ख. सत्यताको अभ्यास कसरी गर्ने, कसरी सत्यतालाई बुझ्‍ने र वास्तविकतामा प्रवेश गर्ने सो सम्बन्धमा

३४४. अहिले राज्यको युग हो। तँ यो नयाँ युगमा प्रवेश गरेको छस् कि छैनस् त्यो तँ परमेश्‍वरका वचनहरूका यथार्थतामा प्रवेश गरेको छस् कि छैनस्, उहाँका वचनहरू तेरो जीवन वास्तविकता बनेको छ कि छैन त्यसमा निर्भर हुन्छ। हरेक व्यक्तिलाई परमेश्‍वरका वचनहरू परिचित गराइएको छ ताकि, अन्त्यमा, सबै मानिसहरू परमेश्‍वरको वचनको संसारमा जिऊन्, र भित्रैबाट हरेक व्यक्तिलाई उहाँका वचनहरूले अन्तर्दृष्टि र प्रकाश दिऊन्। यदि, यो समयको दौरान, तँ परमेश्‍वरका वचनहरू पढ्नमा लापरवाह भइस् भने, र उहाँका वचनहरूमा तेरो रुची छैन भने, यसले तेरो स्थिति गलत छ भन्‍ने देखाउँछ। यदि तँ वचनको युगमा प्रवेश गर्न सक्दैनस् भने, तँमा पवित्र आत्माले काम गर्नुहुन्न; यदि तँ यो युगमा प्रवेश गरेको छस् भने, उहाँले आफ्नो काम गर्नुहुनेछ। पवित्र आत्माको काम प्राप्त गर्न वचनको युगको प्रारम्भमा तैँले के गर्न सक्छस्? यो युगमा, र तिमीहरूका माझमा, परमेश्‍वरले उल्लिखित तथ्य हासिल गर्नुहुनेछ: हरेक व्यक्तिले परमेश्‍वरका वचनहरू जिउनु पर्नेछ, सत्यतालाई व्यवहारमा लागू गर्न सक्नु पर्नेछ, र परमेश्‍वरलाई गम्भीरतापूर्वक प्रेम गर्नु पर्नेछ; सबै मानिसहरूले परमेश्‍वरका वचनहरूलाई आधारको रूपमा र आफ्नो वास्तविकताको रूपमा प्रयोग गर्नु पर्नेछ, र तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुनुपर्नेछ; र परमेश्‍वरका वचनहरूको अभ्यासद्वारा मानिसले त्यसपछि परमेश्‍वरसँगै राजसी शक्ति चलाउने छ। परमेश्‍वरले हासिल गर्नुपर्ने काम यही हो। के तँ परमेश्‍वरका वचनहरू नपढी रहन सक्छस्? आज, उहाँका वचनहरू नपढी एक वा दुई दिन पनि बिताउन सकिँदैन भन्‍ने अनुभव गर्नेहरू धेरै छन्। उनीहरूले उहाँका वचनहरू हरेक दिन पढ्नुपर्छ, र यदि समयले साथ दिएन भने, तिनीहरूलाई सुन्नु नै काफी हुनेछ। पवित्र आत्माले मानिसहरूलाई दिने आभास यही हो, र उहाँले उनीहरूलाई प्रेरित गर्न सुरु गर्ने तरिका यही नै हो। यसको अर्थ, वचनहरूद्वारा उहाँ मानिसहरूलाई प्रेरित गर्नुहुन्छ, ता कि उनीहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न सकून्। यदि, परमेश्‍वरका वचनहरू नखाई र नपिई केवल एक दिनपछि तैँले अँध्यारो र तिर्खा अनुभूति गर्छस् र यसलाई सहन सक्दैनस् भने, तँ पवित्र आत्माद्वारा चलायमान भएको छस्, र उहाँ तँबाट फर्किएर जानुभएको छैन भन्‍ने यसले देखाउँछ। अतः, यो प्रवाहमा रहेको तँ नै होस्। यद्यपि, यदि परमेश्‍वरका वचनहरू नखाई र नपिई एक दिन वा दुई दिन पछि, तैँले केही पनि अनुभूति गरिनस् भने, यदि तँलाई तिर्खा छैन, र तँ कत्ति पनि प्रभावित भएको छैनस् भने, पवित्र आत्मा तँबाट फर्किएर जानुभएको छ भन्‍ने यसले देखाउँछ। यसको अर्थ, तँभित्रको स्थितिमा केही खराबी छ भन्‍ने हुन्छ; तँ वचनको युगमा प्रवेश गरेको छैनस्, र तँ पछाडि परेकाहरूमध्ये एक होस्। मानिसहरूलाई शासन गर्न परमेश्‍वरले वचनहरू प्रयोग गर्नुहुन्छ; यदि तैँले परमेश्‍वरका वचनहरू खाइस् र पिइस् भने, तँलाई असल अनुभूति हुन्छ, र यदि तैँले त्यसो गरिनस् भने, तँसँग कुनै हिँड्ने मार्ग छैन। परमेश्‍वरका वचनहरू मानिसहरूका खाना, र उनीहरूलाई प्रेरित गर्ने शक्ति बन्छन्। बाइबल भन्छ, “मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्केको हरेक वचनले बाँच्‍नेछ” (मत्ती ४:४)। आज, परमेश्‍वरले यो काम पूरा गर्नुहुनेछ, र उहाँले यो सच्चाइ तिमीहरूमा हासिल गर्नुहुनेछ। विगतमा कसरी, मानिसहरू परमेश्‍वरका वचनहरू नपढी धेरै दिन बिताउन सक्थे र तर पनि सधैँ जस्तै खान र काम गर्न सक्थे, तर आजको अवस्था पनि यस्तै छैन र? यो युगमा, परमेश्‍वरले यावत् थोकलाई शासन गर्न मुख्यतः वचनहरू प्रयोग गर्नुहुन्छ। मानिसलाई परमेश्‍वरका वचनमार्फत न्याय गरिन्छ र सिद्ध पारिन्छ, अनि त्यसपछि यी वचनहरूद्वारा अन्ततः राज्यमा लगिन्छ। खासगरी राज्यको युगमा, परमेश्‍वरका वचनहरूले मात्र मानिसको जीवन आपूर्ति गर्न सक्छन्, र परमेश्‍वरका वचनहरूले मात्र मानिसलाई प्रकाश र अभ्यासको मार्ग दिन सक्छन्। जबसम्म तँ परमेश्‍वरका वचनहरूको वास्तविकताबाट बाहिर जाँदैनस्, हरेक दिन उहाँका वचनहरूलाई खाने र पिउने गर्छस्, तबसम्‍म परमेश्‍वरले तँलाई सिद्ध पार्नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

३४५. परमेश्‍वरका वचनहरूभित्र मानिसहरूमा हुनुपर्ने सत्यताहरू छन्, जुन कुराहरू मानिसहरूका लागि सबैभन्दा बढी लाभदायक र सहयोगी हुन्छन्। ती कुराहरू तिमीहरूको शरीरलाई चाहिने टोनिक र पोषण हुन्, मानिसहरूलाई तिनीहरूको सामान्य मानवता पुनर्स्थापित गर्न मद्दत गर्ने कुरा हुन्, र त्यस्ता सत्यता हुन् जुनद्वारा मानिसहरू सुसज्जित हुनुपर्छ। तिमीहरूले परमेश्‍वरका वचनहरू जति धेरै अभ्यास गर्छौ, तिमीहरूको जीवन त्यति नै छिटो वृद्धि हुनेछ; तिमीहरूले परमेश्‍वरका वचनहरू जति धेरै अभ्यास गर्छौ, सत्यता तिमीहरूका लागि त्यति नै प्रस्ट हुनेछ। तिमीहरूको कद वृद्धि हुँदै जाँदा, तिमीहरूले आत्मिक क्षेत्रका कुराहरू अझ प्रस्ट रूपमा देख्नेछौ, र शैतानमाथि विजय प्राप्त गर्नलाई तिमीहरूसँग अझ बढी शक्ति हुनेछ। तिमीहरूले नबुझेका बढीजसो सत्यता तिमीहरूले परमेश्‍वरका वचनहरू अभ्यास गर्दा प्रस्ट पारिनेछन्। धेरैजसो मानिस परमेश्‍वरका वचनहरूको शाब्दिक पक्ष मात्र बुझेर नै सन्तुष्ट हुन्छन्, र अनुभव गर्न र गहिरो अभ्यासमा जानुभन्दा आफूलाई धर्मसिद्धान्तहरूले सुसज्जित गर्नमा ध्यान केन्द्रित गर्छन्—के त्यो फरिसीहरूको तरिका होइन र? के यसो गरेर कसैले “परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवन बनाउने” भन्‍ने वाक्यांशको वास्तविकता प्राप्त गर्न सक्छ? मानिसहरूको जीवन परमेश्‍वरका वचनहरू अभ्यास गरेर मात्र वृद्धि हुन सक्छ; त्यो ती वचनहरू पढेर मात्र वृद्धि हुँदैन। यदि तँ आफूले परमेश्‍वरका वचनहरू बुझेसम्म आफूसँग जीवन र कद हुने विश्‍वास गर्छस् भने, तेरो बुझाइ टेढो छ। परमेश्‍वरका वचनहरू साँच्चै बुझ्न तब सम्भव हुन्छ जब तैँले सत्यता अभ्यास गर्छस्; तैँले “सत्यता अभ्यास गरेर मात्र यसलाई बुझ्न सकिन्छ” भन्‍ने कुरा बुझ्नैपर्छ। आज, परमेश्‍वरका वचनहरू पढेपछि, तँ परमेश्‍वरका वचनहरूबारे सचेत छु भनेर मात्र भन्न सक्छस्, तर तँ तिनलाई बुझ्छु भनेर भन्न सक्दैनस्। कतिपयले सत्यता अभ्यास गर्न सक्नुअघि व्यक्तिले पहिले सत्यता बुझ्नैपर्छ भन्छन्, तर यो आंशिक रूपमा मात्र सही हो, पूर्ण रूपमा सही होइन। तैँले कुनै निश्चित सत्यता अनुभव नगरेसम्म तँलाई त्यसको ज्ञान हुँदैन। कुनै प्रवचनमा त्यो सत्यताबारे सुन्दा तैँले त्यो बुझेको महसुस गर्नु भनेको त्यसलाई साँच्चिकै बुझ्नु होइन—यो त उक्त सत्यताभित्रको साँचो अर्थ नबुझी त्यसको शाब्दिक पक्षलाई मात्र पक्रिनु हो। सत्यताको बाहिरी तह मात्र जान्नुको अर्थ वास्तवमा तँ सत्यता बुझ्छस् वा तँसँग यसको ज्ञान छ भन्‍ने होइन; सत्यताको साँचो अर्थ यसलाई अनुभव गरेपछि आउँछ। त्यसकारण, जब तँ सत्यता अनुभव गर्छस् तब मात्र तँ यसलाई बुझ्न सक्छस्, र अनुभवमार्फत मात्र तैँले यसका लुकेका पाटोहरू बोध गर्न सक्छस्। आफ्नो अनुभवलाई गहिरो बनाउनु नै सत्यताको मौलिक अर्थ बोध गर्ने, र सत्यताको सार बुझ्ने एक मात्र तरिका हो। त्यसकारण, तँसँग सत्यता हुँदा मात्र तँ संसारभरि स्वतन्त्र रूपमा घुमफिर गर्न सक्षम हुन्छस्। यदि तँसँग सत्यता छैन भने, धार्मिक मानिसहरू धेरैलाई तेरो कुरा मान्न लगाउनु त परै जाओस्—तेरो परिवारका सदस्यहरूले समेत तेरो कुरा मान्नेछैनन्। सत्यताविना तँ उडिरहेको हिउँको कण स्तै हुन्छस्, तर सत्यता हुँदा तँ खुसी र स्वतन्त्र हुन सक्छस्, र कसैले पनि तँलाई आक्रमण गर्न सक्दैन। कुनै सिद्धान्त जतिसुकै बलियो भए पनि, त्यसले सत्यतालाई जित्न सक्दैन। सत्यता साथमा भएपछि, तैँले स्वर्ग र पृथ्वीलाई उल्ट्याउन सक्छस् र पहाड र समुद्रहरू सार्न सक्छस्; सत्यता छैन भने, औँसाहरू समेत तेरो सहरको किल्ला तोडेर भित्र छिर्न सक्छन्। यो एउटा स्पष्ट तथ्य हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यतालाई बुझिसकेपछि त्यसलाई अभ्यास गर्नुपर्छ

३४६. परमेश्‍वरले मानिसहरूमा वास्तविकताबारे कुरा गर्ने क्षमता होस् भन्‍ने मात्र चाहनुहुन्न; त्यो त धेरै सजिलो हुनेछ, होइन र? त्यसोभए, परमेश्‍वरले किन जीवन प्रवेशबारे कुरा गर्नुहुन्छ? किन उहाँले रूपान्तरणको कुरा गर्नुहुन्छ? यदि मानिसहरू वास्तविकताको बारेमा खोक्रो कुरा गर्न मात्र सक्षम छन् भने, के तिनीहरूले आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न सक्छन्? राज्यका असल सिपाही बन्नका लागि एउटा समूहलाई तालिम दिनुको अर्थ तिनीहरूलाई केवल वास्तविकताबारे कुरा गर्न वा घमण्ड गर्न सक्ने मानिसहरू बन्नका निम्ति तालिम दिनु होइन; बरु, यसको अर्थ तिनीहरूलाई हरसमय परमेश्‍वरका वचन जिउन, जस्तोसुकै अड्चनहरू सामना गर्नु परे पनि अटल रहन, र हरसमय परमेश्‍वरका वचनअनुसार जिउन र संसारमा नफर्कनका लागि तालिम दिनु हो। परमेश्‍वरले बताउनुभएको वास्तविकता यही हो; परमेश्‍वरले मानिससँग गर्नुभएको माग यही हो। यसैले, परमेश्‍वरले बताउनुभएको वास्तविकतालाई अति नै साधारण नठान। पवित्र आत्माबाट अन्तर्दृष्टि मात्रै प्राप्त गर्नु वास्तविकता धारण गर्नु बराबर होइन। मानिसको कद यस्तो छैन—यो परमेश्‍वरको अनुग्रह हो, जसमा मानिसको कुनै योगदान छैन। प्रत्येक व्यक्तिले पत्रुसको कष्ट सहनुपर्छ, यति मात्र होइन, तिनीहरूले पत्रुसको महिमा धारण गर्नुपर्दछ, जसमा तिनीहरू परमेश्‍वरको काम प्राप्त गरेपछि जिउँछन्। यसलाई मात्र वास्तविकता भन्न सकिन्छ। तैँले वास्तविकताको विषयमा कुरा गर्न सक्छस् भन्दैमा तँसँग त्यो छ भन्‍ने नसोच्; त्यो गलत हो। त्यस्ता विचारहरू परमेश्‍वरका अभिप्रायसँग मेल खाँदैनन् र ती कुराको कुनै वास्तविक महत्त्व हुँदैन। भविष्यमा यस्ता कुरा नगर्—त्यस्ता भनाइहरूलाई समाप्त गर्। परमेश्‍वरका वचनहरूको बारेमा हास्यास्पद बुझाइ भएकाहरू सबै गैरविश्‍वासीहरू हुन्। तिनीहरूसँग कुनै वास्तविक ज्ञान हुँदैन, वास्तविक कद हुने कुरा त परै जाओस्; तिनीहरू अज्ञानी मानिसहरू हुन् जसमा वास्तविकताको कमी हुन्छ। अर्को शब्दमा, परमेश्‍वरका वचनहरूको सारभन्दा बाहिर जिउनेहरू सबै गैरविश्‍वासीहरू हुन्। मानिसहरूले गैरविश्‍वासीहरू ठानेका व्यक्तिहरू परमेश्‍वरको नजरमा जनावरहरू हुन्, र परमेश्‍वरले गैरविश्‍वासीहरू ठान्नुभएका मानिसहरू त्यस्ता व्यक्तिहरू हुन् जसको जीवनमा परमेश्‍वरका वचनहरू हुँदैनन्। त्यसकारण जुन मानिसहरूसँग परमेश्‍वरको वचनको वास्तविकता हुँदैन र जो उहाँको वचनअनुसार जिउन असफल हुन्छन् तिनीहरू गैरविश्‍वासीहरू हुन् भनेर भन्‍न सकिन्छ। परमेश्‍वरको चाहना भनेको सबैलाई उहाँको वचनको वास्तविकता अनुसार जिउन लगाउनु हो—सबै जनालाई वास्तविकताको बारेमा कुरा गर्न लगाउनु मात्र होइन, तर, त्योभन्दा बढी, सबैलाई उहाँका वचनहरूको वास्तविकता अनुसार जिउन सक्ने तुल्याउनु हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यतालाई अभ्यास गर्नु मात्रै वास्तविकता धारण गर्नु हो

३४७. परमेश्‍वरका वचनहरूको सच्‍चा बुझाइ हासिल गर्नु सजिलो विषय होइन। यस्तो तरिकाले नसोच: “म परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थ व्याख्या गर्न सक्छु र सबै जनाले मेरो व्याख्या राम्रो छ भनेर भन्छन् र मलाई स्याबासी दिन्छन्, यसको मतलब मैले परमेश्‍वरका वचनहरूलाई बुझ्छु।” यो परमेश्‍वरका वचनहरूलाई बुझ्नु होइन। यदि तैँले परमेश्‍वरका वाणीहरूभित्रबाट केही ज्योति प्राप्त गरेको छस् भने, र तैँले उहाँका वचनहरूको साँचो अर्थको अनुभूति प्राप्त गरेको छस् भने, र यदि तैँले उहाँका वचनहरूपछाडिको अभिप्राय र तिनीहरूले अन्तमा जे-जस्तो प्रभाव पार्नेछन् सो व्यक्त गर्न सक्छस् भने—यदि तैँले यी सबै कुराहरूको बारेमा स्पष्ट बुझाइ हासिल गरिसकेको छस् भने—तैँले परमेश्‍वरका वचनहरूको बारेमा केही तहको बुझाइ हासिल गरेको छस् भन्‍ने मान्न सकिन्छ। यसरी, परमेश्‍वरका वचनहरूलाई बुझ्नु त्यति सरल छैन। तैँले परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थको आलङ्कारिक, अतिरञ्जित व्याख्या गर्न सक्छस् भन्दैमा तैँले तिनलाई बुझ्छस् भनेर भन्न मिल्दैन। तैँले तिनीहरूको शाब्दिक अर्थको जतिसुकै व्याख्या गर्न सक्ने भए तापनि, तेरो व्याख्या अझै पनि मानव कल्पना र मानव सोच शैलीमा आधारित हुन्छ। यो बेकार छ! तैँले कसरी परमेश्‍वरका वचनहरूलाई बुझ्न सक्छस्? यसको कडी भनेको तिनीहरू भित्रैबाट सत्यता खोजी गर्नु हो। त्यस तरिकाले मात्रै तैँले परमेश्‍वरका वचनहरू साँचो रूपमा बुझ्न सक्छस्। परमेश्‍वरले कहिल्यै पनि खोक्रा कुराहरू बोल्नुहुन्‍न। उहाँले बोल्नुहुने हरेक वाक्यमा विस्तृत विवरणहरू हुन्छन्, जसलाई अवश्य नै उहाँका वचनहरूमा थप पर्दाफास गरिन्छ, अनि तिनीहरूलाई फरक रूपमा व्यक्त गर्न सकिन्छ। परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुने शैलीहरूलाई मानिसले पूर्ण रूपमा बुझ्न सक्दैन। परमेश्‍वरका वाणीहरू एकदमै गहन हुन्छन् र तिनलाई मानव सोचाइद्वारा सजिलै बुझ्न सकिँदैन। मानिसहरूले जबसम्म प्रयत्न गर्छन् तबसम्म सत्यताको हरेक पक्षको सम्पूर्ण अर्थ मोटामोटी रूपमा पत्ता लगाउन सक्छन्। तिनीहरूको लागि यसमा बाँकी रहेका विवरणहरू भने तिनीहरूले यसपछि अनुभवहरू गर्दै जाने क्रममा पवित्र आत्माको अन्तर्दृष्टिले भर्दै जानुपर्नेछ। एउटा भाग भनेको मनन गर्दै परमेश्‍वरका वचनहरूको बुझाइ हासिल गर्नु र तिनलाई पढेर तिनको विशेष विषयवस्तु खोजी गर्नु हो। अर्को भागचाहिँ परमेश्‍वरका वचनहरूको अर्थको बुझाइ तिनलाई अनुभव गरेर र पवित्र आत्माबाट अन्तर्दृष्टि प्राप्त गरेर हासिल गर्नु हो। यी दुई पक्षमा निरन्तर प्रगति गरेर, तैँले परमेश्‍वरको वचन बुझ्‍न सक्छस्। यदि तँ यसलाई शाब्दिक रूपमा, पाठको तहमा वा आफ्‍नै सोच र कल्‍पनाको आधारमा अर्थ्याउँछस् भने, तैँले यसलाई फूलबुट्टा भरेर आलङ्कारिक शैलीमा व्याख्या गरे पनि, तैँले अझै पनि साँचो रूपमा सत्यता बुझेको हुँदैनस्, र यो सबै अझै पनि मानव सोच र कल्‍पनामा आधारित हुन्छ। यो पवित्र आत्‍माको अन्तर्दृष्टिबाट प्राप्त गरिएको हुँदैन। मानिसहरूले आफ्‍ना धारणा र कल्‍पनाहरूका आधारमा परमेश्‍वरका वचनहरूलाई अर्थ लगाउने प्रवृत्ति हुन्छ, र यसरी तिनीहरूले आफूलाई परमेश्‍वरका वचनहरू प्रसङ्गबाहिर अर्थ्याउँदै परमेश्‍वरलाई गलत बुझ्‍न र आलोचना गर्न सक्‍ने बनाउँछन्, र यो समस्याको कुरा हो। त्यसकारण, परमेश्‍वरका वचनहरू बुझेर अनि पवित्र आत्‍माको अन्तर्दृष्टि प्राप्त गरेर नै मुख्य रूपमा सत्यता प्राप्त हुन्छ। परमेश्‍वरको वचनको शाब्दिक अर्थ बुझ्‍न र व्याख्या गर्न सक्दैमा तैँले सत्यता प्राप्त गरेको छस् भन्‍ने हुँदैन। यदि शाब्दिक तहमा परमेश्‍वरको वचन बुझ्‍नुको अर्थ तैँले सत्यता बुझेको छस् भन्‍ने हुने भए, तँलाई थोरै शिक्षा र ज्ञान मात्रै चाहिन्थ्यो, तब किन तँलाई पवित्र आत्‍माको अन्तर्दृष्टि चाहिन्थ्यो र? के परमेश्‍वरको काम मानव मस्तिष्कले बुझ्‍न सक्‍ने कुरा हो? त्यसकारण, सत्यता बुझ्‍ने कार्य मानव धारणा वा कल्‍पनामा आधारित हुँदैन। वास्तविक अनुभवात्मक ज्ञान प्राप्त गर्नका लागि तँलाई पवित्र आत्‍माको अन्तर्दृष्टि, ज्योति, र मार्गदर्शन चाहिन्छ। सत्यता बुझ्‍ने र प्राप्त गर्ने प्रक्रिया यही हो, र यो अत्यावश्यक सर्त पनि हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने

३४८. यदि तैँले परमेश्‍वरका वचनहरू धेरै पढेको छस् तर तँ शाब्दिक अर्थ मात्र बुझ्छस् र वास्तविक सामनाहरूमार्फत परमेश्‍वरका वचनहरू अनुभव गर्ने प्रयास गर्दैनस् भने, तैँले परमेश्‍वरका वचनहरू जान्नेछैनस् अनि तेरा लागि परमेश्‍वरका वचनहरू जीवन हुनेछैनन्, केवल मृत शब्द हुनेछन्। अनि यदि तँ मृत शब्दहरूमा मात्र अडिग रहन्छस् भने, तैँले न त परमेश्‍वरका वचनहरूको सार समात्न सक्नेछस्, न त उहाँका अभिप्रायहरू नै जान्नेछस्। जब तँ आफ्ना वास्तविक अनुभवहरूमा उहाँका वचनहरू अनुभव गर्छस्, तब मात्र परमेश्‍वरका वचनहरूको आत्मिक अर्थ तँसामु खुल्नेछ। तँ अनुभवमार्फत मात्र धेरैवटा सत्यताको आत्मिक अर्थ बुझ्न र परमेश्‍वरका वचनहरूका रहस्यहरू खोल्न सक्छस्। यदि तँ परमेश्‍वरका वचनहरूलाई व्यवहारमा लागु गर्दैनस् भने, परमेश्‍वरले जतिसुकै स्पष्ट रूपमा बोल्नुभए पनि, तेरो हातमा खोक्रा शब्द र धर्मसिद्धान्तहरू मात्र रहन्छन् र ती नै तेरा धार्मिक प्रावधानहरू बन्छन्। के फरिसीहरूले ठ्याक्कै यही गरेका थिएनन् र? यदि तिमीहरू परमेश्‍वरको वचन अभ्यास र अनुभव गर्छौ भने, यो तिमीहरूका लागि व्यावहारिक बन्छ; यदि तिमीहरू यो अभ्यास गर्न खोज्दैनौ भने, तिमीहरूका लागि परमेश्‍वरको वचन तेस्रो स्वर्गको किंवदन्तीभन्दा बढी केही हुँदैन। वास्तवमा, तिमीहरूका लागि परमेश्‍वरमा विश्‍वास गर्ने प्रक्रिया भनेको उहाँका वचनहरू अनुभव गर्ने र उहाँद्वारा प्राप्त गरिने प्रक्रिया हो। यसलाई अलि प्रस्ट्याउनुपर्दा, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको उहाँका वचनहरू चिन्नु र बुझ्नु अनि उहाँका वचनहरू अनुभव गर्नु र जिउनु हो; परमेश्‍वरमाथिको तिमीहरूको विश्‍वासको वास्तविकता यही हो। यदि तिमीहरू परमेश्‍वरका वचनहरू अभ्यास गर्ने र सत्यता वास्तविकतामा प्रवेश गर्ने पछ्याइमा नलागी, अनन्त जीवनको आशा मात्र गरेर परमेश्‍वरमा विश्‍वास गर्छौ भने, तिमीहरू सबै मूर्ख हौ। यो त भोजमा गएर स्वादिष्ट परिकारहरूमध्ये कुनै पनि वास्तविक रूपमा नचाखी वा तीमध्ये कुनै पनि नखाई र नपिई केवल तिनलाई हेर्नु र मनमा राख्नुजस्तो हो। के त्यस्तो व्यक्ति मूर्ख हुँदैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यतालाई बुझिसकेपछि त्यसलाई अभ्यास गर्नुपर्छ

३४९. परमेश्‍वरले मानिसहरूको लागि तय गर्नुभएका मापदण्डहरू त्यति धेरै उच्‍च छैनन्। मानिसहरूले लगनशील र इमानदार भई अभ्यास गरे भने, “उत्तीर्णाङ्क” प्राप्त गर्नेछन्। साँचो कुरा भन्‍ने हो भने, सत्यताको बुझाइ, ज्ञान र बोध प्राप्त गर्नु सत्यता अभ्यास गर्नुभन्दा धेरै जटिल छ। पहिला, तैँले आफूले जति बुझ्छस् त्यति अभ्यास गर् अनि तैँले जे बोध गरेको छस् त्यो अभ्यास गर्। यस तरिकाले, तैँले सत्यताको साँचो ज्ञान र बोध क्रमिक रूपमा हासिल गर्दै जानेछस्। पवित्र आत्माले यिनै चरण र माध्यममार्फत काम गर्नुहुन्छ। यदि यस तरिकाले समर्पणताको अभ्यास गरिनस् भने, तैँले केही पनि हासिल गर्नैछैनस्। यदि तँ सधैँ आफ्नै इच्छाअनुसार काम गर्छस् र समर्पणता अभ्यास गर्दैनस् भने, के पवित्र आत्माले तँभित्र काम गर्नुहुनेछ? के पवित्र आत्माले तैँले चाहेअनुसार काम गर्नुहुन्छ? कि उहाँले तँसित जे कमी छ त्योअनुसार र परमेश्‍वरका वचनहरूको अधारमा काम गर्नुहुन्छ? यदि तँलाई यो कुरा स्पष्ट छैन भने, तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्‍नेछैनस्। किन धेरैजसो मानिसहरू परमेश्‍वरका वचनहरू पढ्नमा लागिपर्छन्, तर तिनीहरूले केवल ज्ञान मात्र प्राप्त गर्छन् र त्यसपछि वास्तविक मार्गको बारेमा केही पनि भन्‍न सक्दैनन्? के तँलाई ज्ञान धारण गर्नु नै सत्य धारण गर्नु हो भन्‍ने लाग्छ? के त्यो एक भ्रमित दृष्टिकोण होइन र? तैँले समुद्र किनारमा जत्ति धेरै बालुवाका कण छन्, त्यति नै धेरै ज्ञानका टुक्राहरूको कुरा बोल्न सक्छस् होला, तर तीमध्ये कुनैमा पनि वास्तविक मार्ग हुँदैन। के तैँले यसो गरेर मानिसहरूलाई मूर्ख बनाउने कोसिस गरिरहेको छैनस् र? के तैँले समर्थन गर्ने कुनै सार नभएको खोक्रो तमासा प्रदर्शन गरिरहेको छैनस् र? यस्ता सबै व्यवहार मानिसहरूका लागि हानिकारक हुन्छन्! सिद्धान्त जति उच्‍च हुन्छ र त्यो जति धेरै वास्तविकतारहित हुन्छ, त्यति नै धेरै यो मानिसहरूलाई वास्तविकताभित्र लैजान असक्षम हुन्छ। सिद्धान्त जति उच्‍च हुन्छ, त्यति नै बढी त्यसले तँलाई परमेश्‍वरको विरुद्धमा विद्रोह गर्ने र विरोध गर्ने बनाउँछ। आध्यात्मिक सिद्धान्तलाई शीरमा नचढाओ—यसको केही फाइदा छैन! कतिपय मानिसले दशकौँदेखि आध्यात्मिक सिद्धान्तबारे कुरा गरिरहेका छन्, र तिनीहरू महान् आत्मिक व्यक्तित्व बनेका छन्, तर आखिरमा तिनीहरू पनि सत्यता वास्तविकतामा प्रवेश गर्न असफल हुन्छन्। किनभने तिनीहरूले परमेश्‍वरका वचनहरू अभ्यास वा अनुभव गरेका छैनन्, तिनीहरूसित अभ्यासका सिद्धान्त वा मार्ग छैनन्। यस्ता मानिसहरूसित सत्यता वास्तविकता हुँदैन, अनि कसरी तिनीहरूले अरूलाई परमेश्‍वरप्रतिको विश्‍वासको सही मार्गमा ल्याउन सक्छन्? तिनीहरूले मानिसहरूलाई बहकाउन मात्र सक्छन्। के यो अरूलाई र आफैलाई हानि गर्नु होइन र? कम्तीमा पनि, तँ आफ्नो ठीक अगाडि भएका वास्तविक समस्या समाधन गर्न सक्षम हुनैपर्छ। भन्‍नुको अर्थ, तँ परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्न अनि सत्यतालाई व्यवहारमा उतार्न सक्षम हुनैपर्छ। यो मात्र परमेश्‍वरप्रतिको समर्पणता हो। तैँले जीवन प्रवेश प्राप्त गरेको छस् भने मात्र, परमेश्‍वरको लागि काम गर्न योग्य हुन्छस् र तँ इमानदारीसाथ परमेश्‍वरमा समर्पित हुँदा मात्र, तैँले परमेश्‍वरबाट अनुमोदन पाउन सक्छस्। सधैँभरि भव्य अभिव्यक्तिहरू नदे र ठूलो सिद्धान्तको कुरा नगर्; यो वास्तविक होइन। तैँले मानिसहरूलाई तेरो प्रशंसा गर्न लगाउनका लागि आध्यात्मिक सिद्धान्तबारे आडम्बरी कुरा गर्नु भनेको परमेश्‍वरको गवाही दिनु होइन, त्यो त आफ्नै प्रदर्शन गर्नु मात्र हो। यसले मानिसहरूलाई फिटिक्‍कै फाइदा पुर्‍याउँदैन र तिनीहरूमा कुनै सुधार ल्याउँदैन, अनि यसले तिनीहरूलाई सजिलैसित आध्यात्मिक सिद्धान्तको आराधना गर्ने र सत्यता अभ्यास गर्नमा ध्यान नदिने बनाउँछ—अनि के यो मानिसहरूलाई बहकाइरहेको कुरा होइन र? यसो गरिरहँदा, अनेकौँ खोक्रो सिद्धान्त र नियमहरू जन्मनेछन्, जसले मानिसहरूलाई विवश र फन्दामा पार्नेछन्; यो साँच्‍चै नै लज्‍जास्पद कुरा हो। त्यसैले, जे वास्तविक छ त्यो धेरै बोल्, साँच्‍चै अस्तित्वमा रहेका समस्याहरूबारे धेरै कुरा गर् र वास्तविक समस्याहरू समाधान गर्नलाई सत्यता खोज्न धेरै समय बिता; सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। सत्यता अभ्यास गर्न सिक्‍नका लागि ढिलो नगर्: वास्तविकतामा प्रवेश गर्ने मार्ग यही हो। अरूको अनुभव र ज्ञानलाई आफ्नो निजी सम्पत्ति नठान् र अरूको प्रशंसा पाउन तिनलाई उचालेर नदेखा। तैँले तेरो आफ्नै जीवन प्रवेश प्राप्त गर्नुपर्छ। तैँले सत्यता अभ्यास गरेर र परमेश्‍वरप्रति समर्पित भएर मात्र जीवन प्रवेश प्राप्त गर्नेछस्। यो नै हरेक व्यक्तिले अभ्यास र ध्यान केन्द्रित गर्नुपर्ने कुरा हुनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। वास्तविकतामा अझ बढी ध्यान देऊ

३५०. के सत्यता सम्‍बन्धी तिमीहरूको बुझाइ तिमीहरूको आफ्नै अवस्थाहरूसित जोडिएको छ? वास्तविक जीवनमा, तैँले सामना गरेका मानिसहरू, घटनाहरू र वस्तुहरूसित कुन-कुन सत्यताहरू सम्बन्धित छन् भनेर तैँले सुरुमा विचार गर्नुपर्छ; यिनै सत्यताहरूको माझमा तैँले परमेश्‍वरका अभिप्रायहरू पत्ता लगाउन सक्छस् र उहाँका अभिप्रायहरूमा तैँले जे भेटेको छस्, त्यससित जोडिन सक्छस्। यदि तैँले सामना गरेका कुराहरूसित सत्यताका कुन-कुन पक्षहरूले सम्बन्ध राख्छन् भन्‍ने तँलाई थाहा छैन तर प्रत्यक्ष रूपमा परमेश्‍वरका अभिप्रायहरू खोजी गर्न जान्छस् भने, यो एउटा अन्धो तरिका हो जसले परिणामहरू हासिल गर्न सक्दैन। यदि तँ सत्यताको खोजी गर्न र परमेश्‍वरका अभिप्रायहरू बुझ्न चाहन्छस् भने, पहिले तैँले कस्ता कुराहरू तँमा घटेका छन्, सत्यताको कुन पक्षहरूसित ती सम्बन्धित छन् सो हेरेर, परमेश्‍वरको वचनमा निश्चित सत्यताको खोजी गर्नु आवश्यक हुन्छ, जुन तैँले अनुभव गरेको कुरासित सम्बन्धित छन्। त्यसपछि तैँले त्यस सत्यतामा तेरो लागि सहि रहेको अभ्यासको मार्गलाई खोजी गर्नुपर्छ; यसरी, तैँले परमेश्‍वरका अभिप्रायहरूको अप्रत्यक्ष बुझाइ हासिल गर्न सक्छस्। सत्यताको खोजी गर्नु र अभ्यास गर्नु यान्त्रिक रूपले सिद्धान्त प्रयोग गर्नु वा सूत्रलाई पालन गर्नु होइन। सत्यता सूत्रबद्ध हुँदैन, न त यो नियम नै हो। यो मरेको छैन, यो आफैमा जीवन हो, यो सजीव कुरा हो, र यो सृष्टि गरिएको थोकले जीवनमा पछ्याउनुपर्ने नियम र मानिससित जीवनमा हुनुपर्ने नियम हो। यो तैँले अनुभवद्वारा जतिसक्दो धेरै बुझ्‍नुपर्ने कुरा हो। तेरो अनुभवमा तँ जुन अवस्थामा आइपुगे तापनि, तँलाई परमेश्‍वरको वचन वा सत्यतादेखि अलग गर्न सकिँदैन, र परमेश्‍वरको स्वभावको बारेमा तँ जे बुझ्छस्, र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसबारे तँलाई जे थाहा छ, ती सबैलाई परमेश्‍वरका वचनहरूमा व्यक्त गरिएका छन्; ती सत्यतासित फुकाउनै नमिल्ने गरी गाँसिएका छन्। परमेश्‍वरको स्वभाव अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, ती आफैमा सत्यता हुन्; सत्यता परमेश्‍वरको स्वभाव तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको विशुद्ध प्रस्फुटन हो। यसले उहाँसित जे छ, र उहाँ जे हुनुहुन्छ, त्यसलाई ठोस बनाउँछ र यसले उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसको प्रष्ट अभिव्यक्ति दिन्छ; परमेश्‍वरले के मन पराउनुहुन्छ अनि के मन पराउनुहुन्न, तैँले के गरेको उहाँ चाहनुहुन्छ, अनि उहाँले तँलाई के गर्न अनुमति दिनुहुन्‍न, कुन मानिसहरूलाई उहाँले तुच्छ ठान्नुहुन्छ, कुन मानिसहरूमा उहाँले आनन्द लिनुहुन्छ त्यसबारे यसले तँलाई अझ प्रत्यक्ष रूपमा बताउँछ। परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यताहरूको पछाडि, मानिसहरूले उहाँको आनन्द, रिस, शोक र खुशीको साथै उहाँको सारलाई देख्न सक्छन्—यो उहाँको स्वभावको प्रकटीकरण हो। परमेश्‍वरसित जे छ र उहाँ जे हुनुहुन्छ भनी जान्नु, अनि उहाँको वचनबाट उहाँको स्वभाव बुझ्नु बाहेक, सबैभन्दा महत्त्वपूर्ण खाँचो भनेको व्यक्तिगत अनुभवद्वारा यो बुझाइसम्म पुग्नु हो। यदि परमेश्‍वरलाई चिन्नको लागि व्यक्तिले आफूलाई वास्तविक जीवनबाट हटाउँछ भने, तिनीहरूले त्यसलाई हासिल गर्न सक्षम हुनेछैनन्। परमेश्‍वरको वचनबाट केही बुझाइ हासिल गर्न सक्‍ने मानिसहरू छन्, तापनि तिनीहरूको बुझाइ सिद्धान्तहरू तथा शब्‍दहरूमा सीमित हुन्छ, अनि परमेश्‍वर स्वयम्‌ वास्तवमा कस्तो हुनुहुन्छ भन्‍ने कुराबारे भेद उत्पन्न हुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

३५१. मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई प्रश्रय दिएका हुन्छन्। जब तँ सत्यलाई अभ्यास गर्दैनस्, तँलाई तेरा सबै अभिप्रायहरू सही लाग्छन्, तर जब तँलाई केही हुन्छ, तँभित्र धेरै गलत अभिप्रायहरू रहेछन् भनेर तैँले देख्नेछस्। तसर्थ, जब परमेश्‍वरले मानिसहरूलाई सिद्ध पार्नुहुन्छ, उहाँले उनीहरूलाई परमेश्‍वर सम्‍बन्धी उनीहरूको ज्ञानमा बाधा पुर्‍याउने धेरै अभिप्रायहरू उनीहरूभित्र रहेको अनुभव गर्न लगाउनुहुन्छ। जब तैँले तेरा अभिप्रायहरू गलत रहेछन् भनेर पहिचान गर्छस्, यदि तँ तेरो अभिप्राय र धारणाहरू अनुसार अभ्यास गर्न बन्द गर्न सक्छस्, र परमेश्‍वरको सामु साक्षी दिन सक्षम हुन्छस्, र तँलाई हुने सबै कुराहरूमा तँ तेरो स्थानमा दह्रिलो भएर खडा हुन्छस् भने, यसले तैँले देहको विरोध गरेको छस् भन्‍ने प्रमाणित गर्छ। जब तँ देहको विरोध गर्छस्, तँभित्र निःसन्देह लडाइँ हुन्छ। शैतानले मानिसहरूलाई जाँच्‍नेछ र त्यसमा विश्‍वास गराउन प्रयास गर्नेछ, देहका अभिप्रायहरूमा विश्‍वास गराउने र देहका रुचिहरू कायम राख्ने प्रयास गर्नेछ—तर परमेश्‍वरका वचनहरूले मानिसहरूलाई भित्रबाट ज्योति र अन्तर्दृष्टि दिनेछ, र यो समयमा परमेश्‍वरलाई विश्‍वास गर्ने कि शैतानलाई विश्‍वास गर्ने हो भन्‍ने कुरा तेरै हातमा हुन्छ। मुख्यतया मानिसहरूभित्र रहेका थोकहरूको काटछाँट गर्न, परमेश्‍वरका अभिप्रायअनुसारको नरहेका उनीहरूको सोच र अभिप्रायहरूको काटछाँट गर्नका लागि परमेश्‍वरले उनीहरूलाई सत्यको अभ्यास गर्न अह्राउनुहुन्छ। पवित्र आत्माले मानिसहरूलाई उनीहरूको हृदयमा छुनुहुन्छ र उनीहरूलाई अन्तर्दृष्टि र ज्योति दिनुहुन्छ। त्यसैले, हुने सबै कुराहरूका पछाडि लडाइँ हुन्छ: मानिसहरूले सत्यको, वा परमेश्‍वरप्रतिको प्रेमको अभ्यास गर्दा हरेक पटक, त्यहाँ ठूलो लडाइँ हुन्छ, र उनीहरूका देहभित्र सबै ठीकै देखिए पनि, उनीहरूको हृदयको गहिराइमा, वास्तवमा, एक जीवन र मृत्युको लडाइँ चलिरहेको हुन्छ—र यो तीव्र लडाइँपछि, व्यापक समीक्षापछि मात्रै, जीत र हारको निर्णय हुन्छ। रुनु कि हाँस्नु भनेर थाहा हुँदैन। मानिसहरूभित्र भएका अभिप्रायहरू गलत हुने भएकाले, वा उनीहरूको अभिप्रायसँग परमेश्‍वरको कार्य बाझिने भएकाले, जब मानिसहरूले सत्यको अभ्यास गर्छन्, पर्दा पछाडि ठूलो लडाइँ हुन्छ। यो सत्यलाई अभ्यास गर्दा, पर्दा पछाडि, मानिसहरूले अन्ततः परमेश्‍वरलाई सन्तुष्ट बनाउने निर्णय गर्नअघि अनगन्ती दुःखका आँशु झारेका हुनेछन्। यही लडाइँको कारण मानिसहरूले कष्ट र शोधन सहन्छन्; साँचो कष्ट-भोग यही नै हो। जब तँमाथि लडाइँ आइपर्छ, यदि तँ परमेश्‍वरको पक्षमा साँचो रूपमा खडा हुन सक्छस् भने, तैँले परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्छस्। सत्यको अभ्यास गरिरहँदा, व्यक्तिले अपरिहार्य रूपमै भित्र-भित्रै कष्ट पाउनेछ; यदि, उनीहरूले सत्यलाई अभ्यास गर्दा, मानिसहरूभित्रका सबै कुराहरू सही भएमा, उनीहरूलाई परमेश्‍वरले सिद्ध बनाइरहनु पर्दैन, र त्यहाँ कुनै लडाइँ हुँदैन, र उनीहरूले कष्ट भोग्‍नेछैनन्। यसो किन हुन्छ भने, मानिसहरूभित्र यस्ता धेरै थोकहरू हुन्छन् जुन परमेश्‍वरको प्रयोगका लागि उपयुक्त हुँदैनन्, र देहको विद्रोही स्वभाव धेरै हुने भएकाले, मानिसहरूले देहको विरोध गर्ने पाठ अझ गहन तरिकाले सिक्नु पर्छ। यसैलाई परमेश्‍वरले मानवलाई उहाँसँग भोग्नुपर्ने भनेर अह्राउनुभएको कष्ट भन्नुहुन्छ। जब तँलाई अप्ठ्याराहरू आइपर्छन्, हतार गर् र परमेश्‍वरमा प्रार्थना गर्: “हे परमेश्‍वर! म हजुरलाई सन्तुष्ट बनाउन चाहन्छु, तपाईंको हृदयलाई सन्तुष्ट बनाउन म अन्तिम कठिनाइ सहन गर्न चाहन्छु, र मैले जतिसुकै ठूलो धक्का बेहोर्नु परे पनि, म अझै पनि हजुरलाई नै सन्तुष्ट बनाउन चाहन्छु। मैले मेरो सम्पूर्ण जीवन नै त्याग्‍नु परे पनि, मैले तपाईंलाई सन्तुष्ट पार्नैपर्छ!” यो सङ्कल्पका साथ, जब तँ यसरी प्रार्थना गर्छस्, तँ आफ्नो साक्षीमा दह्रिलो भएर खडा हुन सक्षम हुन्छस्। प्रत्येक पटक उनीहरूले सत्यलाई अभ्यास गर्दा, प्रत्येक पटक उनीहरूको शोधन, प्रत्येक पटक उनीहरू थाक्दा, र प्रत्येक पटक परमेश्‍वरको कार्य उनीहरूमाथि आउँदा, मानिसहरूले असह्य पीडा सहनुपर्छ। यो सबै मानिसहरूका लागि जाँच हो, र त्यसैगरी ती सबैभित्र लडाइँ हुन्छ। उनीहरूले चुकाउने वास्तविक मूल्य यही हो। परमेश्‍वरको वचनहरू झनै धेरै पढ्नु र अझै धेरै दौडधूप गर्नु त्यही मूल्यको एक अंश हो। मानिसहरूले गर्नुपर्ने कुरा यही हो, यो उनीहरूको कर्तव्य हो, र उनीहरूले पूरा गर्नुपर्ने जिम्मेवारी हो, तर मानिसहरूले उनीहरूका पन्छाउनु पर्ने कुरालाई पन्छाउनु पर्छ। यदि तैँले त्यसो गरिनस् भने, तेरो बाहिरी कष्ट जतिसुकै ठूलो भए तापनि, तैँले जतिसुकै दौडधूप गरे पनि, सबै कुरा व्यर्थ हुनेछ! यसो भन्नुको अर्थ, तँभित्रको परिवर्तनले मात्रै तेरो बाहिरी कठिनाइको मूल्य छ कि छैन भनेर निर्धारण गर्न सक्छ। जब तेरो आन्तरिक स्वभाव परिवर्तन हुन्छ र तैँले सत्यको अभ्यास गर्छस्, तब तेरो सबै बाहिरी कष्टले परमेश्‍वरको स्वीकृति पाउनेछ; यदि तेरो आन्तरिक स्वभावमा कुनै परिवर्तन भएन भने, तैँले जतिसुकै कष्ट सहे पनि वा तैँले बाहिर जतिसुकै प्रयत्न गरे पनि, परमेश्‍वरबाट कुनै स्वीकृति हुनेछैन—र परमेश्‍वरले पुष्टि नगरेको कठिनाइ व्यर्थ हो। तसर्थ, तैँले चुकाएको मूल्य परमेश्‍वरबाट अनुमोदन हुन्छ हुँदैन भन्‍ने कुरा तँमा परिवर्तन आएको छ कि छैन र परमेश्‍वरका अभिप्रायहरूको सन्तुष्टि, परमेश्‍वरको ज्ञान, र परमेश्‍वरप्रतिको निष्ठा हासिल गर्नका लागि तैँले सत्यको अभ्यास तथा आफ्नो अभिप्राय र धारणालाई विरोध गर्छस् कि गर्दैनस् भन्‍ने कुराले निर्धारित गर्छ। तैँले जतिसुकै प्रयत्न गरे पनि, यदि तँलाई आफ्नो अभिप्रायको विरुद्ध विद्रोहको बारेमा कहिल्यै थाहा छैन भने, तर बाहिरी कार्य तथा उत्सुकता मात्रै खोज्छस्, र आफ्नो जीवनप्रति कहिल्यै ध्यान दिँदैनस् भने, तेरो कठिनाइ व्यर्थ हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो

३५२. ठ्याक्‍कैसित भन्‍नुपर्दा, आफ्नो विश्‍वासमा पत्रुसको मार्गमा हिँड्नु भनेको सत्यता खोजी गर्ने बाटोमा हिँड्नु हो, जुन आफैलाई साँचो रूपमा चिन्‍ने र आफ्नो स्वभाव बदल्ने बाटो पनि हो। पत्रुसको मार्गमा हिँडेर मात्र व्यक्ति परमेश्‍वरद्वारा सिद्ध तुल्याइने बाटोमा हुनेछ। पत्रुसको मार्गमा वास्तवमा कसरी हिँड्ने, साथसाथै यसलाई कसरी अभ्यास गर्ने भन्‍ने बारेमा व्यक्ति स्पष्ट हुनुपर्छ। पहिला त व्यक्तिले आफ्ना अभिप्रायहरू, अनुचित खोजीहरू, र परिवार तथा आफ्नो देहका सबै कुराहरू समेतलाई पन्छाउनुपर्छ। व्यक्ति सम्पूर्ण हृदयले समर्पित हुनुपर्छ; त्यसको मतलब व्यक्तिले पूर्ण रूपमा आफूलाई परमेश्‍वरका वचनहरूमा समर्पित गर्नुपर्छ, परमेश्‍वरका वचनहरू खान र पिउनमा ध्यान केन्द्रित गर्नुपर्छ, परमेश्‍वरका वचनहरूमा सत्यता र उहाँका चाहनाहरू खोजी गर्न एकाग्र हुनुपर्छ, र हरेक कुरामा परमेश्‍वरको अभिप्राय बुझ्ने प्रयास गर्नुपर्छ। यो कुरा अभ्यासको सबैभन्दा आधारभूत र महत्त्वपूर्ण विधि हो। पत्रुसले येशूलाई भेटेपछि यही नै गरेका थिए, र यसरी अभ्यास गरेर मात्रै व्यक्तिले सर्वोत्तम नतिजाहरू हासिल गर्न सक्छ। परमेश्‍वरका वचनहरूमा सम्पूर्ण हृदयसहितको समर्पणमा मुख्यतया परमेश्‍वरका वचनहरूमा सत्यता र उहाँका चाहनाहरू खोजी गर्ने, परमेश्‍वरका अभिप्राय बुझ्न ध्यान केन्द्रित गर्ने, र परमेश्‍वरका वचनहरूबाट थप सत्यता बुझ्ने र प्राप्त गर्ने कुराहरू पर्दछन्। परमेश्‍वरका वचनहरू पढ्दा पत्रुसले धार्मिक सिद्धान्तहरू बुझ्नमा ध्यान केन्द्रित गरेका थिएनन्, तिनले धर्मविज्ञानको ज्ञान प्राप्त गर्नमा ध्यान केन्द्रित गर्ने कुरा त परै जाओस्। बरु, तिनले सत्यता बुझ्न र परमेश्‍वरका अभिप्रायहरू बोध गर्न, साथै परमेश्‍वरको स्वभाव र उहाँको प्रेमिलोपनको ज्ञान हासिल गर्नमा ध्यान केन्द्रित गरे। पत्रुसले परमेश्‍वरका वचनहरूबाट मानिसका विविध भ्रष्ट स्थितिहरू, मानिसको प्रकृति सार र मानिसका वास्तविक कमजोरीहरू जान्ने प्रयास पनि गरे। यसरी मात्रै तिनले परमेश्‍वरलाई सन्तुष्ट पार्न उहाँका मागहरू सजिलै पूरा गर्न सक्थे। परमेश्‍वरका वचनहरूका सन्दर्भमा पत्रुससँग एकदमै धेरै सही अभ्यास थिए। यो परमेश्‍वरका अभिप्रायहरूसँग सबैभन्दा बढी मिल्दो थियो र कुनै व्यक्तिले परमेश्‍वरको काम अनुभव गर्ने क्रममा सहकार्य गर्न सक्ने सबैभन्दा उत्तम तरिका थियो। परमेश्‍वरले पठाउनुभएका सयौँ परीक्षाहरू भोग्दा, पत्रुसले आफूलाई मानिसको न्याय र खुलासा गर्ने परमेश्‍वरको हरेक वचन—अनि मानिसबाट उहाँले माग गर्नुहुने हरेक वचनसँग कडाइका साथ मिलाए—आफूलाई जाँचे, र परमेश्‍वरका वचनहरूको अर्थ सही रूपमा बोध गर्ने प्रयास गरे। येशूले तिनलाई भन्‍नुभएका सब थोकबारे तिनले गम्भीरतासाथ मनन गरे, र हरेक वचनलाई आफ्नो मनमा दृढ रूपमा राखे—यो तरिका अपनाउँदा निकै राम्रा नतिजा हासिल भए। यसरी अभ्यास गरेर तिनले परमेश्‍वरका वचनहरूमार्फत आफैलाई चिन्‍न सके, र तिनी मानिसका विविध भ्रष्ट स्थिति र कमीकमजोरीहरू मात्र होइन, मानिसको सार र प्रकृति पनि चिन्‍न पुगे। यो नै आफूलाई साँचो रूपमा चिन्नु हो। परमेश्‍वरका वचनहरूबाट, पत्रुसले एक हिसाबमा आफूबारे साँचो बुझाइ हासिल गरे, अनि अर्को हिसाबमा, तिनले परमेश्‍वरले व्यक्त गरेको धर्मी स्वभाव, परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ भन्‍ने कुरा, परमेश्‍वरको कामका लागि उहाँका अभिप्रायहरू र मानवजातिप्रति परमेश्‍वरका मागहरू देखे। यी वचनहरूबाट तिनले साँचो रूपमा परमेश्‍वरलाई चिने। तिनले परमेश्‍वरको स्वभाव र उहाँको सारलाई चिने; तिनले परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ भन्‍ने कुरा, र साथै परमेश्‍वरको प्रेमिलो स्वभाव र मानिसप्रतिका उहाँका मागहरू जाने र बुझे। त्यतिखेर परमेश्‍वर आजभोलि बोल्नुभए जति बोल्नुहुन्‍नथियो, तापनि पत्रुसमा यी पक्षहरूको नतिजा हासिल भयो। यो एकदमै बिरलै हुने र अमूल्य कुरा थियो। पत्रुसले सयौँ परीक्षाहरू भोगे; तिनले व्यर्थमा कष्ट सहेनन्। तिनले परमेश्‍वरका वचनहरू र कामबाट आफैलाई चिन्न पुगेका मात्रै होइन, परमेश्‍वरलाई पनि चिन्न पुगे। यसबाहेक, तिनले परमेश्‍वरका वचनहरूभित्र विशेष गरी परमेश्‍वरले मानिसहरूबाट गर्ने मागहरू र परमेश्‍वरका अभिप्रायअनुसार हुनका लागि मानिसले परमेश्‍वरलाई कुन पक्षहरूमा सन्तुष्ट पार्नुपर्छ भन्‍ने कुरालाई ध्यान दिए, र तिनी यी कुराहरूमा ठूलो प्रयत्न लागु गरेर पूर्ण स्पष्टता हासिल गर्न सक्षम भए। यो कुरा तिनको जीवन प्रवेशको सवालमा पनि अत्यन्तै फाइदाजनक थियो। परमेश्‍वरका वचनहरूको जुनै पक्ष भए पनि, ती वचनहरूले जीवनका रूपमा काम गर्न सकुन्जेल र ती सत्यता हुन्जेल, पत्रुसले तिनलाई आफ्नो हृदयमा कुँदेर राखे, जहाँ तिनले तीबारे बारम्बार मनन गरे र तिनलाई बोध गरे। येशूका वचनहरू सुनेपछि, तिनले ती वचनहरूलाई हृदयमा राख्‍न सके, जसले तिनले विशेष रूपमा परमेश्‍वरका वचनहरूमा ध्यान केन्द्रित गरेका थिए भन्‍ने देखाउँछ र तिनले अन्त्यमा सच्‍चा रूपमै नतिजा हासिल गरे। अर्थात्, तिनले परमेश्‍वरका वचनहरू कुशलतापूर्वक अभ्यास गर्न, सत्यतालाई सही रूपमा अभ्यास गर्न अनि परमेश्‍वरका अभिप्रायअनुरूप कार्य गर्न, सम्पूर्ण रूपले परमेश्‍वरका चाहनाअनुरूप कामकुरा गर्न, र आफ्ना व्यक्तिगत दृष्टिकोण र कल्पनाहरू त्याग्‍न सके। यसरी, पत्रुस परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरे। पत्रुसले यी कुराहरू गरेको हुनाले नै मुख्य रूपमा उनको सेवा परमेश्‍वरका अभिप्रायहरूअनुसार थियो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने

३५३. यदि तैँले आफ्नो हृदय, शरीर र आफ्नो सबै साँचो प्रेम परमेश्‍वरप्रति अर्पण गर्न र उहाँसामु राख्‍न, उहाँप्रति बिलकुलै समर्पित हुन र उहाँका अभिप्रायहरूलाई पूर्ण रूपमा ख्याल गर्न सक्छस्, र देहका लागि, परिवारका लागि र तेरा आफ्नै चाहनाहरूका लागि नभई परमेश्‍वरको घरको हितका लागि कार्य गर्न सक्छस्, र हरेक कुरामा परमेश्‍वरका वचनहरूलाई आफ्नो सिद्धान्त र जगका रूपमा लिन्छस् भने, त्यसो गरेर, तेरा मनसायहरू र तेरा दृष्टिकोणहरू सबै ठीक पारिनेछन्, र तँ परमेश्‍वरको उपस्थितिमा उहाँको अनुमोदन पाउने व्यक्ति बन्‍नेछस्। परमेश्‍वर उहाँप्रति पूर्ण रूपमा समर्पित मानिसहरूलाई मन पराउनुहुन्छ; उहाँ ती मानिसहरूलाई मन पराउनुहुन्छ जो उहाँप्रति मात्र बफादार छन्। परमेश्‍वर तिनीहरूलाई घृणा गर्नुहुन्छ जो उहाँप्रति प्रयत्न लगाउँदैनन् र उहाँविरुद्ध विद्रोह गर्छन्। उहाँ तिनीहरूलाई घृणा गर्नुहुन्छ जो उहाँमा विश्‍वास गर्छन् र सधैँ उहाँमा आनन्द लिन चाहन्छन् तर उहाँका खातिर आफूलाई पूर्ण रूपमा अर्पण गर्न सक्दैनन्। उहाँलाई प्रेम गर्छु भन्‍ने तर हृदयमा उहाँविरुद्ध विद्रोह गर्नेहरूलाई उहाँ घृणा गर्नुहुन्छ; छल गर्न चिल्ला र आलङ्कारिक शब्दहरू प्रयोग गर्नेहरूलाई उहाँ घृणा गर्नुहुन्छ। जो परमेश्‍वरप्रति साँचो रूपमा अर्पित छैनन् वा साँचो रूपमा उहाँप्रति समर्पित छैनन् तिनीहरू प्रकृतिले नै घोर विद्रोही र अत्यन्तै अहङ्कारी हुन्छन्। विशेष गरी, सामान्य, व्यावहारिक परमेश्‍वरसामु साँचो रूपमा समर्पित हुन नसक्नेहरू अझ बढी अहङ्कारी हुन्छन्, र तिनीहरू विशेष गरी प्रधान स्वर्गदूतका कर्तव्यनिष्ठ सन्तान हुन्। परमेश्‍वरप्रति आफूलाई साँचो रूपमा समर्पित गर्ने मानिसहरूले आफ्नो सम्पूर्ण अस्तित्व नै उहाँलाई अर्पण गर्छन् र आफूलाई उहाँसामु राख्छन्—तिनीहरू उहाँका सबै वचन र काममा समर्पित हुन, उहाँका वचनहरू अभ्यास गर्न र तिनलाई आफ्नो अस्तित्वको जगका रूपमा स्वीकार गर्न, र परमेश्‍वरका वचनहरूभित्र निष्कपट रूपमा खोजी गरी कुन-कुन भागचाहिँ अभ्यास गर्नुपर्छ भनी पत्ता लगाउन सक्छन्। साँचो रूपमा परमेश्‍वरसामु जिउने मानिसहरू तिनीहरू नै हुन्। यदि तँ यसरी अभ्यास गर्छस् भने, त्यो तेरो जीवनको लागि फाइदाजनक हुनेछ। उहाँका वचनहरू खाएर अनि पिएर, तैँले आफ्नै भ्रष्ट स्वभावहरूबारे ज्ञान हासिल गर्न, साथै आफ्नो जीवनका आवश्यकता पूरा गर्न र आफ्ना कमीहरूको पूर्ति गर्न सक्छस्, ताकि तेरो जीवन स्वभाव परिवर्तन होस्। यसले परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट पार्नेछ। यदि तँ परमेश्‍वरका मागहरूअनुरूप कार्य गर्छस् र यदि तँ देहलाई सन्तुष्ट नपारी त्यसको साटो उहाँका अभिप्रायहरू पूरा गर्छस् भने, त्यसमा तँ उहाँका वचनहरूको वास्तविकतामा प्रवेश गरेको हुनेछस्। परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नुको अर्थ तँ आफ्नो कर्तव्य निर्वाह गर्न सक्छस् र परमेश्‍वरको कामका आवश्यकताहरू पूरा गर्न सक्छस्। यस्ता प्रकारका व्यावहारिक कार्यहरूलाई मात्र उहाँका वचनहरूको वास्तविकतामा प्रवेश गरेको भन्न मिल्छ। यदि तँ यो वास्तविकतामा प्रवेश गर्न सक्षम छस् भने, तँसँग सत्यता हुनेछ। यो नै वास्तविकतामा प्रवेश गर्ने सुरुवात हो; तैँले पहिले यो तालिम लिनैपर्छ, अनि त्यसपछि मात्रै तँ अझै गहिरा वास्तविकताहरूमा प्रवेश गर्न सक्षम हुनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पूर्ण रूपमा परमेश्‍वरको व्यावहारिकताको अधीनमा रहन सक्नेहरू ती हुन् जो परमेश्‍वरलाई साँच्‍चै प्रेम गर्छन्

३५४. परमेश्‍वर व्यावहारिक परमेश्‍वर हुनुहुन्छ: उहाँका सबै कामहरू व्यावहारिक छन्, उहाँले बोल्ने सबै वचनहरू व्यावहारिक छन्, र उहाँले व्यक्त गर्ने सबै सत्यताहरू व्यावहारिक छन्। जे उहाँका वचनहरू होइनन् ती सबै शून्य, अस्तित्वहीन, र फितला हुन्छन्। आज, मानिसहरूलाई परमेश्‍वरका वचनहरूभित्र मार्गदर्शन गर्न पवित्र आत्मा हुनुहुन्छ। यदि मानिसहरूले वास्तविकतामा प्रवेश पछ्याउनु छ भने, उनीहरूले वास्तविकताको खोजी गर्नुपर्छ, र वास्तविकता जान्नुपर्छ, जसपछि उनीहरूले वास्तविकता अनुभव गर्नुपर्छ, र वास्तविकता जिउनुपर्छ। मानिसहरूले वास्तविकता जति बढी जान्दछन्, उनीहरू अरूका शब्दहरू वास्तविक हुन् वा होइनन् भनी खुट्ट्याउन त्यति नै सक्षम हुन्छन्; मानिसहरूले वास्तविकता जति बढी जान्दछन्, उनीहरूसँग त्यति नै कम धारणाहरू हुन्छन्; मानिसहरूले वास्तविकता जति बढी अनुभव गर्छन्, उनीहरूले व्यावहारिक परमेश्‍वरका कार्यहरू त्यति नै थाहा पाउँछन्, र उनीहरूलाई आफ्ना भ्रष्ट, शैतानी स्वभावहरूबाट मुक्त हुन त्यति नै सजिलो हुन्छ; मानिसहरूसँग जति बढी वास्तविकता हुन्छ, उनीहरूले त्यति नै बढी परमेश्‍वरलाई चिन्छन् र त्यति नै बढी देहलाई घृणा गर्छन् र सत्यतालाई प्रेम गर्छन्; र मानिसहरूसँग जति बढी वास्तविकता हुन्छ, उनीहरू परमेश्‍वरले आवश्यक गराउनुभएका मानकहरूको त्यति नै नजिक आउँछन्। परमेश्‍वरद्वारा प्राप्त गरिएका मानिसहरू वास्तविकता भएका मानिसहरू हुन्, जसले वास्तविकता जान्दछन्, र जसले वास्तविकताको अनुभवमार्फत परमेश्‍वरका व्यावहारिक कार्यहरू जान्न पुगेका हुन्छन्। तँ जति बढी व्यावहारिक तरिकाले परमेश्‍वरसँग सहकार्य गर्छस् र आफ्नो शरीरलाई अनुशासनमा राख्छस्, तैँले पवित्र आत्माको काम त्यति नै बढी प्राप्‍त गर्नेछस्, तैँले त्यति नै बढी वास्तविकता प्राप्त गर्नेछस्, र परमेश्‍वरले तँलाई त्यति नै बढी अन्तर्दृष्टि दिनुहुनेछ, र यसरी परमेश्‍वरका व्यावहारिक कार्यहरूको तेरो ज्ञान त्यति नै विशाल बन्नेछ। यदि तँ पवित्र आत्माको विद्यमान ज्योतिमा जिउन सक्षम छस् भने, अभ्यासको विद्यमान मार्ग तेरा लागि अझै प्रष्ट हुनेछ, र विगतका धार्मिक धारणाहरू र पुराना अभ्यासहरूबाट आफूलाई अलग्याउन तँ अझै बढी सक्षम हुनेछस्। आजको केन्द्रबिन्दु वास्तविकता हो: मानिसहरूसँग जति बढी वास्तविकता हुन्छ, उनीहरूको सत्यताको ज्ञान त्यति नै प्रस्ट हुन्छ, र परमेश्‍वरका अभिप्रायहरूबारे उनीहरूको बुझाइ त्यति नै विशाल हुन्छ। वास्तविकताले सबै शाब्दिक वचनहरू र धर्मसिद्धान्तहरूलाई पराजित गर्न सक्छ, यसले सबै सैद्धान्तिक नियम र विज्ञतालाई पराजित गर्न सक्छ, र मानिसहरूले वास्तविकतामा जति बढी ध्यान केन्द्रित गर्छन्, उनीहरूले परमेश्‍वरलाई त्यत्ति नै बढी साँचो प्रेम गर्छन्, र उहाँका वचनहरूको लागि भोका र प्यासी हुन्छन्। यदि तैँले वास्तविकतामा ध्यान केन्द्रित गरिस् भने, सांसारिक कुराहरू सम्‍बन्धी दर्शन, धार्मिक धारणाहरू, र प्राकृतिक गुण परमेश्‍वरको काम पछ्याउँदै स्वभाविक रूपमा हटेर जानेछ। वास्तविकताको खोजी नगर्ने, र वास्तविकताको ज्ञान नभएकाहरू अलौकिक कुराको खोजी गर्न सक्छन्, र उनीहरू सजिलै धोखामा पर्न सक्छन्। यस्ता मानिसहरूमा काम गर्ने कुनै माध्यम पवित्र आत्मासँग छैन, र त्यसैले उनीहरू रित्तो, र उनीहरूको जीवनको कुनै अर्थ छैन भन्‍ने महसुस गर्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। वास्तविकता कसरी थाहा पाउने

३५५. जो परमेश्‍वरलाई प्रेम गर्छन् तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिस हुन्, र सत्यतालाई प्रेम गर्नेहरू यसलाई जति बढी व्यवहारमा लागु गर्छन्, तिनीहरूसँग यो त्यति नै बढी हुन्छ; तिनीहरू यसलाई जति बढी व्यवहारमा लागु गर्छन्, तिनीहरूसँग परमेश्‍वरको प्रेम त्यति नै बढी हुन्छ; र तिनीहरू यसलाई जति बढी व्यवहारमा लागु गर्छन्, तिनीहरू परमेश्‍वरद्वारा त्यति नै बढी आशिषित् हुन्छन्। यदि तैँले सधैँ यसरी नै अभ्यास गरिस् भने, तँप्रतिको परमेश्‍वरको प्रेमले तँलाई बिस्तारै देख्न सक्षम बनाउनेछ, जसरी पत्रुसले परमेश्‍वरलाई चिने: पत्रुसले परमेश्‍वरसँग स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गर्ने बुद्धि मात्रै होइन, यसबाहेक, उहाँसँग मानिसहरूमा व्यावहारिक काम गर्ने बुद्धि पनि भएको भनेर भने। पत्रुसले भने कि उहाँले स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुभएको कारणले मात्रै उहाँ मानिसहरूको प्रेमको योग्य हुनुभएको होइन, यसबाहेक, मानिसलाई सृष्टि गर्ने, मानिसलाई मुक्ति दिने, मानिसलाई सिद्ध पार्ने, र मानिसलाई उहाँको प्रेम दिने उहाँको सामर्थ्यको कारणले पनि उहाँ योग्य हुनुहुन्छ। त्यसैगरी, पत्रुसले उहाँमा मानिसको प्रेमको योग्य धेरै कुरा छन् भनेर पनि भने। पत्रुसले येशूलाई भने, “के स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नु मात्रै तपाईँ मानिसहरूको प्रेमको योग्य हुनुको कारण हो र? तपाईँमा प्रेम गर्नलायक कुरा अझ धेरै छ। तपाईँ वास्तविक जीवनमा काम गर्नुहुन्छ र हिँडडुल गर्नुहुन्छ, तपाईँको आत्माले मलाई भित्री रूपमा छुन्छ, तपाईँ मलाई ताडना दिनुहुन्छ, तपाईँ मलाई हप्काउनुहुन्छ—यी कुराहरू अझ बढी प्रेमको योग्य छन्।” यदि तँलाई परमेश्‍वरको प्रेम देख्ने र अनुभव गर्ने इच्छा छ भने, तैँले वास्तविक जीवनमा छामछुम गर्दै खोज्नुपर्छ र तँ आफ्नो देहलाई त्याग्न इच्छुक हुनुपर्छ। तैँले यो सङ्कल्प गर्नैपर्छ। तँ सङ्कल्प भएको व्यक्ति हुनैपर्छ जो अल्छी नभई वा देहका आनन्दहरूको लालसा नगरी, देहका लागि नभई परमेश्‍वरका लागि जिउँदै, सबै कुरामा परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम होस्। सायद तँ यस पटक परमेश्‍वरलाई सन्तुष्ट पार्दैनस् किनभने तँ परमेश्‍वरका अभिप्रायहरू बुझ्दैनस्; अर्को पटक, तैँले केही मेहनत लगाउनुपरे पनि, तैँले उहाँलाई सन्तुष्ट पार्नैपर्छ र देहलाई सन्तुष्ट पार्नै हुँदैन। जब तँ यसरी अनुभव गर्छस्, तब तैँले परमेश्‍वरलाई चिनेको हुनेछस्। तैँले परमेश्‍वर स्वर्ग र पृथ्वी अनि यावत् थोकको सृष्टि गर्न सक्नुहुन्छ, मानिसहरूले उहाँलाई वास्तविक र ठोस तरिकाले देख्न सकून् भनेर उहाँ देह बन्नुभएको छ, र उहाँ तिनीहरूसँग वास्तविक र ठोस तरिकाले कुराकानी गर्नुहुन्छ भन्ने कुरा देख्नेछस्; तैँले उहाँ मानिसमाझ हिँड्न सक्षम हुनुहुन्छ, र उहाँको आत्माले मानिसहरूलाई वास्तविक जीवनमा सिद्ध पार्न सक्छ भन्‍ने कुरा देख्नेछस्; तैँले यो सबै कुराले मानिसहरूलाई उहाँको प्रेमिलो स्वभाव देख्न र उहाँको अनुशासन, उहाँको ताडना, र उहाँका आशिष्‌हरू अनुभव गर्न मद्दत गर्छ भन्‍ने कुरा देख्नेछस्। यदि तैँले सधैँ यसरी नै अनुभव गरिस् भने, वास्तविक जीवनमा तँ परमेश्‍वरबाट छुट्टिनै सक्नेछैनस्, र यदि कुनै दिन परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य रहन छोड्यो भने, तँ हप्की भोग्न र पछुतो महसुस गर्न सक्षम हुनेछस्। परमेश्‍वरसँग तेरो सम्बन्ध सामान्य हुँदा, तँलाई कहिल्यै परमेश्‍वरलाई छोडेर जाने इच्छा हुनेछैन, र यदि कुनै दिन परमेश्‍वरले तँलाई त्याग्छु भन्नुभयो भने, तँ डराउनेछस्, र परमेश्‍वरद्वारा त्यागिनुभन्दा बरु मर्न तयार छु भनेर भन्नेछस्। यो आभास हुनेबित्तिकै, तँलाई आफू परमेश्‍वरलाई छोडेर जान असमर्थ रहेको महसुस हुनेछ, र यसप्रकार, तेरो एउटा जग बस्नेछ, र तैँले साँच्चिकै परमेश्‍वरको प्रेमको आनन्द लिनेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌

३५६. परमेश्‍वरमाथिको आफ्नो विश्‍वासको सम्बन्धमा मानिसहरूको सबै भन्दा ठूलो गल्ती भनेको तिनीहरूले मुखले मात्र विश्‍वास गर्नु, र परमेश्‍वरलाई आफ्नो दैनिक जीवनबाट पूर्ण रूपले टाढा राख्‍नु हो। वास्तवमा, सबै मानिसहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छन्, तर परमेश्‍वर तिनीहरूको दैनिक जीवनको हिस्सा भने बन्‍नुभएको हुँदैन। मानिसहरूको मुखले परमेश्‍वरलाई धेरै प्रार्थना चढाउँछ, तर उनीहरूको हृदयमा परमेश्‍वरको स्थान थोरै हुन्छ, त्यसैले परमेश्‍वरले तिनीहरूको बारम्बार जाँच गर्नुहुन्छ। मानिसहरू अशुद्ध भएका हुनाले, तिनीहरूको जाँच गर्नु बाहेक परमेश्‍वरसँग अरू कुनै विकल्प हुँदैन, ताकि उनीहरू लाजमा परून् र यी परीक्षाहरूका बीचमा आफैलाई चिन्‍न सकून्। यदि होइन भने, मानवजाति प्रधान स्वर्गदूतको सन्तानहरूको रूपमा परिणत हुन्थे, र अझ धेरै भ्रष्‍ट हुन्थे। परमेश्‍वरमाथिको उनीहरूको विश्‍वासको प्रक्रियामा, परमेश्‍वरको अनन्त शुद्धीकरणको दायरामा हरेक व्यक्तिले आफ्नो व्यक्तिगत अभिप्रायहरू र उद्देश्यहरू ल्याउँछन्। यदि यसो भएन भने, कसैलाई प्रयोग गर्ने कुनै उपाय परमेश्‍वरसँग हुँदैनथ्यो, र उहाँले जे काम मानिसमा गर्नुपर्थ्यो, त्यो कुनै पनि हालतमा हुँदैनथियो। परमेश्‍वरले पहिला मानिसहरूलाई शुद्ध पार्नुहुन्छ, र यो प्रक्रियामार्फत तिनीहरूले आफैलाई चिन्‍न सक्छन् र परमेश्‍वरले तिनीहरूलाई परिवर्तन गर्नुहुन्छ। त्यसपछि मात्रै परमेश्‍वरले आफ्नो जीवनद्वारा तिनीहरूमा काम गर्नुहुन्छ, र त्यसरी मात्रै तिनीहरूको हृदय परमेश्‍वरतिर पूर्ण रूपले फर्किन सक्छ। त्यसैले म भन्छु, परमेश्‍वरमा विश्‍वास गर्ने कार्य मानिसहरूले भनेजस्तो सजिलो छैन। परमेश्‍वरको नजरमा, यदि तँसँग ज्ञान मात्रै छ तर उहाँको जीवनरूपी वचन छैन भने, र यदि तँ आफ्नो ज्ञानमा मात्र सीमित छस् तर सत्यतालाई अभ्यास गर्न र परमेश्‍वरको वचनअनुसार जिउन सक्दैनस् भने, तँसँग परमेश्‍वरलाई प्रेम गर्ने हृदय छैन भन्‍ने कुराको प्रमाण यही हो, तेरो हृदय परमेश्‍वरको होइन भनी यसले देखाउँछ। कुनै व्यक्तिले परमेश्‍वरमा विश्‍वास गरेर उहाँलाई चिन्दछ: यो नै अन्तिम लक्ष्य हो, र मानिसको खोजको लक्ष्य हो। तैँले परमेश्‍वरको वचन अनुसार जिउन प्रयत्‍न गर्नैपर्छ, ताकि तेरो अभ्यासमा ती वचन फलदायी हुन सकून्। यदि तँसँग सैद्धान्तिक ज्ञान मात्र छ भने, परमेश्‍वरमाथिको तेरो विश्‍वास शून्य हुनेछ। यदि तैँले उहाँको वचन अभ्यास गरिस् र त्यसमा जिइस् भने मात्रै तेरो विश्‍वास पूर्ण भएको र परमेश्‍वरका अभिप्रायहरू अनुसार भएको मान्‍न सकिन्छ। यस मार्गमा, धेरै मानिस थुप्रै ज्ञानका कुरा बोल्न सक्छन्, तर तिनीहरूको मृत्युको समयमा, तिनीहरूका आँखा आँसुले भरिन्छन्, र तिनीहरू व्यर्थमा एउटा जीवनकाल खेर फालेकोमा र बुढेसकालसम्म जिएकोमा आफैलाई घृणा गर्छन्। तिनीहरू धर्मसिद्धान्तहरू मात्र बुझ्छन्, तर सत्यता अभ्यास गर्न सक्दैनन् वा परमेश्‍वरको गवाही दिन सक्दैनन्; तिनीहरू केवल यता-उता दौडिन्छन्, काममा घाँटीसम्म डुबेका हुन्छन्, अनि मृत्युको मुखमा पुगेपछि मात्र तिनीहरूले आफूमा साँचो गवाही नभएको र तिनीहरूले परमेश्‍वरलाई बिलकुल नचिनेको कुरा अन्ततः देख्छन्। अनि के यो धेरै ढिलो हुँदैन र? तँ किन आजको सदुपयोग गरेर आफूले प्रेम गर्ने सत्यता पछ्याउँदैनस्? किन भोलिसम्म कुर्छस्? यदि तँ जीवनमा सत्यताका लागि कष्ट भोग्दैनस् वा त्यो प्राप्‍त गर्न खोज्दैनस् भने, के तैँले मृत्युको घडीमा पछुतो महसुस गर्न चाहेको हुन सक्छ? यदि त्यसो हो भने, किन परमेश्‍वरमा विश्‍वास गर्नु? वास्तवमा, मानिसहरूले यदि अलिकति मात्र परिश्रम गरे भने, तिनीहरूले सत्यता अभ्यास गर्न सक्‍ने र परमेश्‍वरलाई सन्‍तुष्‍ट पार्न सक्ने थुप्रै मामलाहरू छन्। मानिसहरूका मन सधैँ धुमिल हुने हुनाले मात्रै तिनीहरूले परमेश्‍वरका खातिर काम गर्न सक्दैनन्, र निरन्तर तिनीहरूको देहका खातिर दौडधुप गर्छन्, अन्त्यमा केही प्राप्‍त गर्दैनन्। यसकारण, मानिसहरू निरन्तर चिन्ता र कठिनाइहरूद्वारा पीडित हुन्छन्। के यी शैतानका यातनाहरू होइनन्? के यो देहको भ्रष्‍टता होइन? तैँले आफ्नो ओठ चलाएर परमेश्‍वरलाई मूर्ख बनाउने कोसिस गर्नु हुँदैन। बरु, तैँले वास्तविक कार्य गर्नुपर्छ। आफैलाई छल नगर्—त्यसको अर्थ के हुन सक्छ? आफ्नो देहका खातिर जिएर अनि ख्याति र प्राप्तिका लागि सङ्घर्ष गरेर तैँले के प्राप्‍त गर्न सक्छस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले तँ सत्यताको निम्ति जिउनुपर्छ

३५७. परमेश्‍वरमा सच्चा रूपले विश्‍वास गर्ने मानिसहरू परमेश्‍वरको वचन अभ्यास गर्न इच्छुक हुने र सत्यता अभ्यास गर्न इच्छुक हुनेहरू हुन्। परमेश्‍वरप्रतिको आफ्नो गवाहीमा साँच्चै दृढ रहन सक्ने मानिसहरू पनि उहाँको वचन अभ्यास गर्न इच्छुक हुन सक्ने र सच्चा रूपमा सत्यताको पक्षमा उभिन सक्नेहरू हुन्। कुटिल र अधर्मी अभ्यासहरूमा संलग्न हुने मानिसहरू सबै सत्यताबाट वञ्चित हुन्छन् र तिनीहरू सबैले परमेश्‍वरलाई लज्जित पार्छन्। मण्डलीमा विवाद खडा गर्नेहरू शैतानको नोकर हुन्, तिनीहरू शैतानको मूर्तरूप हुन्। त्यस्ता मानिसहरू अत्यन्तै दुर्भावपूर्ण हुन्छन्। अझै पनि खुट्ट्याउने क्षमता नहुनेहरू सत्यताको पक्षमा उभिन असक्षम हुन्छन्, तिनीहरू सबै दुष्ट अभिप्रायहरू पाल्ने र सत्यतालाई कलङ्कित पार्ने मानिस हुन्। तिनीहरू शैतानको अझ खाँटी प्रतिनिधि हुन्। तिनीहरूको छुटकारा असम्भव छ र तिनीहरू स्वाभाविक रूपमा हटाइनेछन्। परमेश्‍वरको घरले सत्यता अभ्यास नगर्नेहरूलाई रहन दिँदैन, न त यसले जानाजानी मण्डली भत्काउनेहरूलाई नै रहन दिन्छ। तर, अहिले निष्कासनको काम गर्ने समय होइन; त्यस्ता मानिसहरूलाई अन्त्यमा केवल प्रकट गरिनेछ र हटाइनेछ। यी मानिसहरूमाथि अब कुनै व्यर्थको काम गरिनेछैन; जो शैतानहरू हुन् तिनीहरू सत्यताको पक्षमा उभिन सक्दैनन्, जबकि सत्यता खोज्नेहरू उभिन सक्छन्। सत्यता अभ्यास नगर्ने मानिसहरू सत्यताको मार्ग सुन्न र सत्यताको गवाही दिन अयोग्य हुन्छन्। सत्यता तिनीहरूले सुन्नका लागि नै होइन; बरु, यो सत्यता अभ्यास गर्नेहरूप्रति लक्षित हुन्छ। हरेक व्यक्तिको परिणाम प्रकट हुनुअघि, मण्डलीलाई बाधा दिने र काममा अवरोध पुऱ्याउनेहरूलाई पहिले पन्छाइनेछ अनि अहिलेका लागि एक्लै छोडिनेछ। काम पूरा भएपछि, यी मानिसहरू हरेकलाई प्रकट गरिनेछ र त्यसपछि तिनीहरूलाई हटाइनेछ। अहिलेका लागि, सत्यता प्रदान गरिँदै गर्दा, तिनीहरूलाई बेवास्ता गरिनेछ। जब सम्पूर्ण सत्यता मानवजातिलाई प्रकट गरिन्छ, तब मानिसहरूलाई हटाउन सुरु गरिनेछ; त्यो सबै मानिसलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिने समय हुनेछ। खुट्ट्याउने क्षमता नभएकाहरूका सानातिना चालहरूले तिनीहरूलाई दुष्टहरूको हातबाट विनाश हुन डोऱ्याउनेछन्, तिनीहरूलाई उनीहरूले लोभ्याउनेछन् र तिनीहरू कहिल्यै फर्कनेछैनन्। अनि तिनीहरू यस्तो व्यवहारका योग्य हुन्छन्, किनभने तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्, किनभने तिनीहरू सत्यताको पक्षमा उभिन असक्षम हुन्छन् र किनभने तिनीहरू दुष्ट मानिसहरूलाई पछ्याउँछन्, दुष्ट मानिसहरूको पक्षमा उभिन्छन् अनि परमेश्‍वरको प्रतिरोध गर्न दुष्ट मानिसहरूसँग मिलेमतो गर्छन्। तिनीहरूलाई ती दुष्ट मानिसहरूले प्रकट गर्ने कुरा दुष्टता हो भन्‍ने राम्ररी थाहा हुन्छ, तैपनि तिनीहरू दुस्साहस गर्छन् र तिनीहरूलाई पछ्याउन सत्यतालाई पिठ्युँ फर्काउँछन्। के सत्यता अभ्यास नगर्ने तर विनाशकारी र घृणित कुराहरू गर्ने यी मानिसहरू सबैले दुष्टता गरिरहेका छैनन् र? तिनीहरूमध्ये “राजाहरू” का रूपमा कार्य गर्नेहरू र तिनीहरूलाई पछ्याउने अरूहरू भए पनि, के परमेश्‍वरको प्रतिरोध गर्ने तिनीहरूको प्रकृति उस्तै छैन र? परमेश्‍वर तिनीहरूलाई मुक्ति दिनुहुन्न भनी दाबी गर्न तिनीहरूसँग के बहाना हुन सक्छ? परमेश्‍वर धर्मी हुनुहुन्न भनी दाबी गर्न तिनीहरूसँग के बहाना हुन सक्छ? के तिनीहरूलाई तिनीहरूकै दुष्टताले नष्ट गरिहेको छैन र? के तिनीहरूलाई तिनीहरूको आफ्नै विद्रोहीपनले नरकमा तानिरहेको छैन र? सत्यता अभ्यास गर्ने मानिसहरूले अन्त्यमा सत्यताको कारण मुक्ति पाउनेछन् र तिनीहरू सिद्ध पारिनेछन्। सत्यता अभ्यास नगर्नेहरूले अन्त्यमा सत्यताको कारण आफूमाथि विनाश ल्याउनेछन्। सत्यता अभ्यास गर्ने र अभ्यास नगर्नेहरूको पर्खाइमा हुने परिणामहरू यिनै हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी

अघिल्लो: क. परमेश्‍वरमाथिको विश्‍वास भनेको के हो त्यसलाई प्रकट गर्ने सम्बन्धमा

अर्को: ग. कसरी आफैलाई चिन्‍ने र साँचो पश्‍चात्ताप हासिल गर्ने

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्