१६. कर्तव्य निर्वाह गर्दा मानिसहरू सबैभन्दा राम्ररी खुलासा हुन सक्छन् भनेर किन भनिन्छ

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

परमेश्‍वरका चुनिएका सबै मानिसहरूले अहिले आफ्‍नो कर्तव्य पूरा गर्ने अभ्यास गरिरहेका छन्, र परमेश्‍वरले मानिसहरूको कर्तव्य निर्वाहलाई मानिसहरूको एउटा समूहलाई सिद्ध पार्न र अर्को समूहलाई हटाउन प्रयोग गर्नुहुन्छ। त्यसकारण, कर्तव्य पूरा गर्दा नै हरेक प्रकारको व्यक्ति प्रकट हुन्छ, र तिनीहरूको कर्तव्य निर्वाहमा नै हरप्रकारको छली व्यक्ति, अविश्‍वासी, र दुष्ट व्यक्ति प्रकट भएर हटाइन्छ। बफादार रूपमा आफ्‍नो कर्तव्य पूरा गर्नेहरू इमानदार मानिस हुन्; निरन्तर झारा टार्नेहरू छली, छट्टु मानिस हुन्, र तिनीहरू अविश्‍वासी हुन्; अनि आफ्‍नो कर्तव्यमा बाधा र व्यवधानहरू पैदा गर्नेहरू दुष्ट मानिसहरू हुन्, र तिनीहरू ख्रीष्टविरोधीहरू हुन्। अहिले र अझै पनि, कर्तव्य निभाउने मानिसहरूमा व्यापक समस्याहरू रहेका छन्। कतिपय मानिसहरू सधैँ आफ्‍नो कर्तव्यमा अत्यन्तै निष्क्रिय बन्छन्, सधैँ बसिरहन्छन् र अरूमा भर पर्दै प्रतीक्षा गरिरहन्छन्। यो कस्तो मनोवृत्ति हो? यो गैरजिम्‍मेवारपूर्ण मनोवृत्ति हो। परमेश्‍वरको घरले तँलाई कर्तव्य निभाउने जिम्‍मा दिएको छ, तैपनि कुनै ठोस काम नगरी तँ यस विषयमा कैयौँ दिन विचार गरेर बस्छस्। काम गर्ने ठाउँमा तँ देखा पर्दैनस्, अनि समस्याहरू खेप्दा र तिनलाई समाधान गर्नुपर्दा मानिसहरूले तँलाई भेट्टाउन सक्दैनन्। तैँले यो कामको बोझ लिँदैनस्। यदि अगुवाले कामबारे सोध्यो भने, तैँले के भन्‍ने छस्? अहिले तैँले कुनै काम गरिरहेको छैनस्। त्यो काम तेरो जिम्‍मेवारी हो भन्‍ने तँलाई राम्ररी थाहा छ, तैपनि तँ त्यो काम गर्दैनस्। आखिर तैँले के सोचिरहेको छस्? के तँ असक्षम भएकोले तैँले कुनै काम नगरेको हो? कि तँलाई सहजताको लोभ मात्रै लागेको हो? आफ्‍नो कर्तव्यप्रति तेरो मनोवृत्ति कस्तो छ? तँ शब्द र धर्मसिद्धान्तहरूको मात्रै कुरा गर्छस् र राम्रो सुनिने कुराहरू मात्रै बोल्छस्, तर कुनै वास्तविक काम गर्दैनस्। यदि तँ आफ्‍नो कर्तव्य निभाउन चाहँदैनस् भने, तैँले राजीनामा दिनुपर्छ। पद लिएर केही नगरी बस्‍ने नगर्। के त्यसो गर्नु परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्नु र मण्डलीको काम खस्काउनु होइन र? तेरो बोलीवचनअनुसार त, तैँले हरकिसिमका धर्मसिद्धान्त बुझेको जस्तो देखिन्छ, तर तँलाई कर्तव्य निभाउन लगाइयो भने, तँ झाराटारुवा बन्छस्, तर अलिकति पनि विवेक देखाउँदैनस्। के त्यो आफूलाई इमान्दारीसाथ परमेश्‍वरमा अर्पित गर्नु हो त? परमेश्‍वरको सन्दर्भमा तँसँग कुनै इमानदारिता छैन, तैपनि तँ इमान्दारिता भएको नाटक गर्छस्। के तैँले उहाँलाई छल गर्न सक्छस्? तेरो सामान्य कुरा गराइबाट हेर्दा, तँमा ठूलो विश्‍वास भएजस्तो देखिन्छ; तँ मण्डलीको खम्‍बा र आधार बन्‍न चाहन्छस्। तर जब तँ कर्तव्य निभाउँछस्, तँ सलाईको काँटीजत्तिको पनि उपयोगी छैनस्। के यो त तैँले खुलेआम परमेश्‍वरलाई धोका दिनु होइन र? परमेश्‍वरलाई धोका दिन खोज्दा के हुनेछ, के तँलाई थाहा छ? उहाँले तँलाई अप्रिय ठान्‍नुहुनेछ र हटाउनुहुनेछ! आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा सबै मानिसहरू खुलासा हुन्छन्—व्यक्तिलाई कर्तव्यमा लगाउनु मात्रै पर्छ, त्यसपछि ऊ इमानदार हो कि छली व्यक्ति हो र ऊ सत्यतालाई प्रेम गर्ने व्यक्ति हो कि होइन भनेर चाँडै प्रकट भइहाल्छ। सत्यतालाई प्रेम गर्नेहरूले इमानदारीपूर्वक आफ्‍नो कर्तव्य पूरा गर्न र परमेश्‍वरको घरको काममा साथ दिन सक्छन्; सत्यतालाई प्रेम नगर्नेहरूले परमेश्‍वरको घरको काम अलिकति पनि कायम राख्दैनन्, र तिनीहरू आफ्‍नो कर्तव्य निर्वाहमा गैरजिम्‍मेवार हुन्छन्। दृष्टि तीक्ष्ण भएका जोकोहीलाई यो कुरा तुरुन्तै स्पष्ट हुन्छ। आफ्‍नो कर्तव्य राम्ररी पूरा नगर्ने कोही पनि सत्यतालाई प्रेम गर्ने वा इमानदार व्यक्ति होइन; त्यस्ता सबै मानिसहरू खुलासा भएर हटाइनेछन्। आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न, मानिसहरूमा जिम्‍मेवारी र बोझको बोध हुनैपर्छ। यस तरिकाले, काम निश्‍चय नै उचित रूपमा हुनेछ। यदि व्यक्तिमा बोझ वा जिम्‍मेवारीबोध हुँदैन भने, उसलाई सबै कुरामा प्रेरित गर्नुपर्छ भने, र यदि ऊ सधैँ झाराटारुवा बन्‍छ अनि समस्याहरू आउँदा उसले अरूलाई दोष लगाउने प्रयास गरेर ती समस्याहरू हल हुन ढिलाइ हुन्छ भने, यो केवल चिन्ता मात्र ल्याउने कुरा हो। के त्यसपछि काम अझै पनि राम्ररी गर्न सकिनेछ र? अनि के त्यस्ता व्यक्तिहरूको कर्तव्य निर्वाहले कुनै नतिजा निकाल्न सक्छ र? तिनीहरू आफ्नो निम्ति बन्दोबस्त गरिएको कुनै पनि काम गर्न चाहँदैनन्, र अरूलाई काममा सहयोग चाहिएको देख्दा तिनीहरूले बेवास्ता गर्छन्। तिनीहरूलाई आदेश दिइँदा, तिनीहरूले गर्नैपर्ने हुँदा अनि तिनीहरूसँग कुनै विकल्‍प नहुँदा मात्रै तिनीहरूले अलिअलि काम गर्छन्। यो कर्तव्य निर्वाह गर्नु होइन—यो त ज्यालादारी काम हो! ज्यालादारले रोजगारदाताको लागि काम गर्छ, दैनिक ज्यालाको लागि दिनभरि काम गर्छ, एक घण्टाको ज्यालाको लागि एक घण्टा काम गर्छ; तिनीहरू ज्याला पर्खिरहेका हुन्छन्। तिनीहरूलाई आफ्नो मालिकले नदेख्‍ने कुनै काम गर्छु कि, आफूले गरेको कामको इनाम पाउँदिनँ कि भन्‍ने डर हुन्छ, र तिनीहरू देखाउनका लागि मात्रै काम गर्छन्—जसको अर्थ तिनीहरूमा बफादारिता हुँदैन। धेरैजसो समय, कामका समस्याबारे सोध्दा तिमीहरू जवाफ दिन सक्दैनौँ। तिमीहरूमध्ये केही त काममा संलग्‍न भएका छौ, तर तिमीहरूले काममा के-कसो भइरहेको छ भनेर कहिल्यै सोध्‍ने वा यसबारे सावधानीपूर्वक सोच्‍ने गर्दैनौ। तिमीहरूको क्षमता र ज्ञानलाई विचार गर्दा, तिमीहरूलाई कम्तीमा पनि केही त हुनुपर्ने हो, किनभने तिमीहरू सबै यस काममा सहभागी भएका छौ। त्यसो भए, किन अधिकांश मानिसले केही पनि भन्दैनन्? सम्भवतः के भन्‍ने भनेर तिमीहरूलाई साँच्‍चै थाहा नभएको हुन सक्छ—कामकुराहरू राम्रोसित भइरहेका छन् कि छैनन् भनेर तिमीहरूलाई थाहा नभएको हुन सक्छ। यसका दुईवटा कारण छन्: एउटा कारण हो—तिमीहरू पूर्णतया उदासीन छौ, अनि तिमीहरूले यी कुराहरूको कहिल्यै वास्ता गरेनौ र सधैँ तिनलाई पूरा गर्नुपर्ने कामको रूपमा मात्र लियौ। अर्को कारण हो—तिमीहरू गैरजिम्मेवार छौ र यी कुराहरूको ख्याल गर्न तिमीहरू इच्छुक छैनौ। यदि तैँले साँच्‍चै वास्ता गरेको भए र यदि तँ साँच्‍चै संलग्‍न भएको भए, तँसित सबै कुराबारे राय र दृष्टिकोण हुनेथ्यो। भावशुन्य र उदासीन हुँदा र कुनै जिम्मेवारी नलिँदा अक्सर दृष्टिकोण वा राय नहुने गर्छ। तिमीहरू आफूले निर्वाह गर्ने कर्तव्यप्रति लगनशील छैनौ, तिमीहरू कुनै जिम्मेवारी लिँदैनौ, तिमीहरू मूल्य चुकाउन वा संलग्‍न हुन चाहँदैनौ। तिमीहरू न त कुनै कष्ट भोग्छौ, न त अझ धेरै शक्ति खर्चन नै इच्छुक छौ; तिमीहरू केवल अनुचर हुन चाहन्छौ, यो त एक गैरविश्‍वासीले आफ्नो हाकिमको लागि काम गरेजस्तोभन्दा कुनै फरक छैन। यसप्रकारको कर्तव्य निर्वाहलाई परमेश्‍वर मन पराउनुहुन्‍न र यसले उहाँलाई प्रसन्‍न तुल्याउँदैन। यसले उहाँको अनुमोदन पाउन सक्दैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ

कुनै व्यक्तिमा परमेश्‍वरप्रति साँच्चि नै आस्था छ कि छैन भन्‍ने कुरा उसको कर्तव्य निर्वाहबाट प्रकट हुन्छ। उसले सत्यता पछ्याउँछ कि पछ्याउँदैन भनी निर्धारण गर्न, उसले सिद्धान्तअनुसार आफ्नो कर्तव्य निर्वाह गर्छ कि गर्दैन भनेर हेर्। कतिपय मानिसहरूले कर्तव्य निभाउँदा, तिनीहरूमा कुनै सिद्धान्तहरू हुँदैनन्। तिनीहरू निरन्तर रूपमा आफ्‍नै चाहनालाई पछ्याएर स्वेच्‍छाचारी व्यवहार गर्छन्। के यो झारा टार्ने काम देखिएको होइन र? के तिनीहरू परमेश्‍वरलाई छल गरिरहेका छैनन् र? त्यस्तो व्यवहारका केकस्ता परिणामहरू हुनेछन् भनेर तिमीहरूले कहिल्यै विचार गरेका छौ? तिमीहरू आफ्‍नो कर्तव्य निर्वाहमार्फत परमेश्‍वरका अभिप्रायहरूबारे सोचविचार नै गर्दैनौ। तिमीहरू आफूले गर्ने हरेक काममा लापरवाह र अदक्ष छौ, कटिबद्ध समर्पण र प्रयत्न गर्दैनौ। के तिमीहरूले यसरी परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छौ? धेरै मानिसहरू मन नलागी-नलागी आफ्‍नो कर्तव्य निभाउँछन्, र तिनीहरू त्यसमा डटिरहन सक्दैनन्। तिनीहरूले अलिकति पनि कष्ट सहन सक्दैनन्, र सधैँ आफूलाई ठूलो हानि भएको अनुभूति गर्छन्, अनि तिनीहरूले कठिनाइहरू समाधान गर्न सत्यता खोजी पनि गर्दैनन्। के यसरी कर्तव्य निभाएर तिनीहरूले परमेश्‍वरलाई अन्त्यसम्‍मै पछ्याउन सक्छन् र? के आफूले गर्ने हरेक काममा झाराटारुवा बन्‍नु ठिक हुन्छ र? के विवेकअनुसार यो कुरा स्वीकार्य हुन सक्छ? मानवको मानकअनुसार मापन गर्दासमेत यस्तो व्यवहार स्वीकार्य हुँदैन—अनि के यसलाई कर्तव्य निभाउने चित्तबुझ्दो तरिका मान्‍न सकिन्छ? यदि तैँले यसरी आफ्‍नो कर्तव्य निभाउँछस् भने, कहिल्यै पनि सत्यता प्राप्त गर्नेछैनस्। तैँले गर्ने श्रम असन्तोषी हुनेछ। तब कसरी तैँले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छस्? धेरै मानिसहरू आफ्‍नो कर्तव्य निभाउने क्रममा कठिनाइदेखि डराउँछन्, तिनीहरू अत्यन्तै अल्छी हुन्छन्, र तिनीहरू शारीरिक सहजताको लालसा गर्छन्। तिनीहरू विशेष सिपहरू सिक्‍न वा परमेश्‍वरका वचनहरूभित्रका सत्यताहरू मनन गर्ने प्रयत्न कहिल्यै गर्दैनन्; तिनीहरू सोच्छन्, यसरी झाराटारुवा बन्दा तिनीहरू कष्टबाट बच्छन्: तिनीहरूले कुनै कुराको खोजी गर्नु वा कसैलाई प्रश्‍न सोध्‍नु, वा दिमाग खियाउनु वा सोच्‍नु पर्दैन—यसले गर्दा तिनीहरूको धेरै बल जोगिन्छ र तिनीहरूलाई शारीरिक कठिनाइ हुँदैन, र तिनीहरूले अझै पनि काम पूरा गर्न सक्छन्। अनि तैँले तिनीहरूलाई काटछाँट गरिस् भने, तिनीहरूले अवज्ञा गर्छन् र बहाना बनाउँछन्: “मैले अल्छी गर्ने वा पन्छिने काम गरिनँ, काम पूरा गरेँ—किन तपाईं यस्तो र उस्तो भनिरहनुहुन्छ? के यो सानोतिनो गल्ती खोतल्‍ने काम होइन र? मैले यसरी कर्तव्य निभाएर राम्रै गरिरहेको छु, र पनि किन तपाईंलाई चित्त बुझेन?” के तिमीहरूलाई यस्ता मानिसहरूले थप प्रगति गर्न सक्छन् जस्तो लाग्छ? तिनीहरूले आफ्‍नो कर्तव्य निभाउँदा सधैँ झाराटारुवा काम गर्छन्, र पनि अझै अनेक बहाना गर्छन्, अनि समस्याहरू देखा पर्दा तिनीहरूले कसैलाई बोल्‍न दिँदैनन्। यो कस्तो स्वभाव हो? यो शैतानको स्वभाव हो, होइन र? के यस्तो स्वभाव पछ्याएर मानिसहरूले आफ्‍नो कर्तव्य चित्तबुझ्दो रूपमा निभाउन सक्छन्? के तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्? के तिमीहरू यसरी नै आफ्नो कर्तव्य निभाउँछौ? यसो हेर्दा तिमीहरू व्यस्त, अरूसँग कुनै विवाद नगरी राम्ररी काम गरिरहेका देखिन्छौ। तर, तिमीहरूमध्ये कसैले पनि आफ्ना कर्तव्यमा प्रयत्न गरिरहेका छैनौ, यसबारे आफ्नो दिमाग खियाएका छैनौ, र यसबारे चिन्ता लिँदैनौ। तिमीहरू कसैले पनि आफ्नो कर्तव्य राम्ररी पूरा नगरेको कारण भोक वा निद्रा गुमाइरहेका छैनौ। तिमीहरू कसैले पनि सत्यता खोजिरहेका वा समस्या समाधान गर्न सिद्धान्तहरू पालना गरिरहेका छैनौ। तिमीहरू सबै लापरवाह ढङ्गमा झारा टार्दै जीवन धानिरहेका छौ। तिमीहरूमध्ये कमै मात्रले आफ्ना कर्तव्यमा साँचो जिम्मेवारी लिन्छौ। कठिनाइहरू उत्पन्‍न भए तापनि, तिमीहरू गम्भीरताका साथ प्रार्थना गर्न वा समस्या सामना गर्न र मिलेर ती समाधान गर्न एकजुट हुँदैनौ। परिणामबारे विचार गरिँदैन। तिमीहरू कुनै कार्य फेरि दोहोऱ्याएर गर्नुपर्ने गरी मात्र गर्छौ। यस तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको झारा टार्नु मात्र हो र यो गैरविश्‍वासीहरूको काम गर्ने तरिकाभन्दा फरक हुँदैन। यो त श्रमकर्ताको मनोवृत्ति हो। तिमीहरूले यसरी आफ्नो कर्तव्य निर्वाह गरेर परमेश्‍वरको काम अनुभव गरिरहेका हुँदैनौ, न त परमेश्‍वरका लागि आफूलाई सच्चा रूपले समर्पित गरिरहेका नै हुन्छौ। यदि तिमीहरू यो मनस्थिति परिवर्तन गर्दैनौ भने, तिमीहरूलाई प्रकट गरेर हटाइनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो सारा हृदय, मनमस्तिष्क, र प्राणले राम्ररी कर्तव्य निभाउने व्यक्तिले मात्रै परमेश्‍वरलाई प्रेम गरेको हुन्छ

कतिपय मानिसहरू वर्षौँसम्म यसरी नै श्रम मात्र गरिरहन्छन् तर बिलकुलै परिवर्तन हुँदैनन्। कठिनाइहरू सामना गर्दा तिनीहरू अझै पनि प्रायः नकारात्मक बनिरहन्छन्, गुनासो पोखिरहन्छन्, र भ्रष्ट स्वभावहरू प्रकट गरिरहन्छन्। जब तिनीहरूलाई काटछाँट गरिन्छ, तब तिनीहरू विवाद र किचकिच गर्नतिर लाग्छन्, कति पनि सत्यता स्विकार्न सक्दैनन् र परमेश्‍वरप्रति बिलकुलै समर्पित हुँदैनन्। अन्त्यमा, तिनीहरूलाई कर्तव्य निभाउन निषेध गरिन्छ। कतिपय मानिसहरूले कर्तव्य निभाउँदा कामकुराहरू भद्रगोल पार्छन् तर आलोचना स्विकार्दैनन्, बरु लाज पचाउँदै कुनै गलत काम नगरेको दाबी गर्छन् र बिलकुलै पश्‍चात्ताप गर्दैनन्। अन्त्यमा, जब परमेश्‍वरले तिनीहरूको कर्तव्य खारेज गर्नुहुन्छ र तिनीहरूलाई बाटो लगाइदिनुहुन्छ, तिनीहरूले रोइकराइ र गुनासो गर्दै कार्यस्थल छोड्छन्। तिनीहरू यसरी नै हटाइन्छन्। कर्तव्यहरूद्वारा यसरी नै मानिसहरूको पूर्ण रूपले खुलासा हुन्छ। मानिसहरूले प्रायः विश्‍वस्त रूपले नै बोल्छन् र चर्का नाराहरू फलाक्छन्, तर किन तिनीहरू कुनै कर्तव्य निर्वाह गर्दा मानव भएर व्यवहार गर्नुको साटो दियाबलस बन्छन्? यस्तो किन हुन्छ भने, मानवता नभएका मानिसहरू जहाँसुकै गए पनि दियाबलस नै हुन्छन्; र सत्यता नस्विकारीकन तिनीहरू कतै पनि खरो उत्रिन सक्दैनन्। कतिपय मानिसहरूले प्रायः झाराटारुवा तरिकाले कर्तव्य निभाउँछन्, र काटछाँट गरिँदा तिनीहरूले विवाद र तर्क गर्ने प्रयास गर्छन्। लगातार काटछाँट भोगेपछि, तिनीहरूमा पश्‍चात्ताप गर्ने केही चाहना जाग्छ, त्यसैले तिनीहरू आत्मसंयमका विधिहरू प्रयोग गर्न थाल्छन्। तर अन्त्यमा तिनीहरूले आफूलाई काबुमा राख्न सक्दैनन्, र तिनीहरूले कसम खाएर आफैलाई सरापे पनि, त्यसले केही हुँदैन, र तिनीहरूले अझै तिनीहरूको झाराटारुवापनको समस्या अनि विवाद र किचकिच गर्ने समस्या हल गर्दैनन्। अन्त्यमा सबैले यस्तो व्यक्तिलाई घृणा र आलोचना गरेपछि मात्र उसले यसो भन्दै यो कुरा मान्‍न बाध्य हुन्छ, “ममा भ्रष्ट स्वभावहरू छन्। म पश्‍चात्ताप गर्न चाहन्छु तर म सक्दिनँ। कर्तव्य निभाउँदा म सधैँ मेरा आफ्नै हित, गौरव र प्रतिष्ठाबारे विचार गर्छु, जसले मलाई परमेश्‍वरविरुद्ध प्रायः विद्रोह गर्ने तुल्याउँछ। म सत्यता अभ्यास गर्न चाहन्छु, तर म मेरा अभिप्राय र चाहनाहरू त्याग्न सक्दिनँ; म तिनको विरुद्ध विद्रोह गर्न सक्दिनँ। म सधैँ मेरो आफ्नै इच्छाअनुसार काम गर्न चाहन्छु, म काम पन्छाउन षडयन्त्रहरू रच्छु, र म फुर्सद र मस्तीप्रति लालायित हुन्छु। म काटछाँट स्विकार्न सक्दिनँ र सधैँ विवाद गरेर उम्किन खोज्छु। मलाई मैले परिश्रम गरेकोले र कठिनाइहरू सहेकोले मैले पर्याप्त गरेको छु भन्‍ने लाग्छ, त्यसैले कसैले मलाई काटछाँट गर्न खोज्दा म हृदयबाट चित्त बुझाउन नसकेर विवाद र किचकिच गर्नतिर लाग्छु। मलाई सम्हाल्न साँच्चिकै कठिन छ! यी समस्याहरू समाधान गर्न मैले कसरी सत्यता खोज्नुपर्छ?” तिनीहरूले यी कुराहरू मनन गर्न थाल्छन्। यसको अर्थ के हो भने, तिनीहरूमा मानिसहरूले कस्तो व्यवहार गर्नुपर्छ भन्‍नेबारे केही बुझाइका साथै केही समझ पनि छ। यदि कुनै श्रमिकले कुनै बिन्दुमा पुगेर आफ्नो तोकिएको काम गर्न र आफ्नो स्वभाव परिवर्तन गर्नतिर ध्यान दिन थाल्छ भने, र उसले उसमा पनि भ्रष्ट स्वभावहरू छन्, ऊ पनि अहङ्कारी र परमेश्‍वरप्रति समर्पित हुन असक्षम छ, र ऊ यस्तै रहिरहेर अब हुँदैन भन्‍ने महसुस गर्छ भने—जब उसले यी कुराहरू सोच्न र बुझ्‍न प्रयास गर्न थाल्छ, जब उसले आफूले पत्ता लगाएका समस्याहरू सामना गर्ने सत्यता खोज्न सक्छ—के त्यसपछि उसले आफ्नो मार्ग सुल्टाउन थाल्नेछैन र? यदि उसले उसको मार्ग सुल्टाउन थाल्छ भने, ऊ परिवर्तन हुने आशा रहन्छ। तर यदि उसले सत्यता पछ्याउने अभिप्राय कहिल्यै राख्दैन भने, यदि उसमा सत्यताप्रति लागिपर्ने चाहना छैन र उसलाई परिश्रम र काम गर्न मात्र आउँछ, र ऊ आफूलाई दिइएको काम पूरा गर्नु नै आफ्नो कार्य र परमेश्‍वरको आज्ञा पूरा गर्नु हो भन्‍ने विश्‍वास गर्छ भने—यदि उसले केही केही मेहनत लगाउनु भनेकै आफ्नो कर्तव्य निभाइसक्‍नु हो भन्‍ने विश्‍वास गर्छ, तर उसले परमेश्‍वरका मापदण्डहरू के-कस्ता छन् वा सत्यता के हो, वा ऊ परमेश्‍वरप्रति समर्पित हुने व्यक्ति हो वा होइन भन्‍नेबारे कहिल्यै सोचविचार गर्दैन, र यीमध्ये कुनै पनि कुरा कहिल्यै बुझ्न खोज्दैन भने—यदि उसले आफ्नो कर्तव्यलाई यसरी नै लिन्छ भने, के ऊ मुक्ति प्राप्त गर्न सक्षम हुन्छ त? हुँदैन। उसले मुक्तिको मार्गमा पाइला चालेको छैन, ऊ परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा पुगेको छैन, र उसले परमेश्‍वरसित कुनै सम्बन्ध निर्माण गरेको छैन। उसले अझै परमेश्‍वरको घरमा परिश्रम र श्रम मात्र गरिरहेको छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता सिद्धान्तहरू खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निभाउन सक्छ

यदि तँ इमानदार भएर परमेश्‍वरको लागि आफूलाई खर्चेको हुन्थिस् र तँसँग परमेश्‍वरलाई प्रेम गर्ने हृदय हुन्थ्यो भने, सिकसिकलाग्दो, परिश्रमपूर्ण र गाह्रो काम तँ कसरी सम्हाल्नेथिस्? तेरो मानसिकता फरक हुनेथ्यो: तैँले कठिन हुने जुनसुकै काम रोज्नेथिस् र काँधमा भारी बोझ उठाउन खोज्नेथिस्। अरू मानिसहरूले गर्न नमानेका काम तैँले लिनेथिस्, अनि तैँले यो काम केवल परमेश्‍वरको प्रेमका खातिर र उहाँलाई सन्तुष्ट बनाउनको लागि गर्नेथिस्। यसो गर्दा तँलाई आनन्द आउनेथ्यो, र तैँले कुनै गुनासो गर्नेथिनस्। सिकसिकलाग्दो, परिश्रमपूर्ण र गाह्रो कामले मानिसहरूलाई उनीहरू को हुन् भनेर देखाउँछ। हलुका र आकर्षक काम लिने मानिसहरूभन्दा तँ कसरी फरक छस् र? तँ तिनीहरूभन्दा उत्तम छैनस्। के यो कुरा त्यस्तै होइन र? तैँले कामकुराहरू यसरी नै हेर्नुपर्छ। त्यसैले, मानिसहरूलाई उनीहरू को हुन् भनेर सबभन्दा धेरै प्रकाश गर्ने कुरा भनेकै कर्तव्यका दौरान उनीहरूले गर्ने कार्यसम्पादन हो। कतिपय मानिसहरूले अधिकांश समय ठूलाठूला कुरा गर्छन्, र परमेश्‍वरलाई प्रेम गर्न र उहाँप्रति समर्पित हुन इच्छुक रहेको दाबी गर्छन्, तर जब तिनीहरूले कर्तव्य निर्वाह गर्ने क्रममा कुनै कठिनाइ सामना गर्छन्, तब तिनीहरूको मुखबाट हरप्रकारका गुनासा र नकारात्मक शब्दहरू निस्कन्छन्। यसले उनीहरू पाखण्डी हुन् भनेर स्पष्टै देखाउँछ। यदि कसैले सत्यतालाई प्रेम गर्छ भने, उसले कर्तव्य निर्वाह गर्दा कठिनाइ आइपरे पनि, र उसलाई त्यो कर्तव्य उचित रूपमा दिइएको नभए पनि, उसले आफ्नो कर्तव्यलाई गम्भीरतासाथ लिँदै परमेश्‍वरलाई प्रार्थना गर्नेछ र सत्यता खोज्नेछ। भारी, सिकसिकलाग्दो वा कठिन काम गर्नुपरे पनि उसले गुनासो गर्नेछैन र उसले परमेश्‍वरप्रति समर्पित हृदयले आफ्नो कार्य राम्ररी गर्न अनि राम्रोसँग कर्तव्य निर्वाह गर्न सक्नेछ। यसो गर्दा उसलाई धेरै आनन्द मिल्नेछ र परमेश्‍वरलाई पनि यो देखेर सान्त्वना मिल्नेछ। यस्तो व्यक्तिले नै परमेश्‍वरको अनुमोदन प्राप्त गर्छ। यदि कसैले सिकसिकलाग्दो, कठिन र परिश्रमपूर्ण काम पाउनेबित्तिकै रिसाउने र झर्को मान्ने गर्छ, र कसैलाई आफ्नो आलोचना गर्न दिँदैन भने, यस्तो व्यक्ति परमेश्‍वरको लागि आफूलाई इमानदारीसाथ खर्चिने व्यक्ति होइन। यस्तो व्यक्तिलाई केवल प्रकाश गर्न र हटाउन मात्र सकिन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

तँलाई परमेश्‍वरसँग जोड्ने बन्धनलाई सबैभन्दा स्पष्ट रूपमा प्रतिबिम्‍बित गर्ने कुरा भनेको परमेश्‍वरले तँलाई सुम्पने विषयहरू र उहाँले तँलाई अह्राउनुहुने कर्तव्यहरूप्रति तैँले गर्ने व्यवहार, र तँसँग भएको मनोवृत्ति हो। सबैभन्दा प्रत्यक्ष रूपमा देखिने र सबैभन्दा व्यावहारिक कुरा यही हो। परमेश्‍वर कुरिरहनुभएको छ; उहाँ तेरो मनोवृत्ति हेर्न चाहनुहुन्छ। यो महत्त्वपूर्ण मोडमा, तैँले झट्टै परमेश्‍वरलाई आफ्नो स्थान थाहा दिनुपर्छ, उहाँको आज्ञा स्विकार्नुपर्छ र आफ्नो कर्तव्य राम्ररी निभाउनुपर्छ। जब तैँले यो महत्त्वपूर्ण कुरालाई बुझेर परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा पूरा गर्छस्, तब परमेश्‍वरसँगको तेरो सम्‍बन्ध सामान्य बन्‍नेछ। जब परमेश्‍वरले तँलाई कुनै काम सुम्पनुहुन्छ वा कुनै निश्‍चित कर्तव्य पूरा गर्न लगाउनुहुन्छ, तब यदि तेरो मनोवृत्ति सतही र उदासीन किसिमको हुन्छ, र तैँले यसलाई गम्भीरतासाथ लिँदैनस् भने, के यो तेरो सारा हृदय र शक्ति दिनुको ठिक विपरीत कुरा हुँदैन र? के तँ यसरी आफ्नो कर्तव्य राम्ररी निभाउन सक्छस्? पक्कै पनि सक्दैनस्। तैँले आफ्नो कर्तव्य पर्याप्त रूपमा निभाउने छैनस्। त्यसकारण, आफ्‍नो कर्तव्य पूरा गर्दा तैँले धारण गर्ने मनोवृत्ति, साथै तैँले छनौट गर्ने विधि र मार्ग पनि अत्यन्तै महत्त्वपूर्ण हुन्छन्। तिनीहरूले जति नै वर्ष परमेश्‍वरमा विश्‍वास गरेका भए पनि, आफ्नो कर्तव्य निभाउन नसक्नेहरूलाई हटाइनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

अहिले तत्काल सम्बोधन गर्नुपर्ने सबैभन्दा जरुरी विषय भनेको आफ्नो कर्तव्यलाई कुन रूपमा लिने भन्‍ने हो, किनभने व्यक्तिमा रहेको विश्‍वास साँचो छ वा झूटो, उसले सत्यतालाई प्रेम गर्छ वा गर्दैन, उसले सही वा गलत मार्ग रोज्छ, र उसमा विवेक र समझ छ वा छैन भन्‍ने कुरा उसको कर्तव्यपालनले नै सर्वोत्तम रूपमा खुलासा गर्छ। यी सबै कुराहरू कर्तव्यपालनको दौरान खुलासा हुन सक्छन्। आफ्नो कर्तव्यलाई कुन रूपमा लिने भन्‍ने सवाल सम्बोधन गर्नको निम्ति, तैँले सर्वप्रथम कर्तव्य भनेको के हो, साथै त्यो कसरी राम्रो तरिकाले निर्वाह गर्ने र त्यो निर्वाह गर्ने क्रममा तैँले कुनै कठिनाइ भोगिस् भने के गर्ने—अर्थात् कुन सत्यताबमोजिम कुन सिद्धान्तहरू अनुसरण र अभ्यास गर्ने भनेर बुझ्‍नुपर्छ। तैँले आफूले परमेश्‍वरलाई गलत अर्थ्याउँदा र आफ्ना परिकल्पनाहरू त्याग्न नसक्दा के गर्ने भनेर बुझ्‍नुपर्छ। त्यसको साथै, तैँले आफ्ना कर्तव्यहरू निभाउने क्रममा, तेरो हृदयमा भएका गलत सोचहरूमाथि बारम्बार चिन्तन गर्नुपर्छ जुन शैतानका सोच र विचारहरू हुन्, जसले तेरो कर्तव्यपालनमा प्रभाव र बाधा पार्छन्; जसले कर्तव्य निभाउने क्रममा तँलाई परमेश्‍वरविरुद्ध विद्रोह गर्ने र उहाँलाई धोका दिने तुल्याउन सक्छन्; र जसले तँलाई परमेश्‍वरले तँलाई जिम्मा दिनुभएको कुरामा असफल तुल्याउँछन्—तैँले यो सब कुरा जान्‍नुपर्छ। के कुनै व्यक्तिको लागि कर्तव्य महत्त्वपूर्ण हुन्छ? यो अत्यन्तै महत्त्वपूर्ण हुन्छ। अब तिमीहरूलाई यो दर्शन प्रस्ट भएको हुनुपर्छ: परमेश्‍वरमाथि विश्‍वास गर्नको लागि आफ्नो कर्तव्य निर्वाह गर्नु सबैभन्दा महत्त्वपूर्ण हुन्छ। अहिले परमेश्‍वरमा विश्‍वास गर्नुको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको कर्तव्य निर्वाह गर्नु नै हो। कर्तव्य राम्ररी निर्वाह नगरीकन, वास्तविकता हुनै सक्दैन। कर्तव्य निर्वाह गरेर मानिसहरू परमेश्‍वरका अभिप्रायहरू बुझ्न सक्षम हुन्छन्, र तिनीहरूले बिस्तारै उहाँसित सामान्य सम्बन्ध निर्माण गर्न सक्छन्। कर्तव्य निर्वाह गरेर मानिसहरूले बिस्तारै आफ्ना समस्याहरू पहिचान गर्छन्, अनि आफ्ना भ्रष्ट स्वभाव र सार चिन्‍ने अवस्थामा पुग्छन्। त्यो सँगसँगै, आफूमाथि चिन्तन गरेर मानिसहरूले परमेश्‍वरले तिनीहरूलाई के-कस्तो मापदण्ड दिनुहुन्छ भनेर बिस्तारै पत्ता लगाउन पनि सक्छन्। के अब परमेश्‍वरमा विश्‍वास गर्दा, तैँले विश्‍वास गर्ने कुरा के हो भनेर बुझ्छस्? खासमा, त्यो सत्यतामाथिको विश्‍वास हो, त्यो सत्यता प्राप्ति हो। कर्तव्य निर्वाह गर्नाले सत्यता र जीवन प्राप्त गर्न मदत मिल्छ। कर्तव्य निर्वाह नगरीकन सत्यता र जीवन प्राप्त गर्न सकिँदैन। यदि कसैले कर्तव्य निर्वाह नगरीकन परमेश्‍वरमा विश्‍वास गर्छ भने के त्यसमा वास्तविकता हुन सक्छ? (सक्दैन।) त्यसमा वास्तविकता हुनै सक्दैन। यसर्थ, यदि तैँले तेरो कर्तव्य राम्ररी निर्वाह गर्दैनस् भने, तैँले सत्यता प्राप्त गर्न सक्दैनस्। तँलाई हटाइएपछि, यसले तैँले परमेश्‍वरमा विश्‍वास गर्न सकिनस् भन्‍ने देखाउँछ। तैँले उहाँमा विश्‍वास गर्छु भनेर भन्छस् नै भने पनि, तेरो विश्‍वास अर्थहीन भैसकेको हुन्छ। यो पूर्णतया बोध गर्नैपर्ने कुरा हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता सिद्धान्तहरू खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निभाउन सक्छ

अब सबैजना आ-आफ्नो समूहमा वर्गीकृत हुने समय आएको छ। यो परमेश्‍वरले मानिसहरूलाई खुलासा गरेर हटाउने समय हो। यदि तिमीहरू परमेश्‍वरका साँचो विश्‍वासी हौ भने, तिमीहरूले राम्ररी सत्यता पछ्याएर कर्तव्य निर्वाह गर्नुपर्छ। यदि तँ केही अनुभवात्मक गवाही सुनाउन सक्छस् भने, यसले तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होस्, र तँसित केही सत्यता वास्तविकताहरू छन् भन्‍ने प्रमाणित गर्छ। तर यदि तँ कुनै पनि अनुभवात्मक गवाही सुनाउन सक्दैनस् भने, तँ श्रम गर्ने व्यक्ति होस् र हटाइने खतरामा हुन्छस्। यदि तँ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्छस् अनि जिम्मेवार र वफादार छस् भने तँ वफादार श्रमकर्ता होस् र तँ रहन सक्छस्। जो वफादार श्रमकर्ता होइन, उसलाई हटाइनुपर्छ। तसर्थ, आफ्नो कर्तव्य राम्ररी निर्वाह गरेर मात्र तँ परमेश्‍वरको घरमा दृढ रहन अनि विपत्तिबाट बच्न सक्छस्। आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। परमेश्‍वरको घरका मानिसहरू कम्तीमा पनि इमानदार हुन्छन्। तिनीहरू आफ्नो कर्तव्यमा भरोसायोग्य, परमेश्‍वरको आज्ञा स्विकार्न सक्ने, र वफादारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्न सक्ने मानिसहरू हुन्। यदि मानिसहरूमा साँचो आस्था, विवेक, र समझ छैन, र यदि तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने र उहाँमा समर्पित हुने हृदय छैन भने, तिनीहरू कर्तव्यपालन गर्न उचित हुँदैनन्। तिनीहरू आफ्नो कर्तव्यपालन गर्ने भए पनि त्यसमा लापरवाही गर्छन्। तिनीहरू श्रमकर्ता—साँचो रूपमा पश्चात्ताप नगरेका मानिसहरू हुन्। यस्ता श्रमकर्ताहरू ढिलोचाँडो हटाइनेछ। वफादार श्रमकर्ताहरू मात्र रहनेछन्। वफादार श्रमकर्ताहरूमा सत्यता वास्तविकता नभए पनि, विवेक र समझ हुन्छ, तिनीहरू इमानदारीका साथ आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन्, र परमेश्‍वरले तिनीहरूलाई रहन अनुमति दिनुहुन्छ। सत्यता वास्तविकता भएका र परमेश्‍वरको जोरदार गवाही दिन सक्नेहरू उहाँका मानिस हुन्, र तिनीहरूलाई रहन दिइनेछ र तिनीहरू उहाँको राज्यमा ल्याइनेछन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो कर्तव्य राम्ररी निभाउनका लागि, व्यक्तिमा कम्तीमा पनि विवेक र समझ हुनुपर्छ

अघिल्लो: १५. आफ्नो कर्तव्य राम्ररी निर्वाह गरेमा मात्र आफूसँग साँचो गवाही हुनेछ

अर्को: १७. बिमार र पीडालाई कसरी लिने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्