१४. कर्तव्य निर्वाह र परमेश्‍वरको गवाही दिनुबीच सम्बन्ध

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

तिमीहरूले भोगेका र देखेका कुराहरू सारा युगका सन्तहरू र अगमवक्ताहरूको भन्दा पनि अधिक छन्, तर के तिमीहरूले विगतका यी सन्तहरू र अगमवक्ताहरूका वचनभन्दा ठूलो गवाही दिन सक्छौ त? मैले अहिले तिमीहरूलाई दिने कुराहरूले मोशा र दाऊदलाई दिएका कुरालाई नै उछिन्छ, त्यसरी नै तिमीहरूका गवाही मोशाको भन्दा अधिक र तिमीहरूका शब्दहरू दाऊदका भन्दा महान् होस् भन्‍ने म चाहन्छु। म तिमीहरूलाई सय गुणा दिन्छु—तिमीहरूले उही रूपमा फिर्ता गरेको म चाहन्छु। मानवजातिलाई जीवन दिने म नै हुँ भनी तिमीहरूलाई थाहा हुनुपर्छ, अनि मबाट जीवन पाउने र मेरो निम्ति गवाही दिने तिमीहरू नै हौ। मैले तिमीहरूलाई दिएको कर्तव्य यही हो, जुन तिमीहरूले मेरो निम्ति गर्नुपर्छ। मैले मेरा सबै महिमा तिमीहरूलाई दिएको छु, मेरा चुनिएका मानिसहरू, इस्राएलीहरूले कहिल्यै प्राप्‍त नगरेका जीवन मैले तिमीहरूलाई दिएको छु। अधिकारद्वारा नै, तिमीहरूले मेरो गवाही दिनुपर्छ र तिमीहरूको जवानी र तिमीहरूको जीवन मलाई अर्पण गर्नुपर्छ। जसलाई म मेरो महिमा दिन्छु उसले मेरो गवाही दिनेछ र मेरो निम्ति तिनीहरूको जीवन दिनेछन्। यसलाई मैले उहिले नै निर्धारण गरेको छु। मैले तिमीहरूलाई मेरो महिमा दिनु त तिमीहरूको लागि सौभाग्यको कुरा हो र तिमीहरूको कर्तव्यचाहिँ मेरो महिमाको गवाही दिनु हो। यदि तिमीहरूले आशिष्‌ पाउनलाई मात्र ममा विश्‍वास गरेका थियौ भने, मेरो कामको महत्त्व कम हुन्थ्यो र तिमीहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुँदैनथियौ। … तिमीहरूले प्राप्‍त गरेको कुरा मेरो सत्यता, बाटो र जीवन मात्र होइन, तर यूहन्नाको भन्दा पनि ठूलो दर्शन र प्रकाश हो। तिमीहरूले धेरैभन्दा धेरै रहस्यहरू बुझ्छौ र मेरो साँचो मुहारमा हेरेका छौ; तिमीहरूले मेरो न्याय धेरै स्वीकार गरेका छौ र मेरो धर्मी स्वभावलाई बढी जान्दछौ। त्यसै गरी, तिमीहरू आखिरी दिनहरूमा जन्मिएका भए तापनि तिमीहरूको बुझाइ विगतको जस्तो छ, र तिमीहरूले आजका कुराहरू पनि अनुभव गरेका छौ र यी सबै म स्वयम्‌ले गरेको थिएँ। मैले तिमीहरूसँग जे मागेको छु त्यो अत्याधिक छैन, किनभने मैले तिमीहरूलाई धेरै दिएको छु, र तिमीहरूले ममा धेरै देखेका छौ। यसैले, तिमीहरूले विगतका सन्तहरूलाई मेरो निम्ति गवाही देओ भन्‍ने म चाहन्छु र मेरो हृदयको एक मात्र इच्छा यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?

जहाँसम्म कामको कुरा छ, काम गर्नु भनेको परमेश्‍वरका निम्ति यताउति दौडनु, सबै ठाउँमा प्रचार गर्नु, र उहाँको खातिर अर्पित हुनु हो भन्‍ने मानिसले विश्‍वास गर्छ। यस्तो विश्‍वास सही भए पनि यो अत्यन्तै एकतर्फी छ; परमेश्‍वरले मानिसलाई आग्रह गर्नुभएको कुरा उहाँका निम्ति यताउति दौडधूप गर्नु मात्र होइन; त्योभन्दा बढी, यो काम आत्माभित्रको सेवकाइ र प्रबन्धसित सम्बन्धित छ। धेरै दाजुभाइ-दिदीबहिनीहरूले, यति धेरै वर्षको अनुभवपछि पनि परमेश्‍वरको निम्ति काम गर्नेबारेमा कहिल्यै सोचेका छैनन्, किनकि मानिसले जुन कामको बारेमा सोच्छ त्यो परमेश्‍वरले आग्रह गर्नुभएको कामसित नमिल्दो हुन्छ। त्यसकारण, मानिसमा कामको विषयमा कुनै पनि रुचि छैन, मानिसको प्रवेश एकतर्फी हुनुको मुख्य कारण यही हो। तिमीहरू सबैले परमेश्‍वरका निम्ति काम गर्दै आफ्नो प्रवेश सुरु गर्नुपर्छ, यसरी तिमीहरूले अनुभवको प्रत्येक पक्षलाई राम्ररी अनुभव गर्न सक्छौ। तिमीहरू प्रवेश गर्नुपर्ने यहीभित्र हो। कामले परमेश्‍वरको खातिर यताउति दगुरिहिँड्नु भन्‍ने बुझाउँदैन, यसले त मानिसको जीवन अनि ऊ जसरी जिउँछ त्यस कुराले परमेश्‍वरलाई आनन्द दिन्छ कि दिँदैन भन्‍ने कुरालाई बुझाउँछ। कामले परमेश्‍वरप्रतिको आफ्‍नो भक्ति र परमेश्‍वरसम्बन्धी आफ्नो ज्ञानलाई मानिसहरूले उहाँको निम्ति साक्षी दिन र मानिसको सेवा गर्नको लागि प्रयोग गर्नुलाई बुझाउँछ। मानिसको जिम्मेवारी यही हो र सबै मानिसहरूले बुझ्नुपर्ने यही हो। कसैले भन्‍न सक्छ कि तिमीहरूको प्रवेश नै तिमीहरूको काम हो, र तिमीहरूले परमेश्‍वरका निम्ति काम गरिरहेको बेला प्रवेश गर्ने कोसिस गर्छौ। परमेश्‍वरको कामको अनुभव गर्नु भनेको उहाँको वचन कसरी खाने र पिउने भनी जान्‍नु मात्र होइन; अझ महत्त्वपूर्ण कुरा, तिमीहरूले परमेश्‍वरको बारेमा साक्षी दिन जान्‍नुपर्छ र तिमीहरूले परमेश्‍वरको सेवा गर्नका साथै मानिसको लागि सेवकाइ र आवश्यक प्रबन्ध गर्न सक्‍नुपर्छ। यही नै काम हो, र यो तिमीहरूको प्रवेश पनि हो; प्रत्येक व्यक्तिले हासिल गर्नुपर्ने कुरा यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (२)

तैँले परमेश्‍वरको धेरै कामको अनुभव गरेको छस्, तैँले यो आफ्नै आँखाले देखेको छस् र व्यक्तिगत रूपमा अनुभव गरेको छस्; जब तँ अन्त्यमा पुगेको हुन्छस्, तब तँलाई जुन काम गर्ने कर्तव्य दिइएको छ त्यो गर्न तँ असक्षम हुनु हुँदैन। त्यो धेरै दुःखलाग्दो कुरा हुनेछ! भविष्यमा, जब सुसमाचार फैलाइन्छ, तैँले आफ्नै ज्ञानको कुरा गर्न सक्षम हुनुपर्दछ, तैँले आफ्नो हृदयमा प्राप्त गरेका सबै कुराहरूको गवाही दिनुपर्छ, र कुनै पनि कोसिस बाँकी राख्नुहुँदैन। सृष्टि गरिएको प्राणीले प्राप्त गर्नुपर्ने कुरा यही हो। परमेश्‍वरको कामको यस चरणको वास्तविक महत्त्व के हो? यसको प्रभाव के हो? र मानिसमा यो कतिसम्म अघि बढाइन्छ? मानिसहरूले के गर्नुपर्छ? जब तिमीहरूले देहधारी परमेश्‍वरले संसारमा आउनुभएपछि गर्नुभएका सबै कामहरूको बारेमा स्पष्ट बताउन सक्छौ, तब तिमीहरूको गवाही पूर्ण हुनेछ। जब तैँले यी पाँचवटा कुरा स्पष्ट रूपमा बताउन सक्छस्: उहाँको कामको महत्त्व; त्यसको विषयवस्तुहरू; त्यसको सार; त्यसले प्रतिनिधित्व गर्ने स्वभाव र त्यसका सिद्धान्तहरू, तब त्यसले तँ परमेश्‍वरको गवाही दिन सक्षम छस्, र तँमा साँच्चै ज्ञान छ भन्‍ने प्रमाण दिन्छ। मैले तिमीहरूबाट गरेका मागहरू अति उच्च छैनन्, र जो वास्तविक खोजीमा छन् तिनीहरूले त्यो प्राप्त गर्न सक्छन्। यदि तैँले परमेश्‍वरका गवाहीहरूमध्ये एक बन्ने संकल्प गर्छस् भने, परमेश्‍वरले कुन कुरालाई घृणा गर्नुहुन्छ र कुन कुरालाई प्रेम गर्नुहुन्छ सो तैँले बुझ्नैपर्छ। तैँले उहाँका धेरै कामहरूको अनुभव गरेको छस्; यस कामद्वारा तैँले उहाँको स्वभाव जान्नुपर्छ, उहाँका अभिप्रायहरू र मानव जातिसँग उहाँले गर्नुभएको मागलाई बुझ्नुपर्छ र उहाँको गवाही दिन र तेरो कर्तव्य पूरा गर्न तैँले त्यो ज्ञानको प्रयोग गर्नुपर्दछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (७)

सृष्टि गरिएको हरेक प्राणीको पहिलो प्राथमिकता भनेको सुसमाचार प्रचार गर्नु, परमेश्वरको कामको गवाही दिनु र त्यसलाई संसारभर र संसारको कुनाकुनामा फैलाउनु हो। यो परमेश्वरको सुसमाचार स्विकार्ने हरव्यक्तिको जिम्मेवारी र दायित्व हो। यो तिनीहरूको नैतिक दायित्व हो। सायद अहिले तँ यो कर्तव्य निर्वाह गरिरहेको छैनस्, वा यो कर्तव्य तँभन्दा निकै टाढाको कुरा हो, वा तैँले यो कर्तव्य आफूले निर्वाह गर्नैपर्छ भनेर कहिल्यै सोचेको छैनस्। तर, यसबारे तेरो हृदय प्रस्ट हुनैपर्छ: यो कर्तव्य तँसित जोडिएको छ। यो अरूको मात्र जिम्मेवारी होइन, यो तेरो पनि जिम्मेवारी र कर्तव्य हो। तँलाई अहिले यो कर्तव्य निर्वाह गर्न खटाइएको छैन भन्दैमा यसको अर्थ यो कर्तव्य तेरो सरोकारको विषय होइन, यो तैँले निर्वाह गर्नुपर्ने कर्तव्य होइन, वा परमेश्वरले तँलाई यो कर्तव्य निर्वाह गर्न सुम्पनुभएको छैन भन्ने होइन। यदि तेरो बुझाइ यो स्तरसम्म पुग्न सक्छ भने, के यसको मतलब सुसमाचार प्रचारप्रति तेरो हृदयमा भएको दृष्टिकोण सत्यता र परमेश्वरको इच्छाबमोजिम छ भन्ने होइन र? जब तेरो बुझाइ यो स्तरसम्म पुग्छ, तब कुनै दिन, तिमीहरू सबैले आफूसँग भएका सबै काम सकाइसकेपछि, परमेश्वरले तिमीहरूलाई चारैतिर छरिन आदेश दिनुहुनेछ र तिमीहरूलाई बाँडेर चारैतिर पठाउनुहुनेछ, सबैभन्दा अनौठो, सबैभन्दा मन नपर्दो, सबैभन्दा कठिन लाग्ने कतिपय ठाउँमा समेत पठाउनुहुनेछ। त्यसपछि तिमीहरू के गर्नेछौ? (हामीले सम्मानबोधले स्विकार्नैपर्ने हुन्छ।) अहिले त तिमीहरू त्यही भन्छौ, तर त्यो दिन आएपछि तिमीहरूका आँखाभरि आँशु होला। अब, तिमीहरूले यो तरिकाले तयारी गर्नैपर्छ: तिमीहरूलाई यो थाहा हुनैपर्छ, “म जन्मेको युग यही हो। परमेश्वरका आखिरी दिनहरूको काम स्विकार्न पाएकोमा र परमेश्वरको व्यवस्थापन योजनाको काममा सहभागी हुन पाएकोमा म भाग्यमानी हुँ। त्यसकारण, मेरो जीवनको मूल्य र महत्त्व भनेको मेरो पूरै जीवनको ऊर्जा परमेश्वरको सुसमाचारको काम फैलाउनमा समर्पित गर्ने हुनुपर्छ। म अरू कुनै कुरा सोच्नेछैनँ।” के तिमीहरूमा यो आकाङ्क्षा छ? (छ।) तिमीहरूमा यो आकाङ्क्षा हुनुपर्छ र तिमीहरूले यो तयारी र योजना गरेको हुनुपर्छ। यसरी मात्र तँ सृष्टि गरिएको साँचो प्राणी, परमेश्वरले प्रेम गर्ने र उहाँलाई स्वीकार्य सृष्टि गरिएको प्राणी बन्न सक्छस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार फैलाउनु त्यो कर्तव्य हो जसलाई सम्मान गर्न सबै विश्‍वासीहरू बाध्य छन्

तिमीहरू सबै अहिले आफ्नो कर्तव्य निर्वाह गर्न व्यस्त छौ, परमेश्‍वको वचन र आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुभएका कामबारे प्रचारप्रसार गर्न र गवाही दिन तालिम लिइरहेका छौ। परमेश्‍वरको लागि गवाही दिन चाहे फिल्म बनाउने होस् वा भजन गाउने, के तिमीहरूले निर्वाह गरेका कर्तव्यहरू भ्रष्ट मानवजातिको लागि मूल्यवान छन्? (छन्।) तिनको मूल्य कहाँनेर छ? तिनको मूल्य परमेश्‍वरले व्यक्त गर्नुभएका यी वचनहरू र सत्यता बुझिसकेपछि मानिसहरूलाई सही मार्ग हिँड्न मदत गर्नुमा छ, र मानिसहरूलाई तिनीहरू यस सृष्टिका हिस्सा हुन् र तिनीहरू सृष्टिकर्तासामु आउनुपर्छ भनेर बुझ्न मदत गर्नुमा छ। धेरै मानिसहरू आफूले सामना गर्ने धेरैजसो कुराहरू देख्न र बुझ्न असमर्थ हुन्छन्। तिनीहरूले आफू असहाय अनि जीवन निरर्थक र खाली रहेको महसुस गर्छन्, र तिनीहरूमा कुनै आत्मिक भरणपोषण हुँदैन। यो सबै कुराको स्रोत के हो? यी सबै कुराको उत्तर परमेश्‍वरको वचनमा रहेको छ। यतिका वर्षसम्म तिमीहरूले परमेश्‍वरमा विश्‍वास गरेका छौ, तिमीहरू सबैले उहाँका वचनहरू धेरै पढेका छौ र केही न केही सत्यता बुझेका छौ। त्यसैले तिमीहरूले पूरा गर्नुपर्ने कर्तव्य भनेको परमेश्‍वरको वचन प्रयोग गरी तिनीहरूलाई अन्तर्दृष्टि प्रदान गरेर तिनीहरूका गलत सोच र विचारहरू समाधान गर्नु, तिनीहरूलाई परमेश्‍वरको वचनभित्र रहेका सत्यता बुझ्न र यस संसारको अँध्यारो र खराब कुराहरू स्पष्ट देख्न सक्षम बनाउनु, र साथै तिनीहरूलाई साँचो मार्ग खोज्न, सृष्टिकर्ता पत्ता लगाउन, परमेश्‍वरको आवाज सुन्न र उहाँका वचनहरू पढ्न मदत गर्नु हो। यसबाट तिनीहरूलाई केही सत्यता बोध गर्न र परमेश्‍वरले गरिरहनुभएको मुक्तिको कार्य देख्न, अनि उहाँतर्फ फर्कन र उहाँको कार्य स्वीकार गर्न मदत मिल्नेछ। तिमीहरूले गर्नुपर्ने कर्तव्य यही हो। तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि कति धेरै सत्यता बुझेका छौ र कति धेरै समस्या समाधान गरेका छौ, त्यो तिमीहरू सबैलाई हृदयदेखि नै थाहा छ। आजकल, धार्मिक र अविश्‍वासी दुवै वर्गका यस्ता धेरै मनिसहरू छन् जो साँचो मार्ग र मुक्तिदाता खोजिरहेका छन्। तिनीहरूलाई मानिसहरू किन जिउँछन् र मर्छन्, व्यक्तिको जीवनको मूल्य र अर्थ के हो, वा मानिसहरू कहाँबाट आउँछन् र तिनीहरू कहाँ गइरहेका छन् जस्ता खासखास प्रश्‍नहरूको उत्तर थाहा हुँदैन। तिनीहरूले तिमीहरू आएर सुसमचार प्रचार गरौला र परमेश्‍वरको गवाही दिऔला अनि तिनीहरूलाई सृष्टिकर्तासामु लैजाउला भनेर पर्खिरहेका हुन्छन्—यही कारणले गर्दा तिमीहरूले अहिले निर्वाह गरिरहेको कर्तव्य धेरै अर्थपूर्ण छ! एक अर्थमा, तिमीहरू आफैले परमेश्‍वरको कार्य अनुभव गरिरहेका छौ, र अर्को अर्थमा, अरूलाई परमेश्‍वरको कामको गवाही पनि दिइरहेका छौ। यसको अनुभव जति धेरै गर्‍यो, त्यति नै धेरै तिमीहरूले सत्यता बुझ्नु र सत्यताद्वारा सुसज्जित हुनु, अनि त्यति नै धेरै काम गर्नु जरुरी छ। परमेश्‍वरको लागि यो मानिसहरूलाई सिद्ध पार्ने एउटा उत्कृष्ट अवसर हो। आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, जुनसुकै कठिनाइहरू सामान गर्नुपरे पनि, तिमीहरूले परमेश्‍वरलाई प्रार्थना गर्ने वा परमेश्‍वरतर्फ हेर्ने गर्नुपर्छ; जब सबैले परमेश्‍वरको वचन पढ्छन् र मिलेर अझ धेरै सत्यता खोज्छन्, तब समाधान गर्न नसकिने कुनै समस्या नै हुँदैन। परमेश्‍वको वचनमा तिमीहरूले बुझ्न आवश्यक धेरै सत्यताहरू छन्। त्यसैले तिमीहरूले अक्सर ती सत्यताबारे चिन्तनमनन र सङ्गति गर्नुपर्छ, त्यसपछि तिमीहरूसँग पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति हुनेछ। परमेश्‍वरमाथि भरोसा राखेर समाधान गर्न नसकिने कुनै समस्या नै छैन, र यसबारे तिमीहरूमा विश्‍वास हुनैपर्छ।

यो मानवजाति सृष्टि गर्नुभएपछि, परमेश्‍वरले व्यवस्थापन योजना तयार गर्नुभयो। विगतका हजारौं वर्षको अवधिमा, यो मानवजातिले सृष्टिकर्ताको गवाही दिन कुनै ठूलो जिम्‍मेवारी वा कार्यभार उठाएन, र परमेश्‍वरले मानवजातिमाझ गर्नुभएको काम पनि तुलनात्मक रूपमा गुप्त र सरल थियो। तर आखिरी दिनहरूमा, अवस्था फरक छ। सृष्टिकर्ताले वचनहरू बोल्न सुरु गर्नुभएको छ। उहाँले कैयौँ सत्यता व्यक्त गर्नुभएको छ र उहाँको व्यवस्थापन योजनाको रहस्य खोल्नुभएको छ, तर भ्रष्ट मानवजाति मन्दबुद्धिको र चेतनाहीन छ: मानिसहरूले देख्छन् तर चिन्दैनन्, र सुन्छन् तर बुझ्दैनन्, मानौँ तिनीहरूको हृदय पत्थर बनिसकेको छ। त्यसकारण, तिमीहरू सबैले ठूलो जिम्‍मेवारी वहन गर्छौ! अनि यसमा त्यस्तो ठूलोचाहिँ के छ त? यसमा परमेश्‍वरले व्यक्त गर्नुभएका वचन र सत्यताहरू फैलाउनुबाहेक, तिमीहरूले सृष्टि गरिएको हरेक मान्छेको अघि परमेश्‍वरको गवाही दिनु र तिमीहरूले परमेश्‍वरको सुसमाचार सुनेको हरेक सृष्टि गरिएको मान्छेलाई सृष्टिकर्ताको अघि ल्याउनु अझै महत्त्वपूर्ण छ, ताकि तिनीहरूले परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुको महत्त्व बुझ्न सकून् र तिनीहरूले सृष्टि गरिएको मान्छेको रूपमा सृष्टिकर्ताकहाँ फर्केर आउनुपर्छ, उहाँका वाणीहरू सुन्‍नुपर्छ र उहाँले व्यक्त गर्नुभएका सबै सत्यताहरू स्विकार्नुपर्छ भनेर जान्‍न सकून्। यस तरिकाले हरेक मान्छेलाई सृष्टिकर्ताका सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुन लगाउन सकिन्छ। के यी नतिजाहरू परमेश्‍वरको वचनका केवल केही खण्ड पढेर हासिल गर्न सम्भव छ? मात्र केही भजन गाउन सिकेर यस्तो गर्न सम्भव छ? कामको एउटा पाटो मात्र गरेर यो सम्भव छ? अहँ, छैन। त्यसैले, यदि आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नु छ भने, तिमीहरूले विभिन्न विधि र फरकफरक माध्यम प्रयोग गरी सृष्टिकर्ताको कार्य, उहाँको सार्वभौमिकता र बन्दोबस्तको गवाही दिनुपर्छ। यस तरिकाले, तिमीहरूले अझै बढी मानिसहरूलाई सृष्टिकर्तासामु ल्याउन र तिनीहरूलाई उहाँको सार्वभौमिकता र बन्दोबस्त स्विकार्दै तिनमा समर्पित हुन मदत गर्न सक्‍नेछौ। के यो ठूलो जिम्मेवारी होइन र? (यो ठूलो जिम्मेवारी हो।) त्यसोभए, तिमीहरूले आफ्नो कर्तव्यप्रति कस्तो मनोवृत्ति राख्नुपर्छ? के अन्यौलमा रहनु ठीक हुन्छ? के परिस्थितिप्रति आँखा चिम्लेर बस्नु ठीक हुन्छ? के आधा मनले र झारातिरुवा शैलीले कामकुरा गर्नु ठीक हुन्छ? के आलटाल गर्दै र लापरवाही तरिकाले काम गर्नु ठीक हुन्छ? (अहँ, हुँदैन।) त्यसोभए, तिमीहरूले के गर्नुपर्छ? (पूर्ण हृदयले काममा लाग्‍नुपर्छ।) तिमीहरूले आफूमा भएको सबै ऊर्जा, अनुभव र अन्तर्दृष्टि प्रयोग गरेर पूर्ण हृदयले काममा लाग्‍नुपर्छ। व्यक्तिले आफ्नो जीवनमा सबभन्दा सार्थक काम के गर्न सक्छ भनेर अविश्‍वासीहरूले बुझ्न सक्दैनन्, तर तिमीहरू यसबारे केही बुझ्छौ, हैन र? (हो।) परमेश्‍वरले तिमीहरूलाई जे सुम्पनुभएको छ त्यो स्विकार्नु र आफ्नो कार्यलक्ष्य पूरा गर्नु—महत्वपूर्ण कुराहरू यिनै हुन्। तिमीहरूले अहिले निर्वाह गरिरहेका कर्तव्यहरू मूल्यवान्‌ छन्! तैँले अहिले नै प्रभाव नदेख्न सक्छस्, र अहिले नै त्यसबाट राम्रा नतिजाहरू नपाउन सक्छस्, तर त्यसले फल दिन धेरै समय लाग्नेछैन। दीर्घकालमा, यदि यो कार्य राम्रोसँग गरेमा यसले मानवजातिमाथि पुर्‍याउने योगदान पैसाले मापन गर्न सकिनेछैन। यस्ता साँचा गवाहीहरू अरू कुनै पनि कुराभन्दा धेरै मूल्यवान्‌ र महत्त्वपूर्ण हुन्छन्, र अनन्तकालसम्म रहिरहनेछन्। यी कुराहरू परमेश्‍वरलाई पछ्याउने हरेक व्यक्तिका असल कर्महरू हुन् र ती स्मरणयोग्य हुन्छन्। परमेश्‍वरमा विश्‍वास गर्नु, सत्यता पछ्याउनु र सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नुबाहेक मान्छेको जीवनका सबै कुरा खाली हुन्छ, र त्यो स्मरणयोग्य हुँदैन। तैँले धर्ती नै हल्लाउने खालको सबभन्दा ठूलो काम पूरा गरेको भए पनि, तँ चन्द्रमामै पुगेर फर्केको भए पनि, तैँले मानवजातिलाई केही लाभ वा मदत पुर्‍याउने वैज्ञानिक प्रगति नै गरेको भए पनि, त्यो व्यर्थ छ र त्यो सब नासिएर जानेछ। त्यस्तो एउटै कुरा कुन हो, जुन नासिएर जाँदैन? (परमेश्‍वरको वचन।) परमेश्‍वरको वचन, उहाँको गवाही, सृष्टिकर्ताको साक्षी दिने सबै गवाही तथा कार्यहरू, र मान्छेका असल कर्महरू नासिएर जाँदैनन्। यी कुराहरू सधैँ रहिरहनेछन् र यी धेरै मूल्यवान्‌ हुन्छन्। त्यसैले, आफ्ना सारा बन्धनहरू हटा, यो महान्‌ कार्य अघि बढा र आफूलाई कुनै पनि मानिस, घटना वा वस्तुले बाधित हुन नदे; इमानदारीपूर्वक आफूलाई परमेश्‍वरको लागि खर्च गर्‌, र आफ्ना सबै ऊर्जा र प्रयास आफ्नो कर्तव्य निर्वाह गर्न लगा। परमेश्‍वरले सबभन्दा धेरै आशिष् दिनुहुने कुरा नै यही हो र यसको लागि त जुनसुकै मात्राको कष्ट पनि सार्थक नै हुन्छ!

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सृष्टि गरिएको प्राणीको कर्तव्य राम्रोसित निभाउँदा मात्र जिउनुको मूल्य हुन्छ

यदि तैँले आफू सृष्टि गरिएको प्राणी हुँ भनेर स्वीकार गर्छस् भने, तैँले सुसमाचार सुनाउने आफ्नो जिम्‍मेवारी पूरा गर्न र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नका लागि कष्ट भोग्‍न र मूल्य चुकाउन आफूलाई तयार गर्नुपर्छ। यस्तो मूल्य केही शारीरिक रोगबिमार वा कठिनाइको सामना वा ठूलो रातो अजिङ्गरको सतावट भोगाइ वा सांसारिक मानिसहरूको गलतबुझाइको कष्ट, साथै सुसमाचार सुनाउँदा सामना हुने सङ्कष्टहरू हुन सक्छन्: कसैले हाम्रो पोल खोलिदिन सक्छ, कुटपिट र हप्की, अनि निन्दा सहनुपर्ने हुन सक्छ—भीडको कुटाइ खाएर ज्यानसमेत जान सक्छ। सुसमाचार प्रचार गर्ने क्रममा, तँ परमेश्‍वरको काम पूरा हुनुभन्दा पहिले नै मर्ने, र परमेश्‍वरको महिमाको दिन देख्‍नको लागि तँ बाँच्‍न नपाउने सम्‍भावना पनि हुन्छ। तिमीहरू यसको लागि तयार रहनुपर्छ। यो तिमीहरूलाई तर्साउन भनिएको होइन; यो तथ्य हो। अब मैले यो कुरा स्पष्ट पारिसकेको छु, र तिमीहरूले बुझिसकेका छौ, त्यसैले यदि तिमीहरूमा अझै पनि यो आकाङ्क्षा छ र यो परिवर्तन हुनेछैन भन्‍नेमा पक्‍का छौ, अनि मृत्युसम्‍मै तिमीहरू बफादार रहन्छौ भने, तिमीहरूमा निश्‍चित कद छ भन्‍ने कुरा प्रमाणित हुन्छ। धार्मिक स्वतन्त्रता र मानव अधिकार भएका यी वैदेशिक राष्ट्रहरूमा सुसमाचार सुनाउनु कुनै खतरा हुनेछैन र तैँले गर्ने सबथोक सहज रूपमा चल्नेछ, त्यो सबैमा परमेश्वरको आशिष् हुनेछ र उहाँको महान् शक्ति र अख्तियारको साथ रहनेछ भन्ने नसोच्। यो त मानव धारणा र कल्पना हो। फरिसीहरूले पनि परमेश्वरमा विश्वास गर्थे, तर तिनीहरूले देहधारी परमेश्वरलाई लगेर क्रूसमा टाँगे। त्यसोभए अहिलेको धार्मिक संसारले देहधारी परमेश्वरलाई कस्ता खराब कामहरू गर्न सक्छ? तिनीहरूले खराब कामहरू एकदमै धेरै गरेका छन्—परमेश्वरको आलोचना गर्ने, उहाँलाई दोष लगाउने, उहाँको निन्दा गर्ने—तिनीहरूले गर्न नसक्ने खराब कुरा नै छैन। प्रभु येशूलाई लगेर क्रूसमा टाँग्नेहरू विश्वासी नै थिए भनेर नबिर्स। तिनीहरूलाई नै यसो गर्ने अवसर मिल्यो। अविश्वासीहरूलाई ती कुराबारे कुनै चासो थिएन। प्रभु येशूलाई लगेर क्रूसमा टाँगेर मार्न सरकारसँग मिलेमतो गर्ने यिनै विश्वासीहरू थिए। यसबाहेक, प्रभु येशूका यी चेलाहरू कसरी मरे? चेलाहरूमध्ये, कतिलाई ढुङ्गाले हानियो, कतिलाई घोडामा बाँधेर घिस्स्याइयो, कतिलाई उँधोमुन्टो क्रूसमा टाँगियो, कतिलाई पाँचवटा घोडाले तानेर हातखुट्टा र टाउको चुडाइँयो—तिनीहरूले हरकिसिमको मृत्यु भोगे। तिनीहरूको मृत्युको कारण के थियो? के तिनीहरूलाई तिनीहरूको अपराधको निम्ति नियमअनुसार दण्ड दिइयो? दिइएन। प्रभुको सुसमाचार प्रचार गरेका कारण तिनीहरूलाई दोष दिइयो, कुटियो, हप्काइयो, र मारियो र संसारका मानिसहरूले तिनीहरूलाई इन्कार गरे—तिनीहरू त्यसरी नै शहीद भए। ती शहीदहरूको अन्तिम परिणाम, वा तिनीहरूका आचरणलाई परमेश्वरले परिभाषित गरेको विषयमा कुरा नगरौँ, बरु यो सोधौँ: जब अन्त्यमा तिनीहरूको जीवनको जसरी अन्त्य भयो के त्यो मानव धारणासँग मिल्दो थियो? (अहँ, थिएन।) मानिसका धारणाहरूको दृष्टिकोणबाट हेर्दा, तिनीहरूले परमेश्‍वरको काम फैलाउनका लागि त्यति ठूलो मूल्य चुकाए भने, तर तिनीहरूलाई अन्त्यमा सैतानले मारिदियो। यो मानिसका धारणाहरूसँग मेल खाँदैन, तर तिनीहरूलाई ठ्याक्कै त्यस्तै नै भयो। परमेश्‍वरले त्यस्तै हुन दिनुभयो। यसमा कुन सत्यता खोज्न सकिन्छ? के परमेश्‍वरले तिनीहरूलाई यसरी मर्न दिनु उहाँको सराप र दण्ड थियो, कि यो उहाँको योजना र आशिष् थियो? यीमध्ये कुनै पनि थिएन। यो के थियो? मानिसहरू अहिले हृदयमा पीडा लिएर तिनीहरूको मृत्युबारे विचार गर्छन्, तर अवस्था त्यस्तै थियो। परमेश्‍वरमा विश्‍वास गर्नेहरू त्यसरी नै मरे, र यसलाई कसरी व्याख्या गर्नुपर्ने हो? जब हामी यो विषय उल्लेख गर्छौँ, तिमीहरूले आफैलाई तिनीहरूको स्थितिमा राख्छौ, त्यसैले के तिमीहरूको हृदय दुःखी छ, अनि के तिमीहरू गोप्य पीडा महसुस गर्छौ? तिमीहरू विचार गर्छौ, “यी मानिसहरूले परमेश्‍वरको सुसमाचार फैलाउने आफ्नो कर्तव्य गरे, र तिनीहरूलाई असल मानिसहरू मानिनुपर्छ, त्यसोभए तिनीहरूलाई कसरी त्यस्तो अन्त्य र त्यस्तो परिणाम आइलाग्‍न सक्यो?” वास्तवमा, तिनीहरूका शरीर यसरी मरेका र बितेका थिए; यो मानिसको संसारबाट प्रस्थान गर्ने तिनीहरूको आफ्नो माध्यम थियो, तापनि यसको अर्थ तिनीहरूको नतिजा एकै प्रकारको थियो भन्ने होइन। तिनीहरूको मृत्यु र प्रस्थानको साधन चाहे जे नै भए पनि, र त्यो जसरी भए पनि परमेश्‍वरले ती जीवनका, ती सृष्टि गरिएका प्राणीहरूका निम्ति परिभाषित गर्नुभएको अन्तिम नतिजा त्यो थिएन। यो तैँले स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा हो। यसको विपरीत, तिनीहरूले यस संसारलाई दोषी ठहराउन र परमेश्‍वरका कामहरूको गवाही दिन सही रूपमा तिनै माध्यमहरूको प्रयोग गरे। यी सृष्टि गरिएका प्राणीहरूले आफ्नो सबैभन्दा मूल्यवान्‌ जीवन प्रयोग गरे—तिनीहरूले आफ्नो जीवनको अन्तिम क्षण परमेश्‍वरका कामहरूको गवाही दिनका लागि, परमेश्‍वरको महान् शक्तिको गवाही दिनका लागि, र शैतान र संसारलाई परमेश्‍वरका कामहरू सही छन्, प्रभु येशू परमेश्‍वर हुनुहुन्छ, उहाँ प्रभु हुनुहुन्छ, र परमेश्‍वरको देहधारी शरीर हुनुहुन्छ भनी घोषणा गर्नका लागि प्रयोग गरे। आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि तिनीहरूले प्रभु येशूको नाउँलाई कहिल्यै इन्कार गरेनन्। के यो संसारमाथिको एक प्रकारको न्याय थिएन र? तिनीहरूले संसारलाई घोषणा गर्न, प्रभु येशू नै प्रभु हुनुहुन्छ, प्रभु येशू नै ख्रीष्ट हुनुहुन्छ, उहाँ परमेश्‍वरको देहधारी शरीर हुनुहुन्छ, उहाँले सारा मानवजातिका निम्ति गर्नुभएको छुटकाराको कामले मानवजातिलाई निरन्तर जिउन दिन्छ भनी मानवजातिको अगि पुष्टि गर्न आफ्नो जीवनको प्रयोग गरे—यो तथ्य सधैँ अपरिवर्तनीय छ। प्रभु येशूको सुसमाचार सुनाउँदा शहीद बनेकाहरूले, कुन हदसम्म आफ्नो कर्तव्य पूरा गरे? के त्यो अन्तिम हद थियो? त्यो अन्तिम हद कसरी प्रकट भयो? (तिनीहरूले आफ्‍नो जीवन दिए।) त्यो सही हो, तिनीहरूले आफ्नो प्राण दिएर त्यो मूल्य चुकाए। परिवार, धन-सम्पत्ति, र यस जीवनका भौतिक थोकहरू सबै बाहिरी थोकहरू हुन्; आफूसँग जोडिएको एउटै मात्र कुरा जीवन हो। प्रत्येक जीवित व्यक्तिका लागि जीवन सम्हालेर राख्नुपर्ने सबैभन्दा बहुमूल्य र प्रिय कुरा हो, अनि यी व्यक्तिहरूले मानवजातिप्रतिको परमेश्‍वरको प्रेमको पुष्टि गर्न र गवाही दिन भनेर आफ्नो सबैभन्दा बहुमूल्य सम्पत्ति—जीवन—अर्पण गर्न सकेको देखिन्छ। तिनीहरूको मृत्यु भएको दिनसम्म, तिनीहरूले परमेश्‍वरको नाउँलाई इन्कार गरेनन्, न त तिनीहरूले परमेश्‍वरको कामलाई नै इन्कार गरे, र तिनीहरूले आफ्नो जीवनको अन्तिम क्षण यही तथ्यको अस्तित्वको गवाही दिनका निम्ति प्रयोग गरे—के यो सर्वोच्‍च प्रकारको गवाही होइन र? यो आफ्नो कर्तव्य पूरा गर्ने सबैभन्दा राम्रो तरिका हो; आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको यही नै हो। जब शैतानले तिनीहरूलाई धम्कायो र आतङ्कित बनायो, र, अन्त्यमा जब त्यसले तिनीहरूलाई तिनीहरूको जीवनको मूल्य चुकाउन बाध्य बनायो, तिनीहरूले आफ्नो जिम्मेवारी त्यागेनन्। चरम हदसम्म आफ्नो कर्तव्य पूरा गर्नु भनेको यही हो। मैले यसो भन्नुको अर्थ के हो? के मेरो भनाइको अर्थ तिमीहरूले पनि परमेश्‍वरको गवाही दिन र उहाँको सुसमाचार फैलाउन त्यस्तै तरिकाको प्रयोग गर भन्‍ने हो? तैँले त्यसै गर्नुपर्छ भन्ने जरुरी छैन, तर तैँले यो तेरो जिम्मेवारी हो, यदि परमेश्‍वरलाई आवश्यकता पऱ्यो भने, तैँले त्यसलाई पूरा गर्नैपर्ने एक दायित्वको रूपमा स्वीकार गर्नुपर्छ भन्‍ने कुरा बुझ्‍नैपर्छ। आजकल मानिसहरूको मनमा डर र चिन्ता छ, तर ती भावनाहरूको प्रयोजन के नै हुन्छ र? यदि परमेश्‍वर तैँले यस्तो गर् भन्‍ने चाहनुहुन्‍न भने, यसबारे चिन्ता गरेर के फाइदा? यदि परमेश्‍वर तैँले यो गर् भन्‍ने चाहनुहुन्छ भने, यो जिम्मेवारी तैँले पन्छाउन मिल्दैन न त इन्कार नै गर्न मिल्छ। तैँले सक्रिय भई सहकार्य गर्नुपर्छ र चिन्ता नलिई यसलाई स्विकार्नुपर्छ। व्यक्तिको मृत्यु जसरी भए पनि, ऊ शैतानसामु, र सैतानको हातमा मर्नु हुँदैन। यदि व्यक्ति मर्दै छ भने, ऊ परमेश्‍वरको हातमा मर्नुपर्छ। मानिसहरू परमेश्‍वरबाट आए, र परमेश्‍वरकहाँ नै फर्कन्छन्—सृष्टि गरिएको प्राणीमा हुनुपर्ने समझ र मनोवृत्ति यस्तै हो। व्यक्तिले सुसमाचार सुनाउँदा र आफ्नो कर्तव्य निर्वाह गर्दा बुझ्नुपर्ने अन्तिम सत्य यही हो—देहधारी परमेश्‍वरले आफ्नो काम गरिरहनुभएको र मानवजातिलाई मुक्ति दिइरहनुभएको सम्बन्धमा सुसमाचार सुनाउन र गवाही दिन व्यक्तिले आफ्नो जीवनको मोल चुकाउनुपर्छ। यदि तँमा यो आकाङ्क्षा छ, यदि तँ यसरी गवाही दिन सक्छस् भने, त्यो एकदमै राम्रो हो। यदि तँमा अझै यस्तो आकाङ्क्षा छैन भने पनि तैँले कम्तीमा आफूसामु भएको जिम्मेवारी र कर्तव्य उचित रूपले पूरा गर्नुपर्छ अनि बाँकी कुरा परमेश्‍वरको जिम्‍मामा छोड्नुपर्छ। त्यसपछि सायद महिना र वर्षहरू बित्दै जाँदा, र तेरो अनुभव र उमेर बढ्दै जाँदा अनि सत्यताबारे तेरो बुझाइ गहिरिँदै जाँदा, तँलाई जीवनको अन्तिम क्षणसम्मै परमेश्‍वरको सुसमाचार कार्यमा आफ्नो जीवन अर्पित गर्नु नै जिम्मेवारी र कर्तव्य रहेछ भन्‍ने महसुस हुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार फैलाउनु त्यो कर्तव्य हो जसलाई सम्मान गर्न सबै विश्‍वासीहरू बाध्य छन्

जसले जीवन प्रवेशबिना परमेश्वरमा धेरै वर्ष विश्वास गरेको छ, जो आफ्नो अनुभवमा आधारित गवाहीबारे बोल्न सक्दैन, परमेश्वरको साक्षी दिन त झनै सक्दैन, जसले सफलतापूर्वक कसैलाई सुसमाचार फैलाउन सक्दैन—त्यस्तो व्यक्ति परमेश्वरको साक्षी भनेर बोलाइन लायक हुँदैन। त्यसैले अपरिपक्व कद भएको र जीवन प्रवेश नभएको व्यक्तिले कहिल्यै परमेश्वरको साक्षी दिन सक्दैन। यसको अन्तर्निहित अर्थ के हो भने यस प्रकारको व्यक्ति परमेश्वरको उपस्थितिमा बाँच्दैन। यदि तँ परमेश्वरको उपस्थितिमा बाँच्दैनस्, तँसँग जीवन प्रवेश छैन, र तँ परमेश्वरको साक्षी होइनस् भने, के उहाँले तँलाई उहाँको अनुयायीमध्ये एकको रूपमा स्वीकार गर्नुहुनेछ? गर्नुहुनेछैन। परमेश्वरले तँलाई आफ्नो कर्तव्य निर्वाह गर्ने एउटा अवसर दिनुभएको छ, र तँ त्यो गर्न इच्छुक छस्, तर तैँले त्यत्तिका समय उहाँमा विश्वास गरेपछि पनि तेरो व्यवहारबाट उहाँले देख्नुभएको छ कि तैँले उहाँको साक्षी दिन सक्दैनस्। तँसँग साँचो अनुभवमा आधारित ज्ञान नभएको मात्र होइन, तँ तेरो धारणा र कल्पनाबमोजिम जिउँछस्, तँसँग सत्यता वास्तविकता छैन, र तँ परमेश्वरको उपस्थितिमा बाँच्दैनस्। … यदि तँ परमेश्वरले तँलाई उहाँको अनुयायीको रूपमा स्विकार्नुहोस भन्ने चाहन्छस् भने, तँ पहिला जीवन प्रवेशमा केन्द्रित हुनुपर्छ। सबैभन्दा पहिला तैँले आफैलाई बुझ्नुपर्छ, आफ्नो भ्रष्ट स्वभाव त्याग्न सक्नुपर्छ, आफ्नो कर्तव्यप्रति समर्पित हुन सक्ने क्षमता प्राप्त गर्नुपर्छ, र परमेश्वरको मापदण्डअनुसार आफ्नो कर्तव्य पूरा गर्नुपर्छ—त्यो पहिलो कुरा हो। जीवन प्रवेशमा केन्द्रित हुनु भनेको आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नका लागि हो, आधारभूतरूपमा यो त्यसैको बारेमा हो। तैँले आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेशको पछि लाग्नुपर्छ, र जीवन प्रवेशमार्फत तैँले एक-एक थोपा गर्दै सत्यता बुझ्नु र प्राप्त गर्नुपर्छ। तैँले कद प्राप्त गरिञ्जेल यो क्रम जारी राख्नुपर्छ, र त्यस बिन्दुमा तेरो जीवन क्रमिकरूपमा वृद्धि हुन्छ र तैँले सत्यताको वास्तविक अनुभव पाउँछस्। त्यसपछि तैँले अभ्यासका सबैखाले सिद्धान्तहरूमा विज्ञता हासिल गर्नुपर्छ, ताकि तँ कुनै व्यक्ति, परिस्थिति, वा वस्तुबाट रोकावट वा बाधामा नपरी आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम हुन्छस्। यस तरिकाले, तँ क्रमिकरूपमा परमेश्वरको उपस्थितिमा बाँच्नेछस्। तँलाई कुनै व्यक्ति, परिस्थिति, वा वस्तुले बाधा पुऱ्याउनेछैन, अनि तैँले सत्यतासँगको अनुभव गर्नेछस्। तेरो अनुभव जति प्रचुर बन्दै जान्छ, तँ त्यति नै बढी परमेश्वरको साक्षी दिन सक्षम हुनेछस्, र जब तँ परमरेश्वरको साक्षी दिन बढी सक्षम हुन्छस्, तँ क्रमिकरूपमा उपयोगी व्यक्ति बन्नेछस्। जब तँ उपयोगी व्यक्ति बन्छस्, तैँले आफ्नो कर्तव्य परमेश्वरको घरमा स्विकार्य मापदण्डअनुसार गर्न सक्षम हुनेछस्, तँ सृष्टि गरिएका प्राणीको स्थानमा उभिन र परमेश्वरको व्यवस्थापन र योजनाबद्ध कार्यप्रति समर्पित हुन सक्षम हुनेछस्, र तँ अडिग भएर उभिन सक्षम हुनेछस्। यस खालको व्यक्ति मात्र स्विकार्य सृष्टि गरिएका प्राणी हो जसले परमेश्वरको अनुमोदन पाउँछ। त्यसपछि तँ परमेश्वरले तँलाई दिनुभएको सबै कुराको लायक हुनेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ

तिमीहरूको विश्‍वास अत्यन्तै सच्‍चा भए तापनि, तिमीहरूमध्ये कसैले पनि मेरो बारेमा पूर्ण रूपमा बताउन सक्दैन, तिमीहरूले देखेका सबै तथ्यहरूको पूर्ण गवाही कसैले पनि दिन सक्दैन। यसको बारेमा सोच: आज तिमीहरूमध्ये धेरै जना आफ्नो कर्तव्यबाट विमुख भएर शरीरका कुराहरूको खोजी गर्ने, शरीरलाई सन्तुष्ट पार्ने र लालचका साथ शरीरको मज्जा लिने भएका छौ। तिमीहरूसँग थोरै मात्र सत्यता छ। यस्तो हो भने तिमीहरूले देखेका सबै कुराहरूको गवाही कसरी दिन सक्छौ? के तिमीहरू मेरा साक्षी बन्‍न सक्छौ भन्‍ने कुरामा साँच्चै तिमीहरू निश्‍चित छौ? तिमीहरूले आज देखेका सबै कुराहरूको गवाही दिन नसक्‍ने दिन आयो भने तिमीहरूले सृजित प्राणीहरूको कार्य गुमाएको हुनेछौ र तिमीहरूको अस्तित्वको कुनै अर्थ रहनेछैन। तिमीहरू मानिस हुनको निम्ति अयोग्य हुनेछौ। यसो पनि भन्‍न सकिन्छ कि तिमीहरू मानिस हुने छैनौ! मैले तिमीहरूमा मापन नै गर्न नसकिने काम गरेको छु, तर तिमीहरूले अहिले केही पनि नसिकेको, थाहा नपाएको र तिमीहरूका परिश्रमहरूमा अप्रभावी भएको कारण मैले मेरो कामलाई विस्तार समय आउँदा तिमीहरूले खाली नजर, बाँधिएको जिब्रो र पूर्ण रूपमा बेकम्मा भएर हेर्नेछौ। के तिमीहरू इतिहासमा पापीको रूपमा कहलिनेछैनौ र? जब त्यो समय आउँछ, के तिमीहरूले सबैभन्दा गहिरो पश्‍चातापको अनुभव गर्नेछैनौ र? के तिमीहरू निराशामा डुब्‍ने छैनौ र? आज मैले गर्ने सबै कामहरू निष्क्रियता र आलस्यतामा होइन तर भविष्यको मेरो कामको लागि जग निर्माण गर्नको निम्ति गरिन्छन्। मैले केही गर्न नै नसक्ने प्रतिरोधको अवस्थामा आएको कारण केही नयाँ गरौं भनेर यसो गरेको होइन। मैले गर्ने काम तैँले बुझ्‍नुपर्छ; यो बालकले सडकमा खेले जस्तो होइन, यो त मेरा पिताको प्रतिनिधित्व गर्न गरिने काम हो। यी सबै कुराहरू म आफैँ गर्दिनँ तर म मेरा पिताको प्रतिनिधित्व गर्छु भन्‍ने कुरा तिमीहरूले जान्‍नुपर्छ। यस बीच, तिमीहरूको भूमिका भनेको पछ्याउनु, समर्पित हुनु, परिवर्तन गर्नु र गवाही दिनु हो। तिमीहरूले ममाथि किन विश्‍वास गर्नुपर्छ भन्‍ने तिमीहरूले बुझ्‍नुपर्छ; यो तिमीहरू हरेकले बुझ्‍नुपर्ने सबैभन्दा महत्त्वपूर्ण प्रश्‍न हो। मेरा पिताले आफ्नो महिमाको निम्ति संसारको सृष्टिदेखि नै तिमीहरूलाई मेरो निम्ति अघिबाटै नियुक्त गर्नुभएको हो। उहाँले तिमीहरूलाई यो मेरो काम र उहाँको महिमाको निम्ति अघिबाटै नियुक्त गर्नुभएको हो। मेरा पिताको कारण तिमीहरू ममाथि विश्‍वास गर्छौ; मेरा पिताले अघिबाटै नियुक्त गर्नुभएको कारण तिमीहरूले मलाई पछ्याउँछौ। यीमध्ये कुनै पनि कुरा तिमीहरूले आफैले छनौट गरेका होइनौ। मेरा पिताले मेरो गवाहीको उद्देश्य राखेर तिमीहरूलाई मकहाँ सुम्पिनुभएको हो भन्‍ने कुरा तिमीहरूले बुझ्‍नु अझ महत्त्वपूर्ण कुरा हो। उहाँले मलाई तिमीहरू प्रदान गर्नुभएको कारण तिमीहरूलाई मैले दिएका कुराहरूका साथै मेरा मार्गहरू र मैले तिमीहरूलाई सिकाउने वचनहरूमा तिमीहरू रहनुपर्छ, किनकि मेरो मार्गमा रहनु तिमीहरूको कर्तव्य हो। ममाथिको तिमीहरूको विश्‍वासको मूल उद्देश्य यही हो। यसैले म तिमीहरूलाई भन्छु: तिमीहरू मेरा मार्गमा चल्‍नको निम्ति मेरा पिताले मलाई सुम्पिनुभएका मानिसहरू मात्र हौ। यद्यपि तिमीहरू ममाथि विश्‍वास मात्र गर्छौ; तिमीहरू इस्राएली परिवारका नभएका कारण मबाट आएका होइनौ, तिमीहरू त प्राचीन सर्पबाटका हौ। मैले तिमीहरूलाई गर्नको निम्ति भनेको कुरा यही हो कि तिमीहरू मेरो गवाही बन, तर आजचाहिँ तिमीहरूले मेरा मार्गहरू पछ्याउनुपर्छ। यी सबै कुराचाहिँ भविष्यको गवाहीको निम्ति हो। यदि तिमीहरूले मेरा मार्गहरूको बारेमा सुन्‍ने मानिसहरूको रूपमा मात्रै कार्य गर्‍यौ भने तिमीहरू मूल्य नभएका व्यक्तिहरू हुनेछौ र मेरा पिताले तिमीहरूलाई मेरो निम्ति सुम्पिनुभएको कुराको महत्त्व हराउने छ। मैले तिमीहरूलाई जोड दिएर भन्‍ने कुरा यही हो: तिमीहरूले मेरो मार्ग पछ्याउनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको बारेमा तेरो बुझाइ के छ?

अब तैँले किन ममा विश्‍वास गर्छस् के तँलाई सो साँच्चै थाहा छ त? के तैँले मेरो कामको उद्देश्य र महत्त्वलाई साँच्चै बुझ्छस्? के तँलाई आफ्नो कर्तव्य साँच्चै थाहा छ? के तँलाई मेरो गवाही साँच्चै थाहा छ? यदि तैँले ममा विश्‍वास मात्र गर्छस्, तैपनि तँमा मेरो महिमा वा गवाहीको कुनै सङ्केत छैन भने, मैले तँलाई उहिले नै हटाइसकेको छु। यी सबै कुराहरू जान्नेहरूको हकमा, तिनीहरू मेरो आँखाका र घरको काँडा बाहेक अरू केही होइनन्, तिनीहरू मेरो बाटोका बाधाहरू बाहेक केही होइनन्, तिनीहरू मेरो कार्यबाट निफन्नु पर्ने सामाहरू हुन्, तिनीहरूको कुनै उपयोगीता छैन, तिनीहरू निकम्मा हुन् र मैले तिनीहरूलाई उहिलेदेखि नै तिरस्कार गरेको छु। गवाहीबाट वञ्‍चित गरिएकाहरू सबैमाथि मेरो क्रोध आइपर्छ र तिनीहरूबाट मेरो छडी कहिल्यै दूर हुँदैन। मैले तिनीहरूलाई दुष्टको हातमा सुम्पेको धेरै भइसकेको छ; तिनीहरूलाई मेरा आशिष्‌बाट वञ्‍चित गरिएको छ। जब समय आउँछ, तब तिनीहरूको सजाय मूर्ख स्‍त्रीहरूको भन्दा पनि बढी पीडादायी हुनेछ। आज मैले गर्नु पर्ने मेरो कर्तव्यको काम मात्र गर्छु; म सबै गहुँलाई ती सामाहरूसँगै बाँध्नेछु। अहिलेको मेरो काम यही हो। ती सामाहरू मैले निफन्ने समयमा निफनिनेछन्, अनि गहुँलाई गोदाममा जम्मा गरिनेछन् र ती निफनिएका सामाहरूलाई खरानी हुने गरी जलाउनलाई आगोमा हालिनेछ। अहिलेको मेरो काम भनेको सबै मानिसहरूलाई बिटोमा बाँध्नु मात्रै हो; अर्थात् तिनीहरूलाई पूर्ण रूपमा जित्नु हो। त्यसपछि म सबै मानिसहरूको अन्त प्रकट गर्न निफन्न सुरु गर्नेछु। त्यसैले तैँले अहिले मलाई कसरी तृप्‍त पार्ने र मप्रति तेरो विश्‍वासको सही मार्गमा तँ कसरी लाग्ने सो जान्नुपर्छ। मैले अहिले चाहने भनेको तेरो बफादारी र समर्पण, तेरो प्रेम र गवाही हो। यस बेला गवाही के हो वा प्रेम के हो सो तँलाई थाहा नभए पनि, तैँले आफ्‍नो सबै कुरा ल्याउनुपर्छ र तेरो एक मात्र खजाना मलाई सुम्पनुपर्छ: तेरो बफादारी र समर्पण। जसरी मानिसको पूर्ण विजयमा गवाही हुन्छ, त्यस्तै शैतानलाई पराजित गर्ने गवाही मानिसको बफादारी र समर्पणमा रहन्छ भन्‍ने कुरा तैँले जान्नुपर्छ। मप्रतिको तेरो विश्‍वासको कर्तव्य भनेको नै मेरो निम्ति साक्षी दिनु, म बाहेक अरू कोहीप्रति बफादार नहुनु, र अन्तसम्म नै समर्पित हुनु हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासको बारेमा तँलाई के थाहा छ?

सम्बन्धित अनुभवात्मक गवाहीहरू

परमेश्‍वरको गवाही दिनु भनेको साँचो रूपमा कर्तव्य पूरा गर्नु हो

सम्बन्धित भजनहरू

परमेश्‍वरको गवाही दिनु मानिसको कर्तव्य हो

विश्‍वासीको रूपमा तिम्रो कर्तव्य परमेश्‍वरको साक्षी दिनु हो

अघिल्लो: १३. कर्तव्य निर्वाह र जीवन प्रवेशबीच सम्बन्ध

अर्को: १५. आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु नै साँचो गवाही हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्