३२. के “एउटी स्त्रीले आफूलाई मन पराउनेका लागि सिँगारपटार गर्छे” भन्‍ने विचार सही छ?

यीफेई, चीन

चीनमा प्राचीन कालदेखि नै, “एउटी स्त्रीले आफूलाई मन पराउनेका लागि सिँगारपटार गर्छे” भन्ने एउटा भनाइ छ। धेरै स्त्रीहरू आफ्नो आकर्षकता देखाउन र आफूलाई मन पराउने पुरुषहरूलाई खुसी पार्न, आफूलाई सजाउन र सिँगारपटार गर्न निकै कोसिस गर्छन्। म पनि अपवाद थिइनँ। जब म सत्र वर्षकी थिएँ, म प्रान्तीय राजधानीको एउटा सीपमूलक विद्यालयमा भर्ना भएँ। मैले आफ्नो गाउँको घर छोडेँ र पढ्नका लागि ठूलो सहरमा आएँ। सबै कुरा एकदमै नयाँ र अद्भुत थियो। पढाइको क्रममा, मेरो भेट मेरो प्रेमीसँग भयो, र हामी प्रायः कुराकानी र भेटघाट गर्थ्यौँ। उसमा राम्रो छाप छोड्न, भेट्दा म सधैँ आफूलाई राम्ररी सिँगार्थेँ। उसले पनि मलाई प्रायः आफ्नो परिवार र साथीभाइहरूसँग भेट गराउँथ्यो। तिनीहरू सबै मलाई निकै मन पराउँथे र प्रायः मेरो सुन्दरता र आकर्षकताको प्रशंसा गर्थे। जब-जब तिनीहरू मेरो तारिफ गर्थे, मेरो प्रेमी असाध्यै खुसी हुन्थ्यो। ऊ भन्थ्यो, मलाई बाहिर लैजाँदा उसलाई गर्व महसुस हुन्थ्यो, त्यसैले ऊ जहाँ गए पनि मलाई सँगै लैजान सधैँ इच्छुक हुन्थ्यो। त्यो बेला, हामी अभिन्‍न थियौँ। पछि, हामीले विवाह गर्‍यौँ। सुरुमा, ऊ मेरो धेरै ख्याल राख्थ्यो। मलाई याद छ, म गर्भवती हुँदा, मलाई धेरै नै वाकवाकी लाग्थ्यो, र म केही खान-पिउन सक्दिनथेँ। ऊ काममा बाहिर हुँदा पनि सधैँ मेरो बारेमा सोच्थ्यो, र समय पाउने बित्तिकै मेरो हेरचाह गर्न घर आउँथ्यो। मलाई निकै सान्त्वना महसुस हुन्थ्यो। तर हाम्रो बच्चा जन्मेपछि, मेरो जीवन उथलपुथल भयो। मेरो शारीरिक बनावट बदलियो, र म पहिले जस्तो पातली वा सुन्दरी रहिनँ। हरेक दिन, म हाम्रो बच्चाको हेरचाह गर्दागर्दै थाकेर चूर हुन्थेँ, र मसँग सिँगारिने न त समय हुन्थ्यो न त मुड नै। मलाई एक युवतीबाट एक थकित गृहिणीमा बदलिएको देखेर, मेरो श्रीमानको मनोवृत्ति पनि पहिलेको जस्तो रहेन। उसले मलाई बाहिर लैजान छोड्यो, बरु ऊ प्रायः हरेक दिन आफ्ना केटाहरूको सङ्गतमा बरालिन्थ्यो, र मसँग घरमा बिरलै बस्थ्यो। जब म उसलाई म र हाम्रो बच्चासँग आराम गर्न बाहिर जाऊँ भन्थेँ, ऊ झन्झट मान्थ्यो, तर यदि उसका साथीहरूले बोलाए भने, ऊ दोस्रो पटक नसोची तुरुन्तै गइहाल्थ्यो। उसलाई कुकुर पाल्न मन पर्थ्यो, र एक पटक, मैले ढोका राम्ररी बन्द गरिनँ, र मैले ध्यान नदिएको बेला, कुकुर दगुरेर बाहिर गयो र फर्किएन। ऊ त्यही कुरामा मसँग रिसायो र दुई दिनसम्म घर आएन। यस्ता घटनाहरू धेरै हुन्थे। मलाई लाग्थ्यो, ऊ मेरो पटक्कै वास्ता गर्दैन, र म गहिरो पीडामा थिएँ। सुरुमा, मेरो श्रीमानको मनोवृत्ति किन यति धेरै बदलियो भनेर मैले बुझ्न सकिनँ। एक दिन, मेरी नाता पर्ने बहिनी मेरो घरमा आइन्, र उनले त मेरो गिल्ला गर्दै यतिसम्म भनिन्, “आजकाल ऐना हेरेकी छस्? तँ कत्ति झुत्रे देखिएकी छस्—कुनचाहिँ पुरुषले तँलाई चाहँदो हो? तेरो श्रीमान् किन घर आउन मन गर्दैन, थाहा छ? तेरो जस्तो अनुहार हेर्न घर फर्कनुपर्ने भए त म पनि फर्कन्नथेँ होला।” उनका कुराले मलाई निकै चोट पुग्यो। मेरो श्रीमानले मसँग यस्तो व्यवहार गर्नुको कारण म पहिले जस्तो सुन्दरी नभएर रहेछ, र ऊ मदेखि वाक्क भएको रहेछ। उसका लागि, म यस्तो कुरा थिएँ, जुन न त उसलाई मन पर्थ्यो, न त ऊ फ्याँक्न नै सक्थ्यो। म असाध्यै पीडामा थिएँ, तर यो अवस्थालाई कसरी ठिक गर्ने भनेर मलाई थाहा थिएन। पछि, मैले आफ्नो शारीरिक बनावट परिवर्तन गर्ने कोसिसबाट सुरु गर्ने निर्णय गरेँ। मैले सौन्दर्य उपचार र तौल घटाउनमा ध्यान दिन थालेँ। तौल घटाउन, म प्रायः तौल घटाउने औषधि खान्थेँ र शरीरलाई आकर्षक देखाउने कपडाहरू किन्थेँ। मैले अकुपन्चर र कपिङ पनि गराएँ। मैले तौल घटाउनका लागि हर किसिमका तरिकाहरू अपनाएँ। तौल घटाउने चक्करमा मैले अति गरेकोले, मलाई अक्सर चक्कर लाग्ने र वाकवाकी लाग्ने गर्थ्यो, र जब अवस्था निकै खराब हुन्थ्यो, म ओछ्यानमा पल्टिरहँदा हल्लिन पनि सक्दिनथेँ। म असाध्यै पीडामा थिएँ र यसरी आफूलाई बर्बाद गर्न चाहन्नथेँ, तर जब म आफ्नो श्रीमानको मन जित्ने कुरा सोच्थेँ, म दाँत किटेर पीडा सहन्थेँ। मेरो कडा परिश्रमले रङ्ग ल्यायो—मेरो तौल घटाउने प्रयासमा लागिरहेर, म अन्ततः धेरै पातली भएँ। मेरो श्रीमानले मलाई फरक नजरले हेर्न थाल्यो, र उसले मलाई पहिलेभन्दा धेरै राम्रो व्यवहार गर्‍यो। कहिलेकाहीँ, उसले मलाई आफ्ना साथीहरूसँगको जमघटमा पनि लैजान्थ्यो। मेरो लामो समयदेखि हराएको खुसी अन्ततः फर्केर आएजस्तो लाग्यो, र म असाध्यै खुसी भएँ। मेरो मनमा, “एउटी स्त्रीले आफूलाई मन पराउनेका लागि सिँगारपटार गर्छे” भन्ने भनाइ साँच्चै अर्थपूर्ण रहेछ भन्ने कुरा झनै पक्का भयो।

तर राम्रा दिनहरू धेरै टिकेनन्। मेरा परिवर्तनहरू मेरो श्रीमानको नजरमा केही समयका लागि मात्रै नौलो कुरा भए जस्तो देखियो, र समय बित्दै जाँदा, ऊ आफ्नो पुरानै बानीमा फर्कियो, पहिले जस्तै मसँग घरमा बिरलै समय बिताउँथ्यो। सामाजिक भेटघाटमा जानु नपर्दा पनि, ऊ घरमा या त सुत्थ्यो या त टिभी हेर्थ्यो, ऊ लगभग कहिल्यै मेरो वास्ता वा मसँग सामान्य कुराकानी गर्दैनथ्यो। म गहिरो रूपमा दुःखी र निराश थिएँ। त्यतिबेला मैले आफ्नो जागिर छोडेकी थिएँ र आफ्ना सबै सामाजिक सङ्गतहरू त्यागेकी थिएँ, र मैले आफ्ना सबै आशाहरू उसैमाथि राखेकी थिएँ। उसको खातिर, मैले घरको सबै काम मात्र गरिनँ, हाम्रो परिवारका साना बच्चा र बूढापाकाको हेरचाह पनि गरेँ, साथसाथै उसको मन जित्‍नका लागि तौल घटाउनमा र सौन्दर्य उपचारमा ध्यान दिएँ। तर बदलामा, मैले उसको उदासीनता र बेवास्ता बाहेक केही पाइनँ। म अक्सर एक्लो, असहाय, पीडामा, र निराश महसुस गर्थेँ। कयौँ पटक, म सडकमा वा नहरको किनारमा एक्लै हिँड्थेँ, र साँच्चै यो सब सिध्याइदिऊँ जस्तो लाग्थ्यो। तर जब म आफ्नो सानो बच्चा र बूढा आमाबुबाका बारेमा सोच्थेँ, म हरेस खान सक्दै सक्दिनथेँ। पटक-पटक, म आकाशतिर हेर्थें, र आफ्नो मनमा चिच्याइरहन्थेँ, “हे ईश्‍वर! मेरो जीवन किन यति पीडादायी छ? मैले के गर्नुपर्छ?”

पछि, परमेश्‍वरको आखिरी दिनहरूको मुक्ति मकहाँ आयो, र भेलाहरूमा दाजुभाइ-दिदीबहिनीहरूसँग परमेश्‍वरका वचनहरू खाँदै-पिउँदै, मैले परमेश्‍वरले दिनरात मानवजातिको हेरचाह गरिरहनुभएको छ, तर मानवजातिलाई शैतानले भ्रष्ट तुल्याएको छ भन्ने कुरा बुझेँ। हामी कहाँबाट आएका हौँ, कहाँ जाँदैछौँ, र झन् कसरी जिउनुपर्छ भन्ने हामीलाई थाहा छैन। हामी केवल पीडामा असहाय भएर सङ्घर्ष गर्न सक्छौँ। यो सबै किन हुन्छ भने, हामी परमेश्‍वरका वचनहरू सुन्दैनौँ र उहाँको हेरचाहको बाटोबाट तर्केका छौँ, र शैतानले हामीलाई भ्रममा पारेर हानि पुऱ्याएको कारणले यसो भएको हो। मैले एक सृजित प्राणीका रूपमा, व्यक्तिले सत्यता पछ्याउनुपर्छ र आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, र तब मात्र जीवनको अर्थ हुन्छ भन्ने कुरा पनि महसुस गरेँ। जब मैले दाजुभाइ-दिदीबहिनीहरूले सुसमाचार प्रचार गरिरहेको, आफ्नो कर्तव्य पूरा गरिरहेको, र हरेक दिन सार्थक र आनन्दित जीवन जिइरहेको देखेँ, मलाई असाध्यै ईर्ष्या लाग्यो। मेरा दिनहरू भान्साको काम र मेरो श्रीमानको वरिपरि घुम्थे। म एउटा मामुली जीवन जिइरहेकी थिएँ, र परिणाम स्वरूप, मैले केही पनि पाइनँ, र मलाई कुल्चिएको, चोटैचोटले भरिएको र असहनीय पीडाले थिचिएको अवस्थामा छोडियो। यस्तो जीवनको के मूल्य वा अर्थ थियो र? मैले मेरो मनमा खोजतलास गरेँ र यस्तो सोधेँ, “के साँच्चै मैले चाहेको जीवन यही हो? होइन। होइन, यो होइन। म यसरी बाँच्न सक्दिनँ।” त्यसैले मैले मण्डलीमा आफ्नो कर्तव्य पूरा गर्न थालेँ।

त्यतिबेला, मैले “एउटी स्त्रीले आफूलाई मन पराउनेका लागि सिँगारपटार गर्छे” भन्ने धारणा सही हो कि होइन भनेर सोचेकी थिइनँ, न त मेरो पछ्याइमा कुनै समस्या छ कि भनेर नै विचार गरेकी थिएँ। पछि जब मैले परमेश्‍वरले “एउटी स्त्रीले आफूलाई मन पराउनेका लागि सिँगारपटार गर्छे” भन्ने भनाइका भ्रामक पक्षहरूलाई खुलासा गर्नुभएको बारे पढेँ, तब मात्र मैले मलाई भएका सबै कुराहरूलाई फर्केर हेर्न थालेँ, र मेरा विगतका पछ्याइहरू कति वाहियात र बेतुके थिए भनेर मनन गर्न र बुझ्न थालेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “‘स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे’ भन्‍ने भनाइले नै महिलालाई पुरुषभन्दा असमान स्थानमा राख्छ। महिलाहरूले पुरुषहरूलाई खुसी पार्न, पुरुषहरूको खुसीका खातिर जिउन, र कसैले उनीहरूलाई मन पराउँदा र आदर गर्दा सम्मान महसुस गर्नका लागि आफूलाई सुन्दर बनाउनुपर्छ भनेर यसले तोक्छ। यो असमानता हो; यो आफैमा नै महिलाको न्यून हैसियतको साँचो प्रतिबिम्ब हो। ‘स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे’ भन्‍ने भनाइको तात्पर्य के हो भने महिलालाई आफ्‍नो सुन्दर रूपका कारण अरूले मन पराए पनि, वा सुन्दर देखिनका लागि आफूलाई कसरी सजाउने भन्‍ने थाहा पाएका कारण पुरुषहरूको स्‍नेह आकर्षित गरे पनि, उसलाई यसको कारण खुसी र आदरको महसुस हुनुपर्छ। यो आफैमा पनि महिलाहरूलाई गिराउनु हो। यो भनाइले महिलाहरूलाई तिनीहरूको अस्तित्वको मूल्य, तिनीहरूको खुसीको स्रोत भनेको तिनीहरूलाई मन पराउने व्यक्ति हुनु हो, र यदि त्यस्तो व्यक्ति छैन भने, तिनीहरूलाई अभागी र व्याकुलता महसुस हुनुपर्छ, र कसैले पनि तिनीहरूलाई किन मन पराउँदैन, अनि महिलाका रूपमा, तिनीहरूले व्यर्थको र असफल जीवन जिइरहेका छन् कि छैनन् भन्‍ने बारेमा चिन्तन गर्नुपर्छ भनेर भन्छ। त्यसोभए, के ‘स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे’ भन्‍ने भनाइ महिलालाई अपमान गर्नु होइन र? (हो।) ‘स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे’ भन्‍ने वाक्यांशमा, के प्रशंसकले प्रायजसो पुरुषलाई जनाउँदैन र? यो भनाइले नै पनि पुरुषलाई मालिकको स्थानमा, महिलाभन्दा माथि राख्छ। यसको अर्थ महिलालाई पुरुषले—मालिकले—मन पराउँछ र कदर गर्छ भने, उसले त्यस कुराप्रति सम्मान महसुस गर्नुपर्छ। यदि कुनै पुरुषले—मालिकले—उसलाई मन पराउँदैन भने, उसमा केही गलत छ, ऊ प्रेम गर्न लायक छैन, ऊ जीवनमा असफल छे, र ऊ महिला बन्‍न योग्य छैन। हेर् त, यसले पुरुषहरूको हैसियतलाई थाहा नपाउने तरिकामा उचाल्छ, जसले तिनीहरूलाई महिलाको काँधमा चढेर माथि उठ्ने तुल्याउँछ। ‘स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे’ भन्‍ने भनाइको त्रुटि यहीँ छ(वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१४))। परमेश्‍वरका वचनहरू पढेपछि, मैले “एउटी स्त्रीले आफूलाई मन पराउनेका लागि सिँगारपटार गर्छे” भन्ने वाक्यांश आफैमा गलत छ भन्ने बुझेँ। पुरुषहरूलाई स्त्रीभन्दा माथि राखेर, यसले निस्सन्देह स्त्रीहरूको अवमूल्यन गर्छ। यसले गर्दा स्त्रीहरू अचेतन रूपमै पुरुषहरूलाई आफ्नो शिर ठान्‍न, स्त्रीहरूको जीवन पुरुषहरूको वरिपरि घुम्नुपर्छ भन्ने सोच्न, र पुरुषहरूको निगाह र प्रशंसा पाउँदा खुसी हुन पुग्छन्। यो धारणाले स्त्रीहरूलाई पुरुषको निगाह र प्रशंसाविना, उनीहरूको जीवनको कुनै मूल्य छैन, मानौँ, अन्तर्निहित रूपमै, स्त्रीहरू पुरुषहरूको आनन्दका लागि मात्र जिउँछन् भन्ने सोच्न लगाउँछ। यो दृष्टिकोण एकदमै वाहियात र स्त्रीहरूप्रति अन्यायपूर्ण छ। किशोरी अवस्थादेखि नै, म यो भनाइबाट गहिरो रूपमा प्रभावित थिएँ। मैले एउटी स्त्रीले पुरुषको स्नेह जित्न सकी भने, उसको जीवन खुसी र निस्फिक्र हुनेछ भन्ने विश्वास गरेकी थिएँ। त्यसैले मैले लामो समयदेखि मलाई माया र हेरचाह गर्ने श्रीमान् पाउने सपना देखेकी थिएँ, र हामी बूढो हुँदै जाँदा उसको हात समातेर हिँड्नु नै साँच्चै सुखी जीवन जिउने एकमात्र तरिका हो भनी सोचेकी थिएँ। पछि, मैले मेरो वर्तमान श्रीमानलाई भेटेँ, र त्यतिबेला, म जवान, सुन्दरी, र राम्रो शारीरिक बनावटकी थिएँ, र उसले मलाई साँच्चै मन पराउँथ्यो। जब ऊसँग समय हुन्थ्यो, ऊ मलाई रमाइलो गर्न बाहिर लैजान्थ्यो, र ऊ मलाई आफ्नो परिवार र साथीहरूसँग पनि भेट गराउँथ्यो। सबैले मेरो रूपको प्रशंसा गर्थे, र यसले उसलाई मप्रति झनै मायालु बनाउँथ्यो। म यो अद्भुत प्रेममा डुबेकी थिएँ र असाध्यै खुसी महसुस गर्थेँ। त्यो प्रेमलाई ताजा राख्‍न, हामी भेट्दा हरेक पटक म आफ्नो रूपमा धेरै ध्यान दिन्थेँ ताकि उसले मेरो सबैभन्दा आकर्षक पक्ष देखोस्। विवाहपछि, मैले बच्चा जन्माएँ, र म एक युवतीबाट एक थकित गृहिणीमा बदलिएँ। मेरो श्रीमानको मप्रतिको मनोवृत्ति झन् खराब हुँदै गयो, र उसको प्रशंसा बिस्तारै तिरस्कारमा बदलियो। मेरो श्रीमानको निगाह जित्न र हाम्रो सुखी दाम्पत्य जीवन कायम राख्‍न, मैले सौन्दर्य उपचार गराएँ, तौल घटाएँ, र आफूलाई परिवर्तन गर्न हरसम्भव जुक्ति लगाएँ। यसको अर्थ मेरो शरीरलाई हानि पुऱ्याउनु भए तापनि, मैले वास्ता गरिनँ। जब मैले मेरो श्रीमानको मप्रतिको मनोवृत्तिमा सुधार आएको देखेँ, मैले साँच्चै सन्तुष्टि महसुस गरेँ, र मैले “एउटी स्त्रीले आफूलाई मन पराउनेका लागि सिँगारपटार गर्छे” भन्ने वाक्यांशलाई हाम्रो वैवाहिक सम्बन्ध कायम राख्ने मुख्य कुरा झन्-झन् ठान्दै गएँ। मैले घरको सबै काम पनि गरेँ, घरलाई सफासुग्घर राखेँ, र सुन्दर लुगा लगाएर सिँगारिएँ। मैले आफ्नो सम्पूर्ण हृदय र मन मेरो श्रीमानप्रति समर्पित गरेँ, तर बदलामा मैले उसको उदासीनता बाहेक केही पाइनँ। मलाई जीवनमा कुनै आशा नै छैन जस्तो लाग्यो, र म बाँच्न पनि चाहन्नथेँ। परमेश्‍वरका वचनहरू खाँदै-पिउँदै, मैले आफूले भोगेका यी सबै कष्ट शैतानले ल्याएको थियो भन्ने कुरा बुझेँ। म “एउटी स्त्रीले आफूलाई मन पराउनेका लागि सिँगारपटार गर्छे” भन्ने शैतानको विधर्म र भ्रमलाई पछ्याउँदै आएकी थिएँ, र उसलाई कसरी खुसी पार्ने र उसको मनलाई कसरी आफ्नो पकडमा राख्‍ने भनेर पत्ता लगाउन मैले आफ्नो सारा समय खर्च गरेँ, र आफ्नो खुसीलाई मेरो श्रीमानमाथि निर्भर बनाएँ। तर बदलामा, मैले पीडा र तीतोपन बाहेक केही पाइनँ। म कत्ति मूर्ख र बेवकूफ रहेछु!

त्यसपछि मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ, जसले मलाई “एउटी स्त्रीले आफूलाई मन पराउनेका लागि सिँगारपटार गर्छे” भन्ने यो भ्रमलाई अझ स्पष्ट रूपमा देखायो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “के पुरुषहरूले महिलालाई तिनीहरूको रूप र श्रृङ्गारका लागि मात्रै मन पराउँछन्? कि महिलाहरू कोमल, सद्गुणी, इज्जतदार, र अनुग्रहशील छन् भन्‍ने देखेर मात्रै तिनीहरू उनीहरूलाई मन पराउँछन्? के पुरुषहरूले आफ्नो आँखालाई प्रसन्‍न पार्नका लागि मात्रै महिलाहरूलाई मन पराउँछन्? (अहँ, यो देहको यौन कामना सन्तुष्ट पार्नका लागि हो।) त्यसोभए महिलाहरूले पुरुषहरूलाई प्रसन्‍न पार्न र खुसी पार्न प्रयास गर्नुको उद्देश्य के हो त? (यो पनि देहको यौन कामनामा लिप्त हुनका लागि नै हो।) अर्थात्, पुरुष र महिला दुवैलाई एक-अर्काको खाँचो हुन्छ, र यीमध्ये सबैभन्दा आधारभूत खाँचो भनेको देहको यौन कामना हो। महिलाप्रतिको पुरुषको खाँचो उसको रूप मन पराउनुसँग मात्रै सम्बन्धित हुँदैन, तर, यसका आधारमा, उसलाई शारीरिक रूपमा प्राप्त गर्नु—अझै स्पष्ट रूपमा भन्दा, आफ्‍नो यौन कामना सन्तुष्ट पार्न उनको शरीर प्राप्त गर्नु हो। त्यसकारण, ‘स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे’ भन्‍ने भनाइको पछाडि रहेको उद्देश्य वास्तवमा पुरुषको यौन कामना सन्तुष्ट पार्नु हो। यसका लागि महिलाहरूले आफ्नो रूप र श्रृङ्गार पुरुषका लागि मन पर्दो बनाउने मात्र होइन, तर पुरुषको यौन कामना सन्तुष्ट पार्ने कार्य पनि आवश्यक हुन्छ। के त्यो जीवन जिउने अत्यन्तै नीच तरिका होइन र? यदि महिलाहरूले अझै पनि यो भनाइ सही छ, यो तिनीहरूले हासिल गर्नुपर्ने र पालना गर्नुपर्ने कुरा हो भन्‍ने सोच्छन् भने, तिनीहरूले आफैलाई अपमानित गरिरहेका हुन्छन्। पुरुषहरूमा महिलाहरूप्रतिको यौन आवश्यकताहरू हुन्छन् र तिनीहरू उनीहरूका शरीरसँग खेल्न चाहन्छन्; यदि महिलाहरूले यसलाई घृणित र घृणास्पद ठान्‍नुको सट्टा, अझै पनि आफ्नो जीवनको सबैभन्दा ठूलो सम्मान, सर्वोच्च सम्मान हो भन्‍ने महसुस गर्दै आफ्ना प्रशंसकहरूका अगाडि आफूलाई सुन्दर बनाउँछन् भने, के तिनीहरूले आफैलाई अपमानित गरिरहेका हुँदैनन् र? (हुन्छन्।) यो त महिलाहरूलाई तिनीहरूको अधिकारबाट पूर्ण रूपमा वञ्चित गर्नु हो। यसले महिलाहरूलाई अस्तित्वमा रहने तिनीहरूको अधिकार, इज्जत, र मानव अधिकारहरूबाट वञ्चित गर्ने मात्र होइन, तर यसले तिनीहरूलाई यो सबैभन्दा ठूलो सम्मान हो भन्‍ने सोच्न पनि लगाउँछ। के यो क्रूरता होइन र? यो अत्यन्तै क्रूर कार्य हो! कुनै स्वायत्तता र कुनै मानव अधिकार नहुने बाहेक, महिलाको खुसी, हर्ष, र प्रसन्नता पुरुषहरूलाई खुसी पार्ने र तिनीहरूलाई पूर्ण रूपमा सन्तुष्ट पार्ने आधारमा मात्रै हासिल गर्न सकिन्छ। महिलाहरूले जस्तोसुकै अमानवीय व्यवहार भोगे पनि, तिनीहरूबाट अझै पनि यसप्रति गर्व गर्नुपर्ने माग गरिन्छ। के यो महिलालाई दुर्व्यवहार गर्नु र बरबाद गर्नु होइन र? चाहे तिनीहरू आधुनिक महिलाहरू हुन् वा प्राचीन महिलाहरू हुन्, तिनीहरू सबैले ‘स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे’ भन्‍ने भनाइलाई आफ्नो आदर्श वाक्य, आफ्नो जीवनको उद्देश्यका रूपमा लिन्छन्। के यो पूर्ण रूपमा गलत कुरा होइन र? के यो मानिसहरूलाई दुर्व्यवहार गर्न र बहकाउनका लागि शैतानले प्रयोग गर्ने चलाकी होइन र? (हो।) … मानिसहरूले ‘स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे’ भनेर भन्‍नुको उद्देश्य पुरुषले महिलालाई कदर गर्नु जत्तिको सरल कुरा होइन। यसले पुरुषहरूलाई महिलाभन्दा माथि अवश्य नै राख्छ। अझै सही रूपमा भन्दा, यो भनाइ पुरुष श्रेष्ठ छन् र महिला निकृष्ट छन् भन्‍ने मान्यताबाट आएको थियो। यसका साथै, वास्तविकता के हो भने कुनै पनि सामाजिक प्रणालीमा महिलाहरू कमजोर समूह हुन्, जसलाई पुरुषहरूको शाखा कुरा र खेलौनाका रूपमा लिइन्छ। त्यसकारण, ‘महिलाले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे’ भन्‍ने भनाइ सबै महिलाहरूका लागि पूर्ण रूपमा लाजमर्दो कुरा हो। यदि महिलाहरूले यो भनाइलाई विशेष रूपमा अनुमोदन गरे भने, यो महिलाहरूका लागि दुःखको कुरा हो, र यसलाई अनुमोदन गर्ने सबै महिलाहरूप्रति व्यक्तिलाई घृणा हुनुपर्छ(वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१४))। परमेश्‍वरका वचनहरूबाट, मैले चाहे पुरुषहरूले स्त्रीहरूलाई मन पराऊन् वा स्त्रीहरूले पुरुषहरूलाई खुसी पार्न खोजून्, तिनीहरूको उद्देश्य आफ्ना देहिक चाहनाहरू पूरा गर्नु हो भन्ने कुरा स्पष्ट रूपमा देखेँ। जीवनप्रति भ्रष्ट मानवजातिको सही दृष्टिकोण छैन, र त्यसलाई सामान्य दाम्पत्य जीवन कायम राख्‍न आफ्नो जिम्मेवारी कसरी पूरा गर्ने भन्ने थाहा छैन। जब पुरुष र स्त्रीहरू एकअर्कासँग जोडिन्छन्, यो प्रायः तिनीहरूका देहिक चाहनाहरू पूरा गर्ने कुरासँग सम्बन्धित हुन्छ। स्त्रीहरूले, पुरुषहरूका चाहना पूरा गर्न, पुरुषहरूलाई खुसी पार्न आफूलाई सजाउन धेरै मिहिनेत गर्नुपर्छ। तर पुरुषहरू स्त्रीहरूसँग खेल्छन् र आफ्नो आनन्दका लागि उनीहरू सुन्दर बनून् भन्ने अपेक्षा गर्छन्। यसको तर्क एकदमै वाहियात छ। यो विशुद्ध रूपमा स्त्रीहरूलाई कुल्चने र बर्बाद गर्ने शैतानको एउटा चाल मात्र हो! यदि परमेश्‍वरले यो सबै कुरा खुलासा नगरिदिनुभएको भए, मैले अझै पनि यो भनाइ सही हो भन्ने सोच्ने थिएँ। म साँच्चै कत्ति मूर्ख र तुच्छ थिएँ! जब म जवान, सुन्दरी, र राम्रो शारीरिक बनावटकी थिएँ, मेरो श्रीमानसँग बाहिर जाँदा उसले इज्जत पाउँथ्यो, र उसको अभिमान पूर्ण रूपमा सन्तुष्ट हुन्थ्यो, त्यसैले ऊ मसँग राम्रो व्यवहार गर्थ्यो। बच्चा जन्माएपछि, म पहिले जस्तो पातली र सुन्दरी थिइनँ, र तब उसको असली रूप उदाङ्गो भयो। उसको पहिलेको माया र स्नेह बिस्तारै तिरस्कार र चिसोपनमा बदलियो। मेरो श्रीमानको मन पुनः जित्न, मैले उसलाई खुसी पार्ने तरिकाहरू खोज्ने प्रयास गरेकी थिएँ, आफूलाई सुन्दर बनाउन र तौल घटाउन हर जुक्ति अपनाएकी थिएँ। तर यसले उसलाई केवल अस्थायी रूपमा केही नौलोपन दिएर सन्तुष्ट पारेको थियो, र हाम्रो दाम्पत्य जीवन सुधार्न केही पनि गरेन। हामी एउटै छानामुनि बसिरहेका थियौँ तर हामी अपरिचित जस्तै थियौँ। त्यो भावनाले मलाई अक्सर चिन्तित बनाउँथ्यो र पीडा दिन्थ्यो, यहाँसम्म कि मलाई आफ्नो जीवन समाप्त गर्ने सोचसम्म पुऱ्याउँथ्यो। परमेश्‍वरका वचनहरू पढेपछि मात्र मैले मनन गरेँ, र मेरो श्रीमानको मप्रतिको पहिलेको स्नेह साँचो रहेनछ भन्ने महसुस गरेँ। उसले मेरो रूपलाई मात्र मन पराएको थियो। ठाडै भन्नुपर्दा, उसले मलाई मेरो जवानी र सुन्दरताका लागि मात्र मन पराएको थियो, र जब मेरो रूप ओइलायो र मेरो शारीरिक बनावट बदलियो, उसको सबै तिरस्कार र चिसोपन उदाङ्गो भयो। उसले कहिल्यै मेरो साँचो वास्ता गरेको थिएन, र उसलाई श्रीमानका रूपमा आफ्नो कर्तव्य कसरी पूरा गर्ने भन्ने थाहा थिएन। यस्तो विवाह कसरी सुखी हुन सक्छ र? मैले आफ्नो जीवन र मूल्यमान्यतासम्बन्धी दृष्टिकोणलाई मेरो श्रीमानलाई खुसी पार्ने कुरासँग जोडेकी थिएँ, र मेरो श्रीमानको निगाह जितेर उसको हृदय राखिराख्न सक्छु, र यसरी मात्र मेरो जीवन खुसी र आनन्दित हुनेछ भनेर भूलवश सोचेकी थिएँ। परिणाम स्वरूप, मैले आफूलाई असहनीय दुःख खेप्ने अवस्थामा पुऱ्याएँ। यो सबै मेरो पछ्याइपछाडिका गलत दृष्टिकोणहरूको कारणले भएको थियो। तब मात्र मैले एउटी स्त्री “एउटी स्त्रीले आफूलाई मन पराउनेका लागि सिँगारपटार गर्छे” भन्ने धारणाअनुसार जिउँछे भने, ऊ शैतानद्वारा मूर्ख बनाइन मात्र सक्छे र अन्ततः त्यसको सिकार बन्छे भन्ने कुरा स्पष्ट रूपमा देखेँ। यो साँच्चै दयनीय र दुःखद छ!

मैले परमेश्‍वरका थप वचनहरू पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “‘स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे’ भन्‍ने भनाइ सही छ कि छैन भन्‍ने कुरा के अब तिमीहरूले स्पष्ट रूपमा देख्यौ? (यो गलत छ।) यो भनाइ सकारात्मक कुरा होइन, न त यो सही विचार वा दृष्टिकोण नै हो। बाइबल र परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरूमा हेर त—के महिलाहरूलाई तिनीहरूले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउनुपर्छ भन्‍ने कुनै वाक्य छ? के पुरुष र महिलाको हैसियतलाई स्तरमा विभाजित गर्ने, पुरुष महिलाभन्दा माथि छ भन्‍ने कुनै वाक्य छ? अहँ, छैन। बाइबलमा उत्पत्तिको पुस्तकमा के लेखिएको छ भने महिला पुरुषको हाडको हाड र मासुको मासु हो। पुरुष र महिला दुवै परमेश्‍वरद्वारा सृजित मानव हुन्; तिनीहरू परमेश्‍वरको अघि समान हुन्छन्, र तिनीहरूमा कुनै स्तर विभाजन हुँदैन, श्रेष्ठ र निकृष्टका बीचमा कुनै भिन्‍नता हुँदैन। मानिसहरूलाई श्रेष्ठ र निकृष्ट स्तरमा विभाजन गर्नु र हैसियतका स्तरहरू छुट्टयाउनु त शैतानले गर्ने कुरा हो; यो शैतानले महिलाहरूलाई गर्ने दमन र सतावटको वास्तविक प्रमाण हो। परमेश्‍वरले सुरुमा मानवजातिलाई सृष्टि गर्नुभएको समयदेखि नै, परमेश्‍वरका नजरमा पुरुष र महिला समान छन्। तिनीहरू दुवै सृजित प्राणीहरू र परमेश्‍वरको मुक्तिका पात्रहरू हुन्। परमेश्‍वरले कहिल्यै पुरुष श्रेष्ठ छन् र महिला निकृष्ट छन् भनेर भन्‍नुभएको छैन, न त उहाँले पुरुष महिलाको शिर वा मालिक हुनुपर्छ, पुरुष महिलाभन्दा माथि हुनुपर्छ, कुनै पनि काममा पुरुषले महिलामाथि अग्रता जमाउनुपर्छ, वा पुरुषहरूका आफ्नै राय हुन्छन् र तिनीहरू आधारस्तम्भ हुन् जबकि महिलाहरूले अझै बढी पुरुषको कुरा सुन्नुपर्छ भनेर नै भन्‍नुभएको छ। परमेश्‍वरले कहिले पनि त्यस्ता कुराहरू भन्‍नुभएको छैन। शैतानले भ्रष्ट तुल्याएका कारण मात्रै मानिसहरूका बीचमा पुरुष श्रेष्ठ छन् र महिला निकृष्ट छन् भन्‍ने भनाइहरू पैदा भए, र त्यसपछि यो प्रचलन समाज र सम्पूर्ण मानवजातिमा देखा पऱ्यो, जसले गर्दा पुरुषको अख्तियारमुनि महिलाहरूलाई निरन्तर दमन गरियो। सत्यता बुझाइको कमीका कारण, शैतानका सबै किसिमका दुष्ट प्रचलनहरूको प्रभावमा परेपछि र बहकाउमा परेपछि, महिलाहरूलाई तिनीहरू पुरुषपछि दोस्रो स्थानमा आउँछन् वा पुरुषभन्दा न्यून हैसियतका छन् भन्‍ने लाग्छ। त्यसकारण, आजको दिनसम्म, धेरै महिलाहरू अझै पनि ‘स्त्रीले आफ्नो प्रशंसकका लागि आफूलाई सुन्दर बनाउँछे’ भन्‍ने भनाइ सही छ भन्‍ने विश्‍वास गर्छन्। यो अत्यन्तै दुःखको कुरा हो। यदि मानिसहरूले सत्यता बुझ्दैनन् भने, तिनीहरू अझै पनि विभिन्‍न निश्‍चित मामलाहरूमा शैतानका विभिन्‍न विचार र दृष्टिकोणहरूद्वारा बहकाउमा र नियन्त्रणमा पर्छन्। यो सानो मामला पनि अत्यन्तै उदाहरणात्मक छ, होइन र? (हो।) … सृजित मानवजातिका सदस्यहरूका रूपमा, महिलाहरू लिङ्ग र शारीरिक बनावटका हिसाबमा मात्रै पुरुषहरूभन्दा फरक हुन्छन्; अरू पक्षहरूमा, कुनै पनि भिन्‍नताहरू पटक्‍कै हुँदैनन्। परमेश्‍वरका नजरमा, पुरुष र महिलाका हैसियतमा कुनै पनि भिन्‍नता हुँदैन। परमेश्‍वरले कुनै पनि परिस्थितिमा, महिलाहरूबाट गरिने मागहरू, पुरुषहरूबाट गरिने मागहरू भन्दा भिन्न कहिल्यै बनाउनुभएको छैन। परमेश्‍वरले चुन्नुहुने मानिसहरूको सङ्ख्या, मुक्तिको आशा, कर्तव्य पूरा गर्ने तिनीहरूका अवसर, तिनीहरूले पूरा गर्न सक्‍ने कर्तव्य, र तिनीहरूले निर्वाह गर्न सक्‍ने काम जस्ता पक्षहरूमा, महिलाहरू आधारभूत रूपमा पुरुषहरूसरह हुन्छन्; महिलाहरू पुरुषहरूभन्दा कम हुँदैनन्। वास्तविक परिस्थिति यही हो(वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१४))। परमेश्‍वरका वचनहरूबाट, मैले चाहे पुरुष होस् वा स्त्री, सबै मानिस सृजित प्राणी हुन् र परमेश्‍वरसामु बराबर छन् भन्ने कुरा बुझेँ। पुरुष श्रेष्ठता वा स्त्री हीनता जस्तो कुनै कुरा छैन। परमेश्‍वरले पुरुष र स्त्रीलाई सृष्टि गर्नुभयो, र उनीहरूका लागि विवाह र परिवारको व्यवस्था गर्नुभयो, मानिसहरू एकअर्काको साथमा रहून् र आफ्नो जिम्मेवारी पूरा गरून् भन्ने आशा राख्नुभयो। तर शैतानले मानिसहरूमा “एउटी स्त्रीले आफूलाई मन पराउनेका लागि सिँगारपटार गर्छे” र “पुरुषहरू स्त्रीभन्दा श्रेष्ठ हुन्छन्” जस्ता विधर्म र भ्रमहरू भरिदिन्छ, जसको उद्देश्य स्त्रीहरूलाई दमन गर्ने र सताउने हो। विगतमा, म सधैँ “एउटी स्त्रीले आफूलाई मन पराउनेका लागि सिँगारपटार गर्छे” भन्ने भ्रामक विचारअनुसार जिएँ र मैले मेरो श्रीमानलाई मेरो सहारा र मेरो सर्वस्व ठानेँ। उसलाई खुसी पार्ने तरिकाहरू सोचेर मैले आफ्नो दिमाग खियाएँ, यहाँसम्म कि उसका लागि मैले आफैलाई निरन्तर परिवर्तन गरेँ। तर मैले सोचेजस्तो भएन, र मैले उसलाई जतिसुकै खुसी पार्न खोजे पनि, मैले उसको साँचो स्नेह कहिल्यै पाइनँ, र हामी एकअर्काका लागि अपरिचित जस्तै भयौँ। मैले ऊ मेरो वास्ता गर्दैन वा मलाई माया गर्दैन भनेर गुनासो गरेँ, र उसले म उसलाई बुझ्दिनँ भनेर गुनासो गर्‍यो। हाम्रो बीचमा कुनै प्रेम वा ख्याल थिएन, हामीले एकअर्काप्रति रिस पाल्न थाल्यौँ, र हाम्रो सम्बन्ध बिस्तारै टुट्ने दिशातर्फ अघि बढ्यो। तर परमेश्‍वरका वचनहरू खाँएर-पिएर, मैले पारिवारिक जीवनमा एक पत्नीका रूपमा केवल आफ्नो जिम्मेवारी पूरा गरे पुग्छ, र म श्रीमानको मन आफ्नो पकडमा राख्‍ने कोसिसमा अल्झिरहनु हुँदैन, न त उसलाई खुसी पार्न हरसम्भव प्रयास नै गर्नुपर्छ भन्ने बुझेँ। त्यसो गर्नु भनेको आफैलाई बर्बाद गर्नु हो। श्रीमान् र श्रीमती एकअर्काको बराबर हुन्छन्, र हरेकको आ-आफ्नै जिम्मेवारी र दायित्व हुन्छ। भन्नुको अर्थ, परमेश्‍वरले तोकिदिनुभएको विवाहको ढाँचाभित्र, उनीहरूले एकअर्काप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ र जीवनको हरेक चरणमा एकअर्कालाई साथ दिनुपर्छ।

परमेश्‍वरका वचनहरूबाट, मैले सबैभन्दा महत्त्वपूर्ण सत्यताहरूमध्ये एक यो पनि बुझेँ: एक सृजित प्राणीका रूपमा, व्यक्तिले परमेश्‍वरले दिनुभएको आज्ञा र मिसन पूरा गर्नुपर्छ। जीवनको साँचो अर्थ र मूल्य यही हो, र यो नै सबैभन्दा सही पछ्याइ पनि हो। जसरी परमेश्‍वर भन्नुहुन्छ: “अनि, व्यक्तिको जीवनको मूल्य के हो? के यो खाने, पिउने, र रमाइलो गर्ने देहगत सुखचैनमा लिप्त हुनको लागि मात्रै हो? (अहँ, होइन।) त्यसोभए केको लागि हो? तिमीहरूको विचार बताओ। (सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नको लागि हो, व्यक्तिले कम्तीमा पनि हासिल गर्नुपर्ने कुरा यही हो।) त्यो सही हो। … एक हिसाबमा, यो सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नुसँग सम्‍बन्धित छ। अर्को हिसाबमा, यो आफ्‍नो क्षमता र सामर्थ्यले भ्याउन्जेल भरमग्दुर प्रयाससाथ सबै कुरा गरेर कम्तीमा पनि तँलाई तेरो विवेकले दोष नलगाउने अवस्थामा पुग्‍नु, अनि आफ्‍नै विवेकसँग शान्तिसाथ रहन सक्‍ने र अरूको नजरमा ग्रहणयोग्य हुने अवस्थामा पुग्‍नु हो। यसलाई अझै एक चरण अगाडि लगेर भन्दा, तँ जुन परिवारमा जन्‍मेको भए पनि, तेरो शैक्षिक पृष्ठभूमि वा व्यक्तिगत क्षमताहरू जे-जस्ता भए पनि, तैँले तेरो पूरै जीवनभरि नै मानिसहरूले जीवनमा बुझ्‍नुपर्ने सिद्धान्तहरू केही मात्रामा बुझेको हुनुपर्छ। उदाहरणको लागि, मानिसहरू कस्तो मार्ग हिँड्नुपर्छ, तिनीहरू कसरी जिउनुपर्छ, र अर्थपूर्ण जीवन कसरी जिउने हो—कम्तीमा, तैँले थोरै नै भए पनि जीवनको साँचो मूल्य खोजी गर्नुपर्छ। यो जीवन व्यर्थमा जिउनु हुँदैन, र कोही पनि यो पृथ्वीमा व्यर्थमा आएको हुँदैन। अर्को हिसाबमा, तेरो जीवनकालमा, तैँले आफ्‍नो मिसन पूरा गर्नुपर्छ; सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। हामीले ठूलो मिसन, कर्तव्य वा जिम्‍मेवारी पूरा गर्नेबारे कुरा गरिरहेका छैनौँ; तर कम्तीमा पनि, तैँले केही न केही त हासिल गर्नैपर्छ। उदाहरणको लागि, मण्डलीमा, कतिपय मानिसहरूले सुसमाचार प्रचार गर्ने कार्यमा आफ्नो सबै मेहनत लगाउँछन्, आफ्‍नो जीवनभरको ऊर्जा लगाऊँछन्, ठूलो मूल्य चुकाउँछन्, अनि धेरै मानिसहरूलाई विश्‍वासमा ल्याउँछन्। यसले गर्दा, तिनीहरूलाई आफ्नो जीवन व्यर्थ भएन, र त्यसमा मूल्य र सान्त्वना छ भन्‍ने महसुस हुन्छ। रोग वा मृत्यु सामना गर्दा, आफ्‍नो सारा जीवनको लेखाजोखा गर्दै आफूले हिँडेको मार्गमा आफूले गरेको सबै कुरालाई फर्केर हेर्दा, तिनीहरूलाई हृदयमा ढाडस मिल्छ। तिनीहरूलाई कुनै दोष वा ग्‍लानि अनुभूत हुँदैन। कतिपय मानिसहरूले मण्डलीमा नेतृत्व गर्दा वा कुनै कामको जिम्‍मेवारी लिँदा कुनै कसर बाँकी राख्दैनन्। तिनीहरूले आफूले गर्ने काममा आफ्‍नो अधिकतम सामर्थ्य लगाउँछन्, आफ्‍नो सारा शक्ति खन्याउँछन्, सारा ऊर्जा अर्पित गर्छन् र ठूलो मूल्य चुकाउँछन्। तिनीहरूको मलजल, नेतृत्व, सहयोग, र साथको कारण, तिनीहरूले कमजोरी र नकारात्मकतामा परेका धेरै मानिसहरूलाई दह्रिलो भएर खडा हुन, पछि नहट्न, बरु परमेश्‍वरको छेउमा फर्कन अनि अन्त्यमा गवाहीसमेत दिन धेरैलाई सहयोग गर्छन्। यसको साथै, तिनीहरूले आफ्नो नेतृत्वको अवधिमा धेरै महत्त्वपूर्ण कार्यहरू पूरा गर्छन्, धेरै दुष्ट मानिसहरूलाई निकाल्छन्, परमेश्‍वरका चुनिएका धेरै मानिसहरूलाई रक्षा गर्छन्, र धेरै हानिहरूको पूर्ति गर्छन्। तिनीहरूको नेतृत्वको अवधिमै यी सब उपलब्धिहरू हासिल हुन्छन्। आफूले हिँडेको मार्गलाई फर्केर हेर्दा, वर्षौँको अवधिमा आफूले गरेको काम र चुकाएको मूल्यलाई फर्केर हेर्दा, तिनीहरूलाई कुनै पछुतो वा दोषारोपण महसुस हुँदैन। तिनीहरूलाई आफूले कुनै ग्‍लानि हुने काम गरेको छैनँ भन्‍ने विश्‍वास हुन्छ, र तिनीहरूले मूल्यवान् जीवन जिउँछन्, र तिनीहरूले हृदयमा स्थिरता र सान्त्वना महसुस गर्छन्। कति राम्रो कुरा! के यही नै नतिजा यही होइन र? (हो।) यस्तो स्थिरता र सान्त्वना अनुभूति हुनु, अनि यसरी कुनै पछुतो नहुनु—यो सब सकारात्मक कुराहरू र सत्यता पछ्याउनुको परिणाम र इनाम हो। मानिसहरूको लागि उच्‍च मापदण्डहरू तय नगरौँ। एउटा यस्तो परिस्थितिबारे विचार गरौँ जहाँ कुनै व्यक्तिलाई उसले गर्नुपर्ने वा उसले आफ्‍नो जीवनकालमा गर्न चाहेको काम दिइएको हुन्छ। उसले आफ्‍नो स्थान भेट्टाएपछि, ऊ आफ्‍नो स्थानमा दह्रिलो गरी खडा हुन्छ, आफ्‍नो स्थान लिन्छ, ठूलो पीडा भोग्छ, मूल्य चुकाउँछ, र आफूले गर्नुपर्ने काम सम्पन्‍न र पूरा गर्न आफ्‍नो सारा शक्ति लगाउँछ। जब अन्त्यमा ऊ आफ्‍नो लेखा दिन परमेश्‍वरको अघि खडा हुन्छ, उसलाई तुलनात्मक रूपमा निकै सन्तुष्टि हुन्छ, र उसको हृदयमा कुनै दोषारोपण वा पछुतोको अनुभूति हुँदैन। उसलाई सान्त्वना र इनाम पाएको अनुभूति हुन्छ र मूल्यवान्‌ जीवन जिएछु जस्तो लाग्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (६))। मैले कति धेरै स्त्रीहरू आफ्ना श्रीमानहरूका लागि जिउँछन्, आफ्नो सम्पूर्ण जीवन आफ्नो श्रीमानलाई खुसी पार्न जिउँछन् भन्ने बारेमा सोचेँ। उनीहरूले आफ्नो विवाह र परिवारलाई राम्रोसँग सम्हाल्न सक्लान्, तर उनीहरूलाई व्यक्ति केका लागि जिउनुपर्छ, वा वास्तवमा मूल्यवान् जीवन कसरी जिउनुपर्छ भन्ने कुरा थाहा छैन। यो नजानिकन, उनीहरूको जीवनको के अर्थ हुन्छ र? अन्तमा, तिनीहरू व्यर्थैमा जिइरहेका छैनन् र? मैले कसरी कुनै बेला दामपत्य सुख पछ्याएँ भन्नेबारे फर्केर सोचेँ। मैले मेरो श्रीमानलाई खुसी पार्न सबै किसिमका अर्थहीन कामहरू गरेँ, र मैले धेरै अनावश्यक कष्ट सहेँ, तर अन्तमा, मैले जीर्ण शरीरबाहेक के पाएँ र? फर्केर हेर्दा, त्यो अनुभव मेरो सम्झनामा साँच्चै कुँदिएको छ। त्यो मेरो जीवनको सबैभन्दा तल्लो बिन्दु थियो, र म सबैभन्दा निराशा र पीडामा रहेको समय थियो। परमेश्‍वरका वचनहरूले नै मलाई भ्रष्ट मानवजाति शैतानका स्वभावले भरिएको छ, कामवासनाले भरिएको छ, र साँचो प्रेम के हो भन्ने कुरामा पूर्ण रूपमा अज्ञानी छ, आफ्नो विवाह कसरी कायम राख्‍ने भन्ने कुरामा त झनै अज्ञानी छ भनेर बुझायो। मानिसहरू केवल एकअर्कालाई प्रयोग गर्छन् र धोका दिन्छन्। कुनै साँचो प्रेम छैन। मानवजातिप्रतिको परमेश्‍वरको प्रेम मात्र निस्वार्थ छ, लेनदेनरहित, र मागरहित छ। यो नै सबैभन्दा साँचो र वास्तविक प्रेम हो। यदि एउटी स्त्री सत्यता नपछ्याइ वा सृजित प्राणीको कर्तव्य पूरा नगरी केवल आफ्नो श्रीमानलाई खुसी पार्न जिउँछे भने, त्यस्तो जीवन साँच्चै तुच्छ छ!

अब, म आफ्नो कर्तव्य पूरा गर्न घरबाट निस्केकी छु, र आफ्नो कर्तव्य पूरा गर्ने क्रममा, मसँग कुन-कुन भ्रष्ट स्वभावहरू र भ्रामक सोचाइ र दृष्टिकोणहरू छन् भनी जाँच्नमा ध्यान केन्द्रित गर्छु, र तिनलाई समाधान गर्न सचेत रूपमा सत्यता खोज्छु। मलाई लाग्छ, यसरी जिउँदा मात्र जीवनको अर्थ हुन्छ। मलाई “एउटी स्त्रीले आफूलाई मन पराउनेका लागि सिँगारपटार गर्छे” भन्ने गलत सोचाइ र दृष्टिकोणबाट बाहिर निकाल्नुभएकोमा परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ३१. मैले मेरो हीनताबोध समाधान गर्ने मार्ग पाएँ

अर्को: ३३. मानिसले जीवनमा के कुरा पछ्याउनुपर्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

७१. प्रदर्शन गरेर भएको हानि

रुओयु, स्पेनकेही वर्ष पहिले, म उस्तै उमेरका केही दाजुभाइ-दिदीबहिनीहरूसँग मलजल गर्ने कर्तव्यमा लागेकी थिएँ। तिनीहरू अत्यन्तै उत्साहित र...

१८. मेरो गलत बुझाइ र स्व-आरक्षितपनद्वारा क्षति पुर्‍याइएको

सुक्षिङ, चीनकेही समय अघि, हाम्रो मण्डलीको अगुवाले आफ्नो पद गुमाइन् किनकि उनले सत्यलाई खोजी गरिरहेकी वा व्यावहारिक काम गरिरहेकी थिइनन् र अरू...

३६. ख्याति र सम्पत्तिबाट मुक्ति

जियाओ मिन, चीनविश्‍वासी बन्नुअघि, म जहिले पनि नाम र हैसियतको पछि लागिरहेकी थिएँ, र यदि कसैले मलाई जित्यो भने म ईर्ष्या गर्थेँ र दुःखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्