८१. मैले साँचो सुखी जीवन भेट्टाएँ
म एउटा साधारण गाउँले परिवारमा हुर्किएकी थिएँ। हामी कुनै पनि हिसाबले धनी त थिएनौँ, तैपनि म धेरै खुसी थिएँ। मेरी आमा हँसिलो व्यक्तित्वकी हुनुहुन्थ्यो; उहाँ सद्गुणी र सक्षम हुनुहुन्थ्यो, अनि घरलाई एकदमै व्यवस्थित राख्नुहुन्थ्यो। मेरा बुबा मेरी आमाप्रति निकै मायालु र विचारशील हुनुहुन्थ्यो, अनि उहाँहरू ६० वर्षभन्दा बढी समयसम्म दुःख-सुखमा सँगै रहनुभयो। मलाई उहाँहरू कहिल्यै झगडा गर्नुभएको याद छैन। ठूली भएपछि, म पनि मेरा बुबा जस्तै परिवारको हेरचाह गर्ने केटा पाऊँ भन्ने आशा गर्थेँ। नभन्दै, मैले चाहेजस्तै चित्तबुझ्दो श्रीमान् पाएँ। हामी सँगै काममा जान्थ्यौँ र सँगै घर फर्कन्थ्यौँ, अनि घरधन्दा र बालबच्चा हुर्काउने काम बाँडचुँड गर्थ्यौँ। मेरा श्रीमान् मप्रति एकदमै विचारशील हुनुहुन्थ्यो। विशेषगरी यी वर्षहरूमा मेरो स्वास्थ्य अलि कमजोर रहँदा, म बिरामी पर्दा उहाँ मभन्दा बढी चिन्तित हुनुहुन्थ्यो। उहाँ मलाई अस्पताल लैजानुहुन्थ्यो र मेरो असाध्यै ख्याल राख्नुहुन्थ्यो। हाम्रो विवाह भएको यतिका वर्षहरूमा, हामीबीच बिरलै मतभेद हुन्थ्यो, र हामी एकअर्काप्रति सहनशील हुन सकेका थियौँ। मैले पत्नीका रूपमा आफ्ना जिम्मेवारीहरू पूरा गर्दै, लगनशील भएर परिवार चलाएँ। मलाई लाग्थ्यो, मेरो वैवाहिक जीवन सुखी छ र म संसारकै सबैभन्दा सुखी महिला हुँ। म यसरी नै मेरा श्रीमानसँग सधैँ नजिक रहने र हामी जीवनभरका सँगी बन्ने सपना पनि बारम्बार देख्थेँ।
सन् २०१७ मा, मैले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेँ। परमेश्वरलाई पछ्याउनु नै जीवनको सही मार्ग हो भन्ने कुरामा मलाई दृढ विश्वास थियो, र ममा ठूलो उत्साहका हुन्थ्यो, म मण्डलीले प्रबन्ध गरेको जुनसुकै कर्तव्य स्वीकार गर्थेँ र समर्पित हुन्थेँ। सुरुसुरुमा, म मेरो कर्तव्यमा त्यति व्यस्त थिइनँ र यसले मेरो पारिवारिक जीवनमा असर गरेको थिएन, त्यसैले मेरा श्रीमानले परमेश्वरप्रतिको मेरो आस्थालाई समर्थन गर्नुभयो। सन् २०२० मा, म मण्डली अगुवा भएँ, र मेरो कर्तव्य अझ बढी व्यस्त भयो। म हरेक दिन सबेरै निस्किन्थेँ र अबेर घर फर्कन्थेँ, त्यसैले घरका साना-ठूला सबै कुराको जिम्मा मेरा श्रीमानको काँधमा आइपर्यो। उहाँले मेरो परमेश्वरप्रतिको विश्वासप्रति असहमति जनाउन थाल्नुभयो, मलाई कटाक्ष समेत गर्दै भन्नुभयो, “तिमी त जागिर खाँदाको समयमाभन्दा सेवानिवृत्त भएपछि पो झन् व्यस्त भएकी छौ!” मेरा श्रीमानको मन जित्न, म बिहान र बेलुकाको समय निकालेर उहाँका लागि खाना तयार पार्थेँ। मलाई याद छ, एकपटक मेरा श्रीमानकी आमा बिरामी परेर अस्पताल भर्ना हुनुभयो, र मेरा श्रीमान् २० दिनभन्दा बढी समयसम्म उहाँसँगै अस्पतालमा बस्नुभयो। उहाँ यति थकित हुनुहुन्थ्यो कि उहाँका आँखामुनि कालो घेरा परेका थिए, र उहाँ निकै दुब्लाउनुभएको थियो। म हरेक बिहान उहाँहरूका लागि खाना लिएर जान्थेँ, तर मेरा श्रीमान् मलाई देखेर खुसी देखिनुहुन्नथ्यो। उहाँलाई त्यस्तो लखतरान परेको देख्दा मेरो मुटु दुख्थ्यो। मैले मनमनै सोचेँ, “यदि मैले पहिले जस्तै एकल-कार्य कर्तव्य मात्र निर्वाह गर्न पाएको भए, म र मेरा श्रीमानले पालैपालो आमाको हेरचाह गर्न सक्थ्यौँ, अनि उहाँ यति धेरै थकित हुनु पर्दैनथ्यो। मैले पत्नीका रूपमा आफ्ना जिम्मेवारीहरू पूरा गरेकी छैन।” एकदिन, सासू आमा अस्पतालबाट घर फर्कनुभएपछि, म धेरै ढिलो घर पुगेँ। मलाई देख्नासाथ मेरा श्रीमानले रिसाउँदै भन्नुभयो, “उहाँ यतिका समयसम्म बिरामी हुँदा पनि तिमीले उहाँको हेरचाह गरिनौ, उल्टै मलाई चाहिँ लखतरान हुने गरी खटायौ। तिमी आफैँबारे मात्र सोच्छौ। अब हामी यसरी अघि बढ्न सक्दैनौँ!” श्रीमानको आलोचना सुन्दा, मसँग बोल्ने कुनै शब्द थिएन। म सुत्ने कोठामा भागेर गएँ र रुन थालेँ। मैले मनमनै सोचेँ, “जबदेखि मैले अगुवाका कर्तव्यहरू निर्वाह गर्न थालेँ, मण्डलीमा कामको चाप धेरै छ, र सासू आमा बिरामी पर्दा पनि मैले उहाँको हेरचाह गर्न सकिनँ। मेरा श्रीमान् मदेखि खुसी नहुनु आश्चर्यको कुरा होइन। यस्तै चलिरह्यो भने, उहाँ मप्रति अझ बढी असन्तुष्ट हुनुहुनेछ र मसँग झगडा पनि गर्नुहुनेछ। त्यसो भयो भने, मैले यतिका वर्ष प्रयास लगाएको यो वैवाहिक सम्बन्ध भताभुङ्ग हुँदैन र? विवाह टुट्यो भने त मेरो घरबार नै रहनेछैन।” त्यो रात, म ओछ्यानमा कोल्टे फेरिरहेँ, निदाउनै सकिनँ, र मैले सोचेँ, “एकातिर मेरो विवाह छ, अर्कोतिर मेरो कर्तव्य; म कुनचाहिँ रोज्नु? बरु म अगुवाइको कर्तव्यबाट राजीनामा दिन्छु र एकल-कार्य कर्तव्य मात्र निर्वाह गर्छु।”
भोलिपल्ट, मैले मेरी सहकर्मी सिस्टरलाई भेटेँ र घरमा घटेका कुराहरूका साथै मेरा विचार र मैले महसुस गरिरहेको भित्री पीडाबारे उनीसँग कुरा गरेँ। ती सिस्टरले मसँग परमेश्वरका वचनका केही खण्डबारे सङ्गति गरिन्, र तीमध्ये एउटा खण्डले ममा गहिरो छाप पार्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वरले मानिसहरूमा गर्ने कामको प्रत्येक कदम बाहिरी रूपमा मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानव प्रबन्ध वा मानव बाधाबाट उत्पन्न भएको हो। तर कामको प्रत्येक कदमपछाडि, र घट्ने सबै कुरा शैतानले परमेश्वरसँग थापेको बाजी हो, र तिनका लागि मानिसहरू परमेश्वरको गवाहीमा दृढ रहनु आवश्यक हुन्छ। उदाहरणका लागि, अय्यूबको परीक्षा लिइएको घटना लिऊँ: पर्दापछाडि, शैतानले परमेश्वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो, त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको बाधा थियो। तिमीहरूमा परमेश्वरले गर्नुहुने कामको प्रत्येक कदमपछाडि शैतानले परमेश्वरसँग थापेको बाजी हुन्छ—यसको पछाडि एउटा लडाइँ हुन्छ। … तैँले सामना गर्ने प्रत्येक कुरामा लडाइँ हुन्छ, र जब तँभित्र लडाइँ हुन्छ, तेरो वास्तविक सहकार्य र वास्तविक कष्टका कारण, परमेश्वरले तँभित्र कार्य गर्नुहुन्छ। अन्ततोगत्वा, तँ उक्त विषयलाई आफूभित्र पन्छाउन सक्षम हुन्छस् र रिस प्राकृतिक रूपमा हराएर जान्छ। परमेश्वरसँगको तेरो सहकार्यको प्रभाव यस्तो हुन्छ। मानिसहरूले गर्ने प्रत्येक कुराका लागि उनीहरूको रगत-पसिनाको निश्चित मात्रा आवश्यक हुन्छ। वास्तविक कठिनाइविना, उनीहरूले परमेश्वरलाई सन्तुष्ट बनाउन सक्दैनन्; उनीहरू परमेश्वरलाई सन्तुष्ट बनाउने दिशामा नजिक पनि आउन सक्दैनन्, र उनीहरूले खोक्रा नाराहरू मात्रै भट्याइरहेका हुन्छन्! के यी खोक्रा नाराहरूले परमेश्वरलाई सन्तुष्ट तुल्याउन सक्छन्? जब आत्मिक क्षेत्रमा परमेश्वर र शैतानबीच लडाइँ हुन्छ, तैँले परमेश्वरलाई कसरी सन्तुष्ट पार्नुपर्छ, र उहाँको गवाहीमा तँ कसरी दृढ रहनुपर्छ? तँलाई हुने सबै कुराहरू ठूलो परीक्षा हो र परमेश्वरलाई तेरो गवाही चाहिने समय हो भन्ने तँलाई थाहा हुनुपर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो)। परमेश्वरका वचनहरू मनन गरेर, मैले के बुझेँ भने हरेक दिन घट्ने साना-ठूला सबै कुराहरू परमेश्वरको योजनाबद्ध कार्य र प्रबन्धका हिस्सा हुन्। मानिसहरूले सामना गर्ने हरेक कुरामा एउटा लडाइँ हुन्छ, र मानिसहरू आफ्नो गवाहीमा दृढ रहुन् भन्ने परमेश्वर चाहनुहुन्छ। आज परमेश्वरमा विश्वास गरेर अनि आफ्नो कर्तव्य निर्वाह गरेर, जीवनको सही मार्गमा हिँड्दै थिएँ, जुन परमेश्वरले अनुमोदन गर्ने कुरा हो। तर, शैतानले जताततै बाधा र अवरोधहरू खडा गरिरहेको थियो। मेरा श्रीमानले परमेश्वरमा विश्वास नगर्ने हुनाले, उहाँ शैतानको हुनुहुन्थ्यो। उहाँ आफ्नै स्वार्थको मात्र विचार गर्नुहुन्थ्यो। जब म आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिएँ र पारिवारिक मामिलाहरूको ख्याल गर्न सकेकी थिइनँ, जसले अनजानमै मेरा श्रीमानको स्वार्थमा असर गरेको थियो, तब उहाँले बखेडा झिक्न थाल्नुभयो, र मलाई मेरो कर्तव्य निर्वाह गर्नबाट रोक्न अवरोध र बाधा पुर्याउनुभयो। हाम्रो वैवाहिक सम्बन्ध टुट्छ कि भनेर म डराएकी थिएँ, त्यसैले अझ सजिलोसँग परिवारको हेरचाह गर्न म आफ्नो अगुवाइको कर्तव्यबाट राजीनामा दिएर एकल-कार्य कर्तव्य सम्हाल्न चाहन्थेँ। म आफ्नो गवाहीमा दृढ रहिनँ र झन्डै शैतानको जालमा फसेकी थिएँ। म यसरी आफ्नो कर्तव्यबाट पछि हटिरहन सक्दिनथेँ, त्यसैले मैले राजीनामा दिने विचार त्यागेँ।
एकदिन, म धेरै ढिलो घर पुगेँ, र मेरा श्रीमानले फेरि मलाई रिसाउँदै हप्काउनुभयो, “ओहो, आज त बास बस्न ‘होटल’ मा आएजस्तो छ नि। तिमीलाई अब मसँगको यो जीवन नै चाहिँदैन जस्तो छ!” श्रीमानलाई यस्तो अवस्थामा देखेर, मैले हृदयमा सुटुक्क परमेश्वरलाई प्रार्थना गरेँ, र उहाँका लागि गवाहीमा दृढ रहन मलाई आस्था र शक्ति दिनुहोस् भनी बिन्ती गरेँ। श्रीमानले आफ्नो रिस पोखिसकेपछि, मैले उहाँलाई भनेँ, “मैले यो परिवारका लागि ३० वर्षभन्दा बढी समयदेखि पर्याप्त त्याग गरिसकेकी छु। मेरा ती सहकर्मीहरूलाई हेर्नुहोस् त; सेवानिवृत्त भएपछि, उनीहरू कि त तास खेल्छन्, नाच्छन्, वा जताततै घुमफिर गर्छन्। उनीहरू कहिल्यै घरमा हुँदैनन्, र मनलाग्दी पैसा उडाउँछन्। अहिले, म परमेश्वरमा विश्वास गर्दैछु, सही मार्गमा हिँड्दैछु र आफ्नो केही समय अर्पण गर्दैछु, तैपनि तपाईँ यसको विरुद्धमा हुनुहुन्छ, र मसँग दिनदिनै निहुँ खोज्नुहुन्छ। यदि तपाईँ सँगै बस्न चाहनुहुन्न भने, भोलि नै गएर सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्नुहोस्। यदि सँगै बस्ने हो भने, ममाथि हस्तक्षेप गर्न बन्द गर्नुहोस्; मसँग आफूले रोजेको काम गर्ने स्वतन्त्रता छ।” उहाँ स्तब्ध हुँदै त्यहीँ उभिनुभयो र थप केही बोल्नुभएन। भोलिपल्ट बिहान, मैले उहाँलाई सोधेँ, “त्यसोभए, तपाईँको विचार के छ? मलाई जवाफ दिनुहोस्, हामी विवाहित नै रहने कि नरहने?” मैले यसो भनेको सुनेर, मेरा श्रीमानले मेरो निधारतिर औँला तेर्स्याउँदै भन्नुभयो, “ओहो, तिम्रो अगाडि मेरो केही जोर चलेन!” त्यतिबेला, म धेरै खुसी भएँ। त्यसपछि, मैले श्रीमानको गनगनलाई वास्ता गर्न छोडेँ, र बिस्तारै, उहाँले पहिलेभन्दा कम गनगन गर्न थाल्नुभयो।
सन् २०२२ को मे महिनामा, म प्रचारक चुनिएँ र मलाई धेरै मण्डलीको कामको जिम्मेवारी दिइयो। बढुवा हुनु त खुसीको कुरा हुनुपर्ने हो, तर मलाई भने मुटुलाई ठूलो ढुङ्गाले थिचेजस्तो महसुस भयो, र मैले सोचेँ, “विगत केही वर्षदेखि म मण्डली अगुवा रहँदै आएकी छु, र मण्डलीको काममा व्यस्त भए पनि, म बिहान र बेलुकाको समय घरधन्दामा बिताउन पाउँथे। अब म प्रचारक बन्दैछु, अनि म व्यस्त त हुनेछु नै, त्यसमाथि म घर छोडेर श्रीमानदेखि टाढा बस्नुपर्नेछ किनकि केही मण्डली धेरै टाढा छन्। उहाँले यो कुरा कसरी सहनुहोला? के यसको अर्थ मैले आफैँ सक्रिय भएर वैवाहिक सम्बन्ध त्याग्नु हुनेछैन र? यदि मेरो वैवाहिक सम्बन्ध टुट्यो र भविष्यमा म एक्लै भएँ भने, मेरो गुजारा कसरी चल्ला? म चाँडै ६० वर्षकी हुँदैछु; यदि भविष्यमा म बिरामी परेर थला परेँ भने, मलाई खाना पकाइदिने वा एक गिलास पानी दिने मान्छे पनि कोही हुनेछैन। त्यसरी म कसरी जिउन सकूँला र?” म जति सोच्थेँ, त्यति नै उदास हुन्थेँ, र मेरा आँखाबाट रोक्न नसकिने गरी आँसु बगिरहे। म परमेश्वरलाई सन्तुष्ट पार्न धेरै चाहन्थेँ, तर मैले पहिले बुझेको अलिकति धर्मसिद्धान्तले खासै प्रभाव पारेन, र मैले जति कोसिस गरे पनि, ती कुराहरूलाई व्यवहारमा लागू गर्नै सकिनँ। अन्त्यमा, मेरो कद साह्रै सानो छ र मसँग सत्यता वास्तविकता छैन भन्ने आधारमा मैले त्यो कर्तव्य अस्वीकार गरेँ। त्यसपछिका केही दिनसम्म, मलाई असाध्यै पीडा भयो, र मलाई परमेश्वरप्रति ऋणी भएको महसुस भयो। मैले सोचेँ, “मण्डलीले केही वर्षदेखि मेरो संवर्धन गर्दै आएको छ। म यतिका समयसम्म मण्डली अगुवा रहेकी छु, र मैले बारम्बार ब्रदर-सिस्टरहरूसँग परमेश्वरप्रति समर्पित हुने सत्यताबारे सङ्गति गरेकी छु। तर जब यो कर्तव्यलाई मेरो आवश्यकता भयो, म आफ्नो खपटाभित्र टाउको लुकाउने कछुवाजस्तै बनेँ र आफ्नो विवाह र परिवार रोजेँ, अनि शैतानको हाँसोको पात्र बनेँ। म कसरी आफूलाई परमेश्वरलाई पछ्याउने व्यक्ति भन्न सक्छु? म त साँच्चै निकम्मा रहेछु!” म तत्कालै सत्यताको खोजी गर्न र आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न चाहन्थेँ, र मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “आफूलाई पूर्ण रूपमा मप्रति समर्पित गर्न अनि मेरो खातिर आफ्नो सबै कुरा अर्पण गर्न को साँच्चिकै सक्षम छ? तिमीहरू सबै आधा हृदयका छौ; तिमीहरूका विचारहरू परिवार, बाहिरी संसार, खाना र वस्त्रको बारेमा सोच्नमै घुमिरहन्छन्। तँ यहाँ मेरो सामु मेरो निम्ति कामकुरा गर्दैछस् भन्ने तथ्यको बाबजुद, हृदयमा तँ अझै घरमा रहेका आफ्ना श्रीमती, बालबच्चा र आमाबुबाको बारेमा सोचिरहेको छस्। के तिनीहरू तेरा सम्पत्ति हुन् र? किन तँ तिनीहरूलाई मेरो हातमा सुम्पिँदैनस्? के तँलाई मेरो भरोसा छैन? कि तँ मैले तेरो निम्ति अनुचित बन्दोबस्त गरिदिनेछु भनी डराउँछस्? तेरो देहको परिवार र तेरा प्रियजनहरू किन सधैँ तेरो दिमागमा आउँछन्? के मैले तेरो हृदयमा कुनै निश्चित ठाउँ ओगटेको छु? तैपनि तँ आफूभित्र मलाई प्रभुत्व जमाउन र तेरो सम्पूर्ण सत्त्व ओगट्न दिने दाबी गर्छस्—यी सबै छलीपूर्ण झूट हुन्! तिमीहरूमध्ये कति जना मण्डलीप्रति सम्पूर्ण हृदयले समर्पित छौ? अनि तिमीहरूमध्ये कसले आफ्नो बारेमा नभई आजको राज्यको बारेमा सोच्छौ? यसका बारेमा धेरै ध्यानपूर्वक विचार गर” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ५९)। परमेश्वरका वचनहरू मनन गर्दा, मलाई यस्तो लाग्यो मानौँ परमेश्वरले मेरो आमनेसामने भएर मलाई न्याय गरिरहनुभएको छ। उहाँले ठ्याक्कै मेरो स्थिति खुलासा गरिदिनुभयो। म मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गरिरहेको, र हरेक दिन कामकुरामा निकै व्यस्त भएको जस्तो देखिन्थेँ, तर मेरो भित्री मनमा म सधैँ आफ्नो परिवारकै बारेमा सोचिरहेकी हुन्थेँ। कहिलेकाहीँ, म भेलामा बाहिर हुँदा, मेरा श्रीमानले खाना खानुभयो कि भएन होला भनेर चिन्ता गर्थेँ। जब मैले उहाँ अस्पतालमा आमाको हेरचाह गरेर लखतरान पर्नुभएको देखेँ, म उहाँको बोझ अलिकति भए पनि हलुका गर्न एउटा सरल कर्तव्य निर्वाह गर्न चाहन्थेँ। जब म कर्तव्यमा व्यस्त हुँदा मेरा श्रीमान् रिसाउनुभयो, तब म कर्तव्य निर्वाह गर्नुका साथै परिवारको हेरचाह पनि गर्न सकूँ भनेर अगुवाइको कर्तव्यबाट राजीनामा दिन चाहन्थेँ। मैले त दुवै हातमा लड्डु पाउने व्यर्थको आशा गरेकी रहेछु। के म दुई नाउमा खुट्टा राख्ने व्यक्ति थिइनँ र? मैले “परमेश्वरले नै सबै कुरामाथि सार्वभौमिकता राख्नुहुन्छ” भनेर कराएँ होला, तर वास्तवमा, ममा परमेश्वरप्रति अलिकति पनि साँचो आस्था थिएन र मैले सबै कुरा उहाँको हातमा सुम्पने आँट गरिनँ। जब मण्डलीले मलाई प्रचारकमा बढुवा गर्यो, मैले मण्डलीको कामका आवश्यकताहरूको रत्तिभर ख्याल गरिनँ, र आफ्नो वैवाहिक सम्बन्धबारे मात्र सोचेँ। मलाई श्रीमानदेखि टाढा बस्दा हाम्रो वैवाहिक सम्बन्ध टुट्नेछ र त्यसपछि मेरो कुनै परिवार हुनेछैन भन्ने डर थियो। वास्तवमा, मेरो वैवाहिक सम्बन्ध जोगाउने कुरा मेरो नियन्त्रणमा थिएन। यदि मेरो वैवाहिक सम्बन्ध टुट्नै लेखिएको छ भने, म दिनदिनै घरमै बसे पनि त्यो टुट्छ। मेरो एउटी साथी थिई, जो आफ्ना श्रीमान् जहाँ गए पनि पछि लाग्थि, र उनीहरू नङ र मासुजस्तै अविभाज्य थिए। तैपनि, उसको श्रीमान् उसको नाकै मुनि अर्कै आइमाईसँग सल्कियो, र अन्ततः उनीहरूको सम्बन्धविच्छेद भयो। अर्कोतिर, कामको सिलसिलामा टाढा बस्ने र वर्षमा केही पटक मात्र भेट हुने कतिपय दम्पती पनि थिए, तैपनि उनीहरूको वैवाहिक सम्बन्ध दिगो थियो। यो कुरा बुझेपछि, म मेरो वैवाहिक जीवन परमेश्वरको हातमा सुम्पन इच्छुक भएँ। म परमेश्वरसामु आएँ र प्रार्थना गरेँ, “हे परमेश्वर, मेरो भ्रष्टता प्रकट गर्न यी परिस्थितिहरूको प्रबन्ध गरिदिनुभएकोमा तपाईँलाई धन्यवाद। मैले देखेँ, म सत्यतालाई प्रेम गर्दिनँ रहेछु र मेरो प्रकृति असाध्यै स्वार्थी रहेछ। म आफ्नै दैहिक स्वार्थको मात्र ख्याल गर्छु, र केवल मेरो वैवाहिक सम्बन्ध सग्लो राख्न चाहन्छु। हे परमेश्वर, म तपाईँमा भर पर्न र मेरो वैवाहिक जीवन त्याग्न इच्छुक छु। यदि भविष्यमा मैले घर छोडेर कर्तव्य निर्वाह गर्ने अर्को मौका पाएँ भने, म मेरो कर्तव्य रोज्न र तपाईँलाई सन्तुष्ट पार्न इच्छुक छु।”
केही महिना बिते, र म फेरि प्रचारक चुनिएँ। त्यतिबेला, म धेरै भावुक भएँ, र सोचेँ, “विगतमा, मैले सधैँ परमेश्वरलाई चोट पुर्याएकी र निराश बनाएकी छु, र आफ्नो कर्तव्यमा म परमेश्वरप्रति धेरै ऋणी भएकी छु, तर उहाँले अझै पनि मलाई पश्चात्ताप गर्ने मौका दिनुभएको छ। यसपटक, म उहाँलाई सन्तुष्ट पार्नेछु।” तर, कर्तव्य निर्वाह गर्न घर छोड्नुपर्ने कुरा सोच्दा, मभित्र अझै पनि ठूलो द्वन्द्व चलिरहेको थियो, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ। मैले पहिले पढेको उहाँका वचनहरूको एउटा खण्ड सम्झेँ: “तैँले सत्यताका लागि कष्ट भोग्नैपर्छ, तैँले सत्यताका लागि आफ्नो बलिदान गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका खातिर तैँले अझै बढी दुःख भोग्नैपर्छ। तैँले गर्नुपर्ने यही नै हो। पारिवारिक सामञ्जस्यतामा रमाउनका खातिर तैँले सत्यतालाई फ्याँक्नु हुँदैन र अस्थायी आनन्दका खातिर तैँले जीवनभरको इज्जत र निष्ठा गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छ त्यो सबैलाई पछ्याउनुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण मार्ग पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको साधारण र सांसारिक जीवन जिउँछस्, र तँसँग पछ्याउनका लागि कुनै पनि लक्ष्य छैन भने, के यो तैँले आफ्नो जीवनलाई खेर फाल्नु होइन र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताका खातिर तैँले देहका सबै आनन्दहरू त्याग्नुपर्छ, र थोरै आनन्दका खातिर सबै सत्यताहरूलाई फ्याँक्नु हुँदैन। यस्ता मानिसहरूसँग कुनै निष्ठा वा इज्जत हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। परमेश्वरका वचनहरूले मलाई आस्था र शक्ति दिए। मेरो जीवनको पूर्वार्धमा, म पूर्ण रूपमा आफ्नै देहका लागि जिएकी थिएँ, र सांसारिक कामकुरामा नै व्यस्त भएकी थिएँ। मैले पारिवारिक सुख र दैहिक शान्ति मात्र खोजेँ। त्यसरी जिउनुको कुनै मूल्य र अर्थ थिएन, र अन्त्यमा, म रित्तो हात र पछुतोले भरिएर मर्नेथिएँ। परमेश्वरले मलाई उहाँको घरमा ल्याउन चुन्नुभयो र मलाई सत्यता र जीवन प्राप्त गर्ने मौका दिनुभयो, तर म कृतज्ञ भइनँ र उहाँलाई मेरो साँचो हृदय दिइनँ। मैले मेरो वैवाहिक सम्बन्ध जोगाउन आफ्नो कर्तव्य अस्वीकार गरेँ, र परमेश्वरसामु अपराध गरेँ। यसपटक, परमेश्वरले मलाई फेरि अनुग्रह गर्नुभयो, र प्रचारक बन्ने मौका दिनुभयो। मेरो वैवाहिक सम्बन्ध टुट्छ कि भन्ने डरले नै म फेरि आफ्नो कर्तव्य अस्वीकार गर्न सक्दिनथेँ; त्यसरी जिउनुमा कुनै निष्ठा, मर्यादा वा मूल्य थिएन। मैले परमेश्वरमा विश्वास गर्न र उहाँलाई पछ्याउन रोजेकी थिएँ, त्यसैले मैले उहाँलाई कामकुरा योजनाबद्ध गर्न दिनुपर्थ्यो। सत्यता प्राप्त गर्नका लागि कुनै पनि कुरा त्याग्नु सार्थक थियो। घर छोडेपछि मेरो वैवाहिक सम्बन्ध टुट्थ्यो भने पनि, म आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नेथिएँ र यसपटक परमेश्वरका लागि जिउनेथिएँ।
कर्तव्य निर्वाह गर्न घर छोडे लगत्तैका दिनहरूमा, जब म फुर्सदिलो हुन्थेँ, मलाई श्रीमानको याद आउँथ्यो, र म आफ्नो कर्तव्यमा पूर्ण रूपमा मन लगाइरहेकी थिइनँ। पछि, जब मैले विवाहसम्बन्धी सत्यताहरूमा परमेश्वरको सङ्गति देखेँ, त्यो मेरा लागि अमूल्य खजाना भेट्टाएजस्तै भयो, र मैले त्यो ध्यान दिएर पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “धेरै मानिस आफ्नो जीवनको खुसी आफ्नो विवाहमाथि निर्भर बनाउँछन्, अनि तिनीहरूको खुसी पछ्याउने लक्ष्य विवाहमा सुख र सिद्धता पछ्याउनु हुन्छ। तिनीहरू यदि आफ्नो विवाह सुखी छ र आफू आफ्नो जोडीसँग खुसी छ भने, आफ्नो जीवन सुखी जीवन हुनेछ भन्ने विश्वास गर्छन्, त्यसैले तिनीहरू आफ्नो वैवाहिक सुखलाई निरन्तरको प्रयासमार्फत प्राप्त हुने आजीवन मिसन ठान्छन्। … यस्ता मानिसको हृदयमा, वैवाहिक सुख अरू कुनै पनि कुराभन्दा बढी महत्त्वपूर्ण हुन्छ, र योविना तिनीहरू आफू पूर्णतया आत्मारहित भएको महसुस गर्छन्। तिनीहरूलाई लाग्छ, ‘सुखी विवाहका लागि प्रेम सबैभन्दा महत्त्वपूर्ण कुरा हो। मैले आफ्नो जीवन साथीलाई प्रेम गर्छु र मेरो जीवन साथीले मलाई प्रेम गर्ने भएकाले मात्र हाम्रो वैवाहिक जीवन सुखी भएको छ र हामी यहाँसम्म पुग्न सकेका छौँ। यदि परमेश्वरप्रतिको मेरो विश्वास र मेरो कर्तव्य निर्वाहले गर्दा मैले यो प्रेम गुमाएँ र यो प्रेमको अन्त्य भयो भने, के त्यसको अर्थ मेरो वैवाहिक सुख अन्त्य भएको हुन्छ, र मैले फेरि यो वैवाहिक सुखमा रमाउन पाउनेछैनँ भन्ने होइन र? वैवाहिक सुख रहेन भने हामीलाई के हुनेछ? मेरो प्रेमविना मेरो जीवन साथीको जीवन कस्तो होला? यदि मैले आफ्नो जीवन साथीको प्रेम गुमाएँ भने मलाई के होला? के सृष्टिकर्तासामु सृजित प्राणीको कर्तव्य निर्वाह गर्नाले र मान्छेको मिसन पूरा गर्नाले यो क्षतिको पूर्ति हुन सक्छ?’ तिनीहरूलाई थाहा छैन, तिनीहरूसँग जवाफ छैन, र तिनीहरू सत्यताको यो पक्ष बुझ्दैनन्। त्यसकारण, जब परमेश्वरको घरको कामले अरू सबै कुराभन्दा बढी वैवाहिक सुख पछ्याउने मानिसहरूले आफ्ना घर छोडेर कुनै टाढाको ठाउँमा गई सुसमाचार प्रचार गरून् र आफ्नो कर्तव्य निर्वाह गरून् भन्ने माग गर्छ, तब तिनीहरू प्राय: हतोत्साहित, असहाय हुन्छन्, र आफूले चाँडै वैवाहिक सुख गुमाउनेछु भनेर असहजसमेत महसुस गर्छन्। कतिपय मानिस आफ्नो वैवाहिक सुख कायम राख्न आफ्ना कर्तव्यहरू त्याग्छन् वा निर्वाह गर्न मान्दैनन्, र कतिपयले त परमेश्वरको घरका महत्त्वपूर्ण बन्दोबस्तहरू अस्वीकारसमेत गर्छन्। आफ्नो वैवाहिक सुख कायम राख्न प्राय: आफ्नो जोडीका भावनाहरू बुझ्ने कोसिस गर्ने कतिपय मानिस पनि छन्। यदि आफ्नो जोडी अलि अप्रसन्न भयो वा उसले तिनीहरूको आस्थाप्रति, तिनीहरूले परमेश्वरप्रतिको आस्थामा लिएको मार्गप्रति, र तिनीहरूको कर्तव्य निर्वाहप्रति अप्रसन्न वा असन्तुष्ट भएको सङ्केत मात्र देखाउँछ भने, तिनीहरू तुरुन्तै मार्ग परिवर्तन गर्छन् र सम्झौता गर्छन्। तिनीहरू आफ्नो वैवाहिक सुख कायम राख्न आफ्नो जोडीसँग प्रायः सम्झौता गर्छन्, त्यसको अर्थ कर्तव्य निर्वाह गर्ने मौका त्याग्नु, अनि आफ्नो जोडीलाई आफू त्यहाँ भएको देखाउन, एक्लो महसुस नगराउन र आफ्नो प्रेम महसुस गराउन भेला जाने, परमेश्वरको वचन पढ्ने र आत्मिक भक्तिहरू पूरा गर्ने समय त्याग्नु नै किन नहोस्; तिनीहरू आफ्नो जोडीको प्रेम गुमाउनु वा त्यो प्रेमरहित हुनुभन्दा बरु यसो गर्न तयार हुन्छन्। किनभने तिनीहरूलाई लाग्छ, यदि आफूले आफ्नो आस्था वा परमेश्वरप्रतिको आस्थामा आफूले अपनाएको मार्गका लागि आफ्नो जोडीको प्रेम त्याग्यो भने, यसको अर्थ आफूले आफ्नो वैवाहिक सुख त्यागेको हुन्छ र आफूले अबउप्रान्त वैवाहिक सुख महसुस गर्न सक्नेछैन, र त्यसपछि आफू एक्लो, दयनीय र शोकाकुल व्यक्ति हुनेछ। शोकाकुल र दयनीय व्यक्ति हुनुको अर्थ के हो? त्यसको अर्थ, अर्को व्यक्तिको प्रेम वा ख्याल नपाएको व्यक्ति हुनु हो। यी मानिसहरूले केही धर्मसिद्धान्त र परमेश्वरले मुक्तिको काम गर्नुको महत्त्व बुझ्ने भए पनि र पक्कै पनि आफूले सृजित प्राणीका रूपमा सृजित प्राणीको कर्तव्य निर्वाह गर्नुपर्छ भन्ने बुझे पनि, तिनीहरूले आफ्नो खुसी आफ्नो जोडीलाई सुम्पने र अवश्य नै आफ्नो खुसीलाई आफ्नो वैवाहिक सुखमाथि निर्भर पनि बनाउने हुनाले, तिनीहरूले आफूले के गर्नुपर्छ भन्ने बुझे पनि र थाहा पाए पनि, वैवाहिक सुखको पछ्याइ अझै त्याग्न सक्दैनन्। तिनीहरू गल्तीले वैवाहिक सुख पछ्याउनुलाई आफूले यस जीवनकालमा पछ्याउनुपर्ने मिसन ठान्छन्, र गल्तीवश वैवाहिक सुख पछ्याउनुलाई सृजित प्राणीले पछ्याउनुपर्ने र पूरा गर्नुपर्ने मिसन ठान्छन्। के यो गल्ती होइन र? (हो, यो गल्ती हो।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (११))। वैवाहिक सुखको पछि लाग्दा मानिसहरूले देखाउने केही व्यवहारलाई परमेश्वरले खुलासा गर्नुभयो। विवाह गरेपछि, पति-पत्नीबीचको स्नेह कायम राख्न, मानिसहरूले आफ्नो जीवनसाथीलाई रिझाउन र खुसी पार्न कामकुराहरू गर्छन्। अथवा, आफ्नो वैवाहिक सुख जोगाइराख्न, उनीहरू आफूलाई खटाउँछन् र केही त्याग गर्छन्, कोही त सुखी वैवाहिक जीवनका खातिर आफ्नो कर्तव्य निर्वाह गर्ने मौकासमेत छोड्न रुचाउँछन्, र वैवाहिक सुखको पछ्याइलाई नै आफ्नो मिसन ठान्छन्। परमेश्वरले मेरो वास्तविक स्थिति नै खुलासा गर्नुभएको थियो; यो मैले जीवनभर पछ्याइरहेको कुराको साँचो चित्रण थियो। विवाह गरेपछि, मैले मेरा श्रीमान् परिवारमुखी र मप्रति निकै विचारशील हुनुहुन्छ भन्ने देखेँ, त्यसैले मलाई आफूले साँचो प्रेम पाएकी छु र स्वर्गको कृपाले गर्दा मैले यस्तो वैवाहिक जीवन पाएकी छु भन्ने लाग्यो। त्यसैले, मैले जीवनभरको खुसी मेरा श्रीमानलाई सुम्पिएँ, र वैवाहिक सुखको पछ्याइलाई मेरो जीवनको मिसनमा परिणत गरेँ। सुखी वैवाहिक सम्बन्ध कायम राख्न, म श्रीमानलाई खुसी पार्न कडा मेहनत गर्थेँ र उहाँका लागि हरेक दिन तीन छाक थरी-थरीका खाना तयार पार्थेँ। जब म अगुवा बनेँ र मण्डलीको काममा व्यस्त भई परिवारको हेरचाह गर्न सकिनँ, मेरा श्रीमानलाई यो कुरा मन परेको थिएन। त्यतिबेला, मलाई दोषी महसुस भयो र मैले आफैँलाई धिक्कारेँ, र मलाई लाग्यो, म श्रीमानप्रति ऋणी छु र मैले पत्नीका जिम्मेवारीहरू पूरा गरेकी छैन। श्रीमानले मलाई हप्काएपछि, मेरो परिवार टुट्छ कि भनेर म चिन्तित भएकी थिएँ, र श्रीमानसँगको सम्बन्ध जोगाउन म राजीनामा दिएर कर्तव्य छोड्न चाहन्थेँ। जब म प्रचारक चुनिएँ, मैले आफ्नो विवाह र परिवारबारे मात्र सोचेँ। म परमेश्वरप्रति कृतज्ञ त भइनँ नै, मैले वैवाहिक सुखका खातिर आफ्नो कर्तव्य निर्वाह गर्ने मौका छोड्न समेत चाहेँ। मैले वैवाहिक सुखको पछ्याइलाई एउटा सकारात्मक कुरा ठानेकी थिएँ, र मलाई लाग्थ्यो, यदि कुनै दम्पतीले आफ्नो २५औँ वा ५०औँ वार्षिकोत्सव मनाउन सके भने, त्यो ईर्ष्यालाग्दो कुरा हो। सानी छँदा, मैले मेरा आमाबुबा गहिरो प्रेममा रहेको र सधैँ एकअर्काको साथमा रहेको देखेकी थिएँ, त्यसैले म ठूली भएपछि आफूले पनि त्यस्तै सुखी वैवाहिक जीवन पाउने तृष्णा गर्थेँ। जब मेरो इच्छा पूरा भयो, मैले यसको धेरै कदर गरेँ, र वैवाहिक सुखलाई नै जीवनको पछ्याइ ठानेँ। यहाँसम्म कि यसलाई आफ्नो कर्तव्य निर्वाह गर्ने र सत्यता प्राप्त गर्ने कुराभन्दा पनि महत्त्वपूर्ण ठानेँ, जसले गर्दा म परमेश्वरका मागहरूबाट विचलित भएँ।
मैले परमेश्वरका थप वचनहरू पढेँ: “परमेश्वरले तेरा लागि विवाह तोक्नुभएको छ र तँलाई जोडी दिनुभएको छ। तँ विवाहमा प्रवेश गर्छस् तर परमेश्वरसामु तेरो पहिचान र हैसियत परिवर्तन हुँदैन। चाहे तँ पुरुष होस् वा महिला होस्, तिमीहरू दुवैको मिल्ने एउटा कुरा छ, त्यो हो, सृष्टिकर्तासामु तिमीहरू दुइटै सृजित प्राणी हौ। विवाहको संरचनाभित्र, तिमीहरू एकअर्कालाई सहन्छौ, प्रिय ठान्छौ र सुरक्षा दिन्छौ, एकअर्कालाई सहयोग र साथ दिन्छौ, र यो तिमीहरूले आफ्नो जिम्मेवारी पूरा गर्नु हो। तर परमेश्वरसामु, तैँले पूरा गर्नुपर्ने जिम्मेवारी र मिसनलाई तैँले जोडीप्रति पूरा गर्ने जिम्मेवारीले प्रतिस्थापित गर्न मिल्दैन। त्यसकारण, जब तैँले जोडीप्रति निभाउनुपर्ने जिम्मेवारी र सृजित प्राणीले परमेश्वरसामु निर्वाह गर्नुपर्ने कर्तव्य बाझिन्छ, तब तैँले आफ्नो जोडीप्रतिका जिम्मेवारीहरू पूरा गर्न भन्दा पनि सृजित प्राणीको कर्तव्य पूरा गर्न रोज्नुपर्छ। तैँले रोज्नुपर्ने दिशा र लक्ष्य यही हो र, पक्कै पनि, तैँले पूरा गर्नुपर्ने मिसन पनि यही हो। … वैवाहिक संरचनाभित्रको कुनै पनि जोडी वैवाहिक सुखको पछ्याइमा सम्पूर्ण रूपमा लागिपर्छ वा उसले कुनै त्याग गर्छ, तब परमेश्वरले त्यसलाई सम्झनुहुन्न। तैँले आफ्नो जोडीप्रति जति नै राम्ररी वा जति सिद्ध नै तरिकाले पूरा गरे पनि, वा तैँले आफ्नो जोडीलाई जतिसुकै राम्रो व्यवहार गरे पनि—अर्को शब्दमा भन्नुपर्दा, तैँले आफ्नो वैवाहिक सुखलाई जति नै राम्ररी वा सिद्ध तरिकाले कायम राखे पनि, वा त्यो जति नै मनपर्दो भए पनि—त्यसको अर्थ तैँले सृष्टि गरिएको प्राणीको मिसन पूरा गरेको छस् भन्ने होइन, न त त्यसले तँ मापदण्डबमोजिमको सृष्टि गरिएको प्राणी होस् भन्ने नै प्रमाणित गर्छ। सायद तँ सिद्ध श्रीमती वा सिद्ध श्रीमान् होस्, तर त्यो विवाहको मापदण्डभित्रै सीमित रहन्छ। परमेश्वरले तँ कस्तो व्यक्ति होस् भन्ने कुरा तैँले उहाँसामु सृजित प्राणीको कर्तव्य कसरी निर्वाह गर्छस्, कस्तो मार्ग पछ्याउँछस्, जीवनबारे तेरो कस्तो दृष्टिकोण छ, तैँले जीवनमा के पछ्याउँछस्, र सृजित प्राणीको मिसन कति राम्रोसँग पूरा गर्छस् भन्ने आधारमा मापन गर्नुहुन्छ। तैँले सृजित प्राणीको रूपमा पछ्याउने मार्ग र तेरो भावी गन्तव्य मापन परमेश्वरले यी कुराहरूद्वारा नै मापन गर्नुहुन्छ, तैँले श्रीमती वा श्रीमान्का रूपमा आफ्ना जिम्मेवारी र दायित्वहरू कति राम्रोसँग पूरा गर्छस् भन्ने आधारमा होइन, न त तेरो जोडीप्रतिको तेरो प्रेमले उसलाई खुसी तुल्याउँछ कि तुल्याउँदैन भन्ने आधारमा नै मापन गर्नुहुन्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (११))। जब परमेश्वरले मानिसहरू मानकअनुरूपका सृजित प्राणी हुन् कि होइनन् भनेर जाँच्नुहुन्छ, उहाँले तिनीहरूको परिवार मेलमिलापपूर्ण र सुखी छ कि छैन भन्ने कुरालाई नभई, तिनीहरू कुन मार्गमा हिँड्छन् र तिनीहरूले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य राम्ररी पूरा गर्छन् कि गर्दैनन् भन्ने कुरालाई हेर्नुहुन्छ। सबै कुरामा परमेश्वरको घरका हितलाई प्राथमिकता दिनु, सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य राम्ररी पूरा गर्नु र परमेश्वरको आज्ञा पूरा गर्नु नै सृजित प्राणीहरूको कर्तव्यबद्ध जिम्मेवारी हो। यदि कोही वैवाहिक सुखका खातिर आफ्नो कर्तव्य निर्वाह गर्दैन भने, ऊ आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएको हुन्छ र ऊ मानव कहलिन योग्य हुँदैन। विवाहको संरचनाभित्र रहेर, मैले पत्नीका रूपमा आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्छ, तर सबैभन्दा मुख्य कुरा म एक सृजित प्राणी हुँ, र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु नै मेरो जीवनको वास्तविक मिसन हो। जब यी दुईबीच द्वन्द्व हुन्छ, मैले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न रोज्नुपर्छ। अब मैले बुझेँ, वैवाहिक सुखको पछ्याइले मलाई मुक्ति पाउन मद्दत गर्दैन र त्यो साँचो जीवन होइन; मैले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्यलाई पहिलो स्थानमा राख्नुपर्छ। सही छनौट गर्न मलाई मार्गदर्शन गर्नुभएकोमा म परमेश्वरप्रति धेरै कृतज्ञ भएँ।
मैले परमेश्वरका वचनहरू पढ्न जारी राखेँ: “तँलाई वैवाहिक सुखको पछ्याइ त्याग्न भन्नुको अर्थ तँलाई विवाह त्याग्न वा सम्बन्धविच्छेद गर्न भन्नु होइन, बरु यसको अर्थ त तँलाई विवाहलाई सही तरिकाले लिन भन्नु हो, र त्यसपछि, यस जगमा, एक सृजित प्राणीका रूपमा तेरो मिसन पूरा गर्न र तैँले पूरा गर्नुपर्ने कर्तव्य पूरा गर्न भन्नु हो। अवश्य पनि, यदि तेरो वैवाहिक सुखको पछ्याइले एक सृजित प्राणीका रूपमा तेरो कर्तव्य-निर्वाहमा असर गर्छ वा रोकटोक गर्छ भने, वा तैँले पूरा गर्नुपर्ने यो कर्तव्यलाई त्याग्ने समेत तुल्याउँछ भने, तब तँ अत्यन्तै विद्रोही व्यक्ति होस्। यदि तैँले यस मामिलामा सत्यता खोजिस् भने, तैँले मानिसहरू कुन कुरामा अडिग रहनुपर्छ र उनीहरूले के त्याग्नुपर्छ भनी स्पष्ट रूपमा देख्न सक्छस्। तैँले त्याग्नुपर्ने कुरा तेरो वैवाहिक सुखको पछ्याइ मात्रै होइन; तैँले तेरो पूरै विवाह त्याग्नुपर्छ। यसरी, तैँले सत्यता सिद्धान्तहरूसँग पूर्ण अनुरूपता हासिल गर्नेछस्। अनि, यी मामलाहरूमा सङ्गति गर्नुको अन्तिम उद्देश्य र अर्थ के हो? यसको उद्देश्य वैवाहिक सुखले तेरा कदममा ढिलाइ नपुर्याओस्, तेरा हातहरू नबाँधोस्, तेरा आँखा नछोपोस्, तेरो दृष्टि नबिगारोस्, तेरो मनमस्तिष्क बाधा र कब्जामा नपारोस् भन्ने हो; यसको उद्देश्य वैवाहिक सुखप्रतिको खोजले तेरो जीवन मार्ग र तेरो जीवन नभरोस्, र तैँले तेरो वैवाहिक जीवनमा आफूले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वहरूलाई सही ढङ्गले ली र आफूले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वबारे सही निर्णय गर् भन्ने हो। अझ राम्ररी अभ्यास गर्ने तरिकाचाहिँ आफ्नो कर्तव्यमा बढी समय र शक्ति समर्पित गर्नु, आफूले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्नु, र परमेश्वरले तँलाई सुम्पनुभएको मिसन हासिल गर्नु हो। तैँले कहिल्यै यो बिर्सनु हुँदैन कि तँ सृजित प्राणी होस्, र परमेश्वरले नै तँलाई जीवनमा यो क्षणसम्म अगुवाइ गर्नुभएको हो, परमेश्वरले नै तँलाई वैवाहिक जीवन र परिवार दिनुभएको हो, र परमेश्वरले नै तँलाई विवाहको संरचनाभित्र तैँले पूरा गर्नुपर्ने जिम्मेवारीहरू प्रदान गर्नुभएको हो, अनि विवाह तैँले आफै रोजेको होइन, तेरो विवाह अचानक भएको होइन, वा तैँले तेरा आफ्नै क्षमता वा शक्तिमा भर परेर वैवाहिक सुख कायम राख्न सक्ने होइन। के अब मैले भनेको कुरा प्रस्ट भयो? (भयो।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१०))। परमेश्वरले हामीलाई वैवाहिक सुखको पछ्याइ त्याग्न भन्नुहुँदा, उहाँले हामीलाई औपचारिकताका रूपमा सम्बन्धविच्छेद गर भनेर भनिरहनुभएको होइन, बरु वैवाहिक जीवनमा आफ्ना जिम्मेवारीहरू पूरा गर्ने आधारमा सृजित प्राणीका रूपमा आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर भनेर भनिरहनुभएको हो। यदि हाम्रो वैवाहिक सम्बन्धले हाम्रो कर्तव्य निर्वाहमा असर गर्छ वा भाँजो हाल्छ भने, हामीले त्यसलाई त्याग्नुपर्छ। परमेश्वरले मेरा लागि अभ्यासको स्पष्ट मार्ग देखाइदिनुभयो। विगतमा, मैले वैवाहिक पछ्याएर मेरो आधा जीवनको रगत-पसिना यसमा बगाएकी थिएँ, र परमेश्वरमा विश्वास गर्न र कर्तव्य निर्वाह गर्न थालिसकेपछि पनि, म अझै यही पछ्याइमा नराम्ररी फसेकी थिएँ र यसबाट निस्कन सकेकी थिइनँ। आफ्नो वैवाहिक सम्बन्ध जोगाउन, मैले आफ्नो कर्तव्यसमेत अस्वीकार गरेँ, र सत्यता प्राप्त गर्ने धेरै अवसर गुमाएँ। मैले गुमाएको समय फिर्ता पाउनेछैन। म करिब ६० वर्षकी भइसकेकी हुनाले, म बाँकी रहेको सीमित समयलाई आफ्नो कर्तव्य निर्वाह गर्नमा सदुपयोग गर्न चाहन्थेँ। भविष्यमा मेरो वैवाहिक जीवन कस्तो हुनेछ भन्ने कुरा मेरो हातमा थिएन। मैले यो सबै परमेश्वरलाई सुम्पनुपर्थ्यो र उहाँको सार्वभौमिकता र प्रबन्धप्रति समर्पित हुनुपर्थ्यो। त्यसपछि, मैले आफ्नो सर्वस्व आफ्नो कर्तव्य निर्वाहमा लगाएँ। जब म समस्याहरू फेला पार्थेँ, ती समस्या समाधान गर्न म मेरा सहकर्मी सिस्टरहरूसँग सङ्गति गर्थेँ, र जब म कठिनाइहरूमा पर्थेँ, म माथिल्लो तहका अगुवाहरूसँग मार्गदर्शन लिन्थेँ। केही समयपछि, मैले मेरो काममा केही नतिजा हासिल गरेँ। म बिहान र बेलुकाको समय मेरो आत्मिक भक्तिका लागि प्रयोग गर्थेँ, र जब म गलत स्थितिमा हुन्थेँ, म त्यो समाधान गर्न तत्काल सत्यताको खोजी गर्थेँ। थाहै नपाई, मैले आफूलाई केही सत्यताले सुसज्जित गरेकी थिएँ। घरमा बस्दा, म दिउँसो मण्डलीको काममा र बिहान-बेलुका घरायसी काममा व्यस्त हुन्थेँ, जसले गर्दा मेरो आत्मिक भक्तिको समय पनि सीमित हुन्थ्यो, तर अहिले म अन्ततः कर्तव्य निर्वाह गर्न घर छोड्नुको महत्त्व अनुभव गर्दै थिएँ, र मसँग आफूलाई सत्यताले सुसज्जित पार्न र सत्यताको खोजी गर्न झन् धेरै समय थियो। अब मैले बुझेँ, वैवाहिक सुख पछ्याउनु मेरो मिसन होइन र यसले मलाई मुक्ति प्राप्त गर्न सक्षम बनाउँदैन। यदि म सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुको पछि लागेँ भने, तब मात्र मैले साँचो जीवन जिइरहेकी हुनेछु।