अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१०)

विषयवस्तु नौ: परमेश्‍वरको घरका माग अनुसार त्यसका विभिन्‍न कामका प्रबन्धहरूलाई मार्गदर्शन, सुपरिवेक्षण, र प्रोत्साहन प्रदान गर्दै सही रूपमा सञ्चार, जारी र कार्यान्वयन गर्नु, अनि तिनको कार्यान्वयनको स्थितिलाई निरीक्षण र अनुगमन गर्नु (भाग दुई)

कामका बन्दोबस्तहरूको कार्यान्वयनका लागि मार्गनिर्देशन, सुपरिवेक्षण, र प्रोत्साहन प्रदान गर्नु, र तिनको कार्यान्वयनको स्थितिलाई निरीक्षण र अनुगमन गर्नु

आज, हामी अगुवा र कामदारहरूको नवौँ जिम्मेवारी, अर्थात् “परमेश्‍वरको घरका माग अनुसार त्यसका विभिन्‍न कामका प्रबन्धहरूलाई मार्गदर्शन, सुपरिवेक्षण, र प्रोत्साहन प्रदान गर्दै सही रूपमा सञ्चार, जारी र कार्यान्वयन गर्नु, अनि तिनको कार्यान्वयनको स्थितिलाई निरीक्षण र अनुगमन गर्नु” बारेको सङ्गतिलाई निरन्तरता दिनेछौँ। पछिल्लोपटक, हामीले मुख्य गरी मानिसहरूले बुझ्नुपर्ने कामका बन्दोबस्तहरूभित्रका विभिन्‍न सामग्री र निश्चित विषयवस्तुहरूबारे, साथै अगुवा र कामदारहरूका सबैभन्दा आधारभूत जिम्मेवारीहरू: कामका बन्दोबस्तहरू सञ्चार, जारी र कार्यान्वयन गर्नेबारे सङ्गति गर्‍यौँ। आज, हामी अगुवा र कामदारहरूले कसरी मार्गनिर्देशन, सुपरिवेक्षण, र प्रोत्साहन प्रदान गर्नुपर्छ, र उनीहरूले कामका बन्दोबस्तहरू जारी भएपछि कसरी तिनको कार्यान्वयनको स्थितिलाई निरीक्षण र अनुगमन गर्नुपर्छ भन्‍नेबारे विशिष्ट रूपमा सङ्गति गर्नेछौँ। अगुवा र कामदारहरूले कामका बन्दोबस्तहरूलाई कसरी लिनुपर्छ, र कामका बन्दोबस्तहरूको महत्त्व बुझिसकेपछि माथिका माग र चरणहरूअनुसार कसरी कामका बन्दोबस्तहरूलाई सही तरिकाले कार्यान्वयन र लागु गर्ने—अगुवा र कामदारहरूले सङ्गतिमार्फत बुझ्नैपर्ने सत्यता सिद्धान्तहरू यिनै हुन्, र उनीहरूले मण्डलीका विभिन्‍न काम राम्ररी गर्नका निम्ति यी सिद्धान्तहरू बोध गर्नु आवश्यक हुन्छ। अगुवा र कामदारहरूले के थाहा पाउनुपर्छ भने यस भूमिकामा सेवा गर्नेहरूका लागि परमेश्‍वरको घरको आधारभूत माग भनेको मुख्यगरी उनीहरूले विभिन्‍न कामका बन्दोबस्तहरूमा केन्द्रित भएर आफ्नो काम निर्वाह गर्नु हो। उनीहरू आफ्नै व्यक्तिगत उद्यममा लाग्नु वा उनीहरूका आफ्नै कामनाहरू अनुसार कामकुरा गर्नु होइन, र निश्चय नै उनीहरूले गर्ने कुनै पनि काममा अल्याङमल्याङ गर्नु होइन। अवश्य पनि, उनीहरूले केही आविष्कार वा सिर्जना गर्नु पनि होइन। त्यसको साटो, उनीहरूले परमेश्‍वरको घरको कामका बन्दोबस्तहरूका आधारमा विशिष्ट तरिकाले र विस्तृत रूपमा काम गर्नु हो। काम कसरी विशिष्ट तरिकाले गरिनुपर्छ? त्यसमा कस्ता विवरणहरू समावेश हुन्छन्? यी प्रश्नहरूको जबाफ नवौँ जिम्मेवारीका मागहरूमा छ: परमेश्‍वरको घरका विभिन्‍न कामका बन्दोबस्तहरू सञ्चार, जारी, र कार्यान्वयन गर्नेबाहेक, अगुवा र कामदारहरूले मार्गनिर्देशन, सुपरिवेक्षण, र प्रोत्साहन प्रदान गर्न, र तिनको कार्यान्वयनको स्थितिलाई निरीक्षण र अनुगमन गर्न पनि आवश्यक छ। अगुवा र कामदारहरूले कामका बन्दोबस्तहरू कार्यान्वयन गर्नका लागि अभ्यासका विशिष्ट मार्गहरू यिनै हुन्। यसपछि, हामी तिनका बारेमा एक-एक गर्दै छलफल गर्नेछौँ।

कामका बन्दोबस्तहरू जारी गरिएपछि, अगुवा र कामदारहरूले पहिला त्यसमा अघि सारिएका विभिन्‍न माग र सिद्धान्तहरूबारे मनन र सङ्गति गर्नैपर्छ। त्यसपछि, उनीहरूले विशिष्ट रूपमा काम कार्यान्वयन गर्नका लागि मार्गहरू खोज्नैपर्छ र योजनाहरू अभ्यास गर्नैपर्छ। सुरुमा, उनीहरूले कामका बन्दोबस्तहरूले के-के माग गर्छन्, के-कस्तो विशिष्ट काम गर्नु आवश्यक छ, र त्यसमा संलग्न सिद्धान्तहरू के-के हुन्, साथै कामका बन्दोबस्तहरूले कुन मानिसहरू र कामको कुन पक्षलाई सम्बोधन गरिरहेका छन् भनेर थाहा पाउनुपर्छ। अगुवा र कामदारहरूले कामका बन्दोबस्तहरू प्राप्त गरेपछि सुरुमा गर्नैपर्ने कुरा यही हो। उनीहरूले कामका बन्दोबस्तहरू केवल सरसर्ती पढ्ने अनि सबैलाई ठूलो स्वरमा पढेर सुनाउने, वा तिनलाई तल्लो तहमा पठाएर सबैलाई कामबारे जानकारी गराउने, अनि त्यति मात्रै गर्ने गर्नु हुँदैन। यो त कामका बन्दोबस्तहरू सञ्चार र जारी गर्नु मात्र हो; यो तिनलाई कार्यान्वयन गर्नु होइन। तिनको कार्यान्वयनमा पर्ने पहिलो विशिष्ट काम भनेको अगुवा र कामदारहरूले कामका बन्दोबस्तहरूको विशिष्ट सामग्री, मण्डलीका यी कामहरूका लागि परमेश्‍वरका माग र उद्देश्यहरू, र यस कामलाई अघि बढाउनुको महत्त्वबारे थाहा पाउनु, र त्यसपछि लागु र कार्यान्वयन गर्ने विशिष्ट योजनाहरू विकास गर्नु हो। यो पहिलो चरण हो। के पहिलो चरण हासिल गर्न सजिलो छ? (छ।) तैँले लिखित शब्दहरू र मानव भाषा बुझ्न सकेसम्म, पहिलो चरण हासिल गर्न सजिलै हुनुपर्ने हो। अवश्य पनि, पहिलो चरण पूरा गर्नका लागि अगुवा र कामदारहरू अलमल्ल हुनु, झाराटारुवा हुनु र आलटाल गर्नुको साटो, उनीहरूले कामप्रति गम्भीर, इमानदार, जिम्मेवार, र होसियार मनोवृत्ति राख्नुपर्ने माग पनि गरिन्छ। कामका बन्दोबस्तहरू यसअघि उल्लेख गरिएको भए पनि वा नभए पनि, मानिसहरूलाई त्यो कुरा हासिल गर्न सजिलो भए पनि वा अलि गाह्रो भए पनि, मानिसहरू त्यो गर्न इच्छुक भए पनि वा अनिच्छुक भए पनि, जे भए पनि, अगुवा र कामदारहरूले मण्डलीको कामप्रति सतही मनोवृत्ति राख्नु हुँदैन, केवल केही धर्मसिद्धान्त बोल्ने, नाराहरू फलाक्ने, वा त्यसलाई झाराटारुवा तरिकाले सम्हाल्नका लागि केही सतही प्रयास लगाउने गर्नु हुँदैन। मानिसहरूमा हुनुपर्ने मनोवृत्ति के हो त? पहिलो, उनीहरूमा गम्भीर, इमानदार, जिम्मेवार र होसियार मनोवृत्ति हुनुपर्छ। के यस्तो मनोवृत्ति हुनुको अर्थ व्यक्तिले कामका बन्दोबस्तहरूमा रहेका निश्चित विषयवस्तुहरूलाई राम्ररी कार्यान्वयन गर्न सक्छ भन्‍ने हो? होइन, यो त व्यक्तिले कुनै पनि काम गर्दा उसमा हुनुपर्ने मनोवृत्ति मात्र हो; यसले खास कार्यहरूको वास्तविक कार्यान्वयनलाई प्रतिस्थापन गर्न सक्दैन। उनीहरूमा यो मनोवृत्ति भएपछि र उनीहरू कामका बन्दोबस्तहरूका विशिष्ट सामग्री, मागहरू, र सिद्धान्तहरू पनि बुझ्ने भएपछि, अगुवा र कामदारहरूका लागि त्यसपछिको चरण भनेको उनीहरूले कामका बन्दोबस्तहरूमा भएका विशिष्ट कार्यहरू कसरी कार्यान्वयन गर्छन् भन्‍ने हो। पहिला के गरिनुपर्छ? उनीहरूले राम्रोसँग तयारीको काम गर्नैपर्छ; यो निकै महत्त्वपूर्ण छ। पहिला, उनीहरूले यी कार्यहरूका लागि विशिष्ट अभ्यासका सिद्धान्तहरूबारे सङ्गति गर्न अगुवा र कामदारहरू अनि सुपरभाइजरहरूलाई भेला गर्नैपर्छ। त्यसपछि, उनीहरूले विशिष्ट बन्दोबस्त र योजनाहरू विकास गर्नैपर्छ। त्यो सँगसँगै, उनीहरूले यी योजनाहरूका सम्बन्धमा परमेश्‍वरका चुनिएका मानिसहरूका सुझाव वा विचारहरू खोज्नुपर्छ। त्यसपछि सबैले कामका बन्दोबस्तहरूमा अघि सारिएका सबै माग र सिद्धान्त बुझुञ्जेल र प्रस्ट हुञ्जेल, अनि सबैले कामका यी बन्दोबस्तहरू कार्यान्वयन र अभ्यास गर्न जानुञ्जेल सँगै खोजी र सङ्गति गर्नुपर्छ—त्यसपछि कामका बन्दोबस्तहरूको सुरुवाती चरण पूरा भएको मानिन्छ। त्यसैले, सबैले कामका बन्दोबस्तहरू कसरी कार्यान्वयन गर्ने भन्‍ने थाहा पाएपछि, के त्यसको अर्थ कामका बन्दोबस्तहरू कार्यान्वयन गर्ने काम पूरा भएको छ भन्‍ने हुन्छ? अहँ, हुँदैन। कतिपय विस्तृत मामला र विशेष परिस्थितिहरू कामका बन्दोबस्तहरूमा उल्लेख भएका हुँदैनन्, तर ती वास्तवमै समाधान गरिनुपर्ने समस्याहरू हुन्। कामका बन्दोबस्तहरूबारे सङ्गति गर्दा, अगुवा र कामदारहरूले यी विशेष परिस्थितिहरू, समाधान गर्नैपर्ने यी समस्याहरू पत्ता लगाउनुपर्छ, र तिनलाई पूर्ण रूपमा समाधान गर्न सत्यता खोज्नुपर्छ, र त्यससँग सँगै उनीहरूले तिनका लागि विशिष्ट कार्यान्वयन योजनाहरू पनि विकास गर्नुपर्छ। यसरी, जब सबै तहका अगुवा र कामदारहरूले कामका बन्दोबस्तहरू कार्यान्वयन गरिरहेका हुन्छन्, तब उनीहरूलाई कुन सिद्धान्तहरू पालना गर्ने र कुन समस्याहरू समाधान गर्ने भनेर थाहा हुनेछ। कामका बन्दोबस्तहरूप्रति अगुवा र कामदारहरूमा हुनुपर्ने न्यूनतम बुझाइ र मनोवृत्ति यही नै हो। यस कार्यलाई अगुवा र कामदारहरूले मण्डलीको काम कसरी गर्ने भनी सिक्ने सुरुवाती बिन्दु मान्‍न सकिन्छ। खोजी र सङ्गति गरेर, मार्गनिर्देशन प्रदान गरेर अनि बन्दोबस्तहरू गरेर, उनीहरूले केही वास्तविक कठिनाइ र विशेष परिस्थितिहरूलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्न र सम्हाल्न सिक्छन्। त्यसपछि मात्र उनीहरूले साँचो रूपमा कामका बन्दोबस्तहरू कार्यान्वयन गर्न सक्छन्।

अ. मार्गनिर्देशन प्रदान गर्ने

कुनै कार्यका लागि प्रारम्भिक मार्गदर्शन प्रदान गर्दा, विशेष परिस्थितिहरूका लागि विशिष्ट कार्यान्वयन योजनाहरू प्रस्ताव गर्ने बाहेक, औसत क्षमता र तुलनात्मक रूपमा कमजोर कार्य योग्यता भएका अगुवा र कामदारहरूलाई अझ विशिष्ट र विस्तृत मार्गदर्शन दिइनुपर्छ। यी मानिसहरूले धर्मसिद्धान्तका हिसाबमा कुनै कार्य सिद्धान्तहरू र विशिष्ट कार्यान्वयन योजनाहरू बुझ्न सक्ने भए पनि, वास्तविक कार्यान्वयनको कुरा गर्नुपर्दा उनीहरूले अझै पनि तिनलाई अभ्यास गर्न जानेका हुँदैनन्। तैँले कमजोर क्षमता भएका र कार्य योग्यताको कमी भएका ती केही अगुवा र कामदारलाई कसरी व्यवहार गर्नुपर्छ? कतिपय मानिस भन्छन्, “यदि कमजोर क्षमता भएको कुनै व्यक्तिले त्यो काम गर्न सक्दैन भने, उसलाई प्रतिस्थापन गर्न झनै राम्रो क्षमता भएको कसैलाई किन नखोज्ने?” कठिनाइ यहीँ नै हुन्छ: कतिपय मण्डलीले त्योभन्दा राम्रो कोही भेटाउन सक्दैनन्। ती मण्डलीहरूमा, सबैले लगभग समान वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन् र उनीहरू कदको हिसाबले लगभग उस्तै हुन्छन्; विशेषगरी, सबैको क्षमता र कार्य योग्यता औसत हुन्छ। अलि राम्रो कोही भेट्टाउनका लागि, तैँले अन्य मण्डलीहरूबाट मानिसहरू सार्नुपर्ने हुन्छ, तर त्यहाँ त्यसो गर्न त्यति सहज हुँदैन, र साँच्चिकै उपयुक्त उम्मेदवारहरू कोही हुँदैनन्। तैँले स्थानीय मण्डलीबाट तुलनात्मक रूपमा उपयुक्त उम्मेदवारहरू मात्र छान्‍न सक्छस्। यदि उनीहरूको कामले माग गरिएका मानकहरू पूरा गर्दैन भने, त्यस्ता परिस्थितिहरूमा के गर्नुपर्छ? तैँले उनीहरूलाई काम कसरी गर्ने र त्यसलाई कसरी कार्यान्वयन गर्ने भनेर किटेरै भन्‍नुपर्छ। तैँले उनीहरूलाई यस कार्यका लागि कसलाई नियुक्ति गरिनुपर्छ र जिम्मेवार बनाइनुपर्छ, र कुन-कुन मानिसहरूलाई त्यसमा सहकार्य गर्नका लागि चयन गरिनुपर्छ भनेर बताउनुपर्छ। उनीहरूलाई यी सबै विस्तृत विवरणहरू बुझाएर यसलाई अघि बढाउन दे। त्यो किन यस तरिकाले गरिनुपर्छ? किनभने स्थानीय मण्डलीका सदस्यहरूसँग सामान्यतया निकै सतही अनुभव मात्र हुन्छ र कार्य योग्यताको कमी हुन्छ, जसले उपयुक्त अगुवा र कामदारहरू चयन गर्न असम्भव बनाउँछ। यस तरिकाले काम गरेर मात्र कामका बन्दोबस्तहरू कार्यान्वयन गर्न सकिन्छ। यदि तँ यस तरिकाले काम गर्दैनस् र यी मानिसहरूलाई अन्य अगुवा र कामदारहरूझैँ व्यवहार गर्छस्, उनीहरूलाई विशिष्ट सिद्धान्त र योजनाहरूबारे मात्र बताउँछस्, र अविवेकी हुन्छस् भने, कामका बन्दोबस्तहरू कार्यान्वयन हुनेछैनन्। यदि तँ यसप्रति कुनै ध्यान दिँदैनस् भने, के त्यो जिम्मेवारीबाट विमुख हुनु होइन र? (हो।) यो अगुवा र कामदारहरूको जिम्मेवारी हो। कतिपय अगुवा र कामदारहरू यसो भन्छन्, “अरूलाई कामका बन्दोबस्तहरू कसरी कार्यान्वयन र अभ्यास गर्ने भनेर थाहा हुन्छ; यस व्यक्तिलाई चाहिँ किन थाहा छैन? यदि उसलाई थाहा छैन भने, म उसको चिन्ता गर्नेछैन। त्यो मेरो जिम्मेवारी होइन। जे भए पनि, मैले आफ्नो भागको काम गरेको छु।” के यो तर्क जायज छ? (छैन।) उदाहरणका लागि, मानौँ एउटी आमाका तीनवटा बच्चा छन्, र एउटा निर्बल छ, ऊ सधैँ बिरामी पर्छ, र खाना खान मन गर्दैन। यदि ती आमाले त्यस बच्चालाई नखान अनुमति दिने हो भने, त्यो बच्चा लामो समय नबाँच्न सक्छ। उसले के गर्नुपर्छ? एउटी आमाका रूपमा, उसले त्यस निर्बल बच्चाको विशेष हेरचाह गर्नुपर्छ। मानौँ ती आमा यसो भन्छे, “मैले मेरा बच्चाहरूलाई समान व्यवहार गर्नु नै काफी छ। मैले यस बच्चालाई जन्माएँ र उसलाई खाना बनाइदिएँ। मैले आफ्नो जिम्मेवारी पूरा गरेकी छु। उसले खाए पनि वा नखाए पनि मलाई मतलब छैन। यदि उसले खाँदैन भने, ऊ भोकै रहोस्, उसलाई साँच्चिकै भोक लागेपछि उसले खानेछ।” तँ यस्ती आमाबारे के सोच्छस्? (ऊ गैरजिम्मेवार छे।) के यस्ता आमाहरू हुन्छन्? मन्द-बुद्धिकी महिला वा सौतेनी आमा मात्र त्यस्ता हुन्छन्। यदि ऊ जैविक आमा हो र मन्द-बुद्धिकी छैन भने, उसले आफ्नै बच्चालाई कहिल्यै यस्तो व्यवहार गर्नेथिइन, होइन र? (हो।) यदि कुनै बच्चा निर्बल छ, सधैँ बिरामी हुन्छ, र खान रुचाउँदैन भने, उसकी आमाले अझ बढी हेरचाह र मेहनत गर्नुपर्छ। उसले बच्चालाई खाना खुवाउने उपायहरू खोज्नुपर्छ, बच्चाले जे खान चाहन्छ त्यो पकाइदिनुपर्छ, उसका लागि विशेष खानाहरू तयार गर्नुपर्छ, र जब बच्चाले खान मन गर्दैन, तब उसले फकाउनुपर्छ। जब ऊ अठार-उन्‍नाइस वर्ष पुग्छ र उसको शरीर सामान्य वयस्कको जस्तै स्वस्थ हुन्छ, तब आमा आराम गर्न र पछि हट्न सक्छे, र उसले उप्रान्त यस बच्चाको विशेष हेरचाह गर्नु पर्दैन। यदि एउटी आमाले विशेष परिस्थितिहरू भएको यस्तो बच्चालाई यसरी व्यवहार गरेर आफ्नो जिम्मेवारी पूरा गर्न सक्छे भने, अगुवा र कामदारले सक्छ कि सक्दैन? यदि तँमा दाजुभाइ-दिदीबहिनीहरूका लागि आमाको जस्तो प्रेमसमेत छैन भने, तँ बस गैरजिम्मेवार छस्। तैँले आफूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गर्नैपर्छ; तैँले ती मण्डलीहरूलाई ख्याल गर्नैपर्छ, जसको कमान तुलनात्मक रूपमा कमजोर र तुलनात्मक रूपमा कार्य योग्यता कम भएकाहरूले सम्हालेका छन्। अगुवा र कामदारहरूले यस्ता मामलाहरूलाई विशेष ध्यान दिनैपर्छ र विशेष मार्गनिर्देशन प्रदान गर्नैपर्छ। विशेष मार्गनिर्देशनले के जनाउँछ? सत्यताबारे सङ्गति गर्ने बाहेक, तैँले अझ विशिष्ट र विस्तृत मार्गनिर्देशन र सहायता पनि प्रदान गर्नैपर्छ, जसका लागि सञ्चारको हिसाबले अझ बढी प्रयत्न आवश्यक पर्छ। यदि तैँले उनीहरूलाई कामका बारेमा व्याख्या गरेपछि पनि उनीहरूले बुझ्दैनन्, र त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्‍ने कुरा जान्दैनन्, वा उनीहरूले धर्मसिद्धान्तको हिसाबले त्यो बुझे पनि र त्यसलाई कार्यान्वयन गर्न जानेका जस्तो देखिए पनि, तँ वास्तविक कार्यान्वयन कस्तो हुनेछ भन्‍नेबारे अझै अनिश्चित र अलि चिन्तित छस् भने, तब तैँले के गर्नुपर्छ? तँ आफै स्थानीय मण्डलीको गहिराइमा गएर उनीहरूलाई मार्गनिर्देशन गर्नुपर्छ र उनीहरूसँगै त्यो कार्य कार्यान्वयन गर्नुपर्छ। कामका बन्दोबस्तहरूका मागहरूअनुसार गर्न आवश्यक कार्यहरूसम्बन्धी विशिष्ट बन्दोबस्तहरू गर्ने क्रममा उनीहरूलाई सिद्धान्तहरू बता, जस्तै पहिला के गर्ने र त्यसपछि के गर्ने, र मानिसहरूलाई कसरी सही तरिकाले बाँडफाँड गर्ने—यी सबै कुरालाई राम्ररी व्यवस्थित गर्। यो नाराहरू मात्र फलाक्नु वा जथाभावी हुकुम दिनु, र उनीहरूलाई केही धर्मसिद्धान्तका साथ भाषण दिनु, अनि आफ्नो काम सकिएको ठान्‍नु नभई व्यावहारिक रूपमा उनीहरूलाई तिनीहरूको काममा मार्गनिर्देशन गर्नु हो—त्यो विशिष्ट काम गर्नुको प्रकटीकरण होइन, र नाराहरू फलाक्नु र मानिसहरूमाथि हैकम चलाउनु अगुवा र कामदारहरूका जिम्मेवारी होइनन्। जब स्थानीय मण्डलीका अगुवा वा सुपरिवेक्षकहरूले काम वहन गर्न सक्छन्, र काम सही मार्गमा प्रवेश गरेको हुन्छ, र मूलतः ठूला समस्याहरू केही पनि हुँदैनन्, तब मात्र अगुवा वा कामदार जान मिल्छ। यो नै कामका बन्दोबस्तहरू कार्यान्वयन गर्नका लागि अगुवा र कामदारहरूको नवौँ जिम्मेवारीमा उल्लिखित पहिलो विशिष्ट कार्य हो—मार्गनिर्देशन प्रदान गर्ने। त्यसोभए, मार्गनिर्देशन ठ्याक्कै कसरी प्रदान गरिनुपर्छ त? अगुवा र कामदारहरूले पहिला कामका बन्दोबस्तहरूबारे मनन र सङ्गति गर्ने, कामका बन्दोबस्तहरूका विभिन्‍न विशिष्ट मागहरूबारे सिक्ने र बुझ्ने, साथै कामका बन्दोबस्तहरूभित्रका सिद्धान्तहरू बुझ्ने र बोध गर्ने अभ्यास गर्नुपर्छ। त्यसपछि, उनीहरूले कामका बन्दोबस्तहरू कार्यान्वयन गर्ने विशिष्ट योजनाहरूबारे सबै तहका अगुवा र कामदारहरूसँगै सङ्गति गर्नुपर्छ। त्यसबाहेक, उनीहरूले विशेष परिस्थितिहरूका लागि विशिष्ट कार्यान्वयन योजनाहरू प्रदान गर्नुपर्छ र, अन्त्यमा उनीहरूले तुलनात्मक रूपमा कमजोर र कमजोर क्षमता भएका अगुवा र कामदारहरूलाई अझ विस्तृत र विशिष्ट सहायता र निर्देशन दिनुपर्छ। यदि केही अगुवा र कामदारहरू कार्य कार्यान्वयन गर्न पूर्णतया असक्षम छन् भने, त्यस्ता परिस्थितिहरूमा के गर्नुपर्छ? माथिल्ला अगुवा र कामदारहरू मण्डलीको गहिराइमा गएर व्यक्तिगत रूपमै उक्त कार्यमा सहभागी हुनुपर्छ, र सत्यता सङ्गति गरेर वास्तविक समस्याहरू समाधान गर्नुपर्छ, र उनीहरूलाई काम कसरी गर्ने र कामलाई सिद्धान्तहरूअनुसार कार्यान्वयन कसरी गर्ने भनी सिक्न लगाउनुपर्छ। यी चरणहरू शब्दमा प्रस्ट रूपमा व्यक्त गरिएका छन्, तर के तिनलाई कार्यान्वयन गर्न सजिलो छ? के त्यसमा कुनै कठिनाइहरू संलग्न छन् त? कतिपयले यसो भन्लान्, “तपाईँले भन्दा यो सरल सुनिन्छ, तर यसलाई कार्यान्वयन गर्न त्यति सजिलो छैन। कहिलेकाहीँ कामका बन्दोबस्तहरू निकै जटिल हुन्छन्, र तिनलाई कसरी कार्यान्वयन गर्ने भनेर कसैले पनि जानेको हुँदैन!” पहिलो कार्य—कामका बन्दोबस्तहरूका विशिष्ट मागहरूबारे सङ्गति गर्नु र व्यावहारिक तरिकाले मार्गनिर्देशन प्रदान गर्नु—मात्र नै कतिपय अगुवा र कामदारलाई निकै कठिन लाग्छ। उनीहरू यसो भन्छन्, “मैले यी विशिष्ट कार्यहरू कहिल्यै गरेको छैनँ, त्यसैले मलाई तिनका बारेमा सङ्गति गर्न र मार्गनिर्देशन प्रदान गर्न आउँदैन। उनीहरूले केवल कामका बन्दोबस्तहरूमा भनिएका शब्दहरू जस्ताको तस्तै पालना गर्नुपर्छ—सङ्गति गर्नुपर्ने के नै छ र? के त्यो एउटा औपचारिकता मात्र होइन र?” तिनीहरूले सङ्गति गर्न जानेका हुँदैनन्, नाराहरू फलाक्न मात्र जानेका हुन्छन्: “हामीले यो काम राम्ररी कार्यान्वयन गर्नुपर्छ! यो परमेश्‍वरले हामीबाट गरेको माग हो। हामीले आफ्नो अडान एकदम कायम राख्नुपर्छ, परमेश्‍वरका मागहरू पूरा गर्नुपर्छ, र हामीबाट परमेश्‍वरले गरेका अपेक्षाहरूलाई निराशामा परिणत गर्नु हुँदैन। यो कसरी गर्ने भन्‍ने कुरा चाहिँ तिमीहरू आफैले पत्ता लगाउनुपर्छ।” यस्ता कुराहरू भन्‍ने मानिसहरूमा के समस्या हुन्छ? के तिनीहरूले उक्त काम पूरा गर्न सक्छन्? के तिनीहरूमा कार्य योग्यता हुन्छ? के तिनीहरूको क्षमता कमजोर हुन्छ? (हो, कमजोर हुन्छ।)

जेसुकै भए पनि, चाहे त्यो ठूलो मामला होस् वा सानो मामला, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र उहाँबाट खोजी गर्नुपर्छ, साथै कुनै मूल्याङ्कन गर्नुअघि ध्यानपूर्वक र राम्रोसँग सोचविचार गर्नुपर्छ। यदि कुनै व्यक्तिमा सामान्य सोचाइ छैन भने, उसले परमेश्‍वरलाई प्रार्थना गर्नु, परमेश्‍वरसँग मदत माग्नु, र सत्यता बुझ्नेहरूबाट अझ बढी खोजी गर्नु झनै बढी महत्त्वपूर्ण हुन्छ। यसको अतिरिक्त, मण्डलीको कामका ठूला मामलाहरू र कर्तव्यहरू पूरा गर्दा सामना गरिने ठूला मामलाहरूका हकमा, तैँले ती कुराहरूबारे सम्बन्धित कर्मचारीहरूसँग सङ्गति र छलफल गरेर सर्वसम्मतिमा पुग्न र अन्ततः एउटा विशिष्ट र सम्भाव्य अभ्यासको योजना विकास गर्नैपर्छ। यो योजना ध्यानपूर्वक गरिएको विचार र परामर्शमार्फत हासिल भएको सर्वसम्मति हुनुपर्छ, र यो जुनसुकै तहका अगुवा र कामदारहरूका अगाडि खरो उत्रनुपर्छ। जसले खरो उत्रने अभ्यासका विशिष्ट योजनाहरू विकास गर्न सक्छन्, उनीहरूमा सामान्य सोचाइ भएको मानिन्छ। यदि ठूला वा साना, जस्तोसुकै समस्याहरू सामना गर्दा, व्यक्तिका सोचहरूभित्र ठोस कुरा केही पनि छैन, र उसले विशिष्ट अभ्यासका सिद्धान्तहरू सोच्न सक्दैन, र समस्याहरूलाई सम्हाल्नका लागि सिद्धान्तहरूलाई प्रतिस्थापन गर्न केही सरल सैद्धान्तिक नाराहरू मात्र प्रयोग गर्छ भने, के उसले आफ्नो काम राम्ररी गर्न सक्छ? के यस्तो व्यक्तिमा सोच्ने क्षमता र कामकुराबारे राम्ररी विचार गर्ने क्षमता हुन्छ? (हुँदैन।) कस्तो किसिमको व्यक्तिमा सोच्ने क्षमताको कमी हुन्छ? (कमजोर क्षमता भएको व्यक्तिमा।) कमजोर क्षमता भएको व्यक्ति हुनु भनेको यही नै हो। एउटा उदाहरण हेरौँ। मानौँ तँ विदेशमा बसिरहेको छस्, र एक दिन तैँले अचानक अदालतबाट बोलावटपत्र प्राप्त गर्छस्। यो निकै अनपेक्षित र अचानक हुन्छ, होइन र? सर्वप्रथम, तैँले कुनै गैरकानुनी काम गरेको छैनस्। दोस्रो कुरा, तैँले कुनै पनि मुद्दा दायर गरेको छैनस्, न त तैँले कसैले तँलाई कुनै कुराको आरोप लगाएको नै सुनेको छस्। तैँले त्यससम्बन्धी कुनै पनि परिस्थितिहरूबारे थाहा नै नपाई बोलावटपत्र पाउँछस्। यस्तो परिस्थितिको सामना गर्दा एउटा औसत व्यक्तिले अनुभूत गर्ने पहिलो कुरा के हुनेथियो? कानुनी मामलाहरूमा फस्नुले उसमा केही अत्यास, चिन्ता, र भय सिर्जना गराउने थियो; यसले उसलाई अक्क न बक्क बनाउने थियो, र उसलाई खासै खाना खाने मुड हुनेथिएन। चाहे कुनै व्यक्ति महत्त्वपूर्ण होस् वा नहोस्, ऊ आँटिलो होस् वा कायर होस्, वयस्क होस् वा नाबालिग होस्, कसैले पनि यस्तो परिस्थितिको सामना गर्न चाहँदैन किनभने त्यो राम्रो कुरा होइन। यस्तो परिस्थितिको सामना गर्दा, मानिसहरू दुई फरक तरिकाले प्रतिक्रिया जनाउँछन्। पहिलो प्रकारको व्यक्तिले यस्तो सोच्छ, “मैले कुनै गैरकानुनी काम गरेको छैन, न त मैले कुनै सरकारी प्रावधानहरू नै उल्लङ्घन गरेको छु। म केका लागि डराउनु? यो कानुनले शासित समाज हो, जहाँ सबै कुरा प्रमाणमा आधारित हुन्छ। मैले कुनै खराब काम नगरेकाले उनीहरूले ममाथि मुद्दा चलाए पनि मविरुद्ध कुनै पनि प्रमाण भेट्टाउनेछैनन्। म डराउनुपर्ने कुनै कुरा छैन। एउटा बोलावटपत्रले के नै गर्न सक्छ र? एउटा सोझो व्यक्तिले आरोपहरूको डर मान्‍नुपर्दैन। म मेरो बचाउका लागि एक जना वकिल नियुक्त गर्नेछु; कुनै समस्या हुनेछैन।” यसबारे विस्तृत रूपमा सोचेपछि, उसलाई हृदयमा कुनै तनाव महसुस हुँदैन, र उसको दैनिक जीवन अप्रभावित रहन्छ। यो एक प्रकारको व्यक्तिको प्रतिक्रिया हो। अब दोस्रो प्रकारको व्यक्तिको प्रतिक्रिया हेरौँ। बोलावटपत्र प्राप्त भएपछि, उसले यस्तो सोच्छ, “मैले कुनै पनि कानुन तोडेको छैन, न त मैले कुनै अपराध नै गरेको छु, त्यसोभए यो केका बारेमा हुन सक्छ? के यो मैले परमेश्‍वरमा विश्‍वास गर्ने भएकाले हुन सक्छ? परमेश्‍वरमा विश्‍वास गर्नु गैरकानुनी कुरा होइन। के कसैले जानाजानी मलाई फसाएर उजुरी गरेको हुन सक्छ? यो बढी सम्भव देखिन्छ। तर के अरू नै केही हुन सक्छ? मैले एक जना वकिलको परामर्श लिनुपर्छ र उसलाई अदालतमा गई मैले बोलावटपत्र प्राप्त गर्नुको कारण के हो र वादी को हो भनी पत्ता लगाउन भन्‍नुपर्छ। मैले यसको जबाफी उपायबारे निर्णय गर्नुअघि यसको गहिराइमा पुग्नुपर्छ। यदि वकिलले त्यो मेरो परमेश्‍वरमाथिको आस्थासँग सम्बन्धित छ भनेमा, मैले जबाफी उपाय तयार पार्न तुरुन्तै मानिसहरू खोज्नुपर्छ र कुनै पनि पुस्तक वा मेरो आस्थासम्बन्धी त्यस्ता अन्य चीजहरू चाँडो लुकाउनुपर्छ ताकि मेरो शत्रुले मविरुद्ध प्रयोग गर्ने कुनै कुरा नभेटोस्।” यी सुरुवाती सोचहरूपछि, उसले बोलावटपत्र प्राप्त गरेको बारेमा कुनै निश्चित निष्कर्षहरू ननिकालेको वा सही मूल्याङ्कनहरू नगरेको भए पनि, ऊसँग विशिष्ट अभ्यासको योजनाबारे पहिल्यै प्रस्ट अवधारणा हुन्छ: योजना ‘क’ का लागि के गर्ने, र योजना ‘ख’ का लागि के गर्ने, र यदि दुइटै सम्भाव्य छैनन् भने, उसले त्यसपछि के गर्नुपर्छ। उसले हरेक चरणबारे राम्रोसँग र ध्यानपूर्वक विचार गर्छ; उसले सुरुमा मनलाई शान्त बनाउँछ र तुरुन्तै हृदयमा प्रार्थना गर्छ, अनि त्यसपछि, आफूलाई स्थिर बनाएपछि, ऊ तुरुन्तै यस मामलालाई सम्हाल्नतिर लाग्छ। एकै दिनभित्रमै, उसले यी सबै कुराहरू पत्ता लगाएको हुन्छ र कसरी अघि बढ्ने भनेर थाहा पाएको हुन्छ। यस मामलाको अन्तिम परिणाम चाहे जे भए पनि, पहिला यी दुई किसिमका मानिसहरूलाई हेरौँ। कुन व्यक्तिसँग समस्याहरूबारे विस्तृत रूपमा सोच्ने सक्षमता छ? कुन व्यक्तिसँग क्षमता छ? (दोस्रो व्यक्तिसँग।) स्पष्ट छ, दोस्रो व्यक्तिसँग क्षमता छ। कुनै परिस्थितिको सामना गर्दा साहस र सङ्कल्प हुनु नै क्षमता हुनु बराबर होइन। व्यक्तिमा सोच्ने क्षमता, खुट्ट्याउने क्षमता, र समस्याहरू सम्हाल्ने क्षमता हुनैपर्छ। सोच्ने क्रममा, उसले विशिष्ट मूल्याङ्कनहरू गर्न र विशिष्ट सञ्चालन योजनाहरू विकास गर्न सक्नुपर्छ। यस प्रकारको व्यक्तिमा मात्र क्षमता हुन्छ। सतहमा, ऊ निकै कायर देखिएला, उसले स-साना मामलाहरूबारे पनि सतर्क र होसियार भएर कार्य गर्ला, र स-साना मामलाहरूलाई पनि महत्त्वपूर्ण ठान्ला। तर, उसले समस्याहरू सम्हाल्ने विधि र तरिकाले यो व्यक्तिसँग सोच्ने क्षमता र समस्याहरूबारे विस्तृत रूपमा विचार गर्ने र तिनलाई सम्हाल्ने क्षमता छ भन्‍ने प्रमाणित गर्छ। यसको उल्टो, पहिलो प्रकारको व्यक्ति निकै साहसी हुन्छ र ऊ केही कुरादेखि डराउँदैन। उसले कुनै परिस्थितिको सामना गर्दा, यति मात्र सोच्छ, “मैले कुनै खराब काम गरेको छैन। जे गलत भए पनि, सधैँ त्यसलाई सुल्झाउने कुनै न कुनै बढी सक्षम व्यक्ति त हुने नै छ। म के कुरादेखि डराउनुपर्छ र?” ऊ बेफिक्र हुन्छ र सहज जीवन जिउँछ, तर के ऊ अलि मूर्ख रूपमा साहसी र मन्दबुद्धिको हुँदैन र? यस प्रकारको व्यक्तिले चर्को स्वरमा नाराहरू फलाक्छ, र उसले भनेको कुरा गलत हुँदैन, तर उसमा के कुराको कमी हुन्छ? (उसमा सामान्य सोचाइ हुँदैन र समस्याहरूबारे विस्तृत रूपमा सोच्ने क्षमताको कमी हुन्छ।) उसको सामान्य सोचाइको कमी कहाँ प्रकट हुन्छ? कुनै परिस्थितिको सामना गर्दा, चाहे त्यो अचानक घटेको कुरा होस् वा उसलाई पहिल्यै थाहा भएको कुरा होस्, उसले त्यसबारे विस्तृत रूपमा सोच्न वा मूल्याङ्कन गर्न सक्दैन, त्यसैले स्वाभाविक रूपमै, ऊसँग उक्त समस्यालाई सम्हाल्ने योजना वा त्यसलाई समाधान गर्ने क्षमता हुँदैन। यो निकै प्रस्ट हुन्छ। बाहिरबाट, यस प्रकारको व्यक्ति कुशल वक्ताझैँ देखिन्छ र उसले धर्मसिद्धान्तहरू बोल्न सक्छ, साथै उसले मनोबल बढाउन पनि सक्छ; उसमा अगुवा हुने क्षमता भएझैँ देखिन्छ। तर, समस्याहरूको सामना गर्दा, उसले समस्याहरूको सार छर्लङ्गै देख्न सक्दैन र तिनलाई समाधान गर्न सत्यताबारे सङ्गति गर्न सक्दैन। उसले केही शब्द र धर्मसिद्धान्तहरू बोल्न र नाराहरू फलाक्न मात्र सक्छ। सतहमा, ऊ चतुर देखिन्छ, तर समस्याहरूको सामना गर्दा, उसले समस्याका कारणहरूको विश्लेषण वा मूल्याङ्कन गर्न सक्दैन, न त उसले समस्याहरू बढ्दै गएमा देखा पर्ने गम्भीर परिणामहरूको आकलन गर्न नै सक्छ। उसले मनमा यी मामलाहरूको छेउटुप्पो थाहा पाउन सक्दैन, ती समस्याहरू समाधान गर्न सक्ने त कुरै छाडौँ। यस्तो व्यक्ति कुशल वक्ताझैँ देखिन्छ तर वास्तवमा उसमा कमजोर क्षमता हुन्छ र उसले वास्तविक काम गर्न सक्दैन। त्यसैगरी, यदि अगुवा र कामदारहरूले कुनै कामका प्रबन्धहरू प्राप्त गरेपछि त्यो पढ्न र त्यसको शाब्दिक वर्णन गर्न मात्र सक्छन्, र तिनीहरूले कामका प्रबन्धहरू जारी गर्न र भेलाहरूमा त्यसका मुख्य बुँदाहरूबारे सङ्गति गर्न सके पनि, तिनीहरूले विशिष्ट प्रबन्धहरू गर्न र कामका प्रबन्धहरूका विशिष्ट मागहरू, सिद्धान्तहरू, ध्यान आवश्यक हुने मामलाहरू, विशेष परिस्थितिहरू, आदिका लागि विशिष्ट मार्गनिर्देशन प्रदान गर्न जानेका छैनन्, र तिनीहरूसँग कुनै योजनाहरू छैनन्, विचारहरू छैनन्, र समस्याहरू समाधान गर्ने सक्षमता छैन भने, उसमा कमजोर क्षमता छ। कामका प्रबन्धहरू कार्यान्वयन गर्दा, अगुवा र कामदारहरूले गर्नुपर्ने पहिलो कार्य—मार्गनिर्देशन प्रदान गर्नु—सजिलो वा सरल हुँदैन। यो पहिलो कामले कुनै अगुवा वा कामदारसँग उसमा हुनुपर्ने क्षमता र काम गर्ने सक्षमता छ कि छैन भनी जाँच गर्दछ। यदि अगुवा र कामदारहरूसँग यो क्षमता र काम गर्ने सक्षमता छैन भने, उनीहरूले कामका प्रबन्धहरूका लागि विशिष्ट मार्गनिर्देशन प्रदान गर्न वा तिनलाई कार्यान्वयन गर्न सक्नेछैनन्।

आ. सुपरिवेक्षण र प्रोत्साहन प्रदान गर्नु

अब, “सुपरिवेक्षण” को कार्यबारे सङ्गति गरौँ। शाब्दिक अर्थबाट मूल्याङ्कन गर्दा, सुपरिवेक्षणको अर्थ निरीक्षण: अर्थात् कुन मण्डलीहरूले कामका प्रबन्धहरू कार्यान्वयन गरेका छन् र कुनले गरेका छैनन्, कार्यान्वयनको प्रगति कस्तो छ, कुन अगुवा र कामदारहरूले वास्तविक काम गरिरहेका छन् र कुनले गरिरहेका छैनन्, र कुनै अगुवा वा कामदारहरू निश्चित कार्यहरूमा सहभागी नभई कामका प्रबन्धहरू मात्र बाँडफाँड मात्र गरिरहेका छन् कि भनी जाँच्नु हो। सुपरिवेक्षण एउटा निश्चित कार्य हो। कामका प्रबन्धहरूको कार्यान्वयनको सुपरिवेक्षण बाहेक—ती कार्यान्वयन भएको वा नभएको, कार्यान्वयनको गति, कार्यान्वयनको गुणस्तर, र हासिल गरिएका नतिजाहरू—उच्च तहका अगुवा र कामदारहरूले अगुवा र कामदारहरूले कामका प्रबन्धहरू कडाइका साथ पालना गरिरहेका छन् कि छैनन् भनी जाँच्नैपर्छ। कतिपय अगुवा र कामदारहरू बाहिरी रूपमा आफू कामका प्रबन्धहरू पालना गर्न इच्छुक रहेको भन्छन्, तर कुनै निश्चित वातावरणको सामना गरेपछि, उनीहरू पक्राउ पर्ने डर मान्छन् र लुक्नमा मात्र ध्यान केन्द्रित गर्छन्, र उनीहरूले कामका प्रबन्धहरूलाई धेरै पहिले नै मनको पछिल्तिर स्थानान्तरण गरिसकेका हुन्छन्; दाजुभाइ-दिदीबहिनीहरूका समस्याहरू समाधान हुँदैनन्, र उनीहरूलाई कामका प्रबन्धहरूले के तोकेका छन् वा अभ्यासका सिद्धान्तहरू के-के हुन् भन्‍ने थाहा हुँदैन। यसले कामका प्रबन्धहरू बिलकुलै कार्यान्वयन भएका छैनन् भन्‍ने देखाउँछ। अन्य अगुवा र कामदारहरूले कामका प्रबन्धहरूमा भएका केही मागहरूबारे राय, धारणा, र प्रतिरोध राखेका हुन्छन्। जब तिनलाई कार्यान्वयन गर्ने समय आउँछ, उनीहरू कामका प्रबन्धहरूको वास्तविक अर्थबाट विचलित हुन्छन्, आफ्नै विचारअनुसार कामकुरा गर्छन्, आलटाल गर्छन् र कामकुरा सकाउनकै लागि गरे जस्तो मात्र गर्छन्, वा आफ्नै मार्गमा हिँड्छन्, र मन लागे अनुसार कामकुरा गर्छन्। यस्ता सबै परिस्थितिहरूका लागि माथिल्लो तहका अगुवा र कामदारहरूको सुपरिवेक्षण आवश्यक हुन्छ। सुपरिवेक्षणको उद्देश्य भनेको कामका प्रबन्धहरूले माग गर्ने निश्चित कार्यहरूलाई विचलित नभईकन र सिद्धान्तहरूअनुसार झनै राम्रोसँग कार्यान्वयन गर्नु हो। सुपरिवेक्षण गर्ने क्रममा, उच्च तहका अगुवा र कामदारहरूले वास्तविक काम नगर्ने वा कामका प्रबन्धहरू कार्यान्वयन गर्नमा गैरजिम्मेवार र सुस्त कोही छ कि भनी पहिचान गर्नमा ठूलो जोड दिनैपर्छ; यदि कसैले कामका प्रबन्धहरूबारे प्रतिरोधी मुड देखाउँछ र ऊ तिनलाई कार्यान्वयन गर्न अनिच्छुक हुन्छ वा उसले तिनलाई छानीछानी कार्यान्वयन गर्छ, वा कामका प्रबन्धहरूलाई बिलकुलै पालना गर्दैन बरु आफ्नै इच्छाअनुसार चल्छ; यदि कसैले कामका प्रबन्धहरूलाई रोकिरहेको छ, र तिनलाई आफ्नै विचारअनुसार मात्र सञ्चार गर्छ, परमेश्‍वरका चुनिएका मानिसहरूलाई कामका प्रबन्धहरूका साँचो अर्थ र निश्चित मागहरू जान्‍न दिँदैन भने—यी समस्याहरूलाई सुपरिवेक्षण र निरीक्षण गरेर मात्र उच्च तहका अगुवाहरूले वास्तवमा के भइरहेको छ भनेर थाहा पाउन सक्छन्। यदि उच्च तहका अगुवाहरूले सुपरिवेक्षण र निरीक्षण गरेनन् भने, के यी समस्याहरूलाई पहिचान गर्न सकिन्छ त? (अहँ।) सकिँदैन। त्यसकारण, अगुवा र कामदारहरूले कामका प्रबन्धहरू प्रत्येक तहमा सञ्चार गर्ने र मार्गनिर्देशन प्रदान गर्ने मात्र नभई कामका प्रबन्धहरूलाई कार्यान्वयन गर्दा कामलाई प्रत्येक तहमा सुपरिवेक्षण पनि गर्नैपर्छ। क्षेत्रीय अगुवाहरूले जिल्लास्तरीय अगुवाहरूको कामको सुपरिवेक्षण गर्नैपर्छ, जिल्लास्तरीय अगुवाहरूले मण्डलीका अगुवाहरूको कामको सुपरिवेक्षण गर्नैपर्छ, र मण्डलीका अगुवाहरूले प्रत्येक समूहको कामको सुपरिवेक्षण गर्नैपर्छ। सुपरिवेक्षण प्रत्येक तहमा गरिनुपर्छ। सुपरिवेक्षणको उद्देश्य के हो? यसको उद्देश्य कामका प्रबन्धहरूको विषयवस्तुको सही कार्यान्वयनलाई तिनका निश्चित मागहरूअनुसार सहजीकरण गर्नु हो। त्यसकारण, सुपरिवेक्षणको कार्य निकै महत्त्वपूर्ण हुन्छ। सुपरिवेक्षण गर्दा, वातावरणले दिएमा, अगुवा र कामदारहरू मण्डलीहरूको गहिराइमा गएर वास्तविक काम गरिरहेका मानिसहरूसँग अन्तरक्रिया गर्नुपर्छ। उनीहरूले प्रश्नहरू सोध्नुपर्छ, काम कार्यान्वयनको अवस्थालाई नियाल्ने, त्यसबारे सोधपुछ गर्ने, जान्‍ने, र त्यसको अवस्था बोध गर्ने गर्नुपर्छ। त्यो सँगसँगै, उनीहरूले यस कामका सम्बन्धमा दाजुभाइ-दिदीबहिनीहरूसँग कस्ता कठिनाइ र सोचहरू छन् र उनीहरूले यस कामका सिद्धान्तहरू बोध गरेका छन् कि छैनन् भन्‍नेबारे जान्‍नुपर्छ। यी सबै अगुवा र कामदारहरूले निर्वाह गर्नु पर्ने निश्चित कार्यहरू हुन्। विशेषगरी तुलनात्मक रूपमा कमजोर क्षमता र मानवता भएका, अलि गैरजिम्मेवार, अबफादार, र आफ्नो काममा तुलनात्मक रूपमा सुस्तहरूका हकमा, अगुवा र कामदारहरूले तिनीहरूको कामलाई झनै बढी सुपरिवेक्षण र निर्देशन गर्नुपर्छ। सुपरिवेक्षण र निर्देशन कसरी गरिनुपर्छ? मानौँ तैँले “छिटो गर! माथिकाले हाम्रो कामको रिपोर्ट पर्खिरहेका छन्। यो कामको समयसीमा छ; यसलाई नलम्ब्याऊ!” भन्छस् भने, के तिनीहरूलाई यस तरिकाले प्रोत्साहन प्रदान गरेर हुन्छ होला त? के प्रोत्साहन प्रदान गर्नु भनेको तिनीहरूलाई अलिक जोड दिनु मात्र हो त? प्रोत्साहन प्रदान गर्ने त्योभन्दा राम्रो तरिका के हो? जब तिमीहरू काम गर्छौ, के तिमीहरूले प्रोत्साहन प्रदान गर्नुलाई आफ्ना कार्यको हिस्साका रूपमा समावेश गर्छौ? (गर्छु। यदि मैले केही कार्यहरू तुरुन्तै गरिँदै छैनन् भन्‍ने देखेँ भने, म उनीहरूले किन ती गरिरहेका छैनन् भनी बुझ्ने कोसिस गर्नेछु र उनीहरूको कामको अनुगमन गर्नेछु।) यदि तैँले उक्त काम गर्न नआउने कसैलाई देखिस् भने, तैँले निर्दिष्ट मार्गनिर्देशन र सहयोग प्रदान गर्नैपर्छ, र उसलाई निर्देशन दिनुपर्छ। यदि तैँले कोही सुस्ताइरहेको देखिस् भने, तैँले उसको काटछाँट गर्नैपर्छ। यदि उसलाई काम गर्न आउँछ तर त्यो काम गर्न अत्यन्तै अल्छी गर्छ, ऊ लोसे छ र कामलाई पछि सार्छ, र देहसुखमा लिप्त हुन्छ भने, उसलाई आवश्यकताअनुसार काटछाँट गरिनुपर्छ। यदि काटछाँट गरेर समस्या समाधान भएन र उसको मनोवृत्ति बदलिएन भने, के गर्नुपर्छ? (उसलाई यो काम गर्न नदिने।) पहिला, उसलाई यस्तो चेतावनी दे: “यो काम निकै महत्त्वपूर्ण छ। यदि तैँले यसलाई यस्तै मनोवृत्तिले व्यवहार गर्न जारी राखिस् भने, तेरो कर्तव्य खोसिनेछ र अरू कसैलाई दिइनेछ। यदि तँ त्यो गर्न इच्छुक छैनस् भने अरू कोही इच्छुक हुनेछ। तँ आफ्नो कर्तव्यप्रति बफादार छैनस्; तँ यो कामका लागि उपयुक्त छैनस्। यदि तँ यो कार्यको लायक छैनस् र शारीरिक कष्ट सहन सक्दैनस् भने, परमेश्‍वरको घरले तँलाई प्रतिस्थापन गरेर अरू कसैलाई राख्न सक्छ, र तैँले राजीनामा पनि बुझाउन सक्छस्। यदि तँ राजीनामा दिँदैनस् र तँ अझै त्यो काम गर्न इच्छुक छस् भने, राम्रोसँग गर्, र परमेश्‍वरको घरका मागहरू र सिद्धान्तहरूअनुसार गर्। यदि तैँले यो हासिल गर्न सक्दैनस् र बारम्बार प्रगतिमा ढिलाइ गराउँछस्, र काममा नोक्सान पुर्‍याउँछस् भने, परमेश्‍वरको घरले तँलाई निराकरण गर्नेछ। यदि तैँले यो कर्तव्य पूरा गर्न सक्दैनस् भने, माफ गर्, तर तैँले छोड्नैपर्ने हुनेछ!” यदि चेतावनी दिएपछि ऊ पश्चात्ताप गर्न इच्छुक हुन्छ भने, उसलाई राख्न सकिन्छ। तर यदि बारम्बारको चेतावनीपछि पनि उसको मनोवृत्ति बदलिँदैन र उसले पछुतोको कुनै सङ्केत देखाउँदैन भने, के गरिनुपर्छ? उसलाई तुरुन्तै बर्खास्त गर्नुपर्छ—के त्यसले समस्या समाधान हुनेछैन र? यस्तो होइन कि हामी सानातिना त्रुटि र झिनामसिना समस्याहरू भएकाहरूलाई दोष लगाउँछौ; बरु, हामी त मानिसहरूलाई अवसरहरू दिइरहेका हुन्छौँ। यदि तिनीहरू पश्चात्ताप गर्न इच्छुक छन् र बदलिन्छन्, र पहिलेभन्दा धेरै राम्रा बन्छन् भने, सम्भव भएसम्म तिनीहरूलाई राख्। यदि तिनीहरूलाई बारम्बार अवसरहरू दिँदा, सत्यताबारे सङ्गति गर्दा, काटछाँट गर्दा, र चेतावनी दिँदा पनि काम लाग्दैन, र कसैको सहयोग प्रभावकारी हुँदैन भने, यो कुनै साधारण समस्या होइन: यस व्यक्तिको मानवता अत्यन्तै कमजोर छ, र उसले सत्यतालाई बिलकुलै स्विकार्दैन। त्यो अवस्थामा, ऊ यस कर्तव्यका लागि उचित हुँदैन र उसलाई हटाइनुपर्छ। ऊ कर्तव्य पूरा गर्न योग्य छैन। मामलालाई यसरी सम्हाल्नुपर्छ।

मण्डलीको कामको सुपरिवेक्षण गर्दा, अगुवा र कामदारहरू विभिन्‍न समस्याहरू पहिचान गर्नमा पोख्त हुनुपर्ने मात्र नभई उनीहरूले आफूलाई असहज वा अविश्‍वसनीय लागेका केही मण्डली अगुवाहरूप्रति पनि विशेष ध्यान दिनुपर्छ। यी मानिसहरूलाई लामो अवधिसम्म सुपरिवेक्षण र अनुगमन गर्नुपर्छ; तैँले उनीहरूलाई कहिलेकाहीँ मात्र परिस्थितिबारे सोधेर वा केही शब्दहरू बोलेर यस मामलालाई पन्छाउन अनि यो पूरा भएको सोच्न मिल्दैन। कहिलेकाहीँ, कार्यस्थलमै रहेर उनीहरूको कामको सुपरिवेक्षण गर्न जरुरी हुन्छ। कार्यस्थलमै रहनुको उद्देश्य के हो? यसको उद्देश्य समस्याहरू अझ चाँडो पत्ता लगाएर समाधान गर्नु र काम राम्ररी सम्पन्‍न गर्नु हो। कहिलेकाहीँ, तैँले कार्यस्थलमै पुग्नेबित्तिकै समस्याहरू पत्ता लगाउन सक्दैनस्। बरु, विस्तृत बुझाइ, कामको निरीक्षण, र होसियारीपूर्ण अवलोकनमार्फत कतिपय समस्याहरू बिस्तारै सतहमा आउँछन् र पत्ता लाग्न सक्छन्। कार्यस्थलमै बसेर सुपरिवेक्षण गर्नु भनेको मानिसहरूको निगरानी वा रेखदेख गर्नु होइन। सुपरिवेक्षणको अर्थ के हो? सुपरिवेक्षणमा निरीक्षण गर्ने र निर्देशन प्रदान गर्ने कुरा संलग्न हुन्छन्। यसको अर्थ विशिष्ट रूपमा कामबारे विस्तृत रूपमा सोध्नु, कामको प्रगति र कमजोर कडीहरू जान्‍नु र बोध गर्नु, आफ्नो काममा को जिम्मेवार छ र को छैन, र काम गर्न को सक्षम छ र को छैन भन्‍ने लगायतका कुराहरू बुझ्नु हो। सुपरिवेक्षणमा कहिलेकाहीँ परिस्थितिबारे परामर्श लिने, बुझ्ने, र सोधपुछ गर्ने कुराहरू आवश्यक पर्छन्। कहिलेकाहीँ यसमा आमनेसामने सोधपुछ गर्न वा प्रत्यक्ष निरीक्षण गर्न आवश्यक हुन्छ। अवश्य पनि, धेरैजसो यसमा कमान सम्हालेका मानिसहरूसँग प्रत्यक्ष सङ्गति गर्नुपर्ने, कामको कार्यान्वयन, सामना गरिएका कठिनाइ र समस्याहरू, आदिबारे सोध्नुपर्ने हुन्छ। सुपरिवेक्षण गर्दा, तैँले कुन-कुन मानिसहरू बाहिरी रूपमा मात्र आफ्नो काममा लागिपर्छन् र सतही रूपमा मात्र कामकुरा गर्छन्, कुन-कुन मानिसहरूलाई विशिष्ट कामहरू कार्यान्वयन गर्न आउँदैन, कुन-कुन मानिसहरूलाई ती कार्यान्वयन गर्न आउँछ तर वास्तविक काम गर्दैनन्, र त्यस्तै अन्य कुराहरू पत्ता लगाउन सक्छस्। यदि पत्ता लागेका यी समस्याहरू सामयिक रूपमा समाधान गर्न सकिएमा, त्यो सर्वोत्तम हुन्छ। सुपरिवेक्षणको उद्देश्य के हो? यसको उद्देश्य कामका प्रबन्धहरूलाई अझ राम्ररी कार्यान्वयन गर्नु, तैँले प्रबन्ध गरेको काम उचित छ कि छैन, तैँले नजरअन्दाज गरेका वा ख्याल नगरेका कुराहरू छन् कि छैनन्, सिद्धान्तहरूसँग नमिल्ने कुनै क्षेत्रहरू छन् कि छैनन्, कुनै विकृत पक्षहरू वा गल्तीहरू भएका क्षेत्रहरू छन् कि छैनन्, आदि इत्यादि जस्ता कुरा हेर्नु हो—यी सबै समस्याहरू सुपरिवेक्षण गर्ने क्रममा पत्ता लगाउन सकिन्छ। तर यदि तँ घरमै बस्छस् र यो निश्चित काम गर्दैनस् भने, के तैँले यी समस्याहरू पत्ता लगाउन सक्छस् त? (सक्दिनँ।) धेरै समस्याहरू थाहा पाउन र बोध गर्नका लागि तिनका बारेमा सोधपुछ, अवलोकन गर्नुपर्छ, र कार्यस्थलमै गएर बुझ्नुपर्छ। सुपरिवेक्षण गर्दा, तैँले आफ्नो काममा गैरजिम्मेवार र लापरवाह हुने, आफूभन्दा माथिकालाई धोका दिने र आफूभन्दा मुनिकाबाट कुराहरू लुकाउने, साथै झाराटारुवा र सुस्त हुनेहरूलाई प्रोत्साहन प्रदान गर्नैपर्छ। हामीले भर्खरै तिनीहरूलाई कसरी प्रोत्साहन दिने भन्‍नेसम्बन्धी कैयौँ चरणहरूबारे छलफल गर्‍यौँ: तैँले तिनीहरूलाई मार्गनिर्देशन प्रदान गर्न, सङ्गति गर्न, काटछाँट गर्न, चेतावनी दिन, र बर्खास्त गर्न सक्छस्। के यी कदमहरू अघि बढाउन सजिला छन्? (छन्।)

इ. निरीक्षण र अनुगमन गर्ने

अगुवा र कामदारहरूले प्रोत्साहन प्रदान गरेर कामलाई अघि बढाएपछि, त्यस पछिको कदम भनेको कामको निरीक्षण गर्नु हो। कामको निरीक्षण गर्नुको आम उद्देश्य के हो? कामको निरीक्षण गर्नु भनेको प्रबन्ध गरिएका कार्यहरूको प्रगति निर्धारण गर्नु, तुरुन्तै समाधान गर्न आवश्यक कुनै पनि समस्याहरू पहिचान गर्नु, र अन्ततः काम पूर्ण रूपमा राम्ररी गरिएको सुनिश्चित गर्नु हो। कामको प्रबन्ध गरिएपछि, कैयौँ पक्षहरूको निरीक्षण गर्न जरुरी हुन्छ: त्यसपछिको काम कुन चरणमा पुगेको छ, त्यो पूरा भएको छ कि छैन, त्यो कति प्रभावकारी छ, नतिजाहरू के हुन्, कुनै विशिष्ट समस्याहरू पहिचान भएका छन् कि छैनन्, कुनै कठिनाइहरू छन् कि छैनन्, सिद्धान्तहरूअनुरूप नभएका कुनै क्षेत्रहरू छन् कि छैनन्, आदि इत्यादि। तैँले प्रबन्ध गरेको कामको निरीक्षण गर्नु पनि एउटा विशिष्ट र जरुरी कार्य हो। कतिपय अगुवा र कामदारहरूले प्रायः एउटा गल्ती गर्ने गर्छन्: उनीहरू आफूले कामको प्रबन्ध गरिसकेपछि, आफ्नो कार्य सकियो भन्‍ने सोच्छन्। उनीहरू यस्तो विश्‍वास गर्छन्, “मेरो कार्य सम्पन्‍न भयो, मेरो जिम्मेवारी पूरा भयो। जे भए पनि, मैले तिमीहरूलाई यो कसरी गर्ने भनेर बताएको छु। तिमीहरूलाई के गर्ने भन्‍ने थाहा छ, र तिमीहरू यो गर्न सहमत भएका छौ। कामकुरा कसरी अघि बढ्छन् भन्‍नेबारे मैले चिन्ता लिनु पर्दैन; तिमीहरूले सकाएपछि मलाई रिपोर्ट मात्र गर।” कामको योजना बनाएपछि र प्रबन्ध गरेपछि, उनीहरू आफ्नो काम पूरा भयो र सबथोक ठीक छ भन्‍ने विश्‍वास गर्छन्। उनीहरू कामको अनुगमन वा निरीक्षण गर्दैनन्। उनीहरूले कार्यको कमान सम्हाल्न प्रबन्ध गरेको व्यक्ति उपयुक्त छ कि छैन, धेरैजसो मानिसहरूको स्थिति कस्तो छ, समस्या र कठिनाइहरू छन् कि छैनन्, उनीहरूसँग मण्डलीको काम राम्रोसँग गर्ने आत्मविश्‍वास छ कि छैन, विकृत र गलत पक्षहरू छन् कि छैनन्, वा माथिबाट कामका प्रबन्धहरूको कुनै उल्लङ्घन भएका छन् कि छैनन् भन्‍ने सन्दर्भमा, उनीहरूले जान्‍ने, निरीक्षण गर्ने, वा अनुगमन गर्ने काम गर्दैनन्। उनीहरू कामको प्रबन्ध गरेपछि नै आफ्नो कार्य सकिएको ठान्छन्; यो निश्चित काम गर्नु होइन। काममा के कुराको निरीक्षण गर्नुपर्छ? जाँच्नुपर्ने मुख्य कुराहरू भनेको कार्यान्वयन योजना कामका प्रबन्धहरूसँग मिल्छ कि मिल्दैनन्, त्यसले कामका प्रबन्धहरूका सिद्धान्त र मागहरू उल्लङ्घन गर्छ कि गर्दैन, र बाधा र अवरोधहरू सिर्जना गर्ने मानिसहरू, अन्धाधुन्ध समस्या निम्त्याउने मानिसहरू, वा कामको अवधिमा उच्च सुनिने शब्दहरू फलाक्ने मानिसहरू छन् कि छैनन् भन्‍ने कुराहरू हुन्। अवश्य पनि, कामको निरीक्षण गर्दा, तैँले कामका प्रबन्धहरू आफैले कार्यान्वयन गर्दा कुनै गल्तीहरू भएका थिए कि भनेर पनि जाँचिरहेको हुन्छस्। अरूको कामको निरीक्षण गर्नु भनेको वास्तवमा तेरो आफ्नै कामको निरीक्षण गर्नु पनि हो।

कामका प्रबन्धहरू कसरी कार्यान्वयन गर्ने भन्‍नेबारे एउटा उदाहरणसहितको सङ्गति

माथिकाले गरेका कामका प्रबन्धहरू कसरी कार्यान्वयन गर्ने भन्‍ने सम्बन्धमा, एउटा विशिष्ट उदाहरण दिऔँ। उदाहरणका लागि, मानौँ उक्त कामको प्रबन्धका लागि मानिसहरूले अनुभवात्मक गवाही लेखहरू लेख्न आवश्यक हुन्छ। यो एउटा निश्चित कार्य हो जसले वृहत् पक्षहरूलाई समेट्छ र यो कुनै अस्थायी कामको प्रबन्ध नभई दीर्घकालीन, र चलिरहेको कार्य हो। त्यसोभए, यो कामको प्रबन्ध जारी भएपछि, अगुवा र कामदारहरूले सुरुमा के गर्नुपर्छ? अगुवा र कामदारहरूबाट उनीहरूले कामका प्रबन्धहरूमा मार्गनिर्देशन, सुपरिवेक्षण, र प्रोत्साहन प्रदान गर्नुपर्ने, र तिनको कार्यान्वयनको स्थितिको निरीक्षण र अनुगमन गर्नुपर्ने माग गरिने उनीहरूको नवौँ जिम्मेवारीअनुसार, अगुवा र कामदारहरूले गर्नुपर्ने पहिलो काम भनेको कसरी यो कार्यलाई विशिष्ट रूपमा र नतिजाहरू निकाल्ने तरिकाले अघि बढाउने भन्‍नेबारे समूहका अगुवा र सुपरभाइजरहरूसँग सङ्गति गर्नु, र त्यसो गरेर सबै जनासँग यस कामका लागि पछ्याउने मार्ग र सिद्धान्तहरू भएको सुनिश्चित गर्ने हो। यो हदसम्म सङ्गति गरेर मात्र काम राम्ररी गर्न सकिन्छ। सुरुमा, गवाही लेखहरू लेख्नका लागि माथिले माग गर्ने मानकहरू के-के हुन् र कस्ता किसिमका गवाही लेखहरू आवश्यक छन् भन्‍ने कुरा सबैले बुझेका छन् भनी सुनिश्चित गर्। सुरुमा, यी लेखहरूका निश्चित विषयवस्तु, सिद्धान्तहरू, र दायरा स्थापित गर्, अनि सबै अगुवा र कामदारहरू यसबारे सचेत छन् भन्‍ने सुनिश्चित गर्। यसका साथै, लेखहरूको लम्बाइ, ढाँचा, विषयवस्तु, र भाषा शैलीबारे निश्चित सङ्गति र मार्गनिर्देशन प्रदान गर्—उदाहरणका लागि, उनीहरूलाई लेखहरू कुनै आख्यान, डायरी, व्यक्तिगत वर्णन, गद्य कविता, आदि स्वरूपमा लेख्न सकिन्छ भनेर जानकारी दे। के यो मार्गनिर्देशन प्रदान गर्नु होइन र? (हो।) मार्गनिर्देशन प्रदान गरेपछि, सबै जनाले आफूले लेख्नुपर्ने गवाही लेखहरूको निश्चित अवधारणा र परिभाषा जान्‍नेछन्। त्यसपछि, कोसँग अनुभवात्मक गवाही लेखहरू लेख्ने क्षमता र अनुभव छ, र कोसँग गहिरो अनुभवको कमी छ र कसले औसत गवाही लेखहरू लेख्नमा मात्र प्रशिक्षण लिन सक्छ भन्‍ने कुरा निर्धारण गर्। मण्डली अगुवाहरू यी परिस्थितिहरूबारे उत्सुकतापूर्वक सचेत हुनुपर्छ। लेखहरू लेखिएपछि, ती सच्चा र शिक्षाप्रद छन् कि छैनन् भनी जाँच गर्न तिनको समीक्षा गर्। यदि ती मानकअनुरूप छन् भने, तिनलाई अहिलेसम्म लेखहरू नलेखेका वा लेख्न नजानेका दाजुभाइ-दिदीबहिनीहरूका लागि पढ्न र सन्दर्भका रूपमा लिन नमुना लेखका रूपमा प्रयोग गर्न सकिन्छ। यदि कोहीसँग अनुभवहरू छन् र ऊ गवाही लेखहरू लेख्न इच्छुक छ भने, उसले सिद्धान्त र मागहरू पालना गर्नुपर्छ, आफ्नो हृदयका सामग्रीहरू बाँड्नुपर्छ र व्यावहारिक शब्दहरू बोल्नुपर्छ ताकि तिनले पाठकहरूलाई शिक्षा दिऊन्। यदि कतिपय मानिसहरू लेखहरू लेख्नमा राम्रा छैनन् र घटनाहरूको सामान्य विवरण मात्र लेख्न सक्छन् भने, उनीहरूलाई के गर्नुपर्छ? उनीहरूका लेखहरू मानकअनुरूप नभए पनि, उनीहरूले अझै प्रशिक्षण चाहिँ लिनुपर्छ। उनीहरूले परमेश्‍वरका वचनहरू अनुभव गरेर प्राप्त गरेका सच्चा बुझाइ र सराहनाबारे लेखहरू लेख्नुपर्छ। यी लेखहरूको प्रतिलिपि सम्पादन र समीक्षा गरेपछि, यदि उक्त विषयवस्तुले गवाही लेखका मानकहरू पूरा गर्छ भने, त्यस्ता लेखहरू मान्य हुन्छन्। लेखको लेखन शैली जस्तोसुकै भए पनि, र त्यो जुनसुकै स्वरूपमा भए पनि—चाहे त्यो आख्यानका रूपमा लेखिएको होस् वा डायरीका रूपमा—यदि त्यो पाठकहरूका लागि लाभदायक र शिक्षाप्रद छ भने, त्यो लेख्न मिल्छ। शैक्षिक स्तर कम भएका कतिपय मानिसहरू पनि छन् जोसँग केही अनुभवात्मक गवाहीहरू हुन्छ तर उनीहरूले गवाही लेखहरू लेख्न जानेका हुँदैनन्। त्यस्ता अवस्थामा के गर्नुपर्छ? उनीहरूले मौखिक रूपमा आफ्ना अनुभवहरू सुनाउन सक्छन्, र बढी शिक्षा भएको कसैले उनीहरूलाई आफ्ना अनुभवहरूको अभिलेख राख्न र त्यसपछि तिनलाई त्यस व्यक्तिले भन्‍न खोजेको साँचो अर्थअनुसार सही रूपमा व्यक्त गर्न, र त्यसलाई प्रतिलिपि सम्पादन गरेर मानकअनुरूपको गवाही लेख बनाउन सकिन्छ। त्यस्ता लेखहरू पनि मान्य हुन्छन्। यो काम सुरु गर्न, पहिला एउटा गवाही लेख भनेको के हो र त्यसको ढाँचा कस्तो हुन्छ भन्‍नेबारे सङ्गति गर्। त्यसपछि, फरक-फरक शैक्षिक स्तरका, फरक-फरक उमेर समूहका, र फरक-फरक अनुभव र कदहरू भएकाहरूका लागि निश्चित मागहरू र प्रबन्धहरू तयार गर्। अनुभव भएकाहरूलाई सुरुमा केही लेखहरू लेख्न लगा। त्यो सँगसँगै, दाजुभाइ-दिदीबहिनीहरूलाई लेखहरू लेख्नमा मार्गनिर्देशन गर्न र यी निश्चित कार्यहरूलाई अघि बढाउनका लागि लेखहरूको प्रतिलिपि सम्पादन र शुद्धाशुद्धि जाँच्न उचित व्यक्तिहरू पहिचान गर्। यसले यो कामका लागि प्रारम्भिक प्रबन्ध प्रदान गर्छ। के त्यसलाई यस तरिकाले प्रबन्ध गर्नुले काम पूर्ण रूपमा कार्यान्वयन भयो र अब यसलाई छोड्न सकिन्छ भन्‍ने अर्थ दिन्छ? दिँदैन, यो त कामको प्रबन्धका मागहरूका आधारमा निश्चित निर्देशन, सहयोग, र कार्यान्वयन योजनाहरू प्रदान गर्नु मात्र हो। त्यसपछि अगुवा र कामदारहरूले के गर्नुपर्छ? तैँले कामको सुपरिवेक्षण गर्नुपर्छ। के यो सुपरिवेक्षणको एउटा लक्ष्य हुनुपर्छ? सुपरिवेक्षण भनेको जथाभावी गरिने आकस्मिक जाँच होइन; यसको एउटा मुख्य लक्ष्य हुनुपर्छ। कसको सुपरिवेक्षण गर्नुपर्छ र कामका कुन चरणका लागि सुपरिवेक्षणको आवश्यकता छ भनेर तँसित एउटा प्रस्ट बुझाइ हुनैपर्छ। उदाहरणका लागि, यदि एउटी सिस्टर मण्डली अगुवा हो, जो प्रायः आफ्नो काममा निष्ठावान् हुँदिन, धाक देखाउन मन पराउँछे, ठूलो उद्देश्य राख्छे तर अयोग्य छे, आफूभन्दा वरिष्ठलाई धोका दिन र आफूभन्दा मुनिकाहरूबाट कुराहरू लुकाउन प्रवृत्त छे, अत्यन्तै कर्णप्रिय तरिकाले बोल्छे, र आफ्नो काममा झारा टार्न प्रवृत्त छे भने, उसलाई काममा सुपरिवेक्षण गर्नु अनिवार्य हुन्छ। तैँले उसलाई पूर्ण रूपमा विश्‍वास गर्न सक्दैनस्। त्यसैले, पहिलो चरण भनेको उसको कामको निरीक्षण गर्नु र उसले गरेको कामका प्रबन्धहरूको कार्यान्वयन कस्तो चलिरहेको छ भनेर हेर्नु हो। के यो मानिसहरूलाई जथाभावी सुपरिवेक्षण गर्नु मात्र हो त? (होइन।) यो कामको लागि जरुरी छ किनभने यो काम अत्यन्तै महत्त्वपूर्ण छ र यस किसिमको काम गर्ने मानिसहरू भरपर्दो हुनैपर्छ। यदि उनीहरूले निश्चित कार्यहरू निर्वाह गर्दैनन् र उनीहरू भरोसायोग्य छैनन् भने, उनीहरूलाई अन्धाधुन्ध भरोसा गर्दा मण्डलीको काममा ढिलाइ हुनेछ, र तँ आफ्नो जिम्मेवारीबाट विमुख पनि हुनेछस्। त्यस्ता मानिसहरूको हकमा, तँ तिनीहरूका शब्दहरू कति मीठा सुनिन्छन् वा उनीहरूले कति बलियो रूपमा आफ्नो प्रतिबद्धता उद्घोष गर्छन् भन्‍ने कुराद्वारा विचलित हुन मिल्दैन; वास्तवमा तिनीहरूले केवल राम्ररी बोल्छन् तर पर्दापछाडि ठोस काम केही पनि गर्दैनन्। ठ्याक्कै त्यस्ता मानिसहरू नै सुपरिवेक्षणका निसाना हुन्। सुपरिवेक्षण गरेर, तिनीहरूले पश्चात्ताप गरेका छन् कि छैनन् भनेर हेर्। यदि तिनीहरूले गरेका छैनन् भने, तिनीहरूलाई तुरुन्तै बर्खास्त गर् अनि तिनीहरूमाथि मेहनत खेर फाल्न छोड्। वास्तवमा, तैँले धेरैजसो अगुवा र कामदारहरूलाई अनुगमन गर्ने, सुपरिवेक्षण गर्ने, र निर्देशन प्रदान गर्ने अभ्यास गर्नुपर्छ। वास्तविक काम गर्न सक्ने र जिम्मेवारीको बोध भएका मानिसहरूका हकमा, यदि त्यो उनीहरूले गर्न जानेको काम हो भने, सुपरिवेक्षणको आवश्यकता हुँदैन। तर, नयाँ वा महत्त्वपूर्ण कामको हकमा भने अनुगमन, सुपरिवेक्षण, र निर्देशन प्रदान गर्नु अझै पनि जरुरी नै हुन्छ। यस्तो कामको सुपरिवेक्षण र अनुगमन गर्नु अगुवा र कामदारहरूको कार्य हो भनेर भन्‍न सकिन्छ। अनुगमन, सुपरिवेक्षण, र निर्देशन प्रदान गर्नु भनेको अविश्‍वासको कुरा नभई कामको सहज प्रगति सुनिश्चित गर्ने कुरा हो। मानिसहरूमा विभिन्‍न कमीकमजोरीहरू हुने, र त्यसमाथि, विभिन्‍न भ्रष्ट स्वभावहरू हुने भएकाले, यस तरिकाले अभ्यास नगरी, काम राम्रोसँग गरिने कुराको प्रत्याभूति गर्न असम्भव हुन्छ। काम गर्न भर्खरै बढुवा गरिएकाहरूलाई अनुगमन, सुपरिवेक्षण र निर्देशनको झनै बढी आवश्यकता हुन्छ। यो अगुवा र कामदारहरूले निर्वाह गर्नैपर्ने निश्चित कार्य हो। यदि तैँले अनुगमन, सुपरिवेक्षण, र निर्देशन दिने अभ्यास गरिनस् भने, धेरै कामहरू राम्ररी गर्न सकिँदैन, र कतिपय काम त गडबड तरिकाले गरिन वा गतिरोधमा पुग्न समेत सक्छ। यो निकै आम रूपमा घट्ने घटना हो। विशेषगरी, सत्यता नपछ्याउने अगुवा र कामदारहरूका लागि सुपरिवेक्षण झनै बढी आवश्यक हुन्छ। अरूका हकमा, काम निकै राम्रो तरिकाले कार्यान्वयन गर्न सकिन्छ, तर त्यस्ता मानिसहरूका हकमा, काम कार्यान्वयन गर्न सकिन्छ कि सकिँदैन वा कति राम्ररी कार्यान्वयन हुन्छ भन्‍ने कुरा अनिश्चित हुन्छ, र त्यो कामका प्रबन्धहरू अनुसार कार्यान्वयन हुन्छ कि हुँदैन भन्‍न झनै कठिन हुन्छ। त्यस्ता मानिसहरू आफ्नो काममा धेरै भरपर्दो हुँदैनन्। यदि तैँले तिनीहरूको कामको सुपरिवेक्षण नगरी तिनीहरूलाई भरोसा गर्छस् भने, यो मूलतः कामप्रति झाराटारुवा र गैरजिम्मेवार हुनु हो। त्यस्ता मानिसहरूका हकमा, तैँले अनुगमन र सुपरिवेक्षण गर्नुपर्छ, साथै तिनीहरूको मण्डलीको काममा संलग्न हुनुपर्छ। यदि तिनीहरू तँलाई आउन दिन अनिच्छुक हुन्छन् वा तँलाई स्वागत गर्दैनन् भने, तैँले के गर्नुपर्छ? तैँले यसो भन्‍न सक्छस्, “म आफ्नो आत्मसम्मान त्यागेर भए पनि जानेछु।” के यी शब्दहरू सही छन् त? (छैनन्।) त्यो तिनीहरूको व्यक्तिगत इलाका होइन; त्यो त एउटा मण्डली हो, र त्यो तेरो जिम्मेवारीको दायराभित्रै पर्छ। तँ सित्तैँमा खानका लागि तिनीहरूको घरमा आफ्नो बसाइ लम्ब्याइरहेको छैनस्; तँ त काम गर्नका लागि मण्डलीमा गइरहेको छस्। यो तेरो आत्मसम्मान त्याग्ने कुरा नै होइन। तिनीहरू अगुवा भए पनि, परमेश्‍वरका चुनिएका मानिसहरू तिनीहरूका होइनन्। तिनीहरू आफ्नो काममा गैरजिम्मेवार र अबफादार भएकाले नै तैँले तिनीहरूको कामको अनुगमन र सुपरिवेक्षण गर्नु परेको हो। त्यसोभए, तैँले त्यहाँ गएर के गर्नुपर्छ त? पहिला, तिनीहरूलाई मण्डलीमा कोसँग जीवन अनुभवहरू छ र अनुभवात्मक गवाही लेखहरू लेख्न सक्छ, सत्यता पछ्याउनमा तुलनात्मक रूपमा कसले बढी ध्यान केन्द्रित गर्छ, डायरी र आत्मिक भक्तिका नोटहरू लेख्नमा कसले बढी ध्यान केन्द्रित गर्छ, भेलाहरूमा कसले आफ्ना अनुभवहरू बाँड्नमा ध्यान केन्द्रित गर्छ, र कोसँग सबैभन्दा बढी अनुभवात्मक गवाहीहरू छन् भनेर सोध्। तिनीहरूलाई पहिला यी मानिसहरू औँल्याउन दे। यदि तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्नमा तुलनात्मक रूपमा बढी ध्यान केन्द्रित गर्ने, पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति भएका, प्रायः आत्मिक भक्तिका नोटहरू लेख्ने, परिस्थितिहरू सामना गर्दा सत्यता अभ्यास गर्नमा ध्यान केन्द्रित गर्ने, र अरू सुन्‍न इच्छुक हुने अनुभवात्मक गवाहीहरू बारम्बार बाँड्ने मानिसहरू यिनै हुन् भनेर अनेक दाजुभाइ-दिदीबहिनीहरू उपलब्ध गराएमा, तैँले यी दाजुभाइ-दिदीबहिनीहरूलाई भेटेर उनीहरूसँग सङ्गति गर्नुपर्छ। यसको अतिरिक्त, मण्डलीमा निश्चय नै केही मानिसहरू हुन्छन् जसको शैक्षिक स्तर कम हुन्छ र जसले लेखहरू लेख्न सक्दैनन् तर उनीहरूसँग व्यावहारिक अनुभवहरू हुन्छन्। यस्ता मानिसहरूलाई मार्गनिर्देशन र प्रशिक्षणको आवश्यकता हुन्छ, र तैँले लेखहरू कसरी लेख्ने भनी जान्‍नेहरूलाई केही समयावधिका लागि उनीहरूलाई सहयोग गर्न लगाउन सक्छस्। त्यो सँगसँगै, परमेश्‍वरका चुनिएका मानिसहरूले अनुभवात्मक गवाही लेखहरू लेख्ने निश्चित काम कार्यान्वयन गर्ने कार्यको कमान सम्हाल्नका लागि एउटा व्यक्ति छनोट गर्। यो व्यक्ति लेखिसकिएका लेखहरू सङ्कलन, तिनको प्रतिलिपि सम्पादन, र समीक्षा गर्न, र त्यसपछि तिनलाई पेस गर्न जिम्मेवार हुनेछ। अनि मण्डली अगुवाले के गर्नुपर्छ? उनीहरूलाई यी कार्यहरूको सुपरिवेक्षण र अनुगमन गर्न लगाउनुपर्छ। कतिपय मानिसहरूले यसो भन्लान्, “मण्डली अगुवा छँदै छ त, अरू कसैलाई कमान सम्हाल्न किन चयन गर्नुपर्‍यो? के त्यो अनावश्यक होइन र?” के त्यो अनावश्यक हो? (होइन।) किन होइन? किनभने यस मण्डली अगुवाले वास्तविक काम गर्दैन र ऊ अत्यन्तै अविश्‍वसनीय भएकाले यो कामका लागि विशेष रूपमा जिम्मेवार हुन तैँले अर्को व्यक्ति छनोट गर्नुपर्छ। यदि मण्डली अगुवा भरपर्दो भएको भए, उसले कामका प्रबन्धहरू प्राप्त गरेपछि कामलाई स्थिर रूपमा अघि बढाउन सक्नेथ्यो, र तैँले उसलाई यसरी सुपरिवेक्षण गर्नुपर्ने थिएन। कमान सम्हाल्न कसैलाई छनोट गर्नु भनेको मण्डली अगुवालाई पाखा लगाउनु नभई अझ राम्रा नतिजाहरू हासिल गर्नु हो। यदि तैँले यो व्यक्ति छनोट गरिनस् भने, काम असफल हुन सक्छ, र त्यो कहिले सम्पन्‍न हुनेछ वा त्यसले कहिले नतिजाहरू निकाल्नेछ भन्‍ने कुरा अनिश्चित हुनेछ।

अगुवा र कामदारहरू मण्डलीको काममा सहभागी हुनुपछाडिको उद्देश्य भनेको परमेश्‍वरका चुनिएका मानिसहरूलाई व्यावहारिक रूपमा परमेश्‍वरको काम अनुभव गर्न अगुवाइ गर्नु हो। उनीहरूले आफ्नै कर्तव्य राम्ररी पूरा गर्नुपर्ने मात्र होइन, परमेश्‍वरका चुनिएका मानिसहरूलाई कामका प्रबन्धहरूले माग गर्ने मानकहरूअनुसार मण्डलीको सारा कामलाई अघि बढाउन सहयोग र अगुवाइ पनि गर्नुपर्छ। यसो गर्ने अगुवा र कामदारहरू मात्र परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छन्। तर यदि तँ विशिष्ट रूपमा काममा सहभागी हुँदैनस् र वास्तविक काम नगर्ने अगुवा र कामदारहरूलाई सुपरिवेक्षण गर्ने अभ्यास गर्दैनस् भने, झूटा अगुवाहरूले बरबाद पारेका कारण मण्डलीका यी कार्यहरूको नतिजा व्यर्थ हुन सक्छ। यदि तैँले कुनै मण्डलीको परिस्थितिलाई प्रस्ट रूपमा बुझ्छस्, र तँलाई हृदयमा यस मण्डलीका अगुवाहरू गैरजिम्मेवार छन् भन्‍ने थाहा छ, तर तैँले सामयिक रूपमा अनुगमन गर्दैनस् र निर्देशन प्रदान गर्दैनस् भने, के यो जिम्मेवारी विमुखता होइन र? यस प्रकारको कामका हकमा, यदि तैँले विशिष्ट रूपमा अनुगमन गरेको र सहभागिता जनाएको छस्, र काम गर्नका लागि सुपरिवेक्षक र मानिसहरू दुवैको प्रबन्ध गरेको छस् भने, के तैँले तुरुन्तै छोडेर जान मिल्छ? (मिल्दैन।) केही समयावधिका लागि अनुगमन गर्नु उत्तम हुन्छ। अनुगमनको दौरान, एक हिसाबले, तैँले मण्डली अगुवाहरूलाई यस काममा सक्रिय रूपमा काम गर्न प्रोत्साहन दिन र मार्गनिर्देशन गर्न सक्छस्। यसको अतिरिक्त, तैँले आफूले प्रबन्ध गरेका मानिसहरूको कामको परिस्थितिबारे सही बुझाइ प्राप्त गर्न सक्छस्, र त्यो सँगसँगै तैँले उनीहरूले कुनै पनि बेला सामना गर्ने समस्याहरूमा उनीहरूलाई सामयिक रूपमा सच्याउन र सहयोग गर्न सक्छस्। यदि तँ धेरै चाँडो छोडेर गइस्, र त्यसपछि समस्याहरू देखा पर्दा तिनलाई सम्हाल्न र समाधान गर्न फर्केर आइस् भने, त्यसले काममा ढिलाइ गराउनेछ। सारांशमा, यो निश्चित कामका लागि, कर्मचारी र सुपरिवेक्षकको प्रबन्ध गर्नमा सहभागी हुनुको अतिरिक्त, उनीहरूको कामको दौरान कस्ता समस्याहरू उत्पन्‍न हुन्छन् भनी हेर्न केही समयका लागि अनुगमन पनि गर्नु सर्वोत्तम हुन्छ। एकातिर, मण्डली अगुवाहरूले आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् कि छैनन् भनी सुपरिवेक्षण गर्; अर्कोतिर, कर्मचारीहरूले आफ्नो काम कसरी गरिरहेका छन् भनेर हेर्। धेरैजसो मानिसहरूले पहिला यो काम नगरेका र देखा पर्न सक्ने समस्याहरू अज्ञात हुने हुनाले, यो काममा सहभागी हुँदा तैँले थाहा नपाएका केही समस्याहरू निरन्तर पत्ता लगाउनेछस्। अवश्य पनि, सामयिक समाधानहरू प्रदान गर्नु पनि सर्वोत्तम हुन्छ। कार्यस्थलमा रहनु, सुपरिवेक्षण गर्नु, र अनुगमन गर्नु नै सर्वोत्तम अभ्यासहरू हुन्। जसोतसो आलटाल गरेर दिन कटाउने मात्र नगर्। यो एउटा विशेष अवस्थाका लागि गरिने काम हो, जसले केही सहयोग र मार्गनिर्देशन प्रदान गर्दछ। समस्याहरू समाधान गरेपछि, केही समयका लागि उनीहरूको कामको अनुगमन गर्। केही लेखहरू लेखिसकिएका छन्, र विभिन्‍न समस्याहरूलाई सम्बोधन गर्ने र फरक-फरक विषयहरू समेट्ने धेरै प्रकारका लेखहरू छन् भन्‍ने कुरा तैँले देख्छस्—केही लेख चिनियाँ कम्युनिष्ट पार्टीको सतावटका अनुभवहरूबारे हुन्छन्, केही पारिवारिक सतावटका अनुभवहरूबारे हुन्छन्, केही लेख मानिसहरूले आफूले प्रकाश गर्ने भ्रष्ट स्वभावहरू कसरी बुझ्न पुग्छन्, वा मानिसहरूले आफ्ना कर्तव्यहरू पूरा गर्ने क्रममा प्रदर्शन गर्ने विभिन्‍न भ्रष्ट स्थितिहरू कसरी समाधान हुन्छन्, आदिबारे हुन्छन्। यी सबै गवाही लेखहरूलाई अनुमोदन गरेर तिनको भिडियो बनाउनु अघि ती पूर्ण रूपमा तथ्यहरूसँग मिल्ने र तिनले साँचो रूपमा मानिसहरूलाई शिक्षा दिने सुनिश्चित गर्न तिनको समीक्षा गर्नैपर्छ। जब काम यो स्तरमा पुग्छ, तब तैँले नतिजाहरू देखिसकेको हुनेछस्। यसले प्रारम्भिक हिसाबले यस कामका लागि तैँले प्रबन्ध गरेका कर्मचारी र सुपरिवेक्षक तुलनात्मक रूपमा उपयुक्त छन् भन्‍ने प्रमाणित गर्छ। त्यसपछि, यदि उनीहरू आफैले यो काम पूरा गर्न सक्छन् भने, तँ पछि हट्नु उचित हुन्छ। के यस तरिकाले काम गर्ने अगुवा र कामदारहरूले पनि शिक्षा प्राप्त गर्छन्? के यो दिनभरि सिद्धान्तहरूबारे गफ लडाउँदै समय खेर फाल्नुभन्दा बढी फलदायी हुन्छ? (हुन्छ।) यस किसिमको कामले ठूला इनामहरू दिन्छन्। एकातिर, तैँले वास्तविक समस्याहरू समाधान गर्न सिक्छस्। अर्कोतिर, तैँले अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्छस्। यसको अतिरिक्त, सत्यताबारे तेरो बुझाइ शब्द र धर्मसिद्धान्तहरूको स्तरमै रोकिँदैन; बरु, तैँले सत्यतालाई वास्तविक जीवनमा बढी लागु गर्छस्। यसरी, मानिसहरूले व्यावहारिक अनुभव प्राप्त गर्छन्, र सत्यताबारे उनीहरूको बुझाइ अझ ठोस र व्यावहारिक बन्छ।

एउटा मण्डलीको एउटा प्रायोगिक कार्य परियोजनालाई यो हदसम्म मार्गनिर्देशन गरिएर त्यसका प्रारम्भिक नतिजाहरू हासिल भएपछि, अगुवा र कामदारहरूले त्यसपछि के काम गर्नुपर्छ? के एउटा प्रायोगिक परियोजना पूरा भएपछि तेरो कार्य सकिन्छ त? के तैँले गर्नुपर्ने अरू काम हुन्छ? अझै धेरै काम हुन्छ! यस मण्डलीको काम मार्गनिर्देशित भएपछि, अर्को कुन मण्डलीको काममा केन्द्रित मार्गनिर्देशन आवश्यक छ भनेर हेर्, अनि त्यसपछि त्यस मण्डलीमा गएर मार्गनिर्देशन प्रदान गर्न जारी राख्। तँसँग कामको केही अनुभव भइसकेकाले र तैँले केही सत्यता सिद्धान्तहरू बोध गरिसकेकाले, फेरि मार्गनिर्देशनको काम प्रदान गर्न धेरै सहज हुनेछ। अवश्य पनि, यसअघि छलफल गरिएका कामका कदमहरूअनुसार, तैँले सुरुमा चयन गरिएका कर्मचारीहरू मानकअनुरूपका छन् कि छैनन्, उनीहरू यस कामका लागि उपयुक्त छन् कि छैनन्, र उनीहरूको क्षमता, मानवता, शैक्षिक स्तर, सत्यता पछ्याइको मात्रा, आफ्नो कर्तव्यप्रतिको मनोवृत्ति, र सत्यताको बुझाइ लगायतका अन्य पक्षहरू तुलनात्मक रूपमा आदर्शमय छन् कि छैनन्, साथै उनीहरू तुलनात्मक रूपमा सर्वोत्कृष्ट व्यक्तिहरू हुन् कि होइनन् भनी जाँच्नुपर्छ। निश्चित समय कामको सुपरिवेक्षण र निरीक्षण गरेपछि, तँसँग कतिपय अगुवा र कामदारहरू वा सुपरिवेक्षकहरू मानकअनुरूप छैनन् भनी पत्ता लगाउने अवसर हुनेछ। उदाहरणका लागि, कतिपय मानिसहरूमा कमजोर क्षमता हुन्छ र उनीहरूले त्यो काम गर्न सक्दैनन्। अन्यसँग विकृत बुझाइ, गलत दृष्टिकोणहरू हुन्छन्, उनीहरूमा सामान्य सोचाइको कमी हुन्छ, र आत्मिक बुझाइ हुँदैन। उनीहरू आफ्नो शैक्षिक ज्ञानका आधारमा मात्र लेखहरूको शुद्धाशुद्धि जाँच गर्न सक्छन् तर निश्चित आत्मिक शब्दावलीहरूको उपयुक्तता र परमेश्‍वरका वचनहरू उद्धृत गर्नुको उपयुक्तताका सम्बन्धमा अनजान हुन्छन्; उनीहरूले यी कुराहरूलाई छर्लङ्गै देख्न बिलकुलै सक्दैनन्, जसले उनीहरूलाई छनोट गर्नु नै अनुपयुक्त रहेछ र उनीहरूलाई तुरुन्तै प्रतिस्थापित गर्नुपर्छ भन्‍ने देखाउँछ। यसैबीच, अझै अरू चाहिँ सुपरिवेक्षकका रूपमा छनोट गरिन्छन्, र उनीहरूले केही काम गर्न सक्ने भए पनि, उनीहरू आफैले लेखहरू लेख्दा अझ राम्रा नतिजाहरू हासिल हुन्छन्। जब उनीहरूलाई सुपरिवेक्षकका रूपमा सेवा गर्न भनिन्छ, तब काममा व्यस्त हुँदा उनीहरूसँग लेख्ने समय हुँदैन, र उनीहरूले सुपरिवेक्षकको काम त्यति राम्ररी गर्दैनन्। उनीहरू मार्गनिर्देशन प्रदान गर्न, कामको निरीक्षण गर्न, वा समस्याहरू सच्याउन पोख्त हुँदैनन् तर एउटै, निश्चित कार्य निर्वाह गर्नमा राम्रा हुन्छन्। त्यसैले, त्यस्तो व्यक्तिलाई सुपरिवेक्षकका रूपमा छनोट गर्नु उपयुक्त हुँदैन, र अर्को उम्मेदवारलाई चयन गरिनुपर्छ। त्यसकारण, जब अगुवा र कामदारहरूले कुनै निश्चित कार्यको निरीक्षण र अनुगमन गरिरहेका हुन्छन्, उनीहरूले केवल प्रश्नहरू सोध्नु र सुपरिवेक्षकले सिद्धान्तहरू बुझेको छ कि छैन भनी सोधपुछ गर्नु पर्याप्त हुँदैन। तैँले त्यस व्यक्तिको मानवता ठ्याक्कै कस्तो छ, र उसको क्षमता, बोध क्षमता, र कद यो कर्तव्य पूरा गर्नका लागि उपयुक्त छ कि छैन भन्‍ने कुरा पनि हेर्नुपर्छ। यदि निरीक्षणले मानकअनुरूप नभएका कर्मचारीहरूको प्रकाश गरेमा, सामयिक रूपमा समायोजनहरू गर्नैपर्छ। कामको निरीक्षण गर्नुमा यही कुरा पर्छ।

गवाही लेखहरू लेख्ने कामलाई कार्यान्वयन गर्नका लागि, अगुवा र कामदारहरूले यस कामको सुपरिवेक्षक उपयुक्त छ कि छैन भनी निरीक्षण गर्नुका साथै, लेखहरू जाँच्न र लेखहरू लेख्ने कामका लागि केही निर्देशन र परीक्षण प्रदान गर्न पनि सिक्नैपर्ने हुन्छ। विशिष्ट र व्यावहारिक रूपमा लेखिएका लेखहरूलाई उदाहरणका रूपमा प्रयोग गर्न सकिन्छ। खोक्रो र अव्यावहारिक तरिकाले लेखिएका, महत्त्वहीन र मानिसहरूलाई शिक्षाप्रद नहुने लेखहरूलाई सिधै हटाइनुपर्छ। यसरी, दाजुभाइ-दिदीबहिनीहरूले कस्ता किसिमका लेखहरू मूल्यवान् छन् र कस्ता किसिमका चाहिँ मूल्यवान् छैनन् भनेर थाहा पाउनेछन्, र भविष्यमा, उनीहरूले मूल्यहीन लेखहरू लेखेर यसरी ऊर्जा र समय खेर फाल्नेछैनन्। यसरी, तेरो काम मूल्यवान् हुनेछ। जब तँ कामको निरीक्षण गर्न जान्छस्, तैँले उनीहरूले लेखेका सबै प्रकारका अनुभवात्मक गवाही लेखहरू जाँचेर तिनमा कुनै मिलावट वा झूटहरू मिसिएका छन् कि छैनन् र ती लेखहरू शिक्षाप्रद छन् कि छैनन् भनी हेर्नुपर्छ। तैँले सुरुमा यी कुराहरूको परीक्षण गर्नुपर्छ। परीक्षण गर्दा, के तैँले सिकिरहेको पनि हुँदैनस् र? (हुन्छु।) तैँले सिक्दै गर्दा, तैँले यो काम झन्-झन् राम्ररी गर्नेछस्। मानौँ तैँले निरीक्षण गर्दैनस्, कामकुरालाई गम्भीर रूपमा लिँदैनस्, र तँ गैरजिम्मेवार हुन्छस्, र कार्य सकाएर आफूभन्दा माथिकालाई त्यो सकियो भनी रिपोर्ट गर्ने उद्देश्य मात्र राखेर आलटाल मात्र गर्छस्, र यस्तो सोच्छस्, “जे भए पनि, हाम्रो मण्डलीसँग गवाही लेखहरू लेख्न सक्ने मानिसहरू धेरै छन्। उनीहरूले लेखेर सकाएपछि, म ती सबै बुझाउनेछु। ती मानकअनुरूप छन् कि छैनन् भन्‍ने कुराको कसलाई पो वास्ता छ र? यदि मैले धेरै काम गरेको छु, कामका प्रबन्धहरू कार्यान्वयन गरेको छु, र आफूलाई व्यस्त राखेको छु भनेर माथिल्लो तहका अगुवाहरूलाई थाहा भएसम्म त्यो काफी हुन्छ!” के यो जिम्मेवार मनोवृत्ति हो? (होइन।) यो गैरजिम्मेवार हुनु हो। यदि तैँले जिम्मेवारी लिन्छस् भने, तैँले सुरुमा आफ्नो तर्फबाट कामकुराको परीक्षण गर्नुपर्छ। तँमार्फत बुझाइएको जुनसुकै लेख मानकअनुरूप हुनैपर्छ; त्यो पढ्ने जोसुकैले त्यो शिक्षाप्रद छ भनेर भन्‍नुपर्छ र ऊ त्यो पढ्न इच्छुक हुनुपर्छ। यो मात्र अगुवा र कामदारहरूको जिम्मेवारी पूरा गर्नु हो। कामको निरीक्षण गर्नु भनेको आलटाल गर्नु, नाराहरू फलाक्नु, धर्मसिद्धान्तहरू प्रचार गर्नु, वा स्वेच्छाचारी रूपमा मानिसहरूलाई भाषण दिनु होइन। यो त कामको दक्षता र नतिजाहरूको निरीक्षण गर्नु, तैँले गरेको काम मानकअनुरूप छ कि छैन, त्यसले कामका प्रबन्धहरू कार्यान्वयन गर्नुका नतिजा हासिल गर्छ कि गर्दैन, त्यसले परमेश्‍वरका मागहरू पूरा गर्छ कि गर्दैन, कुन क्षेत्रहरू मानकअनुरूप छन् र कुन छैनन् भनी निरीक्षण गर्नु हो—निरीक्षण गर्नुपर्ने कुराहरू यिनै हुन्। यसमा निश्चित काम गर्नुपर्ने हुन्छ, र यो मानिसहरूको क्षमता कस्तो छ, उनीहरूसँग आत्मिक बुझाइ छ कि छैन, उनीहरूले कति सत्यता बुझ्छन्, उनीहरूसँग कति सत्यता वास्तविकता छ, र उनीहरूको कामकुराहरू हेर्ने क्षमता कस्तो छ भन्‍ने कुरासँग सम्बन्धित छ। यदि तैँले कामको निरीक्षण कसरी गर्ने भनी जानेको छस्, र कामको निरीक्षण गर्ने क्रममा तैँले समस्याहरू पत्ता लगाउन, समस्याहरूको जड बुझ्न, समस्याहरूको सार बोध गर्न, र समस्याहरू समाधान गर्न सक्छस्, अनि गवाही लेखहरू बुझाउनु अघि तैँले सिद्धान्तहरूअनुसार तिनको परीक्षण गर्छस्, र तैँले बुझाउने लेखहरू सबै मानकअनुरूप भएको र ती पढ्नेहरूका लागि शिक्षाप्रद भएको प्रत्याभूति गराउँछस् भने, तँ एक अगुवा वा कामदारका रूपमा मानकअनुरूप छस्, र तैँले आफ्नो काम राम्रोसँग गरेको छस्।

अधिकांश मानिसहरूले मार्गनिर्देशन, सुपरिवेक्षण र प्रोत्साहन प्रदान गर्ने काम गर्न सक्छन्। तर, जब निरीक्षण र परीक्षणको आवश्यकता पर्छ, त्यसले अगुवा र कामदारहरूको क्षमता र उनीहरूसँग सत्यता वास्तविकता छ कि छैन भन्‍ने कुरा जाँच्दछ। कतिपय मानिसहरूले मार्गनिर्देशन प्रदान गर्न, कामको सुपरिवेक्षण गर्न, र अनुपयुक्त कर्मचारीहरूलाई काटछाँट वा बर्खास्त गर्न र निराकरण गर्न सक्छन्, तर उनीहरूले आफूले प्रबन्ध गरेको कामको दक्षता र नतिजाहरू कसरी मूल्याङ्कन गर्ने, त्यो कामका प्रबन्धहरूसँग मिल्छ कि मिल्दैन, र मिल्दैन भने त्यसलाई कसरी हल गर्ने भन्‍ने कुरा जानेका हुँदैनन्। धेरैजसो अगुवा र कामदारहरूले बढीमा मार्गनिर्देशन, सुपरिवेक्षण र प्रोत्साहन प्रदान गर्न सक्छन्, तर कामको निरीक्षण गर्ने कुरा आउँदा, उनीहरूलाई के गर्ने भन्‍ने थाहा हुँदैन, उनीहरूसित कुनै सिद्धान्तहरू हुँदैनन्, र उनीहरू अलमल्ल पर्छन्। उनीहरूले यस्तो सोच्छन्, “कामका प्रबन्धहरू कार्यान्वयन भएका छन्, त्यसैले निरीक्षण गर्नुपर्ने के छ र? सबै जनाले काम गरिरहेका छन्, कोही पनि केही नगरी बसिरहेका छैनन्, बाधा र अवरोध सिर्जना गर्ने मानिसहरूलाई निराकरण गरिएको छ, र बर्खास्त गर्नुपर्ने वा पखाल्नुपर्ने मानिसहरू सोही अनुसार तह लगाइएका छन्। निरीक्षण गर्नुपर्ने अरू के नै छ र?” उनीहरू बस बेखबर हुन्छन्। कामको निरीक्षण गर्नका लागि परीक्षण आवश्यक हुन्छ। परीक्षणको अर्थ के हो? यसको अर्थ तैँले एउटा निष्कर्ष निकाल्नुपर्छ। उदाहरणका लागि, अनुभवात्मक गवाही लेखहरू लेख्ने कामको सुपरिवेक्षकले तँकहाँ एउटा लेख ल्याउँछ, र लेखन शैली निकै राम्रो छ, भाषा सरल छ, साथै भाषा शैली र लेखको विषयवस्तु दुइटै असल छन् भनेर भन्छ। तर, उसलाई त्यसमा व्यावहारिक सामग्रीको कमी छ र त्यो मानिसहरूका लागि शिक्षाप्रद हुन सक्दैन, त्यसमा पूरक सामग्री र सुधारको आवश्यकता छ भन्‍ने लाग्छ, तर ऊ आफैले यो कुरा छर्लङ्ग देख्न सक्दैन, त्यसैले उसले तँलाई हेर्न आग्रह गर्छ। उसले तँलाई हेर्न आग्रह गर्नुको अर्थ के हो? यसको अर्थ तैँले उसका लागि त्यसको परीक्षण गर्नुपर्छ। तैँले त्यो कसरी परीक्षण गर्छस् र तैँले त्यसलाई राम्ररी परीक्षण गर्छस् कि गर्दैनस् भन्‍ने कुराले तेरो वास्तविक कदको जाँच गर्दछ। वास्तविक कदको अर्थ के हो? यसको अर्थ तैँले सत्यता सिद्धान्तहरू बुझ्छस् कि बुझ्दैनस् भन्‍ने हो। यदि सुपरिवेक्षकले गवाही लेखहरू लेख्नुका सिद्धान्तहरू बुझ्दैन, कुनै लेख व्यावहारिक र साँचो हो कि होइन भनी लेखाजोखा गर्न सक्दैन, र मूल्याङ्कन गर्न जान्दैन, अनि तँ पनि त्यस्तै मूल्याङ्कन वा निर्णय गर्न नसक्ने नै छस् भने, यसले एउटा कुरा प्रमाणित गर्छ: तेरो क्षमता लगभग उसको जति नै छ, र तैँले लेखहरूको परीक्षण गर्न सक्दैनस्। कुरा यही होइन र? तैँले बुझेको सत्यता लगभग उसले बुझेको जति नै छ, र उसले छर्लङ्ग देख्न नसक्ने समस्याहरू तैँले पनि छर्लङ्ग देख्न सक्दैनस्—यसले एउटा समस्या इङ्गित गर्छ। यदि उसले छर्लङ्ग देख्न नसक्ने समस्यालाई तैँले छर्लङ्ग देख्न सक्छस्, र निरीक्षणमार्फत उसले पत्ता लगाउन नसक्ने समस्याहरू तैँले पत्ता लगाउन सक्छस् भने, यसले तैँले लेखहरू परीक्षण गर्न सक्छस् भन्‍ने प्रमाणित गर्छ। उदाहरणका लागि, उसले धेरैजसो लेखहरू मानकअनुरूप भएको र तिनमा उल्लेखनीय समस्याहरू नभएको ठान्छ, तर निरीक्षण र परीक्षणमार्फत, तैँले सानो अंश चाहिँ मानकअनुरूप नभएको पाउँछस्। तैँले विश्लेषण र सङ्गतिमार्फत यी लेखहरूमा भएका समस्याहरूको व्याख्या गर्छस्; सबैले तेरा तर्कहरू उचित छन्, सिद्धान्तहरूसँग मेल खान्छन्, र तैँले झिनामसिना गल्तीहरू खोजेको नभई ती वास्तवमै वास्तविक समस्याहरू हुन्, र तिनलाई सच्याइनुपर्छ भनेर स्विकार्छन्। कतिपय लेखहरू खोक्रा हुन्छन् र तिनमा व्यावहारिक अनुभवात्मक बुझाइको कमी हुन्छ; कतिपय लेखहरूमा व्यावहारिक अनुभवात्मक बुझाइ हुन्छ तर ती पर्याप्त मात्रामा ठोस रूपमा व्यक्त गरिएका हुँदैनन्; कतिपय लेखहरूले परमेश्‍वरका वचनहरू अनुचित रूपमा उद्धृत गरेका हुन्छन्, तिनले परमेश्‍वरका वचनका बढी उचित खण्डहरू चुनेका हुँदैनन्, जसले गर्दा नतिजाहरू झन् खराब हुन्छन्; कतिपय लेखहरूमा गलत दृष्टिकोणहरू हुन्छन्, तिनमा विकृत बुझाइ र सत्यताको बुझाइबारे सङ्गतिको कमी हुन्छ, जुन पाठकहरूका लागि शिक्षाप्रद हुँदैन र जसले उनीहरूमा सजिलै नकारात्मकता र गलतफहमीहरू विकास गराउँछ; आदि इत्यादि। तैँले यी सबै समस्याहरू पत्ता लगाउन र छर्लङ्ग देख्न सक्छस्। तेरो सङ्गतिमार्फत, तैँले उनीहरूलाई सिद्धान्तहरू बोध गर्न मदत गर्छस्, अनुभवहरू भएकाहरूलाई वास्तविक अनुभवात्मक गवाहीहरू लेख्न सक्षम तुल्याउँछस्। तैँले मानिसहरूका लागि शिक्षाप्रद र मूल्यवान् हुने लेखहरूलाई मानकअनुरूपका अनुभवात्मक गवाहीका रूपमा छनोट गर्छस्, ताकि जब परमेश्‍वरका चुनिएका मानिसहरूले ती पढ्छन्, तब उनीहरूले शिक्षा प्राप्त गरून्। यसै बीचमा, वास्तविक अनुभवात्मक बुझाइको कमी भएका वा विकृत बुझाइ समाविष्ट लेखहरू हटाइन्छन्। यदि तैँले यसो गरिस् भने, के तैँले परीक्षण गरिरहेको हुँदैनस् र? यदि तँसित मामलाहरू बुझेर काम गर्ने यस्तो क्षमता छ भने, के तेरो क्षमता पर्याप्त छैन र? के तैँले अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गरिरहेको हुँदैनस् र? (हुन्छु।) यदि उसले धेरैजसो लेखहरू स्वीकार्य ठानेर तँकहाँ परीक्षणका लागि ल्याउँछ, र तँलाई पनि तीमध्ये धेरैजसो राम्रा नै लाग्छन्, जबकि वास्तवमा तीमध्ये कतिपयमा समस्याहरू हुन्छन् र थप छनोट, सम्पादन, र समस्याहरूको सच्याइ आवश्यक हुन्छ, तर तैँले तिनलाई छर्लङ्ग देख्न सक्दैनस् भने—जब तैँले ती माथिलाई बुझाउँछस्, र माथिले कतिपय लेखहरू मानकअनुरूप नभएको पाउँछन् र तिनलाई हटाउँछन्—के यसको अर्थ तैँले राम्रोसँग परीक्षण गरिनस् भन्‍ने हुँदैन र? एकातिर, कामको निरीक्षण गर्नुले अगुवा र कामदारहरूको क्षमताको जाँच गर्दछ, र अर्कोतिर, त्यसले उनीहरूको सत्यता बुझाइको हदको जाँच गर्दछ। कतिपय मानिसहरूले आफूमा कमजोर क्षमता भएका कारण परीक्षण गर्न सक्दैनन् र त्यसकारण यसले उनीहरूलाई त्यसो गर्नबाट रोक्छ, उनीहरूले यस क्षेत्रमा सत्यता बुझ्दैनन्, र समस्याहरू छर्लङ्ग देख्न सक्दैनन्। उनीहरूका निरीक्षणहरू आलटाल गर्ने मात्र हुन्छन्, र उनीहरूलाई के निरीक्षण गर्ने भन्‍ने थाहा हुँदैन। कतिपय मानिसहरूमा पर्याप्त क्षमता हुन्छ, तर उनीहरूको सत्यताको बुझाइ सतही हुने भएकाले, उनीहरूले समस्याहरू पत्ता लगाउन सक्छन् तर तिनलाई समाधान गर्न जानेका हुँदैनन्। यी मानिसहरूमा अझै पनि सुधारका लागि ठाउँ हुन्छ। तर, यदि मानिसहरूले समस्याहरू पत्ता लगाउन समेत सक्दैनन् भने, उनीहरूले प्रगति गर्ने कुनै उपाय हुँदैन।

अनुभवात्मक गवाही लेखहरू लेख्ने काम कार्यान्वयन गर्नमा निरीक्षणको एउटा महत्त्वपूर्ण चरण समावेश हुन्छ, जुन अगुवा र कामदारहरूसँग सत्यता वास्तविकता छ कि छैन भन्‍ने कुरामा निर्भर हुन्छ। तुलनात्मक रूपमा कमजोर क्षमता भएका र तुलनात्मक रूपमा कमजोर अगुवा र कामदारहरूको निरीक्षण गर्नेबाहेक, तैँले औसत क्षमता भएकाहरूका बारेमा पनि सोधपुछ गर्ने र बुझ्ने गर्नुपर्छ। यदि वातावरण उपयुक्त छैन भने, तैँले परिस्थितिबारे सोधपुछ गर्न र बुझ्न कसैलाई पठाउन सक्छस् अनि विस्तृत अभिलेखहरू राख्न सक्छस्। वातावरणले अनुमति दिएमा, व्यक्तिगत रूपमा गएर यस कामको सुपरिवेक्षकसँग अन्तरक्रिया गर्नु; प्रश्नहरू सोध्नु, सोधपुछ गर्नु, यस कामको विशिष्ट अवस्था बुझ्नु, र काम कति राम्ररी कार्यान्वयन भइरहेको छ भनी हेर्नु नै सर्वोत्तम हुन्छ। सारांशमा भन्‍नुपर्दा, अनुभवात्मक गवाही लेखहरू लेख्ने कामको प्रबन्ध जारी भएपछि, त्यो एक-दुई महिनामा टुङ्ग्याउन सकिने कुरा होइन। यो कुनै अस्थायी कार्य नभई दीर्घकालीन काम हो। अगुवा र कामदारहरूले कामका प्रबन्धहरू जारी भएको पहिलो एक-दुई महिनाभित्र मात्र मार्गनिर्देशन, सुपरिवेक्षण, प्रोत्साहन, र निरीक्षण प्रदान गर्ने अनि काम सकिएको ठान्‍ने गर्नु हुँदैन। बरु, उनीहरूले लामो समयसम्म निरन्तर कामको अनुगमन गर्नैपर्छ। अलिक कमजोर मण्डली अगुवाहरूका लागि, उनीहरूले गएर व्यक्तिगत मार्गनिर्देशन प्रदान गर्नुपर्छ। स्वतन्त्र रूपमा कामका प्रबन्धहरू कार्यान्वयन गर्न सक्ने मण्डली अगुवाहरूका लागि पनि, कामको प्रगति बुझ्न र उत्पन्‍न हुने कुनै पनि समस्याहरू समाधान गर्न उनीहरूले नियमित निरीक्षणहरू अभ्यास गर्नुपर्छ। यो अगुवा र कामदारहरूकै जिम्मेवारी हो। त्यसकारण, काम गरिरहेका अगुवा र कामदारहरूबारे एउटा कुरा चाहिँ निश्चित छ: उनीहरूसँग कहिल्यै फुर्सदको समय हुँदैन। कतिपय अगुवा र कामदारहरूले सधैँ यस्तो सोच्छन्, “कामका प्रबन्धहरू जारी गरिएका छन्, र मैले तिनलाई कसरी कार्यान्वयन गर्ने भन्‍नेबारे सङ्गति गरेको छु। मैले आफ्नो कार्य सकाएको छु, गर्नुपर्ने अरू केही पनि छैन। त्यसैले म केही उपयुक्त घरायसी कामहरू गर्नेछु, जस्तै खाना बनाउने र अतिथिसत्कारमा सहयोग गर्ने, वा दाजुभाइ-दिदीबहिनीहरूसँग नभएका केही दैनिक आवश्यकताका सामानहरू किन्‍ने।” उनीहरू कामका प्रबन्धहरू जारी भएपछि निष्क्रिय बन्छन् र आफ्नो कार्य सकिएको र अब गर्नुपर्ने थप केही नभएको महसुस गर्छन्। यसले उनीहरूलाई काम कसरी गर्ने वा निश्चित कार्यहरूको जिम्मेवारी कसरी लिने भन्‍ने थाहा छैन भन्‍ने देखाउँछ। वास्तवमा, परमेश्‍वरको घरका विभिन्‍न कामका प्रबन्धहरू जारी भएपछि, माथिले रोक्न आह्वान नगरेसम्म, काम जारी रहनैपर्छ र बीचमै रोकिनु हुँदैन। उदाहरणका लागि, अनुभवात्मक गवाही लेखहरू लेख्ने काम—के माथिले यसलाई रोक्न आह्वान गरेका छन्? के यो काम रोक्नू भनेर कुनै सूचना आएको छ? (छैन।) त्यसोभए, अगुवा र कामदारहरूले यो कामलाई कसरी अघि बढाउनुपर्छ त? अल्पकालिक उत्साहद्वारा मात्र प्रेरित नहो। पहिलो पटक कामका प्रबन्धहरू जारी हुँदा, तँ निकै उत्साहित, सक्रिय, र यो काम गर्न आतुर हुन्छस्। तर, केही समयपछि, यदि माथिले प्रोत्साहन दिएनन्, नयाँ निर्देशनहरू जारी गरेनन्, वा यस कामका प्रबन्धका लागि थप निर्देशिकाहरू दिएनन् भने, तँलाई माथिले कुनै पनि नयाँ कुराको प्रबन्ध नगरेको हुनाले, तैँले यस कामलाई बेवास्ता गर्न मिल्छ भन्‍ने सोच्न सक्छस्। यो स्वीकार्य हुँदैन; यो जिम्मेवारी विमुखता हो। यो काम चाहे जति लामो समय कार्यान्वयन भएको भए पनि, र माथिले त्यस अवधिमा यो कामका बारेमा सोधपुछ गरेको, प्रोत्साहन दिएको वा जोड गरेको भए पनि वा नभए पनि, जबसम्म यो काम तँलाई सुम्पिएको हुन्छ, तैँले त्यसलाई वहन गर्नुपर्छ र त्यसलाई निरन्तर गर्नुपर्छ, त्यसलाई राम्ररी अघि बढाउनुपर्छ। “निरन्तर” भन्‍नुको अर्थ के हो? यसको अर्थ माथिले रोक्न आह्वान नगरेसम्म, अगुवा र कामदारहरूले यस काममा निर्बाध र निरन्तर मार्गनिर्देशन, सुपरिवेक्षण, प्रोत्साहन, निरीक्षण, र अनुगमन प्रदान गर्नुपर्छ। जबसम्म तैँले राजीनामा दिँदैनस् वा तँ बर्खास्त हुँदैनस्, तँ आफ्नो पदमा रहुञ्जेल, यो तैँले अगुवा वा कामदारका रूपमा राम्ररी गर्नैपर्ने काम हो। यो तैँले निरन्तर कार्यान्वयन र अनुगमन गर्नैपर्ने कार्य पनि हो। यसलाई कसरी अभ्यास गर्नुपर्छ? हरेक पटक कुनै मण्डलीमा जाँदा, तैँले स्थानीय अगुवाहरू र यस कामको सुपरिवेक्षकलाई यस्तो सोध्नैपर्छ: “यस अवधिमा गवाही लेखहरूको प्रगति कस्तो भइरहेको छ? के त्यस्ता कुनै राम्रा, तुलनात्मक रूपमा उत्प्रेरक गवाही लेखहरू छन्? के कुनै विशेष अनुभव समेटिएका लेखहरू छन्?” यदि उनीहरूले छन् भनेमा, तैँले यी लेखहरू हेर्नुपर्छ। यदि तिनमा वास्तवमै व्यावहारिक अनुभवहरू छन् र ती साँच्चिकै मानिसहरूका लागि शिक्षाप्रद छन् भने, ती तुरुन्तै बुझाइनुपर्छ। हरेक पटक कुनै मण्डली भ्रमण गर्दा, तैँले सुरुमा यस मामलाबारे सोध्नैपर्छ। यो तैँले कार्यान्वयन गर्नैपर्ने एउटा विशिष्ट काम हो, तँ उम्कनै नमिल्ने एउटा दायित्व हो—यो तेरो जिम्मेवारी हो। माथिले यस मामलाबारे प्रोत्साहन दिने वा सोधपुछ गर्ने गरे पनि वा नगरे पनि, यो कार्य तैँले गर्नुपर्ने कुरामा समावेश हुन्छ। यदि दाजुभाइ-दिदीबहिनीहरू आफ्ना कर्तव्यहरू पूरा गर्नमा व्यस्त छन् र उनीहरूसित गवाही लेखहरू लेख्ने समय नै छैन भने, तैँले यसो भन्दै उनीहरूलाई प्रोत्साहित गर्नैपर्छ, “राम्रा गवाही लेखहरू लेख्नु परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशका लागि निकै लाभदायक हुन्छ, र त्यो एउटा महत्त्वपूर्ण कर्तव्य पनि हो।” तर, कतिपय अगुवाहरूले यसो भन्छन्, “दाजुभाइ-दिदीबहिनीहरू आफूले आफ्ना सारा अनुभवहरू लेखेको र लेख्नका लागि थप केही पनि नभएको महसुस गर्छन्।” के यो भनाइ सही हो? वास्तवमा, मानिसहरूले धेरै विस्तृत अनुभवहरू याद नै गर्दैनन् र तिनलाई बेवास्ता गरिन्छ। उनीहरूले अरूद्वारा लिखित अनुभवात्मक गवाहीहरू पढ्दा मात्र आफ्ना अनुभवहरू पनि त्यस्तै भएको सम्झन्छन्। त्यसकारण, अनुभवात्मक गवाही लेखहरू लेख्नका लागि सावधानीपूर्ण सोच र चिन्तन आवश्यक हुन्छ। लेख्न योग्य धेरै अनुभवात्मक बुझाइहरू हुन्छन्। के लेख्नका लागि कुनै समय नहुनु जायज कारण हो? यो मानिसहरूले पूरा गर्नुपर्ने कर्तव्य हो। उनीहरू जतिसुकै व्यस्त भए पनि, उनीहरूले लेख्ने समय निकाल्नुपर्छ। यदि उनीहरूलाई गवाही लेखहरू लेख्न आउँदैन भने, उनीहरूले अरू कसैलाई त्यसको सम्पादन गर्न वाचन गर्नुपर्छ, र यसरी राम्रो लेख सिर्जना गर्नुपर्छ। यसरी, तेरो प्रोत्साहन र निर्देशनमार्फत, अर्को राम्रो अनुभवात्मक गवाही लेख लेखिन्छ। के तँलाई यो लेखले कति जना मानिसहरूलाई शिक्षा दिन सक्छ भन्‍ने कुरा थाहा छ? कति जना मानिसहरूले यसबाट सहयोग र लाभ प्राप्त गर्न सक्छन्? यदि तैँले सुपरिवेक्षण गर्दैनस् र निर्देशन प्रदान गर्दैनस्, अनि स्थानीय मण्डलीका अगुवाहरूसँग पनि, दाजुभाइ-दिदीबहिनीहरूले आफ्ना सबै अनुभवात्मक गवाहीहरू लेखिसके र लेख्नका लागि थप कुनै पनि लेखहरू छैनन् भन्‍ने सोचेर, बोझको बोध हुँदैन भने, यो राम्रो अनुभवात्मक गवाही लेख अस्तित्वमा आउनेछैन। कहिलेकाहीँ तैँले कुनै मण्डलीमा भ्रमण गर्दा, केही दाजुभाइ-दिदीबहिनीहरूले तँसित बातचित गर्छन् र यसो भन्छन्, “मैले आफ्नो जीवनमा हर प्रकारका कष्ट भोगेको छु। परमेश्‍वरमा विश्‍वास गरेपछि, मलाई धेरै सताइएको छ। मार्गको हरेक कदममा, परमेश्‍वरले नै मलाई अगुवाइ गर्दै आउनुभएको छ। मैले परमेश्‍वरका अद्भुत कार्यहरू देखेको छु, र सबै कुरा परमेश्‍वरले निर्धारित गर्नुहुन्छ र परमेश्‍वरले साँच्चिकै सबैमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने महसुस गरेको छु—यो पूर्ण रूपमा साँचो हो!” उनीहरूले तँलाई आफ्नो अनुभव बताएपछि, उनीहरूले त्यसलाई लेखका रूपमा लेखेका छन् कि छैनन् भनेर तैँले उनीहरूलाई सोध्छस्, अनि उनीहरूले भन्छन्, “अहँ, मेरो शैक्षिक स्तर कम छ र म लेख्न सक्दिनँ। यसबाहेक, अरूले यो अनुभव मूल्यवान् छैन भन्छन्।” तैँले उनीहरूलाई भन्छस्, “यस्तो गजबको अनुभव कसरी मूल्यरहित हुन सक्छ र?” “तिम्रो अनुभवको प्रत्येक चरणपछि, तिमीले गहन रूपमा परमेश्‍वरको सार्वभौमिकता, परमेश्‍वरको अगुवाइ, र परमेश्‍वरको निर्धारण महसुस गर्‍यौ। योभन्दा बढी मूल्यवान् अनुभव के हुन सक्छ र? यस्ता अनुभवहरू लेखेर राख्नुपर्छ र छुटाउनु हुँदैन।” तैँले त्यसपछि उनीहरूलाई त्यसको सम्पादनमा मदत गर्नका लागि तुरुन्तै अझ बढी शिक्षित दाजुभाइ-दिदीबहिनीहरूको प्रबन्ध गर्छस्। तीन दिनभित्रै, एउटा राम्रो र उत्कृष्ट गवाही लेख लेखिन्छ र त्यसलाई अनुभवात्मक गवाही भिडियोमा परिणत गरिन्छ। त्यो हेर्ने सबैले यसो भन्छन्, “मुख्य पात्रको अनुभव अद्भुत छ! त्यो हेर्नु अत्यन्तै शिक्षाप्रद छ! यसले साँच्चिकै परमेश्‍वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने देखाउँछ—कुरा ठ्याक्कै त्यही हो! यो अब झन् बढी हदमा पुष्टि भएको छ, र परमेश्‍वरमाथिको हाम्रो आस्था बढेको छ।” अरूले यसो भन्छन्, “यो अनुभवात्मक गवाही लेख निकै व्यावहारिक रूपमा लेखिएको छ र यो निकै प्रेरणादायी छ। यसलाई चलचित्र बनाए अझ राम्रो हुनेथियो!” धेरै जना दाजुभाइ-दिदीबहिनीहरूले उत्सुकताको साथ झट्टै यसको चलचित्र बनेको प्रतीक्षा गर्छन्। त्यसैले, अगुवा र कामदारहरूले मण्डलीको कामलाई जिम्मेवारी र बफादारीका साथ व्यवहार गरेका हुनाले, एउटा सामान्य कुराकानीले नै एउटा राम्रो लेख र चलचित्रका लागि राम्रो सामग्री तयार पार्न सक्यो। यो नै सर्वोत्कृष्ट गवाही र परमेश्‍वरको सार्वभौमिकता र निर्धारणको गवाही दिनका लागि सर्वोत्कृष्ट विषयवस्तु हो। यस्ता कथाहरूले धेरै मानिसहरूको आस्था बढाउन र धेरैलाई शिक्षा दिन पनि सक्छ! तँ यस तरिकाले काम गर्ने अगुवा र कामदारहरूबारे के सोच्छस्? उनीहरूले आफ्नो काममा कुनै पनि औपचारिकता पालना गर्दैनन्। जहाँ गए पनि, उनीहरूले प्रश्नहरू सोध्छन्, सोधपुछ गर्छन्, दाजुभाइ-दिदीबहिनीहरूसँग अन्तरक्रिया गर्छन्, र स्वाङ नपारी उनीहरूसित समाहित हुन्छन्। उनीहरूसित हृदयमा बोझको बोध मात्र नभई जिम्मेवारीको बलियो बोध पनि हुन्छ। लगातार यसो गरेर, उनीहरूले स्वतः नतिजाहरू हासिल गर्छन्। के परमेश्‍वरले यो कुरा सम्झनुहुनेछैन र? के यी असल कार्यहरू हुन्, होइनन् र? ल भन्, के यति काम गर्न सकस हुन्छ र? के यसका लागि कष्ट भोग्नु आवश्यक हुन्छ? के यसका लागि तरबारको धारजस्ता हिमाल चढ्नु वा आगोको समुद्रमा डुब्की मार्नु आवश्यक हुन्छ? हुँदैन। यो कठिन छैन। यसमा आफ्नो हृदय लगाउनु मात्र आवश्यक हुन्छ। हृदयमा यो काम बोकेर, तँ चाहे जहाँ गए पनि, तैँले प्रश्नहरू सोध्छस् र सोधपुछ गर्छस्: “कामको प्रगति कस्तो भइरहेको छ? के यस अवधिमा कुनै राम्रो गवाही लेखहरू आएका छन्? अनुभवहरू भएका तर अहिलेसम्म लेखहरू नलेखेका दाजुभाइ-दिदीबहिनीहरूका हकमा, के तिमीहरूले उनीहरूलाई आफ्ना अनुभवहरू वर्णन गर्नहेतु मार्गनिर्देशन गर्न जानेका छौ? के तिमीहरूले उनीहरूलाई आफ्नो कुरा व्यक्त गर्न मदत गर्न र ती लेख्न मार्गनिर्देशन गर्न जानेका छौ?” तँ चाहे जहाँ गए पनि, तैँले सधैँ यस मामलाबारे सङ्गति गर्नुपर्छ, यो कामसँग सम्बन्धित कामकुरा गर्नुपर्छ, र यो कामसँग सम्बन्धित शब्दहरू बोल्नुपर्छ। के यस तरिकाले अभ्यास गर्नाले अगुवा र कामदारहरूको काम अझ प्रचुर बन्दैन र? के गर्ने काम नै नभएर तँ निष्क्रिय हुने अवस्था आउन सक्छ? (सक्दैन।) के यस तरिकाले काम गर्ने अगुवा र कामदारहरू थकित हुन वा थकाइले मर्न सक्छन्? (सक्दैनन्।) उनीहरू थकित हुने वा थकाइले मर्ने छैनन्, कामले नतिजाहरू निकाल्नेछ, र त्यसलाई परमेश्‍वरले सम्झनुहुनेछ। यदि तैँले यस तरिकाले काम गरिस् भने, धेरै जनाले शिक्षा पाउनेछन्, र दाजुभाइ-दिदीबहिनीहरूलाई अनुभवात्मक गवाही लेखहरू लेख्नु मूल्यवान् र अर्थपूर्ण हुन्छ भन्‍ने लाग्नेछ। यसअघि, उनीहरूलाई आफ्ना अनुभवहरूको कुनै मूल्य छैन भन्‍ने लाग्थ्यो, तर तेरो मार्गनिर्देशनमार्फत, उनीहरूले अनुभवात्मक गवाही लेखहरू कसरी लेख्ने भन्‍ने बुझे। यसले उनीहरूको जीवन प्रवेशमा पनि फाइदा गर्छ। यस तरिकाले काम गर्दा मात्र तैँले अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गरिरहेको हुन्छस्।

अगुवा र कामदारहरूले कसरी कामको निरीक्षण गर्नुपर्छ भन्‍नेबारे सङ्गति गरेर, के तिमीहरूले कामको निरीक्षण कसरी गर्ने भनी सिकेका छौ? कामको निरीक्षण गर्नु भनेको त्रुटिहरू खोज्नु वा स-साना कुरालाई उचाल्नु होइन, बरु काम कसरी गरिएको छ, त्यसको प्रबन्ध गरिएको छ कि छैन, कसैले कामको जिम्मेवारी लिइरहेको छ कि छैन, काम कसरी अघि बढिरहेको छ, प्रगति कस्तो छ, त्यो सहज रूपमा अघि बढिरहेको छ कि छैन, काम सिद्धान्तहरूअनुसार गरिएको छ कि छैन, त्यसले नतिजाहरू निकाल्छ कि निकाल्दैन, आदि कुराहरू हेर्नु हो। त्यो सँगसँगै, तैँले कामलाई नियाल्नु, त्यसको समीक्षा गर्नुपर्छ, र त्यसको प्रभावकारिताको मूल्याङ्कन गर्नुपर्छ, अनि यसबाट काम कार्यान्वयन गर्ने अझ राम्रा र उपयुक्त उपायहरू खोज्नुपर्छ। अनुभवात्मक गवाही लेखहरू लेख्ने जस्ता कुनै कामको प्रबन्धका लागि, माथिले त्यसलाई रोक्नू भनी आह्वान नगरेसम्म, यो कामलाई निरन्तर अनुगमन र कार्यान्वयन गरिनुपर्छ, र यो परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशका लागि लाभदायक हुन्छ। यदि केही मानिसहरूलाई पहिल्यै पर्याप्त अनुभवात्मक गवाहीहरू छन् र परमेश्‍वरका चुनिएका मानिसहरूले ती सबै पढ्न सक्दैनन् भन्‍ने लागेमा, के यस कामलाई रोक्न मिल्छ? त्यसलाई रोक्न मिल्दैन। जति बढी अनुभवात्मक गवाहीहरू हुन्छन्, उति राम्रो हो; ती जति बढी हुन्छन्, त्यति नै बढी प्रचुर हुनेछन्—परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न सबैभन्दा बढी मदत गर्ने यसैले हो। कतिपय नयाँ विश्‍वासीहरूले यी अनुभवात्मक गवाहीहरू पढेपछि परमेश्‍वरको काम कसरी अनुभव गर्ने भनी थाहा पाउनेछन्। केही समयसम्म अनुभव भोगेर नतिजाहरू प्राप्त गरेपछि, उनीहरू स्वतः अनुभवात्मक गवाही लेखहरू लेख्न सक्षम हुनेछन्। सतही अनुभवहरू भएका कतिपय मानिसहरूले पनि ती तुलनात्मक रूपमा गहन अनुभवात्मक गवाहीहरू पढेर शिक्षा प्राप्त गर्न सक्छन्, र उनीहरूले झन् गहन अनुभवहरू हासिल गर्न र अझ राम्रा गवाही लेखहरू लेख्न सक्छन्। यी गवाहीहरूले धर्मका मानिसहरू र परमेश्‍वरका घरमा रहेका परमेश्‍वरका चुनिएका मानिसहरू दुवैलाई फाइदा हुन्छ। त्यसकारण, अनुभवात्मक गवाही लेखहरू लेख्ने कामलाई कहिल्यै रोक्न मिल्दैन। अगुवा र कामदारहरूले निरन्तर यस कामको अनुगमन गर्नैपर्छ र कुनै पनि कारणले वा बहानामा त्यसलाई रोक्नु हुँदैन। यो मण्डलीको एउटा महत्त्वपूर्ण काम हो। अगुवा र कामदारहरूले अनुभवात्मक गवाही लेखहरू लेख्नमा अगुवाइ गर्नुपर्छ। यो अभ्यासले उनीहरूमा सत्यता वास्तविकता छ कि छैन भन्‍ने कुरा सर्वोत्तम रूपमा प्रकाश गर्छ। यदि उनीहरूले अनुभवात्मक गवाही लेखहरू लेख्न सक्दैनन् भने, उनीहरू मानकअनुरूपका अगुवा वा कामदार होइनन् र उनीहरूले वास्तविक काम गर्न सक्दैनन्; उनीहरूलाई बर्खास्त गरेर हटाइनुपर्छ। यो काम राम्ररी गरेपछि, अगुवा र कामदारहरूले कामको प्रगतिबारे सोधपुछ गर्न निरन्तर विभिन्‍न मण्डलीहरूको भ्रमण गर्नुपर्छ। उनीहरूले प्रश्नहरू सोध्न र कामबारे जानकारी लिन सक्छन्: “आफ्नो पछ्याइमा तुलनात्मक रूपमा निष्ठावान् रहेका तिमीहरूको मण्डलीका केही दाजुभाइ-दिदीबहिनीहरू सबैसँग केही अनुभवहरू छन्—के उनीहरूले केही गवाही लेखहरू लेख्न सक्छन्?” उनीहरूले भर्खरै साँचो मार्ग स्विकारेकाहरूलाई पनि उनीहरूले कसरी अनुसन्धान गरेर त्यसलाई स्विकार्न पुगेका थिए, र उनीहरूले यससम्बन्धी आफूलाई लागेका कुराहरू लेख्न सक्छन् कि सक्दैनन् भनेर सोध्नुपर्छ। अगुवा र कामदारहरूले निरन्तर यस कामबारे सोधपुछ गर्न, जानकारी लिन, त्यसको अनुगमन गर्न, र त्यसलाई कार्यान्वयन गर्न मात्र नभई, कार्यान्वयन कति राम्रोसँग भइरहेको छ भन्‍ने कुराको निरीक्षण गर्नु पनि आवश्यक हुन्छ: “यस अवधिमा, के तिमीहरूले यो काम गर्नका लागि मानिसहरूको प्रबन्ध गरेका छौ त? कति वटा अनुभवात्मक गवाही लेखहरू लेखिएका छन्? कति वटा मानकअनुरूप छन्? मानकअनुरूपका लेखहरूको अनुपात कति छ?” सुपरिवेक्षकले जबाफ दिन्छ: “पछिल्लो सङ्गतिपछि, हाम्रो मण्डलीमा केही अनुभवात्मक गवाही लेखहरू लेखिसकिएका छन्, र मानकअनुरूपका केही लेखहरू पेस भएका छन्। हामीले निरन्तर यो काम गर्दै आएका छौँ।” यो ठिकै हो; यसको मतलब तैँले यो कार्य राम्ररी गरेको छस्। यसलाई ध्यानमा राख्दा, के एउटा मण्डलीले साँचो अनुभवात्मक गवाही लेखहरू उत्पादन गर्न सक्नु र अगुवा र कामदारहरूको भूमिकाबीच प्रत्यक्ष सम्बन्ध छ त? एकातिर, तैँले कामको यस पक्षबारे निरन्तर सङ्गति गर्नुपर्छ; अर्कोतिर, तैँले उदाहरणीय रूपमा अगुवाइ गर्नुपर्छ, निरन्तर कामबारे सोधपुछ गर्नुपर्छ, अनि काममा सहभागी हुने र कामको अनुगमन गर्ने पनि गर्नुपर्छ। केही समयसम्म अनुगमन गरेर यो मण्डली छाडेपछि, तँ पछि कार्यान्वयनको निरीक्षण गर्न फर्किनुपर्छ। के अगुवा र कामदारहरूले गर्नुपर्ने यही होइन र? अगुवा र कामदारहरूको जिम्मेवारी यही हो।

परमेश्‍वरको घरले जारी गरेको हरेक कामको प्रबन्धलाई अगुवा र कामदारहरूले गम्भीर रूपमा लिएर त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्नैपर्छ। तैँले आफूले गरेका सबै कामको तुलना र निरीक्षण गर्न बारम्बार कामका प्रबन्धहरू प्रयोग गर्नुपर्छ। तैँले यस अवधिमा आफूले कुन कामहरू राम्ररी गरेको छैन वा उचित तरिकाले कार्यान्वयन गरेको छैन भनेर जाँच र चिन्तन पनि गर्नुपर्छ। कामका प्रबन्धहरूद्वारा तोकिएको र माग गरिएको कुनै पनि कार्यलाई बेवास्ता गरिएको छ भने, तैँले चाँडै त्यसको परिपूर्ति गर्नुपर्छ र त्यसबारे सोधपुछ गर्नुपर्छ। यदि तँ कुनै निश्चित काममा व्यस्त भएर उम्कन सक्दैनस् भने, तैँले राम्रोसँग सम्पन्‍न नभएको कामको निरीक्षण र अनुगमन गर्ने काम अरूलाई सुम्पन सक्छस्। केवल आदेशहरू जारी गर्ने अनि कामको खटनपटन र प्रबन्ध गरेपछि कार्य पूरा भयो भनी सोच्ने, र त्यसपछि निष्क्रिय भएर छेउमा उभिने नगर्। एक अगुवाका रूपमा, तँ एउटा कार्यका लागि मात्र नभई सबै कामका लागि जिम्मेवार हुन्छस्। यदि तैँले कुनै विशिष्ट कार्य अत्यन्तै महत्त्वपूर्ण छ भन्‍ने देख्छस् भने, तैँले त्यो कामको पर्यवेक्षण गर्न सक्छस्, तर तैँले अरू कार्यहरूको निरीक्षण, निर्देशन, र अनुगमन गर्ने समय पनि निकाल्नुपर्छ। यदि तँ एउटा कार्य राम्ररी गरेर नै सन्तुष्ट हुन्छस् र त्यसपछि कामकुरा सकिएको ठान्छस्, अनि अरू कार्यहरूबारे वास्ता वा सोधपुछ नगरी ती कार्यहरूमा अरू मानिसहरूलाई खटाउँछस् भने, यो गैरजिम्मेवार व्यवहार र जिम्मेवारी विमुखता हो। यदि तँ अगुवा होस् भने, तँ जति धेरै कार्यहरूका लागि जिम्मेवार भए तापनि, निरन्तर तिनका बारेमा प्रश्‍नहरू सोध्‍नु र सोधपुछ गर्नु, अनि साथसाथै तिनको निरीक्षण गर्नु र समस्याहरू देखा पर्नेबित्तिकै तुरुन्तै समाधान गर्नु तेरो जिम्मेवारी हो। यो तेरो काम हो। अनि त्यसैले, तँ क्षेत्रीय अगुवा, जिल्ला अगुवा, मण्डली अगुवा, वा कुनै टोली अगुवा वा सुपरिवेक्षक जेसुकै भए पनि, तैँले तेरा जिम्मेवारीहरूको दायरा थाहा पाएपछि, तैँले वास्तविक काम गरिरहेको छस् कि छैनस्, अगुवा वा कामदारले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गरेको छस् कि छैनस्, साथै तैँले आफूलाई सुम्पिएका कैयौँ कार्यहरूमध्ये कुन कार्यहरू गरेको छैनस्, तँ कुन कार्य गर्न चाहँदैनस्, कुन कार्यहरूले खराब नतिजाहरू निकालेका छन्, र तँ कुन कार्यहरूका सिद्धान्तहरू बुझ्‍न असफल भएको छस् भनेर बारम्बार जाँच गर्नैपर्छ। यी सबै थोकहरू तैँले बारम्बार जाँच्नुपर्छ। साथसाथै, तैँले अरू मानिसहरूसँग सङ्‍गति गर्न र प्रश्‍नहरू सोध्‍न सिक्‍नैपर्छ, अनि परमेश्‍वरका वचनहरू र कामका प्रबन्धहरूमा अभ्यासका निम्ति योजना, सिद्धान्तहरू र मार्ग पहिचान गर्न सिक्‍नैपर्छ। जुनसुकै कामको प्रबन्ध होस्, चाहे त्यो प्रशासन, कर्मचारी वा मण्डली जीवनसँग सम्बन्धित होस्, वा कुनै पनि पेसागत कामसँग सम्बन्धित होस्, यदि त्यो अगुवा र कामदारहरूका जिम्मेवारीहरूसँग सम्‍बन्धित छ भने, त्यो अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारी हो र अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दायराभित्र पर्ने कुरा हो—तैँले ध्यान दिनुपर्ने कार्यहरू यिनै हुन्। स्वाभाविक रूपमा, प्राथमिकताहरू परिस्थितिका आधारमा निर्धारण गरिनुपर्छ; कुनै पनि काम पछि पर्नु हुँदैन। कतिपय अगुवा र कामदारहरूले भन्छन्, “मसँग तीन वटा टाउका र छ वटा पाखुराहरू छैनन्। कामको प्रबन्धभित्र धेरै कामहरू छन्; यदि मलाई ती सबैको जिम्मेवारी दिइएमा म कदापि व्यवस्थापन गर्न सक्दिनँ।” यदि तँ केही कार्यहरूमा व्यक्तिगत रूपमा सामेल हुन सक्दैनस् भने, के तैँले ती काम गर्न अरू कसैको प्रबन्ध गरेको छस्? यो प्रबन्ध गरेपछि, के तैँले अनुगमन र सोधपुछहरू गरिस्? के तैँले उनीहरूको कामको जाँच गरिस्? तँसित अवश्यै पनि सोधपुछ र जाँच गर्ने समय त थियो होला? तैँले पक्कै पनि गरिस्! कतिपय अगुवा र कामदारहरू यसो भन्छन्, “म एक पटकमा एउटा कार्य मात्र गर्न सक्छु। यदि तिमीले मलाई जाँच गर्न आग्रह गर्छौ भने, म एक पटकमा एउटा कार्यको मात्र जाँच गर्न सक्छु; त्योभन्दा अलिकति पनि बढी असाध्य हुन्छ।” यदि त्यस्तो हो भने, तँ केही न कामको छस्, तेरो क्षमता अत्यन्तै कमजोर छ, तँसित कुनै काम गर्ने सक्षमता छैन, तँ एक अगुवा वा कामदार हुन योग्य छैनस्, र तैँले राजीनामा दिनुपर्छ। आफूलाई सुहाउने कुनै काम मात्र गर्—काम गर्नका लागि तेरो क्षमता अत्यन्तै कमजोर भएकै कारण मण्डलीको काम र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन वृद्धिमा ढिलाइ नगरा; यदि तँसित यो समझको कमी छ भने, तँ स्वार्थी र नीच छस्। यदि तँमा साधारण क्षमता छ तर तैँले परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्न सक्छस्, तँ प्रशिक्षण लिन इच्छुक छस्, र तँ आफूले यो काम राम्ररी गर्न सक्नेमा निश्चित महसुस गर्दैनस् भने, तैँले काममा तँसित सहकार्य गर्नका लागि असल क्षमता भएका एक-दुई जना मानिसहरू खोज्नुपर्छ। यो राम्रो तौरतरिका हो, र यसलाई समझ भएको मानिन्छ। यदि तेरो क्षमता अत्यन्तै कमजोर छ र तँ यो काम वहन गर्न साँच्चिकै असक्षम छस्, तैपनि अझै यो पद ओगटिरहने र त्यसका लाभहरूको आनन्द उठाइरहने इच्छा गर्छस् भने, तँ स्वार्थी र नीच व्यक्ति होस्। अगुवा र कामदारहरूमा विवेक र समझ हुनैपर्छ—यो सबैभन्दा बढी महत्त्वपूर्ण हुन्छ। यस्तो मानवता समेत छैन भने, उनीहरू अगुवा वा कामदार हुन बिलकुलै सक्दैनन्, र उनीहरूले थोरै काम गरे पनि, उनीहरू झूटा अगुवा हुनेछन् जसले बस परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्नेछन् र मण्डलीको कामलाई जोखिममा पार्नेछन्। अगुवा र कामदारहरूले परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्नुपर्छ; उनीहरूले कुनै पनि हालतमा तानाशाही भई सबै कुरा आफैले गर्न खोजेर अन्त्यमा कुनै पनि काम राम्रोसँग नगर्न र मण्डलीको सबै काम, साथै परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा ढिलाइ गराउन पुग्नु हुँदैन। के त्यो ठूलो अपराध हुनेछैन र? त्यसकारण, अत्यन्तै कमजोर क्षमता भएका मानिसहरू कुनै पनि हालतमा अगुवा र कामदार हुन सक्दैनन्। परमेश्‍वरको डर मान्‍ने हृदय नभएका र परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्न नसक्नेहरू त अगुवा र कामदार हुन झनै सक्दैनन्; उनीहरूलाई कुनै पनि कार्यको जिम्मा दिन मिल्दैन। अगुवा र कामदारका रूपमा, आत्मचेतना हुनु महत्त्वपूर्ण छ। यदि तँ वास्तविक काम गर्न सक्दैनस् तर पनि सबै कामको जिम्मा आफै लिन खोज्छस्, र हैसियतका लाभहरूको आनन्द उठाउन मन पराउँछस् भने, यो नै झूटो अगुवाको परिभाषा हो, र तँलाई बर्खास्त गरेर हटाइनुपर्छ।

परमेश्‍वरको घरका कामका प्रबन्धहरूसम्बन्धी अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरूबारे सङ्गति गरेपछि, के अब तिमीहरूसँग अगुवा र कामदारहरूले कामका प्रबन्धहरूलाई कुन रूपमा लिनुपर्छ र कसरी कार्यान्वयन गर्नुपर्छ भन्‍नेबारे मार्ग छ त? (हजुर।) के कुनै कठिनाइहरू छन्? अगुवा र कामदारहरूका जिम्मेवारीहरूभित्र उल्लिखित हामीले सङ्गति गरेका विभिन्‍न कार्यहरूमध्ये, कतिपय मानिसहरूले एउटा वा दुइटा पक्षहरूमा मात्र ध्यान दिन सक्छन्, जबकि अन्य मानिसहरू एउटा वा दुइटा पक्षहरू समेत हासिल गर्न सक्षम नहुन सक्छन्। कामका एउटा वा दुइटा पक्षहरूमा ध्यान दिन सक्ने अगुवा र कामदारहरूका हकमा, यदि उनीहरूसँग पर्याप्त क्षमता छ र उनीहरूले कामका अरू पक्षहरूको अनुगमन गर्न सिक्न पनि सक्छन् भने, उनीहरू मूलतः मानकअनुरूप हुन्छन्। तर, यदि उनीहरू धर्मसिद्धान्तहरू प्रचार गर्ने र भेलाहरू गर्ने तहमा मात्र रहन्छन् तर निश्चित काम गर्न सक्दैनन्, साथै निश्चित कामहरूको निरीक्षण र अनुगमनमा सहभागी हुन आग्रह गरिँदा, उनीहरू योजना, कदम, वा पछ्याउने मार्गहरू नभएर, के गर्ने भन्‍ने थाहा नभएर चिन्तित बन्छन् भने, यसले कमजोर क्षमता सङ्केत गर्छ। के कमजोर क्षमता भएका मानिसहरूले कामका प्रबन्धहरू कार्यान्वयन गर्न सक्छन् त? (सक्दैनन्।) त्यस्ता अगुवा र कामदारहरू मानकअनुरूप हुँदैनन्। तिमीहरूले त्यस्ता अगुवा र कामदारहरूलाई कसरी व्यवहार गर्नुपर्छ त? उनीहरूलाई यसो भन, “कामका प्रबन्धहरू जारी गरिएका छन्, र के-के कार्यहरू गर्ने र के-के सिद्धान्तहरू पालना गर्ने भन्‍नेबारे हामीसँग प्रस्ट बुझाइ छ, तर तँलाई के गर्ने भन्‍ने थाहा छैन र तँसित पछ्याउने मार्ग छैन। अनि अझै पनि तँ हामीलाई सङ्गति दिने र प्रवचनहरू प्रचार गर्ने दुस्साहस गर्छस्। तैँले तत्काल राजीनामा दिनुपर्छ! तँ अगुवा वा कामदार हुन उपयुक्त छैनस्, तैँले यो जिम्मेवारी पूरा गर्न सक्दैनस्। चाँडो अर्को योग्य व्यक्तिलाई हस्तान्तरण गर्! यहाँ नाराहरू फलाक्न छोड्, कसैले पनि सुन्‍न चाहँदैन!” के यो त्यसलाई सम्हाल्ने उचित तरिका हो? (हो।) यदि तँ उक्त काम गर्न सक्दैनस् भने, अन्धाधुन्ध नाराहरू फलाक्नुको के अर्थ भयो र! कामका प्रबन्धहरूमा भएका शब्दहरू सबैले पढ्न सक्छन्; धर्मसिद्धान्तहरू सबैले बोल्न सक्छन्—यो सबै तैँले वास्तवमा यो कसरी गर्छस् भन्‍ने कुरा मात्र हो। यदि तँ त्यो गर्न सक्दैनस् भने, तँ अगुवा वा कामदार हुन उपयुक्त छैनस्। कुनै पनि कार्य एकमा एक जोडे दुई भने जस्तो सरल हुँदैन। हरेक कार्यमा अगुवा र कामदारहरूले विशिष्ट अवस्थाका आधारमा सिद्धान्तहरूको दायराभित्रै रहेर निश्चित कार्यान्वयन योजनाहरू विकास गर्न आवश्यक हुन्छ। त्यो सँगसँगै, उनीहरूले काम ठीकसँग कार्यान्वयन नभएसम्म, कामका प्रबन्धहरूका मागहरू पूर्ण रूपमा पूरा हुने, फलदायी हुने र नतिजाहरू निकाल्ने गरी कसरी सुपरिवेक्षण, निरीक्षण र अनुगमन गर्ने भन्‍ने कुरा जान्‍नैपर्छ। त्यसपछि मात्र उनीहरूले अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गरेका हुन्छन्; त्यसपछि मात्र उनीहरू मानकअनुरूपका अगुवा र कामदार हुन्छन्।

कामका प्रबन्धहरूसम्बन्धी झूटा अगुवाहरूका मनोवृत्ति र प्रकटीकरणहरू

हामीले भर्खरै कामका प्रबन्धहरूको कुरा आउँदा अगुवा र कामदारहरूका जिम्मेवारीहरू के-के हुन् भन्‍नेबारे सङ्गति गर्‍यौँ। यसपछि, हामी झूटा अगुवाहरूमा के-कस्ता प्रकटीकरणहरू हुन्छन् भन्‍नेबारे सङ्गति गर्नेछौँ। तिमीहरूले भेटेका झूटा अगुवाहरूमध्ये, कामका प्रबन्धहरूप्रति उनीहरूको मनोवृत्ति कस्तो हुन्छ? तिनीहरूले कस्ता व्यवहार र प्रकटीकरणहरू प्रदर्शन गर्छन्? झूटा अगुवाहरूले प्रायः कामका प्रबन्धहरूका शब्दहरूबाटै के गर्नुपर्छ, माथिका निश्चित मागहरू के-के हुन्, र निश्चित कामका परियोजनाहरू के-के हुन् भनेर बुझ्छन्, तर तिनीहरूले त्यसलाई धर्मसिद्धान्तको हिसाबले मात्र बुझ्छन्। तिनीहरूले अझै पनि कामका प्रबन्धहरू कार्यान्वयन गर्ने निश्चित सिद्धान्त, मानक, र अभ्यासका मार्गहरू बुझेका वा पूर्ण रूपमा बोध गरेका हुँदैनन्। कामका प्रबन्धहरू प्राप्त गरेपछि, तिनीहरूले काम कसरी गर्ने र कामका प्रबन्धहरू कसरी जारी र कार्यान्वयन गर्ने भन्‍नेबारे सङ्गति गर्दै आलटाल पनि गर्छन्। तर, तिनीहरूले चाहे जति नै सङ्गति गरे पनि, त्यो कामका प्रबन्धहरूको शाब्दिक र धर्मसैद्धान्तिक बुझाइ मात्र हुन्छ। कामका प्रबन्धहरू कसरी विशिष्ट रूपमा कार्यान्वयन गर्ने र के-के नतिजाहरू हासिल गर्न सकिन्छ, साथै तिनीहरूले काम गर्नका लागि निश्चित मानिसहरू छनोट गरेमा वा त्यसलाई कार्यान्वयन गर्न निश्चित योजना रोजेमा कार्यान्वयन कति प्रभावकारी हुनेछ, वा कामका प्रबन्धहरूद्वारा माग गर्ने लक्ष्य र नतिजाहरू पूरा गर्न सकिन्छ कि सकिँदैन भन्‍ने सम्बन्धमा, तिनीहरू यी पक्षहरूबारे अनजान र अस्पष्ट हुन्छन्। झूटा अगुवाहरूले कामका प्रबन्धहरू कार्यान्वयन गर्दा, तिनीहरूले केही शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्न, काम तोक्न, परमेश्‍वरका केही मागहरू उल्लेख गर्न प्रायः केवल एउटा भेला राख्ने गर्छन्, र त्यसपछि सबैलाई आफ्नो सङ्कल्प व्यक्त गर्न लगाउँछन्। तिनीहरू यसलाई आफ्नो कार्य पूरा गर्नुका रूपमा लिन्छन्। तिनीहरू के विश्‍वास गर्छन् भने, तिनीहरूले काम तोकेसम्म, कसैलाई जिम्मेवार व्यक्तिका रूपमा नियुक्त गरेसम्म, र परमेश्‍वरको घरले माग गर्ने नतिजाहरू उल्लेख गरेसम्म, तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गरेका हुन्छन्। त्यसपछि तिनीहरू काम सम्पन्‍न भएझैँ गरी पूर्ण रूपमा ढुक्क महसुस गर्छन्। तिनीहरूलाई कामको निरीक्षण कहिले गर्ने, काममा के-के समस्या र कठिनाइहरू देखा पर्न सक्छन्, र कुन समस्याहरू आफूभन्दा मुनिकाहरूले समाधान गर्न सक्छन् र सक्दैनन् भन्‍नेबारे केही थाहा हुँदैन। तिनीहरूलाई कुन महत्त्वपूर्ण कार्यहरूमा अनुगमन गरिनुपर्छ र मार्गनिर्देशन प्रदान गरिनुपर्छ भन्‍ने कुरा पनि थाहा हुँदैन। उदाहरणका लागि, सुपरिवेक्षण, प्रोत्साहन, र निरीक्षण गर्ने जस्ता महत्त्वपूर्ण कदमहरू झूटा अगुवाहरूको दिमागमा कहिल्यै आउँदैन। तुलनात्मक रूपमा केही विवेक भएका र सित्तैँमा खान नचाहने अलि असल झुटा अगुवाहरूले आफूले केही काम गर्नुपर्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू मण्डली भ्रमण गर्ने गर्छन् र दाजुभाइ-दिदीबहिनीहरूलाई कुनै समस्याहरू छन् कि भनी सोध्ने गर्छन्। कसैले तिनीहरूलाई यसो भन्छ, “हामी दाजुभाइ-दिदीबहिनीहरू सँगै हुँदा प्रायः विवादहरू भइरहन्छ। हाम्रा रायहरू नमिल्दा, हामी अन्त्यहीन रूपमा बहस गर्छौँ र गरम मिजास देखाउँछौँ।” ती झूटा अगुवाहरूले “यसलाई समाधान गर्न सजिलो छ” भनेर भन्छन् र त्यसपछि एउटा भेला राख्छन्, जहाँ तिनीहरूले यस्तो सङ्गति दिन्छन्: “मानिसहरूले सहनशीलता र धैर्य सिक्नुपर्छ; मानिसहरूले विनम्र हुन, अहङ्कारी नहुन सिक्नुपर्छ, र समर्पण सिक्नुपर्छ। यो परमेश्‍वरको अभिप्राय हो। भ्रष्ट स्वभाव प्रकाश गर्ने जोसुकैले आत्मचिन्तन गरेर काटछाँट स्विकार्नुपर्छ, आफ्नो भ्रष्ट स्वभावअनुसार जिउनु हुँदैन।” उनीहरूले यो सबै धर्मसिद्धान्त सङ्गति गरिसकेपछि यसो भन्छन्, “बाँकी समस्याहरूलाई तिमीहरू आफैले सम्हाल्न सक्छौ। म प्राविधिक मामलाहरूमा धेरै पोख्त छैनँ। जे भए पनि, मैले तिमीहरूका लागि यो भेला राखेको छु; तिमीहरूले आफूलाई जसरी उचित लाग्छ त्यसरी काम गर। प्रमुख र महत्त्वपूर्ण कुरा भनेको आफ्ना कर्तव्यहरू पूरा गर्दा बफादार हुनु र आफ्नै विचारहरूमा नटाँसिनु हो।” सुनेपछि, मानिसहरूले मनन गर्छन् र यसो भन्छन्, “हाम्रो समस्या त भ्रष्टता, गरम मिजास, र स्वार्थी चाहनाहरूको प्रकटीकरण मात्र होइन, हामी केही प्राविधिक समस्याहरूबारे अनिश्चित र अस्पष्ट छौँ र सिद्धान्तहरूअनुसार कार्य गर्न पनि जान्दैनौँ। यो समस्या समाधान भएको छैन!” ती झूटा अगुवाहरूले जबाफ दिन्छन्, “परमेश्‍वरका वचनहरू अझ धेरै पढ। तिमीहरूले प्रकाश गर्ने भ्रष्ट स्वभावहरू समाधान भएपछि, यी समस्याहरू पनि समाधान हुनेछन्।” झूटा अगुवाहरू सबैभन्दा बढी पोख्त भएको काम भनेको धर्मसिद्धान्तहरू ओकल्ने र नाराहरू फलाक्ने हो। तिनीहरूले काममा बारम्बार देखा पर्न सक्ने समस्याहरूको अनुमान लगाउँदैनन्। कसैले कुनै मामला उठाउँदा, तिनीहरूसँग एउटै मात्र समाधान हुन्छ, जुन केही शब्द र धर्मसिद्धान्तहरूका साथ व्याख्या गर्नु, त्यसपछि केही अर्ती वा सल्लाह दिनु, र काम सकिएको ठान्‍नु हो। तिनीहरूले कुनै निश्चित योजनाहरू बनाउन र सही मार्गनिर्देशन र सहयोग प्रदान गर्न सक्दैनन्। के झूटा अगुवाहरूको काम सरल र सजिलो छैन र? तिनीहरू चाहे जहाँ गए पनि, मूलतः धर्मसिद्धान्तहरू बोल्न र नाराहरू फलाक्नमा केन्द्रित भएर प्रचार मात्र गर्छन्। यो अवस्था अगुवा र कामदारहरूमाझ निकै आम हुन्छ, हुँदैन र? तिनीहरूले निश्चित काम कार्यान्वयन गर्न सक्दैनन् र जारी भएका कामका प्रबन्धहरू अघि बढाउन, कार्यान्वयन गर्न, वा अनुगमन गर्न जान्दैनन्। तिनीहरूलाई आफ्ना कामका जिम्मेवारीहरू के-के हुन् वा तिनीहरूले कस्ता कार्यहरू गर्नुपर्छ भन्‍ने थाहा हुँदैन। निश्चित काम गर्न आग्रह गरिँदा, तिनीहरूले नाराहरू मात्र फलाक्छन्। कसैले कुनै मामला उठाउँदा, तिनीहरूले त्यसलाई प्रचार गर्न थाल्ने अवसरका रूपमा लिन्छन्। यदि तिनीहरूले समाधान गर्न नसक्ने कुनै महत्त्वपूर्ण समस्या उठाइन्छ भने, तिनीहरूले मानिसहरूलाई काटछाँट र हप्काउने उपायको सहारा लिन्छन्। तिनीहरूसँग अरू कुनै पनि समाधानहरू हुँदैनन् र तिनीहरूले काममा देखा पर्ने समस्या र विचलनहरूलाई बिलकुलै समाधान गर्न सक्दैनन्। झुटा अगुवाहरूको प्रमुख विशेषता यही हो। कुनै कामका प्रबन्धहरू कार्यान्वयन गर्न र कामलाई अघि बढाउँदा कस्ता कठिनाइहरू देखा पर्छन् भनी निरीक्षण गर्न भनिएका झूटा अगुवाहरू पनि हुन्छन्—यदि तिनीहरूले कठिनाइहरू समाधान गर्न सक्छन् भने, तिनीहरूले तुरुन्तै समाधान गर्नुपर्छ; यदि सक्दैनन् भने, तिनीहरूले केही प्रश्नहरू सङ्कलन गरेर माथिबाट जबाफ खोज्न सक्छन्, र माथिले तिनलाई समाधान गर्नेछन्। तर के हुन्छ भने, जब तिनीहरू यो काममा सहभागी हुन कार्य-स्थलमा जान्छन्, तिनीहरूले सबैलाई दिनभरि भेलाका लागि जम्मा गर्छन्, र कसको कोसँग द्वन्द्व छ, को सधैँ कोसँग बहस गर्छ, कसको मानवता त्यति असल छैन, कसको बुझाइ विकृत छ, को अहङ्कारी छ र सधैँ आफ्नै विचारहरूमा टाँसिन्छ, को खन्चुवा र अल्छी छ, को अविश्‍वासीहरू जस्तो देखिन्छ, र को-को चाहिँ दुष्ट मानिस हुन् भनी पत्ता लगाउने बाहेक, तिनीहरूले काम कार्यान्वयन गर्दा देखा पर्ने कुनै पनि समस्या वा कठिनाइहरू पहिचान गर्न सक्दैनन्, न त तिनीहरूले यी समस्याहरू देख्न नै सक्छन्। के तिमीहरूलाई त्यस्ता अगुवा र कामदारहरूले आफ्नो काम गर्न सक्छन् जस्तो लाग्छ? (लाग्दैन।) समस्या केमा हुन्छ? (तिनीहरूको क्षमता निकै कमजोर हुन्छ, तिनीहरूसँग खुट्ट्याउने क्षमता हुँदैन, र तिनीहरूले समस्याहरू पहिचान गर्न सक्दैनन्।) तिमीहरूका वरपर त्यस्ता अगुवाहरू कति जना छन्? के तिमीहरूका अगुवाहरूले समस्याहरू पहिचान गर्न सक्छन्? यदि कुनै कामको प्रबन्ध जारी गरियो तर अगुवा र कामदारहरूले नाराहरू फलाक्ने र कामका प्रबन्धहरूलाई कार्यान्वयन गर्ने कुनै निश्चित योजना वा कदमहरूबिना प्रचार गर्ने मात्र गर्छन्, र कसरी काम गर्ने भन्‍ने जान्दैनन् भने, उक्त कामलाई कार्यान्वयन गर्न सकिँदैन। त्यो व्यवहारतः शून्य र अमान्य बन्छ। मण्डलीमा कामको प्रबन्ध कति राम्ररी कार्यान्वयन हुन्छ र त्यो कति प्रभावकारी हुन्छ भन्‍ने कुराको कडी अगुवा र कामदारहरूले वास्तविक काम गर्न सक्छन् कि सक्दैनन् भन्‍नेमा निर्भर हुन्छ। यदि अगुवा र कामदारहरूसँग असल क्षमता, काम गर्ने सक्षमता, र बफादारी छ भने, कामको प्रबन्ध राम्ररी कार्यान्वयन हुनेछ। यदि अगुवा र कामदारहरूसँग कमजोर क्षमता छ, उनीहरू अन्योलग्रस्त छन्, र उनीहरूमा काम गर्ने सक्षमताको कमी छ भने, मण्डलीमा कामको क्षेत्रमा प्रतिभाशाली कोही भए पनि वा नभए पनि अथवा दाजुभाइ-दिदीबहिनीहरू आफ्नो भूमिका निभाउन जति इच्छुक भए पनि, कामका प्रबन्धहरू कार्यान्वयन गर्न सकिँदैन, कुनै नतिजाहरू हासिल गर्न सकिने त कुरै छोडौँ।

झूटा अगुवाहरूको काम मानिसहरूले सतहमा देख्न सक्ने कुरामा मात्र सीमित हुन्छ। तिनीहरूले कामका प्रबन्धहरू कार्यान्वयन गर्दा समेत, त्यो औपचारिकताका रूपमा मात्र गरिएको हुन्छ, पछि कुनै अनुगमन वा निरीक्षण गरिँदै गरिँदैन। तिनीहरूको काम आलटाल गर्ने स्तरमा नै रहन्छ; त्यसको पछाडि कुनै वास्तविक शक्ति हुँदैन र त्यसले कुनै नतिजाहरू निकाल्न सक्दैन। उदाहरणका लागि, अनुभवात्मक गवाही लेखहरू लेख्ने काममा, यो कामको प्रबन्ध प्राप्त गरेपछि, एउटा झूटा अगुवाले सङ्गति गर्न भेलाहरूका लागि मानिसहरूलाई जम्मा गर्छ र उनीहरूले नबुझेका कामका प्रबन्धहरूबारे उनीहरूका विभिन्‍न प्रश्नहरूलाई सम्बोधन गर्छ। उसले धर्मसिद्धान्तहरू प्रचार गरिसकेपछि, अनि मानिसहरूले बुझे झैँ देखिएपछि, उक्त झूटो अगुवाले यस्तो सोच्छ, “काम तोकिएको छ, त्यसैले म के गरूँ? परमेश्‍वरको घरले अनुभवात्मक गवाही लेखहरू लेख्नुपर्ने माग गर्ने भएकाले, मैले पनि लेख्नुपर्छ। यदि मैले लेखिनँ भने, के मानिसहरूले मलाई अगुवाका रूपमा कम आँक्नेछैनन् र?” उसले के लेख्ने भन्‍नेबारे घरमा बसेर मनन गर्छ र एक दिनपछि, उसले अझै पनि केही लेखेको हुँदैन। उसले यस्तो सोच्छ, “लेख लेख्नु निकै चुनौतीपूर्ण कुरा हो। सामान्यतया, मलाई आफूसँग अनुभवहरू भएको महसुस हुन्छ, तर मैले लेख्न सुरु गरेपछि ती किन गायब हुन्छन्? ती अनुभवहरू कहाँ गए? होइन, मसित अनुभवहरू त छन्, यति मात्र हो कि लेखन विधिले मलाई अलमल्याइरहेको छ। म बाहिर गएर मानिसहरूसित धेरै अन्तरक्रिया गर्दै आएको छु, जसले मेरो ध्यान भङ्ग गरिरहेको छ, र एकाग्र हुन गाह्रो पारिरहेको छ। म सधैँ मानिसहरूसित सङ्गति गरिरहन र कामबारे छलफल गरिरहन सक्दिनँ; नत्र, मेरो मन बरालिरहनेछ, र म लेख लेख्न सक्षम हुनेछैन। मैले त्यो कसरी राम्रोसँग लेख्ने भन्‍नेबारे ध्यानपूर्वक सोच्न केही शान्त समय निकालेपछि मात्र लेख्न सक्छु।” उसले लेखहरू लेख्नुलाई आफ्नो मुख्य कार्य बनाएको हुन्छ र अगुवा वा कामदारले गर्नुपर्ने कामलाई अतिरिक्त कार्यका रूपमा लिन्छ। उसले घरमै लेखहरू लेख्दै पूरै दिन बिताउँछ, कामको कार्यान्वयनप्रति कुनै ध्यान दिँदैन र विभिन्‍न मण्डलीहरूमा कति जना मानिसहरूले लेखहरू लेख्न सक्छन् वा कामको निर्देशन र परीक्षण गर्ने उपयुक्त मानिसहरू छन् कि छैनन् भन्‍नेबारे जानकारी लिने वा बोध गर्ने गर्दैन—उसलाई यी कुराहरूबारे केही पनि थाहा हुँदैन। एक महिना बित्छ, तर उसले आफैले एउटा पनि लेख नलेखेको मात्र नभई मण्डलीमा यो कामको प्रगति कस्तो भइरहेको छ भनेर जानेको पनि हुँदैन। यसमा के समस्या छ? कामका प्रबन्धहरू जारी भएपछि, कमजोर क्षमता भएका कतिपय मण्डली अगुवाहरूलाई वास्तविक काम कसरी गर्ने भन्‍ने थाहा हुँदैन। यो व्यक्तिले जस्तै, तिनीहरूले केवल केही शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्छन् र नाराहरू फलाक्छन्, अनि त्यतिमै सीमित हुन्छन्। दाजुभाइ-दिदीबहिनीहरू लेख्न इच्छुक हुनु वा नहुनुले तिनीहरूलाई फरक पार्दैन; अगुवा र कामदारहरूले उनीहरूलाई प्रोत्साहन वा मार्गनिर्देशन प्रदान गर्ने गर्दैनन्, उनीहरूलाई सच्याउने त झनै गर्दैनन्। अनि झूटो अगुवाले त्यस्ता अगुवा र कामदारहरूप्रति चासो राख्दैन। कतिपय दाजुभाइ-दिदीबहिनीहरूले एक प्रकारको लेख लेख्छन्, र कतिपयले अर्को प्रकारको लेख्छन्, तर उनीहरूले जे लेख्छन्, त्यो व्यावहारिक र सिद्धान्तहरूअनुरूप छ कि छैन भनी परीक्षण गर्ने कोही पनि हुँदैन। दाजुभाइ-दिदीबहिनीहरूले सिद्धान्तहरू बुझ्दैनन् र उनीहरूलाई कसलाई सोध्ने भनेर थाहा हुँदैन; उनीहरू आफूलाई लेख्न भनिएकाले मात्र लेख्छन्, उनीहरूले परमेश्‍वरको घरका प्रबन्धहरू पालन गर्छन्। अनुभवहरू भएका तर शिक्षाको कमी भएका मानिसहरू पनि हुन्छन्; यी मानिसहरूलाई उनीहरूका लेखहरू सम्पादन गर्न सहयोग गर्ने कोही हुँदैन, र यस मामलाका लागि कसैले पनि प्रबन्धहरू गरिदिदैँन। हर प्रकारका समस्याहरू देखा पर्छन्, तर अगुवा र कामदारहरू कहाँ हुन्छन्? तिनीहरू के गरिरहेका हुन्छन्? तिनीहरू “एकान्तमा” लेखहरू लेखिरहेका हुन्छन्! झूटा अगुवाहरूलाई आफू केमा व्यस्त हुनुपर्छ वा आफूले के कामहरू गर्नुपर्छ भन्‍ने थाहा हुँदैन। कामका प्रबन्धहरू मण्डलीमा विभिन्‍न तरिकाले, फरक-फरक शैलीहरू अपनाएर कार्यान्वयन गरिन्छन्, र तिनीहरूले तीमध्ये कुनै कुराबारे सोधपुछ गर्दैनन्। जब दाजुभाइ-दिदीबहिनीहरूले आफ्ना कर्तव्यहरू पूरा गर्दा विभिन्‍न समस्याहरूको सामना गर्छन् र तिनीहरूलाई तीबारे रिपोर्ट गर्छन्, तब तिनीहरूले तिनलाई समाधान गर्दैनन्। फलस्वरूप, धेरै समस्या र कठिनाइहरू थुप्रिन्छन्, र हर प्रकारका अनुभवात्मक गवाही लेखहरू पनि थुप्रिन्छन्, जसको सम्पादन, समीक्षा वा परीक्षण गर्ने कोही पनि हुँदैन। तैपनि झूटा अगुवाहरूले यी समस्याहरूको अनुगमन वा निरीक्षण गर्दैनन्, र दाजुभाइ-दिदीबहिनीहरूले समस्याहरू पर्दा तिनीहरूलाई भेट्टाउन सक्दैनन्। झूटा अगुवाहरूले यो काम तिनीहरूको जिम्मेवारी हो र तिनीहरूले यो कामको अनुगमन गरिरहेको हुनुपर्छ भनी बुझ्दैनन्। के तिनीहरू रद्दी होइनन् र? (हुन्।)

एउटा अगुवा वा कामदारले काम कार्यान्वयन गर्ने तरिका, साथै उसको कामको दक्षता र नतिजाहरूले ऊ मानकअनुरूप छ कि छैन भन्‍ने कुरा जाँच्दछ। यसले उसको मानवता, क्षमता र काम गर्ने सक्षमता, साथै उनीहरूमा बोझको बोध छ कि छैन भन्‍ने कुरा पनि जाँच्दछ। जब झूटा अगुवाहरूले कुनै कामको प्रबन्ध प्राप्त गर्छन्, तिनीहरूले त्यसबारे सङ्गति गरेपछि काम सकिएको ठान्छन्। तिनीहरूले त्यसमा सहभागी हुने, त्यसको सुपरिवेक्षण गर्ने, त्यसलाई प्रोत्साहन दिने, वा त्यसको निरीक्षण गर्ने गर्दैनन्, न त तिनीहरूले त्यसको अनुगमन नै गर्छन्। तिनीहरूले बुझ्दैनन् कि तिनीहरूले गरिरहेको हुनुपर्ने कार्यहरू यिनै हुन्; तिनीहरूले बुझ्दैनन् कि अगुवा र कामदारका रूपमा यी कार्यहरू तिनीहरूका जिम्मेवारीहरू हुन्। तिनीहरू के विश्‍वास गर्छन् भने, अगुवा वा कामदार हुनका लागि केवल प्रवचन दिन सक्नुपर्छ। के तिनीहरू लट्ठक होइनन् र? के लट्ठकहरू मानकअनुरूपका अगुवा र कामदार बन्‍न सक्छन्? (सक्दैनन्।) तिनीहरू मानकअनुरूपका अगुवा र कामदार बन्‍न सक्दैनन्, तैपनि तिनीहरूले आफू निकै राम्रो भएको सोच्छन् र आफूले काम गर्न सक्ने विश्‍वास गर्छन्। के तिनीहरू दिमाग फुस्केका मान्छे होइनन् र? तिनीहरूले अनुभवात्मक गवाही लेखहरू लेख्ने जस्तो सरल कार्य समेत कार्यान्वयन गर्न सक्दैनन्। यो सबैभन्दा सजिलो काममध्येको एक हो—बस असल क्षमता र जीवन अनुभव भएकाहरूलाई गवाही लेखहरू लेख्न खटा र त्यसपछि अनुगमन र निर्देशन प्रदान गर्। कतिपय अगुवा र कामदारहरूको क्षमता औसत र शैक्षिक स्तर कम हुन्छ र उनीहरू लेखन-पठनको काममा कुशल नहुन सक्छन्, तर तिनीहरूले उपयुक्त मानिसहरूलाई जिम्मेवारी लिन खटाउन सक्छन्। यसरी, तिनीहरूले अझै पनि केही वास्तविक काम गर्न सक्छन्। यदि तिनीहरूलाई कस्ता प्रकारका मानिसहरूलाई जिम्मेवारीमा खटाउने र परीक्षण गर्ने भन्‍ने समेत थाहा छैन भने, तिनीहरूले काम गर्न सक्दैनन् र तिनीहरू झूटा अगुवा हुन्। कतिपय मानिसहरू भन्छन्, “झूटा अगुवाको कम क्षमता र कम शिक्षाका कारण उसले लेखन-पठनको काम गर्न नसक्ला, तर उसले अरू काम गर्न सक्नुपर्ने हो।” के यो भनाइ मान्य छ? (छैन।) यो किन मान्य छैन? (अनुभवात्मक गवाही लेखहरू लेख्ने काम सरल हुन्छ। यदि तिनीहरूले प्रस्ट रूपमा त्यो कामको व्याख्या गर्न वा काम कार्यान्वयन गर्न सक्दैनन् भने, तिनीहरूले निश्चय नै अरू कार्यहरू सम्हाल्न सक्दैनन्। तिनीहरूलाई काम कसरी गर्ने वा त्यसको अनुगमन कसरी गर्ने भन्‍ने थाहा हुँदैन।) यसले तिनीहरूको क्षमता अत्यन्तै कमजोर छ भन्‍ने देखाउँछ। तिनीहरू लट्ठकहरू हुन्। तिनीहरू के सोच्छन् भने, अगुवा वा कामदार हुनु भनेको ठूलो रातो अजिङ्गरको एक अधिकारी हुनु जस्तै हो: तिनीहरूले चिल्लो घस्न, ठूलो कुरा गर्न, नाराहरू फलाक्न, र छलकपटमा संलग्न हुन सिकेसम्म, आफूभन्दा माथिकालाई धोका दिएर आफूभन्दा मुनिकाहरूबाट कुराहरू लुकाएसम्म, तिनीहरूले आफूलाई स्थापित गरेर सरकारी तलब लिन सक्छन्। तिनीहरू अगुवा वा कामदार हुनुको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको वास्तविक काम गर्न सिक्नु हो भन्‍ने बुझ्दैनन्। तिनीहरूले अगुवा र कामदारहरूको कार्य निकै सरल हुन्छ भन्‍ने कल्पना गर्छन्। फलस्वरूप, तिनीहरूले कुनै वास्तविक काम गर्दैनन् र तिनीहरू झूटा अगुवा बन्छन्।

झूटा अगुवाहरूमा अरू के-कस्ता खास प्रकटीकरणहरू हुन्छन्? के झूटा अगुवाहरूले कामका प्रबन्धहरूमा माग गरिएका सिद्धान्त र मापदण्डहरू छर्लङ्ग देख्‍न र बुझ्न सक्छन्? (सक्दैनन्।) किन सक्दैनन्? तिनीहरू यो कामका सिद्धान्तहरू के हुन् भनेर छर्लङ्ग देख्‍न सक्दैनन्, र यसको राम्ररी जाँच गर्न सक्दैनन्। कामको कुनै निश्‍चित कार्यान्वयनको दौरान विशेष परिस्थितिहरू देखा पर्दा, तिनलाई कसरी समाधान गर्ने भन्‍ने कुरा तिनीहरूलाई थाहै हुँदैन। जब दाजुभाइ-दिदीबहिनीहरूले यी परिस्थितिहरूमा के गर्ने भनेर तिनीहरूलाई सोध्छन्, तब तिनीहरू अन्योलमा पर्छन्: “कामको प्रबन्धमा यसबारे उल्लेख गरिएको छैन, त्यसकारण यसलाई कसरी सम्हाल्ने भनी मलाई कसरी थाहा हुन्छ?” यदि तँलाई थाहा छैन भने, तैँले यो काम कसरी कार्यान्वयन गर्न सक्छस्? तँलाई थाहासमेत छैन, तर पनि तँ अरूलाई कार्यान्वयन गर्नू भनेर भन्छस्—के त्यो यथार्थपरक हुन्छ? के त्यो उचित हुन्छ? जब झूटा अगुवा र झूटा कामदारहरूले कामका प्रबन्धहरू कार्यान्वयन गर्छन्, एकतर्फ, तिनीहरूलाई कामका प्रबन्धहरू कार्यान्वयन गर्ने चरण र योजनाहरूबारे थाहै हुँदैन। अर्कोतर्फ, समस्याहरू आइपर्दा, तिनीहरूले कामका प्रबन्धहरूले माग गरेका सिद्धान्तहरूअनुसार राम्ररी जाँच गर्न सक्दैनन्। त्यसकारण, जब कामका प्रबन्धहरू कार्यान्वयन गर्ने क्रममा असङ्ख्य समस्याहरू देखा पर्छन्, तब तिनीहरूले तिनलाई पटक्‍कै समाधान गर्न सक्दैनन्। किनभने प्रारम्भिक चरणहरूमा झूटा अगुवाहरूले समस्याहरू पहिचान वा पूर्वानुमान गर्न सक्दैनन् र अग्रिम रूपमा सङ्गति गर्न सक्दैनन्, र पछिल्ला चरणहरूमा, समस्याहरू देखा पर्दा, तिनीहरूले तिनलाई समाधान गर्न सक्दैनन्, बरु केवल खोक्रो तरिकाले धर्मसिद्धान्तहरू प्रचार गर्छन् र कठोरतापूर्वक प्रावधानहरू लागू गर्छन्, अनि समस्याहरू आइरहन्छन् र रहिरहन्छन्, र कतिपय कामको कार्यान्वयनमा ढिलाइ हुन्छ, र कति अरू कामचाहिँ पर्याप्त हदसम्म कार्यान्वयन नै हुँदैनन्। उदाहरणका लागि, मानिसहरूलाई निकाल्ने र निष्कासित गर्नेसम्बन्धी परमेश्‍वरको घरको कामको प्रबन्धबारे भन्‍नुपर्दा, जब झूटा अगुवाहरूले यो काम गर्छन्, तब तिनीहरूले बाधा र अवरोधहरू ल्याउने स्पष्ट दुष्ट मानिस, ख्रीष्टविरोधी र दुष्टात्माहरू, साथै दाजुभाइ-दिदीबहिनीहरू सबैले पटक्कै मन नपराउने र घृणित ठान्‍ने अविश्‍वासीहरूलाई मात्रै निकाल्छन्। तर, त्यहाँ अझै पनि निकालिनुपर्ने कति मानिसहरू हुन्छन्, अर्थात् त्यहाँ लुकेका, धूर्त, चतुर दुष्ट मानिस र ख्रीष्टविरोधीहरू हुन्छन्। दाजुभाइ-दिदीबहिनीहरू तिनीहरूलाई छर्लङ्ग देख्न सक्दैनन्, न त झूटा अगुवाहरूले नै देख्‍न सक्छन्। वास्तवमा, परमेश्‍वरको घरका कामका प्रबन्धहरूअनुसार, ती मानिसहरू निकालिनुपर्ने स्तरमा पुगिसकेका हुन्छन्। तर, झूटा अगुवाहरूले तिनीहरूलाई छर्लङ्ग देख्‍न नसक्‍ने हुनाले, तिनीहरूले अझै पनि ती मानिसहरूलाई असल ठान्छन् र तिनीहरूलाई पदोन्नति गरी संवर्धन गर्ने, र महत्त्वपूर्ण काममा प्रयोग गर्नेसमेत गर्छन्, जसले गर्दा तिनीहरूले मण्डलीमा शक्ति हत्याउन र कामका महत्त्वपूर्ण पदहरू ओगट्न सक्छन्। त्यसपछि, के मानिसहरूलाई निकाल्ने र निष्कासित गर्ने परमेश्‍वरको घरको कामको प्रबन्ध कार्यान्वयन गर्न सकिन्छ? के विभिन्‍न समस्याहरू पूर्ण रूपमा समाधान गर्न सकिन्छ? के सुसमाचार फैलाउने काम सामान्य रूपमा अघि बढ्न सक्छ? स्पष्टै छ, परमेश्‍वरको घरका कामका प्रबन्धहरू पूर्ण रूपमा कार्यान्वायन गर्न सकिँदैन, र कैयौँ महत्त्वपूर्ण कामहरू राम्ररी गर्न सकिँदैन। झूटा अगुवाहरूले प्रयोग गर्ने मानिसहरूमा कुनै सत्यता वास्तविकता हुँदैन र तिनीहरूले दुष्ट कार्यहरूसमेत गर्न सक्छन्, त्यसकारण यसले मण्डलीका विभिन्‍न काम राम्ररी पूरा हुनबाट रोक्छ। झूटा अगुवाहरू ती दुष्ट मानिसहरूलाई प्रयोग गर्छन्, तिनीहरूलाई मण्डलीमा महत्त्वपूर्ण कर्तव्यहरू निर्वाह गर्न र महत्त्वपूर्ण काम गर्न दिन्छन्, साथै ती दुष्ट मानिसहरूलाई भेटीहरूको व्यवस्थापन गर्नसमेत स्वीकृति दिन्छन्। के यसले मण्डलीको काममा बाधा र अवरोध ल्याउनेछ? के यसले परमेश्‍वरका भेटीहरूमा क्षति गर्नेछ? (गर्नेछ।) यो अत्यन्तै गम्भीर परिणाम हो। झूटा अगुवाहरूले ती मानिसहरूलाई छर्लङ्ग देख्‍न नसक्‍ने हुनाले, तिनीहरूलाई जाँच गर्न नसक्‍ने हुनाले, र ती दुष्ट मानिसहरूलाई महत्त्वपूर्ण काम गर्न दिने हुनाले, काम पूरै भताभुङ्ग हुन्छ। ती दुष्ट मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ झाराटारुवा व्यवहार गर्छन्, आफूभन्दा माथिकालाई धोका दिन्छन् र आफूभन्दा तलकाबाट कुरा लुकाउँछन्, र कुनै वास्तविक काम गर्दैनन्; तिनीहरूले जानीजानी बेपरवाह व्यवहार गर्छन्, मानिसहरूलाई बहकाउँछन्, र हरकिसिमका दुष्ट कार्यहरू गर्छन्। तर, झूटा अगुवाहरूले ती कुरा छर्लङ्ग देख्‍न सक्दैनन्, र तिनीहरूले समस्याहरू देख्दासम्‍ममा, ठूलै प्रकोप आइसकेको हुन्छ। उदाहरणका लागि, हेनानको पाष्टरीय एकाइमा, अगुवा बनेका केही दुष्ट मानिसहरूले परमेश्‍वरको भेटी चोर्न विभिन्‍न घृणित माध्यमहरू प्रयोग गरे; तिनीहरूले धेरै रकम चोरे, र यी रकम कहिल्यै फिर्ता पाइएको छैन। के यो अगुवा र कामदारहरूले गलत मानिसहरूलाई छनौट र प्रयोग गर्ने कार्यसँग सम्बन्धित छ? (छ।) कामका प्रबन्धहरूअनुसार, यदि छनौट गरिएका मानिसहरूलाई छर्लङ्ग देख्‍न सकिएन भने, सुरुमा तिनीहरूलाई केही सरल काम गर्न लगाउन सकिन्छ, र कसैले केही समय तिनीहरूको कामको अनुगमन गर्न र तिनीहरूलाई अवलोकन गर्न सक्छ। जुन मानिसहरूलाई छर्लङ्ग देख्‍न सकिँदैन, तिनीहरूलाई कुनै पनि महत्त्वपूर्ण काम दिइनै हुँदैन, विशेषगरी जोखिम हुने किसिमको काम दिइनु हुँदै हुँदैन। दीर्घकालीन अवलोकन गरेर अनि तिनीहरूको सार छर्लङ्ग देखेपछि मात्रै तिनीहरूसँग कसरी व्यवहार गर्ने र तिनीहरूलाई कसरी सम्हाल्ने भन्‍नेबारे निर्णय गर्नुपर्छ। झूटा अगुवाहरूले कामका प्रबन्धहरूअनुसार काम गर्दैनन् र सिद्धान्तहरू बुझ्न सक्दैनन्; अझ बढी त, तिनीहरूले मानिसहरूलाई छर्लङ्ग देख्‍न सक्दैनन् र गलत मानिसहरू प्रयोग गर्छन्। यसले गर्दा मण्डलीको काम र परमेश्‍वरको भेटी दुवैमा क्षति पुग्छ। झूटा अगुवाहरूले ल्याउने विपत्ति यही नै हो। ख्रीष्टविरोधीहरूले जानाजानी दुष्ट मानिसहरू प्रयोग गर्छन्, जबकि झूटा अगुवाहरू अन्योलग्रस्त हुन्छन्, तिनीहरूले कसैलाई छर्लङ्ग देख्न सक्दैनन्, र आफूले पहिचान गरेका जुनसुकै समस्याहरूको सार छर्लङ्ग देख्न सक्दैनन्। तिनीहरूले मानिसहरूलाई आफ्ना भावनाकै आधारमा मात्र प्रयोग र खटनपटन गर्छन्। झूटा अगुवाहरूले प्रबन्ध गरेका अधिकांश मानिसहरू अनुपयुक्त हुन्छन्; तिनीहरूले मण्डलीको काममा क्षति पुर्‍याउँछन्, जसका परिणामहरू ख्रीष्टविरोधीहरूले जानाजानी दुष्ट मानिसहरू प्रयोग गर्नुका परिणामहरू जस्तै हुन्छन्। कमजोर क्षमता र काम गर्ने असक्षमता भएका झूटा अगुवाहरूले अत्यन्तै गम्भीर परिणामहरू पनि निम्त्याउँछन्, होइन र? (हो।) त्यसैले ख्रीष्टविरोधीहरूले मात्र कामका प्रबन्धहरू उल्लङ्घन गर्छन् भन्‍ने नसोच्; झूटा अगुवाहरूले पनि कामका प्रबन्धहरू उल्लङ्घन गर्न सक्छन्। त्यो जानीजानी गरिएको नभए पनि, त्यसको प्रकृति अन्ततः कामका प्रबन्धहरूको उल्लङ्घन नै हुन्छ। झूटा अगुवाहरूले सत्यता सिद्धान्तहरू नबुझ्ने र मानिसहरू वा मामलाहरू छर्लङ्गै देख्न नसक्ने कारणले, अन्ततः कामका प्रबन्धहरू उल्लङ्घन गर्छन् र वास्तविक काम गर्न असक्षम हुन्छन्। यसले मण्डलीको काममा ढिलाइ गराउँछ र परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्छ। तिनीहरूका क्रियाकलापहरूका प्रकृति र परिणामहरू ख्रीष्टविरोधीहरूले काम गर्नु सरह हुन्छन्, तिनले पनि मण्डलीको काममा क्षति पुर्‍याउँछन् र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशलाई हानि गर्छन्।

झूटा अगुवाहरूले काम गर्दा र कामका प्रबन्धहरू कार्यान्वयन गर्दा आलटाल मात्र गर्छन् र कामकुरालाई पूर्णतया अस्तव्यस्त पार्छन्। तिनीहरू अत्यन्तै आत्मधर्मी हुन्छन् र कहिल्यै खोजी वा सङ्गति गर्दैनन्, मूर्खतापूर्वक आफूमा असल क्षमता छ भन्‍ने सोच्छन्; तिनीहरूले कदम चाल्ने साहस गर्छन्, र वाक्पटुतासाथ बोल्न सक्छन्। दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई चयन गर्ने वा परमेश्‍वरको घरले तिनीहरूलाई अस्थायी रूपमा पदोन्नति र संवर्धन गर्ने हुनाले, तिनीहरूले आफू अगुवाको मानकअनुरूप भएको र आफूले आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्ने भन्ठान्छन्। तिनीहरू केही पनि होइनन् र तिनीहरूले अगुवा र कामदारहरूका कुनै पनि जिम्मेवारीहरू पूरा गर्न सक्दैनन् भन्‍ने तिनीहरूलाई थाहा नै हुँदैन। तिनीहरूले आफ्नै कमीहरूको मापन गर्नै सक्दैनन्; तिनीहरूले केवल निर्लज्ज रूपमा कामकुरा गर्ने हिम्मत गर्छन्। फलस्वरूप, विभिन्‍न कामका प्रबन्धहरू जारी भएपछि, तिनीहरूले ती कुनैलाई पनि माथिका मागहरूअनुसार कार्यान्वयन गर्न सक्दैनन्। तिनीहरूले सम्हाल्ने हरेक कामको प्रबन्ध अन्त्यमा पूर्णतया अस्तव्यस्त र पूर्ण रूपमा भद्रगोल हुन्छ। तिनीहरूले गर्ने प्रशासनिक कामको कार्यान्वयन कमजोर हुन्छ; तिनीहरू सुसमाचार प्रचारमार्फत कति जना नयाँ विश्‍वासीहरू प्राप्त भए, मण्डलीहरू कसरी स्थापना गर्ने, अगुवा र डिकनहरू कसरी छनोट गर्ने, र मण्डली जीवन कसरी सञ्चालन गर्ने भन्‍नेबारे अस्पष्ट हुन्छन्। सुसमाचारको कामको जिम्मेवारी लिएर कसले सबैभन्दा बढी नतिजाहरू निकालेको छ, कसले सबैभन्दा प्रभावकारी रूपमा गवाही दिन्छ, मण्डली मलजल गर्न सबैभन्दा उपयुक्त को छ, कुन टोली अगुवाहरूको कर्तव्य समायोजन गरिनुपर्छ वा अथवा गैरजिम्मेवार भएकोमा बर्खास्त गरिनुपर्छ, र कामका निश्चित पक्षहरूमा देखा पर्ने समस्याहरूलाई कसरी समाधान गर्ने भन्‍ने सम्बन्धमा, झूटा अगुवाहरू यी सबै विशिष्ट कार्यहरूबारे अस्पष्ट हुन्छन्, र तिनीहरूले आफ्नो कामलाई पूर्ण रूपमा अस्तव्यस्त पार्छन्। झूटा अगुवाहरूले उच्च-स्तरीय प्राविधिक विज्ञता आवश्यक पर्ने मण्डलीका विभिन्‍न पेसागत कार्यहरूलाई पनि पूर्णतया अस्तव्यस्त पार्छन्। तिनीहरूलाई यी कार्यहरू विशिष्ट रूपमा कसरी गर्ने भन्‍ने कुनै अत्तोपत्तो नै हुँदैन। तिनीहरूले तिनका बारेमा सोधपुछ गर्न चाहे पनि, त्यो कसरी गर्ने भनेर जानेका हुँदैनन्। तिनीहरू माथिलाई यी कार्यहरू कसरी अघि बढाउने भनेर सोध्न चाहन्छन्, तर तिनीहरूलाई आफ्ना प्रश्नहरू मिलाएर कसरी सोध्ने भन्‍नेसमेत थाहा हुँदैन। फलस्वरूप, काम सम्पन्‍न गर्न सकिँदैन। कामका प्रबन्धहरूले माग गरेका सम्पत्ति व्यवस्थापन—उपयुक्त मानिसहरूलाई सम्पत्तिको सुरक्षा र बाँडफाँडमा खटाउने, र विभिन्‍न प्रणालीहरू स्थापना गर्ने—जस्ता सरल कार्य समेत झूटा अगुवाहरूले सम्हाल्न सक्दैनन्। तिनीहरूले त्यसलाई पूर्णतया अस्तव्यस्त पार्छन्। झूटा अगुवाहरू आफूले सम्हाल्ने हरेक कार्यबारे पूर्ण अन्योलमा हुन्छन्। तिनीहरूलाई तिनीहरूले कामका प्रबन्धहरू कार्यान्वयन गरेका छन् कि छैनन् भनी सोध्दा, तिनीहरूले गौरव महसुस गर्छन् र आत्मविश्‍वासका साथ यसो भन्छन्, “हो, मैले गरेको छु। सबै जनासँग कामका प्रबन्धहरूको एउटा प्रति छ, र परमेश्‍वरको घरले कस्तो कामको माग गर्छ भनेर सबैलाई थाहा छ।” यदि तैँले तिनीहरूलाई तिनीहरूले कसरी गरे भनेर सोधिस्, कामका निश्चित कदमहरू के-के थिए, कुन कार्यहरू तुलनात्मक रूपमा कमजोर तवरले गरिएका थिए, कुन कार्यहरू बढी सहज रूपमा सम्पन्‍न गरिएका थिए, हरेक कार्य सही तरिकाले सम्पन्‍न गरियो कि गरिएन, कुन कार्यहरूमा निरन्तर अनुगमन र निरीक्षणको आवश्यकता पर्छ, र निरीक्षणपश्चात कुनै समस्याहरू फेला परे कि भनेर व्याख्या गर्न लगाइस् भने, तिनीहरू यी सबै कुराबारे अनजान हुन्छन्। कतिपय झूटा अगुवाहरूलाई अगुवा बनेदेखि नै आफूले के-कस्ता कार्यहरू गर्नुपर्छ वा आफ्नो जिम्मेवारीको दायरा के हो भन्‍ने कुरासमेत थाहा हुँदैन। के यो झनै समस्याजनक कुरा होइन र? के अधिकांश अगुवा र कामदारहरूमा हाल फरक-फरक हदमा यो समस्या छ? (छ।)

अगुवा र कामदारहरू मानकअनुरूप छन् कि छैनन् भनी जाँच्ने मापदण्ड

आजको सङ्गतिमार्फत, के तिमीहरूले अब अगुवा र कामदारहरू र सुपरिवेक्षकहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरूबारे अझ प्रस्ट बुझाइ प्राप्त गरेका छौ? के तिमीहरूको मनमा अझ राम्रो उपाय छ? के अगुवा र कामदारहरूको भूमिकाबारे तिमीहरूको बुझाई अझ सही भएको छ? (छ।) एकातिर, अगुवा र कामदारहरूले आफूले कुन-कुन कार्यहरू गर्नुपर्छ भनेर केही बुझाइ प्राप्त गरेका छन्; अर्कोतिर, अरू सबैले कुनै अगुवा वा कामदार मानकअनुरूप छ कि छैन भनी खुट्ट्याउने केही मार्गहरू प्राप्त गरेका छन्। अगुवा र कामदारहरूको नवौँ जिम्मेवारीका मागहरूअनुसार, के अधिकांश अगुवा र कामदारहरू मानकअनुरूप छन् त? (छैनन्।) त्यसोभए, कुन-कुन अगुवा र कामदारहरू मानकअनुरूप बन्‍न सक्छन्, र कुन-कुन बन्‍न सक्दैनन् त? मानकअनुरूपको क्षमता हुने, केही व्यावहारिक अनुभव हुने, कामकुरा सम्हाल्दा केही सिद्धान्तहरू हुने, र मण्डलीको कामका लागि बोझको बोध भएकाहरू केही अवधिको प्रशिक्षणपछि मानकअनुरूपका अगुवा र कामदार बन्‍न सक्छन्। तर, कमजोर क्षमता भएका र बोध क्षमता नभएका, सत्यताबारे चाहे जति सङ्गति गरे पनि सिद्धान्तहरू बोध गर्न नसक्नेहरू, अगुवा र कामदारका रूपमा मानकअनुरूप बन्‍न सक्दैनन् र तिनीहरूलाई हटाउन मात्र सकिन्छ। त्यसकारण, यदि तँ मानकअनुरूपको अगुवा वा कामदार बन्‍न चाहन्छस्, र अरूद्वारा अगुवा वा कामदारका रूपमा चुनिन चाहन्छस् भने, तैँले सुरुमा आफ्नो क्षमता पर्याप्त छ कि छैन भनी मूल्याङ्कन गर्नुपर्छ। तैँले यो कसरी मूल्याङ्कन गर्न सक्छस्? तैँले कामका प्रबन्धलाई कार्यान्वयन गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरालाई हेरेर। हालसालको कुनै कामको प्रबन्ध लिएर त्यो पढ्, अनि आफूसँग त्यसलाई कार्यान्वयन गर्ने कदम र योजनाहरू छन् कि छैनन् भनी हेर्न आफैलाई जाँच्। यदि तँसँग जुक्ति र योजनाहरू छन् र तँलाई त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्‍ने थाहा छ भने, दाजुभाइ-दिदीबहिनीहरूले तँलाई चयन गर्दा तैँले उक्त कामलाई अपरिहार्य कर्तव्यका रूपमा लिनुपर्छ। तर, यदि कामको प्रबन्ध पढेपछि तेरो दिमाग खाली हुन्छ, तैँले कामको जिम्मेवारी लिन कसलाई खटाउनु सबैभन्दा उपयुक्त हुन्छ भनी छर्लङ्ग देख्न पटक्कै सक्दैनस्, र तैँले मण्डलीका विभिन्‍न कामहरूलाई विशिष्ट रूपमा कसरी कार्यान्वयन गर्ने भनेर छर्लङ्ग देख्न झनै सक्दैनस्, न त तैँले कसरी सङ्गति, सुपरिवेक्षण, निरीक्षण, र अनुगमन गर्ने भनेर नै जानेको छस्, र तेरो मनमा कार्यान्वयनका कुनै पनि कदम वा योजनाहरू छैनन्, तर केही दाजुभाइ-दिदीबहिनीहरूले भूलवश तँ अगुवा वा कामदार हुन निकै प्रतिभाशाली र उपयुक्त भएको ठान्छन् भने, तेरो मनोवृत्ति कस्तो हुनुपर्छ? तैँले यसो भन्‍नुपर्छ, “प्रशंसाका लागि धन्यवाद, तर वास्तवमा ममा धेरै प्रतिभा छैन। ममा त्यसका लागि चाहिने कुरा छैन—तपाईँहरूले मलाई गलत मूल्याङ्कन गर्नुभएको छ। यदि तपाईँहरूले मलाई अगुवाका रूपमा छनोट गर्नुभयो भने, त्यसले मण्डलीको काममा ढिलाइ गर्नेछ। मलाई आफ्नो कद थाहा छ; मलाई त एउटा सरल कामको प्रबन्ध कसरी कार्यान्वयन गर्ने भन्‍ने समेत थाहा छैन—मलाई कहाँबाट सुरु गर्ने भन्‍ने थाहा छैन र मसँग कुनै सुरागहरू छैनन्। सत्यता नबुझी मण्डलीको काम राम्ररी सम्पन्‍न गर्न सकिँदैन। माथिले मलाई नियुक्त गरे पनि, मैले त्यो गर्न सक्ने थिइनँ। म साँच्चिकै यो भूमिकाका लागि उपयुक्त छैनँ।” तँलाई यस किसिमको स्वीकारोक्तिबारे के लाग्छ? यस्तो शैलीले समझ देखाउँछ; यसो भन्‍ने मानिसहरूमा झूटा अगुवाहरूमा भन्दा धेरै बढी समझ हुन्छ। झूटा अगुवाहरूले यति धेरै समझ भएको कुरा कहिल्यै भन्‍न सक्ने थिएनन्। झूटा अगुवाहरूले यस्तो सोच्छन्, “मलाई चुनिएको हो, त्यसैले म अगुवा हुनैपर्छ। म किन अगुवा नहुनु र? म प्रतिभावान् छु, त्यसैले म यसको लायक छु। के कामका प्रबन्धहरू कार्यान्वयन गर्न नसक्नु समस्या हो र? जन्मिँदै त्यो कसरी गर्ने भनेर जानेर आएको को हुन्छ र? के त्यो मैले सिक्न सक्ने कुरा होइन र? मैले प्रचार गर्न सकेसम्म, त्यो काफी हुन्छ। मसित आत्मिक बुझाइ छ, म परमेश्‍वरका वचनहरू जान्दछु र बुझ्दछु, म सङ्गति गर्न सक्छु, र म परमेश्‍वरका वचनहरूमा अभ्यासको मार्ग भेट्टाउन सक्छु। म मानिसहरूका भ्रष्ट स्वभाव र विभिन्‍न स्थितिहरू समाधान गर्नमा पोख्त छु। परमेश्‍वरको घरका कामका प्रबन्धहरू कार्यान्वयन गर्नु कुनै ठूलो कुरा होइन। के त्यो प्रशासनिक व्यवस्थापन काम मात्र होइन र? मैले यसअघि प्रशासनिक व्यवस्थापन अध्ययन गरेको छु, त्यसैले परमेश्‍वरको घरको यो काम मेरा लागि कुनै समस्या होइन!” के त्यस्तो व्यक्ति खतरामा हुँदैन र? (हुन्छ।) के कुरामा खतरा हुन्छ? के तिमीहरूले यस मामलालाई छर्लङ्ग देख्न सक्छौ? (तिनीहरूले काम गर्न सक्दैनन् र परमेश्‍वरको घरको कामलाई अवरोध गर्नेछन् र बाधा दिनेछन्, आफू र दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गर्ने मात्र नभएर परमेश्‍वरको घरका काममा समेत ढिलाइ गराउनेछन्।) के यो हानि मात्र हो र? के त्यसले अन्ततः निकाल्ने परिणाम त्यही हो? यदि त्यति मात्र भएको भए, त्यसलाई अझै ठीक पार्न सकिन्थ्यो। मुख्य समस्या त यो हो कि यदि कुनै झूटो अगुवा लामो समयसम्म आफ्नो भूमिकामा रहिरह्यो भने, उसले ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउनेछ र ऊ अन्ततः ख्रीष्टविरोधी बन्‍नेछ। के तँलाई अगुवा वा कामदार हुनु त्यति सरल छ जस्तो लाग्छ? हैसियतसँगै परीक्षा आउँछ, र प्रलोभनसँगै खतरा आउँछ। यो खतरा के हो? त्यो ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउने सम्भावना हो। ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउनुको सबैभन्दा खराब परिणाम भनेको ख्रीष्टविरोधी बन्‍नु हो।

कतिपय मानिसहरूले यस्तो भन्छन्, “कतिपय झूटा अगुवाहरूमा अलि कमजोर क्षमता हुने मात्र हो, तर तिनीहरूको मानवता खराब हुँदैन। के तिनीहरूले ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउन सक्छन्?” कसले भन्छ कि मानवता खराब नहुनुको अर्थ तिनीहरूले ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउँदैनन् भन्‍ने हुन्छ? ख्रीष्टविरोधी मानिन तिनीहरू कति खराब हुनुपर्ने हो? के तैँले यो कुरा छर्लङ्ग देख्न सक्छस्? यदि कुनै झूटो अगुवा लामो समयसम्म आफ्नो भूमिकामा रहिरह्यो भने, ऊ ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्न थालिसकेको हुन्छ। के ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउनु र ख्रीष्टविरोधी बन्‍नुबीच कुनै अन्तर छ र? (छैन।) विगतमा फर्केर सोच्: ती झूटा अगुवाहरूले कुन मार्ग पछ्याइरहेका छन्? झूटा अगुवाहरूले विशिष्ट काम गर्दैनन्, न त तिनीहरू विशिष्ट काम गर्न सक्षम नै हुन्छन्, तैपनि तिनीहरू अरूलाई भाषण दिन र मानिसहरूलाई आफ्नो कुरा सुन्‍न र आफूलाई पालन गर्न लगाउन उच्च स्थानमा रहन चाहन्छन्। के यो ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउनु हो? ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउनुको परिणाम के हुन्छ? (तिनीहरू स्वतः ख्रीष्टविरोधी बन्छन्।) झूटा अगुवाहरू जन्मजात रूपमा ख्रीष्टविरोधी वा दुष्ट मानिस नभए पनि, यदि तिनीहरूले लामो समयसम्म ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउँछन् र त्यसक्रममा तिनीहरूको सुपरिवेक्षण हुँदैन वा तिनीहरूलाई कसैले पनि रिपोर्ट वा बर्खास्त गर्दैन भने, के तिनीहरूले शक्ति हत्याउन र स्वतन्त्र राज्यहरू स्थापना गर्न सक्छन्? (सक्छन्।) त्यस बिन्दुमा, के तिनीहरू ख्रीष्टविरोधी बनेका हुँदैनन् र? त्यसकारण देख्यौ नि, झूटो अगुवाको भूमिका खतरनाक हुँदैन र? (हुन्छ।) झूटो अगुवा हुनु पहिल्यै निकै खतरनाक कुरा हो। हामीले अहिले झूटा अगुवाहरूको चिरफार गरिरहेको र ख्रीष्टविरोधीहरूलाई नछोइरहेको भए पनि, यी दुईको सारबीच एउटा सम्बन्ध छ। वास्तवमा, झूटा अगुवाहरूले ख्रीष्टविरोधीहरूको मार्ग पछ्याइरहेका हुन्छन्। यो मार्ग पछ्याउनुले तिनीहरूलाई ख्रीष्टविरोधी बन्‍नतर्फ स्वतः डोर्‍याउँछ, जुन तिनीहरूको प्रकृति सारद्वारा निर्धारित हुन्छ। त्यो अवस्थामा, तिनीहरूको मानवता सारलाई हेर्नुपर्ने आवश्यकता नै हुँदैन; तिनीहरूको मार्गले नै तिनीहरू ख्रीष्टविरोधी हुन् कि होइनन् भन्‍ने कुरा निर्धारण गर्छ। ती बर्खास्त भएका झूटा अगुवाहरूका बारेमा सोच् त। यदि तिनीहरूलाई समयमै बर्खास्त नगरिएको भए, तिनीहरूले आफ्नो कार्यकालको अवधिमा कस्तो व्यवहार गर्थे र के प्रकाश गर्थे भन्‍ने कुराद्वारा तिनीहरूको सारलाई मूल्याङ्कन गर्दा, के तिनीहरूले अन्ततः ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउने थिए? के तिनीहरू ख्रीष्टविरोधी बन्‍ने थिए? वास्तवमा, कतिपय मानिसहरूले यसका सङ्केतहरू देखाइसकेका छन्, र तिनीहरूलाई तुरुन्तै बर्खास्त गर्ने परमेश्‍वरको घर नै थियो। यदि तिनीहरूलाई बर्खास्त नगरिएको भए, तिनीहरूले मण्डलीबाट आफ्नो गुजारा चलाउन र मानिसहरूलाई बहकाउन थालेका हुने थिए। तिनीहरूले मानिसहरूमाथि हैकम चलाउँदै, आदेशहरू जारी गर्दै, र आफू परमेश्‍वर भएझैँ अरूलाई आफ्नो पालन गर्न लगाउँदै, उच्च-पदस्थ अधिकारी वा अधिपतिझैँ व्यवहार गर्न थालेका हुने थिए। तिनीहरूले आफू परमेश्‍वरद्वारा सिद्ध पारिएको र परमेश्‍वरद्वारा प्रयोग गरिएका मानिस भएको दाबी समेत गर्ने थिए। के त्यो समस्याजनक छैन र? त्यसकारण हामीले त्यस्ता झूटा अगुवाहरूका स्थिति र प्रकटीकरणहरूलाई कसरी हेर्ने र चित्रण गर्ने गर्नुपर्छ त? तिनीहरूलाई प्रारम्भिक रूपमा पाखण्डी, मण्डलीबाट आफ्नो गुजारा चलाउने मानिसहरू, फरिसीका रूपमा चित्रण गर्न सकिन्छ। अनि यो थप विकसित हुँदै गयो भने के हुन्छ? झूटा अगुवाहरू ख्रीष्टविरोधीहरू जतिकै क्रूर वा दुष्ट नहुन सक्ने भए पनि, र सतहमा तिनीहरू कठिनाइ सहन र कडा परिश्रम गर्न सक्षम, हरेक मोडमा अरूलाई सहयोग गर्ने, अनि प्रवचन दिन र काम गर्न जमिन र समुद्र चहार्ने फरिसीहरू जस्तै तिनीहरू मानिसहरूसित धैर्यवान् र सहनशील हुन सक्ने देखिए पनि, अन्ततः यसले के नै फरक पार्छ र? यदि तिनीहरूले एउटा पनि कार्य कार्यान्वयन गर्न सक्दैनन् भने, तिनीहरूका क्रियाकलापहरू र व्यवहार फरिसीहरूको भन्दा कसरी फरक हुन्छन् त? के तिनीहरूका कार्यहरूले परमेश्‍वरको कामसँग सहकार्य गरिरहेका हुन्छन्, कि तिनले परमेश्‍वरको कामको अवज्ञा गरिरहेका र त्यसलाई बाधा दिइरहेका हुन्छन्? प्रस्ट रूपमै, तिनले परमेश्‍वरको कामको प्रतिरोध गरिरहेका र मण्डलीका विभिन्‍न कामहरूको सामान्य प्रगतिमा अवरोध पुर्‍याइरहेका हुन्छन्। के यो फरिसीहरूको र धार्मिक संसारका ती पाष्टर र एल्डरहरूको व्यवहारभन्दा फरक छ त? झूटा अगुवाहरू ठ्याक्कै तिनीहरू जस्तै हुन्छन्। त्यसोभए हामीले तिनीहरूलाई कसरी चित्रण गर्नुपर्छ? झूटा अगुवाहरू क्रियाशील हुन जारी राखेमा के हुनेछ? तिनीहरू परमेश्‍वरको घरका कामका प्रबन्धहरू कार्यान्वयन गर्न असफल हुने मात्र नभई, तिनीहरूले यी प्रबन्धहरूलाई निन्दा, आलोचना, मूल्याङ्कन, भर्त्सना, र त्यस्ता अन्य कामहरू पनि गर्न थाल्नेछन्—ख्रीष्टविरोधी व्यवहारहरूको एउटा पूरै श‌ृङ्खला नै देखा पर्नेछ। तिनीहरू कामका प्रबन्धहरू कार्यान्वयन गर्न असफल हुने मात्र नभई, तिनीहरूले तिनको कार्यान्वयनलाई प्रतिरोध गर्न र अवरोध पुर्‍याउन विभिन्‍न बहानाहरू पनि खोज्छन्। यो परमेश्‍वरको कामसँग सहकार्य गर्नु नभई परमेश्‍वरको घरको कामलाई अवरोध पुर्‍याउनु र बाधा दिनु हो। यो तिनीहरूले परमेश्‍वरको घरका कामका प्रबन्धहरूको कार्यान्वयनमा अवरोध पुर्‍याउन आफ्नै धारणा र कल्पनाहरू, अनि परमेश्‍वरको घरले तिनीहरूलाई दिएको शक्ति र हैसियतलाई प्रयोग गर्नु हो। के समस्याको सार यही नै होइन र? (हो।) झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन् र माथिद्वारा प्रबन्ध गरिएका विभिन्‍न कार्यहरू कार्यान्वयन गर्न सक्दैनन्, तैपनि तिनीहरू मानिसहरूलाई प्रवचन दिन अझै आफ्नो हैसियत प्रदर्शन गर्छन्, र आफू परमेश्‍वरका चुनिएका मानिसहरूको प्रमुख, कप्तान भएको महसुस गर्छन्। यसले तिनीहरूलाई पहिल्यै ख्रीष्टविरोधी अर्थात् खाँटी ख्रीष्टविरोधी बनाउँछ। के त्यस्ता मानिसहरूको यो चित्रण सही हुन्छ? यो अत्यन्तै सही हुन्छ, त्यसमा कुनै त्रुटि हुँदैन! यो युक्तिसङ्गत तर्कना नभई तिनीहरूको सारमा आधारित चित्रण हो। परमेश्‍वरको घरका कामका प्रबन्धहरू कार्यान्वयन गर्न नसक्नेहरू झूटा अगुवा हुन्, र परमेश्‍वरको घरका कामका प्रबन्धहरू कार्यान्वयन नगर्नेहरू पनि झूटा अगुवा नै हुन्। फरिसीका रूपमा प्रकाश गरिनुअघि, तिनीहरूलाई झूटा अगुवाका रूपमा चित्रण गर्न सकिन्छ। तर, जबदेखि तिनीहरू फरिसी बनेर मण्डलीबाट आफ्नो गुजारा चलाउन थाल्छन्, आफ्ना “विगतका उपलब्धिहरूमा” भर पर्छन्, र कामका प्रबन्धहरूलाई कार्यान्वयन नगरी वा विशिष्ट कार्यहरू नगरी पद ओगट्छन्, परमेश्‍वरको घरको काममा तगारो बन्छन्, तबदेखि नै त्यस्ता मानिसहरूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गरिनुपर्छ। कुनै व्यक्ति झूटो अगुवा हो कि ख्रीष्टविरोधी हो भनेर तैँले कसरी निर्धारण गर्छस्? झूटो अगुवालाई उसले कामका प्रबन्धहरू कार्यान्वयन गर्न र वास्तविक काम गर्न सक्छ कि सक्दैन भन्‍ने आधारमा चित्रण गरिन्छ। कामका प्रबन्धहरू कार्यान्वयन नगर्ने र वास्तविक काम नगर्नेहरू झूटा अगुवा हुन्। तर, यदि तिनीहरूलाई आफूले वास्तविक काम गर्न र माथिबाट गरिएका कामका प्रबन्धहरू कार्यान्वयन गर्न नसक्ने कुरा थाहा छ, तैपनि तिनीहरू प्रचार गर्न अझै आफ्नो हैसियत प्रदर्शन गर्न र मानिसहरूको मन जित्न नाराहरू फलाक्न चाहन्छन्, र परमेश्‍वरको घरका कामका प्रबन्धहरूलाई बेवास्ता गर्छन्, अनि तिनीहरूले मण्डलीबाट आफ्नो गुजारा चलाउन र परमेश्‍वरको घरलाई अवकाश गृहका रूपमा दुरुपयोग गर्न, दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाउन जारी राख्न सकूँ, र यहाँसम्म कि प्रवचनलाई आकार दिने शक्ति र निर्णय गर्ने अख्तियार समेत खोज्न सकूँ भनेर तिनीहरूले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको र धेरै वर्षदेखि मण्डलीको कामका लागि कष्ट भोगेको आधारमा परमेश्‍वरको घरले तिनीहरूलाई वरपर राखोस् भन्‍ने अपेक्षा गर्छन् भने, त्यस्ता मानिसहरू ख्रीष्टविरोधी हुन्। तैँले कुनै व्यक्ति झूटो अगुवा हो कि ख्रीष्टविरोधी हो भनेर निर्धारण गर्ने यसरी नै हो। के यो चित्रणको सिद्धान्त र मानक स्पष्ट छ? (हजुर।)

अगुवा र कामदारहरूको नवौँ जिम्मेवारीले मुख्य रूपमा कामका प्रबन्धहरूलाई समेट्छ। एक अगुवा वा कामदारले कामका प्रबन्धहरू कार्यान्वयन गर्छ कि गर्दैन भन्‍ने कुरा नै ऊ मानकअनुरूप छ कि छैन भनी जाँच्ने मापदण्ड हो। अगुवा र कामदारहरूले कामका प्रबन्धहरूअनुसार मण्डलीको काम अघि गर्छन् कि गर्दैनन् भन्‍ने आधारमा उनीहरू साँचो हुन् कि झूटा हुन् भनी मूल्याङ्कन गर्नु नै सबैभन्दा सही विधि हो। झूटा अगुवाहरूलाई खुट्ट्याउन र विश्लेषण गर्न, र तिनीहरू झूटा अगुवा हुन् कि ख्रीष्टविरोधी हुन् भनी निर्धारण गर्न कामका प्रबन्धहरूप्रति तिनीहरूको मनोवृत्तिलाई प्रयोग गर्नु पूर्ण रूपमा जायज हुन्छ। अगुवा र कामदारहरूलाई उनीहरूले कामका प्रबन्धहरू कसरी कार्यान्वयन गर्छन्, उनीहरूले कामका प्रबन्धहरू कार्यान्वयन गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा, र तिनको कार्यान्वयनको प्रभावकारिता र पूर्णताका आधारमा मूल्याङ्कन गर्नु कुनै पनि अगुवा वा कामदारका लागि जायज र उचित हुन्छ। यो कसैका लागि कामकुराहरू जानाजानी गाह्रो बनाउने अभिप्रायले गरिएको होइन। के तिमीहरूले कतिपय झूटा अगुवाहरूले कामका प्रबन्धहरू कार्यान्वयन गर्दैनन् र अन्ततः तिनीहरू ख्रीष्टविरोधी बन्छन् भन्‍ने कुरा खुट्ट्याउन सक्छौ? के यो दाबी खरो उत्रन्छ? (उत्रन्छ।) यो किन खरो उत्रन्छ? (किनभने झूटा अगुवाहरूले कामका प्रबन्धहरू कार्यान्वयन गर्दैनन् र तिनीहरूका आफ्नै स्वतन्त्र राज्यहरू स्थापना गर्नका लागि आफ्ना पदहरू ओगटेर बस्छन्। यसको मतलब तिनीहरू ख्रीष्टविरोधीहरूको मार्गमा लागिसकेका छन्।) घटना यही हो—समस्याको सार चाहिँ के हो त? कामका प्रबन्धहरू कार्यान्वयन नगर्नु भनेको परमेश्‍वरको प्रतिरोध र विरोध गर्नु हो। परमेश्‍वरको विरोध गर्नु भनेको के हो? ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउनेहरूले सिधै परमेश्‍वर विरुद्ध खडा भएर उहाँको विरोध गरिरहेका हुन्छन्। यदि कोही झूटो अगुवा मात्र हो भने, उसलाई काम कसरी गर्ने वा कामका प्रबन्धहरू कसरी कार्यान्वयन गर्ने भन्‍ने नै थाहा हुँदैन; तिनीहरूले जानाजानी परमेश्‍वरको प्रतिरोध गरिरहेका हुँदैनन्। तर, ख्रीष्टविरोधीहरूका गुणहरू प्रकृतिमा झूटा अगुवाहरूको भन्दा धेरै गम्भीर हुन्छन्। कतिपय झूटा अगुवाहरूले लामो समयदेखि ख्रीष्टविरोधीहरूको मार्ग पछ्याइरहेका छन्। यस्ता व्यक्तिहरूले सुरुमा वास्तविक काम गर्दैनन् र कामका प्रबन्धहरू कार्यान्वयन गर्दैनन्। लामो समयसम्म अगुवा बनेर केही शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्न सक्ने भएपछि, तिनीहरूले आफ्नो पद सुरक्षित भएको, आफूसँग पुँजी भएको, र आफूले मानिसहरूमाझ प्रतिष्ठा प्राप्त गरेको महसुस गर्छन्। त्यसपछि तिनीहरू मनपरी गर्ने आँट गर्न थाल्छन् र परमेश्‍वरको विरोध गर्छन्। तिनीहरू सधैँ आफ्नो अधिमूल्यन गर्छन्, र तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूमाझ प्रतिष्ठा प्राप्त गरेको, तिनीहरूको कुरामा वजन भएको, र त्यसकारण तिनीहरूले गर्ने सबथोकमा तिनीहरूको पूर्ण वैचारिक वर्चस्व र निर्णय गर्ने अख्तियार हुनुपर्ने विश्‍वास गर्छन्। तिनीहरू सोच्छन् कि मानिसहरूले तिनीहरूको कुरा सुन्‍नुपर्छ; यदि तिनीहरूले केही गर्दा आफूलाई लज्जित तुल्याएमा वा गलत शब्दहरू बोलेमा मानिसहरूले तिनीहरूको इज्जत जोगाइदिनुपर्छ—र परमेश्‍वरको घरले पनि त्यही गरिदिनुपर्छ। परमेश्‍वरको घरले कुनै पनि समस्याहरू देखा पर्दा तिनीहरूको परामर्श लिनुपर्छ र तिनीहरूलाई राम्रा कुराहरूको एक अंश दिनुपर्छ, साथै तिनीहरूले अरूले भन्दा राम्रा सुविधाहरू र अझ उच्च प्रशंसा पाउनुपर्छ। तिनीहरू परमेश्‍वरले पनि तिनीहरूलाई फरक रूपमा हेर्नुपर्छ भन्ठान्छन्। तिनीहरूका यी कथित फाइदा र श्रेष्ठताका आधारमा, तिनीहरू परमेश्‍वरको घरले तिनीहरूलाई सजिलै काटछाँट गर्न वा अरूका अगाडि तिनीहरूको भ्रष्ट स्वभावहरूको खुलासा गर्न नहुने, तिनीहरूका भावनाहरूको ख्याल नै नगरी तिनीहरूलाई बर्खास्त गर्न त झनै नहुने विश्‍वास गर्छन्। त्यस्ता मानिसहरू खतरामा हुन्छन्। तिनीहरू आफ्ना “विगतका उपलब्धिहरूमा” भर परिरहेका हुन्छन्। तिनीहरू फरिसी हुन्, र ख्रीष्टविरोधी बनिसकेका हुन्छन्। के यो तिनीहरूको प्रकृति सारद्वारा निर्धारित हुँदैन र? यदि कसैले सत्यता पछ्याउँछ र ऊसँग सत्यता वास्तविकता छ भने, के उसले परमेश्‍वरको घर र परमेश्‍वरबाट यस्ता अनुचित मागहरू गर्ने थियो त? (गर्ने थिएन।) एक प्रकारको व्यक्ति यस्तो हुन्छ जसले लामो समय काम गरेपछि, आफूले हैसियत प्राप्त गरेको र आफूसँग पूँजी भएको महसुस गर्छ, र यसर्थ यस्ता किसिमका सोचहरू र यो श्रेष्ठताको भावना विकास गर्छ। यो कस्तो प्रकारको व्यक्ति हो? यो ख्रीष्टविरोधीको सार भएको व्यक्ति हो। उसले सत्यता नपछ्याउने र ख्रीष्टविरोधीहरूको मार्ग पछ्याउने हुनाले, ऊ अहङ्कारी र आत्म-धर्मी हुन्छ, र उसले परमेश्‍वर र परमेश्‍वरको घरबाट यावत् किसिमका अव्यावहारिक मागहरू गर्छ। ऊ आफ्ना “विगतका उपलब्धिहरूमा” भर पर्छ, मण्डलीबाट आफ्नो गुजारा चलाउँछ, आफ्ना हैसियतमा टाँसिन्छ, र अन्त्यमा ख्रीष्टविरोधी बन्छ। यो एक खाँटी ख्रीष्टविरोधी हो। के मण्डलीमा त्यस्ता मानिसहरू छन्? आत्मिक व्यक्ति भएकोमा घमण्ड गर्ने जोकोही यस प्रकारको व्यक्ति हुन्छ। ऊ स्पष्ट रूपमा व्यर्थको हुन्छ र उसले कुनै विशिष्ट काम गर्न सक्दैन, तैपनि अझै आफूलाई आत्मिक ठान्छ; उसले आफूलाई परमेश्‍वरद्वारा निगाहका साथ हेरिने र उहाँको सिद्धताको पात्र भएको व्यक्ति ठान्छ। उसले आफू परमेश्‍वरका प्रिय पुत्र, अर्थात् विजेता भएको विश्‍वास गर्छ। त्यस्ता मानिसहरूले कुन मार्ग पछ्याइरहेका हुन्छन्? के तिनीहरू सत्यता पछ्याउने मानिस हुन् त? के तिनीहरू सत्यतामा समर्पित हुने मानिस हुन्? के तिनीहरू परमेश्‍वरका योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित हुने मानिस हुन्? बिलकुलै होइनन्, शतप्रतिशत होइनन्। तिनीहरू त हैसियत, ख्याति, र आशिष्‌हरू पछ्याउने, अनि ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने मानिसहरू हुन्। जब त्यस्ता मानिसहरूले लामो समयसम्म कुनै पद सम्हाल्छन्, लामो समय झूटा अगुवाका रूपमा सेवा गर्छन्, तब तिनीहरू अपरिहार्य रूपमा नै ख्रीष्टविरोधी बन्छन्। ख्रीष्टविरोधीहरू परमेश्‍वरको घरको कामका अवरोधहरू हुन्। तिनीहरूले सम्भवतः कामका प्रबन्धहरूअनुसार काम गर्न सक्दैनन्, र सम्भवतः परमेश्‍वरको इच्छा पालना गर्न वा परमेश्‍वरका मागहरूअनुसार कामकुरा गर्न सक्दैनन्; अझ बढी, तिनीहरूले मण्डलीको काम गर्न सम्भवतः आफ्नो हैसियत, ख्याति, र स्वार्थहरू त्याग्न सक्दैनन्, किनभने तिनीहरू ख्रीष्टविरोधी हुन्।

अगुवा र कामदारहरूको नवौँ जिम्मेवारीमाथिको सङ्गति मूलतः कामका प्रबन्धहरूको कार्यान्वयनबारे रहेको छ। एउटा अगुवा वा कामदार मानकअनुरूप छ कि छैन र उसले आफ्ना जिम्मेवारीहरू पूरा गर्छ कि गर्दैन भन्‍ने कुरा प्राथमिक रूपमा उसले कामका प्रबन्धहरू कार्यान्वयन गर्ने तरिका र यी कार्यान्वयनहरूका नतिजाहरूद्वारा निर्धारित हुन्छ। यो मानक, अवश्य पनि, झूटा अगुवाहरू र तिनीहरूले पछ्याउने मार्ग, साथै तिनीहरूले मण्डलीको काम र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा ल्याउने परिणामहरूको खुलासा गर्नका लागि पनि प्रयोग गरिन्छ। यी सबै निर्धारण, मूल्याङ्कन, र अन्तिम चित्रणहरू झूटा अगुवाहरूले गर्ने कामका प्रबन्धहरूका कार्यान्वयनमा आधारित हुन्छन्। कामका प्रबन्धहरू कार्यान्वयन गर्नु प्राथमिक कार्य हो, त्यसकारण एक अगुवा वा कामदार मानकअनुरूप छ कि छैन भन्‍ने कुरा उसले गर्ने कामका प्रबन्धहरूको कार्यान्वयनका आधारमा निर्धारण गर्नु निकै वास्तविक र अत्यन्तै आधारभूत कुरा हो। यसबाहेक, हरेक अगुवा र कामदारलाई यस मानकमा राख्नु पूर्णतया समझपूर्ण र जायज हुन्छ, त्यसमा कुनै अशुद्धता हुँदैन।

अप्रिल २४, २०२१

अघिल्लो: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (९)

अर्को: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (११)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्