर तिनीहरूलाई थाहा हुँदैन। तिनीहरूलाई आफू झाराटारुवा भएको थाहा भए पनि, तिनीहरू त्यसलाई समाधान गर्न सुरु गर्दैनन् र तिनीहरूसँग कुनै निश्चित समाधान हुँदैन। आफ्नो कर्तव्यमा अल्छी हुनु, ध्यान नदिनु, गैरजिम्मेवार हुनु, र त्यसलाई गम्भीर रूपमा नलिनु—यी सबै झाराटारुवा हुनुका प्रकटीकरणहरू हुन्। पहिलो कदम भनेको झाराटारुवा हुने समस्या समाधान गर्नु हो। दोस्रो कदम भनेको आफ्नै इच्छाअनुसार कार्य गर्ने समस्या समाधान गर्नु हो। कहिलेकाहीँ बेइमान रूपमा बोल्नु, वा छली वा अहङ्कारी स्वभाव प्रकट गर्नु जस्ता अरू कुराका सन्दर्भमा, अहिलेका लागि ती कुराहरूबारे चिन्ता नगर। के सुरुमा झाराटारुवा हुनु र आफ्नै इच्छाअनुसार कार्य गर्नुलाई निराकरण गर्नु बढी व्यावहारिक र प्रभावकारी हुँदैन र? के यी दुई समस्याहरू पत्ता लगाउन सबैभन्दा सजिला छैनन् र? के ती समाधान गर्न सजिला छैनन् र? (छन्।) के तँ झाराटारुवा हुँदा त्यसबारे सचेत हुन्छस्? के तैँले अल्छे हुने सोचिरहँदा त्यसबारे थाहा पाउँछस्? के तैँले चालहरू चाल्ने वा चतुर्‍याइँ गर्ने र छलकपटमार्फत आफ्नै सेवा गर्ने सोचिरहँदा त्यसबारे थाहा पाउँछस्? (पाउँछु।) यदि तैँले थाहा पाउँछस् भने, त्यो समाधान गर्न सजिलो हुन्छ। तैँले सजिलै पत्ता लगाउन सक्ने र तैँले भित्री रूपमा थाहा पाएका समस्याहरू समाधान गरेर सुरु गर्। आफ्नो कर्तव्यमा झाराटारुवा हुनु भनेको एउटा निकै स्पष्ट र आम समस्या हो, तर यो समाधान गर्न निकै गाह्रो एउटा जटिल समस्या पनि हो। कुनै कर्तव्य पूरा गर्दा, व्यक्तिले कर्तव्यनिष्ठ, कठोर, होसियार र जिम्मेवार हुन सिक्नुपर्छ, र उसले त्यसलाई पूर्णतः व्यावहारिक तरिकाले पूरा गर्न, अर्थात्, एक-एक पाइला गरी गर्न सिक्नुपर्छ। आफूले त्यो कर्तव्यमा कस्तो गरेको छु भन्ने कुरामा सन्तुष्ट नहुन्जेल उसले त्यो कर्तव्य राम्ररी पूरा गर्न आफ्नो सारा सामर्थ्य लगाउनैपर्छ। यदि व्यक्तिले सत्यता बुझ्दैन भने, उसले सिद्धान्तहरू खोज्नुपर्छ, र ती सिद्धान्त र परमेश्‍वरका मागहरूअनुसार कार्य गर्नुपर्छ; उसले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नका लागि स्वेच्छाले अझ बढी मेहनत लगाउनुपर्छ, र त्यसलाई कहिल्यै झाराटारुवा तरिकाले गर्नु हुँदैन। यसरी अभ्यास गरेर मात्र व्यक्तिले विवेकको निन्दा नखेपी आफ्नो हृदयमा शान्ति महसुस गर्न सक्छ। के झाराटारुवापन समाधान गर्न सजिलो हुन्छ? तँसँग विवेक र समझ भइन्जेल, तैँले त्यसलाई समाधान गर्न सक्छस्। सुरुमा, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नैपर्छ: “परमेश्‍वर, म आफ्नो कर्तव्य सुरु गर्दै छु। यदि म झाराटारुवा भएँ भने, म आग्रह गर्छु कि तपाईँ मलाई हृदयमा ताडना दिनुहोस् र हप्काउनुहोस्। म यो पनि आग्रह गर्छु कि तपाईँ मलाई मेरो कर्तव्य राम्ररी पूरा गर्न अनि झाराटारुवा नहुन अगुवाइ गर्नुहोस्।” हरदिन यसरी अभ्यास गर् अनि तेरो झाराटारुवापनको समस्या समाधान हुन, तेरा झाराटारुवा स्थितिहरू घट्न, तेरो कर्तव्यमा हुने अशुद्धता कम हुन, अनि तेरो कर्तव्य निर्वाहमा वास्तविक नतिजाहरूमा सुधार आउन र तेरो प्रभावकारिता बढ्न कति समय लाग्छ भनेर हेर्। झाराटारुवा नभई आफ्नो कर्तव्य निर्वाह गर्नु—के यो तैँले आफैमा भर परेर हासिल गर्न सक्ने कुरा हो? तँ झाराटारुवा हुँदा, के तैँले त्यसलाई नियन्त्रण गर्न सक्छस्? (यो सजिलो हुँदैन।) त्यसोभए त्यो गाह्रो हुन्छ। यदि तिमीहरूलाई यो नियन्त्रण गर्न साँच्चै गाह्रो हुन्छ भने, तिमीहरू ठूलो समस्यामा छौ! त्यसोभए तिमीहरूले कुन-कुन कुराचाहिँ झाराटारुवा नभई गर्न सक्छौ त? कतिपय मानिसहरू आफ्नो खानाबारे विशेष ध्यान दिन्छन्; यदि खाना तिनीहरूलाई मनपर्दो भएन भने, तिनीहरू दिनभर राम्रो मुडमा हुनेछैनन्। कतिपय महिलाहरू सिँगारपटार गर्न र मेक-अप लगाउन मन पराउँछन्; तिनीहरू कपालको एक-एक रेसालाई ध्यान दिन्छन्। कतिपय मानिसहरू व्यापार गर्नमा सिपालु हुन्छन्; तिनीहरूले ध्यान दिएर एक-एक पैसाको हिसाब गर्छन्। यदि तिमीहरू यस्तो कर्तव्यनिष्ठ मनोवृत्तिका साथ कार्य गर्छौ भने, तिमीहरू झाराटारुवा हुनबाट जोगिन सक्छौ। सुरुमा, झाराटारुवा हुने समस्या समाधान गर, त्यसपछि, आफ्नै इच्छाअनुसार कार्य गर्ने समस्या समाधान गर। आफ्नै इच्छाअनुसार कार्य गर्नु एउटा आम समस्या हो, र यो मानिसहरूले आफैभित्र सजिलै पत्ता लगाउन सक्ने अर्को समस्या हो। अलिकति आत्म-चिन्तन गरेमा, व्यक्तिले ऊ आफ्नै इच्छाअनुसार कार्य गर्छ, जुन सत्यता सिद्धान्तहरूअनुरूप होइन भनेर पहिचान गर्न सक्छ। मानिसहरूले पहिचान गर्न सक्ने समस्याहरू समाधान गर्न सजिला हुन्छन्। पहिले यी दुई समस्याहरू समाधान गर्नतर्फ ध्यान देओ, एउटा झाराटारुवापनको समस्या र अर्को आफ्नै इच्छाअनुसार कार्य गर्ने समस्या। एक वा दुई वर्षभित्रमा नै आफूले गर्ने कुनै पनि कार्यमा नतिजाहरू हासिल गर्न, झाराटारुवा नहुन, वा आफ्नै इच्छाअनुसार वा आफ्नो इच्छाका मिसावटसाथ कार्य नगर्न लागिपर। एकपटक यी दुई समस्या समाधान भएपछि, तिमीहरू मानकअनुरूप हुने गरी आफ्नो कर्तव्य निर्वाह गर्नबाट त्यति टाढा हुनेछैनौ। अनि यदि तिमीहरूले तिनलाई समेत समाधान गर्न सकेनौ भने, तिमीहरू परमेश्‍वरमा समर्पित हुनबाट वा उहाँका अभिप्रायहरूको ख्याल गर्नबाट अझै पनि टाढा हुनेछौ—तिमीहरूले यसको सतह समेत पटक्कै छोएका हुँदैनौ।

हामीले भर्खरै विभिन्न प्रकारका योग्य प्रतिभाहरूको प्रवर्द्धन र संवर्धन गर्नुका मापदण्ड र उद्देश्यहरूबारे, साथै परमेश्‍वरको घरले विभिन्न प्रकारका प्रतिभावान् मानिसहरूलाई गर्ने प्रवर्द्धन र संवर्धनका सन्दर्भमा व्यक्तिमा हुनुपर्ने बुझाइ र दृष्टिकोणबारे सङ्गति गऱ्यौँ। अझै अर्को पक्ष भनेको प्रवर्द्धन र संवर्धन गरिने विभिन्न प्रकारका प्रतिभावान् मानिसहरूप्रति व्यक्तिमा हुनुपर्ने मनोवृत्ति र तौर-तरिका हो। विषयवस्तु छमा सङ्गति गरिनुपर्ने केही मामलाहरू यिनै हुन्। त्यसकारण, यसपछि, विशेष गरी विषयवस्तु छका सन्दर्भमा, झूटा अगुवाहरूले विभिन्न प्रकारका प्रतिभावान् मानिसहरूलाई कसरी प्रवर्द्धन र संवर्धन गर्छन् भनी खुलासा र चिरफार गरौँ। हामीले सङ्गति गर्ने मुख्य विषयसामग्री यही हुनेछ।

सबै प्रकारका प्रतिभावान् मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्ने सन्दर्भमा झूटा अगुवाहरूका मनोवृत्ति र प्रकटीकरणहरू

झूटा अगुवाहरूले सत्यता बुझ्दैनन् र सत्यता खोज्दैनन्। त्यसकारण, परमेश्‍वरको घरमा सबै प्रकारका योग्य प्रतिभाहरूलाई प्रवर्द्धन र संवर्धन गर्ने महत्त्वपूर्ण कामको कुरा आउँदा, तिनीहरूले त्यसलाई भद्रगोल पनि पारिदिन्छन्, पूर्ण रूपमा अस्तव्यस्त बनाइदिन्छन्, र परमेश्‍वरको घरका मागहरू पूरा गर्नै सक्दैनन्। विभिन्न प्रकारका योग्य प्रतिभाहरूलाई प्रवर्द्धन र संवर्धन गर्ने सन्दर्भमा तिनीहरूले मापदण्ड नबुझ्ने, परमेश्‍वरका अभिप्रायहरू त झनै नबुझ्ने हुनाले, अनि विभिन्न प्रकारका योग्य प्रतिभाहरूलाई प्रवर्द्धन र संवर्धन गर्नुको महत्त्व पनि नबुझ्ने हुनाले, तिनीहरूलाई मानकअनुरूप र सिद्धान्तअनुसार यो काम गर्न निकै गाह्रो हुन्छ। झूटा अगुवाहरूले आफ्नो कामका दौरान संवर्धन गर्ने विभिन्न प्रकारका “प्रतिभावान्” मानिसहरू निश्चित रूपमा मिश्रित खालका हुन्छन्। योग्य प्रतिभाहरूलाई प्रवर्द्धन र संवर्धन गर्नुको सट्टा, झुटा अगुवाहरूले कुनै पनि हालतमा अगुवा वा कामदारका रूपमा सेवा प्रदान गर्न प्रवर्द्धन र संवर्धन गर्न नहुने मानिसहरूलाई प्रवर्द्धन गर्छन्, र यी मानिसहरूलाई मण्डलीमार्फत गुजारा चलाउन र परमेश्‍वरका भेटीहरू फजुलमा उडाउन दिन्छन्। सबै झुटा अगुवाहरूले यस्तै कामकुरा गर्छन्, जसले गर्दा सत्यता पछ्याउने र इन्साफको बोध भएका कतिपय मानिसहरू पैतालामुनि कुल्चिन्छन् र तिनीहरूलाई प्रवर्द्धन र प्रयोग नै गरिँदैन। बरु, यी झुटा अगुवाहरूका नजरमा, केही न कामका मानिसहरू तथाकथित प्रतिभावान् मानिस बन्छन्, र तिनीहरूद्वारा प्रवर्द्धन र संवर्धन गरिन्छन्। त्यसोभए यो काम गर्दा झुटा अगुवाहरूका प्रकटीकरणहरू के-के हुन्छन्? मानौँ कि, उदाहरणका लागि, परमेश्‍वरको घरको कामका आवश्यकताहरूका कारण, त्यसले बाहिरी मामलाहरू सम्हाल्नका लागि केही मानिसहरू खोज्नैपर्ने छ। त्यसोभए, त्यसले कुन मानिसहरू खोज्नुपर्छ? मैले भर्खर केही मापदण्डहरूको सूची बनाएँ, किटेरै भन्नुपर्दा, काम गर्ने सक्षमता हुनु, परमेश्‍वरको घरले माग गरेका सिद्धान्तहरूअनुसार आफ्ना कर्तव्य पूरा गर्न सक्षम हुनु, र परमेश्‍वरको घरका हितहरूको प्रतिरक्षा गर्न सक्षम हुनु। के झूटा अगुवाहरूलाई यी सिद्धान्तहरू थाहा हुन्छ? पक्कै पनि थाहा हुँदैन, त्यसोभए तिनीहरूले बाहिरी मामलाहरू सम्हाल्न मानिसहरू कसरी खोज्छन् त? तिनीहरू मनमनै यस्तो सोच्छन्: “बाहिरी मामलाहरू कसले सम्हाल्न सक्छ? तेज बुद्धि र छिटो प्रतिक्रिया दिने एउटी बहिनी छे, ऊ कुशल वक्ता हो र मानिसहरूलाई सम्हाल्न जान्दछे। बोल्दा उसका आँखा लेखाजोखा गर्दै यता-उता फन्को मारिरहन्छन्, र औसत व्यक्तिले उसलाई बुझ्न सक्दैन। ऊ मण्डली अगुवा हुन त अलिकति अनुपयुक्त नै हुन्छे, तर बाहिरी मामलाहरू सम्हाल्न उनी गज्जबकी हुन्छे, त्यसैले म उसलाई नै छान्छु। कुरा यति मात्र हो कि, मलाई उसको शैक्षिक स्तर अलि कम भएकाले गैरविश्‍वासीहरूले उसलाई हेयको दृष्टिले हेर्नेछन् भन्ने चिन्ता छ, त्यसैले ऊसँग सहकार्य गर्न म एउटा विश्‍वविद्यालय स्नातक खोज्छु—जो उसको विद्यार्थी सङ्गठनकी अध्यक्ष थिई। यो व्यक्ति अलि चलाख नै छे, तर समाजमा उसको अनुभव तुलनात्मक रूपमा कम छ र उसले संसार तुलनात्मक रूपमा कम देखेकी छे, त्यसैले उसले आफ्नो सहकर्मीबाट सिक्न सक्छे। यी दुई मानिसहरूमध्ये, एउटीको शैक्षिक स्तर कम छ र अर्की उच्च शिक्षा हासिल गरेकी छे, समाजमा एउटीको अनुभव छ र अर्कीको छँदै छैन—तिनीहरू एकअर्कासँग सहकार्य गर्न उपयुक्त छन्, होइन र?” एउटी कुशल-वक्ता र वाक्पटु छे, तेज बुद्धिकी छे, र समाजमा अत्यन्तै लोकप्रिय छे; जब ऊ गैरविश्‍वासीहरूसँग अन्तरक्रिया गर्छे, तिनीहरूले ऊ विश्‍वासी हो भनेर भन्नै सक्दैनन्। अर्कीले उच्च शिक्षा हासिल गरेकी छे र उसको सामाजिक हैसियत छ; जब ऊ गैरविश्‍वासीहरूसँग अन्तरक्रिया गर्छे, तिनीहरूले उसलाई हेयको दृष्टिले हेर्दैनन्। झूटा अगुवाहरूले मानिसहरू छनोट गर्ने यी दुई सिद्धान्तहरूका बारेमा तिमीहरूलाई के लाग्छ? झूटा अगुवाहरूले के विश्‍वास गर्छन् भने, जबसम्म कसैसँग वक्तृत्वकलाको वरदान, तीक्ष्ण बुद्धि, र द्रुत प्रतिक्रिया दिने क्षमता हुन्छ, उसले परमेश्‍वरको घरका साधारण मामलाहरू सम्हाल्न सक्छ। के यो मानिसहरू छनोट गर्ने उपयुक्त तरिका हो? (होइन।) यो कसरी उपयुक्त होइन? (त्यस्ता मानिसहरू प्रायः अलि धूर्त हुन्छन्; तिनीहरू संसारसँग व्यवहार गर्ने दर्शनहरूमा अरूसँग संलग्न हुन सके पनि, र तिनीहरूले मानिसहरूलाई सम्हाल्न जाने पनि, तिनीहरू परमेश्‍वरको घरका हितहरूको प्रतिरक्षा गर्न सक्षम हुन्छन् नै भन्ने हुँदैन।) ठीक हो। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको, व्यक्तिले परमेश्‍वरको घरका लागि चाहे जे मामलाहरू सम्हाले पनि, ऊ कम्तीमा सोझो र परमेश्‍वरको घरका हितहरूको प्रतिरक्षा गर्न सक्षम हुनुपर्छ। के बोलीले लट्ठै पार्ने र मरेकालाई ब्युँताउने गरी बोल्न सक्नुको अर्थ उसले परमेश्‍वरको घरका हितहरूको प्रतिरक्षा गर्न सक्छ भन्ने हुन्छ र? के तीक्ष्ण-बुद्धि भएको, कुशल वक्ता, र वाक्पटु हुनुको अर्थ उसले परमेश्‍वरको घरको प्रतिरक्षा गर्न सक्छ भन्ने हुन्छ र? (अहँ, हुँदैन।) उसले कसम नै खाए पनि, त्यो बेकार हुन्छ, र यदि तैँले ऊसामु मागहरू राखिस् भने, त्यो पनि त्यत्तिकै निरर्थक हुन्छ—उसमा त्यो चरित्र हुनैपर्छ। तर झूटा अगुवाहरूले यी कुराहरूको अनुसन्धान गर्दैनन्, तिनीहरूले समाजमा कसको अनुभव छ, को चतुर, तीक्ष्ण बुद्धिको, कुशल वक्ता र वाक्पटु छ, कसलाई परिस्थिति सुहाउँदो व्यवहार गर्न आउँछ, र को छेपारोजस्तो छ, अनि समाजमा लोकप्रिय छ भन्ने कुरा मात्र हेर्छन्। तिनीहरू त्यस्ता मानिसहरूले परमेश्‍वरका घरमा साधारण मामलाहरू सम्हाल्न सक्छन् भन्ने सोच्छन्। के यो गल्ती होइन? मानिसहरूलाई छनोट गर्ने सिद्धान्तहरू र मानकहरूको हिसाबले यो गल्ती हो। तथ्य के हो भने, यस्तो प्रकारको व्यक्तिले बोलेर अति नै लट्ठ पार्छ: उसले चाहे जोसुकैसँग व्यवहार गरिरहेको भए पनि, उसले भन्ने सबै कुरा झूट हुन्छ, र उसले जतिसुकै कसम खाए पनि ऊ परिवर्तन हुन सक्दैन। कामकुरा गर्दा, उसले आफ्नै स्वार्थहरूको मात्र प्रतिरक्षा गर्छ, र विशेष गरी खतराको सामना गर्दा, उसले सबभन्दा पहिले आफ्नै सुरक्षा गर्छ, र एक पटक पनि परमेश्‍वरको घरका हितहरूको ख्याल गर्दैन। गैरविश्‍वासीहरूसँग राम्रो सम्बन्ध भएसम्म, उसका लागि त्यो नै पर्याप्त हुन्छ; परमेश्‍वरको घरका हितहरूलाई हानि पुग्यो कि पुगेन भन्ने कुरालाई उसले वास्ता नै गर्दैन। उसले न त दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षाको ख्याल गर्छ, न परमेश्‍वरको नाम अपमानित हुन्छ कि भनेर नै वास्ता गर्छ; उसले आफ्नै मात्र हेरविचार गर्छ। झूटा अगुवाहरूले यस्तो प्रकारको व्यक्तिलाई छर्लङ्ग देख्न सक्दैनन् र परमेश्‍वरको घरका बाहिरी मामलाहरू सम्हाल्नका लागि त्यस्तो व्यक्ति सबैभन्दा उपयुक्त हुन्छ भन्ने सोच्छन्। के यो मूर्खता होइन? उसले परमेश्‍वरको घरका हितहरूलाई विश्वासघात गर्छ तर झूटा अगुवाहरूलाई त्यो थाहा समेत हुँदैन, तैपनि तिनीहरू उसलाई महत्त्वपूर्ण कामहरू अह्राउँछन्, र सबै थोकका लागि उसमा निर्भर हुन्छन्। के यो चरम मूर्खता होइन? के कुशल वक्ता, वाक्पटु, र तीक्ष्ण बुद्धि भएका मानिसहरू सोझा अभिप्रायहरू बोकेका मानिस हुन्? यदि तैँले तिनीहरूसँग व्यवहार गरेको वा तिनीहरूलाई ध्यान दिएर नियालेको छैनस् भने, तैँले थाहा पाउनेछैनस्। तैँले तिनीहरूसँग व्यवहार गर्दा र मामलाहरू सम्हाल्दा, तिनीहरूले बोल्ने कुरा तिनीहरूको कार्यसँग मेल खान्छ कि खाँदैन भन्ने मात्र हेर्। यसलाई एउटा घटनामार्फत जाँच्न सकिन्छ। उदाहरणका लागि, मानौँ तैँले वस्तुहरू सारिरहेको छस्। तिनीहरूले यो देख्दा, तँलाई सहयोग गर्नेछैनन्। तैँले काम सक्काइसकेपछि मात्र तिनीहरूले आएर यसो भन्नेछन्, “यस्तो थकाइलाग्दो काम तिमी एक्लैले कसरी गर्न सकेको? मलाई भनेको मात्रै भए, म जतिसुकै व्यस्त भए पनि सहयोग गरिहाल्थेँ नि। तिमी निकै थकित देखिन्छौ। म भरै तिम्रा लागि खाना पकाइदिन्छु, आज तिमीले पकाउनुपर्दैन।” त्यसो भनेपछि, तिनीहरू गायब हुन्छन्। तँ पूरै थकित हुन्छस्, तैपनि तैँले खाना पकाउनुपर्ने हुन्छ। अनि तैँले खाना पकाइसकेपछि, तिनीहरू खान आइपुग्छन् र यस्तो समेत भन्छन्, “तिमीले खान पकाउन सुरु गर्नै लाग्दा मलाई किन नबोलाएको? तिमी पूरै थकित छौ, तैपनि तिमी मेरा लागि खाना पकाउँदैछौ—त्यो कसरी सही भयो र? अब तिमीले पकाइसकेकाले, म खाइदिऊँला। अर्को छाकको खाना म पकाउँछु, र भविष्यमा कुनै काम गर्नुपर्‍यो मलाई भन।” तिनीहरूलाई छर्लङ्ग देख्न यो एउटा घटना नै काफी हुन्छ। तिनीहरू निकै चतुर वक्ता, तीक्ष्ण बुद्धिका हुन्छन्, र के बोल्ने भनेर तिनीहरूलाई थाहा हुन्छ। तिनीहरूलाई परिस्थिति सुहाउँदो व्यवहार गर्न आउँछ, र तिनीहरूले गर्ने भनेकै कर्णप्रिय कुराहरू बोल्ने मात्र हो, कहिल्यै कुनै वास्तविक काम गर्दैनन्। के त्यस्ता मानिसहरू भरपर्दा हुन्छन्? यदि तैँले तिनीहरूलाई परमेश्‍वरको घरका साधारण मामलाहरू सम्हाल्न आग्रह गरिस् भने, के तिनीहरूले त्यसका हितहरूको प्रतिरक्षा गर्न सक्छन् त? के तिनीहरूले मण्डलीको ख्याति कायम राख्न र दाजुभाइ-दिदीबहिनीहरूको हिफाजतको सुरक्षा गर्न सक्छन् त? (सक्दैनन्।) के परमेश्‍वरको घरको सम्पत्ति र त्यसका सबै हितहरू तिनीहरूको पहिलो प्राथमिकता हो? पटक्कै होइन। झुटा अगुवाहरूका आँखा र मन यस्ता सजिलै पत्ता लगाउन सकिने समस्याहरूप्रति अन्धा हुन्छन्, तिनीहरूले ती देख्नै सक्दैनन्। बरु, तिनीहरूले शब्द र धर्मसिद्धान्तहरू मात्र बोल्न सक्छन्। परमेश्‍वरले कसलाई प्रेम गर्नुहुन्छ र कसलाई प्रेम गर्नुहुन्न, कसले सत्यतालाई प्रेम गर्छ र कसले सत्यतालाई प्रेम गर्दैन, व्यक्तिको परमेश्‍वरमाथिको आस्थामा जग हुनुको अर्थ के हो र कस्ता प्रकारका मानिसहरूको जग हुँदैन, आफ्नो कर्तव्य पूरा गर्नमा कस्ता किसिमका मानिसहरू बफादार हुन्छन् र कस्ता किसिमका मानिसहरू बफादार हुँदैनन्—तिनीहरू यी कुराहरूबारे व्यावहारिक र तर्कसङ्गत तरिकाले बोल्छन्, र तिनीहरूले ती कुरा साँच्चै बुझेझैँ देखिन्छ, तर त्यो सब खोक्रा कुरा र धर्मसिद्धान्तहरू हुन्। जब पनि तिनीहरूलाई मानिसहरूलाई खुट्टयाउन आग्रह गरिन्छ, तिनीहरूका आँखा र मन अन्धा हुन्छन्; तिनीहरूलाई मानिसहरूको भित्री कुरा पढ्न आउँदै आउँदैन। तिनीहरूले यस्ता मानिसहरूसँग चाहे जति लामो समयसम्म अन्तरक्रिया गरे पनि, तिनीहरूले अझै तिनीहरूलाई छर्लङ्ग देख्न सक्दैनन्, र तिनीहरूलाई महत्त्वपूर्ण कार्यहरूमा समेत खटाउँछन्।

झूटा अगुवाहरूले गलत मानिसहरू प्रयोग गर्नु नै घिनलाग्दो कुरा हो, तैपनि तिनीहरूले झन् बढी घिनलाग्दा कुराहरू गरेर थप दुष्कर्म गर्छन्। मानौँ कि, उदाहरणका लागि, मानौँ कुनै झुटो अगुवाले गलत व्यक्तिलाई प्रयोग गऱ्यो। यो व्यक्ति सुपरिवेक्षक हुन बिलकुलै उपयुक्त छैन र प्रवर्द्धन र संवर्धन गरिनका लागि उसले परमेश्‍वरको घरका मापदण्डहरू पूरा गर्दैन। तैपनि त्यो झुटो अगुवाले उसलाई प्रयोग गर्नमा जिद कस्छ र यस्तो विश्‍वास गर्दै त्यस व्यक्तिको कामलाई कहिल्यै निरीक्षण गर्दैन, “आफूले प्रयोग गरेकालाई शङ्का नगर्नु र शङ्का गरेकालाई प्रयोग नगर्नु। मैले तिमीलाई छनोट गरेर प्रवर्द्धन गरेकाले, तिमीले यो काम राम्ररी गर्न सक्नेछौ, त्यसैले अघि बढ र आफूलाई जसरी उचित लाग्छ, त्यसरी नै काम गर। तिमीले चाहे जे गरे पनि म तिमीलाई समर्थन गर्नेछु, र कसैले यसमा आपत्ति जनाउनुको कुनै तुक छैन!” उसले गलत व्यक्तिलाई प्रयोग गऱ्यो, तैपनि उसले अन्त्यसम्मै आफ्नो गल्तीलाई कायम रहन दियो—उसले आफूमा त्यति विश्‍वास गर्छ। झूटा अगुवाहरू सबै अन्धा हुन्छन्। तिनीहरूले कुनै समस्या देख्न सक्दैनन्, कुन मानिसहरू दुष्ट मानिसहरू वा अविश्‍वासीहरू हुन् भनेर चिन्न सक्दैनन्, र मण्डलीका काममा चाहे जसले बाधा दिए वा अवरोध पुऱ्याए पनि, तिनीहरूमा त्यसबारे कुनै सचेतना हुँदैन, र तिनीहरूले अन्योलमा परेका मानिसहरूलाई महत्त्वपूर्ण कार्यमा समेत खटाउँछन्। झूटा अगुवाहरू आफूले प्रवर्द्धन गरेका जोसुकैमाथि ठूलो भरोसा राख्छन्, सहर्ष तिनीहरूलाई महत्त्वपूर्ण काम सुम्पन्छन्। फलस्वरूप, ती मानिसहरूले मण्डलीको काम बिगार्छन्, सुसमाचारको प्रचारलाई गम्भीर रूपमा असर गर्छन् र परमेश्‍वरको घरका हितहरूलाई हानि पुऱ्याउँछन्। झूटा अगुवाहरूले तिनीहरूलाई यसबारे केही थाहा नभएको ढोँगसमेत गर्छन्। माथिले तिनीहरूलाई यसो सोध्नुहुन्छ, “तिमीले प्रवर्द्धन गरेको त्यो व्यक्तिले आफ्नो काममा कस्तो गरिरहेको छ? के ऊ यो काम गर्न उपयुक्त छ? के उसले मण्डलीको कामको र परमेश्‍वरको घरका हितहरूको प्रतिरक्षा गरिरहेको छ? महत्त्वपूर्ण क्षणहरूमा, उसले आफ्नो सुरक्षा गर्नेछ कि मण्डलीको कामको प्रतिरक्षा गर्नेछ?” यी झूटा अगुवाहरूले यस्तो प्रतिक्रिया दिन्छन्: “उसले मण्डलीको कामको प्रतिरक्षा गर्ने कसम खाएको छ। त्यसबाहेक, उसले २० वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छ। उसले कसरी आफ्नै सुरक्षा गरेर परमेश्‍वरको घरका हितहरूलाई घात गर्न सक्थ्यो र? उसले सम्भवतः परमेश्‍वरको घरका हितहरूको नै प्रतिरक्षा गर्नेछ।” माथिले प्रत्युत्तरमा भन्नुहुन्छ: “के तिमीले भनेको कुरा सही छ? के तिमीले उसको कामको निरीक्षण गरेका छौ?” यी झूटा अगुवाहरूले यस्तो जबाफ दिन्छन्, “मैले उसको कामको निरीक्षण गरेको त छैन, तर मैले उसलाई आफ्ना स्वार्थहरूको प्रतिरक्षा नगर्नु, र उसले मण्डलीको कामको प्रतिरक्षा गर्नुपर्छ भनेर भनेको छु, र उसले त्यसो गर्ने वाचा गरेको छ।” उसले तँलाई वाचा गर्नुको के फाइदा? उसले परमेश्‍वरसामु खाएको कसमसमेत पूरा गर्न सक्दैन। के उसले वाचा गऱ्यो भन्दैमा, तँलाई ऊ भरपर्दो छ भन्ने लाग्छ? के उसले वाचा गरेको कुरा निश्चित रूपमै गर्न सक्छ? तैँले उसको कामको निरीक्षण नगरेका हुनाले, ऊ परमेश्‍वरको घरका हितहरूको प्रतिरक्षा गर्ने व्यक्ति हो कि होइन भनेर तँलाई कसरी थाहा हुन्छ? तँ किन आफैमाथि त्यति धेरै विश्‍वास गर्छस्? के त्यस्ता झूटा अगुवाहरू बदमास होइनन्? गलत व्यक्तिलाई प्रयोग गरेर तिनीहरूले ठूलो गल्ती गरिसकेका हुन्छन्, र त्यसपछि यस व्यक्तिको कामका बारेमा कहिल्यै सोधपुछ, अनुसन्धान, वा निगरानी नगरेर, र त्यसको सुपरिवेक्षण वा अवलोकन नगरेर तिनीहरूले आफ्‍नो गल्ती अझै बढाउँछन्। तिनीहरू केवल यस व्यक्तिले जथाभाबी काम गरेको र दुष्कर्म गरेको सहिरहन्छन्। झूटा अगुवाहरूले यसरी नै काम गर्छन्। जब कुनै काममा मानिसहरूको कमी हुन्छ, तब झूटा अगुवाहरूले खुसीसाथ कसैलाई त्यसको जिम्मेवारी लिने प्रबन्ध मिलाउँछन् र त्यसपछि त कामै सकिन्छ; तिनीहरूले कामको निरीक्षण कहिल्यै गर्दैनन्, वा त्यस व्यक्तिसँग अन्तरक्रिया गर्न, उसलाई अवलोकन गर्न, र ऊबारे अझै बढी कुरा पत्ता लगाउने कोसिस गर्न वास्तवमै कार्यस्थलमा जाने गर्दैनन्। कतिपय ठाउँमा त्यस व्यक्तिलाई भेट्ने र ऊसँग समय बिताउने अनुकूल वातावरण हुँदैन, तर तैँले उसको कामबारे सोधखोज गर्नैपर्छ, र उसले के गरिरहेको छ, र कसरी गरिरहेको छ भनेर अप्रत्यक्ष प्रश्नहरू सोध्नुपर्छ—तैँले दाजुभाइ-दिदीबहिनीहरू वा उसको नजिकको कसैलाई सोध्न सक्छस्। के यसो गर्न सकिँदैन? तर झूटा अगुवाहरूले कुनै प्रश्‍न सोध्ने कष्ट समेत गर्दैनन्, तिनीहरू यति ढुक्‍क हुन्छन्। आफ्ना काममा, तिनीहरू केवल भेला आयोजना गरेर धर्मसिद्धान्तहरू प्रचार गर्ने गर्छन्, र जब भेला सकिन्छ र कामको प्रबन्ध हुन्छ, त्यसपछि तिनीहरूले अरू केही गर्दैनन्; तिनीहरू आफूले छनौट गरेको व्यक्तिले वास्तविक काम गर्न सक्छ कि सक्दैन भनेर अनुगमन गर्न वा पत्ता लगाउन जाँदैनन्। सुरुमा, तैँले त्यो व्यक्तिलाई बुझेको थिइनस्, तर उसको क्षमता, अनि सतही प्रकटीकरण र जोसका आधारमा, तँलाई ऊ यो कामका लागि उपयुक्त भए झैँ महसुस भयो अनि तैँले उसलाई प्रयोग गरिस्—यसमा कुनै गल्ती छैन, किनकि मानिसहरू कस्ता भएर निस्किन्छन् भनेर कसैलाई थाहा हुँदैन। तर उसलाई प्रवर्धन गरेपछि, के तैँले, उसले वास्तविक काम गर्छ कि गर्दैन, उसले कसरी काम गर्छ, र ऊ लापरवाह, ठग, वा अल्छे भएको छ कि छैन भनेर अनुगमन गर्ने र हेर्ने गर्नुपर्दैन र? तैँले गरिरहेको हुनुपर्ने काम यही हो, तर तैँले यी मध्ये कुनै पनि गर्दैनस्, तैँले कुनै जिम्‍मेवारी लिँदैनस्। तँ झूटो अगुवा होस्, र तँलाई बर्खास्त गरिनुपर्छ र हटाइनुपर्छ।

झूटा अगुवाहरूले एउटा गम्भीर गल्ती गर्छन्, जुन के हो भने, तिनीहरूले मानिसहरूलाई प्रवर्द्धन गरेपछि, उनीहरूलाई काम बुझाउँछन्, त्यसपछि अलिकति धर्मसिद्धान्त फलाक्छन्, अलिकति प्रोत्साहनका शब्दहरू भन्छन् अनि त्यसलाई त्यत्तिमै छोडिदिन्छन्, कहिल्यै निश्चित कार्यहरूको अनुगमन गर्ने वा तिनमा संलग्न हुने गर्दैनन्। यदि तैँले तिनीहरूको क्षमता कमजोर छ र तिनीहरूमा मानिसहरूलाई बुझ्ने क्षमताको कमी छ भनेर भन्छस् भने, तैँले अनुगमन गर्न र विशिष्ट कार्यहरू कसरी अघि बढिरहेका छन् भनेर पत्ता लगाउन सक्थिस्, र परिस्थितिलाई पूर्ण रूपमा सम्हाल्न सक्थिस्। तर, झूटा अगुवाहरूले अनुगमन गर्ने र काम कसरी अघि बढिरहेको छ भनेर पत्ता लगाउने गदै गर्दैनन्। उदाहरणका लागि, पुस्तकहरू छाप्ने कार्यलाई लिऊँ, जुन एउटा विशिष्ट काम हो। एउटा झुटो अगुवाले कुनै व्यक्तिलाई यस कामको प्रभारीका रूपमा खटायो, तर छ महिनामा एक पटक पनि उसको अनुगमन गरेन। फलस्वरूप, छ महिनापछि, छापिएका सबै पुस्तकहरू त्रुटिपूर्ण निस्किए—कस्तो बिजोग! झूटा अगुवाहरू यस्तै नै हुन्छन्—तिनीहरू कुनै निश्चित काम गर्दै गर्दैनन्। यदि तैँले पुस्तक छाप्ने प्रबन्ध गरिरहेको छस् भने, तैँले के गर्नुपर्छ? तैँले सुरुमा उपयुक्त सुपरिवेक्षक तोक्नुपर्छ, अनि उसले त्यो कार्य कति राम्ररी गरिरहेको छ, र उसले त्यो बिगार्न पो सक्छ कि भनेर सुपरिवेक्षण र अनुगमन गर्नुपर्छ। तैँले कामको सुपरिवेक्षण र अनुगमन गर्नुपर्छ, र कुनै समस्या पत्ता लागेमा सिधै समाधान गर्नुपर्छ—यसले मात्र कुनै समस्या देखा नपर्ने कुरा सुनिश्चित गर्न सक्छ। तर झूटा अगुवाहरूले यसो गर्दैनन्। तिनीहरू सोच्छन् कि तिनीहरूको जिम्मेवारी भनेको केवल मानिसहरूलाई धर्मसिद्धान्तहरू फलाक्नु, र तिनीहरूलाई धर्मसिद्धान्तहरू बुझ्ने तुल्याउनु हो, अनि मानिसहरूले धर्मसिद्धान्तहरू बुझेसम्म, समस्याहरू समाधान गर्न सकिन्छ। त्यसकारण, तिनीहरूले धर्मसिद्धान्तहरू फलाक्ने र नाराहरू चिच्याउने कार्यमा मात्र ध्यान दिन्छन्, र निश्चित कार्यहरूमा संलग्न हुँदैनन्। जहाँसम्म झूटा अगुवाहरूको कुरा छ, तिनीहरूले निश्चित कार्यहरूमा संलग्न हुनु तिनीहरूको सरोकारको विषय होइन, र यो त तिनीहरूभन्दा मुनिका मानिसहरूको चासोको विषय हुनुपर्ने हो भन्ने सोच्छन्। त्यसोभए, तिनीहरू आफैले चाहिँ के गर्छन् त? तिनीहरू माथिबाट समग्र परिस्थितिलाई नियन्त्रण गर्छन् र अप्रभावकारी अधिकारी बन्छन्। काम जेसुकै भए पनि, तिनीहरू त्यसमा उपस्थित वा संलग्न हुँदैनन्। मानिसहरूलाई सिद्धान्तहरू भनेपछि, यदि तिनीहरूलाई मामलाको विस्तृत समस्या वा निश्चित मार्गबारे सोधियो भने, तिनीहरूले यसो भन्नेछन्, “यो निश्चित काम तिमीहरूमै निर्भर छ, म यो कुरा बुझ्दिनँ।” त्यसकारण, तिनीहरूलाई आफूमुनिका मानिसहरूले काम कसरी गरिरहेका छन् भन्ने कुरा थाहै हुँदैन। सुपरिवेक्षक दक्ष र कामका लागि योग्य छ कि छैन, वा उसको मानवता कस्तो छ, वा ऊ सत्यता पछ्याउने व्यक्ति हो कि होइन, वा ऊ कर्तव्य पूरा गर्नमा जिम्मेवार छ कि छैन, वा ऊ झाराटारुवा छ कि छैन या उसले खराब कामकुरा गर्दै उपद्रो मच्चाउँछ कि मच्चाउँदैन, वा काममा ढिलाइ भएको छ कि छैन, इत्यादि जस्ता कुरा आउँदा—झूटा अगुवाहरूलाई यीमध्ये कुनै कुराबारे थाहा हुँदैन, तिनीहरू गैरविश्‍वासी संसारका कलम चलाउने अधिकारीहरूजस्तै, कुनै वास्तविक काम नगरी आरामसँग हिँडडुल मात्रै गर्छन्। झूटा अगुवाहरू काम गर्ने मण्डलीमा, कतिपय सुपरिवेक्षकहरूले काम ठप्प पार्दा, वा कतिपय सुपरिवेक्षकहरूले आफ्नै स्वतन्त्र राज्य स्थापना गरिरहँदा, वा कतिपय सुपरिवेक्षकहरू आफ्ना उचित कर्तव्यहरूमा संलग्न नभई, बरु खान-पान गर्दै र रमाउँदै दिन बिताउँदा, तिनीहरूले त्यो कुरा थाहै पाउँदैनन्, र यहाँसम्म कि कतिपय सुपरिवेक्षकहरूको क्षमता निकै कमजोर हुँदा, बुझाइ विकृत हुँदा, र उनीहरूले बिलकुलै काम गर्न नसक्दा, त्यसप्रति आँखा चिम्लिन्छन्। त्यस्ता झूटा अगुवाहरू केवल खोक्रा खोल हुन्, तिनीहरू नाम मात्रका अगुवा हुन्, र तिनीहरूले अगुवाले गर्नुपर्ने कुनै महत्त्वपूर्ण काम गर्दैनन्। बाहिरबाट हेर्दा, यी झूटा अगुवाहरू निकै शिष्ट देखिन्छन्। तिनीहरूले हरेक कामका लागि सुपरिवेक्षक खटाउँछन्, ती मानिसहरूलाई बेला-बेला भेलाका लागि जम्मा गर्छन्, र बाँकी समय आत्मिक भक्तिमा संलग्न हुँदै, प्रार्थना गर्दै, परमेश्‍वरका वचनहरू पढ्दै, प्रवचनहरू सुन्दै, भजनहरू सिक्दै, र आफ्नै भजनहरू लेख्दै बिताउँछन्। कतिपय झूटा अगुवाहरू हप्ताभर आफ्नो कोठाबाट समेत निस्किँदैनन्। यस्ता झूटा अगुवाहरू पनि छन्, जो अनलाइन भेला गर्नेबाहेक अरू केही गर्दैनन्, परिस्थिति बुझ्नका लागि कार्यस्थलहरूमा कहिल्यै जाँदैनन्। दाजुभाइ-दिदीबहिनीहरूले लामो अवधिसम्म तिनीहरूलाई व्यक्तिगत रूपमा देख्दैनन्, र ती झूटा अगुवाहरूका जीवन अनुभव वा कद कस्तो छ भन्नेबारे उनीहरूलाई केही थाहा हुँदैन। भेलाहरूको दौरान, झूटा अगुवाहरूले केही साधारण मामलाहरू मात्र सम्हाल्छन्, तर हरेक सुपरिवेक्षकले खास के गरिरहेको छ, र उनीहरूले प्रवर्द्धन र संवर्धन गरेका मानिसहरू तिनीहरूलाई सुम्पिइएको कामका लागि उपयुक्त छन् कि छैनन्, वा आफ्नो कर्तव्य पूरा गर्नमा तिनीहरूको मनोवृत्ति कस्तो छ, वा तिनीहरू आफ्नो काममा एकाग्र र मिहिन छन् कि छैनन्, वा तिनीहरू नकारात्मक र झाराटारुवा छन् कि छैनन्, वा यी मानिसहरूले सही मार्ग पछ्याइरहेका छन् कि छैनन्, वा तिनीहरू सही मानिस हुन् कि होइनन् भन्ने कुराका हकमा, झूटा अगुवाहरूले यीमध्ये कुनै पनि मामलाहरूबारे वास्ता वा सोधपुछ गर्दैनन्, र तीबारे जान्न पनि चाहँदैनन्। के यो समस्याको प्रकृति गम्भीर छैन र? (छ।)

परमेश्‍वरको घरलाई निश्चित पेसागत क्षेत्र बुझ्ने र निश्चित सीप भएका केही प्रतिभावान् मानिसहरूको आवश्यकता हुन्छ, र त्यसले यी मानिसहरूले परमेश्‍वरको घरमा कुनै कर्तव्य पूरा गर्न सकून् भनेर तिनीहरूलाई ती पेसाहरू अध्ययन गर्नका लागि संवर्धन गर्छ। तिमीहरूलाई झूटा अगुवाहरूले कस्ता प्रकारका मानिसहरू भेट्टाउँछन् जस्तो लाग्छ? तिनीहरूले, विश्‍वविद्यालयमा अध्ययन गरेका र आफ्ना आमाबाबुलाई पछ्याएर परमेश्‍वरमा विश्‍वास गरेका सबै युवाहरूलाई सँगै भेला गर्छन्, र को वाक्पटु छ र कसलाई ध्यानको केन्द्र हुन मन पर्छ भनी हेर्छन्, र तिनीहरूलाई यसो भन्छन्, “परमेश्‍वरको घरले तिमीहरूलाई संवर्धन गर्न चाहन्छ; तिमीहरू जगेडा सेना र नयाँ बल हौ।” त्यसपछि, तिनीहरूले यी मानिसहरूलाई कुनै कर्तव्य पूरा गर्न खटाउँछन्। वास्तवमा, यी मानिसहरूले कहिल्यै कुनै कर्तव्य निर्वाह गरेका हुँदैनन्, तिनीहरूमा विविध प्रकारका अनुभवको कमी हुन्छ, र तिनीहरूले फिटिक्कै सत्यता बुझ्दैनन्। तर झूटा अगुवाहरूले तिनीहरूलाई निगाह गर्छन् र मन पराउँछन्, त्यसैले तिनीहरूलाई संवर्धन गर्न थाल्छन्। तिनीहरूले यी मानिसहरूलाई तिनीहरूको विशेषज्ञताका आधारमा तिनीहरू जे सिक्न उपयुक्त छन्, तिनै कर्तव्य पूरा गर्न खटाउँछन्; कतिपयलाई लेखन-पठनका काममा खटाइन्छ, कतिपयलाई चलचित्र निर्माणमा खटाइन्छ, कतिपयलाई भिडियोहरू बनाउन खटाइन्छ, र कतिपयलाई अभिनेता बन्न खटाइन्छ। झूटा अगुवाहरूका निम्ति, यी मानिसहरूसँग पूरा गर्नका लागि कर्तव्य भएसम्म, त्यो पर्याप्त हुन्छ। झूटा अगुवाहरूले यी मानिसहरूले सत्यतालाई प्रेम गर्छन् कि गर्दैनन् वा तिनीहरूले सत्यता स्विकार्न सक्छन् कि सक्दैनन् भन्ने कुराको अनुसन्धान गर्दैनन्, न त यी मानिसहरूले के पछ्याइरहेका छन् वा तिनीहरूका उद्देश्यहरू के हुन् भन्ने नै हेर्छन्। अन्त्यमा के हुन्छ? तीमध्ये कतिपय मानिसहरू हटाइन्छन्। किनकि तिनीहरू लम्पट र अनियन्त्रित हुन्छन्, अनि तिनीहरूले सांसारिक प्रचलनहरू पछ्याउँछन्, र सिँगारपटार गरेर र अरूसँग लसपस गरेर नै दिन बिताउँछन्, साथै तिनीहरूले कुनै पनि नियम बुझ्दैनन् वा तिनीहरूमा शिष्टाचार पटक्कै हुँदैन—यो स्पष्ट छ कि तिनीहरू अविश्‍वासी र गैरविश्‍वासी हुन्। तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा उचित काममा ध्यान दिँदैनन्, र तिनीहरूले सबै कुरा झाराटारुवा तरिकाले गर्छन्, तर झूटा अगुवाहरूले यो बिलकुलै देख्न सक्दैनन्। के झूटा अगुवाहरू आँखाका अन्धा हुँदैनन् त? (हुन्छन्।) यो आँखाको अन्धोपनको कारण के हो? के यो झूटा अगुवाहरू मनका अन्धा भएकाले भएको होइन र? आँखाको अन्धो हुनु र मनको अन्धो हुनु झूटा अगुवाहरूका दुई विशेषता हुन्। झूटा अगुवाहरूका आँखा पूर्णतः खुला भए पनि, तिनीहरूले कुनै पनि कुरा बुझ्न वा कसैलाई छर्लङ्ग देख्न सक्दैनन्—अर्थात्, तिनीहरूका आँखा अन्धा हुन्छन्। मनमा, तिनीहरूसँग कुनै पनि व्यक्ति वा कामकुराबारे सुझबुझ वा दृष्टिकोण हुँदैन, र तिनीहरूले चाहे जे देखे पनि, तिनीहरूसँग सही र गलत छुट्टयाउने क्षमता हुँदैन, र तिनीहरूमा कुनै मनोवृत्ति, कुनै राय र कुनै परिभाषा हुँदैन—यो मनको अन्धो हुनुको एउटा गम्भीर अवस्था हो। सबै झूटा अगुवाहरू वर्षौँदेखि परमेश्‍वरमा विश्‍वास गरेका र प्रायः प्रवचनहरू सुन्ने मानिस हुन्, त्यसोभए, तिनीहरूले किन ती अविश्‍वासीहरूलाई चिन्न सक्दैनन् त? यो झूटा अगुवाहरू कमजोर क्षमताका हुन्छन्, तिनीहरू सत्यता बुझ्न असक्षम हुन्छन्, र तिनीहरूले चाहे जति सत्यताहरू सुने पनि त्यो व्यर्थ हुन्छ, र तिनीहरूले ती बुझ्दैनन् भन्ने कुराको थप प्रमाण हो। तिनीहरू आँखाका र मनका अन्धा हुन्छन्, र मानिसहरूलाई खुट्टयाउन पूर्ण रूपमा असक्षम हुन्छन्। तिनीहरू कसरी मण्डलीमा अगुवा वा कामदार हुन उपयुक्त हुन सक्थे त? तिनीहरू राम्रा वक्ताहरू प्रतिभावान् मानिस हुन्, र नाचगान गर्न सक्ने मानिसहरू पनि प्रतिभावान् व्यक्ति हुन् भन्ने विश्‍वास गर्छन्; तिनीहरूले चस्मा लगाएका वा विश्‍वविद्यालयमा पढेका मानिसहरू देख्दा, तिनीहरूलाई प्रतिभावान् व्यक्ति भन्ठान्छन्, र समाजमा हैसियत भएका मानिसहरू, धनी मानिसहरू, व्यापार गर्न जान्ने र छली कार्यमा संलग्न हुने मानिसहरू, अनि समाजमा कुनै प्रकारको महत्त्वपूर्ण काम गर्ने मानिसहरू देख्दा, झूटा अगुवाहरूले तिनीहरूलाई प्रतिभावान् व्यक्ति भन्ठान्छन्। तिनीहरू परमेश्‍वरको घरले यस्ता मानिसहरूलाई संवर्धन गर्नुपर्छ भन्ने विश्‍वास गर्छन्। तिनीहरूले यी मानिसहरूको चरित्र वा परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको जग छ कि छैन भनी हेर्दैनन्, र यी मानिसहरूले परमेश्‍वर र सत्यतासँग व्यवहार गर्दा कस्तो मनोवृत्ति अपनाउँछन् भनेर त झनै हेर्दैनन्। तिनीहरूले मानिसहरूको सामाजिक हैसियत र पृष्ठभूमि मात्र हेर्छन्। के झूटा अगुवाहरूले मानिस र कामकुराहरूलाई यसरी हेर्नु हास्यास्पद कुरा होइन? झूटा अगुवाहरूले मानिस र कामकुराहरूलाई गैरविश्‍वासीहरूले हेर्ने तरिकाले नै हेर्छन्—कामकुराहरूप्रति तिनीहरूको दृष्टिकोण त्यही नै हुन्छ, जुन गैरविश्‍वासीहरूको हुन्छ। झूटा अगुवाहरू सत्यतालाई प्रेम गर्ने र त्यसलाई बुझ्ने मानिस होइनन्, र तिनीहरूमा कुनै हुँदैन हुँदैन भनी पुष्टि गर्न यो नै पर्याप्त छ। के तिनीहरू अति सतही छैनन् र? तिनीहरू साँच्चै अन्धा छन्—अत्यन्तै अन्धा छन्!

विगतमा, मैले एउटा झुटो अगुवालाई भेटेको थिएँ, जो मसँग कुराकानी गर्दा बोल्ने र हाँस्ने गर्थ्यो, तर मैले उसलाई कामका बारेमा सोध्ने बित्तिकै, ऊ भावशून्य हुन्थ्यो र वाल्ल परेर टोलाउँथ्यो, र उसले मैले भनेको कुनै पनि कुराप्रति प्रतिक्रिया जनाउँदैनथ्यो। यस व्यक्तिको क्षमता अत्यन्तै कमजोर भएकाले उसलाई प्रयोग गर्न सकिँदैन। मैले उसलाई भनेको कुनै पनि कुरा उसले बुझ्न र गर्न नसक्नु कुनै आश्चर्यको कुरा होइन। मैले ऊसँग जे कुराका बारेमा कुरा गरे पनि, उसले यसो भनिरह्यो, “मैले केही दिन अघि एउटा भेला राखेँ र कामको निरीक्षण गरेँ।” मैले भनेँ, “के भेला राख्नुबाहेक तिम्रो अरू कुनै काम छैन? मण्डलीमा गर्नुपर्ने काम कति धेरै छ, तिमी किन अरू कुनै काम खोजेर गर्दैनौ?” उसले भन्यो: “अगुवा वा कामदार हुनु भनेको त भेलाहरू राख्नु मात्रै होइन र? भेला राख्नुबाहेक गर्नुपर्ने अरू कुनै काम नै छैन, मलाई अरू कुनै काम गर्नै आउँदैन!” यसले के देखाउँछ भने, उसले पद धारण गर्दा नै ऊ झुटो अगुवा बन्ने पूर्वनिर्धारित थियो, र उसले कुनै वास्तविक काम गर्न सक्दैन, किनकि उसको क्षमता अत्यन्तै कमजोर छ! अत्यन्तै कमजोर क्षमताले आँखाको अन्धोपन र मनको अन्धोपनतर्फ डोऱ्याउँछ। आँखाको अन्धोपन भनेको के हो? त्यो भनेको के हो भने, व्यक्तिले चाहे जे देखे पनि, उसले विशिष्ट समस्याहरू पत्ता लगाउन सक्दैन, र त्यसैले उसका आँखा केही न कामका हुन्छन्। मनको अन्धोपन भनेको के हो? त्यो भनेको के हो भने, चाहे जे भए पनि, व्यक्ति त्यसभित्र रहेको समस्याबारे अनभिज्ञ र त्यसलाई बुझ्न असक्षम हुन्छ, र उसले समस्याको सार कहाँ छ भनेर देख्न सक्दैन—मनको अन्धो हुनु भनेको यही हो। यदि कुनै व्यक्ति मनको अन्धो छ भने, ऊ पूर्णतः बरबाद हुन्छ। झूटा अगुवाहरू यसरी नै आँखाका र मनका अन्धा हुन्छन्। के तिमीहरू झूटा अगुवाहरूले यी वचनहरू सुन्दा, तिनीहरूलाई खिन्न महसुस हुन्छ भनी भन्नेथियौ? तिनीहरूले यस्तो सोच्छन्, “मेरा आँखा ठुला नै छन्, तर उहाँ त मलाई आँखाको अन्धो भन्नुहुन्छ; र मेरा मनमा असल अभिप्रायहरू नै छन्; तैपनि उहाँ मलाई मनको अन्धो भन्नुहुन्छ—उहाँको परिभाषा त्यति सही छैन, होइन र? मलाई झुटो अगुवा मात्र भन्दा हुँदैनथ्यो? म आँखाको र मनको अन्धो छु भनेर किन थप्नु पऱ्यो?” यदि मैले त्यसरी भनिनँ भने त, झूटा अगुवाहरूको क्षमताअनुसार मूल्याङ्कन गर्दा, के तिनीहरूले तिनीहरू कमजोर क्षमताका छन् भनेर महसुस गर्न सक्थे? (अहँ, सक्दैनथे।) के यी झूटा अगुवाहरू आँखा र मनका अन्धा हुन्छन् भनेर भन्दा, त्यसले मामलालाई एकदम राम्ररी व्याख्या गर्दैन र? उदाहरणका लागि, मानौँ कि एउटा ख्रीष्टविरोधीले मण्डलीमा आफ्नै स्वतन्त्र राज्य स्थापना गरिरहेको छ। तर झूटा अगुवाहरूले यसो भन्छन्, “यो व्यक्ति निकै सक्षम छ। ऊ विश्‍वविद्यालयको प्राध्यापक हुने गर्थ्यो, र ऊ स्पष्ट, विधिगत, र सुव्यवस्थित अनि सुस्पष्ट रूपमा बोल्छ। अझ भन्नुपर्दा, दर्शक चाहे जति नै धेरै भए पनि, उसलाई मञ्चमा बोल्न डर लाग्दैन।” उसले उल्लेख गरेको व्यक्ति आफ्नै स्वतन्त्र राज्य स्थापना गरिरहेको फरिसी हो भन्ने कुरा घामजस्तै छर्लङ्ग छ, तैपनि झूटा अगुवाहरू अझै उसकै प्रशंसा गर्छन्। के त्यो आँखाको अन्धोपन होइन र? (हो।) यदि कसैले बेसुरा गाइरहेको छ र तैँले त्यो सुन्दैनस् भने, के त्यसलाई आँखाको अन्धोपन मान्न सकिन्छ? (अहँ।) त्यो क्षमताको समस्या भन्दा पनि पेसागत समस्या हो। तर यति धेरै सत्यता सुनिसकेपछि, झूटा अगुवाहरूले ख्रीष्टविरोधीहरूको वास्तविकता खुट्टयाउन समेत सक्दैनन्, र व्यक्तिको मानवता असल छ कि खराब, वा कुनै व्यक्ति परमेश्‍वरको घरले गर्ने प्रवर्द्धन र संवर्धनको उम्मेदवार हो कि होइन, वा कुनै व्यक्ति अविश्‍वासी हो कि उसले परमेश्‍वरमा इमानदारीपूर्वक विश्‍वास गर्छ, अनि कुनै व्यक्ति आफ्नो कर्तव्य पूरा गर्नमा बफादार छ कि छैन भनेर पहिचान गर्न सक्दैनन्—त्यसोभए, तिनीहरूले यत्तिका वर्ष प्रवचनहरू सुनेर के प्राप्त गरेका हुन्छन् त? तिनीहरूले कुनै सत्यता प्राप्त गरेका हुँदैनन्, जसको अर्थ तिनीहरू अन्धा मूर्खहरू हुन् भन्ने हुन्छ; अन्धा झूटा अगुवाहरू यस्तै नै हुन्छन्। तिनीहरू विश्‍वास गर्छन् कि एउटा अगुवाको मुख्य काम भनेको प्रवचन प्रचार गर्न सक्नु, र दुई-तीन घण्टासम्म प्रचार गर्नु हो, अनि उसले शब्द र धर्मसिद्धान्तहरू बोल्न, नाराहरू चिच्याउन, र मानिसहरूलाई उत्तेजित पार्न सकेसम्म, ऊ मानकअनुरूपको अगुवा हो, उसले काम वहन गर्न सक्छ, ऊसँग सत्यता वास्तविकता छ, र परमेश्‍वर ऊसँग सन्तुष्ट हुनहुन्छ। यो कस्तो खालको तर्क हो? झूटा अगुवाहरूले सत्यता नबुझ्ने र तिनीहरू अत्यन्तै कमजोर क्षमताका, अनि आँखाका र मनका अन्धा हुने हुनाले, तिनीहरूसँग विभिन्न प्रकारका मानिसहरूलाई खुट्टयाउने क्षमता पटक्कै हुँदैन, र तिनीहरूले विभिन्न प्रकारका मानिसहरूलाई छर्लङ्ग देख्न सक्दैनन्। त्यसोभए, के तिनीहरूले विभिन्न प्रकारका मानिसहरूलाई व्यावहारिक तरिकाले प्रयोग गर्न सक्छन् त? (सक्दैनन्।) तिनीहरूको एउटै रणनीति हुन्छ: पहिले शिक्षकका रूपमा काम गरेकाहरूलाई प्रवचन प्रचार गर्न खटाइन्छ, वैदेशिक व्यापारमा संलग्न भएकाहरूलाई साधारण मामलाहरू सम्हाल्न खटाइन्छ, अङ्ग्रेजी बोल्न सक्नेहरूलाई अनुवादक हुन खटाइन्छ, र जो बोल्न कुशल छ र जसले आलोचना खेप्न सक्छ, उसलाई सुसमाचार प्रचार गर्न खटाइन्छ; डरपोकहरूलाई घरमै अनुभवात्मक गवाही लेखहरू लेख्न खटाइन्छ, आँटिला र अभिनय गर्न मन पराउनेलाई अभिनेताका रूपमा नियुक्त गरिन्छ, र अधिकारी बन्न चाहनेहरूलाई अगुवा वा निर्देशकका रूपमा नियुक्त गरिन्छ। झूटा अगुवाहरूले कुनै प्रकारको सिद्धान्तबिना मानिसहरूलाई यसरी नै प्रयोग गर्छन्।

झूटा अगुवाहरू जिम्मेवार रहेका कामको दायराभित्र, प्रायजसो केही मानिसहरू हुन्छन्, जसले साँच्चै सत्यता पछ्याउँछन् र प्रवर्द्धन र संवर्धनका मापदण्डहरू पूरा गर्छन् जसलाई पछाडि नै अड्काएर राखिन्छ। यीमध्ये कतिपय मानिसहरूले सुसमाचार प्रचार गर्छन्, र कतिपयलाई अतिथिसेवा कर्तव्यमा खटाइन्छ। तथ्य के हो भने तिनीहरू सबैमा क्षमता हुन्छ, र सबैले केही सत्यताहरू बुझ्छन्, साथै तिनीहरू अगुवा र कामदारका रूपमा संवर्धन गर्न लायक हुन्छन्, यति मात्र हो कि तिनीहरू शान देखाउन वा ध्यानको केन्द्रमा पर्न रुचाउँदैनन्। तैपनि, झूटा अगुवाहरूले यी मानिसहरूलाई कुनै प्रकारको ध्यान दिँदैनन्। तिनीहरूले उनीहरूसँग सम्पर्क गर्ने वा उनीहरूबारे सोधपुछ गर्ने गर्दैनन्, साथै तिनीहरूले परमेश्‍वरको घरका लागि प्रतिभावान् मानिसहरूलाई कहिल्यै संवर्धन गर्दैनन्। तिनीहरू, आफ्नै स्वार्थी चाहनाहरू पूरा गर्नका निम्ति, सधैँ आफ्नो खुसामद गर्नेहरूलाई जालमा पार्नमा मात्र केन्द्रित हुन्छन्। फलस्वरूप, साँचो रूपमा सत्यता पछ्याउने मानिसहरूले प्रवर्द्धन वा संवर्धन हुन पाउँदैनन्, जबकि जो ध्यानको केन्द्र बन्‍न रुचाउँछन्, जो वाक्पटु छन्, जो मानिसहरूलाई चिल्लो घस्न जान्दछन्, र जो ख्याति, लाभ र हैसियत रुचाउँछन्—ती सबैले प्रवर्द्धन पाउँछन्, साथै बाहिर समाजमा अधिकारी, संस्थाका प्रमुख कार्यकारी अधिकृत रहेका, वा व्यवसाय व्यवस्थापन अध्ययन गरेकाहरूलाई समेत महत्त्वपूर्ण पदहरूमा खटाइन्छन्। ती मानिसहरू चाहे साँचो विश्‍वासी भए पनि या नभए पनि, वा तिनीहरू सत्यता पछ्याउने मानिस भए पनि या नभए पनि, झूटा अगुवाहरू जिम्मेवार रहने कामको दायराभित्र प्रवर्द्धन पाउने र प्रयोग हुने मानिसहरू तिनै हुन्। के यो मानिसहरूलाई सिद्धान्तहरूअनुरूप प्रयोग गर्नु हो? के झूटा अगुवाहरूले यस्ता मानिसहरूलाई मात्रै बढुवा दिनु ठ्याक्कै गैरविश्‍वासी समाजजस्तो होइन र? झूटा अगुवाहरूले काम गरिरहेको अवधिमा, जसले कर्तव्य पूरा गर्ने क्रममा कामकुरा वास्तवमै फत्ते गर्न सक्छन्, जोसित इन्साफको भावना छ, र जो सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्छन्—तिनीहरूले प्रवर्द्धन वा संवर्धन पाउँदैनन्, र तिनीहरूलाई तालिमका अवसरहरू पाउन कठिन हुन्छ। बरु, जो वाक्पटु छन्, जो शान देखाउन मन पराउँछन् र मानिसहरूलाई चिल्लो घस्न जान्दछन्, साथै जो ख्याति, लाभ, र हैसियत रुचाउँछन्, तिनीहरूलाई नै महत्त्वपूर्ण पदहरूमा खटाइन्छ। ती मानिसहरू निकै अक्कली भएझैँ देखिन्छन्, तर वास्तवमा तिनीहरूमा कुनै बुझ्ने क्षमता हुँदैन, निकै खराब क्षमता र कमजोर मानवता हुन्छ, तिनीहरूले आफ्ना कर्तव्यप्रति कुनै वास्तविक बोझ वहन गर्दैनन्, र तिनीहरू पटक्कै संवर्धन गर्न लायक हुँदैनन्। तर, मण्डलीमा अगुवा र कामदारका पदहरू ओगट्ने तिनीहरू नै हुन्छन्। फलस्वरूप, मण्डलीको धेरैजसो काम समयमै सहज रूपमा सुरु हुन सक्दैन, वा कार्यप्रगति ढिलो हुन्छ, र परमेश्‍वरको घरका कामका प्रबन्धहरू कार्यान्वयन हुन अत्यन्तै लामो समय लाग्छ। झूटा अगुवाहरूले मानिसहरूलाई अनुचित रूपमा प्रयोग गरेर मण्डलीको काममा पारेका असर र ल्याएका परिणामहरू यिनै हुन्।

धेरैजसो झूटा अगुवाहरू कमजोर क्षमताका हुन्छन्। तिनीहरू वाक्पटु देखिए पनि, तिनीहरूमा सत्यता बुझ्ने क्षमता पटक्कै हुँदैन, यतिसम्म कि तिनीहरूमा आत्मिक बुझाइ नै हुँदैन। तिनीहरू आँखा र मनका अन्धा हुन्छ, तिनीहरूले कुनै पनि मामलालाई छर्लङ्गै देख्न सक्दैनन् र सत्यता बिलकुलै बुझ्दैनन्, जुन आफैमा एउटा घातक समस्या हो। तिनीहरूसित अर्को अझै गम्भीर समस्या हुन्छ, जुन के हो भने जब तिनीहरूले केही शब्द र धर्मसिद्धान्तहरू बुझेका र तिनमा निपुण भएका हुन्छन् र केही नाराहरू फलाक्न सक्छन्, तब तिनीहरूले आफूमा सत्यता वास्तविकता छ भन्ठान्छन्। त्यसकारण तिनीहरूले जुनसुकै काम गरे पनि र जोसुकैलाई प्रयोगमा ल्याउन रोजे पनि, तिनीहरूले सत्यता सिद्धान्तहरू खोज्दैनन्, र अरूसँग सङ्गति गर्दैनन्, परमेश्‍वरको घरका कामका प्रबन्धहरू र सिद्धान्तहरू त झनै पालना गर्दैनन्। तिनीहरूमा यति आत्मविश्‍वास हुन्छ कि, तिनीहरू सधैँ आफ्ना विचारहरू सही भएको विश्वास गर्छन् र आफूलाई जे इच्छा लाग्यो त्यही गर्छन्। फलस्वरूप, तिनीहरूले कुनै कठिनाइ वा असाधारण परिस्थिति सामना गर्दा, तिनीहरू अलमल्ल पर्छन्। यसका साथै, तिनीहरूले प्रायः यो गलत विश्‍वास राख्छन् कि, तिनीहरूले धेरै वर्षदेखि परमेश्‍वरका घरमा काम गर्दै आएको र तिनीहरूसँग त्यहाँ अगुवाका रूपमा सेवा गरेको पर्याप्त अनुभव भएकाले, तिनीहरूलाई मण्डलीको काम कसरी सञ्चालन र विकास गर्ने भन्‍ने थाहा छ। तिनीहरूले यी कुराहरू बुझेजस्तो देखिन्छ, तर वास्तवमा, तिनीहरूलाई कुनै पनि काम गर्न बिलकुलै आउँदैन। तिनीहरू आफ्नै धारणा र कल्पनाहरू, तिनीहरूका अनुभव र दिनचर्याका साथै आफ्नै प्रावधानहरू पालना गरेर मनपरी तरिकाले मण्डलीको काम गर्छन्। यसले मण्डलीका विभिन्‍न कामहरूमा अस्तव्यस्तता र अराजकता सिर्जना गर्छ, र तिनीहरूलाई कुनै वास्तविक नतिजाहरू निकाल्नबाट रोक्छ। यदि समूहमा सत्यता बुझ्ने र केही वास्तविक काम गर्न सक्ने दुईचार मानिसहरू छन् भने, तिनीहरूले त्यस समूहका काममा सामान्यता कायम गर्न सक्छन्। तर, तिनीहरूको झूटो अगुवासँग यसको पटक्कै सम्बन्ध हुँदैन। काम राम्रोसँग सम्पन्‍न हुन सक्नुको कारण यो हो कि, समूहमा केही असल मानिसहरू छन् जसले केही वास्तविक काम गर्न र कामलाई निरन्तरता दिन सक्छन्; यसको मतलब तिनीहरूको अगुवाले वास्तविक काम गरेको छ भन्‍ने होइन। केही यस्ता असल मानिसहरू प्रभारी नभए कुनै पनि काम पूरा गर्न सकिँदैन। झूटा अगुवाहरूले आफ्नो काम गर्न सक्दै सक्दैनन्, र तिनीहरूको कुनै पनि उपयोग हुँदैन। झूटा अगुवाहरूले किन मण्डलीको काम अस्तव्यस्त पार्छन्? पहिलो कारण यो हो कि झूटा अगुवाहरूले सत्यता बुझ्दैनन्, समस्याहरू समाधान गर्नहेतु सत्यताबारे सङ्गति गर्न सक्दैनन्, र समस्याहरूलाई कसरी समाधान गर्ने भनी खोजी गर्दैनन्, जसले गर्दा समस्याहरू थुप्रिँदै जान्छन् र मण्डलीको काम ठप्प हुन्छ। दोस्रो कारण यो हो कि झूटा अगुवाहरू अन्धा हुन्छन्, र तिनीहरूले प्रतिभाशाली व्यक्तिहरू चिन्‍न सक्दैनन्। तिनीहरूले समूह सुपरभाइजरका लागि उचित रूपमा कर्मचारी समायोजन गर्न सक्दैनन्, जसले गर्दा कतिपय काममा उचित प्रभारी व्यक्ति नै हुँदैन, र त्यो काम ठप्प हुन्छ। तेस्रो कारण यो हो कि झूटा अगुवाहरू ज्यादै नै अधिकारीहरूझैँ व्यवहार गर्छन्। तिनीहरूले कामको सुपरिवेक्षण वा निर्देशन गर्दैनन्, र काममा जहाँ कमजोर कडी हुन्छ, त्यहाँ तिनीहरू सक्रिय रूपमा सहभागी हुने वा कामका निश्चित पक्षहरूमा मार्गदर्शन गर्ने गर्दैनन्। उदाहरणका लागि, मानौँ, कुनै निश्चित काम गर्ने धेरै मानिसहरू खासै जग नभएका नयाँ विश्‍वासीहरू छन्, तिनीहरू सत्यता बुझ्दैनन्, कामको त्यो क्षेत्रसित खासै परिचित छैनन्, र तिनीहरूले कामका सिद्धान्तहरू खासै बोध गरेका छैनन्। कुनै झूटो अगुवाले, ऊ अन्धो भएका कारण, यी समस्याहरू देख्न सक्दैन। उसले के विश्‍वास गर्छ भने, यदि कसैले काम गरिरहेको छ भने ठिकै छ; काम राम्रोसँग गरिएको छ कि खराब तरिकाले भन्‍ने कुराले फरक पार्दैन। उसलाई थाहा हुँदैन कि मण्डलीका काममा जहाँ कुनै कमजोर कडी हुन्छ त्यहाँ उसले अनुगमन, निरीक्षण गर्नुपर्छ, र निर्देशन दिनुपर्छ, समस्याहरू समाधान गर्न ऊ आफै सहभागी हुनुपर्छ र आफ्ना कर्तव्य पूरा गर्नेहरूले सत्यता बुझुञ्जेल, सिद्धान्तहरूअनुसार कार्य गर्न र सही मार्गमा प्रवेश गर्न सकुञ्जेल, तिनीहरूलाई सहयोग गर्नुपर्छ। यो अवस्थामा मात्र उसले त्यति धेरै चिन्ता लिनुपर्दैन। झूटा अगुवाहरू यो तरिकाले काम गर्दैनन्। जब तिनीहरूले काम गर्ने कोही त छ भन्ने देख्छन्, तिनीहरूले त्यसप्रति ध्यान दिन छोड्छन्। काम चाहे जसरी चलिरहेको भए पनि, तिनीहरूले कुनै सोधपुछ गर्दैनन्। काममा जहाँ कमजोर कडी हुन्छ, वा कमजोर क्षमता भएको कुनै सुपरिवेक्षक हुन्छ, त्यहाँ तिनीहरूले व्यक्तिगत रूपमा काममा मार्गदर्शन प्रदान गर्दैनन्, र तिनीहरू काममा आफै सहभागी हुँदैनन्। अनि जब कुनै सुपरिवेक्षक कार्य वहन गर्न सक्षम हुन्छ, तब झूटा अगुवाहरूले कामकुरा जाँच्ने वा निर्देशन प्रदान गर्ने त झनै गर्दैनन्; तिनीहरूले त्यसलाई सहज रूपमा लिन्छन्, र कसैले कुनै समस्या रिपोर्ट गरे पनि तिनीहरूले त्यसबारे सोध्दैनन्—तिनीहरूले सोध्नु आवश्यक नै छैन भन्ठान्छन्। झूटा अगुवाहरूले यी मध्ये कुनै पनि विशिष्ट काम गर्दैनन्। सारांशमा, झूटा अगुवाहरू पतित मानिसहरू हुन् जो अलिकति पनि वास्तविक काम गर्दैनन्। तिनीहरूले विश्‍वास गर्छन् कि, कुनै पनि काममा, जबसम्म कोही प्रभारी व्यक्ति हुन्छ र सबै हातहरू जिम्मेवारी लिन तयार अवस्थामा हुन्छन्, तब कामकुरा सकिएको र पुरा भएको मानिन्छ। तिनीहरू के सोच्छन् भने, तिनीहरूले गर्नुपर्ने भनेको बेलाबेलामा भेला राख्ने र कुनै समस्या उत्पन्‍न भएमा सोधपुछ गर्ने मात्र हो। यसरी काम गर्ने क्रममा, झूटा अगुवाहरू अझै पनि आफूले राम्रो काम गरिरहेको विश्‍वास गर्छन् र आफैसँग निकै प्रसन्न हुन्छन्। तिनीहरूले सोच्छन्, “कुनै पनि काममा समस्याहरू छँदै छैनन्। सबै कर्मचारीहरू पूर्ण रूपमा बन्दोबस्त गरिएका छन्, र सुपरिवेक्षकहरू पनि राखिएका छन्। म यो काममा अति सिपालु छु, अति प्रतिभाशाली छु!” के यो लाजमर्दो कुरा होइन र? तिनीहरू आँखा र मनका यति अन्धा हुन्छन् कि तिनीहरूले गर्नुपर्ने कुनै काम देख्न सक्दैनन् र कुनै पनि समस्याहरू पत्ता लगाउन सक्दैनन्। कतिपय ठाउँहरूमा त काम ठप्प भएको हुन्छ, तैपनि तिनीहरू यस्तो सोचेर सन्तुष्ट हुन्छन्, “सबै दाजुभाइ-दिदीबहिनीहरू जवान नै छन्, उनीहरू सबैमा नयाँ जोस छ। उनीहरूले अत्यन्तै ऊर्जावान् रूपमा आफ्ना कर्तव्यहरू सामना गर्छन्; उनीहरूले पक्कै पनि काम राम्रोसँग गर्न सक्छन्।” खासमा भन्‍नुपर्दा, यी जवान मानिसहरू कुनै पेसागत सीप नभएका नयाँ सिकारुहरू हुन्। काम गर्दै जाँदा, तिनीहरूले सिक्दै जानुपर्छ। तिनीहरूलाई अहिलेसम्म कुनै पनि काम गर्न आउँदैन भन्‍नु जायज नै हुन्छ: कतिपयले अलिअलि बुझ्न त बुझ्लान्, तर तिनीहरू विज्ञ होइनन्, र तिनीहरूले सिद्धान्तहरू बुझ्दैनन्, र तिनीहरूले कुनै कार्य गर्दा, त्यसलाई बारम्बार सच्याउनु वा धेरै पटक फेरि सुरुबाट नै गर्नुपर्ने पनि हुन्छ। कतिपय जवान मानिसहरू यस्ता पनि हुन्छन् जो तालिमप्राप्त हुँदैनन् र जसले काटछाँटको अनुभव गरेका हुँदैनन्। तिनीहरू अत्यन्तै फोहोरी र अकर्मण्य हुन्छन् र आरामको लोभ गर्छन्; तिनीहरूले अलिकति पनि सत्यता स्विकार्दैनन्, र अलिकति कष्ट भोग्दा तिनीहरू निरन्तर झर्किरहन्छन्। तिनीहरूमध्ये धेरैजसो आरामको लालसा गर्ने झाराटारुवा पतित मानिस हुन्। तैँले यस्ता जवान मानिसहरूसित सत्यताबारे बारम्बार सङ्गति गर्नैपर्छ, र अझ बढी तिनीहरूलाई काटछाँट गर्नैपर्छ। यी जवान मानिसहरूको प्रभार लिने र निगरानी गर्ने मान्छे हुनैपर्छ। तिनीहरूको कामको व्यक्तिगत जिम्मेवारी लिने र तिनीहरूलाई सुपरिवेक्षण गर्ने र निर्देशन गर्ने कुनै अगुवा वा कामदार हुनैपर्छ। त्यसपछि मात्र तिनीहरूको काम अलि फलदायी हुन सक्छ। यदि अगुवा वा कामदारले कार्यस्थल छोड्यो र काममा हाजिर भएन वा त्यसबारे सोधपुछ गरेन भने, यी मानिसहरू अव्यवस्थित हुनेछन्, र तिनीहरूको कर्तव्य निर्वाहले पटक्कै फल दिनेछैन। तैपनि झूटा अगुवाहरूमा यसबारे कुनै अन्तर्ज्ञान हुँदैन। तिनीहरूले सबैलाई दाजुभाइ-दिदीबहिनीका रूपमा, आज्ञाकारी र समर्पित मानिसका रूपमा हेर्छन्, त्यसकारण तिनीहरूले उनीहरूलाई निकै भरोसा गर्छन्, र उनीहरूलाई कामहरूमा खटाउँछन् र त्यसपछि ध्यान दिनै छोड्छन्—झूटा अगुवाहरूको आँखा र मनको अन्धोपनको सर्वोत्कृष्ट उदाहरण यही हो। झूटा अगुवाहरूले सत्यता बिलकुलै बुझ्दैनन्, मामलाहरू प्रस्ट रूपमा देख्न सक्दैनन्, र कुनै पनि समस्याहरू पत्ता लगाउन असक्षम हुन्छन्, तैपनि आफूले ठिकै गरिरहेको ठान्छन्। तिनीहरूले केका बारेमा सोचेर दिन कटाउँछन्? तिनीहरू कसरी अधिकारीझैँ व्यवहार गर्ने र हैसियतका फाइदाहरूको आनन्द कसरी उठाउने भन्‍नेबारे सोच्छन्। झूटा अगुवाहरूले, विचारहीन मानिसहरूलेझैँ, परमेश्‍वरका अभिप्रायहरूलाई कत्ति पनि ख्याल गर्दैनन्। तिनीहरूले कुनै वास्तविक काम गर्दैनन्, तैपनि तिनीहरू परमेश्‍वरले तिनीहरूलाई प्रशंसा र प्रवर्द्धन गर्नुहोस् भन्ने पर्खाइमा हुन्छन्। साँच्चै भन्‍नुपर्दा, तिनीहरूलाई लाज भन्‍ने कुरै थाहा हुँदैन।

झूटा अगुवाहरू आफ्ना काम गर्नमा पूर्ण रूपमा बेकार हुन्छन्, र तिनीहरूबारे सराहनीय कुरा केही पनि हुँदैन। तिनीहरूले समग्र परिस्थितिका सन्दर्भमा सिद्धान्तहरू बोध गर्न सक्दैनन्, विशिष्ट विस्तृत कामसँग सम्बन्धित सिद्धान्तहरू बोध गर्न त झनै सक्दैनन्। उदाहरणका लागि, कतिपय मानिसहरूमा प्रबल पेसागत दक्षता हुन्छ तर अत्यन्तै कमजोर मानवता हुन्छ, जबकि अरूमा मानवताको हिसाबले कुनै समस्या हुँदैन, तर तिनीहरूको क्षमता र पेसागत दक्षता कमजोर हुन्छ। जब यी मानिसहरूलाई व्यावहारिक तरिकाले कसरी प्रयोग गर्नुपर्छ र खटाउनुपर्छ भन्ने कुरा आउँछ, झूटा अगुवाहरूलाई यी अझै विशिष्ट र विस्तृत मामलाहरूबारे झनै कम थाहा हुन्छ। त्यसैले जब झूटा अगुवाहरूलाई तिनीहरूले केही हदसम्म असल क्षमता भएको संवर्धन गर्न मिल्ने कोही भेटेका छन् कि भनी सोधिन्छ, तिनीहरूले अहिलेसम्म कोही नभेटेको भनेर भन्छन्। झूटा अगुवाहरू अत्यन्तै अन्धा हुन्छन्—तिनीहरूले कसरी कोही भेट्न सक्थे र? यदि तैँले तिनीहरूलाई फलानो बहिनी कस्ती छे भनेर सोधिस् भने, तिनीहरूले ऊ देहगत सुख-सयलको लालच गर्छे भनेर भन्नेछन्; तिनीहरूलाई फलानो भाइ कस्तो छ भनेर सोधिस् भने, तिनीहरूले ऊ प्रायः नकारात्मक हुन्छ भनेर भन्नेछन्; तिनीहरूलाई अरू कोही कस्तो छ भनेर सोधिस् भने, तिनीहरूले तँलाई त्यो व्यक्तिले लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेको छैन र ऊसँग जग छैन भनेर भन्नेछन्। तिनीहरूका नजरमा, कोही पनि योग्य हुँदैन। तिनीहरूले अरू मानिसहरूका त्रुटि, कमीकमजोरी र अपराधहरू मात्र हेर्छन्; तिनीहरूले कुनै व्यक्ति परमेश्‍वरको घरले गर्ने प्रवर्द्धन र संवर्धनका सिद्धान्तहरू अनुरूपको छ कि छैन, वा ऊ प्रवर्द्धन र संवर्धनका लागि राम्रो उम्मेदवार हो कि होइन भनी हेर्न सक्दैनन्। तिनीहरूले को प्रवर्द्धन र संवर्धनका लागि साँच्चै उपयुक्त छ भनी छुट्याउन सक्दैनन्, तर परमेश्‍वरको घरका माग र सिद्धान्तहरू पूरा नगर्नेलाई ठूलो जोसका साथ र द्रुत गतिमा प्रवर्द्धन गर्छन्। तिनीहरूले मण्डलीमा सबै समृद्ध महिलाहरू, धनाढ्य पुरुषहरू, र धनी परिवारका छोराछोरीहरू, साथै बाहिरी संसारमा अधिकारीका रूपमा सेवा गरेकाहरू, कुशल वक्ताहरू, र छलछाम गर्न र ठग्न जान्नेहरूलाई प्रवर्द्धन गर्छन्—जे भए पनि, तिनीहरूले बाहिरी संसारका चिरपरिचित र विशिष्ट र ध्यानको केन्द्र बन्न मन पराउने जोकोहीलाई प्रवर्द्धन गर्छन्। तिनीहरू यी मानिसहरू मात्र प्रतिभावान् हुन्छन् भन्ने विश्‍वास गर्छन्, र साँच्चै बुझ्ने क्षमता भएको र सत्यता स्विकार्न सक्ने एउटा व्यक्ति पनि फेला पार्दैनन् वा उसलाई प्रवर्द्धन गर्दैनन्। कुनै झूटो अगुवालाई परमेश्‍वरको घरका लागि एउटा, साँच्चै योग्य प्रतिभा प्रदान गर्नु आफूलाई चन्द्रमामा पुऱ्याउनु भन्दा पनि गाह्रो हुन्छ। उदाहरणका लागि, मानौँ परमेश्‍वरको घरलाई हाल लेखन-पठनको कामका लागि प्रतिभावान् व्यक्तिहरू चाहिएको छ—एउटा झूटो अगुवाको जिम्मामा रहेको मण्डलीमा यस्तै प्रकारको एउटा व्यक्ति छ, तर त्यो झूटो अगुवाले यस व्यक्तिको नाम अगाडि सार्दैन। जब त्यो झूटो अगुवालाई उसले त्यस व्यक्तिलाई किन प्रवर्द्धन र संवर्धन नगरेको भनेर सोधिन्छ, उसले यसो भन्छ: “त्यो व्यक्ति विश्‍वविद्यालयमा हुँदा दुई पटक व्यभिचारमा संलग्न भएको थियो, तर उसले विवाह गरिसकेपछि फेरि त्यसो गरेको छैन। उसलाई प्रवर्द्धन गर्नुपर्छ कि पर्दैन भनेर मलाई थाहै भएन।” यो कस्तो अभिव्यक्ति हो? के तँ आफूले प्रवर्द्धन गरेका समृद्ध र शक्तिशाली मानिसहरू कहिल्यै व्यभिचारमा संलग्न भएका छैनन् भन्ने कुराको प्रत्याभूति दिन सक्छस्? के ती मानिसहरूले झन् बढी त्यसो गर्दैनन् र? तैँले त्योचाहिँ किन देख्दै देख्दैनस्? झूटा अगुवाहरू अति झूटा रूपमा आत्मिक हुन्छन्, आफूले केही सिद्धान्तहरू जानेजस्तो देखाउँछन्, र प्रवर्द्धन र संवर्धन गरिनुपर्नेहरूलाई प्रवर्द्धन नगर्नुको औचित्य पुष्टि गर्न बहानाहरू खोज्छन्। तिनीहरूका नजरमा, सबैजना तिनीहरूभन्दा निकृष्ट हुन्छन्। अन्तिममा के हुन्छ? के झूटा अगुवाहरूले प्रवर्द्धन गरेका “कुलीन” र “प्रतिभावान् मानिसहरू” खरो उत्रेका छन्? हामी यी मानिसहरू निश्चित रूपमा नै असल मानिस होइनन् भनेर भनिरहेका छैनौँ। हामी मुख्य रूपमा के खुलासा गरिरहेका छौँ भने, मानिसहरूसँग व्यवहार गर्ने झूटा अगुवाहरूको सिद्धान्त भनेको सत्यतालाई भन्दा पनि मानव धारणाहरूलाई मापदण्डका रूपमा प्रयोग गर्नु हो, र मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्ने तिनीहरूको सिद्धान्त भनेको परमेश्‍वरको घरले माग गर्ने मानकहरूलाई मापदण्डका रूपमा प्रयोग गर्नुको सट्टा आफ्नै धारणा, कल्पना, र प्राथमिकताअनुसार, अनि पूर्ण रूपमा गैरविश्‍वासीहरूको दृष्टिकोणअनुसार चल्नु हो। झूटा अगुवाहरू किन यसो गर्न सक्षम हुन्छन्? किनकि तिनीहरूले सत्यता वा परमेश्‍वरका अभिप्रायहरू बुझ्दैनन्, तिनीहरू परमेश्‍वरको घरका मागहरू पूरा गर्दै नगर्नेहरूलाई प्रवर्द्धन गर्न, तिनीहरूलाई संवर्धन गर्नुमा केन्द्रित हुन, र परमेश्‍वरको घरमा तिनीहरूलाई महत्त्वपूर्ण कार्यहरू सम्हाल्न दिन सक्षम हुन्छन्। झूटा अगुवाहरूले गर्ने काम यस्तो हुन्छ। तिमीहरू वरपरका झूटा अगुवाहरूलाई हेर; के तिनीहरूले काम गर्ने र मानिसहरूसँग व्यवहार गर्ने यसरी नै होइन र?

झूटा अगुवाहरूमा प्रायः प्रकाश हुने एउटा निश्चित विचार हुन्छ: तिनीहरू जोसँग ज्ञान छ, जोसँग हैसियत छ, र जसले बाहिरी संसारमा अधिकारीका रूपमा सेवा गरेका छन् ती सबै प्रतिभावान् मानिस हुन्, र त्यस्ता मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि परमेश्‍वरको घरले तिनीहरूलाई संवर्धन र प्रयोग गर्नुपर्छ भन्ने सोच्छन्। तिनीहरू ती मानिसहरूलाई साँच्चै सम्मान र आराधना गर्छन्—यहाँसम्म कि तिनीहरूले तिनीहरूलाई आफ्नै आफन्त र परिवारका सदस्यजस्तै व्यवहार गर्छन्। जब तिनीहरूले यी मानिसहरूलाई अरूसँग परिचय गराउँछन्, तिनीहरूले प्रायः बाहिरी संसारमा तिनीहरू कुनै कम्पनीका मालिक, वा कुनै सरकारी विभागका प्रमुख, वा कुनै पत्रिकाका सम्पादक, वा सार्वजनिक सुरक्षा विभागका निर्देशक थिए, वा तिनीहरू कति धनी छन् भन्नेबारे कुरा गर्छन्। झूटा अगुवाहरूले यस्ता मानिसहरूलाई अति उच्च ठान्छन्। तिमीहरू के भन्छौ, के झूटा अगुवाहरूमा क्षमता हुन्छ? तिनीहरू झूटा रूपमा आत्मिक हुन्छन्, र कामकुरालाई छर्लङ्ग देख्न सक्दैनन्, होइन र? झूटा अगुवाहरूले यी मानिसहरू समाजका प्रतिभावान् व्यक्तिहरू भएकाले, तिनीहरू परमेश्‍वरका घरमा आएपछि, त्यसले तिनीहरूलाई संवर्धन गर्नुपर्छ र महत्त्वपूर्ण भूमिका निभाउन दिनुपर्छ भन्ने सोच्छन्। के यो विचार सही हो? के यो सत्यता सिद्धान्तहरूअनुरूप छ? यदि यी मानिसहरूमा सत्यताप्रति पटक्कै प्रेम छैन, र तिनीहरूसँग विवेक र समझ छैन भने, के परमेश्‍वरको घरले तिनीहरूलाई संवर्धन गर्न र महत्त्वपूर्ण भूमिका दिन मिल्छ? तिनीहरू संवर्धन गरिन योग्य हुँदैनन्। तिनीहरू गैरविश्‍वासीहरूमाझ प्रतिभावान् व्यक्तिहरू थिए भन्ने तथ्यको अर्थ तिनीहरू परमेश्‍वरको घरका प्रतिभा भएका मानिसहरू हुन् भन्ने हुँदैन, तर यी झूटा अगुवाहरू अधिकारी बन्न मन पराउँछन्, र तिनीहरू विशेष गरी अधिकारी भइसकेका मानिसहरूलाई आराधना गर्छन्। जब पनि तिनीहरूले बाहिरी संसारमा अधिकारी भइसकेका वा हैसियत भएका मानिसहरू देख्छन्, तिनीहरू झुकेर तिनीहरूको चाकरी गर्छन् र तिनीहरूप्रति दासले आफ्नो मालिकसँग गर्ने जस्तै चापलुस व्यवहार गर्छन्; तिनीहरू दिलोज्यानले उनीहरूलाई आमा वा बुबा, अथवा दिदी वा दाजु भन्न चाहन्छन्, र यी मानिसहरूलाई मण्डलीमा अगुवा वा कामदार हुन प्रवर्द्धन गरियोस् भन्ने कामना पनि गर्छन्। ल भन् त, के यिनीहरू सत्यता पछ्याउने मानिस हुन्? के बाहिरी संसारमा तिनीहरूसँग अलिकति हैसियत हुनु र तिनीहरूले अलिकति ख्यातिको आनन्द लिनुको अर्थ तिनीहरू परमेश्‍वरका घरमा अगुवा वा कामदारका रूपमा सेवा प्रदान गर्न उपयुक्त छन् भन्ने हुन्छ? यदि तिनीहरूले सत्यता बुझ्दैनन् र तिनीहरू अहङ्कारी र अभिमानी स्वभावहरूले भरिएका छन् भने, के तिनीहरू परमेश्‍वरका घरमा अगुवा वा कामदार हुन योग्य हुन्छन् त? के मानिसहरूको हैसियत र ख्यातिमा मात्र केन्द्रित भएर, तिनीहरूको चरित्रलाई बेवास्ता गरेर तिनीहरूलाई प्रवर्द्धन गर्नु सिद्धान्तहरूअनुरूप हुन्छ त? के झूटा अगुवाहरूलाई परमेश्‍वरले कस्ता प्रकारका मानिसहरूलाई मन पराउनुहुन्छ, उहाँले कस्ता प्रकारका मानिसहरूलाई प्रवर्द्धन र प्रयोग गर्नुहुन्छ भन्ने थाहा हुन्छ? बारम्बार, परमेश्‍वरको घरको कामका प्रबन्धहरूले मानिसहरूलाई तीन वटा मानकअनुसार प्रवर्द्धन र संवर्धन गर्नुपर्छ भनेर जोड दिएका छन्: पहिलो, तिनीहरूसँग मानवता, विवेक, र समझ हुनैपर्छ; दोस्रो, तिनीहरू सत्यतालाई प्रेम गर्ने र सत्यता स्विकार्न सक्ने व्यक्ति हुनैपर्छ; र तेस्रो, तिनीहरूसँग केही मात्रामा क्षमता र काम गर्ने सक्षमता हुनैपर्छ। जसले यी तीन वटा मानकहरू पूरा गर्छन् तिनीहरू मात्र प्रवर्द्धन र संवर्धन गरिन सक्षम हुन्छन्, र उम्मेदवार र अगुवा वा कामदार बन्न योग्य हुन्छन्। क्षमता र प्रतिभा मात्र भएर हुँदै हुँदैन। सुरुमा चरित्र आउँछ, र दोस्रो, सत्यतालाई स्विकार्न सक्नु अत्यावश्यक हुन्छ—यी दुई सबैभन्दा महत्त्वपूर्ण मानकहरू हुन्। यदि सत्यताप्रति प्रेम नभएका दुष्ट मानिसहरूलाई प्रवर्द्धन गरियो भने, परिणामहरू विनाशकारी हुनेछन्, त्यसैले मानवता नभएकाहरूलाई प्रवर्द्धन गर्ने अनुमति बिलकुलै छैन। तर झूटा अगुवाहरूले परमेश्‍वरको घरका मागहरूलाई बेवास्ता गर्छन्। मानिसहरूलाई छनोट र प्रयोग गर्दा, तिनीहरू सधैँ समाजमा त्यस व्यक्तिको हैसियत छ कि छैन, उसको पृष्ठभूमि र पद के हो, उसले उच्च तहको शिक्षा प्राप्त गरेको छ कि छैन, र समाजमा उसको प्रतिष्ठा कति उच्च छ भन्ने कुराहरूमा ध्यान दिन्छन्—मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्दा तिनीहरूले ध्यान दिने पक्षहरू यिनै हुन्। के यो परमेश्‍वरको घरले तोकेका सिद्धान्तहरूअनुरूप छ? के यो परमेश्‍वरका वचनहरूको सत्यताअनुरूप छ? समाजमा हैसियत भएका ती मानिसहरू को हुन्? ती सबै जुनसुकै उपाय लगाएर शक्ति र हैसियतका लागि लड्ने मानिसहरू हुन्, र तिनीहरू शैतानका मानिस हुन् भनेर भन्न सकिन्छ। यदि परमेश्‍वरका घरमा तिनीहरूको शक्ति चल्छ भने, के परमेश्‍वरको घर अझै पनि परमेश्‍वरको मण्डली रहन्छ? झूटा अगुवाहरूले शैतानका मानिसहरूलाई अगुवा बन्नका लागि प्रवर्द्धन गर्नुको उद्देश्य के हो? के त्यसरी कार्य गर्नु परमेश्‍वरको घरले मानिसहरूलाई प्रवर्द्धन र प्रयोग गर्नुका सिद्धान्तहरूअनुरूप हुन्छ? के यो खुलेआम मण्डलीका काममा बाधा दिनु र क्षति पुऱ्याउनु होइन? झूटा अगुवाहरूले मानिसहरूलाई गर्ने सिद्धान्तविहीन प्रवर्द्धन र संवर्धनले नै मण्डलीको काममा सबैभन्दा ठूलो बाधा दिन्छ र अवरोध पुऱ्याउँछ, र त्यो परमेश्‍वरको प्रतिरोध गर्ने एउटा तरिका हो।

झूटा अगुवाहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ र तिनीहरूसँग सत्यता बुझ्ने क्षमता हुँदैन। तिनीहरूले चाहे जति नै धेरै प्रवचन सुने पनि वा परमेश्‍वरका जति धेरै वचनहरू पढे पनि, तिनीहरूले विशुद्ध रूपमा बुझ्दैनन्, वा सत्यता बुझ्दैनन्, र तिनीहरूले चाहे जति धेरै वर्ष धर्मसिद्धान्तहरू प्रचार गरेका भए पनि, तिनीहरू आफैले भनिरहेका कुराहरू बुझ्दैनन्, त्यो सब केवल बकवास हुन्छ, र त्यसको छेउ-टुप्पो बुझ्न असम्भव हुन्छ! तिनीहरूले थोरै धर्मसिद्धान्तहरू याद गर्न र प्रचार गर्न सक्छन्, त्यसैले तिनीहरू आफूसँग सत्यता वास्तविकता भएको ठान्छन्, तर तिनीहरूले गर्ने कुनै पनि कार्य सत्यतासँग सम्बन्धित हुँदैन—यी सबै ठेट फरिसीहरू हुन्। बाहिरी रूपमा, तिनीहरूले प्रायजसो मानिसहरूलाई प्रचार गर्ने, र कर्णप्रिय कुराहरू भन्ने जस्तो देखिन्छ, मानौँ तिनीहरूले सत्यता बुझेका छन्, तर तिनीहरूले जे गर्छन्, त्यो सत्यता विरुद्ध हुन्छ र त्यसको विपरीत हुन जान्छ। तिनीहरूले परमेश्‍वरको सेवा गरिरहेको र मण्डलीको काम गरिरहेको दाबी पनि गर्छन्, जबकि वास्तवमा तिनीहरूले गर्ने सबै कुरा परमेश्‍वरप्रति अति नै शत्रुतापूर्ण हुन्छ। झूटा अगुवाहरूले परमेश्‍वरको घरका लागि उपयोगी प्रतिभावान् मानिसहरूलाई कहिल्यै प्रवर्द्धन गर्दैनन्, र साँच्चै सत्यता पछ्याउने तुलनात्मक रूपमा इमानदार मानिसहरूलाई बेवास्ता र नदेखेझैँ गर्छन्। बरु, तिनीहरूले चापलुसी गर्ने, कपटी र छली मानिसहरू, अनि मण्डलीमा काम हात पार्ने महत्त्वाकाङ्क्षा र चाहना भएका मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्छन्। यो सबको नतिजा के हुन्छ भने, ती मानिसहरूले निश्चित अवधिसम्म काम गरेपछि, मण्डलीका कामका विभिन्न विषयवस्तुहरू ठप्प हुन्छन् र झन्डै-झन्डै निष्क्रिय स्थितिमा नै प्रवेश गर्छन्, र यसरी यी झूटा अगुवाहरूका हातबाट मण्डलीको काम बरबाद हुन्छ। यी झूटा अगुवाहरू जस्तो हुन्छन्, के त्यस्ता प्रकारका मानिसहरू तिरस्कारको लायक हुँदैनन् र? के तिनीहरूलाई बर्खास्त गर्नुपर्छ? तिनीहरूलाई बर्खास्त गर्नैपर्छ! हरेक दिनको ढिलाइले मण्डलीको पूरै दिनको काममा प्रभाव पार्छ। कतिपय झूटा अगुवाहरूलाई आफू वास्तविक काम गर्न असक्षम भएको थाहा भए पनि, तिनीहरू स्वैच्छिक रूपमा राजीनामा दिन अनिच्छुक हुन्छन्, र निरन्तर हैसियतका लाभहरूप्रति आसक्त हुन्छन्, साथै मण्डलीको काममा हानि पुऱ्याउने हदसम्म समेत जान्छन्। के यी मानिसहरूमा अलिकति पनि समझ हुन्छ? झूटा अगुवाहरूमा बुझ्ने क्षमता, वा कुनै साँचो प्रतिभा र वास्तविक ज्ञान हुँदैन, तिनीहरू सत्यता पछ्याउने मानिस होइनन्, र तिनीहरूले हैसियतका लाभहरूको लालच पनि गर्छन्—तिनीहरू लाज नभएका मानिस हुन्; त्यसैले तिनीहरूलाई कदापि प्रवर्द्धन र संवर्धन गरिनु हुँदैन। यदि तँलाई तेरो क्षमता निकै कमजोर छ, र तँसँग सही र गलत छुट्टयाउने, अनि सत्यता बुझ्ने क्षमता छैन जस्तो लाग्छ भने, तैँले चाहे जे गरे पनि, आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरूमा लिप्त नहो, र मण्डलीमा कुनै अधिकारी बन्नतर्फ—मण्डली अगुवा बन्नतर्फ—कसरी लागिपर्नुपर्छ भनेर मनन नगर्—अगुवा हुन त्यति सजिलो छैन। यदि तँ इमानदार व्यक्ति होइनस् र तैँले सत्यतालाई प्रेम गर्दैनस् भने, अगुवा बन्नेबित्तिकै, तँ कि त ख्रीष्टविरोधी, कि त झूटो अगुवा हुनेछस्। ख्रीष्टविरोधीहरू र झूटा अगुवाहरू दुवै नै विवेक र समझ नभएका, अनि दुष्टता गर्न र मण्डलीका काममा बाधा पुऱ्याउन सक्ने मानिसहरू हुन्। ख्रीष्टविरोधीहरू दियाबलस र शैतान हुन् भन्नु त सत्य हो नै, तर झूटा अगुवाहरू पनि असल मानिसचाहिँ होइनन्; कम्तीमा पनि, तिनीहरू विवेक र समझ नभएका निःसङ्कोच निर्लज्ज मानिसहरू हुन्। के झूटो अगुवा भएर बर्खास्त हुनुमा कुनै गौरवपूर्ण कुरा छ? यो लज्जास्पद कुरा हो, एउटा कलङ्क हो, र त्यसमा बिलकुलै गौरवपूर्ण कुरा छैन। यदि तँसित मण्डलीको कामप्रति बोझको भावना छ, र तँ यसमा संलग्‍न हुन चाहन्छस् भने, यो राम्रो कुरा हो; तर तैँले आफूले सत्यता बुझ्छु कि बुझ्दिनँ, समस्याहरू समाधान गर्न सत्यता सङ्गति गर्न सक्छु कि सक्‍दिनँ, परमेश्‍वरका काममा साँचो रूपमा समर्पित हुन सक्छु कि सक्‍दिनँ, र कार्य बन्दोबस्तअनुसार मण्डलीको काम उचित रूपमा अघि बढाउन सक्छु कि सक्‍दिनँ भनी चिन्तन गर्नैपर्छ। यदि तँमा यी मापदण्डहरू पुग्छ भने, तैँले अगुवा वा कामदार बन्‍नका लागि दाबेदारी दिन सक्छस्। मैले यसो भन्‍नुको अर्थ के हो भने, कम्तीमा पनि, मानिसहरूमा आत्मसचेतना हुनुपर्छ। पहिले तैँले मानिसहरूलाई खुट्टयाउन सक्छस् कि सक्दैनस्, सत्यता बुझ्‍न र सिद्धान्तअनुसार कामकुरा गर्न सक्छस् कि सक्दैनस्, त्यो हेर्। यदि तैँले यी मापदण्डहरू पूरा गर्छस् भने, तँ अगुवा वा कामदार बन्‍न योग्य हुन्छस्। यदि तैँले आत्म-मूल्याङ्कन गर्न सक्दैनस् भने, तैँले आफ्ना चिनजानका वा आफ्ना नजिकका मानिसहरूलाई सोध्‍न सक्छस्। यदि तिनीहरू सबैले तँसँग अगुवा बन्‍ने पर्याप्त क्षमता छैन, र तैँले अहिलेको काम राम्रोसँग गर्नु नै पर्याप्त हो भनेर भन्छन् भने, तैँले तुरुन्तै आफूलाई चिन्‍नुपर्छ। तँ कमजोर क्षमताको भएकाले, अगुवा बन्‍ने चाहना गरेर आफ्‍नो सारा समय खर्च नगर्—आफूले सक्‍ने काम गर्, धरातलमा उभिएर अडिग भई आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्, ताकि तँलाई मनको शान्ति मिल्न सकोस्। यो पनि राम्रो कुरा हो। अनि, यदि तँ अगुवा बन्‍न योग्य छस्, यदि तँमा साँच्‍चै क्षमता र प्रतिभा छ, यदि तँसित कार्यक्षमता, र बोझको बोध छ भने, तँ ठ्याक्कै त्यही प्रकारको प्रतिभा भएको व्यक्ति होस् जसको परमेश्‍वरका घरमा अभाव छ, र तँलाई प्रवर्द्धन र संवर्धन गरिने कुरा निश्चित छ; तर सबै कुरामा परमेश्‍वरको समय हुन्छ। यो कामना, अर्थात् प्रवर्द्धन हुने कामना भनेको महत्त्वाकाङ्क्षा होइन, तर अगुवा बन्नका लागि तँमा क्षमता हुन, र तैँले मापदण्ड पूरा जरुरी छ। यदि तेरो क्षमता कमजोर छ र पनि तँ सधैँ अगुवा बन्‍ने, वा कुनै महत्त्वपूर्ण काम गर्ने, वा समग्र कामको जिम्‍मेवारी लिने, वा आफूलाई पृथक् तुल्याउने काम गर्ने चाहना गर्दै समय बिताउँछस् भने, म तँलाई भन्छु: यो महत्त्वाकाङ्क्षा हो। महत्त्वाकाङ्क्षाले विपत्ति ल्याउन सक्छ, त्यसैले तँ त्यसबारे सतर्क हुनुपर्छ। सबै मानिसहरू प्रगति गर्ने चाहना राख्छन् र सत्यताप्रति लागिपर्न इच्‍छुक हुन्छन्, यो कुनै समस्या होइन। कतिपय मानिसहरूमा क्षमता हुन्छ, तिनीहरूले अगुवा बन्‍ने मापदण्डहरू पूरा गर्छन्, र तिनीहरू सत्यताप्रति लागिपर्न सक्षम हुन्छन्, र यो राम्रो कुरा हो। अरू मानिसहरूमा क्षमता हुँदैन, त्यसकारण तिनीहरू आफ्नै कर्तव्यमा अडिनुपर्छ, तिनीहरूले आफूसामु रहेको कर्तव्यलाई उचित रूपमा, सिद्धान्तहरूअनुसार र परमेश्‍वरको घरका मागहरूअनुसार पूरा गर्नुपर्छ; तिनीहरूका लागि, त्यो नै राम्रो, सुरक्षित, र यथार्थपरक हुन्छ।

अगुवा र कामदार बन्न चुनिएका वा प्रवर्द्धन र संवर्धन गरिएका मानिसहरूले यस्तो महसुस गर्दै कामना गर्नु हुँदैन कि, “दाजुभाइ-दिदीबहिनीहरूले अति धेरै मानिसहरूमध्येबाट मलाई छनोट गरे, परमेश्‍वरको घरले मलाई प्रवर्धन गर्‍यो, त्यसैले ममा वास्तवमै केही प्रतिभा छ, र म साधारण मानिसहरूभन्दा राम्रो छु; साँचो सुन अन्तिममा जसरी पनि चम्किन्छ।” के यसरी सोच्नु राम्रो हो? के यो भ्रष्ट स्वभावको प्रकटीकरण होइन र? (हो।) प्रवर्द्धन र संवर्धन गरिनु राम्रो कुरा र एउटा राम्रो अवसर हो, तर तँ यो मार्गमा हिँड्न सक्छस् कि सक्दैनस् भन्ने कुरा तैँले यस अवसरलाई कसरी लिन्छस् र यसलाई कदर गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरामा निर्भर हुन्छ। परमेश्‍वरले तँलाई यो मौका दिनुभएको छ, तर त्यसको अर्थ तँ अरूभन्दा साँच्चै राम्रो छस् भन्ने होइन; तेरो क्षमता अरूको भन्दा अलि राम्रो हुन सक्छ वा तँसँग केही वरदानहरू हुन सक्छन्, तर तेरो जीवन प्रवेश कस्तो छ र तँसँग सत्यता वास्तविकता छ कि छैन भन्ने कुरा ठम्याउन गाह्रो छ—किनकि सबैका भ्रष्ट स्वभावहरू उस्तै हुन्छन्, र तँ पनि भ्रष्ट तुल्याइएको मानवजातिकै एउटा सदस्य होस्। यदि तैँले यो बुझ्न सक्छस् भने, तैँले परमेश्‍वरको घरले तँलाई गर्ने प्रवर्द्धन र संवर्धनलाई सही रूपमा लिन सक्नेछस्। तैँले आफूलाई प्रतिभावान् व्यक्ति मान्नु हुँदैन, न त तैँले आफूसँग सत्यता वास्तविकता छ भन्ने सोच्नु नै हुन्छ। यति मात्र हो कि तँसँग अलिकति क्षमता छ र तँ सत्यतातर्फ अलिकति लागिपर्न पनि सक्छस्, त्यसैले तँलाई आफै तालिम लिने अधिकार दिइएको हो। यो परीक्षण अवधि हो, र तँ साँच्चै सत्यता पछ्याउने व्यक्ति होस् कि होइनस्, वा तँ संवर्धन गरिन योग्य छस् कि छैनस् भनेर अहिलेसम्म निश्चित भइसकेको छैन। यस अवधिमा परीक्षण गरिएपछि तँ दृढ रहन सक्नेछस् कि सक्नेछैनस् भनी भन्न गाह्रो छ। तँलाई राखेर तेरो संवर्धन जारी राख्न सकिन्छ, वा तँलाई हटाउन पनि सकिन्छ—यो सबै तैँले कति मेहनत गर्छस् भन्नेमा निर्भर हुन्छ। अगुवा र कामदार बन्न मानिसहरूलाई प्रवर्द्धन गर्नु भनेको यही हो, र तैँले त्यो बुझ्नुपर्छ। तैँले आफैलाई प्रतिभावान् व्यक्ति सोच्नु निरर्थक हो। यदि परमेश्‍वरको घरले तँलाई प्रवर्द्धन र संवर्धन गर्दैन भने, तँ केही पनि होइनस्। यदि तँ सत्यता पछ्याउँदैनस् र परमेश्‍वरको घरद्वारा प्रयोग गरिन अनिच्छुक छस् भने, तैँले केही पनि हासिल गर्न सक्दैनस्। यदि त्यसपछि तैँले “परमेश्‍वरको घरले मलाई प्रयोग गर्दैन, म बाहिर समाजमा जानेछु” भनेर भन्छस् भने, बाहिर समाजमै गएर प्रयास गर्, तँलाई कसले प्रवर्द्धन गर्दोरहेछ, र तैँले के हासिल गर्न सक्छस् भनी हेर्। यसो भनेर, मैले तिमीहरूलाई के बताउन खोजेको हो भने, परमेश्‍वरको घरले तिमीहरूलाई गर्ने प्रवर्द्धन र संवर्धनप्रति तिमीहरूले सही बुझाइ र दृष्टिकोण राख्नुपर्छ। जसको क्षमता कमजोर वा औसत छ र जसले परमेश्‍वरको घरमा प्रवर्द्धन र संवर्धन गरिन माग गरिने मानक पूरा गर्न सक्दैनन् तिनीहरूले विनीत र अडिग रूपमा केवल आफ्ना कर्तव्य पूरा गर्नुपर्छ। तैँले सारा हृदय र मनका साथ आफ्नो कर्तव्य पूरा गरेसम्म, परमेश्‍वरले तँलाई अन्यायपूर्ण व्यवहार गर्नुहुन्न। त्यसकारण, प्रवर्द्धन र संवर्धनका मामलाहरूमा झगडा नगर्, तर तिनलाई इन्कार पनि नगर्, बस सबथोकलाई आफ्नै प्राकृतिक लयमा चल्न दे; एक हिसाबमा, तैँले परमेश्‍वरको घरका प्रबन्धहरूको पालन गर्नैपर्छ, र अर्को हिसाबमा, तँसँग परमेश्‍वरमा समर्पित हुने हृदय हुनैपर्छ—यो नै सही मार्ग हो। के यो गर्न सरल छ? (हजुर, छ।) के कमजोर क्षमता भएको व्यक्ति अगुवा हुनुमा कुनै फाइदा छ? अन्त्यमा, जब उसलाई झूटो अगुवाका रूपमा चित्रण गरिन्छ र हटाइन्छ, तब उसलाई यसबारे कस्तो महसुस हुनेछ? के त्यो तिमीहरूले चाहेको जस्तै हुनेछ? (हुनेछैन।) तैँले आफ्नो टाउकोमाथि “झूटो अगुवा” को पदवी बोक्नेछस्, र तँ जहाँ गए पनि, मानिसहरूले “यो व्यक्ति कुनै समय झूटो अगुवा थियो” भनेर भन्नेछन्। के त्यो राम्रो कुरा हो कि नराम्रो कुरा? त्यो राम्रो कुरा होइन, र त्यो कुनै गौरवपूर्ण कुरा होइन। प्रवर्द्धन र संवर्धनप्रति मानिसहरूमा सही बुझाइ र मनोवृत्ति हुनुपर्छ; यी मामलाहरूमा, तिनीहरूले सत्यताको खोजी गर्नैपर्छ, र आफ्‍नो इच्‍छा पछ्याउने, वा महत्त्वाकाङ्क्षा र चाहनाहरू राख्‍ने गर्नु हुँदैन। यदि तँलाई तँसँग राम्रो क्षमता छ भन्‍ने लाग्छ तर परमेश्‍वरको घरले तँलाई कहिल्यै प्रवर्द्धन गरेको छैन, वा तँलाई संवर्धन गर्ने कुनै योजना बनाएको छैन भने, निराश नहो वा गुनासो गर्न नथाल्, सत्यता पछ्याउनमा र अघि बढ्न लागिपर्नमा मात्र ध्यान दे। जब तँसँग केही कद हुन्छ र तँ वास्तविक काम गर्न सक्षम हुन्छस्, तब परमेश्‍वरका चुनिएका मानिसहरूले स्वाभाविक रूपमै तँलाई अगुवाका रूपमा छनौट गर्नेछन्। अनि यदि तँलाई आफू कमजोर क्षमताको छु, र आफ्नो प्रवर्द्धन वा संवर्धन हुने कुनै सम्भावना छैन, र आफ्ना महत्त्वाकाङ्क्षाहरू पूरा हुन असम्‍भव छ जस्तो लाग्छ भने, के यो राम्रो कुरा होइन र? यसले तँलाई सुरक्षा दिनेछ! तँ कमजोर क्षमताको भएकाले, यदि तैँले एक हुल अन्धा खलबलेहरू भेटिस् जसले तँलाई अगुवाका रूपमा छनौट गरे भने, के तँलाई आगोको भुङ्ग्रोमा हिँडिरहेको जस्तो महसुस हुँदैन र? तँ कुनै काम गर्न सक्षम छैनस् र तेरा आँखा र मन अन्धा छन्। तैँले गर्ने हरेक कुरा अवरोध बन्छ; तेरो हरेक चाल दुष्कर्म बन्छ। तैँले हालको आफ्नो कर्तव्यको काम राम्रोसित गर्नु नै बेस हुन्छ; कम्तीमा पनि तैँले आफूलाई लज्‍जित पार्नेछैनस्, र झूटो अगुवा बन्‍नु र पर्दापछाडि आलोचना खेप्‍नुभन्दा त यो नै बेस हुन्छ। व्यक्तिका रूपमा, तँलाई आफ्नो औकात थाहा हुनैपर्छ, तँमा थोरै भए पनि आत्मसचेतना हुनैपर्छ; यस्तो भयो भने, तँ गलत मार्ग लिनबाट र गम्‍भीर गल्तीहरू गर्नबाट जोगिन सक्नेछस्।

तिमीहरू झूटा अगुवा हुन चाहन्छौ कि साधारण अनुयायी? (साधारण अनुयायी।) यदि दाजुभाइ-दिदीबहिनीहरूले तँलाई चुन्छन् भने एकचोटि प्रयास गर्; तँप्रति उनीहरूको दृष्टिकोण तँबारे तेरा आफ्नै भावनाहरूभन्दा सही हुन सक्छ। यदि दाजुभाइहरू-दिदीबहिनीहरूले तँ यो काम गर्न सक्‍छस् भनी सोच्छन् भने तैँले त्यसमा आफ्नो सम्पूर्ण कोसिस लगाउनुपर्छ। यदि तैँले सक्दो कोसिस गर्छस् तर पनि तँ आफ्नो काममा असफल बन्‍छस्, र तेरो हृदय चिन्ताले जल्छ, यसरी जल्छ कि तैँले खाना खानै सक्दैनस् र त्यसले गर्दा तँ निदाउन नै सक्दैनस्, र तँलाई त्यो काम ठिकसँग कसरी गर्ने थाहै छैन भने, तँ अगुवा वा कामदार हुन छोड्नुपर्छ—तँलाई त्यो अति गाह्रो हुन्छ। यदि तैँले त्यसैलाई जारी राख्छस् भने तँ सम्भवतः झूटो अगुवा बन्‍नेछस्, त्यसैले तैँले ढिलाइ नगरी “मेरो क्षमता कमजोर भएकाले र म वास्तविक काम गर्न असक्षम भएकाले, यदि म अगुवा भइरहेँ भने, म पक्कै चाँडै नै झूटो अगुवा बन्न पुग्नेछु, त्यसैले म राजीनामा दिने, र स्वेच्छाले पद त्याग्ने अनुरोध गर्छु” भन्ने घोषणा गर्दै राजीनामा लेख्‍नुपर्छ। यो सबैभन्दा बुद्धिमान् र सबैभन्दा उपयुक्त कार्य हो! यो तर्कसङ्गत हुन्छ, र पद ओगटेर झूटो अगुवा हुनुभन्दा यसो गर्नु राम्रो हो। यदि तँलाई आफूमा योग्यताको कमी भएको र आफू अगुवा बन्‍न अयोग्य भएको कुरा पूर्ण रूपमा थाहा छ तर तैँले हैसियत छोड्ने कुरा सहन सक्‍दैनस् र आफैलाई, “म यो किन गर्न सक्दिनँ? कसले मलाई अलि सहयोग गर्न सक्छ? अरू कसैले मेरा लागि सारा योजना र रणनीतिहरू बनाइदिने अनि मैले अगुवाका रूपमा आफ्नो हैसियत कायम राख्ने भए कति राम्रो हुन्थ्यो होला! अहिले मेरो स्थान लिन उपयुक्त कोही पनि छैन, त्यसैले म केवल अगुवा बनिरहन सक्छु अनि जबसम्म म यस काममा रहन्छु तबसम्म म त्यसको आनन्द लिइरहन सक्छु; मैले त्यो काम गर्न नसके पनि, म अगुवा नै हुँ, र अगुवा हुनु साधारण दाजुभाइ वा दिदीबहिनी हुनुभन्दा राम्रो हो। यदि परमेश्‍वरको घरले मलाई बर्खास्त गरेन र दाजुभाइ-दिदीबहिनीहरूले मलाई हटाएनन् भने, म राजीनामा दिन्नँ” भनेर भन्छस् भने, के यो उचित हुन्छ? (हुँदैन।) किन उचित हुँदैन? (यो अव्यावहारिक हुन्छ; यदि म वास्तविक काम गर्न असक्षम छु, तैपनि मैले राजीनामा दिइनँ भने, त्यसले केवल मण्डलीका काममा ढिलाइ गर्नेछ।) यसरी काम गर्दा मण्डलीका काममा ढिलाइ हुन्छ—यसले अरूलाई र तँ आफैलाई चोट पुर्‍याउँछ। अगुवा हुनुको अर्थ के हो, तँलाई थाहा छ? यसको अर्थ यो हो कि धेरै जना मानिसहरूको जीवन प्रवेशसँग तेरो सिधा सम्बन्ध हुन्छ र तिनीहरू आफ्नो अगाडिको मार्गमा कसरी हिँड्छन् भन्‍ने कुरासँग तेरो अगुवाइको सिधा सम्बन्ध हुन्छ। यदि तैँले राम्रोसँग अगुवाइ गर्छस् र तिनीहरूलाई सही मार्गमा डोऱ्याउँछस् भने, तिनीहरूले सही मार्गमा पाइला चाल्न सक्नेछन्। यदि तैँले कमजोर अगुवाइ गर्छस् र तिनीहरूलाई खाल्डोमा डोऱ्याउँछस्, र तिनीहरू तँजस्तै फरिसी बन्छन् भने, तैँले ठूलो पाप गरेको हुन्छस्! अनि तैँले यो ठूलो पाप गरेपछि, कुरा त्यतिमै सकिन्छ? परमेश्‍वरले यसको अभिलेख राख्नुहुनेछ! तँलाई तेरो क्षमता कमजोर छ, तँ झूटो अगुवा होस्, र वास्तविक काम गर्न असक्षम छस् भन्‍ने थाहा छ, तैपनि तैँले आफ्ना गल्तीहरू स्विकारेर राजीनामा दिँदैनस्, बरु निर्लज्ज रूपमा आफ्नो पदमा टाँस्सिएर बस्‍छस्, र अरू कसैका लागि त्यो छोड्दैनस्। यो पाप हो, र परमेश्‍वरले यसको लेखा राख्‍नुहुनेछ। अनि उहाँले राख्‍नुहुने लेखा भविष्यमा तेरा लागि राम्रो हुनेछ कि नराम्रो हुनेछ? तँ समस्यामा पर्नेछस्! म तँलाई साँचो कुरा बताउँछु: परमेश्‍वरले प्रत्येक व्यक्तिका लागि त्यस्ता कुराहरूको लेखा राख्‍नुहुन्छ, र प्रत्येक विवरण स्पष्ट रूपमा लेखिएको हुन्छ। यदि तेरो मुक्तिको मार्गमा कुनै गम्भीर घटना घट्यो भने, तँमा पर्ने प्रभाव ठूलो हुनेछ! तँ जेसुकै गर्, तर यो बाटो नहिँड्, र यस प्रकारको व्यक्ति नबन्।

विभिन्न प्रकारका प्रतिभावान् मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्ने सम्बन्धमा झूटा अगुवाहरूका केही अभ्यास र प्रकटीकरणहरूबारे हामीले संक्षिप्त सङ्गति गरेका छौँ। सारांशमा, त्यस्तो प्रकारको व्यक्ति, जो झूटो अगुवा हुन्छ, उसले वास्तविक काम गर्दैन, र ऊ वास्तविक काम गर्न असक्षम हुन्छ। उसको क्षमता कमजोर हुन्छ, उसका आँखा र मन अन्धा हुन्छन्, ऊ समस्याहरू पत्ता लगाउन असक्षम हुन्छ, र उसले विभिन्न प्रकारका मानिसहरूलाई छर्लङ्ग देख्न सक्दैन, त्यसैले ऊ विभिन्न प्रकारका प्रतिभावान् मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्ने महत्त्वपूर्ण काम वहन गर्न असक्षम हुन्छ। तसर्थ, उसले मण्डलीको काम राम्ररी गर्न सम्भव हुँदैन, र उसले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा धेरै कठिनाइहरू उत्पन्न गराउनेछ। यी तत्त्वहरूलाई ख्याल गर्दा, झूटा अगुवाहरू मण्डली अगुवा बन्न अयोग्य हुन्छन् भन्ने कुरा प्रस्ट छ। अरू झूटा अगुवाहरू हुन्छन्, जसले मण्डलीको कुनै निश्चित काम गर्दैनन् र निश्चित कामका सुपरिवेक्षकहरूसँग कुनै सम्पर्क राख्दैनन्, त्यसैले तिनीहरूलाई कुन प्रतिभावान् व्यक्तिहरू कुन काम गर्न सक्षम छन्, र कुन व्यक्ति कुन कामका लागि उपयुक्त छ, र तिनीहरूको काम सिद्धान्तअनुरूप छ कि छैन भन्ने थाहा हुँदैन। तसर्थ, तिनीहरू प्रतिभा भएका मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गर्न असक्षम हुन्छन्। त्यसोभए, त्यस्ता मानिसहरूले कसरी मण्डलीको काम राम्ररी गर्न सक्छन् त? झूटा अगुवाहरूले वास्तविक काम गर्न नसक्नुको मुख्य कारण भनेको तिनीहरूको क्षमता कमजोर हुनु हो; तिनीहरूसँग कुनै पनि कुराबारे अन्तर्ज्ञान हुँदैन र तिनीहरूलाई वास्तविक काम के हो भन्ने नै थाहा हुँदैन। यसले मण्डलीको कामलाई बारम्बार ठप्प र निष्क्रिय हुने स्थितिमा पुऱ्याउँछ। यी कुरा झूटा अगुवाहरूको वास्तविक काम गर्न नसक्नुसँग सिधै सम्बन्धित हुन्छन्। विगत कैयौँ वर्षदेखि, परमेश्‍वरको घरले दुष्ट मानिसहरू र अविश्‍वासीहरू पखालिनुपर्छ र झूटा अगुवाहरू र झूटा कामदारहरू बर्खास्त गरिनुपर्छ भनेर बारम्बार जोड दिँदै आइरहेको छ। किन विभिन्न दुष्ट मानिसहरू र अविश्‍वासीहरू पखालिनुपर्छ? किनकि वर्षौँ परमेश्‍वरमा विश्‍वास गरेपछि पनि, यी मानिसहरू सत्यतालाई बिलकुलै स्विकार्दैनन्, र मुक्तिको आशाभन्दा बाहिर हुने बिन्दुमा पुगेका हुन्छन्। अनि किन सबै झूटा अगुवाहरू र झूटा कामदारहरू बर्खास्त गरिनुपर्छ? किनभने तिनीहरू वास्तविक काम गर्दैनन्, र सत्यता पछ्याउनेहरूलाई कहिल्यै प्रवर्द्धन र संवर्धन गर्दैनन्; बरु, तिनीहरू निरर्थक प्रयासहरूमा लागिरहन्छन्। यसले मण्डलीको कामलाई अस्तव्यस्तता र निष्क्रियतामा पुऱ्याउँछ, विद्यमान समस्याहरू समाधान नभई यथावत् रहन्छन्, र यसले परमेश्‍वरका चुनिएका जनहरूको जीवन प्रवेशलाई पनि सुस्त बनाउँछ। यदि यी सबै झूटा अगुवाहरू र झूटा कामदारहरू बर्खास्त भए, र यदि मण्डलीको कामलाई बाधा दिने यी सबै दुष्ट मानिसहरू र अविश्‍वासीहरू निकालिए भने, मण्डलीको काम स्वतः सहज रूपमा अघि बढ्नेथियो, मण्डलीको जीवन स्वतः झनै राम्रो हुँदै जानेथियो, साथै परमेश्‍वरका चुनिएका जनहरूले सामान्य रूपमा परमेश्‍वरका वचनहरू खान र पिउन र आफ्ना कर्तव्य पूरा गर्न, अनि परमेश्‍वरमाथिको आस्थामा सही मार्गमा प्रवेश गर्न सक्नेथिए। परमेश्‍वरले यही हेर्न चाहनुहुनेथ्यो।

२७ फेब्रुअरी, २०२१

अघिल्लो: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (४)

अर्को: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (६)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्