५३. मेरो कर्तव्यले मेरो स्वार्थीपनलाई खुलासा गर्यो
म दुई वर्षभन्दा बढी समयदेखि भिडियोको कामको सुपरिवेक्षक रहँदै आएको छु। केही समयअघि, कामको आवश्यकताले गर्दा हाम्रो समूहलाई दुईवटा साना समूहमा विभाजित गरियो। सिस्टर लेला एउटा समूहको जिम्मेवारीमा हुनुहुन्थ्यो, र म अर्को समूहको जिम्मेवारीमा थिएँ। सिस्टर लेलाले यो कामको सुपरिवेक्षण गर्न भर्खरै सुरु गर्नुभएको भए तापनि, उहाँले भिडियो उत्पादनमा सधैँ महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गर्नुहुन्थ्यो, र उहाँले प्रायः दाजुभाइ-दिदीबहिनीहरूलाई संयुक्त रूपमा कामको समीक्षा गर्न र प्राविधिक सीपहरू सिक्न अगुवाइ गर्नुहुन्थ्यो। म त्योदेखि त्यति खुसी थिइनँ, र सोचेँ, “यही गतिमा त उनीहरूले पक्कै छिटो प्रगति गर्नेछन् र चाँडै नै मेरो समूहलाई उनीहरूको भन्दा कमजोर भनेर तुलना गरिनेछ।” ममाथि सङ्कटको भावना छायो, र मैले हरेक भिडियोमा राम्रो काम गर्नैपर्छ भनेर आफूलाई सम्झाएँ ताकि लेला र उनको समूहभन्दा पछि नपरियोस्। त्यतिबेला, हामी एउटा भिडियो बनाउँदै थियौँ जुन प्राविधिक रूपमा चुनौतीपूर्ण थियो, र म अन्य दाजुभाइ-दिदीबहिनीहरूसँग मिलेर सम्बन्धित सीपहरू नजिकबाट अध्ययन गर्दै थिएँ। हामीले कठिनाइहरूको सामना गर्दा, म परमेश्वरलाई प्रार्थना गर्थेँ र सबैसँग मिलेर समाधान खोज्थेँ। धेरै कडा परिश्रमपछि भिडियो पूरा भयो, र त्यो हेर्ने दाजुभाइ-दिदीबहिनीहरूले यो राम्रो बनेको छ भने। यो सन्तोषजनक थियो किनकि यसले म चानचुने मान्छे होइन, र लेला र उनको समूहभन्दा बढी सक्षम छु भन्ने देखायो। मैले त्यो भिडियो अन्य समूहका दाजुभाइ-दिदीबहिनीहरूलाई पठाएँ, र केही दिनपछि उनीहरूले भिडियो निकै जीवन्त देखिएको छ भन्दै जवाफ दिए र मैले आफ्नो प्राविधिक सीप कसरी सुधारेँ भनेर सोधे। यो सुनेर म असाध्यै खुसी भएँ र मनमनै सोचेँ, “अब दाजुभाइ-दिदीबहिनीहरू सबैले मैले के गर्न सक्छु भनेर देखेका छन्, उनीहरूले पक्कै पनि मलाई उच्च आदर गर्नेछन् र मेरो प्रशंसा गर्नेछन्।” मैले त्यसपछिका हरेक भिडियोलाई अत्यन्त लगनशीलताका साथ सम्हाल्ने प्रतिज्ञा गरेँ।
त्यसपछि, लेला र उनको समूहले एउटा भिडियो बनाउँदा केही कठिनाइहरूको सामना गरिरहेका थिए, र उनीहरूले मैले ती समाधान गर्न मद्दत गरूँ भन्ने चाहेका थिए। मैले मनमनै सोचेँ, “यो भिडियो तिम्रो जिम्मेवारी हो। यदि मैले यी समस्याहरू समाधान गर्न समय खर्चें भने, मैले यसको श्रेय पाउनेछैन र यसले मेरो आफ्नै कामलाई पनि रोक्नेछ। तिमीहरूको समस्या समाधान गर्न सहयोग गर्नुभन्दा बरु म आफै जिम्मेवार भएको भिडियोमा धेरै मेहनत गर्नु राम्रो।” त्यसैले, मैले उनीहरूलाई सहयोग नगर्ने निर्णय गरेँ। पछि, जब लेलाले अझै समाधान पाउन सकिनन्, उनी फेरि मकहाँ आइन्। उनले तिनीहरूले विभिन्न उपायहरू अपनाएर हेरे पनि सफल नभएको भनेर भनिन्, र विगतमा यस्ता कठिनाइहरू मैले कसरी सम्हालेकी थिएँ भनेर सोधिन्। मैले सोचेँ, “यदि मैले तिम्रो समूहको समस्यामा समय खर्चें र तिमीहरूले मभन्दा राम्रो काम गर्यौ भने, सबैले तिमीले भर्खरै अगुवाको काम सुरु गरेकी भए पनि मभन्दा राम्रो काम गर्छौ भनी सोच्नेछैनन् र? म त कति असक्षम देखिनेछु!” यो कुरा मनमा राखेर, मैले झारा टार्ने किसिमले उनलाई भनेँ कि यसमा मैले गर्न सक्ने केही छैन। लेलासँग फर्किएर कठिनाइहरूबारे थप जाँचबुझ गरिरहनुबाहेक अरू विकल्प थिएन। त्यसपछि उनले भिडियोको एउटा नमुना समूह च्याटमा पठाइन् ताकि हामीले त्यसमा कुनै समस्या छ कि छैन भनेर जाँच्न सकौँ। मैले प्रतिक्रिया दिने योजना बनाएकी थिइनँ, किनकि मलाई भिडियो हेर्नु मेरो समयको बर्बादी हो भन्ने लागेको थियो। तर साथसाथै यदि मैले त्यो हेरिनँ भने, दाजुभाइ-दिदीबहिनीहरूले म कामको निरीक्षणमा लापरवाह र समूह अगुवाका रूपमा गैरजिम्मेवार छु भनी भन्लान् भन्ने चिन्ता पनि मलाई थियो, त्यसैले, मैले अनिच्छापूर्वक फाइल खोलेँ र भिडियो हेरेँ। मैले धेरै ठाउँमा समस्याहरू पाएँ, तर मैले तीबारे ध्यान दिएर सोचिनँ। त्यसपछि लेलाले त्यो भिडियो अगुवालाई पठाइन्, जसले धेरै समस्याहरू औँल्याउनुभयो, त्यसैले उनीहरूको भिडियो पुनः काम बनाएर सुधार्नुपर्यो। फलस्वरूप कामको प्रगतिमा ढिलाइ भयो। पछि, जब अगुवा मसँग कामको समीक्षा गर्न आउनुभयो, उहाँले मेरा समस्याहरू औँल्याउनुभयो र भन्नुभयो, “जब हामी मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्छौँ, हामी काम त बाँड्छौँ, तर यसको मतलब यो होइन कि हामी एकअर्काबाट स्वतन्त्र भएर काम गर्छौँ। तिमी समूह अगुवा हौ, त्यसैले तिमीले धेरै बोझ उठाउनुपर्छ। लेलाले भर्खरै समूह अगुवाका रूपमा अभ्यास गर्न थालेकी छिन्, त्यसैले तिमीले उनले र उनको समूहले बनाउने भिडियोहरूलाई अझ नजिकबाट जाँच्नुपर्छ, ताकि केही समस्याहरू समयमै समाधान गर्न सकियोस्।” त्यसपछि मैले महसुस गरेँ कि यो ढिलाइको जिम्मेवारीबाट म पन्छिन सक्दिनँ, किनकि यो सबै मेरो अत्यधिक स्वार्थीपन, केवल आफ्नै काममा ध्यान दिनु र लेलासँग सहकार्य गर्न अस्वीकार गर्नुको कारणले भएको थियो। यद्यपि, मैले यस विषयमा गहिरो गरी चिन्तन गरिनँ। त्यसपछि जबजब म भिडियो बनाउँथेँ, मेरो सोचाइ अस्पष्ट हुन्थ्यो, र मलाई झुम्म र अलमलिएको महसुस हुन्थ्यो। मैले दाजुभाइ-दिदीबहिनीहरूको कर्तव्यमा रहेका समस्याहरू पत्ता लगाउन सकिनँ, र प्रार्थना गर्दा के भन्ने समेत मलाई थाहा हुँदैनथ्यो। मैले आफू सही स्थितिमा नभएको, र परमेश्वरले आफ्नो मुहार मबाट लुकाउनुभएको कुरा बुझेँ। त्यसैले, म परमेश्वरको सामुन्ने खोज्दै र प्रार्थना गर्दै आएँ, र उहाँलाई मलाई आफूलाई बुझ्नतर्फ डोऱ्याउनुहोस् भनी अनुरोध गरेँ।
एक रात, सुत्नुअघि, मैले आफ्नो हालैको प्रस्तुतिबारे चिन्तन गरेँ। मैले कसरी परमेश्वरले आफ्नो कर्तव्य निर्वाह गर्दा आफ्नै कामको मात्र वास्ता गर्ने ख्रीष्टविरोधीहरूलाई खुलासा गर्नुहुन्छ भन्नेबारे सोचेँ। मैले परमेश्वरका वचनहरूको यो खण्ड भेट्टाएँ: “ख्रीष्टविरोधीहरूसित कुनै विवेक, समझ वा मानवता हुँदैन। तिनीहरू लाज पचाउने मात्र हुँदैनन्, त्यसमाथि तिनीहरूसित अर्को पहिचान पनि हुन्छ: तिनीहरू असामान्य रूपले स्वार्थी र नीच हुन्छन्। तिनीहरूको ‘स्वार्थीपन र नीचता’ को शाब्दिक अर्थ बुझ्न त्यति गाह्रो छैन: तिनीहरूले आफ्नो हितबाहेकका सबै कुराप्रति आँखा चिम्लन्छन्। आफ्ना हितहरूसित सम्बन्धित जुनसुकै कुरामा तिनीहरूको पूरा ध्यान जान्छ र तिनीहरूले यसका लागि दुःख भोग्नेछन्, मूल्य चुकाउनेछन्, तिनीहरूले आफैलाई त्यसमा तल्लीन बनाउनेछन् र आफूलाई त्यसमा समर्पित गर्नेछन्। तिनीहरूको हितसित सम्बन्धित नभएको कुनै पनि थोकप्रति तिनीहरूले आफ्ना आँखा बन्द गर्छन् र त्यसमा कुनै ध्यान दिँदैनन्; अरूले आफूलाई जस्तो मन लाग्यो त्यसै गर्न सक्छन्—कुनै व्यक्तिले बाधा वा अवरोध पुर्याइरहेको भए पनि ख्रीष्टविरोधीहरू त्यसलाई वास्ता गर्दैनन् र तिनीहरूलाई यो कुराको सरोकार तिनीहरूसित हुँदैन भन्ने लाग्छ। व्यावहारिक रूपमा भन्नुपर्दा तिनीहरूले आफ्नै काममा ध्यान दिन्छन्। तर यस किसिमको व्यक्ति नीच, तुच्छ र घिनलाग्दो हुन्छ भन्दा अझै सटीक हुन्छ; हामी तिनीहरूलाई ‘स्वार्थी र नीच’ को रूपमा परिभाषित गर्दछौँ। ख्रीष्टविरोधीहरूको स्वार्थीपन र नीचता कसरी प्रकट हुन्छ? आफ्नो प्रतिष्ठा वा इज्जतमा फाइदा पुर्याउने कुनै पनि कुरामा तिनीहरूले गर्नुपर्ने वा भन्नुपर्ने कुराहरू गर्न वा भन्नलाई जोड गर्छन् र तिनीहरूले स्वेच्छिक रूपमा कष्ट सहन्छन्। तर परमेश्वरको घरले बन्दोबस्त गरेको काम वा परमेश्वरका चुनिएका मानिसहरूको जीवन वृद्धिमा फाइदा पुर्याउने कामको हकमा तिनीहरूले यसलाई पूर्ण रूपमा बेवास्ता गर्छन्। दुष्ट मानिसहरूले बाधा र अवरोध गर्दा र हरप्रकारको दुष्ट काम गर्दा, त्यसरी मण्डलीको काममा गम्भीर असर पुर्याउँदा पनि तिनीहरू उदासीन र निस्फिक्री रहन्छन्, मानौं तिनीहरूसँग त्यसको केही सम्बन्ध नै छैन। अनि यदि कसैले थाहा पाएर कुनै दुष्ट व्यक्तिका दुष्ट कार्यहरूबारे उजुरी गऱ्यो भने तिनीहरूले केही देखेको छैन भन्दै अनभिज्ञ भएको बहाना गर्छन्। … तिनीहरूले चाहे जुनै कार्यको जिम्मा लिए पनि ख्रीष्टविरोधीहरू परमेश्वरको घरका हितहरूबारे कहिल्यै केही पनि सोच्दैनन्। तिनीहरू आफ्ना हितहरू प्रभावित होलान् कि भन्ने मात्र सोच्छन्, तिनीहरू आफ्नो अगाडि भएको र आफूलाई फाइदा गर्ने थोरै कामको बारेमा मात्र सोच्छन्। तिनीहरूका लागि मण्डलीको प्राथमिक काम आफ्नो फुर्सदको समयमा गर्ने काम मात्र हुन्छ। तिनीहरूले यसलाई कुनै गम्भीरतासाथ लिँदैनन्। तिनीहरू उक्साइएमा मात्र काम गर्छन्, आफूलाई मनपर्ने काम मात्र गर्छन् र आफ्नो हैसियत र शक्ति कायम राख्नको निम्ति मात्र काम गर्छन्। तिनीहरूको नजरमा परमेश्वरको घरद्वारा प्रबन्ध गरिएको कुनै पनि काम, सुसमाचार प्रचार गर्ने काम र परमेश्वरका चुनिएका जनहरूको जीवन प्रवेशको कुनै महत्त्व हुँदैन। अरू मानिसहरूलाई तिनीहरूको काममा जस्तोसुकै कठिनाइहरू भए पनि तिनीहरूले जुनै समस्या पहिचान गरे पनि वा तिनीहरूलाई जुनै समस्याको उजुरी दिए पनि, तिनीहरूका कुराहरू जति नै इमानदार भए पनि, ख्रीष्टविरोधीहरूले त्यसमा ध्यान दिँदैनन्, तिनीहरू संलग्न हुँदैनन्, मानौं तिनीहरूसित यसको कुनै सम्बन्ध छैन। मण्डलीको काममा जति ठूला समस्याहरू उत्पन्न भइरहेका भए पनि तिनीहरू बिलकुलै उदासीन हुन्छन्। तिनीहरूसामु नै कुनै समस्या हुँदा पनि तिनीहरू झारा टार्न मात्र त्यसको सम्बोधन गर्छन्। जब तिनीहरूलाई सीधै माथिबाट काट-छाँट गरिन्छ र समस्या समाधान गर्ने आदेश दिइन्छ तब मात्र तिनीहरू मन नलागी-नलागी थोरै वास्तविक काम गर्छन् र माथिकालाई देखाउनका लागि दिनेछन्; त्यसलगत्तै तिनीहरू आफ्नै काममा लागिरहन्छन्। मण्डलीको काम, अझ विस्तृत सन्दर्भका महत्त्वपूर्ण कामकुराका सम्बन्धमा, तिनीहरू यी कुराहरूमा रुचि देखाउँदैनन् र तिनलाई बेवास्ता गर्छन्। तिनीहरू आफूले थाहा पाएका समस्याहरूलाई पनि बेवास्ता गर्छन्, त्यस्ता समस्याहरूको बारेमा सोध्दा तिनीहरूले झारा टार्ने जबाफ दिन्छन् वा तिनीहरू अनिर्णित हुन्छन् र मन नलागी नलागी त्यसलाई सम्बोधन गर्छन्। यो स्वार्थीपन र नीचताको अभिव्यक्ति हो, होइन र? यति मात्र होइन ख्रीष्टविरोधीहरूले जुनै कर्तव्य निभाइरहेका भए पनि त्यसले तिनीहरूलाई चर्चामा ल्याउन मदत गर्नेछ कि गर्नेछैन भन्ने मात्र सोच्छन्; त्यसले तिनीहरूको प्रतिष्ठा बढाउनेछ भने तिनीहरू यो कसरी गर्ने, कसरी पूरा गर्ने भनी तरिका सिक्न आफ्नो दिमाग खियाउँछन्; यसले तिनीहरूलाई अलग राख्छ कि राख्दैन भन्ने कुराको मात्र तिनीहरू वास्ता गर्छन्। तिनीहरूले चाहे जे गरे वा सोचे पनि तिनीहरू आफ्नै ख्याति, लाभ र हैसियतको मात्र चिन्ता गरिरहेका हुन्छन्। तिनीहरूले जुनसुकै कर्तव्य निभाइरहेका भए पनि तिनीहरू को उच्च वा नीच छ, कसले जित्छ र को हार्छ, कसको ठूलो प्रतिष्ठा छ भन्ने कुरामा मात्र प्रतिस्पर्धा गर्छन्। तिनीहरू कति जना मानिसले तिनीहरूलाई आराधना गर्छन् र आदरका साथ हेर्छन्, कति जनाले तिनीहरूको आज्ञा पालन गर्छन् र तिनीहरूका कति जना अनुयायीहरू छन् भन्ने कुराको मात्र वास्ता गर्छन्। तिनीहरू कहिल्यै सत्यताको सङ्गति गर्दैनन् वा वास्तविक समस्याहरू समाधान गर्दैनन्। तिनीहरू आफ्नो कर्तव्य निभाउँदा कसरी सिद्धान्त अनुसार काम गर्ने भनेर कहिल्यै विचार गर्दैनन्, न त तिनीहरू बफादार भएका छन् कि छैनन्, तिनीहरूले आफ्ना जिम्मेवारीहरू पूरा गरेका छन् कि छैनन्, तिनीहरूका काममा कतै विचलन र चुक भएका छन् कि, वा कुनै समस्याहरू छन् कि भन्नेबारेमा चिन्तन नै गर्छन्, तिनीहरू परमेश्वरको घरले मागेको कुरा र परमेश्वरका अभिप्रायहरू के-के हुन् भन्नेबारे त झन सोच्दैनन्। तिनीहरूले यी कुराहरूमा अलिकति पनि ध्यान दिँदैनन्। तिनीहरूले केवल आफ्नो टाउको सीधा पारेर प्रसिद्धि, लाभ र हैसियतका लागि आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्नका लागि मात्र काम गर्छन्। यो स्वार्थीपन र नीचताको अभिव्यक्ति हो, होइन र? यसले तिनीहरूको हृदय तिनीहरूका आफ्नै महत्त्वाकाङ्क्षा, चाहना र अर्थहीन मागहरूले भरिएको छ भन्ने प्रमाणित गर्छ; तिनीहरूले जे गर्छन् ती सबै तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरूद्वारा सञ्चालित हुन्छन्। तिनीहरूले चाहे जे नै गरे पनि त्यसको प्रेरणा र स्रोत तिनीहरूको आफ्नै महत्त्वाकाङ्क्षा, चाहना र अर्थहीन मागहरू हुन्। यो स्वार्थीपन र नीचताको ठेट प्रकटीकरण हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक))। परमेश्वरले ख्रीष्टविरोधीहरू अत्यन्तै स्वार्थी भएको खुलासा गर्नुहुन्छ। आफ्ना स्वार्थसँग सम्बन्धित मामिलाहरूमा, वा उनीहरूलाई अरूभन्दा अब्बल देखाउन दिने मामिलाहरूमा, उनीहरू लगनशीलताका साथ र खुसीसाथ काम गर्छन्, चाहे उनीहरूले जतिसुकै मूल्य चुकाउनुपरोस् वा जतिसुकै दुःख भोग्नुपरोस्। तर, यदि कुनै कुरा उनीहरूको स्वार्थसँग सम्बन्धित छैन भने, उनीहरू त्यसलाई बेवास्ता गर्छन्। यस्तो अवस्थामा, अरूले जतिसुकै कठिनाइ भोगिरहेका भए तापनि वा मण्डलीको काममा जतिसुकै ठूलो नोक्सान भए तापनि, उनीहरू त्यसमा ध्यान दिन इच्छुक हुँदैनन्। उनीहरूले गर्ने हरेक कुरा आफ्नो व्यक्तिगत प्रतिष्ठा र हैसियतका लागि हुन्छ, र उनीहरूले मण्डलीको हितलाई पटक्कै विचार गर्दैनन्। तब मैले महसुस गरेँ, मैले पनि यस्तै व्यवहार गर्दै आइरहेकी थिएँ। हाम्रो समूह दुई भागमा विभाजित गरिएपछि, मैले देखेँ कि लेलाले द्रुत प्रगति गरिरहेकी थिइन् र आफ्नो कर्तव्यमा बोझ बोकेकी थिइन्। उनले मलाई उछिन्नेछिन् भन्ने डर लाग्यो, त्यसैले जब उनले कठिनाइहरूको सामना गरिन् र मसँग मद्दत माग्न आइन्, म उनलाई सहयोग गर्न इच्छुक भइनँ। मलाई यो मेरा प्राथमिक जिम्मेवारीहरूमा पर्दैन र त्यसो गर्दा मेरो समय र ऊर्जा खर्च हुनेछ भन्ने लाग्यो। त्यति मात्र होइन, भिडियो राम्रो बने तापनि, मेरो कडा परिश्रम कसैले देख्नेछैन— बरु, अरूले लेला भर्खरै समूह अगुवाका रूपमा अभ्यास गर्न थालेकी भए पनि उनी मेरै स्तरकी छिन् भन्ने सोच्नेछन्। यस्तो अवस्थामा, म आफूलाई देखाउन सक्ने थिइनँ। त्यसपछि, जब लेलाले मलाई उनीहरूको भिडियो जाँच गर्न र सुझाव दिन भनिन्, मैले वास्ता गरिनँ। म त्यो हेर्न समय र प्रयास खर्च गर्न चाहन्नथेँ। अन्ततः, मैले त्यो हेरें—तर केवल झारा टार्नका लागि, अनिच्छापूर्वक, किनकि मलाई अरूले गैरजिम्मेवार भन्लान् कि भन्ने चिन्ता थियो। यसै कारणले, धेरै समस्याहरू भएको त्यो भिडियो पुनः बनाउनुपर्यो। यदि मैले थोरै मात्र बढी प्रयास गरेकी भए, मैले ती समस्याहरू पहिले नै पत्ता लगाएर सुधार्न सक्नेथिएँ। तर, म अत्यन्तै स्वार्थी भएकीले र केवल आफ्नै स्वार्थका बारेमा सोचेकीले, मण्डलीको काममा ढिलाइ भयो। यो सोचेर मलाई धेरै दोषी महसुस भयो। मण्डलीले मलाई समूह अगुवा बनाएको थियो, त्यसैले मैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्थ्यो र दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो कर्तव्यमा सामना गर्ने विभिन्न कठिनाइ र समस्याहरू समाधान गर्नमा ध्यान दिनुपर्थ्यो। तर मैले परमेश्वरको अभिप्रायलाई पटक्कै वास्ता गरिनँ। म केवल आफू जिम्मेवार भएका भिडियोहरू राम्रोसँग बनेका छन् कि छैनन्, र मैले धेरै मानिसहरूको प्रशंसा पाउन सक्छु कि भन्ने कुराको मात्र वास्ता गर्थेँ। जब लेलाले कठिनाइहरूको सामना गरिन्, मसँग ती कसरी समाधान गर्ने भन्नेबारे केही विचारहरू स्पष्ट रूपमा थिए, तर मैले पटक्कै सहयोग गरिनँ। मैले त झन् द्वेषसाथ सोचेँ, “उनीहरूले केही कठिनाइहरूको सामना गर्नु राम्रो भयो। यदि उनीहरूको परिणाम कमजोर भयो भने, यसले मलाई अझ राम्रो देखाउनेछ। दाजुभाइ-दिदीबहिनीहरूले सोच्नेछन् कि म हाम्रो समूहको मेरुदण्ड हुँ, र उनीहरू मविना केही गर्न सक्दैनन्।” मैले सोच्ने र व्यवहार गर्ने तरिका साँच्चै घृणित थियो! पछि कामको समीक्षा गर्दा, मैले केही दिदीबहिनीहरूले यसो भनेको सुनेँ: “यो भिडियो त्यति राम्रोसँग बनेको छैन, र मलाई यसबारे केही नकारात्मक महसुस भइरहेको छ। मलाई लाग्छ, यो कर्तव्यका लागि मेरो क्षमता पर्याप्त छैन।” यो सुनेर म निराश भएँ, र मैले आफू कति स्वार्थी रहेछु भनी महसुस गरेको कुरालाई यसले झनै बलियो बनायो। मैले केवल आफ्नो प्रतिष्ठा र हैसियतको वास्ता गरेकी थिएँ। मलाई राम्ररी थाहा थियो कि उनीहरूले भर्खरै अभ्यास गर्न थालेका थिए, र उनीहरूलाई सहयोग र सहकार्यको आवश्यकता थियो। तर म अलिकति पनि प्रेम नदेखाई चुपचाप बसिरहेँ। जति धेरै सोचेँ, उति नै आफूमा मानवताको कमी भएको महसुस गरेँ। मैले यस्तो घृणित र तुच्छ काम कसरी गर्न सकेँ?
एउटा सङ्गतिको दौरान, मैले एक जना ब्रदरले आफ्नो अनुभवमा सङ्गति गरेको सुनेँ र त्यसबाट मैले साँच्चै लाभ पाएँ। उनको सङ्गतिमा परमेश्वरका वचनहरूको एउटा खण्ड थियो जसले ममाथि गहिरो छाप छोड्यो। परमेश्वरका वचनहरूले भन्छन्: “कुन मापदण्डअनुसार व्यक्तिका कार्य र व्यवहारहरू असल वा खराब हुन् भनी निर्धारित गरिन्छ? यो उसका विचार, प्रकटीकरण, र व्यवहारहरूमा ऊसँग सत्यता अभ्यास गर्ने र सत्यता वास्तविकता जिउने गवाही छ कि छैन भन्ने आधारमा गरिन्छ। यदि तँसँग यो वास्तविकता छैन वा तँ यसअनुसार जिउँदैनस् भने, तँ निस्सन्देह नै एक दुष्कर्मी होस्। दुष्कर्मीहरूलाई परमेश्वरले कसरी लिनुहुन्छ? परमेश्वरको नजरमा, तेरा विचार र बाहिरी कार्यहरूले उहाँको साक्षी दिँदैनन्, न त ती कुराहरूले शैतानलाई लज्जित वा पराजित नै गर्छन्; बरु, ती कुराहरूले त उहाँमाथि नै लज्जा ल्याउँछन्, र तैँले उहाँमाथि निम्त्याएको अपमानका दागहरूले नै ती कुराहरू भरिएका हुन्छन्। तैँले परमेश्वरको गवाही दिइरहेको हुँदैनस्, आफैलाई परमेश्वरको लागि अर्पित गरिरहेको पनि हुँदैनस्, न त परमेश्वरप्रतिको आफ्नो जिम्मेवारी र दायित्वहरू नै पूरा गरिरहेको हुन्छस्; बरु, आफ्नै लागि काम गरिरहेको हुन्छस्। यो ‘तेरो आफ्नै लागि’ भन्ने वाक्यांशको अर्थ के हो? ठ्याक्कै भन्दा, यसको अर्थ हो, शैतानको लागि। त्यसकारण, आखिरमा, परमेश्वरले भन्नुहुनेछ, ‘दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ।’ परमेश्वरको नजरमा, तेरा कार्यहरू असल कर्म हुनेछैनन्, ती कार्यहरूलाई दुष्कर्म मानिनेछ। ती कार्यलाई परमेश्वरद्वारा स्वीकृति नदिइने मात्र होइन—बरु दोषीसमेत ठहराइनेछ। परमेश्वरमाथिको त्यस्तो विश्वास भएको व्यक्तिले के पाउने आशा लिएको हुन्छ? के त्यस्तो विश्वास अन्तिममा शून्य हुनेछैन र?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनहरूबाट मैले बुझेँ, परमेश्वरले कुनै व्यक्तिले कति वटा कर्तव्य पूरा गर्यो वा अरूबाट कति प्रशंसा पायो भन्ने कुरालाई हेर्नुहुन्न। बरु, उहाँले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा कुनै व्यक्तिको मनको सोचाइ, उसको हाउभाउ र कार्यमा सत्यता अभ्यास गरेको गवाही छ कि छैन भनी हेर्नुहुन्छ। परमेश्वरले कुनै व्यक्तिले गरेका कामहरू असल छन् कि दुष्ट भनी यसरी नै निर्णय गर्नुहुन्छ। परमेश्वरले मानिसहरूको हृदय छ्यानबिन गर्नुहुन्छ। यदि कुनै व्यक्तिले परमेश्वरका लागि गवाही दिने र परमेश्वरलाई सन्तुष्ट पार्ने नियतविना आफ्नो कर्तव्य पूरा गरिरहेको छ, बरु आफ्नै स्वार्थको रक्षा गर्न मण्डलीको कामलाई हानि गर्छ भने, त्यस व्यक्तिले जति नै मोल चुकाए तापनि, परमेश्वरको नजरमा ऊ दुष्टता नै गरिरहेको हुन्छ। मलाई सधैँ लागेको थियो, मैले आफ्नो कर्तव्य निकै लगनशील र जिम्मेवार भएर पूरा गरेकी छु, म त्यति खराब त छैन। तर, अहिले परमेश्वरका वचनहरूको प्रकाशमा आफ्नै बानीबेहोराबारे मनन गर्दा, मैले देखेँ, मैले आफ्नो जिम्मामा परेको काममा सक्दो प्रयास गरेकी भए तापनि, र होसियारी अपनाएकी भए तापनि, तर यसको पछाडि त दाजुभाइ-दिदीबहिनीहरूको हृदयमा ठाउँ ओगट्ने, मानिसहरूले मलाई समूहको खम्बा अनि म नभई नहुने मान्छे ठानून् भन्ने लुकेको नियत पो रहेछ। लेलाले कठिनाइहरूको सामना गरिरहँदा र उनले काममा प्रगति गर्न नसक्दा पनि, मलाई अलिकति पनि चिन्ता लागेन। बरु, उनी अप्ठ्यारोमा परेको देखेर म खुसी नै थिएँ, किनकि मलाई लाग्थ्यो, यसले पो मलाई अलग देखिन मद्दत गर्नेछ! यस्तो घृणित अभिप्रायले आफ्नो कर्तव्य पूरा गर्दा, म दुष्टता गरिरहेकी थिएँ र परमेश्वरद्वारा निन्दित भएकी थिएँ। यदि मैले पश्चात्ताप गरिनँ भने, मैले धेरै काम गरे तापनि र ठूलो मूल्य चुकाए तापनि अन्ततः म परमेश्वरद्वारा हटाइने थिएँ। यो सोचेर मलाई डर लाग्यो र आफू ठूलो खतरामा परेको महसुस भयो। तब मैले परमेश्वरलाई प्रार्थना गरेँ, र अठोट गरेँ कि म अबदेखि आफ्नो भ्रष्ट स्वभावअनुसार जिउनेछैन, अनि भविष्यमा फेरि यस्तै कुरा आइपरेमा, मैले समग्र रूपमा मण्डलीको कामलाई ख्याल गर्नुपर्छ र मण्डलीको हितको रक्षा गर्नुपर्छ।
त्यसपछि, मैले परमेश्वरका वचनहरूमा अभ्यास गर्ने बाटो भेट्टाएँ। परमेश्वर भन्नुहुन्छ: “आफ्नो कर्तव्य निभाउनेहरू सबैको हकमा भन्दा, सत्यतासम्बन्धी तिनीहरूको बुझाइ जति गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल किसिमको अभ्यास भनेको सबै कुरामा परमेश्वरको घरको हितबारे विचार गर्नु, र आफ्ना स्वार्थी इच्छाहरू, व्यक्तिगत अभिप्राय, मनसाय, गर्व, र हैसियत त्याग्नु हो। परमेश्वरको घरका हितहरूलाई पहिलो प्राथमिकता दे—व्यक्तिले कम्तीमा पनि यतिचाहिँ गर्नैपर्छ। यदि कर्तव्य निभाउने व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य निभाइरहेको छ भनेर कसरी भन्न सकिन्छ र? त्यो त आफ्नो कर्तव्य निभाएको कुरै भएन। तैँले सर्वप्रथम परमेश्वरको घरको हितबारे सोच्नुपर्छ, परमेश्वरका अभिप्रायको ख्याल राख्नुपर्छ, अनि मण्डलीको कामको बारेमा सोच्नुपर्छ। यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी लिन्छन् सोबारे सोच्न सक्छस्। जब यसलाई तिमीहरूले यी दुई चरणहरूमा विभाजन गर्छौ र केही सम्झौता गर्छौ, तब के तिमीहरूले यो अलि सहज भएको महसुस गर्दैनौ र? यदि तैँले केही समयसम्म यसरी अभ्यास गरिस् भने, तैँले परमेश्वरलाई सन्तुष्ट पार्न त्यति गाह्रो छैन रहेछ भन्ने महसुस गर्नेछस्। तर त्योभन्दा पनि बढी, तँ आफ्ना जिम्मेवारीहरू पूरा गर्न, आफ्ना दायित्वहरू र कर्तव्यहरू निभाउन, अनि आफ्ना स्वार्थी चाहना, आशय र अभिप्रायहरू पन्छाउन सक्षम हुनुपर्नेछ; तैँले परमेश्वरका अभिप्रायको ख्याल गर्नुपर्नेछ, र तैँले परमेश्वरको घरको हित, मण्डलीको काम र तैँले निभाउनुपर्ने कर्तव्यलाई सबैभन्दा अगाडि राख्नुपर्नेछ। तैँले केही समय यस्तो अनुभव गरिसकेपछि, यो नै आफूलाई व्यवहारमा ढाल्ने राम्रो शैली हो भन्ने कुरा महसुस गर्नेछस्। यो सोझो हिसाबले र इमानदार तरिकाले जिउनु हो, र तुच्छ र निकृष्ठ व्यक्ति बन्नु होइन; यो त घृणित, तुच्छ, र बेकामे बन्नुको साटो न्यायसंगत रूपले र सम्मानपूर्वक जिउनु हो। व्यक्तिले यही शैलीमा व्यवहार गर्नुपर्छ र उसले जिउनुपर्ने स्वरूप यही हो भन्ने तैँले महसुस गर्नेछस्। तेरा आफ्नै स्वार्थहरू सन्तुष्ट पार्ने तेरो चाहना क्रमिक रूपमा कम हुँदै जानेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनहरूबाट मैले देखेँ, आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्नका लागि, व्यक्तिले आफ्ना व्यक्तिगत नियत, मनसाय, इज्जत र हैसियतलाई पन्छाउनैपर्छ, अनि सधैँ मण्डलीको हितलाई पहिलो स्थान दिनुपर्छ। यसपछि मैले सचेत रूपमा परमेश्वरका मागअनुसार आफ्नो कर्तव्य पूरा गरेँ, र स्वार्थी अनि घृणित हुन र केवल आफ्नै ख्याति र हैसियतको मात्र विचार गर्न छोडेँ। एक पटक, लेलाले भिडियो बनाउँदा कठिनाइको सामना गरिन् र यो कसरी समाधान गर्ने भनेर मैले हेरिदिनुपर्यो भन्ने चाहन्थिन्। म अलि हिचकिचाइरहेकी थिएँ, अनि मनमनै सोचेँ, “मैले आफ्नै हातको भिडियो त अझै सिध्याएकी छैन। उनको समस्या समाधान गर्न मद्दत गर्दा कतै मेरो कामको प्रगतिमा पो असर गर्ने हो कि? मैले समयमा सिध्याउन सकिनँ भने, अरूले ‘समूह अगुवा भएर पनि प्रभावकारी नभएकी’ पो भन्लान् कि?” मैले आफू फेरि आफ्नो भ्रष्ट स्वभावअनुसार जिइरहेकी छु भन्ने बुझेँ। मैले परमेश्वरसँग गरेको सङ्कल्प सम्झेँ—कि मैले समग्रमा मण्डलीको कामलाई ख्याल गर्नेछु र आफ्नै काममा मात्र ध्यान दिनेछैनँ—र मैले परमेश्वरलाई प्रार्थना गरेँ, अनि देहको विरूद्ध विद्रोह गर्न, आफ्ना हितहरूलाई पन्छाउन र लगनसाथ लेलालाई मदत गर्न इच्छुक भएँ। मैले ध्यानपूर्वक भिडियो हेरेँ, समस्याहरू टिपोट गरेँ, त्यसपछि लेला र उनको समूहलाई स्थलगत मार्गदर्शन दिन गएँ। लेलाले भनिन् कि मेरो सङ्गतिले उनको लागि बाटो खोलिदियो, र मेरो हृदयमा शान्त महसुस भयो। सुरुमा मैले सोचेकी थिएँ कि उनीहरूलाई मदत गर्दा मेरो काम रोकिनेछ, तर अन्ततः अलिकति पनि ढिलाइ भएन। हाम्रा दुवै समूहका लागि, काम पहिलेभन्दा अझ बढी प्रभावकारी रूपमा अघि बढ्यो र एक महिनाभित्र सफलतापूर्वक सम्पन्न भयो। यसपछि, दाजुभाइ-दिदीबहिनीहरूले आफ्ना कठिनाइहरूमा मसँग मदत माग्दा, मैले उप्रान्त अस्वीकार गरिनँ। बरु, मैले आफ्नो क्षमताले भ्याएसम्म उनीहरूलाई मदत गरेँ। मैले कामकुराहरू जाँच्न र सुझावहरू दिन अलि बढी समय र मेहनत लगाइरहेकी भए पनि, यसरी अभ्यास गर्दा मेरो मन शान्त हुन्थ्यो।
पछि मैले केही आत्मचिन्तन गरेँ, अनि मेरो आफ्नै हितको कुरा आउँदा, म किन त्यति मन लगाउँथेँ, तर मेरो हितको कुरा नआउँदा, म किन असहयोग गर्थेँ भनी आफैलाई सोधेँ। यो समस्याको खास सार के थियो? मैले परमेश्वरका केही वचनहरू देखेँ: “कतिपय मानिसहरू आफ्नै अभिमान र गौरवको रक्षा गर्न, र आफ्नो ख्याति र हैसियत कायम राख्न जति नै मूल्य परे पनि खुसीसाथ अरूलाई सहयोग गर्छन् र आफ्ना मित्रहरूका लागि त्याग गर्छन्। तर जब तिनीहरूले परमेश्वरको घरका हित, सत्यता, र न्यायको रक्षा गर्नुपर्ने हुन्छ, तब तिनीहरूका त्यस्ता असल अभिप्रायहरू हराउँछन्, ती पूर्ण रूपमा हराएका हुन्छन्। सत्यता अभ्यास गर्नुपर्ने बेला तिनीहरूले बिलकुलै अभ्यास गर्दैनन्। के भइरहेको छ? तिनीहरूले आफ्नो मर्यादा र गौरवको रक्षा गर्न, कुनै पनि मूल्य चुकाउनेछन् र जुनसुकै कष्ट सहनेछन्। तर जब तिनीहरूले वास्तविक काम गर्नुपर्ने र व्यावहारिक मामिलाहरू सम्हाल्नुपर्ने हुन्छ, अनि मण्डलीको काम र सकारात्मक कुराहरूको रक्षा गर्नुपर्छ, अनि परमेश्वरका चुनिएका मानिसहरूको रक्षा र भरणपोषण गर्नुपर्छ, तब किन तिनीहरूसँग मूल्य चुकाउने र कुनै कष्ट सहने सामर्थ्य हुँदैन? यो अकल्पनीय कुरा हो। वास्तवमा, तिनीहरूमा सत्यतादेखि वितृष्ण हुने एक प्रकारको स्वभाव हुन्छ। म किन तिनीहरूको स्वभाव सत्यतादेखि वितृष्ण हुने किसिमको छ भन्छु? किनभने, जब कुनै कुरामा परमेश्वरको गवाही दिने, सत्यता अभ्यास गर्ने, परमेश्वरका चुनिएका मानिसहरूको रक्षा गर्ने, शैतानका षड्यन्त्रहरूविरुद्ध लडाइ गर्ने, वा मण्डलीको कामको रक्षा गर्ने कार्य समावेश हुन्छ, तब तिनीहरू भाग्छन् र लुक्छन्, र उचित उचित मामिलाहरूलाई ध्यान दिँदैनन्। तिनीहरूको कष्ट सहने बहादुरी र भावना खै त? तिनीहरूले यी कुराहरू कहाँ लागू गर्छन्? यो सजिलै देख्न सकिन्छ। कसैले तिनीहरूलाई स्वार्थी र नीच हुनु हुँदैन, आफ्नै बचाउ गर्नु हुँदैन र तिनीहरूले परमेश्वरको घरको कामको सुरक्षा गर्नुपर्छ भनी हप्काए पनि, तिनीहरू मतलबै गर्दैनन्। तिनीहरू मनमनै यसो भन्छन्, ‘म ती कामहरू गर्दिनँ, र तिनको मसँग कुनै सरोकार छैन। मेरो ख्याति, लाभ र हैसियतको खोजीमा त्यस्तो व्यवहारले मलाई के नै राम्रो गर्ला र?’ तिनीहरू सत्यता पछ्याउने व्यक्ति होइनन्। तिनीहरू ख्याति, लाभ र हैसियत खोज्न मात्र मन पराउँछन्, र तिनीहरू परमेश्वरले तिनीहरूलाई सुम्पनुभएको काम बिलकुलै गर्दैनन्। त्यसैले, जब तिनीहरूले मण्डलीको काम गर्नुपर्ने हुन्छ, तिनीहरू खुरुक्क भाग्ने विकल्प रोज्छन्। यसको मतलब के हो भने, तिनीहरू हृदयदेखि नै सकारात्मक कुराहरू मन पराउँदैनन्, र सत्यताप्रति कुनै रुचि राख्दैनन्। यो सत्यतादेखि वितृष्ण हुने कुराको प्रस्ट प्रकटीकरण हो। सत्यतालाई प्रेम गर्ने र सत्यताको वास्तविकता भएकाहरू मात्रै परमेश्वरको घरको काम र चुनिएका मानिसहरूलाई आवश्यक पर्दा अघि आउन सक्छन्, तिनीहरू मात्रै साहससाथ र कर्तव्यनिष्ठ भई परमेश्वरको गवाही दिन र सत्यता सङ्गति गर्न खडा हुन सक्छन्, र यसरी परमेश्वरका चुनिएका मानिसहरूलाई सही मार्गमा डोर्याउन र परमेश्वरको काममा समर्पण हासिल गर्न सक्षम तुल्याउन सक्छन्। यो मात्रै जिम्मेवारीको मनोवृत्ति र परमेश्वरका अभिप्रायको ख्याल गर्नुको एउटा प्रकटीकरण हो। यदि तिमीहरूमा यस्तो मनोवृत्ति छैन, र तिमीहरूले काम-कुरा सम्हाल्दा लापरवाही मात्रै गर्छौ, अनि ‘म मेरो आफ्नै कर्तव्यको दायराका कुराहरू गर्नेछु, तर अरू कुनै कुराको बारेमा मलाई केही मतलब छैन। यदि तिमीले मलाई केही कुराको बारेमा सोध्यौ भने, म तिमीलाई उत्तर दिनेछु—यदि म राम्रो मनस्थितिमा छु भने मात्रै त्यसो गर्नेछु। अन्यथा, त्यसो गर्नेछैन। मेरो मनोवृत्ति यही हो’ भनेर सोच्छौ भने, यो एक प्रकारको भ्रष्ट स्वभाव हो, होइन र? आफ्नै हैसियत, ख्याति, र गौरवलाई मात्रै रक्षा गर्नु, अनि आफ्नै चासोहरूसँग सम्बन्धित कुराहरूको मात्रै रक्षा गर्नु—के यो धर्मी अभियानलाई रक्षा गर्नु हो र? के त्यो परमेश्वरको घरका हितहरूको रक्षा गर्नु हो? यी तुच्छ, स्वार्थी अभिप्रायहरूपछाडि सत्यताप्रति वितृष्ण हुने स्वभाव हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “जब परमेश्वर मानिसहरू कमजोर क्षमताका छन्, तिनीहरूमा केही कमजोरी छन्, र भ्रष्ट स्वभावहरू वा उहाँको विरोध गर्ने सार छ भन्ने देख्नुहुन्छ, तब उहाँ तिनीहरूलाई घिनाउनुहुन्न, र आफूबाट टाढा राख्नुहुन्न। परमेश्वरको अभिप्राय त्यो होइन, र त्यो मानिसप्रति उहाँको मनोवृत्ति होइन। परमेश्वर कमजोर क्षमता भएका मानिसहरूलाई घृणा गर्नुहुन्न, उहाँ तिनीहरूको मूर्खतालाई घृणा गर्नुहुन्न, र उहाँ तिनीहरूमा भ्रष्ट स्वभाव छ भन्ने कुरालाई घृणा गर्नुहुन्न। परमेश्वरले मानिसहरूमा भएको कुन कुरालाई सबैभन्दा घृणा गर्नुहुन्छ? तिनीहरूमा सत्यताप्रति अरुचि हुनुलाई। यदि तँमा सत्यताप्रति अरुचि छ भने, त्यो कुराले मात्रै परमेश्वर तँसित कहिल्यै प्रसन्न हुनुहुनेछैन। यो ध्रूव सत्य हो। यदि तँमा सत्यताप्रति अरुचि छ, तँ सत्यतालाई प्रेम गर्दैनस्, सत्यताप्रति तेरो मनोवृत्ति वास्ता नगर्ने, तिरस्कारपूर्ण, र अहङ्कारी छ, वा प्रतिघाती, प्रतिरोधी, र इन्कार गर्ने खालको समेत छ—यदि तँ यस्तो व्यवहार गर्छस् भने, परमेश्वर तँलाई असाध्यै घृणा गर्नुहुन्छ, र तँ मरेतुल्य हुन्छस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्नका लागि, सत्यता बुझ्नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ)। परमेश्वरका वचनहरूबाट मैले के देखेँ भने, सत्यतालाई प्रेम नगर्ने वा मण्डलीको हितलाई रक्षा नगर्ने, सधैँ आफ्नो व्यक्तिगत प्रतिष्ठा र हैसियतको रक्षा गर्ने, अनि जुन कामले आफ्नो स्वार्थ पूरा हुन्छ र आफूलाई अब्बल देखाउन सकिन्छ, त्यही काम सजिलै गर्ने, जबकि आफूलाई फाइदा नहुने कुरालाई चाहिँ बेवास्ता र इन्कार गर्नेहरू सत्यताप्रति वितृष्ण हुने शैतानी स्वभावका मानिसहरू हुन्। यस प्रकारको व्यक्ति आफ्नो स्वार्थसँग सम्बन्धित मामिलाहरूमा जतिसुकै लगनशील भए तापनि, जतिसुकै मूल्य चुकाए तापनि वा उसको कामको नतिजा जतिसुकै प्रभावशाली भए तापनि, उसको अभिप्राय सधैँ आफ्नो ख्याति र हैसियतको आवश्यकता पूरा गर्नु नै हुन्छ। जब मण्डलीको हितको कुरा आउँछ, तिनीहरूले सत्यता के हो भन्ने स्पष्टसित जानेका भए तापनि त्यसलाई अभ्यास गर्दैनन्, र तिनीहरूले मण्डलीको कामको अलिकति पनि रक्षा गर्दैनन्। मनन गरेपछि, मैले बुझेँ कि मैले आफ्नो कर्तव्य यसरी नै पूरा गरिरहेकी रहेछु। जबसम्म म अरूभन्दा अब्बल देखिन र राम्रो देखिन सक्थेँ, तबसम्म म मेहनत गर्न र मोल चुकाउन तयार थिएँ। कठिनाइमा पर्दा पनि म अविचलित रहन्थेँ, र राम्रो नतिजा निकाल्न आफूलाई पूर्ण रूपमा खटाउँथेँ। तर जब मैले काम राम्रोसँग गर्दा पनि आफू अब्बल नदेखिने वा व्यक्तिगत रूपमा कुनै फाइदा नहुने देख्थेँ, म वास्तै गर्दिनथेँ। मण्डलीको काममा नोक्सान भइरहेको देख्दा पनि म चिन्तित हुँदिनथिएँ। मैले सत्यताप्रति वितृष्ण हुने शैतानी स्वभाव प्रकाश गरिरहेकी थिएँ! मेरो आस्थाका यतिका वर्षहरू र मैले पढेका परमेश्वरका यति धेरै वचनहरूबाट, मलाई धर्मसिद्धान्ततः यो कुरा थाहा थियो कि एक सृजित प्राणीक रूपमा मैले आफ्नो हृदय, मन र शक्तिले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, अनि सधैँ मण्डलीको हितलाई पहिलो स्थानमा राख्नुपर्छ। म परमेश्वरलाई घरीघरी प्रार्थना गर्थेँ, म उहाँको प्रेम चुक्ता गर्न आफ्नो क्षमताले भ्याएसम्म आफ्नो कर्तव्य पूरा गर्नेछु भनेर भनेँ। तर जब मैले वास्तविक परिस्थितिको सामना गरेँ, मैले मण्डलीको हितको रक्षा गर्नुको सट्टा आफ्ना स्वार्थी चाहनाहरू पूरा गर्न रोजेँ। मैले सधैँ आफ्नो ख्याति र हैसियतलाई मण्डलीको हितभन्दा अगाडि राखेकी थिएँ। म कत्ति दुष्ट रहेछु! यदि मैले सत्यताप्रति वितृष्ण हुने मेरो शैतानी स्वभावलाई निराकरण गरिनँ भने, मैले जतिसुकै वर्ष परमेश्वरमा विश्वास गरिरहे तापनि, मैले आफ्नो जीवन स्वभावमा कहिल्यै परिवर्तन हासिल गर्ने थिइनँ, मुक्ति पाउने कुरा त परै जाओस्। यो सोचेर, मैले मेरो यो स्वभाव कति घातक थियो भन्ने बुझेँ। मैले परमेश्वरसँग यो भ्रष्ट स्वभावको बन्धनबाट मुक्त हुन मार्गदर्शन माग्दै उहाँलाई प्रार्थना गरेँ।
केही बेरपछि, मैले परमेश्वरका वचनहरूको अर्को खण्ड पढेँ: “परमेश्वरको घरमा सत्यता पछ्याउने मानिसहरू परमेश्वरसामु एकतामा हुन्छन्, विभाजित हुँदैनन्, र उनीहरूको एउटै साझा लक्ष्य हुन्छ, र त्यो हो: आफ्नो कर्तव्य पूरा गर्नु, आफूलाई आइपरेको काम गर्नु, सत्यता सिद्धान्तहरूअनुसार काम गर्नु, परमेश्वरले माग गर्नुभएअनुसार काम गर्नु, र परमेश्वरका अभिप्रायहरू पूरा गर्नु। यदि तेरा उद्देश्यहरू यसका खातिर होइनन्, बरु तेरा आफ्नै खातिर हुन्, तेरा आफ्नै स्वार्थी कामनाहरू पूरा गर्नका खातिर हुन् भने, यो भ्रष्ट शैतानी स्वभावको प्रकटीकरण हो। परमेश्वरको घरमा, व्यक्तिको कर्तव्य सत्यता सिद्धान्तअनुसार गरिन्छ। गैरविश्वासीहरूका कार्यहरू उनीहरूका शैतानी स्वभावहरूद्वारा नियन्त्रित हुन्छन्। यी दुई अति फरक मार्गहरू हुन्। गैरविश्वासीहरूले आफ्नै षड्यन्त्र पालेका हुन्छन्, प्रत्येकसँग आफ्नै उद्देश्य र योजनाहरू हुन्छन्, अनि प्रत्येक व्यक्ति आफ्नै स्वार्थका लागि जिउँछ। यसरी उनीहरू आफ्नै फाइदाको लागि सङ्घर्ष गर्छन्, र आफूले पाएको एक इन्च छोड्न पनि इच्छुक हुँदैनन्। उनीहरू विभाजित, र तितरबितर अवस्थामा हुन्छन्, किनकि उनीहरूको साझा लक्ष्य हुँदैन। उनीहरूले जे गर्छन् त्यसपछाडि रहेको अभिप्राय र प्रकृति एउटै हुन्छ—उनीहरू सबै आफ्नै लागि कार्य गर्छन्। यसमा, सत्यले शासन गर्दैन, शैतानको भ्रष्ट स्वभावसँग पूर्ण शक्ति र प्रभुत्व हुन्छ। उनीहरू आफ्नो भ्रष्ट शैतानी स्वभावद्वारा नियन्त्रित हुन्छन्, र यसमा उनीहरूको केही जोर चल्दैन र यसकारण उनीहरू पापमा झन्झन् गहिरो गरी डुब्छन्। परमेश्वरको घरमा, यदि तिमीहरूका कार्यहरूको सिद्धान्त, तरिका, प्रेरणा, र सुरुवाती बिन्दु गैरविश्वासीहरूका भन्दा फरक हुँदैनन् भने, यदि तिमीहरूलाई भ्रष्ट शैतानी स्वभावले खेलाउँछ, नियन्त्रण गर्छ र गोटीझैँ चलाउँछ भने र यदि तिमीहरूका कार्यहरूका सुरुवाती बिन्दु तिमीहरूका आफ्नै स्वार्थहरू, प्रतिष्ठा, घमन्ड र हैसियत हुन्छन् भने, तिमीहरूले गरेका कर्तव्य गैरविश्वासीहरूका कार्यहरूभन्दा फरक हुँदैनन्। यदि तिमीहरू सत्यता पछ्याउँछौ भने, तिमीहरूले काम गर्ने तौरतरिका बदल्नुपर्छ। तिमीहरूले आफ्नो हित, व्यक्तिगत अभिप्राय र इच्छाहरू त्याग्नुपर्छ। तिमीहरूले काम गर्दा सर्वप्रथम सबैले मिलेर सत्यता सङ्गति गर्नुपर्छ, अनि आफूहरूमाझ कामको बाँडफाँट गर्नुभन्दा पहिले परमेश्वरका अभिप्राय र मापदण्ड बुझ्नुपर्छ, र यसो गर्दा को कुन कुरामा राम्रो छ र कुन कुरामा कमजोर छ भनेर विचार पुर्याउनुपर्छ। तिमीहरूले आफूले गर्न सक्ने काम लिनुपर्छ र आफ्नो कर्तव्यमा दृढतापूर्वक लाग्नुपर्छ। कुनै कुराको लागि पनि झगडा वा खोसाखोस गर्ने गर्नु हुँदैन। तिमीहरूले मिलजुल र सहनशील हुन सिक्नुपर्छ। यदि कसैले भर्खरै कर्तव्य निर्वाह गर्न थालेको छ वा कुनै क्षेत्रको लागि चाहिने सीपहरू भर्खरै सिकेको छ, तर कति कामहरू गर्न सक्दैन भने, तैँले उसलाई दबाब दिनु हुँदैन। तैँले उसलाई अलिक सजिलो हुने काम दिनुपर्छ। यसले उसलाई आफ्नो कर्तव्य निर्वाह गर्दा नतिजाहरू हासिल गर्न सजिलो बनाउँछ। सहनशील, धैर्यवान् र सिद्धान्तनिष्ठ हुनु भनेको यही हो। यो सामान्य मानवतामा हुनुपर्ने एउटा पक्ष हो; यो मानिसहरूका लागि परमेश्वरले आवश्यक गर्नुभएको, अनि मानिसहरूले अभ्यास गर्नैपर्ने कुरा हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूले मलाई यो कुरा बुझायो कि गैरविश्वासीहरूले काम गर्ने तरिकाको तुलनामा मण्डलीमा कर्तव्य पूरा गर्नु कति फरक छ। गैरविश्वासीहरूको संसारमा, मानिसहरू संसारसँग व्यवहार गर्ने शैतानी दर्शनहरूअनुसार अन्तरक्रिया गर्छन् जस्तै, “जुन कुराले आफूलाई असर गर्दैन, त्यसका लागि टाउको दुखाउनु हुँदैन,” र “सबैले आफ्नै आँगन बढार्छ; अर्काको छानोमा फोहोर भए के मतलब” जस्ता। तिनीहरू केवल आफ्नै हित र आफ्नो बढुवा हुन्छ कि हुँदैन र धन कमाउन सकिन्छ कि सकिन्न भन्ने कुराको मात्र ख्याल गर्छन्। अरूको कठिनाइप्रति कसैले कुनै चासो वा चिन्ता देखाउँदैन। आफ्नो कर्तव्यमा मैले गरेको व्यवहारलाई ख्याल गर्दा, मैले त ठ्याक्कै गैरविश्वासीले जस्तै पो कार्य गरिरहेकी रहेछु भन्ने बुझेँ। लेलाले भर्खरै अभ्यास गर्न थालेकी र आफ्नो कर्तव्यमा कठिनाइ भोगिरहेकी छिन् भन्ने तथ्य मलाई राम्ररी थाहा थियो, तर मलाई ढिलाइ हुने र उनीबाट उछिनिने डर थियो, त्यसैले म मदत गर्न अनिच्छुक थिएँ। फलस्वरूप, भिडियो फेरि बनाउँदा काममा ढिलाइ मात्र भएन, म त परमेश्वरद्वारा घृणित, आफ्नो भ्रष्ट स्वभाव पनि बाँचिरहेकी थिएँ, र मैले आफ्नो कर्तव्यमा उहाँको मार्गदर्शन पाएकी थिइनँ। यसले मलाई यो कुरा देखायो कि परमेश्वरको स्वभाव धर्मी छ, र परमेश्वरले हाम्रो भित्री हृदयसम्म छ्यानबिन गर्नुहुन्छ, हामीले आफ्नो कर्तव्य पूरा गर्दा हाम्रा स्वार्थी नियतहरू परमेश्वरले छर्लङ्गै देख्नुहुन्छ, अनि यदि हामीले आफ्नो कर्तव्यमा गलत नियत राख्यौँ भने पवित्र आत्माको काम पाउनछैनौँ। परमेश्वरका वचनहरूबाट मैले यो पनि बुझ्न पाएँ कि, मण्डलीमा हामीले कर्तव्य पूरा गरिरहेका हुन्छौँ, आफ्ना व्यक्तिगत मामिलाहरू सम्हालिरहेका हुँदैनौँ, अनि हामीले भ्रष्ट स्वभावमा अआधारित भएर आफ्नो व्यक्तिगत उद्यम चलाउन सक्दैनौँ। जेसुकै भए पनि, हामीले सत्यता अभ्यास गर्नुपर्छ र मण्डलीको हितका लागि खडा हुनुपर्छ, र मण्डलीको कामलाई सहज रूपमा अघि बढाउन दाजुभाइ-दिदीबहिनीहरूलाई पारस्परिक रूपमा मदत र समर्थन गर्नुपर्छ। मैले परमेश्वरका यति धेरै वचनहरूको मलजल र भरणपोषण पाएकी थिएँ, र मण्डलीले मलाई यति लामो समयसम्म संवर्धन गरेको थियो। यदि म अझै पनि आफ्नै लागि षड्यन्त्र रचिरहेकी, आफ्ना स्वार्थी चाहनाहरू पूरा गरिरहेकी थिएँ र परमेश्वरको प्रेम चुक्ता गर्नका लागि आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सक्दिनँ थिएँ भने, म साँच्चै नै विवेक्राहित थिएँ र परमेश्वरले मलाई दिनुभएका सबै कुराका लागि अयोग्य थिएँ, परमेश्वरको सामुन्ने जिउन लायक त झन् थिइनँ। यो कुरा महसुस गर्दा मलाई साह्रै पछुतो लाग्यो। मैले आफ्नो कर्तव्यलाई त्यसरी लिनुहुँदैनथ्यो, र जतिसक्दो चाँडो आफूलाई सुधार्नुपर्थ्यो। भविष्यमा कुनै समस्या सम्हाल्दा, त्यो मण्डलीको काम हो भने, त्यो मेरो जिम्माको होस् वा नहोस्, अथवा त्यसले मलाई राम्रो देखाओस् वा नदेखाओस्, मैले त्यसलाई कायम राख्नैपर्छ र आफ्नो जिम्मेवारी पूरा गर्नैपर्छ। यसपछि, जबजब दाजुभाइ-दिदीबहिनीहरूले कठिनाइहरूको सामना गर्थे र मेरो मदत चाहिन्थ्यो, मैले फेरि कहिल्यै इन्कार गरिनँ, र मैले सारांश गरेका केही राम्रा मार्गहरू उनीहरूलाई बताउन सक्ने भएँ। यसरी आफ्नो कर्तव्य पूरा गर्दा, मेरो मन ढुक्क र शान्त भयो।