२१. आफ्नै इच्छाअनुसार काम गर्ने समस्या कसरी समाधान गर्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ उसले कहिले पनि परमेश्‍वरको सेवा गर्न सक्दैन। यदि तेरो स्वभावलाई परमेश्‍वरका वचनहरूद्वारा न्याय गरिएको र सजाय दिइएको छैन भने, तेरो स्वभावले अझै शैतानलाई नै प्रतिनिधित्व गर्दछ जसले के प्रमाणित गर्छ भने तैँले तेरो आफ्नै असल अभिप्रायहरूबाट सेवा गर्छस्, तेरो सेवा तेरो शैतानी स्वभावमा आधारित छ। तैँले आफ्‍नो स्वभाविक चरित्रद्वारा, र तेरा व्यक्तिगत अभिरुचिहरू अनुसार परमेश्‍वरको सेवा गर्छस्। यति मात्र होइन, तँ सँधै सोच्छस् कि तैँले गर्न चाहेका कुराहरूले परमेश्‍वरलाई खुशी तुल्याउँछ, र तैँले गर्न नचाहने कुराहरू परमेश्‍वरको निम्ती घृणित छन्; तँ पूर्ण रूपमा तेरा आफ्नै अभिरुचिहरू अनुसार काम गर्छस्। के यसलाई परमेश्‍वरको सेवा गरेको भन्न सकिन्छ? अन्ततः तेरो जीवन स्वभावमा हल्का परिवर्तन पनि हुनेछैन; यसको सट्टामा, तेरो सेवाले तँलाई अझै हठी बनाउनेछ, जसद्वारा तेरो भ्रष्ट स्वभावले अझै गहिरो जरा गाड्छ, र त्यस्तै, परमेश्‍वरको सेवाको बारेमा तँभित्र मुख्यतया तेरो आफ्नै चरित्रमा आधारित नियमहरू, र तेरो आफ्नै स्वभाव अनुसार तेरा सेवाबाट व्युत्पन्न अनुभवहरू बन्नेछन्। यी मानिसका अनुभवहरू र पाठहरू हुन्। यो सांसारिक मामिलाहरूको दर्शन हो। यस्ता मानिसहरूलाई फरिसीहरू र धार्मिक अधिकारीहरूको रूपमा वर्गीकरण गर्न सकिन्छ। यदि तिनीहरू कहिल्यै बिउँझिँदैनन् र तिनीहरूले कहिल्यै पश्‍चात्ताप गर्दैनन् भने, तिनीहरू पक्कै झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरूमा परिवर्तन हुनेछन् जसले आखिरी दिनहरूमा मानिसहरूलाई बहकाउँछन्। पहिले नै भनिएका झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरू यस्ता मानिसहरूका बीचबाट खडा हुनेछन्। यदि परमेश्‍वरको सेवा गर्नेहरूले आफ्नै चरित्र अनुसरण गर्छन् र आफ्नै इच्छा अनुसार कार्य गर्छन् भने, तिनीहरूले कुनै पनि समयमा हटाइने जोखिम उठाउँछन्। जसले अरूको हृदय जित्न, उनीहरूलाई व्याख्यान गर्न र उनीहरूलाई बन्धनमा राख्‍न, र उच्चमा खडा हुन परमेश्‍वरको सेवा गर्ने क्रममा प्राप्त गरेको आफ्नो वर्षौंको अनुभव प्रयोग गर्दछन्—र जसले कहिल्यै पश्‍चात्ताप गर्दैनन्, आफ्ना पापहरूलाई कहिल्यै स्वीकार गर्दैनन्, पदको फाइदा कहिल्यै त्याग्दैनन्—यी मानिसहरू परमेश्‍वरको अघि पतन हुनेछन्। तिनीहरू पावल जत्तिकै हुन्, जसले आफ्नो वरिष्ठतामा घमण्ड गर्दछन् र आफ्‍ना योग्यताहरूलाई बढवा दिन्छन्। परमेश्‍वरले यस्ता मानिसहरूलाई सिद्धतामा ल्याउनुहुनेछैन। यस्तो सेवाले परमेश्‍वरको काममा अवरोध पुऱ्याउँछ। मानिसहरू सँधै विगतसँग टाँसिरहेका हुन्छन्। तिनीहरू विगतका धारणाहरू, बितेका दिनका हरेक कुराहरूमा टाँसिएका हुन्छन्। यो तिनीहरूको सेवाको निम्ति ठूलो बाधा हो। यदि तैँले तिनलाई बाहिर फाल्न सक्दैनस् भने, यी कुराहरूले तेरो पूरै जीवनलाई दबाउनेछ। परमेश्‍वरले तेरो प्रशंसा गर्नुहुन्न, चाहे तैँले दौडेर आफ्‍नो खुट्टा वा परिश्रम गरेर आफ्‍नो ढाड नै भाँच्, चाहे तँ परमेश्‍वरको सेवामा शहीद नै बन्, उहाँले अलिकति पनि तेरो तारिफ गर्नुहुन्‍न। ठीक विपरीत: उहाँले तँलाई दुष्ट काम गर्ने भनी भन्‍नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धार्मिक सेवालाई शुद्ध पारिनैपर्छ

कतिपय मानिसले आफ्नो कर्तव्य निभाउने क्रममा सत्यता सिद्धान्तहरू खोजी गर्न ध्यान दिँदैनन्, बरु आफ्नै इच्छामा भर परेर कार्य गर्छन्। विशेष गरी दह्रिलो व्यक्तिगत विचार भएको व्यक्तिमा देखिने सबैभन्दा आम प्रकटीकरण के हो? ऊ आफूलाई जे आइपरे पनि, पहिला आफ्नो मनमा कामकुराको हिसाबकिताब गर्छ, आफूले सोच्‍न सक्‍ने सबै कुराबारे सोच्छ, र विस्तृत योजना बनाउँछ। जब उसलाई त्यसमा कुनै कमी छैन भन्‍ने लाग्छ, तब ऊ त्यसलाई पूर्णतया आफ्नै इच्छाअनुसार अभ्यास गर्छ, नतिजास्वरूप उसको योजना परिवर्तनअनुरूप हुन सक्दैन, त्यसैले कामकुरा गलत भइदिन्छ। यहाँ समस्या के हो? आफ्नै इच्छाअनुसार कार्य गर्दा प्रायजसो कामकुरा गलत भइदिन्छ। त्यसकारण, जे आइपरे पनि, हरेक व्यक्तिले सँगै मिलेर सत्यता खोजी गर्नुपर्छ, परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, अनि उहाँको मार्गदर्शन माग्‍नुपर्छ। परमेश्‍वरको अन्तर्दृष्टिद्वारा, तिनीहरूको सङ्गतिबाट आउने कुराहरू ज्योतिले भरिएका हुन्छन्, र तिनले अघाडिको मार्ग प्रदान गर्नेछन्। यसअतिरिक्त, मामिलालाई परमेश्‍वरमा सुम्पेर, उहाँको बाटो हेरेर, उहाँमा भर परेर, उहाँलाई आफ्नो अगुवाई गर्न दिएर, र उहाँलाई आफ्नो हेरचाह र रक्षा गर्न दिएर—यस तरिकाले अभ्यास गरेर—तैँले अझ धेरै आश्वासन पाउनेछस्, अनि तैँले कुनै ठूला समस्याहरू सामना गर्नेछैनस्। के मानिसहरूले आफ्नो मगजमा सोच्‍ने कुराहरू पूर्णतया तथ्यअनुरूप हुन्छन्? के ती सत्यता सिद्धान्तअनुरूप हुन्छन्? त्यो असम्भव छ। यदि आफ्‍नो कर्तव्य निभाउने क्रममा तँ परमेश्‍वरमा भरोसा गर्दैनस् र उहाँलाई हेर्दैनस्, केवल आफ्‍नो इच्‍छाअनुसार मात्रै गर्छस् भने, तँ जति नै बाठो भए पनि, तँ असफल हुनेछस्। अहङ्कारी र आत्मधर्मी मानिसहरूले सधैँ आफ्‍नै विचारहरू पछ्याउने गर्छन्, त्यसकारण के तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय हुन्छ? अत्यन्तै जब्बर व्यक्तिगत विचारहरू भएका मानिसहरूले काम गर्ने समयमा परमेश्‍वरलाई बिर्सन्छन्, र तिनीहरूले परमेश्‍वरको आज्ञापालन गर्न बिर्सन्छन्; ठक्‍कर खाएपछि र कुनै कुरा हासिल गर्न नसकेपछि मात्रै, तिनीहरूले आफूले परमेश्‍वरको आज्ञापालन नगरेको, र परमेश्‍वरलाई प्रार्थना नगरेको चाल पाउँछन्। यो के समस्या हो? यो तिनीहरूको हृदयमा परमेश्‍वर नहुनु हो। तिनीहरूको व्यवहारले तिनीहरूको हृदयमा परमेश्‍वर हुनुहुन्‍न, र तिनीहरू आफैमा मात्र भर पर्छन् भन्‍ने देखाउँछ। त्यसकारण, तैँले मण्डलीको काम गरिरहेको भए पनि, आफ्‍नो कर्तव्य निभाइरहेको, र बाहिरी मामलाहरू वा आफ्‍नै व्यक्तिगत जीवनका मामलाहरू सम्‍हालिरहेको भए पनि, तेरो हृदयमा सिद्धान्तहरू हुनुपर्छ, त्यसमा एउटा स्थिति हुनुपर्छ। कस्तो स्थिति? “यो जेसुकै भए पनि, ममा कुनै कुरा आइपर्नुभन्दा अगाडि मैले प्रार्थना गर्नुपर्छ, परमेश्‍वरको आज्ञापालन गर्नुपर्छ, र उहाँको सार्वभौमिकताको पालन गर्नुपर्छ। सबै कुरा परमेश्‍वरले नै बन्दोबस्त गर्नुभएको हुन्छ, र जब त्यो कुरा आइपर्छ, तब मैले परमेश्‍वरको इच्‍छा खोज्‍नुपर्छ, ममा यस्तो मानसिकता हुनुपर्छ, मैले आफ्‍नै योजनाहरू बनाउनु हुँदैन।” केही समयसम्‍म यस्तो अनुभव गरिसकेपछि, मानिसहरूले धेरै कुरामा परमेश्‍वरको सार्वभौमिकता देख्‍न थाल्छन्। यदि तँ सधैँ आफ्‍नै योजना, विचार, चाहना, स्वार्थी मनसाय, र इच्‍छा बोकेर हिँड्छस् भने, तेरो हृदय थाहै नपाई परमेश्‍वरबाट टाढा जानेछ, परमेश्‍वरले कसरी व्यवहार गर्नुहुन्छ भन्‍ने बारेमा तँ अनभिज्ञ हुनेछस्, र परमेश्‍वर प्रायजसो तँबाट लुक्‍नुहुनेछ। के तँलाई आफ्‍नै इच्छाअनुसार काम गर्न मन लाग्दैन र? के तैँले आफ्‍नै योजनाहरू बनाउँदैनस् र? तँ सोच्छस् कि तँसँग मष्तिष्क छ, तँ शिक्षित छस्, ज्ञानले भरिएको छस्, तँसँग काम गर्ने साधन र शैली छ, तैँले ती आफ्‍नै तरिकाले गर्न सक्छस्, तँ सिपालु छस्, तँलाई परमेश्‍वरको आवश्यकता हुँदैन, त्यसकारण परमेश्‍वर भन्‍नुहुन्छ, “त्यसकारण जा आफै गर्, र राम्रो भए पनि नभए पनि त्यसको जिम्‍मा ली, मलाई त्यसको मतलब हुँदैन।” परमेश्‍वरले तँलाई कुनै ध्यान दिनुहुन्‍न। परमेश्‍वरमाथिको विश्‍वासमा मानिसहरूले यसरी आफ्‍नै इच्छालाई पछ्याउँछन् र जे मन लाग्यो त्यही विश्‍वास गर्छन् भने, परिणाम के हुन्छ? तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको सार्वभौमिकता अनुभव गर्न सक्दैनन्, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको हात देख्‍न सक्दैनन्, तिनीहरूले कहिल्यै पनि पवित्र आत्‍माको अन्तर्दृष्टि र ज्योति अनुभव गर्न सक्दैनन्, तिनीहरूले परमेश्‍वरको मार्गदर्शन अनुभव गर्न सक्दैनन्। अनि समय बित्दै जाँदा के हुन्छ? तिनीहरूको हृदय परमेश्‍वरबाट झनै टाढा जान्छ, र यसका अरू असरहरू हुन्छन्। कस्ता असरहरू? (परमेश्‍वरलाई शङ्का र इन्कार गर्ने।) यो परमेश्‍वरलाई शङ्का र इन्कार गर्नु मात्रै होइन। जब मानिसहरूको हृदयमा परमेश्‍वरको निम्ति कुनै ठाउँ हुँदैन, र तिनीहरूले लामो समयसम्‍म आफ्‍नै इच्‍छाअनुसार काम गर्दै गए भने, यसै गर्ने बानी बस्छ: तिनीहरूलाई कुनै कुरा आइपर्दा तिनीहरूले गर्ने पहिलो कुरा भनेकै आफ्‍नै समाधानबारे विचार गर्नु र आफ्नै अभिप्राय, उद्देश्य र योजनाहरूको आधारमा काम गर्नु हो; सबभन्दा पहिले तिनीहरूले यो आफ्नो लागि फाइदाजनक छ कि छैन भनेर सोच्छन्; यदि छ रहेछ भने, तिनीहरूले त्यो काम गर्छन्, र छैन रहेछ भने, त्यो काम गर्दैनन्। तिनीहरूलाई सीधै यो तरिका अपनाउने बानी परिसकेको हुन्छ। अनि यदि यस्ता मानिसहरूले पश्‍चात्ताप नगरी यसरी नै व्यवहार गरिरहे भने परमेश्‍वरले तिनीहरूसँग कस्तो व्यवहार गर्नुहुन्छ? परमेश्‍वर तिनीहरूलाई कुनै ध्यान दिनुहुन्‍न, र तिनीहरूलाई एकातिर पन्छाउनुहुन्छ। एकातिर पन्छाउनु भनेको के हो? परमेश्‍वरले तिनीहरूलाई न त अनुशासनमा राख्‍नुहुनेछ, न त हप्काउनु नै हुनेछ; तिनीहरू झन्-झन् धेरै आफूमा लिप्त हुनेछन्, तिनीहरूलाई न्याय गरिनेछैन, सजाय दिइनेछैन, अनुशासनमा राखिनेछैन वा गाली गरिनेछैन, झन् अन्तर्दृष्टि, ज्योति वा मार्गदर्शन दिने त कुरै नगरौँ। एकातिर पन्छाउनुको अर्थ यही हो। परमेश्‍वरले कुनै व्यक्तिलाई एकातिर पन्छाउनुहुँदा, उसलाई कस्तो लाग्छ? उसको आत्मा रुन्छ, परमेश्‍वर ऊसँग रहनुहुन्‍न, ऊ दर्शनहरूबारे अस्पष्ट हुन्छ, ऊसँग कार्य गर्ने मार्ग हुँदैन, र ऊ मूर्ख मामिलाहरूमा मात्रै संलग्‍न हुन्छ। यसरी समय बित्दै जाँदा, उसलाई जीवनको कुनै मूल्य छैन, र आफ्नो आत्मा रित्तो छ भन्‍ने लाग्छ, त्यसैले ऊ अविश्‍वासीहरूजस्तै हुन्छ, र ऊ झन्-झन् पतित हुँदै जान्छ। यस्तो व्यक्तिलाई परमेश्‍वर तिरस्कार र अस्वीकार गर्नुहुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरप्रति समर्पित हुने अभ्यासका सिद्धान्तहरू

केही मानिसहरूको सवालमा, तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा जेसुकै समस्याको सामना गर्नु परे तापनि तिनीहरूले सत्यताको खोजी गर्दैनन् र तिनीहरूले सधैँ आफ्नै विचारहरू, धारणाहरू, कल्पनाहरू र चाहनाहरूअनुसार काम गर्छन्। तिनीहरूले बारम्बार आफ्नै स्वार्थी चाहनाहरू पूरा गरिरहेका हुन्छन् र तिनीहरूका भ्रष्ट स्वभावहरूले तिनीहरूका कामहरूलाई सधैँ नियन्त्रण गरिरहेका हुन्छन्। तिनीहरूले सधैँ आफ्‍नो कर्तव्य पूरा गरेको जस्तो देखिन्छ, तर तिनीहरूले सत्यता कहिल्यै स्वीकार नगरेका हुनाले, र तिनीहरू सत्यताका सिद्धान्तहरूअनुसार काम गर्न असक्षम रहेका हुनाले, तिनीहरू अन्तिममा सत्यता र जीवन प्राप्त गर्न असफल हुनेछन्, र सेवाकर्ता बन्‍नेछन्, सेवाकर्ता नामकै लायक हुनेछन्। त्यसो भए, आफ्ना कर्तव्यहरू निर्वाह गर्दा त्यस्ता मानिसहरू केमा भर परिरहेका हुन्छन् त? तिनीहरू न त सत्यतामा भरपरिरहेका हुन्छन् न त परमेश्‍वरमा नै। तिनीहरूले बुझेको थोरै सत्यताले तिनीहरूको हृदयमा प्रभुत्व जमाएको हुँदैन; यी कर्तव्यहरू निर्वाह गर्नको निम्ति तिनीहरू आफ्नै वरदान र प्रतिभाहरू, तिनीहरूले आर्जन गरेका ज्ञान र तिनीहरूका प्रतिभाहरूका साथै तिनीहरूका आफ्नै इच्छाशक्ति वा असल अभिप्रायहरूमा भर परिरहेका हुन्छन्। अनि यस्तो अवस्थामा, के तिनीहरूले स्वीकार्य मापदण्डअनुसार आफ्‍नो कर्तव्य निर्वाह गर्न सक्‍छन्? जब मानिसहरूले आफ्‍नो कर्तव्य पूरा गर्न आफ्‍नो प्राकृतिक स्थिति, धारणा, कल्‍पना, विशेषज्ञता, र सिकाइमा भरोसा गर्छन्, तब तिनीहरूले आफ्‍नो कर्तव्य निभाइरहेका छन्, दुष्कर्म गरिरहेका छैनन् जस्तो देखिए पनि, तिनीहरूले सत्यता अभ्यास गरिरहेका हुँदैनन्, र तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्ने गरी केही काम गरेका हुँदैनन्। त्यसमा बेवास्ता गर्न नमिल्‍ने अर्को समस्या पनि छ: तैँले तेरो कर्तव्य निर्वाह गर्ने क्रममा, यदि तेरा धारणाहरू, कल्पनाहरू र व्यक्तिगत चाहनाहरू कहिले पनि परिवर्तन हुँदैनन् र सत्यताद्वारा प्रतिस्थापन हुँदैनन् भने, र तेरा काम-कार्वाहीहरू र कर्महरू कहिले पनि सत्यतका सिद्धान्तअनुसार हुँदेनन् भने, अन्तिम परिणाम के हुनेछ त? तँसित कुनै जीवनप्रवेश हुनेछैन, तँ सेवाकर्ता बन्‍नेछस्, र यसरी प्रभु येशूका यी वचनहरू पूरा हुनेछन्: “त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौं र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौं र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौं र? अनि म तिनीहरूका निम्ती घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२२-२३)। परमेश्‍वरले किन यी प्रयत्न गर्नेहरू र सेवा दिने व्यक्तिहरूलाई दुष्कर्मी भन्‍नुहुन्छ त? एउटा बुँदामा हामी निश्‍चित हुन सक्छौँ, र त्यो के हो भने, यी मानिसहरूले जे कर्तव्यहरू वा कामहरू गरे तापनि, तिनीहरूका प्रेरणाहरू, प्रोत्साहनहरू, अभिप्रायहरू र सोचहरू सम्पूर्ण रूपमा तिनीहरूका स्वार्थी चाहनाहरूबाट नै उत्पन्‍न हुन्छन्, अनि ती तिनीहरूका आफ्‍नै हितहरू र सम्‍भाव्यता रक्षा गर्नका लागि, र तिनीहरूका आफ्‍नै घमण्ड, अभिमान, र हैसियत सन्तुष्ट पार्नका लागि हुन्छन्। यो सब यिनै विचार र हिसाबकिताबहरूमा केन्द्रित हुन्छ, तिनीहरूको हृदयमा कुनै सत्यता हुँदैन, तिनीहरूसँग परमेश्‍वरको डर मान्‍ने र आज्ञापालन गर्ने हृदय हुँदैन—समस्याको जड यही हो। आज तिमीहरूले पछ्याउनुपर्ने महत्त्वपूर्ण कुरा के हो? सबै कुरामा, तिमीहरूले सत्यता खोजी गर्नुपर्छ, र तिमीहरूले परमेश्‍वरको इच्‍छा र परमेश्‍वरको आज्ञाअनुसार आफ्‍नो कर्तव्य उचित रूपमा निर्वाह गर्नुपर्छ। तिमीहरूले त्यसो गर्‍यौ भने, परमेश्‍वरको स्याबासी प्राप्त गर्नेछौ। त्यसो भए, परमेश्‍वरको आज्ञाअनुसार आफ्‍नो कर्तव्य निर्वाह गर्नका लागि विशेष रूपमा के काम गर्नुपर्छ? तिमीहरूले गर्ने हरेक कुरामा, तिमीहरूले परमेश्‍वरलाई प्रार्थना गर्न, तँमा के-कस्ता मनसायहरू छन्, के-कस्ता विचारहरू छन्, अनि यी मनसाय र विचारहरू सत्यताअनुरूप छन्, छैनन् भनेर मनन गर्नुपर्छ; यदि ती सत्यताअनुरूप छैनन् भने, तिनलाई पन्छाउनुपर्छ, त्यसपछि तिमीहरूले सत्यताका सिद्धान्तहरूअनुसार काम गर्नुपर्छ र परमेश्‍वरको सूक्ष्म जाँच स्विकार्नुपर्छ। यसले तैँले सत्यता अभ्यास गर्ने कुरा सुनिश्‍चित गर्नेछ। यदि तँसँग तेरा आफ्‍नै मनसाय र उद्देश्यहरू छन्, र तँलाई तिनले सत्यता उल्‍लङ्घन गर्छन् र ती परमेश्‍वरको इच्‍छाविपरीत छन् भन्‍ने राम्ररी थाहा छ, र पनि तैँले परमेश्‍वरलाई प्रार्थना गर्दैनस्, र समाधानका लागि सत्यता खोजी गर्दैनस् भने, यो खतरनाक कुरा हो, तैँले सहजै दुष्कर्म र परमेश्‍वरविरोधी काम गर्न सक्छस्। यदि हामीले एक-दुईपटक दुष्कर्म गरेर पश्‍चात्ताप गर्‍यौँ भने, हामीसँग अझै पनि मुक्तिको आशा हुन्छ। यदि तैँले दुष्कर्म गरिरहिस्—तैँले हरकिसिमका दुष्कर्महरू गरिस्—तैपनि तैँले अझै पश्‍चात्ताप गरिनस् भने, तँ समस्यामा हुन्छस्: परमेश्‍वरले तँलाई एकातिर हुत्याइदिनुहुनेछ वा त्याग्‍नुहुनेछ, यसको मतलब तँ हटाइने खतरामा हुन्छस्; हरकिसिमका दुष्ट कामहरू गर्ने मानिसहरूलाई अवश्य दण्ड दिइनेछ र हटाइनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

के तिमीहरूलाई मानिसले परमेश्वरलाई गर्ने सेवामा सबैभन्दा निषेधित कुरा के हो भन्ने थाहा छ? कतिपय अगुवा र सेवकहरू परमेश्वरलाई आफू वास्तवमा कति सक्षम छु भनी देखाउनका लागि सधैँ फरक हुन, अरूभन्दा उत्कृष्ट हुन, देखावटी गर्न अनि केही नयाँ चाल पहिल्याउन चाहन्छन्। तर, तिनीहरू सत्यता बुझ्न र परमेश्वरका वचनको वास्तविकतामा प्रवेश गर्नमा ध्यान दिँदैनन्। यो कार्य गर्ने सबैभन्दा मूर्खतापूर्ण तरिका हो। के यो ठ्याक्कै अहङ्कारी स्वभावको प्रकटीकरण होइन र? कतिपय मानिसहरू यसो पनि भन्छन्, “यदि मैले यसो गरेँ भने, यसले पक्कै पनि परमेश्वरलाई प्रसन्न तुल्याउनेछ; उहाँले यो मन पराउनुहुनेछ। यसपाली म परमेश्वरलाई देखाइदिनेछु। म उहाँलाई चकित पार्नेछु।” “चकित पार्नु” ले केही फरक पार्दैन। त्यसको परिणाम के हुन्छ? मानिसहरूले देख्नेछन् कि तिनीहरूले गर्ने काम अत्यन्तै बेतुक्का हुन्छन्। तिनीहरूले परमेश्वरको घरको कामलाई हितकर नभई, पैसाको बरबादी हुन्—तिनीहरूले परमेश्वरको भेटीलाई नोक्सान गर्छन्। परमेश्वरको भेटीलाई तैँले आफूखुसी प्रयोग गर्न मिल्दैन, परमेश्वरको भेटी मास्नु पाप हो। यी मानिसहरूले परमेश्वरको स्वभावलाई चिढ्याउन पुग्छन्, पवित्र आत्माले तिनीहरूमा काम गर्न छोड्नुहुन्छ, अनि तिनीहरू निकालिन्छन्। त्यसैले, कहिले पनि आवेगमा आएर आफूलाई जे मन लाग्यो त्यही नगर्। तैँले नतिजाबारे कसरी सोच्न नसकेको? जब तैँले परमेश्‍वरको स्वभावलाई चिढ्याउँछस् र उहाँका प्रशासनिक आदेशहरूलाई उल्‍लङ्घन गर्छस्, र त्यसपछि तँ निकालिन्छस् भने, तैँले भन्‍नुपर्ने केही पनि बाँकी हुनेछैन। तेरो अभिप्राय जे-जस्तो भए पनि, र तैँले यसलाई जानी-जानी गरेको भए पनि वा नभए पनि, यदि तैँले परमेश्‍वरको स्वभाव वा उहाँको इच्‍छालाई बुझ्दैनस् भने, तैँले सहजै उहाँको रिस उठाउनेछस् र उहाँका प्रशासनिक आदेशहरूलाई उल्‍लङ्घन गर्न पुग्‍नेछस्; हरेक व्यक्ति यही कुराबाट सचेत भई टाढा बस्‍नुपर्छ। तैँले परमेश्‍वरको प्रशासनिक आदेशहरूलाई उल्‍लङ्घन गरेपछि वा उहाँको स्वभावलाई चिढ्याएपछि, यदि त्यो अत्यन्तै गम्भीर छ भने, तैँले जानी-जानी कि अनजानमा त्यसो गरिस् भन्ने कुरालाई उहाँले ध्यान दिनुहुनेछैन। यो तैँले स्पष्ट रूपमा देख्‍नुपर्ने कुरा हो। यदि तैँले यो कुरालाई बुझ्दैनस् भने, तैँले समस्याहरू सामना गर्ने सम्‍भावना हुन्छ। परमेश्‍वरको सेवा गर्ने क्रममा, मानिसहरूले ठूला-ठूला प्रगति गर्न, ठूला-ठूला काम गर्न, महान् शब्‍दहरू बोल्‍न, महान् कार्य गर्न, ठूला-ठूला सभा आयोजना गर्न, र महान् अगुवा बन्‍न चाहन्छन्। यदि तँसँग सधैँ यस्ता ठूला महत्वाकांक्षाहरू हुन्छन् भने, तैँले परमेश्‍वरका प्रशासनिक आदेशहरूलाई उल्‍लङ्घन गर्नेछस्; यसो गर्ने मानिसहरू चाँडै नै मर्नेछन्। यदि परमेश्‍वरप्रतिको सेवामा तँ सधैँ राम्रो व्यवहार गर्ने, समर्पित, र विवेकी छैनस् भने, ढिलो-चाँडो तैँले उहाँको स्वभावलाई उल्‍लङ्घन गर्नेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

तैँले जेसुकै गरे पनि, सबैभन्दा पहिले तैँले त्यो कार्य किन गर्दैछस्, त्यो कार्य गर्न तँलाई कुन अभिप्रायले निर्देशित गर्छ, तैँले त्यो कार्य गर्नुको महत्त्व के छ, त्यो मामलाको प्रकृति के-कस्तो छ, अनि तैँले गरिरहेको त्यो कार्य सकारात्मक कुरा हो कि नकारात्मक कुरा हो भनेर बुझ्नुपर्छ। तँलाई यी सबै कुराहरूको बारेमा स्पष्ट बुझाइ हुनुपर्छ; सिद्धान्तपरक ढङ्गले कार्य गर्न सक्षम हुनको लागि तँलाई यो एकदमै जरुरी छ। यदि तैँले कर्तव्य निर्वाह गर्नु भनेर वर्गीकृत गर्न सकिने कुनै काम गर्दै छस् भने, तैँले ध्यानपूर्वक सोचविचार गर्नुपर्छ: मैले कसरी मेरो कर्तव्य राम्रोसँग पूरा गर्नुपर्छ ताकि मैले त्यो कार्य झारो टार्नको लागि मात्र नगरूँ? यो मामलामा तैँले प्रार्थना गर्नुपर्छ, र परमेश्‍वरको नजिक आउनुपर्छ। परमेश्‍वरसित प्रार्थना गर्नु भनेको सत्यता, अभ्यास गर्ने बाटो, र परमेश्‍वरका चाहना खोजी गर्नको लागि र परमेश्‍वरलाई खुसी तुल्याउनको लागि हो। प्रार्थना यिनै प्रभावहरू हासिल गर्नको लागि हो। परमेश्‍वरसित प्रार्थना गर्नु, परमेश्‍वरको नजिक आउनु, र परमेश्‍वरका वचनहरू पढ्नु धार्मिक संस्कार वा बाह्य कार्यहरू होइनन्। यी त परमेश्‍वरका अभिप्राय खोजिसकेपछि सत्यताअनुरूप अभ्यास गर्ने प्रयोजनको लागि गरिने कुराहरू हुन्। यदि तैँले केही गरेको छैनस् र पनि सधैँ “परमेश्‍वरलाई धन्यवाद होस्” भनिरहन्छस्, र तँ अत्यन्तै आत्मिक र अन्तर्ज्ञानी देखिन सक्छस्, तर काम गर्ने बेलामा, सत्यता खोजी नै नगरी आफूलाई जे मन लाग्यो त्यही गर्छस् भने, यो तेरो “परमेश्‍वरलाई धन्यवाद होस्” भन्‍ने भनाइ मन्त्र बाहेक केही पनि हुँदैन, यो झूटो आत्मिकता हो। आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा, तैँले सधैँ यस्तो सोच्‍नुपर्छ: “मैले यो कर्तव्य कसरी निर्वाह गर्नुपर्छ? परमेश्‍वरको चाहना के हो?” आफ्ना कार्य-व्यवहारहरूको लागि सिद्धान्त र सत्यताहरूको खोजी गर्न परमेश्‍वरलाई प्रार्थना गर्नु र उहाँको नजिक आउनु, आफ्नो हृदयमा परमेश्‍वरका चाहना खोज्‍नु, र आफूले गर्ने कुनै पनि कुरामा परमेश्‍वरका वचनहरू वा सत्यता सिद्धान्तहरूभन्दा बाहिर नजानु—यस्तो व्यक्ति मात्रै परमेश्‍वरमा साँचो विश्‍वास गर्ने व्यक्ति हो; यी सबै नै सत्यतालाई प्रेम नगर्ने मानिसहरूले प्राप्त गर्न नसक्‍ने कुरा हुन्। धेरै मानिसहरूले आफूले जे गरे पनि आफ्‍नै विचारहरू पछ्याउने गर्छन्, र सबै कुरालाई अत्यन्तै सरल रूपमा लिन्छन्, र सत्यताको खोजी पनि गर्दैनन्। तिनीहरूमा सिद्धान्त भन्‍ने कुरा हुँदै हुँदैन, र तिनीहरूले आफ्‍नो हृदयमा परमेश्‍वरले कसरी काम गर्न लगाउनुभएको छ वा परमेश्‍वरलाई कसरी सन्तुष्ट पार्ने भन्‍नेबारेमा कुनै ध्यान दिँदैनन्, र तिनीहरूले एकोहोरो आफ्‍नो इच्‍छा पछ्याउन मात्रै जानेका हुन्छन्। यस्ता मानिसहरूको हृदयमा परमेश्‍वरको निम्ति कुनै ठाउँ हुँदैन। कतिपय मानिसहरू भन्छन्, “कठिनाइको सामना गर्दा मात्रै म परमेश्‍वरलाई प्रार्थना गर्छु, तर अझै पनि यसले कुनै प्रभाव पार्दैन जस्तो लाग्छ—त्यसकारण सामान्यतया समस्याहरू आइपर्दा म अचेल परमेश्‍वरलाई प्रार्थना गर्दिनँ, किनभने परमेश्‍वरलाई प्रार्थना गर्नुको कुनै अर्थ छैन।” त्यस्ता मानिसहरूको हृदयबाट परमेश्‍वर पूर्ण रूपमा टाढा हुनुभएको हुन्छ। तिनीहरूले साधारण समयहरूमा जे गरे पनि सत्यता खोजी गर्दैनन्; तिनीहरूले आफ्‍नै विचारहरू मात्र पछ्याउने गर्छन्। त्यसो भए, के तिनीहरूको कार्य-व्यवहारमा सिद्धान्तहरू हुन्छन् त? अवश्‍य नै हुँदैनन्। तिनीहरूले सबै कुरा सरल तरिकाले हेर्छन्। मानिसहरूले तिनीहरूलाई सत्यता सिद्धान्तहरू सङ्गति गर्दासमेत, तिनीहरूले ती सिद्धान्तहरू स्विकार्न सक्दैनन्, किनभने तिनीहरूको कार्य-व्यवहारमा कहिल्यै कुनै सिद्धान्त लागू गरिएकै हुँदैन, तिनीहरूको हृदयमा परमेश्‍वरको निम्ति कुनै ठाउँ हुँदैन, र तिनीहरूको हृदयमा तिनीहरू आफैबाहेक अरू कोही पनि हुँदैन। तिनीहरूलाई आफ्ना अभिप्राय असल छन्, आफूले कुनै दुष्कर्म गरिरहेको छैन, र आफूलाई सत्यता उल्लङ्घन गरिरहेको भनेर भन्‍न सकिँदैन भन्‍ने लाग्छ, र तिनीहरू आफ्‍नै अभिप्रायहरूअनुसार काम गर्नुलाई नै सत्यता अभ्यास गर्नु हो, र त्यसरी काम गर्नु नै परमेश्‍वरप्रति समर्पित हुनु हो भन्ठान्छन्। वास्तवमा, यस विषयमा तिनीहरूले साँचो रूपमा परमेश्‍वरसित खोजी वा प्रार्थना गरिरहेका हुँदैनन्, बरु आफ्‍नै जोसपूर्ण अभिप्रायहरूका आधारमा आवेगसाथ काम गरिरहेका हुन्छन्, तिनीहरूले परमेश्‍वरले भन्‍नुभए जसरी आफ्‍नो कर्तव्य निभाइरहेका हुँदैनन्, तिनीहरूसँग परमेश्‍वरप्रति समर्पित हृदय हुँदैन, र तिनीहरूमा यो कुराको चाहना नै हुँदैन। मानिसहरूको अभ्यासमा हुने सबैभन्दा ठूलो गल्ती यही हो। यदि तैँले परमेश्‍वरमा विश्‍वास त गर्छस् तैपनि तेरो हृदयमा उहाँ हुनुहुन्‍न भने, के तैँले परमेश्‍वरलाई छल गर्ने प्रयास गरिरहेको हुँदैनस् र? अनि परमेश्‍वरमाथिको यस्तो विश्‍वासले कस्तो प्रभाव ल्याउन सक्छ? तैँले आखिर के प्राप्त गर्न सक्छस्? अनि परमेश्‍वरमाथिको यस्तो विश्‍वासको अर्थ के हुन्छ र?

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

तेरो कर्तव्य पूरा गर्दा, तैँले आफ्‍ना व्यक्तिगत रुचिहरूअनुसार, तँलाई जे मन लाग्छ त्यो गर्न, तँलाई जे गर्दा खुसी लाग्छ वा जुन कुराले तँलाई राम्रो देखाउँछ त्यो गर्दै अगि बढ्न मिल्दैन। यसो गर्नु भनेको आफ्‍नै इच्‍छाअनुसार काम गर्नु हो। आफ्‍नो कर्तव्य निभाउने क्रममा, यदि तैँले आफ्‍नै व्यक्तिगत रुचिहरूमा भरोस गर्छस् र परमेश्‍वरले माग्नुभएको कुरा यही हो, र यही कुराले परमेश्‍वरलाई खुशी तुल्याउँछ भनी भन्छस् भने, र यदि तैँले जबरजस्ती परमेश्‍वरमाथि तेरा आफ्ना व्यक्तिगत रुचिहरू लाद्छस् वा तिनलाई सत्य हुन् जस्तो गरी अभ्यास गर्छस्, तिनलाई सत्यता सिद्धान्तहरू हुन् जस्तो गरी पालन गर्छस् भने, के त्यो गल्ती हुन्‍न र? त्यो कर्तव्य पूरा गर्नु होइन, र यसरी निर्वाह गरिएको कर्तव्यलाई परमेश्‍वरले सम्झनुहुन्‍न। कतिपय मानिसहरूले सत्यतालाई बुझ्दैनन्, र तिनीहरूले आफ्ना कर्तव्यहरू राम्रोसँग पूरा गर्नु भनेको के हो सो जान्दैनन्। तिनीहरू आफूले प्रयत्न गरेको र त्यसमा आफ्नो हृदय लगाएको, आफ्नो देहलाई त्यागेको र कष्ट भोगेको छु भन्ने अनुभूति गर्छन्, त्यसोभए तिनीहरूले किन कहिल्यै सन्तुष्टिजनक रूपमा आफ्ना कर्तव्य पूरा गर्न सक्दैनन् त? परमेश्‍वर किन सधैँ असन्तुष्ट हुनुहुन्छ? यी मानिसहरूले कहाँ गल्ती गरेका छन्? परमेश्‍वरका मागहरूलाई खोज्नुको साटो तिनीहरूका आफ्नै विचारअनुसार व्यवहार गर्नु नै तिनीहरूको गल्ती थियो—कारण यही हो। तिनीहरूले आफ्नै चाहना, रुचि, र स्वार्थी उद्देश्यहरूलाई सत्यताको रूपमा लिए, र ती कुरालाई तिनीहरूले परमेश्‍वरले मन पराउनुभएको जस्तो, ती उहाँका मापदण्डहरू र आवश्यकताहरू हुन् जस्तो व्यवहार गरे। तिनीहरूले जे सत्य, असल र सुन्दर भनेर विश्‍वास गरेका थिए त्यो नै सत्य हो भन्‍ने देखे; यो गलत हो। वास्तवमा, यदि मानिसहरूले कहिलेकहीँ कुनै कुरा सही छ र त्यो सत्यतासँग मेल खान्छ भनी सोचे पनि, त्यसको अर्थ त्यो परमेश्‍वरको इच्छासँग मेल खान्छ भन्‍ने हुँदैन। मानिसहरूले कुनै कुरा सही छ भनेर जति धेरै सोच्छन्, तिनीहरू उत्ति नै बढी सतर्क हुनुपर्छ र तिनीहरूले सोचिरहेका कुराहरूले परमेश्‍वरका मागहरू पूरा गर्छ कि गर्दैन भनी अझ बढी सत्यको खोजी गर्नुपर्छ। यदि त्यो उहाँका मापदण्ड र उहाँका वचनहरूको विपरीत हुन जान्छ भने, तँलाई त्यो सही लागे पनि अस्वीकार्य नै हुन्छ, त्यो एक मानवीय विचार मात्र हो, र तँलाई त्यो जति नै सही हो भन्‍ने लागे पनि त्यो सत्यतासँग मेल खानेछैन। कुनै कुरा सही वा गलत हो भन्ने कुरा परमेश्‍वरका वचनहरूको आधारमा निर्धारित हुनुपर्दछ। तैँले कुनै कुरालाई जत्ति नै सही ठाने पनि, परमेश्‍वरको वचनमा त्यसको आधार छैन भने, त्यो गलत नै हो र तैँले त्यो त्याग्नैपर्छ। त्यो सत्यतासँग मेल खाएमा मात्र स्वीकार्य हुन्छ, र सत्यता सिद्धान्तहरू यसरी कायम राखेमा मात्र तेरो कर्तव्यपालनले मापदण्ड पूरा गर्न सक्छ। आखिर कर्तव्य के हो? यो परमेश्‍वरले मानिसहरूलाई सुम्पनुभएको एउटा आज्ञा हो, यो परमेश्‍वरको घरको कामको भाग हो, र परमेश्‍वरका चुनिएका हरेक मानिसहरूले वहन गर्नुपर्ने जिम्‍मेवारी र दायित्व हो। के कर्तव्य भनेको तेरो करियर हो र? के यो निजी पारिवारिक मामला हो? तँलाई कुनै कर्तव्य दिइएपछि, के त्यो कर्तव्य तेरो व्यक्तिगत व्यवसाय बन्छ भनेर भन्‍नु उचित हुन्छ? यस्तो त अवश्य नै भन्‍न मिल्दैन। त्यसो भए तैँले आफ्नो दायित्व कसरी पूरा गर्नुपर्छ? परमेश्‍वरका आवश्यक सर्तहरू, वचनहरू र मापदण्डहरूअनुसार काम गरेर, अनि तेरो व्यवहारलाई मानवीय व्यक्तिगत चाहनाहरूको साटो सत्यता सिद्धान्तहरूमा आधारित गरेर। केही मानिसहरू भन्छन्, “मलाई एकपटक कर्तव्य दिएपछि के त्यो मेरो आफ्नै काम हुँदैन र? मेरो कर्तव्य मेरो जिम्मेवारी हो, र मलाई जुन जिम्मेवारी दिइन्छ के त्यो मेरो आफ्नै काम हुँदैन र? यदि मैले आफ्नो कर्तव्यलाई आफ्नै कामको रूपमा सम्हाल्छु भने, के त्यसको अर्थ म त्यो ठिकसँग गर्छु भन्‍ने हुँदैन र? यदि मैले त्यसलाई मेरो आफ्नै कामको रूपमा व्यवहार गरिनँ भने के म त्यो राम्रोसँग गर्नेछु र?” यी कुराहरू सही छन् कि गलत? ती गलत छन्; ती सत्यसँग अमिल्दा छन्। कर्तव्य तेरो व्यक्तिगत कामकाज होइन, यो परमेश्‍वरको कामकाज हो, यो परमेश्‍वरको कामको एउटा हिस्सा हो, र तैँले त्यही गर्नुपर्छ जे परमेश्‍वरले अह्राउनुहुन्छ; परमेश्‍वरको आज्ञापालन गर्ने हृदयसाथ कर्तव्य निर्वाह गर्दा मात्र तँ मापदण्डअनुरूपको हुनेछस्। यदि तँ सधैँ तेरा आफ्नै धारणा र कल्पनाहरूअनुसार, र तेरो आफ्नै झुकावअनुसार, आफ्नो कर्तव्य निर्वाह गर्छस् भने, तैँले कहिल्यै पनि मापदण्ड पूरा गर्नेछैनस्; आफूले चाहेजसरी मात्रै कर्तव्य निर्वाह गर्नु भनेको कर्तव्य निर्वाह गर्नु होइन, किनकि तैँले जे गरिरहेको छस् त्यो परमेश्‍वरको व्यवस्थापनको दायराभित्रको काम होइन, यो परमेश्‍वरको घरको काम होइन; यो त तैँले आफ्नै कामकारबाही सञ्‍चालन गरिरहेको र आफ्नै कार्य अघि बढाइरहेको अवस्था हो, र त्यसैले यसलाई परमेश्‍वरले सम्झनुहुन्‍न।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताका सिद्धान्तहरूको खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निभाउन सक्छ

केही मानिसहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा कहिल्यै पनि सत्यताको खोजी गर्दैनन्। तिनीहरू आफ्नै कल्पनाअनुसार व्यवहार गर्दै केवल आफ्नो इच्छाअनुसार काम गर्छन्, र तिनीहरू सधैँ स्वेच्छाचारी र अविवेकी हुन्छन्। तिनीहरू सत्यता अभ्यास गर्ने मार्गमा हिँड्दै हिँड्दैनन्। “स्वेच्छाचाररी र अविवेकी” हुनुको अर्थ के हो? यसको अर्थ तैँले कुनै समस्या सामना गर्दा कुनै प्रक्रियागत सोच वा खोजीविना तँलाई जसरी ठिक लाग्छ त्यसरी नै कार्य गर्नु हो। अरूले भनेको कुनै कुराले तेरो हृदय छुन वा तेरो मन परिवर्तन गर्न सक्दैन। तँलाई सत्यता सङ्गति गरिँदा पनि तैँले यो स्विकार्न सक्दैनस्, तँ आफ्नै रायहरूमा टाँसिइरहन्छस्, अरूले कुनै सही कुरा भन्दा सुन्दै सुन्दैनस्, आफैलाई सही ठान्छस्, र आफ्नै विचारहरूमा झुण्डिरहन्छस्। तेरो सोचाइ सही छ भने पनि, तैँले अरू मानिसहरूका रायलाई पनि विचार गर्नुपर्छ। अनि यदि तैँले अरूका रायलाई पटक्‍कै विचार गर्दैनस् भने, के यो अति आत्मधर्मी हुनु होइन र? अति आत्मधर्मी र आफुखुसी गर्ने मानिसहरूलाई सत्यता स्विकार्नु सजिलो हुँदैन। यदि तैँले केही गलत गरिस् र अरूले तँलाई “तपाईंले यो सत्यताअनुसार गरिरहनुभएको छैन” भनेर आलोचना गरे भने, तँ यसरी जवाफ दिन्छस्, “मैले यो सत्यताअनुसार गरिरहेको छैनँ भने पनि, म यसरी नै गर्नेछु,” अनि त्यसपछि तैँले यो सही भनेर उनीहरूलाई सोच्न लगाउने केही कारण खोज्छस्। यदि उनीहरूले तँलाई “तपाईंले त उपद्रो गर्दै हुनुहुन्छ, र यसले मण्डलीको काममा हानि गर्नेछ” भनेर निन्दा गरे भने, तैँले त्यो सुन्दैनस् मात्र होइन, बहानाहरूसमेत बनाइरहन्छस्: “मलाई यो सही तरिका लाग्यो र म त्यसरी नै गर्दै छु।” यो कस्तो स्वभाव हो? (अहङ्कार।) यो अहङ्कार हो। अहङ्‌कारी प्रकृतिले तँलाई दुराग्रही बनाउँछ। यदि तँसित अहङ्‌कारी प्रकृति छ भने, तैँले स्वेच्छाचारी र अविवेकी व्यवहार गर्नेछस्, कसैले भनेको कुरा सुन्‍नेछैनस्। अनि, तेरो स्चेच्छाचारीपन र अविवेकीपन कसरी समाधान गर्छस्? उदाहरणको लागि, मानौं तँलाई केही भयो र तेरा आफ्‍नै विचार र योजनाहरू छन्। के गर्ने भनेर निर्धारण गर्नुभन्दा पहिले, तैँले सत्यताको खोजी गर्नुपर्छ र कम्तीमा पनि त्यस विषयमा तँ के सोच्छस् र के विश्‍वास गर्छस् भन्‍नेबारेमा सबैसँग सङ्गति गर्नुपर्छ, अनि सबैलाई तेरा सोचहरू सही र सत्यताअनुरूप छन् कि छैनन् भनेर सोधी तेरो लागि ती कुराहरूको जाँच गर्न लगाउनुपर्छ। यो स्वेच्छाचारिता र हतारिने समस्याको समाधान गर्नको लागि सबैभन्दा राम्रो उपाय हो। पहिलो, तँ तेरा विचारहरूलाई प्रकाश पार्न र सत्यता खोज्‍न सक्छस्—स्वेच्छाचारिता र अविवेकीपन हल गर्ने पहिलो चरण यही हो। दोस्रो चरण तब हुन्छ जब अरू मानिसहरूले असहमतिको रायहरू दिन्छन्—स्वेच्छाचारी र अविवेकी हुनबाट जोगिनको निम्ति तैँले कसरी अभ्यास गर्न सक्छस्? सर्वप्रथम त तँसँग विनम्रताको मनोवृत्ति हुनुपर्छ, तैँले सही ठानेका कुरालाई पन्छाउनुपर्छ र सबैलाई सङ्‍गति गर्न दिनुपर्छ। यदि तैँले तेरा मार्गहरू सही हुन् भनेर विश्‍वास गर्छस् भने पनि तैँले यसमा जोड दिइरहनु हुँदैन। त्यो एक प्रकारले अगाडिको कदम हो; यसले सत्यताको खोजी गर्ने, आफैँलाई इन्कार गर्ने र परमेश्‍वरको इच्छा पूरा गर्ने मनोवृत्तिलाई देखाउँछ। तँमा यस्तो मनोवृत्ति आइसकेपछि, साथै तेरा आफ्नै रायहरूमा अडिग हुन छोडेपछि, तँले प्रार्थना गर्नुपर्छ, परमेश्‍वरबाट सत्यताको खोजी गर्नुपर्छ, अनि परमेश्‍वरका वचनहरूमा आधार खोज्‍नुपर्छ—परमेश्‍वरका वचनहरूमा आधारित भएर कसरी काम गर्ने भनी निर्धारण गर्नुपर्छ। यो सबैभन्दा उचित र सही अभ्यास हो। जब तँ सत्यताको खोजी गर्छस् र सबैसामु समस्या उजागर गर्दै त्यसमाथि सँगै सङ्गति र खोजी गर्छस्, त्यसैबेला पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुन्छ। परमेश्‍वरले मानिसहरूलाई सिद्धान्तहरूअनुसार अन्तर्दृष्टि दिनुहुन्छ, उहाँले तिनीहरूको मनोवृतिको लेखाजोखा गर्नुहुन्छ। आफ्नो सही वा गलत दृष्टिकोणको पर्वाह नगरी, यदि तँ आफ्‍नै कुरामा जिद्दी गर्छस् भने, परमेश्‍वरले तँबाट आफ्‍नो अनुहार लुकाउनुहुन्छ र तँलाई बेवास्ता गर्नुहुन्छ; उहाँले तँलाई ठक्‍कर खान लगाउनुहुन्छ, र तेरो खुलासा गरेर तेरो कुरूप स्थिति पर्दाफास गरिदिनुहुन्छ। तर यसको विपरीत, यदि तेरो मनोवृत्ति सही छ भने, तँ आफ्नै तरिकालाई जोड दिँदैनस् भने र तँ आत्म-धर्मी, स्वेच्छाचारी र अविवेकी छैनस् भने, बरु सत्यताको खोजी गर्ने र त्यसलाई स्वीकार गर्ने मनोवृतिको छस् भने, यदि तैँले सबैसँग सङ्गति गर्छस् भने, पवित्र आत्माले तिमीहरूमा काम गर्न थाल्नुहुनेछ, र सायद कसैका वचनहरूमार्फत उहाँले तँलाई अगुवाइ गर्नुहुनेछ। कहिलेकहीँ, जब पवित्र आत्‍माले तँलाई अन्तर्दृष्टि दिनुहुन्छ, उहाँले तँलाई केही शब्‍द वा वाक्यहरूद्वारा वा तँलाई कुनै उपाय दिएर मामलाको निचोड बुझ्‍न अगुवाइ गर्नुहुन्छ। त्यही क्षण, तैँले जुन कुरामा अडान राख्दै आइरहेको छस् त्यो गलत छ भन्‍ने थाहा पाउँछस्, र त्यही क्षणमा नै, काम गर्ने सबैभन्दा उचित तरिकालाई बुझ्छस्। त्यो स्तरमा पुगेपछि, के तँ दुष्कर्म गर्न, र गल्तीका परिणामहरू भोग्नबाट सफलतापूर्वक जोगिन सकेको छैनस् र? के यो परमेश्वरले दिनुभएको सुरक्षा होइन र? (हो।) यस्तो कुरा कसरी हासिल गरिन्छ? यस्तो कुरा तबमात्र हासिल हुन्छ, जब तँसँग परमेश्‍वरको भय मान्‍ने हृदय हुन्छ, र तैँले आज्ञाकारी हृदयले सत्यताको खोजी गर्छस्। तैँले पवित्र आत्‍माको अन्तर्दृष्टि प्राप्त गरेर अभ्यासका सिद्धान्तहरू निर्धारित गरेपछि, तेरो अभ्यास सत्यताअनुरूप हुनेछ, र तैँले परमेश्‍वरको इच्‍छा पूरा गर्न सक्‍नेछस्। … यदि तेरो मनोवृत्ति जिद्दी गर्ने, सत्यता इन्कार्ने, अरूका सुझावहरू नकार्ने, सत्यता खोजी नगर्ने, आफूमा मात्रै विश्‍वास गर्ने, र आफूले चाहेको मात्र गर्ने खालको छ भने—परमेश्‍वरले जे गर्नुभए पनि वा जे आज्ञा दिनुभए पनि, यदि तेरो मनोवृत्ति यस्तै हो भने, परमेश्‍वरको प्रतिक्रिया कस्तो हुन्छ? परमेश्‍वरले तँलाई कुनै ध्यान दिनुहुन्‍न, उहाँले तँलाई पाखा लगाइदिनुहुन्छ। के तँ हठी छैनस् र? के तँ आफुखुसी गर्दैनस् र? के तैँले सधैँ आफू सही छु भन्‍ने सोच्दैनस् र? यदि तँमा आज्ञापालन छैन भने, यदि तैँले कहिल्यै खोजी गर्दैनस्, र तेरो हृदय परमेश्‍वरको लागि पूर्ण रूपमा बन्द र प्रतिरोधी छ भने, परमेश्‍वरले तँलाई कुनै ध्यान दिनुहुन्‍न। परमेश्‍वरले किन तँलाई ध्यान दिनुहुन्‍न त? किनभने यदि तेरो हृदय परमेश्‍वरको निम्ति बन्द छ भने, के तैँले परमेश्‍वरको अन्तर्दृष्टि स्विकार्न सक्छस् र? परमेश्‍वरले तँलाई धिक्‍कार्नुभयो भने, के तैँले यो अनुभव गर्न सक्छस्? जब मानिसहरू हठी हुन्छन्, जब तिनीहरूको शैतानी प्रकृति र जङ्गलीपन प्रकट हुन्छ, तब तिनीहरूले परमेश्‍वरले गर्नुहुने कुनै कुरा पनि अनुभव गर्दैनन्, त्यसले तिनीहरूमा कुनै असर गर्दैन—त्यसकारण परमेश्‍वरले व्यर्थको काम गर्नुहुन्‍न। यदि तँमा यस्तो जिद्दी खालको विरोधी मनोवृत्ति छ भने, परमेश्‍वरले गर्नुहुने भनेकै तँबाट लुक्‍नु मात्र हो, उहाँले अनावश्यक कुराहरू गर्नुहुनेछैन। जब तँ यति जिद्दी रूपमा विरोधी हुन्छस्, र यति बन्द रहन्छस्, तब परमेश्‍वरले जबरजस्ती तँमा कुनै काम गर्नुहुन्‍न, वा तँमा कुनै कुरा जबरजस्ती लाद्‍नुहुन्‍न, उहाँले बारम्बार तँलाई प्रभाव पार्ने र अन्तर्दृष्टि दिने प्रयास गरिरहनुहुन्‍न—परमेश्‍वरले यसरी काम गर्नुहुन्‍न। परमेश्‍वरले किन यो तरिकाले काम गर्नुहुन्‍न? यसको मुख्य कारण के हो भने परमेश्‍वरले तँमा निश्‍चित स्वभाव देख्‍नुभएको हुन्छ, जुन सत्यताप्रति दिक्‍क मान्‍ने र समझ नभएको जङ्गलीपन हो। अनि के तँलाई जङ्गलीपन प्रकट भएको पशुलाई मानिसहरूले नियन्त्रण गर्न सक्छन् जस्तो लाग्छ? के कराउँदा र चिच्याउँदा यसले टेर्छ? के योसित तर्क गर्दा वा यसलाई सान्त्वना दिँदा पार लाग्छ? के मानिसहरूले यसको अघि जाने आँट गर्छन्? यसलाई व्याख्या गर्ने एउटा राम्रो तरिका छ: यसमा समझ हुँदैन। जब तेरो जङ्गलीपन प्रकट हुन्छ र तैँले समझको प्रतिरोध गर्छस्, तब परमेश्‍वरले के गर्नुहुन्छ? परमेश्‍वरले तँलाई ध्यानै दिनुहुन्‍न। तँमा कुनै समझ छैन भने परमेश्‍वरले थप के भन्‍नुहुन्छ? थप कुरा भन्‍नुको कुनै अर्थ छैन। अनि, जब परमेश्‍वरले तँलाई कुनै ध्यान दिनुहुन्‍न, तब तैँले आशिष्‌ पाउँछस् कि कष्ट? तैँले केही लाभ प्राप्त गर्छस् कि घाटा बेहोर्छस्? तैँले अवश्य घाटा बेहोर्नेछस्। अनि कसले यो पैदा गरेको हुन्छ? (हामीले।) तिमीहरूले नै हो। कसैले पनि तिमीहरूलाई यस्तो व्यवहार गर्न जबरजस्ती गरेन, र पनि तिमीहरू दुखी छौ। के तिमीहरू आफैले आफूमा यो परिस्थिति ल्याएका होइनौ र? परमेश्‍वरले तिमीहरूलाई कुनै ध्यान दिनुहुन्‍न, तिमीहरूले परमेश्‍वरलाई अनुभव गर्न सक्दैनौ, तिमीहरूको हृदयमा अन्धकार छ, तिमीहरूको जीवन जोखिममा छ—र तिमीहरू आफैले आफूमाथि यो ल्याएका हौ, तिमीहरू यसैको लायक छौ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

जब कसैको आफ्नो इच्छा ज्यादै ठूलो हुन्छ र सबथोक भन्दा अगाडि आउँछ—अर्थात्, जब कसैको आत्मरूचि अरू कुनै कुराभन्दा अगाडि आउँछ, जब व्यक्तिको आफ्नो प्रतिष्ठा र हैसियत अरू कुनै पनि कुराभन्दा अगाडि आउँछन्, तब त्यो नै सत्यता अभ्यास गर्दा आउने सबैभन्दा ठूलो बाधा बन्छ। त्यसैकारणकुराहरू आइपर्दा यस्ता मानिसहरू सधैँ मनोमानी गर्छन्, र सत्यता सिद्धान्तहरूबारे कुनै सोचविचार नगरी जेबाट व्यक्तिगत लाभ मिल्छ त्यही गर्छन्। तिनीहरू सधैँ तिनीहरूका आफ्नै विचारहरूमा अडिग हुन्छन्। व्यक्तिका आफ्नै विचारहरूमा अडिग हुनु भन्नुको अर्थ के हो? यसको अर्थ “यदि तिमी यो चाहन्छौ भने, म त्यो चाहन्छु। यदि तिमीलाई तिम्रै चाहिन्छ भने मलाई मेरै चाहिन्छ” भनी दृढ रहनु हो। के य समर्पणको प्रदर्शन हो त? (होइन।) यो सत्यता खोज्नु बिलकुलै होइन, बरु आफ्नै तरिकामा जिद् कस्नु हो। यो अहङ्कारी स्वभाव र अव्यावहारिक प्रदर्शन हो। यदि, कुनै दिन, तेरा प्राथमिकताहरू र अडानहरू सत्यताविपरीत छन् भनी तैँले थाहा पाउन सकिस्; यदि तैँले आफूलाई नकार्न र छर्लङ्ग बुझ्न सकिस्, आफूलाई विश्वास गर्न छोडिस्, र त्यसपछि विस्तारै तेरो आफ्नै तरिकाले कामकुरा नगर्न वा कामकुरालाई अन्धाधुन्ध पारिभाषित नगर्न थालिस्, तर तैँले सत्यता खोज्न, परमेश्वरलाई प्रार्थना गर्न र उहाँमा भर पर्न सकिस् भने, त्यो नै सही अभ्यास हुनेछ। कस्तो खालको अभ्यास सत्यतासँग मिल्छ भनी पुष्टि गर्नुपूर्व, तैँले खोजी गर्नैपर्छ। त्यो एकदम सही कार्य हो, गर्नुपर्ने त्यही हो। यदि तँ काटछाँट नहुञ्जेल खोजी गर्दैनस् भने, यो अलि निष्क्रिय हुन्छ, र यसले कामकुरामा ढिलाइ पुऱ्याउने सम्भावना हुन्छ। सत्यता खोज्न सिक्नु अत्यन्तै महत्त्वपूर्ण छ। सत्यता खोज्नुका फाइदाहरू के-के हुन्? पहिलो कुरा, व्यक्तिले आफ्नो इच्छाको पछि लाग्न र जथाभावी कार्य गर्न छोड्न सक्छ; दोस्रो कुरा, व्यक्ति भ्रष्टताका प्रकटीकरणहरू र दुष्ट परिणामहरूबाट जोगिन सक्छ; तेस्रो कुरा, उसले प्रतीक्षा गर्न र धैर्य हुन सिक्न, र प्रस्ट र सही रूपले कामकुरा बुझेर गल्तीहरूलाई हुनबाट रोक्न सक्छ। यी सबै कुराहरू सत्यता खोजेर हासिल गर्न सकिन्छ। जब तैँले यावत् कुराहरूमा सत्यता खोज्न सिक्छस्, तब तैँले सरल भन्ने केही पनि छैन, ध्यान दिइएन र कोसिस गरिएन भने, तैँले कामहरू राम्ररी गर्नेछैनस् भनी थाहा पाउनेछस्। यसरी नै केही समय तालिम लिएपछि, कुराहरू आइपर्दा तँ अझ परिपक्व र अनुभवी हुनेछस्। तेरो मनोवृत्ति अझ नरम र मध्यम हुनेछ, र आवेगपूर्ण, जोखिम मोल्ने र प्रतिस्पर्धी हुनुको सट्टा तँ सत्यता खोज्न, सत्यता अभ्यास गर्न, र परमेश्वरमा समर्पित हुन सक्षम हुनेछस्। त्यसपछि, तेरो भ्रष्ट स्वभावको प्रकटीकरणसम्बन्धी समस्या समाधान हुनेछ। त्यसैले, तँलाई समर्पित हुन सजिलो हुनेछ, यो साँच्चिकै त्यस्तो गाह्रो छैन। सुरुमा यो अलिकति कठिन होला, तर तँ त्यस समस्यालाई समाधान नगरुञ्जेल धैर्य हुन, प्रतीक्षा गर्न र सत्यता खोजिरहन सक्छस्। यदि परिस्थितिहरू आइपर्दा तँ सधैँ आफै निर्णय गर्न चाहन्छस्, र सधैँ स्पष्टीकरणहरू दिइरहन्छस्, अनि आफ्‍नै विचारहरूमा जिद् कस्छस् भने, यो निकै समस्याजनक हुनेछ। किनभने तैँले जोड दिइरहेका कुराहरू सकारात्मक होइनन्, ती सबै भ्रष्ट स्वभावभित्रका कुरा हुन्। ती सबै कुराहरू भ्रष्ट स्वभावका खुलासा हुन्, र त्यस्तो परिस्‍थितिमा, तैँले सत्यता खोजी गर्न चाहे पनि, अभ्यास गर्न सक्‍नेछैनस्, र परमेश्‍वरलाई प्रार्थना गर्न चाहे पनि, तैँले झारा मात्रै टारिरहेको हुनेछस्। यदि कसैले तँलाई सत्यताबारे सङ्गति गर्थ्यो र तेरो अभिप्रायका दूषणहरू खुलासा गर्थ्यो भने, तैँले कसरी निर्णय गर्नेथिस्? के तँ सहजै सत्यतामा समर्पित हुन सक्थिस्? त्यस्तो बेला, तँलाई समर्पित हुन एकदमै गाह्रो हुने थियो, र तँ समर्पित हुन सक्दैनथिस्। तैँले विद्रोह गरेर स्पष्टीकरण दिने कोसिस गर्थिस्। तैँले यसो भन्‍नेथिस्, “मेरा निर्णयहरू परमेश्‍वरको घरका लागि हुन्। ती गलत छैनन्। किन तपाईं अझै मलाई समर्पित हुनुपर्छ भनी भन्‍नुहुन्छ?” तँ कसरी समर्पित हुन नसक्‍ने हुन्थिस् भन्‍ने कुरा देखिस्? अनि त्यसबाहेक, तैँले प्रतिरोध पनि गर्नेथिस्; यो जानीजानी अपराध गर्नु हो! के यो चरम समस्याको कुरा होइन र? जब कसैले तँलाई सत्यताको सङ्गति दिन्छ, तब यदि तैँले सत्यता स्विकार्न सक्दैनस् र जानीजानी अपराध गर्छस्, परमेश्‍वरविरुद्ध विद्रोह र प्रतिरोध गर्छस् भने, तेरो समस्या निकै गम्‍भीर छ। तँ परमेश्‍वरद्वारा खुलासा र निष्कासित हुने खतरामा छस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमा समर्पित हुनु नै सत्यता प्राप्त गर्ने आधारभूत पाठ हो

मण्डलीका अगुवाहरू र कार्यकर्ताहरूले आफ्नो काम गर्दा दुई वटा सिद्धान्तमा ध्यान दिनुपर्छ: एउटा हो, कामको बन्दोबस्तहरूद्वारा निर्धारित गरिएका ठीक सिद्धान्तहरू अनुसार काम गर्नु, ती सिद्धान्तहरू कहिल्यै पनि उल्लङ्घन नगर्नु र तिनीहरूले गरेका कल्पना वा तिनीहरूका आफ्‍नै विचारलाई तिनीहरूका कामको आधार नबनाउनु। तिनीहरूले गर्ने सबै कुरामा, तिनीहरूले मण्डलीको काममा चासो देखाउनुपर्छ, र सधैँ परमेश्‍वरको घरको हितलाई पहिलो स्थानमा राख्नुपर्छ। अर्को कुरा—यो सबैभन्दा महत्त्वपूर्ण छ—सबै कुरामा तिनीहरूले पवित्र आत्माको मार्गनिर्देशनलाई पछ्याउने कार्यमा ध्यान दिनुपर्छ, र परमेश्‍वरको वचन कडाइका साथ पालन गर्दै सबै कुरा गर्नुपर्छ। यदि तिनीहरू अझै पनि पवित्र आत्माको मार्गनिर्देशनको विरुद्धमा छन् भने, वा यदि तिनीहरू हठी बन्दै आफ्नै विचारहरूमा चल्छन्, र आफ्नै कल्‍पनाहरूअनुसार कार्यहरू गर्छन् भने, तिनीहरूका कार्यहरू परमेश्‍वरको विरुद्ध अति गम्भीर प्रतिरोध बन्नेछन्। पवित्र आत्माको अन्तर्दृष्टि र मार्गनिर्देशनप्रति बारम्बार आफ्नो पिठ्यूँ फर्काउँदा त्यसले तिनीहरूलाई बन्द बाटोमा पुऱ्याउँछ। यदि तिनीहरूले पवित्र आत्माको काम गुमाए भने, तिनीहरूले काम गर्न सक्नेछैनन्; र यदि तिनीहरूले कुनै प्रकारले काम गर्न सके भने पनि, तिनीहरूले केही पनि हासिल गर्नेछैनन्। काम गर्ने क्रममा अगुवा र सेवकहरूले पालन गर्नुपर्ने दुई मुख्य सिद्धान्तहरू यिनै हुन्: एउटा भनेको माथिका कार्य बन्दोबस्तहरूसँग ठ्याक्‍कै मिल्ने गरी आफ्नो काम गर्नु, साथै माथिबाट तोकिएका सिद्धान्तहरूअनुसार व्यवहार गर्नु; र अर्कोचाहिँ आफूभित्र पवित्र आत्माको मार्गनिर्देशनलाई पछ्याउनु। यी दुई सिद्धान्तहरू बुझेपछि तिनीहरूले काममा गल्तीहरू गर्ने त्यति धेरै सम्‍भावना हुनेछैन। तिमीहरूको मण्डलीमा काम गरेको अनुभव अझै सीमित छ, र जब तिमीहरू काम गर्छौ, तब तिमीहरूका आफ्नै विचारहरूले ती कामलाई एकदमै धेरै अशुद्ध तुल्याउँछ। कहिलेकहीँ, पवित्र आत्माबाट आउने तँभित्रको ज्ञान वा अगुवाइलाई तैँले बुझ्न सक्दैनस्; अरू बेला, तैंले त्यो बुझेको जस्तो देखिन्छ, तर तैंले त्यसलाई बेवास्ता गर्ने सम्भावना हुन्छ। तिमीहरू सधैँ मानवीय तरिकाले कल्पना गर्छौ वा निष्कर्षमा पुग्छौ, आफूलाई जे उचित लाग्छ त्यसै गर्छौ, पवित्र आत्माका उद्देश्यहरूको कुनै वास्ता गर्दैनौ। पवित्र आत्माबाट आउने कुनै पनि अन्तर्दृष्टिलाई पन्छ्याउँदै तँ पूर्ण रूपमा आफ्नै विचारअनुसार काम गर्छस्। यस्ता परिस्थितिहरू बारम्बार आउँछन्। पवित्र आत्माको भित्री मार्गनिर्देशन अनुभव गर्न सक्नेभन्दा परको हुँदैन; यो वास्तवमा अति सामान्य हुन्छ। अर्थात्, तेरो हृदयको गहिराइमा, तँलाई व्यवहार गर्ने उचित र सर्वोत्तम तरिका यही हो भन्‍ने महसुस हुन्छ। यो विचार वास्तवमा एकदम स्पष्ट छ; यो चिन्तनबाट आएको होइन, र कहिलेकहीँ तैँले किन त्यस्तो प्रकारले व्यवहार गर्नुपरेको हो सो पूर्ण रूपमा बुझ्दैनस्। यो प्रायजसो पवित्र आत्माको अन्तर्दृष्टिबाहेक अरू केही हुँदैन। अनुभव भएका मानिसहरूको जीवनमा यो बारम्‍बार भइरहन्छ। सबैभन्दा उचित काम कुन हो, त्यो गर्न पवित्र आत्‍माले तँलाई अगुवाइ गर्नुहुन्छ। यो तैँले सोचिरहने कुरा होइन, बरु यो त तेरो हृदयको भावना हो जसले तँलाई काम गर्ने सबैभन्दा उत्तम तरिका यही हो भन्‍ने महसुस गराउँछ, र किन भनेर थाहै नभई तँलाई त्यसरी काम गर्न मन लाग्छ। यो पवित्र आत्‍माबाट आएको हुन सक्छ। व्यक्तिको आफ्ना विचारहरू प्रायजसो धारणा र सोचविचारबाट आउँछ, र त्यो सबैमा आफ्‍नै इच्‍छा मिसिएको हुन्छ; उसले सधैँ त्यो आफ्नो लागि के लाभ र फाइदाको छ भन्‍ने सोच्छ; मानिसले गर्छु भनेर निर्णय गरेको हरेक कुरामा यी कुराहरू हुन्छन्। तापनि, पवित्र आत्माको मार्गनिर्देशनमा कुनै पनि हिसाबले त्यस्तो मिश्रण हुँदैन। पवित्र आत्माबाट प्राप्त हुने मार्गनिर्देशन वा अन्तर्दृष्टिमा सावधानीपूर्वक ध्यान दिनु आवश्यक हुन्छ; विशेष गरी मुख्य विषयहरूमा, त्यसलाई बुझ्नका निम्ति तँ होसियार हुनुपर्छ। आफ्‍नै दिमाग प्रयोग गर्न मन पराउने, र आफ्नै विचारहरूमा काम गर्न मन पराउने मानिसहरू, तिनीहरूले त्यस्तो मार्गनिर्देशन वा अन्तर्दृष्टिलाई गुमाउने धेरै सम्‍भावना हुन्छ। योग्य अगुवा र सेवकहरू भनेका पवित्र आत्‍माको कार्य प्राप्त गरेका, हरेक क्षणमा पवित्र आत्‍माको काममा ध्यान दिने, पवित्र आत्‍माको आज्ञापालन गर्ने, परमेश्‍वरको डर मान्‍ने हृदय भएका, परमेश्‍वरको इच्‍छालाई ध्यान दिने, र अथक रूपमा सत्यताको खोजी गर्ने मानिसहरू हुन्। परमेश्‍वरलाई सन्तुष्ट पार्न र उहाँको लागि उचित रूपमा गवाही दिनको लागि, तैँले आफ्‍नो कर्तव्य पूरा गर्दा तँमा आउने अभिप्राय र अशुद्धताहरूका बारेमा बारम्‍बार मनन गर्नुपर्छ, र त्यसपछि कामको कति भाग मानव विचारद्वारा प्रेरित छ, कति भाग पवित्र आत्‍माको अन्तर्दृष्टिद्वारा पैदा भएको छ, र कति भाग परमेश्‍वरका वचनहरूअनुरूप छ भनेर हेर्ने प्रयास गर्नुपर्छ। तैँले लगातार, र सबै परिस्थितिहरूमा, आफ्ना बोलीवचन र कार्यहरू सत्यताअनुरूप छन् छैनन् भनेर मनन गर्नुपर्छ। यस तरिकाले बारम्बार अभ्यास गर्दा त्यसले तँलाई परमेश्‍वरको सेवा गर्ने सही मार्गमा राख्दछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

जीवन अनुभवको प्रक्रियामा, जेसुकै आइपरे पनि, तैँले सत्यता खोजी गर्न सिक्‍नुपर्छ, र परमेश्‍वरका वचनहरू र सत्यताअनुसार मामलालाई मनन गर्नुपर्छ। जब तँलाई पूर्ण रूपमा परमेश्‍वरका अभिप्रायअनुसार हुने कुराहरू कसरी गर्ने भन्‍ने थाहा हुन्छ, तैँले आफ्‍नो इच्‍छाबाट आएका कुराहरूलाई त्याग्‍न सक्‍नेछस्। तँलाई परमेश्‍वरका अभिप्रायअनुसार कसरी काम गर्ने भन्‍ने थाहा भएपछि, तैँले स्वाभाविक बहाबमा बगेसरी बस त्यसरी नै व्यवहार गर्नुपर्छ; यसरी काम गर्दा निकै ढुक्‍क र सहज महसुस हुन्छ। सत्यता बुझेका मानिसहरूले कामकुरा यसरी नै गर्ने गर्छन्। यदि तैँले आफ्‍नो कर्तव्य निभाउँदा, आफू साँच्‍चै नै प्रभावकारी छु, र आफ्नो काम गर्ने शैलीमा सिद्धान्तहरू छन्, आफ्नो जीवन स्वभाव साँच्‍चै नै परिवर्तन भएको छ, आफूले परमेश्‍वरका चुनिएका जनहरूका निम्ति धेरै असल कुराहरू गरेको छु भनेर मानिसहरूलाई देखाउन सक्छस् भने, तँ सत्यता बुझ्‍ने मानिस् होस्, र तँमा अवश्य नै मानव रूप छ; र तैँले परमेश्‍वरको वचन खाँदा-पिउँदा त्यसमा पक्कै प्रभाव हुन्छ। कसैले साँचो रूपमा सत्यता बुझेपछि, उसले आफ्‍ना विभिन्‍न स्थितिहरू पत्ता लगाउन सक्छ, उसले जटिल मामलाहरूलाई स्पष्ट रूपमा देख्‍न सक्छ, त्यसकारण कसरी उचित रूपमा अभ्यास गर्ने त्यो उसलाई थाहा हुन्छ। यदि व्यक्तिले सत्यता बुझेको छैन र आफ्‍नै स्थिति पत्ता लगाउन सक्दैन भने, उसले आफूविरुद्ध विद्रोह गर्न चाहँदा पनि उसलाई केविरुद्ध वा कसरी विद्रोह गर्ने भन्‍ने थाहा हुँदैन। यदि तिनीहरूले आफ्‍नै इच्‍छा त्याग्‍न चाहन्छन् भने, तिनीहरूलाई आफ्नो इच्‍छामा के गलत छ भन्‍ने थाहा हुँदैन, तिनीहरूले आफ्नो इच्‍छा सत्यताअनुरूप नै छ भन्‍ने सोच्छन्, र तिनीहरूले आफ्नो इच्‍छालाई पवित्र आत्‍माको अन्तर्दृष्टिको रूपमासमेत लिन सक्छन्। त्यस्तो व्यक्तिले आफ्‍नो इच्छा कसरी त्याग्‍छ र? तिनीहरूले त्याग्न सक्‍नेछैनन्, देहविरुद्ध विद्रोह गर्न सक्‍नु त परको कुरा हो। त्यसकारण, जब तैँले सत्यता बुझ्दैनस्, तब तैँले तेरो इच्‍छाबाट आउने गलत कुरा, मानव धारणा, र आफ्नै दया, प्रेम, कष्ट, र मूल्य चुकाइसँग मिल्‍ने कुरालाई सहजै सही र सत्यताअनुरूपका कुराहरू मान्‍न सक्छस्। अनि कसरी तैँले यी मानवीय कुराहरूविरुद्ध विद्रोह गर्न सक्छस् र? तैँले सत्यता बुझ्दैनस्, र सत्यता अभ्यास गर्नु भनेको के हो तँलाई थाहा हुँदैन। तँ पूर्ण रूपमा अन्धकारमा हुन्छस् र के गर्ने भन्‍ने नै तँलाई थाहा हुन सक्दैन, त्यसकारण तैँले आफूलाई असल लाग्‍ने काम मात्र गर्न सक्छस्, अनि परिणामस्वरूप, तेरा कतिपय कार्यमा विकृति हुन्छ। यीमध्ये कति त प्रावधानहरू पालना गरेको कारण आउँछन्, कति जोसले गर्दा, र कति शैतानको अवरोधले गर्दा आउँछन्। सत्यता नबुझ्‍ने मानिसहरू यस्तै हुन्छन्। कामकुरा गर्दा तिनीहरू अत्यन्तै विसङ्गत व्यवहार गर्छन्, र कुनै काम कहिल्यै ठीक तरिकाले गर्दैनन् सधैँ बाटो बिराएर गर्छन्। सत्यता नबुझ्‍ने मानिसहरूको हेर्ने दृष्टि कोण गैरविश्‍वासीहरूको जस्तै हास्यास्पद हुन्छ। तिनीहरूले कसरी सत्यता अभ्यास गर्न सक्छन् र? तिनीहरूले कसरी समस्याहरू समाधान गर्न सक्छन् र? सत्यता बुझ्‍नु त्यति सरल कुरा होइन। व्यक्तिको क्षमता जति उच्‍च वा कमजोर भए पनि, जीवनभरि अनुभव गरिसकेपछि पनि, उसले बुझ्‍ने सत्यताको मात्रा सीमित हुन्छ, र उसले बुझ्‍ने परमेश्‍वरको वचन पनि सीमित नै हुन्छ। तुलनात्मक रूपमा अलिक बढी अनुभव पाएका मानिसहरू केही सत्यता बुझेका मानिसहरू हुन्, र बढीमा तिनीहरूले परमेश्‍वरको विरोध गर्ने कार्यहरू र स्पष्ट रूपमै दुष्ट लाग्‍ने कुराहरू गर्न छोड्न सक्छन्। तिनीहरूले आफ्‍नै कुनै पनि अभिप्रायहरू नमिसाईकन काम गर्न असम्‍भव हुन्छ। मानिसहरूको सोच सामान्य हुन्छ तर तिनीहरूको विचार सधैँ परमेश्‍वरको वचनसँग मिल्‍दो हुन्छ नै भन्‍ने हुँदैन, त्यसैले तिनीहरूको आफ्‍नै इच्‍छा मिसिएर आउनु अपरिहार्य नै हुन्छ। त्यसैले, आफ्‍नै इच्‍छाबाट आउने सबै कुराहरू र परमेश्‍वरको वचन, सत्यता, र पवित्र आत्‍माको अन्तर्दृष्टिको विरुद्धमा जाने कुराहरूलाई छुट्याउने समझशक्ति हुनु महत्त्वपूर्ण छ। यसको लागि तैँले परमेश्‍वरको वचन बुझ्‍न धेरै मेहनत गर्नुपर्छ; तैँले सत्यता बुझेपछि मात्रै तँलाई यस्तो समझशक्ति प्राप्त हुन्छ, अनि त्यसपछि मात्रै तैँले आफूद्वारा दुष्कर्म नगरिने निश्‍चित गर्न सक्छस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यको पछि लागेर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ

सरल शब्दमा भन्दा, परमेश्वरलाई महान् मानेर उहाँको आदर गर्नु भनेको तेरो हृदयमा परमेश्वर हुनु, हृदयले परमेश्वरबारे सोच्नु, आफूले गर्ने काममा आफूलाई नभुल्नु, अनिआफै कामकुरा गर्ने पहल नगर्नु, बरु परमेश्वरलाई कामकुराको नेतृत्व गर्न दिनु हो। तँ सबै कुरामा यस्तो सोच्छस्, “म परमेश्वरमा विश्वास गर्छु र उहाँलाई पछ्याउँछु। म परमेश्वरले चुन्नुभएको एउटा सानो सृजित प्राणी बाहेक केही पनि होइन। मैले आफ्नै इच्छाबाट उत्पन्न हुने दृष्टिकोण, सुझाव र निर्णयहरूलाई त्याग्नुपर्छ, अनि परमेश्वरलाई मेरो मालिक हुन दिनुपर्छ। परमेश्वर मेरो प्रभु, मेरो सहारा, अनि मैले गर्ने सबै कामकुरामा मलाई मार्गदर्शन गर्ने उज्यालो ज्योति हुनुहुन्छ। मैले उहाँका वचन र उहाँको इच्छाअनुसार कामकुराहरू गर्नैपर्छ, र आफैलाई प्राथमिकता दिनु हुन्न।” आफ्नो हृदयमा परमेश्वर हुनु भनेको यही हो। तैँले केही गर्न चाहँदा, आवेगमा आएर वा हतारमा कार्य नगर्। पहिला, परमेश्वरका वचनले के भन्छन्, उहाँले तेरा कार्यलाई घिनाउनुहुन्छ कि हुन्न, अनि तेरा कार्य उहाँको इच्छाअनुरूप छन् कि छैनन्, त्यसबारे सोच्। पहिलाहृदयमा, आफैलाई सोधपुछ गर्, सोच् अनि मनन गर्; हतार नगर्। हतार गर्नु भनेको आवेगमा आउनु, अनि उत्तेजना र मानव इच्छाद्वारा उत्प्रेरित हुनु हो। यदि तँ सधैँ हतार गर्छस् र आवेगमा आउँछस् भने, यसले तेरो हृदयमा परमेश्वर हुनुहुन्न भन्ने कुरालाई देखाउँछ। अनि जब तँ परमेश्वरलाई महान् मानेर उहाँको आदर गर्छु भन्छस्, के यी खोक्रा शब्द हुँदैनन् र? तेरो वास्तविकता खोइ? तेरो कुनै वास्तविकता छैन, अनि तैँले परमेश्वरलाई महान् मानेर उहाँको आदर गर्न सक्दैनस्। तँ सबै मामिलामा घरको मालिक झैँ व्यवहार गर्छस्, हरेक मोडमा आफूखुसी गर्छस्। त्यसोभए, यदि तँ आफूसँग परमेश्वरको डर मान्ने हृदय छ भन्छस् भने, के यो बकवाद होइन र? यी शब्दहरू प्रयोग गरेर तँ मानिसलाई छल गर्दैछस्। यदि कुनै व्यक्तिमा परमेश्वरको डर मान्ने हृदय छ भने, त्यो वास्तवमा कसरी प्रकट हुन्छ? परमेश्वरलाई महान् मान्दै उहाँको आदर गरेर। परमेश्वरलाई महान् मानेर उहाँको आदर गर्नुको ठोस प्रकटीकरण भनेको तिनीहरूको हृदयमा परमेश्वरका लागि स्थान हुनु ओ—अग्र स्थान हुनु हो। तिनीहरू हृदयदेखि नै परमेश्वरलाई आफ्नो प्रभु मान्छन् र उहाँको अख्तियार स्विकार्छन्। केही आइपर्दा तिनीहरूको हृदय परमेश्वरप्रति आज्ञाकारी हुन्छ। तिनीहरू न त हतार गर्छन्, न त आवेगमा नै आउँछन्, अनि तिनीहरू लापरवाह रूपमा कार्य पनि गर्दैनन्; बरु तिनीहरू शान्त भएर त्यसलाई सामाना गर्न, अनि सत्यता सिद्धान्तहरू खोज्नका लागि आफूलाई परमेश्वरसामु शान्त राख्न सक्छन्। तँ कामुकुरा परमेश्वरका वचनअनुसार गर्छस् कि आफ्नै इच्छाअनुसार, अनि तैँले परमेश्वरको वचनलाई नेतृत्व गर्न दिन्छस् कि आफ्नै इच्छालाई भन्ने कुरा तेरो हृदयमा परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरामा भर पर्छ। तँ तेरो हृदयमा परमेश्वर हुनुहुन्छ भन्छस्, तर केही आइपर्दा, तँ अन्धाधुन्ध काम गर्छस्, अन्तिम निर्णय आफै गर्छस्, अनि परमेश्वरलाई पाखा लगाउँछस्। के यो परमेश्वर हुनुभएको हृदयको प्रकटीकरण हो त? कतिपय मानिसहरू केही आइपर्दा परमेश्वरलाई प्रार्थना गर्छन्, तर प्रार्थना गरिसकेपछि विचारमग्न हुँदै यस्तो सोच्छन्, “मलाई लाग्छ मैले यही नै गर्नुपर्छ। मलाई लाग्छ मैले त्यही नै गर्नुपर्छ।” तँ सधैँ आफ्नै इच्छा पछ्याउँछस्, र अरूले तँसँग जसरी सङ्गति गरे पनि, कसैको कुरा सुन्दैनस्। के यो परमेश्वरको डर नमान्ने हृदयको प्रकटीकरण होइन र? तैँले सत्यता सिद्धान्तहरूको नखोज्ने हुनाले अनि सत्यता अभ्यास नगर्ने हुनाले, जब तँ परमेश्वरलाई महान् मानेर उहाँको आदर गर्छु भन्छ्स्, तब ती खोक्रा शब्द मात्र हुन्छन्। आफ्नो हृदयमा परमेश्वर नहुने, अनि परमेश्वरलाई महान् मानेर उहाँको आदर गर्न नसक्नेहरू, परमेश्वरको डर मान्ने हृदय नभएका मानिस हुन्। केही आइपर्दा सत्यताको खोज्न नसक्ने, अनि परमेश्वरप्रति आज्ञाकारी हृदय नभएका सबै मानिसहरू विवेक र समझ नभएका मानिस हुन्। यदि कसैसँग साँच्चै विवेक र समझ छ भने, केही आइपर्दा उसले स्वाभाविक रूपमै सत्यता खोज्न सक्नेछ। उसले सबैभन्दा पहिले यस्तो सोच्नैपर्छ, “म परमेश्वरमा विश्वास गर्छु। म परमेश्वरको मुक्ति खोज्न आएको छु। मेरो स्वभाव भ्रष्ट भएकाले, मैले जे गरे पनि, म आफैसँग मात्र सबै अख्तियार छ भन्ने ठान्छु; म सधैँ परमेश्वरको इच्छाविरूद्ध जान्छु। मैले पश्चात्ताप गर्नैपर्छ। मैले यसरी परमेश्वरको विद्रोह गरिरहनु हुँदैन। मैले परमेश्वरप्रति कसरी आज्ञाकारी हुने भनेर सिक्नैपर्छ। मैले परमेश्वरका वचनले के भन्छन्, अनि सत्यता सिद्धान्तहरू के हुन् भनेर खोज्नैपर्छ।” सामान्य मानवताको समझबाट उत्पन्न हुने विचार तथा आकाङ्क्षा यिनै हुन्। तैँले यिनै सिद्धान्त र मनोवृत्तिका साथ कामकुराहरू गर्नुपर्छ। जब तँसँग सामान्य मानवताको समझ हुन्छ, तब तेरो मनोवृत्ति यस्तो हुन्छ; जब तँसँग सामान्य मानवताको समझ हुँदैन, तब तेरो मनोवृत्ति यस्तो हुँदैन। त्यसैले सामान्य मानवताको समझ हुनु जरूरी र अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यो प्रत्यक्ष रूपमा मानिसहरूको सत्यता बुझाइ र मुक्ति प्राप्तिसँग सम्बन्धित हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

अघिल्लो: २०. अहङ्कार, आत्मधार्मिकता र आफ्नै दृष्टिकोणमा अडिग रहने समस्या कसरी समाधान गर्ने

अर्को: २६. हठी स्वभावको समस्या कसरी समाधान गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्