१३. धार्मिक संसारको धारणा: “परमेश्‍वरको कार्य बाइबलअनुरूप हुनैपर्छ; यदि बाइबलीय आधार छैन भने, त्यो झूटो मार्ग हो”

धार्मिक संसारले परमेश्‍वरको काम बाइबलअनुरूप नै हुनुपर्छ भन्‍ने सोच्छ। यदि कुनै बाइबलीय आधार छैन भने, तिनीहरूले त्यो कुरा स्विकार्दैनन्। सर्वशक्तिमान्‌ परमेश्‍वरले जति धेरै सत्यता व्यक्त गर्नुभए पनि, तिनीहरूले यो परमेश्‍वरको देखापराइ, वा उहाँको काम हो भनेर स्विकार्दैनन्।

बाइबलमा परमेश्‍वरका वचनहरू

“शास्‍त्रहरूमा खोजी गर्दछौ; किनकि तिनमा नै तिमीहरूले अनन्त जीवन पाउँछौ भन्‍ने तिमीहरू सोच्दछौ: अनि मेरो गवाही दिने तिनै हुन्। अनि तिमीहरूले जीवन पाउन सक भनी तिमीहरू मकहाँ आउँदैनौं” (यूहन्‍ना ५:३९-४०)

“मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यताका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ” (यूहन्‍ना १६:१२-१३)

“आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्” (प्रकाश २:७)

“यिनीहरू थुमा जता-जता जानुहुन्छ उहाँलाई त्यता-त्यतै पछ्याउनेहरू हुन्” (प्रकाश १४:४)

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

धेरै वर्षदेखि मानिसहरूका परम्परागत विश्‍वासका माध्यमहरू (ख्रीष्टियन धर्मको, जुन विश्‍वका तीन प्रमुख धर्ममध्ये एक हो) बाइबल पढ्नु नै भएको छ; बाइबलबाट टाढा हुनु भनेको प्रभुमा विश्‍वास गर्नु होइन, बाइबलबाट टाढा हुनु शास्त्रविरुद्ध र झूटो शिक्षा हो, र जब मानिसहरूले अन्य पुस्तकहरू पढ्छन् तब पनि यी पुस्तकहरूको जग बाइबलको व्याख्या नै हुनुपर्दछ। यसको अर्थ के हो भने, यदि तँ प्रभुमा विश्‍वास गर्छस् भने तैँले बाइबल पढ्नै पर्छ, र बाइबल बाहिर तैँले कुनै पुस्तकको पूजा गर्नुहुँदैन जसमा बाइबल समावेश छैन। यदि तैँले त्यसो गरिस् भने तैँले परमेश्‍वरलाई धोका दिइरहेको हुन्छस्। बाइबल भएको समयदेखि नै प्रभुमाथिको मानिसहरूको विश्‍वास नै बाइबलमाथिको विश्‍वासको रूपमा रहिआएको छ। मानिसहरूले प्रभुमा विश्‍वास गर्छन् भन्नुको सट्टा तिनीहरूले बाइबलमा विश्‍वास गर्छन् भन्नु राम्रो हुन्छ; उनीहरूले बाइबल पढ्नु सुरु गरे भन्नुभन्दा उनीहरूले बाइबलमा विश्‍वास गर्न थाले भन्नु राम्रो हुन्छ; उनीहरू प्रभुको सामु फर्किए भन्नुभन्दा उनीहरू बाइबलको अगि फर्किए भन्नु राम्रो हुन्छ। यसरी, मानिसहरूले बाइबललाई परमेश्‍वर जस्तो मानेर त्यसको आराधना गर्छन्, यो उनीहरूको जीवनरक्त जस्तो बन्छ, र यसलाई गुमाउनु आफ्नो जीवन गुमाउनुजस्तै हुन्छ। मानिसहरूले बाइबललाई परमेश्‍वर जत्तिकै उच्च रूपमा हेर्छन्, र यसलाई परमेश्‍वरभन्दा उच्च देख्‍नेहरू पनि छन्। यदि मानिसहरू पवित्र आत्माको कामविहीन छन् भने, यदि उनीहरूले परमेश्‍वरलाई महसुस गर्न सक्दैनन् भने, उनीहरू बाँच्न सक्छन्—तर उनीहरूले बाइबल वा बाइबलका प्रसिद्ध अध्यायहरू र भनाइहरू हराउने बित्तिकै उनीहरूको जीवन नै हराएको जस्तो हुन्छ। यसरी प्रभुमा विश्‍वास गर्नेबित्तिकै मानिसहरू बाइबल पढ्न थाल्छन्, र बाइबल कण्ठ गर्न थाल्छन्, र तिनीहरूले जति धेरै बाइबल कण्ठ गर्न सक्छन्, त्यसले त्यति नै धेरै तिनीहरूले प्रभुलाई प्रेम गर्छन् र तिनीहरूमा ठूलो विश्‍वास छ भनी प्रमाणित गर्दछ। बाइबल पढेकाहरू र त्यसबारे अरूसँग कुरा गर्न सक्नेहरू सबै असल दाजुभाइ तथा दिदी-बहिनीहरू हुन्। यत्तिका वर्षहरूमा प्रभुप्रति मानिसहरूको विश्‍वास र बफादारितालाई उनीहरूको बाइबलको ज्ञानको हदअनुसार मापन गरिएको छ। धेरै मानिसहरू परमेश्‍वरमा किन विश्‍वास गर्ने भन्‍ने कुरा समेत बुझ्दैनन्, न त कसरी विश्‍वास गर्नुपर्छ भनेर नै बुझ्छन्, र बाइबलका अध्यायहरूको अर्थ बुझ्नका लागि अन्धाधुन्ध सुराकहरू खोज्नेबाहके अरू केही गर्दैनन्। मानिसहरूले कहिल्यै पनि पवित्र आत्माको कामको निर्देशन पछ्याएका छैनन्; शुरुदेखि नै, तिनीहरूले बाइबलको कठोर अध्ययन र अनुसन्धान गर्नुबाहेक अरू केही गरेका छैनन्, र कसैले पनि बाइबलबाहिर पवित्र आत्माको नयाँ काम कहिल्यै फेला पारेको छैन। कोही पनि कहिल्यै बाइबल छोडी अर्कोतिर गएको छैन, न त तिनीहरूले कहिल्यै त्यसो गर्ने आँट नै गरेका छन्। मानिसहरूले यति धेरै वर्षसम्म बाइबल अध्ययन गरेका छन्, तिनीहरूले यति धेरै व्याख्याहरू गरेका छन्, अनि तिनीहरूले यति धेरै काम गरेका छन्; तिनीहरूमा बाइबलको बारेमा विभिन्न मतभिन्नताहरू पनि छन् जसको बारेमा तिनीहरू निरन्तर बहस गर्छन्, त्यसैले आज दुई हजारभन्दा बढी सम्प्रदायहरू गठन भएका छन्। तिनीहरू सबै बाइबलमा भएका केही विशेष व्याख्याहरू वा अझ गहिरा रहस्यहरू फेला पार्न चाहन्छन्, तिनीहरू यसलाई अन्वेषण गर्न चाहन्छन् र यसमा इस्राएलमा भएको यहोवाको कामको पृष्ठभूमि, वा यहूदियामा येशूको कामको पृष्ठभूमि, वा अरू कसैले थाहा नपाएका थप रहस्यहरू पत्ता लगाउन चाहन्छन्। मानिसहरूको बाइबलप्रतिको दृष्टिकोण मोह र विश्‍वासको छ, र कोही पनि बाइबलको भित्री कथा वा तत्वबारे पूर्ण रूपमा स्पष्ट छैनन्। त्यसैले, आज बाइबलको कुरा आउँदा मानिसहरूमा अवर्णनीय आश्चर्य-भाव पैदा हुन्छ, र त्यसप्रति तिनीहरू अझ बढी मोहित हुन्छन् र त्यसमा अझ बढी विश्‍वास गर्छन्। आज, सबै जना बाइबलमा आखिरी दिनहरूको कामका अगमवाणीहरू पत्ता लगाउन चाहन्छन्, तिनीहरू परमेश्‍वरले आखिरी दिनहरूमा के काम गर्नुहुन्छ र आखिरी दिनहरूका चिन्हहरू के-के हुन् भनी पत्ता लगाउन चाहन्छन्। यसप्रकार, तिनीहरूले गर्ने बाइबलको आराधना अझ बढी जोशिलो हुँदै जान्छ र आखिरी दिनहरू जति नजिकिंदै जान्छन् तिनीहरूले विशेष गरी आखिरी दिनहरूसम्बन्धी बाइबलका अगमवाणीहरूलाई अझ बढी अन्धाधुन्ध विश्‍वास गर्छन्। बाइबलमाथि त्यस्तो अन्धविश्‍वास भएकोले, बाइबलमा त्यस्तो भरोसा भएकोले, तिनीहरूमा पवित्र आत्माको कामको खोजी गर्ने कुनै इच्छा हुँदैन। मानिसहरूले आफ्ना धारणाहरूमा केवल बाइबलले मात्र पवित्र आत्माको काम ल्याउन सक्छ भन्‍ने सोच्छन्; तिनीहरूले सोच्छन् कि केवल बाइबलमा तिनीहरूले परमेश्‍वरका पाइलाहरू भेट्न सक्छन्; केवल बाइबलमा परमेश्‍वरको कामका रहस्यहरू लुकेका छन्; अन्य पुस्तकहरू वा मानिसहरूले होइन, केवल बाइबलले परमेश्‍वरका सबै कुराहरू र उहाँको कार्यको सम्पूर्णता स्पष्ट पार्न सक्छ; बाइबलले स्वर्गको कामलाई पृथ्वीमा ल्याउन सक्छ; र बाइबलले दुवै युग सुरु र अन्त्य गर्न सक्छ। यस्ता धारणाहरू भएकाले मानिसहरूमा पवित्र आत्माको कामको खोजी गर्ने कुनै झुकाव हुँदैन। त्यसकारण, विगतमा मानिसहरूका निम्ति बाइबल जति नै धेरै सहयोगी भएको भए पनि यो परमेश्‍वरको नवीनतम काममा बाधा बनेको छ। बाइबलबिना, मानिसहरूले परमेश्‍वरका पाइलाहरू अन्यत्र खोजी गर्न सक्छन्, तैपनि आज, उहाँका पाइलाहरू बाइबलद्वारा रोकिएका छन्, र उहाँको नवीनतम काम विस्तार गर्नु दुई गुणा कठिन, र एक कडा संघर्ष बनेको छ। यो सबै बाइबलका प्रसिद्ध अध्यायहरू र भनाइहरूका साथै बाइबलका विभिन्न अगमवाणीहरूको कारण भएको हो। मानिसहरूका मनमा बाइबल एउटा मूर्ति बनेको छ, यो उनीहरूका दिमागमा एउटा पहेली बनेको छ, र बाइबल बाहिर परमेश्‍वरले काम गर्न सक्नुहुन्छ भन्‍ने विश्‍वास गर्न तिनीहरू असमर्थ छन्, मानिसहरूले बाइबल बाहिर पनि परमेश्‍वर पाउन सक्छन् भनी तिनीहरू विश्‍वास गर्न सक्दैनन्, उनीहरूले अन्तिम कामको समयमा परमेश्‍वर बाइबलबाट टाढा हुन र फेरि पहिलेदेखि सुरु गर्न सक्नुहुन्छ भनी विश्‍वास गर्ने कुरा त परै जाओस्। यो मानिसहरूले सोच्नै नसक्ने कुरा हो; उनीहरू यसमा विश्‍वास गर्न सक्दैनन्, न त उनीहरूले यसको कल्पना गर्न नै सक्छन्। परमेश्‍वरको नयाँ कामलाई स्वीकार गर्ने विषयमा बाइबल मानिसहरूका निम्ति ठूलो बाधा र परमेश्‍वरको यो नयाँ काम फैलाउने कार्यको कठिनाइ बनेको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)

येशूको समयमा, येशूले यहूदीहरू र उहाँको पछि लाग्नेहरू सबैलाई त्यस बेला उहाँमा भएको पवित्र आत्माको कामअनुसार डोऱ्याउनुभयो। उहाँले बाइबललाई उहाँको कामको आधारको रूपमा लिनुभएन, तर उहाँको कामअनुसार बोल्नुभयो; उहाँले बाइबलले भनेको कुरामा ध्यान दिनुभएन, न त उहाँले आफ्ना अनुयायीहरूलाई डोऱ्याउने तरिका नै खोज्नुभयो। उहाँले काम गर्न थाल्नुभएदेखि नै पश्चात्तापको मार्ग फैलाउनुभयो—एउटा यस्तो वचन जसको बारेमा पुरानो करारका अगमवाणीहरूमा एउटै पनि उल्लेख गरिएको थिएन। उहाँले केवल बाइबलअनुसार काम गर्नुभएन भन्‍ने मात्र होइन, तर उहाँले एउटा नयाँ बाटोमा पनि हिँडाउनुभयो र नयाँ काम पनि गर्नुभयो। उहाँले प्रचार गर्नुहुँदा कहिल्यै पनि बाइबलको उल्लेख गर्नुभएन। व्यवस्थाको युगको अवधिमा कसैले पनि उहाँले जस्तो बिरामीहरूलाई निको पार्ने र दुष्टात्माहरू निकाल्ने आश्‍चर्यकर्महरू गर्न सकेको थिएनन्। त्यसरी नै उहाँको काम, शिक्षा अनि उहाँका वचनहरूको अधिकार र शक्ति व्यवस्थाको युगको कुनै पनि व्यक्तिको भन्दा उत्तम थियो। येशूले केवल उहाँको नयाँ काम गर्नुभयो, र धेरै मानिसहरूले बाइबल प्रयोग गर्दै उहाँको निन्दा गरे पनि—र उहाँलाई क्रूसमा टाँग्न पुरानो करार प्रयोग गरे पनि उहाँको काम पुरानो करारको भन्दा उत्तम थियो; यदि यस्तो थिएन भने, मानिसहरूले किन उहाँलाई क्रूसमा टाँग्थे? के पुरानो करारमा उहाँको शिक्षा, बिरामीलाई निको पार्ने र दुष्टात्माहरूलाई धपाउने उहाँको क्षमताको बारेमा केही नभनिएकोले गर्दा होइन र? उहाँको काम नयाँ मार्गमा डोर्‍याउनका निम्ति गरिएको थियो, यो जानाजानी बाइबलको विरुद्ध लड्न वा जानी-जानी पुरानो करारबाट छुटकारा दिनका निम्ति थिएन। उहाँ आफ्नो सेवकाइ गर्न, उहाँको चाहना र खोजी गर्नेहरूलाई नयाँ काम दिन मात्रै आउनुभयो। उहाँ पुरानो करारको व्याख्या गर्न वा त्यसको कामलाई समर्थन गर्न आउनुभएन। उहाँको काम व्यवस्थाको युगलाई निरन्तरता दिनका लागि थिएन, किनकि उहाँको कामले बाइबल त्यसको आधार हो कि होइन भन्‍ने कुरामा कुनै ध्यान दिएन; येशू केवल उहाँले गर्नुपर्ने काम गर्न मात्रै आउनुभयो। यसैले, उहाँले पुरानो करारका अगमवाणीहरूको व्याख्या गर्नुभएन, न त उहाँले पुरानो करारको व्यवस्थाको युगका वचनहरू अनुसार काम नै गर्नुभयो। पुरानो करारले भनेका कुरालाई उहाँले बेवास्ता गर्नुभयो, उहाँको काम त्योसँग सहमत छ कि छैन भनी उहाँले वास्ता गर्नुभएन, अनि अरूले उहाँको कामको बारेमा के जान्दछन् वा तिनीहरूले त्यसलाई दोषी ठहराएका छन् भनी वास्ता गर्नुभएन। उहाँले केवल आफूले गर्नुपर्ने काम गर्दैजानुभयो, यद्यपि धेरै मानिसहरूले उहाँलाई दोषी ठहराउन पुरानो करारका अगमवक्ताहरूका अगमवाणीहरू प्रयोग गरे। मानिसहरूको नजरमा उहाँको कामको कुनै आधार नभएको र त्यहाँ धेरै कुरा पुरानो करारको विवरणसँग नमिलेको जस्तो देखिन्थ्यो। के यो मानिसको भ्रम थिएन र? के परमेश्‍वरको कामका निम्ति सिद्धान्त प्रयोग गर्नु आवश्यक हुन्छ? के परमेश्‍वरको काम अगमवक्ताहरूका अगमवाणीअनुसार हुनै पर्छ? आखिरकार, ठूलो के हो: परमेश्‍वर वा बाइबल? परमेश्‍वरले किन बाइबलअनुसार काम गर्नुपर्छ र? के परमेश्‍वरसँग बाइबललाई उछिन्ने कुनै अधिकार छैन भन्‍ने हुनसक्छ? के परमेश्‍वरले बाइबलबाट टाढा भएर अरू कामहरू गर्न सक्नुहुन्न र? येशू र उहाँका चेलाहरूले किन शबाथ-दिन पालना गर्नुभएन? यदि उहाँले शबाथ-दिनलाई ध्यानमा राख्दै र पुरानो करारका आज्ञाहरू अनुसार अभ्यास गर्नुपर्थ्यो भने, येशूले उहाँ आउनुभएपछि शबाथ-दिन किन पालना गर्नुभएन, तर बरु खुट्टा धुनुभयो, शिर ढाक्नुभयो, रोटी भाँच्नुभयो र दाखरस पिउनुभयो? के यी सबै कुरा पुरानो करारका आज्ञाहरूमा नभएका होइनन् र? यदि येशूले पुरानो करारलाई आदर गर्नुहुन्थ्यो भने उहाँले यी प्रावधानहरू किन तोड्नुभयो? कुनचाहिँ पहिले आयो, परमेश्‍वर वा बाइबल, त्यो तँलाई थाहा हुनुपर्छ। शबाथका प्रभु हुनुभएकाले के उहाँ बाइबलका परमप्रभु पनि हुन सक्नुहुन्न र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)

सबै यहूदीहरूले पुरानो करार पढे र डुँडमा एउटा पुरुष बालक जन्मनेछ भन्‍ने यशैयाको अगमवाणीलाई बुझे। यो अगमवाणीप्रति पूर्ण रूपमा सचेत भएर पनि, तिनीहरूले येशूलाई किन सताए त? के यो तिनीहरूको विद्रोही स्वभाव र पवित्र आत्माको कामको अनभिज्ञताको कारणले होइन? त्यो समयमा, येशूको काम अगमवाणी गरिएका ती पुरुष बालकको भन्दा फरक छ भन्‍ने फरिसीहरूले विश्‍वास गरे अनि आज मानिसहरूले परमेश्‍वरलाई इन्कार गर्छन् किनभने देहधारी हुनुभएका परमेश्‍वरको काम बाइबलअनुसार छैन। के यो परमेश्‍वरप्रतिको तिनीहरूको विद्रोहीपनको सार उही होइन र? के तँ पवित्र आत्माको सबै कार्यलाई विनाप्रश्‍न स्वीकार गर्छस्? यदि यो पवित्र आत्माको काम हो भने, यो सही प्रवाह हो र तैँले यसलाई कुनै सन्देहविना स्वीकार गर्नुपर्छ; के स्वीकार गर्ने भनी तैँले रोज्नु र छान्नु हुँदैन। यदि तैँले परमेश्‍वरबाट धेरै अन्तर्ज्ञान पाइस् र उहाँप्रति धेरै सतर्कता अपनाइस् भने के यो अनावश्यक कुरा होइन र? तैँले बाइबलबाट अरू सबुतको खोजी गर्नु पर्दैन; यदि यो पवित्र आत्माको काम हो भने, तैँले यसलाई स्वीकार गर्नुपर्छ, किनभने तैँले परमेश्‍वरलाई पछ्याउन परमेश्‍वरमा विश्‍वास गर्छस् र तैँले उहाँको अनुसन्धान गर्नु हुँदैन। म तेरो परमेश्‍वर हुँ भन्‍ने साबित गर्न तैँले मबाट अरू प्रमाण खोज्नु पर्दैन, तर म तेरो निम्ति लाभदायक छु कि छैन सो छुट्याउन तँ सक्षम हुनुपर्छ—सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। यदि तैँले बाइबलभित्र धेरै अकाट्य प्रमाण भेट्टाइस् भने पनि, यसले तँलाई मेरो सामु पूर्ण रूपमा ल्याउन सक्दैन। तँ बाइबलको परिधिभित्र मात्र जिउँछस्, मेरो सामने होइन; मलाई चिन्नको निम्ति बाइबलले तँलाई सहायता गर्न सक्दैन, न त यसले मप्रतिको तेरो प्रेमलाई नै गहिरो बनाउन सक्छ। बाइबलले पुरुष बालक जन्‍मिनेछ भनी भविष्यवाणी गरे तापनि त्यो भविष्यवाणी कसको जीवनमा पूरा हुने हो सो कसैले बुझ्न सकेनन्, किनभने मानिसलाई परमेश्‍वरको काम थाहा थिएन, र यही कुराले फरिसीहरूलाई येशूको विरुद्ध खडा हुन लगायो। मेरो काम मानिसको हितमा हुन्छ भन्‍ने केहीले जान्दछन्, तैपनि येशू र म पूर्ण रूपमा फरक अर्थात् पारस्परिक रूपमा नमिल्‍ने अस्तित्व हौँ भन्‍ने विश्‍वास गरिरहन्छन्। त्यो समयमा, येशूले आफ्ना चेलाहरूलाई अनुग्रहको युगमा अभ्यास कसरी गर्ने, सँगसँगै कसरी भेला हुने, प्रार्थनामा अन्तर्बिन्ती कसरी गर्ने, अरूहरूलाई कस्तो व्यवहार गर्ने र यस्तै अरूहरू विषयहरूमा शृङ्खलाबद्ध प्रवचनहरू मात्रै दिनुभयो। उहाँले कार्यान्वयन गर्नुभएको काम अनुग्रहको युग थियो र चेलाहरू र उहाँलाई पछ्याउनेहरूले कसरी अभ्यास गर्ने भनेर मात्र व्याख्या गर्नुभयो। उहाँले अनुग्रहको युगको काम मात्र गर्नुभयो र उहाँले अन्तको दिनका कुनै पनि कामहरू गर्नुभएन। जब यहोवाले व्यवस्थाको युगमा पुरानो करारको व्यवस्था ल्याउनुभयो, तब उहाँले अनुग्रहको युगको कार्य किन गर्नुभएन त? उहाँले अनुग्रहको युगको कामलाई पहिले नै किन स्पष्ट पार्नुभएन? के यसले मानिसहरूलाई यसलाई स्वीकार गर्न सहायता गर्दैनथ्यो र? एउटा बालक जन्मनेछ र शक्तिशाली हुन्छ भनेर मात्र उहाँले अगमवाणी गर्नुभयो, तर उहाँले अनुग्रहको युगलाई पहिले नै कार्यान्वयन गर्नुभएन। हरेक युगको परमेश्‍वरको कामका सीमाहरू स्पष्ट हुन्छन्; उहाँले हालको युगको काम मात्र गर्नुहुन्छ, र उहाँ अर्को युगको कामलाई कहिल्यै पनि अग्रिम रूपमा गर्नुहुन्न। यसरी मात्र हरेक युगको उहाँको प्रतिनिधि कामलाई अगाडी ल्याउन सकिन्छ। येशूले अन्तको दिनका चिन्हहरू, कसरी धैर्यवान् हुने, कसरी मुक्ति पाउने, कसरी पश्‍चात्ताप गर्ने र स्वीकार गर्ने, क्रूस कसरी बोक्ने र कष्टहरू कसरी सहने भन्‍ने बारेमा मात्र बताउनुभयो; अन्तको दिनमा मानिसले कसरी प्रवेश पाउने भनेर उहाँले कहिल्यै पनि बताउनुभएन, न त उसले परमेश्‍वरका अभिप्राय कसरी पूरा गर्न खोज्ने भन्‍नेबारे नै उहाँले बताउनुभयो। यसरी नै, अन्तको दिनमा परमेश्‍वरले गर्नुहुने कामको बारे बाइबलमा खोजी गर्नु हास्यास्पद कुरो होइन र? बाइबल मात्र पक्रेर तैँले के देख्न सक्छस्? बाइबलको व्याख्या गर्ने होस् वा प्रचारक होस्, आजको कामलाई कसले पहिले नै देख्न सक्थ्यो र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?

यदि तैँले व्यवस्थाको युगको काम अनि इस्राएलीहरूले कसरी यहोवाको मार्ग पछ्याए भनी हेर्न चाहन्छस् भने तैँले पुरानो करार पढ्नुपर्छ; यदि तैँले अनुग्रहको युगको काम बुझ्न चाहन्छस् भने, तैँले नयाँ करार पढ्नुपर्छ। तर तैँले आखिरी दिनहरूको कामलाई कसरी हेर्छस् त? तैँले आजको परमेश्‍वरको नेतृत्वलाई स्वीकार्नुपर्दछ, र आजको काममा प्रवेश गर्नुपर्दछ, किनकि यो नयाँ काम हो, र यसलाई पहिले नै बाइबलमा कसैले पनि अभिलेख गरेको छैन। आज, परमेश्‍वर देह बन्नुभएको छ र चीनमा अरू चुनिएका मानिसहरूलाई छान्नुभएको छ। परमेश्‍वरले यी मानिसहरूमा काम गर्नुहुन्छ, उहाँ पृथ्वीमा गरिएको उहाँको कामबाट अघि बढ्नुहुन्छ, र अनुग्रहको युगमा भएको कामबाट अघि बढ्नुहुन्छ। आजको काम त्यो बाटो हो जहाँ मानिस कहिल्यै हिंडेको छैन, र यो त्यस्तो मार्ग हो जुन कसैले कहिल्यै देखेको छैन। यो यस्तो काम हो जुन पहिला कहिल्यै गरिएको छैन—यो पृथ्वीमा परमेश्वरको नवीनतम काम हो। यसैले, पहिले कहिल्यै नगरिएको काम इतिहास होइन, किनकि अहिले भनेको अहिले हो, र यो विगत बन्न बाँकी नै छ। परमेश्‍वरले पृथ्वीमा र इस्राएलदेखि बाहिर अझ ठूलो, अझ नयाँ काम गर्नुभएको छ, त्यो इस्राएलको दायराभन्दा धेरै पर, अगमवक्ताहरूको अगमवाणीहरू भन्दा बाहिर गइसकेको छ, जुन अगमवाणीहरूभन्दा बाहिरको नयाँ र अचम्मको काम हो, र इस्राएलभन्दा परको अझ नयाँ काम हो भन्ने कुरा मानिसहरूलाई थाहा छैन, जुन यस्तो काम हो जसलाई मानिसहरूले न त बुझ्न सक्छन् न कल्पना गर्न नै। बाइबलमा त्यस्तो कामको स्पष्ट अभिलेख कसरी हुन सक्छ र? आजको कामको बारेमा एउटै कुरा पनि नछोडी अग्रिम रूपमा कसले लेख्न सक्थ्यो र? त्यो जीर्ण पुरानो पुस्तकको परम्परालाई चुनौती दिने यो अझ शक्तिशाली, अझ बुद्धिमानी काम कसले अभिलेख गर्न सक्थ्यो र? आजको काम इतिहास होइन, र यस्तो भएकोले यदि तैँले आजको नयाँ मार्गमा हिंड्न चाहन्छस् भने तैँले बाइबललाई छोड्नुपर्छ, तैँले बाइबलका अगमवाणी वा इतिहासका पुस्तकहरूभन्दा पर जानुपर्छ। तब मात्र तैँले नयाँ मार्गमा ठिकसँग हिंड्न सक्नेछस्, अनि मात्र तैँले नयाँ क्षेत्र र नयाँ काममा प्रवेश गर्न सक्नेछस्। … ती नयाँ वाणीहरूले तेरो निम्ति प्रबन्ध गर्न सक्छन्, जसले यो नयाँ काम हो भनी प्रमाणित गर्दछ; पुराना विवरणहरूले तँलाई तृप्त पार्न वा तेरा वर्तमान आवश्यकताहरूलाई पूरा गर्न सक्दैनन्, जसले ती इतिहास हुन् अनि यहाँको र अहिलेको काम होइनन् भनी प्रमाणित गर्दछ। सबैभन्दा उच्च मार्ग भनेको नयाँ काम हो, र नयाँ कामको साथमा, विगतको मार्ग जतिसुकै उच्च भए पनि यो मानिसहरूले फर्केर हेर्ने इतिहास मात्रै हो, र सन्दर्भको रूपमा यसको महत्त्व नै भए पनि, यो अझै पनि पुरानो मार्ग नै हो। यसलाई “पवित्र पुस्तक” मा लेखिएको भए पनि पुरानो मार्ग इतिहास नै हो; “पवित्र पुस्तक” मा यसको कुनै विवरण नभए पनि, नयाँ मार्ग यहाँको र अहिलेको हो। यो मार्गले तँलाई बचाउन सक्छ, र यो मार्गले तँलाई परिवर्तन गर्न सक्छ, किनकि यो पवित्र आत्माको काम हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)

मानिसलाई भ्रष्ट पारिएको छ र ऊ शैतानको फन्दामा जिउँछ। सबै मानिसहरू देहमा जिउँछन्, स्वार्थी इच्‍छाहरूमा जिउँछन्, र तिनीहरूमाझ मेरो अनुकूल रहेको एक जना पनि छैन। मेरो अनुकूल छु भन्‍ने मानिसहरू छन्, तर त्यस्ता मानिसहरूले अज्ञात मूर्तिहरूको पूजा गर्छन्। मेरो नामलाई पवित्र भनी स्वीकार गरे तापनि, तिनीहरूले मेरो विपरीत दिशातर्फ बढ्ने मार्गमा पाइला चाल्छन्, र तिनीहरूका बोलीवचन अहङ्कार र आत्मविश्‍वासले भरिएका छन्। किनभने तिनीहरू जरैदेखि मेरो विरुद्धमा छन् तर म सँग मिल्दो छैनन्। हरदिन, तिनीहरूले बाइबलमा मेरा निसानहरू खोज्छन् र हचुवाको भरमा “उपयुक्त” खण्डहरू भेट्छन् जसलाई तिनीहरूले निरन्तर पढ्छन् र धर्मशास्‍त्रका रूपमा पाठ गर्छन्। कसरी मेरो अनुकूल बन्‍ने भनेर तिनीहरूलाई थाहा छैन, न त मेरो विरुद्धमा खडा हुनु भनेको के हो भन्‍ने नै तिनीहरूलाई थाहा छ। तिनीहरू खालि अन्धाधुन्ध धर्मशास्‍त्रका खण्डहरू पढ्छन्। तिनीहरूले कहिल्यै नदेखेका र देख्‍न नसकेका अस्पष्ट परमेश्‍वरलाई बाइबलभित्र सीमित गर्छन् र फुर्सतमा हेर्न यसलाई निकाल्छन्। तिनीहरूले बाइबलको दायराभित्र मात्रै मेरो अस्तित्वमा विश्‍वास गर्छन्, र तिनीहरूले मलाई बाइबलसँग समान मान्छन्; बाइबलविना म हुँदिनँ, र मविना बाइबल हुँदैन। मेरो अस्तित्व वा मेरा कार्यहरूलाई तिनीहरूले ध्यानै दिँदैनन्, बरु यसको साटो धर्मशास्‍त्रका एक-एक शब्‍दलाई अत्यधिक र विशेष ध्यान दिन्छन्। धर्मशास्‍त्रले भविष्यवाणी नगरेसम्म मैले चाहेअनुसार केही पनि गर्नु हुँदैन भनेरसमेत धेरैले विश्‍वास गर्छन्। तिनीहरूले धर्मशास्‍त्रलाई अत्याधिक महत्त्व दिन्छन्। के भन्‍न सकिन्छ भने तिनीहरूले शाब्दिक वचनलाई यति हदसम्‍म महत्त्वपूर्ण देख्छन् कि मैले बोल्‍ने हरेक शब्‍दलाई मापन गर्न र मलाई दोष दिन तिनीहरूले बाइबलका पदहरू प्रयोग गर्छन्। तिनीहरूले खोजी गर्ने कुरा भनेको मेरो अनुकूल हुने मार्ग वा सत्यतासँग अनुकूल हुने मार्ग होइन, बरु बाइबलका वचनहरूसँग अनुकूल हुने मार्ग हो, र तिनीहरूले बाइबलसँग नमिल्‍ने जुनसुकै कुरा निस्सन्देह मेरो काम होइन भन्‍ने विश्‍वास गर्छन्। के यस्ता मानिसहरू फरिसीहरूका कर्तव्यनिष्ठ सन्तान होइनन् र? यहूदी फरिसीहरूले येशूलाई दोषी ठहर्‍याउन मोशाको व्यवस्था प्रयोग गरे। तिनीहरूले त्यो समयमा येशूसँग अनुकूल हुने प्रयास गरेनन्, बरु तिनीहरूले यति लगनशीलताको साथ व्यवस्थाको शब्‍द-शब्द पछ्याए कि—पुरानो करारको व्यवस्थालाई पालन नगरेको र मसीह नभएको आरोप उहाँलाई लगाएपछि—तिनीहरूले आखिरमा निर्दोष येशूलाई क्रूसमा टाँगिछोडे। तिनीहरूको सार के थियो? के त्यो तिनीहरूले सत्यतासित अनुकूल हुने मार्ग नखोज्नु नै थिएन र? तिनीहरू धर्मशास्‍त्रको एक-एक शब्‍दप्रति आशक्त भए, तर तिनीहरूले न त मेरा अभिप्रायलाई ध्यान दिए न त मेरो कामका चरण र विधिहरूलाई नै ध्यान दिए। तिनीहरू सत्यताको खोजी गर्ने मानिसहरू थिएनन्, बरु शब्दहरूमा कठोरतासाथ लाग्‍ने मानिसहरू थिए; तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू थिएनन्, बरु बाइबलमा विश्‍वास गर्ने मानिसहरू थिए। सारगत रूपमा, तिनीहरू बाइबलको रक्षा गर्ने कुकुरहरू थिए। बाइबलका हितहरूको सुरक्षा गर्न, बाइबलको इज्‍जतलाई कायम राख्‍न, र बाइबलको मर्यादाको संरक्षण गर्न, तिनीहरूले कृपालु येशूलाई क्रूसमा टाँग्‍ने हदसम्‍म गए। तिनीहरूले केवल बाइबलको प्रतिरक्षा गर्नको खातिर, र मानिसहरूका हृदयमा बाइबलका एक-एक वचनको प्रतिष्ठालाई कायम गर्नको खातिर तिनीहरूले यसो गरे। त्यसकारण, तिनीहरूले धर्मशास्‍त्रको सिद्धान्तअनुरूप नरहनुभएका येशूलाई मृत्युदण्ड दिन आफ्‍नो भविष्य र पापबलि त्याग्‍न रुचाए। के तिनीहरू सबै नै धर्मशास्‍त्रका एक-एक वचनका दास थिएनन् र?

अनि आजका मानिसहरूको बारेमा के भन्‍ने? ख्रीष्‍ट सत्यता प्रदान गर्न आउनुभएको छ, तैपनि तिनीहरू उहाँलाई यस संसारबाट निकाल्‍न चाहन्छन् ताकि तिनीहरूले स्वर्गमा प्रवेश गर्न र अनुग्रह प्राप्त गर्न सकून्। तिनीहरू बाइबलका हितहरूको संरक्षण गर्नको लागि सत्यताको आगमनलाई पूर्ण रूपमा इन्कार गर्न रचाउँछन्, र बाइबलको अनन्‍त अस्तित्व सुनिश्‍चित गर्नको लागि तिनीहरू देहमा फर्कनुभएका ख्रीष्‍टलाई फेरि क्रूसमा टाँग्‍न रुचाउँछन्। मप्रति मानिसको हृदय यति द्वेषपूर्ण र उसको स्वभाव यति विरोधी छ भने उसले कसरी मेरो मुक्ति पाउन सक्छ? म मानिसको माझमा जिउँछु, तैपनि मानिसलाई मेरो अस्तित्वको बारेमा थाहा छैन। मैले मानिसमाथि मेरो ज्योति चम्‍काउँदा पनि, मेरो अस्तित्वको बारेमा ऊ अझै अनभिज्ञ नै रहन्छ। जब म मानिसमाथि आफ्‍नो क्रोध बर्साउँछु, उसले अझै ठूलो जोसको साथ मेरो अस्तित्वलाई इन्कार गर्छ। मानिसले वचनहरूअनुकूल हुन र बाइबलअनुकूल हुन खोज्छ, तैपनि सत्यताको अनुकूल हुने मार्गलाई खोज्‍न एक जना पनि मेरो सामु आउँदैन। मानिसले माथि फर्केर मलाई स्वर्गमा हेर्छ र स्वर्गमा रहेको मेरो अस्तित्वको लागि खास सरोकार अर्पण गर्छ, तैपनि देहमा रहेको मलाई कसैले वास्ता गर्दैन, किनभने मानिसको माझमा बस्‍ने म अत्यन्तै महत्त्वहीन छु। बाइबलका वचनहरूसँग मात्रै अनुकूल हुन खोज्नेहरू र अस्पष्ट परमेश्‍वरसँग अनुकूल हुने प्रयास गर्नेहरू मेरो लागि दुःखदायी दृश्य हुन्। किनभने तिनीहरूले मृत वचनहरू, र तिनीहरूलाई असीमित सम्पत्ति दिन सक्‍ने परमेश्‍वरको आराधना गर्छन्; तिनीहरूले मानिसको कृपामा आफूलाई छोड्ने परमेश्‍वर अर्थात् अस्तित्वमै नहुनुभएको परमेश्‍वरको आराधना गर्छन्। अनि, त्यस्ता मानिसहरूले मबाट के प्राप्त गर्न सक्छन्? वचनहरूका निम्ति मानिस अत्यन्तै तल्लोस्तरको छ। जो मेरो विरुद्धमा छन्, जसले मबाट असीमित अपेक्षाहरू गर्छन्, जोसँग सत्यताको निम्ति कुनै प्रेम छैन, जो मप्रति विद्रोही छन्—तिनीहरू कसरी मप्रति अनुकूल हुन सक्छन्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले ख्रीष्‍टसँग अनुकूल हुने मार्ग खोजी गर्नुपर्छ

आज, म बाइबललाई यस तरिकाले चिरफार गर्दै छु तर यसको मतलब म यसलाई घृणा गर्छु, वा म सन्दर्भको रूपमा रहेको यसको मूल्यलाई अस्वीकार गर्छु भन्‍ने होइन। म तँलाई अन्धकारमा पारिनबाट रोक्‍नको लागि बाइबलको अन्तर्निहित मूल्य र उत्पत्तिबारे व्याख्या र स्पष्टता प्रदान गर्दै छु। मानिसहरूमा बाइबलको बारेमा अत्यन्तै धेरै दृष्टिकोणहरू छन्, र तीमध्ये धेरै त गलत नै छन्; त्यसैले, यस तरिकाले बाइबल पढ्दा यसले उनीहरूलाई उनीहरूले जे प्राप्त गर्नुपर्ने हो त्यो प्राप्त गर्नबाट रोक्‍ने मात्र होइन, अझ महत्त्वपूर्ण कुरा त के छ भने, यसले मैले गर्न चाहेको काममै बाधा पुर्‍याउँछ। यसले भविष्यको काममा ठूलो अवरोध खडा गर्छ, र लाभहरू होइन, केवल कमजोरीहरू प्रदान गर्छ। तसर्थ, मैले तँलाई जे सिकाइरहेको छु त्यो केवल बाइबलको सार र भित्री कथा हो। मैले तँलाई तैँले बाइबल पढ्नु हुँदैन, वा तैँले यो मूल्यहीन छ भनेर घोषणा गर्दै हिँड्नुपर्छ भनिरहेको छैनँ, बरु तँसँग बाइबलको सही ज्ञान र दृष्टिकोण हुनुपर्छ भनेर मात्र भनिरहेको छु। अत्यन्तै एकतर्फी नहो! बाइबल मानिसहरूद्वारा लेखिएको एउटा इतिहासको पुस्तक भए पनि, यसमा प्राचीन सन्त र अगमवक्ताहरूले जुन सिद्धान्तहरूद्वारा परमेश्‍वरको सेवा गर्थे त्यस्ता थुप्रै सिद्धान्तहरूका साथै परमेश्‍वरको सेवा गर्ने सम्बन्धमा प्रेरितहरूका भर्खरैका अनुभवहरू पनि राखिएका छन्—यी मानिसहरूले ती सबै कुरा वास्तवमै देखेका र जानेका थिए, र ती कुराले यस युगका मानिसहरूलाई साँचो मार्ग खोजी गर्नमा सन्दर्भको रूपमा काम गर्न सक्छन्। तसर्थ, बाइबल पढ्दा मानिसहरूले जीवनका थुप्रै मार्गहरू पनि प्राप्त गर्न सक्छन् जुन अरू पुस्तकहरूमा पाउन सकिँदैन। यी मार्गहरू विगतका युगहरूमा अगमवक्ता र प्रेरितहरूले अनुभव गरेका पवित्र आत्माको कामका जीवन मार्गहरू हुन्, र तीमध्ये धेरैजसो वचनहरू मूल्यवान् छन्, र तिनले मानिसहरूलाई चाहिने आवश्यक कुराहरू प्रदान गर्न सक्छन्। तसर्थ, सबै मानिसहरू बाइबल पढ्न मन पराउँछन्। बाइबलमा धेरै कुरा लुकेका छन्, तसर्थ महान् आत्मिक व्यक्तित्वहरूका लेखहरूप्रति भन्दा यसप्रति मानिसहरूको धारणा फरक छ। पुरानो र नयाँ युगमा यहोवा र येशूको सेवा गर्ने व्यक्तिहरूको अनुभव र ज्ञानहरूको अभिलेख र सङ्ग्रह नै बाइबल हो, र पछि आउने पुस्ताहरूले अभ्यास गर्नलाई यसबाट धेरै अन्तर्ज्ञान, प्रकाश र मार्गहरू प्राप्त गर्न सक्षम भएका छन्। बाइबल कुनै पनि महान् आत्मिक व्यक्तित्वका लेखहरूभन्दा उच्‍च हुनुको कारण के हो भने, उनीहरूका सबै लेखहरू बाइबलबाट लिइएका हुन्, उनीहरूका सबै अनुभवहरू बाइबलबाट आएका हुन् र ती सबैले बाइबलको व्याख्या गर्छन्। मानिसहरूले कुनै पनि महान् आत्मिक व्यक्तित्वका पुस्तकहरूबाट पोषण प्राप्त गर्न सक्‍ने भए पनि, उनीहरूले अझै पनि बाइबललाई नै पुज्छन्, किनकि यो उनीहरूका लागि अत्यन्तै महान् र गहन देखिन्छ! बाइबलले पावलका पत्रहरू र पत्रुसका पत्रहरूजस्ता जीवनका वचनहरूका केही पुस्तकहरूलाई एकट्ठा गरेको भए पनि, र मानिसहरूलाई यी पुस्तकहरूले पोषण दिन र मद्दत गर्न सक्‍ने भए पनि, यी पुस्तकहरू पुरानो भइसकेका छन्, ती अझै पुरानै युगमा पर्छन्, र ती जतिसुकै राम्रो भए पनि, ती केवल एक अवधिको लागि मात्र उपयुक्त छन्, अनन्त छैनन्। किनकि परमेश्‍वरको काम सँधै विकसित भइरहेको हुन्छ, र यो केवल पावल र पत्रुसको समयमा रोकिएर बस्‍न सक्दैन, वा सँधैभरि येशूलाई क्रूसमा टाँगिएको अनुग्रहको युगमा रहिरहन सक्दैन। त्यसैले, यी पुस्तकहरू अनुग्रहको युगका लागि मात्र उपयुक्त छन्, आखिरी दिनहरूको राज्यको युगको लागि उपयुक्त छैनन्। तिनीहरूले केवल अनुग्रहको युगका विश्‍वासीहरूका लागि पोषण प्रदान गर्न सक्छन्, राज्यको युगका सन्तहरूको लागि सक्दैनन्, र ती जतिसुकै राम्रो भए पनि ती पुराना छन्। यहोवाले गर्नुभएको सृष्टिको काम वा इस्राएलमा उहाँले गर्नुभएको कार्य पनि यस्तै हो: यो काम जतिसुकै महान् भएको भए पनि, यो पुरानो हुनेवाला नै थियो र त्यो बितेर जाने समय आउनेवाला नै थियो। परमेश्‍वरको काम पनि यस्तै हो: यो महान् छ, तर यो समाप्त हुने समय आउने नै छ; यो सँधै सृष्टिको कार्यमाझ रहन सक्दैन, न त क्रूसीकरणको माझमा नै रहन सक्छ। क्रूसीकरणको काम जति नै विश्‍वासलाग्दो भए पनि, शैतानलाई पराजित गर्न यो जतिसुकै प्रभावकारी भए पनि, काम आखिर काम नै हो, र युगहरू आखिर युगहरू नै हुन्। काम सधैँ उही जगमा रहन सक्दैन, न त समय कहिल्यै परिवर्तन नहुने नै हुन्छ, किनकि सृष्टि भएको थियो र आखिरी दिनहरू पनि हुनैपर्छ। यो अपरिहार्य छ! त्यसकारण, आज नयाँ करारमा रहेका जीवनका वचनहरू—प्रेरितहरूका पत्रहरू, र सुसमाचारका चार पुस्तकहरू—ऐतिहासिक पुस्तकहरू भएका छन्, तिनीहरू पुरानो पञ्‍चाङ्ग भएका छन्, र पुरानो पञ्‍चाङ्गले कसरी मानिसहरूलाई नयाँ युगमा प्रवेश गराउन सक्छन्? यी पञ्‍चाङ्गहरू जीवन प्रदान गर्न जति नै सक्षम भए पनि, मानिसहरूलाई क्रूसमा अगुवाई गर्न जति नै सक्षम भए पनि, के ती पुराना भएका छैनन् र? के ती मूल्यहीन भएका छैनन् र? यसैले, म भन्छु तैँले अन्धो भएर यी पञ्‍चाङ्गहरूमा विश्‍वास गर्नु हुँदैन। ती धेरै पुराना भइसकेका छन्, तिनले तँलाई नयाँ काममा ल्याउन सक्दैनन्, र तिनले तँलाई बोझ मात्रै दिन सक्छन्। तिनले तँलाई नयाँ काम र नयाँ प्रवेशमा ल्याउन त के सक्थे र, बरु उल्टै तँलाई पुराना धार्मिक मण्डलीहरूमा चाहिँ लैजान्छन्—र यदि त्यसो भयो भने, के तँ परमेश्‍वरप्रतिको तेरो विश्‍वासमा प्रतिगमन गरिरहेको हुनेथिनस् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (४)

सम्बन्धित भजनहरू

परमेश्‍वरका विश्‍वासीहरूले उहाँको आजको इच्छा खोज्नुपर्छ

परमेश्‍वरले आखिरी दिनहरूमा अन्यजातिहरूमाझ अझै महान् र नयाँ काम गर्नुभएको छ

ख्रीष्टसँग अनुकूलताको बाटो खोज

बाइबललाई प्रयोग गरेर परमेश्‍वरलाई दोष लाउनेहरू सबै फरिसी हुन्

अघिल्लो: १२. धार्मिक संसारको धारणा: “सम्पूर्ण बाइबल परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो, र बाइबलका सबै वचन परमेश्‍वरका वचन हुन्”

अर्को: १४. धार्मिक संसारको धारणा: “प्रभु येशूको नाम कहिल्यै बद्लिन सक्दैन; प्रभुको पुनरागमन हुँदा, उहाँलाई अझै पनि येशू नै भनिनेछ”

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्