५७. मैले अन्ततः गलत कार्यबारे रिपोर्ट गर्ने आँट गरेँ
अगुवाको रूपमा सेवा गर्ने क्रममा, मैले निष्कासन गरिहाल्नु नहुने एक सिस्टरलाई कर्तव्यमा जिम्मेवारी नलिएको अनि सिद्धान्तहरू पालना नगरेको भनी अन्यायपूर्ण दोष लगाउँदै मण्डलीबाट निष्कासन गरेँ। पछि, ती सिस्टरलाई मण्डलीमा फर्काइयो र मलाई झूटो अगुवा ठहराइयो र व्यावहारिक काम नगरेकोमा मलाई पदबाट बर्खास्त गरियो। मण्डलीले मलाई केही समय मनन गर्न निर्देशन दियो र म आत्मचिन्तनद्वारा आफूलाई बुझ्न र साँचो रूपमा पश्चात्ताप गर्न एकदमै इच्छुक थिएँ। त्यो बेला, म सिस्टर किन् केनसँग बसिरहेकी थिएँ। ली जिङ नामकी एक मण्डली अगुवा किन् केनको कर्तव्यका विभिन्न पक्षहरूबारे सोध्न प्राय आइरहन्थिन्। उनले किन् केनलाई आफूले अरू ब्रदर-सिस्टरहरूमा देखेका कमीकमजोरीहरू र तिनीहरूलाई कसरी काटछाँट र निराकरण गरिन् भनेर पनि बताउँथिन्। सुरुमा त, मैले यसबारेमा त्यति सोचिनँ, तर समय बित्दै जाँदा पनि उनले यसरी नै कुरा गरिरहेको देख्दा, मैले सोच्न थालेँ: “के तिमीले धाक लगाउन मानिसहरूको पिठ्यूँपछाडि तिनीहरूको आलोचना र निन्दा गरिरहेकी छैनौ र? ब्रदर-सिस्टरहरू समस्यामा पर्दा, तिनीहरूको समस्या सुल्झाउन सत्यता सङ्गति गर्नुको सट्टा हप्काएर मात्रै, के तिमीले साँच्चै नतिजा प्राप्त गर्न सक्छौ?” मैले यो कुरा ली जिङसँग उठाउनेबारेमा सोचेँ, तर त्यसपछि के लाग्यो भने: “बर्खास्त गरिएपछि मैले मनन अवधिमा बस्नुपर्ने हो—उनले मेरो प्रतिक्रिया स्विकारिनन् र मैले आफ्नो मनन अवधिमा जसरी व्यवहार गर्नुपर्ने हो त्यसरी व्यवहार गरिरहेकी छैनँ भनी भनिन् भने के गर्ने? यदि उच्च अगुवाले मेरो स्थिति हेरे र ली जिङले म परिवर्तन भएको छैन भनेर भनिन् भने, मलाई फेरि नयाँ कर्तव्य दिइन कति समय लाग्छ कसलाई के थाहा? होस्, मैले केही नबोलेकै जाती हुन्छ।” तर त्यसपछि, मलाई अझै पनि खटपट भइरह्यो। मैले ली जिङमा देखेको यो समस्या बेवास्ता गर्नु बेफिक्र हुनुसरह थियो। पछि, फेरि पनि ली जिङले ब्रदर-सिस्टरहरूलाई आलोचना र हेला गरिरहेको र फेरि धाक लगाइरहेको देखेपछि, मैले यो कुरा उनलाई औँल्याइदिएँ। बाहिरी रूपमा, उनले मेरो आलोचना स्विकारेजस्तो देखिन्थ्यो, तर उनको त्यस्तै व्यवहार दोहोरिरह्यो। मैले उनलाई धेरैपटक समस्या औँल्याइदिएँ, तर उनले आफ्ना शैलीहरू परिवर्तन गरिनन्। मैले मनमनै सोचेँ: “उनले आफ्ना समस्याहरू पहिचान गरेजस्तो देखिन्छ, तर उनले कहिल्यै पनि आफ्नो व्यवहार परिवर्तन गर्दिनन्। उनले सत्यता स्विकारिरहेकी छैनन्। सायद मैले उनलाई भेटेर सत्यता स्विकार्न नसक्ने उनको अवस्थाबारे विश्लेषण र सङ्गति गर्नुपर्छ। यो उनको लागि उपयोगी हुनेछ।” तर त्यसपछि मैले सोचेँ: “मैले उनलाई यो कुरा धेरैपटक बताइसकेँ। मैले फेरि यही कुरा उठाएँ, र उनले यो कुरा स्वीकार गर्नुको सट्टा उल्टै मलाई दोष दिइन् भने के गर्ने? अहिले मैले मनन गर्दै समय बिताउनुपर्ने हो—मलाई निष्कासित गरियो भने के मैले अझै मुक्ति पाउने मौका पाउनेछु? होस्, म आफू राम्रो भएर चुपचाप बस्नु नै ठीक होला।”
पछि, मैले दुई सिस्टरहरू किन् केन र जिया युलाई पाहुना राख्न थालेँ। एक बिहान, मैले ली जिङले तिनीहरूलाई मण्डली सफाइ गर्ने काम ढिलो गरेको भनेर गाली गरिरहेको र यसले गर्दा अगुवाले तिनलाई नराम्रो सोच्नेछन् भनेर भनिरहेको सुनेँ। ती दुई सिस्टरहरूले यसो भन्दै जवाफ दिए: “मण्डली सदस्यलाई निकाल्ने कार्य ठूलो विषय हो। यस्तो कदम चाल्नुपहिले हामीले परिस्थितिका सबै पक्षहरू पुष्टि गर्नु र बुझ्नुपर्छ। हामीले हतार गर्यौँ भने, हामीले गलत रूपमा मानिसहरूलाई दोष लगाउने सम्भावना हुन्छ।” तर ली जिङले यो कुरा स्विकारिनन् र उनले सिस्टर चाङ जिङलाई दुष्कर्मीको रूपमा दोष दिने र निकाल्ने योजना छ भनेर भनिन्। वास्तवमा, चाङ जिङको स्वभाव अहङ्कारी मात्रै थियो—सुसमाचार डिकनको रूपमा सेवा गर्दा, उनले समस्याहरू समाधान गर्नका लागि सत्यता सङ्गति गर्न सक्दिनथिन् र सधैँ मानिसहरूलाई हप्काउने र बाध्य पारिएको महसुस गराउने गर्थिन्। तर उनमा दुष्कर्मीको सार थिएन र बहिस्कार गर्ने सर्तहरू उनमा पूरा लागू हुँदैनथ्यो। त्यो बेला, किन् केन र जिया युले ली जिङसँग असहमति जनाए र चेङ जिङको व्यवहारले निष्कासनका मापदण्ड पूरा गर्दैन भनेर तर्क गरे। तिनीहरूले चाङ जिङले आत्मचिन्तन गरेर आफ्नो विगतका अपराधहरूबारे केही बुझाइ प्राप्त गरेकी छिन् भनेर पनि उल्लेख गरे। तैपनि, ली जिङले तिनीहरूको तर्क इन्कार मात्र गरिनन्, तिनीहरूले चाङ जिङलाई निष्कासित नगरेर दुष्कर्मीलाई रक्षा गरिरहेका छन् र मण्डलीको सफाइ कार्यमा ढिलाइ गरिरहेका छन् भन्दै तिनीहरूलाई गालीसमेत गरिन्। यो सुन्दा, मैले सोचेँ: “मण्डली सफाइ गर्ने काम अत्यन्तै महत्त्वपूर्ण छ, र यसलाई सिद्धान्तअनुसार अघि बढाइनुपर्छ। ली जिङले आफ्नै प्रतिष्ठा र हैसियत रक्षा गर्नका लागि निष्कासनका मापदण्डहरू पूरा नगर्ने व्यक्तिलाई स्वेच्छाचारी रूपमा दोष दिँदै र निष्कासन गर्दै दुष्कर्म गरिरहेकी छिन्!” मैले यो कुरा ली जिङलाई औँल्याइदिनेबारेमा सोचेँ, तर यस्तो सोच आयो: “म मेरा ब्रदर-सिस्टरहरूलाई बास दिने व्यक्ति मात्र हुँ र मेरा शब्दहरूको त्यति मूल्य हुँदैनन्। मैले उनलाई यो कुरा बताएँ नै भने पनि, उनले मेरो आलोचना स्वीकार नगर्न सक्छिन्। म यसबाट टाढा बस्नु नै उचित हुन्छ।” यस्तो सोचेपछि, म मुख बाँधेर बसेँ। त्यस दिन दिउँसो, मैले ली जिङले चाङ जिङलाई निष्कासन गर्ने तयारीको लागि उनका बारेमा सबै जानकारी बटुल्न दुई जना सिस्टर लगाएकी छिन् भन्ने सुनेँ। ती दुई सिस्टरले फेरि पनि चाङ जिङको व्यवहारले निष्कासनका सर्तहरू पूरा गर्दैन भनेर चिन्ता व्यक्त गरे र ली जिङलाई थप खोजी गर्न अनुरोध गरे। तर ली जिङले तिनीहरूको कुरा सुनिनन् र फेरि पनि सफाइको काममा बाधा दिएको र दुष्कर्मीलाई रक्षा गरेको भन्दै ती सिस्टरहरूलाई दोष दिइन्। उनले यस्तो कुरा भनेपछि, उनी कोठाबाट रिसाउँदै निस्केर गइन्। मलाई म आफैले सिद्धान्तअनुसार आफ्नो कर्तव्य पूरा नगरेको, र मण्डलीका एक सदस्यलाई तिनको बारेमा विस्तृत जानकारी पुष्टि नगरी गलत रूपमा दोष दिएको मेरो आफ्नै विगत याद आयो। जब म निष्कासित भएकी सिस्टरसित माफी माग्न गएँ, तब उनले यस घटनाले गर्दा उनलाई ठूलो पीडा र कष्ट भएको र उनी भेलामा जान नसक्ने वा परमेश्वरका वचनहरू पढ्न नसक्ने अवस्थामा पुगेको बताइन्। यसले गर्दा मलाई अत्यन्तै ग्लानि र पछुतो भएको थियो। मैले ती सिस्टरलाई गरेको हानि र उनको जीवनमा पुर्याएको नोक्सानी सच्याउन नसकिने थियो, र त्यस घटनाले मेरो विश्वासी जीवनमा स्थायी दाग छोडेको थियो। यदि चाङ जिङलाई निष्कासित गर्ने यो मामलालाई सिद्धान्तहरूअनुसार मूल्याङ्कन गरिन्थ्यो भने, चाङ जिङको व्यवहार निष्कासित नै गर्नुपर्ने गरी गम्भीर थिएन। तैपनि ली जिङ आफ्नै प्रतिष्ठा र हैसियत रक्षा गर्नको लागि उनलाई निष्कासित गर्न दृढ भएकी थिइन्। यो दुष्कर्म थियो! त्यो रात, म सुत्न नसकेर कोल्टे फेर्दै पल्टिरहेँ—मैले ती दुई सिस्टरहरूले सङ्गति गर्दा ली जिङले स्विकार्न नमानेको र स्वेच्छाचारी ढङ्गले तिनीहरूलाई दोष दिएकोबारेमा सोचिरहेँ। के तिनले तिनीहरूलाई दमन गर्न र बाध्यतामा पार्नका लागि आफ्नो हैसियत प्रयोग गरिरहेकी थिइनन् र? मैले मण्डलीको काम रक्षा गर्नको लागि ली जिङलाई भेटेर उनीसँग सङ्गति गर्नुपर्छ भन्ने सोचेँ। तर त्यसपछि मलाई मैले केही समयपहिले ली जिङलाई सुझाव दिँदा, उनले स्वीकार नगरेको कुरा सम्झेँ। मैले यो कुरा फेरि उठाउँदा उनले मलाई सफाइको काममा अवरोध गरेको र बाधा दिएको आरोप लगाइन् भने मैले के गर्ने? मेरो अपराधको कारण मलाई पहिल्यै बर्खास्त गरिसकिएको थियो र म अझै पनि मनन अवधिमा थिएँ। ती आरोपहरूको आधारमा मलाई मण्डलीबाट निष्कासित गरियो भने मैले के गर्ने? यो सोच आएपछि, म हिचकिचाउन थालेँ।
त्यसपछि, म खोजी र प्रार्थना गर्नको लागि परमेश्वरको अघि आएँ, र उहाँको वचनको यो खण्ड पढेँ: “तिमीहरू परमेश्वरको भारलाई बुझ्छौ र मण्डलीको गवाहीको प्रतिरक्षा गर्छौ भनी तिमीहरू सबै भन्छौ, तर तिमीहरूमध्ये कसले परमेश्वरको बोझलाई साँच्चै बुझेका छौ? आफैलाई सोध: के तँ उहाँको बोझलाई बुझ्ने व्यक्ति होस्? के तैँले उहाँको निम्ति धार्मिकतालाई अभ्यास गर्न सक्छस्? के तँ मेरो लागि खडा भएर बोल्न सक्छस्? के तँ दृढताको साथ सत्यतालाई अभ्यास गर्न सक्छस्? के तँ शैतानका सारा कार्यहरूको विरुद्धमा लड्न सक्ने जत्तिको साहसी छस्? के तँ आफ्ना भावनाहरूलाई पन्छ्याएर मेरो सत्यताको खातिर शैतानको खुलासा गर्न सक्षम छस्? के तँ मेरा अभिप्रायहरूलाई तँमा पूरा हुन दिन सक्छस्? के तैँले सबैभन्दा महत्त्वपूर्ण पलहरूमा आफ्नो हृदयलाई समर्पण गरेको छस्? के तँ मेरो इच्छा पूरा गर्ने व्यक्ति होस्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १३)। परमेश्वरको वचनको न्यायले मलाई लाजले भरिदियो र म सरमले लुक्न चाहन्थेँ। बर्खास्त भएपछि, मैले म आफ्नो बारेमा मनन गरेर पश्चात्ताप गर्न चाहन्छु भनेर भनिरहेँ, तर मेरो व्यवहारमा कुनै पश्चात्ताप झल्केको थिएन। ली जिङ आफ्नो हैसियत र प्रतिष्ठा कायम राख्न सफाइको काममा सिद्धान्तविपरीत अघि बढिरहेकी छिन्, र उनले ब्रदर-सिस्टरहरूको जीवन प्रवेश र मण्डलीको काममा क्षति गर्नेछिन् भन्ने मलाई राम्ररी थाहा थियो। तर मैले उनीसँग सङ्गति गरेँ भने उनले यसलाई स्वीकार गर्नेछैनन् र उनले मलाई मण्डली सफाइको काममा अवरोध गरेको र बाधा दिएको दोष लगाएर निष्कासित गर्लिन् भन्ने चिन्ता लागेको थियो। आफूलाई रक्षा गर्नका लागि, मैले स्पष्ट रूपमा समस्या देख्दा पनि केही बोल्ने आँट गरिनँ। ममा न्यायबोधको पूर्ण अभाव रहेछ। मैले के महसुस गरेँ भने यदि ली जिङले साँच्चै नै चाङ जिङलाई निष्कासित गरिन् भने, यसले चाङ जिङलाई मात्रै चोट पुर्याउँदैन, लि जिङ आफैमा समेत अपराधको कलङ्क लाग्नेछ। मैले मान्छे खुसी पार्दै हिँड्ने व्यवहार छोड्नुपर्छ भन्ने मलाई थाहा थियो। मैले आफूले पहिले हिँडेको असफलताको मार्गमै अहिले ली जिङलाई देखेकी हुनाले, मैले उनको समस्या औँल्याएर उनको कार्यका परिणामहरू कति गम्भीर हुनेछन् भन्नेबारेमा उनलाई सचेत तुल्याउनुपर्थ्यो। त्यसपछि, मैले ली जिङलाई भेटेँ र आफूले पहिले सिद्धान्तहरूका आधारमा निष्कासन गर्ने काम नगरेको कारण कसैलाई गलत रूपमा दोष लगाएको आफ्नै अनुभवबारे उनीसित सङ्गति गरेँ। तर ली जिङले मैले भनेको कुरा स्वीकार गरिनन् र मैले ब्रदर-सिस्टरहरूलाई बास दिने काममा मात्रै ध्यान दिनुपर्छ र सफाइको काममा संलग्न हुनु हुँदैन किनभने म अझै पनि बर्खास्त भएर मनन अवधिमा छु भनेर मलाई भनिन्। उनले यसो भन्दा मलाई अलिक खिन्न लाग्यो र मैले सोचेँ: “के म आफ्नो हद नाघिरहेकी छु? यदि मैले फेरि यो कुरा उनको अघि उठाएँ भने, कतै उनले मलाई योभन्दा बढी घृणा गर्नेहुन् कि? मैले उनलाई साँच्चै नै चिढ्याएँ भने, उनले मेरो जीवनमा समस्या ल्याउने प्रयास पो गर्नेहुन् कि? तर ली जिङको व्यवहारको सार निकै गम्भीर छ, र उनी यसरी अघि बढ्नु निकै खतरनाक हुनेछ!” यो महसुस गरेपछि, मैले परमेश्वरलाई प्रार्थना गरेँ र यस विषयमा मलाई अगुवाइ गर्नुहोस् भनी अनुरोध गरेँ।
दुई दिनपछि, ली जिङ हाम्रो निवासमा आइन् र मलाई एकातिर बोलाएर किन् केनले आफ्नो भावनाको आदरमा आफ्नो कर्तव्य निभाएको र सफाइको काममा ढिलाइ गरेको कारण उनलाई बर्खास्त गर्ने उनको योजना कस्तो लाग्यो भनेर सोधिन्। मैले भनेँ: “किन् केनले आफ्नो कर्तव्यको लागि ठूलो बोझ लिन्छिन् र उनले चाङ जिङको मामलालाई सिद्धान्तअनुसार लिएकी छिन्। उनले सफाइको काममा कसरी ढिलाइ गरिन् मैले त केही देखिनँ।” तर चाङ जिङ एक दुष्कर्मी हुन् र उनलाई निष्कासित गरिनुपर्छ भनेर ली जिङले जिद्दी गरिन्। सफाइको काममा कुनै प्रगति नहुनुको कारण किन् केनले चाङ जिङलाई रक्षा गरेको कारणले हो भनेर पनि उनले दाबी गरिन्। उनले यसो भनेको सुन्दा म एकदमै चकित भएँ—चाङ जिङको निष्कासनप्रति विरोध जनाएर किन् केनले सिद्धान्तहरूअनुसार काम गरिरहेकी थिइन्। ली जिङले कसरी उनलाई यति मनोमानी ढङ्गले बर्खास्त गर्न सक्थिन्? मैले तुरुन्तै जबाफ दिएँ: “हामीले मनोमानी ढङ्गले मानिसहरूलाई निष्कासन वा बर्खास्त गर्न सक्दैनौँ, र हामीले आफ्नै इज्जत र प्रतिष्ठा रक्षा गर्न चाहेको कारण हाम्रा ब्रदर-सिस्टरहरूको जीवनलाई गम्भीरतासाथ नलिने गर्नु हुँदैन! मैले सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य पूरा नगरेर विगतमा अपराध गरेँ—कृपया, मैले जसरी असफलताको त्यही मार्गमा नहिँड्नुहोला! हामीले आफ्नो कर्तव्य कडाइसाथ सिद्धान्तहरू पालन गरेर पूरा गर्नुपर्छ।” ली जिङले रिसाउँदै भनिन्: “ठीकै छ, मैले किन् केनलाई बर्खास्त गर्ने निर्णय गरिसकेँ, अब तपाईंले जे भने पनि मेरो मन परिवर्तन हुन सक्दैन।” यो सुनेपछि, मलाई रिस उठ्यो र विवश अनुभव भयो। मैले सोचेँ: “म तिमीलाई चिढ्याउन सक्दिनँ, त्यसकारण चुप लागेर बस्नेछु। जे भए पनि, मैले आफ्नो विचार बताइसकेँ र यसलाई स्वीकार गर्नु-नगर्नु तिम्रो आफ्नै विचार हो।” त्यसपछि, म आफ्नो मुख थुनेर बसेँ। अन्तिममा, ली जिङले किन् केनलाई बर्खास्त गरिछोडिन् र मलाई आफ्नो कर्तव्य निभाउन विकट ठाउँमा पठाइन्। उनले यो मेरो सुरक्षाको लागि गरिएको हो भनेर भनिन्—चिनियाँ कम्युनिस्ट पार्टीले दमन र पक्राउ अभियान तीव्र पारिरहेको छ र म यसभन्दा पहिले अगुवा थिएँ र मलाई मण्डलीको बारेमा धेरै थाहा छ, त्यसकारण मैले ब्रदर-सिस्टरहरूसँग प्रत्यक्ष सम्पर्क नगरेको राम्रो हुन्छ भनेर भनिन्। उनले मलाई के पनि भनिन् भने, अबदेखि मैले पठाउने वा मलाई पठाइने कुनै पनि पत्र उनको मातहतबाट मात्रै पठाइनेछ। मैले जबाफ पनि दिन नपाई, उनले मेरो कुरा काटेर भनिन्, “अब मेरो अरू काम छ,” त्यसपछि उनी हतारहतार आफ्नो बाइक चढेर गइन्। म मेरो घरको सङ्घारमा उभिएर उनलाई बाइकमा गइरहेको हेरिरहेँ, र आँखाबाट आँसु झरिरहेका थिए। मैले सोचेँ: “त्यसो भए, अब तिमी मलाई निषेध र नियन्त्रण गर्दै छ्यौ?” मैले यसबारेमा जति विचार गरेँ, त्यति नै मलाई उकुसमुकस भएर आयो। मैले त्यो अवधिमा ली जिङले गरेको व्यवहारबारे सोचेँ: मैले उनलाई सुझाव दिँदा, उनले स्वीकार गर्दिनथिन् र मलाई ब्रदर-सिस्टरहरूलाई बास दिने काममा लागिरहनू र आफ्नो हद ननाघ्नू भनेर धम्कीसमेत दिएकी थिइन्। त्यसपछि, उनका दुष्कर्महरू खुलासा हुनेछन् भन्ने चिन्ताले, उनले मलाई रक्षा गर्ने प्रयास गरेको बहाना बनाउँदै मलाई विकट ठाउँमा पठाइन् र अरू ब्रदर-सिस्टरहरूलाई सम्पर्क गर्न दिइनन्। उनले अत्यन्तै दुष्ट र छली व्यवहार गरिरहेकी थिइन्! आफ्नै हैसियत र प्रतिष्ठा रक्षा गर्न, उनले उनका आदेशहरू नमान्ने जोकोहीलाई दमन गर्थिन् र दोष दिन्थिन्, र यसरी “मैले भनेको मान्नेहरूले उन्नति गरून् र मलाई विरोध गर्नेहरू नाश होऊन्” भन्ने शैतानको नियम पालना गर्थिन्। के उनले ख्रीष्टविरोधीको जस्तो व्यवहार गरिरहेकी थिइनन् र? मैले सम्झौता गर्नु हुँदैन, र ली जिङको बारेमा रिपोर्ट गरेर उनका दुष्कर्महरू खुलासा गर्नुपर्छ भन्ने मलाई थाहा थियो। तर समस्या के थियो भने मैले लेखेको जुनसुकै कुरा पनि उनीबाट भएर जानुपर्थ्यो। मैले उनको बारेमा रिपोर्ट गर्दै पत्र लेखेकी छु भन्ने उनले थाहा पाउँथिन् भने, उनले मलाई अझै बढी दमन गर्ने सम्भावना हुन्थ्यो। उनले मेरो विरुद्ध दोष लगाएर मलाई मण्डलीबाट निकाल्थिन् भने, मैले मुक्ति पाउने के मौका रहन्थ्यो र? यो सोच आएपछि, म लुरुक्क भएँ र भित्रभित्रै निकै कष्ट भयो।
त्यसपछिका केही दिनसम्म, मेरो मनमा ली जिङसँग पहिले मैले गरेका अन्तरक्रियाहरू नै खेलिरहे र मलाई आफ्नो कर्तव्य निभाउन मन लागेन। एक रात, मैले बल्ल ली जिङको बारेमा रिपोर्ट गर्न पत्र लेख्ने निर्णय गरेँ, तर लेख्ने क्रममा, मनमा यस्तो सोच आयो: “यदि मैले उनलाई रिपोर्ट गरेँ भने, कतै अरू ब्रदर-सिस्टरहरूले मैले मनन अवधिमा जस्तो व्यवहार गर्नुपर्ने हो त्यस्तो गरिरहेकी छैन भनेर सोच्नेहुन् कि? जब किन् केनलाई बर्खास्त गरियो, त्यो बेला उनले ली जिङको बारेमा रिपोर्ट गरेको मैले सुनेकी थिइनँ। मैले उनको बारेमा रिपोर्ट गरेँ भने कतै मैले धाक देखाइरहेजस्तो त देखिने होइन? सुरुमा, मैले ली जिङलाई केही सुझाव दिएँ र अहिले मैले उनको बारेमा रिपोर्ट गरिरहेकी छु। कतै उनले मैले उनमा देखेको समस्या बिर्सनै सक्दिनँ भनेर सोच्नेहुन् कि?” यो सब महसुस गरिसकेपछि मैले त्यो पत्र डिलिट गरेँ, तर पत्र डिलिट गरेकोमा ग्लानि भयो। ली जिङले मलाई कसरी दमन गरिरहेकी थिइन्, त्यो आधारमा हेर्दा त, यदि मैले उनलाई रिपोर्ट गर्थिनँ भने, भविष्यमा उनले क-कसलाई दमन गर्थिन् कसलाई के थाहा। त्यो रात मलाई निद्रै परेन। म प्रार्थनामा परमेश्वरको अघि आएँ र भनेँ: “हे परमेश्वर, म ली जिङको बारेमा रिपोर्ट गर्न चाहन्छु, तर उनले त्यो थाहा पाइन् भने मलाई अझै बढी दमन गर्लिन् भन्ने मलाई डर लागेको छ। हे परमेश्वर, यो परिस्थितिबाट कसरी अघि बढ्ने मलाई थाहा छैन, बिन्ती मलाई अगुवाइ गर्नुहोस्।”
पछि, मलाई परमेश्वरका वचनहरूको यो खण्ड याद आयो: “तैँले सकारात्मकताको पक्षबाट प्रवेश गर्नैपर्छ; सक्रिय होऊ, निष्क्रिय होइन। तँ कुनै पनि परिस्थितिमा, कुनै पनि व्यक्ति वा वस्तुद्वारा पटक्कै अस्थिर हुनु हुँदैन अनि तँ कसैको बोलीबाट प्रभावित हुनै हुँदैन। तँसँग स्थिर स्वभाव हुनैपर्दछ; मानिसहरूले जेसुकै भने तापनि तैँले जानेको सत्य कुरालाई झट्टै व्यवहारमा उतार्नैपर्छ। कामको बेला सधैँ मेरा वचन तेरो मनभित्र हुनैपर्छ, तैँले जोसुकैको सामना गरे तापनि, मेरो गवाही दिनमा तँ दृढ हुनैपर्छ अनि मेरा बोझहरूप्रति विचारशील हुनैपर्छ। आफ्नो राय नै नराखी तैँले अरूको कुरामा अन्धाधुन्ध सहमति जनाउनु हुँदैन; बरु सत्यतासित मेल नखाएका ती सबै कुराविरुद्ध खडा हुने र विरोध गर्ने आँट तँसँग हुनैपर्छ। यदि कुनै कुरा गलत छ भन्ने तँलाई प्रष्ट थाहा छ, तर पनि तँमा त्यसको पर्दाफास गर्ने साहस छैन भने, तँ सत्यता अभ्यास गर्ने व्यक्ति होइनस्। तँ केही भन्न चाहन्छस्, तर शब्दमा व्यक्त गर्ने आँट गर्दैनस्, त्यसैले तँ घुमाउरो कुरा गर्छस्, र त्यसपछि कुराको विषय नै बदलिदिन्छस्; शैतानले तँभित्रै रहेर तँलाई पछाडितिर तानिरहेको छ, कुनै प्रभावविना बोल्ने र अन्त्यसम्मै दृढ रहन नसक्ने बनाएको छ। तँ अझै पनि आफ्नो हृदयमा भय बोकिहिड्छस्, र के यो तेरो हृदय अझै पनि शैतानकै विचारहरूले भरिएको कारणले भएको होइन र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १२)। परमेश्वरका वचनहरूबाट, मैले मण्डलीको काम रक्षा गर्नेहरूलाई परमेश्वरले प्रेम गर्नुहुन्छ भन्ने थाहा पाएँ। जब तिनीहरूले सिद्धान्तहरू उल्लङ्घन गर्ने र मण्डलीका हितहरूमा हानि पुर्याउने कुनै कुरा भइरहेको देख्छन्, तिनीहरूले मण्डलीको काम रक्षा गर्नलाई सत्यता अभ्यास गर्न सक्छन्। यसको विपरीत, आफ्नै हितहरू रक्षा गर्नका लागि अरूसँग अन्धाधुन्ध सहमत हुने र स्वार्थी र घृणित व्यवहार गर्ने मानिसहरूलाई परमेश्वरले घृणा गर्नुहुन्छ। मण्डलीको काममा हानि भएको देख्दा तिनीहरू उदासीन भएर बस्छन्। त्यो बेलाको मेरो व्यवहारलाई मनन गर्ने क्रममा, मलाई के महसुस भयो भने, ली जिङले अरूलाई तिनीहरूका पिठ्युँपछाडि मनोमानी ढङ्गले आलोचना गर्नु र धाक लगाउनु अनुचित हो भन्ने मलाई थाहा भएर पनि, मैले यस्तो कुरा उठाइरहेँ भने, उनलाई चिढ्याउनेछु भन्ने मलाई चिन्ता लागेको थियो। त्यसकारण, आफ्नै हितहरू रक्षा गर्नका लागि, मैले समस्याबारे उनलाई बताउँदा त्यो जति गम्भीर थियो त्यस्तै रूपमा बताएकी थिइनँ। आफ्नै प्रतिष्ठा र हैसियत रक्षा गर्नका लागि, ली जिङले चाङ जिङलाई दुष्कर्मी भन्दै उनलाई निष्कासित गर्न जिद्दी गर्ने, किन् केन र जिया युलाई सफाइको काममा ढिलाइ गरेको आरोप लगाउने र किन् केनलाई बर्खास्त गर्ने काम गरेकी थिइन्। मलाई यी कार्यहरूले सिद्धान्तहरू उल्लङ्घन गरेका छन्, र उनले दुष्कर्म गरेर परमेश्वरको विरोध गरिरहेकी छिन् भन्ने थाहा थियो। तर मैले उनले गरेको कामको सारलाई सीधै औँल्याएँ भने, उनले मेरो जीवन कठिन बनाउनेछिन्, र मैले मण्डली सफाइको काममा अवरोध गरिरहेकी र बाधा दिइरहेकी छु भन्ने दाबीको आधारमा मलाई निष्कासन गर्नेछिन् भन्ने डर लागेको थियो। त्यसकारण मैले उनलाई केही सल्लाह दिँदै उनलाई आफ्नो व्यवहार परिवर्तन गर्न प्रोत्साहन मात्र दिएँ, जसले गर्दा उनले निर्धक्क दुष्कर्म जारी राख्ने मौका पाइन्। मैले ली जिङका कार्यहरूबारे रिपोर्ट गर्छु भन्ने चिन्ताले, उनले मलाई एकान्तमा पुर्याइन् र मलाई अरू ब्रदर-सिस्टरहरूसँग अन्तरक्रिया गर्ने अनुमति दिइनन्। उनले आफ्ना दुष्ट कार्यहरूलाई ढाकछोप गर्न खोजिरहेकी छिन् भन्ने मैले स्पष्ट देखेँ। मैले खडा भएर उनको बारेमा खुलासा र रिपोर्ट गर्नुपर्थ्यो, तर मलाई उनलाई चिढ्याउँछु भन्ने डर लागेको थियो र मसँग उजुरपत्र लेख्ने साहस पनि थिएन। म नीच जीवन जिइरहेकी थिएँ, र म सत्यता अभ्यास गर्न आँट नगर्ने कायर थिएँ। मैले मण्डलीको कामबारे विचार गरिरहेकी वा ब्रदर-सिस्टरहरूको जीवनमा हुन सक्ने हानिबारे वास्ता गरिरहेकी थिइनँ। ममा थोरै पनि न्यायको बोध थिएन र म अत्यन्तै स्वार्थी र घृणित थिएँ!
मैले आफ्नो खोजी जारी राख्ने क्रममा, परमेश्वरको वचनका यी खण्डहरू भेट्टाएँ: “विवेक र तर्कशक्ति दुवै व्यक्तिको मानवताको तत्वहरू हुनुपर्छ। यी दुवै सबैभन्दा आधारभूत र सबैभन्दा महत्त्वपूर्ण हुन्। अन्तस्करणको कमी भएको र सामान्य मानवजातिको विवेक नभएको व्यक्ति कस्तो प्रकारको मानिस हो? सामान्य रूपमा भन्नुपर्दा, ऊ मानवताको कमी भएको, अत्यन्तै कमजोर मानवता भएको एक व्यक्ति हो। यसलाई अलि विस्तारमा हेर्दा, यस व्यक्तिले पतित मानवताका के-कस्ता प्रकटीकरणहरू प्रदर्शन गर्छ? त्यस्ता मानिसहरूमा के-कस्ता विशेषताहरू हुन्छन् र तिनीहरूले के-कस्ता खास प्रकटीकरणहरू देखाउँछन् भनेर विश्लेषण गरी हेर्। (तिनीहरू स्वार्थी र तुच्छ हुन्छन्।) स्वार्थी र तुच्छ मानिसहरू आफ्ना कार्यहरूमा लापरवाही हुन्छन् र तिनीहरूसँग व्यक्तिगत रूपमा कुनै सरोकार नभएका कुराहरूबाट अलग्गै बस्छन्। तिनीहरूले परमेश्वरको भवनको हित विचार गर्दैनन्, न त तिनीहरूले परमेश्वरका इच्छाको बारेमा वास्ता नै राख्छन्। तिनीहरूले परमेश्वरको बारेमा गवाही दिने वा तिनीहरूका कर्तव्यहरू पूरा गर्ने भार बोक्दैनन्, र तिनीहरूमा जिम्मेवारीको कुनै बोध हुँदैन। … आफूले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि, कतिपय मानिसहरूले कुनै जिम्मेवारी लिँदैनन्। तिनीहरूले आफूले पत्ता लगाएका समस्याहरूबारे आफ्ना वरिष्ठहरूलाई रिपोर्ट पनि गर्दैनन्। मानिसहरूबाट हस्तक्षेप र अवरोध भइरहेको देख्दा, तिनीहरू आँखा चिम्लन्छन्। दुष्ट मानिसहरूले दुष्कर्म गरिरहेको देख्दा, तिनीहरू उनीहरूलाई रोक्ने प्रयास गर्दैनन्। तिनीहरू परमेश्वरको घरका हितहरूलाई अलिकति पनि ध्यान दिँदैनन्, न त आफ्नो कर्तव्य र जिम्मेवारी के हुन् भनेर नै ध्यान दिन्छन्। यस्ता मानिसहरूले आफ्ना कर्तव्य निर्वाह गर्दा कुनै वास्तविक कार्य गर्दैनन्; तिनीहरू आरामको लालसा गर्ने चापलुसहरू हुन्; तिनीहरू आफ्नै रवाफ, इज्जत, हैसियत र हितका लागि मात्र बोल्छन् र काम गर्छन्, अनि आफूलाई फाइदा हुने कुनै पनि कुरामा समय र प्रयास अवश्यै लगाउँछन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरलाई आफ्नो साँचो हृदय दिँदा, सत्यता प्राप्त गर्न सकिन्छ)। “मानिसहरूले परमेश्वरको कामको अनुभव गरेर सत्यता बुझुञ्जेलसम्म, भित्रैबाट ठाउँ लिने र प्रभुत्व कायम गर्ने भनेको शैतानको प्रकृति नै हो। त्यो प्रकृतिमा विशेष रूपमा के हुन्छ त? उदाहरणको लागि, तँ किन स्वार्थी छस्? तैँले किन आफ्नो ओहदा संरक्षण गर्छस्? किन तँमा त्यस्ता तीव्र भावनाहरू छन्? किन तैँले ती अधर्मी कुराहरूमा आनन्द लिन्छस्? किन तँ ती दुष्टताहरूलाई मन पराउँछस्? त्यस्ता कुराहरूप्रति तेरो लगाव हुनुको आधार के हो? यी कुराहरू कहाँबाट आउँछन्? ती कुराहरू स्वीकार गर्न तँ किन त्यति धेरै खुशी हुन्छस्? अहिलेसम्ममा, तिमीहरू सबैले बुझिसकेको हुनुपर्छ कि यी सबै कुराहरू हुनुको मुख्य कारण भनेकै मनिसभित्र शैतानको विष हुनु हो। त्यसो भए, शैतानको विष के हो? यो कसरी अभिव्यक्त हुन सक्छ? उदाहरणको लागि, यदि तैँले ‘मानिसहरू कसरी जिउनुपर्छ? मानिसहरू केको लागि जिउनुपर्छ?’ भनेर सोधिस् भने, मानिसहरूले जबाफ दिनेछन्, ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ यो एउटै वाक्यांशले यो समस्याको जड व्यक्त गर्छ। शैतानको दर्शन र तर्क मानिसहरूको जीवन बनिसकेको छ। मानिसहरूले जेसुकैको खोजी गर्ने भए पनि, तिनीहरूले यो आफ्नै लागि मात्र गर्छन्। त्यसकारण तिनीहरू आफ्नै लागि मात्र जिउँछन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’—मानिसको जीवन दर्शन यही हो, र यसले मानव प्रकृतिको पनि प्रतिनिधित्व गर्छ। यी वचनहरू पहिले नै भ्रष्ट मानवजातिको प्रकृति, भ्रष्ट मानवजातिको शैतानी प्रकृतिको साँचो चित्रण भइसकेका छन्, र यो शैतानी प्रकृति पहिले नै भ्रष्ट मानवजातिको अस्तित्वको आधार भइसकेको छ; भ्रष्ट मानवजाति कैयौँ हजार वर्षदेखि अहिलेको वर्तमान समयसम्म शैतानको यो विषअनुसार जिएको छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। परमेश्वरका वचनहरूको प्रकाशद्वारा, मैले के महसुस गरेँ भने म त शैतानी विषहरूको आधारमा जिइरहेकी रहेछु, जस्तै “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “बाठाहरू गल्ती गर्नबाट जोगिन मात्रै खोज्ने हुँदा आत्मरक्षा गर्न खप्पिस हुन्छन्,” “राजाले गाउँगाउँमा हुकुम दिँदै हिँड्न सक्दैन” अनि “भिखारीले रोज्न पाउँदैन।” म अत्यन्तै स्वार्थी र छली भएकी थिएँ र म सधैँ आफ्नै हितहरूबारे मात्रै विचार गर्थेँ। झूटो अगुवाले दुष्कर्म गरेर मण्डलीका हितहरूमा हानि गरिरहेको देख्दा पनि मैले केही बोल्ने आँट गरिनँ। मैले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो विवेक र समझ गुमाएकी थिएँ, र म साँचो मानवको स्वरूपमा पटक्कै जिइरहेकी थिइनँ। मैले ली जिङले चाङ जिङलाई निष्कासन गरेको बारेमा सोचेँ। चाङ जिङको व्यवहार उनलाई निष्कासन नै गर्नुपर्ने गरी गम्भीर छैन र निष्कासित हुँदा उनलाई आत्मिक कष्ट हुन्छ र उनको जीवनमा चरम हानि हुन्छ भन्ने मलाई थाहा थियो। तैपनि, आफ्नै हितहरू रक्षा गर्न, मैले तिनलाई मनोमानी ढङ्गले निष्कासित गर्नबाट ली जिङलाई रोकिनँ। म कति स्वार्थी र मानवताहीन व्यक्ति रहेछु! ली जिङले किन् केनलाई बर्खास्त गर्दा, मैले ली जिङलाई चिढ्याएँ भने मेरो कर्तव्य खोसिनेछ भन्ने चिन्ता लागेको थियो, त्यसकारण मैले सिद्धान्तहरू पालना गरेर यो दुष्ट कार्यलाई रोक्ने आँट गरिनँ। मैले व्यक्तिगत रूपमै यी अपराधहरू गरेकी त थिइनँ, तर ली जिङले दुष्कर्म गर्दा हात बाँधेर बसेँ र उनलाई मण्डलीको काम बिथोल्ने र नष्ट गर्ने अनि मेरा सिस्टरहरूलाई दमन र दण्डित गर्ने मौका दिएँ। के मैले शैतानको पक्षमा उभिएर दुष्टलाई दुष्कर्म गर्न सहयोग गरिरहेकी थिइनँ र? यो महसुस गरेपछि मलाई आफूप्रति घृणा जाग्यो। परमेश्वरको स्वभाव धर्मी र चिढ्याउन नसकिने छ। उहाँले नीच जीवन जिउने, आफ्नै मात्र वास्ता गर्ने, र सत्यता अभ्यास नगर्ने मानिसहरूलाई घृणा गर्नुहुन्छ। यदि म ली जिङका दुष्ट कार्यहरूलाई खुलासा गर्न कहिल्यै खडा नभई उनलाई मण्डलीमा बाधा दिन र दुष्ट कार्य गर्न दिइरहन्थेँ भने, मैले उनका दुष्ट कार्यहरू रक्षा गरिरहेकी हुन्थेँ र परमेश्वरले मलाई घृणा र इन्कार गर्नुहुने थियो। मैले परमेश्वरका वचनहरूको अर्को खण्ड भेटेँ: “मण्डलीमा, मप्रतिको साक्षीमा दृढ़ होऊ, सत्यलाई समर्थन गर; सही कुरो सही नै हो अनि गलत कुरो गलत नै हो। कालो अनि सेतोमा नअलमलिओ। तिमीहरू शैतानसँग लड्नु पर्नेछ अनि तिमीहरूले त्यसलाई पूर्ण रूपले पराजित गर्नुपर्नेछ, ताकि त्यो फेरि कहिले पनि नउठोस्। तिमीहरूले मेरो साक्षीको सुरक्षा गर्न तिमीहरूमा भएको सबै कुरो अवश्यै दिनुपर्नेछ। यो तिमीहरूको कामको लक्ष्य हुनुपर्नेछ-यो नभुल” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ४१)। परमेश्वरका वचनहरूले मलाई अभ्यासको मार्ग दिए। मैले सिद्धान्तहरूअनुरूप नभएका कुराहरू देख्दा, मैले आफ्ना हितहरू पन्छाएर सत्यताका सिद्धान्तहरू पालन गर्नु र मण्डलीको काम रक्षा गर्नुपर्थ्यो। सृष्टि गरिएको प्राणीको रूपमा मैले पूरा गर्नुपर्ने जिम्मेवारी यही थियो र यही नै सबै विश्वासीहरूले गर्नुपर्ने व्यवहारको सिद्धान्त हो। मैले आफ्नै सम्भाव्यता र नियतिबारे चिन्ता गरिरहन, र आफ्ना हितहरू रक्षा गर्नका लागि मात्रै नीच जीवन जिउन हुँदैनथ्यो। मैले सत्यता अभ्यास गर्दै मण्डलीको काम रक्षा गर्नुपर्थ्यो—मैले खडा भएर ली जिङका दुष्ट कार्यहरू खुलासा गर्दै रिपोर्ट गर्नुपर्थ्यो।
त्यसपछि, मैले किन ली जिङको बारेमा रिपोर्ट गर्दा त्यसले मेरो सम्भाव्यता र नियतिमा असर गर्छ भनेर चिन्ता गरिरहेँ भनेर मनन गरेँ। मैले केही गलत विचारहरू बोकेको महसुस भयो। बर्खास्त भएपछि म अझै पनि मनन अवधिमा थिएँ, त्यसकारण मैले अगुवालाई समस्याबारे बताएँ भने, मानिसहरूले मलाई मैले मननको बेला जस्तो व्यवहार गर्नुपर्ने हो त्यस्तो व्यवहार गरिरहेकी छैन भनेर भन्नेछन् भन्ने सोचेँ। मलाई लाग्यो कि म बास दिने व्यक्ति मात्रै हुँ, र ममा कद र हैसियत छैन र मेरो कुराको कुनै मूल्य हुँदैन, त्यसकारण ली जिङले स्वेच्छाचारी ढङ्गले मानिसहरूलाई निष्कासन र बर्खास्त गरेको देख्दा पनि मैले उनलाई औँल्याउने आँट गरिनँ। ली जिङ अगुवा थिइन्, त्यसैले मैले उनलाई चिढ्याएँ भने, उनले मेरो जीवनमा समस्या ल्याउनेछिन् र मैले आफ्नो कर्तव्य पूरा गर्न सक्नेछैनँ भन्ने सोचेँ। मैले के पनि सोचेँ भने मलाई निष्कासन गरियो भने, मैले मुक्ति पाउने सबै मौका पूर्ण रूपमा गुमाउनेछु। मेरो नियति ली जिङकै हातमा छ र मैले आफ्नो कर्तव्य निभाउन र मुक्ति पाउन सक्छु कि सक्दिनँ भन्ने कुरा पूर्ण रूपमा उनमै भर पर्छ भन्ने गलत विश्वास गरेँ। मैले परमेश्वरको घरमा परमेश्वर र सत्यताको राज चल्छ भनेर विश्वास गरिनँ। यस्तो विचार ईश्वरनिन्दा गर्ने र परमेश्वरलाई गलत बुझ्ने किसिमको हुन्छ। मेरो नियति परमेश्वरको हातमा छ र कुनै पनि व्यक्तिले यसबारेमा निर्णय गर्न पाउँदैन, कुनै पनि अगुवाले यसको निर्णय गर्न सक्नु त परको कुरा हो। विगतमा, घमण्डी र तानाशाही ख्रीष्टविरोधीहरूले दुष्कर्म गरे र मण्डलीमा बाधा दिए, कतिले मण्डलीलाई आफ्नो नियन्त्रणमा लिएर आफ्नै स्वतन्त्र राज्य स्थापना गर्ने प्रयास गरे, तर अन्तिममा तिनीहरू सबै निष्कासित भए। परमेश्वरको घरमा सत्यता र पवित्र आत्माको शासन चल्छ। कुनै पनि दुष्कर्मी वा ख्रीष्टविरोधीले मण्डलीमा जरा गाड्न सक्दैन र तिनीहरू सबैलाई परमेश्वरले अन्त्यमा खुलासा गरेर हटाउनुहुनेछ। यदि झूटा अगुवालाई खुलासा गरेर रिपोर्ट गरेकोमा मलाई दमन गरियो, दण्ड दिइयो, वा निष्कासनसमेत गरियो भने, यो क्षणिक मात्रै हुन्थ्यो र यसको अर्थ मैले कहिल्यै मुक्ति पाउँदिनँ भन्ने हुँदैनथ्यो। मण्डलीको सदस्यको रूपमा, मैले जुनसुकै कर्तव्य निभाए पनि, मैले अपराधहरू गरे पनि, वा मलाई विगतमा बर्खास्त गरिएको भए पनि, यदि मैले झूटा अगुवा वा ख्रीष्टविरोधीले दुष्कर्म गरिरहेको, मण्डलीको काममा बाधा दिइरहेको, र परमेश्वरका चुनिएका मानिसहरूलाई दमन गरिरहेको देख्दा, मैले खडा भएर त्यस्तो व्यवहारको बारेमा रिपोर्ट र खुलासा गर्नुपर्थ्यो। त्यो मेरो जिम्मेवारी र दायित्व थियो।
मैले आफ्नो रिपोर्टमा के लेख्ने भनेर विचार गरिरहेको बेला, मैले जिया युलाई भेटेँ। उनले आँसु झार्दै मलाई के भनिन् भने, ली जिङले मण्डली सफाइको काममा सिद्धान्तहरू पालना गर्न नसकेको देखेर उनले उनलाई केही सुझावहरू दिएकी थिइन्। उनले ली जिङले उनको सल्लाह मानिनन् र उनलाई बर्खास्त गरिन् भनेर भनिन्। जिया युले आँसु झार्दै बताएको कुराले मलाई झूटा अगुवा र ख्रीष्टविरोधीहरूले जब मण्डलीमा शक्ति चलाउँछन्, तब त्यो ब्रदर-सिस्टरहरूका लागि मात्र हानिकारक हुने नभई यसले मण्डलीको काममा बाधा र व्यवधान पनि ल्याउँछ भनेर अझै स्पष्ट रूपमा देखायो। मैले जतिसक्दो चाँडो ली जिङलाई खुलासा र रिपोर्ट नगरे, यसले मण्डलीको काममा अझै ठूलो नोक्सानी मात्रै हुने थियो। मैले त्यही रात ली जिङका दुष्ट कार्यहरूको खुलासा गर्दै पत्र लेख्ने र केही ब्रदर-सिस्टरहरूलाई त्यो पत्र माथिल्लो तहका अगुवाहरूकहाँ पठाउन अनुरोध गर्ने निर्णय गरेँ। अचम्मको कुरो, म घर फर्किएपछि माथिल्लो स्तरका अगुवाहरूले मलाई भेट्न बोलाएको एउटा मेसेज पाएँ। मेरो लागि परमेश्वरले बाटो खोलिदिनुभएछ भन्ने मलाई थाहा भयो। हामी भेटेपछि, मैले ली जिङका सबै दुष्ट कार्यहरूबारे तिनीहरूलाई बताएँ। तिनीहरूले ली जिङको बारेमा रिपोर्ट गरिएका धेरै मेसेजहरू प्राप्त गरेका छौँ र यसबारेमा अनुसन्धान गरेर आरोपहरू पुष्टि गरेपछि तुरुन्तै सिद्धान्तअनुसार यो मामला सम्हाल्नेछौँ भने। यो सुनेपछि, मलाई मैले बल्ल केही सत्यता अभ्यास गर्न सकेँ र मेरो हृदय दमनबाट बल्ल मुक्त भयो भनेर खुसी लाग्यो।
केही दिनपछि, माथिल्लो स्तरका अगुवाहरूले मलाई मेसेज पठाएछन् र उक्त मेसेजमा अनुसन्धानपछि ली जिङ ख्रीष्टविरोधी मार्गमा हिँड्ने झूटा अगुवा हुन् भन्ने पत्ता लाग्यो भन्ने उल्लेख गरिएको रहेछ। यो मामला निकै गम्भीर थियो, त्यसकारण तिनीहरूले उनलाई बर्खास्त गरेर कारबाही अघि बढाए। उनले पश्चात्ताप नगरे उनलाई ख्रीष्टविरोधीको रूपमा निराकरण गरिनेवाला थियो। यो सुनेपछि, मैले साँच्चै नै परमेश्वरको घरमा ख्रीष्ट र सत्यताको शासन चल्छ भन्ने अनुभव गरेँ। मण्डलीको विषयमा कुनै पनि व्यक्तिले अन्तिम निर्णय गर्न पाउँदैन र परमेश्वरको घरमा कुनै पनि दुष्कर्मीले स्थान पाउँदैन। मैले के पनि महसुस गरेँ भने सत्यता अभ्यास गरेर अनि मण्डलीको काम रक्षा गरेर मात्रै हामी परमेश्वरको इच्छाअनुरूप बन्न सक्छौँ। परमेश्वरलाई धन्यवाद होस्!