क. शैतानले मानवजातिलाई छल गर्नु र भ्रष्ट पार्नु नै संसारको अन्धकार र दुष्टताको जड हो

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

सुरुमा परमेश्‍वरद्वारा सृष्टि गरिएका आदम र हव्‍वा पवित्र मानिसहरू थिए, अर्थात् अदनको बगैंचामा हुँदा तिनीहरू पवित्र थिए, फोहोरले दूषित भएका थिएनन्। तिनीहरू यहोवाप्रति बफादार थिए र यहोवालाई धोका दिनेबारेमा तिनीहरूलाई केही थाहा थिएन। किनभने तिनीहरूमा शैतानको प्रभावको बाधा थिएन, शैतानको विष थिएन र तिनीहरू सारा मानवजातिमध्ये सबैभन्दा शुद्ध थिए। तिनीहरू अदनको बगैंचामा कुनै पनि फोहोरद्वारा अशुद्ध नपारिएको, देहको वशमा नपरेको अवस्थामा र यहोवाको डर मान्दै बस्थे। पछि शैतानको परीक्षामा परेपछि, तिनीहरूमा सर्पको विष पर्‍यो, र यहोवालाई धोका दिने इच्‍छा जाग्यो, र तिनीहरू शैतानको प्रभावमा जिए। सुरुमा, तिनीहरू पवित्र थिए र तिनीहरू यहोवादेखि डराउँथे; यो अवस्थामा मात्रै तिनीहरू मानव थिए। पछि शैतानको परीक्षामा परेपछि, तिनीहरूले असल र खराबको ज्ञान दिने रूखको फल खाए, र शैतानको प्रभावमा जिए। तिनीहरूलाई शैतानले बिस्तारै भ्रष्ट बनाउँदै लग्यो र तिनीहरूले मानिसको मूल स्वरूप गुमाए। सुरुमा, मानिसमा यहोवाको सास थियो, ऊ अलिकति पनि विद्रोही थिएन र उसको हृदयमा कुनै दुष्टता थिएन। त्यो समयमा, मानिस साँच्‍चै मानव थियो। शैतानद्वारा भ्रष्ट गरिएपछि, मानिस जनावर बन्यो। उसका विचारहरू दुष्टता र फोहोरद्वारा भरिए, तिनमा कुनै असल कुरा वा पवित्रता थिएन। के यो शैतान होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

मानवजातिले सामाजिक विज्ञानहरूलाई स्थापित गरेदेखि मानवको मनचाहिँ विज्ञान र ज्ञानद्वारा भरिएको छ। मानवजातिलाई शासन गर्नका लागि विज्ञान र ज्ञान औजार बनेका छन्, र परमेश्‍वरलाई आराधना गर्न मानवका निम्ति पर्याप्‍त स्थान छैन, र परमेश्‍वरको आराधना गर्न अनुकूल परिस्थिति छैन। मानव हृदयमा परमेश्‍वरको स्थान सधैँ झन्झन तल खस्केको छ। मानवको हृदयमा परमेश्‍वर नहुनुभएको हुनाले उसको भित्री संसार अँध्यारो, आशा विहीन, र खाली भएको छ। यसरी नै परमेश्‍वरले मानवलाई सृष्‍टि गर्नुभयो भन्‍ने सत्यताको विरोध गर्न, मानवजातिको हृदय र मनलाई सामाजिक विज्ञानका सिद्धान्तहरू, मानव विकासवादको सिद्धान्त, र अन्य सिद्धान्तहरूले भर्न धेरै सामाजिक वैज्ञानिकहरू, इतिहासकारहरू, र राजनीतिज्ञहरू अगाडि आएका छन्। अनि यस तरिकाले, परमेश्‍वरले सबै थोक सृष्‍टि गर्नुभयो भनी विश्‍वास गर्नेहरू पहिलेभन्दा नै थोरै भएका छन्, र विकासवादको सिद्धान्तमा विश्‍वास गर्नेहरू सङ्ख्यामा पहिलेभन्दा धेरै भएका छन्। पुरानो करारीय युगमा भएका परमेश्‍वरका काम र उहाँका वचनहरूका अभिलेखहरूलाई धेरै मानिसहरूले दन्त्यकथा र पौराणिक कथाका रूपमा लिएका छन्। परमेश्‍वरको गरिमा र महानता, परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ र सबै थोकमाथि उहाँको प्रभुत्व छ भन्‍ने सिद्धान्तमा मानिसहरू आफ्ना हृदयमा उदासीन बन्छन्। मानवजातिको अस्तित्व र देशहरू र राज्यहरूका नियति तिनीहरूका लागि महत्त्वपूर्ण रहँदैनन्, र मानव केवल खाने, पिउने, र सुखको खोजीमा मात्र सरोकार राखी खोक्रो संसारमा बस्छ। … आज परमेश्‍वरले आफ्नो काम कहाँ गर्नुहुन्छ भनी केही मानिसहरूले मात्र खोज्छन् वा मानवको गन्तव्यमा उहाँले कसरी नेतृत्व दिनुहुन्छ र प्रबन्ध मिलाउनुहुन्छ भनी खोजेका हुन्छन्। अनि यसरी, मानवलाई थाहा नै नभई मानव सभ्यता मानवका चाहनालाई काट्न थोरै सक्षम हुन्छ, अनि यस किसिमको संसारमा जिउँदा त, पहिले नै बितेर गइसकेकाहरूभन्दा पनि कम खुशी छौं भन्‍ने अनुभूति गर्ने मानिसहरू समेत धेरै छन्। उच्‍च सभ्यता प्राप्‍त गरेका देशहरूका मानिसहरूले पनि यस किसिमका गुनासोहरू पोख्छन्। किनभने परमेश्‍वरको मार्गदर्शन विना शासकहरू र समाजशास्‍त्रीहरूले मानव सभ्यतालाई बचाउन तिनीहरूका दिमागहरूलाई जति नै तन्काए पनि यसले कुनै फाइदा गर्दैन। मानवको हृदयमा भएको खालीपनलाई कसैले पनि भर्न सक्दैन, किनकि कोही पनि मानवको जीवन हुन सक्दैन, र कुनै पनि सामाजिक सिद्धान्तले मानवलाई ऊ पीडित भएको खालीपनबाट स्वतन्त्र पार्न सक्दैन। विज्ञान, ज्ञान, स्वतन्त्रता, प्रजातन्त्र, फुर्सत, सान्त्वना: यिनीहरूले मानवलाई केवल अस्थायी सान्त्वना मात्र दिन्छन्। यी कुराहरू हुँदा पनि मानवले पक्‍कै पाप गर्नेछ र समाजका अन्यायहरूमा पछुतो गर्नेछ। यी कुराहरूले अन्वेषण गर्ने मानवका लालसा र इच्छालाई रोक्‍न सक्दैनन्। यो हुनुको कारणचाहिँ मानवलाई परमेश्‍वरले बनाउनुभयो र अर्थहीन बलिदानहरू र मानवका अन्वेषणहरूले उसलाई अझै कष्‍टमा मात्र लैजान सक्छ र मानवलाई लगातार डरको अवस्थामा मात्र राख्छ, मानवजातिको भविष्यलाई कसरी सामना गर्ने वा अगाडि रहेको मार्गलाई कसरी सामना गर्ने भन्‍ने उसलाई थाहा हुँदैन। मानव विज्ञान र ज्ञानसँग पनि डराउनेछ, र खालीपनको अनुभूतिमा पनि ऊ अझ डराउनेछ। यस संसारमा, तँ स्वतन्त्र देशमा होस् वा मानवअधिकार नभएको देशमा होस्, जहाँ बसे पनि मानवजातिको भवितव्यबाट बच्‍न तँ पूर्ण असक्षम छस्। तँ शासक वा शासित जो भए पनि, मानवजातिका नियति, रहस्यहरू, र गन्तव्य अन्वेषण गर्ने तेरो इच्छाबाट बच्न पूर्ण रूपमा असक्षम छस्, खालीपनको चिन्ताको चेतनाबाट बच्न त अझै बढी असक्षम छस्। सबै मानवजातिका लागि सामान्य भएका यस्ता घटनाहरूलाई समाजशास्‍त्रीहरूले सामाजिक घटनाहरू भन्छन्, तर पनि यस्ता समस्याहरू समाधान गर्नका लागि कुनै पनि महामानव अगाडि आएको छैन। जेसुकै भए तापनि, मानव भनेको मानव नै हो, अनि परमेश्‍वरको स्थान र जीवनलाई कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्दैन। मानवजातिलाई निष्पक्ष समाजले मात्र पुग्दैन जहाँ प्रत्येकलाई राम्रोसँग खुवाइन्छ, र ऊ समान र स्वतन्त्र हुन्छ; मानवजातिका लागि आवश्यक परेको कुराचाहिँ परमेश्‍वरको मुक्ति र तिनीहरूलाई उहाँको जीवनको बन्दोबस्त हो। मान्छेले परमेश्‍वरको जीवनको भरणपोषण र उहाँको मुक्ति प्राप्त गरेपछि मात्र उसका आवश्यकताहरू, उसको अन्वेषण गर्ने इच्छा, र उसको आत्मिक खालीपनको समस्या समाधान हुन्छ। यदि एक देश वा राज्यका मानिसहरूले मुक्ति र परमेश्‍वरको हेरचाह पाउन सकेनन् भने, तब यस्तो देश वा राज्य विनाशको बाटोमा अन्धकारतर्फ अघि बढ्नेछ, र परमेश्‍वरले त्यसलाई विनाश गर्नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि शासन गर्नुहुन्छ

माथिदेखि तलसम्म र सुरुदेखि अन्तसम्म, शैतानले परमेश्‍वरको कामलाई बाधा दिइरहेको छ र उहाँको विरुद्धमा कार्य गर्दै आएको छ। “पुरातन सांस्कृतिक सम्पदा,” बहुमूल्य “पुरातन संस्कृतिको ज्ञान,” “ताओवाद र कन्फ्युसियसवादको शिक्षा,” र “कन्फ्युसियसवादका उत्कृष्ट लेखहरू र सामन्ती संस्कार,” यी सबै कुराले मानिसलाई नरकमा लगेको छ। उन्‍नत आधुनिक विज्ञान र प्रविधि, साथै उच्‍च विकसित उद्योग, कृषि र व्यवसाय कहिँकतै देखिँदैन। बरु, यसले परमेश्‍वरको कार्यलाई जानाजानी बिथोल्न, विरोध गर्न र ध्वस्त पार्नका लागि प्राचीन समयका “बाँदरहरू” ले फैलाएको सामन्ती संस्कारलाई जोड दिने काम मात्र गर्छ। यसले आजको दिनसम्म मानिसलाई कष्ट दिइरहेको मात्र छैन, यसले त मानिसलाई पूरै निल्न[१] पनि चाहन्छ। सामन्तवादको नैतिक र आचार शिक्षाको प्रचारप्रसार र प्राचीन संस्कृतिको ज्ञानको हस्तान्तरणले मानवजातिलाई ठूला र साना दियाबलसहरूमा परिणत गर्दै लामो समयदेखि सङ्क्रमित गर्दै आएको छ। खुसीसाथ परमेश्‍वरलाई ग्रहण गर्नेहरू थोरै छन्, हर्षोल्लास गर्दै उहाँको आगमनलाई स्वागत गर्नेहरू कमै छन्। सम्पूर्ण मानवजातिको अनुहार हत्या गर्ने अभिप्रायले भरिएको छ, र हरेक ठाउँमा, हत्या गर्ने सास हावामा फैलिएको छ। तिनीहरूले यस भूमिबाट परमेश्‍वरलाई निकाल्ने प्रयास गरिरहेका छन्; हातमा छुरी र तरबारहरू लिएर तिनीहरू परमेश्‍वरको “विनाश” गर्ने युद्धको तयारीमा छन्। मानिसलाई परमेश्‍वर हुनुहुन्‍न भनी निरन्तर सिकाइने दियाबलसहरूको यस देशभरि, मूर्तिहरू फैलिएको छ, र माथिको हावाभरि जलेको कागज र धूपको वाकवाक लाग्‍ने दुर्गन्ध निसास्याउने गरी बाक्लो रूपमा व्याप्त छ। यो फोहोरको दुर्गन्धजस्तै हो जुन विषालु सर्पको गुँडुल्क्याइँको कारण फैलिएर आउँछ, यतिसम्म कि बान्ता रोक्‍न समेत सकिँदैन। यसबाहेक, दुष्ट भूतहरूले धर्मशास्‍त्रका वचनहरूको कीर्तन गरेको आवाज सुन्‍न सकिन्छ, यस्तो आवाज जुन टाढा नरकबाटै आइरहेको जस्तो लाग्छ, यो यति अत्यधिक हुन्छ कि यहाँ थरथर नकाँपी रहन सकिँदैन। यस देशभरि जताततै इन्द्रेनीका सबै रङ्ग भएका मूर्तिहरू राखिएका छन् र यस भूमिलाई कामुक आनन्दको संसारमा परिणत गरिएको छ, जबकि दियाबलसहरूको राजा मूर्खतापूर्ण तरिकाले हाँस्दै बसिरहन्‍छ, मानौं यसको विनाशकारी षड्यन्त्र सफल भएको छ। यसैबीच, मानिस पूर्ण रूपमा बेपरवाह रहन्छ र उसलाई शैतानले आफूलाई भ्रष्ट पारेको रत्ती पनि अनुभूति छैन, यहाँ सम्म कि ऊ चेतनाशून्य भएको छ र हारेर उसको शिर लत्रक्‍क परेको छ। त्यसले एकै झट्कामा परमेश्‍वरसम्बन्धी सबै कुरा मेटाउन र फेरि उहाँलाई अशुद्ध पार्ने र उहाँको हत्या गर्ने इच्छा गर्छ; यसले उहाँको काम बिगार्न र त्यसमा बाधा पुर्‍याउन पुरै जोर लगाउँछ। यसले कसरी परमेश्‍वरलाई समान दर्जाको हुन दिन सक्छ? पृथ्वीमा मानिसहरूमाझ हुने काममा परमेश्‍वरले “हस्तक्षेप” गर्नुभएको यसले कसरी सहन सक्छ? यसले कसरी परमेश्‍वरलाई त्यसको घिनलाग्दो अनुहार उदाङ्गो पार्न दिन सक्छ? यसले परमेश्‍वरलाई कसरी त्यसको काम लथालिङ्ग पार्न दिन सक्छ? क्रोधले ग्रसित यो दियाबलसले कसरी पृथ्वीमा रहेको आफ्नो शाही दरबार परमेश्‍वरलाई नियन्त्रण गर्न दिन सक्छ? कसरी यो स्वेच्छाले उहाँको उच्‍च पराक्रमको अघि झुक्‍न सक्छ? यसको घिनलाग्दो अनुहारलाई जस्ताको त्यस्तै प्रकट गरिएको छ, यसैले अब हाँस्‍ने कि रुने कसैलाई केही थाहा छैन, र यसबारेमा कुरा गर्नु साँच्‍चै नै गाह्रो छ। के यसको सार यही होइन र? घिनलाग्दो प्राणको साथमा यसले अझै पनि आफू विश्‍वासै गर्न नसकिने गरी सुन्दर छु भनी विश्‍वास गर्छ। यो अपराध गर्ने मतियारहरूको गिरोह![२] तिनीहरू भोगविलासमा लिप्त हुन मरणशील संसारमा ओर्लेर आउँछन् र यतिसम्म अराजकता मच्‍चाउँछन् र होहल्‍ला गर्छन् कि यो संसार नै भद्रगोल र अस्थिर ठाउँ बन्छ र मानिसको हृदय त्रास र असहजताले भरिन्छ, र तिनीहरूले मानिससँग यतिसम्म खेलबाड गरेका छन् कि उसको स्वरूप मैदानको अमानवीय जनावरको जस्तो अत्यन्त कुरूप बनेको छ, जसबाट मूल पवित्र मानिसको अन्तिम छाप समेत हराएको छ। यसबाहेक, तिनीहरूले पृथ्वीमा सार्वभौम शक्ति पनि हत्याउन चाहन्छन्। तिनीहरूले परमेश्‍वरको कामलाई यति बाधा दिन्छन् कि त्यो काम एक इन्च मात्र अगाडि बढ्न पनि कठिन हुन्छ, र तिनीहरूले तामा र स्टिलको पर्खाललाई जस्तै कसिलो गरी मानिसलाई बन्द गरी राख्छन्। यति धेरै भयङ्कर पापहरू गरिसकेपछि र यति धेरै विपत्तिहरू आउन दिइसकेपछि, के तिनीहरूले अझै पनि सजायबाहेक अरू केही कुराको आशा गरिरहेका छन्? भूत र दुष्टात्माहरू केही समयसम्‍म यस पृथ्वीमा यताउता उन्मादको साथ दौडिरहेका छन्, र परमेश्‍वरका इच्छाहरू र अथक प्रयास दुवैलाई यति कसिलो गरी बन्द गरेका छन् कि तिनलाई छेड्न नै सकिँदैन। साँच्‍चै, यो मरणशील पाप हो! परमेश्‍वर चिन्तित नभई कसरी बस्‍न सक्‍नुहुन्छ र? परमेश्‍वर कसरी क्रोधित नहुन सक्‍नुहुन्‍छ र? तिनीहरूले परमेश्‍वरको कामलाई अत्यन्तै गम्भीर रूपमा बाधा पुर्‍याएका र विरोध गरेका छन्: कस्तो विद्रोही!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (७)

फूटनोटहरू:

१. “निल्न” ले दियाबलसहरूको राजाको क्रूर व्यवहारलाई जनाउँछ, जसले मानिसहरूलाई सम्पूर्ण रूपमा मोहित गर्छ।

२. “अपराध गर्ने मतियारहरूको गिरोह” भनेको “गुन्डाहरूको दल” जस्तै हो।


शैतानले मानिसहरूलाई राष्ट्रिय सरकारहरू अनि प्रख्यात र महान् व्यक्तिहरूको शिक्षा र प्रभावमार्फत भ्रष्ट तुल्याउँछ। तिनीहरूका दुष्ट शब्दहरू मानिसको जीवन र प्रकृति बनेका छन्। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्‍ने भनाइ शैतानको चिरपरिचित भनाइ हो, जसलाई हरेक व्यक्तिमा हालिएको छ र यो मानिसको जीवन बनेको छ। दुनियाँसित व्यवहार गर्ने दर्शनहरूका पनि अन्य शब्दहरू छन्, जुन यही भनाइ जस्तै छन्। शैतानले हरेक देशको परम्परागत संस्कृतिलाई प्रयोग गरेर मानिसहरूलाई शिक्षा दिन्छ, बहकाउँछ, र भ्रष्ट तुल्याउँछ र मानिसहरूलाई विनाशको सीमाहीन खाल्डोमा खसेर त्यसद्वारा पुरिने तुल्याउँछ, अनि अन्त्यमा तिनीहरूलाई परमेश्‍वरले नाश गर्नुहुनेछ, किनकि तिनीहरूले शैतानको सेवा र परमेश्‍वरको प्रतिरोध गर्छन्। कतिपय मानिसहरू समाजमा दशकौंदेखि सार्वजनिक अधिकारीको रूपमा काम गर्दै आएका छन्। तिनीहरूलाई यो प्रश्‍न सोधेको कल्पना गरौं न: “तपाईंले यो पदमा रहेर एकदमै राम्रो काम गर्नुभएको छ, तपाईं के-कस्ता नामुद उक्तिहरू अनुसरण गर्दै जिउनुहुन्छ?” तिनीहरूले भन्‍न सक्छन्, “मैले बुझेको एउटा कुराचाहिँ ‘जसले उपहार ल्यायो, उही हाकिमको प्यारो, अनि चापलुसी नगर्नेले केही पनि उपलब्धि प्राप्त गर्दैन’ भन्‍ने हो।” तिनीहरूको जीवनवृत्ति यही शैतानी दर्शनमा आधारित हुन्छ। के यी शब्दहरूले त्यस्ता मानिसहरूको प्रकृतिको प्रतिनिधित्व गर्दैनन् र? पद प्राप्त गर्नलाई अनैतिक ढङ्गबाट जुनसुकै साधन प्रयोग गर्नु तिनीहरूको प्रकृति बनेको छ, र अधिकारी बन्‍नु र पेशा-व्यवसायमा सफलता पाउनु नै तिनीहरूको लक्ष्य हो। मानिसहरूका जीवन, आचरण र व्यवहारमा अझै थुप्रै शैतानी विषहरू छन्। उदाहरणको लागि, दुनियाँसित व्यवहार गर्ने तिनीहरूका दर्शनहरू, तिनीहरूका काम गर्ने शैलीहरू, र तिनीहरूका नीति-वाणीहरू सबै ठूलो रातो अजिङ्गरका विषहरूद्वारा भरिएका छन्, र यी सबै नै शैतानबाट आउँछन्। यसरी, मानिसहरूको हाड र रगतमा बगिरहेका सबै कुराहरू शैतानका हुन्। शक्ति हातमा भएका ती सबै अधिकारीहरू अनि तालिम र उपलब्धि हासिल गरेका व्यक्तिहरूको सफलताका आफ्नै बाटाहरू र गोप्य रहस्यहरू हुन्छन्। के ती गोप्य रहस्यहरूले तिनीहरूको प्रकृतिको प्रतिनिधित्व गर्दैनन् र? तिनीहरूले संसारमा त्यति ठूला कामहरू गरेका छन् तर कसैले पनि तिनका पछाडिका योजनाहरू र षडयन्त्रहरूलाई देखे-बुझेका हुँदैनन्। यसले तिनीहरूको प्रकृति कति घातक र विषालु छ भनेर देखाउँछ। मानवजातिलाई शैतानले गहन रूपमा भ्रष्ट पारेको छ। शैतानको विष हरेक व्यक्तिको रगतमा बग्छ र यो भन्‍न सकिन्छ कि मानिसहरूको प्रकृति भ्रष्ट, दुष्ट, प्रतिरोधी र परमेश्‍वरविरोधी छ, र शैतानका दर्शन र विषहरूले भरिपूर्ण छ र ती दर्शन र विषहरूमा डुबेको छ। यो पूर्णतया शैतानको प्रकृति सार बनेको छ। यही कारणले गर्दा मानिसहरूले परमेश्‍वरको विरोध गर्छन् र परमेश्‍वरको विरुद्धमा उभिन्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने

मानिसले ज्ञान सिक्‍ने प्रक्रियामा, शैतानले सबै किसिमका विधिहरू प्रयोग गर्छ, चाहे यो कथाहरू सुनाउने, ज्ञानका केही अलगअलग टुक्राहरू दिने होस्, वा तिनीहरूलाई आफ्ना इच्‍छा वा महत्त्वाकाङ्क्षाहरू सन्तुष्ट पार्न दिने होस्। शैतानले तँलाई कुन बाटोमा डोर्‍याउन चाहन्छ? मानिसहरूले ज्ञान सिक्‍नु गलत होइन, यो पूर्ण रूपमा प्राकृतिक कुरा हो भन्‍ने ठान्छन्। यसलाई आकर्षक तरिकाले भन्दा, उच्‍च आदर्शहरू पाल्नु वा महत्त्वाकाङ्क्षाहरू राख्‍नु भनेको इच्‍छाशक्ति हुनु हो, र जीवनको सही मार्ग यही नै हुनुपर्छ। यदि मानिसहरूले आफ्‍ना आदर्शहरूलाई पूरा गर्न सक्छन्, वा सफलतापूर्वक करियर बनाउन सक्छन् भने के यो तिनीहरूका लागि वैभवशाली जिउने तरिका होइन र? यी कुराहरू गरेर, व्यक्तिले आफ्‍ना पुर्खाहरूलाई सम्‍मान गर्ने मात्रै होइन, इतिहासमा आफ्‍नो छाप छोडेर जाने मौका पनि पाउँछ—के यो असल कुरा होइन र? सांसारिक मानिसहरूको नजरमा यो असल कुरा हो, र तिनीहरूको लागि यो उचित र सकारात्मक हुनुपर्छ। तैपनि, के शैतानले कुटिल मनसायहरूद्वारा मानिसहरूलाई यस प्रकारको मार्गमा लगेपछि त्यो त्यतिमै सकिन्छ र? अवश्य नै सकिँदैन। वास्तवमा, मानिसका आदर्शहरू जति नै उच्‍च भए पनि, मानिसका इच्‍छाहरू जति नै यथार्थ वा ती जति नै न्यायसंगत भए पनि, मानिसले हासिल गर्न चाहने, मानिसले खोजी गर्ने सबै कुरा अपरिहार्य रूपमा दुईवटा शब्‍दसँग जोडिएको हुन्छ। यी दुई शब्‍द हरेक व्यक्तिको जीवनको लागि अत्यन्तै महत्त्वपूर्ण छन्, र शैतानले मानिसमा हालिदिन चाहेका कुरा पनि यिनै हुन्। यी दुई शब्‍द के-के हुन्? ती “ख्याति” र “प्राप्ति” हुन्। शैतानले अत्यन्तै सूक्ष्म प्रकारको विधि प्रयोग गर्छ, जुन मानिसहरूका धारणाहरूसँग अत्यन्तै मिल्दो हुन्छ, जुन त्यति उग्र प्रकृतिको हुँदैन, र जसमार्फत त्यसले मानिसहरूलाई अनजानैमा त्यसको जीवनशैली, र जिउने नियमहरू स्वीकार गर्न लगाउँछ, आफ्ना जीवन लक्ष्यहरू र जीवनको दिशा निर्धारण गर्न लगाउँछ, र यी सबै गरेपछि तिनीहरूभित्र अनजानैमा जीवनमा महत्त्वाकाङ्क्षाहरू हुर्कन पुग्छन्। जीवनका यी महत्त्वाकाङ्क्षाहरू जति भव्य देखिए पनि, ती अपरिहार्य रूपमै “ख्याति” र “प्राप्ति” सँग जोडिएका हुन्छन्। कुनै पनि महान् वा चर्चित व्यक्तिले, र वास्तवमा भन्‍ने हो भने सबै मानिसहरूले, जीवनमा पछ्याउने कुराहरू यी दुई शब्‍दहरू “ख्याति” र “प्राप्ति” सँग मात्रै गाँसिएका छन्। ख्याति र प्राप्ति पाइसकेपछि, ती कुरालाई तिनीहरूले पूँजीको रूपमा प्रयोग गरी उच्‍च प्रतिष्ठा र धेरै धनको आनन्द लिन, र जीवनको आनन्द लिन सक्छन् भनी मानिसहरू सोच्छन्। तिनीहरू ख्याति र प्राप्तिलाई सुखचैन खोजी गर्न र दैहिक आनन्द लिनलाई प्रयोग गर्न सकिने पूँजी हो भन्‍ने ठान्छन्। मानवजातिले अत्यन्तै लोभ गर्ने यो ख्याति र प्राप्तिको खातिर, मानिसहरूले स्वेच्‍छाले तर अनजानमा आफ्‍नो तन, मन, आफूसँग भएका सबै कुरा, आफ्नो भविष्य र भवितव्य सबै शैतानलाई सुम्पन्छन्। आफूले सुम्पेका सबै कुरा फिर्ता लिनु आवश्यक छ भन्‍ने कुराप्रति सधैँ अनजान रही, एक क्षण पनि नहिचकिचाई तिनीहरूले त्यसो गर्छन्। मानिसहरूले यसरी शैतानमा शरण लिएर त्यसप्रति निष्ठावान्‌ बनिसकेपछि के तिनीहरूले आफैलाई नियन्त्रण गर्ने कुनै क्षमता राख्‍न सक्छन्? अवश्य नै सक्दैनन्। तिनीहरू पूर्ण र घोर रूपमा शैतानको नियन्त्रणमा हुन्छन्। तिनीहरू पूर्ण र घोर रूपमा दलदलमा डुबेका हुन्छन्, र आफैलाई मुक्त गर्न असक्षम हुन्छन्। कुनै व्यक्ति ख्याति र प्राप्तिको दलदलमा फसेपछि, त्यसउप्रान्त उसले जुन कुरा चम्किलो र धर्मी छ, वा जुन कुराहरू सुन्दर र असल छन् ती कुराहरूको खोजी गर्दैन। किनभने ख्याति र प्राप्तिको मानिसहरूलाई लोभ्याउने शक्ति अत्यन्तै ठूलो हुन्छ; ती कहिल्यै अन्त्य नहुने गरी मानिसहरूले आफ्‍नो जीवनभरि र अनन्तसम्‍म पनि पछ्याउने कुराहरू बन्छन्। के यो साँचो होइन र? कतिपय मानिसहरूले भन्छन् कि ज्ञान सिक्‍नु भनेको पुस्तकहरू पढ्नु वा समयअनुसार पछि नपर्न वा संसारद्वारा पछि नछोडिनको लागि आफूलाई थाहा नभएका एकदुई वटा कुरा सिक्‍नुबाहेक केही पनि होइन। हातमुख जोड्न सकियोस् भनेर, आफ्‍नै भविष्यको खातिर, वा आधारभूत आवश्यकताहरू पूरा गर्नको लागि ज्ञान सिकिन्छ। के आधारभूत आवश्यकताहरू पूरा गर्नको लागि मात्रै, खानेकुराको समस्या समाधान गर्नको लागि मात्रै, एक दशकसम्‍म कठिन अध्ययन गर्न सक्‍ने कुनै व्यक्ति छ? छैन, यस्तो कोही पनि छैन। त्यसो भए, कुनै व्यक्तिले किन यति वर्षसम्‍म यस्ता कठिनाइहरू सहन्छ? यो ख्याति र प्राप्तिको लागि नै हो। ख्याति र प्राप्तिले तिनीहरूलाई टाढा बसेर प्रतीक्षा गरिरहेको हुन्छ, तिनीहरूलाई इसारा गरिरहेको हुन्छ र तिनीहरू आफ्नो लगनशीलता, कठिनाइ र संघर्षले मात्र आफूलाई ख्याति र प्राप्ति दिलाउने मार्गमा डोर्‍याउन सक्छ भन्‍ने विश्‍वास गर्छन्। त्यस्तो व्यक्तिले आफ्नो भविष्यको लागि, आफ्नो भविष्यको आनन्दको लागि र उत्तम जीवन प्राप्त गर्नको लागि यस्ता कठिनाइहरू भोग्‍नुपर्छ। आखिर यो ज्ञान के हो—के तिमीहरू मलाई भन्‍न सक्छौ? के यो “आफ्नो देश, पार्टी, र धर्मलाई प्रेम गर” र “बुद्धिमान मान्छे परिस्थितिअनुसार चल्छ” भन्‍नेजस्ता शैतानले मानिसहरूमा हालिदिएका जीवन जिउने नियम र दर्शनहरू होइन र? के यो शैतानले मानिसमा हालिदिएका जीवनका “उच्‍च आदर्शहरू” होइन र? उदाहरणको लागि, महान् मानिसहरूका विचारहरू, चर्चित व्यक्तिहरूको निष्ठा वा पराक्रमी व्यक्तित्वहरूको साहसिक स्वभावलाई लिऊँ, वा मार्सल आर्ट उपन्यासका नायक र तरवारधारीहरूको वीरता र दयालुपनलाई लिऊँ—के यी सबै नै शैतानले यी आदर्शहरू हालिदिने तरिकाहरू होइनन् र? यी विचारहरूले एकपछि अर्को पुस्तालाई प्रभाव पार्छन्, र हरेक पुस्ताका मानिसहरूलाई यी विचारहरू स्वीकार गर्ने बनाउँछन्। तिनीहरूले “उच्‍च आदर्शहरू” को खोजीमा निरन्तर सङ्घर्ष गर्छन् र यसैको खातिर आफ्नो जीवन बलिदानसमेत गर्छन्। मानिसहरूलाई भ्रष्ट तुल्याउन शैतानले ज्ञान प्रयोग गर्ने माध्यम र तरिका यही हो। अनि, शैतानले मानिसहरूलाई यो मार्गमा डोर्‍याइसकेपछि, के तिनीहरू परमेश्वरप्रति समर्पित हुन र उहाँलाई आराधना गर्न सक्छन्? के तिनीहरूले परमेश्‍वरका वचनहरू स्वीकार गर्न र पछ्याउन सक्छन्? बिलकुलै सक्दैनन्—किनभने तिनीहरू शैतानद्वारा बहकिइसकेका छन्। हामी शैतानले मानिसहरूमा हालिदिने ज्ञान, विचार र रायहरूलाई फेरि हेरौँ: के ती कुरामा परमेश्‍वरप्रतिको समर्पण र आराधनासम्बन्धी सत्यताहरू हुन्छन्? के तिनमा परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने आचरण छ? के तिनमा परमेश्‍वरका वचनहरूको कुनै कुरा छ? के तिनमा सत्यतासँग सम्बन्धित कुनै कुरा छ? बिलकुलै छैन—यी कुराहरू छँदै छैनन्। के तिमीहरू शैतानले मानिसहरूमा हालिदिने यी कुराहरूमा सत्यता छैन भन्‍ने कुरामा निश्‍चित हुन सक्छौ? तिमीहरू निश्‍चित हुन आँट गर्दैनौ, तर केही छैन। मानिसहरूलाई लोभ्याएर दुष्टताको मार्गमा ल्याउन शैतानले प्रयोग गर्ने दुई मुख्य शब्‍दहरू “ख्याति” र “प्राप्ति” नै हुन् भनी तैँले पहिचान् गर्छस् भने, त्यो नै पर्याप्त हुन्छ।

… हो, शैतानले मानिसको विचारहरूलाई नियन्त्रण गर्नको लागि ख्याति र प्राप्तिको प्रयोग गर्छ, र अन्ततः मानिसहरूले ख्याति र प्राप्तिबाहेक अरू केही सोच्‍न सक्दैनन्। तिनीहरूले ख्याति र प्राप्तिका लागि संघर्ष गर्छन्, ख्याति र प्राप्तिकै लागि कठिनाइहरू भोग्छन्, ख्याति र प्राप्तिकै लागि अपमान सहन्छन्, ख्याति र प्राप्तिकै लागि आफूसँग भएका सबै कुराको बलिदान गर्छन्, र तिनीहरूले ख्याति र प्राप्तिकै लागि जुनसुकै मूल्याङ्कन वा निर्णय पनि गर्नेछन्। यसरी, शैतानले मानिसहरूलाई अदृश्य बन्धनमा बाँध्छ, र त्यो बन्धन हटाउन तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै। तिनीहरूले अनजानमा यी बन्धनहरू बोकेर हिँड्छन् र ठूलो कठिनाइको साथ अगाडि घस्रन्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्‍वरबाट अलग बस्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, यही तरिकाले शैतानको ख्याति र प्राप्तिको माझमा एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

मानिसलाई भ्रष्ट तुल्याउन शैतानले कसरी विज्ञानको प्रयोग गर्छ? … विज्ञानले मानिसहरूलाई भौतिक संसारमा भएका वस्तुहरूलाई देख्‍ने तुल्याउने, र मानिसको जिज्ञासालाई मेटाउने काम मात्रै गर्छ, तर यसले मानिसलाई परमेश्‍वरले कुन नियमहरूद्वारा सबै कुराहरूमा प्रभुत्व राख्‍नुहुन्छ सो देख्न सक्षम तुल्याउँदैन। मानिसले विज्ञानमा उत्तरहरू भेट्टाउँछ भन्‍ने देखिन्छ, तर ती उत्तरहरू बुझ्‍न गाह्रो हुन्छ र त्यसले अस्थाई सन्तुष्टि मात्रै ल्याउँछ, जुन मानिसको हृदयलाई भौतिक संसारमा सीमित गर्ने सन्तुष्टि हो। मानिसले आफूहरूले विज्ञानबाट उत्तरहरू प्राप्त गरेको अनुभव गर्छन्, त्यसकारण जुनसुकै समस्याहरू पैदा भए पनि त्यस समस्यालाई प्रमाणित गर्न र स्वीकार गर्नको लागि तिनीहरूले आफ्ना वैज्ञानिक दृष्टिकोणहरू प्रयोग गर्छन्। मानिसको हृदय विज्ञानको प्रलोभनमा पर्छ र यो यति हदसम्म त्यसको पकडमा पर्छ कि ऊसँग परमेश्‍वरलाई चिन्‍ने, परमेश्‍वरको आराधना गर्ने, अनि सबै कुराहरू उहाँबाट नै आउँछ अनि उत्तरहरूको लागि मानिसले उहाँलाई नै हेर्नुपर्छ भनी विश्‍वास गर्ने मन नै हुँदैन। के यो यस्तै होइन त? व्यक्तिले विज्ञानमा जति धेरै विश्‍वास गर्छ, तिनीहरू त्यति नै धेरै मूर्ख बन्छन् अनि तिनीहरूले हरेक कुराको वैज्ञानिक समाधान हुन्छ, अनुसन्धानले जुनसुकै समस्यालाई पनि समाधान गर्नसक्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूले परमेश्‍वरको खोजी गर्दैनन् र तिनीहरूले उहाँ अस्तित्वमा हुनुहुन्छ भन्‍ने विश्‍वास गर्दैनन्; परमेश्‍वरमा लामो समयदेखि विश्‍वास गर्ने धेरै मानिसहरूले समस्याको सामना गर्दा खोजी गरेर उत्तरहरू पत्ता लगाउन कम्प्युटर प्रयोग गर्छन्; तिनीहरू वैज्ञानिक ज्ञानमा मात्र विश्‍वास गर्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन्, परमेश्‍वरका वचनहरूले मानवजातिका सबै समस्याहरू समाधान गर्न सक्छन् भनेर विश्‍वास गर्दैनन्, तिनीहरूले मानवजातिका अनगिन्ती समस्याहरूलाई सत्यताको दृष्टिकोणले हेर्दैनन्। जस्तोसुकै समस्याको सामना गरे पनि, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरसँग प्रार्थना गर्दैनन् वा परमेश्‍वरका वचनहरूमा सत्यताको खोजी गरेर समाधान पहिल्याउने प्रयास गर्दैनन्। धेरै मामिलाहरूमा, तिनीहरू ज्ञानले नै समस्या समाधान गर्न सक्छ भन्‍ने विश्‍वास गर्न रुचाउँछन्; तिनीहरूको लागि, विज्ञान नै अन्तिम उत्तर हो। त्यस्ता मानिसहरूको हृदयमा परमेश्‍वर पटक्‍कै रहनुहुन्‍न। तिनीहरू अविश्‍वासीहरू हुन्, र परमेश्‍वरमाथिको विश्‍वाससम्‍बन्धी तिनीहरूको दृष्टिकोण वैज्ञानिक विधिहरूको प्रयोग गरी परमेश्‍वरलाई जाँच्‍ने प्रयास गरिरहेका धेरै जना विशिष्ट शिक्षाविद र वैज्ञानिकहरूको भन्दा फरक हुँदैन। उदाहरणको लागि, धेरै धार्मिक विशेषज्ञहरू छन्, जसले जहाज अडिएको पर्वतमा गएर जहाजको अस्तित्वलाई प्रमाणित गरेका छन्। तर जहाजको स्वरूपमा तिनीहरूले परमेश्‍वरको अस्तित्वलाई देख्दैनन्। तिनीहरूले कथा र इतिहासमा मात्रै विश्‍वास गर्छन्; यो तिनीहरूको वैज्ञानिक अनुसन्धान र भौतिक संसारको अध्ययनको परिणाम हो। चाहे त्यो सूक्ष्‍मजीव विज्ञान होस्, खगोल विज्ञान होस् वा भूगोल होस्, यदि तैँले भौतिक कुराहरूको अनुसन्धान गरिस् भने, तैँले परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ वा सबै कुरामाथि उहाँको सार्वभौमिकता छ भन्‍ने कुरालाई निर्धारित गर्ने परिणाम कहिल्यै पनि भेट्टाउनेछैनस्। त्यसो भए विज्ञानले मानिसको लागि के गर्छ त? के यसले मानिसलाई परमेश्‍वरबाट अलग गर्दैन र? के यसले मानिसहरूलाई परमेश्‍वरलाई केवल अध्ययनहरूमा सीमित गर्ने तुल्याउँदैन र? के यसले मानिसहरूलाई परमेश्‍वरको अस्तित्व, र सम्प्रभुताको बारेमा अझै बढी शङ्कालु बनाई परमेश्‍वरलाई इन्कार गर्न र धोका दिन लगाउँदैन र? परिणाम यही नै हुन्छ। अनि, मानिसलाई भ्रष्ट तुल्याउनको लागि विज्ञानको प्रयोग गर्दा, शैतानले कुन उद्देश्य हासिल गर्न खोजिरहेको हुन्छ? यसले मानिसहरूलाई भ्रममा पार्न र भावशून्य बनाउनका लागि वैज्ञानिक निष्कर्षहरूको प्रयोग गर्न, अनि तिनीहरूले परमेश्‍वरको अस्तित्वको खोजी नगरून् वा त्यसमा विश्‍वास नगरून् भनेर मानिसहरूको हृदयलाई पक्रिराख्‍नको लागि अस्पष्ट उत्तरहरूको प्रयोग गर्न चाहन्छ। यही कारणले गर्दा, शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउने मार्गहरूमध्ये एउटा विज्ञान हो भनेर म भन्छु।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

शैतानले मानिसलाई भ्रष्ट पार्ने र नियन्त्रण गर्ने अन्तिम तरिका सामाजिक प्रचलन हो। “सामाजिक प्रचलन” मा चर्चित र महान व्यक्तित्वहरूको आराधनाका साथै चलचित्र र साङ्गीतिक आदर्शहरू, सेलिब्रेटी भक्ति, अनलाइन गेमजस्ता विविध क्षेत्रहरूलगायतका धेरै पक्षहरू हुन्छन्—यी सबै नै सामाजिक प्रचलनका भागहरू हुन्, र यसबारेमा विस्तृतमा कुरा गर्न आवश्यक छैन। हामी मानिसहरूमा सामाजिक प्रचलनले ल्याउने विचारहरू, तिनले मानिसहरूलाई संसारमा जे-जसरी व्यवहार गर्न लगाउँछन् ती तौरतरिकाहरू, र मानिसहरूमा तिनले ल्याउने जीवनका लक्ष्यहरू र दृष्टिकोणका बारेमा मात्रै कुरा गर्नेछौँ। यी अत्यन्तै महत्त्वपूर्ण छन्; तिनले मानिसहरूका सोचविचार र रायहरूलाई नियन्त्रण गर्न र प्रभाव पार्न सक्छन्। यी प्रचलनहरू एकपछि अर्को गर्दै उत्पन्‍न हुन्छन्, र ती सबैले मानिसहरूलाई विवेक, मानवता र तर्क गुमाउने तुल्याउँदै, तिनीहरूको नैतिकता र चरित्रको गुणस्तर झन्झन् कमजोर पार्दै, मानवजातिलाई निरन्तर नीच तुल्याउने दुष्‍प्रभाव ल्याउँछन्, यहाँसम्‍म कि धेरैजसो मानिसहरूमा अब कुनै इज्‍जत, कुनै मानवता छैन, न त तिनीहरूसँग कुनै विवेक न त कुनै नैतिकता नै छ भनेरसमेत भन्‍न सकिने अवस्था छ। त्यसो भए, यी सामाजिक प्रचलनहरू के हुन् त? ती तैँले नाङ्गो आँखाले देख्‍न नसक्‍ने प्रचलनहरू हुन्। जब कुनै नयाँ प्रचलन संसारभरि फैलन्छ, सायद मानिसहरूको सानो सङ्ख्या मात्रै प्रचलन निर्माणकर्ताहरूको रूपमा अग्रणी स्थानमा रहेको हुन्छ। तिनीहरूले कुनै नयाँ कुरा गरेर यसको सुरुवात गर्छन्, त्यसपछि कुनै प्रकारको विचार वा कुनै प्रकारको दृष्टिकोणलाई स्वीकार गर्छन्। तैपनि बहुसंख्यक मानिसहरू अवचेतन अवस्थामै यस प्रकारको प्रचनलद्वारा निरन्तर रूपमा तबसम्‍म सङ्क्रमित, आकर्षित हुनेछन्, र तिनीहरूले यसलाई आत्मसात् गर्नेछन्, जबसम्‍म तिनीहरू सबैले यसलाई अनजान रूपमा र अनायसै स्वीकार गर्दैनन्, यसमा डुब्दैनन् र यसद्वारा नियन्त्रित हुँदैनन्। एकपछि अर्को गर्दै त्यस्ता प्रचलनहरूले तन्दुरुस्त शरीर र मस्तिष्क नभएका, सत्यता के हो भनी थाहा नभएका, र सकारात्मक र नकारात्मक कुराहरूबीचमा भिन्‍नता छुट्याउन सक्‍ने क्षमता नभएका मानिसहरूलाई यी कुराहरूका साथै शैतानबाट आउने जीवनसम्‍बन्धी दृष्टिकोण र मूल्यमान्यताहरू खुशीसाथ स्वीकार गर्ने तुल्याउँछन्। जीवनलाई कसरी लिने भन्‍नेबारेमा शैतानले तिनीहरूलाई बताएका कुराहरू र शैतानले तिनीहरूलाई “दिएका” जिउने शैलीहरू तिनीहरूले स्वीकार गर्छन्, र त्यसलाई विरोध गर्ने तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त क्षमता नै, चेतना हुने कुरा त परै जाओस्। …

यी सामाजिक प्रचलनहरूलाई हेर्दा, के तँ मानिसहरूमा तिनको ठूलो प्रभाव हुन्छ भनेर भन्छस्? के तिनले मानिसहरूलाई गहन रूपले हानिकारक प्रभाव पार्छन्? तिनले मानिसहरूलाई गहन रूपले हानिकारक प्रभाव पार्छन्। यी हरेक सामाजिक प्रचलन प्रयोग गरी शैतानले मानिसको कुन पक्षलाई भ्रष्ट तुल्याउँछ? शैतानले विशेष गरी मानिसको विवेक, समझ, मानवता, नैतिकता र जीवनसम्‍बन्धी दृष्टिकोणलाई भ्रष्ट पार्छ। अनि, के यी सामाजिक प्रचलनहरूले मानिसहरूलाई क्रमिक रूपमा पतित र भ्रष्ट पार्दैन र? मानिसहरूलाई एकपटकमा एक कदम गरी दियाबलसहरूको गुँडसम्‍म लोभ्याउँदै ल्याउनको लागि शैतानले यी सामाजिक प्रचलनहरूको प्रयोग गर्छ, ताकि सामाजिक प्रचलनहरूमा व्यस्त भएका मानिसहरूले थाहै नपाई रुपियाँपैसा र भौतिक इच्‍छाहरू, दुष्टता र हिंसाको वकालत गरून्। यी कुराहरू मानिसको हृदयमा प्रवेश गरिसकेपछि, मानिस के बन्छ? मानिस दियाबलस र शैतान बन्छ! किन? मानिसको हृदयमा कुन मानसिक झुकाव हुन्छ? मानिसले केलाई आदर गर्छ? मानिसले दुष्टता र हिंसामा आनन्द लिन थाल्छ, अनि सुन्दरता वा भलाइप्रति कुनै प्रेम देखाउँदैन, शान्तिको त कुरै नगरौं। मानिसहरू सामान्य मानवताको सरल जीवन जिउन इच्‍छुक हुँदैनन्, बरु उच्‍च प्रतिष्ठा र धेरै सम्पत्तिको आनन्द लिन, आफ्‍नो देहलाई सन्तुष्ट पार्न कुनै कसर बाँकी नराखी र तिनीहरूलाई रोक्‍ने कुनै बन्धन, बाधाविना देहका आनन्दमा मस्त हुन चाहन्छन्; अर्को शब्‍दमा भन्दा, तिनीहरूलाई जे इच्‍छा लाग्छ तिनीहरू त्यही गर्न चाहन्छन्। त्यसकारण, जब मानिस यस प्रकारका प्रचलनहरूमा डुबेको हुन्छ, के तैँले सिकेको ज्ञानले तँलाई आफैलाई मुक्त गर्न सहयोग गर्छ? के परम्‍परागत संस्कृति र अन्धविश्‍वाससम्‍बन्धी तेरो बुझाइले तँलाई यो भयानक अवस्थाबाट उम्‍कन सहयोग गर्न सक्छ? के मानिसलाई थाहा भएको परम्‍परागत नैतिकता र संस्कारले मानिसहरूलाई संयमता अभ्यास गर्न सहयोग गर्न सक्छ? उदाहरणको लागि, एनालेक्ट्स र ताओ ते चिङलाई लिऊँ। के यिनले मानिसहरूलाई यी दुष्ट प्रचलनहरूको दलदलबाट आफ्‍नो खुट्टा निकाल्‍न सहयोग गर्न सक्छन्? बिलकुलै सक्दैनन्। तसर्थ, मानिस झन्झन् दुष्ट, अहङ्कारी, हेपाहा, स्वार्थी, र दुर्भावनापूर्ण बन्दै जान्छ। मानिसहरूका बीचमा अब कुनै आत्मीयता छैन, परिवारका सदस्यहरूबीच अब कुनै प्रेम छैन, आफन्त र इष्टमित्रबीच अब कुनै समझदारी छैन; मानव सम्‍बन्धहरू हिंसाद्वारा चित्रण भइसकेका छन्। हरेक व्यक्तिले आफ्‍ना सङ्गी मानिसहरूमाझ जिउनको लागि हिंसाको प्रयोग गर्न खोज्छ; हिंसाकै प्रयोग गरी, तिनीहरूले आफ्‍नो दैनिक रोटी खोसेर लिन्छन्; हिंसाकै प्रयोग गरी, तिनीहरूले आफ्‍नो हैसियत र नाफा कमाउँछन्, र आफूले गर्न चाहेको जुनसुकै कुरा गर्न तिनीहरूले हिंसात्मक र दुष्ट मार्गहरूको प्रयोग गर्छन्। के यो मानवजाति अत्यन्तै भयानक छैन र? छ, एकदमै धेरै हदसम्म त्यस्तै छ: तिनीहरूले परमेश्‍वरलाई क्रूसमा टाँग्‍ने काम मात्रै गरेका छैनन्, उहाँलाई पछ्याउने सबैको हत्यासमेत गरेका छन्—किनकि मानिस अत्यन्तै दुष्ट छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

शैतानले मानिसहरूलाई छल गरेर आफ्‍नो प्रतिष्ठा निर्माण गर्छ, र बारम्बार आफैलाई इन्साफको अग्रगामी र आदर्श व्यक्तिको रूपमा स्थापित गर्छ। इन्साफको रक्षा गर्ने झूटो बहाना गर्दै, यसले मानिसहरूलाई हानि गर्छ, तिनीहरूको प्राण निल्छ, अनि मानिसलाई अचेत बनाउन, भ्रममा पार्न र उक्साउन हरेक किसिमका माध्यमहरूको प्रयोग गर्छ। यसको उद्देश्य भनेको मानिसलाई यसको दुष्ट आचारण स्वीकार गर्न र त्यसमा साथ दिन लगाउनु, परमेश्‍वरको अख्तियार र सार्वभौमिकताको विरोध गर्ने कार्यमा आफूसँगै मानिसलाई संलग्‍न गराउनु हो। तैपनि, जब कसैले यसका युक्तिहरू र षड्यन्त्रहरूलाई देख्छ र यसका खराब विशेषताहरूलाई देख्छ, अनि जब कसैले यसद्वारा निरन्तर कुल्चिइन र यसद्वारा मूर्ख तुल्याइन वा यसको वशमा निरन्तर पर्न, वा यसैसँग दण्डित र नष्ट हुन चाहँदैन, तब त्यसको वास्तविक अनुहार प्रकट गर्नको लागि, अर्थात् दुष्ट, आक्रामक, कुरूप र जङ्गली अनुहार प्रकट गर्नको लागि पहिले सन्तका जस्तै लाग्ने त्यसका विशेषताहरू परिवर्तन गर्छ र त्यसको झूटो मकुन्डोलाई च्यात्छ। त्यसलाई पछ्याउन इन्कार गर्ने र त्यसका दुष्ट शक्तिहरूको विरोध गर्नेहरू सबैलाई नाश गर्ने बाहेक यसले अरू केही चाहँदैन। यस विन्दुमा, शैतानले त्यसपछि फेरि विश्‍वासयोग्य, भद्र स्वरूप धारण गरिरहन सक्दैन; बरु, भेडाको भेषमा लुकेको यसको वास्तविक कुरूप र दुष्ट विशेषताहरू प्रकट हुन्छन्। शैतानका युक्तिहरूको वास्तविकता बाहिर आइसकेपछि र यसका साँचो विशेषताहरूको खुलासा भइसकेपछि, यो रिसले चूर हुनेछ र आफ्नो जङ्गलीपनलाई प्रकट गर्नेछ। यसपछि, मानिसहरूलाई हानि गर्ने र निल्‍ने यसको इच्‍छा झन्-झन् तीव्र मात्रै हुँदै जानेछ। मानिस सत्यताले जागेपछि यो रिसले चूर हुन्छ, अनि स्वतन्त्रता र ज्योतिको तृष्णा गर्ने अनि त्यसको कैदबाट मुक्त हुने मानिसको आकाङ्क्षाका कारण तिनीहरूप्रति त्यसले ठूलो घृणा र प्रतिकारको भावना विकसित गर्छ। त्यसको रिसको अभिप्राय भनेको त्यसको दुष्टताको प्रतिरक्षा गर्न र त्यसलाई कायम गराउनको लागि हो, र यो त्यसको जङ्गली प्रकृतिको साँचो प्रकटीकरण पनि हो।

हरेक मामलामा, शैतानको बानीबेहोराले यसको दुष्ट प्रकृतिलाई उदाङ्गो पार्छ। शैतानले मानिसमा गर्ने सबै दुष्ट कार्यहरूमध्ये—मानिसलाई भ्रममा पारेर त्यसको पछि लाग्‍ने तुल्याउने त्यसको प्रारम्भिक प्रयासदेखि, यसले मानिसलाई त्यसका दुष्ट कार्यहरूमा घिस्याउँदै लगेर गरेको शोषणसम्म, अनि यसका साँचो विशेषताहरूलाई उदाङ्गो पारिसकिएपछि र मानिसले यसलाई पहिचान गरेर त्यागिसकेपछि मानिस विरुद्धको यसको प्रतिकारसम्‍म—यीमध्ये एउटै पनि कार्यले शैतानको दुष्ट सारलाई उदाङ्गो पार्न चुक्दैन, न त सकारात्मक कुराहरूसँग शैतानको कुनै सम्‍बन्ध छैन र सारा दुष्ट कुराहरूको स्रोत शैतान नै हो भन्‍ने तथ्य प्रमाणित गर्न नै चुक्छ। त्यसका हरेक कार्यहरूले त्यसको दुष्टतालाई रक्षा गर्छ, त्यसका दुष्ट कार्यहरूको निरन्तरता कायम राख्छ, न्यायसंगत र सकारात्मक कुराहरूको विरुद्धमा जान्छ, र मानवजातिको सामान्य अस्तित्वका कानूनहरू र व्यवस्थालाई नष्ट गर्छ। शैतानका यी कार्यहरू परमेश्‍वरको विरुद्ध छन्, र तिनीहरूलाई परमेश्‍वरको क्रोधले नष्ट गर्नेछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

सम्बन्धित भजनहरू

मानवजातिले परमेश्‍वरको अगुवाइलाई गुमाउनुका परिणामहरू

अघिल्लो: ज. आखिरी दिनहरूको परमेश्‍वरको काम स्विकारेर अनि धार्मिक संसार छाडेर मात्र उहाँको मुक्ति प्राप्त गर्न सकिन्छ

अर्को: ख. भ्रष्ट मानवजातिले शक्ति हातमा लिँदा मानिसहरूमा आइपर्ने हानि र दुष्परिणामहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्