१३. जीवन प्रवेशलाई नपछ्याउनुका परिणाम
सन् २०२३ को सेप्टेम्बरमा, मेरो सहकर्मी सिस्टरलाई प्रहरीले समात्यो। त्योबेला म एक मण्डली अगुवा थिएँ। सबै ब्रदर-सिस्टर डराइरहेका थिए, उनीहरूलाई साथ सहयोगको खाँचो थियो, र सो घटनापछिको कामलाई सम्हाल्न एकदमै जरुरी थियो, यो देखेर मलाई निकै बेचैनी भयो, र म विश्राम नगरी किताबहरू अर्को ठाउँमा सार्न, ब्रदर-सिस्टरहरूको स्थितिलाई, सङ्गति गरेर हल गर्न, नयाँ विश्वासीलाई मलजल र सहयोग गर्न व्यस्त हुन थालेँ। त्यो समय, म हरेक दिन घाम झुल्कनुभन्दा अघि नै निस्कन्थेँ, राति अबेरसम्म जाग्थेँ। कहिलेकाहीँ म निकै थकित हुन्थेँ, तर ब्रदर-सिस्टरहरूको स्थितिमा सुधार भई सामान्य रूपमा कर्तव्य निभाउन सक्ने भएको, र किताबहरू सजिलै सुरक्षित स्थानमा पुऱ्याउन सकेको देखेर, म निकै खुसी हुँदै, सोच्थेँ, “यस्तो खतरनाक परिस्थितिमा मैले मामिलाहरू राम्रोसँग सम्हाल्न सकेकी छु, र मण्डलीको काममा कुनै हानि भएको छैन। यसरी नै सहकार्य गर्दै गएँ भने अन्तमा मैले पक्कै परमेश्वरको मुक्ति पाउनेछु।” यस्तो सोचेपछि म झन् ऊर्जासाथ कर्तव्य निर्वाह गर्थें। हरेक बिहान बिउँझेपछि सोझै भेलामा, र काम अघि बढाउन जान्थेँ। तर मैले गरेका काम सिद्धान्तअनुरूप छन् कि छैनन् भनी एकदम थोरै चिन्तन गर्थेँ। परमेश्वरका वचन खान र पिउन केही समय निकाल्दा समेत, परमेश्वरका वचनको कुन खण्डले ब्रदर-सिस्टरहरूको स्थिति हल गर्न सक्ला भनेर सोचिरहन्थेँ, र बिरलै परमेश्वरका वचनलाई मेरो स्थितिसँग दाँजेर हेर्थेँ। कहिलेकाहीँ, मलाई म काम गर्ने कुरामा मात्र जोड दिन्छु, तर सत्यता खोज्ने र आत्मचिन्तन गर्ने काम निकै कम गर्छु भन्ने बोध हुन्थ्यो। तर काममा प्रगति भएको देख्दा, मैले परमेश्वरका वचन खाने र पिउने, सत्यता खोज्ने नगरे पनि कुनै फरक पर्दैन लाग्थ्यो; मैले काम राम्रो गरेसम्म त्यो नै काफी छ भन्ठान्थेँ। साथै, मण्डलीमा पूरा गर्नुपर्ने काम अझै पनि धेरै थिए, त्यसैले म आफूलाई काममा नै व्यस्त राखिरहन्थेँ।
पछि, एकजना सिस्टरलाई मेरो सहकर्मी बनाइयो। उनी केही कामका लागि नयाँ भएकीले धेरैजसो काम म आफै गर्थेँ। कामका बारेमा छलफल गर्ने बेला हुँदा ती सिस्टर अघि नसरेकी देखेँ, त्यसैले उनीबारे नकारात्मक राय बन्यो, र उनीसँग बोल्दा मेरो स्वर कठोर हुन्थ्यो। उनले मेरो कारणले बाँधिएको महसुस गरिरहेको म देख्थेँ, तर म आत्मचिन्तन गर्दिनथेँ। म ठान्थेँ यो गम्भीर समस्या होइन, र यसले मेरो कर्तव्य निर्वाहमा ढिलाइ गर्नेछैन। मैले गर्नुपर्ने काम अझै पनि धेरै थियो; अनि सत्यता खोज्ने र आफ्नो स्थिति हल गर्ने समय कहाँ थियो र? मैले यसमा समय खर्चेर काममा ढिलाइ भयो भने के गर्ने? मेरो कर्तव्य निभाउनु र नतिजा हासिल गर्नु सबभन्दा महत्त्वपूर्ण कुरा थियो। पछि, मैले आफूलाई काममा नै व्यस्त राखिरहेँ। एकदिन मैले दुई डिकनसँग कामबारे छलफल गर्दैथिएँ। तिनीहरू दुवै सुस्त मिजासका थिए, र सक्रिए भई राय व्यक्त गर्दैनथे, त्यसैले म अलिक चिन्तित भएँ: “कामबारे छलफल गर्दा, आफ्ना दृष्टिकोण व्यक्त गर्दैनौ भने त्यो कसरी राम्रो हुन्छ?” त्यसपछि मैले तिनीहरूलाई आलोचनात्मक स्वरमा भनेँ, “ब्रदरहरू, यदि तपाईँहरू हरेक पटक आफ्ना दृष्टिकोण सक्रिय भई व्यक्त गर्न असफल हुनुभयो भने, यो कामबारे हामीले कसरी छलफल गर्ने?” मेरो कुरा सकिएपछि, एक जना ब्रदरले शिर झुकाए र अप्ठ्यारो मानेको देखिए। त्यो बेला यस्तै खालका घटना धेरै पटक घटे। ती ब्रदरहरूले आफ्नो दृष्टिकोण सक्रिय भई व्यक्त नगर्दा म तिनीहरूलाई तिरस्कारपूर्ण नजरले हेर्न थालेँ। एक जना ब्रदरले अलिक नकारात्मक महसुस गरिरहेका थिए, र उनले भने, “म बुढो छु, मेरो प्रतिक्रिया ढिलो छ—म तपाईँकै गतिमा ताल मिलाउन सक्दिनँ, र म यो कर्तव्य ठीकसँग पूरा गर्न सक्दिनँ।” वास्तवमा, ती ब्रदरहरू यो कर्तव्यमा नयाँ थिए र तिनीहरूले यसबारे नबुझ्नु वा यसलाई गर्न नसक्नु सामान्य थियो। मैले तिनीहरूलाई प्रोत्साहन र मद्दत गर्नुपर्थ्यो। तर, मैले गरेका कुराले त्यति ठूलो समस्या हुन्छ भन्ने मैले सोचिनँ: मैले तिनीहरूबाट अतिरिक्त माग गरिरहेकी थिइनँ, तिनीहरू कर्तव्यमा अलि सक्रिय होऊन् भन्ने मात्र चाहेकी थिएँ। त्यसैले मैले यसलाई सुल्झाउनमा जोड दिइनँ। मैले सोचेँ, “कसैको भ्रष्ट स्वभाव एक पलमै परिवर्तन हुन सक्दैन। मसँग समय छँदै मैले काममा रहेका समस्या सुल्झाउनुपर्छ। मैले काम गरिनँ भने नतिजा कसरी हासिल गर्न सक्छु?” मैले केवल काम पूरा मात्रै गरिरहेकीले, परमेश्वरका वचन पढ्ने, सत्यता खोज्ने वा सामुन्ने आएका कुराबाट पाठ सिक्ने कुरामा कहिल्यै जोड नदिएकीले, मलाई भित्र खोक्रो महसुस भयो। एकपटक मैले खतरामा परेको एउटा परिवारलाई परमेश्वरका वचनका पुस्तकको सुरक्षा गर्न लगाएँ, र माथिल्लो अगुवाले यो थाहा पाएपछि सिद्धान्तअनुसार काम नगरेको भनी मेरो काटछाँट गरिन्। मैले अन्याय महसुस गरी बहस र प्रतिरोध गरिरहेँ। मैले यो कुरा स्वीकार नगर्ने देखेर, अगुवाले भनिन्, “तपाईँ काममा निकै दौडधुप गर्नुहुन्छ, तर सिद्धान्तविनै काम गर्नुहुन्छ, सधैँ आफ्नै इच्छा र अनुभवले चल्नुहुन्छ—यसले परमेश्वरको घरका हितलाई हानि गर्नेछ। साथै, तपाईँ काटछाँटमा पर्दा पनि समर्पण र खोजी गर्ने मनोवृत्ति राख्नुहुन्न, आत्मचिन्तन गर्नुहुन्न। के तपाईँ यसरी प्रगति गर्न सक्नुहुन्छ?” पछि, मैले आफ्नो कार्यसम्पादनबारे चिन्तन गरेँ, र म सधैँ दौडधुप र काममा नै जोड दिँदो रहेछु भन्ने मलाई बोध भयो—भन्नका लागि मसँग वास्तवमा जीवन प्रवेश नै थिएन। मैले परमेश्वरसामु आई प्रार्थना गरेँ, र मेरो आफ्नै समस्या चिनेर त्यसलाई सुल्झाउन मार्गदर्शन गर्नुहोस् भनी बिन्ती गरेँ।
खोजी गर्ने क्रममा मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “आखिरी दिनहरूको दौरान परमेश्वरले उहाँका वचनहरूसँग सम्बन्धित नभएको कुनै काम गर्नुभएको छैन, उहाँले लगातार बोल्नुभएको छ, आजसम्म मान्छेलाई मार्गदर्शन गर्न लगातार वचनहरू प्रयोग गर्नुभएको छ। अवश्य पनि, बोल्दाखेरि, परमेश्वरले उहाँलाई पछ्याउनेहरूसँगको आफ्नो सम्बन्ध जोगाउन पनि वचनहरू प्रयोग गर्नुभएको छ, उहाँले तिनीहरूलाई मार्गदर्शन गर्न वचनहरू प्रयोग गर्नुभएको छ, र मुक्ति प्राप्त गर्न चाहनेहरू वा परमेश्वरले मुक्ति दिन चाहनुभएकाहरूको निम्ति यी वचनहरू अत्यन्तै महत्वपूर्ण छन्, परमेश्वरले मानवजातिको मुक्तिको तथ्यलाई हासिल गर्न यी वचनहरू प्रयोग गर्नुहुनेछ। स्पष्टतः, चाहे तिनको विषयवस्तुको सन्दर्भमा हेर्दा होस् वा सङ्ख्याको सन्दर्भमा, ती जेजस्तो प्रकारका वचनहरू भए पनि, र ती परमेश्वरका वचनहरूका जुन भाग भए पनि, मुक्ति चाहने हरेकको निम्ति ती अत्यन्तै महत्वपूर्ण छन्। परमेश्वर आफ्नो छ हजार वर्षे व्यवस्थापनको योजनाको अन्तिम परिणाम प्राप्त गर्न यी वचनहरू प्रयोग गर्दै हुनुहुन्छ। मानवजातिको लागि—आजको मानवजातिको लागि होस् या भविष्यको—ती सबैभन्दा महत्त्वपूर्ण छन्। परमेश्वरको मनोवृत्ति त्यस्तो छ, उहाँका वचनहरूको उद्देश्य र महत्त्व त्यस्तो छ। त्यसोभए मानवजातिले के गर्नुपर्छ? मानवजातिले परमेश्वरका वचन र काममा सहकार्य गर्नुपर्छ, तिनलाई बेवास्ता गर्नु हुँदैन। तर परमेश्वरप्रति केही मानिसहरूको विश्वास त्यस्तो हुँदैन: तिनीहरू परमेश्वरले जे भन्नुभए पनि, उहाँका वचनहरूले तिनीहरूसँग केही सरोकार राख्दैनन् जस्तो गर्छन्। तिनीहरू अझै पनि आफूले चाहेकै कुरा पछ्याउँन्, आफूले चाहेकै काम गर्छन्, र परमेश्वरका वचनहरूको आधारमा सत्यता खोज्दैनन्। यो परमेश्वरको काम अनुभव गर्नु होइन। परमेश्वरले जे भन्नुभए पनि ध्यानै नदिनेहरू पनि छन्, जसको हृदयमा एउटा मात्र दृढ विश्वास हुन्छ: ‘परमेश्वरले जे गर्नू भन्नुहुन्छ, म त्यही गर्नेछु, यदि परमेश्वरले मलाई पश्चिमतिर जा भन्नुहुन्छ भने, म पश्चिमतिरै जानेछु, यदि उहाँले मलाई पूर्वतिर जा भन्नुहुन्छ भने, म पूर्वतिरै जानेछु, यदि उहाँले मलाई मर् भन्नुहुन्छ भने, म उहाँलाई मरेरै देखाउनेछु।’ तर त्यसमा बस एउटा कुरा मात्र छ: तिनीहरू परमेश्वरका वचन ग्रहण गर्दैनन्। तिनीहरू मनमनै सोच्छन्, ‘परमेश्वरका अत्यन्तै धेरै वचनहरू छन्, ती अलि बढी स्पष्ट हुनुपर्छ, र मैले ठ्याक्कै के गर्नुपर्छ भनी तिनले भन्नुपर्छ। म हृदयमा परमेश्वरप्रति समर्पित हुन सक्षम छु।’ परमेश्वरले जति धेरै वचनहरू बोल्नुभए पनि, त्यस्ता मानिसहरू अन्त्यमा सत्यता बुझ्न असक्षम रहन्छन्, न त तिनीहरू आफ्ना अनुभव र ज्ञानबारे बोल्न नै सक्छन्। तिनीहरू आत्मिक बुझाइ नभएका मानिसहरूजस्तै हुन्। के तिमीहरूलाई त्यस्ता मानिसहरू परमेश्वरका प्रिय हुन् जस्तो लाग्छ? के परमेश्वर त्यस्ता मानिसहरूप्रति कृपालु हुने इच्छा गर्नुहुन्छ? (गर्नुहुन्न।) उहाँ कदापि त्यसो गर्नुहुन्न। परमेश्वरले त्यस्ता मानिसहरू रुचाउनुहुन्न। परमेश्वर यसो भन्नुहुन्छ, ‘मैले कति हो कति हजार वचनहरू बोलेको छु। तैँले कसरी अन्धो वा बहिरो व्यक्तिले जस्तो ती देखेको र सुनेको छैनस्? तँ तेरो हृदयमा ठ्याक्कै के सोच्दैछस्? म तँलाई आशिष्हरू र सुन्दर गन्तव्यप्रति आसक्त व्यक्तिको रूपमा मात्र हेर्छु—तँ पावल पछि लागेकै लक्ष्यहरूको पछि लाग्दैछस्। यदि तँ मेरा वचनहरू सुन्न चाहन्नस् भने, यदि तँ मेरो मार्ग पछ्याउने इच्छा गर्दैनस् भने, तँ किन परमेश्वरमा विश्वास गर्छस्? तँ मुक्तिको पछि लागिरहेको छैनस्, तँ सुन्दर गन्तव्य र आशिष्हरूको चाहनाको पछि लाग्दै छस्। अनि तैँले रचिरहेको षड्यन्त्र यही भएकोले, तेरो लागि सबैभन्दा सुहाउँदो कुरा श्रमिक हुनु हो।’ खासमा, इमानदार श्रमिक हुनु पनि परमेश्वरप्रति समर्पणको एउटा प्रकटीकरण हो, तर यो न्यूनतम मानक हो। इमानदार श्रमिकको रूपमा रहनु भनेको गैरविश्वासी अनन्त विनाश र विध्वंसमा डुबेजस्तो भन्दा धेरै राम्रो हो। विशेषगरी, परमेश्वरको घरलाई श्रमिकहरूको आवश्यकता छ, र परमेश्वरको लागि श्रम गर्न सक्षम हुनुलाई पनि आशिष् नै मानिन्छ। यो दियाबलस राजाको नोकर हुनुभन्दा धेरै राम्रो—अतुलनीय रूपमा राम्रो—हो। तर परमेश्वरको लागि श्रम मात्र गर्नु परमेश्वरको निम्ति पूर्ण सन्तोषजनक हुँदैन, किनकि परमेश्वरको न्यायको कामको उद्देश्य मानिसलाई मुक्ति दिनु, धुनु, र सिद्ध पार्नु हो। यदि मानिसहरू परमेश्वरको निम्ति श्रम गर्नमै सन्तुष्ट हुन्छन् भने, यो परमेश्वरले मानिसहरूमा काम गरेर प्राप्त गर्न चाहनुहुने उद्देश्य होइन, न त यो परमेश्वरले देख्न चाहनुहुने परिणाम नै हो। तर मानिसहरूमा अति धेरै चाहना छ, तिनीहरू मूर्ख र अन्धा छन्: तिनीहरूलाई सानोतिनो लाभले मोहित र आसक्त बनाउँछ, र तिनीहरू परमेश्वरले बोल्नुभएका जीवनका अमूल्य वचनहरूलाई बेवास्ता गर्छन्। तिनीहरू ती वचनहरूलाई गम्भीरतापूर्वक लिनसमेत सक्दैनन्, तिनलाई प्रिय ठान्ने त कुरै नगरौँ। परमेश्वरका वचनहरू नपढ्नु वा सत्यतालाई कदर नगर्नु: के यो अक्कलपूर्ण कुरा हो कि मूर्खतापूर्ण? के मानिसहरूले यसरी मुक्ति प्राप्त गर्न सक्छन्? मानिसहरूले यी सबै कुरा बुझ्नुपर्छ। तिनीहरूले आफ्ना धारणा र कल्पनाहरू पन्छाएर सत्यता पछ्याउनमा ध्यान केन्द्रित गरेमा मात्र तिनीहरूमा मुक्तिको आशा हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्नु नै परमेश्वरमाथिको विश्वासको जग हो)। मानिसले केवल सतही स्तरको कार्यमा जोड दिन्छन् भनी परमेश्वरले खुलासा गर्नुहुन्छ। परमेश्वरले जसरी सङ्गति गरे पनि तिनीहरू सधैँ परमेश्वरका वचनप्रति उदासीन मनोवृत्ति राख्छन्, उहाँका वचन खाने र पिउने वा उहाँका वचनमा सत्यता खोज्ने कुरामा जोड दिँदैनन्। परमेश्वरमा यसरी विश्वास गर्नु परमेश्वरको काम अनुभव गर्नु हुँदै होइन। मेरो व्यवहारलाई परमेश्वरका वचनसँग दाँजेर हेर्दा आफू त्यस्तै नै रहेको देखेँ। म सोच्थेँ, मण्डलीले मलाई जे काम गर्न भन्छ, म त्यही गर्नेछु, र मैले काम राम्रोसँग गरेमा मैले परमेश्वरलाई सन्तुष्ट तुल्याई उहाँको अनुमोदन प्राप्त गर्न सक्नेछु। यसै कारणले मैले कर्तव्य निर्वाह गर्दा काम गर्नमा मात्र जोड दिएँ। मैले परमेश्वरका वचनलाई पूर्ण रूपमा अवहेलना गरेँ, र परमेश्वरका वचन खाँदा र पिउँदा मेरो कर्तव्य निर्वाहमा ढिलाइ हुनेछ भन्ने लाग्यो। मलाई थाहा थियो, मानिसले सत्यता पछ्याऊन् र स्वभावमा परिवर्तन ल्याऊन् भनेर परमेश्वरले आखिरी दिनहरूको काम गर्नुहुँदा धेरै वचन व्यक्त गर्नुभएको छ, ताकि अन्तमा तिनीहरूले सत्यता प्राप्त गरून् र परमेश्वरको मुक्ति पाउन सकून्। तर, मैले सत्यतालाई प्रेम नगरेकीले, अझै पनि आफ्ना धारणा र कल्पनाअनुसार पछ्याइरहेकी थिएँ, र कामकुरा गर्नका लागि यो नै पर्याप्त छ भन्ने सोच्थेँ। त्यसैले, अरूसँग साझेदारी गर्दा मेरो भ्रष्टता प्रकट हुँदा त्यसलाई सुल्झाउन मैले सत्यता खोजिनँ। परमेश्वरले सत्यता व्यक्त गर्नुहुन्छ र मानवमा भएका सबै प्रकारका भ्रष्ट स्वभावको खुलासा गर्नुहुन्छ, र उहाँले हामीले अनुभव गरौँ भनेर वास्तविक परिस्थितिहरू खडा गर्नुहुन्छ, ताकि त्यसबाट हामीले सत्यता बुझ्न, हाम्रो भ्रष्टता फाल्न र शुद्ध हुन सकौँ। यो परमेश्वरको प्रेम हो! उहाँले मानिसले परिश्रम र श्रम मात्र गरुन् भन्ने चाहनुहुन्थ्यो भने, उहाँले अहिलेसम्म चरणबद्ध काम गर्नुपर्ने थिएन, र उहाँले देहधारण गर्नुपर्ने, सत्यता व्यक्त गर्नुपर्ने र यति धेरै कष्ट सहनुपर्ने थिएन। मैले परमेश्वरका धेरै वचन पढेँ तर अझै पनि मानिसलाई मुक्ति दिने उहाँको अभिप्राय बुझेकी थिइनँ, मेरो भ्रष्ट स्वभाव अलिकति पनि बदलिएको थिएन। म परमेश्वरका वचनमा भनिएको साधारण मानिस जस्तै थिएँ। यसरी नै चल्दा मैले धेरै काम गरेकी भए पनि अन्तमा मैले मुक्ति पाउने थिइनँ। यो बुझेर म परमेश्वरसामु आई प्रार्थना गरेँ, “हे सर्वशक्तिमान परमेश्वर, तपाईँका वचनले गरेको खुलासाबाट मैले बल्ल परमेश्वरमाथिको मेरो विश्वासमा पछ्याइप्रतिको मेरो गलत दृष्टिकोणलाई बुझेँ। म पश्चात्ताप गर्न र परिवर्तन हुन तयार छु। बिन्ती मेरो गलत दृष्टिकोणबाट बाहिर निस्कन, तपाईँका वचनमा जोड लगाउन, सत्यता पछ्याउन र जीवन प्रवेशमा केन्द्रित हुन अगुवाइ गर्नुहोस्।”
पछि, मैले परमेश्वरका यी वचन पढेँ: “आजभोलि, धेरैजसो मानिसहरू यस्तै प्रकारको अवस्थामा छन्: आशिष्हरू प्राप्त गर्नको लागि, मैले आफूलाई परमेश्वरमा समर्पित गर्नुपर्दछ र उहाँको निम्ति मूल्य चुकाउनुपर्छ। आशिष्हरू प्राप्त गर्नका लागि, मैले सबै कुरा परमेश्वरको लागि त्याग्नुपर्छ; मैले उहाँले मलाई सुम्पनुभएको काम पूरा गर्नुपर्छ र मैले मेरो कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्छ। यस्तो स्थिति आशिष्हरू पाउने अभिप्रायको प्रभुत्वमा हुन्छ, जुन परमेश्वरबाट इनाम र मुकुट प्राप्त गर्ने उद्देश्यले आफूलाई पूर्णतया उहाँमा अर्पण गर्नुको एउटा उदाहरण हो। त्यस्ता मानिसहरूको हृदयमा सत्यता हुँदैन, र यो निश्चित छ कि उनीहरूको बुझाइमा केही वचन र धर्मसिद्धान्त मात्र हुन्छ, जसलाई उनीहरूले जहाँ गए पनि देखाउँदै हिँड्छन्। उनीहरूको मार्ग पावलको मार्ग हो। त्यस्ता मानिसहरूको विश्वास भनेको निरन्तर परिश्रम गर्ने कार्य हो, र तिनीहरूले आफ्नो हृदयको गहिराइमा के सोचेका हुन्छन् भने, उनीहरूले जति धेरै परिश्रम गर्छन् त्यसले परमेश्वरप्रतिको उनीहरूको बफादारितालाई त्यतिकै प्रमाणित गर्छ; उनीहरूले जति धेरै परिश्रम गर्छन्, उहाँ त्यति नै धेरै निश्चित रूपमा सन्तुष्ट हुनुहुनेछ; र उनीहरूले जति धेरै परिश्रम गर्छन्, उनीहरू त्यति नै बढी परमेश्वरबाट मुकुट प्राप्त गर्ने योग्यका हुनेछन्, र उनीहरूले पाउने आशिष्हरू त्यति नै ठूला हुनेछन्। उनीहरूलाई के लाग्छ भने, यदि उनीहरूले कष्ट भोग्न, प्रचार गर्न र ख्रीष्टको लागि ज्यान दिन सके भने, यदि उनीहरूले आफ्नै जीवन बलिदान दिन सके भने, र यदि परमेश्वरले आफूलाई सुम्पनुभएका सबै जिम्मेवारीहरू उनीहरूले पूरा गर्न सके भने, उनीहरू परमेश्वरद्वारा सबैभन्दा बढी आशिषित हुने मानिसहरूमध्येमा पर्नेछन्, र उनीहरूले मुकुटहरू पाउने निश्चित हुनेछ। पावलले यही कल्पना गरेका थिए र तिनले यही कुरा खोजेका थिए। तिनले हिँडेको मार्ग ठीक यही थियो, र यस्तै विचारहरूको मार्गदर्शनमा तिनले परमेश्वरको सेवा गर्ने काम गरे। के त्यस्ता विचार र उद्देश्यहरू शैतानी स्वभावबाट उत्पन्न हुँदैनन् र? यो त पृथ्वीमा हुँदा आफू ज्ञानको पछि लाग्नुपर्छ, र त्यो प्राप्त गरेपछि भीडबाट माथि उठ्न, अधिकृतहरू बन्न र प्रतिष्ठा पाउन सकिन्छ भन्ने कुरामा विश्वास गर्ने सांसारिक मानिसहरू जस्तै हो। उनीहरूलाई के लाग्छ भने, प्रतिष्ठा प्राप्त गरेपछि उनीहरूले आफ्नो महत्त्वाकाङ्क्षा पूरा गर्न र आफ्ना व्यवसायहरू र पारिवारिक अभ्यासलाई समृद्धिको एक निश्चित तहसम्म ल्याउन सक्छन्। के सबै गैरविश्वासीहरू यही मार्गमा हिँड्दैनन् र? यो शैतानी स्वभावको प्रभुत्वमा परेका मानिसहरू आफ्नो विश्वासमा पावलजस्तो मात्र हुन सक्छन्। उनीहरू सोच्छन्: ‘आफैलाई परमेश्वरको निम्ति अर्पण गर्न मैले सबै कुरा त्याग्नुपर्छ। म परमेश्वरको सामु वफादार हुनैपर्छ र आखिरमा, मैले अवश्य नै ठूला इनाम र ठूला मुकुट पाउनेछु।’ सांसारिक थोकहरूको पछि लाग्ने सांसारिक मानिसहरूको मनोवृत्ति पनि यस्तै हुन्छ। उनीहरू कुनै पनि हालतमा फरक हुँदैनन्, र उनीहरू उस्तै प्रकृतिको अधीनमा हुन्छन्। जब संसारमा मानिसहरूसित यस प्रकारको शैतानी स्वभाव हुन्छ, तब उनीहरूले ज्ञान, शिक्षा प्राप्त गर्न खोज्छन्, प्रतिष्ठा, र भीडभन्दा अलग हुन खोज्छन्। उनीहरूले परमेश्वरमा विश्वास गरे भने, ठूला मुकुट र ठूला आशिष्हरू पाउने कोसिस गर्नेछन्। परमेश्वरमा विश्वास गरेपछि, यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् भने, निश्चय नै उनीहरूले यही मार्ग लिनेछन्। यो अपरिवर्तनीय तथ्य हो, र यो प्राकृतिक नियम हो। सत्यता नपछ्याउने मानिसहरूले हिँड्ने मार्ग पत्रुसको भन्दा बिलकुलै विपरीत मार्ग हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। परमेश्वरले खुलासा गर्नुहुन्छ कि मानिसले परमेश्वरमाथि विश्वास गर्दा र कर्तव्य निभाउँदा गर्ने त्याग र समर्पण आशिष् पाउन, आफ्ना लागि असल परिणाम र गन्तव्य सुरक्षित गर्नका लागि हुन्छ—तिनीहरू आशिष् पाउने प्रेरणाले निर्देशित हुन्छन्। मैले चिन्तन गर्दा पछ्याइप्रति मेरो आफ्नो दृष्टिकोण ठ्याक्कै यस्तै रहेको पाएँ। म ठान्थेँ धेरै काम र कर्तव्य गरेमा, अगुवाले मलाई सुम्पेका कार्य पूरा गरी नतिजा हासिल गरेमा—परमेश्वरको अनुमोदन प्राप्त हुनेछ, र मैले असल परिणाम र गन्तव्य पाउनेछु। यही कारणले म दिलोज्यानले काम पूरा गर्न लाग्थेँ, हरेक दिन आफूलाई काममा व्यस्त राख्थेँ। मैले पावलका बारेमा सोचेँ, उनले प्रचार र काम गर्ने कुरामा मात्र जोड दिएका थिए। उनी धेरैतिर घुमे, ठूलो मूल्य चुकाए, तर परमेश्वरका वचनलाई अभ्यासमा उतारेनन्, र उनको भ्रष्ट स्वभाव परिवर्तन नै भएन। यी सबै काम गरेर उनले मुकुट र इनाम पाउने आशामा परमेश्वरसँग लेनदेन गर्दैथिए। अन्तमा, उनले आफ्नै गवाही समेत दिए, उनले भनेका थिए, “किनकि मेरा लागि जिउनु ख्रीष्ट हो र मर्नु प्राप्ति हो” (फिलिप्पी १:२१)। उनले परमेश्वरको स्वभावलाई चिढ्याए र परमेश्वरले उनलाई हटाउनुभयो र दण्डित गर्नुभयो। अहिले फर्केर हेर्दा म पावलकै मार्गमा हिँडिरहेकी थिएँ: म आफ्नै धारणा र कल्पनामा भर परेँ, अनि मैले धेरै काम गरेमा, आफूलाई सुम्पिएको कर्तव्य निभाएमा, नतिजा हासिल गरेमा, अन्तमा परमेश्वरले मलाई पक्कै असल गन्तव्य दिनुहुनेछ भन्ने ठानेँ। यसरी, मैले कार्य पूरा गर्नमा मात्र जोड दिएँ, र परमेश्वरको वचन खाँदा र पिउँदा काममा ढिलाइ हुन्छ भन्ने समेत लाग्यो। मैले अहङ्कारी स्वभाव प्रकट गरेँ, अरूलाई बाँधे, तर सङ्कल्प गर्ने कुरामा जोड दिइनँ। म परमेश्वरको आशिषका लागि मेरो सतही त्याग, समर्पण र कामको नतिजा साट्न चाहन्थेँ। यसले परमेश्वरको अनुमोदन कसरी प्राप्त गर्न सक्थ्यो? बाहिरबाट, मैले हरेक दिन काम गरिरहेको देखिन्थ्यो, म कर्तव्यमा निकै बफादार देखिन्थेँ, तर वास्तवमा, यो परमेश्वरलाई सन्तुष्ट पार्न, मण्डलीको कामका लागि गरिरहेकी थिइनँ। बरु मैले आफ्नै परिणाम र गन्तव्यको योजना बनाइरहेकी थिएँ। मैले परमेश्वरको फाइदा उठाइरहेकी थिएँ, उहाँसँग लेनदेन गर्न खोज्दै थिएँ—यो कुरालाई परमेश्वरले घृणा गर्नुहुन्छ। यदि मैले अझै पनि स्वार्थी हृदय र अशुद्ध अभिप्राय बोकेर पछ्याइरहेकी, र मेरो भ्रष्ट स्वभाव बिलकुलै नबदलिएको भए, म अन्तमा परमेश्वरद्वारा हटाइनेथिएँ।
पछि, मैले परमेश्वरका अझ धेरै वचन पढेँ: “पत्रुसलाई भने परमेश्वर अभिप्राय पूरा गर्ने नगर्ने तिनको जीवनको कुनै पनि कुराले असहज महसुस गराउँथ्यो। यदि यसले परमेश्वरका अभिप्राय पूरा नगरेका भए, तिनले ग्लानिको अनुभव गर्नेथे, र परमेश्वरको हृदयलाई सन्तुष्ट पार्ने प्रयास गर्नको लागि तिनले उचित मार्गको खोजी गर्थे। तिनले आफ्नो जीवनको सबैभन्दा सानो र महत्त्वहीन पक्षहरूमा समेत परमेश्वरका अभिप्राय पूरा गर्नुपर्थ्यो। आफ्नो पुरानो स्वभावको हकमा पनि तिनको मापदण्ड कम थिएन, त्यसैले तिनले सत्यतामा अझै गहन रूपमा अघि बढ्नको लागि आफैलाई झन्-झन् कठिन मापदण्डहरू दिन्थे। … परमेश्वरमाथिको विश्वासमा, पत्रुसले सबै कुरामा परमेश्वरलाई नै सन्तुष्ट पार्न खोजे, र परमेश्वरबाट आएका सबै कुराप्रति समर्पित हुन खोजे। अलिकति पनि गुनासो नगरीकन, तिनले सजाय र न्यायका साथै शोधन, सङ्कष्ट र अभावपूर्ण जीवन स्वीकार गर्न सकेका थिए, जसमध्ये कुनैले पनि परमेश्वरलाई प्रेम गर्ने तिनको हृदयलाई बदल्न सकेन। के यो परमेश्वरप्रतिको सर्वश्रेष्ठ प्रेम थिएन र? के यो सृजित प्राणीको कर्तव्य पूरा गर्नु थिएन र? सजाय, न्यायमा होस् या सङ्कष्टमा होस्, तँ सधैँ मृत्युसम्मै समर्पणता हासिल गर्न सक्छस्, र सृजित प्राणीले हासिल गर्नुपर्ने यही हो, र परमेश्वरप्रतिको प्रेमको विशुद्धता यही हो। यदि मानिसले यति हासिल गर्न सक्छ भने, ऊ योग्य सृजित प्राणी हो, र सृष्टिकर्ताका अभिप्राय त्यसले भन्दा राम्ररी पूरा अरू केहीले गर्दैन। मानौं तँ परमेश्वरको लागि काम गर्न सक्छस्, तर तँ परमेश्वरको आज्ञापालन गर्दैनस्, र तँ परमेश्वरलाई साँचो रूपमा प्रेम गर्न सक्दैनस्। यसरी तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा नगरेको मात्रै हुनेछैनस्, तँलाई त परमेश्वरले दोषी पनि ठहर्याउनु हुनेछ, किनभने तँ त्यस्तो व्यक्ति होस् जोसँग सत्य छैन, जो परमेश्वरप्रति समर्पित हुन सक्दैन, र जसले परमेश्वरविरुद्ध विद्रोह गर्छ। तैँले परमेश्वरको लागि काम गर्नेबारेमा मात्रै चासो लिन्छस्, तर सत्यता अभ्यास गर्ने वा आफैलाई चिन्नेबारेमा चासो लिँदैनस्। तैँले सृष्टिकर्तालाई बुझ्न वा चिन्न सक्दैनस्, र सृष्टिकर्ताप्रति समर्पित हुने वा उहाँलाई प्रेम गर्ने गर्दैनस्। तँ परमेश्वरप्रति जन्मजातै परमेश्वरविरुद्ध विद्रोह गर्ने व्यक्ति होस्, र त्यसकारण त्यस्ता मानिसहरूलाई परमेश्वरले प्रिय ठान्नुहुन्न” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ)। परमेश्वरका वचनले भन्छन्, पत्रुसले जीवनमा जस्तोसुकै सानातिना कठिनाइ सामना गर्दा पनि सत्यता खोज्न र परमेश्वरको सन्तुष्टि पछ्याउन सके। उनले आफूले प्रकट गरेका भ्रष्ट स्वभावहरूबारे पनि तुरुन्त चिन्तन गर्न सके, र काम गर्दा आफ्नै प्रवेशमा जोड दिए। उनले परमेश्वरको आज्ञा र आफ्नै जीवन प्रवेशको बोझ उठाए—उनी हिँडेको मार्ग सफलताको मार्ग थियो। तर मैले दौडधुप र काम गर्नमा मात्र जोड दिएँ, सत्यता खोजिनँ। मैले भ्रष्टता प्रकट गर्दा यसबारे केही सोचिनँ, आत्मचिन्तन गरेर आफैलाई चिनिनँ, र आजसम्म म बिलकुलै बदलिएकी छैन—म हिँडेको मार्ग असफलताको मार्ग रहेछ। वास्तवमा, मानिसले मूल्य चुकाउनुपर्छ र परमेश्वरप्रति आफूलाई समर्पित गर्नुपर्छ यो तिनीहरूको कर्तव्य हो, यो आफ्नो काम पूरा गरे पुग्छ भनेर मैले कल्पना गरेजस्तो होइन। कर्तव्य निर्वाह गर्ने क्रममा कुनै कुरा आइपर्दा, सत्यता खोज्न सक्षम हुनु, आफ्नो भ्रष्टता र कमीहरू चिन्न जोड लगाउनु, आफ्नो भ्रष्ट स्वभाव सुल्झाउन सत्यता खोज्नु, र सत्यतालाई कार्य गर्ने र आफूलाई व्यवहारमा ढाल्ने मापदण्ड बनाउनु—यसले मात्रै जीवनमा प्रगति गराउँछ। मेरो भ्रष्ट स्वभाव एक पलमा हल हुन नसके पनि, मैले यसलाई जान्न, बाटो मोड्न र परमेश्वरका वचनका आधारमा आत्मचिन्तन गर्न जोड दिनुपर्छ, मैले पालना गर्नुपर्ने सिद्धान्त खोज्नुपर्छ र परमेश्वरका वचनअनुसार अभ्यास गर्नुपर्छ।
पछि मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ। “सत्यता पछ्याउने मानिसहरू आफ्नो कर्तव्यमा जति नै व्यस्त भए पनि, आफूलाई आइपर्ने समस्याहरू समाधान गर्न सत्यता खोजी गर्न सक्छन्, र आफूले प्रवचनहरू सुन्दा अस्पष्ट लागेका कुराहरूबारे सङ्गति खोज्छन्, र कसरी काम गरेँ भनेर मनन गर्न दैनिक आफ्नो हृदय शान्त पार्छन्, त्यसपछि परमेश्वरका वचनहरूलाई विचार गर्छन् र अनुभवसम्बन्धी गवाहीका भिडियोहरू हेर्छन्। तिनीहरूले यसबाट केही कुरा प्राप्त गर्छन्। तिनीहरू आफ्नो कर्तव्यमा जति नै व्यस्त भए पनि, यसले तिनीहरूको जीवन प्रवेशमा पटक्कै बाधा दिँदैन, न त यसमा ढिलाइ नै गर्छ। सत्यतालाई प्रेम गर्ने मानिसहरूले यसरी अभ्यास गर्नु स्वभाविकै हो। सत्यतालाई प्रेम नगर्नेहरू आफू कर्तव्यमा व्यस्त भए पनि नभए पनि र आफूलाई जे-जस्ता समस्याहरू आइपरे पनि, आत्मचिन्तन गर्न र आफूलाई चिन्न सत्यता खोजी गर्दैनन् र परमेश्वरसामु आफूलाई शान्त पार्न चाहँदैनन्। त्यसकारण, तिनीहरू आफ्नो कर्तव्यमा व्यस्त होस् वा फुर्सत, सत्यता पछ्याउँदैनन्। वास्तविकता के हो भने, यदि कुनै व्यक्तिमा सत्यता पछ्याउने हृदय छ, ऊ सत्यताको तृष्णा गर्छ, अनि जीवन प्रवेश र स्वभाव परिवर्तनको बोझ लिन्छ भने, आफ्नो कर्तव्यमा जति नै व्यस्त भए पनि हृदयमा ऊ परमेश्वरको नजिक हुँदै जानेछ र उहाँलाई प्रार्थना गर्नेछ। तिनीहरूले पवित्र आत्माका केही अन्तर्दृष्टि र ज्योति प्राप्त गर्छन् नै, र तिनीहरूको जीवन निरन्तर वृद्धि हुनेछ। यदि कसैले सत्यतालाई प्रेम गर्दैन र जीवन प्रवेश वा स्वभाव परिवर्तनको कुनै बोझ लिँदैन, वा यदि उसलाई यी कुराहरूप्रति चासो लाग्दैन भने, उसले केही प्राप्त गर्न सक्दैन। आफूले के-कस्ता भ्रष्टता प्रकट गरेको छ भनेर मनन गर्नु जहीँ पनि र जहिले पनि गर्नुपर्ने कुरा हो। उदाहरणका लागि, यदि कसैले आफ्नो कर्तव्य पूरा गर्दा भ्रष्टता प्रकट गर्यो भने, उसले हृदयबाट अनिवार्य रूपमा परमेश्वरलाई प्रार्थना गर्नुपर्छ, र आत्मचिन्तन गर्नुपर्छ, अनि आफ्नो भ्रष्ट स्वभाव चिन्नुपर्छ, र यसलाई हटाउन सत्यता खोजी गर्नुपर्छ। यो हृदयसँग सम्बन्धित कुरा हो; हातमा भएको कामसँग यसको कुनै सम्बन्ध हुँदैन। के यसो गर्नु सजिलो छ? त्यो कुरा तँ सत्यतालाई पछ्याउने व्यक्ति होस् कि होइनस् भन्ने कुरामा निर्भर हुन्छ। सत्यतालाई प्रेम नगर्ने मानिसहरू जीवन-वृद्धिका मामिलाहरूमा चासो लिँदैनन्। तिनीहरू यस्ता कुराहरूलाई विचार गर्दैनन्। सत्यता पछ्याउने मानिसहरू मात्रै आफूलाई जीवन-वृद्धिमा लगाउन इच्छुक हुन्छन्; तिनीहरूले मात्रै वास्तवमै आइपर्ने समस्याहरूबारे र ती समस्याहरू समाधान कसरी सत्य खोज्ने भनी मनन गर्छन्। वास्तवमा, समस्याहरू समाधान गर्ने र सत्यता पछ्याउने प्रक्रिया एउटै हो। यदि कुनै व्यक्तिले आफ्नो कर्तव्य पूरा गर्दा समस्याहरू समाधान गर्न सत्यताको खोजीलाई निरन्तर ध्यान दिन्छ, र त्यस्तो अभ्यास गरेको धेरै वर्षको अवधिमा निकै समस्याहरू समाधान गरेको छ भने, उसको कर्तव्य निर्वाह अवश्य नै मापदण्डअनुरूप हुन्छ। यस्ता मानिसहरू निकै कम भ्रष्टता प्रकट गर्छन्, र कर्तव्य पूरा गर्ने क्रममा तिनीहरूले धेरै साँचो अनुभव पाएका हुन्छन्। त्यसरी तिनीहरू परमेश्वरको गवाही दिन सक्छन्। … कुनै व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन भन्ने कुरा ऊ आफ्नो कर्तव्यमा कति व्यस्त छ वा ऊसँग कति समय छ भन्ने कुरासँग सम्बन्धित हुँदैन; यो कुरा त उसले हृदयदेखि नै सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्ने कुरामा निर्भर हुन्छ। वास्तविकता के हो भने, हरेकसँग उति नै मात्रामा समय हुन्छ; हरेक व्यक्तिले यो कसरी प्रयोग गर्छ त्यसमा भिन्नता हुन्छ। सत्यता पछ्याउने समय छैन भन्ने व्यक्तिले सम्भवतः आफ्नो समय देहसुखमा बिताइरहेको हुन्छ, वा ऊ केही बाहिरी कुराहरूमा व्यस्त हुन्छन्। तिनीहरू त्यो समय समस्याहरू समाधान गर्नका लागि सत्यता खोज्न बिताउँदैनन्। आफ्नो पछ्याइमा लापरवाही हुने मानिसहरू यस्तै हुन्छन्। यसले तिनीहरूको जीवन प्रवेशको ठूलो मामिलामा ढिलाइ गर्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता पछ्याउनु भनेको के हो (३))। मैले परमेश्वरका वचनमा अभ्यासको मार्ग पाएँ: परमेश्वरका वचन दैनिक खान, पिउन र मनन गर्न समय निकाल, आज कुन भ्रष्टता देखाएँ, सिद्धान्तविना मबाट कुन काम भयो भन्नेबारे आत्मचिन्तन गर—यसबाट लाभ पाउञ्जेल यो लामो समयसम्म गर्छु कि गर्दिनँ भन्ने कुराले फरक पार्दैन। कर्तव्य निर्वाह गर्ने क्रममा म व्यस्त नहुँदा परमेश्वरका वचन पढ्न केही समय निकाल्न सक्छु, र व्यस्त हुँदा कर्तव्य निर्वाहमा केन्द्रित हुन सक्छु, परमेश्वरका वचनलाई अभ्यास र अनुभव गर्न तिनलाई वास्तविक जीवनमा ल्याउन सक्छु। पहिले, आत्मिक भक्ति वा मेरो स्थिति हल गर्न परमेश्वरका वचन खोज्ने कुरामा, मसँग समय छैन भनेर तर्क गर्थेँ। वास्तवमा, म कर्तव्यमा व्यस्त भएर परमेश्वरका वचन पढ्ने फुर्सद नभएको हुन्नथ्यो, तथ्य कुरा म सत्यतालाई प्रेम गर्दिनथेँ र काम पूरा गर्नमा मात्र जोड दिन्थेँ। कर्तव्यमा व्यस्त नहुँदा समेत म परमेश्वरका वचन पढ्नमा वा मेरो आफ्नै भ्रष्ट स्वभाव हल गर्न सत्यता खोज्नमा केन्द्रित हुन्नथेँ। अब मैले बुझेँ कि कर्तव्य निर्वाह र जीवन प्रवेशबीच कुनै विभाजन छैन। कर्तव्य निर्वाह गर्ने क्रममा हामी समस्या र आफ्नै भ्रष्ट स्वभाव हल गर्न सत्यता खोज्छौँ—यो सबै कुरामा जीवन प्रवेश सामेल हुन्छ। हामीले गर्नुपर्ने काम गर्नुपर्छ, तर जीवन प्रवेशलाई उपेक्षा गर्न हुँदैन। त्यसपछि, मैले परमेश्वरका वचन मनन गर्न, सत्यता खोज्न र आत्मचिन्तन गर्नमा जोड दिएँ। मैले केही खाली समयको फाइदा उठाएँ। सामान्यतया खाना खाँदा, पैदल हिँड्दा वा लुगा धुँदा, समेत म आफ्नो स्थिति र परमेश्वरका वचनलाई मनन गर्थेँ—मैले पछ्याउन र खोज्न चाहँदासम्म सधैँ समय हुन्थ्यो। साथै म आत्मचिन्तन पनि गर्थेँ। मैले सदैव मेरा सहकर्मीहरूलाई अवहेलना गरेँ, र प्रायः रिस देखाएँ—यो कस्तो समस्या थियो? म प्रार्थना गर्न परमेश्वरसामु आएँ, मेरो स्थितिको हकमा खानु र पिउनुपर्ने परमेश्वरका वचनका खण्डहरू भेटेँ। मैले जानेँ कि मेरो रिसाहापन अहङ्कारी स्वभावबाट नियन्त्रित थियो, र अरूप्रति मेरो माग पनि अति उच्च थियो। मेरा सहकर्मी ब्रदर पाको उमेरका थिए, र उनले पहिले यो कर्तव्य गरेका थिएनन्। उनको प्रतिक्रिया सुस्त हुनु सामान्य कुरा थियो। मैले सधैँ उनीबाट मेरो आफ्नै मानकअनुसार माग गरेँ, र उनीसँग अस्वीकृतियुक्त लवजमा कुरा गरेँ। मैले कामकुरालाई उनको नजरबाट हेरिनँ, र मैले प्रत्येक व्यक्तिको अलग-अलग परिस्थितिअनुसार मामलालाई हेरिनँ। यसरी, जब म अरूसँग कुराकानी गर्थेँ, तिनीहरूलाई सधैँ हानि र विवशता महसुस गराउँथेँ। म साँच्चै निकै असमझदार भइरहेकी थिएँ। मलाई यसको बोध भएपछि बल्ल यो समस्यालाई गम्भीरतापूर्वक लिन सुरु गरेँ। कामबारेको अर्को छलफलमा, मैले ती ब्रदरहरूले जवाफ दिन ढिलो गरेको देख्दा यसलाई सही तरिकाले लिन सक्थेँ र मनन गर्न तिनीहरूलाई केही समय दिन सक्थेँ। मैले सम्बन्धित सिद्धान्तमा सकेसम्म विस्तारमा सङ्गति गर्न सक्थेँ, र तिनीहरूले केही प्रश्नहरू सोध्दा, म तिनीहरूसँग धैर्यपूर्वक सङ्गति गर्न, सत्यता खोज्न र यसमा सँगै प्रवेश गर्न सक्थेँ। पछि, परिस्थिति आइपर्दा मैले आफूले प्रकट गरेका कुराको जाँच गर्नमा जोड दिन थालेँ। ममा गलत सोच वा विचार आउँदा, मैले भ्रष्ट स्वभाव प्रकट गर्दा, म सचेत भई परमेश्वरलाई प्रार्थना गर्थेँ, र यसलाई हल गर्न सम्बन्धित सत्यता खोज्थेँ, मेरो भ्रष्ट स्वभावअनुसार तिनलाई हेर्दिनथेँ।
पछि, एक पटक फेरि मेरो कर्तव्यमा व्यस्त हुने समय आयो। केही ब्रदर-सिस्टरहरू आफ्ना कार्यमा सिद्धान्तविरुद्ध गए, र तिनीहरूसँग सङ्गति गरी यो समस्या हल गर्नु थियो। साथै, केही सुसमाचार स्विकार्ने सम्भावना भएकाहरू पनि थिए, तिनीहरूलाई सुसमाचार सुनाउनुपर्ने थियो। जब मैले यी सबै काम गर्नुपर्ने देखेँ, मेरो पहिलो सोच छिटो गरी यो काम गर्नु थियो। त्यहीबेला अचानक पहिले पनि कामकुरो गर्नमा नै सधैँ ध्यान दिने गरेको, जानुपर्ने ठाउँ गएको, र गर्नुपर्ने काम गरेको, तर मैले कुनै लाभ नपाएको कुरा सम्झेँ। मैले फेरि त्यस्तै गर्न हुन्थेन, सिद्धान्तहरू खोज्नु पर्थ्यो। त्यसैले, म शान्त भएँ ब्रदर-सिस्टरले प्रकट गरेका कुरामा मनन गरेँ, परमेश्वरका केही वचन खोजेँ, नतिजा हासिल गर्न कसरी सङ्गति गर्ने र तिनीहरूलाई समस्याको सार चिन्न कसरी सहयोग गर्ने भनेर सोचविचार गरेँ। सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूको सम्बन्धमा मैले तिनीहरूको प्राथमिक समस्या के हो भन्ने पनि पत्ता लगाएँ, र पहिल्यै तयार रहन सान्दर्भिक सत्यता खोजेँ। यो खोजीबाट मैले पहिले बुझ्न नसकेका केही सत्यता सिद्धान्त बुझेँ, मैले केही लाभ पाएँ र कर्तव्यमा केही नतिजा हासिल गरेँ। यो अनुभवबाट, मैले जीवन प्रवेशमा ध्यान दिनुको र कर्तव्यमा सत्यता सिद्धान्त खोज्नुको महत्त्व बुझेँ।