३९. म किन आफ्नो कर्तव्य शान्तिले स्वीकार गर्न असमर्थ भएँ

मो रान, चीन

नोभेम्बर २९, २०२३ मा, मलाई लेखन-पठन कामको सुपरिवेक्षक चयन गरियो। यो खबर सुनेपछि म साह्रै विचलित भएँ। मैले आफूलाई रोक्न सकिनँ, किनभने म सुपरिवेक्षक हुँदाका यादहरू मेरो दिमागमा आइरहे। काममा विचलन र समस्याहरू देखा पर्दा, मसँग सहकार्य गर्ने सिस्टरले त्यसका कारणहरू खोज्न र समाधान गर्ने तरिकाहरू पत्ता लगाउन सक्रियता देखाउनुहुन्थ्यो, तर मैले भने कहिल्यै ती कुराहरूलाई सही तरिकाले सम्हाल्न सकिनँ। जब-जब समस्याहरू देखा पर्थे, तब मलाई लाग्थ्यो यो मेरो कमजोर क्षमता र कार्य सामर्थ्यको कमीले गर्दा भएको हो, तर मैले आइपरेका समस्याहरूमा भएका विचलन र कमजोरीहरूको कहिल्यै विश्लेषण गरिनँ, न त तिनलाई सुधार्ने र समाधान गर्नेबारे मनन गर्न कुनै प्रयास नै गरेँ। मलाई सधैँ मेरो कर्तव्यमा यति धेरै समस्याहरू देखा पर्नु एक प्रकारको अपमानजनक कुरा हो भन्ने लाग्थ्यो, र म नकारात्मक स्थितिमा जिउन बाध्य भएँ र आफ्नो कर्तव्यबाट उम्कन चाहिरहेँ। अगुवाहरूले पनि मेरा समस्याहरू औँल्याउँदा, म झनै नकारात्मक बन्थेँ। लामो समयदेखि नकारात्मक हुने र सुस्त रहने स्थितिमा जिइरहेकीले, काममा धेरै समस्याहरू समयमै समाधान हुन सकेनन्, र मैले मेरा ब्रदर-सिस्टरहरूलाई वास्तविक मद्दत गर्न सकिनँ। अगुवाहरूले मेरो स्थितिबारे मसँग धेरै पटक सङ्गति गर्नुभयो, तर पनि म सुध्रिन सकिनँ, र अन्तमा, यसले काममा गम्भीर असर पाऱ्यो, र म बर्खास्त भएँ। मलाई बर्खास्त गरिए तापनि, एक प्रकारको राहत जस्तो महसुस भयो। तर अब उहाँहरू मलाई फेरि सुपरिवेक्षक बनाउन चाहनुहुन्थ्यो, के यसको अर्थ म पहिलेको जस्तै पीडादायी र अपमानजनक तरिकाले जिइरहनुपर्नेछ भन्ने हुन्थेन र? म वास्तवमा फेरि सुपरिवेक्षक बन्न चाहन्नथेँ! यसबाहेक, मलाई आफूमा सुपरिवेक्षक बन्ने क्षमता नै छैन जस्तो लाग्थ्यो। मैले धेरै अगुवा, कामदार र सुपरिवेक्षकहरू राम्रो क्षमता, बलियो कार्य सामर्थ्य, र काममा उच्च दक्षता भएका मानिसहरू हुन् भन्ने देखेकी थिएँ, जबकि मलाई आफू कमजोर क्षमता र कम दक्षता भएकी व्यक्ति हुँ, र सुपरिवेक्षक बन्नका लागि पटक्कै योग्य छैन भन्ने लाग्थ्यो। यस बिन्दुमा, टोली सदस्यका रूपमा म आफ्नो कर्तव्यमा केही नतिजा देख्न सक्थेँ र थोरै अभिमान कायम राख्न सक्थेँ, तर सुपरिवेक्षक हुनुको अर्थ ठूलो कार्यभार लिनु र सबै पक्षहरूलाई ध्यानमा राख्नु थियो। मेरो सामान्य क्षमताले गर्दा, मैले जतिसुकै कोसिस गरे पनि, म यसलाई राम्रोसँग गर्न अझै सक्दिनँ, र अन्तमा, मलाई फेरि बर्खास्त गरिनेछ भन्ने लाग्थ्यो। त्यो अर्को नराम्रो पराजय हुनेथ्यो, र त्यसपछि मेरा ब्रदर-सिस्टरहरूले मलाई कसरी हेर्नुहोला? के उहाँहरूले म पूरै बेकम्मा छु भन्नुहोला? जब-जब मेरो मनमा यस्ता विचारहरू आउँथे, म त्यो कर्तव्य अस्वीकार गर्न चाहन्थेँ, तर मलाई आफ्नो कर्तव्य अस्वीकार गरेर, म परमेश्‍वरलाई निराश तुल्याउनेछु भन्ने पनि लाग्थ्यो। विशेष गरी, अहिले लेखन-पठनको कामका लागि एक जना मात्र सुपरिवेक्षक भएकाले, र कार्यभार एक जना व्यक्तिले मात्रै सबै कुरा सम्हाल्न नसक्ने गरी धेरै ठुलो भएकाले, अगुवाले काममा असर परिसकेको छ भन्नुभयो। मैले धेरै वर्षदेखि लेखन-पठनकका कर्तव्यहरूमा तालिम लिएकीले र पहिले सुपरिवेक्षक भइसकेकीले, म विभिन्न कामसँग केही हदसम्म परिचित थिएँ, त्यसैले यदि मैले यस समयमा यो कर्तव्य स्वीकार गरिनँ भने, म साँच्चै परमेश्‍वरको घरको सदस्य कहलिन योग्य हुने थिइनँ। तर यदि मैले यसमा सहमति जनाएँ र त्यसपछि कामलाई काँध हाल्न सकिनँ भने, के मेरो अभिमान र हैसियत खत्तम हुनेछैन र? यी कुराहरू सोच्दा मलाई निकै दबिएको र पीडा महसुस हुन्थ्यो, र म धर्मसङ्कटमा परेको महसुस गरेँ। मैले आफ्नो साँचो स्थिति परमेश्‍वरसामु पोखेँ, “हे परमेश्‍वर, आज सुपरिवेक्षकको यो कर्तव्य मकहाँ आएको छ, र मलाई थाहा छ यो तपाईँको उत्थान र अनुग्रह हो, तर मलाई आफूमा सुपरिवेक्षक बन्ने क्षमताको कमी छ भन्ने लागिरहन्छ, र मलाई फेरि सुपरिवेक्षक बनेपछि, म सबै प्रकारका समस्याहरूमा पर्नेछु र फेरि पनि हैसियत र अभिमानमा फस्नेछु, र आफूलाई त्यसबाट निकाल्न सक्नेछैन भन्ने कुराको धेरै डर छ। हे परमेश्‍वर, बिन्ती मलाई आस्था र समर्पित हुने सङ्कल्प दिनुहोस्।”

पछि, म भारी हृदय लिएर भेलामा गएँ। अगुवाले मेरो स्थिति थाहा पाएर मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड खोजिदिनुभयो: “परमेश्‍वरले मान्छेका लागि वातावरणहरू खडा गर्नुको उद्देश्य भनेको एकातिर, मानिसहरूलाई विभिन्न कुराहरू अनेकौँ तरिकाले अनुभव गर्न, तीबाट पाठहरू सिक्न, परमेश्‍वरको वचनमा भएका विभिन्‍न सत्यता वास्तविकताहरूमा प्रवेश गर्न दिनु, मानिसका अनुभवहरू समृद्ध बनाउनु, अनि तिनीहरूलाई परमेश्‍वर, आफू स्वयम्, आफ्ना परिवेश, र मानवजातिबारे अझ विस्तृत र बहुपक्षीय बुझाइ प्राप्त गर्न मद्दत गर्नु हो। अर्कोतिर, परमेश्‍वर मानिसहरूका लागि केही विशेष वातावरणहरू खडा गरेर र केही विशेष पाठहरू प्रबन्ध गरेर मानिसहरूले उहाँसँग सामान्य सम्बन्ध कायम राखून् भन्‍ने चाहनुहुन्छ। यसरी मानिसहरू उहाँसामु झनै बारम्बार आउँछन्, र परमेश्‍वरविहीन स्थिति अर्थात् परमेश्‍वरमा विश्‍वास गर्छु भन्‍ने, तर परमेश्‍वर वा सत्यतासँग सरोकार नै नभएको तरिकाले कार्य गर्दै, समस्या निम्त्याउने खालको स्थितिमा जिउँदैनन्। त्यसकारण, परमेश्‍वरद्वारा खडा गरिएका वातावरणमा मानिसहरू खासमा मन नलागी-नलागी र निष्क्रिय रूपमा परमेश्‍वरसामु उहाँद्वारा ल्याइन्छन। यसले परमेश्‍वरका श्रमसाध्य अभिप्रायहरू देखाउँछ। तँ कुनै मामिलालाई जति कम बुझ्छस्, तँमा त्यति नै बढी परमेश्‍वरको डर मान्‍ने र भक्त हृदय हुनुपर्छ, र तँ बारम्बार परमेश्‍वरका अभिप्रायहरू र सत्यता खोजी गर्न उहाँअघि आउनुपर्छ। तैँले कुराहरू नबुझ्दा, तँलाई परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन चाहिन्छ। तैँले आफूले नबुझ्ने कुराहरू सामना गर्दा, परमेश्‍वरलाई तँमाथि अझै बढी काम गर्नुहोस् भनी अनुरोध गर्नुपर्छ। यी परमेश्‍वरका श्रमसाध्य अभिप्रायहरू हुन्। तँ परमेश्‍वरको अघि जति आउँछस्, तेरो हृदय त्यति नै परमेश्‍वरको नजिक हुनेछ। अनि के तेरो हृदय परमेश्‍वरको जति नजिक हुन्छ, परमेश्‍वर त्यसमा त्यति नै धेरै बास गर्नुहुनेछ भन्‍ने कुरा साँचो होइन र? परमेश्‍वर व्यक्तिको हृदयमा जति धेरै बस्‍नुहुन्छ, उसको खोजी, उसले हिँड्ने मार्ग, र उसको हृदयको स्थिति त्यति नै असल बन्नेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो)। परमेश्‍वरका वचनहरू एकदमै स्पष्ट छन्। परमेश्‍वरले जस्तोसुकै परिस्थिति खडा गर्नुभए पनि, ती सबै हामीले पाठ सिक्न र सत्यता प्राप्त गर्न सकौँ भनेर नै हो। पहिले सुपरिवेक्षक हुँदाको समयबारे फर्केर सोच्दा, मेरो कर्तव्यमा धेरै विचलन र कमजोरीहरू प्रकट भएकाले, र मेरो अभिमान सन्तुष्ट नहुँदा, म प्रायः नकारात्मक बन्थेँ। मैले आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न कहिल्यै सत्यता खोजिनँ। मैले सोच्ने भनेको मेरा ब्रदर-सिस्टरहरूले मेरो बारेमा के सोच्नुहोला, र उहाँहरूले मलाई हेयको नजरले हेर्नुहोला कि भन्ने मात्र थियो। म आफ्नो कर्तव्यबाट भागिरहन चाहेँ, र म नकारात्मक भएँ र सुस्त बनेँ, कुनै वास्तविक काम गरिनँ। अन्तमा, काममा ढिलाइ भयो, र मेरो जीवनमा कुनै वृद्धि भएन। यो सबै मैले लामो समयसम्म सत्यता नखोज्नुको परिणाम थियो। पहिले सुपरिवेक्षक नहुँदाको समयबारे फर्केर सोच्दा, मलाई लाग्थ्यो म सबै पक्षमा राम्रो गरिरहेकी छु, र ममा आफूबारे वास्तविक बुझाइ छैन। सुपरिवेक्षक बनेदेखि, मेरो कर्तव्यमा धेरै विचलन र समस्याहरू खुलासा भएका थिए, र मलाई धेरै पटक काँटछाँट गरियो। यी सबैले मलाई आफ्ना भ्रष्टता र कमीहरूमाथि चिन्तन गर्न, र सत्यता खोज्न परमेश्‍वरसामु आउन बाध्य पार्‍यो। यदि मैले आफ्ना कमीकमजोरीहरूको सामना गर्न, परमेश्‍वरलाई अझ धेरै प्रार्थना गर्न, र सत्यता सिद्धान्तहरू खोज्न सकेकी भए, मैले सबै पक्षहरूमा पाठ सिक्न सक्ने थिएँ। यो परमेश्‍वरको अनुग्रह थियो। तर मैले कृतज्ञ हुन जानिनँ; मैले सधैँ आफ्नो कर्तव्य पन्छाउन चाहेँ र म गैरजिम्मेवार थिएँ। बर्खास्त भएपछि पनि, मैले अलिकति पनि अपराधबोध वा पछुतो महसुस गरिनँ। बरु, मैले यसलाई एक प्रकारको राहतका रूपमा सोचेँ। मैले परमेश्‍वरलाई साँच्चै निराश बनाएकी थिएँ! तैपनि परमेश्‍वरले मलाई घृणा गर्नुभएन, बरु मलाई तालिमको अर्को अवसर दिनुभयो, उहाँ मैले आफूलाई सत्यताले अझ सुसज्जित गरूँ र जीवनमा अझ छिटो बढूँ भन्ने चाहनुहुन्थ्यो। तर म भावशून्य र मन्दबुद्धिको थिएँ, र मैले परमेश्‍वरको अभिप्राय बुझिनँ। मलाई आफ्ना कमीहरू फेरि खुलासा होलान् र अरूले मलाई हेयको नजरले हेर्लान् भन्ने चिन्ता थियो, त्यसैले मैले सुपरिवेक्षकका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न चाहिनँ। मैले साँच्चै परमेश्‍वरको श्रमसाध्य अभिप्रायलाई निराश पारेकी थिएँ। यी कुराहरूको बुझाइले मलाई परमेश्‍वरप्रति केही हदसम्म दोषी र ऋणी महसुस गरायो।

मैले परमेश्‍वरको अभिप्रायलाई अलि बढी बुझ्न थालेँ र सुपरिवेक्षक हुनुको कर्तव्य स्वीकार गरेँ। तर मैले अझै पनि फिक्री गर्न र चिन्तित हुन छाडिनँ। मलाई म आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सक्दिनँ, हरप्रकारले मेरो बेइज्जत हुनेछ, र पछिल्लो पटक जस्तै बर्खास्त हुनेछु भन्ने डर थियो। एक दिन, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, जसले मलाई निकै प्रभावित गर्‍यो। परमेश्‍वर भन्‍नुहुन्छ: “तेरो क्षमता बलियो भए पनि वा कमजोर भए पनि, र तैँले सत्यता बुझे पनि वा नबुझे पनि, जे भए पनि, तँमा यस्तो मनोवृत्ति हुनैपर्छ: ‘यो काम मलाई दिइएको हुनाले, मैले यसलाई गम्‍भीरतासाथ लिनैपर्छ; मैले यसलाई मेरो चासोको विषय बनाउनुपर्छ, र यसलाई राम्ररी पूरा गर्न आफ्‍नो सारा हृदय र शक्ति प्रयोग गर्नैपर्छ। मैले यसलाई पूर्ण रूपमा राम्ररी गर्न सक्छु कि सक्दिनँ भन्‍नेबारे ग्यारेन्टी दिन नसके पनि, मेरो मनोवृत्ति भनेको यसलाई आफूले सकेजति राम्ररी निर्वाह गर्ने हो, र म यसबारे अवश्य नै झाराटारुवा हुनेछैनँ। यदि काममा कुनै समस्या उत्पन्‍न भयो भने, मैले जिम्‍मेवारी लिनुपर्छ, र यसबाट पाठ सिकेको सुनिश्‍चित गरेर आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ।’ यो सही मनोवृत्ति हो(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८))। परमेश्‍वरका वचनहरूको यो खण्ड पढेपछि, म धेरै प्रभावित भएँ। मसँग परमेश्‍वरका मागहरू धेरै छैनन्। उहाँ मसँग मेरो क्षमता र सामर्थ्यभन्दा बाहिरको कुनै ठूलो काम लिन माग गर्नुहुन्न, र उहाँ केवल मसँग एउटा सच्चा हृदय होस् र मैले आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सक्दो प्रयास गरूँ भन्ने माग गर्नुहुन्छ। परमेश्‍वरलाई सन्तुष्ट पार्न यति नै पर्याप्त छ। मैले अझै पनि सुपरिवेक्षकको कर्तव्य वहन गर्न सक्छु भन्ने ग्यारेन्टी गर्ने हिम्मत नगरेकी भए तापनि, मैले कम्तीमा आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सक्दो प्रयास गर्ने मनोवृत्ति राख्नुपर्थ्यो। यो मेरो पहुँचभित्र थियो। मलाई के महसुस भयो भने पहिले मैले आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न नसक्नुका कारण मेरो क्षमताको कमी नभएर, म निरन्तर आफैबारे फैसला गर्ने स्थितिमा जिइरहनु, र निरन्तर पछि हट्न चाहनु रहेछ। ममा आफ्नो कर्तव्यप्रति बोझको कुनै बोध थिएन, र समस्याहरू देखा पर्दा, त्यसबारे चिन्तन गर्न म तुरुन्तै परमेश्‍वरसामु आउँदिनथेँ, र म यी विचलन र समस्याहरू किन देखा परे भनेर विश्लेषण गर्दिनथेँ, न त तिनलाई समाधान गर्न सत्यता कसरी खोज्ने भनेर मनन नै गर्थेँ। दिनदिनै मैले सोच्ने भनेको मेरो आफ्नो अभिमान र हैसियत मात्र थियो। यस्तो मनोवृत्तिले, मैले कसरी आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सक्थेँ र? यो बुझेपछि, मैले मेरो अहमता, अभिमान र हैसियतप्रतिको चिन्ता नै मेरो कर्तव्यमा सबैभन्दा ठूला बाधाहरू हुन् भन्ने देखेँ।

पछि, मैले आफ्नो समस्याबारे चिन्तन गर्न थालेँ, “जब-जब अभिमान र हैसियतको कुरा आउँछ, तब म किन गलत स्थितिमा डुब्न पुगिहाल्छु?” मैले परमेश्‍वरका वचनहरू पढेँ: “ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यन्तै प्यारो ठान्ने कार्य साधारण मानिसको भन्दा धेरै परको हदसम्म जान्छ र यो तिनीहरूको स्वभाव सारभित्रै रहेको हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको पर्यावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब ख्रीष्टविरोधीहरूले गर्ने हरेक कुरामा तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो र तिनीहरूले जीवनभर पछ्याउने लक्ष्य हो। आफूले गर्ने सबै कुराहरूमा तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: ‘मेरो हैसियत के हुनेछ? अनि मेरो प्रतिष्ठा के हुनेछ? के यो काम गर्दा यसले मलाई राम्रो प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?’ तिनीहरूले पहिलोपटक सोच्ने कुरा यही हो, जुन तिनीहरूसँग ख्रीष्टविरोधीहरूको स्वभाव र सार छ र यसैकारण मात्र तिनीहरू कामकुरालाई यसरी विचार गर्छन् भन्ने कुराको प्रमाण हो। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, झन् तिनीहरूका लागि नहुँदा पनि हुने बाह्य कुराहरू हुने त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन् र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको मनोवृत्ति होइन। त्यसो भए तिनीहरूको मनोवृत्ति के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक अवस्था र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्‍च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको साँचो अनुहार र तिनीहरूको सार यही हो। तिनीहरूलाई तैँले पहाडको प्राचीन जङ्गलको भित्री भागमा छोडिस् भने पनि तिनीहरूले अझै पनि हैसियत र प्रतिष्ठाको खोजीलाई पन्छाउन सक्दैनन्। तिनीहरूलाई तैँले जुनसुकै समूहका मानिसमाझ राख्‍न सक्छस् तर तिनीहरूले सोच्न सक्‍ने भनेकै प्रतिष्ठा र हैसियत मात्रै हुन्छ। ख्रीष्टविरोधीहरूले पनि परमेश्‍वरमा विश्‍वास गर्ने भए पनि, तिनीहरू आफ्नो प्रतिष्ठा र हैसियतको पछ्याइलाई परमेश्‍वरमाथिको विश्‍वास बराबर मान्छन् र यी दुई कुरालाई समान स्तरमा राख्छन्। भन्‍नुको मतलब, परमेश्‍वरमा विश्‍वास गर्ने मार्गमा हिँड्दा, तिनीहरूले आफ्नै प्रतिष्ठा र हैसियत पनि पछ्याउँछन्। के भन्‍न सकिन्छ भने, ख्रीष्टविरोधीहरूका हृदयमा, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा सत्यताको पछ्याइ भनेको प्रतिष्ठा र हैसियतको पछ्याइ हो, अनि प्रतिष्ठा र हैसियतको पछ्याइ भनेको सत्यताको पछ्याइ पनि हो; प्रतिष्ठा र हैसियत प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्‍वरका वचनहरूबाट मैले के देखेँ भने ख्रीष्टविरोधीहरूले प्रतिष्ठा र हैसियतलाई आफ्नो जीवन नै ठान्छन्, र आफ्नो जीवनभरि पछ्याउने लक्ष्यका रूपमा लिन्छन्। उनीहरूले जे गरे पनि वा भने पनि, उनीहरूले विचार गर्ने भनेको आफ्नो प्रतिष्ठा र हैसियत मात्र हो। यो नै ख्रीष्टविरोधीको सार हो। फर्केर सोच्दा, मैले सानैदेखि प्रतिष्ठा र हैसियतको बलियो चाहना राखेकी थिएँ, र म सधैँ “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” र “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” जस्ता शैतानी विषहरूअनुसार जिएकी थिएँ। अरूले मलाई कसरी हेर्छन् भन्ने कुरामा म गहिरो चासो राख्थेँ। म चौथो कक्षामा हुँदा, मेरा शिक्षकले मलाई गणित ओलम्पियाडमा भाग लिन छान्नुभयो। तर मैले अरू विद्यार्थीहरूजत्तिकै उच्च अङ्क ल्याउन सकिनँ, र मैले निकै अपमानित महसुस गरेँ। त्यसपछि, मैले एउटा बहाना बनाएँ र स्कुल छोडिदिएँ। मेरा शिक्षकले मेरा ग्रेडहरू वास्तवमा त्यति खराब छैनन् भन्ने देख्नुभयो र मैले स्कुल छोड्नु दुःखको कुरा हो भन्ने सोच्नुभयो, त्यसैले उहाँ मलाई मनाउन विशेष गरी मेरो घरमा आउनुभयो। त्यसपछि मात्र म स्कुल फर्किएँ। सातौँ कक्षामा, एक पटक, मैले शिक्षकको एउटा प्रश्नको गलत जवाफ दिएँ, र पूरै कक्षा हाँसोले गुञ्जियो। मैले एकदमै अपमानित महसुस गरेँ र फेरि कहिल्यै स्कुल गइनँ। परमेश्‍वरलाई भेट्टाएपछि, म अझै नि उस्तै थिएँ। मेरो प्रतिष्ठा र हैसियतको चाहना पूरा नभएकाले, म नकारात्मक स्थितिमा जिएँ र आफ्नो कर्तव्य त्याग्न चाहेँ। पहिले सुपरिवेक्षक हुँदा, मेरा धेरै कमजोरीहरू खुलासा भए, र मैले एकदमै अपमानित महसुस गरेँ, त्यसैले म बारम्बार आफ्नो कर्तव्यबाट भाग्न चाहेँ र समाधान गर्न सकिने समस्याहरू समाधान गर्न कुनै प्रयास गरिनँ। म आफ्नो कर्तव्यमा सुस्त भएँ र नकारात्मक थिएँ, र अन्तमा, मैले मण्डलीको काममा ढिलाइ गरेँ र बर्खास्त भएँ। यस पटक, म सुपरिवेक्षक बन्न नचाहनुको कारण पनि वास्तविक काम गर्न नसकेर फेरि बर्खास्त हुनेछु भन्ने डर नै थियो, र मेरो अभिमानले फेरि अर्को चोट सहनुपर्नेछ भनेर म डराएँ। अरूले हेयको नजरले नहेरून् भनेर, मैले यो कर्तव्य अस्वीकार गरिरहन चाहेँ। म मण्डलीको कामबारे अलिकति पनि नसोची, निरन्तर आफ्नो प्रतिष्ठा र हैसियतबारे विचार गरिरहेकी थिएँ। म साँच्चै स्वार्थी, नीच, र मानवताविहीन थिएँ! मानवता भएको व्यक्तिले, कर्तव्यको सामना गर्दा, यो कर्तव्यले उसलाई प्रतिष्ठा दिलाउन सक्छ कि सक्दैन वा उसले कस्ता कठिनाइहरूको सामना गर्नुपर्छ भन्ने कुराको वास्ता गर्दैन। जबसम्म यो मण्डलीको कामले माग गर्ने कुरा हुन्छ, ऊ परमेश्‍वरमा भर पर्नेछ र आफ्नो भूमिका निर्वाह गर्न सक्दो प्रयास गर्नेछ। तर म सधैँ प्रतिष्ठा र हैसियतको चिन्तामा डुबिरहेँ, र मेरो कर्तव्यमा केही बाधा वा असफलताहरू सामना गर्ने बित्तिकै, म दिक्दारीको स्थितिमा डुब्थेँ। मैले सधैँ आफ्नो कर्तव्यलाई अस्वीकार गर्न र पन्छाउन चाहेँ। यसो गरेर, के म परमेश्‍वरको विरोध गरिरहेकी थिइनँ र? मैले देखेँ, हैसियत र ख्यातिको पछ्याइले मलाई परमेश्‍वरको प्रतिरोध गर्न र उहाँको स्वभावलाई चिढ्याउनतर्फ मात्र डोऱ्याउनेछ, र यसरी, म ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेकी छु। यदि मैले प्रतिष्ठा र हैसियत पछ्याइरहेँ भने, मैले कहिल्यै आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सक्नेछैन, र म केवल परमेश्‍वरद्वारा घृणा गरिनेछु र हटाइनेछु। यो सबै बुझेपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मेरो हृदय हैसियत र ख्यातिले अति नै भरिएको छ। म उप्रान्त तपाईँविरुद्ध विद्रोह गर्न चाहन्नँ। मेरो क्षमता जस्तोसुकै भए पनि, म आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सक्दो प्रयास गर्न इच्छुक छु, ताकि तपाईँको हृदयले सान्त्वना पाओस्।”

मेरो खोजीमा, मैले के पत्ता लगाएँ भने मैले सधैँ एउटा गलत धारणा पालेकी रहेछु। मलाई लाग्थ्यो सुपरिवेक्षक हुनका लागि, व्यक्तिमा राम्रो क्षमता हुनुपर्छ र उसले कुशलतापूर्वक काम गर्नुपर्छ; नत्र, ऊ सुपरिवेक्षक हुन योग्य हुँदैन। तर मैले कहिल्यै मेरो यो धारणा वास्तवमा सही छ कि छैन भनेर खोजिनँ। पछि, मैले परमेश्‍वरका वचनहरू पढेँ: “त्यसलाई परमेश्‍वरका घरको समग्र कामको दृष्टिकोणबाट हेर्दा, अवश्य पनि, यदि राम्रो क्षमता भएका मानिसहरू अझ धेरै हुँदा हुन् त, मण्डलीको काम वास्तवमै सजिलो हुनेथियो। तर, एउटा आधार हुन्छ: परमेश्‍वरका घरमा, परमेश्‍वर आफ्नै काम गरिरहनुभएको हुन्छ, र मानिसहरूले निर्णायक भूमिका खेल्दैनन्। त्यसकारण, मानिसहरूको क्षमता राम्रो, औसत, वा कमजोर छ भन्‍ने कुराले परमेश्‍वरको कामका नतिजाहरू निर्धारण गर्दैन। हासिल गर्नुपर्ने अन्तिम नतिजाहरू परमेश्‍वरले पूरा गर्नुहुन्छ। सबथोकको अगुवाइ परमेश्‍वरले नै गर्नुहुन्छ; सबथोक पवित्र आत्माको काम हो(वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (७))। “तेरो क्षमता उच्च भए पनि वा न्यून भए पनि र तँसँग जति नै धेरै प्रतिभा भए पनि, यदि तेरा भ्रष्ट स्वभाव समाधान भएनन् भने, तँलाई जुनसुकै पदमा राखिए पनि, तँ प्रयोग गर्न लायक हुनेछैनस्। यसको विपरीत, यदि तेरो क्षमता र सक्षमता सीमित छन्, तर तैँले तेरो कामको दायराभित्र तैँले बुझ्नुपर्ने र बोध गर्नुपर्ने सत्यता सिद्धान्तहरू लगायत विभिन्‍न सत्यता सिद्धान्तहरू बुझेको छस्, र तेरा भ्रष्ट स्वभाव समाधान भएका छन् भने, तँ प्रयोग गर्न लायक व्यक्ति हुनेछस्(वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। “आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्ने व्यक्तिको सामर्थ्य उसका क्षमतामा मात्र निर्भर हुँदैन, तर मुख्यतया उसको आफ्नो कर्तव्यप्रतिको मनोवृत्ति, उसको चरित्र, उसको मानवता असल छ कि खराब छ र ऊ सत्यता स्वीकार गर्न सक्छ या सक्दैन भन्‍ने कुरामा निर्भर हुन्छ। यी नै मूल मुद्दाहरू हुन्। तेरो हृदय आफ्ना कर्तव्यमा छ कि छैन, तँ सक्दो गर्दै छस् कि छैनस् र दत्तचित्त भएर काम गर्दै छस् कि छैनस्, तँमा आफ्नो कर्तव्य निर्वाहप्रति गम्भीर र होसियार मनोवृत्ति छ कि छैन, तँ सावधान छस् कि छैनस् र कडा मेहनत गर्छस् वा गर्दैनस्: परमेश्‍वरले हेर्ने चीजहरू यिनै हुन्, परमेश्‍वरले हरेक व्यक्तिलाई छानबीन गर्नुहुन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। परमेश्‍वरका वचनहरूले मलाई के महसुस गराए भने मेरो धारणा सत्यतासँग पटक्कै मिल्दैन, परमेश्‍वरको घरमा कुनै पनि काम परमेश्‍वर आफैले गर्नुहुन्छ, र व्यक्तिको क्षमताले सबै कुरा निर्धारण गर्दैन। हामी आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सक्छौँ कि सक्दैनौँ भन्ने कुरा मुख्यतया कर्तव्यप्रतिको हाम्रो मनोवृत्तिमा, हामीसँग लगनशील र जिम्मेवार हृदय छ कि छैन भन्नेमा, र हामी सत्यता सिद्धान्तहरूअनुसार काम गर्न सक्छौँ कि सक्दैनौँ भन्नेमा निर्भर हुन्छ। यदि कुनै व्यक्तिसँग प्रतिभा र क्षमता छ, तर उसको कर्तव्यप्रति बोझ वा जिम्मेवारीको बोध नै छैन, र ब्रदर-सिस्टरहरूले उसका समस्या औँल्याउँदा, ऊ त्यसलाई स्विकार्न इन्कार गर्छ र त्यसमाथि चिन्तन वा त्यसको विश्लेषण गर्दैन भने, तब उसमा प्रतिभा र क्षमता नै भए पनि, उसले आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सक्दैन, र परमेश्‍वरले उसलाई आशिष् वा मार्गदर्शन दिनुहुन्न। यसको विपरीत, यदि कुनै व्यक्तिको औसत क्षमता छ तर उसको हृदय सही ठाउँमा छ, र उसले आफ्नो कर्तव्य लगनशीलता र जिम्मेवारीपूर्वक पूरा गर्छ, र ब्रदर-सिस्टरहरूले उसका विचलन र कमजोरीहरू औँल्याउँदा, उसले ती कुरालाई स्विकार्न र सुधार्न सक्छ भने, उसले अझै पनि आफ्नो कर्तव्यमा केही नतिजाहरू हासिल गर्न सक्छ। मैले एक पटक चिनेकी एक सिस्टरबारे सोचेँ। उनको क्षमता औसत थियो, तर अगुवा चुनिएपछि, उनले आफ्नो कर्तव्यमा बोझको बोध राखिन्, आफ्नो काम लगनशील र व्यावहारिक भएर गरिन्, र आफ्नो कर्तव्यमा अपेक्षाकृत राम्रा नतिजाहरू हासिल गरिन्, र पछि, उनलाई अझ ठूलो काम लिनका लागि बढुवा गरियो। पहिले मसँग सहकार्य गर्ने अर्की एउटा सिस्टर पनि थिइन्, जसको क्षमता राम्रो थियो, तर अगुवाले उनको काममा समस्या र विचलनहरू औँल्याउँदा, उनले तिनलाई स्विकार्न इन्कार मात्र गरिनन्, उल्टै तर्क समेत गरिन् र समर्पित हुन इन्कारिन्। फलस्वरूप, उनले पवित्र आत्माको काम गुमाइन्, कुनै पनि समस्याहरू छर्लङ्ग देख्न सकिनन्, र आफ्नो कर्तव्यमा कुनै नतिजा हासिल गरिनन्, र अन्ततः, उनी बर्खास्त भइन्। यी तथ्यहरूबाट, मैले के देखेँ भने कसैले आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सक्छ कि सक्दैन भन्ने कुरा निर्णायक रूपमा उसको क्षमताले निर्धारण गर्दैन, बरु मुख्य कुरा उसले सत्यता स्विकार्न सक्छ कि सक्दैन भन्ने कुरा, र उसको कर्तव्यप्रतिको मनोवृत्तिमा निर्भर गर्दछ।

पछि मैले परमेश्‍वरका वचनहरूका थप दुई खण्ड पढेँ, जुन मेरा लागि निकै उपयोगी थिएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरले तँलाई दिनुभएका क्षमता, वरदान, र प्रतिभाहरू पहिले नै पर्याप्त छन्—यति मात्र हो कि तँ सन्तुष्ट छैनस्, तँ आफ्नो कर्तव्यमा अर्पित हुँदैनस्, तँलाई आफ्नो स्थान कहिल्यै थाहा हुँदैन, सधैँ उच्च सुनिने कुराहरू फलाक्न र धाक लगाउन चाहन्छस्, जसले गर्दा अन्ततः तैँले आफ्नो कर्तव्य अस्तव्यस्त बनाउँछस्। तैँले परमेश्‍वरले तँलाई दिनुभएका क्षमता, वरदान, र प्रतिभालाई उपयोग गरेको छैनस्, तैँले पूर्ण प्रयास गरेको छैनस्, र तैँले कुनै नतिजा हासिल गरेको छैनस्। तँ निकै व्यस्त भए पनि, परमेश्‍वरले तँ मूर्ख जस्तै छस् भनेर भन्‍नुहुन्छ, आफ्नो स्थान जानेको र आफ्नो उचित कार्यमा केन्द्रित व्यक्ति भन्नुहुन्न। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई मन पराउनुहुन्न। त्यसकारण, तेरा योजना र उद्देश्यहरू जेसुकै भए पनि, यदि तँ परमेश्‍वरले तँलाई दिनुभएका अन्तर्निहित क्षमता, वरदान, प्रतिभा, सक्षमता, र अरू अवस्थाहरूका आधारमा, परमेश्‍वरले माग गर्नुहुने सिद्धान्तहरू अनुसार गर्न अन्ततः आफ्नो सारा हृदय, सारा मन, र सारा सामर्थ्यले कर्तव्य पूरा गर्दैनस् भने, परमेश्‍वरले तैँले के गरेको छस् भन्‍ने कुरा याद गर्नुहुनेछैन, र तैँले आफ्नो कर्तव्य पूरा गरिरहेको हुनेछैनस्, बरु, तैँले त दुष्कर्म गरिरहेको हुनेछस्(वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। “सुरुमा, परमेश्‍वरले तँलाई दिनुभएका अन्तर्निहित र विद्यमान वरदान, क्षमता, र सबल पक्षहरू, साथै तैँले प्राप्त गर्न र हासिल गर्न सक्‍ने प्राविधिक वा पेसागत सीपहरूलाई पूर्ण रूपमा उपयोग गर्, र कुनै कसर बाँकी नराख्। यदि तँ यी सबै कामकुराहरूका हिसाबमा परमेश्‍वरलाई सन्तुष्ट पार्न पुगेको छस् र तँलाई अझै पनि अझै ठूला उचाइहरूमा पुग्‍न सक्छु भन्‍ने लाग्छ भने, आफ्नो क्षमताले हासिल गर्न सक्‍ने कुराको दायराभित्र, तैँले कुन-कुन प्राविधिक वा पेसागत सीपहरूमा सुधार गर्न वा फड्को मार्न सक्छस् हेर्। तैँले आफ्नो क्षमताले हासिल गर्न सक्‍ने कुराका आधारमा सिकिरहन र सुधार भइरहन सक्छस्। … यदि तँ आफ्नो सारा हृदय, सारा शक्ति, र सारा मनले, अनि आफ्नो क्षमताले सके जति, आफ्नो कर्तव्य पूरा गर्न सक्छस्, र तँसँग निष्कपट हृदय छ भने, तँ परमेश्‍वरको अघि सुन जस्तै बहुमूल्य हुन्छस्। यदि तँ आफ्नो कर्तव्य पूरा गर्दा मूल्य चुकाउन सक्दैनस् र तँमा बफादारीको कमी छ भने, तेरा जन्मजात अवस्थाहरू औसत व्यक्तिको भन्दा असल भए पनि, तँ परमेश्‍वरको अघि बहुमूल्य छैनस्, तँ एउटा बालुवाको कणको मूल्य जति समेत छैनस्(वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्‍वरका वचनहरूले मलाई के बुझाए भने व्यक्तिको क्षमता जस्तोसुकै भए पनि, जबसम्म उसले आफूले गर्न सक्ने दायराभित्र रही, आफ्नो सारा शक्ति र मनले आफ्नो कर्तव्य पूरा गर्छ, र ऊसँग एक निष्कपट हृदय हुन्छ, त्यस्तो व्यक्ति परमेश्‍वरको नजरमा सुनभन्दा बहुमूल्य हुन्छ। परमेश्‍वरले मलाई दिएको क्षमता वास्तवमा पर्याप्त थियो, र म लेखन-पठनको कामसम्बन्धी केही सिद्धान्त पनि बुझ्न सक्थेँ, र सामान्यतया, कामको अनुगमन गर्दा मसँग कुनै मार्ग नै नभएको जस्तो थिएन। समस्या के थियो भने मैले कहिल्यै आफ्ना कमजोरीहरूलाई सही तरिकाले लिन नै सकेकी थिइनँ, मैले सधैँ आफूलाई राम्रो क्षमता र प्रतिभा भएकाहरूसँग तुलना गरेकी थिएँ, र मैले आफ्नो कर्तव्य कसरी राम्रोसँग पूरा गर्ने भन्नेमा आफ्नो हृदय कहिल्यै केन्द्रित गरेकी थिइनँ। अब म फेरि सुपरिवेक्षकको कर्तव्य पूरा गरिरहेकी हुनाले, म यस कर्तव्यलाई अत्यन्तै कदर गर्नेछु र यो आफ्नो सम्पूर्ण हृदय र मनले पूरा गर्नेछु। मैले यसलाई उप्रान्त नकारात्मक रूपमा लिन सक्दिनथेँ।

मेरो मनोवृत्ति परिवर्तन भएपछि, अर्को पटक मैले आफ्नो कर्तव्य निर्वाह गर्दा, मैले परमेश्‍वरसँग उहाँको सामु मेरो हृदयलाई शान्त राखिदिनुहोस् भनी प्रार्थना गरेँ। प्रवचनहरूलाई ध्यानपूर्वक समीक्षा गर्दा, मैले केही समस्याहरू पत्ता लगाउन सकेँ, र मेरा ब्रदर-सिस्टरहरूसँगै व्यावसायिक सीपहरू अध्ययन गर्दा मैले केही लाभहरू प्राप्त गर्न सकेँ। जब काममा मेरा धेरै कमजोरीहरू खुलासा गर्ने गरी विचलन र समस्याहरू देखा पर्थे, म अझै पनि लज्जित र केही हदसम्म नकारात्मक महसुस गर्थेँ, र पछि हट्ने विचार पनि आउँथ्यो, र त्यस्ता समयमा, म मेरा विगतका असफलताहरूबारे सोच्थेँ। पहिले, म सधैँ अभिमान र हैसियतको चिन्तामा डुबेकी हुन्थेँ, र समस्याहरू देखा पर्दा, म सक्रिय भएर विचलन र कमजोरीहरूको विश्लेषण गर्थिनँ, सधैँ नकारात्मक महसुस गर्थेँ र पछि हट्थेँ, र फलस्वरूप, मैले पवित्र आत्माको काम गुमाएँ। म फेरि दिक्दारीको स्थितिमा पर्न चाहन्नथेँ, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरी मलाई नकारात्मकताबाट बाहिर निकाल्न मद्दत मागेँ। साथसाथै, मैले आफ्नो स्थितिबारे अगुवाहरू र मेरा ब्रदर-सिस्टरहरूलाई खुलस्त बताएँ, र उहाँहरू सबैले मसँग सङ्गति गर्नुभयो र मलाई प्रोत्साहन दिनुभयो। अगुवाहरूले मलाई मद्दत र समर्थन पनि गर्नुभयो, र मैले आफ्नो कर्तव्य निर्वाह गर्ने तरिकामा रहेका समस्याहरू औँल्याउनुभयो। मैले यी समस्याहरू कसरी उत्पन्न भए भनेर मनन गरेँ, र केही मेरो झाराटारुवा मनोवृत्तिका कारण भएका, र केही मैले सिद्धान्तहरू नबुझेकाले भएका थिए भनी पत्ता लगाएँ, त्यसैले मैले यी समस्याहरूको विश्लेषण गरी सुधार गरेँ। कहिलेकाहीँ, जब मैले सम्हाल्न नसक्ने धेरै कामकुराहरू हुन्थे, तब अगुवाहरूले मलाई पत्र लेखेर प्राथमिकता दिन सिक्न मद्दत गर्नुहुन्थ्यो, र यसरी मेरो समयलाई उचित रूपमा व्यवस्थित गरेपछि, म सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्षम भएँ। केही समयपछि, लेखन-पठनको कामको नतिजामा केही हदसम्म सुधार भयो। अब म सुपरिवेक्षक भएको छ महिनाभन्दा बढी भइसक्यो, र ममा धेरै कमजोरी र अपर्याप्तताहरू, र काममा अझै पनि धेरै समस्या भए पनि, यस पटक मैले अनुभव गरेको कुराबाट मलाई साँच्चै के महसुस भयो भने परमेश्‍वरको घरको काम पवित्र आत्माद्वारा सम्भार गरिन्छ। जब म व्यक्तिगत स्वार्थहरू त्यागेर लगनशीलतापूर्वक आफ्नो कर्तव्य पूरा गर्छु, म पवित्र आत्माको काम र मार्गदर्शन प्राप्त गर्न सक्छु, र म आफ्नो कर्तव्यमा केही नतिजाहरू पनि हासिल गर्न सक्छु। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ३४. वृद्धवृद्धाहरूले झनै बढी सत्यता पछ्याउनुपर्छ

अर्को: ४७. म आफू अत्यन्तै स्वार्थी छु भन्ने कुरा बुझ्छु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

७२. एक ढोङ्गीको पश्‍चात्ताप

क्षिनरुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित...

१८. मेरो गलत बुझाइ र स्व-आरक्षितपनद्वारा क्षति पुर्‍याइएको

सुक्षिङ, चीनकेही समय अघि, हाम्रो मण्डलीको अगुवाले आफ्नो पद गुमाइन् किनकि उनले सत्यलाई खोजी गरिरहेकी वा व्यावहारिक काम गरिरहेकी थिइनन् र अरू...

६७. थोरै भए नि मानव रूपमा जिउनु निश्‍चय नै महान् कुरा हो

टाशी, क्यानडासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “उहाँको ६,००० वर्षको व्यवस्थापन योजना नजिक नआउञ्‍जेलसम्‍म—उहाँले प्रत्येक वर्गको मानिसको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्