४४. मैले थुनामा बिताएका दिनहरू
जुलाई २००६ मा, मैले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्विकारेँ। परमेश्वरमाथिको मेरो विश्वासलाई मेरो श्रीमानले पनि समर्थन गरे, र हाम्रो घरमा आउने ब्रदर-सिस्टरहरूलाई तिनले खुशीसाथ स्वागत गर्थे। पछि तिनले सर्वशक्तिमान् परमेश्वरका विश्वासीहरूले सरकारको दमन र पक्राउ भोग्न सक्छन् भन्ने सुनेछन्, र तिनी वकिल कार्यालयमा काम गर्ने मेरो मामाको छोरालाई सोध्न गएछन्। घर आएपछि तिनले मलाई भने, “तिम्रो मामाको छोराले भनेको, सरकारले धार्मिक आस्थामाथि कारबाही गरिरहेको छ, खास गरी सर्वशक्तिमान् परमेश्वरका विश्वासीहरूमाथि। अनि, एउटा विश्वासीको कारण उसको सिङ्गो परिवार मुछिनेछ। अबदेखि सर्वशक्तिमान् परमेश्वरमा विश्वास नगर। विश्वासै गर्नु छ भने, थ्री-सेल्फ चर्च जाऊ।” मेरो श्रीमानले विश्वासका कुराहरू बुझेका छैनन् भन्ने मलाई थाहा भयो। मैले तिनलाई भनेँ, “थ्री-सेल्फ चर्च कम्युनिस्ट पार्टीले स्थापना गरेको हो। “तिनीहरूले देशभक्ति र पार्टीप्रेमलाई पहिलो प्राथमिकता दिन्छन्, त्यसपछि परमेश्वरप्रतिको प्रेम आउँछ। तिनीहरूले पार्टीलाई परमेश्वरभन्दा ठूलो ठान्छन्। त्यो विश्वास होइन। म थ्री-सेल्फ चर्च जान सक्दिनँ।” तिनले भने, “सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्नु राम्रो हो, तर तिमीले परिस्थितिलाई स्पष्टसित हेर्नुपर्छ। अहिले यो कम्युनिस्ट पार्टीको संसार हो, र तिमीले विश्वास कायम राख्यौ भने, हामीले जागिर गुमाउन सक्छौँ। के तिमी अस्पतालको जागिर त्याग्न तयार छौ? यति मात्र होइन, हाम्रो बन्धकी ऋण छ र हाम्री छोरीलाई हुर्काउन पैसा चाहिन्छ। पैसाविना हामी कसरी बाँच्न सक्छौँ? यदि तिमीलाई जेल भयो भने, मानिसहरूले मलाई हेला गर्नेछन् र छोरीलाई कक्षाका साथीहरूले गिल्ला गर्नेछन्। तिमीले हाम्रो बारेमा पनि सोच्नुपर्छ! तिमीले विश्वास गर्न छोड।” अविश्वासी भएकोले मेरो श्रीमानलाई यी कुराहरूको चिन्ता हुन्छ भन्ने थाहा थियो, त्यसकारण मैले तिनलाई भनेँ, “कम्युनिस्ट पार्टी नास्तिक हो र यसले परमेश्वरमा विश्वास गर्नेहरूलाई सधैँ सताएको छ। पार्टीको सतावटको कारण म आफ्नो विश्वास छोड्नेछैनँ। डरपोकहरू स्वर्गको राज्यमा प्रवेश गर्न सक्दैनन्—तपाईंलाई थाहा छैन र? अहिले विपत्तिहरू झन्झन् खराब हुँदै गइरहेका छन्। मुक्तिदाता सर्वशक्तिमान् परमेश्वरले सत्यता व्यक्त गर्नुभएको छ र आखिरी दिनहरूको न्यायको काम गर्नुभएको छ, जुन मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्न र मुक्ति दिनको लागि हो ताकि हामी महाविपत्तिमा बाँच्न सकौँ र परमेश्वरको राज्यमा लगिन सकौँ। यो फेरि कहिल्यै नआउने अवसर हो! परमेश्वरमा विश्वास गर्नुको अर्थ केही क्षणिक कष्ट र खतरा आउनेछन्, तर यसमार्फत हामीले सत्यता र परमेश्वरको मुक्ति प्राप्त गर्न सक्छौँ। महत्त्वपूर्ण कुरा त्यही हो।” मेरो श्रीमानले भने, “परमेश्वरको राज्यमा प्रवेश गर्नु त धेरै टाढाको कुरा हो। अहिलेलाई सबभन्दा वास्तविक कुरा भनेको सुखी जीवन जिउनु हो। भविष्यमा के होला मलाई त्यसको चिन्ता छैन, र म त्यसबारेमा सोच्न पनि चाहन्नँ।” पछि, म अझै पनि भेलाहरूमा गइरहने र कर्तव्य निभाउने गरिरहेको छु भन्ने देखेर तिनले मसँग झगडा गरे। तिनले भने: “सधैँ यसरी खतरामा जिउनुको अर्थ हुँदैन। यदि तिमीले विश्वास गरिरह्यौ भने, हाम्रो परिवार तोडिनेछ।” मैले सोचेँ: “सायद मैले आफ्नो विश्वासमा जिद्दी गरेँ भने परिवार साँच्चै तोडिनेछ। मेरी छोरी भर्खर नौ वर्षकी भई, र उसको साथमा सबै परिवार भएन भने उसलाई धेरै चोट पुग्नेछ।” त्यो बेला म आफ्नो परिवार गुमाउन चाहन्नथेँ, तर श्रीमानले मेरो विश्वासमा बाधा पुर्याइरहेका थिए, र अवस्था यस्तै भइरहे, मैले कसरी कर्तव्य निभाउन सक्थेँ र? मेरी छोरी, मेरो परिवार, र परमेश्वर—म कसैलाई पनि त्याग्न तयार थिइनँ। यो द्विविधामा संघर्ष गरिरहेको बेला, मलाई प्रभु येशूको यो वचन याद आयो: “मलाईभन्दा बढी आफ्ना बुबा वा आमालाई प्रेम गर्ने मेरो लायक हुँदैन: अनि मलाईभन्दा बढी छोरा वा छोरीलाई माया गर्ने मेरो लायक हुँदैन। र आफ्नो क्रूस बोकेर मेरो पछि नलाग्ने, मेरो लायक हुँदैन” (मत्ती १०:३७-३८)। मैले युगौँयुगका ती सबै सन्तहरूबारे सोचेँ, जसले सुसमाचार प्रचार गर्दै र परमेश्वरको गवाही दिँदै परमेश्वरको आज्ञा पूरा गर्न सबथोक त्यागेका थिए, र परमेश्वरबाट आएका धेरै सत्यताबाट भरणपोषण पाएकीले, मैले पनि परमेश्वरको इच्छाप्रति ध्यान दिनुपर्थ्यो र परिवार रक्षा गर्नकै लागि विश्वास र कर्तव्य त्याग्नु हुँदैनथ्यो। मैले परमेश्वरबारे सोचेँ, जो हामीलाई शैतानको शक्तिबाट बचाउनको लागि देहधारी बनेर आउनुभयो, अनि ठूलो रातो अजिङ्गरको दमन, पक्राउ, निन्दा र दोषारोपण, साथै धार्मिक समुदायको इन्कार र गाली सहँदै हामीलाई मलजल र भरणपोषण गर्न चुपचाप सत्यता व्यक्त गरिरहनुभयो। मानवजातिप्रतिको परमेश्वरको प्रेम कति महान् छ! परमेश्वरबाट मैले धेरै कुरा प्राप्त गरेकी थिएँ, तर यस क्रममा मैले परिवार र छोरीलाई महत्त्व दिइरहेकी थिएँ, परमेश्वरको प्रेमको ऋण कसरी तिर्ने भन्नेबारेमा सोचिरहेकी थिइनँ। मेरो विवेक कहाँ थियो र? यो सोचेपछि, मलाई परमेश्वरप्रति धेरै ऋणी भएको अनुभव भयो, अनि मेरो श्रीमानले मलाई जसरी बाधा वा दबाब दिए पनि, म परमेश्वरलाई नै पछ्याउनेछु, सुसमाचार प्रचार गर्नेछु र परमेश्वरको गवाही दिनेछु भनेर सङ्कल्प गरेँ।
त्यसपछि, मण्डलीमाथि कम्युनिस्ट पार्टीको दमन झन्झन् कठोर बन्यो र मेरो श्रीमानको विरोध अझै तीव्र भयो। सन् २००७ को दोस्रो उत्तरार्धमा, ओलम्पिक खेलको लागि स्थिरता कायम गर्ने नाममा, पार्टीले धार्मिक आस्थामाथि कारबाही चलायो र मण्डलीहरूलाई दमन गर्यो, र कैयौँ ब्रदर-सिस्टरहरू पक्राउ परे। सेप्टेम्बरको एक बिहान म सुसमाचार सुनाउन बाहिर जान तयार भइरहेको बेला, मेरो श्रीमानले मलाई रोके र मलाई एक्लै छोड्दै छोडेनन्। तिनले मेरो जेठा दाजुलाई बोलाए, र मलाई भने, “केही दिन पहिले तिम्रो मामाको छोराले भनेका थिए कि राजनीतिक तथा कानुनी मामला समितिले सुरक्षा र न्याय निकायहरूको संयुक्त कारबाही चलाएको छ, र व्यापक रूपमा सर्वशक्तिमान् परमेश्वरका विश्वासीहरूलाई पक्रर्न कैयौँ अधिकारीहरू खटाएको छ। तिनीहरूलाई पक्राउ गरिएपछि, जेल सजाय दिइन्छ। त्यसकारण परमेश्वरमा विश्वास गर्न छोड न, हुन्न?।” मेरो दाजुले पनि मलाई अनुरोध गरे, “विश्वास गर्नु राम्रो कुरा हो मलाई थाहा छ, तर पार्टीले मानिसहरूलाई परमेश्वरमा विश्वास गर्न दिँदैन। हामीसँग तिनीहरूसँग लड्ने शक्ति छैन, त्यसकारण तैँले आफ्नो विश्वास अभ्यास गर्न चाहन्छस् भने, घरमै गर्। बाहिर गएर सुसमाचार सुनाउन छोड्। पक्राउ परिस् भने के गर्छस्?” मैले भनेँ: “मलाई थाहा छ, तपाईंहरूले मेरो हित चाहनुहुन्छ, तर सबैभन्दा धर्मी कुरा भनेको परमेश्वरमा विश्वास गर्नु र सुसमाचार सुनाउनु हो, ताकि अझै धेरै मानिसहरूलाई परमेश्वरले मुक्ति दिन सक्नुहोओस्। यो सम्भव हुने सबभन्दा ठूलो असल काम हो। के मैले आफ्नो रक्षा गर्नकै लागि सुसमाचार सुनाउन छोड्नु अत्यन्तै स्वार्थी काम हुँदैन र?” त्यो सुनेर मेरो श्रीमानले घुँडा टेक्दै भने, “म तिमीलाई बिन्ती गर्छु। हाम्रो घर र बच्चाको लागि परमेश्वरमा विश्वास गर्न छोड। विश्वास गर्यौ भने, हाम्री छोरीले विश्वविद्यालय जान वा राम्रो जागिर खान पाउनेछैन। उसको भविष्य बरबाद हुनेछ! हाम्रो एउटै मात्र सन्तान छ—तिमीले उसको बारेमा सोच्नुपर्छ! यदि तिमी पक्राउ पर्यौ भने म बाहिर जाँदा मानिसहरूले मेरो कुरा काट्नेछन्। मलाई भन, मसँग कुन इज्जत बाँकी हुन्छ र?” मेरो श्रीमानलाई त्यस्तो अवस्थामा देखेर, के गर्ने मलाई साँच्चै थाहा भएन। तिनी सधैँ अभिमानी थिए, तर अहिले मेरो दाजुको अगाडि मलाई घुँडा टेकेर बिन्ती गरिरहेका थिए। मैले विश्वास गर्न जोड दिन्थेँ भने तिनलाई चोट पुग्थ्यो। अनि मेरो विश्वासको कारण पार्टीले अन्तिममा मेरी छोरीलाई विश्वविद्यालयमा भर्ना हुन दिएन, र यसले गर्दा उसले राम्रो जागिर र राम्रो भविष्य पाइन भने के होला? मेरो दाजुसमेत मेरो विश्वासको विरुद्धमा थिए। मेरो विश्वासको कारण म र मेरो श्रीमानको सम्बन्धमा आँच आएको मेरो परिवारले थाहा पाएमा तिनीहरूले पक्कै मेरो विश्वासमा बाधा दिने थिए। त्यसरी मेरो लागि विश्वासको बाटो अझै कठिन हुने थियो। तर यदि मैले मेरो श्रीमानको कुरा मानेर विश्वास त्याग्ने वाचा गर्थेँ भने, के त्यो परमेश्वरलाई त्याग्नु हुँदैनथ्यो र? मैले यसबारेमा जति विचार गरेँ, मलाई त्यति चिन्ता लाग्यो, त्यसकारण मेरो हृदयको रक्षा गर्न अनुरोध गर्दै मैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ। त्यस बेला मैले पहिले पढेको परमेश्वरका वचनहरूको एउटा खण्ड याद गरेँ: “परमेश्वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरू बीचको अन्तरक्रिया जस्तो देखिन्छ, मानवको बन्दोबस्त वा हस्तक्षेपहरूबाट जन्मेको जस्तो देखिन्छ। तर पर्दा पछाडि, कार्यको प्रत्येक चरण, र जे कुरा पनि हुन्छ, त्यो शैतानले परमेश्वरसँग बाजी थाप्ने कार्य हो, र यसका लागि मानिसहरूले परमेश्वरको साक्षी दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो)। वास्तवमै हो! बाहिरी रूपमा मेरो परिवारले मलाई बाधा दिइरहेजस्तो देखिन्थ्यो, तर वास्तवमा मलाई शैतानले जाँचिरहेको थियो। परमेश्वरमा विश्वास गर्दै र आफ्नो कर्तव्य निभाउँदै, म सही मार्गमा थिएँ। शैतानले मलाई बाधा दिन र परमेश्वरलाई त्याग्न लगाउनको लागि मेरो परिवार प्रयोग गरिरहेको थियो। म शैतानको छलमा पर्नु हुँदैनथ्यो, बरु दह्रिलो भएर खडा हुनुपर्थ्यो, र गवाही दिँदै शैतानलाई लज्जित पार्नुपर्थ्यो। यो सोचेपछि, मैले गम्भीरतासाथ तिनीहरूलाई भनेँ, “परमेश्वरले नै सबै कुराको निर्णय गर्नुहुन्छ। हाम्रो काम र भविष्य सबै परमेश्वरले नै तय गर्नुहुन्छ, चाहे कम्युनिस्ट पार्टीले जेसुकै भनोस्। देश र राजनीतिक पार्टीहरूको उदय र विलय, र एउटा मामुली व्यक्तिको भविष्य सबै परमेश्वरकै हातमा छन्। तपाईंहरू दुवैलाई थाहा छ, म विश्वासी हुनुअघि म कति रोगी थिएँ, र परमेश्वरले नबचाउनुभएको भए म धेरैपहिले मरिसक्थेँ। परमेश्वरले मलाई यो जीवन दिनुभयो र मैले उहाँबाट धेरै कुरा प्राप्त गरेको छु। मेरो लागि विश्वास नगर्नु वा कर्तव्य ननिभाउनु लाजमर्दो कुरा हुनेछ। के म मानवसमेत रहनेछु र? के मेरो जीवनको कुनै अर्थ हुनेछ र?” मेरो दाजुले आँखा तर्दै भन्नुभयो, “साँचो हो, विश्वास गरेपछि तँ निको भइस्। तर अहिले हामी कम्युनिस्ट पार्टीको अधीनमा जिइरहेका छौँ, र तिनीहरू विश्वासीहरूलाई पक्रर्न चाहन्छन्। के सुसमाचार प्रचार गर्न जानु आफूलाई आगोमा हाल्नुसरह हुँदैन र?” मेरो श्रीमान पनि हो त भन्दै तिनको पक्षमा उभिए। तर तिनीहरूले जे भने पनि मैले आफ्नो विश्वासमा जोड दिएँ। म परिवर्तन हुनेछैन भन्ने देखेर, तिनीहरूले कठोर युक्ति अपनाए। करिब एक महिनापछि, एक दिन म भेलाबाट घर पुग्नेबित्तिकै, मेरो श्रीमानले मलाई थप्पडले हानेर रिसाउँदै भने, “पार्टीले उन्माद रूपमा विश्वासीहरूलाई पक्राउ गरिरहेको छ तर तँ अझै पनि भेलाहरूमा गइरहेकी छस्। म तँलाई विश्वास गर्न दिनेछैन! मैले तँलाई यतिका वर्षसम्म सम्मान गरेँ, र कहिल्यै तँमाथि हात उठाइनँ। तेरो दाजु-भाउजूले तँलाई मैले नै पुलपुल्याएको हुँ, त्यसैले तँलाई ठीक ठाउँमा ल्याउनुपर्छ, र परमेश्वरमा विश्वास गर्ने अवसर दिनु हुँदैन भनेका छन्।” तिनको व्यवहार देखेर छक्क पर्दै मैले तिनलाई एकटक लगाएर हेरेँ। मलाई आँखामा हेर्न डराएर तिनले शिर झुकाएर भने, “म साँच्चै तँलाई कुट्न चाहन्नँ। तर तेरो विश्वासको कारण तँ पक्राउ परी जेल पर् भन्ने चाहन्नँ। यो तेरो आफ्नै भलाइको लागि हो।” तिनको मुखबाट यो कुरा सुन्दा साह्रै व्याकुल भएँ। मेरो श्रीमानले मसँग सधैँ राम्रो व्यवहार गर्दै आएका थिए, तर सतावटको डरले तिनी कम्युनिस्ट पार्टीको औजार बने। तिनले मलाई परमेश्वर त्याग्न लगाउन खोजिरहेका थिए। त्यो कसरी मेरो आफ्नै भलाइको लागि थियो र? पछि, म विश्वास कायम राख्न कति दृढ छु भन्ने देखेर, तिनी काममा जानै छोडे। तिनले मलाई पछ्याइरहन्थे, परमेश्वरको वचन पढ्न, भेलामा जान, वा कर्तव्य निभाउन दिँदैनथे। त्यो बेला मण्डलीमा धेरै काम थियो, तर तिनले मलाई नजरबन्दी गरेर राखेका थिए र मैले आफ्नो कर्तव्य निभाउन पाउँदिनथेँ। मैले तिनलाई मेरो विश्वासमा बाधा नदिन अनुरोध गरेँ। मैले भनेँ, “पहिले तपाईंले मेरो विश्वासमा समर्थन गर्दा परमेश्वरले तपाईंलाई कार दुर्घटनाबाट धेरैपटक बचाउनुभयो। परमेश्वरले हामीलाई यति धेरै अनुग्रह गर्नुभएको छ, र पनि कसरी तपाईं उहाँको विरोध र इन्कार गर्न सक्नुहुन्छ?” तिनले भने, “विगतमा, परमेश्वरमाथिको तिम्रो विश्वास फाइदाजनक थियो, तर अहिले अवस्था यस्तो छैन। तिमीले जबसम्म परमेश्वरमा विश्वास गर्छौ, तबसम्म पार्टीले तिमीलाई छोड्नेछैन र हाम्रो परिवारमा समस्या आउनेछ। के हामी विश्वासले बाँच्न सक्छौँ?” पछि, आफू पनि मुछिने डरले, तिनले डिभोर्स गरौँ भने। यो कुराले मलाई साह्रै धक्का पुग्यो, तर ठूलो रातो अजिङ्गरप्रतिको मेरो घृणा अझै ठूलो थियो। तिनले मलाई अत्याचार र कुटपिट गरिरहेका थिए र अहिले तिनी डिभोर्स गर्न चाहन्थे। यो सबै कम्युनिस्ट पार्टीको दमनबाट आएको थियो। मलाई परमेश्वरका वचनहरूको यो खण्ड याद आयो: “समय अहिले नै हो: त्यस भूतको घृणित अनुहार तोड्न र अन्धो पारिएका र हरप्रकारका दुःख र कठिनाइ झेलेका मानिसहरूलाई तिनीहरूको पीडाबाट उठ्ने र त्यो बूढो दियाबलसतिर आफ्नो पिठिउँ फर्काउने अनुमति दिनका निम्ति मानिसले धेरै समयदेखि आफ्ना सबै शक्ति जम्मा गर्दैआएको छ, उसले आफ्ना सबै प्रयासहरू समर्पण गरेको छ र यसका लागि हरेक मूल्य चुकाएको छ। परमेश्वरको काममा त्यस्तो अभेद्य बाधा किन पार्नु? परमेश्वरका मानिसहरूलाई धोका दिन किन विभिन्न युक्तिहरू प्रयोग गर्नु? साँचो स्वतन्त्रता र वैधानिक अधिकार र हितहरू कहाँ छन्? निष्पक्षता कहाँ छ? सान्त्वना कहाँ छ? स्नेह कहाँ छ? परमेश्वरका मानिसहरूसित चलाकी गर्न किन छलपूर्ण युक्तिहरू प्रयोग गर्नु?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (८))। पार्टी परमेश्वरविरोधी र परमेश्वरलाई घृणा गर्ने पिशाच हो। यसले परमेश्वरको कामलाई अवरोध र नाश गर्न विश्वासीहरूलाई पक्राउ गर्छ र सताउँछ। यसले परमेश्वरको कामको निन्दा गर्न र मानिसहरूलाई मूर्ख बनाउन हरकिसिमका अफवाहहरू फैलाउँछ, ताकि तिनीहरूले परमेश्वरको विरोध गरून् र अन्तिममा नष्ट होऊन्। यसले इसाईहरूका परिवारलाई समेत दबाउँछ र सताउँछ, ताकि एक जना व्यक्तिको विश्वासले गर्दा पूरै परिवारलाई कष्ट होस्। सुरुमा मेरो परिवारले मेरो विश्वासलाई समर्थन गरेको थियो, तर पार्टीको सतावट र अफवाहले गर्दा तिनीहरू परमेश्वरको विरोध गर्ने गिरोह बने। यो पार्टी अत्यन्तै दुष्ट छ! मलाई परमेश्वरका वचनहरूको अर्को खण्ड याद आयो: “परमेश्वरको प्रेमलाई खोजी गर्ने एक सामान्य व्यक्तिको रूपमा परमेश्वरका मानिसमध्ये एक बन्न राज्य प्रवेश गर्नु तिमीहरूको साँचो भविष्य, र सबैभन्दा मूल्यवान् र महत्त्वको जीवन हो; तिमीहरू जत्तिको आशिषित कोही पनि हुँदैन। म किन यसो भन्छु? किनभने परमेश्वरमा विश्वास नगर्नेहरू देहको लागि जिउँछन्, र तिनीहरू शैतानको लागि जिउँछन्, तर आज तिमीहरू परमेश्वरको लागि जिउँछौ, र परमेश्वरको इच्छालाई पूरा गर्नको लागि जिउँछौ। यही कारणले गर्दा नै तिमीहरूको जीवन सबैभन्दा महत्त्वपूर्ण छ भनेर म भन्छु। परमेश्वरले चुन्नुभएका मानिसहरूको यो समूहले मात्रै सबैभन्दा महत्त्वको जीवन जिउन सक्छन्: पृथ्वीमा अरू कोही पनि त्यस्तो मूल्य र अर्थको जीवन जिउन सक्षम छैनन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ)। परमेश्वरका वचनहरू मनन गर्दा मलाई ज्योति मिल्यो। मैले परमेश्वरको आखिरी दिनहरूको काम स्विकारेकी थिएँ। उहाँका वचनहरूबाट धेरै मलजल र भरणपोषण प्राप्त गर्दै, सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य निभाउँदै, सुसमाचार सुनाउँदै र परमेश्वरको लागि गवाही दिँदै, र धेरै मानिसहरूलाई परमेश्वरको अघि आएर मुक्ति पाउन मदत गर्दै आइरहेकी थिएँ। यो सबैभन्दा धर्मी, र सबैभन्दा मूल्यवान् कार्य थियो, र मैले परिवारको रक्षा गर्न आफ्नो विश्वास र कर्तव्य त्याग्न सक्दिनथेँ। मैले परमेश्वरलाई अन्त्यसम्मै पछ्याउनुपर्थ्यो, चाहे त्यसको लागि डिभोर्स नै किन गर्नु नपरोस्। त्यसैले मैले मेरो श्रीमानलाई भनेँ, “मैले यो मार्ग लिने सङ्कल्प गरेकी छु। तर तपाईंले डिभोर्स गर्ने जिद्दी गर्नुभएको छ, म सहमत छु।”
त्यही दिन हामी प्रक्रिया पूरा गर्न नागरिक मामला ब्यूरो गयौँ। मैले हस्ताक्षर गर्न लागेको बेला, मेरो दाजु र भाउजू दौडिँदै आइपुगे र मलाई केही नभनी कारमा तान्दै लगेर तिनीहरूको पसलमा पुर्याए। मेरो बुबा त्यहाँ आइसक्नुभएको रहेछ, र मलाई देख्नेबित्तिकै उहाँले मलाई हिर्काउन हात उठाउनुभयो। कर्मचारीले हतारहतार उहाँलाई रोके। उहाँ चिच्याउनुभयो, “मलाई त सरकारले तेरो विश्वासमा समर्थन गर्छ भन्ने लागेको थियो। तँ पक्राउ पर्न सक्छस् र तेरो परिवार पनि मुछिनेछ भन्ने थाहा थिएन। तैँले अब परमेश्वरमा विश्वास गर्न पाउँदैनस्। विश्वास गरिस् भने, तँ मेरो छोरी होइनस्!” मैले भनेँ, “बुबा, हामीलाई परमेश्वरले सृष्टि गर्नुभएको हो, र उहाँले नै सबैथोकमाथि शासन गर्नुहुन्छ। मानिसहरूले उहाँलाई विश्वास र आराधना गर्नुपर्छ।” मैले बोलिसक्नुपहिले नै मेरो दाजु कराए, “तँ परिवार गुमाउनुपरे पनि विश्वास गर्न चाहन्छस्?” मैले जोड दिएर भनेँ, “मेरो विश्वासमा केही गल्ती छैन। तिनले नै डिभोर्स चाहेका हुन्—परिवारबाट टाढा जाने म होइनँ।” मेरो दाजु फेरि चिच्याए, “सरकारी काम गर्ने मेरो साथीले भनेको, सरकारले सर्वशक्तिमान् परमेश्वरका विश्वासीहरूलाई दमनको मुख्य निसाना घोषणा गर्दै एउटा दस्तावेज जारी गरेको छ। उसले हामीलाई तेरो निगरानी गर्नू र तँलाई विश्वास गर्नबाट रोक्नू भनेर भनेको छ, ताकि हामी पनि तँसँग मुछिन नपरोस्।” अनि, तिनले बाँसको चोयाले मलाई आँखामा हाने र चिच्याउँदै भने, “यति कुरा नि देख्न नसक्ने तँलाई म अब सिकाउँछु!” मेरो परिवारले यस्तो व्यवहार गर्दा साह्रै मन दुख्यो। तिनीहरूबाट उम्कन मैले आफ्नो सारा शक्ति प्रयोग गरेँ र बाहिर भागेँ। घर फर्कँदा म बाटोभरि रोएँ। मलाई साह्रै विवश र एकलो महसुस भयो, र यो मार्गमा कसरी रहने मलाई साँच्चै थाहा थिएन। आँसु झार्दै, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, अहिले मेरो पूरै परिवार मेरो विरुद्धमा छन्, मलाई बाधा दिन्छन् र मैले विश्वास गर्नु हुँदैन भन्छन्। मलाई साह्रै गाह्रो भइरहेको छ। परमेश्वर, बिन्ती छ, मलाई तपाईंको इच्छा बुझ्न र यो परिस्थितिबाट पार पाउन अगुवाइ गर्नुहोस्।” प्रार्थना गरिसकेपछि, मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड याद आयो: “सायद, तिमीहरू सबैलाई यी वचनहरू थाहा छ होला: ‘किनभने हाम्रो हल्का र क्षणिक कष्टले हाम्रो निम्ति अझै अत्याधिक र अनन्त महिमाको काम गर्छ।‘ तिमीहरू सबैले यी वचनहरू पहिल्यै सुनिसकेका छौ, तापनि तिमीहरूमध्ये कसैले पनि त्यसको सही अर्थ बुझेनौ। आज, तिमीहरू त्यसको साँचो महत्त्वको बारेमा पूरै सचेत छौ। यी वचनहरूलाई परमेश्वरले आखिरी दिनहरूमा पूरा गर्नुहुनेछ, अनि ती वचनहरू त्यो देशमा फन्को मारेर बस्ने ठूलो रातो अजिङ्गरद्वारा क्रूरतासाथ सताइएकाहरूमा पूरा हुनेछन्। त्यस ठूलो रातो अजिङ्गरले परमेश्वरलाई सताउँछ अनि त्यो परमेश्वरको शत्रु हो, यसैले, यही देशमा, परमेश्वरमा विश्वास गर्नेहरू उपहास र उत्पीडनको सिकार बन्छन्, अनि परिणामस्वरूप, यी वचनहरू मानिसहरूको यही समूह, अर्थात् तिमीहरूमा पूरा हुन्छन्। परमेश्वरलाई विरोध गर्ने यही देशमा यो सुरु भएको कारण, परमेश्वरका सबै कामले प्रचण्ड बाधाहरूको सामना गर्छ, अनि उहाँका धेरैजसो वचनहरू पूरा हुन समय लाग्छ; यसर्थ, मानिसहरू परमेश्वरको वचनको कारण विशुद्ध गरिन्छन्, जो कष्टकै भाग हो। त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—तथापि यही कठिनाइद्वारा नै परमेश्वरले उहाँको बुद्धि र उहाँका अचम्मका कामहरू प्रकट गर्दै, अनि यसलाई मानिसहरूको यो समूहलाई पूर्ण बनाउने मौकाको रूपमा प्रयोग गर्दै, उहाँको कार्यको एउटा चरण पूरा गर्नुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के परमेश्वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने, परमेश्वरले आखिरी दिनहरूमा ठूलो रातो अजिङ्गरको देशमा काम गरिरहनुभएको छ, जहाँ उहाँलाई तीव्र विरोध गरिन्छ, र हामी उहाँलाई पछ्याउनेहरूले अवश्य नै दमन र बहिष्कार सहनुपर्छ। परमेश्वरले यसरी काम गर्नुको कारण हामीले ठूलो रातो अजिङ्गर र यसको दुष्ट, परमेश्वरविरोधी सार देख्न सकौँ र यसको बहकाउमा पर्न छोडौँ भनेर हो। यो हाम्रो विश्वासलाई सिद्ध पार्नको लागि पनि हो, ताकि हामीले कठिनाइमा परमेश्वरको भरोसा गर्न र शैतानका शक्तिहरूको बाधामा नपरी परमेश्वरलाई पछ्याउन, र उहाँमा साँचो विश्वास गर्न सकौँ। तर थोरै कष्ट भोगेपछि नै मलाई विश्वास गर्नु गाह्रो रहेछ भन्ने लाग्यो। म नकारात्मकतामा जिइरहेकी थिएँ र यो परिस्थितिबाट भाग्न चाहन्थेँ। ममा साँच्चै विश्वासको कमी थियो। यी कठिनाइहरू सामना गर्दा, मलाई थाहा थियो, मैले यी परमेश्वरबाट आएका हुन् भनी स्विकार्नुपर्थ्यो। मैले प्रार्थना गर्नुपर्थ्यो र सत्यता खोजी गर्नुपर्थ्यो, अनि परमेश्वरको गवाही दिनुपर्थ्यो। सृष्टि गरिएको प्राणीको रूपमा, मैले गर्नुपर्ने त्यही थियो। परमेश्वरको इच्छा बुझेपछि मलाई हैरानीको महसुस हुन छोड्यो। पछि थाहा भयो, मेरो श्रीमानले साँच्चै डिभोर्स चाहेका रहेनछन्, तर मेरो परिवारसँग कुराचाहिँ गरेका रहेछन् र मेरो विश्वास छोडाउन मदत मिल्छ भनेर तिनीहरूले यसो गरेका रहेछन्।
त्यसको केही समयपछि नै, मेरो श्रीमानले हामीलाई सपिङ गर्न कारमा लगिरहेको बेला, तिनले अचानक कार हाइवेतिर लगे, र सीधै मानसिक अस्पताल पुर्याए। तिनले मलाई घिस्साउँदै परामर्श कोठामा लगेर डाक्टरलाई भने, “यसले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्छे र प्रचार गर्दै आइरहेकी छे। तपाईंले यसलाई थुनेर अरू विश्वासीहरूबाट अलग राख्नुपर्यो। त्यो एडिक्टहरूलाई जस्तै। विश्वास र प्रचारमोह मुक्त भएपछि त्यो बाहिर आउन सक्छे।” त्यो साह्रै मन दुख्ने कुरा थियो। मलाई परमेश्वरमा विश्वास गर्नबाट रोक्न तिनले मलाई मानसिक रोगीहरूसँग राख्न चाहन्थे। त्यहाँ थुनिँदा मान्छे पागल हुन सक्थ्यो! मैले डाक्टरलाई तुरुन्तै भनेँ, “म पनि डाक्टर नै हुँ। मलाई भर्ना गर्नुभन्दा पहिले ममा मानसिक समस्या छ कि छैन भनेर निर्धारित गर्नुहोस्।” त्यसपछि मैले विगत केही वर्षदेखि मैले घरका मामलाहरू कसरी सम्हालेँ भन्नेबारेमा क्रमबद्ध रूपमा बताएँ। मेरो कुरा सुनेपछि, डाक्टरले मेरो श्रीमानलाई भने, “उहाँ मानसिक रोगी हुनुहुन्न। हामी उहाँलाई भर्ना गर्न सक्दैनौँ। तपाईंले जिद्दी गरेर यहाँ छोड्न चाहनुहुन्छ भने हामी उहाँको सुरक्षाको ग्यारेन्टी दिन सक्दैनौँ।” मेरो श्रीमानले मलाई त्यहाँ राख्न डाक्टरलाई जिद्दी गरिरहे। मैले भनेँ, “यहाँ थुन्नुभयो भने, म यहीँ आत्महत्या गर्छु।” यो तिनको जिम्मेवारीमा आइपर्नेछ भन्ने डरले, डाक्टरले मलाई राख्न मानेनन्। मेरो श्रीमानसँग मलाई घर लैजानेबाहेक अर्को विकल्प थिएन।
त्यस घटनाबाट मैले स्पष्ट रूपमा के थाहा पाएँ भने, मेरो श्रीमानले सधैँ सबै कुरा मेरो भलाइको लागि गरिरहेको दाबी गरे पनि, यो त देखावटी व्यवहार मात्रै रहेछ। एकपछि अर्को गर्दै तिनले आफ्नै हितहरू रक्षा गरिरहेका थिए, र यस क्रममा मलाई चोट दिइरहेका र अपमान गरिरहेका थिए। तिनले मलाई मानसिक अस्पतालमा समेत राख्न चाहे। मलाई विश्वासबाट रोक्नका लागि तिनी जे गर्न पनि तयार थिए। तिनले पार्टीको पक्ष लिएर परमेश्वरको विरोध गरेको कुराले, तिनले दुष्टतालाई प्रेम गर्छन्, शक्तिलाई पूजा गर्छन् र सत्यतालाई घृणा गर्छन् भन्ने देखाएको थियो। परमेश्वरका वचनहरूले भन्छन्, “विश्वासी र अविश्वासीहरू मिल्दो छैनन्; बरु, उनीहरू एक अर्काको विपक्षमा छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। हामी दुई फरक बाटोमा थियौँ। म तिनीदेखि निराश थिएँ, तर हाम्रो बच्चाको लागि मात्रै मैले डिभोर्स गरिनँ। त्यसपछि, तिनले मसँग तर्क गर्ने र मलाई हकार्ने, र मैले विश्वास छोड्नुपर्छ भनेर भन्न कहिल्यै छोडेनन्। विशेष गरी ओलम्पिक हुन आँट्दाको समयमा, मेरो मामाको छोराले सरकारले सर्वशक्तिमान् परमेश्वरका विश्वासीहरूलाई पक्राउ गर्ने कार्यमा जोड दिएको छ, र विश्वासीहरूलाई निर्दयी रूपमा दण्ड दिइँदै छ र कसैले पनि तिनीहरूलाई जमानतमा निकाल्न सक्दैनन् भनेको सुनेपछि, मेरो श्रीमानले मलाई निगरानीमा राखे र हरक्षण मलाई पछ्याइरहे। तिनले मलाई ११ दिन नजरबन्द गरेजसरी राखे। घरमा बसेर मैले कुनै पनि हालतमा विश्वास अभ्यास गर्न पाउँदिनथेँ। त्यसो गर्न, र कर्तव्य निभाउनको लागि, मैले परिवार छोड्नुपर्थ्यो। तर म मेरी छोरीलाई छोडेर साँच्चै जान सक्दिनथेँ। मैले उनलाई छोड्दा उनलाई निकै गाह्रो हुने थियो! यदि म उनको साथमा नहुँदा र उनलाई कसैले पनि हेरचाह नगरेर, उनले बाटो बिराए के हुने थियो? यस्तो सोच्दा मेरो आँसु झर्थ्यो। अत्यन्तै हैरानी महसुस गरेको बेला, मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड याद आयो: “तैँले सत्यताको लागि कष्ट भोग्नैपर्छ, तैँले आफैलाई सत्यतामा समर्पित गर्नैपर्छ, तैँले सत्यताको लागि अपमान सहनैपर्छ र अझै बढी सत्यता प्राप्त गर्नको लागि तैँले अझै बढी कष्टमार्फत गुज्रनैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो। शान्तिपूर्ण पारिवारिक जीवनको खातिर तैँले सत्यतालाई फ्याँक्नु हुँदैन र क्षणिक सुखचैनको खातिर तैँले आफ्नो जीवनको प्रतिष्ठा र सत्यनिष्ठालाई गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छन् ती सबै कुराको खोजी गर्नुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण रहेको मार्गलाई पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको अशिष्ट जीवन जिउँछस् र कुनै पनि उद्देश्यहरूलाई पछ्याउँदैनस् भने, के तैँले आफ्नो जीवनलाई खेर फाल्दैनस् र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताको खातिर पनि तैँले देहका सबै सुखचैनहरूलाई त्याग्नुपर्छ, र थोरै सुखचैनको खातिर सारा सत्यतालाई फ्याँक्नु हुँदैन। यस किसिमका मानिसहरूसँग कुनै सत्यनिष्ठा वा प्रतिष्ठा हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान)। परमेश्वरका वचनहरू पढिसकेपछि, मैले मेरो विश्वासका वर्षहरूलाई फर्केर हेरेँ। मलाई दमन गर्न र हैरानीमा पार्न, परमेश्वरबाट टाढा लैजान र उहाँलाई त्याग्न लगाउन शैतानले सधैँ मेरा आफन्तहरू प्रयोग गरिरहेको थियो। म मेरो परिवारको साथमा त थिएँ तर खुशी थिइनँ, र मेरो श्रीमानले मलाई परमेश्वरका वचनहरू पढ्न वा सुसमाचार सुनाउन र आफ्नो कर्तव्य पूरा गर्न दिँदैनथे। यो पीडादायी जीवन थियो। परमेश्वरले मलाई आखिरी दिनहरूमा जन्मेर उहाँको सुसमाचार सुनाउने बन्दोबस्त मिलाउनुभएको थियो, ताकि मैले सत्यता खोजी गर्न, मुक्ति पाउन र सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्न सकूँ। मैले खोजी गर्नुपर्ने कुरा त्यही थियो। मैले परमेश्वरका यी वचनहरूबारे सोचेँ: “मानिसको भाग्य परमेश्वरका हातहरूद्वारा नियन्त्रित हुन्छ। तैँले आफैलाई नियन्त्रण गर्न सक्दैनस्: मानिसले सधैँ आफ्नै खातिर भागदौड गरे तापनि र व्यस्त रहे तापनि उसले आफूलाई नियन्त्रण गर्न सक्दैन। यदि तैँले आफ्नै भविष्य जान्न सक्थिस् भने, यदि तैँले आफ्नै भविष्यलाई नियन्त्रण गर्न सक्थिस् भने, के तँ अझै सृष्टि गरिएको प्राणी नै हुनेथिइस् र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। यो साँचो हो। यो संसारमा आउने हरेक व्यक्तिको लागि, उसले कुन मार्ग लिनेछ र उसले कति कष्ट भोग्नेछ भनेर परमेश्वरले धेरै पहिले नै निर्धारित गरिसक्नुभएको छ। कसैले कसैलाई मदत गर्न सक्दैन। मैले मेरी छोरी जन्माएँ, तर उनको भाग्य परमेश्वरकै हातमा थियो। उसले कति कष्ट भोग्छे भनेर परमेश्वरले धेरै पहिले नै निर्धारित गर्नुभएको छ। म उसको साथमै भए पनि, उसले भोग्नुपर्ने कुनै पनि दुःख मैले भोगिदिन सक्दिनँ। मैले आफ्नै भाग्य त नियन्त्रण गर्न सक्दिनँ, उसको भाग्यलाई के गर्न सक्छु र! मैले मेरी छोरीलाई परमेश्वरको हातमा सुम्पेर म उहाँको नियममा समर्पित हुनुपर्थ्यो। त्यसपछि एक दिन, मेरो श्रीमान सुतिरहेको बेला, म घरबाट सुटुक्क निस्किएँ।
अचम्मको कुरो, केही हप्तापछि नै, एक अगुवाले मलाई मेरो श्रीमानले ब्रदर-सिस्टरहरूलाई हरेक दिन झिज्याइरहेका छन् र म घर फर्केर गइनँ भने तिनले तिनीहरूका बारेमा पुलिसलाई रिपोर्ट गर्ने कुरा गरिरहेका छन् भनेर बताए। तिनीहरू समस्यामा नपरून् भनेर म घर जानुपर्यो। त्यो बेला, मेरो श्रीमानले मलाई अझै कडाइसाथ निगरानीमा राखे। तिनले मलाई घरभित्र थुनेर राख्थे र चाबी लुकाइदिन्थे, र तिनी सधैँ मबाट केही फिट टाढा मात्रै हुन्थे। मैले खाना पकाउँदा र बाथरूम जाँदा पनि तिनले मलाई हेरिरहेका हुन्थे। तिनले मलाई हरदिन बिहानदेखि बेलुकासम्म टिभी खोलेर समाचार र देशभक्तिका चलचित्र हेर्न लगाउँथे र तिनले मेरो दिमाग सफाइ गर्न चाहन्छु भन्थे। तिनलाई मेरो मामाको छोराले मलाई प्रार्थना गर्न वा परमेश्वरको वचन पढ्न कुनै मौका नदिनू, र मलाई विश्वास त्याग्न लगाउन टिभीमा जे देखाउँछ त्यो देखाइरहनू, ताकि मलाई धर्मको कुरा सोच्ने फुर्सत नहोस् भनेर भनेका रहेछन्। तिनले के पनि बताए भने, तिनले एकछिन पनि मलाई शान्तिले बस्न दिनु हुँदैन, किनभने मैले प्रार्थना गर्नेबित्तिकै, परमेश्वरले मलाई उम्कने बाटो दिनुहुनेछ, र म फेरि पनि भेला जानेछु र सुसमाचार सुनाउन थाल्नेछु। मैले रिसाउँदै तिनलाई भनेँ, “विश्वास गर्नु मेरो स्वतन्त्रता हो। किन तपाईं कम्युनिस्ट पार्टीको पछि लागेर मलाई दमन गर्दै मेरो अधिकार खोस्दै हुनुहुन्छ? मेरो विश्वासको कारण तपाईंले पनि परमेश्वरको धेरै अनुग्रह पाउनुभएको छ, र परमेश्वरले के गर्न सक्नुहुन्छ त्यो तपाईंले देख्नुभएको छ। अहिले तपाईं मेरो विश्वासमा बाधा दिँदै मलाई दमन गर्दै हुनुहुन्छ। यो केवल मलाई दमन गरेको होइन—यो त परमेश्वरको विरुद्धमा जानु हो!” अचम्मको कुरो, तिनले मलाई चिच्याउँदै भने, “म परमेश्वरको विरुद्धमा जाँदै छु, त्यसकारण मलाई दण्ड दिनको लागि उहाँलाई पुकार्!” म अत्यन्तै चकित भएँ। तिनले कसरी यस्तो कुरा बोल्न सके? तिनले सबै समझ गुमाइसकेका रहेछन्। तिनले मलाई यसरी एक हप्ताजति थुनेर राखे, जसले गर्दा म बाहिर निस्कनसमेत पाउँदिनथेँ। मैले परमेश्वरको वचन पढ्न, भेलामा जान, वा आफ्नो कर्तव्य निभाउन पाउँदिनथेँ। साह्रै कष्टपूर्ण अवस्था थियो। मलाई न खान मन लाग्थ्यो न निद्रा पर्थ्यो। सबै जनाले कर्तव्य निभाइरहेको बेला, मलाई भने श्रीमानले घरमा थुनेर प्रार्थना गर्ने अधिकारसमेत खोसेर राखेका थिए र म यसैबारे सोचिरहन्थेँ। यस्तै भइरहेको भए के म परमेश्वरबाट झन्झन् टाढा हुनेथिइनँ र? यति मात्र होइन, मेरो परिवारका सदस्यहरू सबै मेरो श्रीमानको पक्षमा थिए र मलाई दमन गर्थे। मलाई यो कुरा अब सहन गाह्रो भयो! मैले यसबारेमा जति विचार गरेँ त्यति नै मलाई नरमाइलो लाग्यो। म एकलो र दुर्बल थिएँ।
एक दिन साँझ मेरो श्रीमान सुतिरहेको बेला, मैले परमेश्वरलाई मनमनै प्रार्थना गरेँ। मैले भनेँ, “परमेश्वर, म तपाईंका वचनहरू पढ्न सक्दिनँ। मलाई भित्री रूपमा साह्रै कमजोर अनुभव हुन्छ। हे परमेश्वर, मेरो कद साह्रै सानो छ। बिन्ती छ मलाई विश्वास र शक्ति दिनुहोस्।” प्रार्थना गरिसकेपछि मलाई उहाँको वचनको एउटा खण्ड याद आयो: “परमेश्वरले जस-जसलाई “विजेताहरू” भनी सम्बोधन गर्नुहुन्छ तिनीहरू ती हुन् जो शैतानको प्रभावमा र शैतानको घेराबन्दीमा पर्छन् अर्थात् आफैलाई अन्धकारको शक्ति बीचमा पाउँदा पनि तिनीहरू गवाही बनी खडा हुन सक्छन् र परमेश्वरमाथिको आफ्नो निश्चयता र भक्तिलाई कायम राख्न सक्छन्। यदि तैँले जुनसुकै अवस्थामा परमेश्वरको सामु शुद्ध हृदय राख्न र उहाँप्रति तेरो साँचो प्रेमलाई कायम राख्न सक्छस् भने, तँ उहाँको सामुन्ने गवाही बनी खडा भइरहेको हुन्छस् र उहाँले यसैलाई “विजेता” हुनु भनी भन्नुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तिमीले परमेश्वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ)। परमेश्वरका वचनहरूले मलाई के देखाए भने, आखिरी दिनहरूमा उहाँले मानिसहरूलाई सिद्ध पारेर विजेताहरूको एक समूह बनाउन चाहनुहुन्छ, जो शैतानको आक्रमण र सतावटमा पर्दा पनि अन्धकारका शक्तिहरूको अघि झुक्नेछैनन्। बरु, तिनीहरू आफ्नो विश्वास र भक्तिमा दह्रिलो हुनेछन्, र परमेश्वरको लागि सुन्दर गवाही दिनेछन्। मलाई उत्प्रेरणा मिल्यो, र म समर्पित भएर पाठ सिक्न तयार भएँ। मेरो श्रीमानले मलाई जसरी बाधा दिए पनि र दमन गरे पनि, मैले दह्रिलोसित खडा भई परमेश्वरलाई सन्तुष्ट पार्नेवाला थिएँ। पछि, मेरो श्रीमान सुतेको बेला, मैले परमेश्वरका वचनहरू मनन गर्थेँ, मनमनै प्रार्थना गर्थेँ वा भजन गीत गाउँथेँ, र यसले मलाई केही आनन्द मिल्थ्यो। मलाई नजरबन्द राखिएको उन्नाइसौँ दिनमा, मेरो श्रीमानले मसँग झगडा गर्दैगर्दा खेरी अचानक तिनलाई टाउको, घाँटी र ढाड दुख्न थाल्यो। तिनी जति रिसाउँथे, तिनलाई त्यति नै पीडा हुन्थ्यो, यहाँसम्म कि तिनी पीडाले कराउँथे र तिनले मसँग झगडा गर्ने आँट गरेनन्। अन्तिममा तिनले भने: “अब म सहन सक्दिनँ! मैले तँलाई जति थुनेर राख्छु तँ त्यति दह्रिलो हुन्छस्। मैले उल्टै आफूलाई बिरामी पारिरहेको छु।” भोलिपल्ट तिनी मलाई घरमा थुनेर काममा गए। एक दिन मैले चाबी भेट्टाएँ, र तिनी नभएको बेला घरबाट बाहिर भागेँ। मलाई उम्कने बाटो प्रदान गर्नुभएकोमा, र मैले बल्ल भेलामा सहभागी हुन र आफ्नो कर्तव्य निभाउन पाएकोमा म परमेश्वरप्रति अत्यन्तै कृतज्ञ भएँ।
त्यसपछि मेरो श्रीमानले मलाई यति धेरै निगरानी गर्न छोडे। जब तिनले मलाई कडाइ गर्ने प्रयास गर्थे, तिनी बिरामी हुन्थे र तिनको घाँटीमा भयानक पीडा हुन्थ्यो। मार्च २०१२ मा एक दिन, तिनले मलाई भने, “यतिका वर्षदेखि तिमीले परिवार र विश्वासमध्ये एउटा रोज भन्ने चाहन्थेँ। तिमीले विश्वास छोडेकी छैनौ। आज हामी यो कुरालाई समाप्त गरौँ। अब तिम्रो लागि दुई वटा बाटो छ। घरमा बस्न चाहन्छौ भने, परमेश्वरलाई पछ्याउन पाउँदैनौ, र परमेश्वरलाई पछ्याउँछौ भने, तिमी कहिल्यै पनि यो घरमा फर्केर आउन पाउँदैनौ।” मैले तिनलाई दृढतासाथ भनेँ, “मैले परमेश्वरमा विश्वास गर्ने मार्ग चुनेको छु, र म कहिल्यै फर्केर आउनेछैन।” त्यसपछि मैले आफ्ना झोलाहरू तयार गरेँ, र घर छोडेँ, र कर्तव्य निभाउनेहरूको समूहमा मिसिएँ। सर्वशक्तिमान् परमेश्वरलाई धन्यवाद होस्!