अध्याय १२०

सियोन! रमाऊ! सियोन! गीत गाऊ! म जितको साथ फर्केको छु, म विजयी बनेर फर्केको छु! सबै मानिसहरू! छिटो गर, राम्रोसित लामबद्ध होऊ! सृष्टिका सबै थोकहरू! अब रोकिऊ, किनकि मेरो व्यक्तित्वले सम्पूर्ण ब्रह्माण्डको सामना गर्दै छ र संसारको पूर्वमा देखा पर्दै छ! आराधनामा घुँडा नटेक्‍ने आँट कसले गर्छ? मलाई साँचो परमेश्‍वर भनी नपुकार्ने आँट कसले गर्छ? कसले डर मान्ने हृदयसाथ माथि नहेर्ने आँट गर्छ? कसले प्रशंसा नगर्ने हिम्मत गर्छ? कसले नरमाउने आँट गर्छ? मेरा मानिसहरूले मेरो सोर सुन्‍नेछन्, र मेरा छोराहरू मेरो राज्यमा जीवित रहनेछन्! पहाडपर्वत, नदीनाला र सबै थोकहरू अनन्त रूपमा जयजयकार गर्दै नरोकिईकन उफ्रिरहनेछन्। यस बेला, कसैले पनि पछाडि फर्कने हिम्मत गर्नेछैन, र कसैले पनि प्रतिरोध गर्नका निम्ति खडा हुने आँट गर्नेछैन। यो मेरो अचम्मको काम हो, र त्योभन्दा पनि बढी, यो मेरो महान् शक्ति हो! म सबै थोकलाई मेरो डर मान्ने हृदय भएको बनाउनेछु, र त्योभन्दा पनि बढी, म सबै कुरालाई मेरो प्रशंसा गर्ने बनाउनेछु! यो छ हजार वर्षे मेरो व्यवस्थापन योजनाको अन्तिम लक्ष्य हो, र मैले पूर्वनिर्धारित गरेको कुरा यही हो। न त कुनै व्यक्तिले न त कुनै वस्तु वा कुनै घटनाले नै मेरो प्रतिरोध वा विरोध गर्न खडा हुने आँट गर्छ। मेरा सबै मानिसहरू मेरो पर्वततर्फ (अर्को शब्दमा भन्‍नुपर्दा, मैले पछि सृष्टि गर्ने संसारतर्फ) आउनेछन् र मेरो सामु समर्पित हुनेछन्, किनकि मसँग प्रताप र न्याय छ, र मसँग अख्तियार छ। (यसले म मेरो शरीरमा भएको बेलालाई बुझाउँछ। देहमा पनि मसँग अख्तियार छ, तर देहमा समय र स्थानको सीमिततालाई नाघ्‍न नसकिने भएकोले मैले पूर्ण महिमा पाएको छु भनेर भन्‍न सकिँदैन। मैले देहमा ज्येष्ठ छोराहरूलाई प्राप्‍त गर्ने भए पनि, मैले महिमा प्राप्‍त गरेको छु भनेर भन्‍न सकिँदैन। म सियोनमा फर्केपछि र मैले आफ्नो रूप परिवर्तन गरेपछि मात्र मैले अख्तियार प्राप्‍त गरेको हुन्छु, अर्थात् मैले महिमा प्राप्‍त गरेको हुन्छु भनेर भन्‍न सकिन्छ।) मेरो निम्ति कुनै पनि कुरा गाह्रो हुनेछैन। मेरो मुखको वचनले सबै नाश हुनेछन्, र मेरो मुखको वचनद्वारा सबै थोक अस्तित्वमा आउनेछन् र पूर्ण हुनेछन्। मेरो महान् शक्ति यही हो र यही नै मेरो अख्तियार हो। म सामर्थ्य र अख्तियारले भरिपूर्ण भएकोले कुनै व्यक्तिले मलाई बाधा दिने हिम्मत गर्न सकेन। मैले पहिले नै सबै कुरामाथि विजय प्राप्त गरेको छु, र मैले विद्रोहका सबै छोराहरूलाई पहिले नै जितिसकेको छु। म मेरा ज्येष्ठ छोराहरूलाई मेरो साथमा सियोनमा फर्काएर ल्याउँदै छु। म एकलै सियोन फर्किरहेको छैनँ। त्यसकारण, सबैले मेरा ज्येष्ठ छोराहरूलाई देख्‍नेछन् र यसरी मेरो डर मान्ने हृदय जगाउनेछन्। यही नै ज्येष्ठ छोराहरू प्राप्‍त गर्ने मेरो लक्ष्य हो र संसारको सृष्टिदेखि नै यो मेरो योजना रहिआएको छ।

जब सबै कुरा तयार हुन्छन्, त्यो म सियोन फर्कने दिन हुनेछ, र यो दिनको सम्झनामा सबै मानिसले उत्सव मनाउनेछन्। जब म सियोन फर्कन्छु, पृथ्वीका सबै थोक मौन रहनेछन्, र पृथ्वीमा भएका सबै थोकलाई शान्ति हुनेछ। जब म सियोन फर्कन्छु, सबै थोकले आफ्नो मूल स्वरूप फेरि प्राप्‍त गर्नेछन्। तब, म सियोनमा मेरो काम थाल्नेछु। म दुष्टहरूलाई दण्ड र असललाई इनाम दिनेछु, म मेरो धार्मिकतालाई लागू गर्नेछु, र म मेरो न्याय अघि बढाउनेछु। म सबै थोक सम्पन्‍न गर्न मेरा वचनहरूको प्रयोग गर्नेछु, र यसरी सबै मानिस र सबै थोकलाई मेरो हातको सजाय अनुभव गराउनेछु, र सबै मानिसहरूलाई मेरो पूर्ण महिमा, मेरो पूर्ण बुद्धि र मेरो पूर्ण उदारता देखाउनेछु। न्यायको दौरान विद्रोहमा खडा हुने कसैले आँट गर्नेछैन, किनकि ममा सबै थोक हासिल हुन्छन्; र यहाँ सबै मानिसले मेरो पूर्ण मर्यादा देखून् र मेरो पूर्ण विजयको स्वाद लिऊन्, किनकि ममा सबै कुरा प्रकट हुन्छन्। यसबाट, मेरो महान् शक्ति र मेरो अख्तियारलाई देख्‍न सम्भव हुन्छ। कसैले पनि मलाई चिढ्याउने आँट गर्नेछैन, र कसैले पनि मलाई बाधा दिने आँट गर्नेछैन। ममा सबै थोक खुला गरिन्छ। कसले कुनै कुरा लुकाउने आँट गर्छ र? म अवश्य नै त्यस्ता व्यक्तिहरूलाई कुनै दया देखाउँदिनँ! त्यस्ता दुष्टहरूले मेरो कठोर दण्ड पाउनैपर्छ, र त्यस्ता निकम्मा मानिसहरू मेरो नजरबाट हटाइनुपर्छ। म फलामको डन्डाले उनीहरूमाथि शासन गर्नेछु र अलिकति पनि दया नदेखाई र तिनीहरूका भावनाहरूलाई रत्तीभर विचार नगरी तिनीहरूको न्याय गर्न म आफ्नो अख्तियार प्रयोग गर्नेछु, किनकि म परमेश्‍वर स्वयम्‌ हुँ, जो भावनाहीन र प्रतापी हुनुहुन्छ र जसलाई चिढ्याउन सकिँदैन। सबैले यो बुझ्नु र हेर्नुपर्छ, नत्र तिनीहरू मद्वारा कुनै “उद्देश्य वा कारणविना” प्रहार गरिएर ढालिनेछन् र नाश पारिनेछन्, किनकि मलाई चिढ्याउनेहरू सबैलाई मेरो डन्डाले प्रहार गरी ढाल्नेछ। तिनीहरूले मेरा प्रशासनिक आदेशहरू जान्दछन् कि जान्दैनन् त्यसको मलाई कुनै मतलब छैन; त्यो मेरो निम्ति कुनै परिणामको हुनेछैन, किनकि मेरो व्यक्तित्वले कसैले चिढ्याएको सहन गर्दैन। त्यसैकारण म एक सिंह हुँ भनी भनिएको हो; म जसलाई छुन्छु, त्यसलाई प्रहार गरी ढाल्छु। त्यसैले, मलाई करुणा र प्रेमिलोदयालुपनका परमेश्‍वर हुँ भन्‍नु ईश्‍वरनिन्दा हो भनेर भनिएको हो। सारमा, म थुमा होइनँ, बरु सिंह हुँ। कसैले मलाई चिढ्याउने आँट गर्दैन; जसले मलाई चिढ्याउँछ, म उसलाई तुरुन्तै र कुनै दया नगरी मृत्यु दण्ड दिनेछु। मेरो स्वभाव देखाउनका लागि यो पर्याप्‍त छ। त्यसकारण, अन्तिम युगमा मानिसहरूको एउटा ठूलो समूह फिर्ता जानेछ, र यो कुरा मानिसहरूलाई सहन गाह्रो हुनेछ, तर जहाँसम्म मेरो कुरा छ, म त ढुक्‍क र आनन्दित छु, र म यसलाई कुनै गाह्रो कामको रूपमा हेर्दिनँ। मेरो स्वभाव नै यही हो।

मलाई आशा छ सबै मानिसहरूसँग मेरा सबै कुराहरूको पालना गर्ने समर्पित हृदय हुनेछ; यदि तिनीहरूसँग त्यस्तो हृदय भयो भने, म मानवजातिलाई अत्यन्तै धेरै आशिष्‌ दिनेछु, किनभने मैले भनेको जस्तै, मेरो अनुरूप हुनेहरू संरक्षित हुनेछन् भने मप्रति शत्रुवत् हुनेहरू श्रापित हुनेछन्। मैले यो कुरालाई पूर्वनिर्धारित गरेको छु र यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। मैले निर्धारण गरेका कुराहरू मैले पूरा गरेका कुराहरू हुन्, र तिनीहरूको विरुद्ध जाने जोसुकैलाई पनि तुरुन्तै सजाय दिइनेछ। मलाई सियोनमा चाहिने र मैले इच्छा गरेका सबै कुराहरू मसँग छन्। सियोनमा संसारको कुनै छनक छैन, यो त संसारको तुलनामा समृद्ध र भव्य महल हो; तर अहिलेसम्म कोही पनि यसमा प्रवेश गरेको छैन, त्यसैले मानिसको कल्पनामा, यो अस्तित्वमै छैन। सियोनको जीवन पृथ्वीको जस्तो छैन; पृथ्वीमा, जीवन भनेको खानु, लुगा लगाउनु, खेल्नु र आनन्द खोज्नु हो, तर सियोनमा यो एकदमै फरक छ। यो हर्षमा डुबेका, ब्रह्माण्डको सम्पूर्ण स्थानलाई सधैँ भरिदिने, अनि सामञ्‍जस्य भई सधैँ एकसाथ आउने पिता र पुत्रहरूको जीवन हो। अहिले यो यहाँसम्‍म आइपुगेको छ, त्यसकारण म तिमीहरूलाई सियोन कहाँ अवस्थित छ भनेर बताउनेछु। सियोन भनेको म बस्‍ने ठाउँ हो; यो मेरो व्यक्तित्वको स्थान हो। तसर्थ, सियोन पवित्र स्थान हुनुपर्छ, र यो पृथ्वीभन्दा टाढा हुनुपर्छ। यही कारणले त म भन्छु, म पृथ्वीका मानिस, वस्तु र घटनाहरूलाई घृणा गर्छु, र देहले खाने, पिउने, खेल्ने र आनन्द खोज्ने कार्यलाई तिरस्कार गर्छु, किनभने सांसारिक आनन्दहरू जतिसुकै सुखद भए पनि, तिनीहरूलाई सियोनमा भएको जीवनसँग तुलना गर्न सकिँदैन; यही नै स्वर्ग र पृथ्वीमा भएको भिन्‍नता हो र यी दुई कुरालाई तुलना गर्ने कुनै आधार छैन। पृथ्वीमा मानिसले सुल्झाउन नसक्‍ने धेरै उल्झनहरू हुनुको कारण भनेको मानिसहरूले सियोनका बारेमा केही पनि नसुनेर नै हो। उसो भए, सियोन ठ्याक्‍कै कहाँ छ त? के मानिसहरूले कल्पना गरेजस्तो यो अर्को ग्रहमा छ त? छैन! यो मानिसको मनमा भएको भ्रम मात्रै हो। मैले उल्लेख गरेको तेस्रो स्वर्गलाई, मानिसहरूले पूर्वसाङ्केतिक अर्थ भएको कुरा मान्छन्, तर मानिसहरूले आफ्नो धारणाहरूभित्र जे बुझ्छन्, त्यो मेरो अर्थको ठ्याक्‍कै विपरीत छ। यहाँ उल्लेखित तेस्रो स्वर्ग अलिकति पनि झूटो होइन। त्यसैले त म भन्छु, म सूर्य, जून, तारा र खगोलीय पिण्डहरूको विनाश गर्नेछैन, र म स्वर्ग र पृथ्वीलाई हटाउनेछैनँ। के म मेरो वासस्थानको विनाश गर्न सक्छु? के म सियोन पर्वतलाई हटाउन सक्छु? के यो हास्यास्पद छैन र? तेस्रो स्वर्ग मेरो वासस्थान हो; त्यो सियोन पर्वत हो र यो निरपेक्ष छ। (मैले यो निरपेक्ष छ भनेर किन भनेँ? किनकि मैले अहिले भनेको कुरा मानिसले बुझ्दै बुझ्दैन; उसले सुन्‍न मात्र सक्छ। मानिसको सोचाइको दायराले यसलाई समेट्न सक्दैन, र त्यसैले म सियोनको बारेमा अब धेरै बोल्नेछैनँ, नत्र मानिसहरूले यसलाई काल्पनिक ठान्‍नेछन्।)

म सियोन फर्केपछि, पृथ्वीमा भएकाहरूले मलाई विगतमा जस्तै प्रशंसा गरिरहनेछन्। मेरो सेवा गर्न ती बफादार सेवाकर्ताहरू सधैँझैँ पर्खिनेछन्, तर तिनीहरूको कामको पनि अन्त्य आउनुपर्ने हुन्छ। तिनीहरूले गर्नसक्‍ने सबैभन्दा राम्रो कुरा भनेको पृथ्वीमा मेरो उपस्थितिको परिस्थितिको बारेमा चिन्तन गर्नु हो। त्यो समयमा, म विपत्ति भोग्‍नेहरूमाथि विपत्ति ल्याउन सुरु गर्नेछु; तैपनि सबैले म धर्मी परमेश्‍वर हुँ भनेर विश्‍वास गर्छन्। म ती बफादार सेवाकर्ताहरूलाई निश्‍चय नै सजाय दिनेछैन, बरु मेरो अनुग्रह मात्रै प्राप्‍त गर्न दिनेछु। किनकि मैले भनेकै छु कि म आफै धार्मिकता र निष्ठाको परमेश्‍वर स्‍वयम्‌ हुँ भन्‍ने कुरा प्रदर्शन गर्दै, दुष्कर्मीहरूलाई सजाय दिनेछु, र असल कार्य गर्नेहरूले मैले दिने भौतिक आनन्द प्राप्‍त गर्नेछन्। म सियोन फर्केपछि, म संसारका प्रत्येक राष्ट्रतर्फ अभिमुख हुन सुरु गर्नेछु; म इस्राएलीहरूका लागि मुक्ति ल्याउनेछु र मिश्रीहरूलाई सजाय दिनेछु। यो मेरो कार्यको नयाँ चरण हो। त्यस बेला मेरो काम अहिलेको जस्तो हुनेछैन: यो देहको काम हुनेछैन, बरु यसले देहको दायरालाई पूर्ण रूपमा पार गर्नेछ—र मैले बोलेको हुनाले, यो त्यस्तै हुनेछ; र मैले आदेश दिएको हुनाले, त्यो त्यस्तै रहनेछ। यदि जे बोलिन्छ त्यो मेरो मुखबाट बोलिएको हो भने, त्यो तत्कालै वास्तविकतामा पूरा हुनेछ; मेरो मुखबाट वचन बोलिनु र त्यही समयमा यो पूरा हुनुको अर्थ यही हो, किनकि मेरो वचन आफैँमा अख्तियार हो। अहिले म पृथ्वीका मानिसहरूलाई केही सङ्केत दिनका लागि केही सामान्य कुराको बारेमा बोल्दै छु, ताकि तिनीहरूले यसलाई अन्धाधुन्ध रूपमा नबुझून्। जब त्यो समय आउँछ, म सबै कुराको प्रबन्ध गर्नेछु, र कसैले पनि मनोमानी रूपमा काम गर्नेछैन, अन्यथा तिनीहरूलाई मेरो हातले प्रहार गर्नेछ। मानिसहरूको कल्पनाहरूमा, मैले बोलेका सबै कुराहरू अस्पष्ट हुन्छन्, किनभने मानिसको सोच्ने तरिका आखिर सीमित हुन्छ, र मानिसको सोच मैले बोलेका कुराहरूबाट त्यति नै टाढा छ जति स्वर्गबाट पृथ्वी टाढा छ। तसर्थ, यसलाई कसैले बुझ्न सक्दैन। गर्न सकिने एकमात्र कुरा भनेको मैले बोलेअनुरूप हुनु हो; यो अपरिहार्य घटना परिघटना हो। मैले भनेको छु: “आखिरी दिनहरूमा, मेरा मानिसहरूउपर अत्याचार गर्न वनपशुको उदय हुनेछ, र मृत्युसँग डराउनेहरूलाई त्यो वनपशुले लिएर जाने गरी छाप लगाइनेछ। मलाई देखेकाहरूलाई त्यो वनपशुले मार्नेछ।” यी वचनहरूमा “वनपशु” ले अवश्य नै मानवजातिलाई धोका दिने शैतानलाई जनाउँछ। यसो भन्‍नुको अर्थ, जब म सियोन फर्कनेछु, सेवाकर्ताहरूको एउटा ठूलो समूह पछाडि हट्नेछ; अर्थात् तिनीहरूलाई त्यो वनपशुले लिएर जानेछ। यी प्राणीहरू मेरो अनन्त सजाय प्राप्‍त गर्नका लागि अतल कुण्डमा जानेछन्। “मलाई देखेकाहरू” भनेका मैले विजय गरेका बफादार सेवाकर्ताहरू हुन्। “मलाई देखेपछि” भनेको मैले तिनीहरूलाई विजय गरेको तथ्य हो। “वनपशुले मार्नेछ” भन्‍ने पदावलीले मैले विजय गरेपछि, मेरो विरोध गर्न फेरि उठ्न साहस नगर्ने शैतानलाई जनाउँछ। अर्को शब्दमा, शैतानले यी सेवाकर्ताहरूउपर कुनै पनि कार्य गर्न साहस गर्नेछैन, तसर्थ यी मानिसहरूका प्राणहरूले मुक्ति पाएका हुनेछन्; मसँग निष्ठावान् हुने तिनीहरूको क्षमताका कारण यसो भनिएको हो र यसको अर्थ ती निष्ठावान् सेवाकर्ताहरू मेरो अनुग्रह र मेरो आशीर्वाद प्राप्‍त गर्न सक्षम हुनेछन् भन्‍ने हो। त्यसैले त म भन्छु, तिनीहरूका प्राणहरूले मुक्ति पाएका हुनेछन्। (यसले तेस्रो स्वर्गसम्मको आरोहणलाई जनाउँदैन, जुन मानिसको धारणा मात्र हो।) तर ती दुष्ट सेवकहरूलाई शैतानले फेरि बाँध्‍नेछ, र त्यसपछि अतल कुण्डमा फाल्‍नेछ। यो तिनीहरूका लागि मेरो सजाय हो; यही नै तिनीहरूका लागि दण्ड हो र यही नै तिनीहरूको पापको इनाम हो।

जब मेरो कार्यको गति बढ्छ, पृथ्वीमा मेरो समय बिस्तारै घट्दै जान्छ। म सियोन फर्कने मिति नजिकिँदै जान्छ। जब पृथ्वीको मेरो काम अन्त्यमा आइपुगेको हुन्छ, त्यो म सियोन फर्किने समय हो। मलाई पृथ्वीमा जिउने इच्छा छँदै छैन, तर मेरो व्यवस्थापनका खातिर, मेरो योजनाका खातिर, मैले सबै कठिनाइ सहेको छु। आज, त्यो समय आइसकेको छ। म मेरो गतिलाई बढाउँछु, र कसैले पनि मेरो कदममा कदम मिलाउन सक्‍नेछैन। तिमीहरूले बुझ्न सके पनि वा नसके पनि, म तिमीहरूलाई मानिसले बुझ्न नसक्‍ने तर पृथ्वीमा भएकाहरूले थाहा पाउनैपर्ने सबै कुरा विस्तारमा बताउँछु। त्यसैले त म भन्छु, समय र अन्तरिक्षलाई नाघ्‍न सक्‍ने म परमेश्‍वर स्वयम् हुँ। ज्येष्ठ पुत्रहरू प्राप्‍त गर्ने र यसरी शैतानलाई परास्त गर्ने मेरो उद्देश्य नभएको भए, म पहिले नै सियोन फर्किसकेको हुन्थेँ; यदि अन्यथा भएको भए, मैले मानवजातिको सृष्टि नै गर्दिनथेँ। म मानिसको संसार र मभन्दा अलग रहेका मानिसहरूलाई घृणा गर्छु, यहाँसम्म कि मलाई सम्पूर्ण मानवजातिलाई एकै झट्कामा विनाश गर्ने विचार आउँछ। तर, मेरो कार्यको विधि र संरचना छ, अनुपात र सन्तुलनको बोध छ, र यो अव्यवस्थित छैन। मैले गर्ने सबै कुराको उद्देश्य शैतानलाई परास्त गर्नु हो, र अझ भन्‍ने हो भने यसको उद्देश्य म मेरा ज्येष्ठ पुत्रहरूसँग चाँडोभन्दा चाँडो सँगै हुन सकूँ भन्‍ने हो। यही नै मेरो लक्ष्य हो।

अघिल्लो: अध्याय ११९

अर्को: परिचय

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्