७. भ्रष्ट मानवको प्रकृति सार कसरी चिन्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

हजारौँ वर्षको भ्रष्‍टतापछि, मानिस सुन्‍न नसक्‍ने र सुस्त भएको छ; ऊ परमेश्‍वरको विरोध गर्ने भूत बनेको छ, यतिसम्म कि परमेश्‍वरप्रति मानिसको विद्रोह इतिहासका पुस्तकहरूमा उल्लेख गरिएका छन्, र मानिस स्वयम पनि आफ्नो विद्रोही आचरणको पूर्ण विवरण दिन असक्षम छ—किनकि मानिस शैतानद्वारा गहन रूपमा भ्रष्‍ट पारिएको छ, र शैतानले उसलाई गलत बाटोमा डोर्‍याएकोले गर्दा आफू कतातिर जाने भनेर उसलाई थाहै छैन। आज पनि, मानिसले अझै परमेश्‍वरलाई धोका दिन्छ: जब मानिसले परमेश्‍वरलाई देख्छ, उसले उहाँलाई धोका दिन्छ, र जब उसले परमेश्‍वरलाई देख्दैन, तब पनि उसले उहाँलाई धोका दिन्छ। परमेश्‍वरको श्रापहरू र परमेश्‍वरको क्रोध अनुभव गरेर पनि अझै उहाँलाई धोखा दिनेहरू पनि छन्। त्यसैले म भन्छु कि मानिसको चेतनाले आफ्नो मौलिक कार्यगत गुण नै गुमाएको छ, र मानिसको विवेकले पनि, आफ्नो मौलिक कार्यगत गुण गुमाएको छ। मैले देखेको मानिस मानव भेषमा पशु हो, उ विषालु सर्प हो, र उसले मेरो नजरमा जतिसुकै दयनीय देखिने प्रयत्‍न गरे तापनि, म कहिल्यै पनि उप्रति दयालु बन्‍नेछैन, किनकि मानिससँग कालो र सेतो बीच फरक छुट्याउने, सत्य र असत्य बीच फरक छुट्याउने समझ पनि छैन। मानिसको चेतना सुस्त भएको छ, तैपनि अझै ऊ आशिष्‌हरू प्राप्‍त गर्न चाहन्छ; उसको मानवता यति अज्ञानी भएको छ, तैपनि अझै ऊ राजाको सार्वभौमिकता हासिल गर्न चाहन्छ। यस किसिमको चेतनासँग ऊ कसको राजा बन्‍न सक्छ? यस किसिमको मानवतासँग ऊ कसरी सिंहासनमा बस्‍न सक्छ? मानिससँग साँच्‍चिकै लाज नै छैन! ऊ अहङ्कारी नीच हो! तिमीहरूमध्ये आशिष्‌हरू प्राप्‍त गर्न चाहने व्यक्तिहरूलाई म सुझाव दिन्छु कि सबैभन्दा पहिला एउटा ऐना लिएर आफ्नो कुरूप अनुहार हेर—के तँसँग राजा हुनको निम्ति आवश्यक कुरा छ? के तँसँग आशिष्‌हरू प्राप्‍त गर्ने व्यक्तिको जस्तो अनुहार छ? तेरो स्वभावमा अलिकति पनि परिवर्तन आएको छैन र तैँले कुनै पनि सत्यतालाई अभ्यास गरेको छैनस्, तैपनि अझ तँ सुन्दर भोली, अर्थात् भविष्यको आशा गर्छस्। तैँले आफैलाई भ्रममा पार्दैछस्! यस्तो फोहोरी भूमिमा जन्म लिएर, मानिस समाजद्वारा नराम्ररी प्रभावित भएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसलाई “उच्‍च शिक्षा दिइने” संस्थाहरूमा सिकाइएको छ। पिछडिएको सोच, भ्रष्‍ट नैतिकता, जीवन सम्बन्धी तुच्छ दृष्टिकोण, संसारका कुराहरूसँग सम्‍बन्धित घृणित दर्शन, पूर्णतया मूल्यहीन अस्तित्व, र पतित जीवनशैली र चलनहरू—यी सबै कुराहरू मानिसको हृदयमा गहिरोसँग घुसिसकेको छ, र उसको विवेकलाई गम्भीर रूपमा कमजोर बनाएको छ र आक्रमण गरेको छ। परिणाम स्वरूप, मानिस परमेश्‍वरदेखि अझ धेरै टाढिएको छ, र अझ धेरै उहाँको विरोधी बनेको छ। मानिसको स्वभाव दिनदिनै अझ बढी क्रूर बन्दैछ, र परमेश्‍वरको निम्ति स्वेच्छाले कुनै कुरा त्याग्न इच्छुक व्यक्ति एक जना पनि छैन, परमेश्‍वरमा समर्पित हुन इच्छुक व्यक्ति एक जना पनि छैन, न त यसबाहेक, परमेश्‍वरको देखा पराइलाई खोज्‍न इच्छुक व्यक्ति नै छ। बरु, शैतानको सत्ताअन्तर्गत रहेर, हिलोको भूमिमा देह भ्रष्टतामा आफैलाई सुम्पँदै, सुख विलासको पछि लाग्ने बाहेक मानिसले अरू केही पनि गर्दैन। अन्धकारमा जिउनेहरूले सत्यतालाई सुनेर पनि त्यसलाई अभ्यासमा लगाउने विचारै गर्दैनन्, न त उहाँको स्वरूपलाई देखेर पनि परमेश्‍वरको खोजी गर्न तिनीहरू बाध्य हुन्छन्। कसरी यति धेरै भ्रष्‍ट मानवजातिले मुक्तिको कुनै मौका हासिल गर्नसक्छ र? यति धेरै पतित मानवजाति कसरी ज्योतिमा जिउन सक्छ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो

परमेश्‍वरको विरुद्धमा मानिसको प्रतिरोध र विद्रोहको स्रोत चाहिँ शैतानद्वारा तुल्याइएको उसको भ्रष्‍टता हो। शैतानको भ्रष्‍टताको कारण मानिसको विवेक अचेत भएको छ; ऊ अनैतिक छ, उसका सोच विचारहरू पतित भएका छन्, र ऊसँग पिछडिएको मानसिक दृष्टिकोण छ। शैतानद्वारा भ्रष्‍ट बनाइनुभन्दा अगाडि, मानिस स्वाभाविक रूपमा परमेश्‍वरमा समर्पित हुन्थ्यो र उहाँका वचनहरू सुनेपछि तिनमा समर्पित हुन्थ्यो। स्वाभाविक रूपमा उसको चेतना र विवेक सामान्य मानवको जस्तै स्वस्थ थियो। शैतानद्वारा भ्रष्‍ट बनाइएपछि, मानिसको मौलिक समझ, विवेक, र मानवता सुस्त भएको थियो र शैतानद्वारा नष्ट पारिएको थियो। यसरी, उसले परमेश्‍वरप्रति उसको समर्पणता र प्रेम गुमाएको छ। मानिसको समझ अस्वाभाविक बनेको छ, उसको स्वभाव एक पशुको स्वभावजस्तै बनेको छ, र परमेश्‍वरप्रति उसको विद्रोह निरन्तर बढिरहेको छ र घोर बनेको छ। तैपनि मानिसलाई यो कुरा थाहा छैन न त यो कुरा पहिचान नै गर्छ, र केवल विरोध गर्छ र अन्धाधुन्ध विद्रोह गर्छ। मानिसको स्वभाव उसले व्यक्त गर्ने चेतना, अन्तर्दृष्टि र विवेकमा प्रकट हुन्छ; किनकि उसको चेतना र अन्तर्दृष्टि अस्वस्थ छ, र उसको विवेक उच्‍च रूपमा सुस्त भएको छ, त्यसैले उसको स्वभाव परमेश्‍वरको विरुद्धमा विद्रोही भएको छ। यदि मानिसको चेतना र अन्तर्दृष्टि परिवर्तन हुन सक्दैन भने, उसको स्वभाव परिवर्तन हुने प्रश्‍नै भएन, र यो परमेश्‍वरका अभिप्राय अनुरूप हुन सक्दैन। यदि मानिसको चेतना अस्वस्थ छ भने, उसले परमेश्‍वरको सेवा गर्न सक्दैन र ऊ परमेश्‍वरद्वारा प्रयोग हुन अयोग्य हुन्छ। “सामान्य चेतना” ले परमेश्‍वरमा समर्पित हुने र उहाँप्रति विश्‍वासयोग्य हुने, परमेश्‍वरको निम्ति तिर्खाउने, पूर्णरूपमा परमेश्‍वरको हुने, र परमेश्‍वरप्रति स्वस्थ विवेक कायम राख्‍ने कुरालाई दर्साउँछ। यसले परमेश्‍वरप्रति एक हृदय र मनको हुने, र जानाजानी परमेश्‍वरको विरोध नगर्ने कुरालाई दर्साउँछ। अस्वाभाविक चेतना पाउने कुरा यस्तो किसिमको हुँदैन। मानिस शैतानद्वारा भ्रष्‍ट बनाइएको कारण उसले परमेश्‍वरको विषयमा आफ्नो धारणा बनाएको छ, र ऊसँग परमेश्‍वरप्रति बफादारीता छैन वा उहाँप्रति तिर्खाएको छैन, परमेश्‍वरप्रति स्वस्थ विवेक हुने त कुरै नगरौं। मानिसले परमेश्‍वरको जानाजानी विरोध गर्छ, र उहाँको न्याय गर्छ, साथै उहाँको पिठ्यूँ पछाडि उहाँको कुरा काट्छ। उहाँ परमेश्‍वर हुनुहुन्छ भन्‍ने स्पष्‍ट ज्ञान हुँदाहुँदै पनि मानिसले उहाँको पिठ्यूँ पछाडि उहाँको न्याय गर्छ; मानिससँग परमेश्‍वरमा समर्पित हुने मनसाय छैन, र केवल अन्धाधुन्ध उहाँसँग माग्‍ने र अनुरोध गर्ने कार्य गर्छ। यस किसिमका मानिसहरू—अस्वाभाविक चेतना भएका मानिसहरू—तिनीहरू आफ्नै घृणित आचरण थाहा गर्न वा आफ्नो विद्रोही स्वभावप्रति पछुताउन असक्षम हुन्छन्। यदि मानिसहरू आफैलाई चिन्‍न सक्षम छन् भने, तिनीहरूले केही हदसम्म आफ्नो चेतना पुनः प्राप्‍त गरेका हुन्छन्; आफैलाई चिन्‍न नसकेका मानिसहरू जति धेरै परमेश्‍वरको विरुद्धमा विद्रोही बन्छन्, तिनीहरूको चेतना पनि त्यति नै थोरै स्वस्थ हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो

मानवजाति मेरो व्यवस्थापनको थप भाग हो भन्‍ने कुरा सत्य भए पनि, यसलाई अझ स्पष्टताका साथ भन्‍दा मानिसहरू मेरो शत्रुबाहेक अरू कोही पनि होइनन्। मानिसहरू मेरो विरोध र मविरुद्ध विद्रोह गर्ने दुष्टहरू हुन्। मानिसहरू मैले श्राप दिएको दुष्टको सन्तानबाहेक अरू कोही पनि होइनन्। मानिसहरू मलाई धोका दिएको प्रधान स्वर्गदूतका सन्तानबाहेक अरू कोही पनि होइनन्। मानिसहरू मैले धेरै पहिले तिरस्कार गरेको दुष्टको विरासतबाहेक कोही पनि होइनन्, जो त्यस बेलादेखि यता मेरो कट्टर विरोधी भइआएको छ। किनभने सारा मानवजाति माथिको आकाश स्पष्टताको कुनै पनि सङ्केत नभएको धमिलो र कालो छ र मानव जगत घोर अन्धकारमा डुबेको छ, यसैले त्यहाँ बसोबास गर्नेले आफ्नो अनुहार अगाडि फैलिएको आफ्नो हात वा टाउको माथि उठाउँदा सूर्य पनि देख्‍न सक्दैन। उसको खुट्टामुनिको सडक हिलोले ढाकेको र खाल्‍डा-खुल्डीहरूले व्याप्त छ, विचलित पार्ने गरी भूलभूलैया छ; सारा जमिन लासहरूले ढाकेको छ। अँध्यारा कुनाहरू मृतकहरूका अवशेषहरूले भरिएका छन्, र शान्त र अँध्यारा कुनाहरूमा भूतहरूका भीडले बसोबास गरेका छन्। अनि मानिसहरूका संसारमा भूतहरू भीड-भाड गर्दै आवतजावत गर्छन्। फोहोरले ढाकिएका सबै प्रकारका जनावरहरूका सन्तान भीषण युद्धबाट घेरिएका छन् जसको आवाजले हृदयमा आतङ्क पैदा गर्छ। यस्तो समयमा “सांसारिक वैकुण्ठ” रूपी संसारमा जीवनको परमसुख खोज्‍न कुनै एक व्यक्ति कहाँ जान्छ? जीवनको लक्ष्य खोज्‍न कुनै एक व्यक्ति कहाँ जानसक्छ? शैतानको खुट्टाले कुल्चिएपछि मानवजाति पहिलेदेखि नै शैतानको स्वरूप लिएको कलाकार बनेको छ—त्योभन्दा पनि बढी मानवजाति शैतानको मूर्त रूप हो र ठूलो र स्पष्ट आवाजमा शैतानको गवाही दिने प्रमाणको काम गर्छ। यस्तो मानव जाति, यस्ता फोहोरका पोकोहरू, यस्तो भ्रष्ट मानव परिवारको सन्तान कसरी परमेश्‍वरको गवाही बन्‍न सक्छ? मेरो महिमा कहाँबाट आउँछ? कसैले मेरो गवाही बोल्‍न कहाँबाट सुरु गर्छ? किनकि मेरो विरुद्ध उभिने शत्रुले मानिसलाई भ्रष्ट पारेर मानवजातिलाई अघि नै आफ्नो बनाइसकेको छ—त्यो मानवजाति जसलाई मैले धेरै पहिले सृष्टि गरेँ र जो मेरो महिमाले र जीवनशैलीले भरिएको थियो—त्यसलाई दूषित पारेको छ। त्यसले मेरो महिमा खोसेर लगेको छ र शैतानको कुरूपता मिश्रित विष तथा असल र खराबको ज्ञान दिने रूखको फलको रसले मानिसलाई सन्तृप्त पारेको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। वास्तविक व्यक्ति बन्‍नुको अर्थ के हो

मानिसको स्वभाव मेरो सारभन्दा धेरै फरक छ, किनकि मानिसको स्वभाव पूर्णतया शैतानबाट उत्पन्‍न हुन्छ; मानिसको स्वभाव शैतानद्वारा चलाइएको र भ्रष्ट पारिएको छ। यसर्थ, मानिस त्यसको दुष्टता र कुरूपताको प्रभावमा जिउँछ। मानिस सत्यताको संसारमा वा पवित्र वातावरणमा हुर्कँदैन, मानिस ज्योतिमा जिउने कुरा त परै जाओस्। यसैले, जन्मेदेखि नै स्वभावमा सत्यता हुनु कसैको निम्ति पनि सम्भव छैन, परमेश्‍वरको भय र उहाँप्रति समर्पण गर्ने सारको कुरा त गर्दै साथमा कोही जन्‍मन सक्‍ने-नगरौं। यसको विपरीत, मानिसहरूमा परमेश्‍वरको विरोध गर्ने, उहाँविरुद्ध विद्रोह गर्ने र सत्यतालाई प्रेम नगर्ने प्रकृति छ। मैले छलफल गर्न चाहेको समस्या यही प्रकृति—विश्‍वासघात—नै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (२)

मानिसको भ्रष्‍ट स्वभावको प्रकाशको स्रोत मानिसको सुस्त विवेक, उसको घृणित प्रकृति, र उसको अस्वस्थ चेतनामा बाहेक अरू कही छैन; यदि मानिसको विवेक र चेतना फेरि सामान्य बन्‍न सक्यो भने, त्यसपछि ऊ परमेश्‍वरको अघि प्रयोगयोग्य एक व्यक्ति बन्‍नेछ। मानिसको विवेक सधैँ सुस्त भएको कारण, र कहिल्यै पनि स्वस्थ नबनेको मानिसको चेतना अझ बढी सुस्त हुँदै गइरहेको कारण, मानिस परमेश्‍वरप्रति अझ बढी विद्रोही बनेको छ, यहाँसम्‍म कि उसले येशूलाई क्रूसमा टाँगेको छ र उहाँको घरमा प्रवेश गराउने आखिरी दिनहरूको परमेश्‍वरको देहधारणलाई अस्वीकार गर्छ, र परमेश्‍वरको शरीरलाई दोषी ठहर्छ, र परमेश्‍वरको शरीरलाई नीच रूपले हेर्छ। यदि मानिससँग अलिकति मात्र मानवता भएको भए, उसले देहधारी परमेश्‍वरको शरीरलाई क्रूरतापूर्ण व्यवहार गर्ने थिएन; यदि उसँग अलिकति मात्र चेतना भएको भए, उसले देहधारी परमेश्‍वरको शरीरलाई क्रूरतापूर्ण व्यवहार गर्ने थिएन; यदि उसँग अलिकति मात्र विवेक भएको भए, उसले देहधारी परमेश्‍वरलाई यस किसिमले “धन्यवाद दिने” थिएन। मानिस परमेश्‍वर देह बन्‍नुभएको युगमा जिउँछ, तैपनि उसलाई यति राम्रो मौका दिनुभएको निम्ति उसले परमेश्‍वरलाई धन्यवाद दिन सक्दैन, बरु परमेश्‍वरको आगमनलाई सराप्छ, वा परमेश्‍वरको देहधारणको यथार्थलाई पूर्ण रूपमा बेवास्ता गर्छ, र त्यसको विरुद्धमा भएको देखिन्छ र त्यसबाट वाक्‍क बन्छ। मानिसले परमेश्‍वरको आगमनलाई जसरी व्यवहार गरे तापनि, समग्रमा, परमेश्‍वरले आफ्नो कार्यलाई धैर्यतासाथ अगाडि बढाउनुभएको छ—यद्यपि मानिसले उहाँलाई अलिकति पनि स्वागत गरेको छैन, र अन्धाधुन्ध उहाँसँग अनुरोध मात्र गर्छ। मानिसको स्वभाव अत्यन्तै क्रूर बनेको छ, उसको चेतना अत्यन्तै सुस्त बनेको छ, र उसको विवेकलाई दुष्टले पूर्ण रूपमा कुल्चीमिल्ची गरेको छ र धेरै समय अगाडि नै मानिसको मौलिक विवेक हराएको छ। मानवजातिलाई परमेश्‍वरले दिनुभएको यति धेरै जीवन र अनुग्रहका निम्ति देहधारी हुनुभएको परमेश्‍वरप्रति मानिस कृतज्ञ छैन, तर परमेश्‍वरले उसलाई सत्यता दिनुभएकोमा परमेश्‍वरप्रति असन्तुष्ट बनेको छ; किनकि मानिससँग सत्यताको निम्ति अलिकति पनि चाहना छैन, त्यसैले ऊ परमेश्‍वरप्रति अझ बढी असन्तुष्ट बनेको छ। मानिस देहधारी परमेश्‍वरको निम्ति आफ्नो जीवन बलिदान दिन असक्षम मात्र छैन, तर उसले उहाँबाट कृपा पनि हासिल गर्ने प्रयत्‍न गर्छ, र मानिसले परमेश्‍वरलाई दिनुभएको भन्दा दर्जनौं गुणा बढी चासो छ भन्‍ने दाबी गर्छ। यस किसिमको विवेक र चेतना भएका मानिसहरूले यसलाई ठूलो विषय मान्दैनन्, र तैपनि तिनीहरूले परमेश्‍वरका निम्ति आफैलाई धेरै मात्रामा दिएको छ, र अझै परमेश्‍वरले तिनीहरूलाई थोरै दिनुभएको छ भनी विश्‍वास गर्छन्। मलाई एक कचौरा पानी दिएर मसँग दुई कचौरा दूधको रकम माग्‍न आफ्नो हात फैलाउने, वा मलाई एक रातको निम्ति कोठा दिएर मसँग थुप्रै रातको भाडा माग्‍नेहरू पनि छन्। यस किसिमको मानवता र यस किसिमको विवेकसित कसरी तँ अझै जीवन प्राप्‍त गर्ने चाहना गर्छस्? तँ कस्तो घिनलाग्दो नीच छस्! मानिसमा हुने यस किसिमको मानवता र मानिसमा हुने यस किसिमको विवेकले देहधारी परमेश्‍वरलाई भूमिमा भौँतारिन लगाउँछ, उहाँले कुनै ठाउँमा बास पाउनुहुन्‍न। साँच्‍चिकै विवेक र मानवता भएका व्यक्तिहरूले उहाँले कति धेरै काम गर्नुभएको छ भन्‍ने आधारमा होइन, तर उहाँले कुनै पनि काम नगर्नु भएको भए तापनि, देहधारी परमेश्‍वरको आराधना गर्नुपर्छ र पूर्ण हृदयले सेवा गर्नुपर्छ। स्वस्थ चेतना भएका व्यक्तिहरूले यस्तो किसिमको कार्य गर्नुपर्छ, र यही नै मानिसको कर्तव्य हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो

यदि तिमीहरूले परमेश्‍वरलाई माटोबाट बनाइएको एउटा मूर्ति जस्तै मापन गर्न र सीमित गर्न आफ्नै धारणाको प्रयोग गर्छौ भने, र यदि तिमीहरूले परमेश्‍वरलाई बाइबलको सीमाभित्र मात्र सीमित राख्यौ र उहाँलाई कामको सीमित क्षेत्रभित्र मात्र राख्यौ भने तिमीहरूले परमेश्‍वरलाई दोष लगाएका छौ भनी यसले प्रमाणित गर्छ। पुरानो करारको युगका यहूदीहरूले परमेश्‍वरलाई मसीह भन्न सक्थे, र मसीह भनिने व्यक्ति मात्र परमेश्‍वर हुन सक्‍नुहुन्छ झैँ गरी परमेश्‍वरलाई तिनीहरूको हृदयमा राखिएको एक स्थिर मूर्तिको रूपमा लिएका हुनाले, र परमेश्‍वर (जीवनरहित) माटोको एउटा मूर्ति हुनुहुन्छ झैँ गरी मानवजातिले सेवा गरेको र आराधना गरेको हुनाले, तिनीहरूले त्यस बेलाको येशूलाई क्रूसमा झुन्ड्याएर मृत्युदण्ड दिए—यसरी दोषरहित येशूलाई मृत्युदण्ड दिइयो। परमेश्‍वर कुनै पनि अपराधबाट दोषरहित हुनुहुन्थ्यो, तैपनि मानिसले उहाँलाई छोड्न इन्कार गर्‍यो, अनि उहाँलाई मृत्युदण्ड दिन माग गरिरह्यो, त्यसैले येशूलाई क्रूसमा झुन्ड्याइयो। मानिससँग परमेश्‍वरको व्यवस्थापनको सिद्ध बुझाइ छ जस्तै गरी, परमेश्‍वरले गर्नुभएका सबै थोक मानिसले आफ्नो हतकेलामा राखेको छ जस्तै गरी परमेश्‍वर अपरिवर्तनशील हुनुहुन्छ भनी उसले सधैँ विश्‍वास गर्छ, र उहाँलाई एउटा पुस्तक अर्थात् बाइबलको आधारमा परिभाषित गर्छ। मानिसहरू चरम रूपमा हास्यास्पद, चरम रूपमा अहङ्कारी छन्, तिनीहरू सबैसँग बढाइचढाइ कुरा गर्ने अन्तर्निहित क्षमता हुन्छ। परमेश्‍वरको बारेमा तेरो ज्ञान जतिसुकै ठूलो भए तापनि तैँले परमेश्‍वरलाई चिनेको छैनस्, परमेश्‍वरको सबैभन्दा बढी विरोध गर्ने तँ नै होस्, र तैँले परमेश्‍वरलाई दोष लगाएको छस् भनी म अझै पनि भन्‍छु, किनकि तिमीहरू परमेश्‍वरको कामप्रति समर्पित हुन र परमेश्‍वरले सिद्ध तुल्याउनुहुने मार्गमा हिँड्न पूर्णतया असक्षम छौ। परमेश्‍वर मानिसका कार्यहरूदेखि किन कहिल्यै सन्‍तुष्‍ट हुनुभएको छैन? किनकि मानिसले परमेश्‍वरलाई चिन्दैन, किनकि उसँग थुप्रै धारणाहरू छन्, किनकि परमेश्‍वर सम्‍बन्धी उसको ज्ञान वास्तविकता अनुरूप हुँदैन, बरु कुनै भिन्‍नताविना एउटै विषयवस्तु एकोहोरो दोहोर्याइरहन्छ र हरेक परिस्थितिको निम्ति एउटै तरिका प्रयोग गर्छ। त्यसैले, परमेश्‍वर आज पृथ्‍वीमा आउनुभए पनि मानिसले फेरि उहाँलाई क्रूसमा टाँगेको छ। निर्दयी मानवजाति! मौन सहमति र षड्यन्त्र, एक-अर्काबाट खोस्ने र हडप्ने, प्रसिद्धि र सम्पत्तिको निम्ति लुछाचुँडी गर्ने, पारस्परिक हत्या गर्ने—यी सबै कहिले अन्त्य हुनेछन्? परमेश्‍वरले हजारौँ वचनहरू बोल्‍नुभएको भए तापनि कोही पनि आफ्नो चेतनामा आएका छैनन्। मानिसहरू आफ्ना परिवार, छोराछोरीहरूको खातिर, आफ्नो जीविकोपार्जन, भविष्य, प्रत्याशाहरू, ओहदा, महत्त्वाकाङ्क्षा, र रुपैयाँपैसाको निम्ति, खानेकुरा, लुगाफाटो, र शरीरको निम्ति काम गर्छन्। तर के साँच्‍चिकै परमेश्‍वरको खातिर कामहरू गर्ने कोही छन्? परमेश्‍वरको खातिर काम गर्नेहरूमध्ये पनि परमेश्‍वरलाई चिन्ने थोरै छन्। आफ्नै स्वार्थअनुसार काम नगर्ने मानिसहरू कति छन्? कति जनाले आफ्नो ओहदा सुरक्षित राख्‍न अरूलाई थिचोमिचो गर्दैनन् वा बहिष्‍कार गर्दैनन्? त्यसैले, परमेश्‍वरलाई जबरजस्ती अनगिन्ती मृत्युदण्ड दिइएको छ, र असङ्ख्य निर्दयी न्यायकर्ताहरूले परमेश्‍वरलाई दण्डाज्ञा दिएका छन् र फेरि एक पटक उहाँलाई क्रूसमा टाँगेका छन्। साँच्‍चिकै परमेश्‍वरको खातिर काम गरेका हुनाले कति जनालाई धर्मी भनेर भन्‍न सकिन्छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुष्‍टहरूलाई निश्‍चय नै दण्ड दिइनेछ

यो जान, कि तिमीहरू परमेश्‍वरको कार्यलाई विरोध गर्छौ, वा आजको कामलाई नाप्‍नको लागि तिमीहरूका आफ्‍नै धारणाहरूको प्रयोग गर्छौ, किनभने तिमीहरूलाई परमेश्‍वरको कार्यका सिद्धान्तहरू थाहा छैन, र किनभने तिमीहरूले पवित्र आत्माको कार्यलाई रूखो तरिकाले व्यवहार गरेका हुनाले। परमेश्‍वरप्रतिको तिमीहरूको विरोध र पवित्र आत्माको कामप्रतिको अवरोध तिमीहरूका धारणा र अन्तर्निहित अहङ्कारले पैदा गरेको हो। परमेश्‍वरको कार्य गलत भएर होइन, बरु तिमीहरू प्राकृतिक रूपमै अत्यन्तै विद्रोही भएकोले यसो भएको हो। परमेश्‍वरमाथिको आफ्‍नो आस्थालाई भेटिसकेपछि, कतिपय मानिसहरूले मानिस कहाँबाट आएको हो भनेर समेत निश्‍चयताको साथ भन्‍न सक्दैनन्, तैपनि तिनीहरू पवित्र आत्माको कामका सही र गलत कुराहरूलाई मूल्याङ्कन गर्दै सार्वजनिक भाषणहरू दिने आँट गर्छन्। तिनीहरू टिप्‍पणीहरू गर्दै र अनुचित गफ लडाउँदै पवित्र आत्माको नयाँ काम भएका प्रेरितहरूलाई समेत भाषण दिन्छन्; तिनीहरूको मानवता अत्यन्तै नीच छ, र तिनीहरूमा अलिकति पनि चेतना छैन। के त्यस्ता मानिसहरूलाई पवित्र आत्माले तिरस्कार गरेर नरकको आगोद्वारा जलाउने दिन आउनेछैन र? तिनीहरूलाई परमेश्‍वरको कामको बारेमा थाहा छैन, तैपनि उहाँको कामको आलोचना गर्छन्, र कसरी काम गर्ने भनेर परमेश्‍वरलाई समेत निर्देशन दिने प्रयास गर्छन्। त्यस्ता अनुचित मानिसहरूले कसरी परमेश्‍वरलाई चिन्‍न सक्छन् र? खोजी गर्ने र अनुभव गर्ने प्रक्रियामा मानिसले परमेश्‍वरलाई चिन्‍न पुग्छ; आवेगमा आलोचना गरेर होइन तर पवित्र आत्‍माको अन्तर्दृष्टिद्वारा मानिसले परमेश्‍वरलाई चिन्‍न पुग्छ। परमेश्‍वर सम्‍बन्धी मानिसहरूको ज्ञान जति यथार्थ हुन्छ, तिनीहरूले त्यति नै कम विरोध गर्छन्। यसको विपरीत, मानिसहरूले परमेश्‍वरलाई जति कम चिन्छन्, तिनीहरूले उहाँको विरोध गर्ने सम्‍भावना त्यति नै बढी हुन्छ। तेरा धारणाहरू, तेरो पुरानो प्रकृति, र तेरो मानवता, चरित्र र नैतिक दृष्टिकोण तैँले परमेश्‍वरलाई प्रतिरोध गर्ने पूँजी हो, र तेरा नैतिकताहरू जति भ्रष्ट, तेरा गुणहरू जति घिन लाग्दो, र तेरो मानवता जति नीच बन्छ, तँ त्यति नै बढी परमेश्‍वरको शत्रु बन्छस्। जोसँग दह्रिला धारणाहरू हुन्छन् र जोसँग आत्म-धर्मी स्वभाव हुन्छ तिनीहरू देहधारी परमेश्‍वरको अझै बढी शत्रुतामा हुन्छन्; त्यस्ता मानिसहरू ख्रीष्ट विरोधीहरू हुन्। यदि तेरा धारणाहरूलाई सुधार गरिएन भने, ती सधैँ नै परमेश्‍वरको विरुद्ध हुनेछन्; तँ कहिल्यै पनि परमेश्‍वरसँग मिल्‍ने बन्‍नेछैनस्, र तँ उहाँबाट सधैँ अलग हुनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

परमेश्‍वरको कार्यको उद्देश्य नबुझ्ने व्यक्ति भनेकै उहाँको विरोध गर्ने व्यक्ति हो र उहाँको कार्यको उद्देश्य बुझिसकेर पनि उहाँलाई सन्तुष्ट पार्न नखोज्ने व्यक्तिलाई अझ बढी विरोधी मान्नुपर्छ। भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू छन् तर उनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कार्यको उद्देश्य बुझ्दैन। उनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई जान्न सक्षम छैन, उनीहरूमध्ये कोही परमेश्‍वरका अभिप्रायअनुसारको हुने बारेमा त कुरै नगरौं। उनीहरू सबैजना परमेश्‍वरलाई भाषण दिन उचाइमा उभिएका व्यर्थका नीच मानिसहरू हुन्। उनीहरूले परमेश्‍वरको ध्वजा बोक्दा पनि जानीबुझीकनै परमेश्‍वरको विरोध गर्छन्। परमेश्‍वरमा विश्‍वास गरेको दाबी गर्दै उनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिस मान्छेको आत्मा निल्ने दियाबलसहरू हुन्, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूलाई बाधा दिने पिशाचका प्रमुख हुन्, र परमेश्‍वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधा-अड्चनहरू हुन्। उनीहरू “स्वस्थ विधान” का जस्तो लाग्न सक्छन् तर उनीहरू मानिसहरूलाई परमेश्‍वरविरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्टविरोधीहरूबाहेक केही होइनन् भन्‍ने कुरा उनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन्? उनीहरू मानव आत्मा निल्न समर्पित जीवित शैतान हुन् भन्‍ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? परमेश्‍वरको उपस्थितिमा आफूलाई उच्च सम्मान गर्ने व्यक्तिहरू नै सबैभन्दा नीच मान्छे हुन् भने आफूलाई सानो ठान्‍नेहरू सबैभन्दा सम्मानित व्यक्ति हुन्। अनि परमेश्‍वरको कामबारे जान्दछु भनी ठान्नेहरू र अझ भन्‍ने हो भने उहाँलाई सोझै हेर्दै अन्य मानिसहरूमाझ ठूलै तामझामको साथमा परमेश्‍वरको कामबारे घोषणा गर्न सक्षम छु भनी ठान्नेहरू सबैभन्दा अज्ञानी मान्छे हुन्। त्यस्ता मान्छेहरूसँग परमेश्‍वरको गवाही हुँदैन, उनीहरू घमण्डी र अहङ्कारले भरिएका हुन्छन्। परमेश्‍वरबारे वास्तविक अनुभव र व्यावहारिक ज्ञान हुँदाहुँदै पनि आफूसँग उहाँबारे एकदमै कम मात्र ज्ञान छ भनी विश्‍वास गर्नेहरू नै उहाँद्वारा सबैभन्दा बढी प्रेम गरिने व्यक्ति हुन्। त्यस्ता व्यक्तिहरूसँग मात्र वास्तवमै परमेश्‍वरको गवाही हुन्छ र उनीहरू मात्र वास्तवमै परमेश्‍वरद्वारा सिद्ध पार्न सकिने हुन्छन्। परमेश्‍वरका अभिप्राय नबुझ्नेहरू परमेश्‍वरका विरोधी हुन्; परमेश्‍वरका अभिप्रायहरू बुझेर पनि सत्यताको अभ्यास नगर्नेहरू उहाँका विरोधी हुन्; परमेश्‍वरका वचनहरू खाने-पिउने गरे पनि उहाँका वचनहरूको सारविरुद्ध जानेहरू परमेश्‍वरका विरोधी हुन्; देहधारी परमेश्‍वरबारे धारणा भएका र साथै विद्रोहमा संलग्न हुने मन भएकाहरू परमेश्‍वरका विरोधी हुन्; परमेश्‍वरको निन्दा गर्नेहरू उहाँका विरोधी हुन्; र परमेश्‍वरबारे जान्न नसक्ने वा उहाँको गवाही बन्न नसक्ने जोकोही परमेश्‍वरको विरोधी हो। त्यसैले म तिमीहरूलाई आग्रह गर्छु: यदि तिमीहरूलाई साँच्चै नै यस मार्गमा हिँड्न सक्छु भन्‍ने विश्‍वास लाग्छ भने, निरन्तर यही बाटो पछ्याइराख। तर यदि तिमीहरूले परमेश्‍वरको विरोध गर्नबाट आफूलाई रोक्न सक्‍दैनौ भने, धेरै ढिलो हुनुअगावै तिमीहरू अन्यत्र लाग्नु श्रेयस्कर हुन्छ। अन्यथा, तिमीहरूको लागि स्थिति नराम्रो हुने सम्भावना एकदमै धेरै हुन्छ, किनभने तिमीहरूको स्वभाव अति भ्रष्ट छ। बफादारीता वा समर्पणता, धार्मिकता वा सत्यता चाहना गर्ने हृदय, वा परमेश्‍वरप्रतिको प्रेम त तिमीहरूसँग थोपै छैन। परमेश्‍वरको अगाडि तिमीहरूको परिस्थिति पूर्णरूपमा लथालिङ्ग छ भनेर भन्न सकिन्छ। आफूले पालना गर्नुपर्ने कुरा पालना गर्न तिमीहरू सक्दैनौ र भन्नुपर्ने कुराहरू भन्न सक्दैनौ। तिमीहरूले जुन कुरालाई अभ्यासमा ल्याउनुपर्थ्यो, सो अभ्यासमा ल्याउन तिमीहरू चुकेका छौ; अनि जुन कार्य तिमीहरूले पूरा गर्नुपर्थ्यो, सो पूरा गर्न तिमीहरू असक्षम भएका छौ। तिमीहरूसँग हुनुपर्ने बफादारीता, विवेक, समर्पणता, वा सङ्कल्प तिमीहरूमा छैन। कष्ट सहन गर्नु तिमीहरूको उत्तरदायित्व भए पनि तिमीहरूले सो गरेका छैनौ र तिमीहरूमा हुनुपर्ने विश्‍वास तिमीहरूसँग छैन। एकदमै सरल रूपमा भन्नुपर्दा, तिमीहरू पूर्णरूपमा गुणविहीन छौ: के तिमीहरूलाई जिइरहन लाज लाग्दैन? म तिमीहरूलाई सम्झाउन चाहन्छु कि तिमीहरूले अनन्त विश्रामको लागि आँखा चिम्लनु उत्तम हुन्छ, जसले गर्दा परमेश्‍वरले तिमीहरूको कारण चिन्ता गर्न वा तिमीहरूको लागि कष्ट भोग्न पर्दैन। तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्छौ तैपनि तिमीहरूलाई उहाँका अभिप्रायहरूबारे थाहा छैन; तिमीहरू परमेश्‍वरका वचनहरू खान्छौ-पिउँछौ तैपनि उहाँले मान्छेले गर्नैपर्ने भनेर माग गर्नुभएका कुराहरू पालन गर्न सक्दैनौ। तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्छौ तैपनि तिमीहरूलाई उहाँबारे थाहा छैन, अनि तिमीहरू प्रयत्न गर्नुपर्ने कुनै लक्ष्यविना, कुनै मू्ल्यविना, कुनै अर्थविना नै जिउँछौ। तिमीहरू मानव प्राणीको रूपमा जिउँछौ तैपनि तिमीहरूमा अलिकति पनि विवेक, निष्ठा, वा विश्‍वसनीयता छैन—के तिमीहरू अझै आफूलाई मानव प्राणी भन्न सक्छौ? तिमीहरू परमेश्‍वरमा विश्‍वास गर्छौ तैपनि उहाँलाई धोका दिन्छौ; अझ भन्‍ने हो भने, तिमीहरू उहाँको पैसा लिन्छौ र उहाँको लागि चढाइएका भेटीहरू आफै लिन्छौ। त्यसपछि पनि, अन्त्यमा अझै परमेश्‍वरका भावनाहरूबारे अलिकति मात्र विचार गर्न वा उहाँप्रति विवेक दर्शाउन पनि चुक्छौ। तिमीहरू परमेश्‍वरले अनिवार्य गर्नुभएका कुराहरूमध्येको सबैभन्दा मामुली कुरा पनि पूरा गर्न सक्दैनौ। के तिमीहरू अझै आफूलाई मानव प्राणी भन्न सक्छौ? परमेश्‍वरले तिमीहरूलाई प्रदान गर्नुभएको खाना खाएर पनि र उहाँले तिमीहरूलाई दिनुभएको प्राणवायु लिएर पनि, उहाँको अनुग्रह उपभोग गरेर पनि अन्त्यमा तिमीहरूसँग उहाँबारे अलिकति पनि ज्ञान छैन। यसको विपरीत, तिमीहरू परमेश्‍वरको विरोध गर्ने बिकामे बनेका छौ। के त्यसले तिमीहरूलाई कुकुरभन्दा पनि नीच स्तरको जन्तु बनाउँदैन र? के जनावरहरूमा तिमीहरूभन्दा बढी दुष्ट अन्य कुनै जनावर छ त?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको विरोध गर्नेहरू हुन्

मानिसको सबैभन्दा ठूलो समस्या भनेको यही हो कि उसले हेर्न र स्पर्श गर्न नसकिने कुराहरूलाई मात्र प्रेम गर्छ, जुन कुराहरू अति रहस्यमय र आश्चर्यपूर्ण छन्‌, र जुन कुराहरू मानिसद्वारा अकल्पनीय छन्‌ र फगत मरणशीलहरूद्वारा हासिल गर्न नसकिने छन्‌। यी कुराहरू जति धेरै अवास्तविक हुन्छन्‌, त्यत्ति नै धेरै तिनलाई मानिसहरूद्वारा विश्लेषण गरिन्छन्‌, र मानिसहरूले तिनलाई अरू सबैभन्दा बेमतलबी भएर समेत पछ्याउँछन्‌, र तिनलाई पाउने प्रयत्न गर्छन्‌। ती जति धेरै अवास्तविक हुन्छन्‌, त्यत्ति नै धेरै मानिसहरूले तिनको बारे तिनीहरूको आफ्नै पूर्ण धारणहरू बनाउने हदसम्म पर गएर समेत तिनलाई नजिकबाट परीक्षण र विश्लेषण गर्छन्‌। त्यसको विपरीत, कुराहरू जति धेरै व्यावहारिक हुन्छन्, मानिसहरू तीप्रति त्यत्ति नै धेरै बेपर्बाही हुन्छन्‌; तिनीहरूले तिनलाई फुटेका आँखाले समेत हेर्दैनन्‌, र तिनलाई उपेक्षा समेत गर्छन्‌। आज मैले गर्ने वास्तविक कार्यप्रतिको तिमीहरूको मनोवृत्ति ठीक यही होइन र? यी कुराहरू जति धेरै वास्तविक हुन्छन्‌, त्यत्ति नै धेरै तिमीहरू तिनको विरुद्धमा पूर्वाग्रही हुन्छौ। तिनलाई परीक्षण गर्न तिमीहरू कुनै समय खर्चँदैनौ, तर खालि तिनलाई बेवास्ता गर्छौ; तिमीहरू यी व्यावहारिक, न्यून-स्तरीय आवश्यकताहरूलाई फुटेका आँखाले समेत हेर्दैनौ, र सबैभन्दा व्यावहारिक यस परमेश्‍वरको बारे असङ्ख्य धारणाहरू समेत बनाउँछौ, र उहाँको व्यावहारिकता र स्वाभाविकतालाई स्विकार गर्न केवल असक्षम छौ। यस प्रकारले, के तिमीहरूले अगम्य अस्पष्ट कायम गर्दैनौ र? तिमीहरूसँग विगत समयको अस्पष्ट परमेश्‍वरमा अकम्पनीय विश्‍वास छ, आजको व्यावहारिक परमेश्‍वरमा कुनै रुचि छैन। हिजोको परमेश्‍वर र आजको परमेश्‍वर दुई भिन्न युगहरूबाट हुनुभएकोले गर्दा यस्तो भएको होइन र? हिजोको परमेश्‍वर स्वर्गको उचालिनुभएको परमेश्‍वर, जबकी आजको परमेश्‍वर पृथ्वीमा सानो मानव हुनुभएकोले यसो भएको हैन र? यसको साथै, मानिसद्वारा आराधना गरिएको परमेश्‍वर उसको धारणाहरूद्वारा उत्पादित भएको, जबकी आजको परमेश्‍वर मूर्त देहको, पृथ्वीमा उत्पादित भएकोले गर्दा यस्तो भएको होइन र? जब सबै भनिन्छ र गरिन्छ, तब आजको परमेश्‍वर अति वास्तविक भएकोले गर्दा मानिसले उहाँलाई नपछ्याएको होइन र? किनकि आजको परमेश्‍वरले मानिसहरूलाई जे गर्नको लागि भन्नुहुन्छ त्यो गर्नको लागि नै मानिसहरू सबैभन्दा अनिच्छुक हुन्छन्‌, र जसले तिनीहरूलाई लज्जाबोध गराउँछ। के यसले मानिसहरूको लागि कुराहरू कठिन बनाउँदै छैन र? के यसले मानिसहरूको घाउमा नुनचुक थप्दैन र? यसरी, धेरै मानिसहरूले व्यावहारिक परमेश्‍वर, व्यावहारिक परमेश्‍वरलाई पछ्याउँदैनन् र त्यसैले तिनीहरू देहधारी परमेश्‍वरका शत्रुहरू बन्छन्‌, अर्थात् ख्रीष्ट विरोधीहरू बन्छन्‌। के यो एक स्पष्ट तथ्य होइन र? विगतमा, जब परमेश्‍वर अझै देह बन्न बाँकी थियो, तब तँ एक धार्मिक पात्र, वा एक भक्त विश्‍वासी भएको हुन सक्थिस्‌। परमेश्‍वर देह बन्नुभएपछि, धेरै यस्ता भक्त विश्‍वासीहरू अनजानमा ख्रीष्ट विरोधीहरू भए। यहाँ के हुँदैछ के तँलाई थाहा छ? परमेश्‍वरमाथिको तेरो विश्‍वासमा, तैँले यथार्थमाथि ध्यान दिँदैनस्‌ वा सत्यतालाई पछ्याउँदैनस्‌, तर यसको सट्टा असत्यताहरूले मन-मस्तिष्क भर्छस्‌—के यो देहधारी परमेश्‍वरसँगको तेरो दुस्मनीको सबैभन्दा स्पष्ट स्रोत होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र उहाँको कार्यलाई चिन्नेहरूले मात्र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्‌

मानिस परमेश्‍वरलाई पछ्याउन अनिच्छुक छ, परमेश्‍वरको निम्ति आफ्नो सम्पत्ति खर्च गर्न अनिच्छुक छ, परमेश्‍वरलाई आजीवन भक्ति अर्पण गर्न अनिच्छुक छ; बरु, परमेश्‍वर टाढा जानुभएको छ, परमेश्‍वरको बारेमा धेरै कुरा मानिसको धारणामा असुहाउँदो छ भनी उसले भन्छ। यस किसिमको मानवतासित, तिमीहरूले आफ्ना प्रयत्‍नहरूलाई विस्थापित गरे तापनि, तिमीहरूले परमेश्‍वरको स्वीकृति प्राप्‍त गर्न सक्दैनौ, तिमीहरूले परमेश्‍वरको खोजी गर्ने यथार्थको बारेको त कुरै नगरौं। तिमीहरू मानवजातिको त्रुटिपूर्ण सामान हौ भनी के तिमीहरूलाई थाहा छैन? कुनै पनि मानवता तिमीहरूको भन्दा कम छैन भनी के तिमीहरूलाई थाहा छैन? अरू व्यक्तिहरूले तिमीहरूलाई आदर गर्न के भन्छन् भनी के तिमीहरूलाई थाहा छैन? परमेश्‍वरलाई साँचो प्रेम गर्ने व्यक्तिहरूले तिमीहरूलाई ब्वाँसोको पिता, ब्वाँसोकी आमा, ब्वाँसोको छोरो, ब्वाँसोको नाति भन्छन्; तिमीहरू ब्वाँसोको सन्तान, ब्वाँसोको मानिसहरू हौ, र तिमीहरूलाई आफ्नो परिचय थाहा हुनुपर्छ र त्यसलाई कहिल्यै पनि बिर्सनु हुँदैन। तिमीहरू कुनै उत्कृष्ट व्यक्तित्वहरू हौ भनी विचार नगर: तिमीहरू मानवजातिका बीचमा सबैभन्दा अमानवीय क्रूर समूहको सदस्यहरू हौ। के तिमीहरूलाई यसको विषयमा केही पनि थाहा छैन? मैले तिमीहरूका बीचमा काम गरेर कति धेरै जोखिम उठाएको छु भनी के तिमीहरूलाई थाहा छैन? यदि तिमीहरूको चेतना फेरि सामान्य बन्‍न सक्दैन भने, र तिमीहरूको विवेकले सामान्य रूपमा काम गर्न सक्दैन भने, तिमीहरूले “ब्वाँसो” भन्‍ने नामबाट कहिल्यै छुटकारा पाउनेछैनौ, तिमीहरू श्रापको दिनबाट उम्किने छैनौ र तिमीहरू आफ्नो दण्डको दिनबाट उम्किने छैनौ। तिमीहरू निम्‍न स्तरमा जन्मियौ, कुनै पनि मूल्य नभएको थोकको रूपमा जन्मियौ। तिमीहरू स्वाभाविक रूपमा भोको ब्वाँसाहरूको झुण्ड, टुटेफुटेका टुक्राहरू र फोहोरको थुप्रो हौ, तिमीहरूले जस्तै म कृपा पाउन मात्र काम गर्दिनँ, तर कामको खाँचो भएको कारणले गर्छु। यदि तिमीहरू यसरी निरन्तर विद्रोही भइरहन्छौ भने, म आफ्नो काम रोक्‍नेछु, र तिमीहरूमा फेरि कहिल्यै काम गर्नेछैन; यसको विपरीत, मलाई प्रसन्‍न तुल्याउने समूहलाई म मेरो काम हस्तान्तरण गर्नेछु, र यसरी तिमीहरूलाई सदाको लागि त्यागिदिनेछु, किनकि मप्रति शत्रुता राख्‍ने मानिसहरूलाई म हेर्न अनिच्छुक छु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो

तिमीहरूको विश्‍वास अत्यन्तै सुन्दर छ; तिमीहरू मेरो कामको खातिर आफ्नो सम्पूर्ण जीवनकाल समर्पित गर्न र यसको खातिर आफ्नो जीवन बलिदान गर्न इच्छुक छौ भनेर भन्छौ, तर तिमीहरूका स्वभावचाहिँ त्यति धेरै बदलिएको छैन। तिमीहरूको वास्तविक व्यवहार एकदमै नीच छ, तैपनि तिमीहरू केवल अहङ्कारका साथ बोल्छौ। यो त मानिसहरूको जिब्रो र ओठहरू स्वर्गमा भएको तर पाउहरूचाहिँ धर्तीमा रहेको जस्तो भयो, जसको फलस्वरूप तिनीहरूका बोलीवचन र कर्महरू अनि तिनीहरूको मानमर्यादा अझै पनि खण्डहर र बरबादीमै छन्। तिमीहरूको मानमर्यादा नाश भएको छ, तिमीहरूको तौरतरिका भ्रष्ट बनेको छ, तिमीहरूको बोल्ने शैली तुच्छ छ र तिमीहरूको जीवन घृणास्पद छ; तिमीहरूको सम्पूर्ण मानवतासमेत तुच्छताको तल्लो बिन्दुमा डुबेको छ। तिमीहरू अन्य व्यक्तिहरूप्रति सङ्कीर्ण छौ र तिमीहरू हर तुच्छ कुरामा बखेडा झिक्छौ। तिमीहरू आफ्नै मानमर्यादा र हैसियतको विषयलाई लिएर यति हदसम्म झगडा गर्छौ कि तिमीहरू नर्क र अग्‍निकुण्डमा जाकिन पनि इच्छुक हुन्छौ। तिमीहरू पापी छौ भनी निर्क्योल गर्नको लागि मलाई तिमीहरूका वर्तमान बोलीवचन र कर्महरू नै काफी छन्। मलाई तिमीहरू अधर्मीहरू हौ भनी निर्क्योल गर्नको लागि मेरो कामप्रतिको तिमीहरूका मनोवृत्ति नै काफी छन् र तिमीहरू सबै द्वेषले भरिपूर्ण फोहोरी प्राणहरू हौ भनी देखाउनको लागि तिमीहरूका सारा स्वभावहरू नै काफी छन्। तिमीहरू अशुद्ध आत्माहरूको रगत अघाउन्जेल पिएका व्यक्तिहरू हौ भनी भन्‍नको लागि मलाई तिमीहरूको प्रकटीकरण र तिमीहरूले देखाउने कुराहरू नै पर्याप्त छन्। जब राज्यमा प्रवेश गर्ने कुरा गरिन्छ, तब तिमीहरूले आफ्ना भावनाहरू प्रकट गर्दैनौ। के तिमीहरू स्वर्गको मेरो राज्यको प्रवेशद्वारबाट छिर्नको लागि अहिले तिमीहरू जे-जस्तो छौ त्यो नै काफी छ भनेर विश्‍वास गर्छौ? के तिमीहरू मैले तिमीहरूका बोलीवचन र कर्महरूलाई पहिले जाँच नगरीकनै मेरो काम र वचनहरूको पवित्रस्थलमा तिमीहरूले प्रवेश प्राप्त गर्न सक्छौ भनी विश्‍वास गर्छौ? कसले मेरो आँखामा पर्दा टाङ्न सक्छ? तिमीहरूका घृणास्पद, तुच्छ व्यवहार र कुराकानीहरू मेरो नजरबाट कसरी बच्न सक्छन्? मैले तिमीहरूका जीवनलाई ती अशुद्ध आत्माहरूका रगत र मासु खाने जीवन भनी निर्धारण गरेको छु किनभने तिमीहरूले हरेक दिन मेरो अगाडि तिनीहरूको नक्‍कल गर्छौ। मेरो अगाडि, तिमीहरूको व्यवहार विशेष रूपमै खराब रहेको छ, अनि मैले तिमीहरूलाई कसरी घिनलाग्दो पाउँदिनथेँ र? तिमीहरूका शब्दहरूमा अशुद्ध आत्माहरूका अशुद्धताहरू छन्: तिमीहरू जादूगरी गर्नेहरू र छलकपट गर्ने अनि अधर्मीहरूको रगत पिउनेहरूले जस्तै चापलुसी गर्छौ, कुरा लुकाउँछौ र झूटो तारिफ गर्छौ। मानिसका सबै अभिव्यक्तिहरू अधर्मी छन्, अनि कसरी धर्मीहरू रहेको पवित्रस्थलमा सबै मानिसहरूलाई राख्‍न सकिन्छ? के तँ तेरा घिनलाग्दा व्यवहारहरूले तँलाई ती अधर्मीहरूको तुलनामा पवित्र भनी छुट्याउँछ भनी सोच्छस्? आखिरमा तेरो सर्पजस्तो जिब्रोले विनाश र द्वेष मच्‍चाउने तेरो देहलाई बरबाद पार्नेछ र अशुद्ध आत्माका रगतमा लतपत तेरा हातहरूले पनि आखिरमा तेरो आत्मालाई नर्कतिर तानेर लैजानेछन्। अनि किन तैँले फोहोरमा लतपत तेरा हातहरू धुने यो मौकाको फाइदा उठाउँदैनस्? किन तैँले अधर्मी शब्दहरू बोल्ने तेरो जिब्रो काटेर फाल्ने यो अवसरको सदुपयोग गर्दैनस्? के तँ तेरा हातहरू, जिब्रो र ओठहरूको लागि नर्कका ज्वालाहरूमा पीडा भोग्‍न इच्छुक भएकोले यस्तो भएको हो? म हरेक व्यक्तिको हृदयलाई मेरा दुवै आँखाहरू लगाई हेर्छु, किनभने मैले मानवजाति सृजना गर्नुभन्दा धेरैअघि मैले तिनीहरूको हृदयलाई मेरा हातहरूमा लिएको थिएँ। मैले धेरैअघि मानिसहरूको हृदयलाई हेरेको छु, अनि कसरी तिनीहरूको सोच मेरो दृष्टिबाट बच्न सक्छन् र? तिनीहरू मेरो आत्माद्वारा जल्नबाट बच्नलाई कसरी धेरै ढीला भइसकेको नहोला र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरू चरित्रमा अति नै तुच्छ छौ!

तेरा ओठहरू ढुकुरहरूभन्दा दयालु छन्, तर तेरो हृदयचाहिँ प्राचीन सर्पभन्दा पनि कुटिल छ। तेरा ओठहरू लेबनानी स्‍त्रीहरूभन्दा पनि सुन्दर छन्, तैपनि तेरो हृदय तिनीहरूको हृदयभन्दा दयालु छैन र कनानीहरूको सौन्दर्यसँग त यसको तुलना हुनै सक्दैन। तेरो हृदय अत्यन्तै छली छ! मैले घृणा गर्ने कुराहरू भनेका अधर्मीहरूका ओठहरू र तिनीहरूका हृदयहरू मात्रै हुन्, अनि मानिसहरूको लागि मेरा आवश्यक मापदण्डहरू मैले सन्तहरूबाट जे अपेक्षा गर्छु त्योभन्दा बिलकुलै उच्‍च छैनन्; यति मात्र हो कि म अधर्मीहरूको दुष्कर्मप्रति घृणा महसुस गर्छु, र म आशा गर्छु, तिनीहरू आफ्नो फोहोरीपन फाल्न र आफ्नो वर्तमान दुर्दशाबाट बच्न सफल होऊन् ताकि तिनीहरू अधर्मीहरूभन्दा अलग र राम्रा देखिन अनि धर्मीहरूसँग पवित्र भई साथै जिउन सकून्। म जस्तो परिस्थितिमा छु तिमीहरू पनि त्यस्तै परिस्थितिमा छौ, तैपनि तिमीहरू फोहोरमा लतपत भएका छौं; सुरुवातमा सृष्टि गरिएका मानिसहरूको मूल स्वरूप तिमीहरूमा अलिकति पनि छैन। अझ भन्‍ने हो भने, तिमीहरूले हरेक दिन अशुद्ध आत्माहरूको स्वरूप नक्‍कल गर्दै तिनीहरूले जे गर्छन् त्यही गर्ने र तिनीहरूले जे भन्छन् त्यही भन्‍ने भएकोले, तिमीहरूका सबै अङ्गहरू—तिमीहरूको जिब्रो र ओठहरूसमेत—गन्हाउने पानीमा यति हदसम्म भिजेका छन् कि तिमीहरूलाई सम्पूर्ण रूपमा दाग र धब्बाले ढाकेको छ र तिमीहरूको एउटा अङ्ग पनि मेरो कार्यको लागि प्रयोग गर्न सकिँदैन। यो एकदमै हृदय विदारक छ! तिमीहरू घोडा र चौपायाहरूको यस्तो संसारमा जिउँछौ, तैपनि तिमीहरूले वास्तवमै आफू समस्यामा भएको महसुस गर्दैनौ; तिमीहरू खुशीले भरिपूर्ण छौ अनि स्वतन्त्र र सहज रूपले जिउँछौ। तिमीहरू गन्हाउने पानीमा यताउता पौडिरहेका छौ, तैपनि तिमीहरूले आफूहरू यस्तो दुर्दशामा खसेका छौं भनी वास्तवमै महसुस गर्दैनौ। हरेक दिन तिमीहरू अशुद्ध आत्माहरूसँग समय बिताउँछौ र “आची” सँग खेल्छौ। तिमीहरूका जीवन निकै असभ्य छ, तैपनि तिमीहरूलाई मानव संसारमा आफूहरू बिलकुलै पनि अस्तित्वमा नभएको एवं आफू आफ्नै काबूमा नभएको कुरा वास्तवमै थाहा छैन। के तँलाई तेरो जीवन धेरै पहिले नै ती अशुद्ध आत्माहरूद्वारा कुल्चिइसकिएको छ वा तेरो चरित्र धेरै पहिले नै गन्हाउने पानीद्वारा दूषित भइसकेको छ भन्‍ने थाहा छैन? के तैँले आफू सांसारिक स्वर्गमा बाँचिरहेको र खुसीयालीमाझ रमाइरहेको छु भन्‍ने ठान्छस्? के तँलाई आफू अशुद्ध आत्माहरूको साथमा जीवन बाँचेको र तिनीहरूले तेरो लागि तयार गरेका सबै कुराहरूसँग सह-अस्तित्वमा रहेको कुरा थाहा छैन? तैँले जिउने शैलीको कसरी कुनै अर्थ हुन सक्छ र? कसरी तेरो जीवनको कुनै मूल्य हुन सक्छ र? तँ तेरा बुबाआमाहरू, अशुद्ध आत्माका बुबाआमाहरूको लागि यताउता दौडधूप गर्दै आएको छस्, तैपनि तँलाई थाहै छैन कि तँलाई फन्दामा पार्ने भनेका ती अशुद्ध आत्माका बुबाआमाहरू नै हुन् जसले तँलाई जन्म दिए र हुर्काए। यसअलावा, तेरा ती सबै फोहोरी कुराहरू वास्तवमा तँलाई तिनीहरूले नै दिएका हुन् भन्‍ने पनि थाहा छैन; तँलाई थाहा भएको एउटै कुरा के हो भने, तिनीहरूले तँलाई “आनन्द” उपलब्ध गराइदिन्छन्, तिनीहरूले तँलाई सजाय दिँदैनन्, तिनीहरूले तेरो न्याय पनि गर्दैनन्, र तिनीहरूले विशेष गरी तँलाई श्राप दिँदैनन्। तिनीहरू कहिल्यै पनि तेरो अघि रिसले चूर भएका छैनन्, बरु तिनीहरूले तँलाई स्‍नेह र दयाको साथ व्यवहार गर्छन्। तिनीहरूका शब्दहरूले तेरो हृदयलाई पोषण दिन्छन् र तँलाई मोहित पार्छन्, जसले गर्दा तँ भ्रमित बनेर तैँले महसुसै नगरी तँ फस्दै जान्छस् र तिनीहरूलाई सेवा दिन इच्छुक बन्छस्, र तिनीहरूको निकास र सेवक बन्छस्। तँसित कुनै गुनासाहरू हुँदैनन्, बरु तँ उनीहरूका लागि कुकुर र घोडाहरूझैं काम गर्न इच्छुक हुन्छस्; तँ तिनीहरूको बहकाउमा पर्छस्। यसकारण, मैले गर्ने कामप्रति तेरो बिलकुल कुनै प्रतिक्रिया हुँदैन। अवश्य नै तँ सधैँ गुप्त रूपले मेरा औँलाहरूको बीचबाट लुसुक्‍क भाग्‍न चाहन्छस् र तैँले मबाट धोकापूर्वक निगाह पाउनको लागि सधैँ मीठामीठा शब्दहरू प्रयोग गर्नु स्वभाविकै हो। पछि थाहा हुँदा, तँसँग पहिले नै अन्य योजना, अन्य बन्दोबस्त हुन्छ। तैँले सर्वशक्तिमान्‌को रूपमा मैले गरेका मेरा कार्यहरूको केही अंश देख्‍न सक्छस्, तर तँलाई मेरो न्याय र सजायको बारेमा अलिकति पनि ज्ञान छैन। तँलाई मेरो सजायको काम कहिले सुरु भयो, केही थाहा छैन; तँलाई कसरी मलाई ठग्‍ने भन्‍ने मात्र थाहा छ—म मानिसको कुनै पनि उल्लङ्घन सहन्‍नँ भन्‍ने तँलाई थाहा छैन। तैँले पहिले नै मलाई सेवा गर्ने संकल्प गरेको हुनाले, म तँलाई जान दिन्‍नँ। म दुष्टतालाई घृणा गर्ने परमेश्‍वर हुँ र म मानवताप्रति ईर्ष्या गर्ने परमेश्‍वर हुँ। तैँले तेरा वचनहरूलाई यसअघि नै वेदीमा चढाइसकेको हुनाले, मेरा आँखाअघिबाट तँ भागेको म सहन्‍नँ, न त म तैँले दुई जना मालिकलाई सेवा गरेको नै सहन्छु। के तँ तेरा वचनहरू मेरो वेदीमा र मेरा आँखैअघि चढाइसकेपछि, तँसँग दोस्रो प्रेम हुन सक्छ भन्‍ने ठान्छस्? कसरी मैले मानिसहरूलाई त्यस प्रकारले म आफैलाई मूर्ख बनाउन दिन सक्छु? के तँ तेरो जिब्रोले यत्तिकै लापरवाही रूपमा भाकल गर्न र शपथ लिन सक्छु भन्‍ने ठान्छस्? तैँले कसरी मेरो सिंहासनअगाडि, सर्वोच्‍च स्वयम्‌को सिंहासनअगाडि शपथ लिन सक्छस्? के तैँले तेरा शपथहरू यसअघि नै समाप्त भइसके भन्‍ने ठानेको थिइस्? म तिमीहरूलाई भन्छु: तिमीहरूको देह मरेर गए पनि, तिमीहरूको शपथ मर्दैन। अन्त्यमा, म तिमीहरूलाई तिमीहरूका शपथहरूको आधारमा दोषी ठहराउनेछु। तथापि, तिमीहरूले आफ्ना वचनहरू मेरो अघि राखेर मसँग लापरवाह व्यवहार गर्न सक्छौ र तिमीहरूका हृदयले अशुद्ध आत्मा र दुष्ट आत्माहरूको सेवा गर्न सक्छन् भन्‍ने विश्‍वास गर्छौ। कसरी मेरो क्रोधले मलाई ठग्‍ने त्यस्ता कुकुरजस्ता, सुँगुरजस्ता मानिसहरूलाई सहन सक्छ? मैले मेरा प्रशासनिक आदेशहरू लागू गर्नैपर्छ र अशुद्ध आत्माहरूका हातबाट मैले ममाथि विश्‍वास गर्ने ती सबै सङ्कुचित, “धर्मी” व्यक्तिहरूलाई खोसेर लिनैपर्छ ताकि तिनीहरू अनुशासनपूर्ण ढाँचामा मेरो “सेवामा उभिऊन्”, मेरा गोरुहरू बनून्, मेरा घोडाहरू बनून्, र मेरो संहारको कृपामा रहून्। म तँलाई फेरि तेरो पहिलेको संकल्प लिन लगाउँछु र फेरि पनि मेरो सेवा गर्न लगाउँछु। मलाई ठग्‍ने सृष्टि गरिएको कुनै पनि प्राणीलाई म सहन्‍नँ। के तैँले मेरो अघि मनमानी ढङ्गले अनुरोधहरू गर्न र ढाँट्न सक्छु भन्‍ने सोचेको थिइस्? के तैँले तेरा बोलीवचन र कर्महरू मैले सुनेको वा देखेको थिइनँ भन्‍ने ठानेको थिइस्? कसरी तेरा बोलीवचन र कर्महरू मेरो दृष्टिमा नपरेको हुन सक्छ र? कसरी मैले मानिसहरूलाई त्यसरी मलाई धोका दिने मौका दिन सक्छु र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरू चरित्रमा अति नै तुच्छ छौ!

कतिपय मानिसहरूले सोध्नेछन्, "मानव प्राणी वास्तवमा के हो?" आजकलका कुनै पनि मानिसहरू मानव प्राणी होइनन्। यदि तिनीहरू मानव प्राणी होइनन् भने, तिनीहरू के हुन् त? तिमीहरू तिनीहरूलाई जनावर, पशु, शैतान वा दियाबलस भन्न सक्नेछौ; जे भए पनि, तिनीहरू मानव छालाको आवरणभित्र मात्र छन्, तर तिनीहरूलाई मानव प्राणी भन्न सकिँदैन, किनभने तिनीहरूमा सामान्य मानवता छैन। तिनीहरूलाई जनावर भन्दा केही ठीक होला, तर मानिसहरूसँग भाषा, दिमाग र सोचहरू भएकोले, र तिनीहरू विज्ञान र निर्माणका काममा संलग्न हुन सक्‍ने हुनाले, तिनीहरूलाई उच्चकोटिको जनावरको रूपमा सूचीबद्ध गर्न सकिन्छ। तर मानिसहरू शैतानद्वारा निकै गहिरोसँग भ्रष्ट पारिएका छन्, तिनीहरूले धेरै पहिले नै आफ्नो विवेक र समझ गुमाइसकेका छन्, र तिनीहरू परमेश्‍वरप्रति बिलकुलै समर्पित हुने वा परमेश्‍वरको डर मान्‍ने गर्दैनन्। तिनीहरूलाई दियाबलस र शैतान भन्नु सबै प्रकारले जायज छ। तिनीहरूको प्रकृति शैतानको भएकोले र तिनीहरूले शैतानी स्वभाव प्रकट गर्ने र शैतानी दृष्टिकोण व्यक्त गर्ने भएकाले, तिनीहरूलाई दियाबलस एवं शैतान भन्नु अधिक उचित हुन्छ। मानिसहरू अति गहिरोसँग भ्रष्ट भइसकेका छन् र तिनीहरूमा मानव स्वरूप नै छैन। तिनीहरू पशु र जनावरजस्तै छन्, तिनीहरू दियाबलसहरू हुन्। अहिले मानिसहरू एउटा वा अर्को कुनै वस्तु होइनन्, तिनीहरू न त मानव प्राणीसँग मिल्दाजुल्दा छन्, न त पिशाचहरूसँग नै मिल्दाजुल्दा छन्, र तिनीहरूमा साँचो मानव स्वरूप नै छैन। लामो समयदेखिका केही विश्‍वासीहरूले धेरै वर्षको अनुभवपश्‍चात परमेश्‍वरसँग केही घनिष्ठता प्राप्त गर्छन् र थोरैबहुत रूपमा परमेश्‍वरलाई बुझ्न सक्छन्, अनि तिनीहरूले थोरबहुत रूपमा परमेश्‍वरले चिन्ता गर्नुहुने कुराहरूबारे चिन्ता गर्छन् र थोरबहुत रूपमा परमेश्‍वरले सोच्‍नुहुने कुराहरूबारे सोच्छन्—यसको अर्थ तिनीहरूमा केही मानव स्वरूप छ र तिनीहरू आधा-स्वरूपका छन्। नयाँ विश्‍वासीहरूले अझैसम्म सजाय र न्याय, वा त्यति धेरै काटछाँट र निराकरण भोगेका हुँदैनन्, तिनीहरूले सत्यताबारे पनि धेरै सुनेका हुँदैनन्, र तिनीहरूले बस परमेश्‍वरका वचनहरू पढेका हुन्छन्, तर तिनीहरूसँग कुनै साँचो अनुभव हुँदैन। परिणामस्वरूप, तिनीहरू धेरै पछि परेका हुन्छन्। व्यक्तिको अनुभवको गहिराइले नै तिनीहरू कति परिवर्तन हुन्छन् भन्ने कुरा निर्धारित गर्छ। तैँले जति कम परमेश्‍वरका वचनहरू अनुभव गर्छस्, त्यति नै कम सत्यता बुझ्छस्। यदि तँसँग कुनै पनि अनुभव नै छैन भने, तँ ठ्याक्कै जीवित शैतान हुन्छस्, र तँ दियाबलस हुन्छस्, यो कुरा सरल र स्पष्ट छ। के तँ यो कुरामा विश्‍वास गर्छस्? तैँले एक दिन ती वचनहरू बुझ्नेछस्। के अहिले कुनै असल मानिसहरू छन् त? यदि मानिसहरूसँग मानव स्वरूप नै छैन भने, हामी तिनीहरूलाई कसरी मानव प्राणी भन्न सक्छौँ र? तिनीहरूलाई असल मानिसहरू त झनै भन्न सक्दैनौँ। तिनीहरूसँग मानव खोल मात्र हुन्छ, तर तिनीहरूमा मानव सार हुँदैन, त्यसैले तिनीहरूलाई मानव खोल अओढेका पशुहरू भन्दा कुनै अतिशयोक्ति हुँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

मानिसहरूले परमेश्‍वरको कामको अनुभव गरेर सत्यता बुझुञ्‍जेलसम्‍म, भित्रैबाट ठाउँ लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तैँले किन आफ्नो ओहदा संरक्षण गर्छस्? किन तँमा त्यस्ता तीव्र भावनाहरू छन्? किन तैँले ती अधर्मी कुराहरूमा आनन्द लिन्छस्? किन तँ ती दुष्टताहरूलाई मन पराउँछस्? त्यस्ता कुराहरूप्रति तेरो लगाव हुनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? ती कुराहरू स्वीकार गर्न तँ किन त्यति धेरै खुशी हुन्छस्? अहिलेसम्ममा, तिमीहरू सबैले बुझिसकेको हुनुपर्छ कि यी सबै कुराहरू हुनुको मुख्य कारण भनेकै मानिसभित्र शैतानको विष हुनु हो। त्यसो भए, शैतानको विष के हो? यो कसरी अभिव्यक्त हुन सक्छ? उदाहरणको लागि, यदि तैँले “मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?” भनेर सोधिस् भने, मानिसहरूले जवाफ दिनेछन्, “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।” यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनिसकेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरूले यो आफ्नै लागि मात्र त्यसो गर्छन्। त्यसकारण तिनीहरू आफ्‍नै लागि मात्र जिउँछन्। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ”—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पहिले नै भ्रष्ट मानवजातिको अस्तित्वको आधार भइसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ। शैतानले गर्ने सबै कुरा यसका आफ्नै चाहना, महत्त्वाकाङ्क्षा, र उद्देश्यहरूको लागि हो। यसले परमेश्‍वरलाई उछिन्‍न, उहाँबाट स्वतन्त्र हुन, र परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुराहरूलाई नियन्त्रणमा लिन चाहन्छ। आज, शैतानले मानिसहरूलाई यस हदसम्म भ्रष्ट पारेको छ: तिनीहरू सबैसँग शैतानी प्रकृति छन्, तिनीहरू सबैले परमेश्‍वरलाई नकार्ने र विरोध गर्ने प्रयास गर्छन्, र तिनीहरू आफ्नो नियतिलाई आफ्नै वशमा राख्‍न चाहन्छन् र परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूको विरोध गर्ने प्रयास गर्छन्। तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू ठ्याक्‍कै शैतानका जस्ता छन्। त्यसकारण, मानिसको प्रकृति शैतानको प्रकृति हो। वास्तवमा, धेरै मानिसहरूका आदर्श-वाणीहरू र लोक-उक्तिहरूले मानव प्रकृतिलाई प्रतिनिधित्व गर्छन् र मानव भ्रष्टताको सारलाई प्रतिबिम्बित गर्छन्। मानिसहरूले छनौट गर्ने कुराहरू तिनीहरूका आफ्‍नै प्राथमिकता हुन्छन्, र ती सबैले मानिसहरूका स्वभाव र खोजीहरूलाई प्रतिनिधित्व गर्छन्। व्यक्तिले आफूले बोल्‍ने हरेक शब्‍द, र गर्ने हरेक काममा जति नै छद्‌म भेष धारण गरे पनि यसले उसको प्रकृतिलाई ढाकछोप गर्न सक्दैन। उदाहरणको लागि, फरिसीहरूले प्रायजसो निकै राम्रो प्रचार गर्थे, तर जब तिनीहरूले येशूले व्यक्त गर्नुभएका उपदेश र सत्यताहरू सुने, तब तिनीहरूले तिनलाई स्विकार्नुको सट्टा निन्दा गरे। यसले सत्यताको विरुद्ध खडा हुने र त्यसलाई घृणा गर्ने फरिसीहरूको प्रकृति सारको खुलासा गर्‍यो। कतिपय मानिसहरू निकै राम्ररी बोल्छन् र आफ्‍नो वास्तविकता लुकाउन निकै सिपालु हुन्छन्, तर तिनीहरूसँग केही समयसम्‍म सङ्गत गरिसकेपछि, अरूले तिनीहरूको प्रकृति अत्यन्तै छली र कपटी छ भन्‍ने कुरा पत्ता लगाउँछन्। तिनीहरूसँग लामो समयसम्‍म उठबस गरिसकेपछि, जोकोहीले तिनीहरूको प्रकृति सार पत्ता लगाउँछन्। अन्त्यमा, अरूले निम्न निष्कर्षहरू निकाल्छन्: तिनीहरूले कहिल्यै सत्य बोल्दैनन् र तिनीहरू छली हुन्। यो भनाइले त्यस्ता मानिसहरूको प्रकृतिलाई प्रतिनिधित्व गर्छ, र यो तिनीहरूको प्रकृति सारको सर्वश्रेष्ठ चित्रण र प्रमाण हो। तिनीहरूको सांसारिक व्यवहारसम्बन्धी दर्शन भनेकै कसैलाई सत्य नभन्‍नु हो, साथसाथै कसैलाई पनि भरोसा नगर्नु हो। मानिसको शैतानी प्रकृतिमा एकदमै धेरै शैतानी दर्शन र विषहरू हुन्छन्। कहिलेकाहीँ तँ आफैलाई पनि तीबारे थाहा नहुन सक्छ, र तैँले तिनलाई बुझ्दैनस्; तैपनि तेरो जीवनको हरेक क्षण तिनै कुराहरूमा आधारित हुन्छ। अझ भन्‍ने हो भने, तैँले ती कुराहरू निकै सही र मनासिब छन् र ती गलत छँदै छैनन् भन्‍ने ठान्छस्। शैतानका दर्शनहरू मानिसहरूको प्रकृति बनेका छन्, र तिनीहरू यसप्रकारको जीवनशैली राम्रो छ भन्‍ने सोच्दै र कुनै पश्‍चात्तापको बोध नगरी यिनै दर्शनहरूअनुरूप बाँचिरहेका छन् भन्‍ने देखाउन यही काफी छ। त्यसकारण, तिनीहरूले निरन्तर रूपमा आफ्‍नो शैतानी प्रकृति प्रकट गरिरहेका छन्, र तिनीहरू निरन्तर रूपमा शैतानका दर्शनहरूअनुरूप बाँचिरहेका छन्। शैतानको प्रकृति मानवजातिको जीवन हो, अनि यो मानवजातिको प्रकृति सार हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने

सामान्य रूपमा भन्‍दा, यस संसारमा जन्म लिएको एक मानवजातिको रूपमा तैँले सत्यतालाई उल्लङ्घन गर्ने केही कुरा गरेको हुनेछस्, तैँले अर्को व्यक्तिलाई धोका दिने केही कुरा गरेको तैँले सम्झे तापनि वा तैँले यस अघि धेरै पटक अरूप्रति विश्‍वासघात गरेको भए तापनि केही फरक पर्दैन। तैँले आफ्ना अभिभावकहरू वा मित्रहरूप्रति विश्‍वासघात गर्न सक्‍ने भएको कारण, तँ अरूप्रति पनि विश्‍वासघात गर्न सक्षम छस्, र यसका अलाबा तँ मलाई विश्‍वासघात गर्न र मैले घृणा गर्ने कुराहरू गर्न सक्षम छस्। अर्को शब्दमा, विश्‍वासघात सतही नैतिक व्यवहार मात्र होइन, तर सत्यसँग बाझिने कुरा हो। यथार्थमा यही नै मानवजातिको मप्रतिको प्रतिरोध र विद्रोहको स्रोत हो। यसैले देहायको अभिव्यक्तिमा मैले यसको सारांश दिएको छु: विश्‍वासघात गर्नु मानिसको स्वभाव हो र मसँगको हरेक व्यक्तिको मिलापको निम्ति यो स्वभाव सबैभन्दा ठूलो शत्रु हो।

मप्रति पूर्ण रूपले समर्पित हुन नसक्ने व्यवहार विश्‍वासघात हो। मप्रति निष्ठावान् हुन नसक्ने व्यवहार विश्‍वासघात हो। मप्रति छल गर्ने र मलाई छल गर्नको निम्ति झूट बोल्‍नु विश्‍वासघात हो। विभिन्‍न धारणाहरू राखेर तिनलाई जहाँसुकै फैलाउनु पनि विश्‍वासघात नै हो। मेरा गवाही र चासोहरूलाई समर्थन गर्न नसक्नु विश्‍वासघात हो। हृदयमा मदेखि धेरै टाढा रहेर झूटा मुस्कानहरू प्रस्तुत गर्नु विश्‍वासघात हो। यी सबै विश्‍वासघातका कामहरू हुन् जसको निम्ति तिमीहरू सधैँ सक्षम छौ र ती तिमीहरूका बीचमा सामान्य रूपमा रहेका छन्। तिमीहरूमध्ये कसैले पनि यसलाई समस्याको रूपमा सोचेका थिएनौ होला तर म त्यस्तो सोच्दिनँ। कुनै व्यक्तिले मलाई गर्ने विश्‍वासघातलाई म महत्त्वहीन विषयको रूपमा व्यवहार गर्दिनँ र म निश्‍चय नै यसलाई बेवास्ता गर्न सक्दिनँ। अहिले, मैले तिमीहरूको माझमा काम गर्दा त तिमीहरूले यस्तो व्यवहार गर्छौ—तिमीहरूको निरीक्षण गर्ने कोही नहुने दिन आउँदा, के तिमीहरू आफैलाई आफ्‍ना स-साना पहाडहरूका राजा घोषणा गर्ने डाँकाहरूजस्तै हुने छैनौ र? जब त्यस्तो हुन्छ र तिमीहरूले घोर विपद् सृजना गर्छौ, तिमीहरू पछि सफा गर्ने को हुनेछ र? विश्‍वासघातका केही कार्यहरू बेलाबेलामा हुने घटनाहरू मात्र हुन्, तिमीहरूका दोहोरिरहने व्यवहार होइनन् भन्‍ने तिमीहरू सोच्छौ र तिमीहरूका घमण्डहरूलाई घायल बनाउने गरी यसरी गम्भीर रूपमा छलफल गर्नुपर्ने कुरा होइन भन्‍ने ठान्छौ। यदि तिमीहरूले साँच्चै यस्तो सोच्छौ भने तिमीहरूमा होसको अभाव छ। यस्तो सोच्‍नु विद्रोहको नमुना र आदर्श बन्‍नु हो। मानिसको प्रकृति नै उसको जीवन हो; यो ऊ जिउनको निम्ति भर पर्ने सिद्धान्त हो र उसले यसलाई बदल्न सक्दैन। विश्‍वासघातको प्रकृतिलाई उदाहरणको रूपमा लिऊँ। यदि तैँले कुनै एक नातेदार वा मित्रलाई विश्‍वासघात गरिस् भने त्यसले त्यो तेरो जीवनको भाग हो र तँ जन्मदा साथमा आएको प्रकृति हो भन्‍ने प्रमाणित गर्छ। यसलाई कसैले पनि इन्कार गर्न सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (१)

शैतानद्वारा भ्रष्ट पारिएका सबै आत्माहरू शैतानका सत्तामा गुलाम बनाइएका छन्। ख्रीष्टमा विश्‍वास गर्नेहरूलाई मात्र छुट्याइएका, शैतानको शिविरबाट बचाइएका र आजको राज्यमा ल्याइएका छन्। यी मानिसहरू शैतानको प्रभावमा बस्‍न छोडिसके। यति हुँदाहुँदै पनि, मानिसको प्रकृतिले अझ पनि मानिसको देहमा नै जरा गाडेको छ, यसको अर्थ तिमीहरूका आत्मा बचाइएको भए तापनि तिमीहरूको स्वभाव अझ पनि पहिलेको जस्तै छ र तिमीहरूले मलाई विश्‍वासघात गर्ने शतप्रतिशत सम्भावना छ। यसैले मेरो काम लामो समयसम्म रहन्छ किनकि तिमीहरूको प्रकृति जिद्दी छ। अहिले तिमीहरू आफ्ना कर्तव्य गर्ने क्रममा आफ्नो क्षमताले भ्याएसम्मका कठिनाइहरूबाट गुज्रिरहेका छौ, तैपनि तिमीहरू हरेक मलाई विश्‍वासघात गर्न र शैतानको सत्तामा, उसको शिविरमा, तिमीहरूका पुराना जीवनमा फर्कन सक्षम छौ—यो निर्विवाद तथ्य हो। त्यस बेला, तिमीहरूले अहिले गरेजस्तै मानवताको भाग वा मानवको जस्तै स्वरूपलाई प्रस्तुत गर्न तिमीहरूको निम्ति सम्भव हुनेछैन। गम्भीर अवस्थाहरूमा, तिमीहरू नष्ट पारिनेछौ र योभन्दा बढी कहिले पनि देहधारण गर्न नपाउने गरी अनन्तका लागि नष्ट पारिनेछौ, हदैसम्मको दण्ड पाउनेछौ। तिमीहरूका अगाडि रहेको समस्या यही हो। म तिमीहरूलाई यस तरिकाले सम्झाउँदै छु, ताकि, पहिलो कुरा, मेरो काम व्यर्थमा नजाओस् र दोस्रो कुरा, ताकि तिमीहरू सबै ज्योतिको दिनहरूमा जिउन सक। वास्तवमा, मेरो काम व्यर्थमा छ कि छैन भन्‍ने कुरा सबैभन्दा महत्त्वपूर्ण समस्या होइन। तिमीहरूले सुखी जीवन र अद्भुत भविष्य प्राप्त गर्न सक्षम हुनुचाहिँ महत्त्वपूर्ण छ। मानिसहरूको आत्मा बचाउनु मेरो काम हो। यदि तेरो आत्मा शैतानको हातमा पर्‍यो भने तेरो शरीर शान्तिमा जिउनेछैन। यदि मैले तेरो शरीरको रक्षा गरिरहेको छु भने तेरो आत्मा पनि अवश्य नै मेरो हेरचाहमा रहनेछ। यदि मैले तँलाई साँच्चै घृणा गर्छु भने तेरो शरीर र आत्मा एकै चोटि शैतानको हातमा पर्नेछन्। त्यस बेलाको तेरो अवस्थाको कल्पना गर्न सक्छस्? यदि एक दिन तिमीहरूमा मेरा वचनहरू हराए भने, कि त म तिमीहरूलाई शैतानको हातमा सुम्पिदिनेछु, जसले तिमीहरूलाई मेरो रिस पूर्ण रूपमा गायब नहुञ्‍जेलसम्म कष्टदायी यातनामा पार्नेछ, कि त तिमीहरू छुटकारा दिन नसकिने मानवहरूलाई म आफै दण्ड दिनेछु किनकि मलाई विश्‍वासघात गर्ने तिमीहरूका हृदय कहिले पनि परिवर्तन हुनेछैनन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (२)

तिमीहरूले धेरै वर्षदेखि मेरो सामु गरेका व्यवहारले मलाई पहिले कहिल्यै नसुनेको उत्तर दिएको छ अनि यो उत्तरको प्रश्नचाँहि यस्तो छ “सत्यता र साँचो परमेश्‍वरको सामने मानिसको प्रवृत्ति कस्तो छ?” मैले मानिसको निम्ति समर्पित गरेको कोसिसहरूले मानिसप्रति भएको मेरो प्रेमको सार प्रमाणित गर्छ, अनि मानिसले मेरो सामु गरेको हरेक कार्यले तिनीहरूले सत्यलाई घृणा गर्छन् र तिनीहरू मेरो विरोधमा छन् भनी प्रमाणित गर्दछ। हरसमय म मलाई पछ्याउने सबैको सरोकार राख्छु, तैपनि मलाई पछ्याउनेहरू मेरा वचनहरू स्विकार्न कहिल्यै सक्षम हुँदैनन्; तिनीहरू मेरा सल्लाहहरू स्वीकार गर्न पनि सक्षम छैनन्। यही कुराले मलाई सबैभन्दा धेरै दुःखी बनाउँछ। कसैले पनि मलाई कहिल्यै बुझ्न सकेका छैनन्, अनि त्यसबाहेक, मेरो मनोवृत्ति निष्कपट र मेरा वचनहरू भद्र भए तापनि कोही पनि मलाई ग्रहण गर्न कहिल्यै सक्षम भएको छैन। प्रत्येक व्यक्तिले मैले तिनीहरूलाई दिएको काम तिनीहरूको आफ्नै विचारअनुसार गर्ने कोसिस गर्छ, तिनीहरू मेरा अभिप्रायहरू खोज्दैनन्, मैले तिनीहरूबाट के चाहन्छु भनी सोध्ने कुरा त परै जाओस्। तिनीहरूले निष्ठा पूर्वक मेरो सेवा गरेको दाबी गरे पनि मेरो विरुद्ध विद्रोह गर्छन्। धेरैले आफूले स्वीकार गर्न नसक्‍ने वा अभ्यास गर्न नसक्ने सत्यताहरूलाई सत्यता नै होइनन् भन्‍ने विश्‍वास गर्छन्। त्यस्ता मानिसहरूमा, मेरा सत्यताहरू इन्कार गरिएको र फ्याँकिएको थोक बन्दछ। यसको साथसाथै मानिसहरूले मलाई वचनमा मात्र भएको परमेश्‍वरको रूपमा चिन्छन्, तापनि मलाई परदेशीको रूपमा विश्‍वास गर्छन् जो सत्य, बाटो वा जीवन होइन। यो सत्यता कसैले पनि जान्दैन: मेरा वचनहरू कहिल्यै परिवर्तन नहुने सत्यता हो। म मानिसको निम्ति जीवनको आपूर्ति र मानवजातिको निम्ति एक मात्र मार्गदर्शक हुँ। मेरा वचनहरूको मूल्य र अर्थ मानवजातिले मान्यता दिने वा नदिने र स्वीकार गर्ने वा नगर्ने कुराद्वारा निर्धारण गरिँदैन, तर वचनहरूका सार स्वयम्‌ले नै निर्धारण गर्छन्। यस पृथ्वीमा भएका एक जनाले पनि मेरो वचनहरू स्विकार्न नसके तापनि कुनै पनि मानिसलाई गर्ने ती वचनहरूको सहायता अपार छन्। त्यसकारण, मेरो वचनको विरुद्धमा विद्रोह गर्ने, खण्डन गर्ने, अत्यन्तै तिरस्कार गर्नेहरूको सामना गर्दा मेरो विचार यति मात्र हुन्छ: समय र तथ्यहरू नै मेरो साक्षी बनून् र मेरो वचन सत्य, बाटो र जीवन हो भनी देखाऊन्। मैले भनेका कुराहरू सही छन्, त्यही कुराले मानिस सुसज्जित हुनुपर्छ, यसको अलाबा जसलाई मानिसले स्वीकार गर्नुपर्छ भनी तिनीहरूले नै देखाऊन्। मलाई पछ्याउने सबैलाई यो तथ्य जान्न दिनेछु: मेरा वचनहरू पूर्ण रूपमा स्वीकार गर्न नसक्नेहरू, मेरा वचनहरू अभ्यास नगर्नेहरू, मेरो वचनमा उद्देश्य नभेट्टाउनेहरू, अनि मेरा वचनहरूको कारण मुक्ति प्राप्त गर्न नसक्‍नेहरू ती मानिसहरू हुन् जो मेरा वचनहरूद्वारा दोषी ठहरिएका छन्, र अझ भन्‍ने हो भने, ती मानिसहरूले मेरो मुक्ति गुमाएका छन्, र मेरो छडी तिनीहरूबाट कहिल्यै हट्नेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरूले आफ्ना कार्यहरूलाई विचार गर्नुपर्छ

अघिल्लो: ६. मानिसहरूमा हुने भ्रष्ट स्वभावहरू

अर्को: १०. परीक्षा र शोधन कसरी अनुभव गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्