अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२९)

विषयवस्तु पन्ध्र: विभिन्‍न महत्त्वपूर्ण काम व्यवस्थित ढङ्‍गबाट अगाडि बढोस् भन्‍ने कुरा सुनिश्‍चित गर्नका लागि सबै किसिमका कार्य-कर्मचारीहरूलाई बाहिरी संसारको हस्तक्षेपदेखि रक्षा गर्दै तिनीहरूको सुरक्षा गर्ने, र तिनीहरूलाई सुरक्षित राख्‍ने

अगुवा र कामदारहरूका जिम्मेवारीहरूबारे पछिल्लो पटक सङ्गति गर्दा हामीले कहाँ छोडेका थियौँ? (पछिल्लो पटक, हामीले मुख्य रूपमा अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारीअन्तर्गत मानवताका आधारमा विभिन्‍न प्रकारका मानिसहरूलाई खुट्ट्याउनुसँग सम्बन्धित अन्तिम तीनवटा प्रकटीकरणहरूबारे सङ्गति गरेका थियौँ। ती तीन प्रकटीकरणहरू यस प्रकार छन्: कायर र शङ्कालु हुनु, समस्या पैदा गर्ने प्रवृत्ति हुनु, र जटिल पृष्ठभूमि हुनु।) हामीले पछिल्लो पटक अगुवा र कामदारहरूको चौधौँ जिम्मेवारीका अन्तिम तीनवटा विषयहरूबारे सङ्गति पूरा गर्‍यौँ, त्यसकारण आज हामी पन्ध्रौँ जिम्मेवारीबारे सङ्गति गर्नेछौँ। पन्ध्रौँ जिम्मेवारी के हो? (“विषयवस्तु पन्ध्र: विभिन्‍न महत्त्वपूर्ण काम व्यवस्थित ढङ्‍गबाट अगाडि बढोस् भन्‍ने कुरा सुनिश्चित गर्नका लागि सबै किसिमका कार्य-कर्मचारीहरूलाई बाहिरी संसारको हस्तक्षेपदेखि रक्षा गर्दै तिनीहरूको सुरक्षा गर्ने, र तिनीहरूलाई सुरक्षित राख्‍ने।”) “सबै किसिमका कार्य-कर्मचारीहरूलाई बाहिरी संसारको हस्तक्षेपदेखि रक्षा गर्दै तिनीहरूको सुरक्षा गर्ने, र तिनीहरूलाई सुरक्षित राख्ने।” यो जिम्मेवारीमा अगुवा र कामदारहरूका जिम्मेवारीहरूको अर्को पक्ष संलग्‍न छ; यो अगुवा र कामदारहरूले राम्ररी गर्नैपर्ने एउटा निश्‍चित काम पनि हो। यो काम केसँग सम्बन्धित छ? (यो परमेश्‍वरका चुनिएका मानिसहरूलाई सुरक्षित राख्‍नुसँग सम्बन्धित छ।) यसमा व्यक्तिगत सुरक्षाका मामलाहरू संलग्‍न छन्। के यो विषय मण्डलीको काममा बारम्बार सामना गरिँदैन र? के तिमीहरू यो विषयसँग अपरिचित छौ? (छैनौँ।) यो विषय चिनियाँ दाजुभाइ-दिदीबहिनीहरूका निम्ति अपरिचित छैन, किनभने चीनको सामाजिक वातावरणमा विश्‍वासीहरूलाई सताइन्छ र पक्राउ गरिन्छ, र तिनीहरूलाई तिनीहरूको कर्तव्य निर्वाहमा र जीवनका सबै पक्षहरूमा सुरक्षाको प्रत्याभूति आवश्यक हुन्छ। त्यसकारण, यो काम अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दायराभित्रै पर्छ; यो ऐच्छिक कुरा होइन। कुनै देशमा धार्मिक स्वतन्त्रता भए पनि वा नभए पनि, विभिन्‍न महत्त्वपूर्ण कर्तव्य पूरा गर्ने कर्मचारीहरूको नियुक्तिको उचित बन्दोबस्त गर्नु अगुवा र कामदारहरूले गर्नैपर्ने एउटा निश्‍चित काम हो। यो कामको केन्द्रबिन्दु वा विशिष्ट मागहरू फरक हुन सक्छन्, तर मुख्य कुरा दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो कर्तव्य सुरक्षित र निर्धक्‍क भएर निर्वाह गर्न सक्छन् कि सक्दैनन्, र तिनीहरूको कर्तव्यका परिणामहरू सुनिश्‍चित गर्न सकिन्छ कि सकिँदैन भन्‍ने हो। त्यसकारण, तँ लोकतान्त्रिक देशमा बस्छस् भन्दैमा यो कामलाई बेवास्ता नगर् वा तेरा लागि यो अप्रासङ्गिक छ भन्‍ने नठान्। तँ बस्ने देशको शासन प्रणाली जस्तोसुकै भए पनि वा त्यहाँ विश्‍वासीहरूलाई सताउने गरिएको होस् वा नहोस्, यो काम अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दायराभित्रै पर्छ; यो अगुवा र कामदारहरूले गर्नैपर्ने काम हो—यसबाट कसैलाई पनि छूट हुँदैन, र यसलाई “अतिरिक्त” कामका रूपमा लिइनु हुँदैन। त्यसकारण आज हामी यो विषयसँग सम्बन्धित विभिन्‍न किसिमका सबै समस्याहरूबारे सङ्गति गरौँ।

महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको दायरा

सुरुमा, पन्ध्रौँ जिम्मेवारीमा उल्लिखित “सबै प्रकारका महत्त्वपूर्ण कार्य-कर्मचारीहरू” भन्‍नुको अर्थ के हो भनी हेरौँ। के यो हामीले सङ्गति गर्नुपर्ने विषय होइन र? (हो।) त्यसोभए, “सबै प्रकारका महत्त्वपूर्ण कार्य-कर्मचारीहरू” ले केलाई जनाउँछ? सुरुमा हामी यस कामका लक्ष्यहरूको दायरा स्थापित गरौँ। यसबारे कसले बोल्न सक्छ? (सबै प्रकारका महत्त्वपूर्ण कार्य-कर्मचारीहरूमा भिडियो समूहका, चलचित्र निर्माण समूहका, शुद्धाशुद्धि जाँच टोलीका, र भजन समूहका दाजुभाइ-दिदीबहिनीहरू, र अरू महत्त्वपूर्ण कर्तव्य पूरा गर्ने मानिसहरू पर्छन्। यसका साथै, यसमा विभिन्‍न महत्त्वपूर्ण कामहरूमा मुख्य भूमिका खेल्ने केही दाजुभाइ-दिदीबहिनीहरू, साथै हरेक समूहका सुपरिवेक्षकहरू पनि पर्छन्।) यसमा अरू कसले थप्‍न चाहन्छ? (यसमा अगुवा र कामदारहरू पनि पर्छन्।) अगुवा र कामदारहरूलाई वास्तवमै राम्ररी रक्षा गरिनुपर्छ। अरू को पर्छन्? (साधारण मामलाहरू सम्हाल्ने महत्त्वपूर्ण कर्मचारीहरू पनि पर्छन्, जस्तै वित्तसम्बन्धी कर्मचारीहरू।) (अनि परमेश्‍वरमा विश्‍वास गरेका र कर्तव्य पूरा गरेका कारण पक्राऊ सूचीमा वा पुलिसको रेकर्डमा रहेका दाजुभाइ-दिदीबहिनीहरूलाई पनि सुरक्षा चाहिन्छ।) यो अर्को वर्ग हो, र यो एक विशेष समूह हो। अब कति वटा वर्गहरू छन् भनेर सारांशीकृत गरौँ। पहिलो वर्गमा अगुवा र कामदारहरू समावेश हुन्छन्। दोस्रो वर्गमा परमेश्‍वरको घरका विभिन्‍न कामका लागि अपरिहार्य कर्मचारीहरू, विशेषगरी विभिन्‍न कामका अगुवा र सुपरिवेक्षकहरू साथै राम्रो क्षमता र आत्मिक बुझाइ भएका, र सिद्धान्तहरू बुझ्न सक्‍ने र स्वतन्त्र रूपमा महत्त्वपूर्ण काम वहन गर्न सक्‍ने क्षमता भएका कर्मचारीहरू समावेश हुन्छन्। विभिन्‍न काम सम्हाल्ने कर्मचारीहरू धेरै प्रकारका हुन्छन्, जस्तै लेखन-पठनको काम गर्ने, भजनको काम गर्ने, चलचित्र निर्माणको काम गर्ने, आदि, साथै सुसमाचार प्रचार गर्ने, गवाही दिने, वा सुसमाचार निर्देशकका रूपमा काम गर्नेलगायतका कर्मचारीहरू। यसअलावा, यसमा वित्त, सुरक्षा, र बाहिरी मामलाहरूको काम सम्हाल्ने कर्मचारीहरू पनि समावेश हुन्छन्। यी व्यक्तिहरूले मण्डलीको काममा सहयोगी भूमिका खेल्छन् र तिनीहरू अपरिहार्य हुन्छन्; तिनीहरू सबै विभिन्‍न काम सम्हाल्ने कर्मचारीको हिस्साका रूपमा समावेश हुन्छन्। यो दोस्रो प्रमुख वर्ग हो। तेस्रो प्रमुख वर्गमा मण्डलीको खतरनाक काममा संलग्‍न हुनेहरू पर्छन्। खासगरी, धार्मिक स्वतन्त्रता नभएका अधिनायकवादी शासन भएका देशहरूमा केही अत्यन्तै खतरनाक कामहरू हुन्छन्, जस्तै पुस्तक छाप्‍ने, पुस्तक ढुवानी गर्ने, मण्डलीका सम्पत्तिहरूको रक्षा गर्ने, साथै महत्त्वपूर्ण कर्तव्य पूरा गर्ने कर्मचारीहरूलाई अतिथि सत्कार गर्ने र नियुक्तिको बन्दोबस्त गर्ने। अरू को पर्छ? (बाहिर सूचना प्रवाह गर्ने केही सामान्य मामलाका कर्मचारीहरू पनि हुन्छन्; तिनीहरूले पूरा गर्ने कर्तव्यहरू पनि तुलनात्मक रूपमा खतरनाक नै हुन्छन्।) यी व्यक्तिहरू खतरनाक काममा संलग्‍न भएको मानिन्छ। तर, यी मानिसहरूले अवश्य नै कहिलेकाहीँ मात्रै यो काम गरिरहेका हुँदैनन्; बरु, तिनीहरू त यी महत्त्वपूर्ण र खतरनाक कामहरू गर्नमा विशेषज्ञ नै हुन्छन्, जस्तै सूचना प्रवाह गर्ने, कार्य प्रबन्धहरू वितरण गर्ने, परमेश्‍वरको घरका सबै भिडियो, चलचित्र, वा रेकर्ड गरिएका प्रवचनहरू वितरण गर्ने, आदि इत्यादि। धार्मिक स्वतन्त्रताविनाका अधिनायकवादी देशहरूमा, परमेश्‍वरका चुनिएका कुन-कुन मानिसहरूले महत्त्वपूर्ण कर्तव्य पूरा गरिरहेका छन् र खतरनाक काम गरिरहेका छन् भन्‍नेबारे अगुवा र कामदारहरू प्रस्ट हुनैपर्छ। छोटकरीमा भन्दा, यी व्यक्तिहरू पनि महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको एउटा वर्ग हुन्, र अगुवा र कामदारहरूले तिनीहरूको सुरक्षालाई विशेष ख्याल गर्नैपर्छ; यसलाई बेवास्ता गर्न मिल्दैन। यो तेस्रो वर्ग हो। चौथो वर्ग मण्डलीको कामको अर्को अपरिहार्य समूह हो। यी व्यक्तिहरूमा विशेष सीप र वरदानहरू हुन्छन्, जस्तै सुसमाचार प्रचार गर्ने, प्रवचनहरू दिने, मण्डलीलाई मलजल गर्न, वा निश्चित कामहरू आयोजना गर्ने जिम्मेवारी लिने कार्यमा दक्ष हुन्छन्। यी व्यक्तिहरू अगुवा र कामदार, विभिन्‍न कामका सुपरिवेक्षक, वा खतरनाक काममा संलग्‍न मानिस हुन सक्छन्। त्यस्ता मानिसहरूविना, तिनीहरूले सम्हाल्ने महत्त्वपूर्ण काममा दरार हुनेछ, र अरू कसैले पनि तिनीहरूको भूमिका पूरा गर्न सक्दैन। त्यसकारण, यी व्यक्तिहरूलाई रक्षा गरिनुपर्छ, र उनीहरूको सुरक्षा सुनिश्‍चित गरिनुपर्छ। यो मानिसहरूको एउटा वर्ग हो। अर्को वर्गमा धर्मलाई सताइने देशहरूमा परमेश्‍वरमा विश्‍वास गरेका कारण पक्राउका लागि खोजीसूचीमा परेका वा पुलिसको रेकर्डमा भएका मानिसहरू पर्छन्। पक्राउ पुर्जीको दायरा वा तिनीहरूले मण्डलीमा गर्ने काम जेसुकै भए नि, यदि तिनीहरू परमेश्‍वरमाथिको विश्‍वास र कर्तव्य निर्वाह गरेका कारण खोजीसूचीमा परेका छन् भने, अगुवा र कामदारहरूले तिनीहरूलाई रक्षा गर्ने उपायहरू खोज्नुपर्छ, र तिनीहरूलाई कर्तव्य पूरा गर्नका लागि तुलनात्मक रूपमा सुरक्षित स्थानहरूमा राख्ने प्रबन्ध मिलाउनुपर्छ। धार्मिक आस्थालाई सताउने सबै देशहरूमध्ये, चीनको सतावट सबैभन्दा गम्भीर छ। चीनका विभिन्‍न प्रान्त र क्षेत्रहरूमा, धेरै मानिसहरू पक्राउ परेका वा खोजीसूचीमा राखिएका छन्, र तिनीहरू घर फर्कन सक्दैनन्। संसारभरि र हरेक महादेशमा धार्मिक आस्थालाई सताउने चीनजस्तै केही देशहरू छन्, र यी देशहरूमा, सर्वशक्तिमान् परमेश्‍वरलाई स्विकारेका कारण, सतावट सामना गर्ने र घर फर्कन नसक्‍ने मानिसहरू पनि छन्। जो सतावटमा परेका छन् र घर फर्कन सक्दैनन् तिनीहरूलाई अगुवा र कामदारहरूले सक्दो चाँडो पूर्णकालीन कर्तव्य मण्डलीमा राख्‍ने बन्दोबस्त गर्नुपर्छ। अगुवा र कामदारहरूले तिनीहरूलाई स्थानीय अवस्थाअनुसार तुलनात्मक रूपमा अलि सुरक्षित वातावरणमा बसाल्नुपर्छ ताकि तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न सकून्। यो राम्ररी गर्नैपर्ने एउटा प्राथमिक काम हो। पक्राउ परेका वा खोजीसुचीमा रहेका यी व्यक्तिहरू सुरक्षा आवश्यक पर्ने कर्मचारीहरूको पाँचौँ वर्गमा पर्छन्। विभिन्‍न महत्त्वपूर्ण काम सम्हाल्ने कर्मचारीहरूमा अर्को वर्ग पनि छ, जुन विशेष छ। यी व्यक्तिहरू अहिले अगुवा वा कामदार नहुन सक्छन्, न त तिनीहरू खतरनाक काममा नै संलग्‍न हुन्छन्, तर तिनीहरूले यसभन्दा पहिले धेरै कर्तव्यहरू पूरा गरेका हुन्छन् र तिनीहरूको कामले वृहत् दायरा समेटेको हुन्छ। तिनीहरूलाई धेरै अतिथि सत्कारक परिवारहरूबारे थाहा हुन्छ र केही कर्मचारीहरूले महत्त्वपूर्ण कर्तव्य पूरा गरिरहेका छन् भन्‍ने पनि थाहा हुन्छ। त्यसकारण, यदि त्यस्ता व्यक्तिहरूलाई पक्राउ गरियो भने, यसले मण्डलीको काममा पनि प्रकोप ल्याउनेछ। यी व्यक्तिहरूलाई “भित्री कुरा भएका मानिसहरू” भनिनुपर्छ, र तिनीहरूलाई सबै प्रकारका महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको सूचीमा पनि समावेश गरिनुपर्छ। परमेश्‍वरका चुनिएका सबै मानिसहरूको सुरक्षाको प्रत्याभूति गर्ने र मण्डलीको काम सामान्य रूपमा अघि बढ्न सक्‍ने कुरा सुनिश्‍चित गर्ने उद्देश्यका लागि अगुवा र कामदारहरूले तिनीहरूको सुरक्षा सुनिश्‍चित गर्नुपर्छ। विशेष गरी यो वर्गका कतिपय व्यक्तिहरू निकै लापरवाह हुन्छन्; तिनीहरू सतर्क हुन जान्दैनन्, र तिनीहरूमा त्यति धेरै बुद्धि नै हुँदैन। तिनीहरूमा सधैँ जोश देखाएर कार्य गर्ने, र बाहिर बेपरवाह रूपमा कामकुरा गर्ने प्रवृत्ति हुन्छ। कहिल्यै पक्राउ नपरेका वा यातना नभोगेका हुनाले, तिनीहरूलाई केही बिग्रियो भने त्यसमा हुने खतरा र त्यसका सम्भावित परिणामहरूबारे थाहै हुँदैन, ती परिणामहरूको गम्भीरता कस्तो हुनेछ भनेर तिनीहरूले बुझ्नु त झन् परको कुरा हो। तिनीहरू आफूले परमेश्‍वरमा विश्‍वास मात्रै गरिरहेको छु, केही नराम्रो गरिरहेको छैनँ भन्‍ने विश्‍वास गर्ने हुनाले, तिनीहरू केही कुराको पनि डर मान्दैनन्। परिणामस्वरूप, केही समयसम्म स्थानीय स्तरमा काम गरेपछि, तिनीहरू निकै चर्चित बन्‍न सक्छन् र सरकारी निगरानीमा पर्न सक्छन्। के त्यसले खतरा पैदा गर्दैन र? तिनीहरू पक्राउ परेपछि, यदि तिनीहरूले यातना दिएर गरिएको सोधपुछ सहन सकेनन् भने, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिएर यहूदा बन्‍न सक्छन्। यसले मण्डलीमा ठूलो घाटा ल्याउनेछ र अरू दाजुभाइ-दिदीबहिनीहरूलाई मुछ्नेछ, र तिनीहरूलाई पक्राउ पर्ने र जेल जाने खतरामा पार्नेछ, र यसले मण्डलीका विभिन्‍न काममा गम्भीर असर पार्नेछ। त्यसकारण, मण्डलीले त्यस्ता व्यक्तिहरूको सुरक्षालाई पनि प्राथमिकता दिनुपर्छ। यदि तिनीहरूलाई लुकाउनका लागि स्थानीय स्तरमा कुनै सुरक्षित ठाउँ भेट्टाउन सकिएन भने, तिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्नका लागि अन्यत्र तुलनात्मक रूपमा अलि सुरक्षित ठाउँमा स्थानान्तर गर्नुपर्छ। यो मानिसहरूको अर्को वर्ग हो। तिनीहरूको विशेष खालको अवस्थाका कारण, अगुवा र कामदारहरूले तिनीहरूको स्थान मिलाउने बन्दोबस्त गर्नुपर्छ, ताकि तिनीहरू पनि सबै प्रकारका महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको सूचीमा समावेश होऊन्। जम्मा कति वटा वर्गका मानिसहरू छन्? (छ वटा। पहिलो वर्गमा अगुवा र कामदारहरू पर्छन्। दोस्रो वर्गमा परमेश्‍वरको घरका विभिन्‍न काम सम्हाल्ने अपरिहार्य कर्मचारीहरू पर्छन्; यसमा सुपरिवेक्षकहरू, टोली अगुवाहरू, र सुसमाचार निर्देशकहरू; र कामको बोझ लिन सक्‍ने मानिसहरू पर्छन्। तेस्रो वर्गमा मण्डलीको खतरनाक काममा संलग्‍न हुने कर्मचारीहरू पर्छन्। चौथोमा विशेष सीप र वरदान भएका मानिसहरू पर्छन्। पाँचौँ वर्गमा पुलिस रेकर्डमा भएका मानिसहरू, खेदोमा परेका मानिसहरू, र खोजीसुचीमा रहेका मानिसहरू पर्छन्। अनि छैटौँ वर्गमा भित्री सूचना थाहा भएका मानिसहरू पर्छन्।) हामीले मूलतः विभिन्‍न काममा संलग्‍न सबै महत्त्वपूर्ण कर्मचारीहरूलाई समेटेका छौँ, तर थप्‍नुपर्ने एउटा वर्ग छ: यदि मण्डलीका कुनै पनि दाजुभाइ वा दिदीबहिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न बाहिर जानुपरेकाले पक्राउ परेका, वा अरू कुनै अप्रत्याशित अवस्था आइपरेका कारण, आफ्ना नाबालिग छोराछोरीको हेरचाह गर्न सक्दैनन् भने, अगुवा र कामदारहरूले ती छोराछोरीलाई उचित घरमा राख्‍ने बन्दोबस्त गर्नुपर्छ ताकि तिनीहरूसँग जीविकोपार्जनको माध्यम होस्। यो पनि एउटा विशेष काम हो। यो काम मण्डलीको कामसँग सम्बन्धित नभए पनि, र यो विशेष परिस्थितिहरूबाट मात्रै उत्पन्‍न हुने भए पनि, अगुवा र कामदारहरूले यी नाबालिग छोराछोरीका लागि उपयुक्त स्थानहरू मिलाउने जिम्मेवारी लिनैपर्छ। यदि तिनीहरूका उपयुक्त आफन्तहरू छैनन्, वा यदि तिनीहरूका आफन्तहरू गैरविश्‍वासी हुन् र उनीहरू तिनीहरूलाई स्विकार्न चाहँदैनन् भने, मण्डलीले नै तिनीहरूलाई स्विकार्नुपर्छ। मण्डलीले तिनीहरूका लागि उपयुक्त अतिथि सत्कारक निवासको बन्दोबस्त गर्ने मात्र होइन, तिनीहरूको हेरचाहको जिम्मेवारीमा दाजुभाइ-दिदीबहिनीहरू पनि खटाउनुपर्छ। तिनीहरूका लागि उपयुक्त स्थानको बन्दोबस्त गरेपछि, यदि तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्छन् भने, त्यो अवश्य नै सबैभन्दा उचित हुन्छ, र तिनीहरू वयस्क भएपछि, तिनीहरूले मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्न सक्छन्। यदि तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्दैनन् भने, जब तिनीहरू वयस्क हुन्छन् र समाजमा प्रवेश गर्छन्, तब तिनीहरू उप्रान्त मण्डलीसँग जोडिनेछैनन्, र हाम्रो जिम्मेवारी पूरा हुनेछ। हामीले त्यो बिन्दुभन्दा अगाडि तिनीहरूको मामलामा चिन्ता लिनुपर्ने छैन। के यो उचित हो? (हो।) यो काममा मण्डलीका विभिन्‍न काम समावेश नभए पनि, यसलाई अगुवा र कामदारहरूको जिम्मेवारीको दायरामै समावेश गरिनुपर्छ। यदि मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्ने मानिसहरूका छोराछोरीलाई कुनै ठाउँ खोजेर राख्नु आवश्यक भने, अगुवा र कामदारहरूले, त्यो अवस्था थाहै नभएको अवस्थामा बाहेक, यसलाई बेवास्ता गर्न मिल्दैन। यदि तिनीहरूलाई यसबारे थाहा छ भने, तिनीहरूले प्रश्‍नहरू सोध्नुपर्छ, यसलाई सम्हाल्नुपर्छ, र तिनीहरूका लागि उचित स्थानको बन्दोबस्त गर्ने जिम्मेवारी लिनुपर्छ। अगुवा र कामदारहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेका दाजुभाइ-दिदीबहिनीहरू—विशेषगरी महत्त्वपूर्ण काम गर्ने व्यक्तिहरू—यस मामलामा चिन्तामुक्त हुनुपर्ने सुनिश्‍चित गर्नुपर्छ। यो काम राम्ररी गर्न गाह्रो हुँदैन, होइन र? (अहँ, हुँदैन।) महत्त्वपूर्ण कार्य-कर्मचारीहरूका कम्तीमा पनि छवटा वर्गहरू छन्। सातौँ वर्ग अतिरिक्त वर्ग हो, यसले अत्यन्तै विशेष प्रकारको परिस्थितिको प्रतिनिधित्व गर्छ। पहिलो छ वटा वर्गमा सूचीबद्ध गरिएका विभिन्‍न कर्मचारी सबै पाष्टरीय एकाइ वा देशमा नहुन सक्छन्। तर, चाहे जुनसुकै देश भए पनि, अगुवा र कामदारहरू र महत्त्वपूर्ण कर्तव्य पूरा गरिरहेकाहरूलाई रक्षा गर्नु अत्यन्तै महत्त्वपूर्ण काम हो। यो सबै मण्डली अगुवा र कामदारहरूले ध्यान दिनैपर्ने काम हो, र यो तिनीहरूले राम्ररी पूरा गर्नैपर्ने जिम्मेवारी हो।

महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई बाहिरी संसारको हस्तक्षेपबाट रक्षा गर्नु

अ. अतिथि सत्कारक परिवारले अपनाउनुपर्ने सुरक्षा

हामीले महत्त्वपूर्ण कार्य-कर्मचारीहरू को-को हुन् भनेर स्पष्ट पारिसकेका छौँ, त्यसैले अब हामी अगुवा र कामदारहरूले गर्नैपर्ने विशेष कामहरूलाई हेरौँ—त्यो हो, सबै प्रकारका महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई बाहिरी संसारको हस्तक्षेपबाट रक्षा गर्दै तिनीहरूको सुरक्षा गर्नु, र तिनीहरूलाई सुरक्षित राख्‍नु। त्यसोभए, अगुवा र कामदारहरूले आफ्ना जिम्मेवारी पूरा गरेका छन् भनेर मानिनका लागि, उनीहरूलाई बाहिरी संसारको हस्तक्षेपबाट प्रभावकारी रूपमा रक्षा गर्नका लागि के-कस्तो निश्‍चित काम गर्नुपर्छ? निश्‍चित काम गर्ने कुरामा, कतिपय अगुवा र कामदारहरू आफू अप्ठ्यारोमा परेझैँ महसुस गर्छन्, तिनीहरू कसरी कार्य गर्ने भन्‍ने कुरामा अनिश्‍चित भएर आफ्नो टाउको कन्याउँदै तनाव लिएर बस्छन्। यी महत्त्वपूर्ण कार्य-कर्मचारीहरूका लागि स्थानको बन्दोबस्त गर्ने एउटा महत्त्वपूर्ण सिद्धान्त छ: तिनीहरूको सुरक्षा सुनिश्‍चित गर्न तिनीहरूलाई बाहिरी संसारको हस्तक्षेपबाट रक्षा गर्नैपर्छ। महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई चाहे दाजुभाइ-दिदीबहिनीहरूका घरमा राखियोस् वा भाडाको घरमा राखियोस्, अत्यावश्यक कुरा के हो भने, तिनीहरूको सुरक्षा चाहिँ सुनिश्‍चित हुनैपर्छ। तिनीहरूको सुरक्षा सुनिश्‍चित गर्नु भनेको तिनीहरूलाई बाहिरी संसारको हस्तक्षेपबाट रक्षा गर्नु हो। त्यसोभए, तिनीहरूलाई बाहिरी संसारको हस्तक्षेपबाट रक्षा गर्न अगुवा र कामदारहरूले के गर्नुपर्छ? यसका लागि महत्त्वपूर्ण कर्तव्य निर्वाह गरिरहेका मानिसहरूलाई उचित स्थानमा राखिने बन्दोबस्त गरिनु आवश्यक पर्छ। यसलाई दुईवटा पक्षबाट हेरौँ: एउटा त अतिथि सत्कारक परिवारको आन्तरिक वातावरण हो, र अर्को बाहिरी वातावरण हो। आन्तरिक वातावरणको सम्बन्धमा, पहिला त अतिथि सत्कारक साँचो विश्‍वासी हुनैपर्छ, जो अतिथि सत्कार गर्न इच्छुक हुनुपर्छ, कुराहरूको गोपनीयता कायम राख्‍न, होसियार भएर काम गर्न, र बाहिरी संसारलाई बुद्धिमानी ढङ्गले सम्हाल्न सक्‍ने हुनुपर्छ। यदि कुनै विशेष अवस्था उत्पन्‍न भयो भने, तिनीहरूले यसमा कसरी प्रतिक्रिया कसरी दिने भन्‍ने कुरा जानेको हुनुपर्छ; तिनीहरूले निष्क्रिय रूपमा नभई सक्रिय रूपमा यसलाई सम्हाल्न र सम्बोधन गर्न सक्‍नुपर्छ। यसका साथै, स्थानीय स्तरमा तिनीहरूको राम्रो ख्याति हुनुपर्छ, वा स्थानीय स्तरमा केही प्रतिष्ठा र सम्पर्क हुनुपर्छ। तिनीहरू प्रभावशाली नभए पनि कम्तीमा आफ्नो उचित स्थानमा बस्‍ने र राम्रो जीवन जिउने र कहिल्यै समस्या ननिम्त्याउने वा आफ्नो घरमा शङ्कास्पद व्यक्तिहरूलाई आकर्षित नगर्ने हुनुपर्छ। तिनीहरूसँग जुवातास खेल्न वा मदिरा पिउन भेला हुने साथीहरू हुनु हुँदैन। यसअलावा, बाहिरी संसार र छिमेकीहरूसँगको तिनीहरूको सम्बन्ध तुलनात्मक रूपमा सामान्य हुनुपर्छ। तिनीहरू ऋणको कुनै विवादमा मुछिएको हुनु हुँदैन र छिमेकीहरूसँग द्वन्द्वरत हुनु हुँदैन। अर्को शब्दमा भन्दा, तिनीहरूको घरको वातावरण तुलनात्मक रूपमा शान्त हुनुपर्छ, अतिथि सत्कारकका जटिल सम्बन्धहरू हुनु हुँदैन, र तिनीहरूका घरमा बाधाहरू पैदा गर्ने बाहिरी मानिसहरू त्यति धेरै आउनु हुँदैन, आदि इत्यादि—सबै पक्षहरू उपयुक्त हुनुपर्छ। अझ भन्‍ने हो भने, अतिथि सत्कारकका छोराछोरी वा आफन्तहरूले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासलाई समर्थन गर्नुपर्छ, वा कम्तीमा पनि तिनीहरूले अतिथि सत्कारक दाजुभाइ-दिदीबहिनीहरूलाई विरोध गर्नु हुँदैन, र अवश्य नै यी कुराहरूबारे बेपरवाह रूपमा कुरा गर्दै हिँड्नु हुँदैन। कतिले यसो भन्लान्, “यी सबै मापदण्डहरू पूरा गर्ने अतिथि सत्कारक परिवार भेट्टाउन सजिलो छैन!” यसले तुलनात्मक रूपमा उपयुक्त ठाउँ भेट्टाउनुपर्छ भन्‍न खोजेको हो; पूर्ण सिद्धता जरुरी छैन। कम्तीमा जिउने वातावरण चाहिँ उचित हुनुपर्छ—शान्त र बाहिरी हस्तक्षेपबाट मुक्त हुनुपर्छ—जसले महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई बाहिरी संसारको हस्तक्षेपबाट रक्षा गर्ने माग पूरा गर्छ। कतिपय अतिथि सत्कारक परिवारहरूमा परिवारका हरेक सदस्य विश्‍वासी नभए पनि, अतिथि सत्कारकले घरभित्र प्रतिष्ठा पाएको हुन्छ र उसले नै निर्णय गर्ने गर्छ। तिनीहरूका गैरविश्‍वासी छोराछोरी वा आफन्तहरूले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा वा तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई अतिथि सत्कार गरेकोमा हस्तक्षेप गर्ने आँट गर्दैनन्; भित्री रूपमा असहमत नै भए पनि तिनीहरूले यो जानकारी परिवारभन्दा बाहिरका मानिसहरूलाई बाँड्ने आँट गर्दैनन्। यदि साँच्‍चै नै केही भइदियो भने, तिनीहरूले सुरक्षा प्रदान गर्न सहयोग समेत गर्न सक्छन्। यसरी, यस अतिथि सत्कारक घरमा बस्‍ने दाजुभाइ-दिदीबहिनीहरू पनि बाहिरी संसारको हस्तक्षेपबाट अप्रभावित रहन सक्छन्। कतिपय अवस्थाहरूमा अतिथि सत्कारक डरपोक हुन्छ, उसलाई आफ्‍ना छोराछोरीले परमेश्‍वरमाथिको उसको विश्‍वासको खुलासा गर्लान्, आफ्‍ना छिमेकीहरूले उसको विश्‍वासबारे थाहा पाएर रिपोर्ट गर्लान्, र विशेषगरी परिस्थिति खराब होला र आफू पक्राउ परिएला भन्‍ने डर हुन्छ। दाजुभाइ-दिदीबहिनीहरूको अतिथि सत्कार गर्न थालेपछि, ऊ हरेक दिन बेचैन हुन्छ, दिनमा खान वा राती सुत्न सक्दैन, र उसले चोरजस्तै चिन्तित र त्रसित भएर दिन कटाउँछ। जब उसले केही हुन लागेको छ भन्‍ने सुन्छ, जस्तै सरकारले घर दर्ता जाँच गर्ने योजना गरिरहेको छ वा सरकारी कर्मचारीहरू विभिन्‍न बहानामा कुनै काम गर्न उसको घरमा आउँदैछन् भन्‍ने सुन्छ, तब ऊ अत्यन्तै डराउँछ र ऊ आफै पनि यसमा नमुछिऊँ भन्‍नका लागि निरन्तर दाजुभाइ-दिदीबहिनीहरू तुरुन्तै घर छाडेर जाऊन् भन्‍ने चाहन्छ। जब दाजुभाइ-दिदीबहिनीहरूले यस्तो देख्छन्, तब तिनीहरू तुरुन्तै स्थानान्तर हुनुपर्छ, किनभने त्यस्तो ठाउँ अतिथि सत्कार गर्न उचित हुँदैन; यसलाई केही दिनका लागि अस्थायी रूपमा बस्न मात्रै प्रयोग गर्न सकिन्छ। यदि अतिथि सत्कारक परिवारका छोराछोरी, आफन्तहरू, वा साथीहरू दुष्ट मानिस हुन् र तिनीहरूले अतिथि सत्कारकले विश्‍वासीहरूलाई बास दिइरहेको छ भन्‍ने थाहा पाएपछि, दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा दिन वा प्रहरीको जिम्मा लगाउन पनि सक्छन् भने, यो अत्यन्तै खतरनाक कुरा हो। त्यस्तो अतिथि सत्कारक परिवारसँग बस्‍नु उचित हुँदैन। कतिपय आमाबुबाले आफ्ना छोराछोरीका अगाडि दास जस्तो व्यवहार गर्छन्; तिनीहरूले “ठीकै छ, मेरा छोराछोरीले मेरो कुरा सुन्छन्” भन्लान्, तर वास्तवमा, तिनीहरूका छोराछोरीको आज्ञाकारिता परिस्थितिमा निर्भर हुन्छ। जब तिनीहरूका आफ्नै स्वार्थहरू संलग्न हुन्छन्, तब ती छोराछोरीले तिनीहरूको कुरा सुन्दैनन्। त्यस्तो व्यक्तिले आफूले दाजुभाइ-दिदीबहिनीहरूलाई अतिथि सत्कार गरिरहेको कुरा छोराछोरीलाई थाहा दिने आँट गर्दैनन्। यदि तिनीहरूका छोराछोरी वा आफन्तहरूले थाहा पाए भने, तिनीहरूले अवश्य नै दाजुभाइ-दिदीबहिनीहरूलाई घरबाट निकाल्छन्, र ती अतिथि सत्कारकले तिनीहरूलाई रोक्न सक्दैनन्—आफ्नै घरमा पनि तिनीहरूले अन्तिम निर्णय गर्न पाउँदैनन्। त्यस्तो व्यक्तिले अतिथि सत्कार गर्न उचित हुँदैन; तिनीहरूसँग चाहना होला तर अतिथि सत्कारक बन्‍ने साहस हुँदैन। के कायर व्यक्तिले साँच्‍चै नै अतिथि सत्कार गर्ने आँट गर्न सक्छ? यदि तैँले दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा सुनिश्‍चित गर्न सक्दैनस् भने, तँ यो कर्तव्यका लागि उचित छैनस्—तैँले यसका लागि स्वयंसेवा गर्नु हुँदैन र तैँले अगुवा र कामदारहरूलाई खोक्रा वाचाहरू गर्नु हुँदैन, र तैँले यो कर्तव्य स्विकार्नु पनि हुँदैन। यदि अगुवा र कामदारहरूले त्यस्तो घरमा दाजुभाइ-दिदीबहिनीहरूको अतिथि सत्कार गर्ने बन्दोबस्त गर्छन् भने, के तिमीहरूलाई त्यो उपयुक्त हो भन्‍ने लाग्छ? (लाग्दैन।) यो अत्यन्तै अनुपयुक्त कुरा हो। दाजुभाइ-दिदीबहिनीहरूलाई खतराको मुखमा नपार। सायद दाजुभाइ-दिदीबहिनीहरू अरू ठाउँमा बस्दा नै धेरै सुरक्षित हुन्थे होला; यदि तैँले तिनीहरूलाई यस्तो व्यक्तिको घरमा राख्‍ने बन्दोबस्त गरिस्, जसका छोराछोरी वा आफन्तहरू गैरविश्‍वासी छन् र तिनीहरूले त्यहाँ विश्‍वासीहरू बसिरहेका छन् भन्‍ने पत्ता लाग्नेबित्तिकै यसबारेमा रिपोर्ट गरेर तिनीहरूलाई पुलिसको जिम्मा लगाउन सक्छन्, यसरी तिनीहरूको जीवन खतरामा पार्छन् भने, के त्यो अतिथि सत्कारकलाई सन्ताप आइपर्दैन र? यदि उक्त अतिथि सत्कारक त्यस्ता अवस्थामा दाजुभाइ-दिदीबहिनीहरूको रक्षाका लागि आफ्नो ज्यान जोखिममा पार्न तयार हुन्छ र उसले प्रभावकारी रूपमा तिनीहरूको सुरक्षा सुनिश्‍चित गर्न सक्छ भने, र यदि उसले सामान्यतया ठूलो बुद्धि देखाउँछ भने, यो अतिथि सत्कारक परिवार अझै पनि उपयुक्त विकल्‍प हुन सक्छ। तर, यदि उसले दाजुभाइ-दिदीबहिनीहरूलाई रक्षा गर्न आफ्नो ज्यान जोखिममा पार्न सक्दैन, र, उसको परिवारका गैरविश्‍वासीहरूले दाजुभाइ-दिदीबहिनीहरूको रिपोर्ट गरेर पुलिसको जिम्मा लगाउने धम्की दिँदा, ऊसँग कुनै समाधान हुँदैन र ऊ कछुवाले आफ्नो टाउको खोलमा लुकाएजस्तै पछि हट्न मात्रै सक्छ, तर दाजुभाइ-दिदीबहिनीहरूलाई रक्षा गर्दैन र तिनीहरूलाई पुलिसको जिम्मा लगाउन गैरविश्‍वासीहरूलाई अनुमति दिन्छ भने, यो घर अतिथि सत्कार गर्नका लागि उचित हुँदैन। यदि दाजुभाइ-दिदीबहिनीहरू अस्थायी रूपमा केही दिनका लागि त्यहाँ बस्छन्, अनि त्यसपछि उपयुक्त ठाउँ भेट्नेबित्तिकै तुरुन्तै त्यो ठाउँमा सर्छन् भने, त्यो बल्लतल्ल सहनीय हुन्छ। आफ्नो कर्तव्य पूरा गर्नका लागि त्यस्ता घरमा लामो समयसम्म बस्‍नु उचित हुँदैन। अतिथि सत्कारकले कम्तीमा पनि दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षाको रक्षा गर्न सक्‍नुपर्छ—अतिथि सत्कारकबाट गरिने एउटा माग यही हो। बाहिरी संसारको हस्तक्षेपबाट जोगिनका लागि आफ्नो कर्तव्य पूरा गर्नेहरूका हकमा, एक हिसाबले तिनीहरूको जिउने वातावरण उचित हुनुपर्छ; यसअलावा, अतिथि सत्कारकका आफ्नै गुणहरू पनि सबै हिसाबमा उचित हुनुपर्छ—अर्थात्, तिनीहरूले महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई बाहिरी संसारको हस्तक्षेपबाट रक्षा गर्न सक्‍नुपर्छ। अगुवा र कामदारहरूले यो कुरा हासिल गर्न सक्छन् भने मात्रै तिनीहरूले महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई तिनीहरूका घरमा राख्‍ने बन्दोबस्त गर्न सक्छन्। यदि अतिथि सत्कारकको आस्था थोरै छ र ऊ अयोग्य र काँतर छ, उसले आफ्नै घरमा अन्तिम निर्णय आफै गर्न सक्दैन, र उसको कुनै पनि गैरविश्‍वासी सन्तान वा आफन्तले आएर उसलाई नियन्त्रण गर्न सक्छ भने, यो निकै कष्टदायी कुरा हो। त्यस्तो ठाउँ अतिथि सत्कार गर्नका लागि पूर्ण रूपमा अनुचित हुन्छ। धेरै वटा कोठा भएको, आरामदायी वातावरण भएको, र अवस्था राम्रो भएको ठूलै घर भए पनि, त्यो अतिथि सत्कारका लागि उचित हुँदैन। उचित जिउने वातावरण भएर मात्रै पुग्दैन; अतिथि सत्कारक पनि उचित हुनैपर्छ। यहाँ मुख्य कुरा के हो भने, अतिथि सत्कारकले सबभन्दा पहिले त आफूले अतिथि सत्कार गरिरहेका कर्तव्य पूरा गर्ने कर्मचारीहरू बाहिरी संसारको हस्तक्षेपबाट सुरक्षित हुने कुरा सुनिश्‍चित गर्न सक्‍नैपर्छ। त्यसपछि मात्रै जिउने वातावरणबारे विचार गरिनुपर्छ। अलिक कम उपयुक्त वातावरण पनि स्वीकार्य हुन्छ—चाहे त्यो सानो ठाउँ होस्, सीमित इन्टरनेट होस्, सरल खाना होस्, वा पानीको पहुँच कम सहज होस्। यदि अतिथि सत्कारक उचित छ, उसले खतरा उत्पन्‍न हुँदा उचित प्रतिक्रिया दिन सक्छ, विभिन्‍न जटिल अवस्थाहरूलाई व्यवस्थापन गर्न सक्छ, र खासगरी उत्‍पन्‍न हुन सक्‍ने कुनै पनि विशेष परिस्थितिहरूलाई उचित रूपमा सम्हालेर दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षाको प्रत्याभूति गर्न सक्छ भने, ऊ मानकअनुरूपको अतिथि सत्कारक हो। अतिथि सत्कारक परिवारको जिउने वातावरणप्रतिका हाम्रा मागहरू उच्च छैनन्; सबैभन्दा महत्त्वपूर्ण भनेको यसले सुरक्षा सुनिश्‍चित गर्न सक्‍नुपर्छ। यस बुँदाबारे विस्तारमा गइरहनु आवश्यक छैन।

आ. निवास स्थलको वातावरणसम्बन्धी मागहरू

अतिथिसत्कारक परिवारको निवासवरपरको बाहिरी वातावरणको हकमा भन्दा, अगुवा र कामदारहरूले विचार गर्नैपर्ने पहिलो कुरा भनेको त्यो सुरक्षित छ कि छैन भन्‍ने हो। अतिथिसत्कारक परिवारका अवस्थाहरू जस्तोसुकै भए पनि वा त्यो निवास दाजुभाइ-दिदीबहिनीको घर भए पनि वा भाडाको घर भए पनि, त्यसको बाहिरी वातावरण सुरक्षित छ कि छैन भनेर विचार गर्नु जरुरी हुन्छ; सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। सर्वप्रथम, यदि यस अतिथिसत्कारक परिवारको परमेश्‍वरमाथिको विश्‍वासबारे त्यति धेरै थाहा छैन र सार्वजनिक सुरक्षा ब्यूरोमा तिनीहरूको विश्‍वासबारे कुनै रिपोर्ट छैन भने मात्रै यो उचित हुन्छ। यदि विगतमा, दाजुभाइ-दिदीबहिनीहरू त्यहाँ भेला हुँदा, छिमेकीहरूले यसबारे सरकारलाई रिपोर्ट गर्थे, र यो परिवारले बारम्बार अपरिचित मानिसहरूसँग भेलाहरू आयोजना गर्छ भन्‍ने कुरा सरकारलाई पहिले नै थाहा छ भने, यो स्थान अतिथिसत्कारका लागि उपयुक्त हुँदैन। यदि भाडामा लिइएको हो भने पनि त्यस्तो परिवारको घर भाडामा लिनु उचित हुँदैन। यो एउटा पक्ष हो। यसअलावा, कतिपय ठाउँमा सार्वजनिक सुरक्षा कमजोर हुन्छ, र बारम्बार डकैती, हत्या, र अरू विभिन्‍न मामलाहरू देखा परिरहन्छन्। त्यहाँका बासिन्दाहरू पनि तुलनात्मक रूपमा अलि जटिल व्यक्तिहरू हुन्छन्, अनि प्रायजसो घर दर्तापत्र र परिचयपत्रहरू जाँच गर्न, संदिग्ध अपराधीहरूको अनुसन्धान गर्न, र यस्तै अन्य काम गर्न प्रहरी त्यहाँ प्रायः आइरहन्छ। मलाई भन् त, यदि तँ त्यस्तो ठाउँमा बसिस् भने, के तैँले बारम्बार हस्तक्षेप भोग्दैनस् र? (भोग्छु।) त्यस्ता ठाउँहरू पनि बस्‍नलाई उपयुक्त हुँदैनन्। त्यहाँ हरेक केही दिनमा ढोका ढकढक्याउँदै प्रहरी आइपुग्छ, र नजिकै चोरी वा हत्या भएको छ भनेर भन्छ र अनुसन्धानमा सहकार्य गर्न अनुरोध गर्छ, र दोषीलाई देखेमा तुरुन्तै रिपोर्ट गर्न मानिसहरूलाई लगाउँछ। त्यहाँ सधैँ हर प्रकारका बहानामा ढोका ढकढक्याउँदै प्रही आइरहन्छ, र तिनीहरूले घटना अनुसन्धान गरिरहेको दाबी गर्छन्, तर वास्तवमा तिनीहरूले बाहिरी मानिसहरू र अपरिचितहरूको चियो गरिरहेका हुन्छन्—अझ ठ्याक्‍कै भन्दा, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू खोजिरहेका हुन्छन्। के तँलाई त्यस्तो अतिथिसत्कारक घरमा बस्दा कुनै सुरक्षा महसुस हुन्छ? (हुँदैन।) निस्सन्देह, तँ दिनभरि डरमा हुनेछस्। यी बाहिरी आपराधिक घटनाहरू अतिथिसत्कारक परिवारसँग सम्बन्धित नभए पनि अझै तँलाई सहज महसुस हुँदैन। यस्तो वातावरणमा जिउँदा प्रायः तँलाई तेरो व्यक्तिगत सुरक्षा खतरामा छ भन्‍ने महसुस भइरहन्छ। कुन दिन प्रहरीले दाजुभाइ-दिदीबहिनीहरूलाई देखेर यी अपरिचितहरूलाई सोधपुछ गर्न थाल्ला, र पक्राउसमेत गर्ला भन्‍ने कसलाई के थाहा। के तँ यो भयानक परिस्थिति हो भनेर भन्दैनस् र? (भन्छु।) यसका साथै, धेरैजसो चिनियाँ मानिसमा सुरक्षा सचेतनाको कमी हुन्छ; कसैले ढकढक्याएको सुन्‍नेबित्तिकै, तिनीहरूले ढोका खोलिहाल्छन्, र तिनीहरू प्रायजसो ढोका बन्द पनि गर्दैनन्, जसले गर्दा सजिलै घटनाहरू घट्न सक्छन्। स्वतन्त्रता र प्रजातन्त्र भएका पश्‍चिमी देशहरूमा, निजी निवासहरूलाई निजी क्षेत्र मानिन्छ। यदि कुनै बाहिरी व्यक्ति अनुमतिविना निजी क्षेत्रमा प्रवेश गर्‍यो भने, त्यसलाई गैरकानुनी मानिन्छ, र त्यहाँ बस्‍ने मानिसहरूले प्रहरी बोलाउँछन्। त्यसपछि घुसपैठ गर्ने व्यक्तिलाई कानुनी रूपमा जिम्मेवार ठहराइन्छ। त्यसकारण, यदि अपरिचितले ढोका ढकढक्यायो भने, तैँले ढोका खोल्नुपर्दैन—तैँले इन्कार्न सक्छस्। कसैले तँलाई भेट्नका लागि समय मिलाएको थियो नै भने पनि, यदि तँ तयार छैनस् वा तैँले आफ्नो मन बदलेको छस् भने, ढोका खोल्नुपर्दैन; तँ तिनीहरूलाई भेट्न अर्को समय मिलाउन सक्छस्। पश्‍चिमी देशहरूका मानिसहरूसँग यस्तो अधिकार हुन्छ, तिनीहरूसँग यो कानुनी चेतना हुन्छ। तर चिनियाँ मानिसहरूमा यो कानुनी चेतनाको कमी हुन्छ। तिनीहरूले ढोका ढकढक्याएको सुन्दा तुरुन्तै ढोका खोलिहाल्छन्। यसले सतर्कताको कमी, आत्मरक्षाको चेतनाको कमी, र सम्बन्धित कानुनहरूसँगको अपरिचितता देखाउँछ। चीन तानाशाही राज्य भएकाले, र यहाँ एक पार्टी शासनलाई कानुनभन्दा माथि राखिएको हुनाले, यसको कानुनी प्रणाली देखावटी रूप मात्रै हो। ठूलो रातो अजिङ्गरले चीनमा कानुन र व्यवस्थालाई पूर्ण रूपमा बेवास्ता गर्दै काम गर्छ, बेपरवाह रूपमा दुष्कर्म गर्छ, र मानिसहरूसँग कुनै पनि मानव अधिकार हुँदैन। चिनियाँ मानिसहरू मानव अधिकारहरूप्रति ध्यान दिँदैनन्, न त तिनीहरूले अनुशासनात्मक प्रावधानहरू पालना गर्ने र कानुन मान्‍ने बोध नै विकास गरेका हुन्छन्; खासगरी, तिनीहरूमा आत्मरक्षाको चेतनाको कमी हुन्छ, र धेरैजसो मानिसलाई आफ्नो सुरक्षा गर्न कानुन कसरी प्रयोग गर्ने भन्‍ने नै थाहा हुँदैन। परिणामस्वरूप, सुरक्षाको कुनै प्रत्याभूति हुँदैन। सारांशमा भन्दा, कमजोर सार्वजनिक सुरक्षा भएको कुनै पनि ठाउँमा, जटिल पृष्ठभूमि र पहिचान भएका बासिन्दाहरू भएका, बारम्बार जाँचहरू हुने, वा बारम्बार विभिन्‍न आपराधिक मामलाहरूको घटना घट्ने कुनै पनि ठाउँमा, मानिसहरू सजिलै बाहिरी संसारको हस्तक्षेपबाट प्रभावित हुन्छन्। त्यस्तो ठाउँ बस्‍नका लागि उपयुक्त हुँदैन। महत्त्वपूर्ण कार्य-कर्मचारीहरूका लागि आवासको बन्दोबस्त गर्दा विचार गर्नुपर्ने सार्वजनिक सुरक्षाको तत्त्व यही हो।

आफ्नो कर्तव्य निर्वाह गरिरहेका मानिसहरूका लागि बस्‍ने वातावरण होसियारीसाथ छनौट गर्नैपर्छ; व्यस्त शहरी क्षेत्र र खतरनाक स्थानहरूदेखि टाढा रहनु नै सबैभन्दा राम्रो हो। हामीले कुनकुन स्थानहरूलाई व्यस्त शहरी क्षेत्रहरू भनेर भनिरहेका छौँ? यसमा रेलवे, राजमार्ग, चौबाटो, र बजारनजिक रहेका ठाउँहरू समावेश हुन्छन्। विशेषगरी प्रमुख रेलवे लाइनहरूमा, जहाँ हरदिन असङ्ख्य रेलहरू आवतजावत गर्छन्, र हरेकपटक रेल जाँदा-आउँदा नजिकका घरहरूको भुइँ काँपिरहन्छ। यस्तो वातावरणमा, आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा शान्ति भेट्टाउनु पूर्ण असम्भव हुन्छ। यसअलावा, घरबाट टाढा बसेर आफ्नो कर्तव्य निर्वाह गर्दै वर्षौँ बिताएका कतिपय मानिस निरन्तर तनावमा जिउँछन्, र तिनीहरूको हृदय सबैभन्दा राम्रो अवस्थामा हुँदैन, जसले गर्दा तिनीहरूलाई त्यस्ता ठाउँहरूमा बस्‍न अझै बढी अनुचित हुन्छ। यदि शान्त वातावरण चाहिने निश्‍चित कामहरू, जस्तै रेकर्डिङ गर्ने वा लेखन-पठनको कामहरूका हकमा भन्दा, कम्तीमा पनि कुनै होहल्‍लाको हस्तक्षेप हुनु हुँदैन, र सुरक्षाको पनि सुनिश्‍चितता हुनैपर्छ—यही नै आदर्शमय हुनेछ। यदि पूर्ण रूपमा सुरक्षित ठाउँ छैन भने, तुलनात्मक रूपमा सुरक्षित ठाउँ खोज्नैपर्छ। यस्तो अवस्थामा, थोरै होहल्‍ला स्वीकार्य नै हुन्छ, र हामीले मापदण्डहरू धेरै उच्च राख्‍नु हुँदैन; जिउने वातावरण सुरक्षित छ भने, यो नै पर्याप्त हुनेछ। साथै, यदि घर ठूलो ट्राफिक भिड हुने क्षेत्रमा, जस्तै ट्राफिक लाइटहरू भएको ठाउँनजिक वा चौबाटोमा पर्छ भने, त्यहाँ हरदिन अनगिन्ती पैदल यात्री र सवारीसाधनहरू आवतजावत गर्छन्। त्यस्तो घर धेरै बटुवाहरूको नजरमा पर्छ, र झट्ट हेर्दा नै, बटुवाहरूले सजिलै भित्रका कुराहरू देख्‍न सक्छन्। विशेषगरी राती जब बत्तीहरू बालिएका हुन्छन्, तब घरभित्रको अवस्था स्पष्टै देखिन्छ। के तँ अझै पनि त्यस्तो घरमा बस्‍न स्वीकार्य हुन्छ भनेर भन्छस्? के यो वातावरण उपयुक्त हुन्छ त? (अहँ, हुँदैन।) यो अवश्य नै उपयुक्त हुँदैन। यस्तो ठाउँमा बस्‍ने मानिसहरूले प्रायजसो हस्तक्षेपको समस्या भोग्छन्, र प्रायजसो अपरिचित मानिसहरूले तिनीहरूलाई नियालेर हेरिरहेको देख्छन्। जब तिनीहरूको आँखा अपरिचितको आँखासँग जुध्छ, तब तिनीहरू झस्कन्छन्, र हरदिन असहज महसुस गर्छन्, र निरन्तर आफूलाई कसैले हेरिरहेजस्तो महसुस गर्छन्—यसको पछाडि कोही छ कि, र उसले परिस्थितिलाई निर्देशित र नियन्त्रित पो गरिरहेको छ कि, कसलाई के थाहा हुन्छ र। के तँलाई त्यस्तो वातावरणमा जिउँदा सहज महसुस गर्न सकिन्छ भन्‍ने लाग्छ? साथै, कतिपय घर खराब ध्वनिरोधी क्षमता भएका र कम गुणस्तरका हुन्छन्, त्यसकारण घरभित्र ठूलो आवाजमा बोल्दा वा भजन बजाउँदा, बाहिरका मानिसहरूले सबै कुरा सुन्‍न सक्छन्। साथै, कतिपय घरहरू समुदायको सबैभन्दा अग्‍लो स्थानमा हुन्छन्, र त्यस्तो अवस्थामा ती घरहरूमा चट्याङ लाग्‍ने सम्भावना धेरै हुने मात्र होइन, दाजुभाइ-दिदीबहिनीहरूले घरबाहिर पाइला टेक्‍नेबित्तिकै वरपरका छिमेकीहरूले पनि देखिहाल्छन्। तिनीहरूलाई कहिलेकाहीँ भेन्टिलेशनका लागि वा शीतलताका लागि झ्यालहरू खोल्‍नसमेत असुविधा हुन्छ; झ्याल राम्रोसँग बन्द गरेर पर्दा तानिएको हुनैपर्छ, त्यसकारण प्रकाश कहिल्यै भित्र छिर्दैन, र बाहिर निस्केर यताउता गर्नु त झन् बढी असुविधाजनक हुन्छ। बाहिरका मानिसहरूले नियालेर हेर्लान् र ध्यान देलान् भन्‍नेबारे निरन्तर चिन्ता भइरहन्छ। दाजुभाइ-दिदीबहिनीहरू एकैपटक आउने-जाने नगरे पनि, हरेक पटक कुनै व्यक्ति प्रवेश गर्दा वा बाहिर निस्कँदा बाहिरका मानिसहरूले स्पष्ट रूपमा देख्‍न सक्छन्। अनि अन्त्यमा, त्यस घरमा कति जना अपरिचित मानिसहरू बस्छन् भन्‍नेबारे तिनीहरूलाई समग्र रूपमा थाहा भइहाल्छ। के तिमीहरू त्यहाँ बसेर पनि मानिसहरूको सुरक्षा सुनिश्‍चित गर्न सकिन्छ भनेर भन्छौ? (अहँ, सकिँदैन।) कतिपय मानिसले सोच्छन्, “हामी प्रायजसो घरभित्रै आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुन्छौँ, र हामी बाहिर गए पनि पालैपालो त्यसो गर्छौँ र एकैपटक बाहिर जाँदैनौँ। यसरी अभ्यास गर्दा, वरपरका छिमेकीहरूलाई केही थाहा हुँदैन।” तर तँ पालैपालो बाहिर गए पनि, यदि कसैले तँ अपरिचित व्यक्ति होस् भन्‍ने थाहा पायो भने यसले पनि समस्या ल्याउनेछ। धेरै गैरविश्‍वासीले आफै पनि राम्रो जीवन जिउँदैनन्, र त्यसमाथि अरूका मामलाहरू अवलोकन गर्न र चियोचर्चो गर्नमा विशेष आनन्द लिन्छन्। कतिपयले त तेरो जासुसी गर्न, र तँ घरभित्र के गर्छस् भनेर हेर्न दूरबीनसमेत प्रयोग गर्न सक्छन्। यदि तिनीहरूले विश्‍वासीहरू भेला भइरहेका छन् भन्‍ने पत्ता लगाए भने, इनामका लागि तुरुन्तै सरकारलाई यसबारे रिपोर्ट गर्छन्। त्यस्तो व्यक्तिले तँलाई निसाना बनायो भने, के त्यो खतरनाक परिस्थिति हुँदैन र? (हुन्छ।) तिनीहरूले तँलाई निसाना बनाएपछि, के त्यसबाट कुनै असल कुरा आउन सक्छ र? तँ अन्ततः अवश्य नै पक्राउ पर्नेछस्! देश वा क्षेत्र जुनसुकै भए पनि, अरूको चियोचर्चा गर्ने मानिसहरूको कहिल्यै कमी हुँदैन। तिनीहरूले तँलाई निगरानी गरेर एक पैसा नकमाए पनि, त्यो काम गर्न तिनीहरू एकदमै इच्छुक हुन्छन्—तिनीहरूले अरूको चियोचर्चा गरेर समय बिताउन आफ्नो गोजीबाट पैसासमेत तिर्छन् र आफ्नै काममा समेत ढिलाइ गर्छन्। अनि यदि तँलाई रिपोर्ट गरेर इनाम पाइन्छ भने त, तिनीहरू त्यसो गर्न झनै आतुर हुन्छन्। विशेषगरी चीनजस्तो तानाशाही शासनमा, परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई निगरानी गर्ने मानिसहरू अत्यन्तै धेरै हुन्छन्। तिनीहरूले सत्यताप्रति वितृष्णा राख्ने हुनाले र परमेश्‍वरमा विश्‍वास गर्नेहरूप्रति तिनीहरूलाई वितृष्णा महसुस हुने हुनाले, तिनीहरूले विश्‍वासीहरू मिलेर अन्तरक्रिया गरिरहेका वा भेला भइरहेका छन् भन्‍ने पत्ता लगाउनेबित्तिकै, त्यसबारे रिपोर्ट गरिहाल्छन्। यदि रिपोर्ट गर्दा इनाम पाइन्छ भने त झन् तिनीहरूले त्यसो गर्दा अथक सन्तुष्टि नै प्राप्त गर्छन्। के यसले मण्डलीमा सजिलै समस्या ल्याउँदैन र? (ल्याउँछ।) यदि तँमाथि यसरी हस्तक्षेप हुँदै छ भने, के यो अगुवा र कामदारहरूले राम्ररी स्थानको बन्दोबस्त नगरेकाले भएको होइन र? यदि अगुवा र कामदारहरूले कामकुराबारे राम्ररी विचार नगरेका कारण, महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई राख्‍ने स्थान र वातावरण अनुपयुक्त भएका रहेछन् भने, त्यसबाट आउने परिणामहरू यिनै हुन्। यदि व्यक्ति बस्‍ने स्थानले धेरै ध्यान आकर्षित गर्छ भने, यसले गर्दा परिस्थिति सजिलै गलत बन्‍न सक्छ। अनि कुनै कुरा गलत भयो र तैँले त्यसपछि मात्रै यो ठाउँ बस्‍नका लागि उपयुक्त छैन भन्‍ने कुरा महसुस गरिस् भने, त्यो ढिलो भइसकेको हुन्छ। त्यसकारण, आफ्नो कर्तव्य निर्वाह गर्नेहरूका लागि उपयुक्त बस्‍ने ठाउँ छनौट गर्नु पनि एउटा मुख्य काम हो, र खराब छनौटले सजिलै खतरा निम्त्याउन सक्छ।

इ. अगुवा र कामदारहरूले कर्मचारीहरूका लागि स्थानको बन्दोबस्त गर्ने काम कसरी गर्नुपर्छ?

महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको जिउने वातावरणको हकमा, चाहे यो आन्तरिक वातावरणसँग सम्बन्धित होस् वा बाहिरी वातावरणसँग, अगुवा र कामदारहरूले सबै पक्षहरूबारे राम्ररी विचार गर्नुपर्छ। तिनीहरूले सधैँ हामीले बाहिरी संसारसँग अन्तरक्रिया गरेनौँ भने, केही हुनेछैन भन्‍ने अनुमान गर्दै आफ्नो सोचाइमा सरलता अपनाउनु हुँदैन। आजको समाज अत्यन्तै जटिल छ, हरप्रकारका पिशाचहरूले भरिएको छ, र ठाउँ जुनसुकै भए पनि तेरो चियो गर्ने मानिसहरू सधैँ हुन्छन्, जसले गर्दा तिनीहरूको छानबिनबाट जोगिन असम्भव हुन्छ। तैँले यस्तो सोच्न सक्छस्, “मैले परमेश्‍वरमा विश्‍वास गरेर कुनै पनि कानुन तोडेको वा कुनै पनि गलत काम गरेको छैनँ। मैले आफ्नो कर्तव्य मात्रै निर्वाह गरिरहेको छु; मलाई केही हुनु नपर्ने हो, होइन र?” तर तथ्यहरू तैँले कल्पना गरेजस्तो सरल छैनन्। चिनियाँ कम्युनिस्ट पार्टीले किन परमेश्‍वरको विरोध गर्न र परमेश्‍वरको मण्डलीमाथि दमन गर्न यति धेरै जनशक्ति र स्रोतसाधनहरू खर्च गर्छ? के तैँले त्यो बुझ्न सक्छस्? तैँले कहिल्यै बुझ्‍न सक्‍नेछैनस्। तैँले दियाबलसहरू र शैतानहरूको प्रकृति कति हदसम्म छर्लङ्गै देख्‍न सक्छस्? तैँले दियाबलस र शैतानहरूबारे अत्यन्तै थोरै कुरा बुझेको छस्। यो समाज अत्यन्तै जटिल छ, र दियाबलस र शैतानहरू दुष्ट कार्य गर्ने दीनहीन मानिसहरू हुन्। तिनीहरूले सबैभन्दा बढी गर्न चाहेको कुरा भनेको परमेश्‍वरका चुनिएका मानिसहरूलाई पक्राउ गरेर मण्डलीको काममा बाधा दिनु हो। यदि तँ सधैँ शैतानहरूलाई साधारण मानिसहरू मात्रै ठान्छस् भने, तँ साँच्‍चै नै अज्ञानी छस्; यसले तैँले यो समाजको दुष्टता छर्लङ्गै देखेकै छैनस्, र तैँले अवश्य नै दियाबलस र शैतानहरूको घृणा पनि छर्लङ्ग देखेकै छैनस् भन्‍ने कुरा देखाउँछ। त्यसकारण, अगुवा र कामदारहरूले मण्डलीको काम राम्ररी गर्नका लागि, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्नेहरूको सुरक्षा सुनिश्‍चित गर्नैपर्छ—सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। कुनै विश्‍वासको स्वतन्त्रता नभएको तानाशाही शासनमा रहेको देशमा, आफ्नो कर्तव्य निर्वाह गरिरहेकाहरूको सुरक्षालाई सुनिश्‍चित गर्नु निकै गाह्रो हुन्छ। तर जति नै गाह्रो भए पनि, उचित बस्‍ने ठाउँहरू होसियारीसाथ छनौट गरिनैपर्छ; यसमा कुनै पनि हेलचेक्र्याइँ हुनु हुँदैन। परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरूमा यी कुराहरूबारेको सङ्गति पनि समावेश छ। अगुवा र कामदारहरूले दाजुभाइ-दिदीबहिनीहरूले बाहिरी संसारको बाधा र हस्तक्षेपबाट मुक्त भएर आफ्नो कर्तव्य निर्वाह गर्न सक्‍ने कुरा सुनिश्‍चित गर्नैपर्छ—तिनीहरूले यसमा आफ्नो हृदय लगाए भने, यो कुरा हासिल गर्न सक्छन्। तिनीहरूले झाराटारुवा र गैरजिम्मेवार रूपमा काम गर्छन् भने, र यसरी दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षालाई बेवास्ता गर्दै आफ्नै सुरक्षाबारे मात्रै वास्ता गर्छन् भने मात्रै यो चिन्ताको विषय हुन्छ। यसले मण्डलीको काम राम्ररी गर्न असम्भव तुल्याउँछ। यदि तेरो हेलचेक्र्याइँ, गम्भीरताको कमी, गैरजिम्मेवारी, वा वातावरण र समस्याको डरका कारण, तँ यी कुराहरू गर्न असफल भइस्, जसले गर्दा महत्त्वपूर्ण कर्तव्य निर्वाह गरिरहेका व्यक्तिहरू पक्राउ पर्छन् र दाजुभाइ-दिदीबहिनीहरूको ज्यान खतरामा पर्छ—र यसले मण्डलीको काममा ढिलाइ गराउँछ र दाजुभाइ-दिदीबहिनीहरूमा हानि पुर्‍याउँछ भने—अगुवा वा कामदारका रूपमा, यसको जिम्मेवारी तैँले नै वहन गर्नुपर्छ। क्षतिपूर्तिमा केही पैसा खर्च गरेर वा प्रार्थनाद्वारा पाप स्वीकार गरेर मात्रै यो जिम्मेवारी समाधान गर्न सकिँदैन; यो त्यति सरल छैन। त्यसोभए, यो कुराको प्रकृति के हो? यो हटाउन नसकिने कलङ्क, एक अनन्त अपराध हो—तँलाई एउटा दोष दिइएको हुन्छ। यो “दोष” ले साधारण गल्तीलाई जनाउँदैन; परमेश्‍वरको नजरमा, यो एउटा अपराध हो। यदि तेरा अपराधहरू धेरै छन् भने—तैँले विगतमा अपराधहरू गरेको थिइस्, आज पनि गरिरहेको छस्, र पछि भविष्यमा पनि अझै धेरै अपराध गर्नेछस् भने—कैयौँ ठूला अपराधहरू सबै जम्‍मा भएर तैँले अनन्त विनाश र बरबादी भोग्‍नेछस्। परमेश्‍वरले त्यसउप्रान्त तँलाई मुक्ति दिनुहुनेछैन, र परमेश्‍वरमाथिको तेरो विश्‍वास व्यर्थ हुनेछ। तँसँग मुक्तिको कुनै आशा नहुने मात्र होइन, तैँले दण्ड पनि सामना गर्नेछस्। त्यसकारण, अगुवा र कामदारहरूले सिद्धान्तहरूअनुसार आफ्नो काम गर्नु महत्त्वपूर्ण हुन्छ! के तैँले यो कुरा कण्ठ गरेको छस्? (गरेको छु।) अगुवा र कामदारहरूले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, र वातावरण जति नै प्रतिकूल वा खतरनाक भए पनि, तिनीहरूले महत्त्वपूर्ण कार्य कर्मचारीहरूको सुरक्षाको रक्षा गर्न र तिनीहरूका लागि उचित स्थानको बन्दोबस्त गर्नका लागि स्थानीय अवस्थाहरूअनुसार सक्दो प्रयास गर्नैपर्छ। यसको लक्ष्य भनेको मण्डलीको काम सामान्य रूपमा अघि बढ्न सकोस् भन्‍ने कुरा सुनिश्‍चित गर्नु हो।

महत्त्वपूर्ण कार्य-कर्मचारीहरूका लागि बन्दोबस्त गरिएका ठाउँहरू बाहिरी संसारको हस्तक्षेपबाट मुक्त हुने कुरा सुनिश्‍चित गर्नका लागि, अगुवा र कामदारहरूले निवास र त्यसको वातावरणप्रतिका माग र सिद्धान्तहरूका साथै, अतिथिसत्कारक परिवारको परिस्थितिका विभिन्‍न पक्षहरूसँग सम्‍बन्धित माग र सिद्धान्तहरू पनि छन्। जब अगुवा र कामदारहरूले सम्भावित अतिथिसत्कारक परिवार भेट्टाउँछन्, तब तिनीहरूले सुरुमा परिवारको वातावरण र अवस्थाहरू कस्ता छन्, यसका सदस्यहरूको अवस्था कस्तो छ, अरूसँग तिनीहरूको कुनै विवाद छ कि छैन, तिनीहरूका कोही शत्रुहरू छन् कि छैनन्, सरकारसँग तिनीहरूको कुनै उल्झन छ कि छैन, तिनीहरू बारम्बार मुद्दामा संलग्‍न हुन्छन् कि हुँदैनन्, तिनीहरूका जटिल सामाजिक सम्बन्धहरू छन् कि छैनन् भन्‍नेजस्ता कुराहरूबारे सोधपुछ गर्नुपर्छ। यी सबै आधारभूत परिस्थितिहरूबारे राम्ररी सोधपुछ गर्नु र जानकारी लिनुपर्छ। यदि अतिथिसत्कारक वा तिनीहरूका छोराछोरी र अरू पारिवारिक् सदस्यहरूको सामाजिक सम्बन्ध जटिल छ, र परिवार निरन्तर अस्थिर हुन्छ भने—समस्या पैदा गर्न वा ऋण उठाउन बारम्बार संदिग्ध व्यक्तिहरू घर आउँछन्, वा डाँकू वा लुटेराहरूबाट धम्कीका पत्रहरू, साथै सरकार वा अदालतबाट बोलावटहरू आइरहन्छन् भने—यी सबै अत्यन्तै समस्याजनक कुराहरू हुन्। यदि तँ यो घरमा भेला भइरहेको वा आफ्नो कर्तव्य निर्वाह गरिरहेको हुन्थिस् भने, के यी कुराहरू बाधा बन्‍ने थिएनन् र? त्यसकारण, जब तिमीहरूले यो अतिथिसत्कारक परिवार भेट्टाउँछौ, तब तिमीहरूले सुरुमा प्रश्‍नहरू सोधेर तिनीहरूको आधारभूत परिस्थितिबारे जानकारी लिनुपर्छ। यदि यी समस्याहरू छैनन् भने राम्रो हुन्छ, तर यदि छन् र अहिले अझै उपयुक्त ठाउँ भेट्टाउन सकिँदैन भने, अतिथिसत्कारकले यी समस्याहरू प्रभावकारी रूपमा सम्हाल्न सक्छ कि सक्दैन भन्‍ने कुरा विचार गर्। यदि अतिथिसत्कारकले ती समस्याहरू प्रभावकारी रूपमा सम्हाल्न सक्दैन र यी अराजक कुराहरू हटाउन सक्दैन भने, यो घर दाजुभाइ-दिदीबहिनीहरूलाई राख्नका लागि उपयुक्त हुँदैन, किनभने यहाँ बस्दा तिनीहरूले कुनै पनि बेला बाहिरी संसार र बाहिरी मानिस, घटना, र कामकुराहरूको हस्तक्षेपबाट कष्ट भोग्‍न सक्छन्। यी वातावरणहरूले परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूलाई सीधै निसाना बनाइरहेका हुँदैनन्। तर, धर्ममाथि सतावट हुने देशमा विश्‍वासीहरू विशेष संवेदनशील समूह हुन्, र अझ भन्‍ने हो भने, सरकारले व्यापक रूपमा प्रोपागाण्डा प्रचार गर्ने, मगजधुलाई गर्ने, अफवाहहरू सिर्जना गर्ने, र बदनामी गर्ने अथक प्रयासहरू गरेपछि, गैरविश्‍वासीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूलाई बुझ्न नसक्‍ने मात्र होइन, बरु उल्टै चिनियाँ कम्युनिस्ट पार्टीको शब्दजालमै विश्‍वास गर्नसमेत थाल्छन्, र यसले गर्दा विश्‍वासीहरूप्रति तिनीहरूमा निश्‍चित घृणा र शत्रुता पैदा हुन्छ। त्यसकारण, यदि तिनीहरूले कुनै निश्‍चित परिवारले विश्‍वासीहरूको अतिथिसत्कार गरिरहेको छ भनेर पत्ता लगाए भने, त्यो स्थिति अतिथिसत्कारक परिवार र दाजुभाइ-दिदीबहिनीहरू दुवैका लागि अत्यन्तै खतरनाक हुन्छ। जब दाजुभाइ-दिदीबहिनीहरू त्यस्तो वातावरणमा जिउँछन्, तब तिनीहरूले बारम्बार हस्तक्षेप भोग्‍ने मात्र नभई, तिनीहरूको सुरक्षा पनि सुनिश्‍चित हुन सक्दैन। त्यसोभए, किन तिनीहरूलाई त्यहाँ बस्‍न लगाइरहने त? त्यो स्पष्ट रूपमै खतरनाक ठाउँ हो, जहाँ बस्‍न उपयुक्त हुँदैन—तिनीहरूलाई तुरुन्तै स्थानान्तर गरिनुपर्छ। अगुवा र कामदारहरूले दाजुभाइ-दिदीबहिनीहरूका लागि स्थानको बन्दोबस्त गरेर यस्तो सोच्दै आफ्नो हात टकटक्याउने गर्नु हुँदैन “तिनीहरूसँग खाने र बस्‍ने ठाउँ, र घामपानीबाट सुरक्षित हुने ठाउँ छ भने, ठीकै हुन्छ। तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन् भने, कुनै समस्या हुँदैन। आखिर हामीले यति धेरै उपयुक्त ठाउँ कहाँ नै पो भेट्टाउनेछौँ र?” यो अत्यन्तै गैरजिम्मेवार कार्य हो! यदि त्यो बेला उपयुक्त ठाउँ उपलब्ध छैन भने, तिनीहरू त्यहाँ अस्थायी रूपमा रहन सक्छन्, तर तैँले तिनीहरूलाई जतिसक्दो चाँडो स्थानान्तर गर्नका लागि तुरुन्तै कुनै उपयुक्त स्थान खोज्नुपर्छ; यसलाई दीर्घकालीन निवासका रूपमा नलि।

कतिपय अगुवा र कामदारहरूले वास्तविक काम गर्दैनन्। तिनीहरूले निश्‍चित ठाउँमा महत्त्वपूर्ण कार्य-कर्मचारीहरूका लागि स्थानको बन्दोबस्त गर्छन्, खाने-पिउने र विश्रामका अवस्थाहरू कस्ता छन् भनेर सोध्छन्, र कुनै गैरविश्‍वासीहरूले तिनीहरूको निगरानी गरिरहेका छन् कि छैनन् भनेर सोध्छन्। केही दिनसम्‍म कुनै असामान्य कुरा देखिएको छैन भन्‍ने सुनेपछि, तिनीहरूले त्यो मामलालाई त्यतिकै छोडिदिन्छन्, र छ महिना वा त्योभन्दा बढी समयसम्म तिनको अवस्था जाँच गर्दैनन्। तिनीहरू आफूले राम्ररी स्थानको बन्दोबस्त नै गरेको छु र आफ्नो जिम्मेवारी पूरा गरेको छु भन्‍ने विश्‍वास गर्छन्, र यसरी तिनीहरूले सबै कुरा पूरा भएको र ठीकै भएको सोच्छन्। जहाँसम्‍म पछि वातावरणमा हस्तक्षेप हुनेछ कि छैन वा सुरक्षाका कुनै सम्भावित खतराहरू छन् कि छैनन् भन्‍ने कुरा छ, तिनीहरूले यसमा थप ध्यान दिँदै दिँदैनन्। के यो उचित हो त? (होइन।) यो किन उचित होइन? (स्थानहरूको बन्दोबस्त गरेपछि, अगुवा र कामदारहरूले अनुगमन गर्नुपर्छ। यदि तिनीहरूले अनुगमन गरेनन्, र दाजुभाइ-दिदीबहिनीहरू खतरनाक परिस्थितिमा परे अनि तिनीहरू स्थानान्तर हुन सकेनन् भने, तिनीहरू पक्राउ पर्न सक्छन्।) तर कतिपय अगुवा र कामदारहरू सोच्छन्, “तिमीहरू सबै वयस्क हौ—के मैले साँच्‍चै अनुगमन गर्नुपर्छ? के तिमीले खतरा छ कि छैन भनेर देख्‍न सक्दैनौ र? सक्दैनौ भने, तिम्रो दिमागले काम गरिरहेको छैन! यदि तिमीले खतरा देख्यौ भने, आफै अर्को ठाउँमा सर—के मैले तिमीलाई साँच्‍चै भनिरहनुपर्छ र?” तिनीहरूले यसरी तर्क गर्छन्। के तिमीहरूलाई यो तर्क उचित छ जस्तो लाग्छ? (छैन।) किन छैन? (किनभने महत्त्वपूर्ण कर्तव्य निर्वाह गर्नेहरूको सुरक्षा सुनिश्‍चित गर्नु अन्तर्निहित रूपमै अगुवा र कामदारहरूको जिम्मेवारी हो; यो तिनीहरूले पूरा गर्नुपर्ने तिनीहरूको भूमिकामा समावेश भएको काम हो।) तिनीहरूले यसलाई अगुवा र कामदारहरूले गर्नुपर्ने कामको भागका रूपमा लिँदैनन्; तिनीहरूले यो दाजुभाइ-दिदीबहिनीहरूलाई सहयोग गर्नु मात्रै हो, असल कार्यहरू गर्ने ली फेङको उदाहरण पछ्याउनुजस्तै हो भन्‍ने सोच्छन्। तिनीहरूले यसलाई मण्डलीको कामको रक्षा गर्न गरिएको कार्यका रूपमा पनि लिँदैनन्, बरु यसलाई मण्डलीको कामसँग सम्बन्धित नभएको, कर्मचारीहरूको स्थानको बन्दोबस्तका रूपमा मात्रै लिन्छन्। के तैँले यो मूर्खतापूर्ण कुरा हो भनेर भन्दैनस्? कस्तो व्यक्तिले यसरी सोच्ने गर्छ? (जिम्मेवारीबोध नभएको व्यक्तिले।) ती अल्छी, बेइमान, र गैरजिम्मेवार झूटा अगुवाहरूले यसरी नै सोच्छन्। तिनीहरूले परमेश्‍वरको घरको कामलाई कायम राख्ने गर्दैनन्; दाजुभाइ-दिदीबहिनीहरूका लागि ठाउँको बन्दोबस्त गरेपछि, तिनीहरूले सोच्छन्, “मैले तिमीहरूका लागि यति राम्रो स्थानमा बस्‍ने ठाउँ मिलाएँ—मैले तिमीहरूलाई कति ठूलो उपकार गरेको छु!” तिनीहरूले यसलाई मण्डलीको कामलाई कायम राख्ने कार्यका रूपमा लिँदैनन्। अगुवा र कामदारहरूका रूपमा, यदि तैँले महत्त्वपूर्ण कार्य-कर्मचारीहरूका लागि उचित रूपमा स्थानको बन्दोबस्त गर्दैनस् र तिनीहरूको सुरक्षा प्रभावकारी रूपमा सुनिश्‍चित गर्दैनस् भने, यदि तिनीहरूले खतरा सामना गर्छन् र आफ्नो कर्तव्य सामान्य रूपमा निर्वाह गर्न सक्दैनन् भने, के मण्डलीको काममा ढिलाइ हुनेछैन र? तैँले सुरुमा तिनीहरूका लागि उचित रूपमा बस्‍ने स्थानहरू मिलाउनुपर्छ ताकि तिनीहरूको सुरक्षा सुनिश्‍चित होस्, अनि त्यसपछि मात्रै तिनीहरूले सामान्य रूपमा काम गर्न अघि बढ्न सक्छन्। तर ती झूटा अगुवाहरूले त्यसरी सोच्दैनन्; तिनीहरूले यी मानिसहरूलाई कुनै स्थानमा छोडिदिन्छन् र त्यसपछि बेवास्ता गर्छन्, र लामो समयसम्म तिनीहरूको अवस्थाबारे कुनै जाँच गर्दैनन्। जब खतरनाक परिस्थिति पैदा हुन्छ र तिनीहरूले आफ्नो अगुवालाई सम्पर्क गर्न सक्दैनन्, तब तिनीहरूसँग आफै स्थानान्तर हुनेबाहेक अरू कुनै विकल्प हुँदैन। अगुवाले यो कुरा थाहा पाएर जाँच गर्न जाऊञ्जेल ती मानिसहरू धेरै पहिले गइसकेका हुन्छन्, र तिनीहरू कहाँ गएका छन् भन्‍ने कुरा अगुवालाई थाहै हुँदैन। यो कस्तो व्यक्ति हो? यो कस्तो अगुवा वा कामदार हो? झूटो अगुवा। विशेषगरी अरू क्षेत्रबाट आएका र स्थानीय वातावरणसँग अपरिचित रहेका दाजुभाइ-दिदीबहिनीहरूका हकमा, अगुवा र कामदारहरूले नियमित रूपमा भेटेर अनुगमन गर्नु अझै बढी आवश्यक हुन्छ। अगुवा र कामदारहरूले तिनीहरूका लागि एक पटक स्थानको बन्दोबस्त गरिसकेपछि यसले सबै कुरा स्थायी रूपमा समाधान गर्छ भन्‍ने अनुमान गर्नु हुँदैन; वास्तवमा, यो काम पूरा भएकै हुँदैन। तिनीहरूले उनीहरूलाई बारम्बार भेट्नु र अनुगमन गर्नुपर्छ। यदि अगुवा र कामदारहरूलाई त्यो स्थानमा आफै जान असहज हुन्छ भने, तिनीहरूले जाँच गर्न अरूलाई खटाउनुपर्छ। कम्तीमा पनि, तिनीहरूले यो कामको अनुगमन गर्नुपर्छ—यी महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको जिउने वातावरणको मूल्याङ्कन गर्नुपर्छ, कुनै खतरा छ कि वा कुनै असामान्य कुरा छ कि, वा कुनै विशेष परिस्थितिहरू देखा परेका छन् कि, र स्थानान्तर गर्नु आवश्यक छ कि भनेर जाँच गर्नुपर्छ। यो सबै कुराबारे जानकारी लिनु र अनुगमन गर्नुपर्छ। यदि छोटो अवधिका लागि यो ठाउँ सबैभन्दा उपयुक्त देखिन्छ भने, ठीकै छ, तर केही समयपछि, तिनीहरू उनीहरूको वातावरण र सुरक्षाबारे जाँच गर्न, र उनीहरूसँग पर्याप्त खाना र आपूर्ति छ कि छैन भनेर जाँच गर्न फेरि जानुपर्छ—यी सबै विवरणहरूबारे सोधखोज गर्नुपर्छ। अगुवा र कामदारहरूले महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको काम नबुझ्ने सम्भावना पनि हुन्छ, र त्यस्तो अवस्थामा तिनीहरूले त्यो पक्षमा हस्तक्षेप गर्नु हुँदैन, तर तिनीहरूका लागि उचित रूपमा स्थानको बन्दोबस्त गर्ने काम अगुवा र कामदारहरूको जिम्मेवारी हो—त्यो काम नगर्नु भनेको आफ्‍नो जिम्मेवारीबाट च्युत हुनु हो र यसले तिनीहरू वास्तविक काम नगर्ने झूटा अगुवाहरू हुन् भन्‍ने देखाउँछ। विशेषगरी अरू क्षेत्रका दाजुभाइ-दिदीबहिनीहरूका हकमा, तिनीहरूलाई थप, र नजिकबाट ध्यान दिइनुपर्छ र तिनीहरूप्रति लापरवाह व्यवहार गर्नु हुँदैन। अगुवा र कामदारहरूले बेलाबेलामा तिनीहरूको हालखबर बुझ्‍नुपर्छ, र तिनीहरूले समाधान गर्नुपर्ने कुनै कठिनाइहरू छन् कि, र यस अवधिमा तिनीहरूले आफ्नो कर्तव्य पूरा गरिरहेको वातावरणमा कुनै समस्या वा विशेष परिस्थितिहरू आएका छन् कि, उदाहरणका लागि, स्थानीय सरकार, टोल समिति, वा पुलिस चौकीसँग सम्बन्धित कुनै असामान्य क्रियाकलाप भएको छ कि भनेर हेर्नुपर्छ। अगुवा र कामदारहरूले पूर्ण जानकार रहनका लागि यी कुराहरूबारे जाँचबुझ र सोधखोज गरिरहनुपर्छ। त्यसपछि, अगुवा र कामदारहरूले आफ्नो कर्तव्य निर्वाह गर्नेहरूको उचित रूपमा अतिथिसत्कार गर्ने र रक्षा गर्नेसम्बन्धी सिद्धान्त र अभ्यास मार्गहरूबारे अतिथिसत्कारकसँग सङ्गति गर्नुपर्छ, ताकि अतिथिसत्कारकले अभ्यासका यी सिद्धान्त र मार्गहरू पूर्ण रूपमा बुझ्‍न सकोस्। तर यति गरेपछि सबै कुरा सक्‍कियो भन्‍नेचाहिँ हुँदैन। अगुवा र कामदारहरूले बेलाबेलामा अतिथिसत्कारक परिवारलाई भेटेर परिस्थितिबारे सोधखोज पनि गर्नुपर्छ। कुनै पनि समस्याहरू पैदा नहुने कुरा सुनिश्‍चित गर्नका लागि तिनीहरूले आफूले पत्ता लगाएका कुनै पनि मामला तुरुन्तै समाधान गरिहाल्‍नुपर्छ। त्यसपछि मात्रै काम साँच्‍चिकै राम्ररी पूरा हुन्छ। यदि अतिथिसत्कारकले अतिथिसत्कार गर्ने कार्यमा कठिनाइहरू सामना गर्‍यो, जस्तै पैदा हुने परिस्थितिहरूमा आर्थिक सीमितता वा जबुद्धिको कमीले गर्दा तिनीहरूले प्रतिक्रिया दिन वा त्यसलाई सम्हाल्न नसक्‍ने परिस्थिति आइपर्यो भने, अगुवा र कामदारहरूले ती समस्याहरू समाधान गर्न सहयोग गर्नैपर्छ। आर्थिक सीमितताहरू समाधान गर्न सजिलो छ—परमेश्‍वरको घरले अतिथिसत्कारका लागि पैसा प्रदान गर्न सक्छ, जबकि अतिथिसत्कारक परिवारले जनशक्ति योगदान मात्रै दिनुपर्छ। यदि अतिथिसत्कारकमा बुद्धिको कमी छ भने, त्यो ठूलो समस्या हो। अगुवा र कामदारहरूले यो क्षेत्रसँग सम्बन्धित आवश्यक बुद्धि र अभ्यासका केही सिद्धान्तहरू स्पष्ट रूपमा व्याख्या गर्नैपर्छ। यदि अतिथिसत्कारकमा अझै पनि कमी रह्यो भने, अगुवा र कामदारहरूले यो काम राम्ररी अघि बढाउनका लागि अतिथिसत्कारकसँग सहकार्य गर्न नजिकैको कोही बुद्धिमानी दाजुभाइ वा दिदीबहिनी खोज्नुपर्छ। यदि समस्या अतिथिसत्कारक आफैमा छ भने—जस्तै ऊ डरपोक छ वा उसले गिरफ्तारीको डर मान्छ भने—अगुवा र कामदारहरूले साथ र सहयोग प्रदान गर्न सत्यतामा सङ्गति गर्नुपर्छ, र परमेश्‍वरका अभिप्रायहरू साथै यो कर्तव्य निर्वाह गर्नुको मूल्य र महत्त्वबारे सङ्गति गर्नुपर्छ। यदि यो वस्तुगत वातावरणको समस्या हो भने, यसमा ढिलाइ गर्ने वा यसलाई त्यतिकै छोड्‍ने गर्नु हुँदैन, र यसलाई अवश्यै लापरवाहीपूर्वक लिनु पनि हुँदैन; यसलाई तुरुन्तै समाधान गरिनुपर्छ। उदाहरणका लागि, यदि यो ठाउँप्रति मानिसहरूको ध्यान आकर्षित भइसकेको छ, शङ्कास्पद अपरिचित मानिसहरू प्रायजसो त्यो क्षेत्रमा आउनेजाने गर्छन्, र कसैले त्यो स्थानको निगरानी गर्ने सम्भावना छ भने, यसले गुप्त खतरा पैदा गर्छ। त्यसकारण, तुरुन्तै दाजुभाइ-दिदीबहिनीहरूलाई स्थानान्तर गर—कुनै घटना घटुञ्जेल पर्खिँदा ढिला भइसकेको हुनेछ। यदि परिस्थिति अस्थायी हो र यो सामान्य र नियमित प्रक्रिया मात्रै हो भने, यसलाई अझै पनि मुस्किलले मात्र निप्टाउन सकिन्छ: यसबाट जोगिनका लागि दाजुभाइ-दिदीबहिनीहरूलाई एकदुई दिनसम्म अस्थायी रूपमा अन्त कतै पठाओ, अनि पछि तिनीहरू फर्केर आउन सक्छन्। यदि यसप्रति मानिसहरूको ध्यान आकर्षित भइसकेको छ भने, त्यहाँ बस्‍नु उपयुक्त विकल्प हुँदैन, र स्थायी रूपमा अन्त सर्नु जरुरी हुन्छ। यी अगुवा र कामदारहरूले यो काममा सम्हाल्नुपर्ने र समाधान गर्नुपर्ने केही विस्तृत समस्याहरू यिनै हुन्। यो काम भनेको मानिसहरूलाई खाने र बस्‍ने बन्दोबस्तसहित कुनै ठाउँमा राखेर काम पूरा भयो भनेर भन्‍नु मात्रै होइन; यसमा धेरै मिहिन कुराहरू समावेश हुन्छन्। विशेषगरी चीनजस्तो देशमा, जहाँ वातावरण विशेष रूपमा शत्रुवत् छ र धार्मिक सतावट गम्भीर छ, त्यहाँ अगुवा र कामदारहरूले महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको जिउने वातावरण र सुरक्षा समस्याहरूप्रति अझै बढी ध्यान दिनुपर्छ र नजिकबाट निगरानी गर्नुपर्छ। तिनीहरू लापरवाह हुनु हुँदैन। यी महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति हुने र तिनीहरूले मनमा शान्ति लिएर आफ्नो कर्तव्य निर्वाह गर्न सक्‍ने कुरा सुनिश्‍चित गर्नका लागि निश्‍चित कामका सबै पक्षहरू राम्ररी पूरा गरिनैपर्छ। यसरी, काम राम्ररी पूरा हुन्छ। अतिथिसत्कारक परिवारहरूका हकमा अगुवा र कामदारहरूले गर्नैपर्ने काम यही हो, र यसमा निकै धेरै कुराहरू समावेश छन्।

कतिपय अगुवा र कामदारहरूले निश्‍चित महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई उचित अतिथिसत्कारक घरमा राख्‍ने बन्दोबस्त गरेपछि, तिनीहरूलाई पूर्ण रूपमा बेवास्ता गर्छन् र अतिथिसत्कारक परिवारहरूको परिस्थितिबारे निरन्तर अनुगमन गर्दैनन्। तिनीहरू भन्छन्, “म हरेक दिन मण्डलीको काममा व्यस्त हुन्छु—मसँग यी मानिसहरूलाई भेट्ने समय कसरी हुन सक्छ र? यसबाहेक, अरू धेरै कामहरू छन्, र यो निकै खतरनाक पनि छ। हाम्रो काम गर्नु त्यति सजिलो छैन!” तिनीहरूले निरन्तर वस्तुगत कारणहरूमा जोड दिन्छन्, तैपनि आफ्नै जिम्मेवारीहरू पूरा गर्न तिनीहरू चाहँदै चाहँदैनन्। तिमीहरूलाई के लाग्छ—के तिनीहरूको यो अभिव्यक्ति जायज छ? (छैन।) किन छैन? (वास्तवमा, यो काम गर्नका लागि अगुवा र कामदारहरूको धेरै समय र ऊर्जा चाहिँदैन। तिनीहरूले बाहिर जाँदा उनीहरूलाई भेट्न सक्छन्। अनि यदि तिनीहरूसँग समय छैन भने, तिनीहरूले नजिकका दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्न लगाउन पनि सक्छन्।) यदि अगुवा र कामदारहरूले यो काम राम्ररी गर्न चाहन्छन् भने, तिनीहरूलाई आफ्नो प्राथमिक कामले अलिक व्यस्त राखे पनि, तिनीहरूले अझै पनि यो काममा ध्यान दिन समय निकाल्नेछन्। यदि तिनीहरूसँग आफै जाने समय छैन भने, तिनीहरूले अरूलाई पठाउन सक्छन्। तिनीहरूले अरूलाई पठाउने बन्दोबस्त गरे पनि वा आफै गए नि, अन्ततः यो काम अगुवा र कामदारहरूको जिम्मेवारीको दायराभित्रै पर्छ। यो काम राम्ररी गर्नु अगुवा र कामदारहरूको महत्त्वपूर्ण जिम्मेवारी हो, र यसलाई बेवास्ता गर्नु हुँदैन। यदि अगुवा र कामदारहरू अत्यन्तै व्यस्त छन् र तिनीहरूसँग समय छैन, र तिनीहरूले अरूलाई पठाउने बन्दोबस्त पनि गर्दैनन् भने, कसैले पनि यो मामलालाई सम्हाल्नेछैन। यदि केही गलत भयो भने, यो अगुवा र कामदारहरू आफ्नो जिम्मेवारीबाट च्युत हुनु हुन्छ। महत्त्वपूर्ण कर्तव्य निर्वाह गरिरहेकाहरूलाई बाहिरी संसारको हस्तक्षेप भोग्‍नबाट रोक्नको लागि, अगुवा र कामदारहरूले समस्याहरूका सबै पक्षहरूलाई ध्यान दिनैपर्छ, र उनीहरूले आफ्नो कर्तव्य शान्तिपूर्वक पूरा गर्न र आफूले हातमा लिएको काम व्यवस्थित रूपमा अघि बढाउन सक्‍ने कुराको हरसम्भव प्रत्याभूति गर्नुपर्छ। यदि महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई राम्ररी रक्षा गरियो भने, यो महत्त्वपूर्ण कामको रक्षा गर्नुसरह हो। जब महत्त्वपूर्ण कार्य-कर्मचारीहरूले सामान्य रूपमा काम गर्न सक्छन्, तब महत्त्वपूर्ण काम पनि व्यवस्थित रूपमा अघि बढ्न सक्छ। त्यसकारण, अगुवा र कामदारहरूले महत्त्वपूर्ण कार्य-कर्मचारीहरू रक्षा गर्नुको उद्देश्य वास्तवमा हरेक महत्त्वपूर्ण कामको रक्षा गर्नु हो। यदि कतिपय अगुवा र कामदारहरूले “तपाईँले महत्त्वपूर्ण कर्तव्य निर्वाह गरिरहनुभएको छ र मलाई तपाईँको रक्षा गर्न लगाइएको छ, तर म अगुवाइको पदमा छु, र म पनि सुरक्षित छैनँ। मैले आफ्नै सुरक्षाको समेत प्रत्याभूति गर्न सक्दिनँ, त्यसकारण मैले कसरी तपाईँहरूको रक्षा गर्न सक्छु र?” भनेर भन्छ भने—तब के यो अभिव्यक्ति सही हुन्छ? (यो सही हुँदैन।) त्यस्ता अगुवा र कामदारहरूमा कस्तो बुझाइ हुन्छ? (तिनीहरूको बुझाइ कमजोर हुन्छ; त्यस्ता मानिसहरू स्वार्थी हुन्छन् र तिनीहरूमा कुरा बङ्ग्याउने प्रवृत्ति हुन्छ।) तिनीहरू कुरा बङ्ग्याउने प्रवृत्ति भएकाहरू नै हुन्। के कुरा बङ्ग्याउने प्रवृत्ति भएका व्यक्तिहरूमा तर्कसङ्गतताको कमी हुन्छ? (हुन्छ।) यदि यी दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुन्थेनन्, बरु बाह्य संसारमा जागिर गरिरहेका र जीवन जिइरहेका हुन्थे भने, के तिनीहरूलाई अझै पनि सुरक्षा आवश्यक हुनेथ्यो? तिनीहरूले मण्डलीको काम र परमेश्‍वरको घरका महत्त्वपूर्ण कर्तव्यहरू निर्वाह गरिरहेका हुनाले, र तिनीहरूलाई पक्राउ गरियो भने तिनीहरूलाई जेल सजाय हुने वा तिनीहरूमाथि चोट पुग्नेवा अङ्गभङ्ग हुनेगरी कुटपिट हुन सक्ने हुनाले, र यसले मण्डलीको काममा गम्भीर असर पार्ने हुनाले नै, महत्त्वपूर्ण कार्य कर्मचारीहरूलाई राम्ररी रक्षा गरिनुपर्छ। यसरी मात्रै मण्डलीको काम व्यवस्थित रूपमा अघि बढ्न सक्छ। यदि तिनीहरू कुनै लोकतान्त्रिक देशमा छन् जहाँ धार्मिक विश्‍वासको स्वतन्त्रता छ र परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई सताउने गरिँदैन भने, यो काम अगुवा र कामदारहरूका लागि सरल बन्छ। तिनीहरूले केवल उपयुक्त घर मात्र खोज्नुपर्छ, र कर्तव्य निर्वाह गर्नेहरूका लागि केवल स्थानीय कानुन र प्रावधानहरूअनुसार उचित रूपमा स्थानको बन्दोबस्त मात्र गर्नुपर्छ। बढीमा, तिनीहरूले उनीहरूको हालैको दैनिक जीवन कसरी अघि बढिरहेको छ र जिउने वातावरणले कुनै सरकारी प्रावधानहरू उल्लङ्घन गर्छ कि गर्दैन भनेर मात्रै सोधखोज गर्नुपर्छ। यदि उल्लङ्घन भएको छ भने, समस्या के हो, साथै यसलाई कसरी सुधार र समाधान गर्ने भनेर स्पष्ट पार्नु आवश्यक हुन्छ। यदि कुनै उल्लङ्घन भएको छैन, तर सरकारले समस्या पैदा गरिरहेको छ, वा दुष्ट मानिसहरू वा अज्ञात व्यक्तिहरूले दुर्व्यवहार गरिरहेका छन् भने, यी कुराहरू उचित रूपमा सम्हाल्न वकीलसँग परामर्श लिनु आवश्यक हुन्छ। कतिपय स्वतन्त्र र लोकतान्त्रिक देशमा, बढीमा यस्तो काम मात्रै गर्नुपर्ने हुन्छ। तर, धार्मिक विश्‍वासको कुनै स्वतन्त्रता नभएका तानाशाही देशहरूमा, अतिथिसत्कारक परिवारहरूका वातावरण र अवस्थाहरूसम्बन्धी मागहरू अझै कडा हुनुपर्छ, अनि सुरक्षाबारे अझै धेरै र अझै विस्तृत काम गरिनुपर्छ। अवश्य नै, त्यस्तो काममा संलग्‍न हुने कठिनाइ पनि अझै ठूलो नै हुन्छ। महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई बाहिरी संसारको हस्तक्षेपबाट रक्षा गर्ने कामको हकमा भन्‍नुपर्दा, यदि वातावरणको हरेक पक्षलाई राम्ररी विचार गरियो भने, त्यो वातावरणबाट आउने हस्तक्षेपहरू तुलनात्मक रूपमा कम हुनेछन्। यदि बाहिरी वातावरण र आन्तरिक वातावरण दुवैलाई पूर्ण रूपमा ध्यान दिइयो भने, एउटा वास्तविक र व्यवहारिक मार्ग भेट्टाउन सकिन्छ। यसरी, वातावरणलाई केही हदसम्म सुधार गर्न सकिन्छ, र हस्तक्षेपहरूलाई घटाउन सकिन्छ। यो शैली तुलनात्मक रूपमा अलिक उचित हुन्छ।

महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई सुरक्षित राख्‍ने

अ. आस्थालाई सताइने देशहरूमा परमेश्‍वरका चुनिएका मानिसहरूको सुरक्षा कसरी सुनिश्‍चित गर्ने

अगुवा र कामदारहरूको पन्ध्रौँ जिम्मेवारी भनेको, सर्वप्रथम, महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई बाहिरी संसारको हस्तक्षेपबाट रक्षा गर्नु हो; यसअलावा, अगुवा र कामदारहरूले यी मानिसहरूलाई सुरक्षित पनि राख्‍नैपर्छ। तिनीहरूलाई सुरक्षित राख्‍नेसम्बन्धी मागहरू अझै कडा छन्। सुरुमा हामी सुरक्षामा कुन-कुन पक्षहरू संलग्‍न हुन्छन् भन्‍ने कुरालाई हेरौँ—तिमीहरूले सुरक्षासँग सम्बन्धित कुन-कुन कुराहरूबारे सोच्न सक्छौ? महत्त्वपूर्ण कर्तव्य पूरा गर्नेहरूको सुरक्षा सुनिश्‍चित गर्नका लागि, सुरुमा तिनीहरूलाई बाहिरी संसारको हस्तक्षेपले असर नगर्ने कुराको प्रत्याभूति गर्नु जरुरी हुन्छ—न्यूनतम रूपमा हासिल गर्नैपर्ने कुरा यही हो, र यही जगमा मात्रै अन्त्यमा तिनीहरूको सुरक्षा सुनिश्‍चित गर्न सकिन्छ। हामीले यहाँ कुरा गरिरहेको सुरक्षा भनेको कर्तव्य पूरा गरिरहेकाहरूलाई बाधा नदिइने वा पक्राउ नगरिने र तिनीहरूले सामान्य रूपमा कर्तव्य पूरा गर्न सक्‍ने कुराको प्रत्याभूति गर्न सक्नु हो। यो यति सरल कुरा हो। यदि अगुवा र कामदारहरूले कर्तव्य पूरा गरिरहेकाहरूलाई हस्तक्षेप र गिरफ्तारीबाट रक्षा गरिने कुराको प्रत्याभूति गर्न सक्दैनन् भने, तिनीहरूको सुरक्षा सुनिश्‍चित हुने कुनै उपाय हुँदैन। यसबारे विचार गर त—महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको सुरक्षा सुनिश्‍चित गर्नका लागि अगुवा र कामदारहरूले के कुरामा ध्यान दिनुपर्छ? पहिला त तिनीहरूले महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई उपयुक्त स्थानमा राख्‍ने बन्दोबस्त गर्नुपर्छ। उपयुक्त स्थान भनेको के हो? यसले कम्तीमा पनि दुईवटा सर्तहरू पूरा गर्नुपर्छ। पहिलो, यो स्थान वातावरणको हस्तक्षेपबाट मुक्त हुनुपर्छ। दोस्रो, यसले ध्यान आकर्षित गर्नु हुँदैन; यो परिवारले परमेश्‍वरमा विश्‍वास गर्छ र अरूलाई अतिथि सत्कार गर्छ भन्‍ने कुरा केही स्थानीय दाजुभाइ-दिदीबहिनीहरूलाई मात्रै थाहा हुनुपर्छ, र अरू कसैलाई थाहा हुनु हुँदैन। यस्तो ठाउँ मात्रै महत्त्वपूर्ण कर्तव्य पूरा गरिरहेकाहरूलाई अतिथि सत्कार गर्नका लागि उपयुक्त हुन्छ। यी महत्त्वपूर्ण कार्य-कर्मचारीहरू त्यहाँ सरेपछि, हरेक व्यक्तिको नाम र जन्मस्थान जस्ता व्यक्तिगत जानकारी, साथै ऊ संलग्न हुने मण्डलीको कामको प्रकार र उसलाई सरकारले पहिले पक्राउ गरेको वा हाल खोजिरहेको छ कि छैन भन्‍नेजस्ता खास परिस्थितिहरू यत्तिकै अरूलाई खुलासा गर्नु हुँदैन। यस्ता कुराहरू जति कम मानिसहरूलाई थाहा हुन्छ, त्यति नै राम्रो हुन्छ। मानिसहरूको कद अत्यन्तै सानो हुने भएकाले र तिनीहरूलाई पक्राउ गरेर जेल हालियो भने तिनीहरू दह्रिलो गरी खडा हुन सक्छन् कि सक्दैनन् भन्‍ने कुरा अनिश्‍चित हुने भएकाले, तिनीहरूमा आत्म-चेतना हुनुपर्छ र तिनीहरूले भविष्यमा आफैलाई समस्यामा पार्नबाट जोगिनका लागि दाजुभाइ-दिदीबहिनीहरूको व्यक्तिगत जानकारीबारे यत्तिकै सोधखोज गर्नबाट टाढै बस्‍नुपर्छ। यससम्बन्धी सिद्धान्त र बुद्धिहरूबारे बारम्बार सङ्गति गरिनुपर्छ ताकि सबैले ती कुरा बुझून्। यो परमेश्‍वरको घरको कामका लागि मात्रै फाइदाजनक नभई हरेक व्यक्तिका लागि पनि फाइदाजनक हुन्छ। त्यसकारण, अगुवा र कामदारहरूले अतिथि सत्कारक परिवारका दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो जिब्रो काबुमा राख्‍न र अरू दाजुभाइ-दिदीबहिनीहरू वा तिनीहरूको गैरविश्‍वासी पारिवारिक सदस्यहरूलाई महत्त्वपूर्ण कर्तव्य पूरा गरिरहेकाहरूको व्यक्तिगत जानकारी खुलासा नगर्न निर्देशन दिनुपर्छ। के यो काम गर्नु जरुरी हुन्छ? (हुन्छ।) अतिथि सत्कारक परिवारका कतिपय दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो जिब्रो काबुमा राख्‍न सक्दैनन्। उदाहरणका लागि, कसैले केही अगुवा र कामदारहरूलाई अतिथि सत्कार गरेको थियो, र त्यसपछि ऊ ती मानिसहरूका व्यक्तिगत परिस्थिति, पारिवारिक पृष्ठभूमि, र तिनीहरूले पूरा गरिरहेका कर्तव्यहरूसँग परिचित भयो। अनि त्यसपछि, उसले आफ्ना छोराछोरीलाई भन्यो, “हेर, ऊ पनि तिमीहरूकै उमेरको हो। उसले परमेश्‍वरमा विश्‍वास गरेको दश वर्ष भयो र उसले आफ्नो कर्तव्य पूरा गर्न आफ्नो जागिरसमेत छोडेको छ। उसले फलानो सहरको सरकारी विभागमा काम गर्थ्यो, र उसको वार्षिक आम्दानी दशौँ हजार युआन हुन्थ्यो!” हेर् त, उसले त्यतिकै कुरा गरिरहेझैँ गरी महत्त्वपूर्ण कर्तव्य पूरा गरिरहेकाहरूको अवस्था आफ्नो गैरविश्‍वासी पारिवारिक सदस्यहरूसामु खुलासा गर्‍यो। कति मानिसहरूले त यसभन्दा पहिले पक्राउ गरिएका र जेल हालिएका दाजुभाइ-दिदीबहिनीहरूलाई अतिथि सत्कार गर्दा, आफ्नो परिवारका सदस्यहरूलाई यसो समेत भन्छन्, “हेर् त, तिनीहरू वर्षौँ जेल बसेका थिए र तिनीहरू कहिल्यै यहूदा बनेनन्। रिहा भएपछि पनि तिनीहरूले कर्तव्य निर्वाहलाई निरन्तरता दिइरहेका छन्। अहिले सरकारले तिनीहरूलाई फेरि पक्राउ गर्न चाहन्छ, त्यसकारण तिनीहरू आफ्नो परिवारलाई भेट्न घर जान सक्दैनन्, तैपनि तिनीहरू नकारात्मक हुँदैनन्। तिनीहरूको आस्था कति ठूलो छ, देखिस्? तैँले चाहिँ किन उचित रूपमा विश्‍वास गर्न नसकेको?” यसरी, तिनीहरूले आफ्ना छोराछोरीलाई निर्देशन दिने विधिमार्फत यत्तिकै दाजुभाइ-दिदीबहिनीहरूका महत्त्वपूर्ण जानकारी खुलासा गर्छन्। के यसले भविष्यमा समस्याहरू ल्याउन सक्छ? (सक्छ।) के यो समस्या हो? (हो।) यदि यसका कारण केही भएन भने, ठीकै छ; तर ठूलो रातो अजिङ्गरले पक्राउ सुरु गरेपछि, बाहिर निस्‍केर विश्‍वासी दाजुभाइ-दिदीबहिनीको रिपोर्ट गर्ने पहिलो व्यक्ति तिनीहरूको गैरविश्‍वासी पारिवारिक सदस्य नै हुन्छ: “अफिसर! फलानो व्यक्ति अगुवा हो—तपाईँले खोज्नुभएको व्यक्ति उही हो।” त्यसपछि धोका दिइएको त्यो व्यक्तिलाई ठूलो रातो अजिङ्गरले पक्राउ गर्छ र ऊ कुटपिटले गर्दा अधमरो हुन्छ, र त्यसपछि उसले आफ्नो कर्तव्य निर्वाह गर्न जारी राख्न वा सामान्य जीवन जिउन सक्छ कि सक्दैन भन्‍नेबारेमै प्रश्‍नहरू उठ्छन्। धोकाको परिणाम यही हुन्छ। के यो अतिथि सत्कारकको बेपरवाह बोलीले पैदा भएको होइन र? (हो।) यदि महत्त्वपूर्ण कार्य-कर्मचारीहरूले त्यस्ता सुरक्षा जोखिमहरू सामना गर्नुपर्छ भने, के यसको अर्थ अगुवा र कामदारहरूले आफ्नो काम राम्ररी गरेका छैनन् भन्‍ने होइन र? (हो।) अतिथि सत्कारकले सोच्छ, “हाम्रो परिवारका सदस्यहरू सबै असल मानिसहरू हुन्; तिनीहरूले तपाईँलाई धोका दिनेछैनन्। तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वासलाई समर्थन गर्छन्—तपाईँहरू आउँदा तिनीहरूले तरकारी र मासुसमेत किन्छन्!” तिनीहरूले आफ्ना गैरविश्‍वासी पारिवारिक सदस्यहरूलाई दाजुभाइ-दिदीबहिनीहरूजस्तै व्यवहार गर्छन्, र आफ्नो परिवारले केसम्‍म गर्न सक्छ वा आफ्नो परिवारका सदस्यहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिए भने परिणामहरू कति गम्भीर हुन सक्छन् भन्‍ने कुरा स्पष्ट रूपमा देख्‍न सक्दैनन्। तिनीहरू विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको अवस्थाबारे अत्यन्तै जिज्ञासु पनि हुन्छन्, र सोध्छन्, “तपाईँ कति वर्षदेखि यो कर्तव्य पूरा गर्दै आइरहनुभएको छ? के तपाईँले कहिल्यै कुनै खतरनाक कर्तव्य पूरा गर्नुभएको छ? के तपाईँ परमेश्‍वरको विश्‍वासीका रूपमा स्थानीय स्तरमा प्रसिद्ध हुनुहुन्छ? के तपाईँलाई कहिल्यै पक्राउ गरिएको छ?” विशेषगरी परमेश्‍वरमाथिको विश्‍वासका कारण खोजीसूचीमा परेका वा पुलिस रेकर्ड भएका अनि अर्को क्षेत्र वा देशमा सुसमाचार प्रचार गरिरहेका मानिसहरूको हकमा, अतिथि सत्कारकले सधैँ यस्तो सोध्दै जानकारी मागिरहेको हुन्छ, “के तपाईँ खोजीसूचीमा पर्नुभएको हो? यो स्थानीय पक्राउ पुर्जी हो कि प्रान्तीय पक्राउ पुर्जी हो कि राष्ट्रिय पक्राउ पुर्जी हो?” “तपाईँको रेकर्ड छ—तपाईँलाई कति पटक पक्राउ गरिएको छ? तपाईँलाई कति वर्षको जेल सजाय भएको थियो?” तिनीहरूले यी कुराहरूबारे अत्यन्तै विस्तृत रूपमा सोधखोज गर्छन्। तिनीहरूको घरमा बस्‍ने दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरू अतिथि सत्कार गर्नमा निकै उत्साहित रहेको र तिनीहरू खराब मानिसहरू नरहेको देख्छन्। तिनीहरूलाई यो जानकारी नबाँड्दा अलि अशिष्ट देखिएला जस्तो लाग्छ, जसले तिनीहरूलाई कठिन स्थितिमा पार्छ। कतिपय मानिसहरूलाई त केही कुरा भन्‍नैपर्ने विवशता महसुस हुन्छ, र बोलिसकेपछि त्यसले कहिलेकाहीँ अपरिहार्य रूपमै गम्भीर परिणामहरू निम्त्याउँछ। त्यसकारण, अगुवा र कामदारहरूले अतिथि सत्कारकलाई सिधै यस्तो निर्देशन दिनुपर्छ: “दाजुभाइ-दिदीबहिनीहरूलाई अतिथि सत्कार गर्ने क्रममा तपाईँले पालना गर्नैपर्ने केही नियमहरू छन्। लापरवाही रूपमा सोधपुछ नगर्नुहोस् वा प्रश्‍नहरू नगर्नुहोस्—उनीहरूबारे धेरै थाहा पाउँदा तपाईँलाई फाइदा हुँदैन। यदि कुनै केही भयो र तपाईँले यातनाको कष्ट सहन सक्‍नुभएन भने, तपाईँ यहूदा बन्‍न सक्‍नुहुन्छ। त्यस्तो अवस्थामा, तपाईले जानेको र बुझेको जानकारीले मूलभूत रूपमै तपाईँ यहूदा बन्‍ने बाटो खुलाइदिन्छ। यदि त्यसो भयो भने, यसले तपाईँलाई आजीवन पछुतोमा पार्नेछ, र तपाईँले अन्त्यमा दण्ड सामना गर्नुहुनेछ। यदि तपाईँलाई यी विवरणहरू थाहा छैन भने, तपाईँ यहूदा बन्‍नुहुनेछैन। त्यसकारण, तपाईँले यी कुराहरूबारे सोधपुछ गर्ने वा जान्‍ने प्रयास गर्नै हुँदैन। यी कुराहरूको अज्ञानताले तपाईँलाई रक्षा गर्छ र यसले तपाईँलाई तपाईँको अतिथि सत्कारको काममा वा परमेश्‍वरमाथिको विश्‍वासमा गरिने सत्यता प्राप्तिमा असर गर्दैन। तपाईँलाई यी कुरा थाहा नभएकै राम्रो हुन्छ। तपाईँलाई यी दाजुभाइ-दिदीबहिनीहरू आफ्नो कर्तव्य पूरा गर्न आएका हुन् र तिनीहरू खराब मानिसहरू वा दुष्ट मानिसहरू होइनन् भन्‍ने कुरा स्पष्ट रूपमा थाहा छँदै छ, त्यसकारण थप सोधपुछ गर्नु आवश्यक छैन। तपाईँले तिनीहरूलाई अतिथि सत्कार गर्ने आफ्नो कर्तव्य पूरा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र तिनीहरूको सुरक्षाको प्रत्याभूति गर्नु नै पर्याप्त हुन्छ।” यो अगुवा र कामदारहरूले गर्नैपर्ने एउटा काम हो। यसका साथै, आफ्नो आस्थामा जग नभएका र नाममात्रका स्थानीय विश्‍वासीहरू, प्याच्‍च बोल्ने र सोधखोज गर्ने प्रवृत्ति भएका, सरकारी कर्मचारीहरूसँग नजिकको सम्पर्कमा रहने, र समस्या आइपर्दा तुरुन्तै कछुवाले टाउको लुकाएजस्तै लुक्‍ने—र मण्डलीलाई धोका समेत दिन र यहूदा बन्‍न सक्‍नेहरूलाई—अतिथि सत्कारक परिवारहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई अतिथि सत्कार गरिरहेका छन् भन्‍ने कुरा पटक्‍कै थाहा पाउन दिनु हुँदैन। यदि महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई अतिथि सत्कार गर्ने काममा सहयोग गर्न केही दाजुभाइ-दिदीबहिनीहरूको आवश्यकता पर्‍यो भने, सहकार्य गर्नका लागि परमेश्‍वरमाथिको विश्‍वासमा जग बसालेका र बुद्धि भएका मानिसहरूलाई मात्रै छनौट गर्नुपर्छ। जग वा बुद्धि नभएका मानिसहरू पटक्‍कै उपयुक्त हुँदैनन्। त्यसोभए सहयोग ठ्याक्‍कै कसरी प्रदान गरिनुपर्छ? अतिथि सत्कारक परिवारका दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो घरमा अतिथि सत्कार गर्ने कार्यमा ध्यान दिनुपर्छ, जबकि बुद्धि र आस्था भएका स्थानीय दाजुभाइ-दिदीबहिनीहरूले बाहिरबाट ढाकछोप गर्दै र वातावरणको रक्षा गर्दै सहयोग गर्नुपर्छ। तिनीहरूले प्रभावशाली मानिसहरूसँग सङ्गत गर्नुपर्छ, र सरकारी नीति, प्रचलन, र सम्भावित कार्बाहीहरूबारे जानकार हुनुपर्छ, र अतिथि सत्कारक परिवारका दाजुभाइ-दिदीबहिनीहरूलाई तुरुन्तै सूचित गर्नुपर्छ। यसरी, यदि सरकारले कुनै पक्राउ अभियान सुरु गर्‍यो भने, तुरुन्तै रोकथामका उपायहरू अपनाउन सकिन्छ, र अझै पनि निकासी गर्ने र ठाउँ सर्ने, वा लुक्‍ने समय हुनेछ, यसरी कुनै पनि खतराबाट जोगिन सकिनेछ। यसरी मात्रै महत्त्वपूर्ण कर्तव्य पूरा गरिरहेकाहरूको सुरक्षा आधारभूत रूपमा सुनिश्‍चित गर्न सकिन्छ। छोटकरीमा भन्दा, अगुवा र कामदारहरूले यो कामलाई सरल मानसिकताले लिनु ठीक हुँदैन; यस विषयमा जटिल रूपमा सोच्नु नै सरल रूपमा सोच्नुभन्दा सधैँ राम्रो हुन्छ, किनभने सुरक्षाका मामिलाहरूलाई बेवास्ता गर्न मिल्दैन—यदि केही गलत भयो भने, त्यो सानो समस्या हुनेछैन!

महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको सुरक्षा सुनिश्‍चित गर्ने काममा ध्यान दिनुपर्ने खास परिस्थितिहरू पनि छन्। कति मानिसहरूले परमेश्‍वरका वचनका पुस्तकहरू ढुवानी गर्ने, वा असुरक्षित भइसकेका क्षेत्रहरूमा कार्य निर्देशनहरू पुर्‍याउने वा परिणामहरू सम्हाल्‍नेजस्ता जोखिमपूर्ण कर्तव्यहरू सम्हाल्छन्। यस्तो खतरनाक काम गरिरहेकाहरू महत्त्वपूर्ण कर्तव्य पूरा गरिरहेकाहरूसँग कहिल्यै सँगै बस्‍नु हुँदैन, न त तिनीहरूलाई ती व्यक्तिहरू कहाँ बस्छन् वा कुन परिवारले तिनीहरूलाई अतिथि सत्कार गरिरहेको छ भन्‍ने कुरा नै थाहा पाउनु हुन्छ। किनभने खतरनाक काम गरिरहेकाहरू कुनै पनि बेला पिछा गरिएर पक्राउ पर्ने जोखिममा हुन्छन्। यदि तिनीहरूलाई पक्राउ गरियो र यातना दिइयो भने, तिनीहरूले मण्डलीलाई धोका दिन सक्छन्, जसले गर्दा महत्त्वपूर्ण कर्तव्य पूरा गरिरहेकाहरू र अतिथि सत्कारक परिवारहरू पनि मुछिनेछन्। के यसमा सुरक्षाको समस्या संलग्‍न हुँदैन र? यदि महत्त्वपूर्ण कर्तव्य निर्वाह गरिरहेका कतिपय मानिसहरू मामलाहरू सम्हाल्न बाहिर गए, अनि तीन दिनभित्र फर्किआउने सहमति गरे, तर तीन दिनपछि फर्किआएनन् भने, के तिमीहरू यो परिस्थिति खतरनाक हुन्छ भनेर भन्छौ? के कर्तव्य निर्वाह गर्ने अरू व्यक्तिहरू अन्यत्र सर्नुपर्छ? (पर्छ।) त्यस्ता अवस्थाहरूमा, तुरुन्तै सर्नु जरुरी हुन्छ; कुनै ढिलाइ गर्नु हुँदैन र कुनै जोखिम लिनु हुँदैन—तिनीहरूले भाग्यमा भर पर्ने मानसिकता राख्‍नु हुँदैन। कतिपय मानिसहरू अल्छी हुन्छन्, तिनीहरूलाई ठाउँ सर्नु समस्याजनक लाग्छ, अनि तिनीहरू ठाउँ सर्न अनिच्छुक हुँदै भन्छन्, “अझै एक दिन पर्खँदा के हानि हुन्छ र? सायद कुनै विशेष परिस्थितिले गर्दा तिनीहरूलाई ढिलाइ भएको हुन सक्छ।” थप एक दिन प्रतीक्षा गर्दा त्यसले खतरा बढाउने काम मात्र गर्छ। यदि तँ ठाउँ सरिस् र केही भएन भने, तँ सधैँ फर्केर आउन सक्छस्, र त्यो गल्ती हुँदैन। तर यदि तँ ठाउँ सरिनस् र तैँले थप एक दिन प्रतीक्षा गरिस् भने, कुनै घटना घट्न सक्छ, र त्यो घटना घट्दासम्‍ममा, पछुतो गर्नलाई ढिला भइसकेको हुन्छ। त्यसकारण, यदि मामलाहरू सम्हाल्न गएका दाजुभाइ-दिदीबहिनीहरू भनेको तोकिएको समयभित्र फर्किआएनन् भने, केही गलत भएको हुन सक्छ। कुनै पनि अनिष्ट घटनाबाट जोगिनका लागि, सम्बन्धित दाजुभाइ-दिदीबहिनीहरू तुरुन्तै निस्‍केर तुलनात्मक रूपमा सुरक्षित स्थानमा सर्नुपर्छ। उपयुक्त स्थान भेट्टाएपछि, तिनीहरूले धेरै ढिला नगरी आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्ने कामलाई सुचारु गर्न सक्छन्। अर्को परिस्थिति के भनेको, कर्तव्य पूरा गरिरहेका दाजुभाइ-दिदीबहिनीहरूको बासस्थानको बन्दोबस्त गर्ने कामका लागि जिम्मेवार स्थानीय मण्डलीको व्यक्तिलाई ठूलो रातो अजिङ्गरले पक्राउ गर्नु हो। त्यस्ता अवस्थाहरूमा के गर्नुपर्छ? (महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई तुरुन्तै अन्यत्र सार्नुपर्छ।) अगुवा र कामदारहरूको पहिलो प्राथमिकता भनेको यी महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई तुरुन्तै तुलनात्मक रूपमा सुरक्षित स्थानमा सार्नु हो। सबैभन्दा माथि तिनीहरूको सुरक्षाको प्रत्याभूति गर्नैपर्छ। तिनीहरू कुनै पनि जोखिममा पर्नु हुँदैन। तिनीहरूलाई सारिएपछि, त्यसपछिको काम अघि बढाउन सकिन्छ। कतिपय अन्योलग्रस्त मानिसहरूमा सधैँ भाग्यमा भर पर्ने मानसिकता हुन्छ: “फलानो-फलानी पक्राउ परे, तर ठीकै छ; तिनीहरूको आस्था निकै दह्रिलो छ, र प्रतिकूल परिस्थितिहरूमा तिनीहरू सधैँ निकै दह्रिला हुन्छन्। तिनीहरू कहिल्यै धोकामा संलग्‍न हुँदैनन्। त्यसकारण, म कुनै खतरा छैन भन्‍ने कुराको प्रत्याभूति गर्न सक्छु—कोही पनि सर्नुपर्ने कुनै आवश्यकता छैन।” के यी शब्दहरू सही छन्? (छैनन्।) यसो भन्‍ने मानिसहरू पनि हुन्छन्, “तिनीहरू धोकामा संलग्‍न भए पनि छानेर मात्र धोका दिनेछन्—तिनीहरूले महत्त्वहीन कुराहरूसम्बन्धी जानकारी मात्रै खोल्नेछन्, जसले पक्‍कै पनि तपाईँहरूको सुरक्षामा असर पार्नेछैन।” के यी शब्दहरू सही छन्? (छैनन्।) यी शब्दहरू सही छैनन्! के मानिसहरूले अरूलाई छर्लङ्गै देख्‍न सक्छन्? सम्बन्धित व्यक्तिको कद भए पनि, हामी अति आत्मविश्‍वाससाथ बोल्नबाट जोगिनुपर्छ, किनभने केही गलत भयो भने कसैले पनि परिणामहरू वहन गर्न सक्दैन। महत्त्वपूर्ण कर्तव्य पूरा गरिरहेका कर्मचारीहरूको सुरक्षा गर्न अरू के काम गर्नुपर्छ? जब तिनीहरूले आफ्नो कर्तव्य सुरु गर्छन्, तब अगुवा र कामदारहरूले कर्तव्य पूरा गर्ने कार्यसँग सम्बन्धित सत्यता सिद्धान्तहरूबारे, साथै परिस्थितिहरू आइपर्दा कुनकुन सिद्धान्त र बुद्धि लागू गर्ने भन्‍नेबारे स्पष्टसँग सङ्गति गर्नुपर्छ। यसका साथै, जब तिनीहरू आफ्नो कर्तव्य पूरा गर्न बाहिर जान्छन्, तब अगुवा र कामदारहरूले तिनीहरूसँग सहकार्य गर्न सामाजिक अनुभव र बुद्धि भएका एक-दुई जना मानिसहरू खटाउनुपर्छ। यो तरिका मात्रै सुरक्षित र भरपर्दो हुन्छ। यसरी अभ्यास गर्दा यसले एकतर्फ तिनीहरूको व्यक्तिगत सुरक्षा जोगाउन सक्छ। अर्कोतर्फ, यसले तिनीहरूलाई आफैले समाधान गर्न नसक्‍ने केही समस्याहरू सुल्झाउन मद्दत मिल्न सक्छ। यसले निश्‍चित समस्याहरूबाट जोगाउनेछ र कर्तव्य पूरा गर्न बाहिर जानेहरूले सामान्य रूपमा आफ्नो काम गर्न सक्छन् भन्‍ने कुराको प्रत्याभूति गर्छ। अगुवा र कामदारहरूका हकमा, कर्तव्य पूरा गरिरहेकाहरूको सुरक्षाको प्रत्याभूति गर्नु अत्यन्तै महत्त्वपूर्ण काम हो, र विशेषगरी विश्‍वासको स्वतन्त्रता नभएका देशहरूमा यो अत्यन्तै महत्त्वपूर्ण हुन्छ। मण्डलीको काम राम्ररी गर्नका लागि, पहिलो प्राथमिकता भनेको कर्तव्य पूरा गरिरहेकाहरूको सुरक्षा प्रत्याभूति गर्नु हो, चाहे तिनीहरूले स्थानीय स्तरमा कर्तव्य पूरा गरिरहेका होऊन् वा चाहे तिनीहरूले बाहिर गएर सो गरिरहेका होऊन्। सुरक्षाको काम राम्ररी सम्हाल्न सक्‍ने अगुवा र कामदारहरू मात्रै परमेश्‍वरको प्रयोगयोग्य हुन्छन्। यो काम गर्न नसक्‍ने मानिसहरू मानवता अपरिपक्‍व भएका, र अन्तर्ज्ञान र बुद्धि नभएका मानिसहरू हुन्। तिनीहरूलाई परमेश्‍वरको प्रयोगयोग्य बन्‍न गाह्रो हुन्छ।

आ. विदेशका विभिन्‍न देशहरूमा रहेका परमेश्‍वरका चुनिएका मानिसहरूको सुरक्षा कसरी सुनिश्‍चित गर्ने

क. परमेश्‍वरका चुनिएका मानिसहरूको कानूनी स्थितिबारे प्रक्रिया अघि बढाउने

विदेशका विभिन्‍न देशमा मण्डलीको काम सञ्‍चालन गर्दा, पहिलो प्राथमिकता भनेको कर्तव्य निर्वाह गरिरहेका कर्मचारीहरूका लागि उचित रूपमा बासस्थानको बन्दोबस्त गर्नु, र तिनीहरूको सुरक्षाको प्रत्याभूति गर्नु हो, ताकि तिनीहरूले सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गर्न सकून्। अर्को महत्त्वपूर्ण मामला भनेको कानूनी स्थितिको मामला सम्हाल्नु हो, र यो मामला परमेश्‍वरका चुनिएका मानिसहरू नयाँ देश आइपुग्‍नेबित्तिकै सम्हाल्नुपर्ने हुन्छ। कानुनी स्थितिविना वा तिनीहरूको स्थिति वैध छैन भने, तिनीहरूको जिउने वातावरण जति नै राम्रो भए पनि, तिनीहरू सधैँ देशनिकाला गरिने जोखिममा हुन्छन्। वैध स्थिति नभएका व्यक्तिहरूलाई अवैध बासिन्दाहरू मानिन्छ, र ती मानिसहरूको सुरक्षा जोखिममा हुन्छ; तिनीहरूको सुरक्षा सुनिश्‍चित नहुँदा तिनीहरूले लामो समयसम्म आफ्नो कर्तव्य पूरा गर्न सक्दैनन्। त्यसकारण, विदेशका देशहरूमा कर्तव्य पूरा गरिरहेका कर्मचारीहरूका लागि उचित बासस्थानहरूको बन्दोबस्त गर्नु अगुवा र कामदारहरूको पहिलो काम हो। उचित रूपमा तिनीहरूको बासस्थानको बन्दोबस्त भएपछि, अर्को कदम भनेको तिनीहरूको कानूनी स्थितिबारे प्रक्रिया अगाडि बढाउने कुराको बन्दोबस्त गर्नु हो। कुनै पनि देशमा, कम्तीमा पनि, कानुनी स्थितिबारे प्रक्रिया अघि बढाउनुको उद्देश्य भनेको दाजुभाइ-दिदीबहिनीहरूलाई त्यहाँ कानुनी रूपमा बस्‍न सक्षम तुल्याउनु नै हुनुपर्छ। महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको सुरक्षा सुनिश्‍चित गर्ने महत्त्वपूर्ण काम यो पनि हो। कानुनी बसोबास हासिल गर्नका लागि, पहिलो माग के हो भने, व्यक्तिको स्थिति वैध हुनैपर्छ; ऊ कुनै पनि ठाउँमा गैरकानुनी रूपमा बसेको हुनु हुँदैन। अगुवा र कामदारहरूले कानुनी बसोबासका लागि सरकारका प्रावधानहरूअनुसार दाजुभाइ-दिदीबहिनीहरूका लागि बासस्थानको बन्दोबस्त गर्न सक्दो गर्नुपर्छ। अगुवा र कामदारहरू या त बासस्थानको बन्दोबस्तको यो काममा प्रत्यक्ष रूपमा संलग्‍न हुन सक्छन् या त तिनीहरूले यसबारे अनुगमन गर्न सक्छन्। यदि तिनीहरूले छर्लङ्गै देख्‍न नसक्‍ने मामलाहरू छन् भने, तिनीहरूले तुरुन्तै माथिल्ला तहका अगुवा र कामदारहरूसँग सोधखोज गर्नुपर्छ। विशेष परिस्थितिहरू नभएको अवस्थामा, तिनीहरूले मण्डलीका पहिलेका नियमहरूअनुसार अभ्यास गर्नुपर्छ। अगुवा र कामदारहरूले बेलाबेलामा सोधखोज गर्नुपर्छ, र यदि कसैको कानुनी स्थितिमा समस्याहरू रहेको वा कुनै विशेष परिस्थितिहरू आइपरेको थाहा हुनआएमा, तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूको कानुनी स्थितिबारे चलाउनुपर्ने प्रक्रियाका कुराहरू हल गर्न बाहिरी मामलाहरू सम्हाल्ने कर्मचारीहरूको बन्दोबस्त गर्नुपर्छ। अवश्य नै, यसको पहिलो कदम भनेको स्थितिको प्रक्रिया सम्हाल्नका लागि केही विशेषज्ञ वकिलहरू खोज्नु हो। वकिलहरू नियुक्त गर्दा, ठगिनबाट जोगिनका लागि सतर्कता अपनाउनैपर्छ—नक्कली वकिलहरू वा कानुनी स्थिति सम्हाल्‍ने विशेषज्ञता नभएकाहरूलाई काममा लगाउनु हुँदैन। अगुवा र कामदारहरूले सुरुमा कानुनी स्थितिको प्रक्रिया चलाउनेसम्बन्धी यी पक्षहरूबारे विचार गर्नुपर्छ, र यी कुराहरूलाई राम्रोसँग मिलाउनुपर्छ। यो काम पनि महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको रक्षा गर्ने र तिनीहरूको सुरक्षा सुनिश्‍चित गर्ने कार्यको भाग हो, त्यसकारण यो काम गर्ने सवाल आउँदा अगुवा र कामदारहरू हात बाँधेर बस्‍नु हुँदैन। कतिपय मानिसहरू भन्छन्, “कर्तव्य पूरा गरिरहेका कर्मचारीहरूको बासस्थानको बन्दोबस्त गर्नु परमेश्‍वरको घरको काम हो; हामीले माथिबाट प्रत्यक्ष बन्दोबस्तहरू प्राप्त गरेपछि मात्रै यो काम गर्नुपर्छ। यदि माथिले यस्तो बन्दोबस्त गरेनन् भने, हामीले यसबारे टाउको दुखाउनु जरुरी छैन, र कहे गलत भयो भने पनि हामीसँग यसको कुनै सम्बन्ध हुँदैन। यसबाहेक, हरेक देशमा आप्रवास र कानूनी स्थितिसम्बन्धी फरकफरक नियमहरू हुन्छन्; हामी यस्तो ठूलो मामला सम्हाल्न सक्दैनौँ! सबै जना बस आफ्नै भर पर्नुपर्छ र सबैभन्दा राम्रो अवस्थाको आशा गर्नुपर्छ—यदि तिनीहरू कुनै देशमा बस्‍न पाए भने, तिनीहरू बस्‍नेछन्; पाएनन् भने, तिनीहरू फर्केर जानेछन्।” के यी शब्दहरू सही छन्? (छैनन्।) यो मनोवृत्तिबारे तिमीहरूलाई के लाग्छ? (यो गैरजिम्मेवार छ।) एक हिसाबमा, यो गैरजिम्मेवार मनोवृत्ति हो; अर्को हिसाबमा, यो झूटा अगुवाहरूले वास्तविक काम नगर्नु र जिम्मेवारीबाट पछि हट्नुको प्रकटीकरण हो। अगुवा र कामदारहरूका हकमा, विदेशमा रहेका महत्त्वपूर्ण कार्य-कर्मचारीहरूका लागि बासस्थानको बन्दोबस्त गर्नु पनि एउटा महत्त्वपूर्ण काम हो। तिनीहरूका लागि उचित रूपमा बासस्थानको बन्दोबस्त गरिएपछि र तिनीहरूले सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गर्न सकेपछि, अर्को तात्कालिक कदम भनेको तुरुन्तै बाह्य मामलासम्बन्धी कर्मचारीहरूलाई तिनीहरूको कानूनी स्थितिको प्रक्रिया चलाउन मार्गदर्शन गर्ने बन्दोबस्त गर्नु हो। विशेषगरी जब यो प्रक्रिया अघि बढाउने क्रममा दाजुभाइ-दिदीबहिनीहरूले सम्हाल्न नसक्‍ने विशेष परिस्थितिहरू आइ पर्छन्, तब अगुवा र कामदारहरूले समाधानहरू खोज्ने उपायहरू सोच्नुपर्छ, र समस्यालाई बेवास्ता गर्नु हुँदैन। यदि कानूनी स्थितिबारे प्रक्रिया चलाउने कार्यमा कुनै समस्या भयो भने, यो सानो कुरा होइन र यसलाई सक्दो चाँडो र तुरुन्तै सम्हाल्नु र समाधान गर्नुपर्छ। यसमा ढिलाइ नगर—आज गर्न सकिने कुरालाई भोलिका लागि थाती राख्‍नु हुँदैन; यसलाई भोलिका लागि थाती राख्दा यसले अकल्पनीय भयानक परिणामहरू ल्याउन सक्छ। यदि अगुवा र कामदारहरूले आफ्नो जिम्मेवारीलाई बेवास्ता गर्छन् र त्यसबाट च्युत हुन्छन्, र मामलालाई अत्यावश्यक रूपमा दिँदैनन् र कानुनी स्थितिको प्रक्रिया चलाउने सबैभन्दा राम्रो समयमा ढिलाइ गर्छन्, र यसले गर्दा कर्तव्य पूरा गरिरहेका कर्मचारीहरूले सामान्य रूपमा काम गर्न सक्दैनन् भने, त्यसको जिम्मेवारी कसले लिन्छ? यी व्यक्तिहरूले मण्डली अगुवा र प्रक्रिया चलाउने कर्मचारीहरूलाई अनुरोध गरे, अनि अगुवा र कामदारहरूलाई यसबारे थाहा थियो, तर तिनीहरूले या त यो कुरालाई गम्भीरतापूर्वक लिएनन् वा यसलाई नसम्हाल्‍न बहानाहरू बनाए, त्यसकारण केही महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको कानूनी स्थितिबारे प्रक्रिया अघि बढाउनमा ढिलाइ भयो, र यसले गर्दा मण्डलीका केही महत्त्वपूर्ण काममा केही हदसम्‍म असर पर्‍यो। तिमीहरूलाईयहाँ कसले जिम्मेवारी लिनुपर्छ जस्तो लाग्छ? (अगुवा र कामदारहरूले।) यो मामलाबारे परमेश्‍वरको घरले बारम्बार जोड दिँदै आएको छ। अगुवा र कामदारहरूलाई यसबारे थाहा नहुने भन्‍ने हुँदैन, न त तिनीहरू अनभिज्ञ नै हुन्छन् न त तिनीहरूमा बुझाइको कमी नै हुन्छ; बरु, तिनीहरूलाई यसबारे थाहा त हुन्छ तर तिनीहरूले यसलाई गम्भीरतापूर्वक लिँदैनन्। जबसम्‍म यो तिनीहरूको आफ्नै मामलासँग सम्बन्धित हुँदैन, जबसम्‍म यो अरू कसैको मामला हुन्छ, तिनीहरूले यसलाई हरसम्भव टाल्छन्, जसले गर्दा अन्ततः परमेश्‍वरका चुनिएका मानिसहरूको कानूनी स्थितिको कार्यवाहीजस्तो महत्त्वपूर्ण मामलामा ढिलाइ हुन्छ। जब दुष्परिणामहरू देखा पर्छन्, तब अगुवा र कामदारहरूले नै जिम्मेवारी वहन गर्नुपर्छ। यो जिम्मेवारी भनेको बोल्‍ने कुरा मात्रै होइन—यदि यसले मण्डलीको काम, र विशेषगरी परमेश्‍वरको घरको महत्त्वपूर्ण काममा असर गर्छ भने, अगुवा र कामदारहरूले वहन गर्नुपर्ने जिम्मेवारी निकै ठूलो बन्छ। कम्तीमा पनि, परमेश्‍वरले तिनीहरूको दोष अभिलेख गर्नुहुनेछ, र यो अपराध बन्‍नेछ—परिणाम त्यही हुनेछ। यदि यो तेरो हातमा पर्ने र तेरो जिम्मेवारीको दायराभित्रको कुनै कुरा हो, र तैँले त्यो कुरा गर्दैनस् वा त्यसलाई बेवास्ता गर्छस्, वा निश्‍चित व्यक्तिगत कारणहरूले गर्दा यसमा ढिलाइ गराउँछस् भने, तैँले जिम्मेवारी वहन गर्नैपर्छ। कतिपय मानिसहरू भन्छन्, “मलाई यो कुरा कसरी समाधान गर्ने भन्‍ने थाहा थिएन; मसँग अगाडि बढ्ने कुनै बाटो थिएन।” तर के तैँले यसलाई गम्भीरतापूर्वक लिएर अवसर पाउनेबित्तिकै माथिल्लो स्तरका अगुवा र कामदारहरूसँग सोधखोज गरिस् त? अरू कतिपयले त आफू अरू काममा व्यस्त भएकोले यसबारे बिर्सेछु भनेर भन्छन्। व्यस्त भएर यसबारे साँच्‍चै बिर्से पनि, कसैले तिनीहरूसँग समस्या उठाएपछि र बारम्बार तिनीहरूलाई सम्झाएपछि पनि तिनीहरूले कसरी बिर्सिन सक्छन्? यसले कुना समस्यातर्फ इङ्गित गर्छ? (तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको कानूनी स्थितिबारे प्रक्रिया अघि बढाउने कुरा मनमा राखेकै हुँदैनन्; तिनीहरूसँग बोझको बोध नै हुँदैन।) तिनीहरूले यस्तो महत्त्वपूर्ण कुरा बिर्सन सक्छन् भन्‍ने तथ्यले तिनीहरूसँग जिम्मेवारीबोध छैन र तिनीहरू भरोसायोग्य छैनन् भन्‍ने देखाउँछ। तैँले परमेश्‍वरका चुनिएका मानिसहरूको कानूनी स्थितिबारे प्रक्रिया अघि बढाउनेजत्तिको महत्त्वपूर्ण कुरा बिर्सन सक्छस्—के तैँले आफ्नै कानूनी स्थितिबारे प्रक्रिया अघि बढाउने कुरा पनि बिर्सन्छस्? यदि तैँले आफ्नै मामलाहरू बिर्सँददैनस् तर अरूका मामलाहरू बिर्सन सक्छस् भने, यसले तँमा खराब चरित्र छ, तँमा प्रेमको कमी छ, र तँ स्वार्थी र नीच छस् भन्‍ने कुरा प्रमाणित गर्छ। तैँले आफ्नो कानूनी स्थितिबारे प्रक्रिया अघि बढाउने काम पूरा गरेको छस्, तैपनि तँ दाजुभाइ-दिदीबहिनीहरूको कानूनी स्थितिबारे प्रक्रिया अघि बढाउने कामलाई साधारण र मामुली मामलाका रूपमा लिन्छस्—वा यसलाई पूर्ण रूपमा बेवास्तासमेत गर्छस्—र अन्त्यमा तिनीहरूको कानूनी स्थितिबारे प्रक्रिया अघि बढाउने यो महत्त्वपूर्ण मामलामा ढिलाइ गराउँछस्। के तैँले त्यसको जिम्मेवारी वहन गर्न सक्छस्? के त्यस्ता अगुवा र कामदारहरूमा विवेक र समझको पूर्णतः कमी हुँदैन र? तिनीहरू कति स्वार्थी र नीच हुन्छन्! तिनीहरूले आफ्नै मात्र वास्ता गर्छन् र अरूलाई बेवास्ता गर्छन्—यसले के समस्यालाई इङ्गित गर्छ? के तिनीहरू झूटा अगुवाहरू होइनन् र? (हुन्।) यसरी तिनीहरूको समस्याको सार पूर्ण रूपमा खुलासा हुन्छ। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूको कानूनी स्थितिबारे प्रक्रिया अघि बढाउने काममा ध्यान दिनै चाहँदैनन्; तिनीहरूलाई यो समस्याग्रस्त लाग्छ। तिनीहरू हृदयमा सोच्छन्, “दाजुभाइ-दिदीबहिनीहरूको कानुनी स्थितिबारे प्रक्रिया अघि बढाउने कामसँग मेरो के सम्बन्ध छ र?” तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको कानूनी स्थितिबारे प्रक्रिया अघि बढाउने मामलालाई यसरी नै लिन्छन्, जसले गर्दा अन्ततः यो महत्त्वपूर्ण मामलामा ढिलाइ हुन्छ, दाजुभाइ-दिदीबहिनीहरूको कर्तव्य निर्वाहमा असर पर्छ, र मण्डलीको काममा पनि असर पर्छ। के तँ त्यस्ता झूटा अगुवाहरू दण्ड पाउन लायक छन् भनेर भन्‍छस्? (हो।) यो जानीजानी गरिने भएकाले तिनीहरूलाई जिम्मेवार ठहराउउनुपर्छ; यो वस्तुगत कारकतत्त्वहरूले गर्दा भएको आकस्मिक ढिलाइ अवश्य नै होइन। यदि प्राकृतिक विपत्ति आइपरेको हुन्थ्यो भने, जस्तै भूकम्प, बाढी, वा कुनै ठूलो राजनीतिक घटनाले यातायात र सञ्‍चारमा बाधा पुर्‍याएकाले यी कुराहरू सम्हाल्न असम्भव भएको हुन्थ्यो भने, त्यो बुझ्न सकिने कुरा हुनेथ्यो। तर यदि यीमध्ये कुनै घटना पनि घटेको हुँदैनथ्यो, र तिनीहरूले अझै पनि दाजुभाइ-दिदीबहिनीहरूको कानूनी स्थितिबारे प्रक्रिया अघि बढाउने कुरा बिर्सेका वा बेवास्ता गरेका हुन्थे, जसले गर्दा यस्तो महत्त्वपूर्ण मामला—यी व्यक्तिहरूको कानूनी स्थितिबारे प्रक्रिया अघि बढाउने कार्य ढिलाइ हुन्थ्यो भने, त्यस्तो अगुवा वा कामदार आफ्नो जिम्मेवारीबाट विमुख भएको हुन्छ। तिनीहरूको दोष अभिलेख गरिनेछ र तिनीहरूलाई जिम्मेवार ठहराइइनेछ। कुरो बुझ्यौ? (बुझ्यौँ।) तँ अगुवा वा कामदार होस्, त्यसैले तँसँग आफूले गर्नुपर्ने काम पूरा गर्ने जिम्मेवारी हुन्छ। तेरो जिम्मेवारीको दायराभित्र पर्ने सबै कुराहरू तैँले परमेश्‍वरको घरका मागहरूअनुसार उचित रूपमा सम्हाल्नु र पूरा गर्नुपर्छ। तर यदि तँ जानीजानी काम गर्नबाट पन्छिन्छस् वा तैँले यसमा ढिलाइ गर्छस् भने, यो जिम्मेवारीबाट विमुख हुनु हो, र यसरी विमुख हुनु अपराध हो। यदि तैँले जानीजानी कुनै मामलामा ढिलाइ गर्छस् र यसलाई सम्हाल्दैनस् भने, तेरो असफलता अन्ततः अपराध बन्‍नेछ, र परमेश्‍वरले तेरो दोष अभिलेख गर्नुहुनेछ। यो मामलाका लागि तँलाई उत्तरदायी ठहराइनेछ।

बाहिरका देशहरूमा, यदि परमेश्‍वरका चुनिएका मानिसहरूको कानूनी स्थितिमा केही निश्‍चित समस्याहरू छन् भने, वा यदि तिनीहरूका छिमेकी वा अपरिचितहरूले तिनीहरूबारे उजुरी वा रिपोर्ट गरे भने, तिनीहरूले देशनिकालाको खतरा सामना गर्न सक्छन्। बाहिरका देशहरूमा परमेश्‍वरका चुनिएका कतिपय मानिसहरूलाई निश्‍चित देशहरूका सरकारले झूटा आरोपहरूमा हिरासतमा लिएर दण्डित गर्न वा पक्राउ गरेर जेल हाल्न समेत सक्छन्। परिस्थिति जेसुकै भए पनि, जब अगुवा र कामदारहरूलाई यसबारे थाहा हुन्छ, तब तिनीहरूले आफ्नो खोलमा लुक्‍ने कछुवा जस्तो व्यवहार गर्नु हुँदैन; तिनीहरूले यस्तो मामला पहिलो क्षणमै सम्हाल्नुपर्छ, र यसको अन्तिम उद्देश्य दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा सुनिश्‍चित गर्नु, तिनीहरूलाई दुष्ट मानिसहरूको हातमा पर्न नदिनु हुनुपर्छ। यदि अगुवा र कामदारहरूले मण्डलीको कामको बन्दोबस्त गर्नेबारे मात्रै वास्ता गर्छन्, तर दाजुभाइ-दिदीबहिनीहरूको कानुनी स्थितिसम्बन्धी प्रक्रिया अघि बढाउने मामलाप्रति ध्यान दिँदैनन्, जसले गर्दा आफ्नो कानुनी स्थिति नभएर दाजुभाइ-दिदीबहिनीहरू पक्राउ पर्छन् वा देशनिकाला गरिन्छन्न् भने, यी परिणामहरू के हुन्? के त्यस्ता अगुवा र कामदारहरूले दाजुभाइ-दिदीबहिनीहरूको कर्तव्य पूरा गर्ने अवसर बरबाद गरेका हुँदैनन् र? के यसले मण्डलीको काममा प्रत्यक्ष असर गर्दैन र? त्यसैले यो समस्याको प्रकृति निकै गम्भीर छ। यदि अगुवा र कामदारहरूले यसभन्दा पहिले यो मामला सम्हालेका छैनन् भने, तिनीहरूले यो मामला सम्हाल्नका लागि वकिलहरूसँग परामर्श गर्न दाजुभाइ-दिदीबहिनीमाझबाट बाहिरी मामलाहरू सम्हाल्न दक्ष व्यक्ति खोजेर, दाजुभाइ-दिदीबहिनीहरू अनि महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई रक्षा गर्ने उद्देश्य हासिल गर्न लागिपर्न सक्छन्। यो पनि विदेशमा अगुवा र कामदारहरूले पूरा गर्नैपर्ने महत्त्वपूर्ण काम हो; यो मामला सम्हाल्न स्थानीय अगुवा र कामदारहरूले पहल गर्नैपर्छ। स्थानीय दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा गर्नेबाहेक, तिनीहरूले विदेशी दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा झनै गर्नैपर्छ; यसरी मात्रै मण्डलीको काम सुनिश्‍चित हुन्छ। यो हरेक देशका अगुवा र कामदारहरूले स्थानीय दाजुभाइ-दिदीबहिनीहरू र महत्त्वपूर्ण विदेशी कार्य-कर्मचारीहरूप्रति पूरा गर्नुपर्ने जिम्मेवारी हो; तिनीहरू हात बाँधेर बस्‍नु हुँदैन। कतिपय अगुवा र कामदारहरू भन्छन्, “तिनीहरू विदेशी दाजुभाइ-दिदीबहिनीहरू हुन्, र हामी तिनीहरूसँग परिचित छैनौँ; हाम्रो बीचमा कुनै व्यक्तिगत सम्बन्ध छैन। तिनीहरूलाई यहाँ सुसमाचार प्रचार गर्न परमेश्‍वरको घरले पठाएको हो—हामीसँग यसको के सम्बन्ध छ र? यो दुर्घटना त तिनीहरू आफैले आफूमाथि निम्त्याएको कुरा हो; तिनीहरूले आउनुभन्दा पहिले स्पष्ट रूपमा परिस्थितिबारे सोधपुछ गरेनन् र यी मामलाहरू राम्रोसित सम्हालेनन्। हामीसँग यो दुर्घटनामा हस्तक्षेप गर्ने कुनै उपाय छैन; सरकारले तिनीहरूलाई के गर्नेछ कसलाई के थाहा।” तिनीहरूले यी मामलाहरूबाट उम्कन र जोगिनका लागि विभिन्‍न बहानाहरू मात्रै प्रयोग गर्छन्, र अघि सरेर तिनलाई समाधान गर्ने उपायहरू खोज्ने प्रयास गर्दैनन्। के यसरी व्यवहार गर्नु सही हुन्छ? (हुँदैन।) किन हुँदैन? (यदि अगुवा र कामदारहरू यी समस्याहरू समाधान गर्न अघि सरेनन्, र यसबीच, दाजुभाइ-दिदीबहिनीहरूसँग समस्याहरू समाधान गर्ने कुनै मार्ग भएन भने, अवश्य नै समस्या पैदा हुनेछ। अगुवा र कामदारहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई रक्षा गर्ने आफ्नो जिम्मेवारी पूरा गरेका हुँदैनन्—यो तिनीहरू आफ्‍नो जिम्मेवारीबाट च्युत हुनु हो।) अगुवा र कामदारहरूको कर्तव्य भनेको परमेश्‍वरको घरमा अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने हरेक जिम्मेवारी पूरा गर्नु हो। परमेश्‍वरको घरको दायरा स्थानीय क्षेत्र, स्थानीय भूभाग, वा निश्‍चित देशमा मात्र सीमित हुँदैन; परमेश्‍वरको घरका कुनै राष्ट्रिय सीमानाहरू, कुनै क्षेत्रीय सीमाहरू हुँदैनन्। के परमेश्‍वरले मानिसहरूलाई छनौट गर्नु र मानिसहरूलाई मुक्ति दिनुमा कुनै नश्लीय सीमाहरू हुन्छन्? (हुँदैनन्।) के राष्ट्रियता वा क्षेत्रका सीमाहरू हुन्छन्? (त्यस्ता सीमा पनि हुँदैनन्।) त्यस्ता कुनै पनि सीमा हुँदैनन्। परमेश्‍वरले आफ्नो काम गर्नुहुने सिद्धान्त यही हो; त्यसकारण, यो सिद्धान्त सत्यता हो! दाजुभाइ-दिदीबहिनीहरू जुनसुकै देशका भए पनि तिनीहरू सबैले एउटै परमेश्‍वरमा विश्‍वास गर्छन्, एउटै परमेश्‍वरलाई पछ्याउँछन्, र एउटै परमेश्‍वरले सङ्गति र आपूर्ति गर्नुहुने सत्यता खान्छन् र पिउँछन्। तिनीहरूले एउटै परमेश्‍वरले गर्नुहुने काम अनुभव गर्छन्, र एउटै परमेश्‍वरको आराधना गर्छन्। छालाको रङ्ग वा नश्ल जेसुकै भए पनि, तिनीहरू परमेश्‍वरको घरमा र परमेश्‍वरअघि एकै हुन्छन्—तिनीहरू एउटै परिवार हुन्। तिनीहरू एउटै परिवार भएका हुनाले, तिनीहरूबीच कुनै भिन्‍नता हुनु हुँदैन; कुनै नश्लीय वा क्षेत्रीय सीमितताहरू हुनु हुँदैन; “तिमी एसियाली हौ, म युरोपेली हुँ,” वा “तिमी गोरो छौ, म गोरो व्यक्ति होइनँ” भन्‍ने भनाइहरूमा विभाजन हुनु हुँदैन—यी भिन्‍नताहरू हुनु हुँदैन। यदि तैँले अझै पनि परमेश्‍वरको घरमा यी भिन्‍नताहरू छुट्याउँछस् भने, तैँले परमेश्‍वरको घरलाई परमेश्‍वरको घरका रूपमा लिँदैनस्, र आफूलाई परमेश्‍वरको घरको सदस्य ठान्दैनस्भन्‍ने कुरा स्पष्ट हुन्छ। त्यसकारण, जब विदेशी दाजुभाइ-दिदीबहिनीहरूले देशनिकाला वा गैरकानुनी गिरफ्तारी जस्ता समस्याहरू सामना गर्छन्, तब तिनीहरू जहाँबाट आएका भए पनि, तिनीहरूको राष्ट्रियता जे भए पनि, वा तिनीहरूको छालाको रङ जस्तो भए पनि, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरू नै हुन्छन्—र तिनीहरू दाजुभाइ-दिदीबहिनीहरू भएका हुनाले, जब तिनीहरूले समस्याहरू सामना गर्छन्, तब स्थानीय अगुवा र कामदारहरूले अघि सरेर कर्तव्यनिष्ठ रूपमा यो मामला सम्हाल्नुपर्छ, र मानिसहरूबीच भिन्‍नता छुट्याउनु हुँदैन। यो सिद्धान्तहरूअनुरूप हुन्छ, र परमेश्‍वरका अभिप्रायहरूसँग पूर्ण रूपमा मिल्छ, र यो मानिसहरूले अभ्यास गर्नुपर्ने सत्यता हो।

अहिले, चीनमा रहेका धेरै परमेश्‍वरका चुनिएका मानिसहरू सुसमाचार प्रचार गर्न र परमेश्‍वरको गवाही दिन बाहिरका विभिन्‍न देशहरू गइरहेका छन्। यी देशहरूमा पुगेपछि, तिनीहरूले शान्त मनले काम गर्न सक्‍नुभन्दा पहिले गर्नैपर्ने पहिलो कुरा भनेको आफ्नो कानुनी स्थितिबारे प्रक्रिया अघि बढाउनु हो। कानुनी स्थितिबारे प्रक्रिया अघि बढाउनु सरल कुरा होइन; यसका लागि स्थानीय मण्डलीका मानिसहरूको सहकार्य आवश्यक पर्छ। विभिन्‍न देशका मण्डली इन्चार्जहरूले चीनबाट आएका परमेश्‍वरका चुनिएका मानिसहरूलाई कानुनी स्थितिबारे प्रक्रिया अघि बढाउने मामला सुल्झाउन मद्दत गर्नका लागि आफ्नो देशका नीतिहरू बुझेका र यसका कानुनहरू जानेका केही दाजुभाइ-दिदीबहिनीहरू खोज्नुपर्छ। यो मामला सुल्झाउनु सर्वाधिक महत्त्वपूर्ण छ। विभिन्‍न देशका मण्डली अगुवा र कामदारहरूले त्यसमा काम गर्न हरसम्भव प्रयास गर्नुपर्छ, किनभने मानिसहरूको कानुनी स्थितिको मामला पूर्ण रूपमा समाधान गरेर मात्रै मण्डलीको काम सामान्य रूपमा अघि बढ्न सक्छ; नत्र, मण्डलीको काममा असर पर्नेछ। विभिन्‍न देशका मण्डली इन्चार्जहरू त्यस्ता मामला सम्हाल्न सक्‍ने मानिसहरूसहित तम्तयार भएर बस्‍नुपर्छ। यसो गर्नाले मण्डलीको काममा फाइदा गर्छ र यो परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्ने प्रकटीकरण पनि हो। कतिपय अगुवा र कामदारहरूले यसो भन्‍न सक्छन्, “हामीले यस्तो मामला कहिल्यै सम्हालेका छैनौँ, र हामीलाई के गर्ने भन्‍ने पनि थाहा छैन।” यस्तो परिस्थितिमा, तिनीहरूले यस्ता मामलाहरू बुझ्ने मानिसहरू खोज्नुपर्छ। हरेक देशमा परमेश्‍वरका चुनिएका मानिसहरूमाझ, शिक्षा र ज्ञान भएका मानिसहरू हुन्छन्, र राष्ट्रिय कानुन र नीतिहरू बुझ्ने मानिसहरू पनि हुन्छन्। तिनीहरूलाई यी कुराहरू सम्हाल्ने मार्ग खोज्न अलिअलि परामर्श मात्रै चाहिन्छ—के कुरा त्यही होइन र? यस्तो मामला सम्हाल्दा, तँ निष्क्रिय रहँदै हात बाँधेर बस्‍नु हुँदैन; यदि तैँले कुनै कुरा बुझेको छैनस् भने, परामर्श गर्न वकिल खोज्नुपर्छ। उपयुक्त प्रकारको वकिल भेट्टाइयो भने, स्वाभाविक रूपमै एउटा मार्ग हुनेछ। हामीले यो कुरा नबुझ्‍न पनि सक्छौँ, तर वकिलले बुझ्नेछ। खोजी गर्ने हृदय हुनु सही मनोवृत्ति हो; खोजी गर्ने हृदय हुनु भनेको जिम्मेवारीबोध हुनुको प्रकटीकरण हो। यदि निश्‍चित कठिनाइहरू उत्पन्‍न भए भने, तैँले एउटै हृदय र मनले प्रार्थना, खोजी, र सङ्गति गर्नुपर्छ, र समस्या समाधान गर्ने सिद्धान्त र मार्ग पत्ता लगाएपछि, तैँले त्यो समस्या पूर्ण रूपमा समाधान गर्नुपर्छ। त्यसपछि मात्रै मण्डलीको काम सहज रूपमा अघि बढ्न सक्छ। यदि समस्या पत्ता लाग्दा, अगुवा र कामदारहरूले यसबारे तुरुन्तै जानकारी लिन, यसको अनुगमन गर्न, र यसलाई समाधान गर्न सक्छन् भने, के तिनीहरू जिम्मेवार अगुवा र कामदारहरू होइनन् र? (हुन्।) त्यस्ता अगुवा र कामदारहरूसँग जिम्मेवारीबोध हुने मात्र नभई, तिनीहरूले तुरुन्तै समस्याहरू समाधान गर्न पनि सक्छन्, र यसको अर्थ तिनीहरू मानकअनुरूपका अगुवा र कामदार बन्‍ने आशा हुन्छ। सत्यतासम्बन्धी तिनीहरूको बुझाइको गहनता जेजस्तो भए पनि, यदि तिनीहरूले समस्याहरू समाधान गर्ने कार्यमा ध्यान दिन्छन् भने, तिनीहरूले वास्तविक काम गर्न सक्छन्। कम्तीमा पनि, तिनीहरूले थोरै मात्र गल्ती गर्छन् वा कुनै पनि गल्ती नगर्न सक्छन्; अनि तिनीहरूले केही गल्ती गरिहाले पनि घाटाहरूको अलिकति पूर्ति गर्न तुरुन्तै ती गल्ती सच्याउन सक्छन्, र अन्तिममा परमेश्‍वरको घरको कामको रक्षा गर्ने उद्देश्य हासिल गर्न सक्छन्। के तिमीहरूलाई यो जिम्मेवारी पूरा गर्नु गाह्रो छ भन्‍ने लाग्छ? (लाग्दैन।) वास्तवमा, यो गाह्रो छैन; यो कुरा मानिसहरूले आफ्नो कर्तव्य पुरा गर्दा बफादारी देखाउँछन् कि देखाउँदैनन् र तिनीहरूले आफ्नो काममा आफ्नो जिम्मेवारी पूरा गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरामा निर्भर हुन्छ। तैँले बस केही सोचविचार गर्नुपर्छ, थोरै समय खर्चनुपर्छ, र केही ऊर्जा लगानी गर्नुपर्छ; यसका लागि तैँले पैसा खर्च गर्नु वा कुनै जोखिम लिनु आवश्यक हुँदैन। तैँले बस समस्याहरू समाधान गर्न र मामलाहरू राम्ररी सम्हाल्न मद्दत गर्न अघि सर्नुपर्छ, र यसरी तँ मानकअनुरूपको हुन सक्छस्। त्यसकारण, यो गाह्रो कुरा होइन, र अगुवा र कामदारहरूका लागि, यो कुरा हासिल गर्न सजिलो हुनुपर्छ। तर कति मानिसहरू त यति सजिलो कुरासमेत हासिल गर्न सक्दैनन्, र अपर्याप्त क्षमता वा सामर्थ्यका कारण, वा परिस्थिति वा वातावरणले यसो गर्न नदिएर यस्तो भएको होइन, बरु यो त तिनीहरूमा यसो गर्न इच्छुक नभएकाले यस्तो भएको हो भन्‍ने कुरा कुरा अत्यन्तै स्पष्ट छ। जब महत्त्वपूर्ण कार्य कर्मचारीहरूको कानूनी स्थिति वा निवाससँग सम्बन्धित विशेष परिस्थितिहरू, वा तिनीहरूको बासस्थानको बन्दोबस्तसँग सम्बन्धित मामलाहरू देखा पर्छन्, तब यो काम गर्ने जिम्मेवारी अगुवा र कामदारहरूको हुन्छ। तैँले कसका लागि बासस्थानको बन्दोबस्त गरिरहेको छस्, वा तिनीहरूको राष्ट्रियता वा नश्ल के हो भन्‍ने कुराको मतलब हुँदैन; तैँले बस यो कुरा परमेश्‍वरबाट आएको भनेर स्वीकार गर्नुपर्छ। यो काम परमेश्‍वरले तँलाई सुम्पनुभएको हो; यो तेरो जिम्मेवारी र दायित्व, साथै तेरो मिसन हो। तैँले स्विकार्ने यो काम कुनै पनि व्यक्तिबाट आउँदैन, यो त परमेश्‍वरबाट आउँछ, त्यसकारण तैँले जसका लागि बसस्थानको बन्दोबस्त गर्दैछस्, ती मानिसहरू को हुन् भन्‍नेबारे चिन्ता गर्नु हुँदैन। कतिपय मानिसहरूले यसो भन्लान्, “स्थानीय दाजुभाइ-दिदीबहिनीहरूको रक्षा गर्नु स्वीकार्य कुरा हो, तर विदेशी दाजुभाइ-दिदीबहिनीहरू यहाँ आए भने त्यो हाम्रो चिन्ताको कुरा होइन।” के यसो भन्‍ने मानिसहरूमा जिम्मेवारीबोध वा मानवताबोध हुन्छ? (हुँदैन।) तिनीहरूले स्थानीय दाजुभाइ-दिदीबहिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूका रूपमा लिन्छन्, तर विदेशी दाजुभाइ-दिदीबहिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूका रूपमा लिँदैनन्—के यसो गर्नु ठीक हो? (होइन।) के यो सत्यताअनुरूप छ? (छैन।) यो किन सत्यताअनुरूप छैन? (झूटा अगुवाहरूले परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्दैनन्; तिनीहरूले विदेशी दाजुभाइ-दिदीबहिनीहरूलाई बेवास्ता गर्छन्, र समस्याहरू उत्पन्‍न हुँदा मामिलाहरू सम्हाल्न अघि सर्दैनन्—तिनीहरूले परमेश्‍वरको घरको काम रक्षा गर्दैनन्।) झूटा अगुवाहरू विभिन्‍न बहानाहरू बनाउँदै जिम्मेवारीबाट पछि हट्छन् र तिनीहरूले वास्तविक काम गर्दैनन्। तिनीहरू आफू परमेश्‍वरका लागि आफूलाई अर्पित गर्न र सत्यता अभ्यास गर्न इच्छुक रहेको दाबी त गर्छन्, तर मण्डलीको कामका महत्त्वपूर्ण मामलाहरूको कुरा साँच्चै आउँदा तिनीहरू लुक्छन्। यो गैरजिम्मेवार हुनु हो। विदेशमा दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा गर्ने सबै मामलाहरूको हकमा, अगुवा र कामदारहरूले तिनलाई तुरुन्तै सम्हाल्नैपर्छ, र यो कुरालाई आफूले पूरा गर्नुपर्ने जिम्मेवारी र कार्यका रूपमा लिनुपर्छ। तिनीहरूले यसबाट पन्छिन बहाना बनाउनु हुँदैन, न त तिनीहरूले यो कामलाई गर्ने बेवास्तासबाट परमेश्‍वरको घरका विभिन्‍न कामको प्रगतिमा असर गर्न दिन नै मिल्छ।

ख. सबै दाजुभाइ-दिदीबहिनीहरूलाई आधारभूत कानुनी ज्ञान प्रदान गर्नु

विदेशमा रहेका दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षासँग सम्बन्धित कामका अरू के-कस्ता पक्षहरूबारे तिमीहरू सोच्न सक्छौ? (बाहिरका देशहरूमा, अगुवा र कामदारहरूले सबै दाजुभाइ-दिदीबहिनीहरूलाई केही आधारभूत कानुनी ज्ञान पनि प्रदान गर्नैपर्छ, ताकि तिनीहरूले कानुनी चेतनाबोध विकास गरून् र तिनीहरू कानुन उल्लङ्घन गर्ने क्रियाकलापहरूमा संलग्‍न हुनबाट जोगिऊन्।) अगुवा र कामदारहरूले सबै दाजुभाइ-दिदीबहिनीहरूलाई विभिन्‍न सरकारी प्रावधानहरूबारे आधारभूत कानुनी ज्ञान र बुझाइ प्रदान गर्नुपर्छ। तिनीहरूले आफू रहेको देशका स्थानीय दाजुभाइ-दिदीबहिनीहरूबाट आप्रवास नीति र दैनिक जीवनसँग सम्बन्धित नीतिहरू जस्ता क्षेत्रबारे थप जान्‍नुपर्छ, र त्यसपछि दाजुभाइ-दिदीबहिनीहरूलाई सङ्गठित गर्दै यी कुराहरू अध्ययन गर्न लगाउनुपर्छ ताकि तिनीहरूले राष्ट्रिय सरकारका प्रावधानहरू कडाइसाथ पालना गरून् र कानुन उल्लङ्घन गर्ने कुनै पनि काम गर्नबाट टाढै बस्‍न सकून्। खासगरी, धेरै वर्षदेखि तानाशाही शासनमा रहँदै आएका चीनका परमेश्‍वरका चुनिएका मानिसहरूसँग कानुनी ज्ञानको कमी हुन्छ र तिनीहरूले कानुनको महत्त्व बुझ्दैनन्। परिणामस्वरूप, तिनीहरूले असभ्य मानिसहरू जस्तै जथाभाबी र लापरवाह रूपमा व्यवहार गर्छन्। जब तिनीहरू विदेशमा बस्‍न आउँछन्, तब तिनीहरू अत्यन्तै अज्ञानी देखिन्छन् र तिनीहरूले प्रायजसो नियमहरूबारे बुझाइको कमी देखाउने कुराहरू गर्छन्। उदाहरणका लागि, कतिपय पश्‍चिमी लोकतान्त्रिक देशहरूमा, सामाजिक सुव्यवस्था राम्ररी व्यवस्थापन गरिन्छ, जहाँ राती १० बजेदेखि बिहान ८ बजेसम्म होहल्लामा रोक लगाउने प्रावधानहरू लागू गरिएको हुन्छ—कुकुर भुकेको वा निर्माण मेसिनहरूको थर्थराहटजस्ता आवाजहरूका लागि अनुमति दिइँदैन। यदि कसैले यी प्रावधानहरू उल्लङ्घन गर्‍यो र ऊबारे रिपोर्ट गरियो भने, पुलिसले यसलाई सम्हाल्नेछ। मूलभूमि चीनमा, कसैले पनि यी कुराहरू सम्हाल्दैन; जहाँ मानिसहरू बस्छन् त्यहाँ जथाभाबी होहल्‍ला हुन्छ, र ठूलो आवाजमा सङ्गीत बजाउने, नाच्‍ने, पिउने, र पार्टी गर्नेजस्ता सोर मच्‍चाउने काम हुन्छ, र यसमा कसैले पनि हस्तक्षेप गर्दैन। यदि कसैले केही गर्ने प्रयास गर्‍यो भने, उसले प्रतिशोधको सामना गर्न सक्छ, त्यसकारण चिनियाँ मानिसहरूसँग यो कुरा सहनेबाहेक अरू कुनै विकल्प हुँदैन। पश्‍चिमी देशहरू फरक छन्; सबैलाई कानुनले रक्षा गर्छ। यदि तेरो कुकुर राती बारम्बार भुक्छ, जसले गर्दा तेरा छिमेकीहरूको विश्राममा बाधा हुन्छ भने, तिनीहरूले तेरो विरुद्ध उजुरी गर्नेछन्। तैँले गरिरहेको कुराले अरूको सामान्य जीवनमा असर गर्छ, तैँले कानुनी प्रावधानहरू उल्लङ्घन गरेको हुन्छस्—तिनीहरूले तेरो विरुद्ध उजुरी गर्न कानुनलाई हतियारका रूपमा प्रयोग गर्नु वैध नै हुन्छ। कतिपय मानिसहरूले राती ११-१२ बजेसम्म निर्माणको काम जारी राख्छन्, जसले गर्दा तिनीहरूका छिमेकीहरूको विश्राममा असर गर्छ र उजुरी पर्छ। त्यसपछि जरिवाना तिराउन पुलिस आउँछ र तोकिएको समयमा हल्‍ला नगर्न चेतावनी दिन्छ। कतिपय मानिसहरूमा वातावरणीय सरसफाइबारेमा समेत चेतनाको कमी हुन्छ, र तिनीहरूले सडकमा जताततै फोहोर फाल्छन् र मैला गर्छन्। पश्‍चिमी लोकतान्त्रिक देशहरू विशेष रूपमा व्यवस्थित हुन्छन्। बासिन्दाहरूका लागि फोहोर फाल्ने समय तय गरिएको हुन्छ, र फोहोर उठाउनका लागि निर्धारित दिनमा फोहोर बोक्‍ने ट्रकहरू आउँछन्। फोहोर सङ्कलन गरेपछि, सडक सफा हुन्छ। यो कुरा नबुझ्नेहरूले जताततै कसिङ्गर फाल्न सक्छन्, र यसलाई पनि प्रावधानहरूको उल्लङ्घनको रूपमै लिइन्छ। यसले सार्वजनिक सरसफाइ र सहरको रूप बिगार्छ, त्यसकारण तिनीहरूविरुद्ध उजुरी पर्न सक्छ। चिनियाँ मानिसहरू विदेशमा बस्दा नियमहरू पालना नगरेर प्रायजसो उजुरीमा पर्छन्। धेरैपटक रिपोर्ट गरिएपछि, तिनीहरूले पश्‍चिमी मानिसहरूबारे रायहरू विकास गर्छन्, र भन्छन्, “पश्‍चिमी मानिसहरू बस उजुरी गर्न मन पराउँछन्; तिनीहरूले हरेक सानोभन्दा सानो कुराबारे उजुरी गर्छन्,” र यसबारे म भन्छु, “तिनीहरूले धेरै कुराहरूबारे तेरो विरुद्ध उजुरी गरे, तर तैँले आत्मचिन्तन गरेकै छैनस्, बरु उजुरी गरे भनेर तिनीहरूलाई दोष मात्रै दिन्छस्। त्यसैले तिनीहरूले उजुरी गर्नु सही पो थियो कि? तैँले गरेका कुराहरू सही थिए कि थिएनन्?” तिनीहरूले ती उजुरीहरू दायर गर्नु पूर्ण रूपमा सही थियो; तैँले तिनीहरूको हितमा हानि गरिस् र तिनीहरूको जीवनमा असर पारिस्, त्यसकारण तिनीहरूले किन तेरो विरुद्ध उजुरी गर्नु हुँदैन र? यो सामाजिक सुव्यवस्थाको रक्षा गर्नका लागि र यो देश कानुनद्वारा शासित छ भन्‍ने कुरा प्रदर्शन गर्नका लागि गरिन्छ; सबैलाई कानुनले रक्षा गर्छ, र यो देशमा कानुन देखाउनका लागि हुँदैन—हरेकले आफ्नो अधिकार र हितहरूको रक्षा गर्न कानुनलाई हतियारका रूपमा प्रयोग गर्न सक्छ। तिनीहरूले तेरो विरुद्ध उजुरी गरिरहेका छन्, किनभने तैँले कानुन बुझेको छैनस् र स्थानीय प्रावधानहरू उल्लङ्घन गरेको छस्। तैँले सुरुमा स्थानीय प्रावधानहरू जान्‍नुपर्छ, अनि कानुन र प्रावधानहरूअनुसार व्यवहार गर्नुपर्छ—त्यसपछि, के तँलाई तिनीहरूले अझै पनि तेरो विरुद्ध उजुरी गर्नेछन् भन्‍ने लाग्छ? (तिनीहरूले त्यसपछि उजुरी गर्नेछैनन्।) त्यसोभए मामला जति नै गम्भीर भए पनि चिनियाँ मानिसहरूले किन कहिल्यै उजुरी गर्दैनन् त? (तिनीहरूलाई सरकारले धेरै समयदेखि दमन गर्दै आएको छ। तिनीहरूले उजुरी गर्ने आँट गर्दैनन्। चिनियाँ मानिसहरूमा आफ्नो अधिकारको रक्षा गर्ने कुनै अवधारणा हुँदैन।) चीन कानुनले शासन गर्ने देश होइन। त्यहाँ कानुनअनुसार शासन गरिँदैन। चीनका कानुनहरू प्रदर्शनका लागि मात्रै हुन्, र त्यहाँ उजुरी गर्नु व्यर्थ हुन्छ। यदि तैँले उजुरी गरिस्, र अर्को पक्षसँग शक्ति र प्रभाव छ भने, उसले तेरो खेदो खन्‍न सक्छ। यदि तँसँग कुनै प्रभाव छैन भने, तैँले उजुरी गर्ने आँटसमेत गर्दैनस्; उजुरी गर्दा तँ सजिलै समस्यामा पर्न सक्छस्। त्यसकारण जब चिनियाँ मानिसहरूमाथि सतावट आइपर्छ—विशेषगरी कुनै व्यक्ति मारिएको अवस्थामा—त्यो मृत्यु जति नै अन्यायपूर्ण भए पनि, यदि दोषीले केही पैसा तिर्‍यो भने मामला व्यक्तिगत रूपमै सल्टाउन सकिन्छ। पीडितको परिवारका सदस्यहरूले किन मुद्दा हाल्दैनन्? तिनीहरूलाई आफूले कहिल्यै जितिन्‍न भन्‍ने थाहा हुन्छ; यसका लागि धेरै पैसा खर्च गरे पनि तिनीहरूले न्याय प्राप्त गर्दैनन्, न त अपराधीलाई नै कठघरामा उभ्याइन्छ, त्यसकारण तिनीहरूले यसलाई कानुनी रूपमा अघि नबढाउने बरु व्यक्तिगत रूपमै सल्टाउने निर्णय गर्छन्। चीनका कानुनहरू प्रदर्शनका लागि मात्रै हुन्; चीन कानुनको शासनमा रहेको देश होइन, र त्यहाँ न्याय खोज्ने कुनै ठाउँ छैन। त्यहाँ मुद्दा हाल्नु व्यर्थ हुन्छ। त्यसकारण, चिनियाँ मानिसहरूले जस्तोसुकै गैरकानुनी परिस्थितिहरू सामना गरे पनि उजुरी गर्ने आँट गर्दैनन्। यस्तो किन हुन्छ भने, कम्युनिस्ट पार्टीले दुष्कर्मबाहेक अरू केही पनि गर्दैन, यो अत्यन्तै समझहीन छ, र यसले कानुनअनुसार शासन गर्दैन। चीनमा, कुनै व्यक्ति सर्वसाधारण हो भने, उसले सामना गर्ने समस्या जति नै गम्भीर भए पनि, त्यो कम्युनिस्ट पार्टीको नजरमा चिन्ताको विषय हुँदैन—कसैले पनि यसलाई सम्बोधन गर्नेछैन। अरूको विश्राममा असर गर्ने, वा चोर्ने, लुट्ने, र घर फोर्नेजस्ता कुराहरूलाई कम्युनिस्ट पार्टीले समस्या ठान्दैन। तर पश्‍चिमी देशहरूमा अवस्था फरक हुन्छ। पश्‍चिममा लोकतान्त्रिक प्रणाली छ र यो कानुनले शासन गर्ने समाज हो; कसैको विश्राममा असर पर्‍यो भने, उजुरी पर्नेछ, र यो मामलाको अनुसन्धान गर्न र त्यसलाई सम्हाल्न पुलिस आउनेछ। पश्‍चिमीहरूमा यो कानुनी चेतना हुन्छ र तिनीहरूले त्यस्ता मूर्ख काम गर्दैनन्; विदेशबाट आएका र नियमहरू नबुझ्नेहरूले मात्रै यास्ता मूर्ख काम गर्छन्। जब चिनियाँ मानिसहरू सुरुमा विदेश बस्‍न थाल्छन्, तब तिनीहरू प्रायजसो उजुरीहरूमा परिरहन्छन्। समय बित्दै जाँदा, तिनीहरूले स्थानीय कानुन र प्रावधानहरूबारे थाहा पाउँछन् र त्यसउप्रान्त कानुन उल्लङ्घन गर्ने वा अरूलाई बाधा दिने कामकुराहरू गर्ने आँट गर्दैनन्। त्यसकारण, अगुवा र कामदारहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरू रहेको देशका विभिन्‍न कानुन र प्रावधानहरूबारे जान्‍ने तुल्याउन सङ्गठित गर्नुपर्छ। तिनीहरूले जे गर्ने अभिप्राय राखे पनि सुरुमा कानुनबारे परामर्श लिनैपर्छ—तिनीहरूले आफ्नै आँगनमा कुखुरा वा सुँगुर पाले पनि, सुरुमा सरकारका प्रावधानहरू जाँच गर्नुपर्छ। तिनीहरूले अनलाइनमा जानकारी खोज्न वा स्थानीय दाजुभाइ-दिदीबहिनीहरूसँग परामर्श लिन सक्छन् र यसरी सही उत्तरहरू भेट्टाउन सक्छन्। विभिन्‍न पश्‍चिमी देशहरूमा, सबै मामलाहरूबारे सरकारले निश्‍चित प्रावधानहरू तोकेको हुन्छ। उदाहरणका लागि, निर्माण क्षेत्रमा विद्युत प्लगहरू भुइँबाट कति माथि हुनुपर्छ र हरेक प्लग एक अर्काबाट कति टाढा हुनुपर्छ भन्‍नेबारे प्रावधानहरू छन्। सिँढीको रेलिङ्को मोटाइ र सिँढीको बारको चौडाइबारे पनि निश्‍चित मापदण्डहरू छन्। निर्माणको हरेक चरणमा सरकारी कर्मचारीहरूले निरीक्षण गरिरहेका हुन्छन्, त्यसकारण निर्माण संहिताहरू उल्लङ्घन गर्ने भवनहरू वा नियमन नगरिएका निर्माणहरू दुर्लभ हुन्छन्। यदि बासिन्दाहरूले घर बनाउन, औजार राख्‍ने कटेरो, वा आफ्‍नो आँगनमा सानो भण्डारण कोठा बनाउन चाहन्छन् भने, तिनीहरूले सरकारी अनुमति लिनैपर्छ। यदि तिनीहरूले कुखुरा वा हाँस पाल्न चाहन्छन् भने, छिमेकीको घरजग्‍गाबाट त्यो घेरबार गरिएको ठाउँ कति टाढा हुनुपर्छ भन्‍नेबारे प्रावधानहरू हुन्छन्। अगुवा र कामदारहरूले यी कानुन र प्रावधानहरू नबुझे पनि, यदि मण्डलीको काममा यी मामलाहरू पर्छन् भने, तिनलाई तिनीहरूले ध्यान दिनैपर्छ। तिनीहरूले सुरुमा स्थानीय कानुन र सरकारी प्रावधानहरूबारे परामर्श गर्नुपर्छ; यी कुराहरूबारे स्पष्ट हुनु हाम्रो कर्तव्य निर्वाहका लागि फाइदाजनक हुन्छ। कानुनी मामलाहरू मण्डलीको आन्तरिक कामसँग सीधै सम्बन्धित नभए पनि, सबैलाई आधारभूत कानुनी ज्ञान प्रदान गर्नु अझै पनि फाइदाजनक नै हुन्छ। कम्तीमा पनि, तिनीहरूले केही ज्ञान प्राप्त गर्न सक्छन्, केही नियमहरू बुझ्न सक्छन्, कसरी उचित रूपमा जिउने भनेर जान्‍न, र मानवताको स्वरूप हासिल गर्न सक्छन्। यसका साथै, अगुवा र कामदारहरूले बाहिरी मामलाहरूका लागि जिम्मेवार मानिसहरूसँग सङ्गति पनि गर्नुपर्छ, र तिनीहरूलाई कानुनी चेतना विकास गर्न मद्दत गर्नुपर्छ। सानातिना मामलाहरूको हकमा वकिलसँग परामर्श गर्नु अनावश्यक हुन्छ—तिनीहरूले स्थानीय प्रावधानहरू बुझेर तिनलाई कडाइसाथ पालना मात्र गरे पुग्छ। तर ठूला मामलाहरूको हकमा भने, तिनीहरूले स्थानीय कानुनहरूको बुझाइ प्राप्त गर्न वकिलसँगै परामर्श लिनुपर्छ। सारांशमा भन्दा, जेसुकै गरिरहेको भए पनि, सबै कार्य कानुन र प्रावधानहरूअनुरूप हुनैपर्छ। यसरी केही समयसम्म अभ्यास गर्दा मानिसहरूले कानुन र प्रावधानहरू पालना गर्नुको महत्त्व अनुभव गर्नेछन्, र तिनीहरूले कामकुरा गर्दा नियमहरू पालना गर्नेछन्। यो मण्डलीको कामका लागि पनि फाइदाजनक नै हुन्छ।

ग. मानिसहरूलाई सुसमाचार प्रचार गर्न पठाउँदा पालना गर्नुपर्ने सिद्धान्तहरू

महत्त्वपूर्ण कर्तव्य पूरा गर्नेहरूको सुरक्षाको सन्दर्भमा, अगुवा र कामदारहरूले ध्यान दिनैपर्ने कामको अर्को क्षेत्र पनि छ, र त्यो आफ्नो कर्तव्य पूरा गर्न बाहिर जानेहरूको सुरक्षा गर्नु हो। मानिसहरूलाई आफ्नो कर्तव्य पूरा गर्न बाहिर पठाउँदा केकस्ता सिद्धान्तहरू पालना गर्नुपर्छ? पहिलो, मानिसहरूको उमेर र लिङ्ग, साथै तिनीहरूको अन्तर्ज्ञान र जीवन अनुभवलाई ध्यान दिनुपर्छ—यो विषयमा अगुवा र कामदारहरू अन्योलग्रस्त वा लापरवाह हुनु हुँदैन। उदाहरणका लागि, यदि तैँले अपरिचित ठाउँमा सुसमाचार प्रचार गर्न सुसमाचार कामदारहरूलाई पठाइरहेको छस् भने, कस्तो प्रकारका मानिसहरूलाई पठाउनु उपयुक्त हुन्छ? (केही अन्तर्ज्ञान र बुद्धि भएका मानिसहरू।) यदि कुनै निश्‍चित मण्डलीमा धेरै उपयुक्त मानिसहरू छैनन्, त्यसमा धेरैजसो जीवन अनुभव र अन्तर्ज्ञान नभएका, र परिस्थितिहरू सम्हाल्न नजान्‍ने जवान मानिसहरू छन्—र विशेषगरी चुनौतीपूर्ण समस्याहरू सामना गर्दा, तिनीहरूले सिद्धान्तहरूविना बोल्ने गर्छन्, र तिनीहरूमा बुद्धि पनि छैन भने, तिनीहरूले उक्त काम गर्न सक्‍नेछैनन्। यदि त्यस्ता मानिसहरूलाई पठाइयो भने, तिनीहरूले समस्याहरू समाधान गर्न नसक्‍ने मात्र नभई, काममा असर पार्ने र ढिलाइ गराउने सम्भावनासमेत हुन्छ। त्यसकारण, मानिसहरूलाई बाहिर गएर कर्तव्य पूरा गर्नका लागि पठाउँदा, परिपक्‍व मानवता र बुद्धि भएका मानिसहरू छनौट गर्नु जरुरी हुन्छ—यस्ता मानिसहरू मात्रै उपयुक्त हुन्छन्। यदि पर्याप्त उपयुक्त मानिसहरू छैनन् भने, जवान मानिसहरूलाई पाका मानिसहरूसँग सहकार्य गराएर कर्तव्य पूरा गर्न लगाओ। उदाहरणका लागि, मानौँ २५-२६ वर्षकी एउटी जवान बहिनीले परमेश्‍वरमा विश्‍वास गरेको निकै समय भएको भए पनि, ऊसँग आस्था र कद भएको भए पनि, र उसले आफ्नो कर्तव्य लामो समयसम्म पूरा गर्दै आएको भए पनि, अपरिचित ठाउँमा कर्तव्य पूरा गर्न पठाइयो भने उसलाई कसरी आफूलाई सुरक्षित राख्ने भन्‍ने कुरा थाहा हुँदैन—यस्तो अवस्थामा, कर्तव्य पूरा गर्नका लागि ऊसँग सहकार्य गर्न समाजमा अनुभव भएको स्थानीय दाजुभाइ वा दिदीबहिनी खोज्नु जरुरी हुन्छ। अवश्य नै, यदि कर्तव्यको स्थान परिचित क्षेत्र वा पहिले नै मण्डली रहेको स्थान हो भने, जवान दाजुभाइ-दिदीबहिनी पनि जान सक्छन्। तर यदि मानिसहरू सुसमाचार प्रचार गर्न वा अरू काम गर्न अपरिचित ठाउँमा, विशेषगरी कमजोर सार्वजनिक सुरक्षा भएको ठाउँमा जाँदै छन् भने, तिनीहरूको व्यक्तिगत सुरक्षामा ध्यान दिनैपर्छ। अगुवा र कामदारहरूले बाहिर गएर काम गर्न काम गर्नका लागि जसलाई पठाए पनि, सर्वप्रथम सुरक्षाबारे नै विचार गर्नुपर्छ। यदि सुसमाचार स्विकार्ने सम्भावना भएका मानिसहरू कस्ता मानिसहरू हुन्, वा तिनीहरूले अनुचित कामकुराहरू गर्लान् कि नगर्लान् भन्‍ने कुरा स्पष्ट छैन भने, मानिसहरूलाई सुसमाचार प्रचार गर्न पठाउँदा सतर्कता अपनाउनुपर्छ। विगतमा, कतिपय अगुवा र कामदारहरूले प्रायजसो १८-१९ वर्षका, वा २० वर्षका कलिला दिदीबहिनीहरूलाई सुसमाचार प्रचार गर्न अपरिचित ठाउँमा पठाउँछन् भन्‍ने सुनेको थिएँ, र केही दुर्भाग्यपूर्ण घटनाहरू घटेका थिए भनेर रिपोर्ट पनि गरिएको थियो। वास्तवमा जेसुकै भएको भए पनि, यो कुरा अन्ततः अगुवा र कामदारहरूले काम गर्दा राम्ररी ध्यान नपुर्‍याएको तथ्यसँग सम्बन्धित थियो। अगुवा र कामदारहरूले आफ्नो काममा यी कुराहरूलाई ध्यानमा राख्नुपर्छ र अत्यन्तै कलिला दिदीबहिनी वा दाजुभाइहरूलाई आफ्नो कर्तव्य पूरा गर्न अपरिचित र खतरनाक स्थानहरूमा यत्तिकै पठाउनु हुँदैन। एक अगुवाले एकपटक १८-१९ वर्षका दुईजना दिदीबहिनीलाई सुसमाचार प्रचार गर्न प्रबन्ध गरेको थियो। जब कसैले तिनीहरू अत्यन्तै कलिला छन् र यसका लागि उपयुक्त छैनन् भनेर भन्यो, तब अगुवाले उसको सट्टा जान २१ वर्षकी एउटी बहिनी खोज्यो र सोच्यो, “तपाईँले १९ वर्ष एकदमै कम उमेर हो भनेर भन्‍नुभयो, त्यसकारण मैले २१ वर्षकी बहिनी भेट्टाएँ। यो त अलि बढी उमेर भयो होला नि, होइन र?” यो अगुवाको क्षमता कस्तो थियो? ऊ कुरा बङ्ग्याउने प्रवृत्ति भएको थियो, होइन र? (हो।) १९ वर्षभन्दा दुई वर्ष मात्रै बढी उमेर भएकाले—के उसले जीवन अनुभव प्राप्त गरेकी हुन सक्छे? के उसले समाजमा अनुभव प्राप्त गरेकी हुन सक्छे? कठिनाइ वा खतरनाक परिस्थितिहरू सामना गर्दा, ऊ रुन पो थाल्थी कि? उमेरमा ऊ दुई वर्ष जेठी भए पनि ऊ अझै अत्यन्तै कलिली थिई र उसले यो कामको जिम्मा लिन सक्दिनथि। कम्तीमा पनि, उमेरमा ३०-४०, वा ५०-६० को दशकमा रहेको एक जना दाजुभाइ वा दिदीबहिनी खोज्नु आवश्यक हुन्छ—तिनीहरू पाको उमेरका हुन्छन् र तिनीहरूसँग समाजको अनुभव हुन्छ; परिस्थितिहरू सामना गर्दा, तिनीहरूसँग तिनलाई सम्हाल्ने बुद्धि हुन्छ, जसले गर्दा कुनै पनि खतरनाक परिस्थिति आइपर्नबाट जोगाउँछ। कलिला मानिसहरूले धेरै कुरा देखेका वा अनुभव गरेका हुँदैनन् र तिनलाई कसरी सम्हाल्ने भन्‍ने तिनीहरूलाई थाहै हुँदैन; खतराको सामना गर्दा, तिनीहरूले खतरा महसुस समेत गर्न नसक्ने सम्भावना पनि हुन्छ, जसले गर्दा घटनाहरू सहजै घट्छन्। पाको उमेरका मानिसहरूले भने यो समाज र यो मानवजातिका धेरै दुष्टता देखेका हुन्छन्, त्यसैले तिनीहरू मानिसहरूप्रति बढी सतर्क हुने गर्छन्। समाजबाट सिकेको अनुभव र वास्तविक जीवनको ज्ञानका आधारमा, तिनीहरूले निश्‍चित परिस्थितिहरूमा कस्तो खतरा पैदा हुन सक्छ, खतराको स्तर कति उच्च छ, कुन-कुन व्यक्तिहरू दुष्ट मानिसहरू हुन्, र निश्‍चित मानिसहरूले केकस्ता कामकुराहरू गर्न सक्छन् भन्‍नेबारे केही मनासिब मूल्याङ्कन गर्न सक्छन्। खतरनाक परिस्थितिहरू सामना गर्दा, तिनीहरूसँग खतराबाट उम्कनका लागि बुद्धि पनि हुन्छ। अर्कोतर्फ, कलिला मानिसहरूमा अनुभवको कमी हुन्छ। परिस्थितिहरू सामना गर्दा, तिनीहरूले सम्भावित खतरनाक दुष्परिणामहरू बुझ्न सक्दैनन्। त्यसकारण, सुरक्षा समस्याहरूको हकमा, पाका मानिसहरूले कलिला मानिसहरूले भन्दा धेरै विचार पुर्‍याउन सक्छन्। जब अगुवा र कामदारहरूले मानिसहरूलाई बाहिर गएर आफ्नो कर्तव्य पूरा गर्ने प्रबन्ध गर्छन्, तब तिनीहरूले स्थानीय अवस्थाहरूलाई ध्यानमा राख्नुपर्छ र केही बुद्धि र अनुभव भएका तुलनात्मक रूपमा अलि पाका उमेरका मानिसहरूलाई कर्तव्य पूरा गर्न कलिला मानिसहरूसँग सहकार्य गर्ने प्रबन्ध गर्नुपर्छ। अगुवा र कामदारहरूले यी मामलाहरूमा एकदमै राम्ररी विचार पुर्‍याउनैपर्छ।

मण्डलीको काम जुनसुकै देशमा गरिए पनि, कर्तव्य पूरा गर्नेहरूको सुरक्षा सुनिश्‍चित गर्नु अगुवा र कामदारहरूले नजिकैबाट ध्यान दिनैपर्ने काम हो। जोसुकैलाई जुनै काम गर्न खटाइए पनि, तिनीहरू कामका लागि सक्षम हुन र तिनीहरूको सुरक्षा सुनिश्‍चित गर्न तिनीहरूमा निश्‍चित सामर्थ्य र केही क्षमता हुनैपर्छ; खासगरी, कमजोर सार्वजनिक सुरक्षा भएका क्षेत्र वा देशहरूमा यो कुरा अझै बढी लागू हुन्छ। अगुवा र कामदारहरूले कर्तव्य पूरा गर्नेहरूको सुरक्षालाई लापरवाहीपूर्वक बेवास्ता नगरी प्रमुख प्राथमिकताका रूपमा लिनुपर्छ। कतिपय मानिसहरू भन्छन्, “ठीक छ। हामीले परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गरिरहेका छौं—हामीसँग परमेश्‍वरको सुरक्षा छ, त्यसकारण कोही मर्नेछैन। के कुरा गलत हुन सक्ला र?” के तिनीहरूले यसो भन्‍नु सही हुन्छ? (हुँदैन।) किन हुँदैन? (यसरी बोल्नु गैरजिम्मेवारीपन हो, र यो दृष्टिकोण वास्तविकताबाट पनि निकै टाढा छ।) मानिसहरूले आफूले पूरा गर्न सक्‍ने जिम्मेवारीहरू पूरा गर्न र आफूले विचार गर्न सक्‍ने कुराहरूलाई ध्यान दिन सक्दो गर्नुपर्छ; तिनीहरूले परमेश्‍वरलाई जाँच्नु, वा दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षामा खेलबाड गर्नु हुँदैन। परमेश्‍वरले मानिसहरूलाई रक्षा गर्न सक्‍नुहुन्छ, तर यदि तँ आफूले विचार पुर्‍याउन सक्‍ने समस्याहरूबारे विचार पुर्‍याउँदैनस्, र परमेश्‍वरलाई जाँच्‍ने दाउका रूपमा दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षालाई प्रयोग गर्छस् भने, परमेश्‍वरले तँलाई प्रकट गर्नुहुनेछ—यस्तो मूर्ख कुराहरू गर्ने, यस्तो बुद्धु तँलाई कसले बनायो! त्यसकारण, अगुवा र कामदारहरूले यस्तो कुरालाई गैरजिम्मेवार काम गर्ने बहानाका रूपमा प्रयोग गर्नु हुँदैन; कर्तव्य निर्वाह गर्नेहरूको सुरक्षा सुनिश्‍चित गर्नु तेरो जिम्मेवारी हो, र तैँले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। तैँले विचार गर्न सक्‍ने र गर्न सक्‍ने सबै कुराप्रति ध्यान दिएपछि, तैँले विचार नगरेको कुराको हकमा परमेश्‍वरले कसरी कार्य गर्नुहुनेछ भन्‍ने कुरा परमेश्‍वरको आफ्नै मामला हो र त्यो कुरासँग तेरो कुनै सम्बन्ध हुँदैन। कतिपय मानिसहरूले जथाभाबी सबै जिम्मेवारी परमेश्‍वरको काँधमा हालिदिन्छन्, र भन्छन्, “मानिसहरूको सुरक्षाका लागि परमेश्‍वर नै जिम्मेवार हुनुहुन्छ, हामीले डर मान्‍नु आवश्यक छैन; हामीले जसरी मन लाग्यो त्यसरी प्रचार गर्न सक्छौँ। परमेश्‍वरको साथ सबै कुरा स्वतन्त्र र मुक्त हुन्छ; हामीले ती कुराहरूबारे चिन्ता गर्नु आवश्यक छैन!” के यस्तो अभिव्यक्ति सही हुन्छ? (हुँदैन।) यस्तो अभिव्यक्तिअनुसार परिस्थितिहरू आइपर्दा मानिसहरूले सिद्धान्तहरू खोजी गर्नु आवश्यक हुँदैन; यदि त्यसो हुँदो हो त, परमेश्‍वरले व्यक्त गर्नुभएको सत्यताको के फाइदा हुन्छ र? यो व्यर्थ हुन्छ। यत्तिका वर्षहरूमा, परमेश्‍वरले उहाँका चुनिएका मानिसहरूलाई परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुनका लागि यो दुष्ट संसार र यो दुष्ट मानवजातिमाझ कसरी बाँच्‍ने, सत्यता कसरी पछ्याउने, र कसरी आफूलाई आचरणमा ढाल्ने भनेर जान्‍न सक्षम तुल्याउने उद्देश्‍यले धैर्यता र परिश्रमसाथ मानिसहरूलाई सिकाउन धेरै वचनहरू बोल्नुभएको छ। यो तैँले परमेश्‍वरलाई जाँच्‍नका लागि होइन, न त तैँले शब्द र धर्मसिद्धान्तहरूअनुसार र सिद्धान्तहरूविना आफूले चाहेअनुसार व्यवहार गर्नका लागि नै हो। अगुवा र कामदारहरूले सुसमाचार प्रचारको काममा राम्रो गर्नका लागि, तिनीहरूले सबैभन्दा पहिले मानिसहरूको सुरक्षाको प्रत्याभूति गर्नैपर्छ। त्यसो गर्नका लागि, तिनीहरूले सुरुमा कर्तव्य पूरा गर्ने मानिसहरूको खास अवस्थाहरू पत्ता लगाउएर बुझ्नैपर्छ, र उपयुक्त मानिसहरू खटाउनुपर्छ, र मानिसहरूको सुरक्षाको प्रत्याभूति गर्नका लागि विभिन्‍न परिस्थितिहरूमा के गर्ने भन्‍ने कुरा पनि बुझ्नुपर्छ। यदि कुनै स्थान विशेष रूपमा अराजक छ, र त्यहाँ चिनेजानेका मानिसहरू कोही छैनन्, र त्यहाँ सुसमाचार प्रचार गर्न जाने जोकोहीको सुरक्षाको प्रत्याभूति गर्न सकिँदैन भने, अहिलेका लागि त्यहाँ मानिसहरू नपठाओ; यो जोखिम नलिओ, अनावश्यक बलिदानहरू नगर। जुनसुकै कर्तव्य पूरा गरिँदै भए पनि वा जुनसुकै काम अघि बढाइँदै गरिएको भए पनि, तैँले बाह्य संसारमा गएर आफ्नो ज्यान जोखिममा पार्नु आवश्यक छैन, न त तैँले आफ्नो सुरक्षा वा आफ्नो ज्यानको बाजी नै लगाउनुपर्छ। अवश्य नै, चीनको वातावरणमा कर्तव्य नपूरा गर्न जोखिम लिनु अपरिहार्य नै हुन्छ। सरकारले परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई सताउँछ, र खतरा छ भन्‍ने कुरा राम्ररी थाहा भए पनि, तैँले अझै परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ, परमेश्‍वरलाई पछ्याउनुपर्छ, र कर्तव्य पूरा गर्नुपर्छ; तैँले कर्तव्य त्याग्‍नु हुँदैन, र कुनै पनि काम रोक्‍न मिल्दैन। बाहिरका देशहरूका परिस्थितिहरू सबै फरक हुन्छन्—कतिपय देशहरू चीनजस्तै निरङ्कुश छन्, जबकि अरूमा लोकतान्त्रिक प्रणालीहरू छन्। लोकतान्त्रिक प्रणाली भएका देशहरूमा, सुसमाचार प्रचारको काम सहज रूपमा अघि बढ्न सक्छ, र विभिन्‍न कामहरू अझै सहज रूपमा अघि बढ्न पनि सक्छन्। तर निरङ्कुश विशेषता भएका कतिपय देशहरूमा, मानिसहरू बर्बर र पिछडिएका दुवै हुन्छन्, र तिनीहरूलाई साँचो मार्ग स्विकार्न सजिलो हुँदैन। जब तिनीहरूलाई सुसमाचार प्रचार गरिन्छ, तब तिनीहरूले यसबारे अनुसन्धान नगर्ने मात्र होइन, बरु उल्टै यसलाई अन्धाधुन्ध निन्दासमेत गर्न सक्छन्, र यो परिस्थितिबारे पुलिसलाई रिपोर्टसमेत गर्न सक्छन्। त्यस्ता अवस्थामा, त्यहाँ सुसमाचार प्रचार गर्न मानिसहरूलाई नपठाओ; बरु, काम गर्नका लागि सुरक्षा सुनिश्‍चित गर्न सकिने ठाउँहरू छनौट गर। यी सबै अगुवा र कामदारहरूले ध्यानपूर्वक विचार गर्नुपर्ने कुराहरू हुन्। उदाहरणका लागि, अत्यन्तै जटिल धार्मिक पृष्ठभूमि भएका मलेसिया, इन्डोनेसिया, वा भारतजस्ता देशहरूमा, निश्‍चित धार्मिक सम्प्रदायहरूको ठूलो प्रभाव हुन्छ र तिनीहरूले सम्पूर्ण समाजमाथि नियन्त्रण राख्छन्, यहाँसम्म कि सरकार पनि यिनै धर्महरूको प्रभावमा परेको हुन्छ। त्यसकारण, त्यस्ता देशहरूमा, सुसमाचार प्रचार गर्न थप मानिसहरू नपठाओ; स्थानीय मण्डलीहरूले सुसमाचार प्रचार गर्नु मात्रै पनि पर्याप्त हुन्छ। कतिपय देशहरूमा त फरकफरक प्रदेश वा प्रान्तहरूमा फरकफरक परिस्थिति हुन्छ, र स्थानीय कानुन र प्रावधानहरू राष्ट्रिय कानुन र प्रावधानहरूभन्दा फरक हुन्छन्। उदाहरणका लागि, निश्‍चित क्षेत्रहरूमा विशेष धार्मिक पृष्ठभूमि हुन्छ, र ती क्षेत्रहरूमा, मण्डली र राज्य एकताबद्ध हुन्छन्। कतिपय अवस्थाहरूमा त धार्मिक अगुवाहरूसँग स्थानीय सरकारी अधिकारीहरूको भन्दा पनि ठूलो अख्तियार हुन्छ र तिनीहरूले केही राष्ट्रिय नीतिहरूलाई खुल्लमखुल्ला उल्लङ्घन गर्न सक्छन्। यदि तैँले त्यस्ता क्षेत्रमा सुसमाचार प्रचार गरिस् भने, त्यहाँ सम्भावित सुरक्षा जोखिमहरू हुनेछन्। ती सम्भावित जोखिमहरू तेरोबारे अफवाहहरू फैलाउने वा तँलाई धपाउने कार्यमा मात्रै सीमित हुँदैनन्—तिनीहरूले बिनाकुनै अभियोग तँलाई पक्राउ गर्न, जेल हाल्‍न, र यातना दिन सक्छन्, र तँलाई अङ्गभङ्ग गर्न वा मार्नसमेत सक्छन्, तैपनि सरकारले कुनै हस्तक्षेप गर्दैन। वास्तवमा, धेरैजसो धार्मिक सम्प्रदायका अगुवाहरूले बाहिरी धर्महरूलाई घृणा गर्छन्। तिनीहरूको प्रभाव अत्यन्तै ठूलो हुने हुनाले र तिनीहरूलाई कुनै पनि कानुनले पाबन्दी नलाउने हुनाले, तिनीहरूले सुसमाचारसम्बन्धी कामदारहरूलाई जति नै निर्दयी रूपमा सताए पनि तिनीहरूलाई जबाफदेही ठहराउने आँट कसैले गर्दैन, र स्थानीय सरकारी अधिकारीहरूसमेत तिनीहरूलाई चिढ्याउन अनिच्छुक हुन्छन्। तैँले तिनीहरूको क्षेत्रमा सुसमाचार प्रचार गर्न थालेपछि, तिनीहरूले तँलाई जसरी मन लाग्यो त्यसरी सास्ती दिन सक्छन्। त्यसकारण, कुनै ठाउँमा सुसमाचार प्रचार गर्न मानिसहरू पठाउँदा, अगुवा र कामदारहरू विशेष रूपमा होसियार हुनैपर्छ। सबभन्दा पहिला, तिनीहरूले त्यो ठाउँको परिस्थितिबारे, अर्थात् त्यहाँ विश्‍वासको स्वतन्त्रता छ कि छैन, धार्मिक शक्तिहरू कति शक्तिशाली छन्, र त्यहाँ सुसमाचार प्रचार गर्ने मानिसहरूबारे रिपोर्ट गरियो भने केकस्ता परिणामहरू आउन सक्छन् भन्‍नेबारे अनुसन्धान गर्नैपर्छ र जानकारी लिनैपर्छ। त्यहाँ मानिसहरू पठाउने कि नपठाउने भन्‍ने कुरा निर्धारित गर्नुभन्दा पहिले यी मामलाहरू स्पष्ट रूपमा बुझ्नैपर्छ। कुनै ठाउँबारे थाहा भएपछि, यदि त्यो सुसमाचार प्रचार गर्न उपयुक्त छैन भनेर निर्धारित गरियो भने, त्यहाँ प्रचार गर्न मानिसहरू पठाउने अनुमति कसैलाई हुँदैन। यो सुसमाचारसम्बन्धी कामदारहरूको सुरक्षा सुनिश्‍चित गर्नका लागि गर्नुपर्ने कामको एउटा भाग पनि हो। कतिपय अगुवा र कामदारहरूको बुझाइ विकृत हुन्छ, र तिनीहरू भन्छन्, “ठीकै छ; परमेश्‍वरले हामीलाई रक्षा गर्नुहुनेछ। चुनौती जति धेरै कठिन हुन्छ, हामीले त्यसमा त्यति नै धेरै लाग्नुपर्छ। त्यस ठाउँमा प्रभुमा विश्‍वास गर्ने मानिसहरू धेरै छन्, त्यसकारण हामी किन त्यहाँ सुसमाचार प्रचार गर्न नजाने?” कसैले तिनीहरूलाई भन्छ, “त्यहाँ निजी जेलहरू छन्। यदि हामी त्यहाँ सुसमाचार प्रचार गर्न गयौँ भने, हामीलाई हिरासतमा राखिने मात्र होइन, हामी त्यहाँ मर्ने सम्भावनासमेत हुन्छ। हामी त्यहाँ जानु हुँदैन!” ती मूर्ख झूटा अगुवाहरूले यस्तो सोच्छन्, “ठूलो रातो अजिङ्गरसँग धेरै जेलहरू छन्, तर हामीलाई यसको डर लाग्दैन—त्यसकारण हामीले किन त्यहाँका केही निजी जेलहरूको डर मान्‍ने? जेलले हाम्रो शरीरलाई बन्धनमा राख्‍न सक्छ तर हाम्रो हृदयलाई बन्धनमा राख्‍न सक्दैन! नडराओ—चुपचाप जाओ!” त्यसपछि तिनीहरूले मानिसहरूको एकपछि अर्को लहर पठाउँछन्, र अन्त्यमा, तिनीहरू कोही पनि फर्केर आउँदैनन्; तिनीहरू सबैलाई हिरासतमा राखिन्छ। झूटा अगुवाहरू आश्‍चर्यचकित हुन्छन्। यहाँ समस्या के हो? (यस्ता झूटा अगुवाहरू बुद्धुहरू हुन्।) त्यस्ता झूटा अगुवाहरू फटाहा हुन्; तिनीहरू गैरजिम्मेवार हुन्छन्, जसले मानिसहरूलाई खतराको मुखमा धकेल्छन्। तिनीहरू किन आफै जाँदैनन्? तिनीहरूलाई खतराको डर लाग्दैन भने, तिनीहरू नै पहिले जानुपर्छ। यदि तिनीहरू गए, अनि सुरक्षित रूपमा फर्केर आए, र मानिसहरू प्राप्त गरे भने, तिनीहरूको पछि अरू पनि जान सक्छन्। चाहे जे भए पनि, सुसमाचार प्रचार गर्दा मानिसहरूको सुरक्षाको प्रत्याभूति गर्नैपर्छ। सुसमाचार प्रचार गर्न खतरनाक र अनुपयुक्त क्षेत्रमा पटक्‍कै जोखिम नलि। मूलभूमि चीनभन्दा बाहिरको कुनै पनि ठाउँ सुरक्षित छ भन्‍ने नसोच; यो भ्रम हो, यो विकृत बुझाइ हो। अज्ञानी मानिसहरूले मात्रै यसरी सोच्छन्—त्यस्ता मानिसहरूले यो संसारबारे त्यति धेरै कुरा बुझेका हुँदैनन्! धेरैजसो पश्‍चिमी देशहरूमा विश्‍वासको स्वतन्त्रता भएकाले र प्रभुमा विश्‍वास गर्ने मानिसहरू तुलनात्मक रूपमा धेरै हुने हुनाले, त्यहाँ तैँले खुलेआम सुसमाचार प्रचार गर्न सक्छस् र धार्मिक संसार कति अन्धकारमय र दुष्ट छ भनेर खुलासा गर्ने विभिन्‍न अभिव्यक्तिहरू खुलेआम व्यक्त गर्न सक्छस् भन्‍ने नसोच्; यदि तैँले त्यसो गरिस् भने, परिणामहरू अकल्‍पनीय हुनेछन्। तैँले सुसमाचार प्रचार गर्दा, चाहे धर्मका मानिसहरूलाई प्रचार गर्दा होस् वा गैरविश्‍वासीहरूलाई होस्, तैँले भ्रष्ट मानवजाति, अर्थात् परमेश्‍वरलाई प्रतिरोध गर्ने मानवजाति सामना गरिरहेको हुन्छस् भन्‍ने कुरा बुझ्नैपर्छ। यो मामलाबारे अत्यन्तै सरल रूपमा नसोच्।

यदि अगुवा र कामदारहरूले सुसमाचारसम्बन्धी कामदारहरूको सुरक्षाको प्रत्याभूति गर्न चाहन्छन् भने, तिनीहरूले मामिलाका सबै पक्षहरूबारे राम्ररी विचार गर्नैपर्छ, र कुनै समस्या पैदा भएमा, त्यसलाई तुरुन्तै सम्हाल्नुपर्छ, र त्यसपछि, अभ्यासका सिद्धान्त र मार्गहरू पत्ता लगाएर आउँदा दिनमा कसरी अभ्यास गर्ने भनेर निर्धारित गर्न अनुभव र पाठहरूलाई सारांशित गर्नुपर्छ—यो पनि गर्नैपर्ने महत्त्वपूर्ण काम हो। अगुवा र कामदारहरूले पहिले विचार नगरेका वा सामना नगरेका कतिपय कुराहरू हुन्छन्; समस्याहरू पैदा भएपछि, तिनीहरूले यसरी सारांश निकाल्नुपर्छ: “के हामी अझै पनि त्यस्तो ठाउँमा जानुपर्छ? के मानिसहरू पठाउने यो तरिका सही छ? हामीले सुसमाचार प्रचार गर्ने वा अरू कुनै महत्त्वपूर्ण काम गर्नेसम्बन्धी आगामी चरणहरूका लागि योजना, रणनीति, वा दिशा मिलाउनुपर्ने हो कि?” सारांशित गर्ने निरन्तरको प्रक्रियामा, अगुवा र कामदारहरूले क्रमिक रूपमा कामका विधि र सिद्धान्तहरू निर्धारित गर्नुपर्छ, ताकि तिनीहरूले जति धेरै काम गर्छन्, त्यो त्यति नै निर्दिष्ट बनोस् र यो अपेक्षा गरिएको मानकमा त्यति नै पुगोस्, कम आकस्मिकताहरू देखा परून्, वा कुनै आकस्मिकताहरू देखा पर्दै नपरून्, वा महत्त्वपूर्ण कार्य-कर्मचारीहरूले कुनै जोखिम नलिई काम गर्न पाऊन्। यो परिणाम हासिल गर्नका लागि, अगुवा र कामदारहरूले सुसमाचार प्रचार गर्दा विभिन्‍न क्षेत्रहरूमा सामना गरिने विभिन्‍न वातावरण र परिस्थितिहरूबारे बारम्बार अनुभवहरूलाई सारांशित गर्नुपर्छ र बुझाइ प्राप्त गर्नुपर्छ। तिनीहरूले जति धेरै जानकारी प्राप्त गर्छन् र यो जति धेरै सही हुन्छ, मामलाहरू सम्हाल्ने सिद्धान्त र योजनाहरू पनि त्यति नै सही हुनेछन्, र अन्ततः मानिसहरूको सुरक्षा सुनिश्‍चित गर्ने परिणाम हासिल हुनेछ। यसरी, सुसमाचार प्रचारको काम व्यवस्थित रूपमा अघि बढ्ने कुरा सुनिश्‍चित गर्न सकिन्छ।

इ. सुरक्षाको काममा ध्यान नदिने अगुवा र कामदारहरूलाई कसरी निराकरण गर्ने

कतिपय अगुवा र कामदारहरूको क्षमता कमजोर हुन्छ र तिनीहरूमा जिम्मेवारीबोधको कमी हुन्छ; तिनीहरूले वास्तविक काम गर्न सक्दैनन् र तिनीहरू वास्तविक काम गर्नका लागि अत्यन्तै अल्छी हुन्छन्। महत्त्वपूर्ण कर्तव्य पूरा गर्नेहरूले आफू जिम्मेवार रहेको क्षेत्रमा प्रायजसो सुरक्षा जोखिमहरू सामना गरिरहन्छन्, जसले गर्दा तिनीहरू ठाउँ सर्न वा स्थानान्तर हुन आवश्यक हुन्छ, र यसरी तिनीहरूले शान्त मनले आफ्नो कर्तव्य पूरा गर्न सक्दैनन्। हुँदै नहुनुपर्ने घटनाहरू पनि बारम्बार भइरहन्छन्। उदाहरणका लागि, कुनै अगुवा वा कामदारले होचो क्षेत्रमा रहेको एउटा अतिथि सत्कारक घर खोज्छ। जब भारी वर्षा र बाढीको अपेक्षा गरिन्छ, तब घर डुब्छ भन्‍ने डरले, त्यहाँ बस्‍ने दाजुभाइ-दिदीबहिनीहरू अग्रिम रूपमा सर्नुपर्छ—कामका उपकरण, भाँडा, कराही, र अरू सबै कुरा लिएर लगातार दुई दिनसम्म सर्नुपर्छ। यसले गर्दा सबैजना अत्यन्तै थकित हुन्छन्, र तिनीहरूको शिर निराशाले झुक्छ। तिनीहरूले भन्छन्, “हामी हरेक केही दिनमा सरिरहेका हुन्छौँ, सधैँ भागिरहेका हुन्छौँ। यो कहिले समाप्त हुनेछ? के हामीले आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्न सक्‍ने सुरक्षित र भरपर्दो घर भेट्टाउन सक्दैनौँ र?” त्यस्ता अगुवा र कामदारहरूले यो थोरै कामको बोझसमेत लिन सक्दैनन्; तिनीहरूको अधीनमा रहेका दाजुभाइ-दिदीबहिनीहरूले न त राम्ररी खानै सक्छन् न त राम्ररी सुत्नै सक्छन्, न त तिनीहरूसँग पर्याप्त आवास नै हुन्छ। तिनीहरूको जिउने अवस्था सधैँ अस्थायी हुन्छ, र सबैजना कुनै पनि बेला प्रकोपबाट भाग्न तयार भएर बसेका हुन्छन्। तिनीहरूले आफ्ना दैनिक सामानहरू प्रयोग गरिसकेपछि, तिनलाई तुरुन्तै पोको पार्छन्, किनभने कुनै पनि बेला घरको दर्ताजाँच गरिने परिस्थिति पैदा हुन सक्छ। वास्तवमा, यो परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूको खोजी गर्नु हो भन्‍ने कुरा सबैलाई थाहा हुन्छ, त्यसकारण तिनीहरू कुनै पनि बेला ठाउँ सर्न तयार हुनैपर्छ। परिणामस्वरूप, कर्तव्य पूरा गर्नेहरू सधैँ डराउँछन् र तिनीहरूसँग सुरक्षाको कुनै अनुभूति हुँदैन। के यसले तिनीहरूको कर्तव्यका परिणामहरूमा असर गर्दैन र? के यो अगुवा र कामदारहरूले गरिरहेको कामसँग सम्बन्धित हुँदैन र? (हुन्छ।) तिनीहरूले यो काम कसरी गरिरहेका हुन्छन्? (तिनीहरूले यो काम नराम्ररी गरिरहेका हुन्छन्, र आफ्नो जिम्मेवारी पूरा गरिरहेका हुँदैनन्।) कति अगुवा र कामदारहरू गैरजिम्मेवार हुन्छन् र तिनीहरूमा समर्पणताको कमी हुन्छ। तिनीहरू आफैसँग जिउने अवस्थाहरूबारे उच्च मानकहरू हुँदैनन्; तिनीहरूलाई बतास र वर्षाबाट रक्षा गर्ने ठाउँ छ भने, त्यो नै पर्याप्त हुन्छ। त्यसकारण, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूका लागि बस्‍ने सुरक्षित र स्थिर ठाउँ खोज्न पनि सक्दो प्रयास गर्दैनन्। कतिपय अगुवा र कामदारहरूको क्षमता कमजोर हुन्छ; तिनीहरूलाई कस्तो वातावरण शान्त र बस्‍नका लागि उपयुक्त हुन्छ, वा दाजुभाइ-दिदीबहिनीहरूलाई कर्तव्य पूरा गर्नका लागि उपयुक्त हुन्छ भन्‍ने थाहै हुँदैन। तिनीहरूले अरू कसैले पनि भाडामा लिन नचाहने होचो ठाउँको घर भाडामा लिन्छन्, र दाजुभाइ-दिदीबहिनीहरू त्यहाँ सरेपछि, केही दिनभित्र तिनीहरूलाई चिलाउने रोग लाग्छ र सबैतिर चिलाउँछ। यहाँ के भइरहेको हुन्छ? घर अत्यन्तै ओसिलो हुन्छ, र भुइँबाट पानी रसाएर निस्किरहेको हुन्छ। के त्यस्तो ठाउँमा कोही बस्‍न सक्छ? त्यस्ता अगुवा र कामदारहरूले यो समस्यासमेत समाधान गर्न सक्दैनन्, तिनीहरूले कर्तव्य पूरा गर्नका लागि उपयुक्त घर भेट्टाउन सक्दैनन्—यो कस्तो क्षमता हो? अरू कतिपय अगुवा र कामदारहरूले निरन्तर पानी चुहिने, झ्याल-ढोकाबाट हावा छिर्ने, आवाज रोक्‍ने केही नभएको, वा इन्टरनेट, पानी, वा बिजुली नभएको घर भाडामा लिन्छन्—त्यहाँ कोही कसरी बस्‍न सक्छ? तिनीहरूले राम्रा घरहरूलाई बेवास्ता गर्छन् र यी घटिया घरहरू भाडामा लिन जिद्दी गर्छन्—के यसले मामलामा बाधा दिँदैन र? दाजुभाइ-दिदीबहिनीहरूले बाहिर कठिन काम त गरिरहेका त हुँदैनन्, तर घरमा आधारभूत सुविधाहरू पनि हुँदैनन्; तिनीहरू बरु पालमा बस्दा राम्रो हुन्छ। धेरैजसो दाजुभाइ-दिदीबहिनीहरूलाई कठिनाइको बानी परेको पनि हुन सक्छ, र तिनीहरूले यस्तो स्तरको कष्ट भोग्‍नु चरम कुरा होइन भन्‍ने महसुस गरे पनि, र यसलाई सहन सके पनि, के हरेक केही दिनमा यसरी निरन्तर सास्ती भोग्नाले तिनीहरूको कर्तव्य निर्वाहमा असर गर्दैन र? त्यसकारण, यदि अगुवा र कामदारहरूको क्षमता कमजोर छ र तिनीहरूमा जिम्मेवारीबोधको कमी छ भने, तिनीहरूले यो कामको बोझ लिन सक्दैनन्; तिनीहरूले तुरुन्तै राजीनामा दिनुपर्छ र यो काम राम्ररी गर्न सक्‍ने कसैलाई आफ्नो पद लिन सिफारिस गर्नुपर्छ, ताकि तिनीहरूले अधिकांश महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको जीवन र कर्तव्य निर्वाहमा असर नपारून्। महत्त्वपूर्ण कर्तव्य पूरा गर्नेहरूका लागि वासस्थानको बन्दोबस्त गर्न हरेक पक्षबारे विचार गर्नु आवश्यक हुँदैन, तर कम्तीमा पनि आधारभूत जिउने वातावरण सुनिश्‍चित गर्नैपर्छ। यो कुरा सुनिश्‍चित गरिएको छ भने मात्रै मण्डलीको काममा असर पर्दैन। के यो काम गर्न सजिलो छ? (छ।) यो काम गर्न सजिलो छ भनेर भन्‍नु सरल छ, तर यदि अगुवा र कामदारहरू कमजोर क्षमता भएका र अलिकति पनि जिम्मेवारीबोध नभएका अन्यौलग्रस्त मानिसहरू हुन् भने, तिनीहरूले यो काम गर्नै सक्दैनन्। जब अगुवा र कामदारहरूले यो काम गर्न सक्दैनन् वा यो काम राम्ररी गर्न सक्दैनन्, तब धेरै मानिसहरूले दुष्परिणामहरू भोग्छन्, र तिनीहरू हरदिन अनिकालबाट भागिरहे जसरी जिउँछन्—यसरी त तिनीहरूले कसरी आफ्नो कर्तव्य पूरा गर्न सक्छन् र? कतिपय झूटा अगुवाहरूले सत्यता सिद्धान्तहरू बुझ्दैनन्, तैपनि आफूलाई चर्चापरिचर्चामा राख्‍न मन पराउँछन्। तिनीहरूले काम राम्ररी गर्न सक्दैनन्, तर पद त्याग्‍न मान्दैनन्, आफ्नो पदमै टाँसिरहन्छन् र त्यहाँबाट जाँदैनन्। त्यस्ता अगुवाहरूलाई कसरी निराकरण गर्नुपर्छ? (तिनीहरूलाई बर्खास्त गर्नुपर्छ।) तिनीहरूलाई बर्खास्त गर्नु त सजिलो छ; तर समस्या भनेको तिनीहरूको कामको जिम्मा लिनका लागि अझै राम्रो व्यक्ति छ कि छैन भन्‍ने हो। छैन भने, के तिमीहरूले यो कामको बोझ लिन सक्छौ? के तिमीहरूले महत्त्वपूर्ण कार्य-कर्मचारीहरूले जिउने स्थिर वातावरण पाउने कुराको प्रत्याभूति गर्न सक्छौ? यदि एउटा व्यक्तिले यसलाई सम्हाल्न सक्दैन भने, के तिमीहरू चारपाँच जना सहकार्य गरेर यो कामको बोझ लिन सक्छौ? यदि तिमीहरूले पनि यो कामको व्यवस्थापन गर्न सक्दैनौ भने—यदि तिमीहरूले यस्तो सरल कामसमेत गर्न सक्दैनौ भने, एउटा आधारभूत जिउने वातावरणसमेत सुनिश्‍चित गर्न सक्दैनौ भने—तिमीहरूले अस्थायी रूपमा अलिक बढी कठिनाइ र कष्ट भोग्‍नैपर्छ। यदि तिमीहरू अझै पनि आफ्नो कर्तव्य पूरा गर्नमा अड्डी कस्‍न सक्छौ, र कष्ट भोग्‍ने तिमीहरूको सङ्कल्प पर्याप्त रूपमा दह्रिलो देखेर परमेश्‍वरले उक्त काम गर्नका लागि भरपर्दो रूपमा कामकुराहरू सम्हाल्ने र समस्याहरू सुल्झाउन सक्‍ने कसैलाई पठाउनुभयो भने, तिमीहरूका कष्ट भोग्‍ने दिनहरू समाप्त हुनेछन् र तिनलाई असल दिनहरूले प्रतिस्थापन गर्नेछन्। यदि ती समस्याहरू सुल्झाउन यस्तो कोही पनि आएन भने, तिमीहरूले आफ्नो नियति स्विकार्नैपर्छ—तिमीहरूको भाग्यमै कष्ट भोग्‍न लेखिएको छ, यो तिमीहरूले भोग्‍नकै लागि हो; तिमीहरूले हृदय शान्त पारेर यो कुरा भोग्‍नैपर्छ। वास्तवमा, यो थोरै कष्ट भोग्‍नु सार्थक नै हुन्छ; यो जेलमा बसेर यातना भोग्‍नुभन्दा निकै राम्रो कुरा हो। कम्तीमा पनि तँ यातना वा सोधपुछको सिकार हुँदैनस्; तैँले अझै पनि परमेश्‍वरका वचनहरू पढ्न, आफ्नो कर्तव्य पूरा गर्न, र दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर मण्डली जीवन जिउन सक्छस्। बाटोमा केही डरभाव, असफलता, र अड्चन भए पनि, र तैँले बारम्बार ठाउँ सर्नुपरे पनि, यो तेरो जीवनको असाधारण अनुभव नै हो, जसबाट तैँले पाठहरू सिक्‍न र केही प्राप्त गर्न सक्छस्। के यो निकै राम्रो कुरा होइन र? (हो।) मानिसहरूमा कष्ट भोग्‍ने सङ्कल्प हुनुपर्छ, र तिनीहरूले परमेश्‍वरलाई उहाँकै चाहनाअनुसार कामकुरा योजनाबद्ध गर्न दिनुपर्छ। यदि तैँले साँच्‍चै नै यो कष्ट भोग्‍न सक्दैनस् भने, तैँले हृदयदेखि नै यसरी परमेश्‍वरलाई प्रार्थना गर्न सक्छस्: “हे परमेश्‍वर, बिन्ती छ, कष्ट भोगिरहेका हामीलाई हेर्नुहोस्—हामी कति दयनीय छौँ! हामी कुनै गुनासो वा पछुतोविना तपाईँलाई पछ्याउँछौँ! बिन्ती छ, तपाईँप्रतिको हाम्रो अटल बफादारीलाई ध्यानमा राख्दै, यो कष्टको जीवन अन्त्य गरिदिनुहोस्! बिन्ती छ, उपयुक्त ठाउँ खोजिदिने उपयुक्त अगुवा वा कामदार पठाइदिनुहोस्! हामीले हरेक दिन बाहिर बसेर एक ठाउँबाट अर्को ठाउँ सर्दै निरन्तर दुःख भोगिरहेका छौँ, र यो कति लामो समयसम्म जारी रहनेछ भन्‍ने कुरा हामीलाई थाहा छैन। हामी उप्रान्त विस्थापित हुन चाहँदैनौँ—हामीलाई स्थिर आवास खोजिदिनुहोस्!” के यसरी प्रार्थना गर्नु उचित हुन्छ? तैँले यसरी प्रार्थना गर्न सक्छस्; वातावरणका आवश्यकताहरूका आधारमा, तैँले यसरी प्रार्थना गर्नुपर्छ।

अर्को दृष्टिकोणबाट हेर्दा, कष्ट भोग्‍नु त्यति खराब कुरा होइन; केही कष्ट भोग्नाले तेरो इच्छाशक्ति खारिन सक्छ। तेरो इच्छाशक्ति खार्नु भनेको के हो? यसको अर्थ यो कष्ट निरन्तर भोगेपछि, तँ यसप्रति भावशून्य बन्छस् र यसलाई कष्ट मान्‍न छोड्छस्; तैति नै कष्ट भोगे पनि तँलाई अब पीडा हुँदैन। तर, परिस्थितिहरू सामना गर्दा, तैँले केही पाठहरू सिक्‍नैपर्छ, केही अन्तर्ज्ञान प्राप्त गर्नैपर्छ, र मानिसहरूलाई कसरी खुट्ट्याउने भनेर जान्‍नैपर्छ। यदि कुनै अगुवा वा कामदारको क्षमता अत्यन्तै कमजोर छ र उसले वासस्थानको बन्दोबस्त गर्ने कामसमेत राम्ररी गर्न सक्दैन भने, उसले कसरी परमेश्‍वरका चुनिएका मानिसहरूलाई भरणपोषण र अगुवाइ गर्न सक्छ? त्यस्ता मानिसहरू अगुवा वा कामदार हुन लायक हुँदैनन्। परमेश्‍वरको घरसँग घरको भाडा दिने पैसा नभएको होइन, र यसले बस्‍नका लागि स्थिर ठाउँ नभएका दाजुभाइ-दिदीबहिनीहरूलाई हेरेर बसिरहन चाहँदैन। परमेश्‍वरको घरले मानिसहरूले सधैँ कष्ट भोग्‍नुपर्छ वा हरदिन कठिन जीवन जिउनुपर्छ भन्‍ने कुराको वकालत गर्दैन, तैपनि अवश्यै मानिसहरूले कुनै कष्ट भोग्‍ने कुरामा पछि पनि हट्दैन। तर यदि अगुवा र कामदारहरूले वासस्थानको बन्दोबस्त गर्ने कामसमेत सम्हाल्न सक्दैनन्, र कुनै पनि उचित कुरा गर्नु तिनीहरूका लागि साँच्‍चै नै सङ्घर्षको कुरा हुन्छ भने, तिनीहरूले धाक देखाउनका लागि के नै बाँकी हुन्छ र? तिनीहरूमध्ये प्रत्येक जना सभ्य नै देखिन्छन्, तिनीहरूसँग डिप्लोमा हुन्छ, र तिनीहरू हैसियत भएका व्यक्तिहरू हुन्छन्, तैपनि यो सानो मामला सम्हाल्‍ने काम तिनीहरूका लागि त्यस्तो सङ्घर्षमय हुन्छ। त्यस्तो अवस्थामा, गर्नका लागि केही कुरा हुँदैन—तैँले बस यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्न मात्रै सक्छस्। यो मानिसहरूले भोग्‍नुपर्ने कष्ट हो; तैँले परमेश्‍वरलाई उहाँले चाहेअनुसार कामकुरा योजनाबद्ध गर्न दिनुपर्छ। यो सही कुरा हो। सायद एक दिन, यो कष्टपछि राम्रा दिनहरू आउनेछन्, र त्यसउप्रान्त यस्तो जीवन जारी रहनेछैन। तँ जस्तोसुकै वातावरणमा भए पनि, तैँले समर्पणको मनोवृत्ति कायम राख्‍नुपर्छ र तँ गुनासो गर्नबाट परै बस्‍नुपर्छ। यदि कुनै निश्‍चित अगुवा वा कामदार भरोसा गर्न नसकिने छ र उसले काम राम्ररी गर्दैन भने, यसलाई परमेश्‍वरप्रतिको तेरो इमानदारी र बफादारीमा असर पार्न नदे, र यसलाई परमेश्‍वरप्रतिको तेरो समर्पणता र परमेश्‍वरप्रतिको समर्पित मनोवृत्तिमा असर पार्न नदे। यसरी, तँ यो मामलामा दह्रिलो गरी खडा भएको हुनेछस्। अगुवा र कामदारहरू साधारण मानिसहरू मात्रै हुन्। यदि तिनीहरूको क्षमता कमजोर छ र तिनीहरूले काम गर्न सक्दैनन् भने, वा यदि तिनीहरू आफ्नो जिम्मेवारी पूरा नगर्ने झूटा अगुवाहरू हुन् भने, त्यो तिनीहरूको व्यक्तिगत समस्या हो र परमेश्‍वरको घरसँग यसको कुनै सम्बन्ध हुँदैन। तिनीहरूलाई परमेश्‍वरको घरले यसरी व्यवहार गर्न निर्देशन दिएको होइन; यो त तिनीहरूको गैरजिम्मेवारीका कारण तिनीहरूलाई प्रकाश गरिएको मात्र हो। तिनीहरू परमेश्‍वरको घरले तिनीहरूलाई सुम्पिएको काम पूरा गर्न सक्दैनन्, त्यसकारण तिनीहरूलाई बर्खास्त गर्न र हटाउन मात्रै सकिन्छ। त्यस्ता परिस्थितिहरूमा, जब परमेश्‍वरका चुनिएका मानिसहरूले यो कष्ट भोग्छन्, तब तिनीहरूले यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्नुपर्छ र परमेश्‍वरलाई उहाँले चाहेअनुसार कामकुरा योजनाबद्ध गर्न दिनुपर्छ। अगुवा र कामदारहरूले राम्ररी काम नगरेका भए पनि वा तिनीहरूसँग समस्याहरू भए पनि, परमेश्‍वर सत्य, मार्ग, र जीवन हुनुहुन्छ भन्‍ने तथ्य सधैँ अपरिवर्तनीय नै रहन्छ। तैँले परमेश्‍वरलाई पछ्याउने, परमेश्‍वरमा समर्पित हुने, र परमेश्‍वरका वचनहरू स्विकार्ने कार्य कहिल्यै परिवर्तन हुनु हुँदैन। यी अनन्त सत्यताहरू हुन्। कर्तव्य पूरा गरिरहँदा, जस्तोसुकै अप्रिय मामिलाहरू देखा परे पनि तैँले तिनलाई परमेश्‍वरबाट आएका हुन् भनेर स्विकार्नुपर्छ र तीभित्रका पाठहरू सिक्‍नुपर्छ। तैँले आफूलाई परमेश्‍वरअघि शान्त पार्नुपर्छ र उहाँलाई प्रार्थना गर्नुपर्छ, र आफूलाई बाहिरी संसारको प्रभावमा पर्न दिनु हुँदैन। तैँले विभिन्‍न वातावरणहरूमा अनुकूल हुन सिक्‍नैपर्छ र हरप्रकारका वातावरणहरूमा परमेश्‍वरको काम अनुभव गर्न सिक्‍नैपर्छ। यसरी मात्रै तैँले जीवन प्रवेश हासिल गर्न सक्छस्। कति मानिसहरूको कद सानो हुन्छ; जब कष्ट पैदा हुन्छ, तब तिनीहरू गुनासो गर्छन् र चिन्तित हुन्छन्, र व्यथामा पर्छन् र परमेश्‍वरमाथिको आस्था गुमाउँछन्—यो अत्यन्तै मूर्ख र अज्ञानी कुरा हो! वास्तविक काम नगर्ने अगुवा र कामदारहरूलाई प्रकट गरिएको र हटाइएको छ, तर यो कुरासँग तेरो के सम्बन्ध छ? तिनीहरूले कामकुराहरू अनुचित रूपमा बन्दोबस्त गरेकै कारण तँ किन नकारात्मक हुन्छस् र परमेश्‍वरबाट टाढिन्छस्? के यो पूर्णतया विद्रोही कार्य होइन र? (हो।) जब मानिसहरूले कुनै गलत काम गर्छन्, तब तैँले तिनीहरूलाई खुट्ट्याउन र इन्कार्न सक्छस्, तर परमेश्‍वरलाई इन्कार्ने वा सत्यतालाई इन्कार्ने नगर्। सत्यता गलत हुँदैन, र परमेश्‍वर गलत हुनुहुन्‍न। परमेश्‍वरको मूल आशय भनेको मानिसहरूले यस्तो कष्ट भोग्‍नुपर्छ भन्‍ने होइन; तर भ्रष्ट मानवजातिका लागि, केही कष्ट भोग्‍नु निश्‍चय नै जरुरी हुन्छ। अलिकति कष्ट भोग्‍नु तेरा लागि फाइदाजनक नै हुन्छ; त्यो फाइदा के हो भने, तैँले पाठहरू सिक्छस् र समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्न सिक्छस्। यदि तैँले विभिन्‍न कठिनाइहरू भोग्‍न सक्छस् भने, तैँले केही सहनशीलता प्राप्त गर्छस्, र तँ हरकिसिमका वातावरणहरूमा आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुन सक्छस्। कष्ट भोग्‍न सक्‍नुले परमेश्‍वरमा समर्पित हुने तेरो सङ्कल्पलाई निखार्छ। यो परमेश्‍वरको मूल आशय र परमेश्‍वरले तँमा देख्‍न चाहनुहुने परिणाम हो। यदि तैँले परमेश्‍वरका अभिप्रायहरू बुझ्न र परमेश्‍वरका अभिप्रायअनुसार काम र अभ्यास गर्न सक्छस् भने; यदि तैँले जस्तोसुकै प्रकारका मानिसहरू वा वातावरणहरू सामना गरे पनि परमेश्‍वरलाई त्याग्‍नबाट आफूलाई रोक्‍न सक्छस् भने; अनि यदि तैँले तेरो देहले जति नै कष्ट भोगे पनि सत्यता अभ्यास गर्न, परमेश्‍वरमा समर्पित हुन, सही बुझाइ र मनोवृत्ति राख्‍न, र परमेश्‍वरमाथिको अपरिवर्तनीय आस्था कायम राख्‍न सक्छस्, र परमेश्‍वरबारे गुनासो गर्न वा हृदयमा उहाँबाट टाढिनबाट तँ जोगिन सक्छस् भने; तँसँग कद छ।

अगुवा र कामदारहरूले महत्त्वपूर्ण कर्तव्य पूरा गर्ने मानिसहरूको सुरक्षा गर्नैपर्छ, र तिनीहरूलाई बाहिरी संसारको हस्तक्षेपबाट जोगाउनैपर्छ। यस काममा धेरै कुराहरू समावेश छन्। एक हिसाबमा, अगुवा र कामदारहरूले यी विस्तृत कामहरूलाई कसरी निर्दिष्ट रूपमा लागू गर्ने भन्‍ने कुरा बुझ्नुपर्छ। यसका साथै, निश्‍चित विशेष परिस्थितिहरू सामना गर्दा, तिनीहरूले सही मूल्याङ्कन गर्नैपर्छ, र त्यसपछि परिस्थितिहरू सम्हाल्नेबारे उपयुक्त सिद्धान्तहरू खोज्नैपर्छ र निश्‍चित योजनाहरू विकास गर्नैपर्छ। अन्तिम उद्देश्य भनेको हरप्रकारका महत्त्वपूर्ण कार्य-कर्मचारीहरूको सुरक्षा सुनिश्‍चित गर्नु हो। यसरी मात्रै सुसमाचार प्रचारको काम व्यवस्थित रूपमा अघि बढ्ने कुराको प्रत्याभूति गर्न सकिन्छ। यो सिद्धान्त पालना गर्नु सही कुरा हो; अगुवा र कामदारहरूले यो काम गर्नुको उद्देश्य र सिद्धान्त यही हो। यदि अगुवा र कामदारहरूले यो उद्देश्य र सिद्धान्त सही रूपमा पालना गर्छन् भने, तिनीहरू आधारभूत रूपमा यो काम गर्नमा मानकअनुरूपका हुन्छन्। यस काममा अरू के-कस्ता समस्याहरू समावेश हुन्छन्? कतिपय मानिसहरू भन्छन्, “म पहिले कहिल्यै अगुवा वा कामदार भएको छैनँ, न त मैले यस्ता कुराहरू नै सामना गरेको छु। यो काममा मैले के गर्नुपर्छ भन्‍ने कुरा मलाई थाहा छैन, र यो कसरी गर्ने भन्‍ने पनि थाहा छैन। त्यसैले, यो काम मैले गर्नु आवश्यक छैन—तिमीहरू सुरक्षित छौ कि छैनौ, कसलाई के मतलब? तिमीहरू आफै यो कुरा सम्हाल।” के तिनीहरूले यो विषयमा यत्तिकै हात टकटक्याउनु स्वीकार्य हुन्छ? (अहँ, हुँदैन।) त्यस्ता अगुवा र कामदारहरूलाई हटाइनुपर्छ। यदि तैँले वास्तविक काम गर्दैनस् भने, तेरो के काम? तँ सुन्दर देखिन्छस् भनेर हामीले तँलाई सजावटका रूपमा राख्‍नुपर्ने हो र? यस्ता अगुवा र कामदारहरूलाई बर्खास्त गरिनैपर्छ र हटाइनैपर्छ; तिनीहरूलाई कुनै काम नगरी पद ओगटिराख्‍न दिनु हुँदैन। झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन्—तिनीहरूमा विवेक वा समझ हुँदैन, हुन्छ र? यदि तिनीहरूमा साँच्‍चै नै विवेक र समझ हुन्थ्यो भने, समस्याहरू देखा पर्दा तिनीहरूले किन तिनलाई समाधान गर्न सत्यताको खोजी गर्दैनन्? सबै कुरा जानेर कोही जन्मिँदैन; सबैले बिस्तारै सिक्दै जाने हो। यदि तैँले सत्यताको खोजी गर्न सक्छस् भने, तैँले काम राम्ररी गर्ने उपाय भेट्टाउनेछस्। यदि तँमा जिम्मेवारीबोध छ भने, तैँले काम राम्ररी गर्ने उपाय सोच्नेछस्। अगुवाइको काम गर्नु वास्तवमा गाह्रो छैन; व्यक्तिले सत्यताको खोजी गर्न सक्छ भने, उसलाई काम राम्ररी गर्न सजिलै हुन्छ। साथै, अगुवा र कामदारहरूका सहकर्मीहरू पनि हुन्छन्; दुई-तीन जना मानिसहरू एउटै हृदय र मनका भए भने, कुनै पनि काम पूरा गर्न सजिलो हुन्छ। अहिले, धेरै अगुवा र कामदारहरूले तालिम लिइरहेका छन्; तिनीहरूले समस्याहरू समाधान गर्न सबै कुरामा सत्यताको खोजी गर्ने तालिम लिइरहेका छन्। यस विन्दुमा, कम्तीमा पनि केही न केही अगुवा र कामदारहरू अगुवाइको काम गर्न पूर्ण रूपमा सक्षम हुन्छन् र तिनीहरूले सुसमाचार फैलाउने काम राम्ररी गर्न सक्छन्, होइन र? (हो।) त्यसकारण, आजका लागि हामी यही बुँदासम्म सङ्गति गर्नेछौँ। अलबिदा!

जुलाई २०, २०२४

अघिल्लो: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२८)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्