८९. मेरो गिरफ्तारीपछि

वाङ ल, चीन

सन् २००२ को नोभेम्बर महिनाको एक दिनको मध्याह्नमा, म घरमा खाना बनाउँदै थिएँ, त्यही बेला अचानक एकपछि अर्को गर्दै जोड-जोडले ढोका ढक्ढक्याएको आवाज सुनेँ। मैले ढोका खोल्दा बाहिर चार जना पुरुष र एक जना महिला उभिरहेका थिए। तिनीहरूमध्ये एक जना मेरो नजिक आएर सोध्यो, “तँ वाङ ल होस्? के तँ सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्छेस्?” मैले जवाफ दिन नपाउँदै, उसले झट्टै आफ्नो परिचय-पत्र देखायो, र भन्यो, “हामी सार्वजनिक सुरक्षा ब्युरोबाट आएका हौँ। तँ सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्छेस् र मण्डली अगुवा होस् भनेर कसैले रिपोर्ट गरेको छ। हामी अनुसन्धान गर्न आएका हौँ।” मैले जवाफ दिन नपाउँदै, ती पाँचै जना जबरजस्ती मेरो घरभित्र पसे अनि आँगन र कोठाहरू खानतलासी गर्न थाले। तिनीहरूले ५०-युआनको भेटीको रसिद, वचन देहमा देखा पर्नुहुन्छ भन्ने पुस्तकको एक प्रति, दुई वटा क्यासेट, र एउटा सानो रेकर्डर भेट्टाए, र मलाई कडाइका साथ भने, “यो प्रमाण हो!” यसो भनेपछि, तिनीहरूले मलाई प्रहरीको गाडीमा कोचे र त्यहाँबाट लगे।

स्टेसनमा, प्रहरीले मलाई दोस्रो तल्लाको सोधपुछ कक्षमा लगेर हतकडी लगाइदिए, मेरा हातहरूलाई रेडिएटरको पाइपमा झुन्ड्याइदिए, र म खुट्टाको औँलाको सहारामा मात्र खडा हुन सकेँ। मेरो पूरै शरीरको वजन नाडीमा परेकाले, असह्य पीडा हुन थाल्यो। मैले एक जना प्रहरीले “यसपालि हामीले एउटी अगुवालाई समात्यौँ” भनेको सुनेँ, र मेरो सासै अड्किए जस्तो भयो, अनि मैले सोचेँ, “तिनीहरूलाई म अगुवा हुँ भन्ने थाहा छ, त्यसैले तिनीहरूले मेरा ब्रदर-सिस्टरहरूबारे जानकारी निकाल्न मलाई पक्कै यातना दिनेछन्। मैले यातना सहन सकिनँ भने के गर्ने?” मैले थप सोच्‍ने आँट गरिनँ र हतार-हतार परमेश्‍वरलाई प्रार्थना गरेँ, उहाँले मलाई आस्था र बुद्धि दिनुहोस्, र मलाई आफ्नो गवाहीमा दृढ राख्नुहोस् भनी अनुरोध गरेँ। मलाई यसरी चार घण्टाभन्दा बढी झुन्ड्याइयो, मेरा खुट्टाले भुइँ छुन सकेका थिएनन्, र हतकडी झन्-झन् कसिँदै गइरहेको थियो। मेरा हातहरू च्यापिएर कालो-नीलो भएका थिए, र पीडा असह्य थियो, अनि मेरा खुट्टाहरू पनि सुन्निएर लाटो भएका थिए। मलाई अब थाम्‍न सक्दिनँ जस्तो लाग्यो र भित्रभित्रै कमजोर महसुस हुना थाल्यो, मलाई यसरी अझै कति बेर झुन्ड्याइने हो, थाहा थिएन। मैले एकछिन पनि मेरो हृदयलाई परमेश्‍वरबाट टाढा जान दिने आँट गरिनँ। मैले परमेश्‍वरका यी वचनहरू सम्झेँ: “सङ्कष्टको समयमा मप्रति अलिकति पनि बफादारी नदेखाउनेहरूप्रति, अब म कृपालु हुनेछैनँ, किनभने मेरो कृपा यहीँसम्मका लागि मात्रै थियो। साथै, मलाई एक पटक विश्‍वासघात गरेकाहरूलाई म मन पराउँदिनँ र आफ्ना साथीहरूको हितलाई घात गर्नेहरूसँग सङ्गत गर्न झनै मन पराउँदिनँ। मानिस जोसुकै भए पनि मेरो स्वभाव यही हो। मैले तिमीहरूलाई यो भन्नैपर्छ: मेरो हृदय पूर्ण रूपमा तोड्ने जोसुकैले मबाट दोस्रो पटक क्षमा पाउनेछैन, र मप्रति बफादार रहेकाहरू सधैँ मेरा हृदयमा रहनेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्)। परमेश्‍वरका वचनहरूले मलाई परमेश्‍वरको स्वभावले उल्‍लङ्घन सहँदैन, र यदि मैले मेरा ब्रदर-सिस्टरहरूलाई घात गरेँ र परमेश्‍वरलाई विश्‍वासघात गरेँ भने, मैले कहिल्यै परमेश्‍वरको क्षमा पाउनेछैन र उहाँद्वारा पक्कै घृणा गरिनेछु र हटाइनेछु भन्‍ने महसुस गराए। मैले प्रहरीले मलाई जतिसुकै यातना दिए पनि, यहूदा कहिल्यै नबन्ने सङ्कल्प गरेँ!

साँझको लगभग ७ बजेतिर, मेरो टाउको रिङि रहेको थियो, मेरो पूरै शरीरमा असह्य पीडा भइरहेको थियो, र मलाई सास फेर्न गाह्रो भइरहेको थियो। म ढल्नै लागेको देखेर प्रहरीले बल्ल मेरो एउटा हात खोलिदियो, र मैले बल्ल आफ्नो खुट्टाले भुइँमा टेक्‍न पाएँ। त्यति नै बेला, एक जना प्रहरीले मलाई चिच्याउँदै भन्यो, “ल ओकल्, मण्डलीको भेटीको पैसा कसलाई बुझाइस्? पैसा लिने व्यक्ति कहाँ बस्छ?” मैले केही नबोलेको देखेर, उसले फेरि भन्यो, “तैँले नभने पनि, हामीले तेरो बारेमा राम्ररी जाँचबुझ गरिसकेका छौँ। हामीले तँलाई पछ्याउँदै र तेरो बारेमा अनुसन्धान गर्दै आएको धेरै समय भइसक्यो!” त्यसपछि उसले टेबुलबाट कागजको एउटा टुक्रा उठायो, र मैले कति समयदेखि परमेश्‍वरमा विश्‍वास गरेकी थिएँ, कहाँ बस्थेँ, म के-कस्ता कर्तव्यहरू निर्वाह गर्थेँ जस्ता कुरा, र अन्य जानकारीहरूको विवरण पढेर सुनायो। मैले सोचेँ, “तिनीहरूलाई यति धेरै कसरी थाहा भयो? कसैले यहूदा बनेर मलाई धोका पो दियो कि?” यो सोचले मलाई निकै चिन्तित बनायो, र मैले तुरुन्तै शिर निहुराएर अब कसारी जवाफ दिने भनेर सोच्न थालेँ। त्यो प्रहरीले मलाई एकटक लगाएर हेरिरह्यो, र एउटा फोटो निकालेर त्यसमा भएको मान्छेलाई चिन्छु कि चिन्दिनँ भनेर सोध्यो। मैले त्यसलाई एक झलक हेरेँ र भनेँ, “म उसलाई चिन्दिनँ।” उसले बनावटी मुस्कान दिँदै भन्यो, “उसलाई पक्का चिन्दिनस्? आज तँलाई कसले रिपोर्ट गर्‍यो थाहा छ? यही फोटोमा भएको मान्छेले हो।” मैले फोटोमा भएको मान्छे मण्डलीबाट निष्कासित गरिएको दुष्ट व्यक्ति हो भनेर चिनेँ। त्यसपछि प्रहरीले अर्की एउटी सिस्टरको नाम लिएर उसलाई चिन्छु कि चिन्दिनँ भनेर सोध्यो, र मैले उसलाई पनि चिन्दिनँ भनेँ। प्रहरीले अचानक संयम गुमायो र भन्यो, “म तँलाई एउटा कुरा भन्छु। तैँले केही नभने पनि, तेरो घरमा भेट्टाएका धार्मिक सामग्रीहरू र हामीसँग भएका साक्षीहरूले तँलाई तीन वर्षको श्रममार्फत पुनः शिक्षामा पठाउन पर्याप्त छन्। हामी तँलाई कबुल गर्ने मौका दिइरहेका छौँ, र जति चाँडो कबुल गर्छेस्, त्यति नै चाँडो घर जान पाउँछेस्!” त्यति नै बेला, एक जना महिला प्रहरीले उसलाई मेरो झुन्डिरहेको अर्को हात पनि खोलिदिन सङ्केत गरी, र झूटो चिन्ता देखाउँदै, उसले मलाई एक गिलास पानी दिई, र मेरो हात समातेर भनी, “दिदी, सोफामा बसौँ र कुरा गरौँ न। मैले देखेँ, तपाईँका दुई छोराछोरी साँच्चै कति राम्रा रहेछन्, र तिनीहरू अहिले बढ्ने उमेरका छन्। आमा भएको नाताले, तपाईँले आफ्ना जिम्मेवारी पूरा गर्नुपर्छ र तिनीहरूका लागि पौष्टिक खानाको सुनिश्चितता गर्नुपर्छ, किनभने राम्ररी खान पाएनन् भने तिनीहरूको पढाइमा असर पर्नेछ। हामी आमाहरूको काँधमा धेरै जिम्मेवारी हुन्छ। तपाईँको श्रीमान् कति असल मान्छे, बाहिर रगत-पसिना बगाएर पैसा कमाउँदै हुनुहुन्छ, तपाईँलाई घरमा बसेर बच्चाहरूको हेरचाह गर्न दिनुभएको छ। तपाईँ यति असल बच्चाहरूलाई कसरी बेवास्ता गर्न सक्नुहुन्छ? के तपाईँलाई तिनीहरूप्रति ऋणी भएको महसुस हुँदैन?” ती महिला प्रहरीका शब्दहरूले मलाई अलि कमजोर महसुस गराए, र मलाई मैले आफ्ना बच्चाहरूको राम्रो हेरचाह गरेकी छैन र म साँच्चै तिनीहरूप्रति ऋणी छु भन्‍ने लाग्यो। मैले केही नबोलेको देखेर, ती महिला प्रहरी मेरो नजिक आई, र मेरो काँधमा धाप मार्दै भनी, “दिदी, सबै कुरा कबुल गरिदिनु नै राम्रो हुन्छ। तपाईँलाई थाहा भएको कुरा हामीलाई भन्नुहोस्, र हामी तपाईँलाई तुरुन्तै घर पठाइदिनेछौँ, र तपाईँ घर गएर आफ्ना बच्चाहरूको हेरचाह गर्न सक्नुहुनेछ।” उसले यो पनि भनी, “तपाईँलाई कानुन थाहा छैन, त्यसैले कबुल गर्दा तपाईँलाई थप मुछ्नेछ भन्‍ने लाग्दो हो, तर वास्तवमा त्यस्तो होइन। तपाईँलाई जे थाहा छ, त्यो मात्र भनिदिनुभयो भने, हामी तपाईँको बयान रेकर्ड गर्न सक्छौँ, अनि तपाईँ घर जान सक्नुहुन्छ।” मैले सोचेँ, “यो सब झूट र छल हो। तैँले मलाई परमेश्‍वरलाई धोका दिन लगाउन यसो भन्दैछेस्, र म तेरो जालमा फस्नेछैनँ! तर यदि मलाई साँच्चै तीन वर्षक लागि श्रम-पुनः शिक्षामा पठाइयो भने, मेरा बच्चाहरूलाई के होला? तिनीहरू अझै कति साना छन्, मेरो हेरचाहविना तिनीहरू कसरी बाँच्ने होलान्?” यी सोचहरूले मलाई निकै दुःखी बनाए, त्यसैले मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ। मैले परमेश्‍वरका यी वचनहरू सम्झेँ: “आफूलाई पूर्ण रूपमा मप्रति समर्पित गर्न अनि मेरो खातिर आफ्नो सबै कुरा अर्पण गर्न को साँच्चिकै सक्षम छ? तिमीहरू सबै आधा हृदयका छौ; तिमीहरूका विचारहरू परिवार, बाहिरी संसार, खाना र वस्‍त्रको बारेमा सोच्नमै घुमिरहन्छन्। तँ यहाँ मेरो सामु मेरो निम्ति कामकुरा गर्दैछस् भन्‍ने तथ्यको बाबजुद, हृदयमा तँ अझै घरमा रहेका आफ्ना श्रीमती, बालबच्चा र आमाबुबाको बारेमा सोचिरहेको छस्। के तिनीहरू तेरा सम्पत्ति हुन् र? किन तँ तिनीहरूलाई मेरो हातमा सुम्पिँदैनस्? के तँलाई मेरो भरोसा छैन? कि तँ मैले तेरो निम्ति अनुचित बन्दोबस्त गरिदिनेछु भनी डराउँछस्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ५९)। हो, परमेश्‍वरले नै सबै कुरामाथि शासन गर्नुहुन्छ। मेरा छोराछोरीको भाग्य र दुःख सबै परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको थियो, र त्यो कुनै मानिसले बदल्न सक्दैनथ्यो। मैले मेरा छोराछोरीलाई परमेश्‍वरको हातमा सुम्पनुपर्थ्यो। प्रहरीले मलाई परमेश्‍वरलाई धोका दिन फुस्ल्याउन स्नेहको प्रयोग गर्नु साँच्चै घृणित थियो! यो वातावरण परमेश्‍वरबाट आएको एक परीक्षा थियो, र उहाँले मैले के छनोट गर्दैछु भनी हेरिरहनुभएको थियो। यो मेरा लागि परमेश्‍वरका निम्ति गवाही दिने एउटा मौका पनि थियो, र म परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो गवाहीमा दृढ रहनुपर्थ्यो। यो कुरा बुझेपछि, मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! म मेरा छोराछोरीलाई पूर्ण रूपमा तपाईँको हातमा सुम्पन इच्छुक छु। कृपया मलाई देहको कमजोरीलाई विजय गर्न र शैतानलाई लज्जित पार्न आफ्नो गवाहीमा दृढ रहन मदत गर्नुहोस्।” प्रार्थना गरेपछि, मैले आस्था पाएँ, र प्रहरीले मलाई जतिसुकै लोभ्याउने कोसिस गरे पनि, म चुपचाप रहेँ। मैले केही नबोलेको देखेर, ती महिला प्रहरीको अनुहारको भाव तुरुन्तै बदलियो। उसले मलाई सोफाबाट तानी, र डरलाग्दो गरी आँखा तर्दै भनी, “मैले राम्रो व्यवहार गर्न खोजेँ, तर तैँले सुनिनस्। तैँले आफ्नो लागि अवस्था झनै खराब बनाइस्! म तँलाई कसरी ठीक पार्छु, हेर्!” यसो भन्दै, उसले मेरो कपाल समातेर घिसार्न थाली, र तान्दै कराउन थाली, “तैँले त कुटाइ खान खोजेकी जस्तो छ!” त्यति नै बेला, एक जना पुरुष प्रहरीले परमेश्‍वरका वचनहरूको एउटा पुस्तक उठाएर मेरो अनुहारमा जोडले हिर्कायो, र हिर्काउँदै गर्दा करायो, “ओकल्! तँ कति अगुवा भएको कति वर्ष भयो? मण्डलीको भेटी कसलाई जान्छ? तँलाई जे थाहा छ, सबै भन्। यदि कबुल गरिनस् भने, म तँलाई जीवनभर जेलमा सडाउनेछु, र तैँले तेरो श्रीमान् र छोराछोरीलाई कहिल्यै देख्न पाउनेछैनस्!” मैले शान्तपूर्वक भनेँ, “तपाईँ के भन्दै हुनुहुन्छ, मलाई थाहा छैन।” प्रहरीको अनुहारको भाव अँध्यारो भयो, र उसले मेरो गालामा एक मुक्का हान्यो, र त्यसपछि पागल भएझैँ गरी मेरो अनुहारमा मुक्का र थप्पड बर्साउन थाल्यो। उसले कति पटक हिर्कायो, मैले गन्नै सकिनँ। मेरो एउटा दाँत हल्लियो, मेरो नाक र मुखको कुनाबाट रगत बग्न थाल्यो, र मेरो टाउको टनटन गर्दै सुन्नियो। मलाई रिङटा लाग्यो र म दिग्भ्रमित भएँ, म लडखडाएँ, र भित्ताको सहाराले मुस्किलले उभिन सकेँ। मलाई अब धेरै बेर सहन सक्दिनँ जस्तो लाग्यो, र सोचेँ, “यस्तै चलिरहने हो भने, के यिनीहरूले मलाई मारेरै छोड्छन्? नमारे पनि, अपाङ्ग बनाइदिए भने, मैले बाँकी जीवन कसरी बिताउने? सायद मैले तिनीहरूलाई केही महत्त्वहीन कुरा भनिदिनुपर्छ कि?” तर बोल्नै लाग्दा, मैले अचानक प्रभु येशूलाई धोका दिएबापत यहूदाले पाएको नियति सम्झेँ। म डराएँ, र हतार-हतार परमेश्‍वरलाई प्रार्थना गरेँ, “परमेश्‍वर, मेरो देह साह्रै कमजोर छ, कृपया मेरो हृदयको रेखदेख गर्नुहोस्, मलाई आस्था र शक्ति दिनुहोस्, र मलाई मेरो गवाहीमा दृढ रहन मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरेपछि, मैले “म परमेश्‍वरको महिमाको दिन हेर्न चाहन्छु” भन्ने शीर्षकको एउटा भजन सम्झेँ: “परमेश्‍वरले सुम्पनुभएका कुराहरू मुटुमा हुँदा, म शैतानसामु कहिल्यै घुँडा टेक्नेछैनँ। मेरो शिर छिनिएला र मेरो रगत बग्‍ला, तर परमेश्‍वरका मानिसहरूको मेरुदण्डलाई झुकाउन सकिँदैन। म परमेश्वरका लागि जोरदार गवाही दिनेछु, र दियाबलसहरू अनि शैतानलाई अपमानित गर्नेछु। पीडा र कठिनाइहरू परमेश्‍वरले नै पूर्वनिर्धारित गर्नुभएको हो, म मृत्युसम्‍मै उहाँप्रति बफादार र समर्पित हुने छु। म परमेश्‍वरलाई फेरि कहिल्यै रुवाउने छैन वा कहिल्यै चिन्तित तुल्याउने छैन। म मेरो प्रेम र बफादारी परमेश्‍वरलाई अर्पण गर्ने छु र उहाँलाई महिमित तुल्याउन आफ्नो मिसन पूरा गर्ने छु” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)। यो भजनले मलाई आस्था र शक्ति दियो। म दुर्बल कायर बन्न सक्दिनथेँ। यो दुःख परमेश्‍वरबाट आएको आशिष् थियो, र प्रहरीले मलाई जतिसुकै यातना दिए पनि म आफ्नो गवाहीमा दृढ रहनेछु र शैतानसामु कहिल्यै झुक्नेछैन! मैले परमेश्‍वर मेरो छेउमै रहेर, हर समय मलाई मदत र मार्गदर्शन गर्दै, मेरो चट्टान बन्नुभएको महसुस गरेँ, र मेरो हृदय गहन रूपमा प्रभावित भयो। प्रहरीले मैले केही पनि बोल्दिनँ भन्ने देख्यो, त्यसैले उसले मेरो कम्मरको तल्लो भागमा जोडले लात हान्यो, जसले गर्दा म पीडाले चिच्याएँ। मेरो कम्मर भाँचिएजस्तो भयो। म भुइँमा डल्लो परेँ, हलचल गर्न सकिनँ। पीडा सहँदै, मैले रिसाउँदै प्रहरीलाई हेरेँ र भनेँ, “मैले सत्यता पछ्याउन र असल मान्छे बन्नका लागि मात्रै परमेश्‍वरमा विश्‍वास गरेकी हुँ, र मैले कुनै गैरकानुनी काम गरेकी छैन, तर तपाईँ मलाई किन यसरी कुट्दै हुनुहुन्छ?” त्यो प्रहरीले दाह्रा किट्दै भन्यो, “म तँलाई कुट्दैछु किनभने तँ सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्छेस्। तँलाई हेर्नु पनि घृणित लाग्छ। तँ र तेरो जातकाहरू सबै राजनीतिक अपराधी हौ!” मैले भनेँ, “हाम्रो आस्थामा भेला हुनु र परमेश्‍वरका वचनहरू पढ्नु मात्र समावेश छ। हामी राजनीतिमा पटक्कै संलग्न हुँदैनौँ। तपाईँहरू लागुऔषध खानेहरू र अरूलाई छल्ने र ठगी गर्नेहरूलाई बेवास्ता गर्नुहुन्छ, तर परमेश्‍वरमा विश्‍वास गर्ने हामीलाई खेद्नुहुन्छ। के कुनै कानुन त छ?” प्रहरीले जवाफ दियो, “दुर्व्यसनी र ठगहरू आफ्नै स्वार्थका लागि मात्रै त्यसो गर्छन्, तर तिमीहरू फरक छौ। यदि हामीले तिमीहरूलाई पक्रेनौँ भने, मानिसहरूले तिमीहरूलाई पछ्याएर परमेश्‍वरमा विश्‍वास गरे भने, कम्युनिस्ट पार्टीको कसले पनि सुन्नेछैन!” त्यति नै बेला, राष्ट्रिय सुरक्षा ब्रिगेडको कप्तानले मतिर औँला ठड्याउँदै अन्य अधिकारीहरूलाई भन्यो, “यदि यसले कबुल गरिन भने, हाम्रो मिसन पूरा हुनेछैन, र हाम्रो बोनस पनि डुब्नेछ। हामी यसलाई यसरी उम्कन दिन सक्दैनौँ; यसले नबोलेसम्म कुटिरहनू!” त्यसपछि दुई जना प्रहरीले मेरो अनुहारमा मुक्का र थप्पडको वर्षा गर्न थाले, मेरो ओठ फुट्यो र भलभल गत बग्न थाल्यो। तिनीहरूले मलाई हिर्काइरहे र गाली गर्दै भने, “यदि तैँले कबुल गरिनस् भने, म तँलाई कुटेर अन्धो, बहिरो, लाटो, र जीवनभरका लागि अपाङ्ग बनाइदिन्छु! म तँलाई मर्न पाए पनि हुन्थ्यो भनी काम गर्ने बनाइदिन्छु!” दश मिनेटभन्दा बढी समयपछि, मलाई कुटिरहेका ती दुई प्रहरी थाकेर, स्वाँ-स्वाँ गर्दै सोफामा बसेर चुरोट पिउन थाले। त्यसपछि तिनीहरूले मेरो श्रीमान् र छोराछोरीको कुरा निकालेर मलाई फकाउने कोसिस गरे, र यदि मैले कबुल गरिनँ भने मलाई आजीवन कारावासको सजाय दिइनेछ भनी धम्की दिए। मैले सोचेँ, “मेरो सजायको अवधि तिमीहरूको हातमा छैन, यो परमेश्‍वरको हातमा छ। मलाई आजीवन कारावासको सजाय दिइए पनि, मैले आफ्नो गवाहीमा दृढ रहनैपर्छ!” त्यस रात अबेरसम्म पनि, प्रहरीले मबाट मण्डलीबारे कुनै जानकारी पाएका थिएनन्, र तिनीहरू हताश भएर सोधपुछ कक्षबाट बाहिर निस्के। त्यस दिन मलाई दश घण्टाभन्दा बढी समयसम्म यातना दिइयो, एक थोपा पानी वा एक गाँस खाना पनि दिइएन। मेरो पूरै शरीर कमजोरी र दुखाइले भरिएको थियो र मेरा खुट्टामा उभिने ताकत थिएन। पछि त्यही रात, दुई जना प्रहरीले मलाई घिसारेर गाडीमा हाले र हिरासत केन्द्रमा लगे।

हामी त्यहाँ पुग्दा रातिको २ बजिसकेको थियो, र प्रहरीले ड्युटीमा रहेका महिला प्रहरीहरूलाई म ‘पूर्वीय बिजुली’ को सदस्य हुँ भनेर बताए, र जेलकी नाइकेलाई “मेरो राम्ररी ख्याल राख्न” निर्देशन दिए। म जेलको कोठामा पुग्दा, एक जना महिला प्रहरीले जेलकी नाइकेलाई मैले नसुन्ने गरी केही कानेखुसी गरी। जेलकी नाइकेले अरू सुतिरहेका कैदीहरूलाई उठाएर चिच्याई र मलाई भुइँमा पछारी। उसले तिनीहरूलाई चिच्याउँदै भनी, “यसलाई कुट! यो ‘पूर्वीय बिजुली’ को सदस्य हो।” छ जना कैदीहरू अगाडि बढे। कसैले मलाई लात हाने, कसैले मेरो कपाल लुछे, र मैले आफ्नो टाउको हातले छोपेर, डल्लो परेर तिनीहरूलाई हिर्काउन दिनुबाहेक केही गर्न सकिनँ। जेलकी नाइके छेउमा उभिएर मलाई गाली गरी, “कसले तँलाई ‘पूर्वीय बिजुली’ मा लाग्न लगायो? तेरो परमेश्‍वर तँलाई बचाउन किन आउँदैन? यदि तैँले परमेश्‍वरमा विश्‍वास गर्न छोडिस् भने, हामी तँलाई कुट्न छोड्नेछौँ।” पिटाइ खाएर भुइँमा छटपटाउँदै गर्दा, मैले बुझेँ, प्रहरीले जेलकी नाइकेलाई “मेरो राम्ररी ख्याल राख्न” भन्दा, तिनीहरूले उसलाई मलाई यातना दिन भनिरहेका थिए। मैले यी दियाबलसहरूलाई मेरो हृदयको गहिराइबाट घृणा गरेँ! तिनीहरूले मलाई आधा घण्टाभन्दा बढी समयसम्म कुटे, र त्यसपछि जेलकी नाइकेले मलाई रातिको ड्युटीमा शौचालयको छेउमा बस्न लगाई। मलाई यति नराम्ररी यातना दिइएको थियो कि मसँग टाउको उठाउने ताकतसमेत थिएनँ। म बिस्तारै हलचल गरेर शौचालयको भित्तामा अडेस लाग्न मात्र सकेँ। म झपक्क निदाउन लागेको मात्र के हुन्थेँ, बेला-बेलामा मानिसहरू शौचालय जान उठेको सुन्थेँ, र कतिपयले त पिसाब फेरिसकेपछि मलाई लात हान्थे। शौचालयको दुर्गन्धले गर्दा मलाई वाकवाकी लाग्न खोज्थ्यो। बाल्यकालदेखि नै मेरा आमाबुबाले मलाई सधैँ धेरै माया गर्नुभएको थियो, र बिहेपछि मेरो श्रीमानले पनि मलाई राम्रो व्यवहार गर्नुभएको थियो। कसैले पनि मलाई कहिल्यै यस्तो व्यवहार गरेको थिएन। मैले परमेश्‍वरमा विश्‍वास गरेकै कारण, मैले यस्तो घोर यातना र अपमान सहनु परिरहेको थियो। मलाई गहिरो अन्याय भएको महसुस भयो। तिनीहरूले मलाई अझै कुटिरहने हुन् कि, मैले यो ठाउँमा कति समय बस्नुपर्ने हो, वा मैले यो सहन सक्छु कि सक्दिनँ भन्ने मलाई थाहा थिएन। मैले यसबारे जति धेरै सोचेँ, त्यति नै नराम्रो लाग्यो, र मैले आँसु थाम्न सकिनँ। त्यति नै बेला, मैले “तिम्रो कष्ट जति ठूलो भए पनि परमेश्‍वरलाई प्रेम गर्ने प्रयास गर” भन्ने भजन सम्झेँ: “यी आखिरी दिनहरूका अवधिमा तिमीहरूले परमेश्‍वरको निम्ति गवाही दिनैपर्छ। तिमीहरूका कष्टहरू जतिसुकै ठूला भए पनि, तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि, तिमीहरू परमेश्‍वरप्रति बफादार रहनैपर्छ र तिमीहरूले आफूलाई परमेश्‍वरको योजनाबद्ध कार्यको कृपामा राख्नुपर्छ; यो मात्रै परमेश्‍वरलाई साँच्चै प्रेम गर्नु हो, र यो मात्र बलियो र गुन्जायमान गवाही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्)। परमेश्‍वरका वचनहरूबारे चिन्तन गर्दै गर्दा, मैले महसुस गरेँ, जब मलाई गिरफ्तारी र सतावटको सामना गर्नुपरेको थिएन, मलाई सधैँ परमेश्‍वरप्रतिको मेरो आस्था धेरै बलियो छ जस्तो लाग्थ्यो, र म मण्डलीमा सबै कुरामा सधैँ अगाडि हुन्थेँ। कर्तव्य पूरा गर्दा अरूले सहन नसक्ने दुःख पनि म सहन सक्थेँ, र सधैँ आफूलाई परमेश्‍वरलाई सबैभन्दा धेरै प्रेम गर्ने व्यक्ति ठान्थेँ। तर अहिले, गिरफ्तारी र यातना भोगेपछि, मैले मेरो कद कति सानो रहेछ भन्ने देखेँ। थोरै दुःख र अपमानले गर्दा नै, म यो वातावरणबाट उम्कन चाहन्थेँ, जसले ममा कुनै आज्ञाकारीता र परमेश्‍वरमा एकदमै थोरै आस्था भएको देखायो। मैले यो पनि सम्झेँ कि जहिले म कमजोर हुन्थेँ, परमेश्‍वरले मलाई उहाँका वचनहरू प्रयोग गरेर मार्गदर्शन र अगुवाइ गर्नुहुन्थ्यो, र मलाई बारम्बार शैतानका षड्यन्त्रहरू खुट्ट्याउन मदत गर्नुहुन्थ्यो। परमेश्‍वरको प्रेम साँच्चै महान् छ। मैले आफैसँग सङ्कल्प गरेँ, “जबसम्म मेरो सास चल्छ, म शैतानसामु कहिल्यै झुक्नेछैन!”

भोलिपल्ट बिहानै, जेलकी नाइके उठी, शौचालय गई, र मलाई लात हान्दै मलाई उठेर शौचालय सफा गर्न भनी। दश घण्टाभन्दा बढी समयसम्म प्रहरीको यातना खेपेपछि, मेरो पूरै शरीर पीडाले ग्रस्त थियो, र मसँग बोल्ने तागतसमेत थिएन, शौचालय सफा गर्नु त परको कुरा। म नचलमलाएको देखेर, जेलकी नाइकेले अरू कैदीहरूलाई मलाई फेरि कुट्न अह्राई। मलाई कुटेर भुइँमा पछारियो, म मुस्किलले होसमा थिएँ। एक जना दोषी ठहरिएको हत्याराले क्रूर हुँदै भनी, “यसलाई सजिलै नछोड। यसलाई उठाएर शौचालय सफा गर्न लगाऊ!” यति भनेपछि, केही कैदीहरूले मलाई घिसारेर शौचालय लगे, र मेरा हातहरू जबरजस्ती शौचालयभित्र हालिदिए। तल हेर्दा, मैले शौचालय दिसाले भरिएको देखेँ, र त्यसको दुर्गन्धले मलाई वाकवाकी लाग्यो र बान्ता भयो। कैदीहरू नाक थुनेर एकातिर उभिएर बेस्सरी हाँसिरहेका थिए। तिनीहरूको हाँसो भयानक र डरलाग्दो थियो र नरकबाट आएजस्तो सुनिन्थ्यो। तिनीहरूले मलाई त्यतिमै अपमान गर्न छोडेनन्। त्यो हत्याराले मेरो पाखुरा समातेर, मेरा हातले शौचालय धुन बाध्य पारी, र मलाई चेतावनी दिई, “यदि तैँले यो शौचालय चम्किलो हुने गरी सफा गरिनस् भने, म तँलाई मार्छु! तँजस्ता विश्‍वासीहरू यहाँ कुटेर मरे पनि कसैलाई मतलब हुँदैन!” शौचालय सफा गरेपछि, तिनीहरूले मलाई भुइँमा घुँडा टेकेर भुइँ पुछ्न लगाए, र मैले अगाडिको भाग पुछिसक्नेबित्तिकै, जेलकी नाइकेले जानी-जानी भर्खरै सफा गरेको ठाउँलाई फोहोर बनाई, र त्यसपछि आदेश दिई, “फर्केर फेरि पुछ्। सफा भएन भने खानेकुरा पाउँछु भनेर नसोचे पनि हुन्छ!” मसँग फर्केर फेरि पुछ्नुबाहेक अरू विकल्प थिएन। खाना खाने बेला, मैले पाउरोटी लिन हात बढाउन लाग्दा, जेलकी नाइकेले मेरो पाउरोटी खोसी, त्यसलाई टुक्रा-टुक्रा पारी, भुइँमा फ्याँकिदिई, र ती टुक्राहरूलाई खुट्टाले हान्दै भनी, “राम्ररी कबुल गर्दिनस् भने, तँलाई पाउरोटी खान पाउँछु जस्तो लाग्छ? तँ त भोकै मर्न लायककी मात्र छेस्!” दिनहरू यसरी नै बित्दै गए, कैदीहरूले मलाई हरेक दिन शौचालय सफा गर्न र भुइँ पुछ्न लगाउँथे, र राति तिनीहरू मलाई सुत्न दिँदैनथे।

चौथो दिनको बिहान, प्रहरी फेरि मलाई सोधपुछ गर्न आए। त्यो हिउँदको कठ्याङ्ग्रिँदो जाडोको समय थियो, र म सोधपुछ कक्षमा पस्नेबित्तिकै, प्रहरीले मेरो भुवादार ज्याकेट च्यातिदिए र आक्रामक हुँदै भने, “यदि तैँले कबुल गरिनस् भने, आज हामी तँलाई चिसोले नै मार्छौँ!” मैले एउटा पातलो स्वेटर मात्र लगाएकी थिएँ र थरथर काँपिरहेकी थिएँ। प्रहरीले मलाई घिसारेर भित्तामा लगे र रेडिएटरमा झुन्ड्याइदिए, मेरा खुट्टाका औँलाले मुस्किलले भुइँ छोएका थिए। लगभग एक घण्टा जतिपछि, राष्ट्रिय सुरक्षा ब्रिगेडको कप्तान भित्र पस्यो, मलाई रेडिएटरबाट तल झार्‍यो, मलाई हेरेर मुसुक्क हाँस्यो, र भन्यो, “म कहिल्यै मान्छे कुट्दिनँ, म चाहन्छु, तँ आफै मलाई साँचो कुरा बता। तँ आफै कबुलनामा लेख्छेस्, कि तँ बोलेर मलाई सुनाउँछेस्? हामीले गएका केही दिनमा तेरो अवस्थाबारे फेरि अनुसन्धान गर्‍यौँ। तँ अगुवा होस्, र अब हामीसँग त्यो पुष्टि गर्न साक्षी र प्रमाण दुवै छ, तर हामी चाहन्छौँ, तँ आफै स्वीकार गर्। यदि तैँले कबुल गरिस् भने, हामी तँलाई तुरुन्तै तेरो परिवारकहाँ घर पठाइदिन्छौँ।” एक जना महिला प्रहरी पनि मेरो अगाडि बसेर उनीहरूकै कुरामा सही थाप्दै भनी, “हामी तेरो घर गएका थियौँ, तेरो श्रीमान् दुःखी देखिन्थ्यो, र तेरा छोराछोरीहरू ‘आमा चाहियो’ भनेर रोइरहेका थिए। आमा भएर तँ कसरी तिनीहरूलाई त्याग्न सक्छेस्? के तँ आमा बन्न लायक छेस्? छिटो गर् र मण्डलीमा के भइरहेको छ भन्, अनि हामी तँलाई तुरुन्तै परिवारसँग पुनर्मिलन गराउन घर पठाइदिन्छौँ।” प्रहरीले भनेका कुराले मलाई निकै दुविधामा पार्‍यो, “के म सबै कुरा कबुल गरिदिऊँ, ताकि म घर गएर छोराछोरीको हेरचाह गर्न सकूँ?” त्यसपछि मैले यहूदाको अन्त्य सम्झेँ र यो शैतानको षड्यन्त्र हो भन्ने बुझेँ। प्रहरीले मलाई परमेश्‍वरलाई धोका दिन लगाउन स्नेहको प्रयोग गर्न खोजिरहेका थिए। तिनीहरूका तौरतरिका साँच्चै घृणित थिए! मेरा छोराछोरीको हेरचाह गर्न र आमाका रूपमा मेरा जिम्मेवारी पूरा गर्न नसक्नु सबै तिनीहरूकै गल्ती थियो। मेरो कर्तव्य पूरा गर्नु र परमेश्‍वरमा विश्‍वास गर्नु पूर्णतः स्वाभाविक र न्यायसङ्गत कुरा हो, र मैले कुनै गैरकानुनी काम गरेकी थिइनँ, तर तिनीहरूले मलाई बिनाकारण पक्राउ गरेर यातना दिएका थिए, र अब असल मान्छे भएको नाटक गर्दै, मैले छोराछोरीको हेरचाह नगरेकाले म राम्रो आमा होइन भन्दै थिए। तिनीहरू तथ्यलाई बङ्ग्याउँदै थिए र सेतोलाई कालो र कालोलाई सेतो भन्दै थिए! मेरा छोराछोरी मेरो सबैभन्दा ठूलो कमजोरी थिए, त्यसैले मैले अझ धेरै प्रार्थना गर्नुपर्थ्यो र परमेश्‍वरमा भर पर्नुपर्थ्यो। म स्नेहको कारणले परमेश्‍वरलाई धोका दिएर विवेकहीन यहूदा बन्न सक्दिनथेँ। मैले केही नबोलेको देखेर, राष्ट्रिय सुरक्षा ब्रिगेडको कप्तानले मलाई एकदमै नरम स्वरमा भन्यो, “सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको आस्थाका लागि यस्तो दुःख भोग्नु सार्थक छ? अरूले तेरो विश्‍वासबारे हामीलाई जानकारी दिइसकेका छन्; कबुल नगरेर अरूलाई ढाकछोप गर्नु मूर्खता होइन र?” मैले दृढतापूर्वक भनेँ, “तिनीहरूले भनेका वा नभनेका कुरासँग मेरो केही सरोकार छैन। मलाई केही थाहा छैन, र म कसैलाई चिन्दिनँ!” मैले यति भनिसक्नेबित्तिकै, कप्तानले रिसाएर मुट्ठीले टेबुल ठोक्यो, “यदि तैँले कबुल गरिनस् भने, तँलाई साँच्चै तीन वर्षको श्रममार्फत पुनःशिक्षाको सजाय दिइनेछ। हामीले तँलाई बदल्नका लागि पक्राउ गरेका हौँ, त्यसैले गलत काम गर्न जिद्दी गर्न छोड्। छिटो गर् र तँलाई जे थाहा छ, त्यो कबुल गर्! आज तैँले खाएको र पिएको सबै कुरा कम्युनिस्ट पार्टीले दिएको होइन र?” यो सुनेर, मैले कडाइका साथ उसलाई खण्डन गरेँ, “हामीले विश्‍वास गर्ने परमेश्‍वर स्वर्ग, पृथ्वी र यावत् थोक सृष्टि गर्नुहुने अद्वितीय, साँचो परमेश्‍वर हुनुहुन्छ। वसन्त, गृष्म, शरद र हिउँदका चारै ऋतु परमेश्‍वरले नै व्यवस्थापन गर्नुहुन्छ; तपाईँले खाने र पिउने सबै कुरा परमेश्‍वरले नै प्रदान गर्नुभएको होइन र? मानवजातिका लागि परमेश्‍वरको सृष्टिको प्रबन्ध र पोषणविना, के तपाईँ अहिलेसम्म जिउन सक्नुहुन्थ्यो?” म बोलिसक्नेबित्तिकै, उसको अनुहार रिसले अँध्यारो भयो। उसले मतिर औँला ठड्यायो र दाह्रा किट्दै भन्यो, “आज मैले तँलाई यति धेरै कुरा भनेँ, र तैँले एक शब्द पनि सुनिनस्। तँ साँच्चै छुटकारा पाउन लायक रैनछेस्!” अन्तमा, ऊ रिसले चूर हुँदै त्यहाँबाट गयो। केही बेरपछि, अरू दुई जना प्रहरी भित्र आए र आउनेबित्तिकै तिनीहरूले मलाई फेरि रेडिएटरमा झुन्ड्याइदिए। एक जना प्रहरीले बिजुलीको लाठीले मेरो ढाडमा हिर्कायो, र मैले स्वाभाविक रूपमा छल्न खोजेँ, तर हरेक चालले गर्दा हतकडीका दाँतहरू मेरो मासुमा गाडिन्थे र असह्य पीडा हुन्थ्यो। त्यो प्रहरीले मलाई हिर्काउँदै गाली गर्‍यो, “के तँ अझै शहीद हुन खोज्दै छेस्? आज हामीले तँलाई कुटेर मारेनौं भने पनि, हामी तँलाई आजीवन कारावासको सजाय दिनेछौँ!” त्यसपछि उसले मेरो कपाल समात्यो र मेरो टाउको भित्तामा ठोक्कायो। त्यो ठक्करले मेरो टाउको रिङियो र म दिग्भ्रमित भएँ, मेरो निधारमा तुरुन्तै एउटा ठूलो टुटुल्को उठ्यो, र मेरा आँखाहरू नराम्ररी सुन्निए। त्यसपछि उसले फेरि मेरो कपाल समात्यो र बालुवाको बोरालाई हिर्काएजस्तै मुक्का हान्न थाल्यो। म पीडाले चिच्याएँ, मेरा हड्डीहरू भाँचिएजस्तो र मेरो छाती अवरुद्ध भएजस्तो लाग्यो, जसले गर्दा सास फेर्न गाह्रो भयो। उसले मलाई गाली गर्दै कुट्यो, “तँलाई त परमेश्‍वरले पूरै गाँजेछ। तेरो मुख कडा कि मेरो मुक्का कडा, हेरौँला। जसरी भए पनि, आज हामी तेरो मुख खोलेरै छोड्नेछौँ!” यसो भन्दै, उसले मेरो टाउकोमा जोडले एक मुक्का हान्यो, मेरो आँखाअगाडि अँध्यारो छायो, र म तुरुन्तै बेहोस भएँ। कति समयपछि म होसमा आएँ, मलाई थाहा थिएन। त्यो प्रहरीले मलाई चिच्याउँदै भन्यो, “अझै मरेको नाटक गर्छेस्? यदि कबुल गरिनस् भने, म तँलाई बाहिर लगेर पहरेदार कुकुरहरूलाई खुवाइदिन्छु!” म बाँच्नु वा मर्नु परमेश्‍वरको हातमा छ भन्ने मलाई थाहा थियो। परमेश्‍वरको अनुमतिविना, प्रहरीले मलाई केही गर्न सक्दैनथ्यो। तिनीहरूले मेरो शरीरलाई यातना दिएर मेरो ज्यान लिए पनि, मेरो प्राण परमेश्‍वरको हातमा थियो। यो सोचले मलाई कम डर लाग्यो। मैले मनमनै सङ्कल्प गरेँ, “म कुटाइ खाएर मारिए पनि, म आफ्नो गवाहीमा दृढ रहनेछु। म कहिल्यै यहूदा बन्नेछैन!”

मलाई तीन दिन र तीन रात रेडिएटरमा झुन्ड्याइयो। मलाई लामो समयसम्म त्यहाँ झुन्ड्याइएकाले, मेरा दुवै खुट्टा र पैतालाहरू सुन्निएका थिए। मेरो कम्मरदेखि खुट्टासम्मको पीडा असह्य भयो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म अझै कति समय सहन सक्छु, मलाई थाहा छैन। मैले यो यातना सहन नसक्ने हो कि भनी म चिन्तित छु। हे परमेश्‍वर! कृपया मेरो ज्यान लिनुहोस्। म यहूदा बन्नुभन्दा बरु मर्न तयार छु।” प्रार्थना गरेपछि, मैले मेरो पूरै शरीरमा चिसो महसुस गरेँ। मेरा खुट्टा र पैताला संवेदनहीन भए र मैले पीडा महसुस गर्न छोडेँ। जब परमेश्‍वरले मेरो पीडा हटाइदिनुभयो, मैले उहाँका चमत्कारी कार्यहरू देखेँ, र मैले मेरो हृदयमा निरन्तर परमेश्‍वरलाई धन्यवाद दिइरहेँ। भोलिपल्ट बिहान, जब प्रहरीले मैले अझै केही नबोलेको देखे, तिनीहरूले मलाई चिच्याउँदै भने, “तँलाई के लाग्छ, तँ अझै कति समय सहन सक्छेस्? तेरो अनुहार हेर्—त्यो कति धेरै सुन्निएको छ, र तँ मान्छे जस्तो पनि देखिन्नस्! मण्डलीलाई धोका नदिनका लागि, तँ यो सबै भोग्दै छेस्, आफ्नो श्रीमान् र छोराछोरीलाई त्याग्दै छेस्। के तँलाई साँच्चै यो सार्थक छ जस्तो लाग्छ?” उसले थप्यो, “यदि तँलाई आफ्नै ज्यानको वास्ता छैन भने, त्यो एउटा कुरा हो। तर आफ्ना छोराछोरी र श्रीमानबारे सोच्; तिनीहरू तँ घर फर्किने प्रतीक्षामा छन्। इमानदारीपूर्वक कबुल गर्, अनि तैँले यो पीडा उप्रान्त सहनुपर्नेछैन।” यी शब्दहरू सुनेर, मलाई निकै रिस उठ्यो, र सोचेँ, “मलाई पक्राउ गरेर, मेरो परिवारलाई तोडेर, र म घर फर्कन असम्भव बनाएर, स्पष्ट रूपमा तिमीहरू नै मलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोकिरहेका छौ। तिमीहरू मलाई सास्ती दिनका लागि यातना समेत प्रयोग गर्छौ, अनि त्यसपछि मलाई मेरो आस्थाका खातिर मैले मेरा छोराछोरी र श्रीमान्लाई त्यागेको आरोप लगाउँछौ। यो त सत्यलाई पूरै उल्टाउनु हो! चोरले ‘चोर!’ भनेर कराएको जस्तो!” मैले परमेश्‍वरले भनेका कुरा सम्झेँ: “हजारौँ वर्षदेखिको फोहोर रहिआएको यो भूमि असहनीय रूपमा फोहोर छ, यसमा प्रचुर दुःख छ, प्रेतहरू जालझेल र छल गर्दै, आधारहीन आरोपहरू लगाउँदै, क्रूर उपाय अपनाउँदै, यो भूतको सहरलाई कुल्चिमिल्ची गर्दै र त्यसमा लासहरू छरपस्ट छोड्दै जताततै अनियन्त्रित रूपमा दगुर्छन्; कुहिएको दुर्गन्धले भूमिलाई ढाक्छ र त्यो हावामा फैलिन्छ, र त्यसलाई कडा सुरक्षामा राखिन्छ। आकाशभन्दा परको संसार कसले देख्न सक्छ? … के प्राचीनका पुर्खाहरू? के प्रिय अगुवाहरू? तिनीहरू सबै परमेश्‍वरको विरोध गर्छन्! तिनीहरूको हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। के धार्मिक स्वतन्त्रता? के नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै दुष्टतालाई ढाकछोप गर्ने युक्तिहरू हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८))। कम्युनिस्ट पार्टी विश्‍वासको स्वतन्त्रतालाई समर्थन गर्ने दाबी गर्छ, तर भित्रभित्रै, यसले निर्दयतापूर्वक इसाईहरूलाई दमन गर्छ, पक्राउ गर्छ, र सताउँछ, जसको उद्देश्य परमेश्‍वरको कामलाई नष्ट गर्नु, मानिसहरूलाई परमेश्‍वरमा विश्‍वास गर्न वा उहाँको आराधना गर्नबाट रोक्नु, र सबैलाई त्यसको आज्ञापालन गर्न लगाउन नियन्त्रण गर्नु, र अन्ततः त्यससँगै नाश हुन लगाउनु हो। कम्युनिस्ट पार्टीको क्रूरता र यातना अनुभव गरेपछि, मैले त्यसको साँचो दुष्ट सार देखेँ। यो परमेश्‍वरको विरोध गर्ने र मानिसहरूलाई हानि गर्ने एउटा पिशाच हो, र मैले यसप्रति गहिरो घृणा विकास गरेँ। मैले ठूलो रातो अजिङ्गरविरुद्ध पूर्ण रूपमा विद्रोह गर्ने र त्यसलाई तिरस्कार गर्ने सङ्कल्प गरेँ। यो सोच्दा, मैले मेरो नाडीको पीडा बिर्सेँ, र परमेश्‍वरसामु घुँडा टेकेर मेरो हृदय पोख्न उत्कट रूपमा चाहेँ। त्यस क्षणमा, मेरो शरीर अचानक खुकुलो भयो, र चामत्कारिक रूपमा, हतकडी खुल्यो। मैले भुइँमा घुँडा टेकेँ, रोएँ र मनमनै प्रार्थना गरेँ, “हे परमेश्‍वर! मैले तपाईँका अद्भुत कार्यहरू देखेकी छु। मेरो देह कमजोर भए पनि, तपाईँ सधैँ मेरो साथमा रहँदै, मेरो रेखदेख र सुरक्षा गर्दै आउनुभएको छ। तपाईँको प्रेम निकै वास्तविक छ!” राष्ट्रिय सुरक्षा ब्रिगेडको कप्तान यो देखेर स्तब्ध भयो। मैले प्रार्थना गरिसकेपछि, जब दुई जना प्रहरी मलाई फेरि हतकडी लगाउन अगाडि बढ्न लागेका थिए, कप्तान आत्तिँदै चिच्यायो, “हलचल नगर, पछाडि हट!” ती दुई प्रहरी यति डराए कि तिनीहरूले हलचल गर्ने आँट गरेनन्। त्यसपछि कप्तानले आदेश दियो, “यो प्रार्थना गर्दै छे र हामीलाई सराप्दै छे; छिटो पछाडि हट!” ती दुई प्रहरी अलि पछाडि हटे, त्यहीँ उभिए, हलचल गर्ने आँट गरेनन्, र मलाई एकटक लगाएर हेरिरहे। लगभग आधा घण्टासम्म, कोठा शान्त रह्यो। पछि, एक जना प्रहरीले हतकडी उठाएर सोध्यो, “यो कसरी खुल्यो? के उसले विश्‍वास गर्ने परमेश्‍वर साँच्चै अस्तित्वमा हुन सक्नुहुन्छ? यो हतकडी त भाँचिएको छैन! म विश्‍वास गर्दिनँ। यसलाई अर्को हतकडी लगाइदिउँ र झुन्ड्याइदिउँ!” यसो भन्दै, तिनीहरूले मलाई फेरि हतकडी लगाएर झुन्ड्याइदिए। त्यसपछि ती दुई प्रहरीले मेरो शरीरलाई डोरीको पिङजस्तै मच्चाउन थाले, र हरेक पटक मच्चाउँदा, हतकडी मेरो मासुमा गाडिन्थ्यो। मेरा हातहरू त्यो असह्य पीडाले च्यातिन लागेजस्तो महसुस भयो, र म नचिच्याइ रहन सकिनँ। प्रहरीहरू छेउमा उभिए, र मुस्कुराउँदै भने, “अझै रुँदै छेस्? तेरो परमेश्‍वरले चमत्कार देखाउनुपर्ने होइन र? तँलाई अझै दुख्छ? आज हामी तेरा पाखुरा भाँच्नेछौँ!” यी दियाबलसहरूले मानिसहरूलाई यातना दिनमा कसरी आनन्द लिन्छन् भन्ने देखेर, म रुन छोडेँ, र मनमनै सङ्कल्प गरेँ, “तिनीहरूले मलाई यातना दिएर मारे पनि, मैले आफ्नो गवाहीमा दृढ रहनैपर्छ!” अन्तमा, प्रहरीले मबाट कुनै प्रमाण नपाउने देखे, र निराश हुँदै भने, “हामीले यसलाई तीन दिन र तीन रात सोधपुछ गर्‍यौँ तर केही पाएनौँ। त्यसैले यो आधा मरिसकेकी जस्तो देखिने हुनाले, यसलाई तीन वर्षको श्रममार्फत पुनः शिक्षाको सजाय दिऊँ!” त्यसपछि प्रहरीले मलाई हिरासत केन्द्रमा फिर्ता लगे।

जेलको कोठामा फर्किएपछि, कैदीहरू मलाई यसरी कुटिएको देखेर छक्क परे, र तिनीहरू अविश्‍वासमा आपसमा कुरा गर्न थाले, “तिनीहरू कसैलाई यसरी कसरी कुट्न सक्छन्? हामी हत्यारा र लागुऔषध दुर्व्यसनीहरूले यस्तो कुटाइ खानु स्वाभाविक हो, तर ऊ त केवल एक विश्‍वासी हो, उसले कुनै गैरकानुनी काम गरेकी छैन र पनि यसरी कुटाइ खाई। यो संसार कस्तो भयानक ठाउँ हो!” एक जना कैदीले मलाई भनी, “परमेश्‍वरमा विश्‍वास गर्नका लागि तपाईँमा कस्तो अठोट रहेछ। तपाईँको बोली र व्यवहारबाट, तपाईँ एक असल मान्छे हो भन्ने स्पष्ट हुन्छ। मैले मान्छे मारेकी छु, त्यसैले यो जुनीमा परमेश्‍वरमा विश्‍वास गर्ने मौका कहिल्यै पाउनेछैन, तर अर्को जुनीमा, म पनि परमेश्‍वरमा विश्‍वास गरेर एक असल मान्छे बन्नेछु।” कैदीहरूले यसो भनेको सुनेर, मलाई थाहा भयो, यो मेरो आफ्नै भलाइ नभई परमेश्‍वरका वचनहरूको मार्गदर्शनको प्रभाव हो।

प्रहरीले मबाट सोधपुछ गरेर केही पनि पाउन सकेन र अन्ततः मलाई तीन वर्षको श्रममार्फत पुनः शिक्षाको सजाय सुनायो। जब मैले आफूले अझै तीन वर्ष सजाय भोग्नुपर्छ भन्ने थाहा पाएँ, तब यो कहिले अन्त्य हुनेछ भन्ने थाहा नपाएर, मलाई साह्रै कमजोर महसुस भयो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र उहाँले मलाई मेरो गवाहीमा दृढ रहन मार्गदर्शन गर्नुहोस् भनी बिन्ती गरेँ। मैले “साँचो विश्‍वास भएकाहरूले मात्र परमेश्‍वरको स्वीकृति प्राप्त गर्छन्” भन्ने परमेश्‍वरका वचनहरूको भजन सम्झेँ: “जब मोशाले चट्टानलाई हिर्काए र यहोवाले दिनुभएको पानी निस्कियो, त्यो उनको विश्‍वासको कारणले भएको थियो। जब दाऊदले, यहोवाको प्रशंसामा आनन्दले भरिएको हृदयले वीणा बजायो—त्यो उसको विश्‍वासको कारणले भएको थियो। जब अय्यूबले डाँडाकाँडा ढाक्‍ने वस्तुभाउ र असंख्य सम्पत्ति गुमायो र उसको शरीर कष्टकर खटिराले ढाक्यो, त्यो उसको विश्‍वासको कारणले भएको थियो। जब उसले, यहोवाको आवाज सुन्‍न र, यहोवाको महिमा देख्‍न सक्यो, त्यो उसको विश्‍वासको कारणले भएको थियो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (१))। मैले अय्यूब, दाऊद र मोशाबारेमा सोचेँ, जसले आफ्नो आस्थाको कारणले परमेश्‍वरका अद्भुत कार्यहरू देखेका थिए। आज, म मेरो परमेश्‍वरमाथिको आस्थाको कारणले यी कठिनाइहरू भोगिरहेकी थिएँ। परमेश्‍वरले यसको अनुमति दिनुभएको थियो र म समर्पित भएर यो अनुभव गर्न इच्छुक थिएँ।

सन् २००३ को जून महिनामा, प्रहरीले मलाई श्रम-शिविरमा सार्यो। श्रम-शिविरमा रहँदाको समयमा, म हरेक बिहान ५ बजे उठ्थेँ, दिनमा सत्र-अठार घण्टा काम गर्थेँ, र प्रायः बिहान दुई-तीन बजेसम्म ओभरटाइम काम गर्नुपर्थ्यो। यदि मैले राम्ररी काम गरिनँ भने, मलाई सजायका रूपमा उभ्याइन्थ्यो, मेरो सजायको अवधि बढाइन्थ्यो, र काम नसकुञ्जेल आराम गर्न पाइँदैनथ्यो। हरेक रात सुत्नुअघि, मैले शिविरका नियमहरू कण्ठ गर्नुपर्थ्यो, र यदि मैले कण्ठ गर्न सकिनँ भने, मलाई सुत्न दिइँदैनथ्यो। लामो समयको अत्यधिक शारीरिक श्रम र मानसिक तनावले गर्दा, मेरो टाउको हरेक दिन रिङिन्थ्यो, र मेरो उच्च रक्तचाप, मुटुमा बारम्बार हुने दुखाइ, तर्सिँदा हुने आत्तिने समस्या, र कम्मरको डिस्कको समस्याले गर्दा, मलाई निकै गम्भीर पीडा हुन्थ्यो, तर प्रहरीले मलाई केही औषधि दिएर फेरि काम गर्न लगाउँथे। श्रम-शिविरमा, हामी दासजस्तै थियौँ, पूर्ण रूपमा तिनीहरूको कृपामा थियौँ, हामीसँग कुनै मानव अधिकार वा स्वतन्त्रता थिएन। मलाई सान्त्वना दिने एउटै कुरा के थियो भने, श्रम-शिविरमा परमेश्‍वरमा विश्‍वास गर्ने दशभन्दा बढी सिस्टरहरू थिए, र हामी प्रायः एकअर्कालाई परमेश्‍वरका वचनहरू र गीतहरू बाँड्न र एकअर्कालाई प्रोत्साहन दिन खुसुक्क नोटहरू आदानप्रदान गर्थ्यौँ। एक जना सिस्टरले मलाई खुसुक्क एउटा चिठी दिइन्, र जब मैले ब्रदर-सिस्टरहरूको चिठी र हातले सारिएका परमेश्‍वरका वचनहरू देखेँ, मलाई साँच्चै न्यानो र भावुक महसुस भयो। मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “पत्रुसले येशू ख्रीष्टलाई पछ्याउन सक्‍नुको कारण उसको विश्‍वास नै थियो। उसले मेरो खातिर क्रूसमा टाँगिन र महिमामयी गवाही दिन सक्‍नु उसकै विश्‍वासको कारणले भएको थियो। जब यूहन्‍नाले मानिसको पुत्रको महिमामयी प्रतिरूप देख्यो, त्यो उसको विश्‍वासको कारणले भएको थियो। जब उसले आखिरी दिनहरूको दर्शन पायो, त्यो सबै उसकै विश्‍वासको कारणले भएको थियो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (१))। म यति भावुक भएँ कि मैले आँसु थाम्न सकिनँ। परमेश्‍वरलाई मेरो कमजोरी थाहा थियो, र अझ बढी, मेरो आत्माको आवश्यकता थाहा थियो। उहाँले मलाई प्रोत्साहन र मदतको चिठी पठाउन सिस्टरको प्रबन्ध गर्नुभएको थियो, र उहाँले मलाई उहाँका वचनहरूद्वारा मार्गदर्शन र अगुवाइ गर्दै, मलाई आस्था र शक्ति दिइरहनुभएको थियो। मैले परमेश्‍वरको प्रेम साँच्चै कति असीम छ भन्ने महसुस गरेँ, र दुःख पहिले जस्तो खराब लागेन।

सन् २००५ को सेप्टेम्बरमा, मलाई रिहा गरियो र म घर गएँ। यातनाका कारण, मलाई गम्भीर मुटुको रोग लाग्यो र उच्च रक्तचाप भयो, र पानी पर्ने दिनहरूमा, मेरा पाखुरा, कम्मर र खुट्टा नराम्ररी दुख्थे, र लामो समयसम्म हतकडी लगाइएकाले, म मेरा नाडीहरूले अझै पनि गह्रौँ वस्तुहरू उठाउन सक्दिनथे। मेरो सजायपछि म जेलबाट छुटे तापनि, प्रहरीले मलाई निगरानी र अनुगमन गर्न मानिसहरू पठाइरहे, र तिनीहरूले मेरा आफन्त र छिमेकीहरूलाई हर समय मेरा गतिविधिहरूमा नजर राख्न लगाएका थिए। समय-समयमा, तिनीहरू मेरो घरमा मानिसहरू पठाएर म अझै परमेश्‍वरमा विश्‍वास गर्छु कि गर्दिनँ भनेर सोध्थे, र यदि म घरमा नभए, तिनीहरू म कहाँ गएको थिएँ भनेर सोधपुछ गर्थे। मैले सामान्य रूपमा मेरो कर्तव्य पूरा गर्न वा भेलाहरूमा उपस्थित हुन सकिनँ, जसले मलाई धेरै तनाव दियो। कम्युनिस्ट पार्टीद्वारा व्यक्तिगत रूपमा गिरफ्तार गरिएपछि र सताइएपछि, मैले कम्युनिस्ट पार्टीको नीचता र क्रूरता देखेँ, र परमेश्‍वरको विरोध गर्ने र उहाँलाई घृणा गर्ने यसको दुष्ट सारलाई स्पष्ट रूपमा चिनेँ। म यसलाई मेरो हृदयको गहिराइबाट घृणा र इन्कार गर्छु, र साथसाथै, म परमेश्‍वरले मलाई शैतानका षड्यन्त्रहरूलाई चिन्‍न चरणबद्ध रूपमा मार्गदर्शन गर्नुभएकोमा उहाँलाई धन्यवाद दिन्छु, जसले मेरो आस्थालाई बलियो बनायो, र मलाई पिशाचहरूद्वारा हानि गरिनबाट पार पाउन र दियाबलसहरूको गुफाबाट जिउँदै बाहिर निस्कन सक्षम बनायो। मैले साँच्चै परमेश्‍वरको प्रेम र मुक्तिको स्वाद चाखेँ, र म मेरो कर्तव्य राम्ररी पूरा गर्न र परमेश्‍वरको प्रेम चुक्ता गर्नका लागि सक्दो प्रयास गर्न कटिबद्ध छु।

अघिल्लो: ८६. बिमारीको सामना गर्नु परमेश्‍वरको अनुग्रह हो

अर्को: ९०. मैले इमानदार व्यक्ति बन्दाको मिठास चाखेकी छु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

२३. परमेश्‍वरलाई मेरो हृदय दिँदा

क्षिन्चे, दक्षिण कोरियावर्ष २०१८ को जुन महिनामा, मैले राज्यको स्तुतिगानको प्रदर्शनका लागि अभ्यास गरें। परमेश्‍वरको प्रशंसा गर्दै र उहाँको...

२०. सत्यतालाई अभ्यास गर्नु नै सामञ्जस्यतापूर्ण समन्वयको कुञ्जी हो

डोङ्गफेङ्ग, अमेरिकाअगस्त २०१८ मा, मेरो काम ब्रदर वाङसित फिल्मसम्बन्धी सरसामग्री बनाउनु थियो। पहिले त, मैले नजानेको कति धेरै कुरा छ भनी मैले...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्