अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (११)

पछिल्लो भेलामा, हामीले अगुवा र कामदारहरूका जिम्मेवारीहरूको नवौँ विषयवस्तुमाथि सङ्गति गर्‍यौँ: त्यो हो, “आवश्यकताको आधारमा, कार्यान्वयनको स्थितिको मार्गनिर्देशन, सुपरिवेक्षण, निरीक्षण, अनुरोध र अनुगमन प्रदान गर्दै परमेश्‍वरको घरको विभिन्‍न कार्य बन्दोबस्तलाई सही ढङ्‍गबाट सञ्‍चार, जारी र कार्यान्वयन गर्ने।” हामीले अगुवा र कामदारहरूले पूरा गर्नैपर्ने जिम्मेवारीहरू र उनीहरूले गर्नैपर्ने कामबारे सङ्गति गर्‍यौँ, साथै हामीले झूटा अगुवाहरूका थोरै व्यवहारहरूको विश्लेषण पनि गर्‍यौँ। हामीले अगुवा र कामदारहरूले हरेक कार्य बन्दोबस्त कसरी कार्यान्वयन गर्नुपर्छ भन्ने कुराका विशिष्ट विवरणहरूमा सङ्गति नगरे पनि, हामीले ती बन्दोबस्तहरू कार्यान्वयन गर्ने सिद्धान्तहरूका विशिष्ट विवरणहरूका साथै अगुवा र कामदारहरूले के गर्नैपर्छ भन्नेबारे सङ्गति गर्‍यौँ। नवौँ विषयवस्तुमाथिको हाम्रो सङ्गतिमार्फत के तिमीहरूले अगुवा र कामदारहरूले के गर्नुपर्छ भन्ने कुराको अझ विशिष्ट र सही परिभाषा प्राप्त गरेका छौ? के अब तिमीहरू अगुवा र कामदारहरूले गर्नैपर्ने काम के हो भन्ने बारेमा प्रस्ट छौ? उनीहरूका लागि मुख्य कुरा भनेको परमेश्‍वरका मागहरू र उहाँको घरका बन्दोबस्तहरूअनुसार काम कार्यान्वयन गर्नु हो। मूलभूत कुरा त्यही हो। अब, हामी सबै जना प्रस्ट भयौँ। एक अगुवा वा कामदारले परमेश्‍वरको घरमा के काम गर्नैपर्छ, र उनीहरूका जिम्मेवारीहरू के-के हुन्, भन्ने कुराहरू नवौँ विषयवस्तुभित्रै अत्यन्तै विशिष्ट रूपमा सङ्गति गरिएको हुनुपर्छ। यो मूलतः वृहत् छ। उनीहरूका जिम्मेवारीहरूको दायरा सीमित छ, र उनीहरूले गर्नुपर्ने काम, साथै उनीहरूले त्यो कसरी गर्नुपर्छ, भन्ने कुरा पनि प्रस्ट रूपमा तोकिएको हुन्छ। अब प्रस्ट रूपमा व्यक्त गरेपछि पनि यदि कसैले ठोस काम कसरी गर्ने भनेर जानेको छैन भने, त्यो उसमा कम योग्यता हुनुको समस्या हो। ऊ त्यस्तो किसिमको झूटो अगुवा हो जसले काम गर्नै सक्दैन। अर्को किसिमको झूटो अगुवा पनि हुन्छ जसले आफ्नै धारणा र कल्पनाहरूद्वारा मात्र कार्य बन्दोबस्त गर्छ, र मानिसहरूलाई जथाभावी प्रयोग गर्छ, जसको परिणामस्वरूप धेरै जना भान्सेहरू हुने स्थिति आउँछ। काम राम्रोसँग सम्पन्न नहुने मात्र होइन—उनीहरूले त्यसलाई पूरै अस्तव्यस्त पार्छन्, र त्यसलाई अघि बढाउने बाटो नै हुँदैन। झूटा अगुवाहरूले कहिल्यै कार्य बन्दोबस्तहरू कार्यान्वयन गर्नेछैनन्, वास्तविक काम त झनै गर्दैनन्। तिनीहरू आफूलाई मन पर्ने काम मात्र गर्छन्, र सामान्य मामलाहरूसम्बन्धी काममा मात्र केन्द्रित हुन्छन्; जब तिनीहरूले काम गर्छन्, तिनीहरूलाई कसरी आदेशहरू जारी गर्ने र खोक्रो सुत्रवाक्य र धर्मसिद्धान्तहरू फलाक्ने भन्ने मात्र थाहा हुन्छ। तिनीहरूले कहिल्यै कामको अनुगमन गर्दैनन्, न त त्यो प्रभावकारी भएको छ कि छैन भनेर मतलब नै राख्छन्। यो एक किसिमको झूटो अगुवा हो। छोटकरीमा, चाहे कसैले अगुवाका रूपमा वास्तविक काम गर्न नसक्ने होस् वा वास्तविक काम नगर्ने होस्—परिस्थितिहरू जेसुकै भए पनि—यदि उसले अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्न वा परमेश्‍वरले आज्ञा गर्नुभएको काम गर्न सक्दैन, र यदि उसले परमेश्‍वरको घरद्वारा बन्दोबस्त गरिएका विभिन्न कामहरू कार्यान्वयन गर्न सक्दैन भने, ऊ झूटो अगुवा हो।

अब, हामीले गरेको अगुवा र कामदारहरूका जिम्मेवारीहरूसम्बन्धी नवौँ विषयवस्तुमाथिको सङ्गति र झूटा अगुवाहरू प्रकट हुने विभिन्न तरिकाहरूको खुलासामार्फत, के तिमीहरूले अगुवा र कामदारहरूका जिम्मेवारीहरू कसरी पूरा गर्ने भन्ने सम्बन्धी केही आधारभूत ज्ञान र बुझाइ प्राप्त गरेका छौ? (गरेका छौँ।) त्यसोभए, के तिमीहरू परमेश्‍वरको घरको काम गर्न सजिलो देख्छौ? के मानिसप्रतिका मागहरू उच्च छन्? के ती अति छन्? (ती उच्च छैनन्; ती सबै हामीले पूरा गर्न सक्ने मागहरू नै हुन्।) के यसो भन्ने अगुवा र कामदारहरू छन्, “परमेश्‍वरको घरले हामीलाई अति धेरै विषयवस्तु र प्रकारका कामहरू गर्न माग गर्छ। कुनै अगुवा जति माथिल्लो स्तरको छ, उसको कामको दायरा त्यति नै व्यापक हुन्छ, र ऊ जिम्मेवार हुने कामको सङ्ख्या पनि धेरै हुन्छ। त्यो काम राम्रोसँग गर्नु र त्यो माथिका मागहरूअनुसार कार्यान्वयन भएको हेर्नु—हामी त थकाइले नै मर्छौँ, मर्दैनौँ र?” के सबै ठोस काम राम्ररी गरेर, हरेक काम जहाँ कार्यान्वयन गर्नुपर्ने हो त्यहाँ कार्यान्वयन गरेर, कोही ढलेको छ? (छैन।) के कोही थकानका कारण बिरामी भएको छ? के कोही यति व्यस्त हुन्छ कि उसलाई खाने वा सुत्ने समय नै नहुने हुन्छ? (हुँदैन।) कतिपयले भन्न सक्छन्, “हुँदैन, भन्नुको मतलब के हो? कतिपय मानिसहरू मण्डलीको काम गरेर थाक्छन्, किनभने उनीहरूले लामो समयदेखि नियमित तालिकाअनुसार खान, वा नियमित तरिकाले काम गर्न र आराम लिन सकेका हुँदैनन्, जहाँ सन्तुलित मात्रामा परिश्रम र विश्राम होस्। उनीहरू अन्त्यमा थकानका कारणले बिरामी हुन्छन्।” के तिमीहरूले त्यस्तो परिस्थिति आएको सुनेका छौ? (छैनौँ।) के कसैले नवौँ विषयवस्तु सुनेर अनि परमेश्‍वरको घरका विभिन्न कामहरूका खास विषयसूचीहरूका साथै यो खास काम गर्दा अगुवा र कामदारहरूप्रति त्यसका आवश्यक मापदण्डहरू देखेर डर र भय महसुस गरेको छ? के तिनीहरूले यस्तो महसुस गर्छन्, “अगुवा वा कामदार हुनु सजिलो कुरा होइन। सुस्वास्थ्य, राम्रो योग्यता, हृदयको विशालता, र अतिमानवीय ऊर्जा र शक्तिबिना यो काम कसले राम्रोसँग गर्न सक्ला र?” कसैलाई यस्तो सोच आएको थियो? के यो मान्य कुरा हो? (होइन।) के कारणले यो अमान्य हो? पहिला, परमेश्‍वरको घरको काम गर्दा, उनीहरूको दर्जा जे भए पनि, र चाहे उनीहरूको जिम्मेवारी वृहत् होस् वा एउटै काम मात्र होस्, अगुवा र कामदारहरूले कम्तीमा आफ्नो मुख्य काम चाहिँ राम्ररी गर्नुपर्छ, साथै बढीमा एकदुई वटा थप कामहरू गर्नुपर्छ। उनीहरूलाई वृहत् कामको जिम्मा लगाए पनि, त्यसको अर्थ यो होइन कि उनीहरूले वृहत् अनुगमन र मार्गनिर्देशन प्रदान गर्नुपर्छ। उनीहरूले सबैभन्दा महत्त्वपूर्ण कामको जिम्मा लिन, वा केही कामहरूका कमजोर पक्षहरूलाई साथसाथै सम्बोधन गर्नमा ध्यान दिनुपर्छ। कतिपय मानिसहरू ऊर्जाले भरिपूर्ण, बलियो जिम्मेवारीको भावना भएका, र राम्रो योग्यता भएका हुन सक्छन्, र उनीहरूले धेरै किसिमका बहुआयामिक काम गर्न सक्छन्, तर उनीहरूको प्रमुख काममा मुख्यगरी एउटा वा दुइटा मात्र कामहरू पर्छन्। अरू कामका हकमा, उनीहरूले केवल त्यसको सोधीखोजी गर्ने, त्यसका बारेमा जानकारी लिने, र त्यसलाई बुझ्न कोसिस गर्ने गर्नुपर्छ, र आफूले पत्ता लगाएका समस्याहरू मात्र समाधान गर्नुपर्छ। त्यो त्यसकै पाटो हो। अर्को पाटो के हो भने उनीहरूले एकै समयमा धेरै कामहरू सम्हालिरहेका भए पनि, उनीहरूले ती कामहरू गर्नका लागि प्रमुख सुपरिवेक्षकहरूमा मात्र भर पर्नुपर्छ। उनीहरूले गर्ने भनेको विभिन्न कामहरूको सुपरिवेक्षण गर्नु, तिनको जाँच गर्नु, र तिनलाई मार्गनिर्देशन दिनु मात्र हो; उनीहरू आफैले गर्नुपर्ने मुख्य काम भनेको अझै एउटै काम हो। अनि के एउटै काम गरेर कोही थकित हुन्छ होला त? (हुँदैन।) यदि व्यक्तिको योग्यता पर्याप्त छ र उसको दिमाग लचिलो छ भने, उसले समय कसरी परिचालन गर्ने र त्यसलाई कसरी प्रभावकारी बनाउने भन्ने हिसाबले कामलाई उचित रूपमा बन्दोबस्त गर्नेछ। उनीहरू अव्यवस्थित गन्जागोलमा पर्नेछैनन्, जहाँ अघि बढ्ने मार्ग नै नहोस्। उनीहरू अत्यन्तै व्यस्त देखिनेछैनन्—उनीहरूले निर्धारित समयतालिकाअनुसार काम गरिरहेका हुनेछन्—तर काम अप्रभावकारी हुनेछैन, र त्यसले राम्रा नतिजाहरू दिनेछ। त्यो योग्यता भएको व्यक्ति हो, जसले जनशक्ति र समयलाई उचित रूपमा परिचालन गर्न जानेको हुन्छ। योग्यता नभएका वा कम योग्यता भएका मानिसहरू जुनसुकै काम गरिरहेका भए पनि अस्तव्यस्त हुन्छन्। तिनीहरू हरदिन निकै व्यस्त हुन्छन्, तर तिनीहरू के कुरामा व्यस्त हुन्छन्, तिनीहरू आफैले निश्चितताका साथ भन्न सक्दैनन्। तिनीहरूसँग कुनै समयतालिका हुँदैन, समयको अवधारणा हुँदैन; तिनीहरू निकै चाँडो उठ्छन् र निकै अबेला सुत्छन्; तिनीहरूले नियमित समयमा खान सक्दैनन्—तर कामको प्रभावकारितालाई हेर्दा, तिनीहरूले वास्तविक काम बिलकुलै गर्दैनन्। के यो अत्यन्तै कम योग्यता भएको होइन र? (हो।) यस किसिमको व्यक्ति हरेक दिन आराम नगरी दौडधुप गरिरहेको देखिन्छ, तर ऊ कामको सारतत्त्वमा पुग्न सक्दैन, न त उसले तत्काल गर्नुपर्ने र पर्खन सकिने काम नै छुटाउन सक्छ, साथै ऊ समस्याहरू समाधान गर्न असक्षम हुन्छ। यसले कामको गतिमा ढिलाइ पुर्‍याउँछ। तिनीहरू मुटु फुट्लाझैँ चिन्तित हुन्छन्, र तिनीहरूको मुखमा घाउ हुन्छ। तर यस्ता अवस्थाहरूमा पनि तिनीहरू थकानले ढल्दैनन्। कम योग्यता भएका मानिसहरूले दैनिक आठ घन्टाभन्दा बढी काम गर्लान्, तैपनि तिनीहरूको कामको प्रभावकारिता राम्रो योग्यता भएका मानिसहरूकोभन्दा कम हुन्छ। त्यसकारण, तिनीहरू व्यस्त हुनुपर्छ, पर्दैन त? हुनुपर्छ—तिनीहरूले व्यस्त हुँदा समेत नतिजाहरू दिन सक्दैनन्; यदि तिनीहरू व्यस्त भएनन् भने, काम ठप्प हुने थियो। यो यति कम योग्यता भएको व्यक्ति हो कि ऊ काममा योग्य हुन वा त्यसको जिम्मेवारी स्विकार्न सक्ने स्तरको नै हुँदैन। त्यसबाहेक, परमेश्‍वरको घरको काममा धेरै कुराहरू हुन्छन्, र कर्मचारी र समयको सन्दर्भमा आवश्यकताहरू केही कठोर हुन्छन्। अधिकांश मानिसहरूको हकमा, जब तिनीहरू अलि व्यस्त हुन्छन्, त्यो उत्कृष्टता र राम्रा नतिजाहरूका लागि कोसिस गर्नलाई हो, किनभने परमेश्‍वरको घरको काम भनेको गैरविश्‍वासीहरूका व्यावसायहरूको र फ्याक्ट्रीहरूको कामभन्दा फरक हुन्छ: तिनीहरूले आर्थिक प्रभावकारिताको माग गर्छन्, तर हामी कामका नतिजाहरूलाई जोड दिन्छौँ। तर अधिकांश मानिसहरू कम योग्यता भएका, असैद्धान्तिक र आफ्नो काममा अत्यन्तै अदक्ष हुने हुनाले, तिनीहरूलाई नतिजाहरू ल्याउन बढी समय लाग्छ। के अब तिमीहरूमध्ये धेरैजसोमा अगुवा र कामदारहरूका जिम्मेवारीहरूबारे कुनै नकारात्मक सोचहरू छैनन्? एउटा कुरा चाहिँ निश्चित छ: अगुवा र कामदारहरू परमेश्‍वरको घरका मागहरूअनुसार काम गरेर थकानले ढल्नेछैनन्। यी बाह्य, वस्तुगत तत्त्वहरू बाहेक, तिमीहरू अर्को कुरामा पनि निश्चित भए हुन्छ: यदि कुनै व्यक्तिमा बोझ छ र ऊ निश्चित योग्यताको छ—र उसले पवित्र आत्माको काम छ भन्ने तथ्यलाई बेवास्ता गर्दैन—भने, उसले कल्पना वा पूर्वानुमान गर्न नसक्ने केही समस्याहरूका हकमा, र उसले यसअघि नभोगेका र अनुभव नगरेका केही मामलाहरूका हकमा, पवित्र आत्माले उसलाई निरन्तर रूपमा सम्झौटो दिनुहुन्छ, र उसलाई जुनसुकै समयमा अन्तर्दृष्टि दिने र सहयोग गर्ने गर्नुहुन्छ। मण्डलीको काम सम्पन्न हुनका लागि त्यो पूर्णतया मानव शक्ति, ऊर्जा र बोझहरूमा निर्भर हुँदैन—त्यसको एउटा हिस्सा धेरैजसो मानिसहरूले अनुभव गरेको पवित्र आत्माको काम र अगुवाइमा निर्भर हुनुपर्छ। त्यसकारण, व्यक्तिले त्यसलाई जुन तरिकाले हेरे पनि, आफ्ना जिम्मेवारीहरू पूरा गर्नु भनेको एक अगुवा वा कामदारले हासिल गर्नुपर्ने कुरा हो। यो ऊप्रतिको अतिरिक्त माग होइन। गैरविश्‍वासीहरूले संसारमा काम गर्दा, तिनीहरूले आफ्नो व्यक्तिगत योग्यताको आधारमा कार्य गर्छन्। परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्नु फरक कुरा हो: व्यक्तिले आफ्नो योग्यताको आधारमा मात्र त्यो काम गर्दैन—यदि उसले नतिजाहरू हासिल गर्नु छ ऊ सत्यता सिद्धान्तहरूबारे आफ्नो बुझाइमा पनि भर पर्नुपर्छ। कहिलेकाहीँ, यदि तिनीहरूलाई आफ्नो कर्तव्य राम्ररी पूरा गर्नु छ भने तिनीहरूले एक अर्कालाई सहयोग गर्न र सौहार्दपूर्ण सहकार्य गर्न पनि जरुरी हुन्छ। कतिपयले सोध्लान्, “के परमेश्‍वरको घरमा काम गर्दा हामीले ‘मरुन्जेल काममै लागिरहन र सक्दो मेहनत गर्न’ आवश्यक छ? ‘रेसम किराले बाँचुन्जेल धागो बुन्छ’—के हामीले त्यो कुरा हासिल गर्नु आवश्यक छ? के हामी थकानले मर्न लाग्दा मात्र परमेश्‍वरको घरको काम सम्पन्न हुनेछ?” के परमेश्‍वरले मानिसबाट माग गर्ने कुरा यही हो? (होइन।) अगुवा र कामदारहरूका जिम्मेवारीहरूका आवश्यकताहरूबारे हाम्रो सङ्गतिको उद्देश्य केवल मानिसहरूलाई परमेश्‍वरको काममा सत्यता सिद्धान्तहरू र उहाँले आवश्यक गराउने कार्य विधिहरूअनुसार प्रस्टता र बुझाइ प्रदान गर्नु हो, ताकि उहाँको काम व्यवस्थित र प्रभावकारी रूपमा अघि बढोस्, र उहाँका वचनहरू र कामले उहाँका चुनिएका मानिसहरूमा राम्रा नतिजाहरू ल्याउन सकून्। त्यसको एउटा पक्ष भनेको काम विकास गर्नु र फैलाउनु हो; अर्को पक्ष भनेको परमेश्‍वरलाई पछ्याउनेहरूमा उहाँका वचनहरू र कामले हासिल गर्नुपर्ने नतिजाहरू हासिल गराउनु हो। अगुवा र कामदारहरूका जिम्मेवारीहरू र उनीहरूले आफ्नो काममा हासिल गर्नुपर्ने नतिजाहरू यिनै हुन्।

विषयवस्तु दस: परमेश्‍वरका घरका विभिन्‍न भौतिक सामग्रीहरूलाई (पुस्तकहरू, विभिन्‍न उपकरण, अन्‍नपात र यस्तै अन्य कुराहरू) उचित तरिकाले सुरक्षित गर्ने र विवेकपूर्वक परिचालन गर्ने, अनि क्षति र खेर जाने अवस्थालाई न्यून गर्न नियमित निरीक्षणहरू, मर्मत-सम्भार र सुधार गर्ने; साथै, दुष्ट मानिसहरूलाई ती कुराहरू हडप्‍न वा दुरुपयोग गर्न नदिने

आज, हामी अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दसौँ विषयवस्तुबारे सङ्गति गर्नतिर लाग्नेछौँ: त्यो हो, “परमेश्‍वरका घरका विभिन्‍न सम्पत्तिहरूलाई (पुस्तकहरू, विभिन्‍न उपकरण, अन्‍नपात र यस्तै अन्य कुराहरू) उचित तरिकाले सुरक्षित गर्ने र विवेकपूर्वक परिचालन गर्ने, अनि क्षति र खेर जाने अवस्थालाई न्यून गर्न नियमित निरीक्षणहरू, मर्मत-सम्भार र सुधार गर्ने; साथै, दुष्ट मानिसहरूलाई ती कुराहरू हडप्‍न वा दुरुपयोग गर्न नदिने।” नवौँ विषयवस्तु तुलनात्मक रूपले अगुवा र कामदारहरूप्रतिको वृहत् अपेक्षा हो। दसौँ विषयवस्तु कामको अर्को ठूलो खण्ड हो, जसले अगुवा र कामदारहरूका जिम्मेवारीहरूको अर्को खास आवश्यकता समेट्छ। यस भागको काम परमेश्‍वरको घरका सामानहरूसँग सम्बन्धित छन्, जसमध्ये केही पूर्णकालिक कर्तव्य निर्वाह गर्ने मानिसहरूका जीवन आवश्यकताहरू पूरा गर्नका लागि खरिद गरिएका हुन्छन्, र अरूचाहिँ सुसमाचार फैलाउने कामका लागि सामग्री, वस्तु, आदि हुन्। परमेश्‍वरका वचनहरूसम्बन्धी केही पुस्तकहरू यस्ता केही कुराहरू छन् जुन दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशसँग सम्बन्धित छन्, र परमेश्‍वरको घरले तिनलाई राख्नुपर्छ। यिनीहरू परमेश्‍वरमाथि मानिसहरूको विश्‍वाससँग सम्बन्धित सामानहरू हुन्। जम्मा तीनवटा वर्गहरू छन्: जीवनका लागि आवश्यक सामानहरू, कामका लागि आवश्यक सामानहरू, र परमेश्‍वरमाथिको विश्‍वासका लागि आवश्यक सामानहरू। चाहे यी सामानहरू परमेश्‍वरको घरले किनेका हुन् वा दाजुभाइ-दिदीबहिनीहरूले चढाएका हुन्, ती एक पटक परमेश्‍वरको घरको स्वामित्वमा आइसकेपछि, ती अगुवा र कामदारहरूले गर्ने भौतिक सामानहरूको व्यवस्थापन र परिचालनको सवालसँग सम्बन्धित बन्छन्। बाहिरबाट हेर्दा यो काम मण्डली जीवन, प्रशासनिक काम, वा व्यावसायिक कामको तुलनामा त्यति महत्त्वपूर्ण, र छलफलको विषय बन्न आवश्यक नदेखिने भए पनि, यो अगुवा र कामदारहरूले गर्न आवश्यक महत्त्वपूर्ण काम नै हो। परमेश्‍वरको घरका विभिन्न सामानहरू कर्तव्य निर्वाह गर्ने सबै कर्मचारीहरूको काम, जीवन, अध्ययन, र यस्ता यावत् कुराहरूसँग सम्बन्धित हुन्छन्, त्यसैले तिनको सुरक्षा र विवेकपूर्ण परिचालन निकै महत्त्वपूर्ण हुन्छ र तिनलाई बेवास्ता गर्नु हुँदैन।

उचित सुरक्षा

अगुवा र कामदारका नाताले, मण्डलीको प्रशासनिक काम राम्ररी गर्नु र मण्डली जीवनलाई राम्रो बनाउनुभन्दा झनै बढी प्रमुख काम भनेको सुसमाचार फैलाउने काम र त्यससँग सम्बन्धित विभिन्न कामहरू राम्रोसँग गर्नु हो। यसबाहेक, परमेश्‍वरको घरका विभिन्न भौतिक सामग्रीहरूको पनि उचित व्यवस्थापन गरिनुपर्छ। यी चीजहरूको राम्रोसँग सुरक्षा गरिनुपर्छ; तिनलाई ढुसी लाग्न वा किराले खान नदे, र मानिसहरूलाई ती तिनीहरूको निजी सम्पत्ति भएझैँ स्वामित्वमा राख्न नदे। परमेश्‍वरको घरसित अगुवा र कामदारहरूले कसरी यो काम राम्रोसँग गर्नुपर्छ भन्नेसम्बन्धी खास माग र चरणहरू पनि छन्। उनीहरूले सुरुमा यी सामग्रीहरूको व्यवस्थापन गर्ने कर्मचारीहरू उचित र जिम्मेवार मानिस हुन् कि होइनन्, उनीहरूले तिनलाई कसरी व्यवस्थापन गर्ने भनेर जानेका छन् कि छैनन्, र उनीहरूले लगनका साथ आफ्नो जिम्मेवारी पूरा गर्न सक्छन् कि सक्दैनन्—यी चीजहरू उनीहरूको हातमा सुरक्षित राखिनेछन् कि छैनन् भनी जाँच्नुपर्छ। उदाहरणका लागि, अन्न भण्डारण गर्दा, बर्खायाममा—जब मौसम चिस्यानयुक्त हुन्छ र धेरै पानी पर्छ—के त्यसलाई राखिएको ठाउँ ओसिलो छ? के यसको व्यवस्थापन गर्ने मानिसहरूको समयमै यसको जाँच गर्छन्? यदि अन्न ओसियो भने, के उनीहरूले त्यसलाई निकालेर सुकाउँछन्? के उनीहरूले यी कुराहरू आफ्नै भएझैँ होसियारीका साथ व्यवस्थापन गर्छन्? के उनीहरूमा यस्तो मानवता छ? के उनीहरूमा यस्तो बफादारी छ? उनीहरूले यी चीजहरूको व्यवस्थापन गर्ने मानिसहरूको परीक्षण गरेर उनीहरूको मानवता कस्तो छ, र उनीहरूमा विवेक छ कि छैन र उनीहरू सद्गुणी छन् कि छैनन् भनी हेर्नुपर्छ। यदि कुनै व्यक्ति राम्रै मानवता भएको र दयालु हृदयको देखिन्छ, र अरू धेरैजसोले उसको राम्रो रिपोर्ट दिन्छन्, तर ऊ परमेश्‍वरको घरका सामग्रीहरूको व्यवस्थापन गर्न सुहाउँदो छ कि छैन भनेर तँलाई थाहा छैन भने, त्यसबेला के गर्नुपर्छ? तैँले अनुगमन, सामानहरूको जाँच, र सुपरिवेक्षण गर्नैपर्छ। तैँले केही समयपछि चीजहरूको अवस्थाबारे सोधेर संरक्षकले आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ कि छैन भनी हेर्नुपर्छ। उदाहरणका लागि, अन्नमा सबैभन्दा ठूलो चिन्ता ओस हो। संरक्षकले गोदाम चिस्यानयुक्त छ कि छैन र अन्नमा किरा लाग्ने सम्भावना छ कि छैन भनेर जाँच्नुपर्छ, र उसले यस्ता कुराहरूबारे जानकार कसैलाई खोजेर परामर्श लिनुपर्छ र कस्ता अभ्यासहरूले अन्न नओसिने र ढुसी नलाग्ने वा किरा नपर्ने सुनिश्चित हुन्छ भन्नेबारे बुझाइ प्राप्त गर्नुपर्छ। अन्न भण्डारण गरेपछि, उसले बारम्बार गोदामको जाँच गर्नुपर्छ, वा हावा आउने गरी झ्यालहरू खोल्नुपर्छ। त्यो साँच्चिकै आफ्नो जिम्मेवारी पूरा गरेको हुनेछ। यदि संरक्षकले कसैले अनुरोध गर्नु वा सम्झाउनु नपर्ने गरी यी कामहरू गर्न आफै पहल गर्छ भने, ऊ भरपर्दो छ, जसले ढुक्क बनाउँछ। त्यसोभए, विभिन्न किसिमका सामानहरूको सुरक्षा गर्ने मानिसहरू—के उनीहरू कामका लागि उचित छन्? तँलाई अहिले थाहा छैन; तैँले उनीहरूको पनि जाँच गर्नुपर्छ। अधिकांश सामानहरू—विद्युतीय सामग्री, काठका सामग्री, सुविधाहरू, आदि—सामान्यतया प्रयोगमा आउँदैनन् भने तिनको कस्तो सुरक्षा गरिएको छ? के संरक्षकले त्यसको हेरचाह र मर्मत सम्भार गर्छ? के उसले विद्युतीय सामानहरू नियमित रूपमा जाँच्ने, पावर अन गर्ने र चालु गर्ने गर्छ? यताउति सोधेर, तैँले यी सामानहरूको संरक्षकले नियमित रूपमा यसो गरिरहेको छ भनेर थाहा पाउन सक्छस्। ती सामानहरू बिनाकाम बसिरहेका हुन सक्छन्, तर तीमाथि धूलो छैन, जसको मतलब कसैले बारम्बार आएर तिनको हेरचाह गर्छ—तैँले तिनको संरक्षक ठीक छ, उसले आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ भनेर देख्नेछस्। त्यसपछि तँ ढुक्क हुन सक्छस्। परमेश्‍वरका वचनका पुस्तकहरू पनि छन्। ती प्रत्येकलाई पाउन कठिन छ, र यसको अतिरिक्त, परमेश्‍वरका वचनका पुस्तकहरू परमेश्‍वरको हरेक विश्‍वासीका लागि अन्य कुनै पनि चीजभन्दा बढी महत्त्वपूर्ण हुन्छ—अन्न, विद्युतीय सामानहरू, वा त्यस्ता अन्य कुनै पनि सामानभन्दा बढी महत्त्वपूर्ण हुन्छ। त्यसैले, यी चीजहरूको हकमा, तैँले तिनको व्यवस्थापन गर्ने सही व्यक्ति र तिनलाई भण्डारण गर्ने सही ठाउँ खोज्न झनै बढी आवश्यक छ। उचित हावा, निगरानी, र निरीक्षण पनि जरुरी छन्—उनीहरूले पुस्तकहरू ओसिन वा भिज्न, वा मुसालाई चपाउन दिनु हुँदैन। यी सबै कुरामा ध्यान दिनुपर्छ। त्यसैले, के त्यस्ता सामग्रीहरूको व्यवस्थापन गर्ने मानिसहरू कामका लागि उचित छन्? तैँले यसको पनि बारम्बार जाँच गर्नुपर्छ। यदि हेरचाहकर्ताहरू अल्छी, बेवास्ते, र लापरवाह छन् भने, कतिपय सामानहरू बिग्रिनेछन्, ओसिएन वा ढुसी लागेन भने पनि किराले खानेछ। यी सबै अगुवा र कामदारहरूको कमजोर निगरानी र निरीक्षणका कारण भएका क्षतिहरू हुन्। यदि हेरचाहकर्ताहरूले यी सामानहरूको उचित हेरचाह गर्छन् भने, अगुवा र कामदारहरूको यो जिम्मेवारी पूरा भएको हुन्छ। चाहे यी सामानहरू ठूला हुन् वा साना, यदि ती परमेश्‍वरको घरको स्वामित्वमा पर्ने सामानहरूको वर्गमा पर्छन् भने, तिनको व्यवस्थापन गर्न कसैको बन्दोबस्त गर्नुपर्छ। कुनै सामान जुन किसिमको भए पनि र जहाँ भण्डारण गरिएको भए पनि सुरक्षित हुनुपर्छ, र त्यसमा केही पनि नबिग्रिने सुनिश्चित गर्नुपर्छ। बफादार र जिम्मेवार हुनु भनेको नै त्यही हो। यदि सामानहरूको व्यवस्थापन गर्ने व्यक्ति अयोग्य भएको भेटियो भने के गर्नुपर्छ? उसलाई तुरुन्तै अर्को काममा खटाउनुपर्छ, र उसको स्थानमा अरू कोही खोज्नुपर्छ। उदाहरणका लागि, कतिपय मानिसहरू कामचोर हुन्छन्, खान रुचाउँछन् तर काम गर्न रुचाउँदैनन्, र कुनै जिम्मेवारी लिँदैनन्। उनीहरूले मण्डलीका सामानहरूलाई सार्वजनिक सम्पत्ति जस्तो गरी लापरवाहीपूर्वक व्यवहार गर्छन्, र ती हराएनन् भने केही हुँदैन भन्ठान्छन्। ती सामानहरू ढुसी परेको वा किरा परेको, वा बिग्रिएको छ कि छैन भनेर उनीहरूले न त चासो राख्ने न सोध्ने नै गर्छन्। तैँले उनीहरूलाई जहिले सोध्दा पनि, उनीहरूले आफू तिनको जाँच गर्न गएको, र सबथोक ठीक रहेको भन्छन्। खासमा, उनीहरू लामो समयदेखि सामानहरूको जाँच गर्न गएका हुँदैनन्। त्यसपछि, एक दिन कसैले अचानक अन्नमा ढुसी परेको, र कुनै सामग्रीको तार मुसाले काटेको, र परमेश्‍वरका वचनका पुस्तकहरू समेत तिनमा लेखिएका कुराहरू धमिलो र अस्पष्ट हुने गरी ओसिएको पाउँछ। त्यसबेला मात्र यी कुराहरूबारे थाहा पाउनु—के त्यो ज्यादै ढिलो होइन र? (हो, क्षति पुगिसकेको हुन्छ।) त्यो अनुचित व्यवस्थापनको नतिजा हो। त्यसोभए, के तिनको व्यवस्थापन गर्ने व्यक्ति अयोग्य छ? के ऊ कमजोर मानवताको र अनैतिक छैन र? (छ।) गैरविश्‍वासीहरूले यस किसिमको व्यक्तिलाई अनैतिक भन्छन्; हामी के भन्छौँ? हामी यो भन्छौँ कि यस व्यक्तिको मानवता खराब छ, र ऊ बफादार छैन। उसले त्यति सानो जिम्मेवारी समेत पूरा गर्न सक्दैन; उसले त्यस्तो काम समेत गर्न सक्दैन जुन थोरै मेहनत गर्ने, थोरै मात्र विवेक र मानवता भएको व्यक्तिले गर्न सक्छ। के ऊ अझै पनि परमेश्‍वरको विश्‍वासी हो? गैरविश्‍वासीहरूले समेत “अरूले जिम्मा दिएको कुरा निष्ठापूर्वक पूरा गर्न सक्दो प्रयास गर” भन्ने विचार बोकेका हुन्छन्—यो व्यक्तिले त गैरविश्‍वासीहरूको न्यूनतम नैतिक मापदण्ड समेत पूरा गर्दैन, त्यसकारण ऊ सामान व्यवस्थापन कर्मचारीको सदस्यका रूपमा सेवा गर्न प्रस्ट रूपले अयोग्य छ। अयोग्य मानिसहरूलाई तत्काल तह लगाउनुपर्छ, र तिनीहरूको स्थानमा सही मानिसहरू खोज्नुपर्छ। यदि तँलाई तेरो सामान व्यवस्थापन कर्मचारीको भरोसा लाग्दैन, र आफैले सामानहरूको जाँच गर्न तँसित समय छैन, वा तैँले केही परिस्थितिजन्य कारणले चीजहरूको अनुगमन र जाँच गर्न सक्दैनस् भने, त्यो अवस्थामा के गर्नुपर्छ? तैँले सामानहरूको व्यवस्थापन गर्ने व्यक्तिलाई यदि उसले व्यवस्थापन गर्ने सामानहरू बिग्रिएमा उसले त्यसको पैसा तिर्नेछ, वा ऊ परमेश्‍वरको घरबाट जस्तोसुकै किसिमको सजाय स्विकार्न इच्छुक हुनेछ भनी प्रत्याभूत गर्न लगाउन सक्छस्। त्यसलाई प्रशासनिक प्रणालीअनुसार नै समाधान गरिनुपर्छ। यदि कुनै अगुवा वा कामदारले यो स्तरसम्म आफ्नो काम गर्न सक्छ भने, ऊ आफ्नो जिम्मेवारी पूरा गर्न इच्छुक हुनेछ।

परमेश्‍वरको घरको कुनै पनि भौतिक सामान, चाहे त्यो ठूलो होस् वा सानो, महङ्गो होस् वा सस्तो, चाहे त्यो तँलाई काम लाग्ने होस् वा नहोस्, यदि तँलाई त्यसको व्यवस्थापन गर्न लगाइएको छ भने, त्यो तेरो जिम्मेवारी हो। यो काम अगुवा र कामदारहरूको जिम्मेवारीको दायराभित्र नै पर्छ, त्यसकारण तैँले त्यसलाई उचित तरिकाले सुरक्षा गर्नका लागि सही व्यक्ति र सही स्थान खोज्नुपर्छ। परमेश्‍वरको घरका सामानहरू बिग्रिन नदे। उदाहरणका लागि, परमेश्‍वरका वचनहरू पुस्तकहरूको सुरक्षा गर्ने हकमा—एक पटक कुनै अगुवा वा कामदारले तिनका लागि उचित कर्मचारीहरूको बन्दोबस्त गरेपछि, उसले अझै पनि बारम्बार त्यसको बारेमा सोध्ने गर्नुपर्छ: “हालसालै थुप्रै पुस्तकहरू जारी भएका छन्, तर थोरै मात्र बाँकी भए पनि लापर्बाही नगर। पुस्तकहरू भण्डारण गर्दा, मुख्य कुरा भनेको तिनलाई ओसिन वा घामले बिग्रन नदिनु, र तिनलाई कुल्चिएर बिग्रन वा टेढोमेढो हुन नदिनु हो।” उसले बारम्बार त्यसको बारेमा सोध्ने र जानकारी लिने गर्नुपर्छ। यदि नयाँ पुस्तकहरू आएका छन् भने, उसले तिनको सुरक्षा कति राम्रोसँग भइरहेको छ; ती सबै पहिलेकै ठाउँमा राख्न मिल्छन् कि मिल्दैनन्, र यदि मिल्दैन भने, तिनका लागि नयाँ ठाउँ भेटिएको छ कि छैन, र त्यो ठाउँ कस्तो छ, त्यो सुरक्षित र सुक्खा छ कि छैन; पुस्तकहरू राम्ररी भण्डारण गरिएका छन् कि छैनन्; र यदि मुसाको चिन्ता छ भने, बिरालो राख्न आवश्यक छ कि छैन भनेर सोध्नैपर्छ। यस्ता सबै चीजहरू अगुवा र कामदारहरूले गर्नैपर्ने काम, र उनीहरूले पूरा गर्नुपर्ने जिम्मेवारी हुन्। यो काम अलि महत्त्वहीन देखिएला, तर त्यो पनि अगुवा र कामदारहरूले नियमित रूपमा गर्नुपर्ने एउटा काम नै हो। यसको अवमूल्यन नगर्—यसलाई गम्भीर रूपमा लिइनुपर्छ। ती चीजहरू सार्वजनिक सम्पत्ति हुन सक्लान् र कुनै व्यक्तिको नहुन सक्छन्, तर तिनको राम्रो सुरक्षा गर्नैपर्छ; चाहे तँलाई भविष्यमा ती काम लागून् वा नलागून्, र ती तेरै प्रयोगका लागि हुन् वा नहुन्, तिनलाई राम्रोसँग सुरक्षित राख्नु तेरो जिम्मेवारी हो, यो तेरो कर्तव्यमा पर्छ, र तैँले त्यसलाई पन्छाउन वा बेवास्ता गर्न कुनै कारण वा बहाना खोज्नु हुँदैन। यदि केही कुरा तेरो जिम्मेवारीमा पर्छ भने, त्यो तैँले व्यवस्थापन गर्नुपर्ने कुरा हो, र तैँले गर्नुपर्ने काम हो। यो सबै कुरामा, तैँले सोधपुछ गरेर कामकुरा बुझ्ने कोसिस गर्नुपर्छ, वा त्यसमा व्यक्तिगत रूपमा सहभागी हुनुपर्छ। यदि तँसित स्थलमै गएर आफैले हेर्ने समय छ भने, त्यो अवश्य पनि झनै राम्रो हुन्छ। तर यदि परिस्थिति र अवस्थाहरूले साथ दिएन, वा यदि तँ काममा अति व्यस्त छस् भने, तैँले अझै पनि समय-समयमा त्यसको बारेमा सोध्ने र जानकारी लिने गर्नुपर्छ, ताकि परमेश्‍वरको घरका सामानहरू बिग्रिन वा कुनै पनि रूपमा खेर जानबाट बचाउन सकियोस्। यसो गर्नुको मतलब यो हो कि तैँले अगुवा र कामदारहरूको जिम्मेवारी पूरा गरेको छस्।

विवेकपूर्ण परिचालन

परमेश्‍वरको घरका भौतिक सामानहरूका हकमा, तिनको सुरक्षा गर्नेबाहेक अर्को महत्त्वपूर्ण काम छ: तिनलाई विवेकपूर्ण तरिकाले परिचालन गर्ने। यी सबै सामानहरू मानिसहरूको प्रयोजनका लागि हुन्—ती सबै उपयोगी चीजहरू हुन्—त्यसैले तिनको सुरक्षा गर्नुको मुख्य उद्देश्य भनेको तिनलाई विवेकपूर्ण तरिकाले प्रयोग गरियोस् भन्ने हो। यी सामानहरूलाई विवेकपूर्ण प्रयोगमा लगाउनुअघि, तिनलाई विवेकपूर्ण तरिकाले परिचालन गर्नु अगुवा र कामदारहरूको काम हो। विवेकपूर्ण परिचालन भनेको के हो? यी सामानहरू कसलाई प्रयोग गर्न दिइनुपर्छ भन्ने सम्बन्धमा, परमेश्‍वरको घरका सिद्धान्त र नियमहरू छन्। चाहे ती दाजुभाइ-दिदीबहिनीहरूले चढाएका हुन् वा परमेश्‍वरको घरले खरिद गरेका हुन्, यी सामानहरूको मुख्य उद्देश्य भनेको तिनलाई राहतका लागि भण्डारण गर्नु वा कल्याणकारी कामका लागि भिक्षाका रूपमा प्रयोग गर्नु होइन; बरु, ती त पूर्णकालिक कर्तव्य निर्वाह गर्ने सारा दाजुभाइ-दिदीबहिनीहरूको प्रयोजनका लागि हो। त्यसोभए, तिनलाई कसरी परिचालन गरिनुपर्छ—तिनलाई परिचालन गर्ने सिद्धान्तहरू के-के हुन्—त्यो अगुवा र कामदारहरूले परमेश्‍वरको घरका विभिन्न भौतिक सामानहरूको व्यवस्थापन गर्दा पूरा गर्नुपर्ने जिम्मेवारी हो। हामीले यहाँ विवेकपूर्ण परिचालनको कुरा उल्लेख गर्‍यौँ; यो अवस्थामा, “विवेकपूर्ण” हुनु नै परमेश्‍वरको घरले माग गर्ने सिद्धान्त हो।

अ. परमेश्‍वरको घरका पुस्तकहरूलाई विवेकपूर्ण तरिकाले परिचालन गर्ने

हामी परमेश्‍वरका वचनका पुस्तकहरूबाट सुरु गर्नेछौँ। हरेक पटक नयाँ पुस्तकहरू जारी हुँदा, ती पुस्तकहरू कसलाई जारी गरिनुपर्छ भन्ने सन्दर्भमा परमेश्‍वरको घरका माग र नियमहरू हुन्छन्। मण्डलीमा, परमेश्‍वरका वचनहरू पढ्ने र नपढ्ने मानिसहरू हुन्छन्, सत्यतालाई प्रेम गर्ने र नगर्ने मानिसहरू हुन्छन्, साथै कर्तव्यहरू पूरा गर्ने र नगर्ने मानिसहरू हुन्छन्—यस किसिमका मानिसहरूका बीचमा भिन्नताहरू छुट्याइनुपर्छ। पाठ्यपुस्तकहरूको वर्गमा केही खास पुस्तकहरू पनि छन्—व्याकरण, शब्दकोष, र यस्ता अन्य उपयोगी पुस्तकहरू। यी सबै कडाइका साथ सिद्धान्तहरूबमोजिम वितरण गरिनुपर्छ। ती आवश्यकता परेकाहरूलाई मात्र दिनुपर्छ, आवश्यकता नपरेकाहरूलाई दिनु हुँदैन। अनि त्यसपछि त्यस्ता केही उपयोगी पुस्तकहरू हुन्छन् तुलनात्मक रूपले कम मात्रामा छापिन्छन्—यदि यी कुनै व्यक्तिलाई जारी गरियो भने, त्यस व्यक्तिबाट के अपेक्षा गरिन्छ? तैँले ती पढ्न सक्छस्, तर तिनको नोक्सान नपार्; तिनलाई जथाभावी छोड्ने वा जथाभावी रूपमा च्यात्ने काम नगर्। अनि तैँले पढिसकेपछि तिनलाई पुरानै ठाउँमा फिर्ता राख्नुपर्छ। परमेश्‍वरमाथिको विश्‍वाससम्बन्धी पुस्तकहरूका हकमा, अगुवा र कामदारहरूले तिनलाई कडाइका साथ परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरूबमोजिम वितरण गर्नुपर्छ, साथै उनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई पनि सिद्धान्तहरू बुझ्न र तीअनुसार कार्य गर्न दिनुपर्छ।

आ. विभिन्न किसिमका उपकरणहरूलाई विवेकपूर्ण तरिकाले परिचालन गर्ने

त्यसपछि विभिन्न किसिमका उपकरणहरूलाई कसरी परिचालन गर्ने भन्ने कुरा आउँछ। यो तुलनात्मक रूपमा अत्यन्तै महत्त्वपूर्ण कार्य हो। विभिन्न किसिमका उपकरणहरूलाई केही कडाइका साथ परिचालन गर्नुपर्ने हुन्छ। त्यस्ता उपकरणहरूमा विद्युतीय उपकरणहरूका साथै विभिन्न पेसाहरूका लागि आवश्यक पर्ने सामग्रीहरू पर्छन्। अगुवा र कामदारहरूले तिनको वितरण गर्दा त्यसका पनि सिद्धान्तहरू हुनु पर्छ। जसलाई ती वितरण गरिन्छन् उनीहरू त्यस्ता उपकरणलाई चलाउन राम्रोसँग जानकार र तिनको सही र विवेकपूर्ण प्रयोग गर्न सक्षम मानिसहरू हुनुपर्छ। यदि कोही नयाँ सिकारु छ वा उसले उक्त चीजलाई प्रयोग गर्न जानेकै छैन भने, त्यो उसलाई वितरण गर्नु हुँदैन। यो विशेषगरी राम्रा र उच्च-स्तरीय विद्युतीय उपकरणहरूमा लागु हुन्छ, जस्तै उच्च-स्तरीय क्यामेरा र महङ्गा कम्प्युटरहरू, साथै रेकर्ड गर्ने उपकरण, फोटो खिच्ने कामसँग सम्बन्धित उपकरणहरू, वा भिडियो निर्माण पश्चात् आवश्यक पर्ने उपकरण—क्षति हुनबाट जोगाउनका लागि त्यस्तो उपकरण यस्तो व्यक्तिलाई झनै वितरण गर्नु हुँदैन। अगुवा र कामदारहरूले सुनिश्चित गर्नुपर्छ कि त्यस्ता उपकरण प्रयोग गर्नेहरू, पहिलो, उक्त उपकरणको महत्त्व बुझ्न सक्षम, र दोस्रो, त्यसलाई सही ढङ्गले प्रयोग र मर्मत गर्न सक्षम छन्। उदाहरणका लागि, कतिपय मेसिनलाई दुई घण्टासम्म प्रयोग गरेपछि सेलाउनका लागि दस मिनेट आराम गराउनुपर्ने आफ्नै नियम हुन्छ। यदि त्यो सेलिएन भने, त्यसले मेसिनमा नोक्सान पुर्‍याउँछ र त्यसको उपयोगी आयु छोट्याउँछ। मेसिनलाई महत्त्व दिने मानिसहरूले त्यसलाई कडाइका साथ त्यसको मर्मत सावधानीहरू बमोजिम प्रयोग गर्नेछन्; तैँले नभनी उनीहरू आफैले तिनको पालना गर्नेछन्, र यदि तैँले अनुरोध गरिस् भने उनीहरू अझ कडाइका साथ र सही रूपमा पालना गर्नेछन्। त्यस्ता मानिसहरू मेसिनहरू प्रयोग गर्न योग्य हुन्छन्; उनीहरूलाई उच्च-स्तरीय सामानहरू प्रयोग गर्न सुहाउँछ, किनभने उनीहरूले मेसिनलाई महत्त्व दिन जानेका हुन्छन्, र त्यसका मर्मत सम्भारसम्बन्धी सावधानीहरूलाई गम्भीरतापूर्वक लिन्छन्। मेसिनलाई बहुमूल्य ठान्न र सामान्य तरिकाले प्रयोग गर्न सक्ने त्यस्ता मानिसहरू नै उच्च-स्तरीय मेसिनहरूको परिचालन र वितरणका लागि सबैभन्दा योग्य हुन्छन्। अगुवा र कामदारहरूले यस सम्बन्धमा उपयुक्त जाँचहरू गर्नुपर्छ। यदि एउटा उच्च-स्तरीय कम्प्युटर छ, र यो जसले आफ्नो आवश्यकता व्यक्त गरेर आवेदन दिन्छ उसलाई वितरण गरिन्छ भने, के त्यो सिद्धान्त सही हो? (होइन।) त्यसको के चाहिँ सही छैन? अगुवा र कामदारहरूका लागि, यस्ता चीजहरूको वितरण र बाँडफाँडको एक भाग कामको जिम्मा पाएको व्यक्तिको व्यावसायिक दक्षतामा आधारित हुनुपर्छ; अर्को भाग भनेको उनीहरूले त्यो व्यक्तिले मेसिनको कति कदर गर्छ, ऊसँग मानवता छ कि छैन, र उसले मेसिन प्रयोग गर्दा त्यसलाई महत्त्व दिन्छ कि दिँदैन भन्ने कुरामा आधारित हुनुपर्छ। यदि त्यस व्यक्तिले मेसिनको ख्याल गर्न जान्दैन र ऊ उक्त व्यवसायसम्बन्धी सीपहरूसँग अपरिचित छ, र जिज्ञासाका कारणले मात्र मेसिन खेलाउन चाहन्छ भने, उसलाई त्यो प्रयोग गर्नबाट रोक र प्रतिबन्ध लगाइनुपर्छ। ऊ उच्च-स्तरीय मेसिनहरूको प्रयोग र रेखदेख गर्न योग्य छैन। साधारण कर्तव्यहरू निर्वाह गर्नेहरूलाई साधारण मेसिनहरू दिए काफी हुन्छ। जसले कुनै व्यवसाय जानेका छन्; जो असल मानवताका छन्; र जसले मेसिनलाई प्रयोग गर्न, मर्मत गर्न, र महत्त्व दिन जानेका छन् उनीहरूले उच्च-स्तरका सामानहरू प्रयोग गर्न सक्छन्, किनभने उनीहरू कुनै पेसामा पोख्त हुन्छन् र उच्च-स्तरका मेसिनहरू प्रयोग गर्न सक्षम हुन्छन्। यदि तैँले कुनै अलमल्ल वा रूखो व्यक्तिलाई उच्च-स्तरको केही चीज प्रयोग गर्न दिइस् भने, उसले केही दिनमै उक्त मेसिन बिगार्नेछ। अरूले त्यसलाई प्रयोग गर्न सक्नेछैनन्, र त्यसलाई मर्मत गर्न सजिलो हुनेछैन। यसले मण्डलीको काममा ढिलाइ पुर्‍याउने मात्र नभई परमेश्‍वरको घरको एउटा भौतिक सामग्री पनि बरबाद पारेको हुन्छ। यसमा के कुरा अन्तर्निहित छ? त्यस्ता मानिसहरू मेसिनहरू प्रयोग गर्नका लागि योग्य हुँदैनन् भन्ने कुरा। राम्रा मेसिनहरू मानवता भएका र कुनै पेसासँग परिचित मानिसहरूलाई नै प्रयोग गर्न दिइनुपर्छ। कुनै पेसामा विज्ञता नभएका र कमजोर मानवता भएका मानिसहरूले साधारण चीजहरू प्रयोग गर्नु काफी हुन्छ। के यस तरिकाले वस्तुहरूको परिचालन गर्नु विवेकपूर्ण कुरा हो? (हो।)

यावत् प्रकारका भौतिक वस्तुहरूसँग, फरक-फरक मानिसहरूका व्यवहार गर्ने तरिकाहरू फरक-फरक हुन्छन्। कतिपय मानिसहरूले एउटा उच्च-स्तरीय कम्प्युटर किन्छन्, अनि दुई वर्ष प्रयोग गरेपछि त्यो अझै नयाँ नै देखिन्छ; स्क्रिनमा कहिल्यै औँलाको दाग देखिँदैन, र किबोर्ड सधैँ अति सफा हुन्छ, त्यसमा धूलोको एउटा कण समेत हुँदैन। डेस्कटप पनि राम्रो र सफा हुन्छ, र कम्प्युटरमा भण्डारण गरिएका सबै कुराहरू अत्यन्तै व्यवस्थित र सफा हुन्छन्। यदि कसैले उनीहरूलाई लामो समयसम्म त्यसलाई प्रयोग गर्नु स्क्रिनको लागि नराम्रो हो भनेमा, उनीहरूले कसरी स्क्रिनको सुरक्षा गर्नु उत्तम हुन्छ भनेर तुरुन्तै सोध्छन्—जुन तरिका सबैभन्दा उत्तम हुन्छ, उनीहरूले त्यही गर्छन्। यदि कसैले उनीहरूलाई लामो समयसम्म प्रयोग गरेपछि कम्प्युटरलाई विश्राम दिनुपर्छ, धेरै तातियो भने त्यसले पहिले जस्तो राम्रो काम गर्दैन, र त्यसले मेसिनको टिकाउमा असर पार्छ भन्यो भने, जब उनीहरूले आफूले दुई घन्टाभन्दा लामो समयदेखि कम्प्युटर चलाउँदै आएको भन्ने थाहा पाउँछन्, तब उनीहरूले तुरुन्तै त्यसलाई चलाउन छोडेर चिसिन दिन्छन्। यदि अत्यन्तै गर्मी मौसम भएकाले त्यो ढिलो चिसो भयो भने उनीहरूले एउटा पङ्खा जोडेर त्यसलाई फुक्छन्। उनीहरूले उक्त मेसिनलाई आफ्नो बच्चालाई जतिकै विशेष ख्याल गरेर व्यवहार गर्छन्। उनीहरूले त्यसलाई झोलामा हाल्दा अत्यन्तै ध्यान र होसियारी पुर्‍याउँछन्, अनि उनीहरूले त्यसलाई टेबुलमा राख्दा सतहलाई सफा गर्छन् र मेसिनलाई उचित तरिकाले राख्छन्। के यो उनीहरूको सबल पक्ष होइन र? (हो।) यस्ता मानिसहरूले आफूले मात्र मेसिनको कदर गर्ने होइन—जब उनीहरू अरूले मेसिनलाई बिगारिरहेको र क्षति पुर्‍याइरहेको देख्छन्, उनीहरूलाई त्यो सहन कठिन हुन्छ। यस्ता मानिसहरू राम्रा मेसिनहरू प्रयोग गर्न योग्य हुन्छन्। कतिपय पैसावाल मानिसहरूले पनि उच्च-स्तरीय कम्प्युटरहरू किन्छन्, जसलाई घरमा ल्याएपछि बिलकुलै कदर गर्दैनन्। उनीहरूले जतिसुकै धूलो जमेको भए पनि तिनलाई सफा गर्दैनन्, र तिनलाई अत्यन्तै फोहोर बनाउँछन्। अरूले कुनै मेसिन दुई वर्ष प्रयोग गर्दा पनि नयाँ नै देखिन्छ; यस्ता मानिसहरूले चाहिँ एउटा मेसिन दुई महिना प्रयोग गरेपछि त्यो दस वर्ष चलाए जस्तो देखिन्छ। उनीहरूलाई मेसिनहरूलाई मर्मतसम्भार आवश्यक पर्छ भनेर भनिस् भने, उनीहरूले यसो भन्नेछन्, “त्यसलाई मर्मतसम्भार गर्नुको के अर्थ? मेसिनहरूले मानिसहरूलाई सेवा दिने हो, ती मानिसहरूको सेवामा हुन्छन्। यदि त्यो बिग्रियो भने, नयाँ किन्नुस्!” फलस्वरूप, उक्त मेसिन अनुचित प्रयोगका कारण छ महिना नपुग्दै बिग्रिन्छ। त्यस्ता मानिसहरूबारे तँ के भन्छस्? के उनीहरू उच्च-स्तरीय मेसिनहरू प्रयोग गर्न योग्य हुन्छन्? (हुँदैनन्।) उनीहरूले किनेका कम्प्युटरहरू जतिसुकै राम्रा भए पनि, उनीहरूले तिनलाई कदर गर्नेबारे सोच्दैनन्, बरु तिनलाई फ्याँक्छन् र लापर्बाहीपूर्वक राख्छन्। उनीहरूका केही कम्प्युटरहरूमा कोरिएर चोटैचोट हुन्छन्; केही चाहिँ पानीले भिजेर बिग्रेका हुन्छन्; केही चाहिँ भुइँमा खसेर फुट्छन्। उनीहरूले तिनलाई अत्यन्तै नराम्रो तरिकाले प्रयोग गर्छन्। त्यस्ता मानिसहरूको मानवतामा केही कुराको कमी हुन्छ। के तिमीहरू त्यस्ता मानिसहरूको प्रयोजनका लागि मेसिनहरू परिचालन गर्न इच्छुक छौ? (छैनौँ।) कतिपय मानिसहरूले चस्मा लगाउँछन्, र लेन्सहरू सधैँ पुछेर अत्यन्तै सफा राख्छन्, तर अरू मानिसहरूका लेन्सहरू मैलो र औँलाका दागहरू र त्यस्तै अन्य कुराहरू लागेर फोहोर हुन्छन्। उनीहरूले तिनलाई त्यसरी प्रयोग गर्न पनि कसरी सकेका हुन्? जसले आफ्नो चस्माको ख्याल राख्छन् उनीहरूले तिनलाई फुकालेर राख्दा विशेष ध्यान दिन्छन्; उनीहरूले लेन्सलाई टेबुलको सतहमा वा कुनै पनि वस्तुसँग छुन दिँदैनन्, न त उनीहरूले लेन्सलाई कोरिन वा रगडिन दिन्छन्। चस्माहरू विशेषगरी नजिकको वस्तु मात्र देख्ने मानिसहरूका लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छन्—लेन्सहरू कोरिएमा तैँले तिनलाई कसरी प्रयोग गर्छस्? कतिपय मानिसहरूले चस्मालाई लापर्बाही रूपमा प्रयोग गर्छन्, र उनीहरूले लगाएको छोटो समयमै लेन्सहरू धमिलो हुन्छन्। उनीहरूले ती लगाएर केही पनि प्रस्टसित देख्न सक्दैनन्—उनीहरूले ती नलगाउँदा नै राम्रो हुन्छ। तैपनि उनीहरूले ती जस्तो छन् त्यस्तै लगाए हुन्छ भन्ठान्छन्, मानौँ त्यसले केही फरक पर्दैन। म यो कुराले अन्योलमा छु: के उनीहरूले चस्मा लगाउनुको उद्देश्य वस्तुहरू अझ प्रस्ट रूपमा देख्न सक्ने हुनु होइन र? उनीहरूका लेन्सहरू सबै कोरिएका छन् भने उनीहरूले के चाहिँ प्रस्ट रूपमा देख्न सक्छन्? के यिनीहरू रूखो मानिस होइनन् र? वास्तवमै रूखो हुन्! अत्यन्तै रूखो मानिसहरूको मानवतामा केही कुराको कमी हुन्छ—उनीहरूलाई सामानहरूको कसरी ख्याल राख्ने भन्ने थाहा हुँदैन, तिनको कदर गर्नेबारे त उनीहरूले झन् सोचेकै हुँदैनन्।

परमेश्‍वरको घरका महत्त्वपूर्ण उपकरण र सामग्रीहरूका सम्बन्धमा, अगुवा र कामदारहरूको जिम्मेवारी के हो? त्यस्ता उपकरण परिचालन गर्दा, त्यो उचित मानिसहरूलाई दिइनुपर्छ। त्यस्ता महत्त्वपूर्ण र उच्च-स्तरका उपकरण प्रयोग गर्नेहरू बिलकुल सामानहरूको कदर गर्न जान्ने मानिस हुनुपर्छ। उनीहरूले त्यसको कदर गर्नेछन्, ख्याल राख्नेछन्, र त्यसलाई सम्भार गर्नेछन्; जब त्यो उनीहरूको स्वामित्वमा हुन्छ, तँ आश्‍वस्त हुन सक्छस् कि, कुनै क्षणिक लापर्बाही वा केही सामान्य ज्ञानको तत्त्वको कमीका कारण बाहेक, उनीहरूले कहिल्यै जानाजानी वा आफ्नै कारणले यसलाई नष्ट पार्ने वा बिगार्नेछैनन्। त्यस्ता मानिसहरूले यो उपकरण प्रयोग गर्न सक्छन्; उच्च स्तरका राम्रा उपकरण उनीहरूलाई परिचालन गर्न सकिन्छ। जो सामानहरूको प्रयोगमा स्वाभाविक रूपमा रूखो हुन्छन्, उनीहरूलाई सामान्य चीजहरू मात्र प्रयोग गर्न दिए हुन्छ। साथै, त्यस्ता उपकरण र सामग्रीहरूका संरक्षकहरू तिनका उपयोगिताको अभिलेख राख्न जिम्मेवार हुन्छन्: कसले के लगेको छ र उसले त्यो चीज कति समय प्रयोग गरेको छ, वा कुन सामान चाहिँ कसैको प्रयोजनका लागि मात्र हो, यदि त्यो बिग्रिएमा त्यसको मूल्यअनुसार कसले क्षतिपूर्ति तिर्नुपर्छ। दुवै पक्षले यी कुरामा हस्ताक्षर गर्नुपर्छ, ताकि सबैका लागि न्यायपूर्ण र विवेकपूर्ण होस्। मेसिन र उपकरणहरूको राम्रो ख्याल गरिनुपर्छ, चाहे तिनको उपयोगिता अल्पकालीन होस् वा दीर्घकालीन होस्; प्रयोगकर्ताले तिनलाई सही तरिकाले प्रयोग गर्न सिक्नैपर्छ, र यदि तिनले काम गरेनन् भने, तिनलाई तत्काल मर्मत गरिनुपर्छ। यो काम जति सावधानीपूर्वक गरियो, उति नै राम्रो हुन्छ। यदि कुनै परिस्थिति उत्पन्न भयो जहाँ शैतानको शासनले मानिसहरूलाई पक्राउ गरिरहेको छ भने, त्यसबेला अगुवा र कामदारहरूको सबैभन्दा केन्द्रीय जिम्मेवारी भनेको महत्त्वपूर्ण उपकरण र सामग्रीहरू भरपर्दो र भरोसायोग्य मानिसहरूलाई वितरण गर्नु हो। त्यो पठाइसकेपछि, उनीहरूले त्यस व्यक्तिलाई यसो भन्दै केही परामर्श दिनुपर्छ, “यी परमेश्‍वरको घरका सामानहरू हुन्, जसलाई तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा प्रयोग गर्न सक्छस्। तिनलाई खेलौना सम्झिनु हुँदैन। तिमीले विवेकपूर्ण तरिकाले तिनलाई प्रयोग गर्नुपर्छ र तिनको राम्रो ख्याल राख्नुपर्छ। तिनलाई क्षति हुन नदिनू। यी उपकरण र सामग्रीहरू कर्तव्य निर्वाहका लागि आवश्यक पर्ने हुनाले, यदि तिनमा क्षति पुगेको छ भने, तिनको मूल्यअनुसार क्षतिपूर्ति तिर्नुपर्छ। यदि बिग्रिएको उपकरणका कारण काम ढिलो भयो भने, त्यो झनै गम्भीर प्रकृतिको समस्या हो, यसको मतलब काममा केही बाधा र विनाश हुन पुगेको छ। त्यसैले, तिमीले यावत् किसिमका उपकरण र सामग्रीहरूलाई कर्तव्यहरू निर्वाह गर्दा सही तरिकाले प्रयोग गर्न जान्नैपर्छ—तिमीले परमेश्‍वरको घरको सम्पत्तिलाई कदापि क्षति पुर्‍याउनु हुँदैन। जसरी पनि यी सिद्धान्तहरू याद राख: विवेकपूर्ण प्रयोग, र नियमित निरीक्षण, मर्मत, र सम्भार—यदि कुनै चीजले काम गरेन भने, तत्काल रिपोर्ट गरेर मर्मतका लागि आवेदन देऊ।” यो काम राम्ररी गर्नका लागि, अगुवा र कामदारहरूले एकातिर परिचालन र प्रयोगका सिद्धान्तहरू जानेको हुनैपर्छ; अर्कोतिर उनीहरूले कसरी सम्भार गर्ने र राम्रो अवस्थामा राख्ने, र यदि कुनै चीजले काम गरेन भने त्यसलाई कसरी मर्मत गर्ने, आदि कुराहरू प्रयोगकर्ताहरूलाई थाहा दिनुपर्छ। यो मानक ज्ञान हो जुन मानिसहरूले यावत् किसिमका उपकरण र सामग्रीहरूको ख्याल राख्दा र प्रयोग गर्दा बुझ्नु र अपनाउनुपर्ने हुन्छ।

अगुवा र कामदारहरूले परमेश्‍वरको घरका विभिन्न उपकरणहरू विवेकपूर्ण तरिकाले परिचालन गर्नुपर्छ। उदाहरणका लागि, यदि कुनै कामको कर्मचारीलाई तुलनात्मक रूपमा वृहत् सुविधाहरू भएको कम्प्युटरको आवश्यकता छ भने, तैँले उनीहरूलाई एउटा दिनुपर्छ। यदि उनीहरूले एउटाले पुग्दैन भनेमा, तैँले उनीहरूलाई किन भनेर सोध्नुपर्छ, र यताउति सोधेर उनीहरूले भनेको कुरा तथ्य हो कि होइन भनी हेर्नुपर्छ। उनीहरूको आवेदनकै भरमा उनीहरूले जति वटा माग्छन् त्यति वटा कम्प्युटरहरू दिने, एउटाले पुग्दैन भनेमा दुइटा दिने, दुइटाले पुग्दैन भनेमा तीन वटा दिने नगर्। त्यसो गरिस् भने, के तैँले कम्प्युटरहरू खेलौनाझैँ बाँडिरहेको हुँदैनस् र? के त्यो असावधान हुँदैन? तैँले सुरुमा परिस्थितिको छानबिन गर्नुपर्छ र परमेश्‍वरको घरका सिद्धान्तहरूका आधारमा निर्णय गर्नुपर्छ। तैँले कुनै पनि हालतमा सबै किसिमका आवेदनहरू स्वेच्छाचारी रूपमा स्वीकृत गर्नु हुँदैन, किनभने कतिपय मानिसहरू कर्तव्य निर्वाह गर्न भेषमा जथाभावी आवेदनहरू दिइरहेका हुन्छन्। यसबाहेक, महत्त्वपूर्ण काम गर्ने कतिपय मानिसहरूलाई उच्च स्तरका कम्प्युटरहरूको आवश्यकता पर्न सक्छ, तर उनीहरूका व्यक्तिगत कम्प्युटरहरूमा तल्लो स्तरका विशेषताहरू रहेका हुन्छन्। अगुवा र कामदारहरूले तत्काल यसको पनि छानबिन गर्नुपर्छ र विवेकपूर्ण तरिकाले उपकरणको परिचालन गर्नुपर्छ। कम्प्युटरको प्रबन्ध कुनै व्यक्तिको कामको प्रकृति र कम्प्युटरको स्तरका आवश्यकताका आधारमा निर्धारित हुनुपर्छ। यदि कोही एक साधारण अगुवा वा कामदार मात्र हो, र ऊ कम्प्युटर प्रविधि वा भिडियो निर्माणको काममा संलग्न हुँदैन, र उसले इन्टरनेट चलाउने, स्रोतहरू खोज्ने, र कल गर्ने जस्ता कामहरू गर्न मात्र कम्प्युटर प्रयोग गर्छ, र उसलाई धेरै विशिष्ट कम्प्युटर चाहिँदैन भने, उसले एउटा साधारण कम्प्युटर प्रयोग गर्दा हुन्छ। कतिपय पाको उमेरका मानिसहरूले टाइप गर्ने, अनलाइनमा जाने, र कल गर्ने जस्ता सामान्य कामहरू मात्र जानेका हुन्छन्, तर उनीहरू अगुवा वा कामदार बनेपछि, उनीहरूलाई अत्यन्तै उच्च-स्तरीय कम्प्युटरहरू दिइन्छ। के यो विवेकपूर्ण कुरा हो? के उनीहरूले विशेष सुविधाहरू खोजिरहेका छैनन् र? के उनीहरूले हैसियतका लाभहरू उठाइरहेका छैनन् र? (छन् नि।) यस किसिमको उच्च-स्तरीय उपकरण केका लागि प्रयोग गरिनुपर्छ? ती सम्बन्धित कामकाजी कर्मचारी र व्यावसायिक कर्मचारीहरूलाई प्रयोग गर्न दिइनुपर्छ। ती कुनै व्यक्तिको हैसियतसँग मिल्नु पर्दैन। कतिपय अगुवाहरू भूलवश आफूले परमेश्‍वरको घरका विभिन्न सामानहरूमा विशेष प्रयोगका अधिकारहरू पाउनुपर्ने विश्‍वास गर्छन्। के त्यो परमेश्‍वरको घरको नियम हो? होइन। कतिपय मानिसहरू अगुवा र कामदार बनिसकेपछि, उनीहरूलाई तुरुन्तै उच्च स्तरका कम्प्युटर, मोबाइल, र हेडफोनहरू दिइन्छ, उनीहरू यावत् किसिमका उच्च स्तरका उपकरणहरूद्वारा सुसज्जित हुन्छन्। यसको परिणाम के हुन्छ? के यो साँच्चिकै काममा राम्रा नतिजाहरू हासिल गर्नका लागि गरिन्छ? के ती मानिसहरू देहसुखको लालसा गरिरहेका हुँदैनन् र? आखिरमा तैँले उच्च स्तरका कम्प्युटरहरू केका लागि प्रयोग गरिरहेको छस्? के तैँले केवल अनलाइनमा भेलाहरू राखेर वचन र धर्मसिद्धान्तहरू प्रचार गरिरहेको छैनस् र? के तैँले भिडियोहरू अपलोड गर्न जानेको छस्, वा के तँ भिडियोहरू निर्माण गर्न सक्षम छस्? के तैँले नेटवर्क सुरक्षा कायम राख्न जानेको छस्, वा वेबसाइटहरू मिलाउन सक्छस्? के तैँले यी पेसाहरू जानेको छस्? यदि जानेको छैनस् भने, तँलाई उच्च स्तरका कम्प्युटरको के काम? के यसो गर्नु घिनलाग्दो कुरा होइन र? (हो।) यदि तँसँग आफ्नै पैसा छ भने, त्यो पैसाले जति वटा कम्प्युटरहरू किने पनि कसैले चासो राख्दैन, र ती जतिसुकै उच्च स्तरका भए पनि कसैले हस्तक्षेप गर्नेछैन। हामी अहिले परमेश्‍वरको घरका भौतिक सामानहरू कसरी विवेकपूर्ण तरिकाले परिचालन गरिनुपर्छ भन्नेबारे कुरा गरिरहेका छौँ। “विवेकपूर्ण तरिकाले” भन्नुको अर्थ के हो? अगुवा र कामदारहरूले परमेश्‍वरको घरको यो उच्च स्तरको उपकरण प्रयोग गर्दा, के त्यो त्यसलाई “विवेकपूर्ण तरिकाले” प्रयोग गरेको मानिन्छ? (मानिँदैन।) उनीहरूले उक्त पेसा वा कुनै पनि काम कसरी गर्ने भनेर जानेका हुँदैनन्। के उच्च स्तरको कम्प्युटर हुँदैमा उनीहरू उच्च स्तरका हुन्छन्? उनीहरूले के देखाउन खोजिरहेका हुन्छन्? परमेश्‍वरको घरसित अगुवा र कामदारहरूलाई त्यसका भौतिक सामानहरूको प्रयोग र परिचालनमा विशेष अधिकारहरू दिने कुनै नियम छैन; उनीहरूले त्यो विशेष सुविधा हुँदैन, र यो परमेश्‍वरको घरले सामानहरू परिचालन गर्ने विवेकपूर्ण सिद्धान्त होइन—यो बिलकुलै विवेकपूर्ण कुरा होइन। कोही यी वस्तुहरू किन्न सक्ने स्थितिमा छ भने उसले आफै किन्न सक्छ; यदि छैन, र परमेश्‍वरको घरले नै उसलाई वितरण गर्नु आवश्यक छ भने, उसले साधारण सामानहरू प्रयोग गर्दा हुन्छ। यो न्यायोचित र विवेकपूर्ण कुरा हो। जसले साँच्चिकै यो उच्च स्तरको उपकरण प्रयोग गर्न जानेका छन् उनीहरू यही काममा संलग्न व्यावसायिक कर्मचारी हुन्, त्यसकारण परमेश्‍वरको घरले उनीहरूलाई यो उपकरण वितरण गर्नुपर्छ। यिनीहरू परमेश्‍वरको घरका भौतिक सामानहरूको परिचालनका सम्बन्धमा अगुवा र कामदारहरूले बुझ्नु र बोध गर्नुपर्ने केही सिद्धान्तहरू हुन्। यी सिद्धान्तहरूका आधारमा फेरि जाँचेर यी वस्तुहरू अविवेकीपूर्ण तरिकाले परिचालन गरिएका छन् कि भनी हेर्। यदि त्यस्तो भएको छ भने, त्यसलाई चाँडो सच्याइहाल्। कतिपय मानिसहरू अगुवा वा कामदार बनेपछि, उनीहरूले देख्छन् कि परमेश्‍वरको घरको कसैले पनि उनीहरूको चापलुसी गरिरहेको छैन, कसैले पनि उनीहरूलाई उच्च स्तरका सामानहरू दिइरहेको छैन, र उनीहरू अझै पनि आफ्नै पुराना लुगाहरू लगाइरहेका छन्, अझै पनि आफ्नै अत्यन्तै साधारण सानो कम्प्युटर प्रयोग गरिरहेका छन्, र परमेश्‍वरको घरले उनीहरूलाई नयाँ कम्प्युटरद्वारा सुसज्जित गराएको छैन। त्यसैले, उनीहरू वित्तीय समूहकहाँ गएर नयाँ कम्प्युटर किन्नका लागि आवेदन दिन्छन्। के यो विवेकपूर्ण कुरा हो? (होइन।) उनीहरूले यसो भन्छन्, “यदि तपाईंले मलाई त्यो जारी गर्नुभएन भने, म आफ्नो कर्तव्य पूरा गर्दिनँ—म एउटा अवसर खोजेर परमेश्‍वरको घरलाई मेरो लागि उच्च स्तरको, नयाँ मोडेलको र तीव्र गतिको कम्प्युटर किन्न लगाउनेछु!” उनीहरू निकै साहसी हुन्छन्—उनीहरूले गर्न नआँट्ने केही पनि हुँदैन। यस्ता मानिसहरू अगुवा बनेपछि, उनीहरूले परमेश्‍वरको घरलाई आफ्नै जस्तो व्यवहार गर्छन् र सोच्छन्, “परमेश्‍वरको घरको पैसा पनि मेरै हो—म त्यसलाई जसरी मन लाग्छ त्यसरी खर्च गर्नेछु!” यो ख्रीष्टविरोधीहरूले गर्न सक्ने काम हो।

इ. विभिन्न दैनिक आपूर्तिका सामानहरू र खाद्यान्नलाई विवेकपूर्ण तरिकाले परिचालन गर्ने

हामीले अब विभिन्न भौतिक वस्तुहरू र उपकरणहरूको विवेकपूर्ण परिचालनबारे बोलिसकेका छौँ। अब, हामी दैनिक जीवनयापनका वस्तुहरूबारे कुरा गर्नेछौँ, जस्तै: अन्न, सागसब्जी, र सुकाइएका खाना, साथै पकाउनका लागि जरुरी अवयवहरू, विभिन्न सहायक खानाहरू, आदि। यी सामग्रीहरूको विवेकपूर्ण तरिकाले सुरक्षा गर्ने मात्र होइन, तिनलाई विवेकपूर्ण तरिकाले परिचालन पनि गरिनुपर्छ। त्यसोभए, यी विभिन्न सामग्रीहरूलाई कसरी विवेकपूर्ण तरिकाले परिचालन गर्ने हो? परमेश्‍वरको घरसँग त्यसको खानाका मानकहरू छन्, र त्यस्ता सामग्रीहरूको व्यवस्थापन गर्नेहरूले ती मानकहरूलाई कडाइका साथ पालना गरेर तिनलाई विवेकपूर्ण तरिकाले परिचालन गर्नुपर्छ। उनीहरूले राम्रो खाना आफू निकटकालाई बढी दिने होइन। उदाहरणका लागि, यदि केही स्वादिष्ठ, राम्रो गुणस्तरको चामल खरिद गरिएको छ, वा यदि कुनै फलफूल वा मासु कहिलेकाहीँ मात्र किनिन्छ, र तैँले त्यो तँ जोसँग मिल्छस् उसलाई बढी दिन्छस्, वा राम्रा चीजहरू सबै उसलाई नै दिन्छस्, र नराम्रा चीजहरू अरूलाई पठाउँछस् भने—के त्यसलाई विवेकपूर्ण परिचालन मानिन्छ? (मानिँदैन।) त्यसोभए, यसमा “विवेकशीलता” लाई कसरी मापन गर्नुपर्छ? वस्तुहरू परिचालन गर्ने कस्तो तरिकालाई विवेकपूर्ण मान्न सकिन्छ? खानाका लागि परमेश्‍वरको घरले तोकेका सिद्धान्तहरू र आवश्यक मापदण्डहरूअनुसार जति वितरण गर्नुपर्ने हो उति वितरण गर्ने बराबरी परिचालन। यदि तैँले आफू कोहीसँग नजिक भएको महसुस गर्छस् भने, तैँले उसलाई तेरो आफ्नै भाग दिन सक्छस्। अरू मानिसहरूका वस्तुहरू दिएर उदार नबन्, अनि परमेश्‍वरको घरका भौतिक वस्तुहरू प्रयोग गरेर अरू मानिसहरूलाई उदारता नदेखा; यदि तँ उदार बन्न चाहन्छस् भने, आफ्नै वस्तुहरू दिएर बन्। उदारता परमेश्‍वरको घरको सिद्धान्त नै होइन—परमेश्‍वरको घरको सिद्धान्त त विवेकपूर्ण परिचालन हो। दैनिक जीवनका आवश्यक चीजहरू र विभिन्न खानेकुराहरूको वितरण परमेश्‍वरको घरद्वारा स्थापित मानकहरूबमोजिम गर्नुपर्छ, जथाभावी तरिकाले गर्नु हुँदैन। स्वाभाविक रूपमा, अगुवा र कामदारहरूले सुपरिवेक्षण गरेर त्यस्ता वस्तुहरूको वितरणका लागि जिम्मेवार मानिसहरूको हृदय सही ठाउँमा छ कि छैन, तिनको वितरण विवेकपूर्ण छ कि छैन, परमेश्‍वरको घरका सिद्धान्तहरूबमोजिम वितरण गरिएको छ कि छैन, धेरैजसो मानिसहरूले त्यो कस्तो छ भनी रिपोर्ट गर्ने गर्छन्, उनीहरूका कुनै गुनासोहरू छन् कि छैनन्, र सबैको हेरचाह गरिएको छ कि छैन भनी हेर्छन्। कहिलेकाहीँ वस्तुहरूको अभाव भएमा के गर्नुपर्छ? के अगुवा र कामदारहरूले ती आफैले खानलाई राख्नु ठीक हो? कतिपयले भन्लान्, “अगुवा र कामदारहरूको सबैभन्दा उच्च हैसियत र प्रतिष्ठा हुन्छ, र हामीसँग सबैभन्दा धेरै बोल्ने प्रायः उनीहरू नै हुन्छन्, जसले गर्दा उनीहरूको मुख नै सुक्छ। यदि कुनै राम्रो वस्तु छ भने, उनीहरूलाई खान दिऊँ।” के यसरी वस्तुहरू परिचालन गर्नु ठीक हो? (होइन; वस्तुहरू जसलाई साँच्चिकै आवश्यक परेको छ उनीहरूका लागि राख्नुपर्छ।) यदि तुलनात्मक रूपमा महङ्गा केही स्वास्थ्य सेवासम्बन्धी उत्पादनहरूको अभाव छ भने, तिनलाई कसरी परिचालन गर्नुपर्छ? ती जसले धेरै वर्षदेखि आफूलाई परमेश्‍वरका लागि समर्पित गरेर योगदान दिएका छन् उनीहरूलाई दिइनुपर्छ। उमेरका कारणले गर्दा यस्ता मानिसहरूको स्वास्थ्य स्थिति कमजोर हुन्छ, तैपनि उनीहरू अझै इमानदारीका साथ आफ्ना कर्तव्यहरू पूरा गरिरहेका हुन्छन्, र दाजुभाइ-दिदीबहिनीहरूले उनीहरूबाट धेरै फाइदा प्राप्त गरेका हुन्छन्। यी मानिसहरूले अलि आफ्ना शरीरलाई यथास्थितिमा राख्न र त्यसको हेरचाह गर्न आवश्यक हुन्छ, र उनीहरूलाई ती स्वास्थ्य सेवासम्बन्धी उत्पादनहरू खान र प्रयोग गर्न दिनु नै ठीक हुन्छ। अभावमा रहेका वस्तुहरूका लागि कसैले पनि झगडा गर्नु हुँदैन। अगुवा र कामदारहरूले यी वस्तुहरूलाई यसरी नै परिचालन गर्नुपर्छ। के यो विवेकपूर्ण कुरा हो? (हो।) त्यसोभए, के धेरैजसो मानिसहरूले यस्तो परिचालनको विरोध गर्लान् त? के त्यस्तो कोही छ जसले यसो भनोस्, “म त्यति पाको नहुँला, तर मैले प्रशस्त काम गर्नु छ—म हरेक दिन आठ घन्टाभन्दा बढी काम गर्छु। मेरो काम त्यति कुशल नहोला, र मैले त्यो काम धेरै वर्षदेखि गर्दै आएको नहुँला, तर कहिलेकाहीँ त मेरो स्वास्थ्य पनि खासै राम्रो हुँदैन। किन कसैले पनि मेरो हेरचाह गर्दैन? राम्रा चीजहरू हुँदा, तिनलाई प्राप्त गर्ने मेरो पालो कहिल्यै आउँदैन, तर जब काम गर्नुपर्ने हुन्छ, त्यसबेला सधैँ मलाई नै खोजिन्छ”? के यस्तो व्यक्तिलाई एक भाग दिइनुपर्छ? उनीहरूले यो चीज माग्ने हिम्मत गरिहालेकाले, उनीहरूलाई अलिकति राखिदे—के त्यो विवेकपूर्ण कुरा हो? के तैँले त्यसो गर्न मान्ने थिइस्? (मान्ने थिइनँ।) यदि म भएको भए मान्ने थिएँ। यस्ता कुरामा किन यति चिन्ता लिने? मानिसहरू रमाइलोका लागि जीवन जिउँदैनन्; उनीहरू खान, पिउन, र रमाइलो गर्नका लागि जिउँदैनन्। त्यस्ता कुराहरूका लागि किन झगडा गर्ने? यदि कोही तिनका लागि साँच्चिकै झगडा गर्न चाहन्छ, र उसका परिस्थितिहरू अलि उचित नै छन् भने, उसलाई यी कुराहरूमा अलिकति रमाउन दे। उनीहरूलाई केही विशेष निगाह देखाइएको हुनेछ, तर त्यसका लागि तैँले केही पनि गुमाएको हुनेछैनस्; यति चिन्ता लिनुपर्ने आवश्यकता नै छैन। त्यसकारण, मानौँ कसैले यसो भन्यो रे, “मलाई किन अलिकति दिँदैनौ? मेरो स्वास्थ्य पनि बिग्रेको छ; यदि मैले साँच्चिकै केही राम्रो चीज खान पाएँ भने, मेरो स्वास्थ्यमा सुधार आएर म अझ बढी काम गर्न र परमेश्‍वरको घरका लागि अझ बढी पीडा सहन सक्षम हुने थिएँ, र मेरो काम अझ कुशल हुने थियो।” उनीहरूले यो अनुरोध गरेका छन् भने अस्वीकार गरेर उनीहरूलाई लज्जित तुल्याउने काम नगर्, उनीहरूलाई केही वितरण गरिदे। अरू मानिसहरूले यसको बारेमा त्यति चिन्ता लिनु पर्दैन—अलि बढी उदार बन्। ती कुराहरू नहुँदा पनि तेरो जीवन त्यसरी नै चल्नेछैन र? परमेश्‍वरले मानिसहरूलाई जे दिनुहुन्छ त्यसको अभाव हुँदैन; त्यो प्रशस्त र प्रचुर हुन्छ—वस्तुहरूका लागि झगडा गर्नुपर्ने आवश्यकता नै छैन। यदि कुनै विशेष सामान छ, र कसैलाई पनि यसको आवश्यकता छ वा यसलाई उपभोग गर्नुपर्छ भन्ने महसुस हुँदैन भने, बहुमतले अन्ततः जुन किसिमको व्यक्तिलाई सबैभन्दा उपयुक्त मान्छ उसैलाई त्यो खान दिइनुपर्छ। हामी मानवता र विवेकपूर्ण तरिकाले वस्तुहरूको परिचालन गर्नुलाई जोड दिन्छौँ। जसले यी कुराहरू प्राप्त गर्छन् उनीहरूले तिनलाई परमेश्‍वरबाट आएको भनी स्विकार्नुपर्छ र उहाँको अनुग्रहका लागि उहाँलाई धन्यवाद दिनुपर्छ। अरूले तिनका लागि झगडा गर्नु हुँदैन। यदि तैँले झगडा गरिस् भने, तँ बेसमझ छस्, तैँले जानाजानी समस्या सिर्जना गरिरहेको हुन्छस्, र तैँले सीमा नाघेको हुन्छस्। त्यस्ता विशेष परिस्थितिहरूलाई यसरी नै निराकरण गर्नुपर्छ। विशेष र साधारण परिस्थितिहरू दुवैका सिद्धान्तहरू छन्; तिनलाई जथाभावी रूपमा व्यवहार गर्नु हुँदैन, मानव सम्बन्धहरूका मागहरूका आधारमा त झनै गर्नु हुँदैन। जब यी वस्तुहरू विवेकपूर्ण तरिकाले परिचालित हुन्छन्, तब अगुवा र कामदारहरूले आफ्नो जिम्मेवारी पूरा गरेका हुन्छन्।

दैनिक आपूर्तिका सामानहरू र खाद्यान्न परिचालन गर्दा, अगुवा र कामदारहरूले वास्तविक परिस्थितिहरू, वास्तविक टाउको गन्ती र वास्तविक आवश्यकताका आधारमा पनि परिचालन गर्नुपर्छ, ताकि तिनलाई खेर जान र क्षति हुन नदिने उद्देश्यले तिनको साँच्चिकै विवेकपूर्ण तरिकाले परिचालन होस्। यो अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारी हो। कहिलेकाहीँ, जब उनीहरूसँग खास परिस्थितिहरूको बुझाइ नहुँदा, उनीहरूले केही कुराहरू एउटा आधारभूत सिद्धान्तअनुसार परिचालन गर्न, र पछि सबैको प्रतिक्रिया र त्यसपछिको अनुगमनमार्फत परिचालन विवेकपूर्ण थिएन, त्यो अलि नियमद्वारा बाँधिएको थियो भनेर थाहा पाउन सक्छन्। त्यो अवस्थामा, उनीहरूले त्यस समस्याको पुनरावृत्ति रोक्न र बरबादी र क्षति कम गर्न अर्को पटक सुधार गर्नैपर्छ। त्यो नै आफ्नो जिम्मेवारी पूरा गर्नु हो। अवश्य पनि, क्षति र बरबादी रोक्नका निम्ति, उनीहरूले एकातिर वस्तुहरू परिचालन गर्दा बढी परामर्शहरू लिनुपर्छ; उनीहरूले कडाइका साथ सिद्धान्तहरूलाई पनि पालना गर्नुपर्छ। यो जरुरी छ। वस्तुहरू जथाभावी रूपमा वितरण गर्ने, जसलाई साँच्चिकै आवश्यक परेको छ उनीहरूलाई नदिने, इमानदारीका साथ आफ्नो कर्तव्य पूरा गर्ने र सत्यता वास्तविकता भएकाहरूलाई नदिने, तर विशेषगरी आत्मिक बुझाइ नभएका चापलुसहरूलाई दिने काम नगर्। के त्यसो गर्नु सिद्धान्तहरूबमोजिम कार्य गर्नु हो? (होइन।) के त्यसो गर्नु बेकाबु असावधानी होइन र? सिद्धान्तहरूअनुसार कार्य नगर्नु भनेको आफ्ना जिम्मेवारीहरू पूरा नगर्नु हो। आफ्ना जिम्मेवारीहरू पूरा गर्नु भन्नाले के जनाउँछ? त्यो झारा नटार्नु र नियमहरू पालना गर्नु हो, र त्यो श‌ृङ्खलाबद्ध कदमहरू चालेर पूरा हुने होइन—बरु, त्यो परमेश्‍वरको घरले माग गरेका सिद्धान्तहरूलाई साँच्चिकै कडाइका साथ पालना गरेर कार्य गर्नु, र परमेश्‍वरको घरको कुनै पनि कुरामा कुनै बरबादी वा क्षति नहुने पनि सुनिश्चित गर्नु हो। आफ्नो जिम्मेवारीलाई साँचो रूपमा पूरा गर्नु भनेको त्यही नै हो। उदाहरणका लागि, पाँच जना मानिसहरूलाई अण्डा वितरण गर्दा, तैँले हरेक व्यक्तिलाई दिनमा एउटा दिनुपर्छ, र ती हरेक दस दिनमा पठाउनुपर्छ, ताकि तैँले ठ्याक्कै पचास वटा पठाउँछस्। तैँले तिनलाई यसरी नै वितरण गर्नुपर्छ किनभने, एकातिर, त्यो थोरै सङ्ख्या हो र त्यसलाई हेरचाह गर्न सजिलो हुन्छ; यसबाहेक, यो उनीहरूलाई खानका लागि ठ्याक्कै सही मात्रा हो। परमेश्‍वरको घरले माग गरेका मानक र निर्देशहरूअनुसार यसरी अभ्यास गर्नु अत्यन्तै सही हुन्छ—त्यो नै सिद्धान्तहरूअनुसार कार्य गर्नु हो। यदि कुनै अगुवा वा कामदारले झन्झटको डरले उनीहरूलाई एक पटकमा सय दिन बराबरको अण्डा—पाँच सय वटा अण्डा—वितरण गर्‍यो भने, के त्यो उचित हुन्छ? ल भन्, के पुर्‍याउन र हेरचाह गर्नका लागि पचास वटा अण्डा सजिलो हुन्छ, कि पाँच सय वटा? (पचास वटा।) थोरै सङ्ख्या भए पुर्‍याउन र हेरचाह गर्न बढी सजिलो हुन्छ। कतिपय मानिसहरूले सय दिन बराबरको पठाउँछन्, र फलस्वरूप, कति त बाटोमै फुट्छन्, र कति चाहिँ गन्तव्यमा पुर्‍याउँदा कुच्चिन्छन्। अलिअलि फुट्दै एक भागमा क्षति पुग्छ। यसबाहेक मानिसहरूले धेरै अण्डाहरू पठाइएको देखेपछि तिनलाई यतिकै खेर फाल्छन्, त्यसैले अर्को ढुवानी नहुन्जेल उनीहरूसँग खानलाई अन्डा नै हुँदैन। त्यसैले, जब यी अन्डाहरू फुट्छन् र तिनमा क्षति पुग्छ, के त्यो अगुवा र कामदारहरूको कर्तव्य विमुखताले निम्त्याएको होइन र? (हो।) यदि उनीहरूले अझ बढी मागेमा, के तैँले उनीहरूलाई दिन मिल्छ? सिद्धान्तहरूअनुसार, तैँले उनीहरूलाई तोकिएको मितिभन्दा अगाडि अलिकति पनि बढी दिन मिल्दैन, तर खानका लागि आफूसँग केही पनि नभएपछि उनीहरू दुःखित हुन्छन्। यहाँ के गर्नुपर्छ? (तिनलाई समयमा र सही मात्रामा दिइनुपर्छ।) तिनलाई समयमा र सही मात्रामा दिनु नै सिद्धान्तहरूअनुसार कार्य गर्नु हो—त्यो नै विवेकपूर्ण परिचालन हो। यी कुराहरू परिचालन गर्दा, अगुवा र कामदारहरूले कुनै पनि हालतमा विवेकपूर्ण परिचालनको सिद्धान्त र परमेश्‍वरको घरले माग गरेको मानकलाई पालन गरेर तिनलाई समयमा र नियमित रूपमा वितरण गर्नुपर्छ। त्यसबाहेक, उनीहरूले कतै खेर गएका छन् कि, खेर गएका कारण अभाव भएका वस्तुहरूको पुनः आवेदन वा अनुरोध भएका छन् कि, र मानिसहरूलाई मन नपरेका चीजहरू वितरण गर्दा खेर गएका छन् कि भनेर तत्काल बुझ्नुपर्छ। उदाहरणका लागि, मासु र तरकारीहरू दुइटै वितरण गरिएका छन्, तर अधिकांश मानिसहरूले मासु रुचाउँछन्, त्यसैले उनीहरूले त्यसलाई तीन वा पाँच दिनमा खाइसक्छन्, र तरकारीहरू बाँकी रहन्छन्। तरकारीहरू राम्रो अवस्थामा हुँदैनन्; कति त केही समयपछि बिग्रेर कुहिन्छन्, त्यसकारण ती अर्को पटक वितरण गर्नुअघि नै सकिन्छन्। त्यसपछि कसैले पुनः आवेदन दिएर थप माग्न सक्छ। के यस्तो अवस्थामा थपेर दिनुपर्छ? के उनीहरूलाई थपेर दिनु विवेकपूर्ण हुन्छ? (हुँदैन।) अरू मानिसहरूले लुकीलुकी मासु र अन्डा खाइदिन्छन्, र आफूलाई मन पर्ने सबै तरकारी खाइदिन्छन् तर आफूलाई मन नपर्ने तरकारी नखान यावत् किसिमका कारण र बहानाहरू दिन्छन्। जब तरकारीहरू पहेँलो हुन्छन् र बिग्रन्छन्, उनीहरूले ती खान अयोग्य भएको भन्छन्, र अन्त्यमा ती सुँगुर वा कुखुरालाई खुवाउँछन्, नत्र फालिदिन्छन्, र त्यसपछि थप माग्छन्। अगुवा र कामदारहरूले यस्तो घटना सामना गर्दा, उनीहरूले त्यसलाई कसरी सम्हाल्नुपर्छ? यदि उनीहरूले “म तिमीहरूलाई अर्को पटक बढी दिनेछु, किनभने यतिले नपुग्ने देखिन्छ—म तिमीहरूलाई अझ बढी प्रदान गर्नेछु, किनभने तिमीहरूले धैरै खान्छौ” भन्छन् भने, के त्यो त्यसलाई सम्हाल्ने उचित तरिका हो? के त्यो अन्धोपन होइन र? (हो।) उनीहरू कसरी अन्धा हुन्? (उनीहरूले साँच्चिकै के भइरहेको छ भन्ने कुरा बुझ्दैनन्: उनीहरूले वितरण गरेको खाद्यान्न अपुग हुनुको मूल कारण भनेको त्यसलाई खेर फालिने भएर हो।) उनीहरू साँच्चिकै के भइरहेको छ भन्ने कुरा नबुझी निष्कर्षमा पुग्छन्। धेरैजसो ठाउँहरूमा, परमेश्‍वरको घरका निर्देशहरूअनुसार वितरण गरिएको खाद्यान्न खानका लागि पर्याप्त हुन्छ। त्यो एउटा ठाउँमा चाहिँ किन कहिल्यै पर्याप्त हुँदैन? के त्यसका लागि विशेष छानबिन आवश्यक छैन र? उनीहरूले के भइरहेको छ भनी हेर्नका लागि स्थलमै गएर परिस्थितिबारे होसियारीपूर्वक र विस्तृत रूपमा सोध्नुपर्छ। अन्त्यमा, उनीहरूको छानबिन र बुझाइमार्फत, उनीहरूले त्यस ठाउँको भान्से खराब र अनैतिक व्यक्ति रहेको, जसले मानिसहरूको खाना कुखुरालाई दिने गरेको, र यसरी जानाजान परमेश्‍वरको घरको खान खेर फाल्ने गरेको थाहा पाउँछन्। उनीहरू खानेकुरामा अत्यन्तै रोजीछानी गर्छन्, र स्वादिष्ठ खाना मात्र खान रुचाउँछन्। मासु नहुँदा उनीहरूले तरकारी नै खाँदैनन्, र मासु छ भने तोफु समेत खाँदैनन्। अण्डा पाएको बेलामा, उनीहरूले हरेक पटक खानासँग खान्छन्। उनीहरूले स्वादिष्ठ खाना मात्र रोज्छन् र कुनै पनि सामान्य तरकारी खाँदैनन्, न त ती बिग्रिन्छन् कि भनेर वास्ता गर्छन्। बुझाइअनुसार भान्से खराब व्यक्ति भएको देखिएको छ—के अर्को पटक वस्तुहरू वितरण गर्दा उसलाई भत्ता बढाएर दिनुपर्छ? (पर्दैन।) के उसलाई बढी नदिनु नै समाधान होइन र? यस्तो समस्या पत्ता लागेपछि त्यसलाई कसरी समाधान गर्नुपर्छ? उसलाई तुरुन्तै प्रतिस्थापित गर्; उसलाई निकालेर कर्तव्य सम्हाल्न अलिकति मानवता भएको व्यक्तिलाई राख्। समस्या पत्ता लगाएर त्यसलाई तत्काल समाधान गर्, अनि त्यस्ता दुष्ट मानिसहरू, त्यस्ता कुहिएका स्याउलाई हटा। कतिले सोध्न सक्छन्, “उनीहरूले अब पकाउन छाडेका छन् भने, के उनीहरूलाई कुखुरालाई चारो खुवाउन लगाउँदा ठीक हुन्छ?” (हुँदैन।) यदि तिनीहरूले कुखुरालाई चारो खुवाएमा, कुखुराहरूले अण्डा पार्नेछैनन्; यदि तिनीहरूले सुँगुरलाई चारो खुवाएमा, सुँगुरहरू दुब्लाउँछन्। तिनीहरूलाई केहीलाई पनि खुवाउन लगाउनु हुँदैन। त्यस्ता मानिसहरूलाई खेदाउनैपर्छ—तिनीहरू परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्न अयोग्य हुन्छन्। यदि परमेश्‍वरको घरका भौतिक वस्तुहरू परिचालन गर्दा अन्य कुनै समस्याहरू भेटिएमा, तिनलाई पनि तत्काल समाधान गरिनुपर्छ। यी समस्याहरूलाई समाधान गर्नुको उद्देश्य के हो? परमेश्‍वरको घरका भौतिक वस्तुहरूको नाश र बिगारलाई कम गर्नु। कतिले सोध्लान्, “ती समस्याहरू समाधान गर्न भान्सामै गएर छानबिन गर्नुपर्छ। अगुवा र कामदारहरू भान्सामा प्रवेश गर्न पाउँदैनन् भनेर तपाईंले नै भन्नुभएको होइन र? अहिले चाहिँ उनीहरू किन प्रवेश गर्न पाउँछन्?” ती दुई अलग सवालहरू हुन्। मैले उनीहरू जान पाउँदैनन् भनेको थिइनँ—त्यो त अगुवा र कामदारहरूको काम गर्न नजान्ने, उद्देश्यबिना पर्खेर बस्ने र हिँडडुल गर्ने, हैसियतका लाभहरूको लोभ गर्ने, सधैँ भान्सामा गएर राम्रा चीजहरू खोजेर खाने प्रवृत्तिको विश्लेषण थियो। अहिलेको प्रसङ्गमा, उनीहरू भान्सामा समस्याहरू समाधान गर्न गइरहेका छन्, न कि राम्रा चीजहरू खोजेर खान। जानुपर्ने बेलामा जा अनि जानु नपर्ने बेलामा नजा। अगुवा र कामदारहरूले गर्नुपर्ने कामहरू धेरै हुन्छन्, र यो उनीहरूको कामहरूमध्ये एक हो, जसको विशेष समस्याहरू भान्साको गहिराइमा पुगेर अनि विवरणहरूबारे बुझाइ प्राप्त गरेर मात्र थाहा पाउन सकिन्छ। यदि कुनै भान्से अनुपयुक्त भेटिएमा, उसलाई तुरुन्तै बर्खास्त गरेर उसको ठाउँमा उपयुक्त व्यक्तिलाई राख्नुपर्छ। त्यसो गर्नाले परमेश्‍वरको घरद्वारा वितरण गरिएका वस्तुहरू नाश नहुने र नबिग्रने सुनिश्चित हुन्छ। मैले जसरी भने पनि, अगुवा र कामदारहरूप्रतिको माग भनेको उनीहरू आफ्ना जिम्मेवारीहरू पूरा गरून् भन्ने हो—यदि कुनै कुरामा चिन्ता लिनु र त्यो गर्नु तेरो जिम्मेवारी हो भने, तैँले कुनै पनि हालतमा त्यसको चिन्ता लिनुपर्छ र त्यो काम गर्नुपर्छ। तैँले आफ्नै आँखाले हेर्नुपर्छ र हरेक प्रकारको व्यक्तिले के भन्छ भनेर आफ्नै कानले ध्यानपूर्वक सुन्नुपर्छ—र अवश्य पनि, तैँले यावत् किसिमका कुराहरूबारे राय, सोच, र समझशक्ति राख्न पनि हृदयबाटै सिक्नुपर्छ; अर्को महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरको घरद्वारा पालना गर्न माग गरिएका सिद्धान्तहरूलाई हृदयमा लिनु, र कुनै पनि समयमा तीबाट विचलित नहुनु हो। तैँले जे काम गरिरहेको भए पनि, सुरुमा तैँले परमेश्‍वरको घरले माग गरेका सिद्धान्त र नियमहरू के-के हुन् भनी बुझ्नैपर्छ; तैँले काम सुरु गर्नुअघि आफैलाई थप केही पटक यस्ता प्रश्नहरू सोध्नैपर्छ: के म परमेश्‍वरको घरले माग गरेका सिद्धान्तहरूबारे प्रस्ट छु? यदि यो परमेश्‍वरको घरका सिद्धान्तहरूअनुसार गर्ने हो भने यो कसरी गर्नुपर्छ? विशेष परिस्थितिहरूमा सिद्धान्तहरूअनुसार यो कसरी गर्नुपर्छ? साधारण परिस्थितिहरूमा यसलाई कसरी सम्हाल्नुपर्छ? तैँले काम सुरु गर्नुअघि कुनै पनि हालतमा यी र यस्तै अन्य प्रश्नहरू आफैलाई धेरै सोध्नुपर्छ, र परमेश्‍वरसमक्ष बढी प्रार्थना गर्नुपर्छ। यसको एउटा पाटो आत्मजाँच हो; अर्को पाटो भनेको परमेश्‍वरको छानबिनलाई स्विकार्नु हो। त्यसो गर्दा अगुवा र कामदारहरूलाई कम गल्तीहरू गर्न र आफ्नो काममा कम विचलित हुन, परमेश्‍वरको घरका भौतिक सामानहरूको नाशलाई कम गर्न, र उहाँको घरलाई पर्न जाने घाटाहरू कम गर्नमा मदत पुग्छ। अझ महत्त्वपूर्ण कुरा के हो भने त्यसो गर्नाले अगुवा र कामदारहरूका जिम्मेवारीहरू कायम रहन्छन् र ती जिम्मेवारीहरू पूरा हुन्छन्। अगुवा र कामदारहरूले साँचो रूपमा गर्नुपर्ने नै यही हो। यो नै अगुवा र कामदारहरूप्रतिको माग हो। परमेश्‍वरको घरका विभिन्न भौतिक सामानहरूको सुरक्षा र परिचालन गर्नु कुनै जटिल कार्य होइन। एउटा पाटो भनेको त्यो अगुवा र कामदारहरू आफै सिद्धान्तहरूसँग परिचित हुने कुरा हो; यसको अर्को पाटो भनेको अगुवा र कामदारहरूले विभिन्न भौतिक सामानहरू व्यवस्थापन गर्न जिम्मेवार मानिसहरूलाई यी सिद्धान्तहरू अझ बढी सङ्गति गर्नुपर्छ, कामकुराको अझ धेरै अनुगमन गर्नुपर्छ र कामकुरालाई अझ बढी बुझ्ने कोसिस गर्नुपर्छ र व्यवस्थापनको स्थितिबारे अझ बढी छानबिन गर्नुपर्छ, र त्यो सँगसँगै परमेश्‍वरको घरका विभिन्न भौतिक सामानहरू परिचालन गर्ने कामका सुपरभाइजरहरूसँग अझ बढी सङ्गति गरेर उनीहरूलाई यी सिद्धान्तहरूको अझ राम्रो बोध प्रदान गर्नुपर्छ। अवश्य पनि, ती मानिसहरूले कसरी वस्तुहरूको परिचालन र वितरण गरिरहेका छन्, र कुनै विशेष परिस्थितिहरू छन् कि छैनन् भनेर पनि अगुवा र कामदारहरूले निरन्तर रूपमा सोध्नैपर्छ—उदाहरणका लागि, परमेश्‍वरको घरले फरक-फरक मौसममा, फरक-फरक समयमा, र विभिन्न किसिमका मानिसहरूप्रति फरक-फरक मागहरू हुने अवस्थामा माग गरेका सिद्धान्तहरूअनुसार सुपरभाइजरहरूले वस्तुहरू परिचालन गरिरहेका छन् कि छैनन्। त्यसो गर्नुको उद्देश्य भनेको परमेश्‍वरको घरका विभिन्न वस्तुहरूलाई प्रभावकारी रूपमा आफ्ना कार्यहरू निर्वाह गर्न सक्षम पार्नु, र तिनलाई सबैभन्दा विवेकपूर्ण तरिकाले प्रयोग गर्नु, र सबैभन्दा उत्कृष्ट हेरचाह र उत्कृष्ट सम्भारका साथ तिनको सुरक्षा गर्नु हो। यो अगुवा र कामदारहरूको जिम्मेवारी हो।

परमेश्‍वरको घरका भौतिक वस्तुहरूलाई राम्ररी व्यवस्थापन गर्नु परमेश्‍वरका चुनिएका सबै मानिसहरूको जिम्मेवारी हो

अगुवा र कामदारहरूका जिम्मेवारीहरू बुझेपछि, के तिमीहरूले हरेक दाजुभाइ-दिदीबहिनीले परमेश्‍वरको घरका विभिन्न भौतिक वस्तुहरूलाई व्यवहार गर्दा उनीहरूले बोध गर्नुपर्ने सिद्धान्तहरू पनि बुझेका छौ? भलै तिमीहरू अगुवा र कामदार होइनौ होला, तर पनि तिमीहरूले सुपरिवेक्षणको जिम्मेवारी पूरा गर्नुपर्छ। यो परमेश्‍वरका चुनिएका मानिसहरूको अधिकार हो। साथै, परमेश्‍वरको घरका विभिन्न भौतिक सामग्रीहरू—यावत् प्रकारका पुस्तक र उपकरणहरू; दैनिक खानपान, र सामग्रीहरू; आदि इत्यादि—लाई सबैले प्रेम र हेरचाहका साथ व्यवहार गर्नुपर्छ। आफूले प्रयोग गरिरहेका विभिन्न वस्तुहरूलाई पनि सबै जनाले नियमित जाँच, मर्मत, र सम्भार गर्नुपर्छ, र उनीहरूले तिनलाई विवेकपूर्वक प्रयोग गर्नुपर्छ—तिनलाई तेरो स्वामित्वमा हुँदा क्षति र नाश हुन नदे, वा तिनलाई जथाभावी नफाल्। कतिपयले भन्छन्, “आखिरमा, यो चीज मेरो होइन। मैले यो आफ्नै पैसाले किनेको होइन। यो त मलाई परमेश्‍वरको घरले दिएको हो—यो सार्वजनिक सम्पत्ति हो। मैले यो कहिले सम्भार र मर्मत गरिन्छ, वा यसलाई कहाँ राखिन्छ भन्नेबारे वास्ता गर्नु पर्दैन। मैले यसलाई अपहरण गरेझैँ आफू जता गयो त्यतै लिएर हिँड्न मिल्दैन।” के यो विवेकपूर्ण सोच हो? (हो।) त्यसोभए, परमेश्‍वरको घरका भौतिक सामग्रीहरू प्रयोग गर्दा कस्ता सिद्धान्तहरू पालना गर्नुपर्छ? यदि केही चीज तेरो प्रयोजनका लागि परिचालन गरिएको छ भने, तैँले त्यसलाई प्रयोग गर्दा त्यसको मर्मत र हेरचाह गर्नु तेरो जिम्मेवारी हो। तँ नै पूर्ण रूपमा जिम्मेवार हुन्छस्; अरू कसैको अनुरोध वा सुपरिवेक्षणबिना, तैँले उक्त सामग्रीलाई तेरो व्यक्तिगत सम्पत्तिझैँ व्यवहार गर्ने, प्रिय ठान्ने, र संरक्षण गर्ने गर्नुपर्छ। मानवता हुनु भनेको नै त्यही हो। त्यो चीज तँलाई दिँदा जुन अवस्थामा भए पनि, जब तँलाई त्यो प्रयोग गर्ने अनुमति हुँदैन वा जब तैँले प्रयोग गरिसक्छस्, तब तैँले त्यो जसले त्यसलाई पूर्ण रूपमा अक्षुण्ण र मौलिक अवस्थामा रहने गरी जोगाउँछ उही व्यक्तिलाई फिर्ता गर्नुपर्छ। यसलाई समझ भएको भनिन्छ; यो मानवतामा हुनुपर्ने चीज हो। तँ आफूले परमेश्‍वरमा विश्‍वास गर्ने, आफूमा विवेक र समझ भएको, आफूले सत्यतालाई प्रेम गर्ने, त्यसलाई पछ्याउने, र त्यसप्रति समर्पित हुने गरेको भन्छस्, तर यदि तँसित कुनै भौतिक सामग्रीलाई व्यवहार गर्दा हुनुपर्ने सबैभन्दा न्यूनतम मानवता समेत छैन भने, तैँले कसरी सत्यतालाई प्रेम गर्ने वा अभ्यास गर्नेबारे कुरा नै गर्न सक्छस्? के त्यो अत्यन्तै खोक्रो कुरा होइन र? यदि तैँले कुनै भौतिक वस्तुप्रतिको व्यवहारमा आफूले पूरा गर्नुपर्ने जिम्मेवारी समेत पूरा गर्न सक्दैनस् भने, त्यसको मतलब तेरो मानवता राम्रो छैन—त्यसलाई सामान्यतया “मानवताको कमी भएको” भन्ने गरिन्छ। यसको अतिरिक्त, तैँले आफ्नै सामानहरूलाई जसरी प्रयोग गर्ने भए पनि, तैँले तिनलाई लापर्बाही वा सावधानीपूर्ण व्यवहार गरे पनि, त्यो तेरो अधिकारको कुरा हो। कसैले पनि हस्तक्षेप गर्नेछैन। तर परमेश्‍वरको घरका सामानहरू प्रयोग गर्नका लागि त्यसका सिद्धान्तहरू छन्। यी सिद्धान्तहरू सबै विवेक र समझमा आधारित हुन्छन्, र ती सत्यताको स्तरमा पुग्न नसक्ने भए पनि, ती कम्तीमा मानवताका मापदण्डहरूसँग मेल खान्छन्। यदि तैँले मानवताको यो मापदण्ड समेत पूरा गर्न सक्दैनस्, यदि तैँले परमेश्‍वरको घरले आफूलाई प्रदान गरेका उपकरण र सामग्रीहरूलाई सही तरिकाले व्यवहार र प्रयोग गर्न समेत सक्दैनस् भने, तैँले सत्यता बुझ्न सक्छस् कि सक्दैनस् र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा समस्या बन्छ—यसमा प्रश्नचिन्ह उठ्छ। त्यसकारण, यी कुराहरूलाई व्यवहार गर्ने सम्बन्धमा, तँसित तिनलाई प्रयोग गर्ने अधिकार हुन्छ, र तँसित स्वाभाविक रूपमा तिनलाई मर्मत, सम्भार, र हेरचाह गर्ने जिम्मेवारी पनि हुन्छ। तैँले यी कुराहरूलाई गम्भीरताका साथ लिनैपर्छ। यदि तैँले गैरविश्‍वासीहरूले जस्तै यसो भन्छस्, “आखिरमा, यो मेरो होइन। मैले यो आफ्नो पैसाले किनेको होइन। यदि कुनै सार्वजनिक चीज बिग्रियो भने बिग्रियो—नयाँ किन्नुपर्छ, वा बाध्यता नै पर्‍यो भने मर्मत गर्नुपर्छ। तैपनि, मैले कुनै चीज गुमाएको त छैन।” यदि तैँले त्यसरी नै सोच्छस् भने, त्यो समस्या हो—तँ खतरामा छस्। तँसित सोझो चरित्र छैन, र तेरो हृदय सही ठाउँमा छैन। आफ्ना चीजहरूलाई मितव्ययी तरिकाले प्रयोग गर्ने, तर परमेश्‍वरको घरका चीजहरूलाई महत्त्वहीन ठान्ने, तिनलाई प्रिय ठानेर ख्याल नगर्ने—के त्यो हृदय सही ठाउँमा नभएको व्यक्ति होइन र? के परमेश्‍वरले हृदय सही ठाउँमा नभएका मानिसहरूलाई मन पराउनुहुन्छ? (मन पराउनुहुन्न।) ल भन्, के परमेश्‍वरले हृदय सही ठाउँमा नभएका मानिसहरूको छानबिन गर्नुहुन्छ? (गर्नुहुन्छ।) परमेश्‍वरले हृदय सही ठाउँमा भएका र नभएका दुवैलाई एउटै तरिकाले छानबिन गर्नुहुन्छ। जब तैँले परमेश्‍वरको छानबिन स्विकार्छस्, यदि तैँले आफूले त्यस तरिकाले सोचिरहेको पाइस् भने के गर्नुपर्छ? त्यसलाई वास्तै नगर्ने? त्यसको जाँच नै नगर्ने? त्यसबारे चासो नै नराख्ने? “म जे सोच्छु त्यो मेरो कुरा हो। त्यसमा हस्तक्षेप गर्ने तँ को होस्? यदि तैँले मलाई केही चीज प्रयोग गर्न दिइस् भने, मलाई त्यो प्रयोग गर्ने अधिकार हुन्छ—र कुनै पनि हालतमा, यदि मैले उक्त मेसिन बिगारिनँ भने हुन्छ। तँ किन त्यस्तो उच्च र यति धेरै मागहरू राख्छस्?” के यो सोच्ने तरिका राम्रो हो? (होइन।) त्यो “मानवताको कमी हुनु” हो। यदि तँलाई त्यस्ता सोचहरू आउँछन् भने, तैँले परमेश्‍वरको छानबिन स्विकारेर यसो भन्नुपर्छ, “परमेश्‍वर, ममा भ्रष्ट स्वभाव छ, र मेरो मानवता कमजोर छ। म सोच्ने गर्थेँ कि म अत्यन्तै आदर्शमयी र सम्मानयोग्य छु, कि ममा इज्जत छ; म यो सानो चीजले मेरो प्रकाश गर्ला भनेर मैले सोच्दिनँथे: मसित स्वार्थी चाहनाहरू छन्; मेरो हृदय सही ठाउँमा छैन; मेरा आफ्नै स-साना उद्देश्यहरू छन्। म तपाईंको छानबिन र तपाईंको ताडना स्विकार्न इच्छुक छु, र म आफूलाई परिवर्तन गर्न पनि इच्छुक छु।” तैँले परमेश्‍वरसमक्ष प्रार्थना र पश्चात्ताप गर्नैपर्छ, र उहाँलाई तेरो छानबिन गर्न दिनुपर्छ। जब तैँले उहाँको छानबिन स्विकारेको हुन्छस्, तब तैँले आफूलाई कसरी परिवर्तन गराउनुपर्छ? तैँले यसो भन्नेछस्, “मैले एकताका जसरी सोच्थेँ त्यो अनैतिक थियो—त्यो गैरविश्‍वासीहरूको, अविश्‍वासीहरूको सोचाइ हो। अब मैले त्यस्तो सोच्नै मिल्दैन। मैले त्यो बाटो लिनै हुँदैन। म परमेश्‍वरको विश्‍वासी हुँ; म एक मानवता र इज्जत भएको व्यक्ति हुनु आवश्यक छ। मैले त्यस्ता कामकुरा गर्नुपर्छ जसलाई परमेश्‍वरले प्रेम गर्नुहोस्। मैले भविष्यमा उपकरण र मेसिनहरू प्रयोग गर्ने आफ्नो तरिका बदल्नुपर्छ। मैले तिनलाई आराम चाहिएको बेलामा आराम गर्न दिनैपर्छ, र आवश्यकताअनुसार तिनको मर्मत र सम्भार गर्नुपर्छ। मैले तिनलाई बारम्बार सफा गर्नुपर्छ, र नियमित रूपमा तिनका विभिन्न पाटपुर्जाहरू जाँचेर तिनको सामान्य प्रयोग सुनिश्चित गर्नुपर्छ। अनि प्रयोग गरिसकेपछि म तिनलाई तुरुन्तै सफा गरेर सुरक्षित ठाउँमा फिर्ता राख्नेछु, ताकि असम्बन्धित मानिसहरूले तिनलाई छेडछाड गर्न नपाऊन्।” अनि त्यसपछि, तैँले भविष्यमा फेरि पनि मेसिनहरू प्रयोग गर्दा, तँ अत्यन्तै सावधान र ध्यान दिने हुनेछस्। तेरा विचारहरू निरन्तर रूपमा परिवर्तन हुँदै जानेछन्, र तेरा तरिकाहरूमा सुधार आउनेछन्, पहिलेका स्वार्थी, घृणास्पद सोच र कार्यहरूबाट जिम्मेवारीको भावना, वस्तुहरूको ख्याल गर्ने मन र जिम्मेवारी लिने मनमा बदलिनेछ। तेरो सोचाइमा परिवर्तन आउनु नै आफूलाई साँच्चिकै परिवर्तन गर्ने सुरुवात हो। जब तैँले आफ्नो सोच र विचारलाई आफ्नो अभ्यासमा उतार्छस् तब त्यो तेरा तरिकाहरूमा आएको परिवर्तन बन्छ। त्यो यो स्तरमा पुगेपछि नै परमेश्‍वरले देख्नुहुन्छ कि तैँले साँच्चिकै आफूलाई परिवर्तन गरिरहेको र पश्चात्ताप गरिरहेको छस्; तैँले ल्याउने यी बदलाव र परिवर्तनहरू परमेश्‍वरका लागि साँच्चिकै स्वीकार्य हुनेछन्। यो सत्यता अभ्यास गर्नु हो। सत्यता अभ्यास गर्दा व्यक्तिमा हुनैपर्ने सबैभन्दा आधारभूत कुरा के हो? मानिसहरूमा हुनुपर्ने विवेक र समझ। अनि के स्वार्थी र घृणास्पद व्यक्तिसित विवेक र समझ हुन्छ? (हुँदैन।) तँलाई परमेश्‍वरको घरका वस्तुहरू यत्रतत्र छोड्न, वा तिनलाई क्षति र नाश गर्न, वा तीप्रति गैरजिम्मेवार हुन मिल्दैन भनेर धर्मसिद्धान्तको रूपमा थाहा हुन सक्छ—तर तेरो हृदय र सोचाइमा तेरो मनोवृत्ति चाहिँ के छ? “ती चीजहरूको ख्याल गर्नुको के अर्थ? त्यो चीज नै मेरो होइन।” त्यस्तो सोचाइले तेरो व्यवहारलाई निर्देशित गर्नेछ, अनि तैँले जानेको धर्मसिद्धान्तको केही काम लाग्छ त? लाग्दैन—त्यो केवल धर्मसिद्धान्त हुनेछ जुन बिलकुलै काम लाग्दैन। जब तेरो सोचाइ र विचारहरू उल्टिन्छन्, र तैँले साँचो रूपमा आफूलाई परिवर्तन गरेको र परमेश्‍वरसमक्ष पश्चात्ताप गरेको हुन्छस्, तब मात्र तेरो व्यवहार र तेरा व्यावहारिक कार्यहरू परिवर्तन हुन थाल्नेछन्। त्यही बेला तेरो जियाइमा मानवता देखिन थाल्नेछ; त्यही बेला तँ सत्यता वास्तविकतामा प्रवेश गर्न थाल्नेछस्। त्यस्तो सानो कुराले नै एउटा व्यक्तिको मानवताका साथै त्यस व्यक्तिले सत्यतालाई साँच्चिकै प्रेम गर्छ कि गर्दैन भन्ने कुरा प्रकाश गर्छ।

परमेश्‍वरको घरका विभिन्न भौतिक सामानहरूको व्यवस्थापन गर्नु अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारी हो, र परमेश्‍वरका चुनिएका मानिसहरू हरेकले सामूहिक रूपमा सुपरिवेक्षण, सहयोग, र सक्दो सहकार्य प्रदान गर्नुपर्छ। यो हरेव्यक्तिको जिम्मेवारी हो। परमेश्‍वरका चुनिएका मानिसहरू उदाहरण बन्नुपर्छ। उनीहरूले आफूबाटै सुरु गर्नुपर्छ—उनीहरू आफैले राम्रो काम गर्ने भएपछि मात्र अरूलाई सुपरिवेक्षण गर्न, र अरूले जे गर्छन् त्यो उचित र सिद्धान्तहरूसँग मिल्दो छन् कि छैनन् भनी मूल्याङ्कन योग्य बन्छन्। यो सबैलाई समेट्ने मामला हो, त्यो सानो कुराले मानिसहरूको मानवताका साथै सत्यताप्रति उनीहरूको मनोवृत्ति प्रकाश गर्छ। अगुवा र कामदारहरूले यो काम परमेश्‍वरको घरका सिद्धान्तहरूअनुसार राम्रोसँग र अत्यन्तै जोशका साथ गर्नुपर्छ, साथै हरेक साधारण दाजुभाइ-दिदीबहिनीले पनि यस मामलालाई कडाइ र सतर्कताका साथ हेर्नुपर्छ। तैँले बारम्बार आत्मचिन्तन गर्नुपर्छ, तेरो मानवता र सोचाइमा समस्याहरू छन् कि, तँसित कस्तो किसिमको मनोवृत्ति छ भनी चिन्तन गर्नुपर्छ। जब तैँले आफ्नो मनोवृत्ति र सोचाइमा समस्या छ भनेर थाहा पाउँछस्, तब तैँले तत्काल प्रार्थना गरेर आफूलाई उल्टाउनुपर्छ—अनि परमेश्‍वरको घरका सामानहरू व्यवस्थापन वा प्रयोग गर्दा, तैँले एकातिर विवेकद्वारा गाली नगरिन र परमेश्‍वरसामु नचुक्न, र अर्कोतिर अरूको आदर पाउने र उनीहरूलाई तैँले जे गर्छस् त्यसको अनुमोदन गराउने, र तँसित मानवता छ जुन सबैले देख्न सक्छन् भनेर भन्न लगाउने प्रयास गर्नुपर्छ। मुख्य कुरा भनेको मानिसहरूले यसो गर्दा सिद्धान्तहरू पालना गर्नु हो। यो मानिसहरूले पूरा गर्नुपर्ने दायित्व, र परमेश्‍वरको घरको कुनै पनि सदस्यले हासिल गर्नुपर्ने कुरा हो। यो अगुवा र कामदारहरूको मात्र जिम्मेवारी होइन।

के अब तिमीहरू अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दसौँ विषयवस्तुबारे धेरथोर प्रस्ट भयौ? सिद्धान्तहरू बुझेपछि, मानिसहरूले यो काम गर्दा बढी ध्यान र होसियारी पुर्‍याउनुपर्छ, र त्योसँगै उनीहरूले बढी पीडा भोग्नुपर्छ, र अल्छी गर्नु हुँदैन—त्यसपछि उनीहरू मूलतः परमेश्‍वरको घरका भौतिक वस्तुहरूको क्षति र नाश कम गर्न, र तिनलाई दुष्ट मानिसहरूको स्वामित्वमा पर्न नदिन सक्षम हुनेछन्। यो हासिल गर्न सकिन्छ। म किन यो हासिल गर्न सजिलो छ भन्छु? यी त्यस्ता मामलाहरू हुन् सबैको घरमा हुने दैनिक जीवनसँग सम्बन्धित हुन सक्छन्। तेरो आफ्नै घरका वस्तुहरू व्यवस्थापन गर्नमा ध्यान दिनु सजिलो हुन्छ, त्यसैले यदि तैँले परमेश्‍वरको घरका वस्तुहरूलाई आफ्नै जस्तो गरेर, उहाँको घरका मागहरूअनुसार सुरक्षा गर्छस्, तिनलाई विवेकपूर्वक परिचालन गर्छस्, क्षति र नाश कम गर्छस्, र तिनलाई दुष्ट मानिसहरूको स्वामित्वमा पर्न दिँदैनस् भने, तैँले अगुवा र कामदारहरूको जिम्मेवारी पूरा गरिरहेको हुनेछस्। यो काम त्यसको प्रकृतिअनुसार सामान्य मामलासम्बन्धी काम जस्तो देखिन्छ। हामी किन यसलाई सामान्य मामलासम्बन्धी काम भनिरहेका छौ? यसमा भौतिक वस्तुहरूको व्यवस्थापन संलग्न हुन्छ। तिनलाई राम्रोसँग व्यवस्थापन र परिचालन गरिस् भने, तैँले आफ्नो जिम्मेवारी पूरा गरिरहेको हुनेछस्। साथै, यस कामको सिद्धान्त अत्यन्तै सरल छ—त्यसमा एउटै मात्र सिद्धान्त संलग्न हुन्छ, र जटिल सत्यताहरू संलग्न हुँदैनन्। यदि कसैसँग बोझ र सही अभिप्रायहरू छन् भने, उसले खासै धेरै सत्यता नबुझे पनि र उसलाई खासै धेरै सत्यता सङ्गति नगरे पनि उसले यो काम राम्रोसँग गर्न सक्छ। त्यसकारण, यो काम एउटै मात्र कार्य हो, र यो सामान्य मामलासम्बन्धी कार्य हो। यो त्यस्तो काम हो जुन अगुवा र कामदारहरूका लागि गर्न सजिलो हुन्छ। यदि तैँले अलि बढी मेहनती गर्छस्, बढी प्रश्नहरू सोध्छस्, धेरै जानकारीहरू लिन्छस्, बढी चासो लिन्छस्, र सही अभिप्रायहरू राख्छस् भने, तैँले त्यो गर्न सक्छस्। त्यो बिलकुलै जटिल हुँदैन। हामीले अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दसौँ विषयवस्तुमाथिको सङ्गति सकाएका छौँ। यो त्यस्तो सरल छ।

परमेश्‍वरको घरका भौतिक वस्तुहरूका सम्बन्धमा झूटा अगुवाहरूका मनोवृत्ति र प्रकटीकरणहरू

अब तिमीहरूले अगुवा र कामदारहरूको यो जिम्मेवारी बुझेकाले, त्यसका सम्बन्धमा, हामी झूटा अगुवाहरूले यो काम गर्दा देखाउने प्रकटीकरणहरू, र तिनीहरूले के-कस्ता कामकुरा गर्छन् जसले तिनीहरूलाई झूटा अगुवाका रूपमा परिभाषित गर्न सक्छन् भन्ने कुराको विश्लेषण गर्नेछौँ। पहिला, जब झूटा अगुवाहरूले यो काम गर्छन्, तिनीहरू विभिन्न सामानहरूको राम्रोसँग सुरक्षा गर्न सक्षम हुँदैनन्। यावत् किसिमका भौतिक सामग्रीहरूका सम्बन्धमा सुरक्षा गर्नु नै पहिलो महत्त्वपूर्ण कार्य हो। झूटा अगुवाहरूले जे गर्छन् त्यसलाई अस्तव्यस्त पार्छन्; सत्यता र त्यससँग सम्बन्धित विभिन्न सिद्धान्तहरूको जटिलतामा फसिनु बाहेक, तिनीहरू परमेश्‍वरको घरका विभिन्न भौतिक सामग्रीहरूको सुरक्षा गर्ने कुरामा पनि त्यस्तै अस्तव्यस्त हुन्छन्। तिनीहरूलाई ती वस्तुहरूलाई व्यवस्थित गर्नका लागि कस्ता किसिमका मानिसहरू खोज्ने भनेर थाहा हुँदैन न त तिनलाई जोगाउने तरिका नै थाहा हुन्छ। तिनीहरूसँग कुनै स्पष्ट लक्ष्य र खास योजनाहरू हुँदैनन्, यो काम गर्ने विस्तृत कदमहरू त झनै हुँदैनन्। यदि कोही कष्ट गर्न इच्छुक छ भने, यी वस्तुहरूलाई जोगाउन सकिन्छ; यदि छैन भने, कुनै झूटो अगुवाले यी वस्तुहरूलाई जथाभावी रूपमा पन्छिन दिन्छ। तिनीहरूले तिनलाई जोगाउनका लागि कुनै उचित व्यक्ति वा तिनलाई भण्डारण गर्नका लागि सुरक्षित ठाउँ खोज्दैनन्, र तिनको सुरक्षा गर्ने खास सिद्धान्तहरू त झनै सङ्गति गर्दैनन्। त्यो सँगसँगै, तिनीहरूले यी भौतिक वस्तुहरूको भावी स्थान, मर्मत, र सम्भारका लागि कुनै बन्दोबस्तहरू गर्दैनन्। कतिपय झूटा अगुवाहरू त परमेश्‍वरको घरसित के-कस्ता सामानहरू छन् भन्ने सम्बन्धमा पूर्ण रूपमा अनजान हुन्छन्—तिनीहरूले यसको बारेमा वास्ता गर्दैनन् र सोध्दैनन्। उदाहरणका लागि, मानौँ परमेश्‍वरको घरले परमेश्‍वरका वचनहरूका नयाँ पुस्तकहरू छापेको छ। ती वितरण गरेपछि कतिवटा पुस्तकहरू बाँकी रहेका छन्, तिनलाई भण्डारण गर्नका लागि कसको बन्दोबस्त गरिएको छ, तिनलाई कसरी भण्डारण गरिँदै छ, र ती सही ठाउँमा भण्डारण भइरहेका छन् कि छैनन्—झूटो अगुवालाई यी कुनै पनि कुराहरू थाहा हुनेछैन, न त तिनीहरूले तिनका बारेमा सोध्नेछन् वा जानकारी लिनेछन्। तिनीहरूले किन जानकारी लिनेछैनन्? तिनीहरूले सोच्छन् कि परमेश्‍वरको घरका भौतिक वस्तुहरूको सुरक्षा गर्नु सानोतिनो मामला हो, कि तिनीहरू अगुवा हुन् जसले महत्त्वपूर्ण कामकुरा गर्छन्, र केवल प्रवचन दिन्छन्। तिनीहरूले यी सबै “सानातिना मामलाहरू” लाई बिलकुलै ध्यान दिँदैनन्, बरु केही पनि नबुझ्ने मानिसहरूलाई ती सम्पन्न गर्न सुम्पन्छन्, र ती राम्ररी गरिएका छन् कि खराब तरिकाले भन्नेबारे तिनीहरूले वास्ता गर्दैनन्। त्यसकारण, तिनीहरूले परमेश्‍वरको घरका भौतिक वस्तुहरूको सुरक्षा गर्ने कामलाई बिलकुलै गम्भीर रूपमा लिँदैनन्। यो एउटा कारण हो। अर्को कारण भनेको कतिपय झूटा अगुवाहरू अन्योलमा परेका हुन्छन्—तिनीहरूको मन दुबिधामा हुन्छ। तिनीहरूसँग सामान्य सोचाइ वा वस्तुहरूको सुरक्षा गर्ने चेतना हुँदैन, साथै तिनीहरूसँग परमेश्‍वरको घरका वस्तुहरूलाई कसरी जोगाउने भन्ने प्रक्रिया वा मार्ग हुँदैन। त्यसैले, तिनीहरूलाई यी वस्तुहरूमध्ये कतिवटा बिग्रिएका छन्, र खेर गएका घटनाहरू पनि छन् कि छैनन् भनेर थाहा हुँदैन। जब केही वस्तुहरू दुष्ट मानिसहरूद्वारा लिइन्छन्, तब झूटो अगुवाले भन्छ, “हुन देऊ—आखिरमा, सबथोक परमेश्‍वरकै हातमा हुन्छ।” कतिपय महत्त्वपूर्ण चीजहरू कसैको अनुमोदनबिना व्यक्तिहरूद्वारा प्रयोग गरिन्छन्; ती मानिसहरूले यी वस्तुहरू लिएर जान्छन्, अनि अरूले तिनलाई आफ्नो काममा प्रयोग गर्न सक्दैनन्, र कसैले पनि ती कुराहरू माग्ने साहस गर्दैन। एउटा झूटो अगुवाले यसो भन्छ, “ठूलो कुरा नै होइन। खुरुक्क एउटा नयाँ किन्दा भइहाल्यो नि। उनीहरूले त्यो चीज लगेका छन्, त्यसैले उनीहरूलाई पहिला प्रयोग गर्न देऊ। त्यो एउटा वस्तु न हो—जसले प्रयोग गरे पनि एउटै हो। यदि उनीहरूले त्यसलाई विवेकपूर्ण तरिकाले प्रयोग गरिरहेका छैनन् भने, त्यो उनीहरू र परमेश्‍वरबीचको कुरा हो। हामीले हस्तक्षेप गर्नु आवश्यक छैन।” हेर्, तिनीहरूले समस्यालाई “सम्हाल्न” कसरी भव्य धर्मसिद्धान्त प्रचार गर्छन्, ठूला समस्याहरूलाई सानो र साना समस्याहरूलाई केही पनि होइन जस्तो बनाउँछन्। परमेश्‍वरको घरका विभिन्न सामग्रीहरूको सुरक्षा गर्ने सम्बन्धमा झूटा अगुवाहरूले आफ्ना कुनै पनि जिम्मेवारी पूरा गर्दैनन्। तिनीहरूले त्यसबारे वास्ता गर्दैनन् वा सोध्दैनन्, र तिनीहरूले कुनै पनि समस्याहरूलाई समाधान गर्ने वा सम्हाल्ने काम गर्दैनन्। माथिकाले तिनीहरूको कामको छानबिन गरे पनि, तिनीहरूले उडन्ते कुरा गरेर तिनलाई टार्छन्, र त्यतिमै सकिन्छ।

कतिपय दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरको घरको प्रयोजनका लागि उपकरण, लत्ताकपडा, र औषधी किन्छन्, अनि जब कुनै झूटो अगुवाले ती सामानहरू देख्छ, तब उसले तीबाट छानेर राम्रा कपडा, जुत्ता, र झोलाहरू आफैले लग्छ, र बाँकी रहेका आफूलाई नचाहिने वस्तुहरू मात्र अरूलाई लान दिन्छ। तिनीहरूले अगुवाइ गरेका लन्ठकहरूले यो कुरा देखेर यसो भन्छन्, “हाम्रो अगुवाले आफूले चाहेको चीज छान्नुभएको छ—अब हाम्रो पालो हो। छानिसकेपछि हामी बाँकी रहेका बेकारका सामानहरू हामीभन्दा मुनिका दाजुभाइ-दिदीबहिनीहरूकहाँ फाल्दिन्छौँ।” यी वस्तुहरू ज-जसका हातमा पर्छन्, ती तिनीहरूकै हुन्छन्, अनि कसैलाई मन नपर्ने बाँकी वस्तुहरू पाखा लगाइन्छन्, र कसैले पनि तिनको सुरक्षा गर्दैन। त्यसकारण, परमेश्‍वरको घरका विभिन्न भौतिक सामानहरूको नाममात्रका लागि सुरक्षा गर्ने ठाउँहरू छन्, तर वास्तवमा, तिनको बिलकुलै सुरक्षा भइरहेको हुँदैन—ती ठाउँहरू फोहोर थुपार्ने ठाउँजस्ता हुन्छन्, जसको कसैले पनि व्यवस्थापन गर्दैन। तिनीहरूले कुनै ठाउँमा वस्तुहरू फ्याँक्छन् र थुप्रो पार्छन्। लत्ताकपडा, जुत्ता र मोजा, औषधी, र विद्युतीय सामग्रीहरू, साथै दैनिक उपभोग्य सामानहरू र भान्साका सामानहरू हुन्छन्—त्यो अस्तव्यस्त हुन्छ, जहाँ सबै किसिमका फोहोरहरू हुन्छन्, र यहाँसम्म कि मानिसको खाना र कुकुरको खाना पनि सँगै मिसिएको हुन्छ। यदि तैँले यी वस्तुहरूको व्यवस्थापन कसले गरिरहेको छ र तिनीहरूले तिनलाई प्रकारअनुसार छुट्याउँछन् कि छुट्याउँदैनन्; वा यी कुराहरूका लागि निर्देशनहरू छन् कि छैनन्, र तिनलाई कसरी जोगाइनुपर्छ; वा, यी वस्तुहरू परमेश्‍वरको घरको कामका लागि आवश्यक नपर्ने हो कि, दाजुभाइ-दिदीबहिनीहरूलाई तिनको आवश्यकता पर्छ कि पर्दैन भनेर सोधिस् भने—कसैलाई पनि जबाफहरू थाहा हुँदैन। दाजुभाइ-दिदीबहिनीहरूलाई थाहा नहुनु अत्यन्तै सामान्य कुरा हो, तर अगुवा र कामदारहरूसित पनि यी कुनै पनि प्रश्नहरूका जबाफहरू हुँदैनन्—तिनीहरूले कि त “मलाई थाहा छैन” कि “अरू कसैले यसको हेरचाह गरिरहेको छ” भनेर आफ्नो जिम्मेवारीलाई पूर्ण रूपमा पन्छाउँछन्, र यसरी तँलाई बेवास्ता गर्छन्, र परमेश्‍वरको घरसित बेइमानी गर्छन्। यसको कारणले यी समस्याहरूको समाधान हुँदैन। अगुवा र कामदारहरूलाई परमेश्‍वरको घरका विभिन्न भौतिक सामानहरूको व्यवस्थापन गर्ने उचित मानिसहरू खोज्न गाह्रो हुँदैन, हुन्छ र? झूटा अगुवाहरूले यी वस्तुहरूको राम्रोसँग सुरक्षा गर्न, राम्रो अभिलेख राख्न र तिनलाई व्यवस्थित रूपमा राख्न कुनै बफादार व्यक्तिलाई खोज्ने जस्तो सरल काम समेत गर्दैनन्। त्यसोभए, तिनीहरूले के चाहिँ गर्छन्? जब दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरको घरलाई लत्ताकपडा वा दैनिक रूपमा आवश्यक पर्ने सामानहरू चढाएका हुन्छन्, झूटा अगुवाहरूले यी सामानहरू देख्छन्, तब तिनीहरू सँगै मासु खाइरहेका एक हुल ब्वाँसोझैँ तिनका वरिपरि झुम्मिन्छन्। तिनीहरू आफूलाई जुन-जुन कपडाहरू सुहाउँछन् त्यसैलाई बारम्बार लगाएर हेर्छन्, र आफ्ना लागि अनन्त रूपमा वस्तुहरू छानिरहन्छन्। परमेश्‍वरको घरले विभिन्न किसिमका महत्त्वपूर्ण र महङ्गा मेसिन र उपकरणहरू खरिद गरेपछि तिनीहरू सुरुमा आफ्ना लागि राम्रा-राम्रा सामानहरू छान्न दौडिन्छन्। तिनीहरूले किन राम्रा-राम्रा सामानहरू छान्छन्? तिनीहरू अगुवा वा कामदारको नाताले आफूसँग परमेश्‍वरको घरका सामानहरू प्रयोग गर्ने विशेष अधिकार रहेको भन्ठान्छन्। परमेश्‍वरको घरले जे चीज प्रदान गरे पनि, तिनीहरूले सधैँ पहिला सबैभन्दा राम्रा सामानहरू छान्छन्। तिनीहरूले परमेश्‍वरको घरका सामानहरूलाई यस्तै व्यवहार गर्छन्। के यो काम गरेको हो? के यो झूटा अगुवाहरूको प्रकटीकरण होइन र? उदाहरणका लागि, खाना र औषधी जस्ता म्याद सकिने सामानहरूका सन्दर्भमा भन्नुपर्दा, झूटा अगुवाहरूले तिनका बारेमा वास्ता नै गर्दैनन्। तिनीहरूले तिनलाई व्यवस्थापन गर्न उचित कर्मचारी खोज्दैनन्, न त उक्त कर्मचारीलाई यसो भन्छन्, “यी कतिपय सामानहरूको म्याद सकिने मितिहरू छन्, त्यसैले तुरुन्तै तिनको अभिलेख राख। तिनको म्याद सकिनुअघि नै ती सामानहरू दाजुभाइ-दिदीबहिनीहरूलाई वितरण गर, ताकि तिनलाई विवेकपूर्वक प्रयोग गरियोस्—तिनको म्याद सकिन्जेल पर्खेर नबस; तिनलाई खेर जान नदेऊ।” झूटा अगुवाहरूले कहिल्यै यस्ता कामहरू गर्दैनन्। जब कुनै चीजको म्याद सकिन्छ, तिनीहरूले त्यसलाई फालिदिन्छन्। अगुवा र कामदारहरूले परमेश्‍वरको घरमा काम गर्दा, साँच्चिकै भन्नुपर्दा, तिनीहरू परमेश्‍वरको घरका परिचारक बन्नुपर्छ। तिनीहरूले गर्नुपर्ने पहिलो काम भनेको परमेश्‍वरको घरका सामानहरूलाई विवेकपूर्ण तरिकाले राम्रोसँग जोगाउनु, तिनीहरूमाथि कडा निगरानी राख्नु र उचित जाँचहरू गर्नु हो। यो परमेश्‍वरको घरको एउटा आधारभूत काम पनि हो, तैपनि झूटा अगुवाहरूले यति आधारभूत काम समेत गर्न सक्दैनन्। के तिनीहरू अलमल्ल, कमजोर योग्यताका, र मन्द बुद्धिका छन्—कि तिनीहरूका हृदय सही ठाउँमा छैनन्? यदि तिनीहरू मन्द बुद्धिका र अलमल्ल छन् भने, तिनीहरूले आफ्ना लागि राम्रा सामानहरू कसरी छान्छन्? तिनीहरूले किन आफ्ना सामानहरूलाई अलग गर्दैनन् वा यतिकै अरू मानिसहरूलाई दिँदैनन्? तिनीहरूले किन आफ्ना सामानहरूलाई बिगार्ने वा क्षति पुर्‍याउने गर्दैनन्? अनि परमेश्‍वरको घरका सामानहरूप्रति तिनीहरूको मनोवृत्ति किन यस्तो भएको? तिनीहरूमा नैतिकताको कमी छ, र तिनीहरूका हृदय सही ठाउँमा छैनन् भन्ने प्रस्ट देखिन्छ। अगुवा र कामदारहरूले हैसियत प्राप्त गरेर तिनीहरू परमेश्‍वरको घरको कामको अझ ठूलो दायराको सम्पर्कमा आएपछि, तिनीहरूले परमेश्‍वरको घरका विभिन्न भौतिक सामानहरू र सार्वजनिक सम्पत्तिमा विशेष पहुँच प्राप्त गर्छन्, र यी वस्तुहरूबारे तिनीहरू सबैभन्दा बढी जानकार हुन्छन्। तैपनि कतिपय अगुवाहरूले तिनलाई बेवास्ता गर्छन्, उचित तरिकाले जोगाउँदैनन्, र जोकोहीलाई ती वस्तुहरू प्रयोग गर्न र लान दिन्छन्, जो तिनको ख्याल गर्न इच्छुक छ उसलाई ख्याल गर्न दिन्छन्, र यदि कोही तिनको ख्याल गर्न इच्छुक छैन वा गैरजिम्मेवार छ भने, तिनीहरू रिसाउँदैनन्, र कसैसँग कुनै समस्या छ भन्ने थाहा पाउँदा पनि तिनीहरूले त्यसलाई समाधान गर्दैनन्। यिनीहरू झूटा अगुवा हुन्। यति बेला, हामीले झूटा अगुवाहरू कमजोर योग्यताका भएको र तिनीहरूले बोझ वहन नगर्ने बाहेक, तिनीहरूको हृदय पनि गलत ठाउँमा हुन्छ, र तिनीहरूमा खराब चरित्र हुन्छ भनेर निर्क्योल गरेका छौँ। यी अगुवाहरूमा कमजोर योग्यता हुने र बोध क्षमताको कमी हुने भएकाले तिनीहरूले सत्यता र जीवन प्रवेशसँग सम्बन्धित काममा राम्रो नगर्नु बुझ्न सकिने कुरा हो। अनि तिनीहरूमा कमजोर योग्यता हुने र कार्यक्षमता नहुने हुनाले, तिनीहरूले प्रशासनसम्बन्धी काममा राम्रो नगर्नु पनि सहन सकिने कुरा नै हो। तर तिनीहरू परमेश्‍वरको घरका विभिन्न सामानहरू व्यवस्थापन गर्नुसँग सम्बन्धित काम—सबैभन्दा न्यूनतम र सामान्य काम—गर्न समेत सक्षम नहुनुले अझ प्रस्ट रूपमा केही कुरा देखाउँछ: कतिपय झूटा अगुवाहरूका हकमा, तिनीहरूको समस्या कम योग्यता हुनु र बोझ वहन नगर्नु जस्तो सामान्य हुँदैन, अझ बढी तिनीहरूको चरित्र अत्यन्तै तल्लो स्तरको हुन्छ र मानवता कमजोर हुन्छ। अगुवा र कामदारहरूको दसौँ जिम्मेवारीबारे हामीले गरेको सङ्गतिमार्फत, झूटा अगुवाहरूको अर्को प्रकटीकरण प्रकाश भएको छ: तिनीहरू केवल कमजोर योग्यता भएका, बोझ वहन नगर्ने, र देहसुखको लोभी मात्र होइनन्—तिनीहरूको चरित्र पनि कमजोर हुन्छ, र तिनीहरूको हृदय सही ठाउँमा हुँदैन। जुन चीजहरू तिनीहरूका होइनन् तीप्रति तिनीहरूलाई कुनै चासो हुँदैन। तिनीहरूलाई परमेश्‍वरको घरका परिचारक बनाइएका हुन्छन्, तैपनि तिनीहरू जुन थालमा खायो त्यही थालमा चुठ्छन् र तिनीहरूले परमेश्‍वरको घरमा निर्भर रहेर पनि त्यसका हितहरूको रक्षा गर्दैनन्; तिनीहरूले परमेश्‍वरको घरका वस्तुहरूलाई लापरवाहीपूर्वक कुनातिर मिल्काउँछन्, मानौँ ती बाह्य व्यक्तिहरूका हुन्, र तिनीहरूको तिनलाई जोगाउँदैनन्, र ती महत्त्वपूर्ण नभएको भन्ठान्छन्। यो आफ्ना जिम्मेवारीहरू पूरा गर्नबाट चुकेको मात्र होइन—यो तिनीहरूको मानवताको समस्या हो, यो नैतिकताको धेरै कमी हुनु हो! आफूले जोगाउनुपर्ने वस्तुहरूलाई खराब तरिकाले जोगाउनु, वा तिनलाई नजोगाउनुले झूटा अगुवाहरूमा कुनै मानवता हुँदैन, र तिनीहरूको हृदय सही ठाउँमा हुँदैन भन्ने देखाउँछ। तिनीहरूले परमेश्‍वरको घरका सामानहरूको समेत राम्रोसँग सुरक्षा गर्न सक्दैनन्, त्यसैले यदि तिनीहरूले तिनलाई परिचालन गर्ने हो भने, के तिनीहरूले विवेकपूर्वक गर्न सक्लान् त? तिनीहरू सिद्धान्तहरूअनुसार कार्य गर्न झनै बढी चुक्छन्। तिनीहरूले परमेश्‍वरको घरका वस्तुहरूलाई लापरवाहीपूर्वक फालिएको, बिग्रिएको, र खेर गएको, र तिनको व्यवस्थापन गर्ने राम्रो व्यक्ति नभएको देख्छन्, र तिनीहरूलाई त्यसो गर्नु ठीक होइन भनेर हृदयमा राम्रोसँग थाहा हुन्छ—तैपनि, तिनीहरूले यसलाई सम्हाल्दैनन्। त्यो आफ्नो हृदय गलत ठाउँमा हुनु हो। के गलत ठाउँमा हृदय भएका ती फोहोरी मानिसहरूले परमेश्‍वरको घरका विभिन्न भौतिक सामग्रीहरूलाई विवेकपूर्वक परिचालन गर्न सक्छन्? तिनीहरूले त्यसो गर्न त झनै सक्दैनन्—यदि तैँले तिनीहरूलाई ती चीजहरू परिचालन गर्न लगाइस् भने, तिनीहरूले नैतिकताको झन् कमी भएका कामहरू गर्नेछन्।

कुकुरहरू पाल्ने एउटा किसानी मण्डलीमा, तिनलाई पाल्ने जिम्मेवार व्यक्तिले भर्खर जन्मेका छाउराछाउरीको धेरै ख्याल राख्छ। उसलाई छाउराछाउरीले आवश्यक पोषण नपाउँलान् कि भनेर डर लाग्थ्यो, त्यसैले उसले कुकुरहरूलाई खुवाउन जैविक अण्डाका लागि आवेदन दियो। त्यहाँको झूटो अगुवाले उक्त अनुरोध पत्रमा तुरुन्तै हस्ताक्षर गरिदियो; उसले जैविक अण्डा कति अपर्याप्त छ भन्नेबारे सोचेन। मानिसहरूलाई खान पुग्ने पनि छैनन्, त्यसोभए तिनीहरूले किन ती अण्डाहरू कुकुरलाई दिन्छन्? के यो यस मामलालाई सम्हाल्ने अव्यावहारिक तरिका होइन र? त्यो झूटो अगुवाको यो व्यवहारको प्रकृति कस्तो छ? त्यसलाई कसरी चित्रण गरिनुपर्छ? के त्यो झूटो अगुवाको यो अभ्यास अव्यावहारिक भएन र? त्यो झूटो अगुवाले मुख खोल्दा जहिले पनि मानिसहरूको स्वादलाई सुहाउने धर्मसिद्धान्तहरू नै भन्छन्, तर वास्तवमा, उसले कति पनि सत्यता सिद्धान्तहरू बुझ्दैन, त्यसैले केही आइपर्दा उसले त्यसलाई मानवका कल्पना, प्राथमिकता, र व्यक्तिगत चाहनाहरूअनुसार हेर्ने र सम्हाल्ने गर्छ—अनि उसले अन्त्यमा कुकुरलाई जैविक अण्डा खुवाउने जस्तो घृणास्पद काम गर्छ। के त्यो झूटो अगुवाले गरेको परमेश्‍वरको घरका सामानहरूको यस्तो परिचालनलाई विवेकपूर्ण मान्न सकिन्छ? (सकिँदैन।) उसले किन विवेकपूर्ण परिचालन गर्न सक्दैन? बाहिरबाट हेर्दा, त्यो झूटो अगुवाले यति सानो मामलामा पनि हस्तक्षेप गरिरहेको, चासो लिइरहेको, र अनुगमन गरिरहेको, अनि ऊसँग यो आवेदनलाई समर्थन गर्ने पर्याप्त कारण र आधारहरू थिए जस्तो देखिन्छ—तर के उसले सिद्धान्तहरूसँग मेल खाने गरी कार्य गरिरहेको थियो? के उसले परमेश्‍वरको घरले आवश्यक गराएका सिद्धान्तहरूअनुसार कार्य गरिरहेको थियो? थिएन। त्यसैले, उसको यो कामको प्रकृतिलाई हेर्दा, के त्यो असल कार्य हो कि दुष्ट कार्य हो? के त्यो उसको जिम्मेवारीको पूर्ति हो कि विमुखता हो? त्यो विमुखता हो—त्यो असैद्धान्तिक कुरा हो, त्यो असावधानीपूर्वक खराब कामकुरा गर्नु हो! यस मामलामार्फत, तैँले यस झूटो अगुवाको मानवताको सार कस्तो देख्छस्? के त्यो प्रावधानहरूको विकृत बुझाइ र अन्धाधुन्ध कार्यान्वयन होइन र? हरेक सासमा उसले सही धर्मसिद्धान्तहरू भन्छ, र त्यसमा कुनै पनि गलत वाक्यांश नभएको जस्तो सुनिन्छ, तर वास्तवमा, त्यो विकृत हुन्छ। त्यस्ता मानिसहरू झूटो रूपमा आत्मिक हुन्छन् र तिनीहरूमा विकृत बुझाइ हुन्छ—तिनीहरू आत्मिक बुझाइ नभएका रद्दी मानिस हुन्। हामीले भर्खरै झूटा अगुवाहरूको मानवता यस्तो हुन्छ कि तिनीहरूको चरित्र तल्लो स्तरको हुन्छ र तिनीहरूको हृदय गलत ठाउँमा हुन्छ भनेर उल्लेख गर्‍यौँ। जब परमेश्‍वरको घरका सामानहरू परिचालन गर्ने समय आउँछ तब तिनीहरूमा सिद्धान्तहरूको कमी हुन्छ, र तिनीहरूले तिनलाई अन्धाधुन्ध तरिकाले परिचालन गर्छन्, जसले प्रकाश गर्छ कि झूटा अगुवाहरूको बुझाइ विकृत हुन्छ र तिनीहरूले अन्धाधुन्ध तरिकाले प्रावधानहरू लागु गर्छन्, र तिनीहरू आफ्ना कार्यमा असैद्धान्तिक हुन्छन्—तिनीहरूले अन्धाधुन्ध र जथाभावी रूपमा कार्य गर्छन्। झूटा अगुवाहरू बाहिरबाट हेर्दा हितकारी र दयालु भए जस्तो देखिन्छन्, जबकी वास्तवमा, यो झूटो हित र झूटो दया हो। उदाहरणका लागि, एउटी पोथी कुकुरले छाउराहरू जन्माउँदा, उक्त कुकुर पालकले मानिसहरूका लागि भनेर ल्याइएको कम्बल कुकुरलाई दिनुपर्ने भन्यो। त्यसपछि कसैले भन्यो, “नयाँ कम्बल कुकुरहरूलाई दिनु दुःखद कुरा हो—बरु त्यो चाहिँ दाजुभाइ-दिदीबहिनीहरूलाई दिएर हामीले फाल्न लागेको पुरानो कम्बल जनावरहरूलाई दिए राम्रो हुने थियो।” यो सुझावबारे तँलाई के लाग्छ? नयाँ सामानहरू मानिसलाई र पुराना सामानहरू जनावरलाई दिँदा निकै विवेकपूर्ण हुन्छ। सिद्धान्त नै यही हो; यो विवेकपूर्ण परिचालन हो। झूटा अगुवाहरूलाई यस्ता कुराहरू आइपर्दा तिनीहरूले तिनलाई कसरी सम्हाल्छन्? यो सुनेपछि, त्यहाँको झूटो अगुवाले मनन गर्‍यो: “जनावरहरूले कहिल्यै नयाँ चीजहरू प्रयोग गर्न पाउँदैनन्। तिनीहरू सधैँ पुराना र फोहोर वस्तुहरू प्रयोग गरिरहेका हुन्छन्। हामी जस्ता मानिसहरूले सधैँ नयाँ चीजहरू प्रयोग गर्न पाउँछौँ। परमेश्‍वरका वचनहरूले भनेका छन् कि कहिलेकाहीँ हामी सुँगुर वा कुकुर जति पनि असल हुँदैनौँ। त्यो मानवताको कमी हो।” त्यसकारण, तिनीहरूले नयाँ कम्बल जनावरलाई दिएरै छाड्छन्। त्यहाँका मानिसहरूले पुरानो कम्बल प्रयोग गरेर केही पनि नगुमाएका होलान्, तर यो कुरालाई जसरी सम्हालियो त्यसले समस्यालाई राम्रोसँग चित्रण गर्छ। यस मामलामा उक्त झूटो अगुवाले के भूमिका खेल्यो? के साधारण मानिसहरूले यस्तो काम गर्न सक्छन् भनेर तिमीहरूले भन्ने थियौ? (भन्ने थिएनौँ।) त्यसोभए, यस मामलालाई सम्हाल्दा कस्ता किसिमका मानिसहरूले परिस्थितिलाई यो अवस्थासम्म पुग्न दिन्छन् होला? (अव्यावहारिक किसिमका मानिसहरूले जोसँग सामान्य मानिसहरूको समझ वा सोचाइ हुँदैन।) यी जबाफहरू सबै सही छन्—ती मानिसहरू केही पनि होइनन्। सामान्य मानिसहरूलाई यस्तो केही आइपर्दा, उनीहरूले तिनलाई विवेकपूर्वक सम्हाल्न जानेका हुन्छन्, तर विकृत बुझाइ बोकेका झूटो रूपमा आत्मिक झूटा अगुवाहरूले त्यसलाई सम्हाल्न जानेका हुँदैनन्। त्यसलाई सम्हाल्ने तिनीहरूको तरिकाको पनि आधार भए जस्तो देखिन्छ, र त्यो परमेश्‍वरको घरका सिद्धान्तहरूसँग मेल खाने, र त्यसमा प्रचुर र विवेकपूर्ण न्यायहरू भएको जस्तो देखिन्छ—तर मानिसहरूले त्यो सुनेर हाँस्ने कि रुने भनेर थाहै पाउँदैनन्, त्यो अत्यन्तै हास्यास्पद कुरा हो। तिनीहरूले यति सरल र स्पष्ट तर्कसमेत कसरी बुझ्न सक्दैनन्? तिनीहरूले कसरी यसलाई यति विकृत तरिकाले सम्हाल्छन्? यो वाकवाक लाग्दो कुरा हो। यदि तैँले तिनीहरूलाई परिचारकका रूपमा काम गर्न लगाइस् भने, तिनीहरूले कुकुरलाई मुसा समात्न लगाउनेछन्, बिरालोलाई घरको सुरक्षा गर्न लगाउनेछन्, र सुँगुरलाई ओछ्यानमा राख्नेछन्—सबथोक अलमल्ल हुनेछ। के झूटा अगुवाहरू परमेश्‍वरको घरका विभिन्न भौतिक सामानहरूलाई विवेकपूर्वक परिचालन गर्न सक्षम हुन्छन्? (हुँदैनन्।) तिनीहरू बेग्लै प्रकारका, अलमल्ल मानिसहरू, र अव्यावहारिक प्रकारका हुन्। विशेषगरी विकृत बुझाइ बोकेका र गलत ठाउँमा हृदय भएका ती झूटा अगुवाहरू बाहेक, अधिकांश झूटा अगुवाहरूले पनि, थोरै योग्यता भएको र विकृत बुझाइ नहुनुको बाबजुद, यस प्रकारको कामलाई अस्तव्यस्त र अव्यवस्थित बनाउँछन्। तिनीहरू आफूले पूरा गर्नुपर्ने सबैभन्दा न्यूनतम जिम्मेवारीहरू समेत पूरा गर्न सक्दैनन्। त्यसैले, जब तैँले तिनीहरूलाई यो कामको बारेमा सोध्छस्, तिनीहरूको जबाफ सधैँ एउटै हुन्छ: “फलानोले यो काम गरिरहेको छ। फलानोलाई थाहा छ। यदि तिमीसँग कुनै प्रश्नहरू छन् भने, मैले गएर फलानोलाई सोध्नुपर्छ।” अनि तैँले त्यसबारे सुन्ने त्यो नै अन्तिम पटक हुनेछ। झूटा अगुवाहरूले काम गरिरहेका बेलामा देखाउने प्रकटीकरण नै यही हो।

परमेश्‍वरको घरका विभिन्न भौतिक सामग्रीहरू परिचालन गर्ने कामको सम्बन्धमा, झूटा अगुवाहरूले परमेश्‍वरको घरले माग गरेका सिद्धान्तहरूअनुसार यो काम गर्न नसक्ने मात्र नभई, तिनीहरूले आफ्ना थुप्रै व्यक्तिगत भावना, प्राथमिकता, र चाहनाहरू, साथै तिनीहरूका व्यक्तिगत बुझाइहरूलाई यसमा मिसिन दिन्छन्। तिनीहरूले यो कामलाई अव्यवस्थित र अस्तव्यस्त बनाउँछन्, जसमा सिद्धान्तहरू बिलकुलै हुँदैनन्। त्यसैले, जब कुनै झूटो अगुवाले परमेश्‍वरको घरका विभिन्न वस्तुहरूको व्यवस्थापन गरिरहेको हुन्छ, तब के भइरहेको छ भनेर कसैलाई थाहा नभएका परिस्थितिहरूमा अक्सर वस्तुहरू क्षतिग्रस्त हुन्छन्, कुनै कारणबिना खेर जान्छन्, वा वस्तुहरू हराउँछन् र केही कुरा नमिलेको हुन्छ। अरू सामानहरू व्यक्तिहरूले दर्ता वा रिपोर्ट नगरी व्यक्तिगत प्रयोगका लागि लान्छन्। झूटा अगुवाहरूले सामान्य मामलासम्बन्धी यस्तो सरल काम समेत राम्रोसँग व्यवस्थापन गर्न सक्दैनन्। तिनीहरूले यो कामलाई अस्तव्यस्त बनाउँछन्, तैपनि तिनीहरू आफूले धेरै काम गरेको छु भन्ने ठानेर ढुक्क महसुस गर्छन्। झूटा अगुवाहरूले कहिल्यै परमेश्‍वरको घरका विभिन्न भौतिक सामानहरूको नियमित निरीक्षण, सम्भार, र संरक्षणलाई अघि बढाउँदैनन्; हृदयमा, तिनीहरूले यी वस्तुहरूबारे अलिकति पनि चासो राख्दैनन्। मानौँ तैँले तिनीहरूलाई सोधिस्, “के यी उपकरणहरूको सम्भार र संरक्षणको जिम्मा लिने कोही छ? के तिनलाई मर्मत गर्ने क्रममा पाटपुर्जाको खरिदमा फजुल खर्च भएका कुनै घटनाहरू छन्? अथवा कसैले अत्यधिक खर्च गरेको वा कोही ठगिएको घटना छ? के ती घटनाहरूपछि कसैलाई जबाफदेही ठहर्‍याइएको थियो? के कसैलाई जरिबाना तिराइएको वा चेतावनी दिइएको थियो?” झूटा अगुवाहरूलाई यी कुनै पनि कुराबारे थाहा वा चासो हुनेछैन। परमेश्‍वरको घरका लागि सामानहरू किन्दा अवैध रूपमा पैसा खर्च गरियो कि गरिएन, ती सामानहरू किनेपछि कसैलाई तिनको व्यवस्थापन गर्न अह्राइएको छ कि छैन, किनिएका सामानहरू उचित छन् कि छैनन् र तिनलाई प्रभावकारी प्रयोगमा ल्याउन सकिन्छ कि सकिँदैन, र यदि सकिँदैन भने, तोकिएको समयसीमाभित्र नै तिनलाई फिर्ता वा साटफेर गरियो कि गरिएन—तिनीहरूलाई यी कुनै पनि कुराबारे थाहा हुँदैन। तिनीहरू त्यस्ता मूर्ख हुन्छन्—तिनीहरूलाई केही पनि थाहा हुँदैन। झूटा अगुवाहरूले कसरी भेलाहरूमा मानिसहरूलाई धर्मसिद्धान्तहरू प्रचार गरेर आफूलाई सम्मान गर्न लगाउने भन्ने बारेमा मात्र सोच्छन्; तिनीहरूसँग सामानहरूको व्यवस्थापनसम्बन्धी खास मामलाका सम्बन्धमा कुनै कार्यक्षमता हुँदैन, न त तिनीहरूमा यस मामलाप्रति कुनै मनोवृत्ति नै हुन्छ। तिनीहरूलाई यो आफूले गर्नुपर्ने काम हो भनेर थाहा हुँदैन, र त्यो कसरी गर्ने भन्ने पनि थाहा हुँदैन। परमेश्‍वरको घरका सामानहरूप्रति झूटा अगुवाहरूको दृष्टिकोणअनुसार, ती सबैका हुन्, त्यसैले जसलाई केही कुरा प्रयोग गर्न मन लागेको छ उसले प्रयोग गर्न पाउँछ, र जसलाई केही कुराको आवश्यकता परेको छ उसले माथिल्लो तहबाट लिन वा त्यसको लागि माथिल्लो तहलाई आवेदन दिन पाउँछ—यो सबैको अधिकार हो, र परमेश्‍वरको घरका सामानहरू कुनै पनि व्यक्तिको व्यवस्थापन वा नियन्त्रणमा हुनु हुँदैन। त्यसैले, यदि कसैले कुनै मेसिन बिगार्‍यो वा हरायो भने, तिनीहरूले वास्ता गर्दैनन्, र यदि कसैले केही कुरा किन्नका लागि आवेदन दिए पनि तिनीहरूले वास्ता गर्दैनन्, चाहे त्यो महँगो होस् वा सस्तो। तथ्य के हो भने परमेश्‍वरको घरसित यी वस्तुहरूका लागि नियमहरू छन्। यदि अगुवा र कामदारहरूले आफ्ना जिम्मेवारीहरू पूरा गर्छन् र परमेश्‍वरको घरका सिद्धान्तहरूअनुसार सही जाँचहरू अघि बढाउँछन् भने, यस्ता सबै क्षति र बरबादीहरूबाट बच्न सकिन्छ। तैपनि झूटा अगुवाहरूले क्षतिहरू रोक्न सक्ने यति सरल काम समेत गर्दैनन्। के तिनीहरू केवल परमेश्‍वरको घरको खाना निःशुल्क खाइरहेका छैनन् र? के तिनीहरूले सित्तैँमा खाइरहेका छैनन् र? के यो झूटा अगुवाहरूको “झूट” को विशेष प्रकटीकरण होइन र? यदि तैँले यस्तो अगुवालाई भेटिस् भने उसलाई कसरी तह लगाउने थिइस्? (उसलाई बर्खास्त गरेर।) बर्खास्त मात्र गरेर हुन्छ? के तैँले उसलाई एकदुई वटा कुराहरू सिकाउनु पर्दैन र? “त्यो मेसिन त्यहाँ राखिएको थियो, र त्यो ओसियो, तर कसैले पनि दिनौँसम्म त्यसको जाँच गरेन। पावरले काम गर्छ कि गर्दैन, वा मुसाले तार काटेको छ कि छैन भनेर प्रस्ट छैन। तिमीले किन यी कुराहरूमा चासो राख्दैनौ? मैले चलाउने कम्प्युटर बिग्रिएको छ र त्यसलाई मर्मत गर्नुपर्ने छ। यदि त्यसलाई मर्मत गरिएन भने काममा ढिलाइ हुनेछ। तैपनि मैले यसको लागि तिमीलाई धेरै पटक आवेदन दिएको छु—तिमीले किन ध्यान दिएनौ? तिमी टाउको छिनाएको कुखुरा जस्तै अन्धाधुन्ध रूपमा दिनभरि केमा व्यस्त हुन्छौ? तिमी जस्तो अगुवालाई भरोसा गरेर काम गर्न दिँदा तिमीले सबै काममा ढिलाइ गर्छौ, र सबै मेसिन र भौतिक सामग्रीहरू तिम्रो हातबाट नष्ट हुन्छन्। तिमी परमेश्‍वरको घरका विभिन्न सामानहरूको हेरचाह वा व्यवस्थापन गर्दैनौ। तिमी अगुवा हुन अयोग्य छौ—चाँडो पदत्याग गर!” के तिनीहरूलाई यसरी भाषण दिनु ठीक हो? (हो।) अगुवा र कामदारहरूलाई भाषण दिने आँट गर्ने व्यक्तिमा के हुन्छ? सुरुमा त ऊ बहादुर हुनुपर्छ, र ऊसँग इन्साफको बोध हुनुपर्छ। कतिले भन्न सक्छन्, “मलाई अगुवा र कामदारहरूलाई भाषण दिने आँट आउँदैन। तिनीहरू अधिकारी हुन्, र म सिपाही मात्र हुँ, मेरो दर्जा तिनीहरूकोभन्दा निकै तल छ। तिनीहरूसँग सत्यता छ र तिनीहरूले प्रवचनहरू प्रचार गर्न सक्छन्। म केही कुरामा पनि निपुण छैन, र म तिनीहरूलाई भाषण दिने स्थानमा छैन।” के यो दुर्जनको तर्क होइन र? (हो।) त्यसोभए, तिमीहरूले यस प्रकारको अगुवालाई कसरी भाषण दिने थियौ? “यदि तिमी यो काम गर्न सक्छौ भने, परमेश्‍वरको घरका सिद्धान्तहरूबमोजिम सक्दो राम्रो गर्ने कोसिस गर। तिमीले हाम्रा लागि जे गर्न बन्दोबस्त गरे पनि हामी त्यसलाई पालन गर्नेछौँ। तर यदि तिमीले यो काम गर्न सक्दो राम्रो प्रयास गर्दैनौ, परमेश्‍वरको घरका सिद्धान्तहरूअनुसार गर्दैनौ भने, तिमीले हामीलाई कहिल्यै तिम्रो कुरा सुन्ने बनाउने छैनौ! यसबाहेक, यदि तिमीले कुनै वास्तविक काम गरेनौ भने, हामीसँग तिमीलाई आफ्नो पदबाट हटाउने र तिमीलाई निकाल्ने अधिकार छ! यदि तिमी कसैलाई हानि गर्न चाहन्छौ भने आफैलाई गर—तिमीले हामी सबैलाई हानि गर्ने प्रयास गर्नु हुँदैन।” के तिमीहरूले तिनीहरूलाई यसरी भाषण दिने आँट गर्ने थियौ? (गर्ने थियौँ।) तिमीहरू अहिले त त्यसो भन्छौ; के त्यसो गर्ने समय आउँदा तिमीहरूले साँच्चिकै गर्ने थियौ? सामान्यतया, सत्यता सिद्धान्त र महत्त्वपूर्ण मामलाहरूसँग सम्बन्धित कामकुराका सम्बन्धमा, तिमीहरूले सहज रूपमा बोल्न आँट गर्दैनौ, किनभने तिमीहरूलाई अन्तर्ज्ञानको कमी र बोलाइमा स्पष्टताको कमीले तिमीहरू केवल अगुवा र कामदारहरूको आलोचना गरिरहेको र बाधा सिर्जना गरिरहेको अर्थ दिन सक्छ भन्ने डर हुन्छ। तर तिमीहरूले भौतिक सामानहरू व्यवस्थापन गर्ने मामलामा अन्तर्ज्ञान राख्न सक्नुपर्छ; तिमीहरूले यस मामलालाई खुट्याउन सिक्नुपर्छ र त्यसका सिद्धान्तहरू बोध गर्नुपर्छ।

एक जना मानिस थियो जो एउटा चलचित्र निर्माण समूहको पहिरनसम्बन्धी जिम्मेवारीमा थियो। उसले अराजक क्रियाकलापहरू गर्थ्यो, र सधैँ लुकेर परमेश्‍वरको घरका सामानहरू हिनामिना गर्थ्यो। जब उसले चलचित्र निर्माण समूह छोड्यो, उसले आफूसँगै केही सामानहरू लिएर गयो, र पछि खाता जाँच गर्दा उसले प्राप्त गरेको थुप्रै पैसाको हिसाब नमिलेको देखियो। यति मात्र नभएर, उसले काम नगर्दा पनि ऊसँग पैसा हुन्थ्यो, र उसले धेरै वटा उच्च-स्तरीय सामानहरू किनेको थियो। ऊ चलचित्र निर्माण समूहमा हुँदा धेरै जना मानिसहरूले उसलाई चापलुसी गरेका थिए, र तिनीहरू सबै जना ऊसँग मिल्न चाहन्थे, ताकि कपडाको आवश्यकता पर्दा तिनीहरूले माग्नेबित्तिकै उसले तिनीहरूलाई केही कपडाहरू देओस्। यदि कुनै व्यक्ति ऊसँग मिल्दैनथ्यो भने, उसले उसलाई पाउनुपर्ने कपडा समेत दिँदैनथ्यो। यो कस्तो समस्या हो? यो व्यवस्थापनसम्बन्धी कर्मचारीको समस्या हो। एकातिर ऊ आफैले यी सामानहरू हिनामिना गरिरहेको थियो; अर्कोतिर उसले परमेश्‍वरको घरका सामानहरू सिद्धान्तहरूबमोजिम परिचालन गर्दैनथ्यो, बरु आफ्नै भावना, इच्छा र उसका सम्बन्धहरूका आधारमा परिचालन गर्थ्यो। सिद्धान्तहरूअनुसार, यो व्यक्ति पखालिनुपर्थ्यो। यो स्पष्ट समस्या थियो। झूटो अगुवाले उसलाई नपखालेको मात्र नभई उसलाई असल व्यक्ति ठान्थ्यो र उसका लागि अर्को ठाउँमा गएर कर्तव्य निर्वाह गर्ने बन्दोबस्त गरेको थियो। के यसले गल्तीलाई झन् बढाएको होइन र? यो काम गराइबारे तिमीहरूलाई के लाग्छ? के त्यो सिद्धान्तहरूअनुरूप थियो? के यो अगुवाले एउटा अगुवाले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गरेको थियो? (थिएन।) अहिलेको लागि अगुवाले त्यस व्यक्तिलाई त्यस तरिकाले तह लगाएर कस्ता फाइदाहरू उठाउन सक्थ्यो भन्ने कुरालाई बिर्सेर—उसले त्यस मामलालाई कसरी सम्हाल्यो भन्ने कुरालाई मात्र हेर्दा, यो कस्तो प्रकृतिको थियो? यो एउटा दुष्ट व्यक्तिलाई भावनाहरूका आधारमा आश्रय दिने, र उसलाई परमेश्‍वरको घरका सिद्धान्तहरूअनुसार तह नलगाउने प्रकृतिको थियो। त्यसोभए, त्यसलाई अगुवा र कामदारहरूका जिम्मेवारीहरूसम्बन्धी दसौँ विषयवस्तुसँग जोडेर हेर्दा, यस प्रकारको अगुवा र कामदारले परमेश्‍वरको घरका विभिन्न भौतिक सामग्रीहरूलाई व्यवहार गर्दा कस्तो गल्ती गर्छ? के यो अगुवाले आफ्ना जिम्मेवारीहरू पूरा गरेको थियो? के उसले मामलालाई सम्हाल्ने काम परमेश्‍वरको घरका सामानहरू जोगाउने कुरामा आधारित थियो? पक्कै पनि थिएन। उसले परमेश्‍वरको घरका सामानहरूलाई गम्भीर रूपमा लिएको थिएन, यहाँसम्म कि दुष्ट व्यक्तिले यी सामानहरू नष्ट पार्दा वा लहरमा बोकेर लैजाँदा समेत उसले आँखा चिम्लेर बस्थ्यो। यदि उसका आफ्नै सामानहरू बिग्रिएको वा अरूले कब्जा गरेको भए के उसले त्यसलाई त्यसरी नै सम्हाल्ने थियो? अहँ—त्यो अवस्थामा उसले बदला र क्षतिपूर्तिबारे सोचिरहेको हुने थियो। त्यसोभए, उसले परमेश्‍वरको घरका सामानहरूलाई किन त्यो तरिकाले सम्हालेन? उसले यस्तो सम्म भन्थ्यो, “यदि उसलाई मन पर्छ भने उसले केही सामानहरू लगे हुन्छ—उसले त्यति धेरै लगिरहेको छैन। यदि उसलाई मन पर्छ भने उसले यी सामानहरूलाई अलिअलि हिनामिना गरे हुन्छ—त्यसो गर्ने थोरै चाहना कसलाई हुँदैन? उसले थोरै हिनामिना गरेर के फरक पर्छ र? अरूले कम पाउने पनि त होइन।” यो कस्तो प्रकारको मनोवृत्ति हो? के अगुवा र कामदारहरूले परमेश्‍वरको घरका सामानहरूप्रति राख्नुपर्ने मनोवृत्ति यही हो? (होइन।) के उसले जुन थालमा खायो त्यही थालमा चुठिरहेको छैन र? अनि उसले अन्त्यमा कस्तो तर्क दियो? “उसलाई ती सामानहरू हिनामिना गर्न देऊ—हामीले ऊसित यी हिसाबहरू मिलाउनु पर्दैन। ती साना रकम र सामानहरू कति नै हुन् र? ख्रीष्टविरोधीहरूले त्योभन्दा ज्यादै धेरै हिनामिना गर्छन्। उसले ती सामानहरूको हिनामिना गर्नु ऊ र परमेश्‍वरबीचको कुरा हो—समय आएपछि उसले परमेश्‍वरसमक्ष कसरी जबाफ दिन्छ त्यो उसको कुरा हो। हामीसँग त्यसको कुनै सम्बन्ध छैन।” एउटा अगुवाले त्यस्तो कुरा गरेको सुनेपछि तिमीहरूले कस्ता विचार र भावनाहरू अनुभव गर्छौ? कुनै इन्साफको बोध भएको र अलिकति भए पनि विवेकको चेतना भएको जोकोही यी शब्दहरू सुनेर भित्रभित्रै रुन्छ, र उसलाई मुटु टुक्रिएको र निराश महसुस हुन्छ, चाहे ऊ एक सामान्य अनुयायी नै किन नहोस्, अगुवा वा कामदारको त झन् कुरै छाडौँ! यस प्रकारको झूटो अगुवाले परमेश्‍वरको अनुग्रह र सुरक्षा, र उहाँका धेरै सत्यताहरूको अत्यन्तै उपभोग गर्छ, तर तिनीहरूमा अझै पनि परमेश्‍वरको घरका सामानहरूप्रति यस प्रकारको नृशंस मनोवृत्ति हुन्छ। के तिनीहरूमा मानवता हुन्छ? के तिनीहरू अगुवा वा कामदार हुन योग्य हुन्छन्? (हुँदैनन्।) एक पटक यस्तो व्यक्ति बर्खास्त भएपछि, के ऊ भविष्यमा अगुवा वा कामदार हुन योग्य हुन्छ? (हुँदैन—तिनीहरूको मानवता कमजोर हुन्छ।) तिनीहरूको कमजोर मानवता कसरी प्रकट हुन्छ? (तिनीहरूले परमेश्‍वरको घरका हितहरूलाई समर्थन नगर्नुमा।) त्यो खास कार्य के हो जसमा तिनीहरूले परमेश्‍वरको घरका हितहरूलाई समर्थन गर्दैनन्? यो खास प्रकटीकरणको सार के हो? यस्ता मानिसहरूको हृदय सही ठाउँमा हुँदैन र तिनीहरूको चरित्र निकृष्ट हुन्छ; तिनीहरू अत्यन्तै राम्रो तरिकाले बोल्छन्, तर वास्तविक काम केही पनि गर्दैनन्। यस्ता मानिसहरू कदापि अगुवा र कामदार बन्नु हुँदैन। जसको हृदय सही ठाउँमा छैन तिनीहरू सत्यताप्रेमी होइनन्, बरु तिनीहरू आफ्नै फाइदाको खोजीमा हुन्छन्; जसको हृदय सही ठाउँमा छैन तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूबारे बिलकुलै सोच्दैनन्, र मण्डलीको काम वा परमेश्‍वरको घरका हितहरूलाई बिलकुलै समर्थन गर्दैनन्।

अगुवा र कामदारहरूले गर्नैपर्ने पहिलो आधारभूत काम भनेको परमेश्‍वरको घरका विभिन्न भौतिक सामानहरूको राम्रो निगरानी गर्नु, सही तरिकाले जाँचहरू गर्नु र परमेश्‍वरको घरको रक्षा गर्नु, कुनै पनि सामानहरूलाई क्षति र नाश हुन, वा दुष्ट मानिसहरूको कब्जामा पर्न नदिनु हो। यो उनीहरूले गर्नुपर्ने न्यूनतम काम हो। तँ अगुवा वा कामदारका रूपमा चयन हुनेबित्तिकै, परमेश्‍वरको घरले तँलाई आफ्नो परिचारक ठान्दछ: तँ व्यवस्थापकीय वर्गमा पर्छस्, र तेरो काँधको काम अरूको भन्दा गह्रौँ हुन्छ। तैँले ठूलो जिम्मेवारी वहन गर्छस्। त्यसकारण तेरो हरेक मनोवृत्ति, तेरो हरेक कार्य, समस्याहरूलाई तह लगाउने तेरो हरेक योजना, र समस्याहरू समाधान गर्ने तेरो हरेको विधि सबैमा परमेश्‍वरको घरका हितहरू संलग्न हुन्छन्। यदि तैँले परमेश्‍वरको घरका हितहरूबारे विचार समेत गर्दैनस् वा तिनलाई मनमा लिँदैनस् भने, तँ उहाँको घरको परिचारक हुन अयोग्य छस्। यो कस्तो प्रकारको व्यक्ति हो? ऊ किन परमेश्‍वरको घरको परिचारक हुन योग्य छैन? झूटा अगुवाहरूमध्ये, कतिपय मानिसहरू कमजोर योग्यता भएका मात्र हुँदैनन्—तिनीहरूको मुख्य समस्या भनेको तिनीहरूले कुनै बोझ वहन नगर्नु हो; तिनीहरूले काम गर्न जानेका हुँदैनन्, तर तिनीहरूले सत्यता खोज्दैनन्, र तिनीहरू एउटा परिचारकले पूरा गर्नुपर्ने न्यूनतम जिम्मेवारीहरू पूरा गर्न समेत असक्षम हुन्छन्। तिनीहरूमा कुनै विवेक वा समझ हुँदैन। किनभने तिनीहरूको हृदयको सही ठाउँमा हुँदैन, तिनीहरू निकृष्ट चरित्रका हुन्छन्, साथै तिनीहरू स्वार्थी र नीच हुन्छन्; तिनीहरूले परमेश्‍वरको घरको कामलाई बिलकुलै समर्थन गर्दैनन्, बरु प्रायः मण्डलीका हितहरूलाई क्षति पुर्‍याउने र धोका दिने गर्छन्, मण्डलीका हितहरूलाई हानि गरेर मानिसहरूलाई चापलुसी गर्छन् र अरू मानिसहरूसँगको सम्बन्धलाई कायम राख्छन्। तिनीहरूले परमेश्‍वरको घरका भौतिक सामानहरूलाई क्षति हुन, नाश हुन, हराउन, वा दुष्ट मानिसहरूको कब्जामा समेत पर्न दिन्छन्, र तिनीहरूले यसबारे बिलकुलै वास्ता गर्दैनन्, वा यसबारे अलिकति पनि आभारी वा दोष महसुस गर्दैनन्। त्यसैले, अगुवा र कामदारहरू छनोट गर्ने सम्बन्धमा, यसलाई मानवताको दृष्टिकोणबाट हेर्दा, तिनीहरूमा हुनुपर्ने सबैभन्दा आधारभूत कुरा के हो? तिनीहरूमा विवेक र इन्साफको बोध हुनुपर्छ, र तिनीहरूको मनसाय उचित हुनुपर्छ। पहिले तिनीहरूको मानवता मापदण्डमा पुग्नुपर्छ। तिनीहरूसँग जति कार्यक्षमता भए पनि, वा तिनीहरूमा जुनसुकै तहको योग्यता भए पनि, त्यस प्रकारका मानिसहरूले सुपरभाइजरका रूपमा सेवा गरेमा तिनीहरू मापदण्डअनुरूपका परिचारक हुनेछन्। कम्तीमा, तिनीहरू परमेश्‍वरको घरका हितहरू र दाजुभाइ-दिदीबहिनीहरूका सामान्य हितहरूलाई समर्थन गर्न सक्षम हुनेछन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूका हितहरूलाई, र परमेश्‍वरको घरका हितहरूलाई बिलकुलै धोका दिनेछैनन्। परमेश्‍वरको घर र दाजुभाइ-दिदीबहिनीहरूका हितहरूलाई हानि वा चोट पुग्न लाग्दा, तिनीहरूले त्यसबारे पहिल्यै सोचेका हुन्छन्, र तिनीहरू तिनको रक्षा गर्न सबैभन्दा पहिले अघि सर्नेछन्, चाहे त्यसो गर्दा तिनीहरूको आफ्नै सुरक्षालाई असर पुगोस्, वा तिनीहरूले मूल्य तिर्न वा दुःख भोग्न नै किन नपरोस्। यी सबै विवेक र समझ भएका मानिसहरूले गर्न सक्ने कामहरू हुन्। कतिपय झूटा अगुवा र कामदारहरू खतरनाक परिस्थितिहरू सामना गर्नुपर्दा लुक्नका लागि हतारमा सुरक्षित ठाउँ खोज्छन्, तर परमेश्‍वरका वचनका पुस्तकहरू, मोबाइल, कम्प्युटर, आदि जस्ता परमेश्‍वरको घरका महत्त्वपूर्ण सामानहरूबारे तिनीहरूले न त ख्याल राख्छन् न सोधीखोजी गर्छन्। यदि तिनीहरूलाई आफू पक्राउ पर्दा त्यसले समग्र मण्डलीको कामलाई असर गर्छ भन्ने चिन्ता हुने भए, तिनीहरूले यी कुराहरूलाई समाधान गर्न अरूलाई पठाउन सक्थे—तर यी झूटा अगुवाहरू आफ्नै सुरक्षाका निम्ति मात्र लुक्छन्। तिनीहरू अत्यन्तै त्रसित हुन्छन्, र आफ्नो सुरक्षा सुनिश्चित गर्नका निम्ति, तिनीहरू आफूले गर्न सक्ने काम पनि गर्दैनन्। त्यसकारण त्यस्ता धेरै उदाहरणहरू छन् जहाँ खतरनाक परिस्थितिहरू उत्पन्न हुँदा झूटा अगुवाहरूको लापरवाही, निष्क्रियता, र गैरजिम्मेदारीका कारणले परमेश्‍वरको घरका विभिन्न सामानहरू र परमेश्‍वरलाई चढाइएका भेटीहरू ठूलो रातो अजिङ्गरले लुटेर लैजान्छ, जसले गम्भीर क्षतिहरू तुल्याउँछ। जब मण्डलीमा भर्खरै त्यस्ता परिस्थितिहरू उत्पन्न भएका हुन्छन्, त्यसबेला अगुवा र कामदारहरूको पहिलो सोच भनेको परमेश्‍वरको घरका उपकरण र भौतिक सामानहरूलाई उचित ठाउँहरूमा राख्ने, तिनलाई व्यवस्थापनका लागि उचित मानिसहरूलाई हस्तान्तरण गर्ने हुनुपर्छ; ठूलो रातो अजिङ्गरलाई ती वस्तुहरू बिलकुलै लान दिनु हुँदैन। तर झूटा अगुवाहरूको दिमागमा त्यस्ता कुराहरू कहिल्यै आउँदैनन्; तिनीहरूले परमेश्‍वरको घरका हितहरूलाई कहिल्यै पहिलो प्राथमिकता दिँदैनन्, बरु तिनीहरूले आफ्नै सुरक्षालाई पहिलो प्राथमिकता दिन्छन्। झूटा अगुवाहरूले वास्तविक काम गर्न नसक्दा परमेश्‍वरको घरका विभिन्न महत्त्वपूर्ण वस्तुहरूमा प्रायः नोक्सान वा क्षति पुग्छन्। के यो झूटा अगुवाहरूको गम्भीर कर्तव्य विमुखता होइन र? (हो।)

अगुवा र कामदारहरूका जिम्मेवारीहरूसम्बन्धी दसौँ विषयवस्तुका सम्बन्धमा, हामीले खुलासा गरिरहेको झूटा अगुवाहरूको मुख्य प्रकटीकरण चाहिँ के हो? परमेश्‍वरको घरका भौतिक वस्तुहरूप्रति झूटा अगुवाहरूको मनोवृत्ति उदासीनता र बेवास्ताको प्रकृतिको हुन्छ; तिनीहरू सिद्धान्तहरूद्वारा चल्दैनन्, बरु ती वस्तुहरू तिनीहरूका आफ्नै कल्पना र प्राथमिकताका आधारमा जथाभावी रूपमा परिचालन गर्छन्। तिनीहरूले वस्तुहरू व्यवस्थापन गरिरहँदा, परमेश्‍वरको घरका सामानहरूमा प्रायः धेरै वा थोरै मात्रामा क्षति र बरबादी भइरहेको हुन्छ, जसले परमेश्‍वरको घरको काममा घाटा तुल्याउँछ। यो नै झूटा अगुवाहरूको प्रमुख प्रकटीकरण हो। झूटा अगुवाहरूले यति सरल र कार्य सञ्चालनसम्बन्धी एउटा काम समेत सम्हाल्न सक्दैनन्; तिनीहरूले त्यति गर्न वा त्यसलाई राम्रोसँग गर्न समेत सक्दैनन्—त्यसोभए, तिनीहरूले के गर्न सक्छन् त? त्यसैले, जब तैँले त्यस्ता मानिसहरूले अगुवाका रूपमा कार्य गरिरहेको देख्छस्, तैँले तिनीहरूको कामको निरीक्षण र सुपरिवेक्षण गर्न सक्छस्। यदि तिनीहरूले कार्य सञ्चालनसम्बन्धी एउटा काम समेत अस्तव्यस्त बनाउँछन्, आफूले सक्ने काम समेत गर्दैनन्, र आफूसँग समय नहुँदा त्यो काम गर्ने अरू उचित मानिसहरू खोज्दैनन् भने, त्यस्ता अगुवाहरूलाई तुरुन्तै तिनीहरूको पदबाट बर्खास्त गरेर हटाइनुपर्छ। परमेश्‍वरको घरले तिनीहरूलाई कहिल्यै प्रयोग गर्नेछैनन्। के यो उचित हो? (हो।) किन? जुन व्यक्तिको हृदय सही ठाउँमा छैन, जसको बुझाइ विकृत छ, र जसले आफ्ना भावना र स्वार्थी, नीच महत्त्वाकाङ्क्षा र चाहनाहरूअनुसार मात्र काम गर्छ, त्यो भरोसायोग्य हुँदैन। भरोसाहीन व्यक्तिले के काम चाहिँ राम्रोसँग गर्न सक्छ? उसले कस्तो कर्तव्य राम्ररी पूरा गर्न सक्छ? के ऊ बफादारीका साथ कर्तव्य निर्वाह गर्न सक्षम हुन्छ? (हुँदैन।)

अगुवा र कामदारहरूका जिम्मेवारीहरूसम्बन्धी दसौँ विषयवस्तुबारे आजको सङ्गतिमार्फत, के मैले अगुवा र कामदारहरूमा हुनुपर्ने अर्को एउटा सिद्धान्त र मापदण्डबारे प्रस्ट रूपमा व्याख्या गरेको छैन र? यो योग्यताको प्रश्न होइन, र कार्यक्षमताको प्रश्न पनि होइन, बरु मानवताको प्रश्न हो। त्यस्ता मानिसहरूलाई नियालेर हेर् जो अगुवा र कामदारका रूपमा सेवा गरिरहेका छन्, वा जसलाई मण्डलीले जगेर्ना गरिरहेको छ, अनि तिनीहरूमध्ये कमजोर मानवता भएका र सही ठाउँमा हृदय नभएका, दसौँ विषयवस्तुमा विश्लेषण गरिएका झूटा अगुवाहरूको जस्तै मानवता भएका कोही छन् कि भनी हेर्। यदि तैँले साँच्चिकै त्यस्ता अगुवा र कामदारहरू भेट्टाइस् भने, तैँले तिनीहरूलाई बर्खास्त गर्नुपर्छ, र त्यस्ता मानिसहरूलाई अगुवाका रूपमा कहिल्यै चयन नगर्न, र त्यस्ता मानिसहरूलाई अगुवा र कामदार हुन कहिल्यै जगेर्ना नगर्न सम्झनुपर्छ। यदि केही मानिसहरूले ती मानिसहरूको चरित्रलाई नबुझेर तिनीहरूलाई चयन गरेमा, तुरुन्तै तिनको रिपोर्ट गर्। तिनीहरूलाई अगुवा र कामदार हुने मौका नदे। ती मानिसहरू वास्तविक काम गर्न अगुवा र कामदार बनेका हुँदैनन्, बरु मण्डलीको कामलाई नष्ट गर्नका लागि बनेका हुन्छन्। यदि तिनीहरू अगुवा बनेमा, परमेश्‍वरको घरका विभिन्न भौतिक सामानहरू त्यसकै कारण नष्ट मात्र हुनेछन्। के तिमीहरू त्यस्तो परिणाम हेर्न इच्छुक छौ? (छैनौँ।) त्यसोभए, तिमीहरूले त्यस्ता मानिसहरूलाई कस्तो व्यवहार गर्नुपर्छ? यदि तिनीहरू अहिले अगुवाका रूपमा सेवा गरिरहेका छन् भने, तिनीहरूको रिपोर्ट गरेर तिनीहरूलाई पदबाट हटाइदे। यदि सेवा गरिरहेका छैनन्, यदि तिनीहरू अझै पनि चयन भएका छैनन् भने, सबैलाई यसो भन्: “यो व्यक्ति काम लाग्दैन। जे गरे पनि उसलाई चाहिँ चयन नगर; त्यो मण्डलीलाई हानिकारक हुन्छ।” अनि यदि मानिसहरूलाई छल र गलत मार्गनिर्देशन गरेर तिनीहरूलाई चयन गर्न बाध्य पारिएका छन् भने, तैँले तुरुन्तै सबैलाई जानकारी गराउनुपर्छ: “आज हामीले एउटा गल्ती गर्‍यौँ। हामीले कमजोर मानवता भएको र गलत ठाउँमा हृदय भएको व्यक्तिलाई हाम्रो अगुवामा चयन गर्‍यौँ। हामीले यसो गरेकाले परमेश्‍वरको घरका हितहरूमा क्षति र हानि पुग्नेछ। हामीले तिनीहरूलाई पदबाट तुरुन्तै हटाउनुपर्छ, ताकि परमेश्‍वरको घरका हितहरू र विभिन्न वस्तुहरूमा क्षति नपुगोस्। हामीले तिनीहरूको षडयन्त्रलाई सफल हुन दिनु हुँदैन।” के यसो गर्नु उचित कुरा हो? (हो।)

जसलाई अगुवा र कामदारका रूपमा चुनिएका छन् तिनीहरूमा योग्यता र कार्यक्षमता हुन आवश्यक छ; अब त तिनीहरूका चरित्रसम्बन्धी पनि मागहरू छन्। तिमीहरू के भन्छौ, के अधिकांश मानिसहरूले अगुवा र कामदार बन्ने मापदण्डहरू पूरा गर्दैनन्? यी तीनमध्ये कुन चाहिँ सबैभन्दा महत्त्वपूर्ण छ? (मानवता।) अनि दोस्रो? (कार्यक्षमता।) त्यसपछि? (तिनीहरूमा योग्यता छ कि छैन भन्ने कुरा।) त्यो क्रम सही छ। तिमीहरूले भविष्यमा अगुवाहरू चयन गर्दा, तिनीहरूलाई यही क्रमअनुसार मापन गर। कतिपय मानिसहरू भन्छन्, “यो क्रममा एउटा समस्या छ। मानौँ मानवता पहिलो स्थानमा आउँछ, र कतिपय मानिसहरू छन् जसको मानवता राम्रो छ तर योग्यता ज्यादै नराम्रो छ, र यदि तिनीहरूलाई अगुवाका रूपमा छनौट गरियो भने, तिनीहरूले कुनै पनि वास्तविक काम गर्न सक्नेछैनन्—त्यस्तो अवस्थामा के मानिसहरूको मानवतालाई मात्र विचार गर्नु ठीक हुन्छ?” मानिसहरूको मानवता सबैभन्दा महत्त्वपूर्ण हो, र त्यो नै तैँले हेर्नुपर्ने पहिलो कुरा हो, तर त्यो अगुवा र कामदारहरू चयन गर्दा विचार गर्नुपर्ने एउटै मात्र कुरा चाहिँ होइन। यदि कुनै व्यक्तिको मानवता मापदण्डअनुरूप छ भने, त्यसपछि उसको कार्यक्षमता हेर्। यदि उसमा कार्यक्षमताको कमी छ, र उसले कुनै पनि वास्तविक काम गर्न सक्दैन भने, तैँले उसलाई अत्यधिक क्षमता आवश्यक नपर्ने किसिमको काम गर्न आग्रह गर्न सक्छस्। यदि तिनीहरूको मानवता राम्रो छ, र तिनीहरू कामको जिम्मेवारी लिन सक्षम छन् र त्यो काम राम्ररी गर्न सक्दो कोसिस गर्छन्, साथै तिनीहरू भरोसायोग्य छन्, परमेश्‍वरको घरले तिनीहरूलाई प्रयोग गर्नेबारे कुनै सङ्कोच मान्नुपर्दैन, र तिनीहरू धेरैजसो दाजुभाइ-दिदीबहिनीहरूका लागि ज्ञानवर्धक, सहयोगी, र फाइदाजनक छन् भने, तिनीहरूले मापदण्ड पूरा गर्छन्। यदि तिनीहरूको योग्यता कम छ र तिनीहरूमा कार्यक्षमताको कमी छ, वा यदि तिनीहरू कार्यक्षमताको हिसाबले औसत मात्र छन् भने, तिनीहरूलाई केही सरल काम अथवा एउटा मात्र काम गराऊ। यदि तिनीहरूमा राम्रो योग्यता र बलियो कार्यक्षमता छ भने, तिनीहरूले केही महत्त्वपूर्ण काम वा केही फरक-फरक कामहरू गर्न सक्छन्। के तैँले यस्ता किसिमका बन्दोबस्तहरू समेत गर्न सक्दैनस्? यदि तिनीहरूको मानवता कमजोर छ र तिनीहरूको हृदय सही ठाउँमा छैन भने, तिनीहरूको कार्यक्षमता जति नै ठूलो भए पनि, के तिनीहरूले काम राम्ररी गर्न सक्नेछन्? (सक्नेछैनन्।) यदि तिनीहरूले एउटा कम्पनी वा केही कर्मचारी व्यवस्थापन गरे, त्यसमा सायद समस्या नहोला—तर यदि तिनीहरूलाई परमेश्‍वरको घरका विभिन्न सामानहरू व्यवस्थापन गर्न भनियो भने कस्ता समस्याहरू उत्पन्न होलान्? सर्वप्रथम, तिनीहरूले बिलकुलै ती सामानहरू व्यवस्थापन गर्ने थिएनन् वा परमेश्‍वरको घरले माग गरेका सिद्धान्तहरूअनुसार कामकुरा सम्हाल्ने थिएनन्। तिनीहरूको हृदय सही ठाउँमा हुँदैन, तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्, र तिनीहरूको हृदयमा षड्यन्त्र बाहेक केही पनि हुँदैन, दुष्ट विचार र सोचहरू बाहेक केही पनि हुँदैन, त्यसैले तिनीहरूले कार्य गर्दा जहिले पनि सत्यता सिद्धान्तहरू र निष्पक्षताका आधारमा नभई आफ्नै प्राथमिकताहरूअनुसार, र आफ्नै स्वार्थहरूमा आधारित भएर गर्छन्। तिनीहरू आफूले गुमाउनु वा पाउनु पर्ने कुराबारे मात्र विचार गर्छन् र परमेश्‍वरको घरले माग गरेका सिद्धान्तहरूबारे केही पनि सोच्दैनन्—यसर्थ तिनीहरू अगुवा र कामदारहरूको काममा असफल हुने निश्चित हुन्छ। यो केद्वारा निर्धारित हुन्छ? तिनीहरूको चरित्रद्वारा; यो तिनीहरूको कार्यक्षमताद्वारा निर्धारित हुँदैन। त्यसैले, कोही कुलीन हो कि तल्लो स्तरको, र उसले अगुवा र कामदारहरूमा छनोट हुनका लागि परमेश्‍वरको घरका मापदण्डहरू पूरा गर्छ कि गर्दैन भन्ने कुरालाई जोख्दा, सुरुमा उसको मानवतालाई हेर्: यदि उसको मानवता भरपर्दो र योग्य छ भने, त्यसपछि उसमा कार्यक्षमता छ कि छैन र उसले बोझ राख्छ कि राख्दैन भन्नेबारे विचार गर्; त्यसपछि अन्य पक्षहरूबारे विचार गर्।

यो अगुवा र कामदारहरूका जिम्मेवारीहरूसम्बन्धी दसौँ विषयवस्तु हो। झूटा अगुवाहरूका विभिन्न प्रकटीकरणहरूसम्बन्धी दसौँ विषयवस्तुमा विश्लेषण गरिएको कुरा लगभग यही नै हो। झूटा अगुवाहरूले परमेश्‍वरको घरका विभिन्न भौतिक सामानहरूलाई व्यवहार गर्दा देखाउने मनोवृत्ति र प्रकटीकरणहरूमा देख्न सकिन्छ कि तिनीहरूमध्ये अधिकांशमा विवेक र समझ हुँदैन, कि तिनीहरूको मानवता अत्यन्तै कमजोर हुन्छ र तिनीहरूले कुनै जिम्मेवारी लिँदैनन्—तैँले तिनीहरूका हृदय गलत ठाउँमा छन् भन्न सक्छस्। के अब झूटा अगुवाहरूलाई चित्रण गर्नका लागि हामीसँग थप एउटा प्रमाण छैन त? कतिपय झूटा अगुवाहरू काम गर्ने सक्दैनन् किनभने तिनीहरूको योग्यता कम हुन्छ, साथै तिनीहरू अन्धा हुन्छन् र तिनीहरूमा कामकुराको अन्तर्ज्ञान हुँदैन। कतिपयले वास्तविक काम गर्दैनन् किनभने तिनीहरूको हृदय सही ठाउँमा हुँदैन, र तिनीहरू आफ्नै फाइदाको खोजीमा मात्र हुन्छन्—तिनीहरूले परमेश्‍वरको घरका हितहरूलाई समर्थन गर्दैनन्, र परमेश्‍वरका चुनिएका मानिसहरू बाँचे पनि मरे पनि वास्ता गर्दैनन्। परमेश्‍वरको घरको काममा ढिलो हुन नदिन र उहाँका चुनिएका मानिसहरूलाई हानिबाट जोगाउन हरेक प्रकारको झूटो अगुवालाई सकेसम्म चाँडो बर्खास्त गरेर हटाउनुपर्छ।

मे १, २०२१

अघिल्लो: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१०)

अर्को: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१२)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्