अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (९)

अगुवा र कामदारहरू मानक अनुरूप छन् कि छैनन् भनी मूल्याङ्कन गर्ने दुई मापदण्डहरू

अब हामीले अगुवा र कामदारहरूका जम्मा आठवटा जिम्मेवारीहरूमा सङ्गति गरेका छौँ, र यी आठवटा जिम्मेवारीहरूका सम्बन्धमा हामीले झूटा अगुवाहरूका विभिन्‍न प्रकटीकरणहरूलाई चिरफार गरेका छौँ। तिनलाई यस तरिकाले चिरफार गरेपछि, के अब तिमीहरूले झूटा अगुवाहरूलाई केही हदसम्म खुट्ट्याउन सक्छौ? यदि तँ एक अगुवा होस् भने, के तँ झूटा अगुवाहरूका यी अभ्यासहरूमा संलग्न हुनबाट जोगिन सक्छस्? के तँ सचेत रूपमा काम गर्न र हामीले सङ्गति गरेका जिम्मेवारीहरूका आधारमा अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्न सक्छस्? अगुवा र कामदारहरूका जिम्मेवारीहरूसम्बन्धी सङ्गतिमार्फत, अब तिमीहरूलाई आफ्नो हृदयमा अगुवा र कामदारहरूले आफ्नो काम कसरी गर्नुपर्छ, यो काम गर्नमा कस्ता विवरणहरू संलग्न हुन्छन्, उनीहरूले काम कसरी कार्यान्वयन गर्नुपर्छ, र उनीहरूले कसरी मानक अनुरूपका अगुवा र कामदार बन्‍ने अभ्यास गर्नुपर्छ भनेर थाहा भएको हुनुपर्छ। यदि कुनै व्यक्तिको क्षमता पर्याप्त छ, यदि उसमा निश्चित हदसम्मको काम गर्ने सक्षमता छ, र उसले बोझ पनि वहन गर्छ भने, ऊ झूटा अगुवाहरूका यी प्रकटीकरणहरू देखाउनबाट जोगिन सक्षम हुनुपर्छ। तर, यदि कुनै व्यक्तिमा क्षमता छ र केही हदको काम गर्ने सक्षमता छ, तर उसले बोझ वहन गर्दैन भने, के ऊ मानक अनुरूपको अगुवा हुन अनि अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्न सक्षम हुन्छ त? (हुँदैन।) उसलाई यसो गर्न अलि गाह्रो हुन्छ। मानौँ कुनै अगुवाले बोझ वहन गर्छ र उसको मानवता कमजोर छैन, तर उसलाई आफ्नो काम कसरी गर्ने भन्‍ने नै थाहा छैन। ऊसँग जसरी सङ्गति गरे पनि, उसलाई अझै पनि निश्चित काम कसरी कार्यान्वयन गर्ने र त्यसमा कसरी सहभागी हुने भनेर थाहा हुँदैन, साथै उसले सिद्धान्तहरू वा दिशा भेटाउन सक्दैन। उसले निश्चित पेसा वा कामका लागि निर्देशन प्रदान गर्न पनि जानेको हुँदैन। समस्याहरू उत्पन्‍न हुँदा उसले ती समस्याहरूको सार पत्ता लगाउन सक्दैन, र उसले तिनलाई समाधान गर्न जान्दैन। फलस्वरूप, ऊ जहिले पनि आफूले गर्ने जुनसुकै काममा वा आफूले सम्हालिरहेको जुनसुकै मामलामा निकै निष्क्रिय र सुस्त हुन्छ। के त्यस्तो व्यक्तिले अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्न सक्छ त? (सक्दैन।) यो कस्तो प्रकारको समस्या हो? यस प्रकारको व्यक्ति निकै जोसिलो हुने, उसले बोझ वहन गर्ने, र आफ्नो काम गर्न चाहने भए पनि, उसको क्षमता अत्यन्तै कमजोर हुन्छ, उसमा काम गर्ने सक्षमता हुँदैन र उसले उक्त काम वहन गर्न, वा निश्चित काम गर्न वा निश्चित समस्याहरू समाधान गर्न सक्दैन; कुनै पनि काममा सहभागी हुँदा उसले आलटाल मात्र गर्छ, साथै ऊ निकै मन्द बुद्धिको, बोधो, र निष्क्रिय हुन्छ। यसको फलस्वरूप, धेरै समस्या उत्पन्‍न हुन्छन्, तैपनि उसले तीमाथि कामको थालनी गर्न सक्दैन, उसलाई ती कहाँबाट आउँछन् भनेर थाहा हुँदैन, तीबारे कसरी सङ्गति गर्ने र तिनलाई कसरी समाधान गर्ने भन्‍ने कुरा त झनै थाहा हुँदैन, र ऊ उक्त समस्याहरूबारे माथिलाई रिपोर्ट गर्न र उनीबाट खोजी गर्न समेत सक्षम हुँदैन। त्यसकारण, ऊ अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्न सक्षम हुँदैन, र ऊ अगुवा बन्‍न चुनियो भने पनि, ऊ असल अगुवा हुँदैन—ऊ झूटो अगुवा हुन्छ।

अब हामीले अगुवा र कामदारहरूका आठवटा जिम्मेवारीहरूबारे सङ्गति गरिसकेपछि, के तिमीहरू झूटो अगुवाको आधारभूत परिभाषा दिन सक्छौ? कुनै अगुवाले अगुवा र कामदारहरूका जिम्मेवारी पूरा गरिरहेको छ कि ऊ झूटो अगुवा हो भनी कसरी मूल्याङ्कन गर्नुपर्छ? सबैभन्दा आधारभूत तहमा, उसले तिनीहरू वास्तविक काम गर्न सक्छन् कि सक्दैनन्, तिनीहरूमा यो क्षमता छ कि छैन भनी हेर्नुपर्छ। त्यसपछि, उसले तिनीहरूमा यो काम राम्रोसँग गर्ने बोझ छ कि छैन भनी हेर्नुपर्छ। तिनीहरूले भन्‍ने कुराहरू कति मिठा सुनिन्छन् र तिनीहरूले धर्मसिद्धान्तहरू कति बुझेजस्तो देखिन्छ भन्‍ने कुराको वास्तै नगर्, अनि तिनीहरूले बाह्य मामलाहरू सम्हाल्दा तिनीहरू कति प्रतिभावान् र वरदानयुक्त छन् भन्‍ने कुराको पनि वास्ता नगर्—यी कुराहरू महत्त्वपूर्ण छैनन्। तिनीहरूले मण्डलीका सबैभन्दा आधारभूत कामहरू राम्ररी गर्न सक्छन् कि सक्दैनन्, सत्यता प्रयोग गरी समस्याहरू समाधान गर्न सक्छन् कि सक्दैनन्, र मानिसहरूलाई सत्यता वास्तविकतामा डोर्‍याउन सक्छन् कि सक्दैनन् भन्‍ने कुराचाहिँ सबैभन्दा महत्त्वपूर्ण छ। सबैभन्दा आधारभूत र अत्यावश्यक कुरा यही हो। यदि तिनीहरू यी वास्तविक कामहरू गर्न अक्षम छन् भने, तिनीहरूको क्षमता जति नै राम्रो भए पनि, तिनीहरूमा जति नै प्रतिभा भए पनि, वा तिनीहरूले जति धेरै कठिनाइ भोग्‍न र मूल्य चुकाउन सके पनि, तिनीहरू झूटा अगुवा नै हुन्। कतिपय मानिसहरू भन्छन्, “तिनीहरूले कुनै वास्तविक काम गर्दैनन् भन्‍ने कुरा अहिले बिर्सिदिऊँ। तिनीहरूको क्षमता राम्रो छ र तिनीहरू सक्षम छन्। तिनीहरूले केही समय तालिम लिए भने, तिनीहरूले अवश्यै वास्तविक काम गर्न सक्नेछन्। त्यसबाहेक, तिनीहरूले कुनै खराब काम गरेका छैनन् र दुष्टता गरेका छैनन्, अथवा अवरोध वा बाधाहरू पुर्‍याएका छैनन्—तपाईँ कसरी तिनीहरू झूटा अगुवा हुन् भनी भन्‍न सक्‍नुहुन्छ?” यसलाई हामी कसरी व्याख्या गर्न सक्छौँ? तँ कति प्रतिभाशाली छस्, तँसित कुन स्तरको क्षमता र शिक्षा छ, तैँले कतिवटा नाराहरू फलाक्न सक्छस्, वा तैँले कतिवटा शब्द र धर्मसिद्धान्तहरू बुझेको छस् भन्‍ने कुराले फरक पर्दैन; तँ जतिसुकै व्यस्त भए पनि वा एक दिनमा तँ जति नै थकित भए पनि, वा तैँले जतिसुकै टाढा यात्रा गरेको भए पनि, तँ जतिसुकै मण्डलीहरूमा जाने गरे पनि, वा तैँले जतिसुकै जोखिम लिए पनि र जतिसुकै कष्ट सहे पनि—यी कुनै पनि कुराले महत्त्व राख्दैन। तैँले कामका बन्दोबस्तहरूका आधारमा आफ्नो काम गरिरहेको छस् कि छैनस्, तैँले ती बन्दोबस्तहरूलाई सही तरिकाले लागु गरिरहेको छस् कि छैनस्; तेरो अगुवाइको दौरान तँ आफू जिम्मेवार भएको हरेक विशिष्ट काममा सहभागी भइरहेको छस् कि छैनस्, र तैँले कतिवटा साँचो समस्याहरू समाधान गरेको छस्; तेरो अगुवाइ र मार्गदर्शनका कारण कति जना व्यक्तिहरूले सत्यता सिद्धान्तहरू बुझेका छन्, र मण्डलीको काम कति अघि बढेको र विकसित भएको छ भन्‍ने कुराहरूले चाहिँ महत्त्व राख्छन्—तैँले यी नतिजाहरू हासिल गरेको छस् कि छैनस् भन्‍ने कुराले चाहिँ महत्त्व राख्छ। तँ जुनसुकै विशिष्ट काममा संलग्न भए पनि, महत्त्वपूर्ण कुरा भनेको तैँले ठूलो बनेर आदेशहरू मात्र दिनुको साटो निरन्तर कामको अनुगमन र निर्देशन गरिरहेको छस् कि छैनस् भन्‍ने हो। यसअलावा, तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा जीवन प्रवेश पाउँछस् कि पाउँदैनस्, तैँले सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्न सक्छस् कि सक्दैनस्, तँमा सत्यता अभ्यास गर्ने गवाही छ कि छैन, र परमेश्‍वरका चुनिएका मानिसहरूले सामना गरेका वास्तविक समस्याहरूलाई तैँले सम्हाल्न र समाधान गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुराहरूले पनि महत्त्व राख्छ। यी र यस्तै अन्य कामकुराहरू सबै कुनै अगुवा वा कामदारले आफ्ना जिम्मेवारीहरू पूरा गरेको छ कि छैन भनेर मूल्याङ्कन गर्ने मापदण्ड हुन्। के तिमीहरू यी मापदण्डहरू व्यावहारिक छन् भनेर भन्छौ? अनि के ती मानिसहरूप्रति निष्पक्ष छन्? (छन्।) ती सबैप्रति निष्पक्ष छन्। तेरो शिक्षाको स्तर जति भए पनि, तँ जवान भए पनि वा वृद्ध भए पनि, तैँले जतिसुकै वर्ष परमेश्‍वरमा विश्‍वास गरेको भए पनि, तँ जति नै वरिष्ठ भए पनि, वा तैँले परमेश्‍वरको वचन जति नै पढेको भए पनि, यीमध्ये कुनै पनि कुरा महत्त्वपूर्ण होइन। अगुवाका रूपमा चुनिएपछि तैँले मण्डलीको काम कति राम्रोसँग गर्छस्, तँ आफ्ना काममा कतिको प्रभावकारी र दक्ष छस्, अनि प्रत्येक काम व्यवस्थित र प्रभावकारी रूपमा अघि बढ्छ कि बढ्दैन, र त्यसमा ढिलाइ हुन्छ कि हुँदैन भन्‍ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ। कुनै अगुवा वा कामदारले आफ्ना जिम्मेवारीहरू पूरा गरेको छ कि छैन भनेर मापन गर्दा मूल्याङ्कन गरिने मुख्य कुराहरू यिनै हुन्।

भर्खरै हामी संलग्न भएको सङ्गतिमार्फत, अब तिमीहरूले अगुवा र कामदारहरूका जिम्मेवारीहरूसम्बन्धी केही मात्रामा प्रस्ट बुझाइ र ज्ञान, साथै झूटा अगुवाको परिभाषा र सारबारे सही अभिव्यक्ति प्राप्त गरेका छौ। कुनै व्यक्ति झूटो अगुवा हो कि होइन भनी मूल्याङ्कन गर्ने सबैभन्दा आधारभूत मापदण्ड भनेको ऊ वास्तविक काम गर्न सक्षम छ कि छैन भनी हेर्नु, र त्यसपछि उसले वास्तवमा वास्तविक काम गर्छ कि गर्दैन भनी हेर्नु हो। यी दुई प्रमुख मापदण्डहरू हुन्: एउटा चाहिँ ऊ सक्षम छ कि छैन भन्‍ने प्रश्न हो, र अर्को चाहिँ ऊ इच्छुक छ कि छैन भन्‍ने प्रश्न हो। के तिमीहरू यी कुराहरू याद गर्न सक्छौ? कतिपय मानिसहरूले यसो भन्छन्, “म कुनै अगुवा होइन, त्यसैले मैले यी कुराहरू किन याद गर्नुपर्छ र?” के यो टिप्पणी सही हो त? (होइन।) यो किन गलत हो? यी सत्यताहरूको बुझाइमार्फत, एकातिर मानिसहरू आफूलाई चिन्‍न पुग्छन्, र अर्कोतिर, उनीहरू अरू मानिसहरूलाई खुट्ट्याउन पुग्न सक्छन्—मानिसहरूले बुझ्नुपर्ने र मानिसहरूसँग हुनुपर्ने सत्यताहरू यिनै हुन्, र ती नबुझी हुँदैन। सर्वप्रथम, तैँले अगुवा र कामदारहरूका जिम्मेवारीहरूअनुसार आफूमा अगुवा हुने क्षमता र सक्षमता छ कि छैन भनी मापन गर्नुपर्छ। यदि तँमा यी कुराहरू छैनन् भने, अगुवा बन्‍ने चाहना गरिनराख्। यदि तँमा अगुवा हुने क्षमता छैन तर तँ अझै अगुवा हुन चाहन्छस् भने, त्यो महत्त्वाकाङ्क्षा हो; तँ अगुवा बन्‍नेबित्तिकै, तैँले वास्तविक काम गर्न सक्नेछैनस्, र तँ अपरिहार्य रूपमा झूटो अगुवा बन्‍नेछस्। कतिपय मानिसहरू यसो भन्छन्, “मसँग असल क्षमता छ; सबै जनामध्ये, म उत्कृष्ट छु। म प्रायः राम्रा विचारहरू, र केही चलाख र राम्रा सुझावहरू प्रस्तुत गर्छु। मसँग आफूले गर्ने हरेक कुरामा दक्षता छ, र मसँग तुलनात्मक रूपमा सम्पन्‍न ज्ञान, अन्तर्ज्ञान, र अनुभव छ। के यो सबैको अर्थ म अगुवा हुन सक्छु भन्‍ने होइन र?” त्यसपछि, तैँले आफूमा जिम्मेवारीको बोध छ कि छैन र आफूले बोझ वहन गर्छु कि गर्दिन भनी हेर्न आफूलाई मापन पनि गर्नुपर्छ। यदि तैँले कामकुराबारे रायहरू मात्र राख्छस्, कामकुरा गर्ने चाहना मात्र गर्छस्, र सधैँ ठूला महत्त्वाकाङ्क्षाहरू राख्छस् तर तिनलाई पूरा गर्न सक्दैनस्, अनि तँ मेहनत लगाउन र मूल्य तिर्न जान्दैनस्, साथै कुनै मूल्य तिर्न इच्छुक हुँदैनस् भने—यदि तँ सधैँ आफ्नो दिमाग र हृदय आरामदायी स्थितिमा होस् भन्‍ने चाहन्छस्, निष्क्रिय र बन्धनरहित हुन, आरामदायी जीवन जिउन मन पराउँछस्, अनि चिन्ता गर्न वा व्यस्त हुन मन पराउँदैनस्, र थकान र कष्टदेखि डराउँछस् भने—तँ अगुवा हुन उपयुक्त छैनस्, र तँ अगुवाइको काम वहन गर्न वा निर्वाह गर्न असक्षम हुनेछस्।

हामीले भर्खरै कुनै अगुवा मानकअनुरूप छ कि छैन भनी मूल्याङ्कन गर्ने दुइटा मापदण्डहरूलाई सारांशीकृत गर्‍यौँ: ऊ वास्तविक काम गर्न सक्षम छ कि छैन र उसले वास्तविक काम गर्छ कि गर्दैन। यदि मानिसहरूले यी दुइटा मापदण्डहरू बुझ्छन् भने, उनीहरू आफू अगुवा हुन, साथै राम्रोसँग मण्डलीको काम गर्न, आफ्ना जिम्मेवारीहरू राम्रोसँग पूरा गर्न, र अगुवा बनेपछि उनीहरू मापदण्डअनुरूपका अगुवा हुन सक्षम छन् कि छैनन् भनेर पूर्णतः स्पष्ट हुनुपर्छ। जो अहिले अगुवा र कामदारका रूपमा सेवा गरिरहेका छौ, के अब तिमीहरूसँग आफूले केही वास्तविक काम गरेको छु कि छैन र अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गरेको छु कि छैन भनी मापन गर्ने केही मार्गहरू र केही सिद्धान्तहरू छन्? अगुवा र कामदारहरूका यी आठवटा जिम्मेवारीहरूमाथि गरिएको सङ्गतिमार्फत, तिमीहरूले झूटा अगुवाहरूले के-के प्रकटीकरणहरू प्रदर्शन गर्छन् भनेर मापन गर्न र अगुवा र कामदारहरूले आफ्नो काम कसरी गर्नुपर्छ भनेर सङ्क्षेपमा ठ्याक्कै भन्‍न सक्नुपर्छ, साथै आफ्नो काममा कहाँ कमी, अपर्याप्तता, वा निर्दिष्टताको अभाव छ, र अबदेखि आफूले उक्त काम कसरी गर्नुपर्छ—तिमीहरूमा कम्तीमा पनि यी अन्तर्ज्ञानहरू हुनुपर्छ। यदि तिमीहरूसँग कसरी अगुवा वा कामदार हुने अथवा अगुवा र कामदारहरूका जिम्मेवारीहरू कसरी पूरा गर्ने भन्‍ने सम्बन्धमा कुनै निष्कर्ष वा अन्तर्ज्ञानहरू छैनन् भने, त्यसको मतलब तिमीहरूको क्षमता त्यो कामका लागि पर्याप्त छैन। त्यसमाथि, यदि तिमीहरू झूटा अगुवाहरूलाई कसरी खुट्ट्याउने भन्‍ने बारेमा पूरै अन्योलमा छौ भने, यसले तिमीहरूको क्षमता कमजोर छ भन्‍ने कुरा झन् बढी देखाउँछ। एउटा विशेष परिस्थिति पनि छ: कतिपय मानिसहरू हुन्छन्, जसले यी सङ्गतिहरू सुनेका भए पनि, तिनीहरूमा सत्यतातर्फ लागिपर्ने वा अगुवा र कामदारहरूका जिम्मेवारीहरू पूरा गर्ने सङ्कल्प हुँदैन, जसले उक्त मामलालाई गम्भीर रूपमा वा हृदयमा बिलकुलै लिँदैनन्। तिनीहरूले यस्तो सोच्छन्, “को झूटो अगुवा हो भन्‍ने बारेमा मलाई मतलब छैन। जे भए पनि, यदि म अगुवा बनेँ भने, म माथिले जे गर्न भनेका छन् त्यही मात्र गर्ने थिएँ। मैले यति धेरै मेहनत गर्नु वा यति धेरै सोच लगाउनुपर्ने थिएन।” तिनीहरूले प्रवचनहरू सुन्दा केवल आलटाल गरिरहेका र समय कटाइरहेका हुन्छन्, र तिनीहरूलाई प्रवचन विशिष्ट रूपमा केका बारेमा हो भनेर अलिअलि थाहा हुन्छ, तर तिनीहरू के-के सत्यताहरू र मानिसप्रतिका परमेश्‍वरका के-कस्ता मागहरूबारे सङ्गति भइरहेको छ भनेर सारांश निकाल्न अत्यन्तै अल्छी गर्छन्, र यी कुराहरूलाई हृदयमा लिन इच्छुक हुँदैनन्। तिनीहरूले यस्तो सोच्छन्, “यी मामलाहरू खुट्ट्याउन अति झन्झटिलो छ। जे भए पनि, म आफूबाट एउटा कुरा मात्र माग गर्छु, त्यो हो दुष्टता नगर्ने, बाधा र अवरोधहरू नदिने, र अरूभन्दा पृथक् नदेखिने, बस् यति नै काफी छ। यो यत्तिको सरल कुरा हो! यो जिउने गजब तरिका हो; म आफैसँग उच्च मागहरू राख्दिनँ।” तिनीहरूले प्रवचनहरू चाहे जसरी सुने पनि तिनीहरूको एउटै दृष्टिकोण यही हुन्छ, र तिनीहरूलाई कसैले पनि परिवर्तन गर्न सक्दैन; तैँले सत्यताबारे जसरी सङ्गति गरे पनि, सङ्गति गर्न जस्तोसुकै विधि प्रयोग गरे पनि, वा जेबारे सङ्गति गरे पनि, तैँले तिनीहरूको मन छुन सक्दैनस्; तिनीहरूलाई यी वचनहरू सुन्‍ने वा नसुन्‍नेबारे परवाह हुँदैन; त्यसले तिनीहरूलाई खासै फरक पार्दैन। यस प्रकारको व्यक्तिले अल्याङटल्याङ गरेर जीवन बिताउँछ, र उसले कुनै पनि कुरालाई गम्भीर रूपमा लिँदैन। अगुवा र कामदारहरूका आठवटा जिम्मेवारीहरूमाथि सङ्गति गर्नेबारे त भन्‍नै परेन—हामीले ती सबैबारे सङ्गति गरे पनि, तिनीहरूले अझै बुझ्नेछैनन् र कुनै पनि सिद्धान्त वा मार्गहरूको सारांश निकाल्न सक्नेछैनन्। यस्ता मानिसहरूले सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्, सत्यता वा कुनै पनि सकारात्मक कुराहरूमा तिनीहरूलाई रुचि हुँदैन र तिनीहरूले कुनै ऊर्जा निकाल्न सक्दैनन्, बरु तिनीहरूलाई खान, पिउन, र सुख-सयलको खोजी गर्नमा विशेष चासो हुन्छ। अगुवा र कामदारहरूका आठवटा जिम्मेवारीहरूबारे सङ्गति गरेर, एकातिर, हामीले अगुवा र कामदारहरूका केही जिम्मेवारीहरू, साथै अगुवा वा कामदारका रूपमा कसरी काम गर्ने र आफ्ना जिम्मेवारीहरू पूरा गर्ने भनी सङ्क्षेपमा प्रस्तुत गरेका छौँ; अर्कोतिर, हामीले झूटा अगुवाहरूले प्रदर्शन गर्ने केही विशिष्ट प्रकटीकरणहरूलाई सङ्क्षेपमा प्रस्तुत गरेका छौँ। हामीले भर्खरै झूटा अगुवाहरूलाई खुट्ट्याउने दुइटा आधारभूत सिद्धान्तहरू अर्थात् दुइटा मापदण्डहरूलाई निष्कर्षमा पुर्‍यायौँ: एउटा त कुनै व्यक्ति वास्तविक काम गर्न सक्षम छ कि छैन भन्‍ने हो, अनि अर्को उसले सत्यता सिद्धान्तहरू बुझिसकेपछि वास्तवमा वास्तविक काम गर्छ कि गर्दैन भन्‍ने हो। कुनै व्यक्ति झूटो अगुवा हो कि होइन भनी मापन गर्नका लागि यी दुइटा मापदण्डहरू प्रयोग गर्नु अहिलेसम्मकै सबैभन्दा सरल र उचित विधि हो।

विषयवस्तु नौ: परमेश्‍वरको घरका माग अनुसार त्यसका विभिन्‍न कामका प्रबन्धहरूलाई मार्गदर्शन, सुपरिवेक्षण, र प्रोत्साहन प्रदान गर्दै सही रूपमा सञ्चार, जारी र कार्यान्वयन गर्नु, अनि तिनको कार्यान्वयनको स्थितिलाई निरीक्षण र अनुगमन गर्नु (भाग १)

कामका प्रबन्धहरूको परिभाषा र विशिष्ट विषयवस्तुहरू

आज, हामी अगुवा र कामदारहरूको नवौँ जिम्मेवारीबारे सङ्गति गर्नेछौँ: त्यो हो, “परमेश्‍वरको घरका माग अनुसार त्यसका विभिन्‍न कामका प्रबन्धहरूलाई मार्गदर्शन, सुपरिवेक्षण, र प्रोत्साहन प्रदान गर्दै सही रूपमा सञ्चार, जारी र कार्यान्वयन गर्नु, अनि तिनको कार्यान्वयनको स्थितिलाई निरीक्षण र अनुगमन गर्नु।” यो जिम्मेवारीलाई समग्रमा ख्याल गर्दा, अगुवा र कामदारहरूले के कुरा कार्यान्वयन गर्न आवश्यक छ? (परमेश्‍वरको घरका विभिन्‍न कामका प्रबन्धहरू।) यस जिम्मेवारीको केन्द्रबिन्दु भनेको परमेश्‍वरको घरका विभिन्‍न कामका प्रबन्धहरू कसरी कार्यान्वयन गर्ने भन्‍ने हो—अगुवा र कामदारहरूका लागि यो नै सबैभन्दा महत्त्वपूर्ण काम हो। कुनै व्यक्ति जुनसुकै तहको अगुवा वा कामदार भए पनि, एक अगुवा वा कामदारको नाताले, उसले सधैँ कामका प्रबन्धहरू साथै कामका प्रबन्धहरूलाई कार्यान्वयन गर्ने विशिष्ट कामको सामना गर्नुपर्नेछ। विभिन्‍न कामका प्रबन्धहरू कार्यान्वयन गर्नु हरेक अगुवा र कामदारको कामसँग सान्दर्भिक हुन्छ, र यो निकै महत्त्वपूर्ण, निकै निर्दिष्ट, र निकै मूलभूत काम हो। यो कुरालाई ख्याल गर्दा, के सुरुमा कामका प्रबन्धहरू भनेका के हुन् भन्‍नेबारे निर्दिष्ट रूपमा सङ्गति गर्न जरुरी छैन र? (छ।) त्यसोभए, कामका प्रबन्धहरू भनेका के हुन् त? कामका प्रबन्धहरूका दायरा र परिभाषा के हुन्? कतिपय मानिसहरूले भन्छन्, “के कामका प्रबन्धहरूको दायराले मण्डलीको कामसम्बन्धी निश्चित कार्यहरू र विषयवस्तु मात्र समेट्दैन र? अनि के कामका प्रबन्धहरू यी कार्य र विषयवस्तुको प्रबन्ध गर्नु र तिनलाई जारी गर्नु मात्र होइनन् र?” यो व्याख्याबारे तिमीहरूलाई के लाग्छ? के त्यो सबै शब्द र धर्मसिद्धान्तहरू मात्र होइन र? (हजुर, हो नि।) अनि “शब्द र धर्मसिद्धान्तहरू” को अर्थ के हो? यसको अर्थ यो हो कि, यस व्याख्याको कुनै पनि शब्द गलत नसुनिए पनि, तैँले त्यो सुनेपछि पनि, त्यसलाई अझै बुझ्दैनस्; यस्तो लाग्छ मानौँ तँलाई यसबारे बिलकुलै व्याख्या गरिएको थिएन। पहिला लिखित वर्णनका रूपमा कामका प्रबन्धहरूको परिभाषा दिऊँ, ताकि मानिसहरूले कामका प्रबन्धहरू ठ्याक्कै के हुन् भनी बुझ्न र जान्‍नका निम्ति उनीहरूसँग एउटा आधारभूत अवधारणा हुन सकोस्। कामका प्रबन्धहरू कामको कुनै विशिष्ट विषयवस्तुका लागि परमेश्‍वरको घरले बनाएका निश्चित योजना र मागहरू हुन्; ती कुराहरू अगुवा र कामदारहरूद्वारा सञ्चार र कार्यान्वयन गरिन आवश्यक छ, र ती कामको कुनै विशिष्ट विषयवस्तुका लागि मण्डलीका सबै सदस्यहरूलाई जारी गरिएका माग, कार्य, र विधिहरू पनि हुन्—कामका प्रबन्धहरूको परिभाषा यही हो। अनि कामका प्रबन्धहरूले के-के विषयवस्तुहरू समेट्छन् त? यो “विषयवस्तुहरू” भन्‍ने संज्ञा सबैलाई थाहा छ, तर के यी विषयवस्तुहरूको दायराभित्रै केही निश्चित विषय समेटिएको हुनु पर्दैन र? (पर्छ।) तिमीहरूलाई कुन विषयका बारेमा थाहा छ? (त्यसमा सुसमाचारको काम छ, अनि चलचित्र निर्माणको काम छ।) ती दुइटा विषयवस्तुहरू भए। (त्यसमा मण्डली जीवनसम्बन्धी र मण्डलीका प्रशासनिक सङ्गठनहरू स्थापना गर्नेसम्बन्धी निश्चित मागहरू पनि छन्।) त्यसमा अरू के काम छ? (त्यसमा मण्डलीलाई पखाल्ने काम, साथै मण्डलीका व्यवस्थापन प्रणालीहरूसँग सम्बन्धित निश्चित काम छ।) कामका प्रबन्धहरूको विशिष्ट विषय यस प्रकार छन्: पहिलो विषयवस्तु, मण्डलीको प्रशासनिक काम। यो कामको सबैभन्दा ठूलो विषयवस्तु हो, र यदि प्रशासनिक काम राम्रोसँग गरिएन भने, मण्डलीको काम बिलकुलै हुनेछैन। दोस्रो विषयवस्तु, कर्मचारीसम्बन्धी काम। यो कामको एउटा ठूलो विषयवस्तु हो। तेस्रो विषयवस्तु, सुसमाचारको काम। यो पनि कामको एउटा ठूलो विषयवस्तु हो। चौथो विषयवस्तु, विभिन्‍न प्रकारका पेसागत कामहरू। यस कामको दायरा अलि ठूलो छ, र यसमा चलचित्र निर्माण, लेखन-पठनको काम, अनुवाद, सङ्गीत, भिडियो निर्माण, कला, आदि इत्यादि समावेश हुन्छन्। पाँचौँ विषयवस्तु, मण्डली जीवन। छैठौँ विषयवस्तु, सम्पत्ति व्यवस्थापनको काम। सातौँ विषयवस्तु, पखाल्ने काम। आठौँ विषयवस्तु, बाह्य मामलाहरू। नवौँ विषयवस्तु, मण्डलीको कल्याण। उदाहरणका लागि, मण्डलीले दाजुभाइ-दिदीबहिनीहरूका घरमा देखा पर्ने कठिनाइहरूलाई कसरी समाधान गर्छ, र मण्डलीले तिनका बारेमा के गर्छ, साथै कारागारमा रहेका दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्न जाने र तिनका परिवारलाई कसरी रेखदेख गर्नुपर्छ, आदि इत्यादि—यो सबै मण्डलीको कल्याण अन्तर्गत पर्छ। दसौँ विषयवस्तु, आपत्‌कालीन योजनाहरू। कहिलेकाहीँ, मण्डलीले केही आपत्‌कालीन उपायहरू जारी गर्नेछ। उदाहरणका लागि, जब महामारी देखा पर्‍यो, तब मण्डलीले सोहीबमोजिम आइसोलेसन प्रणाली अपनायो। यस्ता योजनाहरू सबै आपत्‌कालीन काम अन्तर्गत पर्छन्। कामका प्रबन्धहरूमा मूलतः यी दसवटा विषयवस्तुहरू समावेश हुन्छन्। अन्य कुनै पनि सानो विषयवस्तु वा विशेष परिस्‍थितिलाई यिनै दसवटाभित्र समावेश गरिन्छ—मूलतः मण्डलीको काममा यिनै दस ठूला विषयवस्तुहरू समावेश हुन्छन्। परमेश्‍वरको घरले जारी गरेका विभिन्‍न कामका प्रबन्धहरूको दायरा मूलतः यिनै हुन्, होइन त? (हो।) अब यी विषयवस्तुहरू पुष्टि भइसकेपछि, तिमीहरू सबैले अब परमेश्‍वरको घरका कामका प्रबन्धहरू अलिकति बुझ्नुपर्छ, र यी परमेश्‍वरको घरको कामका ठुला विषयवस्तु हुन् भनेर थाहा पाउनुपर्छ। अगुवा र कामदारहरूका जिम्मेवारीहरूका सम्बन्धमा परमेश्‍वरको घरले गर्ने मागहरूको दायरा यही नै हो। यसको आशय यो हो कि, एक अगुवा वा कामदारका रूपमा, तेरो कामको दायरा र तैँले पूरा गर्नैपर्ने जिम्मेवारीहरूलाई कामका प्रबन्धहरूमा समावेश गरिएका यी विषयवस्तुहरूबाट अलग राख्नै मिल्दैन—यी सबै विषयवस्तुहरू जरुरी छन्। कामका यी विषयवस्तुहरू बाहेक, तँलाई गर्न इच्छा लागेका कामहरूबाट, तैँले जे राम्रोसँग गर्न सक्छस्, त्यो थोरै भए पनि गर्, अनि परमेश्‍वरको घरले तेरो कर्तव्य निर्वाहबाट थप मागहरू गर्दैन। त्यसकारण, जब तैँले आफ्नो काम गरिरहेको हुन्छस्, तैँले कामका यी विषयवस्तुहरू कसरी गर्ने, परमेश्‍वरको घरको कामका प्रबन्धहरूले के माग गर्छन्, तैँले कुन विशिष्ट काम गर्नैपर्छ, त्यसलाई कसरी कार्यान्वयन गर्ने, त्यो राम्ररी कार्यान्वयन भइरहेको छ कि छैन, हालको प्रगति के छ, तैँले उक्त कामको अनुगमन गरेको छस् कि छैनस्, राम्रोसँग नगरिएको वा विचलन र त्रुटिहरू भएको कामको कुनै विषयवस्तु छ कि छैन, र त्यस काममा सहभागी हुने सबैले वास्तवमा काम गरिरहेका छन् कि छैनन् भनेर मनन गर्नुपर्छ—तैँले सधैँ यी कुराहरू मनन गरिरहनुपर्छ। अब तिमीहरूले कामका प्रबन्धहरूमा संलग्न कामका निश्चित विषयवस्तुहरू बुझिसकेपछि, के मैले यी प्रत्येक विषयवस्तुहरूको सरल व्याख्या गर्न जरुरी छ? अथवा सायद तिमीहरू यस्तो सोचिरहेका छौ: “हामी कामका यी विषयवस्तुहरूसँग धेरै वर्षदेखि सम्पर्कमा रहेका छौँ र हामीले ती सबै बुझ्छौँ; फेरि तिनको व्याख्या गर्नु आवश्यक छैन—बरु केही महत्त्वपूर्ण कुराबारे सङ्गति गर्नुहोस्। यो विषय त्यति महत्त्वपूर्ण छैन, हामीले यसबारे जाने पनि या नजाने पनि फरक पर्दैन, र हामी यसबारे सुन्‍न चाहँदैनौँ”? के यो विषयलाई थप व्याख्या गर्न जरुरी छ? (छ।) जरुरी छ भने, त्यसबारे सरल शब्दमा कुरा गरौँ न त। म केही यस्ता विषयवस्तुहरू चुन्‍नेछु, जुनसँग तिमीहरू तुलनात्मक रूपमा अपरिचित छौ, जुन त्यति निर्दिष्ट छैनन्, जुन अलि अमूर्त छन्, अनि तीबारे सङ्गति गर्नेछु।

अ. प्रशासनिक काम

पहिलो विषयवस्तु अर्थात् “प्रशासनिक काम” बारे सङ्गति गरेर सुरु गरौँ। प्रशासनिक काम तुलनात्मक रूपले अमूर्त हुन्छ र पर्याप्त रूपमा मूर्त हुँदैन, र धेरै मानिसहरूले त्यसलाई बुझ्दैनन्। विशेषगरी, छोटो समयदेखि मात्र परमेश्‍वरमा विश्‍वास गरेकाहरूलाई मण्डलीको गठन र त्यसको प्रशासनिक कामबारे खासै थाहा हुँदैन, र तिनीहरूलाई प्रशासन भनेको के हो भन्‍ने थाहा हुँदैन। यो प्रशासन परमेश्‍वरले जारी गर्नुभएका प्रशासनिक आदेशहरूसरह होइन। यस प्रशासनिक काममा मुख्यगरी मण्डलीहरू स्थापना गर्ने कामबारे परमेश्‍वरको घरका विशिष्ट सर्तहरू संलग्न हुन्छन्। अनि यी विशिष्ट सर्तहरूको विषयवस्तु के हुन्छ? तिनमा मण्डलीहरू कसरी विभाजित गरिन्छन्, प्रत्येक मण्डलीमा कति जना मानिसहरू छन्, मण्डलीहरूलाई कसरी नामकरण गरिन्छ, आदि समावेश हुन्छन्। कामका प्रबन्धहरूमा मण्डलीहरू तिनका प्राकृतिक भौगोलिक वातावरणअनुसार विभाजित हुनुपर्ने, अनि ३० देखि ५० जना मानिसहरू तुलनात्मक रूपमा एकअर्कासँग नजिक बस्नुलाई मण्डली भनेर वर्गीकृत गरिने भनेर तोकिएको छ। उदाहरणका लागि, मानौँ क्षेत्र “क” मा तीन-चार वटा गाउँहरू पर्छन्; यदि यी गाउँहरूमा ५० जना विश्‍वासीहरू छन् भने, तिनीहरूलाई मण्डली भनेर वर्गीकृत गर्न सकिन्छ। उनीहरूसँग भेला राख्ने आफ्नै समय र स्थान हुनेछ, उनीहरूसित मण्डली अगुवा र डिकनहरू हुनेछन्, साथै गर्नका लागि मण्डलीको निश्चित काम हुनेछ, र तिनीहरू सबैको व्यवस्थापन यस मण्डलीद्वारा सँगै गरिनेछ। मण्डलीहरूको विभाजन र मण्डलीहरूमा हुने सदस्यहरूको सङ्ख्याको सम्बन्धमा तोकिएको सर्त यही हो। साथसाथै, यो मण्डली एउटा निश्चित जिल्लाको जिम्मेवारी अन्तर्गत पर्नेछ, जुन त्यो कुन जिल्लामा अवस्थित छ भन्‍ने कुरामा भर पर्छ, अनि त्यस मण्डलीमा भएका विभिन्‍न कामहरूका लागि त्यो जिल्ला जिम्मेवार हुनेछ, जस्तै त्यहाँको मण्डली जीवन, अगुवा र डिकनहरू उपयुक्त छन् कि छैनन्, परमेश्‍वरका वचनका पुस्तकहरू वितरण गर्ने, विभिन्‍न कामका प्रबन्धहरू कार्यान्वयन गर्ने, र माथिका मागहरू सञ्चार गर्ने, आदि। कति वटा मण्डलीहरू मिलेर एउटा जिल्ला बन्छ, र कति वटा जिल्लाहरू मिलेर एउटा क्षेत्र बन्छ, साथै क्षेत्रहरू जिल्लाहरूका लागि जिम्मेवार हुने, र जिल्लाहरू मण्डलीहरूका लागि जिम्मेवार हुने, र ती प्रशासनिक इकाईहरू हुने जस्ता कुराहरूका लागि परमेश्‍वरको घरसित विशिष्ट कामका प्रबन्धहरू हुन्छन्। सरल भाषामा, यसलाई प्रशासनिक काम भनिन्छ, र यो अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दायराभित्रै पर्छ। त्यसोभए, अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू के-के हुन् त? उनीहरूले मण्डलीहरूलाई कामका प्रबन्धअनुसार तिनको प्राकृतिक भौगोलिक वातावरण र स्थानका आधारमा विभाजन गर्नुपर्छ। यदि कुनै मण्डलीका मानिसहरूको सङ्ख्या समयसँगै बढिरह्यो भने, फेरि पनि मण्डलीलाई मानिसहरूको सङ्ख्या र भौगोलिक वातावरणका आधारमा विभाजित गर्नुपर्छ। उदाहरणका लागि, यदि कुनै मण्डलीमा ५० जनाबाट बढेर ८० जना मानिसहरू भए भने, त्यसलाई दुइटा मण्डलीमा विभाजित गरिनुपर्छ; यदि यी दुइटा मण्डलीहरूमा जम्मा ८० जनाबाट बढेर १५० जना मानिसहरू भए भने, तिनलाई तीनवटा मण्डलीहरूमा विभाजित गरिनुपर्छ। यदि कुनै मण्डलीमा मानिसहरू बढेर ७०, ८०, वा १०० पुगे पनि त्यसलाई अझै दुइटा मण्डलीमा विभाजित गरिएको छैन भने, के त्यसले यस मण्डलीका अगुवा र कामदारहरूले परमेश्‍वरको घरको प्रशासनिक काम बुझ्दैनन् भन्‍ने देखाउँदैन र? (देखाउँछ।) यस्ता समयमा, अगुवा र कामदारहरूले यस विषयसँग सम्बन्धित कामका प्रबन्धहरू पढ्नुपर्छ—कामका प्रबन्धहरूबारे मण्डलीको निर्देशिकामा विशिष्ट सर्तहरू समावेश हुन्छन्। यदि कुनै मण्डलीलाई दुई नयाँ मण्डलीहरूमा विभाजित गरियो भने, प्रत्येक मण्डलीले मण्डली अगुवाहरू, डिकनहरू, आदि जस्ता आवश्यक अगुवा र कामदारहरू चयन गर्नैपर्छ। त्यसोभए, अगुवा र कामदारहरूले के गर्नुपर्छ त? उनीहरूले मण्डलीमा भएका मानिसहरूको सङ्ख्या र मण्डलीको स्थापनाको स्थिति जान्‍नुपर्छ र बोध गर्नुपर्छ। यो नै मण्डलीको प्रशासनिक काम हो, र यो नै कामको सबैभन्दा ठूलो विषयवस्तु हो। जहाँ परमेश्‍वरका चुनिएका मानिसहरू छन् त्यहाँ एउटा मण्डली हुनुपर्छ, अनि एक पटक मण्डली स्थापित भइसकेपछि, अगुवा र कामदारहरूले त्यस मण्डलीको कामको हरेक पक्षको जिम्मेवारी लिनैपर्छ, जस्तै परमेश्‍वरका वचनका पुस्तकहरू वितरण गर्ने, मण्डली सदस्यहरूको व्यवस्थापन गर्ने, कामका प्रबन्धहरू कार्यान्वयन गर्ने ताकि उनीहरूलाई कामका प्रबन्धहरूका विषयहरू के-के हुन् भनेर थाहा होस्। प्रशासनिक काममा मुख्यगरी मण्डलीहरू स्थापना गर्ने, साथै मण्डलीहरूका प्रशासनिक सङ्गठनहरू र कर्मचारीहरू स्थापना गर्ने कुराहरू संलग्न हुन्छन्—यी सबै प्रशासनिक काम भित्रकै विशिष्ट कामहरू हुन्। कस्ता मानिसहरूले सामान्यतया कामको यो विषयवस्तुको बढी सामना गर्छन्? नयाँ विश्‍वासी मण्डलीहरू, सुसमाचार समूहहरू, साथै क्षेत्रीय अगुवाहरू, जिल्ला अगुवाहरू, र सुसमाचार फैलाइँदै गरिएका क्षेत्रहरूका मण्डली अगुवाहरू, सबैले यो कामको बढी सामना गर्छन्। त्यसका साथै, प्रशासनिक काममा एउटा विशेष काम पनि समावेश हुन्छ, जुन मण्डलीहरूलाई पूर्णकालीन कर्तव्य मण्डली, अल्पकालीन कर्तव्य मण्डली, साधारण मण्डली, र समूह “ख” हरूमा छुट्टयाउनु हो, र यो अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने अर्को कार्य हो। अगुवा र कामदारहरूमा मण्डलीहरूलाई कसरी विभाजन गर्नेबारे बोध हुनुपर्छ, र मण्डलीहरूलाई विभाजन गर्ने सिद्धान्त भनेको मानिसहरूलाई उनीहरूले पूरा गर्ने कर्तव्यहरूमा भएका भिन्‍नताका आधारमा फरक-फरक मण्डलीहरूमा विभाजन गर्ने, कर्तव्य पूरा गर्ने मानिसहरूलाई पूरा नगर्ने मानिसहरूबाट छुट्टयाउने, र पूर्णकालीन रूपमा कर्तव्य पूरा गर्ने मानिसहरूलाई अल्पकालीन रूपमा कर्तव्य पूरा गर्नेहरूबाट छुट्टयाउने हो—यो अर्को विशेष र विशिष्ट प्रशासनिक काम हो।

आ. कर्मचारीसम्बन्धी काम

दोस्रो विषयवस्तु, कर्मचारीसम्बन्धी काम। यो विषयवस्तु सबै तहका अगुवा र कामदारहरूको चयन, नियुक्ति, र बर्खासीसँग सम्बन्धित छ। कामका प्रबन्धहरूले निर्वाचन प्रणालीहरूका लागि, कस्ता प्रकारका मानिसहरूलाई अगुवा र कामदारहरूका रूपमा चयन गर्ने भन्‍नका लागि विशिष्ट सर्तहरू, साथै निर्वाचनका विधि र विशिष्ट मागहरू प्रदान गर्छन्। केही विशेष परिस्थितिहरू पनि हुन्छन्, उदाहरणका लागि, दाजुभाइ-दिदीबहिनीहरू एकअर्कासँग भर्खरै मात्र भेटेका छन् र एकअर्कालाई त्यति राम्रोसँग चिन्दैनन्, अनि निर्वाचनमार्फत उचित अगुवा र कामदारहरू चयन गर्न सक्दैनन् भने के गरिनुपर्छ? त्यस अवस्थामा, मानिसहरूको पदोन्‍नति र नियुक्ति गर्न सकिन्छ, अगुवा हुनका लागि तुलनात्मक रूपमा को चाहिँ उपयुक्त छ भनेर जाँच्नुपर्छ, र त्यसपछि तिनीहरूबारे थप जान्‍नुपर्छ, सङ्गति गर्नुपर्छ, र सरल जाँचहरू गर्नुपर्छ, त्यसपछि उनीहरूलाई नियुक्त गर्न सकिन्छ। यसका साथै, जब माथिले कुनै ठूलो परियोजनाको प्रबन्ध गर्छन् वा कैयौँ मानिसहरूलाई सुपरिवेक्षकका रूपमा नियुक्त गर्छन्, यो एउटा विशेष कामको प्रबन्ध हो। अर्को विशेष परिस्थिति छ, र त्यो के हो भने, जब कसैले फलानो अगुवाले वास्तविक काम गर्दैन र ऊ ख्रीष्टविरोधीको मार्गमा हिँड्छ भनी वर्णन गर्दै माथिलाई रिपोर्ट लेख्छ, अनि माथिले यो कुरा पुष्टि गरेपछि रिपोर्ट गरिएको अगुवालाई उसको पदबाट बर्खास्त गर्ने कामको प्रबन्ध जारी गर्छन्। यो कर्मचारीसम्बन्धी कामसँग सम्बन्धित अर्को कामको प्रबन्ध हो। छोटकरीमा, कर्मचारीसम्बन्धी काममा मण्डलीका सबै तहका अगुवा र कामदारहरूको चयन, नियुक्ति, र बर्खासी समावेश हुन्छन्। यो कामको विषयवस्तु तुलनात्मक रूपमा सरल छ, र यो बुझ्न सजिलो छ।

इ. सुसमाचारको काम

तेस्रो विषयवस्तु, सुसमाचारको काम। परमेश्‍वरको घरमा प्रशासनिक काम र कर्मचारीसम्बन्धी काम पछिको ठूलो विशिष्ट पेसागत काम नै सुसमाचारको काम हो। परमेश्‍वरको घरले सुसमाचार स्विकार्ने सम्भावना भएकाहरू, सुसमाचार प्रचार गर्ने भौगोलिक दायरा, र सुसमाचार प्रचार गर्नुपर्ने उपाय र माध्यमहरूका सम्बन्धमा निश्चित कामका प्रबन्धहरू गर्दै यो कामको विषयवस्तुका लागि एकपछि अर्को धेरै कामका प्रबन्धहरू गरेको छ। सँगसँगै, परमेश्‍वरको घरसँग परमेश्‍वरका वचनका सबै विभिन्‍न पुस्तकहरू, चलचित्र र भिडियोहरू, साथै सुसमाचार प्रचारका लागि आवश्यक विविध कार्यक्रमहरूसम्बन्धी कामका प्रबन्धहरूमा पनि विशेष भनाइहरू छन्, र विविध प्रकारका आम धारणाहरू र सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूकाले बारम्बार सोध्ने प्रश्नहरूका सम्बन्धमा समेत भनाइहरू रहेका छन्। कतिपय भनाइहरू विशेष रूपमा लेखनमा प्रस्तुत नगरिएका हुन सक्छन्, तर मौखिक र वाचिक सङ्गतिमा तीमध्ये धेरैजसो हुन्छन्। सुसमाचारको काम सधैँ अघि बढिरहेको र जारी रहिरहेको हुन्छ, र यो काम अघि बढ्दै जाँदा, परमेश्‍वरको घरले निरन्तर उत्पन्‍न हुने र निरन्तर सामना गरिने समस्याहरूका सम्बन्धमा निश्चित कामका प्रबन्धहरू र सर्तहरू सिर्जना गरेको छ, साथै त्यसले सुसमाचारसम्बन्धी कामदारहरू, सुसमाचार डिकनहरू, र सुसमाचारको कामका सुपरिवेक्षकहरूलाई निश्चित विशिष्ट मागहरू र कार्यहरू पनि जारी गरेको छ। यो पछिल्लो चरणमा परमेश्‍वरको घरले सुसमाचारको कामका प्रबन्धहरूबारे धेरै कुरा नभने पनि, सत्यताको यस पक्षबारे मण्डलीमा बारम्बार सङ्गति गरिन्छ। विशेषगरी, सुसमाचार विदेशमा फैलिन थालेपछि, परमेश्‍वरको घरले विभिन्‍न भाषाहरूमा अनुवादको कामका निश्चित कामका प्रबन्धहरू गरेको छ। विभिन्‍न विदेशी भाषाहरूसँग परिचित अनुवादक र सुसमाचारसम्बन्धी कामदारहरूले यस प्रकारको काममा सहकार्य गर्न आफूले सक्दो सबै गर्छन्, र परमेश्‍वरको घरले सुसमाचारको काममा सहकार्य गर्न यस प्रकारका धेरै मानव संसाधनहरू लगानी गरेको छ, र यो परमेश्‍वरको घरका कामका प्रबन्धहरू अनुरूप छ। छोटकरीमा, माथिले सधैँ सुसमाचार फैलाउने कामलाई व्यक्तिगत रूपमा मार्गदर्शन, सोधपुछ, अनुगमन र रेखदेख गरिरहेका हुन्छन्। त्यसोभए, यो कामको कुरा आउँदा, अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू के-के हुन्? सुसमाचारको कामका लागि सुपरिवेक्षक हुनुको अर्थ अगुवा र कामदारहरू पूर्ण रूपमा बेफिक्र हुन सक्छन्, उनीहरूले कामलाई ध्यानै नदिन, त्यसबारे सोधपुछ नगर्न, र “काम जसरी अगाडि बढ्छ बढ्न देऊ। जे भए पनि, त्योसँग मेरो कुनै सम्बन्ध छैन। म मण्डली जीवन र विभिन्‍न प्रकारका पेसागत कामहरूका लागि जिम्मेवार छु। सुसमाचारको काममा समस्याहरू छन् भने त्यो मेरो चासोको कुरा होइन।” भनी सोच्दै त्यसलाई बेवास्ता मात्र गर्न सक्छन् भन्‍ने होइन। के यो ठीक हो त? (होइन।) यो त आफ्नो जिम्मेवारीबाट विमुख हुनु हो। परमेश्‍वरको घरका सबै काममध्ये, अगुवा र कामदारहरूले ध्यान दिनुपर्ने सबैभन्दा महत्त्वपूर्ण काम भनेको सुसमाचारको काम हो। तँ यस कामका लागि सिधै जिम्मेवार नबनाइएको हुन सक्छस्, तर तैँले त्यो कति अघि बढिरहेको छ र त्यसको प्रगतिको अवस्था कस्तो छ भन्‍नेबारे सोधपुछ गर्नैपर्छ—तैँले यी कुराहरूको अनुगमन गर्न, तिनका बारेमा जान्‍न, र तिनलाई बोध गर्न जरुरी छ। विशेषगरी सुसमाचार समूहहरूका सुसमाचार प्रचारक र मलजल गर्ने व्यक्तिहरू, साथै सुसमाचारको कामका सुपरिवेक्षकहरूका जस्ता केही महत्त्वपूर्ण कर्मचारीहरूका सम्बन्धमा, तैँले उनीहरूका परिस्थितिहरू समयमै बुझ्नैपर्छ, र यदि यी कर्मचारीहरूमा समस्याहरू उत्पन्‍न भएमा, तैँले तिनलाई तुरुन्तै समाधान गर्नैपर्छ—यो काम सुम्पिइएपछि तैँले त्यसबाट हात झिक्नु हुँदैन। त्यसमाथि, तैँले सुसमाचार फैलाउने काममा संलग्न सबै सुसमाचार प्रचारकहरूलाई नियमित रूपमा निरीक्षण गर्ने र निर्देशन दिने गर्नैपर्छ, जसमा मण्डलीहरूमा रहेका र पहिलो पङ्क्तिका अनलाइन सुसमाचार प्रचारकहरू, साथै प्रत्येक समूहका मलजल गर्ने व्यक्तिहरू पनि समावेश हुन्छन्। परमेश्‍वरको घरका कामका प्रबन्धहरूले सारा सुसमाचार प्रचारक र मलजल गर्ने व्यक्तिहरूले विशेष प्रशिक्षण लिनैपर्ने कुरा धेरै अघिदेखि नै माग गरेको छ। विशेष प्रशिक्षणको अर्थ के हो? यसको अर्थ सुसमाचार प्रचारकहरू र मलजल गर्ने व्यक्तिहरूमा दर्शनसम्बन्धी सत्यताहरूबारे प्रस्ट बुझाइ छ र उनीहरूले यी कुराहरू प्रस्ट रूपमा व्याख्या गर्न सक्छन् भनी सुनिश्चित गरिनुपर्छ भन्‍ने हो। यदि उनीहरू पूर्णतया प्रस्ट नभएका दर्शनहरूसम्बन्धी सत्यताहरूको कुनै पक्ष छ भने, त्यसबारे बारम्बार सङ्गति दिइनैपर्छ, अनि सुसमाचार प्रचारक र मलजल गर्ने व्यक्तिहरूको बुझाइ जति विस्तृत भयो, त्यति नै राम्रो हुन्छ। यसका लागि परमेश्‍वरको घरसित कामका प्रबन्धहरू हुन्छन्, होइन र? (हो।) सुसमाचार फैलाउने काम एउटा विशिष्ट र जटिल काम हो जसमा धेरै फरकफरक कार्यहरू समावेश हुन्छन्। हरेक कार्य राम्रोसँग गरिएको र नजिकबाट अनुगमन गरिएको सुनिश्चित गरिनुपर्छ; यो परमेश्‍वरको आज्ञा हो। हरेक कार्य राम्ररी पूरा गरिनुपर्छ, र हरेक कार्यका नतिजाहरू निरन्तर सुधार हुने सुनिश्चित गरिनुपर्छ—यो मात्र परमेश्‍वरका अभिप्रायहरूसँग मेल खान्छ। चलचित्र निर्माण, लेखन-पठनको काम, सङ्गीत, कला, र अनुवादजस्ता अरू सबै प्रकारका व्यावसायिक कामहरू सुसमाचारको कामलाई सहयोग र टेवा दिनका लागि अस्तित्वमा रहन्छन्, र सुसमाचारको काम सबैभन्दा अग्रपङ्क्तिको काम हो। त्यसकारण, विभिन्‍न कर्तव्यहरू पूरा गर्ने व्यक्तिहरूले आफ्नो काम राम्ररी गर्नैपर्छ र परमेश्‍वरले माग गर्नुभएका नतिजाहरू हासिल गर्नैपर्छ। यसरी, तिनीहरू सुसमाचार फैलाउने कामका भागीदार हुनेछन्। किनभने अन्य सबै प्रकारका यी व्यावसायिक कामहरू सुसमाचार फैलाउने कामलाई साथ दिन अस्तित्वमा हुन्छन्, र यो सबै काम सुसमाचार फैलाउने काममा केन्द्रित हुनैपर्छ र तिनले सुसमाचार फैलाउने काममा अटुट आपूर्ति प्रदान गर्नैपर्छ। आज, सुसमाचार प्रचार गर्नका लागि आवश्यक पर्ने सबै सामग्री, चलचित्र, र विभिन्‍न भिडियोहरू पर्दापछाडि रहेका परमेश्‍वरका चुनिएका धेरै मानिसहरूको प्रयासद्वारा निर्मित गरिन्छन्। यी मानिसहरूले पर्दापछाडि गर्ने सबै कुराले सुसमाचार फैलाउने कामको लागि शक्तिशाली साथ प्रदान गर्छन्। विगतमा, परमेश्‍वरको घरसँग चलचित्रसम्बन्धी फरकफरक प्रकारका कामहरू हुँदैनथे, त्यससँग धेरै गीतहरू हुँदैनथे, न त त्यससँग ठूलो सङ्ख्यामा अनुभवात्मक गवाही भिडियोहरू नै हुन्थे। त्यो केवल सुसमाचारसम्बन्धी कामदारहरूले निरन्तर सङ्गति प्रदान गर्ने कार्यमा मात्र भर पर्थ्यो। सुसमाचारसम्बन्धी कामदारहरूले मुख सुकुञ्जेल कुरा गर्थे, र तिनीहरूले कुनै उल्लेखनीय नतिजाहरू देख्ने निश्चित थिएन, र कुनै एउटा व्यक्ति प्राप्त गर्न गाह्रो हुन्थ्यो। मण्डलीले हर प्रकारका भिडियोहरू निर्माण गरेपछि, सुसमाचार समूहहरूको काम तुलनात्मक रूपमा हल्का, र पहिलेभन्दा धेरै सहज बन्यो, साथै कामको दक्षता बढ्यो। कतिपय मानिसहरू सोचमा जिद्दी र रूढिवादी हुन्छन्, अनि तैँले तिनीहरूलाई सुसमाचार प्रचार गर्दा, तैँले सत्यताबारे चाहे जसरी सङ्गति गरे पनि, त्यो काम लाग्दैन, र तिनीहरूले आफ्ना धारणाहरू कायम राख्छन् र सत्यतालाई स्विकार्न मान्दैनन्—त्यसपछि तैँले के गर्छस्? तैँले तिनीहरूलाई सुसमाचारसम्बन्धी एक-दुई वटा गवाही चलचित्रहरू हेर्न लगाउँछस्, अनि तिनीहरूका धारणाहरूमा रूपान्तरण आउँछ, र साँचो मार्गबारे तिनीहरूलाई राम्रो महसुस हुन थाल्छ। जब तिनीहरू फेरि खोजी गर्न आउँछन्, तिनीहरूका हृदयमा उप्रान्त कुनै ठूला तगारो वा अड्चनहरू हुँदैनन्, अनि तैँले फेरि तिनीहरूसँग सत्यताबारे सङ्गति गर्दा, तिनीहरूले त्यसलाई सजिलै स्विकार्न सक्छन्। त्यही कारणले तैँले सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूलाई परमेश्‍वरको घरले निर्माण गरेका चलचित्रहरू देखाउँदा, वा परमेश्‍वरका वचनहरू पढेर सुनाउँदा, वा अनुभवात्मक गवाही भिडियोहरू देखाउँदा नतिजाहरू साँच्चिकै प्रस्ट हुन्छन्—यसो गर्नु तैँले तिनीहरूलाई जतिसुकै वचनहरू भन्‍नुभन्दा बढी प्रभावकारी हुन्छ। साँचो मार्गको खोजी र अनुसन्धान चाहे जसले गरिरहेको भए पनि, सुरुमा उसलाई केही चलचित्रहरू हेर्न लगा, र त्यसपछि परमेश्‍वरका वचनहरू अझ बढी पढ्न लगा, र यसरी तिनीहरूका लागि मार्ग प्रशस्त गर्। यसपछि, तिनीहरूका धारणाहरू समाधान गर्न तिनीहरूसँग सत्यताबारे सङ्गति गर्। यसले कामकुराहरूलाई अझ धेरै सहज बनाउँछ। अचेल, साँचो मार्गको अनुसन्धान गरिरहेकाहरूले परमेश्‍वरको घरद्वारा निर्मित धेरै चलचित्र र गवाही भिडियोहरू इन्टरनेटमा हेरिसकेका हुन्छन्, र विशेषगरी, तिनीहरूले परमेश्‍वरका धेरै वचनहरू पढिसकेका हुन्छन्; खोजी र अनुसन्धान गर्न आउनुअघि नै तिनीहरूमा साँचो मार्गबारे राम्रो भावना हुन्छ, र तिनीहरूले मूलतः त्यो नै साँचो मार्ग हो भनेर चिनिसकेका हुन्छन्। के तिमीहरूले यसमा केही कुरा पत्ता लगाएका छौ? परमेश्‍वरको घरले निर्माण गर्ने यी चलचित्रहरू, परमेश्‍वरका वचन वाचन गरिने यी भिडियोहरू, यी अनुभवात्मक गवाही भिडियोहरू, भजनका भिडियोहरू, आदि परमेश्‍वरको गवाही दिनका लागि अत्यन्तै प्रभावकारी हुन्छन्! सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूसँग सङ्गति र बहस गरेर त्यति धेरै सास खेर फाल्नु आवश्यक नै छैन; यी भिडियोहरू हेरिसकेपछि, तिनीहरू साँचो मार्ग स्विकार्न सक्षम हुन्छन्। यसले सुसमाचार प्रचार गर्नेहरूको धेरै समय जोगाउँछ र यसले सुसमाचार प्रचारका लागि सबै सहायक-सहयोग अत्यन्तै शक्तिशाली छ भन्‍ने देखाउँछ! सुसमाचार प्रचार गर्नका लागि विभिन्‍न प्रकारका स्रोतहरू निकै प्रशस्त छन्! सुसमाचार स्विकार्ने सम्भावना भएका धेरै जना अनलाइनमा गएर परमेश्‍वरको कामको अनुसन्धान गर्दा चकित हुन्छन्, किनभने परमेश्‍वरको घरको वेबसाइटमा अत्यन्तै धेरै कुरा हुन्छन् र प्रचुर सामग्री हुन्छ! परमेश्‍वरका वचनहरू प्रचुर छन्, सबै प्रकारका चलचित्र र भिडियोहरू प्रचुर मात्रामा छन्, साथै अनुभवात्मक गवाहीहरूको कुरा आउँदा, ती प्रचुर छन् र त्यसमा तँलाई चाहिने सबथोक छन्। यो साँच्चिकै पवित्र आत्माको काम र मार्गदर्शनको नतिजा हो! यो साँच्चिकै सबै परमेश्‍वरको कामबाट आएको हो। ठूलो रातो अजिङ्गर र धार्मिक संसारले चाहे जसरी निराधार अफवाहहरू फैलाए पनि र त्यसलाई कलङ्कित गरे पनि, त्यो व्यर्थ हुन्छ। जे भए पनि, परमेश्‍वरको घरका सबै कामले हासिल गरेका नतिजाहरू र प्राप्त गरेका फलहरू सबैले प्रस्ट रूपमा देख्न सक्छन्, र ती परमेश्‍वरका वचनहरूद्वारा हासिल गरिएका तथ्यहरू हुन्।

राज्यको सुसमाचार फैलाउने काममा, परमेश्‍वरको घरका सबै कामहरू अत्यन्तै विधिवत तरिकाले मिलाइएका हुन्छन् र ती सुव्यवस्थित रूपमा अघि बढ्छन्। सुसमाचार फैलाउने काम महत्त्वपूर्ण, दीर्घकालीन, र कठिन काम हो। त्यसकारण, सुसमाचारको काम लिने व्यक्तिहरू, चाहे तिनीहरू सुपरभाइजर होऊन् वा सुसमाचारसम्बन्धी साधारण कामदारहरू होऊन्, तिनीहरूले आफ्‍नो हृदयमा यो कामको महत्त्व पुष्टि गर्नुपर्छ। तिमीहरूले सुसमाचारको अग्रपङ्क्तिमा रहेर काम गरिरहेका र आफ्‍नो कर्तव्य पूरा गरिरहेका भए पनि, तिमीहरूको पछाडि, अर्थात्, पर्दापछाडि धेरै दाजुभाइ-दिदीबहिनीहरूले विभिन्‍न किसिमका सहायक काम गरिरहेका हुन्छन्, र तिनीहरू सुसमाचार फैलाउने काममा साथ दिने शक्ति हुन्। मैले यसो भन्‍नुको तात्पर्य के हो? परमेश्‍वरको घरका सबै काम सुसमाचार फैलाउने कार्यमा केन्द्रित हुन्छ, र परमेश्‍वरका चुनिएका सबै मानिसहरूले निर्वाह गर्ने कर्तव्य सुसमाचार फैलाउने सेवामा गरिएका हुन्छन्। कर्तव्य पूरा गर्ने हरेक दाजुभाइ-दिदीबहिनी सुसमाचारको कामका भागीदार हुन्छन्, र हरेक काम निकटतम र घनिष्ठ रूपमा सुसमाचारको कामसँग सम्बन्धित हुन्छ। छोटकरीमा, सुसमाचारको कामलगायत हरेक काम परमेश्‍वरको कामको गवाही दिनका लागि राम्रोसँग पूरा गरिनुपर्ने कर्तव्य हो, जुनसुकै काम पनि सबैभन्दा महत्त्वपूर्ण कामसित, अर्थात् परमेश्‍वरबारे गवाही दिनुसित निकट रूपमा सम्बन्धित हुन्छ। यो पूर्णतया सही हो। त्यसकारण, परमेश्‍वरको घरले सुसमाचार प्रचार गर्ने कामलाई सबै कामको सूचीको शीर्षस्थानमा राख्छ, र त्यो परमेश्‍वरको घरका सारा विभिन्‍न कामहरूमध्ये पहिलो नम्बरमा आउँछ—यो पूर्णतया उचित हो। यो एउटा ठूलो, कठिन र दीर्घकालीन काम हो, साथै परमेश्‍वरको चुनिएको हरेक व्यक्ति र परमेश्‍वरलाई पछ्याउने हरेक व्यक्तिमा यो काम राम्रोसँग गर्ने तयारी गर्नका लागि र यो लामो लडाइँ लड्नका लागि तागत, धैर्य, र पर्याप्त आस्था हुनैपर्छ। तँ १० वर्ष, २० वर्ष, वा ३० वर्षसम्मै डटिरहे पनि, तँ सधैँ परमेश्‍वरप्रति बफादार हुनैपर्छ, तैँले आफ्नो जीवन र जीवनकाल सुसमाचार प्रचार गर्ने काममा अर्पण गर्नैपर्छ, र तँ अन्त्यसम्म परमेश्‍वरप्रति बफादार हुनैपर्छ। यो परमेश्‍वरलाई पछ्याउने हरेक व्यक्तिले कर्तव्यबद्ध भएर वहन गर्नैपर्ने महत्त्वपूर्ण जिम्मेवारी हो, यो सबैको कर्तव्य हो, र परमेश्‍वरले सबैलाई सुम्पनुहुने आज्ञा पनि यही हो।

मेरो यो सङ्गतिमार्फत, के तिमीहरू सबैले हृदयमा जोस पाएका छौ, र के तिमीहरूले सुसमाचारको कामलाई महत्त्वपूर्ण मान्‍न थालेका छौ? कतिपय मानिसहरूले पहिले यसो भनेका छन्, “म कुनै प्राविधिक पेसाहरू बुझ्दिनँ, मलाई अभिनय गर्न आउँदैन र म कलाकार हुन सक्दिनँ, शब्दहरू प्रयोग गर्ने कुरामा मेरो कुनै बलियो जग छैन, त्यसैले मलाई लेखहरू लेख्न आउँदैन, म सङ्गीत बुझ्दिनँ र मलाई कलाका बारेमा त झनै कम थाहा छ। म कुनै पनि कुरामा राम्रो नभएकाले मलाई सुसमाचार समूहमा खटाइएको थियो। के सुसमाचार समूहहरू परमेश्‍वरको घरको भुलिएका पछिल्लो पङ्क्ति सरह होइनन् र? अनि मलाई भुलिएको पछिल्लो पङ्क्तिमा पठाइएकाले, के मैले अझै पनि मुक्ति प्राप्त गर्ने कुनै आशा रहन्छ?” कुरा यही हो त? यदि तँ यो परिस्थितिलाई साँच्चिकै त्यसरी नै बुझ्छस् भने, तैँले परमेश्‍वरलाई गलत बुझेको छस्: सुसमाचार प्रचार गर्नु हरेक व्यक्तिको अपरिहार्य जिम्मेवारी हो। यदि तँ केही कुरामा पनि कुशल छैनस् र कुनै प्राविधिक पेसा बुझ्दैनस्, र तैँले गर्न सक्ने भनेकै सुसमाचार प्रचार गर्नु मात्र हो भने, तँलाई सुसमाचार समूहमा कर्तव्य पूरा गर्ने प्रबन्ध गरिनेछ। यो तेरो अन्तिम मौका हो, र यो तँलाई एउटा सामानको टुक्राका रूपमा खेर नफालियोस्, र यथासम्भव प्रयोग गर्न सकियोस् भन्‍ने सुनिश्चित गर्नका लागि गरिन्छ, ताकि तैँले मानवका रूपमा आफ्नो कार्यलाई अधिकतम हदसम्म निर्वाह गर्न सक्। तँ केही कुरामा पनि कुशल छैनस् र तँ आफूले गर्ने हरेक कुरामा मन्द-बुद्धिको छस्, तर तैँले सुसमाचार प्रचार गर्ने कर्तव्य राम्रोसँग पूरा गर्न सक्छस्, र तँलाई सुसमाचार स्विकार्नेहरू खोज्न भनिए पनि, तैँले यो काम व्यावहारिक तरिकाले गर्न सक्छस्, र आफूले भेट्टाएका सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूलाई सुसमाचार प्रचारकहरूकहाँ पठाउन सक्छस्। साथसाथै, तैँले बिस्तारै परमेश्‍वरका वचनहरू, परमेश्‍वरको काम, र परमेश्‍वरका अभिप्रायहरूबारे कसरी प्रचार गर्ने भनेर सिक्न, अनि मानिसहरूलाई परमेश्‍वरसामु ल्याउन सक्छस्। के यो तेरो कर्तव्य होइन र? अन्य मानिसहरूले लेखन-पठनको काम, चलचित्र निर्माणको काम, र अन्य प्रकारका कामहरूमा संलग्न भएर केही नतिजाहरू निकाल्छन्, तर तँलाई यी कुराहरू गर्न आउँदैन, र तँमा कुनै विशेष प्रतिभा वा वरदान छैन, तैपनि तँ आफ्नो शक्तिलाई सुसमाचारको काममा अर्पण गर्छस्, तँ आफ्नो सर्वस्व लगाएर आफ्नो कर्तव्य पूरा गर्छस्, र तँ परमेश्‍वरले दिनुभएको आज्ञा वहन गर्छस्, के यी असल कार्यहरू होइनन् र? यी पनि असल कार्यहरू नै हुन्, र परमेश्‍वरले तिनलाई याद गर्नुहुनेछ। यसले यी वचनहरू पूरा गर्छ: मानिसहरूले पूरा गर्ने कर्तव्यहरूमा महानता वा तुच्छताका कुनै भिन्‍नताहरू हुँदैनन्; महत्त्वपूर्ण कुरा त केवल तँ आफ्नो कर्तव्यमा बफादार छस् कि छैनस् र तँ त्यसलाई मानक अनुरूपको तरिकाले गर्छस् कि गर्दैनस् भन्‍ने हो। परमेश्‍वरले सबैलाई निष्पक्ष र समान रूपमा व्यवहार गर्नुहुन्छ; तैँले केही पनि गर्न नसक्ने भएकाले, तँलाई सुसमाचार प्रचार गर्न भनिन्छ—यो तैँले अरू कुनै कर्तव्य लिन नसक्ने परिस्थितिमा तँलाई तेरो अन्तिम सम्भावित कार्य गर्न सक्षम बनाउनका लागि गरिन्छ। यसमार्फत, तँलाई एउटा अवसर र आशाको किरण दिइएको हो; तँलाई आफ्नो कर्तव्य पूरा गर्ने अधिकारबाट वञ्चित गरिएको होइन। परमेश्‍वरसित अझै पनि तेरा लागि एउटा आज्ञा छ र उहाँ तँविरुद्ध पक्षपाती हुनुहुन्‍न। त्यसकारण, सुसमाचार समूहहरूमा खटाइनेहरूलाई भुलिएको पछिल्लो पङ्क्तिमा पठाइएको होइन, न त तिनीहरूलाई त्यागिएको नै हो, बरु तिनीहरूले फरक ठाउँमा आफ्नो कर्तव्य पूरा गरिरहेका हुन्। सुसमाचारको कामका प्रबन्धहरूबारे सङ्गति गरेपछि, के अब तिमीहरूले त्यसलाई राम्रो मान्छौ र के अब तिमीहरूमा त्यसबारे कुनै गलतफहमी छैन? (हो।) के तिमीहरूले त्यसबारे दम्भी महसुस गर्नेछौ? मानिसहरूले चाहे जे कर्तव्य पूरा गरे पनि, उनीहरूप्रति परमेश्‍वरका मागहरू बदलिँदैनन्: परमेश्‍वर उनीहरूको बफादारी र निष्कपटता चाहनुहुन्छ। यदि तैँले “म अरूको ध्यानमा पर्न खोज्दिनँ, मलाई दम्भी महसुस हुनेछैन, म त परमेश्‍वरले जे गर्न भन्‍नुहुन्छ केवल त्यही गर्छु” भन्छस्, तर तँमा कुनै बफादारी छैन, कुनै निष्कपटता छैन भने, त्यसले काम गर्नेछैन। तैँले सुसमाचारको कामलाई चाहे जसरी बुझे पनि, जे भए पनि, यदि तँसँग बफादारी र निष्कपटता हुन पुग्यो भने, तेरो कर्तव्य निर्वाह मानक अनुरूपको हुनेछ। तैँले सुसमाचार प्रचार गर्ने कर्तव्यलाई चाहे जति राम्रो माने पनि वा त्यसप्रति तेरो मनोवृत्ति चाहे जति सकारात्मक भए पनि, यदि तैँले कष्ट सहन सक्दैनस्, र तँमा कुनै तागत र कुनै बफादारी छैन भने, त्यसले पनि काम गर्नेछैन। त्यसकारण, तँलाई चाहे जहाँ राखिए पनि, तँ जुनसुकै समय वा स्थानमा भए पनि, तँ जस्तोसुकै मानिसहरूको सम्पर्कमा आए पनि र तैँले चाहे जे-जस्तो कर्तव्य पूरा गरे पनि, त्यसले फरक पार्दैन। परमेश्‍वरले सधैँ तँलाई हेर्नुहुनेछ र तेरो हृदयको गहनतम भागको छानबिन गर्नुहुनेछ। यस्तो नसोच् कि तँ एउटा सुसमाचार समूहको सदस्य भएकाले परमेश्‍वरले तँलाई ध्यान दिनुहुन्‍न वा परमेश्‍वरले तँलाई देख्न सक्नुहुन्‍न, र त्यसकारण तैँले जे मन लाग्यो त्यही गर्न सक्छस्। अनि यदि तँलाई कुनै सुसमाचार समूहमा खटाइयो भने, तँसँग उप्रान्त मुक्ति प्राप्त गर्ने कुनै आशा हुनेछैन भनेर सोच्ने, त्यसपछि त्यसलाई नकारात्मक रूपमा हेर्ने नगर्। यी सोच्ने दुवै शैलीहरू गलत छन्। तँलाई चाहे जहाँ राखिए पनि वा तँलाई चाहे जे कर्तव्य पूरा गर्न प्रबन्ध गरिए पनि, तैँले त्यही नै गर्नुपर्छ, र तैँले त्यो काम लगनका साथ र जिम्मेवारीपूर्वक गर्नुपर्छ। परमेश्‍वरले तँबाट गर्नुहुने मागहरू परिवर्तन हुँदैनन्, र त्यसैले परमेश्‍वरका प्रबन्धहरूप्रति तेरो समर्पणता पनि परिवर्तन हुनु हुँदैन। सुसमाचारसम्बन्धी कामदारहरूको अवस्था अन्य कर्तव्यहरू पूरा गर्नेहरू सरह हुन्छ; कुनै व्यक्तिको मूल्य उसले गर्ने कर्तव्यद्वारा नभई, बरु उसले सत्यता पछ्याउँछ कि पछ्याउँदैन र ऊसँग सत्यता वास्तविकता छ कि छैन भन्‍ने कुराद्वारा मापन गरिन्छ। सुसमाचारको काम, यो ठूलो र विशिष्ट कामका सन्दर्भमा मैले सङ्गति गर्ने भनेको यति मात्र हो।

ई. विभिन्‍न प्रकारका पेसागत कामहरू

चौथो विषयवस्तु, विभिन्‍न प्रकारका पेसागत कामहरू। यसमा चलचित्र निर्माण, लेखन-पठनको काम, सङ्गीत, कला, अनुवाद, आदि समावेश हुन्छन्। कतिपय मानिसहरूले भन्छन्, “हामी पोसाक बनाउनेहरू पनि चलचित्र निर्माणमा संलग्न छौँ। के पोसाकहरू बनाउनुलाई एक प्रकारको काम मानिन्छ?” पोसाक बनाउनु चलचित्र निर्माण र सङ्गीतसम्बन्धी कामका प्रकारमै समावेश हुन्छ; यो एक प्रकारको सहायक काम हो, जसले यस्ता प्रकारका कामहरूसँग सहकार्य गर्छ। हरेक चरणमा, परमेश्‍वरको घरले यस्ता पेसागत कामका विशिष्ट आवश्यकताहरूका सम्बन्धमा विशिष्ट कामका प्रबन्धहरू गरेको हुन्छ। कतिलाई लेखनमार्फत सञ्चार गरिन्छ, र कतिपय चाहिँ भेलाहरूमा मौखिक रूपमा सङ्गतिमार्फत सञ्चार गरिन्छन्। तिनलाई चाहे जसरी सञ्चार गरिए पनि, अगुवा र कामदारहरूले तिनको जिम्मेवारी वहन गर्नुपर्छ, यस कामका लागि परमेश्‍वरको घरले जारी गरेका विशिष्ट मागहरूको अभिलेख राख्नुपर्छ र यी टिपोटहरूलाई व्यवस्थित गर्नुपर्छ, र त्यसपछि तीबारे ठोस सङ्गति गरेर तिनको विशिष्ट कार्यान्वयनमा संलग्न हुनुपर्छ। यो पनि एउटा ठूलो काम हो, र यो सुसमाचारको कामपछि आउने दोस्रो विशिष्ट काम हो। यो विशिष्ट कामका सन्दर्भमा भन्‍नुपर्दा, परमेश्‍वरको घरले विभिन्‍न पेसाहरूमा आबद्ध सबै कर्मचारीहरूबाट उनीहरूले निरन्तर आफ्ना कर्तव्यहरूसँग सम्बन्धित पेसागत ज्ञान अध्ययन गर्नुपर्ने, साथै परमेश्‍वरको घरको कामका लागि के-के कुराहरू उपयोगी छन् भनी किटान गर्नका लागि जानकारी खोज्नुपर्ने माग गर्छ। सँगसँगै, परमेश्‍वरको घरले निरन्तर सत्यता सिद्धान्तहरूबारे सङ्गति गरिरहेको र विभिन्‍न प्रकारका पेसागत कामका लागि ठोस योजनाहरू प्रदान गरिरहेको हुन्छ। कहिलेकाहीँ यस्ता प्रकारका कामहरूबारे सुपरिवेक्षक र समूहका सदस्यहरूलाई सँगै सङ्गति दिइन्छ, र कहिलेकाहीँ तिनका बारेमा उक्त कामका लागि जिम्मेवार अगुवा, कामदार, र सुपरिवेक्षकहरूलाई मात्र सङ्गति दिइन्छ। चाहे ती लेखनमार्फत सञ्चार र सङ्गति गरिएका होऊन् वा भेलाहरूमार्फत, जे भए पनि, यस्ता प्रकारका कामहरूलाई निरन्तर सुधार गरिन्छ र मानकअनुरूपको बनाइन्छ, साथै सुसमाचारको कामका खाँचोअनुसार निरन्तर विशिष्ट प्रबन्धहरू गरिन्छ। उदाहरणका लागि, मानौँ परमेश्‍वरको घरले तुलनात्मक रूपमा नयाँ विषयमा एउटा चलचित्र निर्माण गर्छ, र उक्त चलचित्र अत्यन्तै पेसागत तरिकाले छायाङ्कन गरिएको हुन्छ। उक्त चलचित्र अनलाइनमा अपलोड भएपछि, त्यसलाई धेरैले हेर्छन्। यस्तो परिस्थितिमा, परमेश्‍वरको घरले प्रतिक्रिया र सुसमाचारको कामका आवश्यकताहरूका आधारमा यस प्रकारको कामका लागि विशिष्ट मागहरू सृजना गर्छ। छोटकरीमा, यो कामको निरन्तर सारांशीकरण र सुधार भइरहेको हुन्छ, र यो निरन्तर बढिरहेको पनि हुन्छ।

विभिन्‍न प्रकारका पेसागत कामहरूका लागि परमेश्‍वरको घरका प्रबन्धहरूले मानिसहरूबाट उनीहरूले अझ बढी अध्ययन गर्नुपर्ने, साथै प्रशिक्षक र विभिन्‍न प्रकारका स्रोतसाधन र शैक्षिक सामग्रीहरू खोजेर तीबाट सिक्नुपर्ने माग गर्छन्। उदाहरणका लागि गायनलाई लिऊँ; सिक्नका लागि एउटा प्रशिक्षक खोज्नु र उनलाई स्वर प्रशिक्षण दिन लगाउनु पनि एउटा निश्चित कामको प्रबन्ध हो। यो प्रबन्ध सुनेपछि, अगुवा र कामदारहरूले माथिका मागहरूअनुसार यो काम गर्न उपयुक्त शिक्षक खोज्नुपर्छ र उनलाई हाम्रा गायकहरूलाई प्रशिक्षण दिन लगाउनुपर्छ, गायकहरूलाई सही स्वर सङ्गीतको ज्ञान अनि गाउने सही तरिका अध्ययन गर्न मदत गर्न लगाउनुपर्छ, र अवश्य नै, सिक्नका लागि पुराना कृतिहरू खोज्नैपर्छ। सङ्गीत रचना र कोरस गायनसम्बन्धी पेसागत ज्ञान सधैँ अध्ययन गरिनैपर्छ, र परमेश्‍वरको घरका कामका प्रबन्धहरूले सधैँ मानिसहरूबाट उनीहरूले निरन्तर आफ्ना कर्तव्यहरूसँग सम्बन्धित पेसागत ज्ञान अध्ययन गर्नुपर्ने, र निश्चित उन्‍नत र व्यावहारिक विधिहरू प्रयोग गर्न सिक्नुपर्ने, आदि माग गर्छन्। यी कामका प्रबन्धहरू र मागहरू केवल एक पटक जारी गरेर सकिने कुरा होइनन्, बरु अगुवा र कामदारहरूबाट उनीहरूले यी कामका प्रबन्धहरूबारे बारम्बार सङ्गति गर्नुपर्ने, पेसागत काममा संलग्न भएकाहरूलाई मार्गदर्शन गरेर तिनीहरूलाई अध्ययन जारी राख्न, र सबै प्रकारका पेसागत कामहरूलाई निरन्तर र प्रभावकारी रूपमा विकसित गर्न र गहन बनाउनका निम्ति लागिपर्न सक्षम बनाउनुपर्ने, र यथास्थितिमा बस्न नहुने माग गरिन्छ। कतिपय मानिसहरूले सोच्छन्, “कामका प्रबन्धहरू आज हामीलाई जारी गरिएका छन्, त्यसैले हामीले तिनलाई यही महिना मात्र अभ्यास गर्नुपर्छ र त्यसपछि मामला त्यतिमै सकिन्छ। यदि माथिले त्यसका बारेमा भविष्यमा केही पनि भनेनन् भने, सायद हामीले तिनलाई अभ्यास गरिरहन पर्दैन।” के कुरा साँच्चिकै यही हो त? (होइन।) अगुवा र कामदारहरूले यस तरिकाले बिलकुलै सोच्नु हुँदैन, बरु बारम्बार सोधपुछ गरिरहनुपर्छ र यस्तो सोध्नुपर्छ, “तिमीहरूको यो पेसाबारे अध्ययन कस्तो चलिरहेको छ? के तिमीहरूले कुनै कठिनाइहरू सामना गरिरहेका छौ? के त्यसमा सिद्धान्तहरूसँग बाझिने वा तिनका विरुद्धमा जाने केही कुरा छ? आफ्नो अध्ययनमा कसले सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको छ, को सबैभन्दा दक्ष छ, र कसले त्यो सबैभन्दा छिटो सिकेको छ? यी सिद्धान्तहरू अध्ययन गरेपछि, तिमीहरूलाई आफूले सिकेका कुराहरूमध्ये कुन-कुन चाहिँ परमेश्‍वरको घरको कामका लागि प्रयोग गर्न उपयुक्त लाग्छ?” यसमाथि, अगुवा र कामदारहरूले विदेशी भाषाहरू अध्ययन गरिरहेका सुसमाचार समूहका मानिसहरूलाई यस्ता प्रश्नहरू सोध्नैपर्छ, “तिमी कति वर्षदेखि यो विदेशी भाषा सिकिरहेका छौ? हालसालै तिम्रो पढाइ कस्तो चलिरहेको छ? तिमी कतिवटा दैनिक कुराकानीमा संलग्न हुन सक्छौ? के तिमी आम आत्मिक शब्दहरू अनुवाद गर्न सक्छौ? के तिमीले सुसमाचार प्रचारसँग सम्बन्धित यी सत्यताहरू बताउन यो विदेशी भाषा प्रयोग गर्न सक्छौ? अहिले तिम्रो बोलाइ राम्रो छ कि लेखाइ? के तिमीलाई सिक्नका लागि कुनै शिक्षकको मदत चाहिन्छ? के विदेशी भाषाहरू अध्ययन गर्न बढी उपयुक्त र दक्ष अरू कोही छ? के यस प्रकारका कर्मचारीहरूको सङ्ख्या बढेको छ? के त्यस्तो कोही छ, जसलाई भाषा सिक्नु अत्यन्तै झन्झटिलो र कठिन छ भन्‍ने लाग्छ, त्यसैले उसले उप्रान्त त्यो सिक्न चाहँदैन, र बीचमै हार मान्छ, र अर्को कर्तव्यमा लाग्न चाहन्छ?” यस प्रकारका कामसँग सम्बन्धित यस्ता विशिष्ट मामलाहरूबारे बेलाबेलामा सोधपुछ र सुपरिवेक्षण गरिरहनुपर्छ। माथिले विशिष्ट कामका प्रबन्धहरू गरेकाले, सुपरिवेक्षकहरूले अन्तिमसम्मै यी विशिष्ट कार्यहरूको जिम्मेवारी लिनुपर्छ। माथिले सोधपुछ नगरुञ्जेल निष्क्रिय रूपमा पर्खेर नबस्; माथिले छ महिना वा एक वर्षसम्म कुनै सोधपुछ नगरे पनि, तैँले अझै पनि सबै काम आफ्नो क्षमताले भ्याएसम्म राम्रोसँग गर्नुपर्छ, र तँ हरबखत माथिको निरीक्षण र निर्देशन स्विकार्न तयार रहनुपर्छ—यो नै सही मानसिकता हो। यस्तो किन हो भने, कामका प्रबन्धहरू जारी र सञ्चार गरिएका छन्, र कामको सुपरिवेक्षक भएको नाताले तँ त्यसको अनुगमन गर्न जिम्मेवार छस्, त्यसकारण तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्छ। तर, यदि तँ आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्षम छैनस् भने, तँ केही न कामको होस् र तँलाई बर्खास्त गरिनुपर्छ र हटाइनुपर्छ। त्यसैले, अगुवा र कामदारहरूले यी विशिष्ट कामका प्रबन्धहरू वा माथिले दिएका सङ्गतिहरूबारे बारम्बार चिन्तन र सङ्गति गर्नुपर्छ, र त्यसपछि तिनलाई कार्यान्वयन गर्नुपर्छ र परिस्थितिअनुसार कामको अनुगमन गर्नुपर्छ। उनीहरूले हालै कस्ता प्रकारका कामहरूलाई बेवास्ता गरेका छन्, र लामो समयदेखि जाँच गरेका छैनन्, र कुन चाहिँ काममा उनीहरू व्यक्तिगत रूपमा त्यति राम्रा छैनन् र उनीहरूले कुन कामका बारेमा हालै सोधपुछ गरेका छैनन्, र परिणामस्वरूप उनीहरू कसको हालको अवस्थाबारे अनभिज्ञ छन् भनेर हेर्नुपर्छ, र त्यसपछि गएर तिनको निरीक्षण गर्नुपर्छ। यसका साथै, विभिन्‍न प्रकारका पेसागत कामहरूका सन्दर्भमा, परमेश्‍वरको घरले अर्को विशिष्ट प्रबन्ध गरेको हुन्छ: त्यसले सान्दर्भिक प्रतिभाशाली व्यक्तिहरू निरन्तर खोजिनैपर्ने, तिनीहरूको संवर्धन, र प्रवर्धन गरिनैपर्ने माग गर्छ। त्यसोभए, अगुवा र कामदारहरूले यो कामको प्रबन्ध प्राप्त गर्दा, उनीहरूले के गर्नुपर्छ? उनीहरूले यस्तो काम गर्न उपयुक्त कोही छ कि छैन भन्‍ने कुरामा ध्यान दिनुपर्छ। यदि केही मानिसहरू यस प्रकारको काम गर्न उपयुक्त छन् तर तिनीहरूमा प्राविधिक पेसाबारे धेरै बुझाइ छैन भने, तिनीहरूलाई चाँडो संवर्धन गरेर त्यसबारे अध्ययन गर्ने र प्रशिक्षण लिने प्रबन्ध गरिनुपर्छ। छोटकरीमा, विभिन्‍न प्रकारका पेसागत कामहरू पनि महत्त्वपूर्ण काम नै हुन्। यो काममा थुप्रै कुराहरू समावेश छन्, र त्यसको दायरा पनि विशाल छ, र परमेश्‍वरको घरले त्यसका लागि कैयौँ विशिष्ट कामका प्रबन्धहरू गरेको छ। यस कामका लागि चाहिने भनेको निरन्तरको अध्ययन, सङ्क्षेपण, र गहनतामा प्रवेश हो, साथै निरन्तर मानकीकरण गर्नका लागि उचित सिद्धान्तहरू पनि फेला पार्नैपर्छ। यसबाहेक, यस्ता कर्तव्यहरू पूरा गर्न उपयुक्त प्रतिभाशाली व्यक्तिहरूलाई निरन्तर संवर्धन गर्नैपर्छ। विभिन्‍न प्रकारका पेसागत कामहरूको यो ठूलो विषयवस्तुका लागि गरिएको कामको प्रबन्ध यही नै हो, र यो बुझ्न पनि सजिलो छ।

उ. मण्डली जीवन

पाँचौँ विषयवस्तु, मण्डली जीवन। परमेश्‍वरको घरले मण्डली जीवनको अवधिमा खान-पिन गरिने विषयवस्तु, मण्डली जीवनको ढाँचा, र मण्डली जीवन जिउने मानिसहरूको सङ्ख्याका सम्बन्धमा विशिष्ट प्रबन्ध र विनियमहरू बनाएको छ। परमेश्‍वरको घरसित विशेष परिस्थिति र अवस्थाहरू अन्तर्गतका भेलाहरूको ढाँचा र मण्डली जीवनको विषयवस्तु सम्बन्धी सोही अनुरूपका कामका प्रबन्धहरू पनि छन्। यस्ता प्रकारका प्रबन्धहरू मुख्यतः लिखित रूपमा जारी गरिन्छन्। फरक-फरक देशहरूमा नयाँ विश्‍वासीहरूको मण्डली जीवन—उनीहरूका भेलाहरूको ढाँचा र मात्रा, र भेलाहरूका अवधिमा उनीहरूले खाने र पिउने विषयवस्तु, आदि—का लागि गरिने कामका प्रबन्धहरू केही विशेष परिस्थितिहरूमा बाहेक, मूलतः जातीय चिनियाँ मण्डली जीवनका कामका प्रबन्धहरूसँग मिल्दो हुन्छन्। मैले भर्खरै तँलाई मण्डली जीवनसँग सम्बन्धित कामका प्रबन्धहरूको दायराको समग्र चित्र दिएको छु—त्यसमा खाइने र पिइने परमेश्‍वरका वचनहरूको विषयवस्तु, र भेलाहरूमा सत्यताबारे सङ्गति गर्ने हालसालैका विषयवस्तु, र भेलाहरूमा गरिने सङ्गतिको ढाँचा समावेश छन्। उदाहरणका लागि, भेलाहरूमा सङ्गति गर्नमा एउटै व्यक्तिलाई हाबी हुन नदिने, हरेक व्यक्तिलाई सङ्गति गर्न दिइने अधिकतम समय, लामो-घुमाउरो कुरा गर्ने र आफ्नो कुरा अस्पष्ट रूपमा व्यक्त गर्ने मानिसहरूलाई कसरी व्यवहार गर्ने र सम्हाल्ने, आदि—मण्डली जीवन र भेलाहरूसँग सम्बन्धित यी सबै विशिष्ट कुराहरूबारे कामका प्रबन्धहरूमा विशिष्ट निर्देशहरू छन्। अगुवा र कामदारहरू एकातिर यी कामका प्रबन्धहरू जारी र सञ्चार गर्न जिम्मेवार हुन्छन्, र अर्कोतिर, उनीहरू तिनका बारेमा दाजुभाइ-दिदीबहिनीहरूसँग प्रस्ट रूपमा सङ्गति गर्न, मण्डलीका सबै सदस्यहरूलाई ती कुराहरू बुझ्ने र स्विकार्ने तुल्याउन जिम्मेवार हुन्छन्, जसपछि उनीहरूले तिनलाई कडाइका साथ कार्यान्वयन र पालना मात्र गर्नुपर्ने हुन्छ। विशेषगरी, भेलाहरूमा बोल्दा बारम्बार विषयभन्दा बाहिर जाने, अवरोधहरू पुर्‍याउने, शब्द र धर्मसिद्धान्तहरू बोल्ने, र नाराहरू फलाक्नेहरूलाई प्रतिबन्ध लाउनुपर्छ, र यस्ता प्रकारका विशेष परिस्थितिहरूका सम्बन्धमा कामका प्रबन्धहरूमा विशिष्ट विनियमहरू रहेका छन्। मण्डली जीवनसम्बन्धी कामका प्रबन्धहरू मुख्यगरी भेलाहरूसम्बन्धी विभिन्‍न कामकुरासँग सम्बन्धित हुन्छन्, ती जटिल हुँदैनन्, ती निकै सरल हुन्छन्, र कुनै व्यक्तिले चाहे जे कर्तव्य पूरा गरे पनि, उसले केवल यी कामका प्रबन्धहरूमा रहेका सिद्धान्तहरू पालना गर्नु आवश्यक हुन्छ। उदाहरणका लागि, भेलाहरूमा, सुसमाचार समूहहरूले मण्डली जीवनसँग सम्बन्धित कामका प्रबन्धहरूमा रहेका सिद्धान्तहरूको पालना मात्र गर्नुपर्छ—यसमा उनीहरूका लागि विशेष कुरा केही हुँदैन। अन्य समूहहरूले अन्य मानिसहरूभन्दा फरक काम मात्र गर्छन्, भेलाहरू, सत्यताबारे सङ्गति गर्ने, परमेश्‍वरका वचनहरू प्रार्थना गर्दै पढ्ने, र व्यक्तिगत अनुभवहरूबारे सङ्गति गर्ने जस्ता कुराहरूमा सबै कुरा उस्तै हुन्छ—यो दायरा पार हुँदैन। उनीहरूले मण्डली जीवनको अवधिमा खाइने र पिइने विषयवस्तु, सङ्गतिले लिने स्वरूप, र भेलाहरूको ढाँचासम्बन्धी परमेश्‍वरको घरका हालका विनियमहरूअनुरूप अभ्यास मात्र गर्नुपर्छ। अवस्थाहरूले अनुमति दिएमा, मानिसहरू व्यक्तिगत रूपमा सँगै भेला हुन सक्छन्, नत्र उनीहरूले अनलाइन भेलाहरू राख्न सक्छन्। यो एउटा अत्यन्तै सरल, र प्रस्ट रूपमा परिभाषित गरिएको मामला हुनुपर्छ। कतिपय मण्डली सदस्यहरू फरक-फरक महादेश र देशहरूमा छरिएका हुन्छन्, कतिपय युरोपमा हुन्छन् भने कतिपय मध्य पूर्वमा हुन्छन्; यस्तो अवस्थामा, अनलाइन भेलाहरू जरुरी हुन्छन्। भेलाहरू राख्ने समय र अन्तराल स्थानीय मण्डलीहरूले निर्णय गर्ने कुरा हो; परमेश्‍वरको घरले यस मामलाका सम्बन्धमा विशिष्ट विनियमहरू बनाउँदैन, न त त्यसले यसमा हस्तक्षेप नै गर्छ। परमेश्‍वरको घरले यो मामलामा किन हस्तक्षेप गर्दैन त? मण्डलीमा कतिपय मानिसहरूले पूर्णकालीन रूपमा कर्तव्य निर्वाह गर्दैनन्; उनीहरूको जागिर र परिवार हुन्छ, उनीहरूका व्यक्तिगत परिस्थितिहरू फरक हुन्छन्, साथै फरक देशहरूमा समय क्षेत्रहरू फरक हुन्छन्, त्यसैले हप्तामा कति पटक भेला हुने र प्रत्येक भेला कुन समयमा हुने भन्‍ने कुरा उनीहरू आफैलाई निर्णय गर्न दिइनुपर्छ। परमेश्‍वरको घरले यससम्बन्धी विशिष्ट विनियमहरू बनाउँदैन, बरु एउटा सिद्धान्त मात्र प्रदान गर्दछ। परमेश्‍वरको घरले नयाँ विश्‍वासीहरू हप्तामा कति पटक भेला हुने भन्‍ने दायरा तोकेको हुन्छ, र आफ्नो कर्तव्य पूरा गर्ने र नगर्नेहरू हप्तामा कति पटक सँगै भेला हुन्छन् भन्‍नेमा फरक छ। के नयाँ विश्‍वासीहरू हप्तामा सात पटक सँगै भेला हुनुपर्ने भनी माग गर्ने कुनै कामको प्रबन्ध छ? (छैन।) त्यसोभए, नयाँ विश्‍वासीहरू हरेक हप्ता कति पटक भेला हुनुपर्छ भन्‍ने कुरा केमा आधारित हुन्छ त? (त्यो नयाँ विश्‍वासीहरूसँग कति समय छ भन्‍नेमा आधारित हुन्छ।) बढीमा हप्ताको दुई-तीन पटक, र कम्तीमा एक पटक सँगै भेला हुनु पूर्ण रूपमा उचित हुन्छ। कतिपय मानिसहरूले भन्छन्, “हाम्रो क्षेत्रका मानिसहरू कृषिमा मन्दी हुने ऋतुमा निकै फुर्सदिला हुन्छन्, त्यसैले सबै जना हरेक दिन भेला हुन चाहन्छन्—हामी त दैनिक दुई पटक भेला भए पनि हुन्छ। हामी साँच्चिकै भेला हुन चाहन्छौँ।” नयाँ विश्‍वासीहरूको हृदय उत्साहले भरिएको हुन्छ र उनीहरू सधैँ अझ बढी सत्यताहरू बुझ्न चाहन्छन्। यदि उनीहरूका पारिवारिक परिस्थितिहरूले दिएमा, उनीहरूले अझ बढी भेलाहरूमा सहभागी हुन अनुरोध गर्नु राम्रो कुरा हो, जबसम्म त्यसले उनीहरूको दैनिक जीवनलाई असर गर्दैन। मानिसहरू हरेक हप्ता भेला हुने निश्चित सङ्ख्या प्रत्येक क्षेत्रका परमेश्‍वरका चुनिएका मानिसहरूका परिवार र कामका अवस्थाहरूअनुसार निर्धारण गरिनुपर्छ—परमेश्‍वरको घरले यस मामलाका सम्बन्धमा विशिष्ट विनियमहरू बनाउँदैन। परमेश्‍वरका चुनिएका मानिसहरूमध्ये जसका लागि सम्भव छ, उनीहरू बढी भेला हुन सक्छन्, र त्यसपछि उनीहरूले बढी सत्यताहरू बुझ्नेछन् र जीवन वृद्धि झन् चाँडो हासिल गर्नेछन्। यो असल कुरा हो। तर, उचित अवस्था नभएकाहरूलाई यसरी भेला हुन उपयुक्त हुँदैन, र उनीहरू हप्तामा कम्तीमा एक-दुई वटा भेलाहरूमा सहभागी हुनु ठिकै हुन्छ। विभिन्‍न क्षेत्रका मण्डलीहरूले हरेक हप्ता कति वटा भेला राख्ने भन्‍ने कुरा परमेश्‍वरका चुनिएका मानिसहरूले निर्णय गर्ने हो, र यसमा कसैले पनि हस्तक्षेप गर्नु हुँदैन। सबैभन्दा महत्त्वपूर्ण कुरा त भेलाहरू अन्य कुनै कारणले नभई, मानिसहरूले सत्यता बुझ्न सकून् भन्‍नका लागि राखिनु हो। त्यसकारण, हरेक मण्डलीले राख्ने भेलाहरूको सङ्ख्या त्यसका विशिष्ट परिस्थितिहरूअनुसार निर्णय गरिन्छ। यदि परमेश्‍वरका चुनिएका मानिसहरू हरेक हप्ता एउटा अतिरिक्त भेलामा सहभागी हुन सक्छन् भने, त्यो उनीहरूको जीवन वृद्धिका लागि बढी लाभदायक हुन्छ। यदि सत्यता नपछ्याउने र बढी भेलाहरूमा सहभागी हुन नचाहने मानिसहरू छन् भने, उनीहरूमाथि यो लाद्नु हुँदैन। विशेषगरी अलिक बढी व्यस्त हुने र अझ बढी भेलाहरूमा सहभागी हुने समय नहुने तलबी कामदारहरूलाई यसो गर्न आवश्यक गराउनु हुँदैन। चाहे मानिसहरू भेलाहरूमा सहभागी हुने अवस्थामा भए पनि वा नभए पनि वा उनीहरू चाहे जति पटक भेला भए पनि, परमेश्‍वरको घरले हस्तक्षेप गर्ने वा कुनै पनि प्रतिबन्ध लाद्ने गर्दैन। किनभने प्रत्येक विश्‍वासीका परिस्थिति र पृष्ठभूमिहरू सबै फरक हुन्छन्, त्यसैले उनीहरूलाई कुनै दबाबमा पार्नु हुँदैन। मण्डली जीवनको अवधिमा खाइने र पिइने विषयवस्तुका सम्बन्धमा परमेश्‍वरको घरका कामका प्रबन्धहरूमा तदनुरूपका विनियमहरू हुन्छन्, र मण्डलीका सबै तहका अगुवाहरू र दाजुभाइ-दिदीबहिनीहरूले तिनको प्रस्ट बुझाइ राख्नु आवश्यक हुन्छ। अगुवा र कामदारहरूले माथिका कामका प्रबन्धहरूद्वारा के-के विशिष्ट कार्य र मामिलाहरू गर्नुपर्ने भनी माग गरिएको छ भन्‍ने कुरा बुझ्नैपर्छ, र दाजुभाइ-दिदीबहिनीहरूले पनि अगुवा र कामदारहरूले यो काम गरिरहेका छन् कि छैनन् भनी हेर्न उनीहरूको सुपरिवेक्षण गर्नैपर्छ। मण्डली जीवनको अवधिमा खाइने र पिइने विषयवस्तु, साथै भेलाहरूसँग सम्बन्धित बुझ्नैपर्ने र पछ्याउनैपर्ने कामका प्रबन्धहरूको कुरा आउँदा, अगुवा र कामदारहरू र परमेश्‍वरका चुनिएका मानिसहरू एउटा सर्वसम्मतिमा पुग्नैपर्छ—भिन्‍नताहरूका लागि बिलकुलै अनुमति हुँदैन। मण्डली जीवनको कामसम्बन्धी कामका प्रबन्धहरू निकै सरल छन्, मानिसहरूका लागि बुझ्न सजिला छन्, र अमूर्त छैनन्।

च. सम्पत्ति व्यवस्थापन

छैठौँ विषयवस्तु, सम्पत्ति व्यवस्थापन। सम्पत्ति व्यवस्थापनको काममा सुसमाचारको काम वा विभिन्‍न प्रकारका पेसागत कामहरूमा जस्तो बारम्बार कामका प्रबन्धहरू जारी नगरिने भए पनि, परमेश्‍वरको घरसित त्यसका लागि अझै पनि विशिष्ट कामका प्रबन्धहरू हुन्छन्। सम्पत्ति व्यवस्थापनमा के-के समावेश हुन्छन् त? त्यसमा सम्पत्तिहरू कसरी राखिन्छ, कहाँ राखिन्छ, तिनको व्यवस्थापन कसले गर्छ, र खतरा वा प्रतिकूल वातावरणहरू, साथै त्यस्तै अन्य विशेष परिस्थितिहरू आइ पर्दा, तिनलाई कसरी बाँडफाँड, व्यवस्थापन, र हस्तान्तरण गरिन्छ भन्‍ने कुराहरू समावेश हुन्छन्। कामका प्रबन्धहरूमा वास्तवमा यी सबै कुराहरूसम्बन्धी विनियमहरू हुन्छन्, र यो कामको कुरा आउँदा, अगुवा र कामदारहरूले माथिले सिधै आदेशहरू देलान् वा कामका प्रबन्धहरू जारी गर्लान् भनेर पर्खेर बस्नु, अनि त्यसपछि मात्र निष्क्रिय रूपमा सम्पत्तिहरूको व्यवस्थापन गर्न थाल्नु हुँदैन। तैँले निश्चित तरिकाले सम्पत्तिलाई सम्हाल्नुपर्ने भनी माग गर्ने कुनै तात्कालिक कामका प्रबन्धहरू छैनन् भने, र विशेष परिस्थितिहरूमा तँलाई सम्पत्ति कसरी सम्हाल्ने भनी थाहा नहुँदा र तैँले माथिबाट सामयिक प्रतिक्रियाहरू प्राप्त गर्न नसक्दा, तैँले के गर्नुपर्छ? सुरक्षा नै पहिलो प्राथमिकता हो, र परमेश्‍वरको घरको सम्पत्तिको रक्षा गर्नु तेरो जिम्मेवारी हो। परमेश्‍वरको घरले छापेका परमेश्‍वरका वचनका पुस्तकहरू, साथै विभिन्‍न प्रकारका सबै यन्त्र, खानेकुरा, पैसा, र त्यस्तै अन्य सम्पत्तिहरूको कुरा आउँदा, अगुवा र कामदारहरूले ती सबैलाई परमेश्‍वरको घरका प्रबन्धहरूअनुरूप सुरक्षित स्थानहरूमा राख्नुपर्छ, र यी कुराहरूलाई ओसिन, ढुसी लाग्न, वा कीराले खान दिनु हुँदैन, तिनलाई दुष्ट मानिसहरू वा ठूलो रातो अजिङ्गरद्वारा खोसिन दिनु त झनै हुँदैन। त्यसमाथि, परमेश्‍वरको घरका यी सम्पत्तिहरूलाई राम्ररी व्यवस्थापन गर्नुबाहेक, अगुवा र कामदारहरूले कडाइका साथ गोपनीयता पनि कायम राख्नुपर्छ; यी मामलाहरूसँग सम्बन्ध नभएका मानिसहरूलाई समान रूपमा तीबारे थाहा पाउनबाट टाढै राख्नुपर्छ, र तीबारे थाहा हुनेहरूले मुख बन्द राख्नुपर्छ र अविवेकी रूपमा बोल्नु हुँदैन। परमेश्‍वरको घरसित यो कामसम्बन्धी विशिष्ट कामका प्रबन्धहरू छन्, र तीमध्ये केहीलाई लिखित रूपमा जारी वा खुलासा गर्नु उचित हुँदैन। यदि अगुवा र कामदारहरूले सम्पत्ति व्यवस्थापन गर्ने अझ राम्रा उपाय र विधिहरू निकाल्छन् भने, अवश्य नै, परमेश्‍वरको घरका सम्पत्तिहरूलाई कुनै क्षतिबाट जोगाउन राम्रोसँग व्यवस्थापन र रक्षा गर्ने सिद्धान्तलाई पालना गर्दै गर्दा, उनीहरूले उक्त मामलाबारे अन्य अगुवा र कामदारहरूसँग छलफल गरेर स्वतन्त्र रूपमा निर्णय गर्न सक्छन्। यो एउटा विशेष काम हो, र मुख बन्द नराख्ने, जिम्मेवारीको बोध नहुने, अनुचित मनसायहरू बोकेका, भर्खरै मात्र विश्‍वास गर्न थालेका र आफ्नो आस्थामा जग नभएका, अनि सधैँ लालच गर्दै परमेश्‍वरको घरका सम्पत्तिहरूमा आँखा लगाउनेहरूलाई समान रूपमा त्यसबारे थाहा पाउन दिनु हुँदैन। यी कुराहरू परमेश्‍वरको घरका कामका प्रबन्धहरूमा खुलस्त रूपमा उल्लेख गर्न सकिँदैन, तर के अगुवा र कामदारहरू अनि भरपर्दा संरक्षकहरू यसबारे सचेत हुनुपर्दैन र? (पर्छ।) यहाँ एउटा विशेष परिस्थिति छ। मानौँ एक जना नवनिर्वाचित अगुवाले तीन वर्षदेखि मात्र परमेश्‍वरमा विश्‍वास गर्दै आएको छ, ऊसँग असल क्षमता छ, ऊ निकै उत्साहित छ, र सतहमा ऊ ठिकै देखिन्छ, तैपनि उसको चरित्र कस्तो छ, उसले सम्पत्तिलाई कसरी हेर्छ, वा ऊ लोभी छ कि छैन भन्‍ने कुरा थाहा पाइएको छैन। यी कुराहरू अज्ञात र अनिश्चित छन्, अनि लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएका दाजुभाइ-दिदीबहिनीहरूले यस व्यक्तिलाई राम्ररी चिन्दैनन्, उनीहरूले यस व्यक्तिलाई पूर्ण रूपमा चिन्दैनन्। यस्तो अवस्थामा के गरिनुपर्छ? उसलाई उक्त काम हस्तान्तरण गर्ने समय आएपछि, अरू सबै काम हस्तान्तरण गरिन्छ—के उसलाई सम्पत्तिको काम हस्तान्तरण गरिनुपर्छ? (पर्दैन।) किन पर्दैन? अगुवा र कामदारहरूको मुख्य काम सम्पत्तिको व्यवस्थापन गर्नु मात्र होइन; सम्पत्ति त उनीहरूको कामको एउटा पाटो मात्र हो। यदि साँच्चिकै कुनै उचित व्यक्तिले सम्पत्तिको व्यवस्थापन गरिरहेको छ र यो नवनिर्वाचित अगुवा भरपर्दो छैन भने, अहिलेका लागि उसलाई यो काम हस्तान्तरण नगर्नु नै ठीक हुन्छ, किनभने उसले लामो समयसम्म परमेश्‍वरमा विश्‍वास गर्नेछ कि गर्नेछैन वा ऊ दृढ रहन सक्छ कि सक्दैन भन्‍ने कुरा थाहा अझैसम्म भएको हुँदैन। विगतमा, एक जना व्यक्तिलाई भर्खरै मण्डली अगुवाका रूपमा चयन गरिएको थियो, आफ्नो पदभार ग्रहण गरेपछि, उसले सुरुमै परमेश्‍वरका चुनिएका मानिसहरूलाई भेटीहरू राखिएको ठाउँका बैँक खाता नम्बर र पासवर्डहरू सोध्यो। उसले यी बैङ्क खाता नम्बर र पासवर्डहरू कोसँग छ भनेर सोध्यो, र उनीहरूलाई यो काम तुरुन्तै आफूलाई हस्तान्तरण गर्न दबाब दियो। यो अवस्थामा, के यो काम उसलाई हस्तान्तरण गरिनुपर्छ? उसलाई अरू कुनै पनि कामको चिन्ता वा चासो थिएन, तर ऊ यस मामलाबारे अत्यन्तै गम्भीर र चिन्तित थियो—के ऊ भरपर्दो व्यक्ति थियो त? कोही अगुवा वा कामदार हो भन्दैमा ऊ भरपर्दो हुन्छ भन्‍ने नसोच्। वास्तवमा, साँच्चै सिद्धान्तहरूअनुसार चुनिएका संरक्षकहरू मात्र भरपर्दा हुन्छन्—उनीहरू परमेश्‍वरको घरका सम्पत्तिहरूको रक्षा गर्न आफ्नो जीवन बलिदान गर्न सक्छन्। यस्ता मानिसहरू सबैभन्दा भरपर्दा हुन्छन्। त्यसोभए, के सबै अगुवा र कामदारहरू यसो गर्न सक्षम हुन्छन् त? हुन्छन् नै भन्‍ने छैन। विगतमा, एक जना क्षेत्रीय अगुवा ठूलो रातो अजिङ्गरद्वारा पक्राउ गरिएको थियो, र उसले मण्डलीका सबै सम्पत्तिहरूबारे कुरा खोलिदियो, जसले गर्दा त्यसमध्ये ठूलो मात्राको सम्पत्ति गुम्न पुग्यो। यदि उसलाई मण्डलीका सम्पत्तिहरू कहाँ छन् भन्‍ने कुरा थाहा नभएको भए, उसलाई मरूञ्जेल कुटिएको भए पनि, उसले यो कुरा प्रकाश गर्न सक्नेथिएन, अनि त्यसपछि के परमेश्‍वरको घरका सम्पत्तिमा क्षति नपुगेको हुन्थेन र? उसलाई अति धेरै कुरा थाहा भएकाले नै उसले यातना र दर्दनाक कुटाइ सहन नसकेपछि सबै कुरा खोलेको, र यो पैसा ठूलो रातो अजिङ्गरको हातमा परेको थियो। यदि उसलाई यी सम्पत्तिहरू कहाँ छन् भनेर थाहा पाउन नदिइएको भए, र यदि त्यसको रक्षा गर्ने व्यक्ति भरपर्दो भइदिएको भए, के परमेश्‍वरको घरको पैसामा क्षति पुग्ने र त्यो ठूलो रातो अजिङ्गरद्वारा जबरजस्ती जफत गरिने थियो त? अहँ, थिएन। यो एउटा गम्भीर पाठ हो। त्यसकारण, यस कामको प्रबन्धको कुरा आउँदा सबैभन्दा महत्त्वपूर्ण बुँदा भनेको सुरक्षा नै पहिलो प्राथमिकता हो, क्षतिहरूलाई अत्यन्तै न्यूनतम मात्रामा राख्नैपर्छ, र काम जुनसुकै तरिकाले गर्दा सुरक्षित हुन्छ त्यसरी नै गरिनुपर्छ। परमेश्‍वरको घरको सम्पत्ति व्यवस्थापन गर्नका लागि त्यसलाई व्यवस्थापन गर्नमा बफादारी देखाउने व्यक्ति फेला पार्—यो नै सबैभन्दा भरपर्दो कदम हो। यस व्यक्तिले अरू केही गर्न नसके पनि, ऊ बफादार हुनेछ र पैसाको सुरक्षा गर्ने कुरामा ऊ निश्चित रूपमा नै सक्षम हुनेछ, त्यसैले सम्पत्तिको सुरक्षा गर्न यस व्यक्तिलाई प्रयोग गर्नु नै सही कुरा हो। यो काममा एक समयमा एउटा मात्र कार्य गरिने भएकाले, त्यसका लागि गरिने प्रबन्धहरू निकै सरल छन्: सम्पत्तिको सुरक्षा गर्न सही मानिसहरू खोज्ने र त्यसलाई राख्नका लागि सुरक्षित स्थान खोज्ने। त्यसका साथै, परमेश्‍वरको घरका सम्पत्तिहरू बाँडफाँड र खर्च गर्ने सम्बन्धी परमेश्‍वरको घरका कामका प्रबन्धहरूमा विशिष्ट विनियमहरू पनि रहेका छन्; पैसा आवश्यक खर्चहरूमा व्यय गर्न मिल्छ, तर अनावश्यक खर्चहरूमा मिल्दैन। अर्को एउटा कुरा के छ भने, सम्पत्तिहरूसम्बन्धी खर्चहरूका लागि कडा नियामक प्रणाली छ, र परमेश्‍वरको घरसँग विभिन्‍न प्रक्रिया र कार्यविधिहरूका लागि विशिष्ट विनियमहरू छन्, जसका लागि कैयौँ व्यक्तिहरूको हस्ताक्षर आवश्यक हुन्छ, आदि। व्यवस्थापन, सुरक्षा, खर्च, र लेखा पनि हुन्छ—यी सबै कुराहरूका लागि विशिष्ट कामका प्रबन्धहरू हुन्छन्।

छ. पखाल्ने काम

सातौँ विषयवस्तु, पखाल्ने काम। परमेश्‍वरको घरले यस कामका लागि पनि निरन्तर विशिष्ट कामका प्रबन्धहरू गरिरहेको हुन्छ। कामका प्रबन्धहरू, एकातिर, परमेश्‍वरको घरको कामका आवश्यकताका आधारमा गरिन्छन् र, अर्कोतिर, विभिन्‍न प्रकारका मानिसहरूको वर्गीकरण र परिभाषाका आधारमा, साथै विभिन्‍न प्रकारका मानिसहरू प्रकाश भएपछि उनीहरूका प्रकटीकरणहरूअनुसार हरेकलाई आफ्नै प्रकारअनुसार अलग गर्ने आधारमा गरिन्छ। परमेश्‍वरको घरसित हर प्रकारका ख्रीष्टविरोधी, दुष्ट मानिस, र अविश्‍वासीहरूलाई सम्हाल्ने सिद्धान्तहरू छन्; कतिपयलाई कर्तव्य निर्वाह गर्नेहरूको दर्जाबाट पखालिन्छ, कतिपयलाई पूर्णकालीन कर्तव्य मण्डलीहरूबाट पखालेर अल्पकालीन कर्तव्य मण्डली वा साधारण मण्डलीहरूमा पठाइन्छ, कतिपयलाई साधारण मण्डलीहरूबाट पखालेर समूह “ख” मा पठाइन्छ, र कतिलाई त सिधै निकाला वा निष्कासन गरिन्छ। परमेश्‍वरको घरले मण्डलीलाई पखाल्ने कामका लागि बारम्बार कामका प्रबन्धहरू गरिरहेको हुन्छ, र त्यसले पखालिने सर्त पूरा गर्ने मानिसहरूका लागि पनि विशिष्ट कामका प्रबन्धहरू गरेको छ। आफ्ना कर्तव्यहरू पूरा गर्नमा मानिसहरूमा हुने मनोवृत्तिहरू र आफ्ना कर्तव्यहरू पूरा गर्दा तिनीहरूले गरेका अपराधहरू, साथै विभिन्‍न प्रकारका मानिसहरूमा प्रकाश हुने भ्रष्ट सारका आधारमा, परमेश्‍वरको घरले अन्ततः यी मानिसहरूलाई सम्हाल्ने निश्चित योजनाहरू बनाउँछ। त्यसकारण, परमेश्‍वरको घरले विभिन्‍न प्रकारका दुष्ट मानिस, अविश्‍वासी, र ख्रीष्टविरोधीहरूलाई सम्हाल्ने काम पूर्णतया परमेश्‍वरका वचनहरू र सत्यता सिद्धान्तहरूअनुसार गरिन्छ, र यो पूर्णतया परमेश्‍वरका अभिप्रायहरूअनुरूप गरिन्छ। यी कामका प्रबन्धहरूको कुरा आउँदा, एकातिर सत्यता सिद्धान्तहरूमा सङ्गति गर्न जरुरी हुन्छ ताकि मानिसहरूले तिनलाई बुझून् र विभिन्‍न प्रकारका मानिसहरूलाई खुट्ट्याउन सिकून्, जबकि अर्कोतिर मण्डलीहरूलाई यी कामका प्रबन्धहरू जारी गर्न जरुरी हुन्छ ताकि तिनको सङ्गति र कार्यान्वयन गर्न सकियोस्। जे भए पनि, मण्डलीलाई पखाल्ने काम सकेसम्म चाँडो कार्यान्वयन गरिनुपर्छ, र त्यसलाई कहिल्यै अवरुद्ध गर्नै हुँदैन। मण्डलीमा उप्रान्त कुनै पनि दुष्ट मानिसहरू बाँकी नरहेसम्म त्यो जारी रहनैपर्छ। यस्तो होइन कि माथिले मण्डलीलाई पखाल्नू भनी आदेश दिएर कामको प्रबन्ध जारी गरेपछि अगुवा र कामदारहरूले केही समयका लागि मात्र पखाल्ने काम गर्नुपर्छ, र त्यो पखाल्ने काम गरिएको केही समयपछि फेरि पनि दुष्ट मानिसहरूले बाधा दिइरहेका छन् भन्‍ने पत्ता लाग्यो, तर माथिले त्यसबारे कुनै कामका प्रबन्धहरू गरेका छैनन् भने, अगुवा र कामदारहरूले ती दुष्ट मानिसहरूका बारेमा चिन्ता गर्न वा तिनीहरूलाई पखाल्न आवश्यक हुँदैन—त्यसो गरेर हुँदै हुँदैन। मण्डलीको पखाल्ने कामलाई व्यवस्थित ढङ्गले अघि बढाउन जारी राख्नैपर्छ; निकाल्नुपर्ने वा निष्कासित गर्नुपर्ने मानिसहरू हुञ्जेल, पखाल्ने काम जारी रहनैपर्छ। माथिले आदेश देलान् वा माथिल्लो तहका अगुवाहरूले तँलाई ती कुराहरू सञ्चार गर्लान् भनेर निष्क्रिय रूपमा पर्खेर नबस्, अनि अझ धेरै दाजुभाइ-दिदीबहिनीहरूले कसैको रिपोर्ट गर्लान् भनेर निष्क्रिय रूपमा पर्खेर नबस्। परमेश्‍वरका चुनिएका मानिसहरूले कसैको खुलासा र रिपोर्ट गर्नेबित्तिकै, अगुवा र कामदारहरूले त्यो मामलाको अनुसन्धान गर्न र त्यसलाई सम्हाल्न सुरु गर्नुपर्छ। यदि अगुवा र कामदारहरूले उक्त रिपोर्ट पत्र अड्काएर राख्छन् र त्यस मामलालाई सम्हाल्दैनन् भने, तिनीहरूको अनुसन्धान गरेर तिनीहरूलाई तह लगाउनुपर्छ, र यदि तिनीहरूले कुनै दुष्ट व्यक्तिको रक्षा गरिरहेको पाइएमा, तिनीहरूलाई त्यो दुष्ट व्यक्तिसँगै मण्डलीबाट निकाल्नैपर्छ। मण्डली पखाल्ने काम नगर्ने जुनसुकै अगुवा वा कामदार झूटो अगुवा वा कामदार हो र उसलाई तुरुन्तै बर्खास्त गरिनुपर्छ। यदि उसले दुष्ट मानिसहरूको संरक्षण र रक्षा समेत गर्छ भने, उसलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गरेर मण्डलीबाट निकाल्न र निष्कासित गर्न सकिन्छ। मण्डलीलाई पखाल्ने कामका सम्बन्धमा परमेश्‍वरको घरले बनाएका विशिष्ट विनियमहरू यिनै हुन्। मण्डलीलाई पखाल्ने काम अत्यन्त जरुरी प्राथमिकतामा पर्छ र यसको गहन महत्त्व हुन्छ। ल भन्, के मण्डलीलाई पखाल्ने काम मण्डलीको शुद्धीकरण गर्नका लागि गरिने होइन र? यदि मण्डलीलाई शुद्ध गरिएको छ—अर्थात्, यदि त्यसभित्र कुनै पनि दुष्ट मानिसहरूले बाधाहरू दिइरहेका छैनन् र त्यसका सदस्यहरूमा अविश्‍वासीहरू मिसिएका छैनन् भने—तब त्यो साँचो मण्डली हुनेछ, र त्यसले मण्डली जीवनका लागि उत्कृष्ट नतिजाहरू पनि निकाल्नेछ। के यो ख्रीष्टको राज्य साकार हुनु तर्फको अर्को ठूलो कदम हुने थिएन र? यस्तो शुद्ध मण्डली राज्यको सुसमाचार फैलाउनमा सबैभन्दा लाभदायक हुने थियो, किनभने सबैसँग सत्यता वास्तविकता हुने थियो, सबै जना परमेश्‍वरलाई गवाही दिन र परमेश्‍वरका मानिसका रूपमा पूर्ण पारिन सक्षम हुने थिए, र उप्रान्त कुनै पनि दुष्ट मानिसहरूले बाधाहरू दिइरहेका हुने थिएनन्। प्राकृतिक रूपमा नै, यस्तो मण्डली सबैभन्दा आशिषित् हुने थियो। त्यसकारण, मण्डलीलाई पखाल्नु भनेको एउटा सबैभन्दा अर्थपूर्ण काम हो र यो पूर्णतया परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्ना कर्तव्यहरू पूरा गर्ने वातावरणलाई थप शान्तिपूर्ण, र दुष्ट मानिसहरूको बाधारहित बनाउनका लागि गरिन्छ। त्यसमाथि, परमेश्‍वरको घरले आवारा र केही न कामका मानिसहरूलाई समर्थन गर्दैन, र सुखसयलमा लिप्त हुने अनि आफ्नो पेट भरिञ्जेल खाने परजीवीहरूलाई समर्थन गर्दैन। कर्तव्यहरू बिलकुलै पूरा नगर्ने र आफ्नो कर्तव्य पूरा गरिरहेका अरू मानिसहरूलाई बाधा दिने र असर पार्ने ती सबैलाई, र गैरजिम्मेवार टिप्पणीहरू गर्ने, हस्तक्षेप गर्ने, र मण्डलीमा आफूले गर्नुपर्ने काम नगर्ने ती सबैलाई पनि निकाल्नुपर्छ। विभिन्‍न प्रकारका सबै मानिसहरू अब पूर्ण रूपमा प्रकाश भएका छन्, मण्डलीको पखाल्ने काम अनिवार्य हो, र त्यो पूर्ण रूपमा र राम्रोसँग गरिनुपर्छ। प्रकाश भएका यी सबै दुष्ट मानिस, ख्रीष्टविरोधी, अविश्‍वासी, केही न कामका मानिस, र परजीवीहरू तिनै हुन् जो परमेश्‍वरद्वारा तिरस्कृत हुन्छन्, र तिनीहरूले मुक्ति पाउनै सक्दैनन्। यदि मण्डलीले पखाल्ने काम नगरेको भए, यसले सुसमाचार फैलाउने कामलाई असर पार्ने थियो। त्यसकारण, मण्डली पखाल्ने काम एउटा महत्त्वपूर्ण काम हो, जुन वर्तमानमा तत्काल राम्रोसँग पूरा गरिनु आवश्यक छ। मण्डली पखाल्ने काम राम्रोसँग गर्न सक्ने ती अगुवा र कामदारहरू मात्र संवर्धन गर्न लायक हुन्छन् र तिनीहरू मात्र अगुवा र कामदार रहिरहन सक्छन्। मण्डलीलाई पखाल्ने काममा अवरोध पुर्‍याउने जुनसुकै अगुवा वा कामदार एउटा बाधा वा व्यवधान हो, र परमेश्‍वरका चुनिएका मानिसहरूले उसको खुलासा र रिपोर्ट गर्नैपर्छ। सबै तहका अगुवा र कामदारहरूले सुरुमा मण्डलीका यी सबै बाधा र व्यवधानहरूलाई राम्रोसँग निकालेर समाधान गर्नैपर्छ—यो परमेश्‍वरका अभिप्रायहरूसँग मेल खान्छ। यो मात्र मण्डलीको विभिन्‍न कामहरूको सहज प्रगतिका लागि, र परमेश्‍वरले सबै महिमा प्राप्त गर्न सक्नुहोस् भनी मण्डलीले परमेश्‍वरको इच्छालाई अघि बढाउनका लागि अनुकूल हुन्छ।

ज. बाह्य मामलाहरू

आठौँ विषयवस्तु, बाह्य मामलाहरू। बाह्य मामलाहरूको काम न त ठूलो काम हो न त सानो, र बाह्य मामलाहरूका सम्बन्धमा परमेश्‍वरको घरका कामका प्रबन्धहरूअन्तर्गत कैयौँ सिद्धान्तहरू छन्। एउटा त स्थानीय कानुन र विशिष्ट स्थानीय प्रावधानहरूबारे जान्‍नु हो। भन्‍नुको मतलब, मण्डलीले कुनै निश्चित ठाउँमा जेसुकै गरे पनि, तैँले पहिला स्थानीय कानुनहरूबारे जान्‍नैपर्छ—यो एउटा सिद्धान्त हो। अर्को सिद्धान्त के हो भने, तैँले आफूले नबुझ्ने वा आफू प्रस्ट नभएका बाह्य मामलाहरूसँग सम्बन्धित समस्याहरू सामना गर्दा, कुनै वकिल र सम्बन्धित कानुन व्यवसायीहरूको परामर्श लिनैपर्छ, र आफैले जानकारीरहित निर्णयहरू लिनु हुँदैन; तैँले फरक-फरक देशहरूका फरक-फरक राष्ट्रिय अवस्थाहरूअनुसार मामलाहरू सम्हाल्नका लागि निश्चित योजनाहरू बनाउनैपर्छ। त्यसोभए, यी योजनाहरू कसरी बन्छन् त? वकिलले जे भन्छ तैँले त्यो मान्‍नैपर्छ र वकिललाई नै निर्णयहरू गर्न दिनुपर्छ—आफैले स्वेच्छाचारी मूल्याङ्कन वा निर्णयहरू नगर्। हरेक देशका राष्ट्रिय अवस्था, नीति, कानुन, र प्रावधानहरू फरक हुन्छन्, त्यसैले आफ्नो कल्पनाका आधारमा व्यवहार नगर्। उदाहरणका लागि, मानौँ तैँले चीनमा बाटोमा कुनै व्यक्ति लुटपाटमा परेको देखिस्। चीनको कानुनले कुनै पनि बटुवाले यस्तो घटना देखेमा उसले साहसपूर्वक हस्तक्षेप गर्न सक्ने, पहिला चोरलाई समात्न, र त्यसपछि उसलाई प्रहरीकहाँ बुझाउन सक्ने प्रावधान गरेको छ। यदि तैँले यसो गरिस् भने, तँ एक साहसी नायक बन्‍नेछस्, तैँले कुनै कानुनी जिम्मेवारी वहन गर्नुपर्ने छैन, र तेरो प्रशंसा गरिनुपर्छ। चीनको राष्ट्रिय अवस्था र पद्धति यही नै हो, र यो चीनको एक प्रकारको परम्परागत संस्कृति हो—चिनियाँ मानिसहरू यसलाई “परम्परागत सद्गुण” भन्‍ने मीठो नाम दिएर वर्णन गर्छन्। तर, पश्चिममा, विशेषगरी संयुक्त राज्य अमेरिका र क्यानडा जस्ता देशहरूमा, यदि, तैँले कुनै चोरले केही कुरा चोरिरहेको देखिस् र उसलाई तुरुन्तै समातेर प्रहरी आएर उसलाई पक्राउ गरूञ्जेल पर्खिस् भने, त्यो गलत हो, त्यो कानुन तोड्नु हो। किनभने तँ एक साधारण नागरिक मात्र होस् र कानुन कार्यान्वयन गर्ने अधिकारी होइनस्, र तँसित कसैलाई पक्राउ गर्ने कुनै अधिकार हुँदैन; प्रहरीसँग मात्र कसैलाई पक्राउ गर्ने अधिकार हुन्छ। तैँले कुनै चोरले केही कुरा चोरिरहेको देख्दा, तैँले त्यो कुरा प्रहरीकहाँ रिपोर्ट गर्न सक्छस्, तर तँ आफैले चोरलाई पक्राउ गर्न मिल्दैन। यदि तैँले जथाभावी चोरलाई पक्राउ गरिस् भने, तैँले गैरकानुनी कार्य गरिरहेको हुन्छस्—पश्चिमा राष्ट्रहरूको कानुन यही नै हो। चिनियाँ मानिसहरूको “परम्परागत सद्गुण” पश्चिमा राष्ट्रहरूमा अभ्यास गर्नु उचित हुँदैन; पश्चिमा राष्ट्रहरूका आफ्नै कानुनहरू हुन्छन्। यदि तैँले कुनै कुनै पश्चिमा देशमा कोही लडेको देखिस् भने, कानुनले के तोकेको हुन्छ? तैँले गएर यस्तो सोध्नुपर्छ, “के तपाईँ ठीक त हुनुहुन्छ? के तपाईँलाई सहयोग चाहिन्छ?” यदि त्यस व्यक्तिले उसलाई कुनै सहयोग चाहिँदैन भन्यो भने, तँ जान सक्छस्। यदि तैँले कोही लडेको देखिस् तर उसलाई ठीक छ कि छैन भनेर सोधिनस् वा उसको जाँच-बुझ गरिनस्, र तँ बस हिँडिरहिस् भने, तैँले कानुन तोडिरहेको हुन्छस्। यदि तैँले चीनमा यस्तो अवस्थाको सामना गरिस् भने, त्यो ठगी हुन सक्छ, र यदि तैँले त्यसलाई बेवास्ता गरिस् भने केही पनि हुनेछैन। यदि तैँले, “के तपाईँ ठीक त हुनुहुन्छ? के तपाईँलाई सहयोग चाहिन्छ?” भनेर सोधिस् भने, त्यो तेरा लागि समस्याजनक हुन सक्छ, त्यस व्यक्तिले तँलाई ठग्न सक्छ, र त्यसपछि तैँले फेरि कहिल्यै राम्रो जीवन जिउनेबारे बिर्सिदिए हुन्छ। यी दुई मामलाहरूले तिमीहरूलाई के बताउँछन्? फरक-फरक देशहरूमा र फरक-फरक जातिहरूमा शिक्षा पूर्णतः फरक हुन्छ, अनि सामाजिक वातावरण र सामाजिक प्रणालीहरू, र अवश्य नै, कानुन र प्रावधानहरू पनि फरक हुन्छन्। जब बाह्य मामलाहरूको कामको कुरा आउँछ, एकातिर, यो काम गरिरहेका मानिसहरूले मण्डलीको कामसँग सम्बन्धित कानुन, प्रावधान, र विधानहरूलाई सही रूपमा बुझ्नुपर्छ, र, अर्कोतिर, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूले जान्‍नुपर्ने सामान्य जीवनसम्बन्धी केही ज्ञान वा कानुनी विधानहरू प्रसार पनि गर्नुपर्छ। त्यसकारण, परमेश्‍वरको घरसित यो कामसम्बन्धी कामका प्रबन्धहरू छन्, जसले यो काम गर्नेहरूबाट तिनीहरूले जे गर्दा पनि सुरुमा सधैँ सान्दर्भिक कानुन र सरकारी प्रावधानहरूको परामर्श लिनुपर्ने माग गर्छन्। विशेषगरी समाधान गर्न कठिन समस्याहरू सामना गर्दा, तिनीहरूले कुनै वकिलको परामर्श लिनैपर्छ र अन्धाधुन्ध आफैले मूल्याङ्कन गर्ने वा चिनियाँ मानिसहरूको सोचाइ र तर्कअनुसार समाधानहरू निकाल्ने गर्नु हुँदैन—यो मूर्ख र अज्ञानी तरिकाले कार्य गर्नु हो। यी कुराहरू बुझिसकेपछि, त्यसपछि तैँले बाह्य मामलाहरूको कामको महत्त्व, त्यसले हासिल गर्नुपर्ने नतिजाहरू, साथै परमेश्‍वरको घरलाई यी कामका प्रबन्धहरू गर्नु कति जरुरी छ भन्‍ने कुरा थाहा पाउनुपर्छ। यस कामको दायरा त्यति ठूलो छैन, त्यसैले धेरैजसो परिस्थितिहरूमा यस काममा संलग्न कर्मचारीलाई त्यसका कामका प्रबन्धहरूबारे स्पष्ट बुझाइ प्राप्त गर्न लगाउनु नै काफी हुन्छ। यदि त्यो दाजुभाइ-दिदीबहिनीहरूले जान्‍नुपर्ने कुरा हो भने, उनीहरूलाई त्यो कुरा बुझ्न र बोध गर्न मदत गर्। बाह्य मामलाहरूको काम निकै महत्त्वपूर्ण पनि छ, किनभने दाजुभाइ-दिदीबहिनीहरूले उनीहरू विदेशमा बस्ने र काम गर्ने सम्बन्धी कानुन र प्रावधानहरू नबुझी हुँदैन। परमेश्‍वरको घरसँग यस सम्बन्धमा आवश्यक पर्ने कुरासम्बन्धी विशिष्ट कामका प्रबन्धहरू हुन्छ, र यसलाई कामका प्रबन्धहरूका आधारमा कार्यान्वयन गर्न नै जरुरी छ। यदि विशेष परिस्थितिहरू देखा परेमा, परमेश्‍वरको घरले केही आपत्‌कालीन समाधानहरू सृजना गर्नेछ। यदि कुनै काम बाह्य मामलाहरूको कामसँग सम्बन्धित छ भने, तैँले बाह्य मामलाहरूका कर्मचारीहरूसँग परामर्श गर्नैपर्छ र परमेश्‍वरको घरले उक्त कार्यसम्बन्धी कस्ता विशिष्ट प्रबन्धहरू गरेको छ भनी हेर्नुपर्छ, अन्धाधुन्ध आफ्नै कल्पनामा भर परेर जानकारीरहित कार्य नगर्। त्यस तरिकाले कार्य गर्नाले समस्या निम्तिने सम्भावना हुन्छ, र परिणामहरू अकल्पनीय हुनेछन्। बाह्य मामलाहरूको काम एक समयमा एउटा मात्र गरिने काम पनि हो, यो जटिल हुँदैन, र तैँले धेरैजसो विशिष्ट कामका मामलाहरू कामका प्रबन्धहरूमा भेट्टाउन सक्नुपर्ने हो। जब मानिसहरूले पहिलो पटक विदेशमा बाह्य मामलाहरूको काम गर्न थाल्छन्, त्यो अलि जटिल लाग्न सक्छ, तर केही समय गरेपछि, उनीहरूले ढाँचा र विधिहरू पत्ता लगाउँछन्, र उप्रान्त त्यो त्यति जटिल लाग्दैन। सुरुमा, विदेश गएका चिनियाँ मानिसहरूबारे उनीहरूले फोहोर गरेको, राती अति अबेला सुतेको, बिहान अति चाँडो उठेको, उनीहरूका भुक्ने कुकुरहरूले मानिसहरूलाई बाधा दिएको, बरन्डामा कपडा सुकाएको, र अनुचित तरिकाले पार्किङ् गरेकोमा रिपोर्टहरू गरिन्थ्यो—तिनीहरूबारे धेरै कुराका लागि रिपोर्ट गरिन्थ्यो। अन्ततः तिनीहरूबारे धेरै पटक रिपोर्ट गरियो, प्रहरी सधैँ तिनीहरूलाई मार्गदर्शन दिन तिनीहरूको ढोका ढकढक्याउन आइपुगे, र लामो समय बितेपछि मात्र तिनीहरूले आफू चीनमा नभई विदेशमा छु भन्‍ने कुरा महसुस गरे। अलिअलि गर्दै, तिनीहरू सचेत बने, तिनीहरू कानुनबारे अलिकति सचेत भए, र तिनीहरूले जीवन, काम, ड्राइभिङ, आदिसम्बन्धी केही नियमहरू बुझे। चिनियाँ मानिसहरू पहिलो पटक विदेश जाँदा, तिनीहरूले आफूलाई कसरी आचरणमा ढाल्ने भन्‍नेबारे केही आधारभूत शिष्टाचार मात्र बुझेका थिए र तिनीहरूसँग धेरैजसो कानुनी मामलाहरूसम्बन्धी कुनै सामान्य ज्ञान थिएन; तिनीहरू जङ्गली जनावर जस्तै थिए, तिनीहरूमा कानुनबारे कुनै सचेतना थिएन। केही वर्षपछि, तिनीहरूले केही ज्ञान प्राप्त गरे र केही नियमहरू बुझे, मानौँ तिनीहरू घरपालुवा भएका थिए, र तिनीहरू अलि सुध्रिए।

झ. मण्डलीको कल्याण

नवौँ विषयवस्तु, मण्डलीको कल्याण। परमेश्‍वरको घरले यसअघि मण्डलीको कल्याणका सन्दर्भमा कामका प्रबन्धहरू बनाएको थियो, र यदि पूर्णकालीन रूपमा कर्तव्य पूरा गर्नेहरू वा तिनीहरूका परिवारलाई हातमुख जोड्नमा सहयोग चाहिएमा, मण्डली अगुवाहरूले यो समस्यालाई समाधान गर्नैपर्छ। यी कामका प्रबन्धहरूमा कार्यान्वयनका विशिष्ट योजना र सिद्धान्तहरू पाउन सकिन्छ, र परमेश्‍वरको घरले विशिष्ट निर्देश र सर्तहरू प्रदान गरेको छ। परमेश्‍वरमा विश्‍वास गरेकाले जेल परेका, र यसरी आफ्ना परिवारको दैनिक जीवनमा कठिनाइ सृजना भएका दाजुभाइ-दिदीबहिनीहरू; घरबाट टाढा रहेर लामो समयसम्म आफ्ना कर्तव्यहरू पूरा गरिरहेका र आफ्ना छोराछोरीको रेखदेख गर्ने कोही नभएका आमाबुबाहरू; र धेरै वर्षदेखि आफ्ना कर्तव्य पूरा गरेका बिरामी दाजुभाइ-दिदीबहिनीहरूका सम्बन्धमा, मण्डलीले यी र अन्य यस्ता कठिनाइहरूका लागि सहायता र समाधानहरू प्रदान गर्नुपर्छ। यो कामसँग सम्बन्धित एउटा विशेष परिस्थिति छ, र त्यो के हो भने, जब केही परिवारहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्ना घरमा अतिथि राख्ने सर्तहरू पूरा गर्छन्, तर तिनीहरूसँग आम्दानीको स्रोत छैन भने—तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको अतिथिसत्कार गर्दा लाग्ने खर्च कसरी सम्हालिनुपर्छ? यो मण्डलीको कल्याणको काम अन्तर्गत पर्छ। यस सम्बन्धी सर्तहरू कामका प्रबन्धहरूमा पाउन सकिन्छ, अथवा अगुवा र कामदारहरूले अतिथिसत्कार गर्ने कामलाई सञ्चालन गर्नका निम्ति मण्डलीका स्रोत-साधनहरूलाई स्थानीय अवस्थाअनुसार समझदारीपूर्वक बाँडफाँड गर्न सक्छन्—यी सबै कुराहरूका लागि मण्डलीसँग विशिष्ट सर्तहरू हुन्छन्। यदि यी विशिष्ट सर्तहरूको दायराभन्दा बाहिर केही विशेष परिस्थितिहरू उत्पन्‍न हुन्छन् भने, अगुवा र कामदारहरूले उक्त मामलाबारे सङ्गति र छलफल गर्न, र त्यस इलाकाका सामान्य जीवन स्तरहरूका आधारमा ठोस र समझदारीपूर्ण प्रबन्धहरू गर्न सक्छन्। यो ठूलो-स्तरको काम नभए पनि, र अत्यन्तै महत्त्वपूर्ण कार्य पनि नभए पनि, यो अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दायराभित्रै पर्ने काम हो, र यसलाई बेवास्ता गर्न मिल्दैन। यदि हातमुख जोड्नका लागि सहयोग चाहिने वा आर्थिक सहयोग चाहिने कोही पनि छैन भने, अगुवा र कामदारहरूले यस्तो खाँचो भएका मानिसहरू खोज्न विशेष प्रयास गर्नु आवश्यक छैन। यदि त्यस्ता मानिसहरू छन् भने, अगुवा र कामदारहरूले तिनीहरूबाट हच्किनु हुँदैन, र झन् तिनीहरूलाई बेवास्ता गर्नु, निष्क्रिय रूपमा उभिइरहनु, वा तिनीहरूलाई नदेखेको ढोँग गर्नु त झनै हुँदैन। उनीहरूले सिद्धान्तहरूअनुसार कार्य गर्नुपर्छ—यो उनीहरूको जिम्मेवारी हो।

ञ. आपत्‌कालीन योजनाहरू

दसौँ विषयवस्तु, आपत्‌कालीन योजनाहरू। आपत्‌कालीन योजनाहरूले परमेश्‍वरको घरको कामको कुनै पनि भागमा देखा पर्ने विशेष समस्याहरूलाई सम्बोधन गर्छन्। तुरुन्त समाधान गर्नुपर्ने समस्याहरू चाहे सुसमाचारको काममा, वा प्रशासनिक काममा, वा पेसागत काममा देखा परे पनि, वा यदि ख्रीष्टविरोधी वा झूटा अगुवाहरू संलग्न मुद्दा सम्हालिइरहेको भए पनि, वा मानिसहरूलाई भ्रममा पारिएको कुनै विशेष अवस्था खुट्ट्याइँदै गरिएको भए पनि, यी सबै आपत्‌कालीन योजनाहरूको वर्गमा पर्छन्। उदाहरणका लागि, यदि कसैले बाधा र अवरोधहरू पुर्‍यायो, वा यदि कुनै ख्रीष्टविरोधी स्वेच्छाचारी र तानाशाही भइरहेको छ र उसले आफ्नै राज्य स्थापना गर्ने कोसिस गरिरहेको छ भने, अनि आदि-इत्यादि, परमेश्‍वरको घरले यीमध्ये एउटा अवस्थासम्बन्धी विशिष्ट योजनाका लागि कामको प्रबन्ध सिर्जना गर्नु सार्थक हुन्छ भनी पत्ता लगाउनेबित्तिकै, त्यसले सोहीअनुसार लिखित सञ्चार तयार पार्नेछ। आपत्‌कालीन योजनाहरू त्यसबखत मण्डलीमा घटिरहेका केही आपत्‌कालीन अवस्थाहरूमा आधारित हुन्छन्, र माथिले परिस्थितिहरूको गम्भीरताअनुसार विशिष्ट कामका प्रबन्धहरू सिर्जना गर्दछन्, र त्यसपछि तिनलाई जारी र सञ्चार गर्दछन्। त्यो विशिष्ट योजना अगुवा र कामदारहरूले गर्नुपर्ने जुनै कामसँग सम्बन्धित हुन सक्छ, त्यो माथिले प्रबन्ध गरेको भएसम्म र माथिले अगुवा र कामदारहरूबाट उनीहरूले त्यो कुरा कार्यान्वयन गर्नुपर्ने माग गरेसम्म, अगुवा र कामदारहरूले माथिका कामका प्रबन्धहरू अनुसार नै त्यसलाई जारी र कार्यान्वयन गर्नैपर्छ। उनीहरूले यी कामका प्रबन्धहरूलाई हल्का रूपमा लिनु हुँदैन। जब माथिले यस किसिमका कामका प्रबन्धहरू बनाउँछन्, ती कुनै प्रशासनिक काम वा कुनै विशिष्ट पेसागत कामभन्दा कम हुँदैनन्। यी कामका प्रबन्धहरू अस्थायी मात्र भए पनि, अगुवा र कामदारहरूले तिनलाई अझै पनि औपचारिक कामका प्रबन्धहरूझैँ जारी, सञ्चार, कार्यान्वयन र अनुगमन गर्नुपर्छ, र पछि माथिलाई विवरण र प्रतिवेदन उपलब्ध गराउनुपर्छ—यो अगुवा र कामदारहरूको जिम्मेवारी हो। आपत्‌कालीन योजनाहरू कुनै विशिष्ट कामप्रति लक्षित हुँदैनन्, अर्थात्, कुनै पनि समयमा माथिले सबै क्षेत्रमा रहेका सबै तहका अगुवाहरूलाई काम तोक्न, उनीहरूबाट माग गर्न, वा उनीहरूलाई कामको प्रबन्ध दिन सक्छन्, र अगुवा र कामदारहरूले यस प्रकारको कामलाई बेवास्ता गर्नै हुँदैन। ती कामका प्रबन्धहरू भएकाले, र ती सबै तहका अगुवाहरूलाई र सबै क्षेत्रलाई जारी गरिने हुनाले, ती अगुवा र कामदारहरूका जिम्मेवारीहरूको दायराभित्रै पर्ने काम हुन्। अगुवा र कामदारहरूले निष्क्रिय रूपमा उभिने वा कामलाई दायराका हिसाबमा, वा त्यो तिनीहरूमाथि आइपर्ने काम हो कि होइन भन्‍ने हिसाबमा वर्गीकरण गर्ने, वा कामका प्रबन्धहरूलाई सामयिक रूपमा कार्यान्वयन गर्ने कि नगर्ने भनेर निर्धारण गर्न माथिको बोली र तात्कालिकताको आकलन गर्ने गर्नु हुँदैन। त्यस्ता कुराहरू हुनु हुँदैन, बरु अगुवा र कामदारहरूले उक्त कामलाई औपचारिक कामझैँ अघि बढाउनुपर्छ, र त्यसलाई महत्त्वपूर्ण कार्य र आज्ञाका रूपमा लिएर पूरा गर्नुपर्छ—यो अगुवा र कामदारहरूको जिम्मेवारी हो। विशेष परिस्थितिहरूमा आपत्‌कालीन योजनाहरू हुने गर्छन्, र यो विशेष सन्दर्भहरूमा गरिने काम हो। जब केही विशिष्ट र विशेष घटनाहरू घट्छन्, तब माथिले अगुवा र कामदारहरू वा दाजुभाइ-दिदीबहिनीहरूलाई यो अवसरको सदुपयोग गरेर सत्यतालाई अझ व्यावहारिक तरिकाले प्रयोग गरी मानिस र कामकुराहरूलाई खुट्ट्याउने, मानिस र कामकुराहरूलाई छर्लङ्गै देख्न सिक्ने, र सत्यताबारे अझ ठूलो बुझाइ हासिल गर्ने तुल्याउन यी सन्दर्भ र घटनाहरू प्रयोग गर्नेछन्। यसो गर्नुको उद्देश्य मानिसहरूलाई झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरू खुट्ट्याउन सक्षम तुल्याउनु हो। यसबाहेक, यो दाजुभाइ-दिदीबहिनीहरूलाई मण्डली जीवनका लागि शान्त, उचित, र बाधारहित वातावरण पाउन सक्षम बनाउनका लागि गरिन्छ। अर्कोतर्फ, यो मानिसहरूलाई सामयिक रूपमा विभिन्‍न पाठहरू सिक्न र प्रशिक्षण प्राप्त गर्न सक्षम तुल्याउनका लागि गरिन्छ; एक पटक यस तरिकाले प्रशिक्षित भएपछि, मानिसहरूले आफ्ना जीवनमा अत्यन्तै प्रगति गर्नेछन्। माथिले सबै तहका अगुवा र कामदारहरूलाई र दाजुभाइ-दिदीबहिनीहरूलाई, र खासगरी सत्यता पछ्याउने दाजुभाइ-दिदीबहिनीहरूलाई प्रशिक्षण दिने यो एउटा तरिका हो। त्यसमा कुनै द्वेषभाव हुँदैन, माथिले मानिसहरूलाई यातना दिइरहेका, वा सानो कुरालाई ठूलो बनाइरहेका हुँदैनन्। ती आपत्‌कालीन योजनाहरू हुन्, जुन अस्थायी कामका प्रबन्धहरू हुन्, तैपनि ती अझै महत्त्वपूर्ण र मूल्यवान् छन्, र मलाई आशा छ कि सबै तहका अगुवा र कामदारहरू अनि दाजुभाइ-दिदीबहिनीहरूले यो कुरा बुझ्न र तिनलाई सही तरिकाले लिन सक्छन्।

हामीले जम्मा १० वटा कामका प्रबन्धहरूको विषयवस्तुको सूचि बनाएका छौँ, र अब मैले मूलतः यी दसवटा विषयवस्तुहरूबारे सङ्गति गरिसकेको छु। मैले तिनका बारेमा धेरै विस्तृत रूपमा सङ्गति गरेको छैनँ, तर मैले जे-जति सङ्गति गरेको छु, त्यो नै तिमीहरूलाई कामका प्रबन्धहरू ठ्याक्कै के हुन् र परमेश्‍वरको घरले गर्ने विशिष्ट काम के हो भन्‍ने कुरा बुझ्ने र बोध गर्ने तुल्याउन काफी छ। अर्को हिसाबले, तिमीहरू परमेश्‍वरले मण्डलीमा र उहाँले यी विशिष्ट विषयवस्तुहरूमार्फत चयन गर्नुभएका मानिसहरूमाझ ठ्याक्कै के गरिरहनुभएको छ भनी बुझ्न सक्षम तुल्याइएका छौ। परमेश्‍वरको घरको काम भनेको कुनै उद्यममा, वा राजनीतिमा, वा मानव अधिकारमा संलग्न हुनु होइन, न त कुनै व्यावसायिक गतिविधिमा संलग्न हुनु नै हो; परमेश्‍वरको घरले गर्ने कामहरू कामका प्रबन्धहरूमा पाइनेहरू नै हुन्। अनि त्यसैले, केही सत्तारूढ दलहरू र सामाजिक संस्थाहरूले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीमा के भइरहेको छ भनी सधैँ अनुगमन, शोध, र अनुसन्धान गरिरहेका हुन्छन्, र सायद यसलाई जाँच गरेर—परमेश्‍वरको घरका भिडियो र वेबसाइटहरू हेरेर—तिनीहरूले सर्वशक्तिमान् परमेश्‍वरको मण्डली एउटा साँचो आस्था हो, र यो कुनै पनि देशका राजनीतिक गतिविधिहरूमा संलग्न छैन भन्‍ने पुष्टि गरेका छन्। सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीले धेरै वर्षदेखि चिनियाँ कम्युनिष्ट पार्टीको उन्मत्त दमन र आक्रमणहरूको कष्ट भोग्दै आइरहेको भए पनि, यसले सुसमाचार प्रचार गर्न र परमेश्‍वरको गवाही दिन जारी राख्छ, र यसले परमेश्‍वरका वचनहरू, सत्यता, र हर प्रकारका गवाही भिडियोहरू अनलाइनमा अपलोड गरेको छ, जसले मानव समाजलाई अत्यन्तै ठूला र धेरै फाइदाहरू पुर्‍याएको छ र आखिरी दिनहरूमा परमेश्‍वरले निरन्तर सत्यता व्यक्त गरिरहनुभएको छ र मानवजातिलाई मुक्ति दिइरहनुभएको छ भन्‍ने कुरालाई पूर्ण रूपमा प्रमाणित गरेको छ। तिनीहरूले निरन्तर अनुसन्धानमाथि अनुसन्धान गरिरहन्छन्, अनि तिनीहरूले आफ्नो अनुसन्धानबाट के नतिजा पाउँछन् त? के तिनीहरू अत्यन्तै निराश हुँदैनन् र? तिनीहरूले हाम्रो मण्डलीलाई “कट्टर पन्थ” को संज्ञा दिन, र मण्डलीलाई पार्टी-विरोधी र राष्ट्र-विरोधीको संज्ञा दिन के गलचेप भेट्टाउन सकिन्छ भनेर समेत मनन गरे। तर अब तिनीहरूले यसो गर्न नसकिने देखेका छन्—मण्डलीले वर्षौँदेखि जारी गर्दै आएका कामका प्रबन्धहरूलाई मूल्याङ्कन गर्दा, तिनीहरूसँग मण्डलीलाई यस्ता संज्ञाहरू दिने कुनै उपाय नै छैन, र तिनीहरूको अनुसन्धान सबै व्यर्थ भएको छ। यो ठ्याक्कै ती दिनहरूमा यहूदीहरूले प्रभु येशूको अध्ययन गरेसरह हो। शास्त्री, फरिसी, र वरिष्ठ सरकारी अधिकारीहरूले प्रभु येशूले भन्‍नुभएका र गर्नुभएका कुराहरू अध्ययन गरे अनि उहाँले गर्नुभएको कुनै पनि कुरा पनि कानुनविपरीत वा राजनैतिक थिएन, प्रभु येशूले भन्‍नुभएको र गर्नुभएको सबथोक सही थियो, सत्यता थियो, र पूर्णतया धर्मशास्त्रहरूअनुसारको थियो भन्‍ने थाहा पाए, र अन्त्यमा तिनीहरू निराश भए। धार्मिक संसारले अहिले परमेश्‍वरको घरले धेरैभन्दा धेरै चलचित्र र अनुभवात्मक गवाही भिडियोहरू निर्माण गरिरहेको छ, र विशेषगरी परमेश्‍वरका वचनका पुस्तकहरू र वाचनहरूको सङ्ख्या बढिरहेको छ भन्‍ने देख्छ, र त्यसैले तिनीहरूले के सोच्छन्? यदि तिनीहरूले यी सबै कुराहरू परमेश्‍वरबाट आइरहेका छन् भनेर देख्न सक्दैनन् भने, तिनीहरू साँच्चै अत्यन्तै मूर्ख छन्! जुन कुरा परमेश्‍वरबाट आउँछ त्यो फस्टाउनैपर्छ—यो पवित्र आत्माको कामको नतिजा हो, र यसलाई कसैले पनि लुकाउन सक्दैन। परमेश्‍वरका वचनहरू अहिले संसारभरि फैलिएका छन् र उहाँले व्यक्त गर्नुहुने सत्यताहरू सारा मानवजातिका अगाडि राखिएका छन्; परमेश्‍वरको देखापराइ र काम शक्तिशाली रूपमा अघि बढ्छ, कुनै पनि राष्ट्र वा बलले त्यसको विरोध गर्न सक्दैन। ठूलो रातो अजिङ्गर पूर्ण रूपमा लज्जित र पराजित भइसकेको छ! धार्मिक संसारले परमेश्‍वरको कामको जतिसुकै निन्दा गर्न सक्ने भए पनि, तिनीहरूले त्यसको प्रतिरोध गर्न सक्दैनन्, र अन्त्यमा, तिनीहरू हटाइन र त्यसको ज्वारभाटामा डुब्न मात्र सक्छन्।

अब मैले कामका प्रबन्धहरूका विषयवस्तुबारे सङ्गति पूरा गरिसकेको छु। मैले जे कुराका बारेमा सङ्गति गरेको छु, के ती सबै परमेश्‍वरको घरले गर्ने काम होइनन् र? तिमीहरूका आँखाले देख्ने, तिमीहरूका कानले सुन्‍ने, र तिमीहरूले व्यक्तिगत रूपमा अनुभव र सराहना गर्ने काम यही हो—यसमा गोप्य कुरा केही पनि छैन। ठूलो रातो अजिङ्गरसँग मण्डलीका वर्षौँदेखिका सबै कामका प्रबन्धहरू छन्—तिनीहरूसँग भएका कामका प्रबन्धहरू धेरै र वृहत् छन्। तिनीहरूले तिनलाई हरेक दिन अध्ययन गर्छन्, र अन्ततः यो निष्कर्षमा नपुगेसम्म बारम्बार अध्ययन गरिरहन्छन्: “यदि यी मानिसहरूले निरन्तर परमेश्‍वरका वचनहरू फैलाउने र यसरी परमेश्‍वरको कामको गवाही दिने हो भने, त्यो त विकराल हुनेछ! यी सबै मानिसहरूलाई नष्ट पार्नै पर्छ, र भागेर विदेश गए पनि तिनीहरूलाई बाँकी राख्नु हुँदैन।” देखिस् नि, दियाबलसहरू साधारण भ्रष्ट मानिसहरूसरह हुँदैनन्—तिनीहरूले दुःखद अन्त्यसम्म नै परमेश्‍वरको विरोध गर्नेछन्। यदि साधारण भ्रष्ट मानिसहरूले मण्डलीका गवाहीहरू देखेमा, तिनीहरूले ती बुझ्न सक्छन्, तिनीहरूलाई ती व्यावहारिक लाग्छ, र तिनीहरू कुनै सतावटमा संलग्न हुनेछैनन्। तर, शैतान र दियाबलसहरू यस्ता हुँदैनन्। तिनीहरूले तैँले परमेश्‍वरलाई पछ्याइरहेको र परमेश्‍वरको गवाही दिइरहेको देख्दा, तँलाई घृणा गर्छन्, तँलाई मार्न चाहन्छन्, र तँलाई जिउने अनुमति दिँदैनन्। यदि तैँले तिनीहरूले भनेको गरिनस् र तिनीहरूको आराधना गरिनस् भने, तिनीहरूले कहिल्यै तेरो पिछा छोड्नेछैनन्, र तिनीहरूले तँलाई जिउन दिनेछैनन्। तँ चाहे जहाँ गए पनि तिनीहरूले मृत्युसम्मै तँलाई लखेट्नेछन्; तँ चाहे पृथ्वीको अन्त्यसम्मै गए पनि, तिनीहरूले तँलाई छोड्नेछैनन्। ठूलो रातो अजिङ्गरले यही गर्छ। यो शैतानको दुष्टता हो, र त्यो साधारण भ्रष्ट मानिसहरूभन्दा फरक हुन्छ। तँ यसबारे प्रस्ट हुनैपर्छ।

कामका प्रबन्धहरू कसरी सही तरिकाले सञ्चार र कार्यान्वयन गर्ने

अ. कामका प्रबन्धहरू कसरी सञ्चार गर्ने

यी दसवटा कामका प्रबन्धहरू परमेश्‍वरले मण्डलीमा र परमेश्‍वरका चुनिएका मानिसहरूमाझ निर्वाह गर्ने विभिन्‍न प्रकारका सबै कामका दायरा र विषयवस्तु हुन्। यस कामको विषयवस्तु र दायरा बुझ्नाले परमेश्‍वरका चुनिएका मानिसहरूलाई अगुवा र कामदारहरूले यो काम राम्रोसँग गर्नमा तिनीहरूको सुपरिवेक्षण गर्न मदत गर्छ। अर्को हिसाबले, यसले मुख्यगरी अगुवा र कामदारहरूलाई आफ्ना जिम्मेवारीहरूका दायरा, उनीहरूले गर्नुपर्ने काम र पूरा गर्नुपर्ने जिम्मेवारीहरू बुझ्न र बोध गर्न, र “अगुवा र कामदारहरू” नामपदवीको सही परिभाषा प्राप्त गर्न मदत गर्छ। अगुवा र कामदारहरूका जिम्मेवारीहरू के-के हुन्? उनीहरू कस्तो रूपमा जिउनुपर्छ? के उनीहरू राज्य सरकारका अधिकारीहरू जस्तै हुनुपर्छ? (हुनु हुँदैन।) “अगुवा र कामदारहरू” कुनै आधिकारिक पद वा पदवी होइन। व्यक्तिले अगुवा र कामदारहरू के हुन् भन्‍ने कुरा अगुवा र कामदारहरूले पूरा गर्ने कर्तव्यहरूबाट, र परमेश्‍वरले उनीहरूलाई सुम्पनुहुने आज्ञा र उनीहरूबाट माग गर्नुहुने मानकबाट बुझ्नुपर्छ। यसरी, व्यक्तिले “अगुवा र कामदारहरू” नामपदवीको तुलनात्मक रूपमा ठोस बुझाइ प्राप्त गर्नेछ, र ऊ अगुवा र कामदारहरूको परिभाषाबारे अझ प्रस्ट बन्‍नेछ। अगुवा र कामदारहरूले न्यूनतम रूपमा पूरा गर्नुपर्ने जिम्मेवारीहरू के-के हुन्? उनीहरूले हरेक कामका प्रबन्धलाई नवौँ विषयवस्तुमा उल्लिखित परमेश्‍वरको घरका मागहरूअनुसार सही तरिकाले सञ्चार, जारी, र कार्यान्वयन गर्नुपर्छ। कामको प्रबन्ध चाहे जुन पक्षसँग सम्बन्धित भए पनि, त्यो अगुवा र कामदारहरूमार्फत सञ्चार भएसम्म, उनीहरूले कामका प्रबन्धबारे पूर्ण रूपमा सही बुझाइ प्राप्त गरेपछि, ढिलाइ र रोकावटबिना मण्डलीहरूलाई त्यो सञ्चार गर्नैपर्छ। जहाँसम्म कामका प्रबन्धहरू कसलाई सञ्चार गरिँदै छ भन्‍ने छ, यदि परमेश्‍वरको घरले कामका प्रबन्धहरू प्रचारक, मण्डली अगुवा, र मण्डली डिकनलगायत सबै तहका अगुवा र कामदारहरूलाई सञ्चारित गरिनुपर्ने माग गर्छ भने, ती यस तहका मानिसहरूसम्म नै सञ्चारित गरिनुपर्छ, अनि त्यतिमै रोकिनुपर्छ; यदि कामका प्रबन्धहरू हरेक दाजुभाइ-दिदीबहिनीलाई सञ्चारित गरिनुपर्ने हो भने, तिनलाई परमेश्‍वरको घरका मागहरूअनुसार कडाइका साथ हरेक दाजुभाइ-दिदीबहिनीलाई सञ्चारित गरिनुपर्छ। यदि वातावरणले लिखित रूपमा कामका प्रबन्धहरूलाई सञ्चार गर्न असहज बनाउँछ, र यसो गर्दा सुरक्षा जोखिमहरू वा झनै ठूला समस्याहरू निम्तिन्छन् भने, कामका प्रबन्धहरूको महत्त्वपूर्ण र प्रमुख विषयवस्तु हरेक व्यक्तिलाई मौखिक रूपमा सही तरिकाले सञ्चारित गरिनुपर्छ। त्यसोभए, कामका प्रबन्धहरू सञ्चारित भएको मानिन यो कसरी गरिनुपर्छ त? यदि कामका प्रबन्धहरू लिखित रूपमा सञ्चारित भइरहेका छन् भने, सबैले ती प्राप्त गरे, सबैले तीबारे थाहा पाए, र सबैले तिनलाई गम्भीर रूपमा लिइरहेका छन् भन्‍ने कुरा पुष्टि हुनुपर्छ; यदि ती मौखिक रूपमा सञ्चारित भइरहेका छन् भने, तिनलाई सञ्चार गरिसकेपछि, मानिसहरूलाई तिनीहरूले ती कुराहरू प्रस्ट रूपमा बुझे कि बुझेनन् र तिनीहरूलाई याद छ कि छैन भनेर बारम्बार सोधिनुपर्छ, र तिनीहरूलाई कामका प्रबन्धहरू सुनाउन लगाउन पनि सकिन्छ—यस तरिकाले मात्र कामका प्रबन्धहरू साँचो रूपमा सञ्चार भएको मान्‍न सकिन्छ। यदि मानिसहरूले परमेश्‍वरको घरले माग गरेका सिद्धान्तहरू के-के हुन्, र विशिष्ट विषयवस्तु के हो भनी सुनाउन र प्रस्ट रूपमा भन्‍न सक्छन् भने, यसले कामका प्रबन्धहरू तिनीहरूका मनमा सञ्चारित भइसकेका छन्, तिनीहरूले तिनलाई याद गरेका छन्, र प्रस्ट रूपमा बुझ्छन् भन्‍ने प्रमाणित गर्छ। त्यसपछि मात्र कामका प्रबन्धहरू साँचो रूपमा सञ्चारित भएको मान्‍न सकिन्छ। यदि अवस्थाहरू, वातावरण, र त्यस्ता अन्य तत्त्वहरू सबै कामका प्रबन्धहरू लिखित रूपमा सञ्चारित गर्न उपयुक्त छन् भने, ती बिलकुलै लिखित रूपमा नै सञ्चार गरिनुपर्छ; यदि वातावरणले नदिएका कारण तिनलाई लिखित रूपमा सञ्चार गर्न सकिँदैन र त्यसको सट्टामा तिनलाई मौखिक रूपमा नै सञ्चार गर्नुपर्छ भने, जे कुरा मौखिक रूपमा सञ्चार भइरहेको छ त्यो कामका प्रबन्धहरूसँग मिल्दोजुल्दो भएको, ती विकृत नभएको, र तिनमा कुनै व्यक्तिगत बुझाइ नजोडिएको, र मूल पाठ सम्बन्धित रहेको पुष्टि हुनैपर्छ—यस तरिकाले मात्र कामका प्रबन्धहरू साँचो रूपमा र सही तरिकाले सञ्चार भएको मान्‍न सकिन्छ। कामका प्रबन्धहरू पूर्ण रूपमा तिनका विशिष्ट शब्दहरूअनुसार सञ्चार गरिनुपर्छ; तिनलाई गैरजिम्मेवार रूपमा वा मानिसहरूका व्यक्तिगत बुझाइ र कल्पनाहरूका आधारमा विकृत वा बेतुके व्याख्याहरू सहित सञ्चार गरिनु हुँदैन। जब तिनलाई सही तरिकाले सञ्चार गर्ने कुरा आउँछ, मानिसहरूले कामका प्रबन्धहरू सञ्चार गर्नुको कडाइको स्तर बुझ्नुपर्छ; अर्थात्, तिनलाई सही रूपमा सञ्चार गरिनैपर्छ। कतिपय मानिसहरू यसो भन्छन्, “के हामीले तिनलाई दुरुस्त सञ्चार गर्नुपर्छ र?” अहँ, त्यसो गर्नु आवश्यक छैन। दुरुस्ती त उपकरणहरूबाट मात्र माग गरिन्छ; यदि मानिसहरूले तिनलाई सही तरिकाले सञ्चार गर्न मात्र सकेमा, तिनीहरूले राम्रै काम गरिरहेका हुन्छन्। उदाहरणका लागि, मण्डली जीवनका सम्बन्धमा, परमेश्‍वरको घरका कामका प्रबन्धहरूले परमेश्‍वरका चुनिएका मानिसहरूबाट तिनीहरूले परमेश्‍वरलाई चिन्‍नेबारे परमेश्‍वरका वचनहरू खानु र पिउनुपर्ने माग गर्छन्—के यो कुरा सञ्चार गर्न सजिलो छ? (छ।) कामका प्रबन्धहरूले मानिसहरूलाई एउटा दायरा दिन्छन् र तिनीहरूले परमेश्‍वरका यी सबै सान्दर्भिक वचनहरू पढ्न सक्छन्। तर, यदि कसैले कामका प्रबन्धहरूलाई गलत व्याख्या गर्‍यो, आफ्ना व्यक्तिगत बुझाइ र धारणा र कल्पनाहरू जोड्यो र केही अतिरिक्त शब्दहरू सञ्चार गर्‍यो भने, के यसको अर्थ ऊ कामका प्रबन्धहरूबाट विचलित भएको छ भन्‍ने हुँदैन र? के उसले कामका प्रबन्धहरू सटीक रूपमा सञ्चार गरिरहेको हुन्छ? (हुँदैन।) उसले कामका प्रबन्धहरू आफ्नै कुराहरू थपेर सञ्चार गरिरहेको हुन्छ—यो विशुद्ध रूपमा वाहियात कुरा हो। व्यक्तिले माथिबाट आउने हरेक कामको प्रबन्ध कैयौँ पटक दोहोर्‍याएर पढ्नैपर्छ र ऊ त्यसको सही अर्थ, यो कामको प्रबन्ध जारी गर्नुको महत्त्व, त्यसले हासिल गर्न खोजेका नतिजाहरूबारे प्रस्ट हुनुपर्छ, र त्यसपछि उसले माथिले प्रबन्ध गरेका यी विशिष्ट कामहरू अभ्यास गर्ने सही तरिका पत्ता लगाउनुपर्छ, र कुनै पनि गल्तीहरू गर्नबाट जोगिनुपर्छ। यी कुराहरू सङ्गति गरेर बुझेपछि कामका प्रबन्धहरूको सञ्चार पूर्ण रूपमा सही हुनेछ। सुरुमा गर्नु पर्ने काम भनेको ग्रामीण क्षेत्रका अगुवा र कामदारहरूबाट कामका प्रबन्धहरू अन्य सबै तहका अगुवा र कामदारहरूकहाँ पुर्‍याउनु हो, जसले अन्त्यमा हरेक मण्डलीका हरेक समूहका सुपरिवेक्षकलाई ती पठाउँछन्। त्यसपछि परमेश्‍वरको घरका कामका प्रबन्धहरूबारे भेलाहरूमा कैयौँ पटक सङ्गति गरिनैपर्छ ताकि परमेश्‍वरका चुनिएका सबै मानिसहरूले तिनलाई बुझून् र अभ्यास गर्न जानून्—यो प्रभाव हासिल भएपछि मात्र ती सञ्चारित भएको मान्‍न सकिन्छ। कामका प्रबन्धहरू परमेश्‍वरको घरले माग गरेको विधि र दायराअनुसार नै सञ्चार गरिनुपर्छ। सञ्चार गरिने सामग्री अवश्य पनि सही र त्रुटिरहित हुनैपर्छ। अगुवा र कामदारहरूले यतिकै तिनलाई गलत अर्थ्याउन र आफ्नै विचारहरू थप्न हुँदैन—त्यो तिनलाई सही रूपमा सञ्चार गर्नु होइन, र यो अगुवा वा कामदारका रूपमा आफ्ना कर्तव्यहरू पूरा गर्न असफल हुनु हो। कामका प्रबन्धहरूलाई सही रूपमा सञ्चार र कार्यान्वयन गर्नुलाई यसरी बुझ्नुपर्छ।

यदि अगुवा र कामदारहरू अझै पनि कसरी कामका प्रबन्धहरूलाई सही तरिकाले सञ्चार गर्ने भन्‍नेबारे निश्चित छैनन् भने उनीहरूले के गर्नुपर्छ? यसको एउटा निकै सरल र सजिलो विधि छ। अगुवा र कामदारहरूले कामका प्रबन्धहरू प्राप्त गरेपछि, उनीहरूले पहिला कामका प्रबन्धहरूबारे अन्य अगुवा र कामदारहरूसँग सङ्गति गर्नुपर्छ, यी कामका प्रबन्धहरूका लागि माथिले कति वटा विशिष्ट विषयवस्तुहरू माग गरेका छन् भनेर हेर्नुपर्छ, र तिनलाई एक-एक गरी सूचिबद्ध गर्नुपर्छ। त्यसपछि, यी कामका प्रबन्धहरूका आधारमा, उनीहरूले सुसमाचारको काम, विभिन्‍न प्रकारका पेसागत कामहरू, र मण्डली जीवनका परिस्थितिहरू, साथै विभिन्‍न किसिमका सबै मानिसहरूको क्षमता र पारिवारिक परिस्थितिहरू, आदि जस्ता स्थानीय मण्डलीको वास्तविक अवस्थालाई ख्याल गर्नुपर्छ, यी कामहरू कसरी कार्यान्वयन गर्ने भनी हेर्न यी सबै कुराहरूलाई समाहित गर्नुपर्छ। सङ्गतिमार्फत, सबै अगुवा र कामदारहरू कामका प्रबन्धहरूबारे समान र सही बुझाइमा पुग्नैपर्छ, र उनीहरूसँग तिनलाई सञ्चार गर्ने सोही बमोजिमका विधिहरू हुनैपर्छ—यस तरिकाले मात्र कामका प्रबन्धहरू सही तरिकाले सञ्चार हुनेछन्। यदि कुनै अगुवा वा कामदारले कामका प्रबन्धहरू प्राप्त गर्छ, र, तिनमा विशिष्ट रूपमा के छ भन्‍ने कुरा थाहा नपाई, अन्धाधुन्ध रूपमा दाजुभाइ-दिदीबहिनीहरूलाई सँगै भेला पार्छ र ती जारी र सञ्चार गर्छ भने, के यो उचित हो त? यसको नतिजास्वरूप कामका प्रबन्धहरू सञ्चार गरिएको एक-दुई महिनापछि, हरेक मण्डलीमा ती कार्यान्वयन गर्ने तरिकामा विचलनहरू छन् भन्‍ने पत्ता लाग्छ, र उक्त अगुवा वा कामदारले कामका प्रबन्धहरूलाई नजिकबाट हेरेपछि मात्र, उसले कामका प्रबन्धहरू विचलनहरूका साथ सञ्चार गरिएका रहेछन् भनेर थाहा पाउँछ। यदि त्यस अगुवा वा कामदारले उही बेला नै लगनका साथ कामका प्रबन्धहरू पढेको वा तीबारे सङ्गति गरेको भए, ठिकै हुने थियो, तर उसले क्षणिक रूपमा अल्छी गरेको र झारा टारेको हुनाले, उसले मण्डलीको काममा धेरै त्रुटि र विचलनहरू उत्पन्‍न गरायो, अनि पछि, उसले तिनलाई सच्याउनुपर्छ। यसले एउटा पूरै अनावश्यक अतिरिक्त कदम थप्छ र समय बरबाद गर्छ। उसले सिधै कामका प्रबन्धहरूबारे प्रस्ट रूपमा सङ्गति गरेर त्यसपछि तिनलाई एक-एक गर्दै सञ्चार र कार्यान्वयन गरेको भए राम्रो हुने थियो। काम राम्रोसँग नगरिँदा के त्यो गल्ती होइन र? (हो।) त्यसकारण, कामका प्रबन्धहरू सही तरिकाले सञ्चार गर्ने कदमहरू हुन्छन्। सर्वप्रथम, अगुवा र कामदारहरूसँग कामका प्रबन्धहरूको विशिष्ट विषयवस्तुबारे साँचो बोध र सही बुझाइ हुनैपर्छ, र त्यसपछि उनीहरूसँग मनमा विशिष्ट कार्यान्वयन योजनाहरू, कार्यान्वयन विधिहरू, र कार्यान्वयनका लक्षित पात्रहरू हुनैपर्छ—यस तरिकाले मात्र कामका प्रबन्धहरू सही रूपमा सञ्चार गर्न सकिन्छ। अगुवा र कामदारहरूसँग कामका प्रबन्धहरूबारे अपूरो बुझाइ मात्र हुँदा, उनीहरूले तिनलाई बुझेको जस्तो मात्र देखिँदा, उनीहरू तिनका बारेमा अनिश्चित र अस्पष्ट हुँदा, वा उनीहरूले तिनमा भएका विशिष्ट मागहरू र विषयवस्तुलाई बुझ्दै नबुझ्दा, यदि उनीहरूले तिनलाई अन्धाधुन्ध जारी र सञ्चार गरेमा, के त्यो उचित हुन्छ? (हुँदैन।) के त्यस्ता अगुवा र कामदारहरूले राम्ररी काम गर्न सक्छन्? स्पष्ट रूपमै सक्दैनन्। त्यसैले, दाजुभाइ-दिदीबहिनीहरूले कामका प्रबन्धहरूमा विशिष्ट माग गरिएका मानकहरू र सिद्धान्तहरू के-के हुन्, वा तिनलाई ठ्याक्कै कसरी अघि बढाउने भन्‍नेबारे थाहा नपाएको अवस्थामा, अगुवा र कामदारहरूसँग पहिल्यै कामका प्रबन्धहरूको सही बुझाइ हुन्छ, साथै तिनलाई कार्यान्वयन गर्ने ठोस योजना र कदमहरू हुन्छन्—यस तरिकाले मात्र अगुवा र कामदारहरूले पहिलो कदम, अर्थात् कामका प्रबन्धहरू सञ्चार गर्ने कामलाई अघि बढाउन सक्छन्। कामका प्रबन्धहरू सञ्चार भइसकेपछि, र दाजुभाइ-दिदीबहिनीहरू सबैले कामका प्रबन्धहरूको विषयवस्तुलाई सही रूपमा बुझेपछि, र परमेश्‍वरको घरले यो काम गर्नुको महत्त्व, मूल्य र मानकहरूबारे केही ज्ञान प्राप्त गरेपछि, अगुवा र कामदारहरूले मानिस र विशिष्ट कामहरू कसरी बाँडफाँड गर्ने भन्‍नेबारे, र यस कामलाई कसले कार्यान्वयन गर्ने र अघि बढाउने भन्‍ने विशिष्ट योजनाबारे तुरुन्तै सङ्गति गर्नुपर्छ—काम गर्ने कदमहरू यिनै हुन्। यस तरिकाले कामको अनुगमन गर्नेबारे तिमीहरूलाई के लाग्छ? के त्यसलाई कामलाई नजिकबाट अनुगमन गर्नु मान्‍न सकिन्छ? के त्यो कामलाई तुरुन्तै अनुगमन गर्नु हो? (हो।)

आ. कामका प्रबन्धहरू कसरी कार्यान्वयन गर्ने

अगुवा र कामदारहरूले एउटा कामको प्रबन्ध प्राप्त गरेपछि, उनीहरूले त्यसलाई केवल सञ्चार र जारी गर्नुपर्छ, अनि काम सकिन्छ भन्‍ने होइन। के हरेक मण्डलीमा रहेका परमेश्‍वरका चुनिएका मानिसहरूले कामको प्रबन्ध जारी भएको छ भनेर थाहा पाएपछि त्यो कार्यान्वयन भएको मान्‍न सकिन्छ? यो कुनै कामको प्रबन्धलाई साँच्चिकै अघि बढाउनु वा कार्यान्वयन गर्नु होइन, यो उनीहरूका जिम्मेवारीहरू पूरा गर्नु होइन, न त यो परमेश्‍वरले अन्ततः माग गर्नुहुने मानक नै हो। लक्ष्य कुनै कामको प्रबन्ध सञ्चार र जारी गर्नु होइन—त्यसलाई कार्यान्वयन गर्नु चाहिँ लक्ष्य हो। त्यसोभए, कामका प्रबन्धहरूलाई विशिष्ट रूपमा कसरी कार्यान्वयन गरिनुपर्छ? अगुवा र कामदारहरूले सम्बन्धित सबै सुपरिवेक्षक र दाजुभाइ-दिदीबहिनीहरूलाई सँगै बोलाउनुपर्छ र काम कसरी गरिनुपर्छ भन्‍नेबारे उनीहरूसँग सङ्गति गर्नुपर्छ, र त्यो सँगसँगै कामलाई अघि बढाउनका लागि एक प्रमुख सुपरिवेक्षक अनि समूह सदस्यहरू छनौट गर्नुपर्छ। काम कार्यान्वयन गर्दा अगुवा र कामदारहरूले गर्नुपर्ने पहिलो कुरा भनेको सङ्गति हो—सिद्धान्तहरू अनुरूप र परमेश्‍वरको घरको यो कामको प्रबन्ध अनुरूप कसरी काम गर्ने, र परमेश्‍वरको घरको यो कामको प्रबन्ध कार्यान्वयन भएको र अघि बढाइएको छ भन्‍ने अर्थ लाग्ने तरिकाले यो काम कसरी गर्ने भन्‍नेबारे सङ्गति गर्ने हो। सङ्गति गर्दा, दाजुभाइ-दिदीबहिनीहरू र अगुवा र कामदारहरूले विभिन्‍न योजनाहरू सुझाउनुपर्छ, र अन्त्यमा एउटा तरिका, विधि, र सबैभन्दा उचित र सिद्धान्तहरू अनुसारका कदमहरू चुन्‍नुपर्छ, र पहिला के गर्ने, अनि त्यसपछि के गर्ने भन्‍ने निर्णय गर्नुपर्छ, ताकि काम व्यवस्थित ढङ्गले अघि बढ्न सकोस्। यो कुरा सैद्धान्तिक रूपमा बुझिसकेपछि, जब मानिसहरूसँग उप्रान्त कुनै कठिनाइ वा कल्पनाहरू बाँकी हुँदैनन्, जब उनीहरूले यो कामप्रति कुनै प्रतिरोध महसुस गर्दैनन्, र परमेश्‍वरको घरको यो कामको प्रबन्धको अर्थ र उद्देश्य बुझ्न सक्छन्, तब पनि उक्त काम कार्यान्वयन भएको मान्‍न सकिँदैन। यस कामका लागि को सबैभन्दा उपयुक्त छ र त्यसमा को सबैभन्दा दक्ष छ, कसले यो कामको जिम्मेवारी वहन गर्न सक्छ, र कोसँग यो काम पूरा गर्ने क्षमता छ भन्‍ने कुराको पनि निर्णय गर्नैपर्छ। यो काम सम्हाल्ने मानिसहरू छनोट गर्नैपर्छ, कार्यान्वयन योजना र पूरा गरिनुपर्ने म्याद तय गर्नैपर्छ, र काम पूरा हुनका लागि आवश्यक पर्ने स्रोत, सामग्री, र त्यस्तै अन्य कुराहरू तयार गर्नैपर्छ र प्रस्ट रूपमा भन्‍नैपर्छ—त्यसपछि मात्र काम कार्यान्वयन भएको मान्‍न सकिन्छ। अवश्य पनि, कार्यान्वयन गर्नु अघि, यस कामका लागि जिम्मेवार मानिसहरूसँग व्यक्तिगत रूपमा विशिष्ट कुराकानी र छलफलहरू चलाउनु, उनीहरूले यसअघि यो काम गरेका छन् कि छैनन् र यसबारे उनीहरूका विचार र सोचहरू के-के छन् भनी सोध्नु पनि जरुरी हुन्छ। यदि उनीहरूले सिद्धान्तहरूसँग मेल खाने केही योजना र सोचहरू प्रदान गर्छन् भने, तिनलाई अपनाउन सकिन्छ। यसमाथि, हरेक काम कार्यान्वयन गर्दा, वास्तवमा कति वटा समस्याहरू छन् भनी पत्ता लगाउनमा पनि ध्यान दिनैपर्छ—यस कदमलाई बेवास्ता गर्नु हुँदैन। समस्याहरू पत्ता लागेपछि, ती समस्याहरूलाई सामयिक रूपमा समाधान गर्ने उपायहरू सोच्नुपर्छ, र भए जति सबै समस्याहरूलाई पूर्ण रूपमा समाधान गरेपछि मात्र कामको प्रबन्ध वास्तवमै कार्यान्वयन हुनेछ। यसका साथै, के तैँले यो काम परमेश्‍वरको घरले माग गर्ने सिद्धान्तहरू अनुरूप कसरी गर्ने भनेर खोजी पनि गर्नु पर्दैन र? त्यसमाथि, यो कामको समयका सन्दर्भमा परमेश्‍वरको घरसँग कुनै मागहरू छन् कि छैनन्, यो कति समयावधिभित्र पूरा हुनैपर्छ, पेसागत सीपहरूका सम्बन्धमा कुनै ठोस सर्तहरू छन् कि छैनन्, आदि जस्ता कुरा सबै अगुवा र कामदारहरूले सम्बन्धित सुपरिवेक्षकहरूसँग सङ्गति गर्नुपर्ने विषयहरू हुन्। यो कार्यान्वयन हो। कार्यान्वयन मौखिक कुराकानी वा सिद्धान्तमै समाप्त हुँदैन, बरु यसमा सम्बन्धित कामको वास्तविक प्रगति, साथै समाधान गरिनुपर्ने केही विशिष्ट समस्या र कठिनाइहरू संलग्न हुन्छन्। यी सबै अगुवा र कामदारहरूले सुपरिवेक्षकहरूसँग कामका प्रबन्धहरू कार्यान्वयन गर्दा ख्याल गर्नुपर्ने कुराहरू हुन्। भन्‍नुको मतलब, यो विशिष्ट काम गर्नु अघि, अगुवा र कामदारहरूले सुपरिवेक्षकहरूसँग यस प्रकारको सङ्गति, विश्लेषण, र छलफल गर्नुपर्छ—यो कार्यान्वयन हो। यो कार्यान्वयन अगुवा र कामदारहरूको जिम्मेवारी हो, र अगुवा र कामदारहरूले हासिल गर्नुपर्ने कुरा यही नै हो। यसरी अभ्यास गर्नु भनेको वास्तविक काम गर्नु हो। मानौँ कुनै अगुवाले यसो भन्छ, “अहिले, यो काम कसरी गर्ने भनेर मलाई पनि थाहा छैन। जे भए पनि, मैले यो काम तिमीलाई हस्तान्तरण गरेको छु। मैले तिमीलाई कामका प्रबन्धहरू पनि सञ्चार र जारी गरेको छु, र सम्बन्धित सबै मामलाहरूबारे बताएको छु। जहाँसम्म तिमीलाई त्यो गर्न आउँछ कि आउँदैन, तिमीले त्यो कसरी गर्छौ, तिमीले त्यो राम्ररी गर्छौ कि नराम्ररी, र त्यसका लागि तिमीलाई कति समय लाग्छ भन्‍ने कुरा छ, त्यो सबै तिमीमा नै भर पर्ने कुरा हो। यी कुराहरूको मसँग कुनै सरोकार छैन। यति काम गरेर, मैले आफ्नो जिम्मेवारी पूरा गरेको छु।” के यो अगुवा र कामदारहरूले भन्‍ने कुरा हो? (होइन।) यदि कुनै अगुवाले यसो भन्छ भने, ऊ कस्तो प्रकारको व्यक्ति हो त? ऊ झूटो अगुवा हो। जब माथिले मागहरू राख्छन् अनि कामका प्रबन्धहरू अनुसार काम गर्न जरुरी हुन्छ, तब यस प्रकारको व्यक्तिले त्यसलाई पूर्ण रूपमा अरू कसैमाथि थोपर्छ, र यसो भन्छ, “यो तिमी गर, मलाई गर्न आउँदैन। यसै पनि तिमीले नै त्यो सबै बुझ्छौ। तिमी विज्ञ हौ, म त अनाडी हुँ।” यो झूटा अगुवाहरूले प्रायः बोल्ने एउटा “चर्चित भनाइ” हो; तिनीहरू कुनै बहाना खोज्छन् र त्यसपछि सुटुक्क भाग्छन्।

समग्रमा भन्‍नुपर्दा, झूटा अगुवाहरू आफ्ना काममा जिम्मेवार हुँदैनन्। तिनीहरूको क्षमता उच्च भए पनि वा न्यून भए पनि, अथवा तिनीहरू त्यस कामका लागि योग्य भए पनि वा नभए पनि, मुख्य कुरा भनेको तिनीहरूले ध्यान दिँदैनन् र त्यसमा आफ्नो हृदय लगाउँदैनन्, साथै तिनीहरू सधैँ झाराटारुवा हुन्छन्। यी जिम्मेवार नहुनुका प्रकटीकरणहरू हुन्। मानौँ कुनै अगुवा वा कामदारमा क्षमता र गहन अनुभवको अलि कमी छ, तर उसले ध्यानपूर्वक काम गर्न र आफ्नो काममा हृदय लगाउन सक्छ। उसले आफ्नो काममा हासिल गर्ने नतिजाहरू त्यति राम्रो नभए पनि, कम्तीमा, ऊ जिम्मेवार व्यक्ति हो, उसले आफ्नो पूरै हृदय आफ्नो काममा लगाउँछ, र त्यसमा आफ्नो सारा प्रयत्न लगाउँछ। उसमा अलिकति क्षमताको कमी र उसको कद सानो भएकाले मात्र उसले राम्ररी काम नगर्ने हो। यदि उसले केही समय प्रशिक्षण लिएपछि ऊ आफ्नो काममा पूर्ण रूपमा योग्य बन्‍नेछ भने, यस प्रकारको अगुवालाई संवर्धन गर्न जारी राख्नुपर्छ। यदि कुनै अगुवामा अलिकति पनि विवेक वा समझ छैन, र ऊ आफ्नो पदमा मात्र टाँसिरहन्छ र हैसियतका फाइदाहरूमा लिप्त हुन्छ, तर कुनै वास्तविक काम बिलकुलै गर्दैन भने, ऊ खाँटी झूटो अगुवा हो र उसलाई तुरुन्तै बर्खास्त गरिनुपर्छ, र उसलाई फेरि कहिल्यै प्रवर्धन वा प्रयोग गरिन अनुमति दिनु हुँदैन। एक साँचो अगुवा, एउटा जिम्मेवार अगुवाले आफ्नो काममा सारा प्रयत्न लगाउँछ—उसले आफ्नो मन त्यसमा अर्पित गर्छ, उसले परमेश्‍वरको आज्ञा पूरा गर्नका लागि हर प्रकारका उपायहरू खोज्छ, र उसले आफूले सक्ने सबैभन्दा ठूलो परिश्रम लगाउँछ—यसरी, उसले आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेको हुन्छ। परमेश्‍वरको घरका कामका प्रबन्धहरू कार्यान्वयन गर्दै गर्दा, जिम्मेवार अगुवाहरूले कार्यान्वयनको स्थितिको अवलोकन र अनुगमन पनि गर्नेछन्। कुनै अप्रत्याशित अवस्था आउँदा, उनीहरू सुटुक्क भाग्नु र उक्त मामलाबाट हात झिक्नुको साटो प्रतिक्रियात्मक उपायहरू र समाधानहरू अपनाउन सक्षम हुनेछन्। यसरी काम कार्यान्वयन गर्नुलाई जिम्मेवार हुनु भनिन्छ। जब एउटा कामको प्रबन्ध जारी हुन्छ, तब अगुवा र कामदारहरूले त्यो कामलाई हालको सबैभन्दा महत्त्वपूर्ण कामका रूपमा लिनुपर्छ र त्यसको जिम्मेवारी लिनुपर्छ; उनीहरूले व्यक्तिगत रूपमा त्यसको अनुगमन गर्नैपर्छ, सुरुदेखि अन्त्यसम्म त्यसका लागि जिम्मेवार हुनैपर्छ, र त्यो काम सही मार्गमा पसेपछि र हरेक समूहका अगुवाहरूले त्यसलाई कसरी गर्ने भन्‍ने कुरा जानेपछि मात्र कामबाट हात झिक्नुपर्छ। तर त्यसबाट हात झिकेपछि, अगुवा र कामदारहरूले अझै पनि कामको स्थिति बुझ्नुपर्छ र समय-समयमा त्यसको निरीक्षण गर्नुपर्छ, यस तरिकाले मात्र काम राम्ररी गरिएको सुनिश्चित गर्न सकिन्छ। अगुवा र कामदारहरूले आफ्ना पद नछाड्नु, सुरुदेखि अन्त्यसम्म दृढतापूर्वक लागिरहनु, कामलाई सही मार्गमा पुर्‍याउनु—यसलाई वास्तविक काम गर्नु भनिन्छ। यस दौरान, अगुवा र कामदारहरूले अन्य कामहरूको प्रगतिमा ध्यान दिन र त्यसको खोजीनिती गर्न पनि आवश्यक छ। काममा जस्तोसुकै कठिनाइ वा समस्याहरू देखा परे पनि, अगुवा र कामदारहरू निर्देशन र समाधान प्रदान गर्न झट्टै कार्यस्थल जानुपर्छ। प्रमुख अगुवा सबैभन्दा निर्णायक काममा अडिग रहनुपर्छ, र त्यो सँगसँगै उसले मण्डलीको अन्य कामको अनुगमन गरेर, तिनलाई बुझेर, तिनको निरीक्षण, र सुपरिवेक्षण गरेर त्यो सबै सामान्य तरिकाले अघि बढ्ने सुनिश्चित गर्न पनि जरुरी छ। सबैभन्दा निर्णायक कामको कुरा आउँदा, प्रमुख अगुवाले व्यक्तिगत रूपमा कार्यस्थलमै काम गरेर यस कामको कमान लिनैपर्छ, र विशेषगरी कामका निर्णायक भागहरूको कुरा आउँदा, उसले निश्चय नै कार्यस्थल छोड्नै हुँदैन। यदि एउटा व्यक्ति पर्याप्त हुँदैन भने, ऊसँग सहकार्य गर्न र कामलाई निर्देशन गर्न अर्को व्यक्तिको प्रबन्ध गर्नुपर्छ—यो भनेको निर्णायक काम राम्ररी गर्नका लागि हरेक प्रयत्न लगाएर साझा उद्देश्यका साथ एकताबद्ध हुनु हो। परमेश्‍वरको घरसित हरेक चरण र समयावधिमा एउटा सबैभन्दा निर्णायक काम हुने भएकाले, यदि प्रमुख अगुवाले निर्णायक काम राम्रोसँग गर्दैन भने, उसको क्षमतामा समस्या छ र उसलाई बरखास्त गर्नैपर्छ। प्रमुख अगुवाले सबैभन्दा निर्णायक कामको कमान लिनैपर्छ जबकि अन्य अगुवाहरूले साधारण कामको कमान लिनुपर्छ; अगुवा र कामदारहरूले कामको महत्त्व र तात्कालिकताको क्रमअनुसार त्यसलाई प्राथमिकता दिन, र फाइदा र बेफाइदाहरू तौलन सिक्नुपर्छ। यदि अगुवा र कामदारहरूले यी सिद्धान्तहरूमा महारथ हासिल गर्न सक्छन् भने, उनीहरू मानकअनुसारका अगुवा र कामदार हुन्।

परमेश्‍वरको घरका धेरैजसो अगुवा र कामदारहरू युवा हुन्छन्, उनीहरू सिकारु हुन्छन्, र काम गर्न प्रशिक्षण लिइरहेका हुन्छन्, त्यसैले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उनीहरूले सिद्धान्तहरूमा महारथ हासिल गर्न सिक्नु हो। कतिपयले यसो भन्लान्, “के अगुवा र कामदारहरूबाट परमेश्‍वरको घरले गर्ने मागहरू अति उच्च छैनन् र?” वास्तवमा, बिलकुलै उच्च छैनन्। मानिसहरूबाट उनीहरूले सिद्धान्तहरूमा महारथ हासिल गर्नुपर्ने माग गर्नु कसरी उच्च माग हुन्छ? यदि कसैले सिद्धान्तहरूमा महारथ हासिल गर्न सक्दैन भने उसले कसरी राम्रोसँग काम गर्न सक्छ? यदि कसैले सिद्धान्तहरूबिना मामलाहरू सम्हाल्छ भने ऊ कसरी अगुवा वा कामदार हुन सक्छ? सिद्धान्तहरूमा महारथ हासिल गर्नु अगुवा र कामदारहरूबाट गरिने माग हो, साधारण मानिसहरूबाट गरिने माग होइन; यदि कसैले सिद्धान्तहरूमा महारथ हासिल गर्न सक्दैन भने, उसले काम राम्रोसँग गर्न सक्नेछैन। क्षमताको अत्यन्तै कमी भएका मानिसहरू सिद्धान्तहरूमा पछि पर्छन्, परमेश्‍वरको घरले तिनीहरूलाई संवर्धन गर्नेछैन, र तिनीहरू अगुवा हुन योग्य पनि हुँदैनन्। कतिपय मानिसहरूलाई सधैँ अगुवा हुन कठिन हुन्छ भन्‍ने लाग्छ, र यसका दुइटा कारणहरू छन्: एउटा त तिनीहरूले सत्यता बिलकुलै बुझेका हुँदैनन् र तिनीहरू समस्याहरू समाधान गर्नका लागि सत्यता प्रयोग गर्न सक्दैनन्; अर्को कारण चाहिँ तिनीहरूमा क्षमताको कमी हुन्छ, तिनीहरूलाई काम गर्नु भनेको के हो भन्‍ने थाहा हुँदैन, तिनीहरूले कामका सिद्धान्तहरू र अभ्यासको मार्गलाई प्रस्ट रूपमा व्याख्या गर्न सक्दैनन्, र तिनीहरूले धर्मसिद्धान्तहरू समेत प्रस्ट रूपमा बोल्न सक्दैनन्। यस्ता मानिसहरू अगुवा हुन उपयुक्त हुँदैनन्। मानौँ कसैको क्षमता अत्यन्तै कमजोर छ, उसलाई काम कसरी गर्ने भन्‍ने थाहा छैन, र ऊ आफ्नो कर्तव्य पूरा गर्नमा बिलकुलै प्रभावकारी छैन—अर्थात्, उसले एक दिन लाग्नुपर्ने कार्य गर्न कैयौँ दिन लगाउँछ, र एक महिना लाग्नुपर्ने कार्य गर्न छ महिना लगाउँछ—यस्ता मानिसहरू बेकार हुन्, तिनीहरू केही न कामका हुन्। अत्यन्तै कमजोर क्षमता भएका मानिसहरूले कुनै पनि कर्तव्य राम्रोसँग पूरा गर्न सक्दैनन्। मैले मानिसहरूबाट यी मागहरू गर्नु न्यायोचित र जायज दुवै हो, र ती अगुवा र कामदारहरूले हासिल गर्न सक्ने कुराहरू नै हुन्। कतिपय मानिसहरूलाई परमेश्‍वरको घरले गर्ने मागहरू अत्यन्तै उच्च छन् भन्‍ने लाग्छ—यसले तिनीहरूको क्षमता अत्यन्तै कमजोर छ, तिनीहरू अगुवा र कामदार हुन योग्य छैनन्, र तिनीहरूले जवाफदेहीता लिएर राजीनामा दिनुपर्छ भन्‍ने देखाउँछ। तँ अगुवा वा कामदारका जिम्मेवारीहरू वहन गर्न लायक छैनस्, र तँ अगुवा वा कामदार हुन उपयुक्त छैनस्, त्यसैले तँ अगुवा नै भए पनि, झूटा अगुवा होस्। यदि तैँले एउटा काम समेत राम्रोसँग गर्न सक्दैनस् भने, तैँले सँगसँगै अरू काम कसरी सम्हाल्न सक्छस् त? के अत्यन्तै कमजोर क्षमता भएका मानिसहरू अगुवा र कामदार हुन लायक हुन्छन् त? यदि तिनीहरू निगरानी गर्ने कुकुर जति असल पनि छैनन् भने, तिनीहरू मानव कहलिन लायक हुँदैनन्। जब एउटा कुकुरले घरको रेखदेख गर्छ, त्यसले घरअगाडिको आँगन, घरपछाडिको आँगन, र तरकारी बारीको मात्र रेखदेख गर्दैन, त्यसले त घरका कुखुरा, हाँस, र भेडाको समेत रेखदेख गर्न सक्छ। त्यसले कुनै अपरिचित व्यक्ति आइरहेको देख्नेबित्तिकै भुक्छ—त्यसले कसैलाई पनि आँगनमा प्रवेश गर्न दिनेछैन र मालिकलाई अपरिचित व्यक्ति आएको भनी सतर्क गराउन जानेको हुन्छ। एउटा कुकुरको दिमाग समेत सरल हुँदैन। यदि कसैको क्षमता अत्यन्तै कमजोर छ र उसलाई कुकुरसँग पनि तुलना गर्न मिल्दैन भने, के त्यस्तो व्यक्ति निकम्मा होइन र? कतिपय मानिसहरू फुर्सद मन पराउँछन् र कामलाई घृणा गर्छन्, तिनीहरू घिचुवा र अल्छी हुन्छन्, र आफूले केही नगरी परमेश्‍वरको घरमा सित्तैँमा खान चाहन्छन्—के तिनीहरू परजीवी होइनन् र? परमेश्‍वरको घरले अगुवा र कामदारहरूबाट उनीहरूले सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्नुपर्ने माग गरेर, तिनीहरूलाई आफ्ना कर्तव्य निर्वाहमा सत्यता अभ्यास गर्न र वास्तविकतामा प्रवेश गर्न सक्षम हुन संवर्धन गरिरहेको र प्रशिक्षण दिइरहेको हुन्छ। कतिपय अगुवा र कामदारहरू सत्यता पछ्याउन र परमेश्‍वरको घरका प्रबन्धहरूमा समर्पित हुन सक्षम हुन्छन्—यी सबै मानिसहरू परमेश्‍वरद्वारा आशिषित हुन्छन्। फुर्सद मन पराउने र कामलाई घृणा गर्ने अनि कुनै पनि वास्तविक काम नगर्नेहरूलाई हटाउनैपर्छ। सुख-सयलको लालसा राख्ने, कष्ट र थकानदेखि डराउने, कष्ट र कठिनाइहरूबारे सधैँ गुनासो गर्ने र कष्ट बिलकुलै सहन नसक्ने ती सबै बेकारका मानिसहरूलाई हटाउनैपर्छ—एक जना पनि बाँकी नरहोस्! यदि अगुवा र कामदारहरूले आफ्नो काम सुरु गर्दा विभिन्‍न कठिनाइहरू सामना गरेमा, उनीहरूले समस्याको स्रोत खोज्नुपर्छ, अनि त्यसपछि समस्या सिर्जना गर्ने ती बाधक र अविवेकी मानिसहरू—ती अवरोधहरूलाई र व्यवधानहरूलाई पखाल्नुपर्छ। जब बाँकी रहेकाहरू सबै सत्यता स्विकार्न, पालन गर्न, र समर्पित हुन सक्ने मानिसहरू मात्र हुन्छन्, तब उनीहरूलाई अगुवाइ गर्न धेरै सजिलो हुनेछ। अगुवा र कामदारहरूले काम गर्दा, उनीहरूले पहिला सत्यताबारे प्रस्ट रूपमा सङ्गति गर्नुपर्छ ताकि मानिसहरूले ती सुनेपछि तिनीहरूसँग अघि बढ्ने मार्ग होस्। उनीहरूले धर्मसिद्धान्तहरू बोल्ने, नाराहरू फलाक्ने गर्नु हुँदैन, र मानिसहरूलाई आफूप्रति ध्यान दिन, आफूलाई पालन गर्न अनि अभ्यास गर्न बाध्य पार्नु त झनै हुँदैन। यदि अगुवा र कामदारहरूले सत्यताबारे प्रस्ट रूपमा सङ्गति गरेमा, धेरैजसो मानिसहरू त्यसलाई अभ्यास गर्न इच्छुक हुनेछन्। अगुवा र कामदारहरूले प्रस्ट रूपमा वा बुझिने गरी कामकुराहरू व्याख्या नगरे पनि दाजुभाइ-दिदीबहिनीहरूबाट तिनीहरूले अभ्यास गर्नुपर्ने माग गर्छन्, र दाजुभाइ-दिदीबहिनीहरूले अभ्यास गर्न जान्दैनन् र अभ्यासको मार्ग भेट्टाउन सक्दैनन् भने, त्यो चिन्ताको विषय हो—यसले कामका नतिजाहरूमा प्रभाव पार्नेछ। अगुवा र कामदारहरूले हरेक प्रकारको विशिष्ट काममा संलग्न सत्यता सिद्धान्तहरूको बुझिने गरी व्याख्या गर्न र तीबारे प्रस्ट रूपमा सङ्गति गर्न सकेसम्म, धेरैजसो मानिसहरू बुझ्ने र समझदार हुनेछन्, र उनीहरू आफ्नो भूमिका निभाउन इच्छुक हुनेछन्। यदि कसैले भनेको कुरा सही, सत्यताअनुरूप, र मण्डलीको कामका लागि र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशका लागि फाइदाजनक छ भने, सबै जना उसको कुरा सुन्‍न इच्छुक हुन्छन्। तर, एउटा यस्तो अवस्था हुन्छ जहाँ कतिपय अगुवा र कामदारहरूले शब्द र धर्मसिद्धान्तहरू मात्र बोल्छन्, र कसैले उनीहरूलाई अभ्यासको विशिष्ट मार्गबारे सोध्दा, उनीहरूले त्यसलाई व्याख्या गर्न सक्दैनन्, बरु उनीहरू केही भव्य धर्मसिद्धान्तहरू बोल्छन् र केही नाराहरू फलाक्छन्, र त्यसपछि त्यस व्यक्तिलाई बाटो लगाइदिन्छन्। त्यो व्यक्ति विश्‍वस्त हुँदैन, र उसले यस्तो सोच्छ “तपाईँ मलाई यो कुरा अभ्यास गर्न भनिरहनुभएको छ तर यो कुरा प्रस्ट रूपमा व्याख्या गर्नुभएको छैन—म यो कसरी अभ्यास गर्न सक्छु त? मसँग पछ्याउने कुनै मार्ग नै छैन! मैले त नबुझेकाले पो तपाईँलाई सोधेको थिएँ, तर तपाईँले पनि बुझ्नुभएको रहेनछ, तपाईँले त धर्मसिद्धान्तहरू भन्‍न र नाराहरू फलाक्न मात्र जान्‍नुभएको रहेछ। तपाईँ मभन्दा असल हुनुहुन्‍न। मैले किन तपाईँलाई पालन गर्नु? म त सत्यतालाई पालन गर्छु, धर्मसिद्धान्तहरू बोल्ने वा नाराहरू फलाक्ने तपाईँलाई होइन!” यस्तो प्रकारको अवस्था आउँछ। यदि अगुवा र कामदारहरूले खोक्रा धर्मसिद्धान्तहरू बोल्नबाट जोगिन, साँचो रूपमा बोल्न, र अभ्यासका सिद्धान्तहरू र मार्ग प्रस्ट रूपमा सङ्गति गर्न सक्छन् भने, अधिकांश मानिसहरूले पालन गर्न सक्नेछन्। त्यसकारण, मण्डलीको काम गर्न वास्तवमा सजिलो छ; अगुवा र कामदारहरूले कामका प्रबन्धहरू गम्भीर रूपमा कार्यान्वयन गर्न सकेसम्म, आफ्ना कामको पदमा अडिग रहेसम्म, र विशिष्ट काममा संलग्न भएसम्म, उनीहरूले पक्कै पनि राम्रोसँग काम गर्न सक्नेछन्। चिन्ताजनक कुरा के हो भने, यदि अगुवा, कामदार र सुपरिवेक्षकहरू गैरजिम्मेवार छन् र वरिष्ठ भएको व्यवहार गर्छन्, धर्मसिद्धान्तहरू बोल्न र नाराहरू फलाक्न मात्र जान्दछन्, र कार्यस्थलमा विशिष्ट काममा संलग्न हुँदैनन् भने—काममा अवश्यै समस्याहरू हुनेछन्। किनभने उनीहरूभन्दा मुनिका मानिसहरूले यस्ता किसिमका कुराहरू छर्लङ्ग देख्न सक्दैनन्, उनीहरूलाई बाटो देखाउनलाई कोही चाहिन्छ, उनीहरूलाई एउटा सहारा चाहिन्छ, उनीहरूलाई व्यक्तिगत रूपमा नै अगुवाइ गर्ने र के गर्ने भनी बताउने कोही चाहिन्छ, उनीहरूलाई सुपरिवेक्षण प्रदान गर्ने र निरीक्षण गर्ने कोही चाहिन्छ, अन्यथा काम कार्यान्वयन हुनेछैन। यदि तैँले हैसियतको पदबाट एक-दुई वटा धर्मसिद्धान्त र नाराहरू फलाके मात्र हुन्छ, अनि तलका मानिसहरूले कदम चाल्नेछन् र तैँले भनेजस्तो गर्नेछन् भनेर अपेक्षा गरेको छस् भने, त्यो सपना मात्र हो। तलका मानिसहरू यन्त्र जस्तै हुन्छन्: यदि उनीहरूलाई कसैले पनि सक्रिय पारेन भने, उनीहरूले कदम चाल्नेछैनन्। यदि अगुवा र कामदारका रूपमा सेवा गर्नेहरूले यो कुरा समेत छर्लङ्ग देख्न सक्दैनन् भने, उनीहरूमा अन्तर्ज्ञानको अत्यन्तै अभाव छ! झूटा अगुवाहरूले काम गर्दा केही पनि छर्लङ्ग देख्न सक्दैनन्। तिनीहरूलाई कुन काम निर्णायक हो र कुन चाहिँ सामान्य मामलाको काम हो भन्‍ने थाहा हुँदैन, न त तिनीहरूले कामहरूलाई महत्त्व र तात्कालिकताको क्रममा प्राथमिकता दिन नै सक्छन्। तिनीहरूले चाहे जे गरे पनि, तिनीहरूसँग कुनै सिद्धान्तहरू हुँदैनन्, तिनीहरूले अभ्यासको मार्गलाई प्रस्ट रूपमा व्याख्या गर्न सक्दैनन्, र तिनीहरू केवल धर्मसिद्धान्तहरू बोल्छन् र नाराहरू फलाक्छन्, र केही अव्यावहारिक कुराहरू मात्र भन्छन्। फलस्वरूप, तिनीहरू कुनै पनि काम गर्न बिलकुलै सक्षम हुँदैनन् र हटाइन मात्र सक्छन्। अगुवा र कामदारहरूलाई कामको प्रबन्ध र कार्यान्वयन कसरी गर्ने भन्‍ने थाहा हुनैपर्छ, र उनीहरूलाई कामको निरीक्षण र निर्देशन कसरी गर्ने भन्‍ने पनि थाहा हुनैपर्छ, साथै उनीहरूले देखा पर्ने समस्याहरूलाई आफैले समाधान गर्नुपर्छ। यस्ता अगुवा र कामदारहरूले मात्र वास्तविक काम गर्न र मानिसहरूलाई पूर्ण रूपमा विश्‍वस्त पार्न सक्छन्। यदि कुनै अगुवाले कामलाई निर्देशन गर्न वा समस्याहरू पत्ता लगाउन अनि समाधान गर्न सक्दैन, यदि उसले अरूलाई निरन्तर भाषण दिन र काटछाँट गर्न मात्र सक्छ, र आफैले कामकुरालाई बिगार्दा अरूलाई दोष दिन्छ भने, यो अयोग्य अगुवा हुनु हो। यस्तो अगुवा केही न कामको व्यक्ति हो, ऊ झूटो अगुवा हो, र उसलाई हटाउनैपर्छ। यदि तँलाई कुनै विशिष्ट काम कसरी गर्ने भनी थाहा छैन भने, तैँले आफूलाई यो विशिष्ट काम राम्ररी गर्न मदत गर्नका लागि कम्तीमा दुई जना उपयुक्त मानिसहरू खोज्नैपर्छ, र तैँले सुरुमा बाधाहरू सिर्जना गर्ने बाधक मानिसहरूलाई कम्तीमा तह लगाउनैपर्छ अनि निकाल्नैपर्छ। के यो भनेको यो काम राम्ररी गर्नका लागि अनुकूल अवस्थाहरू सिर्जना गर्नु होइन र? यदि तैँले केही वास्तविक काम गर्न सक्ने मानिसहरू भेट्टाउँदा उनीहरूलाई तुरुन्तै प्रवर्धन गरिस्, र यदि तैँले बाधा र अवरोधहरू पुर्‍याउने मानिसहरूलाई तुरुन्तै तह लगाएर निकालिस् भने, तैँले यस कामलाई निरन्तरता दिँदा पहिलेभन्दा निकै कम कठिनाइहरू हुनेछन्। क्षमताको अत्यन्तै कमी भएका अगुवाहरू यसरी काम गर्न सक्षम हुँदैनन्। उनीहरू मानिसहरूलाई चिढ्याइएला भनेर डराउँछन्, र उनीहरूले कुनै दुष्ट व्यक्तिले बारम्बार बाधा र अवरोधहरू सिर्जना गरिरहेको देख्दा, उसलाई तह लगाउँदैनन्। उनीहरूले वास्तविक काम गर्न सक्षम को छ भनेर खुट्टयाउन पनि सक्दैनन्, र उनीहरूलाई कामको कमान लिनका लागि कसलाई प्रवर्धन गर्नु उचित हुन्छ भनेर थाहा हुँदैन। यस्ता अगुवाहरू अन्धा हुन्छन् र आफ्ना काम गर्न सक्षम हुँदैनन्। यदि अगुवा र कामदारहरूले सत्यता वा पेसागत सीपहरू बुझ्दैनन् भने, उनीहरूले आफ्नो काम राम्ररी गर्नेछैनन्, त्यसैले अगुवा र कामदारहरूले वास्तविक काम गर्न बारम्बार प्रशिक्षण लिनैपर्छ। उनीहरूले सिद्धान्तहरूमा महारथ हासिल गरेसम्म, कामलाई महत्त्व र आतुरीको क्रममा प्राथमिकता दिन जानेसम्म, र फाइदा र बेफाइदाहरू तौलन जानेसम्म, उनीहरूले आफ्नो काम राम्ररी गर्न सक्छन् र उनीहरू मानकअनुरूपका अगुवा र कामदार बन्‍न सक्छन्।

अहिले मैले परमेश्‍वरको घरका मागहरू अनुरूप कामका प्रबन्धहरू सही रूपमा सञ्चार, जारी, र कार्यान्वयन गर्नेसम्बन्धी विषयवस्तुबारे सङ्गति गरेपछि, के अब तिमीहरूसँग अगुवा र कामदारहरूसँग कामका प्रबन्धहरूलाई कसरी लिने र ती कसरी कार्यान्वयन गर्ने भन्‍नेबारे केही आधारभूत बुझाइ छ त? अनि के अब तिमीहरूसँग कामका प्रबन्धहरू कार्यान्वयन गर्दा पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वहरूबारे केही विशिष्ट बुझाइ छ त? (हजुर।) अब तैँले यो विशिष्ट बुझाइ प्राप्त गरिसकेपछि, आफूले के गर्नुपर्छ र आफू कुन हदसम्म त्यो गर्न सक्षम छु भनेर ख्याल गर्नुपर्छ, र त्यसपछि तैँले आफूमा अगुवा वा कामदार हुने क्षमता छ कि छैन, र आफू अगुवाइको काम गर्न लायक छु कि छैन भनी मूल्याङ्कन गर्न सक्नुपर्छ। कमजोर क्षमता भएका र वास्तविक काम नगर्ने केही अगुवा र कामदारहरू—अर्थात्, जसलाई हामी झूटा अगुवा भन्छौँ, उनीहरूको कुरा गर्नुपर्दा—तिनीहरूले अगुवा र कामदारहरूको नवौँ जिम्मेवारीको विशिष्ट विषयवस्तु बुझिसकेपछि, तिनीहरूले के गर्नुपर्छ? कतिपयले यसो भन्छन्, “मैले यसअघि अगुवा र कामदारहरूका जिम्मेवारीहरू वास्तवमै बुझेको थिइनँ, र म अगुवा बनेपछि, मैले केवल देखाउनका खातिर आफ्ना धारणा र कल्पनाहरूमा भर परेर केही काम गरेँ, र मलाई लाग्थ्यो कि म कष्ट सहन उत्साहित र इच्छुक भएकाले, म सायद मानक अनुरूपको अगुवा हुँ। परमेश्‍वरले यस तरिकाले सङ्गति गर्नुभएको सुनेपछि म अचम्ममा परेको छु। म त झूटो अगुवा रहेछु, मेरो क्षमता अत्यन्तै कमजोर छ, र म वास्तविक काम गर्न सक्दिनँ। म त परमेश्‍वरको घरको एउटा विशिष्ट कामको प्रबन्ध कार्यान्वयन गर्न समेत सक्षम छैनँ। मैले सोच्ने गर्थेँ कि कैयौँ पटक कुनै कामको प्रबन्ध पढ्नु, त्यो सबै जनासम्म पुर्‍याउनु, र त्यसपछि तलका मानिसहरूले त्यसमा काम गर्दै गर्दा उनीहरूलाई अनुनय र निगरानी गर्नु भनेको मैले त्यो कामको प्रबन्धलाई कार्यान्वयन गरेको हो। केही समयपछि, मैले उक्त काम राम्ररी गरिएको रहेनछ र धेरै विशिष्ट कार्यहरूलाई बेवास्ता गरिएको रहेछ भन्‍ने पत्ता लगाएँ, र तब मात्र मैले थाहा पाएँ कि मेरो क्षमतामा साँच्चिकै कमी रहेछ, र म अगुवा हुन योग्य व्यक्ति होइन रहेछु।” त्यसोभए, यस्तो व्यक्तिले के गर्नुपर्छ त? के उसले आफ्नो काम त्याग्नु ठीक हुनेछ? (हुनेछैन।) त्यसोभए के यो समस्या समाधान गर्ने कुनै उपाय छ? कि यो समस्या समाधान गर्नै सकिँदैन? (अहँ, यो समाधान गर्न नसकिने होइन। ती मानिसहरूले परमेश्‍वरका मागहरू अनुरूप राम्रो गर्न लागिपर्नैपर्छ।) यो एउटा सकारात्मक र सक्रिय दृष्टिकोण हो; यो निकै राम्रो दृष्टिकोण हो। तिनीहरूले परमेश्‍वरका मागहरू अनुरूप राम्रो गर्न, परमेश्‍वरमा आस्था राखेर उहाँमा भर पर्न, र नकारात्मक नबन्‍न, वा आफ्नो काम नछोड्न लागिपर्नुपर्छ—यो एउटा समाधान हो। के यो राम्रो समाधान हो? (हो।) तर के यो एकमात्र समाधान हो त? (अहँ, होइन। यदि तिनीहरूको क्षमता अत्यन्तै कमजोर छ र तिनीहरूले साँच्चिकै कुनै वास्तविक काम गर्न सक्दैनन् भने, तिनीहरूले यसको जवाफदेहीता लिएर आफ्नो पदबाट राजीनामा दिन सक्छन्।) यो दोस्रो समाधान हो। यदि तिनीहरूले यसअघि कोसिस गरेका छन्, र तिनीहरूलाई अगुवाइको काम गर्न सक्दिनँ भन्‍ने लाग्छ—अर्थात्, यदि तिनीहरूलाई त्यो ज्यादै मुस्किल र श्रमसाध्य लाग्छ, र तिनीहरू त्यसबारे निकै चिन्तित हुन्छन् र राम्रोसँग सुत्न सक्दैनन्, र हरेक दिन तिनीहरूलाई टाउको उचाल्न वा सास फेर्न नै नसक्ने गरी पहाडले थिचेको जस्तो अनुभूति हुन्छ, र हिँड्दा तिनीहरूलाई खुट्टाहरू समेत गह्रौँ भएको महसुस हुन्छ—र यी विशिष्ट मागहरू सुनेपछि तिनीहरूलाई झनै आफ्नो क्षमता अत्यन्तै कमजोर छ र उक्त काम गर्न सक्दै सक्दिनँ भन्‍ने महसुस हुन्छ भने, तिनीहरूले के गर्नुपर्छ? तिनीहरूले गर्न सक्ने एउटा काम छ, त्यो हो तत्कालै राजीनामा दिने। यदि तिनीहरूले वास्तविक काम गर्न सक्दैनन् भने, तिनीहरूले परमेश्‍वरको घरको काममा असर पार्नु हुँदैन—तिनीहरूमा हुनुपर्ने समझ यही हो। तिनीहरूले अन्धाधुन्ध आफूलाई आफ्नो सीमाभन्दा बाहिर धकेल्नु, आफ्ना क्षमताभन्दा बाहिरको काम गर्ने कोसिस गर्न जिद कस्नु, वा मूर्खतापूर्ण कामहरू गर्नु हुँदैन। यस्ता कामकुरा गर्नबाट आफूलाई रोक्नेसँग मात्र समझ हुन्छ। समझ भएका मानिसहरूसँग आत्म-सचेतना हुन्छ; तिनीहरू आफ्नो क्षमताबारे प्रस्ट हुन्छन्, र तिनीहरूलाई आफ्ना कमीकमजोरीहरू थाहा हुन्छ। मानिसहरूले आफूलाई प्रस्ट रूपमा चिनेपछि मात्र उनीहरूले आफू के गर्न सक्षम छु, के गर्न सक्षम छैनँ, र के गर्न सबैभन्दा उपयुक्त छु भनेर सही रूपमा बुझ्न सक्छन्। मानिसहरूले किन आफ्नो क्षमता चिन्‍नैपर्छ? यसले उनीहरूलाई आफूले पूरा गर्नुपर्ने कर्तव्य निर्धारित गर्न मदत गर्छ, र त्यो कर्तव्य राम्ररी पूरा गर्न पनि मदत गर्छ। यदि तैँले आफूलाई जाँचेर आफूमा यो क्षमता मात्र भएको देखिसकेको छस् र आफूले अगुवाइको काम गर्न नसक्ने कुरा थाहा पाएको छस् भने, तैँले फेरि आफूलाई जाँच्न र त्यो कुरा फेरि प्रमाणित गर्न आवश्यक छैन। तैँले तुरुन्तै राजीनामा दिनुपर्छ—आफ्नो पदमा टाँसिएर राजीनामा दिन नमान्‍ने नगर्; तैँले विशिष्ट काम गर्न नसक्दा अरूलाई असर पार्ने र अड्काउने नगर्। के राजीनामा दिनु अघि बढ्ने मार्ग होइन र? तेरो सामु यी दुइटा मार्गहरू राखिएका छन्, र तैँले एउटा रोज्न सक्छस्; तँसँग अघि बढ्ने मार्गको कमी छैन, र मार्ग एउटा मात्र छैन। तैँले आफूबारेको बुझाइका आधारमा, साथै तँलाई चिन्‍ने तेरो वरिपरिका दाजुभाइ-दिदीबहिनीहरूले तेरो बारे गरेका मूल्याङ्कनहरूका आधारमा आफ्नो वास्तविक अवस्थाबारे व्यावहारिक र सही मूल्याङ्कनहरू गर्न, र त्यसपछि सही छनोट गर्न सक्छस्। परमेश्‍वरको घरले तेरा लागि कामकुराहरू कठिन पार्नेछैन। तँलाई यसबारे के लाग्छ? (यो राम्रो हो।) कतिपय मानिसहरूले यसो भन्छन्, “म फेरि कोसिस गर्न र अझ राम्रो गर्न लागिपर्न चाहन्छु। मलाई लाग्छ, म यो गर्न सक्छु। ती वर्षहरूमा मैले सत्यता पछ्याउनमा खासै ध्यान दिइनँ, र अगुवा बनेपछि, मलाई अझै सत्यता कसरी खोज्ने भनेर थाहा थिएन र अलमल्ल तरिकाले काम गर्थेँ। म सोच्ने गर्थेँ कि मण्डली अगुवा हुनु निकै सजिलो छ, त्यसमा मानिसहरूलाई भेलाहरूमा सहभागी हुन सङ्गठित गर्ने, सत्यता सङ्गति गर्न अगुवाइ गर्ने, समस्याहरू देखा पर्दा तिनलाई सामयिक रूपमा समाधान गर्ने, र माथिले गरेका जुनसुकै प्रबन्धहरूलाई तुरुन्तै कार्यान्वयन गर्ने काम मात्र पर्छन्, र त्यति नै हो। मैले केही समय अगुवा भएपछि आफूले समाधान गर्न नसक्ने यति धेरै समस्याहरू छन् भनेर पत्ता लगाउँला, माथिले कामबारे सोध्दा जबाफ दिन नजानुँला, र परमेश्‍वरका चुनिएका केही मानिसहरूले वास्तविक समस्याहरू उठाउँदा, म कुनै जबाफ दिन सक्षम नहुँला भनेर कहिल्यै कल्पना गरेको थिइनँ। दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेका यी वर्षहरूमा, उनीहरू सबैले बारम्बार परमेश्‍वरका वचनहरू पढेका र प्रवचनहरू सुनेका छन्। उनीहरू सबैले निश्चय नै केही सत्यताहरू बुझ्छन् र केही खुट्ट्याउने क्षमता राख्छन्। सत्यता वास्तविकता बिना, म उनीहरूलाई साँच्चिकै मलजल गर्न वा आपूर्ति गर्न सक्दिनँ।” अब परमेश्‍वरको घरमा कुनै पनि प्रकारको विशिष्ट काम राम्ररी गर्न त्यति सरल छैन भन्‍ने प्रस्ट भएको छ। एक हिसाबले, मानिसहरूमा क्षमता हुनुपर्छ, जबकि अर्को हिसाबले, उनीहरूले बोझ वहन गर्नुपर्छ, साथै सत्यता बुझ्नुपर्छ—यी सबै कुराहरू एकदमै आवश्यक छन्। कसैले सत्यता नपछ्याउनु वा उसमा क्षमताको कमी हुनु ठीक होइन, न त कसैमा मानवताको कमी हुनु र उसले बोझ वहन नगर्नु नै ठीक हो। विशिष्ट कामका लागि विशिष्ट शैली चाहिन्छ, र यो त्यति सरल मामला होइन। तर, कतिपय मानिसहरू विश्‍वस्त हुँदैनन्। उनीहरू अझै पनि पुनः प्रयास गर्न चाहन्छन्, र अर्को मौका दिन आग्रह गर्छन्—के यस्ता मानिसहरूलाई अर्को मौका दिइनुपर्छ? यदि उनीहरूको काम गर्ने सक्षमता र क्षमता दुइटै औसत छन्, तर उनीहरूले केही विशिष्ट काम गर्न सक्छन्, र उनीहरू झाराटारुवा हुँदैनन् र काममा नतिजाहरू हासिल गर्नका लागि समस्याहरू समाधान गर्नमा ध्यान केन्द्रित गर्ने गर्छन्, र माथिले गरेका कुनै पनि प्रबन्धहरू पालन गर्न र त्यसमा समर्पित हुन सक्छन्, अनि मूलतः परमेश्‍वरको घरका कामका प्रबन्धहरू र त्यसद्वारा माग गरिने सिद्धान्तहरूअनुसार कामलाई कार्यान्वयन गर्छन्, साथै यसअघि उनीहरू सानै उमेरका भएकाले उनीहरूले राम्रोसँग काम नगरेका, सत्यता नबुझेका, र सतही जग भएका भए पनि, उनीहरू सही मानिस हुन् भने, उनीहरूलाई अर्को मौका दिइनुपर्छ र उनीहरूले आफूलाई प्रशिक्षण दिन जारी राख्नुपर्छ—उनीहरूलाई अन्धाधुन्ध बरखास्त नगर्। अगुवा वा कामदार हुन त्यति सजिलो हुँदैन, न त अगुवा वा कामदार नियुक्त गर्न नै सजिलो हुन्छ। अब, धेरैजसो अगुवा र कामदारहरूसँग आफ्ना जिम्मेवारीबारे केही बुझाइ छ, र उनीहरू आफ्नो काममा कम्तीमा पहिलेभन्दा अलि राम्रो हुनेछन्—यो तथ्य हो।

अब मैले अगुवा र कामदारहरूको नवौँ जिम्मेवारीसम्बन्धी सत्यता सिद्धान्तहरू—परमेश्‍वरको घरको माग अनुसार त्यसका विभिन्न कामका प्रबन्धहरूलाई मार्गनिर्देशन, सुपरिवेक्षण, र प्रोत्साहन प्रदान गर्दै सही ढङ्‍गबाट सञ्‍चार, जारी र कार्यान्वयन गर्नु, अनि तिनको कार्यान्वयनको स्थितिलाई निरीक्षण र अनुगमन गर्नु—बारे सङ्गति गरिसकेपछि तिमीहरू सबैको हृदय उज्ज्वल भएको छ, र तिमीहरूसँग अभ्यासको मार्ग छ। अब तिमीहरू आफ्नो कर्तव्य पूरा गर्न र जीवन प्रवेश प्राप्त गर्न मात्र सक्षम छैनौ, तिमीहरूसँग अगुवा र कामदारहरूबारे केही ज्ञान र सुझबुझ पनि हुनुपर्ने हो, र कम्तीमा पनि अगुवा र कामदारहरूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू र उनीहरूले गर्नुपर्ने कामबारे प्रस्टता र बुझाइ हासिल गरेको हुनुपर्ने हो। छोटकरीमा, अगुवा र कामदारहरूले वास्तविक काम गरिरहेका छन् कि छैनन् भनेर थाहा पाउनु परमेश्‍वरका चुनिएका हरेक मानिसका लागि सहयोगी र फाइदाजनक हुन्छ, र यसरी अगुवा र कामदारहरूका जिम्मेवारीहरूबारे उनीहरूको बुझाइ उप्रान्त खोक्रो हुनेछैन, बरु अझ ठोस् बन्‍नेछ।

अप्रिल १०, २०२१

अघिल्लो: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८)

अर्को: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१०)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्