१५. स्वार्थीपन र घृणितपनको समस्या कसरी समाधान गर्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

मानिसहरूले परमेश्‍वरको कामको अनुभव गरेर सत्यता बुझुञ्‍जेलसम्‍म, भित्रैबाट ठाउँ लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तैँले किन आफ्नो ओहदा संरक्षण गर्छस्? किन तँमा त्यस्ता तीव्र भावनाहरू छन्? किन तैँले ती अधर्मी कुराहरूमा आनन्द लिन्छस्? किन तँ ती दुष्टताहरूलाई मन पराउँछस्? त्यस्ता कुराहरूप्रति तेरो लगाव हुनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? ती कुराहरू स्वीकार गर्न तँ किन त्यति धेरै खुशी हुन्छस्? अहिलेसम्ममा, तिमीहरू सबैले बुझिसकेको हुनुपर्छ कि यी सबै कुराहरू हुनुको मुख्य कारण भनेकै मानिसभित्र शैतानको विष हुनु हो। त्यसो भए, शैतानको विष के हो? यो कसरी अभिव्यक्त हुन सक्छ? उदाहरणको लागि, यदि तैँले “मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?” भनेर सोधिस् भने, मानिसहरूले जवाफ दिनेछन्, “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।” यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनिसकेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरूले यो आफ्नै लागि मात्र त्यसो गर्छन्। त्यसकारण तिनीहरू आफ्‍नै लागि मात्र जिउँछन्। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ”—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पहिले नै भ्रष्ट मानवजातिको अस्तित्वको आधार भइसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ। शैतानले गर्ने सबै कुरा यसका आफ्नै चाहना, महत्त्वाकाङ्क्षा, र उद्देश्यहरूको लागि हो। यसले परमेश्‍वरलाई उछिन्‍न, उहाँबाट स्वतन्त्र हुन, र परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुराहरूलाई नियन्त्रणमा लिन चाहन्छ। आज, शैतानले मानिसहरूलाई यस हदसम्म भ्रष्ट पारेको छ: तिनीहरू सबैसँग शैतानी प्रकृति छन्, तिनीहरू सबैले परमेश्‍वरलाई नकार्ने र विरोध गर्ने प्रयास गर्छन्, र तिनीहरू आफ्नो नियतिलाई आफ्नै वशमा राख्‍न चाहन्छन् र परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूको विरोध गर्ने प्रयास गर्छन्। तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू ठ्याक्‍कै शैतानका जस्ता छन्। त्यसकारण, मानिसको प्रकृति शैतानको प्रकृति हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने

यो भन्‍न सकिन्छ कि स्वार्थीपन कुनै व्यक्तिको प्रकृतिको एउटा तत्व हो। यो तत्‍व सबै मानिसभित्र हुन्छ। कतिपय मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन्, चरम रूपमा स्वार्थी हुन्छन्, र सबै कुरामा तिनीहरू आफ्नै बारेमा मात्र सोच्छन्, व्यक्तिगत फाइदाबाहेक अरू केही खोज्दैनन्, र तिनीहरूले अरूको बारेमा अलिकति पनि सोच्दैनन्। यो स्वार्थीपनले तिनीहरूको प्रकृतिको प्रतिनिधित्व गर्छ। सबै जना नै केही हदसम्‍म स्वार्थी हुन्छन्, तर त्यसमा भिन्‍नता हुन्छ। अरूसँग उठबस गर्दा, कतिपय मानिसहरूले होशियार भएर अरूको वास्ता गर्न, अरूको चिन्ता गर्न, र आफूले गर्ने हरेक कुरामा अरूको बारेमा सोच्‍न सक्छन्। तर कतिपय अरूचाहिँ त्यस्ता हुँदैनन्। यी मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन् र आफ्‍ना दाजुभाइ-दिदीबहिनीहरूलाई पाहनुना राख्दा तुच्छता देखाउँछन्। यिनीहरूले सधैँ आफ्नै परिवारलाई सबैभन्दा मिठो र सबैभन्दा धेरै खानेकुरा दिन्छन्, तर दाजुभाइ-दिदीबहिनीहरूलाई भने अलि नमिठो र अलि कम खानेकुरा मात्रै दिन्छन्। तर जब यिनीहरूका आफ्‍नै आफन्तहरू आउँछन्, यिनीहरूले तिनीहरूको लागि सबैभन्दा आरामदायी बन्दोबस्त मिलाउँछन्। तर जब दाजुभाइ-दिदीबहिनीहरू आउँछन्, तिनीहरूलाई भूँइमा सुत्‍न लगाउँछन्। यिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू आउँदा बास बस्‍न दिनु नै काफी छ भन्‍ने सोच्छन्। जब दाजुभाइ-दिदीबहिनीहरू बिरामी पर्छन् वा कुनै समस्यामा पर्छन्, त्यस्तो व्यक्तिले तिनीहरूको बारेमा कुनै विचार गर्दैन, देखे पनि नदेखेझैँ गर्छ। त्यस्ता मानिसहरूले अरूको वास्ता गर्दैनन् वा अरूको लागि अलिकति पनि चिन्ता लिँदैनन्। तिनीहरूले आफ्‍नै र आफ्‍ना आफन्तहरूको मात्रै वास्ता गर्छन्। तिनीहरूको यो स्वार्थी प्रकृतिले नै तिनीहरू अरूको वास्ता गर्न अनिच्‍छुक हुने प्रवृत्ति निर्धारित गरेको हुन्छ। अरूलाई वास्ता गर्दा घाटा बेहोर्नुपर्छ र त्यो ठूलो समस्या हो भन्‍ने तिनीहरूलाई लाग्छ। कतिपय मानिसहरूले यसो भन्‍न सक्छन्, “अरूको ख्याल कसरी गर्ने त्यो स्वार्थी व्यक्तिलाई थाहा हुँदैन।” त्यो गलत हो। यदि स्वार्थी मानिसहरूलाई अरूको ख्याल गर्न आउँदैन भने, त्यसो भए किन तिनीहरूले आफ्‍ना आफन्तहरूलाई राम्रो व्यवहार गर्छन् र तिनीहरूको खाँचोको पूर्ण वास्ता गर्छन्? कसरी तिनीहरूले आफैमा के कुराको कमी छ र निश्‍चित समयमा के लाउनु वा खानु उचित हुन्छ भनेर तिनीहरूले जान्दछन्? तिनीहरू किन अरूप्रति त्यस्तो हुन सक्दैनन्? वास्तवमा तिनीहरूले सबै कुरा बुझ्छन्, तर तिनीहरू स्वार्थी र तुच्छ हुन्छन्। यो कुरा तिनीहरूको प्रकृतिले निर्धारित गरेको हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने

चाहे मानिसहरूलाई जे नै होस्, वा तिनीहरूले जे सम्हालिरहेका हुन्, तिनीहरू सधैँ आफ्नो हितको रक्षा गर्छन् र आफ्नै देहको चिन्ता गर्छन्, अनि सधैँ आफूलाई फाइदा हुने कारण वा बहानाहरू खोज्छन्। तिनीहरू अलिकति पनि सत्यता खोज्दैनन् वा सत्यता स्वीकार गर्दैनन्, र सबै कुरा आफ्नै देहको रक्षा गर्न र आफ्नै सम्भावनाको खातिर योजना बुन्ने गर्छन्। तिनीहरू सबै परमेश्‍वरबाट अनुग्रह माग्छन्, आफूले पाउन सक्ने जति फाइदाहरू पाउन चाहन्छन्। किन मानिसहरू परमेश्‍वरसँग यति धेरै माग गर्छन्? यसले मानिसहरू प्राकृतिक तवरमै लोभी हुन्छन्, र परमेश्‍वरसामु तिनीहरूमा कुनै समझ हुँदैन भन्ने प्रमाणित गर्छ। मानिसहरूले गर्ने हरेक कुरामा—तिनीहरूले चाहे प्रार्थना गरिरहेका हुन् वा सङ्गति दिइरहेका वा सुसमाचार सुनाइरहेका—तिनीहरूको पछ्याइ, सोच र आकाङ्क्षाहरू, यी सबै कुरा परमेश्‍वरसँग माग गर्ने र उहाँबाट चीजहरू माग्ने प्रयास हुन्, मानिसहरू ती सबै कुरा परमेश्‍वरबाट केही पाउने आशामा गर्छन्। कतिपय मानिस भन्छन्, “यो मानव प्रकृति हो,” जुन सही कुरा हो! यसबाहेक, मानिसहरूले परमेश्‍वरसँग अत्यन्त धेरै माग गर्नु र अत्यधिक धेरै इच्छाहरू राख्नुले तिनीहरूमा साँच्ची नै विवेक र समझको कमी छ भन्ने प्रमाणित गर्छ। तिनीहरू सबै आफ्नै लागि चीजहरूको माग र अनुरोध गर्छन्, वा तर्क गर्ने र बहानाहरू खोज्ने प्रयास गर्छन्—तिनीहरू यो सबै आफ्नै लागि गर्छन्। धेरै कुरामा के देख्न सकिन्छ भने मानिसहरूले गर्ने कुरा पूर्णतया समझहीन हुन्छ, जुन “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्ने शैतानी तर्क मानिसको प्रकृति बनिसकेको छ भन्ने कुराको पूर्ण प्रमाण हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले परमेश्‍वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्

कतिपय मानिसहरू अरूलाई हानि गरेर परिस्थितिको नाजायज फाइदा उठाउन साँच्‍चै नै मन पराउँछन्, र यस्ता मानिसहरूले सबै मामिलामा आफ्‍नै स्वार्थहरू पूरा गर्न चाहन्छन्। तिनीहरूले जे गर्छन् त्यसले तिनीहरूलाई लाभ पुर्‍याउनुपर्छ, नत्र त तिनीहरूले त्यो काम नै गर्दैनन्। कुनै कुराले तिनीहरूलाई कुनै न कुनै फाइदा नपुर्‍याइञ्‍जेलसम्‍म तिनीहरू त्यसको झमेलामा पर्दैनन्, र तिनीहरूका सबै कार्यहरूमा सधैँ गोप्‍य मनसाय हुन्छ। तिनीहरू आफूलाई लाभ पुर्‍याउने सबैको बारेमा राम्रो बोल्छन् र आफ्नो चापलुसी गर्ने जोकोहीलाई बढुवा गर्छन्। तिनीहरूलाई मन पर्ने मानिसहरूमा समस्या भए पनि, तिनीहरूले ती मानिसहरू सही छन् भनेर भन्छन् र तिनीहरूको प्रतिरक्षा गर्ने र तिनीहरूको गल्ती ढाकछोप गर्ने प्रयास गर्छन्। त्यस्ता मानिसहरूमा कस्तो प्रकृति हुन्छ? यी बानीबेहोराहरूबाट तैँले तिनीहरूको प्रकृतिलाई स्पष्ट रूपमा देख्‍न सक्छस्। तिनीहरू हरेक परिस्थितिमा निरन्तर लेनदेनमा संलग्‍न हुँदै आफ्‍ना कार्यबाट तिनीहरूले नाजायज फाइदा उठाउने प्रयास गर्छन्, र तिनीहरूको प्रकृति भनेको पूर्ण हृदयले फाइदाको लोभ गर्ने प्रकृति हो भन्‍ने कुरामा तँ निश्‍चित हुन सक्छस्। तिनीहरूले गर्ने सबै कुरामा आफ्‍नै फाइदा हेरिरहेका हुन्छन्। तिनीहरूलाई फाइदा नभइञ्‍जेलसम्‍म तिनीहरू एकाबिहानै उठ्दैनन्। तिनीहरू सबैभन्दा स्वार्थी मानिसहरू हुन्, र तिनीहरू कहिल्यै चित्त नबुझाउने खालका हुन्छन्। तिनीहरूको प्रकृतिलाई नाफाप्रतिको मोह र सत्यताप्रतिको प्रेमको अभावले प्रकट गर्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने

कतिपयलाई बोलाइँदा समेत तिनीहरू परमेश्‍वरको सेवामा अरूसित समन्वय गर्न अनिच्छुक हुन्छन्; यिनीहरू अल्छी मानिसहरू हुन् जो केवल आरामसित रमाइलो गर्न चाहन्छन्। तँलाई जति बढी अरूसँगको समन्वयमा सेवा गर्न भनिन्छ, तैँले त्यति नै बढी अनुभव हासिल गर्नेछस्। बोझहरू तथा अनुभवहरू धेरै हुँदा तैँले सिद्ध हुनका निम्ति बढी अवसरहरू पाउनेछस्। त्यसकारण, यदि इमानदारीताका साथ तैँले परमेश्‍वरको सेवा गर्न सक्छस् भने तैँले परमेश्‍वरको बोझलाई पनि ध्यान दिनेछस्, त्यसो हुँदा, परमेश्‍वरद्वारा सिद्ध हुनका निम्ति तँसित धेरै अवसरहरू हुनेछन्। हाल केवल त्यस्ता समूहका मानिसहरू नै परमेश्‍वरद्वारा सिद्ध तुल्याँइदैछन्। तँलाई जति बढी पवित्र आत्माले छुनुहुन्छ, तैँले त्यति नै बढी समय परमेश्‍वरको बोझप्रति सचेत हुन अर्पित गर्नेछस्, तँलाई त्यति नै बढी परमेश्‍वरद्वारा सिद्ध तुल्याइनेछ—तबसम्म सिद्ध तुल्याइनेछ जबसम्म तँ अन्ततः परमेश्‍वरले प्रयोग गर्नुहुने व्यक्ति हुँदैनस्। हाल, केही व्यक्तिहरू यस्ता छन् जसले मण्डलीको निम्ति कुनै बोझहरू बोक्दैनन्। यी मानिसहरू सुस्त र लापरवाह छन् अनि यिनीहरूले केवल आफ्नै देहको मात्र वास्ता गर्छन्। त्यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन् र तिनीहरू अन्धा पनि हुन्छन्। यदि तैँले यो कुरा स्पष्टसित देख्न सक्दैनस् भने, कुनै पनि बोझ बोक्नेछैनस्। तैँले जति बढी परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्छस्, त्यति नै बढी बोझ उहाँले तँलाई सुम्पिनुहुनेछ। स्वार्थीहरू त्यस्ता कुराहरूको कष्ट भोग्न अनिच्छुक हुन्छन्; तिनीहरू मूल्य चुकाउन अनिच्छुक हुन्छन् र परिणामस्वरूप, तिनीहरूले परमेश्‍वरद्वारा सिद्ध तुल्याइने अवसरहरू गुमाउनेछन्। के तिनीहरूले आफैलाई हानि पुऱ्याइरहेका छैनन् र? यदि तँ परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्ने व्यक्ति होस् भने तँमा मण्डलीको निम्ति साँचो बोझ विकसित हुनेछ। वास्तवमा, यसलाई मण्डलीको निम्ति तैँले बोक्ने बोझ भन्नुको सट्टामा यसलाई तैँले आफ्नै जीवनको खातिर बोक्ने बोझ भन्नु उत्तम हुनेछ किनकि मण्डलीको निम्ति तँमा विकसित यस बोझको उद्देश्य परमेश्‍वरद्वारा सिद्ध तुल्याइनको निम्ति तँलाई यस्ता अनुभवहरू प्रयोग गर्न दिनु हो। त्यसकारण, जो-जसले मण्डलीको निम्ति सबैभन्दा ठूलो बोझ बोक्छ, जो-जसले जीवन प्रवेशका निम्ति बोझ बोक्छ—तिनीहरू नै परमेश्‍वरद्वारा सिद्ध तुल्याइने व्यक्तिहरू हुनेछन्। के तैँले यसलाई स्पष्टसित देखेको छस्? यदि तँ भएको मण्डली बालुवा जस्तै छरिएको छ तर तँ न त चिन्तित हुन्छस् न त बेचैन नै अनि तेरा दाजुभाइ तथा दिदीबहिनीहरूले सामान्य रूपले परमेश्‍वरका वचनहरू खाइरहेका र पिइरहेका नहुँदा पनि आँखा चिम्लिन्छस् भने, तैँले कुनै बोझहरू बोकिरहेको हुँदैनस्। त्यस्ता मानिसहरू परमेश्‍वरले आनन्द लिने प्रकारका मानिसहरू होइनन्। जुन प्रकारका मानिसहरूमा परमेश्‍वरले आनन्द लिनुहुन्छ, तिनीहरू धार्मिकताको निम्ति भोकाउँछन् र तिर्खाउँछन् र परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्छन्। यसरी, तिमीहरू परमेश्‍वरको बोझप्रति अहिले नै सचेत हुनुपर्छ। तिमीहरूले आफू परमेश्‍वरको बोझप्रति सचेत हुनुअघि उहाँले सम्पूर्ण मानवजातिप्रति आफ्नो धर्मी स्वभाव प्रकट गर्नुभइञ्‍जेलसम्म पर्खिनु हुँदैन। के त्यति बेलासम्म धेरै ढिलो हुनेछैन र? परमेश्‍वरद्वारा सिद्ध हुने राम्रो अवसर अहिले नै हो। यदि तैँले यस अवसरलाई आफ्नो हातबाट जान दिइस् भने, मोशाले कनानको असल भूमिमा प्रवेश गर्न असक्षम हुँदा बाँकी जीवनभरि अफसोस गर्दै मरेजस्तै तैँले तेरो बाँकी जीवनभरि अफसोस गर्नेछस्। परमेश्‍वरले सम्पूर्ण मानवजातिलाई आफ्नो धर्मी स्वभाव प्रकट गर्नुहुँदा तँ अफसोसले भरिनेछस्। परमेश्‍वरले तँलाई सजाय नदिनुभए तापनि अफसोसले भरिएर तैँले आफूलाई सजाय दिनेछस्। कोही-कोही यसद्वारा विश्‍वस्त हुँदैनन् तर यदि तैँले विश्‍वास गर्दैनस् भने, केवल पर्खेर हेर्। केही मानिसहरू यस्ता छन् जसको प्रमुख उद्देश्य यी वचनहरू पूरा गर्नु हो। के तँ यी वचनहरूको खातिर आफैलाई बलिदान गर्न तयार छस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर

स्वार्थी र तुच्छ मानिसहरू आफ्ना कार्यहरूमा लापरवाह हुन्छन् र तिनीहरूसँग व्यक्तिगत रूपमा कुनै सरोकार नभएका कुराहरूबाट अलग्गै बस्छन्। तिनीहरूले परमेश्‍वरको घरका हितहरूबारे विचार गर्दैनन्, न त तिनीहरूले परमेश्‍वरका अभिप्रायहरूबारे वास्ता नै राख्छन्। तिनीहरूले आफ्ना कर्तव्यहरू पूरा गर्ने कुनै पनि भार बोक्ने वा परमेश्‍वरको गवाही दिने गर्दैनन् र तिनीहरूमा जिम्मेवारीको कुनै बोध हुँदैन। तिनीहरूले जब केही गर्छन् तब के सोच्छन्? तिनीहरूको पहिलो विचार यस्तो हुन्छ, “यदि मैले यो गरें भने के परमेश्‍वरले थाहा पाउनुहुनेछ? के यसलाई अरू मानिसहरूले देख्न सक्नेछन्? यदि अरू मानिसहरूले मैले गरेको सारा कोसिस र परिश्रमी रूपमा काम गरेको देख्दैनन्, र यदि परमेश्‍वरले यो पनि देख्नुहुन्न भने, मैले त्यस्तो कोसिस गर्दा वा त्यसका लागि कष्ट भोग्दा कुनै फाइदा हुँदैन।” के यो हदैसम्मको स्वार्थीपन होइन र? यो अत्यन्तै नीच शैलीको आशाय पनि हो। जब तिनीहरूले यसरी सोच्छन् र काम गर्छन्, के तिनीहरूको विवेकले कुनै भूमिका खेलिरहेको हुन्छ? के यसमा तिनीहरूको विवेकले घोच्छ? घोच्दैन, तिनीहरूको विवेकलै कुनै भूमिका खेलिरहेको हुँदैन, र यसले घोच्दैन। आफूले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि, कतिपय मानिसहरूले कुनै जिम्मेवारी लिँदैनन्। तिनीहरूले आफूले पत्ता लगाएका समस्याहरूबारे आफ्ना वरिष्ठहरूलाई तुरुन्तै रिपोर्ट पनि गर्दैनन्। तिनीहरू मानिसहरूले अवरोध र बाधा पुऱ्याइरहेको देख्दा, आँखा चिम्लन्छन्। दुष्ट मानिसहरूले दुष्कर्म गरिरहेको देख्दा, तिनीहरू उनीहरूलाई रोक्‍ने प्रयास गर्दैनन्। तिनीहरू परमेश्‍वरको घरका हितहरूको सुरक्षा गर्दैनन्, न त आफ्नो कर्तव्य र जिम्मेवारी के हुन् भनेर ख्याल नै गर्छन्। यस्ता मानिसहरूले आफ्ना कर्तव्य निर्वाह गर्दा कुनै वास्तविक कार्य गर्दैनन्; तिनीहरू मान्छे खुसी पार्दै हिँड्नेहरू र आरामको लालसा गर्नेहरू हुन्; तिनीहरू आफ्नै आडम्बर, इज्‍जत, हैसियत र हितका लागि मात्र बोल्छन् र काम गर्छन्, अनि आफूलाई फाइदा हुने कुराहरूमा मात्र आफ्नो समय र प्रयास समर्पण गर्न इच्छुक हुन्छन् त्यस्तो किसिमको कुनै व्यक्तिका कार्यहरू र उद्देश्यहरू सबैका लागि स्पष्ट हुन्छन्: जब मुख देखाउने वा केही आशिष पाउने अवसर हुन्छ तब तिनीहरू देखा परिहाल्छन्। तर जब मुख देखाउने पाउने कुनै अवसर हुँदैन, वा जब पीडा भोग्ने समय हुन्छ, तब कछुवाले टाउको लुकाए जस्तै तिनीहरू दृश्यबाट हराउँछन्। के यस प्रकारको मानिसमा विवेक र तर्कशक्ति हुन्छ? (हुँदैन।) के यस्तो व्यवहार विवेकहीन र समझहीन व्यक्तिले स्व-निन्दा महसुस गर्छ? यस्ता मानिसमा स्व-निन्दाको कुनै पनि समझ हुँदैन। यस प्रकारको व्यक्तिको विवेकको कुनै काम हुँदैन। उसले कहिल्यै पनि आफ्नो विवेकबाट स्व-निन्दा महसुस गरेका हुँदैनन्, त्यसो भए, के तिनीहरूले पवित्र आत्माले गर्नुहुने निन्दा वा अनुशासनको महसुस गर्न सक्छन्? अहँ, तिनीहरूले सक्दैनन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हृदय परमेश्वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ

धेरैजसो मानिसहरूले सत्यताको खोजी र अभ्यास गर्न चाहन्छन्, तर धेरैजसो समय तिनीहरूसँग त्यसो गर्ने संकल्प र इच्‍छा मात्रै हुन्छ; सत्यता तिनीहरूको जीवन बनेको हुँदैन। परिणामस्वरूप, जब तिनीहरूले दुष्ट शक्तिहरूको सामना गर्छन् वा दुष्ट र खराब मानिसहरूले दुष्ट कार्यहरू गरिरहेका, वा झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूले सिद्धान्तहरूलाई उल्‍लङ्घन गर्ने कार्य गरिरहेका—र यसरी मण्डलीको काममा वाधा पुर्‍याइरहेका, र परमेश्‍वरका चुनिएकाहरूलाई हानि गरिरहेका—भेट्टाउँछन्, तब तिनीहरूले खडा हुने र बोल्‍ने साहस गुमाउँछन्। तँसँग कुनै साहस नहुनु भनेको के हो? के यसको अर्थ तँ डरपोक वा बोल्न नसक्ने व्यक्ति होस् भन्‍ने हो? कि यसको अर्थ तैँले पूर्ण रूपमा नबुझेको कारण, तँसँग बोल्‍ने साहस नहुनु हो? यीमध्ये कुनै पनि होइन; यो मूल रूपमा भ्रष्ट स्वभावहरूद्वारा नियन्त्रित हुनुको परिणाम हो। तैँले प्रकट गर्ने यस्ता भ्रष्ट स्वभावहरूमध्ये एउटा छली स्वभाव हो; जब तँलाई केही हुन्छ, तैँले सबैभन्दा पहिले सोच्ने भनेको तेरो हित हो, तैँले सबैभन्दा पहिले विचार गर्ने भनेको परिणाम के हुन्छ, के यो मेरो लागि फाइदाजनक हुन्छ कि हुँदैन भन्‍ने हो। यो छली स्वभाव हो, होइन र? अर्कोचाहिँ स्वार्थी र छुद्र स्वभाव हो। तँ यस्तो विचार गर्छस्, “परमेश्‍वरको घरका हितहरूमा हानि पुग्‍नुसँग मेरो के सम्‍बन्ध छ र? म अगुवा होइन, अनि मैले किन यसको मतलब गर्ने? यससँग मेरो केही सम्‍बन्ध छैन। यो मेरो जिम्‍मेवारी होइन।” त्यस्ता सोचविचार र वचनहरू तैँले चेतन मनले सोच्ने कुराहरू होइनन्, ती तेरो अर्धचेतन मनले उत्पन्‍न गरेका कुराहरू हुन्—जुन मानिसहरूले समस्या सामना गर्दा प्रकट हुने भ्रष्ट स्वभाव हो। यस्ता भ्रष्ट स्वभावहरूले तेरो सोच्ने शैलीलाई सञ्‍चालित गर्छन्, तेरो हातखुट्टा बाँध्छन्, र तेरो बोलीबचन नियन्त्रित गर्छन्। तेरो मनमा जुरुक्क उठेर बोल्ने चाहना हुन्छ, तर तँमा यी कुराहरूको बारेमा सन्देह हुन्छ र तैँले बोलिहाले पनि, घुमाउरो पाराले कुरा गर्छस्, र पछि चलखेल गर्ने ठाउँ छोड्छस्, वा कुटिल रूपमा बोल्छस् तर सत्य बोल्दैनस्। स्पष्टता भएको मान्छेले यो कुरा बझ्न सक्छ; वास्तवमा, तैँले भन्‍नुपर्ने सबै कुरा तैँले भनेको छैनस्, तैँले भनेको कुराले कुनै प्रभाव पारेको छैन, तैँले केवल झारा टार्ने काम मात्र गरेको छस्, र समस्या समाधान गरिएको छैन भन्‍ने कुरा तँलाई तेरो हृदयमा थाहा हुन्छ। तैँले तेरो जिम्‍मेवारी पूरा गरेको हुँदैनस्, तैपनि तैँले तेरो जिम्‍मेवारी पूरा गरेको छस्, वा जे भइरहेको थियो त्यो तेरो लागि स्पष्ट थिएन भनेर खुल्लमखुल्ला भन्छस्। के यो साँचो हो? अनि के तैँले वास्तवमा सोच्‍ने कुरा यही हो? त्यसो भए के तँ पूर्ण रूपमा तेरो शैतानी स्वभावको नियन्त्रणमा छैनस् र? तैँले भनेका केही कुराहरू मुख्य बिन्दु र महत्त्वपूर्ण विषयहरूमा तथ्यसँग मिल्दो भए पनि, तँ ठग्छस् र मानिसहरूलाई छल गर्छस्, जसले तँ झुट बोल्ने र आफ्नो शैतानी स्वभावअनुसार जिउने व्यक्ति होस् भन्ने प्रमाणित गर्दछ। तैँले भन्‍ने र सोच्ने सबै कुरा तेरो मस्तिष्कद्वारा प्रशोधित भएको हुन्छ, र यसले गर्दा तेरो हेरक बोली बनावटी, रित्तो, र झूट हुन्छ; वास्तवमा तैँले भनेको हरेक कुरा तथ्यविपरीत हुन्छ, तेरो आफ्नै औचित्य पुष्टि गर्नको लागि, तेरो आफ्‍नै फाइदाको लागि हुन्छ, र तैँले जब मानिसहरूलाई बहकाएको र विश्‍वासमा पारेको हुन्छस्, तँलाई आफ्नो उद्देश्य हासिल गरिसकेको अनुभूति हुन्छ। तैँले बोल्ने शैली यही हो; यसले तेरो स्वभावको प्रतिनिधित्व पनि गर्छ। तँ पूर्ण रूपमा तेरो आफ्नै शैतानी स्वभावद्वारा नियन्त्रित हुन्छस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

अविश्‍वासीहरूसँग निश्‍चित किसिमको भ्रष्ट स्वभाव हुन्छ। जब तिनीहरूले अन्य मानिसहरूलाई पेशागत ज्ञान वा सिप सिकाउँछन्, तिनीहरू यस्तो विचार गर्छन्, “आफ्नो गुरुको सबै भेद चेलाले थाहा पाएपछि, उसको गुरुले आफ्‍नो रोजीरोटी गुमाउँछ। यदि मैले जानेका सबै कुरा अरूलाई सिकाएँ भने, कसैले पनि मलाई फेरि उच्‍च नजरले हेर्ने वा प्रशंसा गर्नेछैनन् र मैले शिक्षकको रूपमा आफ्नो सबै हैसियत गुमाउनेछु। यसरी हुँदैन। मलाई थाहा भएको सबै कुरा मैले तिनीहरूलाई सिकाउनु हुँदैन, मैले केही कुरा त लुकाउनुपर्छ। मैले तिनीहरूलाई आफूले जानेको असी प्रतिशत मात्र सिकाउनुपर्छ र बाँकी कुरालाई आफूसँगै गोप्य राख्‍नुपर्छ; मेरा सीपहरू अरूको भन्दा उत्तम छन् भनेर देखाउने यो एकमात्र तरिका हो।” यो कस्तो किसिमको स्वभाव हो? यो छलीपन हो। अरूलाई शिक्षा दिँदा, सहयोग गर्दा, वा आफूले सिकेको कुरा बताउँदा, तँमा कस्तो मनोवृत्ति हुनुपर्छ? (मैले कुनै कसर छोड्नु हुँदैन, र कुनै कुरा लुकाउनु हुँदैन।) कुरा नलुकाउन व्यक्तिले के गर्नुपर्छ? यदि तँ “आफूले सिकेका कुराहरूको मामलामा म केही लुकाउदिनँ, र तिमीहरू सबैलाई तीबारे भन्न मलाई केही समस्या छैन। यसै पनि, म तिमीहरूभन्दा राम्रो क्षमताको छु, र म योभन्दा उच्च कुराहरू बुझ्न सक्छु” भनेर भन्छस् भने, त्यो अझै पनि कुरा लुकाउनु र स्वार्थी हुनु नै हो। अथवा, यदि तँ “म तिमीहरूलाई मैले सिकेका सबै आधारभूत कुराहरू सिकाउँछु, त्यो ठूलो कुरै हैन। मसँग अझै पनि उच्च ज्ञान छ, र तिमीहरूले यो सबै सिक्यौ भने पनि, तिमीहरू मजत्तिको सिपालु हुनेछैनौ” भनेर भन्छस् भने—यो अझै पनि केही कुरा लुकाउनु नै हो। यदि कुनै व्यक्ति अति स्वार्थी छ भने, ऊ परमेश्‍वरको आशिष्‌रहित हुनेछ। मानिसहरूले परमेश्‍वरको इच्छाको ख्याल राख्न जान्नुपर्छ। तैँले आफुले बुझेको सबैभन्दा महत्त्वपूर्ण र आवश्यक कुरा परमेश्‍वरको घरलाई योगदान दिनुपर्छ, ताकि परमेश्‍वरका चुनिएकाहरू ती कुराहरू सिकेर तिनमा निपुण हुन सकून्—परमेश्‍वरको आशिष् प्राप्त गर्ने यो एकमात्र तरिका हो, अनि उहाँले तँमाथि अझ धेरै कुराहरू बर्साउनुहुनेछ। भनिन्छ नि, “लिनुभन्दा पनि दिनु बढी आशिषित हुनु हो।” आफ्ना सबै प्रतिभा र वरदानहरू परमेश्‍वरमा समर्पित गर्, तिनलाई आफ्नो कर्तव्य निभाउँदा प्रदर्शन गर् ताकि सबैले लाभ उठाउन सकून्, र आफ्नो कर्तव्यमा परिणामहरू हासिल गर्न सकून्। यदि तैँले सम्‍पूर्ण रूपमा आफ्ना वरदान र प्रतिभाहरू योगदान गर्छस् भने, त्यस्तो कर्तव्य निभाउने सबैलाई र मण्डलीको कामलाई ती लाभदायक हुनेछन्। हरेकलाई केही सामान्य कुराहरू मात्र भनेर आफूले खुब राम्रो गरेको छु वा केही लुकाएको छैन भनेर नसोच—यसो गरेर काम चल्दैन। तैँले मानिसहरूले अक्षरशः बुझ्‍न सक्‍ने केही सिद्धान्त वा कुराहरू मात्र सिकाउन सक्छस्, तर ती सार वा महत्त्वपूर्ण बुँदाहरू सिकारुहरूले बुझ्न नसक्‍ने हुन्छन्। तैँले विस्तारमा नबताई वा विस्तृत विवरण नदिई अझ पनि सारांश मात्र दिन्छस् र यस क्रममा तैँले मनमनै सोच्छस् “जे भए पनि मैले तिमीलाई बताएको छु र केही कुरा पनि जानीजानी लुकाएको छैनँ। यदि तिमीले बुझेनौ भने तिम्रो क्षमता अत्यन्तै कमजोर भएर हो, यसैले मलाई दोष नदेऊ। परमेश्‍वरले तिमीलाई कसरी अगुवाइ गर्नुहुन्छ भन्‍ने कुरा मात्र हामीले हेर्नुपर्छ।” यस्तो सोचविचारमा कपट समावेश हुन्छ, होइन र? के यो स्वार्थी र नीच होइन र? तेरो हृदयमा भएको र तैँले बुझ्‍ने कुराहरू किन मानिसहरूलाई सिकाउन सक्दैनस्? यसको साटो, तैँले ज्ञानलाई किन लुकाउँछस्? यो तेरा अभिप्रायहरू र तेरो स्वभावमा भएको समस्या हो। जब धेरै मानिसहरूलाई पेशागत ज्ञानको कुनै विशेष पक्षको परिचय पहिलोपटक दिइन्छ, तिनीहरूले त्यसको शाब्दिक अर्थ मात्र बुझ्छन्; मुख्य बुँदा र सार बुझ्‍नको निम्ति केही समयको अभ्यास चाहिन्छ। यदि तैँले यी सूक्ष्म बुँदाहरूलाई पहिले नै राम्ररी बुझेको छस् भने, तैँले अरूलाई ती सिधै बताउनुपर्छ; तिनीहरूलाई घुमाउरो बाटो हिँड्ने र छामछामछुमछुम गर्दै धेरै समय बिताउने नबना। यो तेरो जिम्मेवारी हो; तैँले गर्नुपर्ने कुरा यही हो। यदि तैँले आफूलाई लागेका मुख्य बुँदाहरू र सार भनिस् भने मात्र तैँले केही नलुकाइरहेको वा तँ स्वार्थी नभइरहेको हुनेनस्। तिमीहरूले अरूलाई सीपहरू सिकाउँदा, आफ्नो पेशाबारे बताउँदा, वा जीवन प्रवेशबारे सङ्गति गर्दा, यदि तिमीहरू आफ्ना भ्रष्ट स्वभावहरूका स्वार्थी र घृणित पक्षहरू समाधान गर्न सक्दैनौ भने, तिमीहरूले आफ्ना कर्तव्यहरू राम्ररी निभाउन सक्नेछैनौ, र त्यस्तो अवस्थामा, तिमीहरू मानवता वा विवेक र समझ भएका, वा सत्यता अभ्यास गर्ने मानिसहरू होइनौ। तैँले आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्न सत्यता खोज्नैपर्छ, र स्वार्थी अभीप्रायरहित बिन्दुमा पुगेर परमेश्‍वरको इच्छाबारे मात्र विचार गर्नुपर्छ। यो तरिकामार्फत, तँसँग सत्यता वास्तविकता हुनेछ। यदि मानिसहरूले सत्यता पछ्याएनन् र अविश्‍वासीहरूले झैँ शैतानी दर्शनहरूसाथ जिए भने, त्यो अति थकाइलाग्दो हुनेछ। अविश्‍वासीहरूमाझ प्रतिस्पर्धा व्याप्त हुन्छ। कुनै पनि सीप वा व्यवसायको सारज्ञानमा पोख्त हुनु चानचुने कुरा होइन, र अरू कसैले यो कुरा पत्ता लगाएर यसमा पोख्त भयो भने, तेरो रोजीरोटी खतरामा पर्नेछ। रोजीरोटी रक्षा गर्नको लागि, मानिसहरू यस्तो व्यवहार गर्न उत्प्रेरित हुन्छन्। तिनीहरू सधैँ सतर्क रहनुपर्छ—तिनीहरू जेमा पोख्त छन् त्यो तिनीहरूको सबभन्दा मूल्यवान् कुरा हो, त्यो तिनीहरूको रोजीरोटी, पूँजी, जीवन धान्‍ने आधार हो, र तिनीहरूले यो कसैको हातमा पर्न दिनु हुँदैन। तर तँ परमेश्‍वरमा विश्‍वास गर्छस्—यदि तैँले परमेश्‍वरको घरमा यसरी सोच्छस् र व्यवहार गर्छस् भने, तँ अविश्‍वासीभन्दा केही फरक छैनस्। यदि तैँले सत्यता पटक्कै स्विकार्दैनस् भने, र शैतानी दर्शनसाथ जिउन जारी राख्छस् भने, तँ साँच्‍चिकै परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति होइनस्। कर्तव्य निभाउँदा, यदि तँसँग सधैँ स्वार्थी अभिप्रायहरू हुन्छन् र तँ छुद्र मानसिकताको बन्छस् भने, तैँले परमेश्‍वरको आशिष् पाउनेछैनस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

कतिपय मानिसहरू आफूभन्दा अरूहरू उत्तम र उच्‍च होलान्, र आफ्नो बेवास्ता हुँदा अरूहरूलाई मानसम्मान मिल्ला भनेर सधैँ डराउँछन्, र यसले तिनीहरूलाई अन्य व्यक्तिहरूलाई आक्रमण गर्ने र पाखा लगाउने बनाउँछ। के यो प्रतिभावान्‌ मानिसहरूको ईर्ष्या गर्नु होइन र? के त्यो स्वार्थी र नीच कुरा होइन र? यो कस्तो प्रकारको स्वभाव हो? यो दुराशयता हो! आफ्‍ना हितहरूबारे मात्रै सोच्ने, आफ्नो चाहना मात्रै पूरा गर्ने, अन्य व्यक्तिहरूबारे वा परमेश्‍वरको घरको हितबारे केही नसोच्ने मानिसहरूसँग खराब स्वभाव हुन्छ र परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुहुन्न। यदि तँ साँच्‍चै परमेश्‍वरका अभिप्रायलाई ख्याल गर्न सक्षम छस् भने, तैँले अरू मानिसहरूलाई उचित व्यवहार गर्न सक्‍नेछस्। यदि तैँले असल व्यक्ति सिफारिस गर्छस् र उसलाई तालिम लिँदै कर्तव्य निभाउन दिन्छस्, र यसरी परमेश्‍वरको घरमा एक प्रतिभावान्‌ व्यक्ति थप्छस् भने, के यसले तेरो काम सहज पार्नेछैन र? तब के तैँले आफ्नो कर्तव्यमा निष्ठा देखाइरहेको हुनेछैनस् र? त्यो परमेश्‍वरअघिको असल कार्य हो; अगुवाको रूपमा सेवा गर्ने व्यक्तिमा हुनुपर्ने न्यूनतम विवेक र समझ यही हो। सत्यता अभ्यास गर्न सक्‍नेहरूले आफूले गर्ने कामकुराहरूमा परमेश्‍वरको छानबिन स्विकार्न सक्छन्। जब तैँले परमेश्‍वरको छानबिन स्विकार्छस्, तेरो हृदय सोझो बन्‍नेछ। यदि तँ अरूलाई देखाउनको लागि मात्र काम गर्छस्, र सधैँ अरूको प्रशंसा र आदर पाउन चाहन्छस्, तर परमेश्‍वरको छानबिन स्विकार्दैनस् भने, के अझै पनि परमेश्‍वर तेरो हृदयमा हुनुहुन्छ त? यस्ता मानिसहरूमा परमेश्‍वरको भय मान्ने हृदय हुँदैन। सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; मान्छेको हितहरूको ख्याल नगर्, र आफ्नो सान, प्रतिष्ठा, र हैसियतको मात्र विचार नगर्। तैँले पहिले परमेश्‍वरको घरको हितबारे विचार गर्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनुपर्छ। तँ परमेश्‍वरका अभिप्रायप्रति विचारशील हुनुपर्छ र तैँले तेरो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्धता छ कि छैन, तँ निष्ठावान बनेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गरेको छस् कि छैनस् र तैँले तनमन दिएको छस् कि छैनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामबारे सम्पूर्ण हृदयले सोच्‍ने गरेको छस् कि छैनस् भनी विचार गर्दै यो काम सुरु गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ। यदि तँमा थोरै क्षमता छ भने, यदि तँ सतही अनुभव भएको व्यक्ति होस् भने वा यदि तँ तेरो व्यावसायिक काममा निपुण छैनस् भने, तेरो काममा केही गल्ती वा कमजोरीहरू हुन सक्छन्, र तैँले राम्रा नतिजाहरू प्राप्त नगर्न सक्छस्—तर तैँले आफ्नो सक्दो प्रयास लगाइसकेको हुन्छस्। तँ आफ्नै स्वार्थी चाहनाहरू वा आफ्नै प्राथमिकताहरू सन्तुष्ट पार्ने गर्दैनस्। त्यसको साटो, तँ मण्डलीको काम र परमेश्‍वरको घरका हितहरूलाई निरन्तर ध्यान दिन्छस्। तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सायद राम्रो नतिजा हासिल नगर्लास्, तर तेरो हृदय सोझिइसकेको हुन्छ; यसअलावा, यदि तैँले आफ्नो कर्तव्यमा आइपरेका समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्न सक्छस् भने, तँ तेरो कर्तव्यपालनमा मापदण्डअनुरूपको हुनेछस् र साथमा तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम हुनेछस्। आफूसँग गवाही हुनु भनेकै यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ

ख्रीष्टविरोधीहरूसित कुनै विवेक, सुझबुझ वा मानवता हुँदैन। तिनीहरूमा कुनै सरमसमेत हुँदैन, त्यसमाथि तिनीहरूसित अर्को पहिचान पनि हुन्छ: तिनीहरू असामान्य रूपले स्वार्थी र नीच हुन्छन्। तिनीहरूको “स्वार्थीपन र नीचता” को शाब्दिक अर्थ बुझ्न त्यति गाह्रो छैन: तिनीहरूले आफ्नो हितबाहेकका सबै कुराप्रति आँखा चिम्लन्छन्। आफ्ना हितहरूसित सम्बन्धित जुनसुकै कुरामा तिनीहरूको पूरा ध्यान जान्छ, र तिनीहरूले यसका लागि दु:ख भोग्नेछन्, मूल्य चुकाउनेछन्, तिनीहरूले आफैलाई त्यसमा तल्लीन बनाउनेछन्, आफैलाई त्यसमा समर्पित गर्नेछन्। तिनीहरूको हितसित सम्बन्धित नभएको कुनै पनि थोकप्रति तिनीहरूले आफ्ना आँखाहरू बन्द गर्छन् र त्यसमा कुनै ध्यान दिँदैनन्; अरूले आफूलाई जस्तो मन लाग्यो त्यसै गर्न सक्छन्—कुनै व्यक्तिले बाधा वा अवरोध पुर्याइरहेको भए पनि तिनीहरू त्यसलाई वास्ता गर्दैनन्, र तिनीहरूलाई यो कुराको सरोकार तिनीहरूसित हुँदैन भन्‍ने लाग्छ। व्यावहारिक रूपमा भन्नुपर्दा, तिनीहरूले आफ्नै काममा ध्यान दिन्छन्। तर यस किसिमको व्यक्ति नीच, घिनलाग्दो, दुःखी हुन्छ भनी भन्दा अझै सटीक हुन्छ; हामी तिनीहरूलाई “स्वार्थी र नीच” को रूपमा परिभाषित गर्दछौँ। ख्रीष्टविरोधीहरूको स्वार्थीपन र नीचता कसरी प्रकट हुन्छ? आफ्नो प्रतिष्ठा वा इज्‍जतमा फाइदा पुर्‍याउने कुनै पनि कुरामा तिनीहरूले गर्नुपर्ने वा भन्‍नुपर्ने कुराहरू गर्न वा भन्‍नलाई जोड गर्छन्, र तिनीहरूले स्वेच्छिक रूपमा कष्ट सहन्छन्। तर परमेश्‍वरको घरले बन्दोबस्त गरेको काम वा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन वृद्धिमा फाइदा पुर्‍याउने कामको हकमा, तिनीहरूले यसलाई पूर्ण रूपमा बेवास्ता गर्छन्। दुष्कर्मीहरूले बाधा र अवरोध गर्दा, र हरप्रकारको दुष्ट काम गर्दा, र त्यसरी मण्डलीको काममा गम्भीर असर पुर्‍याउँदा पनि, तिनीहरू उदासीन र निस्फिक्री रहन्छन्, मानौं तिनीहरूसँग त्यसको केही सम्बन्ध नै छैन। अनि, यदि कसैले थाहा पाएर दुष्कर्मीको दुष्ट कार्यको बारेमा उजुरी गऱ्यो भने तिनीहरूले केही देखेको छैन भन्दै अनभिज्ञ भएको बहाना गर्छन्। तर यदि कसैले तिनीहरूको उजुरी गर्छन्, र तिनीहरूले वास्तविक काम गर्दैनन्, केवल प्रतिष्ठा र हैसियत मात्र खोजिहिँड्छन् भनेर खुलासा गरिदिन्छन् भने, तिनीहरू रातोपिरो हुन्छन्। कस्तो प्रतिक्रिया दिने भनेर छलफल गर्न हतारमा बैठकहरू बोलाउँछन्, तिनीहरूको पिठिउँपछाडि कसले कुरा गऱ्यो, त्यसको मुख्य अगुवा को हो, त्यसमा को संलग्न थियो भनी त्यसको अनुसन्धान गर्छन्। तिनीहरू त्यसको जडमा नपुगुञ्जेल र त्यो विषयलाई समाधान नगरुञ्‍जेल खाँदैनन् वा निदाउँदैनन्; कहिलेकहीँ त तिनीहरू आफ्नो बारेमा उजुरी गर्नमा संलग्‍न रहेका हरेकलाई पछारेपछि मात्र खुसी हुन्छन्। यो स्वार्थीपन र नीचताको अभिव्यक्ति हो, होइन र? के तिनीहरूले मण्डलीको काम गरिरहेका हुन्छन्? तिनीहरूले आफ्नै शक्ति र प्रतिष्ठाका निम्ति, शुद्ध र सरल भएको अभिनय गरिरहेका हुन्छन्। तिनीहरू आफ्नै कार्य सञ्चालन गरिरहेका हुन्छन्। तिनीहरूले चाहे जुनै कार्यको जिम्मा लिए पनि यस प्रकारको व्यक्ति, जो ख्रीष्ट विरोधी हो, उसले परमेश्‍वरको घरका हितहरूबारे कहिल्यै कुनै विचार गर्दैन। तिनीहरू आफ्ना हितहरू प्रभावित होलान् कि भन्‍ने मात्र सोच्छन्, तिनीहरू आफ्नो अगाडि भएको र आफूलाई फाइदा गर्ने थोरै कामको बारेमा मात्र सोच्छन्। तिनीहरूका लागि मण्डलीको प्राथमिक काम आफ्नो फुर्सदको समयमा गर्ने काम मात्र हुन्छ। तिनीहरूले यसलाई कुनै गम्भीरतासाथ लिँदैनन्। तिनीहरू उक्साइएमा मात्र काम गर्छन्, आफूलाई मनपर्ने काम मात्र गर्छन्, र आफ्नो हैसियत र शक्ति कायम राख्नको निम्ति मात्र काम गर्छन्। तिनीहरूको नजरमा, परमेश्‍वरको घरद्वारा प्रबन्ध गरिएको कुनै पनि काम, सुसमाचार प्रचार गर्ने काम र परमेश्‍वरका चुनिएका जनहरूको जीवन प्रवेशको कुनै महत्त्व हुँदैन। अरू मानिसहरूलाई तिनीहरूको काममा जस्तोसुकै कठिनाइहरू भए पनि, तिनीहरूले जुनै समस्या पहिचान गरे पनि वा तिनीहरूलाई जुनै समस्याको उजुरी दिए पनि, तिनीहरूका कुराहरू जति नै इमानदार भए पनि, ख्रीष्टविरोधीहरूले त्यसमा ध्यान दिँदैनन्, तिनीहरू संलग्न हुँदैनन्, मानौं, तिनीहरूसित यसको कुनै सम्बन्ध छैन। मण्डलीको काममा जति ठूला समस्याहरू उत्पन्न भइरहेका भए पनि, तिनीहरू बिलकुलै उदासीन हुन्छन्। समस्या तिनीहरूको अगाडि हुँदा पनि तिनीहरू झारा टार्न मात्र त्यसको सम्बोधन गर्छन्। जब तिनीहरूलाई सीधै माथिबाट निराकरण गरिन्छ र समस्या समाधान गर्ने आदेश दिइन्छ तब मात्र तिनीहरू मन नलागी-नलागी थोरै वास्तविक काम गर्छन् र माथिकालाई देखाउनका लागि दिनेछन्; त्यसको लगत्तै, तिनीहरू आफ्नै काममा लागिरहन्छन्। मण्डलीको कामप्रति, अझ विस्तृत सन्दर्भको महत्त्वपूर्ण कुराप्रति रुचि देखाउँदैनन्, र तिनलाई बेवास्ता गर्छन्। तिनीहरू आफूले थाहा पाएका समस्याहरूलाई पनि बेवास्ता गर्छन्, र त्यस्ता समस्याहरूको बारेमा सोध्दा तिनीहरूले झारा टार्ने जबाफ दिन्छन्, तँलाई कुनै भाउ नदिन शब्दजाल प्रयोग गर्छन्, र मन नलागीनलागी त्यसलाई सम्बोधन गर्छन्। यो स्वार्थीपन र नीचताको अभिव्यक्ति हो, होइन र? यति मात्र होइन, ख्रीष्टविरोधीहरूले जुनै कर्तव्य पूरा गरिरहेका भए पनि त्यसले तिनीहरूलाई फाइदा पुर्याउनेछ कि पुर्याउनेछैन भन्ने मात्र सोच्छन्; त्यसले तिनीहरूको प्रतिष्ठा बढाउनेछ भने, तिनीहरू यो कसरी गर्ने, कसरी पूरा गर्ने भनी तरिका सिक्न आफ्नो दिमाग खियाउँछन्; यसले तिनीहरूलाई अलग राख्छ कि राख्दैन भन्ने कुराको मात्र तिनीहरू वास्ता गर्छन्। तिनीहरूले चाहे जे गरे वा सोचे पनि, तिनीहरू आफ्नै ख्याति र हैसियतको मात्र चिन्ता गरिरहेका हुन्छन्। तिनीहरूले जुन-सुकै कर्तव्य पूरा गरिरहेको भए पनि, तिनीहरू को उच्च वा नीच छ, कसले जित्छ र को हार्छ, कसको ठूलो प्रतिष्ठा छ भन्ने कुरामा मात्र प्रतिस्पर्धा गर्छन्। तिनीहरू कति जना मानिसहरूले तिनीहरूलाई आदरका साथ हेर्छन्, कति जना मानिसहरूले तिनीहरूको आज्ञा पालन गर्छन्, र तिनीहरूका कति जना अनुयायीहरू छन् भन्ने कुराको मात्र वास्ता गर्छन्। तिनीहरू कहिल्यै सत्यताको सङ्गति गर्दैनन् वा वास्तविक समस्याहरू समाधान गर्दैनन्। तिनीहरू आफ्नो कर्तव्य गर्दा सिद्धान्त अनुसार कसरी काम गर्ने, तिनीहरू बफादार भएका छन् कि छैनन्, तिनीहरूको आफ्ना जिम्मेवारीहरू पूरा गरेका छन् कि छैनन्, कतै अटेरी भएका छन् कि, वा कुनै समस्याहरू छन् कि भन्‍नेबारेमा कहिल्यै विचार गर्दैनन्, न त तिनीहरू परमेश्‍वरको घरले मागेको कुरा र परमेश्‍वरको इच्छा के हो भन्‍ने कुरामा नै ध्यान दिन्छन्। तिनीहरूले यी कुराहरूमा अलिकति पनि ध्यान दिँदैनन्। तिनीहरूले केवल आफ्नो टाउको सीधा पारेर आफ्नो प्रतिष्ठा र इज्‍जतका लागि, आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू सन्तुष्ट पार्नका लागि मात्र काम गर्छन्। यो स्वार्थीपन र नीचताको अभिव्यक्ति हो, होइन र? यसले तिनीहरूको हृदय तिनीहरूका आफ्नै महत्त्वकाङ्क्षा, चाहना र अर्थहीन मागहरूले भरिएको छ भन्‍ने प्रमाणित गर्छ; तिनीहरूले जे गर्छन् ती सबै तिनीहरूका महत्त्वकाङ्क्षा र चाहनाहरूद्वारा सञ्चालित हुन्छन्। तिनीहरूले चाहे जे नै गरे पनि, त्यसको प्रेरणा र सुरुवात बिन्दु तिनीहरूको आफ्नै महत्त्वकाङ्क्षा, चाहना, र अर्थहीन मागहरू हुन्। यो स्वार्थीपन र निकृष्टताको मौलिक, ठेट उदाहरण हो।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभावको सारको सारांश (भाग एक)

ख्रीष्टविरोधीहरूको स्वार्थीपन र दुष्टताको सार प्रस्टै छ; तिनीहरूका यस्ता प्रकटीकरणहरू एकदमै स्पष्ट हुन्छन्। मण्डलीले तिनीहरूलाई सानो काम सुम्पन्छ, र यदि त्यसले नाम र दाम दिन्छ र तिनीहरूलाई आफ्नो प्रदर्शन गर्न दिन्छ भने, तिनीहरू अत्यन्तै चासो लिएर त्यो काम स्विकार्न इच्छुक हुन्छन्। यदि त्यो काममा जस पाइँदैन वा मानिसलाई चिढ्याउनुपर्ने हुन्छ, वा त्यसले तिनीहरूलाई आफ्नो प्रदर्शन गर्न दिँदैन वा तिनीहरूको हैसियत र ख्यातिलाई फाइदा गर्दैन भने, तिनीहरू चासो देखाउँदैनन् र त्यो काम स्विकार्नेछैनन्, मानौँ यो कामको तिनीहरूसँग कुनै सम्बन्ध छैन, र त्यो तिनीहरूले गर्नुपर्ने काम होइन। तिनीहरूलाई कठिनाइहरू आइपर्दा, तिनीहरू ती समाधान गर्न मरेकाटे सत्यता खोज्दैनन्, झन् त्यसलाई समग्रतामा हेरेर मण्डलीको कामबारे सोच्ने त कुरै छाडौँ। उदाहरणका लागि, परमेश्‍वरको घरको कामको दायराभित्र, कामको समग्र आवश्यकताको आधारमा, केही व्यक्तिहरूलाई स्थानान्तर गरिनुपर्ने हुन सक्छ। यदि मण्डलीबाट एकदुई जना मानिसहरूलाई स्थानान्तर गरियो भने, मण्डलीका अगुवाहरूले यस मामिलालाई सम्हाल्ने बुद्धिमानी तरिका के होला? तिनीहरू समग्र हितहरूबारे नभई, आफ्‍नै मण्डलीको हितबारे मात्रै चिन्तित हुन्छन् भने, र यदि तिनीहरू मानिसहरूलाई सरुवा गर्न बिलकुलै अनिच्छुक हुन्छन् भने, के समस्या हुन्छ? किन मण्डली अगुवाका रूपमा तिनीहरूले परमेश्‍वरको घरका समग्र बन्दोबस्तहरू पालना गर्न सक्दैनन्? के त्यस्तो व्यक्तिले परमेश्‍वरको इच्‍छाको ख्याल गर्छ? के उसले कामको समग्र परिदृश्यमा ध्यान दिन्छ? यदि तिनीहरूले परमेश्‍वरको घरको कामलाई समग्र रूपमा सोच्दैनन्, केवल आफ्‍नै मण्डलीका हितहरूबारे सोच्छन् भने, के तिनीहरू अत्यन्तै स्वार्थी र घृणास्पद हुँदैनन् र? मण्डली अगुवाहरू बिनासर्त परमेश्‍वरका सार्वभौमिकता र बन्दोबस्तहरूमा, अनि परमेश्‍वरको घरका केन्द्रीय बन्दोबस्त र समन्वयमा समर्पित हुनुपर्छ। यो कुरा सत्यता सिद्धान्तअनुरूप हुन्छ। परमेश्‍वरको घरको कामले मागेमा, व्यक्ति जोसुकै भए पनि, हरेक व्यक्तिले परमेश्‍वरको घरका समन्वय र बन्दोबस्तहरूलाई मान्‍नुपर्छ, र कुनै पनि व्यक्तिगत अगुवा वा सेवकको स्वामित्वमा वा उसको निर्णयको अधीनमा भएजस्तै गरी उसको नियन्त्रणमा बस्‍नु हुँदैन। परमेश्‍वरका चुनिएका जनहरूले परमेश्‍वरको घरका केन्द्रीय बन्दोबस्तहरूलाई पालना गर्नु पूर्णतया स्वाभाविक र जायज कुरा हो, र यसलाई कसैले पनि उल्‍लङ्घन गर्न मिल्दैन। अगुवा वा सेवकले व्यक्तिगत रूपमा सिद्धान्तहीन र तर्करहित रूपमा स्थानान्तर गर्छ भने त्यसलाई अवज्ञा गर्न सकिन्छ, तर यस बाहेकका स्थानान्तरलाई परमेश्‍वरका सबै चुनिएका जनहरूले पालना गर्नुपर्छ, र कुनै पनि अगुवा वा सेवकसँग अरू कसैलाई नियन्त्रण गर्ने अधिकार वा कारण हुँदैन। के तिमीहरू यस्तो कुनै काम हुन्छ भनेर भन्छौ जुन परमेश्‍वरको घरको काम हुँदैन? के यस्तो कुनै काम हुन्छ जसमा परमेश्‍वरको राज्यको सुसमाचारको विस्तार सामेल हुँदैन? यो सबै परमेश्‍वरको घरको काम हो, प्रत्येक काम बराबर छ, र यहाँ “तेरो” र “मेरो” हुँदैन। यदि स्थानान्तर गर्नु सिद्धान्तअनुरूप छ र मण्डलीको कामका मापदण्डहरूका आधारमा गरिएको हो भने, यी मानिसहरूको आवश्यकता जहाँ धेरै छ तिनीहरू त्यहीँ जानुपर्छ। तर, यस प्रकारको परिस्थितिको सामना गर्दा ख्रीष्टविरोधीहरूको प्रतिक्रियाचाहिँ कस्तो हुन्छ त? तिनीहरू यी उचित मानिसहरूलाई आफ्‍नो नजिक राख्‍न विभिन्‍न निहुँ र बहाना बनाउँछन्, अनि तिनीहरूले दुई साधारण मानिसहरू मात्र उपलब्ध गराउँछन्, र त्यसपछि कि त व्यस्तता छ भनेर, वा काम गर्ने हातहरूको कमी छ, मानिसहरू भेट्टाउन गाह्रो छ भनेर, र यदि यी दुईलाई सरुवा गरियो भने काम प्रभावित हुनेछ भन्दै तैँतिर दबाब पारिदिने बहाना खोज्छन्। अनि उनीहरूले के गर्नुपर्छ भनी तँलाई सोध्छन्, र तँलाई मानिसलाई सरुवा गर्नुको मतलब तँ उनीहरूप्रति ऋणी भएको अर्थ लाग्छ भन्ने महसुस गराउँछन्। के दियाबलसले यस्तै प्रकारले काम गर्दैन र? अविश्‍वासीहरूले यसरी नै काम गर्छन्। के मण्डलीमा सधैँ आफ्‍नै हितहरू रक्षा गर्न खोज्ने मानिसहरू असल मानिसहरू हुन्? के उनीहरू सिद्धान्तअनुसार काम गर्ने मानिसहरू हुन्? अवश्यै होइनन्। तिनीहरू अविश्‍वासी र गैरविश्‍वासीहरू हुन्। अनि, के यो स्वार्थीपन र निकृष्टता होइन र? यदि ख्रीष्टविरोधीको अधीनमा रहेर काम गर्ने राम्रो क्षमता भएको व्यक्तिलाई अर्को कर्तव्य पूरा गर्न स्थानान्तर गरियो भने, ख्रीष्टविरोधीले आफ्‍नो हृदयमा हठी भएर यसलाई विरोध र इन्कार गर्छ—तिनीहरू यसबाट सबै सकियो भन्‍न चाहन्छन्, र तिनीहरूसँग अगुवा वा समूह अगुवा भएर काम गर्ने कुनै जाँगर हुँदैन। यो कस्तो समस्या हो? मण्डलीका बन्दोबस्तहरूप्रति किन तिनीहरूमा कुनै आज्ञापालन हुँदैन? तिनीहरूले आफ्नो “दाहिने हात” को स्थानान्तर हुँदा यसले तिनीहरूको कामको प्रभावकारिता र प्रगतिमा असर गर्छ, र फलस्वरूप तिनीहरूको हैसियत र प्रतिष्ठामा असर पुग्‍नेछ, जसले गर्दा तिनीहरूले कामको प्रभावकारिता सुनिश्‍चित गर्नका लागि आफूले अझै धेरै परिश्रम गर्न र कष्ट भोग्‍न बाध्य हुनुपर्छ भन्‍ने सोच्छन्—जुन तिनीहरूले अन्तिम विकल्पको रूपमा मात्र गर्न चाहने कुरा हो। तिनीहरूलाई आरामको बानी परेको हुन्छ, र तिनीहरू अझै बढी परिश्रम गर्न वा कष्ट भोग्‍न चाहँदैनन्, त्यसकारण तिनीहरू त्यस व्यक्तिलाई जान दिन चाहँदैनन्। यदि परमेश्‍वरको घरले स्थानान्तरलाई जोड दिन्छ भने, तिनीहरूले यस कुरालाई ठूलो बनाएर आफ्‍नो काम गर्न इन्कार गर्छन्। के यो स्वार्थी र खराब कुरा होइन र? परमेश्‍वरका चुनिएका जनलाई परमेश्‍वरको घरले केन्द्रीय रूपमा अह्राउखटाउ गर्छ। यसको कुनै अगुवा, टोलीप्रमुख, वा व्यक्तिसँग कुनै सरोकार हुँदैन। सबैले सिद्धान्तअनुसार काम गर्नुपर्छ; यो परमेश्‍वरको घरको नियम हो। जब ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरका सिद्धान्तहरूअनुसार व्यवहार गर्दैनन्, जब तिनीहरूले आफ्‍नै हैसियत र हितहरूको खातिर निरन्तर षड्यन्‍त्र रच्छन्, र आफ्नै शक्ति र हैसियतलाई दह्रिलो बनाउन असल क्षमता भएका दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो सेवा गर्न लगाउँछन् भने, के यो स्वार्थीपन र दुष्टता हुँदैन र? बाहिरबाट हेर्दा, असल क्षमता भएका मानिसहरूलाई आफ्नै साथमा राख्दा र परमेश्‍वरको घरलाई ती मानिसहरूलाई सरुवा गर्न नदिँदा, तिनीहरूले मण्डलीको कामको बारेमा सोचेर तिनीहरूलाई सरुवा हुन नदिएजस्तो देखिन्छ, तर वास्तवमा तिनीहरूले आफ्‍नै शक्ति र हैसियतको बारेमा मात्र सोचिरहेका हुन्छन्, मण्डलीको कामको बारेमा बिलकुलै सोचिरहेका हुँदैनन्। तिनीहरू आफूले मण्डलीको काम राम्रोसित नगर्ने आफूलाई हटाइने, र आफ्‍नो हैसियत गुम्ने हो कि भनी डराउने गर्छन्। जब ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरको बृहत् कामको बारेमा सोच्दैनन्, बरु आफ्‍नै हैसियतको बारेमा मात्रै सोच्छन्, परमेश्‍वरको घरका हितहरूमा पुग्‍ने क्षतिको बारेमा कुनै हिसाबकिताब नगरी आफ्‍नै हैसियत जोगाउँछन्, र मण्डलीको काममा हानि पुर्‍याउँदै आफ्‍नै हैसियत र हितहरूको रक्षा गर्छन्, त्यो स्वार्थीपन र दुष्टता हो। यस्तो परिस्थितिको सामना गर्दा, व्यक्तिले कम्तिमा पनि आफ्नो अन्तस्करणले सोच्नुपर्छ: “यी मानिसहरू सबै परमेश्‍वरको घरका हुन्, तिनीहरू मेरो व्यक्तिगत सम्पत्ति होइनन्। म पनि परमेश्‍वरको घरको सदस्य हुँ। परमेश्‍वरको घरलाई मानिसहरूको सरूवा गर्नबाट रोक्‍ने मलाई के अधिकार छ र? मैले आफ्नै जिम्मेवारीको क्षेत्रभित्रको काममा मात्र ध्यान केन्द्रित गर्नुको सट्टा, परमेश्‍वरको घरको समग्र हितलाई विचार गर्नुपर्छ।” विवेक र चेतना हुने व्यक्तिहरूमा यस्ता विचारहरू पाइनुपर्छ, र परमेश्‍वरमा विश्‍वास गर्नेहरूमा यस्तो चेतना हुनुपर्छ। परमेश्वरको घर समग्र काममा सामेल हुन्छ अनि मण्डलीहरू आंशिक कामहरूमा सामेल हुन्छन्। त्यसकारण, जब परमेश्‍वरको घरमा मण्डलीको विशेष खाँचो हुन्छ, तब अगुवा र सेवकहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरको घरका बन्दोबस्तहरूलाई पालना गर्नु हो। झूटा अगुवा र ख्रीष्टविरोधीहरूमा त्यस्तो विवेक र चेतना हुँदैन। तिनीहरू सबै स्वार्थी हुन्छन्, तिनीहरूले आफ्‍नै बारेमा मात्रै सोच्छन्, र तिनीहरूले मण्डलीको कामको बारेमा सोच्दैनन्। तिनीहरूले आफ्नै आँखाअगाडि फाइदा हुने कुरा मात्रै सोच्छन्, तिनीहरूले परमेश्‍वरको घरको व्यापक कामबारे सोच्दैनन्, त्यसकारण तिनीहरू परमेश्‍वरको घरका बन्दोबस्तहरू पालना गर्न पूर्ण रूपमा असमर्थ हुन्छन्। तिनीहरू अत्यन्तै स्वार्थी र दुष्ट हुन्छन्! परमेश्‍वरको घरमा, तिनीहरू निडर भई बाधक बन्‍छन्, र अटेरी गर्ने दुस्साहस समेत गर्छन्, तिनीहरू मानवताको कमी भएका मानिसहरू हुन्, तिनीहरू दुष्ट मानिसहरू हुन्। ख्रीष्टविरोधीहरू त्यस्तै प्रकारका मानिसहरू हुन्। तिनीहरू सधैँ मण्डलीको काम, र दाजुभाइ-दिदीबहिनीहरूलाई, र आफ्नै जिम्मेवारीको दायराभित्र पर्ने परमेश्‍वरको घरको सम्पत्तिलाई समेततिनीहरूको आफ्नै निजी सम्पत्तिजस्तो व्यवहार गर्छन्। यिनीहरूलाई कसरी वितरण, स्थानान्तरण र प्रयोग गर्ने त्यो तिनीहरूकै तजबिजमा निर्भर हुन्छ, र परमेश्‍वरको घरलाई हस्तक्षेप गर्न अनुमति दिइँदैन। एकपल्ट ती कुराहरू तिनीहरूको हातमा पुगेपछि यस्तो लाग्छ मानौँ ती शैतानको कब्जामा छन्, र कसैलाई पनि ती कुराहरू छुने कुनै अनुमति हुँदैन। तिनीहरू ठूलाठालू र नाइके हुन्छन्, र तिनीहरूको क्षेत्रमा जाने जोकोहीले तिनीहरूको आदेश र प्रबन्धहरू पालन गर्नुपर्छ, र तिनीहरूअनुसार चल्नुपर्छ। यो ख्रीष्टविरोधीको चरित्रभित्रको स्वार्थीपन र निकृष्टताको प्रकटीकरण हो। तिनीहरूले सिद्धान्त अलिकति पनि पालन गर्दैनन्, परमेश्‍वरको घरको हितलाई कुनै विचार गर्दैनन्, र केवल तिनीहरूको आफ्नै हित र प्रतिष्ठाको बारेमा मात्र सोच्छन्—यी कुराहरू ख्रीष्टविरोधीहरूका स्वार्थीपन र दुष्टताका पहिचान हुन्।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभावको सारको सारांश (भाग एक)

तँमा प्रकट हुने कुरा अहङ्कार र आत्म-धार्मिकता वा घुमाउरोपन र छलीपन, स्वार्थीपन र नीचता वा लापर्बाही र परमेश्वरलाई ढाँट्ने काम जे भए पनि, तैँले यी भ्रष्ट स्वभावहरू प्रष्टरूपमा नदेखेसम्म त्यसमा चिन्तन गर्नुपर्छ। यसरी, तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने काममा कस्ता समस्याहरू छन्, र तँ मुक्ति पाउनबाट कति टाढा छस् भन्ने कुरा जान्नेछस्। तैँले आफ्नो भ्रष्ट स्वभाव प्रष्टरूपमा देख्न सकिस् भने मात्र आफ्नो कर्तव्य निर्वाहमा कहाँ-कहाँ कठिनाइहरू र अवरोधहरू छन् भनी थाहा पाउन सक्छस्। त्यसपछि मात्र तैँले समस्याहरूलाई मुहानमै सुल्झाउन सक्षम हुनेछस्। उदाहरणका लागि, मानौँ तैँले आफ्नो कर्तव्य निर्वाह गर्नुको जिम्मेवारी लिँदैनस्, बरु जहिलेपनि लापरवाहरूपमा काम गर्छस्, आफ्नो काममा क्षति पुऱ्याउँछस्, तर तँ आफ्नो छविको चिन्ता लिन्छस्, त्यसैले तँ खुलारूपमा तेरो स्थिति र कठिनाइहरूबारे सङ्गति गर्न, वा आत्म-विश्लेषण र आत्म-ज्ञान अभ्यास गर्न अनिच्छुक हुन्छस्, बरु जहिलेपनि परिस्थितिहरूलाई लापरवाहरूपले सामना गर्ने बहानाहरू खोज्छस्। तैँले यो समस्या कसरी सुल्झाउनुपर्छ? तैँले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र यसो भन्दै आत्म-चिन्तन गर्नुपर्छः “हे परमेश्वर, यदि मैले यसरी बोलेँ भने त्यो केवल आफ्नो छवि जोगाउनका लागि मात्र हो। त्यो मेरो भ्रष्ट स्वभाव बोलेको हो। मैले त्यस्तो बोल्नु हुँदैन। म खुलस्त हुनैपर्छ, आफैलाई उदाङ्गो पार्नैपर्छ, र साँच्चै मनमा लागेका कुराहरू जोरले भन्नैपर्छ। म आफ्नै आडम्बरलाई बढावा दिनुभन्दा बरु लज्जा सहनेछु र छवि गुमाउनेछु। म परमेश्वरलाई मात्र सन्तुष्ट तुल्याउन चाहन्छु।” यसरी, आफूविरुद्ध विद्रोह गरेर अनि आफ्नो मनका साँचो विचारहरू जोरले व्यक्त गरेर, तँ इमानदार व्यक्ति बन्ने अभ्यास गरिरहेको हुन्छस्, र त्यसैगरी, तैँले आफ्नै इच्छाअनुसार काम गरिरहेको र आफ्नो छवि मात्र जोगाइरहेको हुँदैनस्। तँ परमेश्वरका वचनहरू व्यवहारमा लागू गर्न, परमेश्वरका अभिप्रायअनुसार सत्यता अभ्यास गर्न, गम्भीरतापूर्वक आफ्नो कर्तव्य पूरा गर्न, र आफ्नो जिम्मेवारी पूर्ण रूपले पूरा गर्न सक्षम हुन्छस्। यसर्थ, तँ सत्यता अभ्यास गरिरहेको र आफ्नो कर्तव्य राम्ररी निर्वाह गरिरहेको मात्र होइन, तैँले परमेश्वरको घरको हित पनि कायम गरिरहेको हुन्छस्, र परमेश्वरको हृदय सन्तुष्ट हुन्छ। यो जीवन जिउने न्यायोचित र सम्मानजनक तरिका हो, जुन परमेश्वर र मानिस दुवै सामु प्रस्तुत गरिन लायक छ। यो त एकदम राम्रो कुरा हो! यो तरिका अभ्यास गर्न अलिक कठिन हुन्छ, तर यदि तेरा प्रयास र अभ्यास यो दिशामा उन्मुख छन् भने, तँ एक-दुई असफल भए पनि, अवश्य सफल हुनेछस्। अनि तेरो लागि सफलताको अर्थ के हुन्छ? यसको अर्थ जब तैँले सत्यताको अभ्यास गर्छस्, तैँले आफूलाई शैतानको बन्धनबाट मुक्त गर्ने यो कदम चाल्न सक्छस्, जुन कदमले तँलाई आफूविरुद्ध विद्रोह गर्ने अनुमति दिन्छ। यसको अर्थ तैँले अभिमान र प्रतिष्ठालाई पन्छाउन, र स्वार्थी र नीच कुराहरू गर्न छोड्न सक्छस्। जब तैँले यसलाई अभ्यासमा लगाउँछस्, तैँले मानिसहरूलाई तँ सत्यतालाई प्रेम गर्ने, सत्यताको तृष्णा गर्ने, न्याय र ज्योतिको चाह गर्ने व्यक्ति होस् भनेर देखाउँछस्। तैँले सत्यता अभ्यास गरेर पाउने परिणाम यो हो। यसको साथै, तैँले शैतानलाई लज्जित पनि पार्छस्। शैतानले तँलाई भ्रष्ट तुल्यायो, यसले तँलाई आफ्‍नै लागि मात्र सोच्‍ने तुल्यायो, तँलाई स्वार्थी तुल्यायो, तँलाई आफ्‍नै प्रतिष्ठाको बारेमा सोच्‍ने तुल्यायो। तर अहिले, यी कुराहरूले अबउप्रान्त तँलाई बाँध्‍न सक्दैनन्, तँ ती कुराहरूबाट स्वतन्त्र भएको छस्, तँ अबउप्रान्त अभिमान, प्रतिष्ठा, वा आफ्‍नै व्यक्तिगत चासोहरूको नियन्त्रणमा छैनस्, र तैँले सत्यताको अभ्यास गर्छस्, यसरी शैतान पूर्णरूपमा लज्जित हुन्छ, र त्यसले केही पनि गर्न सक्दैन। अनि के तँ विजयी भएको हुँदैनस् र? के तँ विजयी भएपछि परमेश्‍वरप्रतिको तेरो गवाहीमा दह्रिलो भई खडा हुँदैनस् र? के तैँले असल लडाइँ लड्दैनस् र? जब तैँले असल लडाइँ लडेको हुन्छस्, तेरो हृदयमा शान्ति, र आनन्द, र सहजताको अनुभूति हुन्छ। यदि तँलाई जीवनमा प्रायजसो दोषी महसुस भइरहन्छ, तेरो हृदयले कुनै चैन पाउँदैन, तँमा शान्ति वा आनन्द छैन, र तँ प्रायजसो हरप्रकारका कुराहरूबारे चिन्ता र तनावमा परिरहन्छस् भने, यसले के देखाउँछ? यसले तँ सत्यता अभ्यास गर्दैनस्, र परमेश्‍वरप्रतिको गवाहीमा दह्रिलो भई खडा हुँदैनस् भन्‍ने मात्रै देखाउँछ। जब तँ शैतानको स्वभावमाझ जिउँछस्, तैँले प्रायजसो सत्यता अभ्यास गर्न नसक्‍ने, सत्यतालाई विश्वासघात गर्ने, र स्वार्थी तथा घृणित बन्‍ने सम्‍भावना हुन्छ; तैँले आफ्नै छवि, आफ्नै नाम र हैसियत, र आफ्नै हितहरू मात्रै कायम गर्छस्। सधैँ आफ्नै लागि मात्र जिउँदा त्यसले ठूलो पीडा ल्याउँछ। तँमा यति धेरै स्वार्थी इच्छा, जाल, बन्धन, आशङ्का, र झन्झटहरू छन् कि तँमा अलिकति पनि शान्ति वा आनन्द छैन। भ्रष्ट देहको लागि जिउनु भनेकै चरम रूपमा कष्ट भोग्‍नु हो। सत्यताको पछि लाग्नेहरू फरक हुन्छन्। तिनीहरू जति बढी सत्यता बुझ्छन्, त्यति नै बढी स्वतन्त्र र मुक्त बन्छन्; जति बढी सत्यता अभ्यास गर्छन्, उति बढी शान्ति र खुसी प्राप्त गर्छन्। जब तिनीहरूले सत्यता प्राप्त गर्छन्, तिनीहरू पूर्णरूपमा प्रकाशमा बाँच्नेछन्, परमेश्वरका आशिषहरूको आनन्द लिनेछन्, र तिनीहरूमा बिलकुलै पीडा हुनेछैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ

तँमाथि परिस्थितिहरू आइपर्दा, तैँले सत्यताको खोजी र अभ्यास गर्नैपर्छ। तैँले सत्यता अभ्यास गर्नुपर्ने समयहरूमा, यदि तँमा सधैँ स्वार्थी हृदय हुन्छ र तँ आफ्नो स्वार्थ छोड्न सक्दैनस् भने, तैँले सत्यता अभ्यास गर्न सक्‍नेछैनस्। यदि तैँले कुनै पनि परिस्थितिमा र कहिल्यै पनि सत्यताको खोजी वा अभ्यास गर्दैनस् भने, तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनस्। तैँले परमेश्‍वरमा विश्‍वास गरेको जति नै वर्ष भए पनि, सत्यता प्राप्त गर्नेछैनस्। कतिपय मानिसहरू सधैँ ख्याति, प्राप्ति र स्वार्थको पछि लाग्छन्। मण्डलीले तिनीहरूलाई जुनसुकै काम दिए पनि, तिनीहरू सधैँ घोत्लिन्छन्, र यस्तो सोच्छन्, “के यसले मलाई फाइदा गर्छ? फाइदा गर्छ भने गर्छु, नत्र गर्दिनँ।” यस्तो व्यक्तिले सत्यता अभ्यास गर्दैन—त्यसकारण के तिनीहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छन्? निश्‍चय नै सक्दैनन्। तैँले दुष्कर्म नगरेको भए पनि, तँ सत्यता अभ्यास गर्ने व्यक्ति होइनस्। यदि तँ सत्यताको पछि लाग्दैनस्, सकारात्मक कुराहरूलाई प्रेम गर्दैनस्, र तँलाई जे आइपरे पनि आफ्नो प्रतिष्ठा, हैसियत, स्वार्थ र तँलाई फाइदा हुने कुरा मात्र वास्ता गर्छस् भने, तँ केवल स्वार्थद्वारा सञ्‍चालित, स्वार्थी र नीच व्यक्ति होस्। यस्तो व्यक्तिले सत्यता वा परमेश्‍वरको मुक्ति प्राप्त गर्न नभई, असल, वा आफूलाई फाइदा पुग्ने कुरा प्राप्त गर्न परमेश्‍वरमा विश्‍वास गर्छ। तसर्थ, यस प्रकारका मानिसहरू अविश्‍वासी हुन्। सत्यता खोज्न र अभ्यास गर्न सक्‍नेहरू नै परमेश्‍वरमा साँचो विश्‍वास गर्ने मानिस हुन्, किनभने तिनीहरूले आफ्नो हृदयमा ख्रीष्ट नै सत्यता हुनुहुन्छ भनी पहिचान गर्छन्, र तिनीहरूले परमेश्‍वरका वचनहरू सुन्‍नुपर्छ र परमेश्‍वरले भन्‍नुभएअनुसार उहाँमा विश्‍वास गर्नुपर्छ भन्‍ने कुरालाई मान्छन्। तँलाई केही आइपर्दा, यदि तँ सत्यता अभ्यास गर्ने इच्छा गर्छस्, तर आफ्नै ख्याति, हैसियत र छविलाई विचार गर्छस् भने, सत्यता अभ्यास गर्नु गाह्रो हुनेछ। यस्तो परिस्थितिमा, प्रार्थना, खोजी र आत्मचिन्तनद्वारा अनि आत्मसेचत बनेर, सत्यतालाई प्रेम गर्नेहरूले आफ्नो स्वार्थी कुरा वा आफ्नो फाइदा छोड्न, सत्यता अभ्यास गर्न, र परमेश्‍वरप्रति समर्पित हुन सक्छन्। यस्ता मानिसहरू परमेश्‍वरमा साँचो विश्‍वास गर्ने र सत्यतालाई प्रेम गर्ने व्यक्तिहरू हुन्। अनि जब मानिसहरूले सधैँ आफ्‍नै हितहरूका बारेमा विचार गर्छन्, जब सधैँ आफ्‍नै गर्व र आडम्बरको रक्षा गर्ने प्रयास गरिरहन्छन्, जब तिनीहरूले भ्रष्ट स्वभाव प्रकट गर्छन् र पनि त्यसलाई समाधान गर्न सत्यताको खोजी गर्दैनन्, तब परिणाम के हुन्छ? परिणाम यो हुन्छ कि तिनीहरूले कुनै जीवन प्रवेश पाउँदैनन्, तिनीहरूमा साँचो अनुभव गवाहीको कमी हुन्छ। अनि यो खतरनाक हुन्छ, होइन र? यदि तैँले कहिल्यै पनि सत्यताको अभ्यास गर्दैनस् भने, यदि तँसँग कुनै अनुभव गवाही छैन भने, समय आएपछि तँलाई खुलासा गरिनेछ र हटाइनेछ। परमेश्‍वरको घरमा अनुभव गवाही नभएका मानिसहरूको के काम हुन्छ र? तिनीहरूले अवश्य नै कुनै कर्तव्य पनि राम्ररी पूरा गर्दैनन्, र कुनै काम पनि उचित रूपमा गर्न सक्षम हुँदैनन्। के तिनीहरू फोहोर होइनन् र? परमेश्‍वरलाई वर्षौंसम्‍म विश्‍वास गरेर पनि यदि मानिसहरूले कहिल्यै पनि सत्यता अभ्यास गर्दैनन् भने, तिनीहरू अविश्‍वासीहरू हुन्; तिनीहरू दुष्ट मानिसहरू हुन्। यदि तैँले सत्यताको अभ्यास कहिल्यै गर्दैनस् र यदि तेरा अपराधहरू झन्झन् धेरै हुँदै गए भने, तेरो परिणाम निश्‍चित हुन्छ। यो स्पष्ट छ कि तेरा सबै अपराधहरू, तैँले हिँड्ने गलत मार्ग, र पश्‍चात्ताप गर्न तैँले गर्ने इन्कार—यी सबै कुरा जोडिएर दुष्ट कार्यहरूको थुप्रो बन्छ; त्यसैले तेरो परिणाम के हुन्छ भने, तँ नरक जानेछस्—तँलाई दण्डित गरिनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

आफ्‍नो कर्तव्य निभाउनेहरू सबैको हकमा भन्दा, सत्यतासम्‍बन्धी तिनीहरूको बुझाइ जति गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल किसिमको अभ्यास भनेको सबै कुरामा परमेश्‍वरको घरको हितबारे विचार गर्नु, र आफ्ना स्वार्थी इच्‍छाहरू, व्यक्तिगत अभिप्राय, मनसाय, गर्व, र हैसियत त्याग्‍नु हो। परमेश्‍वरको घरका हितहरूलाई पहिलो प्राथमिकता दे—व्यक्तिले कम्तीमा पनि यतिचाहिँ गर्नैपर्छ। यदि कर्तव्य निभाउने व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य निभाइरहेको छ भनेर कसरी भन्न सकिन्छ र? त्यो त आफ्नो कर्तव्य निभाएको कुरै भएन। तैँले सर्वप्रथम परमेश्‍वरको घरको हितबारे सोच्नुपर्छ, परमेश्‍वरका अभिप्रायको ख्याल राख्‍नुपर्छ, अनि मण्डलीको कामको बारेमा सोच्नुपर्छ। यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी लिन्छन् सोबारे सोच्न सक्छस्। जब यसलाई तिमीहरूले यी दुई चरणहरूमा विभाजन गर्छौ र केही सम्झौता गर्छौ, तब के तिमीहरूले यो अलि सहज भएको महसुस गर्दैनौ र? यदि तैँले केही समयसम्‍म यसरी अभ्यास गरिस् भने, तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्न त्यति गाह्रो छैन रहेछ भन्ने महसुस गर्नेछस्। तर त्योभन्दा पनि बढी, तँ आफ्ना जिम्मेवारीहरू पूरा गर्न, आफ्ना दायित्वहरू र कर्तव्यहरू निभाउन, अनि आफ्ना स्वार्थी चाहना, आशय र अभिप्रायहरू पन्छाउन सक्षम हुनुपर्नेछ; तैँले परमेश्‍वरका अभिप्रायको ख्याल गर्नुपर्नेछ, र तैँले परमेश्‍वरको घरको हित, मण्डलीको काम र तैँले निभाउनुपर्ने कर्तव्यलाई सबैभन्दा अगाडि राख्‍नुपर्नेछ। तैँले केही समय यस्तो अनुभव गरिसकेपछि, यो नै आफूलाई व्यवहारमा ढाल्ने राम्रो शैली हो भन्ने कुरा महसुस गर्नेछस्। यो सोझो हिसाबले र इमानदार तरिकाले जिउनु हो, र तुच्छ र निकृष्ठ व्यक्ति बन्‍नु होइन; यो त घृणित, तुच्छ, र बेकामे बन्नुको साटो न्यायसंगत रूपले र सम्मानपूर्वक जिउनु हो। व्यक्तिले यही शैलीमा व्यवहार गर्नुपर्छ र उसले जिउनुपर्ने स्वरूप यही हो भन्‍ने तैँले महसुस गर्नेछस्। तेरा आफ्नै स्वार्थहरू सन्तुष्ट पार्ने तेरो चाहना क्रमिक रूपमा कम हुँदै जानेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ

मानिसहरूको स्वार्थीपन, तुच्छता, छलीपन र झूटजस्ता भ्रष्ट स्वभावलाई समाधान गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा तिनीहरू सत्यता स्वीकार गर्न सक्षम छन् कि छैनन् भन्नेमा भर पर्छ। सत्यतालाई स्वीकार गर्न सक्नेहरू सबैले आफ्नो भ्रष्ट स्वभावलाई घृणा गर्छन्, तिनीहरूले स्वार्थीपन र तुच्छता, र आफ्नो छलीपन र झूटहरूलाई घृणा गर्छन्। तिनीहरू यी कुराहरूले आफूलाई दूषित वा कुण्ठित बनाऊन् भन्ने चाहँदैनन्। सत्यतालाई प्रेम गर्नेहरूले आफ्नो भ्रष्ट स्वभावलाई चिन्छन् भने, तिनीहरूलाई यो नकारात्मक फोहोर र रद्दीलाई पन्छाउन सजिलो हुन्छ। सत्यतालाई प्रेम नगर्नेहरूले यी नकारात्मक कुराहरूलाई खजानाका रूपमा लिन्छन्। तिनीहरू आफ्नै नाफालाई अति प्रेम गर्छन्, तिनीहरू देहविरुद्ध विद्रोह गर्न अनिच्छुक हुन्छन्, र तिनीहरू अति हठी हुन्छन्। परिणामस्वरूप, तिनीहरू कहिल्यै पनि परमेश्वरका अभिप्रायहरू के हुन् भनी बुझ्न सक्षम हुँदैनन्, न त उहाँमा समर्पित हुन नै सक्षम हुन्छन्। मानिसहरूले सत्यतालाई प्रेम वा स्वीकार नगरेको कारण वर्षौँसम्म अन्योलपूर्ण तरिकाले परमेश्वरमा विश्वास गर्छन्। जब तिनीहरूको गवाही दिने समय आउँछ, तिनीहरू अवाक् हुन्छन्, र केही बोल्न सक्दैनन्। मानिसहरूले धेरै वर्षदेखि सत्यताबारे प्रवचनहरू सुनेका हुन्छन्, र परमेश्वरको स्वभावबारे तिनीहरूलाई सधैँ थाहा दिइएको हुन्छ, त्यसैले सत्यता पछ्याउनेहरूले यसलाई बुझिसक्नुपर्छ, तर सत्यतालाई प्रेम नगर्नेहरू आफूलाई परमेश्वरको अगाडि खुलस्त पार्न इच्छुक हुँदैनन्। तिनीहरूको हृदयले देहका प्राथमिकताहरू त्याग्न चाहँदैन, त्यसैले तिनीहरूले आफूलाई परमेश्वरसामु सजिलै खुलस्त पार्ने अभ्यास गर्न हिम्मत गर्दैनन्। तिनीहरू परमेश्वरले मानिसहरूलाई दिनुभएको अनुग्रहको आनन्द खुलेर लिन मात्र चाहन्छन्, तर परमेश्वरलाई सन्तुष्ट पार्न सत्यताको अभ्यास गर्न चाहँदैनन्। परमेश्वर भन्नुहुन्छ: “यदि तँ मेरो अनुग्रह प्राप्त गर्न चाहन्छ्स् भने, यदि तँ यी सत्यताहरू प्राप्त गर्न चाहन्छ्स् भने, त्यसको लागि एउटा मात्र शर्त छ—तैँले आफ्नो नाफा त्याग्नैपर्छ, र मलाई आफ्नो सच्चा हृदय दिनैपर्छ।” मानिसहरू यो एउटा शर्त पूरा गर्न पनि असक्षम छन्, र तैपनि अझै परमेश्वरको अनुग्रह माग गर्न, शान्ति र आनन्दको माग गर्न चाहन्छन्, र सत्यता प्राप्त गर्न चाहन्छन्; तर तिनीहरू आफ्नो साँचो हृदय परमेश्वरलाई दिन चाहँदैनन्, त्यसैले तिनीहरू कस्ता प्रकारका मानिसहरू हुन्? के तिनीहरू शैतानी प्रकारका होइनन् र? के तिनीहरूले एकै समयमा दुवै काम गर्न सक्छन्? वास्तवमा, तिनीहरूले सक्दैनन्। तैँले परमेश्वरका अभिप्रायहरू बुझे वा नबुझे पनि, उहाँको स्वभावबारे सधैँ खुलस्त रूपमा मानिसहरूलाई थाहा दिइन्छ। यदि कुनै व्यक्तिले सत्यतालाई कहिल्यै स्वीकार गर्दैन, वा सत्यतालाई अभ्यास नगरी बुझ्छ भने, त्यो ऊ अति हठी भएको र उसले आफ्नो हृदय परमेश्वरलाई नदिएको कारणले गर्दा हो। यसरी, तिनीहरू कहिल्यै सत्यता प्राप्त गर्न सक्षम हुँदैनन्, न त तिनीहरू परमेश्वरको स्वभाव जान्न सक्षम हुन्छन्। यो परमेश्वरले मानिसहरूलाई पूर्वाग्रही व्यवहार गर्नुहुने भएकोले गर्दा हैन। मानिसहरूले प्रायः परमेश्वरलाई उद्धृत गर्दै यसो भन्छन्: “परमेश्वरले जसलाई चाहनुहुन्छ, त्यसलाई अनुग्रहसाथ व्यवहार गर्नुहुन्छ,” तर तिनीहरूले यस वाक्यांशको अर्थ बुझ्दैनन्। बरु, तिनीहरूले परमेश्वरलाई गलत बुझ्छन्। तिनीहरू सोच्छन् कि अनुग्रह परमेश्वरबाट आउँछ, उहाँले जसलाई चाहनुहुन्छ त्यसलाई अनुग्रह दिनुहुन्छ, र उहाँ जसलाई चाहनुहुन्छ उसलाई राम्रो गर्नुहुन्छ। कुरा यही हो त? के यी मानवका धारणा र कल्पनाहरू होइनन्? परमेश्वरले मानिसहरूलाई तिनीहरूको सारको आधारमा व्यवहार गर्नुहुन्छ। जब मानिसहरू परमेश्वरका अभिप्रायहरूप्रति विचार पुर्‍याउन र सत्यता स्वीकार गर्न सक्षम हुन्छन्, तब तिनीहरू परमेश्वरद्वारा आशिषित हुन्छन्। यदि मानिसहरूले सत्यता स्वीकार गर्दैनन् र परमेश्वरको प्रतिरोध गर्छन् भने परिणाम फरक हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हृदय परमेश्वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ

परमेश्वरले मानिसहरूलाई हेर्दा के हेर्नुहुन्छ? उहाँले तिनीहरूको हृदय हेर्नुहुन्छ। मानिसहरूले बोल्ने र गर्ने सबै कुरा तिनीहरूको हृदयद्वारा नियन्त्रित हुन्छ। यदि तेरो हृदय इमानदार छ भने, तेरो मानवता राम्रो हुनेछ। तँ बिस्तारै सत्यता बुझ्न सक्षम हुनेछस्, तँ एक निश्चित हदसम्म परमेश्वरको आवश्यक मापदण्डहरू पूरा गर्न सक्षम हुनेछस्, र तँ परमेश्वरका अभिप्रायहरूप्रति विचार पुर्‍याउन सक्षम हुनेछस्। यदि तेरो हृदय अति छली छ, बन्द छ, र हठी छ भने, यदि तँ स्वार्थी छस्, तँमा असल मानवता छैन, र परमेश्वरले यस्तो व्यवहार गर्नुपर्छ भनेर कल्पना गर्दै तँ सधैँ धारणाहरूमा अड्किएको हुन्छस् भने, यदि तैँले तेरो धारणासँग मेल नखाने कुनै कुरा सामना गर्नुपर्दा परमेश्वरलाई गलत बुझ्छस् र उहाँका अभिप्रायहरू कहिल्यै बुझ्दैनस् भने, के तँ सत्यता प्राप्त गर्न सक्षम हुनेछस्? अहँ, तँ सक्षम हुनेछैनस्। अन्त्यमा, जब तँ सत्यता प्राप्त गर्न सक्दैनस्, के तैँले आफूलाई र अरूलाई दोष दिनेछस् कि परमेश्वर निष्पक्ष हुनुहुन्न भनेर परमेश्वरबारे गुनासो गर्नेछस्? (हामी आफैलाई दोष दिनेछौँ।) हो, तैँले आफैलाई दोष दिनेछस्। त्यसो भए यस्ता व्यक्तिहरूले सत्यता प्राप्त गर्न के गर्नुपर्छ? तिनीहरूले सत्यता खोज्नुपर्छ र सत्यता अभ्यास गर्नुपर्छ, र तिनीहरूले निश्चित तरिकामा व्यवहार र अभ्यास गर्नुपर्छ। यदि तिनीहरू अभ्यास नगरी बुझ्‍ने गर्छन् भने, तिनीहरूले अझै पनि सत्यता प्राप्त गर्न सक्दैनन्। जब तँमा स्वार्थीपन र आफ्नै नाफाको लागि गरिने षड्यन्त्रहरू देखा पर्छन्, र तैँले यो कुरा महसुस गर्छस्, तब तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र यसलाई समाधान गर्न सत्यताको खोजी गर्नुपर्छ। तँलाई थाहा हुनुपर्ने पहिलो कुरा के हो भने, यसरी व्यवहार गर्नु भनेको वास्तवमा सत्यता सिद्धान्तहरूको उल्लङ्घन गर्नु हो, यो मण्डलीको कामको लागि हानिकारक हुन्छ, यो स्वार्थी र घृणित व्यवहार हो, र यो विवेक र समझ भएको मानिसहरूले गर्न हुने कुरा होइन। तैँले आफ्‍ना हितहरू र स्वार्थलाई पन्छ्याउनुपर्छ, र मण्डलीको कामको बारेमा सोच्‍नुपर्छ—यसो गर्नु परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छ। प्रार्थना र आफ्‍नो बारेमा मनन गरिसकेपछि, यदि तैँले साँच्‍चै नै त्यसरी व्यवहार गर्नु स्वार्थी र घृणित कार्य हो भनेर महसुस गरिस् भने, तँलाई आफ्‍नो स्वार्थ पन्छ्याउन सहज हुनेछ। जब तैँले आफ्‍नो स्वार्थीपन र नाफाको लागि गरिने षड्यन्त्रहरू पन्छ्याउँछस्, तब तँलाई आफू स्थिर भएको महसुस हुनेछ, तैँले शान्त र आनन्दित हुनेछस्, र विवेक र समझ भएको मानिसले मण्डलीको कामबारे सोच्नुपर्छ, उसले आफ्नै व्यक्तिगत हितहरू बारे सोचिरहनुहुँदैन, त्यसो गर्नु अति स्वार्थी, घृणित र विवेकहीन अनि समझरहित हुनेछ भनी महसुस गर्नेछस्। निःस्वार्थ काम गर्नु, मण्डलीको कामको बारेमा सोच्‍नु, परमेश्‍वरलाई सन्तुष्ट पार्न नै काम गर्नु न्यायोचित र सम्‍मानजनक कार्य हो, र यसले मात्र तेरो अस्तित्वमा मोल थप्‍नेछ। पृथ्वीमा यस प्रकारले जिएर, तँ खुला र इमानदार भइरहेको छस्, तँ सामान्य मानवताअनुसार र मान्छेको साँचो स्वरूपमा जिइरहेको हुन्छस्, र तँमा शुद्ध विवेक हुनुका साथै तँ परमेश्‍वरले तँलाई प्रदान गर्नुभएका सबै कुराहरूका निम्ति योग्य हुन्छस्। तैँले जति धेरै यस प्रकारले जिउँछस्, त्यति नै बढी स्थिर भएको महसुस गर्नेछस्, र त्यति नै बढी शान्त र हर्षित महसुस गर्नेछस्। के यसरी तैँले परमेश्‍वरमाथिको विश्‍वासमा सही मार्गमा पाइला टेकेको हुँदैनस् र?

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हृदय परमेश्वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ

सम्बन्धित अनुभवात्मक गवाहीहरू

मण्डलीहरूको बाँडफाँडबाट सिकेका पाठहरू

मेरो विगतको बदनामी

अघिल्लो: १४. लापरवाह र झाराटारुवा बन्ने समस्या कसरी समाधान गर्ने

अर्को: १६. झूट बोल्ने र छल गर्ने समस्या कसरी समाधान गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्