१२. व्यक्तिले कसरी आफ्नो कर्तव्य पर्याप्त मात्रामा निर्वाह गर्न सक्छ
सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूका वचनहरू
पर्याप्त कर्तव्य निर्वाहका सम्बन्धमा, “पर्याप्त” शब्दलाई विशेष जोड दिइएको छ। त्यसो भए, “पर्याप्त” लाई कसरी परिभाषित गर्नुपर्छ? यसमा पनि खोज्नु पर्ने सत्यताहरू छन्। के कामचलाउ काम गर्नु मात्र पर्याप्त हुन्छ? यो “पर्याप्त” भन्ने शब्दलाई कसरी बुझ्ने र लिने भन्ने बारेमा विशेष जानकारीहरूका लागि तैँले धेरै वटा सत्यहरू बुझ्नुपर्छ र सत्यताको बारेमा अझ धेरै सङ्गतिहरू गर्नुपर्छ। तेरो कर्तव्य पूरा गर्ने क्रममा, तैँले सत्यता र सिद्धान्तहरू बुझ्नैपर्छ; तब मात्र तँ कर्तव्यलाई पर्याप्त रूपमा पूरा गर्ने स्थितिमा पुग्न सक्छस्। मानिसहरूले किन तिनीहरूका कर्तव्यहरू पूरा गर्नुपर्छ? मानिसहरूले परमेश्वरमा विश्वास गरेर उहाँको आज्ञालाई स्वीकार गरेपछि, तिनीहरूसँग परमेश्वरको घरको काम र परमेश्वरको कामको स्थलमा तिनीहरूको भागको जिम्मेवारी र कर्तव्य हुन्छ, अनि यो जिम्मेवारी र कर्तव्यको कारण तिनीहरू परमेश्वरको कामको एउटा तत्व, उहाँको काम प्राप्त गर्ने व्यक्ति, र उहाँको मुक्ति पाउने व्यक्ति बनेका हुन्छन्। मानिसहरूको मुक्ति र तिनीहरूले आफ्ना कर्तव्यहरू कसरी पूरा गर्छन्, तिनीहरूले त्यो राम्ररी गर्न सक्छन् कि सक्दैनन्, र तिनीहरूले त्यो पर्याप्त रूपमा गर्न सक्छन् कि सक्दैनन् भन्ने कुराको बीचमा एउटा ठूलो सम्बन्ध हुन्छ। तँ परमेश्वरको घरको हिस्सा बनेको हुनाले र तैँले उहाँको आदेश स्वीकार गरेको हुनाले, अब तँसँग एउटा कर्तव्य छ। यो कर्तव्य कसरी पूरा गर्नुपर्छ त्यो तैँले भन्ने कुरा होइन; यो परमेश्वरले भन्नुहुने कुरा हो; यो सत्यताले भन्ने कुरा हो; र यो सत्यताको मापदण्डहरूद्वारा तय गरिने कुरा हो। त्यसकारण, परमेश्वरले मानिसका कर्तव्यहरू कसरी मापन गर्नुहुन्छ, उहाँले तिनलाई केअनुसार मापन गर्नुहुन्छ भन्नेबारे मानिसहरूले जान्नु र बुझ्नुपर्छ र स्पष्ट हुनुपर्छ—यो खोजी गर्न योग्य कुरा हो। परमेश्वरको काममा, फरक-फरक मानिसहरूले फरक-फरक कर्तव्यहरू पाउँछन्। यसको मतलब, फरक-फरक प्रतिभा, क्षमता, उमेर, र अवस्थाका मानिसहरूले फरक-फरक समयमा फरक-फरक कर्तव्यहरू पाउँछन्। तैँले जे कर्तव्य पाएको भए पनि, तैँले त्यो जस्तो समय वा परिस्थितिमा पाएको भए पनि, तेरो कर्तव्य भनेको तैँले निर्वाह गर्नुपर्ने एउटा जिम्मेवारी र दायित्व मात्र हो, त्यो तेरो व्यवस्थापन, वा व्यवसाय होइन। परमेश्वरले तेरो कर्तव्य निर्वाहकाका लागि तय गर्नुभएको मानक भनेको यो “पर्याप्त” हुनुपर्छ भन्ने हो। “पर्याप्त” हुनु भनेको के हो? यसको अर्थ परमेश्वरका मागहरू पूरा गर्नु र उहाँलाई सन्तुष्ट पार्नु हो। परमेश्वरले त्यो पर्याप्त छ भनेर भन्नुपर्छ र यसले उहाँको सराहना पाउनुपर्छ। तब मात्र तेरो कर्तव्य निर्वाह पर्याप्त भएको हुनेछ। यदि परमेश्वरले त्यो पर्याप्त छैन भन्नुहुन्छ भने, तैँले आफ्नो कर्तव्य जति नै लामो समयदेखि निभाएको भए पनि, वा जति नै मूल्य चुकाएको भए पनि, त्यो पर्याप्त हुँदैन। अनि, यसको परिणाम के हुनेछ? यो सब सेवामात्र गरिएको हो भनेर वर्गीकृत हुनेछ। निष्ठावान् हृदय भएका थोरै सेवाकर्ताहरूलाई मात्रै विपत्तिहरूमा जोगाइनेछ। यदि तिनीहरू आफूले दिने सेवामा निष्ठावान् छैनन् भने, तिनीहरूको जोगिने कुनै आशा हुनेछैन। सरल रूपमा भन्दा, तिनीहरू विपत्तिहरूमा नष्ट हुनेछन्। यदि कसैले आफ्नो कर्तव्य निर्वाह गर्दा कहिल्यै लक्ष्यमा पुग्दैन भने, कर्तव्य निर्वाह गर्ने उसको अधिकार खोसिनेछ। यो अधिकार खोसिएपछि, केही मानिसहरू निष्कासित हुनेछन्। निष्कासित भएपछि, तिनीहरूलाई अरू माध्यमद्वारा तह लगाइनेछ। के “अरू माध्यमद्वारा तह लगाइनु” को अर्थ निष्कासित गरिनु हो? यसै भन्न सकिन्न। परमेश्वरले मुख्यगरी उक्त व्यक्तिले पश्चात्ताप गरेको छ कि छैन भनी हेर्नुहुन्छ। त्यसकारण, तैँले कसरी कर्तव्य निर्वाह गर्छस् भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण हुन्छ, र मानिसहरूले त्यसलाई गम्भीरता र इमान्दारीपूर्वक लिनुपर्छ। तेरो कर्तव्य निर्वाह तेरो जीवन प्रवेश र सत्यता वास्तविकतामा प्रवेशका साथै तेरो मुक्ति र सिद्धता प्राप्ति जस्ता ठूला कुराहरूसित सिधै जोडिएको हुनाले, परमेश्वरमा विश्वास गर्दा तैँले आफ्नो कर्तव्य निर्वाहलाई सबैभन्दा महत्त्वपूर्ण कामका रूपमा लिनुपर्छ। तँ त्यसबारे अन्यौलमा पर्न मिल्दैन।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?
परमेश्वरमा विश्वास गर्ने सबैले उहाँको इच्छा बुझ्नुपर्छ। ज-जसले आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्छन् उनीहरूले मात्र परमेश्वरलाई सन्तुष्ट पार्न सक्छन्, र परमेश्वरको आज्ञा पूरा गरेर मात्र आफ्नो कर्तव्यको कार्यसम्पादन सन्तोषजनक हुन सक्छ। अनि, परमेश्वरको आज्ञा पूरा गर्नको निम्ति एउटा मापदण्ड छ। प्रभु येशूले यसो भन्नुभएको थियो: “तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण मानले प्रेम गर्नू।” उहाँले मानिसहरूलाई दिनुभएको मापदण्डको एउटा पक्ष “परमेश्वरलाई प्रेम गर्नु” हो। यो मापदण्ड कहाँ प्रकट हुनुपर्छ? तैँले परमेश्वरको आज्ञा पूरा गर्नैपर्छ भन्ने कुरामा। व्यावहारिक हिसाबमा भन्नुपर्दा, यो भनेको मानवको रूपमा आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु हो। त्यसोभए आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नको लागि के मापदण्ड छ? परमेश्वरको मापदण्ड यो छ कि, एक सृष्टि गरिएको प्राणीको रूपमा तैँले आफ्नो सारा हृदय, प्राण, मन, र शक्तिले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ। यो कुरा बुझ्न सजिलै हुनुपर्छ। परमेश्वरको मापदण्ड पूरा गर्नको निम्ति, तैँले मुख्यगरी कर्तव्यमा आफ्नो हृदय लाउनु आवश्यक हुन्छ। यदि तँ तेरो हृदय त्यसमा लगाउन सक्छस् भने, तँलाई तेरो सारा प्राण, तेरो सारा मन, र तेरो सारा शक्तिले कार्य गर्न सजिलो हुनेछ। यदि तँ तेरो मस्तिष्कका कल्पनाहरूमा र तेरा वरदानहरूमा भरोसा गरेर आफ्नो कर्तव्य निर्वाह गर्छस् भने, के तैँले परमेश्वरको मापदण्ड पूरा गर्न सक्छस् र? कदापि सक्दैनस्। त्यसो भए, परमेश्वरको आज्ञा पूरा गर्न, र आफ्नो कर्तव्य बफादारीसाथ र राम्रोसँग सम्पन्न गर्नको लागि कुन मापदण्ड पूरा गर्नुपर्छ? त्यो भनेको सारा हृदयले, सारा प्राणले, सारा मनले र सारा शक्तिले कर्तव्य निर्वाह गर्नु हो। यदि तैँले परमेश्वरलाई प्रेम गर्ने हृदयविना कर्तव्य पूरा गर्ने कोसिस गर्छस् भने, त्यसले काम गर्नेछैन। यदि परमेश्वरलाई प्रेम गर्ने तेरो हृदय अझ बलियो र अझ सच्चा हुन्छ भने, तैँले स्वाभाविक रूपमै तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा मनले र तेरो सारा शक्तिले तेरो कर्तव्य राम्ररी पूरा गर्न सक्नेछस्। तेरो सारा हृदय, तेरो सारा प्राण, तेरो सारा मन, तेरो सारा शक्ति—त्यो अन्त्यमा आउने “तेरो सारा शक्ति” हो; सुरुमा “तेरो सारा मन” आउँछ। यदि तँ तेरो सारा मनले तेरो कर्तव्य निर्वाह गरिरहेको छैनस् भने, तँ कसरी तेरो सारा शक्तिले त्यो काम गरिरहेको हुन सक्छस् र? त्यसैले आफ्नो सारा शक्तिले मात्र कर्तव्य निर्वाह गर्न खोजेमा त्यसले कुनै नतिजाहरू दिन सक्दैन—र त्यसले सिद्धान्तहरू पनि पालना गर्न सक्दैन। परमेश्वरले मापदण्ड तोक्नुहुने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? (आफ्नो सारा हृदयले।) परमेश्वरले तँलाई जुनै कर्तव्य वा कुरा सुम्पनुभए पनि, यदि तँ केवल परिश्रम गर्ने, दौडधुप गर्ने, र मेहनत लगाउने मात्र गर्छस् भने, के तँ सत्यता सिद्धान्तहरूसँग मिल्दो हुन सक्छस् र? के तँ परमेश्वरको इच्छाअनुसार हिँड्न सक्छस् र? (सक्दिनँ।) त्यसोभए तँ कसरी परमेश्वरको इच्छासँग मिल्दो हुन सक्छस् त? (आफ्नो सारा हृदयले।) “तेरो सारा हृदयले” भन्ने शब्दहरू भन्न सजिला छन्, र मानिसहरू प्राय त्यो कुरा भनिरहन्छन्, त्यसोभए तँ कसरी तेरो सारा हृदयले त्यो गर्न सक्छस् त? कतिपय मानिसहरू भन्छन्, “तैँले अलि बढी प्रयास र इमानदारीले कामकुरा गरिस्, अझै धेरै सोचिस्, तेरो मनमा अरू केही आउन दिइनस्, र आफ्नो काम कसरी गर्ने भन्नेमा मात्र ध्यान दिइस् भने त्यसो गर्न सक्छस्, होइन र?” के त्यो त्यति सजिलो छ त? (छैन।) त्यसोभए अब अभ्यासका केही आधारभूत सिद्धान्तहरूबारे कुरा गरौँ। तिमीहरूले प्रायसो अभ्यास वा पालन गर्दै आएका सिद्धान्तहरूअनुसार, आफ्नो सारा हृदयले कामकुरा गर्न तिमीहरूले सुरुमा के गर्नुपर्छ? तिमीहरूले आफ्नो सारा मन प्रयोग गर्नुपर्छ, आफ्नो ऊर्जा प्रयोग गर्नुपर्छ, र आफ्नो हृदयलाई काम गर्न लगाउनुपर्छ, र झाराटारुवा हुनु हुँदैन। यदि व्यक्ति आफ्नो सारा हृदयले कामकुरा गर्न सक्दैन भने, उसले आफ्नो हृदय गुमाएको हुन्छ, जुन आफ्नो प्राण गुमाउनुजस्तै हो। बोल्दाखेरि उसका सोचहरू बहकिनेछन्, उसले आफ्नो हृदयलाई काममा कहिल्यै लगाउनेछैन, र उसले जे गरे पनि ऊ नासमझ हुनेछ। फलस्वरूप, उसले कामकुरा राम्ररी सम्हाल्न सक्नेछैन। यदि तँ तेरो सारा हृदयले आफ्नो कर्तव्य निर्वाह गर्दैनस् र आफ्नो सम्पूर्ण हृदय त्यसमा लगाउँदैनस् भने, तैँले नराम्रोसित कर्तव्य निर्वाह गर्नेछस्। अनि, वर्षौँ कर्तव्य निर्वाह गरे पनि, तैँले पर्याप्त मात्रामा कर्तव्य निर्वाह गर्न सक्नेछैनस्। यदि तँ तेरो हृदय लगाउँदैनस् भने, तैँले केही पनि राम्ररी गर्न सक्नेछैनस्। कतिपय मानिसहरू लगनशील सेवक हुँदैनन्, तिनीहरू सधैँ अस्थिर र अप्रत्याशित हुन्छन्, तिनीहरू धेरै ठूलो उद्देश्य राख्छन्, र तिनीहरूलाई आफ्नो हृदय कहाँ छ भन्नेसमेत थाहा हुँदैन। के यस्ता मानिसहरूमा हृदय हुन्छ त? व्यक्तिमा हृदय छ छैन भनेर तिमीहरू कसरी भन्न सक्छौ? यदि परमेश्वरमा विश्वास गर्ने कुनै व्यक्तिले परमेश्वरका वचनहरू विरलै पढ्छ भने, के ऊसँग हृदय हुन्छ? यदि उसले जेसुकै आइपरे पनि कहिल्यै परमेश्वरलाई प्रार्थना गर्दैन भने, के ऊसँग हृदय हुन्छ? यदि जस्तोसुकै कठिनाइ सामना गर्नुपरे पनि उसले कहिल्यै सत्यता खोज्दैन भने, के ऊसँग हृदय हुन्छ? कतिपय मानिसहरूले वर्षौँ कर्तव्य निभाएर पनि कुनै नतिजा निकाल्दैनन्, के तिनीहरूसँग हृदय हुन्छ? (हुँदैन।) के हृदय नभएका मानिसहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छन्? मानिसहरूले कसरी सारा हृदयले आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन्? सर्वप्रथम, तैँले जिम्मेवारीबारे सोच्नुपर्छ। “यो मेरो जिम्मेवारी हो, मैले यो वहन गर्नुपर्छ। मेरो सबैभन्दा बढी आवश्यकता परेको बेला, म भाग्न मिल्दैन। मैले मेरो कर्तव्य राम्ररी निभाउनुपर्छ र त्यसबारे परमेश्वरलाई भन्नुपर्छ।” यसको मतलब, तँसित सैद्धान्तिक आधार छ। तर के सैद्धान्तिक आधार मात्र हुँदैमा, तँ तेरो सारा हृदयले कर्तव्य निभाइरहेको छस् भन्ने हुन्छ र? (हुँदैन।) तँ अझै पनि सत्यता वास्तविकतामा प्रवेश गर्ने र तेरो सारा हृदयले कर्तव्य निभाउने परमेश्वरको मापदण्ड पूरा गर्नबाट निकै टाढा छस्। त्यसोभए, तेरो सारा हृदयले कर्तव्य निभाउनुको अर्थ के हो त? मानिसहरूले कसरी आफ्नो सारा हृदयले कर्तव्य निर्वाह गर्न सक्छन्? सर्वप्रथम, तैँले सोच्नुपर्छ, “मैले कसको लागि यो कर्तव्य निभाइरहेको छु? मैले यो परमेश्वरको निम्ति गरिरहेको छु, कि मण्डली, वा कुनै व्यक्तिको निम्ति?” यो कुरा प्रस्ट रूपमा बुझ्नैपर्छ। साथै, यो पनि सोच्नुपर्छ: “यो कर्तव्य मलाई कसले आज्ञा गरेको हो? परमेश्वरले हो, कि कुनै अगुवा वा मण्डलीले हो?” यो कुरा पनि प्रस्ट पार्नुपर्छ। यो सानो कुरा जस्तो देखिएला, तर त्यसलाई हल गर्न सत्यता खोज्नैपर्छ। ल भन त, के तिमीहरूलाई तिमीहरूको कर्तव्य आज्ञा गर्ने कुनै अगुवा वा सेवक, वा मण्डली थियो त? (थिएन।) यदि तँ हृदयमा त्यसबारे निश्चित छस् भने राम्रो हो। परमेश्वरले तँलाई तेरो कर्तव्य आज्ञा गर्नुभएको हो भनी तँ निश्चित हुनुपर्छ। त्यो तँलाई कुनै मण्डली अगुवाले दिएजस्तो देखिएला, तर खासमा, त्यो सबै परमेश्वरको बन्दोबस्तबाट आउँछ। कहिलेकाहीँ त्यो प्रस्ट रूपमा मानव इच्छाबाट आउन सक्छ, तर त्यो बेला पनि, तैँले सुरुमा त्यसलाई परमेश्वरबाट आएको भनी स्विकार्नुपर्छ। त्यो अनुभव गर्ने सही तरिका त्यही हो। यदि तैँले त्यसलाई परमेश्वरबाट आएको भनी स्विकार्छस्, र स्वेच्छाले उहाँको बन्दोबस्तप्रति समर्पित हुन्छस्, र उहाँको आज्ञा स्विकार्न पहल गर्छस् भने—यदि तैँले त्यसरी अनुभव गर्छस् भने, तैँले परमेश्वरको मार्गदर्शन र काम पाउनेछस्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसहरूले जिउनको लागि वास्तवमा केमा भरोसा गर्छन्?
तैँले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि, तैँले बुझ्नुपर्ने सिद्धान्तहरू र तैँले अभ्यास गर्नुपर्ने सत्यताहरू एउटै हुन्छन्। तँलाई अगुवा बन्न अनुरोध गरिए पनि वा सेवक बन्न अनुरोध गरिए पनि, वा घरधनी वा मेजबानको रूपमा तैँले भाँडा माझे पनि वा तँलाई केही बाह्य कामकाज सम्हाल्न लगाइए पनि वा कुनै शारीरिक परिश्रम गर्न लगाइए पनि, यी विभिन्न कर्तव्यहरू निभाउँदा पालन गर्नुपर्ने सत्यता सिद्धान्तहरू उही हुन्छन्, र ती सबै कर्तव्यहरू सत्यता र परमेश्वरका वचनहरूमा आधारित हुनुपर्छ। अनि यी सिद्धान्तहरूमध्ये सबैभन्दा ठूलो र मुख्य कुन हो त? त्यो आफ्नो कर्तव्य निर्वाह गर्नमा तन, मन, र बल समर्पित गर्नु, र आवश्यक मापदण्डको स्तरअनुसार कर्तव्य निर्वाह गर्नु हो। आफ्नो कर्तव्य राम्ररी र मापदण्डको स्तरअनुसार निर्वाह गर्नको निम्ति, तैँले कर्तव्य भनेको के हो भन्ने कुरा बुझ्नुपर्छ। त्यसोभए, वास्तवमा कर्तव्य भनेको चाहिँ के हो त? के कर्तव्य तेरो करियर नै हो त? (होइन।) यदि तैँले तेरो कर्तव्यलाई तेरो करियरको रूपमा लिन्छस्, र अरूले तँ कति सफल र महान् छस् भन्ने कुरा अरूले देखून् भनेर त्यो कर्तव्य राम्ररी निर्वाह गर्न तेरो सारा बल लगाउन तयार हुन्छस्, र यसले तेरो जीवनलाई अर्थ दिन्छ भन्ठान्छस् भने, के त्यो सही विचार हुनेछ र? (हुनेछैन।) यो विचार कहाँनेर गलत छ? यो कुरा परमेश्वरको आज्ञालाई आफ्नै उद्यमको रूपमा लिएकोमा गलत छ। मानिसहरूलाई यो ठिकै लाग्न सक्छ, तर परमेश्वरको लागि त्यो गलत मार्गमा हिँड्नु र सत्यता सिद्धान्तहरू उल्लङ्घन् गर्नु हो, र उहाँले यसको निन्दा गर्नुहुन्छ। परमेश्वरको इच्छाअनुरूप हुनको निम्ति परमेश्वरका मापदण्ड र सत्यता सिद्धान्तहरूअनुसार नै कर्तव्य निर्वाह गर्नुपर्छ। सत्यता सिद्धान्तहरू उल्लङ्घन् गर्नु र मानव अभिरुचिहरूको आधारमा कार्य गर्नु पाप हो। यसले परमेश्वरको विरोध जनाउँछ र दण्ड निम्त्याउँछ। यो सत्यता स्वीकार नगर्ने मूर्ख र अज्ञानी मानिसहरूको नियति हो। परमेश्वरमा विश्वास गर्नेहरू परमेश्वरले मानिसहरूबाट के माग गर्नुहुन्छ भन्नेबारे प्रस्ट हुनैपर्छ। यो दर्शनलाई प्रस्ट पारिनुपर्छ। पहिला कर्तव्य भनेको के हो भन्नेबारे कुरा गरौँ। कर्तव्य भनेको तेरो आफ्नै उद्यम, तेरो आफ्नै करियर, वा तेरो आफ्नै काम होइन; त्यो परमेश्वरको काम हो। कर्तव्य भनेको तैँले व्यवस्थापन गर्ने कुरा होइन—यो तेरो आफ्नै जागिर वा तेरो आफ्नै काम होइन; बरु, यो त परमेश्वरको काम हो। परमेश्वरको कामलाई तेरो सहकार्यको आवश्यकता पर्छ, जसले तेरो कर्तव्य पैदा गर्छ। मानिसले सहकार्य गर्नैपर्ने परमेश्वरको कामको भाग नै मानिसको कर्तव्य हो। कर्तव्य भनेको परमेश्वरको कामको भाग हो—यो तेरो जागिर होइन, वा तेरो घरायसी कामकाज वा तेरो जीवनको व्यक्तिगत कामकाज पनि होइन। तेरो कर्तव्य बाहिरी मामलाहरूसँग सम्बन्धित भए पनि वा भित्री मामलाहरूसँग सम्बन्धित भए पनि, त्यसमा मानसिक वा शारीरिक परिश्रम जे आवश्यक हुने भए पनि, यो तैँले निर्वाह गर्नुपर्ने कर्तव्य हो, यो मण्डलीको काम हो, यो परमेश्वरको व्यवस्थापन योजनाको एउटा भाग हो, र यो परमेश्वरले तँलाई दिनुभएको आज्ञा हो। यो तेरो व्यक्तिगत कामकाज होइन। त्यसो भए, तैँले आफ्नो कर्तव्यलाई कसरी लिनुपर्छ त? कम्तीमा पनि, तैँले आफ्नो कर्तव्य आफूलाई जसरी मन लाग्यो त्यसरी गर्नु हुँदैन, तैँले लापरबाही रूपमा व्यवहार गर्नु हुँदैन। उदाहरणको लागि, यदि तँ तेरा दाजुभाइ-दिदीबहिनीहरूको लागि खाना बनाउने मुख्य व्यक्ति होस् भने, त्यो नै तेरो कर्तव्य हो। तैँले यो कार्यलाई कुन रूपमा लिनुपर्छ? (मैले सत्यता सिद्धान्तहरू खोजी गर्नुपर्छ।) तैँले सत्यता सिद्धान्तहरू कसरी खोजी गर्छस्? यो वास्तविकता र सत्यतासँग सम्बन्धित हुन्छ। तैँले सत्यता कसरी व्यवहारमा लागू गर्ने, कसरी यो कर्तव्य राम्रो तरिकाले निर्वाह गर्ने, र यस कर्तव्यमा सत्यताका कुन-कुन पक्षहरू संलग्न छन् भन्नेबारे सोच्नुपर्छ। यसको लागि, पहिलो कदम भनेको सर्वप्रथम तैँले “म मेरै लागि खाना पकाइरहेको छैनँ। मैले जे गरिरहेको छु त्यो मेरो कर्तव्य हो” भन्ने कुरा जान्नुपर्छ। यसमा संलग्न पक्ष दर्शन हो। अनि दोस्रो कदम के हो? (मैले खाना कसरी राम्ररी पकाउने भन्नेबारे सोच्नुपर्छ।) राम्ररी पकाउनको लागि के मापदण्ड छ? (मैले परमेश्वरका मापदण्डहरू खोजी गर्नुपर्छ।) ठिक भनिस्। परमेश्वरका मापदण्डहरू मात्र सत्यता, मानक र सिद्धान्तहरू हुन्। परमेश्वरका मापदण्डहरूअनुसार पकाउनु सत्यताको एउटा पक्ष हो। तैँले सर्वप्रथम सत्यताको यो पक्षबारे विचार गर्नुपर्छ, र त्यसपछि “परमेश्वरले मलाई यो कर्तव्य निर्वाह गर्न दिनुभएको छ। परमेश्वरको मापदण्डको स्तर के हो?” भनेर मनन् गर्नुपर्छ। यो जग जरुरी कुरा हो। अनि, तैँले परमेश्वरको मापदण्ड पूरा गर्न कसरी पकाउनुपर्छ? तैँले पकाउने खाना स्वस्थ, स्वादिष्ट, र सफा हुनुपर्छ, र शरीरको लागि हानिकारक हुनु हुँदैन—यसमा संलग्न कुराहरू यिनै हुन्। जबसम्म तैँले यो सिद्धान्तअनुसार पकाउँछस्, तबसम्म तैँले पकाएको खाना परमेश्वरका मापदण्डहरूअनुसार नै बनाइएको हुनेछ। म किन यसो भनिरहेको छु? किनकि तैँले यो कर्तव्यका सिद्धान्तहरू खोजी गरिस् र परमेश्वरले तोक्नुभएको दायरा नाघिनस्। यही नै खाना पकाउने सही तरिका हो। तैँले आफ्नो कर्तव्य राम्ररी निभाएको छस्, र त्यसलाई सन्तोषजनक रूपमा निभाएको छस्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताका सिद्धान्तहरूको खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निभाउन सक्छ
आफूले जुनसुकै कर्तव्य पूरा गरिरहेको भए पनि, तैँले सत्यता सिद्धान्तहरू खोज्नुपर्छ, परमेश्वरको इच्छा बुझ्नुपर्छ, सम्बन्धित कर्तव्यको सम्बन्धमा उहाँका मापदण्डहरू के-के हुन् भनेर जान्नुपर्छ र त्यो कर्तव्यमार्फत तैँले के हासिल गर्नुपर्छ त्यो बुझ्नुपर्छ। त्यसो गरेर मात्रै तैँले सिद्धान्तअनुसार आफ्नो काम पूरा गर्न सक्छस्। तेरो कर्तव्य पूरा गर्दा, तैँले आफ्ना व्यक्तिगत रुचिहरूअनुसार, तँलाई जे मन लाग्छ त्यो गर्न, तँलाई जे गर्दा खुसी लाग्छ वा जुन कुराले तँलाई राम्रो देखाउँछ त्यो गर्दै अगि बढ्न मिल्दैन। यसो गर्नु भनेको आफ्नै इच्छाअनुसार काम गर्नु हो। आफ्नो कर्तव्य निभाउने क्रममा, यदि तैँले आफ्नै व्यक्तिगत रुचिहरूमा भरोस गर्छस् र परमेश्वरले माग्नुभएको कुरा यही हो, र यही कुराले परमेश्वरलाई खुशी तुल्याउँछ भनी भन्छस् भने, र यदि तैँले जबरजस्ती परमेश्वरमाथि तेरा आफ्ना व्यक्तिगत रुचिहरू लाद्छस् वा तिनलाई सत्य हुन् जस्तो गरी अभ्यास गर्छस्, तिनलाई सत्यता सिद्धान्तहरू हुन् जस्तो गरी पालन गर्छस् भने, के त्यो गल्ती हुन्न र? त्यो कर्तव्य पूरा गर्नु होइन, र यसरी निर्वाह गरिएको कर्तव्यलाई परमेश्वरले सम्झनुहुन्न। कतिपय मानिसहरूले सत्यतालाई बुझ्दैनन्, र तिनीहरूले आफ्ना कर्तव्यहरू राम्रोसँग पूरा गर्नु भनेको के हो सो जान्दैनन्। तिनीहरू आफूले प्रयत्न गरेको र त्यसमा आफ्नो हृदय लगाएको, आफ्नो देहलाई त्यागेको र कष्ट भोगेको छु भन्ने अनुभूति गर्छन्, त्यसोभए तिनीहरूले किन कहिल्यै सन्तुष्टिजनक रूपमा आफ्ना कर्तव्य पूरा गर्न सक्दैनन् त? परमेश्वर किन सधैँ असन्तुष्ट हुनुहुन्छ? यी मानिसहरूले कहाँ गल्ती गरेका छन्? परमेश्वरका मागहरूलाई खोज्नुको साटो तिनीहरूका आफ्नै विचारअनुसार व्यवहार गर्नु नै तिनीहरूको गल्ती थियो—कारण यही हो। तिनीहरूले आफ्नै चाहना, रुचि, र स्वार्थी उद्देश्यहरूलाई सत्यताको रूपमा लिए, र ती कुरालाई तिनीहरूले परमेश्वरले मन पराउनुभएको जस्तो, ती उहाँका मापदण्डहरू र आवश्यकताहरू हुन् जस्तो व्यवहार गरे। तिनीहरूले जे सत्य, असल र सुन्दर भनेर विश्वास गरेका थिए त्यो नै सत्य हो भन्ने देखे; यो गलत हो। वास्तवमा, यदि मानिसहरूले कहिलेकहीँ कुनै कुरा सही छ र त्यो सत्यतासँग मेल खान्छ भनी सोचे पनि, त्यसको अर्थ त्यो परमेश्वरको इच्छासँग मेल खान्छ भन्ने हुँदैन। मानिसहरूले कुनै कुरा सही छ भनेर जति धेरै सोच्छन्, तिनीहरू उत्ति नै बढी सतर्क हुनुपर्छ र तिनीहरूले सोचिरहेका कुराहरूले परमेश्वरका मागहरू पूरा गर्छ कि गर्दैन भनी अझ बढी सत्यको खोजी गर्नुपर्छ। यदि त्यो उहाँका मापदण्ड र उहाँका वचनहरूको विपरीत हुन जान्छ भने, तँलाई त्यो सही लागे पनि अस्वीकार्य नै हुन्छ, त्यो एक मानवीय विचार मात्र हो, र तँलाई त्यो जति नै सही हो भन्ने लागे पनि त्यो सत्यतासँग मेल खानेछैन। कुनै कुरा सही वा गलत हो भन्ने कुरा परमेश्वरका वचनहरूको आधारमा निर्धारित हुनुपर्दछ। तैँले कुनै कुरालाई जत्ति नै सही ठाने पनि, परमेश्वरको वचनमा त्यसको आधार छैन भने, त्यो गलत नै हो र तैँले त्यो त्याग्नैपर्छ। त्यो सत्यतासँग मेल खाएमा मात्र स्वीकार्य हुन्छ, र सत्यता सिद्धान्तहरू यसरी कायम राखेमा मात्र तेरो कर्तव्यपालनले मापदण्ड पूरा गर्न सक्छ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताका सिद्धान्तहरूको खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निभाउन सक्छ
तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, सिद्धान्तअनुसार काम गरिरहेको छस् कि छैनस्, कर्तव्य पूरा गर्ने तेरो कार्य मापदण्ड अनुसारको छ कि छैन, तैँले त्यो लापरवाही ढङ्गले गरिरहेको छस् कि छैनस्, तैँले आफ्नो जिम्मेवारीबाट भाग्ने कोसिस गरेको छस् कि छैनस्, तेरो आचरण र सोचविचारको तरिकामा कुनै समस्याहरू छन् कि छैनन् सो हेर्न तैँले आफूलाई सधैँ जाँच्नुपर्छ। तैँले आत्मचिन्तन गरेर यी कुराहरू तँलाई स्पष्ट भइसकेपछि, तँलाई आफ्नो कर्तव्य पूरा गर्न सजिलो हुनेछ। तैँले आफ्नो कर्तव्य पूरा गरिरहेको बेला जुनसुकै कुराको सामना गर्न परे पनि—नकारात्मकता र कमजोरी, वा काटछाँटपछि खराब मनस्थितिमा भए पनि—तैँले त्यसलाई उचित व्यवहार गर्नुपर्दछ, र तैँले सत्यको खोजी गर्नुपर्दछ र परमेश्वरका अभिप्राय बुझ्नुपर्छ। यी कुराहरू गरेर, तैँले अभ्यास गर्ने मार्ग पाउनेछस्। यदि तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न चाहन्छस् भने, तँ आफ्नो मनस्थितिद्वारा प्रभावित हुनु हुँदैन। तैँले जति नै नकारात्मक वा कमजोर महसुस गरिरहेको भए पनि, तैँले गर्ने सबै कुरामा तैँले पूर्ण कडाइका साथ, र सिद्धान्तहरूमा रहेर सत्यको अभ्यास गर्नुपर्दछ। यदि तँ यसो गर्छस् भने, अन्य मानिसहरूले तँलाई स्वीकार मात्र गर्नेछैनन्, तर परमेश्वरले पनि तँलाई मन पराउनुहुनेछ। त्यसरी नै, तँ यस्तो व्यक्ति हुनेछस् जो जिम्मेवार हुन्छ, र जसले आफ्नो काँधमा बोझ लिन्छ; तँ सच्चा रूपमा असल व्यक्ति हुनेछस्, जसले वास्तवमा मापदण्ड अनुसार आफ्ना कर्तव्यहरू निर्वाह गर्दछ र जो एक सच्चा व्यक्तिको स्वरूप लिएर पूर्ण रूपमा जिउँछ। त्यस्ता मानिसहरू शुद्ध पारिएका हुन्छन् र आफ्ना कर्तव्यहरू निर्वाह गर्दा वास्तविक रूपान्तरण हासिल गर्छन्, र तिनीहरूलाई परमेश्वर नजरमा इमानदार भन्न सकिन्छ। केवल इमानदार मानिसहरू मात्र सत्यताको अभ्यासमा दृढ रहन र सिद्धान्तको साथ काम गर्न सफल हुन सक्छन्, र मापदण्डअनुसार आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्छन्। सिद्धान्तसहित काम गर्ने मानिसहरू राम्रो मनस्थितिमा हुँदा आफ्ना कर्तव्यहरू सावधानीपूर्वक निर्वाह गर्छन्; तिनीहरू लापरवाही तरिकाले काम गर्दैनन्, तिनीहरू अहङ्कारी हुँदैनन्, र अरूले तिनीहरूलाई ठूलो सम्झून् भनी आफ्नो धाक लगाउँदैनन्। तिनीहरू खराब मुडमा हुँदा आफ्ना दैनिक कार्यहरू उत्तिकै गम्भीरता र जिम्मेवारीका साथ पूरा गर्न सक्छन्, र तिनीहरूका कर्तव्य निर्वाह गर्न बाधा दिने वा तिनीहरूलाई केही दबाब दिने वा तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दा बाधा उत्पन्न गर्ने कुरा भेटे भने पनि तिनीहरू परमेश्वरसामु आफ्ना हृदयलाई शान्त पार्न सक्छन् र यस भन्दै प्रार्थना गर्न सक्छन्, “मेरो विरुद्धमा जति नै ठूलो समस्या आइपरे पनि—यदि आकाश नै खस्यो भने पनि—जबसम्म म जीवित रहन्छु, म मेरो जिम्मेवारी पूरा गर्नको लागि सक्दो गर्न प्रतिबद्ध छु। म जिउने प्रत्येक दिन नै मैले मेरो कर्तव्य राम्रोसित निभाउनुपर्ने दिन हो, यसैले कि परमेश्वरले मलाई दिनुभएको यो कर्तव्य, साथै उहाँले मेरो शरीरमा हालिदिनुभएको यो सासको योग्य बन्न सकूँ। जतिसुकै कठिनाइमा परे पनि म यी सबैलाई पन्छ्याउनेछु, किनकि मेरो कर्तव्य पूरा गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो!” कुनै व्यक्ति, घटना, वस्तु, वा वातावरणबाट प्रभावित नहुने मानिसहरू, कुनै मुड वा बाहिरी परिस्थितिद्वारा बन्धनमा नपर्नेहरू, र जसले परमेश्वरले सुम्पिनुभएका तिनीहरूका कर्तव्यहरू र आदेशहरूलाई सबैभन्दा पहिले स्थानमा राख्छन्—तिनीहरू त्यस्ता मानिसहरू हुन् जो परमेश्वरप्रति बफादार हुन्छन् र जो सच्चा रूपमा उहाँको अधीनमा बस्छन्। यस्ता मानिसहरूले जीवनमा प्रवेश पाएका हुन्छन् र सत्यता वास्तविकतामा प्रवेश गरेका हुन्छन्। सत्यतामा जिउनुको सबैभन्दा सच्चा र व्यावहारिक अभिव्यक्ति यही हो।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ
आफ्नो कर्तव्य पूरा गर्ने क्रममा झारा टार्ने काम मात्रै गर्नु वर्जित गरिएको मुख्य कुरा हो। तैँले कर्तव्य निर्वाह गर्दा जहिले पनि झारा टार्ने काम मात्र गर्छस् भने, कुनै हालतमा आफ्नो कर्तव्य स्वीकार्य स्तरमा निर्वाह गर्न सक्दैनस्। यदि तँ वफादार भई आफ्नो कर्तव्य निभाउन चाहन्छस् भने, तैँले पहिला झारा टार्ने समस्यालाई सुल्झाउनैपर्छ। तैँले त्यो देख्नेबित्तिकै ती सच्याउने कदमहरू चाल्नुपर्छ। यदि तँ अन्योलमा छस्, कहिल्यै समस्या देख्न सक्दैनस्, जहिल्यै पनि झारा टार्ने काम मात्र गर्छस्, र लापरवाही तरिकाले कामहरू गर्छस् भने, तैँले कुनै हालतमा आफ्नो कर्तव्य राम्ररी निभाउन सक्नेछैनस्। त्यसकारण, तैँले जहिले पनि आफ्नो कर्तव्यमा मन लगाउनैपर्छ। यो अवसर मानिसहरूले पाउनु निकै कठिन थियो! जब परमेश्वर तिनीहरूलाई मौका दिनुहुन्छ, तर पनि तिनीहरूले यसलाई बुझ्दैनन् भने, तिनीहरूले त्यो अवसर गुमाउँछन्—अनि पछि यदि तिनीहरूले त्यस्तो अवसर पाउन चाहे भने पनि, यो फेरि तिनीहरूकहाँ नआउन सक्छ। परमेश्वरको कामले कसैलाई पनि पर्खँदैन, न त व्यक्तिले गर्नुपर्ने कर्तव्यले नै पर्खन्छ। कतिपय मानिसहरू भन्छन्, “मैले पहिले मेरो कर्तव्य राम्ररी गरिनँ, तर अहिले म अझै यसलाई निर्वाह गर्न चाहन्छु, त्यसकारण यसपटक मैले सङ्कल्प गरेको छु; म अझै बढी कर्तव्यनिष्ठ बन्नेछु र अझै बढी परिश्रम गर्नेछु, र यसलाई राम्ररी पूरा गर्नेछु।” “मैले असफलताका बाबजुद फेरि यसमा लाग्नुपर्छ।” यस्तो सङ्कल्प हुनु एकदमै राम्रो हो, तर कसरी आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने भनेर तँ स्पष्ट हुनैपर्छ, र तैँले सत्यताका लागि प्रयास गर्नैपर्छ। सत्यता राम्ररी बुझ्नेहरूले मात्र आफ्ना कर्तव्य राम्ररी निर्वाह गर्न सक्छन्। सत्यता नबुझ्नेहरू श्रम गर्नसमेत योग्य हुँदैनन्। तँ सत्यताबारे जति बढी स्पष्ट हुन्छस्, उति नै आफ्नो कर्तव्यमा प्रभावकारी बन्नेछस्। यदि तैँले यो मामिला के हो भनेर बुझ्न सकिस् भने, तँ सत्यताका लागि लागिपर्नेछस्, र तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने आशा हुन्छ। वर्तमान समयमा, कर्तव्य निभाउने धेरै अवसरहरू उपलब्ध छैनन्, त्यसकारण अवसर आउँदा तैँले तिनलाई पक्रिहाल्नुपर्छ। जुन बेला कर्तव्य निर्वाह गर्नुपर्ने हुन्छ, ठीक त्यही बेला नै तैँले प्रयत्न लगाउनुपर्छ; ठिक त्यही बेला नै तैँले आफूलाई अर्पित गर्नुपर्छ र परमेश्वरमा समर्पित हुनुपर्छ, र ठिक त्यही बेला नै तैँले मूल्य चुकाउनुपर्छ। कुनै पनि कुरालाई रोकेर नराख्, कुनै पनि षड्यन्त्र नगर्, आफूलाई कुनै पनि छुट नदे, र आफ्नो लागि उम्कने बाटो नबना। यदि तैँले कुनै कसर बाँकी छाड्छस्, हिसाबकिताब गर्छस्, वा कुटिल र धोकेबाज काम गर्छस् भने, तैँले अवश्य नै नराम्ररी काम गर्नेछस्। मानौँ, तैँले यसो भन्न सक्छस्, “मैले चलाकी तरिकाले काम गरेको कसैले पनि देखेन। कस्तो गजब भो!” यो कस्तो प्रकारको सोचाइ हो? के तैँले मानिसहरूको र परमेश्वरको पनि आँखा छलेको छस् भन्ने तँलाई लाग्छ? तैपनि वास्तवमा, तैँले जे गरेको छस् सो परमेश्वरलाई थाहा हुन्छ कि हुँदैन? उहाँलाई थाहा हुन्छ। वास्तवमा, तँसँग केही समयसम्म अन्तरक्रिया गर्ने जोकोहीले तेरो भ्रष्टता र दुष्टता थाहा पाएका हुन्छन्, र तिनीहरूले सीधै नभने पनि, तिनीहरूले आफ्नो मनमा तेरो बारेमा मूल्याङ्कन गरेका हुन्छन्। धेरै मानिसहरू छन् जसलाई प्रकाश गरियो र हटाइयो किनभने अरू धेरैले तिनीहरूको वास्तविकता बुझेका थिए। सबैले तिनीहरूको सारलाई देखेपछि, तिनीहरूले ती मानिसहरूको वास्तविकता खुलासा गरे, र तिनीहरूलाई हटाए। त्यसकारण, सत्यताको खोजी गरे पनि नगरे पनि, मानिसहरूले आफ्नो कर्तव्य क्षमताले भ्याउञ्जेल राम्ररी पूरा गर्नुपर्छ; व्यावहारिक कामहरू गर्नको लागि तिनीहरूले आफ्नो विवेकको प्रयोग गर्नुपर्छ। तँमा कमीकमजोरीहरू हुन सक्छन्, तर यदि तँ आफ्नो कर्तव्यपालनमा प्रभावकारी हुन सक्छस् भने, तँलाई हटाइनेछैन। यदि तँ सधैँ म ठिक छु, मलाई पक्कै हटाइनेछैन भनेर सोचिरहेको हुन्छस्, यदि तैँले अझै पनि आत्मचिन्तन वा आफूलाई चिन्ने प्रयास गर्दैनस्, र उचित कामलाई बेवास्ता गर्छस्, यदि तँ सधैँ झाराटारुवा हुन्छस् भने, परमेश्वरका चुनिएका मानिसहरूले तँप्रतिको सहनशीलता गुमाएको क्षण तेरो असली रूप पर्दाफास गरिदिनेछन्, र सम्भवतः तँलाई पक्कै हटाइनेछ। यस्तो हुन्छ किनकि सबैले तेरो वास्तविकता छर्लङ्गै देखेका हुन्छन् र तैँले मर्यादा र निष्ठा गुमाइसकेको हुन्छस्। यदि कसैले तँलाई भरोसा गर्दैन भने, के परमेश्वरले तँलाई भरोसा गर्न सक्नुहुन्छ त? परमेश्वरले मानिसको भित्री हृदयको छानबिन गर्नुहुन्छ: उहाँले त्यस्ता व्यक्तिलाई फिटिक्कै भरोसा गर्न सक्नुहुन्न। यदि कोही व्यक्ति भरपर्दो छैन भने, उसलाई कुनै परिस्थितिमा पनि, कुनै कार्य नसुम्पनू। यदि कुनै व्यक्ति कस्तो छ भनेर तँलाई थाहा छैन, वा अरू मानिसले उक्त व्यक्ति आफ्नो काममा ठिकै छ भनेको मात्र सुनेको छस्, तर तँ आफ्नो मनमा शतप्रतिशत निश्चित छैनस् भने, तैँले पहिला उसलाई केही महत्त्व नभएको कुनै सानो काम मात्र दिन सक्छस्। यदि उसले केही साना कार्यहरूमा राम्रै गऱ्यो भने, तैँले उसलाई कुनै साधारण काम दिन सक्छस्। अनि ऊ त्यस कार्यमा सफल भयो भने मात्र तैँले उसलाई महत्त्वपूर्ण कार्य सम्हाल्न दिनुपर्छ। यदि उसले साधारण कार्यमा गडबड गर्छ भने, यो व्यक्ति भरपर्दो होइन। ठूलो वा सानो जस्तोसुकै काम भए पनि, उसलाई सुम्पनु हुँदैन। यदि तैँले यस्तो व्यक्ति देखिस् जो दयालु र जिम्मेवार छ, जसले कहिल्यै झारा टार्ने काम गरेको छैन, जसले अरूले आफूलाई सुम्पेको काम आफ्नै काम ठानेर गर्छ, कामको प्रत्येक पक्षलाई विचार गर्छ, तेरो आवश्यकताबारे सोच्छ, सबै कोणलाई विचार गर्छ, जो अति सावधान छ र जसले परिस्थितिलाई ठिक तरिकाले सम्हाल्छ, र तँलाई विशेष गरी उसको कामद्वारा सन्तुष्ट तुल्याउँछ भने, भरोसायोग्य व्यक्ति यही हो। भरोसायोग्य मानिसहरू मानवता भएका मानिसहरू हुन्, र मानवता भएका मानिसहरूमा विवेक र समझ हुन्छ, अनि तिनीहरूलाई राम्रोसित आफ्नो कर्तव्य निभाउन अत्यन्तै सहज हुन्छ, किनभने तिनीहरूले आफ्नो कर्तव्यलाई आफ्नो दायित्वको रूपमा लिन्छन्। विवेक वा समझ नभएका मानिसहरूले आफ्नो कर्तव्य नराम्ररी गर्ने पक्का हुन्छ, र तिनीहरूको कर्तव्य जे भए पनि, तिनीहरूमा आफ्नो कर्तव्यप्रति कुनै जिम्मेवारीबोध हुँदैन। अरूले सधैँ तिनीहरूबारे चिन्ता गर्नुपर्छ, तिनीहरूलाई देखरेख गर्नुपर्छ, र तिनीहरूको प्रगतिबारे सोध्नुपर्छ; नत्र भने, तिनीहरूले कर्तव्य पूरा गर्दा अवस्थाहरू खराब हुन सक्छन्, र काम गर्दा समस्याहरू आउन सक्छन्, जुन सामान्यभन्दा अझै ठूलो जटिलता हुनेछ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ
स्वीकार्य स्तरमा आफ्नो कर्तव्य निर्वाह गर्न, तँसँग पहिला उचित मानसिकता हुनैपर्छ। तेरो भ्रष्ट स्वभाव प्रकट हुँदा, तैँले आफ्नो स्थिति पनि समायोजन गर्नैपर्छ। जब तँ आफ्नो कर्तव्य सही ढङ्गले सम्हाल्न सक्षम हुन्छस्, जब सबै खालका मानिस, घटना र वस्तुहरूबाट आउने अवरोध र प्रभावहरूलाई हटाउँछस्, जब परमेश्वरप्रति पूर्ण रूपमा समर्पित हुन सक्छस्, तब तँ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्नेछस्। यसो गर्नुको राज भनेको आफ्ना कर्तव्य र जिम्मेवारीहरूलाई जहिले पनि प्राथमिकता दिनु हो। तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, जहिले पनि आफूलाई यसरी जाँच्नुपर्छः “के ममा आफ्नो कर्तव्य निर्वाह गर्ने सन्दर्भमा लापरवाह मनोवृति छ? आफ्नो कर्तव्य निर्वाह गर्दा मलाई कस्ता कुराहरूले बाधा पुऱ्याउँछन् र लापरवाह बनाउँछन्? के म सारा हृदय र शक्तिले आफ्नो कर्तव्य निर्वाह गर्दै छु? के यसरी काम गर्नाले परमेश्वरले ममा भरोसा राख्न सक्नुहुन्छ? के मेरो हृदय परमेश्वरप्रति पूर्ण रूपमा समर्पित रहेको छ? के मैले आफ्नो कर्तव्य यसरी निर्वाह गर्नु सिद्धान्तअनुरूप छ? के मैले आफ्नो कर्तव्य यसरी निर्वाह गर्दा उत्कृष्ट परिणामहरू प्राप्त हुनेछन्?” तैँले बारम्बार यी प्रश्नहरूमा चिन्तन गर्नुपर्छ। जब तैँले समस्या पत्ता लगाउँछस्, सक्रिय रूपमा सत्यता खोजी गर्नुपर्छ, र ती समस्या सुल्झाउन परमेश्वरका सान्दर्भिक वचनहरू खोज्नुपर्छ। यसरी तँ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्षम हुनेछस्, अनि तेरो हृदयमा शान्ति र खुसी मिल्नेछ। यदि तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा समस्याहरू बारम्बार उत्पन्न हुन्छन् भने, तीमध्ये धेरैजसो तेरो अभिप्रायसम्बन्धी समस्याबाट आउँछन्—ती भ्रष्ट स्वभावका समस्याहरू हुन्। कुनै व्यक्तिको भ्रष्ट स्वभाव प्रकट हुँदा, उसको मनमा समस्याहरू हुनेछन् र उसको स्थिति असामान्य हुनेछ, जसले उसको आफ्नो कर्तव्य निर्वाह गर्ने क्षमतामा प्रत्यक्ष प्रभाव पार्नेछ। उसको कर्तव्य निर्वाह गर्ने क्षमतामा प्रभाव पार्ने समस्याहरू ठूला र गम्भीर हुन्; ती समस्याले परमेश्वरसँगको तिनीहरूको सम्बन्धमा प्रत्यक्ष प्रभाव पार्न सक्छन्। उदाहरणका लागि, कतिपय मानिसहरू आफ्ना परिवारमा विपत्ति आइपर्दा, परमेश्वरबारे धारणा र गलत बुझाइहरू विकास गर्छन्। कतिपय मानिसहरू आफ्नो कर्तव्यमा कठिनाइ भोग्दा कसैले पनि त्यो देखेन वा तिनीहरूको तारिफ गरेन भने नकारात्मक बन्छन्। कतिपयचाहिँ आफ्ना कर्तव्य राम्ररी निर्वाह गर्दैनन्, सधैँ लापरवाह बन्छन्, अनि काटछाँट गरिँदा परमेश्वरविरुद्ध गुनासो गर्छन्। कतिपय भने आफ्ना कर्तव्य निर्वाह गर्न अनिच्छुक हुन्छन् किनकि तिनीहरू जहिले पनि उम्कने बाटोबारे सोचिरहेका हुन्छन्। यी सबै समस्याले परमेश्वरसँगको सामान्य सम्बन्धमा प्रत्यक्ष प्रभाव पार्छन्। यी सबै भ्रष्ट स्वभावका समस्याहरू हुन्। मानिसले परमेश्वरलाई नचिन्ने, सधैँ आफ्नो पक्षमा षडयन्त्र गर्ने र आफैबारे मात्र सोच्ने हुनाले यी सबै समस्या उत्पन्न हुन्छन्, जसले मानिसहरूलाई परमेश्वरका अभिप्रायको ख्याल गर्न र उहाँका योजनाहरूप्रति समर्पित हुनदेखि रोक्छ। यसले सबै प्रकारका नकारात्मक भावनाहरू उत्पन्न गर्दछ। सत्यताको पछि नलाग्ने मानिसहरू ठ्याक्कै यस्तै हुन्छन्। तिनीहरू आफूमा सानातिना समस्याहरू आइपर्दा, नकारात्मक र कमजोर बन्छन्, आफ्ना कर्तव्य निर्वाह गर्ने क्रममा कुण्ठा पोख्छन्, परमेश्वरविरुद्ध विद्रोह र उहाँको प्रतिरोध गर्छन्, र तिनीहरू आफ्ना जिम्मेवारी त्यागेर परमेश्वरलाई विश्वासघात गर्न चाहन्छन्। यी सबै कुरा भ्रष्ट स्वभावका अवरोधहरूले सिर्जना गर्ने विभिन्न परिणामहरू हुन्। सत्यतालाई प्रेम गर्ने व्यक्ति आफ्नो जीवन, भविष्य, र नियतिलाई पन्छाउन, र ऊ सत्यता पछ्याउन र प्राप्त गर्न मात्र चाहन्छन्। ऊ पर्याप्त समय छैन भन्ने सोच्छ, ऊ आफ्नो कर्तव्य राम्ररी निभाउन नसकिएला र आफू सिद्ध बन्न नसकिएला भनेर डराउँछ, त्यसकारण ऊ सबथोक पन्छाउन सक्षम हुन्छ। उसको मानसिकता परमेश्वरतर्फ फर्कने र उहाँप्रति समर्पित हुने मात्र हुन्छ। ऊ कुनै पनि कठिनाइबाट विचलित हुँदैन, अनि नकारात्मक र कमजोर महसुस भएमा, परमेश्वरका वचनहरूका केही खण्डहरू पढेर स्वाभाविक रूपले यसको समाधान गर्छ। सत्यताको पछि नलाग्ने मानिसहरू समस्यामा पर्छन्, र तिनीहरूसँग जसरी नै सत्यताबारे सङ्गति गरे पनि, तिनीहरूले आफ्ना समस्या पूर्णरूपले सुल्झाउन सक्दैनन्। तिनीहरू क्षणिक रूपमा आफ्ना मन बद्लेर सत्यता स्विकार्न सक्षम भए पनि, पछि पहिलेकै कुरामा फर्कन्छन्, तसर्थ यस खालका व्यक्तिलाई सम्हाल्न एकदमै कठिन हुन्छ। तिनीहरूले सत्यताबारे केही नबुझ्ने होइन, के चाहिँ हो भने तिनीहरू आफ्ना हृदयमा सत्यतालाई मूल्यवान् ठान्दैनन् र स्वीकार गर्दैनन्। अन्तिममा, यसले गर्दा तिनीहरूले आफ्नो इच्छा, स्वार्थ, भविष्य, नियति र गन्तव्य पन्छाउन सक्दैनन्, जसले तिनीहरूलाई सधैँ बाधा दिन्छ। यदि कुनै व्यक्ति सत्यता स्विकार्न सक्षम छ भने, उसले सत्यता बुझेपछि भ्रष्ट स्वभावका यावत कुराहरू स्वाभाविक रूपमा हराएर जानेछन्, अनि उसले जीवन प्रवेश र कद प्राप्त गर्नेछ; उप्रान्त ऊ अनजान बच्चा हुनेछैन। जब व्यक्तिसँग कद हुन्छ, ऊ परिस्थितिहरू बुझ्न, थरिथरिका मानिसहरू छुट्याउन झन्-झन् सक्षम हुनेछ, र उसलाई कुनै व्यक्ति, घटना, वा वस्तुबाट अवरोध पुग्नेछैन। जो कोहीले भनेको वा गरेको कुनै कुराले ऊ प्रभावित हुनेछैन। ऊ शैतानका दुष्ट शक्तिहरूको हस्तक्षेपको अधीनमा हुनेछैन, वा झूटा अगुवा र ख्रीष्टविरोधीहरूका बहकाउ र बाधाहरूमा पर्नेछैन। यदि यसो भयो भने, के व्यक्तिको कद क्रमिक रूपले बढ्नेछैन र? व्यक्तिले जति बढी सत्यता बुझ्यो, उसको जीवन प्रगति त्यति नै छिटो हुनेछ, अनि उसलाई सफलतापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्न र सत्यता वास्तविकतामा प्रवेश गर्न सहज हुनेछ। जब तैँले जीवन प्रवेश प्राप्त गर्छस् र तेरो जीवन क्रमिक रूपमा वृद्धि भइरहेको हुन्छ, तब तेरो स्थिति झन्-झन् सामान्य हुँदै जानेछ। तँलाई पहिले बाधा र अवरोध पुऱ्याउन सकेका मानिस, घटना र परिस्थितिहरू तेरा लागि अब समस्या हुनेछैनन्। तँलाई तेरो कर्तव्य निर्वाह गर्न कुनै कठिनाइ हुनेछैन, अनि परमेश्वरसँग तेरो सम्बन्ध झन्-झन् सामान्य बन्दै जानेछ। जब तैँले परमेश्वरमा कसरी भर पर्ने, परमेश्वरका अभिप्राय कसरी खोज्ने, आफ्नो स्थान कुन हो, तैँले के गर्नु हुन्छ र के गर्नु हुँदैन, र कस्ता मामिलामा तैँले जिम्मेवारी लिनुपर्छ र कस्ता मामिलामा लिनु पर्दैन भन्ने जान्दछस्, तब के तेरो स्थिति झन्-झन् सामान्य बन्दै जानेछैन र? यस तरिकाले जिउँदा तँ थकित हुँदैनस्, हुन्छस् र? तँ थकित नहुने मात्र नभई, तैँले विशेष ढुक्क र खुसी महसुस गर्नेछस्। परिणामस्वरूप, के तेरो हृदयले प्रशस्त ज्योति पाउनेछैन र? तेरो मानसिकता सामान्य हुनेछ, तेरो भ्रष्ट स्वभावका प्रकटीकरणहरू कम हुनेछन्, अनि तँ परमेश्वरको उपस्थितिमा जिउन, सामान्य मानवतामा जिउन सक्षम हुनेछस्। मानिसहरूले तेरो मानसिक दृष्टिकोण देख्दा, तँमा ठूलो परिवर्तन आएको छ भन्ने सोच्छन्। तिनीहरू तँसँग सङ्गति गर्न इच्छुक हुनेछन्, मनमा शान्ति र खुसी महसुस गर्नेछन्, अनि तिनीहरूलाई फाइदा पनि पुग्नेछ। तेरो कद बढ्दै जाँदा, तेरो बोली र कार्यझन् उचित र नैतिक बन्दै जानेछन्। जब तैँले कमजोर र नकारात्मक मानिस देख्छस्, तँ तिनीहरूलाई रोक लगाएर वा भाषण दिएर होइन, तर सहयोग दिन र लाभ पुऱ्याउन आफ्नो वास्तविक अनुभव प्रयोग गरेर भरपुर सहयोग गर्न सक्षम हुनेछस्। यसरी, तँ परमेश्वरको घरमा केही गर्ने कोसिस मात्र गरिरहेको हुनेछैनस्, तँ आफ्नो जिम्मेवारी बहन गर्न, र अझ धेरै अर्थपूर्ण काम गर्न सक्ने उपयोगी व्यक्ति हुनेछस्। के परमेश्वर यस्तै व्यक्ति रुचाउनुहुन्छ होइन र? यदि तँ परमेश्वरले रुचाउने व्यक्ति होस् भने, के सबैले तँलाई रुचाउनेछैनन् र? (रुचाउनेछन्।) परमेश्वर किन यस्ता व्यक्तिसँग खुसी हुनुहुन्छ? किनकि तिनीहरू उहाँसामु व्यावहारिक काम गर्न सक्षम हुन्छन्, चापलुसीमा पर्दैनन्, व्यावहारिक मामिलाहरूमा संलग्न हुन्छन्, र आफ्ना साँचो अनुभवहरू बताएर अरूलाई सहयोग र अगुवाइ गर्न सक्षम हुन्छन्। तिनीहरू अरूलाई कुनै पनि समस्या सुल्झाउनमा मद्दत गर्न सक्षम हुन्छन्, अनि मण्डलीको काममा कठिनाइहरू आइपर्दा, सक्रिय रूपमा समस्याहरू समाधान गर्दै अगुवाइ गर्न सक्षम हुन्छन्। आफ्नो कर्तव्य वफादारीपूर्वक निर्वाह गर्नु भनेको यही हो।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ
सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; मान्छेको हितहरूको ख्याल नगर्, र आफ्नो सान, प्रतिष्ठा, र हैसियतको मात्र विचार नगर्। तैँले पहिले परमेश्वरको घरको हितबारे विचार गर्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनुपर्छ। तँ परमेश्वरका अभिप्रायप्रति विचारशील हुनुपर्छ र तैँले तेरो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्धता छ कि छैन, तँ निष्ठावान बनेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गरेको छस् कि छैनस् र तैँले तनमन दिएको छस् कि छैनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामबारे सम्पूर्ण हृदयले सोच्ने गरेको छस् कि छैनस् भनी विचार गर्दै यो काम सुरु गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ। यदि तँमा थोरै क्षमता छ भने, यदि तँ सतही अनुभव भएको व्यक्ति होस् भने वा यदि तँ तेरो व्यावसायिक काममा निपुण छैनस् भने, तेरो काममा केही गल्ती वा कमजोरीहरू हुन सक्छन्, र तैँले राम्रा नतिजाहरू प्राप्त नगर्न सक्छस्—तर तैँले आफ्नो सक्दो प्रयास लगाइसकेको हुन्छस्। तँ आफ्नै स्वार्थी चाहनाहरू वा आफ्नै प्राथमिकताहरू सन्तुष्ट पार्ने गर्दैनस्। त्यसको साटो, तँ मण्डलीको काम र परमेश्वरको घरका हितहरूलाई निरन्तर ध्यान दिन्छस्। तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सायद राम्रो नतिजा हासिल नगर्लास्, तर तेरो हृदय सोझिइसकेको हुन्छ; यसअलावा, यदि तैँले आफ्नो कर्तव्यमा आइपरेका समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्न सक्छस् भने, तँ तेरो कर्तव्यपालनमा मापदण्डअनुरूपको हुनेछस् र साथमा तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम हुनेछस्। आफूसँग गवाही हुनु भनेकै यही हो।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ
सुरुमा, मानिसहरू सत्यताको अभ्यास गर्न हिचकिचाउँछन्। उदाहरणको रूपमा, इमानदारीपूर्वक एउटा कर्तव्य निर्वाह गर्ने कुरालाई लिऊँ: तँलाई आफ्नो कर्तव्यहरू निर्वाह गर्ने र परमेश्वरप्रति इमानदार हुने बारेमा केही बुझाइ छ, र तँसँग सत्यतासम्बन्धी केही बुझाइ पनि छ, तर कहिले परमेश्वरप्रति इमानदार हुन सक्नेछस्? तैँले कहिले नाम र काम दुवैमा तेरा कर्तव्यहरू निर्वाह गर्न सक्नेछस्? यसको लागि एउटा प्रक्रियाको आवश्यकता पर्दछ। यस प्रक्रियाको क्रममा, तैंले धेरै कष्टहरू भोग्नुपर्ने हुनसक्छ। कतिपय मानिसहरूले तेरो काटछाँट गर्न सक्छन्, र अरूले तेरो आलोचना गर्न सक्छन्। सबैको आँखा तेरो सूक्ष्म जाँच गर्दै तँमै केन्द्रित हुनेछ, तब मात्र तँ गलत छस् र खराब काम गर्ने व्यक्ति तँ नै होस्, तैँले इमानदारीबिना कर्तव्य निर्वाह गर्नु स्वीकार्य छैन र तँ लापरवाह हुनु हुँदैन भन्ने थाहा पाउन थाल्नेछस्! पवित्र आत्माले तँलाई भित्रबाट अन्तर्दृष्टि दिनुहुनेछ, र तैंले गल्ती गर्दा तेरो निन्दा गर्नुहुन्छ। यस प्रक्रियाको अवधिमा, तैंले आफ्नै बारेमा केही कुराहरू बुझ्न पुग्छस्, र तँलाई तँभित्र अत्यन्तै धेरै अशुद्धताहरू छन्, तँ आफ्नो हृदयमा औधी धेरै व्यक्तिगत अभिप्रायहरू पाल्छस्, र कर्तव्यहरू निर्वाह गर्दा तँमा कैयौँ बेकाबू इच्छाहरू हुन्छन् भनेर थाहा हुनेछ। तैंले यी कुराहरूको सार बुझेपछि, यदि तँ प्रार्थनामा परमेश्वरको सामु आएर साँचो पश्चात्ताप गर्न सक्छस् भने, तँ ती भ्रष्ट कुराहरूबाट शुद्ध पारिन सक्छस्। यदि तैंले आफ्ना व्यावहारिक समस्याहरू समाधान गर्न यस्तै प्रकारले बारम्बार सत्यताको खोजी गरिस् भने, तैंले बिस्तारै विश्वासको सही मार्गमा पाइला टेक्नेछस्; तैँले साँचो जीवन अनुभवहरू प्राप्त गर्न थाल्नेछस्, र तेरा भ्रष्ट स्वभावहरू क्रमिक रूपमा शुद्ध हुन थाल्नेछन्। तेरो भ्रष्टतालाई जति-जति शुद्ध पारिन्छ, तेरो जीवन स्वभाव उति नै बढी रूपान्तरित हुनेछ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कसैको स्वभाव रूपान्तरण गर्नेबारेमा के थाहा हुनुपर्छ
यदि तँ आफ्नो कर्तव्य-निर्वाहले मापदण्ड पूरा गरोस् भन्ने चाहन्छस् भने, आफ्ना कर्तव्य निर्वाह गर्ने क्रममा, तैँले पहिला सौहार्दपूर्ण सहकार्य गर्नैपर्छ। अहिले कतिपय मानिसहरूले सौहार्दपूर्ण सहकार्य अभ्यास गर्न थालिसकेका छन्। सत्यता बुझेपछि, तिनीहरूले सत्यतालाई पूर्णतया अभ्यास गर्न नसके पनि, र असलफलता, कमजोरी, र विचलनहरू आइपरे पनि, तिनीहरू अझै सत्यता सिद्धान्तहरूप्रति लागिपर्छन्। त्यसैले, तिनीहरूले सौहार्दपूर्ण सहकार्य गर्ने आशा रहन्छ। उदाहरणका लागि, कहिलेकाहीँ तँलाई आफूले सही गरिरहेको छु भन्ने लाग्ला, तर तँ आत्मधर्मी नहुन सक्षम छस्। तैँले प्रस्ट नहुञ्जेल अरूसित छलफल गर्न र सत्यता सिद्धान्तहरूमाथि सँगै सङ्गति गर्न सक्छस्, ताकि सबैले बुझून्, र यसो गर्दा उत्कृष्ट नतिजा हात पर्नेछ भन्ने कुराका, साथै, यो सिद्धान्तभन्दा बाहिर जाँदैन, यसले परमेश्वरको घरका हितलाई ध्यानमा राख्छ, परमेश्वरको घरका हितलाई हदैसम्म रक्षा गर्नेछ भन्नेमा पनि सबैजना सहमत होऊन्। यसरी अभ्यास गर्दा सत्यता सिद्धान्तहरूसित मिल्छ। अन्तिम परिणाम सधैँ तैँले परिकल्पना गरेझैँ नहोला, तर तेरो अभ्यासको मार्ग, दिशा र लक्ष्य सही थियो। त्यसोभए परमेश्वरले यसलाई कसरी हेर्नुहुन्छ? परमेश्वर यो मामलालाई कसरी व्याख्या गर्नुहुन्छ? परमेश्वरले तेरो कर्तव्य-निर्वाह पर्याप्त छ भन्नुहुनेछ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?
व्यक्तिले आफ्नो कर्तव्य राम्रोसित निभाउनको लागि के गर्नुपर्छ? उसले आफ्नो सारा हृदय र सारा शक्तिले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। आफ्नो सारा हृदय र शक्ति प्रयोग गर्नु भनेको आफ्नो कर्तव्य निर्वाह गर्नमा मनमस्तिष्क लगाउनु हो र अरू कुरालाई दिमागमा बस्न नदिनु हो, र त्यसपछि आफूसँग भएको ऊर्जा लगाउनु, आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्नु, र आफ्नो क्षमता, वरदान, शक्ति, र आफूले बुझेको कुरालाई काममा लगाउनु हो। यदि तँमा बोध गर्ने र बुझ्ने क्षमता छ र तँसँग राम्रो विचार छ भने, तैँले यसबारेमा अरूलाई बताउनुपर्छ। सद्भावपूर्ण सहकार्य गर्नु भनेको यही हो। यसरी तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नेछस्, र यसरी तैँले सन्तोषजनक कर्तव्यपालन हासिल गर्नेछस्। यदि तँ सधैँ सबै कुरा आफै गर्न चाहन्छस्, सधैँ एकलै महान् कामहरू गर्न चाहन्छस्, सधैँ ध्यान अरूमा होइन तँमा परेको चाहन्छस् भने, के तैँले आफ्नो कर्तव्य निभाइरहेको हुन्छस् त? तैँले जे गरिरहेको छस् त्यसलाई एकतन्त्री काम भनिन्छ; यो त नौटङ्की प्रदर्शन हो। यो शैतानी व्यवहार हो, कर्तव्यपालन होइन। व्यक्तिको सामर्थ्य, वरदान, वा विशेष प्रतिभा जे-जस्तो भए पनि, कसैले पनि सबै कुरा आफै गर्न सक्दैन; मण्डलीको काम राम्ररी गर्नु छ भने उसले सद्भावपूर्ण सहकार्य गर्न सिक्नुपर्छ। यही कारणले गर्दा, सद्भावपूर्ण सहकार्य आफ्नो कर्तव्य पूरा गर्ने क्रममा अभ्यास गर्नुपर्ने एउटा सिद्धान्त रहन गएको हो। जबसम्म तैँले आफ्नो सारा हृदय र सारा शक्ति अनि सारा विश्वसनीयता लगाएको हुन्छस्, र तैँले सकेजति सबै कुरा अर्पित गरेको हुन्छस्, तबसम्म तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरिरहेको हुन्छस्। यदि तँसँग कुनै विचार वा उपाय छ भने, यो कुरा अरूलाई बता; यो कुरालाई रोक्ने वा लुकाउने काम नगर्—तर यदि तँसँग सल्लाह-सुझाव छन् भने, ती दे; जसको विचार सत्यताअनुरूप छ त्यो स्वीकार र पालना गर्नुपर्छ। यसो गरिस् भने, तैँले सद्भावपूर्ण सहकार्य हासिल गर्नेछस्। आफ्नो कर्तव्य विश्वासयोग्य तरिकाले निर्वाह गर्नु भनेको यही हो। आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, तैँले सबै कुरा आफै गर्नु हुँदैन, अनि तैँले मरेतुल्य हुने गरी काम गर्ने, वा “फुलेको एउटै फूल” वा एकलकाँटे हुने पनि गर्नु हुँदैन; बरु, तैँले अरूसँग सद्भावपूर्ण सहकार्य गर्न, र आफूले सक्ने सबै गर्न, आफ्ना जिम्मेवारीहरू पूरा गर्न, र आफ्नो सारा ऊर्जा लगाउन सिक्नुपर्छ। यो नै कर्तव्य निर्वाह गर्नुको अर्थ हो। आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको कुनै नतिजा हासिल गर्नको लागि आफूसँग भएको सबै शक्ति र ज्योति प्रयोग गर्नु हो। यति नै पर्याप्त छ। सधैँ धाक लगाउने, सधैँ ठूला कुरा गर्ने, आफै निर्णय लिने प्रयास नगर्। तैँले अरूसँग कार्य गर्न तरिका सिक्नुपर्छ, र तैँले अरूको सुझाव सुन्नमा र तिनीहरूको सबल पक्षहरूलाई पत्ता लगाउनमा अझ बढी ध्यान दिनुपर्छ। यसरी, सद्भावपूर्ण सहकार्य गर्न सहज हुन्छ। यदि तँ सधैँ धाक दिने र तैँले भनेजस्तै गर्ने प्रयास गर्छस् भने, तैँले सद्दभावपूर्ण सहकार्य गरिरहेको हुँदैनस्। तैँले के गरिरहेको हुन्छस्? तैँले बाधा उत्पन्न गरिरहेको र अरूलाई कमजोर तुल्याइरहेको हुन्छस्। बाधा उत्पन्न गर्नु र अरूलाई कमजोर तुल्याउनु भनेको शैतानको भूमिका निर्वाह गर्नु हो; यो आफ्नो कर्तव्य निर्वाह गर्नु होइन। यदि तैँले सधैँ बाधा उत्पन्न गर्ने र अरूलाई कमजोर तुल्याउने काम गर्छस् भने, तैँले जति धेरै प्रयास लगाए पनि वा तँ जति होसियार भए पनि, परमेश्वरले तँलाई स्मरण गर्नुहुनेछैन। तँसँग बल कम होला, तर यदि तँ अरूसँग काम गर्न र उपयुक्त सुझावहरू स्वीकार गर्न सक्षम छस्, र तँसँग सही प्रेरणा छ र तँ परमेश्वरको घरको कामको रक्षा गर्न सक्छस् भने, तँ सही व्यक्ति होस्। कहिलेकाहीँ तँ एउटै वाक्यले समस्या समाधान गर्न र सबैलाई फाइदा पुर्याउन सक्छस्; कहिलेकाहीँ तैँले सत्यताको एउटा कथनमा सङ्गति गरेपछि सबैले अभ्यासको मार्ग पाउँछन्, र एकसाथ मिलेर काम गर्न सक्छन्, र सबै साझा लक्ष्यतर्फ लागिपर्छन्, अनि समान विचार र धारणा साझा गर्छन्, अनि त्यसैले काम विशेष रूपमा प्रभावकारी हुन्छ। यो तैँले खेलेको यो भूमिका कसैले नसम्झे पनि, र तैँलाई आफूले त्यसमा धेरै मेहनत गरेको जस्तो नलागे पनि, परमेश्वरले तँ सत्यको अभ्यास गर्ने व्यक्ति होस, सिद्धान्तअनुसार काम गर्ने व्यक्ति होस् भनी देख्नुहुनेछ। तैँले त्यसो गरेको परमेश्वरले सम्झना गर्नुहुनेछ। यसैलाई आफ्नो कर्तव्य पूरा गरेको भनिन्छ। तेरो कर्तव्य निर्वाहमा कठिनाइहरू भए पनि, वास्तवमा ती सबै सजिलै समाधान गर्न सकिन्छ। यदि तँ परमेश्वरप्रति झुकाव हुने हृदय भएको इमानदार व्यक्ति होस् र सत्यता खोजी गर्न सक्षम छस् भने, समाधान गर्न नसकिने कुनै समस्या हुँदैन। यदि तँ सत्यता बुझ्दैनस् भने, तैँले आज्ञापालन गर्न सिक्नैपर्छ। यदि सत्यता बुझ्ने वा सत्यताअनुसार बोल्ने कोही छ भने तैँले उसको कुरा स्वीकार गरेर पालना गर्नैपर्छ। तैँले कुनै पनि हालतमा बाधा पुर्याउने वा कमजोर पार्ने कामकुरा गर्नु हुँदैन, र कार्य वा निर्णयहरू आफूखुसी नगर्। यसरी तैँले दुष्ट काम गर्नेछैनस्। तैँले याद राख्नुपर्छ: आफ्नो कर्तव्य पूरा गर्नु भनेको आफ्नै प्रयास वा आफ्नै व्यवस्थापन गर्ने कुरा होइन। यो तेरो निजी काम होइन, यो मण्डलीको काम हो, र तैँले आफ्नो सबल पक्षहरूद्वारा मात्रै योगदान दिन सक्छस्। परमेश्वरको व्यवस्थापनको कार्यमा तैँले गर्ने काम मानिसको सहकार्यको एउटा सानो भाग मात्रै हो। तेरो त एक छेउको सानो भूमिका मात्रै हो। तैँले बहन गर्ने जिम्मेवारी त्यही हो। तँलाई आफ्नो हृदयमा यो कुराको बोध हुनुपर्छ। त्यसकारण, जति मानिसहरूले आफ्नो कर्तव्य एकसाथ निर्वाह गरिरहेका भए पनि, वा तिनीहरूले जे कठिनाइ सामना गरे पनि, हरेकले सबैभन्दा पहिले गर्नुपर्ने कुरा भनेको परमेश्वरलाई प्रार्थना गर्नु र सँगै सङ्गति गर्नु, सत्यताको खोजी गर्नु, र त्यसपछि अभ्यासका सिद्धान्तहरू के-के हुन् भनी निर्धारित गर्नु हो। तिनीहरूले यसरी आफ्नो कर्तव्य निर्वाह गरे भने, अभ्यासको मार्ग भेट्टाउनेछन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यलाई उचित रूपमा पूरा गर्नको लागि मैत्रीपूर्ण सहकार्यको आवश्यकता पर्छ
परमेश्वरको घरमा, तैँले जे गरे पनि, तैँले आफ्नै उद्यमको काम गरिरहेको हुँदैनस्; यो परमेश्वरको घरको काम हो, यो परमेश्वरको काम हो। तैँले सधैँ यो ज्ञान र सचेतनालाई ध्यान दिएर भन्नुपर्छ, “यो मेरो आफ्नै कामकाज होइन; मैले त आफ्नो कर्तव्य निर्वाह गरिरहेको छु र आफ्नो जिम्मेवारी पूरा गरिरहेको छु। म मण्डलीको काम गरिरहेको छु। यो मलाई परमेश्वरले सुम्पनुभएको काम हो र मैले उहाँको लागि यो काम गरिरहेको छु। यो मेरो कर्तव्य हो, आफ्नै व्यक्तिगत कामकाज होइन।” मानिसहरूले बुझ्नुपर्ने पहिलो कुरा यही हो। यदि तँ कुनै कर्तव्यलाई आफ्नो व्यक्तिगत मामलाका रूपमा लिन्छस्, र काम गर्दा सत्यता सिद्धान्तहरू खोज्दैनस्, अनि यसलाई आफ्नै अभिप्राय, दृष्टिकोण, र कार्यसूची अनुसार गर्छस् भने, तैँले गल्ती गर्ने सम्भावना धेरै हुन्छ। त्यसोभए, यदि तैँले आफ्नो कर्तव्य र व्यक्तिगत मामिलाहरूबीच स्पष्ट भिन्नता छुट्याउँछस्, र यो कर्तव्य हो भन्ने तँलाई थाहा छ भने तैँले कसरी काम गर्नुपर्छ? (परमेश्वरले माग गर्नुहुने कुरा र सिद्धान्तहरू खोजी गर्नुपर्छ)। ठिक भनिस्। यदि तँलाई कुनै कुरा आइपर्छ र तैँले सत्यता बुझ्दैनस्, अनि तँसँग केही विचार छ तर तँलाई अझै कुराहरू स्पष्ट छैन भने, तैँले सङ्गति गर्न सत्यता बुझ्ने ब्रदर-सिस्टरहरू खोज्नैपर्छ; यो सत्यता खोजी गर्नु हो, र अरू सबै कुराभन्दा पहिले, यो तैँले आफ्नो कर्तव्यप्रति राख्नुपर्ने मनोवृत्ति हो। तैँले आफूलाई उचित लाग्ने कुराको आधारमा निर्णय गर्ने, अनि त्यसपछि अन्तिम निर्णय सुनाउँदै मामिला खतम भयो भन्ने गर्नु हुँदैन—यसले सहजै समस्याहरू निम्त्याउँछ। कुनै कर्तव्य तेरो व्यक्तिगत मामिला होइन; ठूलो होस् या सानो, परमेश्वरको घरका कामकुराहरू कुनै व्यक्तिका व्यक्तिगत मामिला होइनन्। यो कर्तव्यसँग सम्बन्धित छ भने, तेरो निजी कुरा होइन, यो तेरो व्यक्तिगत मामिला होइन—यो सत्यतासँग सम्बन्धित छ, र यो सिद्धान्तसँग सम्बन्धित छ। त्यसोभए तिमीहरूले गर्नुपर्ने पहिलो कुरा के हो? तिमीहरूले सत्यता खोज्नुपर्छ, र सिद्धान्तहरू खोजी गर्नुपर्छ। अनि यदि तिमीहरूले सत्यता बुझ्दैनौ भने, सुरुमा सिद्धान्तहरू खोजी गर्नैपर्छ; यदि तिमीहरूले सत्यता बुझिसकेका छौ भने, सिद्धान्त पहिचान गर्न सहज हुनेछ। सिद्धान्तहरू बुझ्दैनस् भने तैँले के गर्नुपर्छ? एउटा उपाय छ: तैँले जसले बुझ्छन् तिनीहरूसँग सङ्गति गर्न सक्छस्। सधैँ आफूले सबथोक बुझ्छु र आफू सधैँ सही हुन्छु भन्ने मान्यता नराख्; यसो गर्दा सजिलै गल्तीहरू हुन्छन्। तैँले सधैँ अन्तिम निर्णय गर्न चाहनु कस्तो स्वभाव हो? यो अहङ्कार र आत्मधार्मिकता हो, यो मनोमानी र एकतर्फी रूपमा कार्य गर्नु हो। कतिपय मानिसहरू सोच्छन्, “मैले कलेज पढेको छु, म तिमीहरूभन्दा सभ्य छु, ममा बोध क्षमता छ, तिमीहरू सबै कद सानो छ र सत्यता बुझ्दैनौ, त्यसैले म जे भन्छु, तिमीहरूले सुन्नुपर्छ। मैले मात्र निर्णय गर्न मिल्छ!” यो कस्तो दृष्टिकोण हो? यदि तँसित यस्तो दृष्टिकोण छ भने, तँ समस्यामा पर्नेछस्; तैँले कहिल्यै आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नेछैनस्। यदि तँ सौहार्दपूर्ण सहकार्यविना सधैँ अन्तिम निर्णय गर्ने व्यक्ति बन्न चाहन्छस् भने, तैँले कसरी आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्न सक्छस्? यसरी आफ्ना कर्तव्यहरू निर्वाह गर्दा लक्ष्यहरू कदापि पूरा हुनेछैनन्। म किन यसो भन्छु? तँ सधैँ अरूलाई जकडेर राख्न र तेरो कुरा सुन्न लगाउन चाहन्छस्; तँ अरूले जे भने पनि मान्दैनस्। यो पक्षपाती र हठी कुरो हो, यो अहङ्कार र आत्मधार्मिकता पनि हो। यसरी, तैँले आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्न नसक्ने मात्र नभई, अरूलाई पनि तिनीहरूका कर्तव्य राम्ररी निर्वाह गर्नबाट रोक्नेछस्। यो अहङ्कारी स्वभावको परिणाम हो। परमेश्वर किन मानिसहरूबाट सौहार्दपूर्ण सहकार्यको माग गर्नुहुन्छ? एकातिर, यो मानिसहरूका भ्रष्ट स्वभावहरू खुलासा गर्नमा लाभदायी हुन्छ, जसले तिनीहरूलाई आफूलाई चिन्न र आफ्ना भ्रष्ट स्वभावहरू हटाउन मद्दत गर्छ—यसले तिनीहरूको जीवन प्रवेशमा लाभ पुर्याउँछ। अर्कोतिर, सौहार्दपूर्ण सहकार्य मण्डलीको कामका लागि पनि लाभदायी हुन्छ। सबैमा सत्यताको बुझाइ नहुने र भ्रष्ट स्वभावहरू हुने हुनाले, यदि सौहार्दपूर्ण सहकार्य हुन सक्दैन भने, तिनीहरू आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्न सक्षम हुनेछैनन्, जसले मण्डलीको काममा असर पार्नेछ। यसको परिणाम गम्भीर हुन्छ। संक्षेपमा भन्नुपर्दा, पर्याप्त मात्रामा कर्तव्य निर्वाह गर्नका लागि व्यक्तिले सौहार्दपूर्ण सहकार्य गर्न सिक्नैपर्छ र, परिस्थितिहरूको सामना गर्दा सत्यतामाथि सङ्गति गरेर समाधानहरू खोज्नैपर्छ। यो अत्यावश्यक कुरो हो—यसले मण्डलीको काममा मात्र नभई परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा समेत फाइदा पुर्याउँछ। … तेरो कर्तव्य पर्याप्त रूपमा पूरा गर्नका निम्ति, तैँले परमेश्वरमा कति वर्षदेखि विश्वास गरेको छस्, तैँले कतिवटा कर्तव्यहरू निर्वाह गरेको छस् भन्ने कुराको कुनै महत्त्व हुँदैन, न त तैँले परमेश्वरको घरमा कति योगदान दिएको छस् भन्ने कुराको नै महत्त्व हुन्छ, तँ आफ्नो कर्तव्यमा कतिको अनुभवी छस् भन्ने कुरा त परै जाओस्। परमेश्वरले हेर्नुहुने मुख्य कुरा भनेको, व्यक्तिले कुन बाटो लिन्छ भन्ने तथ्य हो। अर्को शब्दमा, उहाँले सत्यताप्रतिको व्यक्तिको आचरण र व्यक्तिका कार्यहरूको पछाडिका सिद्धान्तहरू, दिशा, मूल र सुरुवाती बिन्दुलाई हेर्नुहुन्छ। परमेश्वरले यी कुराहरूमा ध्यान केन्द्रित गर्नुहुन्छ; तिनै कुराहरूले तँ हिँड्ने बाटो निर्धारित गर्छन्। यदि, तेरो कर्तव्य पूरा गर्ने क्रममा, तँमा यी सकारात्मक कुराहरू पटक्कै देखिँदैनन् भने, र तेरो कार्यको सिद्धान्त, मार्ग र आधार तेरा आफ्नै विचार, उद्देश्य र युक्तिहरू हुन् भने; तेरो सुरुवाती बिन्दु भनेको आफ्नै हितको रक्षा गर्नु र तेरो इज्जत र ओहदा बचाउनु हो, तेरो काम गर्ने शैली एकलै निर्णयहरू लिएर काम गर्नु र अन्तिम निर्णय आफै गर्नु, कामकुराहरूको विषयमा अरूसँग कहिल्यै छलफल नगर्नु वा सामञ्जस्य रूपमा सहकार्य नगर्नु, र आफूले गल्ती गर्दा सत्यता खोज्नु त कता हो कता कसैको सल्लाह-सुझावसमेत कहिल्यै नसुन्नु हो भने, परमेश्वरले तँलाई कसरी हेर्नुहुनेछ? यदि तैँले यसरी आफ्नो कर्तव्य पूरा गर्छस् भने, तँ मापदण्डमा पुगेको छैनस्, र तैँले सत्यताको पछि लाग्ने मार्गमा पाइला टेकेको छैनस्, किनकि आफ्नो कर्तव्य निर्वाह गर्दा, तँ सत्यता सिद्धान्तहरू खोज्दैनस् र सधैँ आफ्नो इच्छाअनुसार काम गर्दै आफूलाई जे मन लाग्यो त्यही गर्छस्। धेरैजसो मानिसहरूले पर्याप्त आफ्नो कर्तव्य निर्वाह नगर्नुको कारण यही हो। त्यसोभए यो समस्यालाई कसरी समाधान गर्नुपर्छ? के तिमीहरू आफ्नो कर्तव्य पर्याप्त रूपमा पूरा गर्न कठिन हुन्छ भन्छौ? वास्तवमा, यो कठिन छैन; मानिसहरूले नम्र भएर मात्रै लागिपर्न सक्नुपर्छ, तिनीहरूमा थोरै चेतना हुनुपर्छ, र तिनीहरूले उचित स्थान अवलम्बन गर्नुपर्छ। तँ जति नै शिक्षित भए पनि, तैँले जे-जस्ता पुरस्कारहरू जितेको भए पनि, वा तैँले जे हासिल गरेको भए पनि, र तेरो हैसियत र ओहोदा जति उच्च भए पनि, तैँले यी सबै कुराहरू त्याग्नुपर्छ र आडम्बरबाट बाहिर निस्कनुपर्छ—यो सबको कुनै मूल्य छैन। परमेश्वरको घरमा, यी गरिमाहरू जति ठूला भए पनि, ती सत्यताभन्दा उच्च हुन सक्दैनन्, किनकि यी सतही कुराहरू सत्यता होइनन्, र तिनले सत्यताको स्थान लिन सक्दैनन्। तँ यो कुरामा स्पष्ट हुनुपर्छ। यदि तँ “म वरदानप्राप्त छु, मेरो दिमाग तेजिलो छ, मेरो प्रतिक्रिया क्षमता शीघ्र छ, म चाँडो सिक्न सक्ने व्यक्ति हुँ, र मेरो स्मरण शक्ति अत्यन्तै राम्रो छ, त्यसकारण म अन्तिम निर्णय आफै गर्न योग्य छु,” भनेर भन्छस् भने, यदि तँ सधैँ यी कुराहरूलाई पूँजीको रूपमा प्रयोग गर्छस्, र तिनलाई बहुमूल्य, र सकारात्मक ठान्छस् भने, यो समस्या हो। यदि तेरो हृदयमा यी कुराहरूले बास गरेका छन्, र यी कुराले तेरो हृदयमा जरा गाडेका छन् भने, तँलाई सत्यता स्वीकार गर्न गाह्रो हुनेछ—र त्यसका परिणामहरू सोच्न समेत सकिँदैन। तसर्थ, सुरुमा तैँले आफूले प्रेम गरेका, तँलाई राम्रो र बहुमूल्य लागेका कुराहरू त्याग्नु र इन्कार गर्नुपर्छ। ती कुराहरू सत्यता होइनन्; बरु, तिनले तँलाई सत्यतामा प्रवेश गर्नबाट रोक्न सक्छन्। अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको आफ्नो कर्तव्य पूरा गर्दा सत्यता खोजी गर्नु, र सत्यताअनुसार अभ्यास गर्नु हो, ताकि तेरो कर्तव्यपालन पर्याप्त तवरको होस्, किनभने पर्याप्त तरिकाले कर्तव्य निभाउनु जीवन प्रवेशको मार्गतर्फ चालिने पहिलो कदम हो। यहाँ “पहिलो कदम” भनेको के हो? यो भनेको यात्रा सुरु गर्नु हो। सबै कुरामा, कुनै न कुनै कुरा हुन्छ जसबाट यात्रा सुरु हुन्छ, जुन सबैभन्दा साधारण, र आधारभूत हुन्छ, अनि पर्याप्त रूपको कर्तव्यपालन हासिल गर्नु जीवन प्रवेशको मार्ग हो। यदि तेरो कर्तव्यपालन यसलाई जसरी गर्नुपर्थ्यो त्योअनुरूप भएझैँ देखिन्छ, तर सत्यता सिद्धान्तअनुरूप चाहिँ छैन भने, तैँले आफ्नो कर्तव्य पर्याप्त रूपमा निभाइरहेको छैनस्। त्यसो भए, व्यक्तिले यसमा कसरी काम गर्नुपर्छ? उसले सत्यता सिद्धान्तहरूमा काम गर्नुपर्छ र तिनको खोजी गर्नुपर्छ; सत्यता सिद्धान्तहरूले सुसज्जित हुनु महत्त्वपूर्ण छ। यदि तैँले आफ्नो व्यवहार र आवेगमा मात्रै सुधार गर्छस्, तर तँ सत्यता वास्तविकताहरूले सुसज्जित हुँदैनस् भने, यो व्यर्थ हुन्छ। तँसँग कुनै वरदान वा विशिष्टता हुन सक्छ। त्यो राम्रो कुरा हो—तर तैँले आफ्नो कर्तव्य निभाउँदा यसलाई प्रयोग गरिस् भने मात्रै यसको उचित प्रयोग गरिरहेको हुन्छस्। तैँले कर्तव्य राम्ररी निभाउनलाई तेरो मानवता वा व्यक्तित्वमा सुधार गर्नैपर्छ भन्ने छैन, न त तैँले आफ्नो वरदान वा प्रतिभालाई नै पन्छाउनुपर्छ। यस्ता कार्यहरू गर्नु पर्दैन। महत्त्वपूर्ण कुराचाहिँ तैँले सत्यता बुझ्नु र परमेश्वरमा समर्पित हुन सिक्नु हो। तैँले आफ्नो कर्तव्य निभाउँदा तेरो भ्रष्ट स्वभाव प्रकट हुनु लगभग अपरिहार्य नै हुन्छ। त्यस्तो बेला तैँले के गर्नुपर्छ? तैँले समस्या समाधान गर्न सत्यता खोजी गर्नुपर्छ र सत्यता सिद्धान्तअनुसार काम गर्नुपर्छ। यसो गर्, अनि तँलाई आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुमा कुनै समस्या हुनेछैन। तेरो वरदान वा विशेषज्ञता जुन क्षेत्रमा भए पनि, वा तेरो व्यावसायिक ज्ञान जुन क्षेत्रको भए पनि, आफ्नो कर्तव्य-निर्वाहनमा यी कुराहरू प्रयोग गर्नु सबैभन्दा उचित हुन्छ—यो आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्ने एउटै मात्र उपाय हो। एउटा पाटो विवेक र समझको भरमा आफ्नो कर्तव्य निर्वाह गर्नु हो, र अर्को पाटो आफ्नो भ्रष्ट स्वभाव हल गर्न तैँले सत्यता खोज्नुपर्छ भन्ने हो। यसरी आफ्नो कर्तव्य निभाउँदा व्यक्तिले जीवन प्रवेश प्राप्त गर्छ, र ऊ पर्याप्त रूपमा आफ्नो कर्तव्य निभाउन सक्षम हुन्छ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?
आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा, सकारात्मक कुरा चाहिँ, यदि तैँले आफ्ना कर्तव्यहरूलाई सही रूपमा लिन सकिस्, जस्तोसुकै परिस्थितिहरू आइपरे पनि तिनलाई कहिल्यै त्यागिनस्, र अरूले आस्था गुमाएर आफ्ना कर्तव्यहरू निभाउन छाड्दा पनि तँ आफ्नो कर्तव्यमा अडिग रहिस् र तिनलाई सुरुदेखि अन्त्यसम्म कहिल्यै त्यागिनस्, र अन्त्यसम्मै आफ्ना कर्तव्यहरूप्रति अडिग र वफादार रहिस् भने, तँ आफ्ना कर्तव्यहरूलाई साँच्चिकै कर्तव्यकै रूपमा लिइरहेको हुन्छस् र पूर्ण निष्ठा देखाइरहेको हुन्छस्। यदि तँ यो मानक पूरा गर्न सक्छस् भने, तैँले पर्याप्त मात्रामा आफ्ना कर्तव्यहरू निर्वाह गर्ने लक्ष्य मूलभूत रूपमा पूरा गरेको छस्; यो सकारात्मक पाटो हो। तर, यो मानकसम्म पुग्नुअघि, नकारात्मक पाटो के हो भने, व्यक्ति विविध परीक्षाहरू सहन सक्षम हुनैपर्छ। कुनै व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा परीक्षाहरू सहन नसकेकाले आफ्नो कर्तव्य त्यागेर भाग्छ र आफ्नो कर्तव्यमाथि विश्वासघात गर्छ भने, यो कस्तो समस्या हो? यो परमेश्वरलाई विश्वासघात गर्नुसरह हो। परमेश्वरको आज्ञामाथि विश्वासघात गर्नु भनेको परमेश्वरलाई विश्वासघात गर्नु हो। के परमेश्वरलाई विश्वासघात गर्ने व्यक्तिले अझै पनि मुक्ति प्राप्त गर्न सक्छ? यो व्यक्तिले मुक्ति पाउने आशा सक्किन्छ; सबै आशा गुम्छ, र उसले यसअघि निर्वाह गरेका कर्तव्यहरू श्रम गरेको मात्र थिए, जुन उसले विश्वासघात गरेसँगै बिलाएर गएको छ। त्यसैले, आफ्नो कर्तव्यमा अडिग रहनु अत्यावश्यक कुरो हो; यसो गरेमा आशा रहन्छ। बफादारीपूर्वक आफ्नो कर्तव्य पूरा गरेमा व्यक्तिले मुक्ति प्राप्त गर्न र परमेश्वरको अनुमोदन पाउन सक्छ। आफ्नो कर्तव्यप्रति अडिग रहनमा हरव्यक्तिलाई सबैभन्दा कठिन लाग्ने कुरा के हो? त्यो भनेको परीक्षा सामना गर्दा ऊ अडिग रहन सक्छ कि सक्दैन भन्ने कुरा हो। यी परीक्षाहरूमा के-के पर्छन्? पैसा, हैसियत, आत्मीय सम्बन्ध, भावनाहरू। अरू के-के पर्छन्? यदि केही कर्तव्यहरूमा जोखिमहरू छन्, ज्यानकै जोखिम समेत छन्, र त्यस्ता कर्तव्यहरू निर्वाह गर्दा पक्राउ पर्ने र कैद हुने वा सताएर मारिने सम्भावना समेत छ भने, के तँ अझै आफ्नो कर्तव्य निर्वाह गर्न सक्छस्? के तँ डटिरहन सक्छस्? यी परीक्षाहरूलाई जित्न कति सहज हुन्छ भन्ने कुरा व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन भन्ने कुरामा भर पर्छ। यो व्यक्तिले सत्यता पछ्याउने क्रममा बिस्तारै यी परीक्षाहरू खुट्ट्याउन र चिन्न सक्ने, तिनको सार र तीपछाडिका शैतानी चालहरू चिन्न सक्ने क्षमतामाथि भर पर्छ। यसका लागि व्यक्तिले आफ्ना भ्रष्ट स्वभाव, प्रकृति सार, र आफ्ना कमजोरीहरू चिन्न पनि आवश्यक हुन्छ। व्यक्तिले परमेश्वरलाई उसको रक्षा गर्न निरन्तर अनुरोध पनि गर्नुपर्छ, ताकि उसले यी परीक्षाहरू सहन सकोस्। यदि कसैले तिनलाई सहन सक्छ, र कुनै पनि परिस्थितिमा विश्वासघात वा उम्कने काम नगरी अडिग रहन सक्छ भने, मुक्ति प्राप्त गर्ने सम्भावना ५० प्रतिशत पुग्छ। के यो ५० प्रतिशत सजिलै प्राप्त गर्न सकिन्छ? हरेक कदम खतराले भरिएको एउटा चुनौती हो; यो हासिल गर्न सजिलो छैन! के त्यस्ता मानिसहरू हुन्छन्, जसलाई सत्यता पछ्याउन यति मुस्किल लाग्छ कि तिनीहरू जीवन अत्यन्तै थकाइलाग्दो भएको अनुभूति गरेर मर्न तयार हुन्छन्? कस्ता मानिसहरू यस्तो अनुभूति गर्छन्? अविश्वासीहरू यस्तै यस्तै अनुभूति गर्छन्। केवल बाँच्नकै निम्ति, मानिसहरू आफ्नो दिमाग खियाउन र जुनसुकै कठिनाइ सहन सक्छन्, र विपदमा पनि अन्तिम सास रहुन्जेल हार नमानी दृढतापूर्वक जीवनलाई अँठ्याउँछन्—यदि तिनीहरूले यस्तै जोसका साथ परमेश्वरमा विश्वास गरेका र सत्यता पछ्याएका भए, तिनीहरूले पक्कै पनि नतिजा हासिल गर्नेथिए। यदि मानिसहरू सत्यतालाई प्रेम गर्दैनन् र त्यसको लागि प्रयत्न गर्न अनिच्छुक हुन्छन् भने, तिनीहरू केही न कामका हुन्! सत्यताको पछ्याइ फगत मानव प्रयत्नमार्फत हासिल गर्न सकिने कुरा होइन; यसका लागि मानव प्रयत्नका साथै पवित्र आत्माको काम आवश्यक हुन्छ। यसका लागि मानिसहरूलाई परीक्षण र शोधन गर्नहेतु परमेश्वरले विविध परिवेशहरू योजनाबद्ध गर्न, र पवित्र आत्माले तिनीहरूलाई अन्तर्दृष्टि, ज्योति र मार्गदर्शन दिन काम गर्नु आवश्यक हुन्छ। सत्यता प्राप्त गर्न व्यक्तिले सहने दुःख पूर्णतया न्यायोचित हुन्छ। पर्वतारोहीहरूले शिखर चुम्नका लागि आफ्नो ज्यानलाई जोखिममा पारेझैँ, तिनीहरू आफ्नो सीमालाई चुनौती दिने खोजीमा कुनै पनि कठिनाइदेखि डराउँदैनन्, यहाँसम्म कि आफ्नै ज्यान जोखिममा पार्ने अवस्थामा समेत पुग्छन्। के परमेश्वरमा विश्वास गर्नु र सत्यता प्राप्त गर्नु हिमाल चढ्नुभन्दा कठिन छ? आशिषको चाहना राख्ने तर दुःख भोग्न अनिच्छुक हुनेहरू कस्ता मानिस हुन्? तिनीहरू केही न कामका हुन्। तैँले इच्छाशक्तिबिना सत्यता पछ्याउन र प्राप्त गर्न सक्दैनस्; दुःख भोग्ने क्षमताबिना तैँले त्यो गर्नै सक्दैनस्। त्यो प्राप्त गर्न तैँले मूल्य चुकाउनैपर्छ।
मानिसहरूले पर्याप्तताको परिभाषा, पर्याप्तताको मापदण्ड, परमेश्वरले पर्याप्तताको यो मापदण्ड राख्नुको कारण, पर्याप्त मात्रामा आफ्नो कर्तव्य निर्वाह गर्नु र जीवन प्रवेशबीचको सम्बन्ध, र पर्याप्त कर्तव्य-निर्वाहको सत्यतासम्बन्धी यस्ता अन्य पक्षहरू बुझ्न थालेका छन्। यदि तिनीहरू जहिले वा जहाँ पनि हार नमानी आफ्नो कर्तव्यमा अडिन सक्छन्, र सबै प्रकारका परीक्षाहरू सहन सक्छन्, अनि त्यसपछि परमेश्वरले मानिसहरूलाई तोक्नुहुने विभिन्न परिस्थितिहरूमा उहाँले माग गर्नुहुने विविध सत्यता बुझ्छन् र तीबारे ज्ञान प्राप्त गर्छन् अनि तिनमा प्रवेश गर्छन् भने, परमेश्वरका नजरमा, तिनीहरूले मूलतः पर्याप्त काम गरेका छन्। पर्याप्त मात्रामा कर्तव्य निर्वाह गर्नुका तीनवटा आधारभूत तत्त्वहरू छन्: पहिलो, आफ्नो कर्तव्यप्रति सही मनोवृत्ति राख्नु, र कुनै पनि हालतमा आफ्नो कर्तव्य नत्याग्नु; दोस्रो, आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा अनेक थरीका परीक्षाहरू सहन सक्षम हुनु, र ठेस नखानु; तेस्रो, आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सत्यताको हरेक पक्ष बुझ्न सक्षम हुनु, र वास्तविकतामा प्रवेश गर्नु। जब मानिसहरूले यी तीन कुराहरू पूरा गर्छन् र लक्ष्य पूरा गरेका हुन्छन्, तब न्याय र सजाय स्विकार्ने अनि सिद्ध पारिने पूर्वसर्त—अर्थात् पर्याप्त मात्रामा कर्तव्य निर्वाह गर्ने काम—पूरा भएको हुनेछ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?