परमेश्वरको अघि बारम्बार जिएर मात्रै उहाँसँग सामान्य सम्बन्ध राख्न सकिन्छ
तिमीहरूमध्ये धेरैजसोले परमेश्वरमा विश्वास गरेको केही वर्ष भइसकेको छ र साँचो मार्गमाथि धेरथोर जग बसालिसकेका छौ। अब तिमीहरू परमेश्वरलाई पछ्याउन परिवार र बाहिरी संसारको उल्झनलाई त्याग्न सक्छौ। तिमीहरू परमेश्वरका घरमा कर्तव्य निर्वाह गर्न तालिम लिँदै छौ, परमेश्वरप्रित आफूलाई समर्पित गर्न इच्छुक छौ, र सत्यतातर्फ लम्किन तयार छौ। यसको अर्थ, तिमीहरूले कुरा बुझ्न थालेका छौ र तिमीहरूमा थोरै विवेक र समझ छ। त्यो राम्रो कुरा हो। कर्तव्य निर्वाह गर्नुको महत्त्व निकै ठूलो छ! तिमीहरूले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्नु वा नसक्नु तिमीहरूको मुक्ति र सिद्धतासँग प्रत्यक्ष सम्बन्धित छ। यसो पनि भन्न सकिएला, व्यक्तिले कर्तव्य निर्वाह गर्दैगर्दा परमेश्वरको कामको अनुभव गरेर मात्र जीवन प्रवेश प्राप्त गर्न सक्छ, र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गरेर मात्र परमेश्वरको अनुमोदन पाउन सक्छ। तसर्थ, तिमीहरूको कर्तव्यका सन्दर्भमा तिमीहरूबाट अलि धेरै माग गर्नु र तिमीहरूलाई काँटछाँट गर्नु तिमीहरूका लागि लाभदायी हुनेछ। कम्तीमा तिमीहरूले जीवन प्रगति छिटो गर्नेछौ। तिमीहरूबाट उच्च मागहरू गरिनु नराम्रो कुरा होइन, न त तिमीहरूलाई जाँच्न कहिलेकाहीँ कठिन समस्या दिनु नै नराम्रो हो। यो सब तिमीहरूलाई जीवनमा वृद्धि गराउन र परमेश्वरको इच्छा पछ्याउन सहयोग दिन गरिन्छ, र यो तिमीहरूले केही व्यावसायिक ज्ञान अझ राम्ररी बुझ्न सके र तिमीहरू आफ्ना कर्तव्यमा अझ प्रभावशाली हुन सके भनेर गरिन्छ। यदि तिमीहरूबाट यी मागहरू नगरिएको भए परिणाम के हुन्थ्यो? तिमीहरूले धर्मसिद्धान्त प्रचार गर्न र प्रावधानहरू पालना गर्न मात्र सक्नेथियौ, अनि कैयौँ वर्षसम्म पटक्कै परिवर्तन नभई परमेश्वरमा विश्वास गर्नेथियौ। त्यो स्थितिमा, तिमीहरूले कहिले प्रगति गर्न सक्नेथियौ? तिमीहरूले कसरी आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्नेथियौ? तिमीहरूले सत्यतासम्बन्धी प्रगति नगर्ने मात्र होइन, तर कर्तव्य निर्वाह गर्न चाहिने व्यावसायिक ज्ञानमा पनि प्रगति गर्नेथिएनौ। तब के तिमीहरूले आफ्नो कर्तव्य स्वीकार्य मापदण्डअनुसार गर्न र परमेश्वरको गवाही दिन सक्थ्यौ? तिमीहरूको वर्तमान कदको कुरा गर्नुपर्दा, तिमीहरूको सत्यता बुझाइ निकै सतही छ, र तिमीहरूले आफ्नो कर्तव्य निर्वाहका सिद्धान्तहरू बुझेका छैनौ। तिमीहरू आफ्नो कर्तव्य सन्तोषजनक ढङ्गमा निर्वाह गर्ने मापदण्डसम्म पुग्नबाट पनि निकै टाढा छौ। तैपनि तिमीहरू यसबारे अनभिज्ञ छौ र आफूले राम्रो गरिरहेको ठान्छौ, अनि बेलाबेला तिमीहरू हदै आत्मधर्मी र दुःसाहसी बन्छौ। तिमीहरूको बोली वा कार्य सार्वजनिक हुन सक्दैन र त्यो सत्यता सिद्धान्तअनुरूप हुँदैन। कसैले तिमीहरूको कुनै समस्या औँल्याउँदा तिमीहरू त्यो स्विकार्न सक्दैनौ, न त सत्यता खोजी गर्छौ, र अझ आफ्ना लागि बहानासमेत बनाउँछौ। यहाँ समस्या के हो? समस्या के हो भने, तिमीहरूमा आफूलाई उचित तरिकाले व्यवहारमा ढाल्न चाहिने सबैभन्दा आधारभूत समझ पनि छैन। तैँले जे गरिरहेको भए पनि, कम्तीमा त्यो धेरैजसो मानिसलाई उचित लाग्नैपर्छ। तैँले सबैको सुझाव सुन्नैपर्छ—यदि उनीहरूले भनेको कुरा सही छ भने तैँले त्यो स्विकार्नैपर्छ, अनि आफ्नो गल्ती सच्याउनैपर्छ। यदि सबैलाई तैँले पाएको नतिजा ठिक लाग्छ, र सबैले त्यसलाई अनुमोदन गर्छन् भने, तबमात्र तेरा कार्यहरू स्वीकार्य ठानिन सक्छन्। यसरी, एउटा पक्षमा तिमीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा सिद्धान्तअनुसार कार्य गर्न सक्नेछौ, र तिमीहरू समस्या सम्हाल्दा अझ बढी परिपक्व र अनुभवी हुनेछौ। अर्का पक्षमा तिमीहरूले अझै बढी सिक्न सक्नेछौ, र त्यही समयमा सत्यता बुझ्न र जीवन प्रवेश प्राप्त गर्न थाल्नेछौ। त्यसैले, तिमीहरू आफूलाई केही आइपर्दा आत्मधर्मी पटक्कै हुनु हुँदैन। तिमीहरूले आफूलाई परमेश्वरसामु शान्त पार्नैपर्छ र पाठ सिक्नैपर्छ। अझ बढी सिक्नका लागि तिमीहरूले आफूलाई त्याग्न सक्नैपर्छ। यदि तँ “म यसमा तिमीहरूभन्दा बढी निपुण छु, त्यसैले म इन्चार्ज हुनुपर्छ, र तिमीहरू सबैले मैले भनेको सुन्नुपर्छ!” भनेर सोच्छौ भने, यो कस्तो स्वभाव हो? यो अहङ्कार र आत्म-धार्मिकता हो। यो शैतानी, भ्रष्ट स्वभाव हो र यो सामान्य मानवताको क्षेत्रभित्रको कुरा होइन। त्यसोभए, आत्मधर्मी नहुनु भनेको के हो? (त्यो भनेको सबैका सुझाव सुन्नु, र सबैसँग कामकुरा छलफल गर्नु हो।) तेरो व्यक्तिगत सोच र विचार जेसुकै भए पनि, यदि तैँले अन्धाधुन्ध तेरो सोच सही छन् र कामकुरा गर्ने तरिका त्यही हो भनी निर्धारण गर्छस् भने त्यो अहङ्कार र आत्म-धार्मिकता हो। यदि तँलाई तेरा केही विचार वा मत सही लाग्छ तर तँलाई आफूमा पूर्ण विश्वास छैन, र तैँले खोजी र सङ्गति गरेर तिनको पुष्टि गर्न सक्छस् भने, आत्मधर्मी नहुनु भनेको त्यही हो। कार्य गर्नुअघि सबैको समर्थन र स्वीकृति पर्खनु कामकुरा गर्ने समझपूर्ण तरिका हो। यदि कोही तँसँग सहमत हुँदैन भने तैँले त्यसप्रति होसियारीपूर्वक प्रतिक्रिया जनाउनुपर्छ, र आफ्नो कामको व्यावसायिक पक्षहरूमा अति सावधान हुनुपर्छ। तैँले त्यस्तो असहमतिलाई यसो भन्दै अनदेखा गर्न मिल्दैन, “तिमीले यो बढी बुझेका छौ कि मैले? म यस क्षेत्रमा काम गरेको यत्रो समय भइसक्यो—के यसबारे मैले तिमीले भन्दा बढी बुझेको हुनुपर्छ होइन? तिमीलाई यसबारे के थाहा छ? तिमी यो बुझ्दैनौ!” यो राम्रो स्वभाव होइन, यो निकै अहङ्कारी र आत्मधर्मी स्वभाव हो। तँसँग असहमत हुने व्यक्ति सिकारु हुन सक्छ, र उसले त्यस कार्यक्षेत्रलाई राम्ररी नबुझेको हुन सक्छ; तँ सही होला र तैँले सही तरिकाले कार्य गरिरहेको होला तर समस्याचाहिँ तेरो स्वभाव हो। त्यसोभए व्यवहार र कार्य गर्ने सही तरिका के हो त? तैँले सत्यता सिद्धान्तअनुसार कसरी व्यवहार र कार्य गर्न सक्छस्? तैँले तेरा विचारहरू अघि सारेर सबैलाई तिनीहरूसँग कुनै समस्या छन् कि भनी हेर्न दिनैपर्छ। यदि कसैले सुझाव दिन्छ भने तैँले पहिला त्यसलाई स्विकार्नैपर्छ र त्यसपछि सबैलाई अभ्यासको सही मार्ग पुष्टि गर्न दिनैपर्छ। यदि यसमा कसैलाई आपत्ति छैन भने त्यसपछि तैँले कामकुरा गर्ने सबैभन्दा उचित तरिका निर्धारण गर्न र त्यसै हिसाबले कार्य गर्न सक्छस्। यदि कुनै समस्या भेटियो भने, तैँले सबैको राय माग्नैपर्छ, र तिमीहरू सबैले सँगै सत्यता खोजेर त्यसमा सङ्गति गर्नुपर्छ। र त्यसरी तिमीहरूले पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गर्नेछौ। जब तिमीहरूको हृदयले ज्योति पाउँछ, र तिमीहरूसँग अझ राम्रो मार्ग हुन्छ, तब तिमीहरूले पहिलेको भन्दा अझ राम्रो नतिजा प्राप्त गर्नेछौ। के यो परमेश्वरको मार्गदर्शन होइन र? यो अत्युत्तम कुरा हो! यदि तँ आत्मधर्मी हुनबाट बच्न सक्छस् भने, यदि तँ आफ्ना कल्पना र विचारहरू त्याग्न सक्छस् भने, र यदि तँ अरूको सही राय सुन्न सक्छस् भने तैँले पवित्र आत्माको अन्तर्दृष्टि पाउन सक्नेछस्। तेरो हृदयले ज्योति पाउनेछ र तैँले सही मार्ग भेट्टाउन सक्नेछस्। तँसँग अघि बढ्ने बाटो हुनेछ र जब तँ त्यो अभ्यास गर्छस्, तब त्यो निश्चय नै सत्यताअनुरूप हुनेछ। तैँले यस्तो अभ्यास र अनुभवद्वारा सत्यता अभ्यास कसरी गर्ने भन्ने सिक्नेछस् र साथै त्यस कार्यक्षेत्रबारे केही नयाँ कुरा सिक्नेछस्। के यो राम्रो कुरा होइन र? यसबाट तैँले के थाहा पाउनेछस् भने, तँलाई केही आइपर्दा, तँ आत्मधर्मी हुनै हुँदैन र तैँले सत्यता खोजी गर्नैपर्छ, र यदि तँ आत्मधर्मी हुन्छस् र सत्यता स्वीकार गर्दैनस् भने सबैले तँलाई तिरस्कार गर्नेछन् र परमेश्वरले तँलाई निश्चय नै घृणा गर्नुहुनेछ। के यो सिकिएको पाठ होइन र? यदि तैँले सधैँ यसरी नै पछ्याइरहिस् र सत्यता अभ्यास गरिरहिस् भने, आफ्नो कर्तव्यमा प्रयोग गर्ने तेरा व्यावसायिक सिपहरू तिखारिँदै जानेछन्, तैँले आफ्नो कर्तव्यमा झन्-झन् राम्रो नतिजा ल्याउनेछस्, र परमेश्वरले तँलाई अन्तर्दृष्टि र आशिष् दिनुहुनेछ, र तँलाई अझ बढी लाभ उठाउन दिनुहुनेछ। त्यसबाहेक, तँसँग सत्यता अभ्यासको मार्ग हुनेछ, र जब तँलाई सत्यता अभ्यास गर्न आउँछ, तब तैँले बिस्तारै सिद्धान्तहरू पनि बुझ्नेछस्। जब तैँले कुन कार्यले परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शन दिलाउँछ, कुन कार्यले उहाँको तिरस्कार र उपेक्षा निम्त्याउँछ र कुन कार्यले उहाँको अनुमोदन र आशिष् दिलाउँछ भनी जान्नेछस्, तब तँसँग अघि बढ्ने मार्ग हुनेछ। जब मानिसहरूले परमेश्वरको आशिष् र अन्तर्दृष्टि पाउँछन्, तब तिनीहरूको जीवन प्रगति चाँडो हुनेछ। तिनीहरूले हरेक दिन परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शन पाउनेछन्, र तिनीहरूको हृदयमा शान्ति र खुसी छाउनेछ। के यसले तिनीहरूलाई आनन्दित तुल्याउनेछैन र? जब तेरा कार्यहरू परमेश्वरसामु राखेर उहाँद्वारा स्वीकृत हुन सक्नेछन्, तब तैँले हृदयमा आनन्द महसुस गर्नेछस्, र भित्रबाट तँमा शान्ति र खुसी छाउनेछ। यो शान्ति र खुसी भनेको परमेश्वरले तँलाई दिएका भावना हुन्, पवित्र आत्माले तँलाई प्रदान गरेका अनुभूति हुन्।
अहङ्कारी र आत्मधर्मी हुनु मानिसहरूको सबैभन्दा स्पष्ट शैतानी स्वभाव हो, र यदि मानिसहरू सत्यता स्विकार्दैनन् भने, तिनीहरू कदापि शुद्ध हुने छैनन्। सबै मानिसहरूमा अहङ्कारी र आत्मधर्मी स्वभाव हुन्छ, र तिनीहरू सधैँ घमण्डी हुन्छन्। तिनीहरूले जे सोचे पनि वा जे भने पनि वा कामकुरालाई जसरी हेरे पनि, तिनीहरू सधैँ आफ्नो दृष्टिकोण र मनोवृत्ति सही छन्, र अरूको कुरा आफ्नो जत्तिको असल वा सही छैन भन्ने सोच्छन्। तिनीहरू सधैँ आफ्नै रायमा झुण्डिरहन्छन्, र जोसुकैले भने पनि, उसको कुरा सुन्ने छैनन्। अरूले भनेको कुरा सही छ वा सत्यताअनुरूप छ भने पनि, तिनीहरूले त्ये स्वीकार गर्नेछैनन्; तिनीहरूले सतही तवरमा मात्रै सुनिरहेको जस्तो देखिन्छ, तर त्यो विचारलाई फिटिक्कै अपनाउनेछैनन्, र काम गर्ने बेलामा, तिनीहरू अझै पनि आफ्नै तरिकाले काम गर्नेछन्, सधैँ आफूले भन्ने कुरा सही र उचित ठान्छन्। तैँले भन्ने कुरा वास्तवमा सही र उचित हुन सक्छ, वा तैँले गरिसकेको कुरा सही र दोषरहित हुन सक्छ, तर तैँले कस्तो प्रकारको स्वभाव देखाएको छस्? के यो अहङ्कार र आत्म-धार्मिकतामध्ये एक होइन र? यदि तैँले यो अहङ्कारी र आत्मधर्मी स्वभावलाई हटाउँदैनस् भने, के यसले तेरो कर्तव्य निर्वाहमा असर गर्नेछैन र? के यसले तेरो सत्यता अभ्यासमा असर गर्नेछैन र? यदि तैँले आफ्नो अहङ्कारी र आत्मधर्मी स्वभाव हटाइनस् भने, के यसले तँलाई भविष्यमा गम्भीर रोकावटहरू ल्याउनेछैन र? तैँले निश्चय नै रोकावटहरू अनुभव गर्नेछस्, यो हुन्छै हुन्छ। मलाई बता, के परमेश्वरले मानिसको यस्तो व्यवहार देख्न सक्नुहुन्छ? परमेश्वरले देख्ने नसक्ने कुरै छैन! परमेश्वरले मानिसका हृदयको गहिराइ मात्र छानबीन गर्नुहुन्न, तिनीहरूको हर समय र हर स्थानका हरेक शब्द र कार्यको अवलोकन पनि गर्नुहुन्छ। परमेश्वरले तेरो यस्तो व्यवहार देखेपछि के भन्नुहुनेछ? उहाँले यसो भन्नुहुनेछ: “तँ हठी छस्! तैँले आफू गलत छु भनी थाहा नपाउँदा आफ्ना विचारमा झुण्डिनु स्वाभाविक हो, तर आफू गलत छु भन्ने स्पष्ट हुँदाहुँदै पनि आफ्नो विचारमा झुण्डिन्छ्स्, पश्चात्ताप गर्दैनस् भने तँ जिद्दी मूर्ख होस्, र तँ समस्यामा पर्छस्। जसले सुझाव दिए पनि यदि तँ सधैँ त्यसप्रति नकारात्मक, प्रतिरोधी मनोवृत्ति राख्छ्स्, र अलिकति पनि सत्यता स्विकार्दैनस्, अनि तेरो हृदय पूर्णतया प्रतिरोधी, एकलकाँटे र उपेक्षा गर्ने खालको छ भने तँ निकै हास्यास्पद अनि मूर्ख र असमझदार व्यक्ति होस्! तँसँग व्यवहार गर्न असाध्यै गाह्रो हुन्छ!” कुन तरिकामा तँसँग व्यवहार गर्नु गाह्रो हुन्छ? तँसँग व्यवहार गर्न गाह्रो हुन्छ किनकि तैँले देखाइरहेको कुरा गलत शैली होइन, न त गलत व्यवहार नै हो। यो त तेरो स्वभावको प्रकटीकरण हो। कुन स्वभावको प्रकटीकरण भएको? त्यो स्वभाव जसमा तँ सत्यताप्रति वितृष्णा राख्छस्, र सत्यतालाई घृणा गर्छस्। तँ सत्यतालाई घृणा गर्ने व्यक्ति भनेर चिनिएपछि परमेश्वरका दृष्टिमा तँ समस्यामा पर्छस्, र उहाँले तँलाई तिरस्कार र बेवास्ता गर्नुहुनेछ। मानिसहरूको दृष्टिकोणबाट हेर्दा, बढीमा उनीहरूले भन्नेछन्: “यस व्यक्तिको स्वभाव खराब छ, ऊ अति जिद्दी, हठी र अहङ्कारी छ! यस व्यक्तिसँग ठ्याक मिलाउनै गाह्रो छ र ऊ सत्यतालाई प्रेम गर्दैन। उसले कहिल्यै सत्यता स्विकारेको छैन र ऊ सत्यता अभ्यास गर्दैन।” धेरैभन्दा धेरै, सबैले तँलाई यो मूल्याङ्कन गर्नेछन् तर के यो मूल्याङ्कनले तेरो भाग्य निर्धारित गर्न सक्छ? मानिसहरूले तँलाई गर्ने मूल्याङ्कनले तेरो भाग्य निर्धारण गर्न सक्दैन, तर तैँले एउटा कुरा भने बिर्सनै हुँदैन: परमेश्वर मानिसको हृदय छानबीन गर्नुहुन्छ, र साथै उहाँ तिनीहरूको हरेक शब्द र कार्य अवलोकन गर्नुहुन्छ। यदि परमेश्वरले यसरी तँलाई परिभाषित गर्नुहुन्छ र तँ सत्यतालाई घृणा गर्छस् भनेर भन्नुहुन्छ, यदि उहाँले तँमा थोरै भ्रष्ट स्वभाव छ वा तँ थोरै अनाज्ञाकारी मात्र छस् भन्नुहुन्न भने के यो निकै गम्भीर समस्या होइन? (यो गम्भीर समस्या हो।) यो त सङ्कट हो, र यो सङ्कट मानिसहरूले तँलाई कसरी हेर्छन् वा कसरी मूल्याङ्कन गर्छन् भन्ने कुरामा नभई, परमेश्वरले सत्यता घृणा गर्ने तेरो भ्रष्ट स्वभावलाई कसरी हेर्नुहुन्छ भन्ने कुरामा आधारित हुन्छ। त्यसोभए, परमेश्वर त्यसलाई कसरी हेर्नुहुन्छ? के परमेश्वरले तँ सत्यतालाई घृणा गर्छस्, प्रेम गर्दैनस् भनेर मात्र निर्धारण गर्नुभएको छ? अनि त्यति नै हो त? कुरा त्यति सरल छ? सत्यता कहाँबाट आउँछ? सत्यताले कसको प्रतिनिधित्व गर्छ? (यसले परमेश्वरको प्रतिनिधित्व गर्छ।) यसमाथि मनन गर्: यदि कुनै व्यक्तिले सत्यतालाई घृणा गर्छ भने परमेश्वरले आफ्नो नजरबाट उसलाई कसरी हेर्नुहुन्छ? (उहाँको शत्रुका रूपमा हेर्नुहुन्छ।) के यो गम्भीर समस्या होइन? जब कुनै व्यक्तिले सत्यतालाई घृणा गर्छ, तब उसले परमेश्वरलाई घृणा गर्छ! तिनीहरू परमेश्वरलाई घृणा गर्छन् भनेर म किन भन्छु? के तिनीहरूले परमेश्वरलाई सरापे? के तिनीहरूले उहाँलाई आमनेसामने विरोध गरे? के तिनीहरूले उहाँलाई उहाँको पिठ्यूँपछाडि आलोचना वा निन्दा गरे? गरे नै भन्ने छैन। त्यसोभए, सत्यतालाई घृणा गर्ने स्वभाव प्रकट गर्नु भनेको परमेश्वरलाई घृणा गर्नु हो भनेर किन म भन्छु? यो तिललाई पहाड बनाउनु होइन, यो त परिस्थितिको वास्तविकता हो। यो त ढोँगी फरिसीहरूले सत्यतालाई घृणा गरेको कारण प्रभु येशूलाई क्रूसमा टाँग्नुजस्तै हो—त्यसका परिणामहरू भयानक थिए। यसको अर्थ के हो भने, यदि कुनै व्यक्तिमा सत्यताप्रति वितृष्णा राख्ने र सत्यतालाई घृणा गर्ने स्वभाव छ भने, तिनीहरूले यसलाई कुनै पनि समय र कहीँ पनि प्रकट गर्न सक्छन्, र यदि ऊ यसैअनुसार जिउँछ भने, के उसले परमेश्वरलाई विरोध गर्नेछैन र? तिनीहरूले सत्यता वा छनौट गर्ने कार्य मुछिएको कुराको सामना गर्दा, यदि तिनीहरूले सत्यता स्विकार्न सक्दैनन् र तिनीहरू आफ्नो भ्रष्ट स्वभावअनुसार जिउँछन् भने, तिनीहरूले स्वाभाविक रूपमै परमेश्वरको विरोध गर्नेछन् र उहाँलाई धोका दिनेछन्, किनभने तिनीहरूको भ्रष्ट स्वभाव परमेश्वर र सत्यतालाई घृणा गर्ने स्वभाव हो। यदि तेरो स्वभाव यस्तो छ भने, तैँले परमेश्वरले बोलेका वचनलाई पनि प्रश्न गर्नेछस् र तिनको विश्लेषण र चिरफार गर्न चाहनेछस्। त्यसपछि तँ परमेश्वरको वचनलाई शङ्का गर्दै भन्नेछस्, “के यो साँच्चै परमेश्वरको वचन हो? मलाई त यो सत्यता जस्तो लाग्दैन, त्यो सबै मलाई सही छैन जस्तो लाग्छ!” यसरी, के सत्यतालाई घृणा गर्ने तेरो स्वभाव प्रकट भएको छैन त? जब तँ यसरी सोच्छस्, तब के तँ परमेश्वरप्रति समर्पित हुन सक्छस्? पक्कै पनि सक्दैनस्। यदि तँ परमेश्वरप्रति समर्पित हुन सक्दैनस् भने, के उहाँ अझै तेरो परमेश्वर हुनुहुन्छ त? हुनुहुन्न। त्यसोभए, तेरा लागि परमेश्वर के हुनुहुन्छ त? तैँले उहाँलाई अनुसन्धानको विषयझैँ, शङ्का गर्नुपर्ने व्यक्तिझैँ, निन्दा गर्नुपर्ने व्यक्तिझैँ व्यवहार गर्नेछस्; तैँले उहाँलाई सामान्य र साधारण व्यक्तिलाई जस्तै व्यवहार गर्नेछस्, र उहाँलाई सोही तरिकाले निन्दा गर्नेछस्। यसो गर्दा, तँ परमेश्वरको विरोध र निन्दा गर्ने व्यक्ति बन्नेछस्। कस्तो स्वभावले गर्दा यो हुन्छ? यो अहङ्कारी स्वभावले गर्दा हुन्छ, जुन निश्चित हदसम्म मौलाएको छ; तेरो शैतानी स्वभाव प्रकट हुने मात्र होइन, तर तेरो शैतानी अनुहार पनि पूर्ण रूपमा उदाङ्गो हुनेछ। परमेश्वरको विरोध गर्ने चरणमा पुगिसकेको व्यक्ति—जसको परमेश्वरविरुद्ध विद्रोहपन निश्चित हदसम्म पुगिसकेको छ—र परमेश्वरबीचको सम्बन्धलाई के हुन्छ? यो शत्रुतापूर्ण सम्बन्ध बन्छ जसमा व्यक्तिले परमेश्वरलाई आफ्नो विपक्षमा राख्छ। यदि तँ परमेश्वरप्रतिको आफ्ना विश्वासमा सत्यता स्विकार्न र त्यसमा समर्पित हुन सक्दैनस् भने परमेश्वर तेरा परमेश्वर हुनुहुन्न। यदि तँ सत्यतालाई मान्दैनस् र अस्वीकार गर्छस् भने, तँ परमेश्वरको विरोध गर्ने मानिस बनिसकेको हुनेछस्। के त्यसपछि पनि परमेश्वरले तँलाई मुक्ति दिन सक्नुहुन्छ? पक्कै पनि सक्नुहुन्न। परमेश्वर तँलाई मुक्ति पाउने मौका दिनुहुन्छ र तँलाई शत्रु ठान्नुहुन्न, तर तँ सत्यता स्विकार्न सक्दैनस् र परमेश्वरलाई आफ्ना विपक्षमा राख्छस्; तैँले परमेश्वरलाई आफ्नो सत्यता र आफ्नो मार्ग ठान्न नसक्नुले गर्दा तँ परमेश्वरको विरोध गर्ने व्यक्ति बन्छस्। यो समस्या कसरी सुल्झाउन सकिन्छ? तैँले तुरुन्तै पश्चात्ताप गरेर मार्ग बदल्नैपर्छ। उदाहरणका लागि, तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा कुनै समस्या वा कठिनाइ सामना गर्दा र तँलाई त्यो समाधान गर्न नआउँदा, तैँले त्यसबारे अन्धाधुन्ध मनन गर्नु पटक्कै हुँदैन, तैँले पहिला आफूलाई परमेश्वरसामु शान्त पार्नैपर्छ, प्रार्थना र उहाँबाट खोजी गर्नैपर्छ, र उहाँको वचनले त्यसबारे के भन्छ त्यो हेर्नैपर्छ। यदि तैँले परमेश्वरको वचन पढिसकेपछि पनि अझै बुझिनस् र यस मामिला कुन सत्यतासँग सम्बन्धित छ भनेर थाहा पाइनस् भने, तँ एउटा सिद्धान्तमा दृढ हुनैपर्छ—त्यो हो, पहिले समर्पित हुने, व्यक्तिगत विचार वा सोच नराख्ने, शान्त हृदयले पर्खने, अनि परमेश्वर कसरी अभिप्राय राख्नुहुन्छ र कसरी कार्य गर्न चाहनुहुन्छ हेर्ने। जब तँ सत्यता बुझ्दैनस्, तैँले अन्धाधुन्ध र लापरवाह तरिकाले कार्य गर्नुभन्दा सत्यता खोज्नुपर्छ, र परमेश्वरको प्रतीक्षा गर्नुपर्छ। तैँले सत्यता नबुझ्दा, यदि कसैले तँलाई सल्लाह दिन्छ र सत्यताअनुसार कसरी काम गर्ने भनेर बताउँछ भने, तैँले सर्वप्रथम यो स्वीकार गर्नुपर्छ अनि सबैलाई यसमा सङ्गति गर्न दिनुपर्छ, अनि यो मार्ग सही हो कि होइन, र यो सत्यता सिद्धान्तअनुरूप छ कि छैन भनेर हेर्नुपर्छ। यदि यो सत्यताअनुसार रहेछ भनेर तँ पक्का भइस् भने, त्यसरी नै अभ्यास गर्; यदि यो सत्यताअनुसार छैन भनेर तैँले निर्धारित गरिस् भने, त्यसरी अभ्यास नगर्। यो त्यस्तो सरल छ। तैँले सत्यता खोज्दा, धेरै मानिसहरूबाट खोज्नुपर्छ। यदि जो कसैले केही कुरा भन्छ भने, तैँले उसको कुरा सुन्नुपर्छ, उसका सबै शब्दहरू गम्भीरतापूर्वक लिनुपर्छ। तिनलाई बेवास्ता नगर् वा तुच्छ नठान् किनकि यो तेरो कर्तव्यको दायराभित्रका मामिलासँग सम्बन्धित छ, र तैँले यसलाई गम्भीरतापूर्वक लिनैपर्छ। यो नै सही मनोवृत्ति र सही स्थिति हो। यदि तँ सही स्थितिमा छस्, र तँ सत्यताप्रति वितृष्णा राख्ने र सत्यतालाई घृणा गर्ने स्वभाव प्रकट गर्दैनस् भने, यसरी अभ्यास गर्नुले तेरो भ्रष्ट स्वभावको स्थान लिनेछ। यो नै सत्यता अभ्यास हो। यदि तैँले यसरी सत्यता अभ्यास गरिस् भने, कस्तो फल फल्नेछ? (हामीलाई पवित्र आत्माको मार्गदर्शन मिल्नेछ।) पवित्र आत्माको मार्गदर्शन पाउनु एउटा पक्ष हो। कहिलेकाहीँ, मामिला एकदमै सरल हुनेछ, र तैँले आफ्नै दिमाग प्रयोग गरेर त्यो प्राप्त गर्न सक्नेछस्; अरूले तँलाई सुझाव दिइसकेपछि र तैँले बुझिसकेपछि, तँ परिस्थितिहरू ठिक गर्न र सिद्धान्तअनुसार कार्य गर्न सक्षम हुनेछस्। मानिसहरूलाई यो सानो कुरा लाग्ला, तर परमेश्वरका लागि यो ठूलो कुरा हो। किन म यसो भन्छु? किनभने तैँले यसरी अभ्यास गर्दा, परमेश्वरका लागि तँ सत्यता अभ्यास गर्न सक्ने, सत्यतालाई प्रेम गर्ने र सत्यताप्रति वितृष्णा नराख्ने व्यक्ति हुन्छस्—परमेश्वरले तेरो हृदय जाँच्नुहुँदा, तेरो स्वभाव पनि हेर्नुहुन्छ, यो ठूलो कुरा हो। अर्को शब्दमा भन्नुपर्दा, तैँले परमेश्वरसामु आफ्नो कर्तव्य निभाउँदा र काम गर्दा, तैँले जिउने र प्रकट गर्ने सबै कुरा मानिसहरूमा हुनुपर्ने सत्यता वास्तविकता हुन्। तैँले गर्ने हरेक कुरामा तँमा हुने मनोवृत्ति, सोच, र स्थिति परमेश्वरका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्, र परमेश्वर तिनको छानबीन गर्नुहुन्छ।
कतिपय मानिसले केही आइपर्दा ससाना कुराहरूको भेद केलाउन र निकासहीन दिशातिर लाग्न रूचाउनु के नीचता होइन? यो ठूलो समस्या हो। समझदार मानिसहरूले यो गल्ती गर्नेछैनन्, तर मूर्ख र असमझदार मानिसहरू यस्तै हुन्छन्। तिनीहरू जहिले पनि अरूले तिनीहरूका लागि परिस्थिति गाह्रो बनाइरहेको, अरूले तिनीहरूलाई जानीजानी गाह्रो बनाइरहेको ठान्छन्। त्यसैले तिनीहरू सधैँ अरू मानिससँग दुश्मनी मोल्छन्। के यो विचलन होइन? तिनीहरू सत्यताका सन्दर्भमा चाहिँ प्रयास गर्दैनन्, आफूलाई केही आइपर्दा महत्त्वहीन कुराहरूबारे झगडा गर्न रूचाउँछन्, स्पष्टीकरण माग्छन्, आफ्नो इज्जत जोगाउन खोज्छन्, र यी मामिलाहरू सम्हाल्न सधैँ मानव उपाय लगाउँछन्। जीवन प्रवेशको सबैभन्दा ठूलो अड्चन यही हो। यदि तँ यसरी परमेश्वरमा विश्वास गर्छस्, वा अभ्यास गर्छस् भने तैँले कहिल्यै पनि सत्यता प्राप्त गर्नेछैनस् किनकि तँ कहिल्यै परमेश्वरसामु आउँदैनस्। तँ परमेश्वरले तेरा लागि प्रबन्ध गरेका सबै कुरा प्राप्त गर्न उहाँसामु कहिल्यै आउँदैनस्, न त तँ यो सब सम्हाल्न सत्यता प्रयोग नै गर्छस्। त्यसको सट्टा तँ कुराहरू सम्हाल्दा मानव तरिकाहरू प्रयोग गर्छस्। त्यसैले, परमेश्वरका दृष्टिमा तँ उहाँबाट धेरै भट्किसकेको छस्। तेरो हृदयमात्र उहाँबाट भट्किसकेको होइन, तेरो सम्पूर्ण अस्तित्त्व नै उहाँका उपस्थितिमा बाँच्दैन। कामकुरालाई सधैँ अति विश्लेषण गर्ने र ससाना कुराको भेद केलाउनेहरूलाई परमेश्वर त्यसरी नै हेर्नुहुन्छ। त्यस्ता मानिसहरू छन् जो धाराप्रवाह बोल्छन्छ, चिप्लो बोली बोल्छन्, जसको दिमाग छिटो चल्छ र चतुर छ, जसले “म राम्रो बोल्छु। अरू मानिसले मेरो सराहना र मान गर्छन्, मलाई उच्च सम्मान दिन्छन्। उनीहरू सामान्यतः मेरो कुरा सुन्छन्” भनेर सोच्छन्। के यो उपयोगी छ? तैँले मानिसहरूमाझ आफ्नो इज्जत कमाएको छस्, तर परमेश्वरसामु व्यवहार गर्ने तरिकाले उहाँलाई खुसी पार्दैन। परमेश्वर भन्नुहुन्छ, तँ अविश्वासी होस् र सत्यताप्रति शत्रुवत् छस्। मानिसहरूमाझ तँ परिष्कृत र शिष्ट होलास्, कामकुरा निकै राम्रोसँग सम्हाल्छस् होला, र जो कोहीसँग पनि मिल्छस् होला; अवस्था जस्तोसुकै भए पनि सधैँ त्यो सम्हाल्न र सुल्झाउन सक्लास्, तर तँ परमेश्वरसामु आउँदैनस् र समस्या सुल्झाउन सत्यता खोजी गर्दैनस्। यस्ता मानिसहरू निकै दुःख दिने हुन्छन्। तँजस्ता मानिसहरूका मूल्याङ्कनमा परमेश्वर एउटै मात्र कुरा भन्नुहुन्छ: “तँ अविश्वासी होस्, तैँले परमेश्वरमा विश्वास गरेको देखावटी गरेर आशिष् पाउने मौकाको फाइदा उठाउन खोजिरहेको छस्। तँ सत्यता स्वीकार गर्ने व्यक्ति होइनस्।” तँलाई यस्तो किसिमको मूल्याङ्कन कस्तो लाग्छ? के तिमीहरूलाई चाहिएको यही हो? पक्कै होइन। हुन सक्छ कतिपय मानिसलाई मतलब छैन र यसो भन्छन्, “परमेश्वरले हामीलाई कसरी हेर्नुहुन्छ भन्ने कुराले फरक पर्दैन, हामी परमेश्वरलाई यसै पनि देख्न सक्दैनौँ। हाम्रो सबैभन्दा तात्कालिक समस्या भनेको पहिले हामी वरपरका मानिसहरूसँग राम्रो सम्बन्ध कायम गर्नु हो। हामीले आफ्ना लागि बलियो आधार स्थापित गरिसकेपछि अगुवा र कामदारहरूको मन जित्न सक्छौँ ताकि सबैले हाम्रो सराहना गरून्।” यी कस्ता खालका मानिस हुन्? के तिनीहरू परमेश्वरमा विश्वास गर्ने मानिस हुन्? पक्कै होइनन्; तिनीहरू अविश्वासी हुन्। परमेश्वरमा विश्वास गर्नेहरू सधैँ परमेश्वरको उपस्थितिमा जिउनैपर्छ; तिनीहरूले जस्तोसुकै समस्या सामना गरे पनि, परमेश्वरसामु आई सत्यता खोजी गर्नैपर्छ ताकि अन्त्यमा परमेश्वर यसो भन्नुहोओस्, “तँ सत्यतालाई प्रेम गर्ने, परमेश्वरलाई खुसी पार्ने, र परमेश्वरलाई स्वीकार्य लाग्ने व्यक्ति होस्। परमेश्वरले तेरो हृदय देख्नुभएको छ र तेरो समर्पणता पनि देख्नुभएको छ।” तँलाई यस किसिमको मूल्याङ्कन कस्तो लाग्छ? यस्ता मानिसहरूले मात्र परमेश्वरबाट अनुमोदन पाउँछन्। के तिमीहरू यो पूर्ण रूपमा बुझ्न सक्छौ? म तिमीहरूलाई के बताउँछु भने, परमेश्वरमा विश्वास गर्ने व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गरे पनि—चाहे उसले बाहिरी मामिला वा परमेश्वरको घरको विभिन्न काम वा विशेषज्ञताका क्षेत्रहरूसँग सम्बन्धित कर्तव्य सम्हालोस्—यदि ऊ परमेश्वरसामु बारम्बार आउँदैन र उहाँको उपस्थितिमा जिउँदैन, अनि उहाँको छानबीनलाई स्विकार्ने आँट गर्दैन, र परमेश्वरबाटको सत्यता खोजी गर्दैनन् भने ऊ अविश्वासी हो र ऊ गैरविश्वासीभन्दा फरक होइन। के तिमीहरू यो कुरा बुझ्न सक्छौ? हुन सक्छ, अहिले कतिपय त्यस्ता मानिसहरू छन् जो आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनन् किनकी तिनीहरूको वातावरण अनुकूल छैन; तिनीहरू गैरविश्वासीहरूका वातावरणमा जिउँछन्, तैपनि लगातार परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शन पाउँछन्। यो कसरी हुन सक्छ? सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तिनीहरूले परमेश्वरलाई प्रार्थना गर्न, परमेश्वरका वचनहरू खान र पिउन, सत्यता खोज्न र अभ्यास गर्न, र परमेश्वरसँग सामान्य सम्बन्ध कायम राख्न सक्नु हो। कुनै व्यक्ति परमेश्वरसामु सधैँ जिउन सक्छ कि सक्दैन भनी निर्धारण गर्ने कडी यिनै कुरा हुन्। यदि तँ प्रायः परमेश्वरको अनुभूति गर्न सक्दैनस् अनि बारम्बार कमजोर र नकारात्मक हुन्छस्, वा प्रायः दुराचारी बन्छस्, वा आफ्नो कर्तव्यमा कुनै बोझ बोक्दैनस्, र सधैँ अन्योलमा हुन्छस् भने यो राम्रो स्थिति हो कि नराम्रो स्थिति? के यो परमेश्वरसामु जिउने स्थिति हो कि परमेश्वरसामु पटक्कै नजिउने स्थिति? (यो परमेश्वरसामु नजिउने स्थिति हो।) त्यसैले, तिमीहरूले यसको मापन गर्नैपर्छ—के तिमीहरू प्रायः परमेश्वरसामु जिउँछौ वा जिउँदैनौ? यदि तँ परमेश्वरसामु विरलै जिउँछस्, र प्रार्थनासमेत गर्दैनस्, वा परमेश्वरका वचनहरू पढ्दैनस् भने यसले समस्या निम्त्याउँछ, यसको मतलब तँ गैरविश्वासी होस्। केही मानिसहरू उचित मामिलामा विरलै ध्यान दिन्छन्, तिनीहरू दुराचारी र अनियन्त्रित हुन्छन्, र जब तिनीहरूलाई केही आइपर्छ, तिनीहरू सधैँ अलमल्ल हुन्छन् र सत्यता खोज्ने तरिका जान्दैनन्। तिनीहरूलाई कर्तव्य निर्वाह गर्दा नतिजा प्राप्त भयो कि भएन भनेरसमेत पत्तो हुँदैन। तिनीहरूलाई आफ्ना दैनिक कुन कार्यहरूले परमेश्वरलाई चिढ्याउँछन्, कुन कार्यहरू परमेश्वरलाई स्वीकार्य लाग्छ, र कुन कार्यहरूलाई परमेश्वर घृणा गर्नुहुन्छ भन्ने तिनीहरूलाई थाहा हुँदैन। तिनीहरू दिनानुदिन झारा मात्र टार्छन्। तँलाई यस्तो स्थिति कस्तो लाग्छ? के यस्तो स्थितिमा जिउने मानिसहरूसँग परमेश्वरको डर मान्ने हृदय हुन्छ? तिनीहरूले गर्ने कुराका लागि कुनै सिद्धान्त हुन सक्छ? के तिनीहरू समझदार कुराहरू गर्न सक्छन्? के तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा, “म संयमित हुनैपर्छ, मैले आफ्नो कर्तव्य राम्रोसँग अनि आफ्नो पूरा हृदय र पूरा शक्तिले निर्वाह गर्नैपर्छ” भनेर भन्न सक्छन्? के तिनीहरूले बफादारिता हासिल गर्न सक्छन्? (सक्दैनन्।) त्यसोभए यस्ता मानिसहरू के गरिरहेका छन्? तिनीहरू मेहनत मात्र गरिरहेका छन्! के यस्ता मानिसहरूले सत्यता प्राप्त गरेका छन्? (छैनन्।) यो ठूलो क्षति हो। यी मूर्खहरूको जमातलाई सत्यता पछ्याउन कसरी थाहा हुन नसकेको? तिनीहरूले परमेश्वरमा विश्वास गरेका दस वा बीस वर्ष भइसको छ र निकै धेरै प्रवचन सुनिसकेका छन्, तैपनि तिनीहरूलाई परमेश्वरमा विश्वास गरेर के प्राप्त हुनुपर्छ, कसरी सत्यता पछ्याउनुपर्छ, कसरी सत्यता अभ्यास गर्नुपर्छ, वा कसरी आफ्ना कर्तव्य पूरा गर्नुपर्छ भन्ने कुरा थाहा छैन। यदि तिनीहरूलाई अझै यी महत्त्वपूर्ण कुराहरूबारे स्पष्ट छैन भने के तिनीहरू अलि मूर्ख होइनन् र? तिनीहरू मन्द बुद्धिको र उदासीन छन्। तिनीहरूमा सत्यताको कुनै प्रभाव पर्दैन, र यो भयानक कुरा हो। परमेश्वरलाई विश्वास गर्नेबारे सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? सत्यता प्राप्त गर्नु हो। कुनै व्यक्तिले सत्यता प्राप्त गरेपछि कस्ता समस्याहरू समाधान हुनेछन्? मुख्यतः तिनीहरूको पापको समस्या, तिनीहरूको भ्रष्ट स्वभावको समस्या, तिनीहरूको परमेश्वरप्रतिको विश्वासमा आउने सबै कठिनाइ, र तिनीहरूका गलत दृष्टिकोणहरू समाधान हुनेछन्। यी सबै समस्या समाधान गर्न सकिन्छ। जब कुनै व्यक्तिले सत्यता प्राप्त गर्छ, तब उसले त्यसको उपयोग कहाँ गर्नुपर्छ? यसको उपयोग आफ्नो कर्तव्य पूरा गर्नमा र परमेश्वरको गवाही दिनमा गर्नुपर्छ—सबैभन्दा महत्त्वपूर्ण कुराहरू यिनै हुन्। अहिले, तिमीहरूमा यसबारे साँचो ज्ञानको कमी होला, तिमीहरूले सत्यताको मूल्य वा महत्त्व बुझेका छैनौ होला, तर एक दिन बुझ्नेछौ।
के तिमीहरूले अय्युबको किताब पढेका छौ? पढ्दै गर्दा, के तिमीहरू उत्प्रेरित भयौ? के तिमीहरूले अय्युबजस्तै बन्न इच्छा जगाउने एक प्रकारको तृष्णा अनुभव गऱ्यौ? (गऱ्यौँ।) यस्तो स्थिति र मुड कति समयसम्म टिक्न सक्छ? एक-दुई दिन, वा एक-दुई महिना, वा एक-दुई वर्ष? (दुई-तीन दिन।) त्यसोभए के यस्तो स्थिति र मुड दुई-तीन दिनपछि हराउँछ? तैँले उत्प्रेरित हुँदा प्रार्थना गर्नैपर्छ, र परमेश्वरलाई तँ अय्युबजस्तै बन्न चाहन्छस्, सत्यता बुझ्न, परमेश्वरबारे ज्ञान प्राप्त गर्न अनि परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति बन्न चाहन्छस् भनेर बताउनैपर्छ। तैँले परमेश्वरलाई आफूमा यो हुन दिन, मार्गदर्शन माग्न, आफ्ना लागि सही वातावरण प्रदान गरिमाग्न, शक्ति र सुरक्षा माग्न बिन्ती गर्नैपर्छ ताकि तैँले सामना गर्ने हरेक परिस्थितिमा तँ दृढ रहन र परमेश्वरको विरोध नगर्न सकेस्, बरु परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने कार्यहरू गर्न र उहाँका अभिप्रायहरू पूरा गर्न सकेस्। तैँले यही लक्ष्यका निम्ति र आफूले पाउने आशा गरेका कुराहरूका निम्ति सधैँ परमेश्वरलाई प्रार्थना र अन्तरबिन्ती चढा र जब परमेश्वरले तेरो सच्चा हृदय देख्नुहुन्छ, तब उहाँले कार्य गर्नुहुनेछ। परमेश्वरले कार्य गर्नुहुँदा नडरा। परमेश्वरले अय्युबको परीक्षा लिनुहुँदा जस्तो तेरो शरीर खटिराले भरिदिने र तँसँग भएका सबै थोक खोसिदिने पक्कै गर्नुहुन्न। परमेश्वरले त्यसो गर्नुहुनेछैन; उहाँले तेरो कदअनुसार तँलाई बिस्तारै थप कुरा दिँदै जानुहुनेछ। तैँले गम्भीरतासाथ परमेश्वरलाई पुकार्नैपर्छ—अय्यूबको किताब पढेपछि दुई दिनसम्म र आफू त्यसबाट उत्प्रेरित हुइन्जेलसम्म मात्र परमेश्वरलाई पुकार्ने, अनि तेस्रो दिनदेखि पढ्न छोडेपछि त्यसबारे बिर्सने र त्यसलाई आफ्नो हृदयमा नराख्ने नगर्। यदि त्यसो गरिस् भने त्यसले तँमाथि समस्या निम्त्याउँछ! यदि तँ अय्युबजस्तो मानिसलाई सराहना गर्छस् र त्यस्तो व्यक्ति बन्न चाहन्छस् भने तँसँग त्यस्तो व्यक्ति बन्ने मार्ग हुनैपर्छ। तैँले परमेश्वरसामु आफ्नो हृदय पोखाएर यसका लागि बारम्बार प्रार्थना गर्नैपर्छ, अनि यसबारे चिन्तन गर्नैपर्छ, र त्यसपछि परमेश्वरले अय्युबबारे बोलेका वचनहरू खानु र पिउनुपर्छ, तिनलाई लगातार र बारम्बार मनन गर्नुपर्छ, र त्यसपछि यस्तो किसिमको अनुभव र ज्ञान भएका व्यक्तिहरूसँग सङ्गति गर्नैपर्छ। तैँले यस लक्ष्यतर्फ मेहनत गर्नैपर्छ। तैँले कसरी मेहनत गर्नुपर्छ? यदि तँ बसेर हेर्ने र पर्खने मात्र गर्छस् भने त्यो कडा मेहनत होइन। तैँले यो अभ्यास गर्ने, यसमा प्रयास लगाउने, साथै कष्ट सहने सङ्कल्प राख्ने र हृदयमा तृष्णा जगाउने र त्यसपछि यसका लागि परमेश्वरलाई कार्य गर्न अनुरोध गर्दै प्रार्थना चढाउने गर्नैपर्छ। यदि परमेश्वरले कार्य गर्नुभएन भने मानिसमा जतिसुकै जोस भए पनि यो केही कामको हुनेछैन। परमेश्वरले कसरी कार्य गर्नुहुनेछ? परमेश्वरले तेरो कदलाई सुहाउने गरी तेरा निम्ति वातावरणको योजना र बन्दोबस्त गर्न थाल्नुहुनेछ। तँ आफ्नो विश्वासमा के लक्ष्य हासिल गर्न चाहन्छस् र तँसँग कस्ता सङ्कल्पहरू छन् भनेर परमेश्वरलाई बताउनैपर्छ। के तैँले यसका लागि परमेश्वरलाई प्रार्थना र अन्तरबिन्ती गरेको छस्? तैँले परमेश्वरलाई प्रार्थना र अन्तरबिन्ती गरेको कति भयो? यदि तँ आकलझुकल मात्र प्रार्थना गर्ने गर्छस् र परमेश्वरले कार्य नगर्नुभएको देख्दा, सो “भइहाल्यो, यस्तै भइरहोस्। जे हुन्छ हुन्छ, म त जस्तो मादल बज्छ त्यही तालमा नाच्छु। मलाई जे आइपरे पनि मतलब गर्दिनँ” भनेर सोच्छस् भने, त्यो उचित होइन, र तँ इमानदार हुँदैनस्। यदि तँसँग केवल दुई मिनेटको उत्साह छ भने के परमेश्वरले तेरा लागि कार्य गर्न र तेरा लागि वातावरणको बन्दोबस्त मिलाउन सहयोग गर्न सक्नुहुन्छ? परमेश्वरले त्यसो गर्नुहुनेछैन! परमेश्वर तेरो इमानदारी हेर्न, तेरो इमानदारी र दृढता कतिन्जेल कायम रहन सक्छ, र तेरो हृदय साँचो छ कि झूटो छ भनी हेर्न चाहनुहुन्छ। परमेश्वरले प्रतीक्षा गर्नुहुनेछ। उहाँ तेरा प्रार्थना र अन्तरबिन्ती सुन्नुहुन्छ, उहाँ तैँले उहाँलाई बताउने सङ्कल्प र चाहनाहरू सुन्नुहुन्छ, तर जबसम्म उहाँले तेरो कष्ट सहने सङ्कल्प देख्नुहुन्न, तबसम्म कार्य गर्नुहुनेछैन। यदि तैँले परमेश्वरलाई प्रार्थना गरिसकेपछि केही नगरी बिलाइस् भने के परमेश्वरले यस्ता परिस्थितिमा कार्य गर्नुहुन्छ? पक्कै गर्नुहुन्न। तैँले परमेश्वरलाई अझ बढी प्रार्थना र अन्तरबिन्ती गर्नैपर्छ, त्यसमा प्रयास लगाउने र चिन्तन गर्ने, अनि त्यसपछि परमेश्वरले तेरा लागि तयार पारेको वातावरणको खुब स्वाद लिने गर्नैपर्छ; ती कुरा तँमाथि अलिअलि गर्दै आउनेछन्, र परमेश्वरले कार्य गर्न थाल्नुहुनेछ। यदि तेरो हृदय सच्चा छैन भने यसले काम गर्नेछैन। तैँले भन्लास्, “म अय्युबको निकै सराहना गर्छु र पत्रुसको निकै सराहना गर्छु!” तर तेरो सह्रनीको के काम? तँ उनीहरूको मन लागेसम्म सराहना गर्न सक्छस्, तर तँ उनीहरू होइनस्, र तेरो सह्रनीले परमेश्वरलाई उनीहरूमाथि जस्तो काम गर्न लगाउनेछैन, किनकि तँ उनीहरूजस्तो व्यक्ति होइनस्। तँमा उनीहरूको सङ्कल्प, वा मानवता, वा हृदय छैन जसद्वारा उनीहरूले सत्यताको तृष्णा गरे र त्यसलाई पछ्याए। तँसँग यी कुरा भइसकेपछि मात्र परमेश्वरले तँलाई थप कुरा प्रदान गर्नुहुनेछ।
के तिमीहरूसँग अहिले सत्यता पछ्याउने, सत्यता प्राप्त गर्ने, मुक्ति प्राप्त गर्ने र परमेश्वरद्वारा सिद्ध पारिने सङ्कल्प छ? (छ।) तिमीहरूको सङ्कल्प कति ठूलो छ? तिमीहरूले कतिन्जेल त्यसलाई कायम राख्न सक्छौ? (म राम्रो स्थितिमा हुँदा मसँग सङ्कल्प हुन्छ, तर जब म आफ्ना धारणाहरू र देहगत रूचिहरूसँग नमिल्ने कुराहरू सामना गर्दछु, वा जब म केही शोधनबाट गुज्रन्छु वा केही कठिनाइ भोग्छु, तब म नकारात्मक स्थितिमा फँस्छु, र मसँग सुरुमा भएको विश्वास र सङ्कल्प अलिअलि गर्दै हराउन थाल्छन्।) यो उचित हुनेछैन। तँ अत्यन्तै कमजोर छस्। तँ यस्ता ठाउँमा पुग्नैपर्छ जहाँ तैँले जस्तोसुकै परिस्थितिको सामना गरे पनि, तिनले तेरो सङ्कल्प परिवर्तन गर्न नसकून्। तब मात्रै तँ सत्यतालाई साँच्चै प्रेम गर्ने र त्यसलाई पछ्याउने व्यक्ति बन्नेछस्। तँलाई केही आइपर्दा र तैँले अलिकति कठिनाइ भोग्दा, यदि तँ पछि हट्छस्, नकारात्मक बन्छस् र उदास हुन्छस्, अनि आफ्नो सङ्कल्प त्याग्छस् भने, यो उचित हुनेछैन। तँमा आफ्नो ज्यानको जोखिम मोल्न तयार हुने व्यक्तिको शक्ति हुनैपर्छ र तैँले यसो भन्नैपर्छ, “जे आइपरे पनि—म मरे पनि, म सत्यता वा सत्यता पछ्याउने मेरो उद्देश्य कहिल्यै त्याग्नेछैनँ।” त्यसपछि कुनै कुराले तँलाई रोक्न सक्नेछैन। यदि तँलाई साँच्चै कठिनाइ आइपऱ्यो र तँ अप्ठ्यारा परिस्थितिमा परिस् भने, परमेश्वरले कार्य गर्नुहुनेछ। त्यसबाहेक, तैँले यो कुरा बुझ्नैपर्छ: “मैले जे सामना गरे पनि, ती मैले मेरो सत्यता पछ्याइमा सिक्नैपर्ने पाठ हुन्—ती परमेश्वरद्वारा बन्दोबस्त गरिएका हुन्। म कमजोर हुन सक्ला, तर म नकारात्मक छैनँ, र यी पाठहरू सिक्ने मौका दिनुभएकामा म परमेश्वरप्रति आभारी छु। मेरा लागि यो परिस्थिति बन्दोबस्त गरिदिनुभएकामा म परमेश्वरप्रति आभारी छु। म परमेश्वरलाई पछ्याउने र सत्यता प्राप्त गर्ने आफ्नो सङ्कल्पलाई त्याग्न सक्दिनँ। यदि मैले त्यो त्यागेको भए, शैतानलाई मान्नु, आफूलाई बरबाद गर्नु, र परमेश्वरलाई धोका दिनु समान हुन्थ्यो।” तँसँग हुनैपर्ने सङ्कल्प यस्तै हो। तैँले जुनसुकै ससाना मामिलाहरू सामना गरे पनि, ती सब तेरो जीवन विकासका ससाना भाग हुन्। तैँले ती मामिलालाई आफ्नो प्रगतिको दिशा रोक्न पटक्कै दिनु हुँदैन। तैँले कठिनाइ सामना गर्दा खोज्ने र पर्खने गर्न सक्छस्, तर तेरो प्रगतिको दिशा भने परिवर्तन हुनै हुँदैन, के त्यो सही होइन र? (हो।) अरूले जे भने पनि, वा तँलाई जस्तो व्यवहार गरे पनि, वा परमेश्वरले तँलाई जस्तो व्यवहार गर्नुभए पनि, तेरो सङ्कल्प परिवर्तन हुदै हुँदैन। यदि परमेश्वर “तँ कत्ति पनि सत्यता स्वीकार गर्दैनस्, म तँलाई घृणा गर्छु” भन्नुहुन्छ र तँचाहिँ “परमेश्वर मलाई घृणा गर्नुहुन्छ, त्यसैले मेरो जीवनको के अर्थ छ र? म मरे त कुरै सिद्धिहाल्यो!” भन्छस् भने, तैँले परमेश्वरलाई गलत बुझिरहेको हुनेछस्। यो साँचो हो, परमेश्वर तँलाई घृणा गर्नुहुन्छ, तर तैँले सङ्घर्ष गर्नुपर्छ, र तैँले सत्यता स्विकार्नुपर्छ, र आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। त्यसपछि तँ निकम्मा व्यक्ति हुनेछैनस् र परमेश्वरले तँलाई तिरस्कार गर्नुहुनेछैन। अहिले, तिमीहरूको कद अझै पनि निकै सानो छ र तिमीहरूले परमेश्वरले तिमीहरूलाई जाँच्न चाहिने मापदण्ड हासिल गरिसकेका छैनौ। तिमीहरूले गर्न सक्ने एकमात्र कुरा के हो? तिमीहरूले प्रार्थना गर्नैपर्छ: “हे परमेश्वर, कृपया मलाई मार्गदर्शन गर्नुहोस् र मलाई अन्तर्दृष्टि दिनुहोस् ताकि म तपाईंका अभिप्रायहरू बुझूँ, अनि सत्यता पछ्याउने मार्गमा हिँड्न विश्वास र दृढता पाऊँ, र म परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न सकूँ। म कमजोर र मेरो कद अपरिपक्व भए पनि, बिन्ती छ, मलाई शक्ति दिनुहोस् र मेरो सुरक्षा गर्नुहोस् ताकि म तपाईंलाई अन्त्यसम्म पछ्याउन सकूँ।” तैँले परमेश्वरलाई प्रायः प्रार्थना गर्नैपर्छ। अरू मानिसहरू सांसारिक कुराहरूको लालसा गर्लान्, आफ्नो देहमा लिप्त होलान्, र सांसारिक प्रवृत्ति अपनाउलान्, तर तैँले तिनीहरूको पटक्कै सङ्गत गर्नु हुँदैन—केवल आफ्नो कर्तव्य पूरा गर्न ध्यान दिनुपर्छ। अरूलाई नकारात्मक महसुस हुँदा र तिनीहरूले आफ्नो कर्तव्य पूरा नगर्दा, तैँले बन्धनमा परेको महसुस पटक्कै गर्नु हुँदैन, र तैँले तिनीहरूलाई सहयोग गर्न सत्यता खोजी गर्नुपर्छ। अरू ऐसआराममा लिप्त हुँदा, तैँले तिनीहरूको ईर्ष्या गर्नै हुँदैन, तैँले परमेश्वरसामु जिउनेबारे मात्र चिन्ता गर्नैपर्छ। अरूले ख्याति, प्राप्ति, र हैसियत पछ्याउँदा तैँले तिनीहरूका लागि प्रार्थना गर्नुपर्छ र तिनीहरूलाई सहयोग गर्नुपर्छ, परमेश्वरसामु आफ्नो हृदय शान्त बनाउनुपर्छ र यी कुराहरूलाई आफूमाथि प्रभाव पार्न दिनु हुँदैन। तेरो वरपर जे घटना घटे पनि, तैँले सबै कुराबारे परमेश्वरलाई प्रार्थना गर्नुपर्छ। तैँले सधैँ सत्यता खोजी गर्नुपर्छ, आफूलाई संयमित राख्नुपर्छ, आफू परमेश्वरसामु जिइरहेको छु, र परमेश्वरसँग आफ्नो सामान्य सम्बन्ध छ भनेर सुनिश्चित गर्नुपर्छ। परमेश्वर हरसमय मानिसहरूलाई छानबीन गर्नुहुन्छ, र पवित्र आत्माले यस्ता मानिसहरूभित्र काम गर्नुहुन्छ। परमेश्वरले कसरी कुनै व्यक्तिको हृदय छानबीन गर्नुहुन्छ? उहाँ आफ्नो आँखाले मात्र हेर्नुहुन्न, उहाँ तेरा लागि वातावरण बनाउनुहुन्छ र तेरो हृदय आफ्नो हातले छुनुहुन्छ। म किन यो भन्छु? किनकी जब परमेश्वर तेरा लागि वातावरण बनाउनुहुन्छ, तब उहाँ तँ त्यसप्रति अप्रसन्न छस् र त्यसलाई घिनाउँछस् वा त्यसलाई मन पराउँछ्स र त्यसप्रति समर्पित हुन्छस्, तँ निष्क्रिय भएर पर्खिन्छस् कि सक्रिय रूपमा सत्यता खोजी गर्छस् भनेर हेर्नुहुन्छ। परमेश्वरले तेरो हृदय र विचार कसरी परिवर्तन हुन्छन्, र ती कुन दिशामा विकास हुन्छन् त्यो हेर्नुहुन्छ। तेरो हृदयभित्रको स्थिति कहिलेकाहीँ सकारात्मक र कहिलेकाहीँ नकारात्मक हुन्छ। यदि तैँले सत्यता स्वीकार गर्न सक्छस् भने, परमेश्वरले तेरा लागि मिलाउने मानिस, घटना अनि कामकुरा र विभिन्न वातावरणलाई उहाँबाट स्विकार्न सक्नेछस् र तिनलाई सही तरिकामा सम्हाल्न सक्नेछस्। परमेश्वरका वचनहरू पढेर, र मनन गरेर, तेरा सबै सोच र विचार, तेरा सबै राय, अनि तेरा सबै मुड परमेश्वरको वचनका आधारमा परिवर्तन हुनेछन्। तँ यसबारे स्पष्ट हुनेछन्, र परमेश्वरले पनि यी सबैको छानबीन गर्नुहुनेछ। तैँले यसबारे कसैलाई नबताएको हुने भए पनि, वा यसबारे प्रार्थना नगरेको हुने भए पनि अनि तैँले यो आफ्ना हृदयमा र आफ्ना संसारमा मात्र सोच्ने भए पनि, परमेश्वरको दृष्टिकोणबाट यो एकदमै स्पष्ट भएको हुनेछ—उहाँलाई यो स्पष्ट हुनेछ। मानिसहरूले तँलाई आफ्ना आँखाले हेर्छन्, तर परमेश्वरले आफ्नो हृदयले तेरो हृदयलाई छुनुहुन्छ, परमेश्वर तँसँग त्यति धेरै नजिक हुनुहुन्छ। यदि तँ परमेश्वरको छानबीन महसुस गर्न सक्छस् भने, तँ परमेश्वरसामु जिइरहेको छस्। यदि तँलाई उहाँको छानबीन पटक्कै महसुस गर्न सक्दैनस् भने, तँ आफ्नै संसारमा जिइरहेको छस्, र तँ आफ्ना भावना र भ्रष्ट स्वभावअनुसार जिइरहेको छस्, अनि तँ समस्यामा छस्। यदि तँ परमेश्वरसामु जिउँदैनस्, तँ र परमेश्वरबीच लामो दूरी छ, अनि तँ उहाँबाट टाढा छस्, परमेश्वरका अभिप्रायहरूलाई पटक्कै विचार गर्दैनस्, र परमेश्वरको जाँचलाई स्वीकार गर्दैनस् भने, परमेश्वरलाई यो सब थाहा हुनेछ। उहाँलाई यो बुझ्न एकदमै सजिलो हुनेछ। तसर्थ, जब तँमा सङ्कल्प र उद्देश्य हुन्छ, र तँ परमेश्वरद्वारा सिद्ध पारिन, उहाँको इच्छा पालन गर्ने, उहाँको डर मान्न र दुष्टताबाट अलग बस्ने व्यक्ति बन्न इच्छुक हुन्छस्, जब तँमा यो सङ्कल्प हुन्छ अनि यी कुराका लागि अक्सर प्रार्थना र अन्तरबिन्ती गर्न सक्छस् र परमेश्वरसामु जिउँछस्, उहाबाट कहिल्यै टाढिँदैनस वा उहाँलाई छोडेर जाँदैनस्, तब तँलाई यी कुराहरूबारे स्पष्ट हुन्छ र परमेश्वरलाई पनि ती थाहा हुन्छ। कतिपय मानिस भन्छन्, “यसबारे म स्पष्ट छु, तर के परमेश्वरलाई यसबारे थाहा छ?” यो प्रश्न अमान्य छ। यदि तँ यसो भन्छस् भने, तैँले परमेश्वरसँग कहिल्यै सङ्गति गरेको छैनस्, अनि तँ र परमेश्वरबीच कुनै सम्बन्ध छँदै छैन भन्ने प्रमाणित हुन्छ। म किन तँ र परमेश्वरबीच कुनै सम्बन्ध छैन भनेर भन्छु? तँ परमेश्वरसामु जिएको छैनस्, त्यसकारण, परमेश्वर तँसँग हुनुहुन्छ कि हुनुहुन्न, उहाँले तँलाई मार्गदर्शन गरिरहनुभएको छ कि छैन, उहाँले तेरो रक्षा गरिरहनुभएको छ कि छैन, तैँले कुनै गलत काम गर्दा उहाँले तँलाई हप्काउनुभएको छ कि छैन भनेर तैँले महसुस गर्न सक्दैनस्। यदि तँलाई यी कुरा महसुस हुँदैन भने, तँ परमेश्वरसामु जिउँदैनस्, तैँले यो कल्पना मात्र गरिरहेको छस् र र आफूमा लिप्त भइरहेको छस्—परमेश्वरसामु नभई, आफ्नै संसारमा जिइरहेको छस्, अनि तेरो र परमेश्वरबीच कुनै सम्बन्ध छँदै छैन।
मानिसहरूले कसरी परमेश्वरसँग सामान्य सम्बन्ध कायम राख्न सक्छन्? यसलाई कायम राख्ने कुरा केमा निर्भर हुन्छ? यो तिनीहरूले आफ्ना हृदयमा परमेश्वरसँग गर्ने अन्तरबिन्ती, प्रार्थना र अन्तरक्रियामा निर्भर हुन्छ। यस्तो सम्बन्धले मानिसहरूलाई सधैँ परमेश्वरसामु जिउने अवसर दिन्छ। तसर्थ, परमेश्वरसँग सामान्य सम्बन्ध स्थापित गर्न पहिले मानिसहरू शान्त हुनैपर्छ। केही मानिसहरू सधैँ बाहिर काम गरिरहेका हुन्छन्, र आफूलाई बाहिरी मामिलाहरूमा मात्र व्यस्त राखिरहन्छन्। यदि एक-दुई दिनसम्म तिनीहरूको कुनै आत्मिक जीवन भएन भने तिनीहरूले यो चाल पाउनेछैनन्। तीन-चार दिन, वा एकदुई महिनापछि समेत तिनीहरूले चाल पाउनेछैनन्। किनकी तिनीहरूले परमेश्वरसँग प्रार्थना, वा अन्तरबिन्ती वा सङ्गति गरेका हुँदैनन्। अन्तरबिन्ती गर्नु भनेको तँलाई केही आइपर्दा, परमेश्वरले तँलाई सहयोग गरेको, मार्गदर्शन दिएको, भरणपोषण गरेको, तँलाई अन्तर्दृष्टि दिएको, तँलाई उहाँका अभिप्रायहरू बझ्न, सत्यता जान्न, सत्यता सिद्धान्तहरू बुझ्न र सत्यता अभ्यासको तरिका जान्न लगाएको तैँले चाहनु हो—यो परमेश्वरका अभिप्रायहरूअनुरूपको अन्तरबिन्ती हो। प्रार्थनाले तुलनात्मक रूपमा ठूलो क्षेत्र ओगट्छ। कहिलेकाहीँ तँ आफ्ना हृदयमा भएका कुराबारे कुरा गर्लास्—जब तँ कठिनाइहरू सामना गर्छस् वा जब तँ नकारात्मक र कमजोर महसुस गरिरहेको हुन्छस्, तब तैँले परमेश्वरसँग हृदयबाट यी कुराबारे कुरा गर्न सक्छस्; आफू विद्रोही भइरहेको बेला परमेश्वरलाई प्रार्थना पनि गर्न सक्छस्, वा तँलाई दिनदिनै आइपर्ने आफूले बुझ्न सक्ने र नसक्ने दुवै कुराहरूबारे परमेश्वरसँग कुरा गर्न सक्छस्—प्रार्थना भनेको यही हो। प्रार्थना भनेको परमेश्वरसँग आफ्नो हृदयका कुराहरूबारे कुरा गर्नु वा परमेश्वरबाट सत्यता खोजी गर्नु हो। कहिलेकाहीँ प्रार्थना तोकिएको समयमा गरिन्छ, कहिलेकाहीँचाहिँ यसको कुनै समय तोकिएको हुँदैन; तँ जुनै बेला र जहीँ पनि प्रार्थना गर्न सक्छस्। आत्मामा गरिएको सङ्गतिको कुनै विशेष रूप हुँदैन: तँलाई दिक्क लाग्ने केही कुरा हुन सक्ला वा नहुन सक्ला; तँसँग भन्नुपर्ने केही कुरा हुन सक्ला, वा नहुन सक्ला। जब केही कुरा तँलाई दिक्क लाग्छ, तब तैँले परमेश्वरसँग त्यसबारे कुरा र प्रार्थना गर्नुपर्छ। सामान्यतः तैँले सबै समय र स्थानमा परमेश्वरसँग कुराकानी, प्रार्थना र उहाँबाट खोजी गरेर कसरी परमेश्वर मानिसलाई प्रेम गर्नुहुन्छ, कसरी उहाँ मानिसबारे चिन्ता गर्नुहुन्छ, किन उहाँ मानिसलाई काटछाँट गर्नुहुन्छ, परमेश्वरमा समर्पित हुनु भनेको साँच्चै के हो इत्यादि प्रश्नहरूमाथि मनन गर्नुपर्छ। यस आत्मामा सङ्गति गर्नु वा छोटकरीमा “आत्मामा सङ्गति” हो। कहिलेकाहीँ तँ बाटोमा हुँदा तँलाई निकै दुःखी बनाउने कुराबारे सोच्छस् होला; तैँले घुँडा टेक्नु वा आँखा बन्द गर्नु पर्दैन। तैँले आफ्ना हृदयमा नै परमेश्वरसँग यसरी कुरा गर्न सक्छस्, “हे परमेश्वर, मलाई यो कुरा आइपरेको छ र यसलाई सम्हाल्ने सही तरिका मलाई थाहा छैन, त्यसैले मलाई मार्गदर्शन गर्नुहोस्।” जब तैँले आफ्ना हृदयमा हलचल महसुस गर्छस् र यसबारे परमेश्वरलाई केही मनका शब्दहरू पोख्छस्, तब उहाँले त्यो थाहा पाउनुहुनेछ। कहिलेकाहीँ तँलाई घरको याद आउला र यसो भन्छस् होला, “हे परमेश्वर, मलाई साह्रै घरको याद आउँछ।” तँ आफूलाई ठ्याक्कै कसको याद आइरहेको छ भन्दैनस्, यति हो, तँ उदास छस् र परमेश्वरलाई त्यसबारे बताउँदै छस्। यदि तैँले परमेश्वरलाई प्रार्थना गरिस् र आफ्नो हृदयको कुरा बताइस् भनेमात्र आफ्ना समस्याहरू समाधान गर्न सक्छस्। के तैँले तेरा समस्याहरू अर्को व्यक्तिसँग कुरा गरेर समाधान गर्न सक्छस्? तैँले सत्यता बुझ्ने व्यक्तिलाई भेटिस् भने त्यति नराम्रो हुनेछैन—तैँले आफ्ना समस्याहरू समाधान गर्न सक्नेमात्र होइन, त्यसबाट लाभ पनि उठाउनेछस्। तर यदि तैँले सत्यता नबुझ्ने व्यक्तिलाई भेटिस् भने, आफ्ना समस्या समाधान गर्न सक्नैछैनस्, र त्यसले उसलाई पनि प्रभाव पार्न सक्छ। यदि तँ परमेश्वरसँग बोलिस् भने, परमेश्वरले तँलाई सान्त्वना दिनुहुनेछ र तँलाई प्रेरित गर्नुहुनेछ। यदि तँ आफूलाई परमेश्वरसामु शान्त पार्न र उहाँका वचनहरू पढ्न, त्यसपछि मनन र प्रार्थना गर्न सक्छस् भने, सत्यता बुझ्न र समस्या समाधान गर्न सक्नेछस्। परमेश्वरका वचनहरूले तँलाई कठिनाइ पार गर्ने मार्ग भेट्टाउन मदत गर्न सक्छन्, अनि जब तँ यो सानो बाधा गर्छस्, तब तैँले ठेस खानेछैनस्, र त्यसले तँलाई नियन्त्रण गर्नेछैन, न त तेरो कर्तव्य निर्वाहलाई नै असर गर्नेछ। तँलाई अचानक आत्मामा दुःख र उदास लाग्ने समय हुनेछ। यस्तो हुँदा, तैँले तुरुन्तै परमेश्वरलाई प्रार्थना गरिहाल्नुपर्छ, र उहाँको नजिक जानुपर्छ, जसको अर्थ आफ्नो हृदयको कुराबारे उहाँलाई बताउनु र हर समय र तँ जहाँ भए पनि उहाँलाई मनको कुरा खोल्नु हो। यसरी तेरो स्थिति उल्टाउन सकिन्छ। तँमा यो विश्वास हुनैपर्छ: “परमेश्वर हरेक पल मेरो छेउमै हुनुहुन्छ, उहाँले मलाई कहिल्यै छोड्नुभएको छैन, म यो महसुस गर्न सक्छु। म जहाँ भए पनि वा मैले जे गरिरहेको भए पनि—म भेलामा भए पनि वा मैले कर्तव्य गरिरहेको भए पनि—परमेश्वरले मलाई हात समातेर डोऱ्याइरहनुभएको छ र उहाँले मलाई कहिल्यै छाड्नुभएको छैन भनेर मलाई हृदयमा थाहा छ।” कहिलेकाहीँ, तैँले वर्षौँदेखि यस्तो प्रत्येक दिन कसरी बिताइस् भनी सम्झँदा, तँलाई आफ्नो कद बढेको छ, तँलाई परमेश्वरले डोऱ्याउँदै आउनुभएको छ, परमेश्वरको प्रेमले तँलाई अहिलेसम्म सुरक्षा गर्दै आइरहेको छ भन्ने महसुस हुनेछ। यी कुराहरू सोच्दा, तैँले हृदयबाट परमेश्वरलाई प्रार्थना गर्दै धन्यवाद चढाउनेछस्: “हे परमेश्वर, तपाईंलाई धन्यवाद छ! म अति कमजोर, डरपोक र अति गम्भीर रूपले भ्रष्ट छु। यदि तपाईंले मलाई यसरी नडोऱ्याउनुभएको भए, म आफै त कुनै हालतमा आज जहाँ छु त्यहाँ हुन सक्ने थिइनँ।” के यो आत्मिक सङ्गति होइन र? यदि मानिसहरूले परमेश्वरसँग प्रायः यसरी सङ्गति गर्न सके भने, के तिनीहरूसित परमेश्वरलाई भन्ने धेरै कुरा हुनेछैनन् र? तिनीहरू धेरै दिनसम्म परमेश्वरलाई एउटा कुरा पनि भन्ने आफूसँग नभईकन रहनेछैनन्। जब तँसँग परमेश्वरलाई भन्नुपर्ने केही छैन, परमेश्वर तेरो हृदयमा हुनुहुन्न। यदि परमेश्वर तेरा हृदयमा हुनुहुन्छ, र तँ परमेश्वरमा विश्वास राख्छस् भने, तैँले आफ्नो विश्वासपात्रलाई मात्र भन्न सक्ने कुरालगायत आफ्नो हृदयका सबै कुरा उहाँलाई भन्न सक्नेछस्। वास्तवमा, परमेश्वर तेरो सबैभन्दा नजिकको विश्वासपात्र हुनुहुन्छ। यदि तँ परमेश्वरलाई आफ्नो सबैभन्दा नजिकको विश्वासपात्र, तँ सबैभन्दा बढी भर पर्ने, तँलाई सबैभन्दा भरपर्दो लाग्ने, सबैभन्दा भरोसायोग्य र तेरो सबैभन्दा घनिष्ठ परिवार मान्छस् भने, तँसँग परमेश्वरलाई भन्ने केही नहुनु असम्भव हुन्छ। यदि तँसँग सधैँ परमेश्वरलाई भन्ने केही कुरा हुन्छ भने के तँ सधैँ उहाँसामु जिइरहेको हुनेछैनस् र? यदि तँ सधैँ परमेश्वरसामु जिउँछस् भने, हरेक क्षण तँलाई परमेश्वर कसरी तँलाई अन्तर्दृष्टि दिनुहुन्छ र मार्गदर्शन गर्नुहुन्छ, तेरो कसरी ख्याल र सुरक्षा गर्नुहुन्छ, अनि कसरी तँलाई शान्ति र आनन्द दिनुहुन्छ, कसरी आशिष् दिनुहुन्छ, कसरी तँलाई हप्काउनुहुन्छ, अनुशासनमा राख्नुहुन्छ, ताडना दिनुहुन्छ अनि न्याय र सजाय दिनुहुन्छ भनेर महसुस हुनेछ। यो सब तँलाई स्पष्ट र प्रत्यक्ष हुनेछ। यदि तँ हरेक दिन झारामात्र टार्छस्, हृदयमा परमेश्वरलाई नबसाई बोलीमा मात्र उहाँमा विश्वास गर्छस्, र यदि बाहिरी तहमा मात्र आफ्नो कर्तव्य निर्वाह गर्ने र भेलाहरूमा सहभागी हुने गर्छस्, अनि केवल झारा टार्न हरेक दिन परमेश्वरका वचनहरू पढ्ने र प्रार्थना गर्ने गर्छस् भने यो परमेश्वरप्रतिको विश्वास होइन—तैँले पालन गर्ने यस्ता कुनै पनि धार्मिक विधिको सत्यतासँग कुनै सम्बन्ध छैन। परमेश्वरमा विश्वास गर्नेहरूले दैनिक उहाँका वचनहरूको एक खण्ड ध्यानसित पढ्नुपर्छ अनि ती वचनहरूभित्र प्रार्थना र सङ्गति गर्नुपर्छ। तिनीहरूले हरेक दिन परमेश्वरका वचनहरूबाट थोरै ज्योति प्राप्त गर्नुपर्छ, र थोरै सत्यता बुझ्नुपर्छ। खासमा तिनीहरू सत्यता खोजी गर्न र आफ्नो कर्तव्य निर्वाह गर्दा सिद्धान्तहरूअनुसार मामिला सम्हाल्न सक्षम हुनुपर्छ, र हरेक दिन जीवन अनुभव पाउन र परमेश्वरको कामको अनुभव गर्न सक्षम हुनुपर्छ। साँचो विश्वासी र परमेश्वरलाई पछ्याउने व्यक्ति त्यही हो।
परमेश्वरप्रतिको तेरा विश्वासमा सबैभन्दा महत्त्वपूर्ण र सुल्झाउनैपर्ने मुद्दा कुन हो? त्यो परमेश्वरसँगको तेरो सामान्य सम्बन्धको मुद्दा हो। यदि तँ परमेश्वरमा विश्वास गर्छस् तर उहाँ तेरो हृदयमा हुनुहुन्न र तैँले उहाँसँग आफ्नो सम्बन्ध टुटाइसकेको छस् भने, अनि परमेश्वरलाई आफ्नो सबैभन्दा घनिष्ठ, भरपर्दो, सबैभन्दा निकट परिवारको सदस्य र विश्वासपात्रझैँ मान्दैनस् भने परमेश्वर तेरो परमेश्वर हुनुहुन्न। केही समयसम्म मेरा वचनहरूअनुसार अभ्यास गर अनि तिमीहरूको भित्री स्थिति परिवर्तन भएको छ कि छैन सो हेर। तैँले मेरा वचनहरूअनुसार अभ्यास गरेर आफू परमेश्वरसामु जिउँछस्, तँमा सामान्य परिस्थिति र अवस्था छ भनेर सुनिश्चित गर्न सक्छस्। जब कुनै व्यक्तिको स्थिति सामान्य हुन्छ, र ऊ कुनै मानिसहरू, घटना, र कामकुरा वा तिनीहरूको जीवन अनुभवका सबै चरणमा आइपर्ने विभिन्न वातावरणहरूद्वारा प्रभावित हुँदैन, र ऊ सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाहमा लागिपर्न सक्छ, तब उसमा साँचो कद हुन्छ र ऊ सत्यता वास्तविकतामा प्रवेश गरेको व्यक्ति हुन्छ।
जुलाई १३, २०१७