६. मानिसहरूमा हुने भ्रष्ट स्वभावहरू

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

मानिसमा प्रकट हुने भ्रष्ट स्वभावको मूल कारण शैतानको बहकाइ, भ्रष्टता, र विष हो। मानिसलाई शैतानले बन्धन र नियन्त्रणमा राखेको छ, र शैतानले उसको सोचविचार, नैतिकता, अन्तर्ज्ञान र तर्कशक्तिमा चोट पुर्‍याएको असाधारण हानि उसले भोग्छ। मानिसका आधारभूत कुराहरू शैतानद्वारा भ्रष्‍ट बनाइएको कारण नै र तिनीहरू परमेश्‍वरले तिनीहरूलाई मौलिक रूपमा सृष्टि गर्नुभएको जस्तो अवस्थामा पटक्कै नभएकाले गर्दा नै, मानिसले परमेश्‍वरको विरोध गर्छ र सत्यतालाई स्वीकार गर्न सक्दैन। यसैले, मानिसको स्वभावमा हुने परिवर्तनहरू उसको सोचविचार, अन्तर्दृष्टि, र चेतनामा आउने परिवर्तनबाट सुरु हुन्छ, जसले परमेश्‍वर सम्बन्धी उसको ज्ञान र सत्यता सम्बन्धी उसको ज्ञानलाई परिवर्तन गर्नेछ। सबैभन्दा बढी भ्रष्‍ट भूमिमा जन्मेका व्यक्तिहरू परमेश्‍वर के हुनुहुन्छ, वा परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो भन्‍ने कुरामा अनभिज्ञ हुन्छन्। मानिसहरू जति धेरै भ्रष्‍ट हुन्छन्, तिनीहरूलाई परमेश्‍वरको अस्तित्वको बारेमा त्यति नै थोरै थाहा हुन्छ, र तिनीहरूको चेतना र अन्तर्दृष्टि त्यति नै कमजोर हुन्छ। परमेश्‍वरको विरुद्धमा मानिसको प्रतिरोध र विद्रोहको स्रोत चाहिँ शैतानद्वारा तुल्याइएको उसको भ्रष्‍टता हो। शैतानको भ्रष्‍टताको कारण मानिसको विवेक अचेत भएको छ; ऊ अनैतिक छ, उसका सोच विचारहरू पतित भएका छन्, र ऊसँग पिछडिएको मानसिक दृष्टिकोण छ। शैतानद्वारा भ्रष्‍ट बनाइनुभन्दा अगाडि, मानिस स्वाभाविक रूपमा परमेश्‍वरमा समर्पित हुन्थ्यो र उहाँका वचनहरू सुनेपछि तिनमा समर्पित हुन्थ्यो। स्वाभाविक रूपमा उसको चेतना र विवेक सामान्य मानवको जस्तै स्वस्थ थियो। शैतानद्वारा भ्रष्‍ट बनाइएपछि, मानिसको मौलिक समझ, विवेक, र मानवता सुस्त भएको थियो र शैतानद्वारा नष्ट पारिएको थियो। यसरी, उसले परमेश्‍वरप्रति उसको समर्पणता र प्रेम गुमाएको छ। मानिसको समझ अस्वाभाविक बनेको छ, उसको स्वभाव एक पशुको स्वभावजस्तै बनेको छ, र परमेश्‍वरप्रति उसको विद्रोह निरन्तर बढिरहेको छ र घोर बनेको छ। तैपनि मानिसलाई यो कुरा थाहा छैन न त यो कुरा पहिचान नै गर्छ, र केवल विरोध गर्छ र अन्धाधुन्ध विद्रोह गर्छ। मानिसको स्वभाव उसले व्यक्त गर्ने चेतना, अन्तर्दृष्टि र विवेकमा प्रकट हुन्छ; किनकि उसको चेतना र अन्तर्दृष्टि अस्वस्थ छ, र उसको विवेक उच्‍च रूपमा सुस्त भएको छ, त्यसैले उसको स्वभाव परमेश्‍वरको विरुद्धमा विद्रोही भएको छ। यदि मानिसको चेतना र अन्तर्दृष्टि परिवर्तन हुन सक्दैन भने, उसको स्वभाव परिवर्तन हुने प्रश्‍नै भएन, र यो परमेश्‍वरका अभिप्राय अनुरूप हुन सक्दैन। यदि मानिसको चेतना अस्वस्थ छ भने, उसले परमेश्‍वरको सेवा गर्न सक्दैन र ऊ परमेश्‍वरद्वारा प्रयोग हुन अयोग्य हुन्छ। “सामान्य चेतना” ले परमेश्‍वरमा समर्पित हुने र उहाँप्रति विश्‍वासयोग्य हुने, परमेश्‍वरको निम्ति तिर्खाउने, पूर्णरूपमा परमेश्‍वरको हुने, र परमेश्‍वरप्रति स्वस्थ विवेक कायम राख्‍ने कुरालाई दर्साउँछ। यसले परमेश्‍वरप्रति एक हृदय र मनको हुने, र जानाजानी परमेश्‍वरको विरोध नगर्ने कुरालाई दर्साउँछ। अस्वाभाविक चेतना पाउने कुरा यस्तो किसिमको हुँदैन। मानिस शैतानद्वारा भ्रष्‍ट बनाइएको कारण उसले परमेश्‍वरको विषयमा आफ्नो धारणा बनाएको छ, र ऊसँग परमेश्‍वरप्रति बफादारीता छैन वा उहाँप्रति तिर्खाएको छैन, परमेश्‍वरप्रति स्वस्थ विवेक हुने त कुरै नगरौं। मानिसले परमेश्‍वरको जानाजानी विरोध गर्छ, र उहाँको न्याय गर्छ, साथै उहाँको पिठ्यूँ पछाडि उहाँको कुरा काट्छ। उहाँ परमेश्‍वर हुनुहुन्छ भन्‍ने स्पष्‍ट ज्ञान हुँदाहुँदै पनि मानिसले उहाँको पिठ्यूँ पछाडि उहाँको न्याय गर्छ; मानिससँग परमेश्‍वरमा समर्पित हुने मनसाय छैन, र केवल अन्धाधुन्ध उहाँसँग माग्‍ने र अनुरोध गर्ने कार्य गर्छ। यस किसिमका मानिसहरू—अस्वाभाविक चेतना भएका मानिसहरू—तिनीहरू आफ्नै घृणित आचरण थाहा गर्न वा आफ्नो विद्रोही स्वभावप्रति पछुताउन असक्षम हुन्छन्। यदि मानिसहरू आफैलाई चिन्‍न सक्षम छन् भने, तिनीहरूले केही हदसम्म आफ्नो चेतना पुनः प्राप्‍त गरेका हुन्छन्; आफैलाई चिन्‍न नसकेका मानिसहरू जति धेरै परमेश्‍वरको विरुद्धमा विद्रोही बन्छन्, तिनीहरूको चेतना पनि त्यति नै थोरै स्वस्थ हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो

मानिसको भ्रष्‍ट स्वभावको प्रकाशको स्रोत मानिसको सुस्त विवेक, उसको घृणित प्रकृति, र उसको अस्वस्थ चेतनामा बाहेक अरू कही छैन; यदि मानिसको विवेक र चेतना फेरि सामान्य बन्‍न सक्यो भने, त्यसपछि ऊ परमेश्‍वरको अघि प्रयोगयोग्य एक व्यक्ति बन्‍नेछ। मानिसको विवेक सधैँ सुस्त भएको कारण, र कहिल्यै पनि स्वस्थ नबनेको मानिसको चेतना अझ बढी सुस्त हुँदै गइरहेको कारण, मानिस परमेश्‍वरप्रति अझ बढी विद्रोही बनेको छ, यहाँसम्‍म कि उसले येशूलाई क्रूसमा टाँगेको छ र उहाँको घरमा प्रवेश गराउने आखिरी दिनहरूको परमेश्‍वरको देहधारणलाई अस्वीकार गर्छ, र परमेश्‍वरको शरीरलाई दोषी ठहर्छ, र परमेश्‍वरको शरीरलाई नीच रूपले हेर्छ। यदि मानिससँग अलिकति मात्र मानवता भएको भए, उसले देहधारी परमेश्‍वरको शरीरलाई क्रूरतापूर्ण व्यवहार गर्ने थिएन; यदि उसँग अलिकति मात्र चेतना भएको भए, उसले देहधारी परमेश्‍वरको शरीरलाई क्रूरतापूर्ण व्यवहार गर्ने थिएन; यदि उसँग अलिकति मात्र विवेक भएको भए, उसले देहधारी परमेश्‍वरलाई यस किसिमले “धन्यवाद दिने” थिएन। मानिस परमेश्‍वर देह बन्‍नुभएको युगमा जिउँछ, तैपनि उसलाई यति राम्रो मौका दिनुभएको निम्ति उसले परमेश्‍वरलाई धन्यवाद दिन सक्दैन, बरु परमेश्‍वरको आगमनलाई सराप्छ, वा परमेश्‍वरको देहधारणको यथार्थलाई पूर्ण रूपमा बेवास्ता गर्छ, र त्यसको विरुद्धमा भएको देखिन्छ र त्यसबाट वाक्‍क बन्छ। मानिसले परमेश्‍वरको आगमनलाई जसरी व्यवहार गरे तापनि, समग्रमा, परमेश्‍वरले आफ्नो कार्यलाई धैर्यतासाथ अगाडि बढाउनुभएको छ—यद्यपि मानिसले उहाँलाई अलिकति पनि स्वागत गरेको छैन, र अन्धाधुन्ध उहाँसँग अनुरोध मात्र गर्छ। मानिसको स्वभाव अत्यन्तै क्रूर बनेको छ, उसको चेतना अत्यन्तै सुस्त बनेको छ, र उसको विवेकलाई दुष्टले पूर्ण रूपमा कुल्चीमिल्ची गरेको छ र धेरै समय अगाडि नै मानिसको मौलिक विवेक हराएको छ। मानवजातिलाई परमेश्‍वरले दिनुभएको यति धेरै जीवन र अनुग्रहका निम्ति देहधारी हुनुभएको परमेश्‍वरप्रति मानिस कृतज्ञ छैन, तर परमेश्‍वरले उसलाई सत्यता दिनुभएकोमा परमेश्‍वरप्रति असन्तुष्ट बनेको छ; किनकि मानिससँग सत्यताको निम्ति अलिकति पनि चाहना छैन, त्यसैले ऊ परमेश्‍वरप्रति अझ बढी असन्तुष्ट बनेको छ। मानिस देहधारी परमेश्‍वरको निम्ति आफ्नो जीवन बलिदान दिन असक्षम मात्र छैन, तर उसले उहाँबाट कृपा पनि हासिल गर्ने प्रयत्‍न गर्छ, र मानिसले परमेश्‍वरलाई दिनुभएको भन्दा दर्जनौं गुणा बढी चासो छ भन्‍ने दाबी गर्छ। यस किसिमको विवेक र चेतना भएका मानिसहरूले यसलाई ठूलो विषय मान्दैनन्, र तैपनि तिनीहरूले परमेश्‍वरका निम्ति आफैलाई धेरै मात्रामा दिएको छ, र अझै परमेश्‍वरले तिनीहरूलाई थोरै दिनुभएको छ भनी विश्‍वास गर्छन्। मलाई एक कचौरा पानी दिएर मसँग दुई कचौरा दूधको रकम माग्‍न आफ्नो हात फैलाउने, वा मलाई एक रातको निम्ति कोठा दिएर मसँग थुप्रै रातको भाडा माग्‍नेहरू पनि छन्। यस किसिमको मानवता र यस किसिमको विवेकसित कसरी तँ अझै जीवन प्राप्‍त गर्ने चाहना गर्छस्? तँ कस्तो घिनलाग्दो नीच छस्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो

तिमीहरूका अहङ्कारी र घमण्डी स्वभावहरूले तिमीहरूका आफ्नै विवेकलाई प्रकट गर्न, ख्रीष्टविरुद्ध विद्रोह गर्न र प्रतिवाद गर्न, अनि तिमीहरूका कुरूपता प्रकट गर्न विवश पार्छ र यसरी तिमीहरूका अभिप्राय, धारणा, अनावश्यक लालसा, र लोभले भरिएका आँखाहरूलाई उजागर गरिदिन्छ। तैपनि तिमीहरूले ख्रीष्टको कामको निम्ति आफ्नो जीवनभरिको उत्कट इच्छा र ख्रीष्टले उहिले नै पटक-पटक बताउनुभएका सत्यहरू बकबक गरिरहन्छौ। यो तिमीहरूको “विश्‍वास” हो—तिमीहरूको “विशुद्ध विश्‍वास”। मैले मानिसलाई सँधै नै कडा मापदण्डमा राखेको छु। यदि अभिप्राय र सर्तहरूसहित तेरो बफादारिता आउँछ भने, म बरु तेरो कथित बफादारिताविना रहन चाहन्छु, किनकी मलाई आफ्‍ना अभिप्रायहरूद्वारा धोका दिने र सर्तहरूद्वारा जबरजस्ती गर्नेहरूलाई म घृणा गर्छु। मानिस मप्रति पूर्ण रूपमा बफादार होस्, र उसले एउटै शब्‍द, अर्थात् विश्‍वासको खातिर र त्यसलाई प्रमाणित गर्नको लागि सबै कुरा गरोस् भन्‍ने मात्रै म कामना गर्छु। मलाई खुशी पार्न कोसिस गर्ने तिमीहरूको चापलुसीको प्रयोगलाई म घृणा गर्छु, किनकि मैले सधैँ तिमीहरूलाई इमानदारिताले व्यवहार गरेको छु, र त्यसैले तिमीहरूले पनि मप्रति साँचो विश्‍वासले काम गरेको चाहन्छु। जब विश्‍वासको कुरा आउँछ, धेरैले सोच्न सक्छन् कि तिनीहरूले परमेश्‍वरलाई पछ्याउँछन् किनभने तिनीहरूसँग विश्‍वास छ र नत्रभने तिनीहरूले यस्ता कष्ट सहँदैनथे। त्यसैले म तँलाई यी कुरा सोध्छु: यदि तैँले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छस् भने, किन तँ उहाँको डर मान्दैनस्? यदि तैँले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छस् भने, किन तेरो हृदयमा उहाँको थोरै भय पनि छैन? यदि तैँले ख्रीष्ट देहधारी परमेश्‍वर हुनुभएको हो भनी स्वीकार गर्छस् भने, तैँले उहाँलाई किन घृणा गर्छस्? किन तैँले उहाँप्रति श्रद्धाविहीन भई कार्य गर्छस्? किन तैँले उहाँलाई खुल्लम-खुल्ला मूल्याङ्कन गर्छस्? किन तैँले सधैँ उहाँका गतिविधिहरूमाथि जासुसी गर्छस्? किन तँ उहाँका प्रबन्धहरूप्रति समर्पित हुँदैनस्? किन तँ उहाँको वचनअनुरूप काम गर्दैनस्? किन तैँले उहाँबाट उहाँका भेटीहरू जबरजस्ती खोस्ने र लुट्ने गर्छस्? किन तँ ख्रीष्टको स्थानबाट बोल्छस्? किन तैँले उहाँको काम र उहाँको वचन सही छ कि छैन भनी मूल्याङ्कन गर्छस्? किन तैँले उहाँको पिठ्यूँपछाडि उहाँको ईश्‍वरनिन्दा गर्ने साहस गर्छस्? के तेरो विश्‍वास यी र अन्य कुराहरूले निर्मित छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँ परमेश्‍वरको साँचो विश्‍वासी होस्?

परमेश्‍वरप्रतिको तिमीहरूको विरोध र पवित्र आत्माको कामप्रतिको अवरोध तिमीहरूका धारणा र अन्तर्निहित अहङ्कारले पैदा गरेको हो। परमेश्‍वरको कार्य गलत भएर होइन, बरु तिमीहरू प्राकृतिक रूपमै अत्यन्तै विद्रोही भएकोले यसो भएको हो। परमेश्‍वरमाथिको आफ्‍नो आस्थालाई भेटिसकेपछि, कतिपय मानिसहरूले मानिस कहाँबाट आएको हो भनेर समेत निश्‍चयताको साथ भन्‍न सक्दैनन्, तैपनि तिनीहरू पवित्र आत्माको कामका सही र गलत कुराहरूलाई मूल्याङ्कन गर्दै सार्वजनिक भाषणहरू दिने आँट गर्छन्। तिनीहरू टिप्‍पणीहरू गर्दै र अनुचित गफ लडाउँदै पवित्र आत्माको नयाँ काम भएका प्रेरितहरूलाई समेत भाषण दिन्छन्; तिनीहरूको मानवता अत्यन्तै नीच छ, र तिनीहरूमा अलिकति पनि चेतना छैन। के त्यस्ता मानिसहरूलाई पवित्र आत्माले तिरस्कार गरेर नरकको आगोद्वारा जलाउने दिन आउनेछैन र? तिनीहरूलाई परमेश्‍वरको कामको बारेमा थाहा छैन, तैपनि उहाँको कामको आलोचना गर्छन्, र कसरी काम गर्ने भनेर परमेश्‍वरलाई समेत निर्देशन दिने प्रयास गर्छन्। त्यस्ता अनुचित मानिसहरूले कसरी परमेश्‍वरलाई चिन्‍न सक्छन् र? खोजी गर्ने र अनुभव गर्ने प्रक्रियामा मानिसले परमेश्‍वरलाई चिन्‍न पुग्छ; आवेगमा आलोचना गरेर होइन तर पवित्र आत्‍माको अन्तर्दृष्टिद्वारा मानिसले परमेश्‍वरलाई चिन्‍न पुग्छ। परमेश्‍वर सम्‍बन्धी मानिसहरूको ज्ञान जति यथार्थ हुन्छ, तिनीहरूले त्यति नै कम विरोध गर्छन्। यसको विपरीत, मानिसहरूले परमेश्‍वरलाई जति कम चिन्छन्, तिनीहरूले उहाँको विरोध गर्ने सम्‍भावना त्यति नै बढी हुन्छ। तेरा धारणाहरू, तेरो पुरानो प्रकृति, र तेरो मानवता, चरित्र र नैतिक दृष्टिकोण तैँले परमेश्‍वरलाई प्रतिरोध गर्ने पूँजी हो, र तेरा नैतिकताहरू जति भ्रष्ट, तेरा गुणहरू जति घिन लाग्दो, र तेरो मानवता जति नीच बन्छ, तँ त्यति नै बढी परमेश्‍वरको शत्रु बन्छस्। जोसँग दह्रिला धारणाहरू हुन्छन् र जोसँग आत्म-धर्मी स्वभाव हुन्छ तिनीहरू देहधारी परमेश्‍वरको अझै बढी शत्रुतामा हुन्छन्; त्यस्ता मानिसहरू ख्रीष्ट विरोधीहरू हुन्। यदि तेरा धारणाहरूलाई सुधार गरिएन भने, ती सधैँ नै परमेश्‍वरको विरुद्ध हुनेछन्; तँ कहिल्यै पनि परमेश्‍वरसँग मिल्‍ने बन्‍नेछैनस्, र तँ उहाँबाट सधैँ अलग हुनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

कतिपय मानिसहरू सत्यमा आनन्दित हुँदैनन्, न्यायको बारेमा त कुरै छोडौं। त्यसको साटो, तिनीहरूले शक्ति र धनसम्पत्तिमा आनन्द लिन्छन्; यस्ता मानिसहरूलाई शक्ति खोज्नेहरू भनिन्छ। तिनीहरूले संसारमा प्रभाव भएका सम्प्रदायहरूको मात्र खोजतलास गर्दछन्, र तिनीहरूले सेमिनरीहरूबाट आएका पाष्टर र शिक्षकहरूलाई मात्र खोजतलास गर्दछन्। तिनीहरूले सत्यको मार्गलाई स्वीकारेका भए पनि, तिनीहरू अर्ध-विश्‍वास गर्नेहरू मात्र हुन्; तिनीहरूले आफ्नो सम्पूर्ण मन र मस्तिष्क दिन सक्दैनन्, तिनीहरू मुखले परमेश्‍वरका निम्ति आफू स्‍वयम्‌लाई समर्पण गर्ने बारेमा वचनहरू बोल्छन्, तर तिनीहरूका नजर महान् पाष्टर र शिक्षकहरूमा केन्द्रित हुन्छन्, र तिनीहरूले ख्रीष्टलाई दोस्रो नजर पनि लगाउँदैनन्। तिनीहरूका हृदय ख्याति, भाग्य र वैभवमाथि केन्द्रित हुन्छन्। तिनीहरूले त्यस्तो कमजोर व्यक्तिले त्यति धेरै मानिसहरूलाई जित्‍न सक्छ, त्यति मामूली व्यक्तिले मानिसलाई सिद्ध पार्न सक्छ भन्‍ने कुरामा प्रश्‍न उठाउँछन्। तिनीहरूले धूलो र गोबरको थुप्रोमध्येका नगन्य मानिसहरू परमेश्‍वरद्वारा चुनिएका मानिसहरू हुन् भन्‍ने कुरामा शङ्का गर्छन्। यदि यस्ता मानिसहरू परमेश्‍वरका मुक्तिका पात्रहरू हुन्थे भने, स्वर्ग र पृथ्वी उलटपुलट हुन्थ्यो र सम्पूर्ण मानिसहरू हाँस्नेथिए भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। यदि परमेश्‍वरले यस्ता नगन्य व्यक्तिहरूलाई सिद्ध पार्न चुन्नुहुन्थ्यो भने, ती महान् मानिसहरू परमेश्‍वर स्वयम बन्नेथिए भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। तिनीहरूका दृष्टिकोणहरू अविश्‍वासले दूषित भएका हुन्छन्; विश्‍वास नगर्ने भन्दा बढी, तिनीहरू बेवकुफ पशुहरू हुन्। किनकि तिनीहरूले दर्जा, मर्यादा र शक्तिलाई मात्र मूल्यवान् ठान्दछन् र तिनीहरूले ठूला समूह र सम्प्रदायहरूलाई मात्र मान्यता दिन्छन्। ख्रीष्टले डोर्‍याउनुभएका मानिसहरूप्रति तिनीहरूसँग अलिकति पनि सम्‍मान हुँदैन; तिनीहरू त ख्रीष्टतर्फ, सत्यतातर्फ र जीवनतर्फ आफ्नो पिठ्यूँ फर्काएका विश्‍वासघाती मात्र हुन्।

तैँले सराहना गर्ने कुरा ख्रीष्टको विनम्रता होइन, बरु विख्यात दर्जा भएका झूटा गोठालाहरू हुन्। तैँले ख्रीष्टको प्रेमिलोपन वा बुद्धिलाई होइन बरु संसारका फोहोरमा लडीबडी गर्ने स्वेच्छाचारीहरूलाई श्रद्धा गर्छस्। तँ आफ्‍नो शिर राख्ने ठाउँ नभएका ख्रीष्टको पीडामा हाँस्छस्, तर तँ भेटीहरू खोजी गर्ने र व्यभिचारमा जिउने लासहरूको प्रशंसा गर्छस्। तँ ख्रीष्टसँगै कष्ट भोग्न इच्छुक छैनस्, तर तैँले लापरवाह, ख्रीष्ट विरोधीहरूका हातमा आफूलाई खुशीसाथ सुम्पन्छस्, जबकि तिनीहरूले तँलाई केवल देह, वचनहरू र नियन्त्रण प्रदान गर्छन्। अहिले पनि तेरो हृदय अझै तिनीहरूका ख्यातितर्फ, तिनीहरूका दर्जातर्फ, तिनीहरूका प्रभावतर्फ फर्किन्छ। अनि तँ अझै यस्तो मनोवृत्तिमा अल्झिरहन्छस्, जसले गर्दा तँलाई ख्रीष्टको कामलाई पत्याउन गाह्रो हुन्छ र तँ यसलाई स्वीकार गर्न अनिच्छुक हुन्छस्। यसकारण म भन्छु, ख्रीष्टलाई स्वीकार गर्नको लागि तँमा विश्‍वासको कमी छ। तैँले आजको दिनसम्म उहाँलाई पछ्याउनुको कारण तँसँग अन्य कुनै विकल्प नभएकोले गर्दा हो। गौरवपूर्ण तस्वीरहरूले सधैँ तेरो हृदयमा अग्लो स्तम्भ बनाइरहेको हुन्छ; तैँले तिनीहरूका कुनै पनि शब्द र कामलाई बिर्सन सक्दैनस्, न त तिनीहरूका प्रभावमय शब्द र हातहरूलाई नै बिर्सन सक्छस्। तेरो हृदयमा तिनीहरू सदा सर्वोच्च र सदा नायकहरू हुन्छन्। तर यो कुरा आजको ख्रीष्टको हकमा लागू हुँदैन। तेरो हृदयमा उहाँ सदा नै कम महत्त्वको हुनुहुन्छ, र सदा नै डरको अयोग्य हुनुहुन्छ। किनकि उहाँ अत्यन्तै सामान्य हुनुहुन्छ, उहाँको प्रभाव अत्यन्तै कम छ र उहाँ भव्यताबाट टाढा हुनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँ परमेश्‍वरको साँचो विश्‍वासी होस्?

परमेश्‍वरलाई पछ्याउने धेरै जनालाई कसरी आशिषहरू प्राप्त गर्ने वा विपत्ति टार्ने भन्‍नेको मात्रै चिन्ता छ। परमेश्‍वरको कार्य र व्यवस्थापनको बारेमा उल्‍लेख गर्ने बित्तिकै, तिनीहरू चुप बन्छन् र सबै चासो गुमाउँछन्। त्यस्तो सानातिना कुराहरूलाई बुझेर यसले तिनीहरूको जीवन वृद्धि गर्न वा कुनै पनि लाभ प्रदान गर्न सहयोग गर्नेछैन भन्‍ने तिनीहरू ठान्छन्। परिणामस्वरूप, तिनीहरूले परमेश्‍वरको व्यवस्थापनको बारेमा सुनेका भए तापनि, तिनीहरूले त्यति ध्यानै दिँदैनन्। यसलाई तिनीहरू स्वीकार गर्नुपर्ने कुनै बहुमूल्य कुराको रूपमा देख्दैनन्, यसलाई तिनीहरूको जीवनको पाटोको रूपमा स्विकार्ने कुरा त परै जाओस्। त्यस्ता मानिसहरूसँग परमेश्‍वरलाई पछ्याउने एउटै मात्र सरल उद्देश्य हुन्छ, र त्यो उद्देश्य हो, आशिषहरू प्राप्त गर्नु। त्यस्ता मानिसहरूले यो उद्देश्यसँग सिधै संलग्न नहुने अरू कुनै कुरालाई ध्यान दिने झमेला लिन सक्दैनन्। तिनीहरूका लागि, आशिषहरू प्राप्त गर्न परमेश्‍वरमा विश्‍वास गर्नु जत्तिको न्यायसंगत अरू कुनै उद्देश्य हुन सक्दैन—तिनीहरूको विश्‍वासको मूल्य यही नै हो। यदि कुनै कुराले यो उद्देश्यमा योगदान दिँदैन भने, यसले तिनीहरूको हृदय छुन सक्दैन। आज परमेश्‍वरलाई विश्‍वास गर्ने धेरैजसो मानिसहरूको अवस्था यस्तै छ। तिनीहरूको उद्देश्य र अभिप्राय न्यायसंगत देखिन्छन्, किनभने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा तिनीहरूले परमेश्‍वरको निम्ति खर्च पनि गर्छन्, आफैलाई परमेश्‍वरमा समर्पित पनि गर्छन्, र आफ्‍नो कर्तव्य पनि पूरा गर्छन्। तिनीहरूले आफ्‍नो जवानी त्याग्छन्, परिवार र भविष्यलाई त्याग्छन्, र आफैलाई व्यस्त राख्दै धेरै वर्षसम्‍म घरदेखि टाढा बिताउँछन्। तिनीहरूको आखिरी उद्देश्यको लागि, तिनीहरूले आफ्‍नै अभिरुचिहरू, जीवनप्रतिको तिनीहरूको दृष्टिकोण, र तिनीहरूले खोजी गर्ने दिशालाई समेत परिवर्तन गर्छन्; तैपनि परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको उद्देश्यलाई तिनीहरूले परिवर्तन गर्न सक्दैनन्। तिनीहरू आफ्‍नै आदर्शहरूको व्यवस्थापन गर्दै दौडधूप गर्छन्; बाटो जति टाढा भए पनि, र बाटोमा जति धेरै कठिनाइ र बाधाहरू भए पनि, तिनीहरू दृढ रहन्छन् र मृत्युको डर मान्दैनन्। आफैलाई निरन्तर रूपमा यस तरिकामा समर्पित गर्नको लागि कुन शक्तिले तिनीहरूलाई बाध्य तुल्याउँछ? के यो तिनीहरूको विवेक हो? के यो तिनीहरूको महान् र आदर्शमय चरित्र हो? के यो अन्त्यसम्‍मै दुष्टताका शक्तिहरूसँग युद्ध गर्ने तिनीहरूको संकल्प हो? के यो इनामको खोजी नगरिकन परमेश्‍वरको लागि गवाही दिने तिनीहरूको विश्‍वास हो? के यो परमेश्‍वरको इच्‍छा पूरा गर्नको लागि सबै कुरा त्याग्‍ने तिनीहरूको इच्‍छाको बफादारीता हो? अथवा के यो लालची व्यक्तिगत मागहरूलाई सँधै त्याग्‍ने तिनीहरूको भक्तिको आत्मा हो? परमेश्‍वरको व्यवस्थापनको कामलाई कहिल्यै नबुझेको कुनै व्यक्तिले त्यति धेरै त्याग गर्नु भनेको वास्तवमा आश्‍चर्यकर्म नै हो! अहिलेको लागि, यी मानिसहरूले कति दिएका छन् त्यसको बारेमा छलफल गरौं। तैपनि, तिनीहरूको आचरणलाई हामीले विश्‍लेषण गर्नु अत्यन्तै योग्य छ। तिनीहरूसँग अति घनिष्ट रूपले सम्‍बन्धित रहेका लाभहरू बाहेक, परमेश्‍वरलाई कहिल्यै नबुझ्‍ने मानिसहरूले उहाँको लागि त्यति धेरै त्याग गर्नुका अरू कुनै कारणहरू हुन सक्छन्? यसमा, हामी पहिले पहिचान नगरिएको समस्या पत्ता लगाउँछौं: परमेश्‍वरसँगको मानिसको सम्‍बन्ध एउटा नाङ्गो स्वार्थ मात्रै हो। यो आशिषहरू प्राप्त गर्ने र दिने बीचको सम्‍बन्ध हो। यसलाई सरल रूपमा भन्दा, यो मालिक र कर्मचारी बीचको सम्‍बन्ध जस्तै हो। मालिकले दिने इनामहरूका लागि मात्रै कर्मचारीले काम गर्छ। त्यस्तो सम्‍बन्धमा कुनै आत्मीयता हुँदैन, लेनदेन मात्रै हुन्छ। प्रेम गर्ने वा प्रेम प्राप्त गर्ने कुनै कार्य हुँदैन, परोपकार र कृपा मात्रै हुन्छ। कुनै बुझाइ हुँदैन, दबाइएको आक्रोश र धोका मात्रै हुन्छ। कुनै घनिष्ठता हुँदैन, अप्रकमनीय दरार मात्रै हुन्छ। यी कुराहरू यस्तो बिन्दु सम्म आइपुगेकाले, अब यस्तो क्रमलाई कसले उल्ट्याउन सक्छ? अनि यो सम्‍बन्ध कति भयानक बनेको छ, त्यसलाई साँचो रूपमा बुझ्‍न सक्‍ने मानिसहरू कति छन्? मलाई विश्‍वास छ, जब मानिसहरूले आफैलाई आशिषित हुनुको आनन्दमा डुबाउँछन्, परमेश्‍वरसँगको त्यस्तो सम्‍बन्ध कति लाजमर्दो र कुरूप हुन्छ त्यसको बारेमा कसैले पनि कल्‍पना गर्न सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ

मेरा कार्यहरू समुद्र किनारका बालुवाका कणहरूभन्दा धेरै छन् र मेरो बुद्धि सोलोमनका सबै छोराहरूभन्दा अधिक छ, तैपनि मानिसहरूले मलाई थोरै मात्र महत्त्व भएको वैद्यको रूपमा र मानिसको अज्ञात शिक्षकको रूपमा मात्र ठान्छन्। मैले तिनीहरूलाई निको पारेँ भनेर मात्र धेरैले मलाई विश्‍वास गर्छन्। मैले तिनीहरूको शरीरबाट अशुद्ध आत्माहरू निकाल्न मैले मेरो शक्ति प्रयोग गरौं भनेर र तिनीहरूले शान्ति र आनन्द प्राप्‍त गर्न सकून्‌ भनेर मात्र धेरैले ममा विश्‍वास गर्छन्। मबाट धेरै भौतिक सम्पत्ति माग गर्नलाई मात्र धेरैले ममा विश्‍वास गर्छन्। यस जीवनलाई शान्तिमा बिताउन र आउने संसारमा सुरक्षित र सकुशल हुनलाई मात्रै धेरैले ममा विश्‍वास गर्छन्। नरकको कष्टहरूबाट बच्न र स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नलाई धेरैले ममा विश्‍वास गर्छन्। धेरैले अस्थायी सान्त्वनाका निम्ति मात्र ममा विश्‍वास गर्छन्, तैपनि आउने संसारको कुनै पनि कुरा प्राप्‍त गर्न खोज्दैनन्। जब मैले मेरो क्रोध मानिसमाथि खन्याएँ र कुनै समय ऊसँग भएका सबै हर्ष र शान्ति खोसेँ, मानिस सशङ्कित भयो। मैले मानिसलाई नरकको कष्ट दिएर स्वर्गको आशिष्‌ फिर्ता गर्दा मानिसको शर्म रिसमा परिणत भयो। निको पार्नलाई मानिसले मलाई बिन्ती गर्दा मैले कुनै ध्यान दिइनँ र ऊप्रति घृणा महसुस गरेँ; बरु मानिस मबाट अलग भएर दुष्ट औषधि र टुनामुनाको मार्ग खोज्नतिर लाग्यो। जब मानिसले मबाट माग गरेको सबै थोक मैले खोसेँ, सबै जना कुनै निशानाविना नै गायब भए। यसैले, म अति नै धेरै अनुग्रह दिन्छु र प्राप्‍त गर्ने कुरा अति धेरै भएको हुनाले मानिसले ममा विश्‍वास गर्छ भनी म भन्छु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?

जब-जब भाग्यको उल्लेख गरिन्छ, तिमीहरूले त्यसलाई विशेष गम्भीरताका साथ व्यवहार गर्छौ। यसबाहेक, यो यस्तो कुरा हो जसको बारेमा तिमीहरू विशेष रूपले संवेदनशील हुन्छौ। कोही-कोही राम्रो गन्तव्य हासिल गर्न परमेश्‍वरको सामु भुइँमा आफ्नो निधार नै ठोकाइ साष्टाङ्ग दण्डवत् गर्न पनि पछि पर्दैनन्। तिमीहरूको उत्सुकतासित म परिचित छु जसलाई शब्दहरूमा व्यक्त गर्न आवश्यक छैन। यो तिमीहरूले आफ्नो शरीरलाई महाविपत्तीमा पार्न नचाहेको भन्दा बढी होइन, अनि न त तिमीहरू भविष्यमा अनन्त दण्डमा पर्ने चाहना नै गर्छौ। तिमीहरू केवल अलि बढी स्वच्छन्द ढङ्गले, अलि बढी सहजताका साथ जिउने आशा गर्छौ। त्यसैले गन्तव्यको बारेमा उल्लेख गरिँदा तिमीहरू विशेष रूपले अशान्त हुन्छौ र यदि तिमीहरू पर्याप्त रूपले सावधान छैनौ भने तिमीहरूले परमेश्‍वरलाई दुःखित पार्नेछौ र यसरी तिमीहरूले पाउनुपर्ने प्रतिफलको हकदार तिमीहरू हुनेछौ भन्‍ने कुराप्रति तिमीहरू साह्रै त्रासित हुन्छौ। आफ्नो गन्तव्यको खातिर तिमीहरूले सम्झौताहरू गर्न हिचकिचाएका छैनौ, अनि तिमीहरूमध्ये जो कुनै समय कुटिल र छिचरो थियौ, तिमीहरू अकस्मात् भद्र र इमान्दार भएका छौ; तिमीहरूको देखावटी इमानदारिताले मानिसहरूलाई हड्डीको मासीसम्मै चिसो पार्दछ। तथापि, तिमीहरू सबैसित “इमान्दार” हृदय छ, अनि तिमीहरूले मलाई कुनै कुरा बाँकी नराखी निरन्तर आफ्नो हृदयको गुप्त कुराहरू खोलेका छौ, चाहे त्यो दुःखपोखाई होस् वा छल होस् वा भक्ति। समग्रमा, तिमीहरूले अत्यन्तै निष्कपटताका साथ मसित त्यस्ता ठोस कुराहरू “स्वीकार” गरेका छौ जुन तिमीहरूको अस्तित्वको भित्री कुनाहरूमा छन्। अवश्य, त्यस्ता कुराहरूको वरिपरि म कहिल्यै घुमेको छैनँ किनकि ती कुराहरू मेरो निम्ति ज्यादै परिचित छन्। तिमीहरू आफ्नो अन्तिम गन्तव्यको खातिर परमेश्‍वरको स्वीकृति पाउनको निम्ति कपालको एउटै केस्रा गुमाउनुभन्दा बरु आगोको समुद्रभित्र प्रवेश गर्ने थियौ। म तिमीहरूसित धेरै कट्टरपन्थी भइरहेको छैनँ; कुरा यो हो कि मैले गर्ने सबै कुराहरूमा मेरो आमनेसामने आउनको लागि तिमीहरूसित भक्तिको हृदयको ज्यादै कमी छ। मैले भर्खरै भनेका कुराहरू सायद तिमीहरू बुझ्दैनौ होला, त्यसैले म एउटा साधारण व्याख्या प्रस्तुत गर्छु: तिमीहरूलाई आवश्यक पर्ने सत्यता र जीवन होइन, न आफूले कसरी व्यवहार गर्ने भन्‍ने सिद्धान्तहरू हो, न त मेरो कष्टदायी काम नै। बरु तिमीहरूलाई आवश्यक परेको ती हरेक थोक हुन् जुन तिमीहरूले शरीरमा धारण गर्दछौ: सम्पत्ति, हैसियत, परिवार, विवाह, आदि इत्यादि। तिमीहरू मेरा वचनहरू र कामहरूलाई पूर्ण रूपले उपेक्षा गर्छौ, त्यसैले म तिमीहरूको विश्‍वासलाई सारांशमा एउटै शब्दमा भन्न सक्छु: लापरवाही। तिमीहरू जुन कुराहरूमा पूर्ण रूपले समर्पित छौ, ती कुराहरू प्राप्त गर्न जुनसुकै दूरी पनि पार गर्न सक्छौ, तर परमेश्‍वरमाथिको तिमीहरूको विश्‍वास सम्बन्धी कुराहरूको खातिर त्यसो गर्दैनौ भन्‍ने मैले पत्ता लगाएको छु। बरु तिमीहरू तुलनात्मक रूपले समर्पित छौ, अनि तुलनात्मक रूपले जोशिला छौ। त्यसैकारण, जसमा पूर्ण इमानदारीताको हृदयको कमी छ, तिनीहरू परमेश्‍वरप्रतिको तिनीहरूको विश्‍वासमा असफल हुन्छन्। ध्यानपूर्वक सोच—तिमीहरूको माझमा थुप्रै असफलहरू छन् कि?

मानिसहरूको आफ्नै कार्यहरूको परिणामस्वरूप परमेश्‍वरमाथिको विश्‍वासमा सफलता हासिल गरिन्छ भन्‍ने तिमीहरूले जान्नुपर्छ। जब मानिसहरू सफल नभई असफल हुन्छन्, त्यो पनि तिनीहरूका आफ्‍नै कार्यहरूको कारणले हो अनि त्यसमा कुनै कुराले भूमिका खेल्दैन। म विश्‍वास गर्छु कि तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा बरु कुनै पनि कुरा हासिल गर्न धेरै कठिन र कष्टदायी कुरा गर्नेथियौ अनि त्यसलाई धेरै गम्भीरतापूर्वक व्यवहार गर्नेथियौ; यतिसम्म कि तिमीहरू कुनै पनि गल्तीहरूलाई सहन अनिच्छुक हुनेथियौ; यस्ता प्रकारका अविरल प्रयासहरू तिमीहरू सबै आफ्नो जीवनमा राख्दछौ। यस्ता कतिपय परिस्थितिहरूमा तिमीहरू मेरो देहलाई धोका दिन समेत सक्षम छौ जुन परिस्थितिहरूमा तिमीहरू आफ्नो परिवारको कुनै सदस्यलाई पनि दिने थिएनौ। यो तिमीहरूको निरन्तरको व्यवहार र सिद्धान्त हो जसद्वारा तिमीहरू जिउँछौ। के तिमीहरूले तिमीहरूका गन्तव्य, तिमीहरूले चाहेको सबै कुरा पूर्ण र सिद्ध होस् भनेर आफ्नो गन्तव्यको खातिर मलाई धोका दिन झूटो मकुन्डो लगाइरहेका छैनौ र। तिमीहरूको भक्ति जस्तै तिमीहरूको इमानदारीता अस्थायी मात्र हो भन्‍ने मलाई थाहा छ। के तिमीहरूको संकल्प र तिमीहरूले चुकाउने मूल्य भविष्यको निम्ति नभई वर्तमान क्षणको खातिर मात्र होइन र? केवल एउटा लेनदेनको उद्देश्य राखेर तिमीहरू सुन्दर गन्तव्य प्राप्त गर्नको निम्ति संघर्ष गर्न केवल एउटा अन्तिम प्रयासमा बल लगाउँछौ। सत्यताप्रति ऋणी हुनदेखि जोगिन तिमीहरू यो प्रयास गर्दैनौ, न त मैले चुकाएको मूल्य फेरि तिर्नको खातिर यो गर्दछौ। संक्षिप्तमा, आफूले चाहेको कुरा प्राप्त गर्न तिमीहरू चलाक रणनीतिहरू काममा लगाउँछौ। तर त्यसको निम्ति खुला लडाइँ लड्दैनौ। के यो तिमीहरूको हृदयको कामना होइन र? तिमीहरूले आफ्नो भेष बदल्नुहुँदैन, न त खान र सुत्न नसक्ने बिन्दुसम्म आफ्ना गन्तव्यको निम्ति तिमीले आफ्नो मगजलाई यातना दिनु नै हुन्छ। तिमीहरूको आखिरमा परिणाम पहिलेबाट नै निर्धारित भइसकेको हुनेछ भन्‍ने कुरा के साँचो होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। गन्तव्यको सम्‍बन्धमा

प्रत्येक दिन प्रत्येक व्यक्तिको काम र विचारहरू एक जना व्यक्तिका आँखाले हेर्छन्, त्यसको साथसाथै तिनीहरूका आफ्नै भोलिका दिनको निम्ति ती तयारीमा छन्। सबै जीवित मानिस हिँड्ने बाटो यही हो; मैले सबैका निम्ति अघिबाटै ठहराएको बाटो यही नै हो, कोही पनि यसबाट उम्कन सक्दैन वा कसैलाई छुट दिन सकिँदैन। मैले बोलेका वचनहरू अनगन्ती छन्, त्यसबाहेक मैले गरेका कार्यहरू असीम छन्। अन्तर्निहित प्रकृति र तिनीहरूका प्रकृतिको घटनाक्रमहरू अनुसार पुकार्छ कि पुकार्दैन भनी मैले हरेक दिन हरेक व्यक्तिलाई हेर्छु। अन्जानमा, धेरै जना पहिलेबाटै “सही बाटो” मा लागिसकेका छन्, जुन मैले फरक किसिमका मानिसहरूलाई प्रकट गर्न राखेको छु। यी फरक किसिमका मानिसहरूलाई मैले धेरै समयदेखि नै विभिन्न वातावरणहरूमा र तिनीहरूको आफ्‍नै स्थानमा राखेको छु, अनि हरेकले तिनीहरूमा अन्तर्निहित गुणहरू व्यक्त गरेका छन्। तिनीहरूलाई बाँध्ने कोही छैन, तिनीहरूलाई कसैले बहकाउँदैन। तिनीहरू सम्पूर्ण रूपमा स्वतन्त्र छन् र तिनीहरूले व्यक्त गर्ने कुरा स्वाभाविक रूपले निस्कन्छन्। केवल एउटा कुराले मात्र तिनीहरूलाई रोक्छ: मेरा वचनहरूले। यसैले केही मानिसहरू अनिच्छा पूर्वक मेरा वचनहरू पढ्छन्, र कहिल्यै अभ्यास गर्दैनन्, तिनीहरूले मृत्युबाट बच्नका निम्ति मात्र यसो गर्छन्; यसैबीच अरूहरूलाईचाहिँ मेरो वचनको मार्गदर्शन र आपूर्ति विना दिन काट्न नै कठिन हुन्छ, यसैले तिनीहरूले स्वाभाविक रूपमा हरसमय मेरो वचन समाती राख्छन्। समय बित्दैजाँदा तिनीहरूले मानव जीवनका रहस्य, मानवजातिको गन्तव्य र मानव हुनुको मूल्य पत्ता लगाउँछन्। यसरी मानवजाति मेरा वचनहरूको उपस्थितिमा हुन्छ, अनि म केवल कामकुराहरूलाई तिनीहरूको मार्ग लिन दिन्छु। म मानिसहरूलाई मेरो वचन तिनीहरूका अस्तित्वको जग बनाउन करमा पार्ने कुनै काम गर्दिनँ। जुन मानिसहरूसँग विवेक थिएन, जसको अस्तित्वको कुनै मूल्य थिएन, तिनीहरूले मेरो वचनलाई साहस पूर्वक बेकारको ठाने अनि कामकुरो कसरी हुन्छ भन्‍ने चूपचाप हेरेर तिनीहरू आफूले चाहेअनुसार गर्छन्। तिनीहरू सत्यता र मबाट आउने सबै कुराप्रति वितृष्ण हुन थाल्छन्। यसबाहेक, तिनीहरू मेरो घरमा बस्न वितृष्ण महसुस गर्छन्। तिनीहरूका गन्तव्य स्थानका निम्ति, र दण्डबाट उम्कनका निम्ति यी मानिसहरू श्रम गर्दै भए पनि केही समयसम्म मेरो भवनमा बस्छन्। तापनि, तिनीहरूका नियतहरू र कार्यहरू कहिल्यै पनि परिवर्तन हुँदैनन्। यसले आशिष् पाउने तिनीहरूका चाहना बढाउँछ, अनि एकचोटि त्यो राज्यमा पस्ने त्यसपछि सधैँभरिका निम्ति त्यही रहने—अनन्त स्वर्गमा पस्ने तिनीहरूको चाहना बढाउँछ। तिनीहरूले जति-जति मेरो दिन चाँडो आओस् भन्‍ने इच्छा गर्छन् त्यति नै बढी सत्यता तिनीहरूका बाटोमा एउटा बाधा, ठेस लाग्ने कुरा बनेको महसुस गर्छन्। तिनीहरूले सत्यता अनुसरण नगरीकन वा न्याय वा सजायलाई नस्विकारीकन, र सबैभन्दा मुख्य कुरा, मेरो भवनमा विनम्र नभइकन र मेरो आज्ञाबमोजिम नगरीकन नै तिनीहरू स्वर्ग राज्यका आशिषहरू उपभोग गर्न प्रतीक्षा गर्नै सक्दैनन्। यी मानिसहरू सत्यताको खोजी गर्ने आफ्‍ना चाहना पूरा गर्न वा मेरो व्यवस्थापनमा सहकार्य गर्न मेरो भवनमा प्रवेश गर्दैनन्; तिनीहरूका एक मात्र इच्छा भनेको ती मानिसहरूको साथमा रहने हो, जो आउने युगमा नाश पारिने छैनन्। यसैले तिनीहरूका हृदयले सत्यता के हो वा सत्यतालाई कसरी स्वीकार गर्नुपर्छ भनी कहिल्यै पनि जानेको छैन। यसैकारण त्यस्ता मानिसहरूले कहिल्यै पनि सत्यता अभ्यास गरेका छैनन् वा आफ्नो भ्रष्टताको गहिराइ महसुस गरेका छैनन्, तापनि तिनीहरू मेरो भवनमा सर्वत्र “सेवकहरू” को रूपमा बसेका छन्। तिनीहरू मेरो आउने दिनलाई “धैर्यसाथ” प्रतिक्षा गर्छन् र मेरो काम गर्ने तरिकाद्वारा यताउति हुत्तिएर पनि थाक्दैनन्। तर तिनीहरूले जति नै ठूलो कोसिस गरे पनि वा जस्तै मूल्य चुकाए पनि तिनीहरूले सत्यका निम्ति दुःख भोगेका वा मेरो खातिर केही दिएका कसैले पनि देखेको छैन। मैले पुरानो युगलाई अन्त गरेको हेर्नका लागि तिनीहरू आफ्ना हृदयमा आतुरमा छन्, र मेरो शक्ति र अख्तियार कति महान् छन् सो पत्तो लगाउनका निम्ति अरू पर्खन सक्दैनन्। तिनीहरूले आफैलाई बदल्न र सत्यता अनुसरण गर्न कहिल्यै हतार गर्दैनन्। तिनीहरू म म जुन कुराप्रति वितृष्ण हुन्छु त्यसैलाई प्रेम गर्छन्, र मैले प्रेम गर्ने कुराप्रति वितृष्ण हुन्छन्। तिनीहरू त्यो कुराको उत्कट इच्छा गर्छन्, जसलाई म घृणा गर्दछु, तर मैले घृणा गर्ने कुरा गुम्छ कि भनी डराउँछन्। तिनीहरू यो दियाबलसको संसारमा जिउँछन्, त्यसलाई कहिल्यै घृणा गर्दैनन्, तापनि म त्यसलाई नाश गरिदिन्छु कि भनी धेरै डराउँछन्। तिनीहरूका विरोधाभासपूर्ण चाहनाहरूको बीचमा, मैले घृणा गरेको यो संसारलाई नै तिनीहरू प्रेम गर्छन्, तर मैले यसलाई चाँडै नाश पारूँ भन्‍ने इच्छा पनि गर्छन्, ताकि तिनीहरू साँचो मार्गबाट भड्किएर जानुभन्दा अघि नै विनाशको कष्टबाट बचाइयोस् र अर्को युगका शासक बनाइयोस्। किनभने तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् र मबाट आउने सबै कुराप्रति वितृष्ण छन्। तिनीहरू आशिष् नगुमाउनको निम्ति केही समय “आज्ञाकारी मानिसहरू” हुन सक्छन्, तर आशिषित बन्ने तिनीहरूको चिन्ता र नाश हुने डर अनि आगोको कुण्डमा फालिने कुरालाई कहिल्यै पनि लुकाउन सकिँदैन। मेरो दिन जति नजिक आउँछ तिनीहरूका इच्छा उति नै अझ बलियो हुन्छ। अनि जति ठूलो विपत्ति हुन्छ यसले तिनीहरूलाई त्यति नै बढी असहाय तुल्याउँछ, यस क्रममा मलाई आनन्दित बनाउन र तिनीहरूले धेरै समयदेखि चाहेका आशिषहरू गुमाउनबाट बच्न कहाँबाट सुरु गर्ने हो भनी अलमल्लमा पर्छन्। त्यस्ता मानिसहरू मेरा हातले आफ्नो काम थाल्‍नासाथ पहिलो पङ्तिका सेना जस्तो भएर काम गर्न उत्सुक बन्छन्। तिनीहरू मैले तिनीहरूलाई देख्दिनँ भन्‍ने डरले फौजको पहिलो पङ्तिमा जाने बारेमा मात्रै सोच्छन्। तिनीहरू आफूलाई जे सही लागेको छ त्यही गर्छन् र बोल्छन्, तिनीहरूका काम र व्यवहार कहिल्यै पनि सत्यतासँग सम्बद्ध हुँदैन, र तिनीहरूका काम र कार्यहरूले मेरो योजनालाई केवल कमजोर पार्छन् र बाधा दिन्छन् भनी कहिल्यै जान्दैनन्। तिनीहरूले धेरै कोसिस गरेका हुन सक्छन्, तिनीहरू कठिनाइहरू सहने आफ्नो इच्छा र उद्देश्यमा सत्य हुन सक्छन्, तर तिनीहरूले गरेका कुनै पनि कुराले मसँग सरोकार राख्दैनन्, किनकि तिनीहरूले असल अभिप्रायले काम गरेको मैले कहिल्यै पनि देखेको छैनँ, तिनीहरूले मेरो वेदीमा कुनै कुरा राखेको देख्‍ने त परै जाओस्। तिनीहरूले मेरो सामु धेरै वर्षदेखि यस्तै कार्यहरू गर्दै आएका छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरूले आफ्ना कार्यहरूलाई विचार गर्नुपर्छ

मेरा कामका धेरै वर्षका दौडान मानिसहरूले धेरै कुरा प्राप्त गरेका छन् र धेरै कुरा गुमाएका छन्, तर अझ पनि म भन्छु उनीहरू मलाई साँच्चिकै विश्‍वास गर्दैनन्। किनकी मानिसहरू मुखले मात्र मलाई परमेश्‍वर भनी स्वीकार गर्छन् तर, मैले भनेका सत्यताहरूसँग विमति राख्छन्, र अझ मैले उनीहरूलाई भनेका सत्यता अभ्यास गर्दैनन्। भन्नुपर्दा, मानिसहरू परमेश्‍वरको अस्तित्वलाई मात्र स्वीकार गर्छन् तर सत्यताको अस्तित्वलाई होइन; मानिसहरू परमेश्‍वरको अस्तित्वलाई मात्र स्वीकार गर्छन् तर जीवनको अस्तित्वलाई होइन। मानिसहरू परमेश्‍वरको नामलाई मात्र स्वीकार गर्छन् तर उहाँको सारलाई होइन। उनीहरूको उत्साहको लागि म उनीहरूलाई घृणा गर्छु किनकी मलाई झुक्याउन उनीहरू मीठो बोलीहरू मात्र प्रयोग गर्छन्; कसैले पनि मलाई साँच्चिकै आराधना गर्दैन। तिमीहरूका भनाइहरूमा सर्पको प्रलोभन छ; अझ बढी, तिनमा चरम घमण्ड, प्रधान दूतको वास्तविक अभिव्यक्ति झल्किन्छ; तिमीहरूका काम कलङ्कित हुने गरी लथालिङ्ग र भताभुङ्ग छन्; तिमीहरूका अधिक चाहनाहरू र लोभी अभिप्रायहरू सुन्न लाजमर्दो छन्। तिमीहरू सबै मेरो घरमा कीरा बनेका छौ, तिरस्कार गरिनुपर्ने वस्तु बनेका छौ। तिमीहरू कोही पनि सत्यलाई मन पराउँदैनौ; सट्टामा, आशीर्वाद पाउन लालायित हुन्छौ, स्वर्ग चढ्ने इच्छा राख्छौ, ख्रीष्टले उहाँको शक्ति पृथ्वीमा प्रयोग गरेको भव्य दृश्य हेर्ने चाहना राख्छौ। तर परमेश्‍वर के हुनुहुन्छ भन्‍ने थाहा नभएका तिमीहरूजस्ता अति भ्रष्ट व्यक्ति कसरी परमेश्‍वरका अनुयायी हुन लायक हुन्छ भनेर के तिमीहरूले कहिल्यै सोचेका छौ? कसरी तिमीहरू स्वर्गमा चढ्न सक्छौ? कसरी तिमीहरू यस्तो भव्य दृश्य, जुन दृश्यको भव्यताको कुनै पूर्ववर्ती कुरा छैन, त्यो हेर्न लायक हुन्छौ? तिमीहरूका मुख छलकपट, दुर्वचन, विश्‍वासघात र अहङ्कारका शब्दहरूले भरिएको छ। तिमीहरूले मसँग कहिल्यै पनि सत्यताका शब्दहरू बोलेका छैनौ, मेरो शब्द अनुभव गरेर कुनै पवित्र शब्द, कुनै विनम्रताका शब्द बोलेका छैनौ। अन्त्यमा, तिमीहरूको विश्‍वास कस्तो छ? तिमीहरूका हृदयमा आकाङ्क्षा र पैसाबाहेक केही पनि छैन र न तिमीहरूका चित्तमा भौतिक वस्तुबाहेक केही छ। प्रत्येक दिन मबाट कसरी केही कुरा लिने भनेर तिमी हिसाबकिताब गर्छौ। मबाट कति सम्पत्ति र कति भौतिक वस्तु प्राप्त गऱ्यौ, तिमी हरेक दिन लेखाजोखा गर्छौ। हरेक दिन तिमी अझ बढी कृपा प्राप्त होस् भनेर पर्खन्छौ, ताकि ती वस्तुबाट तिमीले अधिक मात्रामा र उच्च तहको आनन्द लिन सकोस्। तिमीहरूको प्रत्येक पलको सोचाइमा म हुन्न, न त त्यहाँ मबाट आउने सत्यता नै हुन्छ, तर बरु त्यहाँ त तिमीहरूका श्रीमान वा श्रीमती, छोराहरू, छोरीहरू र तिमीहरूले खाने र लगाउने कुराहरू हुन्छन्। तिमीहरू कसरी अझ बृहत्, अझ अधिक आनन्द प्राप्त गर्न सकिन्छ, त्यसैमा दत्तचित्त हुन्छौ। तर तिमीहरूले पेट फुट्ने गरी खाए पनि के तिमीहरू अझै लास होइनौ? तिमीहरूले आफूलाई बाहिरी रूपमा यति सुन्दर वस्त्रले सिङ्गारपटार गरे पनि के तिमीहरू अझ पनि जीवनविहीन जिउँदो लास होइनौ? आफ्नो पेटको लागि तिमीहरू कपाल फुलेर सेतो नहुँदासम्म परिश्रम गर्छौ तर पनि मेरो कामका लागि तिमीहरू कसैले पनि एक त्यान्द्रो कपालसम्म त्याग गर्दैनौ। तिमीहरू आफ्नै देहको लागि, आफ्ना छोरा-छोरीहरूका लागि आफ्नो शरीरलाई बोझ बोकाएर र मस्तिष्कलाई यातना दिएर निरन्तर हिँडिरहेका छौ, तर पनि मेरा अभिप्रायको लागि एक जनाले पनि कुनै सरोकार वा चासो राख्दैनौ। तिमीहरूले मबाट अझ पनि प्राप्त गर्न चाहेको त्यस्तो कुरा के हो?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ

तिमीहरूले यत्तिका वर्षसम्म मलाई पछ्याएका छौ, तर अहिलेसम्म मलाई निष्ठाको एक टुक्रा पनि दिएका छैनौ। बरु, तिमीहरू आफूले प्रेम गर्ने मानिस र आफूलाई खुसी बनाउने कुराहरूको वरिपरि घुमिरहन्छौ—यहाँसम्‍म कि हरेक समयमा र तिमीहरू जहाँसुकै जाँदा पनि तिमीहरूले ती कुराहरूलाई आफ्नो हृदयको नजिक राख्छौ र कहिल्यै तिनलाई त्याग्‍दैनौ। जब तिमीहरू आफूले प्रेम गर्ने कुनै पनि कुराप्रति उत्सुक वा उत्साहित हुन्छौ, यस्तो त तिमीहरूले मलाई पछ्याउँदा पनि हुन्छ वा तिमीहरूले मेरा शब्दहरू सुनिरहँदा पनि हुन्छ। त्यसकारण, म भन्छु, मैले तिमीहरूसँग मागेको निष्ठालाई तिमीहरूले आफ्ना “प्रिय वस्तु” हरूप्रति निष्ठावान् हुन र तिनीहरूलाई प्रेमसाथ सम्हाल्न प्रयोग गरिरहेका छौ। तिमीहरूले मेरो लागि एक-दुई ओटा कुरा बलिदान गरे तापनि, यसले तिमीहरूको सबै कुरालाई प्रतिनिधित्व गर्दैन र तिमीहरू साँचो रूपमा मप्रति नै निष्ठावान् छौ भन्‍ने बताउँदैन। तिमीहरूले आफूले चाहेका कुराहरूमा नै आफूलाई संलग्न गराउँछौ; केही मानिसहरू छोरा र छोरीहरूप्रति निष्ठावान् हुन्छन् भने अरूहरूचाहिँ पति, पत्नी, धन, काम, हाकिम, हैसियत वा महिलाहरूप्रति निष्ठावान् हुन्छन्। तिमीहरू आफू निष्ठावान् भएका कुराहरूप्रति कहिल्यै थकित वा क्रोधित बन्दैनौ; बरु, तिमीहरूले बढी मात्रामा र बढी परिमाणमा ती कुराहरू पाउन इच्‍छा गर्छौ र कहिल्यै पनि हरेस खाँदैनौ। म र मेरा वचनहरू जहिले पनि तिमीहरूले चाहेका कुराहरूभन्दा पछाडि धकेलिन्छन्। अनि ती कुराहरूलाई अन्तिम दर्जा दिनु बाहेक तिमीहरूसँग अरू कुनै विकल्प हुँदैन। त्यस्ता व्यक्तिहरू पनि छन् जसले आफूले अहिलेसम्म पत्ता लगाउन बाँकी रहेका कुराहरूका लागि निष्ठावान् हुनको लागि अन्तिम स्थान साँचेर राख्छन्। उनीहरूको हृदयमा मेरो हल्का छाप समेत छैन। तिमीहरूले सोच्छौ होला, मैले तिमीहरूलाई धेरै नै मागिरहेको छु वा तिमीहरूलाई गलत तरिकाले आरोप लगाइरहेको छु—तर के तिमीहरूले आफ्नो परिवारसँग खुसीसाथ समय बिताइरहेको बेला तिमीहरू मप्रति एक पटक पनि निष्ठावान् भएका छैनौ भन्‍ने तथ्यको बारेमा कहिल्यै सोचेका छौ? यस्ता समयहरूमा, के यसले तिमीहरूलाई पीडा दिँदैन? जब तिमीहरूका हृदय आनन्दले भरिन्छ र तिमीहरूलाई तिमीहरूका परिश्रमको इनाम दिइन्छ, के तिमीहरू आफू पर्याप्त सत्यले सुसज्जित नभएकोमा निरुत्साहित महसुस गर्दैनौ? तिमीहरू मेरो स्वीकृति प्राप्त नगर्दा कहिले रोएका छौ? तिमीहरूले आफ्ना छोरा र छोरीहरूको लागि आफ्‍नो दिमाग घोट्छौ र ठूलो पीडा भोग्छौ, तर पनि तिमीहरू सन्तुष्ट छैनौ; अझै पनि तिमीहरू तिनीहरूका खातिर लगनशील भएका छैनौ, तिनीहरूका लागि आफूले गर्न सक्ने सबै कुरा गरेका छैनौ भन्‍ने विश्‍वास गर्छौ। यद्यपि मप्रति भने तिमीहरू सधैँ नै असावधान र लापरवाही भएका छौ; म तिमीहरूको सम्झनामा मात्र छु, तर म तिमीहरूको हृदयमा रहन सक्दिन। मेरा समर्पण र प्रयासहरूलाई तिमीहरूले कहिल्यै अनुभव गरेनौ र तिनलाई कहिल्यै कुनै पनि कदर गरेनौ। तिमीहरू केवल क्षणिक रूपमा तिनको बारेमा विचार गर्छौ र यति नै पर्याप्त हुनेछ भन्‍ने विश्‍वास गर्छौ। यस्तो “निष्ठा” मैले लामो समयदेखि खोजेको निष्ठा होइन, बरु त्यो त मैले लामो समयदेखि घृणा गरेको कुरा हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ कोप्रति निष्ठावान् छस्?

मैले धेरै वचनहरू व्यक्त गरेको छु, र मैले मेरा अभिप्राय र मेरो स्वभाव पनि व्यक्त गरेको छु, तैपनि मानिसहरू मलाई चिन्‍न र मलाई विश्‍वास गर्न अझै पनि असमर्थ छन्। अथवा, यसो भन्‍न सकिन्छ, मानिसहरू अझै पनि मप्रति समर्पित हुन असक्षम छन्। बाइबलभित्र जिउनेहरू, व्यवस्थाभित्र जिउनेहरू, क्रूसमा जिउनेहरू, सिद्धान्तअनुसार जिउनेहरू, आज मैले गर्ने कामको माझमा जिउनेहरू—तिनीहरूमध्ये को मप्रति अनुकूल छन्? तिमीहरू आशिष् र इनामहरू प्राप्त गर्नेबारेमा मात्रै विचार गर्छौ, तर मप्रति वास्तवमा कसरी अनुकूल हुने, वा आफैलाई मविरुद्ध हुनबाट कसरी रोक्‍ने भन्‍नेबारेमा थोरै पनि विचार गरेका छैनौ। म तिमीहरूप्रति धेरै निराश छु, किनभने मैले तिमीहरूलाई धेरै दिएको छु तर तिमीहरूबाट भने मैले अत्यन्तै थोरै पाएको छु। तिमीहरूको छल, तिमीहरूको अहङ्कार, तिमीहरूको लोभ, तिमीहरूको लालची इच्‍छा, तिमीहरूको धोका, तिमीहरूको अवज्ञा—यीमध्ये कुनचाहिँ मेरो नजरबाट उम्कन सक्छ र? तिमीहरू मप्रति मसित झाराटारुवा व्यवहार गर्छौ, तिमीहरूले मलाई ठग्छौ, तिमीहरू मलाई अपमान गर्छौ, तिमीहरू मेरो चापलुसी गर्छौ, तिमीहरू मेरो बलिदानको लागि मलाई करकाप र जबरजस्ती गर्छौ—त्यस किसिमको अनिष्टता कसरी मेरो दण्डबाट उम्कन सक्छ? यी सबै दुष्कर्म मेरो विरुद्ध तिमीहरूको शत्रुताको प्रमाण हो र मप्रति तिमीहरू अनुकूल नभएको प्रमाण हो। तिमीहरू प्रत्येकले मप्रति अनुकूल छु भनी विश्‍वास गर्छौ, तर त्यसो भएको भए त, त्यस किसिमको अकाट्य प्रमाण कसमा लागू हुनेथ्यो र? तिमीहरू आफूमा मप्रति अत्यधिक इमानदारिता र वफादारिता छ भनी विश्‍वास गर्छौ। तिमीहरूलाई आफू अति कृपालु, अति करुणामय भएको, र मलाई अत्यन्तै धेरै कुरा समर्पित गरेको जस्तो लाग्छ। तिमीहरूलाई तिमीहरूले मेरो लागि जति गर्नुपर्ने हो त्योभन्दा बढी नै गरेको जस्तो लाग्छ। तर के तिमीहरूले कहिल्यै यसलाई आफ्ना कार्यहरूसँग तुलना गरेका छौ? म भन्छु, तिमीहरू अत्यन्तै अहङ्कारी, अत्यन्तै लोभी, अत्यन्तै झारातिरुवा छौ; मलाई झुक्याउने तिमीहरूका युक्तिहरू अत्यन्तै चतुर छन्, र तिमीहरूमा प्रशस्तै घृणास्पद अभिप्राय र घृणास्पद विधिहरू छन्। तिमीहरूको बफादारिता अत्यन्तै थोरै छ, तिमीहरूको तत्परता अत्यन्तै नगण्य छ, र तिमीहरूको विवेक झनै कम छ। तिमीहरूको हृदय अत्यन्तै धेरै द्वेष छ, र तिमीहरूको द्वेषबाट कोही पनि उम्कँदैन, म पनि उम्कन सक्दिनँ। आफ्‍नो छोराछोरीको खातिर, वा आफ्‍नो श्रीमानको खातिर, वा आफ्नो आत्मसंरक्षणको खातिर तिमीहरूले मलाई थुन्छौ। मेरो बारेमा वास्ता गर्नुको सट्टा, तिमीहरू आफ्नो परिवार, आफ्‍नो छोराछोरी, आफ्‍नो हैसियत, आफ्‍नो भविष्य, र आफ्‍नो सन्तुष्टिको वास्ता गर्छौ। तिमीहरूले बोल्दा वा काम गर्दा कहिले मेरो बारेमा विचार गरेका छौ? ठन्डीका दिनहरूमा, तिमीहरू आफ्‍नो सन्तान, आफ्‍नो श्रीमान, आफ्‍नी श्रीमती, वा आफ्‍ना आमाबाबुको बारे विचार गर्छौ। गर्मीका दिनहरूमा पनि, तिमीहरूको विचारमा मेरो कुनै स्थान हुँदैन। जब तैँले आफ्‍नो कर्तव्य निभाउँछस्, तैँले आफ्‍नै हितहरू, आफ्‍नै व्यक्तिगत सुरक्षा, आफ्नै परिवारका सदस्यहरूको बारेमा सोचिरहन्छस्। तैँले मेरो लागि कहिले के गरेको छस्? तैँले कहिले मेरो बारेमा विचार गरेको छस्? कहिले तैँले आफूलाई हरहालतमा मेरो लागि र मेरो कामको लागि समर्पित गरेको छस्? मप्रति तेरो अनुकूलताको प्रमाण कहाँ छ? मप्रति तेरो वफादारिताको वास्तविकता कहाँ छ? मप्रति तेरो समर्पणको वास्तविकता कहाँ छ? कहिले तेरा अभिप्रायहरू मेरा आशिषहरू प्राप्त नगर्नको खातिर रहेका छन्? तिमीहरू मलाई झुक्याउँछौ र मलाई धोका दिन्छौ, तिमीहरू सत्यतामाथि खेलबाड गर्छौ, तिमीहरू सत्यताको अस्तित्वलाई लुकाउँछौ, र सत्यताको सारलाई धोका दिन्छौ। यसरी मेरो विरुद्धमा गएर भविष्यमा तिमीहरूलाई केले पर्खिन्छ? तिमीहरू अस्पष्ट परमेश्‍वरप्रतिको अनुकूलता मात्रै खोजी गर्छौ, र अस्पष्ट विश्‍वास मात्रै खोजी गर्छौ, तैपनि तिमीहरू ख्रीष्‍टप्रति अनुकूल छैनौ। के दुष्टले तिमीहरूको अनिष्टताले पनि दुष्टताले पाउनुपर्ने जस्तै प्रतिशोध पैदा गर्नेछैन र? त्यो समयमा, तिमीहरूले ख्रीष्‍टको अनुकूल नरहेको कोही पनि क्रोधको दिनबाट बच्न सक्दैन भन्‍ने महसुस गर्नेछौ, र ख्रीष्‍टको विरुद्धमा खडा हुनेहरूमाथि कस्तो प्रकारको प्रतिशोध आउनेछ भन्‍ने कुरा पत्ता लगाउनेछौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले ख्रीष्‍टसँग अनुकूल हुने मार्ग खोजी गर्नुपर्छ

तिमीहरूको खोजीमा, तिमीहरूसँग अत्यन्तै धेरै धारणा, आशा र भविष्यहरू छन्। अहिलेको काम तिमीहरूको हैसियतको चाहना र असाधारण चाहनाहरूको काटछाँट गर्नको निम्ति हो। आशा, हैसियत र धारणाहरू सबै शैतानिक स्वभावका उत्कृष्ट प्रतिनिधित्वहरू हुन्। शैतानको विषले सधैँ मानिसहरूका विचारहरूलाई नष्ट गर्छ र मानिसहरू शैतानका यी परीक्षाहरूदेखि मुक्त हुन सधैँ असमर्थ छन्, त्यही कारणले नै मानिसहरूका हृदयमा यी कुराहरूको अस्तित्व छ। तिनीहरू पापको माझमा जिउँछन् तापनि यसलाई पाप भनी विश्‍वास गर्दैनन्, तैपनि तिनीहरू सोच्छन्: “हामी परमेश्‍वरमा विश्‍वास गर्छौं, त्यसैले उहाँले हामीलाई आशिष्‌हरू दिनुपर्छ र हाम्रो निम्ति सबै कुरा उचित तवरले व्यवस्था गर्नुपर्छ। हामी परमेश्‍वरमा विश्‍वास गर्छौं, यसैले हामी अरूभन्दा श्रेष्ठ हुनुपर्छ र हाम्रो हैसियत र भविष्य अरूको भन्दा अझ धेरै हुनुपर्छ। हामीले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, उहाँले हामीलाई असीमित आशिष्‌हरू दिनुपर्छ। अन्यथा, यसलाई परमेश्‍वरमाथि गरिने विश्‍वास भनिने थिएन।” धेरै वर्षसम्म, आफ्नो अस्तित्वका निम्ति मानिसहरू भर परेका सोचहरूले तिनीहरूका हृदयलाई यति हदसम्म बिगारेका छन् कि तिनीहरू छली, डरपोक र घृणित बनेका छन्। तिनीहरूमा इच्छाशक्ति र सङ्कल्पको अभाव मात्र नभएर, तिनीहरू लोभी, अहङ्कारी र मनमानी गर्ने पनि भएका छन्। तिनीहरूसँग स्वयम्‌लाई उछिन्‍ने सङ्कल्पको अभाव छ, र त्योभन्दा बढी, यी अँध्यारा प्रभावहरूबाट मुक्त हुने अलिकति पनि साहस तिनीहरूसँग छैन। मानिसहरूका विचार र जीवन यति कुहिएका छन् कि परमेश्‍वरमाथि विश्‍वास गर्ने सम्बन्धमा तिनीहरूका दृष्टिकोणहरू अझ पनि असहनीय रूपले घृणित छन् र त्योभन्दा बढी, जब मानिसहरूले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको सम्बन्धमा आफ्ना दृष्टिकोणहरू राख्छन् त्यो सुन्‍न नसकिने किसिमका हुन्छन्। मानिसहरू सबै डरपोक, अयोग्य, घृणित र कमजोर छन्। अन्धकारका शक्तिहरूप्रति तिनीहरूले घृणाको महसुस गर्दैनन् र तिनीहरू ज्योति र सत्यताप्रति प्रेमको महसुस गर्दैनन्; बरु तिनलाई निष्कासित गर्ने भरमग्दुर प्रयास तिनीहरू गर्छन्। के तिमीहरूका अहिलेका सोच र दृष्टिकोणहरू यस्तै छैनन् र? “मैले परमेश्‍वरमाथि विश्‍वास गर्ने हुनाले ममाथि आशिष्‌हरूको वर्षा हुनुपर्छ र मेरो हैसियत कहिले पनि फुत्केर नगएको होस् र त्यो गैरविश्‍वासीहरूको भन्दा उच्‍च रहनुपर्छ भन्‍ने कुरालाई सुनिश्‍चित गरिनुपर्छ।” तिमीहरूले आफूभित्र त्यस किसिमको दृष्टिकोण केवल एक वा दुई वर्षदेखि मात्र होइन तर धेरै वर्षदेखि राखेका छौ। तिमीहरूको कारोबारी तरिकाको सोचाइ अति विकसित भएको छ। तिमीहरू आज यस चरणमा आइपुगेको भए तापनि तिमीहरूले हैसियतलाई अझ पनि छाडेका छैनौ तर एक दिन तिमीहरूको हैसियत गुम्‍नेछ र तिमीहरूको नाम नष्ट हुनेछ भन्‍ने गहिरो डरको साथ यसको बारेमा निरन्तर सोधपुछ गर्नमा सङ्घर्ष गर्छौ र दिनहुँ यसको अवलोकन गर्छौ। मानिसहरूले सहजता प्रतिको आफ्नो चाहनालाई कहिल्यै पन्छाएका छैनन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?

मेरो पिठिउँ पछाडि धेरै जना मानिसहरू सामाजिक प्रतिष्ठाका लाभहरू पाउने लालसा गर्छन्, तिनीहरू घाँटीसम्म आउने गरी खान्छन्, तिनीहरू सुत्न मन पराउँछन् र देहमा पूरा ध्यान दिन्छन्, देहको लागि कुनै उपाय छैन भनी सधैँ डराउँछन्। तिनीहरू मण्डलीमा आफूले गर्नुपर्ने उचित काम गर्दैनन्, तर मण्डलीको उदारताको फाइदा उठाउँछन्, वा कि त तिनीहरूका दाजुभाइ र दिदी-बहिनीहरूलाई मेरा वचनहरूद्वारा हप्काउँछन्, अधिकारका स्थानहरूमा बसेर अरूलाई बन्धनमा राख्छन्। यस्ता मानिसहरू आफूले परमेश्‍वरको इच्छा पछ्याइरहेका छौं भन्छन्—र तिनीहरू परमेश्‍वरका घनिष्ठ मानिसहरू हुन् भनी सधैँ भन्‍ने गर्छन्—के यो हास्यास्पद कुरा होइन त? यदि तेरो मनसायहरू सही छन् तापनि परमेश्‍वरका अभिप्रायहरूअनुसार सेवा गर्न सक्दैनस् भने तँ मूर्ख बन्दैछस्; तर यदि तेरो मनसायहरू सही छैनन् भने र पनि परमेश्‍वरको सेवा गर्दै छस् भन्छस् भने तँ त्यस्तो व्यक्ति हो जसले परमेश्‍वरको विरोध गर्छ, र तैँले परमेश्‍वरबाट दण्ड पाउनुपर्छ। त्यस्ता मानिसहरूप्रति मेरो कुनै सहानुभूति छैन। परमेश्‍वरको भवनमा तिनीहरू सित्तैँमा फाइदा उठाउँछन्, सधैँ देहको आराम-सुविधाको लालसा गर्छन्, अनि परमेश्‍वरको चासोका कुराहरूमा कुनै ध्यान दिँदैनन्। तिनीहरू सधैँ आफ्नो निम्ति जे असल छ त्यसैको मात्र खोजी गर्छन्, अनि तिनीहरूले परमेश्‍वरका अभिप्रायहरूलाई कुनै ध्यान दिँदैनन्। तिनीहरूले आफूले गरेको कुनै पनि कार्यमा परमेश्‍वरका आत्माले गर्नुहुने सूक्ष्म जाँचलाई स्वीकार गर्दैनन्। तिनीहरू सधैँ कुटिल बन्छन् र सधैँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग छली र धोकेबाज व्यवहार गर्छन्, दाखबारीमा आउने चतुर स्याल जस्तो भएर तिनीहरू अङ्गुर चोर्छन् र दाखबारी कुल्चीमिल्ची गर्छन्। के त्यस्ता मानिसहरू परमेश्‍वरसित घनिष्ठ हुन सक्छन्? के तँ परमेश्‍वरका आशिषहरू पाउने योग्यको छस्? तैँले आफ्नै जीवन र मण्डलीको निम्ति कुनै बोझ उठाउँदैनस्, के तँ परमेश्‍वरको आज्ञा पाउने योग्यको छस्? तँजस्तो व्यक्तिलाई भरोसा गर्ने आँट कसले गर्ला? जब तैँले यसरी सेवा गर्छस् के परमेश्‍वरले तँलाई अझ ठूला कामहरू सुम्पनुहुन्छ होला? के त्यसले काम अझ ढिलो गराउँदैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरका अभिप्रायहरू अनुसार कसरी सेवा गर्ने

अरूसँग शङ्का नगर्नेहरूसँग म खुशी हुन्छु, र सजिलैसँग सत्य स्वीकार्नेहरूलाई म मन पराउँछु; यी दुई प्रकारका मानिसहरूलाई म धेरै वास्ता गर्छु, किनकि तिनीहरू मेरो नजरमा इमानदार मानिसहरू हुन्। यदि तँ छली छस् भने, तँ सबै मानिस र विषयहरूप्रति सतर्क बन्नेछस् र शङ्कालु बन्नेछस्, यसैले मप्रतिको तेरो विश्‍वास शङ्काको जगमाथि निर्माण हुनेछ। त्यस्तो विश्‍वासलाई म कहिल्यै स्विकार्न सक्दिनँ। साँचो विश्‍वासको अभावमा, तिमीहरू अझ बढी साँचो प्रेमरहित बन्छौ। र यदि तँ परमेश्‍वरलाई शङ्का गर्न जिम्‍मेवार छस् र जानी-जानी उहाँको बारेमा अनुमान गर्छस् भने निस्सन्देह तँ सबै मानिसहरूमध्ये सबैभन्दा छली होस्। तँ परमेश्‍वर मानिसजस्तो हुन सक्नुहुन्छ कि सक्‍नुहुन्‍न भनेर अनुमान लगाउँछस्: क्षमा गर्नै नसकिने पापी, क्षुद्र चरित्र भएको, निष्पक्षता र विवेकरहित, न्यायको भावना नभएको, हिंस्रक युक्तिमा लागेको, छलपूर्ण र धूर्त, दुष्ट र अन्धकारद्वारा प्रसन्न, र यस्तै अरू। के मानिसहरूमा परमेश्‍वरको अलिकति पनि ज्ञान नभएको कारण तिनीहरूमा यस्ता विचारहरू आएका होइनन् र? त्यस्तो विश्‍वास पापभन्दा कम होइन! केही यस्ता व्यक्तिहरू पनि छन्, जसले मलाई प्रसन्न तुल्याउनेहरू चापलुसी गर्ने र चिप्लो घस्नेहरू हुन्, अनि त्यस्ता सीपको अभाव हुनेहरूलाई परमेश्‍वरको भवनमा स्वागत गरिँदैन र तिनीहरूले त्यहाँ आफ्नो स्थान गुमाउनेछन् भनी विश्‍वास गर्छन्। यतिका वर्षहरूमा तिमीहरूले प्राप्त गरेको ज्ञान के यही मात्र हो? के तिमीहरूले प्राप्त गरेको यही नै हो? अनि मेरो बारेमा तिमीहरूको ज्ञान यी भ्रमहरूमा रोकिँदैन; अनि त्योभन्दा अझ नराम्रो तिमीहरूले गरेका परमेश्‍वरका आत्माको निन्दा र स्वर्गको बदनाम हो। यसैले म भन्छु, कि तिमीहरूको जस्तो विश्‍वासले तिमीहरूलाई मबाट अझ टाढा बनाउँछ र मेरो विरुद्धमा अझ ठूलो विरोधी बनाउँछ। धेरै वर्ष कामको अवधिमा तिमीहरूले धेरै सत्यहरू देख्यौ, तर मेरा कानले के सुनेको छ के तिमीहरूलाई थाहा छ? तिमीहरूमध्ये कति जना सत्यलाई स्वीकार्न इच्छुक छौ? तिमीहरू सबै जना सत्यका निम्ति मूल्य चुकाउन तयार छौ भनी विश्‍वास गर्दछौ, तर तिमीहरूमध्ये कति जनाले सत्यका लागि साँच्चै दुःख भोगेका छौ? तिमीहरूका हृदयमा अधार्मिकता सिवाय केही छैन, जसको कारण मानिसहरू जो भए पनि सबै जना एकसमान रूपमा छली र कुटिल छन् भनी तिमीहरू सोच्छौ—यसको हद यति छ कि तिमीहरू यो समेत विश्‍वास गर्छौ, कि देहधारी परमेश्‍वर एक सामान्य मानिसजस्तै दयालु हृदयरहित वा दयालु प्रेमरहित हुन सक्‍नुहुन्छ। त्योभन्दा बढी, तिमीहरू महान् चरित्र र कृपालु, परोपकारी स्वभाव स्वर्गमा हुनुहुने परमेश्‍वरको मात्र छ भनी विश्‍वास गर्दछौ। तिमीहरू विश्‍वास गर्दछौ, कि त्यस्तो सन्त अस्तित्वमा छैन, पृथ्वीमा अन्धकार र दुष्टले मात्र शासन गर्दछ, जब कि परमेश्‍वर यस्तो व्यक्ति हुनुहुन्छ, जसको साथमा मानिसहरूले आफ्नो भलाइ र सुन्दरताको चाहना सुम्पिन्छन्, उनीहरूले बनाएका कल्पित व्यक्तित्व हुनुहुन्छ। तिमीहरूको मनमा स्वर्गका परमेश्‍वर उच्च, धर्मी र महान्, आराधना र प्रशंसाका योग्य हुनुहुन्छ भने अहिले पृथ्वीमा हुनुहुने यो परमेश्‍वर स्वर्गका परमेश्‍वरको एक प्रतिस्थापन, एक साधन हुन्। तिमीहरू यो परमेश्‍वर स्वर्गका परमेश्‍वरको बराबर हुन सक्‍नुहुन्‍न भनी विश्‍वास गर्छौ, उहाँको जस्तो सास छ भनी उल्लेख गर्ने कुरा त परै जाओस्। जब परमेश्‍वरको महानता र सम्मानको कुरा आउँछ, यी स्वर्गमा हुनुहुने परमेश्‍वरको महिमाका हुन्, तर जब मानिसको स्वभाव र भ्रष्टताको कुरा आउँछ, ती त्यस्ता गुणहरू हुन्, जसमा पृथ्वीमा हुनुहुने परमेश्‍वरको हिस्सा छ। स्वर्गमा हुनुहुने परमेश्‍वर सदाका लागि उच्च हुनुहुन्छ, जब कि पृथ्वीमा हुनुहुने परमेश्‍वर सदाको लागि महत्त्वहीन, कमजोर र अयोग्य हुनुहुन्छ। स्वर्गका परमेश्‍वर दैहिक भावनाहरूमा होइन, धार्मिकतामा मात्र चल्नुहुन्छ, जब कि पृथ्वीका परमेश्‍वरसँग स्वार्थी उद्देश्यहरू मात्र छन् र उहाँसँग निष्पक्षता वा कारण छैन। स्वर्गका परमेश्‍वर अलिकति पनि कुटिल हुनुहुन्‍न र सधैँ विश्‍वासयोग्य हुनुहुन्छ, जब कि संसारका परमेश्‍वरसित सधैँ एउटा गैर-इमानदार पक्ष छ। स्वर्गका परमेश्‍वरले मानिसलाई धेरै प्रेम गर्नुहुन्छ, जब कि पृथ्वीका परमेश्‍वरले मानिसलाई अपर्याप्त वास्ता देखाउनुहुन्छ, यहाँसम्म कि, उहाँले आफैलाई पूर्ण रूपमा बेवास्ता समेत गर्नुहुन्छ। यो भ्रमपूर्ण ज्ञान लामो समयदेखि तिमीहरूको हृदयमा रहिआएको छ र भविष्यमा पनि यो स्थायी नै हुन सक्छ। तिमीहरू ख्रीष्टका सबै कामहरूलाई अधर्मीहरूको नजरबाट हेर्छौ र उहाँका सबै काम, साथै उहाँको पहिचान र सारलाई दियाबलसको दृष्टिकोणबाट मूल्याङ्कन गर्छौ। तिमीहरूले गम्भीर गल्ती गऱ्यौ र जुन तिमीहरूभन्दा अघि आउनेहरूले कहिल्यै गरेनन्। अर्थात्, तिमीहरू शिरमा मुकुट लगाउने स्वर्गमा हुनुहुने उच्च परमेश्‍वरको मात्र सेवा गर्दछौ, र त्यस परमेश्‍वरको सामु कहिल्यै जाँदैनौ, जसलाई तिमीहरू यति तुच्छ ठान्छौ कि उहाँ तिमीहरूका निम्ति अदृश्य हुनुहुन्छ। के यो तिमीहरूको पाप होइन? के यो परमेश्‍वरको स्वभाव विरुद्धको तिमीहरूको उल्‍लङ्घनको उत्कृष्ट उदाहरण होइन र? तिमीहरू स्वर्गमा हुनुहुने परमेश्‍वरको आराधना गर्दछौ। तिमीहरू उच्च मूर्तिहरूको आराधना गर्दछौ र विशिष्ट व्यक्तिहरूलाई तिनीहरूका वाक्पटुताका निम्ति सम्मान गर्दछौ। तेरा हातहरू धन-सम्पत्तिले भरिदिनुहुने परमेश्‍वरका आज्ञाहरूलाई तँ खुशीसाथ स्वीकार गर्छस्, र तँ त्यस परमेश्‍वरको चाहना गर्छस्, जसले तेरा प्रत्येक चाहना पूरा गर्नुहुन्छ। तैँले आराधना नगर्ने एउटै मात्र परमेश्‍वर हुनुहुन्छ, जो उच्च हुनुहुन्‍न; तिमीहरू यो परमेश्‍वरसँग सम्बन्ध राख्नुलाई मात्र घृणास्पद ठान्छौ, जसलाई कुनै पनि मानिसले उच्च सम्मान गर्न सक्दैन। तँ यो परमेश्‍वरको मात्र सेवा गर्न अनिच्छुक हुन्छस्, जसले तँलाई एक पैसा पनि दिनुभएको छैन, अनि तँलाई उहाँको चाहना गर्ने बनाउन नसक्‍ने एक मात्र व्यक्ति यही अप्रिय परमेश्‍वर हुनुहुन्छ। यो परमेश्‍वरले तँलाई आफ्‍ना क्षेत्रहरूलाई विस्तार गर्न, तँलाई सम्पत्ति पाएको जस्तो महसुस गराउन सक्‍नुहुन्‍न, तिमीहरूले इच्छा गरेका कुरा पूरा गर्नु त परै जाओस्। त्यसो भए तँ उहाँको पछि किन लाग्छस्? के तैँले यस्ता प्रश्नहरूमाथि विचार गरेको छस्? तैँले गर्ने कामले यस ख्रीष्टलाई मात्र चिढ्याउँदैन; सबैभन्दा महत्त्वपूर्ण कुरा, त्यसले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई चिढ्याउँछ। मेरो विचारमा, परमेश्‍वरमा भएको तिमीहरूको विश्‍वासको उद्देश्य यो होइन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई कसरी चिन्ने

धेरै मानिसहरू इमानदारीपूर्वक बोल्न र कार्य गर्नुभन्दा बरु दण्डित भई नर्क जान रुचाउँछन्। बेइमानहरूका निम्ति भण्डारमा मसँग अर्कै इलाज छ भन्‍ने कुरा त्यत्ति आश्‍चर्यपूर्ण कुरा होइन। अवश्य पनि, तिमीहरूलाई इमानदार हुन कति गाह्रो छ भन्‍ने कुरा म राम्ररी जान्दछु। तिमीहरू सबै यति चलाख भएका छौ र मानिसहरूलाई आफ्नै तुच्छ मापदण्डले मापन गर्न एकदमै सिपालु भएका छौ, त्यसैले, यसले मेरो कार्यलाई अझ सरल बनाउँछ। अनि तिमीहरू प्रत्येकले आ-आफ्ना गोप्य कुराहरू छातीमा टाँसेर राखेको हुनाले, म तिमीहरूलाई अग्निमार्फत “शिक्षा दिन” एक-एक गर्दै विपदमा पार्नेछु ताकि तत्पश्चात् मेरा वचनहरूमाथिको तिमीहरूको विश्‍वासमा तिमीहरू दृढ हुन सक्छौ। अन्त्यमा, म तिमीहरूको मुखबाट “परमेश्‍वर विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ” भन्‍ने शब्दहरू खोस्नेछु र त्यसपछि तिमीहरू आफ्ना छाती पिट्दै र “मानिसको हृदय छली हुन्छ!” भन्दै विलाप गर्नेछौ। यो बेला तिमीहरूको मनस्थिति कस्तो होला? मलाई लाग्छ, तिमीहरू अहिलेको जति विजयी हुनेछैनौ र आजभन्दा एकदमै कम “गहन र दुर्बोध” हुनेछौ। परमेश्‍वरको उपस्थितिमा, केही मानिसहरू पूर्ण रूपमा स्वच्छ र सही हुन्छन्, उनीहरू “शिष्ट” हुनको लागि कोसिस गर्छन्, तर उनीहरूले आत्माको उपस्थितिमा आफ्ना दाँतहरू देखाउँछन् र नङ्ग्राहरू फिँजाउँछन्। के तिमीहरू त्यस्ता मानिसहरूलाई इमानदार व्यक्तिहरूको रूपमा गणना गर्छौ? यदि तिमीहरू “अन्तर वैयक्तिक सम्बन्धहरू” मा पोख्त भएको पाखण्डी हौ भने म त भन्छु तिमीहरू पक्कै पनि परमेश्‍वरसँग तुच्छ व्यवहार गर्न प्रयास गर्ने व्यक्तिहरू हौ। यदि तिमीहरूका शब्दहरू बहानाहरू र मूल्यहीन औचित्यहरूले भरिएका छन् भने म भन्छु तिमीहरू सत्यतालाई अभ्यास गर्न नरुचाउने व्यक्तिहरू हौ। यदि तँसँग तैँले बाँड्न नचाहने धेरै गोप्य कुराहरू छन् भने, यदि तँ ज्योतिको मार्ग खोजी गर्नका लागि आफ्ना गोप्य कुराहरू—आफ्ना अप्ठ्याराहरू—लाई अन्य व्यक्तिहरू समक्ष ल्याउन अत्यन्तै अनिच्छुक छस् भने, म भन्छु तँ सजिलैसँग मुक्ति नपाउने र सजिलैसँग अँध्यारोबाट बाहिर नआउने व्यक्ति होस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तीन अर्तीहरू

मानिसले पीडाबीच मलाई खोज्छ, र परीक्षाहरूबीच उसले मलाई हेर्दछ। शान्तिको समयमा उसले ममा आनन्द गर्दछ, जब जोखिममा हुन्छ उसले मलाई इन्कार गर्छ, ऊ व्यस्त हुँदा मलाई भुल्छ र जब ऊ खाली हुन्छ, मेरो निम्ति केही काम गरेको जस्तो गर्छ—तापनि कसैले मलाई आफ्नो जीवनभरि प्रेम गरेको छैन। मानिस मेरो सामने गम्भीर होस् भन्‍ने म चाहन्छु: उसले मलाई केही कुरा देओस् भनी म माग गर्दिनँ, तर तिनीहरूले मलाई गम्‍भीर रूपमा लिऊन्, तिनीहरूले मलाई फुस्ल्याउन छोडेर बरु मलाई मानिसको इमानदारीता फर्काएर ल्याउन देऊन्। मेरो अन्तर्दृष्टि, प्रकाश, र प्रयासको मूल्य सबै मानिसमा व्याप्त छ, यद्यपि मानिसको प्रत्येक कामको वास्तविक तथ्य तिनीहरूले मलाई गरेको छलजस्तै सबै मानिसमा व्याप्त छ। मानौं, मानिसको छलकपटका तत्त्वहरू गर्भदेखि नै ऊसँगै रहेको छ, मानौं, छलकपटका यी विशेष सीपहरू ऊसँग जन्मदेखि नै छन्। यसबाहेक, उसले आफ्‍नो रहस्यलाई कहिल्यै प्रकट गरेको छैन; यी कपटपूर्ण सीपहरूको स्रोतलाई कसैले कहिल्यै देखेको छैन। फलस्वरूप, मानिस आफूले थाहै नपाई छलकपटमा बाँचिरहेको छ, र यस्तो लाग्छ, मानौं उसले आफैलाई क्षमा गर्दछ, मानौं यो उसले जानी-जानी मसँग गरेको छल नभएर परमेश्‍वरको प्रबन्ध हो। के मानिसले मसँग गरेको छलको स्रोत यही होइन र? के यो उसको चलाकी होइन र? मानिसको चापलुसी र छलपूर्ण कुराद्वारा म कहिल्यै पनि लट्ठ भएको छैनँ, किनकि मैले धेरैअघि नै उसको वास्तविक गुण पत्ता लगाएको थिएँ। उसको रगतमा कति धेरै अशुद्धता छ, र उसको हड्डीको मासीमा शैतानको कति धेरै विष छ भन्‍ने कसलाई के थाहा? प्रत्येक दिन बित्दै जाँदा मानिसलाई अझ बढी यसमा बानी पर्दै जान्छ, यहाँसम्म कि शैतानले पुऱ्याएको हानि समेत उसले महसुस गर्दैन, र “स्वस्थ अस्तित्वको कला” पत्ता लगाउन उसले कुनै चासो राख्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २१

तिमीहरूको विश्‍वास अत्यन्तै सुन्दर छ; तिमीहरू मेरो कामको खातिर आफ्नो सम्पूर्ण जीवनकाल समर्पित गर्न र यसको खातिर आफ्नो जीवन बलिदान गर्न इच्छुक छौ भनेर भन्छौ, तर तिमीहरूका स्वभावचाहिँ त्यति धेरै बदलिएको छैन। तिमीहरूको वास्तविक व्यवहार एकदमै नीच छ, तैपनि तिमीहरू केवल अहङ्कारका साथ बोल्छौ। यो त मानिसहरूको जिब्रो र ओठहरू स्वर्गमा भएको तर पाउहरूचाहिँ धर्तीमा रहेको जस्तो भयो, जसको फलस्वरूप तिनीहरूका बोलीवचन र कर्महरू अनि तिनीहरूको मानमर्यादा अझै पनि खण्डहर र बरबादीमै छन्। तिमीहरूको मानमर्यादा नाश भएको छ, तिमीहरूको तौरतरिका भ्रष्ट बनेको छ, तिमीहरूको बोल्ने शैली तुच्छ छ र तिमीहरूको जीवन घृणास्पद छ; तिमीहरूको सम्पूर्ण मानवतासमेत तुच्छताको तल्लो बिन्दुमा डुबेको छ। तिमीहरू अन्य व्यक्तिहरूप्रति सङ्कीर्ण छौ र तिमीहरू हर तुच्छ कुरामा बखेडा झिक्छौ। तिमीहरू आफ्नै मानमर्यादा र हैसियतको विषयलाई लिएर यति हदसम्म झगडा गर्छौ कि तिमीहरू नर्क र अग्‍निकुण्डमा जाकिन पनि इच्छुक हुन्छौ। तिमीहरू पापी छौ भनी निर्क्योल गर्नको लागि मलाई तिमीहरूका वर्तमान बोलीवचन र कर्महरू नै काफी छन्। मलाई तिमीहरू अधर्मीहरू हौ भनी निर्क्योल गर्नको लागि मेरो कामप्रतिको तिमीहरूका मनोवृत्ति नै काफी छन् र तिमीहरू सबै द्वेषले भरिपूर्ण फोहोरी प्राणहरू हौ भनी देखाउनको लागि तिमीहरूका सारा स्वभावहरू नै काफी छन्। तिमीहरू अशुद्ध आत्माहरूको रगत अघाउन्जेल पिएका व्यक्तिहरू हौ भनी भन्‍नको लागि मलाई तिमीहरूको प्रकटीकरण र तिमीहरूले देखाउने कुराहरू नै पर्याप्त छन्। जब राज्यमा प्रवेश गर्ने कुरा गरिन्छ, तब तिमीहरूले आफ्ना भावनाहरू प्रकट गर्दैनौ। के तिमीहरू स्वर्गको मेरो राज्यको प्रवेशद्वारबाट छिर्नको लागि अहिले तिमीहरू जे-जस्तो छौ त्यो नै काफी छ भनेर विश्‍वास गर्छौ? के तिमीहरू मैले तिमीहरूका बोलीवचन र कर्महरूलाई पहिले जाँच नगरीकनै मेरो काम र वचनहरूको पवित्रस्थलमा तिमीहरूले प्रवेश प्राप्त गर्न सक्छौ भनी विश्‍वास गर्छौ? कसले मेरो आँखामा पर्दा टाङ्न सक्छ? तिमीहरूका घृणास्पद, तुच्छ व्यवहार र कुराकानीहरू मेरो नजरबाट कसरी बच्न सक्छन्? मैले तिमीहरूका जीवनलाई ती अशुद्ध आत्माहरूका रगत र मासु खाने जीवन भनी निर्धारण गरेको छु किनभने तिमीहरूले हरेक दिन मेरो अगाडि तिनीहरूको नक्‍कल गर्छौ। मेरो अगाडि, तिमीहरूको व्यवहार विशेष रूपमै खराब रहेको छ, अनि मैले तिमीहरूलाई कसरी घिनलाग्दो पाउँदिनथेँ र? तिमीहरूका शब्दहरूमा अशुद्ध आत्माहरूका अशुद्धताहरू छन्: तिमीहरू जादूगरी गर्नेहरू र छलकपट गर्ने अनि अधर्मीहरूको रगत पिउनेहरूले जस्तै चापलुसी गर्छौ, कुरा लुकाउँछौ र झूटो तारिफ गर्छौ। मानिसका सबै अभिव्यक्तिहरू अधर्मी छन्, अनि कसरी धर्मीहरू रहेको पवित्रस्थलमा सबै मानिसहरूलाई राख्‍न सकिन्छ? के तँ तेरा घिनलाग्दा व्यवहारहरूले तँलाई ती अधर्मीहरूको तुलनामा पवित्र भनी छुट्याउँछ भनी सोच्छस्? आखिरमा तेरो सर्पजस्तो जिब्रोले विनाश र द्वेष मच्‍चाउने तेरो देहलाई बरबाद पार्नेछ र अशुद्ध आत्माका रगतमा लतपत तेरा हातहरूले पनि आखिरमा तेरो आत्मालाई नर्कतिर तानेर लैजानेछन्। अनि किन तैँले फोहोरमा लतपत तेरा हातहरू धुने यो मौकाको फाइदा उठाउँदैनस्? किन तैँले अधर्मी शब्दहरू बोल्ने तेरो जिब्रो काटेर फाल्ने यो अवसरको सदुपयोग गर्दैनस्? के तँ तेरा हातहरू, जिब्रो र ओठहरूको लागि नर्कका ज्वालाहरूमा पीडा भोग्‍न इच्छुक भएकोले यस्तो भएको हो? म हरेक व्यक्तिको हृदयलाई मेरा दुवै आँखाहरू लगाई हेर्छु, किनभने मैले मानवजाति सृजना गर्नुभन्दा धेरैअघि मैले तिनीहरूको हृदयलाई मेरा हातहरूमा लिएको थिएँ। मैले धेरैअघि मानिसहरूको हृदयलाई हेरेको छु, अनि कसरी तिनीहरूको सोच मेरो दृष्टिबाट बच्न सक्छन् र? तिनीहरू मेरो आत्माद्वारा जल्नबाट बच्नलाई कसरी धेरै ढीला भइसकेको नहोला र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरू चरित्रमा अति नै तुच्छ छौ!

तेरा ओठहरू ढुकुरहरूभन्दा दयालु छन्, तर तेरो हृदयचाहिँ प्राचीन सर्पभन्दा पनि कुटिल छ। तेरा ओठहरू लेबनानी स्‍त्रीहरूभन्दा पनि सुन्दर छन्, तैपनि तेरो हृदय तिनीहरूको हृदयभन्दा दयालु छैन र कनानीहरूको सौन्दर्यसँग त यसको तुलना हुनै सक्दैन। तेरो हृदय अत्यन्तै छली छ! मैले घृणा गर्ने कुराहरू भनेका अधर्मीहरूका ओठहरू र तिनीहरूका हृदयहरू मात्रै हुन्, अनि मानिसहरूको लागि मेरा आवश्यक मापदण्डहरू मैले सन्तहरूबाट जे अपेक्षा गर्छु त्योभन्दा बिलकुलै उच्‍च छैनन्; यति मात्र हो कि म अधर्मीहरूको दुष्कर्मप्रति घृणा महसुस गर्छु, र म आशा गर्छु, तिनीहरू आफ्नो फोहोरीपन फाल्न र आफ्नो वर्तमान दुर्दशाबाट बच्न सफल होऊन् ताकि तिनीहरू अधर्मीहरूभन्दा अलग र राम्रा देखिन अनि धर्मीहरूसँग पवित्र भई साथै जिउन सकून्। म जस्तो परिस्थितिमा छु तिमीहरू पनि त्यस्तै परिस्थितिमा छौ, तैपनि तिमीहरू फोहोरमा लतपत भएका छौं; सुरुवातमा सृष्टि गरिएका मानिसहरूको मूल स्वरूप तिमीहरूमा अलिकति पनि छैन। अझ भन्‍ने हो भने, तिमीहरूले हरेक दिन अशुद्ध आत्माहरूको स्वरूप नक्‍कल गर्दै तिनीहरूले जे गर्छन् त्यही गर्ने र तिनीहरूले जे भन्छन् त्यही भन्‍ने भएकोले, तिमीहरूका सबै अङ्गहरू—तिमीहरूको जिब्रो र ओठहरूसमेत—गन्हाउने पानीमा यति हदसम्म भिजेका छन् कि तिमीहरूलाई सम्पूर्ण रूपमा दाग र धब्बाले ढाकेको छ र तिमीहरूको एउटा अङ्ग पनि मेरो कार्यको लागि प्रयोग गर्न सकिँदैन। यो एकदमै हृदय विदारक छ! तिमीहरू घोडा र चौपायाहरूको यस्तो संसारमा जिउँछौ, तैपनि तिमीहरूले वास्तवमै आफू समस्यामा भएको महसुस गर्दैनौ; तिमीहरू खुशीले भरिपूर्ण छौ अनि स्वतन्त्र र सहज रूपले जिउँछौ। तिमीहरू गन्हाउने पानीमा यताउता पौडिरहेका छौ, तैपनि तिमीहरूले आफूहरू यस्तो दुर्दशामा खसेका छौं भनी वास्तवमै महसुस गर्दैनौ। हरेक दिन तिमीहरू अशुद्ध आत्माहरूसँग समय बिताउँछौ र “आची” सँग खेल्छौ। तिमीहरूका जीवन निकै असभ्य छ, तैपनि तिमीहरूलाई मानव संसारमा आफूहरू बिलकुलै पनि अस्तित्वमा नभएको एवं आफू आफ्नै काबूमा नभएको कुरा वास्तवमै थाहा छैन। के तँलाई तेरो जीवन धेरै पहिले नै ती अशुद्ध आत्माहरूद्वारा कुल्चिइसकिएको छ वा तेरो चरित्र धेरै पहिले नै गन्हाउने पानीद्वारा दूषित भइसकेको छ भन्‍ने थाहा छैन? के तैँले आफू सांसारिक स्वर्गमा बाँचिरहेको र खुसीयालीमाझ रमाइरहेको छु भन्‍ने ठान्छस्? के तँलाई आफू अशुद्ध आत्माहरूको साथमा जीवन बाँचेको र तिनीहरूले तेरो लागि तयार गरेका सबै कुराहरूसँग सह-अस्तित्वमा रहेको कुरा थाहा छैन? तैँले जिउने शैलीको कसरी कुनै अर्थ हुन सक्छ र? कसरी तेरो जीवनको कुनै मूल्य हुन सक्छ र? तँ तेरा बुबाआमाहरू, अशुद्ध आत्माका बुबाआमाहरूको लागि यताउता दौडधूप गर्दै आएको छस्, तैपनि तँलाई थाहै छैन कि तँलाई फन्दामा पार्ने भनेका ती अशुद्ध आत्माका बुबाआमाहरू नै हुन् जसले तँलाई जन्म दिए र हुर्काए। यसअलावा, तेरा ती सबै फोहोरी कुराहरू वास्तवमा तँलाई तिनीहरूले नै दिएका हुन् भन्‍ने पनि थाहा छैन; तँलाई थाहा भएको एउटै कुरा के हो भने, तिनीहरूले तँलाई “आनन्द” उपलब्ध गराइदिन्छन्, तिनीहरूले तँलाई सजाय दिँदैनन्, तिनीहरूले तेरो न्याय पनि गर्दैनन्, र तिनीहरूले विशेष गरी तँलाई श्राप दिँदैनन्। तिनीहरू कहिल्यै पनि तेरो अघि रिसले चूर भएका छैनन्, बरु तिनीहरूले तँलाई स्‍नेह र दयाको साथ व्यवहार गर्छन्। तिनीहरूका शब्दहरूले तेरो हृदयलाई पोषण दिन्छन् र तँलाई मोहित पार्छन्, जसले गर्दा तँ भ्रमित बनेर तैँले महसुसै नगरी तँ फस्दै जान्छस् र तिनीहरूलाई सेवा दिन इच्छुक बन्छस्, र तिनीहरूको निकास र सेवक बन्छस्। तँसित कुनै गुनासाहरू हुँदैनन्, बरु तँ उनीहरूका लागि कुकुर र घोडाहरूझैं काम गर्न इच्छुक हुन्छस्; तँ तिनीहरूको बहकाउमा पर्छस्। यसकारण, मैले गर्ने कामप्रति तेरो बिलकुल कुनै प्रतिक्रिया हुँदैन। अवश्य नै तँ सधैँ गुप्त रूपले मेरा औँलाहरूको बीचबाट लुसुक्‍क भाग्‍न चाहन्छस् र तैँले मबाट धोकापूर्वक निगाह पाउनको लागि सधैँ मीठामीठा शब्दहरू प्रयोग गर्नु स्वभाविकै हो। पछि थाहा हुँदा, तँसँग पहिले नै अन्य योजना, अन्य बन्दोबस्त हुन्छ। तैँले सर्वशक्तिमान्‌को रूपमा मैले गरेका मेरा कार्यहरूको केही अंश देख्‍न सक्छस्, तर तँलाई मेरो न्याय र सजायको बारेमा अलिकति पनि ज्ञान छैन। तँलाई मेरो सजायको काम कहिले सुरु भयो, केही थाहा छैन; तँलाई कसरी मलाई ठग्‍ने भन्‍ने मात्र थाहा छ—म मानिसको कुनै पनि उल्लङ्घन सहन्‍नँ भन्‍ने तँलाई थाहा छैन। तैँले पहिले नै मलाई सेवा गर्ने संकल्प गरेको हुनाले, म तँलाई जान दिन्‍नँ। म दुष्टतालाई घृणा गर्ने परमेश्‍वर हुँ र म मानवताप्रति ईर्ष्या गर्ने परमेश्‍वर हुँ। तैँले तेरा वचनहरूलाई यसअघि नै वेदीमा चढाइसकेको हुनाले, मेरा आँखाअघिबाट तँ भागेको म सहन्‍नँ, न त म तैँले दुई जना मालिकलाई सेवा गरेको नै सहन्छु। के तँ तेरा वचनहरू मेरो वेदीमा र मेरा आँखैअघि चढाइसकेपछि, तँसँग दोस्रो प्रेम हुन सक्छ भन्‍ने ठान्छस्? कसरी मैले मानिसहरूलाई त्यस प्रकारले म आफैलाई मूर्ख बनाउन दिन सक्छु? के तँ तेरो जिब्रोले यत्तिकै लापरवाही रूपमा भाकल गर्न र शपथ लिन सक्छु भन्‍ने ठान्छस्? तैँले कसरी मेरो सिंहासनअगाडि, सर्वोच्‍च स्वयम्‌को सिंहासनअगाडि शपथ लिन सक्छस्? के तैँले तेरा शपथहरू यसअघि नै समाप्त भइसके भन्‍ने ठानेको थिइस्? म तिमीहरूलाई भन्छु: तिमीहरूको देह मरेर गए पनि, तिमीहरूको शपथ मर्दैन। अन्त्यमा, म तिमीहरूलाई तिमीहरूका शपथहरूको आधारमा दोषी ठहराउनेछु। तथापि, तिमीहरूले आफ्ना वचनहरू मेरो अघि राखेर मसँग लापरवाह व्यवहार गर्न सक्छौ र तिमीहरूका हृदयले अशुद्ध आत्मा र दुष्ट आत्माहरूको सेवा गर्न सक्छन् भन्‍ने विश्‍वास गर्छौ। कसरी मेरो क्रोधले मलाई ठग्‍ने त्यस्ता कुकुरजस्ता, सुँगुरजस्ता मानिसहरूलाई सहन सक्छ? मैले मेरा प्रशासनिक आदेशहरू लागू गर्नैपर्छ र अशुद्ध आत्माहरूका हातबाट मैले ममाथि विश्‍वास गर्ने ती सबै सङ्कुचित, “धर्मी” व्यक्तिहरूलाई खोसेर लिनैपर्छ ताकि तिनीहरू अनुशासनपूर्ण ढाँचामा मेरो “सेवामा उभिऊन्”, मेरा गोरुहरू बनून्, मेरा घोडाहरू बनून्, र मेरो संहारको कृपामा रहून्। म तँलाई फेरि तेरो पहिलेको संकल्प लिन लगाउँछु र फेरि पनि मेरो सेवा गर्न लगाउँछु। मलाई ठग्‍ने सृष्टि गरिएको कुनै पनि प्राणीलाई म सहन्‍नँ। के तैँले मेरो अघि मनमानी ढङ्गले अनुरोधहरू गर्न र ढाँट्न सक्छु भन्‍ने सोचेको थिइस्? के तैँले तेरा बोलीवचन र कर्महरू मैले सुनेको वा देखेको थिइनँ भन्‍ने ठानेको थिइस्? कसरी तेरा बोलीवचन र कर्महरू मेरो दृष्टिमा नपरेको हुन सक्छ र? कसरी मैले मानिसहरूलाई त्यसरी मलाई धोका दिने मौका दिन सक्छु र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीहरू चरित्रमा अति नै तुच्छ छौ!

विगतको बारेमा विचार गर: तिमीहरूप्रति मेरो हेराइ कहिले क्रोधित अनि मेरो आवाज कहिले कठोर भएको छ? मैले कहिले तिमीहरूसँग ससाना कुराहरूमा कचकच गरेको थिएँ? मैले कहिले तिमीहरूलाई अनुचित प्रकारले हप्काएको छु? मैले कहिले तिमीहरूलाई तिमीहरूको मुखैमा हप्काएको छु? मेरा पिताले तिमीहरूलाई हरेक परीक्षाबाट बचाऊन् भनी मैले गरेको पुकारा के मेरै कामको निम्ति होइन र? तिमीहरू मसँग किन यस्तो व्यवहार गर्छौ? के मैले कहिल्यै तिमीहरूको देहमा प्रहार गर्न मेरो अधिकार प्रयोग गरेको छु? तिमीहरू किन त्यसरी मसँग बदला लिन्छौ? मतर्फ तातो र चिसो उडाएपछि तिमीहरू न त तातो न चिसो हुन्छौ, र त्यसपछि तिमीहरू मलाई झुक्याउन खोज्छौ र मबाट कुराहरू लुकाउने कोसिस गर्छौ र तिमीहरूका मुख अधार्मिकताका थुकले भरिएका हुन्छन्। के तिमीहरूका जिब्रोले मेरो आत्मालाई छल्न सक्छ भन्‍ने तिमीहरू सोच्छौ? के तिमीहरूका जिब्रो मेरो क्रोधबाट उम्कन सक्छ भन्‍ने सोच्छौ? के तिमीहरूका जिब्रोहरूले यसले चाहे अनुसार, म, यहोवाका कामहरूको न्याय गर्न सक्छ भनी सोच्छौ? के म मानिसहरूले न्याय गर्ने परमेश्‍वर हो? के म एउटा सानो भुसुनोलाई त्यसरी मेरो निन्दा गर्ने अनुमति दिन सक्छु? त्यस्ता विद्रोहका छोराहरूलाई म कसरी अनन्त आशिषहरूको माझमा राख्न सक्छु? तिमीहरूका शब्दहरू र व्यवहारहरूलाई धेरै अघि खुलस्त गरिएका छन् र त्यसले तिमीहरूलाई दोषी ठहराएको छ। जब मैले आकाश फिँजाएँ र सबै थोकहरू सृष्टि गरें, त्यसबेला मैले सृष्टि गरिएको कुनै पनि प्राणीलाई तिनीहरूका इच्छाअनुसार सहभागी हुन दिइनँ, मैले कुनै पनि कुरालाई तिनीहरूका इच्छाअनुसार मेरो काम र व्यवस्थापनमा बाधा पुऱ्याउन दिनु त परै जाओस्। मैले कुनै मानिस वा वस्तुलाई सहन गरिनँ; मप्रति क्रूर र अमानवीय हुनेहरूलाई झन् म कसरी सहन सक्छु? मेरो वचनलआई धोका दिनेहरूलाई म कसरी क्षमा गर्न सक्छु? मेरो विरुद्ध विद्रोह गर्नेहरूलाई म कसरी छोड्न सक्छु? के मानिसको भाग्य म, सर्वशक्तिमान्‌को हातमा छैन र? म तिमीहरूको अधार्मिकता र विद्रोहीपनलाई कसरी पवित्र मान्न सक्छु? तिमीहरूका पापहरूले मेरो पवित्रतालाई कसरी अशुद्ध पार्न सक्छ? म अधार्मिकताको अशुद्धताद्वारा अपवित्र भएको छैनँ, न त म अधार्मिकताका भेटीहरूमा नै आनन्दित हुन्छु। यदि तिमीहरू म, यहोवाप्रति बफादार हुन्थ्यौ भने मेरो वेदीमा भएका बलिहरू तिमीहरू आफ्नै निम्ति लिन सक्थ्यौ र? के तिमीहरू आफ्नो विषालु जिब्रो मेरो पवित्र नाउँको निन्दा गर्न प्रयोग गर्न सक्थ्यौ? के तिमीहरूले यसरी मेरो वचनलाई धोका दिन सक्थ्यौ? के तिमीहरू मेरो महिमा र पवित्र नाउँलाई साधन बनाएर दुष्ट शैतानको सेवा गर्न सक्थ्यौ? मेरो जीवन पवित्र जनहरूका निम्ति उपलब्ध गराइएको छ। म तिमीहरूले चाहेअनुसार मेरो जीवनसित खेल्ने र त्यसलाई तिमीहरूको झगडामा एउटा साधनको रूपमा प्रयोग गर्ने अनुमति तिमीहरूलाई कसरी दिन सक्छु? तिमीहरू भलाइको मार्गमा र मप्रतिको व्यवहारमा त्यस्तो हृदय विहीन र अभावग्रस्त कसरी हुन सक्छौ? मैले अघिबाटै तिमीहरूका दुष्कर्महरू जीवनका यी वचनहरूमा लेखिसकेको छु भनी के तिमीहरू जान्दछौ? मैले मिश्रलाई सजाय दिँदा तिमीहरू क्रोधको दिनबाट कसरी उम्कन सक्छौ? म कसरी तिमीहरूलाई यसरी घरीघरी मेरो विरोध गर्ने र मेरो विरुद्धमा विद्रोह गर्ने अनुमति दिन सक्छु? म तिमीहरूलाई स्पष्ट भन्दछु, जब त्यो दिन आउँछ, तिमीहरूको सजाय मिश्रको भन्दा बढता असहनीय हुनेछ! तिमीहरू मेरो क्रोधको दिनबाट कसरी उम्कन सक्छौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जो देहको हो ऊ क्रोधको दिनबाट उम्कन सक्दैन

जसले आफ्नो देहको बारेमा मात्र सोच्छ र आराम-सुविधा उपभोग गर्छ; जसले विश्‍वास गरेकोजस्तो देखिन्छ तर वास्तवमा विश्‍वास गरेका हुँदैनन्, जो खराब औषधी र मन्त्रतन्त्रमा लागेका हुन्छन्, जो यौन रूपमा छाडा, भ्रष्ट र थाङ्ने छन्, जसले यहोवालाई चढाइएका बलिहरू र उहाँका सम्पत्तिहरू चोर्छन्, जसले घूसहरू मन पराउँछन्, जसले केही नगरिकन स्वर्गमा उक्लने सपना देख्छन्, जो घमण्डी र अहङ्कारी छन्, जसले व्यक्तिगत ख्याति र सम्पत्ति मात्र पाउने प्रयास गर्दछन्; जसले अशिष्ट वचनहरू फैलाउँछन्; जसले स्वयम् परमेश्‍वरको निन्दा गर्छन्, जसले केही गर्दैनन् तर स्वयम् परमेश्‍वरको विरुद्ध दोष लाउँछन् र उहाँको गिल्‍ला गर्छन्; जसले समूहहरू बनाउँछन् र स्वतन्त्रताको खोजी गर्छन्; जसले आफूलाई परमेश्‍वरभन्दा माथि उठाउँछन्; ती अगम्भीर युवाहरू, प्रौढहरू र वृद्ध-वृद्धा पुरुष र महिलाहरू, जो व्यभिचारमा फसेका छन्; ती पुरुष र स्त्रीहरू जो व्यक्तिगत ख्याति र भाग्यमा आनन्द लिन्छन् र अरूको बीचमा व्यक्तिगत प्रतिष्ठाको पछि लाग्छन्, ती अपश्‍चात्तापी मानिसहरू जो पापमा फसेका छन्—के तिनीहरू सबै मुक्ति पाउनदेखि बाहिर छैनन् र? व्यभिचार, पापी अवस्था, खराब औषधी, मन्त्रतन्त्र, अपवित्रता र अशिष्ट वचनहरू सबैले तिमीहरूको माझमा दङ्गा मच्चाउँछन्; र तिमीहरूको माझमा सत्यता र जीवनका वचनहरू कुल्चिइन्छ र तिमीहरूको माझमा पवित्र भाषालाई अशुद्ध पारिएको छ। तिमी अन्यजातिहरू, फोहोर र विद्रोहले फुलिएका छौ! तिमीहरूको अन्तिम परिणाम के हुनेछ? जसले देहलाई प्रेम गर्दछन्, जसले देहको मन्त्रतन्त्र गर्दछन् र जो व्यभिचारको पापमा फसेका छन् तिनीहरूसँग जीवित रहने साहस कसरी हुन सक्छ! के तिमीलाई थाहा छैन, कि तिमीहरूजस्ता मानिसहरू मुक्ति पाउनै नसक्‍ने कीराहरू हौ? तिमीहरूलाई यो र त्यो माग गर्ने अधिकार कुन कुराले दिन्छ? आजको मितिसम्म, सत्यलाई प्रेम नगर्नेहरू र केवल देहलाई प्रेम गर्नेहरूमा अलिकता पनि परिवर्तन आएको छैन—त्यस्ता मानिसहरूले कसरी मुक्ति पाउन सक्छन्? जसले जीवनको मार्गलाई प्रेम गर्दैनन्, जसले परमेश्‍वरलाई उच्च पार्दैनन् र उहाँको गवाही दिँदैनन्, जसले आफ्नै प्रतिष्ठाका लागि युक्ति रच्छन्, जसले आफ्नै गुणगान गर्दछन्—के तिनीहरू आज पनि त्यस्तै छैनन् र? तिनीहरूलाई मुक्ति दिनुको मूल्य के छ र? तैँले मुक्ति पाउन सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तेरो वरिष्ठता वा तैँले कति वर्षदेखि काम गर्दै आएको छस् भन्‍ने कुरामा निर्भर हुँदैन, र यो तैँले कति वटा योग्यता-प्रमाणहरू निर्माण गरेको छस् भन्‍ने कुरामा त झनै कम निर्भर हुन्छ। बरु, यो त तेरो खोजीले फल फलाएको छ कि छैन भन्‍ने कुरामा निर्भर हुन्छ। तैँले यो जान्नु पर्दछ, जसलाई मुक्ति दिइएको छ तिनीहरू फल फलाउने “रूखहरू” हुन्, रमणीय पातहरू र प्रशस्त फूलहरू मात्र भएको तर फल नफल्ने रूखहरू होइनन्। यदि तैँले धेरै वर्ष सडकहरूमा घुमेर बिताएका छस् भने पनि, त्यसको के मतलब हुन्छ र? तेरो गवाही कहाँ छ? परमेश्‍वरको डर मान्ने तेरो हृदय आफैलाई प्रेम गर्ने तेरो हृदय र तेरा कामुक अभिलाषाहरूभन्दा धेरै कम छ—के यस किसिमको मानिस पतित होइन र? तिनीहरू कसरी मुक्तिका नमूना र आदर्श बन्न सक्छन्? तेरो प्रकृति सुधार्न नसकिने छ, तँ अत्यन्तै विद्रोही छस्, तैँले मुक्ति पाउन सक्दैनस्। के यस्तै मानिसहरू ती होइनन् जसलाई हटाइनेछ? के मेरो काम समाप्त हुने समय तिमीहरूको अन्तिम दिन आउने समय होइन र? मैले तिमीहरूको माझमा धेरै काम गरेको छु र धेरै वचनहरू बोलेको छु—तीमध्ये कति साँच्चै तिमीहरूका कानभित्र पसेका छन्? तीमध्ये कति तिमीहरू समर्पित भएका छौ? जब मेरो काम समाप्त हुन्छ, त्यो यस्तो समय हुनेछ जब तैँले मेरो विरोध गर्न छोड्नेछस्, जब तँ मेरो विरुद्धमा खडा हुन छोड्नेछस्। जब म काम गर्छु, तिमीहरू निरन्तर मेरो विरुद्धमा काम गर्दछौ; तिमीहरू कहिल्यै पनि मेरा वचनहरूको पालन गर्दैनौ। म मेरो काम गर्दछु, र तँ तेरो आफ्नै “काम” गर्छस्, र आफ्नै सानो राज्य बनाउँछस्। तिमीहरू स्यालहरू र कुकुरहरूको झुन्ड बाहेक अरू केही होइनौ, जसले सबै कुरा मेरो विरुद्धमा गर्दछ! तिमीहरू निरन्तर तिनीहरूलाई आफ्नो अङ्गालोमा ल्याउने कोसिस गर्छौ जसले तिमीहरूलाई आफ्नो अविभाजित प्रेम दिन्छन्—तिमीहरूको डर मान्ने हृदय छ? तिमीहरूले गर्ने सबै कुरा छली हुन्छन्! तिमीहरूसँग कुनै समर्पणता वा डर छैन, र तिमीहरूले गर्ने सबै कुरा छली र निन्दापूर्ण छन्! के त्यस्ता मानिसहरूले मुक्ति पाउन सक्छन्? यौन रूपमा अनैतिक र कामुक पुरुषहरू सधैँ उनीहरूका आफ्नै आनन्दका निम्ति उत्ताउली वेश्याहरूलाई आकर्षित गर्न चाहन्छन्। म त्यस्ता यौन अनैतिक भूतात्माहरूलाई पटक्कै मुक्ति दिनेछैनँ। म तिमी फोहोर भूतात्माहरूलाई घृणा गर्छु र तिमीहरूका कामुकता र उत्ताउलोपनले तिमीहरूलाई नरकमा डुबाउनेछ। तिमीहरूको आफ्नै बारेमा तिमीहरूको भनाइ के छ? तिमी फोहोर भूतात्माहरू र दुष्टात्माहरू घृणित छौ! तिमीहरू घिनलाग्दा छौ! यस्तो फोहोरलाई कसरी मुक्ति दिन सकिन्छ र? के पापमा फस्नेहरूलाई अझै मुक्ति दिन सकिन्छ? आज, यो सत्यले, यो मार्गले र यो जीवनले तिमीहरूलाई आकर्षित गर्दैन; बरु, तिमीहरू पापीपन; प्रतिष्ठा; ख्याति र प्राप्तितिर; देहका मनोरञ्जनतिर, पुरुषको सुन्दरता र स्त्रीको आकर्षणतिर आकर्षित छौ। कुन कुराले तिमीहरूलाई मेरो राज्यमा प्रवेश गर्ने योग्यको बनाउँछ? तिमीहरूको तस्विर परमेश्‍वरको भन्दा अझ ठूलो छ, तिमीहरूको प्रतिष्ठा परमेश्‍वरको भन्दा पनि उच्च छ, मानिसहरूको माझमा तिमीहरूका इज्जतको त झन् कुरै नगरौं—तिमीहरू एउटा मूर्ति बनेका छौ जसलाई मानिसहरूले पूजा गर्छन्। के तँ प्रधान स्वर्गदूत बनेको छैनस् र? जब मानिसहरूका परिणामहरूलाई प्रकट गरिन्छ, जुन बेला मुक्तिको कामको पनि अन्त्य नजिकै आइपुगेको हुन्छ, त्यस बेला तिमीहरूमध्ये धेरै जना मुक्ति पाउन नसक्ने लासहरू भइसकेका हुनेछौ र तिमीहरूलाई हटाउनैपर्ने हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (७)

मानिसहरूले परमेश्‍वरको कामको अनुभव गरेर सत्यता बुझुञ्‍जेलसम्‍म, भित्रैबाट ठाउँ लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तैँले किन आफ्नो ओहदा संरक्षण गर्छस्? किन तँमा त्यस्ता तीव्र भावनाहरू छन्? किन तैँले ती अधर्मी कुराहरूमा आनन्द लिन्छस्? किन तँ ती दुष्टताहरूलाई मन पराउँछस्? त्यस्ता कुराहरूप्रति तेरो लगाव हुनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? ती कुराहरू स्वीकार गर्न तँ किन त्यति धेरै खुशी हुन्छस्? अहिलेसम्ममा, तिमीहरू सबैले बुझिसकेको हुनुपर्छ कि यी सबै कुराहरू हुनुको मुख्य कारण भनेकै मानिसभित्र शैतानको विष हुनु हो। त्यसो भए, शैतानको विष के हो? यो कसरी अभिव्यक्त हुन सक्छ? उदाहरणको लागि, यदि तैँले “मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?” भनेर सोधिस् भने, मानिसहरूले जवाफ दिनेछन्, “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।” यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनिसकेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरूले यो आफ्नै लागि मात्र त्यसो गर्छन्। त्यसकारण तिनीहरू आफ्‍नै लागि मात्र जिउँछन्। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ”—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पहिले नै भ्रष्ट मानवजातिको अस्तित्वको आधार भइसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ। शैतानले गर्ने सबै कुरा यसका आफ्नै चाहना, महत्त्वाकाङ्क्षा, र उद्देश्यहरूको लागि हो। यसले परमेश्‍वरलाई उछिन्‍न, उहाँबाट स्वतन्त्र हुन, र परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुराहरूलाई नियन्त्रणमा लिन चाहन्छ। आज, शैतानले मानिसहरूलाई यस हदसम्म भ्रष्ट पारेको छ: तिनीहरू सबैसँग शैतानी प्रकृति छन्, तिनीहरू सबैले परमेश्‍वरलाई नकार्ने र विरोध गर्ने प्रयास गर्छन्, र तिनीहरू आफ्नो नियतिलाई आफ्नै वशमा राख्‍न चाहन्छन् र परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूको विरोध गर्ने प्रयास गर्छन्। तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू ठ्याक्‍कै शैतानका जस्ता छन्। त्यसकारण, मानिसको प्रकृति शैतानको प्रकृति हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने

मानवजाति शैतानद्वारा भ्रष्ट भएको हुनाले, मानिसहरूको प्रकृतिमा ह्रास आउन थाल्यो र तिनीहरूले बिस्तारै सामान्य मानिसहरूमा हुने बोध हराए। तिनीहरूले अब मानिसको स्थानमा रहेर मानवीय प्राणीहरूले जस्तो काम गर्दैनन्; तर तिनीहरू खराब आकाङ्क्षाहरूले भरिएका हुन्छन्; तिनीहरूले मानिसको स्थानलाई उछिनेका छन्, तैपनि तिनीहरू अझै उच्‍च स्थानमा जाने इच्‍छा गर्छन्। यो “उच्‍च” ले केलाई जनाउँछ? तिनीहरूले परमेश्‍वरलाई उछिन्ने, स्वर्गलाई र अरू सबै कुरालाई उछिन्‍ने इच्छा गर्छन्। मानिसहरूले यस्तो स्भाव प्रकट गर्नुको मूल कारण के हो? समग्रमा भन्दा, मानिसको प्रकृति अति नै अहङ्कारी छ। धेरैजसो मानिसहरूले “अहङ्कार” शब्‍दको अर्थ बुझ्छन्। यो निन्दात्मक शब्‍द हो। यदि कसैले अहङ्कार देखाउँछ भने, अरूले त्यो असल व्यक्ति होइन भन्‍ने सोच्छन्। जब कुनै व्यक्ति अत्यन्तै अहङ्कारी हुन्छ, तब अरूले त्यो व्यक्ति दुष्कर्मी हो भन्‍ने अनुमान गर्छन्। कसैले पनि आफूमाथि यो शब्‍द प्रयोग गरियोस् भन्‍ने चाहँदैन। तैपनि, वास्तवमा हरेक व्यक्ति नै अहङ्कारी हुन्छ, र सारा भ्रष्ट मानवहरूमा यही सार हुन्छ। कतिपय मानिसहरू भन्छन्, “म अलिकति पनि अहङ्कारी छैनँ। मैले कहिल्यै पनि प्रधान स्‍वर्गदूत बन्‍ने चाहना गरेको छैनँ, न त मैले कहिल्यै परमेश्‍वरलाई उछिन्‍ने वा अरू सबैलाई उछिन्‍ने चाहना नै गरेको छु। म सधैँ नै विशेष रूपमा शिष्ट र कर्तव्यनिष्ठ व्यक्ति रहिआएको छु।” यस्तै हुन्छन् भन्‍ने छैन; यी वचनहरू गलत छन्। मानिसहरू प्रकृति र सारमा अहङ्कारी बनेपछि, तिनीहरूले बारम्‍बार परमेश्‍वरको आज्ञा उल्लङ्घन र विरोध गर्छन्, उहाँका वचनहरूमा ध्यान दिँदैनन्, उहाँको विषयमा धारणाहरू उत्पन्‍न गर्छन्, उहाँलाई धोका दिने कुराहरू गर्छन्, तिनीहरूका आफ्नै बढाइ गर्ने र आफ्नै गवाही दिने कुराहरू गर्न सक्‍ने हुन्छन्। तैँले तँ अहङ्कारी छैनस् भनी भन्छस्, तर मानौं तँलाई एउटा मण्डली दिइयो र त्यसको नेतृत्व गर्ने अनुमति दिइयो; मानौं मैले तँलाई निराकरण गरिनँ, र परमेश्‍वरको परिवारका कसैले पनि तँलाई आलोचना वा सहयोग गरेनन्: त्यसलाई केही समय नेतृत्व गरिसकेपछि तैँले मानिसहरूलाई तेरो खुट्टामा ल्याउँछस् र तँलाई आदर र श्रद्धा गर्ने हदमा पग्‍ने गरी तिनीहरूलाई तेरो अधीनमा बस्न लाउँछस्। अनि तँ किन त्यसो गर्छस्? यो तेरो प्रकृतिद्वारा निर्धारित भएको हुनेछ; यो प्राकृतिक प्रकटीकरणबाहेक अरू केही हुँदैन। तैँले यो कुरा अरूबाट सिक्‍नुपर्ने कुनै आवश्यकता हुँदैन, न त तिनीहरूले नै तँलाई यो सिकाउनुपर्ने आवश्यकता हुन्छ। तँलाई अरूले यसो गर्न निर्देशन दिनु वा तँलाई यसो गर्न बाध्य गर्नु आवश्यक हुँदैन; यस प्रकारको परिस्थिति प्राकृतिक रूपले नै आउँछ। तैँले गर्ने सबै कुरा मानिसहरूलाई तेरो बढाइ गर्ने, तेरो प्रशंसा गर्ने, तेरो आराधना गर्ने, तँमा समर्पित हुने, र सबै कुरामा तेरो कुरा सुन्‍ने बनाउनु हो। तँलाई एक अगुवा बनाएको तथ्यले नै स्वभाविक रूपमा यस्तो परिस्थिति ल्याउँछ, र यस कुरालाई परिवर्तन गर्न सकिँदैन। अनि यस्तो परिस्थिति कसरी आउँछ? यो कुरा मानिसका अहङ्कारी प्रकृतिद्वारा निर्धारित हुन्छ। अहङ्कार प्रकट हुनु भनेको परमेश्‍वरको विरुद्धको विद्रोह र प्रतिरोध हो। जब मानिसहरू अहङ्कारी, आफैलाई महत्त्व दिने, र आफैलाई धर्मी सम्झने हुन्छन्, तब तिनीहरूले आफ्नै स्वतन्त्र राज्य स्थापना गर्ने र आफूलाई जुन तरिकाले मन लाग्यो त्यसरी काम गर्ने प्रवृत्ति हुन्छ। तिनीहरूले अरूलाई पनि आफ्नै हातमा ल्याउँछन् र तिनीहरूलाई आफ्नो अङ्गालोमा खिच्छन्। मानिसहरूले यस्ता अहङ्कारी कार्यहरू गर्न सक्‍नुले तिनीहरूको अहङ्कारी प्रकृति शैतानको जस्तो छ भन्‍ने प्रमाणित गर्छ; यो प्रधान स्वर्गदूतको जस्तो छ। जब तिनीहरूको अहङ्कार र आत्मअभिमान एक निश्‍चित तहमा पुग्छ, तब तिनीहरूको हृदयमा परमेश्‍वरको लागि कुनै स्थान हुँदैन, र परमेश्‍वरलाई पन्छ्याइन्छ। त्यसपछि, तिनीहरू परमेश्‍वर बन्‍न चाहन्छन्, मानिसहरूलाई तिनीहरूको आज्ञापालन गर्न लगाउँछन् र तिनीहरू प्रधान स्वर्गदूत बन्छन्। यदि तँमा त्यस्तो शैतानी अहङ्कारी प्रकृति छ भने, तेरो हृदयमा परमेश्‍वरका निम्ति कुनै ठाउँ हुनेछैन। तैँले परमेश्‍वरमा विश्‍वास गरे पनि, परमेश्‍वरले अबदेखि तँलाई पहिचान गर्नुहुनेछैन, तँलाई दुष्कर्मीको रूपमा हेर्नुहुनेछ, र तँलाई हटाउनुहुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। अहङ्कारी प्रकृति नै परमेश्‍वरप्रतिको मानिसको विरोधको जड हो

मानिसहरूमा हठी स्वभाव हुँदा तिनीहरूभित्र कस्तो स्थिति हुन्छ? मुख्य रूपमा तिनीहरू जिद्दी र आत्मधर्मी हुन्छन्। तिनीहरू सधैँ आफ्नै विचारहरूमा लागिरहन्छन्, सधैँ आफूले भनेकै कुरा सही हो भन्‍ने सोच्छन्, तिनीहरू अत्यन्तै अलचक, र मेरो गोरुको बाह्रै टक्‍का भन्‍ने खालका हुन्छन्। यो हठी मनोवृत्ति हो। तिनीहरू आफ्‍नै कुरामा जिद्दी गर्छन्, कसैको कुरा सुन्दैनन्, एउटै कार्यदिशामा एकोहोरो लागिरहन्छन्, त्यही कुरामा लागिरहने जिद्दी गर्छन् चाहे त्यो सही होस् वा गलत होस्; यसमा पश्‍चात्ताप नगर्ने केही मानसिकता हुन्छ। भनाइ नै छ, “मरेको सुँगुरलाई उम्लिरहेको पानीको के डर।” मानिसहरूलाई के गर्नु सही हो भनेर राम्ररी थाहा हुन्छ, तैपनि तिनीहरूले त्यो काम गर्दैनन्, बरु जिद्दी भई सत्यता इन्कार गरिरहन्छन्। यो एक प्रकारको स्वभाव हो: त्यो हठीपन हो। तिमीहरूले कस्तो परिस्थितिमा हठी स्वभाव प्रकट गर्छौ? के तिमीहरू प्रायजसो हठी भइरहन्छौ? (हो।) एकदमै धेरै! अनि हठीपन तेरो स्वभाव भएकोले, यो तेरो अस्तित्वको हरेक दिन र हरेक क्षण तँसँगै रहन्छ। हठीपनले मानिसहरूलाई परमेश्‍वरको अघि आउनबाट रोक्छ, र यसले तिनीहरूलाई सत्यता स्विकार्नबाट र सत्यताको वास्तविकतामा प्रवेश गर्नबाट रोक्छ। अनि, यदि तँ सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्दैनस् भने, के तेरो स्वभावको यो पक्षमा परिवर्तन आउन सक्छ त? यो निकै गाह्रो हुनेछ। के तिमीहरूको स्वभावको यो पक्षमा अर्थात् हठीपनमा अहिले कुनै परिवर्तन आएको छ? अनि कति परिवर्तन आएको छ? उदाहरणको लागि, मानौँ तँ अत्यन्तै जिद्दी हुने गर्थिस्, तर तँमा अहिले अलिअलि परिवर्तन आएको छ: जब तैँले कुनै समस्या सामना गर्छस्, तब तेरो हृदयमा केही विवेकको बोध हुन्छ, र तैँले मनमनै भन्छस्, “यस विषयमा मैले केही सत्यता अभ्यास गर्नुपर्छ। परमेश्‍वरले यो हठी स्वभावको खुलासा गर्नुभएको हुनाले—मैले यो सुनिसकेकोले र मलाई यसबारे अब थाहा भइसकेको हुनाले—म परिवर्तन हुनैपर्छ। विगतमा केहीपटक यस्ता परिस्थितिहरू सामना गर्दा, म आफ्‍नो देहअनुसार चलेँ र असफल भएँ, र म यस कुराप्रति खुसी छैनँ। योचोटि मैले सत्यता अभ्यास गर्नैपर्छ।” यस्तो आकाङ्क्षा लिएर, सत्यता अभ्यास गर्नु सम्‍भव हुन्छ, र यो परिवर्तन हो। जब तैँले यसरी केही समयसम्‍म अनुभव गर्छस्, र अझै बढी सत्यता अभ्यास गर्न सक्षम बन्छस्, अनि यसले अझै ठूलो परिवर्तन ल्याउँछ, र तेरो विद्रोही र हठी स्वभाव झन्झन् घट्दै जान्छ, तब के तेरो जीवन स्वभावमा परिवर्तन आएको हुँदैन र? यदि तेरो विद्रोही स्वभाव स्पष्ट रूपमै घट्दै गएको छ, र परमेश्‍वरप्रतिको तेरो आज्ञाकारिता पहिलेभन्दा बढ्दै गएको छ भने, तँमा साँचो परिवर्तन आएको छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। छ प्रकारको भ्रष्ट स्वभावको ज्ञान हुनु मात्रै साँचो आत्मज्ञान हो

सत्यताप्रति दिक्‍क मान्‍नु भनेको सत्यता र सकारात्मक कुराहरूप्रति चासो नहुनु र ती कुराहरूप्रति वितृष्णा हुनु हो। सत्यताप्रति दिक्‍क मान्‍ने अवस्था तब हुन्छ, जब मानिसहरूले सत्यता बुझ्‍न सकेर पनि, सकारात्मक कुराहरू के हुन् भन्‍ने जानेर पनि, सत्यता र सकारात्मक कुराहरूलाई प्रतिरोध, झाराटारुवा, इन्कार, कुरा बङ्ग्याउने, र उदासीनताको मनोवृत्ति र स्थितिले लिन्छन्। यो सत्यताप्रति दिक्‍क मान्‍ने स्वभाव हो। के यस्तो स्वभाव सबैमा हुन्छ? कतिपय मानिसहरू यसो भन्छन्, “परमेश्‍वरको वचन सत्यता हो भन्‍ने मलाई थाहा भए पनि, मलाई अझै पनि यो मन पर्दैन, म यो स्विकार्दिनँ, र कम्तीमा पनि, अहिले म यसलाई स्विकार्न सक्दिनँ।” यहाँ के समस्या के छ? यो सत्यताप्रति दिक्‍क मानेको अवस्था हो। तिनीहरूभित्र रहेको स्वभावले तिनीहरूलाई सत्यता स्विकार्न दिँदैन। सत्यता स्वीकार नगर्नुका विशिष्ट प्रकटीकरणहरू के-के हुन्? कतिले भन्छन्, “म सबै सत्यता बुझ्छु, तर तिनलाई बस म अभ्यास गर्न सक्दिनँ।” यसले के प्रकट गर्छ भने, यो व्यक्ति सत्यताप्रति दिक्‍क मान्‍ने व्यक्ति हो, र उसले सत्यतालाई प्रेम गर्दैन, त्यसकारण ऊ सत्यता अभ्यास गर्न सक्दैन। कतिपय मानिसहरू भन्छन्, “परमेश्‍वरले गर्दा नै मैले यति धेरै पैसा कमाउन सकेको छु। परमेश्‍वरले मलाई साँच्‍चै आशिष्‌ दिनुभएको छ, परमेश्‍वरले मसँग कति राम्रो व्यवहार गर्नुभएको छ, र उहाँले मलाई धेरै धनसम्पत्ति दिनुभएको छ। मेरो पुरै परिवारले राम्रो लाउन र खान पाएका छन्, र तिनीहरूलाई न लाउनुको खाँचो छ न खानको।” परमेश्‍वरले आशिष्‌ दिनुभएको देखेर, यी मानिसहरूले परमेश्‍वरलाई हृदयदेखि नै धन्यवाद दिन्छन्, र तिनीहरूलाई यो सबै परमेश्‍वरद्वारै निर्देशित कुरा हो, र परमेश्‍वरले आशिष्‌ नदिनुभएको भए, अर्थात् तिनीहरू आफ्‍नै प्रतिभामा भर परेका भए, तिनीहरूले अवश्यै यो सब पैसा कमाउँदैनथे भन्‍ने थाहा हुन्छ। तिनीहरूले हृदयमा साँच्‍चै यही सोच्छन्, यही कुरा थाहा पाएका हुन्छन्, अनि तिनीहरूले साँच्‍चै नै परमेश्‍वरलाई धन्यवाद दिन्छन्। तर एक दिन तिनीहरूको व्यापार असफल हुन्छ, तिनीहरूमाथि कठिन समय आइपर्छ, र तिनीहरूले गरिबी सामना गर्छन्। किन यस्तो हुन्छ? किनभने तिनीहरू चैनको लोभ गर्छन्, तर आफ्‍नो कर्तव्य कसरी राम्ररी पूरा गर्ने भनेर विचारै गर्दैनन्, अनि तिनीहरूले आफ्‍नो सारा समय सम्पत्तिको पछि लागेर, पैसाको दास बनेर बिताउँछन्, जसले तिनीहरूको कर्तव्यनिर्वाहमा असर पार्छ, त्यसकारण परमेश्‍वरले तिनीहरूबाट यो कुरा खोस्‍नुहुन्छ। परमेश्‍वरले तिनीहरूलाई धेरै आशिष्‌ दिनुभएको, र धेरै थोक दिनुभएको कुरा तिनीहरूलाई हृदयमा थाहा हुन्छ, तैपनि तिनीहरूसँग परमेश्‍वरको प्रेमको ऋण तिर्ने कुनै इच्‍छा हुँदैन, तिनीहरू बाहिर गएर आफ्‍नो कर्तव्य पूरा गर्न चाहँदैनन्, र तिनीहरू कायर बन्छन् र पक्राउ पर्छु भनेर निरन्तर डर मान्छन्, र तिनीहरूलाई यी सब सम्‍पत्ति र चैन गुमाउँछु भन्‍ने डर हुन्छ, र परिणामस्वरूप, परमेश्‍वरले यी कुराहरू तिनीहरूबाट खोसेर लिनुहुन्छ। परमेश्‍वरले तिनीहरूबाट यी कुराहरू खोस्‍नुभएको, र तिनीहरूलाई अनुशासित गर्नुभएको कुरा तिनीहरूलाई हृदयमा स्पष्ट थाहा हुन्छ, त्यसकारण, तिनीहरू परमेश्‍वरलाई प्रार्थना गर्दै यसो भन्छन्, “हे परमेश्‍वर! तपाईंले मलाई एकपटक आशिष्‌ दिनुभयो, त्यसकारण मलाई फेरि दोस्रोपटक पनि आशिष्‌ दिनुहोस्। तपाईंको अस्तित्व अनन्त छ, र मानवजातिप्रति तपाईंका आशिष्‌हरू पनि अनन्त नै छन्। म तपाईंलाई धन्यवाद दिन्छु! जेसुकै भए पनि, तपाईंका आशिष्‌हरू र प्रतिज्ञा परिवर्तन हुनेछैनन्। यदि तपाईंले मबाट लिनुभयो भने, म अझै पनि आज्ञाकारी नै रहनेछु।” तर तिनीहरूको मुखबाट निस्केको “आज्ञाकारी” भन्‍ने शब्‍द खोक्रो हुन्छ। तिनीहरूको मुखले आज्ञाकारी रहन सक्छु भनी भन्छ, तर पछि तिनीहरूले यसबारेमा फेरि सोच्छन्, र तिनीहरूलाई यो ठीक लाग्दैन: “पहिले सबै कुरा कति राम्रो थियो। परमेश्‍वरले किन यो सब लिनुभयो? के घरमै बसेर कर्तव्य पूरा गर्नु पनि बाहिर गएर कर्तव्य पूरा गर्नुजस्तै होइन र? मैले केचाहिँ ढिलाइ गराइहेको थिएँ र?” तिनीहरूले विगतका कुरा सम्झिँदै सधैँ नरमाइलो मानिरहेका हुन्छन्। परमेश्‍वरप्रति तिनीहरूमा एक किसिमको द्वेष र असन्तुष्टि हुन्छ, र तिनीहरूले निरन्तर निराश महसुस गर्छन्। के परमेश्‍वर अझै पनि तिनीहरूको हृदयमा हुनुहुन्छ त? तिनीहरूको हृदयमा त पैसा, भौतिक सुखसुविधा, र खुसीका पलहरू मात्र हुन्छन्। तिनीहरूको हृदयमा परमेश्‍वरको लागि कुनै ठाउँ हुँदैन, अब त उहाँ तिनीहरूको परमेश्‍वर नै रहन छोड्नुभएको हुन्छ। “परमेश्‍वरले दिनुभयो, र परमेश्‍वरले नै लानुभयो” भन्‍ने सत्यता तिनीहरूलाई थाहा त हुन्छ, तर तिनीहरूलाई “परमेश्‍वरले दिनुभयो” भन्‍ने शब्‍दहरू मन पर्छ, तर “परमेश्‍वरले नै लानुभयो” भन्‍ने शब्‍दहरू मन पर्दैन। स्पष्टै छ, तिनीहरू छानीछानी सत्यता स्विकार्छन्। जब परमेश्‍वरले तिनीहरूलाई आशिष्‌ दिनुहुन्छ, तब तिनीहरू यसलाई सत्यताको रूपमा स्विकार्छन्—तर परमेश्‍वरले तिनीहरूबाट लिनेबित्तिकै, तिनीहरू यो कुरा स्विकार्न सक्दैनन्। तिनीहरू परमेश्‍वरका त्यस्ता बन्दोबस्तहरू स्विकार्न सक्दैनन्, बरु विरोधमा उत्रन्छन्, र मुरमुरिँदै बस्छन्। तिनीहरूलाई कर्तव्य पूरा गर्न लगाउँदा, तिनीहरू भन्छन्, “परमेश्‍वरले मलाई आशिष्‌ र अनुग्रह दिनुभयो भने म कर्तव्य पूरा गर्नेछु। परमेश्‍वरका आशिष्‌हरू पाइनँ र मेरो परिवार यस्तो गरिबीको स्थितिमा रहन्छ भने, मैले कसरी आफ्‍नो कर्तव्य पूरा गर्ने? म कर्तव्य पूरा गर्न चाहन्‍नँ!” यो कस्तो स्वभाव हो? तिनीहरूले आफ्‍नो हृदयमा परमेश्‍वरका आशिष्‌हरू, र उहाँले तिनीहरूलाई धेरै कुरा दिनुभएको व्यक्तिगत रूपमा अनुभव गरेका हुन्छन्, तर परमेश्‍वरले तिनीहरूबाट लिनुहुँदा तिनीहरू त्यो स्विकार्न मान्दैनन्। यस्तो किन हुन्छ? यस्तो किन हुन्छ भने, तिनीहरूले आफ्‍नो सम्पत्ति र सुखी जीवन त्याग्‍न सक्दैनन्। तिनीहरूले यसबारेमा धेरै हल्लीखल्ली नगरे पनि, परमेश्‍वरको अघि हात नपसारे पनि, र आफ्‍नै प्रयासहरूमा भर पर्दै पहिलेका आफ्ना सम्पत्तिहरू खोसिलिने प्रयास नगरे पनि, परमेश्‍वरको कदमप्रति तिनीहरू पहिल्यै बेखुस भइसकेका हुन्छन्, र तिनीहरू स्वीकार गर्न पूर्ण असमर्थ हुँदै यसो भन्छन्, “परमेश्‍वरले यस्तो व्यवहार गर्नु एकदमै संवेदनहीन कुरा हो। यो त बुझेर बुझ्‍नै नसकिने भयो। मैले अब कसरी परमेश्‍वरलाई विश्‍वास गरिरहने हो? म अब उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर स्विकार्न चाहन्‍नँ। यदि म उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर मान्दिनँ भने, उहाँ परमेश्‍वर हुनुहुन्‍न।” के यो कुनै प्रकारको स्वभाव हो? (हो।) शैतानसँग यस्तो स्वभाव हुन्छ, र शैतानले परमेश्‍वरलाई यसरी इन्कार गर्छ। यस्तो स्वभाव सत्यताप्रति दिक्‍क मान्‍ने र सत्यतालाई घृणा गर्ने स्वभाव हो। जब मानिसहरू यस हदसम्‍म सत्यताप्रति दिक्‍क हुन्छन्, यसले तिनीहरूलाई कहाँ पुर्‍याउँछ? यसले तिनीहरूलाई परमेश्‍वरको विरोध गर्ने बनाउँछ, यसले तिनीहरूलाई जिद्दीपूर्वक अन्त्यसम्‍मै परमेश्‍वरको विरोध गर्ने बनाउँछ—यसको अर्थ तिनीहरूको काम तमाम भयो भन्‍ने हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। छ प्रकारको भ्रष्ट स्वभावको ज्ञान हुनु मात्रै साँचो आत्मज्ञान हो

क्रूर स्वभाव भएका मानिसहरूले सधैँ अरूलाई नियन्त्रित गर्न चाहन्छन्। मानिसहरूलाई नियन्त्रित गर्नु भनेको के हो? के यो तँलाई केही शब्दहरू बोल्न निषेध गर्नु मात्र हो? के यो तँलाई निश्‍चित तरिकाले सोच्नबाट निषेध गर्नु मात्र हो? कदापि होइन—यो शब्द वा सोचको समस्या होइन, यो त तिनीहरूको स्वभाव क्रूर भएको हो। “क्रूर” शब्दमा आधारित रहेर, व्यक्तिबाट यो स्वभाव प्रकट हुँदा उसले गर्न सक्ने कुराहरू केके हुन्? सबभन्दा पहिले त त्यस्ताहरूले मानिसहरूलाई आफूअनुकूल प्रयोग गर्न चाहन्छन्। यो आफूअनुकूल प्रयोग गर्नुको अर्थ के हो? यसको मतलब मण्डलीमा जे-जस्ता घटना परिघटना घटे पनि, त्यसमा तिनीहरूले हात हाल्न, हस्तक्षेप गर्न र बन्दोबस्तहरू मिलाउन चाहन्छन्। तिनीहरूले तेरो लागि एउटा नियम बनाउँछन्, र त्यसपछि तैँले त्यो नियम पालना गर्नैपर्ने हुन्छ। यदि तैँले त्यो नियम पालना गरिनस् भने, तिनीहरू रिसाउनेछन्। तिनीहरू तँलाई आफूअनुकूल प्रयोग गर्न चाहन्छन्: यदि तिनीहरूले तँलाई पूर्व जाऊ भन्छन् भने, तैँले पूर्व जानुपर्छ, र यदि तिनीहरूले तँलाई पश्‍चिम जाऊ भन्छन् भने, तैँले पश्‍चिम नै जानुपर्छ। तिनीहरूसँग यस्तो चाहना हुन्छ, र त्यसपछि तिनीहरू यस्तो तरिकाले कार्य गर्छन्—यसलाई नै आफूअनुकूल प्रयोग गर्नु भनेर भनिन्छ। यी मानिसहरू व्यक्तिको नियति हातमा लिन, र उसको जीवन, मस्तिष्क, व्यवहार, र अभिरूचिहरू हातमा लिन र नियन्त्रण गर्न चाहन्छन्, ताकि यो व्यक्तिको मस्तिष्क, विचार, अभिरूचि, र इच्छाहरू, परमेश्‍वरले भन्नुभएअनुसारको हुनुको साटो तिनीहरूले भनेबमोजिम र चाहेअनुसारको होस्—यसलाई नै आफूअनुकूल प्रयोग गर्नु भनेर भनिन्छ। तिनीहरू सधैँ आफ्नै इच्छाअनुसार मानिसहरूलाई यो वा त्यो गर्ने बन्दोबस्त मिलाउन चाहन्छन्, तिनीहरू सिद्धान्तहरूमा आधारित रहेर कार्य गर्दैनन्, बरु आफ्नै अभिप्राय र अभिरूचिहरूमा आधारित रहेर कार्य गर्छन्। तिनीहरूले तेरो भावनाको वास्ता गर्दैनन्, तँलाई जबरजस्ती आदेश दिन्छन्, र तिनीहरूले तँलाई जे गर्नू भन्छन् तैँले त्यही गर्नुपर्छ; यदि तैँले तिनीहरूको इच्छाअनुसार काम गरिनस् भने, तिनीहरूले तँलाई ठेगान लाउनेछन् र तँलाई तँसँग वास्तवमै कुनै विकल्प छैन र त्यसमा केही गर्न सकिँदैन भन्‍ने महसुस गराउनेछन्। तँलाई तेरो हृदयमा थाहा हुन्छ कि तँ ठगी र नियन्त्रणमा परिरहेको छस्, तर तँलाई अझै पनि त्यसको वास्तविकता कसरी खुट्याउने भनी थाहा हुँदैन, र प्रतिरोध गर्ने त झन् तँलाई आँटै आउँदैन। के तिनीहरूको कार्य शैतानको व्यवहार होइन र? (हो।) यो शैतानको व्यवहार हो। शैतानले मानिसहरूलाई यसरी नै मूर्ख बनाउँछ र नियन्त्रण गर्छ, त्यसैले शैतानी स्वभाव सधैं अरूलाई नियन्त्रण गर्न र आफूअनुकूल प्रयोग गर्न खोज्ने व्यवहारको रूपमा मानिसहरूमा आफैँ प्रकट हुन्छ। मानिसहरूले अरूलाई नियन्त्रण गर्ने र आफूअनुकूल प्रयोग गर्ने यो उद्देश्य हासिल गर्न सके वा नसके पनि, तिनीहरू सबैमा यस्तो स्वभाव हुन्छ। यो कस्तो स्वभाव हो? (क्रूरता।) यो क्रूरता हो। यसलाई किन क्रूरता भनिन्छ? यस स्वभावका स्पष्ट प्रकटीकरणहरू के-के हुन्? के यसले जबर्जस्तीको अर्थ दिन्छ? (दिन्छ।) यसले जबरजस्तीको अर्थ दिन्छ, जसको मतलब तैँले सुने पनि नसुने पनि, तैँले जस्तोसुकै महसुस गरे पनि, तैँले यसलाई मन पराए पनि वा बुझे पनि, तिनीहरूले तँलाई जबर्जस्ती सुन्नैपर्छ र तिनीहरूले भनेको कुरा गर्नैपर्छ भनेर भन्छन्, तँसँग कुनै छलफल गर्दैनन्, तँलाई बोल्ने कुनै अवसर दिँदैनन्, र तँलाई कुनै स्वतन्त्रता पनि दिँदैनन्—के यसमा यो अन्तर्निहित अर्थ छैन र? (छ।) यसलाई “उग्रता” भनिन्छ, जुन क्रूरताको एउटा पक्ष हो।[क] क्रूरताको अर्को पक्ष भनेको “दुष्टता” हो।[ख] “दुष्टता” ले केलाई जनाउँछ? यसले तँलाई नियन्त्रण गर्ने र तँलाई उनीहरूको चालबाजीमा चासो राख्न लगाउने र यसरी आफूलाई सन्तुष्ट पार्ने परिणाम हासिल गर्नको लागि जबर्जस्ती प्रशिक्षण र दमन गर्ने विधिहरू प्रयोग गर्ने मानिसहरूलाई जनाउँछ। यसलाई “दुष्टता” भनिन्छ। शैतानले त्यसका कार्यहरूमा तँलाई स्वतन्त्र इच्छा राख्नबाट, मनन गर्न र वास्तविकता खुट्याउन सिक्नबाट, अनि तेरो जीवन परिपक्व बनाउन सक्ने सत्यता बुझ्नबाट रोक्न चाहन्छ। शैतानले तँलाई ती कुराहरू गर्न दिँदैन, र त्यसले तँलाई नियन्त्रण गर्न चाहन्छ। शैतानले तँलाई सत्यता खोज्न र परमेश्‍वरको इच्छा बुझ्न दिँदैन, र त्यसले तँलाई परमेश्‍वरको अगाडि ल्याउँदैन, बरु तँलाई त्यसकै अगाडि लैजान्छ र तँलाई त्यसको कुरा सत्यता नै हो जसरी, र त्यसले जे भन्छ त्यो सही हो जसरी, र त्यो सबै कुराहरूको केन्द्र भएर तैँले त्यसको कुरा सुन्नुपर्छ र त्यसका वचनहरू सही वा गलत छन् भनेर विश्‍लेषण गर्ने प्रयास गर्नु हुँदैन जसरी तँलाई त्यसकै कुरा सुन्न लगाउँछ। जबर्जस्ती र हिंस्रक ढङ्गले मानिसहरूको व्यवहार र दिमागलाई आफूअनुकूल प्रयोग र नियन्त्रण गर्ने स्वभावलाई क्रूरता भनिन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो स्वभावलाई चिन्‍नु नै यसलाई परिवर्तन गर्ने आधार हो

फूटनोटहरू:

क. मूल पाठमा “जुन क्रूरताको एउटा पक्ष हो” भन्‍ने वाक्यांश समावेश छैन।

ख. मूल पाठमा “क्रूरताको अर्को पक्ष भनेको ‘दुष्टता’ हो” भन्‍ने वाक्यांश समावेश छैन।


दुष्टता पत्ता लगाउन सबैभन्दा कठिन हुन्छ, किनकि यो मान्छेको प्रकृति बनेको हुन्छ र तिनीहरू यसको महिमा गाउन थाल्छन्, र त्योभन्दा पनि दुष्टता तिनीहरूलाई दुष्ट लाग्नेछैन। त्यसैले हठी व्यक्तिभन्दा दुष्ट स्वभाव पत्ता लगाउन बढी कठिन हुन्छ। कतिपय मानिस भन्छन्: “कसरी यो पत्ता लगाउन सजिलो हुन सक्दैन? सबै मानिसमा दुष्ट कामवासना हुन्छ। के त्यो दुष्टता होइन र?” त्यो सतही कुरा हो। साँचो दुष्टता भनेको के हो? कुन-कुन स्थितिहरू प्रकट हुँदा दुष्ट हुन्छन्? मानिसहरूले आफ्‍नो हृदयका गहिराइमा लुकेका दुष्ट र लाजमर्दा अभिप्रायहरू लुकाउनका लागि ठुल्ठुला अभिव्यक्तिहरू दिएर ती अभिव्यक्तिहरू असल, निष्कपट र न्यायसङ्गत छन् भनी अरूलाई विश्‍वस्त गराएर अन्तिममा आफ्‍ना गुप्त मनसायहरू पूरा गर्छन् भने के यो दुष्ट स्वभाव हो? किन यसलाई छली भएको नभनेर दुष्ट भएको भनिन्छ? स्वभाव र सारको हिसाबमा, छल त्यति खराब होइन। दुष्ट हुनु छली हुनुभन्दा धेरै गम्‍भीर कुरा हो, यो छलीपनभन्दा घातक र धूर्त हुन्छ, र औसतको व्यक्तिलाई यो कुरा देख्‍न गाह्रो हुन्छ। उदाहरणको लागि, हव्‍वालाई लोभ्याउन सर्पले कस्ता शब्‍दहरू प्रयोग गर्‍यो? देखावटी शब्‍दहरू, जुन सुन्दाखेरी सही र आफ्नो भलाइ गर्नेजस्ता देखिन्छन्। यी शब्दहरूमा कुनै गलत कुरा लुकेको वा तिनको पछाडि कुनै दुर्भावनापूर्ण अभिप्राय रहेको तँलाई थाहै हुँदैन, र साथै, शैतानले दिएका यी सुझावहरू तँ त्याग्‍नै सक्दैनस्। यो परीक्षा हो। जब तँलाई प्रलोभित गरिन्छ र तँ यस्ता शब्‍दहरू सुन्छस्, तब तँ नलोभिई बस्‍न सक्दैनस् र तँ पासोमा पर्ने सम्‍भावना धेरै हुन्छ, र त्यसरी तैँले शैतानको उद्देश्य हासिल गर्छस्। यसैलाई दुष्टता भनिन्छ। सर्पले हव्‍वालाई लोभ्याउन यही विधि प्रयोग गर्‍यो। के यो एक प्रकारको स्वभाव हो? (हो।) अनि, यस प्रकारको स्वभाव कहाँबाट आउँछ? यो सर्प, अर्थात् शैतानबाट आउँछ। यस प्रकारको दुष्ट स्वभाव मानिसको प्रकृतिमै रहेको हुन्छ। के यो दुष्टता मानिसको दुष्ट कामवासनाभन्दा फरक छैन र? दुष्ट कामवासना कसरी पैदा हुन्छ? त्यो देहसँग सम्बन्धित छ। साँच्चैको दुष्टता गहिरो रूपमा लुकेको एक प्रकारको स्वभाव हो, जुन सत्यताको अनुभव वा बुझाइविनाका मानिसहरूले बिलकुलै चिन्न सक्दैनन्। त्यसकारण मान्छेका स्वभावहरूमध्ये यसलाई पत्ता लगाउन सबैभन्दा कठिन हुन्छ। कस्तो प्रकारको व्यक्तिमा दुष्ट स्वभाव सबैभन्दा गम्भीर हुन्छ? अरूलाई शोषण गर्न रुचाउनेहरूमा। तिनीहरू चालबाजीमा यति सिपालु हुन्छन् कि तिनीहरूले चालबाजी गरेका मानिसहरूलाई त्यसपछि के भयो भन्ने नै थाहा हुँदैन। यस्तो व्यक्तिमा दुष्ट स्वभाव हुन्छ। दुष्ट मानिसहरू छल गर्दै अरू माध्यम प्रयोग गरेर आफ्नो छल ढाकछोप गर्छन्, आफ्ना पापहरू ढाक्छन्, र आफ्नो गोप्य अभिप्राय, लक्ष्य, र स्वार्थी चाहनाहरू लुकाउँछन्। यो दुष्ट कुरा हो। साथै, तिनीहरू विविध माध्यम प्रयोग गरेर लोभ्याउने, प्रलोभनमा पार्ने, फकाउने गर्छन्, आफ्ना लक्ष्यहरू हासिल गर्न तँलाई तिनीहरूको इच्छा पछ्याउन र तिनीहरूको स्वार्थी चाहना पूरा गर्न लगाउँछन्। यो सबै दुष्ट कुरा हो। यो असली शैतानी स्वभाव हो। के तिमीहरूले यीमध्ये कुनै व्यवहार देखाएका छौ? तिमीहरूले दुष्ट स्वभावका पक्षहरूमध्ये कुनचाहिँ बढी देखाएका छौ: प्रलोभन, लोभ्याइ, वा झूटले अरू झूट ढाक्ने काम? (मलाई आफूले ती सबै अलिअलि देखाएको छु जस्तो लाग्छ।) तँलाई आफूले ती सबै अलिअलि देखाएको छु जस्तो लाग्छ। अर्थात्, भावनात्मक रूपमा तँलाई आफूले यी व्यवहारहरू देखाएको छस् र देखाएको छैनस् भन्ने दुवै लाग्छ। तँ कुनै प्रमाण दिन सक्दैनस्। त्यसोभए, तैँले आफ्नो दैनिक जीवनमा कुनै कुरा सामना गर्दा, दुष्ट स्वभाव देखाइस् भने के तँ त्यो महसुस गर्छस्? वास्तवमा, यी कुराहरू हरेक व्यक्तिको स्वभावमा हुन्छन्। उदाहरणका लागि, तैँले नबुझ्ने कुरा छ, तर तँ आफूले त्यो बुझ्दिनँ भन्ने कुरा अरूलाई थाहा दिन चाहँदैनस्, त्यसैले तँ त्यो कुरा बुझ्छस् भनेर तिनीहरूलाई सोच्न लगाउन अनेक माध्यम प्रयोग गर्छस्। यो जालझेल हो। यस प्रकारको जालझेल दुष्टताको प्रकटीकरण हो। प्रलोभन र लोभ्याइ पनि छन्, यी सबै दुष्टताको प्रकटीकरण हुन्। के तिमीहरू अरूलाई प्राय: प्रलोभनमा पार्छौ? यदि तँ उचित ढङ्गमा कसैलाई बुझ्ने कोसिस गरिरहेको छस्, ऊसँग सङ्गति गर्न चाहिरहेको छस्, र त्यसो गर्नु तेरो कामका लागि आवश्यक छ र त्यो उचित अन्तरक्रिया हो भने, यो प्रलोभन होइन। तर यदि तँसँग व्यक्तिगत आशय र उद्देश्य छ, र तँ साँच्चै यो व्यक्तिको स्वभाव, पछ्याइ, र ज्ञान बुझ्न चाहँदैनस्, बरु उसको भित्री सोच र साँचो भावनाहरू खोतल्न चाहन्छस् भने, यसलाई दुष्टता, प्रलोभन, र लोभ्याइ भनिन्छ। यदि तँ यसो गर्छस् भने, तँमा दुष्ट स्वभाव छ; के यो लुकेको कुरा होइन र? के यस्तो स्वभाव परिवर्तन गर्न सजिलो हुन्छ? यदि तैँले आफ्नो स्वभावको हरेक पक्षमा के-कस्ता प्रकटीकरणहरू छन्, तिनले प्राय: कस्तो स्थिति पैदा गर्छन् भनी चिन्न, र तिनलाई आफूसँग मिलान गर्न, अनि यस प्रकारको स्वभाव कति भयानक र खतरनाक हुन्छ भनी अनुभूति गर्न सक्छस् भने, तँलाई यस सन्दर्भमा परिवर्तन हुनुपर्छ भन्ने जिम्मेवारी बोध हुन्छ, र तैँले परमेश्वरको वचनको तृष्णा गर्न र सत्यता स्विकार्न सक्नेछस्। त्यतिबेला नै तैँले परिवर्तन हुन र मुक्ति प्राप्त गर्न सक्छस्। तर यदि तैँले तिनलाई आफूसँग मिलान गरेपछि पनि सत्यताको तृष्णा गर्दैनस्, तँ ऋणी वा दोषी महसुस गर्दैनस्—झन् कुनै पश्चात्ताप गर्नु त परै जाओस्—अनि तँ सत्यतालाई प्रेम गर्दैनस् भने, तँलाई परिवर्तन हुन कठिन हुनेछ। र बुझेर केही हुँदैन, किनकि तैँले जेजति बुझेको छस् त्यो सबै धर्मसिद्धान्त मात्र हो। त्यो सत्यताको जुनै पक्ष भए पनि, यदि तेरो बुझाइ धर्मसिद्धान्तमै टुङ्गिन्छ अनि तेरो अभ्यास र प्रवेशसित जोडिँदैन भने, तैँले बुझ्ने धर्मसिद्धान्तको कुनै काम हुनेछैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आत्मज्ञानले मात्रै सत्यता पछ्याउन सहयोग गर्छ

सामान्य रूपमा भन्‍दा, यस संसारमा जन्म लिएको एक मानवजातिको रूपमा तैँले सत्यतालाई उल्लङ्घन गर्ने केही कुरा गरेको हुनेछस्, तैँले अर्को व्यक्तिलाई धोका दिने केही कुरा गरेको तैँले सम्झे तापनि वा तैँले यस अघि धेरै पटक अरूप्रति विश्‍वासघात गरेको भए तापनि केही फरक पर्दैन। तैँले आफ्ना अभिभावकहरू वा मित्रहरूप्रति विश्‍वासघात गर्न सक्‍ने भएको कारण, तँ अरूप्रति पनि विश्‍वासघात गर्न सक्षम छस्, र यसका अलाबा तँ मलाई विश्‍वासघात गर्न र मैले घृणा गर्ने कुराहरू गर्न सक्षम छस्। अर्को शब्दमा, विश्‍वासघात सतही नैतिक व्यवहार मात्र होइन, तर सत्यसँग बाझिने कुरा हो। यथार्थमा यही नै मानवजातिको मप्रतिको प्रतिरोध र विद्रोहको स्रोत हो। यसैले देहायको अभिव्यक्तिमा मैले यसको सारांश दिएको छु: विश्‍वासघात गर्नु मानिसको स्वभाव हो र मसँगको हरेक व्यक्तिको मिलापको निम्ति यो स्वभाव सबैभन्दा ठूलो शत्रु हो।

मप्रति पूर्ण रूपले समर्पित हुन नसक्ने व्यवहार विश्‍वासघात हो। मप्रति निष्ठावान् हुन नसक्ने व्यवहार विश्‍वासघात हो। मप्रति छल गर्ने र मलाई छल गर्नको निम्ति झूट बोल्‍नु विश्‍वासघात हो। विभिन्‍न धारणाहरू राखेर तिनलाई जहाँसुकै फैलाउनु पनि विश्‍वासघात नै हो। मेरा गवाही र चासोहरूलाई समर्थन गर्न नसक्नु विश्‍वासघात हो। हृदयमा मदेखि धेरै टाढा रहेर झूटा मुस्कानहरू प्रस्तुत गर्नु विश्‍वासघात हो। यी सबै विश्‍वासघातका कामहरू हुन् जसको निम्ति तिमीहरू सधैँ सक्षम छौ र ती तिमीहरूका बीचमा सामान्य रूपमा रहेका छन्। तिमीहरूमध्ये कसैले पनि यसलाई समस्याको रूपमा सोचेका थिएनौ होला तर म त्यस्तो सोच्दिनँ। कुनै व्यक्तिले मलाई गर्ने विश्‍वासघातलाई म महत्त्वहीन विषयको रूपमा व्यवहार गर्दिनँ र म निश्‍चय नै यसलाई बेवास्ता गर्न सक्दिनँ। अहिले, मैले तिमीहरूको माझमा काम गर्दा त तिमीहरूले यस्तो व्यवहार गर्छौ—तिमीहरूको निरीक्षण गर्ने कोही नहुने दिन आउँदा, के तिमीहरू आफैलाई आफ्‍ना स-साना पहाडहरूका राजा घोषणा गर्ने डाँकाहरूजस्तै हुने छैनौ र? जब त्यस्तो हुन्छ र तिमीहरूले घोर विपद् सृजना गर्छौ, तिमीहरू पछि सफा गर्ने को हुनेछ र? विश्‍वासघातका केही कार्यहरू बेलाबेलामा हुने घटनाहरू मात्र हुन्, तिमीहरूका दोहोरिरहने व्यवहार होइनन् भन्‍ने तिमीहरू सोच्छौ र तिमीहरूका घमण्डहरूलाई घायल बनाउने गरी यसरी गम्भीर रूपमा छलफल गर्नुपर्ने कुरा होइन भन्‍ने ठान्छौ। यदि तिमीहरूले साँच्चै यस्तो सोच्छौ भने तिमीहरूमा होसको अभाव छ। यस्तो सोच्‍नु विद्रोहको नमुना र आदर्श बन्‍नु हो। मानिसको प्रकृति नै उसको जीवन हो; यो ऊ जिउनको निम्ति भर पर्ने सिद्धान्त हो र उसले यसलाई बदल्न सक्दैन। विश्‍वासघातको प्रकृतिलाई उदाहरणको रूपमा लिऊँ। यदि तैँले कुनै एक नातेदार वा मित्रलाई विश्‍वासघात गरिस् भने त्यसले त्यो तेरो जीवनको भाग हो र तँ जन्मदा साथमा आएको प्रकृति हो भन्‍ने प्रमाणित गर्छ। यसलाई कसैले पनि इन्कार गर्न सक्दैन। …

जोसुकैले पनि तिनीहरूको वास्तविक चेहराको प्रतिनिधित्व गर्नको निम्ति आफ्ना शब्द र कार्यहरूको प्रयोग गर्न सक्छन्। यो वास्तविक चेहरा नै तिनीहरूको प्रकृति हो। यदि तँ कुटिल तरिकाले बोल्छस् भने तेरो प्रकृति कुटिल नै हुन्छ। यदि तँ छली प्रकृतिको छस् भने तँ धूर्त तरिकाले नै कार्य गर्छस् र तैँले अरूलाई अत्यन्तै सहज रूपमा छल गर्छस्। यदि तेरो प्रकृति दुष्ट छ भने तेरा शब्दहरू सुन्‍नलाई मनोहर होलान्, तर तेरा कार्यहरूले तेरा दुष्ट चालबाजीहरूलाई लुकाउन सक्दैनन्। यदि तेरो प्रकृति नै अल्छे छ भने तैँले भन्‍ने सबै कुराहरूको अर्थ तेरो लापरवाही र अल्छेपनको निम्ति तेरो जिम्मेवारीलाई टार्नको लागि हुन्छ र तेरा कार्यहरू ढीला र आलटाले प्रवृत्तिका हुन्छन् अनि सत्यता लुकाउन निपुण हुन्छन्। यदि तेरो स्वभाव सबल छ भने तेरा शब्दहरू तर्कसंगत हुनेछन् र तेरा कार्यहरू पनि सत्यतासँग मेल खानेछन्। यदि तेरो प्रकृति निष्ठावान छ भने तेरा शब्दहरू निश्‍चय नै इमानदार हुन्छन् र तेरो कार्यशैली न्यायसंगत हुन्छ, तेरा मालिकलाई अप्ठ्यारो पार्ने किसिमका कुनै पनि कुराहरूबाट मुक्त हुन्छ। यदि तेरो प्रकृति अभिलाषापूर्ण वा पैसाको लोभ गर्ने छ भने अक्सर तेरो हृदय यी कुराहरूले भरिएको हुन्छ र तैँले अनजानमा पथभ्रष्ट र अनैतिक काम गर्छस् जसलाई मानिसहरूले सजिलै बिर्सनेछैनन् र त्यसलाई मानिसहरूले घृणा गर्नेछन्। मैले भने जसरी नै यदि तँसँग विश्‍वासघातको प्रकृति छ भने, तैँले सायद आफैलाई यसबाट मुक्त पार्न सक्नेछैनस्। तैँले कसैको हानी गरेको छैनस् त्यसैले तँसँग विश्‍वासघातको प्रकृति छैन भनेर आफैलाई भाग्यमानी नठान्। यदि तेरो सोच त्यो हो भने, साँच्चै नै, तैँले विद्रोह गर्दैछस्। मैले हरेक पटक बोलेका मेरा सबै वचनहरू कुनै एक व्यक्ति वा एक प्रकारको व्यक्तिप्रति मात्र होइन, सबै मानिसहरूप्रति लक्षित छन्। तैँले मलाई कुनै एउटा कुरामा विश्‍वासघात गरेको छैनस् भन्दैमा त्यसले तैँले कुनै कुरामा मलाई विश्‍वासघात गर्दैनस् भन्‍ने कुरा प्रमाणित गर्दैन। कतिपय मानिसहरूले आफ्ना विवाहमा अवरोध खडा हुँदाको अवधिमा सत्यताको खोजी गर्ने आफ्नो हिम्मत गुमाउँछन्। परिवार बिग्रँदा केही मानिसहरूले मप्रति वफादार हुनुपर्ने तिनीहरूको दायित्वलाई त्याग्छन्। केही मानिसहरूले क्षणभरको आनन्द र उत्तेजनाको खोजी गर्नका निम्ति मलाई त्याग्छन्। केही मानिसहरू ज्योतिमा बस्‍न र पवित्र आत्माको कामको आनन्द प्राप्त गर्नुको साटो अँध्यारो खाडलमा खस्‍न चाहन्छन्। केही मानिसहरूले सम्पत्तिप्रतिको आफ्नो अभिलाषालाई सन्तुष्ट पार्ने नाउँमा आफ्ना मित्रहरूको सल्लाहलाई बेवास्ता गर्छन् र अहिले पनि आफ्ना गल्तीहरूलाई स्वीकार गर्न र आफ्नो मार्ग परिवर्तन गर्न सक्दैनन्। केही मानिसहरू मेरो सुरक्षा प्राप्त गर्नको निम्ति अस्थायी रूपमा मात्र मेरो नामको अधीनमा बस्छन् भने अरू बाध्यताका कारण थोरै मात्र मप्रति समर्पित हुन्छन् किनकि तिनीहरू जीवनमा टाँसिन्छन् र मृत्युसँग डराउँछन्। के यी र अन्य अनैतिक कार्यहरू सत्यनिष्ठ विनाका कार्यहरू लामो समयदेखि तिनीहरूको हृदयको गहिराइबाट मलाई विश्‍वासघात गर्ने मानिसहरूका व्यवहारहरू होइनन्? अवश्य, मानिसहरूले मलाई विश्‍वासघात गर्ने अग्रिम योजना बनाउँदैनन्; तिनीहरूको विश्‍वासघात तिनीहरूको प्रकृतिको प्राकृतिक प्रकाश हो। कसैले पनि मलाई विश्‍वासघात गर्न चाहँदैन र मेरो विश्‍वासघात गर्ने केही कुरा गरेका कारण कोही पनि खुशी हुँदैनन्। यसको विपरीत, तिनीहरू भयले काँपिरहेका हुन्छन्, हुँदैनन् र? यसैले, के तिमीहरू यी विश्‍वासघातहरूबाट कसरी छुटकारा पाउने र वर्तमान परिस्थितिलाई कसरी परिवर्तन गर्ने भनेर सोचिरहेका छौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (१)

मानिसहरूले प्रायजसो भ्रष्ट स्वभाव प्रकट गर्नुले तिनीहरूको जीवन शैतानको भ्रष्ट स्वभावद्वारा नियन्त्रित छ, र तिनीहरूको सार शैतानको सार हो भन्‍ने प्रमाणित गर्छ। मानिसहरूले यो तथ्यलाई मान्‍नु र स्वीकार गर्नुपर्छ। मानिसको प्रकृति सार र परमेश्‍वरको सारमा भिन्‍नता छ। यो तथ्यलाई स्वीकार गरेपछि तिनीहरूले के गर्नुपर्छ? जब मानिसहरू भ्रष्ट स्वभावलाई प्रकट गर्छन्; जब उनीहरू शरीरको आनन्दमा लिप्त हुन्छन् र परमेश्‍वरबाट टाढा हुन्छन्; वा जब परमेश्‍वरले उनीहरूका आफ्नै विचारहरूसँग मेल नखाने गरी काम गर्नुहुन्छ, र उनीहरूभित्र गुनासाहरू उत्पन्‍न हुन्छन्, तब यो एउटा समस्या हो, र एउटा भ्रष्ट स्वभाव हो; यो परमेश्‍वरको विरुद्धमा विद्रोह हो, परमेश्‍वरको विरोध हो; यो सत्यसँग मेल खाँदैन, यो परमेश्‍वरद्वारा घृणित कुरा हो भनी तिनीहरूले आफूले आफैलाई तुरुन्तै सचेत गराउनुपर्छ। जब मानिसहरूले यी कुराहरू महसुस गर्छन्, उनीहरूले गुनासो गर्नु हुँदैन, वा नकारात्मक बनेर झारा टार्नु हुँदैन, र उनीहरू दुःखी त झन् हुनै हुँदैन; यसको सट्टा, उनीहरू आफैलाई अझै गहन रूपमा चिन्न सक्षम बन्‍नुपर्छ। यसको अतिरिक्त, उनीहरू सक्रिय रूपमा परमेश्‍वरको सामु आउन र परमेश्वरको निन्दा र ताडना स्विकार्न सक्षम हुनुपर्छ। र उनीहरूले तुरुन्तै आफ्नो अवस्थालाई यसरी उल्टाउनुपर्छ कि उनीहरू सत्यता र परमेश्‍वरको वचनअनुसार अभ्यास गर्न, र सिद्धान्तअनुसार कार्य गर्न सक्षम होऊन्। यस प्रकारले, परमेश्‍वरसितको तेरो सम्बन्ध झन्-झन् सामान्य हुनेछ, त्यसरी नै तँभित्रको स्थिति पनि वृद्धि हुनेछ। तैँले भ्रष्ट स्वभाव, भ्रष्टताको सार, र शैतानका विभिन्‍न भ्रष्ट स्थितिहरूलाई अझ स्पष्टसँग चिन्‍न सक्‍नेछस्। अबउप्रान्त तैँले मूर्ख र केटाकेटीले बोलेजस्तो गरी “शैतानले मलाई हस्तक्षेप गरिरहेको थियो,” वा “यो शैतानले मलाई दिएको एक विचार थियो।” भनेर बोल्नेछैनस्। यसको सट्टा, तँसित भ्रष्ट स्वभावहरूको, परमेश्‍वरलाई विरोध गर्ने मानव सारको, र शैतानको सारको सही ज्ञान हुनेछ। तँसित यी कुराहरूलाई सम्हाल्‍ने अझ सही तरिका हुनेछ, र यी कुराहरूले तँलाई बाधा दिनेछैनन्। तैँले थोरै भ्रष्ट स्वभाव प्रकट गरेकोले, वा अपराध गरेकोले, वा आफ्नो कर्तव्य झारा टार्ने तरिकामा गरेकोले, वा बारम्बार आफैलाई निष्क्रिय, नकारात्मक स्थितिमा पाउँदा तँ कमजोर हुनेछैनस् वा परमेश्वरमा र उहाँको मुक्तिमा विश्वास गुमाउनेछैनस्। तँ त्यस्ता स्थितिहरूबीच जिउनेछैनस्, बरु तेरो आफ्नै भ्रष्ट स्वभावलाई सही ढङ्गले सामना गर्नेछस्, र सामान्य आत्मिक जीवन जिउन सक्षम हुनेछस्। व्यक्तिले भ्रष्ट स्वभावहरू प्रकट गर्दा, यदि ऊ उप्रान्त आफ्ना भ्रष्ट स्वभावहरूद्वारा नियन्त्रण र बन्धनमा नपर्न, बरु सत्यता अभ्यास गर्न सक्नका लागि आत्मचिन्तन गर्न, परमेश्वरसामु आई प्रार्थना गर्न, सत्यता खोज्न, अनि आफ्नो भ्रष्ट स्वभावको सार खुट्टयाउन र विश्लेषण गर्न सक्छ भने, ऊ मुक्तिको मार्गमा हिँडेको हुनेछ। व्यक्तिले यस्तो अभ्यास र अनुभव गर्दा, आफ्नो भ्रष्ट स्वभाव हटाउन सक्छ र ऊ शैतानको प्रभावबाट मुक्त हुन्छ। के त्यसपछि ऊ परमेश्वरसामु जिउन आएको अनि उसले स्वतन्त्रता र मुक्ति पाएको हुँदैन र? यो सत्यता अभ्यास र सत्यता प्राप्तिको मार्ग, साथै मुक्तिको मार्ग हो। भ्रष्ट स्वभावहरू मानिसहरूमा गहन रूपले गढिएका हुन्छन्; शैतानको सार र प्रकृतिले मानिसहरूको सोच, व्यवहार र दिमागलाई नियन्त्रण गर्छ। तर, यो सबै कुरा सत्यता, परमेश्वरको काम र मुक्तिसामु फिका पर्न जान्छ; यसले कुनै बाधा दिँदैन। व्यक्तिमा जेजस्तो भ्रष्ट स्वभाव हुन सक्ने भए पनि, तिनीहरूले जस्तोसुकै कठिनाइ भोग्ने भए पनि, तिनीहरूलाई जेजस्तो रोकावट भए पनि, लिन मिल्ने मार्ग, ती कुराहरू हटाउने विधि छ र सम्बन्धित सत्यताहरू छन्। यसरी, के मानिसहरूले मुक्ति पाउने आशा छैन र? छ, मानिसहरूले मुक्ति पाउने आशा छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

अघिल्लो: ५. कसरी आफूलाई चिन्ने र आफ्ना भ्रष्ट स्वभावहरू हटाउने

अर्को: ७. भ्रष्ट मानवको प्रकृति सार कसरी चिन्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्