असल व्यवहार गर्‍यो भन्दैमा व्यक्तिको स्वभाव परिवर्तन भएको छ भन्‍ने हुँदैन

अहिले, कतिपय मानिसहरू झिसमिसदेखि गोधूलिसम्म काम गर्छन्, र आफ्नो कर्तव्य निर्वाह गर्दा खान वा सुत्न नै बिर्सन्छन्, तिनीहरू देहलाई काबुमा राख्‍न, शारीरिक कठिनाइविरुद्ध विद्रोह गर्न, र बिरामी हुँदासमेत काम गर्न सक्छन्। तर तिनीहरूमा यी सन्तोषजनक गुणहरू भए पनि, अनि तिनीहरू असल र सही मानिसहरू भए पनि, तिनीहरूको हृदयमा अझै पनि तिनीहरूले पन्छाउनै नसक्ने कुराहरू ख्याति, प्राप्ति, हैसियत र घमण्ड हुन्छन्। यदि तिनीहरू यी कुराहरूलाई कहिल्यै पन्छाउँदैनन् भने, के तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् त? उत्तर आफैमा स्पष्ट छ। परमेश्‍वरमा विश्‍वास गर्नुको सबैभन्दा गाह्रो पक्ष भनेको स्वभाव परिवर्तन गर्नु हो। सायद तँ जीवनभरि अविवाहित रहन सक्छस्, वा तैँले कहिल्यै पनि मिठो नखान वा राम्रो नलाउन सक्छस्; कतिपय मानिसहरू त यसोसमेत भन्छन्, “जीवनभरि दुःख पाए पनि, वा जीवनभरि एक्लै भए पनि, म त्यो सहन सक्छु—परमेश्‍वर मेरो साथमा हुनुभएकोले, यी कुरा केही पनि होइनन्।” यस प्रकारको शारीरिक पीडा र कठिनाइलाई छिचोल्न र समाधान गर्न सजिलो छ। केलाई चाहिँ छिचोल्न सजिलो छैन? मान्छेको भ्रष्ट स्वभावलाई। भ्रष्ट स्वभावहरू आत्मसंयमद्वारा मात्र हटाउन सकिँदैन। मानिसहरूले आफ्‍नो कर्तव्य उचित रूपमा निर्वाह गर्न, परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न, र भविष्यमा राज्यमा प्रवेश गर्नको लागि शारीरिक कष्ट सहन सक्छन्—तर के कष्ट भोग्‍न र मूल्य चुकाउन सक्‍नुको अर्थ तिनीहरूको स्वभाव परिवर्तन भएको छ भन्‍ने हो त? होइन। व्यक्तिको स्वभाव परिवर्तन भएको छ कि छैन भनेर मापन गर्न उसले कति कष्ट सहन सक्छ, वा उसले बाहिरी रूपमा कति असल व्यवहार देखाउँछ भनेर नहेर्। व्यक्तिको स्वभाव परिवर्तन भएको छ कि छैन भनी सही रूपमा मापन गर्ने एकमात्र तरिका भनेको तिनीहरूका कार्यहरूको उद्देश्य, मनसाय, र अभिप्राय, तिनीहरूले व्यवहार गर्ने र मामिलाहरू सम्हाल्ने सिद्धान्तहरू, अनि सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिलाई हेर्नु हो।

परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, कतिपय मानिसहरू सांसारिक प्रवृतिहरू पछ्याउने वा आफ्ना लुगाफाटा र रूपरङ्गमा ध्यान दिने बिलकुलै गर्दैनन्। तिनीहरू कष्ट भोग्न र मेहनत गर्न, अनि देहलाई वशमा राख्न र देहविरुद्ध विद्रोह गर्न सक्छन्। तर तिनीहरू कर्तव्य निभाउँदा, अरूसित अन्तरक्रिया गर्दा र कामकुरा सम्हाल्दा, विरलै इमानदार हुन्छन्। तिनीहरूलाई इमानदार हुन मन लाग्दैन, तिनीहरू सधैँ अलग देखिन र भिन्‍न हुन चाहन्छन्, अनि तिनीहरूले गर्ने र भन्‍ने हरेक कुराको पछाडि अभिप्राय हुन्छ। तिनीहरू आफू कति राम्रो छु भनी मानिसहरूलाई देखाउन, मानिसहरूको मन जित्न, अनि मानिसहरूलाई आफ्नो समर्थन र आराधना गर्ने तुल्याउन यति हदसम्म होसियारी र सावधानीसाथ हिसाब लाउँछन् कि मानिसहरू आफूलाई केही आइपर्दैपिच्छे तिनीहरूकहाँ नै आएर सहयोग माग्‍नेछन्। यसो गरेर, तिनीहरू देखौवा गरिरहेका हुन्छन्। तिनीहरूले प्रकट गर्ने त्यो कस्तो स्वभाव हो? त्यो शैतानी स्वभाव हो। के यस्ता मानिसहरू धैरै छन्? सबैजना यस्तै हुन्छन्। यसो हेर्दा, तिनीहरू हरेक नियम पालना गर्छन्, तिनीहरू अलि कष्ट भोग्न सक्छन्, अनि तिनीहरू केही हदसम्म समर्पित हुन इच्छुक हुन्छन्। तिनीहरू थोरै सांसारिक कुराहरू त्याग्न सक्छन्, तिनीहरूसित सत्यता पछ्याउने अलिअलि सङ्कल्प र चाहना हुन्छ, अनि तिनीहरूले परमेश्‍वरप्रति विश्‍वासको मार्गमा जग बसालेका हुन्छन्। तिनीहरूको भ्रष्ट स्वभाव मात्र जस्ताको तस्तै रहेको हुन्छ। तिनीहरू बिलकुलै परिवर्तन भएका हुँदैनन्। तिनीहरूले सत्यता बुझे पनि त्यसलाई अभ्यास गर्न सक्दैनन्। बिलकुलै परिवर्तन भएका नहुनु भन्‍नुको अर्थ त्यही हो। सबै कामकुरा आफूखुसी गर्नु त शैतानी स्वभावहरूमा जिउनेहरूले व्यवहार गर्ने तरिका हो। तिनीहरू आफ्ना कार्यहरूको अभिप्राय गलत हुँदा, परमेश्‍वरलाई प्रार्थना गर्ने वा आफ्नो इच्छा नकार्ने गर्दैनन्, तिनीहरू सत्यता सिद्धान्तहरू खोज्दैनन्, न त तिनीहरू अरूबाट मद्दत माग्छन्, न त अरूसित सङ्गति नै गर्छन्। तिनीहरू आफू जे चाहन्छन्, आफूलाई जे इच्छा लाग्छ त्यही गर्छन्; तिनीहरू असावधानीपूर्वक र संयमविना कार्य गर्छन्। तिनीहरूले बाहिरी रूपमा दुष्टता त नगर्लान्, तर सत्यता अभ्यास पनि गर्दैनन्। तिनीहरू आफ्नो कार्यमा आफ्नै इच्छा पछ्याउँछन् अनि शैतानी स्वभावमा जिउँछन्। यसको मतलब तिनीहरूमा सत्यताप्रतिको प्रेम वा परमेश्‍वरको डर मान्‍ने हृदय हुँदैन, अनि तिनीहरू परमेश्‍वरसामु पनि जिउँदैनन्। तिनीहरूमध्ये कतिपयले त परमेश्‍वरको वचन र सत्यता बुझ्न पनि सक्छन्, तर ती अभ्यास गर्न सक्दैनन्। किनभने तिनीहरू आफ्ना चाहना र महत्त्वाकाङ्क्षाहरूलाई जित्न सक्दैनन्। तिनीहरूलाई आफूले गरिरहेको काम गलत हो, त्यो अवरोध र बाधा हो, परमेश्‍वरलाई त्यो घिन लाग्छ भनी प्रस्टसित थाहा हुन्छ, तैपनि तिनीहरू बारम्बार त्यही गर्छन्, र सोच्छन्, “के परमेश्‍वरमा विश्‍वास गर्नु आशिष्‌ प्राप्त गर्नको लागि होइन र? म आशिष्‌हरूको पछि लाग्नुमा के गल्ती छ र? मैले परमेश्‍वरमा विश्‍वास गरेका वर्षहरूमा धेरै कष्ट भोगेको छु; मैले परमेश्‍वरका अनुमोदन र आशिष्‌हरू प्राप्त गर्न आफ्नो जागिर छाडेको छु र संसारका आफ्ना सम्भाव्यताहरू त्यागेको छु। मैले सहेका सबै कष्टहरूको आधारमा मात्र पनि परमेश्‍वरले मलाई सम्झनुपर्छ। उहाँले मलाई आशिष् दिनुपर्छ र समृद्ध बनाउनुपर्छ।” यी वचनहरू मानव रुचि सुहाउँदा छन्। परमेश्‍वरमा विश्‍वास गर्ने हरेक व्यक्तिले यस्तै सोच्छ—तिनीहरूलाई आशिष्‌ प्राप्त गर्ने अभिप्रायद्वारा अलिकति दूषित हुनु त्यति ठूलो समस्या होइन भन्‍ने लाग्छ। तर यदि तैँले यी वचनहरूलाई ध्यानपूर्वक विचार गरिस् भने, के तीमध्ये कुनै सत्यता वा सत्यता वास्तविकताको केही भागअनुरूप छ त? यो सब परित्याग र कष्टहरू असल मानव व्यवहारका प्रकारहरू हुन्। यी कार्यहरू आशिष्‌ प्राप्त गर्ने अभिप्रायद्वारा सञ्‍चालित हुन्छन्, र यी सत्यता अभ्यास होइनन्। यदि कुनै व्यक्तिले यी मानिसहरूको नैतिक व्यवहार मापन गर्न मान्छेका नैतिक मानकहरू प्रयोग गरेको भए, तिनीहरू मेहनती र मितव्ययी, परिश्रमी र बलिष्ठ मानिनेथिए। बेलाबेलामा तिनीहरू काममा यति तल्लीन हुन्छन् कि खान र सुत्न पनि बिर्सिन्छन्, अनि तिनीहरूमध्ये कतिपयचाहिँ भेटेको चीज त्यसको धनीलाई फिर्ता गर्न, सहयोगी र परोपकारी हुन, अरूलाई समझदार र उदार भई व्यवहार गर्न, अति कन्जुस वा नाटीकुटी गर्ने नहुन, अनि आफूलाई सबैभन्दा बढी मनपर्ने कुरा अरूलाई दिनसमेत इच्छुक हुन्छन्। यी सबै व्यवहारहरूले मान्छेको प्रशंसा पाउँछन्, र यस्तो व्यवहार गर्ने व्यक्ति असल मानिसको रूपमा चिनिन्छ। यस्ता मानिसहरू गौरवशाली, प्रशंसनीय, अनि अनुमोदन पाउन योग्य देखिन्छन्; तिनीहरू आफ्ना कार्यहरूमा अत्यन्तै नैतिकवान्‌, निष्पक्ष र उचित हुन्छन्। तिनीहरू अरूको दयाको ऋण तिर्छन् र भातृत्वलाई ख्याल राख्छन्, यतिसम्म कि तिनीहरूले आफ्ना कुनै साथीको लागि आफ्नो बलिदान नै दिनेछन्, र आफ्ना नजिककाहरूको निम्ति कष्ट सहँदै अन्तिम हदसम्‍मै अथक प्रयास गर्नेछन्। यस प्रकारको असल व्यक्तिलाई धेरै मानिसहरूले प्रशंसा गर्न सक्छन्, तैपनि के उसले वास्तवमै सत्यता स्विकार्न र अभ्यास गर्न सक्‍नेछ त? के उसले परमेश्‍वरलाई उच्च पार्न र उहाँको गवाही दिन आफ्नो जीवन अर्पण गर्नेछ त? यस्तै हुन्छ भन्‍ने छैन। त्यसोभए के उसलाई असल व्यक्ति भन्‍न सकिन्छ त? यदि तँ कुनै व्यक्तिले परमेश्‍वरको डर मान्छ कि मान्दैन र ऊ दुष्टताबाट अलग बस्छ कि बस्दैन, वा उसमा सत्यता वास्तविकता छ कि छैन भनी मूल्याङ्कन् गर्न खोज्दै छस् भने, के उसलाई सधैँ मानव धारणा, कल्पना, आचारनीति र नैतिकताको आधारमा मूल्याङ्कन् गर्नु सही हुनेछ? के त्यो सत्यताअनुरूप हुनेछ? यदि मानव धारणा, कल्पना, आचारनीति र नैतिकता सत्यता हुँदा हुन् त, परमेश्‍वरले सत्यता व्यक्त गर्नुपर्ने नै थिएन, न त न्याय र सजायको काम नै गर्नुपर्ने थियो। तैँले संसार र मानवजाति अन्धकारमय र दुष्ट छन्, तिनमा सत्यता छँदै छैन, र भ्रष्ट मानवजातिलाई परमेश्‍वरको मुक्ति आवश्यक छ भनेर स्पष्टसँग बुझ्नैपर्छ। तैँले परमेश्‍वर मात्र सत्यता हुनुहुन्छ, उहाँको वचनले मात्र मान्छेलाई शुद्ध पार्न सक्छ, उहाँले मात्र मान्छेलाई मुक्ति दिन सक्नुहुन्छ, अनि व्यक्तिको व्यवहार जति नै असल भए पनि त्यो सत्यता वास्तविकता होइन, र झनै त्यो सत्यताको त एकछेउ पनि पुग्दैन भनेर बुझ्‍नैपर्छ। मानिसहरूमाझ यी असल व्यवहारहरू व्यापक र मान्य बनेका भए पनि, यी व्यवहार सत्यता होइनन्, र कहिल्यै हुनेछैनन् पनि, र यिनले कुनै कुरा पनि परिवर्तन गर्न सक्‍नेछैनन्। के तँ आफ्ना साथीहरूको निम्ति आफ्नो बलिदान दिने र उनीहरूको लागि हदैसम्‍मको प्रयास गर्ने व्यक्तिलाई परमेश्‍वर र सत्यता स्विकार गर्न लगाउन सक्थिस्? कदापि सक्थिनस्, किनकि त्यस्तो व्यक्ति नास्तिक हो। के तँ परमेश्‍वरबारे धारणा र कल्पनाहरूले भरिएको व्यक्तिलाई उहाँप्रति साँचो समर्पण गराउन सक्थिस्? कदापि सक्थिनस्, किनकि जब व्यक्ति धारणाहरूले भरिन्छ, तब उसलाई सत्यता स्विकार्न र त्यसप्रति समर्पित हुन एकदमै कठिन हुन्छ। के व्यक्तिमा हुने कुनै पनि मात्राको असल व्यवहारले गर्दा, ऊ परमेश्‍वरप्रति साँच्चै समर्पित हुन सक्छ? के उसले उहाँलाई साँचो रूपमा प्रेम गर्न सक्छ? के उसले उहाँलाई उच्च पार्न र उहाँको गवाही दिन सक्छ? कदापि सक्दैन। के तँ प्रचार गर्ने र प्रभुको निम्ति काम गर्ने हरेक व्यक्ति परमेश्‍वरलाई साँचो प्रेम गर्ने व्यक्ति बन्छ भनेर ग्यारेन्टी दिन सक्छस्? त्यो पूरै असम्भव हुनेछ। त्यसैले, कुनै व्यक्तिमा जति नै धेरै असल व्यवहार भए पनि, त्यसको मतलब उसले साँच्चै पश्चात्ताप गरेको छ र ऊ परिवर्तन भएको छ भन्‍ने होइन, झन् उसको जीवन स्वभाव परिवर्तन भएको छ भन्‍ने त कुरै नगरौँ।

तिमीहरूले असल व्यवहार भनेको के हो, र सत्यता अभ्यास गरेर आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्नु भनेको के हो त्यो खुट्याउन सिक्नैपर्छ। आफ्नो स्वभाव परिवर्तन गर्ने कार्यमा सत्यता अभ्यास गर्ने, परमेश्‍वरका वचनहरू सुन्‍ने, उहाँमा समर्पित हुने, र उहाँका वचनहरूअनुसार जिउने कार्यहरू समावेश छन्। त्यसकारण, परमेश्‍वरका वचनहरू अभ्यास गर्न र तीअनुसार जिउन व्यक्तिले के गर्नुपर्छ? उदाहरणको लागि, मानिलिऊँ दुई मानिसहरू छन्, जो आपसमा अत्यन्तै मिल्ने साथी हुन्। तिनीहरूले विगतमा एकअर्कालाई सहयोग गरेका छन्, कठिन परिस्थितिहरू सँगै पार गरेका छन्, र तिनीहरू एकअर्कालाई बचाउन आफ्‍नो ज्यान दिन्छन्। के त्यो सत्यता अभ्यास हो त? त्यो भाइचारा हो, त्यो अरूको लागि आफैलाई त्याग गर्नु हो, त्यो असल व्यवहार हो, तर त्यो सत्यता अभ्यास गर्नु कदापि होइन। सत्यता अभ्यास गर्नु भनेको परमेश्‍वरका वचन र मापदण्डहरूअनुसार चल्नु हो; यो परमेश्‍वरमा समर्पित हुनु र उहाँलाई सन्तुष्ट तुल्याउनु हो। असल व्यवहार भनेको देहगत सम्‍बन्धहरू पूरा गर्नु र भावनात्मक सम्‍बन्धहरू संरक्षण गर्नु हो। त्यसकारण, भाइचारा गर्नु, सम्‍बन्ध जोगाउनु, एकअर्कालाई सहयोग गर्नु, सहनु र सन्तुष्ट पार्नु, यी सबै निजी, व्यक्तिगत मामिला हुन् र यी कुराको सत्यता अभ्याससँग कुनै सम्‍बन्ध छैन। त्यसकारण परमेश्‍वर मानिसहरूलाई अरूसँग कसरी व्यवहार गर्नुपर्ने मापदण्ड दिनुहुन्छ? (परमेश्‍वर हामीलाई एकअर्कासित सिद्धान्तहरूअनुसार व्यवहार गर्नुपर्ने मापदण्ड दिनुहुन्छ। यदि अर्को व्यक्तिले कुनै गलत काम, सत्यता सिद्धान्तहरूअनुरूप नरहेको काम गर्छ भने, हामीले उसको कुरा सुन्‍नु हुँदैन, चाहे त्यो व्यक्ति हाम्रो आफ्‍नै आमा वा बुबा नै किन नहोस्। हामीले सत्यता सिद्धान्तहरूमा लागेर परमेश्‍वरको घरका हितहरू रक्षा गर्नैपर्छ।) (परमेश्‍वर दाजुभाइ-दिदीबहिनीहरूले एकअर्कालाई सहयोग गरून् भन्‍ने मापदण्ड दिनुहुन्छ। यदि हामीले अर्को व्यक्तिमा समस्या देख्यौँ भने, यसलाई औँल्याउनैपर्छ, यसबारे सङ्गति गर्नैपर्छ, र यसलाई हल गर्न मिलेर सत्यता सिद्धान्तहरू खोज्‍नैपर्छ। यसो गरेर मात्रै हामीले साँचो रूपमा तिनीहरूलाई सहयोग गरिरहेका हुन्छौँ।) उहाँ एकअर्काप्रति मानिसहरूको व्यवहार सत्यता सिद्धान्तहरूमा आधारित भएको चाहनुहुन्छ, चाहे त्यो सम्‍बन्ध जस्तोसुकै किन नहोस्। यी सिद्धान्तहरूभन्दा बाहिरका कुनै पनि कुरा सत्यता अभ्यास हुँदैन। उदाहरणको लागि, कुनै व्यक्तिले मण्डलीको काममा हानि गर्ने कुनै कुरा गर्छ, जुन कुराको सबैले निन्दा र खुलासा गर्छन्। उसको साथीले भन्छ, “उसले गल्ती गर्‍यो भन्दैमा तपाईंहरूले उसलाई खुलासा गर्नु पर्दैन! म उसको साथी हुँ; सर्वप्रथम त, म ऊप्रति समझदार हुनैपर्छ; मैले उसलाई सहेर सहयोग गर्नैपर्छ। म तपाईंहरूले जस्तो उसको खुलासा गर्न सक्दिनँ। मैले उसलाई सान्त्वना दिनैपर्छ, चोट पुर्‍याउनु हुँदैन, र म उसलाई त्यो गल्ती ठूलो कुरा होइन भनेर भन्छु। यदि तपाईंहरू कसैले फेरि पनि उसलाई खुलासा गरेर गाह्रो बनाउनुभयो भने, तपाईंहरूले मेरो सामना गर्नु पर्नेछ। तपाईंहरूमध्ये कोही पनि ऊसँग मजत्तिको नजिक हुनुहुन्‍न। हामी मिल्ने साथी हौँ। मैले उसको बचाउ गर्नुपर्छ भने गर्नेछु।” के यो सत्यता अभ्यास गर्नु हो? (होइन, यो त दुनियाँसित व्यवहार गर्ने दर्शन हो।) व्यक्तिको मानसिकता अर्को सैद्धान्तिक जगमा पनि आधारित हुन्छ: उसले के विश्‍वास गर्छ भने, “मेरो साथीले मलाई मेरो जीवनको सबैभन्दा कठिन र पीडादायी समयमा सहयोग गरेको छ। अरू सबैले मलाई त्यागेका थिए, उसले मात्रै मेरो ख्याल गऱ्यो र मलाई सहयोग गऱ्यो। अहिले ऊ समस्यामा छ, र उसलाई सहयोग गर्ने पालो मेरो हो—मलाई लाग्छ, विवेक र मानवता हुनु भनेको यही हो। यदि तपाईंहरू परमेश्‍वरमा विश्‍वास गर्नुहुन्छ तर यति थोरै पनि विवेक छैन भने आफूलाई कसरी मानव भन्‍न सक्‍नुहुन्छ? के त्यसले परमेश्‍वरप्रति तपाईंहरूको विश्‍वास र तपाईंहरूको सत्यता अभ्यासलाई खोक्रो कुरा बनाउँदैन र?” यी शब्‍दहरू सही हुन् जस्तै लाग्छन्। धेरैजसो मानिसहरूले यी शब्दहरूको भित्री वास्तविकता बताउन सक्दैनन्—यी कुरा बोल्‍ने व्यक्तिले समेत सक्दैन, उसले त आफ्ना कार्यहरूपछाडिको मनसाय सत्यतासित मेल खान्छ भन्ठान्छ। तर के उसका कार्यहरू सही छन् त? वास्तवमा, छैनन्। नियालेर हेर्, उसले बोल्‍ने हरेक शब्‍द मानव आचारनीति, नैतिकता, र विवेकबाट आएको हुन्छ। यदि उसलाई मानव आचारनीतिअनुसार मूल्याङ्कन् गर्ने हो भने, उसमा विवेक छ र ऊ बफादार व्यक्ति हो। आफ्‍नो साथीको यसरी बचाउ गर्दा ऊ असल व्यक्ति बन्छ। तर यो “असल व्यक्ति” को पछाडि कस्तो स्वभाव र सार लुकेको छ, के कसैलाई थाहा हुन्छ र? ऊ परमेश्‍वरको साँचो विश्‍वासी होइन। सर्वप्रथम त, केही आइपर्दा, उसले त्यो परिस्थितिलाई परमेश्‍वरका वचनहरूअनुसार हेर्दैन। उसले परमेश्‍वरका वचनहरूमा सत्यता खोजी गर्दैन, बरु अविश्‍वासीहरूको नैतिकता र आचारनीति अनि जीवन उक्तिहरूअनुसार मामिलाहरू हेर्ने छनौट गर्छ। उसले शैतानका झूट र भ्रमहरूलाई सत्यता मान्छ, र परमेश्‍वरका वचनहरूलाई एकातिर पन्छाउँछ, र परमेश्‍वरका वचनहरूमा भनिएका कुराहरूलाई बेवास्ता गर्छ। उसले यसो गरेर सत्यताको उपहास गरिरहेको हुन्छ। यसले ऊ सत्यतालाई प्रेम गर्दैन भन्‍ने देखाउँछ। उसले सत्यताको ठाउँमा सैतानी जीवन उक्ति अनि मान्छेका धारणा, आचारनीति, र नैतिकतालाई राख्छ, र उसले शैतानी दर्शनहरूअनुसार कार्य गर्छ। उसले यो सत्यता अभ्यास गर्नु र परमेश्‍वरका अभिप्रायहरू पुरा गर्नु हो, यो कार्य गर्ने न्यायोचित तरिका हो भनेरसमेत विश्‍वस्त भई भन्‍ने गर्छ। के उसले सत्यता उल्‍लङ्घन गर्न न्यायिकताको यो खोल ओढिरहेको मात्रै होइन र? मानिसहरूले कस्तो व्यवहार गर्छन् वा कसरी मामिलाहरू सम्हाल्छन् भन्‍ने सन्दर्भमा भन्‍नुपर्दा, के यस्तो परिस्थिति आम रूपमै हुन्छ होइन र? जब तैँले सधैँ शब्द र सिद्धान्तहरू बोल्छस्, तब तँलाई आफूसँग सत्यता छैन र सत्यताबारे साँच्चै सङ्गति गर्नुको मोल छ भनेर थाहा हुन्छ, अनि तँलाई यस अन्धकार र दुष्ट संसारमा सत्यता प्राप्त गरेकाहरूको जीवनको मात्र आशा र मूल्य छ भनेर पनि थाहा हुन्छ। तैपनि, जब तैँले सामना गर्नुपर्ने कुनै ठूलो घटना घट्छ र तैँले विकल्पहरू छनौट गर्नुपर्ने हुन्छ, तब तँलाई शैतानको दर्शन, नैतिकता र आचारनीतिहरू नै सत्यता हुन् र ती कुरा नै उपयोगी छन् भन्‍ने लाग्छ। त्यस बेला, तँलाई परमेश्‍वरको वचनमा भएको र तैँले पछ्याउन चाहेको सत्यता उपयोगी लाग्दैन। यो कस्तो समस्या हो? यदि तँ परमेश्‍वरको वचन नै सत्यता हो भनी स्विकार्न सक्छस् भने, त्यसलाई किन अभ्यास गर्न सक्दैनस्? किन तँ सत्यता अभ्यास गर्ने आँट गर्दैनस्? तँलाई के कुरादेखि डर लाग्छ? तँलाई अरू मानिसहरूले निन्दा र आलोचना गर्लान्, सांसारिक सम्भाव्यताहरू गुम्लान्, अनि आफ्नो व्यक्तिगत हितमा क्षति पुग्ला भनेर डर लाग्छ। जब तँ सत्यता अभ्यास गर्दैनस्, जब तँ भगौडा बन्छस्, र निर्णायक मोडमा परमेश्‍वरका वचनहरूमा भएको सत्यताको मूल्य नकार्छस्, तब यसले तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनस्, बरु शैतानी दर्शन, झूटो शिक्षा, र भ्रमलाई प्रेम गर्ने, र सांसारिक सम्भाव्यता, देहगत हित, अनि ख्याति र हैसियत पछ्याउने व्यक्ति होस् भनेर प्रमाणित गर्छ। तैपनि तँ सत्यतालाई प्रेम गरेको दाबी गर्छस्—यो पाखण्ड हो। यति कुरा नै तैँले कहिल्यै सत्यता स्विकारेको छैनस् वा परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासमा सत्यता अभ्यास गरेको छैनस् भनेर साबित गर्न यथेष्ट छ। त्यस्तो अवस्थामा, के तँमा परमेश्‍वरको डर मान्‍ने हृदय हुन्छ त? के तेरो हृदयमा परमेश्‍वरको निम्ति स्थान छ त? सामान्यतया तैँले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनेर त स्विकार्छस्, तर केही आइपर्नेबित्तिकै, तेरो हृदयमा परमेश्‍वर हुनुहुनेछैन र तैँले आफूलाई नै सबैभन्दा बढी महत्त्व दिनेछस्, अनि मानव सम्बन्ध, दुनियाँसित व्यवहार गर्ने दर्शन, नैतिक नियम र सिद्धान्तहरू, अनि विवेक र नैतिकताका मानकहरूलाई सत्यताको रूपमा लिनेछस्। शैतानका यी कुराहरूले तेरो हृदयमा सत्यताको स्थान ओगटिसकेका छन्—अनि के तँ पतन भइसकेको छैनस् र? अहिले तैँले परमेश्‍वरलाई पूरै धोका दिएको छस् र तँ पूर्णतया अन्धकारमा खसेको छस्।

थुप्रै मानिसहरू परमेश्‍वरमा आफूले विश्‍वास गरेका धेरै वर्षहरूमा अत्यन्तै व्यस्त भएका छन्, तैपनि किन तिनीहरूसँग सत्यता वास्तविकता छैन त? खासमा, ती मानिसहरूले सत्यतालाई प्रेम नगर्नु नै समस्याको जड हो। यदि तैँले तिनीहरूलाई तिमीहरू सत्यतालाई प्रेम गर्दैनौ भनेर भनिस् भने, तिनीहरूले चित्त दुखाउनेछन्, तर वास्तवमा के तिनीहरूको चित्तदुखाइ मनासिब छ त? अहँ, छैन। ती मानिसहरूले जतिवटा प्रवचनहरू सुनेका वा जतिवटा धर्मसिद्धान्तहरू बुझेका भए पनि, अभ्यास गर्ने समय आउँदा तिनीहरू सत्यता अभ्यास गर्दैनन्; तिनीहरू सत्यता सिद्धान्तबमोजिम कार्य गर्ने, मामिलाहरू तह लगाउने, वा आफू वरपरका मानिस, घट्ना र परिस्थितिहरू सम्हाल्ने गर्दैनन्, र तिनीहरूसित सधैँ आफ्नै धारणाहरू हुन्छन्। जब कुनै व्यक्ति मसित बोलिरहेको हुन्छ, तब ती मानिसहरू सधैँ यसो भन्छन्, “मेरो कुरा सुन्‍नुस्, मलाई मेरो दृष्टिकोण बताउन दिनुस्; यो मेरो दृष्टिकोण हो, मैले भन्‍न खोजेको यही हो,” र “म यस तरिकाले कार्य गर्न चाहन्छु, के तपाईंले मेरो कुरा सुन्‍नुहुनेछ?” तैँले भन्‍न खोजेको कुरा नभनीकनै मलाई थाहा हुन्छ; तैँले भन्‍न खोजेको कुराबारे सधैँ बताइरहनै पर्दैन, त्यो सत्यता होइन, र त्यसलाई प्रस्ट रूपमा बताउँदैमा त्यो सत्यता बन्‍नेछैन। यदि तँलाई आफूमा जन्मैदेखि सत्यता छ भन्‍ने विश्‍वास छ भने, किन तँ अझै पनि परमेश्‍वरमा विश्‍वास गर्छस्? यदि तँ परमेश्‍वरले व्यक्त गर्नुभएका सबै सत्यता सहज रूपमा बुझ्न सक्छस् भने—मानौँ तँ सबै सत्यता बुझ्न सक्छस् र तँ आफै सत्यता होस् भने, अनि तैँले सम्पूर्ण समस्या समाधान गर्न सक्छस् भने—किन अझै पनि तँ परमेश्‍वरमा विश्‍वास गर्छस्? कतिपय मानिसहरू भन्छन्, “तपाईं किन सधैँ सही हुनुहुन्छ र सधैँ सबै निर्णयहरू गर्न पाउनुहुन्छ? तपाईं किन मेरो कुरा सुन्‍नुहुन्‍न?” यी कस्ता प्रकारका शब्दहरू हुन्? मैले यत्तिका वर्षसम्म तेरो कुरा सुनेपछि पनि, सही र सत्यताअनुरूपको एउटा शब्द सुनेको छैनँ, त्यसैले मैले किन तेरो कुरा सुन्‍ने? म मान्छेका केही तुलनात्मक रूपमा अलि सही विचारहरू सुन्‍न चाहन्छु। त्यसले केही मात्रामा मेरो सोच र ऊर्जा बचाउँछ, तर म त्यस्तो केही सुन्दिनँ। मैले सुन्‍ने भनेकै भ्रम र विद्रोही शब्दहरू, र गनगन र नकारात्मक कुराहरू मात्र हुन्; ती सब सत्यताविपरीत छन्, त्यसैले मैले ती कुरा किन सुन्‍ने? यदि सबै जनालाई तेरो कुरा सुन्‍न लगाइएको भए, तिनीहरूले परमेश्‍वरविरुद्ध विद्रोह गर्नेथिए, परमेश्‍वरको प्रतिरोध अनि स्वर्गको विरोध गर्नेथिए, तिनीहरू सबैले शैतानलाई पछ्याउनेथिए र अन्ततः नष्ट हुनेथिए। यदि तैँले मेरा वचनहरू सुनिस् र तिनलाई मनन गरिस् भने, तैँले सत्यता बुझ्नेछस्, र तँ परमेश्‍वरसामु आउन र मुक्तिको मार्ग हिँड्न सक्षम हुनेछस्। परमेश्‍वरका वचनहरूले मात्र मानिसहरूलाई मुक्ति दिन सक्छन्, अनि मानिसहरूले सत्यता बुझेर, सत्यता अभ्यास गरेर, र परमेश्‍वरप्रति समर्पित भएर मात्र परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छन्। मानिसहरूलाई सत्यता स्विकार्नु सजिलो हुँदैन। जब म मानिसहरूमाझ हुन्छु, दाजुभाइ-दिदीबहिनीहरू कसरी सत्यतामा भर्खरै प्रवेश गरेका छन् भनी सुन्‍न चाहन्छु; र तिनीहरूले मानिस, घट्ना, र वस्तुहरू खुट्याउनमा र सत्यता अभ्यास गर्नमा के-कति प्रगति गरेका छन्; तिनीहरूको अवस्था कस्तो छ; तिनीहरूले आफ्ना गलत स्थितिहरू उल्ट्याएका र परिवर्तन गरेका छन् कि छैनन्; तिनीहरूलाई आफ्नो भ्रष्ट स्वभावबारे कतिको ज्ञान छ; तिनीहरूले आफ्नो भ्रष्ट स्वभावको प्रकटीकरणबाट आफूलाई कति बुझेका छन्; परमेश्‍वरबारे तिनीहरूका कतिवटा गलत बुझाइहरू हटेका छन्; र परमेश्‍वरबारे तिनीहरूको ज्ञान कति बढेको छ भनी सुन्‍न चाहन्छु। म यी अनुभवहरू र ज्ञानबारे सुन्‍न चाहन्छु, तर दुर्भाग्य, अधिकांश मानिसहरू यस प्रकारको अनुभवात्मक गवाही दिन सक्दैनन्। तिनीहरूमा सत्यता वास्तविकता हुँदैन, अनि तिनीहरू खोक्रा शब्द र सिद्धान्तहरू; विकृत, र पूर्वाग्रही शब्दहरू अनि गुनासाहरू; वा देखावा गर्न र श्रेय लिन अनि इनाम पाउन खोज्ने शब्दहरू मात्र बोल्छन्। तिमीहरूलाई के लाग्छ, ती कुराहरू सुन्दा मलाई कस्तो अनुभूति होला? के ती कुराले मेरो मुड राम्रो होला? (अहँ।) मानिसहरूले विरलै मात्र सत्यताबारे अर्थात् सुनेपछि मानिसहरूलाई राम्रो महसुस गराउने वचनहरूबारे आफ्ना व्यावहारिक अनुभव र अन्तर्ज्ञान बताउँछन्, अनि त्यस प्रकारका वचनहरूविना मानिसहरू किचाहिँ श्रेय लिने र इनाम खोज्ने शब्दहरू किचाहिँ असान्दर्भिक र खोक्रा शब्दहरू बोल्छन्। के तैँले मसित ती खोक्रा धर्मसिद्धान्तहरूबारे कुरा गर्नुपर्छ? तैँले ती धर्मसिद्धान्तहरूबारे बोलेर अज्ञानी मानिसहरूलाई त विरलै मात्र बहकाउन सक्छस्, त्यसैले के तीबारे मसँग कुरा गर्नु समझ नहुनु होइन र? जब केही मानिसहरू मसित भलाकुसारी गर्छन्, तिनीहरू जहिले पनि झूटा आत्मिक धर्मसिद्धान्तहरूबारे कुरा गर्छन्, अनि जब कुनै मामिलाबारे छलफल गर्छन्, तिनीहरू जहिले पनि यसो भन्छन्, “सबथोक परमेश्‍वरको हातमा छ, त्यो सबै परमेश्‍वरले तोक्नुभएको हो।” तिनीहरू बाहिरी मामिलाहरूबारे बोल्नु आत्मिक होइन र आत्मिक धर्मसिद्धान्तहरूबारे बोल्न जान्‍नु मात्र आत्मिक हो भन्ठान्छन्। जब म तिनीहरूलाई केही व्यावहारिक वचनहरू बताउँछु र जीवन जियाइबारे तिनीहरूसित विस्तारमा कुरा गर्छु, तब तिनीहरू त्यो स्विकार्दैनन्; तिनीहरू सानदार प्रवचन र ठूल्ठूला आत्मिक धर्मसिद्धान्तहरू मात्र सुन्‍न चाहन्छन्। के यस्ता मानिसहरूमा वास्तविकता हुन्छ? तिनीहरूमा त वास्तविकता नहुने मात्र होइन, समझको समेत अत्यन्तै अभाव हुन्छ। तिनीहरू साँच्चै अहङ्कारी र अज्ञानी मानिसहरू हुन्।

स्वभाव परिवर्तन पछ्याउनका लागि पहिला कुन कुराहरू स्वभाव परिवर्तनसँग असम्बन्धित छन् र स्वभाव परिवर्तनको दायराभित्र पर्दैनन्, बरु ती बाहिरी असल व्यवहार मात्र हुन् भनी बुझ्नुपर्छ, र यसको साथै परमेश्‍वरले भन्‍नुहुने स्वभाव परिवर्तनले केलाई जनाउँछ, र परमेश्‍वर मान्छेमा के परिवर्तन भएको चाहनुहुन्छ भनी पनि बुझ्न आवश्यक छ—मानिसहरूले यी मामिलाहरू बुझ्नैपर्छ। मान्छेले जे कुरालाई स्वभाव परिवर्तन ठान्छ त्यो व्यवहार परिवर्तन मात्र हो, र त्यो परमेश्‍वरले भन्‍नुहुने स्वभाव परिवर्तनभन्दा फरक कुरा र फरक मार्ग हो। मान्छेले जे कुरालाई स्वभाव परिवर्तन ठान्छ, के त्यो कुराले मानिसहरूले परमेश्‍वरविरुद्ध विद्रोह, प्रतिरोध वा विश्‍वासघात गर्नेछैन भनेर सुनिश्चित गर्न सक्छ? के त्यसले मानिसलाई अन्ततः आफ्नो गवाहीमा खरो उत्रिने र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्ने तुल्याउन सक्छ? परमेश्‍वरले कुरा गर्ने स्वभाव परिवर्तनको अर्थ मानिसहरूले सत्यता अभ्यास गरेर, उहाँको न्याय र सजाय अनुभव गरेर, अनि उहाँको काँटछाँट, जाँच र शोधन भोगेर उहाँका अभिप्रायहरू र सत्यता सिद्धान्तहरूबारे बुझाइ हासिल गर्नु हो, र त्यसपछि सत्यता सिद्धान्तहरूअनुसार जिउनु, परमेश्‍वरबारे गलतबुझाइ नभएको र परमेश्वरलाई गलत नबुझी उहाँमा समर्पित हुनु र उहाँको भय मान्‍ने हृदय प्राप्त गर्नु, अनि परमेश्‍वरको साँचो ज्ञान र साँचो आराधना धारण गर्नु हो। परमेश्‍वरले व्यक्तिको स्वभाव परिवर्तनबारे भन्‍नुहुन्छ, तर मान्छेले भन्‍ने स्वभाव परिवर्तनले के जनाउँछ? त्यसले सुध्रिएको व्यवहार, अर्थात् सुशील र शान्त देखिनु, अनि अहङ्कारी नहुनुलाई जनाउँछ; त्यसको अर्थ परिष्कृत र अनुशासित तरिकाले बोल्नु, बदमास र उपद्रवी नहुनु, अनि व्यक्तिको बोली र व्यवहारमा विवेक, समझ, र नैतिक स्तर हुनु हो। के मान्छेले भन्‍ने स्वभाव परिवर्तन र परमेश्‍वरले मापदण्डको रूपमा तोक्‍नुहुने स्वभाव परिवर्तनबीच कुनै भिन्‍नता छ? के भिन्‍नता छ? मान्छेले भन्‍ने स्वभाव परिवर्तन बाहिरी व्यवहारमा आउने परिवर्तन, मानव धारणा र कल्पनाअनुरूपको परिवर्तन हो। परमेश्‍वरले मापदण्डको रूपमा तोक्‍नुहुने स्वभाव परिवर्तन भनेको आफ्नो भ्रष्ट स्वभाव हटाउनु हो, यो सत्यता बुझेर, विभिन्‍न कुराबारे आफ्नो दृष्टिकोण परिवर्तन गरेर, आफ्नो जीवनका दृष्टिकोण र मूल्यमान्यताहरू परिवर्तन गरेर जीवन स्वभावमा आउने परिवर्तन हो। यसमा एउटा भिन्‍नता छ। तैँले मानिसहरू वा विभिन्‍न कुराहरू जे सम्हालिरहेको भए पनि, तेरा मनसायहरू, तेरो कार्यका सिद्धान्तहरू, अनि तेरो मापनको मानक सबै सत्यताबमोजिम हुनैपर्छ, अनि तैँले सत्यता सिद्धान्त खोज्नैपर्छ; स्वभाव परिवर्तन हासिल गर्ने एकमात्र तरिका यही हो। यदि तँ आफूलाई जहिले पनि व्यावहारगत मानकद्वारा मापन गर्छस्, सधैँ आफ्नो बाह्य व्यवहार परिवर्तनहरूमा केन्द्रित हुन्छस्, अनि आफूमा अलि असल व्यवहार भएकै कारण आफू मानव स्वरूपमा जिइरहेको र आफूसँग परमेश्‍वरको अनुमोदन छ भन्ठान्छस् भने, त्यो पूर्ण रूपमा गलत हो। तँमा भ्रष्ट स्वभावहरू भएकोले, र तैँले परमेश्‍वरको विरोध गर्न सक्ने र परमेश्‍वरलाई विश्‍वासघात गर्ने जोखिम भएकोले, यदि तैँले आफ्नो भ्रष्ट स्वभाव हटाउन सत्यता खोज्दैनस् भने, तेरो बाहिरी व्यवहार जति नै राम्रो भए पनि, तँ परमेश्‍वरप्रतिको साँचो समर्पण हासिल गर्न र परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्न सक्षम हुनेछैनस्। के बाहिरी असल व्यवहारले मात्र परमेश्‍वरको डर मान्‍ने हृदय बनाउन सक्छ र? के त्यसले व्यक्तिलाई परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्ने तुल्याउन सक्छ र? यदि मानिसहरू परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्न सक्दैनन् भने, जतिसुकै मात्राको असल व्यवहारले पनि तिनीहरूमा परमेश्‍वरप्रति साँचो समर्पण छ भन्‍ने जनाउँदैन। त्यसैले, जति नै मात्रामा असल व्यवहार भए पनि, त्यसले स्वभाव परिवर्तन जनाउँदैन। कतिपय मानिसहरू विद्वानझैँ एकदमै परिष्कृत ढङ्गमा बोल्छन्, कहिल्यै असभ्य भाषा प्रयोग गर्दैनन्—तिनीहरूको मुखबाट साहित्यकार वा वक्ताहरूबाट जस्तै, विज्ञहरूको कलमबाट जस्तै शब्दहरू निस्‍कन्छन्। यी सतही स्तरका व्यवहार र प्रकटीकरणहरूलाई हेर्दा, कुनै समस्या देख्न सकिँदैन, तर तैँले कसरी तिनीहरूको स्वभावमा समस्याहरू भए-नभएको पत्ता लगाउन सक्छस्? तिनीहरूको स्वभावमा कुनै परिवर्तन आएको छ छैन भनी तँ कसरी मापन गर्न सक्छस्? यो कुरा केबाट छर्लङ्गै देख्न सकिन्छ? (सत्यताप्रति तिनीहरूको मनोवृति हेरेर।) त्यो कुरा मापन गर्ने यो एउटा सूचक हो। अरू कुनै छन्? (तिनीहरूका काम गर्ने सिद्धान्तहरू, र विभिन्‍न कुराहरूबारे तिनीहरूको दृष्टिकोणहरू हेरेर।) कुरोको चुरो त्यही हो। तैँले तिनीहरूको बोल्ने शैलीलाई हेर्नै हुँदैन, चाहे त्यो भाषा शिष्ट होस् वा अश्लील, वा बौद्धिक—सतहलाई नहेर्। कतिपय मानिसहरू अत्यन्तै लामो पाराले बोल्छन्, आफूलाई अभिव्यक्त गर्न जान्दैनन्, अनि व्यग्रताले बेचैन हुन्छन्—के यो तिनीहरूको स्वभावसँग सम्बन्धित छ? (छैन।) यो बाहिरी व्यवहार मात्र हो, बढीमा यो तिनीहरूको व्यक्तिगत चरित्र वा पारिवारिक हुर्काइसँग सम्बन्धित छ, यो तिनीहरूको स्वभावसँग सम्बन्धित छैन। त्यसोभए तैँले तिनीहरूको स्वभाव कस्तो प्रकारको छ, तिनीहरूको स्वभाव परिवर्तन भएको छ छैन, र तिनीहरू सत्यता अभ्यास गर्ने मानिस हुन् होइनन् भनेर कसरी देख्न सक्छस्? तिनीहरूले बोल्ने कुरा हेरेर। यदि तिनीहरूको हरेक शब्द साँचो छ, र त्यो तिनीहरूको हृदयको गहिराइबाट आउँछ, त्यसमा कुनै चाहना वा महत्त्वाकाङ्क्षा छैन, र तिनीहरूको बोलीपछाडि कुनै अभिप्राय छैन, तिनीहरू खुला र इमानदार शब्दहरू मात्र बोल्छन्, र आफ्ना कठिनाइ र कमजोरीबारे अरूलाई खुलस्तसित बताउन, र आफूले प्राप्त गर्ने ज्योति र अन्तर्दृष्टि अरूसँग सङ्गति गर्न र बाँड्न सक्छन् भने, यदि तिनीहरू आफूले गर्न चाहने कुराबारे सच्चा छन्, र तिनीहरू आफूलाई पूर्ण रूपमा उदाङ्गो र खुलस्त पार्छन् भने, के तिनीहरू सत्यता पछ्याउनेहरू होइनन् र? अहिले, तिनीहरूको स्वभाव परिवर्तन भएको छ छैन, वा यो कति परिवर्तन भएको छ भन्‍नेबारे कुरा नगरौँ, तर यी खुलासा र प्रकटीकरणहरूद्वारा मूल्याङ्कन् गर्दा, तिनीहरू सत्यता अभ्यास गर्ने मानिसहरू हुन्। अब, तिनीहरूले अरू मानिसहरूलाई व्यवहार गर्ने तरिकालाई हेरौँ। तिनीहरू मानिसहरूलाई निष्पक्ष व्यवहार गर्न र दमन नगर्न सक्षम छन्, तिनीहरू कमजोर दाजुभाइ-दिदीबहिनीहरूलाई साथ र सहयोग दिन्छन्, र तिनीहरूको मजाक उडाउँदैनन्। त्यसबाहेक, तिनीहरू आफ्नो कर्तव्यमा परमेश्‍वरका अभिप्रायहरूप्रति निष्ठावान् र विचारशील छन्, र जुनै कठिनाइहरू सामना गर्नुपरे पनि, आफ्ना कर्तव्य त्याग्दैनन्, र परमेश्‍वरको घरको हित रक्षा गर्न सक्षम छन्। के यी कुरा सत्यता अभ्यास गर्ने मानिसहरूका प्रकटीकरण होइनन् र? (हुन्।) त्यस्ता मानिसहरू अलि सोझा हुन्छन् र तुलनात्मक रूपमा सत्यतालाई निकै प्रेम गर्छन्। कुनै व्यक्तिले अत्यन्तै परिष्कृत ढङ्गले बोल्न सक्छ, अनि उचित शैलीमा कपडा लगाउन, र बाहिरबाट धेरै भक्त देखिन सक्छ, तर उसले के बोल्छ त? उसले यस्तो बोल्छ, “म फलानो अगुवासँगै काम गर्ने गर्थेँ, र उसलाई बोल्न गाह्रो हुन्थ्यो, र भेलाहरूमा सङ्गति गर्दा म नै बढी बोल्नुपर्थ्यो—सक्षम व्यक्तिले जहिले पनि बढी नै काम गर्नुपर्छ नि, हैन र? फलस्वरूप, दाजुभाइ-दिदीबहिनीहरूले मलाई पुज्न थाले, मैले तिनीहरूलाई त्यसो गर्नदेखि रोक्न सकिनँ, मैले सङ्गति गर्न जारी राख्नुपर्थ्यो। मबाट व्यक्तिगत रूपमा मलजल पाएपछि, धेरै दाजुभाइ-दिदीबहिनीहरू मसित निकै नजिक भए, जसले गर्दा तिनीहरूमध्ये कसैलाई केही समस्या आइपर्दा, म प्रायः ती समाधान गर्न सक्थेँ। कतिपय मानिसहरू कमजोर बन्दा, मैले तिनीहरूसँग सङ्गति मात्र गर्नुपर्थ्यो, अनि तिनीहरूले पुनः शक्ति प्राप्त गर्थे। ममा अरू खोटहरू छैनन्, मेरो सबैभन्दा ठूलो त्रुटि नै मेरो कोमल हृदय हो। म अरूले कष्ट भोगेको हेर्नै सक्दिनँ; कसैले कष्ट भोग्दा, म चिन्तित हुन्छु, अनि म उसको ठाउँमा आफूले कष्ट भोग्न सकूँ भन्‍ने इच्छा गर्छु।” यी शब्दहरूको अर्थ के हो? यी शब्दहरूमा समस्या देखिँदैन, तर के उसको बोलीपछाडिको मनसायमा समस्या छ? (हो, उसले आफूलाई उच्च पारिरहेको छ र आफ्नो गवाही दिइरहेको छ।) त्यस्तो व्यक्तिको स्वभाव कस्तो हुन्छ? त्यस्ताहरूको स्वभाव अहङ्कारी र छली हुन्छ, तिनीहरू प्रभाव पार्न, अरू केही कुरा इङ्गित गर्न, र अरूलाई आफ्नो आदर र आराधना गराउन यो विधि र यी सबै शब्दहरू प्रयोग गर्न चाहन्छन्। तिनीहरूका शब्दहरूको अभिप्राय र उद्देश्य यही हो। भ्रमित र समझहीन मानिसहरूले तिनीहरूको कुरा सुनेर यस्तो सोच्नेछन्, “यो व्यक्ति साँच्चै महान् छ, ऊ अगुवा हुनु कुनै आश्चर्य होइन, ऊ हामीभन्दा राम्रो छ, ऊसँग अगुवाइ गर्ने गुण छ।” यो भ्रमित व्यक्तिको सोचाइ हो, जसले परिस्थितिहरू छर्लङ्गै देख्न सक्दैन। समझ भएकाहरूले चाहिँ यसरी बुझ्नेछन्: “उसले आफूलाई मानिसहरूले आदर गरेको चाहन्‍नँ भन्दै, खासमा मानिसहरूले उसलाई आदर नै गरून् भनेर आफू कति असल छु, आफूले कति मेहनत गर्छु अनि आफूले के-के सेवाहरू प्रदान गरेँ, कति लाभ प्राप्त गरेँ र दाजुभाइ-दिदीबहिनीहरूलाई कति सहयोग गरेँ भन्‍नेबारे अति धेरै बोल्यो। खासमा, ऊ मानिसहरूले उसलाई आदर र पूजा गरून् भनेरै अथक रूपमा दौडधुप गरिरहेको हुन्छ। ऊ अहङ्कारी मात्र नभई अत्यन्तै छली पनि छ! ऊ मानिसहरूको मन जित्न, र हैसियतको लागि परमेश्‍वरसित लड्न चाहन्छ, र मानिसहरूलाई बहकाउन उसले यो विधि प्रयोग गर्छ। के ऊ ठ्याक्कै पावलजस्तै छैन र? ऊ दियाबलस हो! उसले लामो समय बोल्यो तर आफ्ना त्रुटि वा कमीकमजोरीबारे कुरै गरेन, मानौँ उसमा भ्रष्ट स्वभावहरू छँदै छैनन्; उसले कुरा गरेका गुणहरूले मानिसहरूलाई उसको अत्यन्तै ईर्ष्या र प्रशंसा गर्ने तर आफू भने अयोग्य भएको महसुस गर्ने तुल्याउँछन्। उसले सिधै मानिसहरूलाई उसको आराधना र बढाइ गर्न नलगाए पनि, उसका शब्दहरूको प्रभाव भनेकै मानिसहरूलाई उसको आराधना र बढाइ गर्न लगाउनु हो; उसले मानिसहरूको मन जित्छ र चोर्छ, अनि उसले भ्रमित, अज्ञानी र अपरिपक्व कद भएका मानिसहरूलाई बहकाउँछ। के त्यो मानिसहरूलाई बहकाउनु होइन र? उसका शब्दहरूपछाडिका ध्येय असाध्यै अन्तर्घाती र अति दुष्ट छन्! यो व्यक्ति ख्रीष्टविरोधीहरूको वर्गमा पर्छ, यो खुट्याउन सजिलो छ।” यी दुई थरिका मानिसहरूबीच स्पष्ट भिन्‍नता छ। एक थरिको व्यक्ति अत्यन्तै स्पष्ट र सामान्य तरिकाले बोल्छ, तर ऊ इमानदार छ, अनि ऊ साँचो रूपमा र हृदयबाटै बोल्छ; उसले जे भने पनि, मानिसहरूले उसको आराधना गर्नेछैनन्, बरु हृदयमा उसको पक्ष मात्र लिनेछन्। यस्तो व्यक्तिले मानिसहरूको हृदय लुट्ने वा तिनीहरूको हृदयमा स्थान ओगट्ने गर्दैन, र उसले मानिसहरूलाई आफूसमान व्यवहार गर्न सक्छ; मानिसहरू उसको बन्धन, तिकडम वा नियन्त्रणमा हुनेछैनन्। यो साँच्चिकै असल व्यक्ति हो। उसको बोली, र उसको व्यवहार गर्ने र मामिलाहरू सम्हाल्ने तरिकामा कुनै पनि महत्त्वाकाङ्क्षा वा चाहना प्रकट हुँदैन, वा ऊ मानिसहरूलाई नियन्त्रण गर्न र तिनीहरूको हृदयमा स्थान ओगट्न चाहन्छ भन्‍ने देखिँदैन; उसमा त्यो स्वभाव हुँदैन, ऊ मानवता भएको व्यक्ति हो। दुष्ट, सधैँ महत्त्वाकाङ्क्षी रहने र अरूलाई नियन्त्रण गर्न चाहने मानिसहरू वास्तवमै शक्ति र हैसियतलाई पुज्छन्, त्यसैले तिनीहरू प्रायः देखावा गर्ने र आफ्नै गवाही दिने कुराहरू बोल्छन्, र मानिसहरूलाई बहकाउने र नियन्त्रण गर्ने कामहरू गर्छन्। स्पष्टतः यो शैतानी स्वभाव हो; यिनीहरू मानवताविनाका मानिसहरू हुन्। कतिपय मानिसहरूमा प्रतिभा, क्षमता, र योग्यता हुँदैन, र तिनीहरू बाहिरी रूपमा सुशील र सरल देखिन्छन्। तिनीहरू मानिसहरूको समूहमा धम्की र बहिष्कारमा परेझैँ हुन्छन्, अनि तिनीहरू लगनशील भई र अज्ञात रूपले काम गर्छन्। के यसको मतलब तिनीहरू सत्यता पछ्याउनेहरू हुन् त? के तिनीहरूमा महत्त्वाङ्क्षाहरू हुँदैनन्? (हुन्छन्।) किन हामी यस्ता मानिसमा पनि महत्त्वाकाङ्क्षा हुन्छ भनेर भन्दै छौँ? (किनकि सबै मानिसमा भ्रष्ट स्वभावहरू हुन्छन्।) ठिक हो, तिनीहरूमा भ्रष्ट स्वभाव हुन्छ, त्यसैले तिनीहरूमा महत्त्वाकाङ्क्षाहरू हुन्छन्, तर तिनीहरूसँग यी महत्त्वाकाङ्क्षाहरू पूरा गर्ने ठाउँ छैन। तिनीहरूलाई कसैले अवसर दिँदैन र तिनीहरू अवसर पाउन सक्दैनन्, त्यसैले तिनीहरूका महत्त्वाकाङ्क्षाहरू लुकेका हुन्छन्। यस्ता व्यक्तिले महत्त्वाकाङ्क्षाहरू पूरा गर्ने अवसर पाएपछि, उपयुक्त परिस्थिति र समयमा तिनीहरूका महत्त्वाकाङ्क्षाहरू खुलासा हुनेछन्। त्यस बेला तैँले कुनै कुरा स्पष्टसँग भन्‍न नसक्ने असल सुशील र सरल व्यक्ति पनि भ्रष्ट स्वभावबाट अछुतो छैनन् भनेर थाहा पाउनेछस्। तैँले तिनीहरू महत्त्वाकाङ्क्षाहीन छैनन्, झन् तिनीहरूमा असल मानवता वा कम भ्रष्टता हुनु त परको कुरा हो भनेर देख्नेछस्। यदि मैले यस मामिलालाई प्रस्ट नपारेको भए, त्यस्ता व्यक्तिले अझै पनि यस्तो सोच्नेथिए, “म असल व्यक्ति हुँ, मैले आफ्नो स्वभाव परिवर्तन गर्नुपर्दैन, म सत्यता बुझ्छु, म परमेश्‍वमा समर्पित हुने व्यक्ति हुँ, मसँग लामो समयदेखि सत्यता वास्तविकता रहेको छ। तिमीहरू सबैमा भ्रष्ट स्वभावहरू छन्, तिमीहरूलाई न्याय, दण्ड, र काँटछाँट गरिनुपर्छ किनकि तिमीहरू गहन रूपमा भ्रष्ट छौ, तिमीहरू सबैमा क्षमता छ, र तिमीहरू विशेष अहङ्कारी छौ।” के तिनीहरूको यो स्पष्टीकरण भ्रमपूर्ण लाग्दैन र? यो अर्को प्रकारको अहङ्कार हो। मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ, अनि थुप्रै भिन्‍नाभिन्नै तरिका र स्वरूपमा अहङ्कार प्रकट हुन्छ, जसले गर्दा मानिसहरूलाई खुट्याउन कठिन हुन्छ, र सावधान रहन लगभग असम्भव हुन्छ। के ती निकम्मा र मन्द बुद्धिका मानिसहरूमा अहङ्कारी स्वभाव हुँदैन र? के तिनीहरूमा भ्रष्ट स्वभाव हुँदैन र? तिनीहरूमा पनि यी स्वभावहरू हुन्छन्; मूर्खहरूसमेत अहङ्कारी हुन्छन्। अल्प ज्ञान भएकाहरू अहङ्कारी मात्र हुँदैनन्, तिनीहरूले आफ्नो भेष बदल्न पनि सिकेका हुन्छन्, र तिनीहरू मानिसहरूलाई बहकाउन अझ खप्पिस हुन्छन्; यो खुट्याउन सजिलो छैन। जब अविश्‍वासीहरूले अरूलाई खुट्याउँछन्, तब तिनीहरू परम्परागत संस्कृतिका नैतिक मानकअनुसार असल र खराब मानिसहरूबीच फरक छुट्याउँछन्, अनि व्यक्तिको व्यवहार र प्रकटीकरणको आधारमा मात्र फैसला गर्छन्। के यसले तिनीहरूलाई उक्त व्यक्तिको प्रकृति सार छर्लङ्गै देख्ने तुल्याउँछ? (अहँ।) त्यसोभए तँ मानिसहरूलाई ठ्याक्कै कसरी चिन्‍न सक्छस्? तँ केको आधारमा मानिसहरूलाई सही रूपमा चिन्‍न र छर्लङ्गै देख्न सक्छस्? निस्सन्देह नै, मानिसहरूलाई सत्यता र परमेश्‍वरको वचनको आधारमा मात्र सही रूपमा चिन्‍न सकिन्छ, यो पूरै निश्चित छ। कतिपय मानिसहरू मानव धारणा र कल्पना अनि परम्परागत नैतिकतासँग तुलना गरेर मात्र अरू मानिसहरूलाई चिन्छन्; के यस तरिकाले मानिसहरूलाई भित्रैदिखि चिन्‍न सम्भव छ? बिलकुलै छैन। मानिसहरूले प्रकट गर्ने सोच, दृष्टिकोण र अभिप्रायहरूलाई परमेश्‍वरको वचनको आधारमा अवलोकन गर्नु अत्यावश्यक छ; मानिसहरूका बोली र कार्यहरूका उद्देश्य र लक्ष्यहरूलाई हेर्नु अत्यावश्यक छ—तिनीहरूको भ्रष्ट स्वभाव र प्रकृति वास्तवमा कस्ता छन् भनी पत्ता लगाउने तरिका यही मात्र हो। उक्त व्यक्ति जो भए पनि, यदि उसले विभिन्‍न कुराबारे थुप्रै विचार प्रकट गर्छ र ऊ सबै मामिलासम्बन्धी आफ्नो राय व्यक्त गर्न सक्छ भने, उसको भ्रष्ट स्वभाव र प्रकृति सार चिन्‍न एकदमै सजिलो हुन्छ। यदि उसको विचार र राय सत्यताअनुरूप पटक्कै छैन भने, के उसको शैतानी स्वभाव र शैतानी प्रकृति पूर्ण रूपले खुलासा हुँदैन र? त्यसकारण, तँ परमेश्‍वरको वचन र सत्यताअनुसार मानिसहरूलाई चिन्छस् भने, तैँले सबै मानिसहरूमा भ्रष्ट स्वभाव र शैतानी प्रकृति छ, र तिनीहरू सबैलाई परमेश्‍वरको मुक्ति चाहिन्छ भनेर देख्न सक्नेछस्।

सत्यता बुझ्नेहरूले विभिन्‍न कुराहरू छर्लङ्गै देख्न र मानिसहरू चिन्‍न सजिलै सक्छन्। के तिमीहरूलाई मानिसहरू चिन्‍ने तरिका थाहा छ? के तिमीहरूलाई आफ्नो जीवनका हरप्रकारका मानिस, घट्ना र वस्तुहरू अवलोकन गर्ने तरिका थाहा छ? थाहा छैन भने, यसले तँ वास्तवमा अझै पनि सत्यता बुझ्दैनस् भन्‍ने देखाउँछ। तैँले मानिसहरू चिन्‍न सक्नलाई, पहिला आफूले भन्‍ने कुरा सत्यतासँग मिल्छ मिल्दैन र तैँले गर्ने काममा सिद्धान्तहरू छन् छैनन् भनी बुझ्न सक्नुपर्छ। जब तँ आफ्ना बोली र कार्यहरू खुट्याउने तरिका जान्दछस्, र समस्याहरू बुझ्न र समाधान गर्न सक्छस्, तब तैँले मानिसहरू चिन्‍न सक्नेछस्। सबै प्रकारका मानिस, घट्ना र वस्तुहरू खुट्याउने तरिका जान्‍नु सजिलो कुरा होइन; त्यो केही शब्‍द र सिद्धान्तहरू बोल्ने तरिका जान्दैमा हासिल गर्न सकिने कुरा होइन। तैँले कैयौँ कुरा अनुभव गर्नैपर्छ, र कम्तीमा पनि धेरै असफलता र रोकावटहरू अनुभव गर्नैपर्छ। त्यसपछि मात्र तैँले आफूलाई चिन्‍न सक्नेछस्। सुरुमा आफूलाई चिन्‍ने अभ्यास गर्, अनि तैँले बिस्तारै हरप्रकारका मानिस, घट्ना र वस्तुहरू खुट्याउन सिक्नेछस्। पहिला आफूलाई चिन्‍न सिक्नु, आफ्नो व्यवहार र भ्रष्ट स्वभाव, साथै आफ्नो विचलन, स्थिति र अयोग्यतालाई प्रस्टसित खुट्याउन सक्नु, अनि यी कुराहरूको सार छर्लङ्गै देख्न सक्नु—खुट्याउने-चिन्‍ने समझ हुनु भनेको यही हो। यदि तैँले आफूलाई राम्ररी चिन्‍न सकिस् भने, अरूलाई पनि चिन्‍न सक्नेछस्; यदि तैँले आफ्नै मामिलाहरू राम्ररी खुट्याउन सक्दैनस् भने, अरूबारे तेरो खुट्याइ अवश्य नै सही हुनेछैन। कतिपय मानिसहरू अरूका समस्याहरू एकदमै प्रस्टसँग खुट्याउन सक्छन्, तर आफूले त्यही गल्ती गर्दा आफूमा समस्या छ भनेर स्विकार्दैनन्। यहाँ समस्या के हो? के यो तिनीहरूको स्वभावमा भएको समस्या होइन र? सामान्य परिस्थितिहरूमा, अरूलाई चिन्‍नु भनेको वास्तवमा आफैलाई चिन्‍नुबराबर हो। यदि तँ अरूलाई राम्ररी चिन्‍न सक्छस् तर आत्मचिन्तन गर्दैनस् र आफूलाई चिन्दैनस्, अनि आफू अरूभन्दा बलियो छु भनेरसमेत सोच्छस् भने, तँ समस्यामा छस्—तँसँग अनुचित अभिप्रायहरू छन् र तेरो स्वभावमा समस्या छ। कतिपय मानिसहरू अरूलाई चिन्‍न प्रखर हुन्छन्, र तिनीहरूले भन्‍ने हरेक कुरा प्रस्ट र अर्थपूर्ण हुन्छ, तर तिनीहरू आफ्नै समस्याहरू चिन्‍न सक्दैनन्। के यो साँचो हो? यो देखावटी रूप हो, यो छल हो। खासमा, यी मानिसहरूमा क्षमता नहुने होइन; तिनीहरू आफूलाई चिन्छन्, तर तिनीहरू त्यसबारे साँचो बोल्दैनन्। तिनीहरूलाई के भइरहेको छ भन्‍ने कुरा आफ्नो हृदयमा थाहा हुन्छ, तर तिनीहरू त्यो व्यक्त गर्दैनन्। यस्तो व्यक्ति दुईजिब्रे र एकदमै बेइमान हुन्छ; बेइमानी ढङ्गमा बोल्ने व्यक्ति इमानदार नभई धूर्त र छली, झूट बोल्ने व्यक्ति हो। यदि कसैले आफूलाई प्रस्टसँग चिन्‍न सक्छ, अनि अरूको फाइदाको लागि आफ्नो चिरफार गर्न र आफूलाई उदाङ्गो पार्न सक्छ भने, ऊ साँच्चै सत्यता बुझ्ने, सोझो र इमानदार चरित्र भएको, अनि शुद्ध तरिकामा खुलस्त हुने व्यक्ति हो। यो चानचुने मामिला होइन; यस्तो व्यक्तिले सत्यता बुझ्नेबित्तिकै त्यसलाई अभ्यास गर्न सक्छ, अनि ऊ निश्चित रूपमा सत्यता पछ्याउने, र परमेश्‍वरलाई आनन्दित तुल्याउने व्यक्ति हो। तैँले सत्यता बुझ्नेबित्तिकै अभ्यास गर्न पहिला आफू चरित्रवान् र इमानदार व्यक्ति बन्नैपर्छ। सबै जना सत्यता पछ्याउन इच्‍छुक भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्नु त्यति सरल कुरा होइन। यसको मुख्य कुरा सत्यता खोजी गर्ने र सत्यता अभ्यास गर्ने कार्यमा ध्यान दिनु हो। तैँले आफ्नो हृदयमा यी कुराहरूबारे हरेक दिन सोचविचार गर्नुपर्छ। तैँले जस्तोसुकै समस्या वा कठिनाइ सामना गरे पनि, सत्यता अभ्यास गर्न नछोड्; तैँले सत्यता खोजी गर्न र आफ्‍नो बारेमा मनन गर्न सिक्‍नुपर्छ, अनि अन्त्यमा तैँले सत्यता अभ्यास गर्नुपर्छ। यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो; तैँले कदापि तेरा आफ्नै स्वार्थहरू जोगाउने कोसिस गर्नै हुँदैन, अनि यदि तैँले आफ्‍ना हितहरूलाई पहिलो प्राथमिकता दिन्छस् भने, तैँले सत्यता अभ्यास गर्न सक्‍नेछैनस्। ती आत्मकेन्द्रित मानिसहरूलाई हेर्—तिनीहरूमध्ये कसले सत्यता अभ्यास गर्न सक्छ? एउटाले पनि सक्दैन। सत्यता अभ्यास गर्ने सबै मानिसहरू इमानदार, सत्यतालाई प्रेम गर्ने र दयालु मानिसहरू हुन्। तिनीहरू सबैमा विवेक र समझ हुन्छ, तिनीहरूले आफ्‍नै हित, अभिमान, र घमण्ड छोड्न अनि देहविरुद्ध विद्रोह गर्न सक्छन्। ती मानिसहरू सत्यता अभ्यास गर्न सक्‍ने मानिसहरू हुन्। तैँले सत्यता अभ्यास गर्नलाई सुल्झाउनुपर्ने सबैभन्दा पहिलो कुरा भनेको तेरो स्वार्थीपन र आत्मकेन्द्रित स्वभाव हो; यो समस्या समाधान भएपछि, तँमा कुनै ठूला कठिनाइहरू हुनेछैनन्। तैँले सत्यता स्विकार्न सकुन्जेल, आफ्नो भ्रष्ट स्वभाव चिनुन्जेल, अनि त्यसलाई हटाउन सत्यता खोजी गरुन्जेल, तँ सत्यता अभ्यास गर्न सक्षम हुनेछस्। यदि तँ सत्यता स्विकार्दैनस् भने, आफ्नो भ्रष्ट स्वभावको समस्या समाधान गर्न सक्षम हुनेछैनस्, र यसरी तँ सत्यता अभ्यास गर्न सक्षम हुनेछैनस्। सत्यता अभ्यास गर्नमा सबैभन्दा ठूलो कठिनाइ भनेको भ्रष्ट स्वभाव हो, मुख्यतः स्वार्थी, घृणित, र आत्मकेन्द्रित स्वभाव हो। तेरो भ्रष्ट स्वभावको समस्या समाधान भएमा, तँलाई अन्य कठिनाइहरूले बिलकुलै समस्या दिनेछैनन्। अवश्य नै, कतिपय मानिसहरूले सत्यता अभ्यास गर्न नसक्नुको कारण भनेको तिनीहरूमा अझै पनि एक प्रकारको भ्रष्ट स्वभाव अर्थात् अहङ्कारी र आत्मधर्मी स्वभाव हुनु हो। सधैँ अभिमानी हुनु अनि सधैँ आफ्नै दृष्टिकोणलाई सही ठान्‍नु, सधैँ आफ्नै तरिकाले कामकुरा गर्न चाहनु, यो नै अहङ्कार र आत्मधार्मिकता हो, र यो नै सत्यता स्विकार्न नसक्नु हो। मानिसहरूले सत्यता अभ्यास गर्ने क्रममा सामना गर्ने सबैभन्दा ठूलो कठिनाइ यही हो। यदि तिनीहरू यो कठिनाइ हटाउन सत्यता खोज्न सक्छन् भने, सत्यता अभ्यास गर्नमा तिनीहरूलाई कुनै ठूलो समस्या हुनेछैन। अन्य समस्याहरूको सन्दर्भमा भन्‍नुपर्दा, यदि तिनीहरू आत्मचिन्तन गर्न, आफ्नो स्थिति जान्‍न, सत्यता खोज्न, अनि मनन र सङ्गति गर्नको लागि परमेश्‍वरको वचनका केही सान्दर्भिक खण्डहरू खोज्न सक्छन् भने, कुनै पनि समस्या सजिलै समाधान गर्न सकिन्छ। सत्यता पछ्याउनेहरूले आफ्ना समस्याहरू समाधान गर्न हरेक दिन मनन गर्नैपर्छ र सत्यता खोज्नैपर्छ, किनकि मानिसहरूले आफ्नो कर्तव्य निभाउनुको अलावा, कैयौँ परिस्थितिहरू सामना गर्न सक्छन् जुन हरेक दिन सत्यता अभ्यास गर्नुसँग सम्बन्धित हुन्छन्; तिनीहरू बाहिर नजाने वा अन्य मानिसहरूको सम्पर्कमा नआउने भए पनि, सत्यता अभ्यासका केही न केही मामिलाहरू समेटिने सम्भावना हुन्छ। उदाहरणको लागि, त्यस दिन तँ कसरी जिइरहेको हुन्छस्, त्यस दिन तेरो जीवनको मुख्य ध्यान केमा हुनुपर्छ, तैँले कसरी त्यसको बन्दोबस्त मिलाउनुपर्छ, तैँले कस्ता कर्तव्यहरू निभाउनुपर्छ, तैँले आफ्नो कर्तव्यमा आइपर्ने कठिनाइहरू सुल्झाउन कसरी सत्यता खोज्नुपर्छ, र तेरो हृदयमा तैँले चिन्तन गर्नुपर्ने, बुझ्नुपर्ने र समाधान गर्नुपर्ने कस्ता भ्रष्ट कुराहरू छन्—यी सबै कुराले सत्यताका पक्षहरू समेट्छन्, अनि यदि तैँले ती सुल्झाउन सत्यता खोज्दैनस् भने, तँ त्यस दिन आफ्नो कर्तव्य राम्ररी निभाउन सक्षम नहुन सक्छस्, अनि के त्यो वास्तविक समस्या होइन र? यदि तैँले हरेक दिन खाली समयमा सोच्ने सबथोक आफ्नो भ्रष्ट स्वभाव कसरी सुल्झाउने, कसरी सत्यता अभ्यास गर्ने, अनि कसरी सत्यता सिद्धान्तहरू बुझ्ने भन्‍नेसँग सम्बन्धित छ भने, तैँले परमेश्‍वरका वचनहरूअनुसार आफ्ना समस्याहरू सुल्झाउन सत्यता प्रयोग गर्न सिक्नेछस्। यसरी तैँले स्वतन्त्र रूपले जिउने क्षमता प्राप्त गर्नेछस्, तँमा जीवन प्रवेश हुनेछ, तैँले परमेश्‍वरलाई पछ्याउनमा ठूला कठिनाइहरू सामना गर्नेछैनस्, अनि तँ क्रमिक रूपमा सत्यता वास्तविकतामा प्रवेश गर्नेछस्। यदि तँ आफ्नो हृदयमा अझै प्रतिष्ठा र हैसियतमै केन्द्रित छस् भने, र अझै देखावा गर्न र मानिसहरूलाई आफ्नो मान गर्न लगाउनमै तल्लिन छस् भने, तँ सत्यता पछ्याउने व्यक्ति हैनस्, अनि तँ गलत मार्ग हिँडिरहेको छस्। तैँले पछ्याउने कुरा सत्यता होइन, न त त्यो जीवन नै हो, बरु त्यो तँलाई मनपर्ने कुरा हो, त्यो ख्याति, प्राप्ति, र हैसियत हो—र त्यो अवस्थामा, तैँले गर्ने कुनै पनि कुरा सत्यतासँग सम्बन्धित हुँदैन, त्यो सबै दुष्कर्म र श्रम हो। यदि तँ आफ्नो हृदयमा सत्यतालाई प्रेम गर्छस्, अनि सधैँ सत्यताको लागि लागिपर्छस् भने, यदि तँ स्वभाव परिवर्तन पछ्याउँछस्, र परमेश्‍वरप्रतिको साँचो समर्पण हासिल गर्न, र परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्न सक्छस् भने, अनि यदि तँ आफूले गर्ने हरेक कुरामा संयमित छस्, र परमेश्‍वरको छानबीन स्विकार्न सक्छस् भने, तेरो स्थितिमा सुधार आइरहनेछ, अनि तँ परमेश्‍वरसामु जिउने व्यक्ति बन्‍नेछस्। सत्यतालाई प्रेम गर्ने मानिसहरू सत्यतालाई प्रेम नगर्नेहरूभन्दा फरक मार्ग हिँड्छन्: सत्यतालाई प्रेम नगर्ने मानिसहरू सधैँ शैतानका दर्शनहरूअनुसार जिउनमा ध्यान दिन्छन्, तिनीहरू असल व्यवहार र भक्तिपनको बाह्य प्रदर्शनमै सन्तुष्ट हुन्छन्, र तिनीहरूको हृदयमा अझै पनि महत्त्वाकाङ्क्षा र चाहनाहरू हुन्छन्, अनि तिनीहरू अझै पनि ख्याति, प्राप्ति र हैसियत पछ्याउँछन्, र अझै पनि आशिष्‌ पाउन र राज्यमा प्रवेश गर्न चाहन्छन्—तर तिनीहरूले सत्यता नपछ्याउने हुनाले, र तिनीहरूको भ्रष्ट स्वभावलाई फालिसकिएको नहुनाले, तिनीहरू सधैँ शैतानको सत्तामुनि जिउँछन्। सत्यतालाई प्रेम गर्ने मानिसहरूले सबै कुरामा सत्यता खोज्छन्, तिनीहरूले आत्मचिन्तन गर्छन् र आफूलाई चिन्‍ने प्रयास गर्छन्, तिनीहरू सत्यता अभ्यास गर्नमा ध्यान दिन्छन्, र तिनीहरूसँग परमेश्‍वरप्रति समर्पित हुने हृदय हुन्छ। तिनीहरूमा परमेश्‍वरबारे कुनै धारणा वा गलत बुझाइहरू उत्पन्‍न भए, तिनीहरूले तुरुन्तै परमेश्‍वरसँग प्रार्थना गर्छन् र तिनलाई समाधान गर्न सत्यता खोजी गर्छन्। तिनीहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नमा ध्यान लगाउँछन् ताकि परमेश्‍वरका अभिप्रायहरू पूरा होऊन्; र तिनीहरू सत्यताप्रति लागिपर्छन् र परमेश्‍वरको ज्ञानको पछि लाग्छन्, र परमेश्‍वरको भय मान्ने हृदय धारण गर्छन् र सबै दुष्कर्मबाट अलग बस्छन्। यिनीहरू सधैँ परमेश्‍वरसामु जिउने मानिसहरू हुन्।

फेब्रुअरी १, २०१८

अघिल्लो: धर्ममा विश्‍वास गरेर वा धार्मिक समारोहमा सहभागी भएर मुक्ति पाउन सकिँदैन

अर्को: आफ्‍नो स्वभावलाई चिन्‍नु नै यसलाई परिवर्तन गर्ने आधार हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्