अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२१)

ख्रीष्टविरोधीहरूलाई ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूबाट कसरी छुट्ट्याउने

तिनीहरूलाई सत्यताप्रति तिनीहरूको मनोवृत्तिका आधारमा छुट्ट्याउने

आज हामी अगुवा र कामदारहरूका जिम्मेवारीहरूबारे सङ्गति गर्न जारी राख्‍नेछौँ। औपचारिक रूपमा सङ्गति सुरु गर्नुभन्दा पहिले, अब हामी यसअघि सङ्गति गरिएको ख्रीष्टविरोधीहरूसँग सम्बन्धित एउटा विषयको पुनरावलोकन गरौँ: ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूलाई ख्रीष्टविरोधीहरूको सार भएका मानिसहरूबाट कसरी छुट्ट्याउने, र यी दुई प्रकारका मानिसहरूबीचका भिन्‍नताहरू के-के हुन्। सुरुमा, हामी ख्रीष्टविरोधीहरूलाई कसरी खुट्ट्याउने भन्‍नेबारे सङ्गति गर्नेछौँ; यो त्यति गाह्रो छैन। सर्वप्रथम, तैँले ख्रीष्टविरोधीहरूले प्रदर्शन गर्ने स्पष्ट विशेषतापूर्ण प्रकटीकरणहरू के-के हुन् भन्‍ने कुरा स्पष्ट देख्‍नुपर्छ, ताकि तैँले छोटो समयमा साँचो ख्रीष्टविरोधीलाई पहिचान गर्न सक्‍नेछस्, र ऊ अवश्य नै ख्रीष्टविरोधीहरूको स्वभाव भएको वा ख्रीष्टविरोधीहरूको बाटो हिँड्ने व्यक्ति मात्रै होइन भन्‍ने कुरा निर्धारित गर्न सक्‍नेछस्। यसरी, तँसँग ख्रीष्टविरोधीहरूबारे समझ हुनेछ र तँ तिनीहरूको बहकाउ, पासो, र नियन्त्रणमा पर्न छोड्नेछस्। अब सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको ख्रीष्टविरोधीहरूको प्रकृति सार भएका मानिसहरू र ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूबीचका स्पष्ट भिन्‍नताहरू छुट्ट्याउन सक्‍नु हो। यी दुई प्रकारका मानिसहरूलाई खुट्ट्याउनका लागि, तैँले सुरुमा तिनीहरूका मुख्य विशेषताहरू बुझ्नैपर्छ। कति मानिसहरूले ख्रीष्टविरोधीहरूले दैनिक जीवनमा प्रकट गर्ने भ्रष्टताका प्रकटीकरणहरू, जस्तै आफ्नो हैसियत दाबी गर्ने र अरूलाई भाषण छाट्ने तिनीहरूको प्रवृत्ति मात्रै बुझ्छन्, तर ख्रीष्टविरोधीहरूको प्रकृति सार खुट्ट्याउन सक्दैनन्। के यो ठीक हो? (होइन।) ख्रीष्टविरोधीहरूका सबैभन्दा प्रमुख प्रकटीकरणहरू तिनीहरूको अहङ्कार र अभिमान हुन् भनेर भन्‍नेहरू पनि छन्, र तिनीहरूले सबै अहङ्कारी र अभिमानी मानिसहरूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्छन्। के यो सही हो? (होइन।) यो किन सही होइन? किनभने अहङ्कार र अभिमान ख्रीष्टविरोधीहरूका सबैभन्दा प्रमुख प्रकटीकरणहरू होइनन्; ती त सबै भ्रष्ट मानिसहरूमा साझा रूपमा हुने भ्रष्ट स्वभावहरू हुन्। हरेक व्यक्तिमा अहङ्कारी र अभिमानी स्वभाव हुन्छ, त्यसकारण सबै अहङ्कारी र अभिमानी मानिसहरूलाई ख्रीष्टविरोधी भनेर चित्रण गर्नु गम्भीर गल्ती हो। त्यसोभए, ख्रीष्टविरोधीहरूका अपरिहार्य प्रकटीकरणहरू के-के हुन्, जसले ख्रीष्टविरोधीहरू र ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूबीच रहेका अपरिहार्य भिन्‍नताहरू झलक्‍क हेर्दा नै स्पष्ट पार्न सक्छन्, र यी दुई प्रकारका मानिसहरूको सार फरक छ, र त्यस्ता मानिसहरूलाई फरक तरिकाले व्यवहार गर्नुपर्छ भन्‍ने कुरा खुट्याउन सहयोग गर्छ? कार्य, व्यवहार, र स्वभावजस्ता निश्‍चित पक्षहरूमा, के यी दुई प्रकारका मानिसहरूमा समानता र मिल्दोजुल्दो कुराहरू हुन्छन्? (हुन्छन्।) यदि तैँले यी दुई प्रकारका मानिसहरूको स्वभाव र सार ध्यान दिएर अवलोकन गर्दैनस्, गम्भीरतापूर्वक छुट्ट्याउँदैनस्, वा तीबारे तेरो हृदयमा सही बुझाइ र समझशक्ति छैन भने, तिनीहरूलाई एउटै प्रकारका हुन् भनेर व्यवहार गर्न निकै सजिलो हुन्छ। तैँले ख्रीष्टविरोधीलाई ख्रीष्टविरोधीहरूको स्वभाव भएको व्यक्ति भनेरसमेत सोच्न सक्छस् र ख्रीष्टविरोधीको स्वभाव भएकोलाई ख्रीष्टविरोधी भनेर सोच्न सक्छस्, अर्थात्, तैँले सजिलै यस्ता गलत मूल्याङ्कनहरू गर्न सक्छस्। त्यसोभए, यी दुई प्रकारका मानिसहरूबीच रहेका मुख्य विशेषता र भिन्‍नताहरू के-के हुन्, जसबाट ख्रीष्टविरोधी को हो र ख्रीष्टविरोधीहरूको स्वभाव भएको व्यक्ति को हो भनेर ठोस प्रमाण सहित छुट्ट्याउन मद्दत मिल्छ? तिमीहरू यो विषयसँग अपरिचित छैनौ होला, त्यसकारण अब तिमीहरूका विचारहरू सुनौँ। (ख्रीष्टविरोधीहरू र ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरू छुट्ट्याउन प्रयोग गरिने एउटा पक्ष सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति हो; अर्को पक्ष तिनीहरूको मानवता हो। सत्यताप्रतिको आफ्नो मनोवृत्तिमा, ख्रीष्टविरोधीहरूले सत्यतालाई घृणा गर्छन् र पटक्‍कै स्विकार्दैनन्। तिनीहरूले बाधा र अवरोधहरू निम्त्याउने जति धेरै दुष्ट कार्यहरू गरे पनि, र तैँले तिनीहरूसँग जे-जसरी सङ्गति गरे पनि वा तिनीहरूलाई जे-जसरी काटछाँट गरे पनि, तिनीहरूले त्यो स्विकार्दैनन् र तिनीहरू दृढ रूपमा अपश्‍चात्तापी रहन्छन्। ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूले पनि सत्यता नबुझ्दा वा सिद्धान्तहरू नबुझ्दा गलत कुराहरू गर्न सक्छन्, तर तिनीहरूलाई काटछाँट गरिँदा, तिनीहरूले सत्यता स्विकार्न, आत्मचिन्तन गर्न र आफूलाई चिन्‍न सक्छन्, साथै पछुतो महसुस गर्न र पश्‍चात्ताप गर्न सक्छन्। सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिको दृष्टिकोणबाट हेर्दा, ख्रीष्टविरोधीहरूको सार के हो भने, तिनीहरूले सत्यतालाई घृणा गर्छन्, जबकि ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूले सत्यता स्विकार्न सक्छन्। ख्रीष्टविरोधीहरूको मानवताको दृष्टिकोणबाट हेर्दा, तिनीहरू विवेकको बोध वा लाजको बोध नभएका दुष्ट मानिसहरू हुन्, जबकि ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूमा विवेकको बोध र लाजको बोध हुन्छ।) तैँले दुई वटा विशेषताहरू उल्लेख गरिस्; के यो विषयवस्तुबारे पहिले सङ्गति गरिएको थियो? के यी कुराहरूलाई स्पष्ट विशेषता मानिन्छ? (मानिन्छ।) सत्यताप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति र ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूको मनोवृत्ति पूर्ण रूपमा फरक हुन्छन्। यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो, र यो स्पष्ट विशेषताहरू भएको प्रकटीकरण हो। ख्रीष्टविरोधीहरू सत्यताप्रति वितृष्ण हुन्छन् र तिनीहरूले यसलाई पटक्‍कै स्विकार्दैनन्। तिनीहरू बरु मर्न तयार हुन्छन् तर तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर स्विकार्दैनन्। तैँले सत्यताबारे जे-जसरी सङ्गति गरे पनि, तिनीहरूले भित्री रूपमा यसको प्रतिरोध गर्छन् र तिनीहरू यसप्रति वितृष्ण हुन्छन्। तिनीहरूले तँलाई भित्री रूपमा सराप्‍न, र गिल्ला र घृणासमेत गर्न सक्छन्, र तँलाई तिरस्कारपूर्ण व्यवहार गर्न सक्छन्। ख्रीष्टविरोधीहरू सत्यताप्रति शत्रुवत्‌ हुन्छन्; यो एउटा स्पष्ट विशेषता हो। अनि ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूका विशेषताहरूचाहिँ के-के हुन्? सही र वस्तुगत रूपमा भन्दा, ख्रीष्टविरोधीहरूको स्वभाव भएका तर केही विवेक र समझ पनि भएका मानिसहरूले अरूले तिनीहरूसँग सत्यता सङ्गति गरेपछि आफ्ना धारणाहरू परिवर्तन गर्न र सत्यता स्विकार्न सक्छन्। यदि तिनीहरूलाई काटछाँट गरियो भने, तिनीहरू समर्पित पनि हुन सक्छन्। अर्थात्, जबसम्‍म ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूले परमेश्‍वरमा सच्चा रूपमा विश्‍वास गर्छन्, तबसम्‍म तिनीहरूमध्ये धेरैजसोले फरक-फरक मात्रामा सत्यता स्विकार्न सक्छन्। सारांशमा भन्‍नुपर्दा, ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूले सत्यता स्विकार्न सक्छन्, र तिनीहरू परमेश्‍वरका वचनहरू आफैले पढेर, परमेश्‍वरको ताडना र अन्तर्दृष्टि स्विकारेर, वा दाजुभाइ-दिदीबहिनीहरूको काटछाँट, सहयोग, र साथ स्विकारेर समर्पित हुन सक्छन्। यो एउटा स्पष्ट विशेषता हो। तर ख्रीष्टविरोधीहरू फरक हुन्छन्। जोसुकैले सत्यता सङ्गति गरे पनि, न त तिनीहरूले सुन्छन् न त तिनीहरू समर्पित नै हुन्छन्। तिनीहरूसँग एउटै मनोवृत्ति हुन्छ: तिनीहरू बरु मर्न तयार हुन्छन् तर तिनीहरूले सत्यता स्विकार्दैनन्। तैँले तिनीहरूलाई जे-जसरी काटछाँट गरे पनि त्यो व्यर्थ हुन्छ। तैँले सक्दो स्पष्ट रूपमा सत्यता सङ्गति गरे पनि तिनीहरूले त्यो स्विकार्दैनन्; सत्यताप्रति तिनीहरूले आन्तरिक रूपमा प्रतिरोधसमेत गर्छन् र तिनीहरू यसप्रति वितृष्णसमेत हुन्छन्। के सत्यतालाई घृणा गर्ने यस्तो स्वभाव भएको व्यक्ति परमेश्‍वरमा समर्पित हुन सक्छ? अवश्य नै सक्दैन। त्यसकारण, ख्रीष्टविरोधीहरू परमेश्‍वरका शत्रु हुन्, र तिनीहरू छुटकारा दिन नसकिने मानिस हुन्।

तिनीहरूलाई मानवताका आधारमा छुट्ट्याउने

भर्खरै, तिमीहरूले ख्रीष्टविरोधीहरूलाई ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूबाट छुट्ट्याउने अर्को विशेषता पनि उल्लेख गर्‍यौ, र त्यो मानवताको दृष्टिकोणबाट छुट्ट्याउनु हो। कसलाई यो विशेषताबारे थप सङ्गति गर्न मन छ? (ख्रीष्टविरोधीहरूमा विशेष रूपमा दुर्भावपूर्ण मानवता हुन्छ; तिनीहरूले मानिसहरूलाई दमन गर्न र कष्ट दिन सक्छन्, र तिनीहरूले जति नै धेरै दुष्टता गरे पनि पश्‍चात्ताप गर्न जान्दैनन्।) ठीक भनिस्, ख्रीष्टविरोधीहरूको मुख्य विशेषता भनेको तिनीहरूको दुर्भावपूर्ण मानवता, तिनीहरूको निर्लज्जता, र तिनीहरूमा हुने विवेक र समझको कमी हो। तिनीहरूले मण्डलीमा जति धेरै दुष्ट कार्यहरू गरे पनि वा मण्डलीको कामलाई जति धेरै हानि गरे पनि, तिनीहरूले यसलाई लाजमर्दो ठान्दैनन्, न त तिनीहरूले आफूलाई पापी नै ठान्छन्। चाहे परमेश्‍वरको घरले तिनीहरूलाई खुलासा गरोस् वा दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई काटछाँट गरून्, तिनीहरू हतोत्साहित हुँदैनन्, र तिनीहरूले धिक्‍कार वा व्याकुलता महसुस गर्दैनन्। मानवताको हिसाबमा ख्रीष्टविरोधीहरूको प्रकटीकरण यही हो। तिनीहरूको मुख्य विशेषता विवेक र समझको कमी हुनु, र लाजको कमी हुनु, र अत्यन्तै क्रूर स्वभाव हुनु हो। तिनीहरूका हितहरूमा हात हाल्ने जोकोहीलाई तिनीहरूले आलोचना गर्छन् र कष्ट दिन्छन्, र तिनीहरूमा बदला लिने अत्यन्तै तीव्र इच्छा हुन्छ, र तिनीहरूले कसैलाई पनि छोड्दैनन्, चाहे ती आफ्ना आफन्तहरू नै किन नहोऊन्। ख्रीष्टविरोधीहरू यति क्रूर हुन्छन्। अर्कोतर्फ, ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूले भने जति नै धेरै भ्रष्टता प्रकट गरे पनि, तिनीहरू दुष्ट मानिस नै हुन् भन्‍ने हुँदैन। तिनीहरूको मानवतामा तिनीहरूसँग जुनसुकै कमीकमजोरी वा खोटहरू भए पनि, तिनीहरूले जुनसुकै गल्तीहरू गर्न सक्ने भए पनि, वा जुनसुकै हिसाबमा तिनीहरूले असफल हुन र ठेस खान सक्ने भए पनि, तिनीहरूले पछि आत्मचिन्तन गर्न र पाठहरू सिक्न सक्छन्। काटछाँट सामना गर्नुपर्दा, तिनीहरूले आफ्ना गल्तीहरू स्विकार्न र पछुतो महसुस गर्न सक्छन्; अनि जब दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूको आलोचना वा खुलासा गर्छन्—त्यो समयमा तिनीहरूले आफूलाई अलिक बचाउने प्रयास गर्न सक्ने र तिनीहरू स्विकार्न अनिच्छुक हुन सक्ने भए पनि—तिनीहरूले वास्तवमा हृदयमा आफ्नो गल्ती स्विकारिसकेका र तिनीहरू समर्पित भइसकेका हुन्छन्। यसले प्रमाणित गर्छ कि, अझै पनि तिनीहरूले सत्यता स्विकार्न सक्छन् र तिनीहरूलाई सुधार्न सकिन्छ। जब तिनीहरूले गल्ती गर्छन् वा कुनै पनि समस्याहरू सामना गर्छन्, तब पनि तिनीहरूको विवेक र समझले अझै काम गर्न सक्छ; तिनीहरू सचेत हुन्छन्, संवेदनशून्य र असंवेदनशील, वा हठी र कुराहरू स्विकार्न नमान्‍ने हुँदैनन्। यसका साथै, यस्तो व्यक्तिमा ख्रीष्टविरोधीहरूको स्वभाव हुने भए पनि, ऊ तुलनात्मक रूपमा सहानुभूतिपूर्ण र अलिक दयालु हुन्छ। जब तिनीहरूलाई विभिन्‍न कुराहरू आइपर्छन्, तब मानवताको हिसाबमा तिनीहरूले देखाउने विशेषताहरूलाई—सबैभन्दा उपयुक्त र बुझ्न सजिलो तरिकाले भन्‍नुपर्दा—तुलनात्मक रूपमा अलिक उचित भनेर व्याख्या गर्न सकिन्छ। यदि तिनीहरूलाई गम्भीर रूपमा काटछाँट गरियो भने, बढीमा तिनीहरू हृदयमा अलिक रुष्ट हुन सक्छन्, तर तिनीहरूको मानवताको प्रकटीकरणबाट हेर्दा देख्‍न सकिन्छ कि तिनीहरूलाई अझै पनि लाज लाग्छ, तिनीहरूलाई तिनीहरूको विवेकले घोच्‍न सक्छ, र तिनीहरूको समझले तिनीहरूमा निश्‍चित प्रतिबन्धात्मक प्रभाव पार्न सक्छ। यदि तिनीहरूले परमेश्‍वरको घरका हितहरूमा घाटा पुर्‍याउँछन् वा कुनै पनि दाजुभाइ-दिदीबहिनीहरूलाई हानि पुर्‍याउँछन् भने, तिनीहरूले भित्री रूपमा सधैँ असहज महसुस गर्छन् र आफूले परमेश्‍वरलाई निराश तुल्याएको छु भन्‍ने अनुभूति गर्छन्। ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूले फरक-फरक मात्रामा यी प्रकटीकरणहरू प्रकट गर्छन्। घटना घटेपछि यी मानिसहरूले तुरुन्तै परिपूर्ति नगर्ने वा सही छनौटहरू नगर्ने र सही तरिकाले अभ्यास नगर्ने भए पनि, तिनीहरूको हृदयमा अझै पनि चेतनाको बोध हुन्छ। तिनीहरूको विवेकले तिनीहरूलाई घोच्छ; तिनीहरूलाई आफूले गलत काम गरेका छु र अब फेरि त्यसरी व्यवहार गर्नु हुँदैन भन्‍ने थाहा हुन्छ, र तिनीहरूलाई आफू असल मानिस होइन भन्‍ने पनि महसुस हुन्छ—सूक्ष्म रूपमा तिनीहरू सबैमा यी भावनाहरू हुन सक्छन्। यति मात्र होइन, समय बित्दै जाँदा, तिनीहरूको स्थिति उल्टिनेछ, र तिनीहरूले साँचो रूपमा पश्‍चात्ताप गर्नेछन्। तिनीहरूले सुरुमा सही छनौटहरू नगरेकोमा वा सही रूपमा अभ्यास नगरेकोमा गहन पछुतो महसुस गर्नेछन्, र तिनीहरूलाई ग्लानि हुनेछ। यी प्रकटीकरणहरू भ्रष्ट मानिसहरूका सबैभन्दा आम र साधारण प्रकटीकरणहरू हुन्। तर ख्रीष्टविरोधीहरू विशेष हुन्छन्; तिनीहरू मानिस होइनन्, दियाबलस हुन्। तिनीहरूले दुष्टता वा पाप गरेपछि जति धेरै समय बित्दा पनि, तिनीहरूलाई बिलकुलै पछुतो हुँदैन; तिनीहरू जिद्दी भइरहन्छन्, र अन्त्यसम्मै त्यसैमा लागिरहन्छन्। ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरू साधारण काटछाँट सामना गर्दा समर्पित हुन सक्छन्। गम्भीर काटछाँट सामना गर्दा, त्यो समयमा तिनीहरूले आफ्नो पक्षमा तर्क गर्न, कुराहरू इन्कार्न, र यसलाई स्विकार्न नमान्‍न सक्छन्, तर पछि गएर तिनीहरूले आत्मचिन्तन गर्दै आफूलाई चिन्‍न, अनि पछुताउन र पश्‍चात्ताप गर्न सक्छन्। कसैले तिनीहरूलाई कुनै मानवता नभएको भनी गिल्ला र आलोचना गरे पनि, तिनीहरूले हृदयमा पीडा महसुस त गर्लान् तर त्यो व्यक्तिसँग लड्ने वा उसलाई शत्रुझैँ व्यवहार गर्ने गर्दैनन्। तिनीहरूले अर्को व्यक्तिलाई पनि बुझ्न सक्छन्, र यस्तो सोच्छन्, “त्यो गल्ती गरेकोमा म मात्रै दोषी छु; अरूले मलाई जे-जसरी व्यवहार गर्छन् त्यो म जेको लायक छु त्योभन्दा बढी होइन।” यी प्रकटीकरणहरू फरक-फरक मानिसहरूमा फरक-फरक मात्रामा प्रकट हुन्छन्। छोटकरीमा भन्‍नुपर्दा, यी प्रकटीकरणहरू ख्रीष्टविरोधीहरूको स्वभाव भएका, भ्रष्ट स्वभाव भएका मानिसहरूका सामान्य र प्राकृतिक प्रकटीकरण हुन्, र यही कुरामा तिनीहरू ख्रीष्टविरोधीहरूभन्दा प्रस्ट रूपमा फरक हुन्छन्। यी दुई स्थितिहरूका फरक-फरक प्रकटीकरणहरूबाट, कुन-कुन मानिसहरू दुष्ट मानिस र ख्रीष्टविरोधी हुन्, र कुन-कुन चाहिँ ख्रीष्टविरोधीहरूको स्वभाव मात्र भएका मानिस हुन् तर दुष्ट मानिस होइनन् भन्‍ने कुरा तुरुन्तै प्रस्ट हुन्छ।

तिनीहरूले साँचो रूपमा पश्‍चात्ताप गर्छन् कि गर्दैनन् भन्‍ने आधारमा तिनीहरूलाई छुट्ट्याउने

ख्रीष्टविरोधीहरू र ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूबीच रहेका भिन्‍नताहरूका दुई वटा पक्षहरूबारे भर्खरै उल्लेख गरियो: पहिलो पक्ष सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति हो; सत्यताप्रतिको मानिसहरूको मनोवृत्ति भनेको परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्ति हो। यो पक्षमा, यी दुई प्रकारका मानिसहरूबीच स्पष्ट भिन्‍नता रहेको छ। दोस्रो कुरा, मानवताको हिसाबमा भन्दा, यी दुई प्रकारका मानिसहरूमा स्पष्ट रूपमा सारगत भिन्‍नता पनि रहेको छ। यी दुई विशेषताहरू अत्यन्तै स्पष्ट छन्; तिनीहरू पूर्ण रूपमा फरक प्रकारका मानिसहरू हुन्। यी दुई भिन्‍नताहरूबाहेक, अर्को पक्ष भनेको दुष्टता गरेपछि पश्‍चात्तापको कुनै प्रकटीकरण हुन्छ कि हुँदैन भन्‍ने कुरा हो। ख्रीष्टविरोधीहरूको हकमा भन्दा, तिनीहरूले जस्तोसुकै दुष्ट कार्यहरू गरे पनि—तिनीहरूले मानिसहरूलाई कष्ट दिए पनि, स्वतन्त्र राज्यहरू स्थापना गरे पनि, हैसियतका लागि परमेश्‍वरसँग प्रतिस्पर्धा गरे पनि, भेटीहरू वा अरू जे चोरे पनि—तिनीहरूलाई सिधै खुलासा गरिए पनि, तिनीहरूले यी कार्यहरू गरेको स्विकार्दैनन्। यदि तिनीहरूले ती स्विकार्दैनन् भने, के तिनीहरूले पश्‍चात्ताप गर्न सक्छन् त? तिनीहरू पश्‍चात्ताप गर्नुभन्दा बरु मर्न चाहन्छन्। तिनीहरू आफूले दुष्ट कार्यहरू गरेको तथ्य स्विकार्दैनन्। खुलासा पूर्ण रूपमा सही छ भन्‍ने महसुस भए पनि, तिनीहरूले यसको प्रतिरोध र विरोध गर्छन्। तिनीहरूले कदापि आफू गलत मार्गमा पो छु कि भनेर चिन्तन गर्ने वा “मलाई ख्रीष्टविरोधीको रूपमा चित्रण गरिएको छ। यो धेरै खतरनाक हो, र मैले पश्‍चात्ताप गर्नुपर्छ” भनेर भन्‍ने गर्दैनन्। तिनीहरूका मनमा यस्ता विचारहरू पटक्‍कै हुँदैनन्। तिनीहरूको मानवतामा यी गुणहरू हुँदैनन्। त्यसकारण, ख्रीष्टविरोधीहरूमा एउटा स्पष्ट विशेषता हुन्छ: तिनीहरूले परमेश्‍वरमा जति वर्ष विश्‍वास गरे पनि, तिनीहरूले सत्यता पटक्‍कै स्विकार्दैनन् र कुनै वास्तविक परिवर्तन देखाउँदैनन्। तिनीहरूले सुरुमा परमेश्‍वरमा विश्‍वास गर्न थाल्दा, तिनीहरू भीडभन्दा अलग हुन, शक्ति र नाफाका लागि प्रतिस्पर्धा गर्न, मानिसहरूलाई कष्ट दिन, र गुटबन्दी गरेर मण्डलीलाई विभाजित गर्न मन पर्छ। शक्ति हातमा लिने प्रयास गर्नुपछाडिको तिनीहरूको उद्देश्य मण्डलीको भरमा जिउनु र स्वतन्त्र राज्य स्थापना गर्नु हो। तीनदेखि पाँच वर्षसम्म विश्‍वास गरेपछि, जब तैँले तिनीहरूलाई फेरि भेट्छस्, तब पनि तिनीहरूले बिनाकुनै परिवर्तन यिनै प्रकटीकरण र विशेषताहरू प्रदर्शन गर्छन्। आठदश वर्षपछि पनि तिनीहरू उस्तै रहन्छन्। कति मानिसहरू भन्छन्, “२० वर्ष विश्‍वास गरेपछि तिनीहरू परिवर्तन होलान्!” के तिनीहरू परिवर्तन हुन सक्छन् त? (सक्दैनन्।) तिनीहरू परिवर्तन हुनेछैनन्। चाहे तिनीहरूले केही व्यक्तिहरूसँग अन्तरक्रिया गरिरहेका होऊन् वा बहुसङ्ख्यकसँग, साधारण कर्तव्य निर्वाह गरिरहेका होऊन् वा अगुवा वा कामदारका रूपमा काम गरिरहेका होऊन्, तिनीहरूले यिनै प्रकटीकरणहरू प्रदर्शन गर्छन्। तिनीहरू कहिल्यै पश्‍चात्ताप गर्दैनन् वा पछाडि फर्कँदैनन्, र अन्त्यसम्म एउटै मार्गमा जिद्दीपूर्वक लागिरहन्छन्। तिनीहरूले किमार्थ पश्‍चात्ताप गर्नेछैनन्। ख्रीष्टविरोधीहरू यस्तै हुन्छन्। ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूको कुरा गर्नुपर्दा, कतिपय दुष्ट मानिस नहोलान्, तर तिनीहरूमा पनि भ्रष्ट स्वभावहरू हुन्छन्। तिनीहरूले अहङ्कार, छल, स्वार्थ, नीचता, र अन्य प्रकारका भ्रष्टता प्रकट गर्छन्। तिनीहरूले खराब मानवता पनि देखाउँछन्। जब तिनीहरूले सुरुमा परमेश्‍वरमा विश्‍वास गर्न थाल्छन्, तब तिनीहरूले ख्याति र लाभका लागि प्रतिस्पर्धा गर्न, मानिसहरूको आदर पाउनहेतु आफूलाई अलग देखाउन पनि चाहन्छ, र अगुवा बन्‍ने र शक्ति हत्याउने महत्त्वाकाङ्क्षा र चाहनाहरू राख्छन्। यी प्रकटीकरणहरू भ्रष्ट मानिसहरूमा फरक-फरक मात्रामा रहेका हुन्छन् र ख्रीष्टविरोधीहरूका भन्दा त्यति फरक हुँदैनन्। तर, परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, तिनीहरूले परमेश्‍वरका वचनहरूको न्याय र खुलासा अनुभव गरेर केही सत्यताहरू बुझ्छन्, र तिनीहरूले झन्झन् कम मात्रामा यी भ्रष्ट स्वभावहरू प्रकट गर्छन्। यी भ्रष्ट स्वभावहरू किन झन्झन् कम प्रकट हुँदै जान्छन्? किनभने सत्यता बुझेपछि, तिनीहरूले यी व्यवहार र प्रकटीकरणहरू भ्रष्ट स्वभावका प्रकटीकरणहरू हुन् भन्‍ने महसुस गर्छन्। यस विन्दुमा मात्रै तिनीहरूको विवेक सचेत हुन्छ, र तिनीहरूले आफू गहन रूपमा भ्रष्ट रहेछु र वास्तवमै आफूमा मानवको रूप रहेनछ भन्‍ने देख्छन्। त्यसपछि तिनीहरू सत्यता पछ्याउन इच्छुक हुन्छन् र तिनीहरूले यी भ्रष्ट स्वभावहरू कसरी फाल्ने, र तिनको बन्धनबाट कसरी मुक्त हुन, अनि सत्यता पछ्याउने र अभ्यास गर्ने व्यक्ति बन्‍न सकिन्छ भनेर सोच्छन्। यो प्रकटीकरण के हो? के यो क्रमिक रूपमा पश्‍चात्ताप गर्नु होइन र? (हो।) परमेश्‍वरको काम अनुभव गर्ने क्रममा, तिनीहरूले आफ्नै समस्याहरू पत्ता लगाउँछन्, आफ्ना भ्रष्ट स्वभावहरू पहिचान गर्छन्, र आफ्ना विभिन्‍न स्थितिहरू बुझ्छन्। तिनीहरूले आफ्नो मानवता सार पनि थाहा पाउँछन्, र तिनीहरूको विवेक झन्झन् सचेत हुन्छ; तिनीहरूलाई आफू गहन रूपमा भ्रष्ट छु र परमेश्‍वरद्वारा प्रयोग गरिन अयोग्य छु र आफू परमेश्‍वरको तिरस्कारको लायक बनेको छु भन्‍ने झन्झन् महसुस हुन्छ, र तिनीहरूले भित्री रूपमा आफैलाई तिरस्कार गर्छन्। अचेतन रूपमा, तिनीहरूले हृदयको गहिराइमा बिस्तारै पश्‍चात्ताप गर्छन्, र यो पश्‍चात्तापपछि, केही थोरै परिवर्तनहरू आउँछन्, र तिनीहरूको व्यवहारमा अलिअलि परिवर्तनहरू देख्‍न सकिन्छ। उदाहरणका लागि, सुरुमा जब कसैले तिनीहरूको समस्या खुलासा गर्थ्यो, तब तिनीहरू रुष्ट हुन्थे, तिनीहरू लज्‍जित रूपमा क्रोधित हुन्थे, र तिनीहरूले आफ्‍नो कुरा बुझाउने र आफूलाई सही साबित गर्ने प्रयास गर्थे, र आफूलाई रक्षा गर्न विभिन्‍न बहाना र कारणहरू खोज्ने सक्दो प्रयास गर्थे। तर निरन्तरको अनुभवहरूमार्फत, तिनीहरूले यो व्यवहार गलत छ भन्‍ने महसुस गर्छन् र यो स्थिति र व्यवहार सुधार्न थाल्छन्, सही दृष्टिकोणहरू स्विकार्न मेहनत गर्छन्, र अरूसँग सद्भावपूर्ण सहकार्य गर्न लागिपर्छन्। जब तिनीहरूको जीवनमा परिस्थितिहरू आइपर्छन्, तब तिनीहरूले अरूबाट मद्दत खोज्न र अरूसँग सङ्गति गर्न सिक्छन्, साथै तिनीहरूले हृदयदेखि कुराकानी गर्न र अरूसँग मैत्रीपूर्ण तरिकाले मिलेर बस्न सिक्छन्। के यी पश्‍चात्तापका प्रकटीकरणहरू हुन्? (हुन्।) परमेश्‍वरमा विश्‍वास गरेपछि, तिनीहरूले आफूले प्रकट गर्ने ख्रीष्टविरोधीहरूका केही स्वभाव, व्यवहार र प्रकटीकरणहरूबारे क्रमिक रूपमा साँचो बुझाइ प्राप्त गर्छन्। त्यसपछि तिनीहरूले क्रमिक रूपमा आफ्ना भ्रष्ट स्वभावहरू फाल्छन्, र तिनीहरू आफ्नो पहिलेको गलत जीवनशैली त्याग्‍न, र ख्याति र हैसियतको पछ्याइ त्याग्‍न सक्षम बन्छन्, र सत्यता सिद्धान्तहरूअनुसार काम गर्न, आफूलाई आचरणमा ढाल्न, र आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम बन्छन्। यस्तो परिवर्तन कसरी हासिल हुन्छ? के यो सत्यता स्विकारेर अनि निरन्तर आफूलाई परिवर्तन गर्दै पश्‍चात्ताप गरेर हासिल हुने हो? (हो।) यी सबै कुराहरू निरन्तर पश्‍चात्ताप गर्ने क्रममा हासिल हुन्छन्। त्यसपछि, तिनीहरूको स्थिति अवश्यै सुधार हुन्छ, तिनीहरूको अनुभव गहन हुँदै जाँदा तिनीहरूको कद पनि बढ्दै जान्छ, र जब परिस्थितिहरू आइपर्छन्, तब तिनीहरू आत्मचिन्तन गर्न सक्षम हुन्छन्। तिनीहरूले बाधा वा असफलता सामना गर्दा होस्, वा तिनीहरू काटछाँटमा पर्दा होस्, तिनीहरूले यी मामलाहरू परमेश्‍वरसामु ल्याउँछन् र उहाँलाई प्रार्थना गर्छन्, साथै परमेश्‍वरका वचनहरू पढ्दा तिनीहरूले आफ्नो भ्रष्ट स्थितिलाई यी वचनहरूसँग जोड्न, चिरफार गर्न, र बुझ्न पनि सक्छन्। परिस्थितिहरू आइपर्दा तिनीहरूले अझै भ्रष्टता प्रकट गर्न र गलत विचारहरू विकास गर्न सक्‍ने भए पनि, तिनीहरूले आत्मचिन्तन गर्न र आफूविरुद्ध विद्रोह गर्न सक्छन्। तिनीहरू यी समस्याहरूबारे सचेत हुन्जेल, तिनीहरूले तिनलाई समाधान गर्नहेतु निरन्तर सत्यता खोजी गर्न सक्छन् र पश्‍चात्ताप अभ्यास गर्न सक्छन्। यो प्रगति अत्यन्तै ढिलो र परिणामहरू न्यून हुने भए पनि, तिनीहरू हृदयको अन्तस्करणमा निरन्तर परिवर्तन भइरहेका हुन्छन्। यस्ता मानिसहरूले सधैँ सक्रिय, सकारात्मक, र स्वउत्प्रेरित मनोवृत्ति र आफूलाई बदल्ने र पश्‍चात्ताप गर्ने स्थिति कायम राख्छन्। तिनीहरूले कहिलेकाहीँ ख्याति र हैसियतका लागि अरूसँग प्रतिस्पर्धा गर्ने र ख्रीष्टविरोधीहरूका केही प्रकटीकरण र कार्यहरू फरक-फरक मात्रामा प्रकट गर्ने भए पनि, केही काटछाँट, न्याय, र सजाय, वा परमेश्‍वरको ताडना अनुभव गरेपछि, यी भ्रष्ट स्वभावहरू फरक-फरक मात्रामा फालिन्छन् र रूपान्तरित हुन्छन्। यी परिणामहरू हासिल हुनुको मुख्य कारण भनेको यस्तो व्यक्तिले आफ्नो हृदयको गहिराइमा आफ्ना भ्रष्ट स्वभावहरू र आफूले लिएका गलत मार्गहरूबारे चिन्तन गर्न र बुझ्न सक्नु, र आफूलाई बदल्न सक्नु हो। तिनीहरूको परिवर्तनबाट आउने परिवर्तन, वृद्धि, र प्राप्तिहरू अत्यन्तै साना हुने, प्रगति तिनीहरू आफैले नदेख्ने गरी अत्यन्तै ढिलो हुने भए पनि, तीनदेखि पाँच वर्ष त्यस्ता अनुभवहरू प्राप्त गरेपछि, तिनीहरूले आफूमा केही परिवर्तनहरू आएको महसुस गर्न सक्छन्, र तिनीहरूका छेउछाउका मानिसहरूले पनि यो कुरा देख्‍न सक्छन्। जे होस्, ख्रीष्टविरोधीहरूको स्वभाव भएका त्यस्ता मानिसहरू र ख्रीष्टविरोधीहरूबीच एउटा भिन्‍नता हुन्छ। यस सन्दर्भमा मुख्य विशेषताचाहिँ के हो? (ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूले पश्‍चात्ताप गर्न सक्छन्।) जब तिनीहरूले कुनै गलत काम गर्छन्, अपराध गर्छन्, वा काटछाँट, न्याय र सजाय, ताडना वा अनुशासन सामना गर्छन्, तब तिनीहरूले पश्‍चात्ताप गर्न सक्छन्। आफूले गलत काम वा गल्ती गरेको महसुस हुँदा पनि, तिनीहरूले आत्मचिन्तन गर्न सक्छन् र हृदयमा आफूलाई बदल्ने र पश्‍चात्ताप गर्ने मनोवृत्ति अपनाउन सक्छन्। यो ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूलाई ख्रीष्टविरोधीहरूबाट पूर्ण रूपमा छुटाउने विशेषतापूर्ण भिन्‍नता हो।

ख्रीष्टविरोधीहरू र ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूबीच रहेका भिन्‍नताहरूको सारांश

जो ख्रीष्टविरोधीहरू हुन्, तिनीहरू जीवित शैतान हुन्। यो भन्‍न सकिन्छ कि तिनीहरू शैतान भएर जिउँछन्; तिनीहरू मानिसहरूले देख्‍न सक्‍ने दियाबलस र शैतान हुन्। त्यसैले, अब हामी ख्रीष्टविरोधीहरू र ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूबीच रहेका आधारभूत भिन्‍नताहरू सारांशीकृत गरौँ। एउटा पक्ष सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति हो। ख्रीष्टविरोधीहरूले सत्यता पटक्‍कै स्विकार्दैनन्। तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन्, सकारात्मक कुरा हुन्, मानिसहरूलाई फाइदा गर्ने वचन हुन्, र सबै सकारात्मक कुराका मापदण्ड हुन्, र मानिसहरूले ती वचनहरू स्विकार्नुपर्छ, तिनमा समर्पित हुनुपर्छ, र तिनलाई अभ्यास गर्नुपर्छ भनेर मौखिक रूपमा स्विकार्न सक्छन्—तिनीहरूले यो सबै कुरा भन्‍न सक्छन्—तर तिनीहरूले परमेश्‍वरका वचनहरू अभ्यास गर्न पटक्‍कै सक्दैनन्। तिनीहरूले किन तिनलाई अभ्यास गर्दैनन्? किनभने तिनीहरूले हृदयमा सत्यता स्विकार्दैनन्। मुखले त तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर भन्छन्, तर त्यो पूर्णतया फरक मनसायले भन्छन्: तिनीहरू आफूले सत्यता नस्विकार्ने तथ्य ढाकछोप गर्न र मानिसहरूलाई बहकाउन मात्रै यसो भन्छन्। ख्रीष्टविरोधीहरूले शब्द र धर्मसिद्धान्तहरू बोल्न सक्छन् भन्दैमा, तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर हृदयमा स्विकार्छन् भन्‍ने हुँदैन। तिनीहरूले आधारभूत रूपमा आफ्नो हृदयमा परमेश्‍वरका वचनहरूको सत्यता नस्विकार्ने हुनाले सत्यता अभ्यास गर्न सक्दैनन्; तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्नका लागि सत्यता स्विकार्न र अभ्यास गर्न अनिच्छुक हुन्छन्। अर्कोतर्फ, ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूचाहिँ ख्रीष्टविरोधी नै हुन् भन्‍ने हुँदैन। तिनीहरूमध्ये कतिले फरक-फरक मात्रामा सत्यता, सकारात्मक कुराहरू, र सही वचनहरू स्विकार्न र तिनमा समर्पित हुन सक्छन्—एउटा भिन्‍नता यही हो। ख्रीष्टविरोधीहरूको सार भएका मानिसहरू सत्यताप्रति शत्रुवत्‌ हुन्छन्, र तिनीहरूले सत्यताप्रति पिठ्यूँ फर्काउँछन्, तर ख्रीष्टविरोधीहरूको स्वभाव भएका कतिपय मानिसहरूले सत्यता स्विकार्न र अभ्यास गर्न सक्छन्। परमेश्‍वरका वचनहरू पढेर, अनि परमेश्‍वरको काम धेरै वर्ष अनुभव गरेपछि, सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति अलिअलि परिवर्तन हुन सक्छ। तिनीहरूले सत्यता अभ्यास गर्न नसके पनि हृदयको गहिराइमा सत्यता राम्रो हो र यो सही हो भन्‍ने अनुभूति गर्छन्। यति हो कि तिनीहरूले सत्यतालाई प्रेम गर्ने वा यसमा त्यति चासो लिने गर्दैनन्, त्यसैले सत्यता अभ्यास गर्न केही मेहनत र सङ्घर्ष चाहिन्छ। त्यसकारण, ख्रीष्टविरोधीहरूको स्वभाव भएका तर केही विवेक र समझ भएका मानिसहरूले फरक-फरक मात्रामा सत्यता स्विकार्न सक्छन्। कम्तीमा पनि, तिनीहरू हृदयको गहिराइमा सत्यताप्रति प्रतिरोधी वा त्यसलाई घिनाउने किसिमका हुँदैनन्, र तिनीहरू सत्यताप्रति वितृष्ण हुँदैनन्। धेरैजसो मानिसहरू यस्तो स्थितिमा हुन्छन् र तिनीहरूले सत्यताप्रति यस्तो प्रकटीकरण देखाउँछन्। त्यस्ता मानिसहरूलाई व्याख्या गर्ने यो तरिकाले तिनीहरूलाई न त राम्रो देखाउँछ न त दुत्कार्छ। यो निकै वस्तुगत छ, होइन र? (हो।) अर्को पक्ष भनेको तिनीहरूलाई मानवताको दृष्टिकोणबाट छुट्ट्याउनु हो, अर्थात् तिनीहरूको विवेक, समझ, र तिनीहरूको मानवताको असलपन वा दुष्टताका आधारमा छुट्ट्याउनु हो। जोसँग दुष्ट मानवता छ, जसले सत्यता स्विकार्दैन, र जो सत्यताप्रति अत्यन्तै वितृष्ण हुन्छ, ऊ अवश्य नै अविश्‍वासी वा ख्रीष्टविरोधी हो। कति मानिसहरूले विशेषगरी सत्यतालाई प्रेम गर्दैनन् र तिनीहरूलाई यसमा रुचि हुँदैन। जब अरूले सत्यता सङ्गति गर्छन्, तब तिनीहरू झुल्छन् र तिनीहरूको जोस हराउँछ। तर, यस्ता मानिसहरूमा दुष्ट मानवता हुँदैन र तिनीहरूले अरूलाई कष्ट दिँदैनन्। यदि तैँले परमेश्‍वरका अभिप्रायहरू, सत्यता सिद्धान्तहरू, वा परमेश्‍वरको घरका नियमहरूबारे सङ्गति गरिस् भने, तिनीहरूले सुन्‍न सक्छन् र तिनीहरू सत्यता स्विकार्न र यसमा लागिपर्न तयार हुन्छन्, तर तिनीहरूले सत्यता अभ्यास गर्न सकिहाल्छन् भन्‍नेचाहिँ हुँदैन। यदि तिनीहरू अगुवा बने भने, तिनीहरूले तँलाई सत्यता बुझ्न अगुवाइ गर्न वा परमेश्‍वरसामु ल्याउन नसक्‍ने हुन सक्छ, तर तिनीहरूले तँलाई कष्टचाहिँ कदापि दिनेछैनन्। ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूको मानवता यही हो। जे होस्, ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूको मानवता त्यति दुष्ट हुँदैन; तिनीहरूले फरक-फरक मात्रामा सत्यता स्विकार्न सक्छन्। यसविपरीत, ख्रीष्टविरोधीहरूमा विवेक र समझको कमी हुने मात्र होइन, तिनीहरूमा अत्यन्तै क्रूर मानवता पनि हुन्छ। ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूमा विवेकको बोध, र केही समझ हुन्छ, र तिनीहरूले निश्‍चित मामलाहरू तर्कसङ्गत रूपमा सम्हाल्न सक्छन्। उदाहरणका लागि, परमेश्‍वरको घरका मागहरू सम्हाल्ने, मण्डलीका विभिन्‍न मानिसहरू सम्हाल्ने, र सकारात्मक र नकारात्मक कुराहरू सम्हाल्ने क्रममा कसरी छनौट गर्ने, कुन पक्ष लिने भन्‍ने सन्दर्भमा, तिनीहरूले यी र यस्तै अन्य मामलाहरू छुट्ट्याउन सक्छन् र, अन्त्यमा, तिनीहरूले आफ्नो विवेकका आधारमा सही निर्णय गर्न सक्छन्। यस प्रकारका मानिसहरूमा त्यस्तो दुष्ट मानवता हुँदैन र तिनीहरू तुलनात्मक रूपमा दयालु हृदयका हुन्छन्। अर्को भिन्‍नता पनि छ, जसबारे हामीले भर्खरै सङ्गति गरेका छौँ, र त्यो के हो भने, ख्रीष्टविरोधीहरूको स्वभाव भएका कति मानिसहरू सत्यता स्विकार्न सक्‍ने हुन्छन्, र जब तिनीहरूले गलत काम गर्छन्, तब तिनीहरूले यसबारे मनन गर्न सक्छन् र तिनीहरूमा पश्‍चात्ताप गर्ने हृदय हुन्छ। यसको उल्टो, ख्रीष्टविरोधीहरूले यी दुई प्रकटीकरणहरू पटक्‍कै प्रदर्शन गर्दैनन्। तिनीहरू जिद्दी र अपरिवर्तनशील हुन्छन् किनभने तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन्, तिनीहरूले सत्यता स्विकार्दैनन्, र तिनीहरूमा अत्यन्तै क्रूर मानवता हुन्छ। यस्ता मानिसहरूले आफूलाई परिवर्तन गरेर पश्‍चात्ताप हासिल गर्नु असम्भव हुन्छ। कुनै व्यक्तिले साँचो रूपमा पश्‍चात्ताप गर्न सक्छ कि सक्दैन भन्‍ने कुरा मुख्य रूपमा ऊसँग विवेक र समझ छ कि छैन भन्‍ने कुरामा, र सत्यताप्रतिको उसको मनोवृत्तिमा निर्भर हुन्छ। ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूमा दुष्ट मानवता नहुने, र तिनीहरूमा केही विवेक र समझ हुने, र तिनीहरूले केही सत्यताहरू फरक-फरक मात्रामा स्विकार्न सक्‍ने हुनाले, तिनीहरूले आफूलाई परिवर्तन गर्ने सम्भावना हुन्छ। जब तिनीहरूले गल्ती वा अपराधहरू गर्छन्, तब काटछाँटमा परेपछि तिनीहरूले पश्‍चात्ताप गर्न सक्छन्। यसले ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूसँग मुक्ति पाउने आशा हुन्छ भन्‍ने कुरा निर्धारित गर्छ, जबकि ख्रीष्टविरोधीहरू छुटकारा पाउन नसक्‍ने हुन्छन्; तिनीहरू दियाबलस र शैतानजस्तै हुन्छन्। ख्रीष्टविरोधीहरू र ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूबीच रहेका सारगत भिन्‍नताहरू यी धेरै विशेषताहरू नै हुन्। के यो सारांश निकै वस्तुगत छ? (छ।) ख्रीष्टविरोधीहरूका यी विभिन्‍न विशेषताहरूका सम्बन्धमा, हामीले सङ्गति गरेका विस्तृत प्रकटीकरणहरू वस्तुगत छन् र तथ्यहरूसँग मिल्दो छन्, र तिनमा कुनै पनि दुत्कारको तत्त्व छैन। परमेश्‍वरका चुनिएका मानिसहरू सबैले यसको सामना गरेका र यसलाई देखेका छन्; ख्रीष्टविरोधीहरू यस्तै हुन्। ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूका हकमा, हामीले विभिन्‍न प्रकटीकरणहरू पनि खुलासा गरेका छौँ, र ती सबै मानिसहरूले देख्न सक्ने र तथ्यहरूअनुरूप छन्, जसमा कुनै मिठो बनावट गरिएको छैन।

ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूको मानवतामा धेरै खोट र त्रुटिहरू हुन्छन्, र तिनीहरूले फरक-फरक मात्रामा विभिन्‍न भ्रष्ट स्वभावहरू पनि प्रकट गर्छन्। हरेक व्यक्तिमा यी भ्रष्ट स्वभावहरूका केही स्पष्ट विशेषताहरू हुन्छन्। उदाहरणका लागि, कति मानिसहरू एकदमै अहङ्कारी हुन्छन्, कति मानिसहरू एकदमै षड्यन्त्रकारी र छली हुन्छन्, कति मानिसहरू एकदमै हठी हुन्छन्, कति मानिसहरू एकदमै अल्छी हुन्छन्, र यस्तैयस्तै अरूहरू हुन्छन्। यी अभिव्यक्तिहरू ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूका प्रकटीकरण हुन्, र यी त्यस्ता मानिसहरूको मानवताका विशेषताहरू हुन्। यी मानिसहरूका हृदयमा केही न केही दया त हुन्छ—सरल रूपमा भन्दा, तिनीहरू अलिक राम्रो हृदयका हुन्छन्—तर समस्याहरू सामना गर्दा, तिनीहरूले परमेश्‍वरको घरका हितहरूमा हानि भइरहेको स्पष्ट रूपमै देखे पनि तिनीहरू अरूलाई चिढ्याउँछु भन्‍ने डरले कछुवा आफ्नै खोलमा लुकेझैँ लुक्छन्, र शैतानको दर्शनअनुसार जिउँछन्, र सत्यता सिद्धान्तहरू पालना गर्न अनिच्छुक हुन्छन्। तिनीहरूले यस्तो व्यवहार गर्नु हुँदैन र यसरी काम गरेर तिनीहरूले परमेश्‍वरमाथि अन्याय गरिरहेका हुन्छन् भनेर तिनीहरूलाई भित्री मनमा महसुस हुने भए पनि तिनीहरू मान्छे खुसी पारिहिँड्ने व्यक्ति नबनी बस्‍न सक्दैनन्। किन यस्तो हुन्छ? किनभने तिनीहरूले आफू बाँच्न र अस्तित्वमा रहनका लागि शैतानको दर्शनमा भरोसा गर्नुपर्छ, र यसरी मात्रै तिनीहरूले आफूलाई रक्षा गर्न सक्छन् भन्‍ने विश्‍वास गर्छन्। त्यसकारण, तिनीहरूले मान्छे खुसी पारिहिँड्ने व्यक्ति बन्‍ने निर्णय गर्छन् र सत्यता अभ्यास गर्दैनन्। हृदयमा तिनीहरूले यसरी काम गर्दा आफूमा विवेक र मानवता नभएको; आफू मानव नभएको र गार्ड कुकुरभन्दा खराब भएको महसुस गर्छन्। तर, आफूलाई धिक्‍कारेपछि, अर्को परिस्थिति सामना गर्दा, तिनीहरूले अझै पनि पश्‍चात्ताप गर्दैनन् र फेरि उस्तै व्यवहार गर्छन्। तिनीहरू सधैँ कमजोर हुन्छन् र तिनीहरूले सधैँ दोषी महसुस गर्छन्। यसले के प्रमाणित गर्छ? यसले यो प्रमाणित गर्छ कि, ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरू आफैमा ख्रीष्टविरोधी नहुने भए पनि तिनीहरूको मानवतामा समस्या र कमीकमजोरी हुन्छन्, त्यसकारण तिनीहरूले निश्‍चित रूपमा धेरै भ्रष्टता प्रकट गर्छन्। त्यस्ता व्यक्तिका समग्र प्रकटीकरणहरू हेर्दा, तिनीहरू शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको अवस्थामा अपरिवर्तित रहने व्यक्ति हुन्; परमेश्‍वरले शैतानको सन्तान भनेर भन्‍नुभएका मानिसहरू तिनीहरू नै हुन्। ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरू कसरी ख्रीष्टविरोधीहरूभन्दा असल हुन्छन्? ठ्याक्‍कै भन्‍नुपर्दा, ख्रीष्टविरोधीहरूको स्वभाव भएका तर ख्रीष्टविरोधीहरूको सार नभएका मानिसहरूले शैतानका विभिन्‍न भ्रष्ट स्वभावहरू प्रकट गरे पनि तिनीहरू अवश्यै दुष्ट मानिस होइनन्। तिनीहरूको अवस्था कुनै व्यक्ति विश्‍वासघाती र दुष्ट पनि छैन र असल पनि छैन भनेजस्तै हुन्छ; यति मात्र हो कि तिनीहरूले सच्चा रूपमा परमेश्‍वरमा विश्‍वास गर्छन्, तिनीहरू पश्‍चात्ताप गर्न तयार हुन्छन्, र काटछाँटमा परेपछि तिनीहरूले केही समर्पण देखाएर सत्यता स्विकार्न सक्छन्। तिनीहरू दुष्ट मानिस नभए पनि र तिनीहरूसँग अझै परमेश्‍वरको मुक्ति पाउने आशा भए पनि, तिनीहरू परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने भनेर परमेश्‍वरले बताउनुहुने मानकभन्दा निकै टाढा हुन्छन्! कति मानिसहरूले तीनदेखि पाँच वर्षसम्म परमेश्‍वरमा विश्‍वास गर्छन् र केही परिवर्तन र प्रगति हासिल गर्छन्। कति मानिसहरूले आठदेखि दश वर्षसम्म परमेश्‍वरमा विश्‍वास गर्छन् तर बिलकुलै प्रगति हासिल गर्दैनन्। कति मानिसहरूले त परमेश्‍वरमा विश्‍वास गरेको २० वर्ष भएको हुन्छ तैपनि तिनीहरूमा कुनै उल्लेखनीय परिवर्तन आएको हुँदैन; तिनीहरू अझै पहिलेका जस्तै हुन्छन्। तिनीहरू जिद्दी भएर आफ्ना धारणाहरूमा टाँसिरहन्छन्। यति मात्र हो, तिनीहरूले परमेश्‍वरका वचनहरू सुनेका हुनाले र तिनीहरू परमेश्‍वरको घरका विभिन्‍न नियम र प्रावधानहरूद्वारा बाँधिएका हुनाले, तिनीहरूले ठूला गल्तीहरू गरेका हुँदैनन्, र परमेश्‍वरका घरमा गम्भीर घाटा ल्याउने दुष्ट कार्यहरू गरेका हुँदैनन् र ठूला प्रकोपहरू सिर्जना गरेका हुँदैनन्। ख्रीष्टविरोधीहरूको स्वभाव भएका सबै मानिसहरूले अन्त्यमा परमेश्‍वरमार्फत मुक्ति पाउन सक्दैनन्। तिनीहरूमध्ये धेरैजसो सायद श्रमिक हुन्, र तिनीहरूमध्ये कतिलाई अवश्य नै हटाइनेछ। तर जे होस् तिनीहरू दुष्ट मानिस नभए पनि कमजोर मानवता भएकै मानिस हुन्। तिनीहरूका परिणाम र गन्तव्य अवश्यै उस्तै हुनेछैनन्। यो सबै तिनीहरूले सत्यता स्विकार्न सक्छन् कि सक्दैनन् र तिनीहरूले आफ्नो मार्ग कसरी रोज्छन् भन्‍ने कुरामा निर्भर हुन्छ। कति मानिसहरू भन्छन्, “तपाईंका वचनहरू विरोधाभासपूर्ण छन्। के तपाईंले यी मानिसहरूले आफूलाई परिवर्तन गरेर पश्‍चात्ताप गर्न सक्छन् भनेर भन्‍नुभएको होइन र?” मेरो तात्पर्य के हो भने, यी मानिसहरूले निश्‍चित प्रसङ्ग र फरक-फरक वातावरणमा फरक-फरक मात्रामा सत्यता स्विकार्न सक्छन्। “फरक-फरक मात्रामा” भन्‍नुको अर्थ के हो? यसको अर्थ के हो भने, कति मानिसहरू परमेश्‍वरमा विश्‍वास गरेको तीनदेखि पाँच वर्षपछि थोरथोरै परिवर्तन भएका हुन्छन्, र १० देखि २० वर्षपछि उल्लेखनीय रूपमा परिवर्तन भएका हुन्छन्। कति मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको १० देखि २० वर्ष भएको हुन्छ तर तिनीहरू अझै पनि पहिलोपल्ट विश्‍वास गर्न थाल्दाको अवस्थामा जस्तै हुन्छन्, र तिनीहरू सधैँ “मैले पश्‍चात्ताप गर्नैपर्छ, मैले परमेश्‍वरको प्रेमको ऋण तिर्नैपर्छ!” भनेर चिच्याउँदै बस्छन् तर वास्तवमा तिनीहरूमा कुनै परिवर्तन आएको हुँदैन। तिनीहरूमा विवेकको बोध हुने भएकाले मात्र तिनीहरूको हृदयमा यस्तो कामना हुन्छ र तिनीहरू परिवर्तन भएर पश्‍चात्ताप गर्न इच्छुक हुन्छन्। तर, इच्छुक हुनु भनेको सत्यता अभ्यास गर्न सक्‍नुसरह होइन, न त यो वास्तविकतामा प्रवेश गर्नुसरह नै हो। इच्छुक हुनु भनेको त सत्यताको प्रतिरोध नगर्नु, सत्यताप्रति वितृष्ण नहुनु, सत्यतालाई खुलेआम बदनाम नगर्नु, परमेश्‍वरलाई खुलेआम आलोचना नगर्नु, दोष नदिनु, वा ईश्‍वरनिन्दा नगर्नु मात्रै हो—इच्छुक हुनु भनेको यी प्रकटीकरणहरू मात्रै हुन्। तर यसको अर्थ साँचो रूपमा समर्पित हुन र सत्यता स्विकार्न र अभ्यास गर्न सक्‍नु भन्‍ने होइन, न त यसको अर्थ देह र आफ्नै चाहनाहरूविरुद्ध विद्रोह गर्न सक्‍नु नै हो। के यो वस्तुगत तथ्य हो? (हो।) कुरा ठ्याक्कै त्यही हो। आफ्नो मानवतामा केही विवेक र समझ र अलिकति पश्‍चात्ताप गर्ने हृदय हुनुको अर्थ व्यक्तिमा भ्रष्ट स्वभाव छैन भन्‍ने हुँदैन। ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरू सारगत रूपमा ख्रीष्टविरोधीहरूभन्दा फरक हुन्छन्, तर यसको अर्थ तिनीहरू सत्यता स्विकार्न र त्यसमा समर्पित हुन सक्‍ने मानिस हुन् भन्‍ने होइन। यसको अर्थ तिनीहरू सत्यता वास्तविकता भएका मानिस हुन्, वा तिनीहरू परमेश्‍वरले प्रेम गर्नुहुने मानिस हुन् भन्‍ने पनि होइन। यी दुई पक्षहरूबीच आधारभूत भिन्‍नताहरू छन्; यी पूर्ण रूपमा फरक छन्। ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरू मानवताको हिसाबमा, सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिको हिसाबमा, र तिनीहरूको पश्‍चात्तापको मात्राको हिसाबमा ख्रीष्टविरोधीहरूका तुलनामा निश्चय नै निकै राम्रा हुन्छन्। तर, मानिसहरूलाई मापन गर्ने परमेश्‍वरको मानक तिनीहरू ख्रीष्टविरोधीहरूभन्दा कसरी फरक छन् भन्‍ने कुरामा आधारित हुँदैन; मानक यो होइन। परमेश्‍वरले व्यक्तिको मानवता मापन गर्नुहुन्छ, ऊसँग विवेक र समझ छ कि छैन, उसले सत्यतालाई प्रेम र स्वीकार गर्छ कि गर्दैन, उसले आफ्नो कर्तव्य बफादारीका साथ पूरा गर्छ कि गर्दैन, ऊ परमेश्‍वरमा समर्पित हुन्छ कि हुँदैन, र उसले सत्यता प्राप्त गर्न र मुक्ति हासिल गर्न सक्छ कि सक्दैन भन्‍ने कुरा मापन गर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूलाई मापन गर्ने मानकहरू यिनै हुन्। ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूका लागि परमेश्‍वरले विभिन्‍न मागहरू अघि सार्नुभएको छ। परमेश्‍वरले ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूलाई मुक्ति दिने उद्देश्यले तिनीहरूलाई मापन गर्न यी मागहरू प्रयोग गर्नुहुन्छ। यो कुरालाई यसरी भनिएको सुनेपछि, तिमीहरूले कुरा बुझ्छौ नि, होइन र? पहिलो कुरा त, तँमा ख्रीष्टविरोधीहरूको स्वभाव जति नै धेरै भए पनि, यदि तैँले सत्यता स्विकार्न सक्छस् भने, तँ ख्रीष्टविरोधी होइनस् भन्‍ने कुरामा तँ प्रस्ट हुनुपर्छ। तँ ख्रीष्टविरोधी नभए पनि यसको अर्थ तँ परमेश्‍वरमा समर्पित व्यक्ति होस् भन्‍नेचाहिँ हुँदैन। सत्यतालाई घिन नमान्‍नु वा सत्यताप्रति वितृष्ण नहुनुको अर्थ तँ सत्यता अभ्यास गर्ने र त्यसमा समर्पित हुने व्यक्ति होस् भन्‍ने हुँदैन। केही विवेक र समझ हुनु, तुलनात्मक रूपमा दयालु हृदयको हुनु, र ख्रीष्टविरोधीहरूको भन्दा राम्रो मानवता हुनुको अर्थ तँ असल व्यक्ति नै होस् भन्‍ने हुँदैन। कुनै व्यक्ति असल हो कि खराब हो भनेर मापन गर्ने मानक ख्रीष्टविरोधीहरूको मानवतामा आधारित हुँदैन। ख्रीष्टविरोधीहरूले जति नै धेरै खराब कामकुरा गरे पनि तिनीहरूले न त ती कुरा कहिल्यै स्विकार्छन् न कहिल्यै पश्‍चात्ताप गर्छन्, बरु तिनीहरू त्यसरी नै काम गर्न जारी राख्छन्; तिनीहरू कहिल्यै पछाडि फर्कँदैनन्, र तिनीहरूले अन्त्यसम्मै परमेश्‍वरको विरोध गर्छन्। ख्रीष्टविरोधीहरूको स्वभाव भएका कति मानिसहरूले इमानदारीका साथ आफूलाई बदल्न र पश्‍चात्ताप गर्न चाहने भए पनि तिनीहरूले आफूलाई अलिकति बदल्दैमा तिनीहरूमा साँचो पश्‍चात्ताप छ भन्‍ने हुँदैन। पश्‍चात्ताप गर्ने सङ्कल्प हुनुको अर्थ सत्यता बुझ्न, सत्यता प्राप्त गर्न, र जीवन प्राप्त गर्न सक्‍नु होइन।

कति मानिसहरू भन्छन्, “म ख्रीष्टविरोधी होइनँ, त्यसकारण म ख्रीष्टविरोधीहरूभन्दा असल छु र ख्रीष्टविरोधीहरूजति गहन रूपमा भ्रष्ट छैनँ।” के यी शब्दहरू सही छन्? के यो विकृत बुझाइ हो? (हजुर, हो।) ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरू आफ्नो भ्रष्ट स्वभावमा ख्रीष्टविरोधीहरूजस्तै हुन्छन्, तर तिनीहरूको प्रकृति सार फरक हुन्छ। विचार गर त—के यो अभिव्यक्ति सही छ? (छ।) त्यसोभए यसलाई व्याख्या गर त। (ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूमा पनि ख्रीष्टविरोधीहरूको जस्तै भ्रष्ट स्वभाव हुन्छ। तिनीहरू दुवैमा अहङ्कारी र दुष्ट स्वभाव हुन्छ, र तिनीहरू दुवैले हैसियत पछ्याउँछन्। तर, तिनीहरूको मानवता सार फरक हुन्छ। ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूमा केही विवेकको बोध हुन्छ, र तिनीहरूले विभिन्‍न मात्रामा सत्यता स्विकार्न सक्छन्। तिनीहरूले सत्यताप्रति वितृष्णा राख्दैनन् र सत्यतालाई घृणा गर्दैनन्। अर्कोतर्फ, ख्रीष्टविरोधीहरूको सार भएका मानिसहरूमा दुर्भावपूर्ण मानवता सार हुन्छ। तिनीहरूसँग विवेकको कुनै बोध हुँदैन, र तिनीहरूले सत्यताप्रति वितृष्णा राख्छन् र सत्यतालाई घृणा गर्छन्। तिनीहरूले पश्‍चात्ताप गर्दैनन्।) तिनीहरू सबैमा भ्रष्ट स्वभावहरू हुन्छन्, त्यसोभए परमेश्‍वरले किन ख्रीष्टविरोधीहरूको सार भएका मानिसहरूलाई ख्रीष्टविरोधी र उहाँका शत्रुका रूपमा चित्रण गर्नुहुन्छ? (यो मुख्य रूपमा सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिमा आधारित हुन्छ। ख्रीष्टविरोधीहरूले सत्यताप्रति वितृष्णा राख्छन् र सत्यतालाई घृणा गर्छन्, र सत्यतालाई घृणा गर्नु भनेको वास्तवमा परमेश्‍वरलाई घृणा गर्नु हो।) अरू केही छ? (ख्रीष्टविरोधीहरूको सार दियाबलसहरूको सार हो।) के दियाबलसहरूको सार भएका मानिसहरूसँग मुक्ति पाउने कुनै आशा हुन्छ? (हुँदैन।) यी मानिसहरूले सत्यता पटक्‍कै स्विकार्दैनन् र मुक्ति पाउन सक्दैनन्। दुवै प्रकारका मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ भने, मुक्ति पाउन सक्‍ने र मुक्ति पाउन नसक्‍ने मानिसहरूबीच के भिन्‍नता हुन्छ? यी दुई प्रकारका मानिसहरूको भ्रष्ट स्वभाव मात्रै हेर्ने हो भने, तिनीहरू उस्तै हुन्छन्, त्यसकारण किन ख्रीष्टविरोधीहरूले मुक्ति पाउन सक्दैनन्, जबकि ख्रीष्टविरोधीहरूको स्वभाव भएका तर ख्रीष्टविरोधीहरूको सार नभएका मानिसहरूसँग मुक्ति पाउने झिनो आशा हुन्छ? (ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरू ख्रीष्टविरोधीहरूजस्तो सत्यता र सकारात्मक कुराहरूप्रति अत्यन्तै शत्रुवत्‌ हुँदैनन्। तिनीहरूले सत्यतालाई विशेष रूपमा प्रेम नगरे पनि सत्यतालाई घिनाउँदैनन्, बरु त्यसलाई विभिन्‍न मात्रामा स्विकार्न सक्छन्, र तिनीहरू अलिअलि गर्दै परिवर्तन हुँदै जान्छन्। यसका साथै, तिनीहरूको मानवतामा केही विवेकको बोध हुन्छ, जुन कुनै लाजको बोध नहुने ख्रीष्टविरोधीहरूको विपरीत कुरा हो।) मुक्ति पाउने आशा यसैमा निहित हुन्छ; आधारभूत भिन्‍नता यही हो। ख्रीष्टविरोधीहरूको सारलाई हेर्दा, यस्ता व्यक्तिहरूलाई छुटकारा दिन सकिँदैन र तिनीहरूसँग मुक्ति पाउने कुनै आशा हुँदैन। तैँले तिनीहरूलाई मुक्ति दिन चाहे पनि सक्दैनस्; तिनीहरू परिवर्तन हुनै सक्दैनन्। तिनीहरू शैतानको भ्रष्ट स्वभाव भएको साधारण प्रकारका व्यक्ति होइनन्, बरु दियाबलस र शैतानको जीवन सार भएका व्यक्ति हुन्। यस्ता व्यक्तिहरूलाई कदापि मुक्ति दिन सकिँदैन। तर अर्कोतर्फ, भ्रष्ट स्वभाव भएका साधारण मानिसहरूको सार के हो? तिनीहरूमा भ्रष्ट स्वभाव मात्रै हुन्छ; तर, तिनीहरूमा निश्‍चित मात्रामा विवेक र समझ हुन्छ, र तिनीहरूले केही सत्यताहरू स्विकार्न सक्छन्। यसको अर्थ सत्यताले यी मानिसहरूमा निश्‍चित प्रभाव पार्न सक्छ, जसले गर्दा तिनीहरूले मुक्ति पाउने आशा प्राप्त गर्न सक्छन्। यस प्रकारको व्यक्तिलाई नै परमेश्‍वरले मुक्ति दिनुहुन्छ। ख्रीष्टविरोधीहरूलाई कदापि मुक्ति दिन सकिँदैन, तर के ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूलाई मुक्ति दिन सकिन्छ? (सकिन्छ।) यदि हामीले तिनीहरूले मुक्ति पाउन सक्छन् भनेर भन्यौँ भने, यो वस्तुगत हुँदैन। हामीले तिनीहरूसँग मुक्ति पाउने आशा हुन्छ भनेर मात्रै भन्‍न सक्छौँ—यो तुलनात्मक रूपमा अलि वस्तुगत हुन्छ। अन्त्यमा, व्यक्तिले मुक्ति पाउन सक्छ कि सक्दैन भन्‍ने कुरा व्यक्तिमै निर्भर हुन्छ। यो उसले साँचो रूपमा सत्यता स्विकार्न र अभ्यास गर्न, साथै सत्यतामा समर्पित हुन सक्छ कि सक्दैन भन्‍ने कुरामा निर्भर हुन्छ। त्यसकारण, यस्तो व्यक्तिसँग मुक्ति पाउने आशा हुन्छ भनेर मात्रै भन्‍न सकिन्छ। त्यसोभए ख्रीष्टविरोधीहरूसँग चाहिँ किन मुक्ति पाउने कुनै आशा हुँदैन? किनभने तिनीहरू ख्रीष्टविरोधी हुन्; तिनीहरूमा शैतानको प्रकृति हुन्छ। तिनीहरू सत्यताप्रति शत्रुवत्‌ हुन्छन्, तिनीहरूले परमेश्‍वरलाई घृणा गर्छन्, र सत्यता पटक्‍कै स्विकार्दैनन्। के परमेश्‍वरले अझै पनि तिनीहरूलाई मुक्ति दिन सक्‍नुहुन्छ? (सक्‍नुहुन्‍न।) परमेश्‍वरले भ्रष्ट मानिसहरूलाई मुक्ति दिनुहुन्छ, शैतान र दियाबलसहरूलाई होइन। परमेश्‍वरले त सत्यता स्विकार्नेहरूलाई मुक्ति दिनुहुन्छ, सत्यतालाई घृणा गर्ने फोहोरीहरूलाई होइन। कुरा प्रस्ट भयो? (भयो।) कति मानिसहरूमा विकृत बुझाइ नहोस् भनेर हामी यसरी सङ्गति गर्छौँ। ख्रीष्टविरोधीहरू र ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूबीच भिन्‍नता छुट्याएपछि, कति मानिसहरूले आफू ख्रीष्टविरोधी नभएको र यसको अर्थ आफू सुरक्षित क्षेत्रमा रहेको, आफूले आफ्ना लागि साँच्‍चै आश्रय सुनिश्चित गरिसकेको र भविष्यमा अवश्य नै आफूलाई निकाला र निष्कासन नगरिने वा नहटाइने सोच्छन्। के यो विकृत बुझाइ हो? मुक्ति पाउने आशा हुनुको अर्थ व्यक्तिले मुक्ति पाउँछ नै भन्‍ने हुँदैन। यो आशा पूरा गर्नका लागि अझै पनि मानिसहरूले अघि बढेर यो आशा पक्रिनुपर्ने हुन्छ। सत्यताप्रतिको तेरो मनोवृत्ति ख्रीष्टविरोधीहरूको भन्दा फरक छ। तँ सत्यताप्रति वितृष्ण छैनस्, वा तेरो मानवता ख्रीष्टविरोधीहरूको भन्दा अलिक राम्रो छ; तँसँग केही विवेकको बोध छ, तँ तुलनात्मक रूपमा दयालु हृदयको छस्, तँ अरूलाई हानि गर्दैनस्, कुनै गल्ती गर्दा तँ पश्‍चात्ताप गर्न जान्दछस्, र तँ आफूलाई परिवर्तन गर्न सक्छस्। यी थोरै गुणहरू मात्र हुनु भनेको तैँले सत्यता स्विकार्ने, सत्यता अभ्यास गर्ने, र मुक्ति प्राप्त गर्ने आधारभूत सर्तहरू पूरा गरेको छस् भन्‍ने हो। तर तँ ख्रीष्टविरोधी होइनस् भनेर भन्‍नुको अर्थ तैँले मुक्ति पाउँछस् भन्‍नेचाहिँ होइन। तँ ख्रीष्टविरोधी होइनस्, तर तँ अझै पनि भ्रष्ट मानव होस्। के सबै भ्रष्ट मानिसहरूले मुक्ति पाउन सक्छन्? सक्छन् नै भन्‍ने छैन। व्यक्ति ख्रीष्टविरोधी वा दुष्ट व्यक्ति नभए पनि, उसले सत्यता पछ्याउँदैन भने मुक्ति पाउन सक्दैन। मानिसहरूले सत्यता स्विकारेर र पछ्याएर परमेश्‍वरको मुक्ति प्राप्त गर्छन्। मानिसहरूको भ्रष्ट स्वभाव परमेश्‍वरविरोधी हुन्छ। कसैमा भ्रष्ट स्वभावहरू छन् भने, उसले अझै पनि परमेश्‍वरविरुद्ध विद्रोह गर्न, परमेश्‍वरको अवज्ञा गर्न, परमेश्‍वरलाई धोका दिन, आदि इत्यादि गर्न सक्छ। त्यसकारण, तिनीहरूले परमेश्‍वरका वचनहरूको न्याय, सजाय, परीक्षा, र शोधनहरू स्विकार्नुपर्छ; तिनीहरूलाई परमेश्‍वरका वचनहरूको आपूर्ति र मार्गदर्शन, परमेश्‍वरको काटछाँट, अनुशासन, र दण्ड, आदि इत्यादि कुराको आवश्यकता हुन्छ—परमेश्‍वरले गर्नुहुने यो कुनै पनि काममा कमी हुनु हुँदैन। त्यसकारण, मुक्ति हासिल गर्नका लागि, पहिलो कुरा, परमेश्‍वरको काम चाहिन्छ, र यसका साथै, मानिसहरूमा सहकार्य गर्ने सङ्कल्प हुनुपर्छ। तिनीहरूले कठिनाइ भोग्‍न र मूल्य चुकाउन, सत्यता बुझेपछि सत्यता वास्तविकतामा प्रवेश गर्न, आदि इत्यादि कुराहरू गर्न सक्‍नुपर्छ। परमेश्‍वरको आखिरी दिनहरूको मुक्ति प्राप्त गर्ने, र सत्यतासम्बन्धी बुझाइका आधारमा देहधारी परमेश्‍वरद्वारा सिद्ध पारिने अत्यन्तै दुर्लभ आशिष् प्राप्त गर्ने एउटै मात्र तरिका यही हो। यो कुरा यति सरल छ। हुन्छ, ल यो विषयको सङ्गति यहीँ समाप्त गरौँ।

विषयवस्तु तेह्र: परमेश्‍वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीको बाधा, बहकाउ, नियन्त्रण र गम्‍भीर हानिदेखि जोगाउने र तिनीहरूलाई ख्रीष्टविरोधीलाई खुट्ट्याउन र हृदयबाट त्याग्‍न सक्‍ने बनाउने

ख्रीष्टविरोधीहरूले मण्डलीमा बाधा दिइरहेका छन् भन्‍ने कुरा पहिचान भएपछि अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने विभिन्‍न कामहरू

अब, हामी मुख्य विषयबारे सङ्गति गर्नेछौँ। अगुवा र कामदारहरूको बाह्रौँ जिम्मेवारीबारे हाम्रो सङ्गति पूरा भएको छ। यो सङ्गतिका लागि, हामी तेह्रौँ जिम्मेवारीबारे छलफल गर्नेछौँ: “परमेश्‍वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीको बाधा, बहकाउ, नियन्त्रण र गम्‍भीर हानिदेखि जोगाउने र तिनीहरूलाई ख्रीष्टविरोधीलाई खुट्ट्याउन र हृदयबाट त्याग्‍न सक्‍ने बनाउने।” तेह्रौँ जिम्मेवारीमा अगुवा र कामदारहरूले ख्रीष्टविरोधीहरूलाई कसरी व्यवहार गर्नुपर्छ भन्‍ने विषय समावेश छ। मण्डलीमा ख्रीष्टविरोधीहरू देखा पर्दा अगुवा र कामदारहरूले के काम गर्नुपर्छ? पहिला त, यो जिम्मेवारीले के भन्छ भने, त्यस्ता समस्याहरू समाधान गर्दा, अगुवा र कामदारहरू दाजुभाइ-दिदीबहिनीहरूलाई ख्रीष्टविरोधीहरूको बाधा, बहकाउ, नियन्त्रण, र गम्भीर हानिबाट जोगाउन अघि सर्नुपर्छ। तिनीहरूले गर्नुपर्ने पहिलो काम यही हो। जहाँसम्‍म ख्रीष्टविरोधीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई कसरी बाधा दिन्छन्, बहकाउँछन्, नियन्त्रण गर्छन्, र गम्भीर रूपमा हानि गर्छन् भन्‍ने कुरा छ, यो विषयमा पहिले धेरै कुरा सङ्गति गरिएको छ, त्यसकारण आजको सङ्गतिको मुख्य विषय यो हुनेछैन। आज, हामी ख्रीष्टविरोधीहरूका यी व्यवहार र कार्यहरू सामना गर्दा अगुवा र कामदारहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानिबाट जोगाउनका लागि के-कस्ता जिम्मेवारीहरू पूरा गर्नुपर्छ र तिनीहरूले के-कस्ता काम गर्नैपर्छ भन्‍ने कुरामा ध्यान दिनेछौँ। सर्वप्रथम, अगुवा र कामदारहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीहरूको बाधा, बहकाउ, नियन्त्रण, र गम्भीर हानिबाट जोगाउनैपर्छ—यो अगुवा र कामदारहरूका जिम्मेवारीहरूमध्ये एक हो। “जिम्मेवारीहरूमध्ये एक” भन्‍नुको अर्थ के हो? यसको अर्थ अगुवा र कामदारहरूले गर्ने धेरै कामहरूमध्ये, परमेश्‍वरका चुनिएका मानिसहरू ख्रीष्टविरोधीहरूको बाधा र गम्भीर हानिविना सामान्य मण्डली जीवन जिउन सकून् भनेर तिनीहरूलाई सुरक्षा दिनु एउटा महत्त्वपूर्ण काम हो। यो एउटा अपरिहार्य काम पनि हो, र तिनीहरू यो जिम्मेवारीबाट पन्छिन मिल्दैन। अगुवा र कामदारहरूले यसलाई महत्त्व दिनुपर्छ र बेवास्ता गर्नु हुँदैन। मण्डली जीवनका कार्यप्रकियाहरू सामान्य रूपमै चलिरहने अवस्था कायम राख्‍नु अत्यन्तै महत्त्वपूर्ण काम हो र यो मण्डलीको सबै काममध्ये सबैभन्दा महत्त्वपूर्ण काम हो। यो पनि अगुवा र कामदारहरूको एउटा जिम्मेवारी नै हो। अगुवा र कामदारहरूको आधारभूत काम भनेको परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता वास्तविकतामा डोर्‍याउनु हो। जब शैतान अर्थात् ख्रीष्टविरोधीहरू मानिसहरूलाई बाधा दिन र बहकाउन, र परमेश्‍वरसँग उहाँका चुनिएका मानिसहरूका लागि उहाँसँग प्रतिस्पर्धा गर्न आउँछन्, तब अगुवा र कामदारहरू ख्रीष्टविरोधीहरूलाई खुलासा गर्न खडा हुनुपर्छ ताकि परमेश्‍वरका चुनिएका मानिसहरूले तिनीहरूलाई खुट्ट्याउन सकून्, ख्रीष्टविरोधीहरूलाई तिनीहरूको साँचो रूप प्रकट गर्न लगाउन सकून्, र त्यसपछि तिनीहरूलाई मण्डलीबाट निकाल्न सकून्। यो परमेश्‍वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीहरूको नियन्त्रणमा पर्न र गम्भीर रूपमा हानि हुनबाट जोगाउनका लागि हो। मण्डलीको काम गर्दा अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारी यही हो। त्यसोभए यी कुराहरू रोकथाम गर्नुको अर्थ के हो? ती कुराहरूलाई कसरी रोकथाम गर्नुपर्छ? “रोकथाम गर्नु” भन्‍ने शब्दले शाब्दिक रूपमा केही कुरा हुनबाट सक्दो हदसम्म रोक्‍नु भन्‍ने अर्थ दिन्छ। यसको मुख्य आशय के हो? घटनाहरू हुनबाट रोक्दा यसले रोकथाम हासिल गर्छ। ख्रीष्टविरोधीहरूका घटनाहरू सम्हाल्दा, अगुवा र कामदारहरूको प्रमुख काम भनेको परमेश्‍वरका चुनिएका मानिसहरूलाई बाधा दिन, बहकाउन, नियन्त्रण गर्न, र हानि गर्नबाट ख्रीष्टविरोधीहरूलाई सक्दो हदसम्‍म रोक्‍नु हो। तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीहरूको हानिबाट जतिसक्दो बढी जोगाउनुपर्छ। अगुवा र कामदारहरूले गर्नुपर्ने मुख्य काम यही हो, र तेह्रौँ जिम्मेवारीका सम्बन्धमा हामीले स्पष्ट रूपमा सङ्गति गर्नुपर्ने कुरा यही हो। त्यसोभए परमेश्‍वरका चुनिएका मानिसहरूलाई कसरी जोगाउन सकिन्छ? ख्रीष्टविरोधीहरूले गर्ने यी दुष्ट कार्यहरूलाई देखा पर्नबाट रोकेर। ती कुराहरू रोक्‍ने धेरै तरिका र विधिहरू छन्, जस्तै खुलासा गर्ने, काटछाँट गर्ने, चिरफार गर्ने, र प्रतिबन्धित गर्ने। अरू के छ? (निष्कासित गर्ने।) यो अन्तिम चरण हो। जब दाजुभाइ-दिदीबहिनीहरूमा अझै पनि समझशक्तिको कमी हुन्छ र तिनीहरूलाई कुनै व्यक्ति ख्रीष्टविरोधी भनेर थाहा हुँदैन, तर अगुवा र कामदारहरूले पहिले नै उसलाई त्यस्तो व्यक्तिका रूपमा पहिचान गरिसकेका हुन्छन्, तब यदि तिनीहरूले उसलाई सिधै निष्कासित गरे भने, समझशक्तिको कमी भएका मानिसहरूले धारणा र रायहरू विकास गर्न सक्छन्, र कत्तिले त ठेस खान सक्छन्। त्यस्ता अवस्थामा, अगुवा र कामदारहरूले के गर्नुपर्छ? मैले भर्खरै के कुरा उल्लेख गरेँ? (खुलासा गर्नु, काटछाँट गर्नु, चिरफार गर्नु, र प्रतिबन्धित गर्नु।) के ख्रीष्टविरोधीहरूलाई दुष्टता गर्नबाट रोक्नका लागि तिमीहरूसँग कुनै राम्रा विधिहरू छन्? के तिनीहरूको निगरानी गर्नु राम्रो विधि हो? के यसलाई सिद्धान्तहरूअनुरूप रहेको प्रभावकारी तरिका र विधि मानिन्छ? (मानिन्छ।) ख्रीष्टविरोधीहरूलाई व्यवहार गर्ने उचित तरिका के हो? के ख्रीष्टविरोधीहरूमा न्याय, सजाय, परीक्षा, र शोधनले काम गर्न सक्छ? (सक्दैन।) किन सक्दैन? (ख्रीष्टविरोधीहरूले सत्यता स्विकार्दैनन्; तिनीहरू यसप्रति वितृष्ण हुन्छन्।) ख्रीष्टविरोधीहरूले सत्यताप्रति वितृष्णा राख्छन् र यसलाई स्विकार्दैनन्, त्यसकारण ख्रीष्टविरोधीहरूलाई निराकरण गर्न परीक्षा, शोधन, न्याय, र सजाय प्रयोग गर्नु उचित हुँदैन। यसका साथै, परमेश्‍वरले पनि तिनीहरूमा यो काम गर्नुहुन्‍न। यो कुरा उचित छैन, त्यसकारण यो विधिले अवश्य नै काम गर्नेछैन। त्यसोभए कुन विधि उचित हुन्छ त? ख्रीष्टविरोधीहरूको हानिबाट धेरै कष्ट भोगेका धेरै मानिसहरूले ख्रीष्टविरोधीहरूलाई गहन रूपमा घृणा गर्छन् र तिनीहरूलाई न्याय गरिनुपर्छ, दोषी ठहराइनुपर्छ, र सार्वजनिक रूपमै उदाङ्गो पारिनुपर्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू मण्डलीमा ख्रीष्टविरोधीहरूलाई आफ्ना गल्तीहरू मान्‍न र खुलेर पाप स्वीकार गर्न लगाइनुपर्छ र तिनीहरूलाई पूर्ण रूपमा लज्‍जित पारिनुपर्छ भन्‍ने सोच्छन्। के तिमीहरूलाई यी विधिहरू अपनाउनु उचित हुन्छ भन्‍ने लाग्छ? (लाग्दैन।) यदि हामीले ख्रीष्टविरोधीहरूको सारलाई ख्याल गर्‍यौँ भने, त्यस्ता कार्यहरू गर्नु वास्तवमा अत्यधिक हुँदैन—शैतानहरूलाई जे-जस्तो व्यवहार गरे पनि ठीकै हुन्छ; यो कुरा कीरा कुल्चिनु जत्तिकै सामान्य रूपमा गर्न सकिन्छ। त्यसकारण अगुवा र कामदारहरूले यसो गर्नुको उद्देश्य अत्यन्तै उचित र सही देखिन्छ, तर के यी विधिहरूमा कुनै समस्याहरू छन्? के यो काम अगुवा र कामदारहरूको जिम्मेवारीको दायराभित्र पर्छ? यसरी काम गर्नु सिद्धान्तहरूअनुरूप हुन्छ कि हुँदैन? (हुँदैन।) यो सिद्धान्तहरूअनुरूप हुँदैन भन्‍ने प्रस्टै छ। सिद्धान्तहरू कहाँबाट आएका हुन्छन्? (परमेश्‍वरका वचनहरूबाट।) ठीक भन्यौ। यस्ता कार्यका निसाना ख्रीष्टविरोधीहरू—दियाबलसहरू—नै भए पनि यसका विधिहरू सिद्धान्त र परमेश्‍वरका मागहरूअनुरूप पनि हुनुपर्छ, किनभने यो काम गर्दा अगुवा र कामदारहरूले आफ्नो जिम्मेवारी पूरा गरिरहेका हुन्छन्, पारिवारिक मामला वा व्यक्तिगत मामलाहरू सम्‍हालिरहेका हुँदैनन्।

अ. खुलासा गर्ने

ख्रीष्टविरोधीहरूलाई निराकरण गर्नु र तिनीहरूलाई दुष्टता गर्नबाट र परमेश्‍वरका चुनिएका मानिसहरूलाई बहकाउन र हानि गर्नबाट रोक्‍नु अगुवा र कामदारहरूको जिम्मेवारी हो। यसको उद्देश्य भनेको परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानिबाट जोगाउनु हो, कसैलाई कष्ट दिनु वा कसैविरुद्ध प्रतिकार गर्ने अवसरको फाइदा लिनु होइन, र अवश्य नै कसैविरुद्ध कुनै अभियान चलाउनु पनि होइन। त्यसकारण, ख्रीष्टविरोधीहरूलाई सकेसम्म दुष्टता गर्नबाट रोक्नका लागि अगुवा र कामदारहरूले गर्नुपर्ने कामहरू के-के हुन्? पहिलो काम भनेको तिनीहरूलाई खुलासा गर्नु हो। खुलासा गर्नुको उद्देश्य के हो? (मानिसहरूलाई समझशक्ति विकास गर्न मद्दत गर्नु।) ठीक भन्यौ। यो परमेश्‍वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीहरूको सार खुट्ट्याउन मद्दत गर्नु हो, ताकि तिनीहरू आन्तरिक रूपमा ख्रीष्टविरोधीहरूबाट टाढा बस्न सकून् र तिनीहरूको बहकाउमा नपरून्, र ताकि—जब ख्रीष्टविरोधीहरूले तिनीहरूलाई बहकाउने र नियन्त्रण गर्ने प्रयास गर्छन्—तब तिनीहरूले ख्रीष्टविरोधीहरूलाई आफूलाई चालबाजी गरेर खेलौना बनाउन दिनुको सट्टा सक्रिय रूपमा इन्कार्न सकून्। त्यसोभए, के तिनीहरूलाई खुलासा गर्नु महत्त्वपूर्ण हुन्छ? (हुन्छ।) तिनीहरूलाई खुलासा गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ, तर तैँले तिनीहरूलाई सही रूपमा खुलासा गर्नुपर्छ। त्यसोभए तैँले तिनीहरूलाई कसरी खुलासा गर्नुपर्छ? तेरो खुलासाको आधार के हुनुपर्छ? के तिनीहरूलाई स्वेच्छाचारी रूपमा संज्ञा दिनु ठीक हुन्छ? के आधारविना लापरवाही ढङ्गले तिनीहरूलाई दोष दिनु ठीक हुन्छ? (हुँदैन।) त्यसोभए परमेश्‍वरका चुनिएका मानिसहरूलाई रक्षा गर्ने उद्देश्य हासिल गर्न तैँले तिनीहरूलाई कसरी सही रूपमा खुलासा गर्नुपर्छ? (एउटा कुरा त, हामीले तिनीहरूका दुष्ट कार्यहरूको तथ्यका आधारमा तिनीहरूलाई वस्तुगत र साँचो रूपमा खुलासा गर्नुपर्छ। अर्को कुरा, हामीले परमेश्‍वरका वचनहरूअनुसार तिनीहरूलाई खुट्ट्याउनु र चिरफार गर्नुपर्छ।) यी दुई अभिव्यक्तिहरू सही छन्; दुवै पक्ष अपरिहार्य छन्। एक हिसाबमा, तथ्यगत प्रमाण हुनैपर्छ। तैँले ख्रीष्टविरोधीहरूले प्रकट गरेका गलत शब्द, कार्यव्यवहार, र निरर्थक विचार र दृष्टिकोणहरूका आधारमा तिनीहरूको सारलाई मूल्याङ्कन र चित्रण गर्नुपर्छ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरका वचनहरूअनुसार तिनीहरूलाई खुट्ट्याउनु र चिरफार गर्नु हो। तैँले परमेश्‍वरका कुन-कुन वचनहरूलाई सन्दर्भका रूपमा लिनुपर्छ? कुन-कुन वचनहरू सबैभन्दा सिधा र तीक्ष्ण छन्? (ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने वचनहरू।) ठीक भनिस्; तैँले ख्रीष्टविरोधीहरूको मुखौटो उतार्ने केही वचनहरू खोजेर तिनीहरूलाई खुलासा गर्नुपर्छ र उचित र निष्पक्ष रूपमा तुलना गर्नुपर्छ ताकि पूर्ण सटीकता सुनिश्‍चित होस्। दाजुभाइ-दिदीबहिनीहरूले यो सुनेपछि कुरा बुझ्नेछन्; तिनीहरूले तुरुन्तै संलग्‍न व्यक्तिबारे समझ प्राप्त गर्नेछन्, र ऊविरुद्ध सतर्कता अपनाउनेछन्। हृदयमा समझशक्ति पाएपछि, तिनीहरूले त्यो व्यक्तिलाई घिनाउनेछन्: “त्यसकारण, ऊ आखिर ख्रीष्टविरोधी नै हो! उसले मलाई पहिले सहयोग गरेको थियो र मलाई निगाहसमेत गरेको थियो। मलाई ऊ असल व्यक्ति हो भन्‍ने लागेको थियो। यो चिरफार र सङ्गतिमार्फत, उसको पाखण्डीपन र उसका आधारभूत ख्रीष्टविरोधी प्रकटीकरणहरू खुलासा भएका छन्, जसले सबैलाई यो व्यक्ति खतरनाक छ भन्‍ने कुरा देख्‍न मद्दत गरेको छ। परमेश्‍वरका वचनहरूले उसलाई अत्यन्तै सही रूपमा खुलासा गरेका छन्! ऊ असल व्यक्ति होइन। उसले राम्रा कुराहरू बोल्छ र उसको व्यवहारमा कुनै समस्याहरू छैनन् जस्तो देखिन्छ, तर उसको सार खुलासा गरेर हेर्दा, ऊ वास्तवमै ख्रीष्टविरोधी हो भन्‍ने कुरा अब प्रस्ट भएको छ।” मानिसहरूको सोचाइमा हुने रूपान्तरणका आधारमा हेर्दा, जब अगुवा र कामदारहरूले ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने काम गरिरहेका हुन्छन्, तब तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई बहकाउन र बाधा दिनबाट ख्रीष्टविरोधीहरूलाई सक्दो हदसम्म रोकिरहेका हुन्छन्। अवश्य नै, तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीहरूको नियन्त्रण र गम्भीर हानिबाट रक्षा गर्ने जिम्मेवारी पनि पूरा गरिरहेका हुन्छन्। तिनीहरूले आफ्नो एउटा काम व्यावहारिक तरिकाले गरिरहेका हुन्छन्। यो कुन काम हो? ख्रीष्टविरोधीहरूलाई खुलासा गर्नु। ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने काम परमेश्‍वरका चुनिएका मानिसहरूलाई रक्षा गर्नका लागि अगुवा र कामदारहरूले गर्नैपर्ने कामहरूमध्ये एक हो। अगुवा र कामदारहरूले गर्नैपर्ने विभिन्‍न कामहरूको कुरा आउँदा, हामी तिनलाई तिनको मात्रा वा तिनले हासिल गर्ने परिणामहरूअनुसार क्रमबद्ध गर्नेछैनौँ; सुरुमा “खुलासा गर्ने” कार्यबारे सङ्गति गरौँ। ख्रीष्टविरोधीहरूको प्रकृति सार खुलासा गर्ने कार्यमा यस्ता कार्यहरू पर्छन्: मण्डलीको काममा बाधा र अवरोध ल्याउने तिनीहरूका निरन्तरका दुष्ट कार्यहरूका अभिप्राय, उद्देश्य, र परिणामहरू खुलासा गर्नु; ख्रीष्टविरोधीहरूले अगुवा र कामदारका रूपमा सेवा गर्दा कसरी मण्डलीको वास्तविक काम बिलकुलै गर्दैनन् र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशलाई बेवास्ता गर्छन् भन्‍ने कुरा खुलासा गर्नु; ख्रीष्टविरोधीहरू आफूलाई पटक्‍कै नचिन्‍ने, सत्यता कहिल्यै अभ्यास नगर्ने, र मानिसहरूलाई बहकाउन केवल शब्द र धर्मसिद्धान्तहरू बोल्ने मानिसहरू भनेर तिनीहरूको कुरूप अनुहार खुलासा गर्नु; अनि मानिसहरूका अगाडि र पिठ्युँपछाडि तिनीहरूका फरक-फरक भनाइ र गराइ खुलासा गर्नु। यी पक्षहरू राम्ररी खुलासा गर्दा, यसले शैतान र दुष्ट दियाबलसहरूका रूपमा ख्रीष्टविरोधीहरूको साँचो रूप देखाउँछ। यो अगुवा र कामदारहरूले जिम्मेवारी लिनैपर्ने महत्त्वपूर्ण काम हो। त्यसोभए, यो काम गर्न अगुवा र कामदारहरूमा के कुरा हुनु आवश्यक छ? सर्वप्रथम, तिनीहरूसँग निश्‍चित बोझको बोध हुनुपर्छ, होइन र? (हो।) जब अगुवा र कामदारहरूले यो जिम्मेवारी वहन गर्छन्, तब तिनीहरूले प्राय यस्तो सोच्छन्, “त्यो व्यक्ति ख्रीष्टविरोधी हो। कतिपय दाजुभाइ-दिदीबहिनीहरू प्रश्‍नहरू लिएर बारम्बार तिनीहरूकहाँ जान्छन्, सधैँ तिनीहरूसँग नजिक हुन्छन् र तिनीहरूसँग राम्रो सम्बन्ध राख्छन्। यो व्यक्तिको बहकाउमा परेपछि, धेरै मानिसहरूले उसलाई विशेष आदर्शका रूपमा लिन्छन्। यसबारे के गर्नुपर्छ होला?” तिनीहरू प्रार्थना गर्न परमेश्‍वरसामु आउँछन् र प्रायजसो सचेत रूपमा ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने परमेश्‍वरका वचनहरू खोजी गर्छन्, र यस विषयमा आफूलाई सत्यताले सुसज्जित गर्छन्। त्यसपछि तिनीहरूले यस विषयमा दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गर्न परमेश्‍वरलाई सही समय तयार गर्न अनुरोध गर्छन् वा आफैले उपयुक्त समय र अवसर खोज्छन्। तिनीहरूले यसलाई आफ्नो बोझ र यसपछि आफूले लिनुपर्ने महत्त्वपूर्ण कामका रूपमा लिन्छन्। तिनीहरूले निरन्तर तयारी गरिरहेका, खोजी गरिरहेका, र मार्गदर्शनका लागि परमेश्‍वरलाई प्रार्थना गरिरहेका हुन्छन्; तिनीहरू सधैँ यस्तो मानसिक स्थिति र अवस्थामा हुन्छन्। बोझको बोध हुनु भनेको यही हो। यस्तो बोझ लिएर केही समय तयारी गरेपछि तिनीहरूले उपयुक्त अवस्था नआएसम्म पर्खनुपर्छ। कम्तीमा पनि, तिनीहरूले कुनै ख्रीष्टविरोधीलाई खुलासा गर्न सुरु गर्नुपहिले दुईतीन जना मानिसहरूले उसलाई वास्तविक रूपमा नखुट्ट्याएसम्म पर्खनुपर्छ। यदि तिनीहरूले केवल आफ्नो भावनाका आधारमा कसैलाई ख्रीष्टविरोधी जस्तो देखिन्छ भनी ठान्छन्, तर त्यो व्यक्ति वास्तवमा ख्रीष्टविरोधी हो कि होइन भनेर छर्लङ्ग देख्‍न सक्दैनन् भने, तिनीहरूले हतारमा काम गर्नु हुँदैन। छोटकरीमा भन्‍नुपर्दा, यो काम गर्दा, तिनीहरूले अवश्य नै परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन पाउनेछन्। वास्तविक काम गर्नु र अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्नु भनेको यही हो।

आ. काटछाँट गर्ने

ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने काम गरिएपछि, दाजुभाइ-दिदीबहिनीहरूले केही समझशक्ति प्राप्त गरे पनि, ख्रीष्टविरोधीहरू पूर्ण रूपमा पर्दाफास हुनुअघि, तिनीहरूले अवश्य नै दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउन र बाधा दिन अझै धेरै काम गर्छन्, जसले गर्दा अझै धेरै मानिसहरूले तिनीहरूलाई आदर्श ठान्छन्, आदर गर्छन्, र पछ्याउँछन्। यसले परमेश्‍वरमा विश्‍वास गर्ने सही मार्गमा प्रवेश गर्नमा परमेश्‍वरका चुनिएका मानिसहरूलाई निकै ढिलाइ गराउँछ, र तिनीहरूको जीवन प्रवेशमा बाधा दिएर ठूलो हानि पुर्‍याउँछ। त्यसकारण अगुवा र कामदारहरूले लिनुपर्ने दोस्रो काम के हो भने, जब ख्रीष्टविरोधीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउँछन् र बाधा दिन्छन्, वा जब तिनीहरूको बोलीवचन र व्यवहारले स्पष्ट रूपमा सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्छन्, तब अगुवा र कामदारहरू प्रमाणहरू हातमा लिएर तुरुन्तै तिनीहरूलाई काटछाँट गर्न अघि सर्नुपर्छ, र परमेश्‍वरका वचनहरूअनुसार तिनीहरूका दुष्ट कार्यहरू खुलासा गर्नुपर्छ, ताकि दाजुभाइ-दिदीबहिनीहरूले ख्रीष्टविरोधीहरूको साँचो अनुहार खुट्ट्याउन र छर्लङ्ग देख्‍न सकून्। यो त परमेश्‍वरका चुनिएका मानिसहरू जोगाउने र परमेश्‍वरको घरको कामको रक्षा गर्ने पन्छाउन नमिल्ने जिम्मेवारी हो। अगुवा र कामदारहरूले केही नगरी बस्‍ने वा आँखा चिम्लने गर्नु हुँदैन; तिनीहरूले तुरुन्तै अवसरहरू छोप्नुपर्छ, घटनाहरू औँल्याउनुपर्छ, र ख्रीष्टविरोधीहरूलाई काटछाँट गर्न अघि आउनुपर्छ, र सही रूपमा तिनीहरूका कार्य, महत्त्वाकाङ्क्षा, चाहना, र सार खुलासा गर्नुपर्छ। अवश्य नै, ख्रीष्टविरोधीहरू कस्ता व्यक्ति हुन् भनेर अझै सही रूपमा चित्रण गर्नु पनि आवश्यक हुन्छ, ताकि दाजुभाइ-दिदीबहिनीहरूले यो कुरा स्पष्ट रूपमा देख्‍न सकून्, ख्रीष्टविरोधीहरू आफैले पनि यो कुरा थाहा पाऊन्, र सचेत होऊन् कि हरेक व्यक्ति तिनीहरूलाई खुट्ट्याउन नसक्‍ने र तिनीहरूद्वारा मूर्ख पार्न सकिने हुँदैन—कम्तीमा पनि केही मानिसहरूले ख्रीष्टविरोधीहरूका कार्य र व्यवहार छर्लङ्ग देख्‍न सक्छन्, र तिनीहरूका गुप्त महत्त्वाकाङ्क्षा र चाहनाहरू, साथै तिनीहरूका सार देख्‍न सक्छन्। अवश्य नै, ख्रीष्टविरोधीहरूलाई काटछाँट गर्नुको उद्देश्य शब्दहरूमार्फत तिनीहरूको सार खुलासा गर्नु मात्रै होइन। अझै महत्त्वपूर्ण उद्देश्य के हो? (एक हिसाबमा, त्यो दाजुभाइ-दिदीबहिनीहरूलाई समझशक्ति विकास गर्न सहयोग गर्नु, र ख्रीष्टविरोधीहरूका दुष्ट कार्यहरूलाई प्रतिबन्धित गर्नु पनि हो।) ठीक भनिस्। त्यो तिनीहरूलाई प्रतिबन्धित गर्नु हो, ताकि तिनीहरूले मानिसहरूलाई बहकाउने र बाधा दिने कुराहरू गर्दा, तिनीहरूलाई केही हिचकिचाहट होस् र केही डर महसुस होस्; यो तिनीहरूलाई प्रतिबन्धमा राख्‍नु, केही रोक लगाउनु, र लापरवाही काम गर्ने आँट नगर्ने बनाउनु हो; यो परमेश्‍वरको घरमा सत्यता छ, र सत्यताले शक्ति चलाउँछ भन्‍ने मात्रै होइन, यसमा त प्रशासनिक आदेशहरू पनि छन्, र परमेश्‍वरको घरमा अत्याचारी र मनोमानी ढङ्गले लापरवाही काम गर्नु, परमेश्‍वरको घरका हितहरूमा क्षति पुर्‍याउनु, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्नु सम्भव छैन भनेर तिनीहरूलाई थाहा दिनु हो; र यो तिनीहरूले मण्डलीको काममा बाधा दिने र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवनमा हानि गर्ने लापरवाह दुष्कर्म गरे, तिनीहरूलाई जवाफदेही तुल्याइनेछ भनेर तिनीहरूलाई थाहा दिनु पनि हो। ख्रीष्टविरोधीहरूलाई तुरुन्तै काटछाँट गर्ने क्रममा, अगुवा र कामदारहरू तिनीहरूलाई खुलासा गर्न पनि खडा हुनुपर्छ, जसले गर्दा मानिसहरूलाई समझशक्ति विकास गर्न र ख्रीष्टविरोधीहरूका महत्त्वाकाङ्क्षा, चाहना, अभिप्राय, र उद्देश्यहरू देख्‍न मद्दत मिलोस्। यसको उद्देश्य अवश्य नै परमेश्‍वरका चुनिएका मानिसहरूको रक्षा गर्नु र परमेश्‍वरको घरका हितहरूको रक्षा गर्नु पनि हो। यी सबै कुराहरू अगुवा र कामदारहरूले ख्याल गर्नुपर्ने कुरा हुन्, र यो काम अघि बढाउनु तिनीहरूको जिम्मेवारीको दायराभित्रै पर्छ; तिनीहरूले यसलाई बेवास्ता गर्नु वा यसप्रति लापरवाह हुनु हुँदैन। यदि अगुवा र कामदारहरूले मण्डलीमा ख्रीष्टविरोधीहरू पत्ता लगाए भने, तिनीहरू सधैँ तिनीहरूको बोली र व्यवहार र तिनीहरूले पर्दापछाडि फैलाउने भ्रमहरूबारे सतर्क हुनुपर्छ, र तिनीहरूलाई काटछाँट र खुलासा गर्ने अभ्यास गर्नुपर्छ। परमेश्‍वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीहरूको बाधा र हानिबाट जोगाउन अगुवा र कामदारहरूले गर्नुपर्ने एउटा काम हो।

इ. चिरफार गर्ने

अगुवा र कामदारहरूको अर्को काम के हो? चिरफार गर्नु। चिरफार गर्नु भनेको लगभग खुलासा गर्नुजस्तै हो, तर तिनका मात्रामा भिन्‍नताहरू छन्। चिरफार गर्ने कुरा आउँदा, यसमा एउटा तथ्य, साँचो अवस्था, वा पृष्ठभूमि खुलासा गर्ने कार्य मात्रै गरिँदैन; यसमा त चरित्र चित्रण गर्ने कुरा, अर्थात् ख्रीष्टविरोधीहरूको स्वभाव संलग्न हुन्छ, जुन आधारभूत र मूल समस्या हो। परमेश्‍वर, सत्यता, आफ्‍नो कर्तव्य, र परमेश्‍वरको घरको कामप्रतिको तिनीहरूको मनोवृत्ति, साथै तिनीहरूले भ्रमहरू फैलाउनुपछाडिका तिनीहरूका मनसाय, अभिप्राय, र उद्देश्यहरू—तिनीहरूले यसो गर्नुका कारणहरू—चिरफार गर्नुपर्छ र तिनीहरूले प्रकट गर्ने विचार, दृष्टिकोण, बोली, व्यवहार, र स्वभाव र प्रकटीकरणहरूबाट तिनीहरूको सार के हो भनेर खुट्ट्याउनुपर्छ। यी कुराहरूलाई परमेश्‍वरका वचनहरूसँग तुलना गरेर व्याख्या गर्नुपर्छ ताकि दाजुभाइ-दिदीबहिनीहरूले ख्रीष्टविरोधीहरूबारे अझै गहन बुझाइ प्राप्त गर्न सकून् र तिनीहरूसामु ख्रीष्टविरोधीहरूले किन यी कुराहरू भन्छन् र गर्छन्, त्यस्ता मानिसहरूप्रति परमेश्‍वरको दृष्टिकोण के हुन्छ, र उहाँले तिनीहरूलाई कसरी चित्रण गर्नुहुन्छ भन्‍नेबारे व्यावहारिक दृष्टिकोणबाट स्पष्ट रूपमा देख्‍न सकून्। अवश्य नै, अगुवा र कामदारहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई ख्रीष्टविरोधीहरूबाट टाढा बस्न र तिनीहरूलाई इन्कार्न, र ख्रीष्टविरोधीहरूका कार्य, व्यवहार, बोलीवचन, र दृष्टिकोणहरूद्वारा बहकाउमा पर्नबाट पनि सतर्क हुन भन्‍नुपर्छ, र यसरी तिनीहरूलाई परमेश्‍वरबारे गलत बुझ्‍न, परमेश्‍वरबाट सतर्क हुन, परमेश्‍वरबाट आफूलाई टाढा राख्‍न, परमेश्‍वरलाई इन्कार्न, र ख्रीष्टविरोधीहरूले जस्तै परमेश्‍वरलाई भित्री रूपमा आलोचना र निन्दा गर्नबाट जोगिन लगाउनुपर्छ। खुलासा र काटछाँटजस्ता अरू कामहरूजस्तै, चिरफार गर्नुको उद्देश्य पनि परमेश्‍वरका चुनिएका मानिसहरूलाई बहकाउन, बाधा दिन, र हानि गर्नबाट ख्रीष्टविरोधीलाई रोक्‍नु हो। यो परमेश्‍वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीहरूले गम्भीर रूपमा हानि नगरून् र परमेश्‍वरमा विश्‍वास गर्ने सही मार्गबाट तिनीहरू विचलित नहोऊन् भनेर तिनीहरूको रक्षा गर्नु हो। जब परमेश्‍वरका चुनिएका मानिसहरूले मण्डलीमा ख्रीष्टविरोधीहरूले कसरी बाधा दिन्छन् भन्‍ने तथ्य र साँचो अवस्था स्पष्ट रूपमा देख्छन् र जब तिनीहरूले ख्रीष्टविरोधीहरूको सार स्पष्ट रूपमा देख्छन्, तब तिनीहरू ख्रीष्टविरोधीहरूको बहकाउ र नियन्त्रणमा पर्न छोड्नेछन्। यदि कतिपय अन्योलमा परेका र मूर्ख मानिसहरूले अझै तिनीहरूलाई भित्री रूपमा आदर गर्छन्, आदर्श मान्छन्, साथै तिनीहरूसँग अन्तरक्रिया गर्छन् र नजिकिन्छन् भने पनि, ख्रीष्टविरोधीहरूले अबदेखि ठूला समस्याहरू पैदा गर्न सक्‍नेछैनन्। तिनीहरूले मूर्ख मानिसहरूलाई मात्रै केही कुराहरू गर्नेछन्, परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने मानिसहरूको जीवन प्रवेशमा बिलकुलै असर पुर्‍याउनेछैनन्, त्यसैले तिनीहरूले मण्डलीको काममा बाधा र अवरोध ल्याउन सक्‍नेछैनन्। यो स्तरमा पुग्‍नु नै अगुवा र कामदारहरूले हासिल गर्न सक्‍नुपर्ने कुरा हो। अर्थात्, परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने र स्वेच्छाले आफ्नो कर्तव्य पूरा गर्ने र सत्यतालाई प्रेम गर्नेहरूले सामान्य मण्डली जीवन जिउन र आफ्नो कर्तव्य पूरा गर्न सक्‍ने कुरा तिनीहरूले सुनिश्‍चित गर्नैपर्छ। यसका साथै, तिनीहरूले यी मानिसहरू ख्रीष्टविरोधीहरूको बहकाउ र बाधाहरूबाट जोगिन सकून्, र तिनीहरूले ख्रीष्टविरोधीहरूलाई इन्कार्न सकून् भन्‍ने कुरा पनि सुनिश्‍चित गर्न सक्‍नैपर्छ। यो भनेको ख्रीष्टविरोधीहरूको दुष्कर्म र बाधाहरूलाई सबैभन्दा बढी हदसम्म रोक्‍नु, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई रक्षा गर्ने प्रभाव पूर्ण रूपमा हासिल गर्नु हो। अवश्य नै, तैँले आफ्नो काम जति नै प्रभावकारी रूपमा गरे पनि र तैँले जति नै पूर्ण रूपमा बोले पनि, अपरिहार्य रूपमै केही मूर्ख मानिसहरू, कमजोर क्षमता भएका मानिसहरू, र भ्रमित मानिसहरू हुने नै छन्, जो ख्रीष्टविरोधीहरूलाई इन्कार्न सक्दैनन् र जसले अझै हृदयमा ख्रीष्टविरोधीहरूलाई आदर गर्छन् र आदरभावले हेर्छन्। तर, धेरैजसो मानिसहरू ख्रीष्टविरोधीहरूलाई इन्कार्न सक्ने विन्दुमा पुगेका हुनेछन्। यदि अगुवा र कामदारहरूले यो कुरा हासिल गर्न सके भने, तिनीहरूले पहिले नै परमेश्‍वरका चुनिएका मानिसहरूलाई सबैभन्दा बढी हदसम्म रक्षा गरिसकेका हुनेछन्, र चाहेको परिणाम पूर्ण रूपमा हासिल गरिसकेका हुनेछन्। जहाँसम्म सत्यता जति सङ्गति गरे पनि बुझ्न नसक्‍ने ती मूर्खहरूको कुरा छ, यदि तिनीहरूले अझै थोरै परिश्रम गर्न सक्छन् भने, तिनीहरूलाई केही हेरचाह र सहयोग, साथै थप केही प्रेम, धैर्य, र सहनशीलता प्रदान गरिनुपर्छ। यो आफूले गर्नुपर्ने सबै कुरा गर्नु हो, र यसरी काम गर्नु सिद्धान्तअनुरूप हुन्छ। के यस्तो मानक पूरा गर्न सक्‍ने धेरै अगुवा र कामदारहरू हुन्छन्? (हुँदैनन्।) त्यसकारण, सक्दो प्रयत्‍न लाउनैपर्छ; तैँले परमेश्‍वरका चुनिएका मानिसहरूलाई अथक रूपमा र अधिकतम हदसम्म रक्षा गर्नैपर्छ। “अधिकतम हदसम्म” भन्‍नुको अर्थ के हो? यसको अर्थ आफूले बुझेका सत्यता सिद्धान्तहरू सङ्गति गर्न, पहिले नै प्राप्त भएका प्रमाणहरू—ख्रीष्टविरोधीहरूका दुष्ट कार्यहरूका विभिन्‍न प्रकटीकरणहरू—प्रस्तुत गर्न, तिनलाई ख्रीष्टविरोधीहरूको खुलासा गर्ने परमेश्‍वरका वचनहरूसँग जोडेर हेर्न, र ती सङ्गति र चिरफार गर्न सम्भव भएजति सबथोक गर्नु हो। यो यसैले गरिन्छ ताकि दाजुभाइ-दिदीबहिनीहरूले वास्तविक र साँचो अवस्था स्पष्ट रूपमा देख्‍न सकून्, ख्रीष्टविरोधीहरूको सार खुट्ट्याउन र छर्लङ्ग देख्‍न सकून्, र ख्रीष्टविरोधीहरूप्रति परमेश्‍वरको मनोवृत्ति जानून्। यो अगुवा र कामदारहरूले जिम्‍मा लिनैपर्ने महत्त्वपूर्ण काम हो।

ई. प्रतिबन्धित गर्ने

अगुवा र कामदारहरूले गर्नैपर्ने अर्को काम के हो? यो प्रतिबन्धित गर्नु हो। यो “प्रतिबन्धित” गर्ने काम गर्न सजिलो छ; यसमा प्रतिबन्धको परिणाम हासिल गर्न केही विशेष उपायहरू अपनाउने कार्य समावेश हुन्छ। उदाहरणका लागि, ख्रीष्टविरोधीहरूले सधैँ शब्द र धर्मसिद्धान्तहरू बोल्छन्, सधैँ आफूलाई उच्च पार्छन्, कहिलेकाहीँ अरूलाई होच्याउँछन्, भेलाहरूमा प्रायजसो तिनीहरूले कति कष्ट सहेका छन् र परमेश्‍वरको घरमा के-कस्ता योगदानहरू दिएका छन् भन्‍नेबारे गवाही दिन्छन्, र अरूले तिनीहरूलाई कसरी आदर गर्छन्, तिनीहरू कसरी अरूभन्दा राम्रा छन्, तिनीहरू कसरी अद्वितीय छन्, आदि इत्यादि कुराहरू गर्दै लाजमर्दो रूपमा आफ्नै गवाही दिन्छन्। अगुवा र कामदारहरूले निरन्तर ख्रीष्टविरोधीहरूलाई आड दिनुको सट्टा परमेश्‍वरका चुनिएका मानिसहरूलाई बहकाउने र नियन्त्रण गर्ने ख्रीष्टविरोधीहरूका विभिन्‍न दुष्ट कार्यहरू प्रतिबन्धित गर्न सक्दो गर्नुपर्छ। तिनीहरूले ख्रीष्टविरोधीहरूको बोल्ने समय र छलफल गर्ने विषयहरूलाई प्रतिबन्धित गर्नुपर्छ। यसका साथै, ख्रीष्टविरोधीहरूले सार्वजनिक रूपमा र व्यक्तिगत रूपमा गर्ने कार्यहरूका सम्बन्धमा, जस्तै मानिसहरूलाई आफ्नो पक्षमा तान्न स-साना निगाहहरू प्रयोग गर्नु, कलह फैलाउनु, धारणा र नकारात्मक टिप्पणीहरू फैलाउनु, आदि इत्यादि कुराहरूका सम्बन्धमा, अगुवा र कामदारहरूले बहिरा वा अन्धाले जस्तो व्यवहार गर्नु हुँदैन। तिनीहरूले तुरुन्तै ख्रीष्टविरोधीहरूका कार्यहरू बोध गर्नुपर्छ; तिनीहरूले अरूलाई बहकाउने र बाधा दिने व्यवहारहरू पत्ता लगाएपछि ती व्यवहारहरूलाई तुरुन्तै खुलासा र चिरफार गर्नुपर्छ र ख्रीष्टविरोधीहरूमाथि प्रतिबन्ध लगाउनुपर्छ, र तिनीहरूलाई मानिसहरूलाई बहकाउने र मण्डलीको काममा बाधा दिने काम गर्न दिनु हुँदैन। के यो अगुवा र कामदारहरूले गर्नुपर्ने महत्त्वपूर्ण कामहरूमध्ये एउटा हो? (हो।) के तैँले ख्रीष्टविरोधीहरूलाई काटछाँट, खुलासा, र चिरफार मात्र गरेर तिनीहरूका दुष्ट कार्यहरूलाई प्रतिबन्धित गर्न सक्छस्? (सक्दिनँ।) तैँले तिनीहरूलाई यसरी प्रतिबन्धित गर्न सक्दैनस् किनभने तिनीहरू शैतान र दुष्ट दियाबलस हुन्। तिनीहरूको हातखुट्टा बाँधिएको छैन, र मुखमा टेप लगाइएको छैन भने, तिनीहरूले भ्रमहरू फैलाइरहन्छन् र मानिसहरूलाई बाधा दिने दुष्ट शब्दहरू बोलिरहन्छन्। अगुवा र कामदारहरूले तिनीहरूलाई प्रतिबन्धित गर्न तुरुन्तै कारबाही चलाउनुपर्छ; विशेषगरी जब तिनीहरूले मानिसहरूलाई बहकाउन र बाधा दिन भ्रमहरू फैलाउँछन्, तब अगुवा र कामदारहरूले तिनीहरूलाई समयमै हस्तक्षेप गर्ने र रोक्‍ने गर्नुपर्छ। तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई समझशक्ति प्राप्त गर्न र ख्रीष्टविरोधीहरूको साँचो अनुहार स्पष्ट रूपमा देख्‍न पनि सक्षम तुल्याउनुपर्छ। अगुवा र कामदारहरूले गर्नुपर्ने वास्तविक काम यही हो।

उ. निगरानी गर्ने

ख्रीष्टविरोधीहरूलाई प्रतिबन्धित गरेपछि, गर्नुपर्ने अर्को काम तिनीहरूलाई निगरानी गर्नु हो। ख्रीष्टविरोधीहरूले कसलाई बहकाएका छन् र तिनीहरूले पर्दापछाडि के-कस्ता भ्रम र दुष्ट शब्दहरू फैलाएका छन् भनी हेर्, तिनीहरू ठूलो रातो अजिङ्गरको पक्षमा छन् कि छैनन् र तिनीहरूले यससँग साँठगाँठ गरिरहेका छन् कि छैनन्, तिनीहरूले धार्मिक संसारसँग हात मिलाएका छन् कि छैनन्, तिनीहरूले गुप्त रूपमा आफ्ना गिरोहका सदस्यहरूसँग मिलेर कालो चाल चलिरहेका छन् कि छैनन्, तिनीहरूले परमेश्‍वरको घरका केही महत्त्वपूर्ण जानकारीमा विश्वासघात गर्न सक्छन् कि सक्दैनन्, आदि इत्यादि कुराहरू जाँच गर्। यो पनि अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने एउटा जिम्मेवारी नै हो। ख्रीष्टविरोधीहरूका कार्यहरू प्रकाशमा आउनुभन्दा पहिले, अगुवा र कामदारहरूले “आफूलाई सन्तहरूका पुस्तक पढ्नमा पूर्ण समर्पित गर्ने र बाह्य मामलाहरूमा कुनै ध्यान नदिने” गर्नु हुँदैन, बरु तिनीहरू सर्पजस्तै चलाख हुनुपर्छ। अगुवा र कामदारहरूले कुनै व्यक्ति ख्रीष्टविरोधी हो भन्‍ने पत्ता लगाएपछि, यदि त्यो व्यक्तिलाई निकाल्ने वा निष्कासित गर्ने समय अझै आएको छैन भने, तिनीहरूले उसलाई दुष्कर्म गर्नबाट रोक्नका लागि नजिकबाट निगरानी गर्नुपर्छ, र उसका बोली र व्यवहारहरू परमेश्‍वरका चुनिएका मानिसहरूद्वारा निगरानी गरिने सुनिश्‍चित गर्नुपर्छ। ख्रीष्टविरोधीहरूले शक्ति र शक्तिशाली मानिसहरूसँग सम्पर्क निर्माण गर्न मन पराउने हुनाले, अगुवा र कामदारहरूले ख्रीष्टविरोधीहरूले पर्दापछाडि सधैँ कोसँग अन्तरक्रिया गरिरहेका हुन्छन् र तिनीहरू धार्मिक मानिसहरूसँग सम्पर्कमा छन् कि छैनन् भनेर नजिकबाट हेर्नुपर्छ। कति ख्रीष्टविरोधीहरू प्रायजसो धार्मिक पाष्टर र एल्डरहरूसँग सङ्गत गर्छन्, र कतिले त युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टका मानिसहरूसँग समेत हिमचिम गर्छन्। त्यस्ता घटनाहरू देखा पर्दा, अगुवा र कामदारहरूले यसप्रति आँखा चिम्लिनु हुँदैन, बरु ती ख्रीष्टविरोधीहरूप्रति सतर्क हुनुपर्छ र सावधानी अपनाउनुपर्छ। यदि कुनै ख्रीष्टविरोधीले मानिसहरूलाई बहकाउने र आफ्नो पक्षमा तान्ने आफ्‍ना विधिहरूले परमेश्‍वरको घरमा काम गर्दैनन् र आफ्‍ना दुष्ट कार्यहरू खुलासा भएका छन् भन्ने देखे, र उसलाई आफ्‍नो अन्त्य राम्रो हुनेछैन भन्‍ने थाहा भयो भने, उसले के गर्न सक्छ वा उसको दुष्टता कति हदसम्म जान्छ भनेर तैँले अनुमान गर्न सक्दैनस्। त्यसकारण, कुनै व्यक्ति ख्रीष्टविरोधी हो भन्‍ने कुरामा तँ हृदयमा निश्‍चित भएपछि, तैँले उसलाई सधैँ नजिकबाट निगरानी गर्नु र नियाल्‍नुपर्छ र यसमा कमी हुन दिनु हुँदैन। यो तेरो जिम्मेवारी हो। यसो गर्नुको के अर्थ? यो परमेश्‍वरका चुनिएका मानिसहरूलाई रक्षा गर्नु, र दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गर्नका लागि मण्डली र दाजुभाइ-दिदीबहिनीहरूविरुद्ध गलत कार्यहरू गर्नबाट ख्रीष्टविरोधीहरूलाई सक्दो हदसम्‍म रोक्‍नु हो। कति ख्रीष्टविरोधीहरूले सधैँ भेटीहरूबारे सोधपुछ गर्छन्: “परमेश्‍वरको घरको पैसा कसले व्यवस्थापन गर्छ? यसको लेखा कसले राख्छ? के लेखाहरू सही रूपमा राखिएका हुन्छन्? के हिनामिना भइरहेको हुनसक्छ? मण्डलीको पैसा कहाँ राखिन्छ? के यी कुराहरू सार्वजनिक गरेर सबैलाई जान्‍ने अधिकार दिनुपर्दैन र? परमेश्‍वरको घरसँग कति वटा सम्पत्ति छन्? सबैभन्दा बढी कसले दान दिएको छ? मलाई किन यी कुराहरू थाहा नभएको?” तिनीहरूको कुराले त तिनीहरू परमेश्‍वरको घरका आर्थिक मामलाहरूबारे चिन्तित छन् जस्तो सुनिन्छ, तर वास्तवमा तिनीहरूको मनसाय बेग्लै हुन्छ। पैसाको लोभ नगर्ने ख्रीष्टविरोधी एउटा पनि हुँदैन। त्यसोभए त्यस्ता अवस्थामा अगुवा र कामदारहरूले के गर्नुपर्छ? पहिलो कुरा, तैँले भेटीहरू उचित रूपमा व्यवस्थापन गर्नुपर्छ, र तिनलाई सुरक्षित राख्‍न भरपर्दो मानिसहरूलाई जिम्‍मा लाउनुपर्छ, र तैँले ख्रीष्टविरोधीहरूलाई आफ्नो उद्देश्य हासिल गर्न बिलकुलै सफल हुन दिनु हुँदैन—यो कुरामा तँ अन्योलमा पर्नु हुँदैन। यस्तो परिस्थिति उत्पन्न हुनेबित्तिकै, तैँले महसुस गर्नुपर्छ: “केही कुरा गलत छ। ख्रीष्टविरोधीले केही गर्न लागेको छ। त्यसले मण्डलीको पैसा ताकिरहेको छ। त्यसले मण्डलीको पैसा लुट्ने षड्यन्त्र गर्न ठूलो रातो अजिङ्गरसँग सहकार्य गर्ने योजना बनाइरहेको हुन सक्छ। हामीले यसलाई तुरुन्तै सार्नुपर्छ!” एउटा कुरा त, तैँले परमेश्‍वरको घरको आर्थिक पक्ष कसले व्यवस्थापन गर्छ भनेर ख्रीष्टविरोधीहरूलाई थाहा दिनु हुँदैन। अर्को कुरा, यदि पैसा व्यवस्थापन गर्ने मानिसहरूलाई सुरक्षा खतरा छ भन्‍ने लाग्छ भने, पैसा अनि पैसा व्यवस्थापन गर्ने मानिसहरू दुवैलाई तुरुन्तै अन्यत्र सार्नुपर्छ। के यो अगुवा र कामदारहरूले ध्यान दिनुपर्ने कुरा र गर्नुपर्ने काम होइन र? (हो।) तर यसविपरीत, मूर्ख अगुवाहरू ख्रीष्टविरोधीहरूले यी कुराहरू बोलेको सुन्छन् र पनि यस्तो सोच्छन्, “यो व्यक्तिले बोझ लिन्छ र परमेश्‍वरको घरको पैसाबारे चासो देखाउन जान्दछ, त्यसकारण हामी उसलाई केही जिम्मेवारी दिऊँ र लेखाको काममा सहयोग गर्न लगाऊँ।” यसो गरेर, के तिनीहरू यहूदा बनेका हुँदैनन् र? (हुन्छन्।) तिनीहरू भेटीहरूको रक्षा गर्न असफल मात्र भएका हुँदैनन्, यहाँसम्म कि तिनीहरूले विश्वासघात गरेर ती भेटीहरू नै ख्रीष्टविरोधीहरूलाई सुम्पिदिएका हुन्छन्, र त्यसपछि तिनीहरू यहूदा बनेका हुन्छन्। यी अगुवा र कामदारहरूबारे तिमीहरूलाई के लाग्छ? के तिनीहरू दुष्ट मानिस होइनन् र? के तिनीहरू दियाबलस होइनन् र? तिनीहरू आफ्नो जिम्मेवारी पूरा गर्न असफल मात्र भएका हुँदैनन्, तिनीहरूले त परमेश्‍वरका भेटीहरू र दाजुभाइ-दिदीबहिनीहरूलाई पनि ख्रीष्टविरोधीहरूका हातमा सुम्पेका हुन्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरू रहेका स्थानहरूमा, अगुवा र कामदारहरूले यसबारे कुनै सुराग पत्ता लगाएपछि, तिनीहरूले अनुसन्धान सुरु गर्नैपर्छ र केही निश्‍चित काम गर्नैपर्छ, र त्यो कामअन्तर्गत “निगरानी गर्ने” काम छुट्नै हुँदैन।

अगुवा र कामदारहरूले गर्ने निगरानीको काम गुप्तचर वा कुनै जासुसी गतिविधिहरू सञ्चालन गर्ने कुरा होइन; यो त आफ्नो जिम्मेवारी पूरा गर्ने, बढी चासो राख्ने, बढी ध्यान दिने, र ख्रीष्टविरोधीहरूले के गरिरहेका छन् र तिनीहरू के गर्ने अभिप्राय राख्छन् भनेर ध्यान दिने कुरा मात्र हो। यदि तिनीहरूले दुष्टता गरिरहेका र मण्डलीमा बाधा दिइरहेका छन् भन्‍ने कुनै सङ्केतहरू तैँले पत्ता लगाइस् भने, तैँले जतिसक्दो चाँडो प्रतिकदमहरू चाल्नुपर्छ; तैँले तिनीहरूलाई पटक्कै सफल हुन दिनु हुँदैन। यो ख्रीष्टविरोधीहरूले मण्डलीको काममा बाधा दिने घटनाहरू घटित हुनबाट सबैभन्दा बढी हदसम्‍म रोक्‍नु हो। स्वाभाविक रूपमै, यसले मण्डलीको कामको पनि सबैभन्दा राम्रो रक्षा गर्छ र परमेश्‍वरका चुनिएका मानिसहरूलाई पनि सबैभन्दा राम्रो सुरक्षा दिन्छ। यो अगुवा र कामदारहरूले जिम्मेवारी पूरा गर्नुको प्रकटीकरण हो। निगरानी गर्नु भनेको केही मानिसहरूलाई गुप्त एजेन्टका रूपमा काम गर्न लगाउनु, र जासूसलेझैँ मानिसहरूलाई पछ्याउन, चियो गर्न, र नजर लाउन लगाउनु, वा तिनीहरूका घरहरू खोजतलास गर्न र कठोर सोधपुछ विधिहरू प्रयोग गर्न लगाउनु होइन। परमेश्‍वरको घर त्यस्ता गतिविधिहरूमा संलग्‍न हुँदैन। तर, तैँले ख्रीष्टविरोधीहरूको अवस्था तुरुन्तै बुझ्नुपर्छ। तैँले तिनीहरूको परिवारका सदस्यहरू वा तिनीहरूलाई खुट्ट्याउन सक्ने वा तिनीहरूसँग परिचित दाजुभाइ-दिदीबहिनीहरूसँग कुरा गरेर तिनीहरूको हालैको अवस्थाबारे सोधपुछ गर्न सक्छस्। के यी सबै यो काम गर्ने विधि र तरिकाहरू होइनन् र? यदि अगुवा र कामदारहरूले आफ्नो जिम्मेवारीको दायराभित्र पर्ने र परमेश्‍वरले तोक्‍नुभएका सिद्धान्तहरूअनुरूपका कामहरू गर्छन् भने, तिनीहरूले आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेका हुन्छन्। अगुवा र कामदारहरूले आफ्ना जिम्मेवारीहरू पूरा गर्नुको उद्देश्य के हो? यो बाधा र अवरोधहरू ल्याउनबाट ख्रीष्टविरोधीहरूलाई रोक्‍नका लागि सम्भव भएको हदसम्‍म तैँले सक्दो गर्नु, र यसरी ख्रीष्टविरोधीहरूलाई परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्न र परमेश्‍वरको घरका हितहरूमा विश्वासघात गर्नबाट रोक्‍नु हो। यो अगुवा र कामदारहरूको जिम्मेवारी हो। के यसले ख्रीष्टविरोधी घटनाहरू घटित हुनबाट सबैभन्दा बढी हदसम्‍म रोक्दैन र? के यी कार्यहरू गर्ने अगुवा र कामदारहरूले मानवले गर्न सम्भव हुने सबै कुरा गरिरहेका हुँदैनन् र? (हुन्छन्।) के यो गर्न गाह्रो छ? (छैन।) यो गाह्रो छैन; यो सत्यता बुझेका मानिसहरूले हासिल गर्न सक्‍ने कुरा हो। मानिसहरूले आफूले हासिल गर्न सक्‍ने कुरा हासिल गर्न सक्दो गर्नुपर्छ; बाँकी कुरा परमेश्‍वरले नै गर्नुहुन्छ, अर्थात् उहाँले आफ्‍नो सार्वभौमिकता प्रयोग गर्नुहुन्छ, योजनाबद्ध गर्नुहुन्छ, र मार्गदर्शन गर्नुहुन्छ। हामी यही कुराबारे सबैभन्दा कम चिन्ता लिन्छौँ। हाम्रो पछाडि परमेश्‍वर हुनुहुन्छ। हाम्रो हृदयमा मात्रै परमेश्‍वर हुनुहुन्‍न, हामीमा साँचो आस्था पनि छ। यो कुनै आत्मिक साथ होइन; वास्तवमा, परमेश्‍वरले पछाडि बसेर काम गर्नुहुन्छ, र उहाँ मानिसहरूको पक्षमा हुनुहुन्छ, सधैँ तिनीहरूको छेउमै उपस्थित हुनुहुन्छ। मानिसहरूले कुनै पनि काम गर्दा वा कुनै पनि कर्तव्य निभाउँदा, उहाँले हेरिरहनुभएको हुन्छ; उहाँ तँलाई कुनै पनि समय र स्थानमा सहयोग गर्न, र जोगाउन र रक्षा गर्नका लागि त्यहीँ रहनुहुन्छ। मानिसहरूले गर्नुपर्ने कुरा भनेको आफूले हासिल गर्नुपर्ने कुरा हासिल गर्न सक्दो प्रयास गर्नु हो। जबसम्म यो तैँले गर्नुपर्ने कुरा हो, यो परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा हो भन्‍ने कुरा तँलाई थाहा हुन्छ, तैँले हृदयमा महसुस गर्छस्, परमेश्‍वरका वचनहरूमा देख्छस्, तेरो वरिपरिका मानिसहरूले तँलाई याद दिलाउँछन्, वा तँलाई थाहा दिन परमेश्‍वरले कुनै सङ्केत वा साइत जुराउनुहुन्छ, तबसम्‍म तैँले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ र तँ निष्क्रिय भएर बस्नु हुँदैन वा तैँले हेरेर बस्‍नु हुँदैन। तँ रोबोट होइनस्; तँसँग दिमाग र विचारहरू छन्। जब कुनै कुरा घटित हुन्छ, तब तैँले के गर्नुपर्छ भन्‍ने कुरा तँलाई अवश्यै थाहा हुन्छ, र तँसँग अवश्यै भावना र चेतना छन्। त्यसकारण, यी भावना र चेतनाहरूलाई वास्तविक अवस्थाहरूमा लागू गर्, तीअनुसार जिउने गर् र तिनलाई आफ्नो कार्यमा रूपान्तरण गर्, र यसरी, तैँले आफ्नो जिम्मेवारी पूरा गरेको हुनेछस्। तँलाई थाहा हुन सक्‍ने कुराहरूका हकमा, तैँले आफूले बुझेका सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्छ। यसरी, तैँले आफ्नो कर्तव्य पूरा गर्न आफूले सक्‍ने जति काम गरिरहेको र सक्दो प्रयास गरिरहेको हुन्छस्। अगुवा वा कामदारका रूपमा, जब तैँले सक्दो प्रयास गर्छस्, अर्थात् जब तैँले ख्रीष्टविरोधीहरूका दुष्ट कार्यहरू देखा पर्नबाट सबैभन्दा बढी हदसम्‍म रोक्छस्, तब तैँले यसरी अभ्यास गर्न सक्छस् भन्‍ने कुरामा परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ। परमेश्‍वर किन सन्तुष्ट हुनुहुनेछ? परमेश्‍वरले त्यस्ता अगुवा र कामदारहरूबारे यस्तो अठोट गर्नुहुनेछ: तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् र आफ्नो भूमिकासँग सम्बन्धित काम गर्न सक्दो प्रयास गरिरहेका छन्। के यो परमेश्‍वरको अनुमोदन हो? (हो।)

ऊ. निष्कासित गर्ने

अगुवा र कामदारहरूको तेह्रौँ जिम्मेवारीमा तिनीहरूले गर्नुपर्ने निश्‍चित कामहरू पर्छन्, जसमध्ये धेरैलाई हामीले सूचीबद्ध गरेका छौँ: तिनीहरूले ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने, काटछाँट गर्ने, चिरफार गर्ने, प्रतिबन्धित गर्ने, र निगरानी गर्ने अभ्यास गर्नैपर्छ। यी आधारभूत सिद्धान्तहरूबारेको सङ्गति समाप्त भएको छ। विशेष अवस्थाहरूमा अगुवा र कामदारहरूले जे-जस्ता विशिष्ट कार्यहरू गरे पनि ख्रीष्टविरोधीहरूलाई निराकरण गर्ने सिद्धान्तहरू परिवर्तन हुँदैनन्। यसका साथै, यी कामहरूको मुख्य उद्देश्य भनेको परमेश्‍वरका चुनिएका मानिसहरूलाई रक्षा गर्नु हो। मानौँ कि परमेश्‍वरका चुनिएका मानिसहरूले पहिले नै सर्वसम्मत रूपमा कुनै व्यक्तिलाई ख्रीष्टविरोधीका रूपमा चिनेका छन् र त्यो ख्रीष्टविरोधीले सधैँ मानिसहरूलाई बहकाउन र नियन्त्रण गर्न खोज्छ भन्‍ने कुरा खुट्ट्याएका र राम्ररी बुझेका छन्; ख्रीष्टविरोधीको उपस्थितिमा, कुनै पनि राम्रो दिन वा राम्रो मण्डली जीवन हुन सक्दैन भन्‍ने तिनीहरूलाई थाहा हुन्छ, र सबैले सर्वसम्मतिले ख्रीष्टविरोधीलाई मण्डलीबाट निकाल्न माग गर्छन्। यी परिस्थितिहरूमा, कति अगुवा र कामदारहरूले अझै पनि ख्रीष्टविरोधीलाई खुलासा गर्ने, काटछाँट गर्ने, चिरफार गर्ने, प्रतिबन्धित गर्ने, र निगरानी गर्ने अभ्यास तालिममा प्रयोग गर्नका लागि उसलाई रहन दिनुपर्छ भनेर वकालत गर्छन्—के अझै पनि यी प्रक्रियाहरूमा जानु आवश्यक छ? कति अगुवा र कामदारहरूले यसो भन्‍न सक्छन्, “यदि हामी यी प्रक्रियाहरूमा गएनौँ भने, के मैले आफ्ना जिम्मेवारीहरूलाई बेवास्ता गरिरहेको हुँदिनँ र? यी प्रक्रियाहरूमा जाँदा मात्रै अगुवाको रूपमा रहेको मेरो भूमिकाप्रति विशेष ध्यान आकर्षित हुन्छ। मैले यो काम गर्नैपर्छ। दाजुभाइ-दिदीबहिनीहरू सहमत भए पनि नभए पनि, मैले सुरुमा ख्रीष्टविरोधीलाई रहन दिनैपर्छ। म सुरुमा उसलाई खुलासा गर्नेछु, त्यसपछि उसलाई काटछाँट र चिरफार गर्नेछु, र ऊ ख्रीष्टविरोधी हो भन्‍ने कुरा दाजुभाइ-दिदीबहिनीहरूलाई थप पुष्टि गर्न लगाउनेछु। सर्वसम्मतिमा पुगेपछि, हामी उसलाई निकाल्नेछौँ वा निष्कासित गर्नेछौँ। के यो अझै प्रभावकारी हुँदैन र?” परिणामस्वरूप, यो अवधिमा फेरि पनि ख्रीष्टविरोधीले मानिसहरूलाई बहकाउन र मण्डलीको काममा बाधा दिन धारणाहरू फैलाउन थाल्छ, जसले गर्दा सबै जना अत्तालिन्छन्, र कतिले त भेलाहरूमा आउनसमेत इन्कार गर्छन्। आफ्नो दृढता देखाउन र आफ्नो जिम्मेवारीलाई बेवास्ता नगरेको कुरा प्रमाणित गर्नका लागि, यी अगुवा र कामदारहरूले सतही रूपमा झारा टार्छन् र कामलाई लम्ब्याउँछन्। परिणामस्वरूप, तिनीहरूले धेरै अनावश्यक घुमाउरो बाटोहरू अपनाउँछन्, मण्डली जीवनको सुव्यवस्थामा बाधा दिन्छन्, र परमेश्‍वरका चुनिएका मानिसहरूको सत्यता पछ्याउने बहुमूल्य समय बरबाद पार्छन्, र त्यसपछि मात्रै ख्रीष्टविरोधीलाई निकाल्छन्। के यो शैली स्वीकार्य छ? (छैन।) यसमा के गलत छ? (यो प्रावधानहरू पालना गर्नु र झारा टार्नु मात्रै हो।) अगुवा र कामदारहरूले यी कामहरू गर्नुको उद्देश्य के हो? (परमेश्‍वरका चुनिएका मानिसहरूलाई रक्षा गर्नु।) त्यसोभए, यदि कति मानिसहरूले अझै पनि ख्रीष्टविरोधीलाई खुट्ट्याएका छैनन् र अझै पनि तिनीहरू ऊसँग निकै घनिष्ठ छन्, र जब अगुवा र कामदारहरूले मण्डलीबाट ख्रीष्टविरोधीलाई निष्कासन गर्ने निर्णय गर्छन्, तब कतिपय मानिसहरू परमेश्‍वरको घर मानिसहरूप्रति प्रेमिलो वा निष्पक्ष छैन, यसको काम गर्ने तरिकामा सिद्धान्तहरूको कमी छ, आदि इत्यादि कुराहरू भन्दै आक्रोशित हुन्छन्, र कतिपय अन्योलमा परेका मानिसहरू ख्रीष्टविरोधीको बहकाउ र प्रभावमा समेत पर्छन् र उसको पछि लागेर मण्डलीबाट निस्केर जान चाहन्छन् भने, यस्तो अवस्थामा के गर्नुपर्छ? यो बेला, अगुवा र कामदारहरूले केही अत्यावश्यक काम गर्नुपर्छ, जस्तै ख्रीष्टविरोधीलाई काटछाँट गर्ने र उसलाई खुलासा र चिरफार गर्न परमेश्‍वरका वचनहरू प्रयोग गर्ने अभ्यास गर्नुपर्छ ताकि दाजुभाइ-दिदीबहिनीहरूले व्यावहारिक रूपमा पाठहरू सिकेर अन्ततः ख्रीष्टविरोधीलाई खुट्ट्याउन सकून्। एक दिन, तिनीहरूले भन्छन्, “यो व्यक्ति अत्यन्तै घृणास्पद छ। ऊ वास्तवमै दुष्ट व्यक्ति र ख्रीष्टविरोधी हो। हामी उसलाई तुरुन्तै सफाइ गरी हटाऔँ!” यो एक व्यक्तिको मात्र आवाज होइन, बरु धेरै दाजुभाइ-दिदीबहिनीहरूको आवाज हो। यस्तो अवस्थामा, के अझै पनि ख्रीष्टविरोधीलाई प्रतिबन्धित र निगरानी गर्ने काम गर्नु आवश्यक हुन्छ? हुँदैन, तिनीहरूलाई सिधै निष्कासन गर्। आफ्नो काममा यो स्तरसम्‍म पुग्‍ने अगुवा र कामदारहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीहरूको हानिबाट रक्षा गर्ने परिणाम हासिल गरेका हुन्छन्। यसले के प्रमाणित गर्छ? एक हिसाबमा, यसले यस मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूमा समझशक्ति, क्षमता, र न्यायको बोध छ भन्‍ने कुरा प्रमाणित गर्छ। अर्को हिसाबमा, अगुवा र कामदारहरूले वास्तविक काम गर्न सक्छन् भन्‍ने हुन सक्छ, वा यो ख्रीष्टविरोधीका कार्यहरू अत्यन्तै भद्दा छन्, उसको मानवता जनआक्रोश नै पैदा गर्ने खालको अत्यन्तै खराब र दुष्ट छ, र ऊ आफैले चाँडै आफ्नो मार्ग तोडेको छ, र यसले गर्दा अगुवा र कामदारहरूले उसलाई निराकरण गर्ने धेरै प्रक्रिया चलाउनु नै परेन भन्‍ने हुन सक्छ। के यसले धेरै मेहनत बचाउँदैन र? यस्तो अवस्थामा, तिनीहरूलाई निकाल्नु वा निष्कासित गर्नु राम्रो कुरा हो, होइन र? यसबाहेक, अगुवा र कामदारहरूले गर्नुपर्ने काम व्यापक छ र यो एउटा काममा मात्रै सीमित छैन। के तँलाई ख्रीष्टविरोधीलाई निष्कासित गर्नु नै यसको अन्त्य हो भन्‍ने लाग्छ? के तँलाई आफूले सबै कुरा पूर्ण रूपमा सफल तुल्याएको छु भन्‍ने लाग्छ? यो त धेरै टाढाको कुरा हो! तैँले अरू पनि काम गर्नु छ। ख्रीष्टविरोधीहरूलाई निराकरण गर्ने र परमेश्‍वरका चुनिएका मानिसहरूलाई तिनीहरूको हानिबाट रक्षा गर्नेबाहेक, अगुवा र कामदारहरूसँग परमेश्‍वरका चुनिएका मानिसहरूलाई अगुवाइ गरेर परमेश्‍वरका वचनहरूको वास्तविकतामा पुर्‍याउने, तिनीहरूलाई आफ्‍नो भ्रष्ट स्वभाव समाधान गर्न, र तिनीहरूको ख्रीष्टविरोधी स्वभाव समाधान गर्न अगुवाइ गर्ने, र अरू धेरै महत्त्वपूर्ण कामहरू गर्ने जिम्‍मेवारी पनि हुन्छ। तर, यदि यी कामहरू गर्ने क्रममा कुनै ख्रीष्टविरोधी देखा पर्‍यो भने, उक्त ख्रीष्टविरोधीलाई निराकरण गर्नु नै सर्वोच्च प्राथमिकता बन्छ। तिनीहरूले सुरुमा ख्रीष्टविरोधीलाई खुलासा र सम्बोधन गर्नैपर्छ, र सत्यताका अन्य पक्षहरूबारे पनि सङ्गति गर्नुपर्छ। यदि कुनै ख्रीष्टविरोधीको बाधा देखा परेको छ र अरू काम अघि बढ्न निकै गाह्रो भएको छ, र त्यस काममा बाधा र हस्तक्षेप आइपरेको छ र ख्रीष्टविरोधीले दाजुभाइ-दिदीबहिनीहरूको जीवनवृद्धि, मण्डली जीवनको सुव्यवस्था, र कर्तव्य निर्वाह गर्ने वातावरणमा गम्भीर असर पारेको छ भने, अवश्य नै सुरुमा यो महाकष्ट र विपत्तिको जडलाई सम्बोधन गर्नु अत्यावश्यक हुन्छ। ख्रीष्टविरोधीलाई निकालिएपछि र निराकरण गरिएपछि मात्रै अरू काम सामान्य र व्यवस्थित रूपमा अघि बढ्न सक्छ। त्यसकारण, यदि मण्डलीमा कुनै ख्रीष्टविरोधी देखा पर्‍यो र दाजुभाइ-दिदीबहिनीहरूले छोटो अवधिमा नै उसलाई तुरुन्तै खुट्ट्याए र “ए ख्रीष्टविरोधी, गइहाल्!” भनेर सर्वसम्मतिले भन्छन् भने, के यसले अगुवा र कामदारहरूको धेरै मेहनत बचाउँदैन र? के तँ मनमनै प्रसन्न हुनुपर्दैन र? तैँले यसो भन्‍न सक्छस्, “मलाई म यो ख्रीष्टविरोधी, यो दियाबलसलाई प्रतिबन्धित गर्न सक्दिनँ भन्‍ने चिन्ता लागेको थियो। मलाई त तिनीहरूले कति दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउमा पार्नेछन् र गम्भीर रूपमा हानि गर्नेछन्, तर ख्रीष्टविरोधीको सार खुलासा गर्न, यी कुराहरू राम्ररी चिरफार गर्न, र यो समस्या समाधान गर्नका लागि मेरो कद अत्यन्तै सानो छ भन्‍ने पनि चिन्ता लागेको थियो।” अब चिन्ता गर्नुपर्दैन। दाजुभाइ-दिदीबहिनीहरूको यो एउटा अभिव्यक्तिद्वारा, समस्या समाधान हुन्छ, र अगुवा र कामदारहरूको “बोझ” हट्छ। कति अद्भुत कुरा! तैँले परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ; यो परमेश्‍वरको अनुग्रह हो! यस्तो कुरा मण्डलीमा हुने सम्भावना हुन्छ, किनभने ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने विषयबारे धेरै छलफल भएको छ, र तैँले अनुमान गरेजस्तो दाजुभाइ-दिदीबहिनीहरू अगुवा र कामदारहरूभन्दा निकै निकृष्ट हुँदैनन्। परमेश्‍वरका वचनहरूको मार्गदर्शनमा, तिनीहरूसँग पनि स्वतन्त्र रूपमा सत्यता बुझ्ने र समस्याहरू समाधान गर्ने केही क्षमता हुन्छ। जब तिनीहरू ख्रीष्टविरोधीलाई भोट गरेर निष्कासित गर्नका लागि एकजुट हुन्छन्, तब यो राम्रो कुरा हो, र यो राम्रो घटना हो! अगुवा र कामदारहरूले यसबारे दुःखित, निराश, वा नकारात्मक महसुस गर्नुपर्दैन। यी अवरोधहरू, अर्थात् यी ख्रीष्टविरोधीहरूलाई निकालिएपछि त्यसपछिको कामको हरेक चरण अगुवा र कामदारहरूका लागि अझै पनि गम्भीर परीक्षा नै रहन्छ। तिनीहरूले गर्नुपर्ने हरेक काम तिनीहरूको जिम्मेवारी र तिनीहरूको क्षमता र कार्य सामर्थ्यसँग सम्बन्धित समस्याहरूसँग जोडिएको हुन्छ।

ख्रीष्टविरोधीहरूले बाधाहरू सिर्जना गर्दा झूटा अगुवाहरूले प्रदर्शन गर्ने प्रकटीकरणहरू

हामीले अगुवा र कामदारहरूको तेह्रौँ जिम्मेवारी “परमेश्‍वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीको बाधा, बहकाउ, नियन्त्रण र गम्‍भीर हानिदेखि जोगाउने र तिनीहरूलाई ख्रीष्टविरोधीलाई खुट्ट्याउन र हृदयबाट त्याग्‍न सक्‍ने बनाउने।” भन्‍नेबारे सङ्गति गरिसकेका छौँ। यसपछि, हामी अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्न नसक्‍ने मानिसहरू, अर्थात् झूटा अगुवाहरूका प्रकटीकरणहरूलाई अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने कामसँग तुलना गरेर चिरफार र खुलासा गर्नेछौँ। यो काम गर्दा अगुवा र कामदारहरूले गर्नुपर्ने धेरै कामहरू हुन्छन्, जसका लागि तिनीहरूसँग निश्‍चित क्षमता हुनुपर्छ, र तिनीहरू ध्यान दिने, होसियार, इमानदार, जिम्मेवार, परमेश्‍वरको बोझको ख्याल गर्ने, परमेश्‍वरका चुनिएका मानिसहरूलाई रक्षा गर्ने प्रेमिलो हृदय भएका, आदि गुणहरू हुनुपर्छ। यी गुणहरूद्वारा मात्रै तिनीहरूले आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा गर्न सक्छन्। तर झूटा अगुवाहरू यसको पूर्ण विपरीत हुन्छन्; तिनीहरूको मानवतामा यी गुणहरूको कमी हुन्छ। तिनीहरूमा निश्‍चित क्षमता हुन सक्छ, जसद्वारा तिनीहरूले सत्यता बुझ्न र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन सक्छन्, वा तिनीहरूमा अलिक कम क्षमता हुन सक्छ, र तिनीहरूले ख्रीष्टविरोधीहरूको प्रकृति सार पूर्ण रूपमा चिन्‍न नसके पनि कम्तीमा धेरै दुष्ट कार्यहरू गर्ने केही एकदमै स्पष्ट ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन सक्छन्; वा, तिनीहरूको क्षमता अति कमजोर भएर तिनीहरूले ख्रीष्टविरोधीहरूको सार भएका र ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरूबीच भिन्‍नताहरू खुट्ट्याउन वा छर्लङ्गै देख्‍न नसक्‍ने हुन सक्छ। तर जे होस्, झूटा अगुवाहरूले यी दुई प्रकटीकरणहरू प्रदर्शन गर्छन्: एउटा चाहिँ तिनीहरूले वास्तविक काम गर्दैनन् भन्‍ने कुरा हो; अर्को चाहिँ के हो भने, तिनीहरू सतही र सामान्य मामलाहरूको काममा मात्रै संलग्‍न हुन्छन्, तर तिनीहरू वास्तविक समस्याहरू समाधान गर्न वा वास्तविक काम गर्न पूर्णतया असक्षम हुन्छन्। तेह्रौँ जिम्मेवारीसँग सम्बन्धित काममा, झूटा अगुवाहरूका यी दुई विशेषतापूर्ण प्रकटीकरणहरू प्रमुख रहेका छन्। यसपछि, हामी तिनीहरूमा कुन-कुन खास प्रकटीकरणहरू हुन्छन् भन्‍नेबारे सङ्गति गर्नेछौँ।

अ. ख्रीष्टविरोधीहरूलाई चिढ्याउँछु भन्‍ने डरले तिनीहरूलाई खुलासा गर्ने र सम्हाल्ने काम नगर्ने

जब ख्रीष्टविरोधीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई बाधा दिन्छन्, बहकाउँछन्, नियन्त्रण गर्छन्, वा गम्भीर रूपमा हानि गर्छन्, तब झूटा अगुवाहरूको पहिलो प्रकटीकरण भनेको निष्क्रियता हो। निष्क्रियता भनेको के हो? यसको अर्थ वास्तविक काम नगर्नु हो। वास्तविक काम नगर्नुका पछाडि कारणहरू हुन्छन्, र यी कारणहरू मुख्यगरी मानिसहरूलाई चिढ्याउने डर हुनु र सिद्धान्तहरू पालना गर्ने साहसको कमी हुनु हो। अगुवा बनेपछि, यी मानिसहरूले आफ्नो शक्तिको धाक देखाउन थाल्छन्, र सोच्छन, “अहिले मसँग हैसियत छ, र म मण्डलीको अधिकारी हुँ। मैले दाजुभाइ-दिदीबहिनीहरूको गाँस, बास, कपास, र यातायातको व्यवस्थापन गर्नुपर्छ; मैले दाजुभाइ-दिदीबहिनीहरूले भनेको कुरा सत्यतासँग मिल्दो छ कि छैन र यो सन्तहरूको शालीनताअनुरूप छ कि छैन भनेर खुट्ट्याउनुपर्छ। मैले तिनीहरू परमेश्‍वरप्रति इमानदार छन् कि छैनन्, तिनीहरूको आत्मिक जीवन सामान्य छ कि छैन, तिनीहरूले बिहान र साँझ प्रार्थना गर्छन् कि गर्दैनन्, तिनीहरूको नियमित भेलाहरू सामान्य छन् कि छैनन् भनेर हेर्नुपर्छ—मैले यो सबै कुरालाई व्यवस्थापन गर्नुपर्छ।” झूटा अगुवाहरूले यी मामलाहरूबारे मात्रै वास्ता गर्छन्। औपचारिकताको हिसाबमा, तिनीहरूले अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्छन् जस्तो देखिन्छ, तर सिद्धान्तसँग सम्‍बन्धित आधारभूत समस्याहरू देखा पर्दा, वा ख्रीष्टविरोधीहरू नै देखा पनि, झूटा अगुवाहरू लुकेर बस्छन् र मिलिक्क झुल्किदैनन्, जहाँ तिनीहरू चुपचाप बस्छन् र थाहा नपाएजस्तो र केही पनि देख्‍न नसकेजस्तो बहाना गर्छन्। ख्रीष्टविरोधीहरूले जस्तोसुकै भ्रमहरू फैलाए पनि तिनीहरूले नसुनेको नाटक गर्छन्। जब ख्रीष्टविरोधीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई बाधा दिन्छन्, बहकाउँछन्, र नियन्त्रण गर्छन्, तब तिनीहरूले थाहा नपाएको बहाना गर्छन्, यस्तो लाग्छ यो सबै जानकारी तिनीहरूकहाँ पुगेपछि आफै हराउँछ। तिनीहरूले साधारण दाजुभाइ-दिदीबहिनीहरूले समेत खुट्ट्याउन सक्‍ने ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन नसक्ने बहाना गर्छन्, र भन्छन्, “म तिनीहरूलाई छर्लङ्ग देख्‍न सक्दिनँ। यदि मैले गलत व्यक्तिलाई निष्कासित गरेँ भने के गर्ने? यदि मैले दाजुभाइ-दिदीबहिनीहरूलाई गलत बुझेँ भने के गर्ने? यसबाहेक, परमेश्‍वरको घरलाई अझै पनि सेवा प्रदान गर्नका लागि मानिसहरू चाहिन्छ!” अगुवा र कामदारहरूको जिम्मेवारीबाट पन्छिन हरकिसिमका बहानाहरू प्रयोग गरेर, तिनीहरूले ख्रीष्टविरोधीहरूलाई निराकरण गर्दैनन् र दाजुभाइ-दिदीबहिनीहरूलाई ख्रीष्टविरोधीहरूको हानिबाट जोगाउँदैनन्। कति झूटा अगुवाहरूले यसोसमेत भन्छन्, “यदि मैले सधैँ ख्रीष्टविरोधीहरूलाई खुलासा गरेँ भने, मलाई आक्रमण गर्न तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू उक्साए भने के गर्ने? त्यसपछि अर्को निर्वाचनमा मलाई कसैले पनि भोट दिनेछैन, र म त्यसउप्रान्त अगुवा बन्‍न पाउँदिनँ। मेरो प्रभाव तिनीहरूको जस्तो बलियो छैन!” आफ्नो हैसियत र व्यक्तिगत सुरक्षा जोगाउन, झूटा अगुवाहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई रक्षा गर्ने आफ्नो जिम्मेवारी पटक्‍कै पूरा गर्दैनन्, न त दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गर्नबाट ख्रीष्टविरोधीहरूलाई सक्दो हदसम्‍म रोक्‍ने काम नै गर्छन्। तिनीहरूले मान्छे खुसी पारिहिँड्ने व्यक्ति र आफ्नो खोलमा लुक्ने कछुवा दुवैको व्यवहार गर्छन्, र सँगसँगै तिनीहरू स्वार्थी र घृणास्पद व्यक्ति पनि बन्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई रक्षा गर्दैनन्, तर आफूलाई कसरी रक्षा गर्ने भनेर गहिरो रूपमा सोच्छन्। जब दाजुभाइ-दिदीबहिनीहरूले समझशक्ति प्राप्त गर्न सकून् भनेर ख्रीष्टविरोधीहरूलाई निराकरण गर्ने वा काटछाँट र खुलासा गर्ने कुरा आउँछ, तब तिनीहरू डराएर मरेतुल्य हुन्छन्, आफ्नो हैसियत गुम्ला भनेर चिन्तित हुन्छन्, र त्यसो गर्दा आफैलाई हानि हुन्छ भन्‍ने महसुस गर्छन्। तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूका हितहरूलाई पूरै बेवास्ता गर्छन्, अनि आफ्नै हित, प्रतिष्ठा, व्यक्तिगत सुरक्षा, र आफ्नो परिवारको सुरक्षालाई मात्रै ख्याल गर्छन्, र भूलवश ख्रीष्टविरोधीहरूलाई चिढ्याउँदा तिनीहरूले निर्दयी रूपमा शत्रुता देखाउलान् र प्रतिकार गर्लान् भन्‍ने डर मान्छन्। वास्तवमा यस किसिमको झूटो अगुवामा केही क्षमता हुन्छ। तिनीहरूको त्यो क्षमता र अन्तर्ज्ञानले, तिनीहरूलाई ख्रीष्टविरोधीहरू को हुन् भन्‍ने कुरा पूर्ण रूपमा थाहा हुन्छ, तर समस्या के हो भने, तिनीहरूलाई ख्रीष्टविरोधीहरू चिढिएलान् भन्‍ने डर हुन्छ। तिनीहरूले ख्रीष्टविरोधीहरूको क्रूर स्वभाव देखेर तिनीहरूलाई चिढ्याउने आँट गर्दैनन्। तर तिनीहरू आफूलाई रक्षा गर्न परमेश्‍वरको घरका र परमेश्‍वरका चुनिएका मानिसहरूका हितहरू त्याग्‍न पटक्‍कै हिचकिचाउँदैनन्; तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू ख्रीष्टविरोधीहरूको हातमा परेको उदासीनतासाथ हेर्छन्, र यसरी ख्रीष्टविरोधीहरूले चाहेअनुसार तिनीहरूलाई बहकाउन, नियन्त्रण गर्न, र गम्भीर रूपमा हानि गर्न पाउँछन्। झूटा अगुवाहरूले राम्रो मानवता भएका केही तुलनात्मक रूपमा निष्कपट र तिनीहरूलाई कुनै खतरा नहुने मानिसहरूलाई मात्रै कहिलेकाहीँ पर्दापछाडि यसो भन्छन्, “त्यो व्यक्ति ख्रीष्टविरोधी हो। उसले अरूलाई बहकाउँछ। ऊ असल व्यक्ति होइन।” तर, सबै दाजुभाइ-दिदीबहिनीहरू र ख्रीष्टविरोधीहरूका अगाडि, तिनीहरूले कहिल्यै पनि ख्रीष्टविरोधीहरूलाई एकचोटि पनि “हुँदैन” भन्‍ने आँट गर्दैनन्। तिनीहरूमा ख्रीष्टविरोधीहरूको कुनै पनि दुष्ट कार्यहरू वा सार खुलासा गर्ने साहस कहिल्यै हुँदैन। भेलाहरूमा समेत, ख्रीष्टविरोधीहरूले अरूलाई बोल्न नदिई एकदुई घण्टा बोल्दा, तिनीहरूले चुइँक्‍क आवाज निकाल्ने आँट गर्दैनन्। यदि ख्रीष्टविरोधीहरूले टेबल ठट्टाएर मानिसहरूलाई खाउँलाझैँ हेरे भने, तिनीहरूले आवाज निस्किने गरी सास फेर्नेसमेत आँट गर्दैनन्। आफ्नो कामको दायराभित्र, सानो कद भएका, कायर मानवता भएका, र सत्यता पछ्याउन चाहने तर अझै समझशक्ति प्राप्त नगरेका मानिसहरू व्याकुल हुन्छन्, किनभने ख्रीष्टविरोधीहरूका दुष्ट कार्यहरू खुलासा गर्न र खुट्ट्याउन अघि सर्न सक्ने कुनै अगुवा वा कामदार हुँदैन। ख्रीष्टविरोधीहरूले मण्डलीमा मनमानी व्यवहार गर्दा, जानीजानी लापरवाही रूपमा काम गर्दा र मण्डली जीवनमा बाधा दिँदा, तिनीहरूले लाचार भएर हेरी मात्र रहन्छन्, किनभने तिनीहरूसँग प्रतिकार गर्ने कुनै उपाय नै हुँदैन। तर यसबीच, झूटा अगुवाहरूले कुनै वास्तविक काम गर्दैनन् र परमेश्‍वरका चुनिएका मानिसहरूको लागि वास्तविक समस्याहरू समाधान गर्दैनन्। दाजुभाइ-दिदीबहिनीहरू कठिनाइहरूमा पर्दा, झूटा अगुवाहरूले ख्रीष्टविरोधीहरूका दुष्ट कार्यहरू खुलासा र प्रतिबन्धित गर्न नसक्‍ने मात्र होइन, तिनीहरूले एउटा निष्पक्ष शब्दसमेत बोल्ने आँट गर्दैनन्। यदि तिनीहरूको विवेकले केही कुरा महसुस गर्‍यो र तिनीहरूलाई अलिकति घोच्‍यो भने पनि, र तिनीहरूले बन्द कोठामा परमेश्‍वरलाई प्रार्थना गर्दा केही आँसु खसाले पनि, भोलिपल्ट भेलाको समयमा, जब तिनीहरूले ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरको कामबारे गैरजिम्मेवार टिप्पणीहरू गरेको र स्वेच्छाचारी ढङ्गले आलोचना गरेको, र अप्रत्यक्ष रूपमा परमेश्‍वरलाई नै आलोचना गरेको र परमेश्‍वरबारे धारणाहरू फैलाएको देख्छन्, तब यो गलत छ भन्‍ने थाहा भएर पनि तिनीहरूले यसबारे केही गर्दैनन्। ख्रीष्टविरोधीहरूले भेटीहरू फजुलमा उडाएको देख्दा पनि तिनीहरूले यसलाई बेवास्ता गर्ने मनोवृत्ति अपनाउँछन्। तिनीहरूले ख्रीष्टविरोधीहरूलाई बिलकुलै खुलासा वा प्रतिबन्धित गर्दैनन्, तैपनि तिनीहरूले हृदयमा अलिकति पनि ग्लानि महसुस गर्दैनन्—यो अत्यन्तै गैरजिम्मेवार कार्य हो! आफ्नो शक्ति अत्यन्तै कमजोर छ भन्‍ने महसुस भए पनि, केही विवेकको बोध हुने जोकोहीले यो विषयमा सङ्गति गर्न र ख्रीष्टविरोधीहरूलाई कसरी निराकरण गर्ने भनेर छलफल गर्न केही कद र समझ भएका दाजुभाइ-दिदीबहिनीहरूसँग एक हुनुपर्छ। तर झूटा अगुवाहरूमा त्यस्तो दृढता र साहसको कमी हुन्छ, र तिनीहरूमा यस्तो जिम्मेवारीको बोध अझ कम हुन्छ। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई समेत यसो भन्छन्, “ख्रीष्टविरोधीहरू अत्यन्तै क्रूर हुन्छन्। यदि हामीले तिनीहरूलाई चिढ्यायौँ भने, तिनीहरूले हाम्रा बारेमा सरकारलाई रिपोर्ट गर्नेछन्, त्यसपछि हामी कसैले पनि परमेश्‍वरमा विश्‍वास गर्न सक्नेछैनौँ। ख्रीष्टविरोधीहरूलाई मण्डलीले भेलाहरू राख्ने ठाउँ थाहा हुन्छ, त्यसैले हामीले तिनीहरूलाई भड्काउनु हुँदैन।” यो पूर्ण रूपमा हतियारहरू फ्याँकेर ख्रीष्टविरोधीहरूसामु आत्मसमर्पण गर्ने, शैतानसँग सम्झौता गर्ने र त्यससित कृपा माग्‍ने कुरूप व्यवहार हो।

झूटा अगुवाहरूले आफूलाई रक्षा गर्नेबाहेक अगुवा र कामदारहरूले गर्नुपर्ने कुनै पनि काम गर्दैनन्, जस्तै तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई रक्षा गर्ने र तिनीहरूलाई ख्रीष्टविरोधीहरूप्रति समझ प्राप्त गर्न मद्दत गर्ने गर्दैनन्, र तिनीहरूले कुनै पनि जिम्मेवारी बिलकुलै पूरा गर्दैनन्, तैपनि तिनीहरू निरन्तर दाजुभाइ-दिदीबहिनीहरूले आफूलाई अगुवाका रूपमा निर्वाचित गरून् भन्‍ने चाहन्छन्। एउटा कार्यकाल पूरा गरेपछि, तिनीहरू अर्को कार्यकालका लागि पनि निर्वाचित हुन चाहन्छन्। के यो लाजमर्दो र असुधार्य कुरा होइन र? के त्यस्ता मानिसहरू अगुवा बन्‍न लायक हुन्छन्? (हुँदैनन्।) परमेश्‍वरको घरले तँलाई बगाल सुम्पन्छ, तर जब जङ्गली पशुहरू आउँछन्, तब नाजुक क्षणमा, तैँले आफूलाई मात्रै रक्षा गर्छस् र बगाललाई ती जङ्गली पशुहरूको हातमा सुम्पन्छस्। तैँले डरले खोलमा लुक्‍ने कछुवाले जस्तो व्यवहार गर्छस्, र लुक्नका लागि आश्रय, र सुरक्षित स्थल खोज्छस्। अनि परिणामस्वरूप, बगाललाई हानि हुन्छ—कति भेडाहरू टोकेर मारिन्छन्, र कति हराउँछन्। मानौँ, मण्डलीको काममा ख्रीष्टविरोधीहरूले नैतिकहीन रूपमा बाधा दिइरहेको र परमेश्‍वरका चुनिएका मानिसहरूलाई बहकाइरहेको र नियन्त्रण गरिरहेको एउटा अगुवाले देख्यो रे, तैपनि उसले आफ्नो इज्जत, हैसियत, र रोजीरोटी रक्षा गर्न, र आफ्नो सुरक्षा सुनिश्‍चित गर्न यसलाई बेवास्ता गर्ने मनोवृत्ति अपनाउँछ। परिणामस्वरूप, परमेश्‍वरका चुनिएका धेरैजसो मानिसहरू बहकाउमा पर्छन्, लाचार महसुस गर्छन्, र नकारात्मक र कमजोर बन्छन्; कति त ख्रीष्टविरोधीहरूले पकडमा पर्छन्, र कति जना आफ्नो कर्तव्य पूरा गर्न अनिच्छुक हुन्छन्। तैपनि ख्रीष्टविरोधीहरूले सिर्जना गरेका बाधाहरू देख्दा, यस्तो अगुवाले केही महसुस गर्दैन; उसको विवेकले घोच्दैन। के यस्तो अगुवा वा कामदारमा कुनै मानवता हुन्छ? आत्मसंरक्षण गर्ने आफ्नो उद्देश्य हासिल गर्नका लागि, तिनीहरूले कुनै हिचकिचाहटविना परमेश्‍वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीहरूको हातमा सुम्पिदिन्छन् र तिनीहरूलाई बहकाउन, गम्भीर रूपमा हानि गर्न, र क्षतविक्षत पार्न ती ख्रीष्टविरोधीहरूलाई अनुमति दिन्छन्। यो कस्तो अगुवा हो? (झूटो अगुवा।) के यो शैतानको मतियार होइन र? ऊ वास्तवमा कुन पक्षको हो? उसलाई झूटो अगुवाको रूपमा चित्रण गरिए पनि, यो समस्याको सार झूटो अगुवा बन्‍नुको सारभन्दा पनि गम्भीर हुन सक्छ। यो कार्य त्यसरी नै दाजुभाइ-दिदीबहिनीहरूलाई विश्वासघात गर्ने प्रकृतिको हुन्छ, जसरी पक्राउ परेर यातना भोगेपछि मानिसहरू यहूदा बन्छन् र तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई गम्भीर रूपमा हानि गर्न ठूलो रातो अजिङ्गरको हातमा सुम्पिदिन्छन्। त्यसैले, परमेश्‍वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीहरूका हातमा सुम्पने झूटो अगुवाको प्रकृति कस्तो हुन्छ? के त्यस्ता झूटा अगुवाहरू अत्यन्तै तुच्छ हुँदैनन् र? ख्रीष्टविरोधीहरूका तुलनामा, यी झूटा अगुवाहरूसँग बाहिरी रूपमा सत्यताको प्रतिरोध गर्ने अभिप्राय नभएजस्तो देखिन्छ। यस्तो देखिन्छ कि तिनीहरूले केही सत्यता सङ्गति गर्न सक्छन्, तिनीहरूमा केही बुझ्ने क्षमता हुन्छ, र तिनीहरूले थोरथोरै सत्यता अभ्यास गर्न सक्छन्, र तिनीहरूमध्ये कतिले कष्ट सहन र मूल्य चुकाउनसमेत सक्छन्। तैपनि, जब परमेश्‍वरको घरले तिनीहरूलाई परमेश्‍वरको बगाल सुम्पन्छ, र जब दुष्ट मानिसहरू र पिशाचहरू देखा पर्छन्, तब तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई रक्षा गर्न आफ्नो ज्यानको बाजी राखेर आफूले गर्न सक्ने सबथोक गर्दैनन्। बरु, तिनीहरूले आफूलाई रक्षा गर्नका लागि सकेजति सबै गर्छन्, र आफ्नै सुरक्षा र स्वार्थहरू सुरक्षित गर्न दाजुभाइ-दिदीबहिनीहरूलाई सुरक्षा ढालका रूपमा प्रयोग गर्छन्। यी मानिसहरू कति घृणास्पद र स्वार्थी हुन्छन्! झट्ट हेर्दा त तिनीहरूको मानवतामा कुनै ठूला समस्याहरू नभएजस्तो देखिन्छ। तिनीहरूमा मानिसहरूप्रति प्रेम हुन्छ, तिनीहरूले अरूलाई सहयोग गर्न सक्छन्, र तिनीहरू मूल्य चुकाउन तयार हुन्छन् र तिनीहरूले कर्तव्य निर्वाह गर्दा कुनै पनि कष्ट सहन सक्छन्। तर, जब ख्रीष्टविरोधीहरू देखा पर्छन्, तब तिनीहरूले अनपेक्षित र बुझ्नै नसकिने कामकुरा गर्छन्: ख्रीष्टविरोधीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई जति बहकाए पनि वा मण्डली जीवनमा जति बाधा दिए पनि, तिनीहरूले केही गर्दैनन्, र ख्रीष्टविरोधीहरूले जति धेरै मानिसहरूलाई आक्रमण, बहिष्कार, वा हानि गरे पनि तिनीहरूले त्यो कुरालाई बेवास्ता गर्छन्। त्यसो गरेर, यी अगुवाहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई पूर्ण रूपमा ख्रीष्टविरोधीहरूको नियन्त्रणमा सुम्पिरहेका हुन्छन्, जसले गर्दा ख्रीष्टविरोधीहरूले तिनीहरूलाई स्वेच्छाचारी रूपले बहकाउन र गम्भीर रूपले हानि गर्न सक्छन्, जबकि यी अगुवाहरूले आफै कुनै काम गर्दै गर्दैनन्। जब ख्रीष्टविरोधीहरूलाई सफाइ गरी हटाइन्छ र समस्या समाधान हुन्छ, तब यी अगुवाहरू आफ्नो आत्मज्ञानबारे, तिनीहरू कति कमजोर, कायर, भयभीत, स्वार्थी, र छली थिए भन्‍नेबारे, र तिनीहरू बफादार भएनन्, तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूको राम्ररी रक्षा गरेनन्, अनि परमेश्‍वर र दाजुभाइ-दिदीबहिनीहरूलाई निराश तुल्याए भन्‍नेबारे सङ्गति गर्न बाहिर आउँछन्। तिनीहरू अत्यन्तै पछुताइरहेका देखिन्छन्; तिनीहरू आफूलाई परिवर्तन गरेर पश्‍चात्ताप गर्न सक्‍ने अवस्थामा पुगेजस्ता देखिन्छन्। तर, जब ख्रीष्टविरोधीहरू फेरि देखा पर्छन्, तब तिनीहरूले पहिलेजस्तै दाजुभाइ-दिदीबहिनीहरूलाई ख्रीष्टविरोधीहरूतर्फ धकेल्छन्, र आफू लुक्नका लागि सुरक्षित ठाउँ खोज्छन्। तिनीहरू आफै ख्रीष्टविरोधीहरूको बहकाउ वा हानिमा परेका हुँदैनन्, तर तिनीहरू आफ्नो जिम्मेवारीबाट पूरै विमुख भएका हुन्छन् र तिनीहरूले परमेश्‍वरको आज्ञाप्रति धोका दिएका हुन्छन्, र यसरी आफ्नो कर्तव्यप्रतिको तिनीहरूको मनोवृत्ति, परमेश्‍वरका चुनिएका मानिसहरूप्रतिको तिनीहरूको मनोवृत्ति, र तिनीहरूको साँचो सत्त्व पूर्ण रूपमा खुलासा हुन्छन्। हरेक पटक ख्रीष्टविरोधीहरू देखा पर्दा, तिनीहरूले परमेश्‍वरको पक्षमा खडा भएर ख्रीष्टविरोधीहरूसँग अन्त्यसम्मै लड्न रोज्दैनन्, र तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूको रक्षार्थ भन्‍नुपर्ने कुरा भन्‍ने वा गर्नुपर्ने काम गर्ने अलिकति पनि गर्दैनन् र यसरी आफ्नो विवेकमा शान्ति महसुस गर्छन्, र तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट पार्न अगुवाहरूको जिम्मेवारी त झनै पूरा गर्दैनन्। झूटा अगुवाहरूका यी सबै छनौट र कार्यहरूको उद्देश्य पूर्ण रूपमा तिनीहरूको आफ्नै हैसियतलाई हानि हुनबाट जोगाउने हुन्छ। तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन वा मृत्युबारे वास्ता गर्दैनन्। तिनीहरूका लागि त तिनीहरूको आफ्नै प्रतिष्ठा, हित, र हैसियतमा हानि भएन भने सबै कुरा ठीकै हुन्छ। ख्रीष्टविरोधीहरूलाई कसले खुलासा गर्छ, ख्रीष्टविरोधीहरूलाई कसले निष्कासित गर्छ, ख्रीष्टविरोधीहरूलाई कसरी निराकरण गरिनुपर्छ—यस्तो लाग्छ यी कुराहरूसँग तिनीहरूको कुनै सम्बन्ध नै छैन; तिनीहरूले न त वास्ता गर्छन् न हस्तक्षेप नै गर्छन्। ख्रीष्टविरोधीहरूले मण्डली जीवनमा बाधा दिँदा, परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्दा, र सत्यता पछ्याउनेहरूलाई फसाउँदा र कष्ट दिँदा, तिनीहरूले यसलाई बेवास्ता गर्छन्। यी कुराहरूबारे तिनीहरूलाई कुनै मतलब हुँदैन; तिनीहरूको हैसियतमा खतरा पुगेको छैन भने, तिनीहरूका लागि सबै कुरा ठीकै हुन्छ। यस्ता मानिसहरूबारे तिमीहरूलाई के लाग्छ? सामान्यतया, तिनीहरूको मानवता खराब देखिँदैन, र तिनीहरूले केही काम गर्न सक्छन् जस्तो देखिन्छ। जब तिनीहरूले काटछाँट सामना गर्छन्, तब तिनीहरूले आफूलाई चिन्‍न सक्छन् र तिनीहरूलाई हृदयमा अलिक पछुतो हुन्छ जस्तो देखिन्छ। तर, जब तिनीहरूले मण्डलीमा बाधा दिने ख्रीष्टविरोधीहरू सामना गर्छन्, तब तिनीहरूले पूर्ण रूपमा आफ्नो समझ गुमाउँछन्, तिनीहरूसँग कुनै न्यायको बोध हुँदैन, र तिनीहरूमा ख्रीष्टविरोधीहरूसँग लड्ने साहससमेत हुँदैन। दियाबलस र शैतानहरू देख्दा, तिनीहरूले सम्झौता गर्छन्; जब तिनीहरूले दुष्ट मानिसहरूले बाधाहरू ल्याइरहेको देख्छन्, तब तिनीहरू ती मानिसहरूबाट टाढै बस्छन्। दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूप्रतिको तिनीहरूको मनोवृत्तिका आधारमा हेर्दा, तिनीहरूले ठ्याक्कै कुन मार्ग पछ्याइरहेका छन्? के यसले तिनीहरूको समस्या स्पष्ट रूपमा देखाउँदैन र? (देखाउँछ।) यस्तो व्यक्ति बाहिरी रूपमा ख्रीष्टविरोधीजस्तो नदेखिएला, तर दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूका कार्य र व्यवहारहरूप्रति तिनीहरूले देखाउने मनोवृत्ति ठ्याक्‍कै ख्रीष्टविरोधीहरूको स्वभाव हो, र यसको प्रकृति भयानक हुन्छ। यो भन्‍न सकिन्छ कि यो आफ्नो जिम्मेवारी त्याग्‍ने र परमेश्‍वरका चुनिएका मानिसहरूलाई विश्वासघात गर्ने प्रकृति हो। के यो प्रकृति अत्यन्तै गम्भीर हुँदैन र? के तिनीहरूले मण्डलीको काम र परमेश्‍वरको आज्ञाप्रति कुनै बफादारी देखाउँछन्? के तिनीहरूसँग जिम्मेवारीको मनोवृत्तिको कुनै सङ्केत हुन्छ? तिनीहरूलाई जहिलेसुकै कुनै आज्ञा वा काम सुम्पिए पनि, तिनीहरूको सिद्धान्त भनेको मानिसहरूलाई चिढ्याउनबाट जोगिनु र आफूलाई रक्षा गर्नु हो। यो आफूलाई आचरणमा ढाल्ने तिनीहरूको सर्वोच्च मानक र कामकुरा गर्ने तिनीहरूको सिद्धान्त हो, र यो कहिल्यै परिवर्तन हुनेछैन। त्यस्ता मानिसहरूले मुक्ति पाउन सक्छन् कि सक्दैनन् भन्‍ने प्रश्‍नलाई अहिलेका लागि थाती राखौँ—ख्रीष्टविरोधीहरूलाई निराकरण गर्ने कामको हिसाबमा मात्रै हेर्दा, के यी झूटा अगुवाहरू परमेश्‍वरको आज्ञा स्विकार्न लायक हुन्छन्? के तिनीहरू अगुवा र कामदार बन्‍न लायक हुन्छन्? (हुँदैनन्।) यी मानिसहरू अगुवा र कामदार बन्‍न लायक हुँदैनन्। किनभने तिनीहरूमा विवेक र समझको कमी हुन्छ, र तिनीहरू मण्डली अगुवाइको काम लिन लायक हुँदैनन्; तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्नबाट ख्रीष्टविरोधीहरूलाई सक्दो हदसम्‍म रोक्दैनन्, र तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूको रक्षार्थ यो जिम्मेवारी पूरा गर्न वा यो काम राम्ररी गर्न पनि सक्दो प्रयास गर्दैनन्—यो होइन कि तिनीहरूको क्षमता कमजोर हुन्छ र तिनीहरूले यो काम गर्न सक्दैनन्, बरु कुरा के हो भने, तिनीहरूले यो काम गर्दै गर्दैनन्। त्यसकारण, यो दृष्टिकोणबाट हेर्दा, अरूलाई चिढ्याउँछु भन्‍ने डर मान्‍ने मानिसहरू अगुवा र कामदार बन्‍न पूर्ण रूपमा अयोग्य हुन्छन्। के यस्ता अगुवा र कामदारहरू धेरै छैनन् र? (छन्।) जब केही पनि भएको हुँदैन, तब तिनीहरू अरू कोहीभन्दा उत्साहित भएर दौडधूप गर्छन्; तिनीहरू यति व्यस्त हुन्छन् कि तिनीहरूले कपाल कोर्न वा मुख धुनसमेत भ्याउँदैनन्, र तिनीहरू अत्यन्तै आत्मिक स्तरमा पुगेजस्ता देखिन्छन्। तर ख्रीष्टविरोधीहरू देखा पर्दा, तिनीहरू गायब हुन्छन्; तिनीहरूले उम्कनका लागि यावत् किसिमका बहानाहरू भेट्टाउँछन्, र ख्रीष्टविरोधीहरूलाई निराकरण गर्दै गर्दैनन्। यो व्यवहारको प्रकृति के हो? यो आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा बफादारीको कमी हुनु र भरोसाहीन हुनु हो। महत्त्वपूर्ण समयमा, तिनीहरू परमेश्‍वरलाई समेत धोका दिएर शैतानको पक्षमा खडा हुन सक्छन्, र दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले मण्डलीको काममा बाधा र हानि गर्दा आँखा चिम्लिन्छन्। तिनीहरू त गार्ड कुकुर जति पनि उपयोगी हुँदैनन्। यो एक किसिमको झूटो अगुवा हो।

आ. ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन नसक्‍नु

अर्को प्रकारको झूटो अगुवा पनि हुन्छ: जब ख्रीष्टविरोधीहरू देखा पर्छन्, तब तिनीहरूले तिनीहरूमा कस्तो स्वभाव र सार छ, तिनीहरूले के कुरा प्रकट गर्छन् र खुलाउँछन्, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई कस्तो प्रकारका बाधाहरू दिन्छन्, कुन-कुन अभिव्यक्ति, विचार, दृष्टिकोण, र व्यवहारहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउन र बाधा दिन सक्छन्, मानिसहरूलाई नियन्त्रण गर्न ख्रीष्टविरोधीहरूले प्रयोग गर्ने विधिहरू के-के हुन्, र कुन परिस्थितिमा ख्रीष्टविरोधीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउन, नियन्त्रण गर्न, र गम्भीर रूपमा हानि गर्न सक्छन् भन्‍नेजस्ता आदि इत्यादि कुराहरू खुट्ट्याउन सक्दैनन्—यी सबै झूटा अगुवाहरूले खुट्ट्याउन नसक्‍ने सवालहरू हुन्। ख्रीष्टविरोधीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउँछन्; तिनीहरू र बहकाउमा परेका दाजुभाइ-दिदीबहिनीहरू आफ्नै भेलाहरू आयोजना गर्न र स्वतन्त्र राज्यहरू स्थापना गर्न मण्डलीबाट छुट्टिन्छन्। तिनीहरूले परमेश्‍वरको घरको अगुवाइ स्विकार्दैनन्, परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरू स्विकार्दैनन्, र तिनीहरू परमेश्‍वरको घरका कुनै पनि बन्दोबस्त वा निर्देशनहरूमा समर्पित हुँदैनन्, मानिसहरूप्रतिका परमेश्‍वरका कुनै पनि मागहरूमा त झनै समर्पित हुँदैनन्। तर परमेश्‍वरका चुनिएका मानिसहरूलाई बहकाउन ख्रीष्टविरोधीहरूले गर्ने त्यस्ता सबै कार्यहरूलाई झूटा अगुवाहरूले समस्याका रूपमा लिँदैनन्। तिनीहरूले यी परिस्थितिहरूमा के गलत छ भन्‍ने कुरा देख्‍न सक्दैनन्, ख्रीष्टविरोधीहरूका शब्द, कार्य, विचार, र दृष्टिकोणहरूले मानिसहरूलाई कसरी बाधा दिन्छन्, बहकाउँछन्, र हानि गर्छन् भन्‍ने कुरा त झनै देख्न सक्दैनन्। तिनीहरूले यी नकारात्मक प्रभावहरू देख्‍न सक्दैनन् र तिनलाई खुट्ट्याउन जान्दैनन्। कति साधारण दाजुभाइ-दिदीबहिनीहरूले त धेरै कुरा देखेका र सुनेका हुनाले, तिनीहरूमा अलिकति खुट्ट्याउने क्षमता, समझशक्ति, र चेतना हुन सक्छ, तर झूटा अगुवाहरूले यी कुराहरू छर्लङ्गै देख्‍न सक्दैनन्। मानिसहरूलाई बहकाउन र पर्दापछाडि गुटबन्दी गर्न फलानाले निश्‍चित कुराहरू गरिरहेको छ भनेर कसैले औँल्याउँदा पनि, झूटा अगुवाहरूले यसो भन्दै बाधा दिन्छन्, “हामीले यी अभिव्यक्तिहरू फैलाउनु हुँदैन। बाधाहरू सिर्जना नगर। तिनीहरूको राम्रो सम्बन्ध छ—तिनीहरूले सँगै सङ्गति गर्नुमा के गलत छ र? हामीले मानिसहरूलाई स्वतन्त्रता दिनुपर्छ!” तिनीहरूले अझै पनि यो कुरा छर्लङ्ग देख्‍न सक्दैनन्। यदि तिनीहरूले कामकुरा छर्लङ्ग देख्‍न सक्दैनन् भने, तिनीहरूले सत्यता बुझेका र केही समझशक्ति भएका दाजुभाइ-दिदीबहिनीहरूसँग अवलोकन र खोजी, अनि सङ्गति गर्न सक्नेथिए। तर, झूटा अगुवाहरू निकै आत्मधर्मी हुन्छन्। दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई स्मरण गराउँदा, तिनीहरूले यो कुरा स्विकार्दैनन्, बरु यस्तो सोच्छन्, “तिमी अगुवा कि म? मलाई अगुवाको रूपमा छनौट गरिएको हुनाले, मैले साधारण व्यक्तिले भन्दा राम्ररी सत्यता बुझेको हुनुपर्छ। नत्रभने, किन अरू कसैको सट्टा मलाई नै छनौट गरियो त? यसले म तिमीहरूभन्दा राम्रो छु भन्‍ने प्रमाणित गर्छ। म तिमीहरूभन्दा जेठो भए पनि वा जवान भए पनि, मेरो क्षमता पक्‍कै तिमीहरूको भन्दा राम्रो छ। जब कुनै ख्रीष्टविरोधी देखा पर्छ, तब उसलाई पहिचान गर्ने पहिलो व्यक्ति मै हुनुपर्छ। यदि तिमीहरूले सुरुमा तिनीहरूलाई पहिचान गर्‍यो भने, म तिमीहरूले गरेको मूल्याङ्कनसँग सहमत हुनेछैनँ। मैले तिनीहरूलाई पहिचान गरेपछि मात्र हामी कुनै पनि काम गर्नेछौँ!” परिणामस्वरूप, ख्रीष्टविरोधीले दाजुभाइ-दिदीबहिनीहरूमाझ धेरै विधर्म र भ्रमहरू फैलाउँछ, परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरूको खुलेआम प्रतिरोध गर्छ, र मण्डली, परमेश्‍वरको घर, र माथिका कार्य बन्दोबस्तहरूविरुद्ध खुलेआम होहल्ला र विरोध गर्छ। त्यो ख्रीष्टविरोधीले खुला रूपमा दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो पक्षमा ल्याएर विशेष भेलाहरूमा सहभागी गराउनेसमेत गर्छ, जहाँ सहभागीहरूले ख्रीष्टविरोधी आफैले प्रचार गरेको कुरा मात्र सुन्छन् र उसको अगुवाइ मात्र स्विकार्छन्। मण्डलीका सबैभन्दा कमजोर क्षमता भएका मानिसहरूले पनि यो व्यक्ति ख्रीष्टविरोधी हो भनेर देख्‍न सक्छन्। यस्तो अवस्थामा मात्रै झूटा अगुवाहरूले यो कुरा स्विकार्छन्: “अहो, ऊ त ख्रीष्टविरोधी पो रहेछ! मैले कसरी भर्खरै मात्रै यो कुरा महसुस गरेँ? होइन, मैले पहिले नै यो कुरा महसुस गरेको थिएँ, तर दाजुभाइ-दिदीबहिनीहरूको कद सानो छ र तिनीहरूमा समझशक्तिको कमी छ भन्‍ने डरले केही पनि भनेको थिइनँ।” तिनीहरूले आफ्ना लागि भयङ्कर झूटसमेत बनाउँछन्। तिनीहरू आफै चेतनाशून्य, मूर्ख र कमजोर क्षमताका भएकाले, र ख्रीष्टविरोधीलाई खुट्ट्याउन असक्षम भएकाले तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूबाट धेरै हानि भोग्न दिएका हुन् भन्‍ने कुरा प्रस्टै छ। तिनीहरूले दोषी महसुस गर्नुको सट्टा, दाजुभाइ-दिदीबहिनीहरूलाई व्यर्थका कुराहरू बोलेको, आधारहीन अफवाहहरू फैलाएको, मानिसहरूलाई गलत रूपमा बुझेको, आदि इत्यादि भनेर दोष दिन्छन्। यो कस्तो अगुवा हो? के तिनीहरू पूर्ण रूपमा अलमल्ल छैनन् र? त्यस्तो अगुवा मण्डलीको कामको जिम्मेवारी लिन आधारभूत रूपमा असमर्थ हुन्छ। सतही रूपमा त तिनीहरूले प्रायजसो परमेश्‍वरका वचनहरू खान्छन्-पिउँछन्, प्रार्थना गर्छन्, भेलाहरूमा सहभागिता जनाउँछन्, प्रवचनहरू सुन्छन्, आत्मिक टिपोटहरू लेख्छन्, र गवाही लेखहरू लेख्छन्, जसले गर्दा तिनीहरूले धेरै मेहनत लगाएका छन् जस्तो देखिन्छ, तर समस्याहरू देखा पर्दा, तिनीहरूले तिनलाई समाधान गर्न सक्दैनन्, परमेश्‍वरका वचनहरूअनुसार सत्यता खोजी गर्न सक्दैनन्, र अवश्य नै परमेश्‍वरका वचनहरूका आधारमा ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन पनि सक्दैनन्। झूटा अगुवाहरूले सामान्यतया एक-दुई घण्टा प्रचार गर्न सक्छन्, र परमेश्‍वरका वचनहरू र आफ्नै अनुभवहरू सङ्गति गर्दा तिनीहरूले अनवरत रूपमा फतफताइरहन सक्छन्, तर जब ख्रीष्टविरोधीहरूले विधर्म र भ्रमहरू फैलाउँछन्, दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउँछन् र मण्डलीको काममा बाधा दिन्छन्, तब तिनीहरूले भन्‍ने कुरा केही पनि हुँदैन र तिनीहरूले फिटिक्‍कै काम गर्दैनन्। तिनीहरूले कुनै पनि निवारक उपायहरू लागू गर्न वा दाजुभाइ-दिदीबहिनीहरूलाई ख्रीष्टविरोधीहरूका विधर्म र भ्रमहरू खुट्ट्याउन अगुवाइ गर्न नसक्‍ने मात्र होइन, तिनीहरूले त ख्रीष्टविरोधीहरूले ल्याएका बाधा र व्यवधानहरू देख्दा पनि तिनलाई खुलासा वा चिरफार गर्दैनन्, न त तिनीहरूले ख्रीष्टविरोधीहरूलाई काटछाँट नै गर्छन्; तिनीहरूले कुनै पनि काम गर्दै गर्दैनन्। त्यस्ता मानिसहरूको समस्या के हो? (तिनीहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ।) आफ्नो कमजोर क्षमताका बाबजुद तिनीहरूले अझै आफू आत्मिक मानिस, असल अगुवा, र सत्यता पछ्याउने र परमेश्‍वरका वचनहरूलाई प्रेम गर्ने मान्छे भएको घमन्ड गर्छन्, र तिनीहरूले लाजमर्दो रूपमा आफूले अगुवा र कामदारका जिम्मेवारीहरू पूरा गर्न पारिवारिक र दैहिक सुखहरू त्यागेको दाबी पनि गर्छन्। वास्तवमा, तिनीहरू कट्टर अगुवा हुन् जो गैरजिम्मेवार, विवेक र समझरहित, र धेरै हदसम्‍म चेतनाशून्य र मूर्ख छन्—तिनीहरू पक्‍का ढोँगी फरिसी हुन्। तिनीहरूलाई धर्मसिद्धान्तहरू कसरी प्रचार गर्ने र नाराहरू कसरी फलाक्‍ने भन्‍ने मात्रै थाहा हुन्छ। जब मानिसहरूले तिनीहरूलाई प्रश्‍नहरू सोध्छन्, तब तिनीहरूलाई बहकाउन तिनीहरूले अनवरत शास्त्रहरू प्रस्तुत गर्न सक्छन्, तर वास्तवमा तिनीहरूले सत्यता सिद्धान्तहरू स्पष्ट रूपमा व्याख्या गर्न सक्दै सक्दैनन्। तैपनि, तिनीहरूले आफूमा बुझ्ने क्षमता र सत्यताको बुझाइ भएको ठान्छन्। तिनीहरूलाई हृदयमा स्पष्ट थाहा हुन्छ कि मानिसहरूले तिनीहरूबाट समस्याका समाधानहरू खोज्दा तिनीहरूले सत्यताअनुरूपका उत्तरहरू प्रदान गर्न सक्दैनन्, तैपनि तिनीहरूले अझै आफू असल अगुवा र आत्मिक मानिस भएको नाटक गर्छन्। के यो अलि निर्लज्‍ज कुरा होइन र? (हो।) धेरैजसो झूटा अगुवाहरूमा एउटा साझा विशेषता र एउटा साझा समस्या हुन्छ: निर्लज्‍ज हुनु। तिनीहरू अगुवाको हैसियत र पद हुनु र आत्मिक शास्त्रहरूबारे कुरा गर्न सक्नुले तिनीहरूलाई आत्मिक व्यक्ति तुल्याउँछ भन्‍ने सोच्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरू खानेपिउने, प्रवचनहरू सुन्‍ने, र परमेश्‍वरको घरका भिडियोहरू हेर्ने कार्यमा अरूले भन्दा बढी समय बिताउँछन्, र परमेश्‍वरका वचनहरूबारे अरूसँग अझै धेरै सङ्गति गर्छन्, त्यसकारण तिनीहरू आफूले अगुवा र कामदारहरूको काम गर्न र अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्न सक्ने विश्‍वास गर्छन्। तर तथ्य के हो भने, जब ख्रीष्टविरोधीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई कुनै हिचकिचाहटविना बहकाउने र बाधा दिने मुख्य समस्या उत्पन्न हुन्छ, तब तिनीहरूले हेरी मात्र रहन्छन्, केही गर्न सक्दैनन्, र ख्रीष्टविरोधीहरूसँग जोडेर हेर्न र तिनीहरूलाई चिरफार गर्नका लागि परमेश्‍वरका वचनहरूका कुन-कुन भागहरू प्रयोग गर्ने, ताकि दाजुभाइ-दिदीबहिनीहरूले समझशक्ति प्राप्त गरून्, ख्रीष्टविरोधीहरूलाई हृदयदेखि इन्कारून्, र तिनीहरूको बहकाउ र नियन्त्रणमा नपरून् भन्‍नेबारे तिनीहरूलाई थाहै हुँदैन। कहिलेकाहीँ तिनीहरू भित्री रूपमा अलिक अत्तालिन्छन्, तैपनि अझै आफूले परमेश्‍वरमा धेरै वर्षदेखि विश्‍वास गरेको छु र धेरै प्रवचन सुनेको छु, आफूले साधारण व्यक्तिले भन्दा राम्ररी सत्यता बुझेको छु र धाराप्रवाह रूपमा बोल्न सक्छु भन्‍ने सोच्छन्। तिनीहरूले प्रायजसो यसो भनेर घमण्ड गर्छन्: “म आत्मिक छु। म प्रचार गर्न सक्छु। मैले ख्रीष्टविरोधीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई बहकाउने र बाधा दिने समस्या समाधान गर्न नसक्‍ने भए पनि, र मैले परमेश्‍वरका वचनहरूलाई ख्रीष्टविरोधीहरूसँग जोडेर तिनीहरूलाई खुट्ट्याउन नसक्‍ने भए पनि, मैले गर्नुपर्ने काम गरेको छु र भन्‍नुपर्ने कुरा भनेको छु। दाजुभाइ-दिदीबहिनीहरूले बुझ्न सक्छन् भने भइहाल्यो नि!” जहाँसम्‍म अन्तिम परिणाम के हुनेछ, परमेश्‍वरका चुनिएका मानिसहरूलाई रक्षा गरिएको छ कि छैन भन्‍ने कुरा छ, यस कुरामा तिनीहरू हृदयमा प्रस्ट हुँदैनन्। तिनीहरूले आफूलाई चलाख पनि ठान्छन् र समस्याहरू समाधान गर्ने बहाना गर्छन्, तर अन्त्यमा तिनीहरूले समस्याहरू समाधान नै नगरी धेरै शब्द र धर्मसिद्धान्तहरू मात्र बोल्छन्। तिनीहरूले ख्रीष्टविरोधीहरूलाई खुलासा र चिरफार गर्नका लागि सत्यता सङ्गति गर्न सक्दैनन्। बरु, तिनीहरूले आफूलाई सही साबित गर्न र रक्षा गर्न केवल शब्द र धर्मसिद्धान्तहरू फलाक्छन्, एकदुई घण्टासम्म बोलेको बोल्यै गर्छन् र मानिसहरूलाई पूर्ण रूपमा अन्योल बनाउँछन्, र तिनीहरूले सुरुमा बुझेका कुराहरूसमेत अस्पष्ट पारिदिन्छन्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई ख्रीष्टविरोधीहरूको बहकाउबाट जोगाउन असफल हुन्छन्, र तिनीहरूले तिनीहरूलाई ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन र हृदयबाट इन्कार्न सक्षम तुल्याउन पनि सक्दैनन्—तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई रक्षा गर्ने परिणाम कहिल्यै हासिल गर्दैनन्। तिनीहरूले यस्तो परिणाम देख्‍न सके पनि आफूलाई अझै अगुवा नै मान्छन् र अरूसँग सत्यता खोजी गर्न आफूलाई नम्र तुल्याउने, वा समाधानहरू खोजी गर्न समस्याबारे माथि रिपोर्ट गर्ने काम गर्दैनन्। के त्यस्ता मानिसहरू दुर्जन होइनन् र? तँ केही पनि होइनस्, तैपनि तैँले नाटक गर्छस्। तैँले केका लागि नाटक गरिरहेको छस्? तँ अगुवा हुन सक्दैनस्, त्यसकारण तैँले पद छोड्नुपर्छ, र अरू कतै गएर नाटक गर्नुपर्छ। तैँले परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्नु हुँदै हुँदैन! तैँले नाटक गरिरहेको बेला, ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बाधा दिने र नियन्त्रण गर्ने धेरै दुष्ट कामकुरा गर्ने अवसर छोप्छन्, र यसरी धेरैलाई बहकाउँछन् र हानि गर्छन्! यसको जिम्मेवारी कसले लिनेछ? जिम्मेवार को हो भन्‍ने कुरा परमेश्‍वरको घरले पत्ता लगाउनेछ!

कति अगुवा र कामदारहरूले ख्रीष्टविरोधी घटनाहरू सम्हाल्दा कुनै वास्तविक काम गर्दैनन्, र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन पनि सक्दैनन्। ख्रीष्टविरोधीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाएको र नियन्त्रण गरेको अवधिमा, तिनीहरूले कहिल्यै पनि ख्रीष्टविरोधीहरूका दुष्ट कार्यहरू र सारलाई साँचो रूपमा खुलासा गर्दैनन्, न त तिनीहरूले तिनलाई स्पष्ट रूपमा व्याख्या नै गर्न सक्छन्। पछि, समझशक्ति भएका परमेश्‍वरका चुनिएका केही मानिसहरूले ख्रीष्टविरोधीहरूलाई खुलासा र निष्कासन गर्छन्, र यी झूटा अगुवाहरूले यो तिनीहरूको आफ्नै उपलब्धि हो भन्‍ने सोच्छन्। ख्रीष्टविरोधीहरूलाई निष्कासित गरिएपछि, तिनीहरूले सारांश बनाउँछन् र केही धर्मसिद्धान्त ओकल्छन्: “हेर्नुहोस् त, जब ख्रीष्टविरोधीहरूले बोल्छन् र व्यवहार गर्छन्, तब मण्डली जीवन असामान्य बन्छ, मानिसहरूलाई बाधा हुन्छ, र तिनीहरूले आफ्नो जीवनमा घाटा भोग्छन्। ख्रीष्टविरोधीहरूको हानिबाट जोगिनका लागि, हामीले ख्रीष्टविरोधीहरूको व्यवहार, बोली, मानवता, सार, आदि इत्यादि कुरा खुट्ट्याउनैपर्छ—हामीले यी सबै कुरा बुझ्नुपर्छ। हामीले आफूलाई सत्यताले सुसज्जित गर्न, समझशक्ति बढाउन, र हाम्रो कद सक्दो चाँडो बढाउन सकौँ भनेर परमेश्‍वरले मण्डलीमा ख्रीष्टविरोधीहरूलाई देखा पर्न दिनुहुन्छ, र तिनीहरूलाई कामकुरा गर्न र आफ्नै कुरूपता खुलासा गर्न दिनुहुन्छ, र यसरी ख्रीष्टविरोधीहरू प्रकट हुन्छन्—यसमा परमेश्‍वरका अभिप्रायहरू हुन्छन्! अब हामीले ख्रीष्टविरोधीहरूलाई खुट्ट्याएका छौँ र हामी तिनीहरूको बन्धनमा छैनौँ; सबैले तिनीहरूलाई इन्कार्न सक्छन्। यो उत्सव मनाउन लायक कुरा हो!” अन्त्यमा, झूटा अगुवाहरूले अधिकारीको शैलीमा बोल्छन् र आफ्नो सारांश प्रस्तुत गर्छन्, तिनीहरूले धेरै वास्तविक काम गरेका छन्, ठूलो मूल्य चुकाएका छन्, र ख्रीष्टविरोधीहरूलाई निष्कासित गर्न महत्त्वपूर्ण भूमिका खेलेका जस्तो गरी बोल्छन्। के यो अलिक लाजमर्दो कुरा होइन र? स्पष्ट रूपमा, सुरुदेखि अन्त्यसम्मै, तिनीहरूले ख्रीष्टविरोधी भनेको के हो भनेर खुट्ट्याउन सकेका हुँदैनन्; ख्रीष्टविरोधीहरूले कसरी मानिसहरूलाई बहकाउँछन्, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई के गर्छन्, वा ख्रीष्टविरोधीहरूको स्वभाव सार के हो भन्‍ने कुरा तिनीहरूले बुझेका हुँदैनन्, तैपनि तिनीहरूले धेरै काम गरेका छन् जस्तो नाटक गर्छन्। ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउने र मण्डलीबाट निष्कासित गर्ने दाजुभाइ-दिदीबहिनीहरू नै हुन् भन्‍ने कुरा स्पष्टै हुन्छ; झूटा अगुवाहरूले अगुवा र कामदारहरूले खेल्नुपर्ने भूमिका खेलेका छैनन् वा अगुवा र कामदारहरूको जिम्मेवारी पूरा गरेका छैनन् भन्‍ने कुरा स्पष्टै हुन्छ, तैपनि तिनीहरूले अझै पनि सारांश निकाल्छन् र श्रेय आफै लिन्छन्, मानौँ तिनीहरूले धेरै पहिले नै सबै कुराको योजना बनाएका थिए र अहिले तिनीहरूले आफ्ना कार्यहरूले परिणाम ल्याएका छन् र ती निकै सफल भए भनेर दाजुभाइ-दिदीबहिनीहरूलाई बताइरहेका छन्। के यो लाजमर्दो कुरा होइन र? तँ किन यस्तो अधिकारीको भावले बोलिरहेको छस्? तँ कुनै वास्तविक काम गर्दैनस् र पनि अधिकारी जस्तै बोल्छस्। के तँ ठूलो रातो अजिङ्गरको अधिकारी होस्? के त्यस्ता मानिसहरू फरिसी होइनन् र? (हुन्।) तिनीहरूलाई नाराहरू कसरी फलाक्‍ने र धर्मसिद्धान्तहरू कसरी प्रचार गर्ने भन्‍ने मात्रै थाहा हुन्छ। जब परिस्थितिहरू आइपर्छन्, तब तिनीहरूले ती कुराहरूलाई सही रूपमा लिन नसक्‍ने मात्र होइन, तिनीहरूसँग त अभ्यासको कुनै मार्ग पनि हुँदैन। तिनीहरूले केवल बकबास बोल्छन् र अन्धाधुन्ध प्रावधानहरू लागू गर्छन्; तिनीहरूले मूलतः कुनै पनि समस्या समाधान गर्न सक्दैनन्। कुरा बितिसकेपछि, तिनीहरूले केही नभएजस्तो व्यवहार गर्छन्, आफू असल मानिस भएको नाटक गर्छन्, र निर्धक्क रूपमा लाज नमानी श्रेय आफै लिन्छन्। यी मानिसहरू पक्‍का फरिसी हुन्। तिनीहरूले धर्मसिद्धान्तहरू प्रचार गर्न, नाराहरू फलाक्‍न, केही मेहनत लगाउन, र केही कष्ट सहन मात्रै सक्छन्, तर कुनै पनि वास्तविक काम गर्न सक्दैनन्, तैपनि तिनीहरूले अझै आफू आत्मिक मानिस भएको नाटक गर्छन्। तिनीहरू फरिसी हुन्। यस्तो झूटा अगुवाको सार यस्तै हुन्छ। तिनीहरूले सबैको अगाडि यति धेरै धर्मसिद्धान्त प्रचार गर्न सक्छन् भने किन ख्रीष्टविरोधीहरूलाई खुलासा गर्न र निराकरण गर्न सक्दैनन्? तिनीहरूले निरन्तर घण्टौँसम्म प्रचार गर्न सक्छन् र तिनीहरूसँग राम्रो वाक्पटुता हुन्छ, तर पनि वास्तविक समस्याहरू सामना गर्दा—विशेष गरी ख्रीष्टविरोधीहरूका दुष्ट कार्यहरू सामना गर्दा—तिनीहरूले किन ती कुराहरू सम्हाल्न सक्दैनन्, र तिनीहरू अक्‍क न बक्‍क हुन्छन्? यसको कारण के हो? किनभने तिनीहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ। कति कमजोर? तिनीहरूसँग आत्मिक बुझाइ हुँदैन। तिनीहरू शिक्षित र बुद्धिमानी हुन्छन्, बाहिरी मामलाहरू सम्हाल्न निकै चलाख हुन्छन्, र तिनीहरूले केही मात्रामा कानुन बुझेका हुन्छन्। तर, जब परमेश्‍वरमा विश्‍वास गर्ने मामलाहरू, आत्मिक मामलाहरू, र विभिन्‍न अत्यावश्यक सवालहरूको कुरा आउँछ, तब तिनीहरूले कुनै कुरा पनि खुट्ट्याउन र छर्लङ्ग देख्‍न सक्दैनन्, न त तिनीहरूले कुनै सत्यता सिद्धान्तहरू नै भेट्टाउन सक्छन्। जब कुनै समस्या हुँदैन, तब तिनीहरू बल्छी खेल्‍ने मछुवाले माछा पर्खेझैँ शान्त भएर बस्छन्, तर जब समस्याहरू देखा पर्छन्, तब तिनीहरूले हास्यास्पद पाखेजस्तै, तातो कराहीमा राखिएका कमिलाहरूजस्तै व्यवहार गर्छन्, र आफ्नो दयनीय रूप प्रकट गर्छन्। कहिलेकाहीँ तिनीहरू अत्यन्तै गम्भीर र गहन भएको नाटक गर्छन्। तिनीहरू गम्भीर नहुँदा सामान्य देखिन्छन्, तर जब तिनीहरू गम्भीर बन्छन्, तब यसले वास्तवमै मानिसहरूलाई हँसाउँछ। किनभने तिनीहरू गम्भीर हुँदा, तिनीहरूले भ्रमपूर्ण कुराहरू र आत्मिक बुझाइ नभएका शब्दहरूबाहेक अरू केही पनि बोल्दैनन्, र ती सबै अपरिपक्‍व टिप्पणी हुन्छन्। तैपनि, तिनीहरूले भावशून्य गम्भीरता देखाउँछन्—के यो हाँसउठ्दो कुरा होइन र? यदि कसैले तिनीहरूलाई केही महत्त्वपूर्ण प्रश्‍नहरू सोध्यो भने, तिनीहरू अलमल्ल हुन्छन् र केही बोल्न सक्दैनन्, र तिनीहरू अत्यन्तै लज्जित देखिन्छन्। त्यस्ता झूटा अगुवाहरू धेरै छन्। तिनीहरूको प्रमुख प्रकटीकरण कमजोर क्षमता हुनु र आत्मिक बुझाइ नहुनु हो; तिनीहरू अन्योलमा परेका मानिस हुन्। आत्मिक बुझाइ नहुनु भनेको के हो? जब आत्मिक मामलाहरू र सत्यतासँग सम्बन्धित मामलाहरूको कुरा आउँछ, तब लाग्छ कि तिनीहरू प्राचीन ग्रीक भाषा अनुवाद गर्न खोजिरहेका छन्—तिनीहरूले त्यो केही पनि बुझ्दैनन्। तैपनि, तिनीहरूले अझै यसो भन्दै नाटक गर्छन्, “म आत्मिक छु। मैले लामो समय परमेश्‍वरमा विश्‍वास गरेको छु। म धेरै सत्यताहरू बुझ्छु। तिमीहरू त नयाँ विश्‍वासी हौ, तिमीहरूले भर्खरै परमेश्‍वरमा विश्‍वास गर्न थालेका छौ र सत्यता बुझ्दैनौ। तिमीहरू भरपर्दा छैनौ।” तिनीहरूले आफूलाई सधैँ परमेश्‍वरमा लामो समय विश्‍वास गरेको र सत्यता बुझेको व्यक्ति ठान्छन्। त्यस्ता मानिसहरू घृणास्पद र हास्यास्पद दुवै हुन्छन्। त्यस्ता झूटा अगुवाहरूका प्रकटीकरणहरूबारेको सङ्गति यहीँ समाप्त हुन्छ।

इ. ख्रीष्टविरोधीहरूको सुरक्षा छाताको रूपमा काम गर्नु

अर्को प्रकारका झूटा अगुवा अझै घृणित हुन्छन्। तिनीहरू ख्रीष्टविरोधीहरूलाई खुलासा गर्न असफल हुने मात्र होइन, बरु तिनीहरूको सुरक्षा छाताका रूपमा पनि काम गर्छन्, प्रेमिलो सहयोगको निहुँ पारेर तिनीहरूले मण्डलीको काममा बाधा दिने ती ख्रीष्टविरोधीहरूका दुष्ट कार्यहरूलाई आड दिन्छन्। मानिसहरूलाई बहकाउन ख्रीष्टविरोधीहरूले जति नै धेरै भ्रमहरू फैलाए पनि ती झूटा अगुवाहरूले ख्रीष्टविरोधीहरूलाई खण्डन वा खुलासा नगर्ने मात्र नभई, तिनीहरूलाई स्वतन्त्र रूपमा आफ्नो दृष्टिकोण व्यक्त गर्ने र बोल्ने अवसरहरूसमेत प्रदान गर्छन्। परमेश्‍वरका चुनिएका मानिसहरूले जस्तोसुकै बाधा, बहकाउ, वा हानि भोगे पनि तिनीहरू उदासीन नै रहन्छन्। “यी व्यक्तिहरू ख्रीष्टविरोधी हुन्। यिनीहरू परमेश्‍वरको घरले प्रतिबन्धित गर्नुपर्ने मानिस हुन्; यिनीहरूलाई प्रवर्द्धन वा संवर्धन गर्नु हुँदैन, र अवश्य नै यिनीहरूलाई सुरक्षा पनि दिनु हुँदैन। यिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई पर्याप्त रूपमा हानि गरेका छन्। यिनीहरूसँग हिसाबकिताब गरेर यिनीहरूलाई पूर्ण रूपमा खुलासा र निराकरण गर्ने समय आएको छ” भनेर कति मानिसहरूले औँल्याउँदा पनि झूटा अगुवाहरू ख्रीष्टविरोधीहरूकै पक्षमा बोल्न अघि सर्छन्। ख्रीष्टविरोधीहरूको उमेर, परमेश्‍वरमा विश्‍वास गरेका वर्षहरू, र पहिलेका योगदानजस्ता कुराहरू ध्यानमा राख्दा, तिनीहरूले आफ्‍ना पक्षमा बोल्न र आफ्‍नो रक्षा गर्न विभिन्‍न बहानाहरू प्रयोग गर्छन्। जब माथिल्लो तहका अगुवाहरू काम निरीक्षण गर्न वा ख्रीष्टविरोधीहरूलाई निराकरण गर्न जान्छन्, तब झूटा अगुवाहरूले ख्रीष्टविरोधीहरूका दुष्ट कार्यहरूका तथ्यहरू माथिकहाँ रिपोर्ट गर्नबाट दाजुभाइ-दिदीबहिनीहरूलाई रोक्छन्। तिनीहरूले माथिल्लो तहका अगुवाहरूलाई ख्रीष्टविरोधीहरूले मण्डलीमा बाधा दिइरहेका छन् भन्‍नेबारे थाहा नहोस् भनेर मण्डली बन्द गर्ने उपायहरूसमेत अपनाउँछन्, र तिनीहरूले समझशक्ति भएका दाजुभाइ-दिदीबहिनीहरूलाई पनि ख्रीष्टविरोधीहरूलाई खुलासा गर्नबाट रोक्छन्। झूटा अगुवाहरूले ख्रीष्टविरोधीहरूको सुरक्षा छाताका रूपमा काम गर्नका लागि जस्तोसुकै बहानाहरू प्रयोग गरे पनि वा तिनीहरूको उद्देश्य जेसुकै भए पनि, त्यसो गर्दा तिनीहरूले अन्ततः मण्डली र परमेश्‍वरका चुनिएका मानिसहरूको हितमाथि विश्वासघात गरेर ख्रीष्टविरोधीहरूका हितहरूको रक्षा गरिरहेका हुन्छन्। तिनीहरूले ख्रीष्टविरोधीहरूलाई रक्षा गर्न विभिन्‍न बहानाहरू प्रयोग गर्छन्, जस्तै “ख्रीष्टविरोधीहरूले पनि परमेश्‍वरमा विश्‍वास गर्छन् र तिनीहरूसँग पनि परमेश्‍वरको घरमा बोल्ने अधिकार छ” र “तिनीहरूले पहिले खतरनाक कर्तव्यहरू पूरा गरेका छन्; परमेश्‍वरको घरले तिनीहरूको विगतका योगदानहरूलाई ख्याल गर्नुपर्छ।” तिनीहरूले ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउनबाट दाजुभाइ-दिदीबहिनीहरूलाई रोक्छन् र माथिल्लो तहका अगुवाहरूलाई तिनीहरूका विभिन्‍न दुष्ट कार्यहरूबारे जान्‍न दिँदैनन्, र यसका साथै तिनीहरूले आफै पनि ख्रीष्टविरोधीहरूलाई खुलासा गर्दैनन् र अवश्य नै तिनीहरूलाई काटछाँट पनि गर्दैनन्। यी ख्रीष्टविरोधीहरू तिनीहरूको परिवारका सदस्य, नजिकका साथी हुन सक्छन्, वा अझै बढी तिनीहरूले आदर्श मान्‍ने र तिनीहरूलाई भावनात्मक रूपमा त्याग्‍न लाग्ने मानिसहरू हुन सक्छन्। अवस्था जस्तोसुकै होस्, यदि यी मानिसहरू ख्रीष्टविरोधी हुन् भनेर थाहा भएर पनि तिनीहरूले अझै ती मानिसका दुष्ट कार्यहरूको प्रतिरक्षा गर्छन्, र अरूलाई तिनीहरूप्रति प्रेमका साथ व्यवहार गर्न लगाउँछन्, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई बहकाउन र बाधा दिन ख्रीष्टविरोधीहरूलाई विभिन्‍न भ्रमहरू फैलाउने अवसरहरू प्रदान गर्न विभिन्‍न उपायहरूसमेत प्रयोग गर्छन् भने, यी प्रकटीकरणहरूले देखाउँछन् कि तिनीहरूले ख्रीष्टविरोधीहरूको सुरक्षा छाताकै रूपमा काम गरिरहेका छन्। कति झूटा अगुवाहरूले अरू क्षेत्रमा थोरथोरै वास्तविक काम गरेका हुन सक्छन्, तर जब ख्रीष्टविरोधीहरूलाई निराकरण गर्ने कुरा आउँछ, तब तिनीहरूले परमेश्‍वरको घरका मागहरूअनुसार तिनीहरूलाई सम्हाल्ने गर्दैनन्। अझ बढी, तिनीहरूले परमेश्‍वरको घरले तोकेअनुसार अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्दैनन्—तिनीहरूले मण्डलीका मानिसहरूलाई बहकाउन धारणा, नकारात्मक भावना, विधर्म, र भ्रमहरू फैलाउनबाट ख्रीष्टविरोधीहरूलाई सबैभन्दा बढी हदसम्‍म रोक्‍ने गर्दैनन्। यसको साटो, तिनीहरूले प्रायजसो ख्रीष्टविरोधीहरूले बोल्ने मिथ्या धर्मसिद्धान्तहरू, साथै ज्ञान वा शैतानको दर्शनमा आधारित तिनीहरूका अभिव्यक्ति र टिप्पणीहरूलाई सकारात्मक कुराका रूपमा लिन्छन्। यी सबै ख्रीष्टविरोधीहरूका लागि सुरक्षा छाताको रूपमा काम गर्ने तिनीहरूका कार्यका प्रकटीकरणहरू हुन्। अवश्य नै, कति झूटा अगुवाहरू त यस्ता पनि हुन्छन्, जसले ख्रीष्टविरोधीहरूलाई निराकरण गर्दैनन् किनभने तिनीहरूले समाजमा ख्रीष्टविरोधीहरूको प्रभावलाई महत्त्व दिन्छन्। तिनीहरूले भन्छन्, “धेरैजसो दाजुभाइ-दिदीबहिनीहरू समाजको तल्लो तहबाट आएका हुन्छन् र तिनीहरूको कुनै प्रभाव हुँदैन। यो व्यक्ति दुष्ट मानवता भएको ख्रीष्टविरोधी भए पनि संसारमा उसको शक्ति र प्रभाव छ र ऊ सक्षम छ। जब दाजुभाइ-दिदीबहिनीहरू वा मण्डलीलाई खतरा आइपर्छ, तब के हामीलाई अगाडि आएर रक्षा गर्ने एउटा शक्तिशाली व्यक्ति चाहिँदैन र? त्यसकारण, हामी तिनीहरूका गलत कार्यप्रति आँखा चिम्लिदिऊँ र यसबारे त्यति गम्भीर नबनौँ।” झूटा अगुवाहरू ख्रीष्टविरोधीहरूका लागि सुरक्षा छाताका रूपमा काम गर्न तयार हुन्छन् ताकि ख्रीष्टविरोधीहरूले तिनीहरूको पक्षमा खडा भएर तिनीहरूलाई साथ दिऊन्—यो पनि झूटा अगुवाहरूको स्तरभन्दा तल हुँदैन। कति झूटा अगुवाहरू यस्ता पनि हुन्छन् जसले गलत दृष्टिकोण पालेरै राखेका हुन्छन्। तिनीहरूले भन्छन्, “समाजमा केही ख्रीष्टविरोधीहरूको हैसियत र प्रभाव हुन्छ; तिनीहरूको प्रतिष्ठा हुन्छ। हाम्रो मण्डलीमा त्यस्ता दुई व्यक्तिहरू छन्। तिनीहरू ख्रीष्टविरोधी नै भए पनि, यदि हामीले तिनीहरूलाई निकाल्यौँ भने, मानिसहरूले हाम्रो मण्डलीमा कुनै सक्षम मानिसहरू छैनन् भन्‍ने सोच्नेछन्, र धार्मिक वृत्तका मानिसहरूले हामीलाई हेला गर्नेछन्। हामीले देखाउनकै लागि भए पनि तिनीहरूलाई राख्‍नुपर्छ। त्यसकारण, यी दुई जना मानिसहरू हाम्रो मण्डलीका खजाना हुन्; कसैले पनि तिनीहरूलाई खुट्ट्याउनु वा निकाल्नु हुँदैन। तिनीहरूलाई रक्षा गरिनुपर्छ।” यो कस्तो तर्क हो? तिनीहरूले ख्रीष्टविरोधीहरूलाई प्रतिभाका रूपमा लिन्छन्, त्यसकारण तिनीहरूलाई रक्षा गर्छन्। के यी झूटा अगुवाहरू दुर्जन होइनन् र? (हुन्।) परिस्थितिहरू जस्तोसुकै होस्, यदि अगुवा र कामदारहरूले ख्रीष्टविरोधीहरूलाई मण्डलीमा जे मन लाग्यो त्यो गर्न र मण्डलीको काममा बाधा दिन दिन्छन् भने, तिनीहरू झूटा अगुवा र कामदार नै हुन्। ख्रीष्टविरोधी र दुष्ट मानिसहरूले जे-जसरी भ्रमहरू फैलाए पनि, यसरी जति नै धेरै मानिसहरू बहकिए पनि, तिनीहरूले सकारात्मक व्यक्तित्वहरूलाई जे-जसरी आक्रमण र बहिष्कार गरे पनि, र तिनीहरूले परमेश्‍वरका चुनिएका जतिसुकै मानिसहरूलाई हानि गरे पनि, झूटा अगुवाहरूले बेवास्ता गर्छन् र थाहा नपाएको नाटक गर्छन्—तिनीहरूलाई आफूलाई जोगाउन सके पुग्छ। झूटा अगुवाहरूका प्रमुख प्रकटीकरणहरू यिनै हुन्। ख्रीष्टविरोधीहरूले जे भने पनि वा जे गरे पनि, झूटा अगुवाहरूले तिनीहरूलाई खुलासा, चिरफार, र प्रतिबन्धित गर्दैनन्, जसले गर्दा दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई खुट्ट्याउन र इन्कार्न सक्दैनन्। यसको साटो, तिनीहरूले ख्रीष्टविरोधीहरूलाई आफ्नो घरपालुवा जनावरलाई जस्तै पालनपोषण गर्छन्, उच्चपदस्थ व्यक्तिहरूलाई जस्तै सेवा र सुरक्षा दिन्छन्, तिनीहरूलाई अनुमोदन गर्छन्, र तिनीहरूका लागि काम गर्ने विभिन्‍न अवसरहरू सिर्जना गर्छन्। ख्रीष्टविरोधीहरूलाई आफ्नो स्वतन्त्रताको पूर्ण उपयोग गर्न दिँदा कसका हितहरूको बलिदान दिइन्छ? (परमेश्‍वरका चुनिएका मानिसहरूका हितहरू।) झूटा अगुवाहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई रक्षा गर्न नसक्‍ने मात्र होइन, तिनीहरूले ख्रीष्टविरोधीहरूलाई मण्डली नियन्त्रण गर्न पनि दिन्छन्, दाजुभाइ-दिदीबहिनीहरूलाई गोरु र घोडाले जस्तै, र दासले जस्तै ख्रीष्टविरोधीहरूको सेवा गर्न लगाउँछन्, र तिनीहरूलाई ख्रीष्टविरोधीहरूको आदेश पालना गर्न, तिनीहरूका भ्रामक टिप्पणी, विचार र दृष्टिकोणहरू स्विकार्न, र तिनीहरूको नियन्त्रण स्विकार्न, र तिनीहरूले गर्ने गम्भीर हानिसमेत स्विकार्न, र आदि इत्यादि गर्न लगाउँछन्। झूटा अगुवाहरूले गर्ने काम यही हो। के तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई गम्भीर हानि गर्नबाट ख्रीष्टविरोधीहरूलाई सबैभन्दा बढी हदसम्‍म रोकिरहेका हुन्छन् त? के तिनीहरूले अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गरेका हुन्छन् त? के तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई रक्षा गर्ने काम गरेका हुन्छन्? (हुँदैनन्।) छोटकरीमा भन्दा, कारण जेसुकै भए पनि, कुनै काम नगरी ख्रीष्टविरोधीहरूलाई आफूले चाहेअनुसार गर्न अनुमोदन दिने जोकोही अगुवा झूटो अगुवा हो। तिनीहरू झूटा अगुवा हुन् भनेर म किन भन्छु? किनभने जब ख्रीष्टविरोधीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई बहकाउँछन् र नियन्त्रण गर्छन्, तब तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई ख्रीष्टविरोधीहरूबाट विभिन्‍न हानि भोग्‍न दिन्छन्, र यसरी तिनीहरू परमेश्‍वरले दिनुभएको आज्ञा पूरा गर्नमा असफल हुन्छन्। परमेश्‍वरको घरले परमेश्‍वरका भेडाहरू, अर्थात् परमेश्‍वरका चुनिएका मानिसहरू तँलाई सुम्पे, तर तैँले आफ्नो जिम्मेवारी पूरा गरिनस्। तँ परमेश्‍वरको आज्ञा वहन लायक छैनस्! तेरो कारण वा तेरो औचित्य जेसुकै भए पनि, यदि तेरो अगुवाइको कार्यकालमा तैँले ख्रीष्टविरोधीहरूका लागि सुरक्षा छाताका रूपमा काम गरिस्, र यसले गर्दा दाजुभाइ-दिदीबहिनीहरूले ख्रीष्टविरोधीहरूको बाधा, बहकाउ, नियन्त्रण, र गम्भीर हानिबाट अत्यन्तै धेरै कष्ट भोग्‍नुपरेको छ भने, तँ सदाका लागि पापी होस्। किनभने यो होइन कि तैँले ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन वा तिनीहरूको सार छर्लङ्ग देख्‍न सक्दैनस्—ख्रीष्टविरोधीहरू शैतान र दियाबलस हुन् भन्‍ने कुरा तँलाई हृदयमा स्पष्ट रूपमा थाहा छ, तैपनि तैँले परमेश्‍वरका चुनिएका मानिसहरूलाई तिनीहरूलाई खुलासा गर्न र खुट्ट्याउन दिँदैनस्। यसको साटो, तैँले दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूको कुरा सुन्‍न, स्विकार्न, र पालन गर्न लगाउँछस्। यो पूर्ण रूपमा सत्यताविपरीत कुरा हो। के यसले तँलाई सदाका लागि पापी बनाउँदैन र? (बनाउँछ।) तैँले इमानदारीका साथ आफ्नो कर्तव्य पूरा गर्ने र सत्यता पछ्याउनेहरूलाई रक्षा गर्न नसकेको मात्र होइन, तैँले ख्रीष्टविरोधीहरूलाई अगुवा र कामदारहरूको पदमा पनि बढुवा दिएको छस्, र तिनीहरूलाई घरपालुवा जनावरलाई जस्तै पालनपोषण गरेको छस् र दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूको आदेश पालन गर्न लगाएको छस्। परमेश्‍वरको घरले परमेश्‍वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीहरूका दास वा तेरा दासका रूपमा सेवा गर्न लगाउन होइन, बरु परमेश्‍वरका चुनिएका मानिसहरूलाई शैतान र ख्रीष्टविरोधीहरूविरुद्ध लड्न र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन र इन्कार्न अगुवाइ गर्न, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई सामान्य मण्डली जीवन जिउन, सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न, सत्यता वास्तविकतामा प्रवेश गर्न, र परमेश्‍वरको मार्गदर्शनमा परमेश्‍वरमा समर्पित हुन र उहाँको गवाही दिन मद्दत गर्नका लागि तँलाई जिम्मा लगाएको हो। यदि तैँले यो जिम्मेवारीसमेत पूरा गर्न सक्दैनस् भने, के तँ मानव कहलिन लायक छस् र? तर अझै पनि तँ ख्रीष्टविरोधीहरूलाई नै रक्षा गर्न चाहन्छस्। ख्रीष्टविरोधीहरू तेरा पुर्खा हुन् कि तेरा आदर्श हुन्? यदि तिनीहरूसँग तेरो रगतको सम्बन्ध नै भए पनि तैँले सत्यता सिद्धान्तहरू पालना गर्नुपर्छ र न्यायलाई परिवारभन्दा माथि राख्‍नुपर्छ। तैँले अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्ने कर्तव्य महसुस गर्न सक्‍नुपर्छ—ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने, खुट्टयाउने, र इन्कार्ने, र दाजुभाइ-दिदीबहिनीहरूलाई रक्षा गर्ने, र तिनीहरूलाई ख्रीष्टविरोधीहरूको हानिमा पर्नबाट रोक्न सक्दो प्रयास गर्ने गर्नुपर्छ। यो बफादारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नु र परमेश्‍वरको आज्ञा पूरा गर्नु हो; यसो गरे मात्रै तँलाई मानकअनुरूपको अगुवा वा कामदार भनेर भन्‍न सकिन्छ। यदि तैँले अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्न सकिनस् र स्वेच्छाले ख्रीष्टविरोधीहरूका लागि सुरक्षा छाताका रूपमा काम गरिस् भने, तँ सदाका लागि पापीबाहेक अरू के नै हुन सक्छस्? ख्रीष्टविरोधीहरूका लागि सुरक्षा छाताका रूपमा काम गर्ने झूटा अगुवाहरूबारेको सङ्गति यहीँ समाप्त हुन्छ। त्यस्ता मानिसहरूलाई झूटा अगुवाहरूको सूचीमा राख्‍नु पटक्‍कै अन्यायपूर्ण होइन भन्ने कुरा प्रस्ट छ; यो त खाट्टी झूटा अगुवाहरूका प्रकटीकरणहरूमध्ये एक हो।

४. ख्रीष्टविरोधीहरूद्वारा बहकाइएका मानिसहरूका बारेमा वास्ता नगर्नु वा नसोध्नु

झूटा अगुवाहरूको अर्को प्रकटीकरण पनि छ जसले झनै क्रोधित तुल्याउँछ। कति झूटा अगुवाहरूले अन्तरक्रिया गर्ने क्रममा केही हदसम्‍म ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन सक्छन् तर तिनीहरूलाई तुरुन्तै निराकरण गर्न सक्दैनन्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूले ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन र इन्कार्न सकून् भनेर ख्रीष्टविरोधीहरूका विभिन्‍न व्यवहारहरूमार्फत तिनीहरूका दुष्ट कार्यहरू र सार तुरुन्तै खुलासा र चिरफार गर्न पनि असफल हुन्छन्। यो आफैमा अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा नगरेको ठहर्छ। केही दाजुभाइ-दिदीबहिनीहरू बहकाउमा पर्दा र ख्रीष्टविरोधीहरूको पछि लाग्दा, यी झूटा अगुवाहरू उदासीन रहन्छन्, मानौँ तिनीहरूसँग यसको कुनै सम्बन्ध नै छैन। यसका साथै, तिनीहरूले हृदयमा कुनै आत्मग्लानि वा आत्मदोष महसुस गर्दैनन्। तिनीहरू आफूले परमेश्‍वर वा दाजुभाइ-दिदीबहिनीहरूलाई निराश तुल्याएको छु भन्‍ने महसुस गर्दैनन्। बरु, तिनीहरूले प्रायजसो यो “उत्कृष्ट” हरफ बोलिरहन्छन्: “यी मानिसहरू ख्रीष्टविरोधीहरूद्वारा बहकाइएका थिए। तिनीहरू यसैको लायक थिए! समझशक्तिको कमी हुनु तिनीहरूको दोष हो। तिनीहरूले ख्रीष्टविरोधीहरूलाई नपछ्याएकै भए पनि, तिनीहरू परमेश्‍वरको घरले निकाल्ने निसाना बन्‍नेथिए।” ख्रीष्टविरोधीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाएपछि यी झूटा अगुवाहरूले कुनै आत्मग्लानि वा दोष महसुस नगर्ने मात्र होइन, अझै बढी त तिनीहरूले चिन्तन वा पश्चात्ताप समेत गर्दैनन्। बरु, तिनीहरूले यस्ता अमानवीय कुराहरू भन्छन्, र यी दाजुभाइ-दिदीबहिनीहरू ख्रीष्टविरोधीहरूको बहकाउमा पर्न लायक छन् भनेर दाबी गर्छन्। यी शब्दहरूबाट के देख्‍न सकिन्छ? के यी मानिसहरूसँग कुनै मानवता छ? (छैन।) तिनीहरूमा मानवताको कमी छ भन्‍ने कुरा निश्‍चित हो। त्यसोभए तिनीहरूले किन यी कुराहरू भन्छन्? (जिम्मेवारीबाट पछि हट्नलाई।) पहिलो, यो जिम्मेवारीबाट पछि हट्न, मानिसहरूलाई बहकाउन र मूर्ख तुल्याउनलाई हो। तिनीहरूले यस्तो विश्‍वास गर्छन्: “ती मानिसहरूमा समझशक्तिको कमी भएकाले ख्रीष्टविरोधीहरूले तिनीहरूलाई बहकाएका हुन्, र मसँग यसको कुनै सम्बन्ध छैन। तिनीहरूले सत्यता पछ्याएनन्, त्यसकारण तिनीहरू बहकाउमा पर्न लायकथिए!” “लायक थिए” भन्नुको अर्थ के हो? यसको अर्थ यी मानिसहरूलाई ख्रीष्टविरोधीहरूले बहकाउनुपर्छ र नियन्त्रण गर्नुपर्छ, र ख्रीष्टविरोधीहरूले तिनीहरूलाई गम्भीर रूपमा हानि गर्नुपर्छ—तिनीहरूले ख्रीष्टविरोधीहरूबाट जस्तोसुकै व्यवहार पाए पनि, तिनीहरू यसका लायक छन्; तिनीहरू ख्रीष्टविरोधीहरूलाई पछ्याउन लायक छन्। यसको तात्पर्य के हो भने यी मानिसहरूले परमेश्‍वरलाई पछ्याउनु हुँदैन बरु ख्रीष्टविरोधीहरूलाई पछ्याउनुपर्छ, परमेश्‍वरलाई पछ्याउनु तिनीहरूको गल्ती थियो, र परमेश्‍वरले तिनीहरूलाई छनौट गर्नु पनि गल्ती थियो, र तिनीहरू परमेश्‍वरको घरमा प्रवेश गरेका भए पनि, ख्रीष्टविरोधीहरूले तिनीहरूलाई बहकाउनु अपरिहार्य नै थियो। के झूटा अगुवाहरूको तात्पर्य यही होइन र? तिनीहरूले दाजुभाइदिदीबहिनीहरूलाई अपमान गर्ने मात्र होइन, परमेश्‍वरको पनि ईश्‍वरनिन्दा गर्छन्। के त्यस्ता मानिसहरू घृणास्पद हुँदैनन् र? (हुन्छन्।) तिनीहरू अत्यन्तै घृणास्पद हुन्छन्! तिनीहरू जिम्‍मेवारीबाट पछि हट्ने र आफूले दाजुभाइ-दिदीबहिनीहरूलाई रक्षा नगरेको तथ्य र सत्यतालाई ढाकछोप गर्ने बाहेक, तिनीहरूले यी मानिसहरू ख्रीष्टविरोधीहरूको बहकाउमा पर्न लायक छन् र परमेश्‍वरमा विश्‍वास गर्न र परमेश्‍वरको मुक्ति प्राप्त गर्न लायक छैनन् भनेर तिनीहरूलाई आक्रमण समेत गर्छन्। यो एउटा अभिव्यक्तिले तिनीहरूको चरित्र कति दुष्ट छ भन्‍ने कुरा प्रकट गर्छ! तिनीहरूले ख्रीष्टविरोधीहरूले जस्तो प्रत्यक्ष रूपमा दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा दिएनन्, बहकाएनन्, वा दमन गरेनन्, तर दाजुभाइ-दिदीबहिनीहरूप्रति, परमेश्‍वरको आज्ञाप्रति, र परमेश्‍वरको घरले तिनीहरूलाई सुम्पिएको बगालप्रतिको तिनीहरूको मनोवृत्तिले तिनीहरू साँच्‍चै कति निर्दयी र क्रूर छन् भन्‍ने कुरा देखाउँछ! परमेश्‍वरको कामलाई स्वीकार गर्ने कसैले पनि त्यो त्यति सजिलै गरेको हुँदैन; यसमा सुसमाचार प्रचार गर्ने मानिसहरूको त्याग र सहयोग समावेश हुन्छ। यसका लागि धेरै जनशक्ति र स्रोतसाधनहरू खर्च हुन्छ, र, अझै बढी, यसमा परमेश्‍वरको रगत-पसिना लागेको हुन्छ। मानिसहरूलाई परमेश्‍वरसामु ल्याउनका लागि उहाँले नै विभिन्‍न मानिस, घटना, कामकुरा, र वातावरणहरू मिलाउनुहुन्छ। झूटा अगुवाहरूले यीमध्ये कुनै पनि कुरालाई ध्यान दिँदैनन्। ख्रीष्टविरोधीहरूले जोसुकैलाई बहकाए पनि, तिनीहरूले यसलाई एउटै वाक्यांशले खारेज गर्छन्: “तिनीहरू यसका लायक थिए!” त्यसो गरेर, तिनीहरूले संलग्‍न हुने सबैको मेहनत र परमेश्‍वरको रगत-पसिनालाई माटोमा मिलाउँछन्, र यसलाई व्यर्थ तुल्याउँछन्। “तिनीहरू यसका लायक थिए” भन्‍नुको अर्थ के हो? यसको अर्थ, “तिनीहरूलाई सुसमाचार प्रचार गर्नू भनेर तिमीलाई कसले भन्यो? तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्न लायक छैनन्। तिनीहरूलाई सुसमाचार प्रचार गर्नु गल्ती थियो। ख्रीष्टविरोधीहरूलाई पछ्याउनू भनेर तिनीहरूलाई कसले भनेको थियो? मैले कुनै वास्तविक काम नगरे पनि, मैले तिनीहरूलाई ख्रीष्टविरोधीहरूलाई पछ्याउन पनि लगाइनँ। तिनीहरूले आफै जिद्दी गरे; तिनीहरू ख्रीष्टविरोधीहरूलाई पछ्याउन लायक थिए!” यस्तो व्यक्तिमा कस्तो मानवता हुन्छ? के उसमा कुनै हृदय हुन्छ? ऊ त निर्दयी पशु हो, जो पाल्तु कुकुरभन्दा खराब हुन्छ, तैपनि ऊ अगुवा हो? ऊ अयोग्य छ! तिमीहरूसँग खुट्ट्याउने शक्ति हुनैपर्छ: त्यस्ता मानिसहरूमा विवेक र चेतनाको कमी छ र तिनीहरू यति कठोर छन् भन्‍ने देखेपछि, तैँले तिनीहरूलाई अगुवाका रूपमा छनौट गर्नु हुँदैन। अलमल्ल नहो! तिनीहरूले घाटा पूर्ति गर्न र ख्रीष्ट-विरोधीहरूद्वारा बहकाइएका मानिसहरूलाई फिर्ता ल्याउन सक्दो प्रयास गर्न नसक्‍ने मात्र होइन, तिनीहरूले यस्ता निर्दयी कुराहरू पनि भन्छन्—तिनीहरू अत्यन्तै दुर्भावनापूर्ण हुन्छन्! यस्तो व्यक्तिको समस्या औसत झूटो अगुवाको भन्दा पनि गम्भीर प्रकृतिको हुन्छ। तिनीहरूलाई ख्रीष्टविरोधीका रूपमा लिन नसकिने भए पनि, तिनीहरूका प्रकटीकरणहरूका आधारमा हेर्दा, तिनीहरूमा कुनै मानवता हुँदैन र तिनीहरू अगुवा वा कामदार बन्‍न लायक हुँदैनन् भन्‍ने कुरा स्पष्ट छ। तिनीहरू कुरूप र अकृतज्ञ विश्‍वासघाती बाहेक केही पनि होइनन्! तिनीहरूलाई परमेश्‍वरको आज्ञा के हो भन्‍ने थाहा हुँदैन, न त तिनीहरूलाई आफूले कुन काम गर्नुपर्छ भन्‍ने बारेमा नै कुनै सचेतना हुन्छ। तिनीहरूले यसलाई विवेक र समझका साथ लिँदैनन्; तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरूको अगुवा बन्‍न र परमेश्‍वरको आज्ञा स्वीकार गर्न लायक हुँदैनन्। विशेष गरी, झूटा अगुवाहरूमा परमेश्‍वरका चुनिएका मानिसहरूप्रति कुनै प्रेम हुँदैन। जब दाजुभाइ-दिदीबहिनीहरू बहकाउमा पर्छन्, तब उनीहरू निराश हुँदा तिनीहरूले उनीहरूलाई लात समेत मार्छन् र “तिनीहरू यसका लायक थिए” भन्ने जस्ता कुराहरू भन्छन्, र कुनै सहानुभूति देखाउँदैनन्। त्यस्तो व्यक्तिले, यदि कोही दुर्भाग्य वा कठिनाइहरूमा परिरहेको देख्यो भने, ऊ निराश हुँदा उसलाई मदत गर्दैन बरु लात हान्छ। तिनीहरूको विवेकले कुनै आत्मग्लानि महसुस गर्नेछैन, र तिनीहरू सधैँ जस्तै अगुवा बनिरहन्छन्। के यो लाजमर्दो कुरा होइन र? (हो।) दाजुभाइ-दिदीबहिनीहरूको त के कुरा गर्नु, यदि कुनै असल गैरविश्‍वासीलाई दियाबलसहरूले गम्भीर रूपमा हानि गरेको छ भने पनि, परमेश्‍वरको विश्‍वासी र सृजित प्राणी भएको नाताले, सामान्य मानवता भएको जोकोही व्यक्तिले सहानुभूति महसुस गर्छ; परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने दाजुभाइ-दिदीबहिनीहरूलाई नै ख्रीष्टविरोधीहरूले बहकाएका र हानि गरेका छन् भने त झन् तिनीहरूको हृदयमा कति धेरै पीडा हुनुपर्ने हो। ख्रीष्टविरोधीहरूले दुष्टता गर्दा र परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्दा यी झूटा अगुवाहरूले कुनै वास्तविक काम गर्दैनन्। तिनीहरूले ख्रीष्टविरोधीहरूका दुष्ट कार्यहरू र सारलाई खुलासा वा काटछाँट गर्दैनन्, तिनीहरूमा ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन र हृदयबाट इन्कार गर्न दाजुभाइ-दिदीबहिनीहरूलाई सहयोग गर्ने बोझको बोध त झनै हुँदैन। तिनीहरूले यस विषयमा कुनै जिम्मेवारीको बोध महसुस गर्दैनन्। कतिपय मानिसहरूलाई ख्रीष्टविरोधीहरूले बहकाउँदा पनि, तिनीहरूले कठोर भएर यस्तो निर्दयी टिप्पणी मात्रै गर्छन्, “तिनीहरू यसका लायक छन्।” यो साँच्‍चै नै क्रोधित पार्ने कुरा हो! जिम्मेवारीबाट पछि हट्न, आफूलाई रक्षा गर्न, अझै धेरै मानिसहरूलाई बहकाउन र मूर्ख बनाउन, र परमेश्‍वरद्वारा दोषी ठहरिनबाट जोगिनका लागि, तिनीहरूले यस्ता अमानवीय कुराहरू भन्छन्। के यो घृणास्पद कुरा होइन र? (हो।) तैँले जे भने पनि, तैँले आफ्नो जिम्मेवारी पूरा गरिनस्, र तैँले आफ्नो काम उचित रूपमा पूरा गरिनस्—यी झूटा अगुवाका प्रकटीकरणहरू हुन्; तैँले जति नै धेरै प्रयास गरे पनि यी कुराहरूलाई नकार्न सक्दैनस्। तँ झूटो अगुवा होस्।

कतिपय झूटा अगुवाहरूले कतिपय दाजुभाइ-दिदीबहिनीहरू ख्रीष्टविरोधीहरूद्वारा बहकाइएपछि, यी मानिसहरू बहकाउमा पर्न लायक छन् भन्दै कठोर, निर्दयी, र गैरजिम्मेवार व्यवहार गर्ने मात्र होइन, परमेश्‍वरको घरको कामका बन्दोबस्तहरूले तुलनात्मक रूपमा असल मानवता भएका र तिनीहरूका बीचमा पुनर्स्थापित हुने आशा भएकाहरूलाई जति सक्दो हदसम्‍म फर्काउने आफ्नो जिम्मेवारी पूरा गर्न लगाउँदा पनि, यी झूटा अगुवाहरूले अझै पनि कुनै वास्तविक काम गर्दैनन्। कतिपय मानिसहरूले मण्डलीमा फर्केर आउँछु भनेर अनुरोध गर्दा पनि, तिनीहरू उदासीन रहन्छन् र बेवास्ता गरेर बस्छन्, र मानिसहरूको जीवनलाई प्रिय मान्नुपर्ने सबैभन्दा बहुमूल्य कुराको रूपमा लिँदैनन्। तिनीहरू ती बहकाउमा परेका दाजुभाइ-दिदीबहिनीहरूलाई जति सक्दो हदसम्‍म फिर्ता ल्याउन असफल हुन्छन्। तिनीहरूले यो जिम्मेवारी पूरा गर्न सक्दैनन्, र त्यसो गर्न कुनै मेहनत गर्दैनन्। परमेश्‍वरको घरको कामका बन्दोबस्तहरूले यो काम राम्ररी पूरा गरिनुपर्छ भनेर बारम्बार माग गरे पनि, झूटा अगुवाहरू चलमल गर्दैनन्, तिनीहरूले कुनै कदम चाल्दैनन् र कुनै काम गर्दैनन्। परिणामस्वरूप, ख्रीष्टविरोधीहरूद्वारा बहकाइएका र अलग गरिएका वा निकालिएका कतिपय मानिसहरू अझै पनि परमेश्‍वरको घरमा फर्केर आउन सक्दैनन् र तिनीहरूले फेरि सामान्य मण्डली जीवन सुरु गरेका हुँदैनन्। अवश्य नै, कतिपय मानिसहरूले साँच्‍चै नै विभिन्‍न पक्षहरूमा परमेश्‍वरको घरले पुनर्प्राप्त गर्नका लागि तय गरेका सर्तहरू पूरा गर्दैनन्, तर अरू पनि छन् जसलाई पुनर्स्थापित गर्न सकिन्छ। यदि, प्रेमपूर्ण सहयोग र धैर्यवान् साथद्वारा, तिनीहरूले सत्यता बुझ्न, ख्रीष्टविरोधीहरूलाई खुट्याउन, र इन्कार गर्न सक्छन् भने, तिनीहरू पुनर्स्थापित हुन सक्छन्। तर, अगुवा र कामदारहरूले वास्तविक काम नगर्ने हुनाले, परमेश्‍वरको घरका कामका बन्दोबस्तहरू लागू नगर्ने, र यी मानिसहरूको जीवनलाई महत्त्वपूर्ण नठान्‍ने हुनाले, कतिपय मानिसहरू अझै पनि बाहिर डुलिहिँड्नुपर्ने अवस्थामा छन्। यी अगुवा र कामदारहरूले विभिन्‍न बहानाहरू प्रयोग गरेर परमेश्‍वरको घरको कामका बन्दोबस्तहरूलाई बेवास्ता गर्छन्। तिनीहरूले मण्डलीमा फर्केर आउन चाहने र स्वीकार गरिनका लागि मण्डलीका सर्तहरू पूरा गर्ने ती दाजुभाइ-दिदीबहिनीहरूलाई समेत बेवास्ता गर्छन्। तिनीहरूले यी मानिसहरूको मानवता खराब छ, तिनीहरूले सुरक्षा जोखिमहरू सामना गर्छन्, तिनीहरू राम्रो लुगा लगाउन मन पराउँछन्, देहसुखमा रमाउँछन्, तिनीहरूमा हैसियतप्रति अनुराग हुन्छ, आदि इत्यादि भन्दै यावत् किसिमका बहानाहरू बनाउँछन्। तिनीहरूले यी बनावटी बहाना र कारणहरू प्रयोग गरेर, उनीहरूलाई मण्डलीमा फर्केर आउन दिन मान्दैनन्। यी मानिसहरू ख्रीष्टविरोधीहरूद्वारा बहकाएका र नियन्त्रण गरिएका हुन्छन्, तर उनीहरू हराउँछन् भन्‍ने बारेमा झूटा अगुवाहरूलाई कुनै चिन्ता हुँदैन। तिनीहरूमा कुनै जिम्मेवारीको बोध वा विवेकको बोध हुँदैन। सायद तिनीहरूले यी मानिसहरूलाई पुनर्स्थापित गर्नु गाह्रो वा खतरनाक हुन्छ भन्‍ने सोच्छन् होला, वा सायद तिनीहरू भित्री रूपमा अनिच्छुक हुन्छन् र असहमत हुन्छन् होला। जे भए पनि, विभिन्‍न कारणले गर्दा, तिनीहरूले माथि उल्लिखित परमेश्‍वरको घरको कामको बन्दोबस्तलाई पटक्‍कै लागू गर्दैनन्। त्यस्ता झूटा अगुवाहरूका प्रकटीकरणहरू यिनै हुन्। तिनीहरूले परमेश्‍वर वा परमेश्‍वरको घरले अह्राएको कुनै पनि काममा सक्रिय रूपमा सहकार्य गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न नसक्‍ने मात्र होइन, जब कसैले तिनीहरूको जिम्मेवारीमा भएको बेवास्तालाई खुलासा गर्छ, तब तिनीहरूले आफ्नो रक्षा गर्छन्, आफ्नो बेवास्ताको सत्यतालाई ढाकछोप गर्नका लागि आफ्नो जिम्मेवारीबाट उम्कने कुराहरू भन्छन् र आफूलाई सही साबित गर्छन्। के त्यस्ता झूटा अगुवाहरू झनै घृणास्पद हुँदैनन् र? (हुन्छन्।) सारांशमा भन्दा, यी झूटा अगुवाहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई गम्भीर रूपमा हानि गर्ने ख्रीष्टविरोधीहरूलाई निराकरण गर्ने कार्यमा पनि लापरवाह गर्छन्, र कुनै वास्तविक काम गर्दैनन्। तिनीहरूले परमेश्‍वरको घरले माग गरेको यो कामको हरेक विवरणलाई बेवास्ता गर्छन्। तिनीहरू कष्ट सहन वा मूल्य चुकाउन अनिच्छुक हुन्छन्, आफूलाई जे मन लाग्यो त्यही गर्न र आफूले चाहे अनुसार काम गर्न मात्रै रुचाउँछन्—मन लाग्दा थोरै काम गर्छन् र मन नलाग्दा केही गर्दैनन्। तिनीहरूले परमेश्‍वरको घरको कामका बन्दोबस्तहरूलाई पूर्ण रूपमा बेवास्ता गर्छन्, परमेश्‍वरको घरद्वारा सुम्पिएका कर्तव्य र जिम्मेवारीहरूलाई बेवास्ता गर्छन्, र विशेष गरी परमेश्‍वरका अभिप्राय र मागहरूलाई बेवास्ता गर्छन्। यी मानिसहरूसँग कुनै मानवता र विवेक हुँदैन; तिनीहरू जिउँदा लास हुन्। के तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा मुक्ति पछ्याउने आफ्नो जीवनको यो ठूलो मामलालाई मानवताविनाका मानिसहरूको हातमा सुम्पने आँट गर्छौ? (गर्दैनौँ।) तिनीहरूले तँलाई ख्रीष्टविरोधीहरूका हातमा नसुम्पे पनि, के ख्रीष्टविरोधीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई बहकाउँदा र गम्भीर रूपमा हानि गर्दा तिनीहरूले ख्रीष्टविरोधीहरूका विरुद्धमा लडाइँ गर्न सक्दो प्रयास गर्नेछन्? अहँ, गर्नेछैनन्, किनभने त्यस्ता मानिसहरू जिम्मेवारीको बोध नभएका निर्दयी पशु हुन्। तिनीहरूले आफ्ना लागि फाइदाहरू सुरक्षित गर्नका लागि मात्रै अगुवाका रूपमा काम गर्छन्।

झूटा अगुवाहरूले कहिलेकहीँ दाजुभाइ-दिदीबहिनीहरूप्रति चासो देखाउँछन्; तिनीहरूले तिनीहरूलाई कुनै कुरा चाहिन्छ कि, तिनीहरूको खाना र बस्‍ने ठाउँको अवस्था कस्तो छ, आदि इत्यादि कुरा सोध्छन्। दैनिक जीवनसँग सम्बन्धित मामलाहरूमा तिनीहरूले निकै ध्यान दिन्छन्, तर परमेश्‍वरको आज्ञा, दाजुभाइ-दिदीबहिनीहरूको जीवन र मृत्यु, र सत्यता सिद्धान्तहरूसँग सम्बन्धित मामलाहरूमा, तिनीहरू उदासीन हुन्छन् र तिनीहरूलाई जसले अह्राए पनि तिनीहरूले केही गर्दैनन्। तिनीहरूले मानिसहरूको देहगत आनन्द, गाँस, बास, कपास, यातायात, वा भौतिक लाभहरूका बारेमा मात्रै वास्ता गर्छन्, र तिनीहरूले त्यस्ता कुराहरू मात्रै सम्हाल्छन्। कतिपय मानिसहरूले भन्छन्, “तपाईँका वचनहरू विरोधाभासपूर्ण छन्। के तपाईँले तिनीहरू निर्दयी हुन्छन् भनेर भन्‍नुभएको होइन र? के निर्दयी व्यक्ति अरूका लागि यी कुराहरू गर्न तयार हुन्छ?” के निर्दयी व्यक्ति यति दयालु हृदयको हुन्छ कि उसले सबैका लागि यी कुराहरू गर्छ? (हुँदैन।) वास्तवमा, कतिपय निर्दयी मानिसहरूले साँच्‍चै नै यी कुराहरू गर्छन्, र यसका दुई वटा कारण छन्। एउटा के हो भने, तिनीहरूले सबैका लागि काम गरिरहेका बेला, तिनीहरूले आफ्नै लागि पनि काम गरिरहेका हुन्छन्, र तिनीहरूले यसबाट लाभ लिन्छन्। यदि तिनीहरूले केही काम गरेर कुनै लाभ प्राप्त गर्न सक्दैनन् भने, तिनीहरूले अझै पनि यो काम गर्छन् कि गर्दैनन् भनेर हेर्—तिनीहरूले तुरुन्तै आफ्नो मनोवृत्ति परिवर्तन गर्नेछन् र यो कार्य रोक्‍नेछन्। यसका साथै, तिनीहरूले यी कुराहरू गर्न र सबैका लागि फाइदाहरू खोज्नका लागि कसको पैसा प्रयोग गरिरहेका हुन्छन्? बिल तिर्ने त परमेश्‍वरको घरले नै हो। परमेश्‍वरको घरका स्रोतसाधनहरू प्रयोग गरेर उदारता देखाउनु यी मानिसहरूको विशेषज्ञता हो। तिनीहरूलाई व्यक्तिगत फाइदाहरू प्राप्त हुन्छ भने तिनीहरूले कसरी यी कुराहरू नगर्न सक्छन् र? तिनीहरूले सबैका फाइदा खोजिरहँदा वास्तवमा आफ्नै लागि काम गरिरहेका हुन्छन्। तिनीहरू अरू सबैका खातिर फाइदाहरू खोज्ने गरी दयालु हृदयका हुँदैनन्! यदि तिनीहरूले साँच्‍चै नै सबैका लागि फाइदाहरू खोजिरहेका थिए भने, तिनीहरूसँग कुनै स्वार्थी मनसाय हुनु हुँदैन, र तिनीहरूले परमेश्‍वरको घरका सिद्धान्तहरू अनुसार मामलाहरू सम्हाल्नुपर्छ। तर, तिनीहरूले सधैँ आफ्नै लागि फाइदाहरू खोजिरहेका हुन्छन्, र तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशको बारेमा कुनै विचार गर्दैनन्। यसका साथै, तिनीहरूले सबैका लागि कामकुरा गर्छन् ताकि मानिसहरूले तिनीहरूलाई आदर गरून् र यसो भनून्, “यो व्यक्तिले हाम्रा फाइदा खोज्छ र हाम्रा हितहरूको रक्षा गर्न लागिपर्छ। यदि हामीमा कुनै कुराको कमी छ भने, हामीले उसलाई नै यो कुरा सम्हाल्न लगाउनुपर्छ। ऊ साथमा छ भने, हामीले कुनै खराब व्यवहार झेल्‍नु पर्दैन।” तिनीहरूले यी कुराहरू गर्छन् ताकि सबैले तिनीहरूलाई धन्यवाद दिऊन्। यसरी व्यवहार गरेर, तिनीहरूले ख्याति र फाइदा दुवै प्राप्त गर्छन्, त्यसकारण तिनीहरूले किन यी कुराहरू गर्दैनन् र? यदि तिनीहरूले सबैका लागि फाइदाहरू खोजे, तर यो तिनीहरूको काम हो भन्‍ने कसैलाई थाहा भएन, र सबैले परमेश्‍वरलाई धन्यवाद दिए, र कोही पनि तिनीहरूप्रति कहिल्यै कृतज्ञ भएन भने, के तिनीहरूले अझै पनि त्यसो गर्नेछन्? तिनीहरू अवश्य नै त्यसो गर्ने मुडमा हुनेथिएनन्; तिनीहरूको साँचो सत्त्व खुलासा हुनेथियो। जब यस्ता मानिसहरूले कुनै पनि कुरा गर्छन्, तब तिनीहरूको प्रकृति सार पूर्ण रूपमा खुलासा हुन्छ। त्यसकारण, जब ख्रीष्टविरोधीहरूले मण्डलीलाई बाधा दिन्छन्, तब तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई रक्षा गर्न कहिल्यै पनि कुनै वास्तविक काम गर्नेछैनन्।

परमेश्‍वरका चुनिएका मानिसहरूले ख्रीष्टविरोधीहरूको बहकाउ, नियन्त्रण, र हानि भोगेपछि, झूटा अगुवाहरूले अझै पनि यसप्रति आँखा चिम्लिन्छन् भनेर हामीले भर्खरै सङ्गति गरेका थियौँ। तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई पुनर्स्थापित गर्न कुनै उपाय सोच्दैनन्, न त तिनीहरूले आफ्ना दायित्व र जिम्मेवारीहरू नै पूरा गर्छन्। तिनीहरूले आफ्नै भावना, मनस्थिति, र हितहरूको मात्रै ख्याल गर्छन्। तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गर्दैनन् र आफूलाई जवाफदेही तुल्याउँदैनन्; बरु, तिनीहरू आफ्नो जिम्मेवारीबाट पछि हट्छन् र तीबाट पन्छिन्छन्। अनि तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीहरूले बहकाएपछि र नियन्त्रण गरेपछि, यिनीहरूले परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्दैनन् भनेर आलोचना गर्दै आफ्नो जिम्मेवारीबाट पछि हट्छन् र यस क्रममा तिनीहरूले विवेकको कुनै दोष महसुस गर्दैनन्। यी झूटा अगुवाहरू सबैभन्दा घृणित हुन्छन्। हामीले छलफल गरेका झूटा अगुवाहरूका विभिन्‍न प्रकारका प्रकटीकरणहरू सबै निकै घृणित छन्, तर यो अन्तिममा उल्‍लेख गरिएको प्रकारको व्यक्तिसँग पटक्कै मानवता हुँदैन। यस्तो व्यक्ति निर्दयी जनावर हो, मानव वस्त्र धारण गरेको पशु हो; उसलाई मानवजातिको हिस्सा मान्न सकिँदैन, बरु पशुहरूको वर्गमा राखिनुपर्छ। तिनीहरूले किन आफ्ना जिम्मेवारी पूरा गर्दैनन्? किनभने तिनीहरूसँग कुनै मानवता, विवेक वा समझ हुँदैन। जिम्मेवारी, दायित्व, प्रेम, धैर्यता, करुणा, दाजुभाइ-दिदीबहिनीहरूको रक्षा गर्नु—यीमध्ये कुनै पनि कुरा तिनीहरूको हृदयमा हुँदैन; तिनीहरूमा यी गुणहरू हुँदैनन्। तिनीहरूको मानवतामा यी गुणहरू नहुनु मानवता नहुनुसरह हो। चौथो प्रकारको झूटा अगुवाका प्रकटीकरणहरू यिनै हुन्।

अगुवा र कामदारहरूको तेह्रौँ जिम्मेवारीभित्र खुलासा गरिनुपर्ने झूटा अगुवाहरूका चार प्रकारका प्रकटीकरणहरू लगभग यिनै हुन्। अवश्य नै, अरू केही यस्तै प्रकटीकरणहरू पनि छन्, तर यी चार प्रकारले नै मूलतः यो काम गर्ने क्रममा झूटा अगुवाहरूले देखाउने विभिन्‍न प्रकटीकरणहरू, साथै तिनीहरूको मानवता सारलाई प्रतिनिधित्व गर्न सक्छन्। हामीले तिनीहरूका प्रकटीकरणहरूलाई जति वटा वर्गमा विभाजन गरे पनि, झूटा अगुवाहरूका दुई प्रमुख प्रकटीकरणहरू अझै पनि यी चार वर्गभित्रै पाउन सकिन्छ: तीमध्ये एउटा वास्तविक काम नगर्नु हो, र अर्को वास्तविक काम गर्न नसक्‍नु हो। झूटा अगुवाहरूका सबैभन्दा प्रमुख दुई वटा प्रकटीकरणहरू यिनै हुन्। झूटा अगुवाहरूको मानवता र क्षमता जस्तो भए पनि, र तिनीहरूले सत्यतालाई जसरी लिए पनि, कुनै पनि अवस्थामा, यी दुई प्रकटीकरणहरू यी चार वर्गभित्र नै समावेश हुन्छन्। अगुवा र कामदारहरूको तेह्रौँ जिम्मेवारीको बारेमा रहेको आजको हाम्रो सङ्गतिको झूटा अगुवाहरूलाई खुलासा गर्ने विषयवस्तु यहीँ समाप्त हुन्छ।

पूरक: प्रश्‍नहरूको जबाफ दिनु

के तिमीहरूसँग कुनै प्रश्‍नहरू छन्? (परमेश्‍वर, म एउटा प्रश्‍न सोध्न चाहन्छु। भेलाको सुरुमा, परमेश्‍वरले हामीलाई ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरू र वास्तविक ख्रीष्टविरोधीहरूका बीचमा के भिन्‍नता छ, र ख्रीष्टविरोधीहरूको सारका आम विशेषताहरू के-के हुन् भनेर सोध्नुभयो। त्यो बेला, हामीले आफ्नो दिमाग शून्य भएको महसुस गर्‍यौँ, र केही समयसम्म मनन गरेपछि, हामीले केही अत्यन्तै सरल शब्द र धर्मसिद्धान्तहरू मात्रै सोच्न सक्यौँ। परमेश्‍वरले एक वर्षभन्दा बढी समयदेखि ख्रीष्टविरोधीहरूलाई खुलासा गर्नेबारे सत्यताहरू सङ्गति गर्दै आउनुभएको छ, तर हामीले तीमध्ये थोरै कुरा मात्रै बुझ्न र अभ्यास गर्न सकेका छौँ। यसको एउटा कारण के हो भने हामीले यी सत्यताहरूमा मेहनत गरेका छैनौँ, र अर्को के हो भने हामीले तुलनात्मक रूपमा थोरै ख्रीष्टविरोधीहरूको सामना गरेका छौँ र ती वास्तविक परिस्थितिहरूसँग कसरी सम्बन्धित छन् भनी हेरेर यी सत्यताहरूलाई बुझेका छैनौँ। त्यसकारण, अहिले पनि हामीसँग यी सत्यताहरूमा कुनै प्रवेश छैन, हामीसँग ख्रीष्टविरोधीहरूबारे त्यति धेरै समझशक्ति छैन, र हामीभित्रै ख्रीष्टविरोधीहरूको स्वभावका धेरै प्रकटीकरणहरू छन् जसलाई हामीले अझै पहिचान गरेका छैनौँ। म यो समस्यालाई कसरी समाधान गर्ने भनेर सोध्न चाहन्छु।) सत्यताको कुनै पनि पक्षका सम्बन्धमा, सत्यताका वचनहरू तेरो हृदयमा गडिनका लागि तँसँग केही वास्तविक अनुभवहरू र अनुभवात्मक ज्ञान हुनैपर्छ, र तैँले साँचो बुझाइ हासिल गर्नुपर्छ। सत्यता प्राप्त गर्ने प्रक्रिया सधैँ यस्तै हुन्छ। तैँले याद गर्न सक्‍ने कुराहरू तिनै हुन् जुन तैँले आफ्ना अनुभवहरूमार्फत प्राप्त गरेको छस्; ती सबैभन्दा गहन प्रभावहरू हुन्। त्यसकारण, आज हामीले ख्रीष्टविरोधीहरूका विषयमा सङ्गति गरिरहेका बेला, मैले तिमीहरूलाई सुरुमा यो विषयवस्तु पुनरावलोकन गर्न लगाएँ। तिमीहरूले यसको केही भाग सम्झन सकेका थियौ। तिमीहरूले सम्झन सकेका कुराहरूमध्ये, तिमीहरूका लागि केही कुरा सैद्धान्तिक छन्, तर स्वाभाविक रूपमै ख्रीष्टविरोधीहरूका केही प्रकटीकरणहरू पनि छन् जसलाई तिमीहरूले वास्तविक जीवनसँग लगभग मिलाउन सक्छौ—सबैले यसलाई यसरी अनुभव गर्नैपर्छ। मानिसहरूको सामान्य अवस्था यस्तो हुन्छ कि प्रवचनहरू सुन्दा तिनीहरूले जति नै राम्ररी बुझेका जस्तो देखिए पनि, तिनीहरूले सैद्धान्तिक हिसाबमा र धर्मसिद्धान्तको हिसाबमा मात्रै बुझेका हुन्छन्, र तिनीहरूसँग सत्यताको ज्ञान हुँदैन। व्यक्तिले सत्यतालाई कहिले बुझ्न सक्छ? व्यक्तिले यी कुराहरू अनुभव गरिसकेपछि मात्रै केही व्यावहारिक ज्ञान प्राप्त गर्न सक्छ। वास्तविक परिस्थितिहरूको अनुभव नगरी, कसैले पनि ज्ञान प्राप्त गर्न सक्दैन। त्यसकारण, आज हामीले ख्रीष्टविरोधीहरूका विषयमा सङ्गति गरिरहँदा, हामीले तुरुन्तै पुनरावलोकन गरेर तँलाई सरल रूपमा सम्झना गराउनु आवश्यक थियो। यसपछि, हामीले अगुवा र कामदारहरूका जिम्मेवारीहरूका बारेमा सङ्गति गरे पनि वा झूटा अगुवाहरूका विभिन्‍न प्रकटीकरणहरूका बारेमा सङ्गति गरे पनि, यो कम्तीमा पनि तिमीहरूका लागि अत्यन्तै खोक्रो हुँदैनथियो—त्यति मात्रै हो। तर, तिमीहरूले अझै पनि ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरूका बारेमा खुलासा प्राप्त गर्नुपर्छ। कतिपय मानिसहरूले भन्छन्, “यदि परमेश्‍वरले केही वास्तविक मानिस, घटना, र कामकुराहरू खडा गर्नुभएन भने, हामीले कहाँ खुलासा प्राप्त गर्न सक्छौँ र? हामी आफैले ख्रीष्टविरोधीहरू खोजेर भेट्टाउन सक्दैनौँ, सक्छौँ त?” तैँले तिनीहरूलाई खोजेर भेट्टाउनु पर्दैन। सबैभन्दा सरल समाधान के हो भने जब तैँले ख्रीष्टविरोधीहरूको सामना गर्छस्, तब तिनीहरूलाई परमेश्‍वरका वचनहरूसँग तुलना गर्ने सक्दो प्रयास गर्। तिनीहरूका बाहिरी प्रकटीकरण, अभिव्यक्ति, व्यवहार, र स्वभावहरू, साथै तिनीहरूका विचार र दृष्टिकोणहरू, र आफूलाई आचरणमा ढाल्‍ने र संसारसँग व्यवहार गर्ने तिनीहरूको तरिका, तिनीहरूको जीवनशैली, इत्यादि कुराहरूलाई तुलना गर्—अर्थात्, तिनलाई हामीले छलफल गरेका ख्रीष्टविरोधीहरूका पन्ध्र वटा प्रकटीकरणहरूसँग तुलना गर्। तीमध्ये जति धेरै तुलना गर्न सक्छस्, गर्। मानिसहरूको बुझाइ यस्तै हुन्छ: तिनीहरूले धेरै कुरा स्मरण गर्न सक्दैनन् किनकि मानवको स्मरण शक्ति सीमित हुन्छ। मानिसहरूले साँच्चिकै प्रत्यक्ष अनुभवबाट प्राप्त गरेका कुराहरूका बारेमा अति राम्ररी बोल्‍न सक्छन्। तिनीहरूले जतिसुकै कुरा भने पनि, यो स्मरणमा आधारित हुँदैन, यो अनुभव र तिनीहरूको भोगाइमा आधारित हुन्छ। तिनीहरूले प्राप्त गरेका यी कुराहरू सत्यता र तथ्यगत रूपमा साँचो कुरासँग सबैभन्दा नजिक हुन्छन्—मानिसहरूले अनुभवमार्फत प्राप्त गर्ने कुराहरू यिनै हुन्। ती बाहेक, मानव धारणा र कल्पनाहरू अनुरूपका कुराहरू र ज्ञानमा आधारित कुराहरू सत्यता अनुरूप हुँदैनन्, चाहे ती कुराहरू सुरुमा तेरो दिमागमा प्रवेश गरेपछि तिनले तेरो दिमागमा जतिसुकै वर्षसम्‍म प्रमुख स्थान ओगटेको किन नहोस्। जब तैँले साँचो रूपमा सत्यता बुझ्छस्, तब यी कुराहरू हट्नेछन् र त्यागिनेछन्। तर, सत्यतासँग नजिक रहेका र सत्यता अनुरूप रहेका, र तैँले अनुभवमार्फत प्राप्त गरेका कुराहरू नै मूल्यवान् हुन्छन्। आज मैले सोधेका प्रश्‍नहरू तिमीहरूले पूर्ण रूपमा बुझे पनि नबुझे पनि, अवश्यै नै ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउने सम्‍बन्धी विषयको एउटा भाग छ जुन तिमीहरूले बुझ्न सक्छौ, किनभने तिमीहरू सबैले ख्रीष्टविरोधीहरूबाट केही बहकाउ र बाधा अनुभव गरेका छौ। यसले तिमीहरूलाई अलिकति भए पनि समझशक्ति दिएको छ, र जब तिमीहरूले ख्रीष्टविरोधीहरूले दुष्टता गरिरहेका र मण्डलीको काममा बाधा दिइरहेका देख्छौ, तब तिमीहरूले यी सत्यताहरू लागू गर्न सक्छौ। तिमीहरूले वास्तविक वातावरणहरू सामना गर्दा मात्रै यी वचनहरू लागू हुन्छन्। यदि तिमीहरूले ख्रीष्टविरोधीहरूको बहकाउको अनुभव गरेका छैनौ र मनले मात्र तिनीहरूको कार्यको कल्पना गरेका छौ भने, यो व्यर्थ हुन्छ। तेरो कल्पना जति नै राम्रो भए पनि, यसको अर्थ तैँले ती कुराहरू खुट्ट्याउन सक्‍नेछस् भन्‍ने हुँदैन। वास्तविक वातावरणहरू सामना गर्दा मात्रै मानिसहरूले स्वस्फूर्त रूपमा प्रतिक्रिया दिन्छन्, यी कुराहरू सामना गर्न र तिनलाई सम्हाल्नका लागि आफ्नै विचार र दृष्टिकोणहरू, आफूले खुलासा पाएका केही सिद्धान्तहरू, र आफूले सिकेका केही धर्मसिद्धान्त, विधि, र तरिकाहरू प्रयोग गर्छन्, र अन्तिममा विभिन्‍न निर्णयहरू गर्छन्। तर मानिसहरूले यी अवस्थाहरू सामना गर्नुभन्दा पहिले नै, तिनीहरूसँग विभिन्‍न सिद्धान्तहरूका बारेमा शुद्ध बुझाइ र धारणा छ भने त्यो नै धेरै राम्रो हो। कतिपय मानिसहरूले भन्छन्, “हामीले ख्रीष्टविरोधीहरूलाई भेट्नुभन्दा पहिले तपाईँले यति धेरै कुरा भन्‍नुको के फाइदा छ र?” यो काम लाग्छ। के ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने वचनहरू पुस्तकमा छापिएका हुँदैनन् र? के ती वचनहरू तैँले एक-दुई दिनमा पूर्ण रूपमा अनुभव गर्न र बुझ्‍न सक्‍ने कुरा हुन्? होइनन्। तिनलाई पुस्तकमा छाप्नुको उद्देश्य भनेको तिमीहरूलाई मुक्ति दिनु हो र तिमीहरूलाई यी वचनहरू बारम्बार पढ्न, र यी सत्यताहरू बुझ्न, साथै भविष्यमा तिमीहरूले विभिन्‍न अवस्थाहरू सामना गर्दा परमेश्‍वरका वचनहरू पढ्न र जीवनको भरणपोषण प्राप्त गर्न सहयोग गर्नु हो—चाहे यो ख्रीष्टविरोधीको घटना होस्, तेरो आफ्नै स्वभाव परिवर्तन गर्ने कार्यमा आएका कठिनाइहरू होस्, वा अरू जेसुकै होस्। यो पुस्तकमा समावेश गरिएका परमेश्‍वरका वचनहरू तँलाई यी कुराहरूको अनुभव गर्ने र तिनलाई सम्हाल्ने र सत्यताका यी पक्षहरूमा प्रवेश गर्ने तेरा स्रोत हुन्। प्रवचनहरू सुन्दा तैँले कति बुझ्न सक्छस् भन्‍ने कुराले तँसँग कति वास्तविकता छ भन्‍ने कुरालाई प्रतिनिधित्व गर्दैन। यदि तैँले कुनै कुरा एकै पटकमा पत्ता लगाउन वा याद गर्न सक्दैनस् भने, यसको अर्थ तैँले यो कुरा कहिल्यै अनुभव गर्नेछैनस् वा भविष्यमा यसलाई कहिल्यै बुझ्नेछैनस् भन्‍ने हुँदैन। छोटकरीमा भन्दा, तिमीहरूले के बुझ्नुपर्छ भने मानिसहरूले अनुभवमार्फत् प्राप्त गर्ने र परमेश्‍वरका वचनहरूका आधारमा जानेका कुराहरू मात्रै सत्यतासँग सम्बन्धित हुन्छन्। मानिसहरूले याद गर्ने र आफ्नो मनमा बुझेका कुराहरू प्रायजसो सत्यतासँग सम्बन्धित हुँदैनन्; ती त धर्मसैद्धान्तिक मात्रै हुन्छन्। सत्यताका सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण कुराहरू के-के हुन्? सबैभन्दा महत्त्वपूर्ण कुराहरू अनुभव र प्रवेश हुन्। सत्यताको कुनै पनि पक्षको सम्बन्धमा, जब मानिसहरूले वास्तवमै यसको अनुभव गर्छन्, तब तिनीहरूको अन्तिम फसल सत्यताको फल र तिनीहरूको अस्तित्वको मार्ग हुन्छ। त्यसकारण, याद नहुनु समस्या होइन।

यदि मैले भेलाको सुरुमा नै मुख्य विषयको बारेमा छलफल गर्न थालेको भए, के तिमीहरू समयमा नै प्रतिक्रिया दिन असमर्थ हुनेथिएनौ र? त्यसकारण, मैले केही विधिहरू प्रयोग गर्नुपर्थ्यो, र सुरुमा “के तिमीहरूलाई ख्रीष्टविरोधीहरूको सार भएका मानिसहरू र ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरू बीचको भिन्‍नता याद छ?” तिमीहरूलाई सोध्नुपर्थ्यो। सुरुमा यो प्रश्‍न गर्नुको पछाडि मेरो उद्देश्य तिमीहरूलाई स्तब्ध पार्नु वा उदाङ्गो पार्नु होइन, बरु तिमीहरूलाई चेतावनी दिनु हो। त्यसपछि, हामीले पुनरावलोकन गर्‍यौँ, र कतिपय मानिसहरूले बिस्तारै सम्झिन थाले: “हामीले यसअघि ख्रीष्टविरोधीहरूले सत्यतालाई कसरी लिन्छन्, र ख्रीष्टविरोधीहरूको मानवता कस्तो हुन्छ भन्‍ने बारेमा सङ्गति गरेका छौँ।” ख्रीष्टविरोधीहरूबारे कतिपय विषयवस्तुहरूले पहिले नै तँमाथि गहिरो प्रभाव पारेका छन्; यो विषयवस्तु तैँले त्यस्ता कुराहरू अनुभव गर्दा प्रयोग होस् भन्ने प्रतीक्षामा छ, जसले तेरो अभ्यासका लागि मार्गदर्शन र दिशा प्रदान गर्छ। तर अझै बढी विषयवस्तुहरू छन् जसलाई तैँले पहिलो पटक सुनेपछि पटक्‍कै बुझेको थिइनस्। यो विषयवस्तुलाई पनि अनुभव गर्नुपर्छ। जब तँ यी अनुभवहरूबाट गुज्रन्छस् र त्यसपछि तैँले यी वचनहरू खाने-पिउने, र प्रार्थनार्थ पढ्ने काम गर्छस्, तब तैँले अझै धेरै कुरा प्राप्त गर्नेछस्। यो विषयवस्तु तैँले बुझेको भए पनि नबुझेको भए पनि, यी कुराहरूबाट गुज्रेपछि, यी सबै मिश्रित हुनेछन्। तैँले याद भएका धर्मसिद्धान्तहरूलाई अनुभव गरेपछि ती तेरो व्यावहारिक बुझाइ र तेरा फाइदाहरू बन्छन्। जहाँसम्म तैँले बुझ्दै नबुझेको विषयवस्तुको कुरा छ, तैँले यसलाई एक पटक अनुभव गरेपछि, तैँले केही बुझाइ प्राप्त गर्लास्, तर यो अलिकति धारणागत ज्ञान मात्रै हुनेछ। यो धारणागत ज्ञान धर्मसिद्धान्तको स्तरमा मात्रै रहन सक्छ। तैँले फेरि यस्तै कुराहरू अनुभव गर्नुपर्छ, त्यसपछि यसले तँलाई मार्गदर्शन गर्नेछ, दिशा दिनेछ, र अभ्यासको मार्ग प्रदान गर्नेछ। परमेश्‍वरका वचनहरू अनुभव गर्नु र सत्यता अनुभव गर्नु भनेको यस्तै प्रक्रिया हो। के तिमीहरूलाई मैले सोधेको प्रश्‍नको उत्तर कसरी दिने भन्‍ने थाहा नहुनु लाजमर्दो कुरा हो? यो लाजमर्दो कुरा होइन। यदि तिमीहरूले मलाई अचानक एउटा प्रश्‍न सोध्यौ भने, मैले पनि तुरुन्तै यसको अर्थ के हो र यसमा सत्यताका कुन-कुन पक्षहरू समावेश छन् भन्ने कुरालाई ख्याल गर्दै यसको बारेमा मनन गर्नुपर्छ। मानव मस्तिष्क र मनले यसरी नै काम गर्छन्—प्रतिक्रिया दिनका लागि तिनलाई समय चाहिन्छ। यो तेरो लागि निकै परिचित कुरा भए पनि, यदि तैँले धेरै वर्षदेखि यसको सामना गरेको छैनस् भने, तैँले फेरि अचानक यसको सामना गर्दा प्रतिक्रिया दिन तँलाई अझै पनि समय चाहिन्छ। तिमीहरूले कुनै कुरा जति नै गहन रूपमा अनुभव गरेका भए पनि, यदि धेरै दिन वा वर्षपछि तिमीहरूले फेरि यसको सामना गर्‍यौ भने, तिमीहरूलाई प्रतिक्रिया दिन अझै पनि समय लाग्छ—ख्रीष्टविरोधीहरूको विषयको बारेमा तिमीहरूको बुझाइ शब्द र धर्मसिद्धान्तहरूको स्तरमा मात्रै छ, तिमीहरूले वास्तविक जीवनमा सामना गर्ने ख्रीष्टविरोधीहरूसँग यसलाई अझै पनि तुलना गर्न सक्दैनौ, र यो भन्न सकिन्छ कि तिमीहरूले अझै पनि आधारभूत रूपमा ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन सक्दैनौ। त्यसकारण, यी सत्यताहरू तिमीहरूले व्यावहारिक रूपमा अनुभव गरून् भन्ने प्रतीक्षामा छन्—त्यसपछि मात्रै तिमीहरूले परमेश्‍वरका वचनहरूको आधिकारिकता र सटीकतालाई पुष्टि गर्न सक्छौ। उदाहरणका लागि, हामीले यसभन्दा पहिले ख्रीष्टविरोधीहरू कट्टर रूपमा अपश्‍चात्तापी हुन्छन् भनेर सङ्गति गरेका थियौँ। मानौँ तैँले यो कुरा याद गरेको छस् र यसो भन्छस्, “परमेश्‍वरले ख्रीष्टविरोधीहरू कट्टर रूपमा अपश्चात्तापी हुन्छन् भनेर भन्‍नुभएको छ। तिनीहरूले अन्त्यसम्मै परमेश्‍वरलाई अवज्ञा गर्नेछन् र उहाँको विरोध गर्नेछन्। तिनीहरूले कुनै पनि हालतमा सत्यतालाई स्वीकार गर्दैनन् र परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर कहिल्यै स्वीकार गर्दैनन्। तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन्।” तैँले यो अभिव्यक्तिलाई धर्मसिद्धान्तको हिसाबले मात्रै बुझ्छस्, स्वीकार गर्छस्, वा यसबारे केही धारणा बनाउँछस्; यो थोरै धारणागत ज्ञान मात्र हो। तेरो अवचेतनमा, तँलाई यो अभिव्यक्ति सही छ भन्‍ने लाग्छ, तर ख्रीष्टविरोधीहरूले बोल्ने कुन-कुन निश्‍चित शब्दहरू, तिनीहरूले प्रकट गर्ने कुन-कुन भ्रष्ट स्वभावहरू, तिनीहरूलाई उत्प्रेरित गर्ने कुन प्रकृति, इत्यादि कुराहरू ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने परमेश्‍वरका वचनहरूसँग मिल्छन् र तीसँग सम्बन्धित हुन्छन्? तीमध्ये कुनले परमेश्‍वरले गर्नुहुने खुलासा तथ्यगत छ भनेर देखाउन सक्छन्? यसका लागि तैँले कि त ख्रीष्टविरोधीलाई व्यक्तिगत रूपमा भेट्नुपर्छ, कि त अवलोकनकर्ताहरूबाट ख्रीष्टविरोधीका कार्य र शब्दहरूका बारेमा सुन्‍नुपर्छ, र अन्त्यमा, तैँले यस्तो महसुस गर्छस्, “परमेश्‍वरका वचनहरू अत्यन्तै व्यावहारिक छन्, ती पूर्ण रूपमा सही छन्। यो व्यक्ति धेरै पटक ख्रीष्टविरोधीको रूपमा चित्रण भएको र बर्खास्त भएको छ। उसलाई अझै निष्कासित नगरिएको वा ननिकालिएको भए पनि, उसका प्रकटीकरण र प्रकाशहरूले उसले सत्यतालाई पटक्‍कै स्वीकार गर्दैन, ऊ दृढ रूपमा अपश्चात्तापी छ, र ऊसँग ख्रीष्टविरोधीहरूको स्वभाव मात्रै होइन, ख्रीष्टविरोधीहरूको प्रकृति सार पनि हुन्छ भन्‍ने देखाउँछन्—ऊ साँच्‍चै नै पूर्ण रूपमा ख्रीष्ट-विरोधी हो।” अनि एक दिन, जब यो व्यक्तिलाई निष्कासित गरिन्छ, तब तैँले हृदयमा यो कुरा पुष्टि गर्छस्: “परमेश्‍वरका वचनहरू कति सटीक छन्! ख्रीष्टविरोधीहरूको स्वभाव भएका मानिसहरू परिवर्तन हुन सक्छन्, तर ख्रीष्टविरोधीहरूको सार भएका मानिसहरू परिवर्तन हुँदैनन्।” यी वचनहरूले तेरो हृदयमा जरा गाड्छन्। यो स्मरण वा सानो बुझाइ मात्रै हुँदैन, न त यो एक प्रकारको धारणात्मक ज्ञान मात्रै हुन्छ। बरु, तैँले परमेश्‍वरका वचनहरूलाई गहन रूपमा बुझ्छस् र स्वीकार गर्छस्: “ख्रीष्टविरोधी परिवर्तन हुनेछैन; उसले अन्त्यसम्मै परमेश्‍वरको विरोध गर्नेछ। परमेश्‍वरले उसलाई मुक्ति नदिनु अनौठो कुरा होइन; परमेश्‍वरले त्यस्ता मानिसहरूमा काम नगर्नु अनौठो कुरा होइन। उसले आफ्नो कर्तव्य पूरा गर्दा कहिल्यै अन्तर्दृष्टि वा ज्योति प्राप्त नगर्नु र कुनै वृद्धि नदेखाउनु अनौठो कुरा होइन—ऊ आफ्नै बाटोमा हिँड्न दृढ हुन्छ। यो साँच्‍चै नै ख्रीष्टविरोधी हो!” जब तैँले परमेश्‍वरका वचनहरूको सटीकतालाई पुष्टि गर्छस्, तब तैँले मनमनै सोच्छस्: “परमेश्‍वरका वचनहरू साँच्‍चै नै सत्यता हुन्। यी वचनहरू सही छन्। आमेन!” तैँले आमेन भन्‍नुको अर्थ के हो? यसको अर्थ यो हो कि, तेरा अनुभवहरूमार्फत, तैँले परमेश्‍वरका वचनहरू यावत् थोकलाई मापन गर्ने मापदण्ड हुन्, परमेश्‍वरका वचनहरू सत्यता हुन्, र यो युग र यो मानवजाति बितेर जाँदा पनि, परमेश्‍वरका वचनहरू बितेर जाँदैनन् भन्‍ने कुरा बुझेको छस्। ती किन बितेर जाँदैनन्? किनभने जहिलेसुकै होस्, ख्रीष्टविरोधीहरूको सार कहिल्यै परिवर्तन हुँदैन, र ख्रीष्टविरोधीहरूको सारलाई खुलासा गर्ने परमेश्‍वरका वचनहरू कहिल्यै परिवर्तन हुँदैनन्। यो युग बितेर जाने भए पनि, यो भ्रष्ट मानवजाति बितेर जाने भए पनि, परमेश्‍वरका यी वचनहरू सधैँ सत्यता नै रहनेछन्—यसलाई कसैले पनि नकार्न सक्दैन। यो परमेश्‍वरको वचन हो! जब तँलाई परमेश्‍वरका वचनहरू तैँले देख्‍ने र सामना गर्ने तथ्यहरू अनुरूप छन् र तीसँग मिल्छन् भन्‍ने लाग्छ, र तेरो हृदयलाई पुष्टि हुन्छ, र यो परमेश्‍वरका वचनहरू सही हुनुपर्छ वा परमेश्‍वरका वचनहरू गलत छैनन् भन्‍ने भावना मात्रै हुँदैन, बरु तैँले व्यक्तिगत रूपमा यो कुरा देखेको र अनुभव गरेको हुन्छस्, तब तैँले स्वाभाविक रूपमै परमेश्‍वरका वचनहरूलाई आमेन भन्‍नेछस्। त्यो बेला, यदि मैले फेरि “ख्रीष्टविरोधीहरूको सार भएका मानिसहरूका प्रकटीकरणहरू के-के हुन्?” भनेर सोधेँ भने, तेरो भित्री बुझाइ तुरुन्तै बाहिर आउनेछ। तँसँग एउटा बुझाइ, सम्झना भएको वाक्यांश, वा एक प्रकारको सचेतना वा धारणागत ज्ञान मात्रै हुनेछैन। तैँले तुरुन्तै भन्‍नेछस्, “ख्रीष्टविरोधीहरूले सत्यतालाई पटक्‍कै स्वीकार गर्दैनन् र तिनीहरू दृढ रूपमा अपश्चात्तापी हुन्छन्!” यो अभिव्यक्तिको संरचना त्यति तर्कसंगत नहोला, यो कुरा निकै अचानक रूपमा बोलिएको होला, र मानिसहरूले सुरुमा यो कुरा नबुझ्लान्, तर तैँले यसको अर्थ बुझेको हुन्छस् किनभने तैँले यसलाई अनुभव गरेको र आफ्नै आँखाले देखेको हुन्छस्। ख्रीष्टविरोधीहरू त्यस्ता नीच कुरा हुन्—तिनीहरूले कहिल्यै पनि पश्चात्ताप गर्नेछैनन्। यी वचनहरू अनुभव गरिनुपर्छ; ती अनुभव नगर्ने जोकोहीले केही पनि प्राप्त गर्नेछैन।

अक्टोबर २, २०२१

अघिल्लो: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२०)

अर्को: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२२)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्