अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२८)
विषयवस्तु चौध: सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै खुट्ट्याउने, अनि निकाला वा निष्कासित गर्ने (भाग सात)
अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारी भनेको “सबै किसिमका दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई तुरुन्तै खुट्ट्याउने, अनि निकाला वा निष्कासित गर्ने” हो। पछिल्लो पटक, हामीले विभिन्न प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउने दोस्रो मापदण्डका बारेमा सङ्गति गरेका थियौँ, जुन तिनीहरूको मानवतामा आधारित हुन्छ, र यसमा तीन वटा प्रकटीकरणहरू समावेश हुन्छन्। यी तीन वटा प्रकटीकरणहरू पढ। (आठौँ, कुनै पनि बेला धोकामा संलग्न हुन सक्नु; नवौँ, कुनै पनि बेला छोडेर जान सक्नु; दसौँ, डगमगाउनु।) यी तीन वटा प्रकटीकरणहरूका बारेमा सङ्गति गरेपछि, के तिमीहरूले ती कुरा बुझ्यौ? (बुझ्यौँ।) यी समस्याहरू भएका धेरैजसो मानिसहरूमा सामान्यतया सत्यता बुझ्ने क्षमताको कमी हुन्छ; तिनीहरूले सत्यता के हो भन्ने कुरा बुझ्दैनन्, न त तिनीहरूले परमेश्वरमा विश्वास गर्नु भनेको के हो भन्ने नै बुझ्छन्। यसका साथै, तिनीहरूमध्ये कतिले परमेश्वरमा विश्वास गर्नु भनेको के हो भन्ने कुरा छर्लङ्ग देख्न सक्दैनन्। तिनीहरूले परमेश्वरमा विश्वास गर्नु भनेको धार्मिक आस्था मात्रै हो र यसका लागि धार्मिक अनुष्ठानहरू मात्र पालना गरे पुग्छ भन्ने सोच्छन्। तिनीहरूले परमेश्वरमा विश्वास गर्नुको महत्त्व बुझ्दैनन्, न त तिनीहरूले कर्तव्य पूरा गर्नुको महत्त्व नै बुझ्छन्; तिनीहरू हृदयमा परमेश्वर अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न भन्ने बारेमा समेत प्रस्ट हुँदैनन्, र तिनीहरू परमेश्वरलाई पछ्याउने मार्ग सही छ कि छैन भन्ने कुरामा निश्चित हुँदैनन्। तिनीहरूले जतिसुकै वर्ष विश्वास गरेका भए पनि, वा जति धेरै प्रवचनहरू सुनेका भए पनि, तिनीहरू साँचो मार्गमा जग बसाल्न कहिल्यै सक्षम हुँदैनन्। परिणामस्वरूप, तिनीहरू डगमगाउँछन्, र यदि तिनीहरूलाई बेखुसी तुल्याउने केही घटना घट्यो भने, तिनीहरूले कुनै पनि बेला मण्डली छोडेर जान वा मण्डलीलाई धोका दिन पनि सक्छन्। यी विभिन्न प्रकारका मानिसहरूलाई निराकरण गर्नका लागि परमेश्वरको घरका निश्चित सिद्धान्तहरू छन्। तिनीहरूका फरक-फरक अवस्थाअनुसार, तिनीहरूलाई सम्हाल्ने र समाधान गर्ने निश्चित योजनाहरू छन्; निकाल्नुपर्नेहरूलाई निकालिनेछ र निष्कासित गर्नुपर्नेहरूलाई निष्कासित गरिनेछ। यी कतिपय मानिसहरू दुष्ट मानिस नहुने भए पनि, र तिनीहरू ख्रीष्टविरोधी त झनै नहुने भए पनि, तिनीहरूका यी प्रकटीकरणहरूको प्रकृति र परमेश्वरमा विश्वास गर्नेप्रति तिनीहरूको मनोवृत्तिका आधारमा हेर्दा, तिनीहरू परमेश्वरको घरका मानिस होइनन्, न त तिनीहरू साँचो दाजुभाइ-दिदीबहिनी नै हुन्। यदि तिनीहरू मण्डलीमा नै रहिरहे पनि, तिनीहरूलाई सत्यता बुझ्न निकै गाह्रो हुनेछ। तिनीहरूलाई सत्यता बुझ्न गाह्रो हुनुका तात्पर्यहरू के-के हुन्? यसको तात्पर्य के हो भने, तिनीहरूले कहिल्यै परमेश्वरका वचनहरू बुझ्न नसक्ने हुनाले र कहिल्यै सत्यता बुझ्न नसक्ने हुनाले, तिनीहरू अन्तिममा मुक्ति प्राप्त गर्न र परमेश्वरद्वारा प्राप्त गरिन असफल हुनेछन्। अर्थात्, अन्तमा, तिनीहरू परमेश्वरको घरका मानिस बन्न सक्दैनन्, साँचो सृजित प्राणी बन्न सक्दैनन्, र तिनीहरूले सृजित प्राणीहरूको कर्तव्य पूरा गर्न र तिनीहरू परमेश्वरसामु फर्केर आउन सक्दैनन्। यसका साथै, तिनीहरूले मण्डलीमा प्रायजसो नकारात्मक भूमिका खेल्छन्। तिनीहरूले सकारात्मक प्रभाव पार्न नसक्ने मात्र नभई बेला-बेलामा बाधा र विनाश पनि ल्याउँछन्, जसले कतिपय मानिसहरूको स्थितिलाई असर पार्छ र आफ्नो कर्तव्य पूरा गरिरहेका कतिपय मानिसहरूलाई बाधा दिन्छ। त्यसकारण, मण्डलीले तिनीहरूलाई छोड्न मनाएर होस् वा तिनीहरूलाई निकालेर वा निष्कासित गरेर होस्, तिनीहरूलाई सम्हाल्नका लागि तदनुरूप उपायहरू अपनाउनुपर्छ। जे भए पनि, तिनीहरूलाई मण्डलीमा बाधा र अवरोधहरू निम्त्याउन दिनु हुँदैन।
विभिन्न प्रकारका दुष्ट मानिसहरूलाई खुट्ट्याउने मानक र आधारहरू
२. व्यक्तिको मानवताका आधारमा
ण. डगमगाउनु
डगमगाउने मानिसहरूले परमेश्वर साँच्चै अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न भनेर कहिल्यै पुष्टि गर्न सक्दैनन्, र तिनीहरू आफूले विश्वास गर्ने परमेश्वर नै साँचो परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न भनेर पुष्टि गर्न त झनै सक्दैनन्। आज तिनीहरू यहाँ खोजी गर्न चाहन्छन्, र भोलि तिनीहरू त्यहाँ गएर कुराहरू जाँच्न चाहन्छन्, तिनीहरूलाई साँचो मार्ग कुन हो भन्ने थाहा हुँदैन, र तिनीहरूले सधैँ पर्ख र हेरको मनोवृत्ति बोक्छन्। यस्ता मानिसहरूका हकमा, तिनीहरूलाई यसो भन्दै फकाएर तुरुन्तै छोडेर जान लगाऊ: “तिमीले परमेश्वरको काम साँचो मार्ग हो भनेर कहिल्यै पुष्टि गर्न सक्दैनौ, र तिमी आफ्ना कठिनाइहरू समाधान गर्न सत्यताको खोजी गर्दैनौ। यसरी विश्वास गरिरहँदा यसबाट कस्तो परिणाम आउन सक्छ? तिमीले सत्यतालाई प्रेम नगर्ने र तिमीलाई मण्डली जीवन जिउन मन नपर्ने हुनाले, तिमी आफ्नै रोजाइका आधारमा आफूलाई जहाँ रुचि लाग्छ त्यहाँ जानुपर्छ। के तिमी अरूभन्दा माथि उठ्ने र ठूलो सफलता हासिल गर्ने कार्यलाई पछ्याउन चाहँदैनौ र? त्यसोभए तिमी संसारमा गएर यसमा लागिपर्नु पर्छ। सायद तिमी धनी बन्न वा पदाधिकारी बन्न सक्छौ र तिमीले संसारमा आफ्ना सपनाहरू हासिल गर्न सक्छौ। तिमी अझै पनि परमेश्वरको घरमा अल्झिरहनु हुँदैन।” त्यस्ता मानिसहरूका हकमा, तैँले कुनै पनि हालतमा तिनीहरूलाई जबरजस्ती गर्नु हुँदैन वा तिनीहरूलाई बस्न आग्रह गर्ने प्रयास गर्नु हुँदैन। यदि तिनीहरू मण्डली छोडेर जान चाहन्छन् भने, तिनीहरूलाई जान देओ। यी अविश्वासीहरूलाई निरन्तर अर्ती दिनु र बस्न अनुरोध गर्नु परमेश्वरका अभिप्रायहरू अनुरूप हुँदैन। परमेश्वरको कामले मानिसहरूलाई कहिल्यै जबरजस्ती गर्दैन, र जब तैँले अनिर्णित मानिसहरूलाई घिस्याउने र तान्ने गरिरहन्छस्, तब त्यसमा जबरजस्तीको तत्त्व हुन्छ। यी मानिसहरू बाहिर गएर काम गर्न, पैसा कमाउन, र राम्रो जीवन जिउन, वा आफूलाई व्यक्तिगत रूपमा मन पर्ने कुराहरू पछ्याउन चाहन्छन्। तिनीहरूले सधैँ यी अभिप्रायहरू राख्दै आएका छन्, र तिनीहरूले सधैँ आफ्नै आकाङ्क्षा र योजनाहरू राख्दै आएका छन्। यो कुरा कसैलाई थाहा नभए पनि, तिनीहरूको व्यवहारले यो कुरा प्रकट गरिसकेको छ। उदाहरणका लागि, आफ्नो कर्तव्य पूरा गर्दा, तिनीहरू प्रायजसो आधा हृदयले काम गर्छन्, वा प्रायजसो बिर्सिने, झाराटारुवा हुने, र काम गरेको जस्तो मात्र गर्ने गर्छन्। तिनीहरूले प्रायजसो आफ्नो कर्तव्य पूरा गर्नमा विशेष अनिच्छा देखाउँछन्, सधैँ आफूले केही गुमाइरहेको जस्तो महसुस गर्छन्, र तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा त्यसले आफूलाई पैसा कमाउनबाट रोकिरहेको छ भन्ने सोच्छन्। यस्ता मानिसहरूका हकमा, तिनीहरूलाई छोडेर जानका लागि यसो भन्दै मनाउनुपर्छ: “तिमी सधैँ आधा हृदयले र झाराटारुवा तरिकाले आफ्नो कर्तव्य पूरा गर्छौ, र अन्ततः तिमी सत्यता प्राप्त गर्न असफल हुनेछौ, र परमेश्वरले तपाईँलाई अनुमोदन गर्नुहुनेछैन—त्यो ठूलो घाटा हुनेछ! तिमीलाई सत्यतामा रुचि नभएको, तिमीले परमेश्वरको अस्तित्व वा उहाँको सार्वभौमिकतालाई पुष्टि गर्न नसक्ने, र संसारलाई पछ्याएमा निकै सफल हुन र अरूभन्दा माथि उठ्न सकिन्छ भन्ने विश्वास गर्दै संसार अद्भुत छ भन्ने सोच्ने हुनाले, तिमी संसारमै फर्केर त्यहाँ लागिपर्नु नै राम्रो हुन्छ। यहाँ यस्तो कष्ट भोग्नुको के अर्थ?” विशेष गरी, यी मानिसहरूले प्रायजसो तिनीहरूसँग निश्चित क्षेत्रमा दक्षता छ, तिनीहरूसँग केही सीप र क्षमता छ भन्ने महसुस गर्छन्, र यदि तिनीहरू समाज वा संसारमा आफ्नै बलबुतामा अघि बढे भने, तिनीहरूले ख्याति र सम्पत्ति दुवै प्राप्त गर्न सक्छन्, र उच्च हैसियत र इनाम प्राप्त गर्न सक्छन् भन्ने विश्वास गर्छन्। तर, परमेश्वरमा विश्वास गर्न थालेर केही वर्ष यताउता हल्लिएर बसेपछि, तिनीहरूले कुनै बढुवा प्राप्त गरेका हुँदैनन् वा तिनीहरू कुनै महत्त्वपूर्ण पदका लागि छानिएका हुँदैनन्। अरूभन्दा माथि उठ्न नसक्दा, तिनीहरू हृदयमा निकै दुःखित र निकै अनिच्छुक हुन्छन्। तिनीहरू परमेश्वरमा विश्वास गर्ने मार्गमा हिँड्न अनिच्छुक हुन्छन्, र आफ्नो कर्तव्य पूरा गर्न त झन् अनिच्छुक हुन्छन्। तिनीहरूको हृदय निरन्तर बेचैन हुन्छ र तिनीहरूको मन यताउति डुलिरहेको हुन्छ, र तिनीहरू चञ्चल र अस्थिर हुन्छन्। बेला-बेलामा, तिनीहरू आफ्ना सहपाठी र साथीहरूले कसरी यस्तो राम्रो जागिर पाएका छन्, यति उच्च पदहरू हासिल गरेका छन्, र तिनीहरूले कसरी अरूको भन्दा उच्च स्तरको जीवन जिइरहेका छन् भन्नेबारे सोच्छन्, जसले गर्दा तिनीहरूलाई विशेष गरी परमेश्वरमा विश्वास गरेर आफूलाई ठूलो अन्याय गरेको छु भन्ने महसुस हुन्छ, र तिनीहरू आफूलाई केही न कामको, अयोग्य, र परमेश्वरमा विश्वास गरेर असफल भएको व्यक्ति ठान्छन्, र आफ्ना आमाबुबा र पुर्खाहरूसामु पर्न साह्रै लज्जित महसुस गर्छन्। यसले गर्दा तिनीहरू अझै दुःखी र अनिच्छुक हुन्छन्, र पहिलो कुरा तिनीहरूले परमेश्वरमा विश्वास गर्ने निर्णय गरेकोमै तिनीहरूलाई निकै पछुतो हुन्छ! त्यसकारण तिनीहरूको मन झनै डगमगाउँछ। परमेश्वरमा विश्वास गरेको र आफ्नो कर्तव्य पूरा गरेको वर्षौँको अवधिमा, तिनीहरूको आस्था बलियो नभएको मात्र होइन, तिनीहरूले आफूसँग कुनै बेला भएको सुरुवाती जोश पनि गुमाएका छन्। तिमीहरूलाई त्यस्ता मानिसहरूलाई कसरी सम्हाल्नुपर्छ भन्ने लाग्छ? (तिनीहरूलाई छोडेर जानका लागि मनाउनुपर्छ।) यदि तैँले तिनीहरूलाई छोडेर जानका लागि मनाइस् भने, तिनीहरूले यसो भन्न सक्छन्, “मैले आफ्नो शिक्षा, विवाह, र सम्भाव्यताहरूलाई त्यागेर धेरै वर्ष परमेश्वरमा विश्वास गरेको छु। अहिले तपाईँ मलाई मण्डली छोड्न भनिरहनुभएको छ—के यसको अर्थ मैले यत्तिका वर्षसम्म भोगेका सबै कष्ट व्यर्थ भएको छ भन्ने हुँदैन र? मेरो कुनै भावी गन्तव्य हुनेछैन, होइन र? त्यो दुवै पक्षलाई घाटा हुनु हो। के त्यो त मेरो ज्यान लिनु जस्तै होइन र?” के तिनीहरूलाई छोडेर जानका लागि मनाउनु अत्यन्तै निर्दयी हुनु हो? के यसो गर्नु उचित हुन्छ? (पहिलो कुरा त यस्ता मानिसहरूले परमेश्वरमा विश्वास गर्न कहिल्यै चाहेकै हुँदैनन्। तिनीहरूले आशिष्हरू प्राप्त गर्नका लागि मात्रै चलाकी गरेर मण्डलीमा घुसपैठ गरेका हुन्। जब तिनीहरूले मण्डली सधैँ परमेश्वरका वचनहरू खाने-पिउने र सत्यता सङ्गति गर्ने कार्यमा केन्द्रित रहेको देख्छन्, तब तिनीहरू यी कुराहरूप्रति वितृष्ण हुन्छन् र छोडेर जान चाहन्छन्। त्यस्ता मानिसहरूलाई छोडेर जानका लागि मनाउनुपर्छ। तिनीहरूलाई पक्रेर राख्न सकिने भए पनि, तिनीहरूको हृदयलाई पक्रेर राख्न सकिँदैन।) यदि तिनीहरूले केही इमानदारीका साथ आफ्नो कर्तव्य पूरा गर्छन् तर तिनीहरूमा सत्यताबारे प्रस्टता छँदै छैन, वा तिनीहरूले व्यवधान र असफलताहरू सामना गरेकाले वा काटछाँट अनुभव गरेकाले तिनीहरू अस्थायी रूपमा अलिक नकारात्मक र कमजोर बन्छन् भने, यी अवस्थाहरूमा, तैँले सत्यता सङ्गति गरेर तिनीहरूलाई सहयोग गर्न र साथ दिन सक्छस्। तर, मानौँ तिनीहरूको कमजोरी अस्थायी होइन, बरु तिनीहरू आफ्नो कर्तव्य पूरा गर्दा निरन्तर झाराटारुवा हुन्छन् र अल्याङटल्याङ गर्छन्, र आधा हृदयले गर्छन्, र तिनीहरू आफूलाई अन्त कतै नपठाइएकोमा नै सन्तुष्ट हुन्छन्; अनि मानौँ तिनीहरूले इमानदारी वा जोशविना आफ्नो कर्तव्य पूरा गर्छन्, वा अझै सटीक रूपमा भन्दा, तिनीहरूमा पछ्याइको कुनै उद्देश्य छैन र तिनीहरूले त्यत्तिकै दिनहरू बिताइरहेका छन्—यदि तिनीहरू यस्तै व्यक्ति हुन् भन्ने कुरा स्पष्ट भयो भने, तिनीहरूलाई छोडेर जानका लागि मनाउन सकिन्छ।
कतिपय मानिसहरू अविश्वासी हुन्छन्। यदि तैँले तिनीहरू आधारभूत रूपमा सत्यतालाई प्रेम नगर्ने र श्रम गर्न समेत नचाहने मानिस हुन् भन्ने कुरा प्रस्ट देख्न सक्छस् भने, तिनीहरूलाई छोडेर जानका लागि मनाउनुपर्छ। तिनीहरूका मुख्य प्रकटीकरणहरू के हुन् भने, तिनीहरूले परमेश्वरका वचनहरू कहिल्यै पढ्दैनन्, भजनहरू कहिल्यै सिक्दैनन्, प्रवचनहरू कहिल्यै सुन्दैनन्, र कहिल्यै सत्यता सङ्गति गर्दैनन् वा आफूलाई चिन्ने बारेमा कुरा गर्दैनन्। तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूका अनुभवात्मक गवाहीहरू सुन्न पनि मन पर्दैन। तिनीहरूले परमेश्वरको घरले निर्माण गरेका चलचित्र वा भजन भिडियोहरू वा अनुभवात्मक गवाहीका भिडियोहरू कहिल्यै हेर्दैनन्, र हेरिहाले पनि, मनोरञ्जनका लागि वा जिज्ञासाका कारण मात्रै हेर्छन्, र त्यस्तो अवस्थामा तिनीहरूले मन नलागी-नलागी थोरै मात्रै हेर्छन्; अनि यो तिनीहरूको आफ्नै जीवन प्रवेशको बोझको बोधले गर्दा हुँदै होइन, बरु आनन्द र उत्साहका लागि हेर्नु मात्रै हो। तिनीहरूले आफ्नो धेरैजसो समय के गरेर बिताउँछन्? कुराकानी गर्ने, गफ गर्ने, वा अनलाइनमा आफूलाई मन पर्ने कुराहरू हेर्ने। उदाहरणका लागि, तिनीहरूमध्ये कतिलाई शेयर बजार मन पर्छ र तिनीहरू निरन्तर अनलाइन शेयर प्रवृत्तिहरू जाँच गर्छन्; कतिलाई कार वा इलेक्ट्रोनिक सामानहरू मन पर्छ र तिनीहरू कुन-कुन ब्रान्डले नयाँ मोडेलहरू निकालेका छन् वा केही नयाँ प्रविधि विकास गरेका छन् भनेर हेर्नका लागि सधैँ अनलाइनमा हेरिरहेका हुन्छन्; अरूलाई स्वतन्त्र मिडियाले तयार गरेका अनलाइन समाचार रिपोर्टहरू हेर्न मन पर्छ; अनि कतिलाई सौन्दर्य, मेकअप, वा स्वास्थ्य सेवा मन पर्छ र तिनीहरू सौन्दर्य, स्वास्थ्य सेवा, वा राम्रो स्वास्थ्य कायम राख्ने र दीर्घायु हासिल गर्ने उपायहरूका बारेमा पढ्नका लागि बारम्बार अनलाइन जान्छन्। मुक्ति पाउनका लागि विश्वासीहरूले प्रवेश गर्नुपर्ने विभिन्न सत्यताहरू, वा दाजुभाइ-दिदीबहिनीहरूका अनुभवात्मक गवाहीहरूमा यी मानिसहरूलाई कुनै रुचि हुँदैन। मन नलागी-नलागी थोरै कर्तव्य पूरा गर्ने बाहेक, तिनीहरू सधैँ गैरविश्वासी संसारको बदलिँदो अवस्था, र संसारका नयाँ प्रचलन र महत्त्वपूर्ण समाचारहरू, र तिनीहरूको आफ्नै देशका घटनाक्रमहरू लगायतका कुराहरूमा ध्यान दिन्छन्। तिनीहरूले यस्तो जानकारी हेर्ने काम मात्रै गर्छन्। तिनीहरूले सधैँ यी कुराहरू हेर्ने हुनाले, तिनीहरूको हृदय त्यस्ता कुराहरूले मात्रै भरिएको हुन्छ, र तिनीहरू आफूले परमेश्वरका विश्वासीका रूपमा बुझ्नुपर्ने सत्यताहरूलाई पूर्ण रूपमा बेवास्ता गर्छन्। तिनीहरूसँग जसले सङ्गति गरे पनि, तिनीहरूले यसलाई ग्रहण गर्दैनन्। आफ्नो कर्तव्य पूरा गर्दा तिनीहरूले के-कस्ता सिद्धान्तहरू पालना गर्नुपर्छ, तिनीहरूले के-कस्ता भ्रष्ट स्वभावहरू प्रकट गर्छन् र आफ्नो कर्तव्य पूरा गर्दा के-कस्ता समस्याहरू हुन्छन्, र परमेश्वरले मानिसहरूसँग गर्नुहुने कुन-कुन माग तिनीहरूले पूरा गर्छन् र कुन-कुन माग पूरा गर्दैनन् भन्ने जस्ता जीवन प्रवेशसँग सम्बन्धित कुराहरूबारे तिनीहरूलाई न त चासो हुन्छ, न त चिन्ता नै। तिनीहरूले आफ्नो कर्तव्य पूरा गरे पनि, झारा टार्ने काम मात्रै गरिरहेका हुन्छन्, सत्यता सिद्धान्तहरू अलिकति पनि खोजिरहेका हुँदैनन्। त्यस्ता मानिसहरूले आफू परमेश्वरको विश्वासी भएको दाबी गर्ने भए पनि, तिनीहरूले भित्री रूपमा पैसा, हैसियत, र गैरविश्वासी संसारका प्रचलनहरूलाई मन पराउँछन् र ध्यान दिन्छन्, र तिनीहरू गैरविश्वासी संसारका प्रचलनहरू पछ्याउने मानिसहरूसँग सङ्गत गर्न मन पराउँछन्। गैरविश्वासी संसारका मामलाहरूका बारेमा कुरा गर्दा, तिनीहरूले ठूलो उत्साह र अथक जोशका साथ कुरा गर्छन्, यसबारे वाक्पटु तरिकाले कुरा गर्छन् र बोकेको बोल्यै गर्छन्, तर जब सत्यताबारे सङ्गति गर्न मन पराउने मानिसहरूसँग तिनीहरूको भेट हुन्छ, तब तिनीहरूसँग भन्ने कुरा केही हुँदैन। जब कुनै दाजुभाइ-दिदीबहिनीले “एउटा भजन अत्यन्तै सुन्दर छ, मैले सबै शब्दहरू याद गरेको छु” भनेर भन्छ, तब तिनीहरूले सतही रूपमा भन्छन्, “तपाईँले याद गर्नुभएछ। एकदम राम्रो।” जब कुनै दाजुभाइ-दिदीबहिनीले “फलानो बहिनीको अनुभवात्मक गवाही साँच्चिकै राम्रो छ!” भनेर भन्छ, तब तिनीहरूले भन्छन्, “अहिले अनुभवात्मक गवाहीका भिडियोहरू धेरै छन्, कुन चाहिँ राम्रो छैन र? ती सबै निकै राम्रा छन्।” तिनीहरूले यस्तै सतही रूपमा मात्र प्रतिक्रिया दिन्छन्; वास्तवमा, तिनीहरूलाई सत्यतामा कुनै रुचि हुँदैन र दाजुभाइ-दिदीबहिनीहरूसँग तिनीहरूको कुनै साझा भाषा हुँदैन। जब कसैले तिनीहरूलाई “के तपाईँ चुनौतीहरू आइपर्दा प्रार्थना गर्नुहुन्छ?” भनेर सोध्छ, तब तिनीहरूले जवाफ दिन्छन्, “कसरी प्रार्थना गर्ने? केबारे प्रार्थना गर्ने?” तिनीहरूले प्रार्थना गर्दैनन्, न त तिनीहरूसँग परमेश्वरलाई भन्नका लागि केही कुरा नै हुन्छ। यी मानिसहरूलाई परमेश्वरमा विश्वास गर्नेसँग सम्बन्धित कुनै पनि कुरामा रुचि हुँदैन, र तिनीहरूको हृदय गैरविश्वासी संसारका यावत् किसिमका कुराहरूले भरिएको हुन्छ। तिमीहरूलाई के लाग्छ—के त्यस्ता मानिसहरूमा समस्या हुन्छ? (हुन्छ।) यदि तैँले तिनीहरू सधैँ आधा हृदयले आफ्नो कर्तव्य पूरा गर्छन्, र कुनै पनि काम दिइँदा, तिनीहरू अत्यन्तै अधीर बन्छन्, थोरै कष्ट भोग्ने बित्तिकै गुनासो गर्छन्, र केही वर्ष परमेश्वरमा विश्वास गरेपछि, तिनीहरूले बारम्बार “परमेश्वरमा विश्वास गरेर मलाई नोक्सान भएको छ; यदि मैले परमेश्वरमा विश्वास नगरेको भए, अहिले मेरो तलब वृद्धि भएर यति पुगेको हुनेथियो, र मैले यस्तो हैसियत, र यस्तो विलासितापूर्ण जीवनशैलीको आनन्द लिन सक्थेँ” भन्ने जस्ता विचारहरू प्रकट गरेको देखिस् भने, त्यस्ता मानिसहरूलाई कसरी निराकरण गर्नुपर्छ? (तिनीहरूलाई छोडेर जानका लागि मनाउनुपर्छ।) त्यस्ता मानिसहरूलाई छोडेर जानका लागि मना र अबदेखि कुनै कर्तव्य पूरा गर्न नलगा, किनभने तिनीहरू श्रम गर्न समेत अनिच्छुक हुन्छन्। तिनीहरूले विश्वासीका रूपमा भेलाहरूमा सहभागिता जनाउनु नै सहनीय कुरा हो, तर आफ्नो कर्तव्य पूरा गर्नु र परमेश्वरलाई पछ्याउनु तिनीहरूको महान् कार्यमा तगारो बन्छ भन्ने सोच्छन्। तिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्नु र परमेश्वरलाई पछ्याउनु तिनीहरूको सुखको पछ्याइका लागि ठूलो बाधा हो भन्ने लाग्छ। तिनीहरू यदि आफूले आफ्नो कर्तव्य पूरा नगरिरहेका भए, आफू अरूभन्दा माथि उठेर, उच्च पदस्थ अधिकारी बनिसकेको हुनेथिएँ र संसारमा धेरै पैसा कमाएको हुनेथिएँ भन्ने विश्वास गर्छन्। त्यसोभए हामीले तिनीहरूलाई किन रोक्ने? त्यसकारण, तिनीहरूलाई छोडेर जानका लागि मनाउनु सबैका लागि राम्रो हो। तिनीहरूलाई जबरजस्ती बसाउनु वा बस्नका लागि आग्रह गर्ने प्रयास गर्नु ठूलो गल्ती हुनेछ। तैँले त्यस्ता मानिसहरूलाई यसरी मनाउनुपर्छ: “तिमीले किन परमेश्वरमा विश्वास गर्ने निर्णय गर्यौ? यदि तिमीलाई सत्यतामा रुचि छैन र तिमी सधैँ परमेश्वरबारे शङ्काले भरिएको हुन्छौ भने, के तिमीले कहिल्यै सत्यता प्राप्त गर्न सक्छौ? तिमी विचार, पढाइ, र प्रतिभा भएको व्यक्ति हौ—यदि तिमीले बाहिरको संसारमा मेहनत गरिरहेको भए, तिमी अवश्य नै कुनै कम्पनीको अध्यक्ष वा प्रमुख कार्यकारी अधिकारी बन्न सक्थ्यौ, वा करोडपति वा अरबपति बन्न सक्थ्यौ। परमेश्वरको घरमा यसरी भौँतारिएर हिँडेर त, सर्वप्रथम, तिमी अरूभन्दा माथि उठ्न सक्दैनौ; दोस्रो, तिमीले ठूलो सफलता हासिल गर्न सक्दैनौ; अनि अन्तिममा, तिमीले आफ्ना पुर्खाहरूलाई महिमा दिन सक्दैनौ। यसका साथै, आफ्नो कर्तव्य पूरा गर्दा, तिमी सधैँ झाराटारुवा बन्छौ, जसले गर्दा तिमी काटछाँटमा पर्छौ, र त्यसले तिमीलाई सधैँ दुःखी बनाउँछ। यस्तो कष्ट किनसहनु? तिमी बाहिरी संसारमा जानुपर्छ, चाहे त्यो राजनीतिमा होस् वा व्यापारमा होस्, र तिमीले अवश्य नै आफ्ना लागि निश्चित तहको सफलता हासिल गर्नेछौ। तिमी हामीभन्दा फरक छौ: तिमीसँग शिक्षा र प्रतिभा दुवै छ, र तिमी एउटा आदर्शमयी व्यक्ति हौ—हामी साधारण मानिसहरूका साथमा परमेश्वरमा विश्वास गर्नु तिम्रो स्तरभन्दा तलको कुरा होइन र? गैरविश्वासीहरूले प्रायजसो भन्छन् नि, ‘संसार तिम्रो रङ्गमञ्च हो’—आफूसँग मौका छँदै, तिमीले संसारमा अझै पनि केही ख्याति, प्राप्ति, र हैसियत पछ्याउने समय बाँकी छ भन्ने तथ्यको फाइदा उठाउनुपर्छ। यहाँ बसेर आफूलाई अन्यायमा नपार।” के यो तिनीहरूलाई मनाउने उचित तरिका हो? शब्द चयन निकै चतुर्याइँपूर्ण छ, होइन र? (हो।) यसले तिनीहरूलाई चोट पुर्याउँदैन, र यो तिनीहरूले सुन्न चाहेकै कुरा भन्नु पनि हो। मलाई लाग्छ, यो तरिका उचित छ, यसले तिनीहरूलाई सल्लाह स्वीकार गर्न सजिलो बनाउँछ, र तिनीहरूले कुनै चिन्ताविना निर्भिक रूपमा छोडेर जान सक्छन्। यस्ता मानिसहरूलाई निराकरण गर्दा, यदि तँ तिनीहरू अविश्वासी हुन् भन्ने कुरामा पक्का छस्, र तैँले परमेश्वरमा विश्वास गर्ने सम्बन्धमा तिनीहरूमा बिलकुलै जोश छैन, तिनीहरू आफ्नो कर्तव्य पूरा गर्दा कहिल्यै इमानदार हुँदैनन्, र तिनीहरूले कहिल्यै जीवन प्रवेश प्राप्त गरेका छैनन्—न त कालान्तरमा तिनीहरूले यो कुरा प्राप्त गर्ने सम्भावना नै छ—भन्ने देखिस् भने, तिनीहरूलाई छोडेर जानका लागि मनाउनुपर्छ। यदि तैँले तिनीहरूलाई छोडेर जानका लागि मनाइनस् भने, तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा सधैँ झाराटारुवा र उदासीन मनोवृत्ति अपनाउनेछन्, र तिनीहरूले ठूलो विपत्ति ल्याउने समय पनि आउन सक्छ।
त. कायर र शङ्कास्पद हुनु
हामीले दसौँ प्रकटीकरण—डगमगाउनु—बारे सङ्गति समाप्त गरेका छौँ। अब, यसपछि हामी एघारौँ प्रकटीकरण—कायर र शङ्कास्पद हुनु—लाई हेरौँ। कायर मानिसहरूका प्रकटीकरणहरू के-के हुन्? (कायर मानिसहरू पक्राउ र सतावटको सामना गर्दा त्रसित हुन्छन्। तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न त चाहन्छन्, तर आँट गर्दैनन्।) त्यो त एउटा सानो पक्ष मात्रै हो। मुख्य समस्या के हो भने, परमेश्वरमा विश्वास गर्ने बारेमा तिनीहरूको एउटा दृष्टिकोण हुन्छ: तिनीहरूलाई सधैँ परमेश्वरका विश्वासीहरू यस संसारमा असुहाउँदा देखिन्छन् भन्ने लाग्छ; तिनीहरूलाई परमेश्वरमाथिको उनीहरूको विश्वास लाजमर्दो छ भन्ने लाग्छ। विशेष गरी कतिपय निरङ्कुश देश वा धार्मिक स्वतन्त्रता नभएका देशहरूमा, जहाँ परमेश्वरका विश्वासीहरूलाई कानुनी सुरक्षा नहुने मात्र नभई तिनीहरू सतावटको पनि सिकार हुन्छन्, त्यहाँ कतिपय मानिसहरूले परमेश्वरमा विश्वास गर्छु भनेर स्वीकार गर्ने आँट गर्दैनन् र अरूले थाहा पाउनेछन् भन्ने डर मान्छन्। तिनीहरूलाई परमेश्वरमा विश्वास गर्नु वैधानिक र आदरणीय कुरा होइन भन्ने लाग्छ। तिनीहरूलाई आफूले साँचो परमेश्वरमा विश्वास गर्ने गरेको थाहा भए पनि, तिनीहरूलाई यसमा कुनै सम्मान महसुस हुँदैन, न त तिनीहरूमा आत्मविश्वास नै हुन्छ। जब समस्याको कुनै सङ्केत देखा पर्छ वा जब तिनीहरूले सरकारले विश्वासीहरूलाई पक्राउ गरिरहेको, सताइरहेको, दमन गरिरहेको, र बहिष्कार गरिरहेको देख्छन्, तब तिनीहरू आफू पनि यसमा परिने हो कि भनेर विशेष रूपमा चिन्तित हुन्छन्। त्यस्ता अवस्थाहरूमा, कतिपय मानिसहरूले तुरुन्तै मण्डलीबाट आफूलाई अलग गर्छन्, र हस्याङफस्याङ गर्दै परमेश्वरको घरमा पुस्तकहरू फर्काउन समेत जान्छन्। अरूले पक्राउ पर्छु भन्ने डरले त्यस उप्रान्त भेलाहरूमा सहभागी हुने आँट गर्दैनन् र दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्दा अभिवादन गर्ने आँट गर्दैनन्। विशेष गरी आफ्नो विश्वासका लागि तुलनात्मक रूपमा चर्चित वा पहिले पक्राउ परेका मानिसहरूका हकमा, यी मानिसहरूले तिनीहरूसँग अन्तरक्रिया गर्ने आँट त झनै गर्दैनन्—तिनीहरू यो हदसम्म कायर हुन्छन्। अझै खराब कुरा त, सरकारले पक्राउको ठूलो लहर सुरु गरेको छ भन्ने सुनेपछि, तिनीहरू आफूले यसभन्दा पहिले परमेश्वरमा विश्वास गर्ने गरेको र कुन-कुन मानिसहरूले विश्वास गर्छन् भन्ने आफूलाई थाहा भएको कुरा सक्रिय रूपमा कबुल गर्नका लागि हतार-हतार अधिकारीहरूकहाँ जान्छन्, र आत्मसंरक्षणको एउटै उद्देश्य राखेर दया पाउनका लागि उनीहरूलाई सक्रिय रूपमा विश्वासघात गर्छन् र परमेश्वरका वचनहरूका पुस्तकहरू र परमेश्वरमाथिको विश्वाससँग सम्बन्धित अन्य सामग्रीहरू सुम्पन्छन्। भन त, के यी कायर हुनुका प्रकटीकरणहरू होइनन् र? (हुन्।) विशेष गरी कतिपय मानिसहरूका हकमा, परमेश्वरमा विश्वास गरेपछि, तिनीहरू सधैँ अरूले तिनीहरूको आस्थाबारे थाहा पाउनेछन् भनेर डराउँछन्, र तिनीहरू यदि कसैलाई पक्राउ गरियो भने, उसले तिनीहरूलाई विश्वासघात गर्नेछ भनेर अझै बढी डराउँछन्। तिनीहरूले परमेश्वरमा विश्वास गर्छन् भन्ने कुरा कसैले थाहा पाउने बित्तिकै, तिनीहरू हतार-हतार आफूले अब विश्वास गर्न छोडेको भन्दै सफाइ दिन्छन्, र गैरविश्वासीहरूलाई तिनीहरू विश्वासी हुन् भन्ने शङ्का त्याग्न लगाउनका लागि हतार-हतार कामकुरा समेत गर्छन्। उदाहरणका लागि, तिनीहरूले सँगै खाने, पार्टी गर्ने, जुवा खेल्ने, मद्यपान गर्ने, इत्याति गर्दै गैरविश्वासीहरूसँग सम्बन्ध बढाउँछन्। समस्याको सानो सङ्केत देख्नेबित्तिकै, तिनीहरूले भेलाहरूमा सहभागी हुने आँट गर्दैनन् र आफ्नो कर्तव्य पूरा गर्न छोड्छन्, र तिनीहरूसँग सम्पर्क गर्न खोज्ने जोकोहीलाई बेवास्ता गर्छन्। जब सबै कुरा शान्त हुन्छ, तब तिनीहरूले परमेश्वरमा विश्वास गर्दा कसरी आशिष्हरू मिल्छ, व्यक्ति मर्नबाट जोगिन सक्छ, र उसले स्वर्ग जान र राम्रो गन्तव्य प्राप्त गर्न सक्छ भन्ने बारेमा सोच्छन्—त्यसबेला तिनीहरू परमेश्वरमा विश्वास गर्न ऊर्जाले भरिएका हुन्छन्। तर तिनीहरूले अलिक खतरनाक वातावरणको सामना गर्नेबित्तिकै, तिनीहरू कुनै सुइँकोविना हराउँछन्। त्यसपछि, जब उक्त अवस्था बितेर जान्छ र कामकुरा फेरि साम्य हुन्छ, तब तिनीहरू फर्केर आउँछन्। यस्तो व्यक्ति बारम्बार हराइरहन्छ। तिनीहरूलाई अह्राइएको कर्तव्य जति नै महत्त्वपूर्ण भए पनि, अलिकति खतरा पैदा हुनेबित्तिकै, तिनीहरूले आफ्नो कामको निरन्तरताका लागि कुनै बन्दोबस्त नगरी तुरुन्तै त्यसलाई छोड्न सक्छन्, र पछि तिनीहरूलाई कसैले पनि सम्पर्क गर्न सक्दैन। अरू मानिसहरूले पनि यस्तै खतरनाक वातावरणको सामना गर्दा, तिनीहरूले परिणामलाई उचित रूपमा सम्हाल्न यावत् उपायहरू सोच्न सक्छन्। यदि अहिले वातावरण अत्यन्तै शत्रुवत् छ र गिरफ्तारीको खतरा उच्च छ भने, तिनीहरूले खतरा टर्नेबेलासम्म पर्खिन्छन् अनि मात्र कामलाई निरन्तरता दिन्छन्। वा, यदि तिनीहरू विश्वासीका रूपमा अत्यन्तै चर्चित छन् र काम गर्न आफ्नो अनुहार देखाए भने तिनीहरू सजिलै पक्राउ पर्न सक्छन् भने तिनीहरूले अरू कसैलाई यो काम गराउँछन्। तर जब यी कायर मानिसहरूले अलिकति पनि समस्या महसुस गर्छन्, तब तिनीहरू हतार-हतार लुक्छन्, र आफ्नो टाउको लुकाउने र आफ्नो ज्यान बचाउने सङ्घर्षमा लाग्छन्, मण्डलीको काम र सम्पत्तिलाई पूर्ण रूपमा बेवास्ता र अवहेलना गर्छन्, मण्डलीको कामको रक्षा गर्न वा दाजुभाइ-दिदीबहिनीहरूलाई सुरक्षा दिन कुनै प्रयास गर्दैनन्। परमेश्वरमाथिको आफ्नो विश्वासमा तिनीहरूलाई सबैभन्दा बढी केको डर हुन्छ? पहिलो, तिनीहरूलाई सरकारले तिनीहरूको विश्वासका बारेमा थाहा पाउनेछ भन्ने डर हुन्छ। दोस्रो, तिनीहरूलाई छिमेकीहरूले थाहा पाउनेछन् भन्ने डर हुन्छ। तेस्रो, तिनीहरूलाई सबैभन्दा बढी डर लाग्ने कुरा भनेको पक्राउ र जेल पर्नु, वा कुटपिट गरेर मारिनु हो। त्यसकारण, जब कुनै घटना घट्छ, तब तिनीहरूले सोच्ने पहिलो कुरा भनेको तिनीहरू पक्राउ पर्लान् कि वा तिनीहरू मारिएलान् कि भन्ने हुन्छ। यदि यी दुईमध्ये कुनै पनि कुरा हुने सम्भावना १% मात्रै छ भने पनि, तिनीहरूले उम्कने उपाय पत्ता लगाउनेछन्। उदाहरणका लागि, भेलाको दौरान, कुनै दाजुभाइ वा दिदीबहिनीले यसो भन्न सक्छ, “म यहाँ आउँदा, मैले नजिकै एक जना अपरिचित जस्तो देखिने व्यक्तिलाई देखेँ। के यो हामीलाई निगरानी गर्ने गैरविश्वासी हुन सक्छ?” यो एउटा टिप्पणी सुनेरै, कायर मानिसहरू अर्को भेलामा सहभागी हुँदैनन् र तिनीहरूले सबैसँग सम्पर्क बन्द गर्छन्। के तँ यसलाई सतर्क हुनु भनेर भन्छस्? (यो सामान्य सतर्कता होइन, यो त कायरता हो—तिनीहरूको हृदयमा परमेश्वरका लागि कुनै ठाउँ हुँदैन।) यो चरम रूपमा सतर्क हुनु हो। वातावरण अत्यन्तै शत्रुवत् भएका देश वा क्षेत्रहरूमा, विश्वासीहरू सतर्क हुनुपर्छ भन्ने कुरा साँचो हो, तर यसको अर्थ पक्राउ पर्ने डरले आफ्नो कर्तव्य पूरा गर्न वा भेलाहरूमा सहभागी हुन छोड्नुपर्छ, र तिनीहरू यति सतर्क हुनुपर्छ कि तिनीहरूको हृदयमा परमेश्वरका लागि कुनै ठावैँ नहोस् भन्ने होइन। सतर्क हुने बारेमा कायर मानिसहरूको सिद्धान्त के हो? जेसुकै भए पनि—चाहे त्यो ठूलो होस् वा सानो—तिनीहरूले सबै कुरा परमेश्वरको हातमा छ भन्ने कुरामा पटक्कै विश्वास गर्दैनन्। तिनीहरूले कोही पनि भरपर्दो हुँदैन भन्ने सोच्छन्, र तिनीहरू आफूलाई रक्षा गर्न आफूमै भर पर्छन्। तिनीहरूको सिद्धान्त यही हो। तिनीहरूले सबै कुरा परमेश्वरको हातमा छ; सबै कुरा परमेश्वरले योजनाबद्ध र बन्दोबस्त गर्नुभएको छ; यदि कुनै कुरा साँच्चै नै भयो भने, त्यो परमेश्वरको अनुमतिले हुन्छ, र परमेश्वरले अनुमति दिनुभएको छैन भने, कोही पनि पक्राउ पर्नेछैन भन्ने कुरामा विश्वास गर्दैनन्। यस सम्बन्धमा तिनीहरूमा बिलकुलै आस्था हुँदैन। बरु, तिनीहरूको हृदय कायरताले मात्रै भरिएको हुन्छ। यसका साथै, तिनीहरूको कायरतामा एउटा घातक कमजोरी हुन्छ, र यो तिनीहरूको सबैभन्दा घृणित कुरा पनि हो: आफूलाई रक्षा गर्न र आफूलाई कायर महसुस गराउने कुनै पनि वातावरण जुध्नका लागि, तिनीहरू आफूले “सर्वोच्च बुद्धि” ठानेको कुरालाई पछ्याउँछन्, जुन के हो भने, जेसुकै भए पनि—चाहे तिनीहरूलाई निगरानी गरिएको होस् वा पक्राउ गरेर र जेल हालिएको होस्—एक पटक केही गल्ती भयो र तिनीहरूको सुरक्षामा खतरा आयो भने, पहिलो कुरा, तिनीहरू आफूले परमेश्वरमा विश्वास गर्ने कुरालाई नकार्छन्, र अर्को कुरा, तिनीहरूले केही कुरा नलुकाई आफूले जानेको सबै कुरा भनेर धोका दिन्छन्। तिनीहरूले किन यसो गर्छन्? केवल आफूलाई शारीरिक कष्टबाट जोगाउनका लागि; तसर्थ, तिनीहरूले जे जानेका छन् सबै खुलासा गर्छन्। पहिलो कुरा, तिनीहरूले मण्डली अगुवाहरूलाई विश्वासघात गर्छन्, र जिल्ला अगुवा र क्षेत्रीय अगुवाहरू को-को हुन् र तिनीहरू कहाँ बस्छन् भन्ने कुरा खुलासा गर्छन्, र आफूले जानेको सबै कुरा खुलासा गरिदिन्छन्। तिनीहरूले यातना भोग्नुभन्दा पहिले नै सबै कुरा खोलिदिन्छन्। यसका साथै, “तीन कथनहरू” मा हस्ताक्षर गर्न लगाइयो भने, तिनीहरूले त्यसबारे विचार समेत नगरी तुरुन्तै हस्ताक्षर गर्छन्—तिनीहरू यसका लागि पहिलेदेखि नै तयारी अवस्थामा हुन्छन्। तिनीहरूले जेल पर्नबाट जोगिन, यातनाबाट जोगिन, र मृत्युको कुनै पनि खतराबाट टाढा रहनका लागि यसो गर्छन्। तिनीहरू निकै कायर हुन्छन्। तिनीहरूले न त परमेश्वरको सार्वभौमिकतामा विश्वास गर्छन् न त आफ्नो ज्यान जोखिममा पार्न नै सक्छन्। बरु, तिनीहरूले आफूलाई रक्षा गर्ने हरसम्भव उपाय सोच्छन्। तिनीहरूका लागि, सबैभन्दा उत्तम विधि भनेको अरूलाई र मण्डलीलाई विश्वासघात गर्नु हो—सबैभन्दा प्रभावकारी उपाय यही हो। तिनीहरूले आफ्नो सुरक्षाको प्रत्याभूति गर्न र कुनै पनि पीडाबाट जोगिनका लागि त्यसको मूल्यस्वरूप अरूलाई धोका दिन्छन्। तिनीहरूले धेरै पहिले नै यो योजना बनाएका हुन्छन्—यो तिनीहरूको “सर्वोच्च बुद्धि” हो। ल भन् त, के यस्तो व्यक्तिको कायरता सामान्य कायरता हो? (होइन।) त्यसोभए समस्या के हो त? (तिनीहरू यति कायर हुन्छन् कि तिनीहरू कुनै पनि बेला र स्थानमा दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीलाई धोका दिन तयार हुने यहूदा बन्छन्। त्यस्ता मानिसहरू साँचो विश्वासी होइनन्।) तिनीहरू साँचो विश्वासी हुन् कि झूटा विश्वासी हुन् भन्ने कुरालाई अहिलेका लागि थाती राखौँ। तिनीहरूको मानवतालाई मात्र हेर् त—तिनीहरूले परमेश्वरमा विश्वास गर्नु भनेको इमानदार र आदरणीय कुरा नभई धूर्त र लाजमर्दो कुरा हो भन्ने सोच्छन्, र तिनीहरूले परमेश्वरमा विश्वास गर्नु जस्तो यति इमानदार, आदरणीय, र सकारात्मक कुरालाई नकारात्मक कुरा ठान्छन्—तँलाई तिनीहरू कस्ता मानिस हुन् भन्ने लाग्छ? (अलमल्ल मानिस, जो तुलनात्मक रूपमा दुष्ट हुन्छन्।) कामकुराबारे तिनीहरूको दृष्टिकोण र तिनलाई बुझ्ने तरिका सामान्य मानिसहरूको भन्दा फरक हुन्छ। कहिलेकहीँ तिनीहरूले सही र गलत छुट्याउन नसकेर सेतोलाई कालोसमेत भन्न सक्छन्। परमेश्वरका विश्वासीहरूले कसरी जानी-जानी लुकीछिपी गर्न सक्छन्? किनभने यो संसार अत्यन्तै दुष्ट छ—कानुनले धार्मिक स्वतन्त्रताको रक्षा गर्दैन, र अझ बढी त शैतानी शासनले परमेश्वरलाई घृणा गर्छ र परमेश्वरको कामलाई शत्रुताको नजरले हेर्छ। यसले सकारात्मक कुराहरूलाई अस्तित्वमा रहन दिँदैन र परमेश्वरमा विश्वास गर्नेहरूलाई हदैसम्म सताउँछ। त्यसकारण, त्यस्ता सामाजिक परिस्थितिहरूमा, विश्वासीहरूसँग भेला हुँदा र आफ्नो कर्तव्य पूरा गर्दा सतर्कता साथ व्यवहार गर्ने बाहेक अरू कुनै विकल्प हुँदैन; तिनीहरूले खुल्लमखुल्ला यसो गर्ने आँट गर्दैनन्। बाहिरबाट हेर्दा, तिनीहरूले चोरझैँ लुकीछिपी गरिरहेको जस्तो देखिन सक्छ, तर वास्तवमा यो पूर्ण रूपमा सतावटमा परेको सन्दर्भले गर्दा हो, होइन र? (हो।) त्यसोभए ठूलो रातो अजिङ्गरले परमेश्वरमा विश्वास गर्ने र आफ्नो कर्तव्य पूरा गर्ने कार्यहरूलाई कसरी व्याख्या गर्छ? “शङ्कास्पद व्यवहार” का रूपमा। के यो शङ्कास्पद व्यवहार हो? (होइन।) यो शङ्कास्पद व्यवहार होइन—यो मानिसहरूले अरू कुनै विकल्प नभएर गर्ने कुरा हो। के यी मानिसहरूले कुनै गैरकानुनी काम गरेका हुन्छन्? (हुँदैनन्।) तिनीहरूले कुनै गैरकानुनी काम वा सरकारको विरोध गर्ने कुनै काम गरेका हुँदैनन्, तिनीहरूले कानुन तोडेका वा सार्वजनिक सुव्यवस्थामा बाधा दिएका त झनै हुँदैनन्। यी मानिसहरूले के गर्दै आएका हुन्छन्? तिनीहरूले त सृजित प्राणीहरूको कर्तव्य मात्रै पूरा गर्दै आएका हुन्छन्। यो काम संसारको सबैभन्दा बहुमूल्य, अर्थपूर्ण, र न्यायसङ्गत कदम हो। तर यो संसार दुष्ट र अन्धकारमय भएकाले र यसले सेतोलाई कालो भनेर घोषणा गर्ने हुनाले, यसले सबैभन्दा न्यायसङ्गत, बहुमूल्य, र अर्थपूर्ण कदमलाई “शङ्कास्पद” भनेर भन्छ। यो शैतानले गर्ने व्याख्या हो। के शैतानको व्याख्या सत्यता हो? के यो सकारात्मक छ? (छैन।) अवश्य नै छैन। तर जब कायर मानिसहरूले यो व्याख्या सुन्छन्, तब तिनीहरू हृदयमा यस कुरामा पूर्ण रूपमा सहमत हुने मात्र नभई तिनीहरूले शैतानको यो व्याख्यालाई स्वीकार पनि गर्छन्। परिणामस्वरूप, तिनीहरूले गुप्त रूपमा परमेश्वरमा विश्वास गर्नु र आफ्नो कर्तव्य पूरा गर्नु अनुचित कुरा हो र यो अवश्य नै गलत हो भन्ने पनि सोच्छन्। तिनीहरू सधैँ आफू पनि एक दिन समाज र सरकारको सतावटमा परिनेछ, आफूसँग आफ्नो प्रतिरक्षामा तर्क गर्ने कुनै ठाउँ हुनेछैन र आफूलाई सहयोग वा उद्धार गर्ने कोही हुनेछैन भनेर डराउँछन्। त्यसकारण, तिनीहरू विशेषगरी मानिसहरूले परमेश्वरमाथिको तिनीहरूको विश्वासका बारेमा थाहा पाउँछन् कि भनेर डराउँछन्। तिनीहरूले परमेश्वरले व्यक्त गर्नुभएका वचनहरू सत्यता हुन्, वा परमेश्वरले मानिसहरूलाई हिँड्न अगुवाइ गर्नुहुने मार्ग सही मार्ग हो भनेर हृदयमा स्वीकार गर्दैनन्, तैपनि तिनीहरू परमेश्वरबाट आशिष्हरू प्राप्त गर्न चाहन्छन्। के यो विरोधाभासपूर्ण कुरा होइन र? अन्त्यमा, तिनीहरू परमेश्वरमा विश्वास गरेकोमा र यस्तो वातावरणमा यी कष्टहरू भोगेकोमा अत्यन्तै दुःखित हुन्छन्। तिनीहरू किन दुःखित हुन्छन्? किनभने तिनीहरूलाई यस संसारको दुष्ट शासनको र दियाबलस र शैतानहरूका दुष्ट शक्तिहरूको गहिरो डर हुन्छ, र तिनीहरू सधैँ दियाबलस र शैतानहरूले सताउनेछन् र तिनीहरूको ज्यान लिनेछन् भनेर डराउँछन्। तिनीहरूमा परमेश्वरमाथि कुनै वास्तविक आस्था नहुने हुनाले, तिनीहरूले अत्यन्तै कायर व्यवहार गर्छन्, यहाँसम्म कि तिनीहरूले आफ्नो कर्तव्य पटक्कै पूरा गर्दैनन्। यदि बिलकुलै खतरा छैन भने, तिनीहरूले भेलाहरूमा सहभागिता जनाउनेछन् वा दाजुभाइ-दिदीबहिनीहरूसँग अन्तरक्रिया गर्नेछन्, वा मण्डलीका लागि केही कामहरू गर्नेछन्, तर तिनीहरूले परमेश्वरमा विश्वास गर्छु, मण्डलीको हिस्सा हुँ भनेर स्वीकार गर्ने, वा परमेश्वरको गवाही दिन वा आफ्नो कर्तव्य पूरा गर्न खडा हुने आँट गर्दै गर्दैनन्—तिनीहरू अत्यन्तै डराउँछन्। तिनीहरूसँग परमेश्वरमाथि कुनै वास्तविक आस्था हुँदैन, तैपनि तिनीहरू परमेश्वरबाट आशिष्हरू र राम्रो गन्तव्य प्राप्त गर्न चाहन्छन्। के तिमीहरू यो विरोधाभासपूर्ण कुरा हो भनेर भन्छौ? (भन्छौँ।) के तिनीहरूको आफ्नै व्यक्तिगत हितहरूमा ध्यान दिने कार्यले तिनीहरूको मनलाई धूमिल पारेको हुँदैन र? (हुन्छ।) यी मानिसहरू व्यक्तिगत फाइदाको लोभमा चुर्लुम्म डुबेका हुन्छन्। तिनीहरूले परमेश्वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने कुरामा विश्वास गर्दैनन्, तैपनि तिनीहरू परमेश्वरबाट आशिष्हरू प्राप्त गर्न चाहन्छन्। तिनीहरूले मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूले पूरा गरिरहेका कर्तव्य न्यायसङ्गत, बहुमूल्य, र अर्थपूर्ण छन् भन्ने विश्वास गर्दैनन्। तिनीहरूलाई महत्त्वपूर्ण कर्तव्य पूरा गर्न, वा अगुवा र कामदारहरूले प्रायजसो तिनीहरूलाई बाहिर गएर मामलाहरू सम्हाल्न लगाउँछन्, र केही गल्ती भयो भने, तिनीहरू फस्नेछन् भन्ने कुराको डर हुन्छ। यी कायर मानिसहरू खतराको सामना गर्दा यहूदा बन्न सक्छन् र तिनीहरूले मण्डलीलाई विश्वासघात गर्न सक्छन्—यो पनि एक प्रकारको खतरनाक व्यक्ति हो।
कायर मानिसहरूमा अरू के-कस्ता प्रकटीकरणहरू हुन्छन्? यी मानिसहरूले कुनै पनि बेला परमेश्वरको नामलाई इन्कार र परित्याग गर्न, कुनै पनि बेला परमेश्वरलाई धोका दिन सक्छन्, र तिनीहरू कुनै पनि बेला यहूदा बन्न सक्छन्। कायर मानिसहरू स्वर्गको राज्यमा प्रवेश गर्न लायक हुँदैनन्—कुरा यही होइन र? (हो।) कायर मानिसहरूको घातक कमजोरी के हो? (तिनीहरू मृत्युदेखि डराउँछन् र धोकामा संलग्न हुन सक्छन्।) यी मानिसहरू अपमानजनक तरिकाले अकर्मण्य जीवन जिउँछन्, जीवनको लोभ गर्छन् र मृत्युदेखि डराउँछन्। मृत्युको डर तिनीहरूको घातक कमजोरी हो। तिनीहरूलाई मर्न नलगाऊन्जेल, तिनीहरू जे पनि गर्न तयार हुन्छन्—चाहे त्यो यहूदा बन्ने होस्, विनाशको पुत्र बन्ने होस्, वा श्रापित बन्ने होस्—तिनीहरू जिउन पाऊन्जेल जे पनि गर्न तयार हुन्छन्। जिउनु नै तिनीहरूको सर्वोच्च उद्देश्य हो। तैँले मानिसहरूको जीवन र मृत्यु परमेश्वरको हातमा छ; परमेश्वरले मानिसहरूको नियतिलाई नियन्त्रण गर्नुहुन्छ, उहाँ त्यसमाथि सार्वभौम हुनुहुन्छ, र उहाँले त्यसलाई योजनाबद्ध गर्नुहुन्छ; अनि मानिसहरू परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ भनेर जति सङ्गति गरे पनि, तिनीहरूले न त यी वचनहरूमा विश्वास गर्छन्, न त तिनलाई स्विकार्छन्। तिनीहरू मानवका रूपमा पुनर्जन्म हुनु दुर्लभ अवसर हो, त्यसकारण तिनीहरू बिलकुलै मर्नु हुँदैन भन्ने मात्रै सोच्छन्; तिनीहरू यो पनि सोच्छन् कि एक पटक मरेपछि र तिनीहरूको देह नष्ट भएपछि, तिनीहरूको आत्माले कि त पशुका रूपमा पुनर्जन्म लिनेछ, कि त त्यो भौँतारिने भूत बन्नेछ, र तिनीहरूले फेरि कहिल्यै मानवका रूपमा पुनर्जन्म लिने मौका पाउनेछैनन्। त्यसकारण, तिनीहरूलाई मृत्युसँग विशेष डर लाग्छ। तिनीहरूका लागि, मृत्यु एउटा विनाशकारी विपत्ति हो, अर्को पुनर्जन्मको राम्रो अवसर होइन, न त अर्को पुनर्जन्मको नयाँ सुरुवात नै हो। त्यसकारण, तिनीहरूले आफ्नो जीवन रक्षा गर्नका लागि कुनै पनि कसर बाँकी राख्दैनन्। त्यसका लागि अरूलाई विश्वासघात गर्नु वा मण्डलीको काममा कुनै किसिमको हानि गर्नु नै परे पनि, तिनीहरू त्यसो गर्न हिचकिचाउँदैनन्; अनि त्यसका लागि परमेश्वरको नाम नै त्याग्नु परे पनि, तिनीहरू परिणामहरूका बारेमा वास्ता गर्दैनन्—तिनीहरूलाई सुरक्षित रूपमा जिउने बारेमा मात्रै वास्ता हुन्छ। यिनीहरू कस्तो प्रकारका मानिस हुन्? (अपमानजनक अस्तित्वमा रहिरहन चाहने मानिस।) तिनीहरू अपमानजनक अस्तित्वमा रहिरहन चाहने बदनाम मानिस हुन्! तिनीहरू इज्जत वा निष्ठाविना जिउँछन्, जीवित रहनका लागि मात्रै पनि जेसुकै गर्न तयार हुन्छन्, र जुनसुकै हदसम्म पनि गिर्छन्। कतिपय मानिसहरूले त खतरनाक वातावरणको सामना गर्नुभन्दा पहिले नै के गर्ने भनेर हृदयमा हिसाब-किताब गरिसकेका हुन्छन्: “यदि मलाई पक्राउ गरियो भने, म मुख खोल्नेछु। जब ठूलो रातो अजिङ्गरले तिमीहरूलाई यातना दिन्छ, धम्काउँछ, तर्साउँछ, र मण्डलीलाई विश्वासघात गर्न बाध्य पार्छ, तब तिमीहरू सबैले एक शब्द पनि बोल्न मान्दैनौ। तर म बोल्नुभन्दा शारीरिक पीडा भोग्न मन पराउने तिमीहरू जति मूर्ख छैनँ। म त कुटपिट वा धम्कीमा पर्नुभन्दा पहिले नै बोल्नेथिएँ—हेर त म कति चलाख छु! एउटा भनाइ नै छ, ‘बुद्धिमान् व्यक्ति परिस्थिति अनुसार चल्छ।’ मैले मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूलाई विश्वासघात गर्नुमा यति नराम्रो कुरा के छ र? सबै जना स्वार्थी हुनुपर्छ, होइन र? के आफ्नो ख्याल नगर्नु मूर्खता होइन र?” केही हुनुभन्दा पहिले नै, तिनीहरूले आफ्नो रक्षा कसरी गर्ने भनेर पत्ता लगाइसकेका हुन्छन्। तिनीहरूले यसबारे धेरै पहिले नै सोचविचार गरेका हुन्छन्। आफूलाई कसरी आचरणमा ढाल्ने भन्नेबारे तिनीहरूको सिद्धान्त के हो? “व्यक्तिले किन आफ्नै जीवन कठिन बनाउने? किन यति जिद्दी हुने? आफूलाई राम्रो गरेर मात्रै यो जीवन व्यर्थमा जिइएको हुँदैन!” आफूलाई आचरणमा ढाल्ने सम्बन्धी तिनीहरूको सिद्धान्त यही हो। तिनीहरूको कुनै नैतिक सीमा हुँदैन। तिमीहरूको विचारमा यस्ता मानिसहरूलाई के गर्नुपर्छ? (यदि त्यस्ता मानिसहरू भेटिए भने, तिनीहरूलाई बुद्धि लगाएर निकाल्नुपर्छ—तिनीहरू विस्फोट हुन लागेका टाइमबम जस्तै हुन्।) ठीक भन्यौ, तिनीहरू चलिरहेका टाइमबम हुन्। तिनीहरू सरासर कायर हुन्छन्, र जब खतरा आउँछ, तब तिनीहरूले मण्डलीलाई विश्वासघात गर्नेछन्। यदि कुनै व्यक्तिमा सामान्य मानवता छ भने, उसले खतरनाक वातावरणलाई सम्हाल्न बुद्धिमानी विधिहरू प्रयोग गर्नेछ, र उसमा परमेश्वरमाथि साँचो आस्था हुनेछ। तिनीहरूले भेलाहरूमा सहभागी हुने वा आफ्नो कर्तव्य पूरा गर्ने कार्यमा बाधा हुन दिँदैनन्, र आफ्नो कद र परिस्थितिहरूका आधारमा तिनीहरूले परमेश्वरप्रति आफूलाई समर्पित गर्न सक्दो गर्नेछन्। यो सामान्य मानवताको प्रकटीकरण हो। तर कायर मानिसहरूले आफ्नो जीवनलाई विशेष रूपमा प्रिय ठान्छन्; तिनीहरू जीवनको लोभ गर्छन् र मृत्युदेखि डराउँछन्, र आफ्नो जीवनलाई अरू सबै कुराभन्दा बढी महत्त्व दिन्छन्। तिनीहरूसँग परमेश्वरमाथि कुनै वास्तविक आस्था हुँदैन र तिनीहरूले परमेश्वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने कुरा देख्न सक्दैनन्। त्यसकारण, सतावटको सामना गर्नुपर्दा, तिनीहरू स्वाभाविक रूपमा कायर मानिसका रूपमा प्रकाश हुन्छन्। कायर मानिसहरू आफ्नो रक्षा गर्नका लागि यहूदा बन्न सक्छन्। त्यस्ता मानिसहरू खतरनाक तत्त्व हुन्, तिनीहरू भयानक व्यक्ति हुन्। मण्डलीले तिनीहरूलाई कुनै काम बिलकुलै सुम्पनु हुँदैन, न त तिनीहरूलाई कुनै कर्तव्य पूरा गर्न नै दिन मिल्छ। नत्र, यदि तिनीहरूले धोका दिए भने, मण्डलीको काममा हुने क्षति अत्यन्तै ठूलो हुनेछ; यसले फाइदाभन्दा बढी हानि गर्नेछ।
कायर र शङ्कालु मानिसहरूको शङ्कालुपन कसरी प्रकट हुन्छ? कतिपय मानिसहरूले परमेश्वरको घरको कामका विभिन्न पक्षहरूलाई कहिल्यै स्पष्ट रूपमा देख्न सक्दैनन्। तिनीहरूलाई परमेश्वरले ठ्याक्कै के काम गरिरहनुभएको छ, वा परमेश्वरले बोल्नुहुने वचनहरू सत्यता हुन् कि होइनन् भन्ने थाहा हुँदैन। तिनीहरूसँग यी मामिलाहरूबारे सही बुझाइ वा दृष्टिकोण हुँदैन, त्यसकारण तिनीहरूले परमेश्वरको घरको काममा ठ्याक्कै के भइरहेको छ, यो कामले के-कस्ता परिणामहरू हासिल गर्ने उद्देश्य राख्छ, वा यो मानिसहरूलाई मुक्ति दिने उद्देश्यले गरिएको हो कि होइन भनेर पुष्टि गर्न सक्दैनन्। तिनीहरूले यी कुनै पनि कुरालाई स्पष्ट रूपमा देख्न सक्दैनन्। तिनीहरू मण्डली भनेको के हो भन्ने बारेमा पनि अस्पष्ट हुन्छन्। जति वटा प्रवचनहरू सुने पनि, तिनीहरूले अलिकति पनि सत्यता बुझ्दैनन्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो कर्तव्य पूरा गरेकोबारे सधैँ शङ्का गर्छन्, र मनमनै सोच्छन्, “यी मानिसहरू निरन्तर व्यस्त हुन्छन्, हरेक दिन आउँछन् र जान्छन्—तिनीहरू ठ्याक्कै के गरिरहेका छन्?” विशेष गरी ठूलो रातो अजिङ्गरको देशमा परमेश्वरमा विश्वास गर्ने र कर्तव्य पूरा गर्ने सन्दर्भमा, अगुवा र कामदारहरूले मण्डलीको कामका निश्चित विषयवस्तुहरूमा—जस्तै प्रशासनिक काम, कर्मचारीको काम, सामान्य मामलाहरूको काम, र विशेष गरी जोखिमहरू उठाउनुपर्ने केही काममा—साधारण दाजुभाइ-दिदीबहिनीहरूलाई यी कुराहरूबारे थाहा हुन नदिई सङ्गति र छलफल गर्छन्। यसले तिनीहरूको रक्षा गर्छ, तिनीहरूलाई हानि गर्दैन। तर, कतिपय मानिसहरूले यो कुरा बुझ्दैनन् र सधैँ यी कुराहरूका बारेमा सोधपुछ गर्न चाहन्छन्। उदाहरणका लागि, तिनीहरूले पुस्तकहरू कहाँ छापिन्छन् वा निश्चित अगुवा र कामदारहरू कहाँ राखिएका छन् भन्नेबारे सोधपुछ गर्छन्। के यी कुराहरू जानेर तँलाई फाइदा हुन्छ? (हुँदैन।) के यी कुराहरू थाहा नपाउँदा तैँले केही गुमाउँछस्? (गुमाउँदिनँ।) यी कुराहरू थाहा नहनुले परमेश्वरका वचनहरू खाने-पिउने तेरो कार्यमा असर गर्दैन, यसले तेरो सत्यता प्राप्तिमा असर गर्दैन, र यसले निश्चय नै तेरो जीवन प्रवेश वा तेरो स्वभाव परिवर्तनमा बाधा दिँदैन। त्यसैले, के तैँले यी मामलाहरूबारे सोधपुछ र अनुसन्धान गर्नु अनावश्यक होइन र? अतिथिसत्कार गर्ने कतिपय मानिसहरू सधैँ शङ्कालु हुन्छन्। जब अगुवा र कामदारहरूले तिनीहरूलाई मण्डलीको कामका बारेमा आफ्ना सङ्गति र छलफलहरूका बारेमा जानकारी दिँदैनन्, तब तिनीहरूले सोच्छन्, “अगुवा र कामदारहरू किन सधैँ मेरो पिठ्यूँ पछाडि भेला भइरहेका र सङ्गति गरिरहेका हुन्छन्? तिनीहरूले के-कस्ता क्रियाकलापहरू गर्न लागेका छन्?” तिनीहरूलाई कतिपय अगुवा र कामदारहरूको व्यक्तिगत जानकारीका बारेमा थाहा दिइँदैन, र तिनीहरूले यस्तो सोच्न थाल्छन्, “तिनीहरूले यसबारे मलाई किन थाहा दिँदैनन्? मलाई तिनीहरूको नाम के हो, तिनीहरू कहाँ बस्छन्, वा तिनीहरूको खास अवस्था कस्तो छ भन्ने थाहा छैन। के यी मानिसहरूले मलाई परमेश्वरमाथिको विश्वासमा अगुवाइ गर्ने क्रममा मलाई झुक्याउन वा हानि गर्न सक्छन्?” भेटीहरूसँग सम्बन्धित वा केही खतरनाक काम जस्ता केही संवेदनशील प्रकारका कामहरू पनि हुन्छन्—पहिलो कुरा त यी कुराहरूका बारेमा सोध्नु नै हुँदैन, तैपनि यी मानिसहरू तिनका बारेमा सधैँ सोधपुछ गर्न चाहन्छन्। जब अरूले तिनीहरूलाई उत्तर दिँदैनन्, तब तिनीहरू झनै शङ्कालु बन्छन्। विशेष गरी, पहिलो कुरा त कतिपय मानिसहरूले परमेश्वरमा त्यति धेरै आस्था राखेका हुँदैनन्—परमेश्वरमा विश्वास गर्न थालेपछि, तिनीहरूले आफ्नो पारिवारिक व्यापार अझै राम्रो भइरहेको छ र तिनीहरूका परिवारका सदस्यहरू स्वस्थ छन् भन्ने देख्छन्, र तिनीहरूले यो परमेश्वरको अनुग्रह र आशिष् हो भन्ने सोच्छन्। यो क्षणिक खुसीले गर्दा, तिनीहरूले थोरै पैसा चढाउँछन्, तर त्यसपछि तिनीहरूले यस्तो सोच्न थाल्छन्, “मैले चढाएको पैसा कहाँ खर्च गरियो? के यसलाई मण्डलीको काममा प्रयोग गरियो? के यसलाई व्यापारमा लगानी गरियो वा गैरकानुनी क्रियाकलापहरूका लागि प्रयोग गरियो?” तिनीहरू सधैँ यी कुराहरूका बारेमा सोधपुछ गर्न र जान्न चाहन्छन्, र सधैँ यी कुराहरूको जडमा पुग्न चाहन्छन्। कतिपय मानिसहरूको शङ्का अझै बलियो हुन्छ। उदाहरणका लागि, जब मण्डलीले काममा आवश्यक परेका कारण कुनै उपकरण वा यन्त्र किन्छ, वा जब यसले आफ्नो कर्तव्य पूरा गरिरहेका मानिसहरूको दैनिक जीवनमा केही हेरचाह र सहायता प्रदान गर्छ, तब यस्तो शङ्कालु व्यक्तिले सधैँ यस्तो शङ्का गर्छ, “पैसा त धेरै वटा फरक-फरक क्षेत्रमा खर्च भइरहेको छ—यो कहाँबाट आउँछ? के मण्डलीले कुनै प्रकारको व्यापार पनि गरिरहेको छ? के पर्दा पछाडि यसको कुनै धनी संरक्षक वा कुनै शक्तिशाली समर्थक छ? के कुनै समूहले मण्डलीलाई सहयोग गरिरहेको छ?” विशेष गरी जब तिनीहरूले अधिकारीहरूबाट मण्डलीलाई बदनाम गर्ने केही आधारहीन अफवाह र दुष्ट शब्दहरू सुन्छन्—मण्डलीका फलानोले हत्या गरेको र कानुन तोडेको छ, फलानो व्यक्ति राज्यले खोजी गरिरहेको अपराधी हो, फलानो व्यक्ति ठूलो रकम लिएर विदेश भागेको छ, इत्यादि जस्ता दाबीहरू सुन्छन्—तब मण्डली र परमेश्वरको कामबारे तिनीहरूको शङ्का अझै बलियो हुँदै जान्छ। के त्यस्ता मानिसहरूमा सामान्य सोचाइ हुन्छ? के तिनीहरूले विश्वासीहरूले पालना गर्नुपर्ने सिद्धान्तहरूलाई स्पष्ट रूपमा देख्न सक्छन्? धेरैजसो मानिसहरूका हकमा, तिनीहरू यो परमेश्वरको काम हो भनेर पक्का भएपछि, तिनीहरूमा परमेश्वरबारे कुनै शङ्का हुँदैन। मण्डलीमा जस्तोसुकै समस्याहरू वा जस्तोसुकै प्रकारका मानिसहरू देखा परे पनि, तिनीहरूले तिनलाई परमेश्वरका वचनहरू अनुसार लिन सक्छन्। दुष्ट मानिसहरू वा ख्रीष्टविरोधीहरूले बाधाहरू सिर्जना गरे पनि, तिनीहरूले यसलाई सही रूपमा बुझ्न सक्छन्। तिनीहरूले परमेश्वर वा परमेश्वरको काम, वा मण्डली वा परमेश्वरको घरबारे कहिल्यै शङ्का गर्दैनन्। बढीमा, तिनीहरूमा निश्चित व्यक्तिहरूका बारेमा रायहरू वा परमेश्वरको कामका बारेमा केही धारणाहरू हुन सक्छन्, तर तिनीहरूले मण्डली जीवन जिएर यी कुराहरूलाई क्रमिक रूपमा समाधान गर्न सक्छन्। तर शङ्कालु मानिसहरू फरक हुन्छन्। परमेश्वरमा विश्वास गर्न सुरुदेखि नै, तिनीहरूले शङ्का र यावत् किसिमका धारणाहरू बोकेका हुन्छन्। तिनीहरू परमेश्वरका वचनहरू सत्यता हुन् कि होइनन् भन्ने कुरामा अनिश्चित हुन्छन्, परमेश्वरले यी वचनहरू व्यक्त गर्नु परमेश्वरको काम हो कि होइन भन्ने कुरामा अनिश्चित हुन्छन्, र दाजुभाइ-दिदीबहिनीहरू एकै ठाउँ भेला हुनु परमेश्वरको मण्डली हो कि होइन भन्ने बारेमा झनै अनिश्चित हुन्छन्। तिनीहरूले निरन्तर शङ्काहरू पाल्छन्, र सधैँ आफ्नो शङ्का सही छ भनेर प्रमाणित गर्न तथ्यगत प्रमाण खोज्छन्। यो कस्तो प्रकारको मनोवृत्ति हो? के तँलाई यस्तो मनोवृत्ति भएका मानिसहरूले परमेश्वरमाथिको विश्वासमा सत्यता बुझ्न सक्छन् भन्ने लाग्छ? (लाग्दैन।) तिनीहरूले कहिल्यै सत्यता बुझ्न सक्नेछैनन्। तिनीहरू हृदयमा सबैभन्दा बढी के कुरामा केन्द्रित हुन्छन्? तिनीहरू सधैँ यस्तो मनन गरिरहेका हुन्छन्, “यी मानिसहरू को हुन्? के यो कुनै सामाजिक संस्था हो? मैले यी मानिसहरूलाई अतिथिसत्कार गर्दा परमेश्वरको घरले तिनीहरूको जीविकोपार्जनको खर्च प्रदान भए पनि, मैले तिनीहरूको अतिथिसत्कारक भएर जोखिम उठाइरहेको हुन्छु। त्यसैले, के परमेश्वरले मेरा असल कार्यहरू सम्झनुहुनेछ? यदि परमेश्वरले तिनलाई सम्झनुभएन भने, के मेरो आतिथ्य व्यर्थ भएको हुनेछैन र?” तिनीहरूका हृदयमा निरन्तर त्यस्ता शङ्काहरू हुन्छन्। के तँलाई तिनीहरूले स्वेच्छाले दाजुभाइ-दिदीबहिनीहरूलाई अतिथिसत्कार गर्छन् भन्ने लाग्छ? (लाग्दैन।) तिनीहरूले पूर्णतया आशिष्हरू प्राप्त गर्ने इच्छाका कारण यसो गर्छन्, त्यसो गर्दा तिनीहरू शङ्काले भरिएका हुन्छन्। विशेष गरी जब तिनीहरूले स्पष्ट रूपमा देख्न नसकिने र आफ्ना धारणाहरू अनुसार नकारात्मक ठानिएका केही कुराहरू सुन्छन्, तब तिनीहरूका हृदयमा शङ्काहरू बढ्छन्। उदाहरणका लागि, भेलाहरूको समयमा, कसैले ठूलो रातो अजिङ्गरको शासनका कार्यहरू र दुष्ट राजाहरूको कुरूप अनुहारसँग सम्बन्धित विषयहरू उठाउन सक्छ, वा कहिलेकाहीँ ठूलो रातो अजिङ्गरले गरेको दमन र पक्राउ, र ठूलो रातो अजिङ्गरको प्रकृति सार, इत्यादि कुराका बारेमा सत्यतामा सङ्गति गर्न सक्छ। यी विषयहरू वास्तवमा राजनीतिसँग सम्बन्धित छैनन्—तिनले मानिसहरूलाई ठूलो रातो अजिङ्गरलाई खुट्ट्याउन र त्यसको अनुहार स्पष्ट रूपमा देख्न सिक्न सहयोग मात्रै गर्छन्, ताकि तिनीहरूले ठूलो रातो अजिङ्गरलाई घृणा र इन्कार गर्न सकून् र तिनीहरू उप्रान्त शैतानको प्रभावको बन्धनमा पर्न त्यसद्वारा बाँधिन छोडून्। तर जब शङ्कालु मानिसहरूले त्यस्ता विषयहरू सुन्छन्, तब तिनीहरू कायर र भयभीत हुन्छन्: “यी मानिसहरूले राजनीतिका बारेमा समेत छलफल गरिरहेका छन्! के तिनीहरू राजनीतिक अपराधी होइनन् र? के तिनीहरू प्रतिक्रान्तिकारी होइनन् र? यी विषयहरू अत्यन्तै संवेदनशील छन्! छिटो, झ्यालहरू बन्द गर, ढोकामा ताला लगाऊ, इन्टरनेट र फोनका लाइनहरूको प्लग निकाल! यदि सरकारले यो कुरा सुन्यो भने, हामी ठूलो समस्यामा पर्न सक्छौँ! हामीलाई अवश्य नै आजीवन कारावास हुनेछ!” तिनीहरू त्यस्ता विषयहरू सुन्न अनिच्छुक हुन्छन् र तिनीहरूले सङ्गतिमा हस्तक्षेप गर्न हर उपाय लगाउनेछन् ताकि तिनका बारेमा छलफल नगरियोस्। तिनीहरूले मनमनै सोच्छन्, “यी मानिसहरूले ठ्याक्कै कस्तो प्रकारको काम गर्छन्? परमेश्वर मानव राजनीतिमा संलग्न हुनुहुन्न भनेर भनिन्छ, त्यसोभए यी मानिसहरूले किन राजनीतिका बारेमा कुरा गरिरहेका छन्? के विश्वासीहरूले परमेश्वरमा विश्वास गर्ने विषयमा मात्रै कुरा गर्नुपर्ने होइन र? तिनीहरूले किन यी कुराहरूका बारेमा छलफल गरिरहेका छन्? के यो समस्या निम्त्याउन खोज्नु मात्रै होइन र? यदि तिनीहरू यी कुराहरूका बारेमा कुरा गर्न चाहन्छन् भने, तिनीहरूले आफूलाई जहाँ मन लाग्छ त्यहाँ गरून्, तर तिनीहरूले मेरो घरमा चाहिँ गर्नै हुँदैन। म यसमा ‘तानिन’ चाहन्नँ!” तिनीहरूले केही कुरा पनि प्रस्ट रूपमा देख्न सक्दैनन्। जब तिनीहरूले सरकारद्वारा रचिएका केही अफवाहहरू सुन्छन्, तब तिनीहरूले ती कुरा खुट्ट्याउन नसक्ने मात्र नभई तिनीहरूको शङ्का अझै बलियो बन्छ। यदि तिनीहरूले शक्तिमा रहेका दुष्ट पिशाचहरूको समूह वा धर्मभित्रका ख्रीष्टविरोधी शक्ति र दुष्ट आत्माहरूका सम्प्रदायहरूप्रति बारम्बार सन्देह र शङ्का राख्ने गरेका भए, त्यसले वास्तवमा तिनीहरूलाई आफ्नो रक्षा गर्न सहयोग गर्नेथियो। तर परमेश्वरले काम गर्नुहुने मण्डलीमा, परमेश्वरले धेरै सत्यता व्यक्त गर्नुभएको छ, तैपनि तिनीहरूले अझै पनि यसलाई बुझ्न सक्दैनन् र यो साँचो मार्ग हो भनेर निर्धारित गर्न सक्दैनन्। यति लामो समयसम्म प्रवचनहरू सुनेपछि र परमेश्वरले धेरै कुरा बोल्नुभएको देखेपछि, तिनीहरूको शङ्कालुपन समाधान हुँदैन, र तिनीहरूका धारणा र कल्पनाहरू हटेका छैनन्। तिनीहरूको क्षमता अत्यन्तै कमजोर छ, तिनीहरूमा बुझ्ने क्षमता छँदै छैन, र तिनीहरू सत्यता पछ्याउने मानिस होइनन् भन्ने कुरा स्पष्ट छ। तिनीहरूले परमेश्वरमा विश्वास गर्न सुरुदेखि नै, तिनीहरूले परमेश्वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने कुरामा कहिल्यै विश्वास गरेका छैनन्, र तिनीहरूले परमेश्वरका सबै वचनहरू सत्यता हुन् भन्ने कुरामा कहिल्यै विश्वास गरेका छैनन्; तिनीहरूले परमेश्वरको घरको कामलाई पूर्ण रूपमा पवित्र आत्माले अगुवाइ गर्नुहुन्छ भन्ने कुरामा त झनै कम विश्वास गरेका छन्। फलस्वरूप, सबै कुराले तिनीहरूलाई शङ्कालु बनाउँछ। उदाहरणका लागि, भेलाहरूको समयमा फरक-फरक प्रकारका मानिसहरूलाई खुट्ट्याउने बारेमा सङ्गति गर्दा, हामीले ख्रीष्टविरोधीहरूले मानिसहरूलाई कसरी बहकाउँछन्; वा कतिपय मानिसहरू तिनीहरूले उपभोग गर्ने र आनन्द उठाउने सबै कुरा परमेश्वरका भेटीहरू प्रयोग गरेर तिनीहरूलाई प्रदान गरिएको भए पनि कुनै वास्तविक काम गर्दैनन्, जुन मण्डलीको भरमा बाँच्नु हो; वा कतिपय मानिसहरूले कसरी भेटीहरू चोर्छन् वा फजुलमा उडाउँछन्; वा मण्डलीका निश्चित व्यक्तिहरू कसरी लम्पट क्रियाकलापहरूमा संलग्न हुन्छन्; वा कतिपय मानिसहरूले सुसमाचार प्रचार गर्दा कसरी परमेश्वरलाई अपमानित गर्ने कामकुरा गर्छन् भन्ने बारेमा कुरा गर्न सक्छौँ। हामी यी कुराहरूका बारेमा छलफल गर्छौँ ताकि मानिसहरूले अरूलाई कसरी खुट्ट्याउने भनेर सिक्न सकून्, र तिनीहरूले परमेश्वरका वचनहरू र सत्यता सिद्धान्तहरू अनुसार मानिस र कामकुराहरूलाई हेर्न, यी कुराहरूबाट पाठहरू लिन र सिक्न, र अरूको बहकाउ वा बन्धनमा पर्नबाट जोगिन सकून्। तर, जब शङ्कालु मानिसहरूले यी कुराहरू सुन्छन्, तब तिनीहरूले भन्छन्, “हत्तेरिका! यो परमेश्वरको घर हो, परमेश्वरको काम गरिने ठाउँ हो—यहाँ कसरी यस्ता कुराहरू हुन सक्छन्? मैले पहिले शङ्का गरेर ठीकै गरेछु जस्तो छ। अबदेखि म झनै होसियार हुनुपर्छ। मानिसहरू अत्यन्तै भरहीन हुन्छन्, र परमेश्वरको घर पनि भरपर्दो छैन। त्यसोभए, के परमेश्वर भरपर्दो हुनुहुन्छ त? कसलाई थाहा—शायद परमेश्वर पनि भरपर्दो हुनुहुन्न।” हेर त, तिनीहरूले सत्यता बुझ्दैनन्, न त तिनीहरूले यसलाई बोध गर्न नै सक्छन्। परमेश्वरको घरले सत्यताको जुनसुकै पक्षमा सङ्गति गरे पनि, तिनीहरू अन्त्यमा सधैँ कस्तो निष्कर्षमा पुग्छन्? यो कि, तिनीहरूले यति वर्षसम्म शङ्का गर्नु सही थियो, र यो अनावश्यक थिएन। यदि सत्यता पछ्याउने र सामान्य मानवताको सोचाइ भएका मानिसहरूले यी कुराहरू सुने भने, तिनीहरूले तिनलाई सही रूपमा लिन सक्छन्। एकातिर, तिनीहरूको दृष्टिकोण फराकिलो बन्छ र तिनीहरूले यी कुराहरूबाट समझशक्ति प्राप्त गर्छन्। अर्कोतिर, तिनीहरूले यी कुराहरूबाट पाठहरू लिन र सिक्न सक्छन्, र मानिसहरूले अरू मानिसलाई पछ्याउनु हुँदैन, तिनीहरूले अरूलाई खुट्ट्याउनुपर्छ र अझै धेरै सत्यता बुझ्नुपर्छ, र सत्यता नबुझेको व्यक्ति कुनै पनि बेला र कुनै पनि ठाउँमा बहकाउमा पर्न सक्छ, र उसले सत्यता बुझेपछि र ऊसँग कद भएपछि, ऊ अरूको बन्धन, बहकाउ, वा नियन्त्रणमा पर्नेछैन भन्ने कुरा बुझ्न सक्छन्। तर शङ्कालु मानिसहरूले कहिल्यै यसरी सोच्दैनन्। परमेश्वरको घरले फरक-फरक प्रकारका मानिसहरू र मामलाहरूलाई खुट्ट्याउने बारेमा जति धेरै सङ्गति गर्छ, तिनीहरूलाई तिनीहरूको शङ्का सही छ र त्यसको पुष्टि भएको छ भन्ने त्यति नै महसुस हुन्छ: “हेर त, म नै चलाख रहेछु! मैले सतर्क भएर राम्रो गरेछु। मानिसहरूले प्रायजसो म शङ्कालु र संशयात्मक छु भनेर भन्छन्, तर तथ्यहरूले त मैले शङ्का गरेको सही रहेछ भन्ने प्रमाणित गर्छन्। तिमीहरू सबै कति मूर्ख छौ, हेर त—परमेश्वरमाथिको विश्वासमा, तिमीहरूले आफ्नो कर्तव्य पूरा गर्न र आफ्नो अनुभवात्मक ज्ञानका बारेमा कुरा गर्न मात्रै जानेका छौ। त्यसको के काम? के त्यसले तिम्रो रक्षा गर्न सक्छ? सक्दैन! तिमीले जस्तोसुकै अवस्थाहरू सामना गरे पनि, यदि तिमी अझै सचेत भयौ र तिमीले अझ धेरै प्रश्न गर्यौ भने मात्रै आफ्नो रक्षा गर्न सक्छौ। तिमी सबै जनाविरुद्ध सतर्क हुनुपर्छ। तिमी आफूमा जत्तिको अरू कसैमा भर पर्नु हुँदैन, चाहे ती आफ्ना आमाबुबा नै किन नहोऊन्!” ल भन, तिनीहरू कस्ता चाहिँ मानिस हुन् त? के तिनीहरू परमेश्वरका विश्वासी हुन्? (होइनन्।) परमेश्वरको घरले जुनसुकै प्रकारको कामका बारेमा सङ्गति गरे पनि वा यसले जुनसुकै प्रकारका मानिसहरूलाई खुट्ट्याए पनि, र परमेश्वरले मानिसहरूका लागि जस्तोसुकै वातावरण खडा गर्नुभए पनि, यसको उद्देश्य भनेको परमेश्वरका चुनिएका मानिसहरूले यी कुराहरूबाट पाठहरू सिकून्, तिनीहरूले अझै व्यावहारिक तरिकाले राज्यमा तालिम प्राप्त गरून्, र तिनीहरूले—यी व्यावहारिक पाठहरूमार्फत—सत्यतालाई बुझ्न र मानिसहरूप्रति समझशक्ति प्राप्त गर्न सकून्, मानिसहरू र विभिन्न मामलाहरूलाई स्पष्ट रूपमा देखून्, र यसरी परमेश्वरले व्यक्त गर्नुहुने वचन र सत्यताहरूले कुन-कुन वास्तविक मानिस, घटना, र कामकुराहरूलाई जनाइरहेका छन् भन्ने कुरा अझै राम्ररी बुझ्न सकून् भन्ने हो। तर शङ्कालु मानिसहरूले यी कुराहरूबाट कुनै पाठ सिक्न नसक्ने मात्र होइन, बरु तिनीहरू झनै शङ्कालु र धूर्त बन्छन्।
कतिपय शङ्कालु मानिसहरूहरूले परमेश्वरको घरमा केही कुरा भन्दा वा गर्दा, तिनीहरू सधैँ अत्यन्तै सतर्क हुन्छन्, र दाजुभाइ-दिदीबहिनीहरू वा अगुवा र कामदारहरूले तिनीहरूलाई काटछाँट गर्नेछन् वा कष्ट समेत दिनेछन् भनेर निरन्तर डराउँछन्। तिनीहरूले भन्छन्, “यदि मैले परमेश्वरमा विश्वास गर्न छोडेर मण्डली छोडेँ भने, के मण्डलीले मविरुद्ध प्रतिकार गर्नेछ?” तिनीहरू यस विषयमा ढुक्क हुनुपर्छ। यदि कुनै अविश्वासीले मण्डली छोड्यो भने, यो सबै पक्षका लागि खुसीको कुरा हो—यसबाट सबैलाई फाइदा हुन्छ। त्यसकारण, यदि तँ घर फर्केर आफ्नो जीवन जिउनका लागि मण्डली छोड्न वा आफ्नो कर्तव्य त्याग्न चाहन्छस् भने, तैँले कुनै चिन्ता नगरी साहसका साथ यो कुरा उठाउनुपर्छ। तैँले यसो भन्दै एउटा अभिव्यक्ति पनि लेख्न सक्छस्: “फलानो मितिमा, म आधिकारिक रूपमा सर्वशक्तिमान् परमेश्वरको मण्डली छोड्छु र आफ्नो कर्तव्य पूरा गर्नेहरूको श्रेणीबाट बाहिर निस्कन्छु।” यसो गर्न पूर्ण रूपमा अनुमति छ। परमेश्वरको घरका ढोकाहरू खुला छन्, र कसैले तँविरुद्ध प्रतिकार गर्ला भन्ने चिन्ता नगरी तँ साहसका साथ जान सक्छस्। डराउनु वा शङ्का गर्नु पर्दैन। के मण्डलीका यी मानिसहरूमाझ तैँले कुनै दुष्ट मानिस देख्छस्? बिलकुलै देख्दैनस्। दुष्ट मानिसहरू छन् भने पनि, तिनीहरूलाई पखालेर फाल्नुपर्छ। धेरैजसो मानिसहरू निकै शिष्ट हुन्छन् र जीवनमा सही मार्गमा हिँड्न मन पराउँछन्। अरूविरुद्ध प्रतिकार गर्दा वा अरूलाई हानि गर्दा सत्यता सिद्धान्तहरू उल्लङ्घन हुन्छन्, र तिनीहरूले कहिल्यै त्यस्तो कुरा गर्नै सक्दैनन्। शङ्कालु मानिसहरूले आफूलाई जसरी आचरणमा ढाल्छन्, तिमीहरूलाई त्यसमा के गलत छ भन्ने लाग्छ? तिनीहरूमा संशयात्मक मन मात्रै हुन्छ तर कुनै बौद्धिकता हुँदैन। तिनीहरूले आफूलाई कसरी आचरणमा ढाल्छन् भन्ने कुराको हकमा, तिनीहरू आफ्नो धूर्त, छली, र संशयात्मक मन नै बुद्धिको सर्वोच्च रूप हो भन्ने विश्वास गर्छन्। तिनीहरूलाई सत्यता सिद्धान्तहरू वा परमेश्वरका काम र वचनहरूमा रुचि हुँदैन—तिनीहरूले न त बुझ्छन् न त बुझ्ने प्रयास नै गर्छन्। बरु, तिनीहरू शैतानका दर्शनहरू अनुसार मात्रै जिउँछन्, र सोच्छन्, “मलाई जेसुकै आइपरे पनि, मैले अझ धेरै प्रश्नहरू उठाउनुपर्छ। यसका साथै, मलाई लाग्छ, मैले जोसुकैप्रति शङ्का गरे पनि, मैले त्यसो गर्नु उचित हुन्छ, र मेरा शङ्काहरू तथ्यहरूसँग मिले पनि वा नमिले पनि, यो न्यायोचित हुन्छ। सारांशमा भन्दा, परिस्थितिहरू सामना गर्नुपर्दा थप शङ्का गरेमा मलाई फाइदा हुन्छ।” परिणामस्वरूप, तिनीहरूले जति वर्ष परमेश्वरमा विश्वास गरे पनि, तिनीहरूले कहिल्यै परमेश्वरका वचनहरूमा सत्यताको खोजी गर्दैनन्, न त तिनीहरूले आफूसँग रहेका विभिन्न समस्या र शङ्काहरूलाई समाधान गर्न परमेश्वरका वचनहरूमा उत्तरहरू नै खोज्छन्। बरु, तिनीहरू यी कुराहरूलाई विश्लेषण गर्न र तीसँग जुध्न आफ्नै मन, संशयात्मक मानसिकता, संसारसँग व्यवहार गर्ने दर्शनहरू, वा आफ्नै जीवन अनुभवहरूमा भर पर्छन्। अन्तमा, तिनीहरूले विभिन्न परिस्थितिहरू जति बढी सामना गर्छन् र विभिन्न प्रकारका जानकारीहरू जति धेरै सुन्छन्, तब तिनीहरूको शङ्कालु प्रकृति अपरिवर्तित रहने मात्र नभई तिनीहरूका शङ्काहरू पनि बढेका बढ्यै हुन्छन्। उदाहरणका लागि, जब यस्तो शङ्कालु व्यक्तिले एकदुई वर्ष परमेश्वरमा विश्वास गरेको गरेको हुन्छ र परमेश्वरको घरलाई बदनाम गर्न चिनियाँ कम्युनिस्ट पार्टीले सिर्जना गरेको झाओयुआन प्रकरणका बारेमा सुन्छ, तब उसले सोच्छ, “सायद यो परमेश्वरको घरले गरेको थियो। यदि यसो गर्न परमेश्वरको घरले आदेश नदिएको भए पनि, यो तलका केही दाजुभाइ-दिदीबहिनीहरूले नै गरेका हुनुपर्छ, र तिमीहरूले यसलाई स्वीकार मात्रै गरिरहेका छैनौ।” तीनदेखि पाँच वर्ष परमेश्वरमा विश्वास गरेपछि, तिनीहरूले अझै पनि ठूलो रातो अजिङ्गरले सुनाएका घटनाहरूमा नै विश्वास गर्छन्। आठ-दश वर्षपछि पनि, परमेश्वरको घरप्रतिको तिनीहरूका शङ्काहरू अनसुल्झा रहन्छन्। तिनीहरू मण्डलीलाई फसाउने र बदनाम गर्ने ठूलो रातो अजिङ्गर थियो भन्ने कुरामा विश्वास गर्दैनन्; तिनीहरू परमेश्वरको घरका मानिसहरूले नै त्यसो गरेका हुन् भन्ने अनुमान गर्छन्। हेर् त, तिनीहरूले कुनै मामलालाई हेर्दा त्यसलाई कहिल्यै परमेश्वरका वचनहरू वा सत्यता सिद्धान्तहरूका आधारमा हेर्दैनन्—तिनीहरू ठूलो रातो अजिङ्गरले सुनाएको कुरामा विश्वास गर्छन् र उक्त मामलालाई दियाबलसहरू र शैतानको दृष्टिकोणबाट हेर्छन्। शैतानले परमेश्वरका चुनिएका मानिसहरूलाई जसरी दमन र निर्दयी व्यवहार गरे पनि, तिनीहरूले यो बुझ्न सकिने कुरा हो भन्ने ठान्छन्, तर तिनीहरूले परमेश्वरको घर निर्दोष छ वा परमेश्वरमा विश्वास गरेकोमा सतावट भोग्ने दाजुभाइ-दिदीबहिनीहरू निर्दोष छन् भन्ने कुरामा कहिल्यै विश्वास गर्दैनन्। परमेश्वरको घरका दाजुभाइ-दिदीबहिनीहरू सबै शिष्ट र आफ्नो स्थानमा बस्ने मानिस हुन् भन्ने कुरा तिनीहरूको आफ्नै आँखाले देखे पनि, हृदयमा तिनीहरूले सधैँ कुनै शङ्काविना ठूलो रातो अजिङ्गरले मण्डलीलाई बदनाम गर्न गरेका कुराहरूमा विश्वास गर्छन्। परमेश्वरमा विश्वास गर्दा, त्यस्ता मानिसहरूले कष्ट सहन, मूल्य चुकाउन, र भेटी समेत चढाउन सक्ने भए पनि, तिनीहरू अन्तिममा अझै पनि अविश्वासी नै हुन्छन्। वास्तवमा, शङ्कालु मानिसहरू सत्यतालाई प्रेम नगर्ने वा स्वीकार नगर्ने मानिसहरूभन्दा कष्टदायी हुन्छन्। तिनीहरू कुन हिसाबमा बढी कष्टदायी हुन्छन्? सत्यतामा नराख्ने मानिसहरू मण्डलीको काम र कर्तव्य निर्वाहप्रति पूर्ण रूपमा उदासीन हुन्छन् र तिनीहरूलाई ती कुरामा रुचि हुँदैन; विश्वासीहरूले जसरी परमेश्वरलाई पछ्याए पनि वा आफ्नो कर्तव्य पूरा गरे पनि, तिनीहरूका लागि यो कुरा महत्त्वपूर्ण हुँदैन। परिणामस्वरूप, तिनीहरूले परमेश्वरमा विश्वास गर्ने वा कर्तव्य पूरा गर्ने विषयमा कुनै शङ्का गर्दैनन्, र तिनीहरूले मण्डलीका मामलाहरूका बारेमा मूलतः कहिल्यै सोधपुछ गर्दैनन्। तर शङ्कालु मानिसहरू ठीक यसको विपरीत हुन्छन्—तिनीहरू हल्लाबारे सोधपुछ गर्न मन पराउँछन्। तिनीहरूले किन यी कुराहरूका बारेमा सोधपुछ गर्न चाहन्छन्? तिनीहरूको एउटा उद्देश्य अवश्य नै यो हुन्छ: “यदि मैले थप सोधपुछ गरेँ र थप कुरा थाहा पाएँ भने, यसले मलाई अग्रिम रूपमा वैकल्पिक योजना तयार गर्न, र बस्ने कि जाने भनेर कुनै पनि बेला निर्णय गर्न सहयोग गर्नेछ।” तिनीहरू निश्चित अगुवा वा कामदारको वास्तविक नाम के हो, उनीहरू कहाँ बस्छन्, बाहिरी संसारमा तिनीहरूको करियर के-कस्तो छ, वा उनीहरूले आफ्नो कर्तव्य पूरा गर्न किन आफ्नो घर छोडेका हुन् भन्ने जस्ता निश्चित मामलाहरूका बारेमा सोधपुछ गर्ने कार्यमा पनि केन्द्रित हुन्छन्। तिनीहरूले सुसमाचार प्रचार गर्नेहरूका बारेमा पनि सोधपुछ गर्न सक्छन्, जस्तै तिनीहरूले कसलाई प्रचार गरेका छन्, तिनीहरूको परिवारका कुन-कुन सदस्यले परमेश्वरमा विश्वास गर्छन्, तिनीहरूले कति वर्षदेखि सुसमाचार प्रचार गर्दै आइरहेका छन्, तिनीहरूले कति जना मानिसहरूलाई विश्वासमा ल्याएका छन्, इत्यादि। तिनीहरूले यी सबै कुराहरूका बारेमा विस्तृत रूपमा सोधपुछ गर्छन्। शङ्कालु मानिसहरू यस्तो जानकारी बटुल्न मन पराउँछन्, र तिनीहरूले त्यो बटुलेपछि, तिनीहरू यी कुराहरू जान्नु अत्यन्तै अत्यावश्यक छ, र तिनीहरूले यो जानकारीलाई महत्त्वपूर्ण समयमा प्रयोग गर्न सक्छन् भन्ने सोचेर ढुक्क हुन्छन्। शङ्कालु मानिसहरूलाई धेरै कुरा थाहा हुन्छ। तिनीहरू “जानकारी डाटाबेसहरू” हुन्, र तिनीहरूलाई अगुवा र कामदारहरूलाई समेत थाहा नभएका कतिपय कुराहरू थाहा हुन्छ, जस्तै आफ्नो कर्तव्य पूरा गर्न को विदेश गएको छ र तिनीहरू कुन देशमा गएका छन्—तिनीहरूलाई अरू देशमा जाने मानिसहरूका बारेमा यी कुराहरू समेत थाहा हुन्छ। तर यदि तैँले तिनीहरूलाई प्रवचनहरूको कुन भाग हालै जारी गरिएको थियो भनेर सोधिस् भने, तिनीहरूले भन्न सक्दैनन्। तिनीहरूले जीवन प्रवेशका मामलाहरूमा कहिल्यै ध्यान दिँदैनन्, तर जब दाजुभाइ-दिदीबहिनीहरूको व्यक्तिगत जानकारी र मण्डलीका केही परिस्थितिहरूका कुरा आउँछ, तब तिनीहरू ती कुराहरूका बारेमा अत्यन्तै प्रस्ट हुन्छन्। बारम्बार कुराहरूका बारेमा सोधपुछ गर्नुको तिनीहरूको एउटा उद्देश्य भनेको सबै प्रकारका परिस्थितिहरूका बारेमा थप जान्नु हो, त्यसपछि तिनीहरूले कुनै पनि बेला आफ्नो लागि बाहिर निस्कने बाटो तयार गर्न सक्छन्। तिनीहरूले आफ्नो बाहिर निस्कने बाटोका बारेमा विचार नगर्नु अत्यन्तै मूर्खतापूर्ण हुनेछ भन्ने विश्वास गर्छन्—गैरविश्वासीहरूका शब्दमा भन्नुपर्दा, तिनीहरूले “धोकेबाजलाई विश्वास गरिरहेका हुन्छन्।” वास्तवमा, तिनीहरू कुहिएका बासी खाना जस्तै हुन्छन्, जसको मूल्य एक पैसाको पनि हुँदैन, तैपनि तिनीहरूले आफूलाई अत्यन्तै बहुमूल्य ठान्छन्। तिमीहरूलाई के लाग्छ, के यी मानिसहरू शङ्कालु हुन्छन्? (हुन्छन्।) तिनीहरू वास्तवमै शङ्कालु मानिस हुन्। शङ्कालु मानिसहरूमा विशेष रूपमा धूर्त र छली मानवता हुन्छ। कतिपय मानिसहरूले धूर्तता र छललाई उच्च बौद्धिकताका लक्षणका रूपमा हेर्छन्, तर यो गलत हो। वास्तवमा, यी धूर्त र छली मानिसहरू अत्यन्तै मूर्ख हुन्छन् र तिनीहरूमा अलिकति पनि क्षमता हुँदैन। तिनीहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ, र यसलाई परिवर्तन गर्न पहिले नै गाह्रो हुन्छ; तिनीहरू धूर्त पनि हुनुको अर्थ तिनीहरूलाई निको पार्न झनै गाह्रो हुन्छ भन्ने हो। यदि कुनै व्यक्तिको क्षमता मात्र कमजोर छ तर ऊ तुलनात्मक रूपमा इमानदार छ र धूर्त छैन, र उसले इमानदारीका साथ आफ्नो कर्तव्य पूरा गर्न सक्छ भने, सायद ऊसँग अझै पनि मुक्ति पाउने आशाको झिल्को हुन्छ। यदि तिनीहरूको क्षमता कमजोर छ र तिनीहरू अलिक छली छन् तर तिनीहरूले सत्यतालाई स्वीकार गर्न र आफूलाई चिन्न सक्छन् भने, सायद तिनीहरूसँग आफ्नो छली स्वभाव फाल्ने आशाको झिल्को हुन्छ। यदि तिनीहरूले सत्यता बुझ्न र क्रमिक रूपमा जान्न र त्यसमा प्रवेश गर्न सक्छन् भने, तिनीहरूको शङ्कालुपनलाई अलि-अलि गर्दै हटाउन सकिन्छ। तर दुर्भाग्यवश, यी मानिसहरूमा क्षमताको कमी पनि हुन्छ, र तिनीहरू छली र धूर्त पनि हुन्छन्, साथै तिनीहरू निकै हदसम्म मूर्ख पनि हुन्छन्। यो त अन्धो व्यक्तिले आँखाको समस्या भोग्नु जस्तै हो—त्यसको कुनै उपचार हुँदैन, होइन र? (हो।) त्यस्ता मानिसहरूलाई छुटकारा दिन सकिँदैन। यी मानिसहरू छुटकारा दिन नसकिने हदसम्म शङ्कालु हुने हुनाले, तिमीहरूलाई तिनीहरूसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने लाग्छ? (यदि त्यस्ता मानिसहरू पत्ता लागे भने, तिनीहरूदेखि सतर्क हुनुपर्छ। तिनीहरूले आफ्नो रक्षा गर्न मण्डलीलाई धोका दिन सक्छन्; तिनीहरू खतरनाक व्यक्तिहरू हुन्। हामीले तिनीहरूलाई खुलासा गर्ने र निकाल्ने अवसरहरू खोज्न सक्छौँ, वा यदि हामीले त्यसो गर्ने अवसर भेट्टाउन सकेनौँ भने, तिनीहरूलाई जानका लागि बुद्धिमानी तरिकाले मनाउन सक्छौँ।) कुनै व्यक्ति शङ्कालु छ भन्ने कुरा पक्का भएपछि, ऊसँग कुनै सम्बन्ध नराख्। तिनीहरूसँग सङ्गत गर्दा समस्या मात्रै आउँछ। यदि तैँले तिनीहरूसँग सङ्गत गरिस् भने, तिनीहरूले सधैँ तँलाई राम्ररी चिन्ने प्रयास गर्नेछन्। यदि तँ बाहिर जाँदैछस् भने, तिनीहरूले तँलाई नजिकबाट नियाल्नेछन्, र निरन्तर सोधिरहनेछन्, “तपाईँ कहाँ जाँदै हुनुहुन्छ? तपाईँ कति दिनका लागि जाँदै हुनुहुन्छ? तपाईँ के गर्न जाँदै हुनुहुन्छ?” जब तँ फर्केर आउँछस्, तब तिनीहरूले सोध्छन्, “तपाईँले कसलाई भेट्नुभयो? के तपाईँले आफ्नो काम पूरा गर्नुभयो? तपाईँहरू सबैले केका बारेमा कुरा गर्नुभयो?” यदि तैँले तिनीहरूलाई उत्तर दिइनस् भने, तिनीहरूले गुनासो गर्नेछन्: “तिनीहरूले मलाई कुनै कुराका बारेमा थाहा दिँदैनन्। तिनीहरूले मलाई भरोसा गर्दैनन्, गर्छन् त? तिनीहरूले मलाई परमेश्वरको घरको सदस्य जस्तो व्यवहार गरिरहेका छैनन्! तिनीहरूले मण्डलीको काम गर्न लागेका भनेर भन्थे, तर तिनीहरूले यो कुरा मबाट किन लुकाइरहेका थिए? तिनीहरू अवश्य नै कुनै गैरकानुनी काम गर्न गएका हुनुपर्छ।” तिनीहरूले सधैँ तेरो पिठ्यूँ पछाडि तेरो चियो गर्नेछन्। त्यस्ता मानिसहरू साँच्चै नै कष्टदायी हुन्छन्। तिनीहरू सबै कुरा जान्न चाहन्छन्, त्यसकारण धेरै कुराका बारेमा सोधपुछ गर्छन्। तर तिनीहरूले ती कुराहरू थाहा पाएपछि, तिनलाई शुद्ध रूपमा बुझ्न वा सही रूपमा व्यवहार गर्न सक्दैनन्, र तिनीहरूले तिनमा शङ्कास्पद पक्षहरू खोज्ने प्रयास पनि गर्छन्, जसले गर्दा तिनीहरूको शङ्का झन्-झन् ठूलो हुँदै जान्छ। मानौँ, तैँले तिनीहरूलाई यसो भन्दै सल्लाह दिइस्, “तिमीमा परमेश्वरबारे यति ठूला शङ्काहरू भएका हुनाले, र तिमीले परमेश्वरका वचनहरू सत्यता हुन्, र तिनले मानिसलाई शुद्ध पार्न र मुक्ति दिन सक्छन् भन्ने कुरामा विश्वास नगर्ने हुनाले, तिमीले परमेश्वरमा विश्वास गर्न छोडिहाल्नुपर्छ!” तिनीहरू त्यसो गर्न इच्छुक हुनेछैनन्—तिनीहरूले अझै पनि विश्वास गर्न र आशिष्हरू प्राप्त गर्न चाहनेछन्। के यी मानिसहरू कष्टदायी हुँदैनन् र? (हुन्छन्।) यी मानिसहरूलाई सम्हाल्न सजिलो हुन्छ। यदि तिनीहरूले मण्डलीमा ठूलो समस्या ल्याउन सक्छन् भने, तिनीहरूलाई तुरुन्तै छोडेर जानका लागि मनाओ। यी मानिसहरू भरोसायोग्य हुँदैनन्, तिनीहरूसँग सत्यता बुझ्ने क्षमता हुँदैन, र तिनीहरूले थोरै कर्तव्य पूरा गर्न सके पनि, तिनीहरूले परमेश्वरको घरमा ठूलो समस्या ल्याउनेछन्—तिनीहरूले फाइदाभन्दा बढी हानि गर्छन्। त्यसकारण, तिनीहरूलाई छोडेर जानका लागि मनाउनु आवश्यक हुन्छ।
कायर मानिसहरू कष्टदायी हुन्छन्, र शङ्कालु मानिसहरू पनि कष्टदायी हुन्छन्। तर जो कायर र शङ्कालु दुवै छन् ती मानिसहरू झनै कष्टदायी हुन्छन्। यी मानिसहरू अत्यन्तै डरपोक हुन्छन् र मृत्युदेखि डराउँछन्, र तिनीहरू सबै कुराबारे शङ्का गर्छन्, परमेश्वरमा विश्वास गर्नाले तिनीहरू छलमा पर्न सक्छन् कि सक्दैनन् भन्ने बारेमा निरन्तर शङ्का गर्छन्। तिनीहरू तिनीहरूको सम्भाव्यतामा अड्चन उत्पन्न हुन सक्छ भनेर डराउँछन् र तिनीहरूलाई पक्राउ र सतावटमा पारिएर मारिनु त्यति सार्थक हुँदैन भन्ने ठान्छन्। यदि तिनीहरू यस हदसम्म शङ्कालु हुन्छन् भने, तिनीहरूले लागि परमेश्वरमा विश्वास गर्नुको के अर्थ भयो र? के यो आफैलाई कठिनाइमा पार्नु मात्रै होइन र? तिनीहरू ठगहरूदेखि सतर्क भएझैँ गरी दाजुभाइ-दिदीबहिनीहरू र परमेश्वरको घरको हरेक कामको बन्दोबस्तदेखि सतर्क हुन्छन्, जसरी तिनीहरू ठूलो रातो अजिङ्गर वा दियाबलस र शैतानहरूदेखि सतर्क भइरहेका हुन्छन्। कतिपय मानिसहरूले अझै पनि तिनीहरूलाई यसो भन्दै सल्लाह दिने प्रयास गर्छन्, “जसरी पनि परमेश्वरमा लगनशीलताका साथ विश्वास गर, सत्यतालाई पछ्याऊ, र आफ्नो कर्तव्य राम्ररी पूरा गर, अनि परमेश्वरले तिमीलाई अनुमोदन गर्नुहुनेछ।” तर तिनीहरूले भित्री रूपमा के सोचिरहेका हुन्छन्? “तिमी मैले आफ्नो कर्तव्य उचित रूपमा पूरा गरूँ भन्ने चाहन्छौ, तर एक पटक म प्रसिद्ध भइसकेपछि र ठूलो रातो अजिङ्गरले मलाई पक्राउ गरेपछि, के त्यो नै मेरो अन्त्य हुनेछैन र?” यदि तिनीहरूको मानसिकता साँच्चै यस्तै हो भने, तिनीहरूलाई सल्लाह दिने प्रयास गर्नुको कुनै अर्थ हुँदैन। तिनीहरू अत्यन्तै डरपोक हुन्छन्, र सधैँ मृत्युदेखि भयभीत हुन्छन्। जब तिनीहरूले परमेश्वरका विश्वासीहरू पक्राउ परेका छन् भन्ने सुन्छन्, तब तिनीहरू यति डराउँछन् कि तिनीहरूले कट्टुमा पिसाब फेर्छन्। तर जब व्यापारमा मानिसहरूलाई ठग्ने र लुट्ने कुरा आउँछ, तब तिनीहरू जति नै समस्यामा परे पनि, तिनीहरू पटक्कै डराउँदैनन्—तिनीहरू यस विषयमा निकै निर्भीक हुन्छन्। तैपनि, जब परमेश्वरमा विश्वास गर्ने मामलाहरू आउँछन्, तब तिनीहरू अत्यन्तै डरपोक हुन्छन्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरू, परमेश्वरको घर, र विशेष गरी परमेश्वर र परमेश्वरका वचन र कामका बारेमा सबै किसिमका शङ्काहरूले भरिएका हुन्छन्, र जति सङ्गति गरिए पनि त्यसले यी शङ्काहरूलाई समाधान गर्न सक्दैन। तिनीहरूले जति वर्ष विश्वास गरे पनि, तिनीहरूलाई अझै पनि परमेश्वरमा विश्वास गर्नु भनेको के हो वा तिनीहरूले किन भेला भएर आफ्नो कर्तव्य पूरा गर्नुपर्छ भन्ने थाहा हुँदैन। यी मानिसहरूको बौद्धिकता कमजोर हुन्छ, र तिनीहरू निकै धूर्त र छली हुन्छन् भन्ने कुरा स्पष्टै छ। त्यस्ता मानिसहरूलाई तुरुन्तै छोडेर जानका लागि मनाउनुपर्छ। यदि तिनीहरू कायर भएकाले वा अरू कुनै कारणले गर्दा भेलाहरूमा आउन छोड्छन् र उप्रान्त आफ्नो कर्तव्य पूरा गर्न चाहँदैनन् भने, त्यो एकदम राम्रो कुरा हो—यसले गर्दा तिनीहरूलाई निकालिरहनु पर्दैन र यसले झन्झटबाट जोगाउँछ। यदि कुनै दिन तिनीहरूले फेरि परमेश्वरमा विश्वास गर्नमा रुचि लिन्छन् र तिनीहरू परमेश्वरमा विश्वास गर्न फर्केर आउन चाहन्छन् भने, तैँले तिनीहरूलाई यसो भन्न सक्छस्, “परमेश्वरको विश्वासीका रूपमा, तिमीलाई कुनै पनि बेला पक्राउ गरिन र जेल हालिन सक्छ, र तिम्रो ज्यान समेत जाने खतरा हुन्छ। तर यदि तिमीले परमेश्वरमा विश्वास गरेनौ, बरु संसारमा व्यापार गर्यौ र धेरै पैसा कमायौ भने, सायद तिमीले केही आरामदायी दिनहरूको आनन्द लिन सक्नेछौ।” यो सुनेपछि, तिनीहरूको हृदय पूर्ण रूपमा शान्त हुनेछ, र तिनीहरूले उप्रान्त परमेश्वरमा विश्वास गर्नेबारे सोच्नेछैनन्। तिनीहरूले यस्तो सोच्नेछन्, “बल्ल, मेरो वर्षौँको चिन्ता र भय सक्कियो। अबदेखि मैले मण्डली, दाजुभाइ-दिदीबहिनीहरू, वा परमेश्वरको घरलाई शङ्का गर्नु पर्दैन। म बल्ल स्वतन्त्र भएँ।” अनि यसरी नै, यी कायर र शङ्कालु मानिसहरू छोडेर जानका लागि विश्वस्त हुन्छन्। यसले ठूलो समस्या समाधान गर्छ, होइन र? (हो।) यो उक्त मामला समाधान गर्ने उत्कृष्ट तरिका हो।
ठ. समस्या निम्त्याउन प्रवृत्त हुनु
हामी समस्या निम्त्याउन प्रवृत्त हुनु भन्ने अर्को प्रकटीकरणलाई हेरौँ। के तिमीहरूलाई कस्तो प्रकारका मानिसहरू समस्या निम्त्याउन प्रवृत्त हुन्छन् भन्ने थाहा छ? के तिमीहरूले मण्डलीमा समस्याहरू निम्त्याउन प्रवृत्त भएको यस्तो व्यक्तिलाई भेटेका छौ? तिनीहरूको उमेर जति भए पनि, लिङ्ग जे भए, वा संसारमा तिनीहरूको पेसा जेसुकै भए पनि, यदि तिनीहरूले सधैँ समस्या निम्त्याउँछन् र सधैँ कानुन र प्रावधानहरू उल्लङ्घन हुने कामकुरा गर्छन्, जसले गर्दा मण्डलीमा नकारात्मक असर पर्छ र सुसमाचारको काममा ठूला बाधाहरू सिर्जना हुन्छन् भने, मण्डलीले यी मानिसहरूलाई तुरुन्तै तह लगाउनुपर्छ। सुरुमा, तिनीहरूलाई चेतावनी देओ, र यदि अवस्था अत्यन्तै गम्भीर छ भने, तिनीहरूलाई निष्कासित गर वा निकाल। तिमीहरूले तिनीहरूलाई कुनै शिष्टाचार देखाउनु हुँदैन। समस्याहरू निम्त्याउन प्रवृत्त हुने मानिसहरू कस्ता मानिस हुन्? उदाहरणका लागि, कतिपय मानिसहरूले संसारमा व्यापार गर्दा वा कारखानाहरू चलाउँदा, शङ्कास्पद व्यक्तिहरूसँग सङ्गत गर्छन् र प्रायजसो कानुन र प्रावधानहरू उल्लङ्घन गर्ने कामहरू गर्छन्। आज, तिनीहरू कर छली गरिरहेका वा कम कर तिरिरहेका हुन्छन्; भोलि, तिनीहरू ठगी र छलमा संलग्न भइरहेका हुन्छन्, वा ज्यान मारेकोमा कानुनी मुद्दामा समेत मुछिरहेका हुन्छन्। यी कुराहरूका कारण, तिनीहरूले बारम्बार अदालतबाट बोलावट आदेश प्राप्त गर्छन्, आफ्ना दिनहरू मुद्दामा व्यस्त भएर बिताउँछन्, र निरन्तर विवादहरूमा मुछिन्छन्। के त्यस्ता मानिसहरूले इमानदारीका साथ परमेश्वरमा विश्वास गर्न सक्छन्? त्यो असम्भव छ। कतिपय त्यस्ता मानिसहरू पनि हुन्छन् जो परमेश्वरमा विश्वास गर्ने दाबी गर्छन् तर अत्यन्तै अनौठा र असामान्य तरिकाले व्यवहार गर्छन्। आज, तिनीहरूले विपरीत लिङ्गीलाई दुर्व्यवहार गरिरहेका हुन्छन्; भोलि, तिनीहरूले कसैलाई यौनजन्य दुर्व्यवहार गर्न सक्छन् र रिपोर्ट गरिन सक्छन्। के तँ यी मानिसहरू समस्या निम्त्याउन प्रवृत्त हुन्छन् भनेर भन्छस्? (भन्छु।) त्यसोभए, के त्यस्ता मानिसहरूले इमानदारीका साथ परमेश्वरमा विश्वास गर्न सक्छन्? (सक्दैनन्।) समस्या निम्त्याउन प्रवृत्त हुने यी मानिसहरूले परमेश्वरमा विश्वास गरेपछि पनि सधैँ समाजका शङ्कास्पद व्यक्तिहरूसँग सङ्गत गर्छन् र निरन्तर भावनात्मक मामलाहरू, आर्थिक मामलाहरू, सम्पत्ति, वा व्यक्तिगत हितहरू जस्ता कुराका बारेमा विवादहरू पैदा गर्छन्। वा, तिनीहरूको कुनै सम्बन्धमा तनाव पैदा गर्ने कुनै घटनाका कारण, वा तिनीहरूले गलत तरिकाले कमाएका नाफाहरू असमान रूपमा बाँडफाँट भएकाले, तिनीहरूलाई समस्यामा पार्न खोज्ने मानिसहरू सधैँ हुन्छन्। दाजुभाइ-दिदीबहिनीहरू कहिलेकाहीँ तिनीहरूका घरमा जाँदा उनीहरूले यी शङ्कास्पद मानिसहरूलाई भेट्न सक्छन्। तिनीहरू भेलाहरूमा हुँदा वा तिनीहरूले आफ्नो कर्तव्य पूरा गरिरहँदा पनि, यी शङ्कास्पद मानिसहरू कहिलेकाहीँ ढोकामा देखा पर्छन् वा हैरान पार्ने मेसेजहरू पठाउँछन्, त्यसकारण समस्या निम्त्याउन प्रवृत्त भएका यी मानिसहरूको सङ्गत गर्ने जोकोही व्यक्ति तिनीहरूका समस्याहरूमा मुछिने सम्भावना हुन्छ; विशेष गरी, मण्डलीको काम र प्रतिष्ठामा आँच आउने र ती मानिसहरूले तिनलाई हानि गर्ने सम्भावना अझै बढी हुन्छ। ल भन त, के त्यस्ता मानिसहरू मण्डलीमा बस्नु राम्रो हो? (होइन।) यस्तो व्यक्तिलाई पनि निकाल्नु र तह लगाउनु जरुरी हुन्छ।
कतिपय मानिसहरू यस्ता पनि हुन्छन्, जसको समाजमा जस्तोसुकै पेसा भए पनि, तिनीहरू सधैँ सरकार, सरकारी अधिकारीहरू, वा निश्चित सामाजिक समूह र सार्वजनिक व्यक्तित्वहरूसँग मतभेद राख्न चाहन्छन्। आज, तिनीहरूले सरकारका अनुचित कार्यहरू खुलासा गरिरहेका हुन्छन्; भोलि, तिनीहरूले कुनै समूह वा संगठनलाई मुद्दा हालिरहेका हुन्छन्, क्षतिपूर्ति माग गरिरहेका हुन्छन्; पर्सि, तिनीहरूले कुनै सार्वजनिक व्यक्तिको निजी जीवनको खुलासा गरिरहेका हुन्छन्, जसले गर्दा मानिसहरू तिनीहरूलाई खोज्दै आउँछन्। के यो समस्या निम्त्याउनु हो? (हो।) तिनीहरूले परमेश्वरमा विश्वास गर्न थालेपछि पनि, तिनीहरू अझै सामाजिक मामलाहरूमा संलग्न भइरहन चाहन्छन्। जब तिनीहरूले आफूलाई असन्तुष्ट र आक्रोशित महसुस गराउने केही कुरा देख्छन्, तब तिनीहरू सधैँ देखावटी गर्नका लागि इन्साफको पक्षमा खडा हुन, वा त्यस मामलाका सही र गलत पक्षहरूको मूल्याङ्कन गर्नका लागि टिप्पणी गर्न वा लेख लेख्न चाहन्छन्। अन्त्यमा के हुन्छ? तिनीहरूले केही हासिल गर्दैनन्, तर अन्तमा आफूलाई धेरै समस्यामा पार्छन्, मुद्दाहरूमा फस्छन् र तिनीहरूको प्रतिष्ठा बरबाद हुन्छ। अनि समाजका शङ्कास्पद मानिसहरूले सधैँ तिनीहरूको खोजी गरिरहेका हुन्छन्, तिनीहरूविरुद्ध प्रतिकार गर्न वा तिनीहरूलाई कारबाही गर्न चाहन्छन्, त्यसकारण तिनीहरू चरम डरमा जिउँछन्। यस्तो जीवनबाट उम्कन र समस्याबाट जोगिनका लागि, तिनीहरूले धेरै वटा घर किन्छन्, र यसो भनेर व्याख्या गर्छन्, “भनाइ नै छ, ‘चलाख खरायोका तीन वटा दुलो हुन्छन्।’ मानिसहरूलाई मेरा तीन वटा घरमध्ये एउटा मात्रै थाहा छ; अरू दुई वटाका बारेमा कसैलाई थाहा छैन। मैले ती घर मण्डलीले प्रयोग गरोस् र दाजुभाइ-दिदीबहिनीहरू बसून् भन्नका लागि राखिरहेको छु।” के तँलाई विश्वासी दाजुभाइ-दिदीबहिनीहरू त्यहाँ बस्दा सुरक्षित हुन्छन् भन्ने लाग्छ? (अहँ, हुँदैनन्।) तिनीहरूका सबै शब्दहरू अत्यन्तै राम्रा सुनिन्छन्, र यसो गर्नुमा तिनीहरूका अभिप्रायहरू राम्रा हुन्छन्, तर तिनीहरूको चरित्र र समस्या निम्त्याउन प्रवृत्त हुने तिनीहरूको कमजोरीका आधारमा, तिनीहरूका घरमा बस्ने आँट कसले गर्ला र? यदि तँ त्यहाँ बसिस् भने, मानिसहरूले तँलाई तिनीहरूको परिवारको भाग सोच्न सक्छन्। यदि कसैले तिनीहरूलाई कुटपिट गर्न खोजिरहेको छ तर भेट्टाउन सकेको छैन भने, के तिनीहरूले त्यसको साटो तँलाई पो कुटपिट नगर्लान् र? कतिपय मानिसहरू समस्या निम्त्याउन प्रवृत्त हुन्छन्। जब तिनीहरू सामान्य तरिकाले सवारी चलाइरहेका हुन्छन् र तिनीहरू कुनै दुर्गम क्षेत्र पार गरिरहेका जान्छन्, तब तिनीहरूलाई कसैले रोक्न सक्छ, त्यसपछि उसले तिनीहरूलाई कारबाट तानेर, निर्घात कुटपिट गर्न, र चेतावनी दिन सक्छ। तिनीहरूले सुरुमा कसैलाई चिढ्याएर आफैलाई समस्यामा पारेकाले, र तिनीहरूले जसलाई चिढ्याए उसले तिनीहरूलाई सताउन चाहेकाले यस्तो भएको हो भन्ने तिनीहरूलाई थाहा हुन्छ। के तिनीहरूले पाउनुपर्ने कुरा ठ्याक्कै होइन र? यस्तो व्यक्ति समस्या निम्त्याउन प्रवृत्त हुने व्यक्ति हो। तिनीहरूले परमेश्वरमा विश्वास गर्न थालेपछि, मण्डलीले जुनसुकै विषयमा छलफल गरिरहेको भए पनि, तिनीहरू सधैँ हस्तक्षेप गर्न चाहन्छन्; तिनीहरू यस विषयमा आफ्नो विचार राख्न र केही टिप्पणी गर्न चाहन्छन्, साथै मानिसहरूलाई आफ्नो कुरा सुनाउने प्रयास पनि गर्छन्। यदि मण्डलीले तिनीहरूको सुझाव अपनाएन भने, तिनीहरू सिधै असन्तुष्ट र क्रोधित हुन्छन्, र तिनीहरूलाई आफ्नै क्षमताका बारेमा थाहा हुँदैन। तिनीहरूले जति धेरै नोक्सानी भोगे पनि, तिनीहरूले ती कुरा कहिल्यै याद गर्दैनन् वा आफ्ना असफलताहरूबाट पाठहरू सिक्दैनन्। त्यस्ता मानिसहरूले परमेश्वरमा विश्वास गर्दा पनि समस्या निम्त्याउँछन्। एकातर्फ, तिनीहरूले सत्यता बुझेका हुँदैनन् तैपनि तिनीहरू सधैँ मण्डलीको काममा संलग्न हुन चाहन्छन्, हरेक कुरामा हस्तक्षेप गर्ने प्रयास गर्छन्, जसले गर्दा तिनीहरूले मण्डलीको काममा बाधा र अवरोध ल्याउँछन्। अर्कोतर्फ, जब तिनीहरूले कुनै पनि दाजुभाइ वा दिदीबहिनीसँग धेरै समय बिताउँछन्, तब तिनीहरूले उनीहरूमाथि पनि समस्या ल्याउँछन्। समस्या निम्त्याउन प्रवृत्त हुने यस्ता मानिसहरूले ठूलो पीडा दिन्छन्। के तँलाई समस्या निम्त्याउने मानिसहरू तरङ्ग पैदा नगर्ने मानिस हुन् भन्ने लाग्छ? के तिनीहरू आफ्नो उचित स्थानमा बस्ने मानिस हुन्? (होइनन्।) तिनीहरू पक्कै पनि आफ्नो उचित स्थानमा बस्ने मानिस होइनन्। सामान्यतया, सन्तोषजनक जीवन जिउने मानिसहरू आफ्नो उचित स्थानमा बस्ने गर्छन्। परमेश्वरमाथिको तिनीहरूको विश्वासले सामाजिक मामलाहरूसँग कुनै सम्बन्ध नराखून्जेल, तिनीहरू ती कुराहरूमा पटक्कै संलग्न हुँदैनन् वा तिनीहरूले तिनका बारेमा सोधपुछ गर्दैनन्। चेतनशील बन्नु, समयलाई बुझ्नु, र कामकुराहरूको भाव बुझ्नु भनेको यही हो। यो समाज र मानवजाति अत्यन्तै दुष्ट र जटिल छन्। गैरविश्वासीहरूले भन्ने गरेझैँ, “यो अस्तव्यस्त युग र अस्तव्यस्त संसारमा, मानिसहरूले आफूलाई कसरी रक्षा गर्ने भनेर सिक्नुपर्छ।” यसका साथै, तँ सधैँ सामाजिक मामलाहरूका बारेमा टिप्पणी गरिरहेको र तिनमा संलग्न हुन चाहिरहेको हुन्छस्, तर तैँले जीवनमा हिँड्नुपर्ने मार्ग त्यो होइन। ती कुराहरू गर्नुको कुनै मूल्य हुँदैन र त्यो जीवनको सही मार्ग होइन। तैँले निष्पक्ष रूपमा बोल्न सके पनि, त्यसलाई न्यायसङ्गत कारण मानिँदैन। किन मानिँदैन? किनभने यस संसारमा कुनै निष्पक्षता छैन; दुष्ट प्रचलनहरूले त्यस्तो हुन दिँदैनन्। यदि तैँले परमेश्वरको घरमा साँच्चै नै निष्पक्ष र इमानदार शब्दहरू बोल्न सक्छस् भने, त्यसको मूल्य र महत्त्व हुन्छ। तर यदि तैँले मानिसको यो दुष्ट, भ्रष्ट, र अस्तव्यस्त संसारमा निष्पक्ष र इमानदार शब्दहरू बोलिस् भने, त्यस्ता शब्दहरूले सजिलै समस्या निम्त्याउँछन् र खतरा ल्याउँछन्। त्यसोभए त्यस्ता शब्दहरू बोल्नु अत्यन्तै मूर्खतापूर्ण कुरा हुँदैन र? यसो गर्दा तैँले मूल्यवान् तरिकाले जिउन नपाउने मात्र होइन, यसले तँलाई अनवरत समस्या पनि ल्याउनेछ। त्यसकारण, चलाख मानिसहरूले यी सामाजिक मामलाहरू अभिशाप हुन् भन्ने देख्छन् र आफूलाई ती कुराबाट टाढा राख्छन् र ती कुराबाट जोगिन्छन्, जबकि मूर्ख मानिसहरू तीतर्फ अघि बढ्छन्, जसले गर्दा तिनीहरूले आफैमाथि धेरै समस्या ल्याउँछन्। विशेष गरी कतिपय मानिसहरूले केही दिनसम्म मार्सल आर्टको तालिम लिएपछि, केही आकर्षक तौरतरिका सिक्छन् र थोरै ख्याति प्राप्त गर्छन्, अनि त्यसपछि इन्साफका लागि लडाइँ गर्न र धनीलाई लुटेर गरिबलाई सहयोग गर्न चाहन्छन्। तिनीहरू गलत कुराहरूलाई सच्याउँदै हिँडेर घुमन्ते शूरवीर वा तरवारधारीको भूमिका निभाउन चाहन्छन्, र अन्याय देख्नेबित्तिकै सहयोग गर्न अघि सर्छन्। परिणामस्वरूप, यसले समस्यातर्फ डोर्याउँछ—तिनीहरूले समाज कति जटिल छ भन्ने बुझ्दैनन्। ल भन त, तँ सहयोग गर्न अघि सर्दा, के तैँले केही मानिसहरूलाई चिढ्याउनेछैनस् र? के तैँले कतिपय मानिसहरूले सावधानीपूर्वक बनाएका योजनाहरूलाई बरबाद गर्नेछैनस् र? (हो।) जब ती मानिसहरूले सावधानीपूर्वक बनाएका योजनाहरूलाई तैँले बरबाद गर्छस्, तब के तिनीहरूले तँलाई त्यसबाट उम्कन दिनेछन्? (दिनेछैनन्।) तैँले “मैले जे गरिरहेको छु, त्यो न्यायसङ्गत अभियान हो” भन्लास्, तर यो न्यायसङ्गत अभियान भए पनि, त्यसले काम गर्दैन—यो संसारले तँलाई न्यायसङ्गत अभियानहरू चलाउन दिनेछैन। यदि तैँले त्यसो गरिस् भने, तैँले समस्या निम्त्याइरहेको हुनेछस्। मूर्खहरूले यो कुरा बुझ्दैनन्, तिनीहरूले संसारलाई छर्लङ्ग देख्न सक्दैनन्। तिनीहरू सधैँ आफू घुमन्ते शूरवीर भएका हुनाले, अरूलाई सहयोग गर्न आफू अघि सर्नुपर्छ भन्ने सोच्छन्। तर अन्तमा, तिनीहरूले कसैका सावधानीपूर्ण योजनाहरूलाई बरबाद पार्छन्, र त्यो व्यक्तिले तिनीहरूसँग बदला लिन खोज्छ र हार मान्न अस्वीकार गर्छ। तिनीहरूले यसरी नै विपत्ति निम्त्याउँछन्। अर्को व्यक्तिले गुप्त रूपमा तिनीहरूको नाम के हो, तिनीहरू कहाँ बस्छन्, तिनीहरूको पारिवारिक अवस्था कस्तो छ, तिनीहरूको परिवारका सदस्यहरू को-को हुन्, त्यो क्षेत्रमा तिनीहरूको कुनै प्रभाव छ कि छैन, र तिनीहरूविरुद्ध कसरी सबैभन्दा राम्ररी कारबाही गर्न सकिन्छ भन्ने कुरा पत्ता लगाउन थाल्छ। यो सबै स्पष्ट रूपमा बुझिसकेपछि, तिनीहरूले “घुमन्ते शूरवीर” विरुद्ध कदम चाल्न थाल्छन्, जसको जीवन त्यसपश्चात कठिन बन्दै जान्छ। यस्ता मानिसहरूले बारम्बार समस्या निम्त्याउँछन् र तिनीहरूले जति नै ठूलो नोक्सानी भोगे पनि, कहिल्यै आफ्नो पाठ सिक्दैनन्। जब तिनीहरूले आफूलाई अन्यायपूर्ण लागेको कुराको सामना गर्छन्, तब तिनीहरू अझै पनि इन्साफका लागि लडाइँ गर्न, र अघि सरेर सहयोग गर्न चाहन्छन्। तिनीहरूले आफूमाथि समस्या ल्याउने मात्र होइन, तिनीहरूले आफ्नो परिवारलाई पनि खतरामा पार्छन्, र कहिलेकाहीँ आफ्ना साथीभाइ वा सहकर्मीहरूलाई समेत यसैमा तान्छन्। यदि तिनीहरूले परमेश्वरमा विश्वास गरे र तिनीहरू मण्डलीमा प्रवेश गरे भने, दाजुभाइ-दिदीबहिनीहरू पनि तिनीहरूद्वारा खतरामा पारिन सक्छन्। उदाहरणका लागि, यदि तिनीहरू समाजमा समस्यामा पर्छन् र कसैले तिनीहरूविरुद्ध प्रतिकार गर्न चाहन्छ, र त्यो व्यक्तिलाई तँ तिनीहरूसँग भेलाहरूमा सहभागी हुन्छस् भन्ने थाहा छ भने, ऊ तिनीहरूको व्यक्तिगत र पारिवारिक अवस्थाका बारेमा जानकारी लिन तँकहाँ आउन सक्छ। त्यसोभए, तैँले त्यो व्यक्तिलाई भन्नेछस् कि भन्नेछैनस्? यदि तैँले भनिस् भने, यो तिनीहरूलाई धोका दिनु सरह हो, जसले गर्दा तिनीहरूमाथि समस्या आइपर्नेछ; यदि तैँले भनिनस् भने, त्यो व्यक्तिले तँलाई सताउन सक्छ। यस संसारमा दुष्ट मानिसहरू अति धेरै छन्, र दुष्ट मानिसहरू सबै समझहीन हुन्छन्। यदि कसैले तिनीहरूलाई चिढ्यायो भने, तिनीहरूले बदला लिनका लागि कुनै पनि उपायको सहारा लिनेछन्। कुरा त्यही होइन र? (हो।) समस्या निम्त्याउन प्रवृत्त भएका मानिसहरू जस्तोसुकै समस्यामा परे पनि, यसले सधैँ तिनीहरूको कर्तव्य निर्वाहमा समस्या र बाधा सिर्जना गर्छ र यसले मण्डलीको काममा समेत विभिन्न मात्रामा असर पार्न सक्छ। यदि कसैले निरन्तर समस्या निम्त्याउँछ भने, के तिमीहरूलाई तिनीहरूसँग सत्यता सङ्गति गरेर यो समस्या समाधान गर्न सकिन्छ भन्ने लाग्छ? (लाग्दैन।) यस्ता मानिसहरूमा प्रायजसो राम्रो समझको कमी हुन्छ। तिनीहरू समस्यामा पर्दा पनि, तिनीहरूले यसलाई समस्याका रूपमा हेर्दैनन्; तिनीहरूले आफूसँग न्यायको बोध छ भन्ने समेत सोच्न सक्छन्। त्यस्ता अवस्थामा, तिनीहरूसँग सत्यता सङ्गति गर्नु बेकार हो, किनभने तिनीहरू विकृत बुझाइ भएका मानिस हुन्, तिनीहरू बेतुक व्यक्ति हुन्। बेतुक व्यक्तिहरूले सत्यतालाई सजिलै स्वीकार गर्दैनन्। कतिपय मानिसहरूले यसो भन्न सक्छन्, “तिनीहरूले कठिनाइ सामना गरिरहेका छन्; हामीले तिनीहरूलाई कसरी बेवास्ता गर्न मिल्छ? हामी कसरी तिनीहरूलाई केही दया नदेखाई बस्न सक्छौँ? हामीले तिनीहरूलाई प्रेमपूर्वक व्यवहार गर्नुपर्छ।” तिनीहरूलाई प्रेमपूर्वक व्यवहार गर्नु ठीकै हो, तर के तिनीहरूले यसलाई स्वीकार गर्न सक्छन्? यदि तिनीहरूले सत्यतालाई पटक्कै स्वीकार गर्दैनन् र आफ्नै दृष्टिकोणहरूलाई पक्रिराख्छन् भने, के तैँले तिनीहरूसँग अनवरत रूपमा सत्यता सङ्गति गरिरहनु उचित हुन्छ? (हुँदैन।) यो किन उचित हुँदैन? (यस्ता मानिसहरूले परमेश्वरमा इमानदारीका साथ विश्वास गर्दैनन्। तिनीहरूमा अविश्वासीहरूको सार हुन्छ। हामीले तिनीहरूसँग सत्यता सङ्गति गरे पनि, यसले समस्या समाधान गर्दैन, र तिनीहरूले अझै पनि मण्डलीमा धेरै समस्या ल्याउन सक्छन्।) त्यसोभए, के यस्ता मानिसहरूलाई निकाल्नुपर्छ? (हो, तिनीहरूलाई निकाल्नुपर्छ।)
अर्को प्रकारका मानिसहरू पनि छन्, जो समस्या निम्त्याउन प्रवृत्त हुन्छन्। मण्डलीमा, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई निश्चित कामकुराहरू गर्न सधैँ उक्साइरहेका हुन्छन्। उदाहरणका लागि, तिनीहरूले भन्छन्: “सरकारले चालेको त्यो कदम र तय गरेको नीति अनुचित छन्। इसाई भएको नाताले, हामीले धार्मिकता अभ्यास गर्नैपर्छ, हामीले बोल्नुपर्छ र कायरहरूले जस्तो आफ्नो पुच्छर लुकाउनु हुँदैन। हामीले दाजुभाइ-दिदीबहिनीहरू, हाम्रो मण्डली, र सारा मानवजातिको भलाइका लागि लडाइँ गर्दै ब्यानरहरू लिएर सडकमा जुलुस निकाल्नुपर्छ र विरोध गर्नुपर्छ!” अनि यसको परिणाम के हुन्छ? तिनीहरूले जुलुस निकाल्नुभन्दा पहिले नै, सरकारले थाहा पाइसकेको हुन्छ, र अदालतले बोलावट आदेश पठाउँछ। ल भन त, मण्डलीमा त्यस्ता मानिसहरू हुनु सौभाग्यपूर्ण कुरा हो कि दुर्भाग्यपूर्ण? (दुर्भाग्यपूर्ण कुरा हो।) कतिपय मानिसहरू भन्छन्: “हाम्रो मण्डलीमा यस्तो प्रतिभाशाली व्यक्ति रहेछ—यो व्यक्ति अगुवाइ गर्न लायक छ! हाम्रो मण्डलीका मानिसहरूलाई हेर त; तिनीहरू सबै निरीह छन् र भनेको कुरा मान्छन्, र समाजमा तिनीहरूको कुनै प्रभाव छैन। तिनीहरू डरपोक छन् र कुनै पनि ठूला मामलाहरू सम्हाल्ने आँट गर्दैनन्, र तिनीहरू समस्या निम्त्याउँछु कि भनेर धेरै डराउँछन्। यो व्यक्ति फरक छ—ऊ साहसी, अन्तर्दृष्टिपूर्ण, र निर्णायक छ; समाजमा पनि उसको प्रभाव छ, ऊ सक्षम छ, र जब उसले अन्याय देख्छ, तब उसले उभिने र अघि सर्ने आँट गर्छ। कुनै कानुनी मुद्दाको सामना गर्दा पनि, ऊ हडबडाउँदैन वा तनावमा पर्दैन। उसको मानसिक क्षमताले नै उसलाई स्वाभाविक रूपमा पदाधिकारी बन्न उपयुक्त बनाउँछ। यदि यो व्यक्ति राजनीतिमा संलग्न भएको भए, ऊ या त एउटा प्रतिनिधि वा कम्तीमा पनि कुनै प्रान्तको गभर्नर हुनेथियो। हामी त्यसको लायक छैनौँ। त्यसकारण, मण्डलीले उसलाई अगुवाका रूपमा छनौट गर्नुपर्छ। यदि उसले हामीलाई अगुवाइ गर्यो भने, हामीले अवश्य नै मुक्ति प्राप्त गर्नेछौँ!” कतिपय मूर्ख मानिसहरूले समाजमा समस्या निम्त्याउन प्रवृत्त भएका मानिसहरूलाई विशेष रूपमा उच्च सम्मान दिन्छन् र तिनीहरूलाई आदर्श ठान्छन्, र तिनीहरूलाई मण्डली अगुवाका रूपमा निर्वाचित गर्न समेत चाहन्छन्। के तिमीहरूलाई यो उचित लाग्छ? (लाग्दैन।) यो किन उचित होइन? के मण्डलीलाई त्यस्ता “सक्षम मानिसहरू” चाहिँदैन र? (मण्डलीलाई त्यस्ता मानिसहरू चाहिँदैन। मण्डली अगुवाहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई भेलाहरूमा सँगै परमेश्वरका वचनहरू खान-पिउन, सत्यता पछ्याउन, र सुसमाचार फैलाउनका लागि आफ्नो कर्तव्य पूरा गर्न अगुवाइ गर्नुपर्छ। त्यस्ता मानिसहरूमा बाहिरी रूपमा तथाकथित साहस, अन्तर्ज्ञान, र निर्णायत्मकता भए जस्तो देखिए पनि, तिनीहरूले यस प्रकारको काम गर्न सक्दैनन् र मण्डलीमा अनन्त समस्या ल्याउनेछन्। त्यसकारण, तिनीहरू मण्डली अगुवा बन्न योग्य हुँदैनन्।) म तँलाई भन्छु, यस्तो व्यक्ति मण्डलीमा रहिरहनु गल्ती हो, र त्यस्ता मानिसहरूलाई अगुवाका रूपमा निर्वाचित गर्नु अझै विनाशकारी हुनेछ। तिनीहरूले मण्डलीलाई कतातिर डोर्याउनेछन्? तिनीहरूले मण्डलीलाई धार्मिक समूहमा परिणत गर्नेछन्! किनभने जब तिनीहरूले समाजमा अन्याय देख्छन्, तब तिनीहरूले मुद्दा दायर गर्छन्; जब तिनीहरूले दुष्ट मानिसहरूले गरिबहरूलाई हेपिरहेका देख्छन्, तब तिनीहरूले उनीहरूका लागि लड्छन्; जब तिनीहरूले भ्रष्ट अधिकारीहरूले मानिसहरूलाई निर्घात रूपमा हानि गरेको देख्छन्, तब तिनीहरू स्वर्गको तर्फबाट न्यायको पक्षमा खडा हुन चाहन्छन्। परिणामस्वरूप, तिमीहरू पनि सबै जना क्रमिक रूपमा इन्साफका लागि लड्ने घुमन्ते-शूरवीर बन्नेछौ। यसरी, के तिमीहरूले अझै पनि मुक्ति प्राप्त गर्न सक्थ्यौ? झट्ट हेर्दा, समस्या निम्त्याउन प्रवृत्त मानिसहरू निकै सक्षम देखिन्छन् होला, तर अन्त्यमा, के हुन्छ? मण्डलीको काममा बाधा र अवरोध पुर्याएकोमा तिनीहरू सबैलाई हटाइन्छ, किनभने तिनीहरूले पछ्याउने मार्ग सही मार्ग हुँदैन। तिनीहरूले जस्तोसुकै समस्या निम्त्याए पनि, तिनीहरू सही मार्गमा हिँडिरहेका हुँदैनन्, न त तिनीहरूले परमेश्वरको इच्छा नै पछ्याइरहेका हुन्छन्। तिनीहरूले गर्ने कुनै पनि कुराको मण्डली, परमेश्वरको काम, वा परमेश्वरका अभिप्रायहरूसँग कुनै सम्बन्ध हुँदैन; तिनीहरूले गर्ने सबै कुरा परमेश्वरका अभिप्रायहरूबाट टाढा हुन्छन् र ती सही मार्गबाट बाहिर जान्छन्। तिनीहरूले समस्या निम्त्याउनुको प्रकृति भनेको तिनीहरू दियाबलसहरूसँग व्यवहार गरिरहेका र अल्झिरहेका हुन्छन्; तिनीहरूलाई दियाबलसहरूले सताइरहेका हुन्छन्। त्यसकारण, परमेश्वरको घरले आफू र त्यस्ता मानिसहरूका बीचमा स्पष्ट रेखा कोर्नुपर्छ। यदि तिनीहरूले बारम्बार समस्या निम्त्याउँछन्, तिनीहरूलाई सल्लाह दिन प्रयास गर्ने कसैलाई पनि सुन्न मान्दैनन्, र तिनीहरूले आफ्ना गल्तीहरूबाट नसिकी समस्या निम्त्याउँछन्, जथाभाबी दुष्कर्म समेत गर्छन् भने, तिनीहरूलाई छोडेर जानका लागि मनाउनुपर्छ। तैँले यसो भन्न सक्छस्: “तिमीले निम्त्याएका सबै समस्याहरूलाई हेर त, यो मण्डलीको काममा कति ठूलो व्यवधान बनेको छ, र कति जना मानिसहरूको कर्तव्य निर्वाहमा असर परेको छ। तिमी यो कुरा कसरी नबुझेको? तिम्रो मनको चौडाइ अत्यन्तै फराकिलो छ—त्यो सम्पूर्ण संसारलाई नै समेट्न सक्ने जत्तिको फराकिलो छ। तिमी जस्तो व्यक्ति त संसारमा केही गरौँ भनेर अगाडि बढ्नुपर्छ; तिमीले आफ्नो संवर्धन गर्नुपर्छ र राष्ट्रलाई शासन गर्दै संसारमा शान्ति ल्याउनुपर्छ। तिमी उच्च-पदस्थ अधिकारीहरूसँग सङ्गत गर्न लायक छौ; त्यसपछि मात्रै तिमीले दैनिक जीवनका सामान्य कुराभन्दा माथि उक्लेर आफ्नो पखेटा फैलाउन र उचाइ लिन सक्छौ। परमेश्वरमा विश्वास गर्ने मानिसहरूसँग दिनभरि बस्नु—के त्यसले तिम्रा भव्य महत्त्वाकाङ्क्षाहरूलाई रोक्ने र आफ्नो पखेटा फैलाउने र उड्ने तिम्रो क्षमतालाई सीमित गर्ने गर्दैन र? हामीलाई हेर त—हामीमध्ये कसैसँग पनि ठूला आकाङ्क्षाहरू छैनन्। हामी त परमेश्वरमा विश्वास गर्ने, केही सत्यताहरू बुझ्नका लागि परमेश्वरका अझै धेरै वचनहरू पढ्ने, र कम दुष्ट गर्ने कार्यमा मात्रै केन्द्रित छौँ, सायद त्यसपछि हामीले परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्छौँ—त्यति मात्रै हो। हामी सबै सांसारिक मानिसहरूद्वारा निन्दित र अपमानित, संसारद्वारा इन्कार गरिएका मानिस हौँ, त्यसकारण तिमीले हामी जस्ता मानिसहरूको सङ्गत गर्नु हुँदैन। तिमी संसारमा फर्क्यौ र त्यहीँ लागिपर्यौ भने तिमीलाई राम्रो हुनेछ; सायद तिमीले ठूलो सफलता हासिल गर्नेछौ र आफ्ना महत्त्वाकाङ्क्षाहरू पूरा गर्नेछौ।” के तिनीहरूलाई यसरी छोडेर जानका लागि मनाउनु उचित हो? के यो समस्या समाधान गर्ने राम्रो तरिका हो? (हो।) मण्डलीले त्यस्ता अविश्वासीहरूलाई यसरी नै सम्हाल्नुपर्छ; मामलालाई यसरी समाधान गर्नु पूर्ण रूपमा सत्यता सिद्धान्तहरू अनुरूप हुन्छ।
अरू कस्तो प्रकारका मानिसहरू समस्या निम्त्याउन प्रवृत्त हुन्छन्? एक प्रकारको व्यक्ति विपरीत लिङ्गीमाझ विशेष रूपमा लोकप्रिय हुन्छ र ऊ सधैँ शङ्कास्पद व्यक्तिहरूसँग जिस्किने गर्छ। तिनीहरू उचित प्रणयी सम्बन्धको खोजी गरिरहेका हुँदैनन्; बरु, तिनीहरूले विपरीत लिङ्गका धेरै मानिसहरूसँग अत्यन्तै घनिष्ठ र अनुचित सम्बन्ध कायम राख्छन्। तिनीहरूले यी सम्बन्धहरूलाई उचित रूपमा सम्हाल्न नसक्ने हुनाले, तिनीहरू जोसँग जिस्किन्छन् ती मानिसहरूले एक-अर्काको डाहा गर्ने वा एक-अर्कासित बदला समेत लिन खोज्ने सम्भावना हुन्छ। के यो तिनीहरूका लागि समस्या हो? (हो।) यो पनि ठूलो समस्या हो। कतिपय मानिसहरूले यी कुराहरूबारेलाई वास्ता नगर्लान्, तर त्यस्ता कुराले प्रायजसो तिनीहरूको व्यक्तिगत जीवन र आस्थामा समस्या ल्याउँछन्, र यसले तिनीहरूको व्यक्तिगत सुरक्षामा समेत असर पार्न सक्छ। यी समस्याहरूले तिनीहरूलाई निरन्तर पछ्याउँछन्, र तिनीहरूसँग बारम्बार अन्तरक्रिया गर्नेहरू पनि यसमा फसिहाल्छन्। चाहे तिनीहरू विपरीत लिङ्गका यी व्यक्तिहरूसँग साँचो रूपमा प्रणयी सम्बन्धमा होऊन् वा एक-अर्कासँग जिस्किरहेका र एक-अर्कालाई प्रयोग गरिरहेका मात्रै होऊन्, हामीलाई त्यस्ता कुराहरूका बारेमा चासो हुँदैन। हामीलाई के कुराको चासो हुन्छ? हामीलाई तिनीहरूले ल्याउने समस्याहरूले दाजुभाइ-दिदीबहिनीहरू वा मण्डलीमा कुनै हानिकारक असर पार्छन् कि पार्दैनन् भन्ने बारेमा चासो हुन्छ। यदि कुनै असर पर्छ भने, मण्डलीले समस्या समाधान गर्न र त्यसलाई सम्हाल्न कदम चाल्नुपर्छ, र यी समस्याहरूलाई उचित रूपमा सम्हाल्नका लागि तिनीहरूलाई सल्लाह दिनुपर्छ। तिनीहरूले यसलाई कसरी सम्हाल्छन् भन्ने कुरामा हामी हस्तक्षेप गर्नेछैनौँ। यदि तिनीहरूलाई जति सल्लाह दिँदा पनि तिनीहरूले सुन्न मान्दैनन् र यी समस्याहरूलाई सम्हाल्दैनन् वा समाधान गर्दैनन् भने, तिनीहरूलाई अलग राख्नुपर्छ र चेतावनी दिनुपर्छ: “तिमीले सुरुमा आफ्ना व्यक्तिगत समस्याहरू सम्हाल्नुपर्छ। तिनलाई सम्हालेपछि, तिमीले आफ्नो कर्तव्यलाई पुनः सुचारु गर्न सक्छौ। यदि तिमीले तिनलाई उचित रूपमा सम्हालेनौ भने, तिमी अलग रहिरहनेछौ।” तिनीहरू विश्वासी भएको र तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न सक्ने भए पनि—सायद कुनै महत्त्वपूर्ण कर्तव्य समेत पूरा गर्न सक्ने भए पनि—तिनीहरूको व्यक्तिगत जीवनका गम्भीर समस्याहरूका कारणले र तिनीहरूले निम्त्याउने समस्याले मण्डलीको काममा असर पार्न सक्ने हुनाले, मण्डली अगुवाहरूले यसलाई बेवास्ता गर्न मिल्दैन, किनभने यी समस्याहरूले सम्भावित जोखिमहरू पैदा गर्छन्। उदाहरणका लागि, तिनीहरू जोसँग सम्बन्धमा बस्छन् ती मानिसहरूले तिनीहरूबाट मण्डलीका केही परिस्थितिहरू वा दाजुभाइ-दिदीबहिनीहरूबारे व्यक्तिगत जानकारी थाहा पाउन सक्छन्। यदि तिनीहरूले यो जानकारी खराब अभिप्राय भएका व्यक्तिहरू वा ठूलो रातो अजिङ्गरलाई चुहाए भने, यो मण्डली र दाजुभाइ-दिदीबहिनीहरू दुवैका लागि हानिकारक हुनेछ। त्यसकारण, मण्डलीका लागि, यी सबै समस्या वा सम्भावित जोखिमहरू तिनीहरूले नै ल्याउँछन्, त्यसकारण मण्डलीले तिनीहरूलाई सुरुमा आफ्ना व्यक्तिगत समस्याहरू समाधान गर्न लगाउनुपर्छ। यदि तिनीहरूले समस्याहरूलाई पूर्ण रूपमा सम्हाले भने, परमेश्वरको घरले तिनीहरूको परिस्थितिका आधारमा तिनीहरूलाई फेरि स्वीकार गर्ने निर्णय गर्न सक्छ। तर यदि तिनीहरू समस्याहरू समाधान नगर्न जारी राख्छन् र अझै आफ्नो कर्तव्य पूरा गर्न चाहन्छन् भने, के गर्नुपर्छ? (तिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्न दिनु हुँदैन।) त्यस्तो अवस्थामा, तिनीहरूलाई छोडेर जानका लागि मनाउनुपर्छ वा निकाल्नुपर्छ। छोटकरीमा भन्दा, चाहे मण्डली अगुवाहरू होऊन् वा दाजुभाइ-दिदीबहिनीहरू होऊन्, तिनीहरूले मण्डलीमा समस्या निम्त्याउन प्रवृत्त मानिसहरू छन् भन्ने पत्ता लगाएपछि, सिद्धान्तहरू अनुसार यस मामलालाई सम्बोधन गर्नुपर्छ र तुरुन्तै सम्हाल्नुपर्छ। तिनीहरूले यसलाई सम्हाल्नु र समाधान गर्नुभन्दा पहिले यी व्यक्तिहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई खतरामा पारुञ्जेल वा मण्डलीको काममा समस्या ल्याउञ्जेल पर्खिनु हुँदैन।
कतिपय मानिसहरू चाँडै समस्या पैदा गर्न र झगडा र कुटाकुट गर्न तम्सिन्छन्। तिनीहरू सधैँ आफूले राम्रो मुक्का प्रहार गर्न सक्छु भन्ने ठान्छन्, सधैँ संसारका सबै जनालाई हराउन चाहन्छन्, वा, यदि तिनीहरूले अलिक देखावटी मार्सल आर्ट जानेका छन् भने, सधैँ अरूका विरुद्धमा हिंसा र बल प्रयोग गर्न चाहन्छन्। के यस्तो व्यक्ति पनि समस्या निम्त्याउन प्रवृत्त हुँदैन र? (हुन्छ।) जहाँ गए पनि आफ्नो उचित स्थानमा नबस्ने मानिसहरू पनि हुन्छन्। तिनीहरूले नियमहरू वा सार्वजनिक आदेश पालना गर्दैनन् र तिनीहरू सधैँ अपरम्परागत हुन चाहन्छन्। सवारी चलाउँदा, तिनीहरूले रातो बत्ती बल्दा पनि गाडी नरोक्न जिद्दी गर्छन्, वा निषेध गरिएको ठाउँमा बायाँ मोड्न जिद्दी गर्छन्, र प्रहरीले रोकेर जरिवाना तिराउँदा, तिनीहरू त्यसलाई स्वीकार गर्न मान्दैनन् र प्रहरीमाथि नै उजुरी गर्न चाहन्छन्। हेर् त, तिनीहरू जोमाथि पनि गर्ने आँट गर्छन्। प्रहरीले कानुन अनुसार काम गर्ने भए पनि, तिनीहरू उनीहरूमाथि उजुरी गर्न चाहन्छन्—तिनीहरूले कानुनको अवज्ञा गर्छन्। के यी मूर्खहरू पनि समस्या निम्त्याउन प्रवृत्त हुँदैनन् र? (हुन्छन्।) यस्तो समस्या निम्त्याउन प्रवृत्त व्यक्तिले आफूले परमेश्वरमा विश्वास गर्ने भएकाले उहाँमाथि भर पर्न सकिन्छ, र मण्डलीमा धेरै मानिसहरू छन् र यसको प्रभाव ठूलो छ भन्ने सोच्छ, त्यसकारण उसले केही कुराको डर मान्दैन। उसले आफ्नो सामर्थ्यको धाक लगाउन र आफू कति शक्तिशाली छु भनेर देखाउनका लागि जताततै जथाभाबी दुष्कर्म गर्छ। कानुनी फन्दामा परेपछि पनि, उसले आफ्नो मार्ग बदल्न जान्दैन। अन्त्यमा, उसले के भन्छ? “यो संसार साँच्चै नै दुष्ट छ। इन्साफका लागि खडा भएकै कारण मलाई पक्राउ गरियो। यो संसार साँच्चै नै अन्यायपूर्ण छ!” तिनीहरू अझै पनि आफ्ना गल्तीहरू स्वीकार गर्न मान्दैनन्। तिनीहरूले आफ्नै गतिविधिमार्फत आफूमाथि समस्या निम्त्याउँछन्, तैपनि आफूलाई अन्याय भएको भनेर गुनासो गर्छन्। के यो अत्यन्तै बेतुके कुरा होइन र? (हो।) संसार जति नै दुष्ट र अन्धकारमय भए पनि, तिनीहरूले समस्या पैदा गर्नु बुद्धिमानी होइन। परमेश्वरले कहिल्यै कसैलाई समस्या पैदा गर्न भन्नुभएको छैन, न त उहाँले कसैलाई परमेश्वरमा विश्वास गर्ने नाममा स्वर्गको तर्फबाट इन्साफका लागि लडाइँ गर्न र इन्साफ लागू गर्न नै भन्नुभएको छ। कतिपय मानिसहरूले भन्छन्, “यस संसारका नियमहरू सत्यता होइनन्, त्यसकारण तिनलाई पालना गर्नु पर्दैन।” कानुन सत्यता नभए पनि, परमेश्वरले तँलाई आफूले चाहे अनुसार कानुन तोड्न सक्छस् भनेर कहिल्यै भन्नुभएको छैन, न त उहाँले तँलाई हत्या वा आगजनी गर्न सक्छस् भनेर नै भन्नुभएको छ। परमेश्वरले तँलाई समाजको कानुन र सार्वजनिक आदेश पालना गर्नुपर्छ, जहाँ गए पनि नैतिक मान्यता र नियमहरू पालना गर्न जान्नुपर्छ, उक्साउने व्यवहार गर्नु हुँदैन, र समस्या निम्त्याउनु हुँदैन भनेर भन्नुहुन्छ। यदि तैँले कानुन तोडिस् भने, तँ आफैले परिणामहरू भोग्नेछस्—परमेश्वरको घरले तेरा लागि जिम्मेवारी लिनेछ भन्ने अपेक्षा नगर्, किनभने यो व्यक्तिगत व्यवहार हो र यसले तँलाई व्यक्तिका रूपमा मात्रै प्रतिनिधित्व गर्छ; परमेश्वरको घरले तँलाई कहिल्यै कुनै गैरकानुनी काम गर्न निर्देशन दिएको छैन। तैँले जुनसुकै देशमा मामलाहरू सम्हालिरहेको भए पनि, परमेश्वरको घरले तँलाई कानुन जाँच गर्न र वकिलसँग परामर्श लिन लगाउँछ। वकिलले जे उचित छ भनेर भन्छ, तैँले त्यही गर्नुपर्छ। यदि वकिलले तँलाई निश्चित तरिकाले व्यवहार गर्न सल्लाह दिएन, र तैँले अन्धाधुन्ध काम गरिस्, कामकुरा बिगारिस्, र कानुन तोडिस् भने, तैँले आफै परिणामहरू भोग्नेछस्—परमेश्वरको घरमा समस्या ल्याउने काम नगर्। वकिलले सुझाएको तौरतरिका सबैभन्दा राम्रो विकल्प नभए पनि, तैँले वकिलको सल्लाह मान्नैपर्छ। यदि यो कानुनी हो र यसले परमेश्वरको घरलाई ठूलो हानि गर्दैन भने, यो गर्दा हुन्छ। परमेश्वरको घरले मानिसहरूलाई सधैँ वकिलको परामर्श लिन र कानुन अनुसार मामलाहरू सम्हाल्न भनेको छ। तर, कतिपय मानिसहरू सोच्छन्, “परमेश्वरको घर संसारको होइन, त्यसकारण हामीले संसारका प्रचलनहरू पछ्याउनु हुँदैन! कानुनले सत्यतालाई प्रतिनिधित्व गर्दैन—परमेश्वर मात्रै सत्यता हुनुहुन्छ, र परमेश्वर सर्वोच्च हुनुहुन्छ। हामी सत्यता र परमेश्वरमा मात्रै समर्पित हुन्छौँ!” यो अभिव्यक्ति सही भए पनि, तँ यही संसारमा जिइरहेको छस् र तैँले धेरै वटा वास्तविक समस्याहरूसँग जुध्नुपर्छ। त्यसकारण, तैँले कानुन उल्लङ्घन गर्न मिल्दैन, न त सत्यता सिद्धान्तहरू नै उल्लङ्घन गर्न मिल्छ। परमेश्वरको सर्वोच्चताले परमेश्वरको पहिचान र हैसियतलाई जनाउँछ; यसको कारणले तैँले समाजमा गैरकानुनी क्रियाकलापहरूमा संलग्न हुन वा निरङ्कुश व्यवहार गर्न, जे मन लाग्यो त्यही गर्न, र जताततै समस्या निम्त्याउन पाउँछस् भन्ने हुँदैन। परमेश्वरले कसैलाई कुनै पनि काम गर्दा कानुन तोड्न कहिल्यै प्रोत्साहित गर्नुभएको वा माग गर्नुभएको छैन, बरु तँलाई कानुन र सामाजिक नियमहरू पालना गर्नू, यदि तैँले कानुन तोडिस् र तँलाई दण्डित गरियो भने, तैँले दण्ड स्वीकार गर्नैपर्छ, र तैँले झमेला गर्नु वा समस्या निम्त्याउनु हुँदैन भनेर भन्नुहुन्छ। यदि तैँले सधैँ समस्या निम्त्याइरहेको हुन्छस्, र तैँले परमेश्वरमा विश्वास गर्ने हुनाले, परमेश्वरले तँलाई साथ दिइरहनुभएको छ भनेर सधैँ सोचिरहेको हुन्छस्, त्यसकारण तैँले केही कुराको डर मान्दैनस् भने, म तँलाई भन्दैछु, तँ गलत छस्! सबै कुराको सामना गर्दा तैँले देखाउने निर्भयतालाई परमेश्वरले समर्थन गर्नुहुन्न, र परमेश्वरको घरले तेरो बदमासको जस्तो तर्कको मूल्य तिर्नेछैन। परमेश्वरको घरमा धेरै मानिसहरू भएकाले र यसको ठूलो प्रभाव भएकाले, तैँले जे मन लाग्यो त्यही गर्न सक्छस् भन्ने कहिल्यै नसोच्। यदि तैँले यसरी सोच्छस् भने, तँ गलत छस्। यो शैतानको तर्क हो। परमेश्वरको घरले कहिल्यै यस्तो कुरा भनेको छैन, न त परमेश्वरले नै भन्नुभएको छ। परमेश्वरको घरले कसैलाई पनि यसरी व्यवहार गर्न प्रोत्साहित गर्दैन। परमेश्वरको घरमा धेरै मानिसहरू छन् भन्ने कुरा साँचो हो, तर मानिसहरूको सङ्ख्या—चाहे धेरै होस् वा थोरै—त्यो कसैलाई साथ दिन, कसैलाई प्रोत्साहित गर्न, वा कसैलाई समस्याबाट जोगाउन र कुराहरू सहज बनाउनका लागि होइन। परमेश्वरले मानिसहरूलाई तिनीहरूले उहाँलाई र उहाँको इच्छा पछ्याउन सकून्, तिनीहरू सृजित प्राणीका रूपमा मानकअनुरूप हुन सकून् र तिनीहरूले सृजित प्राणीको कर्तव्य पूरा गर्न सकून् भनेर चयन गर्नुहुन्छ। यो तँ संसारको विरुद्धमा जान सकेस्, तैँले संसारमा भव्य सुनिने विचारहरू बोल् भन्नका लागि होइन, र यो निश्चय नै तैँले संसारलाई पाठ सिकाएस् भन्नका लागि होइन। परमेश्वरमा विश्वास गर्नु भनेको प्रवाहको विरुद्धमा जानु होइन; प्रवाहको विरुद्धमा जानु वा संसारलाई तिरस्कार गर्नुसँग यसको कुनै सम्बन्ध छैन। त्यसकारण, मानिसहरूप्रति परमेश्वरका अभिप्रायहरूलाई गलत रूपमा नबुझ्, र परमेश्वरमा विश्वास गर्नुको महत्त्वलाई गलत अर्थ लगाउने वा गलत रूपमा बुझ्ने काम नगर्। परमेश्वरले मानिसहरूलाई चयन गर्नुको उद्देश्य के हो? (मानिसहरूले परमेश्वरलाई पछ्याऊन्, परमेश्वरको इच्छालाई पछ्याऊन्, र सृजित प्राणीहरूको कर्तव्य पूरा गरून् भन्ने हो।) परमेश्वरले मानिसहरू प्राप्त गर्न, साँचो सृजित प्राणीहरू प्राप्त गर्न, परमेश्वरलाई साँचो रूपमा आराधना गर्ने मानिसहरू प्राप्त गर्न तिनीहरूलाई चुन्नुहुन्छ; परमेश्वरको आराधना गर्न सक्ने नयाँ मानवजाति देखा परोस् भनेर उहाँले यस्तो गर्नुहुन्छ। परमेश्वरले मानिसहरूलाई चयन गर्नुको उद्देश्य तिनीहरू यो संसार वा मानवजातिका विरुद्धमा जाऊन् भन्ने होइन। त्यसकारण, जो समस्या निम्त्याउन प्रवृत्त छन् तिनीहरूलाई अरूको कर्तव्य निर्वाहमा असर गर्न नदिनका लागि मण्डलीबाट र मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्ने ठाउँहरूबाट जति सक्दो टाढा राख्नुपर्छ।
जहाँसम्म समस्या निम्त्याउन प्रवृत्त मानिसहरूको कुरा छ, तिनीहरूले जस्तो किसिमको समस्या निम्त्याए पनि, यदि यसले मण्डलीमा समस्या ल्याउँछ र दाजुभाइ-दिदीबहिनीहरूको कर्तव्य निर्वाहमा असर गर्छ भने, अगुवा र कामदारहरूले अघि सरेर उक्त मामला समाधान गर्नुपर्छ। यो कुरालाई जाँच नगरी त्यत्तिकै छोड्नु हुँदै हुँदैन। तिनीहरूले तुरुन्तै परिस्थिति बुझ्नुपर्छ र बोध गर्नुपर्छ, समस्याको जडलाई प्रस्ट पार्नुपर्छ, त्यसपछि उचित समाधान खोजेर यसलाई सम्हाल्नुपर्छ। यसलाई किन सम्हाल्नुपर्छ? एकातर्फ, यी समस्याहरूले मण्डलीको काम, मण्डली जीवन, वा दाजुभाइ-दिदीबहिनीहरूले कर्तव्य निर्वाहमा असर गर्न सक्छन्। अर्कोतर्फ, समस्या निम्त्याउन प्रवृत्त यी व्यक्तिहरूलाई अरूले प्रतिभाशाली ठाने पनि वा आवारा र बदमास ठाने पनि, तिनीहरूले समस्या ल्याउँछन् भने, तिनीहरूलाई समयमा नै सम्हाल्नुपर्छ। त्यसोभए तिनीहरूलाई कसरी सम्हाल्नुपर्छ? यो समस्यालाई सम्हाल्ने कुरा नभई समस्या ल्याउन जिम्मेवार मानिसहरूलाई सम्हाल्नु हो। तिनीहरूलाई मण्डलीबाट पखालेपछि, समस्याको जड समाधान हुन्छ, र यसरी मामिला सम्हालिन्छ। समस्या निम्त्याउन प्रवृत्त कतिपय मानिसहरू तेरो नजरमा सक्षम वा वरदानप्राप्त देखिएकै भरमा तँ कहिल्यै उदार हुनु हुँदैन। यदि तँ तिनीहरूप्रति उदार हुन सक्छस् भने, तँ साँच्चै नै अत्यन्तै अन्योलमा परेको व्यक्ति होस् र तँ मण्डली अगुवा बन्न लायक छैनस्, र दाजुभाइ-दिदीबहिनीहरूले तँलाई तेरो पदबाट हटाउनुपर्छ। यदि तैँले परमेश्वरको घरका हितहरूको रक्षा गर्दैनस् र दाजुभाइ-दिदीबहिनीहरूलाई सुरक्षा दिँदैनस्, बरु दुष्ट मानिसहरू र समस्या पैदा गर्नेहरूलाई सुरक्षा दिन्छस्, तिनीहरूलाई हदभन्दा बढी आदर्श ठान्छस्, तिनीहरूलाई सम्मानित अतिथि र वरदानप्राप्त व्यक्तिका रूपमा व्यवहार गर्छस्, तिनीहरू मण्डलीमा भेट्टाउन गाह्रो हुने प्रतिभाशाली मानिस हुन् भन्ने सोच्छस्, तिनीहरूलाई ठूलाठूला कामहरूमा प्रयोग गर्छस्, र तिनीहरूका समस्याहरूलाई समेत सहज बनाइदिन्छस् भने—तँ मण्डली अगुवाको भूमिकाका लागि पूर्ण रूपमा अयोग्य छस्। तँ अलमल्ल व्यक्ति र झूटो अगुवा होस्, र तँलाई बर्खास्त गरिनुपर्छ र हटाइनुपर्छ। यदि कुनै मण्डली अगुवाले सल्लाह सुन्न मान्दैन र समस्या निम्त्याउन प्रवृत्त भएको कुनै दुष्ट व्यक्तिलाई रक्षा गर्न वा उसलाई महत्त्वपूर्ण कामहरूमा प्रयोग गर्न जिद्दी गर्छ भने, दाजुभाइ-दिदीबहिनीहरूले अगुवालाई हटाउने मात्रै नभई उसलाई समस्या निम्त्याउने यो व्यक्तिसँग एकै ठाउँमा राखेर दुवैलाई हटाउनुपर्छ। के तैँले समस्या निम्त्याउने व्यक्तिलाई आदर्श ठान्दैनस् र? तिनीहरूलाई तैँले पनि सुरक्षा दिएको छस् भन्ने महसुस हुन्छ, र तिमीहरू निकै राम्रो मिल्छौ—त्यसोभए, माफ गर, तर तिमीहरू दुवै जना जानुपर्छ। परमेश्वरको घरलाई तिमीहरूमध्ये कसैको आवश्यकता पर्दैन! यदि कुनै मण्डलीमा समस्या निम्त्याउन प्रवृत्त मानिसहरू छन्, र माथिल्लो तहका अगुवाहरूलाई यसबारे थाहा छैन, जबकि मण्डली अगुवा अन्योलमा परेको छ र उसमा समझशक्तिको कमी छ भने, सत्यता बुझ्ने दाजुभाइ-दिदीबहिनीहरूले समस्या समाधान गर्न अघि सर्नुपर्छ। एकातर्फ, तिनीहरूले यस मामलाबारे माथिल्लो तहका अगुवाहरूलाई तुरुन्तै रिपोर्ट गर्नुपर्छ। यसका साथै, तिनीहरू सङ्गति गर्न र झूटा अगुवालाई खुट्ट्याउनका लागि अरू दाजुभाइ-दिदीबहिनीहरूसँग एकजुट हुनुपर्छ। ऊ झूटो अगुवा हो भन्ने कुरा पुष्टि भएपछि, उसलाई बर्खास्त गर्नुपर्छ वा हटाउनुपर्छ, र नयाँ अगुवा निर्वाचित गर्नुपर्छ—जसले परमेश्वरको घर, मण्डलीको काम, र मण्डली जीवनका हितहरूको रक्षा गर्न सकोस्। के यो तरिकाले अभ्यास गर्नु उचित हुन्छ? (हुन्छ।) यो मण्डली अगुवा र समस्या निम्त्याउन प्रवृत्त व्यक्तिलाई सँगै पखाल। के तिनीहरू साझा दुष्ट गुण भएका कारण एक-अर्कालाई डाहा र प्रशंसा गर्दै एक-अर्कासँग साह्रै मिल्ने दुई जना मानिस होइनन् र? त्यसोभए तिनीहरूको इच्छा पूरा गरिदेओ अनि तिनीहरूलाई सँगै संसारमा फर्केर जान देओ—परमेश्वरको घरलाई तिनीहरू जस्ता मानिस चाहिँदैन। यदि तिनीहरू मण्डलीमै रहे भने, तिनीहरूले समस्या निम्त्याउने र सिर्जना गर्ने काम मात्रै गर्छन्, जसले गर्दा मण्डलीको काममा ठूलो हानि हुनेछ। तिनीहरूलाई पखालेर फाल्नुपर्छ। तिनीहरू जहाँ जान चाहन्छन् र तिनीहरूले जति नै ठूलो समस्या निम्त्याउन चाहन्छन्, त्यो तिनीहरूको आफ्नै मामला हो। जे भए पनि, मण्डलीसँग यसको कुनै सम्बन्ध हुँदैन र यसमा मण्डली फस्नेछैन। के त्यसले समस्या समाधान गर्नेछैन र? (गर्नेछ।) यो समाधान निकै राम्रो छ। समस्या निम्त्याउन प्रवृत्त मानिसहरूका सम्बन्धमा बाह्रौँ प्रकटीकरणबारे हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ।
ड. जटिल पृष्ठभूमि हुनु
हामी अर्को प्रकटीकरणलाई हेरौँ: जटिल पृष्ठभूमि हुनु। तिमीहरूलाई कस्तो प्रकारका मानिसहरूको जटिल पृष्ठभूमि हुन्छ जस्तो लाग्छ? (कतिपय मानिसहरू आपराधिक भूमिगत संसार र वैधानिक वृत्त दुवैमा संलग्न हुन्छन्, र तिनीहरूको सामाजिक पृष्ठभूमि तुलनात्मक रूपमा जटिल हुन्छ—के तिनीहरू यो वर्गमा पर्छन्?) जब हामी जटिल पृष्ठभूमिहरूका बारेमा कुरा गर्छौँ, तब हामीले अवश्य नै संसार बुझेका मानिसहरूलाई जनाइरहेका हुन्छौँ। संसार बुझेका मानिसहरूको सामान्य तौरतरिका कस्तो हुन्छ? तिनीहरू बस्छन्, उपरखुट्टी लगाउँछन्, र अविराम कुरा गर्न थाल्छन्; तिनीहरूले संसारको हरेक कुराबारे बकबक गरिरहन्छन्, र आन्तरिक र अन्तर्राष्ट्रिय मामलाहरू दुवैका बारेमा केही समयसम्म मनपरी बोल्न सक्छन्, तर तिनीहरूले भन्ने एउटा पनि शब्द साँचो हुँदैन—ती सबै ठूला कुरा मात्र हुन्छन्, जुन कि त बनावटी हुन्छन् कि त काल्पनिक मात्रै। सेखी मानिसहरू जटिल सामाजिक पृष्ठभूमि भएका नै हुन्छन् भन्ने हुँदैन। सेखी मानिसहरू त आवारा, र साधारण मानिस मात्रै हुन सक्छन्—तिनीहरू जहाँ गए पनि, तिनीहरूले ठूला कुरा गर्छन्, मानिसहरूलाई बहकाउन र अरूलाई तिनीहरूका बारेमा उच्च सोच राख्न लगाउनका लागि उच्च र अवास्तविक कुराहरूका बारेमाबोल्छन्, र तिनीहरूको प्रतिष्ठा बरबाद हुन त्यति धेरै समय लाग्दैन। कस्तो प्रकारका मानिसहरूको पृष्ठभूमि जटिल हुन्छ? उदाहरणका लागि, कतिपय मानिसहरू समाजका राजनीतिक पार्टीमा आबद्ध हुन्छन्, तर धेरै वर्ष प्रयास गरेपछि पनि, तिनीहरूले कुनै हैसियत प्राप्त गर्दैनन्। त्यसपछि, तिनीहरू अर्को पार्टीमा आबद्ध हुन्छन्, र तिनीहरू बल्ल सानोतिनो नेता वा सानोतिनो अधिकारीको पद प्राप्त गर्न सफल हुन्छन्। तिनीहरूका सामाजिक सम्बन्धहरू निकै जटिल हुन्छन्। तिनीहरूले सङ्गत गर्ने मानिसहरू तिनीहरूका मित्र हुन् कि शत्रु हुन् भनेर कसैले पनि निश्चित रूपमा भन्न सक्दैन—तिनीहरूको आफ्नै परिवारलाई समेत थाहा हुँदैन, तिनीहरू आफैलाई मात्रै थाहा हुन्छ। के त्यस्ता मानिसहरूको पृष्ठभूमि जटिल हुँदैन र? (हुन्छ।) यी मानिसहरूको पृष्ठभूमि राजनीतिक रूपमा जटिल हुन्छ। तिनीहरूले आज एउटा पार्टीलाई समर्थन गर्छन्, भोलि अर्कोलाई समर्थन गर्छन्; आज तिनीहरूले निर्वाचनमा एउटा व्यक्तिलाई समर्थन गर्छन्, र भोलि अरू कसैलाई समर्थन गर्छन्। छोटकरीमा भन्दा, तिनीहरूले साँच्चिकै के सोच्छन् भन्ने कुरा कसैलाई थाहा हुँदैन। तिनीहरूले कसलाई समर्थन गर्छन्, वा तिनीहरूको राजनीतिक अडान वा राजनीतिक उद्देश्यहरू ठ्याक्कै के-के हुन् भनेर तिनीहरूले साधारण मानिसहरूलाई बताउँदैनन्; तिनीहरूले यी कुराहरू अत्यन्तै गोप्य राख्छन्, र साधारण मानिसहरूलाई—तिनीहरूको आफ्नै परिवारलाई समेत—तिनीहरूबारे यी कुराहरू थाहा हुँदैन। तर, तिनीहरू राजनीतिबारे अत्यन्तै उत्साही हुन्छन्, र राजनीतिक मञ्चमा तिनीहरूका केही चिनजान हुन्छ र तिनीहरूले केही मानिसहरू चिनेका हुन्छन्; यति मात्र हो कि अहिलेका लागि, तिनीहरूले आफ्ना महत्त्वाकाङ्क्षाहरू हासिल गरेका हुँदैनन्। यस्तो व्यक्ति मण्डलीमा प्रवेश गरेपछि, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू राजनीति नबुझ्ने वा त्यसमा संलग्न नहुने साधारण मानिस मात्रै हुन् भन्ने देख्छन्, र हृदयमा, तिनीहरूले परमेश्वरमा साँचो रूपमा विश्वास गर्नेहरूलाई तिरस्कार गर्छन्। तैपनि, तिनीहरूले सधैँ धार्मिक संसार र समाजमा रहेको मण्डलीको ख्यातिलाई दुरुपयोग गर्न वा मण्डलीको प्रभावको फाइदा उठाएर आफूले चाहेको कुरा गर्न, आफ्ना बढ्ता चाहनाहरू पूरा गर्न वा आफ्ना राजनीतिक महत्त्वाकाङ्क्षाहरू पूर्ण रूपमा अभिव्यक्त गर्न चाहन्छन्—अर्थात्, तिनीहरू मण्डलीभित्रै लुक्न, र सही अवसरको प्रतीक्षा गर्न चाहन्छन्, ताकि तिनीहरूले आफ्ना राजनीतिक उद्देश्यहरू पूरा गर्नका लागि मण्डली समुदाय वा मण्डलीभित्रका निश्चित मानिस, घटना, र कामकुराहरूलाई प्रयोग गर्न सकून्। के यस्तो व्यक्तिको पृष्ठभूमि जटिल हुन्छ भनेर मान्न सकिन्छ? (सकिन्छ।) राजनीतिमा संलग्न हुनेहरूले प्रयोग गर्ने विचार, मामलाहरू सम्हाल्ने सिद्धान्तहरू, विभिन्न कार्यनीतिहरू, र बोल्ने रणनीति र विधिहरू साधारण मानिसहरूले छर्लङ्ग देख्न नसक्ने कुरा हुन्। विशेष गरी, जवान मानिसहरू वा सामाजिक अनुभव नभएका मानिसहरूले तिनीहरूलाई छर्लङ्ग देख्नै सक्दैनन्। राजनीतिक रूपमा जटिल पृष्ठभूमि भएका यी मानिसहरूका लागि राजनीतिक चेत नभएका मानिसहरू तिनीहरूका हातका खेलौना हुन्, र तिनीहरूले त्यस्ता मानिसहरूलाई पूर्णतः हेयको दृष्टिले हेर्छन्। एउटा अस्पष्ट उदाहरणका दिनुपर्दा, पशु जगतमा, सबैभन्दा धूर्त प्राणीहरू सर्प, स्याल, र बाघ हुन्। तिनीहरूको दृष्टिकोणमा, भेडा, खरायो, मृग, र कुकुर जस्ता जनावरहरू मूर्ख हुन्। राजनीतिक पृष्ठभूमि भएका मानिसहरूले धेरैजसो दाजुभाइ-दिदीबहिनीहरूलाई त्यसरी नै हेर्छन्, जसरी स्याल र सर्प जस्ता धूर्त पशुहरूले भेडा, मृग, र कुकुर जस्ता निश्छल पशुहरूलाई हेर्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई स्पष्ट रूपमा देख्न सक्छन्, तर दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई छर्लङ्ग देख्न सक्दैनन्। त्यसोभए हामीले राजनीतिक रूपमा जटिल पृष्ठभूमि भएका मानिसहरूलाई कसरी खुट्ट्याउन सक्छौँ? राजनीतिमा संलग्न मानिसहरूको हृदय राजनीति र शक्तिमा केन्द्रित हुन्छ। तिनीहरूलाई शक्ति र राजनीतिमा संलग्न हुन मनपर्छ भने, ढिलो-चाँडो तिनीहरू राजनीतिमा सहभागी हुनेछन्; तिनीहरू सधैँभरि मण्डलीमा लुकेर बस्न सक्दैनन्। जब तिनीहरूले आफ्नै खुलासा गर्छन्, तब तैँले यो कुरा बुझ्नेछस्: “त्यसोभए, तिनीहरूले त राजनीतिक उद्देश्यका लागि पो परमेश्वरमा विश्वास गर्दा रहेछन्! तिनीहरूको राजनीतिक पृष्ठभूमि छ र तिनीहरूले परमेश्वरमा इमानदारीका साथ विश्वास गर्दैनन्। परमेश्वरमा विश्वास गर्नुमा तिनीहरूको अर्कै एजेन्डा छ!” ती मानिसहरू पहिलो पटक मण्डलीमा प्रवेश गर्दा, तिनीहरूले आफूलाई अत्यन्तै राम्रोसँग लुकाउँछन्, तिनीहरू भेलाहरूमा सहभागी हुन्छन् र सामान्य तरिकाले आफ्नो कर्तव्य पूरा गर्छन्। तर अनुकूल समय आएपछि, तिनीहरूले आफूले चाहेको कुरा गर्न मण्डलीलाई प्रयोग गर्ने प्रयास गर्नेछन्, र तिनीहरूका बढ्ता चाहनाहरू र साँचो मुहार स्वाभाविक रूपमै खुलासा हुनेछन्। त्यसपछि मात्रै दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरू अविश्वासी हुन् भन्ने कुरा देख्न सक्नेछन्। जब तिनीहरूको खुलासा हुन्छ, तब तिनीहरूलाई खुट्ट्याउन निकै सजिलो हुन्छ। उदाहरणका लागि, जब एउटा ब्वाँसो भेडाको भेष धारण गरेर बगालमा मिसिन्छ, तब तैँले त्यो ब्वाँसो हो कि भेडा हो भनेर खुट्ट्याउन नसक्लास्, तर जब त्यसले भेडा खान थाल्छ, तब तैँले त्यसलाई ब्वाँसोका रूपमा खुट्ट्याउनेछस्। जो राजनीतिमा संलग्न छन् तिनीहरू सबै मण्डलीमा घुसपैठ गरेका अविश्वासी हुन्। जब यी मानिसहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाएर कुनै राजनीतिक पार्टीमा आबद्ध हुन र तिनीहरूसँग राजनीतिमा सहभागी हुन आकर्षित गराउने प्रयास गर्छन्, तब तैँले परमेश्वरमाथिको तिनीहरूको विश्वास झूटो हो, र तिनीहरूको साँचो उद्देश्य भनेको राजनीतिमा संलग्न हुनु हो भन्ने देख्नेछस्—तिनीहरूको पृष्ठभूमि जति नै जटिल भए पनि, त्यो सतहमा आएको र खुलासा भएको हुनेछ। यस विन्दुमा, मानिसहरूले तिनीहरूलाई खुट्ट्याउन सक्नेछन्। यो जटिल पृष्ठभूमि भएको एक प्रकारको व्यक्ति हो—जसको राजनीतिक पृष्ठभूमि जटिल हुन्छ।
जटिल पृष्ठभूमि भएका मानिसहरूको वर्गमा पर्ने अर्को प्रकारको व्यक्ति पनि छ। समाजका कतिपय मानिसहरू आफ्नो उचित स्थानमा बस्दैनन् र तिनीहरूले भद्र जीवन जिउँदैनन्, बरु तिनीहरू शङ्कास्पद व्यक्तिहरूको सङ्गत गर्न मन पराउँछन्। उदाहरणका लागि, यी व्यक्तिहरूमा जालसाजी र ठगी गर्ने वा आपराधिक भूमिगत संसारका सदस्यहरू; समाजमा हैसियत, ख्याति, र प्रतिष्ठा भएका, बाहिरी रूपमा सरकारी अधिकारी वा व्यापारी हुने, तर पर्दा पछाडि सधैँ गैरकानुनी र आपराधिक क्रियाकलापहरूमा संलग्न हुने, राज्यले निषेध गरेको बन्दुक, लागूऔषध, वा अन्य निषेधित वस्तु तस्करी गर्न निश्चित अधिकारी वा आपराधिक भूमिगत संसारका सदस्यहरूसँग मिलेमतो गर्ने मानिसहरू; साथै धेरै पटक दोषी ठहरिएका र जेल परेका र चिहान लुट, बलात्कार, यौन शोषण जस्ता केही दुष्ट कार्यहरू गरेका, वा मानव बेचबिखन वा मानव तस्करी समेत गर्ने मानिसहरू पर्छन्। जटिल पृष्ठभूमि भएका यस किसिमका मानिसहरूले यस्ता व्यक्तिहरूको सङ्गत गर्छन्, र यसका साथै तिनीहरूसँग विशेष रूपमा घनिष्ठ सम्बन्ध राख्छन्—तिनीहरूले एक-अर्कालाई “दाजुभाइ” भनेर बोलाउँछन्, साथै तिनीहरूले एक-अर्कालाई प्रयोग गर्छन् र एक-अर्काका लागि कामकुरा गर्छन्। झट्ट हेर्दा, यी मानिसहरूले प्रस्ट रूपमा दुष्ट देखिने कुनै कार्य गर्दैनन्, र तिनीहरूले चोरी, लुटपाट, हत्या, वा आगजनी गर्दैनन्, तर तिनीहरूले सङ्गत गर्ने समूह र तिनीहरू घुलमिल हुने वृत्तहरू सबै यी अभद्र व्यक्तिहरूद्वारा बनेका हुन्छन्। के यस्तो व्यक्ति पनि निकै डरलाग्दो हुँदैन र? (हुन्छ।) तिनीहरूले व्यापारमा लगानी गर्न यी व्यक्तिहरूसँग साझेदारी गर्छन्, र जब तिनीहरूको साझेदारले कुनै गैरकानुनी काम गर्छ र उसलाई तिनीहरूको सहयोगको खाँचो पर्छ, तब तिनीहरूले सहायता प्रदान गर्छन्। तिनीहरू मुख्य दोषी नहुने भए पनि, तिनीहरू मतियार हुन्छन्। यस्तो व्यक्तिले बारम्बार कानुनको सीमा मिच्छ भनेर भन्न सकिन्छ। “कानुनको सीमा मिच्नु” भन्नुको अर्थ के हो? (यसको अर्थ तिनीहरू प्रायजसो कानुन तोड्ने सम्भावना भएका क्रियाकलापहरूमा संलग्न हुन्छन् भन्ने हुन्छ।) त्यो एउटा पक्ष हो। यसका साथै, तिनीहरूले प्रायजसो कानुनी कमजोरीहरूको फाइदा उठाउँछन्, र तिनीहरू संलग्न हुने कुराहरू सबै ठूलै मामिला हुन्छन्। यदि तिनीहरू कुनै बेला पक्राउ परे भने, तिनीहरूले मतियारका रूपमा समेत १०-२० वर्षको जेल सजाय पाउन सक्छन्, वा तिनीहरूलाई ठूलो जरिवाना लाग्न सक्छ। के तँ यस्तो व्यक्ति कष्टदायी हुन्छ भनेर भन्दैनस् र? (भन्छु।) तैँले तिनीहरूलाई कहिल्यै स्पष्ट रूपमा दुष्ट कार्य गरेको देखेको छैनस्, र तिनीहरूले मानिसहरूलाई मार्ने, आगो लगाउने, वा कसैलाई ठग्ने वा फसाउने गरेको देखेको छैनस्, तर जब गैरकानुनी रूपमा आफ्नो गोजी भर्ने र आपराधिक भूमिगत संसार र वैध वृत्त दुवैमा कानुन तोड्ने मानिसहरू ठूलो नाफा कमाउनका लागि गैरकानुनी क्रियाकलापहरूमा संलग्न हुन्छन्, तब यस्तो व्यक्तिले पनि लूटको एक हिस्सा लिन्छ र नाफाको भाग पाउँछ। के तिमीहरूलाई यस्तो व्यक्ति जटिल पृष्ठभूमि भएको व्यक्तिमा पर्छ भन्ने लाग्छ? (लाग्छ।) के त्यस्ता मानिसहरू परमेश्वरको घरमा रहनु राम्रो कुरा हो? (होइन।) तिनीहरू आपराधिक भूमिगत संसार र वैध वृत्तहरू दुवैको सङ्गत गर्छन्, र त्यति मात्र होइन, तिनीहरू गैरकानुनी क्रियाकलापहरूमा पनि संलग्न हुन्छन्—यो एक जटिल पृष्ठभूमि हो। यदि तिनीहरूले केही सरकारी अधिकारीहरूको सङ्गत गर्छन्, र तिनीहरूले सामान्य तरिकाले तिनीहरूसँग सङ्गत र अन्तरक्रिया गर्छन् भने, त्यो स्वीकार्य हुन्छ। तर, यदि तिनीहरूले सङ्गत गर्ने मानिसहरू विभिन्न गैरकानुनी र आपराधिक क्रियाकलापहरूमा संलग्न नकारात्मक पात्रहरू हुन् भने, त्यो अत्यन्तै कष्टदायी कुरा हो, र ढिलो-चाँडो, केही नराम्रो हुनेछ। यस्तो व्यक्तिले ती मानिसहरूसँग सङ्गत गर्न मन पराउँछ; उसले तिनीहरूको बुई समेत चढ्छ, पैसा कमाउन, धनी हुन, र राम्रो जीवन जिउनका लागि तिनीहरूको प्रभावमा भर पर्छ। त्यसोभए के उसलाई असल व्यक्ति मान्न सकिन्छ? (सकिँदैन।) मानिसहरूले प्रायजसो यसो भन्ने गर्छन्, “चोर चोरसँग, साधु साधुसँग”—तिनीहरूले आपराधिक भूमिगत संसारका र वैध वृत्तका सदस्यहरू दुवैसँग सङ्गत गर्न सक्छन्, के तँलाई तिनीहरू आफ्नो उचित स्थानमा बस्ने सभ्य व्यक्ति हुन् भन्ने लाग्छ? (लाग्दैन।) अवश्य नै लाग्दैन। एक हिसाबमा, तिनीहरू सायद ती मानिसहरूका लागि उपयोगी हुने भएकाले ती व्यक्तिहरूको सङ्गत गर्छन्—तिनीहरूले आफूले सङ्गत गर्नेहरूका लागि निश्चित कामहरू सम्हाल्न सक्छन्। अर्को हिसाबमा, तिनीहरूलाई आफूले सङ्गत गरेका आपराधिक भूमिगत संसार र वैध वृत्त दुवैका मानिसहरू मन पर्ने हुनाले तिनीहरू त्यसो गर्छन्—ती मानिसहरूको सीप, क्षमता, र प्रभाव, र तिनीहरूलाई उनीहरूबाट मिल्ने फाइदाहरू, सबै तिनीहरूलाई चाहिने र तिनीहरूले आनन्द लिने कुराहरू हुन्। त्यसोभए, तिनीहरू ठ्याक्कै कस्ता व्यक्ति हुन्? (तिनी सभ्य व्यक्ति होइनन्।) हामी यसलाई यसरी मात्रै भन्न सक्छौँ। तिनीहरू आफूले सङ्गत गर्ने मानिसहरू जस्तै हुन्छन्—तिनीहरू सबैले एक-अर्कालाई प्रयोग गर्छन्। यस संसारमा, तेरा लागि काम गर्न वा तँमा पूर्ण रूपमा भरोसा गर्न र तेरो साथी हुन सक्ने मानिसहरू धेरै छैनन्, तर तिनीहरू अस्तित्वमा चाहिँ छन्—त्यस्ता मानिसहरूको सङ्गत गर्नु आवश्यक छैन। यस्तो व्यक्तिले तिनीहरूको सङ्गत गर्छ, किनभने एक हिसाबमा तिनीहरूका साझा दुष्ट गुणहरूका कारण तिनीहरू सँगै मिलेर बस्छन् र तिनीहरू एउटै ड्याङका मूला जस्तै हुन्छन्। अर्को हिसाबमा, यसको कारण के हो भने, यो व्यक्ति आफ्नो हितका लागि र अधर्मी संसारमा आफ्नो अस्तित्वका लागि कुनै पनि हदसम्म जान्छ, र मानिसहरूको सङ्गत गर्ने बारेमा तिनीहरूसँग कुनै सिद्धान्त हुँदैन, न त तिनीहरूसँग आफूले गर्ने कुनै पनि कुराका बारेमा नै कुनै सिद्धान्त हुन्छ। गैरविश्वासीहरूले यसो समेत भन्छन्, “भद्र व्यक्तिले सम्पत्तिलाई प्रेम गर्छ तर त्यो सही तरिकाले आर्जन गर्छ”, र तिनीहरूले यसलाई न्यूनतम मानका रूपमा पालना गर्छन्। तिनीहरूले यो न्यूनतम मानक पूरा गर्न सके पनि वा नसके पनि, जे भए पनि, यसलाई मानवजातिका बीचमा अस्तित्वका लागि तुलनात्मक रूपमा आदर्शमय दर्शन मानिन्छ। तर, जटिल पृष्ठभूमि भएका यस्ता मानिसहरू आफ्नै हितहरू र नाफा प्राप्तिका लागि मानिसहरूको सङ्गत गर्ने कुरामा नैतिकहीन र अविवेकी हुन्छन्—यदि तिनीहरूले त्यसबाट फाइदाहरू प्राप्त गर्न सक्छन् भने, तिनीहरूले जोसुकैको सङ्गत गर्नेछन्। यति मात्र होइन, तिनीहरूले ती मानिसहरूको सङ्गत गर्न पाउँदा निकै गर्व गर्छन्, र तिनीहरू आफूले मानिसहरूको सङ्गत गर्नका लागि प्रयोग गर्ने विधिहरू उत्कृष्ट छन् भन्ने सोच्छन्। त्यसोभए, हामीले यस्तो व्यक्तिलाई कसरी हेर्नुपर्छ? तिनीहरू आपराधिक भूमिगत संसार र वैध वृत्तहरू दुवैमा संलग्न हुन्छन्—यो एक जटिल पृष्ठभूमि हो। यस्तो व्यक्ति अत्यन्तै डरलाग्दो हुन्छ! के तिनीहरूले देखाउने अनुहार वास्तविक हुन्छ? अहँ, तिनीहरूले सधैँ मुखौटो लगाइरहेका हुन्छन्। तैँले कहिल्यै तिनीहरूलाई छर्लङ्ग देख्न सक्दैनस् वा तिनीहरूले भित्रभित्रै के सोचिरहेका छन् भन्ने कुरा जान्न सक्दैनस्। तिनीहरूले तेरो सङ्गत गर्दा मुखौटो लगाउँछन्, र तिनीहरू परमेश्वरका विश्वासीहरूका बीचमा समेत लुकेर बस्छन्। यो त ठ्याक्कै मानिसहरूको भीडमा दियाबलस मिसिएको जस्तै हो, वा भेडाको बथानमा स्याल वा ब्वाँसो घुसे जस्तै हो। के त्यसले तँलाई सुरक्षित महसुस गराउँछ? (गराउँदैन।) तँ किन यसो भन्छस्? यो तिनीहरूको धूर्त, क्रूर, र दुष्ट प्रकृतिमा आधारित छ; तिनीहरूले निरन्तर तेरो विरुद्धमा षड्यन्त्र गरिरहेका हुन्छन्—यस्तो लाग्छ कि तेरो पछाडि सधैँ एक जोडी कुटिल र दुष्ट आँखाहरू छन्, र तिनले तेरो हरेक चाललाई नियालिरहेका छन्—अनि तिनीहरूले तँलाई नष्ट गर्ने र निल्ने अवसरको प्रतीक्षा मात्रै गरिरहेका हुन्छन्। के त्यो भयानक कुरा होइन र? (हो।) यस्तो व्यक्तिले तँलाई कहिल्यै सुरक्षाको अनुभूति दिँदैन, किनभने उसको प्रकृति र पृष्ठभूमिले तँलाई सधैँ ऊ तेरा लागि खतरा हो भन्ने महसुस गराउँछ। कस्तो खतरा? यस्तो कि, तिनीहरू नजिक हुँदा, तँलाई तिनीहरूले कुनै पनि बेला र स्थानमा तेरो विरुद्धमा षड्यन्त्र गर्न सक्छन्, तँसित खेलबाड गर्न सक्छन्, र तेरा लागि पासोहरू थाप्न सक्छन् भन्ने अनुभूति हुन्छ, र तँलाई कहिले तिनीहरूले प्रयोग गर्न वा हानि गर्न सक्छन्, र तँ तिनीहरूको हातबाट मर्छस् वा तँ तिनीहरूद्वारा नासिन्छस् भन्ने कुरा तँलाई कहिल्यै थाहा हुँदैन। त्यसकारण त्यस्ता मानिसहरूलाई पटक्कै नजिक राख्नु हुँदैन। ल भन त, के यस्तै हुने होइन र? (हो।) उदाहरणका लागि, एउटा ब्वाँसोलाई भेडाको बथानमा राख्दा त्यसले भेडाको सुरक्षा गर्छ कि नाश गर्छ? (त्यसले भेडाको नाश गर्छ।) ब्वाँसोको प्रकृति अनुसार, यो कहिल्यै भेडाको छेउमा बसेर तिनको सुरक्षा गर्नेछैन, किनभने यसको दिमागमा, भेडा भनेको यसको खाना हो, र जब-जब वा जहाँ-जहाँ यो भोकाउँछ, यसले तिनलाई खान्छ; यसमा भेडाप्रति कुनै दया हुँदैन र यसले तिनलाई बाँकी राख्दैन। ब्वाँसोसँग कुकुरको गुण हुँदैन। यदि कुकुर भेडासँगै हुर्केको छ भने, यसले भेडालाई रक्षा गर्नुपर्ने कुरा मान्छ, र जब ब्वाँसो भेडालाई आक्रमण गर्न वा खान आउँछ, तब कुकुर त्यससँग लड्न अघि सर्छ, भेडाको रक्षा गर्ने जिम्मेवारीलाई आफ्नो परम कर्तव्यका रूपमा लिन्छ—कुकुरहरूमा यो अन्तर्निहित गुण हुन्छै हुन्छ। तर ब्वाँसाहरू फरक हुन्छन्; भेडा खान चाहनु ब्वाँसाहरूको अन्तर्निहित गुण हो। जटिल पृष्ठभूमि भएको यस्तो व्यक्तिले मण्डलीमा घुसपैठ गर्नु भनेको भेडाको बथानमा ब्वाँसोले घुसपैठ गर्नु जस्तै हो—जब ब्वाँसो भोकाएको हुँदैन, तब भेडाका त्यो खतरा नहोला, तर जब यो भोकाउँछ, तब भेडा अवश्यै त्यसको खाना बन्छ, र यो तथ्यलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। यो त्यसको प्रकृतिद्वारा निर्धारित हुन्छ। ब्वाँसोले भेडा खाने समस्यालाई समाधान गर्नका लागि, तँ ब्वाँसोलाई पहिचान गर्नतिर लागिहाल्नुपर्छ। भेडाको भेष धारण गरेको ब्वाँसो को हो भनेर एक पटक पहिचान गरेपछि, तैँले त्यसलाई तुरुन्तै हटाउनैपर्छ—हिचकिचाउनु हुँदैन, र त्यसलाई कुनै कृपा देखाउनु हुँदैन। जटिल पृष्ठभूमि भएका यस्ता मानिसहरूलाई होसियारीका साथ व्यवहार गर्नुपर्छ। यदि तैँले तिनीहरूले दुष्टता गरिरहेका र मण्डलीमा बाधा दिइरहेका छन् भन्ने कुरा पत्ता लगाइस् भने, तैँले तिनीहरूलाई कुनै शिष्टाचार देखाउनै हुँदैन। तैँले तिनीहरूलाई यसो भन्नुपर्छ: “तिमी संसारलाई राम्ररी बुझेको व्यक्ति हौ र तिमीले परमेश्वरमा विश्वास गर्न सुहाउँदैन। तिमीले परमेश्वरको घरमा आएर गलत ठाउँ छनौट रोज्यौ; यो ठाउँ तिम्रो लागि सही छैन। तिमीले समाजमा आफ्नै सम्भाव्यताहरूलाई पछ्याउनुपर्छ। परमेश्वरका विश्वासीहरूले केवल परमेश्वरका वचनहरू पढ्छन्, सत्यतामा सङ्गति गर्छन्, र परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य पूरा गर्छन्; तिनीहरू षड्यन्त्र र युक्तिहरूमा संलग्न हुँदैनन् वा राजनीतिमा सहभागी हुँदैनन्। यहाँ, तिमी पदोन्नति गर्न वा धनी बन्न, वा अरूको भन्दा श्रेष्ठ जीवन जिउन सक्दैनौ। तिमी यहाँ जति लामो समयसम्म अल्झेर बसे पनि, यो समयको बरबादी मात्रै हुनेछ।” यसरी, तिनीहरूले मण्डली छोडेर जान मान्नेछन्, होइन र? (हो।) जटिल सामाजिक सम्बन्ध भएका कतिपय मानिसहरू दुष्ट मानिस नै हुन्छन् भन्ने हुँदैन, न त तिनीहरूले ठूलो दुष्टता नै गरेका हुन्छन्, तर तिनीहरूले सत्यतालाई पटक्कै स्वीकार गर्दैनन् र तिनीहरू साँच्चै नै अविश्वासीहरूको वर्गमा पर्छन्। त्यस्ता मानिसहरूलाई साँचो रूपमा परमेश्वरमा विश्वास गर्न र सत्यता पछ्याउन लगाउने प्रयास गर्नु भनेको ब्वाँसोलाई भेडा बनाउने प्रयास गर्नु जस्तै हो—यो असम्भव कुरा हो। ब्वाँसोले जति समयसम्म भेडाको भेष धारण गरे पनि, त्यो ब्वाँसो नै रहन्छ; त्यो कहिल्यै भेडा बन्नेछैन। कुरा यस्तो हो। त्यसकारण, यस्ता मानिसहरूले परमेश्वरमा विश्वास गर्नु भनेको सरासर मजाक हो; तिनीहरूले परमेश्वरमा विश्वास गरेर गलत कदम चालिरहेका हुन्छन्!
जटिल पृष्ठभूमि भएको अर्को प्रकारको व्यक्ति पनि हुन्छ। तिनीहरूले परमेश्वरमा विश्वास गरे पनि, केही धार्मिक अगुवा, अधिकारीहरू, वा फरक-फरक सम्प्रदायका हैसियत भएका मानिसहरूसँग तिनीहरूको निकट सम्बन्धहरू हुन्छ। तिनीहरू यी मानिसहरूको सङ्गत गर्न मन पराउँछन् र तिनीहरू प्रायजसो विभिन्न सम्प्रदायका धार्मिक क्रियाकलापहरूमा सहभागी हुन्छन्; तिनीहरूले यी मानिसहरूसँग सम्बन्ध र मित्रता गाँस्छन्, साथै तिनीहरूले एक-अर्कालाई प्रयोग गर्छन् र एक-अर्काका लागि कामकुरा गर्छन्। बेला-बेलामा, चाहे जानी-जानी होस् वा अनजानमा होस्, तिनीहरूले यी व्यक्तिहरूलाई मण्डलीका आन्तरिक सामान्य मामलाहरूको काम वा कर्मचारीहरूको कामको समेत खुलासा गर्छन्। यो अत्यन्तै कष्टदायी सवाल हो। यदि तँ धर्मका मानिसहरूसँग अन्तरक्रिया मात्रै गर्छस् वा तँलाई ती धार्मिक स्थलहरूबाट आफूलाई अलग गर्न असम्भव लाग्छ, र तँलाई विभिन्न धार्मिक चाडपर्वका क्रियाकलापहरू र विभिन्न धार्मिक अनुष्ठानहरूमा सहभागी हुन पनि मन पर्छ भने, त्यो स्वीकार्य कुरा हो। तर, तैँले यी परिस्थितिहरूमा मण्डलीको काम वा दाजुभाइ-दिदीबहिनीहरूसम्बन्धी जानकारी खुलासा गर्नु हुँदैन। उदाहरणका लागि, तैँले निश्चित व्यक्तिले “पूर्वीय ज्योति” स्वीकार गरेको, उसले सर्वशक्तिमान् परमेश्वरको मण्डलीमा कस्तो कर्तव्य पूरा गर्छ, ऊ कहाँ बस्छ, र उसले प्रायजसो कसको सङ्गत गर्छ भन्ने जस्ता कुराहरू खुलासा गर्नु हुँदैन—यदि तैँले यी कुराहरू खुलासा गरिस् भने, यसले तँ अत्यन्तै अनैतिक छस् भन्ने देखाउँछ। यदि कसैले सरकारलाई यो जानकारी रिपोर्ट गर्यो भने, परिणामहरू अकल्पनीय हुनेछन्। यदि तँ धर्मका मानिसहरूसँग अत्यन्तै नजिक छस्, वा तेरा केही स्वार्थहरू तिनीहरूसँग जोडिएका छन् वा तैँले तिनीहरूसँग उपकारहरू साटासाट गरेको छस् भने, बढीमा, यसलाई तेरो पृष्ठभूमि जटिल भएको मान्न सकिन्छ। तर, यदि तैँले गोप्य रूपमा अरू केही कुराहरू गर्छस्, जस्तै परमेश्वरको घरका कामका बन्दोबस्तहरू खुलासा गर्छस्, वा परमेश्वरको घरका आन्तरिक मामलाहरू वा दाजुभाइ-दिदीबहिनीहरूको व्यक्तिगत जानकारी खुलासा गर्छस् भने, यसको प्रकृति धोकाको प्रकृति बन्छ, र यसलाई निन्दा गरिन्छ। विशेष गरी, कतिपय दाजुभाइ-दिदीबहिनीहरूले अरूलाई तिनीहरूको अवस्था थाहा होस् वा यो कुरा खुलासा होस् भन्ने चाहँदैनन्, किनभने तिनीहरू पहिले पक्राउ परेका हुन्छन् वा अहिले खोजीको सूचीमा हुन्छन्, तैपनि जटिल पृष्ठभूमि भएको यस्तो व्यक्तिले यो जानकारीलाई निश्चित फाइदाहरूसँग साट्ने कुराका रूपमा लिन्छ वा यसलाई सिधै महत्त्वहीन ठान्छ, र तिनीहरूले यो कुरा खुलासा गर्छन्, जसले गर्दा ती दाजुभाइ-दिदीबहिनीहरू समस्यामा पर्छन्। यदि परमेश्वरको घरले त्यस्ता कुराहरू पत्ता लगायो भने, त्यसले त्यो व्यक्तिलाई हल्का रूपमा त बिलकुलै छोड्नेछैन; त्यस्ता मानिसहरूलाई तुरुन्तै पखालेर फाल्नुपर्छ। परमेश्वरमा विश्वास गरेकोमा मानिसहरूलाई सताइने सामाजिक सन्दर्भमा, विश्वासीहरूलाई कुनै कर्तव्य पूरा गर्ने अवसर प्राप्त गर्न समेत गाह्रो हुन्छ, र हरेक व्यक्तिले यसलाई साँच्चै नै बहुमूल्य ठान्छ। अरूका कारण वा आफ्नै मूर्खताका कारण आफ्नो कर्तव्य निर्वाहमा सम्भावित जोखिम आइपरोस् भन्ने कसैले पनि चाहँदैन। त्यसकारण, यदि कसैले दाजुभाइ-दिदीबहिनीहरूको कर्तव्य निर्वाहमा वा तिनीहरूको व्यक्तिगत सुरक्षामा सम्भावित जोखिमहरू ल्याउँछ, वा यदि कसैले परमेश्वरमा विश्वास गर्ने अरूको मार्गमा तगारो हाल्छ भने, परमेश्वरको घरले उसलाई त्यत्तिकै छोड्नेछैन। परमेश्वरको घरले तिनीहरूलाई पत्ता लगाएपछि, यसले तिनीहरूलाई तुरुन्तै निकाल्नेछ वा निष्कासित गर्नेछ, र यो बिलकुलै पछि हट्नेछैन! यदि तिनीहरूले “मैले ध्यान नदिएकाले क्षणिक रूपमा जिब्रो चिप्लेको मात्र थियो” भनेर स्पष्टीकरण रचेर र बहाना बनाएर आफ्नो प्रतिरक्षा गर्छन् भने, तैँले त्यसलाई पटक्कै विश्वास गर्नु हुँदैन—यस्ता बहानाहरू मान्य हुँदैनन्। तिनीहरूले किन मानिसहरूलाई आफ्नै पारिवारिक मामलाहरूका बारेमा बताएनन् त? बरु तिनीहरूले किन दाजुभाइ-दिदीबहिनीहरूका मामलाहरूका बारेमा कुरा गरे? तिनीहरूले स्पष्ट रूपमा नै खराब अभिप्रायहरू पालेका हुन्छन्। तिनीहरूले मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूसम्बन्धी जानकारी खुलासा गरे; यदि यसले दाजुभाइ-दिदीबहिनीहरूलाई समस्यामा पार्छ भने, तिनीहरूलाई श्राप दिनुपर्छ! के यस्ता मानिसहरूलाई श्राप दिनु पर्दैन र? (पर्छ।) मण्डलीले आफ्नो सुसमाचारको काम फैलाउने क्रममा, यस्ता कतिपय मानिसहरू मण्डलीमा आबद्ध हुनु अवश्यम्भावी नै हुन्छ। मण्डलीलाई धोका दिने, दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिने, र परमेश्वरको घरका हितहरूलाई समेत धोका दिने बारेमा तिनीहरूलाई कुनै हिचकिचाहट हुँदैन। तिनीहरूले गोप्य रूपमा सबै प्रकारका मानिसहरूको सङ्गत गर्छन्, र तिनीहरूसँग सङ्गत गर्नुको तिनीहरूको उद्देश्य शुद्ध हुँदैन। ती मानिसहरूसँग अन्तरक्रिया गर्दा, तिनीहरू मुखमा लगाम नलगाई बोल्ने समेत गर्छन्, आफूले जानेका मण्डलीका सबै आन्तरिक जानकारी उनीहरूलाई बताउँछन्, केही पनि कुरा भन्न बाँकी राख्दैनन्, र यसले अन्ततः दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीलाई समस्यामा पार्छ। यसको दोष मुखमा लगाम नलगाई बोल्ने यी मानिसहरूलाई जान्छ। तिनीहरूमध्ये कतिले तिनीहरूले जानी-जानी यसो गरेका होइनन् भनेर भन्लान्, तर यो जानी-जानी गरिएको नभए पनि, त्यसले यसलाई स्वीकार्य बनाउँदैन। यदि यो जानी-जानी गरिएको थिएन भने, तैँले किन उल्टै आफूलाई नै हानि गरिनस् त? तैँले किन अरूलाई मात्रै हानि गरिस्? तैँले मण्डली र दाजुभाइ-दिदीबहिनीहरूलाई समस्यामा पारेको छस्, यो एक स्थापित तथ्य हो। त्यसकारण, दोष तेरै हुनुपर्छ। यदि तैँले कसैलाई मारिस् र त्यसपछि “मैले जानी-जानी यसो गरेको होइनँ; मैले उसलाई मार्ने अभिप्राय कहिल्यै राखेको थिइनँ—मेरो दिमागमा त्यस्तो सोच छँदै थिएन” भनेर भनिस् भने, के त्यो अभिव्यक्तिका कारण कानुनले तँलाई निर्दोष ठान्नेछ? (ठान्नेछैन।) तैँले सत्य कुरा भनिरहेको भए पनि, त्यो व्यर्थ हुनेछ। तथ्य के हो भने, तैँले कसैलाई मारिस्, र कानुनी रूपमा, यसको निर्विवाद प्रमाण छ, त्यसकारण तँलाई तथ्यहरूका आधारमा दोषी घोषित गरिनुपर्छ। तैँले हत्याको अपराध गरिस्, त्यसकारण तँ हत्यारा होस्, र तैँले आफूलाई सही ठहर्याउने जतिसुकै प्रयास गरे पनि, त्यसले तँलाई सहयोग गर्नेछैन। कतिपय मानिसहरूले आफ्नो व्यवहारमार्फत मण्डलीलाई बारम्बार समस्या पार्छन्, र कहिलेकाहीँ यो समस्या ठूलो हुन्छ, जसले गर्दा दाजुभाइ-दिदीबहिनीहरू गिरफ्तार भएर जेल पर्ने मात्र नभई, यसले मण्डलीको काममा पनि गम्भीर असर पार्छ। परमेश्वरको घरले त्यस्ता मानिसहरूलाई पटक्कै छोड्नेछैन; यसले पक्राउ गरेको हरेकलाई निष्कासित गर्नेछ, र तिनीहरूलाई श्राप दिनेछ—परमेश्वरको घर पटक्कै रोकिनेछैन! यदि व्यवस्थाको युगमा यी कुराहरू भएका भए, दुष्कर्मीहरूलाई घिस्याउँदै बाहिर लगिनेथियो र डण्डीले प्रहार गरेर वा ढुङ्गाले हानेर मारिनेथियो; त्यस्ता मामलाहरूलाई यसरी नै सम्हाल्नुपर्थ्यो। अहिले, यो परमेश्वरको घरका प्रशासनिक आदेशहरूको पाटो नभएको हुनाले, तिनीहरूलाई निष्कासित गरिनेछ, र दाजुभाइ-दिदीबहिनीहरूले सामूहिक रूपमा तिनीहरूलाई श्राप दिनेछन्। तिनीहरूले आशिष् वा मुक्ति प्राप्त गर्ने कुनै सम्भावना हुँदैन—तिनीहरूलाई नरकमा पठाएर दण्ड दिनैपर्छ!
जटिल पृष्ठभूमि भएको अर्को प्रकारको व्यक्ति पनि हुन्छ; तिनीहरू विशेष मिसनहरू पूरा गर्नका लागि मण्डलीमा आउँछन्। यस्ता कतिपय व्यक्तिहरू सरकारद्वारा पठाइएका हुन्छन्, जबकि अरूचाहिँ निश्चित धार्मिक वा सामाजिक समूहहरूद्वारा मिसनहरूमा खटाइएका हुन्छन्। उदाहरणका लागि, यी मिसनहरूमा दाजुभाइ-दिदीबहिनीहरूको निगरानी गर्नु, मण्डलीको निगरानी गर्नु, वा मण्डलीका विभिन्न कामहरू र फरक-फरक अवधिका कामका बन्दोबस्तहरूबारे खोजीनिती गर्नु जस्ता कार्य समावेश हुन सक्छ। तिनीहरूको मिसन जेसुकै भए पनि, हाम्रो दृष्टिकोणबाट हेर्दा यस्तो व्यक्तिको पृष्ठभूमि जटिल हुन्छ। जटिल पृष्ठभूमि भएका यीमध्ये धेरैजसो मानिसहरू अविश्वासी हुन्; तिनीहरू सत्यतालाई पटक्कै स्वीकार नगर्ने मानिस हुन्। तिनीहरू थोरै आस्था, कमजोर क्षमता, वा धेरै धारणाहरू भएका मानिसहरूभन्दा फरक हुन्छन्—ती मानिसहरूले साँचो रूपमा विश्वास गर्छन्, जबकि जटिल पृष्ठभूमि भएका यी मानिसहरूमा गम्भीर समस्या हुन्छ। सुरुमा, विचार गरौँ: त्यस्ता मानिसहरूमा कस्तो प्रकारको मानवता हुन्छ? (तिनीहरूमा खराब मानवता हुन्छ, तिनीहरू दुष्ट हुन्छन्, र तिनीहरू शैतानको गिरोहका सदस्य हुन्।) त्यसोभए, तिनीहरू कस्ता प्रकारका मानिस हुन्? (तिनीहरू दियाबलस हुन्।) ठीक भन्यौ, तिमीहरूले ठ्याक्कै सही कुरा भन्यौ—तिनीहरू मण्डलीमा घुसपैठ गर्ने दियाबलस हुन्। तिनीहरू विभिन्न युक्ति र उद्देश्यहरू बोकेर मण्डलीमा घुसपैठ गर्ने र छायाँमा जिउने मानिस हुन्। त्यस्ता मानिसहरू दियाबलस हुन्। यी मानिसहरू मण्डलीमा प्रवेश गरेदेखि नै तिनीहरूले असल अभिप्रायहरू राखेका हुँदैनन्। तिनीहरूलाई जसले आज्ञा दिए पनि—कतिपयलाई सरकारले वा निश्चित समूहहरूले आज्ञा दिएको हुन सक्छ, जबकि अरूलाई कसैले पनि आज्ञा नदिएको हुन सक्छ र तिनीहरू आफै मण्डलीमा घुसपैठ गर्न चाहेका हुन्छन्—त्यस्ता मानिसहरू विशुद्ध रूपमा संसार बुझेका व्यक्तिहरू हुन्। तिनीहरू अनेक प्रकारका मानिसहरूको सङ्गत गर्छन्, र तिनीहरूका जटिल अन्तरवैयक्तिक सम्बन्ध र सामाजिक सम्पर्कहरू हुन्छन्—तिनीहरूको पृष्ठभूमि जटिल हुन्छ। “जटिल पृष्ठभूमि” भन्नुको मतलब तिनीहरूको सामाजिक सम्पर्क, अन्तरवैयक्तिक सम्बन्ध, र जिउने वातावरण विशेष रूपमा अशुद्ध हुन्छ र यो सरल त हुँदै हुँदैन; तिनीहरू पैसा कमाउने र राम्रो जीवन जिउने प्रयास गरिरहेका साधारण मानिसहरू जस्ता हुँदैनन्। यी मानिसहरूले समाजमा खेल्ने भूमिकाहरू भनेका विभिन्न वृत्त र समूहहरूका प्रतिष्ठित व्यक्तिहरू, अगुवाहरू, वा तुलनात्मक रूपमा असाधारण व्यक्तित्वहरूका हुन्—तिनीहरू त्यस्ता प्रकारका मानिसहरू हुन्, जसलाई गैरविश्वासीहरूले “सक्षम व्यक्तिहरू” वा “गुरूहरू” भन्ने गर्छन्। तिनीहरू जहाँ भए पनि, तिनीहरू आफ्नो उचित स्थानमा बस्ने मानिस होइनन्, र तिनीहरू सभ्य मानिस होइनन्। चाहे तिनीहरूले व्यक्तिगत लाभ सुनिश्चित गर्ने अवसरहरू खोजून्, वा शक्ति, वा विभिन्न समूह र वृत्तभित्रका अरूमाथि नियन्त्रण जमाउन खोजून्, तिनीहरूको उद्देश्य यही हुन्छ, र तिनीहरूको अस्तित्वको लक्ष्य यही हुन्छ। तिनीहरू जुनसुकै मण्डलीमा भए पनि, तिनीहरूको मानसिकता दियाबलसको जस्तै हुन्छ, तिनीहरू सधैँ कुनै कदम चाल्न उत्सुक हुन्छन्, परिस्थितिहरूलाई नियन्त्रण गर्न, मानिसहरूलाई नियन्त्रण गर्न, पैसा नियन्त्रण गर्न, आफ्नो प्रभाव जमाउन, र शक्ति जमाउन चाहन्छन्। यस्ता व्यक्तिका प्रकटीकरणहरू यिनै हुन्। त्यसकारण, त्यस्ता मानिसहरूको कुनै मिसन भए पनि वा नभए पनि, वा तिनीहरूलाई सरकारले वा कुनै सामाजिक समूहले आज्ञा दिए पनि वा नदिए पनि, तिनीहरू मण्डलीमा आएपछि आफ्नो उचित स्थानमा सम्भवतः बस्न सक्दैनन्। तिनीहरूको कुनै मिसन नभए पनि, र मण्डली वा दाजुभाइ-दिदीबहिनीहरू तिनीहरूको शोषणको निसाना नभए पनि, तिनीहरू परमेश्वरमा साँचो रूपमा विश्वास गर्न चाहने मानिस होइनन्, र तिनीहरू अवश्य नै परमेश्वरको अस्तित्वमा विश्वास गर्ने मानिस होइनन्। मण्डलीमा आबद्ध हुनुमा तिनीहरूको उद्देश्य पटक्कै शुद्ध हुँदैन—कम्तीमा पनि, तिनीहरूका लागि एउटा कुरा अत्यन्तै वास्तविक हुन्छ, जुन “मण्डलीको बुई चढ्नु” र आफ्नै एजेण्डाहरू अघि बढाउने अवसर कुर्नु हो। यदि तिनीहरू आफ्ना उद्देश्यहरू हासिल गर्न असफल भए र तिनीहरूका चाहनाहरू धराशायी भए भने, तिनीहरू कुनै पनि बेला मण्डली छोडेर जाने सम्भावना हुन्छ। तिनीहरू सबैभन्दा अनुकूल समयको प्रतीक्षा गरेर अवसरहरू खोज्ने गर्छन्—यदि आफ्ना उद्देश्य, महत्त्वाकाङ्क्षा, वा आकाङ्क्षाहरू साकार पार्नका लागि तिनीहरूले फाइदा उठाउन सक्ने कुनै व्यक्ति वा कुनै उपयुक्त क्षण छ भने, तिनीहरूले त्यो व्यक्ति वा क्षणलाई पटक्कै छोड्नेछैनन्। यदि तिनीहरूले निरन्तर अवसर भेट्टाउन सकेनन् भने, तिनीहरू निरुत्साहित र निराश हुन्छन्, र तिनीहरू मण्डली छोडेर जान चाहन्छन्। त्यसकारण, यस्तो व्यक्ति पनि मण्डलीभित्रको एक प्रकारको खतरनाक व्यक्ति हो, र उसलाई खुट्ट्याउनैपर्छ र टाढा राख्नैपर्छ। अर्को झनै महत्त्वपूर्ण सिद्धान्त के हो भने, यदि तँ कुनै व्यक्तिको पृष्ठभूमि के हो भन्ने कुराबारे अनिश्चित छस्, वा तैँले उसको पृष्ठभूमि अत्यन्तै जटिल छ भन्ने कुरा अलिअलि महसुस गर्छस् भने, अगुवा वा कामदारका रूपमा, तँलाई कम्तीमा पनि यो व्यक्तिलाई महत्त्वपूर्ण पदहरूमा नियुक्त गर्न, वा हैसियत वा शक्ति प्राप्त गर्न दिन, वा मण्डलीभित्र कुनै पनि महत्त्वपूर्ण काम गर्ने अनुमति दिन मिल्दैन भन्ने कुरा थाहा हुनुपर्छ। यदि तैँले उसलाई छर्लङ्ग देख्न सक्दैनस् भने, तैँले उसलाई नियालेर हेर्न सक्छस्, तर तैँले हडबडीमा वा समय अगावै कदम चाल्नु हुँदैन। यदि तैँले उसलाई छर्लङ्ग देख्नुभन्दा पहिले नै उसलाई हैसियत दिइस् वा कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी समेत दिइस् भने, तैँले अत्यन्तै मूर्खता गरिरहेको हुन्छस्! तैँले तिनीहरूलाई जति कम छर्लङ्ग देख्न सक्छस्, त्यति नै कम तिनीहरूलाई महत्त्वपूर्ण काम सुम्पनुपर्छ, तँ त्यति नै बढी सतर्क हुनुपर्छ, र तैँले त्यति नै नजिकबाट तिनीहरूमाथि नजर राख्नुपर्छ र कडाइका साथ निगरानी गर्नुपर्छ। वास्तवमा, चाहे यस्ता मानिसहरूसँग कुनै मिसन होस् वा नहोस्, जटिल पृष्ठभूमि भएका यस्ता मानिसहरू अन्ततः मण्डलीमा लामो समय बस्दैनन्। किनभने, यी अविश्वासीहरू हृदयमा आस्थाका मामलाहरूबाट विकर्षित हुन्छन्। नास्तिकहरू परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने विश्वास गर्दैनन्, र तिनीहरूलाई परमेश्वर, परमेश्वरको काम, वा परमेश्वरले व्यक्त गर्नुहुने सत्यतासँग सम्बन्धित कुनै पनि कुरामा रुचि हुँदैन। तिनीहरू निरन्तर अनुसन्धान गरिरहेका हुन्छन्: “के परमेश्वरमा विश्वास गर्नुमा कुनै फाइदा हुन्छ? के मैले यसबाट धेरै पैसा कमाउन र धनी हुन सक्छु? के मैले संसारमा जस्तै यहाँ पनि मेरा युक्ति र चलाकीहरू प्रयोग गर्न सक्छु?” परमेश्वरको घरले यी कुराहरू प्रवर्धन गर्दैन, बरु सधैँ इमानदार व्यक्ति बन्ने बारेमा कुरा गर्छ, र आफ्नो कर्तव्य पूरा गर्दा झाराटारुवा तरिकाले वा आधा हृदयले काम गर्ने जोकोहीलाई प्रायजसो काटछाँट गरिन्छ भन्ने देख्दा, तिनीहरू विकर्षित हुन्छन्, र तिनीहरू परमेश्वरको घरमा दुःखी र अस्वतन्त्र महसुस गर्छन्, र तिनीहरू सधैँ छोडेर जाने अवसर खोज्न चाहन्छन्। यदि कुनै व्यक्ति साँच्चै नै परमेश्वरको भेडामध्येको एक हो, परमेश्वरले चुन्नुभएका मानिसहरूमध्येको एक हो भने, परमेश्वरमा विश्वास गर्ने क्रममा बारम्बार छलफल गरिएका सत्यताहरू २०-३० वर्षसम्म छलफल गरिए पनि, ऊ ती सुनेर थाक्दैन; उसले ती कुराहरू आफ्नो जीवनभरि सुने पनि उसलाई त्यो अझै ताजा लाग्छ। उसले जति सुन्छ, यी सत्यताहरू उसका लागि त्यति नै स्पष्ट बन्छन्; उसले जति सुन्छ, उसको हृदयले त्यति नै पोषण पाउँछ; उसले जति सुन्छ, उसलाई सत्यताको त्यति नै तृष्णा हुन्छ। उसले हरेक दिन यी वचनहरू सुन्नु पर्यो भने पनि, ऊ सुन्न इच्छुक हुन्छ। विशेष गरी, जब उसले आफ्ना लागि उपयोगी अनुभवात्मक गवाहीहरू सुन्छ, तब उसलाई ठूलो भोजको आनन्द लिएझैँ आनन्दित र सन्तुष्ट महसुस हुन्छ—ऊ एक टुक्रा सुन उठाएको भन्दा बढी खुसी हुन्छ। जहाँसम्म यी अविश्वासीहरू, यी दियाबलसहरू—विशेष गरी जटिल पृष्ठभूमि भएका यी मानिसहरूको कुरा छ—तिनीहरूले सत्यताबारे जति बढी सङ्गति सुन्छन्, तिनीहरूलाई त्यति नै झिजो लाग्छ; तिनीहरूले जति सुन्छन्, तिनीहरूलाई भित्रभित्रै त्यति नै क्रोधित र विकर्षित महसुस हुन्छ। यी वचनहरू सुन्दा, तिनीहरूलाई ती नीरस, फिका, र दिक्कलाग्दो लाग्छ। यदि तैँले तिनीहरूलाई बसेर प्रवचनहरू सुन्न लगाइस् भने, तिनीहरूलाई यातना भोगाइएको जस्तै लाग्छ। तिनीहरू भन्छन्, “तिमीहरू सबै कसरी यी वचनहरू सुन्दा ठूलो भोज खाएको जस्तो गरी यति धेरै रमाउँछौ? ती सुन्दा मलाई किन यति विकर्षित महसुस हुन्छ?” लामो समयसम्म सुनेपछि, तिनीहरू थपक्क बस्न सक्दैनन्। यदि तिनीहरू अगुवा हुन सक्दैनन् भने, तिनीहरू आफ्नो कर्तव्य पूरा गर्न वा कष्ट सहन अनिच्छुक हुन्छन्, र समय बित्दै जाँदा, तिनीहरूलाई यो सबै व्यर्थ लाग्छ; आफ्नो आस्था त्याग्ने विचारहरू देखा पर्न थाल्छन्। अविश्वासीहरू यसरी नै प्रकाश हुन्छन्। जटिल पृष्ठभूमि भएका यी मानिसहरूका हकमा भन्नुपर्दा, यदि तैँले तिनीहरूलाई नियाल्ने क्रममा तिनीहरूको उत्पत्ति शङ्कास्पद छ र तिनीहरूको पृष्ठभूमि जटिल छ भन्ने पत्ता लगाइस् भने, तिनीहरूलाई मण्डली छोडेर जानका लागि मनाउने मौका खोज्नका लागि हरसम्भव उपाय प्रयोग गर्। सत्यतालाई पटक्कै स्वीकार नगर्ने त्यस्ता मानिसहरूका हकमा, केही बुद्धि प्रयोग गर्नु जरुरी हुन्छ। तैँले तिनीहरूलाई यसो भन्न सक्छस्, “तिमी धनी बन्न चाहन्छौ, र पदाधिकारी बन्ने सपना देख्छौ—यदि तिमी जीवनभरि पदाधिकारी बनेनौ भने, तिमीलाई साँच्चै घाटा हुनेछ! तिमी पदाधिकारी बन्नुपर्छ, धनी बन्नुपर्छ, र तिमीले संसारलाई पछ्याउनुपर्छ—मूर्त फाइदाहरू त्यसैमा छन्। तिमीसँग व्यापार गर्ने दिमाग छ र तिमी अधिकारी बन्न योग्य छौ—यदि तिमीले संसारलाई पछ्यायौ भने, तिमी अवश्य नै धनी र पदाधिकारी बन्न सक्छौ।” जब तिनीहरूले यो सुन्छन्, तब तिनीहरूले आत्मीय आत्मा भेट्टाएको छु भन्ने सोच्छन् र भन्छन्: “तपाईँले एकदम सही भन्नुभयो! मलाई परमेश्वरमा विश्वास गर्नुको कुनै अर्थ छैन भन्ने लागिरहन्थ्यो—तपाईँले भन्नुभएको कुराले मेरो लागि ठूलो अर्थ राख्छ। आस्थाले वास्तवमा मनोवैज्ञानिक प्रभाव मात्रै पार्छ; तपाईँसँग आस्था छ कि छैन भन्ने कुराले वास्तवमा फरक पार्दैन। जीवन छोटो छ—केही दशक मात्रै हो जुन आँखा झिमिक्क गर्दा नै बित्छ। परमेश्वरमा विश्वास गर्ने मानिसहरूसँग सधैँ यतैतिर समय बरबाद गरेर मैले केही पाएको छैन, र मलाई सधैँ असन्तुष्ट महसुस हुन्छ। के मैले यसो गरेर आफूलाई नै अन्याय गरिरहेको छैनँ र? वास्तवमा धेरै पैसा कमाउन बाहिर जानु नै महत्त्वपूर्ण कुरा हो!” तिनीहरू तैँले भनेको कुरामा सहमत हुनेछन्। तिनीहरू सहमत भएपछि, सायद एक दिन तिनीहरू आफै खुरुक्क निस्केर जानेछन् किनभने तिनीहरूलाई मण्डलीमा बस्नु व्यर्थ छ भन्ने लाग्छ, र त्यसमाथि, तिनीहरूका लागि केही कुराहरू गलत भइदिन्छन्, वा तिनीहरूले केही असफलता र अड्चनहरू, र केही काटछाँट अनुभव गर्छन्। के त्यो राम्रो होइन र? (हो। यो बुद्धिमानी तौरतरिका हो।) दियाबलसहरूलाई मण्डली छोडेर जान लगाउन सजिलो हुन्छ: तैँले एक पटक तिनीहरूको मानसिकता बुझेपछि, यदि तिनीहरूले कुनै कुरा चाहन्छन् भने, तिनीहरूलाई यो कुरा पछ्याउन प्रोत्सासित गर्। यसरी, तैँले तिनीहरूलाई छोडेर जानका लागि राजी गराउन सक्छस्। परिस्थितिअनुसार काम गरेर तिनीहरूलाई बाहिर जान लगा। यस्तो अविश्वासीलाई यसरी सम्हाल्नुपर्छ।
यदि मण्डलीमा जटिल पृष्ठभूमि भएका त्यस्ता मानिसहरू भेटिए भने, तिनीहरूलाई मण्डली छोडेर जानका लागि मनाउनुपर्छ वा तुरुन्तै निकाल्नुपर्छ; तिनीहरूलाई बस्न आग्रह गर्ने प्रयास नगर्। किन नगर्ने? एकातर्फ, तिनीहरूले मण्डलीमा कुनै राम्रो भूमिका खेल्दैनन्; अर्कोतर्फ, तिनीहरू परमेश्वरले चुन्नुभएका मानिसहरूमा बिलकुलै पर्दैनन्। यसका साथै, तिनीहरू मण्डलीमा नै रहे भने पनि, अन्तमा, तिनीहरूले मुक्ति पाउनका लागि परमेश्वरका वचनहरू, परमेश्वरको काम, वा परमेश्वरको सजाय र न्यायलाई स्वीकार गर्नु अझै पनि असम्भव हुनेछ। यदि तिनीहरू मण्डलीमा नै रहे भने, यसले मण्डलीको काममा हानि गर्नेछ, र तिनीहरूले सानो कदका कतिपय दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउन र प्रभाव पार्न सक्छन्। परमेश्वरको घरका मानिसहरूलाई तिनीहरू अप्रिय लाग्छन्, र बदलामा तिनीहरूले परमेश्वरको घरका दाजुभाइ-दिदीबहिनीहरूलाई पनि समान अप्रियताका साथ हेर्छन्। हृदयमा, तिनीहरूले परमेश्वरको घर, मण्डली, र दाजुभाइ-दिदीबहिनीहरूलाई सधैँ शत्रुताको नजरले हेर्छन्। त्यसकारण ल भन त, यदि मण्डलीमा त्यस्तो शत्रु, त्यस्तो विरोधी छ भने, के तिमीहरूलाई बाधा महसुस हुनेथियो? (हुनेथियो।) त्यसकारण, त्यस्ता मानिसहरूलाई बस्न आग्रह नगर्नु नै उत्तम हुन्छ। तिनीहरू पत्ता लागेपछि, तिनीहरूलाई तुरुन्तै मण्डली छोडेर जानका लागि मनाओ, निकाल, वा निष्कासित गर। सुसमाचार प्रचार गर्ने क्रममा त्यस्ता मानिसहरू भेटिए भने, तिनीहरूलाई कसरी सम्हाल्नुपर्छ? (बस तिनीहरूबाट टाढा बस्ने र तिनीहरूलाई बेवास्ता गर्ने।) तैँले यस्तो व्यक्तिलाई भेट्दा उसलाई सुसमाचार प्रचार गर्नु हुँदैन। तिनीहरू निकै अनर्गल, आधारहीन तरिकाले बोल्छन् र अत्यन्तै बोलक्कड हुन्छन्, तर तिनीहरूसँग वास्तवमा कुनै प्रतिभा हुँदैन। परमेश्वरको घरलाई जटिल पृष्ठभूमि भएका यस्ता मानिसहरू चाहिँदैन; तिनीहरू परमेश्वरले चुन्नुभएका मानिसहरूमा पर्दैनन्। तिनीहरू अहिले विश्वासमा नै आए भने पनि, ढिलो-चाँडो, तिनीहरूलाई निकाल्नुपर्ने नै हुन्छ। त्यसकारण, सुसमाचार प्रचार गर्नेहरूले त्यस्ता मानिसहरूलाई भेट्दा तिनीहरूलाई सिधै त्याग्नुपर्छ। परमेश्वरको घरले त्यस्ता मानिसहरूलाई न त चाहन्छ, न त स्वागत नै गर्छ। जटिल पृष्ठभूमि भएका मानिसहरूलाई सम्हाल्ने तरिका यही हो, र सिद्धान्त यही हो। अवश्य नै, यो समस्यालाई सम्हाल्दा, तिललाई पहाड बनाउनु पर्दैन; तैँले कुनै व्यक्ति जटिल पृष्ठभूमि भएका मानिसहरूको वर्गमा पर्छ कि पर्दैन भन्ने कुरालाई स्पष्ट रूपमा बुझ्नैपर्छ। यदि तिनीहरूका प्रकटीकरणहरू यस्तो व्यक्तिका प्रकटीकरणहरूसँग मिल्छन् भने, तिनीहरूलाई यो समूहको श्रेणीमा नै राख्नुपर्छ। तर, यदि कसैले कहिलेकाहीँ मात्रै घमण्ड गर्छ वा वाहियात कुरा गर्छ र उसको अत्यधिक घमण्डका कारण उसलाई भूलवश जटिल पृष्ठभूमि भएको व्यक्तिका रूपमा हेरिन्छ, तर वास्तवमा, परमेश्वरमाथिको उसको विश्वास साँचो छ र ऊ यो वर्गमा पर्दैन भने, यो अवस्थालाई फरक ढङ्गले सम्बोधन गर्नुपर्छ, ताकि असल व्यक्तिलाई गलत आरोप नलागोस्।
३. आफ्नो कर्तव्य पूरा गर्ने क्रममा व्यक्तिमा हुने मनोवृत्तिका आधारमा
हामीले मानिसहरूको मानवताका आधारमा तिनीहरूलाई खुट्ट्याउने मापदण्डबारे लगभग सङ्गति गरिसकेका छौँ। अर्को मापदण्ड पनि छ—मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा तिनीहरूमा हुने मनोवृत्तिका आधारमा तिनीहरूलाई खुट्ट्याउनु। हामीले यसभन्दा पहिलेका प्रवचनहरूमा यो मापदण्डका बारेमा धेरै कुरा गरेका छौँ, त्यसकारण यसबारे थप केही भन्नु आवश्यक छैन।
एकदम राम्रो। आजका लागि हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ। छुटौँ!
जुलाई ६, २०२४