६. मानिसहरूलाई भावनामा बगेर व्यवहार गर्ने समस्या कसरी समाधान गर्ने
सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूका वचनहरू
सारमा, भावनाहरू के हुन्? ती एकप्रकारका भ्रष्ट स्वभाव हुन्। भावनाहरूको प्रकटीकरणलाई कैयौँ शब्दहरू प्रयोग गरी व्याख्या गर्न सकिन्छ: कृपावाद, अरूलाई गरिने सिद्धान्तहीन संरक्षण, भौतिक सम्बन्धहरूको परिपालन, र पक्षपात; भावनाहरू भनेका यिनै हुन्। मानिसहरूले भावनाहरू बोक्नु र तिनमा जिउनुका सम्भावित परिणामहरू के-के हुन्? परमेश्वरले किन मानिसहरूका भावनाहरूलाई सबभन्दा बढी घृणा गर्नुहुन्छ? कतिपय मानिसहरू सधैँ आफ्ना भावनाहरूद्वारा बाधित हुन्छन्, तिनीहरू सत्यता अभ्यास गर्न सक्दैनन्, र चाहेर पनि तिनीहरू परमेश्वरप्रति समर्पित हुन सक्दैनन् त्यसैले तिनीहरू भावनाद्वारा प्रताडित हुन्छन्। धेरै मानिसहरूले सत्यता बुझेर पनि यसलाई अभ्यास गर्न सक्दैनन्; यो पनि तिनीहरू भावनाहरूद्वारा बाधित भएकोले गर्दा हो। उदाहरणको लागि, कतिपय मानिसहरू घर छाडेर कर्तव्य निभाउन जान्छन्, तर तिनीहरू दिनरात सधैँ परिवारबारे सोचिरहेका हुन्छन् र राम्ररी कर्तव्य निभाउन सक्दैनन्। के यो समस्या होइन र? कतिपय मानिसहरूले कसैलाई गोप्य रूपमा मन पराएका हुन्छन्, र तिनीहरूको हृदयमा त्यो व्यक्तिको लागि मात्र ठाउँ हुन्छ, र त्यसले तिनीहरूको कर्तव्यपालनमा प्रभाव पार्छ। के यो समस्या होइन र? कतिपय मानिसहरू कसैलाई प्रशंसा गर्छन् र आदर्श मान्छन्; तिनीहरू त्यो व्यक्तिबाहेक अरू कसैको कुरा सुन्दैनन्, यतिसम्म कि तिनीहरू परमेश्वरको कुरासमेत सुन्दैनन्। अरू कसैले तिनीहरूसँग सत्यता सङ्गति गरे पनि, तिनीहरू त्यो स्विकार्दैनन्; तिनीहरू त त्यो व्यक्तिको कुरा, अर्थात् आफ्नो आदर्शको कुरा मात्र सुन्छन्। कति मानिसहरूको हृदयमा कुनै आदर्श व्यक्ति हुन्छ, र तिनीहरू अरूलाई त्यो आदर्शबारे बोल्न वा उसलाई छुन दिँदैनन्। यदि कसैले त्यो आदर्श व्यक्तिका समस्याहरूबारे बोलेमा तिनीहरू रिसाउँछन्, तिनीहरूलाई त आफ्नो आदर्श व्यक्तिको बचाउ गर्नुपर्छ र त्यस्तो बोल्ने व्यक्तिको कुरा उल्टाउनुपर्छ। तिनीहरू आफ्नो आदर्श व्यक्तिलाई अन्यायमा पर्न दिँदैनन् र आफ्नो आदर्श व्यक्तिको छवि जोगाउन आफ्नो शक्तिले भ्याएको सबथोक गर्छन्; तिनीहरूका शब्दमार्फत, तिनीहरूका आदर्श व्यक्तिका गल्तीहरू सही बन्छन्, र तिनीहरू मानिसहरूलाई साँचो कुरा बोल्न वा उनीहरूको खुलासा गर्न दिँदैनन्। यो न्याय होइन; यिनलाई त भावनाहरू भनिन्छ। के भावनाहरू आफ्ना परिवारप्रति मात्र लक्षित हुन्छन्? (होइन।) भावनाहरू फराकिला हुन्छन्; यी एकप्रकारका भ्रष्ट स्वभाव हुन्, यी परिवारका सदस्यहरूबीच हुने दैहिक सम्बन्ध मात्र होइनन्, त्यो दायरामा मात्र यी सीमित हुँदैनन्। यिनमा तँभन्दा उच्चपदस्थ व्यक्ति, वा तँलाई निगाह देखाउने वा मद्दत गर्ने व्यक्ति, वा तँसँग सबैभन्दा निकट सम्बन्ध भएको वा तँसँग मिल्ने व्यक्ति, वा तेरो गाउँले वा साथी, वा तैँले प्रशंसा गर्ने कुनै व्यक्तिसमेत हुन सक्छ—यो स्थिर हुँदैन। अनि, के भावनाहरू हटाउनु आफ्ना आमाबुबा वा परिवारबारे नसोच्नुजतिकै सजिलो हुन्छ त? (हुँदैन।) के भावनाहरू हटाउनु त्यति सजिलो छ त? धेरैजसो मानिसहरू ३० को दशकमा पुगेर स्वतन्त्र रूपमा जिउन सक्ने भएपछि तिनीहरूलाई घरको याद पहिलेजति आउँदैन, र ४० को दशकमा पुग्दा, यो पूर्णतया सामान्य बन्छ। मानिसहरू वयस्कतामा नपुगुन्जेल, तिनीहरूलाई घरको धेरै याद आउँछ र तिनीहरू आमाबुबालाई छाड्न सक्दैनन् किनकि तिनीहरूमा अझै स्वतन्त्र रूपमा जिउने क्षमता हुँदैन। परिवार र आमाबुबाको याद आउनु सामान्य हो। यो भावनाको मामला होइन। काम गर्ने कुरामा तेरो मनोवृत्ति र दृष्टिकोण भावनाहरूद्वारा दूषित भयो भने मात्र त्यो भावनाहरूको मामला बन्छ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता वास्तविकता भनेको के हो?
कस्ता मामलाहरू भावनाहरूसँग सम्बन्धित हुन्छन्? पहिलो त, तैँले आफ्नै परिवारका सदस्यहरूलाई कसरी मूल्याङ्कन गर्छस्, र तिनीहरूले गर्ने कामकुराहरूलाई कसरी लिन्छस् भन्ने हो। यहाँ “तिनीहरूले गर्ने कामकुरा” मा तिनीहरूले मण्डलीको काममा अवरोध र बाधा दिने, पिठ्यूँपछाडि मानिसहरूको आलोचना गर्ने, तिनीहरू अविश्वासीहरूका केही अभ्यासहरूमा संलग्न हुने, इत्यादि कुराहरू स्वत: समावेश हुन्छन्। के तँ यी कामकुराहरूलाई निष्पक्ष रूपमा हेर्न सक्छस्? तैँले तेरो परिवारका सदस्यहरूको मूल्याङ्कन लेख्नुपर्ने हुँदा, के तैँले आफ्ना भावनाहरू पन्छाएर वस्तुगत र निष्पक्ष रूपमा लेख्न सक्छस्? यो तैँले तेरो परिवारका सदस्यहरूलाई कसरी लिन्छस् भन्ने कुरासित सम्बन्धित छ। यसका साथै, के तँ, तँसँग मिल्ने वा तँलाई पहिला मदत गरेका मानिसहरूप्रति पूर्वाग्रही भावनाहरू पाल्छस्? के तैँले तिनीहरूका क्रियाकलाप र आचरणलाई वस्तुगत, निष्पक्ष, र सही रूपमा हेर्न सक्छस्? यदि तिनीहरूले मण्डलीको काममा अवरोध र बाधा पुऱ्याउँछन् भने, के तैँले त्यो कुरा थाहा पाएपछि, तुरुन्तै तिनीहरूको रिपोर्ट वा खुलासा गर्न सक्नेछस्? साथै, के तैँले तुलनात्मक रूपमा आफूनिकटका, वा तेरोजस्तै रुचिहरू बोकेका मानिसहरूप्रति पूर्वाग्रही भावनाहरू राख्छस्? के तँसँग तिनीहरूको क्रियाकलाप र व्यवहारलाई निष्पक्ष र वस्तुगत मूल्याङ्कन, परिभाषा, अनि व्यवहार गर्ने तरिका छ? मानौँ, तँसित भावनात्मक सम्बन्ध भएका यी मानिसहरूलाई, मण्डलीले सिद्धान्तहरूअनुसार तह लगायो, र यसको परिणाम तेरा आफ्ना धारणाहरूअनुरूप भएनन् भने—तैँले यसलाई कसरी लिनेथिइस्? के तैँले पालन गर्न सक्नेथिस्? के तँ सुटुक्क तिनीहरूसित उल्झिरहनेथिइस्, अनि के तँ तिनीहरूका लागि बहानाहरू बनाउने, तिनीहरूलाई जायाज तुल्याउने र तिनीहरूको प्रतिरक्षा गर्ने गरी, तिनीहरूद्वारा बहकाइने र उक्साइनेसमेत थिइस्? के तँ सत्यता सिद्धान्तहरूलाई उपेक्षा गर्दै र परमेश्वरको घरका हितहरूलाई बेवास्ता गर्दै आफूलाई मदत गरेकाहरूलाई सहायता गर्ने र गोली थाप्नेथिइस्? के भावनासम्बन्धी विभिन्न समस्याहरू यिनै होइनन् र? कतिपय मानिसहरू भन्छन्, “के भावनाहरू नातागोता र परिवारका सदस्यहरूसँग मात्र सम्बन्धित हुँदैनन् र? के भावनाको दायरामा आफ्ना आमा-बुबा, दाजुभाइ-दिदीबहिनी, र परिवारका अन्य सदस्यहरू मात्र पर्दैनन् र?” होइन, भावनाले मानिसहरूको ठूलो दायरा समेट्छ। आफ्नै परिवारका सदस्यहरूलाई निष्पक्ष रूपमा मूल्याङ्कन गर्ने कुरा बिर्सिदे—कतिपय मानिसहरूले त आफ्ना असल साथी र मित्रहरूलाई समेत निष्पक्ष रूपमा मूल्याङ्कन गर्न सक्दैनन्, र यी मानिसहरूबारे बोल्दा तिनीहरूले तथ्यहरू बङ्ग्याउँछन्। उदाहरणका लागि, यदि तिनीहरूको मित्र आफ्नो उचित काममा हाजिर हुँदैन र आफ्नो कर्तव्यमा सधैँ कुटिल र दुष्ट अभ्यासहरूमा संलग्न रहन्छ भने, तिनीहरूले उसलाई अलिक चुलबुले भनेर व्याख्या गर्नेछन्, र उसको मानवता अपरिपक्व र अझै स्थिर भइनसकेको भन्नेछन्। के यी शब्दहरूभित्र भावनाहरू छैनन् र? यो भावनाहरूले ओतप्रोत भएका शब्दहरू बोल्नु हो। यदि आफूसँग कुनै सम्बन्ध नभएको व्यक्ति आफ्नो उचित काममा हाजिर भएन र कुटिल र दुष्ट अभ्यासहरूमा संलग्न भयो भने, तिनीहरूले उसका बारेमा निकै कठोर कुराहरू भन्नेछन्, र उसलाई निन्दा समेत गर्न सक्छन्। के यो भावनाहरूका आधारमा बोल्नु र कार्य गर्नुको प्रकटीकरण होइन र? के आफ्ना भावनाहरूले जिउने मानिसहरू निष्पक्ष हुन्छन्? के तिनीहरू सोझा हुन्छन्? (हुँदैनन्।) आफ्ना भावनाहरूअनुसार बोल्ने मानिसहरूमा के समस्या हुन्छ? तिनीहरूले अरूलाई किन निष्पक्ष रूपमा व्यवहार गर्न सक्दैनन्? तिनीहरूले किन सत्यता सिद्धान्तहरूमा आधारित भएर बोल्न सक्दैनन्? दुईजिब्रे र आफ्ना शब्दहरूलाई कहिल्यै पनि तथ्यमा आधारित नगर्ने मानिसहरू दुष्ट हुन्छन्। बोल्दा निष्पक्ष नहुनु, सत्यता सिद्धान्तहरूअनुसार नभई सधैँ आफ्ना भावनाहरूअनुसार बोल्नु अनि आफ्नै निम्ति बोल्नु, परमेश्वरको घरको कामबारे नसोच्नु, अनि आफ्ना व्यक्तिगत भावना, ख्याति, लाभ, र हैसियतको मात्र रक्षा गर्नु—यो ख्रीष्टविरोधीहरूको चरित्र हो। ख्रीष्टविरोधीहरू यसरी नै बोल्छन्; तिनीहरूले भन्ने सबथोक दुष्ट, अनि बाधा र अवरोध ल्याउने खालको हुन्छ। देहका प्राथमिकता र रुचिहरूमाझ जिउने मानिसहरू आफ्ना भावनाहरूमाझ जिउँछन्। आफ्ना भावनाहरूले जिउने मानिसहरू सत्यतालाई पटक्कै नस्विकार्ने र अभ्यास नगर्ने मानिसहरू हुन्। आफ्ना भावनाहरूका आधारमा बोल्ने र कार्य गर्ने मानिसहरूमा सत्यता वास्तविकता पटक्कै हुँदैन। यदि यस्ता मानिसहरू अगुवा बनेमा, तिनीहरू निस्सन्देह रूपमा झूटा अगुवा वा ख्रीष्टविरोधीहरू हुनेछन्। तिनीहरू वास्तविक काम गर्न असक्षम हुने मात्र होइन, विभिन्न दुष्ट कार्यहरूमा पनि संलग्न हुन सक्छन्। तिनीहरू पक्कै पनि हटाइनेछन् र दण्डित हुनेछन्।
—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्मेवारीहरू (२)
आफ्नो भावनामा भर परेर कार्य गरेको कुरा कसरी प्रकट हुन्छ? यो कुरा मानिसहरूले आफूलाई दयालु व्यवहार देखाउने व्यक्तिको लागि वा आफ्नो घनिष्ठ व्यक्तिको लागि बचाउ गर्दा र पक्ष लिँदा सबैभन्दा बढी प्रकट हुन्छ। उदाहरणको लागि, मानौँ तेरो साथीलाई कुनै खराब कुरा गरेकोमा पर्दाफास गरिन्छ र तैँले यसो भन्दै उसको बचाउ गर्छस्: “उसले त्यस्तो कुरा गर्दैन, ऊ असल व्यक्ति हो! उसलाई पक्कै पनि झूटो आरोप लागेको हुनुपर्छ।” के यो भनाइ निष्पक्ष छ त? (छैन।) यो त आफ्नो भावनाको आधारमा काम गर्नु र बोल्नु हो। अर्को उदाहरण विचार गर्दा, मानौँ तेरो कसैसँग अलिक झगडा पऱ्यो र तँलाई ऊ मन पर्न छोड्यो, अनि उसले सही र सिद्धान्तअनुसारको कुनै कुरा बोल्दा तँ सुन्न चाहँदैनस्, यो के कुराको प्रकटीकरण भएको हो? (सत्यता नस्विकार्ने कुराको प्रकटीकरण।) किन तँ सत्यता स्विकार्न सक्दैनस्? तँलाई आफ्नो मनमा उसले भनेको कुरा सही हो भन्ने थाहा छ, तर तैँले ऊप्रति पूर्वाग्रह राखेको हुनाले, तँलाई त्यो कुरा सही हो भन्ने थाहा हुँदासमेत तँ त्यो सुन्न चाहँदैनस्। यो कस्तो समस्या हो? (यो आफ्नो भावनाको वशमा पर्नु हो।) यो भावनामा चुर्लुम्मै डुब्नु हो। कतिपय मानिसहरू आफ्नो व्यक्तिगत रुचि र भावनाद्वारा सजिलै ढलपल हुन्छन्। यदि तिनीहरूको कसैसँग ठ्याक मिल्दैन भने, त्यो व्यक्तिले जति नै राम्रोसँग वा सही तरिकामा बोले पनि, तिनीहरूले सुन्नेछैनन्। अनि यदि तिनीहरूको कसैसँग ठ्याक मिल्छ भने, त्यो व्यक्तिले भन्ने जुनसुकै कुरा सुन्न पनि तिनीहरू इच्छुक हुन्छन्, चाहे त्यो सही होस् कि गलत वा त्यो सत्यताअनुरूप होस् कि नहोस्। के यो आफ्नो व्यक्तिगत रुचि र भावनाद्वारा सजिलै ढलपल हुनु होइन र? के कुनै व्यक्तिले यस्तो स्वभाव पालेर तर्कसङ्गत रूपमा बोल्न र कार्य गर्न सक्छ र? के उसले सत्यता स्विकार्न र पालन गर्न सक्छ र? (सक्दैन।) ऊ भावनाद्वारा नियन्त्रित हुने र संवेगद्वारा सजिलै ढलपल हुने हुनाले, उसले आफ्ना कार्य-व्यवहारहरूमा सत्यता सिद्धान्तहरू पालना गर्ने कुरामा असर पुग्छ। यसले उसलाई सत्यता स्विकार्न र सत्यताप्रति समर्पित हुनमा पनि असर गर्छ। त्यसोभए, कुन कुराले उसको सत्यता अभ्यास गर्ने र सत्यताप्रति समर्पित हुने क्षमतामा असर गरिरहेको हुन्छ? उसलाई कुन कुराले नियन्त्रण गरिरहेको हुन्छ? त्यो उसको भावना र संवेग हो। यिनै कुराहरूले उसलाई नियन्त्रण र बन्धनमा पार्छन्। यदि तँ सत्यताको सट्टा व्यक्तिगत सम्बन्ध र स्वार्थलाई प्राथमिकता दिन्छस् भने, भावनाले तँलाई सत्यता स्विकार्न बाधा दिइरहेको हुन्छ। तसर्थ, तैँले भावनाको भरमा काम गर्नु वा बोल्नु हुँदैन। तेरो कसैसँगको सम्बन्ध राम्रो होस् या नहोस्, वा उसको बोली कोमल भए पनि वा रुखो भए पनि, यदि उसले बोलेको कुरा सत्यतासँग मेल खान्छ भने, तैँले त्यो सुन्नु र स्विकार्नुपर्छ। सत्यता स्विकार्ने मनोवृत्ति यही हो। यदि तँ “उसको सङ्गति सत्यतासँग मेल खान्छ र ऊसँग अनुभव पनि छ, तर ऊ असाध्यै ढिट र अहङ्कारी छ, अनि यो हेर्दै मन नपर्दो र अप्ठ्यारो हुन्छ। त्यसैले, ऊ सही भए पनि, म उसको कुरा स्विकार्नेछैनँ” भनेर भन्छस् भने, यो कस्तो स्वभाव हो? तोकेरै भन्नुपर्दा, यो त भावना हो। जब तँ मानिसहरू र विभिन्न कुराहरूलाई आफ्नो रुचि र संवेगको आधारमा व्यवहार गर्छस्, तब यो भावना हो, र यो सब भावनाको वर्गमा पर्छ। भावनासँग सम्बन्धित कुराहरू भ्रष्ट स्वभावका कुराहरू हुन्। सबै भ्रष्ट मानिसहरूसँग भावना हुन्छ, र तिनीहरू सबै आफ्नो भावनाद्वारा फरक-फरक हदमा नियन्त्रित हुन्छन्। यदि कुनै व्यक्तिले सत्यता स्विकार्न सक्दैन भने, उसलाई भावनाको समस्या समाधान गर्न गाह्रो पर्नेछ। कतिपय मानिसहरू झूटा अगुवाहरूलाई जोगाउँछन्, ख्रीष्टविरोधीहरूलाई रक्षा गर्छन् अनि दुष्ट मानिसहरूलाई समर्थन र बचाउ गर्छन्। यी सबै मामिलाहरूमा भावना संलग्न हुन्छ। कतिपय अवस्थामा, अवश्य नै ती मानिसहरू आफ्नो दुष्ट प्रकृतिको कारण नै त्यस्तो व्यवहार गरिरहेका हुन्छन्। यी समस्याबारे स्पष्ट हुनको लागि तैँले तीबारे बारम्बार सङ्गति गर्नुपर्छ। कतिपय मानिसहरू यसो भन्लान्, “मसित आफ्नो परिवार र साथीसँगीप्रति मात्र भावना छ, तर अरू कसैप्रति छैन।” यो भनाइ सही होइन। यदि अरूले तँलाई केही मात्रामा सानो कृपा देखाए मात्र भने पनि, तँमा तिनीहरूप्रति भावना पलाउँछ। त्यसमा घनिष्ठता र गहनताका विभिन्न हदहरू हुनेछन्, तैपनि ती भावना नै हुन्। यदि मानिसहरूले आफ्नो भावना हटाएनन् भने, तिनीहरूलाई सत्यता अभ्यास गर्न र परमेश्वरप्रति समर्पित हुन गाह्रो हुनेछ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भ्रष्ट स्वभाव समाधान गर्ने मार्ग
कतिपय मानिसहरू अत्यन्तै भावुक हुन्छन्। हरेक दिन, तिनीहरूले बोल्ने सबै कुरामा, अरूसित व्यवहार गर्ने तिनीहरूका सबै तौरतरिकामा, तिनीहरू आफ्नो भावनाअनुसार जिइरहेका हुन्छन्। तिनीहरूले यो व्यक्ति र त्यो व्यक्तिप्रति स्नेहको अनुभूति गर्छन्, र तिनीहरू स्नेहको शिष्टतामा उठबस गर्दै दिन बिताउँछन्। आफूले समाना गर्ने हरेक काममा, तिनीहरू भावनाको क्षेत्रमा जिउँछन्। जब त्यस्तो व्यक्तिको गैरविश्वासी आफन्तको मृत्यु हुन्छ, ऊ तीन दिनसम्म रुनेछ, र उसले शव गाड्न दिनछैन। उसमा मरेको व्यक्तिप्रति अझै पनि भावनाहरू हुन्छन् र उसका भावनाहरू अत्यन्तै तीब्र हुन्छन्। यो भन्न सकिन्छ कि भावनाहरू नै उसको घातक त्रुटि हो। यस्ता व्यक्तिहरू हर मामिलामा भावनाहरूद्वारा नियन्त्रित हुन्छन्, तिनीहरू सत्यता अभ्यास गर्न वा सिद्धान्तअनुसार काम गर्न असक्षम हुन्छन्, र तिनीहरूमा प्राय परमेश्वरविरुद्ध विद्रोह गरिरहने प्रवृत्ति हुन्छ। भावनाहरू नै तिनीहरूका सबैभन्दा ठूला कमजोरी, र घातक त्रुटि हुन्, अनि तिनीहरूका भावनाहरूले तिनीहरूलाई पूर्ण रूपमा बर्बाद र नाश पार्न सक्छन्। अत्यन्तै भावुक मानिसहरू सत्यता अभ्यास गर्न वा परमेश्वरप्रति समर्पित हुन असक्षम हुन्छन्। तिनीहरू देहमा लिप्त हुन्छन्, अनि तिनीहरू मूर्ख र बेवकुफ हुन्छन्। यस्ता व्यक्तिहरूको प्रकृति नै एकदमै भावुक हुने हुन्छ, र तिनीहरू आफ्ना भावनाहरूअनुसार जिउँछन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने
सामान्य अन्तर्वैयक्तिक सम्बन्ध मानिसको प्रयत्नको माध्यमबाट नभई, आफ्नो हृदय परमेश्वरतर्फ फर्काउने जगमा स्थापित हुन्छ। यदि व्यक्तिको हृदयमा परमेश्वर हुनुहुन्न भने, अन्य मानिसहरूसँगका सम्बन्धहरू केवल दैहिक सम्बन्धहरू मात्र हुन्छन्। ती सामान्य हुँदैनन्, ती वासनाले ग्रसित आसक्ती हुन्, र त्यस्ता सम्बन्धहरूलाई परमेश्वर घिनाउनुहुन्छ। यदि तँ तेरो आत्मा उत्प्रेरित भएको छ भनेर भन्छस्, तर सधैँ आफूलाई मनपर्ने र आफूले मान गर्ने मानिसहरूसँग मात्र सङ्गति गर्न इच्छुक हुन्छस्, र मन नपरेका मानिसहरू आफूलाई खोज्दै आए भने तँ पूर्वाग्रह राख्दै उनीहरूसित कुरा गर्न अस्वीकार गर्छस् भने, यो तँ तेरा भावनाहरूद्वारा नियन्त्रित छस् र परमेश्वरसँगको तेरो सम्बन्ध रत्तीभर सामान्य छैन भन्ने कुराको अझै बढी प्रमाण हो। यसले तँ परमेश्वरलाई मूर्ख बनाउने र तेरो आफ्नै कुरूपता ढाकछोप गर्ने कोसिस गरिरहेको छस् भन्ने देखाउँछ। तैँले केही ज्ञान बाँड्न सक्छस् होला, तर यदि तेरो मनसाय गलत छ भने, तैँले गर्ने सबै कुरा मानव मापदण्डअनुरूप मात्र राम्रा हुन्छन्, र परमेश्वरले तेरो प्रशंसा गर्नुहुन्न। तेरा कार्यहरू परमेश्वरको बोझद्वारा नभई दैहिकताद्वारा उत्प्रेरित हुन्छन्। यदि तैँले परमेश्वरसामु आफ्नो हृदयलाई शान्त राख्न र परमेश्वरलाई प्रेम गर्ने सबैसँग स्वाभाविक अन्तरक्रिया गर्न सक्छस् भने मात्रै तँ परमेश्वरको प्रयोगको निम्ति योग्य हुन्छस्। यदि त्यसो गर्न सक्छस् भने, तैँले अन्य व्यक्तिहरूसँग जसरी उठबस गरे पनि, सांसारिक कुराहरूसँग सम्बन्धित दर्शनअनुसार व्यवहार गरिरहेको हुनेछैनस्, बरु परमेश्वरको बोझप्रति विचारशील हुँदै उहासामु बाँचिरहेको हुनेछस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु अति नै महत्त्वपूर्ण छ
तैँले गर्ने सबै कुरामा, तैँले तेरो अभिप्राय सही छ वा छैन भनेर जाँच्नुपर्छ। यदि तँ परमेश्वरका आवश्यक मापदण्डहरू अनुरूप काम गर्न सक्षम छस् भने, परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य हुन्छ। यो न्यूनतम मापदण्ड हो। आफ्नो अभिप्रायलाई हेर्, र यदि कुनै गलत अभिप्रायहरू उत्पन्न भएको पत्ता लगाइस् भने, तीविरुद्ध विद्रोह गर्न सक्षम बन् र परमेश्वरका वचनहरू अनुसार काम गर्; यसरी तँ परमेश्वरको अगाडि सही व्यक्ति बन्न सक्छस्, जसले परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य भएको, र तैँले गर्ने सबै कुराहरू परमेश्वरका खातिर भएको, तेरो आफ्नो लागि नभएको दर्साउँछ। तैँले भन्ने र गर्ने सबै कुरामा, आफ्नो हृदयलाई सही राख्न र आफ्नो व्यवहारमा न्यायोचित बन्न सक्ने बन्, र आफ्ना भावनाहरूमा नबग्, अनि आफ्नै इच्छा अनुसार काम नगर्। परमेश्वरका विश्वासीहरूको चालचलनका सिद्धान्तहरू यिनै हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरसँग तेरो सम्बन्ध कस्तो छ?
परमेश्वर मानिसहरूले अरूलाई कसरी व्यवहार गरेको माग गर्नुहुन्छ? (उहाँ हामीले मानिसहरूलाई निष्पक्ष व्यवहार गरेको माग गर्नुहुन्छ।) निष्पक्षता भनेको के हो? यो भनेको मानिसहरूलाई तिनीहरूको रूपरङ, पहिचान, हैसियत, तिनीहरूमा कतिको ज्ञान छ, वा उनीहरूप्रति तिनीहरूको रुचि वा भावनाअनुसार नभई, सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्नु हो। त्यसोभए मानिसहरूलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्नु किन निष्पक्षता हो? यो नबुझ्ने धेरै हुन्छन्, अनि तिनीहरूले यो बुझ्नका लागि सत्यता बुझ्नुपर्छ। के गैरविश्वासीहरूले बुझेको निष्पक्षता साँचो निष्पक्षता हो त? बिलकुलै होइन। परमेश्वरसँग मात्र धार्मिकता अनि निष्पक्षता हुन सक्छ। सृष्टिकर्ताले आफ्ना सृजित प्राणीहरूबाट राख्ने मापदण्डहरूमा मात्र निष्पक्षता हुन्छ, परमेश्वरको धार्मिकता प्रकट हुन सक्छ। तसर्थ, मानिसहरूलाई सत्यता सिद्धान्तअनुसार व्यवहार गरेर मात्र निष्पक्षता आउन सक्छ। तैँले मण्डलीमा मानिसहरूबाट के माग गर्नुपर्छ अनि तिनीहरूलाई कसरी व्यवहार गर्नुपर्छ? तिनीहरू जे कर्तव्य निर्वाह गर्न सक्छन् तिनीहरूका लागि त्यही बन्दोबस्त गर्नुपर्छ—अनि तिनीहरू कर्तव्य निर्वाह गर्न सक्दैनन्, र बाधासमेत सिर्जना गर्छन् भने, तँसँग तिनीहरूको सम्बन्ध राम्रै छ भने पनि यदि तिनीहरू हटाइन लायक छन् भने, तिनीहरूलाई हटाउनुपर्छ। यो निष्पक्षता हो, अरूलाई निष्पक्ष व्यवहार गर्ने सिद्धान्तहरूमा समाविष्ट कुरा यही हो। यो व्यवहारका सिद्धान्तहरूसँग सम्बन्धित हुन्छ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्य बुझ्नेहरूले मात्र आत्मिक कुराहरू बुझ्छन्
परमेश्वरका वचनहरूले मानिसहरूलाई कुन सिद्धान्तद्वारा अरूसँग व्यवहार गर्न आग्रह गर्छन्? परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू: यो सिद्धान्त पालन गर्नुपर्छ। परमेश्वरले सत्यको पछि लाग्ने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ; यी त्यस्ता मानिसहरू हुन् जसलाई हामीले प्रेम गर्नुपर्छ। परमेश्वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्वरलाई घृणा गर्नेहरू, र परमेश्वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्वरले तिरस्कार गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई तिरस्कार गर्नुपर्छ। परमेश्वरले मानिसलाई यस्तै गर्नू भन्नुहुन्छ। यदि तेरा आमाबाबुले परमेश्वरमा विश्वास गर्दैनन् भने, यदि तिनीहरूलाई परमेश्वरमा विश्वास गर्नु सही मार्ग हो र यसले मुक्तिको मार्गतर्फ डोर्याउँछ भन्ने राम्ररी थाहा छ, तैपनि तिनीहरू अग्रहणशील नै रहन्छन् भने, तिनीहरू सत्यताप्रति प्रतिकूल रहेका, सत्यतालाई घृणा गर्ने मानिसहरू हुन् भन्नेमा कुनै शङ्का हुँदैन, र तिनीहरू परमेश्वरको विरोध गर्ने, र परमेश्वरलाई घृणा गर्ने मानिसहरू हुन् भन्नेमा पनि कुनै शङ्का हुँदैन—र स्वाभाविक रूपमा परमेश्वरले पनि उनीहरूलाई घिनाउनुहुन्छ र घृणा गर्नुहुन्छ। के तँ त्यस्ता आमाबाबुलाई घिनाउन सक्छस्? उनीहरूले परमेश्वरको विरोध र निन्दा गर्छन्—र त्यो अवस्थामा, निश्चित रूपमा उनीहरू नरपिशाच र शैतान हुन्छन्। के तँ उनीहरूलाई घिनाउन र श्राप दिन सक्छस्? यी सबै वास्तविक प्रश्नहरू हुन्। यदि तेरा आमाबाबुले तँलाई परमेश्वरमा विश्वास गर्नबाट रोके भने, तैँले उनीहरूसित कस्तो व्यवहार गर्नुपर्छ? परमेश्वरले भनेअनुसार, परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नूपर्छ, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नूपर्छ। अनुग्रहको युगमा प्रभु येशूले भन्नुभयो, “मेरी आमा को हुन्? र मेरा दाजुभाइहरू को हुन्?” “जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्छालाई पछ्याउँछन्, तिनीहरू नै मेरा दाजुभाइ, दिदीबहिनी, र आमा हुन्।” यी वचनहरू पहिल्यै अनुग्रहको युगमै अस्तित्वमा थिए, र अहिले परमेश्वरका वचनहरू अझ स्पष्ट भएका छन्: “परमेश्वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू।” यी वचनहरूले मुख्य बुँदालाई सिधै छुन्छन्, तर मानिसहरूले तिनका वास्तविक अर्थलाई बुझ्न सक्दैनन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रमित दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ
अय्यूबले आफ्ना छोराछोरीसँग कस्तो व्यवहार गर्थ्यो? उसले बुबाका रूपमा आफ्नो जिम्मेवारी मात्रै पूरा गर्थ्यो र तिनीहरूलाई सुसमाचार सुनाउँथ्यो र सत्यता सङ्गति गर्थ्यो। तैपनि, तिनीहरूले उसको कुरा सुने पनि नसुने पनि, उसको आज्ञापालन गरे पनि नगरे पनि, अय्यूबले तिनीहरूलाई परमेश्वरमा विश्वास गर्न जबरजस्ती गर्दैनथ्यो—तिनीहरूले तिनीहरूलाई लछारपछार र हकारपकार गर्ने, वा तिनीहरूका जीवनमा हस्तक्षेप गर्ने गर्दैनथ्यो। तिनीहरूका सोच र विचारहरू तिनका भन्दा फरक थिए, त्यसैले तिनीहरूका काममा उसले दखल अन्दाजी गर्दैनथ्यो, र तिनीहरूले कस्तो मार्ग हिँडिरहेका छन् त्यसमा कुनै हस्तक्षेप गर्दैनथ्यो। के अय्यूबले आफ्ना छोराछोरीसित परमेश्वरमा विश्वास गर्नेबारे बिरलै मात्र कुरा गर्थ्यो? अवश्य नै उसले तिनीहरूसित यसबारेमा पर्याप्त रूपमा कुरा गर्थ्यो, तर तिनीहरूले सुन्न मान्दैनथे, र ती कुरा स्विकार्दैनथे। त्यसप्रति अय्यूबको मनोवृत्ति कस्तो थियो? ऊ भन्थ्यो, “मैले आफ्नो जिम्मेवारी पूरा गरेको छु; तिनीहरूले कस्तो मार्ग अपनाउनेछन् त्यो तिनीहरू आफैले रोज्ने कुरा हो, र त्यो परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा निर्भर हुने कुरा हो। यदि परमेश्वरले तिनीहरूमा काम गर्नुहुन्न वा भावनात्मक प्रभाव पार्नुहुन्न भने, म तिनीहरूलाई जबरजस्ती गर्ने प्रयास गर्नेछैनँ।” त्यसकारण, अय्यूबले तिनीहरूका लागि परमेश्वरसामु प्रार्थना गर्ने वा तिनीहरूप्रति वेदनाको आँसु बगाउने, वा तिनीहरूका लागि उपवास बस्ने, वा कुनै पनि प्रकारको कष्ट भोग्ने काम किमार्थ गर्दैनथ्यो। उसले यी कुराहरू गर्दै गर्दैनथ्यो। किन अय्यूबले यी कुराहरू गर्दैनथ्यो त? किनभने यीमध्ये कुनै पनि कुरा परमेश्वरका सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुने कार्य होइनन्; ती सबै मानव विचारबाट आउने कुराहरू हुन् र ती सक्रियतासाथ विभिन्न कुराहरू जबरजस्ती लाद्ने तौरतरिकाहरू हुन्। अय्यूबका छोराछोरीले उसको जस्तो मार्ग नअपनाउँदा अय्यूबको मनोवृत्ति यस्तो थियो; तर उसका छोराछोरीहरू मर्दाचाहिँ उसको मनोवृत्ति कस्तो थियो? ऊ रोयो कि रोएन? के उसले आफ्नो भावना पोख्यो? के उसलाई चोट पऱ्यो? बाइबलमा यस्ता कुनै कुराको अभिलेख छैन। अय्यूबले आफ्ना छोराछोरीहरू मरेको देख्दा, के ऊ मर्माहात वा दुःखी भयो? (भयो।) आफ्ना छोराछोरीप्रति उसको स्नेहका सन्दर्भमा कुरा गर्नुपर्दा, उसलाई निश्चय नै अलि दुःख लाग्यो, तर पनि ऊ परमेश्वरप्रति समर्पित भयो। उसको समर्पण कसरी व्यक्त भयो? उसले यसो भन्यो: “यी छोराछोरीहरू मलाई परमेश्वरले दिनुभएको थियो। तिनीहरूले परमेश्वरमा विश्वास गरे पनि नगरे पनि, तिनीहरूको जीवन परमेश्वरकै हातमा छ। यदि तिनीहरूले परमेश्वरमा विश्वास गरेका भए पनि, परमेश्वरले तिनीहरूलाई लैजान चाहनुभएको थियो भने, उहाँले तिनीहरूलाई लैजानु नै हुनेथ्यो; यदि तिनीहरूले परमेश्वरमा विश्वास नगरेका भए पनि, परमेश्वरले यिनीहरूलाई लगिनेछ भनेर भन्नुभएको भए, तिनीहरूलाई लगिने नै थियो। यो सब परमेश्वरको हातमा हुन्छ; अन्यथा, कसले पो मानिसहरूको जीवन लैजान सक्छ र?” सङ्क्षेपमा भन्नुपर्दा, लगिनु भनेको के हो? “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” (अय्यूब १:२१)। उसले आफ्ना छोराछोरीलाई व्यवहार गर्दा यही मनोवृत्ति कायम राख्यो। तिनीहरू जीवित रहे पनि मरे पनि, उसले निरन्तर यही मनोवृत्ति राखिरह्यो। उसको अभ्यास गर्ने शैली सही थियो; उसले अभ्यास गर्ने हरेक तरिकामा र उसले हरेक कुरालाई हेर्ने दृष्टिकोण, मनोवृत्ति र स्थितिमा, ऊ समर्पित हुने, प्रतीक्षा गर्ने, खोजी गर्ने, र त्यसपछि ज्ञान हासिल गर्ने स्थान र स्थितिमा हुन्थ्यो। यो मनोवृत्ति अत्यन्तै महत्त्वपूर्ण छ। यदि मानिसहरूले आफूले गर्ने हरेक कुरामा यस्तो मनोवृत्ति कहिल्यै राख्दैनन्, र विशेष गरी कठोर व्यक्तिगत विचारहरू पाल्छन् र सबै कुराभन्दा माथि व्यक्तिगत मनसाय र फाइदा राख्छन् भने, के तिनीहरू साँच्चै समर्पित भइरहेका हुन्छन् त? (हुँदैनन्।) त्यस्ता मानिसहरूमा सच्चा समर्पण देख्न सकिँदैन; तिनीहरूले सच्चा समर्पण हासिल गर्नै सक्दैनन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरप्रति समर्पित हुने अभ्यासका सिद्धान्तहरू
तैँले शक्ति र स्थिरताको प्रदर्शन गर्नुपर्छ, र तेरो गवाहीमा बलियो भएर उभिनुपर्छ; उठ् र मेरो पक्षमा बोल्, र अरू मानिसहरूले के भन्लान् भनेर नडरा। बस मेरा अभिप्रायहरू पूरा गर्, र कसैलाई पनि तँ आफूलाई बन्धित गर्न नदे। मैले तेरो लागि जे खुलासा गर्छु ती मेरो अभिप्रायहरूअनुसार पछ्याइनुपर्छ, र ढिलो गरिनु हुँदैन। तैँले अन्तस्करणमा कस्तो महसुस गर्छस्? तैँले सहज महसुस गरिरहेको छस्, छैनस् र? तैँले बुझ्नेछस्। मेरो बोझलाई विचार गर्दै, तँ किन मेरो निम्ति उठ्न र बोल्न सक्दैनस्? तँ स-साना योजनाहरूमा सहभागी हुन जिद्दी गर्छस्, तर म सबै कुरा स्पष्ट देख्छु। म तेरो टेको र ढाल हुँ, र सबै कुरा मेरो हातमा छ। त्यसोभए, तँ केसँग डराउँछस्? के तँ अति नै भावुक भइरहेको छैनस् र? तैँले जतिसक्दो चाँडो तेरा सबै भावनाहरूलाई त्याग्नुपर्छ; म भावनामा काम गर्दिनँ, बरु धार्मिकताको अभ्यास गर्छु। यदि तेरा आमाबुबाले मण्डलीलाई लाभ पुग्ने गरी केही गर्दैनन् भने, तिनीहरू उम्किन सक्दैनन्। मेरा अभिप्रायहरू तेरो सामु प्रकट भएका छन्, र तैँले तिनीहरूलाई उपेक्षा गर्न सक्दैनस्। बरु, तैँले तेरो सम्पूर्ण ध्यान तिनीहरूमा केन्द्रित गर्नुपर्छ, र पूर्ण हृदयले तिनलाई पछ्याउन सबै कुरालाई पाखा लगाउनुपर्छ। तँलाई म सधैँ मेरा हातहरूमा राख्नेछु। सधैँ कायर बनेर तेरो श्रीमान् वा श्रीमतीको बन्धनमा बस्ने नगर्; तैँले मेरो इच्छालाई लागू गर्न दिनुपर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ९
राष्ट्रहरू ठूलो भताभुङ्गताको अवस्थामा रहेका छन्, किनभने परमेश्वरको डन्डाले पृथ्वीमा आफ्नो भूमिका खेल्न सुरु गरेको छ। पृथ्वीको स्थितिमा परमेश्वरको कामलाई देख्न सकिन्छ। जब परमेश्वरले “पानीहरू गर्जनेछ, पहाडहरू ढल्नेछन्, ठूलठूला नदीहरू भङ्गालिनेछन्,” भनेर भन्नुहुन्छ, तब त्यो पृथ्वीमा उक्त डन्डाको प्रारम्भिक काम हो, जसको परिणामस्वरूप “पृथ्वीका सबै परिवार भत्कनेछन्, र पृथ्वीका सबै जातिलाई च्यातेर टुक्रा-टुक्रा पारिनेछ; पति र पत्नी बीच पुनर्मिलनको दिन हुनेछैन, आमा र छोरा फेरि कहिल्यै भेट्नेछैनन्, फेरि कहिल्यै बाबु र छोरीको भेट हुनेछैन। पृथ्वीमा जे हुने गर्थे ती सबैलाई म नष्ट पार्नेछु।” पृथ्वीमा रहेका परिवारहरूको आम अवस्था यस्तै नै हुन्छ। प्राकृतिक रूपमा तिनीहरू हरेकको स्थिति यस्तै हुन त सम्भव नहोला, तर तिनीहरूमध्ये अधिकांशको अवस्थाचाहिँ यस्तै हुन्छ। अर्कोतर्फ, यसले यो धारका मानिसहरूले भविष्यमा भोग्ने परिस्थितिहरूको बारेमा पनि उल्लेख गरिरहेको छ। यसले के भविष्यवाणी गर्छ भने, तिनीहरूले वचनहरूको सजाय भोगिसकेपछि र गैरविश्वासीहरूलाई विपत्तिमा पारिसकिएपछि, पृथ्वीका मानिसहरूमा अबउप्रान्त कुनै पनि पारिवारिक सम्बन्धहरू बाँकी रहनेछैनन्; तिनीहरू सबै नै सिनिमका मानिसहरू हुनेछन्, र तिनीहरू परमेश्वरको राज्यप्रति बफादार हुनेछन्। यसरी, पति र पत्नी बीच पुनर्मिलनको दिन हुनेछैन, आमा र छोरा फेरि कहिल्यै भेट्नेछैनन्, फेरि कहिल्यै बाबु र छोरीको भेट हुनेछैन। अनि यसरी पृथ्वीका मानिसहरूका परिवारहरूलाई टुक्राटुक्रा र चकनाचूर पारिनेछ र यो परमेश्वरले मानिसमाथि गर्नुहुने अन्तिम काम हुनेछ। अनि परमेश्वरले यो कामलाई ब्रह्माण्डभरि नै फैलाउनुहुने भएकोले, उहाँले मानिसहरूलाई “भावना” भन्ने शब्दको अर्थ स्पष्ट पार्न यो अवसरको प्रयोग गर्नुहुनेछ, यसरी तिनीहरूलाई परमेश्वरको अभिप्राय भनेको सबै मानिसहरूका परिवारहरूलाई टुक्राटुक्रा पार्नु हो भन्ने देखाउनुहुनेछ र परमेश्वरले “पारिवारिक विवादहरू” समाधान गर्नलाई सजायको प्रयोग गर्नुहुन्छ भनी देखाउनुहुनेछ। होइन भने, पृथ्वीमा परमेश्वरको कामको अन्तिम भागलाई समाप्त पार्ने कुनै उपाय नै हुनेछैन। परमेश्वरका वचनहरूको अन्तिम भागले मानवजातिको सबैभन्दा ठूलो कमजोरीलाई—अर्थात् तिनीहरू सबै स्नेहका साथ जिउँछन् भन्ने कुरालाई—उदाङ्गो पार्नेछ, त्यसकारण परमेश्वरले तिनीहरू एक जनालाई पनि छाड्नुहुनेछैन, र सारा मानवजातिको हृदयमा लुकेका रहस्यहरूको खुलासा गर्नुहुनेछ। किन मानिसहरूलाई भावनाबाट आफूलाई अलग्याउन यति साह्रो गाह्रो हुन्छ? के त्यसो गरेर विवेकका मापदण्डलाई पार गर्न सकिन्छ? के विवेकले परमेश्वरको इच्छालाई पूरा गर्न सक्छ? के भावनाले मानिसहरूलाई प्रतिकूल परिस्थितिमा मद्दत गर्न सक्छ? परमेश्वरको नजरमा, भावना उहाँको शत्रु हो—के परमेश्वरका वचनहरूमा यो कुरा स्पष्टसँग बताइएको छैन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय २८
हिजोआज, खोज्ने र नखोज्नेहरू पूर्ण रूपमा फरक दुई किसिमका मानिसहरू हुन्, जसका गन्तव्यहरू पनि बिलकुलै फरक छन्। सत्यताको ज्ञान खोजी गर्नेहरू र सत्यता अभ्यास गर्नेहरू नै उनीहरू हुन् जसकहाँ परमेश्वरले मुक्ति ल्याउनुहुनेछ। सत्य मार्ग थाहा नपाउनेहरू भूतहरू र वैरीहरू हुन्; उनीहरू प्रधान दूतका सन्तानहरू हुन् र विनाशका पात्रहरू हुनेछन्। अस्पष्ट परमेश्वरका धर्मी विश्वासीहरू पनि, के उनीहरूचाहिँ भूतहरू होइनन्? असल विवेक भएकाहरू, तर सत्य मार्ग स्वीकार नगर्ने मानिसहरू भूतहरू हुन्; उनीहरूका सार परमेश्वरको प्रतिरोध मध्येको एक हो। सत्य मार्ग स्वीकार नगर्नेहरू परमेश्वरको प्रतिरोध गर्नेहरू हुन् र यस्ता मानिसहरूले धेरै कठिनाइहरू सहे पनि, उनीहरूलाई अझ पनि नष्ट पारिनेछ। उनीहरू जो संसारलाई त्याग्न अनिच्छुक हुन्छन्, जो उनीहरूका बाबुआमासँग अलग हुन सक्दैनन्, र जसले आफ्नै देहका सुख-विलासहरूबाट आफैलाई मुक्त गर्न रुचाउँदैनन् उनीहरू परमेश्वरविरुद्ध विद्रोही हुन्छन्, र सबै विनाशका पात्रहरू हुनेछन्। देहधारी परमेश्वरमा विश्वास नगर्नेहरू भूतहरू हुन्, र, यसको अलाबा, उनीहरूलाई नष्ट गरिनेछन्। विश्वास भएका तर सत्यता अभ्यास नगर्नेहरू, देहधारी परमेश्वरमा विश्वास नगर्नेहरू र परमेश्वरको अस्तित्वमा बिलकुलै विश्वास नगर्नेहरू पनि विनाशका पात्रहरू हुनेछन्। रहन दिइनेहरू सबै शोधनको कष्टहरू भएर गुज्रेका र दृढ खडा रहेकाहरू हुन्; यी साँचो रूपमा परीक्षाहरूलाई सहेका मानिसहरू हुन्। परमेश्वरलाई पहिचान नगर्ने जो-कोही पनि शत्रु हो; अर्थात्, देहधारी परमेश्वरलाई पहिचान नगर्ने—चाहे उनीहरू यस प्रवाहभित्रका होऊन् वा यस प्रवाह बाहिरका होऊन्—ऊ ख्रीष्ट विरोधी हो! यदि परमेश्वरमा विश्वास नगर्ने प्रतिरोधीहरू होइनन् भने शैतान को हो, भूतहरू को हुन्, र परमेश्वरका शत्रुहरू को हुन्? के उनीहरू परमेश्वरविरुद्ध विद्रोह गर्ने मानिस नै होइनन् र? के उनीहरू नै ती होइनन् जसले विश्वास भएको दाबी गर्छन्, तैपनि सत्यताको कमी हुन्छ? के उनीहरू परमेश्वरको निम्ति गवाही दिन असक्षम हुँदा पनि आशिष्हरू मात्र प्राप्त गर्न खोज्नेहरू होइनन् र? आज तैँले अझै ती भूतहरूसँग घुलमेल गर्छस् र तिनीहरूसँग विवेक र प्रेमले व्यवहार गर्छस्, तर यस्तो अवस्थामा, के तैँले शैतानप्रति शुभेच्छा बढाइरहेको छैन र? के तैँले भूतहरूसँग साँठगाँठ गरिरहेको छैनस् र? यदि मानिसहरू यो बिन्दुमा पुगेका छन् र अझै असल र खराबबीच भिन्नता छुट्याउन असक्षम छन् भने, र परमेश्वरका अभिप्रायको खोजी गर्ने कुनै चाहनाविना नै अन्धाधुन्ध प्रेमिलो र कृपालु भइरहन्छन् भने वा कुनै पनि किसिमले परमेश्वरका अभिप्रायहरूलाई उनीहरूको आफ्नै झैँ गरी लिन सक्षम हुन्छन् भने, उनीहरूको अन्त झनै दयनीय हुनेछ। देहमा हुनुभएको परमेश्वरलाई विश्वास नगर्ने जो कोही पनि परमेश्वरको शत्रु हो। यदि तैँले शत्रुलाई सम्मान र प्रेम गर्न सक्छस् भने, के तँमा न्याय बोधको कमी छैन र? यदि तँ मैले जे घृणा गर्छु र म जेसँग असहमत हुन्छु, र त्यसैसँग अनुकूल हुन्छस् र उनीहरूप्रति अझै प्रेम वा व्यक्तिगत भावनाहरू वहन गर्छस् भने, तब के तँ विद्रोही होइनस् र? के तैँले जानी-जानी परमेश्वरको प्रतिरोध गरिरहेका छैनस् र? के यस्तो मानिससित सत्यता हुन्छ? यदि मानिसहरूले शत्रुप्रति सम्मान राख्छन्, भूतहरूलाई प्रेम गर्छन् र शैतानलाई कृपा गर्छन् भने, तब के उनीहरूले परमेश्वरको कामलाई जानी-जानी अवरोध गरिरहेका हुँदैनन् र? ती मानिसहरू जसले येशूमा मात्र विश्वास गर्छन् र अन्तको दिनहरूको देहधारी परमेश्वरमा विश्वास गर्दैनन्, साथै उनीहरू जसले मौखिक रूपमा देहधारी परमेश्वरमा विश्वास गर्ने दाबी गर्छन् तर दुष्ट काम गर्छन्, उनीहरू सबै ख्रीष्ट—विरोधीहरू हुन्, परमेश्वरमा विश्वास नगर्नेहरूको त कुरै नगरौं। यी सबै मानिस विनाशका पात्र हुनेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्
“जब कसैले परमेश्वरमा विश्वास गर्छ, भाग्य पुरै परिवारमाथि मुस्कुराउँछ” भनी विगतका भनिएका ती शब्दहरू अनुग्रहको युगको निम्ति उपयुक्त छन्, तर मानव गन्तव्यसँग असम्बन्धित छन्। तिनीहरू अनुग्रहको युगको एउटा चरणभरि मात्र उपयुक्त थिए। ती शब्दहरूका आशयचाँहि मानिसहरूले उपभोग गरेका शान्ति र भौतिक आशिष्हरूप्रति लक्षित थियो; एक जनाले प्रभुमा विश्वास गर्दा समग्र परिवार नै प्रभुमा मुक्त हुनेछ भन्ने उनीहरूको आशय थिएन, न त एक जनाले आशिष् प्राप्त गर्दा उसको समग्र परिवारलाई नै विश्राममा ल्याइन्छ भन्ने नै उनीहरूको आशय थियो। कसैले आशिष् पाउँछ वा दुर्गति भोग्छ भन्ने कुरा उसको सार बमोजिम निर्धारण गरिन्छ, कसैको अरूहरूसँग बाँड्न सक्ने कुनै पनि साझा सार बमोजिम होइन। त्यस किसिमको भनाइ वा नियमको राज्यमा कुनै स्थान छैन। यदि कुनै व्यक्ति अन्तमा बाँच्न सक्षम भयो भने, यो उनीहरूले परमेश्वरका मापदण्डहरू पुरा गरेको कारणले हो, र यदि उनीहरू अन्तमा विश्रामको समयसम्म रहन असक्षम भए भने, उनीहरू परमेश्वरविरुद्ध विद्रोही भएकाले र उनीहरूले परमेश्वरका मापदण्डहरू पूरा नगरेकाले नै हो। हरेकको एउटा सुहाउँदो गन्तव्य छ। यी गन्तव्यहरू हरेकको सारअनुसार निर्धारण गरिन्छ र यसको अरू मानिसहरूसँग कुनै सरोकार छैन। एउटा बालकको खराब आचरण उनीहरूको आमाबुबामा सार्न सकिँदैन, न त एउटा बालकको धार्मिकतालाई उनीहरूको आमाबुबासँग बाँड्न नै सकिन्छ, कुनै आमाबुबाको खराब आचरण उनीहरूको छोराछोरीहरूमा सार्न सकिँदैन न त एउटा आमाबुबाको धार्मिकतालाई उनीहरूको छोराछोरीहरूसँग बाँड्न नै सकिन्छ। हरेकले आ-आफ्नै पापहरू बहन गर्छन्, र हरेकले आ-आफ्नो आशिष् उपभोग गर्छन्। कोही पनि अर्को व्यक्तिको प्रतिस्थापन हुन सक्दैन; यो धार्मिकता हो। मानिसको दृष्टिकोणबाट, यदि आमाबुबाले आशिष् प्राप्त गर्छन् भने, उनीहरूका छोराछोरीहरूले पनि आशिष् प्राप्त गर्न सक्नुपर्छ, र यदि उनीहरूका छोराछोरीहरूले खराबी गर्छन् भने, उनीहरूलाई आमाबुबाले ती पापहरूका निम्ति प्रायश्चित गर्नुपर्छ। यो मानवीय दृष्टिकोण हो र मानवको काम गर्ने शैली हो; यो परमेश्वरको दृष्टिकोण होइन। हरेकको परिणामलाई उनीहरूको आचरणबाट आउने सार बमोजिम निर्धारण गरिन्छ, र यसलाई सदैव उपयुक्त रूपमा निर्धारण गरिन्छ। कसैले अर्काको पापहरू बहन गर्न सक्दैन; यसको अतिरिक्त, कसैले पनि अर्काको सट्टामा दण्ड पाउन सक्दैन। यो पक्का हो। उनीहरूका छोराछोरीहरूप्रति आमाबुबाका स्नेहपूर्ण हेरचाहले उनीहरूले उनीहरूका छोराछोरीहरूमा धर्मी कामहरू गर्न सक्छन् भन्ने सङ्केत गर्दैन, न त एउटा बालकको उनीहरूका आमाबुबाप्रति कर्तव्यनिष्ठा स्नेहको अर्थ उनीहरूले उनीहरूका आमाबुबाको सट्टामा धर्मी कामहरू गर्न सक्छन् भन्ने नै लाग्छ। यही नै वचनहरूको साँचो अर्थ हो, “त्यति बेला खेतमा दुई जना हुनेछन्; एउटालाई लगिनेछ र अर्कोलाई छोडिनेछ। दुई स्त्री जाँतो पिँधिरहेका हुनेछन्; एउटालाई लगिनेछ र अर्कीलाई छोडिनेछ।” मानिसहरूले उनीहरूका दुष्ट कर्म गर्ने छोराछोरीहरूलाई उनीहरूप्रतिको गहन प्रेमको आधारमा विश्राममा लान सक्दैनन्, न त उनीहरूको धर्मी आचरणको आधारमा उनीहरूका पति वा पत्नीलाई विश्राममा लान सक्छन्। यो एउटा प्रशासकीय नियम हो; त्यहाँ कसैको निम्ति छुट हुन सक्दैन। अन्तमा, धार्मिकता गर्नेहरू धार्मिकता गर्नेहरू नै हुन् र दुष्ट काम गर्नेहरू दुष्ट काम गर्नेहरू नै हुन्। धर्मीहरूलाई अन्तमा बाँच्न दिइनेछ, जबकि दुष्कर्मीहरूलाई नष्ट गरिनेछ। पवित्रहरू भनेका पवित्रहरू नै हुन्; उनीहरू अपवित्र होइनन्। अपवित्रहरू अपवित्र नै हुन्, र उनीहरूका एक अंश पनि पवित्र होइनन्। नष्ट पारिने मानिसहरू सबै खराब हुन् र बाँच्नेहरू धर्मी हुन्—यद्यपि खराबहरूका छोराछोरीहरूले धर्मी कामहरू नै गरे पनि, र यद्यपि धर्मीका आमाबुबाले दुष्ट काम गरे पनि। विश्वासी पति र गैरविश्वासी पत्नी बीच कुनै सम्बन्ध हुँदैन र विश्वास गर्ने छोराछोरीहरू र गैरविश्वासी आमाबुबा बीच कुनै सम्बन्ध हुँदैन; यी दुई किसिमका मानिसहरू पूर्ण रूपमा आपसी विरोधीहरू हुन्। विश्राममा प्रवेश गर्नु अघि कसैको शारीरिक नाताहरू हुन्छ, तर एक पटक विश्राममा प्रवेश गरेपछि त्यस उप्रान्त उल्लेख गर्ने योग्यको कुनै शारीरिक नाताहरू हुँदैनन्। उनीहरूका कर्तव्य पूरा गर्नेहरू उनीहरूका कर्तव्य पूरा नगर्नेहरूका शत्रुहरू हुन्; परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँलाई घृणा गर्नेहरू एक अर्काको विपक्षमा छन्। विश्राममा प्रवेश गर्नेहरू र नष्ट पारिनेहरू दुई अमिल्दा किसिमका सृष्टि गरिएका प्राणी हुन्। आफ्नाकर्तव्य पूरा गर्ने सृष्टि गरिएका प्राणीहरू बाँच्नेछन्, जबकि उनीहरूका कर्तव्य पूरा नगर्नेहरू विनाशका पात्रहरू हुनेछन्; यसको अतिरिक्त, यो अनन्तसम्म नै रहन्छ। के तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नको निम्ति आफ्नो पतिलाई प्रेम गर्छस्? के तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नको निम्ति आफ्नो पत्नीलाई प्रेम गर्छस्? के तँ सृष्टि गरिएको सृष्टिको रूपमा आफ्नो कर्तव्य पूरा गर्नको निम्ति आफ्ना गैरविश्वासी आमाबुबाप्रति कर्तव्यनिष्ठा छस्? के परमेश्वरमा विश्वास गर्ने बारेको मानवीय धारणा सही वा गलत छ? तैँले परमेश्वरमा किन विश्वास गर्छस्? तैँले के पाउन चाहन्छस्? तैँले परमेश्वरलाई कसरी प्रेम गर्छस्? सृष्टि गरिएका सृष्टिहरूको रूपमा उनीहरूका कर्तव्यहरू पूरा गर्न नसक्नेहरू र दिलोज्यानले प्रयास नगर्नेहरू विनाशका पात्रहरू हुनेछन्। अस्तित्वमा रहेका आजका मानिसहरू बीच शारीरिक नाता-सम्बन्धहरूका साथै रगतको सम्बन्धहरू छन्, तर भविष्यमा यी सबै कुराहरू चकनाचूर पारिनेछन्। विश्वासी र गैरविश्वासीहरू मिल्दो छैनन्; बरु, उनीहरू एक अर्काको विपक्षमा छन्। विश्राममा हुनेहरूले परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्नेछन्, र परमेश्वरको अधीनमा रहनेछन्, जबकि परमेश्वरविरुद्ध विद्रोह गर्नेहरू सबै नष्ट पारिनेछन्। यस उप्रान्त परिवारहरू पृथ्वीमा रहनेछैनन्, अनि त्यहाँ आमाबुबा वा छोराछोरीहरू वा दाम्पत्य सम्बन्धहरू कसरी हुन सक्थ्यो? विश्वास र अविश्वासको असंगतताले नै यस्ता शारीरिक नाता-सम्बन्धहरूलाई पूर्ण रूपमा छुट्टाइएको हुनेछ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्
सम्बन्धित भिडियोहरू
नाटक “दुष्ट व्यक्तिलाई निष्कासित गर्ने सङ्घर्ष”
सम्बन्धित अनुभवात्मक गवाहीहरू
स्नेहहरू सिद्धान्तमा आधारित हुनैपर्छ
हेर्नुहोस् मेरा आमाबुबा को हुन्
जोइको कथा
आफ्नो मायाले गर्दा मेरो मूल्याङ्कन धमिलियो
सम्बन्धित भजनहरू
परमेश्वरले मानिसहरूबीचको स्नेहलाई घृणा गर्नुहुन्छ
अन्तरवैयक्तिक सम्बन्धहरू परमेश्वरका वचनहरूअनुसार स्थापित हुनुपर्छ
परमेश्वरले मानिसहरूको सारअनुसार तिनीहरूका परिणामहरू निर्धारण गर्नुहुन्छ