२६. हठी स्वभावको समस्या कसरी समाधान गर्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

मानिसहरूमा हठी स्वभाव हुँदा तिनीहरूभित्र कस्तो स्थिति हुन्छ? मुख्य रूपमा तिनीहरू जिद्दी र आत्मधर्मी हुन्छन्। तिनीहरू सधैँ आफ्नै विचारहरूमा लागिरहन्छन्, सधैँ आफूले भनेकै कुरा सही हो भन्‍ने सोच्छन्, तिनीहरू अत्यन्तै अलचक, र मेरो गोरुको बाह्रै टक्‍का भन्‍ने खालका हुन्छन्। यो हठी मनोवृत्ति हो। तिनीहरू आफ्‍नै कुरामा जिद्दी गर्छन्, कसैको कुरा सुन्दैनन्, एउटै कार्यदिशामा एकोहोरो लागिरहन्छन्, त्यही कुरामा लागिरहने जिद्दी गर्छन् चाहे त्यो सही होस् वा गलत होस्; यसमा पश्‍चात्ताप नगर्ने केही मानसिकता हुन्छ। भनाइ नै छ, “मरेको सुँगुरलाई उम्लिरहेको पानीको के डर।” मानिसहरूलाई के गर्नु सही हो भनेर राम्ररी थाहा हुन्छ, तैपनि तिनीहरूले त्यो काम गर्दैनन्, बरु जिद्दी भई सत्यता इन्कार गरिरहन्छन्। यो एक प्रकारको स्वभाव हो: त्यो हठीपन हो। तिमीहरूले कस्तो परिस्थितिमा हठी स्वभाव प्रकट गर्छौ? के तिमीहरू प्रायजसो हठी भइरहन्छौ? (हो।) एकदमै धेरै! अनि हठीपन तेरो स्वभाव भएकोले, यो तेरो अस्तित्वको हरेक दिन र हरेक क्षण तँसँगै रहन्छ। हठीपनले मानिसहरूलाई परमेश्‍वरको अघि आउनबाट रोक्छ, र यसले तिनीहरूलाई सत्यता स्विकार्नबाट र सत्यताको वास्तविकतामा प्रवेश गर्नबाट रोक्छ। अनि, यदि तँ सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्दैनस् भने, के तेरो स्वभावको यो पक्षमा परिवर्तन आउन सक्छ त? यो निकै गाह्रो हुनेछ। के तिमीहरूको स्वभावको यो पक्षमा अर्थात् हठीपनमा अहिले कुनै परिवर्तन आएको छ? अनि कति परिवर्तन आएको छ? उदाहरणको लागि, मानौँ तँ अत्यन्तै जिद्दी हुने गर्थिस्, तर तँमा अहिले अलिअलि परिवर्तन आएको छ: जब तैँले कुनै समस्या सामना गर्छस्, तब तेरो हृदयमा केही विवेकको बोध हुन्छ, र तैँले मनमनै भन्छस्, “यस विषयमा मैले केही सत्यता अभ्यास गर्नुपर्छ। परमेश्‍वरले यो हठी स्वभावको खुलासा गर्नुभएको हुनाले—मैले यो सुनिसकेकोले र मलाई यसबारे अब थाहा भइसकेको हुनाले—म परिवर्तन हुनैपर्छ। विगतमा केहीपटक यस्ता परिस्थितिहरू सामना गर्दा, म आफ्‍नो देहअनुसार चलेँ र असफल भएँ, र म यस कुराप्रति खुसी छैनँ। योचोटि मैले सत्यता अभ्यास गर्नैपर्छ।” यस्तो आकाङ्क्षा लिएर, सत्यता अभ्यास गर्नु सम्‍भव हुन्छ, र यो परिवर्तन हो। जब तैँले यसरी केही समयसम्‍म अनुभव गर्छस्, र अझै बढी सत्यता अभ्यास गर्न सक्षम बन्छस्, अनि यसले अझै ठूलो परिवर्तन ल्याउँछ, र तेरो विद्रोही र हठी स्वभाव झन्झन् घट्दै जान्छ, तब के तेरो जीवन स्वभावमा परिवर्तन आएको हुँदैन र? यदि तेरो विद्रोही स्वभाव स्पष्ट रूपमै घट्दै गएको छ, र परमेश्‍वरप्रतिको तेरो आज्ञाकारिता पहिलेभन्दा बढ्दै गएको छ भने, तँमा साँचो परिवर्तन आएको छ। त्यसो भए, साँचो आज्ञाकारिता हासिल गर्नको लागि तँ कुन हदसम्‍म परिवर्तन हुनुपर्छ? यदि तँमा अलिअलि पनि हठीपन छैन, केवल आज्ञाकारिता मात्रै छ भने, तँ सफल भएको हुनेछस्। यो बिस्तारै हुने प्रक्रिया हो। स्वभाव परिवर्तन रातारात हुने कुरा होइन, त्यसको लागि धेरै समयको अनुभव चाहिन्छ, र सायद जीवनभरिको समयसमेत लाग्‍न सक्छ। कहिलेकहीँ धेरै ठूलाठूला कठिनाइहरू, मरेर फेरि जिउँदो हुनुसरहका कठिनाइहरू, हड्डी खुर्केर शरीरको विष फल्‍नुभन्दा पनि पीडादायी र गाह्रो कठिनाइहरू भोग्‍नु अत्यावश्यक हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। छ प्रकारको भ्रष्ट स्वभावको ज्ञान हुनु मात्रै साँचो आत्मज्ञान हो

जब व्यक्तिले परमेश्‍वरसामु अहङ्कार, छल, र पाखण्ड प्रकट गर्छ, के हृदयको गहिराइमा उसलाई यसबारे थाहा हुन्छ? (हुन्छ।) जब उसलाई यो थाहा हुन्छ, उसले यसबारे के गर्छ? के उसले आफूलाई नियन्त्रण गर्छ? के ऊ रोकिन्छ? के उसले आफूमाथि चिन्तन गर्छ? (गर्दैन।) आफूले अहङ्कारी स्वभाव प्रकट गरेको छु भन्‍ने थाहा हुँदाहुँदै पनि आफूमाथि चिन्तन नगर्ने र आफूलाई चिन्न नखोज्ने, र यदि कसैले उसलाई त्यो कुरा औँल्याइदिए पनि उसले त्यो स्वीकार गर्नुको साटो आफूलाई बचाउनतिर लाग्छ भने त्यो कस्तो प्रकारको स्वभाव हो? (हठीपन।) त्यो ठिक हो, यो हठीपन हो। यस्तो प्रकारको हठी स्वभाव अरू मानिसहरूसामु जे-जसरी प्रकट भए पनि, र यस्तो मनोवृति जुनसुकै प्रसङ्गमा प्रकट भए पनि, त्यो हठी स्वभाव भएको व्यक्ति हो। मानिसहरू जति नै धूर्त वा छद्मभेषी भए पनि, यो हठी स्वभाव सजिलै प्रकट हुन्छ। मानिसहरू शून्यतामा नजिउने भएकोले, र तिनीहरू अरू मानिसहरूसामु भए पनि नभए पनि, सबै मानिसहरू परमेश्‍वरसामु जिउँछन्, र सबै व्यक्ति परमेश्‍वरको सूक्ष्म निगरानीमै हुन्छन्। यदि कुनै व्यक्ति प्रायः मनमौजी, ऐयास, असंयम हुन्छ, अनि उसमा यी प्रवृत्ति र भ्रष्टताका यी प्रकटीकरणहरू छन्, र यदि उसले थाहा पाउँदापाउँदै पनि मार्ग परिवर्तन गर्दैन भने, र उसले यो कुरा चिनेपछि पनि पश्‍चात्ताप गर्दैन, खुला रूपले सङ्गति गर्दैन, वा सत्यता खोजेर यो समस्या समाधान गर्दैन भने, यो हठीपन हो। हठीपनका प्रकटीकरणहरूको कुरा गर्नुपर्दा, ती दुई प्रकारका हुन्छन्: “जिद्दीपन” र “कठोरता”।[क] “जिद्दीपन” भनेको धेरै ढिपी गर्नु, आफ्नो मार्ग नबदल्नु, र नरम नहुनु हो। “कठोरता” भन्नुको मतलब अरू मानिसहरू त्यसलाई छुने आँट गर्दैनन्, र छोएमा पीडा महसुस गर्छन्। प्रायः मानिसहरू हठी स्वभाव भएकाहरूको सम्पर्कमा आउन चाहँदैनन्, ठिक त्यसरी नै जसरी मानिसहरू कठोर वस्तुहरूको सम्पर्कमा आउन चाहँदैनन् र आइहालेमा असहज महसुस गर्नेछन्; मानिसहरू नरम कुराहरू रुचाउँछन्, नरम कुराहरूको बनावटले मानिसहरूलाई सहज अनुभूति गराउँछ, र त्यसले तिनीहरूलाई आनन्द दिन्छ, जबकि हठीपन त्यसको ठिक उल्टो हुन्छ। हठीपनले मानिसहरूलाई एकखाले मनोवृति देखाउने तुल्याउँछ, र यो मनोवृति एकोहोरेपन र ढिपीपन हो। यसमा कस्तो स्वभावले काम गरिरहेको हुन्छ? हठी स्वभावले। यसको मतलब के हो भने, जब व्यक्तिले कुनै कुरा सामना गर्छ, उसलाई आफ्नो यो मनोवृति राम्रो र ठिक छैन भन्‍ने राम्ररी वा अलिअलि थाहा भए पनि, उसलाई आफ्नो हठी स्वभावले यस्तो सोच्ने तुल्याउँछ, “कसैले थाहा पाए के हुन्छ र? म त यस्तै नै हुँ!” यो कस्तो प्रकारको मनोवृति हो? उसले यो मामिला अस्वीकार गर्छ, उसलाई यो मनोवृति खराब वा परमेश्‍वरको विद्रोही हो, यो शैतानबाट आउँछ, वा यो शैतानको स्वभावको प्रकटीकरण हो भन्‍ने लाग्दैन; परमेश्‍वरले यसलाई कसरी हेर्नुहुन्छ र कति घृणा गर्नुहुन्छ भन्‍ने कुरा उसलाई पत्तो वा महसुस नै हुँदैन—यो समस्या यति गम्भीर हुन्छ। यो हठी स्वभाव असल हो कि खराब? (यो खराब हो।) यो शैतानी स्वभाव हो। यसले मानिसहरूलाई सत्यता स्विकार्न कठिन तुल्याउँछ, र पश्‍चात्ताप गर्न त झनै कठिन तुल्याउँछ। सबै शैतानी स्वभावहरू नकारात्मक कुराहरू हुन्, ती सबैलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ, तीमध्ये कुनै पनि सकारात्मक कुराहरू होइनन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो स्वभावलाई चिन्‍नु नै यसलाई परिवर्तन गर्ने आधार हो

फूटनोटहरू:

क. मूल पाठमा “ती दुई प्रकारका हुन्छन्: ‘जिद्दीपन’ र ‘कठोरता’” भन्‍ने वाक्यांश समावेश छैन।


अर्को मुख्य कुराचाहिँ हरेक व्यक्तिको स्वभाव सारमा भेटिने कुरा अर्थात हठीपन हो। यो पनि निकै ठोस र स्पष्ट रूपमा प्रकट हुन्छ, होइन र? (हो।) मानिसको भ्रष्ट स्वभाव प्रकट हुने र देखिने मुख्य दुई तरिका यिनै हुन्। यी खास व्यवहार, दृष्टिकोण, मनोवृत्ति, र यस्तै अन्य कुराहरूले मानिसको भ्रष्ट स्वभावमा सत्यताप्रति प्रतिकूल बन्‍ने तत्व हुन्छ भनेर साँचो र सटीक रूपमा चित्रण गर्छन्। अवश्य नै, मानिसको स्वभावमा मुख्य रूपमा देखिने भनेकै हठीपनका प्रकटीकरणहरू हुन्: परमेश्‍वरले जे भन्‍नुभए पनि, र परमेश्‍वरको कामको सिलसिलामा मानिसमा जे-जस्ता भ्रष्ट स्वभावहरू प्रकट भए पनि, मानिसहरूले जिद्दी भएर यसलाई स्विकार्न मान्दैनन् र प्रतिरोध गर्छन्। स्पष्ट प्रतिरोध वा तिरस्कारपूर्ण इन्कारभन्दा पर, अवश्य नै अर्को प्रकारको व्यवहार पनि छ, जसमा मानिसहरूले आफूलाई परमेश्‍वरको काममा सरोकार गराउँदैनन्, मानौँ परमेश्‍वरको कामसँग तिनीहरूको कुनै सम्‍बन्ध नै छैन। आफूलाई परमेश्‍वरसँग सरोकार नगराउनु भनेको के हो? यो भनेको व्यक्तिले यसो भन्दा हुने कुरा हो, “तपाईंले जेसुकै भन्‍नुहोस्—मसँग त्यसको कुनै सम्‍बन्ध छैन। तपाईंको कुनै पनि न्याय वा खुलासा मसँग सम्‍बन्धित छैन। म यसलाई स्विकार्दिनँ वा मान्दिनँ।” के हामी त्यस्तो मनोवृत्तिलाई “हठी” भन्‍न सक्छौँ? (सक्छौँ।) यो हठीपनको प्रकटीकरण हो। यी मानिसहरू भन्छन्, “म आफूलाई जसरी मन लाग्छ, जसरी सहज हुन्छ, र जसरी खुसी मिल्छ त्यसरी जिउँछु। अहङ्कार, छल, सत्यताप्रति प्रतिकूल बन्‍ने, दुष्टता, द्वेष, आदि इत्यादिजस्ता तपाईंले बताउनुभएका व्यवहारहरू—ममा ती छन् भने पनि, के भो र? म ती कुरालाई जाँच्‍ने, वा चिन्‍ने, वा स्विकार्नेछैनँ। म परमेश्‍वरमा यसरी नै विश्‍वास गर्नेछु, तपाईंले यसमा के गर्नुहुन्छ?” यो हठी मनोवृत्ति हो। परमेश्‍वरले जे भन्‍नुभए पनि, उहाँले सम्झाउने, चेतावनी दिने, वा उत्साह दिने शैलीमा बोले पनि, अर्थात् उहाँले बोल्नको लागि जुनसुकै शैली अपनाए पनि वा उहाँका वाणीका लक्ष्यहरू जेसुकै भए पनि, जब मानिसहरूले आफूलाई परमेश्‍वरका वचनहरूसँग सरोकार गराउँदैनन् वा ती वचन सुन्दैनन्, बरु सरासर परमेश्‍वरलाई इन्कार गर्छन्, तब तिनीहरूको मनोवृत्ति हठी मनोवृत्ति हो। यसको अर्थ तिनीहरूले परमेश्‍वरको कुनै पनि आतुरी अभिप्रायलाई ध्यान दिँदैनन्, मानिसलाई मुक्ति दिने उहाँको सच्चा र उपकारी अभिप्राय बुझ्‍नु त परको कुरा हो। परमेश्‍वरले जे गर्नुभए पनि, मानिसहरूमा सहकार्य गर्ने सङ्कल्प हुँदैन र तिनीहरू सत्यतातर्फ लागिपर्न इच्छुक हुँदैनन्। परमेश्‍वरको न्याय र प्रकाश पूर्ण रूपमा वास्तविक छन् भनी तिनीहरूले स्विकारे पनि, तिनीहरूको हृदयमा कुनै पछुतो हुँदैन, र तिनीहरूले पहिलेकै शैलीमा विश्‍वास गरिरहन्छन्। अन्त्यमा, तिनीहरूले धेरै प्रवचन सुनिसकेपछि पनि एउटै कुरा भन्छन्: “म साँचो विश्‍वासी हुँ, त्यसकारण कुनै पनि हालतमा मेरो मानवता कमजोर छैन, म जानीजानी दुष्कर्म गर्दिनँ, म त्यागहरू गर्न सक्छु, कठिनाइ भोग्‍न सक्छु, र आफ्‍नो विश्‍वासको लागि मूल्य चुकाउन इच्छुक छु। परमेश्‍वरले मलाई त्याग्‍नुहुनेछैन।” के यो पावलले भनेको जस्तै भएन र: “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले विश्‍वासलाई कायम राखेको छु: अबदेखि मेरो लागि धार्मिकताको मुकुट राखिएको छ”? मानिसहरूमा यस्तै मनोवृत्ति हुन्छ। यस्तो मनोवृत्तिको पछाडि कुन स्वभाव लुकेको हुन्छ? हठीपन।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता पछ्याउनु भनेको के हो (१)

यदि मानिसहरूमा विवेक र समझ छ, र तिनीहरू सत्यतालाई उत्कट रूपमा चाहन्छन्, तैपनि तिनीहरू गल्ती गरेपछि कहिल्यै आत्मचिन्तन गर्न र बदलिन जान्दैनन्, र विगत भनेको विगत नै हो भन्ने विश्‍वास गर्छन् र आफूहरू कहिल्यै गलत हुन नसक्नेमा ढुक्क हुन्छन् भने, त्यसले कस्तो प्रकारको स्वभाव देखाउँछ? कस्तो प्रकारको व्यवहार देखाउँछ? त्यस्तो व्यवहारको सार के हो? (हठी हुनु हो।) त्यस्ता मानिसहरू हठी हुन्छन् र चाहे जेसुकै आओस्, तिनीहरूले त्यही बाटो पछ्याउनेछन्। परमेश्‍वरले त्यस्ता मानिसहरू मन पराउनुहुन्न। योनाले निनवेवासीहरूलाई परमेश्‍वरका वचनहरू व्यक्त गर्दा के भन्यो? (“अबको चालीस दिनमा निनवेलाई नष्ट पारिनेछ” (योना ३:४)।) निनवेवासीहरूले यी वचनहरूप्रति कसरी प्रतिक्रिया दिए? परमेश्‍वरले आफूहरूलाई नष्ट पार्न लाग्‍नुभएको छ भन्ने कुरा बुझेपछि, तिनीहरूले हतारहतार भाङ्ग्रा लगाए र खरानी धसे, र उहाँसमक्ष आफ्ना पापहरू स्विकारे र दुष्टताको मार्ग त्यागे। पश्‍चात्ताप गर्नु भनेकै यही हो। यदि मान्छेले पश्‍चात्ताप गर्न सक्छ भने, त्यसले उसलाई ठूलो अवसर प्रदान गर्छ। अनि, त्यो कुन अवसर हो त? यो निरन्तर बाँचिरहने अवसर हो। वास्तविक पश्‍चात्तापविना, निरन्तर अगाडि बढिरहन गाह्रो हुन्छ, चाहे त्यो कर्तव्यपालन गर्ने कार्यमा होस् वा चाहे मुक्ति पछ्याउने कार्यमा होस्। हरेक चरणमा—चाहे परमेश्‍वरले तँलाई अनुशासनमा राख्‍नुहुँदा वा सच्याउनुहुँदा होस् वा उहाँले तँलाई सम्झाउनुहुँदा र प्रोत्साहन दिनुहुँदा होस्—जबसम्म तेरो र परमेश्‍वरको बीच द्वन्द्व भइरहेको हुन्छ, तैपनि तँ बदलिँदैनस्, र आफ्ना विचार, दृष्टिकोण, मनोवृत्तिहरूमै अल्झिरहन्छस् भने, तेरा कदमहरू अगाडि बढिरहेका भए पनि, तेरो र परमेश्‍वरबीचको द्वन्द्व, उहाँबारेको तेरो गलतबुझाइ, उहाँविरुद्धका तेरा गुनासा र विद्रोहीपन सच्‍चिँदैनन्, र तेरो हृदय बदलिँदैन। परमेश्‍वरले आफ्नो तवरबाट तँलाई निष्कासन गर्नुहुनेछ। तैँले आफ्नो हातको कर्तव्य नत्यागेको, अझै आफ्नो कर्तव्यपालन गर्ने गरेको र परमेश्‍वरको आज्ञाप्रति थोरै बफादारी राखेको, र मानिसहरूले यसलाई स्वीकार्य ठान्‍ने गरेको भए पनि, तँ र परमेश्‍वरबीचको विवाद सधैँको लागि गाँठो बनेको छ। तैँले त्यसलाई समाधान गर्न र परमेश्‍वरको इच्छाबारे साँचो बुझाइ प्राप्त गर्न सत्यता प्रयोग गरेको छैनस्। फलस्वरूप, परमेश्‍वरबारेको तेरो गलतबुझाइ झन् गहिरिन्छ, र तँ सधैँ परमेश्‍वर नै गलत हुनुहुन्छ र तँलाई अन्याय गरिँदै छ भन्ने सोच्छस्। यसको अर्थ तँ बदलिएको छैनस्। तेरो विद्रोह, तेरा धारणाहरू र परमेश्‍वरबारेको तेरो गलतबुझाइ अझै यथावत छन्, जसले तँलाई अनाज्ञाकारी मानसिकता राख्ने, सधैँ विद्रोही हुने र परमेश्‍वरको विरोध गर्नेतर्फ डोर्‍याउँछ। के यस्तो व्यक्ति परमेश्‍वरविरुद्ध विद्रोह गर्ने, परमेश्‍वरको प्रतिरोध गर्ने, र पश्‍चात्ताप गर्न जिद्दीपूर्वक इन्कार्ने व्यक्ति होइन र? अनि, परमेश्‍वर किन मानिसहरू बदलिनुलाई यति धेरै महत्त्व दिनुहुन्छ? सृष्टि गरिएको प्राणीले सृष्टिकर्तालाई कस्तो आचरणको साथ व्यवहार गर्नुपर्छ त? सृष्टिकर्ताले जे नै गर्नुभए पनि उहाँ सही हुनुहुन्छ भनी स्वीकार गर्ने आचरणको साथ। यदि तैँले यो कुरालाई स्वीकार गर्दैनस् भने, सृष्टिकर्ता सत्यता, बाटो र जीवन हुनुहुन्छ भन्ने वचन तँलाई खोक्रो मात्र लाग्‍नेछ। यदि त्यसो हो भने, के तैँले अझै मुक्ति पाउन सक्छस्? सक्दैनस्। तँ अयोग्य हुन्छस्; परमेश्‍वरले तँजस्ता मानिसहरूलाई मुक्ति प्रदान गर्नुहुन्न।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (३)

कतिपय मानिसहरू सधैँ आफ्ना विगतका अपराधहरूद्वारा नियन्त्रित रहन्छन्, अनि यसो सोच्छन्, “परमेश्वरले पक्कै पनि उहाँको स्वभावलाई चिढ्याउने कुनै पनि कुरालाई माफ गर्न सक्नुहुन्न। उहाँको हृदयले मलाई लामो समयदेखि घृणा र इन्कार गरेको छ, र मैले सत्यता पछ्याउनु व्यर्थ छ।” यो कस्तो मनोवृत्ति हो? यो भनेको परमेश्वरलाई शङ्का गर्नु र गलत बुझ्नु हो। वास्तवमा तैँले परमेश्वरको स्वभावलाई चिढ्याउने कुनै पनि कामकुरा गर्नुअघि नै तँमा उहाँको सम्मान र आदर नगर्ने, अनि उहाँप्रति लापरवाह हुने मनोवृत्ति थियो, र तँ परमेश्वरलाई परमेश्वर झैँ व्यवहार गर्दैन थिइस्। मानिसहरूले क्षणिक अज्ञानता वा उत्तेजनाका कारण आफ्नो शैतानी स्वभाव प्रकट गर्छन् र तिनीहरूलाई अनुशासित गर्ने वा रोक्ने कोही भएन भने तिनीहरू अपराध गर्न पुग्छन्। तिनीहरूले गरेका अपराधको दुष्परिणामहरू आइसकेपछि तिनीहरू पश्चात्ताप गर्न जान्दैनन् र अझै पनि असहज नै महसुस गर्छन्। तिनीहरू आफ्नो भावी परिणाम र गन्तव्यबारे चिन्तित हुन्छन्, अनि यी सबै कुरा आफ्नो हृदयमा बोकेर हिँड्छन्, र सधैँ यसो सोच्छन्, “म सकिएँ, बर्बाद भएँ, त्यसैले म आफैलाई आशाहीन घोषित गर्दैछु। यदि कुनै दिन परमेश्वरले मलाई चाहनुभएन र पूर्ण रूपमा घृणा गर्नुभयो भने यसबाट हुनसक्ने सबभन्दा नराम्रो कुरा भनेको म मर्नेछु। म आफूलाई परमेश्वरको कृपामा छोड्छु।” सतही रूपमा तिनीहरूले आफूलाई परमेश्वरको कृपामा छाड्ने र उहाँको बन्दोबस्त एवं सार्वभौमिकताप्रति समर्पित गर्ने कुरा गरे पनि तिनीहरूको वास्तविक स्थिति कस्तो हुन्छ? त्यो प्रतिरोधी, हठी, अनि पश्चात्ताप नगर्ने हुन्छ। पश्चात्ताप नगर्ने हुनु भनेको के हो? यो भनेको आफ्नै विचार पक्रिरहनु, परमेश्वरले बोलेका कुनै पनि कुरालाई विश्वास वा स्वीकार नगर्नु र सधैँ यस्तो सोच्नु हो, “परमेश्वरका प्रोत्साहन र सान्तवनायुक्त वचनहरू मेरा लागि होइनन्, अरू मानिसका लागि हुन्। म त सकिँए, म अयोग्य भइसकेको छु, म बेकार छु—परमेश्वरले मलाई धेरै पहिले सुधार्न छोडिसक्नु भएको छ, र मैले आफ्ना पाप जसरी स्विकारे पनि, जसरी प्रार्थना गरे पनि वा पछुतो मान्दै रोइकराइ गरे पनि उहाँले कहिले पनि मलाई अर्को मौका दिनुहुनेछैन।” तिनीहरू आफ्नो हृदयमा परमेश्वरलाई मापन गर्ने र उहाँबारे अनुमान लगाउने यो कस्तो मनोवृत्ति हो? के यो स्वीकारोक्ति र पश्चात्तापको मनोवृत्ति हो त? पक्कै पनि होइन। यस्तो खालको मनोवृत्तिले एक किसिमको स्वभाव प्रतिनिधित्व गर्छ—हठ, गहन हठ। बाहिरबाट तिनीहरू निकै आत्मधर्मी, कसैको कुरा नसुन्ने, हरेक धर्मसिद्धान्त बुझ्ने, तर केही अभ्यास नगर्नेजस्ता देखिन्छन्। वास्तवमा तिनीहरूमा हठी स्वभाव हुन्छ। परमेश्वरको नजरमा, यो हठ, आज्ञाकारिता हो कि विद्रोपीपन? स्पष्ट रूपमा विद्रोहीपन नै हो। तर तिनीहरू आफूलाई ठूलो अन्याय भएको ठान्छन्, “म परमेश्वरलाई अत्यन्तै प्रेम गर्थेँ, तर उहाँले मैले गरेको एउटा सानो गल्ती पनि माफ गर्न सक्नुहुन्न र अहिले मेरो परिणाम गुमेको छ। परमेश्वरले मजस्ता मानिसहरूबारे फैसला गर्नुभएको छ। म पावल हुँ।” के परमेश्वरले तँ पावल होस् भनेर भन्नुभयो? परमेश्वरले त्यसो भन्नुभएन। तँ नै आफूलाई पावल भन्छस्—त्यो कहाँबाट आउँछ त? तँ भन्छस् परमेश्वरले तँलाई मार्नु हुनेछ, दण्ड दिनुहुनेछ अनि नरकमा पठाउनुहुनेछ। यो परिणाम कसले निर्धारण गर्‍यो? स्पष्टरूपमा, यो तैँले आफैले निर्धारण गरिस्, किनभने परमेश्वरले उहाँको काम पूरा भएपछि तँलाई नरकमा पठाइनेछ र तैँले स्वर्गको राज्यमा प्रवेश पाउनेछैनस् भनेर कहिल्यै भन्नुभएको छैन। परमेश्वरले तँलाई घृणा र इन्कार गर्नुहुन्छ भनेर नभनेसम्म तँसँग सत्यता पछ्याउने मौका र अधिकार हुन्छ, तैँले केवल परमेश्वरका वचनहरूको न्याय र सजाय स्विकार्नुपर्छ। तँमा यस प्रकारको मनोवृत्ति हुनैपर्छ किनभने यो सत्यता र परमेश्वरले दिनुहुने मुक्ति स्विकार्ने र साँचो पश्चात्ताप गर्ने मनोवृत्ति हो। तँ सधैँ आफ्नै धारणा, कल्पना र गलतफहमीहरूलाई पक्रिरहन्छस्; तँ पहिल्यै यी कुराहरूले भरिएको र तीद्वारा नियन्त्रित छस्, र तैँले परमेश्वरले तँलाई मुक्ति दिनुहुनेछैन भनेर निर्णयसमेत गरेर आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा लापरवाह र झारा टार्ने मानसिकता पनि अँगालिसकेको छस्—आफैलाई आशाहीन घोषित गर्ने मानसिकता, नकारात्मक र निष्क्रिय मानसिकता, दैनिक दिनचर्यामा जिउने मानसिकता, अल्छी मानसिकता। के तैँले सत्यता प्राप्त गर्न सक्छस् त? तैँले यस मानसिकतासाथ सत्यता प्राप्त गर्न सक्ने छैनस्, र तैँले मुक्ति पाउने छैनस्। के यस्तो व्यक्ति दयनीय हुँदैन? (हो, दयनीय हुन्छ।) के कुराले उसलाई यति दयनीय बनायो त? यो अज्ञानताको कारणले हो। केही आइपर्दा, तिनीहरू सत्यता खोज्दैनन्, बरु सधैँ अध्ययन र अनुमान गर्छन्, अनि परमेश्वरका वचनहरूमध्ये कुन चाहिँ आफ्नो परिस्थितिबारे बोलिएका थिए, परमेश्वरको मनोवृत्ति कस्तो छ, उहाँले कसरी फैसलाहरू गर्नुहुन्छ, र तिनीहरूको परिणाम के हुनेछ भनी हेर्न तिनलाई खोतल्न चाहन्छन्—र यसबाट त्यस मामलाको नतिजा के हुनेछ भनेर निर्धारण गर्छन्। के यो सत्यता खोजी गर्ने व्यवहार हो त? पक्कै होइन। तिनीहरू परमेश्वरका निन्दा गर्ने र श्राप दिने वचनहरूबारे सोचिरहन्छन्, नकारात्मकतामा जिइरहन्छन्—जुन कमजोर, नाजुक र निष्क्रिय हुनु हो जस्तो देखिन्छ, तर यो वास्तवमा एक प्रकारको प्रतिरोध हो। यो प्रतिरोध पछाडि कस्तो स्वभाव लुकेको हुन्छ? हठी स्वभाव। परमेश्वरको नजरमा, यस प्रकारको हठ एक किसिमको विद्रोहीपन हो र यसैलाई उहाँले सबभन्दा घृणा गर्नुहुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताको पछि लागेर मात्रै परमेश्‍वरको बारेमा रहेका आफ्‍ना धारणाहरू र गलत बुझाइहरूलाई समाधान गर्न सकिन्छ

के तिमीहरूलाई परमेश्‍वरले अन्ततः कस्ता मानिसहरूलाई त्याग्नुहुन्छ भनेर थाहा छ? (जो निरन्तर हठी हुन्छन् र परमेश्‍वरसामु पश्‍चात्ताप गर्दैनन्।) यस्ता प्रकारका मानिसहरूको खास स्थिति के हुन्छ? (तिनीहरू आफ्ना कर्तव्यहरू निभाउँदा सधैँ झाराटारुवा हुन्छन्, र समस्याहरू सामना गर्दा समाधान पत्ता लगाउन सत्यता खोज्दैनन्। तिनीहरू सत्यता अभ्यास कसरी गर्ने भनेर गम्भीर हुँदैनन्, र सबै कुरालाई लापरवाह रूपमा सम्हाल्छन्। तिनीहरू दुष्ट वा खराब काम नगरेर मात्र पनि सन्तुष्ट हुन्छन् र सत्यता पछ्याउँदैनन्) झाराटारुवा व्यवहार परिस्थितिमा निर्भर हुन्छ। केही मानिसहरू सत्यता नबुझेको कारण त्यसो गर्छन्, र तिनीहरू झाराटारुवा हुनु सामान्य हो भनेर पनि सोच्छन्। केही मानिसहरू जानाजानझाराटारुवा हुन्छन्, जानाजान यस्तो तरिकामा कार्य गर्न रोज्छन्। तिनीहरू सत्यता नबुझेको बेला यसरी व्यवहार गर्छन्, र बुझेपछि पनि आफ्नो व्यवहार सुधार्दैनन्। तिनीहरू सत्यता अभ्यास गर्दैनन्, अलिकति पनि परिवर्तित नभई निरन्तर यसरी नै कार्य गर्छन्। कसैले आलोचना गर्दा तिनीहरूले सुन्दैनन्, न काँटछाँट नै स्विकार्छन्। बरु, जिद्दी भई आफ्नो कुरामा अन्त्यसम्मै दृढ रहन्छन्। यसलाई के भनिन्छ? यसलाई हठीपन भनिन्छ। सबैलाई थाहा छ कि “हठीपन” एक नकारात्मक र अपमानजनक शब्द हो। यो राम्रो शब्द होइन। अनि, यदि कुनै व्यक्तिमा “हठीपन” शब्द लागू भयो भने, र ऊ त्यसको व्याख्यासँग मिल्यो भने, उसको परिणाम के हुनेछ, तिमीहरूलाई के लाग्छ? (ऊ परमेश्‍वरद्वारा तिरस्कृत र उपेक्षित हुन्छ।) म तिमीहरूलाई बताउन चाहन्छु, परमेश्‍वरले यसप्रकारका हठी मानिसहरूलाई नै सबैभन्दा बढी घृणा गर्नुहुन्छ र त्याग्न चाहनुहुन्छ। तिनीहरू आफ्ना गल्तीहरूबारे पूर्ण रूपमा सचेत हुन्छन् तर पश्‍चात्ताप गर्दैनन्, आफ्ना गल्तीहरू कहिल्यै स्विकार्दैनन् र सधैँ आफैलाई सही ठहर्‍याउन र दोष पन्छाउन बहाना र तर्कहरू बनाउँछन्, अरूको नजरबाट आफ्ना कार्यहरू लुकाउँदै, हृदयमा अलिकति पनि पश्‍चात्ताप वा पाप-स्वीकार नगरी, निरन्तर गल्तीहरू गर्दै, कुरा टार्न सहज र छली तरिकाहरू खोजिहिँड्छन्। यस्तो व्यक्ति निकै झन्झटिया हुन्छ, र उसलाई मुक्ति प्राप्त गर्न सजिलो हुँदैन। तिनीहरू ती मानिसहरू हुन् जसलाई परमेश्‍वर त्याग्न चाहनुहुन्छ। परमेश्‍वर त्यस्ता मानिसहरूलाई किन त्याग्नुहुन्छ? (किनभने तिनीहरूले सत्यता बिलकुलै स्विकार्दैनन्, र तिनीहरूको विवेक भावशून्य भएको हुन्छ।) त्यस्ता मानिसहरूलाई मुक्ति दिन सकिँदैन। परमेश्‍वरले यी ती मानिसहरूलाई मुक्ति दिनुहुन्न; उहाँ यस्तो बेकार काम गर्नुहुन्न। बाहिरबाट हेर्दा, परमेश्‍वरले नै तिनीहरूलाई मुक्ति दिनुहुन्न, र चाहनुहुन्न जस्तो देखिन्छ, तर वास्तवमा त्यहाँ एउटा व्यावहारिक कारण छ, र त्यो के हो भने, ती मानिसहरूले नै परमेश्‍वरको मुक्ति स्विकार्दैनन्; तिनीहरूले नै परमेश्‍वरको मुक्तिलाई अस्वीकार र प्रतिरोध गर्छन्। तिनीहरू सोच्छन्, “तपाईँप्रति समर्पित भएर, सत्यता स्विकारेर, र सत्यता अभ्यास गरेर मलाई के लाभ हुन्छ? यसमा के फाइदा छ? मेरो लागि केही फाइदा हुन्छ भने मात्र, म त्यसो गर्नेछु। यदि कुनै फाइदा हुँदैन भने, म गर्नेछैनँ।” ती कस्ता मानिसहरू हुन? तिनीहरू स्वार्थद्वारा सञ्‍चालित मानिसहरू हुन्, र सत्यतालाई प्रेम नगर्नेहरू सबका सब स्वार्थद्वारा सञ्‍चालित हुन्छन्। स्वार्थद्वारा सञ्‍चालित मानिसहरूले सत्यता स्विकार्न सक्दैनन्। यदि तैँले स्वार्थद्वारा सञ्‍चालित व्यक्तिसँग सत्यताबारे सङ्गति गर्ने प्रयास गर्छस्, र उसलाई आफूलाई चिन्न र आफ्नो गल्ती स्विकार्न आग्रह गर्छस् भने, उसले कस्तो प्रतिक्रिया दिनेछ? “आफ्ना गल्तीहरू स्विकारेर मलाई के फाइदा हुन्छ? यदि तिमी मलाई आफ्ना गल्ती र पापहरू स्विकार्न, अनि पश्‍चात्ताप गर्न लगाउँछौ भने, मैले के आशिष्‌ पाउनेछु? मेरो प्रतिष्ठा र हितहरूमा मात्र क्षति पुग्नेछ। मलाई घाटा हुनेछ। मलाई क्षतिपूर्ति कसले दिनेछ?” तिनीहरूको मानसिकता यस्तो हुन्छ। तिनीहरू व्यक्तिगत लाभ मात्र खोज्छन्, र परमेश्‍वरको आशिष् पाउन निश्‍चित तरिकामा व्यवहार गर्नुलाई अति अस्पष्ट मान्छन्। तिनीहरू यो सम्भव हुन्छ भनेर विश्‍वास नै गर्दैनन्; आफ्नो आँखाले देखेको कुरा मात्र विश्‍वास गर्छन्। त्यस्ता मानिसहरू स्वार्थद्वारा सञ्‍चालित हुन्छन् र तिनीहरू “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्ने शैतानी दर्शनअनुसार जिउँछन्। तिनीहरूको प्रकृति सार नै यही हो। तिनीहरूलाई हृदयमा लाग्छ कि परमेश्‍वरलाई र सत्यतालाई स्विकार्नु भनेकै परमेश्‍वरमा विश्‍वास गर्नु हो। दुष्टता नगर्नु भन्दा त्यो तिनीहरूलाई स्वीकार्य हुन्छ, तर फाइदाचाहिँ तिनीहरूलाई हुनैपर्छ र नोक्सानी हुनै हुँदैन। तिनीहरू आफ्नो हितमा असर नपुग्दा मात्र सत्यता अभ्यास र परमेश्‍वरप्रतिको समर्पणबारे केही बोल्छन्। तिनीहरूको हितमा क्षति पुग्यो भने, तिनीहरूले सत्यता अभ्यास गर्न वा परमेश्‍वरप्रति समर्पित हुन सक्दैनन्। तिनीहरूलाई परमेश्‍वरमा अर्पित हुन, परमेश्‍वरको लागि कष्ट भोग्न वा मूल्य चुकाउन आग्रह गर्नु त झनै असम्भव हुन्छ। त्यस्ता मानिसहरू साँचो विश्‍वासी होइनन्। तिनीहरू आफ्नै स्वार्थको लागि जिउँछन्, आशिष् र फाइदाहरू मात्र खोज्छन्, र कष्ट सहन वा मूल्य चुकाउन इच्छुक हुँदैनन्, तैपनि तिनीहरू अझै पनि मृत्युको दुष्परिणामबाट उम्कन परमेश्‍वरको घरमा स्थान पाउन चाहन्छन्। त्यस्ता मानिसहरूले अलिकति पनि सत्यता स्विकार्दैनन् र तिनीहरूले परमेश्‍वरबाट मुक्ति पाउन सक्दैनन्। के परमेश्‍वरले अझै पनि तिनीहरूलाई मुक्ति दिन सक्नुहुन्छ र? परमेश्‍वरले निश्‍चय नै तिनीहरूलाई तिरस्कार गर्नुहुनेछ र तिनीहरूलाई हटाइदिनुहुनेछ। के यसको मतलब परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुन्न भन्‍ने हो? तिनीहरू आफैले आफूलाई त्यागेका हुन्छन्। तिनीहरू सत्यता पछ्याउने, परमेश्‍वरलाई प्रार्थना गर्ने वा परमेश्‍वरमा भर पर्ने गर्दैनन्, त्यसैले परमेश्‍वरले तिनीहरूलाई कसरी मुक्ति दिन सक्नुहुन्छ? एउटै बाटो भनेको तिनीहरूलाई त्याग्नु र पन्छ्याउनु, अनि तिनीहरूलाई आत्मचिन्तन गर्न दिनु हो। यदि मानिसहरू मुक्ति पाउन चाहन्छन् भने, तिनीहरूको एउटै मार्ग भनेको सत्यता स्विकार्नु, आफूलाई चिन्नु, पश्‍चात्ताप अभ्यास गर्नु र सत्यता वास्तविकता जिउनु हो। यसरी तिनीहरूले परमेश्‍वरको स्वीकृति प्राप्त गर्न सक्छन्। तिनीहरूले सत्यता अभ्यास गर्नुपर्छ ताकि तिनीहरू परमेश्‍वरप्रति समर्पित हुन र उहाँको डर मान्न सक्षम होऊन्, र त्यही नै मुक्तिको अन्तिम उद्देश्य हो। मानिसहरूमा र तिनीहरूको जीवन जिउने तरिकामा परमेश्वरप्रतिको समर्पण र उहाँकोको डर समावेश हुनैपर्छ। यदि तँ सत्यता पछ्याउने बाटोमा हिँड्दैनस् भने, तैँले कुनै दोस्रो बाटो रोज्न सक्दैनस्। यदि व्यक्ति यो मार्गमा हिँड्दैन भने, यति मात्र भन्न सकिन्छ कि ऊ सत्यताले उसलाई मुक्ति दिन सक्छ भनेर विश्‍वास गर्दैन। ऊ परमेश्‍वरले बोल्नुभएका सबै वचनहरूले उसलाई रूपान्तरित गर्न र वास्तविक व्यक्ति बन्ने तुल्याउन सक्छ भनेर विश्‍वास गर्दैन। यसबाहेक, ऊ आधारभूत रूपमा परमेश्‍वर सत्य हुनुहुन्छ भनेर विश्‍वास गर्दैन, न त सत्यताले मानिसहरूलाई परिवर्तन गर्न र मुक्ति दिन सक्छ भन्ने तथ्यमै विश्‍वास गर्छ। तसर्थ, तैँले यसलाई जतिसुकै चिरफार गरे पनि, त्यस्तो व्यक्तिको हृदय अति नै हठी हुन्छ। उसले जेसुकै भए पनि सत्यता स्विकार्न मान्दैन, र उसलाई मुक्ति दिन सकिँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासमा सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँका वचनहरू अभ्यास र अनुभव गर्नु हो

के हठी मनोवृत्ति बदल्न कठिन छ? के त्यसो गर्ने मार्ग छ? सबैभन्दा सरल र प्रत्यक्ष तरिका भनेको परमेश्‍वरका वचनहरू र परमेश्‍वर स्‍वयम्‌प्रतिको तेरो मनोवृत्ति बदल्नु हो। तैँले यी कुराहरूलाई कसरी बदल्न सक्छस्? तेरो हठी मनोवृत्तिबाट आउने स्थिति र मानसिकता चिरफार गरी चिनेर, अनि तेरा कुन-कुन व्यवहार र शब्‍दहरू, तैँले पालेका कुन-कुन दृष्टिकोण र अभिप्रायहरू, र अझै किटेर भन्दा तैँले देखाएका कुन-कुन सोच र विचारहरू तेरो हठी स्वभावबाट आउँछन् भनी हेरेर। यी व्यवहार, प्रकटीकरण, र स्थितिहरूलाई एकएक गरी जाँच् र समाधान गर्, त्यसपछि तिनलाई परिवर्तन गर्—तैँले जाँचेर कुनै कुरा पत्ता लाउनेबित्तिकै, यसलाई तुरुन्तै परिवर्तन गरिहाल्। उदाहरणको लागि, हामीले भर्खरै आफ्‍नो रुचि र मुडअनुसार व्यवहार गर्नेबारेमा कुरा गरेका थियौँ, र त्यो लहडबाजी हो। लहडबाज स्वभावभित्र सत्यताप्रति प्रतिकूल बन्‍ने गुण लुकेको हुन्छ। यदि तँलाई आफू त्यस्तो भ्रष्ट स्वभाव भएको त्यस्तो व्यक्ति भएको महसुस हुन्छ, तर तँ यसलाई समाधान गर्न आफ्‍नो बारेमा मनन गर्ने वा सत्यता खोजी गर्ने गर्दैनस्, केवल जिद्दी भएर आफू ठीकै छु भनी सोच्छस् भने, तँ हठी छस्। यो प्रवचनपछि, सायद तैँले अचानक महसुस गर्छस् होला, “मैले यस्तो कुरा भनेको छु, र ममा त्यस्ता सोचहरू आएका छन्। मेरो यो स्वभाव सत्यताप्रति प्रतिकूल रहने स्वभाव रहेछ। त्यसो हुनाले, म त्यो स्वभाव समाधान गर्न लागिपर्नेछु।” अनि, यसलाई समाधान गर्न कसरी लागिपर्नुपर्छ? यो कुरा आफ्‍नो श्रेष्ठताको सोच अनि लहडबाज र स्वेच्छाचारी व्यवहार त्यागेर सुरु गर्; तँ राम्रो मुडमा भए नि खराब मुडमा भए नि, परमेश्‍वरका मापदण्डहरू के हुन्, त्यसलाई हेर्। यदि तैँले देहविरुद्ध विद्रोह गर्दै परमेश्‍वरको मापदण्डअनुसार अभ्यास गर्न सक्छस् भने, उहाँले तँलाई कसरी हेर्नुहुनेछ? यदि तैँले साँच्‍चै यी भ्रष्ट व्यवहार समाधान गर्न थाल्न सक्छस् भने, यो तैँले परमेश्‍वरको काममा सकारात्मक र सक्रिय रूपमा सहकार्य गरिरहेको छस् भन्‍ने कुराको सङ्केत हो। तैँले सत्यताप्रति प्रतिकूल रहने त्यस स्वभावविरुद्ध सचेत रूपमा विद्रोह गरिरहेको र त्यसलाई समाधान गरिरहेको हुनेछस्, र यसको साथै, तैँले आफ्‍नो हठी स्वभाव पनि समाधान गरिरहेको हुनेछस्। जब तैँले यी दुवै भ्रष्ट स्वभाव समाधान गरेको हुन्छस्, तब तैँले परमेश्‍वरप्रति समर्पित हुन र उहाँलाई सन्तुष्ट पार्न सक्‍नेछस्, र यसले उहाँलाई प्रसन्‍न तुल्याउनेछ।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता पछ्याउनु भनेको के हो (१)

हठीपन भ्रष्ट स्वभावको समस्या हो; यो व्यक्तिको प्रकृतिमा हुने कुरा हो, र यो समाधान गर्न सजिलो छैन। जब कुनै व्यक्तिमा हठी स्वभाव हुन्छ, यो मुख्य रूपमा आफूलाई सही साबित गर्ने र मिथ्या तर्क गर्ने, आफ्‍नै विचारहरूमा लागिरहने, र सहजै नयाँ कुरा नस्विकार्ने प्रवृत्तिको रूपमा प्रकट हुन्छ। कहिलेकाहीँ मान्छेलाई आफ्ना विचारहरू गलत छन् भन्‍ने थाहा हुन्छ, तैपनि आफ्‍नै अभिमान र घमण्डले गर्दा तिनीहरू त्यसैमा लागिरहन्छन् र अन्त्यसम्‍मै ढिपी गर्छन्। व्यक्तिलाई थाहा भएर पनि त्यस्तो हठी स्वभाव परिवर्तन गर्न गाह्रो हुन्छ। हठीपनको समस्या समाधान गर्न, व्यक्तिलाई मानिसको अहङ्कार, छल, द्वेष, सत्यताप्रतिको प्रतिकूलता, र त्यस्ता अन्य स्वभावहरूबारे थाहा हुनुपर्छ। जब मान्छेले आफ्‍नो अहङ्कार, छल, र द्वेष चिन्छन्, अनि तिनीहरू सत्यताप्रति प्रतिकूल छन्, र सत्यता अभ्यास गर्न चाहे पनि देहविरुद्ध विद्रोह गर्न अनिच्‍छुक हुने, र परमेश्‍वरप्रति समर्पित हुन चाहे पनि बहाना बनाउँदै आफ्‍नो कठिनाइहरू बताइरहने खालका छन् भनी जान्दछन्, तब तिनीहरूलाई आफूमा हठीपनको समस्या छ भनेर थाहा पाउन सहज हुन्छ। यो समस्या समाधान गर्न, सर्वप्रथम व्यक्तिमा सामान्य मानव समझ हुनुपर्छ अनि उसले परमेश्‍वरका वचनहरू सुन्‍न सिक्दै काम सुरु गर्नुपर्छ। यदि तँ परमेश्‍वरको भेडा बन्‍न चाहन्छस् भने, उहाँका वचनहरू सुन्‍न सिक्‍नुपर्छ। अनि तैँले ती कसरी सुन्‍नुपर्छ? परमेश्‍वरले आफ्‍ना वचनहरूमा खुलासा गर्नुभएका र तेरो लागि सान्दर्भिक रहेका कुनै पनि समस्याहरूबारे सुनेर। कुनै समस्या भेटिस् भने, तैँले त्यो स्विकार्नुपर्छ; तैँले यो अरू मानिसहरूमा भएको समस्या हो, यो सबैको समस्या हो, वा मानवताको समस्या हो, र तँसँग यसको कुनै सम्‍बन्ध छैन भनेर विश्‍वास गर्नु हुँदैन। तैँले त्यस्तो विश्‍वास गर्नु गलत हुन्छ। परमेश्‍वरका वचनहरूको प्रकाशद्वारा तैँले तँमा परमेश्‍वरले खुलासा गरिरहनुभएको भ्रष्ट स्थिति वा विकृत दृष्टिकोण पो छ कि भनेर मनन गर्नुपर्छ। उदाहरणको लागि, जब तैँले परमेश्‍वरका वचनहरूले कसैको अहङ्कारी स्वभावको प्रकटीकरणबारे खुलासा गरेको सुन्छस्, तब तैँले यस्तो सोच्‍नुपर्छ: “के ममा अहङ्कारको प्रकटीकरण देखिन्छ? म भ्रष्ट मानव हुँ, त्यसकारण ममा यीमध्ये केही प्रकटीकरणहरू पक्‍कै देखिन्छन् होला; ममा कहाँ त्यस्तो कुरा देखिन्छ मैले त्यो मनन गर्नुपर्छ। मानिसहरूले मलाई अहङ्कारी, ठूलो र ठालु व्यवहार गर्ने, बोल्दा अरूलाई बन्धनमा पार्ने भनेर भन्छन्। के त्यो साँच्‍चै मेरो स्वभाव हो?” मनन गरेर अन्ततः तैँले परमेश्‍वरका वचनहरूको प्रकाश पूर्ण रूपमा सही छ—तँ अहङ्कारी व्यक्ति होस् भन्‍ने कुरा महसुस गर्नेछस्। अनि परमेश्‍वरका वचनहरूको प्रकाश पूर्ण रूपमा सही भएकोले, यो अलिकति पनि तलमाथि नभई तेरो परिस्थितिसँग पूर्ण रूपमा मिल्‍ने, र थप मनन गर्दा अझै सटीक देखिने हुनाले, तैँले उहाँका वचनहरूको न्याय र सजाय स्विकार्नुपर्छ, र त्यही आधारमा तेरो भ्रष्ट स्वभावको सार पत्ता लगाउनु र चिन्‍नुपर्छ। त्यसपछि तैँले साँचो पछुतो अनुभव गर्न सक्‍नेछस्। परमेश्‍वरमा विश्‍वास गर्दा, यसरी उहाँका वचनहरू खाएर-पिएर मात्रै तैँले आफूलाई चिन्‍न सक्छस्। आफ्‍ना भ्रष्ट स्वभावहरू समाधान गर्नको लागि, तैँले परमेश्‍वरका वचनहरूको न्याय र खुलासा स्विकार्नैपर्छ। त्यसो गर्न सक्दैनस् भने, तैँले तेरो भ्रष्ट स्वभाव त्याग्‍ने कुनै उपाय हुँदैन। यदि तँ परमेश्‍वरका वचनहरूको प्रकाश प्राय सटीक हुन्छ भनी बुझेको बाठो व्यक्ति होस् भने, वा यो आधा सही हो भनेर स्विकार्न सक्छस् भने, तैँले तुरुन्तै यसलाई स्विकारेर परमेश्‍वरमा समर्पित हुनुपर्छ। तैँले उहाँलाई प्रार्थना गरेर आफ्‍नो बारेमा मनन पनि गर्नुपर्छ। त्यसपछि मात्रै तैँले परमेश्‍वरका वचनहरूको सबै प्रकाश सटीक छन्, ती सबै तथ्य हुन्, र तथ्यबाहेक केही होइनन् भन्‍ने कुरा बुझ्‍नेछस्। परमेश्‍वरको भय मान्‍ने हृदयसहित उहाँमा समर्पित भएर मात्रै मानिसहरूले आफ्‍नो बारेमा साँचो रूपमा मनन गर्न सक्छन्। त्यसपछि मात्रै तिनीहरूले आफूमा भएका विभिन्‍न भ्रष्ट स्वभावहरू देख्‍न, र तिनीहरू साँच्‍चै नै अहङ्कारी र आत्मधर्मी छन् र तिनीहरूमा अलिकति पनि चेतना छैन भन्‍ने कुरा देख्‍न सक्‍नेछन्। यदि कोही सत्यतालाई प्रेम गर्ने व्यक्ति हो भने, ऊ परमेश्‍वरको अघि लम्पसार पर्न, उहाँसामु ऊ गहन रूपमा भ्रष्ट भएको छ भन्‍ने कुरा स्विकार्न, र उहाँको न्याय र सजाय स्विकार्ने इच्छा जाहेर गर्न सक्‍नेछ। यसरी, तिनीहरूले प्रायश्‍चित गर्ने हृदय विकास गर्न, आफूलाई इन्कार्न र घृणा गर्न थाल्‍न, र पहिले सत्यता नपछ्याकोमा पछुतो गर्दै यस्तो सोच्‍न सक्छन्, “मैले परमेश्‍वरका वचनहरू पढ्न सुरु गर्दा, किन ती वचनहरूको न्याय र सजाय स्विकार्न सकिनँ? उहाँका वचनहरूप्रति मैले राखेको यो मनोवृत्ति अहङ्कारी रहेछ, होइन र? म कसरी यति अहङ्कारी हुन सकेँ?” केही समयसम्‍म यसरी बारम्‍बार आत्मचिन्तन गरिसकेपछि, तिनीहरूले आफू साँच्‍चै अहङ्कारी रहेको, परमेश्‍वरका वचनहरू सत्यता र तथ्यहरू हुन् भन्‍ने कुरा स्विकार्न पूर्णं सक्षम नरहेको, र आफूमा साँच्‍चै अलिकति पनि समझशक्ति नभएको कुरा पहिचान गर्नेछन्। तर आफूलाई चिन्‍नु गाह्रो कुरा हो। व्यक्तिले जब मनन गर्छ, तब हरेकपटक नै उसले आफ्‍नो बारेमा अलिक बढी र अलिक गहन ज्ञान मात्रै पाउन सक्छ। भ्रष्ट स्वभावको स्पष्ट ज्ञान प्राप्त गर्ने काम छोटो समयमा हासिल गर्न सकिने कुरा होइन; यसको लागि अझै बढी परमेश्‍वरका वचनहरू पढ्नुपर्छ, अझै बढी प्रार्थना गर्नुपर्छ, र आफ्‍नो बारेमा अझै बढी मनन गर्नुपर्छ। त्यसरी मात्रै तिनीहरूले क्रमिक रूपमा आफूलाई चिन्‍न सक्छन्। आफूलाई साँचो रूपमा चिन्‍नेहरू सबै नै विगतमा केही पटक असफल भएका र लडेका हुन्, र त्यो अनुभवपछि तिनीहरूले परमेश्‍वरका वचनहरू पढेर, उहाँलाई प्रार्थना गरेर, अनि आफ्‍नो बारेमा मनन गरेर आफ्नो भ्रष्टताको सत्यता स्पष्ट रूपमा देखेका, र आफू साँच्‍चै गहन रूपमा भ्रष्ट, र सत्यता वास्तविकतारहित रहेको अनुभव गरेका हुन्छन्। यदि तैँले यसरी परमेश्‍वरको काम अनुभव गरेको छस्, र तेरो जीवनमा केही कुरा आइपर्दा उहाँलाई प्रार्थना गर्न र सत्यता खोजी गर्न सक्छस् भने, तैँले क्रमिक रूपमा आफूलाई चिन्‍न सक्‍नेछस्। त्यसपछि एक दिन, अन्ततः तेरो हृदयमा स्पष्टता आउनेछ: “सायद ममा अरूको भन्दा राम्रो क्षमता हुन सक्छ, तर यो परमेश्‍वरले नै मलाई दिनुभएको हो। म सधैँ धाक लडाइरहेको हुन्छु, बोल्दा अरूलाई जित्‍ने प्रयास गरिरहेको, र मानिसहरूलाई मेरै तरिकामा काम गर्न लगाउन खोजिरहेको हुन्छु। ममा साँच्‍चै समझको कमी छ—यो अहङ्कार र आत्मधार्मिकता हो! मनन गरेर, मैले आफ्नो अहङ्कारी स्वभावबारे थाहा पाएको छु। यो परमेश्‍वरको अन्तर्दृष्टि र अनुग्रहले गर्दा हो, र म यसको लागि उहाँलाई धन्यवाद टक्र्याउँछु!” आफ्नो भ्रष्ट स्वभावबारे थाहा पाउन सक्‍नु राम्रो कुरा हो कि खराब कुरा हो? (राम्रो कुरा।) त्यहाँबाट, तैँले कसरी समझ र आज्ञापालनको साथ बोल्‍ने र व्यवहार गर्ने, अरूसँग एउटै स्तरमा खडा हुने, अरूलाई बन्धनमा नपारी कसरी उचित रूपमा व्यवहार गर्ने, आफ्‍नो क्षमता, वरदान, सबलता, आदि इत्यादि कुरालाई कसरी सही रूपमा लिने भन्‍ने कुरा खोजी गर्नुपर्छ। यो तरिकाले घनको एकपछि अर्को प्रहारद्वारा पहाड धूलोमा परिणत भएझैँ तेरो अहङ्कारी स्वभाव समाधान हुनेछ। त्यसपछि, जब तैँले अरूसँग सहकार्य गर्छस् वा आफ्‍नो कर्तव्य पूरा गर्न तिनीहरूसँग काम गर्छस्, तब तिनीहरूको दृष्टिकोणलाई सही रूपमा लिएर तैँले तिनीहरूको कुरा सुन्दा ध्यान दिएर नजिकबाट सुन्‍न सक्‍नेछस्। अनि जब तैँले तिनीहरूले सही दृष्टिकोण व्यक्त गरेको सुन्छस्, तब यो कुरा पत्ता लगाउनेछस्, “मेरो क्षमता सर्वोत्कृष्ट रहेनछ। वास्तवमा हरेकको आ-आफ्‍नै सबल पक्ष हुन्छ; तिनीहरू मभन्दा कम योग्य छैनन्। पहिले त म सधैँ मेरो क्षमता अरूको भन्दा राम्रो छ भन्‍ने सोच्थेँ। त्यो त आत्म-प्रशंसा र सङ्कीर्ण सोचको अज्ञानता रहेछ। म कुवाको फेदमा रुमल्लिने भ्यागुतोजस्तै सानो सोच भएको व्यक्ति रहेछु। त्यस्तो सोच्‍नु साँच्‍चै समझहीन कार्य थियो—त्यो लाजमर्दो कुरा थियो! अहङ्कारी स्वभावले मलाई अन्धो र बहिरो तुल्याएको रहेछ। अरूका शब्‍दहरू म स्विकार्दिनथेँ, र म अरूभन्दा उत्तम छु, म सही छु भन्‍ने सोच्थेँ, तर वास्तवमा म तिनीहरू कोहीभन्दा पनि असल रहेनछु!” त्यहाँदेखि, तँलाई तेरा कमीहरू र तेरो सानो कदको बारेमा साँचो अन्तर्ज्ञान प्राप्त हुनेछ। अनि त्यसपछि, जब तैँले अरूसँग सङ्गति गर्छस्, तब तैँले ध्यान दिएर तिनीहरूका दृष्टिकोण सुन्छस्, र तँलाई यस्तो महसुस हुनेछ, “मभन्दा उत्तम मानिसहरू कैयौँ छन्। मेरो सामर्थ्य र बोधक्षमता दुवै बढीमा औषत मात्रै रहेछन्।” यो महसुस गरेपछि, के तैँले थोरै आत्मसचेतना प्राप्त गरेको हुँदैनस् र? यस्तो अनुभव गरेर, अनि परमेश्‍वरका वचनहरूअनुसार आफ्‍नो बारेमा बारम्‍बार मनन गरेर, तैँले सदा गहन हुँदै जाने साँचो आत्मज्ञान प्राप्त गर्न सक्‍नेछस्। तैँले आफ्‍नो भ्रष्टताको सत्यता, तेरो विपन्‍नता र नीचता, र तेरो खेदलाग्दो कुरूपता देख्‍न सक्‍नेछस्, र त्यस बेला, तैँले आफैप्रति प्रतिकूलता महसुस गर्नेछस् र आफ्‍नो भ्रष्ट स्वभावप्रति घृणा लाग्‍नेछ। त्यसपछि आफैविरुद्ध विद्रोह गर्न तँलाई सहज हुनेछ। परमेश्‍वरको काम यसरी अनुभव गरिन्छ। तैँले परमेश्‍वरका वचनहरूअनुसार आफ्‍नो भ्रष्टताका प्रकटीकरणहरूबारे मनन गर्नुपर्छ। खास गरी, कुनै पनि प्रकारको परिस्थितिमा भ्रष्ट स्वभाव प्रकट गरेपछि, तैँले बारम्‍बार आफ्‍नो बारेमा मनन गरेर आफूलाई चिन्‍नुपर्छ। त्यसपछि तँलाई तेरो भ्रष्ट सार स्पष्ट देख्‍न सहज हुनेछ, र तैँले आफ्‍नो भ्रष्टता, देह र शैतानलाई हृदयबाटै घृणा गर्न सक्‍नेछस्। अनि हृदयदेखि नै तैँले सत्यतालाई प्रेम गर्न र यसमा लागिपर्न सक्‍नेछस्। यसरी, तेरो अहङ्कारी स्वभाव घट्दै जानेछ, र क्रमिक रूपमा, तँ यसबाट मुक्त हुँदै जानेछस्। तैँले झन्झन् बढी समझ प्राप्त गर्नेछस्, र परमेश्‍वरमा समर्पित हुन तँलाई अझ सहज हुनेछ। अरूको नजरमा, तँ पहिलेभन्दा अझै स्थिर र दह्रिलो लाग्‍नेछस्, र तँ अझ बढी वस्तुगत रूपमा बोल्नेजस्तो देखिनेछस्। तँ अरूले भनेको कुरा सुन्‍न सक्‍ने हुनेछस्, र तैँले तिनीहरूलाई बोल्‍ने समय दिनेछस्। अरूले सही कुरा बोल्दा, तिनीहरूको कुरा स्विकार्न तँलाई सहज हुनेछ, र मानिसहरूसँगका तेरा अन्तरक्रियाहरू त्यति थकाइलाग्दा हुनेछैनन्। तैँले जोसुकैसँग पनि मिलेर सहकार्य गर्न सक्‍नेछस्। यदि तैँले यसरी आफ्‍नो कर्तव्य निभाउँछस् भने, के तँमा समझ र मानवता हुनेछैन र? यस प्रकारको भ्रष्ट स्वभाव समाधान गर्ने तरिका यही हो।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा – १। सत्यता पछ्याउनु भनेको के हो (१)

उदाहरणको लागि, हठी स्वभावलाई लिऊँ: सुरुमा, तेरो स्वभावमा कुनै परिवर्तन आएको नहुँदा, तैँले सत्यता बुझेको थिइनस्, र तँलाई आफूमा हठी स्वभाव छ भन्‍ने पनि थाहा थिएन, र सत्यता सुन्दा, तँ मनमनै सोच्थिस्, “सत्यताले कसरी सधैँ मानिसहरूको घाउ उदाङ्गो पार्न सक्छ?” यो सुनेपछि, तँलाई परमेश्‍वरका वचनहरू सही छन् भन्‍ने लाग्यो, तर एकदुई वर्षपछि, तैँले तीमध्ये कुनैलाई पनि हृदयमा राखिनस्, तीमध्ये कुनैलाई पनि स्विकारिनस् भने, यो हठीपन हो, होइन र? यदि दुईतीन वर्षपछि पनि तैँले स्वीकार गरिनस् भने, यदि तँभित्रको स्थितिमा कुनै परिवर्तन आएन भने, र तँ आफ्‍नो कर्तव्य निर्वाहमा पछि परेको नभए पनि, र तैँले धेरै कष्ट भोगेको भए पनि, तेरो हठी स्थिति पटक्‍कै परिवर्तन भएको हुँदैन भने, वा त्यो कति पनि मत्थर भएको हुँदैन भने, के तेरो स्वभावको यो पक्षमा कुनै परिवर्तन आएको हुन्छ त? (हुँदैन।) त्यसोभए तँ किन दौडधूप गर्दै काम गरिरहेको छस्? तैँले त्यसो गर्नुको कारण जे भए पनि, तैँले अन्धाधुन्ध रूपमा दौडधूप गर्दै काम गरिरहेको छस्, किनभने तैँले यति दौडधूप र यति काम गरेको छस्, तैपनि तेरो स्वभावमा कति पनि परिवर्तन आएको छैन। अनि एकदिन तैँले अचानक मनमनै यस्तो सोच्‍नेछस्, “म कसरी गवाहीको एक शब्‍द पनि बोल्‍न सक्दिनँ? मेरो जीवन स्वभाव पनि बिलकुलै परिवर्तन भएको छैन।” त्यो बेला यो समस्या कति गम्‍भीर रहेछ भन्‍ने कुरा तँलाई महसुस हुनेछ, र तैँले मनमनै यस्तो सोच्नेछस्, “म साँच्‍चै विद्रोही र हठी रहेछु! म सत्यता खोजी गर्ने व्यक्ति होइन रहेछु! मैले आफ्‍नो हृदयमा परमेश्‍वरको निम्ति कुनै ठाउँ राखेनछु! यसलाई कसरी परमेश्‍वरमा विश्‍वास गरेको भनेर भन्‍न मिल्छ र? मैले परमेश्‍वरमा विश्‍वास गरेको वर्षौँ भयो र पनि म अझै मान्छेको स्वरूपमा जिउँदिनँ, न त मेरो हृदय नै परमेश्‍वरको नजिक छ। मैले परमेश्‍वरका वचनहरूलाई पनि हृदयमा राखेको छैनँ; न त मैले कुनै गलत काम गर्दा ममा आत्मधिक्‍कार वा पश्‍चात्ताप गर्ने इच्छा नै हुन्छ—के यो हठीपन होइन र? के म विद्रोह पुत्र होइन र?” तँ बेचैन हुन्छस्। अनि तँ बेचैन हुनुको अर्थ के हो? यसको अर्थ तँ पश्‍चात्ताप गर्न चाहन्छस्। तँलाई आफ्‍नो हठीपन र विद्रोहीपनबारे थाहा हुन्छ। अनि यसपटक, तेरो स्वभाव परिवर्तन हुन थाल्छ। थाहै नपाई, तँ आफ्‍नो विवेकमा रहेका केही निश्‍चित विचार र इच्‍छाहरू परिवर्तन गर्न चाहन्छस्, र तँ परमेश्‍वरसँग गतिरोधको स्थितिमा हुन छोड्नेछस्। तँलाई परमेश्‍वरसँगको आफ्‍नो सम्‍बन्ध सुधार्न, अब हठी हुन छोड्न, आफ्‍नो दैनिक जीवनमा परमेश्‍वरका वचनहरू अभ्यास गर्न सक्‍ने बन्‍न, तिनलाई सत्यता सिद्धान्तहरूको रूपमा अभ्यास गर्न मन लाग्‍न थाल्छ—तँमा यो सचेतना हुन्छ। तँ यी कुराहरूप्रति सचेत हुनु राम्रो कुरा हो, तर के यसको अर्थ तँ तुरुन्तै परिवर्तन हुन सक्‍नेछस् भन्‍ने हुन्छ त? (हुँदैन।) तँ धेरै वर्षको अनुभव हुँदै जानुपर्छ, र त्यस अवधिमा तैँले हृदयमा झन्झन् स्पष्ट सचेतना प्राप्त गर्दै जानेछस् र तँसँग शक्तिशाली खाँचो हुनेछ, र तैँले हृदयमा यस्तो सोच्‍नेछस्, “यो ठीक होइन—मैले समय खेर फाल्‍न छोड्नुपर्छ। मैले सत्यता खोजी गर्नैपर्छ, र मैले केही उचित कार्य गर्नुपर्छ। विगतमा, मैले आफ्‍ना उचित कर्तव्यहरू बेवास्ता गर्दै आएँ, खानेकुरा र लुगाफाटाबारे मात्रै सोचिरहेँ, र ख्याति र लाभको पछि लागिरहेँ। परिणामस्वरूप, मैले कुनै सत्यता प्राप्त गरिनँ। मलाई यो कुराको पछुतो लाग्छ र मैले पश्‍चात्ताप गर्नैपर्छ!” यो बेला, तँ परमेश्‍वरमाथिको विश्‍वासको सही मार्ग हिँड्न सुरु गर्छस्। जब मानिसहरूले सत्यता अभ्यास गर्न थालेका हुन्छन्, तब के यसले तिनीहरूलाई स्वभाव परिवर्तनको अझ एक कदम नजिक लैजाँदैन र? तैँले परमेश्‍वरमा विश्‍वास गरेको जति लामो समय भए पनि, यदि तँ आफ्‍नो धमिलोपन महसुस गर्न सक्छस् भने—यदि तँलाई आफू सधैँ यताउता बहकिँदै हिँडेको, र धेरै वर्ष यसरी बहकिँदै हिँडेपछि पनि आफूले केही नसिकेको, र आफू अझै पनि खोक्रै रहेको महसुस हुन्छ भने—अनि यदि यसले तँलाई असहज महसुस गराउँछ, र तैँले आफ्‍नो बारेमा मनन गर्न थाल्छस्, र सत्यता नपछ्याउनु भनेको समय बरबाद गर्नु हो भन्‍ने महसुस गर्छस् भने, त्यस्तो बेला तँलाई परमेश्‍वरले दिनुहुने अर्तीका वचनहरू त मान्छेप्रतिको उहाँको प्रेम हो रहेछ भन्‍ने महसुस हुनेछ, र तैँले परमेश्‍वरका वचनहरू नसुनेकोमा र विवेक र समझ गुमाएकोमा आफूले आफैलाई घृणा गर्नेछस्। तँलाई पछुतो हुनेछ, र त्यसपछि तैँले अब नयाँ र फरक रूपमा व्यवहार गर्ने, र साँचो रूपमा परमेश्‍वरको अघि जिउने इच्छा गर्नेछस्, अनि तैँले मनमनै यसो भन्‍नेछस्, “म अबदेखि परमेश्‍वरलाई चोट दिनेछैनँ। परमेश्‍वरले धेरै वचनहरू बोल्‍नुभएको छ, र हरेक वचन मान्छेको फाइदाको लागि, र मान्छेलाई सही मार्ग देखाउनको लागि बोलिएको छ। परमेश्‍वर कति प्रेमिलो हुनुहुन्छ, र मान्छेको प्रेमको कति लायक हुनुहुन्छ!” यो मानिसहरूको रूपान्तरणको सुरुवात हो। यसरी कुरा बुझ्‍नु एकदमै राम्रो कुरा हो! तँ अत्यन्तै भावशून्य रहेर यी कुराहरूसमेत जान्दैनस् भने, तँ समस्यामा हुन्छस्, होइन र? आज मानिसहरूले के महसुस गर्छन् भने, परमेश्‍वरमाथिको विश्‍वासको मुख्य कुरा परमेश्‍वरका वचनहरू पढ्नु हो, र सत्यता बुझ्‍नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र सत्यता बुझ्‍नु र आफूलाई चिन्‍नु पनि उत्तिकै महत्त्वपूर्ण कुरा हो, र सत्यता अभ्यास गर्न र सत्यतालाई आफ्‍नो वास्तविकता बनाउन सक्‍नु मात्रै परमेश्‍वरमाथिको विश्‍वासको सही मार्ग प्रवेश गर्नु हो। त्यसोभए हृदयमा यो कुरा स्विकार्न र महसुस गर्नको लागि तिमीहरूलाई कति वर्षको अनुभव चाहिन्छ जस्तो लाग्छ? जो मानिसहरू चतुर, अन्तर्ज्ञानपूर्ण, र परमेश्‍वरप्रति दह्रिलो इच्छा भएका छन्—त्यस्ता मानिसहरूले एकदुई वर्षमा आफूलाई परिवर्तन गरेर प्रवेश पाउन थाल्‍न सक्छन्। तर भ्रमित, भावशून्य, मन्दबुद्धिवाल, र अन्तर्ज्ञान नभएका मानिसहरूले तीनदेखि पाँच वर्ष स्तब्धतामै बिताउँछन्, र तिनीहरूले केही पनि प्राप्त नगरको कुरा तिनीहरू आफैलाई थाहा हुँदैन। यदि तिनीहरूले उत्साहसाथ आफ्‍नो कर्तव्य पूरा गरे भने, तिनीहरूले स्तब्धतामै दश वर्षभन्दा बढी समय बिताउन सक्छन् तर कुनै खास उपलब्धि गर्न वा आफ्‍नो अनुभव गवाही बोल्‍न सक्दैनन्। तिनीहरूलाई धपाइएपछि वा निकालिएपछि मात्रै तिनीहरू बल्‍ल बिउँझन्छन् र मनमनै यस्तो सोच्छन्, “मसँग साँच्‍चै कुनै सत्यता वास्तविकता छैन रहेछ। म साँच्‍चै सत्यता खोजी गर्ने व्यक्ति भएको रहेनछु!” के यस बेलासम्‍म तिनीहरूको बिउँझाइ अलिक ढिलो भइसकेको हुँदैन र? कतिपय मानिसहरू परमेश्‍वर आउने दिनको अटुट प्रतीक्षा गरिरहेका हुन्छन्, तर बिलकुलै सत्यता नपछ्याई स्तब्धपूर्ण अवस्थामै जिइरहन्छन्। परिणामस्वरूप, कुनै उपलब्धि नगरीकनै वा तिनीहरू कुनै गवाही बाँड्न सक्‍ने नभईकनै दश वर्षभन्दा बढी समय बितेर जान्छ। तिनीहरूलाई कठोरतासाथ काटछाँट गरिएपछि, र चेतावनी दिइसकेपछि मात्रै, तिनीहरूलाई परमेश्‍वरका वचनहरूले आफ्‍नो हृदय छेडेको महसुस हुन्छ। तिनीहरूको हृदय कति हठी हुन्छ! के तिनीहरूलाई काटछाँट नगरिनु र दण्ड नदिइनु ठीक हुन्छ? के तिनीहरूलाई गम्‍भीर रूपमा अनुशासनमा नराख्‍नु ठीक हुन्छ? तिनीहरूलाई सचेत र प्रतिक्रिया दिने बनाउन के गरिनुपर्छ? सत्यता नपछ्याउनेहरूले लास राख्‍ने बाकस नदेखेसम्‍म आँसु झार्दैनन्। धेरै पैशाचिक र दुष्ट कुराहरू गरिसकेपछि मात्रै तिनीहरूले चेत महसुस गर्छन्, र तिनीहरूले मनमनै यसो भन्छन्, “के परमेश्‍वरमाथिको मेरो विश्‍वास समाप्त भएको हो? के परमेश्‍वरले अबदेखि मलाई चाहन छोड्नुभएको हो? के मलाई दोषी ठहराइएको हो?” तिनीहरूले मनन गर्न थाल्छन्। जब तिनीहरू नकारात्मक हुन्छन्, तब तिनीहरूलाई परमेश्‍वरमाथि विश्‍वास गरेका यतिका वर्ष व्यर्थ भए भन्‍ने महसुस हुन्छ, र तिनीहरू आक्रोशले भरिन्छन्, र आफ्नो कुनै आशा छैन भनी हरेस खान बाध्य हुन्छन्। तर जब तिनीहरूको होस खुल्छ, तिनीहरूले महसुस गर्छन् “के मैले आफैलाई चोट दिइरहेको छैन र? म आफ्‍नो खुट्टामा उभिनैपर्छ। मैले सत्यतालाई प्रेम गर्दिनँ भनेर मलाई भनिएको छ। मलाई किन यसो भनियो? मैले कसरी सत्यतालाई प्रेम गर्दिनँ? अहँ हुँदैन! मैले सत्यतालाई प्रेम नगर्ने मात्र होइन, आफूले बुझेका सत्यताहरू पनि अभ्यास गर्न सक्दिनँ। यो सत्यताप्रति प्रतिकूल रहने स्वभावको प्रकटीकरण हो!” यो सोचेर, तिनीहरू अलिक पछुतो मान्छन्, र अलिक डराउँछन् पनि: “यदि म यसरी नै अघि बढिरहेँ भने, म पक्‍कै पनि दण्डित हुनेछु। हुँदैन, मैले तुरुन्तै पश्‍चात्ताप गर्नुपर्छ—परमेश्‍वरको स्वभावलाई चिढ्याउनु हुँदैन।” यो बेला, के तिनीहरूको हठीपन घटेको हुन्छ? तिनीहरूको हृदयमा सियोले घोचेजस्तै हुन्छ; तिनीहरूले केही महसुस गर्छन्। अनि जब तँलाई यस्तो महसुस हुन्छ, तब तेरो हृदयमा हलचल मच्‍चिन्छ, र तैँले सत्यतामा चासो राख्‍न थाल्छस्। अनि, तँमा किन यो चासो हुन्छ? किनभने तँलाई सत्यताको खाँचो पर्छ। सत्यताविना, जब तँलाई काटछाँट गरिन्छ, तँ त्यसमा समर्पित हुन वा सत्यता स्विकार्न सक्दैनस्, र जाँचमा पर्दा तँ दृढ हुन सक्दैनस्। यस्तोमा तँ अगुवा बनिस् भने, के तँ झूटो अगुवा हुनबाट र ख्रीष्टविरोधी मार्ग हिँड्नबाट जोगिन सक्छस् र? सक्दैनस्। के तैँले हैसियत पाउने र अरूको प्रशंसा पाउने इच्छाबाट पार पाउन सक्छस्? के तँलाई जुन परिस्थितिहरूमा राखिएको छ र जुन जाँचहरू दिएको छ, तिनलाई जित्‍न सक्छस्? तैँले आफूलाई अत्यन्तै राम्ररी चिनेको र बुझेको छस्, र तैँले यसो भन्‍नेछस्, “यदि मैले सत्यता बुझिनँ भने, यो सबबाट पार पाउन सक्दिनँ—म त फोहोर हुँ, मैले केही गर्न सक्दिनँ।” यो कस्तो किसिमको मानसिकता हो? यो सत्यताको खाँचो पर्नु हो। जब तँ खाँचोमा हुन्छस्, जब तँ सबैभन्दा लाचार हुन्छस्, तब तँ सत्यतामा मात्रै भरोसा गर्न चाहन्छस्। अनि तँलाई अरू कसैमा पनि भर पर्न सकिँदैन, सत्यतामा भर परेर मात्रै आफ्‍ना समस्याहरू समाधान गर्न, काटछाँट, जाँच र परीक्षाहरू छिचोल्न, र कुनै पनि परिस्थितिबाट पार पाउन सकिन्छ भन्‍ने महसुस हुनेछ। अनि तैँले सत्यतामा जति धेरै भरोसा गर्छस्, त्यति नै धेरै तँलाई सत्यता असल, उपयोगी, र तेरो लागि सबैभन्दा मदतगार छ, र यसले तेरा सबै कठिनाइहरू समाधान गर्न सक्छ भन्‍ने महसुस हुनेछ। त्यस्तो बेला, तैँले सत्यताको तृष्णा गर्न थाल्‍नेछस्। जब मानिसहरू यो विन्दुमा पुग्छन्, तब के तिनीहरूको भ्रष्ट स्वभाव अलिअलि गर्दै घट्न वा परिवर्तन हुन थाल्दैन र? मानिसहरूले सत्यता बुझ्‍न र स्विकार्न थालेपछि, तिनीहरूको दृष्टिकोण परिवर्तन हुन थाल्छ, र त्यसपछि तिनीहरूको स्वभाव पनि परिवर्तन हुन थाल्छ। यो बिस्तारै हुने प्रक्रिया हो। प्रारम्भिक चरणमा, मानिसहरूले यी साना परिवर्तनहरू देख्‍न सक्दैनन्; तर तिनीहरूले साँचो रूपमा सत्यता बुझ्‍न र अभ्यास गर्न थालेपछि, आधारभूत परिवर्तनहरू आउन थाल्छन्, र तिनीहरूले त्यस्तो परिवर्तन अनुभव गर्न सक्छन्। मानिसहरू सत्यताप्रति भोकाउन-तिर्खाउन, र सत्यता खोजी गर्न थालेदेखि, तिनीहरूको जीवनमा कुनै कुरा आइपरेर तिनीहरूले सत्यतासम्‍बन्धी आफ्‍नो बुझाइको आधारमा सत्यता अभ्यास गर्न र परमेश्‍वरको इच्‍छा पूरा गर्न, र आफ्‍नै इच्‍छाअनुसार काम नगर्न, र आफ्‍ना मनसायहरू, र आफ्‍नो अहङ्कार, विद्रोहीपन, हठीपन, र धोकेबाज हृदयलाई जित्‍न थालेको विन्दुसम्‍म, के अलिअलि गर्दै सत्यता तिनीहरूको जीवन बन्दैन र? अनि जब सत्यता तेरो जीवन बन्छ, तब तँभित्रको अहङ्कारी, विद्रोही, हठी, र धोकेबाज स्वभावहरू तेरो जीवन हुन छोड्छन्, र अबउप्रान्त तिनले तँलाई नियन्त्रण गर्दैनन्। अनि त्यो बेला तेरो व्यवहार केले निर्देशित गर्छ? परमेश्‍वरका वचनहरूले। जब परमेश्‍वरका वचनहरू तेरो जीवन बन्छन्, के तब परिवर्तन आएको हुन्‍न र? (हुन्छ।) अनि पछि, तँ जति परिवर्तन हुन्छस्, अवस्था त्यति नै राम्रो हुन्छ। यही प्रक्रियाद्वारा मानिसहरूको स्वभाव परिवर्तन हुन्छ, र यो प्रभाव हासिल गर्न लामो समय लाग्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। छ प्रकारको भ्रष्ट स्वभावको ज्ञान हुनु मात्रै साँचो आत्मज्ञान हो

अघिल्लो: २१. आफ्नै इच्छाअनुसार काम गर्ने समस्या कसरी समाधान गर्ने

अर्को: २७. सत्यताप्रति दिक्क मान्ने स्वभाव कसरी समाधान गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्