ख. सत्यताको अभ्यास कसरी गर्ने, कसरी सत्यतालाई बुझ्ने र वास्तविकतामा प्रवेश गर्ने सो सम्बन्धमा
३४४. अहिले राज्यको युग हो। तँ यो नयाँ युगमा प्रवेश गरेको छस् कि छैनस् त्यो तँ परमेश्वरका वचनहरूका यथार्थतामा प्रवेश गरेको छस् कि छैनस्, उहाँका वचनहरू तेरो जीवन वास्तविकता बनेको छ कि छैन त्यसमा निर्भर हुन्छ। हरेक व्यक्तिलाई परमेश्वरका वचनहरू परिचित गराइएको छ ताकि, अन्त्यमा, सबै मानिसहरू परमेश्वरको वचनको संसारमा जिऊन्, र भित्रैबाट हरेक व्यक्तिलाई उहाँका वचनहरूले अन्तर्दृष्टि र प्रकाश दिऊन्। यदि, यो समयको दौरान, तँ परमेश्वरका वचनहरू पढ्नमा लापरवाह भइस् भने, र उहाँका वचनहरूमा तेरो रुची छैन भने, यसले तेरो स्थिति गलत छ भन्ने देखाउँछ। यदि तँ वचनको युगमा प्रवेश गर्न सक्दैनस् भने, तँमा पवित्र आत्माले काम गर्नुहुन्न; यदि तँ यो युगमा प्रवेश गरेको छस् भने, उहाँले आफ्नो काम गर्नुहुनेछ। पवित्र आत्माको काम प्राप्त गर्न वचनको युगको प्रारम्भमा तैँले के गर्न सक्छस्? यो युगमा, र तिमीहरूका माझमा, परमेश्वरले उल्लिखित तथ्य हासिल गर्नुहुनेछ: हरेक व्यक्तिले परमेश्वरका वचनहरू जिउनु पर्नेछ, सत्यतालाई व्यवहारमा लागू गर्न सक्नु पर्नेछ, र परमेश्वरलाई गम्भीरतापूर्वक प्रेम गर्नु पर्नेछ; सबै मानिसहरूले परमेश्वरका वचनहरूलाई आधारको रूपमा र आफ्नो वास्तविकताको रूपमा प्रयोग गर्नु पर्नेछ, र तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय हुनुपर्नेछ; र परमेश्वरका वचनहरूको अभ्यासद्वारा मानिसले त्यसपछि परमेश्वरसँगै राजसी शक्ति चलाउने छ। परमेश्वरले हासिल गर्नुपर्ने काम यही हो। के तँ परमेश्वरका वचनहरू नपढी रहन सक्छस्? आज, उहाँका वचनहरू नपढी एक वा दुई दिन पनि बिताउन सकिँदैन भन्ने अनुभव गर्नेहरू धेरै छन्। उनीहरूले उहाँका वचनहरू हरेक दिन पढ्नुपर्छ, र यदि समयले साथ दिएन भने, तिनीहरूलाई सुन्नु नै काफी हुनेछ। पवित्र आत्माले मानिसहरूलाई दिने आभास यही हो, र उहाँले उनीहरूलाई प्रेरित गर्न सुरु गर्ने तरिका यही नै हो। यसको अर्थ, वचनहरूद्वारा उहाँ मानिसहरूलाई प्रेरित गर्नुहुन्छ, ता कि उनीहरू परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्न सकून्। यदि, परमेश्वरका वचनहरू नखाई र नपिई केवल एक दिनपछि तैँले अँध्यारो र तिर्खा अनुभूति गर्छस् र यसलाई सहन सक्दैनस् भने, तँ पवित्र आत्माद्वारा चलायमान भएको छस्, र उहाँ तँबाट फर्किएर जानुभएको छैन भन्ने यसले देखाउँछ। अतः, यो प्रवाहमा रहेको तँ नै होस्। यद्यपि, यदि परमेश्वरका वचनहरू नखाई र नपिई एक दिन वा दुई दिन पछि, तैँले केही पनि अनुभूति गरिनस् भने, यदि तँलाई तिर्खा छैन, र तँ कत्ति पनि प्रभावित भएको छैनस् भने, पवित्र आत्मा तँबाट फर्किएर जानुभएको छ भन्ने यसले देखाउँछ। यसको अर्थ, तँभित्रको स्थितिमा केही खराबी छ भन्ने हुन्छ; तँ वचनको युगमा प्रवेश गरेको छैनस्, र तँ पछाडि परेकाहरूमध्ये एक होस्। मानिसहरूलाई शासन गर्न परमेश्वरले वचनहरू प्रयोग गर्नुहुन्छ; यदि तैँले परमेश्वरका वचनहरू खाइस् र पिइस् भने, तँलाई असल अनुभूति हुन्छ, र यदि तैँले त्यसो गरिनस् भने, तँसँग कुनै हिँड्ने मार्ग छैन। परमेश्वरका वचनहरू मानिसहरूका खाना, र उनीहरूलाई प्रेरित गर्ने शक्ति बन्छन्। बाइबल भन्छ, “मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्नेछ” (मत्ती ४:४)। आज, परमेश्वरले यो काम पूरा गर्नुहुनेछ, र उहाँले यो सच्चाइ तिमीहरूमा हासिल गर्नुहुनेछ। विगतमा कसरी, मानिसहरू परमेश्वरका वचनहरू नपढी धेरै दिन बिताउन सक्थे र तर पनि सधैँ जस्तै खान र काम गर्न सक्थे, तर आजको अवस्था पनि यस्तै छैन र? यो युगमा, परमेश्वरले यावत् थोकलाई शासन गर्न मुख्यतः वचनहरू प्रयोग गर्नुहुन्छ। परमेश्वरका वचनहरूद्वारा, मानिसलाई न्याय गरिन्छ र सिद्ध पारिन्छ, त्यसपछि अन्तिममा राज्यमा लगिन्छ। खासगरी राज्यको युगमा, परमेश्वरका वचनहरूले मात्र मानिसको जीवन आपूर्ति गर्न सक्छन्, र परमेश्वरका वचनहरूले मात्र मानिसलाई प्रकाश र अभ्यासको मार्ग दिन सक्छन्। जबसम्म तँ परमेश्वरका वचनहरूको वास्तविकताबाट बाहिर जाँदैनस्, हरेक दिन उहाँका वचनहरूलाई खाने र पिउने गर्छस्, तबसम्म परमेश्वरले तँलाई सिद्ध बनाउन सक्नुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो
३४५. परमेश्वरका वचनहरूभित्र, मानिसले धारण गर्नुपर्ने सत्यताहरू हुन्छन्, मानवजातिको निम्ति सबैभन्दा फाइदाजनक र सहयोगी हुने कुराहरू हुन्छन्, तिमीहरूको शरीरलाई चाहिने शक्ति र सम्पोषण हुन्छन्, मानिसको सामान्य मानवतालाई पुनर्स्थापित गर्न सहायता गर्ने कुराहरू हुन्छन् र मानिस सुसज्जित हुनुपर्ने सत्यताहरू हुन्छन्। तिमीहरू जति बढी परमेश्वरको वचनलाई अभ्यास गर्छौ, त्यति नै चाँडै तिमीहरूको जीवन फक्रनेछ अनि त्यति नै धेरै सत्यता स्पष्ट हुनेछ। तिमीहरू कदमा बढ्दै जाँदा तिमीहरूले आत्मिक क्षेत्रका कुराहरूलाई बढी स्पष्टतापूर्वक देख्नेछौ अनि शैतानमाथि विजय प्राप्त गर्न तिमीहरूले बढी शक्ति पाउनेछौ। तिमीहरूले परमेश्वरको वचनलाई अभ्यास गर्दा तिमीहरूले नबुझेका सत्यताको धेरै कुराहरू स्पष्ट हुनेछन्। धेरै मानिसहरू परमेश्वरको वचनको पाठलाई बुझे मात्र पनि सन्तुष्ट हुन्छन् र अभ्यासमा आफ्नो अनुभव गहिर्याउनुभन्दा सिद्धान्तहरूले आफूलाई सुसज्जित बनाउने कुरामा ध्यान दिन्छन् तर के त्यो फरिसीहरूको तरिका होइन र? त्यसैले यसो गरेर तिनीहरूले कसरी “परमेश्वरको वचन जीवन हो” भन्ने वाक्यांशको वास्तविकता प्राप्त गर्न सक्छन्? परमेश्वरको वचन पढ्दैमा व्यक्तिको जीवन बढ्न सक्दैन, परमेश्वरको वचनलाई अभ्यास गरेर मात्रै व्यक्तिको जीवन बढ्न सक्छ। यदि जीवन र कद पाउनको निम्ति मात्र परमेश्वरको वचनलाई बुझ्नु आवश्यक छ भन्ने तेरो विश्वास हो भने तेरो बुझाइ त्रुटिपूर्ण छ। साँचो प्रकारले परमेश्वरको वचन बुझ्ने काम तब हुन्छ जब तैँले सत्यतालाई अभ्यास गर्छस् अनि तैँले बुझ्नुपर्छ कि “सत्यतालाई अभ्यास गरेर मात्रै यसलाई बुझ्न सकिन्छ”। आज परमेश्वरको वचन पढेर तैँले परमेश्वरको वचनलाई चिन्छु भनेर मात्र भन्न सक्छस् तर यसलाई बुझ्छु भनेर तैँले भन्न सक्दैनस्। कोही भन्छन्, व्यक्तिले सत्यता अभ्यास गर्न सक्नुअघि पहिले यसलाई बुझ्नैपर्छ, तर यो आंशिक रूपले मात्रै सही हो र निश्चय नै पूर्ण रूपले चाहिँ साँचो होइन। तैँले सत्यताको ज्ञान पाउनुअघि तैँले त्यो सत्यतालाई अनुभव गरेको हुँदैनस्। तैँले सुनेको कुनै उपदेशमा केही बुझेको अनुभूति गर्नु साँचो प्रकारले बुझ्नु होइन—यो त केवल सत्यताको शाब्दिक अर्थहरूलाई मात्रै ग्रहण गर्नु हो र यो भित्री साँचो अर्थलाई बुझ्नु जस्तै होइन। सत्यताको सतही ज्ञान हुँदैमा तँ वास्तवमै त्यसलाई बुझ्छस् वा तँसित त्यसको बारेमा ज्ञान छ भन्ने अर्थ लाग्दैन; सत्यताको साँचो अर्थ त त्यसलाई अनुभव गरेपछि आउँछ। त्यसकारण, तैँले सत्यतालाई अनुभव गरेपछि मात्रै तैँले त्यसलाई बुझ्न सक्छस्, अनि मात्रै तैँले त्यसका लुकेका भागहरूलाई राम्ररी बुझ्न सक्छस्। शब्दमा लुकेको अन्य अर्थलाई राम्ररी बुझ्ने र सत्यताको सारलाई बुझ्ने एउटै उपाय भनेको अनुभवलाई गहिर्याउनु हो। त्यसकारण, तँ सत्यतासित जहाँ पनि जान सक्छस् तर यदि तँमा सत्यता छैन भने तेरो आफ्नो परिवारका सदस्यहरूलाई समेत तैँले विश्वस्त तुल्याउने प्रयास गर्ने कुरा सोच्दै नसोचे हुन्छ, धर्मी मानिसहरूको त कुरै छाडिदे। सत्यताविना तँ हावामा उडिरहेको हिमकण मात्रै होस्, तर सत्यताको साथले तँ खुशी र स्वतन्त्र हुन सक्छस् अनि कसैले तँलाई आक्रमण गर्न पनि सक्दैन। सिद्धान्त जतिसुकै बलियो भएतापनि त्यसले सत्यतामाथि विजय पाउन सक्दैन। सत्यताले संसार आफै झुल्न सक्छ अनि पहाडहरू र समुद्रहरू हल्लन सक्छन् जबकि सत्यताको कमीले बलियो शहरका पर्खालहरू पनि किराहरूद्वारा भग्नावशेषमा बदलिनसक्छ। यो एउटा स्पष्ट तथ्य हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यतालाई बुझिसकेपछि त्यसलाई अभ्यास गर्नुपर्छ
३४६. परमेश्वरले मानिसहरूमा वास्तविकताबारे कुरा गर्ने क्षमता होस् भन्ने मात्र चाहनुहुन्न; त्यो त धेरै सजिलो हुनेछ, होइन र? त्यसोभए, परमेश्वरले किन जीवन प्रवेशबारे कुरा गर्नुहुन्छ? किन उहाँले रूपान्तरणको कुरा गर्नुहुन्छ? यदि मानिसहरू वास्तविकताको बारेमा खोक्रो कुरा गर्न मात्र सक्षम छन् भने, के तिनीहरूले आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न सक्छन्? राज्यका असल सिपाहीहरूलाई केवल वास्तविकताको बारेमा कुरा गर्न वा घमण्ड गर्न सक्ने मानिसहरूको समूह हुनका निम्ति मात्र तालिम दिइँदैन; बरु, हरसमय परमेश्वरको वचन अनुसार जिउन, जस्तोसुकै अवरोधहरूको सामना गर्नु परे पनि अटल रहन, र निरन्तर परमेश्वरको वचनअनुसार जिउन र संसारमा नफर्कनको लागि तिनीहरूलाई तालिम दिइन्छ। परमेश्वरले बताउनुभएको वास्तविकता यही हो; परमेश्वरले मानिससँग गर्नुभएको माग यही हो। यसैले, परमेश्वरले बताउनुभएको वास्तविकतालाई अति नै साधारण नठान। पवित्र आत्माबाट अन्तर्दृष्टि मात्रै प्राप्त गर्नु वास्तविकता धारण गर्नु बराबर होइन। मानिसको कद यस्तो छैन—यो परमेश्वरको अनुग्रह हो, जसमा मानिसको कुनै योगदान छैन। प्रत्येक व्यक्तिले पत्रुसको कष्ट सहनुपर्छ, यति मात्र होइन, तिनीहरूले पत्रुसको महिमा धारण गर्नुपर्दछ, जसमा तिनीहरू परमेश्वरको काम प्राप्त गरेपछि जिउँछन्। यसलाई मात्र वास्तविकता भन्न सकिन्छ। तैँले वास्तविकताको विषयमा कुरा गर्न सक्छस् भन्दैमा तँसँग त्यो छ भन्ने नसोच्; त्यो गलत हो। त्यस्ता विचारहरू परमेश्वरका अभिप्रायसँग मेल खाँदैनन् र ती कुराको कुनै वास्तविक महत्त्व हुँदैन। भविष्यमा यस्ता कुरा नगर्—त्यस्ता भनाइहरूलाई समाप्त गर्। परमेश्वरका वचनहरूको बारेमा हास्यास्पद बुझाइ भएकाहरू सबै गैरविश्वासीहरू हुन्। तिनीहरूसँग कुनै वास्तविक ज्ञान हुँदैन, वास्तविक कद हुने कुरा त परै जाओस्; तिनीहरू अज्ञानी मानिसहरू हुन् जसमा वास्तविकताको कमी हुन्छ। अर्को शब्दमा, परमेश्वरका वचनहरूको सारभन्दा बाहिर जिउनेहरू सबै गैरविश्वासीहरू हुन्। मानिसहरूले गैरविश्वासीहरू ठानेका व्यक्तिहरू परमेश्वरको नजरमा जनावरहरू हुन्, र परमेश्वरले गैरविश्वासीहरू ठान्नुभएका मानिसहरू त्यस्ता व्यक्तिहरू हुन् जसको जीवनमा परमेश्वरका वचनहरू हुँदैनन्। त्यसकारण जुन मानिसहरूसँग परमेश्वरको वचनको वास्तविकता हुँदैन र जो उहाँको वचनअनुसार जिउन असफल हुन्छन् तिनीहरू गैरविश्वासीहरू हुन् भनेर भन्न सकिन्छ। परमेश्वरको चाहना भनेको सबैलाई उहाँको वचनको वास्तविकता अनुसार जिउन लगाउनु हो—सबै जनालाई वास्तविकताको बारेमा कुरा गर्न लगाउनु मात्र होइन, तर, त्योभन्दा बढी, सबैलाई उहाँका वचनहरूको वास्तविकता अनुसार जिउन सक्ने तुल्याउनु हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यतालाई अभ्यास गर्नु मात्रै वास्तविकता धारण गर्नु हो
३४७. परमेश्वरका वचनहरूको सच्चा बुझाइ हासिल गर्नु सजिलो विषय होइन। यस्तो तरिकाले नसोच: “म परमेश्वरका वचनहरूको शाब्दिक अर्थ व्याख्या गर्न सक्छु र सबै जनाले मेरो व्याख्या राम्रो छ भनेर भन्छन् र मलाई स्याबासी दिन्छन्, यसको मतलब मैले परमेश्वरका वचनहरूलाई बुझ्छु।” यो परमेश्वरका वचनहरूलाई बुझ्नु होइन। यदि तैँले परमेश्वरका वाणीहरूभित्रबाट केही ज्योति प्राप्त गरेको छस् भने, र तैँले उहाँका वचनहरूको साँचो अर्थको अनुभूति प्राप्त गरेको छस् भने, र यदि तैँले उहाँका वचनहरूपछाडिको अभिप्राय र तिनीहरूले अन्तमा जे-जस्तो प्रभाव पार्नेछन् सो व्यक्त गर्न सक्छस् भने—यदि तैँले यी सबै कुराहरूको बारेमा स्पष्ट बुझाइ हासिल गरिसकेको छस् भने—तैँले परमेश्वरका वचनहरूको बारेमा केही तहको बुझाइ हासिल गरेको छस् भन्ने मान्न सकिन्छ। यसरी, परमेश्वरका वचनहरूलाई बुझ्नु त्यति सरल छैन। तैँले परमेश्वरका वचनहरूको शाब्दिक अर्थको आलङ्कारिक, अतिरञ्जित व्याख्या गर्न सक्छस् भन्दैमा तैँले तिनलाई बुझ्छस् भनेर भन्न मिल्दैन। तैँले तिनीहरूको शाब्दिक अर्थको जतिसुकै व्याख्या गर्न सक्ने भए तापनि, तेरो व्याख्या अझै पनि मानव कल्पना र मानव सोच शैलीमा आधारित हुन्छ। यो बेकार छ! तैँले कसरी परमेश्वरका वचनहरूलाई बुझ्न सक्छस्? यसको कडी भनेको तिनीहरू भित्रैबाट सत्यता खोजी गर्नु हो। त्यस तरिकाले मात्रै तैँले परमेश्वरका वचनहरू साँचो रूपमा बुझ्न सक्छस्। परमेश्वरले कहिल्यै पनि खोक्रा कुराहरू बोल्नुहुन्न। उहाँले बोल्नुहुने हरेक वाक्यमा विस्तृत विवरणहरू हुन्छन्, जसलाई अवश्य नै उहाँका वचनहरूमा थप पर्दाफास गरिन्छ, अनि तिनीहरूलाई फरक रूपमा व्यक्त गर्न सकिन्छ। परमेश्वरले सत्यता व्यक्त गर्नुहुने शैलीहरूलाई मानिसले पूर्ण रूपमा बुझ्न सक्दैन। परमेश्वरका वाणीहरू एकदमै गहन हुन्छन् र तिनलाई मानव सोचाइद्वारा सजिलै बुझ्न सकिँदैन। मानिसहरूले जबसम्म प्रयत्न गर्छन् तबसम्म सत्यताको हरेक पक्षको सम्पूर्ण अर्थ मोटामोटी रूपमा पत्ता लगाउन सक्छन्। तिनीहरूको लागि यसमा बाँकी रहेका विवरणहरू भने तिनीहरूले यसपछि अनुभवहरू गर्दै जाने क्रममा पवित्र आत्माको अन्तर्दृष्टिले भर्दै जानुपर्नेछ। एउटा भाग भनेको मनन गर्दै परमेश्वरका वचनहरूको बुझाइ हासिल गर्नु र तिनलाई पढेर तिनको विशेष विषयवस्तु खोजी गर्नु हो। अर्को भागचाहिँ परमेश्वरका वचनहरूको अर्थको बुझाइ तिनलाई अनुभव गरेर र पवित्र आत्माबाट अन्तर्दृष्टि प्राप्त गरेर हासिल गर्नु हो। यी दुई पक्षमा निरन्तर प्रगति गरेर, तैँले परमेश्वरको वचन बुझ्न सक्छस्। यदि तँ यसलाई शाब्दिक रूपमा, पाठको तहमा वा आफ्नै सोच र कल्पनाको आधारमा अर्थ्याउँछस् भने, तैँले यसलाई फूलबुट्टा भरेर आलङ्कारिक शैलीमा व्याख्या गरे पनि, तैँले अझै पनि साँचो रूपमा सत्यता बुझेको हुँदैनस्, र यो सबै अझै पनि मानव सोच र कल्पनामा आधारित हुन्छ। यो पवित्र आत्माको अन्तर्दृष्टिबाट प्राप्त गरिएको हुँदैन। मानिसहरूले आफ्ना धारणा र कल्पनाहरूका आधारमा परमेश्वरका वचनहरूलाई अर्थ लगाउने प्रवृत्ति हुन्छ, र यसरी तिनीहरूले आफूलाई परमेश्वरका वचनहरू प्रसङ्गबाहिर अर्थ्याउँदै परमेश्वरलाई गलत बुझ्न र आलोचना गर्न सक्ने बनाउँछन्, र यो समस्याको कुरा हो। त्यसकारण, परमेश्वरका वचनहरू बुझेर अनि पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गरेर नै मुख्य रूपमा सत्यता प्राप्त हुन्छ। परमेश्वरको वचनको शाब्दिक अर्थ बुझ्न र व्याख्या गर्न सक्दैमा तैँले सत्यता प्राप्त गरेको छस् भन्ने हुँदैन। यदि शाब्दिक तहमा परमेश्वरको वचन बुझ्नुको अर्थ तैँले सत्यता बुझेको छस् भन्ने हुने भए, तँलाई थोरै शिक्षा र ज्ञान मात्रै चाहिन्थ्यो, तब किन तँलाई पवित्र आत्माको अन्तर्दृष्टि चाहिन्थ्यो र? के परमेश्वरको काम मानव मस्तिष्कले बुझ्न सक्ने कुरा हो? त्यसकारण, सत्यता बुझ्ने कार्य मानव धारणा वा कल्पनामा आधारित हुँदैन। वास्तविक अनुभवात्मक ज्ञान प्राप्त गर्नका लागि तँलाई पवित्र आत्माको अन्तर्दृष्टि, ज्योति, र मार्गदर्शन चाहिन्छ। सत्यता बुझ्ने र प्राप्त गर्ने प्रक्रिया यही हो, र यो अत्यावश्यक सर्त पनि हो।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने
३४८. यदि तिमीहरूले परमेश्वरका थुप्रै वचनहरू पढेका छौ तर केवल शब्दको अर्थ मात्र बुझ्छौ तर वास्तविक रूपमा सामना गरेर परमेश्वरको वचन अनुभव गर्ने कोसिस गर्दैनौ भने, तैँले परमेश्वरको वचन बुझ्ने छैनस्। जहाँसम्म तेरो सवाल छ, परमेश्वरको वचन जीवन होइन, केवल जीवनरहित वचनहरू हुन्। अनि यदि तँ केवल जीवनरहित वचनहरू पालना गर्दै जिउँछस् भने तैँले परमेश्वरको वचनको सार राम्ररी बुझ्न सक्दैनस्, न त तैँले उहाँका अभिप्रायहरू नै बुझ्नेछस्। तैँले उहाँको वचन तेरा वास्तविक अनुभवहरूमा अनुभव गर्छस् भने मात्र परमेश्वरको वचनको आत्मिक अर्थ आफै तँतर्फ खोलिनेछ, अनि अनुभवद्वारा मात्रै तैँले धेरै सत्यताहरूको आत्मिक अर्थ बुझ्न र परमेश्वरको वचनका रहस्यहरूको साँचो खोल्न सक्छस्। यदि तैँले यसलाई अभ्यासमा लगाउँदैनस् भने उहाँको वचन जतिसुकै स्पष्ट भएतापनि तैँले बुझेको कुरा सबै रित्ता वचनहरू र सिद्धान्तहरू हुन्छन् जुन तेरो निम्ति धार्मिक नियमहरू भएका छन्। के फरिसीहरूले गरेको यही नै होइन र? यदि तिमीहरूले परमेश्वरको वचन अभ्यास र अनुभव गर्छौ भने यो तिमीहरूको निम्ति व्यवहारिक बन्छ; यदि तैँले यसलाई अभ्यास गर्न खोज्दैनस् भने परमेश्वरको वचन तेरो निम्ति तेस्रो स्वर्गको दन्त्यकथा भन्दा केही बढी मात्रै हुन्छ। वास्तवमा, परमेश्वरमा विश्वास गर्ने प्रक्रिया भनेको तिमीहरूले उहाँको वचनलाई अनुभव गर्नुको साथै उहाँद्वारा तिमीहरूलाई हासिल गरिने प्रक्रिया हो अथवा यसलाई अझ स्पष्टसित भन्नुपर्दा, परमेश्वरमा विश्वास गर्नु भनेको उहाँको वचनको ज्ञान र बुझाइ प्राप्त गर्नु र उहाँको वचनलाई अनुभव गर्नु र जिउनु हो; परमेश्वरमा विश्वास गर्नुपछाडिको वास्तविकता त्यही नै हो। यदि तिमीहरूले परमेश्वरमा विश्वास गर्छौ अनि परमेश्वरको वचनलाई अभ्यास गर्न र सत्यता वास्तविकतामा प्रवेश गर्न नखोजीकनै अनन्त जीवनको आशा मात्र गर्छौ भने तिमीहरू मूर्ख हौ। यो त भोजमा गएर केवल भोजनलाई हेर्नु र स्वादिष्ट कुराहरूलाई केही नचाखेर तिनीहरूको नाम कण्ठस्थ गर्नु जस्तो मात्रै हुनेछ, त्यहाँ केही पनि खाँदै नखानु वा पिउँदै नपिउनु जस्तो हुनेछ। के त्यस्तो मानिस मूर्ख हुँदैन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यतालाई बुझिसकेपछि त्यसलाई अभ्यास गर्नुपर्छ
३४९. परमेश्वरले मानिसहरूको लागि तय गर्नुभएका मापदण्डहरू त्यति धेरै उच्च छैनन्। मानिसहरूले लगनशील र इमानदार भई अभ्यास गरे भने, “उत्तीर्णाङ्क” प्राप्त गर्नेछन्। साँचो कुरा भन्ने हो भने, सत्यताको बुझाइ, ज्ञान र बोध प्राप्त गर्नु सत्यता अभ्यास गर्नुभन्दा धेरै जटिल छ। पहिला, तैँले आफूले जति बुझ्छस् त्यति अभ्यास गर् अनि तैँले जे बोध गरेको छस् त्यो अभ्यास गर्। यस तरिकाले, तैँले सत्यताको साँचो ज्ञान र बोध क्रमिक रूपमा हासिल गर्दै जानेछस्। पवित्र आत्माले यिनै चरण र माध्यममार्फत काम गर्नुहुन्छ। यदि यस तरिकाले समर्पणताको अभ्यास गरिनस् भने, तैँले केही पनि हासिल गर्नैछैनस्। यदि तँ सधैँ आफ्नै इच्छाअनुसार काम गर्छस् र समर्पणता अभ्यास गर्दैनस् भने, के पवित्र आत्माले तँभित्र काम गर्नुहुनेछ? के पवित्र आत्माले तैँले चाहेअनुसार काम गर्नुहुन्छ? कि उहाँले तँसित जे कमी छ त्योअनुसार र परमेश्वरका वचनहरूको अधारमा काम गर्नुहुन्छ? यदि तँलाई यो कुरा स्पष्ट छैन भने, तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्नेछैनस्। किन धेरैजसो मानिसहरू परमेश्वरका वचनहरू पढ्नमा लागिपर्छन्, तर तिनीहरूले केवल ज्ञान मात्र प्राप्त गर्छन् र त्यसपछि वास्तविक मार्गको बारेमा केही पनि भन्न सक्दैनन्? के तँलाई ज्ञान धारण गर्नु नै सत्य धारण गर्नु हो भन्ने लाग्छ? के त्यो एक भ्रमित दृष्टिकोण होइन र? तैँले समुद्र किनारमा जत्ति धेरै बालुवाका कण छन्, त्यति नै धेरै ज्ञानका टुक्राहरूको कुरा बोल्न सक्छस् होला, तर तीमध्ये कुनैमा पनि वास्तविक मार्ग हुँदैन। के तैँले यसो गरेर मानिसहरूलाई मूर्ख बनाउने कोसिस गरिरहेको छैनस् र? के तैँले समर्थन गर्ने कुनै सार नभएको खोक्रो तमासा प्रदर्शन गरिरहेको छैनस् र? यस्ता सबै व्यवहार मानिसहरूका लागि हानिकारक हुन्छन्! सिद्धान्त जति उच्च हुन्छ र त्यो जति धेरै वास्तविकतारहित हुन्छ, त्यति नै धेरै यो मानिसहरूलाई वास्तविकताभित्र लैजान असक्षम हुन्छ। सिद्धान्त जति उच्च हुन्छ, त्यति नै बढी त्यसले तँलाई परमेश्वरको विरुद्धमा विद्रोह गर्ने र विरोध गर्ने बनाउँछ। आध्यात्मिक सिद्धान्तलाई शीरमा नचढाओ—यसको केही फाइदा छैन! कतिपय मानिसले दशकौँदेखि आध्यात्मिक सिद्धान्तबारे कुरा गरिरहेका छन्, र तिनीहरू महान् आत्मिक व्यक्तित्व बनेका छन्, तर आखिरमा तिनीहरू पनि सत्यता वास्तविकतामा प्रवेश गर्न असफल हुन्छन्। किनभने तिनीहरूले परमेश्वरका वचनहरू अभ्यास वा अनुभव गरेका छैनन्, तिनीहरूसित अभ्यासका सिद्धान्त वा मार्ग छैनन्। यस्ता मानिसहरूसित सत्यता वास्तविकता हुँदैन, अनि कसरी तिनीहरूले अरूलाई परमेश्वरप्रतिको विश्वासको सही मार्गमा ल्याउन सक्छन्? तिनीहरूले मानिसहरूलाई बहकाउन मात्र सक्छन्। के यो अरूलाई र आफैलाई हानि गर्नु होइन र? कम्तीमा पनि, तँ आफ्नो ठीक अगाडि भएका वास्तविक समस्या समाधन गर्न सक्षम हुनैपर्छ। भन्नुको अर्थ, तँ परमेश्वरका वचनहरू अभ्यास र अनुभव गर्न अनि सत्यतालाई व्यवहारमा उतार्न सक्षम हुनैपर्छ। यो मात्र परमेश्वरप्रतिको समर्पणता हो। तैँले जीवन प्रवेश प्राप्त गरेको छस् भने मात्र, परमेश्वरको लागि काम गर्न योग्य हुन्छस् र तँ इमानदारीसाथ परमेश्वरमा समर्पित हुँदा मात्र, तैँले परमेश्वरबाट अनुमोदन पाउन सक्छस्। सधैँभरि भव्य अभिव्यक्तिहरू नदे र ठूलो सिद्धान्तको कुरा नगर्; यो वास्तविक होइन। तैँले मानिसहरूलाई तेरो प्रशंसा गर्न लगाउनका लागि आध्यात्मिक सिद्धान्तबारे आडम्बरी कुरा गर्नु भनेको परमेश्वरको गवाही दिनु होइन, त्यो त आफ्नै प्रदर्शन गर्नु मात्र हो। यसले मानिसहरूलाई फिटिक्कै फाइदा पुर्याउँदैन र तिनीहरूमा कुनै सुधार ल्याउँदैन, अनि यसले तिनीहरूलाई सजिलैसित आध्यात्मिक सिद्धान्तको आराधना गर्ने र सत्यता अभ्यास गर्नमा ध्यान नदिने बनाउँछ—अनि के यो मानिसहरूलाई बहकाइरहेको कुरा होइन र? यसो गरिरहँदा, अनेकौँ खोक्रो सिद्धान्त र नियमहरू जन्मनेछन्, जसले मानिसहरूलाई विवश र फन्दामा पार्नेछन्; यो साँच्चै नै लज्जास्पद कुरा हो। त्यसैले, जे वास्तविक छ त्यो धेरै बोल्, साँच्चै अस्तित्वमा रहेका समस्याहरूबारे धेरै कुरा गर् र वास्तविक समस्याहरू समाधान गर्नलाई सत्यता खोज्न धेरै समय बिता; सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। सत्यता अभ्यास गर्न सिक्नका लागि ढिलो नगर्: वास्तविकतामा प्रवेश गर्ने मार्ग यही हो। अरूको अनुभव र ज्ञानलाई आफ्नो निजी सम्पत्ति नठान् र अरूको प्रशंसा पाउन तिनलाई उचालेर नदेखा। तैँले तेरो आफ्नै जीवन प्रवेश प्राप्त गर्नुपर्छ। तैँले सत्यता अभ्यास गरेर र परमेश्वरप्रति समर्पित भएर मात्र जीवन प्रवेश प्राप्त गर्नेछस्। यो नै हरेक व्यक्तिले अभ्यास र ध्यान केन्द्रित गर्नुपर्ने कुरा हुनुपर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। वास्तविकतामा अझ बढी ध्यान देऊ
३५०. के सत्यता सम्बन्धी तिमीहरूको बुझाइ तिमीहरूको आफ्नै अवस्थाहरूसित जोडिएको छ? वास्तविक जीवनमा, तैँले सामना गरेका मानिसहरू, घटनाहरू र वस्तुहरूसित कुन-कुन सत्यताहरू सम्बन्धित छन् भनेर तैँले सुरुमा विचार गर्नुपर्छ; यिनै सत्यताहरूको माझमा तैँले परमेश्वरका अभिप्रायहरू पत्ता लगाउन सक्छस् र उहाँका अभिप्रायहरूमा तैँले जे भेटेको छस्, त्यससित जोडिन सक्छस्। यदि तैँले सामना गरेका कुराहरूसित सत्यताका कुन-कुन पक्षहरूले सम्बन्ध राख्छन् भन्ने तँलाई थाहा छैन तर प्रत्यक्ष रूपमा परमेश्वरका अभिप्रायहरू खोजी गर्न जान्छस् भने, यो एउटा अन्धो तरिका हो जसले परिणामहरू हासिल गर्न सक्दैन। यदि तँ सत्यताको खोजी गर्न र परमेश्वरका अभिप्रायहरू बुझ्न चाहन्छस् भने, पहिले तैँले कस्ता कुराहरू तँमा घटेका छन्, सत्यताको कुन पक्षहरूसित ती सम्बन्धित छन् सो हेरेर, परमेश्वरको वचनमा निश्चित सत्यताको खोजी गर्नु आवश्यक हुन्छ, जुन तैँले अनुभव गरेको कुरासित सम्बन्धित छन्। त्यसपछि तैँले त्यस सत्यतामा तेरो लागि सहि रहेको अभ्यासको मार्गलाई खोजी गर्नुपर्छ; यसरी, तैँले परमेश्वरका अभिप्रायहरूको अप्रत्यक्ष बुझाइ हासिल गर्न सक्छस्। सत्यताको खोजी गर्नु र अभ्यास गर्नु यान्त्रिक रूपले सिद्धान्त प्रयोग गर्नु वा सूत्रलाई पालन गर्नु होइन। सत्यता सूत्रबद्ध हुँदैन, न त यो नियम नै हो। यो मरेको छैन, यो आफैमा जीवन हो, यो सजीव कुरा हो, र यो सृष्टि गरिएको थोकले जीवनमा पछ्याउनुपर्ने नियम र मानिससित जीवनमा हुनुपर्ने नियम हो। यो तैँले अनुभवद्वारा जतिसक्दो धेरै बुझ्नुपर्ने कुरा हो। तेरो अनुभवमा तँ जुन अवस्थामा आइपुगे तापनि, तँलाई परमेश्वरको वचन वा सत्यतादेखि अलग गर्न सकिँदैन, र परमेश्वरको स्वभावको बारेमा तँ जे बुझ्छस्, र परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसबारे तँलाई जे थाहा छ, ती सबैलाई परमेश्वरका वचनहरूमा व्यक्त गरिएका छन्; ती सत्यतासित फुकाउनै नमिल्ने गरी गाँसिएका छन्। परमेश्वरको स्वभाव अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, ती आफैमा सत्यता हुन्; सत्यता परमेश्वरको स्वभाव तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको विशुद्ध प्रस्फुटन हो। यसले उहाँसित जे छ, र उहाँ जे हुनुहुन्छ, त्यसलाई ठोस बनाउँछ र यसले उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसको प्रष्ट अभिव्यक्ति दिन्छ; परमेश्वरले के मन पराउनुहुन्छ अनि के मन पराउनुहुन्न, तैँले के गरेको उहाँ चाहनुहुन्छ, अनि उहाँले तँलाई के गर्न अनुमति दिनुहुन्न, कुन मानिसहरूलाई उहाँले तुच्छ ठान्नुहुन्छ, कुन मानिसहरूमा उहाँले आनन्द लिनुहुन्छ त्यसबारे यसले तँलाई अझ प्रत्यक्ष रूपमा बताउँछ। परमेश्वरले व्यक्त गर्नुहुने सत्यताहरूको पछाडि, मानिसहरूले उहाँको आनन्द, रिस, शोक र खुशीको साथै उहाँको सारलाई देख्न सक्छन्—यो उहाँको स्वभावको प्रकटीकरण हो। परमेश्वरसित जे छ र उहाँ जे हुनुहुन्छ भनी जान्नु, अनि उहाँको वचनबाट उहाँको स्वभाव बुझ्नु बाहेक, सबैभन्दा महत्त्वपूर्ण खाँचो भनेको व्यक्तिगत अनुभवद्वारा यो बुझाइसम्म पुग्नु हो। यदि परमेश्वरलाई चिन्नको लागि व्यक्तिले आफूलाई वास्तविक जीवनबाट हटाउँछ भने, तिनीहरूले त्यसलाई हासिल गर्न सक्षम हुनेछैनन्। परमेश्वरको वचनबाट केही बुझाइ हासिल गर्न सक्ने मानिसहरू छन्, तापनि तिनीहरूको बुझाइ सिद्धान्तहरू तथा शब्दहरूमा सीमित हुन्छ, अनि परमेश्वर स्वयम् वास्तवमा कस्तो हुनुहुन्छ भन्ने कुराबारे भेद उत्पन्न हुन्छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् ३
३५१. मानिसहरूले परमेश्वरमा विश्वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई प्रश्रय दिएका हुन्छन्। जब तँ सत्यलाई अभ्यास गर्दैनस्, तँलाई तेरा सबै अभिप्रायहरू सही लाग्छन्, तर जब तँलाई केही हुन्छ, तँभित्र धेरै गलत अभिप्रायहरू रहेछन् भनेर तैँले देख्नेछस्। तसर्थ, जब परमेश्वरले मानिसहरूलाई सिद्ध पार्नुहुन्छ, उहाँले उनीहरूलाई परमेश्वर सम्बन्धी उनीहरूको ज्ञानमा बाधा पुर्याउने धेरै अभिप्रायहरू उनीहरूभित्र रहेको अनुभव गर्न लगाउनुहुन्छ। जब तैँले तेरा अभिप्रायहरू गलत रहेछन् भनेर पहिचान गर्छस्, यदि तँ तेरो अभिप्राय र धारणाहरू अनुसार अभ्यास गर्न बन्द गर्न सक्छस्, र परमेश्वरको सामु साक्षी दिन सक्षम हुन्छस्, र तँलाई हुने सबै कुराहरूमा तँ तेरो स्थानमा दह्रिलो भएर खडा हुन्छस् भने, यसले तैँले देहको विरोध गरेको छस् भन्ने प्रमाणित गर्छ। जब तँ देहको विरोध गर्छस्, तँभित्र निःसन्देह लडाइँ हुन्छ। शैतानले मानिसहरूलाई जाँच्नेछ र त्यसमा विश्वास गराउन प्रयास गर्नेछ, देहका अभिप्रायहरूमा विश्वास गराउने र देहका रुचिहरू कायम राख्ने प्रयास गर्नेछ—तर परमेश्वरका वचनहरूले मानिसहरूलाई भित्रबाट ज्योति र अन्तर्दृष्टि दिनेछ, र यो समयमा परमेश्वरलाई विश्वास गर्ने कि शैतानलाई विश्वास गर्ने हो भन्ने कुरा तेरै हातमा हुन्छ। मुख्यतया मानिसहरूभित्र रहेका थोकहरूको काटछाँट गर्न, परमेश्वरका अभिप्रायअनुसारको नरहेका उनीहरूको सोच र अभिप्रायहरूको काटछाँट गर्नका लागि परमेश्वरले उनीहरूलाई सत्यको अभ्यास गर्न अह्राउनुहुन्छ। पवित्र आत्माले मानिसहरूलाई उनीहरूको हृदयमा छुनुहुन्छ र उनीहरूलाई अन्तर्दृष्टि र ज्योति दिनुहुन्छ। त्यसैले, हुने सबै कुराहरूका पछाडि लडाइँ हुन्छ: मानिसहरूले सत्यको, वा परमेश्वरप्रतिको प्रेमको अभ्यास गर्दा हरेक पटक, त्यहाँ ठूलो लडाइँ हुन्छ, र उनीहरूका देहभित्र सबै ठीकै देखिए पनि, उनीहरूको हृदयको गहिराइमा, वास्तवमा, एक जीवन र मृत्युको लडाइँ चलिरहेको हुन्छ—र यो तीव्र लडाइँपछि, व्यापक समीक्षापछि मात्रै, जीत र हारको निर्णय हुन्छ। रुनु कि हाँस्नु भनेर थाहा हुँदैन। मानिसहरूभित्र भएका अभिप्रायहरू गलत हुने भएकाले, वा उनीहरूको अभिप्रायसँग परमेश्वरको कार्य बाझिने भएकाले, जब मानिसहरूले सत्यको अभ्यास गर्छन्, पर्दा पछाडि ठूलो लडाइँ हुन्छ। यो सत्यलाई अभ्यास गर्दा, पर्दा पछाडि, मानिसहरूले अन्ततः परमेश्वरलाई सन्तुष्ट बनाउने निर्णय गर्नअघि अनगन्ती दुःखका आँशु झारेका हुनेछन्। यही लडाइँको कारण मानिसहरूले कष्ट र शोधन सहन्छन्; साँचो कष्ट-भोग यही नै हो। जब तँमाथि लडाइँ आइपर्छ, यदि तँ परमेश्वरको पक्षमा साँचो रूपमा खडा हुन सक्छस् भने, तैँले परमेश्वरलाई सन्तुष्ट बनाउन सक्छस्। सत्यको अभ्यास गरिरहँदा, व्यक्तिले अपरिहार्य रूपमै भित्र-भित्रै कष्ट पाउनेछ; यदि, उनीहरूले सत्यलाई अभ्यास गर्दा, मानिसहरूभित्रका सबै कुराहरू सही भएमा, उनीहरूलाई परमेश्वरले सिद्ध बनाइरहनु पर्दैन, र त्यहाँ कुनै लडाइँ हुँदैन, र उनीहरूले कष्ट भोग्नेछैनन्। यसो किन हुन्छ भने, मानिसहरूभित्र यस्ता धेरै थोकहरू हुन्छन् जुन परमेश्वरको प्रयोगका लागि उपयुक्त हुँदैनन्, र देहको विद्रोही स्वभाव धेरै हुने भएकाले, मानिसहरूले देहको विरोध गर्ने पाठ अझ गहन तरिकाले सिक्नु पर्छ। यसैलाई परमेश्वरले मानवलाई उहाँसँग भोग्नुपर्ने भनेर अह्राउनुभएको कष्ट भन्नुहुन्छ। जब तँलाई अप्ठ्याराहरू आइपर्छन्, हतार गर् र परमेश्वरमा प्रार्थना गर्: “हे परमेश्वर! म हजुरलाई सन्तुष्ट बनाउन चाहन्छु, तपाईंको हृदयलाई सन्तुष्ट बनाउन म अन्तिम कठिनाइ सहन गर्न चाहन्छु, र मैले जतिसुकै ठूलो धक्का बेहोर्नु परे पनि, म अझै पनि हजुरलाई नै सन्तुष्ट बनाउन चाहन्छु। मैले मेरो सम्पूर्ण जीवन नै त्याग्नु परे पनि, मैले तपाईंलाई सन्तुष्ट पार्नैपर्छ!” यो सङ्कल्पका साथ, जब तँ यसरी प्रार्थना गर्छस्, तँ आफ्नो साक्षीमा दह्रिलो भएर खडा हुन सक्षम हुन्छस्। प्रत्येक पटक उनीहरूले सत्यलाई अभ्यास गर्दा, प्रत्येक पटक उनीहरूको शोधन, प्रत्येक पटक उनीहरू थाक्दा, र प्रत्येक पटक परमेश्वरको कार्य उनीहरूमाथि आउँदा, मानिसहरूले असह्य पीडा सहनुपर्छ। यो सबै मानिसहरूका लागि जाँच हो, र त्यसैगरी ती सबैभित्र लडाइँ हुन्छ। उनीहरूले चुकाउने वास्तविक मूल्य यही हो। परमेश्वरको वचनहरू झनै धेरै पढ्नु र अझै धेरै दौडधूप गर्नु त्यही मूल्यको एक अंश हो। मानिसहरूले गर्नुपर्ने कुरा यही हो, यो उनीहरूको कर्तव्य हो, र उनीहरूले पूरा गर्नुपर्ने जिम्मेवारी हो, तर मानिसहरूले उनीहरूका पन्छाउनु पर्ने कुरालाई पन्छाउनु पर्छ। यदि तैँले त्यसो गरिनस् भने, तेरो बाहिरी कष्ट जतिसुकै ठूलो भए तापनि, तैँले जतिसुकै दौडधूप गरे पनि, सबै कुरा व्यर्थ हुनेछ! यसो भन्नुको अर्थ, तँभित्रको परिवर्तनले मात्रै तेरो बाहिरी कठिनाइको मूल्य छ कि छैन भनेर निर्धारण गर्न सक्छ। जब तेरो आन्तरिक स्वभाव परिवर्तन हुन्छ र तैँले सत्यको अभ्यास गर्छस्, तब तेरो सबै बाहिरी कष्टले परमेश्वरको स्वीकृति पाउनेछ; यदि तेरो आन्तरिक स्वभावमा कुनै परिवर्तन भएन भने, तैँले जतिसुकै कष्ट सहे पनि वा तैँले बाहिर जतिसुकै प्रयत्न गरे पनि, परमेश्वरबाट कुनै स्वीकृति हुनेछैन—र परमेश्वरले पुष्टि नगरेको कठिनाइ व्यर्थ हो। तसर्थ, तैँले चुकाएको मूल्य परमेश्वरबाट अनुमोदन हुन्छ हुँदैन भन्ने कुरा तँमा परिवर्तन आएको छ कि छैन र परमेश्वरका अभिप्रायहरूको सन्तुष्टि, परमेश्वरको ज्ञान, र परमेश्वरप्रतिको निष्ठा हासिल गर्नका लागि तैँले सत्यको अभ्यास तथा आफ्नो अभिप्राय र धारणालाई विरोध गर्छस् कि गर्दैनस् भन्ने कुराले निर्धारित गर्छ। तैँले जतिसुकै प्रयत्न गरे पनि, यदि तँलाई आफ्नो अभिप्रायको विरुद्ध विद्रोहको बारेमा कहिल्यै थाहा छैन भने, तर बाहिरी कार्य तथा उत्सुकता मात्रै खोज्छस्, र आफ्नो जीवनप्रति कहिल्यै ध्यान दिँदैनस् भने, तेरो कठिनाइ व्यर्थ हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो
३५२. ठ्याक्कैसित भन्नुपर्दा, आफ्नो विश्वासमा पत्रुसको मार्गमा हिँड्नु भनेको सत्यता खोजी गर्ने बाटोमा हिँड्नु हो, जुन आफैलाई साँचो रूपमा चिन्ने र आफ्नो स्वभाव बदल्ने बाटो पनि हो। पत्रुसको मार्गमा हिँडेर मात्र व्यक्ति परमेश्वरद्वारा सिद्ध तुल्याइने बाटोमा हुनेछ। पत्रुसको मार्गमा वास्तवमा कसरी हिँड्ने, साथसाथै यसलाई कसरी अभ्यास गर्ने भन्ने बारेमा व्यक्ति स्पष्ट हुनुपर्छ। पहिला त व्यक्तिले आफ्ना अभिप्रायहरू, अनुचित खोजीहरू, र परिवार तथा आफ्नो देहका सबै कुराहरू समेतलाई पन्छाउनुपर्छ। व्यक्ति सम्पूर्ण हृदयले समर्पित हुनुपर्छ; त्यसको मतलब व्यक्तिले पूर्ण रूपमा आफूलाई परमेश्वरका वचनहरूमा समर्पित गर्नुपर्छ, परमेश्वरका वचनहरू खान र पिउनमा ध्यान केन्द्रित गर्नुपर्छ, परमेश्वरका वचनहरूमा सत्यता र उहाँका चाहनाहरू खोजी गर्न एकाग्र हुनुपर्छ, र हरेक कुरामा परमेश्वरको अभिप्राय बुझ्ने प्रयास गर्नुपर्छ। यो कुरा अभ्यासको सबैभन्दा आधारभूत र महत्त्वपूर्ण विधि हो। पत्रुसले येशूलाई भेटेपछि यही नै गरेका थिए, र यसरी अभ्यास गरेर मात्रै व्यक्तिले सर्वोत्तम नतिजाहरू हासिल गर्न सक्छ। परमेश्वरका वचनहरूमा सम्पूर्ण हृदयसहितको समर्पणमा मुख्यतया परमेश्वरका वचनहरूमा सत्यता र उहाँका चाहनाहरू खोजी गर्ने, परमेश्वरका अभिप्राय बुझ्न ध्यान केन्द्रित गर्ने, र परमेश्वरका वचनहरूबाट थप सत्यता बुझ्ने र प्राप्त गर्ने कुराहरू पर्दछन्। परमेश्वरका वचनहरू पढ्दा पत्रुसले धार्मिक सिद्धान्तहरू बुझ्नमा ध्यान केन्द्रित गरेका थिएनन्, तिनले धार्मिक ज्ञान प्राप्त गर्नमा ध्यान केन्द्रित गर्ने कुरा त परै जाओस्। बरु, तिनी सत्यता बोध गर्न र परमेश्वरको अभिप्राय बुझ्न, साथसाथै परमेश्वरको स्वभाव र प्रेमिलोपनको बुझाइ हासिल गर्न एकाग्र भए। पत्रुसले परमेश्वरका वचनहरूबाट मानिसका विविध भ्रष्ट अवस्थाहरू, र साथमा मानिसको प्रकृति सार र वास्तविक कमीहरू बुझ्न पनि प्रयास गरे र यसमार्फत तिनले परमेश्वरलाई सन्तुष्ट पार्न उहाँका मापदण्डहरूका सबै पक्षहरू सजिलै पूरा गरे। पत्रुससँग परमेश्वरका वचनहरू पालना गर्ने धेरै सही अभ्यासहरू थिए। यो कुरा परमेश्वरका अभिप्राय अनुरूपको थियो र व्यक्तिले परमेश्वरको कामको अनुभव गर्दै सहकार्य गर्नसक्ने सर्वोत्तम शैली यही नै थियो। परमेश्वरले पठाउनुभएका सयौँ परीक्षाहरू भोग्दा, पत्रुसले आफूलाई मानिसको न्याय र खुलासा गर्ने परमेश्वरको हरेक वचन—अनि मानिसबाट उहाँले माग गर्नुहुने हरेक वचनसँग कडाइका साथ मिलाए—आफूलाई जाँचे, र परमेश्वरका वचनहरूको अर्थ सही रूपमा बोध गर्न लागिपरे। येशूले तिनलाई भन्नुभएका सब थोकबारे तिनले गम्भीरतासाथ मनन गरे, र हरेक वचनलाई आफ्नो मनमा दृढ रूपमा राखे—यो तरिका अपनाउँदा निकै राम्रा नतिजा हासिल भए। यसरी अभ्यास गरेर तिनले परमेश्वरका वचनहरूमार्फत आफैलाई चिन्न सके, र तिनी मानिसका विविध भ्रष्ट स्थिति र कमीकमजोरीहरू मात्र होइन, मानिसको सार र प्रकृति पनि चिन्न पुगे। यसले पत्रुसले आफूलाई साँचो रूपमा चिन्दथे भन्ने कुरा देखाउँछ। परमेश्वरका वचनहरूबाट, पत्रुसले एक हिसाबमा आफूबारे साँचो बुझाइ हासिल गरे, अनि अर्को हिसाबमा, तिनले परमेश्वरले व्यक्त गर्नुभएको धर्मी स्वभाव, परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ भन्ने कुरा, परमेश्वरको कामका लागि उहाँका अभिप्राय, र मानवजातिप्रति परमेश्वरका मागहरू बुझे। यी वचनहरूबाट तिनले साँचो रूपमा परमेश्वरलाई चिने। तिनले परमेश्वरको स्वभाव र उहाँको सारलाई चिने; तिनले परमेश्वरसँग के छ र उहाँ के हुनुहुन्छ भन्ने कुरा, र साथसाथै परमेश्वरको प्रेमिलो स्वभाव र मानिसप्रतिका उहाँका मागहरू जाने र बुझे। त्यतिखेर परमेश्वर आजभोलि बोल्नुभए जति बोल्नुहुन्नथियो, तापनि पत्रुसमा यी पक्षहरूको नतिजा हासिल भयो। यो एकदमै बिरलै हुने र अमूल्य कुरा थियो। पत्रुसले सयौँ परीक्षाहरू भोगे; तिनले व्यर्थमा कष्ट सहेनन्। तिनले परमेश्वरका वचनहरू र कामबाट आफैलाई चिन्न पुगेका मात्रै होइन, परमेश्वरलाई पनि चिन्न पुगे। यसको साथै, तिनले परमेश्वरका वचनहरूभित्र विशेष गरी परमेश्वरले मानिसहरूबाट गर्नुहुने मागहरू र परमेश्वरका अभिप्रायअनुरूप हुनका लागि मानिसले परमेश्वरलाई कुन पक्षहरूमा सन्तुष्ट पार्नुपर्छ भन्ने कुरालाई ध्यान दिए, र तिनी यी कुराहरूमा ठूलो प्रयत्न लागु गरेर पूर्ण स्पष्टता हासिल गर्न सक्षम भए। यो कुरा तिनको जीवन प्रवेशको सवालमा पनि अत्यन्तै फाइदाजनक थियो। परमेश्वरका वचनहरूको जुनै पक्ष भए पनि, ती वचनहरूले जीवनका रूपमा काम गर्न सकुन्जेल र ती सत्यता हुन्जेल, पत्रुसले तिनलाई आफ्नो हृदयमा कुँदेर राखे, जहाँ तिनले तीबारे बारम्बार मनन गरे र तिनलाई बोध गरे। येशूका वचनहरू सुनेपछि, तिनले ती वचनहरूलाई हृदयमा राख्न सके, जसले तिनले विशेष रूपमा परमेश्वरका वचनहरूमा ध्यान केन्द्रित गरेका थिए भन्ने देखाउँछ र तिनले अन्त्यमा सच्चा रूपमै नतिजा हासिल गरे। अर्थात्, तिनले परमेश्वरका वचनहरू कुशलतापूर्वक अभ्यास गर्न, सत्यतालाई सही रूपमा अभ्यास गर्न अनि परमेश्वरका अभिप्रायअनुरूप कार्य गर्न, सम्पूर्ण रूपले परमेश्वरका चाहनाअनुरूप कामकुरा गर्न, र आफ्ना व्यक्तिगत दृष्टिकोण र कल्पनाहरू त्याग्न सके। यसरी, पत्रुस परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गरे। यी कुराहरू गरेको हुनाले नै मुख्य रूपमा पत्रुसको सेवा परमेश्वरको अभिप्रायअनुरूप हुन गयो।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने
३५३. यदि तैँले आफ्नो हृदय, शरीर र आफ्नो सबै साँचो प्रेम परमेश्वरमा अर्पण गर्न र उहाँको सामु राख्न, उहाँप्रति पूर्ण समर्पित बन्न र उहाँका अभिप्रायहरूलाई पूर्ण रूपमा ख्याल गर्न सक्छस् भने—परमेश्वरको वचनलाई सबै कुराको सिद्धान्त र आधारको रूपमा लिँदै, देहको लागि, परिवारका लागि र तेरा आफ्नै व्यक्तिगत चाहनाहरूका लागि नभई, परमेश्वरको परिवारको हितका लागि यसो गर्न सक्छस् भने—त्यसो गर्दा तेरा अभिप्रायहरू र तेरा दृष्टिकोणहरू सबै सही ठाउँमा हुनेछन्, र तँ परमेश्वरको सामु उहाँको स्याबासी पाउने व्यक्ति बन्नेछस्। परमेश्वरले मन पराउनुहुने मानिसहरू ती हुन् जो पूर्ण रूपमा उहाँतर्फ रहेका छन्; तिनीहरू ती मानिसहरू हुन् जो पूर्ण रूपमा उहाँमा समर्पित हुन सक्छन्। जसलाई परमेश्वरले घृणा गर्नुहुन्छ तिनीहरू ती मानिसहरू हुन् जो उहाँतर्फ आधा हृदयका हुन्छन् र जसले उहाँको विरुद्धमा विद्रोह गर्छन्। उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ, जसले उहाँमा विश्वास त गर्छन् तर सधैँ उहाँबाट आनन्द लिन चाहन्छन् र उहाँका निम्ति आफूलाई पूर्ण रूपमा समर्पित गर्न असमर्थ हुन्छन्। उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ जसले उहाँलाई प्रेम गर्छौं त भन्छन्, तर आफ्नो हृदयमा उहाँको विरुद्धमा विद्रोह गर्छन्; उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ जो छलकपट गर्न शब्दचातुर्य र आलङ्कारिक वचनहरूको प्रयोग गर्छन्। जो साँचो रूपमा परमेश्वरमा समर्पित हुँदैनन् वा जो साँचो रूपले उहाँको अघि झुक्दैनन्, तिनीहरू विश्वासघाती र अति नै अहङ्कारी प्रकृतिका हुन्छन्। जो सामान्य, व्यावहारिक परमेश्वरको अगाडि साँचो रूपले समर्पित हुन सक्दैनन्, तिनीहरू झनै अहङ्कारी हुन्छन्, र तिनीहरू विशेष रूपमा प्रधान स्वर्गदूतका बफादार सन्तान हुन्। परमेश्वरका लागि आफूलाई साँचो रूपमा समर्पित गर्ने मानिसहरूले आफ्नो सम्पूर्ण अस्तित्व नै उहाँमा चढाउँछन् र आफूलाई उहाँको सामु राख्छन्; तिनीहरू साँचो रूपमा उहाँका सबै वचनहरू र काममा समर्पित हुन, र उहाँका वचनहरूलाई अभ्यास गर्न सक्छन्। तिनीहरूले परमेश्वरका वचनहरूलाई स्वीकार गर्न र तिनलाई आफ्नो अस्तित्वको आधार बनाउ सक्छन्, र तिनीहरूले परमेश्वरका वचनहरूमा इमानदारीसाथ खोजी गरी कुन-कुन भागचाहिँ अभ्यास गर्नुपर्छ भनी पत्ता लगाउन सक्छन्। साँचो रूपमा परमेश्वरको सामु जिउने मानिसहरू तिनीहरू नै हुन्। यदि तैँले यसरी अभ्यास गरिस् भने, त्यो तेरो जीवनको लागि फाइदाजनक हुनेछ, र तैँले आफ्नो जीवन स्वभाव रूपान्तरित होस् भनेर उहाँका वचनहरू खाएर अनि पिएर आफ्ना आन्तरिक आवश्यकता र कमीहरूलाई पूरा गर्न सक्छस् भने, त्यसले परमेश्वरका अभिप्रायहरूलाई पूरा गर्नेछ। यदि तँ परमेश्वरका मापदण्डअनुरूप काम गर्छस् र यदि तैँले देहलाई सन्तुष्ट नपारी त्यसको साटो उहाँका अभिप्रायहरूलाई पूरा गर्छस् भने, त्यसमा तँ उहाँका वचनहरूको वास्तविकतामा प्रवेश गरेको हुन्छस्। परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नु भनेको तैँले आफ्नो कर्तव्य निर्वाह गर्न र परमेश्वरको कामका मागहरू पूरा गर्न सक्नु हो। यस प्रकारका व्यावहारिक कदमहरूलाई मात्र उहाँका वचनहरूको वास्तविकतामा प्रवेश गर्नु हो भनी भन्न सकिन्छ। यदि तँ यस वास्तविकतामा प्रवेश गर्न सक्छस् भने तँमा सत्यता हुनेछ। यो वास्तविकता प्रवेशको सुरुआत हो; तैँले पहिले यो तालिम लिनुपर्छ, त्यसपछि मात्र तँ अझ गहन वास्तविकताहरूमा प्रवेश गर्न सक्नेछस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई साँच्चै प्रेम गर्नेहरू ती हुन् जो उहाँको व्यावहारिकताप्रति पूर्ण रूपमा समर्पित हुन सक्छन्
३५४. परमेश्वर व्यावहारिक परमेश्वर हुनुहुन्छ: उहाँका सबै कामहरू व्यावहारिक छन्, उहाँले बोल्ने सबै वचनहरू व्यावहारिक छन्, र उहाँले व्यक्त गर्ने सबै सत्यताहरू व्यावहारिक छन्। जे उहाँका वचनहरू होइनन् ती सबै शून्य, अस्तित्वहीन, र फितला हुन्छन्। आज, मानिसहरूलाई परमेश्वरका वचनहरूभित्र मार्गदर्शन गर्न पवित्र आत्मा हुनुहुन्छ। यदि मानिसहरूले वास्तविकतामा प्रवेश पछ्याउनु छ भने, उनीहरूले वास्तविकताको खोजी गर्नुपर्छ, र वास्तविकता जान्नुपर्छ, जसपछि उनीहरूले वास्तविकता अनुभव गर्नुपर्छ, र वास्तविकता जिउनुपर्छ। मानिसहरूले वास्तविकता जति बढी जान्दछन्, उनीहरू अरूका शब्दहरू वास्तविक हुन् वा होइनन् भनी खुट्ट्याउन त्यति नै सक्षम हुन्छन्; मानिसहरूले वास्तविकता जति बढी जान्दछन्, उनीहरूसँग त्यति नै कम धारणाहरू हुन्छन्; मानिसहरूले वास्तविकता जति बढी अनुभव गर्छन्, उनीहरूले व्यावहारिक परमेश्वरका कार्यहरू त्यति नै थाहा पाउँछन्, र उनीहरूलाई आफ्ना भ्रष्ट, शैतानी स्वभावहरूबाट मुक्त हुन त्यति नै सजिलो हुन्छ; मानिसहरूसँग जति बढी वास्तविकता हुन्छ, उनीहरूले त्यति नै बढी परमेश्वरलाई चिन्छन् र त्यति नै बढी देहलाई घृणा गर्छन् र सत्यतालाई प्रेम गर्छन्; र मानिसहरूसँग जति बढी वास्तविकता हुन्छ, उनीहरू त्यति नै परमेश्वरका मागका मानकहरूको नजिक आउँछन्। परमेश्वरद्वारा प्राप्त गरिएका मानिसहरू वास्तविकता भएका मानिसहरू हुन्, जसले वास्तविकता जान्दछन्, र जसले वास्तविकताको अनुभवमार्फत परमेश्वरका व्यावहारिक कार्यहरू जान्न पुगेका हुन्छन्। तँ जति बढी व्यावहारिक तरिकाले परमेश्वरसँग सहकार्य गर्छस् र आफ्नो शरीरलाई अनुशासनमा राख्छस्, तैँले पवित्र आत्माको काम त्यति नै बढी प्राप्त गर्नेछस्, तैँले त्यति नै बढी वास्तविकता प्राप्त गर्नेछस्, र परमेश्वरले तँलाई त्यति नै बढी अन्तर्दृष्टि दिनुहुनेछ, र यसरी परमेश्वरका व्यावहारिक कार्यहरूको तेरो ज्ञान त्यति नै विशाल बन्नेछ। यदि तँ पवित्र आत्माको विद्यमान ज्योतिमा जिउन सक्षम छस् भने, अभ्यासको विद्यमान मार्ग तेरा लागि अझै प्रष्ट हुनेछ, र विगतका धार्मिक धारणाहरू र पुराना अभ्यासहरूबाट आफूलाई अलग्याउन तँ अझै बढी सक्षम हुनेछस्। आजको केन्द्रबिन्दु वास्तविकता हो: मानिसहरूसँग जति बढी वास्तविकता हुन्छ, उनीहरूको सत्यताको ज्ञान त्यति नै प्रस्ट हुन्छ, र परमेश्वरका अभिप्रायहरूबारे उनीहरूको बुझाइ त्यति नै विशाल हुन्छ। वास्तविकताले सबै शाब्दिक वचनहरू र धर्मसिद्धान्तहरूलाई पराजित गर्न सक्छ, यसले सबै सैद्धान्तिक नियम र विज्ञतालाई पराजित गर्न सक्छ, र मानिसहरूले वास्तविकतामा जति बढी ध्यान केन्द्रित गर्छन्, उनीहरूले परमेश्वरलाई त्यत्ति नै बढी साँचो प्रेम गर्छन्, र उहाँका वचनहरूको लागि भोका र प्यासी हुन्छन्। यदि तैँले वास्तविकतामा ध्यान केन्द्रित गरिस् भने, सांसारिक कुराहरू सम्बन्धी दर्शन, धार्मिक धारणाहरू, र प्राकृतिक गुण परमेश्वरको काम पछ्याउँदै स्वभाविक रूपमा हटेर जानेछ। वास्तविकताको खोजी नगर्ने, र वास्तविकताको ज्ञान नभएकाहरू अलौकिक कुराको खोजी गर्न सक्छन्, र उनीहरू सजिलै धोखामा पर्न सक्छन्। यस्ता मानिसहरूमा काम गर्ने कुनै माध्यम पवित्र आत्मासँग छैन, र त्यसैले उनीहरू रित्तो, र उनीहरूको जीवनको कुनै अर्थ छैन भन्ने महसुस गर्छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। वास्तविकता कसरी थाहा पाउने
३५५. परमेश्वरलाई प्रेम गर्नेहरू सत्यतालाई प्रेम गर्नेहरू हुन्, र सत्यतालाई प्रेम गर्नेहरूले जति धेरै सत्यता अभ्यास गर्छन्, त्यत्ति नै धेरै तिनीहरूसित सत्यता हुन्छ; तिनीहरूले जति धेरै सत्यता अभ्यास गर्छन्, त्यत्ति नै धेरै तिनीहरूसित परमेश्वरको प्रेम हुन्छ; र तिनीहरूले जति धेरै सत्यता अभ्यास गर्छन्, त्यत्ति नै धेरै तिनीहरू परमेश्वरद्वारा आशिषित हुन्छन्। यदि तैँले सदैव यसै गरी अभ्यास गरिस् भने, तेरो लागि दिइने परमेश्वरको प्रेमले विस्तारै तँलाई देख्न सक्षम तुल्याउनेछ, जसरी पत्रुसले परमेश्वरलाई जाने: परमेश्वरसँग स्वर्ग र पृथ्वी सृष्टि गर्ने बुद्धि मात्र होइन, तर, त्योभन्दा पनि बढी, उहाँसँग मानिसहरूमा व्यावहारिक काम गर्ने बुद्धि पनि छ भनेर पत्रुसले भने। उहाँले स्वर्ग र पृथ्वीको र सबै कुराहरूको सृष्टि गर्नुभएको कारणले गर्दा मात्र मानिसहरूको प्रेमको योग्य हुनुभएको होइन, तर, त्योभन्दा पनि बढी, मानिसलाई सृष्टि गर्ने, मानिसलाई मुक्ति दिने, मानिसलाई पूर्ण बनाउने, र मानिसलाई आफ्नो प्रेम हस्तान्तरण गर्ने उहाँको क्षमताको कारणले गर्दा पनि उहाँ योग्य हुनुभएको हो भनेर पत्रुसले भने। त्यसैले पनि पत्रुस भन्छन् कि मानिसको प्रेमको निम्ति उहाँमा योग्य कुराहरू धेरै छन्। पत्रुसले येशूलाई भने: “के स्वर्ग र पृथ्वी र सबै थोकहरू सृष्टि गर्नु नै मानिसहरूको प्रेम पाउन योग्य हुनुको एउटै कारण हो र? तपाईंमा अरू पनि धेरै कुराहरू छन् जुन प्रेमिलो छन्। तपाईं वास्तविक जीवनमा कार्यरत र चलायमान हुनुहुन्छ, तपाईंको आत्माले मलाई भित्र स्पर्श गर्नुहुन्छ, तपाईंले मलाई ताडना दिनुहुन्छ, तपाईंले मलाई हप्काउनुहुन्छ—यी कुराहरू मानिसहरूको प्रेम पाउन अझ धेरै योग्य छन्।” यदि तँ परमेश्वरको प्रेम हेर्ने र अनुभव गर्ने इच्छा राख्छस् भने, तैँले वास्तविक जीवनमा उत्खनन र खोजी गर्नुपर्छ र तेरो आफ्नै पापमय स्वभावलाई पन्साउने इच्छा राख्नुपर्छ। तैँले यो सङ्कल्प गर्नैपर्छ। तँ यस्तो सङ्कल्प भएको व्यक्ति हुनुपर्छ जसले अल्छी नबनी वा पापमय स्वभावका आनन्दहरूको लालसा नगरी, पापमय स्वभावको लागि नभएर परमेश्वरको लागि जिएर सबै कुराहरूमा परमेश्वरलाई सन्तुष्ट पार्न समर्थ हुन्छ। यस्ता समयहरू हुन सक्छन् जब तैँले परमेश्वरलाई सन्तुष्ट पार्दैनस्। त्यो तैँले परमेश्वरका अभिप्रायहरू नबुझेको कारणले हो; अर्को पटक, अझ धेरै प्रयास चाहिने भए पनि, तैँले उहाँलाई सन्तुष्ट पार्नुपर्छ र पापमय स्वभावलाई सन्तुष्ट पार्ने होइन। जब तैँले यस्तो प्रकारले अनुभव गर्छस्, तैँले परमेश्वरलाई चिन्न आएको हुनेछस्। तैँले देख्नेछस् कि परमेश्वरले स्वर्ग र पृथ्वी र सबै थोकहरू सृष्टि गर्न सक्नुहुन्छ, कि उहाँ देह बन्नुभएको छ ताकि मानिसहरूले वास्तवमा उहाँलाई देख्न सकून् र वास्तवमा उहाँसँग तल्लीन हुन सकून्; तैँले के देख्नेछस् भने उहाँ मानिसहरूको माझमा हिँडडुल गर्न समर्थ हुनुहुन्छ, र उहाँको आत्माले वास्तविक जीवनमा मानिसहरूलाई उहाँको प्रेमिलोपन देख्न र उहाँको ताडना, उहाँको सजाय, र उहाँका आशिषहरू अनुभव गर्न दिँदै पूर्ण बनाउन सक्नुहुन्छ। यदि तैँले सदैव यसरी अनुभव गरिस् भने, वास्तविक जीवनमा तँ परमेश्वरबाट अलग्याउन नसकिने हुनेछस्, र यदि कुनै दिन परमेश्वरसँग तेरो सम्बन्ध सामान्य हुन छोड्छ भने, तँ सङ्घर्ष गर्न र पछुतो गर्न समर्थ हुनेछस्। जब परमेश्वरसँग तेरो सम्बन्ध सामान्य हुन्छ, तैँले परमेश्वरलाई त्याग्ने इच्छा कहिल्यै गर्नेछैनस्, र यदि कुनै दिन परमेश्वरले तँलाई त्याग्नेछु भनी भन्नुहुन्छ भने, तँ भयभीत हुनेछस्, र परमेश्वरद्वारा त्यागिइनुभन्दा बरु मरुँला भनी तैँले भन्नेछस्। यी भावनाहरू तँसँग हुनेबित्तिकै, तैँले परमेश्वरलाई त्याग्न असक्षम छस् भन्ने तैँले आभास गर्नेछस्, र यसरी, तँसँग एउटा जग हुनेछ, र तैँले साँच्चै परमेश्वरको प्रेमको आनन्द मनाउनेछस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्
३५६. परमेश्वरमाथिको आफ्नो विश्वासको सम्बन्धमा मानिसहरूको सबै भन्दा ठूलो गल्ती भनेको तिनीहरूले मुखले मात्र विश्वास गर्नु, र परमेश्वरलाई आफ्नो दैनिक जीवनबाट पूर्ण रूपले टाढा राख्नु हो। वास्तवमा, सबै मानिसहरूले परमेश्वरको अस्तित्वमा विश्वास गर्छन्, तर परमेश्वर तिनीहरूको दैनिक जीवनको हिस्सा भने बन्नुभएको हुँदैन। मानिसहरूको मुखले परमेश्वरलाई धेरै प्रार्थना चढाउँछ, तर उनीहरूको हृदयमा परमेश्वरको स्थान थोरै हुन्छ, त्यसैले परमेश्वरले तिनीहरूको बारम्बार जाँच गर्नुहुन्छ। मानिसहरू अशुद्ध भएका हुनाले, तिनीहरूको जाँच गर्नु बाहेक परमेश्वरसँग अरू कुनै विकल्प हुँदैन, ताकि उनीहरू लाजमा परून् र यी परीक्षाहरूका बीचमा आफैलाई चिन्न सकून्। यदि होइन भने, मानवजाति प्रधान स्वर्गदूतको सन्तानहरूको रूपमा परिणत हुन्थे, र अझ धेरै भ्रष्ट हुन्थे। परमेश्वरमाथिको उनीहरूको विश्वासको प्रक्रियामा, परमेश्वरको अनन्त शुद्धीकरणको दायरामा हरेक व्यक्तिले आफ्नो व्यक्तिगत अभिप्रायहरू र उद्देश्यहरू ल्याउँछन्। यदि यसो भएन भने, कसैलाई प्रयोग गर्ने कुनै उपाय परमेश्वरसँग हुँदैनथ्यो, र उहाँले जे काम मानिसमा गर्नुपर्थ्यो, त्यो कुनै पनि हालतमा हुँदैनथियो। परमेश्वरले पहिला मानिसहरूलाई शुद्ध पार्नुहुन्छ, र यो प्रक्रियामार्फत तिनीहरूले आफैलाई चिन्न सक्छन् र परमेश्वरले तिनीहरूलाई परिवर्तन गर्नुहुन्छ। त्यसपछि मात्रै परमेश्वरले आफ्नो जीवनद्वारा तिनीहरूमा काम गर्नुहुन्छ, र त्यसरी मात्रै तिनीहरूको हृदय परमेश्वरतिर पूर्ण रूपले फर्किन सक्छ। त्यसैले म भन्छु, परमेश्वरमा विश्वास गर्ने कार्य मानिसहरूले भनेजस्तो सजिलो छैन। परमेश्वरको नजरमा, यदि तँसँग ज्ञान मात्रै छ तर उहाँको जीवनरूपी वचन छैन भने, र यदि तँ आफ्नो ज्ञानमा मात्र सीमित छस् तर सत्यतालाई अभ्यास गर्न र परमेश्वरको वचनअनुसार जिउन सक्दैनस् भने, तँसँग परमेश्वरलाई प्रेम गर्ने हृदय छैन भन्ने कुराको प्रमाण यही हो, तेरो हृदय परमेश्वरको होइन भनी यसले देखाउँछ। कुनै व्यक्तिले परमेश्वरमा विश्वास गरेर उहाँलाई चिन्दछ: यो नै अन्तिम लक्ष्य हो, र मानिसको खोजको लक्ष्य हो। तैँले परमेश्वरको वचन अनुसार जिउन प्रयत्न गर्नैपर्छ, ताकि तेरो अभ्यासमा ती वचन फलदायी हुन सकून्। यदि तँसँग सैद्धान्तिक ज्ञान मात्र छ भने, परमेश्वरमाथिको तेरो विश्वास शून्य हुनेछ। यदि तैँले उहाँको वचन अभ्यास गरिस् र त्यसमा जिइस् भने मात्रै तेरो विश्वास पूर्ण भएको र परमेश्वरका अभिप्रायहरू अनुसार भएको मान्न सकिन्छ। यस बाटोमा, धेरै मानिसहरू थुप्रै ज्ञानका कुरा बोल्न सक्छन्, तर तिनीहरूको मृत्युको समयमा, तिनीहरूका आँखा आँसुले भरिन्छन्, र एउटा जीवनकाल व्यर्थमा खेर फालेकोमा र व्यर्थमै बुढेसकालसम्म जिएकोमा आफैलाई घृणा गर्छन्। तिनीहरूले धर्मसिद्धान्तहरू मात्र बुझ्छन्, तर सत्यता अभ्यास गर्न सक्दैनन् अथवा परमेश्वरको गवाही दिन सक्दैनन्; तिनीहरू सतहमा केवल यता-उता दौडिरहन्छन्, मौरी झैँ व्यस्त हुन्छन्, र अन्त्यमा मृत्युको मुखमा पुगेपछि मात्र तिनीहरूले आफूमा साँचो गवाहीको अभाव भएको र तिनीहरूले परमेश्वरलाई बिलकुल नचिनेको कुरा अन्ततः देख्छन्। र के यो धेरै ढिलो हुँदैन र? किन तँ आफूले प्रेम गर्ने सत्यता पछ्याउनका लागि दिनको उपयोग गर्दैनस्? किन भोलिसम्मलाई कुर्छस्? यदि जिउँदै हुँदा, तँ सत्यताका लागि कष्ट भोग्दैनस् अथवा यसलाई प्राप्त गर्न खोजी गर्दैनस् भने, के त्यसको अर्थ तँ मृत्युको घडीमा पछुतो महसुस गर्न चाहन्छस्? यदि त्यसो हो भने, किन परमेश्वरमा विश्वास गर्नु? वास्तवमा, मानिसहरूले यदि अलिकति मात्र परिश्रम गरे भने, तिनीहरूले सत्यता अभ्यास गर्न सक्ने र परमेश्वरलाई सन्तुष्ट पार्न सक्ने थुप्रै मामलाहरू छन्। मानिसहरूका मन सधैँ धुमिल हुने हुनाले मात्रै तिनीहरूले परमेश्वरका खातिर काम गर्न सक्दैनन्, र निरन्तर तिनीहरूको देहका खातिर दौडधुप गर्छन्, अन्त्यमा केही प्राप्त गर्दैनन्। यसकारण, मानिसहरू निरन्तर चिन्ता र कठिनाइहरूद्वारा पीडित हुन्छन्। के यी शैतानका यातनाहरू होइनन्? के यो देहको भ्रष्टता होइन? तैँले आफ्नो ओठ चलाएर परमेश्वरलाई मूर्ख बनाउने कोसिस गर्नु हुँदैन। बरु, तैँले वास्तविक कार्य गर्नुपर्छ। आफैलाई छल नगर्—त्यसको अर्थ के हुन सक्छ? आफ्नो देहका खातिर जिएर अनि ख्याति र प्राप्तिका लागि सङ्घर्ष गरेर तैँले के प्राप्त गर्न सक्छस्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले परमेश्वरमा विश्वास गर्ने हुनाले तँ सत्यताको निम्ति जिउनुपर्छ
३५७. परमेश्वरमा साँचो रूपले विश्वास गर्ने मानिसहरू ती हुन् जो परमेश्वरको वचनलाई व्यवहारमा उतार्न र सत्यको अभ्यास गर्न इच्छुक हुन्छन्। जुन मानिसहरू साँच्चै परमेश्वर सम्बन्धी आफ्ना गवाहीमा अडिग हुन सक्छन् उनीहरू ती हुन् जो उहाँको वचनलाई व्यवहारमा उतार्न इच्छुक हुन्छन् र साँच्चै सत्यको पक्षमा खडा हुन सक्छन्। जो मानिस छल र अन्यायको सहारा लिन्छन् ती सबैमा सत्यको अभाव हुन्छ, र तिनीहरू सबैले परमेश्वरलाई लज्जित पार्छन्। जसले मण्डलीमा विवाद उत्पन्न गराउँछन् तिनीहरू शैतानका नोकर हुन्, तिनीहरू शैतानको मूर्त रूप हुन्। त्यस्ता व्यक्तिहरू धेरै द्वेषपूर्ण हुन्छन्। जोसँग कुनै विवेक हुँदैन र जो सत्यको पक्षमा खडा हुन सक्दैनन्, तिनीहरू सबैले खराब अभिप्रायहरू राख्छन् र सत्यलाई कलङ्कित बनाउँछन्। त्योभन्दा बढी, तिनीहरू शैतानका असली नमुनाहरू हुन्। तिनीहरू छुटकारा पाउनै नसक्ने हुन्छन्, र तिनीहरूलाई स्वाभाविक रूपमा हटाइनेछ। सत्यको अभ्यास नगर्नेहरूलाई परमेश्वरको परिवारले बाँकी रहन दिँदैन, न त यसले मण्डलीलाई जानाजानी भत्काउनेहरूलाई नै रहन दिन्छ। तर, निष्कासनको काम गर्ने समय अहिले होइन; त्यस्ता व्यक्तिहरूलाई आखिरमा केवल प्रकट गरिनेछ र हटाइनेछ। कुनै बेकार काम यी मानिसहरूमा खर्च गरिनेछैन; जो शैतानका हुन् उनीहरू सत्यको पक्षमा उभिन सक्दैनन्, तर सत्यको खोजी गर्नेहरू खडा हुन सक्छन्। सत्यको अभ्यास नगर्ने मानिसहरू सत्यको मार्ग सुन्न अयोग्य हुन्छन् र सत्यको साक्षी दिन अयोग्य हुन्छन्। सत्य उनीहरूको कानका निम्ति हुँदै-होइन; बरु, यो अभ्यास गर्नेहरूका निम्ति लक्षित हुन्छ। प्रत्येक व्यक्तिको अन्त्य प्रकट हुनुअघि, जसले मण्डलीलाई बाधा दिन्छन् र परमेश्वरको काममा अवरोध पुऱ्याउँछन्, तिनीहरूलाई पछि निराकरण गर्नको लागि अहिलेलाई पछाडि छोडिनेछ। काम पूरा भएपछि, यी व्यक्तिहरू प्रत्येकको पर्दाफास हुनेछ, र त्यसपछि उनीहरूलाई हटाइनेछ। सत्य प्रदान गरिरहँदा अहिलेका लागि, तिनीहरूलाई बेवास्ता गरिनेछ। जब मानवजातिलाई सम्पूर्ण सत्यता प्रकट गरिन्छ, ती मानिसहरूलाई हटाइनुपर्छ; सबै मानिसलाई तिनीहरूका प्रकारअनुसार वर्गीकरण गरिने समय त्यही नै हुनेछ। समझ नभएकाहरूको स-साना चलाकीले गर्दा तिनीहरू दुष्टहरूको हातमा विनाश हुन पुग्छन्, तिनीहरू कहिल्यै नफर्कने गरी दुष्टहरूको प्रलोभनमा परेर जान्छन्। उनीहरू त्यस्तै व्यवहार गरिने योग्यका हुन्छन्, किनकि उनीहरू सत्यलाई प्रेम गर्दैनन्, किनकि तिनीहरू सत्यको पक्षमा खडा हुन असमर्थ हुन्छन्, किनकि तिनीहरूले दुष्ट मानिसहरूलाई पछ्याउँछन् र दुष्ट मानिसहरूका पक्षमा खडा हुन्छन्, र किनकि तिनीहरू दुष्ट मानिसहरूसँग षड्यन्त्र गर्छन् र परमेश्वरको प्रतिरोध गर्छन्। ती दुष्ट मानिसहरूले जे कुरा विकिरण गर्छन् त्यो खराब हो भनी उनीहरू राम्ररी जान्दछन्, तापनि उनीहरू आफ्नो हृदय कठोर बनाउँदछन् र तिनीहरूका पछि लाग्नलाई सत्यतर्फ आफ्नो पिठिउँ फर्काउँछन्। सत्यको अभ्यास नगर्ने तर विनाशकारी र घिनलाग्दा कामहरू गर्ने यी सबै मानिसहरूले के सबै खराबी गरिरहेका हुँदैनन्? तिनीहरूका माझमा कोही राजाजस्तो व्यवहार गर्ने र उनीहरूलाई पछ्याउनेहरू पनि हुन्छन्, तैपनि, के परमेश्वरको प्रतिरोध गर्ने तिनीहरूको प्रकृति त्यस्तै छैन र? परमेश्वरले उनीहरूलाई मुक्ति दिनुहुन्न भनेर दाबी गर्न तिनीहरूसँग के बहाना हुनसक्छ? परमेश्वर धर्मी हुनुहुन्न भनेर दाबी गर्न तिनीहरूसँग कुन बहाना हुनसक्छ? के उनीहरूका आफ्नै खराबीले उनीहरूलाई नष्ट पारिरहेको हुँदैन र? के उनीहरूका आफ्नै विद्रोहीपनले उनीहरूलाई नरकतिर तानिरहेको हुँदैन र? सत्यको अभ्यास गर्ने मानिसहरूले अन्त्यमा मुक्ति पाउनेछन् र सत्यको कारण तिनीहरू सिद्ध बनाइनेछन्। सत्यको अभ्यास नगर्नेहरूले अन्त्यमा सत्यको कारण आफैमाथि विनाश ल्याउनेछन्। सत्यको अभ्यास गर्ने र नगर्नेहरूलाई यी अन्त्यहरूले पर्खेर बसेका छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी