ग. कसरी आफैलाई चिन्ने र साँचो पश्चात्ताप हासिल गर्ने
३५८. केही हजार वर्षको भ्रष्टताको क्रममा, सबै मानिसहरू संवेदनहीन र मन्द बुद्धिका बनेका छन्; तिनीहरू सबै परमेश्वरको विरोध गर्ने दुष्ट पिशाच बनेका छन्, यतिसम्म कि परमेश्वरविरुद्ध तिनीहरूको विद्रोहीपन ऐतिहासिक अभिलेखहरूमा उल्लेख गरिएको छ, र मानिसहरू स्वयम् पनि आफ्नो विद्रोही व्यवहारको पूर्ण विवरण दिन असक्षम छन्—किनकि तिनीहरू शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएका छन्, र शैतानद्वारा बहकाइएका छन्, यतिसम्म कि कतातिर फर्कने भनेर तिनीहरूलाई थाहै छैन। आज पनि, मानिसहरू अझै परमेश्वरलाई धोका दिन्छन्। जब तिनीहरूले परमेश्वरलाई देख्छन्, तब तिनीहरूले उहाँलाई धोका दिन्छन्, र जब तिनीहरूले परमेश्वरलाई देख्न सक्दैनन्, तब पनि तिनीहरूले उहाँलाई धोका दिन्छन्। त्यस्ता पनि छन् जसले परमेश्वरका श्रापहरू र परमेश्वरको क्रोध देखेपछि पनि उहाँलाई धोका दिन्छन्। त्यसैले म भन्छु कि मानिसको समझले आफ्नो मौलिक काम गर्न छोडेको छ, र मानिसको विवेकले पनि आफ्नो मौलिक काम गर्न छोडेको छ। मेरो नजरमा, सबै मानिसहरू मानव भेषमा रहेका पशु र विषालु सर्प हुन्। तिनीहरूले मेरो नजरमा जतिसुकै दयनीय देखिन खोजे पनि, म तिनीहरूप्रति कहिल्यै कृपालु बन्नेछैन, किनकि तिनीहरूले कालो र सेतो बीचको फरक बिलकुलै बुझेका छैनन्, र तिनीहरूमध्ये कसैले पनि सत्यता र असत्यता बीचको फरक बुझ्दैन। तिनीहरूको समझ अत्यन्तै संवेदनहीन भएको छ, तैपनि तिनीहरू अझै आशिष्हरू प्राप्त गर्न चाहन्छन्; तिनीहरूको मानवता यति तुच्छ छ, तैपनि तिनीहरू अझै राजाका रूपमा शक्ति हातमा लिन चाहन्छन्। त्यस्तो समझ बोकेर तिनीहरू कसका राजा बन्न सक्छन्? त्यस्तो मानवता बोकेर तिनीहरू कसरी सिंहासनमा बस्न सक्छन्? मानिसहरू साँच्चिकै निर्लज्ज छन्! तिनीहरू आफूलाई बढी आँक्ने नीच हुन्! म आशिष्हरू प्राप्त गर्न चाहने तिमीहरूलाई पहिला एउटा ऐना लिएर आफ्नो कुरूप प्रतिविम्ब हेर्न सुझाव दिन्छु। के तँसँग राजा हुनलाई चाहिने कुरा छ? के तँसँग आशिष्हरू प्राप्त गर्ने व्यक्तिको जस्तो अनुहारको बनोट छ? तेरो स्वभावमा अलिकति पनि परिवर्तन आएको छैन र तैँले कुनै पनि सत्यतालाई व्यवहारमा लागू गर्न सकेको छैनस्, तैपनि तँ अझै सुन्दर भविष्यको कामना गर्छस्। यो पूर्ण रूपमा भ्रम हो! यस्तो फोहोरी भूमिमा जन्मिएको मानिस समाजद्वारा गम्भीर रूपमा दूषित पारिएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसले “उच्च शिक्षालयहरूको” शिक्षा प्राप्त गरेको छ। पश्चगामी सोच, भ्रष्ट नैतिकता, पतित जीवनदृष्टि, संसारसँग व्यवहार गर्ने घृणित दर्शन, पूर्णतया मूल्यहीन अस्तित्व, साथै नीच चलनहरू र दैनिक जीवन—यी सबै कुरा मानिसको हृदयमा गम्भीर रूपमा घुसपैठ गर्दै आएका छन्, र तिनले उसको विवेकलाई गम्भीर रूपमा क्षति पुर्याउँदै र आक्रमण गर्दै आएका छन्। फलस्वरूप, मानिस परमेश्वरबाट अझ धेरै टाढिन्छ, र अझ धेरै उहाँको विरोधी बनेको छ। मानिसको स्वभाव दिनदिनै अझ बढी निर्दयी बन्छ, र स्वेच्छाले परमेश्वरका निम्ति कुनै कुरा त्याग्न इच्छुक व्यक्ति एक जना पनि छैन, स्वेच्छाले परमेश्वरप्रति समर्पित हुने व्यक्ति एक जना पनि छैन, र स्वेच्छाले परमेश्वरको देखापराइलाई खोज्ने व्यक्ति त झनै छैन। बरु, मानिसले शैतानको सत्ताअन्तर्गत रहेर धीत मरुन्जेल आनन्द पछ्याउँछ र आफ्नो देहलाई लापरवाह रूपमा दलदलमा भ्रष्ट तुल्याउँछ। अन्धकारमा जिउनेहरू सत्यता सुनेर पनि त्यसलाई अभ्यास गर्ने चाहना राख्दैनन्, र परमेश्वर देखा परिसक्नुभएको छ भन्ने देख्दादेख्दै पनि तिनीहरूको झुकाव खोजी गर्नेतिर हुँदैन। यस्तो चरित्रभ्रष्ट मानवजातिका लागि कसरी मुक्तिको कुनै सम्भावना हुन सक्छ? यस्तो पतित मानवजाति कसरी ज्योतिमा जिउन सक्छ र?
मानिसको स्वभाव परिवर्तन गर्ने कुरा उसको सारको ज्ञानद्वारा अनि उसको सोचाइ, प्रकृति र मानसिक दृष्टिकोणमा हुने परिवर्तनहरूमार्फत—आधारभूत परिवर्तनहरूमार्फत सुरु हुनुपर्छ। यसरी मात्रै मानिसको स्वभावमा साँचो परिवर्तनहरू हासिल हुनेछन्। मानिसमा भ्रष्ट स्वभावहरू उत्पन्न हुनुको मूल कारण शैतानले भ्रमित पार्नु, भ्रष्ट तुल्याउनु र विषाक्त पार्नु हो। मानिसलाई शैतानले बाँधेको र नियन्त्रित गरेको छ अनि उसको सोचाइ, नैतिकता, अन्तर्ज्ञान र समझ सबैलाई शैतानले गम्भीर रूपमा क्षति पुर्याएको छ। मानिसका आधारभूत कुराहरूलाई शैतानले भ्रष्ट तुल्याएकाले र ती परमेश्वरले सुरुमा सृष्टि गरेको जस्तो बिलकुलै नभएकाले गर्दा नै, मानिसले परमेश्वरको विरोध गर्छ र सत्यता स्वीकार गर्न सक्दैन। यसैले, मानिसको स्वभावमा परिवर्तनहरू आउनका निम्ति, सुरुमा उसको सोचाइ, अन्तर्ज्ञान, र समझको हिसाबले परमेश्वर सम्बन्धी उसको ज्ञान र सत्यता सम्बन्धी उसको ज्ञानलाई परिवर्तन गरिनुपर्छ। जो सबैभन्दा गहिरो रूपमा भ्रष्ट भूमिमा जन्मिए तिनीहरू परमेश्वर के हुनुहुन्छ, वा परमेश्वरमा विश्वास गर्नु भनेको के हो भन्ने कुरामा अझ बढी अनभिज्ञ हुन्छन्। मानिसहरू जति बढी भ्रष्ट हुन्छन्, तिनीहरूलाई परमेश्वरको अस्तित्वको बारेमा त्यति नै थोरै थाहा हुन्छ, र तिनीहरूको समझ र अन्तर्ज्ञान त्यति नै कमजोर हुन्छ। परमेश्वरको विरुद्धमा मानिसको विरोध र विद्रोहको मूल कारण भनेको उसलाई शैतानद्वारा भ्रष्ट तुल्याइनु हो। शैतानले भ्रष्ट तुल्याएका कारण मानिसको विवेक संवेदनहीन बनेको छ, ऊ नैतिक रूपमा भ्रष्ट छ, उसका सोचहरू पतित छन्, र ऊसँग पिछडिएको मानसिक दृष्टिकोण छ। शैतानद्वारा भ्रष्ट तुल्याइनुभन्दा अगाडि, मानिस सुरुमा परमेश्वरप्रति समर्पित हुन्थ्यो र उहाँका वचनहरू सुनेपछि तीप्रति समर्पित हुन्थ्यो। सुरुमा उसको समझ र विवेक राम्रो थियो र उसको मानवता सामान्य थियो। शैतानद्वारा भ्रष्ट तुल्याइएपछि, मानिसको सुरुको समझ, विवेक, र मानवता सबै संवेदनहीन बने र शैतानद्वारा बिगारिए। यसरी, उसले परमेश्वरप्रति आफ्नो समर्पण र प्रेम गुमाएको छ। मानिसको समझ असामान्य बनेको छ, उसको स्वभाव एउटा पशुको जस्तै बनेको छ, र परमेश्वरका विरुद्ध उसको विद्रोहीपन निरन्तर बढिरहेको छ र झनै घोर बनिरहेको छ। तैपनि मानिसले यो कुरा अझै पनि न त थाहा पाएको छ न त बुझेको नै छ, र लगातार विरोध र विद्रोह मात्र गर्छ। मानिसको स्वभावका प्रकटीकरणहरू उसको समझ, अन्तर्ज्ञान, र विवेकका अभिव्यक्तिहरू हुन्। उसको समझ र अन्तर्ज्ञान राम्रो नभएको, र उसको विवेक उच्च रूपमा संवेदनहीन बनेको हुनाले, उसको स्वभाव परमेश्वरको विरुद्धमा विद्रोही छ। यदि मानिसको समझ र अन्तर्ज्ञान परिवर्तन हुन सक्दैनन् भने, उसको स्वभाव परिवर्तन हुने प्रश्नै उठ्दैन र यो परमेश्वरका अभिप्रायहरूअनुरूप हुने पनि प्रश्नै उठ्दैन। यदि मानिसको समझ राम्रो छैन भने, उसले परमेश्वरको सेवा गर्न सक्दैन र ऊ परमेश्वरको निम्ति प्रयोगयोग्य हुँदैन। “सामान्य समझ” ले परमेश्वरप्रति समर्पित हुने र उहाँप्रति बफादार हुने, परमेश्वरको अभिलाषा राख्ने, पूर्ण रूपमा परमेश्वरप्रति अर्पित हुने, र परमेश्वरप्रति विवेक राख्ने कुरालाई जनाउँछ। यसले परमेश्वरप्रति एउटै हृदय र मन हुने, र जानाजानी परमेश्वरको विरोध नगर्ने कुरालाई जनाउँछ। असामान्य समझ हुनु भनेको यस्तो होइन। शैतानद्वारा भ्रष्ट तुल्याइएपछि, मानिसले परमेश्वरबारे धारणाहरू बनाएको छ, र ऊसँग परमेश्वरप्रति बफादारी छैन वा उहाँप्रति अभिलाषा छैन, परमेश्वरप्रति विवेक हुने त कुरै नगरौँ। मानिसले जानीजानी परमेश्वरको विरोध गर्छ, र उहाँलाई गलत ठहराउँछ, त्यसबाहेक उहाँको पिठ्यूँपछाडि उहाँमाथि गाली बर्साउँछ। उहाँ परमेश्वर हुनुहुन्छ भनेर राम्रोसँग थाहा हुँदाहुँदै पनि मानिसले उहाँको पिठ्यूँपछाडि उहाँलाई गलत ठहराउँछ; मानिससँग परमेश्वरप्रति समर्पित हुने अभिप्राय बिलकुलै छैन, बरु उहाँसँग माग र अनुरोधहरू मात्र गरिरहन्छ। त्यस्ता मानिसहरू—असामान्य समझ भएका मानिसहरू—अझै आफ्नै घृणास्पद व्यवहार चिन्न वा आफ्नो विद्रोही क्रियाकलाको पछुतो मान्न सक्दैनन्। यदि मानिसहरू आफैलाई चिन्न सक्षम छन् भने, तिनीहरूले केही हदसम्म आफ्नो समझ पुनः प्राप्त गरेका हुन्छन्; मानिसहरू परमेश्वरविरुद्ध जति विद्रोही छन् र तैपनि आफूलाई चिन्दैनन्, तिनीहरूको समझमा त्यति नै बढी खराबी हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वभावमा अपरिवर्तित रहनु भनेको परमेश्वरसँग शत्रुतामा हुनु हो
३५९. मानिसहरूले परमेश्वरको काम अनुभव गर्नु र सत्यता बुझ्नुभन्दा पहिले, भित्रैबाट नियन्त्रण लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तँ किन आफ्नै हैसियतको सुरक्षा गर्छस्? तँ किन आफ्ना भावनाहरूद्वारा यति प्रभावित छस्? तँ किन ती अधर्मी र दुष्ट कुराहरू मन पराउँछस्? तैँले त्यस्ता कुराहरू मन पराउनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? तँ किन ती कुराहरू मन पराउँछस् र स्वीकार गर्छस्? अहिलेसम्ममा, तिमीहरू सबै यो कुरा बुझ्न पुगेका छौ: मुख्य कारण के हो भने, मानिसभित्र शैतानका विषहरू छन्। त्यसो भए, शैतानका विषहरू के हुन्? तिनलाई कसरी व्यक्त गर्न सकिन्छ? उदाहरणको लागि, यदि तैँले “मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?” भनेर सोधिस् भने, सबैले जवाफ दिनेछन्, “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ।” यही एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनेको छ। मानिसहरूले जेसुकै पछ्याए पनि, तिनीहरू वास्तवमा आफ्नै लागि त्यसो गर्छन्—अनि त्यसकारण तिनीहरू सबै आफ्नै लागि जिउँछन्। “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ”—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति भइसकेका छन्, र यी वचनहरू भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण हुन्। यो शैतानी प्रकृति पूर्ण रूपमा भ्रष्ट मानवजातिको अस्तित्वको जग बनिसकेको छ। भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ। शैतानले गर्ने सबै कुरा यसका आफ्नै चाहना, महत्त्वाकाङ्क्षा, र उद्देश्यहरूको लागि हो। यसले परमेश्वरलाई उछिन्न, परमेश्वरबाट स्वतन्त्र हुन, र परमेश्वरले सृष्टि गर्नुभएका सबै कुराहरूलाई नियन्त्रणमा लिन चाहन्छ। आज, मानिसहरू शैतानद्वारा यस हदसम्म भ्रष्ट पारिएका छन्। तिनीहरू सबैसँग शैतानी प्रकृति छ, तिनीहरू सबैले परमेश्वरलाई नकार्ने र उहाँको विरोध गर्नमा झुकाव राख्छन्, र तिनीहरू आफ्नो नियतिलाई आफ्नै हातमा राख्न चाहन्छन् र परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूको विरोध गर्ने प्रयास गर्छन्। तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू पहिले नै ठ्याक्कै शैतानका जस्ता छन्। त्यसकारण, मानिसको प्रकृति शैतानको प्रकृति हो। वास्तवमा, मानिसहरूले राखेका धेरै आदर्श-वाणी र लोकोक्तिहरूले मानव प्रकृतिलाई प्रतिनिधित्व गर्छन् र मानिसको भ्रष्ट सारलाई प्रतिबिम्बित गर्छन्। मानिसहरूले छनौट गर्ने कुराहरूले तिनीहरूका आफ्नै प्राथमिकतालाई प्रतिबिम्बित गर्छन्, र ती सबैले मानिसहरूका स्वभाव र पछ्याइहरूको प्रतिनिधित्व गर्छन्। व्यक्तिले आफूले बोल्ने हरेक शब्द, र गर्ने हरेक काम जति नै छद्म भए पनि, यो छद्म रूपले उसको प्रकृतिलाई ढाकछोप गर्न सक्दैन। उदाहरणका लागि, फरिसीहरू प्रायजसो निकै राम्रो प्रचार गर्थे, तर जब तिनीहरूले येशूले व्यक्त गरेका प्रवचन र सत्यताहरू सुने, तब तिनीहरूले तिनलाई स्विकार्नुको सट्टा दोषी ठहराए। यसले सत्यताप्रति वितृष्ण हुने र त्यसलाई घृणा गर्ने फरिसीहरूको प्रकृति सारको खुलासा गर्यो। कतिपय मानिसहरू निकै राम्ररी बोल्छन् र आफ्नो वास्तविकता लुकाउन निकै सिपालु हुन्छन्, तर तिनीहरूसँग केही समयसम्म सङ्गत गरिसकेपछि, उनीहरूले ती मानिस प्रकृतिले नै अत्यन्तै छली भएको र अलिकति पनि इमानदार नभएको पत्ता लगाउँछन्। ती मानिसहरूसँग लामो समयसम्म उठबस गरिसकेपछि, उनीहरूले तिनीहरूको प्रकृति सार पत्ता लगाउँछन्। अन्त्यमा, तिनीहरूले निम्न निष्कर्ष निकाल्छन्: ती मानिसहरू कहिल्यै एक शब्द पनि सत्य बोल्दैनन् र तिनीहरू छली हुन्। यो भनाइले त्यस्ता मानिसहरूको प्रकृतिलाई प्रतिनिधित्व गर्छ, र यो तिनीहरूको प्रकृति सारको सर्वश्रेष्ठ चित्रण र प्रमाण हो। तिनीहरूको संसारसँग व्यवहार गर्ने दर्शन भनेकै कसैलाई सत्य नभन्नु हो, साथसाथै कसैलाई पनि भरोसा नगर्नु हो। मानिसको शैतानी प्रकृतिमा शैतानका धेरै दर्शन र विषहरू हुन्छन्। कहिलेकाहीँ तँ आफैलाई तीबारे थाहा हुँदैन। यदि तँ सत्यता बुझ्दैनस् भने, शैतानको स्वभाव खुट्ट्याउन असक्षम हुन्छस्। र पनि, तँ हरदिन हरपल शैतानको स्वभावअनुसार जिइरहेको हुन्छस् अनि यो निकै सही र समझदारीपूर्ण छ र यसमा कुनै गल्ती छैन भन्ने सोच्छस्। तँ शैतानका दर्शनहरूअनुसार जिउँदा, शैतानको स्वभावअनुसार जिइरहेको हुन्छस् अनि शैतानका दर्शन र स्वभाव तेरो प्रकृति बनेका हुन्छन् भन्ने देखाउन यो पर्याप्त छ। प्रायः मानिसहरू शैतानका दर्शनहरूअनुसार जिउँछन् तर अझै पनि यसलाई निकै राम्रो सोच्छन् र तिनीहरूमा पश्चात्तापको बोध पटक्कै हुँदैन। यो किन हुन्छ? किनभने मानिसहरू सत्यता बुझ्दैनन्। त्यसकारण, तिनीहरूले हरेक मोडमा आफ्नो शैतानी प्रकृति निरन्तर प्रकट गरिरहेका हुन्छन् र तिनीहरू हरेक मोडमा निरन्तर शैतानका दर्शनहरूअनुसार जिइरहेका हुन्छन्। शैतानको प्रकृति मानिसको जीवन हो र यो मानिसको प्रकृति सार हो।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने
३६०. तिमीहरूले कसरी मानिसको प्रकृतिलाई बुझ्छौ? सबैभन्दा महत्वपूर्ण कुरा भनेको यसलाई मानिसको सांसारिक दृष्टिकोण, जीवन दृष्टिकोण र मूल्य-मान्यताहरूको परिप्रेक्ष्यबाट पहिचान गर्नु हो। जो व्यक्तिहरू दियाबलसहरूका हुन् तिनीहरू सबै आफ्ना लागि मात्र जिउँछन्। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “पशुपक्षीलाई चारो प्यारो, मान्छेलाई पैसा प्यारो” भन्नेजस्ता तिनीहरूको जीवन दृष्टिकोण र आदर्श-वाक्यहरू अनि यस्तै अन्य भ्रमहरू मुख्यतः शैतानका भनाइहरूबाट आउँछन्। दियाबलस राजाहरू, महान व्यक्तिहरू र दार्शनिकहरूले बोलेका यी सबै शब्दहरू मान्छेका जीवन बनेका छन्। विशेष रूपमा, चिनियाँ मानिसहरूमाझ “सन्त” भनेर कहलिएका कन्फ्युसियसका धेरैजसो शब्दहरू मानिसको जीवन बनेका छन्। बौद्धधर्म र ताओवादका प्रख्यात भनाइहरू र प्रसिद्ध व्यक्तिहरूले बारम्बार दोहोर्याउँदै आएका चिरपरिचित भनाइहरू पनि छन्। ती सबै शैतानका दर्शनहरू र शैतानको प्रकृतिका सारसङ्क्षेप हुन्। तिनीहरू शैतानको प्रकृतिका सर्वश्रेष्ठ चित्रणहरू र व्याख्याहरू पनि हुन्। मानिसको हृदयमा हालिएका यी विषहरू सबै शैतानबाट आएका हुन्, र तिनको सानो अंश पनि परमेश्वरबाट आएको होइन। यस्ता दुष्ट शब्दहरू परमेश्वरका वचनहरूको प्रत्यक्ष विपक्षमा हुन्छन्। यो पूर्ण रूपले स्पष्ट छ कि सबै सकारात्मक कुराहरूका वास्तविकताहरू परमेश्वरबाट आउँछन्, र मानिसलाई विषाक्त पार्ने सबै नकारात्मक कुराहरू शैतानबाट आउँछन्। त्यसकारण, तैँले व्यक्तिको प्रकृति अनि ऊ कसको अधीनमा छ भन्ने कुरा उसको जीवन दृष्टि अनि उसका मूल्य-मान्यताहरू हेरेर ठम्याउन सक्छस्। शैतानले मानिसहरूलाई राष्ट्रिय सरकारहरू अनि प्रख्यात र महान् व्यक्तिहरूको शिक्षा र सिकाइने कुराका प्रभावहरूमार्फत भ्रष्ट तुल्याउँछ। तिनीहरूका दुष्ट शब्दहरू मानिसको जीवन र प्रकृति बनेका छन्। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्ने भनाइ शैतानको चिरपरिचित भनाइ हो, जुन हरेक व्यक्तिमा पसेको छ र तिनीहरूको जीवन बनेको छ। संसारसित व्यवहार गर्ने दर्शनहरूका अन्य शब्दहरू छन्, जुन यही भनाइ जस्तै छन्। शैतानले हरेक देशको परम्परागत संस्कृतिलाई प्रयोग गरेर मानिसहरूलाई शिक्षा दिन्छ, बहकाउँछ, र भ्रष्ट तुल्याउँछ, र मानिसहरूलाई विनाशको सीमाहीन खाल्डोमा खसाउँछ, अनि अन्त्यमा परमेश्वरद्वारा नाश गरिने तुल्याउँछ, किनकि तिनीहरूले शैतानको सेवा र परमेश्वरको प्रतिरोध गर्छन्। कतिपय मानिसहरू समाजमा दशकौंदेखि सार्वजनिक अधिकारीको रूपमा काम गर्दै आएका छन्। तिनीहरूलाई यो प्रश्न सोधेको कल्पना गरौं न: “तपाईँले अधिकारी बन्न र यस्तो सहज रूपमा करियर पाउन सक्नुभएकाले, तपाईँले कुन प्रसिद्ध भनाइहरूद्वारा यो हासिल गर्नुभयो?” तिनीहरूले भन्न सक्छन्, “मैले बुझेको एउटा कुरा चाहिँ ‘जसले उपहार ल्यायो, उही हाकिमको प्यारो, अनि चापलुसी नगर्नेले केही पनि उपलब्धि प्राप्त गर्दैन’ भन्ने हो।” तिनीहरू अधिकारी बन्न यो शैतानी दर्शनमा भर परे। के यी शब्दहरूले त्यस्ता मानिसहरूको प्रकृतिको प्रतिनिधित्व गर्दैनन् र? कुनै पद प्राप्त गर्न अनैतिक माध्यमहरूको सहारा लिनु तिनीहरूको प्रकृति बनेको छ। अरूभन्दा विशिष्ट देखिने र चाँडो प्रगति गर्ने अधिकारी बन्नु तिनीहरूको लक्ष्य हो। मानिसहरूको जीवन, कार्यव्यवहार र आत्म-आचरणमा अझै थुप्रै शैतानी विषहरू छन्। उदाहरणका लागि, संसारसँग व्यवहार गर्ने तिनीहरूका दर्शनहरू, काम गर्ने तिनीहरूका तरकिपहरू, र तिनीहरूका नीति-वाणीहरू सबै ठूलो रातो अजिङ्गरका विषहरूद्वारा भरिएका छन्, र यी सबै नै शैतानबाट आउँछन्। यसरी, मानिसहरूको हाड र रगतमा व्याप्त हुने सबै कुरा शैतानका हुन्। ती सबै अधिकारी, सत्तामा भएकाहरू र उपलब्धि हासिल गरेकाहरूसँग मार्गहरू र सफलताका रहस्यहरू हुन्छन्। के ती गोप्य रहस्यहरूले तिनीहरूको प्रकृतिको प्रतिनिधित्व गर्दैनन् र? तिनीहरू संसारमा ठूला कामहरू सम्पन्न गर्न सक्षम छन्, र कसैले पनि ती पछाडिका युक्ति र षडयन्त्रहरूलाई छर्लङ्ग देख्न सक्दैन। यसले तिनीहरूको प्रकृति कति अन्तर्घाती र दुर्भावपूर्ण छ भनेर देखाउँछ। मानवजातिलाई शैतानले गहन रूपमा भ्रष्ट पारेको छ। शैतानको विष हरेक व्यक्तिको रगतमा बग्छ र यो भन्न सकिन्छ कि मानिसहरूको प्रकृति भ्रष्ट, दुष्ट, प्रतिरोधी र परमेश्वरविरोधी छ, र शैतानका दर्शन र विषहरूले भरिपूर्ण छ र ती दर्शन र विषहरूमा डुबेको छ। यो पूर्णतया शैतानको प्रकृति सार बनेको छ। यही कारणले गर्दा मानिसहरू परमेश्वरको प्रतिरोध गर्छन् र परमेश्वरप्रति शत्रुवत् हुन्छन्। यदि मानिसहरूको प्रकृतिलाई यसरी चिरफार गर्न सकियो भने तिनीहरूले आफूलाई सजिलै चिन्न सक्छन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने
३६१. तैँले मानव प्रकृतिलाई कसरी बुझ्छस्? तेरो प्रकृतिलाई बुझ्नु भनेको वास्तवमा तेरो प्राणको भित्री गहिराइमा रहेका कुराहरू विश्लेषण गर्नु हो—यो तेरो जीवनभित्र रहेका कुराहरू, तँ जिउँदै आइरहेको शैतानको तर्क र दर्शनहरू, अर्थात् तँ जिउँदै आइरहेको शैतानको जीवन विश्लेषण गर्नु हो। तेरो प्राणको गहिराइभित्र रहेका कुराहरूलाई पत्ता लगाएर मात्र तैँले आफ्नो प्रकृतिलाई बुझ्न सक्छस्। यी कुराहरूलाई कसरी पत्ता लाउन सकिन्छ? एकदुई मामिलामार्फत मात्र ती कुराहरूलाई पत्ता लाउन वा विश्लेषण गर्न सकिँदैन। धेरै चोटि, तैँले केही कार्य गरिसकेपछि, तैँले अझै पनि बुझेको हुँदैनस्। अलिअलि आत्मज्ञान वा बुझाइ प्राप्त गर्नको निम्ति पनि तँलाई तीनदेखि पाँच वर्षसम्म लाग्न सक्छ। त्यसैले, धेरै परिस्थितिहरूमा, तैँले आत्मचिन्तन गर्नुपर्छ अनि आफैलाई चिन्नुपर्छ। तैँले कुनै पनि नतिजा देख्न पाउनको लागि परमेश्वरका वचनहरूअनुसार आफूलाई अझै गहन रूपले जाँच र चिरफार गर्नुपर्छ। जब सत्यसम्बन्धी तेरो ज्ञान झन्-झन् बढ्दै र झन्-झन् गहिरो हुँदै जान्छ, तब तैँले आत्म-चिन्तन र आत्म-ज्ञानद्वारा आफ्नो प्रकृति सारलाई बिस्तारै जान्न थाल्नेछस्।
आफ्नो प्रकृति चिन्नलाई तैँले यसलाई केही कुराहरूमार्फत राम्ररी बुझ्नुपर्छ। पहिलो, तँलाई के मन पर्छ त्यसबारे तँमा स्पष्ट बुझाइ हुनुपर्छ। यसले तँलाई के खान वा लगाउन मन पर्छ त्यसलाई बुझाउँदैन, बरु, यसको अर्थ तैँले आनन्द लिने किसिमका कुराहरू हुन्, तैँले ईर्ष्या गर्ने, तैँले आराधना गर्ने, तैँले पछ्याउने, र तैँले आफ्नो हृदयमा ध्यान दिने कुराहरू, तँलाई सम्पर्कमा रहन मन लाग्ने मानिसहरू, र तैँले आफ्नो हृदयमा आदर गरेका र पुजेर राखेका व्यक्तिहरू हुन्। उदाहरणको लागि, धेरैजसो मानिसहरूले ठूलो पदमा बसेका, बोली र व्यवहारमा उत्कृष्ट रहेका, वा बोलीले लट्ठ पार्ने वा नाटक देखाउने मानिसहरूलाई मन पराउँछन्। माथि भनिएका व्यक्तिहरू तिनीहरूले कुराकानी गर्न मन पराउने मानिसहरू हुन्। मानिसहरूलाई मनपर्ने कार्यहरूको कुरा गर्दा, तिनमा गर्न सहज हुने कुराहरू गर्न इच्छुक हुनु, अरूलाई राम्रा लाग्ने र मानिसहरूले अनुमोदन र प्रशंसा गर्ने कामकुराहरू गर्न मन पराउनु जस्ता कार्य पर्छन्। मानिसहरूको प्रकृतिहरूमा, तिनीहरूले मन पराउने थोकहरूको एउटा सामान्य विशेषता हुन्छ। अर्थात्, तिनीहरू त्यस्ता मानिसहरू, घटनाहरू र थोकहरू मन पराउँछन्, जसको बाहिरी रूपहरूको कारण अरूले ईर्ष्या गर्छन्, तिनीहरू त्यस्ता मानिसहरू, घटनाहरू र कुराहरू मन पराउँछन्, जुन औधी सुन्दर अनि विलासपूर्ण देखिन्छन्, र तिनीहरू त्यस्ता मानिसहरू, घटनाहरू र थोकहरू मन पराउँछन्, जसले अरूलाई तिनीहरूको आराधना गर्ने बनाउँछ। मानिसहरूले अति नै मन पराउने यी कुराहरू निकै राम्रा, अचम्मका, आकर्षक र भव्य हुन्छन्। सबै मानिसहरूले यी थोकहरूको पूजा गर्छन्। यो देख्न सकिन्छ कि मानिसहरूमा कुनै पनि सत्यता छैन, न त तिनीहरूसँग मानिसको साँचो स्वरूप नै छ। यी थोकहरूको आराधना गर्नुको अलिकति पनि महत्त्व छैन, तरै पनि मानिसहरूले ती मन पराउँछन्। मानिसहरूले मन पराउने यी कुराहरू परमेश्वरमा विश्वास नगर्नेहरूलाई विशेष गरी राम्रो लाग्छ, र ती कुराहरूको पछि लाग्न मानिसहरू विशेष इच्छुक हुन्छन्। … मानिसहरूले खोजी गर्ने र तृष्णा गर्ने कुराहरू सांसारिक प्रचलनका कुरा हुन्, यी शैतान र दियाबलसहरूका कुरा हुन्, परमेश्वरले तिनलाई घृणा गर्नुहुन्छ, र तिनमा कुनै सत्यता हुँदैन। मानिसहरूले तृष्णा गर्ने यी कुराहरूबाट तिनीहरूको प्रकृति सार उजागर गर्न मदत मिल्छ। मानिसहरूका रुचिहरू उनीहरूले लगाउने पोसाकमा देख्न सकिन्छ। केही मानिसहरू अरूको ध्यान खिँच्ने, रङ्गीचङ्गी वा अनौठा पोसाकहरू लगाउन इच्छुक हुन्छन्। अनि, तिनीहरू पहिले कसैले पनि नपहिरेको अतिरिक्त जिनिसहरू पहिरन चाहन्छन्, र तिनीहरू विपरीत लिङ्गीहरूलाई आकर्षित गर्ने चीजहरू मन पराउँछन्। उनीहरूले लगाउने यी पोसाकहरू र सरसामानहरूले उनीहरूले आफ्नो जीवनमा र उनीहरूको हृदयको गहिराइमा यी चीजहरूमा रुचि राख्छन् भन्ने देखाउँछ। उनीहरूले मन पराउने चीजहरू मर्यादित वा भद्र हुँदैनन्। ती सामान्य व्यक्तिले खोजी गर्नुपर्ने चीजहरू होइनन्। ती कुराहरूप्रतिको तिनीहरूको मोहमा अधर्म लुकेको हुन्छ। तिनीहरूका दृष्टिकोण ठ्याक्कै सांसारिक मानिसहरूको जस्तै हुन्छ। त्यसको कुनै पनि भाग सत्यतासित मेल खाएको देख्न सकिँदैन। तँलाई जे मन पर्छ, तँ जुन कुरामा ध्यान दिन्छस्, तैँले जे कुराको आराधना गर्छस्, तैँले जुन कुराको ईर्ष्या गर्छस्, र तैँले प्रत्येक दिन आफ्नो हृदयमा जे सोच्छस् ती सबै तेरो प्रकृतिलाई प्रतिनिधित्व गर्ने कुराहरू हुन्। तेरो प्रकृतिले अधर्मलाई मन पराउँछ, र गम्भीर अवस्थाहरूमा, तेरो प्रकृति दुष्ट र असुधारीय छ भनी प्रमाणित गर्नको लागि यी सांसारिक कुराहरूप्रतिको तेरो झुकाव नै काफी छ। तैँले यस तरिकाले आफ्नो स्वभावको चिरफार गर्नुपर्छ: तँलाई धेरै मन पर्ने कुरा के हो र तैँले आफ्नो जीवनमा के कुरालाई त्याग्छस् त्यसलाई जाँच गर्। तँ केही समयका लागि कसैका निम्ति असल हुन सक्छस्, तर त्यसले तैँले तिनीहरूलाई धेरै मन पराउँछस् भनी प्रमाणित गर्दैन। तँलाई साँच्चै जे मन पर्छ तेरो प्रकृतिमा ठीक त्यही नै हुन्छ; यदि तेरा हड्डीहरू भाँचिए पनि, तँ अझै पनि त्यही कुरामा रमाउनेछस् र तैँले त्यसलाई कहिल्यै पनि छोड्न सक्नेछैनस्। यसलाई परिवर्तन गर्न सजिलो छैन।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। स्वभाव रूपान्तरणबारे के थाहा हुनुपर्छ
३६२. स्वभाव परिवर्तन हासिल गर्ने मुख्य कुरा भनेको आफ्नो प्रकृति चिन्नु हो र यो परमेश्वरको खुलासाअनुसार नै गर्नुपर्छ। परमेश्वरका वचनहरूमा मात्र कुनै व्यक्तिले आफ्नो कुरूप प्रकृति, आफ्नो प्रकृतिभित्र रहेका शैतानका विभिन्न विषहरू, आफ्नो मूर्खता र अज्ञानता अनि आफ्नो प्रकृतिमा भएका कमजोर र नकारात्मक तत्त्वहरूलाई चिन्न सक्छ। तैँले यी कुराहरू पूर्ण रूपमा जानेपछि र साँच्चै आफूलाई घृणा गर्न, देहविरुद्ध विद्रोह गर्न, परमेश्वरका वचनहरू अभ्यास गरिरहन, स्वभाव परिवर्तन हासिल गर्न आफ्नो कर्तव्य निर्वाह गर्दै सत्यता पछ्याइरहन सक्षम भएपछि, र परमेश्वरलाई साँचो रूपमा प्रेम गर्ने व्यक्ति बनेपछि, तैँले पत्रुसको मार्गमा हिँडेको हुनेछस्। परमेश्वरको अनुग्रह वा पवित्र आत्माको अन्तर्दृष्टि र मार्गदर्शनविना, यस मार्गमा हिँड्न गाह्रो हुनेछ, किनभने सत्यताविना मानिसहरूले आफूविरुद्ध विद्रोह गर्न सक्दैनन्। सिद्ध पारिने पत्रुसको मार्गमा हिँड्ने कुरा मुख्य रूपमा सङ्कल्प हुनु, आस्था हुनु र परमेश्वरमा भर पर्नुमा निर्भर हुन्छ। यसबाहेक, व्यक्ति पवित्र आत्माको कामप्रति समर्पित हुनैपर्छ र सबै कुरामा परमेश्वरका वचनहरूबाट कहिल्यै तर्किनु हुँदैन। कहिल्यै उल्लङ्घन गर्न नसकिने महत्त्वपूर्ण पक्षहरू यिनै हुन्। तिनीहरूका अनुभवहरूका क्रममा, आफूलाई चिन्न एकदमै गाह्रो हुन्छ र पवित्र आत्माको कामविना, कुनै परिणामहरू आउनेछैनन्। पत्रुसको मार्गमा हिँड्नका लागि, व्यक्तिले आफूलाई चिन्न र आफ्नो स्वभाव रूपान्तरण गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
३६३. एकातिर, परमेश्वरका परीक्षाहरूका दौरान मानिसले आफ्ना कमीहरू थाहा पाउन र ऊ मामुली, तिरस्कारयोग्य, र नीच हो, ऊसँग केही छैन र ऊ केही पनि होइन भन्ने देख्न थाल्छ; अर्कोतिर, परीक्षाहरूका दौरान परमेश्वरले मानिसका लागि केही वातावरण खडा गर्नुहुन्छ ताकि उक्त वातावरणभित्र मानिसले परमेश्वरको प्रेमिलो स्वभावलाई अझ राम्ररी अनुभव गर्न सकोस्। पीडा ठूलो भए पनि, र कहिलेकाहीँ जित्न नसकिने भए पनि—हृदयविदारक शोकको स्तरमा पुगे पनि—यसलाई अनुभव गरेपछि, मानिसले आफूमाथिको परमेश्वरको काम कति प्रेमिलो छ भन्ने देख्छ, र यस जगमा मात्रै मानिसमा परमेश्वरप्रतिको साँचो प्रेम पैदा हुन्छ। आज मानिसले के देख्छ भने परमेश्वरको अनुग्रह, प्रेमपूर्ण दया, र कृपाले मात्रै, ऊ आफैलाई साँचो रूपमा चिन्न असक्षम हुन्छ, ऊ मानिसको सार जान्न त झनै सक्षम हुँदैन, अनि परमेश्वरको न्याय र शोधन दुवैमार्फत मात्रै, र शोधन प्रक्रियाको दौरान मात्रै, मानिसले आफूमा कमीहरू रहेको र आफूसँग केही पनि नभएको थाहा पाउन सक्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्वरको प्रेमिलोपन जान्न सक्छस्
३६४. आत्मचिन्तन गर्नु र आफैलाई चिन्नुको चाबी यो हो: तैँले कुनै निश्चित क्षेत्रमा जति धेरै राम्रो गरेको वा सही कुरा गरेको छस् भन्ने महसुस गर्छस्, र तैँले जति धेरै परमेश्वरका अभिप्रायहरू पूरा गर्न सक्छस् वा निश्चित क्षेत्रमा घमण्ड गर्न सक्छस् भनी सोच्छस्, तैँले ती क्षेत्रमा आफूलाई चिन्नु र तँमा के-कस्ता अशुद्धताहरू छन्, साथै तँभित्र भएका कुन-कुन कुराले परमेश्वरका अभिप्रायहरू पूरा गर्न सक्दैनन् भनेर हेर्नका लागि ती क्षेत्रहरूलाई अझ गहिराइमा खोतल्नु त्यति नै उचित हुन्छ। उदाहरणका रूपमा हामी पावललाई लिऔँ। पावल विशेष रूपले जाने-बुझेको व्यक्ति थियो, उसले प्रचार गर्दा र काम गर्दा, धेरै दुःख भोग्यो, र धेरै मानिस उसको विशेष आराधना गर्थे। फलस्वरूप, धेरै काम पूरा गरेपछि, उसले उसका निम्ति एउटा मुकुट तय गरिसकिएको छ भन्ने ठान्यो। यसले उसलाई गलत बाटोतर्फ झन्-झन् टाढा पुऱ्यायो र अन्त्यमा ऊ परमेश्वरद्वारा दण्डित भयो। यदि उसले त्यतिबेला आत्मचिन्तन र आफ्नो चिरफार गरेको भए, उसले समझविनाका ती अहङ्कारी शब्दहरू बोलेको हुनेथिएन। आफूले सुसमाचार प्रचार गरेको समयमा, पावलले काम गर्नमा मात्र ध्यान केन्द्रित गर्यो र सत्यता पछ्याएन। पावलका पत्रहरूबाट के देख्न सकिन्छ भने उसले प्रभु येशूद्वारा बोलिएका वचनहरू कहिल्यै खोजेन वा सङ्कलन गरेन, न त उसले प्रभु येशूद्वारा बोलिएका वचनहरू आफ्ना पत्रहरूमा नै प्रसार गर्यो। स्पष्ट रूपमा, पावलले कहिल्यै प्रभु येशूका वचनहरूभित्र रहेर आत्मचिन्तन गरेन, न त उसले प्रभु येशूका वचनहरूको बहुमूल्यपन नै देख्यो, त्यसैले पावललाई प्रभु येशूसम्बन्धी कस्तो साँचो ज्ञान थियो भनेर भन्न गाह्रो छ। पावल यति मात्र सोच्थ्यो कि उसले बाइबल बुझेको छ, र ऊ आफ्नै धारणा र कल्पनाहरूमा मात्र विश्वास गर्थ्यो। ऊ सोच्थ्यो कि ऊसँग केही असल अभ्यास भएसम्म र उसले केही असल व्यवहार प्रदर्शन गरेसम्म, उसले परमेश्वरको अनुमोदन प्राप्त गर्न र परमेश्वरबाट इनाम पाउन सक्छ। फलस्वरूप, ऊ परमेश्वरको सेवा गर्ने तर उहाँको विरोध पनि गर्ने मार्गमा लाग्यो। तैपनि, विगत दुई हजार वर्षदेखि, प्रभुका विश्वासीहरूले उसलाई खुट्ट्याउन सकेका छैनन्। तिनीहरूले पावल को थियो वा ऊ कुन मार्गमा हिँडेको थियो भन्ने कुरा थाहा पाएका छैनन्। पावलका पत्रहरू बाइबलमा अभिलेख गरिएकाले मात्रै, मानिसहरूले सधैँ उसको आराधना गरेका छन्, उसलाई आफ्नो पछ्याइको लक्ष्य बनाएका छन्, र उसलाई आफूले आकाङ्क्षा गरेको र आफू बन्न खोजेको आदर्श मानेका छन्। फलस्वरूप, पावलको आराधना गर्ने र उसको सिको गर्ने सबै जना ख्रीष्टविरोधीहरूको मार्गमा लागेका छन्। पावलको घटनाले परमेश्वरका चुनिएका मानिसहरू हरेकलाई सजग गराउँछ। विशेष गरी जब परमेश्वरलाई पछ्याउने हामीले आफ्ना कर्तव्यमा र परमेश्वरको सेवा गर्दा कष्ट भोग्न र मूल्य चुकाउन सक्छौँ, र यसरी आफू अर्पित रहेको र परमेश्वरलाई प्रेम गर्ने मानिस भएको महसुस गर्छौँ—यस्ता समयमा, हामीले आफूले लिइरहेको मार्गका सम्बन्धमा अझ बढी आत्मचिन्तन गर्नुपर्छ र आफूलाई बुझ्नुपर्छ, जुन अत्यन्तै जरुरी छ। किनभने तैँले आफ्ना असल पक्षहरू ठानेका कुराहरू, र आफूले सही तरिकाले गरेको भनी सोच्ने कुराहरू सही छन् भनेर तैँले निर्धारण गर्नेछस्, र तिनलाई शङ्का गर्नेछैनस्, तीमाथि चिन्तन गर्नेछैनस्, वा तिनमा परमेश्वरको विरोध गर्ने कुनै कुरा छ कि छैन भनेर चिरफार गर्नेछैनस्। उदाहरणका लागि, कतिपय मानिस आफूलाई अत्यन्तै दयालु हृदयको ठान्छन्। उनीहरू कहिल्यै अरूलाई घृणा र हानि गर्दैनन्, र उनीहरू सधैँ ती भाइ वा बहिनीलाई सहयोगको हात बढाउँछन्, जसको परिवार खाँचोमा परेको हुन्छ, ताकि तिनीहरूको समस्या अनसुल्झा नरहोस्। उनीहरूमा ठूलो सद्भाव हुन्छ, र सबैलाई सहायता गर्न उनीहरूको शक्तिले भ्याइञ्जेल सबै कुरा गर्छन्। तैपनि तिनीहरूले कहिल्यै सत्यता अभ्यास गर्ने कार्यमा ध्यान दिँदैनन्, र तिनीहरूमा कुनै जीवन प्रवेश हुँदैन। त्यस्तो सहायताको परिणाम के हुन्छ? उनीहरू आफ्नै जीवनलाई अवरुद्ध पार्छन्। तैपनि तिनीहरू आफूसँग अत्यन्तै खुसी हुन्छन्, र उनीहरूले गर्ने सबै कुरामा अत्यन्त सन्तुष्ट हुन्छन्। यसबाहेक, उनीहरू आफूले गरेका सबै कुराहरूमध्ये कुनै कुरा पनि सत्यताविपरीत हुँदैन, र ती कुराहरूले पक्कै परमेश्वरका अभिप्रायहरू पूरा गर्छन्, र तिनीहरू परमेश्वरका साँचो विश्वासी हुन् भन्ने विश्वास गर्दै यस कुरामा ठूलो गर्व गर्छन्। उनीहरू आफ्नो प्राकृतिक सद्भावलाई पूँजीका रूपमा हेर्छन् र त्यसलाई सत्यताका रूपमा मानिलिन्छन्। वास्तवमा, उनीहरूले गर्ने सबै कुरा मानव भलाइ हो। उनीहरूले सत्यता अभ्यास गर्दै गर्दैनन्, किनकि उनीहरूले जे गर्छन् मानिसका सामु गर्छन्, परमेश्वरको सामु गर्दैनन्, र उनीहरूले परमेश्वरका मागहरू र सत्यताअनुरूप अभ्यास गर्ने कुरा त परै जाओस्। त्यसकारण, तिनीहरूका सबै कार्य व्यर्थ हुन्छन्। उनीहरूले गर्ने कुनै पनि कुरा सत्यताको अभ्यास वा परमेश्वरका वचनहरूको अभ्यास हुँदैन, झन् उहाँको इच्छा पछ्याउने कार्य हुनु त परै जाओस्; बरु, उनीहरू मानव सद्भाव र असल व्यवहारमार्फत अरूलाई मद्दत गर्छन्। सारांशमा, उनीहरू आफूले गर्ने सबै कुरामा परमेश्वरका अभिप्रायहरू खोज्दैनन्, न त उनीहरू उहाँका मागहरूअनुसार नै काम गर्छन्। परमेश्वरले मानिसको यस प्रकारको असल व्यवहारलाई अनुमोदन गर्नुहुन्न; परमेश्वरका लागि त्यो दोषी ठहराइनु हो र त्यो उहाँको सम्झनाको योग्य हुँदैन।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ
३६५. धेरैजसो मानिससँग आफूबारे एकदमै सतही बुझाइ हुन्छ। तिनीहरू आफ्नो प्रकृतिभित्रका कुराहरूलाई स्पष्ट रूपमा पटक्कै चिन्दैनन्। तिनीहरूलाई आफूले प्रकट गर्ने केही भ्रष्ट स्थिति, गर्नका लागि आफू प्रवृत्त हुने कुराहरू वा आफूमा कस्ता कमीकमजोरीहरू छन् भन्ने कुराको मात्रै ज्ञान हुन्छ र यसले गर्दा तिनीहरू आफूलाई चिनेको ठान्छन्। यदि तिनीहरू त्यसपछि केही प्रावधान पालना गर्छन्, आफूले निश्चित क्षेत्रहरूमा गल्ती गर्दिनँ भनेर सुनिश्चित गर्छन् र निश्चित अपराधहरू गर्नबाट जोगिन सक्छन् भने, परमेश्वरप्रतिको आफ्नो विश्वासमा आफूसँग वास्तविकता छ भन्ने सोच्न थाल्छन् र आफूले मुक्ति पाउनेछु भन्ने ठान्छन्। यो मानव कल्पनाहरूबाहेक केही होइन। यदि तँ ती कुराहरू पालना गर्छस् भने, के तँ साँच्चै अपराध गर्नबाट जोगिन सक्षम हुनेछस् त? के तैँले साँच्चै आफ्नो स्वभावमा परिवर्तन हासिल गरेको हुनेछस्? के तैँले साँच्चै मानव रूप जिएको हुनेछस्? के तँ साँच्चै परमेश्वरलाई सन्तुष्ट पार्न सक्षम हुनेछस्? बिलकुलै हुनेछैनस्। यो निश्चित छ। मानिसहरूमा परमेश्वरप्रतिको आफ्नो विश्वासमा उच्च मानक हुनैपर्छ: तिनीहरूले सत्यता प्राप्त गर्नैपर्छ र तिनीहरूको जीवन स्वभावमा केही परिवर्तनहरू हुनैपर्छ। यसका लागि पहिले मानिसहरूले आफूलाई चिन्नमा मेहनत गर्नुपर्छ। यदि कुनै व्यक्तिको आफूबारे अत्यन्तै सतही ज्ञान छ भने, यसले कुनै पनि समस्याहरू पटक्कै समाधान गर्नेछैन र उसको जीवन स्वभाव बिलकुलै परिवर्तन हुनेछैन। तैँले आफूलाई गहन रूपमा चिन्नैपर्छ। यसको अर्थ आफ्नो प्रकृति चिन्नु र यसमा के-कस्ता तत्त्वहरू समावेश छन्, यी कुराहरू कहाँबाट उत्पन्न हुन्छन् र ती कहाँबाट आउँछन् भन्ने जान्नु हो। यसबाहेक, के तँ साँच्चै यी कुराहरूलाई घृणा गर्न सक्षम छस्? के तैँले आफ्नो कुरूप प्राण र आफ्नो दुष्ट प्रकृति देखेको छस्? यदि तैँले साँच्चै आफूबारेको सत्यता देखिस् भने, आफूलाई घृणा गर्नेछस्। जब तँ आफूलाई घृणा गर्छस् र त्यसपछि परमेश्वरका वचनहरू अभ्यास गर्ने प्रयास गर्छस्, तब तँ देहविरुद्ध विद्रोह गर्न र सत्यता अभ्यास गर्ने शक्ति प्राप्त गर्न सक्षम हुनेछस् अनि यो उप्रान्त सङ्घर्षजस्तो लाग्नेछैन। धेरै मानिस किन आफ्ना दैहिक रुचिहरूअनुसार कार्य गर्छन्? किनभने तिनीहरू आफूलाई निकै राम्रो ठान्छन् र आफ्ना कार्यहरू कुनै गल्तीविनाका निकै उपयुक्त र न्यायोचित छन् र पूर्ण रूपमा सहीसमेत छन् भन्ने महसुस गर्छन् अनि त्यसैले तिनीहरू आत्मविश्वासका साथ कार्य गर्छन्। जब तिनीहरूलाई आफ्नो प्रकृति के हो—यो कति कुरूप, घृणास्पद र दयनीय छ—भनेर ठ्याक्कै थाहा हुन्छ, तब तिनीहरूले आफूलाई उच्च ठान्न र त्यति अहङ्कारी हुन छोड्नेछन् र तिनीहरूलाई उप्रान्त आफूसँग त्यति खुसी महसुस हुनेछैन। तिनीहरूले सोच्नेछन्, “मैले परमेश्वरका केही वचन व्यावहारिक रूपमा अभ्यास गर्नैपर्छ। यदि त्यसो गरिनँ भने, म मानव बन्ने मानकअनुरूप हुनेछैनँ र परमेश्वरको उपस्थितिमा जिउन लज्जित हुनेछु।” तिनीहरूले साँच्चै आफूलाई सानो र तुच्छ देख्नेछन्। यसबेला, तिनीहरूलाई सत्यता अभ्यास गर्न सजिलो हुनेछ र तिनीहरू केही हदसम्म मानवजस्तो देखिनेछन्। व्यक्तिले साँच्चै आफूलाई घृणा गर्दा मात्र देहविरुद्ध विद्रोह गर्न सक्नेछ। यदि ऊ आफूलाई घृणा गर्दैन भने, देहविरुद्ध विद्रोह गर्न असक्षम हुनेछ। साँच्चै आफूलाई घृणा गर्नु सरल कुरा होइन। यसका लागि व्यक्तिले केही सत्यता बुझ्नु आवश्यक हुन्छ: पहिलो, ऊसँग आफ्नो प्रकृतिबारे ज्ञान हुनैपर्छ। दोस्रो, उसले आफू दरिद्र र दयनीय छु, अत्यन्तै सानो र तुच्छ छु भनेर बुझ्नैपर्छ अनि उसले आफ्नो दयनीय, फोहोरी आत्मा देख्नैपर्छ। जब उसले आफू वास्तवमा के हुँ भन्ने कुरा पूर्ण रूपमा देख्छ—जब यो परिणाम हासिल हुन्छ—तब ऊ साँच्चै आफूबारे ज्ञान प्राप्त गर्छ र उसको आफूबारेको ज्ञान एकदम सही छ भनेर भन्न सकिन्छ। यसबेला मात्र तिनीहरूले आफूलाई घृणा गर्न, आफूलाई सराप्नसमेत सक्छन् र मानिसहरूलाई शैतानले यति गहन रूपमा भ्रष्ट पारेको छ कि तिनीहरूमा कुनै मानव रूप छैन भनेर साँच्चै महसुस गर्न सक्छन्। एक दिन, यदि तिनीहरूले साँच्चै मृत्युको खतरा सामना गरे भने, तिनीहरूले सोच्नेछन्, “यो परमेश्वरको धर्मी दण्ड हो। परमेश्वर वास्तवमा धर्मी हुनुहुन्छ। म मर्नलायक छु!” यसबेला, उसले आफ्ना गुनासाहरू पोख्नेछैन, झन् परमेश्वरबारे गुनासो गर्नु त परै जाओस्—उसले केवल आफू अत्यन्तै दरिद्र, दयनीय, फोहोरी र भ्रष्ट छु अनि आफूलाई परमेश्वरले हटाउनु र नष्ट गर्नुपर्छ भन्ने महसुस गर्नेछ र तिनीहरूले आफ्नो जस्तो प्राण पृथ्वीमा जिउन अयोग्य छ भन्ने महसुस गर्नेछन्। त्यसकारण, तिनीहरूले परमेश्वरबारे गुनासो वा उहाँको प्रतिरोध गर्नेछैनन्, झन् उहाँलाई विश्वासघात गर्नु त परको कुरा हो। तर यदि तिनीहरू आफूलाई चिन्दैनन् र अझै पनि आफूलाई निकै राम्रो ठान्छन् भने, जब मृत्युको खतरा नजिक आउँछ, तब तिनीहरूले सोच्नेछन्, “मैले आफ्नो आस्थामा एकदमै राम्रो गरेको छु। मैले यति मेहनत गरेर सत्यता पछ्याएको छु, यति धेरै त्याग गरेको छु र यति धेरै कष्ट भोगेको छु, तर अन्त्यमा, परमेश्वरले मलाई मर्न दिइरहनुभएको छ। परमेश्वरको धार्मिकता कहाँ छ भन्ने मलाई थाहा छैन। उहाँले मलाई किन मर्न दिइरहनुभएको छ? यदि मजस्तो व्यक्तिले समेत मर्नुपर्छ भने, कसले चाहिँ मुक्ति पाउन सक्छ त? के सम्पूर्ण मानवजाति नै खतम भएको होइन र?” सबैभन्दा पहिले, तिनीहरूसँग परमेश्वरबारे धारणाहरू हुनेछन्। दोस्रो, तिनीहरूले उहाँबारे गुनासो गर्नेछन् र तिनीहरूमा पटक्कै समर्पण हुनेछैन। तिनीहरू पावलजस्तै हुन्, जसले मर्नै लाग्दासमेत आफूलाई चिनेनन्। जब तिनीहरूमाथि परमेश्वरको दण्ड आउँछ, तब धेरै ढिलो भइसकेको हुनेछ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन