अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१५)
विषयवस्तु बाह्र: परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा दिने विभिन्न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने। ती कुराहरूलाई रोक्ने, प्रतिबन्धित गर्ने र परिस्थितिलाई सुल्टाउने; यसअतिरिक्त, सत्यता सङ्गति गर्ने ताकि परमेश्वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूबाट सुझबुझ विकास गरून् र ती कुराहरूबाट सिकून् (भाग तीन)
मण्डली जीवनमा अवरोध र बाधा दिने विभिन्न मानिस, घटना, र कामकुराहरू
यसअघिको भेलामा, हामीले अगुवा र कामदारहरूको बाह्रौँ जिम्मेवारीबारे सङ्गति गर्यौँ: “परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा दिने विभिन्न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने। ती कुराहरूलाई रोक्ने, प्रतिबन्धित गर्ने र परिस्थितिलाई सुल्टाउने; यसअतिरिक्त, सत्यता सङ्गति गर्ने ताकि परमेश्वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूबाट सुझबुझ विकास गरून् र ती कुराहरूबाट सिकून्।” यो जिम्मेवारीको हकमा, हामीले मुख्य रूपमा मण्डली जीवनसँग सम्बन्धित विभिन्न समस्याहरूबारे सङ्गति गर्यौँ, जसलाई हामीले एघार वटा समस्यामा विभाजित गर्यौँ। पढेर सुनाओ त। (पहिलो, सत्यता सङ्गति गर्दा प्रायजसो विषयबाट बाहिर जानु; दोस्रो, मानिसहरूलाई बहकाउन र तिनीहरूको आदर जित्न शब्द र धर्मसिद्धान्तहरू बोल्नु; तेस्रो, घरायसी मामलाहरूबारे गफ गर्नु, व्यक्तिगत सम्पर्कहरू निर्माण गर्नु, र व्यक्तिगत मामलाहरू सम्हाल्नु; चौथो, गुटबन्दी गर्नु; पाचौँ, हैसियतका लागि प्रतिस्पर्धा गर्नु; छैटौँ, अनुचित सम्बन्धहरूमा संलग्न हुनु; सातौँ, आपसी आक्रमण र मौखिक कलहमा संलग्न हुनु; आठौँ, धारणाहरू फैलाउनु; नवौँ, नकारात्मकता पोख्नु; दशौँ, आधारहीन अफवाह फैलाउनु; र एघारौँ, निर्वाचनमा हेरफेर र अवरोध गर्नु।) यसअघि, हामीले पाचौँ समस्याबारे सङ्गति गरेका थियौँ, जुन हैसियतका लागि प्रतिस्पर्धा गर्नु हो र छैटौँ समस्या अनुचित सम्बन्धहरूमा संलग्न हुनु हो। यी दुई प्रकारका समस्याहरूले पनि, अघिल्ला चारवटा समस्याहरूले जस्तै, मण्डली जीवन र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा दिन्छन्। यी दुई प्रकारका समस्याहरूको प्रकृति, यी समस्याहरूले मण्डली जीवनमा ल्याउने हानि, र मानिसहरूको जीवन प्रवेशमा पार्ने प्रभावलाई हेर्दा, यी दुवै कुराले परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा दिने मानिस, घटना, र कामकुराहरू प्रतिनिधित्व गर्न सक्छन्।
ए. आपसी आक्रमण र मौखिक कलहमा संलग्न हुनु
आज, हामी सातौँ समस्याबारे सङ्गति गर्नेछौँ—आपसी आक्रमण र मौखिक कलहमा संलग्न हुनु। त्यस्ता समस्याहरू मण्डली जीवनमा आम हुन्छन् र ती सबैले प्रस्टै देख्न सक्ने हुन्छन्। जब मानिसहरू परमेश्वरको वचन खान-पिउन, आफ्नो व्यक्तिगत अनुभवहरूबारे सङ्गति गर्न, वा केही वास्तविक समस्याहरूबारे छलफल गर्न भेला हुन्छन्, तब सही र गलतबारेका फरकफरक दृष्टिकोण वा विवादहरूले प्रायजसो मानिसहरूको बीचमा तर्क र विवाद पैदा गर्छन्। यदि मानिसहरू असहमत हुन्छन् र फरकफरक दृष्टिकोण राख्छन्, तर यसले मण्डली जीवनमा बाधा दिँदैन भने, के यो आपसी आक्रमण र मौखिक कलहमा संलग्न हुनुका रूपमा गन्ती हुन्छ? यसलाई गन्ती गर्न मिल्दैन; यो त सामान्य सङ्गतिमा पर्छ। त्यसकारण, सतहमा धेरै समस्याहरू सातौँ समस्यासँग सम्बन्धित छन् जस्तो देखिन सक्छ, तर वास्तवमा, परिस्थिति र प्रकृतिका हिसाबमा अझै गम्भीर, र यसरी अवरोध र बाधाहरू बन्ने समस्याहरू मात्रै यो समस्याभित्र पर्छन्। अब हामी कुनकुन समस्याहरूको प्रकृतिले तिनलाई यो समस्याअन्तर्गत पर्नयोग्य तुल्याउँछ भन्नेबारे सङ्गति गरौँ।
सबभन्दा पहिला, आपसी आक्रमणमा संलग्न हुने प्रकटीकरणहरू हेर्दा, यो निश्चित रूपमा नै सामान्य रूपमा सत्यता सङ्गति गर्ने वा सत्यता खोजी गर्ने, वा सत्यता सङ्गति गरेका आधारमा फरकफरक बुझाइ वा ज्योति हुने, वा सत्यता सिद्धान्तहरू खोजी गर्ने, सङ्गति गर्ने, छलफल गर्ने, र निश्चित सत्यताबारे अभ्यासको मार्ग खोजी गर्नेबारे होइन, बरु यो सही र गलतबारे तर्क र विवाद गर्नेबारे हो। यो आधारभूत रूपमा यसरी नै प्रकट हुन्छ। के मण्डली जीवनमा कहिलेकाहीँ यस प्रकारको समस्या देखा पर्छ? (पर्छ।) बाहिरी रूपका आधारमा मात्रै हेर्दा, आपसी आक्रमणमा संलग्न हुनेजस्तो कार्य सत्यता खोजी गर्ने, वा पवित्र आत्माको मार्गदर्शनमा सत्यताबारे सङ्गति गर्ने, वा सामञ्जस्यताका साथ सहकार्य गर्नेबारे होइन, बरु यसको जड त गरम मिजासीपनमा हुन्छ, र यसमा प्रयोग गरिएको भाषामा आलोचना र निन्दा, र श्रापहरूसमेत समावेश हुन्छ—यस्तो प्रकारको प्रकटीकरण साँच्चै नै शैतानको भ्रष्ट स्वभावको प्रकटीकरण हो। जब मानिसहरूले एकअर्कालाई आक्रमण गर्छन्, तब तिनीहरूको भाषा धारिलो भए पनि वा चलाख भए पनि, यसमा गरम मिजासीपन, द्वेष, र घृणा समावेश हुन्छ, र यसमा प्रेम, सहनशीलता, र धैर्यताको अभाव हुन्छ, र प्राकृतिक रूपमै यसमा सामञ्जस्यपूर्ण सहकार्यको अझै धेरै कमी हुन्छ। मानिसहरूले एकअर्कालाई आक्रमण गर्न प्रयोग गर्ने विधिहरू फरकफरक हुन्छन्। उदाहरणका लागि, जब दुई मानिसहरूले कुनै मामला छलफल गरिरहेका हुन्छन्, तब पहिलो व्यक्तिले दोस्रोलाई भन्छ, “कतिपय मानिसहरूमा खराब मानवता र अहङ्कारी स्वभाव हुन्छ; तिनीहरू अलिकति काम गरे पनि धाक लगाउँछन्, र तिनीहरू कसैको कुरा सुन्दैनन्। तिनीहरू परमेश्वरका वचनहरूले भन्ने गरेका ती मानिसहरूजस्तै हुन्, जो पशुहरूजतिकै बर्बर र मानवताविहीन छन्।” यो सुनेपछि, दोस्रो व्यक्ति यसो सोच्छ, “के तिमीले भर्खरै भनेको कुरा मतिर निर्देशित थिएन र? तिमीले मेरो खुलासा गर्न परमेश्वरका वचनहरूसमेत वाचन गऱ्यौ! तिमीले मेरो बारे कुरा गरेको हुनाले, म पनि रोकिन्नँ। तिमीले मसँग कठोर व्यवहार गरेका छौ, त्यसकारण म तिमीलाई पनि दुर्व्यवहार गर्नेछु!” त्यसकारण, दोस्रो व्यक्तिले भन्छ, “कतिपय मानिसहरू बाहिरी रूपमा अत्यन्तै भक्त देखिन सक्छन्, तर वास्तवमा भित्र गहिराइमा तिनीहरू अरूभन्दा बढी कुटिल हुन्छन्। तिनीहरू परमेश्वरका वचनहरूमा उल्लेख गरिएका वेश्या र धन्दावालीहरूजस्तै विपरीतलिङ्गीहरूसँग अनुचित सम्बन्धमा संलग्न हुन्छन्—परमेश्वर त्यस्ता मानिसहरूलाई अत्यन्तै घृणा गर्नुहुन्छ, र तिनीहरूसँग वितृष्ण हुनुहुन्छ। अनि भक्त देखिनुको के फाइदा? त्यो सबै ढोँग मात्रै हो। परमेश्वर ढोँग गर्नेहरूलाई सबैभन्दा बढी घृणा गर्नुहुन्छ; ढोँग गर्नेहरू सबै फरिसीहरू हुन्!” यो सुनेपछि, पहिलो व्यक्तिले सोच्छ, “यो मेरो विरुद्ध गरिएको प्रत्याक्रमण हो! ठीक छ, तिमीले मलाई कठोर व्यवहार गऱ्यौ, त्यसकारण मैले पनि तिमीलाई बाँकी राखिनँ भने मलाई दोष नदेऊ!” अघि र पछि गरेर, ती दुई जना झगडा गर्न थालेका हुन्छन्। के यो परमेश्वरका वचनहरूबारे सङ्गति गर्नु हो त? (होइन।) तिनीहरूले के गरिरहेका हुन्? (एकअर्कालाई आक्रमण गरिरहेका र लडाइँ गरिरहेका हुन्।) तिनीहरूले केही कमजोरीको फाइदा उठाएर आफ्नो आक्रमणका लागि “आधार” खोज्छन्, र त्यो आधारका रूपमा परमेश्वरका वचनहरू वाचन गर्छन्—यो आपसी आक्रमणमा संलग्न हुनु हो, यसको साथै, यो मौखिक कलहमा संलग्न हुनु हो। के मण्डली जीवनमा कहिलेकाहीँ यसप्रकारको सङ्गति देखिन्छ? के यो सामान्य सङ्गति हो? के यो सामान्य मानवताभित्रको सङ्गति हो? (होइन।) त्यसोभए, के यसप्रकारको सङ्गतिका कारण मण्डली जीवनमा अवरोध र बाधाहरू पैदा हुन्नन् र? यसले कस्ता प्रकारका अवरोध र बाधाहरू ल्याउँछ? (सामान्य मण्डली जीवनमा बाधा पुग्छ, मानिसहरू सही र गलतबारे विवादमा अल्झन्छन्, र नतिजास्वरूप तिनीहरू परमेश्वरका वचनहरू शान्त भएर मनन र सङ्गति गर्न सक्दैनन्।) जब मानिसहरू मण्डली जीवनको अवधिमा सही र गलतबारे यस्ता झैझगडा र तर्कहरूमा संलग्न हुन्छन्, र व्यक्तिगत आक्रमणहरू गर्छन्, तब के पवित्र आत्माले अझै पनि काम गर्नुहुन्छ त? पवित्र आत्माले काम गर्नुहुन्न; यस्तो सङ्गतिले मानिसहरूको हृदय अस्तव्यस्त पार्छ। बाइबलमा केही वचनहरू छन्, के तिमीहरूलाई ती याद छन्? (“फेरि म तिमीहरूलाई भन्छु, यदि पृथ्वीमा तिमीहरूमध्ये दुई जना आफूले माग्ने कुरालाई छुँदै सहमत भएर माग्यौ भने स्वर्गमा हुनुहुने मेरा पिताले तिनीहरूका निम्ति त्यो गरिदिनुहुनेछ। किनभने जहाँ दुई वा तीन जना मेरो नाउँमा भेला हुन्छन्, म त्यहाँ तिनीहरूको बीचमा हुन्छु” (मत्ती १८:१९-२०)।) यी वचनहरूको अर्थ के हो? जब मानिसहरू परमेश्वरअघि भेला हुन्छन्, तब तिनीहरू एउटै हृदय र मनका हुनुपर्छ र परमेश्वरअघि तिनीहरू एकीकृत हुनुपर्छ; र मानिसहरू एउटै हृदय र मनका हुँदा मात्रै परमेश्वरले तिनीहरूलाई आशिष्हरू दिनुहुनेछ, पवित्र आत्माले काम गर्नुहुनेछ। तर के मैले भर्खरै उल्लेख गरेका बहस गर्ने दुई जना मानिसहरू एउटै हृदय र मनका थिए त? (थिएनन्।) तिनीहरू केमा संलग्न थिए? आपसी आक्रमण, लडाइँ, र आलोचना र निन्दामा समेत संलग्न थिए। तिनीहरूले सतहमा फोहोरी श्रापका शब्दहरू प्रयोग नगरेका वा अर्को व्यक्तिलाई नराम्रो नाम दिएर नबोलेका भए पनि, तिनीहरूको शब्दहरूपछाडि रहेको प्रेरणा सत्यताबारे सङ्गति गर्ने वा सत्यता खोजी गर्ने उद्देश्यको थिएन, र तिनीहरूले सामान्य मानवताको विवेक र समझभित्र रहेर बोलिरहेका थिएनन्। तिनीहरूले बोलेको हरेक शब्द गैरजिम्मेवार थियो, र यसमा आक्रामकता र द्वेष थियो; हरेक शब्द नै तथ्यहरूअनुरूप थिएन, न त त्यसको कुनै आधार नै थियो। हरेक शब्द परमेश्वरका वचनहरू र परमेश्वरका मागअनुसार मामलालाई मूल्याङ्कन गर्नेबारे थिएन, बरु त्यो आफूले घृणा गरेको र हेला गरेको व्यक्तिविरुद्ध आफ्नै रुचि र इच्छाका आधारमा व्यक्तिगत आक्रमण, मूल्याङ्कन, र निन्दा गर्नेबारे थियो। तीमध्ये कुनै पनि कुरा एउटै हृदय र मनको हुनुका प्रकटीकरणहरू होइनन्; बरु, ती त गरम मिजास र शैतानको भ्रष्ट स्वभावबाट आएका शब्द र प्रकटीकरणहरू हुन्, र तिनले परमेश्वरलाई खुसी पार्दैनन्; त्यसकारण, त्यहाँ पवित्र आत्माको कुनै काम हुँदैन। यो आपसी आक्रमणमा संलग्न हुनुको प्रकटीकरण हो।
मण्डली जीवनमा, सानातिना मामलाहरू वा विपरीत दृष्टिकोण र हितहरूका सम्बन्धमा मानिसहरूबीच प्रायजसो विवाद र द्वन्द्वहरू प्रायः देखा पर्छन्। नमिल्ने व्यक्तित्व, महत्त्वाकाङ्क्षा, र प्राथमिकताहरूका कारण पनि विवादहरू प्रायजसो पैदा हुन्छन्। सामाजिक हैसियत र शिक्षाका स्तरमा रहेका भिन्नताहरू, वा तिनीहरूको मानवता र प्रकृतिका हिसाबमा रहेका भिन्नताहरू, र बोल्ने र मामलाहरू सम्हाल्ने तरिकामा रहेका भिन्नताहरूका कारण, र यस्तै अरू कारणहरूले गर्दा पनि विभिन्न प्रकारका असहमति र कलहहरू पैदा हुन्छन्। यदि मानिसहरूले परमेश्वरको वचन प्रयोग गरेर यी समस्याहरू समाधान गर्न खोजी गर्दैनन् भने, यदि कुनै पारस्परिक सहमति, सहनशीलता, साथ, र सहयोग छैन भने, र यदि मानिसहरू आफ्नो हृदयमा पूर्वाग्रह र घृणा पाल्छन्, र भ्रष्ट स्वभावभित्र एकअर्कासित गरम मिजासका साथ व्यवहार गर्छन् भने, यसले आपसी आक्रमण र आलोचनामा डोऱ्याउने सम्भावना हुन्छ। कतिपय मानिसहरूसँग अलिक विवेक र समझ हुन्छ, र विवादहरू पैदा हुँदा, तिनीहरूले धैर्यता अभ्यास गर्न, समझसाथ काम गर्न, र अर्को पक्षलाई प्रेमसाथ मदत गर्न सक्छन्। तर, कतिपय मानिसहरू यो कुरा हासिल गर्न सक्दैनन्, र तिनीहरूमा सबैभन्दा आधारभूत सहनशीलता, धैर्यता, मानवता, र समझसमेत हुँदैन। तिनीहरू प्रायजसो सानातिना मामलाहरूबारे, वा एउटै शब्द वा अनुहारको अभिव्यक्तिका निहुँमा, अरूविरुद्ध विभिन्न पूर्वाग्रह, सन्देह र गलतफहमीहरू विकास गर्छन्, जसले गर्दा तिनीहरूको हृदयमा उनीहरूविरुद्ध विभिन्न प्रकारका विचार, शङ्का, आलोचना, र निन्दाहरू ल्याउँछ। यी घटनाहरू मण्डलीभित्र प्रायजसो देखा परिरहन्छन् र तिनले प्रायजसो व्यक्तिहरूबीचका सामान्य सम्बन्धहरूमा, दाजुभाइ-दिदीबहिनीहरूको सामञ्जस्यपूर्ण अन्तरक्रियाहरूमा, र परमेश्वरका वचनहरूबारे तिनीहरूले गर्ने सङ्गतिमा समेत असर पार्छ। मानिसहरू एकअर्कासँग अन्तरक्रिया गर्दा विवादहरू पैदा हुनु सामान्य कुरा हो, तर यदि मण्डली जीवनमा यस्ता समस्याहरू बारम्बार देखा पर्छन् भने, तिनले सामान्य मण्डली जीवनमा असर गर्न, बाधा दिन, र त्यसलाई नष्टसमेत गर्न सक्छन्। उदाहरणका लागि, यदि कसैले भेलामा बहस सुरु गर्यो भने, त्यो भेलामा बाधा हुनेछ, मण्डली जीवनले फल दिन असफल हुनेछ, र भेलामा सहभागी हुनेहरूले केही पनि प्राप्त गर्नेछैनन्, र तिनीहरू आधारभूत रूपमा व्यर्थमा भेला भइरहेका र आफ्नो समय बरबाद गरिरहेका हुनेछन्। फलस्वरूप, यी समस्याहरूले मण्डली जीवनको सामान्य सुव्यवस्थामा असर पारिसकेका हुनेछन्।
क. आपसी आक्रमण र मौखिक कलहमा संलग्न हुनुका विभिन्न प्रकारका प्रकटीकरणहरू
१. कमीकमजोरीहरूको आपसी खुलासा
कतिपय मानिसहरूलाई भेलाहरूका अवधिमा सधैँ घरायसी मामलाहरू र महत्त्वहीन विषयहरूबारे गफ गर्न मन पर्छ, र तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्दा सानातिना घरायसी मामलाहरूबारे कुराकानी गर्छन् र गफगाफमा संलग्न हुन्छन्, जसले गर्दा ती दाजुभाइ-दिदीबहिनीहरूलाई असहाय महसुस हुन्छ। तिनीहरूलाई हस्तक्षेप गर्न कोही खडा हुन सक्छ, तर त्यसपछि के हुन्छ? यदि तिनीहरूलाई निरन्तर हस्तक्षेप गरियो भने, तिनीहरू अप्रसन्न बन्छन्, र तिनीहरू अप्रसन्न हुनु भनेकै समस्या खडा हुनु हो। तिनीहरू सोच्छन्: “तिमी सधैँ मलाई हस्तक्षेप गर्छौ र बोल्न दिँदैनौ। त्यसोभए, ठीक छ। तिमी बोल्दा म पनि तिमीलाई हस्तक्षेप गर्नेछु! जब तिमी परमेश्वरका वचनहरूबारे सङ्गति गर्छौ, तब म परमेश्वरका वचनहरूको अर्को खण्ड पढेर तिम्रो कुरा बीचैमा काट्नेछु। जब तिमी आफूलाई चिन्नेबारे सङ्गति गर्छौ, तब म मानिसहरूलाई न्याय गर्ने परमेश्वरका वचनहरूबारे सङ्गति गर्नेछु। जब तिमी आफ्नो अहङ्कारी स्वभाव बुझ्नेबारे सङ्गति गर्छौ, तब म मानिसहरूका परिणाम र गन्तव्य निर्धारित गर्ने परमेश्वरका वचनहरू सङ्गति गर्नेछु। तिमीले जे भने नि म फरक कुरा भनिदिनेछु!” यति मात्र होइन, यदि अरू तिनीहरूलाई हस्तक्षेप गर्न जोडिए भने, यो व्यक्तिले खडा भएर तिनीहरूलाई आक्रमण गर्छ। साथसाथै, उसले हृदयमा तिरस्कार र घृणा पालेको हुनाले, भेलाहरूमा ऊ प्रायजसो आफ्नो कुरा रोक्ने व्यक्तिका कमीकमजोरीहरू खुलासा गर्छ, त्यो व्यक्तिले परमेश्वरमा विश्वास गर्न आउनुभन्दा पहिले कसरी अरूलाई व्यापारमा धोका दिन्थ्यो, अरूसँगको व्यवहारमा त्यो व्यक्ति कति बेइमान थियो, र आदि इत्यादिबारे कुरा गर्छ—जबजब त्यो व्यक्ति बोल्छ, तबतब ऊ यी कुराहरूबारे नै बोल्छ। सुरुमा त त्यो व्यक्तिले धैर्यता अभ्यास गर्न सक्छ, तर समय बित्दै जाँदा, त्यो व्यक्ति यस्तो सोच्न थाल्छ: “म सधैँ तिमीलाई सहयोग गर्छु, म सधैँ तिमीप्रति सहनशीलता र धैर्यता देखाउँछु, तर तिमी मलाई कुनै सहनशीलता देखाउँदैनौ। यदि तिमी मलाई यसरी व्यवहार गर्छौ भने, तिमीलाई बाँकी नराखी बोलेँ भने मलाई दोष नदिनु! हामी धेरै समयदेखि एउटै गाउँमा बस्दै आएका छौँ—हामी दुवै एकअर्कालाई राम्ररी चिन्छौँ। तिमीले मलाई आक्रमण गरेका छौ, त्यसकारण म पनि तिमीलाई आक्रमण गर्नेछु; तिमीले मेरा कमीकमजोरीहरू खुलासा गरेका छौ, तर तिमीसँग पनि त्यस्ता कमजोरीहरू प्रशस्त छन्।” अनि त्यसपछि, उसले भन्छ, “तिमी सानो हुँदा तिमीले सामानसमेत चोरेका थियौ; तिमीले गरेका ती सानातिना चोरीहरू अझै लाजमर्दा छन्! मैले जे गरेँ कम्तीमा त्यो व्यवसाय त थियो, र त्यो सबै जीविकोपार्जन गर्नका खातिर थियो। यो संसारमा कसले पो केही गल्तीहरू गर्दैन र? तिम्रो व्यवहारचाहिँ कस्तो छ नि? तिम्रो व्यवहार त चोर र डाँकुको व्यवहार हो!” के यो आपसी आक्रमणमा संलग्न हुनु होइन र? यी आक्रमणहरूको विधि के हो? यो आपसी कमीकमजोरीहरू खुलासा गर्नु हो, होइन र? (हो।) तिनीहरू मनमनै यस्तोसमेत सोच्छन्: “तिमी मेरा कमीकमजोरीहरू खुलासा गरिरहन्छौ, ती कुराहरूबारे र मेरो असम्माननीय विगतबारे सबैलाई थाहा दिइरहन्छौ, जसले गर्दा अरूले मलाई उप्रान्त आदर गर्नेछैनन्—त्यसैले, म पनि पछि हट्नेछैनँ। तिम्रा प्रेमीहरू कति थिए, तिमी कति जना विपरीतलिङ्गीसँग बसेका छौ भन्नेबारे मलाई सबै थाहा छ; मसँग यो सबै हतियार तयार छ। यदि तिमीले फेरि मेरा कमीकमजोरीहरू खुलासा गऱ्यौ र मलाई सँघारमा धकेल्यौ भने, म तिम्रा सबै दुष्कर्महरू प्रकाश गर्नेछु!” एकअर्कासँग राम्ररी परिचित रहेका र एकअर्कालाई राम्ररी चिनेका मानिसहरूबीच कमीकमजोरीहरूको आपसी खुलासा हुनु आम समस्या हो। सायद असहमतिका कारण वा तिनीहरूबीच द्वन्द्व वा रिस भएका कारण, ती दुई मानिसहरू भेलाहरूमा एकअर्कालाई आक्रमण गर्नका लागि हतियारका रूपमा प्रयोग गर्न पुराना र सानातिना मामलाहरू तन्काउने गर्छन्। यी दुई मानिसहरू एकअर्काका कमीकमजोरीहरू खुलासा गर्छन् र एकअर्कालाई आक्रमण र निन्दा गर्छन्, र परमेश्वरको वचन खाने-पिउने सबैको समय ओगट्छन्, र सामान्य मण्डली जीवनमा असर पुर्याउँछन्। के त्यस्ता भेलाहरूले फल दिन सक्छन् र? के तिनीहरू वरिपरिका मानिसहरूलाई अझै पनि भेलामा सहभागी हुन मन लाग्छ र? कतिपय दाजुभाइ-दिदीबहिनीहरू यस्तो सोच्न थाल्छन्: “यी दुई जना निकै समस्याजनक छन्, विगतका ती मामलाहरू उठाउनुको के अर्थ छ र! अहिले तिनीहरू दुवै परमेश्वरमा विश्वास गर्छन्, त्यसकारण तिनीहरूले ती कुराहरू बिर्सनुपर्छ। कसको पो समस्या हुँदैनन् र? के तिनीहरू दुवै अहिले परमेश्वरअघि आएका छैनन् र? यी सबै समस्याहरू परमेश्वरको वचनद्वारा समाधान गर्न सकिन्छ। कमीकमजोरीहरू खुलासा गर्नु सत्यता अभ्यास गर्नु होइन, न त यो एउटा व्यक्तिका सबल पक्षहरूबाट सिकेर अर्को व्यक्तिका कमजोरीहरू पूर्ति गर्नु नै हो; यो त आपसी आक्रमण हो, यो शैतानी व्यवहार हो।” तिनीहरूको आपसी आक्रमणले सामान्य मण्डली जीवनमा बाधा दिन्छ र यसलाई नष्ट गर्छ। तिनीहरूलाई कसैले रोक्न सक्दैन, र जोसुकैले तिनीहरूलाई सत्यताबारे सङ्गति गरे पनि तिनीहरू सुन्दैनन्। कतिपय मानिसहरू तिनीहरूलाई यस्तो सल्लाह दिन्छन्: “एक-अर्काका कमीकमजोरीहरू खुलासा गर्न छोड। वास्तवमा, यो सम्पूर्ण कुरा त्यति ठूलो होइन; के यो छोटो मौखिक असहमति मात्रै होइन र? तिमीहरू दुईबीच कुनै गहन घृणा छैन। यदि तिमीहरू दुवैले परमेश्वरअघि प्रार्थना गर्न र सत्यता खोजी गर्नका लागि खुलस्त कुरा गर्न, आफूलाई उदाङ्गो पार्न, अनि आफ्ना पूर्वाग्रह, तिरस्कार, र घृणा त्याग्न सक्यौ भने, यी सबै समस्याहरू समाधान हुन सक्छन्।” तर ती दुई जना अझै पनि गतिरोधमा हुन्छन्। तिनीहरूमध्ये एक जनाले भन्छ, “यदि उसले सुरुमा मसँग माफी माग्न सक्छ, र उसले पहिले खुलस्त कुरा गर्न र आफूलाई उदाङ्गो पार्न सक्छ भने, म पनि त्यसै गर्नेथिएँ। तर यदि ऊ पहिलेजस्तै यो कुरा छोड्दैन भने, म पनि उसको विरुद्ध केही कुरा बाँकी राख्नेछैनँ। तिमी मलाई सत्यता अभ्यास गर्न लगाउँछौ—ऊ चाहिँ किन अभ्यास गर्दैन? तिमी मलाई कुराहरू छोड्न लगाउँछौ—ऊ चाहिँ किन सुरुमा गर्दैन?” के यो असमझ हुनु होइन र? (हो।) तिनीहरूले असमझदारीपूर्ण व्यवहार गर्न थाल्छन्। कसैको सल्लाहले पनि तिनीहरूलाई असर गर्दैन, र तिनीहरू सत्यताबारे गरिएको सङ्गति पनि सुन्दैनन्। तिनीहरू एकअर्कालाई भेट्नेबित्तिकै, बहस गर्छन्, एकअर्काका कमीकमजोरीहरू खुलासा गर्छन् र एकअर्कालाई आक्रमण गर्छन्। मुक्का हान्ने अवस्थासम्म नपुग्नु बाहेक, तिनीहरूले एकअर्कासँग गर्ने सबै कुरामा घृणा हुन्छ, र तिनीहरूले बोल्ने हरेक शब्दमा आक्रमण र श्रापका आशय हुन्छन्। यदि, मण्डली जीवनमा, एकअर्कालाई देख्नेबित्तिकै आक्रमण गर्ने र मौखिक कलहमा संलग्न हुने यस्ता दुई मानिसहरू छन् भने, के यो मण्डली जीवनले फल दिन सक्छ र? के मानिसहरूले यसबाट केही सकारात्मक कुरा प्राप्त गर्न सक्छन् र? (सक्दैनन्।) जब त्यस्ता परिस्थितिहरू देखा पर्छन्, तब धेरैजसो मानिसहरू यसो भन्दै चिन्तित हुन्छन्, “हामी भेला हुँदा हरेकपटक, ती दुई जना सधैँ झगडा गरिरहेका हुन्छन्, र तिनीहरू कसैको सल्लाह सुन्दैनन्। हामी के गर्ने?” तिनीहरू त्यहाँ हुँदासम्म, भेलाहरू शान्तिपूर्ण हुँदैनन्, र तिनीहरूले सबैलाई बाधा दिन्छन्। त्यस्ता परिस्थितिहरूमा, मण्डली अगुवाहरू समस्या समाधान गर्न अघि आउनुपर्छ; तिनीहरूले त्यस्ता व्यक्तिहरूलाई मण्डली जीवनमा निरन्तर बाधा दिइरहन दिनु हुँदैन। यदि बारम्बार गरिएको सल्लाह, सङ्गति, र सकारात्मक मार्गदर्शनपछि पनि कुनै नतिजाहरू हासिल हुँदैनन्, र दुवै पक्षले आफ्नो पूर्वाग्रह कायम राखिराख्छन् र एकअर्कालाई क्षमा दिन मान्दैनन्, र एकअर्कालाई आक्रमण गरिरहन्छन् र मण्डली जीवनमा बाधा दिइरहन्छन् भने, यो मामलालाई सिद्धान्तहरूअनुसार सम्हाल्नु अत्यावश्यक हुन्छ। तिनीहरूलाई यसो भनिनुपर्छ: “तिमीहरू दुई जना यो स्थितिमा भएको धेरै भएको छ, र यसले मण्डली जीवनलाई र सबै दाजुभाइ-दिदीबहिनीहरूलाई गम्भीर बाधाहरू दिएको छ। धेरैजसो मानिसहरू तिमीहरूको यो व्यवहारप्रति रिसाएका छन्, तर तिनीहरू यसबारे केही भन्न डराउँछन्। तिमीहरूको वर्तमान मनोवृत्ति र प्रकटीकरणहरू हेर्दा, मण्डलीले, सिद्धान्तहरूअनुसार, मण्डली जीवनमा तिमीहरूको सहभागिता रोक्नुपर्छ र तिमीहरूलाई आत्मचिन्तन गर्न अलग राख्नुपर्छ। जब तिमीहरू सामञ्जस्यताका साथ मिलेर बस्न, सामान्य सङ्गतिमा संलग्न हुन, र सामान्य अन्तरव्यैयत्तिक सम्बन्धहरू निर्माण गर्न सक्छौ, तब तिमीहरू मण्डली जीवनमा फेरि फर्केर आउन सक्छौ।” तिनीहरू यसमा सहमत भए पनि वा नभए पनि, मण्डलीले यो निर्णय गर्नुपर्छ; यो सिद्धान्तहरूका आधारमा मामला सम्हाल्नु हो। यी कुराहरू यसरी नै सम्हाल्नुपर्छ। एक हिसाबमा, यो ती दुई व्यक्तिहरूका लागि फाइदाजनक हुन्छ; यसले तिनीहरूलाई आत्मचिन्तन गर्न र आफूलाई चिन्न प्रेरित गर्न सक्छ। अर्को हिसाबमा, यसले मुख्य रूपमा अझै धेरै दाजुभाइ-दिदीबहिनीहरूलाई दुष्ट मानिसहरूको बाधाबाट सुरक्षा दिन्छ। कतिपय मानिसहरू भन्छन्, “तिनीहरूले कुनै दुष्कर्म गरेका छैनन्; तिनीहरूको सारका हिसाबमा तिनीहरू दुष्ट मानिसहरू पनि होइनन्। तिनीहरूको मानवतामा सानातिना त्रुटिहरू मात्रै छन्, तिनीहरू केवल स्वेच्छाचारी छन्, तिनीहरूमा असमझ हुने, अनि डाहा र विवाद गर्ने प्रवृत्ति छ। यसका कारण मात्रै किन तिनीहरूलाई अलग राख्ने?” तिनीहरूको मानवता जस्तोसुकै होस्, तिनीहरूले मण्डली जीवनमा बाधा दिएसम्म, मण्डली अगुवाहरूले त्यो समस्या सम्बोधन र समाधान गर्न हस्तक्षेप गर्नुपर्छ। यदि ती दुई व्यक्ति दुष्ट छन् भने, त्यो कुरा खुट्टयाउनेबित्तिकै, प्रतिक्रिया तिनीहरूलाई अलग गर्नेजस्तो सरल हुनु हुँदैन; तिनीहरूलाई सीधै सफा गरेर हटाउन निर्णय तुरुन्तै गरिनुपर्छ। यदि तिनीहरूका कार्य अरूलाई हानि नहुने गरी वा परमेश्वरको घरका हितहरूमा घाटा ल्याउने अरू खराब कार्यहरू नगर्ने गरी एकअर्कालाई आक्रमण गर्ने र सही र गलतबारे बहस गर्ने कार्यमा मात्रै सीमित हुन्छ, र तिनीहरू दुष्ट छैनन् भने, तिनीहरूलाई सफा गरेर हटाउनुपर्दैन। बरु, तिनीहरूको मण्डली जीवन रोक्नुपर्छ, र तिनीहरूलाई आत्मचिन्तनका लागि अलग राख्नुपर्छ। यो शैली सबैभन्दा उचित हुन्छ। यो मामलालाई यसरी सम्हाल्नुको उद्देश्य भनेको मण्डली जीवनको सामान्य सुव्यवस्था सुनिश्चित गर्नु र मण्डलीको काम सामान्य रूपमा अघि बढ्न सक्ने कुरा प्रत्याभूत गर्नु हो।
२. आपसी खुलासा र आक्रमणहरू
कतिपय मानिसहरूमा परमेश्वरको वचन खाने-पिउने कार्यमा बुझ्ने क्षमताको कमी हुन्छ र परमेश्वरको वचनबारेको आफ्नो अनुभवात्मक बुझाइ कसरी सङ्गति गर्ने भनी तिनीहरूलाई थाहै हुँदैन। तिनीहरूलाई मानिसहरूको खुलासा गर्ने परमेश्वरका वचनहरूलाई अरूसँग जोड्न मात्रै आउँछ। र त्यसकारण, जब तिनीहरूले परमेश्वरका वचनहरूमा रहेका सत्यताबारे सङ्गति गर्छन्, तब तिनीहरूसँग सधैँ व्यक्तिगत मनसाय हुन्छन्; तिनीहरू सधैँ अवसरको फाइदा उठाएर अरूलाई खुलासा गर्न र आक्रमण गर्न चाहन्छन्, जसले गर्दा मण्डलीमा अशान्ति पैदा हुन्छ। यदि खुलासा गरिएका मानिसहरूले यी परिस्थितिहरूलाई सही रूपमा लिन, र ती परमेश्वरबाट आएका हुन् भनेर बुझ्न, अनि समर्पण र धैर्यता अपनाउन सक्छन् भने, कुनै विवाद हुनेछैन। तर, अरूले आफ्ना समस्याहरूबारे सङ्गति र खुलासा गरेको सुन्दा व्यक्तिमा प्रतिरोधको अनुभूति हुनु अपरिहार्य नै हुन्छ। ऊ मनमनै सोच्छ, “तपाईंले परमेश्वरका वचनहरू पढिसकेपछि, तीबारे किन आफ्नो अनुभवात्मक बुझाइ बाँड्नुहुन्न, वा किन आफूलाई चिन्नेबारे कुरा गर्नुहुन्न, र किन मलाई मात्रै आक्रमण गर्नुहुन्छ र निसाना बनाउनुहुन्छ? के तपाईं मलाई अप्रिय मान्नुहुन्छ? ममा भ्रष्ट स्वभाव छ भन्ने कुरा परमेश्वरका वचनहरूले स्पष्ट पारिसकेका छन्—के तपाईंले साँच्चै यसो भनिरहनु आवश्यक छ र? ममा भ्रष्ट स्वभाव हुन सक्छ, तर के तपाईंमा पनि भ्रष्ट स्वभाव छैन र? तपाईंले सधैँ मलाई निसाना बनाउनुहुन्छ, छली भन्नुहुन्छ, तर तपाईंमा पनि धूर्तताको कमी त छैन!” आक्रोश र अवज्ञाले भरिएर, तिनीहरू एक-दुईपटक धैर्यता अभ्यास गर्लान्, तर समय बित्दै जाँदा, र तिनीहरूका गुनासाहरू जम्मा भएपछि, ती विस्फोट हुन्छन्। अनि ती विस्फोट भएपछि, कुरो विपत्तिजनक बन्छ। तिनीहरू भन्छन्, “जब केही मानिसहरू व्यवहार गर्छन् र बोल्छन्, तब तिनीहरू सतहमा अत्यन्तै इमानदार र खुलस्त भएको ढोँग गर्छन्, तर वास्तवमा, तिनीहरू हरकिसिमका युक्तिहरूले भरिएका हुन्छन्, र सधैँ अरूविरुद्ध षड्यन्त्र गरिरहेका हुन्छन्। तिनीहरूसँग कुरा गर्दा कसैले पनि तिनीहरूका विचार वा अभिप्राय बुझ्न सक्दैन; तिनीहरू छली मानिसहरू हुन्। जब हामी त्यस्ता व्यक्तिहरू भेट्छौँ, तब हामी तिनीहरूसँग कुराकानी वा अन्तरक्रिया गर्न सक्दैनौँ; तिनीहरू अत्यन्तै डरलाग्दा हुन्छन्। यदि तिमी होसियार भएनौ भने, तिमी तिनीहरूको पासोमा पर्नेछौ र तिमीलाई तिनीहरूले धोका दिनेछन् र प्रयोग गर्नेछन्। त्यस्ता मानिसहरू सबैभन्दा दुष्ट हुन्, परमेश्वरले सबैभन्दा बढी घृणा गर्नुहुने र घिनाउनुहुने मानिसहरू हुन्। तिनीहरूलाई त अतल कुण्डमा, आगो र गन्धकको कुण्डमा फालिदिनुपर्छ!” यो सुनेपछि, अर्को व्यक्तिले सोच्छ, “तिमीमा भ्रष्ट स्वभावहरू छन् तर तिमी किन अरूलाई तिम्रो खुलासा गर्न दिँदैनौ? तिमी निकै अहङ्कारी र आत्मधर्मी छौ, त्यसकारण म तिम्रो खुलासा गर्न परमेश्वरका वचनहरूको अर्को खण्ड खोज्छु; हेरौँला, त्यसपछि तिमीले के भन्ने रहेछौ!” आफ्नो खुलासा भएपछि त्यो अर्को व्यक्ति अझै रिसाउँछ, र ऊ यसो सोच्छ: “त्यसोभए, तिमीले यो कुरा छाड्नेवाला छैनौ, होइन त? तिमी यो कुरा बिर्सिँदैनौ, होइन त? तिमी मलाई मनै पराउँदैनौ, र ममा भ्रष्ट स्वभाव छ भन्ठान्छौ, होइन र? ठीक छ, त्यसोभए म पनि तिम्रो खुलासा गर्नेछु!” त्यसकारण ऊ यसो भन्छ, “कति मानिसहरू त बस ख्रीष्टविरोधी हुन्छन्; तिनीहरू हैसियत र अरूको प्रशंसा मन पराउँछन्, अरूलाई भाषण दिन, अरूलाई खुलासा गर्न र निन्दा गर्न परमेश्वरका वचनहरू प्रयोग गर्छन्, जसले गर्दा अरूले तिनीहरूमाचाहिँ भ्रष्ट स्वभाव छैन भन्ने सोच्छन्। तिनीहरू पूरै उच्च र शक्तिशाली हुन्छन्, र तिनीहरूलाई पवित्रीकरण गरिएको छ भन्ने सोच्छन्, तर के तिनीहरू फोहोरी पिशाचहरू मात्रै होइनन् र? के तिनीहरू शैतान र दुष्टात्माहरू मात्रै होइनन् र? ख्रीष्टविरोधीहरू के हुन्? ख्रीष्टविरोधीहरू शैतानहरू हुन्!” तिनीहरूले कतिपटक झगडा गरेका हुन्छन्? के कसैले जित्छ? (जित्दैन।) के तिनीहरूले अरूका लागि ज्ञानवर्धक कुनै कुरा बोलेका छन्? (छैनन्।) त्यसोभए, यी शब्दहरू के हुन्? (आलोचना, निन्दा।) ती आलोचना हुन्। तिनीहरू वास्तविक परिस्थिति वा तथ्यहरूप्रति ध्यान नदिई, लापरवाह रूपमा बोल्छन्, स्वेच्छाचारी ढङ्गले अरूलाई आलोचना र निन्दा गर्छन्, र श्रापसमेत दिन्छन्। के अर्को व्यक्तिलाई ख्रीष्टविरोधी भनेर भन्ने तथ्यगत आधार तिनीहरूसँग हुन्छ? त्यो व्यक्तिले ख्रीष्टविरोधीका केकस्ता दुष्कर्म र प्रकटीकरणहरू प्रदर्शन गरेको छ? के उसको भ्रष्ट स्वभाव ख्रीष्टविरोधीको सारको स्तरसम्म पुग्छ? जब परमेश्वरका चुनिएका मानिसहरूले तिनीहरूले त्यो अर्को व्यक्तिको खुलासा गरिरहेको सुन्छन्, तब के उनीहरूले, यो वस्तुगत र साँचो हो भन्ने सोच्नेछन्? के यी दुई मानिसहरूले बोलेका शब्दहरूमा कुनै दया वा असल अभिप्रायहरू हुन्छन्? (हुँदैनन्।) के तिनीहरूको उद्देश्य आफूलाई चिन्न एकअर्कालाई सहयोग गर्नु, र आफूलाई आफ्नो भ्रष्ट स्वभाव फाल्न र सक्दो चाँडो सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम तुल्याउनु हो? (होइन।) त्यसोभए तिनीहरूले किन यसो गरिरहेका हुन्छन्? यो तिनीहरूको व्यक्तिगत द्वेष पोख्नका लागि, अर्को पक्षलाई प्रहार गर्न र बदला लिनका लागि हो, त्यसकारण तिनीहरू स्वेच्छाचारी ढङ्गले तथ्यहरूसँग मिल्दै नमिल्ने आरोप लगाउँछन्। तिनीहरूले परमेश्वरका वचनहरू र अर्को व्यक्तिका प्रकटीकरण र सारहरूअनुसार, एकअर्कालाई सही रूपमा मूल्याङ्कन र चित्रण गरिरहेका हुँदैनन्, बरु तिनीहरूले एकअर्कालाई प्रहार गर्न, बदला लिन, र आफ्नो व्यक्तिगत द्वेष पोख्न मात्रै परमेश्वरका वचनहरू प्रयोग गरिरहेका हुन्छन्; तिनीहरूले सत्यता पटक्कै सङ्गति गरिरहेका हुँदैनन्। यो गम्भीर समस्या हो। तिनीहरू सधैँ अर्को व्यक्तिसँग अहङ्कारी स्वभाव भएकोमा उसलाई आक्रमण गर्न र निन्दा गर्न उसका विभिन्न कुराहरू पकड्छन्—यो मनोवृत्ति कुटिल र दुर्भावनापूर्ण छ, र यो निश्चित रूपमा नै असल अभिप्रायले गरिएको खुलासा होइन। फलस्वरूप यसले आपसी शत्रुता र घृणामा मात्रै डोऱ्याउँछ। यदि खुलासा गर्ने कार्य अरूलाई प्रेमसाथ सहयोग गर्ने मनोवृत्तिले अघि बढाइन्छ भने, मानिसहरूले त्यो महसुस गर्न सक्छन् र त्यसलाई सही रूपमा लिन सक्छन्। तर यदि कसैले अर्को व्यक्तिलाई निन्दा गर्न र आक्रमण गर्न त्यो अर्को व्यक्तिको अहङ्कारी स्वभाव प्रयोग गर्छ भने, त्यो त विशुद्ध रूपमा त्यो व्यक्तिलाई प्रहार गर्न र कष्ट दिनका लागि हुन्छ। हरेकमा अहङ्कारी स्वभाव हुन्छ, त्यसोभए किन सधैँ एउटै व्यक्तिलाई निसाना बनाउनु? किन सधैँ एउटै व्यक्तिलाई छोड्दै नछोडी उसैमा केन्द्रित हुनु? त्यो व्यक्तिको अहङ्कारी स्वभाव निरन्तर खुलासा गर्नु—के यसको उद्देश्य साँच्चै उसलाई त्यो स्वभाव फाल्न मदत गर्नु हो त? (होइन।) त्यसोभए यसको कारण के हो त? किनभने तिनीहरूलाई अर्को व्यक्ति अप्रिय लाग्छ, त्यसकारण तिनीहरू उसलाई प्रहार गर्ने र ऊसँग बदला लिने अवसरहरू खोज्छन्, सधैँ उसलाई कष्ट दिन चाहन्छन्। त्यसकारण, जब तिनीहरू अर्को व्यक्ति ख्रीष्टविरोधी, शैतान, दियाबलस, छली र कुटिल व्यक्ति हो भनेर भन्छन्, तब के त्यो तथ्यगत हुन्छ? यसले तथ्यहरूलाई अलिकति छुन सक्छ, तर तिनीहरूले ती कुराहरू भन्नुको उद्देश्य त्यो अर्को व्यक्तिलाई सहयोग गर्नु वा सत्यताबारे सङ्गति गर्नु होइन बरु आफ्नो व्यक्तिगत द्वेष पोख्नु र बदला लिनु हो। तिनीहरूलाई कष्ट दिइएको हुन्छ, त्यसकारण तिनीहरू प्रतिआक्रमण गर्न चाहन्छन्। तिनीहरू प्रतिआक्रमण कसरी गर्छन् त? त्यो अर्को व्यक्तिलाई खुलासा गरेर, निन्दा गरेर, दियाबलस, शैतान, दुष्टात्मा, ख्रीष्टविरोधी भनेर—तिनीहरूलाई सबैभन्दा नराम्रो संज्ञा दिएर, अनि सबैभन्दा गम्भीर आरोप लगाएर। के यो स्वेच्छाचारी मूल्याङ्कन र निन्दा होइन र? यी कुराहरू भन्नुपछाडि दुवै पक्षको अभिप्राय, उद्देश्य, र प्रेरणा अर्को व्यक्तिलाई आफैलाई चिन्न र आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न मदत गर्नु होइन, उसलाई परमेश्वरको वचनको वास्तविकतामा प्रवेश गर्न वा सत्यता सिद्धान्तहरू बुझ्न मदत गर्न त झनै होइन। बरु, तिनीहरू अर्को व्यक्तिलाई आक्रमण र प्रहार गर्ने प्रयास गरिरहेका हुन्छन्, उसलाई खुलासा गर्ने प्रयास गरिरहेका हुन्छन्, ताकि तिनीहरूले आफ्नो व्यक्तिगत द्वेष पोख्ने र बदला लिने आफ्नो उद्देश्य हासिल गर्न सकून्। यो आपसी आक्रमण र मौखिक कलहमा संलग्न हुनु हो। अरूलाई आक्रमण गर्ने यो विधिमा आपसी कमीकमजोरीहरूको खुलासामा भन्दा बढी आधार भएजस्तो देखिए पनि, र यो अर्को व्यक्तिमा भ्रष्ट स्वभाव छ र ऊ दियाबलस र शैतान हो भनेर भन्नका लागि परमेश्वरका वचनहरूलाई अर्को व्यक्तिसँग जोड्ने कार्य भए पनि, र सतही रूपमा यो निकै आत्मिक देखिए पनि, यी दुई विधिहरूको प्रकृति उस्तै छ। यी दुवै विधिहरू सामान्य मानवतामा रहेर परमेश्वरको वचन र सत्यताबारे सङ्गति गर्ने कार्यबारे होइनन्, बरु व्यक्तिगत रुचिहरूका आधारमा गैरजिम्मेवार र स्वेच्छाचारी ढङ्गले अर्को व्यक्तिलाई आलोचना गर्ने, निन्दा गर्ने, श्राप दिने, र व्यक्तिगत आक्रमणहरूमा संलग्न हुनेबारे हो। यस्तो प्रकृतिका कुराकानीहरूले मण्डली जीवनमा अवरोध र बाधाहरू पनि ल्याउँछन्, र तिनले परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा हस्तक्षेप गर्छन् र हानि पुर्याउँछन्।
जब तिमीहरूले दुई मानिसहरू एकअर्काको भ्रष्ट स्वभाव खुलासा गर्दै आपसी आक्रमणमा संलग्न भइरहेको देख्छौ, तब तिमीहरूले के गर्नुपर्छ? के टेबल ठटाएर तिनीहरूलाई भाषण दिनु आवश्यक हुन्छ? के तिनीहरूमाथि एक बाल्टिन चिसो पानी खन्याएर तिनीहरूलाई शान्त पार्नु, अनि तिनीहरू गलत छन् भन्ने महसुस गराउनु र एकअर्कासँग माफी माग्न लगाउनु आवश्यक हुन्छ? के यी विधिहरूले समस्या समाधान गर्न सक्छन्? (सक्दैनन्।) ती दुई व्यक्तिहरू हरेक भेलामा सधैँ झगडा गर्छन्, र हरेक भेला समाप्त भएपछि, तिनीहरू अर्को झगडाका लागि तयार हुन्छन्। घरमा, तिनीहरू आक्रमणमा प्रयोग गर्नका लागि परमेश्वरका वचन र आधारहरू खोज्छन्, तिनीहरूले मस्यौदासमेत लेख्छन्, र अर्को पक्षलाई कसरी आक्रमण गर्ने, उसका कुन-कुन पक्षहरूमा आक्रमण गर्ने, उसलाई कसरी आलोचना गर्ने र निन्दा गर्ने, कुन भाव प्रयोग गर्ने, र सबैभन्दा प्रभावशाली आक्रमण र निन्दा गर्नका लागि परमेश्वरका कुन-कुन वचनहरू उपयोग गर्ने भनेर खोजीनिधो गर्छन्। तिनीहरू अर्को पक्षलाई निन्दा र प्रहार गर्नका लागि विभिन्न आत्मिक शब्दहरू पनि खोज्छन् र अर्को पक्षलाई परिस्थिति परिवर्तन गर्नबाट रोक्दै, अभिव्यक्तिका विभिन्न विधिहरू प्रयोग गर्छन्, र तिनीहरू अर्को झगडामा उसलाई ढाल्न, र फेरि खडा हुन असम्भव तुल्याउन लागिपर्छन्। यी सबै व्यवहारहरू आपसी आक्रमण र मौखिक कलहमा संलग्न हुने कार्यसँग सम्बन्धित छन्। के त्यस्ता समस्याहरू समाधान गर्न सजिलो हुन्छ? यदि तिनीहरूले, सल्लाह र सहयोग प्राप्त गरेपछि, र अधिकांश मानिसहरूबाट सत्यताबारे सङ्गति प्राप्त गरेपछि पनि, तिनीहरू अझै पश्चात्ताप वा मार्ग परिवर्तन गर्दैनन् भने—अर्थात्, भेट हुँदा तिनीहरू बहस गर्छन् र एकअर्कालाई सराप्छन्, कसैको सल्लाह सुन्दैनन्, र तिनीहरूलाई कसैले सत्यताबारे सङ्गति दिँदा वा काटछाँट गर्दा त्यो स्विकार्दैनन् भने—के गर्नुपर्छ? यसलाई सम्हाल्न सजिलो छ: तिनीहरूलाई सफाइ गरी हटाइनुपर्छ। के यसले समस्या समाधान गर्नेथिएन र? के यो सजिलो छैन र? के तिनीहरूसँग सङ्गति गरिरहनु जरुरी छ र? के तिनीहरूलाई अबदेखि प्रेमसाथ सहयोग गर्नु जरुरी छ र? भन त, के त्यस्ता मानिसहरूलाई प्रेमसाथ सहनशीलता र धैर्यता देखाउनु उचित हुन्छ? (यो उचित हुँदैन।) यो किन उचित हुँदैन? (तिनीहरू सत्यता स्विकार्दैनन्—तिनीहरूसँग सङ्गति गर्नुको कुनै अर्थ हुँदैन।) ठीक भन्यौ, तिनीहरू सत्यता स्विकार्दैनन्। तिनीहरू मौखिक कलहमा संलग्न हुन मात्रै भेलाहरूमा सहभागिता जनाउँछन्। तिनीहरू सत्यता पछ्याउनका लागि परमेश्वरमा विश्वास गर्दैनन्, र तिनीहरूलाई मौखिक कलहमा संलग्न हुन मात्रै मन पर्छ। के यो सामान्य मानवताको प्रकटीकरण र प्रकाश हो? के तिनीहरूसँग सामान्य मानवतामा हुनुपर्ने चेतना हुन्छ? (हुँदैन।) तिनीहरूमा सामान्य मानवताको चेतना हुँदैन। भेलाहरूका अवधिमा, यस्ता मानिसहरूले परमेश्वरका वचनहरूबाट सत्यता बुझ्न र प्राप्त गर्नका लागि, र यसरी आफ्ना भ्रष्ट स्वभाव र समस्याहरू समाधान गर्नका लागि ध्यानपूर्वक र उचित तरिकाले परमेश्वरका वचनहरू पढ्दैनन्। बरु, तिनीहरू सधैँ अरूका समस्याहरू समाधान गर्न चाहन्छन्। तिनीहरूको ध्यान निरन्तर अरूमा केन्द्रित हुन्छ, तिनीहरूले अरूमा गल्तीहरू खोजिरहन्छन्; तिनीहरू सधैँ परमेश्वरका वचनहरूमा अरूका समस्याहरू भेट्टाउने उद्देश्य राख्छन्। परमेश्वरका वचनहरू पढ्ने र सङ्गति गर्ने अवसरलाई तिनीहरू अरूलाई खुलासा र आक्रमण गर्न प्रयोग गर्छन्, र तिनीहरू परमेश्वरका वचनहरू अरूलाई आलोचना गर्न, हेला गर्न, र निन्दा गर्न प्रयोग गर्छन्। र तैपनि तिनीहरू आफूलाई चाहिँ परमेश्वरका वचनहरूबाट अलग राख्छन्। तिनीहरू कस्ता व्यक्ति हुन्? के यी मानिसहरू सत्यता स्विकार्ने मानिसहरू हुन्? (होइनन्।) तिनीहरू एउटा कुरामा निकै सिपालु हुन्छन् र तिनीहरूलाई एउटा कुराप्रति निकै रुचि हुन्छ: तिनीहरू परमेश्वरका वचनहरू पढिसकेपछि, उहाँका वचनहरूले खुलासा गर्ने विभिन्न समस्या, स्थिति, र प्रकटीकरणहरू बारम्बार अरू मानिसहरूमा पहिचान गर्छन्। तिनीहरू ती समस्याहरू जति धेरै पहिचान गर्छन्, त्यति नै तिनीहरू आफूले ठूलो जिम्मेवारी वहन गरेको सोच्छन् र आफूले गर्न सक्ने कुरा धेरै छन् भन्ने विश्वास गर्छन्, र यी समस्याहरू तिनीहरूले खुलासा गर्नुपर्छ भन्ने सोच्छन्। तिनीहरूले यी समस्याहरू भएका एकै जनालाई पनि छोड्नेछैनन्। तिनीहरू कस्ता व्यक्ति हुन्? के त्यस्ता मानिसहरूसँग समझ हुन्छ? के तिनीहरूसँग सत्यता बुझ्ने क्षमता हुन्छ? (हुँदैन।) मण्डलीमा, यदि त्यस्ता मानिसहरू बोल्ने वा बाधा दिने गर्दैनन् भने, तिनीहरूलाई तह लगाउनु जरुरी हुँदैन। तर यदि तिनीहरू निरन्तर यसरी व्यवहार गर्छन्, सधैँ अरूलाई आक्रमण गर्छन्, आलोचना गर्छन्, र निन्दा गर्छन् भने, मण्डलीले तिनीहरूलाई तह लगाउन, उपयुक्त कारबाही चाल्नुपर्छ, तिनीहरूलाई सफाइ गरेर हटाउनुपर्छ। मानिसहरूले खुलासा गरेपछि पनि, उही विधि र माध्यमहरू प्रयोग गरेर तिनीहरूलाई आक्रमण गर्ने, आलोचना गर्ने, र निन्दा गर्नेहरूको हकमा भन्नुपर्दा, यदि परिस्थितिहरू गम्भीर छन् र तिनीहरूले मण्डली जीवनमा अवरोध र बाधा दिएका छन् भने, तिनीहरूलाई पनि सफाइ गरी हटाइनुपर्छ र परमेश्वरका चुनिएका मानिसहरूबाट अलग राखिनुपर्छ—तिनीहरूप्रति कुनै पनि नरमी देखाइनु हुँदैन।
आपसी आक्रमण र मौखिक कलहमा संलग्न हुने अरू कुनकुन प्रकटीकरणहरू मण्डली जीवनमा अवरोध र बाधा दिने प्रकृतिमा गणना हुन्छन्? आपसी कमीकमजोरीहरू खुलासा गर्नु, र व्यक्तिगत द्वेष पोख्न र एकअर्कासँग बदला लिनका लागि एकअर्काको भ्रष्ट स्वभाव खुलासा गर्नु, मण्डली जीवनमा अवरोध र बाधा दिने स्पष्ट प्रकटीकरणहरू हुन्। यी दुई प्रकटीकरणहरूबाहेक, अरूलाई जानीजानी खुलासा र चिरफार गर्नका लागि खुलस्त कुरा गर्ने र आफूलाई उदाङ्गो पार्ने र आफ्नो विश्लेषण गर्ने ढोँग गर्नु पनि हो—यस्तो प्रकारको आक्रमण पनि मण्डली जीवनमा अवरोध र बाधा दिने प्रकटीकरण हो। त्यसकारण, व्यक्तिले भनेको कुरा चाहे निर्दिष्ट गरेर भनिएको होस् वा अप्रत्यक्ष रूपमा चलाख तरिकाले भनिएको होस्, त्यो कुरा उसका आफ्नै समस्याहरूबारे नभई अरूका समस्याहरूबारे भएसम्म, के त्यो आक्रमण हुन्छ? (हुँदैन।) त्यसोभए, आक्रमणहरूमा कुनकुन परिस्थितिहरू समावेश हुन्छन्? यो भनिएको कुरापछाडि रहेको अभिप्राय र उद्देश्यमा निर्भर हुन्छ। यदि कुनै कुरा मानिसहरूलाई आक्रमण गर्न र बदला लिन, वा व्यक्तिगत द्वेष पोख्न भनिएको हो भने, यो आक्रमण हो। यो एउटा परिस्थिति हो। त्यसमाथि, तथ्यहरू र सत्य के हो भन्ने कुरासँग बाझिने गरी मानिसहरूलाई आलोचना र निन्दा गर्न समस्याका साना सतही पक्षहरूलाई ठूलो बनाउनु, समस्याको सार के हो भनेर नहेरी गैरजिम्मेवार रूपमा निष्कर्षमा पुग्नु—यो पनि व्यक्तिगत द्वेष पोख्नु र बदला लिनु हो, यो आलोचना र निन्दा गर्नु हो, र यस्तो प्रकारको परिस्थिति पनि आक्रमणमा समावेश हुन्छ। अरू के छ? (मानिसहरूबारे आधारहीन अफवाहहरू सिर्जना गर्ने, के त्यो पनि हो?) यसमा आधारहीन अफवाहहरू सिर्जना गर्ने कार्य अवश्य नै, अझै बढी नै, पर्छ। आक्रमणमा कति वटा परिस्थितिहरू समावेश हुन्छन्? (तीन वटा।) यी परिस्थितिहरूलाई सारांश गर त। (पहिलो भनेको निश्चित उद्देश्य लिएर अरूलाई प्रहार गर्नु हो। दोस्रो भनेको तथ्यहरू र सत्यविपरीत हुने गरी अरूलाई आलोचना र निन्दा गर्नु हो, जुन गैरजिम्मेवार रूपमा जथाभाबी अरूको चरित्र चित्रण गर्नु हो। तेस्रो भनेको मानिसहरूबारे आधारहीन अफवाहहरू सिर्जना गर्नु हो।) यी तीन परिस्थितिहरूको प्रकृतिले तिनलाई व्यक्तिगत आक्रमणहरू भनेर भन्न योग्य तुल्याउँछ। कुनकुन परिस्थितिहरू व्यक्तिगत आक्रमणका रूपमा गणना हुन्छन् र कुनकुन परिस्थितिहरू व्यक्तिगत आक्रमणका रूपमा गणना हुँदैनन् भनेर हामीले कसरी छुट्याउने? आक्रमण गर्नेहरूका हकमा भन्नुपर्दा, आक्रमणमा कुनकुन कार्य वा शब्दहरू समावेश हुन्छन्? मानौँ कि व्यक्तिका शब्दहरूमा अलिक अगुवाइ गर्ने प्रकृति समावेश छ, र तिनले अरूलाई गलत मार्गदर्शन गर्न सक्छन्, र तिनमा अफवाह सृजना गर्ने गुण पनि छ। त्यो व्यक्तिले मानिसहरूलाई बहकाउन र गलत मार्गदर्शन गर्न हावामा केही सिर्जना गरिरहेको हुन्छ र अफवाह र झूटहरू निर्माण गरिरहेको हुन्छ। उसको अभिप्राय र उद्देश्य भनेको अझै धेरै मानिसहरूलाई उसले भनेको कुरा सही छ भनेर मान्न र विश्वास गर्न लगाउनु, र उसले भनेको कुरा सत्यताअनुरूप छ भनेर सहमत गराउनु हो। यसको साथै, उसले अरू कसैमाथि बदला लिन, उसलाई नकारात्मक र कमजोर बनाउन पनि चाहन्छ। उसले सोच्छ, “तिम्रो चरित्र यति खराब छ—मैले तिम्रो वास्तविक परिस्थिति खुलासा गर्नैपर्छ, र तिम्रो त्यो अहङ्कार कुच्च्याउनुपर्छ, अनि त्यसपछि तिमीले केको धाक र रवाफ लाउँछौ, हेरौँला! म कसरीचाहिँ तिम्रो छेउमा उभिन सक्छु र? तिमीलाई नकारात्मकतामा डुबाएर नढालेसम्म मेरो घृणा कम हुनेछैन। म सबैलाई तिमी नकारात्मक हुन सक्छौ र तिमीमा पनि कमजोरीहरू छन् भनेर देखाइदिनेछु!” यदि उसको उद्देश्य यही हो भने, उसका शब्दमा आक्रमण समावेश हुन्छ। तर मानौँ उसको अभिप्राय कुनै मामलाबारे तथ्यहरू के हुन् र के कुरा साँचो हो भनेर स्पष्ट पार्नु मात्रै हो रे—यसबारे सही अन्तर्ज्ञान प्राप्त गरेपछि र अनुभवको केही अवधिपछि समस्याको सार पत्ता लगाएपछि, उसलाई यो कुराबारे सङ्गति गरिनुपर्छ भन्ने लाग्छ ताकि अधिकांशले यसलाई बुझ्न सकून् र यो मामलाको कस्तो प्रकारको बुझाइ विशुद्ध हुन्छ भन्ने थाहा पाउन सकून् भन्ने हो रे, अर्थात्, उसको उद्देश्य यो मामलाबारे अझै धेरै मानिसहरूको विकृत वा एकतर्फी दृष्टिकोणहरू सच्याउनु हो रे—के यो आक्रमण हो? (होइन।) उसले कसैलाई आफ्नो व्यक्तिगत राय स्विकार्न जबरजस्ती गरिरहेको हुँदैन, र उसले व्यक्तिगत बदला लिने अभिप्राय राखिरहेको त झनै हुँदैन। बरु, उसले तथ्यहरूको सत्यता मात्रै स्पष्ट पार्न चाहेको हुन्छ; उसले अर्को पक्षलाई बुझ्न सहयोग गर्न, र उसलाई यो बुझाइबाट बाटो बिराउनबाट रोक्न प्रेम प्रयोग गरिरहेको हुन्छ। अर्को पक्षले यसलाई स्विकारे पनि वा नस्विकारे पनि, उसले आफ्नो जिम्मेवारी पूरा गर्न सक्छ। त्यसकारण यो व्यवहार, यो शैली आक्रमण होइन। यी दुई फरक प्रकटीकरणहरूमा बोलिने भाषा, शब्द छनौट, र बोल्ने शैली, भाव, र मनोवृत्तिबाट व्यक्तिको अभिप्राय र उद्देश्य के हो भनेर पत्ता लगाउन सकिन्छ। यदि कुनै व्यक्तिले अर्को पक्षलाई आक्रमण गर्ने उद्देश्य राख्छ भने, उसको भाषा निश्चित रूपमा नै धारिलो हुनेछ, र उसको बोल्ने शैली, भाव, शब्द छनौट, र मनोवृत्तिमा उसको अभिप्राय र उद्देश्य स्पष्ट हुनेछ। यदि उसले अर्को पक्षलाई आफूले भनेको कुरा स्विकार्न जबरजस्ती गरिरहेको छैन, र उसले निश्चित रूपमा नै अर्को पक्षलाई आक्रमण गरिरहेको छैन भने, उसको बोलीवचन निश्चय नै सामान्य मानवताको विवेक र समझका प्रकटीकरणहरूअनुरूप हुनेछ। यसको साथै, उसको बोल्ने मनोवृत्ति, भाव, र शब्द छनौट निश्चित रूपमा नै तर्कसङ्गत हुनेछ, र यो सामान्य मानवताको क्षेत्रभित्र नै पर्नेछ।
व्यक्तिगत आक्रमणमा के समावेश हुन्छ र के समावेश हुँदैन भनेर छुट्याउने सिद्धान्तहरूबारे सङ्गति गरिसकेपछि, के तिमीहरू अब यो कुरा खुट्ट्याउन सक्छौ? यदि तिमीहरू अझै पनि यो कुरा खुट्ट्याउन सक्दैनौ भने, तिमीहरूले समस्याको सार छर्लङ्गै देख्न सक्नेछैनौ। कसै-कसैको सङ्गति जति नै राम्रो सुनिए पनि, यदि उसले सिद्धान्तहरूअनुसार अभ्यास गरिरहेको छैन भने, यदि उसले मानिसहरूलाई सत्यता बुझ्न र तिनीहरूको कर्तव्य उचित रूपमा पूरा गर्न मदत गर्ने उद्देश्य राखेको छैन, बरु निरन्तर मानिसहरूविरुद्ध प्रयोग गर्न हैरान पार्ने कुराहरू खोजिरहेको छ, तिनीहरूलाई आलोचना गर्न र निन्दा गर्न सक्दो गरिरहेको छ, र उसले सतहमा मानिसहरूलाई खुट्ट्याउँछ जस्तो देखिए पनि वास्तवमा उसको अभिप्राय र उद्देश्य अरूलाई निन्दा र आक्रमण गर्नु मात्र हो भने, यो परिस्थितिमा व्यक्तिगत आक्रमण समावेश हुन्छ। मानिसहरूबीच हुने सानातिना कुराहरू अत्यन्तै सरल र स्पष्ट हुन्छन्; यदि यी कुराहरूबारे सत्यता सङ्गति गरियो भने, यसका लागि एउटा भेला पनि चाहिनेथिएन। त्यसोभए, के हरेक भेलामा दाजुभाइ-दिदीबहिनीहरूबारे धेरै कुरा गरेर तिनीहरूको समय लिनु आवश्यक हुन्छ त? यसो गर्नु आवश्यक हुँदैन। यदि मानिसहरू सधैँ अरूलाई हैरान पार्न खोज्छन् भने, त्यो मानिसहरूलाई आक्रमण गर्नु र बाधाहरू पैदा गर्नुमा पर्छ। मानिसहरूले एउटा मामलामै अल्झिएर यसबारे अटुट रूपमा कुरा गर्नुको कारण के हो? त्यो के हो भने, कोही पनि आफ्ना अभिप्राय र उद्देश्यहरू त्याग्न इच्छुक हुँदैन, कसैले पनि आफूलाई चिन्ने प्रयास गर्दैन, र कसैले पनि सत्यता, वा तथ्यहरू र के साँचो हो त्यो स्विकार्दैन, त्यसकारण तिनीहरू अरूलाई निरन्तर हैरान गरिरहन्छन्। अरूलाई निरन्तर हैरान गर्नुको प्रकृति के हो? त्यो आक्रमण हो। त्यो अरूविरुद्ध प्रयोग गर्न कुराहरू खोज्नु, अरूको शब्द छनौटमा गल्तीहरू खोज्नु, र अरूका कमीकमजोरीलाई उनीहरूविरुद्ध प्रयोग गर्नु, एउटै कुरामा अटुट रूपमा अल्झिरहनु र आफ्नो अनुहार रातो नभएसम्म बहस गरिरहनु हो। यदि मानिसहरूले सामान्य मानवतामा रहेर सङ्गति गरिरहेका छन्, एकअर्कालाई साथ र सहयोग दिइरहेका छन् भने—अर्थात्, आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् भने—तिनीहरूबीचको सम्बन्ध झन्झन् राम्रो हुँदै जानेछ। तर यदि तिनीहरू आपसी आक्रमण र बहसमा संलग्न भइरहेका हुन्छन्, आफ्नै औचित्य प्रस्ट पार्न एकअर्कासँग अल्झिरहेका हुन्छन्, सधैँ आफ्नै अवस्था माथि पार्न चाहन्छन्, हार मान्न चाहँदैनन् र सम्झौता गर्दैनन्, अनि व्यक्तिगत गुनासाहरू त्याग्दैनन् भने, तिनीहरू दुईबीचको सम्बन्ध अन्ततः झन्झन् तनावपूर्ण हुँदै जानेछ र यो झन्झन् खराब हुँदै जानेछ; यो सामान्य अन्तरव्यैयत्तिक सम्बन्ध हुनेछैन, र यो तिनीहरू भेट हुँदा तिनीहरूका आँखा रातो हुने अवस्थासमेत पुग्न सक्छ। यसबारे विचार गर त, जब कुकुरहरू झगडा गर्छन्, तब आक्रामक कुकुरको आँखा रातो हुन्छ। त्यसको आँखा रातो हुनुको कारण के हो? के त्यो घृणाले भरिएको हुन्न र? के मानिसहरूले एकअर्कालाई आक्रमण गर्नु पनि त्यस्तै होइन र? यदि, जब मानिसहरूले सत्यता सङ्गति गर्छन्, तब तिनीहरू एकअर्कालाई आक्रमण गर्दैनन्, बरु एकअर्काका सबल पक्षहरूबाट सिकेर, एकअर्काका कमीकमजोरी पूर्ति गर्न सक्छन्, एकअर्कालाई सहयोग गर्न सक्छन् भने, के तिनीहरूबीचको सम्बन्ध खराब हुने सम्भावना हुनेथियो र? तिनीहरूको सम्बन्ध त निश्चित रूपमा नै झन्झन् सामान्य हुँदै जानेथियो। जब दुई जना मानिसहरू सामान्य मानवताको विवेक र समझभित्र रहेर बोल्छन्, कुराकानी गर्छन्, सङ्गति गर्छन्, वा बहससमेत गर्छन्, तब तिनीहरूको सम्बन्ध सामान्य हुनेछ, र तिनीहरू भेट्नेबित्तिकै रिसाउने वा झगडा गर्न थाल्ने गर्नेछैनन्। यदि मानिसहरूले एकअर्कालाई नभेटेको अवस्थामा पनि, अर्को पक्षको उल्लेख मात्र गर्दा पनि, तिनीहरूमा घृणा र अवर्णनीय रिस उठ्छ भने, यो सामान्य मानवताको समझ र विवेक हुनुको प्रकटीकरण होइन। मानिसहरूमा भ्रष्ट स्वभाव भएकाले तिनीहरू एकअर्कालाई आक्रमण गर्छन्; यो तिनीहरूको वातावरणसँग बिलकुलै असम्बन्धित हुन्छ। यस्तो किन हुन्छ भने, मानिसहरू सत्यतालाई प्रेम गर्दैनन्, सत्यता स्विकार्न सक्दैनन्, र विवादहरू हुँदा सत्यता अभ्यास गर्ने वा सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्ने गर्दैनन्, र त्यसकारण मण्डली जीवनमा आपसी कमीकमजोरीहरू खुलासा गर्नु, आलोचनाहरू, र आपसी आक्रमण र निन्दासमेत देखा पर्नु आम कुरा नै हो। मानिसहरूमा भ्रष्ट स्वभाव हुने हुनाले, र तिनीहरू प्रायजसो समझको कमी रहेको स्थितिमा हुने हुनाले, र तिनीहरू आफ्नो भ्रष्ट स्वभावअनुसार जिउने हुनाले, र तिनीहरूले केही सत्यता बुझे पनि त्यो अभ्यास गर्न तिनीहरूलाई गाह्रो हुने हुनाले, तिनीहरूबीच सजिलै विवादहरू र विभिन्न प्रकारका आक्रमणहरू उत्पन्न हुन्छन्। यदि यी आक्रमणहरू कहिलेकाहीँ देखा पर्छन् भने, तिनले मण्डली जीवनमा अस्थायी रूपमा मात्रै असर गर्छन्, तर निरन्तर आपसी आक्रमण गर्ने प्रवृत्ति भएकाहरूले मण्डली जीवनमा गम्भीर अवरोध र बाधा दिन्छन्, र तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा पनि गम्भीर असर र हस्तक्षेप गर्छन्।
३. मौखिक कलह
मण्डलीमा, अर्को प्रकारको व्यक्ति पनि हुन्छ—यस प्रकारको व्यक्तिले आफूलाई सही साबित गर्न निकै मन पराउँछ। उदाहरणका लागि, यदि उसले कुनै गलत काम गरेमा वा गलत बोलेमा, अरूले ऊबारे खराब राय राख्न सक्छन्, र यसले अधिकांशका नजरमा उसको छविमा असर गर्नेछ भनी उसलाई डर लाग्छ, त्यसकारण ऊ आफूलाई सही साबित गर्ने प्रयास गर्छ र भेलाहरूका अवधिमा यो मामलाको स्पष्टीकरण दिन्छ। ऊबारे खराब राय निर्माण गर्नबाट मानिसहरूलाई रोक्नु नै यसरी स्पष्टीकरण दिनुपछाडि रहेको उसको उद्देश्य हुन्छ, त्यसकारण ऊ दिनभरि यही कुरामा धेरै मेहनत र विचार लगाइरहन्छ: “म यो कुरालाई कसरी स्पष्ट पार्न सक्छु? म त्यो व्यक्तिलाई कसरी स्पष्ट रूपमा बताउन सक्छु? तिनीहरूले मेरो बारे निर्माण गरेका खराब रायहरू म कसरी खण्डन गर्न सक्छु? आजको भेला यो मामलाबारे कुरा गर्ने राम्रो अवसर हो।” अनि भेलामा, ऊ यसो भन्छ, “मैले यसअघि गरेको काम कसैलाई चोट पुर्याउने वा खुलासा गर्ने उद्देश्यले गरिएको थिएन; मेरो अभिप्राय असल थियो, त्यो मानिसहरूलाई मद्दत गर्नु थियो। तैपनि, कतिपय मानिसहरू सधैँ मलाई गलत बुझ्छन्, सधैँ मलाई निसाना बनाउन चाहन्छन्, र सधैँ मलाई लोभी र महत्त्वाकाङ्क्षी ठान्छन्, र मेरो मानवता खराब छ भन्ने सोच्छन्। तर वास्तवमा म त्यस्तो पटक्कै छैनँ, छु त? मैले त्यस्ता कुराहरू गरेको वा भनेको छैनँ। जब मैले कोही उपस्थित नहुँदा ऊबारे कुरा गरेँ, तब मैले जानीजानी उसलाई समस्यामा पारिरहेको थिएँ भन्ने त होइन। जब मानिसहरूले खराब काम गरेका हुन्छन्, तब तिनीहरूले कसरी अरूलाई यसबारे कुरा गर्न दिन सक्दैनन् र?” ऊ आफूलाई सही साबित गर्ने र आफ्नो प्रतिरक्षा गर्ने दुवै तरिकाले धेरै कुरा बोल्छ, साथै उसले अर्को पक्षका धेरै समस्याहरू खुलासा गर्छ, र त्यो सबै उसले उसलाई त्यो मामलाबाट अलग गर्नका लागि, र उसले प्रकाश गरेको कुरा भ्रष्ट स्वभाव होइन, र उसमा खराब मानवता छैन वा सत्यतालाई घृणा गर्दैन, र दुर्भावनापूर्ण अभिप्राय त झनै छैन, र उसले असल अभिप्राय राखेको छ, तर उसको असल अभिप्रायलाई प्रायजसो गलत रूपमा बुझिन्छ, र अरूका गलतफहमीहरूको कारण ऊ प्रायजसो निन्दित हुन्छ भनेर सबैलाई विश्वस्त तुल्याउनका लागि गर्छ। प्रत्यक्ष र अप्रत्यक्ष दुवै रूपमा, उसको शब्दले सुन्नेहरूलाई ऊ निर्दोष छ, र ऊ गलत र खराब छ भनेर सोच्ने मानिसहरूचाहिँ दुष्टहरू र सत्यतालाई प्रेम नगर्नेहरू हुन् भन्ने महसुस गराउँछ। यो सुनेपछि, अर्को पक्षले यस्तो बुझ्छ: “के तिमीमा भ्रष्ट स्वभाव छैन भनेर भन्नु नै तिम्रा शब्दहरूको तात्पर्य होइन र? के यो तिमीले आफूलाई राम्रो देखाउनका लागि मात्रै होइन र? के यो आफूलाई नचिन्नु, सत्यता नस्विकार्नु, र तथ्यहरू नस्विकार्नु मात्रै होइन र? यदि तिमी यी कुराहरू स्विकार्दैनौ भने, ठीकै छ, तर किन मलाई निसाना बनाउनु? मैले तिमीलाई निसाना बनाउने अभिप्राय राखेको थिइनँ, न त म तिमीलाई प्रहार नै गर्न चाहन्थेँ। तिमी जे मन लाग्यो त्यही सोच्न सक्छौ; मसँग यसको के सम्बन्ध छ र?” त्यसकारण ऊ आफूलाई नियन्त्रण गर्न सक्दैन र यसो भन्छ, “जब केही मानिसहरूले सानातिना समस्या सामना गर्छन्, थोरै अनुचित व्यवहार वा पीडा भोग्छन्, तब तिनीहरू त्यो स्विकार्न अनिच्छुक हुन्छन्, र आफूलाई सही साबित गर्न र स्पष्टीकरण दिन चाहन्छन्; तिनीहरू सधैँ आफूलाई समस्याबाट अलग गर्ने प्रयास गर्छन्, र सधैँ आफूलाई राम्रो देखाउन, र आफ्नो छवि सुन्दर बनाउन चाहन्छन्। तिनीहरू त्यस्तो व्यक्ति नै होइनन्, त्यसोभए तिनीहरू किन आफूलाई राम्रो देखाउने, र आफूलाई सिद्ध देखाउने प्रयास गर्छन्? साथै, म सत्यता सङ्गति गर्छु, म कसैलाई निसाना बनाउँदिनँ, न त म कसैलाई प्रहार गर्ने वा कसैसँग बदला लिनेबारे नै विचार गर्छु। अरूले जेसुकै सोचे पनि सोचून्!” के यी दुई मानिसहरूले सत्यता सङ्गति गरिरहेका हुन्छन्? (हुँदैनन्।) त्यसोभए, तिनीहरूले के गरिरहेका हुन्छन्? एउटा पक्षले भन्छ, “मैले ती कुराहरू मण्डलीको कामका लागि गरेँ। तिमी के सोच्छौ मलाई मतलब छैन।” अर्कोले भन्छ, “जब मानिसले काम गर्छ, तब स्वर्गले हेरिरहेको हुन्छ। परमेश्वरलाई मानिसहरूका विचारहरू थाहा हुन्छ। तिमीसँग केही सद्भाव, क्षमता, र वाक्पटुता छ, र तिमीले खराब कामकुरा गर्दैनौ भन्दैमा, परमेश्वरले तिम्रो छानबिन गर्नुहुनेछैन भन्ने नसोच; तिमीले आफ्ना विचारहरू गहिरो गरी लुकाउँदा परमेश्वरले ती विचार देख्न सक्नुहुन्न भन्ने नसोच। परमेश्वरले मात्र होइन, दाजुभाइ-दिदीबहिनीहरू सबैले समेत ती विचारहरू देख्न सक्छन्! के तिमीलाई परमेश्वरले मानिसहरूको हृदयको गहिराइ छानबिन गर्नुहुन्छ भन्ने थाहा छैन र?” तिनीहरू दुई जनाले केबारे बहस गरिरहेका हुन्छन्? एक पक्षले आफूलाई सही साबित गर्न, आफूलाई दोषमुक्त गर्न, अरूले ऊबारे खराब धारणा नराखून् भनेर ठूलो प्रयास गरिरहेको हुन्छ, जबकि अर्को पक्षले यसलाई त्यतिकै नछोड्ने जिद्दी गर्छ, र त्यो व्यक्तिलाई आफूलाई राम्रो देखाउन दिँदैन, साथै उसलाई हप्कीमार्फत खुलासा गर्ने र निन्दा गर्ने उद्देश्य राख्छ। सतहमा, यी दुईले एकअर्कालाई प्रत्यक्ष रूपमा सरापिरहेका वा एकअर्कालाई प्रत्यक्ष रूपमा खुलासा गरिरहेका हुँदैनन्, तर तिनीहरूको बोलीमा उद्देश्य हुन्छ: एउटा पक्षले उसलाई गलत बुझ्नबाट अर्को व्यक्तिलाई रोक्ने प्रयास गर्छ, र उसले आफ्नो नाममा सफाइ दियोस् भन्ने माग गर्छ, जबकि अर्को पक्षले त्यसो गर्न इन्कार्छ, बरु उसलाई संज्ञा दिन र निन्दा गर्न जिद कस्छ, र पहिलो पक्षले मानोस् भन्ने माग गर्छ। के यो कुराकानी सामान्य रूपमा सत्यताबारे सङ्गति गर्नु हो? (होइन।) के यो विवेक र समझमा आधारित कुराकानी हो? (होइन।) त्यसोभए यस्तो कुराकानीको प्रकृति के हो? के यस्तो कुराकानी आपसी आक्रमणमा संलग्न हुनु हो? (हो।) के आफूलाई सही साबित गर्ने व्यक्तिले कसरी परमेश्वरबाट कुराहरू स्विकार्न, आफूलाई चिन्न, र अभ्यास गर्नुपर्ने सिद्धान्तहरू भेट्टाउन सकिन्छ भन्नेबारे सङ्गति गरिरहेको हुन्छ? होइन, उसले अरूसामु आफूलाई सही साबित गरिरहेको हुन्छ। ऊ अरूलाई आफ्ना विचार, दृष्टिकोण, अभिप्राय, र उद्देश्यहरू स्पष्ट पार्न, अर्को पक्षसामु आफूलाई स्पष्ट पार्न, र अर्को पक्षलाई आफ्नो नाममा सफाइ दिन लगाउन चाहन्छ। यसको साथै, ऊ अर्को पक्षले उसलाई खुलासा गरेको र निन्दा गरेको कुरा इन्कार्न चाहन्छ, र अर्को पक्षले भनेको कुरा तथ्यहरू वा सत्यतासँग मिले पनि वा नमिले पनि, उसले यसलाई पहिचान नगरेसम्म, वा यसलाई स्विकार्न अनिच्छुक भएसम्म, अर्को पक्षले भनेको कुरालाई गलत नै ठान्छ, र त्यसलाई सच्याउन चाहन्छ। जबकि अर्को पक्षले उसको नाममा सफाइ दिन चाहँदैन बरु उसको खुलासा गर्न, र उसलाई आफ्नो निन्दा स्विकार्न बाध्य पार्न चाहन्छ। एउटाचाहिँ स्विकार्न अनिच्छुक हुन्छ, र अर्कोले उसलाई स्वीकार गराउन जिद कस्छ, र यसले तिनीहरूबीच आक्रमणहरू पैदा गर्छ। यस्तो कुराकानीको प्रकृति भनेको आपसी आक्रमणमा संलग्न हुनु हो। त्यसोभए, यस्तो आक्रमणको प्रकृति के हो? के यो कुराकानीमा आपसी इन्कार, आपसी गुनासो, र आपसी निन्दाको विशेषता हुन्छ? (हुन्छ।) के मण्डली जीवनमा पनि यस्तो कुराकानी हुन्छ? (हुन्छ।) यस्ता कुराकानीहरू सबै मौखिक कलह हुन्।
यस्तो कुराकानीलाई किन मौखिक कलह भनिन्छ? (किनभने यसमा संलग्न मानिसहरूले सही र गलतबारे बहस गरिरहेका हुन्छन्, कसैले पनि आफूलाई चिन्ने प्रयास गरिरहेका हुँदैन, र कसैले पनि केही प्राप्त गर्दैन; तिनीहरू निरन्तर यही मामलामा अडिग रूपमा घोत्लिइरहन्छन्, र कुराकानीहरू अर्थहीन हुन जान्छन्।) तिनीहरूले को सही छ वा गलत छ, को श्रेष्ठ छ वा कनिष्ठ छ भनेर बहस गर्दै धेरै कुरा गरिरहेका र धेरै ऊर्जा बरबाद गरिरहेका हुन्छन्। तिनीहरू निरन्तर बहस गर्छन् तर कसैले जित्दैन, तर त्यसपछि पनि तिनीहरू बहस गरिरहन्छन्। तिनीहरू अन्ततः यसबाट के प्राप्त गर्छन्? के सत्यताको बुझाइ, परमेश्वरका अभिप्रायहरूको बुझाइ प्राप्त गर्छन्? के यो पश्चात्ताप गर्ने र परमेश्वरको छानबिन स्विकार्ने क्षमता हो? के यो परमेश्वरबाट कुराहरू स्विकार्ने र आफूलाई अझै बढी चिन्ने क्षमता हो? तिनीहरू यीमध्ये कुनै पनि कुरा प्राप्त गर्दैनन्। यी अर्थहीन विवादहरू र सही र गलतबारे हुने यी कुराकानीहरू मौखिक कलह हुन्। सरल रूपमा भन्दा, मौखिक कलहहरू पूर्ण रूपमा अर्थहीन कुराकानीहरू हुन्, जहाँ भनिएको सबै कुरा वाहियात हुन्छ, र अरूका लागि एउटा शब्द पनि ज्ञानवर्धक वा फाइदाजनक हुँदैन, बरु, बोलिएका सबै शब्दहरू चोट पुर्याउने किसिमका हुन्छन्, र ती सबै मानव इच्छा, गरम मिजास र मानिसहरूको मनबाट, र अवश्य नै अझै बढी रूपमा मानिसहरूको भ्रष्ट स्वभावबाट उत्पन्न भएका हुन्छन्। बोलिने हरेक शब्द आफ्नै हित, आफ्नै छवि र प्रतिष्ठाका लागि बोलिएको हुन्छ, अरूको सुधार वा सहयोगका लागि होइन, सत्यताको कुनै पक्षबारेको आफ्नो बुझाइ वा परमेश्वरका अभिप्रायहरू बुझ्ने उद्देश्यका लागि हुँदैन, र अवश्य नै परमेश्वरका वचनहरूमा व्यक्तिको कुन भ्रष्ट स्वभाव खुलासा गरिएको छ, व्यक्तिको भ्रष्ट स्वभाव परमेश्वरका वचनहरूसँग मिल्छ कि मिल्दैन, वा व्यक्तिको बुझाइ सही छ कि छैन भनेर छलफल गर्नका लागि पनि हुँदैन। यी अर्थहीन स्वस्पष्टीकरण र व्याख्याहरू जति नै मनमोहक, निष्कपट, वा भक्तिपूर्ण सुनिए पनि ती सबै मौखिक कलह र आपसी आक्रमण र आलोचनाहरू हुन्, जसले न त अरूलाई फाइदा गर्छ, न त आफूलाई नै। तिनले अरूलाई हानि गर्ने र व्यक्तिको सामान्य अन्तरव्यैयत्तिक सम्बन्धमा असर गर्ने मात्र नभई, व्यक्तिको जीवन वृद्धिमा पनि बाधा दिन्छन्। छोटकरीमा भन्दा, उपयोग गरिएका बहाना, अभिप्राय, मनोवृत्ति, भाव, वा उपयोग गरिएका माध्यम र विधिहरू जेसुकै भए पनि यसमा अरूलाई स्वेच्छाचारी रूपमा आलोचना र निन्दा गर्ने कार्य संलग्न भएसम्म, यी सबै शब्द, विधि, र आदि इत्यादि कुराहरू अरूलाई आक्रमण गर्ने वर्गमा पर्छन्, ती सबै मौखिक कलह हुन्। के यो दायरा फराकिलो छ? (यो निकै फराकिलो छ।) त्यसोभए, जब तिमीहरूले मानिसहरूको आक्रमण, आलोचना, र निन्दा सामना गर्छौ, तब के तिमीहरू अरूलाई आक्रमण गर्ने र निन्दा गर्ने व्यवहारमा संलग्न हुनबाट आफूलाई रोक्न सक्छौ? तिमीहरूले यस्ता परिस्थितिहरू सामना गर्दा कसरी अभ्यास गर्नुपर्छ? (हामी प्रार्थनामार्फत परमेश्वरअघि शान्त हुनु आउनुपर्छ; त्यस उप्रान्त हाम्रो हृदयमा घृणा हुनेछैन।) व्यक्ति बुझ्ने र समझदार भएसम्म, उसले परमेश्वरअघि शान्त हुन र उहाँलाई प्रार्थना गर्न, र सत्यता स्विकार्न सकेसम्म, उसले आफ्ना अभिप्राय र कामनाहरू नियन्त्रण गर्न सक्छ, र त्यसपछि ऊ अरूलाई आलोचना नगर्ने वा आक्रमण नगर्ने अवस्थामा पुग्न सक्छ। कसैको अभिप्राय र उद्देश्य व्यक्तिगत द्वेष पोख्नु वा बदला लिनु होइन भने, र निश्चय नै अर्को पक्षलाई आक्रमण गर्नु होइन भने, र बरु उसले सत्यता नबुझ्ने वा यसलाई अत्यन्तै सतही रूपमा बुझ्ने हुनाले, र ऊ अलिक मूर्ख र अज्ञानी वा स्वेच्छाचारी भएकोले अनजानमा अर्को पक्षलाई चोट पुर्याउने गर्छ भने, अरूको सहयोग, साथ, र सङ्गतिमार्फत, सत्यता बुझेपछि, उसको बोलीवचन अझै सही हुनेछ, साथै उसले अरूबारे गर्ने मूल्याङ्कन र दृष्टिकोणहरू पनि अझै सही हुनेछन्, र उसले अरूले प्रकाश गर्ने भ्रष्ट स्वभाव र गलत कार्यहरूलाई सही रूपमा लिन सक्नेछ, यसरी उसले अरूमाथि गर्ने आफ्ना आक्रमण र आलोचनाहरूलाई बिस्तारै घटाउँदै लानेछ। तर, यदि व्यक्ति सधैँ आफ्नो भ्रष्ट स्वभावभित्र जिउँछ, र उसले अप्रिय ठानेको वा उसलाई पहिले चिढ्याएको वा हानि गरेको जोकोहीविरुद्ध बदला लिने अवसरहरू खोज्छ, र सधैँ त्यस्ता अभिप्रायहरू पाल्छ, र सत्यता खोजी गर्ने वा परमेश्वरलाई प्रार्थना गर्ने वा उहाँमा भर पर्ने पटक्कै गर्दैन भने, ऊ कुनै पनि बेला र कुनै पनि ठाउँमा अरूलाई आक्रमण गर्न सक्छ, र यसलाई समाधान गर्न गाह्रो हुन्छ। अनजानमा अरूलाई आक्रमण गर्ने समस्या समाधान गर्न सजिलो हुन्छ, तर जानीजानी र अभिप्रायका साथ आक्रमण गर्ने समस्या समाधान गर्न सजिलो हुँदैन। यदि कुनै व्यक्तिले कहिलेकाहीँ र अनजानमा अरूलाई आक्रमण र आलोचना गर्छ भने, अरूले उसलाई साथ दिन र सहयोग गर्न गर्ने सत्यता सङ्गतिमार्फत, उसले सत्यता बुझेपछि आफ्नो मार्ग परिवर्तन गर्न सक्नेछ। तर, यदि कसैले निरन्तर बदला लिने र व्यक्तिगत द्वेष पोख्ने प्रयास गर्छ, र सधैँ अरूलाई कष्ट दिन वा ढाल्न चाहन्छ, र उसले त्यस्ता अभिप्रायहरू लिएर अरूलाई आक्रमण गर्छ, जुन कुरालाई सबै मानिसहरूले महसुस गर्न र देख्न सक्छन् भने, त्यस्तो व्यवहार मण्डली जीवनका लागि अवरोध र बाधा बन्छ; यो पूर्ण रूपमा जानीजानी ल्याइने अवरोध र बाधा हो। त्यसकारण, अरूलाई आक्रमण गर्ने यस्तो स्वभाव परिवर्तन गर्न गाह्रो हुन्छ।
अब, के तिमीहरूले अरूलाई आक्रमण गर्ने र निन्दा गर्ने समस्या कसरी समाधान गर्नुपर्छ भन्ने कुरा बुझ्यौ? एउटै मात्र तरिका छ—व्यक्तिले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र उहाँमा भर पर्नुपर्छ, अनि त्यसपछि उसको घृणा बिस्तारै हराउनेछ। अरूलाई आक्रमण गर्न सक्ने मानिसहरू मुख्य रूपमा दुई प्रकारका हुन्छन्। एउटा प्रकारचाहिँ आफूलाई अप्रिय लाग्ने मानिसहरू भेट्दा, सोच्दै नसोची प्याच्चै बोल्ने, मुखमा जे आयो त्यही बोल्ने र ठाडो बोल्ने, चोट पुर्याउने कुराहरू बोल्ने मानिसहरू हुन्। तर धेरैजसो समय, तिनीहरू उद्देश्यपूर्ण रूपमा वा जानी-जानी मानिसहरूलाई आक्रमण गर्दैनन्—तिनीहरू बस आफूलाई नियन्त्रण गर्न मात्र सक्दैनन्, र यो तिनीहरूको स्वभाव मात्रै हो, र तिनीहरूले अनजानमै अरू मानिसहरूलाई आक्रमण गर्छन्। यदि तिनीहरूलाई काटछाँट गरियो भने, तिनीहरू स्विकार्न सक्छन्, त्यसकारण यी दुष्ट मानिसहरू होइनन्, र सफाइ गरेर हटाइनुपर्ने पात्रहरू होइनन्। तर दुष्ट मानिसहरू काटछाँट स्विकार्दैनन्, र तिनीहरू प्रायजसो मण्डली जीवनमा अवरोध र बाधाहरू ल्याउँछन्, तिनीहरू बारम्बार अरूलाई आक्रमण गर्छन्, आलोचना गर्छन्, प्रहार गर्छन्, र अरूविरुद्ध प्रतिकार गर्छन्, र अलिकति पनि सत्यता स्विकार्दैनन्। तिनीहरू दुष्ट मानिसहरू हुन्, र मण्डलीले सम्बोधन गर्नुपर्ने र सफाइ गरेर हटाउनुपर्ने मानिसहरू तिनीहरू नै हुन्। किन तिनीहरूलाई सम्बोधन गरिनु र सफाइ गरेर हटाइनुपर्छ? तिनीहरूको प्रकृति सार मूल्याङ्कन गर्दा, अरूलाई आक्रमण गर्ने तिनीहरूको व्यवहार अनजानमा हुँदैन, बरु जानीजानी गरिएको हुन्छ। किनभने यी मानिसहरूमा दुर्भावपूर्ण मानवता हुन्छ—कसैले पनि तिनीहरूलाई चिढ्याउनु वा आलोचना गर्नु हुँदैन, र कसैले तिनीहरूलाई गल्तीले अलिकति चोट पुर्याउने कुरा भन्यो भने, तिनीहरू बदला लिने अवसरहरू खोज्नेबारे सोच्नेछन्—र त्यसैले, त्यस्ता मानिसहरूले अरूविरुद्ध आक्रमण गर्न सक्छन्। मण्डलीले सम्बोधन गर्नुपर्ने र सफाइ गरी हटाउनुपर्ने एक प्रकारको व्यक्ति यही हो। आपसी आक्रमण र मौखिक कलहमा संलग्न हुने जोकोही व्यक्ति—ऊ जुनसुकै पक्षमा भए नि, उसले सक्रिय रूपमा आक्रमण गरिरहेको भए पनि वा निष्क्रिय रूपमा आक्रमण गरिरहेको भए पनि—ऊ यस्ता आक्रमणहरूमा सहभागी भएसम्म, ऊ कुटिल अभिप्रायहरू भएको दुष्ट व्यक्ति हो, जसले थोरै अप्रसन्नता हुँदा पनि अरूलाई कष्ट दिनेछ। त्यस्ता मानिसहरूले मण्डली जीवनमा गम्भीर अवरोध र बाधा पैदा गर्छन्। तिनीहरू मण्डलीभित्रका एकप्रकारका दुष्ट व्यक्ति हुन्। अलिक कम गम्भीर मामलाहरू समाधान गर्नका लागि संलग्न व्यक्तिलाई आत्मचिन्तन गर्न लगाउन अलग गर्न सकिन्छ; अझै गम्भीर अवस्थामा, संलग्न व्यक्तिलाई सफाइ गरी हटाइनु वा निष्कासित गरिनुपर्छ। यो मामला सम्हाल्दा अगुवा र कामदारहरूले बुझ्नुपर्ने सिद्धान्त यही हो।
यो सङ्गतिमार्फत, के अब तिमीहरूले अरूलाई आक्रमण गर्नु भनेको के हो भन्ने कुरा बुझ्यौ? के तिमीहरू यो कुरा खुट्ट्याउन सक्छौ? मैले आक्रमण भनेको के हो भनेर परिभाषित गरेपछि, कति मानिसहरू यसो सोच्छन्, “अरूलाई आक्रमण गर्ने कार्यको परिभाषा यति व्यापक भएकाले, भविष्यमा कसले बोल्ने आँट गर्छ र? हामी मानिसहरू कसैले पनि सत्यता बुझेका छैनौँ, त्यसकारण हामीले मुख खोल्यौँ भने मात्रै पनि अरूलाई आक्रमण गर्नेछौँ, जुन भयानक कुरा हो! भविष्यमा, हामी अरूलाई आक्रमण गर्नबाट जोगिन बिहान उठेदेखि हामी केवल खाना खाने र पानी पिउने अनि चुपचाप बस्ने गर्नुपर्छ, मुखमा टेप लगाउनुपर्छ र लापरवाह रूपमा बोल्नु हुँदैन। त्यो त निकै राम्रो हुनेथियो, अनि हाम्रा दिनहरू अझै शान्तिपूर्ण हुनेथिए।” के यस्तो सोचाइ सही हो? मुखमा टेप लगाउँदा समस्या समाधान हुँदैन; अरूलाई आक्रमण गर्ने समस्याको सार भनेको व्यक्तिको हृदयको समस्या हो, यो व्यक्तिको भ्रष्ट स्वभावका कारण हुन्छ, र यो व्यक्तिको मुखको समस्या होइन। मानिसहरूले मुखले बोल्ने कुरा तिनीहरूको भ्रष्ट स्वभाव र तिनीहरूको विचारद्वारा शासित हुन्छ। यदि व्यक्तिको भ्रष्ट स्वभावहरू समाधान भए, र उसले साँच्चै नै केही सत्यता बुझ्छ, र उसको बोली पनि अलिक सिद्धान्तअनुरूप र संयमित बन्छ भने, अरूलाई आक्रमण गर्ने उसको समस्या आंशिक रूपमा समाधान हुनेछ। अनि अवश्य नै, मण्डली जीवनमा मानिसहरूबीच सामान्य अन्तरव्यैयत्तिक सम्बन्धहरू हुनका लागि, र तिनीहरू आपसी आक्रमण वा मौखिक कलहमा संलग्न नहुनका लागि, तिनीहरूले बारम्बार प्रार्थना गर्न परमेश्वरअघि आउनु, परमेश्वरको मार्गदर्शन माग्नु, र धार्मिकताका लागि भोकाउने र तिर्खाउने भक्त हृदय लिएर परमेश्वरअघि शान्त हुनु आवश्यक हुन्छ। त्यसरी, जब कसैले अनजानमा तँलाई चोट पुर्याउने कुरा भन्छ, तब परमेश्वरअघि तेरो हृदय शान्त हुन सक्छ, तैँले यसलाई तिनीहरूविरुद्ध ईख बनाउनेछैनस्, र तँ अर्को व्यक्तिसँग बहस गर्न चाहनेछैनस्, आफ्नो प्रतिरक्षा गर्न र आफूलाई सही साबित गर्न त झनै चाहनेछैनस्। बरु, तैँले यसलाई परमेश्वरबाट स्विकार्नेछस्, आफूलाई चिन्ने राम्रो अवसर दिनुभएकोमा परमेश्वरलाई धन्यवाद दिनेछस्, र अरूका शब्दहरूद्वारा तँसँग अझै पनि फलानो र ढिस्कानो समस्या छ भन्ने कुरा थाहा गराएकोमा उहाँलाई धन्यवाद दिनेछस्। यो तैँले आफूलाई चिन्ने राम्रो अवसर हो, यो परमेश्वरको अनुग्रह हो, र तैँले यसलाई परमेश्वरबाट स्विकार्नुपर्छ। तँलाई चोट पुर्याउने व्यक्तिप्रति तैँले आक्रोश पाल्नु हुँदैन, न त तैँले अनजानमै तेरा गल्तीहरू उठाउने वा तेरा कमीकमजोरी खुलासा गर्ने व्यक्तिप्रति विकर्षण र घृणा अनुभूत गर्नु नै हुन्छ, जानीजानी वा अनजानमा तिनीहरूबाट टाढा बस्ने वा तिनीहरूलाई प्रतिकार गर्न हरकिसिमका उपायहरू प्रयोग गर्ने पनि गर्नु हुँदैन। यीमध्ये कुनै पनि शैलीले परमेश्वरलाई प्रसन्न पार्दैन। बारम्बार प्रार्थना गर्न परमेश्वरअघि आइज, अनि तेरो हृदय शान्त भएपछि, अरूले अनजानमा तँलाई हानि गर्दा तँ यसलाई सही रूपमा लिन सक्नेछस्, तिनीहरूप्रति सहनशील र धैर्य हुन सक्नेछस्। यदि कसैले तँलाई जानीजानी हानि गर्यो भने, तैँले के गर्नुपर्छ? तैँले यसलाई कसरी लिनेथिइस्—तैँले उग्र भएर ऊसँग तर्क गर्नेथिइस् कि परमेश्वरअघि शान्त भएर सत्यता खोजी गर्नेथिइस्? पक्कै पनि, मैले भनिरहनुपर्दैन, प्रवेश गर्ने कुन मार्ग सही हो भन्ने कुरा तिमीहरू सबैलाई स्पष्ट रूपमै थाहा छ।
मानव शक्ति, मानव आत्मसंयम, र मानव धैर्यमा भर परेर मण्डली जीवनमा आपसी आक्रमण र मौखिक कलहबाट टाढा रहनु निकै गाह्रो हुन्छ। तेरो मानवता चाहे जति नै राम्रो भए पनि, तँ चाहे जति नै कोमल र दयालु भए पनि, वा चाहे जति नै उदार भए पनि, तैँले तेरो गरिमा, निष्ठा, र आदि इत्यादिमा चोट पुर्याउने केही मानिस वा कामकुराहरू सामना गर्नु अपरिहार्य नै हुन्छ। यस्ता समस्याहरूलाई कसरी सम्हाल्ने र लिने भन्नेबारे तँसँग सिद्धान्त हुनुपर्छ। यदि तैँले यी समस्याहरूलाई गरम मिजासको साथ लिइस् भने, कुरो निकै सजिलो भइदिन्छ: तिनीहरू तँलाई सराप्छन्, र तँ तिनीहरूलाई सराप्छस्, तिनीहरू तँलाई आक्रमण गर्छन्, र तँ तिनीहरूलाई आक्रमण गर्छस्, खुनको बदला खुन, ज्यानको बदला ज्यान लिन्छस्, तिनीहरू तँलाई जे कुराले प्रहार गर्छन्, तँ त्यही विधिहरू प्रयोग गरेर तिनीहरूलाई प्रहार गर्छस्, र आफ्नो गरिमा, निष्ठा, र इज्जतको रक्षा गर्छस्। यो हासिल गर्न निकै सजिलो छ। तर, तैँले यो विधि उचित छ कि छैन, यो तेरा र अरू, दुवैका लागि फाइदाजनक छ कि छैन, र यसले परमेश्वरलाई प्रसन्न पार्छ कि पार्दैन भनेर हृदयमा तौलनुपर्छ। प्रायजसो, जब मानिसहरूले यो समस्याको सार पत्ता लगाएका हुँदैनन्, तब तिनीहरूका तात्कालिक विचार यस्ता हुन्छन्, “ऊ मलाई कृपा देखाउँदैन, त्यसैले म किन उसलाई कृपा देखाउने? ऊ मलाई कुनै प्रेम देखाउँदैन, त्यसैले म किन उसलाई प्रेमसाथ व्यवहार गर्ने? ऊ मप्रति कुनै धैर्यता देखाउँदैन र मलाई सहयोग गर्दैन, त्यसैले म किन ऊप्रति धैर्यता देखाउने वा उसलाई सहयोग गर्ने? ऊ मसँग निर्दयी व्यवहार गर्छ, त्यसैले म उसलाई दुर्व्यवहार गर्नेछु। मैले किन खुनको बदला खुन, ज्यानको बदला ज्यान लिन सक्दिनँ?” मानिसहरूका मनमा आउने पहिलो विचारहरू यिनै हुन्। तर जब तँ साँच्चै नै त्यसरी व्यवहार गर्छस्, तब तँलाई भित्री शान्ति महसुस हुन्छ कि असहज र पीडा महसुस हुन्छ? जब तँ साँच्चै नै यो छनौट गर्छस्, तब तँ के प्राप्त गर्छस्? तैँले के हासिल गर्छस्? धेरै मानिसहरूले यसरी व्यवहार गर्दा, तिनीहरूलाई भित्री रूपमा असहज महसुस हुन्छ भन्ने अनुभव गरेका छन्। अवश्य नै, धेरैजसो मानिसहरूलाई विवेकले नै दोष दिँदैन, झन् तिनीहरू परमेश्वरप्रति ऋणी छन् भन्ने भावनाले मनमा यो असहजता आउने त कुरै नगरौँ; मानिसहरूसँग त्यस्तो कद हुँदैन। तिनीहरूमा यो असहजता केले पैदा गर्छ? यो मानिसहरूको घृणा, तिनीहरू अपमानित हुँदा तिनीहरूको गरिमा र निष्ठामा आउने चुनौती, साथै मौखिक रूपमा तिनीहरूलाई उक्साइएपछि तिनीहरूलाई महसुस हुने चोट र तिनीहरूको हृदयमा उत्पन्न हुने रिस, घृणा, अवज्ञा, र आक्रोशबाट आउँछ, र यी सबै कुराले मानिसहरूलाई असहज महसुस गराउँछ। यो असहजताका परिणामहरू के-के हुन्? यो असहजता अनुभव गरेपछि, तुरुन्तै तँ तँसँग गरिमा र निष्ठा छ र तँलाई हेप्न सजिलो छैन भनेर देखाउनका लागि त्यो व्यक्तिलाई तह लगाउन भाषा कसरी प्रयोग गर्ने, उसलाई ढाल्न कसरी कानुनी र उचित माध्यमहरू प्रयोग गर्ने भनेर चिन्तन गर्न थाल्नेछस्। जब तँलाई असहज महसुस हुन्छ, जब तँमा घृणा पैदा हुन्छ, तब तँ त्यो व्यक्तिलाई धैर्यता र सहनशीलता देखाउने, वा उसलाई सही रूपमा व्यवहार गर्ने, वा अरू सकारात्मक कुराहरू सोच्दैनस्, बरु डाहा, विकर्षण, आवेग, शत्रुता, घृणा, र निन्दाजस्ता सबै नकारात्मक कुराहरू सोच्छस्, र तँ उसलाई हृदयमा अनगिन्ती रूपमा सराप्ने, र, तैँले खाइरहेको वा तँ सुतिरहेको बेला—जुनसुकै बेला उसलाई कसरी प्रतिकार गर्ने भन्नेबारे सोच्ने, र उसले तँलाई आक्रमण वा निन्दा गर्यो भने उसलाई कसरी तह लगाउने र त्यस्ता परिस्थितिहरू कसरी सम्हाल्ने र आदि इत्यादि कसरी गर्ने भन्ने हदसम्म सोच्छस्। तैँले अर्को व्यक्तिलाई कसरी ढाल्ने, आफ्नो द्वेष र घृणा कसरी पोख्ने, र अर्को व्यक्तिलाई कसरी तेरो अघि झुक्न र तेरो डर मान्न लगाउने, र फेरि तँलाई उक्साउने आँट नगर्ने बनाउने भनेर दिनभरि मनन गर्छस्। तँ प्रायजसो अर्को व्यक्तिलाई कसरी पाठ सिकाउने, तँ कति शक्तिशाली छस् भनेर उसलाई कसरी थाहा दिने भन्नेबारे पनि विचार गर्छस्। जब त्यस्ता विचारहरू पैदा हुन्छन्, र जब कल्प दृश्यहरू तेरो मनमा बारम्बार देखा पर्छन्, तब तिनले तँलाई दिने बाधा र दुष्परिणामहरू अतुलनीय हुन्छन्। तँ मौखिक कलह र आपसी आक्रमण गर्ने स्थितिमा परेपछि, परिणामहरू के-के हुन्छन्? के त्यसपछि परमेश्वरअघि शान्त हुनु सजिलो हुन्छ? के यसले तेरो जीवन प्रवेशमा ढिलाइ गराउँदैन र? (गराउँछ।) मामलाहरू सम्हाल्ने गलत तरिका छनौट गर्दा व्यक्तिमा पर्ने असर यही हो। यदि तैँले सही मार्ग रोजिस् भने, जब कसैले तेरो छवि वा अभिमानमा हानि गर्ने तरिकाले बोल्छ, वा तेरो निष्ठा र गरिमालाई अपमान गर्छ, तब तँ सहनशील बन्ने छनौट गर्न सक्छस्। तँ कुनै पनि प्रकारको भाषा प्रयोग गरेर तिनीहरूसँग बहसमा संलग्न हुने वा जानीजानी आफूलाई सही साबित गर्ने र अर्को पक्षलाई खण्डन र आक्रमण गर्ने, र यसरी आफूमा घृणा पैदा गर्ने गर्नेछैनस्। सहनशील हुनुको सार र महत्त्व के हो? तैँले भन्छस्, “उसले भन्ने कतिपय कुराहरू तथ्यहरूसँग मिल्दैनन्, तर सत्यता बुझ्नु र मुक्ति प्राप्त गर्नुपहिले सबै यस्तै हुन्छन्, र म पनि कुनै समय यस्तै थिएँ। अहिले सत्यता बुझेपछि, म सही र गलतबारे बहस गर्ने गैरविश्वासीहरूको मार्गमा हिँड्ने वा झैझगडाको दर्शनमा संलग्न हुने गर्दिनँ—म त सहनशीलता र अरूलाई प्रेमसाथ व्यवहार गर्ने छनौट गर्छु। उसले भन्ने कतिपय कुराहरू तथ्यहरूसँग मिल्दैनन्, तर म तीप्रति ध्यान दिँदिनँ। म आफूले पहिचान गर्न र बुझ्न सक्ने कुराहरू स्विकार्छु। म तिनलाई परमेश्वरबाट स्विकार्छु र तिनलाई प्रार्थनामा परमेश्वरअघि ल्याउँछु, र मेरा भ्रष्ट स्वभावहरू प्रकाश गर्ने परिस्थितिहरू खडा गर्न उहाँलाई अनुरोध गर्छु, ताकि म यी भ्रष्ट स्वभावहरूको सार जान्न सकूँ र यी समस्याहरू सम्बोधन गर्न, तिनलाई बिस्तारै जित्न, र सत्यता वास्तविकतामा प्रवेश गर्न सुरु गर्ने अवसर पाउन सकूँ। आफ्नो बोलीवचनद्वारा मलाई चोट पुर्याउने मानिसहरूका हकमा र तिनीहरूले भन्ने कुराहरू सही छन् कि छैनन् भन्ने कुराका हकमा, वा तिनीहरूको अभिप्राय चाहे जे भए पनि, एक हिसाबले म यसबारे सुझबुझ अभ्यास गर्छु, र अर्को हिसाबले म तिनीहरूलाई सहन्छु।” यदि यो व्यक्ति सत्यता स्विकार्ने व्यक्ति हो भने, तँ ऊसँग शान्तिसाथ बस्न र सङ्गति गर्न सक्छस्। यदि ऊ त्यस्तो होइन भने, यदि ऊ दुष्ट व्यक्ति हो भने, ऊप्रति ध्यान नदे। उसले पर्याप्त हदसम्म काम गरुन्जेल, र सबै दाजुभाइ-दिदीबहिनीहरूले उसलाई राम्ररी खुट्ट्याउन्जेल, र तैँले पनि खुट्ट्याउन्जेल, र अगुवा र कामदारहरूले उसलाई सफाइ गर्न र सम्हाल्न लागुन्जेल पर्खी—त्यो बेला नै परमेश्वरले उसलाई सम्बोधन गर्ने समय आएको हुन्छ, र अवश्य नै, तँलाई पनि खुसी लाग्नेछ। तर, तैँले छनौट गर्नुपर्ने मार्ग भनेको दुष्ट मानिसहरूसँग मौखिक कलह गर्नु वा तिनीहरूसँग बहस गर्नु र आफूलाई सही साबित गर्ने प्रयास गर्नु भन्ने पटक्कै होइन। बरु, कुनै घटना घट्दा सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नु हो। चाहे यो तँलाई चोट पुर्याएका मानिसहरूसँग व्यवहार गर्ने कार्य होस् वा तँलाई चोट नपुर्याएका र तँलाई फाइदा दिने मानिसहरूसँग व्यवहार गर्ने कार्य होस्, अभ्यासका सिद्धान्तहरू उही हुनुपर्छ। जब तँ यो मार्ग रोज्छस्, के तेरो हृदयमा कुनै घृणा हुनेछ? थोरै असहजता हुन सक्छ। आफ्नो गरिमामा चोट पुग्दा कसलाई असहज महसुस हुनेथिएन र? यदि कसैले असहज महसुस भएको छैन भनेर दाबी गर्छ भने, त्यो झूट हुनेछ, त्यो छली कुरा हुनेछ, तर तँ सत्यता अभ्यास गर्नहेतु यो कष्ट सहन र भोग्न सक्नेछस्। जब तँ यो मार्ग रोज्छस्, तब तँ फेरि परमेश्वरअघि आउँदा तँसँग सफा विवेक हुनेछ। तेरो विवेक किन सफा हुनेछ? किनभने तँलाई स्पष्टै यो थाहा हुन्छ कि तेरा शब्दहरू उग्रताबाट आउँदैनन्, तेरा स्वार्थी कामनाहरूका खातिर तँ आफ्नो अनुहार रातो हुन्जेल अरूसँग विवादमा संलग्न हुँदैनस्, र सत्यता बुझ्ने जगका आधारमा, तँ बरु परमेश्वरको मार्ग पछ्याउँछस् र आफ्नै मार्ग हिँड्छस्। तँलाई हृदयमा के स्पष्ट हुन्छ भने तैँले रोजेको मार्ग परमेश्वरले निर्देशित गर्नुहुने मार्ग हो, त्यो परमेश्वरले माग गर्नुहुने मार्ग हो, र त्यसैले तँलाई भित्री रूपमा निकै शान्ति महसुस हुनेछ। जब तँसँग त्यस्तो शान्ति हुन्छ, तब के तँ र अरूबीचको घृणा र व्यक्तिगत ईखले तँलाई बाधा दिनेछ? (दिनेछैन।) जब तैँले साँच्चै नै यसलाई त्यागेर स्वेच्छाले सकारात्मक मार्ग रोज्छस्, तब तेरो हृदय मौन र शान्त हुनेछ। तँलाई उप्रान्त द्वेष, घृणा, र त्यस घृणाबाट पैदा हुने प्रतिकारी मानसिकता र युक्तिहरूजस्ता अरू कुराहरूले बाधा दिनेछैनन्, जुन सबै उग्रताका कुरा हुन्। तैँले रोजेको मार्गले तँलाई शान्ति र मौन हृदय दिनेछ, र ती उग्रताका कुराहरूले उप्रान्त तँलाई बाधा दिन सक्नेछैनन्। जब ती कुराले तँलाई उप्रान्त बाधा दिन सक्दैनन्, के तैँले अझै पनि तँलाई आफ्ना बोलीद्वारा चोट पुर्याउनेहरूलाई आक्रमण गर्ने वा तिनीहरूसँग मौखिक कलहमा संलग्न हुने तरिकाहरू सोच्नेछस्? सोच्नेछैनस्। अवश्य नै, कहिलेकाहीँ तेरो सानो कदका कारण वा केही विशेष प्रसङ्गहरूका कारण तँमा उग्रता, आवेग, र घृणा पैदा हुनेछ। तर, तेरो अठोट, सङ्कल्प, र सत्यता अभ्यास गर्ने तेरो इच्छाले यी कुराहरूलाई तेरो हृदयलाई बाधा दिनबाट रोक्नेछ। अर्थात्, यी कुराहरूले तँलाई बाधा दिन सक्दैनन्। तँमा अझै पनि उग्रताका विस्फोटनहरू हुन सक्छन्, जस्तै, तँ यस्तो सोच्न सक्छस्, “उसले निरन्तर मेरा लागि कामकुराहरू कठिन बनाइरहेको छ। मैले कुनै दिन उसलाई मज्जाले भन्नुपर्छ, र उसले किन मलाई सधैँ निसाना बनाइरहेको र सधैँ कठिन अवस्थामा पारिरहेको छ भनेर उसलाई सोध्नुपर्छ। उसले मलाई किन सधैँ हेयको दृष्टिले हेर्छ र अपमान गर्छ भनेर मैले उसलाई सोध्नुपर्छ।” तँमा कहिलेकाहीँ यस्ता विचारहरू आउन सक्छन्। तर, केही समय सोचेपछि, तैँले ती गलत छन्, र त्यसरी काम गर्दा परमेश्वर अप्रसन्न हुनुहुनेछ भन्ने महसुस गर्नेछस्। जब त्यस्ता विचारहरू उत्पन्न हुन्छन्, तब तँ त्यो स्थिति सुल्ट्याउन तुरुन्तै परमेश्वरअघि फर्किआउनेछस्, त्यसैले ती त्रुटिपूर्ण विचारहरूले तँमा प्रभुत्व जमाउनेछैनन्। फलस्वरूप, तँभित्र केही सकारात्मक कुराहरू देखा पर्न थाल्नेछन्—जस्तै आत्मज्ञान, साथै परमेश्वरले दिनुहुने केही अन्तर्दृष्टि र ज्योति, जसले तँलाई मानिसहरूलाई खुट्ट्याउन र मामलाहरूलाई छर्लङ्गै देख्न सक्षम तुल्याउनेछ—अनि, तैँले थाहै नपाई, यी सकारात्मक कुराहरूले तँलाई सत्यता वास्तविकताबारे अझै बढी बुझ्ने र त्यसमा प्रवेश गर्ने तुल्याउनेछन्। यो अवस्थामा, घृणा, स्वार्थी कामना, र उग्रता धपाउने तेरो प्रतिरोध, अर्थात्, “प्रतिरक्षात्मक तत्त्वहरू” झन्झन् दह्रिलो हुँदै जानेछन्, र तेरो कद झन्झन् ठूलो हुँदै जानेछ। उग्रताका ती कुराहरूले उप्रान्त तँलाई नियन्त्रण गर्न सक्नेछैनन्। तँमा कहिलेकाहीँ केही गलत सोच, विचार, र आवेगहरू हुन सक्ने भए पनि यी कुराहरू तुरुन्तै बिलाउनेछन्, तेरो प्रतिरोध र कदले तिनलाई हटाउनेछ र नष्ट गर्नेछ। यो बेला, तँभित्र सकारात्मक कुराहरू, सत्यताको वास्तविकता, र परमेश्वरका वचनहरू हाबी हुनेछन्। जब यी सकारात्मक कुराहरू हाबी हुन्छन्, तब तँलाई बाहिरी मानिस, घटना, र कामकुराहरूले प्रभाव पार्नेछैनन्। तेरो कद बढ्नेछ, तेरो स्थिति झन्झन् सामान्य हुँदै जानेछ, र तँ उप्रान्त भ्रष्ट स्वभावअनुसार जिउनेछैनस् र तँ दुष्चक्रको दिशातर्फ विकसित हुनेछैनस्, र यसरी, तेरो कद निरन्तर वृद्धि भइरहनेछ।
जब तँ मण्डलीमा वा मानिसहरूको समूहमाझ हुन्छस्, तब तँ आफ्नो गरिमा र निष्ठालाई हानि गर्ने व्यक्तिगत आक्रमणहरू सामना गर्दा सहनशील र धैर्य हुने छनौट गर्न सक्छस् र अभ्यासको सही मार्ग रोज्न सक्छस् भने, यो फाइदाजनक हुन्छ। तैँले यो फाइदा नदेख्न पनि सक्छस्, तर जब तँ यस्तो प्रकारको घटना अनुभव गर्छस्, तब तैँले अचेतन रूपमै थाहा पाउनेछस् कि परमेश्वरले मानिसहरूबाट गर्नुहुने मागहरू र उहाँले तिनीहरूलाई प्रदान गर्नुहुने मार्ग एउटा उज्यालो बाटो र साँचो एवं जिउँदो मार्ग हो, र तिनले मानिसहरूलाई सत्यता प्राप्त गर्न र मानिसहरूलाई फाइदा लिन सक्षम तुल्याउँछन्, र ती सबैभन्दा अर्थपूर्ण मार्ग हुन्। जब तँ मानिसहरूको समूहमाझ हुन्छस्, विशेषगरी जब तँ मण्डली जीवनमा हुन्छस्, तब तँ विभिन्न परीक्षा र प्रलोभनहरूलाई जित्न सक्छस्। जब कसैले तँलाई दुर्भावपूर्ण रूपमा आक्रमण गर्छ र चोट पुर्याउँछ वा जानीजानी तँसँग बदला लिन र तँमाथि आफ्नो घृणा पोख्न खोज्छ, तब तैँले यो कुरालाई सत्यता सिद्धान्तहरूअनुसार लिन र अभ्यास गर्न सक्नु महत्त्वपूर्ण हुन्छ। परमेश्वरले मानिसहरूको भ्रष्ट स्वभावलाई घृणा गर्नुहुने हुनाले, उहाँ मानिसहरूलाई आफूले सामना गर्ने कुराहरूलाई गरम मिजासका साथ नलिन, बरु परमेश्वरअघि शान्त हुन अनि सत्यता र परमेश्वरका अभिप्रायहरू खोज्न, र त्यसपछि परमेश्वरले मानिसहरूबाट गर्नुहुने मागहरू वास्तवमा के-के हुन् भनेर बुझ्न भन्नुहुन्छ। मानव धैर्यता सीमित हुन्छ, तर व्यक्तिले सत्यता बुझेपछि, उसको धैर्यतामा सिद्धान्तहरू हुनेछन्, र यो त्यस व्यक्तिका लागि सत्यता अभ्यास गर्ने उत्प्रेरणा शक्ति र सहयोगमा परिणत हुन सक्छ। तर, यदि व्यक्ति सत्यतालाई प्रेम गर्दैन, सही र गलतबारे बहस गर्न र अरूलाई आक्रमण गर्न मन पराउँछ, र उसमा आफ्नो गरम मिजासमा जिउने प्रवृत्ति छ भने, जब उसलाई आक्रमण गरिन्छ, तब उसमा मौखिक कलह र आपसी आक्रमणमा संलग्न हुने प्रवृत्ति हुनेछ। यसले यसमा संलग्न हुने सबैलाई हानि गर्छ, र कसैलाई पनि सुधार वा सहयोग प्रदान गर्दैन। जब पनि व्यक्ति आपसी आक्रमण र मौखिक कलहमा संलग्न हुन्छ, तब पछि गएर ऊ थकित हुन्छ, अत्यन्तै लखतरान पर्छ, र दुवै पक्षलाई चोट पुग्छ; र तिनीहरू कुनै पनि सत्यता किमार्थ प्राप्त गर्न सक्दैनन्, र अन्त्यमा तिनीहरू केही पनि हासिल गर्दैनन्। मौका पाउँदा घृणा र प्रतिकार गर्ने अभिप्राय मात्रै बाँकी रहन्छ। आपसी आक्रमण र मौखिक कलहले अन्ततः मानिसहरूमा ल्याउने प्रतिकूल परिणाम यही हो।
हामीले भर्खरै सङ्गति गरेको आपसी आक्रमण र मौखिक कलहका विषयमा, के तिमीहरूले अब खुट्ट्याउने सिद्धान्तहरू बुझ्यौ? के तिमीहरूले कुनकुन परिस्थितिहरूमा आपसी आक्रमण र मौखिक कलह समावेश हुन्छ भनेर छुट्याउन सक्छौ? मानिसहरूको समूहमाझ प्रायजसो आपसी आक्रमण र मौखिक कलहहरू देखा पर्छन् र ती प्राय देख्न सकिन्छ। आपसी आक्रमणहरूमा मुख्य रूपमा बदला लिने, प्रतिकार गर्ने, व्यक्तिगत द्वेष पोख्ने, र आदि इत्यादि उद्देश्यले कसैलाई व्यक्तिगत रूपमै आक्रमण गर्न, आलोचना गर्न, निन्दा गर्न, र सराप्नका लागि समेत जानीजानी उसका समस्याहरूलाई निसाना बनाउने कार्य समावेश हुन्छ। चाहे जे भए नि, आपसी आक्रमण र मौखिक कलह सत्यता सङ्गति गर्ने कार्यसँग सम्बन्धित हुँदैनन्, न त ती सत्यता अभ्यास गर्ने कार्यसँग सम्बन्धित नै हुन्छन्, र ती सामञ्जस्यपूर्ण सहकार्यका प्रकटीकरण पनि निश्चित रूपमा नै होइनन्। बरु, ती उग्रता र शैतानको भ्रष्ट स्वभावका कारण मानिसहरूमाथि प्रतिकार गर्ने र प्रहार गर्ने प्रकटीकरणहरू हुन्। आपसी आक्रमण र मौखिक कलहको उद्देश्य स्पष्ट रूपमा सत्यता सङ्गति गर्नु पटक्कै होइन, सत्यता बुझ्नका लागि बहस गर्नु त झन् हुँदै होइन। बरु, यसको उद्देश्य त आफ्ना भ्रष्ट स्वभाव, महत्त्वाकाङ्क्षा, स्वार्थी कामना, र देहगत रुचिहरू सन्तुष्ट पार्नु हो। स्पष्टतः आपसी आक्रमणहरू सत्यता सङ्गति गर्ने कार्यसँग सम्बन्धित हुँदैनन्, र ती निश्चित रूपमा नै मानिसहरूलाई प्रेमसाथ सहयोग र व्यवहार गर्ने कार्यसँग सम्बन्धित हुँदैनन्; बरु, ती त मानिसहरूलाई कष्ट दिने, तिनीहरूसँग खेलबाड गर्ने, र तिनीहरूलाई मूर्ख बनाउने शैतानका रणनीति र विधिहरूमध्ये एउटा हुन्। मानिसहरू भ्रष्ट स्वभावभित्र जिउँछन् र तिनीहरू सत्यता बुझ्दैनन्। यदि तिनीहरूले सत्यता अभ्यास गर्ने छनौट गरेनन् भने, तिनीहरू त्यस्ता पासो र परीक्षाहरूमा, र आपसी आक्रमण र मौखिक कलहका लडाइँमा सहजै फस्छन्। तिनीहरूको अनुहार रातो हुन्जेल बहस गर्छन् र अटुट रूपमा लागिरहन्छन्, एउटै शब्द, वाक्यांश, वा हेराइबारे बहस गर्दै, एकअर्कालाई जित्न वर्षौँसम्म लडाइँ गर्छन्, यहाँसम्म कि जाबो एउटै कुराका लागि दुवै पक्ष हार्ने अवस्थामा पुग्छन्। भेट हुनेबित्तिकै, तिनीहरूले अटुट रूपमा बहस गर्छन्, र कतिले कम्प्युटर च्याट समूहमा एकअर्कालाई आक्रमण गर्छन्, सराप्छन्, र निन्दासमेत गर्छन्। यो घृणा कति गम्भीर बनेको हुन्छ! तिनीहरूले भेलाहरूमा एकअर्कालाई पर्याप्त रूपमा सरापिसकेका हुँदैनन्, तिनीहरूले अझै पनि आफ्नो घृणा विसर्जित गरिसकेका हुँदैनन्, तिनीहरूले आफ्नो उद्देश्य हासिल गरिसकेका हुँदैनन्, र घर गएपछि, तिनीहरू यसबारे जति विचार गर्छन्, त्यति नै रिसाउँछन्, र त्यहाँ एकअर्कालाई सराप्न जारी राख्छन्। यो कस्तो मिजास हो? के यो प्रवर्धन गर्न लायक छ, के यो पैरवी गर्न लायक छ? (छैन।) यो कस्तो “दुस्साहसी मिजास” हो? यो केही कुराको डर नमान्ने मिजास हो, यो निमय-कानुनविहीनताको मिजास हो, यो शैतानले मानिसलाई भ्रष्ट तुल्याउनुको परिणाम हो। अवश्य नै, त्यस्ता व्यवहार र कार्यहरूले यी व्यक्तिहरूको जीवन प्रवेशमा ठूला अवरोध र बाधाहरू ल्याउँछन्, र तिनले मण्डली जीवनमा पनि अवरोध र बाधाहरू दिन्छन्। त्यसकारण, यी परिस्थितिहरू सामना गर्दा, यदि अगुवा र कामदारहरूले दुई मानिसहरूले एकअर्काविरुद्ध आक्रमण र मौखिक कलह गरिरहेको, र अन्त्यसम्म लड्ने कसम खाइरहेको पत्ता लगाए भने, तिनीहरूलाई तुरुन्तै सफाइ गरी हटाउनुपर्छ, र तिनीहरूलाई सहनु हुँदैन र तिनीहरूलाई निश्चय नै रिझाउनु हुँदैन। तिनीहरूले अरू दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा गर्नुपर्छ र सामान्य मण्डली जीवन कायम राख्नुपर्छ, हरेक भेलाले नतिजाहरू हासिल गर्छ भन्ने कुरा सुनिश्चित गर्नुपर्छ, र त्यस्ता व्यक्तिहरूलाई दाजुभाइ-दिदीबहिनीहरूको परमेश्वरका वचनहरू पढ्ने र सत्यता सङ्गति गर्ने समय लिन, सामान्य मण्डली जीवनमा बाधा पुर्याउन दिनु हुँदैन। यदि भेलाहरूमा तिनीहरूले एकअर्काविरुद्ध आक्रमण र मौखिक कलह गरिरहेको पत्ता लाग्यो भने, यसलाई तुरुन्तै रोक्नु र समाधान गर्नुपर्छ। यदि यसलाई प्रतिबन्धित गर्न सकिँदैन भने, यी मानिसहरूलाई भेलामार्फत तुरुन्तै खुलासा र चिरफार गर्नुपर्छ, र तिनीहरूलाई सफाइ गरी हटाउनुपर्छ। मण्डली परमेश्वरका वचनहरू खानेपिउने, परमेश्वरको आराधना गर्ने ठाउँ हो; यो एकअर्कालाई आक्रमण गर्ने वा व्यक्तिगत द्वेष पोख्न मौखिक कलह गर्ने ठाउँ होइन। मण्डली जीवनमा बारम्बार बाधा दिने, र परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा असर गर्ने जोकोहीलाई सफाइ गरी हटाइनुपर्छ। मण्डलीले त्यस्ता मानिसहरूलाई स्वागत गर्दैन, यसले दियाबलसहरूबाट आउने बाधा वा दुष्ट मानिसहरूको उपस्थितिलाई अनुमति दिँदैन—यी मानिसहरूलाई सफाइ गरेर हटाओ, अनि समस्या समाधान हुनेछ।
मण्डलीमा, यदि केही मानिसहरू आपसी आक्रमण र मौखिक कलहमा संलग्न भएको पत्ता लाग्यो भने, तिनीहरूका बहाना र कारणहरू जेसुकै भए पनि, र तिनीहरूको छलफलको केन्द्रबिन्दु जेसुकै भए पनि—यो सबैले वास्ता गर्ने कुरा भए पनि वा नभए नि—मण्डली जीवनमा अवरोध र बाधाहरू पैदा भइरहेका छन् भने, यो समस्यालाई तुरुन्तै र कुनै हिचकिचाहटविना समाधान गरिनुपर्छ। यदि यसमा संलग्न व्यक्तिहरूलाई रोक्न वा प्रतिबन्धित गर्न सम्भव छैन भने, तिनीहरूलाई सफाइ गरी हटाइनुपर्छ। त्यस्ता परिस्थितिहरू सामना गर्दा अगुवा र कामदारहरूले गर्नुपर्ने काम यही हो। यसमा मुख्य सिद्धान्त के हो भने, तैँले यी मानिसहरूको खराब व्यवहार सहेर वा तिनलाई रिझाएर तिनीहरूलाई बढावा दिनुहुँदैन, न त तैँले यी मानिसहरूका लागि सही र गलतबारे निर्णय गरेर “सोझो अधिकारी” बन्ने, को सही छ र को गलत छ, को ठीक हो र को बेठीक हो भनेर हेर्ने, को सही छ र को गलत छ भनेर स्पष्ट रूपमा छुट्याउने, त्यसपछि दुवै पक्षलाई समान दण्ड तोक्ने, वा तैँले दोषी ठानेकोलाई दण्ड दिने र अर्कोलाई इनाम दिने कार्य गर्नु नै हुन्छ—समस्या समाधान गर्ने तरिका यो होइन। यो मामला सम्हाल्दा, तैँले यसलाई कानुनअनुसार मापन गर्नुपर्ने होइन, तैँले यसलाई नैतिक मानकहरूअनुसार मापन र मूल्याङ्कन गर्नुपर्ने त झनै होइन, बरु तैँले यसलाई मण्डलीका कामका सिद्धान्तहरूअनुसार मापन गर्नु र सम्हाल्नुपर्छ। आपसी आक्रमणमा संलग्न दुवै पक्षहरूका हकमा, तिनीहरूले मण्डली जीवनमा अवरोध र बाधा दिएसम्म, मण्डलीका अगुवा र कामदारहरूले तिनीहरूलाई रोक्नु र प्रतिबन्धित गर्नुलाई, वा तिनीहरूलाई अलग गर्नु वा सफाइ गरी हटाउनुलाई आफ्नो अपरिहार्य कर्तव्यका रूपमा लिनुपर्छ, तिनीहरूले के भयो भनेर सुन्ने र तिनीहरूको हरेक कारण र बहाना बताएको सुन्ने, र अर्को व्यक्तिविरुद्ध आक्रमण गर्नु र मौखिक कलहमा संलग्न हुनुको अभिप्राय, उद्देश्य, र मूलजडबारे कुरा गरेको ध्यान दिएर सुन्ने गर्नु हुँदैन—तिनीहरूले उनीहरूको सम्पूर्ण कथा बुझ्नुपर्ने होइन, बरु समस्या समाधान गर्नुपर्छ, र मण्डली जीवनमा आएका यी अवरोध र बाधाहरू हटाउनुपर्छ, र ती पैदा गर्नेहरूलाई तह लगाउनुपर्छ। मानौँ कि अगुवा र कामदारहरूले कुरो मिलाउने काम गर्छन् र “मध्यमार्गी” शैली अपनाउँछन्, आपसी आक्रमणमा संलग्न हुने दुवै मानिसहरूप्रति मिलापपूर्ण नीति अपनाउँछन्, र यसरी तिनीहरूलाई मण्डली जीवनमा जथाभाबी अवरोध र बाधाहरू ल्याउन दिइरहन्छन्, यसमा हस्तक्षेप गर्ने वा यसलाई सम्हाल्ने गर्दैनन्—तिनीहरू यी मानिसहरूलाई रिझाइरहन्छन्। तिनीहरूले हरेकपटक तिनीहरूलाई अर्ती र सल्लाह मात्रै दिइरहन्छन्, र समस्या पूर्ण रूपमा समाधान गर्नै सक्दैनन्। त्यस्ता अगुवा र कामदारहरू आफ्ना जिम्मेवारीमा विमुख हुन्छन्। यदि मण्डलीमा मानिसहरू आपसी आक्रमण र मौखिक कलहमा संलग्न हुने समस्या देखा पर्यो, मण्डली जीवनमा गम्भीर बाधा र हानि भयो, र यसले गर्दा अधिकांश मानिसहरूमा द्वेष र विकर्षण पैदा भयो भने, अगुवा र कामदारहरूले तुरुन्तै प्रतिक्रिया जनाउनुपर्छ, र मण्डली सफाइ गर्ने परमेश्वरको घरका कामका प्रबन्ध र सिद्धान्तहरूअनुसार दुवै पक्षलाई अलग गर्नुपर्छ वा सफाइ गरी हटाउनुपर्छ। तिनीहरूले यसमा संलग्न व्यक्तिहरूका मामलामा फैसला गर्ने र यी व्यक्तिगत कलहहरूबारे मूल्याङ्कन गर्ने “सोझा अधिकारीहरू” का रूपमा कार्य गर्नु हुँदैन, तिनीहरूले को सही छ र को गलत छ, को ठीक छ र को बेठीक छ भनेर हेर्न यी मानिसहरूले फोहोर फलाकेको, र घुमाइफिराइ वाहियात कुरा गरेको ध्यानपूर्वक सुन्ने गर्नु हुँदैन, र यी कुराहरूबारे मूल्याङ्कन गरेपछि, अझै धेरै मानिसहरूलाई यी कुराहरूबारे छलफल र सङ्गति गर्ने तुल्याउने, र यसरी अझै धेरै मानिसहरूलाई हृदयमा विकर्षण र घृणा बोक्ने तुल्याउनु हुँदैन। यसले मानिसहरूले परमेश्वरका वचनहरू खान, पिउन, र सङ्गति गर्न प्रयोग गर्नुपर्ने समय बरबाद गर्नेछ। यो त अझ बढी रूपमा अगुवा र कामदारहरूको जिम्मेवारी विमुखता हुन्छ, र अभ्यासको यो सिद्धान्त गलत हुन्छ। यदि प्रतिबन्धित गरिएका पक्षहरूले कुनै बेला पश्चात्ताप गर्छन्, र उप्रान्त आपसी आक्रमण र मौखिक कलहद्वारा भेलाको समय सक्दिने काम गर्दैनन् भने, तिनीहरूमाथि आदेशरत अलग्याउने कारबाही हटाउन सकिन्छ। यदि तिनीहरूलाई दुष्ट मानिसहरूका रूपमा हटाइएको छ, र कसैले तिनीहरू परिवर्तन भएर असल भएका छन् भनेर दाबी गर्छ भने, तिनीहरूले पश्चात्तापका वास्तविक प्रकटीकरणहरू देखाउँछन् कि देखाउँदैनन् भनेर हेर्नु, र यो विषयमा बहुमतको राय माग्नु पनि आवश्यक हुन्छ। तिनीहरूलाई फिर्ता स्विकारिए पनि, तिनीहरूको नजिकबाट निगरानी गर्नुपर्छ, र तिनीहरूको बोल्ने समय कडाइपूर्वक प्रतिबन्धित गर्नुपर्छ, र पछि तिनीहरूलाई तिनीहरूको प्रकटीकरणका आधारमा सम्हाल्नुपर्छ। मण्डली अगुवा र कामदारहरूले बुझ्नुपर्ने र ध्यान दिनुपर्ने सिद्धान्तहरू यिनै हुन्। अनि अवश्य नै, यो मामला सम्हाल्ने कार्य व्यक्तिपरक आकलनहरूमा आधारित हुनु हुँदैन; दुवै पक्षको आपसी आक्रमणमा अवरोध र बाधा दिने प्रकृति समावेश हुनैपर्छ। तिनीहरूमध्ये एक जनाले क्षणिक रूपमा अर्कोलाई चोट पुर्याउने कुरा बोलेको, र त्यसपछि त्यो व्यक्तिले आफ्नो टिप्पणीद्वारा प्रतिकार गरेकोले मात्रै मानिसहरूलाई बोल्नबाट रोक्ने र अलग गर्ने गर्नु हुँदैन। मानिसहरूलाई त्यसरी सम्हाल्ने कार्य वास्तवमा सिद्धान्तहरूअनुरूप हुँदैन! अगुवा र कामदारहरूले सिद्धान्तहरू राम्ररी बुझ्नुपर्छ, र आफ्ना कार्यहरू सिद्धान्तहरूअनुरूप छन् भनेर बहुमत सहमति हुने कुरा सुनिश्चित गर्नुपर्छ, र बेकाबु भएर खराब कामकुराहरू गर्ने वा समस्याको गम्भीरतालाई सक्दो हदसम्म बढाइचढाइ गराउने गर्नु हुँदैन। कामको यो पक्षको कुरा आउँदा, एक हिसाबले, अधिकांशले आक्रमणमा के समावेश हुन्छ भनेर खुट्ट्याउन सिक्नुपर्छ, र अर्को हिसाबले, मण्डली अगुवा र कामदारहरूले पनि यो काम गर्दा बुझ्नुपर्ने सिद्धान्तहरू र पूरा गर्नुपर्ने जिम्मेवारीहरू जान्नुपर्छ।
४. मानिसहरूलाई स्वेच्छाचारी रूपमा निन्दा गर्नु
आपसी आक्रमणको अर्को प्रकटीकरण पनि छ। कतिपय मानिसहरूलाई केही आत्मिक शब्दहरू थाहा हुन्छ, र तिनीहरू आफ्नो बोलीवचनमा सधैँ “दुष्ट,” “शैतान,” “सत्यता अभ्यास नगर्नु,” “सत्यतालाई प्रेम नगर्नु,” “फरिसी,” र आदि इत्यादिजस्ता केही शब्दहरू प्रयोग गर्छन्—तिनीहरू निश्चित मानिसहरूलाई स्वेच्छाचारी ढङ्गले आलोचना गर्न यी शब्दहरू प्रयोग गर्छन्। के यसमा आक्रमणको प्रकृति थोरै हुँदैन र? पहिले, एउटा व्यक्ति थियो जसले दाजुभाइ-दिदीबहिनीहरूसँग अन्तरक्रिया गर्दा उसका चाहनाअनुसार कार्य नगर्ने जोकोहीलाई सराप्न चाहन्थ्यो। तर उसले मनमनै सोच्यो: “अहिले मैले परमेश्वरमा विश्वास गरेपछि, मानिसहरूलाई सराप्ने कार्य अनुचित देखिन्छ। यसले मलाई सन्तको शिष्टताबाहिर रहेजस्तो देखाउँछ। मैले सराप्ने शब्द वा फोहोरी भाषा प्रयोग गर्न मिल्दैन, तर यदि मैले सरापिनँ भने, मलाई छटपटी हुनेछ, म आफ्नो घृणा निकास गर्न सक्नेछैनँ—मलाई सधैँ मानिसहरूलाई सराप्न मन लाग्नेछ। त्यसैले मैले तिनीहरूलाई कसरी सराप्नुपर्ला?” त्यसकारण उसले नयाँ शब्द आविष्कार गऱ्यो। जसले उसलाई चिढ्यायो, कुनै व्यवहारमार्फत चोट पुर्यायो, वा उसको कुरा सुनेन, त्यो व्यक्तिलाई उसले यसरी सराप्नेछ: “दुष्ट दियाबलस!” “तँ दुष्ट दियाबलस होस्!” “फलानो-ढिस्कानो दुष्ट दियाबलस हो!” उसले “दियाबलस” भन्ने शब्दअगाडि “दुष्ट” भन्ने शब्द थप्यो—मैले कसैले पनि यो वाक्यांश प्रयोग गरेको कहिल्यै सुनेको थिइनँ। के यो निकै नयाँ शब्द होइन र? दाजुभाइ-दिदीबहिनीहरू ऊद्वारा “दुष्ट दियाबलसहरू” भनेर त्यत्तिकै सरापिन्थे—त्यो सुन्दा कसलाई पो सहज लाग्नेथियो र? उदाहरणका लागि, यदि उसले कुनै विश्वासी दाजुभाइ-दिदीबहिनीलाई एक गिलास पानी माग्यो, र त्यो व्यक्ति अत्यन्तै व्यस्त भएकोले उसले आफै खानुहोस् भनेर भन्यो भने, उसले त्यो व्यक्तिलाई सराप्नेथियो: “दुष्ट दियाबलस!” यदि ऊ भेलाबाट फर्केर आयो र उसको खाना अझै तयार भइनसकेको देख्यो भने, ऊ रिसाउनेथ्यो: “दुष्ट दियाबलसहरू, तिमीहरू सबै अति अल्छी छौ। म आफ्नो कर्तव्य पूरा गर्न बाहिर जान्छु, र फर्केर आउँदा मेरा लागि खानासमेत तयार भएको हुँदैन!” ऊसँग अन्तरक्रिया गर्ने जोकोही ऊद्वारा “दुष्ट दियाबलस” भनेर सरापिन सक्थ्यो। यो कस्तो प्रकारको व्यक्ति हो? (दुष्ट व्यक्ति।) ऊ कसरी दुष्ट हो? उसका नजरमा, उसलाई चिढ्याउने वा उसको चाहनाअनुरूप नहुने जोकोही व्यक्ति दुष्ट दियाबलस हो—ऊ आफै दुष्ट हुँदैन, तर अरू सबै दुष्ट हुन्छन्। के उसले यसो भन्नुको पछाडि कुनै आधार हुन्छ? पटक्कै हुँदैन; उसले मानिसहरूलाई सराप्नका लागि स्वेच्छाचारी ढङ्गले एउटा शब्द छनौट गर्यो, जसले उसलाई आफ्नो घृणा निकास गर्न र आफ्ना भावनाहरू पोख्न मद्दत गर्यो। ऊ के विश्वास गर्छ भने यदि उसले साँच्चै नै कसैलाई सराप्यो भने, अरूले ऊ परमेश्वरको विश्वासीजस्तो छैन भनेर भन्नेछन्, तर उसले के सोच्छ भने यदि उसले कसैलाई दियाबलस भनेर बोलायो भने, त्यो सराप्नु होइन, र अरूका लागि त्यो उचित नै देखिनुपर्छ, यसरी उसका आफ्नै कामनाहरू पनि पूरा हुन्छन् र साथसाथै अरूलाई उसमा गल्ती भेट्टाउने कुनै ठाउँ पनि हुँदैन। यो व्यक्ति निकै धूर्त र निकै दुष्ट हो, उसले मानिसहरूसँग बदला लिन र तिनीहरूलाई निन्दा गर्न सबैभन्दा दुर्भावपूर्ण भाषा, मानिसहरूलाई कुनै प्रतिरोध गर्ने ठावैँ नदिने भाषा प्रयोग गर्छ, र तैपनि मानिसहरूले उसलाई सरापेको वा अनुचित रूपमा बोलेको आरोप लगाउन सक्दैनन्। त्यस्तो व्यक्ति सामना गर्दा, के धेरैजसो मानिसहरू ऊबाट टाढा बस्नेथिए कि उसको नजिक आउनेथिए? (तिनीहरू ऊबाट टाढा बस्नेथिए।) किन? तिनीहरूले उसलाई उक्साउन मिल्दैन, त्यसकारण तिनीहरू ऊबाट टाढा बस्न मात्रै सक्छन्; चलाख मानिसहरूले यही गर्नेथिए।
कुनै व्यक्तिलाई स्वेच्छाचारी रूपमा निन्दा गर्ने, संज्ञा दिने, र कष्ट दिने घटना प्रायजसो हरेक मण्डलीमा घट्छ। उदाहरणका लागि, कतिपय मानिसहरूले निश्चित अगुवा वा कामदारप्रति पूर्वाग्रह राख्छन् र बदला लिनका लागि, तिनीहरूको पिठ्यूँपछाडि तिनीहरूबारे टिप्पणी गर्छन्, र सत्यताबारे सङ्गति गर्ने बहानामा तिनीहरूको खुलासा र चिरफार गर्छन्। त्यस्ता कार्यहरूका पछाडिका अभिप्राय र लक्ष्यहरू गलत हुन्छन्। यदि कुनै व्यक्तिले साँच्चै नै परमेश्वरको गवाही दिन र अरूलाई फाइदा पुऱ्याउनका लागि सत्यताबारे सङ्गति गरिरहेको छ भने, उसले आफ्ना साँचो अनुभवहरूबारे सङ्गति गर्नुपर्छ, र आफूलाई चिरफार गरेर अनि चिनेर अरूलाई फाइदा पुर्याउनुपर्छ। यस्तो अभ्यासले अझै राम्रा नतिजाहरू दिन्छ, र परमेश्वरका चुनिएका मानिसहरूले यसलाई अनुमोदन गर्नेछन्। यदि कसैको सङ्गतिले अर्को व्यक्तिलाई आक्रमण गर्ने वा बदला लिने प्रयासमा उसको खुलासा गर्छ, उसलाई आक्रमण र हेला गर्छ भने, सङ्गतिको अभिप्राय गलत हुन्छ, यो न्यायोचित हुँदैन, परमेश्वरले यस कुरालाई तिरस्कार गर्नुहुन्छ र यो दाजुभाइ-दिदीबहिनीहरूका लागि ज्ञानवर्धक हुँदैन। यदि कसैको अभिप्राय अरूलाई निन्दा गर्नु वा कष्ट दिनु हो भने, ऊ दुष्ट व्यक्ति हो र उसले दुष्टता गरिरहेको हुन्छ। दुष्ट मानिसहरूको कुरा आउँदा परमेश्वरका चुनिएका सबै मानिसहरूसँग सुझबुझ हुनुपर्छ। यदि कसैले जानी-जानी मानिसहरूलाई प्रहार गर्छ, खुलासा गर्छ, वा हेला गर्छ भने, उसलाई प्रेमपूर्ण ढङ्गले सहयोग गर्नुपर्छ, सङ्गति दिनुपर्छ र चिरफार, वा काटछाँट गर्नुपर्छ। यदि उसले सत्यतालाई स्विकार्न सक्दैन, र जिद्दी भएर आफ्नो मार्ग सच्याउन मान्दैन भने, यो पूर्ण रूपमा फरक मामला हो। प्रायजसो स्वेच्छाचारी ढङ्गले अरूलाई निन्दा गर्ने, संज्ञा र कष्ट दिने दुष्ट मानिसहरूका हकमा, तिनीहरूको राम्ररी खुलासा गरिनुपर्छ, ताकि सबैले तिनीहरूलाई खुट्ट्याउन सिकून्, त्यसपछि तिनीहरूलाई मण्डलीबाट प्रतिबन्धित वा निष्कासित गर्नुपर्छ। यो अत्यावश्यक कुरा हो, किनभने त्यस्ता मानिसहरूले मण्डली जीवन र मण्डलीको काममा बाधा दिन्छन्, र तिनीहरूले मानिसहरूलाई भ्रममा पार्ने र मण्डलीमा अराजकता ल्याउने सम्भावना हुन्छ। विशेषगरी, कतिपय दुष्ट मानिसहरूले प्रायजसो अरूलाई आक्रमण गर्ने र निन्दा गर्ने गर्छन्, बस आफूलाई प्रदर्शन गर्ने र अरूलाई उच्च मान्न लगाउने आफ्नो लक्ष्य हासिल गर्नका लागि। यी दुष्ट मानिसहरूले अप्रत्यक्ष रूपमा अरूको खुलासा गर्न, चिरफार गर्न र अरूलाई दमन गर्नका लागि प्रायजसो भेलाहरूमा सत्यताबारे सङ्गति गर्ने अवसरको प्रयोग गर्छन्। तिनीहरूले मानिसहरूलाई सहयोग गर्न र मण्डलीमा रहेका समस्याहरू समाधान गर्नका लागि यसो गरिरहेका छन् भनेर यसलाई सही साबित समेत गर्छन्, र यी बहानाहरूलाई आफ्ना लक्ष्यहरू हासिल गर्नका लागि ढाकछोपका रूपमा प्रयोग गर्छन्। तिनीहरू अरूलाई आक्रमण गर्ने र कष्ट दिने खालका मानिसहरू हुन्, र तिनीहरू सबै प्रस्ट रूपले दुष्ट मानिसहरू हुन्। सत्यता पछ्याउने मानिसहरूलाई आक्रमण गर्ने र निन्दा गर्ने सबै मानिसहरू अत्यन्तै क्रूर हुन्छन्, र परमेश्वरको घरको कामको संरक्षण गर्नका लागि दुष्ट मानिसहरूको खुलासा र चिरफार गर्ने मानिसहरूमा मात्रै इन्साफको बोध हुन्छ र तिनीहरूलाई परमेश्वरले अनुमोदन गर्नुहुन्छ। दुष्ट मानिसहरू प्रायजसो आफ्नो दुष्कर्ममा अत्यन्तै धूर्त हुन्छन्; तिनीहरू सबै आफूलाई सही साबित गर्न र अरूलाई भ्रममा पार्ने लक्ष्य हासिल गर्नका लागि धर्मसिद्धान्त प्रयोग गर्न सिपालु हुन्छन्। यदि परमेश्वरका चुनिएका मानिसहरूले यी दुष्ट मानिसहरूलाई खुट्ट्याउन र रोक्न सकेनन् भने, मण्डली जीवन र मण्डलीको काम पूर्ण रूपमा अस्तव्यस्त हुनेछ—वा हङ्गामा समेत मच्चिनेछ। दुष्ट मानिसहरूले समस्याहरूबारे सङ्गति गर्दा र तिनलाई चिरफार गर्दा, तिनीहरूसँग सधैँ अभिप्राय र लक्ष्य हुन्छ, र यो सधैँ कोहीप्रति लक्षित हुन्छ। तिनीहरूले आफूलाई चिरफार गरिरहेका वा चिनिरहेका हुँदैनन्, न त तिनीहरू आफ्ना समस्याहरू समाधान गर्न खुलस्त बनिरहेका र आफूलाई उदाङ्गो पारिरहेका नै हुन्छन्—बरु, तिनीहरू अरूको खुलासा गर्ने, चिरफार गर्ने, र अरूलाई आक्रमण गर्ने अवसरको फाइदा उठाइरहेका हुन्छन्। तिनीहरू प्रायजसो अरूको चिरफार गर्न र अरूलाई निन्दा गर्नका लागि आफ्नो आत्मज्ञान सङ्गति गर्ने कार्यको फाइदा लिन्छन्, र परमेश्वरका वचनहरू र सत्यताबारे सङ्गति गर्ने विधिद्वारा, तिनीहरू मानिसहरूको खुलासा गर्छन्, साथै उनीहरूलाई हेला र बदनाम गर्छन्। तिनीहरू सत्यता पछ्याउने, मण्डलीको कामका निम्ति बोझ वहन गर्ने, र प्रायजसो आफ्नो कर्तव्य पूरा गर्ने मानिसहरूप्रति अत्यन्तै विकर्षण र तिरस्कार महसुस गर्छन्। दुष्ट मानिसहरूले यी मानिसहरूको प्रेरणालाई प्रहार गर्न र तिनीहरूलाई मण्डलीको काम गर्नबाट रोक्नका लागि हरकिसिमका बहाना र निहुँहरू प्रयोग गर्नेछन्। तिनीहरू एकातिर त्यस्ता मानिसहरूप्रति डाहा र घृणा महसुस गर्छन्; अर्कोतिर, यी मानिसहरू काम गर्न उठे भने, त्यसले तिनीहरूको ख्याति र प्राप्ति अनि हैसियतलाई जोखिममा पार्छ भन्ने डर मान्छन्। त्यसकारण, तिनीहरू यी मानिसहरूलाई चेतावनी दिने, दमन गर्ने, र प्रतिबन्ध गर्ने उपायहरू प्रयोग गर्न बेचैन हुन्छन्, यहाँसम्म कि तिनीहरूलाई फसाउने उपायहरू बटुल्न र तिनीहरूलाई निन्दा गर्नका लागि तथ्यहरू बङ्ग्याउने समेत गर्छन्। यसले यी दुष्ट मानिसहरूको स्वभाव सत्यता र सकारात्मक कुराहरूलाई घृणा गर्ने स्वभाव हो भन्ने कुरा पूर्ण रूपमा प्रकट गर्छ। सत्यता पछ्याउने र सकारात्मक कुराहरूलाई प्रेम गर्ने, र निष्कपट, सभ्य, र सोझा मानिसहरूप्रति तिनीहरूमा विशेष घृणा हुन्छ। तिनीहरू यसो नभन्न सक्छन्, तर तिनीहरूसँग यस्तै मानसिकता हुन्छ। त्यसोभए तिनीहरू किन सत्यता पछ्याउने, अनि असल र इमानदार मानिसहरूलाई नै खुलासा गर्न, हेला गर्न, दमन गर्न, र बहिष्कार गर्नका लागि निर्दिष्ट रूपमा लक्षित गर्छन् त? यो स्पष्ट रूपमा नै तिनीहरूको तर्फबाट असल मानिसहरू र सत्यता पछ्याउनेहरूलाई ढाल्न, प्रहार गर्न, र कुल्चनका लागि गरिएको प्रयास हो, ताकि तिनीहरू मण्डलीलाई नियन्त्रण गर्न सकून्। कतिपय मानिसहरूले कुरा यस्तो हो भनेर विश्वास गर्दैनन्। तिनीहरूलाई, म एउटा प्रश्न सोध्छु: सत्यताबारे सङ्गति गर्दा, यी दुष्ट मानिसहरू किन आफ्नो खुलासा वा चिरफार गर्दैनन्, र सधैँ अरूलाई निसाना बनाउँछन् र खुलासा गर्छन्? के साँच्चै तिनीहरूले भ्रष्टता प्रकाश नगर्ने, वा तिनीहरूमा भ्रष्ट स्वभावहरू नहुने हुन सक्छ? निश्चय नै त्यस्तो होइन। त्यसोभए, तिनीहरू किन खुलासा र चिरफारका लागि अरूलाई निसाना बनाउन जिद कस्छन्? तिनीहरू ठ्याक्कै के हासिल गर्ने कोसिस गरिरहेका हुन्छन्? यो प्रश्नबारे गहन रूपमा सोच्नुपर्ने हुन्छ। यदि व्यक्तिले मण्डलीलाई बाधा दिने दुष्ट मानिसहरूका दुष्ट कार्यहरू खुलासा गर्छ भने उसले आफूले गर्नुपर्ने कुरा नै गरिरहेको हुन्छ। तर यसको सट्टा, यी मानिसहरूले सत्यताबारे सङ्गति गर्ने बहानामा, असल मानिसहरूको खुलासा गरिरहेका र उनीहरूलाई कष्ट दिइरहेका हुन्छन्। तिनीहरूको अभिप्राय र उद्देश्य के हो? के तिनीहरू परमेश्वरले असल मानिसहरूलाई मुक्ति दिनुहुन्छ भन्ने देखेर क्रोधित भएका हुन्? वास्तवमा कुरा त्यही हो। परमेश्वर दुष्ट मानिसहरूलाई मुक्ति दिनुहुन्न, त्यसकारण दुष्ट मानिसहरू परमेश्वर र असल मानिसहरूलाई घृणा गर्छन्—यो सब निकै स्वभाविक कुरा हो। दुष्ट मानिसहरू सत्यता स्विकार्दैनन् वा यसलाई पछ्याउँदैनन्; तिनीहरू आफै मुक्ति पाउन सक्दैनन्, तैपनि तिनीहरू सत्यता पछ्याउने र मुक्ति पाउन सक्ने असल मानिसहरूलाई कष्ट दिन्छन्। समस्या के हो? यदि यी मानिसहरूसँग आफूबारे र सत्यताबारे ज्ञान भएको भए, तिनीहरू खुलस्त भएर सङ्गति गर्न सक्थे, तैपनि तिनीहरू सधैँ अरूलाई निसाना बनाइरहेका र उक्साइरहेका हुन्छन्—तिनीहरूसँग सधैँ अरूलाई आक्रमण गर्ने प्रवृत्ति हुन्छ—र तिनीहरूले सत्यता पछ्याउने मानिसहरूलाई सधैँ आफ्ना काल्पनिक शत्रुहरूको रूपमा राखिरहेका हुन्छन्। दुष्ट मानिसहरूका पहिचानहरू यिनै हुन्। त्यस्ता दुष्टता गर्न सक्ने मानिसहरू असली दियाबलस र शैतानहरू हुन्, प्रतिबन्धित गरिनुपर्ने मुख्य ख्रीष्टविरोधीहरू हुन्, र यदि तिनीहरूले धेरै दुष्टता गरे भने, तिनीहरूलाई तुरुन्तै तह लगाइनुपर्छ—तिनीहरूलाई मण्डलीबाट निष्कासन गरिदे। असल मानिसहरूलाई प्रहार गर्ने र बहिष्कार गर्ने सबै मानिसहरू कुहिएका स्याउ हुन्। म किन तिनीहरूलाई कुहिएका स्याउ भन्छु? किनभने तिनीहरूले मण्डलीमा अनावश्यक विवाद र द्वन्द्व उक्साएर, त्यहाँको स्थिति झन्-झन् खराब बनाउने सम्भावना हुन्छ। तिनीहरू एक दिन एउटा व्यक्तिलाई र अर्को दिन अर्को व्यक्तिलाई निसाना बनाउँछन्, र तिनीहरू सधैँ अरूलाई, सत्यतालाई प्रेम गर्ने र पछ्याउनेहरूलाई निसाना बनाइरहेका हुन्छन्। यसले मण्डली जीवनमा बाधा पुर्याउने सम्भावना हुन्छ र परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरका वचनहरू सामान्य रूपमा खाने-पिउने कार्यमा, साथै सत्यताबारे तिनीहरूले गर्ने सामान्य सङ्गतिमा पनि असर पार्न सक्छ। यी दुष्ट मानिसहरूले प्रायजसो सत्यताबारे सङ्गति गर्ने नाममा अरूलाई आक्रमण गर्नका लागि मण्डली जीवनको जियाइबाट फाइदा लिन्छन्। तिनीहरूले भन्ने हरेक कुरामा शत्रुता हुन्छ; तिनीहरू सत्यता पछ्याउने र परमेश्वरप्रति आफूलाई समर्पित गर्ने मानिसहरूलाई आक्रमण र निन्दा गर्न भड्किला टिप्पणीहरू गर्छन्। यसका परिणामहरू के-के हुन्छन्? यसले मण्डलीको जीवनमा बाधा र अवरोध ल्याउनेछ, र मानिसहरूलाई हृदयमा असहज तुल्याउनेछ र परमेश्वरको अघि मौन हुन असक्षम तुल्याउनेछ। किटेरै भन्नुपर्दा, यी दुष्ट मानिसहरूले अरूलाई निन्दा गर्न, प्रहार गर्न, र चोट पुऱ्याउनका लागि भन्ने नैतिकताहीन कुराहरूले प्रतिरोध उक्साउन सक्छन्। यसले समस्याहरू समाधान गर्न सहयोग गर्दैन; उल्टै, यसले मण्डलीमा डर र बेचैनी पैदा गर्छ र मानिसहरू बीचको सम्बन्ध बिगार्छ, जसले गर्दा तिनीहरूका बीचमा तनाव सिर्जना हुन्छ र तिनीहरू भनावैरीमा फस्छन्। यी मानिसहरूको व्यवहारले मण्डली जीवनमा असर गर्ने मात्र होइन, मण्डलीमा द्वन्द्व पनि खडा गर्छ। यसले समग्र मण्डलीको काम र सुसमाचार फैलाउने कार्यमा समेत असर पार्न सक्छ। त्यसकारण, अगुवा र कामदारहरूले यस्तो प्रकारको व्यक्तिलाई चेतावनी दिन, साथै उनीहरूलाई रोक्न र तह लगाउन पनि आवश्यक हुन्छ। एक हिसाबमा, दाजुभाइ-दिदीबहिनीहरूले अरूलाई बारम्बार आक्रमण गर्ने र निन्दा गर्ने यी दुष्ट मानिसहरूमाथि कडा प्रतिबन्ध लगाउनैपर्छ। अर्को हिसाबमा, मण्डली अगुवाहरूले अरूलाई स्वेच्छाचारी रूपमा प्रहार गर्ने र निन्दा गर्नेहरूलाई तुरुन्तै खुलासा गरेर तिनीहरूलाई रोक्नुपर्छ, र यदि तिनीहरू साँच्चि नै सच्चिँदैनन् भने, तिनीहरूलाई मण्डलीबाट निकाल्नुपर्छ। दुष्ट मानिसहरूलाई भेलाहरूमा मण्डलीको जीवनमा बाधा दिनबाट रोक्नैपर्छ, र साथसाथै, अन्योलमा परेका मानिसहरूलाई मण्डली जीवनमा असर गर्ने तरिकाले बोल्नबाट रोक्नुपर्छ। यदि दुष्ट व्यक्तिले दुष्टता गरेको पाइएमा, उसको खुलासा गर्नैपर्छ। तिनीहरूलाई मनोमानी रूपमा कार्य गर्न, र आफूले चाहे अनुसार दुष्टता गर्न पटक्कै दिनु हुँदैन। सामान्य मण्डली जीवन कायम राख्न र परमेश्वरका चुनिएका मानिसहरूले सामान्य रूपमा भेला हुन, परमेश्वरका वचनहरू खान-पिउन, र सामान्य रूपमा सत्यता सङ्गति गर्न सक्छन्, जसले गर्दा तिनीहरूले सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्छन् भन्ने कुरालाई सुनिश्चित गर्नका लागि यो आवश्यक हुन्छ। त्यसपछि मात्रै मण्डलीमा परमेश्वरको इच्छा कार्यान्वयन हुन सक्छ, र यसरी मात्रै उहाँका चुनिएका मानिसहरूले सत्यता बुझ्न, वास्तविकतामा प्रवेश गर्न, र परमेश्वरका आशिष्हरू प्राप्त गर्न सक्छन्। के तिमीहरूले मण्डलीमा यस्ता प्रकारका दुष्ट मानिसहरू पत्ता लगाएका छौ? तिनीहरू सधैँ असल मानिसहरूप्रति ईर्ष्यालु घृणा बोक्छन्, र सधैँ उनीहरूलाई निसाना बनाउँछन्। आज तिनीहरू एउटा असल व्यक्तिलाई घृणा गर्छन्, अनि भोलि अर्कोलाई; तिनीहरू जोसुकैलाई आलोचना गर्न र तिनीहरूमा रहेका कैयौँ त्रुटिहरू खोतल्न सक्ने हुन्छन्, र त्यसमाथि, तिनीहरूले भन्ने कुरा पनि अत्यन्तै आधारपूर्ण र समझपूर्ण सुनिन्छ, र अन्ततः तिनीहरू व्यापक आक्रोश जगाउँछन्, र तिनीहरू समूहका लागि अभिशाप बन्छन्। तिनीहरू मण्डलीमा यति हदसम्म बाधा दिन्छन् कि मानिसहरूको हृदय पूरै अस्तव्यस्त बन्छ, र धेरै मानिसहरू नकारात्मक र कमजोर बन्छन्, र भेलाहरूबाट कुनै फाइदा वा सुधार प्राप्त हुँदैन, र कतिपयले त भेलाहरूमा सहभागी हुने चाहनासमेत गुमाउँछन्। के त्यस्ता दुष्ट मानिसहरू कुहिएका आलु होइनन् र? यदि तिनीहरू निकालिनुपर्ने स्तरमा पुगिसकेका छैनन् भने, तिनीहरूलाई अलग्याइनु वा प्रतिबन्धित गरिनुपर्छ। उदाहरणका लागि, भेलाहरूका अवधिमा तिनीहरूलाई अरूलाई प्रभाव पार्नबाट रोक्नका लागि अलग ठाउँमा बस्न लगाओ। यदि तिनीहरू बोल्ने र मानिसहरूलाई आक्रमण गर्ने अवसरहरू खोज्ने जिद कस्छन् भने, तिनीहरूलाई प्रतिबन्धित गरिनुपर्छ—व्यर्थका कुराहरू बोल्नबाट रोकिनुपर्छ। यदि तिनीहरूलाई प्रतिबन्धित गर्न असम्भव भयो र तिनीहरू विस्फोट हुने वा प्रतिरोध गर्ने सँघारमा पुगे भने, तिनीहरूलाई तुरुन्तै निकालिनुपर्छ। अर्थात्, जब तिनीहरू प्रतिबन्धित हुन इच्छुक हुँदैनन्, र यसो भन्छन्, “तिमीले मेरो बोल्ने क्षमतालाई कुन आधारमा प्रतिबन्धित गरिरहेका छौ? अरू सबैले किन पाँच मिनेट बोल्न पाउँछन्, र मैले एक मिनेट मात्रै बोल्न पाउँछु?”—जब तिनीहरू निरन्तर यी प्रश्नहरू सोध्छन्, तब यसको अर्थ तिनीहरूले प्रतिरोध गर्नेवाला छन् भन्ने हुन्छ। जब तिनीहरू प्रतिरोध गर्नै लागेका हुन्छन्, तब के तिनीहरूले अवज्ञा गरिरहेका हुँदैनन् र? के तिनीहरूले समस्या पैदा गर्ने, र अशान्ति मच्चाउने प्रयास गरिरहेका हुँदैनन् र? के तिनीहरूले मण्डली जीवनमा बाधा दिन लागेका हुँदैनन् र? तिनीहरूले वास्तवमा तिनीहरू को हुन् भनेर प्रकाश गर्न लागेका हुन्छन्; तब तिनीहरूलाई तह लगाउने समय आएको हुन्छ—तिनीहरूलाई तुरुन्तै सफाइ गरी हटाइनुपर्छ। के यो समझपूर्ण हुन्छ? हो, समझपूर्ण हुन्छ। अधिकांश मानिसहरूले सामान्य मण्डली जीवन जिउन सकून् भन्ने कुरा सुनिश्चित गर्नु साँच्चै सजिलो हुँदैन, हरकिसिमका दुष्ट मानिसहरू, दुष्ट आत्माहरू, फोहोरी पिशाचहरू, र “विशेष प्रतिभाहरू” ले विभिन्न कुराहरू बरबाद गर्न खोजिरहेका हुन्छन्। के हामीले तिनीहरूलाई प्रतिबन्धित नगरेर हुन्छ त? कतिपय “विशेष प्रतिभाहरूले” त मुख खोलेर बोल्नेबित्तिकै अरूलाई होच्याउन र आक्रमण गर्न थाल्छन्—यदि तैँले चस्मा लगाइस् वा तेरो कपाल झरेको छ भने, तिनीहरू तँलाई आक्रमण गर्छन्; यदि तैँले भेलाहरूमा आफ्नो अनुभवात्मक गवाही बताइस् वा आफ्नो कर्तव्य पूरा गर्दा सक्रिय र जिम्मेवार भइस् भने, तिनीहरू तँलाई आक्रमण र आलोचना गर्छन्; यदि परीक्षाको बेला तँसँग परमेश्वरमाथिको आस्था हुन्छ भने, यदि तँ कमजोर छस्, वा यदि तैँले परमेश्वरबारे गुनासो नगरी आफ्नो आस्था उपयोग गरेर पारिवारिक कठिनाइहरूमाथि पार पाउँछस् भने, तिनीहरू तँलाई आक्रमण गर्छन्। यहाँ आक्रमणको अर्थ के हो? यसको अर्थ अरूले चाहे जे गरे पनि त्यो कुरा यी मानिसहरूलाई कहिल्यै मन पर्दैन; त्यो कुरालाई तिनीहरू सधैँ घृणा गर्छन्, तिनीहरूले सधैँ हुँदै नभएका गल्तीहरू खोज्छन्, र सधैँ अरूलाई दोष दिन खोज्छन्, र अरूले गर्ने कुनै पनि कुरा तिनीहरूका नजरमा कहिल्यै सही हुँदैन। तैँले सत्यताबारे सङ्गति गरे पनि र परमेश्वरको घरका कामका प्रबन्धहरूअनुसार समस्याहरू सम्बोधन गरिस् भने पनि, तिनीहरूले तेरो गल्ती खोतल्नेछन् र आलोचना गर्नेछन्, र तैँले गर्ने सबै कुरामा गल्तीहरू भेट्टाउँछन्। तिनीहरूले जानीजानी समस्याहरू पैदा गर्छन्, र सबै जना तिनीहरूका आक्रमणमा पर्छन्। मण्डलीमा हरेक पटक यस्तो व्यक्ति देखा पर्दा, तैँले त्यसलाई तह लगाइहाल्नुपर्छ; यदि यस्ता दुई जना देखा परे भने, तैँले दुवैलाई तह लगाउनुपर्छ। किनभने तिनीहरूले मण्डली जीवनमा ल्याउने हानि ठूलो हुन्छ, र तिनीहरूले मण्डलीको काममा अवरोध र बाधाहरू ल्याउँछन्, र यसका परिणामहरू भयानक हुन्छन्।
ख. अरूलाई प्राय आक्रमण गर्ने मानिसहरूका मानवताका विशेषताहरू
आज, हामीले आपसी आक्रमण र मौखिक कलहको समस्यासँग सम्बन्धित कैयौँ पक्षहरूबारे सङ्गति गरेका छौँ। के तिमीहरूले यी हरेक पक्षहरूमा पर्ने विभिन्न प्रकारका व्यक्तिहरूले प्रदर्शन गर्ने प्रकटीकरणहरूको प्रकृति बुझेका छौ? अरूलाई आक्रमण गर्ने प्रवृत्ति भएकाहरूबाट सुरु गरौँ—के तिनीहरूसँग सामान्य मानवताको समझ हुन्छ? (हुँदैन।) तिनीहरूको समझको कमीको प्रकटीकरण कसरी हुन्छ? मानिस, घटना, र कामकुराहरूप्रति तिनीहरूका मनोवृत्ति र सिद्धान्तहरू के-के हुन्? विविध मानिस, घटना, र कामकुराहरू सम्हाल्न तिनीहरूले छनौट गर्ने विधि र मनोवृत्तिहरू के-के हुन्? उदाहरणका लागि, सही र गलतबारे बहस गर्न मन पराउनु, के यो मानिस, घटना, र कामकुराहरूप्रति तिनीहरूले राख्ने मनोवृत्तिहरूमध्ये एउटा होइन र? (हो।) सही र गलतबारे बहस गर्न मन पराउनु भनेको, हरेक मामलामा सही के हो वा गलत के हो भनेर स्पष्ट पार्ने प्रयास गर्नु, र मामला स्पष्ट नभएसम्म र को सही हो र को गलत हो भनेर नबुझेसम्म नरोकिनु, र व्यर्थका कुराहरूमा एकोहोरो लागिरहने जिद कस्नु हो। यसरी व्यवहार गर्नुको के अर्थ? के अन्ततः सही र गलतबारे तर्क गर्नु सही हुन्छ? (हुँदैन।) गल्ती कहाँ छ? के सत्यता अभ्यास गर्नुसँग यसको कुनै सम्बन्ध छ? (कुनै सम्बन्ध छैन।) किन कुनै सम्बन्ध छैन भनेर भन्छस्? सही र गलतबारे बहस गर्नु भनेको सत्यता सिद्धान्तहरू पालन गर्नु होइन, यो सत्यता सिद्धान्तहरूबारे छलफल वा सङ्गति गर्नु होइन; बरु, मानिसहरूले सधैँ को सही हो र को गलत हो, को ठीक हो र को बेठीक हो, को सही पक्षमा छ र को छैन, कोसँग राम्रो कारण छ, र कोसँग छैन, र कसले उच्च धर्मसिद्धान्त व्यक्त गर्छ भन्नेबारे कुरा गर्छन्; तिनीहरू यही कुरामा खोजिनिधी गर्छन्। जब परमेश्वरले मानिसहरूलाई परीक्षाहरूमाझ राख्नुहुन्छ, तब तिनीहरू सधैँ परमेश्वरसँग बहस गर्ने प्रयास गर्छन्, तिनीहरू सधैँ कुनै न कुनै कारण लिएर आउँछन्। के परमेश्वरले तँसँग त्यस्ता कुराहरूका बारेमा छलफल गर्नुहुन्छ? के परमेश्वर प्रसङ्ग के हो भनेर सोध्नुहुन्छ? के परमेश्वर तेरा कारण र अभिप्रायहरू के-के हुन् भनेर सोध्नुहुन्छ? उहाँ सोध्नुहुन्न। परमेश्वरले तँलाई जाँच्दा तँमा समर्पणताको मनोवृत्ति छ कि प्रतिरोधको मनोवृत्ति छ भनेर सोध्नुहुन्छ। परमेश्वर तैँले सत्यता बुझ्छस् कि बुझ्दैनस्, तँ समर्पित छस् कि छैनस् भनेर सोध्नुहुन्छ। परमेश्वरले माग गर्नुहुने यति हो, अरू केही छैन। परमेश्वर तँलाई तेरो समर्पणताको कमीको कारण के हो भनेर सोध्नुहुन्न, तेरा कारणहरू राम्रा छन् कि छैनन् भनेर हेर्नुहुन्न—उहाँ यस्ता कुराहरूका बारेमा बिलकुलै ख्याल गर्नुहुन्न। परमेश्वर तँ समर्पित छस् कि छैनस् भन्ने कुरा मात्रै हेर्नुहुन्छ। तेरो जिउने वातावरण र प्रसङ्ग जस्तोसुकै भए पनि, परमेश्वर तेरो हृदयमा समर्पणता छ कि छैन, तँमा समर्पणताको मनोवृत्ति छ कि छैन भनेर मात्रै छानबिन गर्नुहुन्छ। परमेश्वर तँसँग सही र गलतबारे बहस गर्नुहुन्न; परमेश्वर तेरा कारणहरू के हुन् भन्नेबारे चासो राख्नुहुन्न। परमेश्वर त तँ साँच्चै समर्पित छस् कि छैनस् भन्ने कुराबारे मात्रै चासो राख्नुहुन्छ—परमेश्वरले तँबाट यति मात्र माग्नुहुन्छ। के यो सत्यता सिद्धान्त होइन र? सही र गलतबारे बहस गर्न, साथै मौखिक कलहमा संलग्न हुन मन पराउने मानिसहरू—के तिनीहरूको हृदयमा सत्यता सिद्धान्तहरू हुन्छन्? (हुँदैनन्।) किन हुँदैनन्? के तिनीहरूले कहिल्यै सत्यता सिद्धान्तहरूमा ध्यान दिएका हुन्छन्? के तिनीहरूले कहिल्यै तिनलाई पछ्याएका हुन्छन्? के तिनीहरूले कहिल्यै तिनलाई खोजेका हुन्छन्? तिनीहरूले कहिल्यै पनि तिनलाई ध्यान दिएका, वा पछ्याएका वा तिनको खोजी गरेका हुँदैनन्, र ती कुराहरू तिनीहरूको हृदयमा हुँदै हुँदैनन्। फलस्वरूप, तिनीहरू मानव धारणाहरूमा मात्रै जिउन सक्छन्, तिनीहरूको हृदयमा सही र गलत, ठीक र बेठीक, बहाना, कारण, कुतर्क, र तर्कहरू मात्र हुन्छन्, जसपछि चाँडै तिनीहरू एक-अर्कालाई आक्रमण गर्छन्, आलोचना गर्छन्, र निन्दा गर्छन्। यस्ता मानिसहरूको स्वभाव कस्तो हुन्छ भने तिनीहरू सही र गलतबारे बहस गर्न र मानिसहरूको आलोचना र निन्दा गर्न मन पराउँछन्। यस्ता मानिसहरूसँग सत्यताप्रति कुनै प्रेम वा स्वीकारभाव हुँदैन, तिनीहरूले परमेश्वरलाई जाँच्ने र उहाँसँग बहस गर्ने, परमेश्वरको आलोचना र अवज्ञा गर्नेसमेत सम्भावना हुन्छ। अन्ततः, तिनीहरू दण्डित हुन पुग्नेछन्।
के सही र गलतबारे बहस गर्न मन पराउनेहरूले सत्यता खोजी गर्छन्? के तिनीहरू यी परिस्थितिहरूमा आफूले सामना गर्ने मानिस, घटना र कामकुराहरूमार्फत परमेश्वरका अभिप्रायहरू, परमेश्वरका मागहरू, वा अभ्यास गर्नुपर्ने सत्यता सिद्धान्तहरू खोज्छन्? खोज्दैनन्। परिस्थितिहरू सामना गर्दा, तिनीहरूसित “त्यो घटना कस्तो थियो” वा “त्यो व्यक्ति कस्तो छ” भनेर अध्ययन गर्ने प्रवृत्ति हुन्छ। यो व्यवहार के हो? के मानिसहरूले यसैलाई नै प्रायजसो अथक रूपमा मानिस र कामकुराहरूमा घोत्लिनु भन्दैनन् र? तिनीहरू मानिसहरूको जायजता र घटना परिघटनाहरूबारे बहस गर्छन्, र यी कुराहरू स्पष्ट पार्न जिद्दी गर्छन्, तर तिनीहरूले यी जटिल परिस्थितिहरूको प्रक्रियाको कुन भागमा सत्यता खोजी गरेका, सत्यता बुझेका वा अन्तर्दृष्टि पाएका छन् भनेर तिनीहरू उल्लेख गर्दैनन्। तिनीहरूसँग अभ्यासका यी अनुभव र विधिहरू हुँदैन। तिनीहरू यसो मात्रै भन्छन्: “तिमीले स्पष्ट रूपमै त्यो मामलामा मलाई निसाना बनाइरहेको थियौ, मलाई अपमान गरिरहेको थियौ। के तिमीलाई म यो कुरा थाहा पाउन नसक्ने गरी यति मूर्ख छु भन्ने लाग्छ? तिमीले किन मलाई अपमान गरेको? मैले तिमीलाई चिढ्याएको छैनँ; तिमीले किन मलाई निसाना बनाएको? तिमीले मलाई निसाना बनाएर लक्षित गरिरहेका हुनाले, म पनि पछि हट्नेछैनँ! मैले तिमीलाई धैर्यता देखाएको धेरै भइसक्यो, तर मेरो धैर्यताको पनि सीमा छ। मलाई सहजै हेप्न सक्छु भन्ने नसोच; म तिमीसँग डराउँदिनँ!” यी समस्याहरूमै अल्झिएर, तिनीहरू निरन्तर आफ्ना स्पष्टीकरण प्रस्तुत गर्छन्, अनि सही र गलत अनि ठीक र बेठीक कुराहरूबारे अड्किरहन्छन्, तर तिनीहरूका ती तथाकथित स्पष्टीकरणहरू सत्यतासँग पटक्कै मिल्दैनन्, र ती कुनै एक शब्द पनि परमेश्वरका मागहरूअनुरूप हुँदैनन्। तिनीहरू मानिस, घटना, र कामकुराहरूबारे यति हदसम्म बोलिरहन्छन् कि अरूहरू अत्यन्तै दिक्क हुन्छन् र कोही पनि तिनीहरूको कुरा सुन्न इच्छुक हुँदैन, तैपनि तिनीहरू आफूचाहिँ ती कुराहरूबारे बोलेर कहिल्यै थाक्दैनन्, र तिनीहरू चाहे जहाँ गए पनि तिनै कुराहरूबारे बोलिरहन्छन्, मानौँ तिनीहरूमाथि भूत चढेको छ। अथक रूपमा मानिस र कामकुराहरूमा घोत्लिनु र सत्यता खोजी गर्न पटक्कै नमान्नु भनेको यही हो। आपसी आक्रमण र मौखिक कलहमा संलग्न हुने मानिसहरूको दोस्रो विशेषता भनेको तिनीहरूमा अथक रूपमा मानिस र कामकुराहरूमा घोत्लिन विशेष रुचि हुनु हो। के अथक रूपमा मानिस र कामकुराहरूमा घोत्लिने मानिसहरू सत्यतालाई प्रेम गर्छन्? (गर्दैनन्।) तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्, यो कुरा स्पष्टै छ। त्यसोभए, के यी व्यक्तिहरूले सत्यता बुझ्छन् त? के परमेश्वरले बोल्नुहुने सत्यता वास्तवमा के हो भन्ने तिनीहरूलाई थाहा हुन्छ? अथक रूपमा मानिस र अरू कामकुराहरूमा घोत्लिने तिनीहरूको बाहिरी व्यवहार मूल्याङ्कन गर्दा, के तिनीहरूलाई सत्यता वास्तवमा के हो भन्ने थाहा हुन्छ? तिनीहरूलाई थाहै हुँदैन, त्यो स्पष्ट छ। तिनीहरूले आदर गर्ने विचारचाहिँ के हो त? त्यो विचार के हो भने, जसको शब्द सबैभन्दा बढी औचित्यपूर्ण हुन्छ ऊ नै सही हुन्छ, जसको व्यवहार निष्कपट र सबैले देख्न सक्ने गरी उदाङ्गो पार्न सकिने हुन्छ ऊ नै सही हुन्छ, र जसले बहुमतको अनुमोदन प्राप्त गर्दै नैतिकता, नीतिशास्त्र, र परम्परागत संस्कृतिअनुसार कार्य गर्छ, ऊ नै सही हुन्छ। तिनीहरूको दृष्टिकोणमा, यो “सही” ले सत्यता प्रतिनिधित्व गर्छ, त्यसकारण तिनीहरू निकै निर्लज्जताका साथ अथक रूपमा मानिस र कामकुराहरूमा घोत्लिन सक्छन्, र यी मामलाबारे बोल्न कहिल्यै छोड्दैनन्। तिनीहरूलाई के विश्वास हुन्छ भने, आफू सही साबित हुनु भनेको आफूसँग सत्यता हुनुसरह हो—के यो अत्यन्तै समस्याजनक कुरा होइन र? कतिपय मानिसहरू भन्छन्, “मैले मण्डलीको काममा अवरोध वा बाधा दिएको छैनँ, म अरूबाट फाइदा लिँदिनँ, मलाई अरूका कुराहरू चोर्न मन पर्दैन, र म हेपाहा छैनँ; म दुष्ट व्यक्ति होइन।” के यसको तात्पर्य तँ सत्यता अभ्यास गर्ने, सत्यता भएको व्यक्ति होस् भन्ने हुन्छ? अथक रूपमा मानिस र कामकुराहरूमा घोत्लिने ठूलो जमातले आफू अफवाहहरूबारे चिन्ता गर्नुनपर्ने सोझा मानिसहरू भएको ठान्छन्, र आफूलाई कहिल्यै अरूको चापलुसी नगर्ने सीधा र आदरणीय मानिसहरू ठान्छन्। त्यसकारण, परिस्थितिहरू सामना गर्दा, तिनीहरू तर्कवितर्क र बहस गर्ने गर्छन्, र यी माध्यमहरूद्वारा आफ्नो औचित्य सही छ भनेर प्रमाणित गर्न जिद कस्छन्। तिनीहरू के विश्वास गर्छन् भने, यदि तिनीहरूको स्पष्टीकरण ठोस छ, र यसलाई खुलस्त रूपमा प्रस्तुत गर्न सकिन्छ, र बहुमत यसमा सहमत हुन्छ भने, तिनीहरू सत्यता भएको व्यक्ति हुन्छन्। तिनीहरूको “सत्यता” के हो? यसलाई कुन मानकद्वारा मापन गरिन्छ? के त्यस्ता मानिसहरूले सत्यता बुझ्न सक्छन् भन्ने तिमीहरूलाई लाग्छ? (लाग्दैन।) त्यसकारण, तिनीहरू सधैँ अथक रूपमा मानिस र कामकुराहरूमा घोत्लिन्छन् र तिनै कुराहरूमा जिद्दीपूर्वक लागिरहन्छन्। यी मानिसहरू सत्यता बुझ्दैनन्, त्यसकारण तिनीहरू सधैँ यसो भन्छन्, “मैले तिमीलाई चिढ्याएको छैनँ। तिमीले किन सधैँ मलाई निसाना बनाइरहेको हुन्छौ? तिमीले मलाई निसाना बनाउनु गलत कुरा हो!” तिनीहरू यस्तो विश्वास गर्छन्, “यदि मैले तिमीलाई चिढ्याएको छैनँ भने, तिमीले मसँग यस्तो व्यवहार गर्नु हुँदैन। तिमीले मलाई यसरी व्यवहार गरिरहेका हुनाले, म तिमीलाई पनि त्यसै गर्नेछु, म प्रतिकार गर्नेछु, र मेरो बदला वैध आत्मरक्षा हो, यो न्यायसङ्गत कुरा हो। सत्यता सिद्धान्त यही हो। त्यसकारण, तिमीले गरिरहेको कुरा सत्यता सिद्धान्तहरूअनुरूप छैन, तर मैले गरिरहेको कुरा त्यसअनुरूप छ। त्यसकारण म यही विषयमा घोत्लिनेछु, र म सधैँ यो समस्या उठाउनेछु, र सधैँ तिम्रो बारे उल्लेख गर्नेछु!” तिनीहरू अथक रूपमा मानिस र कामकुराहरूमा घोत्लिनु सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ भन्ने विश्वास गर्छन्, तर के यो ठूलो गल्ती होइन र? यो साँच्चै नै ठूलो गल्ती हो, र तिनीहरू गलत कुराप्रति उन्मुख भएका हुन्छन्। अथक रूपमा मानिस र कामकुराहरूमा घोत्लिनु सत्यता अभ्यास गर्नुभन्दा पूर्ण रूपमा फरक मामला हो। यी मानिसहरूको मानवताको दोस्रो समस्या यही हो—तिनीहरू अथक रूपमा मानिस र कामकुराहरूमा घोत्लिन्छन्। मानवताका समस्याहरू केसँग सम्बन्धित हुन्छन्? के ती व्यक्तिको प्रकृतिसँग सम्बन्धित हुँदैनन् र? यी मानिसहरूले परमेश्वरमा धेरै वर्ष विश्वास गरेका हुन्छन्, तर तिनीहरू सत्यता बुझ्दैनन्, र तिनीहरूले जानेका शब्दहरू, जस्तै खुला र स्पष्ट हुनु, सीधा र इमानदार हुनु, निष्कपट र खुलस्त हुनु, सोझोसाझा हुनु, आदि इत्यादि कुराहरू आफूलाई आचरणमा कसरी ढाल्ने भन्ने कुराका आधारभूत पक्षहरू हुन् भन्ने सोच्छन्, र तिनीहरू यी कुराहरूलाई सत्यता सिद्धान्तहरू ठान्छन्। यो अत्यन्तै गलत दृष्टिकोण हो।
आपसी आक्रमणमा संलग्न हुने र मौखिक कलहमा लाग्ने प्रवृत्ति भएका मानिसहरूमा असामान्य मानवता हुन्छ। यसको पहिलो पक्ष भनेको सही र गलतबारे बहस गर्न मन पराउनु हो; दोस्रो भनेको अथक रूपमा मानिस र कामकुराहरूमा घोत्लिनु हो। तेस्रो पक्ष के हो? के यो, तिनीहरूले सत्यता स्विकार्न पूर्ण रूपमा इन्कार्नु होइन र? तिनीहरू एउटा पनि सही अभिव्यक्ति स्विकार्न सक्दैनन्। तिनीहरू सोच्छन्, “तिमीले भनेको कुरा सही नै भए पनि, तिमीले अझै पनि मलाई इज्जत जोगाउन मद्दत गर्नुपर्छ, तिमीले चलाखीसाथ बोल्नुपर्छ र मलाई चोट पुर्याउनु हुँदैन। यदि तिम्रा शब्दहरू तिखा छन् र त्यसले गर्दा मैले इज्जत गुमाउन सक्छु भने, तिमीले ती कुरा मलाई व्यक्तिगत रूपमा भन्नुपर्छ। तिमीले मलाई धेरै मानिसहरूअघि चोट पुर्याउने, मेरो अभिमानको ख्याल नै नगर्ने र मलाई लाजमर्दो परिस्थितिबाट निस्कने बाटो नदिने गर्नु हुँदैन। अझ भन्ने हो भने, तिमीले भनेको कुरा गलत छ, र त्यसकारण मैले प्रतिकार गर्नुपर्छ!” अझै गम्भीर अवस्थामा त, यस्ता मानिसहरूले प्रतिरोध नै गर्छन्: “तिम्रा शब्दहरू चाहे जति नै सही भए पनि म तिनलाई स्विकार्नेछैनँ! तिमीले अरू कसैको बारे कुरा गर्छौ भने ठीकै छ, तर मलाई निसाना बनाउनु ठीक हुँदैन, चाहे तिमी सही नै किन नहोऊ!” परमेश्वरका वचनहरू पढ्दा पनि, यदि तिनीहरूले परमेश्वरका वचनहरूले तिनीहरूलाई निसाना बनाइरहेका वा खुलासा गरिरहेका छन् भन्ने महसुस गरे भने, तिनीहरू ती वचनहरूप्रति वितृष्ण हुन्छन् र ती सुन्न अनिच्छुक हुन्छन्—यति मात्र हो, तिनीहरूले परमेश्वरका वचनहरू मात्र सामना गरिरहेका हुनाले, तिनीहरू उहाँसँग बहस गर्न सक्दैनन्। यदि कसैले तिनीहरूका समस्या वा स्थितिहरू आमनेसामने औँल्यायो, वा तिनीहरूलाई निसाना बनाउने मनसायबिना अनजानमै तिनीहरूलाई उल्लेख गर्यो भने, तिनीहरू प्रतिकार गर्न र मौखिक कलह सुरु गर्न सक्छन्। के यसको अर्थ त्यस्ता व्यक्तिहरूले सत्यता स्विकार्न पूर्ण रूपमा इन्कार्छन् भन्ने हुँदैन र? (हुन्छ।) तिनीहरूको मानवताको सार यही हो—सत्यता स्विकार्न पूर्ण रूपमा इन्कार्नु। त्यसकारण, तिनीहरूको मौखिक कलहको विषयवस्तु जेसुकै भए पनि वा यी कलहहरू जहाँ भए पनि त्यस्ता मानिसहरूको मानवता स्पष्टै हुन्छ। तिनीहरू सत्यता बुझ्दैनन्, र प्रवचनहरूमा भनिएको कुरा बुझे पनि तिनीहरू सत्यता स्विकार्दैनन्; तिनीहरू अझै पनि आपसी आक्रमणमा संलग्न हुन्छन् र निरन्तर मौखिक कलहमा सहभागी हुन्छन्, वा तिनीहरूमा प्रायजसो अरूलाई आक्रमण गर्ने प्रवृत्ति हुन्छ। तिनीहरूका यी प्रकटीकरणहरू मूल्याङ्कन गर्दा, तिनीहरू कस्ता प्रकारका मानिसहरू हुन्? सबभन्दा पहिला त, के तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू हुन्? के तिनीहरू सत्यता बुझेपछि त्यो अभ्यास गर्न सक्ने व्यक्तिहरू हुन्? (होइनन्।) जब तिनीहरूले समस्याहरू पत्ता लगाउँछन्, तब के तिनीहरू तिनलाई समाधान गर्न सत्यता खोजी गर्न सक्छन्? (सक्दैनन्।) जब तिनीहरू अरू मानिसहरूबारे धारणाहरू, र पूर्वाग्रहहरू वा व्यक्तिगत रायहरू बोक्छन्, तब के तिनीहरू सत्यताको खोजी गर्नका लागि ती कुराहरू पन्छाउने पहल गर्न सक्छन्? (सक्दैनन्।) तिनीहरू यी कुनै पनि कुरा गर्न सक्दैनन्। तिनीहरूले गर्न नसक्ने यी सबै कुराहरू हेर्दा, अरूलाई आक्रमण गर्ने र मौखिक कलहमा संलग्न हुने प्रवृत्ति भएका सबै व्यक्तिहरू असल हुँदैनन् भन्ने स्पष्ट हुन्छ। तिनीहरूका विभिन्न प्रकटीकरणहरू मूल्याङ्कन गर्दा, तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् र सत्यता खोजी गर्न इच्छुक हुँदैनन्। सत्यतासँग सम्बन्धित मामलाहरूमा, तिनीहरूले जुनसुकै पूर्वाग्रह वा त्रुटिपूर्ण दृष्टिकोणहरू विकास गरे पनि तिनीहरू आत्मधर्मी नै हुन्छन् र बिलकुलै सत्यता खोजी गर्दैनन्, र तिनीहरूलाई स्पष्ट रूपमा सत्यता सङ्गति गरिए पनि त्यो स्विकार्न तिनीहरू मान्दैनन्, झन् सत्यता अभ्यास गर्न इच्छुक हुनु त परको कुरा हो। साथसाथै, यी व्यक्तिहरूले अझै घृणित प्रकटीकरण देखाउँछन्: केही शब्द र धर्मसिद्धान्तहरूको बुझाइ प्राप्त गरेपछि, तिनीहरू आफूले बुझेका यी महान् धर्मसिद्धान्तहरू अरूलाई स्वेच्छाचारी ढङ्गले आक्रमण गर्न, आलोचना गर्न, र निन्दा गर्न, र अरूलाई बन्धन र नियन्त्रणमा पार्नसमेत प्रयोग गर्छन्। यदि तिनीहरूले तँलाई आफ्नो आलोचना र निन्दाद्वारा अधीनमा पार्न सकेनन् भने, खोक्रा सिद्धान्तहरूद्वारा तँलाई बन्धनमा पार्ने हरेक तरिका सोच्छन्। यदि तँ अझै पनि अधीनस्थ भइनस् भने, तिनीहरूले तँलाई आक्रमण गर्न अझै घृणित र भयानक विधिहरूको सहारा लिन्छन्, जबसम्म तँ तिनीहरूका अघि हार मान्दैनस्, अनि कमजोर र नकारात्मक बन्छस्, वा तिनीहरूलाई आदर गर्न थाल्छस् र तिनीहरूको चालबाजीमा पर्न थाल्छस्—त्यसपछि तिनीहरूलाई सन्तुष्टि हुनेछ। त्यसैले, यी व्यवहार, प्रकटीकरण, र सत्यताप्रतिको मनोवृत्तिका आधारमा, यी व्यक्तिहरू कस्ता प्रकारका मानिसहरू हुन्? तिनीहरू सत्यता स्विकार्न पूर्ण रूपमा इन्कार्छन्—सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति यही हो। अनि तिनीहरूको मानवताचाहिँ कस्तो हुन्छ? तिनीहरूमध्ये अधिकांश दुष्ट मानिसहरू हुन्; ठेट हिसाबमा भन्दा, तिनीहरूमध्ये ९०% भन्दा बढी दुष्ट मानिसहरू हुन्। दुष्ट मानिसहरू हरेक मामलामा सही र गलत स्पष्ट पार्न मन पराउँछन्, नत्रता, तिनीहरू त्यो कुरालाई त्यतिकै छोड्नेछैनन्, र तिनीहरूमा सधैँ यस्तै प्रकारको प्रवृत्ति हुन्छ। यसका साथै, कुनै परिस्थितिहरू सामना गर्दा, दुष्ट व्यक्तिहरू मानिस र कामकुराहरूमै अल्झेर बस्छन्, र अथक रूपमा ती कुराहरूमै घोत्लिन्छन्, सधैँ आफ्नै स्पष्टीकरणहरू प्रस्तुत गर्छन्, र सधैँ आफ्नो कुरामा सबैलाई सहमत हुन र समर्थन गर्न लगाउने, र आफू सही छु भनेर दाबी गर्ने प्रयास गर्छन्, र कसैलाई पनि तिनीहरूबारे खराब कुरा बोल्न दिँदैनन्। अझ भन्ने हो भने, परिस्थितिहरू सामना गर्नुपर्दा दुष्ट मानिसहरू सधैँ मानिसहरूलाई पिँजडामा राख्ने र नियन्त्रण गर्ने अवसरहरू खोज्छन्। मानिसहरूलाई नियन्त्रण गर्न तिनीहरू कुन विधि प्रयोग गर्छन्? तिनीहरूले सबैको निन्दा गर्छन्, र हरेक व्यक्तिलाई ऊ अपर्याप्त छ, ऊसँग समस्या र गल्तीहरू छन्, र ऊ यी दुष्ट मानिसहरूभन्दा निकृष्ट छ भन्ने विश्वास गराउँछन्, जसपछि यी दुष्ट मानिसहरूलाई प्रसन्न र खुसी महसुस हुन्छ। तिनीहरूले आफूलाई मात्रै उभिन दिएर, अरू सबैलाई हराएपछि, के तिनीहरूले सबैलाई आफ्नो नियन्त्रणमा ल्याएका हुँदैनन् र? मानिसहरूलाई नियन्त्रण गरेर तिनीहरूले हासिल गर्ने उद्देश्य भनेको सबैलाई निन्दा गर्नु र ढाल्नु हो, यसरी सबैलाई आफू असमर्थ भएको विश्वास गराउनु, सबलाई नकारात्मक र कमजोर बनाउनु र परमेश्वरका वचनहरू र सत्यतामाथिको आस्था गुमाउने, र परमेश्वरमाथिको आस्था गुमाउने अनि पछ्याउने मार्ग नहुने तुल्याउनु हो—यसपछि यी दुष्ट मानिसहरूलाई खुसी र सन्तुष्टि मिल्छ। यी पक्षहरू हेर्दा, के यस प्रकारका मानिसहरूमा अधिकांश दुष्ट मानिसहरू नै हुन्छन् भन्ने स्पष्ट हुँदैन र? समूहमा हुँदा, चाहे आमनेसामने होस् वा मानिसहरूको पिठ्युँपछाडि होस्, कस्ता मानिसहरूसँग सधैँ अरूलाई आक्रमण गर्ने प्रवृत्ति हुन्छ, र अरूलाई आक्रमण गर्न विभिन्न विधिहरू प्रयोग गर्छन्, त्यो हेर्—त्यस्ता मानिसहरू दुष्ट मानिसहरू हुन्। यी व्यक्तिहरू सत्यता पटक्कै स्विकार्दैनन्, न त सत्यता सङ्गति नै गर्छन्, र तिनीहरू आफू असल मानिस हुँ, आफूले जे गरे पनि त्यो उचित र आधारपूर्ण हुन्छ, र आफ्नो व्यवहार सीधा र निष्कपट छ भनेर घमण्ड गर्न प्रायजसो परिस्थितिको फाइदा उठाउँछन्—तिनीहरू सधैँ आफू सभ्य र आदरणीय, र सीधा र न्यायपूर्ण व्यक्ति हुँ भनेर घमण्ड गर्छन्। यी मानिसहरू कहिल्यै पनि सत्यताको गवाही दिँदैनन्, न त परमेश्वरका वचनहरूको गवाही नै दिन्छन्, तिनीहरूलाई त अथक रूपमा मानिस र कामकुराहरूमा घोत्लिन, र आफ्नै स्पष्टीकरणहरू प्रस्तुत गर्न मात्रै मन पर्छ। तिनीहरूको अभिप्राय र उद्देश्य भनेको आफू असल मानिस हुँ, र आफूले सबै कुरा बुझेको छु भनेर मानिसहरूलाई विश्वास दिलाउनु हो। मण्डलीमा आपसी आक्रमण र मौखिक कलहमा प्राय संलग्न हुने मानिसहरूका हकमा भन्नुपर्दा, चाहे त्यो आक्रमणको सुरुवात गर्ने मानिस होऊन् वा आक्रमणमा परेका मानिस होऊन्, यदि मण्डली जीवनमा अवरोध र बाधा पैदा भयो भने, धेरैजसो मानिसहरू तिनीहरूलाई चेतावनी दिन र प्रतिबन्धित गर्न खडा हुनुपर्छ। यी मानिसहरूलाई खराब कुराहरू गर्दै उन्मत्त हुने समय दिनु हुँदैन, न त तिनीहरूलाई आफ्नो व्यक्तिगत रिस र अस्थायी आवेगका कारण आफ्नो व्यक्तिगत द्वेष पोख्ने र बदला लिने प्रयास गर्दै अरूलाई असर गर्न नै दिनुहुन्छ। अवश्य नै, मण्डली अगुवाहरूले पनि कर्तव्यनिष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, र यी मानिसहरूलाई मण्डली जीवनमा अवरोध र बाधा दिनबाट प्रभावकारी रूपमा प्रतिबन्धित गर्नुपर्छ, र अधिकांश मानिसहरूलाई बाधाबाट जोगाउनुपर्छ। जब मानिसहरू आपसी आक्रमण र मौखिक कलहमा संलग्न हुन्छन्, तब मण्डली अगुवाहरूले तिनीहरूलाई समयमै रोक्न र प्रतिबन्धित गर्न सक्नुपर्छ। यदि तिनीहरूलाई रोक्ने र प्रतिबन्धित गर्ने प्रयासले समस्या समाधान गर्दैन, र तिनीहरू एकअर्कालाई आक्रमण गर्न र मौखिक कलहमा संलग्न हुन जारी राख्छन्, अरूलाई बाधा दिन्छन्, र मण्डली जीवनमा निरन्तर हानि गर्छन् भने, त्यस्ता व्यक्तिहरूलाई निकाल्नु वा निष्कासित गरिनुपर्छ। यही नै मण्डली अगुवाहरूको जिम्मेवारी हो।
हामीले आपसी आक्रमण र मौखिक कलहमा संलग्न हुने मानिसहरूका व्यवहार र प्रकटीकरणहरूबारे निकै सङ्गति गरेका छौँ। हामीले भर्खरै तिनीहरूको मानवताबारे छोटकरीमा चिरफार र सङ्गति पनि गरेका छौँ, जसले तिमीहरूलाई तिनीहरूबारे अझै बढी सुझबुझ पाउन, र तिमीहरूमध्ये धेरैलाई के भइरहेको छ भनेर पत्ता लगाउन र तिनीहरूले बोल्दा र व्यवहार गर्दा तिनीहरूलाई समयमै खुट्ट्याउन सक्षम तुल्याउनेछ। तिमीहरूले यी मानिसहरूको सार जति राम्ररी बुझ्छौ र जान्दछौ, त्यति नै चाँडो तिमीहरूले तिनीहरूलाई खुट्ट्याउन सक्नेछौ, र नतिजास्वरूप तिमीहरूलाई तिनीहरूद्वारा झन्झन् कम बाधा दिइनेछ। आपसी आक्रमण र मौखिक कलहमा संलग्न हुनेहरूले मण्डली जीवनमा र परमेश्वरका चुनिएका मानिसहरूलाई गर्ने हानिबारे तिमीहरूमध्ये धेरैजसोलाई स्पष्ट भएको हुनुपर्छ। यस्ता प्रकारका मानिसहरूले पक्कै पनि आत्मचिन्तन गर्नेछैनन् र लडाइँ गर्न पनि छोड्नेछैनन्। यदि तिनीहरूलाई तुरुन्तै तह लगाइएन र निकालिएन भने, तिनीहरूले मण्डली जीवनमा निरन्तर अवरोध र बाधाहरू ल्याउनेछन्। त्यसकारण, यस्ता मानिसहरूलाई तह लगाउनु र हटाउनु मण्डली अगुवाहरूको कामको अत्यन्तै महत्त्वपूर्ण विषयवस्तु हो र यसलाई बेवास्ता गरिनु हुँदैन।
जुन ५, २०२१