धर्ममा विश्वास गरेर वा धार्मिक समारोहमा सहभागी भएर मुक्ति पाउन सकिँदैन

तिमीहरूमध्ये अधिकांश धर्मबाट उम्केका छौ र परमेश्वरका आखिरी दिनहरूको काम स्विकारेका छौ। तिमीहरू दिनहुँ परमेश्वरका वचनहरू खान्छौ र पिउँछौ, थुमाको विवाह भोजमा सहभागी हुन्छौ, र तिमीहरूले साँचो तरिकाले जग बसालेका छौ। तिमीहरू परमेश्वरका लागि सच्चा रूपले समर्पित हुन्छौ र तिमीहरूले उहाँको अनुमोदन प्राप्त गरेका छौ। अहिले, तिमीहरूमा परमेश्वरप्रति विश्वासको अवधारणासम्बन्धी कस्ता ज्ञान र मूल्याङ्कन छन्? ती कुरा कसरी तिमीहरू धर्ममा छँदा परमेश्वरप्रति आस्थाको बुझाइभन्दा फरक छन्? अहिले, के तिमीहरूले धर्ममा आस्था राख्नु र परमेश्‍वरमा आस्था राख्नु भनेको के हो भनेर साँच्‍चै बुझेका छौ? धर्ममा आस्था राख्नु र परमेश्‍वरमा विश्‍वास गर्नुबीच कुनै भिन्‍नता छ? केमा भिन्‍नता छ? के तिमीहरू यी प्रश्‍नहरूको गहिराइमा पुगेका छौ? सामान्यतया कस्तो प्रकारको व्यक्ति धर्मको विश्वासी हो? तिनीहरूको ध्यान केमा हुन्छ? धर्ममा विश्‍वास गर्नुलाई कसरी परिभाषित गरिनुपर्छ? धर्ममा विश्‍वास गर्नु भनेको परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गर्नु हो, र धर्मका विश्वासीहरूले आफ्‍नो व्यवहारमा निश्‍चित परिवर्तन ल्याउँछन्: तिनीहरूले मानिसहरूलाई हिर्काउने वा गाली गर्ने गर्दैनन्, तिनीहरूले मानिसहरूलाई हानि गर्ने खराब काम गर्दैनन्, र तिनीहरूले विभिन्‍न अपराध गर्ने वा कानुन तोड्ने गर्दैनन्। सेवाको दिनमा, तिनीहरू मण्डलीमा जान्छन्। यिनीहरू धर्मका विश्‍वासीहरू हुन्। यसको मतलब राम्रो व्यवहार गर्नु र नियमित सेवा-सङ्गतिमा जानु नै कुनै व्यक्तिले धर्ममा विश्‍वास गर्छ भन्‍ने कुराको प्रमाण हो। जब कसैले धर्ममा विश्‍वास गर्छ, तब उसले परमेश्‍वर हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छ, र तिनीहरूले सोच्छन् कि परमेश्‍वरमा विश्‍वास गर्नु भनेको असल व्यक्ति बन्‍नु हो; पाप वा खराब काम गरेनन् भने, तिनीहरू मृत्युपछि स्वर्ग जान सक्नेछन् र तिनीहरूको अन्त्य राम्रो हुनेछ। तिनीहरूको आस्थाले तिनीहरूलाई आत्मिक स्तरको भरणपोषण प्रदान गर्छ। त्यसकारण, धर्ममा गरिने विश्‍वासलाई यसरी पनि परिभाषित गर्न सकिन्छ: धर्ममा विश्‍वास गर्नु भनेको परमेश्‍वर हुनुहुन्छ भनेर हृदयले स्वीकार गर्नु; मरेपछि स्वर्ग जान सकिनेछ भन्‍ने कुरामा विश्वास गर्नु; हृदयमा आत्मिक आड पाउनु; व्यवहारमा अलि परिवर्तन हुनु; अनि असल व्यक्ति बन्‍नु हो। कुरा त्यति नै हो। तिनीहरूले विश्‍वास गरेका परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्‍न, उहाँले सत्यता व्यक्त गर्न सक्नुहुन्छ कि सक्नुहुन्न, उहाँले तिनीहरूलाई के गर्न लगाउनुहुन्छ भन्‍ने विषयमा, तिनीहरूलाई केही पनि थाहा हुँदैन। तिनीहरूले यी सबै कुरा बाइबलका शिक्षाको आधारमा अनुमान र कल्‍पना गरेका हुन्छन्। धर्ममा विश्‍वास गर्नु भनेको यही हो। धर्ममा विश्‍वास गर्नु भनेको मुख्य रूपमा व्यवहारगत परिवर्तन र आत्मिक भरणपोषणको खोजी गर्नु हो। तर यस्ता मानिसहरूले हिँड्ने मार्ग—आशिष्‌हरूको पछि लाग्‍ने मार्ग—परिवर्तन भएको हुँदैन। परमेश्‍वरप्रतिको आस्थासम्‍बन्धी तिनीहरूको गलत दृष्टिकोण, धारणा र कल्‍पनाहरू परिवर्तन भएको हुँदैन। तिनीहरूको अस्तित्वको जग, र तिनीहरूले आफ्ना जीवनमा पछ्याउने लक्ष्य र दिशा परम्‍परागत संस्कृतिका विचार र दृष्टिकोणहरूमा आधारित हुन्छन्, र ती अलिकति पनि परिवर्तन भएका हुँदैनन्। धर्ममा विश्‍वास गर्ने हरेकको स्थिति यस्तै हुन्छ। त्यसो भए, परमेश्‍वरमा विश्‍वास गर्नुचाहिँ के हो त? परमेश्‍वरमाथिको विश्‍वासबारे परमेश्‍वरको परिभाषा कस्तो छ? (परमेश्‍वरको सार्वभौमिकतामा विश्वास गर्नु।) परमेश्‍वरको अस्तित्व र उहाँको सार्वभौमिकतामा विश्वास गर्नु—सबैभन्दा आधारभूत कुरा यही हो। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरका वचनहरूमा चासो राख्नु, र परमेश्‍वरका वचनहरूले भनेबमोजिम अस्तित्वमा रहनु, जिउनु, आफ्‍नो कर्तव्य निभाउनु, र सामान्य मानवताका सबै क्रियाकलापहरूमा सहभागी हुनु हो। यसको आशय के हो भने, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरलाई पछ्याउनु, परमेश्‍वरले भन्‍नुभएको काम गर्नु, र उहाँले भनेअनुसार जिउनु हो; परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरको मार्ग पछ्याउनु हो। के परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूको जीवनको लक्ष्य र दिशा धर्ममा विश्‍वास गर्ने मानिसहरूको भन्दा पूर्ण रूपमा फरक हुँदैनन् र? परमेश्‍वरमा आस्था राख्ने कार्यमा कुन-कुन कुराहरू सामेल हुन्छन्? त्यसमा मानिसहरू परमेश्वरका वचनहरू सुन्न, सत्यता स्विकार्न, भ्रष्ट स्वभावहरूबाट मुक्त हुन, सबथोक त्यागेर परमेश्वरलाई पछ्याउन, अनि आफ्नो कर्तव्यमा वफादार हुन सक्छन् कि सक्दैनन् भन्ने कुराहरू सामेल छन्। यी कुराहरूको तिनीहरूले मुक्ति प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरासित प्रत्यक्ष परस्पर सम्बन्ध हुन्छ। अब तिमीहरूलाई परमेश्वरमा आस्था राख्नुको परिभाषा थाहा छ; त्यसोभए, परमेश्वरप्रतिको आस्थालाई कसरी अभ्यास गर्नुपर्छ? परमेश्वर आफ्ना विश्वासीहरूप्रति कस्तो माग गर्नुहुन्छ? (तिनीहरू इमानदार बनेको, र सत्यता, स्वभाव परिवर्तन र परमेश्वरसम्बन्धी ज्ञानको पछि लागेको माग गर्नुहुन्छ।) मानिसको बाहिरी व्यवहारका लागि परमेश्वरका कस्ता मागहरू छन्? (उहाँ मानिसहरू भक्त बनेको, दुराचारी नबनेको, अनि सामान्य मानवतामा जिएको माग गर्नुहुन्छ।) मानिसहरूमा सन्तको आधारभूत शालीनता हुनुपर्छ र तिनीहरू सामान्य मानवतामा जिउनुपर्छ। त्यसोभए, सामान्य मानवता पाउन व्यक्तिमा के हुनैपर्छ? यो कुरा व्यक्तिले विश्वासीका रूपमा अभ्यास गर्नैपर्ने धेरै सत्यताहरूसँग सम्बन्धित छ। सत्यताका यी सबै वास्तविकताहरू भएमा मात्र व्यक्तिले सामान्य मानवता प्राप्त गर्छ। यदि कुनै व्यक्तिले सत्यता अभ्यास गर्दैन भने के उसले परमेश्वरमा विश्वास गर्छ? सत्यता अभ्यास नगर्नुका परिणामहरू के-के हुन्? मानिसले मुक्ति प्राप्त गर्न परमेश्वरमा ठ्याक्कै कसरी विश्वास गर्नुपर्छ, अनि कसरी परमेश्वरप्रति समर्पित हुनुपर्छ र उहाँलाई आराधना गर्नुपर्छ? यी सबै कुरा परमेश्वरका वचन र थुप्रै सत्यताहरू अभ्यास गर्नुसित सम्बन्धित छन्। त्यसकारण, व्यक्तिले परमेश्‍वरका वचनहरू र उहाँका मापदण्डहरूअनुसार नै परमेश्वरमा विश्वास गर्नुपर्छ, अनि, मानिसहरूले उहाँका मापदण्डहरूअनुसार अभ्यास गर्नुपर्छ; यो मात्रै परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नु हो—यो उक्त मामिलाको गुदीसम्मै पुग्छ। सत्यता अभ्यास गर्नु, परमेश्‍वरका वचनहरू पालना गर्नु, र परमेश्‍वरका वचनहरूअनुसार जिउनु: मानव जीवनको सही मार्ग यही हो; परमेश्‍वरमाथिको विश्‍वास मानव जीवनको मार्गसँग सम्‍बन्धित छ। परमेश्‍वरमाथिको विश्‍वास कैयौँ सत्यताहरूसँग सम्‍बन्धित छ, र परमेश्‍वरलाई पछ्याउनेहरूले यी सत्यताहरू बुझ्‍नैपर्छ। तिनीहरूले सत्यता बुझेनन् र स्विकारेनन् भने परमेश्‍वरलाई कसरी पछ्याउन सक्थे र? धर्ममा विश्‍वास गर्ने मानिसहरूले परमेश्‍वर हुनुहुन्छ भनेर स्विकार्ने, र परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नेभन्दा बढी केही गर्दैनन्—तर तिनीहरूले यी सत्यताहरू बुझ्दैनन्, न त स्वीकार नै गर्छन्, त्यसकारण धर्ममा विश्‍वास गर्नेहरू परमेश्‍वरलाई पछ्याउने मानिसहरू होइनन्। धर्ममा विश्‍वास गर्नका लागि, बाहिरी रूपमा असल व्यवहार गर्दा, संयमित हुँदा र नियमहरू पालन गर्दा अनि आत्मिक भरणपोषण हुँदा भइहाल्छ। यदि व्यक्तिले असल व्यवहार गर्छ र ऊसित एक मानसिक आड र आफ्नो आत्माको भरणपोषण छ भने के उनीहरूको जीवनको मार्ग परिवर्तन हुन्छ? (हुँदैन।) कतिपय मानिसहरू भन्छन् कि धर्ममा विश्‍वास गर्नु र परमेश्‍वरमा आस्था राख्नु एउटै कुरा हो। त्यसो भए के ती मानिसहरू परमेश्‍वरलाई पछ्याउँछन्? के तिनीहरू परमेश्वरलाई उहाँका मापदण्डहरूअनुसार विश्वास गर्छन्? के तिनीहरूले सत्यता स्वीकार गरेका छन्? यदि कुनै व्यक्तिले यीमध्ये कुनै पनि कुरा गर्दैन भने, ऊ परमेश्वरको विश्वासी वा अनुयायी होइन। व्यक्तिमा धर्मप्रतिको विश्वास प्रकट हुने सबैभन्दा प्रस्ट तरिका परमेश्वरको वर्तमान काम र उहाँले व्यक्त गर्ने सत्यता स्वीकार नगर्नु हो। धर्मका विश्वासीहरूको विशेषता यही हो; तिनीहरू परमेश्वरका अनुयायी बिलकुलै होइनन्। धर्मप्रतिको विश्वास व्यवहार परिवर्तन र आत्मिक भरणपोषणको खोजी मात्र हो; त्यसमा कुनै सत्यता हुँदैन। त्यसकारण, धर्मका विश्वासीहरू आफ्नो जीवन स्वभावमा परिवर्तन हुँदैनन्, न त सत्यता अभ्यास नै गर्नेछन् न परमेश्वरका वचनहरू सुन्न र उहाँप्रति समर्पित हुन नै सक्नेछन्। यसले तिनीहरूमा परमेश्वरबारे साँचो ज्ञान पनि हुनेछैन भन्ने निर्धारण गर्छ। जब कुनै व्यक्तिले धर्ममा विश्वास गर्छ, तब उसको व्यवहार जति नै राम्रो भए पनि, उसले जति अडिग भएर परमेश्वरलाई स्विकारे पनि, अनि उहाँप्रतिको उसको आस्थाको मत जति नै उच्च भए पनि, ऊ परमेश्वरको अनुयायी होइन। त्यसोभए, उसले कसलाई पछ्याउँछ? ऊ अझै शैतानलाई नै पछ्याउँछ। उसले जिउने, पछ्याउने, लालसा गर्ने, र अभ्यास गर्ने कुराको आधार के हो? उसको अस्तित्व केमा निर्भर हुन्छ? परमेश्वरको वचन अर्थात् सत्यतामा त पक्कै होइन। ऊ शैतानको भ्रष्ट स्वभावअनुसार जिइरहन्छ, शैतानको तर्क र दर्शनअनुसार व्यवहार गर्छ। उसले भन्ने सबै झूटा हुन्छन्, त्यसमा अलिकति पनि सत्यता हुँदैन। उसको शैतानी स्वभावमा कुनै परिवर्तन आएको हुँदैन, र उसले अझै शैतानलाई नै पछ्याउँछ। उसको जीवनप्रतिको दृष्टिकोण, मूल्यमान्यता, संसारसँगको व्यवहार, र आचारणका सिद्धान्तहरू सबै शैतानको प्रकृतिका प्रकटीकरण हुन्। उसको बाहिरी व्यवहार मात्र अलिकति परिवर्तन भएको हुन्छ, तर उसको जीवन मार्ग, जिउने तरिका, र कामकुराबारे दृष्टिकोण बिलकुलै परिवर्तन भएका हुँदैनन्। यदि कुनै व्यक्ति परमेश्वरको साँचो विश्वासी हो भने, केही वर्षको दौडान उसमा के परिवर्तन हुन सक्ला? (जीवन र मूल्यमान्यताबारे उसको दृष्टिकोण परिवर्तन हुनेछ।) उसको अस्तित्वको जग नै परिवर्तन हुनेछ। यदि उसको अस्तित्वको जग परिवर्तन भयो भने, उसको जीवनको आधार के हुनेछ? (उसको जीवन परमेश्वरका वचनहरू र सत्यतामा आधारित हुनेछ।) त्यसोभए, के अहिले तिमीहरू हरेक दिन आफ्ना बोली र काममा परमेश्वरका वचनहरूबमोजिम जिइरहेका छौ? उदाहरणका लागि, तँ बिलकुलै ढाँट्दैनस्: किन त्यस्तो? तैँले त्यसो गर्नुको आधार के हो? (व्यक्ति इमानदार बन्नुपर्ने परमेश्वरको मापदण्ड।) जब तँ झूट बोल्न र छल गर्न छोड्छस्, तब त्यो परमेश्वरका वचनहरू, इमानदार व्यक्ति बन्नुपर्ने मापदण्ड, र सत्यतामा आधारित हुन्छ। अनि त्यसपछि तँ हिँडिरहेको जीवन मार्ग फरक हुँदैन र?

अब, सङ्क्षेपमा भन्नुपर्दा: धर्ममा विश्वास गर्नु भनेको के हो? परमेश्वरमा आस्था राख्नु भनेको के हो? यी दुईबीच मुख्य भिन्नताहरू के-के हुन्? धर्ममा विश्वास गर्नु भनेको कुनै धर्ममा दृढ विश्वास हुनु, त्यसका नियमहरू पालना गर्नु, अन्य मानिस र शैतानलाई पछ्याउनु, र शैतानको प्रभुत्वमा जिउनु हो। परमेश्वरमा आस्था राख्नु भनेको उहाँका वचनहरू स्विकार्नु, सत्यता स्वीकार्नु, उहाँको कामप्रति समर्पित हुनु, अनि सत्यताका सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य पूरा गर्नु हो। परमेश्वरलाई पछ्याउनु भनेको त्यही नै हो। धर्ममा विश्वास गर्नु र परमेश्वरमा आस्था राख्नुबीचका मुख्य भिन्नताहरू यिनै हुन्। तिमीहरूले परमेश्वरको घरमा आफ्ना कर्तव्यहरू निर्वाह गर्दा, तिमीहरू कतिपयले सत्यता स्विकार्छौ र थोरै परिवर्तन गर्छौ भने अन्यले सत्यता स्विकार्दैनन् र परिवर्तन गर्दैनन्। त्यसोभए, के तिमीहरू धर्ममा विश्वास गर्ने र परमेश्वरमा आस्था राख्ने ती दुईथरिका मानिसहरूबीच फरक छुट्याउन सक्छौ? मुख्य कुरा भनेको व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन र उसले हिँड्ने कस्तो मार्ग रोज्छ भनेर हेर्नु हो। यदि तँ असल व्यवहार, आत्मिक भरणपोषण, र नियम पालनाको पछि लाग्छस्, अनि यदि तँ आफ्नो खोजीमा व्यक्तिगत फाइदा पाउन सङ्कल्पित छस्, सत्यता बिलकुलै पछ्याउँदैनस्, तर केही असल व्यवहार भएको तर सत्यताको वास्तविकता नभएको असल व्यक्तिका बाह्य कुराहरू मात्र पछ्याउँछस् भने—तँजस्तो व्यक्ति वास्तवमा कति असल हुन सक्छ? यस्तो व्यक्तिको भ्रष्ट स्वभाव र उसको प्रकृतिको सार बिलकुलै परिवर्तन भएको हुँदैन। उसले राम्ररी बोल्न सक्ला, तर जाँचहरू सामना गर्नुपर्दा, ऊ अडिग रहन सक्दैन। उसले परमेश्वरबारे गुनासो गर्ला र उहाँलाई धोका देला। यिनीहरू धर्मका विश्वासी हुन्। परमेश्वरमा आस्था राख्नेहरू उहाँले व्यक्त गर्ने सम्पूर्ण सत्यता स्विकार्न सक्छन्। तिनीहरू आत्मचिन्तन गरेर आफूलाई सत्यताअनुसार चिन्न, साँचो पश्चाताप गर्न, अन्त्यमा सत्यता अभ्यास गर्न, परमेश्वरप्रति समर्पित हुन, र परमेश्वरका वचनहरूअनुसार जिउन सक्छन्। तिनीहरू परीक्षा र सङ्कट्हरू सामना गर्नुपर्दा खरो उत्रिन, राम्रो गवाही दिन, र अन्त्यसम्म परमेश्वरलाई वफादारीपूर्वक पछ्याउन सक्छन्। यिनीहरू परमेश्वरका साँचो विश्वासी हुन्। धर्ममा विश्वास गर्ने र परमेश्वरमा आस्था राख्नेहरूबीचको भिन्नता यही नै हो।

के तिमीहरूमध्ये कसैले हृदयमा स्वर्गका अस्पष्ट परमेश्वरमा मात्र विश्वास गर्छ, तर जहिले पनि देहधारी परमेश्वरबारे धारणाहरू राख्छ? यदि साँच्चै त्यस्ता मानिसहरू छन् भने, तिनीहरू धर्मका विश्वासी हुन्। धर्मका विश्वासीहरू देहधारी परमेश्वरलाई आफ्ना हृदयमा स्वीकार गर्दैनन्, र गरिहाले पनि, सधैँ उहाँबारे धारणाहरू राख्छन् र उहाँप्रति समर्पित हुन कहिल्यै सक्दैनन्। के त्यस्तै होइन र? खासमा, त्यस्ता मानिसहरू परमेश्वरका विश्वासी होइनन्। तिनीहरूले परमेश्वरमा विश्वास गरेको दाबी गर्लान्, तैपनि वास्तवमा तिनीहरू धर्मका विश्वासीहरूभन्दा त्यति फरक हुँदैनन्। तिनीहरू हृदयमा अस्पष्ट परमेश्वरलाई मात्र विश्वास गर्छन्; तिनीहरू धार्मिक धारणा र नियमहरूका पालनकर्ता हुन्। त्यसैले, सत्यता नपछ्याउने, असल व्यवहार र नियम पालनामा मात्र ध्यान दिने, सत्यता अभ्यास नगर्ने, र अलिकति पनि स्वभाव परिवर्तन नभएको व्यक्तिले धर्ममा विश्वास गरिरहेको हुन्छ। धर्ममा विश्वास गर्नेहरूलाई कुन विशेषताले छुट्याउँछ? (तिनीहरू बाहिरी अभ्यास र राम्रो व्यवहार गर्ने देखिनमा मात्र ध्यान दिन्छन्।) तिनीहरूको कार्यका सिद्धान्त र आधार के-के हुन्? (जियाइका लागि शैतानी दर्शनहरू।) जियाइका कस्ता शैतानी दर्शनहरू र शैतानी, भ्रष्ट स्वभावहरू हुन्छन्? धुर्त्याइँ र चतुऱ्याइँ; नियमकानुनको धज्जी उडाउनु; अहङ्कार र अभिमान; सबै कुरामा अन्तिम निर्णय गर्नु; कहिल्यै सत्यता नखोज्नु वा दाजुभाइ-दिदीबहिनीहरूसित सङ्गति नगर्नु; अनि कदम चाल्दा, सधैँ आफ्नो हित, आफ्नो आत्मसम्मान र हैसियतबारे सोच्नु—यो सब शैतानी स्वभावको आधारमा कार्य गर्नु हो। त्यो शैतानलाई पछ्याउनु हो। यदि एक व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्छ तर उहाँका वचनहरूमा ध्यान दिँदैन, सत्यतालाई स्वीकार गर्दैन वा उहाँका बन्दोबस्तहरू र योजनाहरूप्रति ऊ समर्पित हुँदैन भने; यदि उनीहरूले केही निश्‍चित असल व्यवहारहरू मात्र देखाउँछन्, तर देहलाई छोड्न अनि तिनीहरूका अहङ्कार वा रुचिहरू केही पनि त्याग्न सक्दैनन् भने; यदि, सबैका अघि उनीहरूले आफ्नो कर्तव्य निभाइरहेका देखिए पनि, उनीहरू अझै पनि आफ्नो शैतानी स्वभावअनुसार जिउँछन् र शैतानको जीवनदर्शन र अस्तित्वमा रहने तरिकाहरूलाई अलिकति पनि त्यागेका वा परिवर्तन गरेका हुँदैनन्, त्यसो भए उनीहरूले सम्भवतः परमेश्‍वरमा कसरी विश्‍वास गर्न सक्छन् र? त्यो त धर्ममा गरिएको विश्‍वास हो। त्यस्ता मानिसहरूले चिजबिजहरू त्याग्छन् अनि सतही रूपमा आफूलाई अर्पण गर्छन्, तर उनीहरू हिँड्ने मार्ग र उनीहरूले गर्ने सबै कुराको स्रोत र सुरुवाती बिन्दुलाई हेर्दा, उनीहरू परमेश्‍वरको वचन वा सत्यतालाई ती कुराहरूको आधार बनाउँदैनन्; यसको साटो, उनीहरू निरन्तर आफ्नै धारणा र कल्पना, इच्छा, र व्यक्तिगत अनुमान, अनि उनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाअनुसार कार्य गरिरहन्छन्। शैतानको जीवनदर्शन र स्वभावहरू नै अझै पनि उनीहरूको अस्तित्व र कार्यहरूको आधारको रूपमा हुन्छन्। जुन विषयहरूमा उनीहरू सत्यता बुझ्दैनन्, उनीहरू त्यसको खोजी गर्दैनन्। उनीहरू जुन विषयहरूमा सत्यता बुझ्छन्, त्यो अभ्यास गर्दैनन्, परमेश्‍वरलाई महान् ठानेर उच्‍च पार्दैनन्, वा सत्यतालाई मूल्यवान् ठान्दैनन्। तिनीहरूले नामका लागि र मुखले परमेश्वरलाई विश्वास र स्वीकार गर्ने भए पनि, र तिनीहरू कर्तव्य निभाउन र परमेश्वरलाई पछ्याउन सक्षम देखिन सक्ने भए पनि, तिनीहरू आफूले भन्ने र गर्ने सबै कुरामा आफ्ना शैतानी स्वभावअनुसार जिइरहेका हुन्छन्। तिनीहरूले भन्ने र गर्ने सबै कुरा भ्रष्ट स्वभावका प्रकटीकरण हुन्। तैँले तिनीहरूलाई परमेश्वरका वचनहरू अभ्यास वा अनुभव गरिरहेको देख्नेछैनस्, झन् सम्पूर्ण कुरामा खोजी र आज्ञा पालना गरिरहेको देख्नु त परको कुरा हो। व्यवहारमा, तिनीहरू अरू पहिले आफ्नै हितलाई विचार गर्छन्, र पहिले आफ्नै चाहना र अभिप्रायहरू पूरा गर्छन्। के उनीहरू परमेश्‍वरको पछि लाग्‍ने मानिसहरू हुन् त? (होइनन्।) अनि के परमेश्‍वरको पछि नलाग्‍ने मानिसहरूले आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न सक्छन् त? (सक्दैनन्।) यदि उनीहरूले आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न सक्दैनन् भने, के उनीहरू दयनीय हुँदैनन् र? तिनीहरूले परमेश्वरका वचनहरू सुनेका र बुझेका छन्, तर कामकुराहरू गर्दा तिनीहरूका आफ्नै इच्छाहरू अति प्रबल हुन्छन्; तिनीहरू परमेश्वरका वचनहरूअनुसार वा सत्यताअनुसार अभ्यास गर्न सक्दैनन्, झन् सिद्धान्तहरूअनुसार अभ्यास गर्नु त परै जाओस्। तिनीहरू परमेश्वरमा कैयौँ वर्ष विश्वास गरेपछि निकै मिलनसार र शिष्ट देखिन्छन्। तिनीहरूमा धेरै असल व्यवहार हुन्छन्, र तिनीहरूको आत्मिक जीवन निकै सामान्य देखिन्छ। तिनीहरूले अरूसँग अन्तरक्रिया गर्ने तरिकामा कुनै ठूलो समस्या हुँदैन, अनि आफ्ना कर्तव्यहरू निभाएर केही परिणाम हासिल गर्छन्—तर तिनीहरूमा एउटा समस्या छ, र सबैभन्दा गम्भीर समस्या हो। यो समस्या कहाँ छ? तिनीहरूको मनमा। तिनीहरूले जति नै वर्ष विश्वास गरेका भए पनि, परमेश्वरसित सामान्य सम्बन्ध स्थापित गरेका छैनन्; तिनीहरूले जे गरे पनि वा तिनीहरूलाई जे आइपरे पनि, तिनीहरूले सोच्ने पहिलो कुरा यही होः “म के गर्न चाहन्छु; के कुरा मेरो हितमा हुनेछ, अनि के कुरा मेरो हितमा हुनेछैन; मैले यस्तो-उस्तो गरेँ भने के हुन सक्थ्यो”—तिनीहरूले पहिले विचार गर्ने कुराहरू यिनै हुन्। तिनीहरू कस्तो प्रकारको अभ्यासले परमेश्वरको महिमा गर्छ र उहाँको साक्षी दिन्छ, वा परमेश्वरको इच्छा पूरा गर्छ भन्नेबारे कुनै सोचविचार गर्दैनन्, न त परमेश्वरका मापदण्डहरू के-के हुन् र उहाँका वचनहरूले के भन्छन् भनी खोजी गर्न प्रार्थना नै गर्छन्। तिनीहरू परमेश्वरका इच्छा वा मापदण्डहरू के-के हुन्, र मानिसले परमेश्वरलाई सन्तुष्ट तुल्याउन कसरी अभ्यास गर्नैपर्छ भनेर कहिल्यै ध्यान दिँदैनन्। तिनीहरूले कहिलेकाहीँ परमेश्वरसामु प्रार्थना गर्न र उहाँसित कुराकानी गर्न सक्ने भए पनि, आफैसित मात्र कुराकानी गरिरहेका हुन्छन्, इमानदारीपूर्वक सत्यता खोजिरहेका हुँदैनन्। तिनीहरूले परमेश्वरलाई प्रार्थना गर्दा र उहाँका वचनहरू पढ्दा, ती कुरालाई आफूले जीवनमा सामना गर्ने मामिलाहरूसित जोड्दैनन्। त्यसैले, तिनीहरू परमेश्वरले मिलाउने वातावरणमा उहाँको सार्वभौमिकता, बन्दोबस्त, र योजनाबद्ध कामहरूलाई कसरी लिन्छन्? तिनीहरूले आफ्ना चाहना पूरा नगर्ने कामकुरा भोग्नुपर्दा, ती पन्छाउँछन् र आफ्ना हृदयमा तिनको प्रतिरोध गर्छन्। तिनीहरू आफ्नो हितलाई क्षति पुऱ्याउने वा आफ्नो स्वार्थ पूरा हुन रोक्ने परिस्थितिहरू सामना गर्नुपर्दा, त्यसबाट उम्किन हर उपाय प्रयास गर्छन्, आफ्ना लाभहरू बढाउन कोसिस गर्छन् र कुनै क्षतिलाई टार्न लड्छन्। तिनीहरू परमेश्वरको इच्छा पूरा गर्न खोज्दैनन्, बरु आफ्नै चाहनाहरू मात्र पूरा गर्न खोज्छन्। के यो परमेश्वरप्रति आस्था हो? के यस्ता मानिसहरूको परमेश्वरसित सम्बन्ध हुन्छ? अहँ, हुँदैन। तिनीहरू नीच, घृणित, हठी, र आपत्तिजनक तरिकाले जिउँछन्। तिनीहरूको परमेश्वरसित सम्बन्ध नहुने मात्र नभई, तिनीहरू हरेक मोडमा परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तविरुद्ध जान्छन्। तिनीहरू प्रायः यसो भन्छन्, “परमेश्वरले मेरो जीवनको सबै थोकमाथि शासन र सञ्चालन गर्नुहोओस्। म परमेश्वरलाई मेरो हृदयमा गद्दी सम्हाल्न र शासन गर्न दिनु इच्छुक छु। म परमेश्वरका बन्दोबस्त र योजनाहरू प्रति समर्पित हुन इच्छुक छु।” तर, जब तिनीहरूलाई आइपर्ने परिस्थितिले तिनीहरूको हितमा हानि पुऱ्याउँछ, तब तिनीहरू समर्पित हुन सक्दैनन्। तिनीहरू परमेश्वरले बन्दोबस्त गरेको परिवेशमा सत्यता खोज्नुको साटो त्यो परिवेशबाट मोडिएर उम्कन खोज्छन्। तिनीहरू परमेश्वरको बन्दोबस्त र योजनाहरूप्रति समर्पित हुन चाहँदैनन्, तर आफ्नो हितलाई हानि नपुग्ने गरी आफ्नै इच्छाअनुसार कामकुरा गर्न चाहन्छन्। तिनीहरू परमेश्वरको इच्छालाई पूर्ण रूपमा बेवास्ता गर्छन्, अनि आफ्नै हित, परिस्थिति, र आफ्नै मूड र भावनालाई मात्र वास्ता गर्छन्। के यसो गर्नु परमेश्वरमा विश्वास गर्नु हो? (होइन।) तिनीहरूका लागि, तिनीहरूको हृदयमा परमेश्वर केके हो? के उहाँ प्रकारका प्रख्यात व्यक्ति हुनुहुन्न र? के उहाँ एक प्रकारका आत्मिक भरणपोषण हुनुहुन्न र? तिनीहरूका लागि परमेश्वर बाहिरका र अपरिचित व्यक्ति हुनुहुन्छ। सबै कुरा ठिकठाक हुँदा, परमेश्वर तिनीहरूका सार्वभौम, तिनीहरूका सबथोक हुनुहुन्छ। तर यदि परमेश्वर जे गर्नुहुन्छ त्यसले तिनीहरूलाई फाइदा गर्दैन, वा तिनीहरूको हित वा सम्मानमा हानि पुऱ्याउँछ, जसले गर्दा तिनीहरू निराकरण वा परीक्षा र कष्टमा पर्छन् भने, कस्तो प्रतिक्रिया दिनेछन्? तिनीहरू उम्कनेछन्, प्रतिरोध, अस्वीकार र गुनासोसमेत गर्नेछन्। कतिपय मानिसहरू यो खुलेर नभन्लान्, तर हृदयमा पीडा, अप्ठ्यारो, र नकारात्मक अनुभूति गर्छन्। नकारात्मक हुनु भनेको के हो? त्यसको मतलब तिनीहरू हृदयमा सत्यता स्विकार्दैनन् र सधैँ परमेश्वरविरुद्ध प्रतिरोध र विद्रोह गर्छन्। कतिपय मानिसहरू परीक्षा र शोधन स्विकार्दैनन्, परमेश्वरले यस्ता कुरा गर्नु ठिक होइन भन्ठान्छन्। गिरफ्तारी र ठूलो रातो अजिङ्गरबाट आउने सतावटको कठिनाइ आइपर्दा, कतिपय मानिसहरू परमेश्वर आफूप्रति अन्यायी हुनुभएको मनमनै गुनासो गर्छन्। तँलाई यो मनस्थिति कस्तो लाग्छ? यदि परमेश्वरको कामले तिनीहरूलाई कष्टमा पार्दा, तिनीहरू यति खुल्लमखुल्ला उहाँविरुद्ध गुनासो पोख्न सक्छन् भने, के उहाँ अझै तिनीहरूले विश्वास गर्ने परमेश्वर हुन सक्नुहुन्छ? यदि तिनीहरू समर्पित हुन सक्दैनन् भने, उहाँ तिनीहरूका परमेश्वर हुनुहुन्न, त्यसैले तिनीहरू उहाँको प्रतिरोध गर्ने आँट गर्छन्। तिनीहरू परमेश्वरबाहेक अर्को परमेश्वर हुनुहोओस् भन्ने इच्छा गर्छन्, र सोच्छन्, “म जे सोच्छु र गर्छु त्यसलाई उहाँले ठ्याक्कै मेरै चाहनाबमोजिम वास्तविक तुल्याउनुभयो भने—त्यसपछि मात्र उहाँ परमेश्वर हुनुहुनेछ; त्यो मात्र उहाँको बन्दोबस्त र योजना हुनेछ। यदि परमेश्वर मेरो इच्छासँग सहमत हुनुहुन्न, सधैँ मेरो रुचि र कल्पनाविपरीत कार्य गर्नुहुन्छ भने, म उहाँप्रति समर्पित हुन सक्दिनँ, अनि उहाँ मेरो परमेश्वर हुनुहुन्न। यदि उहाँ परमेश्वर नै हुनुहुन्छ भने, उहाँले मानिसहरूलाई सन्तुष्ट पार्नुपर्छ। मानिसहरू परमेश्वरको अति प्रिय भएकाले तिनीहरूलाई सुरक्षा दिन र माया गर्न उहाँले सबथोक गर्नुपर्छ। उहाँ कसरी तिनीहरूलाई कठिनाइ, परीक्षा र रोकावट भोग्न दिन सक्नुहुन्छ?” के परमेश्वरप्रति बढीजसो मानिसहरूको हृदयमा हुने मनोवृति यही होइन र? वास्तवमा कुरा यही हो। धेरैजसो मानिसहरूका लागि, जब उनीहरूसँग कुनै समस्या हुँदैन, जब उनीहरूका लागि सबै कुराहरू सहज रूपमा चलिरहेका हुन्छन्, त्यसबेला तिनीहरूले परमेश्‍वर शक्तिशाली, धार्मिक र प्रेमिलो हुनुहुन्छ भन्ने महसुस गर्छन्। जब परमेश्‍वरले उनीहरूको जाँच गर्नुहुन्छ, उनीहरूलाई निराकरण गर्नुहुन्छ, उनीहरूलाई ताडना दिनुहुन्छ र अनुशासन कारबाही गर्नुहुन्छ, जब उहाँले तिनीहरूलाई आफ्नै चासोका कुराहरू पन्साउन, देहलाई त्याग्‍न र सत्यताको अभ्यास गर्न लगाउनुहुन्छ, जब परमेश्‍वरले उनीहरूमा काम गर्नुहुन्छ, र उनीहरूका भाग्य र तिनीहरूको जीवनका निम्ति योजनाबद्ध काम गर्नुहुन्छ र शासन गर्नुहुन्छ, तब तिनीहरूको विद्रोहीपन उत्पन्न हुन्छ र त्यसपछि उनीहरू र परमेश्‍वरको बीचमा विभाजन उत्पन्न हुन्छ, जसले गर्दा तिनीहरू र परमेश्‍वरको बीचमा विवाद र खाल्डो सृजना हुन्छ। त्यस्तो बेला उनीहरूलाई आफ्‍नो हृदयमा परमेश्‍वर अलिकति पनि प्रेमिलो हुनुहुन्न भन्‍ने लाग्छ; उहाँ पटक्कै शक्तिशाली हुनुहुन्न, किनकि उहाँले जे गर्नुहुन्छ त्यसले उनीहरूका चाहनाहरू पूरा गर्दैन। परमेश्‍वरले तिनीहरूलाई दुःखित तुल्याउनुहुन्छ; उहाँले तिनीहरूलाई उदास बनाउनुहुन्छ; उहाँले तिनीहरूमाथि पीडा र कष्ट ल्याउनुहुन्छ; उहाँले तिनीहरूलाई असहज महसुस गराउनुहुन्छ। यसैले उनीहरू कुनै पनि हालतमा परमेश्‍वरको अधीनमा बस्दैनन्, बरु उहाँविरुद्ध विद्रोह गर्छन् र उहाँबाट टाढा बस्छन्। त्यसो गर्दा, के उनीहरूले सत्यता अभ्यास गरिरहेका हुन्छन्? के उनीहरूले परमेश्‍वरको मार्ग पछ्याइरहेका हुन्छन्? के उनीहरू परमेश्‍वरलाई पछ्याइरहेका हुन्छन्? हुँदैनन्। यसैले परमेश्‍वरको कामको बारेमा तेरा धारणा र कल्पनाहरू जति नै धेरै भए पनि, र तैँले पहिले आफ्नै इच्छाअनुसार जसरी व्यवहार गरे पनि र परमेश्‍वरको विरुद्धमा विद्रोह गरे पनि, यदि तँ साँचो रूपले सत्यताको पछि लाग्छस्, अनि परमेश्‍वरका वचनहरूको न्याय र सजायलाई स्वीकार गर्छस्, र ती वचनहरूद्वारा काटछाँट र निराकरण गरिन स्वीकार गर्छस् भने, यदि उहाँले योजनाबद्ध रूपमा गर्नुहुने सबै कुरामा तँ परमेश्‍वरको मार्गलाई पछ्याउन सक्छस् भने, परमेश्‍वरका वचनहरूप्रति चासो राख्छस् र उहाँको इच्छा अनुभूत गर्न सिक्छस्, उहाँका वचनहरू र उहाँको अभिप्रायअनुसार अभ्यास गर्छस्, खोजीद्वारा समर्पण गर्न सक्छस् भने; र यदि तँ आफ्ना सबै इच्छा, चाहना, विचार र अभिप्रायहरू त्याग्न र परमेश्‍वरसित आमनेसामने नहुन सक्छस् भने—तैँले परमेश्‍वरलाई पछ्याइरहेको हुन्छस्। तैँले परमेश्‍वरलाई पछ्याउँछु भन्लास्, तर यदि तैँले सबै काम आफ्‍नै इच्छा उद्देश्य र योजनाअनुसार मात्र गर्छस्, र यस कुरालाई परमेश्‍वरको हातमा छोड्दैनस् भने, के परमेश्‍वर अझै पनि तेरा परमेश्‍वर हुनुहुन्छ? अहँ, हुनुहुन्न। यदि परमेश्‍वर तेरा परमेश्‍वर हुनुहुन्न भने, जब तँ परमेश्‍वरलाई पछ्याउँछु भनेर भन्छस्, तब के ती खोक्रा शब्दहरू मात्र हुँदैनन् र? के त्यस्ता शब्दहरू मानिसहरूलाई मूर्ख बनाउने प्रयास होइनन्? तँ परमेश्‍वरलाई पछ्याउँछु भनेर भन्न सक्छस्, तर तेरा सबै व्यवहार र कामहरू, जीवनप्रतिको तेरो दृष्टिकोण र मूल्य-मान्यताहरू, र तैँले कामकुराहरूलाई लिने र सम्‍हाल्‍ने आचरण र सिद्धान्तहरू सबै शैतानबाट आउँदछ—यदि तैँले यी सबै कुरालाई पूर्ण रूपले शैतानका व्यवस्था र तर्कअनुसार सम्हाल्छस् भने, के तँ परमेश्‍वरको अनुयायी होस्? (होइन।) प्रभु येशूले उहाँका चेलाहरूलाई उहाँले धेरै कठिनाइहरू भोग्नुहुनेछ, उहाँ मारिनुहुनेछ, र तेस्रो दिनमा बौरी उठ्नुहुनेछ भनेर जानकारी दिनुहुँदा, पत्रुसले प्रभु येशूलाई यसो भने, “प्रभु, यस्तो कुरा तपाईंबाट टाढै होस्: यस्तो कुरा तपाईंलाई हुनेछैन” (मत्ती १६:२२)। प्रभु यशूले पत्रुसलाई कस्तो जवाफ दिनुभयो? (“शैतान, मबाट पछि हट्” (मत्ती १६:२३)।) पत्रुसले त्यतिबेला जे गरे त्यसलाई प्रभु येशूले कसरी परिभाषित गर्नुभयो? (शैतानको काम भन्नुभयो।) उहाँले किन यो शैतानको काम हो भन्नुभयो? के पत्रुस शैतान हो? पत्रुसले प्रभु येशूका कार्यहरूको महत्त्व बुझेनन्, न त उहाँलाई नै चिने। त्यसकारण, ऊ शैतानको प्रवक्ता बने, त्यसको पक्षमा बोले, प्रभु येशूलाई परमेश्वरको इच्छा पूरा गर्नदेखि रोक्न खोजे। परमेश्वरको दृष्टिकोणबाट, पत्रुस शैतानको प्रवक्ता बने। यदि कुनै व्यक्तिले बाहिरी रूपमा मात्र सबथोक त्यागेको र आफ्नो कर्तव्य सम्हालेको परमेश्वरलाई पछ्याएको जस्तो देखिन्छ, तर उसका सम्पूर्ण सोच र कार्यहरू शैतानको तर्क र दर्शनबमोजिम छन् भने, के ऊ साँच्चिकै परमेश्वरको अनुयायी हो? (होइन।) ऊ होइन, किनकि ऊ निरन्तर परमेश्वरविरुद्ध विद्रोह गर्छ, सत्यता अभ्यास गर्दैन, अनि परमेश्वरप्रति समर्पित हुँदैन। त्यसोभए, ऊ किन परमेश्वरमा विश्वास गर्छ? उसलाई वास्तवमा के हासिल गर्ने इच्छा छ? यो समझबाहिरको कुरा हो। के ऊ परमेश्वरको सच्चा विश्वासी हो? होइन; त्यसलाई अलि राम्रो तरिकाले भन्नुपर्दा, ऊ धर्मको विश्वासी हो। उसले परमेश्वरमा आस्था राखेको दाबी गर्ला, तर परमेश्वर उसलाई स्विकार्नुहुन्न। परमेश्वरले उसलाई दुष्कर्मी ठान्नुहुनेछ, र उहाँले त्यस्ता मानिसलाई मुक्ति दिनुहुनेछैन।

यस दुष्ट र भ्रष्ट मानवतामाझ धर्मका ती विश्वासीहरू परमेश्वरको अस्तित्व स्विकार्ने, असल मानिस बन्न, असल व्यवहार गर्न, र खराब कुरा गर्नबाट जोगिन चाहने मानिस हुन्। तिनीहरू यदि आफू अति धेरै कुकर्ममा संलग्न भएमा सजाय पाइन्छ, नरकमा गई दण्डित होइन्छ र सदाका लागि विनाशमा परिन्छ भनेर डर मान्छन्। तिनीहरू असल व्यक्ति बन्नाले शान्ति मिल्छ भनी सोच्छन्, किनकि अविश्वासीहरूमाझ यो भनाइ प्रचलित छः “असल व्यक्तिको जीवनमा शान्ति हुन्छ।” तिनीहरू त्यस्तो सोचाइले प्रभावित भएर र विचारको प्रवाहमा परेर धर्मप्रतिको आफ्नो विश्वासलाई राम्रो कुरा मान्छन्; तिनीहरू आफूलाई ती मानिसहरूभन्दा उत्तम ठान्छन् जो विश्वास गर्दैनन्, जसको आत्मिक भरणपोषणसमेत छैन, झन् आत्मसंयम हुनु त परको कुरा हो। विश्वास नगर्नेहरू आफूलाई जे मन लाग्यो त्यही गर्छन्, र आफ्ना उद्देश्यहरू हासिल गर्न हर दुष्कर्म गर्न सक्षम हुन्छन्। त्यस्ता मानिसहरूको उल्लेख्य गन्तव्य हुँदैन, अनि मृत्युपश्चात तिनीहरू नरकमा जानेछन्। धर्मका विश्वासीहरू पनि यस्तो सोच्छन्, “अविश्वासीहरू जीवन र मृत्युको चक्र हुन्छ वा दुस्ट्याइँ गर्दा सजाय पाइन्छ, दुस्ट्याइँ गर्नेहरू नरकमा जान्छन् र दण्डित हुन्छन् भनेर विश्वास गर्दैनन्। सबथोकमाथि परमेश्वर सार्वभौम हुनुहुन्छ भन्ने कुरामा तिनीहरू विश्वास गर्दैनन्। तर धर्ममा विश्वास गर्ने हामीहरू परमेश्वरद्वारा आशिषित छौँ र मृत्युपछि अनन्त जीवन प्राप्त गर्नेछौँ।” तिनीहरू आफूलाई उच्च, बाँकी मानवजातिभन्दा अलग र पवित्र मानिस ठान्छन्। तिनीहरूका व्यवहार र सोच्ने शैली केही हदसम्म परिवर्तन होला, तैपनि तिनीहरू सत्यता पटक्कै स्विकार्दैनन्। धर्ममा विश्वास गर्नु भनेको यही नै हो। व्यक्ति कसरी धर्ममा विश्वास गर्नेबाट परमेश्वरमा विश्वास गर्नेमा परिवर्तन हुन सक्छ? यो सजिलो कुरा होइन। भर्खरै परमेश्वरमा आस्था राख्न थालेकाहरूले सत्यता बुझ्दैनन्। तिनीहरूलाई धर्ममा विश्वास गर्नु राम्रो हो, र त्यसो गर्नु असल व्यक्ति बन्नु हो भन्ने मात्र थाहा छ। तिनीहरू धर्ममा विश्वास गर्नु र परमेश्वरमा विश्वास गर्नुबीच बिलकुलै फरक छुट्याउन सक्दैनन्। त्यसकारण, धर्ममा विश्वास गर्नेबाट परमेश्वरमा विश्वास गर्नेमा परिवर्तन हुन केही सत्यता नबुझिञ्जेल एउटा चरण पार गर्न जरुरी छ, जसले गर्दा केही सुझबुझ प्राप्त हुन्छ। यदि तँ परमेश्वरमा पाँच-छ वर्ष वा सात-आठ वर्ष नै विश्वास गरेपछि पनि अझै आफ्नो शैतानी स्वभावअनुसार जिउँछस्, शैतानलाई पछ्याउँछस्, सत्यता पटक्कै स्विकार्दैनस्, आफूले बुझ्ने सत्यतासमेत अभ्यास गर्न सक्दैनस्, परमेश्वरको काम अस्वीकार गर्छस्, अनि उहाँको काटछाँट र निराकरण अनि न्याय र सजाय, साथै उहाँका सार्वभौमिकता र प्रबन्धहरू स्वीकार्न मान्दैनस् भने, परमेश्वरप्रति तेरो विश्वासको अर्थ र मूल्य गुमेको छ। परमेश्‍वरमाथिको आस्थालाई व्याख्या गर्ने सबैभन्दा सरल तरिका भनेको परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्नु हो, अनि यही जगमा, उहाँलाई पछ्याउनु, उहाँको आज्ञापालन गर्नु, उहाँको सार्वभौमिकता, योजनाबद्ध कार्यहरू र प्रबन्धहरूलाई स्वीकार गर्नु, उहाँका वचनहरूलाई चासो दिनु, उहाँका वचनहरूअनुरूप जिउनु, सबै कुरा उहाँका वचनहरूअनुसार गर्नु, सृष्टि गरिएको एक सच्‍चा प्राणी बन्‍नु, र उहाँको भय मान्नु र खराबीबाट अलग बस्नु हो; यो मात्र परमेश्‍वरमाथिको साँचो आस्था हो। परमेश्‍वरलाई पछ्याउनु भनेको यही हो। यदि तँ परमेश्‍वरलाई पछ्याउँछु भन्छस्, तर तेरो हृदयमा परमेश्‍वरका वचनहरूलाई स्वीकार गर्दैनस्, र ती वचनहरूप्रति शङ्कालु मनोवृति कायम राख्छस्, अनि उहाँको सार्वभौमिकता, योजनाबद्ध कार्यहरू, र प्रबन्धहरूलाई स्वीकार गर्दैनस्, र परमेश्‍वरले गर्ने कार्यबारे तँसित सधैँ धारणा र गलत बुझाइहरू हुन्छन्, र त्यसबारे गुनासो गर्छस् र तँ सधैँ असन्तुष्ट हुन्छस् भने; र उहाँले गर्ने कार्यलाई सधैँ तेरा आफ्नै धारणा र कल्पनाअनुसार नापिरहेको र विचार गरिरहेको हुन्छस् भने; अनि यदि तँसित सधैँ तेरा आफ्नै सोच र बुझाइहरू हुन्छन् भने—त्यसले समस्या निम्त्याउनेछ। त्यो परमेश्‍वरको काम अनुभव गर्नु होइन, र त्यो साँचो रूपले उहाँलाई पछ्याउने मार्ग हुँदै होइन। यो परमेश्‍वरप्रतिको आस्था होइन।

वास्तवमा, परमेश्‍वरमा आस्था राख्नु भनेको के हो? के धर्ममा विश्‍वास गर्नु परमेश्‍वरमा आस्था राख्नु बराबर हो? धर्ममा विश्‍वास गर्नु भनेको, शैतानको पछि लाग्नु हो; परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरलाई पछ्याउनु हो, र ख्रीष्टलाई पछ्याउनेहरू मात्र परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्नेहरू हुन्। परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवनको रूपमा अलिकति पनि स्वीकार नगर्ने व्यक्ति परमेश्वरको सच्चा विश्वासी होइन। तिनीहरूले जति धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गर्ने भए पनि त्यसबाट केही फाइदा हुँदैन। यदि परमेश्वरका एक विश्वासी केवल धर्मकर्ममा संलग्न हुन्छ तर सत्यता अभ्यास गर्दैन भने, ऊ परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति होइन, र परमेश्‍वरले तिनीहरूलाई स्वीकार गर्नुहुन्‍न। यदि परमेश्वरद्वारा तँ उहाँको अनुयायीको रूपमा स्विकारिने हो भने, तँमा के हुन आवश्यक छ? के तँलाई परमेश्वरले कुनै व्यक्तिलाई मापन गर्ने मापदण्डहरू थाहा छ? तैँले सबथोक परमेश्वरको मापदण्डअनुसार गर्छस् कि गर्दैनस्, अनि उहाँका वचनमा आधारित सत्यता अभ्यास र पालना गर्छस् कि गर्दैनस् भनी उहाँ मूल्याङ्कन गर्नुहुन्छ। यही मापदण्डद्वारा परमेश्वर व्यक्तिलाई मापन गर्नुहुन्छ। परमेश्वर तैँले उहाँमा कति वर्ष विश्वास गरेको छस्, तँ कुन हदसम्म पुगेको छस्, तँसित असल व्यवहारहरू कति छन्, वा तँ धर्मसिद्धान्तका कति वचनहरू बुझ्छस् भन्ने कुराको आधारमा मापन गर्नुहुन्न। उहाँ तँलाई तँ सत्यता पछ्याउँछस् कि पछ्याउँदैनस् अनि कुन मार्ग रोज्छस् भन्ने आधारमा मापन गर्नुहुन्छ। धेरै मानिसहरू परमेश्वरलाई मुखले विश्वास र प्रशंसा गर्छन्, तर हृदयमा भने परमेश्वरले भन्ने वचनहरूलाई प्रेम गर्दैनन्। तिनीहरू सत्यताप्रति चासो राख्दैनन्। तिनीहरू सधैँ सामान्य मानिसहरू शैतानको दर्शन वा विविध सांसारिक मतअनुसार जिउँछन्, यसरी व्यक्तिले आफ्नो रक्षा गर्न सक्छ, र यसरी संसारमा जिउनुको मूल्य हुन्छ भनी विश्वास गर्छन्। के यिनीहरू परमेश्वरलाई विश्वास गर्ने र पछ्याउने मानिस हुन्? अहँ, होइनन्। महान् र नामुद मानिसहरूका शब्दहरू विशेष गरी समझपूर्ण लाग्छ र अरू मानिस ती शब्दहरूको छलमा सजिलै पर्न सक्छन्। तैँले तिनीहरूका शब्दहरूलाई सत्यता वा पालना गर्नुपर्ने आदर्श वाक्य ठान्लास्। तर परमेश्वरको वचन, मानिसका लागि उहाँको कुनै सामान्य मापदण्ड, जस्तै इमानदार व्यक्ति बन्नुपर्ने, वा तत्परतासाथ र होसियारीपूर्वक आफ्नो स्थान कायम राख्नुपर्ने, सृष्टि गरिएका प्राणीको रूपमा आफ्नो कर्तव्य निभाउने अनि स्थिर र इमानदार आचरण बनाउने सन्दर्भमा, यदि तँ यी शब्दहरू अभ्यास गर्न र तिनलाई सत्यता मान्न सक्दैनस् भने, तँ परमेश्वरको अनुयायी होइनस्। तँ आफूले सत्यता अभ्यास गरिरहेको ठोकुवा गर्छस्, तर यदि परमेश्वरले तँलाई “के तैँले अभ्यास गरिरहेका ‘सत्यताहरू’ परमेश्वरका वचन हुन्? के तैँले कायम राख्ने सिद्धान्तहरू परमेश्वरको वचनमा आधारित छन्?” भनी सोध्नुभयो भने—तँ कसरी स्पष्टीकरण दिनेछस्? यदि तेरो आधार परमेश्वरका वचनहरू होइन भने त्यो शैतानका शब्दहरू हो। तँ शैतानका शब्दहरूअनुसार जिइरहेको छस्, तैपनि आफूले सत्यता अभ्यास गरिरहेको र परमेश्वरलाई सन्तुष्ट तुल्याइरहेको ठोकुवा गर्छस्। के त्यो परमेश्वरलाई निन्दा गर्नु होइन र? उदाहरणका लागि, परमेश्वर मानिसलाई इमानदार बन्न सिकाउनुहुन्छ, तर कतिपय मानिस इमानदार व्यक्ति हुनुमा वास्तवमा कस्ता कुराहरू समावेश छन्, इमानदार व्यक्ति बन्न कसरी अभ्यास गर्ने, तिनीहरूले जिउने र प्रकट गर्ने कुन कुराहरू बेइमान हुन् र कुन कुराहरू इमानदार हुन् भन्नेबारे मनन गर्दैनन्। तिनीहरू परमेश्वरका वचनहरूको सत्यताको सारलाई मनन गर्नुको साटो अविश्वासीहरूको पुस्तक पढ्नतिर लाग्छन्। तिनीहरू यस्तो सोच्छन्, “अविश्वासीहरूका भनाइहरू पनि अत्यन्तै राम्रा छन्—तिनले पनि मानिसलाई असल हुन सिकाउँछन्! उदाहरणका लागि, ‘असल व्यक्तिको जीवनमा शान्ति हुन्छ,’ ‘सोझा मानिसहरू सधैँ सफल हुन्छन्,’ ‘अरूलाई क्षमा गर्नु मूर्खता होइन, त्यसले पछि लाभ दिन्छ।’ यी कथनहरू पनि सही छन् र सत्यतासँग मेल खान्छन्!” त्यसैले, तिनीहरू यी वचनहरू पालना गर्छन्। तिनीहरू अविश्वासीहरूका यी उक्तिहरू पालना गरेर कस्तो व्यक्तिको रूपमा जिउन सक्छन्? के तिनीहरू सत्यताको वास्तविकताअनुसार जिउन सक्छन्? (अहँ, सक्दैनन्।) के यस्ता मानिसहरू थुप्रै छैनन् र? तिनीहरू केही ज्ञान हासिल गर्छन्; तिनीहरूले केही पुस्तक र केही चर्चित किताब पढेका हुन्छन्; तिनीहरूले केही दृष्टिकोण प्राप्त गरेका हुन्छन्, र केही चर्चित भनाइ र लोक उखानहरू सुनेका हुन्छन्, त्यसपछि तिनीहरू यी कुराहरूलाई सत्यताको रूपमा लिन्छन्, यी शब्दहरूअनुसार कार्य गर्छन् र आफ्नो कर्तव्य निभाउँछन्, परमेश्वरका विश्वासीको रूपमा तिनलाई आफ्ना जीवनमा लागू गर्छन् र आफूले परमेश्वरको इच्छा पूरा गरिरहेको छु भन्ठान्छन्। के यो त झूटलाई सत्यताको ठाउँमा राख्नु होइन र? के यो छली व्यवहार होइन र? परमेश्वरको नजरमा, यो ईशनिन्दा हो! यी कुराहरू हरेक व्यक्तिमा धेरै मात्रामा प्रकट हुन्छन्। मानिसहरूका मिठा शब्दहरू र सही धर्मसिद्धान्तहरूलाई पालना गर्नुपर्ने सत्यताको रूपमा लिने, जबकि परमेश्वरका वचनहरूलाई छेउ लगाएर बेवास्ता गर्ने, ती वचनहरू जतिपटक पढे पनि लागू गर्न नसक्ने, वा परमेश्वरका वचनहरूलाई सत्यता मान्न नसक्ने व्यक्ति के परमेश्वरको विश्वासी हो? के ऊ परमेश्वरको अनुयायी हो? (होइन।) यस्ता मानिसहरू धर्ममा विश्वास गर्छन्; तिनीहरू अझै शैतानलाई नै पछ्याइरहेका हुन्छन्! तिनीहरू शैतानले बोल्ने शब्दहरू दार्शनिक, अत्यन्तै गहन र उत्कृष्टन् छन् भनी विश्वास गर्छन्। तिनीहरू ती शब्दहरूलाई परम सत्यताका प्रख्यात भनाइहरू ठान्छन्। तिनीहरूले अरू जेसुकै त्यागे पनि, ती शब्दहरू त्याग्न सक्दैनन्। ती शब्दहरू त्याग्नु भनेको आफ्नो जीवनको जग गुमाउनु, आफ्नो हृदय खोक्रो पार्नुजस्तै हुनेछ। यिनीहरू कस्ता प्रकारका मानिस हुन्? तिनीहरू शैतानका अनुयायी हुन्, त्यसैले तिनीहरू शैतानका प्रख्यात भनाइहरूलाई सत्यताको रूपमा स्विकार्छन्। के तिमीहरू फरकफरक सन्दर्भमा आफूमा हुने विविध स्थितिहरूलाई विश्लेषण गर्न र चिन्न सक्छौ? उदाहरणका रूपमा, कतिपय मानिसहरू परमेश्वरमा विश्वास गर्छन् र प्रायः उहाँका वचनहरू पढ्छन्, तर आफूलाई परिस्थिति आइपर्दा, जहिले पनि यसो भन्छन्, “मेरी आमा भन्नुहुन्थ्यो,” “मेरा हजुरबा भन्नुहुन्थ्यो,” “फलानो प्रसिद्ध व्यक्तिले एकपटक भनेका,” “यो-यो पुस्तकले भन्छ।” तिनीहरू कहिल्यै पनि यसो भन्दैनन्, “परमेश्वरको वचनले यसो भन्छ,” “हाम्रा लागि परमेश्वरका मापदण्डहरू यस्ता छन्,” “परमेश्वर यसो भन्नुहुन्छ।” तिनीहरू कहिल्यै पनि यी शब्दहरू बोल्दैनन्। के तिनीहरू परमेश्वरलाई पछ्याइरहेका छन्? (अहँ, छैनन्।) के मानिसलाई यी स्थितिहरू पत्ता लगाउन सजिलो हुन्छ? अहँ, हुँदैन, तर मानिसमा ती कुरा हुनु तिनीहरूका लागि धेरै घातक हुन्छ। तैँले परमेश्वरमा तीन, पाँच, आठ, वा दस वर्ष विश्वास गरेको छस् होला, तर तँलाई अझै कसरी परमेश्वरको आज्ञापालन गर्ने वा उहाँका वचनहरू अभ्यास गर्ने भनी थाहा नहोला। तँ आफूलाई जे आइपरे पनि, अझै शैतानी वचनहरूलाई आफ्नो आधारको रूपमा लिन्छस्; तँ अझै पनि परम्परागत संस्कृतिमा आधार खोज्छस्। के त्यो परमेश्वरप्रतिको आस्था हो? के तैँले शैतानलाई पछ्याइरहेको छैनस् र? तँ शैतानी शब्दहरू र शैतानी स्वभावअनुसार जिउँछस्, त्यसैले के तँ परमेश्वरको प्रतिरोध गरिरहेको छैनस् र? तैँले परमेश्वरको वचन अभ्यास नगर्ने वा त्यसअनुसार नजिउने, परमेश्वरको पाइला नपछ्याउने, परमेश्वर जे भन्नुहुन्छ त्यो पालन गर्न नसक्ने, अनि परमेश्वरले जे योजनाबद्ध गर्नुभए पनि वा मापदण्ड दिनुभए पनि आज्ञापालन गर्न नसक्ने भएकाले, परमेश्वरलाई पछ्याइरहेको छैनस्। तँ अझै शैतानलाई पछ्याइरहेको छस्। शैतान कहाँ छ? शैतान मानिसहरूको हृदयमै छ। दर्शन, तर्क र नियमहरू, अनि शैतानका शैतानी शब्दहरूले मानिसहरूको हृदयमा जरा गाडेको निकै समय भएको छ। सबैभन्दा गम्भीर समस्या यही हो। यदि तँ परमेश्वरप्रतिको तेरो आस्थामा रहेको यो समस्या सुल्झाउन सक्दैनस् भने, तैँले परमेश्वरको मुक्ति पाउन सक्नेछैनस्। त्यसकारण, तैँले बेलाबेलामा आफूले गर्ने सबै कुरा, आफ्ना सोच र दृष्टिकोण, अनि कामकुराहरू गर्ने आफ्नो आधारलाई परमेश्वरको वचनसँग दाँज्नैपर्छ, र आफ्ना सोचका कुराहरूलाई विश्लेषण गर्नैपर्छ। तँलाई आफूभित्रका कुन कुराहरू जियाइका दर्शन, लोकप्रिय उक्ति, परम्परागत संस्कृति हुन्, साथै कुनचाहिँ बौद्धिक ज्ञानबाट आएका हुन् भनी थाहा हुनैपर्छ। तँलाई यीमध्ये तैँले कुनचाहिँ सधैँ सही र सत्यताबमोजिम भएको ठान्छस्, कुनचाहिँलाई सत्यता झैँ पालना गर्छस्, अनि कुनचाहिँलाई सत्यताको ठाउँ लिन दिन्छस् भनी थाहा हुनैपर्छ। तिमीहरूले यी कुराहरूलाई विश्लेषण गर्नैपर्छ। विशेष गरी, यदि तँ आफूलाई सही र मूल्यवान् लाग्ने कुराहरूलाई सत्यताको रूपमा लिन्छस् भने, तिनलाई छर्लङ्गै देख्न सजिलो हुँदैन—तर यदि तैँले तिनलाई छर्लङ्गै देख्छस् भने, ठूलो बाधा पार गरेको हुनेछस्। यी कुराहरू मानिसलाई परमेश्वरका वचनहरू बुझ्न, सत्यता अभ्यास गर्न, र परमेश्वरको आज्ञा पालना गर्न नदिने अडचन हुन्। यदि तँ पूरै दिन दुविधामा र विना काम बिताउँछस्, र यी कुराहरूलाई विचार गर्दैनस् वा यी समस्याहरू समाधान गर्न ध्यान दिँदैनस् भने, ती कुरा नै तेरो हृदयको रोग, अर्थात् विषको जड हुन्छन्। यदि ती हटाइएन भने, तँ परमेश्वरलाई साँच्चै पछ्याउन असमर्थ हुनेछस्, र सत्यता अभ्यास गर्न वा परमेश्वरको आज्ञापालन गर्न असक्षम हुनेछस्, अनि तैँले कुनै हालतमा पनि मुक्ति प्राप्त गर्नेछैनस्।

हामीले यी कुराहरूबारे सङ्गति गरिसकेपछि, के तिमीहरूले आफूभित्रका स्थिति, विचार, वा पूर्वग्राही दृष्टिकोणहरूबारे सोचेका छौ जुन परमेश्वरका इच्छाहरू, मापदण्ड, र सत्यतासँग बाझिन्छ, तैपनि तिमीहरूले तिनलाई सत्यता मानेका छौ र सत्यताकै रूपमा अभ्यास गरेका अनि कायम राखेका छौ? (कसैले व्यक्तिको रूपमा असल, सबैले मन पराउने र सङ्गत गर्न चाहने व्यक्ति बन्न कोसिस गर्नुपर्छ भन्ने दृष्टिकोण ममा थियो। जब मैले सत्यता बुझेको थिइनँ, तब मलाई यो पछ्याइ न्यायसङ्गत र सही देखिन्छ भन्ने लाग्यो। तर अहिले सत्यताद्वारा मापन गर्दा, मलाई त्यस्तो व्यक्ति मानिसलाई खुसी पार्न खोज्ने व्यक्ति रहेछ भन्ने महसुस हुन्छ। विशेष गरी मैले छली मानिसहरूबारे परमेश्वरका खुलासाहरू पढेपछि, त्यसो गर्नुमा मेरो छली अभिप्राय थिएछ, अरूलाई सन्तुष्ट पारेर सबै कामकुरामा आफ्नै ख्याति र हैसियत कायम राख्न खोजेछु, तिनीहरूमा गलत छाप पारेछु र तिनीहरूलाई बहकाएछु भन्ने थाहा पाएँ। कहिलेकाहीँ, मैले अरूलाई खुसी पार्न परमेश्वरको घरको हितसमेत त्यागेँ। म बिलकुलै असल व्यक्ति थिइनँ, न त ममा सच्चा व्यक्तिको स्वरूप नै थियो। जब मैले यी कुराहरू पत्ता लगाएँ, तब ममा मानिसलाई खुसी पार्ने व्यक्ति बन्नेभन्दा सत्यता खोज्ने, परमेश्वरको मापदण्डअनुसार इमानदार व्यक्ति बन्ने चाहना जाग्यो। म तथ्य र साँचो बोल्ने व्यक्ति, हरेक कुरामा स्पष्टवादी हुन चाहन्थेँ, किनकि यो परमेश्वरका अभिप्रायहरूसँग मेल खान्छ।) (यस अवधिमा मैले आफूलाई बाहिरी व्यवहार परिवर्तनमा केन्द्रित भएको देखेँ। उदाहरणका लागि, जब केही दाजुभाइ-दिदीबहिनीहरूले म अहङ्कारी छ र मसँग सहकार्य गर्न सजिलो छैन भनेर भन्थे, तब म सहयोगी हुन र तिनीहरूसित भद्र, मित्रैलो तरिकाले छलफल गर्न खोज्थेँ। तिनीहरू जे भन्थे म त्यही गर्थेँ, अनि कसैले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा गल्ती गरेको देखेँ भने, त्यो औँल्याउँदिनथेँ, बरु शान्ति र मेलमिलाप कायम गर्थेँ। अहिले भर्खरै मैले परमेश्वरको सङ्गति सुन्दा, आफूले परमेश्वरका वचनहरूअनुसार काम नगरिरहेको देखेँ। मैले सांसारिक कुराहरू सम्बन्धी शैतानको दर्शनअनुसार कार्य गरिरहेको थिएँ। म आफ्नो बाहिरी असल व्यवहार प्रयोग गरेर अरूलाई बहकाइहेको थिएँ, तर खासमा मेरो भ्रष्ट स्वभाव फ्याँकिएको थिएन। म सत्यता पछ्याउने व्यक्ति थिइनँ, अनि मैले थुप्रै समय खेर फालेँ।) तिमीहरू अब विगतका केही गलत दृष्टिकोण र अभ्यासहरूलाई बुझ्न र तीबारे थाहा पाउन सक्छौ, तर सत्यता अभ्यास गर्न तिमीहरूलाई बोझिलो हुन्छ। यी स्थितिहरू चिनेपछि र बुझेपछि, भ्रष्ट मानवजातिको दुर्दशाबारे तिमीहरूको कस्तो सोच र भावना हुन्छ? के तिमीहरूले यो भ्रष्ट मानवजातिलाई शैतानले बलियोसँग र कसेर नियन्त्रण गरेको छ भनेर अनुभूति गरेका छौ? के तिमीहरूले यसबारे थाहा पाएका छौ? (छौँ।) तिमीहरूले त्यसबारे कहिले थाहा पायौ? (मैले सत्यता अभ्यास गर्न चाहँदा, शैतानको प्रकृतिले मलाई भित्रभित्रै नियन्त्रण र कैद गऱ्यो। मैले हृदयमा सङ्घर्ष गरेँ तर सत्यता अभ्यास गर्न सकिनँ, मानौँ मलाई एक प्रकारको नेल लगाइएको छ। त्यो दर्दनाक थियो।) के तँलाई त्यसपछि शैतान घृणित रहेछ भन्ने अनुभूति भयो? कि तँ समयको दौडान भावशून्य भइस् र बिलकुलै घृणा जगाउन सकिनस्? (शैतान घृणित रहेछ भनी मैले अनुभूति गर्न सकेँ।) के तैँले मानवजातिलाई मुक्ति दिने परमेश्वरको काम अत्यावश्यक भएको महसुस गरेको छस्? के तँ मानवजातिलाई खुलासा गर्नेलगायतका परमेश्वरद्वारा व्यक्त वचन र सत्यताहरू सबै वास्तविकता हुन्, एउटा वाक्यांश पनि अवास्तविक होइन, अनि ती सबै पूर्ण रूपमा तथ्यहरूसित मेल खान्छन् अनि मानवजातिलाई सत्यता ग्रहण गर्न र मुक्ति प्राप्त गर्न सबैभन्दा बढी चाहिने वचनहरू हुन् भनी बुझ्न सक्छस्? मानवजातिलाई परमेश्वरको मुक्तिको अति आवश्यक छ! यदि परमेश्वर देहधारी भएर उहाँको काम गर्न नआउनुभएको भए, यदि परमेश्वरले त्यतिका धेरै सत्यता व्यक्त नगर्नुभएको भए, मानवजातिले मुक्तिको मार्ग कहाँ भेट्टाउन सक्थे? चिह्न र चमत्कारका लागि शैतान र दुष्टात्मामाथि गरिने सबै भरोसाले बर्बादीतर्फ डोऱ्याउनेछ। शैतानको दर्शन, तर्क, र नियमअनुसार जिउने सबै मानिसहरू विनाशका निशाना हुन्। के तिमीहरूलाई अहिले यसबारे थाहा छ? तिमीहरूलाई थाहा मात्र भएर पुग्दैन। त्यो त हृदयले परमेश्वरको मुक्तिको अभिलाषा गर्नु मात्र हो। तर कतै तैँले सत्यता, न्याय र सजाय स्विकार्न सक्छस् कि अनि आफ्नो भ्रष्ट स्वभाव फ्याँक्‍न सक्छस् कि—यी महत्त्वपूर्ण प्रश्नहरू हुन्। परमेश्वरमा विश्वास गर्नेहरूले सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्नैपर्छ, अनि दुष्टता र शैतानबाट आउने जुनसुकै कुरालाई घृणा पनि गर्नैपर्छ। तिनीहरूले आत्मचिन्तन गर्न र आफूलाई बुझ्न, अनि आफ्नो भ्रष्ट स्वभावका प्रकटीकरणहरू खुट्याउन ध्यान दिनैपर्छ। तिनीहरूले आफ्नो प्रकृति सार घिनलाग्दो, र दुष्ट, परमेश्वरविरोधी र परमेश्वरलाई घिन लाग्ने छन् भनेर प्रष्ट रूपमा देख्नैपर्छ, अनि आफैले आफूलाई हृदयदेखि नै अस्वीकार र तिरस्कार गरेको अनुभूति गर्न सक्नुपर्छ। त्यसपछि मात्र तिनीहरू शैतानको प्रकृतिको दासत्व र बन्धनबाट मुक्त हुन र ती कुराहरूलाई हटाउन, अनि सत्यता अभ्यास गर्न र परमेश्वरप्रति समर्पित हुन सङ्कल्पित र सशक्त हुन सक्छन्। तैँले यो सङ्कल्पविना, सत्यता अभ्यास गर्नुपर्ने भए पनि, यो अभ्यास गर्न कठिन हुनेछ। मानिसहरूले दासत्व, तिकडम, यातना, विध्वंश, र आफ्नो भ्रष्ट स्वभावको दुरुपयोगजस्ता स्थितिहरूमा लखतरान हुने गरी सङ्घर्ष गर्नैपर्ने हुन्छ। व्यक्तिले यसको पीडा अनुभूत गरेपछि मात्र शैतानलाई घृणा गर्न अनि यी सबै परिवर्तन गर्ने सङ्कल्प र अठोट गर्न सक्छ। उसले पर्याप्त कष्ट भोगेको छ भने मात्र सत्यता पछ्याउने अनि यो सबैबाट मुक्त हुने दृढता विकास गर्न र उत्प्रेरणा प्राप्त गर्न सक्छ। यदि तँलाई शैतानका कामकुरा राम्रा छन्, तिनले देहलाई सन्तुष्ट पार्न अनि मानिसका धारणा र कल्पना, अत्यधिक चाहना, र विभिन्न रुचिहरू पूरा गर्न सक्छन् भन्ने लाग्छ, र तँलाई कुनै पीडा वा शैतानले कसरी मानिसहरूलाई क्रूर व्यवहार गर्छ भनेर महसुस हुँदैन भने, के तँ यो सबथोकबाट मुक्त हुन इच्छुक छस् र? (छैन।) मानौँ कुनै छली व्यक्तिलाई आफू छली भएको, आफूलाई झूट बोल्न मन पर्ने र सत्य बोल्‍न मन नपर्ने, र उसले सधैँ आफूले गरिरहेका कुराहरू अरूबाट लुकाइरहनेबारे थाहा छ, तर ऊ यो कुरामा आनन्द लिन्छ, र मनमनै सोच्छ, “यसरी जिउनु एकदम राम्रो कुरा हो। मैले निरन्तर अरूको आँखा छलेको छु, तर तिनीहरूले मलाई त्यसो गर्न सक्दैनन्। जहाँसम्म मेरो आफ्नै रुचि, अहङ्कार, हैसियत, र गर्वको कुरा छ, म त्यसमा प्रायजसो सधैँ सन्तुष्ट नै छु। कामकुराहरू कुनै त्रुटिविना र सहजताको साथ मेरो योजनाअनुसार अगाडि बढ्छन्, र ती कुराहरूलाई कसैले पनि देख्न सक्दैनन्।” के यस प्रकारको व्यक्ति इमानदार हुन इच्छुक हुन्छ? ऊ इच्‍छुक हुँदैन। यो व्यक्तिले छलीपन र कुटिलतालाई बुद्धि र बौद्धिकताको रूपमा, सकारात्मक कुराको रूपमा लिन्छ। तिनीहरू यी कुराहरूलाई बहुमूल्य ठान्छन् र ती नहुँदाको अवस्था सहनै सक्दैनन्। तिनीहरू सोच्छन्, “यो व्यवहार गर्ने राम्रो तरिका, र जिउने एकमात्र पौष्टिक तरिका हो।” “जिउने मूल्यवान् तरिका यो मात्र हो, र अरूले मेरो डाहा र आदर गर्ने गरी जिउने तरिका यो मात्र हो। शैतानी दर्शनअनुसार नजिउनु मेरो मूर्खता र पागलपन हुनेछ। म सधैँ वञ्चित भइरहेको हुनेछु—मैले हेपाइ, पक्षपात र नोकरको जस्तो व्यवहार सहनुपर्नेछ। यसरी जिउनुको कुनै मूल्य हुँदैन। म कहिल्यै इमानदार व्यक्ति बन्‍नेछैनँ!” के यस्तो व्यक्तिले आफ्‍नो छली स्वभाव त्यागेर इमानदार बन्‍ने अभ्यास गर्न सक्छ? अवश्यै सक्दैन। तिनीहरूले परमेश्‍वरमा जति धेरै समयदेखि विश्‍वास गरेको भए पनि, जति धेरै प्रवचनहरू सुनेका भए पनि, र जतिवटा सत्यता बुझेका भए पनि, कहिल्यै पनि साँचो रूपमा परमेश्‍वरलाई पछ्याउँदैनन्। तिनीहरूले कहिल्यै पनि खुसीसाथ परमेश्‍वरलाई पछ्याउँदैनन्, किनकि त्यसो गर्नका निम्ति तिनीहरूले धेरै कुरा छोड्नुपर्ने, अति धेरै त्याग गर्नुपर्ने, र पीडा र घाटा भोग्नुपर्ने महसुस गर्छन्। यो कुरा तिनीहरूले स्विकार्दै स्विकार्दैनन्। तिनीहरू यस्तो सोच्छन्, “परमेश्‍वरमा विश्‍वास गर्नु भनेको धर्ममा विश्‍वास गर्नु हो। नाम मात्रको विश्‍वासी हुनु हो, केही असल व्यवहारहरू हुनु र आफूलाई आत्मिक पोषण दिने कुनै कुरा प्राप्त गर्नु हो, बस त्यति मात्र हो। मूल्य चुकाउनु, कष्ट भोग्नु, वा कुनै पनि कुरा त्याग्नु आवश्यक छैन। यदि कुनै व्यक्तिले आफ्नो हृदयमा विश्वास गर्छ र परमेश्वरलाई स्विकार्छु भन्छ भने, परमेश्वरप्रतिको त्यस प्रकारको विश्वासले उसलाई मुक्ति प्राप्त गर्न र स्वर्गको राज्यमा प्रवेश गर्न मद्दत गर्नेछ! त्यस्तो आस्था कति ठूलो हो!” के यस्ता मानिसहरूले आखिरमा सत्यता प्राप्त गर्न सक्नेछन्? (सक्दैनन्।) तिनीहरूले सत्यता प्राप्त गर्न नसक्नुको कारण के हो? तिनीहरूमा सकारात्मक कुराहरूप्रति कुनै प्रेम हुँदैन, तिनीहरू ज्योतिको तृष्णा गर्दैनन्, र परमेश्‍वरको मार्गलाई वा सत्यतालाई प्रेम गर्दैनन्। तिनीहरूलाई सांसारिक प्रचलनहरू पछ्याउन मन पर्छ, तिनीहरू ख्याति, प्राप्ति, र हैसियत भनेपछि हुरुक्‍कै हुन्छन्, तिनीहरू भीडभन्दा भिन्न हुन मन पराउँछन्, तिनीहरू ख्याति, प्राप्ति, र हैसियतको पूजा गर्छन्, अनि महान्‌ र प्रसिद्ध व्यक्तिहरूलाई श्रद्धा गर्छन्, तर यथार्थमा तिनीहरूले पिशाचहरू र शैतानहरूलाई श्रद्धा गर्छन्। तिनीहरू हृदयमा जे पछ्याउँछन् सत्यता, वा सकारात्मक कुराहरू होइनन्; बरु तिनीहरू ज्ञानको सम्मान गर्छन्। आफ्‍नो हृदयमा तिनीहरू सत्यताको खोजी गर्ने र परमेश्‍वरको गवाही दिनेहरूलाई अनुमोदन गर्दैनन्; बरु, तिनीहरू विशेष प्रतिभा र वरदान भएका मानिसहरूलाई अनुमोदन र आदर गर्छन्। तिनीहरू परमेश्‍वरप्रतिको आफ्नो आस्थामा सत्यता पछ्याउने मार्गमा हिँड्दैनन्, बरु ख्याति, प्राप्ति, हैसियत र शक्तिलाई पछ्याउने मार्गमा हिँड्छन्; तिनीहरू ठूलो तिकडम गर्ने, र चतुर रणनीति प्रयोग गरेर जित्ने व्यक्ति बन्‍न लागिपर्छन्; तिनीहरू कुनै महान् र चर्चित व्यक्ति बन्‍नका लागि समाजको उच्‍च स्तरमा आफूलाई स्थापित गर्ने प्रयास गर्छन्। उनीहरू आफू सहभागी हुने सबै अवसरहरूमा आफूलाई श्रद्धासाथ अभिवादन र स्वागत गरियोस् भन्‍ने चाहन्छन्; तिनीहरू मानिसहरूको आदर्श बन्‍न चाहन्छन्। तिनीहरू यस्तै प्रकारको व्यक्ति बन्न चाहन्छन्। यो कस्तो प्रकारको मार्ग हो? त्यो भूतात्माहरूको मार्ग हो, दुष्टहरू हिँड्ने बाटो हो। यो परमेश्वरको विश्‍वासीले लिने मार्ग होइन। तिनीहरू शैतानी दर्शन र त्यसको तर्क र हरेक परिस्थितिमा त्यसको हरेक चाल र हरेक छल प्रयोग गरेर मानिसहरूलाई आफ्नो व्यक्तिगत भरोसाको आडमा ठग्छन्, उनीहरूलाई आफ्नो आराधना र पिछा गर्न लगाउँछन्। यो परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू हिँड्नुपर्ने बाटो होइन; यस्ता मानिसहरूले मुक्ति नपाउने मात्र होइन, परमेश्‍वरको दण्डसमेत भेट्नेछन्—यसबारे कुनै शङ्का हुन सक्दैन। कुनै व्यक्तिले मुक्ति प्राप्त गर्न सक्नु वा नसक्नुको आधार के हो? त्यो उसले सत्यता स्विकार्न, ऊ परमेश्वरको कामप्रति समर्पित हुन, र सत्यता पछ्याउने मार्गमा हिँड्न सक्छ कि सक्दैन भन्ने कुरामा आधारित हुन्छ। त्यो कुरा यी तत्वहरूको आधारमा निर्धारित गरिन्छ। विश्‍वासमा व्यक्तिले कुन मार्गमार्फत परमेश्‍वरको मुक्ति हासिल गर्न सक्छ? उसले परमेश्‍वरलाई पछ्याउनुपर्छ, उहाँका वचनहरूप्रति चासो दिनुपर्छ, उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, र उहाँका मापदण्डहरू र सत्यताअनुसार जिउनुपर्छ। व्यक्तिले यो मार्गमार्फत मात्रै मुक्ति प्राप्त गर्न सक्छ।

जनवरी ४, २०१८

अघिल्लो: भ्रष्ट स्वभाव समाधान गर्ने मार्ग

अर्को: असल व्यवहार गर्‍यो भन्दैमा व्यक्तिको स्वभाव परिवर्तन भएको छ भन्‍ने हुँदैन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्