१३. कर्तव्य निर्वाह र जीवन प्रवेशबीच सम्बन्ध

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

यदि तँ परमेश्वरले तँलाई उहाँको अनुयायीको रूपमा स्विकार्नुहोस भन्ने चाहन्छस् भने, तँ पहिला जीवन प्रवेशमा केन्द्रित हुनुपर्छ। सबैभन्दा पहिला तैँले आफैलाई बुझ्नुपर्छ, आफ्नो भ्रष्ट स्वभाव त्याग्न सक्नुपर्छ, आफ्नो कर्तव्यप्रति समर्पित हुन सक्ने क्षमता प्राप्त गर्नुपर्छ, र परमेश्वरको मापदण्डअनुसार आफ्नो कर्तव्य पूरा गर्नुपर्छ—त्यो पहिलो कुरा हो। जीवन प्रवेशमा केन्द्रित हुनु भनेको आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नका लागि हो, आधारभूतरूपमा यो त्यसैको बारेमा हो। तैँले आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेशको पछि लाग्नुपर्छ, र जीवन प्रवेशमार्फत तैँले एक-एक थोपा गर्दै सत्यता बुझ्नु र प्राप्त गर्नुपर्छ। तैँले कद प्राप्त गरिञ्जेल यो क्रम जारी राख्नुपर्छ, र त्यस बिन्दुमा तेरो जीवन क्रमिकरूपमा वृद्धि हुन्छ र तैँले सत्यताको वास्तविक अनुभव पाउँछस्। त्यसपछि तैँले अभ्यासका सबैखाले सिद्धान्तहरूमा विज्ञता हासिल गर्नुपर्छ, ताकि तँ कुनै व्यक्ति, परिस्थिति, वा वस्तुबाट रोकावट वा बाधामा नपरी आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम हुन्छस्। यस तरिकाले, तँ क्रमिकरूपमा परमेश्वरको उपस्थितिमा बाँच्नेछस्। तँलाई कुनै व्यक्ति, परिस्थिति, वा वस्तुले बाधा पुऱ्याउनेछैन, अनि तैँले सत्यतासँगको अनुभव गर्नेछस्। तेरो अनुभव जति प्रचुर बन्दै जान्छ, तँ त्यति नै बढी परमेश्वरको साक्षी दिन सक्षम हुनेछस्, र जब तँ परमरेश्वरको साक्षी दिन बढी सक्षम हुन्छस्, तँ क्रमिकरूपमा उपयोगी व्यक्ति बन्नेछस्। जब तँ उपयोगी व्यक्ति बन्छस्, तैँले आफ्नो कर्तव्य परमेश्वरको घरमा स्विकार्य मापदण्डअनुसार गर्न सक्षम हुनेछस्, तँ सृष्टि गरिएका प्राणीको स्थानमा उभिन र परमेश्वरको व्यवस्थापन र योजनाबद्ध कार्यप्रति समर्पित हुन सक्षम हुनेछस्, र तँ अडिग भएर उभिन सक्षम हुनेछस्। यस खालको व्यक्ति मात्र स्विकार्य सृष्टि गरिएका प्राणी हो जसले परमेश्वरको अनुमोदन पाउँछ। त्यसपछि तँ परमेश्वरले तँलाई दिनुभएको सबै कुराको लायक हुनेछस्।

सत्यता वास्तविकतामा प्रवेश गर्ने कडी के हो? तैँले सत्यताको अभ्यास कसरी गर्ने र मामलाहरूलाई कसरी नैतिकरूपले सम्हाल्ने त्यो कुरा सिक्नुपर्छ। जहिलेपनि कसम खानुको र तेरो इच्छा व्यक्त गर्नुको के काम? तँ जहिलेपनि कसम खान्छस् र आफ्नो इच्छा व्यक्त गर्छस्, तर पनि सत्यता अभ्यास गर्न सक्दैनस् भने, त्यसको कुनै काम छैन। तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा देखापर्ने विविध समस्याहरू सुल्झाउन सत्यताको खोजी मार्फत, आफ्नो कर्तव्य निर्वाह गर्ने दौरानमा जीवन प्रवेश प्राप्त गर्नु, र आफ्नो कर्तव्यप्रति तेरो गलत मनोवृति उल्टाउनु नै सबैभन्दा महत्त्वपूर्ण र सबैभन्दा वास्तविक काम हो। जीवन प्रवेश पाउनुको मतलब के हो? जीवन प्रवेश पाउनुको मतलब तँसँग सत्यताको अनुभव र त्यसको ज्ञान छ, र त्यसलाई सहि ढङ्गले अभ्यास गर्न सक्षम छस्। अहिले तिमीहरू सबैसँग जीवन प्रवेश छ? के तिमीहरू परमेश्वरको गवाही दिन सक्षम छौ? तिमीहरू अझैपनि अधिकांश समय धर्मसिद्धान्तमै अल्झिरहेका हुँदैनौ र? के तिमीहरू साँच्चिकै सत्यताको ज्ञान वा अनुभव प्राप्त नगरि धर्मसिद्धान्तमा मात्र सीमित भइरहेका छैनौ र? यदि तैँले सत्यताको साँचो अनुभव र ज्ञान प्राप्त गर्न सकिनस् भने, तैँले परमेश्वरको साक्षी दिन सक्दैनस्। तेरो धेरैजसो ज्ञान अनुभूतिजनक छ। तँ दुविधात्मक छस्, दुई फरक चीजहरू छन् भने दुवै सहि हुन् कि भन्ठान्छस्; परमेश्वरले एउटा कुरा गर्नुभयो भने, तँलाई लाग्छ कि त्यहि नै सत्य हो, र उहाँले बेग्लै कुरा गर्नुभयो भने, त्यसलाई पनि सत्यता नै ठान्छस्। तँलाई परमेश्वरका सबै वचनहरू सत्यता हुन् जस्तो लाग्छ, र तैँले ती सुनेपछि आमेन् भन्छस् र तिनीहरूको प्रशंसा गर्छस्, तर तैँले ती वचनहरूसामु उभिएर तिनीहरूसँग आफ्नो तुलना गर्सक्दैनस्। तैँले कामहरू गर्दा, तँ दुविधामै हुन्छस्, अनि आफ्ना समस्याहरू सुल्झाउन कुन सत्यता प्रयोग गर्ने तँलाई थाहा हुँदैन। के तिमीहरूमध्ये धेरैजसो यही स्थितिमा छैनौ र? तिमीहरूले धर्मसिद्धान्त धेरै बुझ्ने र त्यसबारे धेरै बोल्न सक्ने भए पनि, त्यसलाई वास्तविक जीवनमा प्रयोग गर्न सक्दैनौ। तिमीहरूलाई सत्यता अभ्यास गर्ने तरिका अझै पनि थाहा छैन, न त परमेश्वरका वचनहरू आफ्ना वास्तविक जीवनमा लागू गर्न नै आउँछ, अनि जेसुकै आइपरे पनि, तिमीहरूलाई आफ्ना समस्याहरू सुल्झाउन कसरी सत्यताको खोजी गर्ने भन्ने थाहा छैन। तेरो कद अति सानो भएकाले गर्दा त्यसो भएको हो। जब तिमीहरूले परमेश्वरका वचनहरू आफ्ना वास्तविक जीवनमा कसरी अनुभव, अभ्यास, र लागू गर्ने, र केही आइपरेपछि समस्याहरू सुल्झाउन कसरी सत्यताको खोजी गर्ने भनी थाहा पाउँछौ, तब तिमीहरूको जीवन वृद्धि हुनेछ। सत्यता अभ्यास गर्ने विधि जान्नु भनेको तेरो जीवन वृद्धि भइरहेको सङ्केत हो। कुनैदिन, जब तँ सत्यतामार्फत समस्याहरू सुल्झाउन सक्षम हुनेछस्, जब तँसँग परमेश्वरबारे केही ज्ञान हुनेछ, जब तैँले परमेश्वरबारे आफ्नो सच्चा ज्ञान बाँडेर उहाँको काम, उहाँको पवित्र र धर्मी स्वभाव, र उहाँको सर्वशक्तिमानता र बुद्धिको साक्षी दिन सक्नेछस्, तब तँ साँचो रूपमा परमेश्वरको साक्षी दिन सक्षम हुनेछस्, र परमेश्वरका निम्ति प्रयोगयोग्य हुनेछस्। यदि तैँले धर्मसिद्धान्त धेरै बुझ्छस् र त्यसबारे दिनभरी बोल्न सक्छस्, तर आफ्नै समस्यासँग सम्बन्धित केही पनि सुल्झाउन सक्दैनस् वा कसरी समाधान गर्ने भन्ने थाहा छैन भने, तैँले बुझेका कुराहरू सत्यता होइनन्, ती केवल शब्द र धर्मसिद्धान्तहरू हुन् भन्ने प्रमाणित हुन्छ। तैँले केही धर्मसिद्धान्त धेरै व्यावहारिक रूपमा बोलिस् भने पनि, वास्तवमा, यो अनुभूतिजनक ज्ञान मात्र हो जसले अहिलेसम्म तर्कसंगतता पाइसकेको छैन। तेरो कुरा सुनेर मानिसहरू सुध्रिए पनि, तेरो जस्तै भावना राखे पनि, र तेरो ज्ञानले तिनीहरूमा केही नतिजा हासिल गर्न सके पनि, तँ त्यसबारे धेरै प्रष्टरूपमा बोल्न सक्षम हुँदैनस्, न त तैँले समस्याहरू पूर्णरूपले समाधान गर्न नै सक्छस्। यसले के प्रमाणित गर्छ भने तैँले जुन धर्मसिद्धान्तहरूबारे बोलेको छस् ती केवल अनुभूतिजनक ज्ञान हुन्। तैँले त्यो सत्यता वास्तविकता हो भनेर भन्न मिल्दैन, तैँले आफू सत्यता वास्तविकताभित्र प्रवेश गरेको छु भनेर त झनै भन्न मिल्दैन। अब तैँले शब्द र धर्मसिद्धान्तहरूबारे बोल्ने समस्याको समाधान कसरी गर्छस्? यसका लागि तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा आफूमा प्रकट हुने विविध प्रकारका भ्रष्टतामाथि चिन्तन गर्नु, तैँले सामना गर्ने प्रत्येक समस्याको उत्पतिमाथि चिन्तन गर्नु, अनि सत्यता खोजी गर्नु, र तैँले प्रकट गरेका भ्रष्ट स्वभाव पूर्णरूपले सुल्झाउनका लागि परमेश्वरका वचनहरू प्रयोग गर्नु आवश्यक हुन्छ। तँमा प्रकट हुने कुरा अहङ्कार र आत्म-धार्मिकता वा घुमाउरोपन र छलीपन, स्वार्थीपन र नीचता वा लापर्बाही र परमेश्वरलाई ढाँट्ने काम जे भए पनि, तैँले यी भ्रष्ट स्वभावहरू प्रष्टरूपमा नदेखेसम्म त्यसमा चिन्तन गर्नुपर्छ। यसरी, तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने काममा कस्ता समस्याहरू छन्, र तँ मुक्ति पाउनबाट कति टाढा छस् भन्ने कुरा जान्नेछस्। तैँले आफ्नो भ्रष्ट स्वभाव प्रष्टरूपमा देख्न सकिस् भने मात्र आफ्नो कर्तव्य निर्वाहमा कहाँ-कहाँ कठिनाइहरू र अवरोधहरू छन् भनी थाहा पाउन सक्छस्। त्यसपछि मात्र तैँले समस्याहरूलाई मुहानमै सुल्झाउन सक्षम हुनेछस्। उदाहरणका लागि, मानौँ तैँले आफ्नो कर्तव्य निर्वाह गर्नुको जिम्मेवारी लिँदैनस्, बरु जहिलेपनि लापरवाहरूपमा काम गर्छस्, आफ्नो काममा क्षति पुऱ्याउँछस्, तर तँ आफ्नो छविको चिन्ता लिन्छस्, त्यसैले तँ खुलारूपमा तेरो स्थिति र कठिनाइहरूबारे सङ्गति गर्न, वा आत्म-विश्लेषण र आत्म-ज्ञान अभ्यास गर्न अनिच्छुक हुन्छस्, बरु जहिलेपनि परिस्थितिहरूलाई लापरवाहरूपले सामना गर्ने बहानाहरू खोज्छस्। तैँले यो समस्या कसरी सुल्झाउनुपर्छ? तैँले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र यसो भन्दै आत्म-चिन्तन गर्नुपर्छः “हे परमेश्वर, यदि मैले यसरी बोलेँ भने त्यो केवल आफ्नो छवि जोगाउनका लागि मात्र हो। त्यो मेरो भ्रष्ट स्वभाव बोलेको हो। मैले त्यस्तो बोल्नु हुँदैन। म खुलस्त हुनैपर्छ, आफैलाई उदाङ्गो पार्नैपर्छ, र साँच्चै मनमा लागेका कुराहरू जोरले भन्नैपर्छ। म आफ्नै आडम्बरलाई बढावा दिनुभन्दा बरु लज्जा सहनेछु र छवि गुमाउनेछु। म परमेश्वरलाई मात्र सन्तुष्ट तुल्याउन चाहन्छु।” यसरी, आफूविरुद्ध विद्रोह गरेर अनि आफ्नो मनका साँचो विचारहरू जोरले व्यक्त गरेर, तँ इमानदार व्यक्ति बन्ने अभ्यास गरिरहेको हुन्छस्, र त्यसैगरी, तैँले आफ्नै इच्छाअनुसार काम गरिरहेको र आफ्नो छवि मात्र जोगाइरहेको हुँदैनस्। तँ परमेश्वरका वचनहरू व्यवहारमा लागू गर्न, परमेश्वरका अभिप्रायअनुसार सत्यता अभ्यास गर्न, गम्भीरतापूर्वक आफ्नो कर्तव्य पूरा गर्न, र आफ्नो जिम्मेवारी पूर्ण रूपले पूरा गर्न सक्षम हुन्छस्। यसर्थ, तँ सत्यता अभ्यास गरिरहेको र आफ्नो कर्तव्य राम्ररी निर्वाह गरिरहेको मात्र होइन, तैँले परमेश्वरको घरको हित पनि कायम गरिरहेको हुन्छस्, र परमेश्वरको हृदय सन्तुष्ट हुन्छ। यो जीवन जिउने न्यायोचित र सम्मानजनक तरिका हो, जुन परमेश्वर र मानिस दुवै सामु प्रस्तुत गरिन लायक छ। यो त एकदम राम्रो कुरा हो! यो तरिका अभ्यास गर्न अलिक कठिन हुन्छ, तर यदि तेरा प्रयास र अभ्यास यो दिशामा उन्मुख छन् भने, तँ एक-दुई असफल भए पनि, अवश्य सफल हुनेछस्। अनि तेरो लागि सफलताको अर्थ के हुन्छ? यसको अर्थ जब तैँले सत्यताको अभ्यास गर्छस्, तैँले आफूलाई शैतानको बन्धनबाट मुक्त गर्ने यो कदम चाल्न सक्छस्, जुन कदमले तँलाई आफूविरुद्ध विद्रोह गर्ने अनुमति दिन्छ। यसको अर्थ तैँले अभिमान र प्रतिष्ठालाई पन्छाउन, र स्वार्थी र नीच कुराहरू गर्न छोड्न सक्छस्। जब तैँले यसलाई अभ्यासमा लगाउँछस्, तैँले मानिसहरूलाई तँ सत्यतालाई प्रेम गर्ने, सत्यताको तृष्णा गर्ने, न्याय र ज्योतिको चाह गर्ने व्यक्ति होस् भनेर देखाउँछस्। तैँले सत्यता अभ्यास गरेर पाउने परिणाम यो हो। यसको साथै, तैँले शैतानलाई लज्जित पनि पार्छस्। शैतानले तँलाई भ्रष्ट तुल्यायो, यसले तँलाई आफ्‍नै लागि मात्र सोच्‍ने तुल्यायो, तँलाई स्वार्थी तुल्यायो, तँलाई आफ्‍नै प्रतिष्ठाको बारेमा सोच्‍ने तुल्यायो। तर अहिले, यी कुराहरूले अबउप्रान्त तँलाई बाँध्‍न सक्दैनन्, तँ ती कुराहरूबाट स्वतन्त्र भएको छस्, तँ अबउप्रान्त अभिमान, प्रतिष्ठा, वा आफ्‍नै व्यक्तिगत चासोहरूको नियन्त्रणमा छैनस्, र तैँले सत्यताको अभ्यास गर्छस्, यसरी शैतान पूर्णरूपमा लज्जित हुन्छ, र त्यसले केही पनि गर्न सक्दैन। अनि के तँ विजयी भएको हुँदैनस् र? के तँ विजयी भएपछि परमेश्‍वरप्रतिको तेरो गवाहीमा दह्रिलो भई खडा हुँदैनस् र? के तैँले असल लडाइँ लड्दैनस् र? जब तैँले असल लडाइँ लडेको हुन्छस्, तेरो हृदयमा शान्ति, र आनन्द, र सहजताको अनुभूति हुन्छ। यदि तँलाई जीवनमा प्रायजसो दोषी महसुस भइरहन्छ, तेरो हृदयले कुनै चैन पाउँदैन, तँमा शान्ति वा आनन्द छैन, र तँ प्रायजसो हरप्रकारका कुराहरूबारे चिन्ता र तनावमा परिरहन्छस् भने, यसले के देखाउँछ? यसले तँ सत्यता अभ्यास गर्दैनस्, र परमेश्‍वरप्रतिको गवाहीमा दह्रिलो भई खडा हुँदैनस् भन्‍ने मात्रै देखाउँछ। जब तँ शैतानको स्वभावमाझ जिउँछस्, तैँले प्रायजसो सत्यता अभ्यास गर्न नसक्‍ने, सत्यतालाई विश्वासघात गर्ने, र स्वार्थी तथा घृणित बन्‍ने सम्‍भावना हुन्छ; तैँले आफ्नै छवि, आफ्नै नाम र हैसियत, र आफ्नै हितहरू मात्रै कायम गर्छस्। सधैँ आफ्नै लागि मात्र जिउँदा त्यसले ठूलो पीडा ल्याउँछ। तँमा यति धेरै स्वार्थी इच्छा, जाल, बन्धन, आशङ्का, र झन्झटहरू छन् कि तँमा अलिकति पनि शान्ति वा आनन्द छैन। भ्रष्ट देहको लागि जिउनु भनेकै चरम रूपमा कष्ट भोग्‍नु हो। सत्यताको पछि लाग्नेहरू फरक हुन्छन्। तिनीहरू जति बढी सत्यता बुझ्छन्, त्यति नै बढी स्वतन्त्र र मुक्त बन्छन्; जति बढी सत्यता अभ्यास गर्छन्, उति बढी शान्ति र खुसी प्राप्त गर्छन्। जब तिनीहरूले सत्यता प्राप्त गर्छन्, तिनीहरू पूर्णरूपमा प्रकाशमा बाँच्नेछन्, परमेश्वरका आशिषहरूको आनन्द लिनेछन्, र तिनीहरूमा बिलकुलै पीडा हुनेछैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ

आफ्ना कर्तव्य पूरा गरेपछि आफूमा कमीकमजोरी भएको र आफूमा सत्यता वास्तविकता नभएजस्तो महसुस गर्ने कैयौँ मानिसहरू हुन्छन्, त्यसकारण तिनीहरू सधैँ आफूले थप प्रवचनहरू सुन्नुपर्ने अनि अगुवा र सेवकहरूले थप भेलाहरू राख्नुपर्ने माग गर्छन्, मानौँ त्यसले मात्र तिनीहरूलाई जीवन प्रवेश र जीवन वृद्धि प्रदान गर्न सक्छ। तिनीहरू भेला वा प्रवचनमा सहभागी नभएको केही अवधि हुनेबित्तिकै आफूसँग केही पनि नभएजस्तो हृदयमा खोक्रो र उदास महसुस गर्छन्। तिनीहरूलाई मानौँ दैनिक भेला र प्रवचनहरूले मात्र जीवन प्रवेश दिन्छन्, वा आत्मिक परिपक्वतामा पुग्न सक्षम बनाउँछन् भन्ने मनमा लाग्छ। वास्तवमा, यस्तो सोचाइ पूर्ण रूपले गलत हो। परमेश्वरलाई विश्वास गर्ने र पछ्याउनेहरूले आफ्ना कर्तव्य निर्वाह गर्नैपर्छ—त्यसपछि मात्र तिनीहरूले जीवन अनुभव प्राप्त गर्न सक्छन्। यदि तैँले इमानदारीसाथ परमेश्वरमा विश्वास गर्छु भन्छस्, तर तँ आफ्नो कर्तव्य निर्वाह गर्न चाहँदैनस् भने, परमेश्वरप्रतिको विश्वासमा तेरो इमानदारी खोई त? आफ्ना कर्तव्य इमानदारीपूर्वक पूरा गर्नेहरू विश्वास भएका मानिस हुन्। विश्वास भएकाहरू मात्र आफ्ना जीवन परमेश्वरप्रति समर्पित गर्ने आँट गर्छन्, र परमेश्वरका लागि आफूलाई खर्चिन सबै थोक त्याग्न राजी हुन्छन्। यस्ता मानिसहरूले आफ्ना कर्तव्य निर्वाह गर्ने क्रममा पवित्र आत्माको काम अनुभव गर्छन्; तिनीहरूलाई पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुन्छ, अगुवाइ गर्नुहुन्छ, र अनुशासनमा राख्नुहुन्छ। यी सबै कुराले जीवनको अनुभव सिर्जना गर्छन्। यसर्थ, जीवन प्रवेश औपचारिक रूपमा आफ्नो कर्तव्य पूरा गरेर सुरु हुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ

तैँले निर्वाह गर्ने कुनै पनि कर्तव्यमा जीवन प्रवेश सामेल हुन्छ। तेरो कर्तव्य केही हदसम्म नियमित वा अनियमित, सुस्त वा जीवन्त जस्तोसुकै भए पनि, तैँले सधैँ जीवन प्रवेश प्राप्त गर्नैपर्छ। कतिपय मानिसहरूले पूरा गर्ने कर्तव्यहरू झमेलामय हुन्छन्; तिनीहरू प्रत्येक दिन उस्तै काम गर्छन्। तापनि, ती कर्तव्यहरू पूरा गर्दा, यी मानिसहरूले प्रकट गर्ने अवस्थाहरू एकसमान हुँदैनन्। कहिलेकहीँ, राम्रो मनस्थितिमा हुँदा, मानिसहरू अलिक बढी मेहनती हुन्छन् र राम्रो काम गर्छन्। अरू बेला, कुनै अज्ञात प्रभावको कारण तिनीहरूको भ्रष्ट शैतानी स्वभावले उनीहरूमा बदमासी जगाउँछ, जसले गर्दा उनीहरूमा अनुचित दृष्टिकोणहरू पैदा हुन्छन् र खराब अवस्थाहरूमा र खराब मनस्थितिमा हुन्छन्; परिणामस्वरूप उनीहरूले आफ्ना कर्तव्यहरू लापरवाही ढङ्गले गर्दछन्। मानिसहरूको आन्तरिक अवस्था निरन्तर परिवर्तन भइरहेका हुन्छन्; उनीहरू कुनै पनि ठाउँमा र कुनै पनि समयमा परिवर्तन हुन सक्छन्। तेरो अवस्था जसरी परिवर्तन भए पनि, तैँले आफ्नो मनस्थितिको आधारमा काम गर्नु सधैँ गलत हुन्छ। मानौँ, तँ राम्रो मनस्थितिमा हुँदा तैँले अलिक राम्रो काम गर्छस्, र खराब मनस्थितिमा हुँदा अलिक खराब काम गर्छस्—के यो कामकुरा गर्ने सिद्धान्तअनुरूपको तरिका हो? के यसले तँलाई स्वीकार्य मापदण्डमा रहँदै आफ्नो कर्तव्य निभाउन मदत गर्छ? मानिसहरूको मनस्थिति जस्तोसुकै भए पनि, उनीहरूले परमेश्‍वरको सामु प्रार्थना गर्न र सत्यताको खोजी गर्न जान्नु नै पर्छ; यसरी मात्र तिनीहरू आफ्नो मनस्थितिद्वारा बाधित र प्रभावित भएर ढलपलबाट जोगिन सक्छन्। तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, सिद्धान्तअनुसार काम गरिरहेको छस् कि छैनस्, कर्तव्य पूरा गर्ने तेरो कार्य मापदण्ड अनुसारको छ कि छैन, तैँले त्यो लापरवाही ढङ्गले गरिरहेको छस् कि छैनस्, तैँले आफ्नो जिम्मेवारीबाट भाग्ने कोसिस गरेको छस् कि छैनस्, तेरो आचरण र सोचविचारको तरिकामा कुनै समस्याहरू छन् कि छैनन् सो हेर्न तैँले आफूलाई सधैँ जाँच्नुपर्छ। तैँले आत्मचिन्तन गरेर यी कुराहरू तँलाई स्पष्ट भइसकेपछि, तँलाई आफ्नो कर्तव्य पूरा गर्न सजिलो हुनेछ। तैँले आफ्नो कर्तव्य पूरा गरिरहेको बेला जुनसुकै कुराको सामना गर्न परे पनि—नकारात्मकता र कमजोरी, वा काटछाँटपछि खराब मनस्थितिमा भए पनि—तैँले त्यसलाई उचित व्यवहार गर्नुपर्दछ, र तैँले सत्यको खोजी गर्नुपर्दछ र परमेश्‍वरका अभिप्राय बुझ्नुपर्छ। यी कुराहरू गरेर, तैँले अभ्यास गर्ने मार्ग पाउनेछस्। यदि तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न चाहन्छस् भने, तँ आफ्नो मनस्थितिद्वारा प्रभावित हुनु हुँदैन। तैँले जति नै नकारात्मक वा कमजोर महसुस गरिरहेको भए पनि, तैँले गर्ने सबै कुरामा तैँले पूर्ण कडाइका साथ, र सिद्धान्तहरूमा रहेर सत्यको अभ्यास गर्नुपर्दछ। यदि तँ यसो गर्छस् भने, अन्य मानिसहरूले तँलाई स्वीकार मात्र गर्नेछैनन्, तर परमेश्‍वरले पनि तँलाई मन पराउनुहुनेछ। त्यसरी नै, तँ यस्तो व्यक्ति हुनेछस् जो जिम्मेवार हुन्छ, र जसले आफ्नो काँधमा बोझ लिन्छ; तँ सच्‍चा रूपमा असल व्यक्ति हुनेछस्, जसले वास्तवमा मापदण्ड अनुसार आफ्ना कर्तव्यहरू निर्वाह गर्दछ र जो एक सच्‍चा व्यक्तिको स्वरूप लिएर पूर्ण रूपमा जिउँछ। त्यस्ता मानिसहरू शुद्ध पारिएका हुन्छन् र आफ्ना कर्तव्यहरू निर्वाह गर्दा वास्तविक रूपान्तरण हासिल गर्छन्, र तिनीहरूलाई परमेश्‍वर नजरमा इमानदार भन्न सकिन्छ। केवल इमानदार मानिसहरू मात्र सत्यताको अभ्यासमा दृढ रहन र सिद्धान्तको साथ काम गर्न सफल हुन सक्छन्, र मापदण्डअनुसार आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्छन्। सिद्धान्तसहित काम गर्ने मानिसहरू राम्रो मनस्थितिमा हुँदा आफ्ना कर्तव्यहरू सावधानीपूर्वक निर्वाह गर्छन्; तिनीहरू लापरवाही तरिकाले काम गर्दैनन्, तिनीहरू अहङ्कारी हुँदैनन्, र अरूले तिनीहरूलाई ठूलो सम्झून् भनी आफ्‍नो धाक लगाउँदैनन्। तिनीहरू खराब मुडमा हुँदा आफ्ना दैनिक कार्यहरू उत्तिकै गम्भीरता र जिम्मेवारीका साथ पूरा गर्न सक्छन्, र तिनीहरूका कर्तव्य निर्वाह गर्न बाधा दिने वा तिनीहरूलाई केही दबाब दिने वा तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दा बाधा उत्पन्न गर्ने कुरा भेटे भने पनि तिनीहरू परमेश्‍वरसामु आफ्ना हृदयलाई शान्त पार्न सक्छन् र यस भन्दै प्रार्थना गर्न सक्छन्, “मेरो विरुद्धमा जति नै ठूलो समस्या आइपरे पनि—यदि आकाश नै खस्यो भने पनि—जबसम्म म जीवित रहन्छु, म मेरो जिम्मेवारी पूरा गर्नको लागि सक्दो गर्न प्रतिबद्ध छु। म जिउने प्रत्येक दिन नै मैले मेरो कर्तव्य राम्रोसित निभाउनुपर्ने दिन हो, यसैले कि परमेश्‍वरले मलाई दिनुभएको यो कर्तव्य, साथै उहाँले मेरो शरीरमा हालिदिनुभएको यो सासको योग्य बन्न सकूँ। जतिसुकै कठिनाइमा परे पनि म यी सबैलाई पन्छ्याउनेछु, किनकि मेरो कर्तव्य पूरा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो!” कुनै व्यक्ति, घटना, वस्तु, वा वातावरणबाट प्रभावित नहुने मानिसहरू, कुनै मुड वा बाहिरी परिस्थितिद्वारा बन्धनमा नपर्नेहरू, र जसले परमेश्‍वरले सुम्पिनुभएका तिनीहरूका कर्तव्यहरू र आदेशहरूलाई सबैभन्दा पहिले स्थानमा राख्छन्—तिनीहरू त्यस्ता मानिसहरू हुन् जो परमेश्‍वरप्रति बफादार हुन्छन् र जो सच्‍चा रूपमा उहाँको अधीनमा बस्छन्। यस्ता मानिसहरूले जीवनमा प्रवेश पाएका हुन्छन् र सत्यता वास्तविकतामा प्रवेश गरेका हुन्छन्। सत्यतामा जिउनुको सबैभन्दा सच्‍चा र व्यावहारिक अभिव्यक्ति यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ

स्वीकार्य स्तरमा आफ्नो कर्तव्य निर्वाह गर्न, तँसँग पहिला उचित मानसिकता हुनैपर्छ। तेरो भ्रष्ट स्वभाव प्रकट हुँदा, तैँले आफ्नो स्थिति पनि समायोजन गर्नैपर्छ। जब तँ आफ्नो कर्तव्य सही ढङ्गले सम्हाल्न सक्षम हुन्छस्, जब सबै खालका मानिस, घटना र वस्तुहरूबाट आउने अवरोध र प्रभावहरूलाई हटाउँछस्, जब परमेश्वरप्रति पूर्ण रूपमा समर्पित हुन सक्छस्, तब तँ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्नेछस्। यसो गर्नुको राज भनेको आफ्ना कर्तव्य र जिम्मेवारीहरूलाई जहिले पनि प्राथमिकता दिनु हो। तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, जहिले पनि आफूलाई यसरी जाँच्नुपर्छः “के ममा आफ्नो कर्तव्य निर्वाह गर्ने सन्दर्भमा लापरवाह मनोवृति छ? आफ्नो कर्तव्य निर्वाह गर्दा मलाई कस्ता कुराहरूले बाधा पुऱ्याउँछन् र लापरवाह बनाउँछन्? के म सारा हृदय र शक्तिले आफ्नो कर्तव्य निर्वाह गर्दै छु? के यसरी काम गर्नाले परमेश्वरले ममा भरोसा राख्न सक्नुहुन्छ? के मेरो हृदय परमेश्वरप्रति पूर्ण रूपमा समर्पित रहेको छ? के मैले आफ्नो कर्तव्य यसरी निर्वाह गर्नु सिद्धान्तअनुरूप छ? के मैले आफ्नो कर्तव्य यसरी निर्वाह गर्दा उत्कृष्ट परिणामहरू प्राप्त हुनेछन्?” तैँले बारम्बार यी प्रश्नहरूमा चिन्तन गर्नुपर्छ। जब तैँले समस्या पत्ता लगाउँछस्, सक्रिय रूपमा सत्यता खोजी गर्नुपर्छ, र ती समस्या सुल्झाउन परमेश्वरका सान्दर्भिक वचनहरू खोज्नुपर्छ। यसरी तँ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्षम हुनेछस्, अनि तेरो हृदयमा शान्ति र खुसी मिल्नेछ। यदि तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा समस्याहरू बारम्बार उत्पन्न हुन्छन् भने, तीमध्ये धेरैजसो तेरो अभिप्रायसम्बन्धी समस्याबाट आउँछन्—ती भ्रष्ट स्वभावका समस्याहरू हुन्। कुनै व्यक्तिको भ्रष्ट स्वभाव प्रकट हुँदा, उसको मनमा समस्याहरू हुनेछन् र उसको स्थिति असामान्य हुनेछ, जसले उसको आफ्नो कर्तव्य निर्वाह गर्ने क्षमतामा प्रत्यक्ष प्रभाव पार्नेछ। उसको कर्तव्य निर्वाह गर्ने क्षमतामा प्रभाव पार्ने समस्याहरू ठूला र गम्भीर हुन्; ती समस्याले परमेश्वरसँगको तिनीहरूको सम्बन्धमा प्रत्यक्ष प्रभाव पार्न सक्छन्। उदाहरणका लागि, कतिपय मानिसहरू आफ्ना परिवारमा विपत्ति आइपर्दा, परमेश्वरबारे धारणा र गलत बुझाइहरू विकास गर्छन्। कतिपय मानिसहरू आफ्नो कर्तव्यमा कठिनाइ भोग्दा कसैले पनि त्यो देखेन वा तिनीहरूको तारिफ गरेन भने नकारात्मक बन्छन्। कतिपयचाहिँ आफ्ना कर्तव्य राम्ररी निर्वाह गर्दैनन्, सधैँ लापरवाह बन्छन्, अनि काटछाँट गरिँदा परमेश्वरविरुद्ध गुनासो गर्छन्। कतिपय भने आफ्ना कर्तव्य निर्वाह गर्न अनिच्छुक हुन्छन् किनकि तिनीहरू जहिले पनि उम्कने बाटोबारे सोचिरहेका हुन्छन्। यी सबै समस्याले परमेश्वरसँगको सामान्य सम्बन्धमा प्रत्यक्ष प्रभाव पार्छन्। यी सबै भ्रष्ट स्वभावका समस्याहरू हुन्। मानिसले परमेश्वरलाई नचिन्ने, सधैँ आफ्नो पक्षमा षडयन्त्र गर्ने र आफैबारे मात्र सोच्ने हुनाले यी सबै समस्या उत्पन्न हुन्छन्, जसले मानिसहरूलाई परमेश्वरका अभिप्रायको ख्याल गर्न र उहाँका योजनाहरूप्रति समर्पित हुनदेखि रोक्छ। यसले सबै प्रकारका नकारात्मक भावनाहरू उत्पन्न गर्दछ। सत्यताको पछि नलाग्ने मानिसहरू ठ्याक्कै यस्तै हुन्छन्। तिनीहरू आफूमा सानातिना समस्याहरू आइपर्दा, नकारात्मक र कमजोर बन्छन्, आफ्ना कर्तव्य निर्वाह गर्ने क्रममा कुण्ठा पोख्छन्, परमेश्वरविरुद्ध विद्रोह र उहाँको प्रतिरोध गर्छन्, र तिनीहरू आफ्ना जिम्मेवारी त्यागेर परमेश्वरलाई विश्वासघात गर्न चाहन्छन्। यी सबै कुरा भ्रष्ट स्वभावका अवरोधहरूले सिर्जना गर्ने विभिन्न परिणामहरू हुन्। सत्यतालाई प्रेम गर्ने व्यक्ति आफ्नो जीवन, भविष्य, र नियतिलाई पन्छाउन, र ऊ सत्यता पछ्याउन र प्राप्त गर्न मात्र चाहन्छन्। ऊ पर्याप्त समय छैन भन्ने सोच्छ, ऊ आफ्नो कर्तव्य राम्ररी निभाउन नसकिएला र आफू सिद्ध बन्न नसकिएला भनेर डराउँछ, त्यसकारण ऊ सबथोक पन्छाउन सक्षम हुन्छ। उसको मानसिकता परमेश्वरतर्फ फर्कने र उहाँप्रति समर्पित हुने मात्र हुन्छ। ऊ कुनै पनि कठिनाइबाट विचलित हुँदैन, अनि नकारात्मक र कमजोर महसुस भएमा, परमेश्वरका वचनहरूका केही खण्डहरू पढेर स्वाभाविक रूपले यसको समाधान गर्छ। सत्यताको पछि नलाग्ने मानिसहरू समस्यामा पर्छन्, र तिनीहरूसँग जसरी नै सत्यताबारे सङ्गति गरे पनि, तिनीहरूले आफ्ना समस्या पूर्णरूपले सुल्झाउन सक्दैनन्। तिनीहरू क्षणिक रूपमा आफ्ना मन बद्लेर सत्यता स्विकार्न सक्षम भए पनि, पछि पहिलेकै कुरामा फर्कन्छन्, तसर्थ यस खालका व्यक्तिलाई सम्हाल्न एकदमै कठिन हुन्छ। तिनीहरूले सत्यताबारे केही नबुझ्ने होइन, के चाहिँ हो भने तिनीहरू आफ्ना हृदयमा सत्यतालाई मूल्यवान् ठान्दैनन् र स्वीकार गर्दैनन्। अन्तिममा, यसले गर्दा तिनीहरूले आफ्नो इच्छा, स्वार्थ, भविष्य, नियति र गन्तव्य पन्छाउन सक्दैनन्, जसले तिनीहरूलाई सधैँ बाधा दिन्छ। यदि कुनै व्यक्ति सत्यता स्विकार्न सक्षम छ भने, उसले सत्यता बुझेपछि भ्रष्ट स्वभावका यावत कुराहरू स्वाभाविक रूपमा हराएर जानेछन्, अनि उसले जीवन प्रवेश र कद प्राप्त गर्नेछ; उप्रान्त ऊ अनजान बच्चा हुनेछैन। जब व्यक्तिसँग कद हुन्छ, ऊ परिस्थितिहरू बुझ्न, थरिथरिका मानिसहरू छुट्याउन झन्-झन् सक्षम हुनेछ, र उसलाई कुनै व्यक्ति, घटना, वा वस्तुबाट अवरोध पुग्नेछैन। जो कोहीले भनेको वा गरेको कुनै कुराले ऊ प्रभावित हुनेछैन। ऊ शैतानका दुष्ट शक्तिहरूको हस्तक्षेपको अधीनमा हुनेछैन, वा झूटा अगुवा र ख्रीष्टविरोधीहरूका बहकाउ र बाधाहरूमा पर्नेछैन। यदि यसो भयो भने, के व्यक्तिको कद क्रमिक रूपले बढ्नेछैन र? व्यक्तिले जति बढी सत्यता बुझ्यो, उसको जीवन प्रगति त्यति नै छिटो हुनेछ, अनि उसलाई सफलतापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्न र सत्यता वास्तविकतामा प्रवेश गर्न सहज हुनेछ। जब तैँले जीवन प्रवेश प्राप्त गर्छस् र तेरो जीवन क्रमिक रूपमा वृद्धि भइरहेको हुन्छ, तब तेरो स्थिति झन्-झन् सामान्य हुँदै जानेछ। तँलाई पहिले बाधा र अवरोध पुऱ्याउन सकेका मानिस, घटना र परिस्थितिहरू तेरा लागि अब समस्या हुनेछैनन्। तँलाई तेरो कर्तव्य निर्वाह गर्न कुनै कठिनाइ हुनेछैन, अनि परमेश्वरसँग तेरो सम्बन्ध झन्-झन् सामान्य बन्दै जानेछ। जब तैँले परमेश्वरमा कसरी भर पर्ने, परमेश्वरका अभिप्राय कसरी खोज्ने, आफ्नो स्थान कुन हो, तैँले के गर्नु हुन्छ र के गर्नु हुँदैन, र कस्ता मामिलामा तैँले जिम्मेवारी लिनुपर्छ र कस्ता मामिलामा लिनु पर्दैन भन्ने जान्दछस्, तब के तेरो स्थिति झन्-झन् सामान्य बन्दै जानेछैन र? यस तरिकाले जिउँदा तँ थकित हुँदैनस्, हुन्छस् र? तँ थकित नहुने मात्र नभई, तैँले विशेष ढुक्क र खुसी महसुस गर्नेछस्। परिणामस्वरूप, के तेरो हृदयले प्रशस्त ज्योति पाउनेछैन र? तेरो मानसिकता सामान्य हुनेछ, तेरो भ्रष्ट स्वभावका प्रकटीकरणहरू कम हुनेछन्, अनि तँ परमेश्वरको उपस्थितिमा जिउन, सामान्य मानवतामा जिउन सक्षम हुनेछस्। मानिसहरूले तेरो मानसिक दृष्टिकोण देख्दा, तँमा ठूलो परिवर्तन आएको छ भन्ने सोच्छन्। तिनीहरू तँसँग सङ्गति गर्न इच्छुक हुनेछन्, मनमा शान्ति र खुसी महसुस गर्नेछन्, अनि तिनीहरूलाई फाइदा पनि पुग्नेछ। तेरो कद बढ्दै जाँदा, तेरो बोली र कार्यझन् उचित र नैतिक बन्दै जानेछन्। जब तैँले कमजोर र नकारात्मक मानिस देख्छस्, तँ तिनीहरूलाई रोक लगाएर वा भाषण दिएर होइन, तर सहयोग दिन र लाभ पुऱ्याउन आफ्नो वास्तविक अनुभव प्रयोग गरेर भरपुर सहयोग गर्न सक्षम हुनेछस्। यसरी, तँ परमेश्वरको घरमा केही गर्ने कोसिस मात्र गरिरहेको हुनेछैनस्, तँ आफ्नो जिम्मेवारी बहन गर्न, र अझ धेरै अर्थपूर्ण काम गर्न सक्ने उपयोगी व्यक्ति हुनेछस्। के परमेश्वर यस्तै व्यक्ति रुचाउनुहुन्छ होइन र? यदि तँ परमेश्वरले रुचाउने व्यक्ति होस् भने, के सबैले तँलाई रुचाउनेछैनन् र? (रुचाउनेछन्।) परमेश्वर किन यस्ता व्यक्तिसँग खुसी हुनुहुन्छ? किनकि तिनीहरू उहाँसामु व्यावहारिक काम गर्न सक्षम हुन्छन्, चापलुसीमा पर्दैनन्, व्यावहारिक मामिलाहरूमा संलग्न हुन्छन्, र आफ्ना साँचो अनुभवहरू बताएर अरूलाई सहयोग र अगुवाइ गर्न सक्षम हुन्छन्। तिनीहरू अरूलाई कुनै पनि समस्या सुल्झाउनमा मद्दत गर्न सक्षम हुन्छन्, अनि मण्डलीको काममा कठिनाइहरू आइपर्दा, सक्रिय रूपमा समस्याहरू समाधान गर्दै अगुवाइ गर्न सक्षम हुन्छन्। आफ्नो कर्तव्य वफादारीपूर्वक निर्वाह गर्नु भनेको यही हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ

म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो। आफ्नो दायित्वलाई पूरा गर्ने प्रक्रियाद्वारा मानिस बिस्तारै परिवर्तन गरिन्छ, र यही प्रक्रियाद्वारा उसले आफ्नो निष्ठालाई प्रदर्शन गर्छ। यसरी, तैँले जति आफ्नो दायित्वलाई पूरा गर्न सक्षम हुन्छस्, त्यति नै तैँले सत्यतालाई प्राप्त गर्नेछस्, र त्यति नै वास्तविक तेरो अभिव्यक्ति हुनेछ। आफ्नो दायित्व पूरा गर्ने कार्यमा आलटाल गर्ने र सत्यतालाई नखोज्‍नेहरू अन्त्यमा हटाइनेछन्‌, किनकि त्यस्ता मानिसहरूले सत्यताको अभ्यासमा आफ्नो कर्तव्य पूरा गर्दैनन्, र आफ्नो कर्तव्य निभाउँदा सत्यतालाई अभ्यास गर्दैनन्। तिनीहरू ती हुन्‌ जो अपरिवर्तित रहन्छन्‌ र श्रापित हुनेछन्‌। तिनीहरूको अभिव्यक्तिहरू अशुद्ध मात्रै छैनन्, तर तिनीहरूले अभिव्यक्त गर्ने हरेक कुरा नै दुष्ट छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता

कतिपय मानिसहरू परमेश्‍वरको काम अनुभव गर्न अनि परमेश्‍वरका वचनहरू आफ्नो कर्तव्यपालन वा वास्तविक जीवनमा लागू गर्न जान्दैनन्। तिनीहरू सधैँ सत्यता प्राप्त गर्न र जीवनमा वृद्धि हुन धेरै भेलाहरू धाइरहने कुरामा भर पर्छन्। तर यो अवास्तविक र तर्कविसङ्गत कुरा हो। जीवन त परमेश्‍वरको वचन अनि उहाँको न्याय र सजाय अनुभव गरेर प्राप्त गरिन्छ। उहाँको काम अनुभव गर्न जान्नेहरूले, जुनसुकै कर्तव्य निर्वाह गरे पनि, कर्तव्यपालनको दौरान सत्यता बुझ्न र अभ्यास गर्न, काँटछाँट र निराकरण स्विकार्न, सत्यता सिद्धान्तमा प्रवेश गर्न, आफ्नो स्वभावमा परिवर्तन ल्याउन र परमेश्‍वरद्वारा सिद्ध पारिन सक्छन्। अल्छे र आरामको लोभ गर्ने मानिसहरू कर्तव्य निभाउन अनिच्छुक हुन्छन्, अनि तिनीहरू कर्तव्य निर्वाह गर्दा परमेश्‍वरको काम अनुभव गर्दैनन्, तिनीहरू त बस परमेश्‍वरको घरले तिनीहरूलाई भेला, प्रवचन र सत्यताबारे सङ्गति उपलब्ध गराओस् भनी निरन्तर माग मात्र गरिरहन्छन्। फलस्वरूप, दस वा बीस वर्षको विश्‍वासपछि पनि र असङ्ख्य प्रवचनहरू सुनिसकेपछि पनि, तिनीहरूले सत्यता बुझेका वा प्राप्त गरेका हुँदैनन्। तिनीहरूलाई परमेश्‍वरको काम कसरी अनुभव गर्ने त्यो थाहै हुँदैन्, तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वासको अर्थ के हो त्यो बुझ्दैनन्, र तिनीहरू आफूलाई चिन्‍न अनि सत्यता र जीवन प्राप्त गर्न परमेश्‍वरको वचन कसरी अनुभव गर्ने त्यो जान्दैनन्। तिनीहरू आरामको लालसा गर्ने र आफ्नो कर्तव्यबाट पन्छिने मानिसहरू हुन्; त्यसकारण, तिनीहरूले जे-जसरी कर्तव्य निभाउँछन् त्यसैको कारण तिनीहरूलाई खुलासा र निष्कासित गरिन्छ। अहिले, आफ्नो कर्तव्य निर्वाह गर्नमा सन्तुष्ट हुने र सत्यता पछ्याउने कार्यलाई महत्त्व दिने सबै मानिसहरूले कर्तव्य निभाउने क्रममा केही जीवन प्रवेश हासिल गरेका छन्, तिनीहरू भ्रष्टता प्रदर्शन गर्दा आफूलाई चिन्न आत्मचिन्तन गर्छन्, र तिनीहरूले कर्तव्य निर्वाह गर्ने क्रममा कठिनाइहरू सामना गर्दा समस्या समाधान गर्नहेतु सत्यताको खोजी र सत्यताबारे सङ्गति गर्छन्। वर्षौँको कर्तव्य निर्वाहपश्‍चात्, तिनीहरूले अनजानमै स्पष्ट प्रतिफल प्राप्त गर्छन्, केही अनुभव गवाहीबारे बोल्न सक्छन्, परमेश्‍वरको काम र उहाँको स्वभावबारे केही ज्ञान धारण गर्न सक्छन्, र यसरी आफ्नो जीवन स्वभावमा परिवर्तन ल्याउन सक्छन्। हाल, हरठाउँका मण्डलीहरूले दुष्ट मानिस अनि बाधा र अवरोध गर्ने मानिसहरूलाई सफाइ गरिरहेका छन्। मण्डलीमै रहिरहेकाहरू सामान्यतया आफ्नो कर्तव्य निर्वाहमा डटिरहने, एक हदसम्म बफादार, र समस्याहरू समाधान गर्न सत्यता खोज्‍ने कार्यलाई महत्त्व दिने मानिसहरू हुन्। तिनीहरू आफ्नो गवाहीमा दृढ रहन सक्ने मानिसहरू हुन्। तिमीहरूले परमेश्‍वरका वचनहरूलाई अभ्यास गर्दै र काममा लगाउँदै वास्तविक जीवनमा अनि तिमीहरूले गर्ने कर्तव्यहरूमा उतार्न सिक्नुपर्छ, अनि जब समस्या र कठिनाइहरू देखा पर्छन्, तिनलाई समाधान गर्न तिमीहरूले सत्यता खोजी गर्नुपर्छ। यसअतिरिक्त, तिमीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा परमेश्‍वरको इच्छालाई ध्यान दिन सिक्‍नुपर्छ, र हरमामिलामा सिद्धान्तअनुसार सत्यता अभ्यास गर्ने र कामकुराहरू सम्हाल्ने काममा लाग्नुपर्छ। तैँले परमेश्‍वरप्रतिको प्रेम अभ्यास गर्न सिक्नुपर्छ, र उहाँलाई प्रेम गर्ने हृदयसाथ उहाँको बोझलाई ध्यान दिनुपर्छ र उहाँलाई सन्तुष्ट पार्न सक्ने हदमा पुग्नुपर्छ। यस्तो व्यक्ति मात्रै परमेश्‍वरलाई साँच्चै प्रेम गर्ने व्यक्ति हो। यस तरिकाले अभ्यास गर्दा, तैँले पूर्ण रूपमा सत्यता नबुझे पनि, आफ्नो कर्तव्य पर्याप्त रूपमा गर्न सक्नेछस्, अनि तैँले आफ्नो लापरवाही र झाराटाराइ समाधान गर्न सक्ने मात्र नभई, कर्तव्य निर्वाह गर्दा परमेश्‍वरप्रतिको प्रेम अभ्यास गर्न, उहाँप्रति समर्पित हुन र उहाँलाई सन्तुष्ट पार्नसमेत सक्नेछस्—जीवन प्रवेशको पाठ भनेकै यही हो। यदि तँ हरमामिलामा यसरी नै सत्यता अभ्यास गर्न र सिद्धान्तअनुसार काम गर्न सक्छस् भने, तँ सत्यता वास्तविकतामा प्रवेश गरिरहेको छस् र तेरो जीवन प्रवेश हुनेछ। आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा तँ जतिसुकै व्यस्त भए पनि, यदि तैँले जीवन प्रवेशको फल प्राप्त गरेको र जीवनमा प्रगति गरेको छस् भने, र तँ परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुन सक्छस् भने, तैँले आफ्नो कर्तव्य पालन गर्दा आनन्द महसुस गर्नेछस्। जतिसुकै व्यस्त हुँदा पनि तैँले थकान महसुस गर्नेछैनस्। तेरो हृदयमा सधैँ शान्ति र हर्ष हुनेछ र तैँले विशेष रूपमा समृद्ध र शान्त महसुस गर्नेछस्। तँलाई जस्तोसुकै कठिनाइ आइपरे पनि, तैँले सत्यता खोजी गर्दा, पवित्र आत्माले तँलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुनेछ। अनि, तैँले परमेश्‍वरको आशिष् पाउनेछस्। साथै, आफ्नो कर्तव्यको दौरान व्यस्तता भए नि नभए नि, तैँले बेलाबेलामा उपयुक्त व्यायाम र सचेत तन्दुरुस्ती क्रियाकलापहरूमा संलग्न हुनु महत्त्वपूर्ण छ। यसले रक्तसञ्चार प्रवर्धन गर्नेछ र उच्च ऊर्जा कायम गर्नमा मद्दत पुर्‍याउनेछ र यो निश्‍चित व्यावसायिक रोगहरू रोक्न प्रभावकारी हुन सक्‍नेछ। यो कुरा तैँले आफ्ना कर्तव्यहरू राम्ररी गर्नको निम्ति अत्यन्तै उपयोगी हुन्छ। त्यसैले, आफ्ना कर्तव्यहरू निर्वाह गर्दा, यदि तैँले धेरै पाठहरू सिक्न सक्छस् भने, र धेरै सत्यताबारे बुझाइ प्राप्त गर्न, परमेश्‍वरलाई साँच्चै चिन्न, र अन्त्यमा परमेश्‍वरको डर मान्न र दुष्टतादेखि अलग बस्‍न सक्छस् भने, तँ उहाँको इच्छाअनुरूपको हुनेछस्। यदि तँ परमेश्‍वप्रतिको प्रेम प्राप्त गर्न सक्छस्, उहाँको लागि गवाही दिन सक्छस्, र उहाँसँग हृदय र इच्छाको एकता हासिल गर्न सक्छस् भने, तँ उहाँद्वारा सिद्ध पारिने बाटोमा हिँडिरहेको छस्। यस्तो व्यक्तिले परमेश्‍वरको आशिष् प्राप्त गरेको हुन्छ, र यो निकै आशिषित कुरा हो! यदि तैँले इमान्दारीसाथ परमेश्‍वरको लागि आफैलाई अर्पित गर्छस् भने, तैँले निश्‍चय नै उहाँबाट प्रशस्त आशिष् पाउनेछस्। के परमेश्‍वरको लागि आफैलाई अर्पित नगर्ने र आफ्नो कर्तव्य नगर्ने मानिसहरूले सत्यता प्राप्त गर्न सक्छन्? के तिनीहरूले मुक्ति पाउन सक्छन्? यो भन्न गाह्रो छ। सबै आशिष्‌हरू कर्तव्यपालन र परमेश्‍वरको कामको अनुभवमार्फत मात्रै प्राप्त गर्न सकिन्छ। व्यक्तिले परमेश्‍वरको काम कसरी अनुभव गर्ने अनि न्याय र सजाय, जाँच र शोधन, साथै काँटछाँट र निराकरण कसरी अनुभव गर्ने भनी जान्‍ने भनेको कर्तव्यपालनकै क्रममा हो। अनि, आशिषित हुन सबैभन्दा योग्य कुराहरू पनि यिनै हुन्। यदि व्यक्तिले सत्यतालाई प्रेम गर्‍यो र पछ्यायो भने, उसले अन्तत: सत्यता प्राप्त गर्नेछ, आफ्नो जीवन स्वभाव परिवर्तन गर्नेछ, परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछ र उहाँद्वारा आशिषित व्यक्ति बन्नेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

सम्बन्धित भजनहरू

तिम्रो कर्तव्यमा सत्यताको अभ्यास गर्नु मुख्य कुरा हो

अघिल्लो: १२. व्यक्तिले कसरी आफ्नो कर्तव्य पर्याप्त मात्रामा निर्वाह गर्न सक्छ

अर्को: १४. कर्तव्य निर्वाह र परमेश्‍वरको गवाही दिनुबीच सम्बन्ध

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्