१५. राज्यको सुन्दरता, मानवजातिको गन्तव्य र परमेश्‍वरका प्रतिज्ञा तथा आशिष्‌हरूको अगमवाणी गर्ने सम्बन्धी वचनहरू

६८६. मेरो काम छ हजार वर्षसम्म मात्र रहन्छ, अनि मैले सारा मानवजातिमाथि रहेको दुष्टको नियन्त्रण छ हजार वर्षसम्म रहने अनुमति मात्र दिएको छु। त्यसैले, अब समय समाप्त भएको छ। म अब उप्रान्त न त जारी राख्न चाहन्छु न त ढिलाइ गर्न नै चाहन्छु: म आखिरी दिनहरूको दौरान शैतानलाई पूर्णतः पराजित गर्नेछु, म मेरो सारा महिमा फिर्ता लिनेछु, अनि पृथ्वीमा मेरो स्वामित्वमा रहेका सबै प्राणहरूलाई म फिर्ता लिनेछु, ताकि यी व्यथित प्राणहरू कष्टको समुद्रबाट उम्कन सकून्, अनि यसरी पृथ्वीमा मेरो सम्पूर्ण काम समाप्त हुनेछ। यो दिन उप्रान्त, म पृथ्वीमा फेरि कहिल्यै देह बन्नेछैनँ, अनि सबैमाथि सार्वभौम रहेको मेरो आत्माले फेरि कहिल्यै पृथ्वीमा काम गर्नेछैन। म त पृथ्वीमा एउटा मानवजातिलाई पुनर्सिर्जना मात्र गर्नेछु, त्यस्तो मानवजाति जुन पवित्र पारिएको छ र जुन पृथ्वीमा मेरो विश्‍वासयोग्य सहर हो। तर तैँले के जान्नुपर्छ भने, म सम्पूर्ण संसारलाई नष्ट गर्नेछैनँ, न त म सारा मानवजातिलाई नै नष्ट गर्नेछु। म बाँकी रहेको त्यो एक तिहाइलाई राख्‍नेछु—त्यो एक तिहाइ जो मद्वारा पूर्ण रूपमा विजय गरिएको छ र मलाई प्रेम गर्छ, र म यो एक तिहाइलाई पृथ्वीमा फलदायी र वृद्धि हुने तुल्याउनेछु, जसरी व्यवस्थाको अधीनमा इस्राएलीहरू भएका थिए; तिनीहरूले मैले तिनीहरूलाई पोषण गर्न प्रयोग गर्ने प्रशस्त भेडा र गाईबस्तु, साथै पृथ्वीका सारा प्रचुरता पाउनेछन्। यो मानवजाति सदासर्वदा मेरो साथमा रहनेछ, तैपनि यो आजको अत्यन्तै फोहोर मानवजाति हुनेछैन, तर मद्वारा प्राप्त गरिएका सबै मानिसहरूको झुन्ड रहेको मानवजाति हुनेछ। त्यस्तो मानवजाति शैतानको हानि, बाधा वा घेराउमा पर्नेछैन, र त्यो मात्र त्यस्तो मानवजाति हुनेछ जुन मैले शैतानलाई पराजित गरेपछि पृथ्वीमा निरन्तर जिइरहन्छ। यो त्यही मानवजाति हो जो आज मद्वारा विजय गरिएको छ र जसले मेरो प्रतिज्ञा प्राप्त गरेको छ। र त्यसकारण, आखिरी दिनहरूका दौरान विजय गरिएको मानवजाति त्यही मानवजाति पनि हो जो बाँकी रहनेछ र जसले मेरा अनन्त आशिष्‌हरू प्राप्त गर्नेछ। तिनीहरू मात्र शैतानमाथि मेरो विजयको प्रमाण, र शैतानसँगको युद्धबाट प्राप्त भएका फल हुनेछन्। लडाइँका यी फल मद्वारा शैतानको शक्तिबाट बचाइएका हुन्, र यी मेरो छ हजार वर्षे व्यवस्थापन योजनाको एकमात्र परिष्कृत नतिजा र फल हुन्। तिनीहरू प्रत्येक राष्ट्र र सम्प्रदायबाट, सारा ब्रह्माण्डभित्रका प्रत्येक स्थान र देशबाट आउँछन्। तिनीहरू फरक-फरक जातिका हुन्छन्, तिनीहरूका फरक-फरक भाषा, रीतिरिवाज, र वर्ण हुन्छन्, र तिनीहरू विश्‍वको प्रत्येक राष्ट्र र सम्प्रदायमा, र संसारको हरेक कुनामा समेत फैलिएका छन्। आखिरीमा, तिनीहरू एकसाथ मिलेर पूर्ण मानवजाति निर्माण गर्नेछन्, मानिसको एउटा यस्तो सभा जहाँ शैतानका शक्तिहरू पुग्न सक्दैनन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहको कोही पनि रिसको दिनबाट उम्कन सक्दैन

६८७. मेरा वचनहरू पूरा हुँदै गर्दा, पृथ्वीमा बिस्तारै राज्य निर्माण गरिन्छ र मानिसलाई बिस्तारै सामान्यतामा फर्काइन्छ, यसरी मेरो हृदयमा भएको राज्य पृथ्वीमा स्थापित हुन्छ। त्यस राज्यमा, परमेश्‍वरका सबै मानिसले सामान्य मानिसको जीवन पुनः प्राप्त गर्छन्। कठ्याङ्ग्रिँदो हिउँद गयो, वसन्तका सहरहरूको संसारले प्रतिस्थापित भयो, जहाँ वर्षभरि वसन्त नै रहिरहन्छ। उप्रान्त मानिसहरूलाई मानवको संसारको उजाडता सामना गराइँदैन, र तिनीहरूले उप्रान्त मानिसको संसारको कठ्याङ्ग्रिँदो चिसो सहँदैनन्। मानिसहरू एकअर्कासँग झगडा गर्दैनन्, देशहरू एकअर्काविरुद्ध लडाइँ गर्दैनन्, उप्रान्त नरसंहार र नरसंहारबाट बग्‍ने रगत हुँदैन; सबै भूमि हर्षले भरिन्छन्, र सबै स्थान मानिसहरूबीचको न्यानोपनले भरिन्छ। म संसारभरि हिँड्छु, म मेरो सिंहासनमाथिबाट आनन्द लिन्छु, र म ताराहरूमाझ बस्छु। स्वर्गदूतहरूले मलाई नयाँ गीतहरू र नयाँ नाचहरू अर्पण गर्छन्। उप्रान्त तिनीहरूको आफ्नै नाजुकताले तिनीहरूको अनुहारमा आँसु बगाउँदैन। उप्रान्त म आफ्नो अगाडि स्वर्गदूतहरूको रोदनको आवाज सुन्दिनँ, र उप्रान्त कसैले पनि मलाई आफ्ना समस्याहरू बताउँदैनन्। आज, तिमीहरू सबै मेरो सामु जिउँछौ; भोलि, तिमीहरू सबै मेरो राज्यमा अस्तित्वमा रहनेछौ। के मैले मानिसलाई प्रदान गर्ने सबैभन्दा ठूलो आशिष् यही होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २०

६८८. जब राज्य पूर्ण रूपमा पृथ्वीमा ओर्लन्छ, सबै मानिसले आफ्नो मौलिक समानता पुनः प्राप्त गर्नेछन्। यसैले परमेश्‍वर भन्‍नुहुन्छ, “म मेरो सिंहासनमाथिबाट आनन्द लिन्छु, र म ताराहरूमाझ बस्छु। स्वर्गदूतहरूले मलाई नयाँ गीतहरू र नयाँ नाचहरू अर्पण गर्छन्। उप्रान्त तिनीहरूको आफ्नै नाजुकताले तिनीहरूको अनुहारमा आँसु बगाउँदैन। उप्रान्त म आफ्नो अगाडि स्वर्गदूतहरूको रोदनको आवाज सुन्दिनँ, र उप्रान्त कसैले पनि मलाई आफ्ना समस्याहरू बताउँदैनन्।” यसले यही देखाउँछ कि जुन दिन परमेश्‍वरले पूर्ण महिमा प्राप्त गर्नुहुन्छ, त्यही दिन मानिसले आफ्नो आरामको आनन्द लिन्छ; अबउसो मानिसहरू शैतानको बाधाको कारण हतार गर्दैनन्, संसारले अगाडि प्रगति गर्न छोड्ने छ र मानिसहरू आराममा जिउँछन्—किनकि आकाशका असङ्ख्य ताराहरू नवीकरण हुन्छन् अनि सूर्य, चन्द्र, ताराहरू आदि अनि आकाश र पृथ्वीमा भएका सबै पर्वत र खोला परिवर्तन हुन्छन्। अनि मानिस परिवर्तन भएको र परमेश्‍वर परिवर्तन हुनुभएको कारण सबै थोक पनि परिवर्तन हुनेछन्। परमेश्‍वरको व्यवस्थापन योजनाको आखिरी उद्देश्य यही हो र अन्तमा यही कुरा नै हासिल गरिनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू” का रहस्यहरूको अनावरण, अध्याय २०

६८९. बिजुलीको एक चमकमा, प्रत्येक पशुलाई त्यसको वास्तविक रूपमा प्रकट गरिन्छ। त्यसरी नै, मेरो ज्योतिद्वारा प्रज्वलित भएर मानिसले फेरि त्यो पवित्रता प्राप्त गरेको छ, जुन एकचोटि ऊसँग थियो। अहो, प्राचीन भ्रष्ट संसार! अन्त्यमा, यो फोहोर पानीमा लडेको छ र सतहमुनि डुब्दै हिलोमा पुरिएको छ! ए, सारा मानवजाति, मेरो आफ्नै सृष्टि! अन्त्यमा तिनीहरू फेरि ज्योतिमा रही जीवनमा फर्केर आएका छन्, अस्तित्वको लागि जग भेट्टाएका छन् र हिलोमा सङ्घर्ष गर्न छोडेका छन्। ए, सृष्टिका असङ्ख्य थोकहरू जसलाई म मेरा हातमा समात्छु! तिनीहरू मेरा वचनद्वारा कसरी नयाँ बन्न सक्दैनन्? ज्योतिमा तिनीहरू आफ्ना काम कसरी गर्न सक्दैनन् र? पृथ्वी अब मरेतुल्य शान्त र चुप छैन, स्वर्ग अब उजाड र दुःखी छैन। स्वर्ग र पृथ्वी, शून्यताद्वारा अब अलग छैनन्, ती फेरि कहिल्यै अलग नहुने गरी एक भएर जोडिएका छन्। हर्षोल्‍लासको यो अवसरमा, उमङ्गको यस क्षणमा, मेरो धार्मिकता र मेरो पवित्रता सारा ब्रह्माण्डमा फैलिएको छ, र सारा मानवजातिले नरोकिकन तिनको ज्यादै गुणगान गर्छन्। स्वर्गका सहरहरू आनन्दले हाँस्दैछन्, र पृथ्वीको राज्य खुसीले नाच्दैछ। यसबेला, को रमाइरहेको छैन, अनि को रोइरहेको पनि छैन? पृथ्वी त्यसको सुरुको अवस्थामा स्वर्गको स्वामित्वमा हुन्छ, र स्वर्ग पृथ्वीसँग एक भएको छ। मानिस स्वर्ग र पृथ्वीलाई जोड्ने डोरी हो, र मानिसको पवित्रता र नवीकरणको कारण, स्वर्ग उप्रान्‍त पृथ्वीबाट लुकाइएको छैन, र पृथ्वी अब स्वर्गप्रति मौन छैन। मानिसहरूका अनुहारमा प्रसन्नताको मुस्कान छाएको छ र तिनीहरूका हृदयमा असीमित मिठास लुकेको छ। मानिसले मानिससँग झगडा गर्दैन, न त मानिसले एकअर्कासित मुक्का प्रहार गर्छ। के मेरो ज्योतिमा अरूसित मिलापमा नबस्ने कोही छन्? के मेरो दिनमा मेरो नाउँलाई लज्जित पार्ने कोही छन्? सबै मानिसहरूले आफ्ना भयभीत नजर मतिर लगाउँछन्, र तिनीहरूले आफ्नो हृदयमा मलाई गुप्तमा पुकार्छन्। मैले मानवजातिका सबै कार्यलाई जाँचेको छु: शुद्ध पारिएका मानिसहरूमध्ये कोही पनि मेरो विरुद्धमा विद्रोही छैनन्, कसैले पनि ममाथि दोष लाउँदैनन्। सबै मानिस मेरो स्वभावले भरिएका छन्। सबै मानिस मलाई चिन्न आइरहेका छन्, मेरो नजिक आउँदैछन् र मेरो भक्ति गरिरहेका छन्। म मानिसको आत्मामा दृढ भएर खडा हुन्छु, मानिसको नजरमा म सर्वोच्च शिखरमा उभिएको छु, र म मानिसको नसाको रगतमा बहन्छु। मानिसको हृदयमा भएको आनन्दपूर्ण प्रशंसाले पृथ्वीका सबै ठाउँ भरिन्छ, हावा तेज र ताजा छ, बाक्लो कुहिराहरूले अब जमिनलाई ढाक्दैनन्, र सूर्य अति उज्ज्वल भएर चम्कन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय १८

६९०. मेरो ज्योतिमा, मानिसहरूले फेरि ज्योति देख्छन्। मेरो वचनमा, मानिसहरूले आफूलाई आनन्द लाग्ने कुराहरू प्राप्त गर्छन्। म पूर्वबाट आएको हुँ, म पूर्वबाट प्रस्थान गरेको हुँ। मेरो महिमाको ज्योति चम्कँदा, असङ्ख्य राष्ट्र उज्यालो हुन्छन्, सबैतिर ज्योति पुग्छ, एउटा पनि कुरा अन्धकारमा रहँदैन। राज्यमा, परमेश्‍वरका मानिसहरूले उहाँसँग जिउने जीवन मापन गर्नै नसकिने गरी खुसी हुन्छ। ती मानिसहरूको आशिषित् जीवन देखेर जलाशयहरू खुसीले नाच्छन्, पहाडहरू मानिसहरूसँगै मेरो प्रशस्ततामा रमाउँछन्। सबै मानिसहरू प्रयास गरिरहेका छन्, कडा परिश्रम गरिरहेका छन्, मेरो राज्यमा आफ्नो अर्पण देखाइरहेका छन्। राज्यमा अब विद्रोह हुँदैन, अब विरोध हुँदैन; स्वर्गहरू र पृथ्वी एकअर्कामा निर्भर छन्, मानिस र म गहिरो भावनामा निकट हुन्छौँ, मिठासपूर्वक सँगै जिउँछौँ, एकअर्कामा अडेस लाग्छौँ…। यस समयमा, म औपचारिक रूपमा स्वर्गमा मेरो जीवन सुरु गर्दछु। अबउप्रान्त शैतानको बाधा हुँदैन र मानिसहरू विश्राममा प्रवेश गर्छन्। ब्रह्माण्डमा, मेरा चुनिएका मानिसहरू, अतुलनीय रूपमा आशिषित् भएर, मानिसहरूबीच जिउने मानिस नभई परमेश्‍वरसँग जिउने मानिस भएर मेरो महिमाको ज्योतिमा जिउँछन्। सारा मानिसले शैतानको भ्रष्टता भोगेका छन् अनि थेग्रोमा पुगिन्जेल जीवनको तीतो र मीठो पिएका छन्। अब, मेरो ज्योतिमा जिउन पाउँदा, तिनीहरू कसरी आनन्दित नहोलान् र? तिनीहरूले कसरी यो सुन्दर क्षणलाई हल्का रूपमा त्यागिदिन र उम्कन दिन सक्छन्? हे मानिसहरू हो! चाँडो आफ्नो हृदयमा गीत गाओ र मेरो लागि खुसीले नाच! चाँडो तिमीहरूका सच्चा हृदय उचाल र ती मलाई चढाओ! चाँडो तिमीहरूको ढोल पिट र खुसीका साथ मेरो निम्ति बजाओ। म ब्रह्माण्डमाथिबाट मेरो आनन्द छर्छु! मानिसहरूलाई म मेरो महिमायुक्त अनुहार प्रकट गर्छु! म चर्को स्वरमा उद्घोष गर्नेछु! म ब्रह्माण्ड पार गर्नेछु! मैले मानिसहरूमाझ शासन गर्न थालिसकेँ! म मानिसहरूद्वारा उच्च पारिन्छु! म माथि नीलो स्वर्गमा तैरिन्छु र मानिसहरू मसँगै हिँडेर जान्छन्। म मेरा मानिसहरूमाझ हिँड्छु र तिनीहरू मलाई घेर्छन्! मानिसहरूका हृदय हर्षले भरिन्छन्, तिनीहरूका गुञ्जायमान गीतहरूले ब्रह्माण्ड हल्लाउँछन्, सर्वोच्च स्वर्गलाई चिर्छन्! ब्रह्माण्ड अब कुहिरोले ढाकिएको छैन; त्यहाँ न त हिलो छ, न त ढल जम्मा भएको छ। ब्रह्माण्डका पवित्र मानिसहरू! मेरो निरीक्षणमा तिनीहरू आफ्नो साँचो अनुहार देखाउँछन्। तिनीहरू फोहोरले ढाकिएका मानिस होइनन्, मोतीजतिकै शुद्ध पवित्र मानिस हुन्, तिनीहरू सबै मेरा प्रियजन हुन्, तिनीहरू सबै मेरा खुसी हुन्! सबै थोक फेरि जीवित हुन्छन्। पवित्र जनहरू सबै स्वर्गमा मेरो सेवा गर्न फर्केका छन्, मेरो न्यानो अङ्गालोमा पसेका छन्, रुन छाडेका छन्, चिन्ता लिन छाडेका छन्, आफूलाई मप्रति अर्पण गर्छन्, मेरो घर फर्किरहेका छन् र तिनीहरूको मातृभूमिमा तिनीहरूले मलाई अनवरत प्रेम गर्नेछन्! सारा अनन्तताभरि कहिल्यै परिवर्तन हुनेछैनन्! दुःख कहाँ छ! आँसुहरू कहाँ छन्! देह कहाँ छ! अब पृथ्वी रहेन, तर स्वर्गहरू सधैँभरि रहन्छन्। म असङ्ख्य मानिसमाझ देखा पर्दछु र असङ्ख्य मानिसले मेरो प्रशंसा गर्छन्। यो जीवन, यो सुन्दरता, आदिकालदेखि समयको अन्त्यसम्म परिवर्तन हुनेछैन। राज्यको जीवन यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, हे सबै मानिस हो, आनन्दित होओ!

६९१. मानवजातिमाझ राज्य विस्तार भइरहेको छ, यो मानवजातिमाझ निर्माण भइरहेको छ, र यो मानवजातिमाझ खडा भइरहेको छ; मेरो राज्यलाई नष्ट गर्ने कुनै शक्ति छैन। आज राज्यमा हुने मेरा मानिसहरू, तिमीहरूमध्ये को चाहिँ मानव जातिको सदस्य होइन? तिमीहरूमध्ये कोचाहिँ मानव अवस्थाभन्दा बाहिर छ? जब मेरो नयाँ सुरुवाती बिन्दु सार्वजनिक गरिन्छ, तब मानिसहरूले कसरी प्रतिक्रिया दिनेछन्? तिमीहरूले आफ्‍नै आँखाले मानव संसारको स्थिति देखेका छौ; के तिमीहरूले यस संसारमा सदासर्वदा जिउने सोच अझै हटाएका छैनौ? म अहिले मेरा मानिसहरूमाझ हिँडिरहेको छु र म तिनीहरूको माझमा जिउँछु। आज, मप्रति सच्‍चा प्रेम राख्नेहरू—त्यस्ता मानिसहरू धन्य छन्। धन्य हुन् मप्रति समर्पित हुनेहरू, तिनीहरू मेरो राज्यमा अवश्यै रहनेछन्। धन्य हुन् मलाई चिन्‍नेहरू, तिनीहरू मेरो राज्यमा अधिकार प्रयोग गर्नेछन्। धन्य हुन् मलाई पछ्याउनेहरू, तिनीहरू अवश्यै शैतानका बन्धनहरूबाट उम्कनेछन् र तिनीहरूले मेरा आशिष्‌हरू उपभोग गर्नेछन्। धन्य हुन् आफूविरुद्ध विद्रोह गर्न सक्नेहरू, तिनीहरू मद्वारा अवश्यै ओगटिनेछन् र तिनीहरूले मेरो राज्यको प्रचुरताको उत्तराधिकार प्राप्त गर्नेछन्। मेरा लागि दौडधुप गर्नेहरूलाई म सम्‍झनेछु, मप्रति आफूलाई समर्पित गर्नेहरूलाई म स्विकार्नेछु, र ममा आफूलाई अर्पण गर्नेहरूलाई म आनन्दका लागि चिजहरू प्रदान गर्नेछु। मेरा वचनहरूको आनन्द उठाउनेहरूलाई म आशिष् दिनेछु; तिनीहरू मेरो राज्यका खम्‍बा हुनेछन्, मेरो घरमा तिनीहरू अतुलनीय रूपमा समृद्ध पारिनेछन्, र तिनीहरूसँग कसैलाई पनि तुलना गर्न सकिँदैन। के तिमीहरूले तिमीहरूका लागि तयार पारिएका आशिष्‌हरू कहिल्यै स्वीकार गरेका छौ? के तिमीहरूले तिमीहरूका निम्ति गरिएका प्रतिज्ञाहरू कहिल्यै पछ्याएका छौ? मेरो ज्योतिको मार्गदर्शनमा, तिमीहरूले अन्धकारका शक्तिहरूको जकडलाई अवश्यै तोड्नेछौ। तिमीहरूले अन्धकारबीच ज्योतिको मार्गदर्शन अवश्यै गुमाउनेछैनौ। तिमीहरू अवश्यै यावत् थोकका मालिक बन्‍नेछौ। तिमीहरू अवश्यै शैतानको अघि विजेता बन्‍नेछौ। ठूलो रातो अजिङ्गरको देशको पतन हुँदा, तिमीहरू मेरो विजयको प्रमाणका रूपमा दश हजारौँ मानिसमाझ अवश्यै उभिनेछौ। सिनिमको भूमिमा तिमीहरू अवश्यै दृढ र अटल हुनेछौ। तिमीहरूले सहने कष्टहरूका कारण, तिमीहरू मेरा आशिष्‌हरूका उत्तराधिकारी हुनेछौ, र सम्पूर्ण ब्रह्माण्डभित्र मेरो महिमाको ज्योतिलाई अवश्यै चम्काउनेछौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय १९

६९२. मेरो बुद्धि पृथ्वीमा जताततै र सम्पूर्ण ब्रह्माण्डभरि छ। सबै थोकको बीचमा मेरो बुद्धिका फलहरू छन्, सबै मानिसमाझ मेरो बुद्धिका कृतिहरू भरिपूर्ण छन्; सबैकुरा मेरो राज्यका यावत् थोक जस्तो छ, र मेरा चरनका भेडाहरूझैँ सबै मानिस मेरा स्वर्गहरूमुनि विश्राममा बसोबास गर्छन्। म सबै मानिसमाथि हिँडडुल गर्छु र जताततै हेरिरहेको हुन्छु। कुनै पनि कुरा पुरानो देखिन्न र कुनै पनि व्यक्ति पहिलेजस्तो छैन। म सिंहासनमा विश्राम गर्छु, म सारा ब्रह्माण्डमाथि ढल्कन्छु, र म पूर्ण रूपमा सन्तुष्ट छु किनकि यावत् थोकले आफ्ना पवित्रता पुनः प्राप्त गरेका छन् र म फेरि एक पटक शान्त तरिकाले सियोनभित्र बसोबास गर्न सक्छु, अनि पृथ्वीका मानिसहरूले मेरो मार्गदर्शनमा निश्चल र सन्तुष्ट जीवन जिउन सक्छन्। सबै जातिले मेरा हातमा सबै कुराको व्यवस्थापन गरिरहेका छन्, सबै मानिसहरूले आफ्ना पहिलेको बुद्धि र मौलिक स्वरूप प्राप्त गरेका छन्; तिनीहरू अबउप्रान्त धूलोले ढाकिएका छैनन्, तर मेरो राज्यमा ती हिराजस्तै पवित्र छन्, हरेकको मुहार मानिसको हृदयभित्र हुनुभएका परमपवित्रको जस्तै छ, किनकि मेरो राज्य मानिसहरूको बीचमा स्थापित गरिएको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय १६

६९३. “म सबै मानिसमाझ हिँडडुल गर्छु र जताततै हेरिरहेको छु। कुनै पनि कुरा पुरानो देखिन्न र कुनै पनि व्यक्ति पहिलेजस्तो छैन। म सिंहासनमा आराम गर्छु, म सारा ब्रह्माण्डमाथि अडेस लाग्छु…।” परमेश्‍वरको वर्तमान कामको परिणाम यही हो। परमेश्‍वरका चुनिएका सबै मानिस आफ्ना मौलिक स्वरूपमा फर्कन्छन्, जसको कारण स्वर्गदूतहरू स्वतन्त्र हुन्छन् जसले यतिका धेरै वर्षदेखि कष्ट भोगेका छन्, जसरी परमेश्‍वर भन्‍नुहुन्छ “हरेकको मुहार मानिसको हृदयभित्र हुनुभएका परमपवित्रको जस्तै छ।” किनकि स्वर्गदूतहरू पृथ्वीमा काम गर्छन् र पृथ्वीमै परमेश्‍वरको सेवा गर्छन्, अनि परमेश्‍वरको महिमा संसारभरि फैलिने हुनाले, स्वर्गलाई पृथ्वीमा ल्याइएको छ र पृथ्वीलाई स्वर्गमा उचालिएको छ। यसैले मानिस स्वर्ग र पृथ्वीलाई जोड्ने कडी हो; स्वर्ग र पृथ्वी अबउसो अलग छैनन्, छुट्टिएका छैनन्, तर एक भएर जोडिएका छन्। संसारभरि, परमेश्‍वर र मानिस मात्र अस्तित्वमा छन्। धूलो वा मैलो छैन, र परमेश्‍वरका सारा अनुग्रहको आनन्द लिँदै आकाशमुनिको हरियो चरनमा सानो थुमा सुतिरहेको जस्तै सबै थोक नवीकरण भएका छन्। र हरियालीको आगमनको कारण जीवनको सास चम्कन्छ, किनकि जसरी परमेश्‍वरको मुखबाट “म फेरि एक पटक शान्त तरिकाले सियोनभित्र बसोबास गर्न सक्छु” भनी भनिएको थियो, त्यसरी नै सारा अनन्तसम्म मानिसहरूसँगै बस्‍न परमेश्‍वर संसारमा आउनुहुन्छ। यो शैतानको हारको सङ्‍केत हो, यो परमेश्‍वरको विश्रामको दिन हो र सबै मानिसले यस दिनको गुणगान र घोषणा गर्नेछन् र सबै मानिसले स्मरण गर्नेछन्। जब परमेश्‍वर सिंहासनमा विश्राम गर्नुहुन्छ, परमेश्‍वरले पृथ्वीमा आफ्नो कामको समाप्त गर्ने समय त्यही हो र परमेश्‍वरका सारा रहस्य मानिसहरूलाई देखाइने क्षण यही नै हो; परमेश्‍वर र मानिस कहिल्यै नछुट्टिने गरी, सदाको लागि मिलापमा रहनेछन्—राज्यका सुन्दर दृश्यहरू यस्ता छन्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू” का रहस्यहरूको अनावरण, अध्याय १६

६९४. तिनीहरूका फरक-फरक कार्यहरू र गवाहीहरूका आधारमा राज्यभित्रका विजेताहरूले पूजाहारीहरूका रूपमा वा अनुयायीहरूका रूपमा सेवा गर्नेछन् र संकष्टको बीचमा विजयी हुनेहरू राज्यभित्रका पूजाहारीहरूको निकाय बन्‍नेछन्। ब्रह्माण्डभरिमा सुसमाचारको कार्य समाप्त भएपछि पूजाहारीहरूको निकायलाई निर्माण गरिनेछ। जब त्यो समय आउँछ, मानिसले गर्नुपर्ने कुरा परमेश्‍वरको राज्यभित्र उसले पूरा गर्नुपर्ने दायित्व, र राज्यभित्र परमेश्‍वरसँग एकसाथको उसको जियाइ हुनेछ। पूजाहारीहरूको निकायमा प्रधान पूजाहारीहरू र पूजाहारीहरू हुनेछन् र बाँकीचाहिँ परमेश्‍वरका पुत्रहरू र मानिसहरू हुनेछन्। सङ्कष्टको अवधिमा परमेश्‍वरको निम्ति तिनीहरूले दिएका गवाहीले यो सबैलाई निर्धारण गर्नेछ; ती आवेगमा दिइने पदहरू होइनन्। मानिसको अवस्थालाई स्थापना गरिसकेपछि, परमेश्‍वरको काम बन्द हुनेछ, किनभने हरेकलाई उसको प्रकारअनुसार वर्गीकरण गरिनेछ र तिनीहरूको मूल स्थितिमा फर्काइनेछ र यो परमेश्‍वरको कार्यको पूर्णताको चिन्‍ह हो, यो परमेश्‍वरको काम र मानिसको अभ्यासको अन्तिम परिणाम हो र परमेश्‍वरको कार्य र मानिसको सहकार्यका दर्शनहरूलाई स्पष्ट बनाउने कार्य हो। आखिरमा, मानिसले परमेश्‍वरको राज्यमा विश्राम पाउनेछ र परमेश्‍वर पनि विश्राम गर्न आफ्‍नो वासस्थानमा फर्कनुहुनेछ। परमेश्‍वर र मानिस बीचको ६,००० वर्षे सहकार्यको अन्तिम परिणाम यही नै हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

६९५. विजयको काम पूरा भएपछि, मानिसलाई एउटा सुन्दर संसारमा ल्याइनेछ। यो जीवन, अवश्य पनि, अझै यही पृथ्वीमा नै हुनेछ, तर त्यो आजको मानिसको जीवनभन्दा पूर्णतः फरक हुनेछ। यो जीवन सम्पूर्ण मानवजातिलाई विजय गरिएपछि मानवजातिसँग हुने जीवन हुनेछ, यो मानिसका निम्ति पृथ्वीमा एउटा नयाँ सुरुवात हुनेछ। मानवजातिसँग यस्तो जीवन हुनु भनेको मानवजाति एउटा नयाँ र सुन्दर क्षेत्रमा प्रवेश गरेको छ भन्‍ने कुराको प्रमाण हुनेछ; यो पृथ्वीमा परमेश्‍वर र मानिसको जीवनको सुरुवात हुनेछ। यस्तो सुन्दर जीवनको पूर्वसर्त भनेको मानिस शुद्ध पारिएपछि र विजय गरिएपछि, ऊ सृष्टिकर्ताको सामु समर्पित हुनुपर्छ। र त्यसैले, विजयको काम भनेको मानवजाति अद्भुत गन्तव्यमा प्रवेश गर्नुअघि परमेश्‍वरको कामको अन्तिम चरण हो। त्यस्तो जीवन नै पृथ्वीमा मानिसको भविष्यको जीवन हो, पृथ्वीमा अत्यन्तै सुन्दर जीवन, मानिसले तृष्णा गर्ने प्रकारको जीवन, संसारको इतिहासमा मानिसले यसभन्दा पहिले कहिल्यै हासिल नगरेको प्रकारको जीवन। ६,००० वर्षे व्यवस्थापनको कार्यको अन्तिम परिणाम यही नै हो। मानिसले सबैभन्दा बढी तृष्णा गर्ने कुरा यही हो, अनि मानिसलाई परमेश्‍वरको प्रतिज्ञा पनि यही नै हो। तर यो प्रतिज्ञा तुरुन्तै साकार हुन सक्दैन: मानिस तब मात्र भावी गन्तव्यभित्र प्रवेश गर्नेछ, जब आखिरी दिनहरूको काम पूरा भएको हुन्छ र उसलाई पूर्ण रूपमा विजय गरिएको हुन्छ, अर्थात्, जब शैतान पूर्ण रूपले पराजित भएको हुन्छ। मानिस शोधन गरिसकिएपछि ऊ पापपूर्ण स्वभावरहित हुनेछ किनकि परमेश्‍वरले शैतानलाई पराजित गरिसक्नुभएको हुनेछ, यसको अर्थ त्यहाँ कुनै विरोधी शक्तिहरूको अतिक्रमण हुनेछैन अनि मानिसको देहलाई आक्रमण गर्ने कुनै विरोधी शक्तिहरू हुनेछैन। यसैले मानिस स्वतन्त्र हुनेछ र पवित्र पारिनेछ—उसले अनन्ततामा प्रवेश गरिसकेको हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

६९६. जब मानिसले पृथ्वीमा मानवको वास्तविक जीवन प्राप्त गर्दछ र शैतानका सम्पूर्ण शक्तिहरू बन्धनमा पर्छन्, तब मानिस पृथ्वीमा सजिलै जिउन सक्छ। परिस्थिति आजको जस्तो जटिल हुनेछैन: मानवीय सम्बन्धहरू, सामाजिक सम्बन्धहरू, जटिल पारिवारिक सम्बन्धहरू—यिनले अति धेरै समस्या, अति धेरै पीडा ल्याउँछन्! यहाँ मानिसको जीवन धेरै नै दयनीय छ! मानिस जितिएपछि, उसको हृदय र मन परिवर्तन हुनेछ: ऊसित परमेश्‍वरको डर मान्ने र परमेश्‍वरलाई प्रेम गर्ने ह्रदय हुनेछ। परमेश्‍वरलाई प्रेम गर्न खोज्ने ब्रह्माण्डका सबै जना जितिएपछि अर्थात् शैतानलाई पराजित गरिसकेपछि र शैतानलाई—अन्धकारका सबै शक्तिहरू बन्धनमा परेपछि पृथ्वीमा मानिसको जीवनमा बाधा आउनेछैन र ऊ पृथ्वीमा स्वतन्त्र रूपमा जिउन सक्नेछ। यदि मानिसको जीवन देहगत सम्बन्ध र देहको जटिलताविना नै थियो भने, त्यो धेरै सजिलो हुनेथियो। मानिसको देहको सम्बन्ध धेरै जटिल छ र मानिसमा यस्ता कुराहरू हुनु भनेको उसले आफूलाई शैतानको प्रभावबाट स्वतन्त्र पार्न सकेको छैन भन्‍ने कुराको प्रमाण हो। यदि तेरा प्रत्येक दाजुभाइ र दिदीबहिनीसँग त्यस्तै सम्बन्ध थियो भने, यदि तेरो परिवारको प्रत्येक सदस्यसँग उस्तै सम्बन्ध थियो भने, तँलाई कुनै चिन्ता हुनेथिएन र तैँले कसैको बारेमा चिन्ता लिइरहनुपर्ने थिएन। केही पनि राम्रो हुन सक्दैन र यसरी मानिसले उसको आधा दुःखबाट छुटकारा पाउँछ। पृथ्वीमा सामान्य मानव जीवन जिउँदा मानिस स्वर्गदूतहरूजस्तै हुनेछन्; अझ पनि शरीरमा नै भए पनि ऊ स्वर्गदूतजस्तै हुनेछ। अन्तिम प्रतिज्ञा यही हो, मानिसलाई दिइएको अन्तिम प्रतिज्ञा।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

६९७. परमेश्‍वरले सिद्ध पार्ने अभिप्राय राख्नुभएकाहरू सबैले उहाँका आशिष्‌हरू उत्तराधिकारमा प्राप्त गर्नेछन् र उहाँको उत्तराधिकार पाउनेछन्। अर्थात्, तिनीहरू परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई स्वीकार गर्छन् ताकि त्यो तिनीहरूभित्रै भएको कुरा बनोस्; तिनीहरूले परमेश्‍वरका सबै वचनलाई आफूभित्र अपनाएका हुन्छन्; र परमेश्‍वर जे हुनुहुन्छ, तिनीहरूले त्यो सबै जस्ताको तस्तै स्वीकार गर्न सक्छन्। यसरी, तिनीहरू सत्यता जिउँछन्। यस्तै प्रकारको व्यक्तिलाई परमेश्‍वरद्वारा सिद्ध पारिन्छ र परमेश्‍वरद्वारा प्राप्त गरिन्छ। यस्तो व्यक्ति मात्रै परमेश्‍वरद्वारा प्रदान गरिने आशिष्‌हरू उत्तराधिकारमा प्राप्त गर्न योग्य हुन्छ:

१) परमेश्‍वरको सम्पूर्ण प्रेम प्राप्त गर्नु।

२) सबै कुरामा परमेश्‍वरका अभिप्रायहरूअनुरूप कार्य गर्नु।

३) परमेश्‍वरको मार्गदर्शन प्राप्त गर्नु, परमेश्‍वरको ज्योतिमा जिउनु, र परमेश्‍वरको अन्तर्दृष्टि प्राप्त गर्नु।

४) पृथ्वीमा परमेश्‍वरले प्रेम गर्ने स्वरूप जिउनु; परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्ने, परमेश्‍वरका लागि क्रूसमा टाँगिने र परमेश्‍वरको प्रेमको प्रतिदान गर्नका लागि मर्न योग्य हुने पत्रुसजस्तै बन्नु; पत्रुसको जस्तै महिमा हुनु।

५) पृथ्वीमा सबैद्वारा प्रेम, आदर, र प्रशंसा गरिनु।

६) मृत्यु र पातालको बन्धनको हरेक पक्षलाई जित्नु, शैतानलाई आफ्नो काम गर्ने कुनै अवसर नदिनु, परमेश्‍वरद्वारा स्वामित्वमा लिइनु, ताजा र जीवन्त आत्माभित्र जिउनु, र वाक्क नहुनु।

७) जीवनभरि हर समय हर्ष र उत्साहको अवर्णनीय अनुभूति हुनु, मानौँ कसैले परमेश्‍वरको महिमाको दिनको आगमन देखेको छ।

८) परमेश्‍वरसँगै महिमा प्राप्त गर्नु र परमेश्‍वरका प्रिय पवित्र जनहरूको जस्तै मुहार हुनु।

९) पृथ्वीमा परमेश्‍वरले प्रेम गर्ने कुरा बन्नु, अर्थात्, परमेश्‍वरको प्रिय पुत्र बन्नु।

१०) रूप परिवर्तन गर्नु अनि परमेश्‍वरसँगै तेस्रो स्वर्गमा उक्लनु र देहभन्दा माथि उठ्नु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनेहरूका निम्ति दिइएका प्रतिज्ञाहरू

६९८. जब मानिस अनन्त गन्तव्यमा प्रवेश गर्छ, तब मानिसले सृष्टिकर्ताको आराधना गर्नेछ, र मानिसले मुक्ति पाएको र अनन्ततामा प्रवेश गरेको हुने हुनाले, मानिसले उप्रान्त कुनै लक्ष्य पछ्याउनेछैन, उसले शैतानको घेरामा परिने चिन्ता त झनै गर्नुपर्नेछैन। यस समयमा, हरेक व्यक्ति आफ्नो मर्यादामा रहनेछ, र आफ्नो कर्तव्य निर्वाह गर्नेछ, र तिनीहरूलाई सजाय नदिइए पनि वा तिनीहरूको न्याय नगरिए पनि, हरेक व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्नेछ। त्यस समयमा, मानिस पहिचान र हैसियत दुवै हिसाबमा एउटा सृजित प्राणी हुनेछ। त्यहाँ अब उच्च र नीचको भेद हुनेछैन; कुरा यत्ति हो कि हरेक व्यक्तिले फरक प्रकार्य निर्वाह गर्नेछ। तैपनि मानिस अझै पनि व्यवस्थित र मानवजातिका लागि उपयुक्त गन्तव्यमा जिउनेछ; मानिसले सृष्टिकर्ताको आराधना गर्नका खातिर आफ्नो कर्तव्य निर्वाह गर्नेछ, र यो मानवजाति नै अनन्तताको मानवजाति हुनेछ। त्यस समयमा, मानिसले परमेश्‍वरद्वारा ज्योति दिइएको जीवन, परमेश्‍वरको हेरचाह र सुरक्षाअन्तर्गतको जीवन प्राप्त गरेको हुनेछ, र ऊ परमेश्‍वरसँगै जिउनेछ। मानवजातिले पृथ्वीमा सामान्य जीवन जिउनेछ, र सबै मानिस सही मार्गमा प्रवेश गर्नेछन्। ६,००० वर्षे व्यवस्थापनको योजनाले शैतानलाई पूर्ण रूपमा पराजित गरेको हुनेछ, जसको अर्थ परमेश्‍वरले पृथ्वीमा मानिसलाई सृष्टि गरेपछिको मानिसको मौलिक स्वरूपलाई पुनर्स्थापित गर्नुभएको हुनेछ, र यसरी, परमेश्‍वरका मौलिक अभिप्रायहरू पूरा भएका हुनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

६९९. विश्राममा जिउनुको अर्थ युद्धरहित, अशुद्धतारहित, र निरन्तरको अधार्मिकतारहित जीवन हो। भन्नुको अर्थ, यो शैतानका बाधाहरू (यहाँ “शैतान” शब्दले शत्रु-शक्तिहरूलाई जनाउँछ) र शैतानको भ्रष्टतारहित, अनि परमेश्‍वरको कुनै विरोधी शक्तिको आक्रमणबाट मुक्त जीवन होइन; यो सबै थोकलाई तिनकै प्रकारअनुसार वर्गीकरण गरिने र सबै थोकले सृष्टिकर्ताको आराधना गर्न सक्ने, र स्वर्ग र पृथ्वी पूर्ण रूपमा शान्त हुने जीवन हो—“मानवहरूको विश्रामपूर्ण जीवन” भन्ने शब्दहरूको अर्थ यही हो। जब परमेश्‍वरले विश्राम गर्नुहुन्छ, तब पृथ्वीमा अधार्मिकता विद्यमान रहनेछैन, अनि शत्रुका शक्तिहरूबाट कुनै अरू आक्रमण हुनेछैनन्, र मानवजाति एउटा नयाँ राज्यमा प्रवेश गर्नेछ—उप्रान्त मानवजाति शैतानद्वारा भ्रष्ट पारिएको हुनेछैन, बरु शैतानद्वारा भ्रष्ट पारिएपछि मुक्त गरिएको मानवजाति हुनेछ। मानवजातिको विश्रामको दिन नै परमेश्‍वरको पनि विश्रामको दिन हुनेछ। परमेश्‍वर मौलिक रूपमा नै विश्राम गर्न असक्षम हुनुभएकोले होइन, तर विश्राममा प्रवेश गर्न मानवजातिको असक्षमताले नै उहाँले आफ्‍नो विश्राम गुमाउनुभएको हो। विश्राममा प्रवेश गर्नुको अर्थ सबै थोक ठप्प हुन्छ वा विकसित हुन नै रोकिन्छ भन्‍ने होइन, न त यसको आशय, परमेश्‍वरले काम गर्न छोड्नुहुन्छ वा मानव जिउन छोड्छ भन्‍ने नै हो। शैतानलाई नष्ट गरिनु, यसको दुष्कर्मका सरिक हुने खराब मानिसहरूलाई दण्डित गर्नु र निमिट्यान्न पार्नु साथै परमेश्‍वरको सारा शत्रुका शक्तिहरू अस्तित्वमा नरहनु नै विश्राममा प्रवेश गरिएको सङ्केत हुनेछ। परमेश्‍वर विश्राममा प्रवेश गर्नुको अर्थ उहाँले मानवजातिको मुक्तिको निम्ति यस उप्रान्त उहाँको काम नगर्नु हो भन्‍ने हुन्छ। मानवजाति विश्राममा प्रवेश गर्नुको अर्थ सबै मानवजाति परमेश्‍वरको ज्योतिभित्र र उहाँको आशिषहरूमुनि, शैतानको भ्रष्टताविना जिउनेछन् र कुनै अधार्मिकता हुनेछैन भन्‍ने हो। परमेश्‍वरको हेरचाहमुनि, मानव पृथ्वीमा सामान्य रूपमा जिउनेछन्। जब परमेश्‍वर र मानवजाति एकसाथ विश्राममा प्रवेश गर्छन्, यसको अर्थ मानवजातिलाई मुक्त गरिएको छ, शैतानलाई नष्ट पारिएको छ र मानवमा परमेश्‍वरको काम पूर्ण रूपमा पूरा भएको छ भन्‍ने हुन्छ। परमेश्‍वरले यस उप्रान्त मानवमा काम गर्नुहुनेछैन र तिनीहरू शैतानको सत्ताअन्तर्गत रहनेछैनन्। त्यसै गरी, परमेश्‍वर यस उप्रान्त व्यस्त हुनुहुनेछैन, र मानव अनवरत गतिमा हुनेछैन; परमेश्‍वर र मानव एकैसाथ विश्राममा प्रवेश गर्नेछन्। परमेश्‍वर उहाँको मौलिक स्थानमा फर्कनुहुनेछ, र हरेक व्यक्ति तिनीहरूको आ-आफ्नो ठाउँमा फर्कनेछन्। परमेश्‍वरको समग्र व्यवस्थापन सिद्धिएपछि परमेश्‍वर र मानव बसोबास गर्ने गन्तव्यहरू यी नै हुन्। परमेश्‍वरसँग परमेश्‍वरकै गन्तव्य छ र मानवसँग मानवकै गन्तव्य छ। विश्राम गरिरहँदा, परमेश्‍वरले सबै मानवलाई पृथ्वीमा तिनीहरूको जीवनमा मार्गदर्शन गरिरहनुहुनेछ र उहाँको ज्योतिमा हुँदा, तिनीहरूले स्वर्गमा हुनुहुने एक मात्र साँचो परमेश्‍वरको आराधना गर्नेछन्। उप्रान्त, परमेश्‍वर मानवजातिको माझमा बस्नुहुनेछैन, न त मानिसहरू परमेश्‍वरसँगै उहाँको गन्तव्यमा बस्नेछन्। परमेश्‍वर र मानव उही क्षेत्रभित्र रहन सक्‍नुहुन्‍न; बरु, दुवैको आ-आफ्नै जिउने शैली हुन्छ। परमेश्‍वरले नै सारा मानवजातिलाई मार्गदर्शन गर्नुहुनेछ, र सारा मानवजाति नै परमेश्‍वरको व्यवस्थापन कार्यको चरमता हो। नेतृत्व गरिनेहरू मानव नै हुन् र उनीहरू परमेश्‍वरकै सारका हुँदैनन्। “विश्राम” गर्नुको अर्थ उसको आफ्नै मौलिक स्थानमा फर्कनु हो। यसकारण, जब परमेश्‍वर आफ्‍नो विश्राममा प्रवेश गर्नुहुन्छ, तब यसको अर्थ, उहाँ आफ्‍नो मौलिक स्थानमा फर्कनुभएको छ भन्‍ने हुन्छ। उहाँ उप्रान्त पृथ्वीमा बस्नुहुनेछैन वा मानवजातिको आनन्द र कष्टमा संलग्न हुन मानवजातिमाझ रहनुहुनेछैन। जब मानवहरू विश्राममा प्रवेश गर्छन्, यसको अर्थ उनीहरू सृष्टिको साँचो सृष्टि गरिएका प्राणी हुनेछन् भन्‍ने हो; तिनीहरूले पृथ्वीबाट नै परमेश्‍वरको आराधना गर्नेछन् र सामान्य जीवन जिउनेछन्। मानिसहरू उप्रान्त परमेश्‍वरविरुद्ध विद्रोह गर्नेछैनन् वा तिनीहरूले उहाँको प्रतिरोध गर्नेछैनन्, अनि आदम र हव्वाको मौलिक जीवनतिर फर्कनेछन्। विश्राममा प्रवेश गरेपछि परमेश्‍वर र मानवका आ-आफ्नै जीवन र गन्तव्यहरू यिनै हुनेछन्। शैतान र परमेश्‍वर बीचको युद्धमा शैतानको हार अपरिहार्य छ। यस्तै, परमेश्‍वरको व्यवस्थापन कार्यको पूर्णता र विश्राममा मानवजातिको पुर्ण मुक्ति र प्रवेशपछि विश्राममा हुने परमेश्‍वरको प्रवेश पनि अनिवार्य छन्। मानवजातिको विश्रामको स्थान पृथ्वी हो र परमेश्‍वरको विश्रामको स्थान स्वर्ग हो। मानवले विश्राममा रहनुहुने परमेश्‍वरको आराधना गर्दा, तिनीहरू पृथ्वीमा बस्नेछन्, र परमेश्‍वरले बाँकी मानवलाई विश्राममा डोर्‍याउनुहुँदा, उहाँले उनीहरूलाई पृथ्वीबाट होइन स्वर्गबाट अगुवाइ गर्नुहुनेछ। परमेश्‍वर अझै पनि आत्मा नै हुनुहुनेछ, जबकि मानव अझै पनि देहमा नै हुनेछन्। परमेश्‍वर र मानव फरक-फरक किसिमले विश्राममा रहनुहुन्छ। परमेश्‍वर विश्राम गर्नुहुँदा, उहाँ मानवको माझमा आउनुहुनेछ र देखा पर्नुहुनेछ; मानव विश्राम हुँदा, स्वर्ग भ्रमणमा जान साथै त्यहाँको जीवनको आनन्द लिन परमेश्‍वरले तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्

७००. जब मानिसहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गरिएका हुनेछन्, र जब उनीहरूले आ-आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छन्, उनीहरूलाई आ-आफ्नै उचित स्थानहरूमा राख्न सक्छन् र परमेश्‍वरको प्रबन्धहरूको अधीनमा बस्छन्, तब परमेश्‍वरले पृथ्वीमा उहाँको आराधना गर्ने मानिसहरूको एउटा समूह हासिल गर्नुभएको हुनेछ र उहाँले पृथ्वीमा उहाँको आराधना गर्ने उहाँको राज्य स्थापना गरिसकेको हुनुहुनेछ। उहाँले पृथ्वीमाथि अनन्त विजय हासिल गर्नुभएको हुनेछ र उहाँको विरोध गर्नेहरू सबै अनन्तताको निम्ति नष्ट हुनेछन्। यसले मानवजातिलाई सृष्टि गर्ने उहाँको मौलिक अभिप्राय पुनर्स्थापना गर्नेछ; यसले सबै थोक सृष्टि गर्ने उहाँको अभिप्राय पुनर्स्थापना गर्नेछ, यसले सबै थोक माझ र उहाँको शत्रुहरूमाझ पृथ्वीमा उहाँको अधिकार पनि पुनर्स्थापना गर्नेछ। यो उहाँको पूर्ण विजयको सङ्केतहरू हुनेछन्। त्यस पश्चात्, मानवजाति विश्राममा प्रवेश गर्नेछ र सही मार्गमा हुने जीवन सुरुवात गर्नेछ। परमेश्‍वर पनि मानवजातिसँगै अनन्त विश्राममा प्रवेश गर्नुहुनेछ अनि उहाँ आफै र मानव दुवैले साझेदारी गर्ने अनन्त जीवनको प्रारम्भ गर्नुहुनेछ। पृथ्वीमा अशुद्धता र विद्रोहीपन हराइसकेको हुनेछ, सबै क्रन्दनहरू दूर भइसकेको हुनेछन्, र परमेश्‍वरको विरोध गर्ने यस संसारको सबै थोकको अस्तित्व नै मेटिसकेको हुनेछ। परमेश्‍वर र उहाँले मुक्ति दिनुभएका मानिसहरू मात्र रहनेछन्; उहाँको सृष्टि मात्र रहनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्

अघिल्लो: १४. मानिसको प्रतिफलको परिभाषाको निम्ति परमेश्‍वरका मापदण्डहरू सम्‍बन्धी र हरेक किसिमको व्यक्तिको अन्त सम्बन्धी परमेश्‍वरका वचनहरू

अर्को: परिचय

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्