३४. वृद्धवृद्धाहरूले झनै बढी सत्यता पछ्याउनुपर्छ
म पचास वर्षकी हुँदा, मैले परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गरेँ। मैले आफ्नै जीवनकालमा परमेश्वरका व्यक्तिगत वाणीहरू सुन्न पाउँछु र प्रभु येशूको पुनरागमनलाई स्वागत गर्न पाउँछु भनेर सपनामा पनि सोचेकी थिइनँ। स्वर्गको राज्यमा प्रवेश पाउने आशा देखेर मलाई वास्तविक उद्देश्यको अनुभूति भयो। हरेक दिन म चाँडै उठ्ने र परमेश्वरका वचनहरू पढ्दै अबेरसम्म बस्ने गर्थेँ, र मण्डलीले बन्दोबस्त गरेको कुनै पनि कर्तव्यलाई स्वीकार गरी त्यसमा समर्पित हुन्थेँ। मैले सोचेँ, “यदि म आफ्नो कर्तव्यमा लागिरहन्छु भने, मैले मुक्ति पाउनेछु र स्वर्गको राज्यमा प्रवेश गर्नेछु।” सन् २०२३ सम्ममा, म ७५ वर्ष लागिसकेकी थिएँ। म बुढी थिएँ, मेरो स्मरणशक्ति कमजोर थियो, म कान कम सुन्थेँ र धमिलो देख्थेँ, अनि मेरा खुट्टाहरू पनि पहिले जस्ता स्थिर थिएनन्। मेरो अवस्थाअनुसार मण्डलीले मेरा लागि अतिथि-सत्कार गर्ने कर्तव्यको प्रबन्ध गर्यो। म आफू कसरी बुढी हुँदै गइरहेकी छु र आफ्नो स्वास्थ्य कसरी बिग्रँदै गइरहेको छ भन्ने बारे सोच्थेँ। आफ्नो कमजोर स्मरणशक्तिका कारण म कुराहरू बिर्सिरहन्थेँ, र कहिलेकाहीँ मेरा सम्झनाहरू अलमल्लमा पर्थे। केही वर्षपछि, यदि म बुढ्यौलीले ग्रस्त भएँ र मैले आफ्नो कर्तव्य निर्वाह गर्न सकिनँ भने, के म काम नलाग्ने व्यक्ति बन्दिनँ र? के मैले अझै पनि मुक्ति पाउन सकूँला त? एक पटक, म भर्खरै घर सरेकी थिएँ र घर फर्कने बाटो खोज्दा-खोज्दै हराएँ। यो थाहा पाएपछि एउटी सिस्टरले भनिन्, “तपाईँ अल्मलिन थाल्नुभएको हो कि?” मैले तुरुन्तै भनेँ, “म अलमलमा परेकी छैन।” मैले सोचेँ, “उनीहरूले म अल्मलिन थालेँ भन्ठानेर मलाई कर्तव्य निर्वाह गर्नबाट रोक्दैनन् भन्ने आशा छ। यदि मैले निर्वाह गर्ने कुनै कर्तव्य नै भएन भने, के त्यही नै मेरो अन्त्य होइन र? तब मैले कसरी मुक्ति पाउन सकूँला?” तर पछि फर्केर सोच्दा, म खाना पकाउँदा प्रायः नुन वा हरियो प्याज हाल्न बिर्सन्थेँ, र कहिलेकाहीँ सडकमा अलमलिन्थेँ अनि घर फर्कने बाटै भेट्टाउन सक्दिनथेँ भन्ने कुरा महसुस गरेँ। म डराउन थालेँ। मैले सोचेँ, “के म साँच्चै अल्मलिन लाग्दै छु? के मण्डलीले अझै पनि कर्तव्य निर्वाहमा मलाई प्रयोग गर्न सक्छ? यदि मैले कर्तव्य निर्वाह गर्न सकिनँ भने, मैले अझै पनि मुक्ति पाउन सकूँला र?” म चिन्ता र बेचैनीमा डुब्न थालेँ।
सन् २०२३ को जुन महिनामा, मैले ब्रदर-सिस्टरहरूका निम्ति एउटा भेलाको आयोजना गरेँ। त्यसबेला, मेरो अपार्टमेन्टभन्दा माथिल्लो तल्लामा मर्मत भइरहेको थियो, र दिनहुँ निरन्तर ठकठकको आवाज आउँथ्यो। त्यसपछि, मैले ब्रदर-सिस्टरहरू केही समयसम्म भेलामा आएको देखिनँ, र म अलमल्ल परेँ, “उनीहरू आजभोलि किन आएका छैनन्? के उनीहरूले मलाई आयोजकका रूपमा प्रयोग गर्न छोडेका हुन्? मेरो उमेरमा, मैले गर्न सक्ने भनेको अतिथि-सत्कारको कर्तव्य मात्र हो। यदि मैले अतिथि-सत्कारको कर्तव्य समेत निर्वाह गर्न सकिनँ भने, के मैले मुक्ति पाउने मौका गुमाउनेछैनँ र?” म धेरै चिन्तित थिएँ र उनीहरू फेरि आउलान् भन्ने व्यग्रतापूर्वक आशा गर्थेँ। एक साँझ, एउटी सिस्टर ढोका ढकढकाउन आइन्, र मेरी बुहारीले ढोका खोलिन्। ती सिस्टरले उनीहरू तीन-चार पटक आएका तर कसैले ढोका नखोलेको बताइन्। मलाई साह्रै नराम्रो लाग्यो। मैले सोचेँ, “के म वृद्धा र कान कम सुन्ने भएकीले गर्दा नै मैले उनीहरूको आवाज नसुनेकी होइन र? मैले आफ्नो कर्तव्य राम्ररी पूरा गरेकी छैन। अब म कान कम सुन्छु, आँखा धमिलो देख्छु, ढिलो प्रतिक्रिया दिन्छु, र खुट्टाहरू धर्मराउँछन्। म साँच्चै केही पनि राम्ररी गर्न सक्दिनँ! म अतिथि-सत्कारको कर्तव्य समेत राम्ररी निर्वाह गर्न सक्दिनँ! बुढेसकालले त साँच्चै काम नलाग्ने बनाउँदो रहेछ!” म तन्नेरीहरूको गहिरो ईर्ष्या गर्थेँ किनभने उनीहरू कति छिट्टै सिक्न सक्थे र कुनै पनि कर्तव्य निर्वाह गर्न सक्थे। मलाई परमेश्वर तन्नेरीहरूलाई मन पराउनुहुन्छ, र तिनीहरूले अन्तमा पक्कै पनि मुक्ति पाउनेछन् भन्ने लाग्थ्यो। मैले सोचेँ, म दश वर्ष मात्रै पछाडि फर्कन सकेमा, आफ्नो साठीको दशकमा पनि केही कर्तव्य निर्वाह गर्न सक्ने थिएँ। बिस्तारै, मेरो स्थिति बिग्रँदै गयो, र हरेक दिन म दुःख र चिन्तामा डुबिरहेँ। मेरा प्रार्थनाहरू सामान्य थिएनन्, र परमेश्वरका वचनहरू पढ्दा मलाई कुनै ज्योति वा अन्तर्दृष्टि मिल्दैनथ्यो। मेरो हृदय परमेश्वरबाट झन्-झन् टाढा हुँदै गयो। एक दिन हिँड्दै गर्दा, म लडेँ र मेरो खुट्टाको नसा तन्कियो। यसले भेलाहरूमा ढिलाइ नगरे पनि, म झनै चिन्तित भएँ। यस पटक म लडे पनि भेलाहरूमा ढिलाइ भएको थिएन, तैपनि कुनै दिन म बिरामी परेँ भने, म भेलाहरूमा सामेल हुन वा कर्तव्य निर्वाह गर्न नसक्ने हुन सक्छु। पछि, म साँच्चै बिरामी परेँ र अस्पताल भर्ना हुनुपर्यो। त्यसबेला म धेरै नकारात्मक थिएँ। मैले सोचेँ, “यस पटक मेरो लागि साँच्चै सबै सकियो—म भेलाहरूमा उपस्थित हुन समेत सक्दिनँ, कुनै पनि प्रकारको कर्तव्य निर्वाह गर्ने कुरा त परै जाओस्। के यसले मलाई साँच्चै काम नलाग्ने बनाउँदैन र?” अस्पतालबाट डिस्चार्ज भएपछि, मेरो स्थिति कमजोर नै रह्यो। यदि मैले अतिथि-सत्कारको कर्तव्य समेत निर्वाह गर्न सकिनँ भने मैले मुक्ति पाउन सकूँला र भनेर म चिन्तित भएँ। के यसको मतलब मेरो वर्षौँको आस्था व्यर्थ भएको हुनेछैन र? मैले जति धेरै यसबारे सोचेँ, मैले त्यति नै बढी हृदय टुटेको र बेचैन महसुस गरेँ। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, म आफ्नो नकारात्मक स्थितिबाट बाहिर आउन सकूँ भनेर उहाँलाई मलाई अन्तर्दष्टि र ज्योति दिनुहोस् भनी अनुरोध गरेँ।
एक दिन, मैले एउटी वृद्धा सिस्टरले लेखेको अनुभवात्मक गवाही लेख पढेँ, र त्यसले ठ्याक्कै मेरो स्थितिलाई प्रतिबिम्बित गर्यो। त्यसमा उद्धृत परमेश्वरका वचनहरूको एक खण्डले मलाई गहिरो रूपमा छोयो। परमेश्वर भन्नुहुन्छ: “विश्वासी दाजुभाइ-दिदीबहिनीहरूमाझ पाका मानिसहरू पनि छन्, जो ६० देखि ८० वा ९० वर्ष उमेरसम्मका छन् र जसले बुढेसकालको कारण केही कठिनाइहरू अनुभव गर्छन्। तर तिनीहरूको उमेर जति नै भए पनि, तिनीहरूको सोच सही वा तर्कसङ्गत हुन्छ नै भन्ने छैन, र तिनीहरूका विचार र दृष्टिकोणहरू सत्यताअनुरूप हुन्छन् नै भन्ने छैन। यी पाका मानिसहरूसँग पनि उस्तै समस्या हुन्छन्, र तिनीहरू सधैँ यस्तो चिन्ता गरिरहेका हुन्छन्, ‘मेरो स्वास्थ्य स्थिति त्यति राम्रो छैन र मैले कुन कर्तव्य निभाउन सक्छु भन्नेबारेमा पनि सीमितता आएको छ। यदि मैले यो थोरै कर्तव्य मात्रै पूरा गरेँ भने, के परमेश्वरले मलाई सम्झनुहोला त? कहिलेकहीँ म बिरामी हुन्छु, र मलाई कसैले हेरचाह गर्नुपर्ने हुन्छ। मलाई हेरचाह गर्ने कोही नहुँदा, मैले आफ्नो कर्तव्य पूरा गर्न सक्दिनँ, त्यसकारण मैले के गर्न सक्छु र? म वृद्ध भइसकेँ र परमेश्वरका वचनहरू पढ्दा म ती याद गर्नै सक्दिनँ र सत्यता बुझ्न मलाई गाह्रो हुन्छ। सत्यतामा सङ्गति गर्दा, म अस्पष्ट र अतार्किक रूपमा बोल्छु, र मसँग अरूलाई बताउनलायक कुनै अनुभव छैन। म वृद्ध भइसकेँ र मसँग पर्याप्त ऊर्जा छैन, मेरो दृष्टि पनि त्यति राम्रो छैन र म पहिलेजस्तो दह्रिलो पनि छैनँ। सबै कुरा मेरो लागि गाह्रो छ। मैले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने मात्रै होइन, म सजिलै बिर्सिन्छु र गल्ती पनि गर्छु। कहिलेकहीँ म अन्योलमा पर्छु र मण्डली र मेरा विश्वासी दाजुभाइ-दिदीबहिनीहरूमा समस्या ल्याउँछु। मलाई सत्यता पछ्याउन र मुक्ति प्राप्त गर्न निकै गाह्रो हुन्छ। मैले के गर्न सक्छु र?’ तिनीहरूले यी कुराहरू सोच्दा, तिनीहरू फिक्री गर्न थाल्छन् र यस्तो सोच्छन्, ‘मैले कसरी यो उमेरमा मात्रै परमेश्वरमा विश्वास गर्न थालेँ? मैले किन अरूले जस्तो २० वा ३० को दशकमा विश्वास गर्न थालिनँ? मैले ४० वा ५० को दशकमा विश्वास गर्न थालेको भए पनि ठिकै हुनेथियो! मैले कसरी अहिले बुढो भएपछि मात्रै परमेश्वरको काममा सहभागी हुने अवसर पाएँ? मेरो भाग्य खराब पनि होइन; कम्तीमा पनि अहिले मैले परमेश्वरको काममा सहभागी हुन पाएको छु। मेरो भाग्य राम्रो छ, र परमेश्वर मसँग दयालु हुनुभएको छ! मलाई एउटै कुरामा मात्रै खुसी लागेको छैन, र त्यो के हो भने म साह्रै बुढो भइसकेको छु। मेरो स्मरण शक्ति राम्रो छैन, र मेरो स्वास्थ्य स्थिति पनि राम्रो छैन, तर मेरो हृदय दह्रिलो छ। यति मात्र हो मेरो शरीरले मैले भनेको मान्दैन, र भेलाहरूमा केही समय सुनेपछि मलाई निद्रा लाग्छ। कहिलेकहीँ म प्रार्थना गर्न आँखा बन्द गर्छु र निदाउन पुग्छु। परमेश्वरका वचनहरू पढ्दा मेरो मन बरालिन्छ, अनि एकछिन पढेपछि, मलाई निद्रा लाग्छ र म झुल्छु, र आफूले पढिरहेका वचनहरूमा ध्यान लगाउन सक्दिनँ। मैले के गर्न सक्छु? यस्ता व्यावहारिक कठिनाइहरू भए पनि, के मैले अझै सत्यता पछ्याउन र बुझ्न सक्छु? यदि मैले सकिनँ भने, र यदि म सत्यता सिद्धान्तहरू अभ्यास गर्न असक्षम भएँ भने, के मेरो सबै विश्वास व्यर्थ हुँदैन र? के म मुक्ति प्राप्त गर्न असफल हुँदिनँ र? मैले के गर्न सक्छु? मलाई साह्रै चिन्ता लाग्छ! यो उमेरमा, कुनै कुरा पनि त्यति महत्त्वपूर्ण छैन। अहिले मैले परमेश्वरमा विश्वास गरेको हुनाले, मेरो कुनै चिन्ता छैन वा मैले कुनै कुराबारे बेचैन हुनुपर्दैन, र मेरा छोराछोरी ठूला भइसकेकाले र मैले तिनीहरूलाई हेरचाह गर्नु वा हुर्काउनु नपर्ने हुनाले, मेरो जीवनको सबैभन्दा ठूलो इच्छा भनेको सत्यता पछ्याउनु, सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नु र अन्त्यमा मेरो जीवनको बाँकी अवधिमा मुक्ति प्राप्त गर्नु हो। तैपनि, मेरो वास्तविक परिस्थितिलाई हेर्दा, र उमेरको कारण दृष्टि मधुरो र मस्तिष्क अन्योल भएको, स्वास्थ्य स्थिति कमजोर भएको, आफ्नो कर्तव्य राम्ररी पूरा गर्न नसकेको, र कहिलेकहीँ आफूले सक्दो गर्ने प्रयास गर्दा पनि समस्या पैदा गरेको देख्दा, यस्तो लाग्छ मानौँ मेरो लागि मुक्ति प्राप्त गर्न त्यति सहज हुनेवाला छैन।’ तिनीहरूले यी कुराहरूबारे बारम्बार विचार गर्छन् र बेचैन हुन्छन्, र त्यसपछि सोच्छन्, ‘भक्खरका मानिसहरूको जीवनमा मात्रै राम्रा कुराहरू हुने रहेछन्, पाकाहरूकोमा राम्रो केही नहुने रहेछ। अवस्था जति राम्रो भए पनि, म त्यो आनन्द लिन नसक्ने भएजस्तो छ।’ तिनीहरूले यी कुराहरूबारे जति विचार गर्छन्, तिनीहरू त्यति नै चिन्तित र बेचैन बन्छन्। तिनीहरूले आफ्नो बारेमा चिन्ता मात्रै गर्दैनन्, पीडासमेत महसुस गर्छन्। तिनीहरू रोए भने, यो कुराको लागि रुनु सार्थक छैन भन्ने तिनीहरूलाई लाग्छ, र तिनीहरू रोएनन् भने, त्यो पीडा र चोट सधैँ तिनीहरूको साथमा हुन्छ। त्यसकारण, तिनीहरूले के गर्नुपर्छ? … के साँच्चै तिनीहरूसँग अघि बढ्ने कुनै बाटो नहुने हो त? के यसको कुनै हल छ? (पाकाहरूले पनि आफूले सकेजति कर्तव्य पूरा गर्नुपर्छ।) पाकाहरूले पनि आफूले सकेजति कर्तव्य पूरा गर्नुपर्छ, त्यो स्वीकार्य छ, होइन र? के पाकाहरू तिनीहरूको उमेरको कारण सत्यता पछ्याउन नसक्ने हुन्छ र? के तिनीहरू सत्यता बुझ्न सक्ने हुँदैनन् र? (बुझ्न सक्ने हुन्छन्।) के पाकाहरूले सत्यता बुझ्न सक्छन्? तिनीहरूले केही सत्यता बुझ्न सक्छन्, र भक्खरकाहरूले पनि सबै त बुझ्न सक्दैनन्। पाकाहरूमा सधैँ भ्रम हुन्छ, र तिनीहरूलाई आफू अन्योलमा परेको छु, आफ्नो स्मरण शक्ति खराब छ, त्यसकारण आफूले सत्यता बुझ्न सक्दिनँ भन्ने लाग्छ। के यो तथ्य हो? (होइन।) भक्खरकाहरूसँग पाकाहरूमा भन्दा निकै बढी ऊर्जा हुने, र तिनीहरू शारीरिक रूपमा दह्रिला हुने भए पनि, तिनीहरूको बुझ्ने, जान्ने, र चिन्ने क्षमता पाकाहरूको जति नै हुन्छ। के पाकाहरू पनि कुनै बेला जवान नै थिएनन् र? तिनीहरू बुढो भएर जन्मेका थिएनन्, र भक्खरकाहरू पनि एक दिन वृद्ध हुनेछन्। पाकाहरूले सधैँ आफू वृद्ध, शारीरिक रूपमा कमजोर, बिसन्चो, र स्मरण शक्ति कमजोर भएको कारण, भक्खरकाहरूभन्दा फरक छु भनेर सोच्नु हुँदैन। वास्तवमा, यहाँ कुनै भिन्नता हुँदैन। कुनै भिन्नता हुँदैन भनेर मैले भन्नुको अर्थ के हो? कुनै व्यक्ति वृद्ध भए पनि जवान भए पनि, उसको भ्रष्ट स्वभाव उस्तै हुन्छ, सबै कुराहरूबारे उसको मनोवृत्ति र दृष्टिकोण उस्तै हुन्छ, र सबै किसिमका कुराहरूबारे उसको दृष्टिकोण र विचार उस्तै हुन्छ। … पाकाहरूले गर्ने कुरा केही नहुने, वा तिनीहरूले कर्तव्य पूरा गर्न वा सत्यता पछ्याउन नसक्ने भन्ने होइन—तिनीहरूले धेरै कुरा गर्न सक्छन्। तैँले आफ्नो जीवनकालमा बटुलेका धेरै विधर्म र भ्रमहरू, साथै विभिन्न परम्परागत विचार र धारणा, अज्ञानी र जिद्दी कुराहरू, परम्परागत कुराहरू, तर्कहीन कुराहरू, र विकृत कुराहरू तेरो हृदयमा थुप्रिएका छन्, र यी कुराहरू खनेर निकाल्न, चिरफार गर्न, र पहिचान गर्नको लागि तैँले भक्खरकाहरूले भन्दा बढी समय बिताउनुपर्छ। तँसँग गर्ने काम केही नभएको, वा तँ कमजोर अवस्थामा भएर तैँले हैरानी, बेचैनी र चिन्ता महसुस गर्नुपर्ने हो भन्ने होइन—यो तेरो काम पनि होइन र तेरो जिम्मेवारी पनि होइन। सर्वप्रथम, पाका मानिसहरूमा सही मानसिकता हुनुपर्छ। तेरो उमेर ढल्किरहेको भए पनि र शारीरिक रूपमा तँ अरूभन्दा पाको भए पनि, तँमा अझै पनि युवा मानसिकता हुनुपर्छ। तँ वृद्ध हुँदै गइरहेको, तेरो सोच धीमा भइरहेको र तेरो स्मरण शक्ति कमजोर भइरहेको भए पनि, यदि तैँले अझै पनि आफूलाई चिन्न, मैले बोलेका वचनहरू बुझ्न, र सत्यता बुझ्न सक्छस् भने, त्यसले तँ वृद्ध भएको छैनस् र तेरो क्षमता कमजोर भएको छैन भन्ने प्रमाणित गर्छ। यदि कुनै व्यक्ति ७० को दशकमा छ र उसले सत्यता बुझ्न सक्दैन भने, उसको कद सानो छ र ऊ काम गर्ने अवस्थामा छैन भन्ने देखाउँछ। त्यसकारण, सत्यताको कुरा गर्दा उमेरको कुनै सम्बन्ध हुँदैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। मैले परमेश्वरका वचनहरूको यो खण्ड धेरै पटक पढेँ, र मैले जति धेरै पढेँ, मेरो हृदय त्यति नै उज्यालो भएको महसुस भयो। परमेश्वर साँच्चै मानिसहरूको भित्री हृदयलाई नियाल्नुहुन्छ। के यी वचनहरू सीधै मेरो बारेमा बोलिरहेका थिएनन् र? म चिन्तित थिएँ किनभने म वृद्ध, कमजोर स्वास्थ्यकी, कान कम सुन्ने, आँखा धमिलो देख्ने थिएँ, र मेरो स्मरणशक्ति खस्किएको थियो। मलाई आफ्नो उमेर बढ्दै जाँदा, मैले आफ्नो कर्तव्य निर्वाह गर्न सक्नेछैन, र मैले मुक्ति पाउने मौका गुमाउनेछु भन्ने डर थियो। मैले आफ्ना दिनहरू कष्ट र चिन्तामा डुबेर बिताएँ। परमेश्वरका वचनहरूको त्यो खण्ड पढेपछि, मेरो हृदयले अचानक स्वतन्त्र भएको महसुस गर्यो। परमेश्वरलाई वृद्ध मानिसहरूको कठिनाइ थाहा छ, र उहाँले वृद्धवृद्धाहरूले उहाँको अभिप्राय बुझ्न सकून् भनेर यी वचनहरू व्यक्त गर्नुभएको छ। चाहे जवान होस् वा वृद्ध, परमेश्वर सबैलाई सत्यता पछ्याउने र मुक्ति पाउने मौका दिनुहुन्छ, र मैले परमेश्वर धर्मी हुनुहुन्छ भनी देखेँ। परमेश्वरका वचनहरूबाट, मैले अभ्यासको मार्ग भेट्टाएँ। म वृद्धा भए पनि, म अझै पनि परमेश्वरका वचनहरू बुझ्न सक्छु, र ममाथि आइपर्ने कुराहरूमा मैले सत्यता खोज्नुपर्छ, र आफ्नै भ्रष्टता र कमीकमजोरीहरूलाई चिन्नुपर्छ। मैले सत्यता पछ्याएर पश्चात्ताप र रूपान्तरण पनि हासिल गर्नुपर्छ किनभने वृद्धहरूको स्वभाव तन्नेरीहरूभन्दा कम भ्रष्ट हुँदैन। उदाहरणका लागि, ममा गम्भीर रूपमा अहङ्कारी स्वभाव थियो, र कहिलेकाहीँ ब्रदर-सिस्टरहरूले मेरा समस्याहरू औंल्याउँदा, म त्यसलाई स्वीकार गर्न चाहन्नथेँ। दैनिक पारिवारिक जीवनमा, मेरी बुहारीले मेरो कुरा नसुन्दा, म रिसाउँथेँ र श्रेष्ठताको भाव लिँदै उनलाई तल झारेर कुरा गर्थेँ। यी सबै भ्रष्ट स्वभावका प्रकटीकरणहरू थिए, र तिनलाई समाधान गर्न मैले सत्यता खोज्नु आवश्यक थियो, तसर्थ मैले गर्न सक्ने केही पनि थिएन भन्ने होइन। अब मसँग हरेक दिन घरमा परमेश्वरका अझ धेरै वचनहरू पढ्ने, मैले सामना गर्ने मानिस, कामकुरा र घटनाहरूमा सत्यता खोज्ने, र आफ्नो भ्रष्ट स्वभावलाई समाधान गर्ने प्रशस्त समय थियो। म अनुभवात्मक गवाही भिडियोहरू हेरेर ब्रदर-सिस्टरहरूका अनुभवहरूबाट पाठ सिक्न पनि सक्थेँ। म परमेश्वरको गवाही दिन आफ्ना वास्तविक अनुभवहरू लेख्दै, अनुभवात्मक गवाही लेखहरू लेख्न पनि सक्थेँ। यी सबै मैले गर्नुपर्ने कुराहरू थिए। अब मैले परमेश्वरको अभिप्राय बुझेपछि, मैले उहाँलाई गलत बुझ्न वा नकारात्मक स्थितिमा डुब्न छोडेँ, र आफूले कर्तव्य निर्वाह गर्न सक्छु कि सक्दिनँ भनेर चिन्ता गर्न छोडेँ। मैले मण्डलीले मेरो लागि कर्तव्यको बन्दोबस्त गरोस् वा नगरोस्, म परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनेछु भन्ने सङ्कल्प गरेँ। त्यसबेलादेखि, म हरेक दिन शान्तपूर्वक बसेर परमेश्वरका वचनहरू खान र पिउन सक्षम भएँ, र आफूमाथि कामकुराहरू आइपर्दा, म प्रार्थना गरेर परमेश्वरका अभिप्राय खोज्न सक्थेँ।
पछि, मैले परमेश्वरका वचनहरूका थप दुई खण्ड पढेँ र परमेश्वरले मानिसहरूको परिणाम निर्धारण गर्ने मानक थाहा पाएँ। परमेश्वर भन्नुहुन्छ: “म प्रत्येक व्यक्तिको गन्तव्य निजको उमेर, वरिष्ठता, वा कष्टको परिमाणका आधारमा निर्धारित गर्दिनँ, ऊ कति दयनीय छ भन्ने कुराका आधारमा त झनै गर्दिनँ, बरु ऊसँग सत्यता छ कि छैन भन्ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्)। “परमेश्वरको चाहना हरेक व्यक्ति सिद्ध बनोस्, अन्त्यमा उहाँद्वारा प्राप्त हुन सकोस्, उहाँद्वारा पूर्ण रूपमा धोइओस् र उहाँले प्रेम गर्नुहुने मानिसहरू बनोस् भन्ने छ। मैले तिमीहरू पिछडिएका छौ वा कम क्षमताका छौ भने पनि—यी सब तथ्य हुन्। मैले यसो भन्नुले म तिमीहरूलाई त्याग्न चाहन्छु, मैले तिमीहरूमाथिको आशा गुमाएको छु र तिमीहरूलाई बचाउन अझ कम अनिच्छुक छु भन्ने प्रमाणित गर्दैन। आज म तिमीहरूको लागि मुक्तिको काम गर्न आएको हुँ, जसको अर्थ यो हो कि मैले गर्ने काम भनेको मुक्तिको कामको निरन्तरता हो। प्रत्येक व्यक्तिसित सिद्ध बन्ने मौका हुन्छ: यति हो तँ इच्छुक हुनुपर्छ, यति हो तैँले खोजी गर्नुपर्छ, अन्त्यमा तँ यो नतिजा प्राप्त गर्न सक्षम हुनेछस् र तिमीहरूमध्ये एक जना पनि त्यागिनेछैनौ। यदि तँ कमजोर क्षमताको छस् भने, तँसित मेरा मागहरू तेरो कमजोर योग्यताअनुरूप हुनेछ; यदि तँ उच्च क्षमताको छस् भने तँसित मेरा मागहरू तेरो उच्च क्षमताअनुरूप हुनेछ; यदि तँ अनजान र अशिक्षित छस् भने, तँसित मेरा मागहरू तेरो असाक्षरताअनुरूप हुनेछन्; यदि तँ साक्षर छस् भने, तँसित मेरा मागहरू तँ साक्षर छस् भन्ने तथ्यअनुरूप हुनेछन्; यदि तँ बुढेसकालमा छस् भने, तँसँग मेरा मागहरू तेरो उमेरअनुरूप हुनेछन्; यदि तँ अतिथिसत्कारको कर्तव्य पूरा गर्न सक्षम छस् भने, तँप्रति मेरा मागहरू यही बमोजिम हुनेछन्; यदि तँ अतिथिसत्कारको कर्तव्य पूरा गर्न सक्दिनँ, निश्चित प्रकारका कामहरू मात्र गर्न सक्छु भन्छस् भने, चाहे त्यो सुसमाचार प्रचार गर्ने होस् वा मण्डलीको रेखदेख गर्ने होस्, वा अन्य सामान्य कुराहरूमा सहभागी हुने होस्, मैले तँलाई सिद्ध पार्ने काम तैँले गर्ने कामअनुसार हुनेछ। बफादार हुनु, अन्त्यसम्म समर्पित हुनु र परमेश्वरप्रति सर्वोच्च प्रेम प्राप्त गर्न खोज्नु—यो तैँले पूरा गर्नैपर्ने कुरा हो र यी तीन कुराभन्दा अझ राम्रा अभ्यासहरू छैनन्। अन्त्यमा, मानिसले यी तीन कुराहरू हासिल गर्नु आवश्यक हुन्छ र यदि उसले ती प्राप्त गर्न सक्छ भने, उसलाई सिद्ध पारिनेछ। तर सबैभन्दा मुख्य कुरा, तैँले साँच्चै खोजी गर्नुपर्दछ, तँ सक्रिय रूपमा अगाडि र माथितिर बढ्नुपर्छ र त्यस विषयमा निष्क्रिय हुनुहुँदैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। परमेश्वरका वचनहरू पढेपछि, मैले परमेश्वरले व्यक्तिको परिणाम उसको उमेर, वरिष्ठता, वा उसले कति दुःख भोगेको छ भन्ने आधारमा होइन, बरु उसमा सत्यता छ कि छैन भन्ने आधारमा निर्धारण गर्नुहुन्छ भन्ने बुझेँ। मैले म बुढी र अब काम नलाग्ने भएँ भन्ने सोचेँ, त्यसैले म परमेश्वरद्वारा हटाइनेछु भनेर डराएँ—यसले मैले मानिसहरूलाई मुक्ति दिने परमेश्वरको अभिप्राय वा मानिसहरूको परिणाम निर्धारण गर्न उहाँद्वारा माग गरिएका मानक बुझेकी छैनँ भन्ने देखायो। मानिसहरूलाई मुक्ति दिने र सिद्ध पार्ने परमेश्वरको कार्य उनीहरूको उमेर वा क्षमतामा आधारित छैन, बरु उनीहरू सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन् भन्नेमा आधारित छ। यदि कसैले सत्यता स्वीकार गर्न सक्छ र ऊ परमेश्वरप्रति बफादार छ, र ऊ परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन्छ भने, उहाँ उसलाई त्याग्नुहुनेछैन। मैले परमेश्वरको घरलाई गैरविश्वासी संसार जस्तै ठानेकी थिएँ। समाजमा, वृद्धहरूलाई बेवास्ता र उपेक्षा गरिन्छ, र मैले परमेश्वरको घरमा पनि त्यस्तै हुन्छ—कोही वृद्ध भएपछि, परमेश्वर उसलाई चाहन छोड्नुहुन्छ भन्ने ठानेकी थिएँ। यो परमेश्वरप्रतिको गलत बुझाइ र ईशनिन्दा थियो। संसारमा शैतानले शासन गर्छ, र दियाबलस शैतानले मानिसहरूलाई त्यसका लागि श्रम गर्न प्रयोग गर्छ। जब मानिसहरू वृद्ध भएर श्रम गर्न नसक्ने हुन्छन्, तिनीहरूलाई फ्याँकिदिइन्छ। तर परमेश्वरको घरमा, सत्यता शक्तिमा हुन्छ। परमेश्व मानिसहरूलाई उनीहरूको कर्तव्य निर्वाह गर्ने र सत्यता पछ्याउने मौका दिनुहुन्छ; आफ्नो कर्तव्य गर्ने क्रममा, मानिसहरूले आफूलाई चिन्छन् र परिवर्तन हुन्छन्, र तिनीहरूले आफ्ना शैतानी भ्रष्ट स्वभावहरू फाल्छन्। मैले म कति बुढी छु, तैपनि परमेश्वरले उहाँका वचनहरू खाने र पिउने वा सत्यता पछ्याउने मेरो अवसर खोस्नुभएको छैन भन्नेबारे सोचेँ। परमेश्वरले हामीलाई मलजल गर्न र हाम्रो भरणपोषण गर्न निरन्तर वचनहरू व्यक्त गरिरहनुभएको छ। ममाथि कामकुराहरू आइपर्दा, उहाँले मलाई अन्तर्दृष्टि दिन र मार्गदर्शन गर्न आफ्ना वचनहरू पनि प्रयोग गर्नुभयो, र परमेश्वरको अभिप्राय नबुझ्ने म नै थिएँ। मैले म बुढी भएकी र अलमल्ल परेकीले, परमेश्वरले मलाई मुक्ति दिनुहुनेछैन भन्ने सोचेँ। तर वास्तवमा, जबसम्म कुनै व्यक्ति परमेश्वरमा इमानदारीपूर्वक विश्वास गर्दै सत्यता पछ्याउन इच्छुक हुन्छ, कुनै दिन, उसले एक-दुई कर्तव्य निर्वाह गर्न नसके पनि, परमेश्वरका घरले उसलाई निकाल्ने वा हटाउने छैन। मेरो वरिपरि धेरै वृद्ध ब्रदर-सिस्टरहरू मेरै उमेरका छन्। उनीहरूले अहिले धेरै कर्तव्य निर्वाह गर्न नसके पनि, उनीहरू परमेश्वरका वचनहरू खान र पिउन र मण्डली जीवन जिउनमा लागिरहन्छन्, र मण्डलीले तिनीहरूलाई निकालेको छैन। तैपनि निरन्तर कर्तव्यहरू निर्वाह गरेका केही तन्नेरी मानिसहरू छन्, तर उनीहरू सत्यता नपछ्याउने र उनीहरूका भ्रष्ट स्वभावहरू गम्भीर र अपरिवर्तित रहने भएकाले, उनीहरूले अन्ततः धेरै दुष्ट कार्यहरू गर्छन् र मण्डलीबाट निकालिन्छन्। यसबाट, मैले परमेश्वरको धर्मी स्वभाव देखेँ। परमेश्वर मानिसहरूलाई उनीहरू जवान छन् कि वृद्ध छन् भन्ने आधारमा नभई, बरु उनीहरूको हृदयलाई हेरेर र उनीहरू सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन् भन्ने आधारमा मुक्ति दिनुहुन्छ। त्योबेलादेखि, आफ्नो कुनै कर्तव्य होस् वा नहोस्, मैले गम्भीरतापूर्वक परमेश्वरका वचनहरू खाने र पिउने, परमेश्वरको काम अनुभव गर्ने, आफ्ना कमीकमजोरी र त्रुटिहरू चिन्ने, आफ्नो भ्रष्ट स्वभाव बुझ्ने, र अब उप्रान्त परमेश्वरलाई गलत नबुझ्ने वा उहाँविरुद्ध गुनासो नगर्ने सङ्कल्प गरेँ।
भेलाको क्रममा, एउटी सिस्टरले मेरो स्थिति थाहा पाएपछि, उनले मलाई परमेश्वरका वचनहरूको एक खण्ड पढ्न लगाइन्: “मानिसको कर्तव्य र उसले आशिष्हरू पाउँछ कि दुर्भाग्य भोग्छ भन्ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। कर्तव्य भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र उसले यो कार्य क्षतिपूर्ति नखोजी, र सर्तहरू वा कारणहरू बिनै गर्नुपर्छ। यसलाई मात्रै उसले आफ्नो कर्तव्य पूरा गर्नु भनिन्छ। आशिष्हरू प्राप्त गर्नुले न्यायको अनुभव गरिसकेपछि सिद्ध पारिँदा व्यक्तिले प्राप्त गर्ने आशिष्हरूलाई जनाउँछ। दुर्भाग्य भोग्नुले सजाय र न्याय भोगिसकेपछि पनि व्यक्तिको स्वभाव परिवर्तन नहुँदा—अर्थात्, तिनीहरू सिद्ध नपारिँदा उसले पाउने दण्डलाई जनाउँछ। तर चाहे तिनीहरूले आशिष्हरू पाऊन् वा दुर्भाग्य भोगून्, सृजित प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो कर्तव्य पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम कार्य यही हो। तैँले आशिष्हरू प्राप्त गर्नका लागि मात्रै आफ्नो कर्तव्य निर्वाह गर्नु हुँदैन, र तैँले दुर्भाग्य भोग्नुपर्ने डरले आफ्नो कर्तव्य निर्वाह गर्न इन्कार गर्नु हुँदैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारी परमेश्वरको सेवकाइ र मानिसको कर्तव्य बीचको भिन्नता)। परमेश्वरका वचनहरू पढेपछि, मैले परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, र मानिस एक सृजित प्राणी हो भन्ने बुझेँ; मानिसले आफ्नो कर्तव्य निर्वाह गर्नु पूर्ण रूपमा स्वाभाविक र न्यायोचित छ। यो मानिसको जिम्मेवारी र दायित्व हो, र यसको आशिष् पाउनु वा दुर्भाग्य भोग्नुसँग कुनै सम्बन्ध छैन। आफ्नो कर्तव्य निर्वाह गर्दा परमेश्वरका वचनहरूको न्याय र सजाय अनुभव गरेर र स्वभावमा परिवर्तन हासिल गरेर मात्र व्यक्तिले परमेश्वरको आशिष् पाउन सक्छ। तर मैले जबसम्म म आफ्नो कर्तव्य निर्वाह गर्छु, तबसम्म म परमेश्वरद्वारा आशिषित हुनेछु भन्ने विश्वास गरेँ, र मैले सधैँ कर्तव्य निर्वाह गर्नुको मतलब म आशिषित हुनेछु भन्ने सोचेँ। यो मेरा धारणाहरू र कल्पनाहरूभन्दा बढी केही थिएन। फर्केर सोच्दा, मैले धेरै कर्तव्य निर्वाह गरेकी थिएँ, तर मैले आफ्नो कर्तव्यमा सत्यता पछ्याइनँ र सधैँ आफ्नो इच्छाअनुसार कार्य गरेँ, र मैले परमेश्वरको अभिप्राय वा सत्यता खोज्न बिरलै प्रार्थना गरेँ, फलस्वरूप, अहिलेसम्म, मेरो स्वभावमा खासै परिवर्तन भएको थिएन। मैले यो तरिकाले जति धेरै कर्तव्य निर्वाह गरे पनि, मैले परमेश्वरको स्वीकृति प्राप्त गर्ने थिइनँ। मैले सत्यता नपछ्याएर धेरै वर्ष खेर फालेकी थिएँ। यस बिन्दुदेखि, जब ममाथि कामकुराहरू आइपर्थे, मैले परमेश्वरका अभिप्राय खोज्नुपर्थ्यो, परमेश्वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्नुपर्थ्यो, र स्वभावमा परिवर्तन हासिल गर्न सत्यता पछ्याउनुपर्थ्यो। मैले अन्ततः मुक्ति पाउन सकिनँ भने पनि, यो मेरो स्वभाव परिवर्तन नभएका कारणले हुनेछ, र म बुढी भएर परमेश्वरले मलाई नचाहनुभएका कारणले हुनेछैन। मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मैले अब तपाईँको अभिप्राय बुझेँ। म तपाईँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन र अब उप्रान्त तपाईँलाई गलत नबुझ्न वा तपाईँ विरुद्ध गुनासो नगर्न तत्पर छु। मैले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, म तपाईँलाई सन्तुष्ट पार्न मेरो सारा हृदय र मनले यो गर्न चाहन्छु।”
पछि, ती सिस्टरले परमेश्वरका वचनहरूको अर्को खण्ड भेट्टाइन् जुन मेरो स्थितिसँग सम्बन्धित थियो। परमेश्वर भन्नुहुन्छ: “मानिसहरूले आशिष्, इनाम, र मुकुट पाउन परमेश्वरमा विश्वास गर्छन्। के हरेकको हृदयमा यही कुरा हुँदैन र? हुन्छ, र यही तथ्य हो। मानिसहरूले प्रायः यसबारे कुरा नगरे पनि, र तिनीहरूले आशिष्हरू पाउने आफ्नो मनसाय र चाहनालाई लुकाउने समेत भए पनि, मानिसहरूको हृदयभित्र हुने यो चाहना र मनसाय सधैँ नै अटल रूपमा रही आएको छ। मानिसहरूले जति धेरै आत्मिक सिद्धान्त बुझेका भए पनि, तिनीहरूसँग जे अनुभवात्मक ज्ञान भए पनि, तिनीहरूले जे कर्तव्य पूरा गरे पनि, जति धेरै कष्ट भोगे पनि, वा जति धेरै मूल्य चुकाए पनि, तिनीहरूले आफ्नो हृदयमा लुकेको आशिष् पाउने मनसाय कहिल्यै त्याग्न सक्दैनन्, र सधैँ चुपचाप यसको सेवामा दुःख गर्छन्। के मानिसहरूको हृदयको गहिराइमा गाडिएको कुरा यही हुँदैन र? आशिष् प्राप्त गर्ने यो प्रेरणाविना, तिमीहरू कस्तो महसुस गर्नेथियौ? तिमीहरू कस्तो मनोवृत्तिले आफ्नो कर्तव्य निर्वाह गर्नेथियौ र परमेश्वरलाई पछ्याउनेथियौ? यदि आशिष् प्राप्त गर्ने हृदयमा लुकेको यस प्रेरणालाई निकालेर फालेको भए मानिसहरू कस्ता हुनेथिए? सायद धेरै मानिस नकारात्मक हुनेथिए, र उनीहरूमध्ये केही आफ्नो कर्तव्यमा प्रेरणारहित बन्नेथिए। उनीहरूले आफ्नो हंस हराएझैँ परमेश्वरमाथिको विश्वासमा आफ्नो रुचि गुमाउने थिए। उनीहरू हृदय थुतिएका प्राणीजस्तै देखिने थिए। त्यसैले त म भन्छु, आशिष् पाउने मनसाय भनेको मानिसहरूको हृदयको गहिराइभित्र लुकेको कुरा हो। सायद, उनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा वा मण्डली जीवन जिउँदा, उनीहरूले आफूलाई परिवार त्याग्न र खुसीसाथ परमेश्वरमा समर्पित हुन सक्षम रहेको, र अब आफूमा आशिष्हरू पाउने अभिप्रेरणाको ज्ञान भएको, र अहिले त्यो प्रेरणालाई पन्छाउन सकेको, र उनीहरू अबउप्रान्त यस प्रेरणाद्वारा सञ्चालित वा नियन्त्रित नभएको महसुस गर्नेथिए। अनि उनीहरूले आफूमा अबउप्रान्त आशिषित हुने अभिलाषा छैन भन्ने सोच्नेथिए तर परमेश्वरले भने त्यस्तो विश्वास गर्नुहुनेथिएन। मानिसहरूले विभिन्न कुराहरूलाई सतही रूपमा मात्रै हेर्छन्। परीक्षाहरूविना, तिनीहरूले आफ्नो बारेमा राम्रै अनुभव गर्छन्। जबसम्म तिनीहरूले मण्डली छोडेका वा परमेश्वरको नामलाई इन्कार गरेका हुँदैनन्, र तिनीहरू परमेश्वरको लागि समर्पित भइरहन्छन्, तबसम्म तिनीहरूले आफू परिवर्तन भएको छु भन्ने विश्वास गर्छन्। तिनीहरूलाई अबउप्रान्त आफ्नो कर्तव्यमा व्यक्तिगत जोस वा क्षणिक आवेगद्वारा उत्प्रेरित नभएजस्तो अनुभूति हुन्छ। यसको साटो, तिनीहरूलाई आफूले सत्यताको खोजी गर्न सक्छु, र आफ्नो भ्रष्ट स्वभाव शुद्ध होस् र आफूले केही साँचो परिवर्तन हासिल गर्न सकूँ भनेर आफ्नो कर्तव्य पूरा गर्दा आफूले निरन्तर सत्यताको खोजी र अभ्यास गरिरहेको छु भन्ने विश्वास हुन्छ। तैपनि, जब मानिसहरूको गन्तव्य र परिणामसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुने कुनै घटना घट्छ, तब तिनीहरूले कस्तो व्यवहार गर्छन्? सत्यताको पूर्ण खुलासा हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। परमेश्वरले मानिसहरूभित्र लुकेको आशिष् पाउने अभिप्रायलाई खुलासा गर्नुभएको छ। मानिसहरू परमेश्वरलाई सन्तुष्ट पार्न नभई बरु आशिष् र लाभ पाउन उहाँमा विश्वास गर्छन्। उनीहरूले कुनै कर्तव्य निर्वाह गर्न आफ्नो परिवार र करियर त्याग्न सक्दा समेत, त्यो सबै परमेश्वरसँग लेनदेन गर्ने प्रयास मात्र हो। मैले पहिलो पटक परमेश्वरलाई भेट्टाएको समयबारे फर्केर सोच्दा, मलाई मैले स्वर्गको राज्यमा प्रवेश पाउने आशा छ भन्ने लाग्यो र त्यसैले मैले उत्साहपूर्वक आफूलाई समर्पित गरेँ। मण्डलीले मेरो लागि बन्दोबस्त गरेको कुनै पनि कर्तव्यमा म समर्पित भएँ, र ममा हरेक दिन अनन्त ऊर्जा हुन्थ्यो। तर जब म बुढी हुँदै गएँ र थोरै कर्तव्यहरू जिम्मा लिन सक्ने भएँ, म आफूलाई आशिष् प्राप्त हुनेछैन भनेर चिन्तित हुन थालेँ, र परिणामस्वरूप म नकारात्मक भएँ। मैले परमेश्वरका वचनहरू खान र पिउनमा ध्यान दिन पनि छोडेँ। मैले आफूमाथि कामकुराहरू आइपर्दा, परमेश्वरका अभिप्राय खोज्न छोडेँ, र मैले मेरा दिनहरू कष्ट र चिन्तामा डुबेर बिताएँ। मैले यत्तिका वर्ष आफूले परमेश्वरलाई सन्तुष्ट पार्न नभई—आशिष् र स्वर्गको राज्यमा प्रवेश पाउने पछ्याइमा आफ्नो कर्तव्य निर्वाह गरिरहेकी रहेछु भन्ने देखेँ। मैले यसरी परमेश्वरमा विश्वास गर्नु र कर्तव्य निर्वाह गर्नु भनेको परमेश्वरसँग लेनदेन गर्ने र उहाँलाई धोका दिने प्रयास गर्नु थियो। ममा साँच्चै मानवताको कमी थियो! यी वर्षहरूमाथि मनन गर्दा, मैले परमेश्वरका वचनहरू पढेर केही सत्यताहरू बुझ्न पाएँ, र मैले आफ्नो शैतानी प्रकृतिबारे केही समझ प्राप्त गरेँ। मैले मानिसलाई मुक्ति दिने परमेश्वरको श्रमसाध्य अभिप्राय पनि अलिकति बुझ्न पाएँ। मैले परमेश्वरबाट यति धेरै पाएकी थिएँ, तैपनि म उहाँसँग लेनदेन गर्ने प्रयास गरिरहेकी थिएँ। मैले आफूले आशिष् पाउनेछैनँ भन्ने महसुस गर्ने बित्तिकै, म नकारात्मक भएँ र अब अगाडि बढ्न चाहिनँ। ममा वास्तवमै विवेक र समझको अभाव रहेछ! म साँच्चै स्वार्थी र घृणित रहेछु! मैले परमेश्वरमा विश्वास नगर्ने मेरो उमेरका मानिसहरूलाई हेरेँ—उनीहरू आफ्ना दिनहरू खान, पिउन, र सुखभोग खोज्नमा बिताउँछन्, र यदि उनीहरू गफगाफ गरिरहेका हुँदैनन् भने, उनीहरू तास वा माजोङ खेलिरहेका हुन्छन्। उनीहरूलाई जीवनको अर्थ के हो थाहा छैन, र उनीहरूले हरेक दिन गर्ने भनेको बसेर मृत्युको प्रतीक्षा गर्नु मात्र हो। आफूले परमेश्वरमा विश्वास गरेका वर्षहरूमा, मैले अर्थपूर्ण जीवन के हो भन्ने बुझ्न पुगेकी थिएँ, र मैले सांसारिक सुखहरू पछ्याउन छोडेँ बरु सत्यता पछ्याउन, आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न, र परमेश्वरलाई सन्तुष्ट पार्न चाहेँ। मैले जीवनको लक्ष्य भेट्टाएकी थिएँ। मैले सन्तुष्ट र सहज महसुस गरेँ, र यदि म त्यसै बेला मरेकी भए पनि, मेरो जीवन सार्थक भएको हुनेथियो। मैले अब उप्रान्त परमेश्वरसँग लेनदेन गर्ने, वा केवल आशिष् पाउनका लागि पछ्याउने प्रयास गर्नु हुँदैन।
केही समय नबित्दै, ती सिस्टर मलाई मेरो अतिथि-सत्कारको कर्तव्य पुनः सुरु गर्न आग्रह गर्न आइन्। म धेरै खुसी भएँ। परमेश्वरले मलाई कर्तव्य निर्वाह गर्ने अर्को मौका दिनुभएको थियो, र म त्यसको उचित रूपले कदर गर्न चाहन्थेँ। पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, जसले मलाई निकै प्रभावित गर्यो। परमेश्वर भन्नुहुन्छ: “आफ्नो क्षमताले भ्याउन्जेलसम्म आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्नुबाहेक, वृद्ध मानिसहरूले अरू धेरै कुराहरू गर्न सक्छन्। जबसम्म तँ मूर्ख, अबुझ, र सत्यता बुझ्न नसक्ने व्यक्ति हुँदैनस्, र जबसम्म तँ आफ्नो हेरचाह गर्न नसक्ने अवस्थामा हुँदैनस्, तबसम्म तैँले गर्नुपर्ने कुराहरू धेरै हुन्छन्। भक्खरकाहरूले जस्तै, तैँले पनि सत्यता पछ्याउन र सत्यता खोजी गर्न सक्छस्, र तँ प्रार्थना गर्न नियमित रूपमा परमेश्वरको अघि आउनुपर्छ, सत्यता सिद्धान्तहरू खोजी गर्नुपर्छ, र सत्यतालाई आफ्नो मापदण्ड बनाएर परमेश्वरका वचनहरूअनुसार मानिसहरू र परिस्थितिहरूलाई हेर्ने र सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने प्रयास गर्नुपर्छ। तैँले पछ्याउनुपर्ने मार्ग यही हो, र तँ वृद्ध भइस् भन्दैमा, तँलाई धेरै रोगबिमारी छ भन्दैमा, वा तेरो शरीर बुढो हुँदै छ भन्दैमा तैँले हैरानी, बेचैनी वा चिन्ता महसुस गर्नु हुँदैन। हैरानी, बेचैनी र चिन्ता महसुस गर्नु सही कुरा होइन—ती तर्कहीन प्रकटीकरणहरू हुन्। … पाकाहरूमा पनि भक्खरकाहरूमा जस्तै भ्रष्ट स्वभाव हुने भएकोले, र तिनीहरूले पनि जीवनमा अनि आफ्नो कर्तव्य पूरा गर्दा भक्खरकाहरूले जस्तै प्रायजसो भ्रष्ट स्वभाव प्रकट गरिरहने हुनाले, किन पाकाहरूले उचित कुरा नगरेको, र सधैँ आफ्नो वृद्धावस्थाबारे र मृत्युपछि तिनीहरूलाई के हुन्छ भन्नेबारे हैरानी, बेचैनी र चिन्ता महसुस गरेको? किन तिनीहरूले भक्खरकाहरूले जस्तै आफ्नो कर्तव्य पूरा नगरेको? किन तिनीहरूले भक्खरकाहरूले जस्तै सत्यता नपछ्याएको? तँलाई यो अवसर दिइएको छ, त्यसकारण यदि तैँले यो अवसरको फाइदा उठाइनस्, र तँ साँच्चिकै वृद्ध भएर सुन्न वा देख्न वा आफ्नो हेरचाह गर्न नसक्ने भइस् भने, तँलाई यसप्रति पछुतो हुनेछ, र तेरो जीवन यसरी नै बितेर जानेछ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। त्यसपछि मैले मुक्ति पाउँछु कि पाउँदिनँ भनेर तानाव वा चिन्तामा डुब्नु, वा पहिले जस्तै परमेश्वरलाई गलत बुझिरहनु र उहाँविरुद्ध गुनासो गरिरहनु हुँदैन भन्ने बुझेँ। मैले गर्नुपर्ने भनेको आफ्नो भ्रष्ट स्वभावलाई समाधान गर्न सत्यता पछ्याउनु हो, र मैले आफू साँच्चै अलमल्ल पर्ने र हिँडडुल गर्न नसक्ने नभएसम्म कुर्नु हुँदैन, किनकि त्यतिबेला सत्यता नपछ्याएकोमा पश्चात्ताप गर्न धेरै ढिलो हुनेछ। म सत्यता पछ्याएर स्वभावमा परिवर्तन हासिल गर्नका लागि यो अन्तिम समयलाई सदुपयोग गर्न चाहन्छु। फर्केर सोच्दा, म सधैँ परमेश्वरका वचनहरू पूर्ण रूपमा नबुझी सरसर्ती मात्र पढ्थेँ, र म परमेश्वरका अभिप्रायहरू बुझ्दिनथेँ। अब म बुढी भएकीले, मसँग तन्नेरी मानिसको जस्तो स्मरणशक्ति छैन, तर म परमेश्वरका वचनहरू बारम्बार पढ्न र तिनलाई अझ बढी मनन गर्न सक्छु, र जब घटनाहरू घट्छन्, म परमेश्वरका अभिप्रायहरू खोज्न र उहाँका वचनहरूमा अभ्यासको मार्ग भेट्टाउन सक्छु। जसरी परमेश्वर भन्नुहुन्छ: “... सत्यतालाई आफ्नो मापदण्ड बनाएर परमेश्वरका वचनहरूअनुसार मानिसहरू र परिस्थितिहरूलाई हेर्ने र सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने प्रयास गर्नुपर्छ।” म परमेश्वरका मागहरूप्रति लागिपर्नैपर्छ र मेरो जीवन प्रवेशमा केन्द्रित हुनैपर्छ, र मैले आफ्नो उचित कामलाई बेवास्ता गरिरहन मिल्दैन। मलाई तनावबाट बाहिर डोऱ्याउनुभएकोमा म परमेश्वरलाई धन्यवाद दिन्छु!
त्यसपछि, चाहे आफ्नो कर्तव्यमा होस् वा परिवारसँग व्यवहार गर्दा, आफूमाथि कामकुराहरू आइपर्दा, मैले तिनलाई परमेश्वरबाट स्वीकार गर्न सिकेँ, र मैले परमेश्वरका अभिप्रायहरू खोजेँ र उहाँका वचनहरूअनुसार अभ्यास गरेँ। मेरो अहङ्कारी स्वभाव बिस्तारै-बिस्तारै परिवर्तन हुन थाल्यो, र मेरो छोराले म पहिले जस्तो हैकम चलाउने छैन भनेर भन्यो। मैले आफ्नो हृदयमा परमेश्वरप्रति साँच्चै कृतज्ञ महसुस गरेँ। परमेश्वर नै हुनुहुन्थ्यो जसले मलाई यो परिवर्तनतर्फ डोऱ्याउनुभयो, र त्यस बिन्दुदेखि, म आफ्नो दैनिक जीवनमा परमेश्वरका वचनहरू अभ्यास र अनुभव गर्न अनि परमेश्वरको महिमा गाउन उहाँको गवाही दिन तत्पर भएँ।