१३. कष्ट सहन र कर्तव्यमा जिम्मेवारी लिनदेखि डराउने समस्या कसरी समाधान गर्ने
सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूका वचनहरू
परमेश्वरका वचनहरू खानु र पिउनु, प्रार्थना अभ्यास गर्नु, परमेश्वरको बोझलाई स्वीकार गर्नु अनि उहाँले तँलाई सुम्पिनुभएका कामहरूलाई स्वीकार गर्नु—यो सबैको उद्देश्य तेरो सामु बाटो होस् भन्ने हो। परमेश्वरको आज्ञाको निम्ति तँलाई जति बढी बोझ बोध हुन्छ, उहाँद्वारा तँ सिद्ध हुने कुरा तेरो निम्ति त्यति नै सजिलो हुनेछ। कतिपयलाई बोलाइँदा समेत तिनीहरू परमेश्वरको सेवामा अरूसित समन्वय गर्न अनिच्छुक हुन्छन्; यिनीहरू अल्छी मानिसहरू हुन् जो केवल आरामसित रमाइलो गर्न चाहन्छन्। तँलाई जति बढी अरूसँगको समन्वयमा सेवा गर्न भनिन्छ, तैँले त्यति नै बढी अनुभव हासिल गर्नेछस्। बोझहरू तथा अनुभवहरू धेरै हुँदा तैँले सिद्ध हुनका निम्ति बढी अवसरहरू पाउनेछस्। त्यसकारण, यदि इमानदारीताका साथ तैँले परमेश्वरको सेवा गर्न सक्छस् भने तैँले परमेश्वरको बोझलाई पनि ध्यान दिनेछस्, त्यसो हुँदा, परमेश्वरद्वारा सिद्ध हुनका निम्ति तँसित धेरै अवसरहरू हुनेछन्। हाल केवल त्यस्ता समूहका मानिसहरू नै परमेश्वरद्वारा सिद्ध तुल्याँइदैछन्। तँलाई जति बढी पवित्र आत्माले छुनुहुन्छ, तैँले त्यति नै बढी समय परमेश्वरको बोझप्रति सचेत हुन अर्पित गर्नेछस्, तँलाई त्यति नै बढी परमेश्वरद्वारा सिद्ध तुल्याइनेछ—तबसम्म सिद्ध तुल्याइनेछ जबसम्म तँ अन्ततः परमेश्वरले प्रयोग गर्नुहुने व्यक्ति हुँदैनस्। हाल, केही व्यक्तिहरू यस्ता छन् जसले मण्डलीको निम्ति कुनै बोझहरू बोक्दैनन्। यी मानिसहरू सुस्त र लापरवाह छन् अनि यिनीहरूले केवल आफ्नै देहको मात्र वास्ता गर्छन्। त्यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन् र तिनीहरू अन्धा पनि हुन्छन्। यदि तैँले यो कुरा स्पष्टसित देख्न सक्दैनस् भने, कुनै पनि बोझ बोक्नेछैनस्। तैँले जति बढी परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्छस्, त्यति नै बढी बोझ उहाँले तँलाई सुम्पिनुहुनेछ। स्वार्थीहरू त्यस्ता कुराहरूको कष्ट भोग्न अनिच्छुक हुन्छन्; तिनीहरू मूल्य चुकाउन अनिच्छुक हुन्छन् र परिणामस्वरूप, तिनीहरूले परमेश्वरद्वारा सिद्ध तुल्याइने अवसरहरू गुमाउनेछन्। के तिनीहरूले आफैलाई हानि पुऱ्याइरहेका छैनन् र? यदि तँ परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्ने व्यक्ति होस् भने तँमा मण्डलीको निम्ति साँचो बोझ विकसित हुनेछ। वास्तवमा, यसलाई मण्डलीको निम्ति तैँले बोक्ने बोझ भन्नुको सट्टामा यसलाई तैँले आफ्नै जीवनको खातिर बोक्ने बोझ भन्नु उत्तम हुनेछ किनकि मण्डलीको निम्ति तँमा विकसित यस बोझको उद्देश्य परमेश्वरद्वारा सिद्ध तुल्याइनको निम्ति तँलाई यस्ता अनुभवहरू प्रयोग गर्न दिनु हो। त्यसकारण, जो-जसले मण्डलीको निम्ति सबैभन्दा ठूलो बोझ बोक्छ, जो-जसले जीवन प्रवेशका निम्ति बोझ बोक्छ—तिनीहरू नै परमेश्वरद्वारा सिद्ध तुल्याइने व्यक्तिहरू हुनेछन्। के तैँले यसलाई स्पष्टसित देखेको छस्? यदि तँ भएको मण्डली बालुवा जस्तै छरिएको छ तर तँ न त चिन्तित हुन्छस् न त बेचैन नै अनि तेरा दाजुभाइ तथा दिदीबहिनीहरूले सामान्य रूपले परमेश्वरका वचनहरू खाइरहेका र पिइरहेका नहुँदा पनि आँखा चिम्लिन्छस् भने, तैँले कुनै बोझहरू बोकिरहेको हुँदैनस्। त्यस्ता मानिसहरू परमेश्वरले आनन्द लिने प्रकारका मानिसहरू होइनन्। जुन प्रकारका मानिसहरूमा परमेश्वरले आनन्द लिनुहुन्छ, तिनीहरू धार्मिकताको निम्ति भोकाउँछन् र तिर्खाउँछन् र परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्छन्। यसरी, तिमीहरू परमेश्वरको बोझप्रति अहिले नै सचेत हुनुपर्छ। तिमीहरूले आफू परमेश्वरको बोझप्रति सचेत हुनुअघि उहाँले सम्पूर्ण मानवजातिप्रति आफ्नो धर्मी स्वभाव प्रकट गर्नुभइञ्जेलसम्म पर्खिनु हुँदैन। के त्यति बेलासम्म धेरै ढिलो हुनेछैन र? परमेश्वरद्वारा सिद्ध हुने राम्रो अवसर अहिले नै हो। यदि तैँले यस अवसरलाई आफ्नो हातबाट जान दिइस् भने, मोशाले कनानको असल भूमिमा प्रवेश गर्न असक्षम हुँदा बाँकी जीवनभरि अफसोस गर्दै मरेजस्तै तैँले तेरो बाँकी जीवनभरि अफसोस गर्नेछस्। परमेश्वरले सम्पूर्ण मानवजातिलाई आफ्नो धर्मी स्वभाव प्रकट गर्नुहुँदा तँ अफसोसले भरिनेछस्। परमेश्वरले तँलाई सजाय नदिनुभए तापनि अफसोसले भरिएर तैँले आफूलाई सजाय दिनेछस्। कोही-कोही यसद्वारा विश्वस्त हुँदैनन् तर यदि तैँले विश्वास गर्दैनस् भने, केवल पर्खेर हेर्। केही मानिसहरू यस्ता छन् जसको प्रमुख उद्देश्य यी वचनहरू पूरा गर्नु हो। के तँ यी वचनहरूको खातिर आफैलाई बलिदान गर्न तयार छस्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर
कतिपय मानिसहरू आफ्नो कर्तव्य निभाउँदा जिम्मेवारी लिन डराउँछन्। यदि मण्डलीले तिनीहरूलाई कुनै काम गर्न दियो भने, सुरुमा तिनीहरूले यो काम गर्दा जिम्मेवारी लिनुपर्छ कि पर्दैन भनेर विचार गर्छन्, र पर्छ भने, तिनीहरूले त्यो काम स्विकार्दैनन्। कर्तव्य निभाउनको लागि तिनीहरूका सर्त यस्तो हुन्छः पहिलो, यो साधारण काम हुनुपर्छ; दोस्रो, यो व्यस्त हुने वा थकाउने हुनु हुँदैन; र तेस्रो, जे काम गरे पनि, तिनीहरूले कुनै जिम्मेवारी लिनुपर्ने अवस्था हुनु हुँदैन। तिनीहरूले लिने एउटै मात्र कर्तव्य यही हो। यो कस्तो प्रकारको व्यक्ति हो? के यो चिप्ले र छली व्यक्ति होइन र? तिनीहरूले सानोभन्दा सानो जिम्मेवारी पनि लिँदैनन्। तिनीहरू रूखबाट पात खस्दा त्यसले तिनीहरूको खप्पर फुटाउँछ भनेर समेत डराउँछन्। यस्तो व्यक्तिले कस्तो कर्तव्यचाहिँ पूरा गर्न सक्छ र? परमेश्वरको घरमा तिनीहरूको काम के हुन्छ र? परमेश्वरको घरको काम शैतानसँग युद्ध गर्ने, साथै राज्यको सुसमाचार फैलाउने हो। कुन कर्तव्यमा जिम्मेवारी हुँदैन र? के तिमीहरू अगुवा बन्दा जिम्मेवारी लिनुपर्छ भनेर सोच्छौ? के तिनीहरूको जिम्मेवारी झन् ठूलो हुँदैन र, अनि तिनीहरूले झन् धेरै जिम्मेवारी लिनु पर्दैन र? तैँले सुसमाचार फैलाए पनि, गवाही दिए पनि, भिडियो बनाए पनि, र त्यस्तै अन्य काम गरे पनि, तैँले जुनसुकै काम गरे पनि, त्यो सत्यता सिद्धान्तहरूसँग सम्बन्धित छ भने, यसमा जिम्मेवारी निहित हुन्छ। यदि तेरो कर्तव्य निभाउने शैली सिद्धान्तहीन छ भने, यसले परमेश्वरको घरको काममा असर गर्छ, र यदि तँ जिम्मेवारी लिन डराउँछस् भने, तैँले कुनै पनि कर्तव्य पूरा गर्न सक्दैनस्। आफ्नो कर्तव्य निभाउँदा जिम्मेवारी लिन डराउने व्यक्ति कायर हुन्छ कि उसको स्वभावमा समस्या हुन्छ? तैँले यो भिन्नता छुट्याउन सक्नुपर्छ। साँचो कुरा के हो भने, यो कायरताको समस्या होइन। यदि त्यो व्यक्ति सम्पत्तिको पछि लागेको वा आफ्नै हितको काम गरिरहेको हुन्थ्यो भने, त्यो व्यक्ति कसरी त्यति साहसी हुन सक्थ्यो? त्यस्ताहरूले जुनसुकै खतरा मोल्न सक्थे। तर जब तिनीहरूले मण्डलीको लागि, परमेश्वरको घरको लागि काम गर्छन्, तबचाहिँ कुनै खतरा मोल्दैनन्। त्यस्ता मानिसहरू स्वार्थी र घृणित हुन्छन्, र सबैभन्दा विश्वासघाती हुन्छन्। आफ्नो कर्तव्य निभाउँदा जिम्मेवारी नलिने कुनै पनि व्यक्ति परमेश्वरप्रति रतीभर इमानदार हुँदैनन्, तिनीहरूको बफादारीताको त कुरै नगरौँ। कस्तो व्यक्तिले जिम्मेवारी लिने आँट गर्छ? कस्तो व्यक्तिमा ठूलो बोझ लिने साहस हुन्छ? त्यस्तो व्यक्तिमा, जो परमेश्वरको घरको कामको सबभन्दा महत्त्वपूर्ण क्षणमा नेतृत्व गर्दै साहसका साथ अघि बढ्छ, जो सबैभन्दा महत्त्वपूर्ण र अर्थपूर्ण काम देख्दा गह्रौँ जिम्मेवारी लिन र ठूलो कठिनाइ भोग्न डराउँदैन। त्यो परमेश्वरप्रति निष्ठावान् व्यक्ति हो, ख्रीष्टको असल सिपाही हो। के आफ्नो कर्तव्यमा जिम्मेवारी लिन डराउने व्यक्ति सत्यता नबुझेको कारण त्यस्तो भएको हुन्छ? होइन; यो तिनीहरूको मानवताको समस्या हो। तिनीहरूमा न्याय वा जिम्मेवारीको कुनै बोध हुँदैन, तिनीहरू स्वार्थी र खराब मानिसहरू हुन्, परमेश्वरमा साँचो हृदयले विश्वास गर्नेहरू होइनन्, र तिनीहरू सत्यता स्विकार्दै स्विकार्दैनन्। यस कारणले गर्दा, तिनीहरूले मुक्ति पाउन सक्दैनन्। परमेश्वरका विश्वासीहरूले सत्यता प्राप्त गर्न ठूलो मूल्य चुकाउनुपर्छ, र यो अभ्यास गर्दा तिनीहरूले धेरै बाधाहरू सामना गर्नेछन्। तिनीहरूले त्याग गर्नुपर्छ, आफ्ना देहगत हितहरू पन्छाउनुपर्छ, र केही कष्टहरू भोग्नुपर्छ। त्यसपछि मात्रै तिनीहरूले सत्यता अभ्यास गर्न सक्नेछन्। त्यसो भए, के जिम्मेवारी लिन डराउने व्यक्तिले सत्यता अभ्यास गर्न सक्छ? सत्यता अभ्यास गर्न निश्चय नै सक्दैन, त्यो प्राप्त गर्ने त कुरै छाडौँ। तिनीहरू सत्यता अभ्यास गर्न, र आफ्ना हितहरूमा हानि खेप्न डराउँछन्; तिनीहरूलाई अपमान, बेइज्जति र आलोचनाको डर हुन्छ, र तिनीहरू सत्यता अभ्यास गर्ने आँट गर्दैनन्। फलस्वरूप, तिनीहरू सत्यता प्राप्त गर्न पनि सक्दैनन्, र परमेश्वरमा विश्वास गरेको जति वर्ष भए पनि, तिनीहरूले उहाँको मुक्ति प्राप्त गर्न सक्दैनन्। परमेश्वरको घरमा कर्तव्य पूरा गर्न सक्ने मानिसहरू मण्डलीको कामको निम्ति बोझ उठाउने, जिम्मेवारी लिने, सत्यता सिद्धान्तहरू पालना गर्ने, र कष्ट भोग्न र मूल्य चुकाउन सक्ने मानिसहरू हुनुपर्छ। यदि व्यक्तिमा यी क्षेत्रहरूको कमी छ भने, ऊ कर्तव्य निभाउनको लागि अयोग्य हुन्छ र उसमा कर्तव्य निभाउनको लागि चाहिने आवश्यक सर्तहरू पुग्दैन। धेरै मानिसहरू कर्तव्य निर्वाह गर्दा आउने जिम्मेवारी लिन डराउँछन्। तिनीहरूको डर मुख्य गरी तीन तरिकाले प्रकट हुन्छ। पहिलो, तिनीहरूले जिम्मेवारी लिनुनपर्ने कर्तव्यहरू छनौट गर्छन्। यदि मण्डली अगुवाले तिनीहरूले निर्वाह गर्नुपर्ने कर्तव्यको बन्दोबस्त गर्यो भने, सुरुमा तिनीहरूले यसको लागि जिम्मेवारी लिनुपर्छ कि पर्दैन भनेर सोध्छन्: जिम्मेवारी लिनुपर्छ भने, तिनीहरू यसलाई स्विकार्दैनन्। यदि यसको लागि तिनीहरूले जिम्मेवारी लिनुपर्दैन तिनीहरू जिम्मेवार हुनुपर्दैन भने, तिनीहरूले यसलाई इच्छा नलागीनलागी स्वीकार गर्छन्, तर अझै पनि तिनीहरूले काम थकाइलाग्दो वा झन्झटिलो छ कि छैन भनेर हेर्ने गर्छन्, र मन नलागीनलागी कर्तव्य पूरा गर्न स्वीकार गरे पनि, तिनीहरूमा यो कर्तव्य राम्ररी पूरा गर्ने जाँगर हुँदैन, र तिनीहरू निस्फिक्री हुन रुचाउँछन्। फुर्सत होस्, परिश्रम गर्नु नपरोस्, र शरीरलाई कठिनाइ नहोस्—यही नै तिनीहरूको सिद्धान्त हो। दोस्रो कुरा के हो भने जब तिनीहरूमा कठिनाइ आइपर्छ वा तिनीहरूले समस्या सामना गर्छन्, तब तिनीहरूले गर्ने पहिलो काम भनेको आफ्नो सहजता कायमै राख्ने आशा गर्दै यसबारेमा अगुवालाई रिपोर्ट गर्नु र अगुवालाई नै यो सम्हाल्न र समाधान गर्न लगाउनु हो। अगुवाले यो समस्या कसरी सम्हाल्छन् भन्नेबारे तिनीहरूलाई कुनै मतलब हुँदैन र यसमा तिनीहरूले कुनै ध्यान दिँदैनन्—जबसम्म तिनीहरू आफै जिम्मेवार हुनुपर्दैन, तबसम्म तिनीहरूको लागि सबै कुरा ठीक हुन्छ। के त्यसरी कर्तव्य पूरा गर्नु परमेश्वरप्रति निष्ठावान हुनु हो? यसलाई जिम्मेवारी अरूमा थोपर्नु, कर्तव्यच्युत हुनु, र चाल रच्नु भनिन्छ। यो सबै गफ मात्र हो; तिनीहरूले कुनै वास्तविक काम गरेका हुँदैनन्। तिनीहरूले मनमनै भन्छन्, “यदि यो काम मैले सम्हाल्नु मेरो जिम्मेवारी हो, र यदि मैले गल्ती गरेँ भने के हुन्छ? दोषीबारे अनुसन्धान गर्दा, के तिनीहरूले मलाई नै तह लगाउनेछैन र? के यसको जिम्मेवारी सुरुमा मेरै काँधमा आउँदैन र?” तिनीहरूले यही कुराको बारेमा चिन्ता गर्छन्। तर के परमेश्वरले सबैलाई सूक्ष्म छानबिन गर्नुहुन्छ भन्ने तँलाई विश्वास लाग्छ? सबैले गल्ती गर्छन्। यदि सही अभिप्राय भएको व्यक्तिमा अनुभवको कमी छ र उसले यस्तो कुरा पहिले कहिल्यै सम्हालेको छैन, तर उसले सक्दो प्रयास गरेको छ भने, यो कुरा परमेश्वरले देख्नुहुन्छ। तैँले परमेश्वरले सबै कुरा र मानिसको हृदय जाँच्नुहुन्छ भनेर विश्वास गर्नैपर्छ। यदि व्यक्तिले यो कुरासमेत विश्वास गर्दैन भने, के ऊ अविश्वासी होइन र? त्यस्तो व्यक्तिले कर्तव्य पूरा गर्नुको महत्त्व के हुन सक्छ र? उसले यो कर्तव्य निर्वाह गर्नु नगर्नुले वास्तवमै महत्त्व राख्दैन, राख्छ त? ऊ जिम्मेवारी लिन डराउँछ र जिम्मेवारीबाट भाग्छ। केही आइपर्दा, उसले सुरुमै उक्त समस्या सम्हाल्ने उपायबारे सोच्ने कोसिस गर्दैन, बरु पहिले अगुवालाई सम्पर्क गरेर जानकारी दिने गर्छ। अवश्य नै, कतिपय मानिस अगुवालाई जानकारी दिँदा उक्त समस्या आफै सम्हाल्ने कोसिस गर्छन्, तर कतिपय मानिस भने यसो गर्दैनन्, र सुरुमा अगुवालाई सम्पर्क गर्छन् र त्यसपछि केही नगरी निर्देशन पर्खेर बस्छन्। अगुवाले तिनीहरूलाई कुनै कदम चाल्नू भनी निर्देशन दिँदा तिनीहरू कदम चाल्छन्; यदि अगुवाले केही काम गर्नू भनेमा तिनीहरू त्यो गर्छन्। यदि अगुवाले केही पनि भनेन वा निर्देशन दिएन भने, तिनीहरू केही पनि गर्दैनन् र त्यतिकै आलटाल गर्छन्। तिनीहरू कसैले हौसला नदिई वा रेखदेख नगरी बिलकुलै कुनै काम गर्दैनन्। ल भन्, के यस्तो व्यक्तिले कर्तव्य निभाइरहेको हुन्छ? उसले परिश्रम गरिरहेको भए पनि, उसमा वफादारी हुँदैन! व्यक्तिले कर्तव्य पूरा गर्दा जिम्मेवारी लिन डराउने अवस्थाको प्रकटीकरण एउटा अर्को तरिकाले पनि हुन्छ। कतिपय मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, सतही, साधारण, अनि जिम्मेवारी लिनुनपर्ने काम मात्रै अलिअलि गर्छन्। तिनीहरूले कठिनाइ भोग्नुपर्ने र जिम्मेवारी लिनुपर्ने काम अरूको काँधमा हालिदिन्छन्, र केही गल्ती भयो भने, त्यसको दोष तिनै मानिसहरूमा थोपरिदिन्छन् र आफूलाई दोषमुक्त राख्छन्। तिनीहरू गैरजिम्मेवार भएको देख्दा, मण्डली अगुवाहरूले धैर्यताको साथ सहयोग गर्छन्, वा तिनीहरूलाई काटछाँट गर्छन्, ताकि तिनीहरूले जिम्मेवारी लिन सकून्। तर तिनीहरू अझै पनि जिम्मेवारी लिन चाहँदैनन्, र सोच्छन्, “यो कर्तव्य पूरा गर्न कठिन छ। गल्ती भएमा मैले नै यसको जिम्मेवारी लिनुपर्नेछ, र मलाई हटाइने र निकालिने सम्भावना हुन्छ, र त्यो मेरो लागि अन्त्य हुनेछ।” यो कस्तो प्रकारको मनोवृत्ति हो? यदि आफ्नो कर्तव्य निर्वाह गर्दा तिनीहरूमा जिम्मेवारीबोध छैन भने, तिनीहरूले कसरी आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छन्? आफूलाई साँचो रूपमा परमेश्वरको लागि समर्पित गर्न नसक्नेहरूले कुनै पनि कर्तव्य राम्ररी पूरा गर्न सक्दैनन्, र जिम्मेवारी लिन डराउनेहरूले कर्तव्य निर्वाह गर्दा काममा ढिलाइ मात्रै गर्छन्। त्यस्ता मानिसहरू भरोसा गर्न योग्य वा भरपर्दा हुँदैनन्; तिनीहरूले पेट भर्नको लागि मात्रै आफ्नो कर्तव्य निर्वाह गर्छन्। के यस्ता “भिखारी” हरूलाई हटाइनुपर्छ? पर्छ। परमेश्वरको घरले त्यस्ता मानिसहरू चाहँदैन। आफ्नो कर्तव्य निर्वाह गर्ने जिम्मेवारी लिन डराउने मानिसहरूका तीन प्रकटीकरणहरू यिनै हुन्। आफ्नो कर्तव्यमा जिम्मेवारी वहन गर्न डराउने मानिसहरू वफादार सेवाकर्ताको स्तरमा पनि पुग्न सक्दैनन्, र कर्तव्य निर्वाह गर्न योग्य हुँदैनन्। आफ्नो कर्तव्यप्रतिको यस्तो मनोवृत्तिले गर्दा कतिपय मानिसहरूलाई निकालिन्छ। अहिले पनि, तिनीहरूले यसको कारण थाहा नपाएका हुन सक्छन् र यसो भन्दै अझै गुनासो गर्न सक्छन्, “मैले आफ्नो कर्तव्य असाध्यै उत्साहका साथ पूरा गरेँ, तैपनि किन तिनीहरूले मलाई यति रूखो तरिकाले निकाले?” तिनीहरूले अहिले पनि यो कुरा बुझ्दैनन्। सत्यता नबुझ्नेहरूले आफूलाई किन निकालियो भनेर नबुझी आफ्नो सम्पूर्ण जीवन बिताउँछन्। तिनीहरूले आफ्नो लागि बहाना बनाउँछन्, र यस्तो सोच्दै आफ्नो रक्षा गरिरहन्छन्, “मानिसहरूले आफ्नो सुरक्षा गर्नु प्राकृतिक प्रवृत्ति नै हो, र तिनीहरूले त्यसो गर्नुपर्छ। कसले आफ्नो अलिकति भए पनि रक्षा गर्नु हुँदैन र? कसले आफ्नो बारेमा अलिकति भए पनि सोच्नु हुँदैन र? कसले आफ्नो लागि उम्कने बाटो राख्नु पर्दैन र?” आफूमाथि कुनै कुरा आइपर्दा यदि तैँले आफैलाई सुरक्षा गर्छस् र आफ्नो लागि पछाडिको ढोका र उम्कने बाटो खुला छोडिराख्छस् भने के तैँले सत्यता अभ्यास गरिरहेको हुन्छस् र? यो सत्यता अभ्यास गर्नु होइन—यो कपटी बन्नु हो। तैँले अहिले परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह गरिरहेको छस्। कर्तव्य निर्वाह गर्नुको पहिलो सिद्धान्त के हो त? यो के हो भने तैँले त्यो कर्तव्य सम्पूर्ण हृदय लगाएर निर्वाह गर्नुपर्छ, कुनै कसर बाँकी छाड्नु हुँदैन, र तैँले परमेश्वरको घरको हितको संरक्षण गर्नुपर्छ। यो एउटा सत्यता सिद्धान्त हो। आफ्नो लागि पछाडिको ढोका र उम्कने बाटो छोड्नु र आफैलाई संरक्षण गर्नु भनेको गैरविश्वासीहरूले पछ्याउने अभ्यासको सिद्धान्त र तिनीहरूको सबैभन्दा उच्च दर्शन हो। सबै कुराहरूमा सबैभन्दा पहिले आफ्नै बारे सोच्नु र अन्य सबै कुराभन्दा अगाडि आफ्नै हितलाई राख्नु, अरूको बारेमा नसोच्नु, परमेश्वरको घरको हित र अन्य व्यक्तिहरूको हितको बारेमा कुनै सम्बन्ध नराख्नु, आफ्नै हितको बारेमा सबैभन्दा पहिले सोच्नु र त्यसपछि आफ्नो उम्कने बाटोको बारेमा सोच्नु—के गैरविश्वासी भनेको त्यही होइन र? गैरविश्वासी भनेको ठ्याक्कै यही हो। यस प्रकारको व्यक्ति कर्तव्य निर्वाह गर्नको लागि उपयुक्त हुँदैन।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक)
एउटा कर्तव्य निभाउन दुईजनालाई जोडी बनाइन्छ। दुबै जना त्यसको जिम्मेवारी लिन डराउँछन्, त्यसैले त्यो तिनीहरूको बौद्धिकताको लडाइँ बन्छ। एउटाले भन्छ, “यसलाई तिमीले नै सम्हाल।” अर्कोले भन्छ, “यसलाई तिमीले सम्हाल्दा राम्रो हुन्छ। म तिमीभन्दा कम क्षमतावान् छु।” तिनीहरू वास्तवमा यस्तो सोचिरहेका हुन्छन्: “यो काम राम्ररी गरेमा कुनै इनाम पाइनेछैन, र यदि राम्ररी गरिएन भने, मलाई काटछाँट गरिनेछ। म जान्नँ—म त्यति लाटो छैन! तिमी के गर्न खोजिरहेको छौ, त्यो मलाई थाहा छ। मलाई जान लगाउने प्रयास गर्न छोड।” त्यो विवादपछि अन्त्यमा के हुन्छ? ती दुईमध्ये कोही पनि जाँदैन, र फलस्वरूप काममा ढिलाइ हुन्छ। के त्यो अनैतिक होइन र? (हो।) काममा ढिलाइ गराउनु गम्भीर परिणाम होइन र? त्यो खराब परिणाम हो। त्यसोभए, ती दुईजना केद्वारा जिइरहेका छन्? तिनीहरू दुवैजना शैतानी दर्शनहरूद्वारा जिइरहेका छन्; तिनीहरू शैतानी दर्शन र तिनीहरूको आफ्नै चालबाजीको बाधा र बन्धनमा परेका छन्। तिनीहरू सत्यता अभ्यास गर्न असफल भएका छन्, र यसरी तिनीहरूको कर्तव्यनिर्वाह मापदण्डअनुरूप हुँदैन। त्यो झारा टार्ने काम मात्र हुन्छ, र त्यसमा कुनै पनि गवाही हुँदैन। मानौँ कुनै कर्तव्य निर्वाह गर्न दुईजनालाई जोडी बनाइयो रे। एउटा सबथोकमा हाबी हुन खोज्छ र सधैँ अन्तिम निर्णय गर्न चाहन्छ, अनि अर्कोचाहिँ यस्तो सोच्न सक्छ, “बलियो त ऊ हो; उसलाई अगुवाइ गर्न मन पर्छ। उसले सबथोकमा अगुवाइ गर्दा हुन्छ, र केही कुरा बिग्रिएमा, उसैलाई काटछाँट गरिनेछ। ‘थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ’! म अग्लो कीला हुनेछैन। संयोगवश म कम क्षमतावान् छु, र मलाई परिस्थितिहरू सम्हाल्न मन लाग्दैन। उसलाई नै अगुवाइ गर्न मन पर्छ, होइन र? यदि केही काम गर्नु छ भने, म उसैलाई गर्न दिनेछु!” यसो भन्ने व्यक्तिहरू मान्छे खुसी पारिहिँड्ने व्यक्ति, अर्थात् अनुयायी हुनमै रमाउँछन्। तिनीहरूको कर्तव्य निर्वाह गर्ने तरिकाबारे तँलाई के लाग्छ? तिनीहरू केद्वारा जिइरहेका हुन्छन्? (सांसारिक व्यवहारका दर्शनहरूद्वारा।) तिनीहरू अरू पनि केही सोचिरहेका हुन्छन्। “यदि मैले उसलाई छायाँमा पारेँ भने के ऊ मसित रिसाउनेछैन र? के भविष्यमा हामीबीच फूट आउनेछैन र? यदि यसले हाम्रो सम्बन्धमा असर गर्यो भने, मिलेर अघि बढ्न कठिन हुनेछ। मैले उसलाई आफ्नो बाटोमा लाग्न दिनु नै बेस हुनेछ।” के यो सांसारिक व्यवहारको दर्शन होइन र? तिनीहरू जसरी जिइरहेका छन् त्यसले तिनीहरूलाई समस्याबाट बचाउँछ। यसले तिनीहरूलाई जिम्मेवारीबाट पन्छिन मद्दत गर्छ। तिनीहरू आफूलाई जे गर्न बाध्य पारिन्छ त्यही मात्र गर्नेछन्, अगुवाइ गर्नुपर्ने वा अलग्गै देखिनुपर्ने, र कुनै समस्याबारे सोच्नुपर्ने काम गर्नेछैनन्। सबथोक अरू कसैले सम्हालिरहेको छ, त्यसैले तिनीहरूले आफूलाई थकित तुल्याउनेछैनन्। अनुयायी हुने तिनीहरूको तत्परताले तिनीहरूमा जिम्मेवारीको भावना नै छैन भन्ने प्रमाणित गर्छ। तिनीहरू दुनियाँसित व्यवहार गर्ने दर्शनहरूद्वारा जिइरहेका हुन्छन्। तिनीहरू सत्यता स्विकार्ने वा सिद्धान्तहरू पालना गर्ने गर्दैनन्। यो सौहार्दपूर्ण सहकार्य होइन—यो अनुयायी, अर्थात् मान्छे खुसी पारिहिँड्ने व्यक्ति बन्नु हो। यो किन सहकार्य होइन? किनभने कुनै पनि कुरामा तिनीहरू आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैनन्। तिनीहरू आफ्नो सारा हृदय वा सारा मनले कार्य गर्दैनन्, र सायद तिनीहरू आफ्नो सारा शक्तिले पनि कार्य गर्दैनन्। त्यसैले म भन्छु, तिनीहरू सत्यताद्वारा भन्दा पनि दुनियाँसित व्यवहार गर्ने दर्शनहरूद्वारा जिइरहेका छन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले जिउनको लागि वास्तवमा केमा भरोसा गर्छन्?
यदि तँलाई कुनै निश्चित कर्तव्य निर्वाह गर्न सक्छु जस्तो लाग्छ, तर तँ आफूले गल्ती गर्ने र आफूलाई हटाइने डर पनि मान्छस्, त्यसैले तँ कायर र सुस्त हुन्छस् अनि अघि बढ्न सक्दैनस् भने, के त्यो समर्पणको मनोवृत्ति हो? उदाहरणको निम्ति, यदि तेरा दाजुभाइ-दिदीबहिनीहरूले तँलाई तिनीहरूको अगुवाको रूपमा छनौट गर्छन् भने, तँ यो कर्तव्य पूरा गर्न बाध्य भएको महसुस गर्छस्, किनकि तँ छानिएको थिइस्, तर तँ यस कर्तव्यलाई सक्रिय मनोवृत्तिले हेर्दैनस्। तँ किन सक्रिय बन्दैनस्? किनकि तँसित त्यसबारे सोचहरू छन् र तँलाई यस्तो लाग्छ, “अगुवा हुनु बिलकुल राम्रो कुरा होइन। यो छुरीको धारमाथि हिँड्नु वा पातलो बरफमाथि टेक्नु जस्तै हो। यदि मैले असल काम गरेँ भने, कुनै इनाम पाउनेछैनँ, तर यदि मैले नराम्रो काम गरेँ भने मलाई काटछाँट गरिनेछ। काटछाँट हुनु नै यसको सबैभन्दा नराम्रो नतिजा पनि होइन। यदि मलाई प्रतिस्थापित गरियो वा निकालियो भने के गर्ने? यदि त्यसो भयो भने, मेरा सम्भावनाका सबै ढोकाहरू बन्द हुनेछैनन् र?” त्यो अवस्थामा तँलाई दुविधा महसुस हुन थाल्नेछ। यो कस्तो मनोवृत्ति हो? यो सतर्क रहनु र गलत बुझ्नु हो। मानिसहरूले आफ्नो कर्तव्यप्रति राख्नुपर्ने मनोवृत्ति यो होइन। यो हतोत्साहित र नकारात्मक मनोवृत्ति हो। त्यसोभए, सकारात्मक मनोवृत्ति कस्तो हुनुपर्छ त? (हामी खुला हृदयको र निष्कपट हुनुपर्छ, अनि हामीमा बोझहरू उठाउने साहस हुनुपर्छ।) यो समर्पणता र सक्रिय सहकार्यको मनोवृत्ति हुनुपर्छ। तिमीहरूको कुरा अलि खोक्रो छ। तँ यस्तो डराउँछस् भने कसरी खुला हृदयको र निष्कपट हुन सक्छस्? अनि बोझहरू उठाउने साहस हुनु भनेको के हो? कस्तो मानसिकताले तँलाई बोझहरू उठाउने साहस दिनेछ? यदि तँ सधैँ केही गलत हुनेछ र तैँले त्यो सम्हाल्न सक्नेछैनस् भनी डराउँछस्, र तेरा थुप्रै आन्तरिक बाधाहरू छन् भने, आधारभूत रूपमा तँसित बोझहरू उठाउने साहस हुनेछैन। तिमीहरूले भन्ने “खुला हृदयको र निष्कपट हुनु,” “बोझहरू उठाउने साहस राख्नु,” वा “मृत्युको मुखमा समेत कहिल्यै पछि नहट्नु” कताकता रिसाहा जवान मानिसहरूले फलाक्ने नाराजस्ता सुनिन्छन्। के यी नाराहरूले व्यावहारिक समस्याहरू समाधान गर्न सक्छन्? अहिले चाहिएको भनेको सही मनोवृत्ति हो। सही मनोवृत्ति बोक्नका लागि, तैँले सत्यताको यो पक्ष बुझ्नैपर्छ। तेरा आन्तरिक कठिनाइहरू समाधान गर्ने, र सहज रूपमा यो आज्ञा अर्थात् यो कर्तव्य स्विकार्ने एउटै मात्र उपाय यही हो। यो अभ्यासको बाटो हो, अनि केवल यही नै सत्यता हो। यदि तैँले महसुस गर्ने डरलाई सम्बोधन गर्न तँ “खुला हृदयको र निष्कपट हुने” अनि “बोझहरू उठाउने साहस राख्ने” जस्ता शब्दहरू प्रयोग गर्छस् भने, के यो प्रभावकारी हुनेछ र? (हुँदैन।) यसले यी कुराहरू सत्यता होइनन्, न त ती अभ्यासको बाटो हुन् भन्ने सङ्केत गर्दछ। तैँले भन्न सक्लास्, “म खुला हृदयको र निष्कपट हुँ, म अदम्य कदको छु, मेरो हृदयमा अरू कुनै सोचहरू वा दूषकहरू छैनन्, र मसित बोझ उठाउने साहस छ।” बाहिरी रूपले, तँ आफ्नो कर्तव्य सम्हाल्छस्, तर पछि, यसलाई केही समयसम्म मनन गरिसकेपछि, तँलाई अझै यसलाई उठाउन सक्दिनँ जस्तो लाग्छ। तँलाई अझै डर लाग्नेछ। यसको अतिरिक्त, तैँले अरू काटछाँट भएको देख्न सक्छस्, अनि अगुल्टोले कुटेको कुकुर बिजुली चम्किँदा तर्से जस्तै तँ झन् धेरै डराउन सक्छस्। तैँले लगातार आफ्नो कद धेरै सानो भएको अनि यो कर्तव्य विशाल, पारै गर्न नसकिने अगाध खाँद जस्तै भएको अनुभव गर्नेछस्, अनि अन्ततः तँ अझै यो बोझ उठाउन असक्षम हुनेछस्। यसकारण नाराहरू फलाकेर व्यावहारिक समस्याहरू समाधान गर्न सकिँदैन। त्यसोभए वास्तवमा तँ यो समस्या कसरी समाधान गर्न सक्छस्? तैँले सक्रिय रूपमा सत्यता खोज्ने र समर्पण र सहकार्यको मनोवृत्ति अपनाउने गर्नुपर्छ। त्यसले समस्यालाई पूर्ण रूपमा समाधान गर्न सक्छ। कायरता, डर, र चिन्ता बेकारका कुरा हुन्। के तेरो खुलासा हुनु र तँ निकालिनु र अगुवा बन्नुबीच कुनै सम्बन्ध छ? यदि तँ अगुवा होइनस् भने, के तेरो भ्रष्ट स्वभाव हराउनेछ? ढिलोचाँडो तैँले तेरो भ्रष्ट स्वभावको समस्या समाधान गर्नैपर्छ। यसका साथै, यदि तँ अगुवा होइनस् भने, तँसित अभ्यास गर्ने थप अवसरहरू हुनेछैनन् र तैँले जीवनमा सुस्त प्रगति गर्नेछस्, र सिद्ध पारि थोरै मात्र मौकाहरू पाउनेछस्। अगुवा वा सेवक हुनुमा अलि बढी दुःख भए पनि, यसले धेरै लाभहरू पनि दिन्छ, र यदि तँ सत्यता पछ्याउने मार्गमा हिँड्न सक्छस् भने, तँलाई सिद्ध पार्न सकिन्छ। त्यो अत्यन्तै ठूलो आशिष् हो! त्यसैले तैँले समर्पण र सक्रिय सहकार्य गर्नुपर्छ। यो तेरो कर्तव्य हो र तेरो उत्तरदायित्व हो। अगाडिको बाटो जे-जस्तो भए पनि, तँसित समर्पणताको हृदय हुनुपर्छ। तैँले यही मनोवृत्तिका साथ आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?
यदि तिमीहरू अगुवा र सेवकहरूका रूपमा कर्तव्यहरू निर्वाहमा देखा पर्ने समस्याहरूलाई बेवास्ता गर्छौ, अनि जिम्मेवारी पन्छाउन विभिन्न निहुँ र बहानाहरूसमेत खोज्छौ, र आफूले समाधान गर्न सक्ने कतिपय समस्या समाधान गर्दैनौ, अनि आफूले समाधान गर्न नसक्ने समस्याहरूबारे माथिलाई रिपोर्ट गर्दैनौ भने, मानौँ तीसित तेरो कुनै छैन, के यो आफ्नो जिम्मेवारीलाई बेवास्ता गर्नु होइन? के मण्डलीको कामलाई यसरी लिनु चातुर्य काम हो कि मूर्ख काम? (मूर्ख काम।) के यस्ता अगुवा र सेवकहरू धूर्त हुँदैनन् र? के तिनीहरूमा अलिकति पनि जिम्मेवारीबोध छ र? तिनीहरूलाई समस्याहरू आइपर्दा, तिनीहरू ती बेवास्ता गर्छन्—के तिनीहरूविचारहीन मानिस होइनन्? के तिनीहरू धूर्त मानिस होइनन् र? धूर्त मानिसहरू सबैभन्दा मूर्ख मानिस हुन्। तँ इमानदार व्यक्ति बन्नुपर्छ, समस्याहरूको सामना गर्दा तँसँग जिम्मेवारीबोध हुनुपर्छ, र तैँले ती समाधान गर्न सम्भव भएजति सबै उपायहरू प्रयोग गर्नैपर्छ र सत्यता खोज्नैपर्छ। तँ कदापि धूर्त व्यक्ति पटक्कै बन्नु हुँदैन। समस्याहरू आइपर्दा, यदि तैँले जिम्मेवारीबाट भागेर यसबाट हात झिक्छस् र आफूबारे मात्र चासो राख्छस् भने, तँ यस व्यवहारका लागि गैरविश्वासीहरूमाझ समेत निन्दित हुनेछस्, परमेश्वरको घरमा त झन् भनिरहनै परेन! यस व्यवहारलाई परमेश्वरले निश्चित रूपमा निन्दा गर्नुहुन्छ अनि परमेश्वरका चुनिएका मानिसहरूले घृणा र इन्कार गर्छन्। परमेश्वर इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ, अनि उहाँ छली र छट्टु मानिसहरूलाई घृणा गर्नुहुन्छ। यदि तँ धूर्त व्यक्ति होस् र छट्टु पाराले चल्छस् भने, के परमेश्वरले तँलाई तिरस्कार गर्नुहुनेछैन र? के परमेश्वरको घरले तँलाई त्यत्तिकै छोड्नेछ र? ढिलो वा चाँडो, तँलाई जवाफदेही ठहराइनेछ। परमेश्वर इमानदार मानिसहरूलाई मन पराउनुहुन्छ र धूर्त मानिसहरूलाई मन पराउनुहन्न। सबैले यस कुरालाई स्पष्टसित बुझ्नुपर्छ, र भ्रमित हुन र मूर्ख कामहरू गर्न बन्द गर्नुपर्छ। अस्थायी अज्ञानता क्षमायोग्य हुन्छ, तर यदि कुनै व्यक्तिले सत्यता पटक्कै स्विकार्दैन भने, ऊ एकदमै हठीहो। इमानदार व्यक्तिले जिम्मेवारी लिन सक्छ। तिनीहरूले आफ्नो लाभ र हानिलाई विचार गर्दैन; तिनीहरू बस परमेश्वरको घरका काम र हितको रक्षा गर्छन्। तिनीहरू दयालु र इमानदार हृदयका हुन्छन् जुन एकै नजरमा पीँधसम्म देखिने स्वच्छ पानीको कचौराजस्तै हुन्छन्। तिनीहरूका काममा पारदर्शिता पनि हुन्छ। छली व्यक्ति सधैँ छट्टु पाराले चल्छ, सधैँ बहाना बनाउँछ, कामकुरा ढाकछोप गर्छ र लुकाउँछ, र तिनलाई अति कसेर बेर्छ। यस्तो व्यक्तिलाई कसैले पनि देख्न सक्दैन। मानिसहरूले तेरा भित्री सोचहरू देख्न सक्दैनन्, तर परमेश्वरले तेरो भित्र हृदयका कुराहरू जाँच्न सक्नुहुन्छ। यदि परमेश्वरले तँ इमानदार व्यक्ति होइन, तँ छट्टु होस्, तँ कहिल्यै सत्यता स्वीकार गर्दैनस्, सधैँ उहाँविरुद्ध छल गर्छस्, र कहिल्यै आफ्नो हृदय उहाँलाई सुम्पँदैनस् भने, परमेश्वर तँलालाई मन पराउनुहुन्न, र उहाँ तँलाई तिरस्कार गर्नुहुन्छ र त्याग्नुहुन्छ। गैरविश्वासीहरूमाझ फस्टाउने अनि चिप्लो बोल्ने र तीक्ष्ण बुद्धिकाहरू कस्ता प्रकारका मानिस हुन्? के यो कुरा तिमीहरूलाई स्पष्ट छ? उनीहरूको सार के हो? उनीहरू सबैलाई अत्यन्तै रहस्यमय, अत्यन्तै छली र छली, वास्तविक दियाबलस र शैतानहरू हुन् भनेर भन्न सकिन्छ। के परमेश्वर यस्ता मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्छ? परमेश्वर दियाबलसहरू—छली र धूर्त मानिसहरूलाई भन्दा धेरै अरू कुनै कुरालाई तिरस्कार गर्नुहुन्न—र उहाँ यस्ता मानिसहरूलाई पक्कै पनि मुक्ति दिनुहुन्न। बोल्दा सधैँ सतर्क र चनाखो रहनेहरू, मामिलाहरू सम्हाल्दा चापलुस र चालबाज हुनेहरू अनि परिस्थितिसँग मिल्दो हुने भूमिका खेल्नेहरू—म तँलाई भन्छु, परमेश्वर यस्ता मानिसहरूलाई सबैभन्दा बढी घृणा गर्नुहुन्छ, यस्ता मानिसहरूले मुक्ति पाउँदैनन्। छली र धूर्त मानिसहरूको वर्गमा पर्नेहरू सबैका सन्दर्भमा भन्नुपर्दा, तिनीहरूका शब्दहरू जति मिठा सुनिए पनि, ती सबै छली, शैतानी शब्द हुन्। तिनीहरूका शब्दहरू जति मिठा सुनिन्छन्, त्यति नै यी मानिसहरू दियाबलस र शैतान हुन्छन्। यिनीहरू ठ्याक्कै परमेश्वरले सबैभन्दा बढी घृणा गर्ने मानिस हुन्। यो एकदमै सही कुरा हो। तिमीहरू के भन्छौ: के छली, बारम्बार झूट बोल्ने, र चिप्लो बोल्नेमानिसहरूले पवित्र आत्माको काम प्राप्त गर्न सक्छन्? के तिनीहरूले पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न सक्छन्? कदापि सक्दैनन्। छली र धूर्त मानिसहरूप्रति परमेश्वरको मनोवृत्ति कस्तो हुन्छ? उहाँले तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ, तिनीहरूलाई पाखा लगाउनुहुन्छ र तिनीहरूप्रति कुनै ध्यान दिनुहुन्न, र तिनीहरूलाई जनावरको दर्जामा राख्नुहुन्छ। परमेश्वरका नजरमा, त्यस्ता मानिसहरूले केवल मानव खोल ओढिरहेका हुन्छन् र वास्तवमा तिनीहरू दियाबलस र शैतान हुन्छन्, तिनीहरू जिउँदा लास हुन्, र परमेश्वरले तिनीहरूलाई पटक्कै मुक्ति दिनुहुनेछैन।
—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्मेवारीहरू (८)
अहिले र अझै पनि, कर्तव्य निभाउने मानिसहरूमा व्यापक समस्याहरू रहेका छन्। कतिपय मानिसहरू सधैँ आफ्नो कर्तव्यमा अत्यन्तै निष्क्रिय बन्छन्, सधैँ बसिरहन्छन् र अरूमा भर पर्दै प्रतीक्षा गरिरहन्छन्। यो कस्तो मनोवृत्ति हो? यो गैरजिम्मेवारपूर्ण मनोवृत्ति हो। परमेश्वरको घरले तँलाई कर्तव्य निभाउने जिम्मा दिएको छ, तैपनि कुनै ठोस काम नगरी तँ यस विषयमा कैयौँ दिन विचार गरेर बस्छस्। काम गर्ने ठाउँमा तँ देखा पर्दैनस्, अनि समस्याहरू खेप्दा र तिनलाई समाधान गर्नुपर्दा मानिसहरूले तँलाई भेट्टाउन सक्दैनन्। तैँले यो कामको बोझ लिँदैनस्। यदि अगुवाले कामबारे सोध्यो भने, तैँले के भन्ने छस्? अहिले तैँले कुनै काम गरिरहेको छैनस्। त्यो काम तेरो जिम्मेवारी हो भन्ने तँलाई राम्ररी थाहा छ, तैपनि तँ त्यो काम गर्दैनस्। आखिर तैँले के सोचिरहेको छस्? के तँ असक्षम भएकोले तैँले कुनै काम नगरेको हो? कि तँलाई सहजताको लोभ मात्रै लागेको हो? आफ्नो कर्तव्यप्रति तेरो मनोवृत्ति कस्तो छ? तँ शब्द र धर्मसिद्धान्तहरूको मात्रै कुरा गर्छस् र राम्रो सुनिने कुराहरू मात्रै बोल्छस्, तर कुनै वास्तविक काम गर्दैनस्। यदि तँ आफ्नो कर्तव्य निभाउन चाहँदैनस् भने, तैँले राजीनामा दिनुपर्छ। पद लिएर केही नगरी बस्ने नगर्। के त्यसो गर्नु परमेश्वरका चुनिएका मानिसहरूलाई हानि गर्नु र मण्डलीको काम खस्काउनु होइन र? तेरो बोलीवचनअनुसार त, तैँले हरकिसिमका धर्मसिद्धान्त बुझेको जस्तो देखिन्छ, तर तँलाई कर्तव्य निभाउन लगाइयो भने, तँ झाराटारुवा बन्छस्, तर अलिकति पनि विवेक देखाउँदैनस्। के त्यो आफूलाई इमान्दारीसाथ परमेश्वरमा अर्पित गर्नु हो त? परमेश्वरको सन्दर्भमा तँसँग कुनै इमानदारिता छैन, तैपनि तँ इमान्दारिता भएको नाटक गर्छस्। के तैँले उहाँलाई छल गर्न सक्छस्? तेरो सामान्य कुरा गराइबाट हेर्दा, तँमा ठूलो विश्वास भएजस्तो देखिन्छ; तँ मण्डलीको खम्बा र आधार बन्न चाहन्छस्। तर जब तँ कर्तव्य निभाउँछस्, तँ सलाईको काँटीजत्तिको पनि उपयोगी छैनस्। के यो त तैँले खुलेआम परमेश्वरलाई धोका दिनु होइन र? परमेश्वरलाई धोका दिन खोज्दा के हुनेछ, के तँलाई थाहा छ? उहाँले तँलाई अप्रिय ठान्नुहुनेछ र हटाउनुहुनेछ! आफ्नो कर्तव्य पूरा गर्ने क्रममा सबै मानिसहरू खुलासा हुन्छन्—व्यक्तिलाई कर्तव्यमा लगाउनु मात्रै पर्छ, त्यसपछि ऊ इमानदार हो कि छली व्यक्ति हो र ऊ सत्यतालाई प्रेम गर्ने व्यक्ति हो कि होइन भनेर चाँडै प्रकट भइहाल्छ। सत्यतालाई प्रेम गर्नेहरूले इमानदारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्न र परमेश्वरको घरको काममा साथ दिन सक्छन्; सत्यतालाई प्रेम नगर्नेहरूले परमेश्वरको घरको काम अलिकति पनि कायम राख्दैनन्, र तिनीहरू आफ्नो कर्तव्य निर्वाहमा गैरजिम्मेवार हुन्छन्। दृष्टि तीक्ष्ण भएका जोकोहीलाई यो कुरा तुरुन्तै स्पष्ट हुन्छ। आफ्नो कर्तव्य राम्ररी पूरा नगर्ने कोही पनि सत्यतालाई प्रेम गर्ने वा इमानदार व्यक्ति होइन; त्यस्ता सबै मानिसहरू खुलासा भएर हटाइनेछन्। आफ्नो कर्तव्य राम्ररी पूरा गर्न, मानिसहरूमा जिम्मेवारी र बोझको बोध हुनैपर्छ। यस तरिकाले, काम निश्चय नै उचित रूपमा हुनेछ। यदि व्यक्तिमा बोझ वा जिम्मेवारीबोध हुँदैन भने, उसलाई सबै कुरामा प्रेरित गर्नुपर्छ भने, र यदि ऊ सधैँ झाराटारुवा बन्छ अनि समस्याहरू आउँदा उसले अरूलाई दोष लगाउने प्रयास गरेर ती समस्याहरू हल हुन ढिलाइ हुन्छ भने, यो केवल चिन्ता मात्र ल्याउने कुरा हो। के त्यसपछि काम अझै पनि राम्ररी गर्न सकिनेछ र? अनि के त्यस्ता व्यक्तिहरूको कर्तव्य निर्वाहले कुनै नतिजा निकाल्न सक्छ र? तिनीहरू आफ्नो निम्ति बन्दोबस्त गरिएको कुनै पनि काम गर्न चाहँदैनन्, र अरूलाई काममा सहयोग चाहिएको देख्दा तिनीहरूले बेवास्ता गर्छन्। तिनीहरूलाई आदेश दिइँदा, तिनीहरूले गर्नैपर्ने हुँदा अनि तिनीहरूसँग कुनै विकल्प नहुँदा मात्रै तिनीहरूले अलिअलि काम गर्छन्। यो कर्तव्य निर्वाह गर्नु होइन—यो त ज्यालादारी काम हो! ज्यालादारले रोजगारदाताको लागि काम गर्छ, दैनिक ज्यालाको लागि दिनभरि काम गर्छ, एक घण्टाको ज्यालाको लागि एक घण्टा काम गर्छ; तिनीहरू ज्याला पर्खिरहेका हुन्छन्। तिनीहरूलाई आफ्नो मालिकले नदेख्ने कुनै काम गर्छु कि, आफूले गरेको कामको इनाम पाउँदिनँ कि भन्ने डर हुन्छ, र तिनीहरू देखाउनका लागि मात्रै काम गर्छन्—जसको अर्थ तिनीहरूमा बफादारिता हुँदैन। धेरैजसो समय, कामका समस्याबारे सोध्दा तिमीहरू जवाफ दिन सक्दैनौँ। तिमीहरूमध्ये केही त काममा संलग्न भएका छौ, तर तिमीहरूले काममा के-कसो भइरहेको छ भनेर कहिल्यै सोध्ने वा यसबारे सावधानीपूर्वक सोच्ने गर्दैनौ। तिमीहरूको क्षमता र ज्ञानलाई विचार गर्दा, तिमीहरूलाई कम्तीमा पनि केही त हुनुपर्ने हो, किनभने तिमीहरू सबै यस काममा सहभागी भएका छौ। त्यसो भए, किन अधिकांश मानिसले केही पनि भन्दैनन्? सम्भवतः के भन्ने भनेर तिमीहरूलाई साँच्चै थाहा नभएको हुन सक्छ—कामकुराहरू राम्रोसित भइरहेका छन् कि छैनन् भनेर तिमीहरूलाई थाहा नभएको हुन सक्छ। यसका दुईवटा कारण छन्: एउटा कारण हो—तिमीहरू पूर्णतया उदासीन छौ, अनि तिमीहरूले यी कुराहरूको कहिल्यै वास्ता गरेनौ र सधैँ तिनलाई पूरा गर्नुपर्ने कामको रूपमा मात्र लियौ। अर्को कारण हो—तिमीहरू गैरजिम्मेवार छौ र यी कुराहरूको ख्याल गर्न तिमीहरू इच्छुक छैनौ। यदि तैँले साँच्चै वास्ता गरेको भए र यदि तँ साँच्चै संलग्न भएको भए, तँसित सबै कुराबारे राय र दृष्टिकोण हुनेथ्यो। भावशुन्य र उदासीन हुँदा र कुनै जिम्मेवारी नलिँदा अक्सर दृष्टिकोण वा राय नहुने गर्छ। तिमीहरू आफूले निर्वाह गर्ने कर्तव्यप्रति लगनशील छैनौ, तिमीहरू कुनै जिम्मेवारी लिँदैनौ, तिमीहरू मूल्य चुकाउन वा संलग्न हुन चाहँदैनौ। तिमीहरू न त कुनै कष्ट भोग्छौ, न त अझ धेरै शक्ति खर्चन नै इच्छुक छौ; तिमीहरू केवल अनुचर हुन चाहन्छौ, यो त एक गैरविश्वासीले आफ्नो हाकिमको लागि काम गरेजस्तोभन्दा कुनै फरक छैन। यसप्रकारको कर्तव्य निर्वाहलाई परमेश्वर मन पराउनुहुन्न र यसले उहाँलाई प्रसन्न तुल्याउँदैन। यसले उहाँको अनुमोदन पाउन सक्दैन।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ
सत्यताको पछि नलाग्ने सबैले जिम्मेवारी नलिने मनस्थितिले आफ्नो कर्तव्य पूरा गर्छन्। “कसैले अगुवाइ गऱ्यो भने, म पछ्याउँछु; उसले जहाँ डोऱ्याउँछ, म त्यहीँ जान्छु। उसले मलाई जे गर्न लगाउँछन् म त्यही गर्नेछु। जहाँसम्म जिम्मेवारी र चासो लिने, वा कुनै कुरा गर्न अझै धेरै समस्या झेल्ने, आफ्नो सारा हृदय र शक्तिले केही गर्ने कुरा छ—म त्यो गर्न चाहन्नँ।” यी मानिसहरू मूल्य चुकाउन अनिच्छुक हुन्छन्। तिनीहरू खटिन मात्रै इच्छुक हुन्छन्, जिम्मेवारी लिन इच्छुक हुँदैनन्। व्यक्तिले साँचो रूपमा आफ्नो कर्तव्य पूरा गर्ने मनोवृत्ति यो होइन। व्यक्तिले आफ्नो कर्तव्य निर्वाहमा आफ्नो हृदय लगाउन सिक्नैपर्छ, र विवेक भएको व्यक्तिले यो कुरा गर्न सक्छ। यदि व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्नमा कहिल्यै हृदय लगाउँदैन भने, त्यसको अर्थ उसमा विवेक छैन, र विवेकविनाका मानिसहरूले सत्यता प्राप्त गर्न सक्दैनन्। तिनीहरूले सत्यता प्राप्त गर्न सक्दैनन् भनेर म किन भन्छु? तिनीहरू परमेश्वरलाई कसरी प्रार्थना गर्ने र पवित्र आत्माको अन्तर्दृष्टि खोजी गर्ने त्यो जान्दैनन्, न त परमेश्वरका अभिप्रायहरूप्रति कसरी विचार पुर्याउने, परमेश्वरका वचनहरू मनन गर्नमा आफ्नो हृदय कसरी लगाउने भन्ने नै जान्दछन्, साथै सत्यता कसरी खोजी गर्ने, परमेश्वरका मागहरू र उहाँको चाहनाहरू बुझ्न कसरी खोजी गर्ने भन्ने नै जान्दछन्। सत्यता खोजी गर्न नसक्नु भनेको यही हो। के तिमीहरू त्यस्ता स्थितिहरू अनुभूत गर्छौ, जसमा चाहे जे आइपरे पनि, वा तिमीहरूले जेजस्तो कर्तव्य पूरा गरे पनि, तिमीहरू प्रायः परमेश्वरसामु आफूलाई शान्त पार्न, र उहाँका वचनहरू मनन गर्नमा, र सत्यता खोजी गर्नमा, साथै परमेश्वरका अभिप्रायहरू अनुसार आफ्नो कर्तव्य कसरी पूरा गर्नैपर्ने हो र त्यो कर्तव्य सन्तोषजनक ढङ्गले पूरा गर्न तिमीहरूमा कुन सत्यताहरू हुनुपर्छ भनेर विचार गर्नमा हृदय लगाउन सक्छौ? के तिमीहरू धेरै पटक यसरी नै सत्यता खोजी गर्छौ? (गर्दैनौ।) आफ्नो हृदयलाई आफ्नो कर्तव्यमा लगाउन र जिम्मेवारी लिन सक्ने बन्न तैँले कष्ट भोग्नु र मूल्य चुकाउनु आवश्यक हुन्छ—यी कुराहरूबारे कुरा गर्नु मात्र पर्याप्त हुँदैन। यदि तैँले आफ्नो हृदय कर्तव्यमा लगाउँदैनस्, बरु त्यसको साटो सधैँ दुःख मात्र गर्न चाहन्छस् भने, तेरो कर्तव्य निश्चित रूपले राम्रोसँग गरिएको हुँदैन। तैँले केवल झारा टारिरहेको हुन्छस्, त्योभन्दा बढी केही होइन, र तैँले आफ्नो कर्तव्य राम्ररी गरिस् कि गरिनस् त्यो जान्नेछैनस्। यदि तैँले आफ्नो हृदय त्यसमा लगाइस् भने तैँले बिस्तारै सत्य बुझ्न थाल्नेछस्; यदि तैँले आफ्नो हृदय त्यसमा लगाइनस् भने तैँले सत्य बुझ्नेछैनस्। जब तँ आफ्नो हृदयलाई कर्तव्य निर्वाह गर्नमा र सत्यता पछ्याउनमा लगाउँछस्, तब तँ बिस्तारै परमेश्वरका इच्छाहरू बुझ्न सक्ने, आफ्नो भ्रष्टता र कमीकमजोरीहरू थाहा पाउने, र आफ्ना सबै विविध अवस्थाहरूबारे निपुणता हासिल गर्न सक्ने हुनेछस्। जब तैँले खटिनमा मात्रै ध्यान दिन्छस्, र आत्मचिन्तन गर्नमा हृदय लगाउँदैनस्, तब तैँले आफ्नो हृदयको साँचो स्थिति अनि फरक फरक स्थितिमा तँमा हुने अनगिन्ती प्रतिक्रिया र भ्रष्टताका प्रकटीकरणहरू पत्ता लगाउन सक्नेछैनस्। यदि समस्याहरू हल नभई थाँती नै रहँदा परिणाम के हुन्छ भन्ने कुरा तँलाई थाहा छैन भने, तँ ठूलो समस्यामा छस्। त्यसैले परमेश्वरलाई अन्योलमा विश्वास गर्नु राम्रो हुँदैन। तँ हरेक समय, हरेक स्थानमा परमेश्वरअघि जिउनुपर्छ; तेरो जीवनमा जेसुकै आइपरे पनि, तैँले सधैँ सत्यता खोजी गर्नैपर्छ, र यसो गर्दा तैँले आत्मचिन्तन पनि गर्नैपर्छ, र तेरो स्थितिमा के-कस्ता समस्याहरू छन् भनेर पनि जान्नैपर्छ, अनि ती समाधान गर्न तुरुन्तै सत्यता खोजी गर्नैपर्छ। त्यसरी मात्रै तैँले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छस् र तँ काममा ढिलाइ गराउनबाट बच्न सक्छस्। अनि तैँले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न मात्र सक्नेछैनस्, तर त्योभन्दा महत्त्वपूर्ण कुरा, तैँले आफ्नो जीवन प्रवेश पनि प्राप्त गर्नेछस् र आफ्नो भ्रष्ट स्वभाव पनि हटाउनेछस्। यसरी मात्रै तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्नेछस्। यदि तैँले हृदयमा प्रायः मनन गर्ने कुरा तेरो कर्तव्यसित जोडिएको मामिला वा सत्यतासँग सम्बन्ध रहेको मामिला होइन, र तँ बाहिरी कुराहरूमा अल्झिएको छस्, तेरा विचारहरू देहका मामिलाहरूमा केन्द्रित छन् भने, के तैँले सत्यता बुझ्न सक्छस् र? के तँ आफ्नो कर्तव्य राम्ररी पूरा गर्न र परमेश्वरसामु जिउन सक्छस् र? अवश्यै सक्दैनस्। त्यस्तो खालको व्यक्तिलाई मुक्ति दिन सकिँदैन।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ
इमानदार व्यक्तिको सबैभन्दा महत्त्वपूर्ण प्रकटीकरण भनेको सबै मामिलामा सत्यता खोज्नु र अभ्यास गर्नु हो—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तँ आफू इमानदार छु भन्छस्, तर सधैँ परमेश्वरका वचनहरूलाई तेरो दिमागको पछाडिको भागमा धकेलेर राख्छस् र जे मन लाग्यो त्यही गर्छस् भने, के त्यो इमानदार व्यक्तिको प्रकटीकरण हो त? तँ भन्छस्, “मेरो क्षमता कम भए पनि मसँग इमानदार हृदय छ।” तापनि जब तँमाथि कुनै कर्तव्य आइलाग्छ, तँ कष्ट भोग्नुपर्ला वा आफूले त्यो काम राम्रोसँग गरिएन भने, त्यसको जिम्मेवारी लिनुपर्ला भनी डराउँछस्, त्यसकारण तँ आफ्नो कर्तव्यबाट तर्किन बहानाहरू बनाउँछस् वा त्यो गर्न अरू कसैलाई सिफारिस गर्छस्। के यो इमानदार व्यक्तिको प्रकटीकरण हो र? अवश्य होइन। त्यसो भए, इमानदार व्यक्तिले कस्तो व्यवहार गर्नुपर्छ? तिनीहरू परमेश्वरका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, आफूले निभाउनुपर्ने कर्तव्यमा बफादार भएर लाग्नुपर्छ, र परमेश्वरका अभिप्रायहरूलाई सन्तुष्ट पार्न लागिपर्नुपर्छ। यसले आफूलाई धेरै तरिकामा प्रकट गर्छ। एउटा तरिका हो, आफ्ना देहगत हितहरूलाई विचार नगरी आफ्नो कर्तव्य इमानदार हृदयले स्वीकार गर्नु, यसबारे आधा मनको नहुनु र आफ्नो फाइदाको लागि षड्यन्त्र नगर्नु। ती इमानदारीका प्रकटीकरणहरू हुन्। अर्को तरिका भनेको आफ्नो कर्तव्य राम्ररी निभाउन आफ्नो सारा हृदय र बल लगाउनु, सबै काम उचित रूपमा गर्नु, र परमेश्वरलाई सन्तुष्ट पार्नको लागि आफ्नो कर्तव्यमा आफ्नो हृदय र प्रेम लगाउनु हो। इमानदार व्यक्तिसँग आफ्नो कर्तव्य निर्वाह गर्दा हुनुपर्ने प्रकटीकरणहरू यिनै हुन्। यदि तैँले आफूले जानेको र बुझेको कुरा गर्दैनस्, अनि आफ्नो प्रयासको ५० वा ६० प्रतिशत मात्र लगाउँछस् भने, त्यसमा आफ्नो सारा हृदय र सारा बल लगाइरहेको छैनस्। बरु तँ धूर्त होस् र सुस्त हुँदै छस्। के यसरी आफ्ना कर्तव्य निर्वाह गर्ने मानिसहरू इमानदार हुन् त? अवश्य होइनन्। परमेश्वरलाई यस्ता धूर्त र छली मानिसहरूको कुनै काम हुँदैन; तिनीहरूलाई हटाउनैपर्छ। परमेश्वरले इमान्दार मानिसहरूलाई मात्र कर्तव्य निभाउन प्रयोग गर्नुहुन्छ। बफादार श्रमकर्ताहरूसमेत इमानदार हुनैपर्छ। लामो समयदेखिका झाराटारुवा मानिसहरू, धूर्त र सुस्त हुन खोज्ने मानिसहरू सबै छली हुन्, तिनीहरू सबै पिशाच हुन्, तिनीहरूमध्ये कसैले पनि परमेश्वरमा साँचो विश्वास गर्दैन, र तिनीहरू सबैलाई हटाइनेछ। कतिपय मानिसहरू सोच्छन्, “इमानदार व्यक्ति बन्नु भनेको सत्य बोल्नु र झूट नबोल्नु मात्रै हो। इमानदार व्यक्ति बन्न साँच्चै सहज हुन्छ।” यो विचार तिमीहरूलाई कस्तो लाग्छ? के इमानदार व्यक्ति बन्नुको दायरा यति सीमित छ? निश्चित रूपमा छैन। तैँले आफ्नो हृदयलाई प्रकट गर्नुपर्छ र त्यो परमेश्वरलाई दिनुपर्छ। इमानदार व्यक्तिमा यस्तै मनोवृत्ति हुनुपर्छ। त्यसैले त इमानदार हृदय अत्यन्तै बहुमूल्य हुन्छ। यसले के सङ्केत गर्छ? यसले के सङ्केत गर्छ भने, इमानदार हृदयले तेरो व्यवहारलाई नियन्त्रण र तेरो स्थितिलाई परिवर्तन गर्न सक्छ। यसले तँलाई सही निर्णय गर्न, र परमेश्वरमा समर्पित भएर उहाँको अनुमोदन प्राप्त गर्न अगुवाइ गर्न सक्छ। यस्तो हृदय साँच्चै मूल्यवान् हुन्छ। यदि तँसँग यस्तो इमानदार हृदय छ भने, तँ जिउनुपर्ने स्थिति त्यही हो, तैँले त्यसरी नै व्यवहार गर्नुपर्छ र त्यसरी नै आफूलाई समर्पित गर्नुपर्छ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
परमेश्वरको घरमा, तैँले जस्तो कर्तव्य निर्वाह गरे पनि, तैँले सिद्धान्तहरू बुझ्नै पर्छ, र सत्यता अभ्यास गर्न सक्ननैपर्छ। त्यसपछि तँसित सिद्धान्तहरू हुनेछन्। यदि तैँले कुनै कुरा छर्लङ्गै देख्न सक्दैनस्, यदि तँ व्यवहार गर्ने उचित तरिकाबारे निश्चित छैनस् भने, तैँले सहमतिमा पुग्नको लागि खोजी र सङ्गति गर्नुपर्छ। तैँले मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूको लागि फाइदाजनक के छ भन्ने कुरा तय गरेपछि, त्यही गर्। कुनै पनि नियमहरू द्वारा बाधित नहो, ढिलाइ नगर्, प्रतीक्षा नगर्, साथै हात बाँधेर रमिता हेर्ने व्यक्ति नबन्। यदि तँ सधैँ निष्क्रिय रूपमा अवलोकन मात्रै गर्छस्, र कहिल्यै आफ्नो राय राख्दैनस्, सधैँ अरू कसैले निर्णय गरेपछि मात्र केही गर्छस्, र, कसैले निर्णय नगरेसम्म टालटुल गर्दै पर्खन्छस् भने, परिणाम के हुनेछ? हरेक काम ठप्प हुनेछ, र केही पनि फत्ते हुनेछैन। तैँले सत्यता खोज्न सिक्नुपर्छ, वा कम्तीमा आफ्नो विवेक र समझको आधारमा काम गर्न सक्नुपर्छ। यदि तैँले केही काम गर्ने उचित तरिका छर्लङ्गै देख्न सक्छस्, र अधिकांश मानिसहरूलाई पनि त्यो विधि व्यवहार्य छ भन्ने लागेमा, तैँले त्यसरी नै अभ्यास गर्नुपर्छ। जिम्मेवारी लिनुपर्ला वा अरू चिढिएलान्, वा परिणामहरू भोग्नुपर्ला भनी नडरा। यदि कुनै व्यक्तिले कुनै पनि वास्तविक काम गर्दैन, र सधैँ षड्यन्त्र गरिरहेको हुन्छ, जिम्मेवारी लिन डराउँछ, अनि आफ्ना क्रियाकलापहरूमा सिद्धान्तहरूमा अडिने आँट गर्दैन भने, यसले ऊ अत्यन्तै धूर्त र छली छ, अनि उसले अत्यन्तै धेरै चतुर युक्तिहरू बोकेको छ भन्ने देखाउँछ। परमेश्वरका अनुग्रह र आशिष्हरूमा रमाउने चाहना गर्नु तर कुनै वास्तविक काम नगर्नु भनेको एकदमै सद्गुण नहुनु हो। यस्ता धूर्त र छली मानिसहरूलाई जत्तिको परमेश्वरले अरू कसैलाई तिरस्कार गर्नुहुन्न। तैँले जे सोचिरहेको भए पनि, यदि तैँले सत्यताअनुसार अभ्यास गरिरहेको छैनस्, तँमा कुनै बफादारी छैन, तँ सधैँ व्यक्तिगत दूषणहरूद्वारा दूषित हुन्छस्, र तैँले सधैँ आफ्नै सोचविचार बोकिरहेको हुन्छस् भने, परमेश्वरले यी यावत् थोक छानबिन गर्नुहुन्छ, र तिनका बारेमा थाहा पाउनुहुन्छ। के तँलाई परमेश्वरलाई तिनका बारेमा थाहा हुँदैन भन्ने लाग्छ? यदि लाग्छ भने, तँ अत्यन्तै मूर्ख छस्! अनि यदि तैँले तुरुन्तै पश्चात्ताप गरिनस् भने, तैँले परमेश्वरको काम पाउनेछैनस्। किन त्यस्तो हुन्छ? किनभने परमेश्वरले मानिसहरूको हृदयको गहिराइ जाँच्नुहुन्छ। उहाँले तिनीहरूमा भएका सबै चतुर युक्तिहरू स्पष्ट रूपमा देख्नुहुन्छ, र उहाँले तिनीहरूको हृदयमा उहाँविरुद्ध बार लगाइएको, र तिनीहरू उहाँसँग एउटै हृदयका नभएको कुरा देख्नुहुन्छ। मानिसहरूको हृदयलाई परमेश्वरबाट टाढै राख्ने मुख्य कुराहरू के-के हुन्? तिनीहरूका सोचहरू, तिनीहरूका स्वार्थ र घमण्ड, तिनीहरूको हैसियत र तिनीहरूका तुच्छ चतुर युक्तिहरू। जब मानिसहरूको हृदयमा तिनीहरूलाई परमेश्वरबाट अलग गर्ने यी कुराहरूको पर्खाल हुन्छ, र तिनीहरूले निरन्तर रूपमा गोप्य कुराहरू लुकाइरहेका हुन्छन् र सधैँ आफ्नै मनसायहरू बोकिरहेका हुन्छन्, तब यसले समस्या निम्त्याउँछ। यदि तँ अलि कमजोर क्षमताको छस् र तँसित अलि सतही अनुभव छ, तर तँ सत्यता पछ्याउन इच्छुक छस् र परमेश्वरसँग तँ सधैँ एउटै हृदयको छस्, र परमेश्वरले तँलाई सुम्पनुभएका सबै कुरामा तैँले कुनै चालबाजी नगरी तनमन लगाउन सक्छस् भने, परमेश्वरले त्यो कुरा देख्नुहुनेछ। यदि तैँले पर्खाल लगाई सधैँ तेरो हृदयलाई परमेश्वरबाट टाढा राखेको छस्, र तैँले सधैँ तुच्छ षड्यन्त्रहरू पाल्छस्, र यदि तँ सधैँ आफ्नै स्वार्थ र गौरवको लागि जिउँछस्, सधैँ यी कुराहरू बारे मनमा अनुमान गरिरहेको हुन्छस्, र तँ ती कुराहरूको नियन्त्रणमा हुन्छस् भने, परमेश्वर तँसित सन्तुष्ट हुनुहुनेछैन, र उहाँले तँलाई अन्तर्दृष्टि वा ज्योति दिनुहुनेछैन, साथै उहाँले तँलाई बेवास्ता गर्नुहुनेछ, र तेरो हृदय झन् अँध्यारो हुनेछ। यसको अर्थ तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा वा कुनै काम गर्दा तैँले त्यसलाई भद्रगोल पार्नेछस्, र त्यसमा सार्थक कुरा केही पनि हुनेछैन। यस्तो किन हुन्छ भने तँ साह्रै स्वार्थी र नीच छस्, सधैँ आफ्नै फाइदाका लागि षड्यन्त्र रच्छस्, परमेश्वरप्रति इमानदार हुँदैनस्, र तैँले छली बन्ने आँट गर्छस् र परमेश्वरलाई झुक्याउने प्रयास गर्छस्, अनि तैँले सत्यता नस्विकार्ने मात्र होइन, तँ आफ्नो कर्तव्य निर्वाह गर्नमा समेत चतुर छस्—जुन इमानदारीपूर्वक परमेश्वरमा अर्पित हुनु होइन। अनि तैँले इमानदारीपूर्वक आफ्नो कर्तव्य निर्वाह नगर्ने, थोरै मात्र परिश्रम गर्ने, र यसलाई अझ धेरै लाभ प्राप्त गर्ने अवसरको रूपमा प्रयोग गर्ने, साथै तैँले आफ्नो लागि प्रसिद्धि, लाभ, र हैसियत प्राप्त गर्न षड्यन्त्र रच्ने इच्छा पनि राख्ने, र तँलाई काटछाँट गर्दा तैँले स्वीकार र पालन नगर्ने भएकाले तैँले परमेश्वरको स्वभावलाई चिढ्याउने प्रबल सम्भावना हुन्छ। परमेश्वरले मानिसहरूका हृदयको गहिराइ जाँच्नुहुन्छ। यदि तैँले पश्चात्ताप गर्दैनस् भने, तँ खतरामा पर्नेछस्, र सम्भवतः परमेश्वरद्वारा हटाइनेछस्, र त्यस अवस्थामा तैँले परमेश्वरको अनुमोदन प्राप्त गर्ने मौका कहिल्यै पाउनेछैनस्।
—परमेश्वरको सङ्गति
कतिपय मानिस परमेश्वरको घरले मानिसहरूलाई न्यायोचित रूपमा व्यवहार गर्न सक्छ भन्ने विश्वास नै गर्दैनन्। तिनीहरू यस घरमा परमेश्वरले शासन गर्नुहुन्छ र यहाँ सत्यताले शासन गर्छ भन्ने विश्वास गर्दैनन्। तिनीहरू के विश्वास गर्छन् भने, यदि त्यहाँ केही समस्या पैदा भयो भने, परमेश्वरको घरले त्यस व्यक्तिलाई तुरुन्तै सम्हाल्नेछ, अनि उसको त्यो कर्तव्य निभाउने अधिकार खोस्नेछ, उसलाई बाहिर पठाउनेछ, वा मण्डलीबाट निष्कासित समेत पनि गर्नेछ। के वास्तवमै यस्तो हुन्छ त? पक्कै पनि हुँदैन। परमेश्वरको घरले हरेक व्यक्तिलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्छ। परमेश्वरले हरेक व्यक्तिलाई गर्ने व्यवहारमा उहाँ धर्मी हुनुहुन्छ। उहाँ व्यक्तिले एकपटक कस्तो व्यवहार गऱ्यो भन्ने कुरालाई मात्र हेर्नुहुन्न; उहाँ व्यक्तिको प्रकृति सार, उसको अभिप्राय, मनोवृत्तिलाई हेर्नुहुन्छ, अनि उहाँ विशेषगरी व्यक्तिले गल्ती गर्दा आत्म-चिन्तन गर्न सक्छ-सक्दैन, ऊ पश्चात्तापी हुन्छ-हुँदैन, अनि उसले उहाँका वचनहरूको आधारमा समस्याको सार बुझ्न, सत्यता बुझ्न, आफूलाई घृणा गर्न, अनि साँच्चै पश्चात्ताप गर्न सक्छ कि सक्दैन भनी हेर्नुहुन्छ। यदि कसैमा यो सही मनोवृत्तिको अभाव छ, अनि ऊ व्यक्तिगत अभिप्रायबाट पूर्णतः प्रभावित छ, ऊ धूर्त षड्यन्त्रहरू अनि भ्रष्ट स्वभावको प्रकटीकरणहरूले भरिएको छ, अनि समस्या पैदा हुँदा, ऊ झुटो बोल्न, ढोङ गर्न, आफ्नो लागि बहाना बनाउन, अनि आफ्ना कार्यहरू स्विकार्न इन्कार गर्न थाल्छ भने, त्यस्तो व्यक्तिले मुक्ति पाउन सक्दैन। ऊ कत्ति पनि सत्यता स्विकार्दैन अनि उसको पूर्णतः प्रकाश भएको छ। अलिकति पनि सत्यता नस्विकार्ने गलत मानिसहरू सारमा अविश्वासी नै हुन्छन् अनि तिनीहरूलाई हटाउन मात्र सकिन्छ। अगुवा र सेवक भएर काम गर्ने अविश्वासीहरूलाई कसरी प्रकाश नगर्न र नहटाउन मिल्छ? अविश्वासीले जुनसुकै कर्तव्य निभाए पनि, उसको सबैभन्दा चाँडो प्रकाश हुन्छ, किनकि उसले प्रकाश गर्ने भ्रष्ट स्वभावहरू अति धेरै सङ्ख्यामा र अति स्पष्ट हुन्छन्। साथसाथै, ऊ कत्ति पनि सत्यता स्विकार्दैन, अनि लापरवाह रूपमा र मनपरी कार्य गर्छ। अन्तमा, जब उसलाई हटाइन्छ, अनि उसले आफ्नो कर्तव्य निर्वाह गर्ने मौका गुमाउँछ, ऊ चिन्ता गर्दै यसो सोच्न थाल्छ, “म त खतम भएँ। यदि मलाई मेरो कर्तव्य निर्वाह गर्न दिइएन भने, मैले मुक्ति पाउँदिनँ। म के गरूँ त?” वास्तवमा, स्वर्गले मानिसका लागि सधैँ एउटा बाटो चाहिँ राखिदिनेछ। एउटा अन्तिम मार्ग हुन्छ, जुनमा मानिसले साँच्चै पश्चात्ताप गर्नुपर्छ, सुसमाचार फैलाउन अनि मानिसहरू कमाउन हतार गर्नुपर्छ, अनि असल कार्यहरू गरेर आफ्ना गल्तीहरू सुधार्नुपर्छ। यदि तिनीहरूले यो मार्ग लिएनन् भने, तिनीहरू साँच्चै खतम हुन्छन्। यदि तिनीहरूमा अलिकति समझ छ अनि तिनीहरूमा कुनै प्रतिभा छैन भन्ने जान्दछन् भने, तिनीहरूले आफूलाई सत्यताले सुसज्ज्ति बनाएर सुसमाचार फैलाउन तालिम लिनुपर्छ—यो पनि कर्तव्य निभाउनु हो। यो पूर्णतः सम्भव छ। यदि कसैले आफूले आफ्नो कर्तव्य राम्रोसँग ननिभाएकाले उसलाई हटाइएको हो भन्ने स्विकार्छ, तर अझै पनि ऊ सत्यता स्विकार्दैन अनि अलिकति पनि पश्चात्तापको हृदय राख्दैन, र बरु आफूलाई निराशामा डुब्न दिन्छ भने, के तिनीहरू मूर्ख र अज्ञानी होइनन् र? मलाई भन, यदि कुनै व्यक्तिले गल्ती गरेको छ, तर ऊ साँचो बुझाइ हासिल गर्न सक्षम छ र पश्चात्ताप गर्न इच्छुक छ भने, के परमेश्वरको घरले उसलाई मौका दिँदैन र? परमेश्वरको छ हजार वर्षे व्यवस्थापन योजना समाप्त हुन लागेको बेला, पूरा गरिनुपर्ने कर्तव्यहरू धेरै छन्। तर तँमा यदि कुनै विवेक वा समझ छैन, र आफ्नो उचित कार्यलाई ध्यान दिँदैनस्भने, यदि तैँले कर्तव्य निभाउने मौका पाएको छस् तर यसलाई कदर गर्न जान्दैनस्, थोरै पनि सत्यता खोजी गर्दैनस्, र सबैभन्दा उपयुक्त समय त्यसै खेर फाल्छस् भने, तेरो खुलासा गरिनेछ। यदि तँ आफ्नो कर्तव्य निभाउने क्रममा निरन्तर झाराटारुवा भइरहन्छस्, र काटछाँट गराइ सामना गर्दा तँ पटक्कै समर्पित हुँदैनस् भने, के परमेश्वरको घरले तँलाई अझै पनि कर्तव्य निर्वाह गर्न प्रयोग गर्नेछ त? परमेश्वरको घरमा, शैतानले होइन सत्यताले शासन गर्छ। सबै कुरामा परमेश्वरले नै अन्तिम निर्णय गर्नुहुन्छ। मानिसलाई मुक्ति दिने काम उहाँले नै गर्दै हुनुहुन्छ, र उहाँ नै सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ। तैँले कुन सही र कुन गलत भनेर विश्लेषण गर्न आवश्यक छैन; तैँले सुन्ने र समर्पित हुने मात्रै गर्नुपर्छ। काटछाँट गराइको सामना गर्दा, तैँले सत्यता स्विकारेर आफ्ना गल्तीहरू सुधार्न सक्नुपर्छ। यस्तो गर्न सकिस् भने, परमेश्वरको घरले कर्तव्य निभाउने तेरो अधिकार खोस्ने छैन। यदि तँ सधैँ आफूलाई हटाइएला भनेर डराउँछस्, सधैँ बहाना बनाउँछस्, र सधैँ आफूलाई सही साबित गर्न खोज्छस् भने, त्यो समस्या हो। यदि तैँले अलिअलि पनि सत्यता अभ्यास गर्दैनस्, र तँसँग समझशक्ति छैन र त्यो कुरा अरूले देख्छन् भने, तँ समस्यामा हुन्छस्। मण्डली तँलाई सम्हाल्नबाध्य हुनेछ। यदि कर्तव्य निभाउने क्रममा तैँले सत्यता पटक्कै स्वीकार गर्दैनस् र सधैँ प्रकाश हुने र हटाइने डर मान्छस् भने, तेरो यो डरमा मानव अभिप्राय र भ्रष्ट शैतानी स्वभाव, र शङ्का, सतर्कता, र गलत बुझाइ मिसिएको छ। यीमध्ये कुनै पनि मनोवृत्ति व्यक्तिमा हुनुहुँदैन। तैँले सुरुमा आफ्नो डर, साथै परमेश्वरसम्बन्धी तेरा गलत बुझाइहरू समाधान गर्नुपर्छ। व्यक्तिमा परमेश्वरसम्बन्धी गलत बुझाइ कसरी पैदा हुन्छ? जब मान्छेको परिस्थिति ठीकठाक हुन्छ, तिनीहरूले उहाँलाई पक्कै पनि गलत बुझ्दैनन्। तिनीहरूले परमेश्वर असल हुनुहुन्छ, सम्मानित, धर्मी, कृपालु र प्रेमिलो हुनुहुन्छ, र उहाँले गर्ने सबै कुरामा सही हुनुहुन्छ भनेर विश्वास गर्छन्। तर जब तिनीहरूले आफ्नो धारणासँग नमिल्ने कुरा सामना गर्छन्, तब यस्तो सोच्छन्, “परमेश्वर त्यति धर्मी हुनुहुन्न रहेछ, कम्तीमा पनि यस मामलामा चाहिँ।” के यो गलतफहमी होइन र? परमेश्वर कसरी धर्मी हुनुहुन्न र? यो गलतफहमी पैदा गर्ने कुरा के थियो? के कुराले तँलाई परमेश्वर धर्मी हुनुहुन्न भन्ने विचार र बुझाइ पैदा गर्ने तुल्यायो? त्यो के थियो भनेर निश्चयसाथ भन्न सक्छस्? त्यो कुन वाक्य थियो? कुन मामला थियो? कुन परिस्थिति थियो? भन्, ताकि सबैले पत्ता लगाउन सकून् र तँमा खडा हुने साहस छ कि छैन हेर्न सकून्। अनि जब व्यक्तिले परमेश्वरलाई गलत बुझ्छ वा उसका धारणाहरूसँग नमिल्ने कुरा सामना गर्छ, तब तिनीहरूमा कस्तो मनोवृत्ति हुनुपर्छ? (सत्यता खोजी गर्ने र समर्पित हुने मनोवृत्ति।) तिनीहरूले सुरुमा समर्पित हुँदै यो विचार गर्नुपर्छ: “मैले बुझेको छैन, तर म समर्पित हुनेछु किनकि परमेश्वरले गर्नुभएको कुरा यही हो र यो मानिसले विश्लेषण गर्ने कुरै होइन। यसअलावा, मैले परमेश्वरका वचनहरू वा उहाँको काममा शङ्का गर्नु हुँदैन किनकि परमेश्वरको वचन सत्यता हो।” के व्यक्तिमा हुनुपर्ने मनोवृत्ति यही होइन र? यस्तो मनोवृत्ति हुँदा, के तेरो गलत बुझाइले अझै पनि समस्या ल्याउँछ र? (ल्याउँदैन।) यसले तेरो कर्तव्यपालनमा असर वा बाधा गर्दैन।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
मानिसहरूले परमेश्वरमा विश्वास गर्न थालेपछि, तिनीहरूलाई हुन सक्ने सबैभन्दा पीडादायी र सबैभन्दा निराशाजनक कुरा के हो? तिनीहरू निकालिएका वा निष्कासित भएका छन्, र तिनीहरू परमेश्वरद्वारा प्रकाश गरिएका र हटाइएका छन् भनेर थाहा पाउनुभन्दा ठूलो कुरा केही छैन—यो नै सबैभन्दा पीडादायी र सबैभन्दा दुःखद कुरा हो, र कसैले पनि परमेश्वरमा विश्वास गर्न थालेपछि आफूलाई यस्तो होस् भन्ने चाहँदैन। त्यसोभए, मानिसहरू तिनीहरूलाई यस्तो हुनबाट कसरी बच्न सक्छन् त? कम्तीमा पनि, तिनीहरूले आफ्नो विवेकअनुसार कार्य गर्नुपर्छ, अर्थात्, तिनीहरूले पहिला आफ्ना जिम्मेवारीहरू पूरा गर्न सिक्नैपर्छ, तिनीहरू कदापि झाराटारुवा हुनै हुँदैन, र तिनीहरूले परमेश्वरले तिनीहरूलाई सुम्पेको काममा ढिलाइ गर्नै हुँदैन। तँ व्यक्ति होस्, त्यसैले तैँले व्यक्तिका जिम्मेवारीहरू के-के हुन् भनेर विचार गर्नुपर्छ। गैरविश्वासीहरूले सबैभन्दा बढी मूल्यवान् ठान्ने जिम्मेवारीहरू, जस्तै योग्य सन्तान बन्नु, आमाबुवाको भरणपोषण गर्नु र आफ्नो परिवारको नाम राख्नु आदिबारे त भनिरहनुपर्दैन। यी सबै खोक्रो हुन् र यिनमा वास्तविक अर्थ छैन। व्यक्तिले पूरा गर्नुपर्ने न्यूनतम जिम्मेवारी के हो? तैँले अब कसरी आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्छस्, त्यो सबैभन्दा व्यावहारिक कुरा हो। जहिले पनि केवल झारा टारेर सन्तुष्ट हुनु आफ्नोजिम्मेवारी पूरा गर्नु होइन, अनि वचन र धर्मसिद्धान्तहरू बोल्न सक्नु मात्र पनि आफ्नो जिम्मेवारी पूरा गर्नु होइन। सत्यता अभ्यास गर्नु र सिद्धान्तअनुसार कामकुरा गर्नु मात्र आफ्नो जिम्मेवारी पूरा गर्नु हो। जब तेरो सत्यता अभ्यास प्रभावकारी, र मानिसहरूका लागि लाभदायी बनेको हुन्छ, तब मात्र तैँले आफ्नो जिम्मेवारी साँच्चै पूरा गरेको हुनेछस्। तैँले जुनसुकै कर्तव्य निभाइरहेको भए पनि, तँ यावत् थोकमा सत्यता सिद्धान्तअनुसार काममा लागिरहिस् भने मात्र तैँले सावच्चिकै आफ्नो जिम्मेवारी पूरा गरेको हुनेछस्। मानव कार्यशैलीअनुसार अल्याङटल्याङ गर्नु भनेको झाराटारुवा हुनु हो; सत्यता सिद्धान्तहरूमा टाँसिनु मात्र सही तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्नु र आफ्नो जिम्मेवारी पूरा गर्नु हो। अनि जब तँ आफ्नो जिम्मेवारी पूरा गर्छस्, के यो बफादारीको प्रकटीकरण हुँदैन र? यो आफ्नो कर्तव्य बफादारीसाथ निर्वाह गरेको प्रकटीकरण हो। तँमा यो जिम्मेवारी बोध, यो आकाङ्क्षा र चाहना, अनि आफ्नो कर्तव्यका सम्बन्धमा बफादारीको यो प्रकटीकरण छ भने मात्र, परमेश्वरले तँलाई कृपा र अनुमोदनको दृष्टिले हेर्नुहुनेछ। यदि तँमा जिम्मेवारीको यो बोधसमेत छैन भने, परमेश्वरले तँलाई अल्छे र लन्ठकको रूपमा व्यवहार गर्दै घृणा गर्नुहुनेछ। मानव दृष्टिकोणबाट हेर्दा, यसको अर्थ तेरो अनादर गर्नु, तँलाई गम्भीरतापूर्वक नलिनु र तँलाई तुच्छ नजरले हेर्नु हो। जस्तो कि, यदि तँ कसैसँग केही समयदेखि सम्पर्कमा छस्, र तैँले उसले काल्पनिक, अव्यावहारिक मामिलाबारे बोलेको अनि टुङ्गो न फेदको अवास्तविक कुरा भनेको देखिस्, अनि तैँले उसलाई फाइँफुट्टी लाउन र ठूलो कुरा गर्न मन पर्ने, र ऊ भरपर्दो नभएको देखिस् भने—के तैँले उसको आदर गर्नेथिस्? के तैँले उसलाई कुनै काम सुम्पने आँट गर्नेथिस्? सायद उसले तैँले उसलाई सुम्पेको काममा कुनै न कुनै कारणवश ढिलाइ गर्ला, त्यसकारण तैँले त्यस्ता मानिसहरूलाई केही पनि सुम्पने आँट गर्नेथिइनस्। तैँले तिनीहरूलाई हृदयको गहिराइदेखि नै घृणा गर्नेथिइस्, र तिनीहरूको सङ्गत गर्नुपरेकोमा पछुतो मान्नेथिइस्। तैँले तिनीहरूलाई केही पनि नसुम्पेकोकामा भाग्यमानी महसुस गर्नेथिस्, र यदि तैँले सुम्पेको भए, त्यसका लागि जिन्दगीभरि पछुताउनेथिस् भनेर सोच्नेथिइस्। मानौँ तैँले कुनै व्यक्तिसँग अन्तरक्रिया गर्छस् र, ऊसँगको कुराकानी र सम्पर्कमार्फत, तैँले देख्छस् कि उसमा असल मानवता भएको मात्र नभई, उसमा जिम्मेवारी बोध पनि छ, अनि जब तैँले उसलाई कुनै काम सुम्पन्छस्, तैँले उसलाई कुनै कुरा त्यतिकै भने पनि, उसले त्यो दिमागमा राख्छ, र उसले तँलाई सन्तुष्ट पार्न त्यस कामलाई राम्रोसँग सम्हाल्ने उपायहरूबारे सोच्छ, अनि यदि उसले तैँले सुम्पेको काम राम्रोसँग सम्हालेन भने, पछि तँसित भेट्दा उसले लज्जित महसुस गर्छ—यो जिम्मेवारी बोध भएको व्यक्ति हो। तिनीहरूलाई केही कुरा भन्यो वा तिनीहरूलाई केही कुरा खटाइयोभने—चाहे त्यो अगुवा, कामदार वा माथिबाट आएको होस्—जिम्मेवारी बोध भएका मानिसहरू सधैँ यस्तो सोच्छन्, “हो, तिनीहरू मेरो इज्जत गर्छन्, त्यसैले मैले यो काम राम्ररी सम्हाल्नैपर्छ र तिनीहरूलाई निराश तुल्याउनु हुँदैन।” के तैँले विवेक र समझ भएका यस्ता मानिसहरूलाई कुनै काम सुम्पेर ढुक्क महसुस गर्दैनथिस् र? तैँले कुनै काम सुम्पन्न सक्ने मानिसहरू निश्चय नै तँलाई मन पर्ने भरोसायोग्य लाग्नेहरू नै हुन्। विशेष गरी, यदि तिनीहरूले तेरा लागि धेरै काम सम्हालेका छन् र ती एकदमै होसियासीसाथ र तेरा आवश्यकताहरू पूर्ण रूपमा पूरा गर्ने गरी गरेका छन भने, तँलाई तिनीहरू भरपर्दा लाग्नेछन्। तैँले हृदयमा तिनीहरूको निकै प्रशंसा र आदर गर्नेछस्। मानिसहरू यस्ता व्यक्तिसँग सङ्गत गर्न रुचाउँछन्, झन् परमेश्वरसँग सङ्गत गर्न नरुचाउने त कुरै आउँदैन। के तिमीहरूलाई परमेश्वर मण्डलीको काम र मान्छेले निर्वाह गर्नुपर्ने कर्तव्य भरोसा नभएको कुनै व्यक्तिलाई सुम्पन्न इच्छुक हुनुहुनेछ भन्ने लाग्छ? (अहँ, उहाँले सुम्पनुहुनेछैन।) जब परमेश्वर मण्डलीको एउटा काम कुनै व्यक्तिलाई गर्न खटाउनुहुन्छ, तब उहाँ त्यस व्यक्तिबाट के अपेक्षा गर्नुहुन्छ? पहिलो, परमेश्वर ऊ लगनशील र जिम्मेवार होस्, उसले त्यस कामलाई ठूलो मामिला ठानेर त्यहीअनुरूप सम्हालोस् भन्ने आशा गर्नुहुन्छ। दोस्रो, परमेश्वर ऊ भरोसायोग्य व्यक्ति होस्, जति समय बिते पनि, र परिस्थिति जसरी परिवर्तन भए पनि, उसको जिम्मेवारीबोध नडगमगाओस्, र परीक्षामा उसको निष्ठा दृढ रहोस् भन्ने आशा गर्नुहुन्छ। यदि ऊ भरपर्दो व्यक्ति हो भने, परमेश्वर आश्वस्त हुनुहुनेछ, र उहाँले अबउप्रान्त यस मामिलामा सुपरिवेक्षण वा अनुगमन गर्नुहुनेछैन। किनभने उहाँले हृदयमा उसलाई भरोसा गर्नुहुन्छ, र उसले आफूलाई दिइएको काम गल्ती नगरी पूरा गर्ने सुनिश्चित हुन्छ। जब परमेश्वर कसैलाई कुनै काम सुम्पनुहुन्छ, तब के यो उहाँले आशा गर्ने कुरा हुँदैन र? (हुन्छ।) त्यसोभए, तैँले परमेश्वरको अभिप्राय बुझेपछि, परमेश्वरका मागहरू पूरा गर्न कसरी कार्य गर्ने, कसरी परमेश्वरका नजरमा निगाह पाउने र परमेश्वरको भरोसा जित्ने भनेर हृदयमा जान्नुपर्छ। यदि तैँले आफ्ना प्रकटीकरणहरू र व्यवहार, अनि तैँले आफ्नो कर्तव्यलाई लिने मनोवृत्तिलाई प्रस्ट रूपमा देख्न सक्छस् भने, यदि तँ आफूलाई चिन्छस्, र तँलाई आफू के हुँ भन्ने थाहा छ भने, के तैँले परमेश्वरले तँलाई निगाह गर्नुहोओस्, अनुग्रह देखाउनुहोओस्, वा विशेष व्यवहार गर्नुहोओस् भनी माग गर्नु बेमनासिब होइन र? (हजुर, हो नि।) तँ आफूलाई एकदमै तुच्छसमेत ठान्छस्, आफूलाई होच्याउनेसमेत गर्छस्, तैपनि परमेश्वरले तँलाई निगाहा गर्नुहोओस् भनेर माग गर्छस् भने—यसले कुनै अर्थ राख्दैन। यसरी, यदि तँ परमेश्वरले तँलाई निगाहा गर्नुहोओस् भन्ने चाहन्छस् भने, तैँले कम्तीमा पनि आफूलाई अरू मानिसका दृष्टिमा भरपर्दो बनाउनुपर्छ। यदि तँ अरूले तँलाई भरोसा गरून्, निगाह देखाऊन्, आदर गरून् भन्ने चाहन्छस् भने, कम्तीमा पनि तँ मर्यादित, जिम्मेवारी बोध भएको, वचनको पक्का, र भरपर्दो हुनैपर्छ। त्यसबाहेक, तँ परमेश्वरसामु लगनशील, जिम्मेवार, र बफादार हुनैपर्छ—त्यसपछि तैँले परमेश्वरका अत्यावश्यक मापदण्डहरू पूरा गरेको हुनेछस्। त्यसपछि, तँलाई परमेश्वरको अनुमोदन प्राप्त हुने आशा हुनेछ, हुनेछैनन र? (हजुर, हुनेछ।)
—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्मेवारीहरू (८)
परमेश्वरले तँबाट जे माग गर्नुभए पनि, तैँले त्यसको निम्ति आफ्नो सारा शक्तिले काम मात्र गर्नुपर्दछ, र म आशा गर्दछु कि अन्त्यमा तँ परमेश्वरको सामु आउन सक्नेछस् र उहाँलाई तेरो पूर्ण भक्ति दिन सक्नेछस्। यदि यो क्षण तिम्रो मृत्यु तोकिएको समय नै भए पनि जबसम्म परमेश्वर आफ्नो सिंहासनमा विराजमान भई सन्तोषको मुस्कान मुस्कुराउनुभएको तैँले देख्न सक्छस्, तबसम्म तैँले आफ्ना आँखा चिम्लँदै गर्दा तँ हाँस्न र मुस्कुराउन सक्नुपर्छ। पृथ्वीको तेरो जीवनकालमा तैँले परमेश्वरप्रतिको आफ्नो अन्तिम कर्तव्य पूरा गर्नैपर्छ। विगतमा, परमेश्वरको खातिर पत्रुसलाई क्रूसमा उल्टो झुन्ड्याइ; तर अन्त्यमा तैँले परमेश्वरलाई सन्तुष्ट पार्नुपर्छ, र तेरा सबै शक्ति उहाँका लागि समाप्त गर्नुपर्छ। सृष्टि गरिएको एक प्राणीले परमेश्वरको खातिर के गर्नसक्छ र? यसैले परमेश्वरले उहाँको इच्छाअनुसार तँलाई योजनाबद्ध गर्नुहोस् भन्नका लागि तैँले अग्रिम रूपमा आफूलाई परमेश्वरप्रति अर्पण गर्नुपर्छ। यदि त्यसले परमेश्वरलाई खुसी र प्रसन्न तुल्याउँछ भने उहाँले आफ्नो इच्छाअनुसार तँसँग जे गर्न चाहनुहुन्छ उहाँलाई त्यही गर्न दे। मानिसहरूसँग गुनासोका कुराहरू बोल्ने के अधिकार छ र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय ४१
आज, तिमीहरूले पूरा गर्नुपर्ने भनेका थप मागहरू होइनन् तर मानिसको कर्तव्य हो र सबै मानिसहरूले गर्नुपर्ने कार्य हो। यदि तिमीहरू आफ्नो कर्तव्यलाई पूरा गर्न वा यसलाई राम्ररी गर्न समेत असक्षम छौ भने, के तिमीहरूले आफैमाथि समस्या निम्त्याइरहेका छैनौ र? के तिमीहरूले मृत्युलाई बोलाइरहेका छैनौ र? कसरी तिमीहरूले अझै पनि भविष्य र आशाहरू पाउने अपेक्षा गर्न सक्यौ? परमेश्वरको कार्य मानवजातिको खातिर गरिन्छ र मानिसको सहकार्य परमेश्वरको व्यवस्थापनको खातिर दिइन्छ। परमेश्वरले आफूले गर्नुपर्ने सबै कुरा गरिसक्नुभएपछि, मानिसले आफ्नो अभ्यासलाई खुला मनले गर्न र परमेश्वरसँग सहकार्य गर्न आवश्यक छ। परमेश्वरको कार्यमा, मानिसले कुनै पनि प्रयास गर्नुहुँदैन, उसले आफ्नो बफादारीता दिनुपर्छ र विभिन्न धारणाहरूमा लुप्त हुने वा निष्क्रिय बसेर मृत्यु पर्खिने गर्नुहुँदैन। परमेश्वरले मानिसको लागि आफैलाई बलिदान दिन सक्नुहुन्छ, तब मानिसले किन परमेश्वरलाई आफ्नो बफादारीता दिन सक्दैन? मानिसप्रति परमेश्वर एउटै हृदय र मनको हुनुहुन्छ, तब मानिसले किन सानो सहकार्य दिन सक्दैन? परमेश्वरले मानवजातिको लागि काम गर्नुहुन्छ, तब मानिसले किन परमेश्वरको व्यवस्थापनको खातिर आफ्ना केही कर्तव्यलाई पूरा गर्न सक्दैन? परमेश्वरको काम यति हदसम्म आइसकेको छ, तैपनि तिमीहरू हेर्छौ तर काम गर्दैनौ, तिमीहरू सुन्छौ तर हलचल गर्दैनौ। के यस्ता मानिसहरू अनन्त विनाशका पात्रहरू होइनन् र? परमेश्वरले पहिले नै आफ्नो सम्पूर्णता मानिसलाई समर्पित गरिसक्नुभएको छ, तब आज किन मानिस इमानदारीताको साथ आफ्नो कर्तव्य पूरा गर्न असमर्थ छ? परमेश्वरको लागि, उहाँको कार्य नै उहाँको पहिलो प्राथमिकता हो र उहाँको व्यवस्थापनको काम नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। मानिसको लागि, परमेश्वरको वचनहरूलाई अभ्यास गर्नु र परमेश्वरका मागहरूलाई पूरा गर्नु उसको पहिलो प्राथमिकता हो। यो तिमीहरू सबैले बुझ्नुपर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कार्य र मानिसको अभ्यास
परमेश्वरको आज्ञा स्विकारेपछि, नोआले परमेश्वरले उसलाई सुम्पनुभएको जहाज कसरी बनाउने भनेर योजना बनाउन थाले। तिनले जहाज निर्माण गर्न आवश्यक विभिन्न सामग्री, मानिस र उपकरणहरू खोजे। स्वाभाविक रूपमा, यसमा धेरै कुराहरू समावेश थिए; यो पत्रमा भनिएझैँ सजिलो र सरल थिएन। सबै कुरा हातले, शारीरिक श्रमको माध्यमबाट गरिने त्यो पूर्व-औद्योगिक युगमा, त्यस्तो विशालकाय जहाज निर्माण गर्न, परमेश्वरले सुम्पनुभएको जहाज निर्माण गर्ने कार्य पूरा गर्न कत्ति गाह्रो थियो भनेर कल्पना गर्न गाह्रो छैन। नोआले कसरी योजना बनायो, तयारी गर्यो, डिजाइन गर्यो, साथै सामग्री तथा उपकरणहरू जस्ता विभिन्न कुराहरू फेला पार्यो भन्ने कुरा अवश्यै सामान्य कुरा थिएनन्, र नोआले यति ठूलो जहाज कहिल्यै नदेखेको पनि हुन सक्छ। यस आज्ञालाई स्विकारेपछि, परमेश्वरका वचनहरूमा लुकेको अर्थ बुझेर अनि परमेश्वरले भन्नुभएको सबै कुराबाट मूल्याङ्कन गरेर नोआले थाहा पाए कि यो कुनै सामान्य मामला होइन, कुनै सजिलो काम होइन। यो कुनै सामान्य वा सजिलो काम थिएन—यसका आशयहरू के थिए? एउटा कुरा त, यसको अर्थ, यो आज्ञा स्विकारेपछि नोआको काँधमा ठूलो बोझ आउनेथ्यो। अझ भन्नुपर्दा, परमेश्वरले जसरी नोआलाई व्यक्तिगत रूपमा बोलाउनुभयो र तिनलाई व्यक्तिगत रूपमा जहाज कसरी निर्माण गर्ने भनी निर्देशन दिनुभयो, यो कुनै साधारण कुरा थिएन, यो कुनै सानोतिनो मामला थिएन। परमेश्वरले भन्नुभएको सबै कुराको विवरणलाई हेर्दा, यो कुनै साधारण व्यक्तिले सहन सक्ने कुरा थिएन। परमेश्वरले नोआलाई बोलाउनुभयो र जहाज निर्माण गर्ने आज्ञा दिनुभयो भन्ने तथ्यले परमेश्वरको हृदयमा नोआको महत्त्वलाई देखाउँछ। जब यस मामलाको कुरा आयो, नोआ पक्कै पनि परमेश्वरका केही अभिप्रायहरू बुझ्न सक्षम थिए—र त्यसो गरिसकेपछि, नोआले आगामी वर्षहरूमा कस्तो प्रकारको जीवन भोग्नुपर्ने छ भनेर महसुस गरे, र तिनी आफूले सामना गर्न लागेका केही कठिनाइहरूबारे सचेत थिए। नोआले परमेश्वरले आफूलाई सुम्पनुभएको कुराको ठूलो कठिनाइ र आफूले सामना गर्नुपर्ने ठूलो कष्टहरू महसुस गरेको र बुझेको भए पनि, तिनमा इन्कार गर्ने कुनै अभिप्राय थिएन, बरु तिनी यहोवा परमेश्वरप्रति अत्यन्तै कृतज्ञ थिए। नोआ किन कृतज्ञ थिए? किनभने परमेश्वरले अप्रत्याशित रूपमा तिनलाई यति महत्त्वपूर्ण कुरा सुम्पनुभएको थियो, र तिनलाई व्यक्तिगत रूपमा हरेक विवरण बताउनुभएको र व्याख्या गर्नुभएको थियो। अझ महत्त्वपूर्ण कुरा, परमेश्वरले नोआलाई जहाज किन बनाउनु पर्ने थियो भनेर सुरुदेखि अन्तसम्मको पूरै कथा पनि बताउनुभएको थियो। यो परमेश्वरको आफ्नै व्यवस्थापन योजनाको विषय थियो, यो परमेश्वरको आफ्नै मामला थियो, तर परमेश्वरले तिनलाई यस मामलाबारे बताउनुभएको थियो, त्यसैले नोआले यसको महत्त्व महसुस गरे। सङ्क्षेपमा, यी विभिन्न चिन्हहरूलाई हेर्दा, परमेश्वरको बोलीको भाव र परमेश्वरले नोआलाई दिनुभएको कुराको विभिन्न पक्षहरूलाई विचार गर्दा, नोआले परमेश्वरले तिनलाई सुम्पनुभएको जहाज निर्माण गर्ने कार्यको महत्त्व बुझ्न सके, तिनले आफ्नो हृदयमा यसको कदर गर्न सके र यसलाई हलुका रूपमा लिने हिम्मत गरेनन्, न त कुनै विवरणलाई बेवास्ता गर्ने साहस नै गरे। त्यसकारण, परमेश्वरले निर्देशनहरू दिइसक्नुभएपछि, नोआले आफ्नो योजना बनाए, र तिनी जहाज निर्माण गर्ने, जनशक्ति खोज्ने, सबै प्रकारका सामग्रीहरू तयार गर्ने र परमेश्वरका वचनहरू अनुसार, विभिन्न प्रकारका जीवित प्राणीहरूलाई क्रमशः जहाजमा जम्मा गर्ने काममा लागे।
जहाज निर्माण गर्ने सम्पूर्ण प्रक्रिया कठिनाइले भरिएको थियो। हालका लागि, नोआले वर्षैपिच्छे तेज बतासहरू, चर्को घाम र मुसलधारे वर्षा, प्रचण्ड गर्मी र अत्यधिक चिसो अनि पालै पालो आउने चार ऋतुहरूलाई कसरी पार गरे भन्ने कुरालाई थाती राखौँ। पहिले जहाज निर्माण गर्नु कति ठूलो काम थियो, तिनले तयार गरेका विभिन्न सामग्रीहरू, र जहाज निर्माण गर्ने क्रममा तिनले सामना गरेका असङ्ख्य कठिनाइहरूबारे कुरा गरौँ। यी कठिनाइहरूमा के-के समावेश थिए? मानिसहरूको धारणा विपरीत, केही भौतिक कार्यहरू पहिलो पटक सधैँ सफल भएनन् र नोआले धेरै असफलताहरू भोग्नुपर्यो। केही कुरा पूरा गरेपछि, यदि त्यो गलत देखियो भने, तिनले त्यसलाई भत्काउँथे, र यसलाई भत्काएपछि, सामग्रीहरू तयार गर्नुपर्थ्यो, र त्यो सबै फेरि सुरुदेखि नै गर्नुपर्थ्यो। त्यो आधुनिक युग जस्तो थिएन, जहाँ सबैले विद्युतीय उपकरणद्वारा सबै काम गर्छन्, र एक पटक यो मिलाएपछि काम निर्धारित कार्यक्रमअनुसार हुन्छ। आजकल यस्तो काम गर्दा, यो यान्त्रिकीकृत हुन्छ, र एकपटक यन्त्रलाई सुचारु गरेपछि, त्यसले काम सम्पन्न गर्न सक्छ। तर नोआ आदिम समाजको युगमा बाँचिरहेका थिए, र सबै काम हातले गरिन्थ्यो अनि आफ्नो आँखा र दिमाग अनि आफ्नै लगनशीलता र शक्ति प्रयोग गरेर आफ्ना दुई हातले सबै काम गर्नुपर्थ्यो। मानिसहरूले अवश्यै सबैभन्दा बढीपरमेश्वरमा भर पर्नु आवश्यक थियो; तिनीहरूले सबैतिर र सधैँ परमेश्वरलाई खोज्न आवश्यक थियो। सबै प्रकारका कठिनाइहरूको सामना गर्ने क्रममा र जहाज निर्माणमा बिताएका दिन र रातहरूमा, नोआले यस विशाल कार्य पूरा गर्दा देखा परेका विभिन्न परिस्थितिहरूको मात्र नभई आफू वरपरका अनेकौँ वातावरणहरूका साथै अरूको उपहास, निन्दा र दुर्वचन पनि सामना गर्नुपर्यो। हामीले ती घटनाहरू घट्दा तिनलाई व्यक्तिगत रूपमा अनुभव नगरे पनि, के नोआले सामना र अनुभव गरेका विभिन्न कठिनाइ, र तिनले भोगेका विभिन्न चुनौतीहरूमध्ये केही कल्पना गर्न सम्भव छैन र? जहाज निर्माण गर्ने क्रममा, नोआले सामना गर्नुपरेको पहिलो कुरा आफ्नो परिवारमा समझको कमी, तिनीहरूको गनगन, गुनासो र धुत्कार समेत थियो। दोस्रो, आफू वरपरका मानिसहरू—आफ्ना आफन्तहरू, आफ्ना साथीहरू, र अन्य सबै प्रकारका व्यक्ति—द्वारा तिनको निन्दा, उपहास र आलोचना गरिनु थियो। तर नोआको एउटा मात्र मनोवृत्ति थियो, जुन परमेश्वरका वचनहरू पालन गर्नु, तिनलाई अन्तिमसम्म नै लागु गर्नु र यसबाट कहिल्यै नडगमगाउनु थियो। नोआले के सङ्कल्प गरेका थिए? “जबसम्म म जीवित रहन्छु, जबसम्म म क्रियाशील रहन सक्छु, म परमेश्वरको आज्ञालाई त्याग्ने छैन।” जहाज निर्माण गर्ने महान् कार्य गर्ने क्रममा उनको प्रेरणा यही नै थियो, साथै परमेश्वरका आज्ञाहरू प्राप्त गरेपछि, र परमेश्वरका वचनहरू सुनेपछि तिनको मनोवृत्ति पनि यही थियो। अनेक प्रकारका समस्या, कठिन परिस्थिति र चुनौतीहरूको सामना गर्दा, नोआ कहिल्यै पछि हटेनन्। तिनका केही थप कठिन ईन्जिनियरिङ कार्यहरू बारम्बार विफल र क्षतिग्रस्त हुँदा, नोआलाई हृदयमा उदास र चिन्तित महसुस भए पनि, जब तिनले परमेश्वरका वचनहरूबारे सोच्थे, जब तिनले परमेश्वरले तिनलाई दिनुभएको आज्ञाका हरेक वचन र परमेश्वरले तिनलाई गर्नुभएको उत्थानलाई सम्झन्थे, तब तिनलाई प्रायः अत्यन्तै उत्प्रेरित महसुस हुन्थ्यो: “म हार मान्न सक्दिनँ, परमेश्वरले मलाई आज्ञा गर्नुभएको र सुम्पनुभएको कुरालाई म त्याग्न सक्दिनँ; यो परमेश्वरको आज्ञा हो, र मैले यसलाई स्वीकार गरेको हुनाले, मैले परमेश्वरले बोल्नुभएका वचन र परमेश्वरको आवाज सुनेको हुनाले र मैले यसलाई परमेश्वरबाट स्वीकार गरेको हुनाले, म पूर्ण रूपमा समर्पित हुनुपर्छ, मानवजातिले हासिल गर्नु पर्ने कुरा यही हो।” तसर्थ, तिनले जुनसुकै प्रकारका कठिनाइहरूभोगे पनि, तिनले जस्तोसुकै उपहास वा अपमान सामना गरे पनि, तिनको शरीर जतिसुकै शिथिल र थकित भए पनि, तिनले परमेश्वरले तिनलाई सुम्पनुभएको कुरालाई त्यागेनन्, र परमेश्वरले भन्नुभएको र आज्ञा गर्नुभएको हरेक वचनलाई निरन्तर मनमा राखे। तिनको परिवेश जतिसुकै परिवर्तन भए पनि, तिनले जतिसुकै ठूलो कठिनाइ सामना गरे पनि, तिनमा विश्वास थियो कि यीमध्ये कुनै पनि कुरा सदाका लागि रहनेछैन, केवल परमेश्वरका वचनहरू कहिल्यै बितेर जानेछैनन्, र परमेश्वरले गर्न भनेर आज्ञा गर्नुभएका कुराहरू मात्र अवश्यै पूरा हुनेछन्। नोआलाई परमेश्वरप्रति साँचो आस्था थियो, र तिनमा हुनुपर्ने समर्पण थियो, अनि तिनले परमेश्वरले अह्राउनुभएको जहाज बनाउने कामलाई निरन्तरता दिए। दिनप्रतिदिन, वर्षेनी, नोआ वृद्ध बन्दै गए, तर तिनको आस्था घटेन, र परमेश्वरको आज्ञा पूरा गर्ने तिनको मनोवृत्ति र दृढतामा कुनै परिवर्तन आएन। तिनको शरीरलाई थकित र शिथिल महसुस भएको, र तिनी बिरामी परेको, हृदयमा तिनी कमजोर भएको समयहरू आए पनि, परमेश्वरको आज्ञा पूरा गर्ने र परमेश्वरको वचनमा समर्पित हुने तिनको दृढता र अठोटमा कमी आएन। नोआले जहाज बनाएका वर्षहरूमा, तिनी परमेश्वरले भन्नुभएका वचनहरू सुन्ने र तिनमा समर्पित हुने अभ्यास गर्दै थिए, र तिनी एक सृजित प्राणी र सामान्य व्यक्तिका रूपमा परमेश्वरको आज्ञा पूरा गर्न आवश्यक पर्ने एक महत्त्वपूर्ण सत्यताको अभ्यास पनि गर्दै थिए। हर रूपमा, सम्पूर्ण प्रक्रिया वास्तवमा एउटै कुरा थियो: जहाज निर्माण गर्ने, परमेश्वरले गर्न भन्नुभएको कुरा राम्रोसँग र पूर्ण रूपमा सम्पन्न गर्ने। तर यो कुरा राम्रोसँग गर्न, र यसलाई सफलतापूर्वक पूरा गर्न के कुराको आवश्यकता थियो? यसमा मानिसहरूको जोस, वा तिनीहरूका नाराहरू आवश्यक थिएनन्, न त क्षणिक लहरमा खाइएका केही शपथहरू, न सृष्टिकर्ताप्रति मानिसहरूको तथाकथित प्रशंसा नै आवश्यक थियो। यसका लागि यी कुराहरू आवश्यक थिएनन्। नोआले जहाजको निर्माण गर्दा, मानिसहरूको तथाकथित प्रशंसा, तिनीहरूको शपथ, तिनीहरूको जोश, र तिनीहरूको आत्मिक संसारमा परमेश्वरमाथिको विश्वासले कुनै काम गरेन; नोआको साँचो विश्वास र परमेश्वरप्रतिको साँचो समर्पणको अगाडि, मानिसहरू अत्यन्तै दीन र दयनीय देखिन्छन्, र तिनीहरूले बुझेका केही धर्मसिद्धान्तहरू अत्यन्तै खोक्रो, फिक्का, कमजोर र निर्बल देखिन्छन्—लाजमर्दो, घृणास्पद र पतितको त कुरै नगरौँ।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट तीन: नोआ र अब्राहामले कसरी परमेश्वरका वचनहरू सुने र उहाँको आज्ञापालन गरे (भाग दुई)
वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको मानिसभित्र अन्तर्निहित रहेका सबै कुराहरूको उपलब्धि हो, भन्नुको अर्थ, जुन कुरा मानिसको लागि सम्भव छ। त्यसपछि उसको दायित्व पूरा हुन्छ। आफ्नो सेवाको अवधिमा देखिने मानिसका कमजोरीहरू प्रगतिशील अनुभव र न्यायबाट भएर जानु पर्ने प्रक्रियामार्फत विस्तारै घटाइन्छन्; तिनले मानिसको दायित्वलाई वाधा दिँदैन वा प्रभाव पार्दैनन्। आफ्नो सेवामा कमजोरीहरू हुन सक्छन् भन्ने डरले सेवा गर्न वा परिणाम ल्याउन छोड्ने र पछि हट्ने मानिसहरू नै सबैभन्दा कायरहरू हुन्। यदि मानिसहरूले सेवाको अवधिमा व्यक्त गर्नुपर्ने कुरालाई व्यक्त गर्न सक्दैनन् वा तिनीहरूको लागि सम्भव भएका कुराहरूलाई अन्तर्निहित रूपमा तिनीहरूले उपलब्धि गर्न सक्दैनन्, र यसको सट्टामा समय बरबाद गर्छन् र आलटाल मात्रै गर्छन् भने, तिनीहरूले सृष्टि गरिएको प्राणीमा हुनुपर्ने कार्यगत प्रकार्यलाई गुमाएका हुन्छन्। त्यस्ता मानिसहरू “मध्यम-स्तरीय” भनेर चिनिन्छन्; तिनीहरू कार्य नलाग्ने रद्दी हुन्। त्यस्ता मानिसहरूलाई कसरी उचित रूपमा सृष्टि गरिएका प्राणीहरू भन्न सकिन्छ? के तिनीहरू भ्रष्ट प्राणीहरू होइनन् र, जो बाहिर चम्कन्छन् तर भित्र कुहिएका हुन्छन्? … मानिसको कर्तव्य र उसले आशिष्हरू पाउँछ कि दुर्भाग्य भोग्छ भन्ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। दायित्व भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र यो भरणपोषण, सर्तहरू, वा तर्कहरूमा निर्भर हुनुहुँदैन। तब मात्रै उसले आफ्नो दायित्व पूरा गर्दै हुन्छ। आशिष्हरू प्राप्त गर्नुले कसैले न्यायको अनुभव गरिसकेपछि सिद्ध बनाइनु र परमेश्वरको आशिषहरू प्राप्त गर्नुलाई जनाउँछ। दुर्भाग्य भोग्नु भन्नाले सजाय र न्याय भोगिसकेपछि पनि कसैको स्वभाव परिवर्तन नहुनुलाई जनाउँछ हो; तिनीहरूले सिद्ध बनाइएको अनुभव गर्दैनन् र तिनीहरू दण्डित हुन्छन्। तर चाहे तिनीहरूले आशिष्हरू पाऊन् वा दुर्भाग्य भोगून्, सृष्टि गरिएका प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो दायित्वलाई पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम कार्य यही हो। तैँले आशिष्हरू प्राप्त गर्नका लागि मात्रै आफ्नो कर्तव्य पूरा गर्नु हुँदैन, र तैँले दुर्भाग्य भोग्नुपर्ने डरले कार्य गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो। आफ्नो दायित्वलाई पूरा गर्ने प्रक्रियाद्वारा मानिस बिस्तारै परिवर्तन गरिन्छ, र यही प्रक्रियाद्वारा उसले आफ्नो निष्ठालाई प्रदर्शन गर्छ। यसरी, तैँले जति आफ्नो दायित्वलाई पूरा गर्न सक्षम हुन्छस्, त्यति नै तैँले सत्यतालाई प्राप्त गर्नेछस्, र त्यति नै वास्तविक तेरो अभिव्यक्ति हुनेछ। आफ्नो दायित्व पूरा गर्ने कार्यमा आलटाल गर्ने र सत्यतालाई नखोज्नेहरू अन्त्यमा हटाइनेछन्, किनकि त्यस्ता मानिसहरूले सत्यताको अभ्यासमा आफ्नो कर्तव्य पूरा गर्दैनन्, र आफ्नो कर्तव्य निभाउँदा सत्यतालाई अभ्यास गर्दैनन्। तिनीहरू ती हुन् जो अपरिवर्तित रहन्छन् र दुर्भाग्य भोग्छन्। तिनीहरूको अभिव्यक्तिहरू अशुद्ध मात्रै छैनन्, तर तिनीहरूले अभिव्यक्त गर्ने हरेक कुरा नै दुष्ट छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारी परमेश्वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता
सम्बन्धित अनुभवात्मक गवाहीहरू
जिम्मेवारीदेखि डराउनुका परिणामहरू
जिम्मेवारीको डर मान्नुपछाडि लुकेका कारणहरू
सम्बन्धित भजनहरू
परमेश्वरद्वारा अझ सजिलो रूपमा सिद्ध पारिन बढी बोझ वहन गर