२९. म किन सधैँ ढोँग गरिरहेकी हुन्छु?
सन् २०२१ को अगस्टमा, मैले नयाँ विश्वासीहरूलाई मलजल गर्ने तालिम लिन थालेँ। मेरो अङ्ग्रेजी उच्चारण त्यति राम्रो नभएकाले, उनीहरूसँग सङ्गति गर्दा उनीहरूले मलाई हेप्छन् कि भन्ने डर लाग्थ्यो, त्यसैले सामान्यतया म उनीहरूसँग टाइप गरिएका सन्देशमार्फत मात्र कुराकानी गर्थेँ। तर, यसो गर्दा मलजल गर्ने कामको प्रगतिमा असर पुग्यो। एउटा भेलाको क्रममा, एक जना सिस्टरले आफ्नो अङ्ग्रेजी त्यति राम्रो नभए तापनि नयाँ विश्वासीहरूसँग बोलेर सङ्गति गर्न र उनीहरूका विभिन्न धारणा र कठिनाइहरूलाई समयमै सम्बोधन गर्न चाहेकाले, अनुवाद गर्ने सफ्टवेयरको सहायता लिएको कुरा बताइन्। यस प्रकार उनी सकेसम्म उनीहरूसँग बोलेर सङ्गति गर्न सक्थिन्। यसलाई आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्तिसँग दाँज्दा मलाई साह्रै लाज लाग्यो। उनले राम्ररी अङ्ग्रेजी बोल्न नसके तापनि नयाँ विश्वासीहरूसँग बोलेरै कुराकानी गर्ने तरिका खोज्न उनी सफल भइन्। मेरो एउटै समस्या भनेको मेरो उच्चारण राम्रो नहुनु मात्र थियो। म दैनिक कुराकानीमा त ठीकै थिएँ, तर नयाँ विश्वासीहरूले मेरो अङ्ग्रेजी खराब छ भन्लान् कि भन्ने डरले म उनीहरूसँग बोलेर कुराकानी गर्न इच्छुक थिइनँ। यसले गर्दा मेरो मलजल गर्ने कामको नतिजामा प्रत्यक्ष असर पुग्यो। परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गर्ने नयाँ विश्वासीहरू झन्-झन् बढिरहेका थिए, त्यसैले हामीले हाम्रो मलजल गर्ने कामलाई तीव्र बनाएर उनीहरूलाई सकेसम्म चाँडो साँचो मार्गमा जग बसाल्न मद्दत गर्न आवश्यक थियो। तर म नयाँ विश्वासीहरूलाई कसरी तुरुन्तै मलजल गर्ने भन्नेबारे नसोची, केवल आफ्नो प्रतिष्ठा र हैसियतका बारेमा मात्र सोचिरहेकी थिएँ। मैले परमेश्वरको अभिप्रायबारे अलिकति पनि विचार गरिनँ! त्यसैले मैले प्रार्थना गरेँ, र परमेश्वरमा भर परेर नयाँ विश्वासीहरूसँग बोलेर कुराकानी गर्ने प्रयास गर्न तयार भएँ। त्यसपछि, मैले पहिलेदेखि चिनेका नयाँ विश्वासीहरूसँग सुरु गरेर आफ्नो बोलचालको अङ्ग्रेजी अभ्यास गर्न थालेँ। केही समयपछि, मलाई बोलेर कुराकानी गर्न त्यति डर लाग्न छोड्यो। मलाई याद छ, एक पटक म एक जना नयाँ विश्वासीसँग कुराकानी गरिरहेकी थिएँ, र मैले आफ्नो कुरा धाराप्रवाह राख्न सकेकी मात्र होइन, उनको समस्या समाधान समेत भयो। यो विश्वास गर्नै गाह्रो छ—मैले एक पटकको मौखिक छलफल केही दिनको मेसेज आदानप्रदानभन्दा बढी प्रभावकारी हुन सक्छ भनेर कहिल्यै सोचेकी थिइनँ।
जब मण्डलीमा झन्-झन् धेरै नयाँ सदस्यहरू सामेल हुन थाले, अगुवाले सिस्टर मेभिस र मलाई सहकार्य गरेर मलजल गर्ने कामको जिम्मा लिन लगाउनुभयो। यो प्रबन्धबारे सुन्दा म साँच्चै छक्क परेँ। मैले भर्खरै नयाँ विश्वासीहरूलाई मलजल गर्ने अभ्यास सुरु गरेकी थिएँ, परमेश्वरको कामसम्बन्धी मैले बुझ्न बाँकी सत्यताहरू धेरै थिए, र मेरो अङ्ग्रेजीको स्तर पनि सामान्य थियो। मैले त्यस्तो जिम्मेवारी कसरी लिन सक्थेँ र? मेभिसले मभन्दा लामो समयदेखि नयाँ विश्वासीहरूलाई मलजल गरिरहेकी थिइन्, त्यसैले उनीसँग हरेक हिसाबले बढी अनुभव थियो। उनी अङ्ग्रेजी पनि निकै राम्रो बोल्थिन्। यदि मैले उनीसँग मिलेर काम गरेँ भने, मेरो वास्तविक सामर्थ्य विचार गर्दा, मैले मुख खोल्ने बित्तिकै मेरो वास्तविकताको खुलासा हुने थिएन र? उनले सत्यतामाथिको मेरो सङ्गति स्पष्ट छैन, म त्यो कर्तव्यका लागि उपयुक्त छैन भन्न सक्थिन्। म यस्तै चिन्ता गरिरहेको बेला, मेभिस मसँग कामका बारेमा छलफल गर्न आइन् र मेरो अङ्ग्रेजी कस्तो छ भनेर सोधिन्। एकछिन पनि नसोची, मैले भनेँ, “मेरो अङ्ग्रेजी खासै राम्रो छैन। म बुझ्न त सक्छु, तर राम्ररी बोल्न सक्दिनँ। लेखेर कुराकानी गर्नचाहिँ ठीकै छ।” उनले जवाफ दिइन्, “त्यसोभए तिमी नयाँ विश्वासीहरूसँग भेलाको समय मिलाउने जिम्मेवारी लेऊ, र म उनीहरूसँग सङ्गति गर्ने जिम्मेवारी लिन्छु। हामी सँगै काम गर्न सक्छौँ।” मेभिसले यसो भनेको सुनेपछि, मैले सोचेँ मेरो अङ्ग्रेजी राम्रो छैन भन्नु एउटा राम्रो बहाना हो, र भेलाहरूमा मैले केही पनि बोल्नुपर्ने छैन। म चुपचाप बसुन्जेल, मेरा कमीकमजोरीहरू कहिल्यै देखिने थिएनन्। अनि मेभिसले नयाँ विश्वासीहरूलाई मलजल गर्दै गर्दा, म त्यहाँ बसेर सुन्न र सिक्न सक्थेँ, र केही समयपछि, जब म कुराहरू बुझ्न थाल्थेँ, तब म उनीहरूसँग बोलेर कुराकानी गर्न सक्थेँ। यसरी उनीहरूले मेरो वास्तविकता थाहा पाउनेथिएनन्।
पहिलो पटक मेभिस र मैले सँगै नयाँ विश्वासीहरूलाई मलजल गर्दा, उनले तिनीहरूसँग धाराप्रवाह अङ्ग्रेजीमा कुराकानी गरिरहेकी मैले देखेँ, तर मैले “Hello!” बाहेक अरू केही बोल्ने आँट गरिनँ। भेला सकिएपछि, नयाँ विश्वासीहरूका समस्या र सङ्घर्षहरू बुझ्न र चाँडोभन्दा चाँडो तिनको समाधान गर्न, म उनीहरूसँग कुरा गर्नेछु भनेर हामीबीच सहमति भएको थियो, तर म हिचकिचाइरहेकी थिएँ। मेभिससँगको पहिलो कुराकानीमै, उनीहरूले उनको अङ्ग्रेजी कति राम्रो छ र उनले सत्यतामाथि कत्ति स्पष्टसँग सङ्गति गर्न सक्छिन् भनेर देखिसकेका थिए। यदि त्यसपछि उनीहरूले मसँग कुरा गरे र मेरो बोली भकभकाएको सुने भने, भिन्नता कति स्पष्ट छ भनेर उनीहरूले थाहा पाउने थिए। तब उनीहरूले मेरो बारेमा के सोच्थे होलान्? मैले बारम्बार यसबारे सोचेँ, र टाइप गरेरै संवाद जारी राख्ने निर्णय गरेँ। त्यसपछि, म राम्ररी चिनेका केही नयाँ विश्वासीहरूसँग बोलेर कुराकानी गर्नुबाहेक, अरू नयाँ विश्वासीहरूसँग टाइप गरेरै कुराकानी गर्थेँ। तर, त्यो कुराकानी गर्ने ढिलो तरिका थियो। प्रायः मैले नयाँ विश्वासीलाई मेसेज पठाउँदा उनीहरू अनलाइन हुँदैनथे, अनि उनीहरूले जवाफ दिँदा, म थाहा पाउँदिनथेँ। केही मिनेटमै बोलेर समाधान हुन सक्ने कतिपय समस्याहरू, टाइप गरेर कुराकानी गर्दा दुई दिनमा पनि समाधान हुँदैनथे। हामीले गरेको कामको समीक्षा गरेपछि मात्र मैले आफूले जिम्मा लिएका लगभग आधा नयाँ विश्वासीहरू नियमित रूपमा भेलामा उपस्थित भइरहेका रहेनछन् भन्ने थाहा पाएँ। म स्तब्ध भएँ। यस्तो कसरी हुन सक्छ? मेभिसले मलाई सोधिन्, “तिमीले किन सधैँ नयाँ विश्वासीहरूलाई मेसेज मात्र गरिरहेकी? किन उनीहरूसँग सीधै बोल्दिनौ?” म हिचकिचाएँ, उनलाई बताउन चाहन्नथेँ। मलाई थाहा थियो मैले उनीहरूका समस्या र कठिनाइहरू समाधान गर्न उनीहरूसँग सीधै कुरा गरेकी भए, उनीहरूमध्ये केहीले नियमित रूपमा भेलामा उपस्थित हुन सुरू गर्ने थिए। तर म आफ्ना कमजोरीहरू देखाउन डराएकी थिएँ र मेसेजमा भर परिरहेकी थिएँ, जसले गर्दा यस्तो नतिजा आयो।
त्यो रात म ओछ्यानमा यताउता पल्टिरहेँ, म सुत्नै सकिनँ। म जति धेरै सोच्थेँ, मलाई त्यति नै नराम्रो लाग्थ्यो। यदि नयाँ विश्वासीहरूका अलमल र विभिन्न धारणाहरू तुरुन्तै समाधान नगर्ने हो भने, उनीहरू जुनसुकै बेला आफ्नो आस्थाबाट फिर्ता जान सक्थे। यो त कर्तव्यमा गरिएको गम्भीर लापरवाही थियो! तीन मिनेटको कुराकानीमा समाधान हुन सक्ने कुराका निम्ति मैले किन मेसेज गर्न जिद्दी गरेँ? म अङ्ग्रेजी बोल्न नसक्ने होइन। मैले केही समयअघि त बोलेर कुराकानी गर्न सकेकी थिएँ, त्यसोभए अहिले किन त्यसो गरिरहेकी थिइनँ? मैले राम्ररी मलजल नगरेकाले केही नयाँ विश्वासीहरू नियमित रूपमा भेलामा उपस्थित नभएको कुराबारे विचार गर्दा, मलाई आफैलाई दोष दिन मन लाग्यो। म यति धेरै दुःखी भएँ कि मैले परमेश्वरलाई प्रार्थना गरेँ, र आफैलाई बुझ्न उहाँसँग मार्गदर्शन मागेँ। त्यसपछि, मैले परमेश्वरका वचनहरूको यो खण्ड पढेँ: “मानिसहरू आफै सृजित प्राणी हुन्। के सृजित प्राणीहरूले सर्वशक्तिमान्ता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सिद्धता र निष्खोटता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सबै कुरामा निपुणता प्राप्त गर्न, सबै कुरा बुझ्न, सबै कुरा छर्लङ्ग बुझ्न, र सबै कुराका लागि सक्षम हुन सक्छन्? तिनीहरूले सक्दैनन्। तैपनि, मानिसहरूभित्र भ्रष्ट स्वभावहरू हुन्छन् र एउटा घातक कमजोरी पनि हुन्छ: तिनीहरूलाई आफूले कुनै सीप वा पेसा सिक्नेबित्तिकै आफू सक्षम छु, आफू हैसियत र महत्त्व भएको मानिस हुँ, र आफू पेसेवार हुँ भन्ने लाग्छ। तिनीहरू जति नै मामुली भए पनि, तिनीहरू सबै आफूलाई महत्त्वपूर्ण वा असाधारण व्यक्तिको भेषमा प्रस्तुत गर्न चाहन्छन्, आफूलाई सानोतिनो सेलिब्रेटी नै बनाउन चाहन्छन्, र मानिसहरूको नजरमा एउटै पनि खोट नभएको सिद्ध र दोषरहित देखिन चाहन्छन्; तिनीहरू प्रसिद्ध, शक्तिशाली वा कुनै महान् व्यक्ति, र जुनसुकै कार्य गर्न सक्षम र गर्न नसक्ने कुनै कुरा नभएको तेजस्वी व्यक्ति बन्न चाहन्छन्। यदि तिनीहरूले अरूको सहायता खोजे भने, तिनीहरू असक्षम, कमजोर, र हीन देखिन्छन्, र मानिसहरूले तिनीहरूलाई तुच्छ ठान्नेछन् भन्ने तिनीहरू विचार गर्छन्। यसकारण, तिनीहरू सधैँ नाटक गर्न चाहन्छन्। कतिपय मानिसहरूलाई जब कुनै काम गर्न लगाइन्छ, तब उनीहरूले त्यो कसरी गर्नुपर्छ सो जान्दछौं भनी भन्छन्, तर वास्तवमा तिनीहरूले त्यो जानेका हुँदैनन्। पछि, गुप्त रूपमा उनीहरू त्यसको बारेमा खोजी गर्छन् र त्यो कसरी गर्ने भनी सिक्ने कोसिस गर्छन्, तर धेरै दिनसम्म अध्ययन गरेपछि पनि तिनीहरूले अझै त्यसलाई कसरी गर्ने भनेर बुझ्दैनन्। तिनीहरूले त्यो कसरी गर्दै छन् भनी सोध्दा, तिनीहरू भन्छन्, ‘चाँडै भइहाल्छ!’ तर हृदयमा, तिनीहरूले यस्तो सोचिरहेका हुन्छन्, ‘म अहिलेसम्म त्यसो गर्नबाट टाढै छु, मैले केही बुझेको छैन, के गर्ने मलाई थाहा छैन! मैले मेरो भित्री कुरा फुत्काउनु हुँदैन, मैले मुखौटा ओढ्न जारी राख्नुपर्छ, मैले मानिसहरूलाई मेरा कमीकमजोरी र अज्ञानता देखाउनु हुँदैन, मैले तिनीहरूलाई मलाई हेप्न दिनु हुँदैन!’ यो कस्तो समस्या हो? यो जसरी भए पनि आफ्नो इज्जत बचाउने प्रयास गर्दै नारकीय जीवन जिउनुसरह हो। यो कस्तो किसिमको स्वभाव हो? त्यस्ता मानिसहरूको अहङ्कारको कुनै सीमा हुँदैन, तिनीहरूले सबै समझ गुमाइसकेका हुन्छन्। तिनीहरूलाई जोकोहीजस्तो बन्न मन लाग्दैन, तिनीहरू मामुली, सामान्य मानिस बन्न चाहँदैनन्, बरु महामानव, असाधारण व्यक्ति, वा अत्यन्तै सक्षम बन्न चाहन्छन्। यो निकै ठूलो समस्या हो! सामान्य मानवताभित्रका कमजोरीहरू, कमीहरू, अज्ञानता, मूर्खता, र समझको कमीको सम्बन्धमा भन्दा, तिनीहरूले ती सबै कुरा पोको पार्छन्, र अरू मानिसहरूलाई त्यो देख्न दिँदैनन्, र त्यसपछि नक्कली रूप धारण गरिरहने गर्छन्। … के त्यस्ता मानिसहरू यथार्थबाहिर गएर बाँचिरहेका हुँदैनन् र? के तिनीहरूले दिवासपना देखिरहेका हुँदैनन्? तिनीहरूले आफू को हुन् भनेर आफै चिन्दैनन्, न त तिनीहरूले सामान्य मानवतामा कसरी जिउने भनेर नै जान्दछन्। तिनीहरूले कहिल्यै पनि व्यावहारिक मानिसले जस्तो व्यवहार गरेका हुँदैनन्। यदि तँ सधैँ यथार्थबाहिर गई, लटरपटर गर्दै, कुनै पनि काम व्यावहारिकताअनुसार नगरेर अनि सधैँ कल्पनामा जिएर दिन बिताउँछस् भने, त्यो समस्याजनक कुरा हो। तैँले जीवनमा चुनेको मार्ग सही हुँदैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरमाथिको विश्वासको सही मार्गमा हिँड्नको लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू)। परमेश्वरका वचनहरूमाथि विचार गर्दा, मैले नाटक गर्दै र आफूलाई ढाकछोप गर्दै आएकी रहेछु भन्ने देखेँ। म मेरो अङ्ग्रेजी बोलाइ राम्रो नभएकाले नयाँ विश्वासीहरूले मलाई हेप्छन् कि भनेर डराएँ, त्यसैले मैले उनीहरूसँग कुराकानी गर्ने आँट गरिनँ। मेभिस र मैले सँगै काम गर्न थालेपछि, मैले उनको अङ्ग्रेजी साँच्चै राम्रो भएको र सत्यतामाथिको उनको सङ्गति मेरोभन्दा स्पष्ट भएको देखेँ। मलाई के चिन्ता थियो भने मेरा ब्रदर-सिस्टरहरूले मलाई उनीभन्दा व्यर्थको ठान्लान्, र मेभिसले मेरो वास्तविकता थाहा पाउँछिन् कि भन्ने डरले, मैले झन् धेरै ढोँग गर्न थालेँ। जब मेभिसले मेरो अङ्ग्रेजी कस्तो छ भनेर सोधिन्, मैले जानाजानी यो राम्रो छैन भनेँ, र बोलेर सङ्गति गर्नु नपर्ने बहाना खोजेँ। हामी दुवै जनाले सँगै मलजलको काम गर्दा म बोल्दिनथेँ। म आफ्नो कर्तव्य पूरा गरिरहेकी थिइनँ। नयाँ विश्वासीहरूलाई मलजल गर्दा, म उनीहरूसँग सीधै कुराकानी गर्नुको सट्टा मेसेज गर्थेँ, जसको मतलब धेरै नयाँ विश्वासीहरूका समस्याहरू जति चाँडो समाधान हुनुपर्ने हो, त्यति चाँडो भएनन्, त्यसैले उनीहरूको नकारात्मकता रहिरह्यो र उनीहरू भेलामा उपस्थित भएनन्। म हाम्रो काममा बाधा पुऱ्याइरहेकी थिएँ। म आफ्ना कमजोरीहरू प्रकट होलान् कि भन्ने डरले सधैँ आफूलाई ढाकछोप गरिरहेकी थिएँ। म पर्दा पछाडि बसेर कुराहरू सिक्न र पछि आएर सबैलाई चकित पार्न चाहन्थेँ। म कत्ति अहङ्कारी! म आफ्ना त्रुटि र कमीकमजोरीहरूलाई ठीकसँग सामना गर्न सक्दिनथेँ, तर उत्कृष्ट र अरूभन्दा फरक देखिन चाहन्थेँ। यो परमेश्वरले प्रकाश गर्नुभएको कुरा जस्तै हो: “तिनीहरूलाई जोकोहीजस्तो बन्न मन लाग्दैन, तिनीहरू मामुली, सामान्य मानिस बन्न चाहँदैनन्, बरु महामानव, असाधारण व्यक्ति, वा अत्यन्तै सक्षम बन्न चाहन्छन्। यो निकै ठूलो समस्या हो!” मेरो अङ्ग्रेजी बोल्ने सीप राम्रो थिएन, र मैले नयाँ विश्वासीहरूलाई मलजल गर्न थालेको केही समय मात्र भएको थियो। मसँग मलजल गर्ने कामको धेरै अनुभव थिएन। मण्डलीले मलाई विदेशी नयाँ विश्वासीहरूलाई मलजल गर्ने प्रबन्ध मिलायो र यो मेरा लागि अभ्यास गर्ने एउटा ठूलो मौका थियो जसलाई मैले कदर गर्नुपर्थ्यो। तर आफ्नो कर्तव्य राम्ररी गर्नुको सट्टा, म सधैँ आफ्ना त्रुटिहरू लुकाउन चाहन्थेँ र आफूले जे पनि गर्न सक्छु जस्तो व्यवहार गर्न चाहन्थेँ ताकि अरूले मलाई सम्मान गरून् र मेरो प्रशंसा गरून्। मसँग कुनै समझ वा आत्म-सचेतना नै थिएन। मैले ढोँग गर्न र आफूलाई ढाकछोप गर्न बन्द गर्नुपर्छ भन्ने मलाई थाहा थियो। अरूले जेसुकै सोचे पनि, मैले आफ्नो मिथ्याभिमानलाई त्यागेर, आफ्नो कर्तव्य र जिम्मेवारीहरू पूरा गर्नुपर्थ्यो। मैले अभ्यास गर्नुपर्ने कुरा यही थियो।
मैले परमेश्वरका वचनहरूका अरू दुईवटा खण्डहरू पढेँ जसले मलाई अभ्यासको मार्ग दियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “समस्या जे भए पनि, उत्पन्न हुने कुनै पनि समस्याको समाधान गर्नका लागि तैँले सत्यताको खोजी गर्नुपर्छ, अनि कुनै पनि प्रकारले आफैलाई फरक रूपमा देखाउने वा अरूको अगाडि झूटो अनुहार धारण गर्ने गर्नु हुँदैन। तेरा कमजोरीहरू, तेरा कमीहरू, तेरा खराबीहरू, तेरो भ्रष्ट स्वभाव—ती सबैका बारेमा पूर्ण रूपमा खुला बन्, र ती सबैका विषयमा सङ्गति गर्। ती कुरालाई भित्र लुकाएर नराख्। आफैलाई कसरी खुलस्त बनाउनुपर्छ सो सिक्नु नै जीवन प्रवेश गर्नेतर्फको पहिलो कदम हो, र यो पहिलो बाधा हो, जसमाथि विजय पाउन सबैभन्दा गाह्रो हुन्छ। तैँले यसमाथि विजय पाएपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुन्छ। यो कदम उठाउनुले के कुराको सङ्केत गर्छ? यसको अर्थ, तैँले आफ्नो हृदय खोल्दैछस् र तेरा राम्रा वा नराम्रा, सकारात्मक वा नकारात्मक, सबै कुरा देखाउँदैछस्, अरू मानिस र परमेश्वरले देख्ने गरी आफैलाई उदाङ्गो पार्दै छस्; परमेश्वरबाट केही लुकाएको छैनस्, केही गोप्य कुरा राखेको छैनस्, कुनै नक्कली रूप धारण गरेको छैनस्, छल र चालबाजीबाट मुक्त छस्, र यस्तै गरी अरू मानिसहरूसँग खुला र इमानदार हुँदैछस्। यस प्रकारले, तँ ज्योतिमा जिउँछस्, र परमेश्वरले तँलाई छानबिन गर्नुहुन्छ मात्र होइन, तर अरू मानिसहरूले तँ सिद्धान्त र केही हदसम्म पारदर्शितासहित काम गर्दछस् भन्ने कुरा पनि देख्न सक्नेछन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “परमेश्वरको उपस्थितिमा तैँले जस्तो देखावटी रूप धारण गरे पनि, आफूलाई जसरी ढाक-छोप गरे पनि, वा आफ्नो लागि जति जालसाजी गरे पनि, परमेश्वरले तेरा सबै वास्तविक सोचाइ र तैँले आफ्नो सबैभन्दा गहिराइमा, र अन्तस्करणमा लुकाएर राखेका सबै कुरा स्पष्ट रूपमा बुझ्न सक्नुहुन्छ; कुनै पनि व्यक्तिका गुप्त र भित्री कुराहरू परमेश्वरको छानबिनबाट उम्कन सक्दैनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। जीवन वृद्धिका छ वटा सूचकहरू)। परमेश्वरका वचनहरूमा मनन गर्दा, मैले मेरो भ्रष्ट स्वभाव समाधान गर्ने पहिलो कदम भनेको आफूलाई खुलस्त पार्न सिक्नु, ढोँग र बहाना गर्न छोड्नु, र मैले प्रकट गरेका मेरा अपर्याप्तता, कमजोरी र भ्रष्टतालाई प्रकाशमा ल्याउनु हो भनेर महसुस गरेँ। म मेरा ब्रदर-सिस्टरहरू र परमेश्वरका सामु एक सरल, इमानदार, र व्यवहारिक व्यक्ति बन्नुपर्थ्यो। तब म आफ्नो कर्तव्यमा निश्चिन्त र स्वतन्त्र हुन सक्थेँ। यो बुझेपछि मलाई सत्यता अभ्यास गर्ने आत्मविश्वास र साहस मिल्यो, र त्यसैले मैले अगुवा र मेभिसलाई खोजेँ, र उनीहरूलाई मेरो स्थिति र बुझाइका बारेमा खुलेर बताएँ। उनीहरूले मलाई हेपेनन्, बरु धैर्यपूर्वक आफ्ना अनुभवहरू सङ्गति गरेर मेरो समस्या बुझ्नमा मलाई मद्दत गरे। त्यसपछि मैले नयाँ विश्वासीहरूलाई मलजल गर्दा, म व्यर्थ छु भन्ने डरले बाँधिन छोडेँ। म उनीहरूका अलमल छिटो हटाउन सकियोस् भनेर उनीहरूसँगको मौखिक कुराकानीमा केन्द्रित हुन थालेँ। आफूले नजानेको वा उच्चारण गर्न नसक्ने शब्द भेट्टाउँदा, म तुरुन्तै शब्दकोश हेर्थेँ वा अनुवाद सफ्टवेयर प्रयोग गर्थेँ। समय बित्दै जाँदा, मेरो अङ्ग्रेजी बोलाइमा सुधार आयो। मलाई ब्रदर-सिस्टरहरूसँग खुलेर सङ्गति गरी, आफूलाई ढाकछोप नगरी वा झूटो नबनी, आफ्ना भ्रष्टता र कमजोरीहरूबारे सिक्न सक्छु र मेरो खराब स्थितिलाई तुरुन्तै सुधार्न सक्छु भन्ने महसुस भयो। जसरी परमेश्वर भन्नुहुन्छ: “आफैलाई कसरी खुलस्त बनाउनुपर्छ सो सिक्नु नै जीवन प्रवेश गर्नेतर्फको पहिलो कदम हो, र यो पहिलो बाधा हो, जसमाथि विजय पाउन सबैभन्दा गाह्रो हुन्छ। तैँले यसमाथि विजय पाएपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले सोचेकी थिएँ कि यी सबैबाट गुज्रिएपछि म आफूलाई खोल्न र परिवर्तन हुन सक्ने भएकी छु। तर, पछि फेरि अर्को परिस्थितिद्वारा मेरो खुलासा भयो।
एक पटक, केही नयाँ विश्वासीहरूले परिवारका सदस्य र साथीहरूलाई सुसमाचार सुनाउन चाहे, त्यसैले टोली अगुवा र मैले उनीहरूलाई त्यसो गर्ने सिद्धान्तहरू बतायौँ। मैले आफ्नो परिचय दिइसकेकी मात्र थिएँ, एक जना नयाँ विश्वासीले मैले भनेको कुरा नबुझेको बताइन्। टोली अगुवाले हतारहतार मेरो अङ्ग्रेजी उच्चारण राम्रो छैन भन्दै बुझाउन मद्दत गरिन्, र त्यसपछि नयाँ विश्वासीहरूसँग कुरा गर्न थालिन्। उनीहरूले धाराप्रवाह कुरा गरिरहेको सुन्दा मलाई आफू बाहिरी मान्छे जस्तो लाग्यो—मेरो अनुहार रातोपिरो भइरहेको थियो। यो साँच्चै लाजमर्दो थियो। सुरुमा त, मैले टोली अगुवाले मबाट सिक्ने र केही अभ्यास गर्ने मौका पाउन् भन्ने चाहेकी थिएँ, तर मैले आफ्नो परिचय समेत राम्ररी दिन सकिनँ—टोली अगुवा र ती नयाँ विश्वासीहरूले मेरो बारेमा के सोचे होलान्? के उनीहरूले मेरो अङ्ग्रेजी खराब छ, त्यसैले म काममा पनि असक्षम छु भनी सोचे होलान्? त्यसपछि मैले कामकुराको अनुगमन गर्दा कसले मेरो कुरा सुन्ला र? यी सोचाइहरूले बयान गर्नै नसकिने असफलताको अनुभूति गराए, र म साह्रै खिन्न भएँ। त्यतिबेला, मण्डलीकी अगुवा पनि त्यो समूहमा थिइन्। मलाई उनी अनलाइन आउलिन्, भइरहेको कुरा देख्लिन्, मेरो अङ्ग्रेजी कमजोर छ र मैले काम गर्न सक्दिनँ भन्ने सोच्लिन्, अनि मलाई बर्खास्त गर्लिन् भन्ने डर थियो। म उनीहरूले मेरो वास्तविकता थाहा पाऊन् भन्ने चाहन्नथेँ, त्यसैले मैले फेरि आफ्ना कमजोरीहरू लुकाउन थालेँ, मुखले बोल्नुको सट्टा टाइप गरेर कुराकानी गर्न थालेँ, र समूहको छलफललाई एक-एक जनासँगको निजी च्याटमा बदलेँ। केही समयपछि, मलाई एकदमै थकित महसुस हुन थाल्यो। मलाई सबैले वास्तविकता थाहा पाएर मलाई हेप्छन् कि भन्ने डर थियो। म हरेक दिन त्यही स्थितिमा बाँचे र आफ्नो कर्तव्य कसरी राम्ररी पूरा गर्ने भनेर सोच्ने समय वा ऊर्जा नै थिएन। मैले आफ्नो हृदयमा झन्-झन् अन्धकार महसुस गरेँ र परमेश्वरको मार्गदर्शन महसुस गर्नै सकिनँ। आफ्नो कर्तव्यमा पनि मेरो कुनै दिशा पनि थिएन। म खतरनाक स्थितिमा छु भन्ने मलाई थाहा थियो, तर म त्यसबाट बाहिर निस्कन सकिनँ। त्यसैले, मैले मनमनै प्रार्थना गरेँ, र परमेश्वरसँग मलाई त्यसबाट निस्किन मार्गदर्शन गर्नुहोस् भन्ने अनुरोध गरेँ।
एक दिन मैले “बहनाबाजीको पछाडि” भन्ने शीर्षकको एउटा गवाही भिडियो हेरेँ, र त्यसमा देखिएका परमेश्वरका केही वचनहरूले ममा गहिरो छाप छोडे। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “जब मानिसहरू अरूले तिनीहरूलाई उच्च नजरले हेरून् र तिनीहरूका दोषहरू र कमीहरू नदेखून् भनी सधैँ स्वाङ पार्छन्, सधैँ तिनीहरू आफूलाई ढाकछोप गर्छन्, सधैँ बहाना बनाउँछन्, जब तिनीहरूले मानिसहरूको अगाडि आफ्नो सर्वोत्तम पाटो प्रस्तुत गर्ने कोसिस गर्छन्, तब त्यो कस्तो किसिमको स्वभाव हो? त्यो अहङ्कार, बहानाबाजी, पाखण्ड हो, यो शैतानको स्वभाव हो, यो एक प्रकारको दुष्टता हो। शैतानी शासनका सदस्यहरूलाई नै लिऊँ: तिनीहरूले गोप्यमा जति नै लडाइँ, झगडा, वा हत्या गरे पनि कसैलाई पनि तिनीहरूको रिपोर्ट वा पर्दाफास गर्न दिँदैन। तिनीहरू मानिसहरूले आफ्नो पैशाचिक रूप देख्लान् भनेर डराउँछन्, र त्यसलाई ढाकछोप गर्न आफूले सकेजति सबै गर्छन्। जनसमुदायअघि तिनीहरू आफूलाई ढाकछोप गर्न आफूले सक्नेजति सबै गर्दै, तिनीहरू मानिसहरूलाई धेरै प्रेम गर्छन्, तिनीहरू धेरै महान्, महिमित र दोषरहित छन् भनी भन्छन्। यो शैतानको प्रकृति हो। शैतानको प्रकृतिको सबैभन्दा विशिष्ट विशेषता छल र धोखा हो। अनि यो छल र धोखाको उद्देश्य के हो? मानिसहरूका आँखा छल्नु, तिनीहरूलाई यसको सार र यसको साँचो रूप देख्नबाट रोक्नु, र त्यसो गरेर त्यसको शासनलाई बलियो बनाउने उद्देश्य प्राप्त गर्नु हो। साधारण मानिसहरूमा यस्तो शक्ति र हैसियत नहोला, तर तिनीहरू पनि अरूले तिनीहरूलाई राम्रो नजरले हेरून् भन्ने चाहन्छन्, र मानिसहरूले तिनीहरूलाई उच्च नजरले हेरून्, र हृदयमा तिनीहरूलाई उच्च हैसियतमा राखून् भन्ने चाहन्छन्। यो भ्रष्ट स्वभाव हो, र यदि मानिसहरूले सत्यतालाई बुझ्दैनन् भने, यसलाई चिन्न सक्दैनन्। … गल्ती गर्नु वा देखावटी रूप धारण गर्नु: यीमध्ये कुन चाहिँ स्वभावसँग सम्बन्धित छ? देखावटी रूप धारण गर्नु स्वभावसित सम्बन्धित कुरा हो, यसमा घमण्डी स्वभाव, दुष्टता र छलीपन सामेल छन्; र परमेश्वरले यसलाई विशेष रूपमा तुच्छ ठान्नुहुन्छ। … यदि तैँले नाटकबाजी गर्ने वा आफूलाई सही ठहराउने कोसिस गर्दैनस् भने, यदि तँ आफ्नो गल्ती स्वीकार्न सक्छस् भने, सबैले तँ इमानदार र बुद्धिमान् छस् भनी भन्नेछन्। अनि कुन कुराले तँलाई बुद्धिमान् बनाउँछ? सबैले गल्ती गर्छन्। सबैमा दोष र कमी-कमजोरी हुन्छ। अनि वास्तवमा, सबैसित उही भ्रष्ट स्वभाव हुन्छ। तैँले आफैलाई अरूभन्दा धेरै महान्, सिद्ध, र दयालु नसोच्; त्यसो गर्नु बिलकुलै अनुचित छ। मानिसहरूको भ्रष्ट स्वभाव अनि सार र तिनीहरूको भ्रष्टताको साँचो अनुहारबारे तँलाई स्पष्ट भएपछि, तँ तेरा आफ्नै गल्तीहरूलाई ढाकछोप गर्ने कोसिस गर्नेछैनस्, न त अरू मान्छेले गल्ती गर्दा तँ तिनीहरूप्रति नराम्रो विचार नै पाल्नेछस्, तैँले यी दुवै कुरालाई सही प्रकारले सामना गर्न सक्नेछस्। तब मात्र तँ समझदार हुने छस् र मूर्ख कुराहरू गर्ने छैनस्, र यसले तँलाई बुद्धिमान् बनाउने छ। बुद्धि नभएकाहरू मूर्ख मानिसहरू हुन् र तिनीहरू पर्दापछाडि गोप्य कुरा गर्दै, सधैँ आफ्ना ससाना गल्तीहरूमा अल्झिरहन्छन्। यो हेर्दै घिन लाग्छ। वास्तवमा, तैँले जे गरिरहेको हुन्छस् त्यो अरू मानिसहरूले तुरुन्तै स्पष्ट रूपमा देख्छन्, तैपनि तँ अझै निर्लज्ज बनी देखावटी गर्छस्। अरूलाई, यो जोकरको काम जस्तो लाग्छ। के यो मूर्खता होइन? यो साँच्चै मूर्खता हो। मूर्ख मानिसहरूसँग कुनै बुद्धि हुँदैन। तिनीहरूले जति धेरै प्रवचन सुने पनि, तिनीहरूले अझै पनि सत्यता बुझ्दैनन् वा कुनै कुराको वास्तविकतालाई देख्दैनन्। तिनीहरू आफ्नो अहम् कहिल्यै छोड्दैनन्, तिनीहरू अरू सबैभन्दा फरक छन्, र अरूभन्दा बढी इज्जतदार छन् भनी सोच्छन्, यो अहङ्कार र आत्मधर्मीपन हो, यो मूर्खता हो। मूर्ख मानिसहरूमा आत्मिक बुझाइ हुँदैन, हुन्छ त? जुन विषयहरूमा तँ मूर्ख र निर्बुद्धि हुन्छस् ती त्यस्ता विषयहरू हुन् जसका बारेमा तँसित कुनै आत्मिक समझ हुँदैन, र तैँले सजिलैसँग सत्यतालाई बुझ्दैनस्। कुराको वास्तविकता यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। मैले परमेश्वरका वचनहरूबारे केही विचार गरेँ—यो मेरा लागि एउटा साँच्चैको झट्का थियो। बहनाबाजी गर्नु र गल्ती गर्नुको प्रकृति फरक-फरक हुन्छ। मेरो अङ्ग्रेजी राम्रो थिएन, त्यसैले मैले गल्ती गर्दा, म सिक्न र अभ्यास गर्न सक्थेँ। तर म सधैँ आफूलाई ढाकछोप गर्थेँ ताकि अरूले मेरो वास्तविक रूप देख्न नसकून्। त्यसको पछाडि मेरो अहङ्कार, छलीपन, र दुष्टताको भ्रष्ट स्वभाव लुकेको थियो। त्यो परमेश्वरका लागि घिनलाग्दो र आपत्तिजनक कुरा हो। म अझै पनि त्यो कर्तव्य कसरी निर्वाह गर्ने भनेर अभ्यास गरिरहेकी थिएँ, त्यसैले त्रुटि, भुलचुक र भ्रष्टताका अभिव्यक्तिहरू अपरिहार्य थिए। ती लाज मान्नुपर्ने कुराहरू थिएनन्, र सत्यता खोजेर तिनको समाधान गर्न सकिन्थ्यो। तर मैले मलजल गर्ने कामको जिम्मेवारी लिएदेखि, मैले आफूलाई एक जना जिम्मेवार व्यक्तिको स्थानमा राखेकी थिएँ, र म सामान्य व्यक्तिभन्दा राम्रो हुनुपर्छ, नत्र नयाँ विश्वासीहरूले मलाई हेप्छन् भन्ने सोच्थेँ। जब ती नयाँ विश्वासीले मैले भनेको कुरा बुझ्न नसकेको बताइन्, मलाई मेरो अपर्याप्तताको खुलासा भयो अनि मेरो छविमा क्षति पुग्यो, र नयाँ विश्वासीहरूले मलाई हेप्छन् र मेरो कुरा सुन्दैनन् भन्ने लाग्यो। मलाई झन् बढी चिन्ता त अगुवाले मेरो कमी देखेर म त्यो कामका लागि योग्य छैन भन्ने सोच्लिन्, र मलाई बर्खास्त गर्लिन् भन्ने थियो। आफ्नो हैसियत र छवि बचाउनका लागि, मैले आफ्ना कमीहरू लुकाउने उपाय सोचेँ, यहाँसम्म कि मण्डलीको काममा समेत बाधा पुऱ्याएँ। मैले मौखिक कुराकानीलाई लिखित संवादमा बदलेँ, र कामका बारेमा छलफल गर्न समूह बैठकको सट्टा निजी च्याट प्रयोग गरेँ, जसले हाम्रो मलजल गर्ने काममा ढिलाइ गर्यो। म रक्षात्मक स्थितिमा थिएँ र परमेश्वरबाट झन्-झन् टाढा हुँदै गइरहेकी थिएँ। यो सबै मेरो एकदम छली काम थियो! परमेश्वरका वचनहरूमा शैतानी प्रकृतिको न्याय र खुलासा गर्ने अंश पढ्दा मलाई काँप छुट्यो। परमेश्वर भन्नुहुन्छ शैतानी प्रकृतिको सबैभन्दा प्रमुख पक्ष छल र कपट हो, र त्यो विशेष गरी दुष्ट हुन्छ। ठूलो रातो अजिङ्गर ढोँग गर्न र धोका दिनमा विशेष सिपालु छ। यसले आफ्नो तानाशाही सत्ता सुरक्षित गर्ने प्रयासमा, मानिसहरूलाई आफ्नो आराधना गर्ने र पछ्याउने बनाउन सधैँ आफ्नो “महान्, गौरवशाली र सही” छविका बारेमा कुरा गरिरहेको हुन्छ, यसले आफूले पर्दा पछाडि गर्ने सबै दुष्ट कामहरू लुकाउन हरसम्भव प्रयास गर्छ, यसरी संसारका मानिसहरूलाई भ्रमित पार्छ र छल गर्छ। आफ्नो व्यवहारमाथि चिन्तन गर्दा, अरूको मनमा सकारात्मक छवि बनोस्, र उनीहरूले मेरो राम्रो पक्ष मात्र देखून् भन्नका लागि म बहनाबाजी गरिरहेकी थिएँ। म छली र दुष्ट स्वभाव देखाइरहेकी थिएँ! के यो स्वभाव ठूलो रातो अजिङ्गरको जस्तै थिएन र? छल र बहनाबाजी गरेर अरूको सम्मान र प्रशंसा जित्नुको के फाइदा छ र? आफ्ना कमीकमजोरी र अपर्याप्तताहरू लुकाएर, परमेश्वर र अरू मानिसहरूलाई धोका दिन चाल चलेर, मैले कुनै प्रगति त गरिनँ नै, नयाँ विश्वासीहरूलाई मलजल गर्ने काममा समेत ढिलाइ गरेँ। के त्यो मूर्खता थिएन र? धेरै नयाँ विश्वासीहरू परमेश्वरका वचनहरू पढ्दै मानवजातिलाई मुक्ति दिने उहाँको अभिप्रायबारे सिकिरहेका थिए। उनीहरू प्रकोपहरू बढ्दै गएका र महामारी झन्-झन् खराब हुँदै गएका देख्न सक्थे, र उनीहरूलाई थाहा थियो परमेश्वरका आखिरी दिनहरूको काम स्वीकार गर्नु नै मानिसहरूका निम्ति एकमात्र बच्ने मार्ग हो। उनीहरू आफ्ना साथीहरू र परिवारलाई सुसमाचार सुनाउन, उनीहरूलाई परमेश्वरको सामु ल्याउन इच्छुक थिए, ताकि तिनीहरूले परमेश्वरको मुक्ति प्राप्त गर्न सकून्। तर म उनीहरूको जीवन प्रवेशका बारेमा अलिकति पनि चिन्तित थिइनँ। आफ्नो बेकारको मिथ्याभिमान जोगाउन, मैले ब्रदर-सिस्टरहरूका सुसमाचार सुनाउनेबारेका प्रश्नहरूलाई तुरुन्तै सम्बोधन गरिरहेकी थिइनँ। त्यसले धेरै मानिसहरूलाई साँचो मार्गको खोजी गर्न र परमेश्वरतर्फ फर्कन ढिलाइ गरायो। के त्यसले मलाई सुसमाचारको कामका निम्ति एक अवरोध, एउटा बाधा बनाएन र? यसबारे चिन्तन गर्दैगर्दा, मलाई म आफ्नो भ्रष्ट स्वभावअनुसार बाँचिरहेकी छु, र बाहिरबाट हेर्दा आफ्नो कर्तव्य पूरा गरेजस्तो देखिए तापनि, मैले वास्तवमा परमेश्वरको प्रतिरोध गरिरहेकी, मण्डलीको काममा बाधा पुऱ्याइरहेकी, र ब्रदर-सिस्टरहरूलाई हानि गरिरहेकी छु भन्ने महसुस भयो। मैले आफैलाई घृणा गरेँ र मलाई आफ्नो हृदयको गहिराइबाटै आफूदेखि वाक्क लाग्यो। मलाई म परमेश्वरप्रति धेरै ऋणी छु र मैले मेरा ब्रदर-सिस्टरहरूलाई पनि धोका दिएकी छु भन्ने लाग्यो। मैले म पश्चात्ताप गर्न तयार छु र म दृढतापूर्वक सत्यताको खोजी गर्न, अनि आफ्नो कर्तव्य पूरा गर्न चाहन्छु भन्दै परमेश्वरलाई प्रार्थना गरेँ।
एक पटक आफ्नो आत्मिक भक्तिमा मैले परमेश्वरका वचनहरूको यो खण्ड पढेँ: “तैँले कुनै तरिका प्रयोग गरी आफ्नै प्रतिष्ठा, छवि, र हैसियत जोगाउनु आवश्यक पर्दैन, न त आफ्ना गल्तीहरूलाई ढाकछोप गर्नु वा छद्म रूप दिनु नै आवश्यक पर्छ। तैँले यी व्यर्थका प्रयासहरूमा संलग्न हुनु आवश्यक छैन। यदि तैँले यी कुराहरूलाई छोड्न सक्छस् भने, तँ तनावरहित हुनेछस्, बन्धन र पीडारहित भई बाँच्नेछस्, र पूर्ण रूपमा ज्योतिमा रहेर जिउनेछस्। सङ्गति गर्दा कसरी खुल्ने भनेर सिक्नु नै जीवन प्रवेश गर्ने पहिलो कदम हो। त्यसपछि, तैँले आफ्ना सोचविचार र कार्यहरूलाई कुन-कुन गलत छन् र कुन-कुनलाई परमेश्वरले मन पराउनुहुन्न भनी हेर्नको लागि चिरफार गर्न सिक्नुपर्छ, र तैँले तिनलाई तुरुन्तै उल्ट्याएर सुधार गर्नु आवश्यक छ। तिनलाई सुधार गर्नुको उद्देश्य के हो त? यसको उद्देश्य तँभित्र भएका शैतानको स्वामित्वमा रहेका कुराहरूलाई हटाएर तिनलाई सत्यताले प्रतिस्थापन गर्दै सत्यतालाई स्वीकार गर्नु र अपनाउनु हो। पहिले, तैँले सबै कामकुरा तेरो ढाँट्ने र छल्ने कुटिल स्वभावअनुसार गर्थिस्; तँलाई आफूले नढाँटीकन त कुनै काम पूरा गर्नै सक्दिनँ भन्ने लाग्थ्यो। अहिले तैँले सत्यता बुझेको छस् र शैतानको काम गर्ने तौरतरिकालाई घिनाउँछस्, तँ अब त्यस तरिकाले कामकुराहरू गर्दैनस्, तँ इमानदारी, शुद्धता, र समर्पणको मानसिकतासाथ काम गर्छस्। यदि तँ कुनै कुरा पनि लुकाउँदैनस्, बाहिरी खोल ओढ्दैनस्, बहाना गर्दैनस्, कुराहरू ढाक्दैनस् भने, यदि तँ दाजुभाइ-दिदीबहिनीहरूको सामु आफैलाई उदाङ्गो पार्छस्, तेरा भित्री सोच र विचारहरूलाई लुकाउँदैनस्, बरु अरूलाई तेरो निष्कपट मनोवृत्ति हेर्न दिन्छस् भने, सत्यले बिस्तारै तँमा जरा गाड्नेछ, यो फुल्नेछ र फल्नेछ, र यसले अलिअलि गर्दै परिणाम दिनेछ। यदि तेरो हृदय झन्-झन् इमानदार हुन्छ, र झन्-झन् परमेश्वरमा केन्द्रित हुन्छ भने, र यदि तैँले आफ्नो कर्तव्य पूरा गर्दा परमेश्वरको घरका हितहरूतको रक्षा गर्न जान्दछस्, यी हितहरूको रक्षा गर्न नसक्दा तँलाई ग्लानि महसुस हुन्छ भने, यो कुरा सत्यले तँमा प्रभाव पारेको छ र त्यो तेरो जीवन बनेको छ भन्ने प्रमाण हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूले मलाई अभ्यासको विशेष मार्ग दिए। मैले शुद्ध, इमानदार हृदयले आफ्नो कर्तव्य पूरा गर्नुपर्थ्यो, र मेरो कद जतिसुकै ठूलो वा सानो भए पनि, वा ममा जस्तोसुकै त्रुटि र कमीकमजोरीहरू भए पनि, मैले देखावटी गर्न मिल्दैनथ्यो। मैले सबैलाई आफ्नो वास्तविक रूप देखाउनुपर्थ्यो, र गल्ती गरे पनि आफ्नो बारेमा खुलस्त हुनुपर्थ्यो। यसरी जिउँदा थकाइ लाग्ने थिएन, र परमेश्वरले यसलाई अनुमोदन गर्नुहुन्छ। वास्तवमा, मेरा समस्याहरू र कमीकमजोरीहरू मैले लुकाउन खोज्दैमा हराएर जाने थिएनन्, त्यसैले मैले तिनीहरूको शान्तिपूर्वक सामना गर्नुपर्थ्यो, आफूमा भएको कमी स्वीकार गर्नुपर्थ्यो, र आफूलाई खोल्न र खुलस्त हुन सक्ने व्यक्ति बन्नुपर्थ्यो। यदि मैले केही बुझिनँ भने, मैले प्रश्नहरू सोध्नुपर्थ्यो र थप सिक्नुपर्थ्यो ताकि म बिस्तारै आफ्नो काममा सुधार गर्न सकूँ। त्यसका साथै, अगुवाले मलाई जिम्मेवारी लिन गर्नुभएको प्रबन्धलाई मैले हैसियतका रूपमा नभई परमेश्वरबाट आएको एउटा जिम्मेवारीका रूपमा स्वीकार गर्नुपर्थ्यो। मैले जिम्मेवार व्यक्तिको पहिचानलाई त्यागेर आफ्नो कर्तव्यलाई पहिलो स्थानमा राख्नुपर्थ्यो। अरू मानिसहरूले जे सोचे पनि वा भने पनि, मैले आफ्नो मनसाय सच्याउनुपर्थ्यो, आफ्नो स्थान चिन्नुपर्थ्यो, र एक सृजित प्राणीको कर्तव्य पूरा गर्नुपर्थ्यो।
त्यस बेलादेखि, मैले आफ्नो घमण्डलाई त्यागेर, नयाँ विश्वासीहरूलाई उनीहरूका कर्तव्यमा आइपरेका कठिनाइ र समस्याहरूको समाधानमा मद्दत गर्न उनीहरूसँग सक्रिय रूपमा मौखिक कुराकानी गर्न थालेँ मैले आफ्नो अङ्ग्रेजी बोल्ने सीपको पनि धेरै अभ्यास गरेँ र आफ्नो उच्चारण सुधार्न काम गरेँ, र जब म आफूले नबुझेका कुराहरूको सामना गर्थेँ, म अरू ब्रदर-सिस्टरहरूलाई सोध्थेँ र उनीहरूका सबल पक्षहरूबाट सिक्थेँ। एक पटक, म केही नयाँ विश्वासीहरूसँग अनलाइन भेलामा सहभागी भइरहेकी थिएँ, र हामीले एक-अर्कालाई अभिवादन गर्न थाल्दै गर्दा, एक जनाको नाममा म अक्मकिएँ। ती नयाँ विश्वासीले मेरो उच्चारण बारम्बार सच्याइदिइन्। म अलि लाज मानिरहेकी थिएँ, र उनले यसलाई किन यति गम्भीर रूपमा लिएकी होलिन् भनेर सोचिरहेकी थिएँ। यति धेरै मानिसहरूले सुनिरहेको बेला त एक पटक सच्याइदिए पुग्ने हो! तब मैले परमेश्वरले भन्नुभएको केही कुरा सम्झेँ: “तैँले कुनै तरिका प्रयोग गरी आफ्नै प्रतिष्ठा, छवि, र हैसियत जोगाउनु आवश्यक पर्दैन, न त आफ्ना गल्तीहरूलाई ढाकछोप गर्नु वा छद्म रूप दिनु नै आवश्यक पर्छ। तैँले यी व्यर्थका प्रयासहरूमा संलग्न हुनु आवश्यक छैन। यदि तैँले यी कुराहरूलाई छोड्न सक्छस् भने, तँ तनावरहित हुनेछस्, बन्धन र पीडारहित भई बाँच्नेछस्, र पूर्ण रूपमा ज्योतिमा रहेर जिउनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले मनमनै सोचेँ, “यो साँचो हो—म गलत छु भने त म गलतै हुँ नि। म किन सधैँ यसलाई लुकाउन खोज्छु? आफ्नो मनलाई कर्तव्यमा राख्नुको सट्टा, यसलाई म आफ्नो मिथ्याभिमानमा राखिरहेकी छु, र त्यस्तो बोझ बोकेर मेरो कर्तव्य राम्ररी पूरा गर्ने कुनै उपाय छैन।” त्यसैले, मैले आफूलाई शान्त पारी प्रार्थना गरेँ, अनि आफ्नो घमण्ड त्याग्न र कर्तव्यमा ध्यान केन्द्रित गर्नमा मार्गदर्शन गर्न परमेश्वरलाई अनुरोध गरेँ। प्रार्थना गरेपछि, मलाई लाज लाग्न छोड्यो, र मलाई आफ्नो निम्नस्तरको उच्चारणद्वारा त्यति बाँधिएको महसुस भएन। मैले ती नयाँ विश्वासीलाई मेरो उच्चारण सच्याउन मद्दत गर्न अनुरोध गरेँ। केही समयपछि, पहिले मसँग सहकार्य गरिसकेकी एक जना सिस्टरले भनिन्, “तिमी सामान्यतया आफ्नो अङ्ग्रेजी अभ्यास गर्न के गर्छ्यौ? तिमी नयाँ विश्वासीहरूसँग साह्रै सहज रूपमा कुराकानी गर्छ्यौ। हामीले पछिल्लो पटक भेटेदेखिको केही महिनामा तिमीले धेरै प्रगति गरेकी रहिछ्यौ!” यो सुनेर म साँच्चै प्रभावित भएँ, र यो पूर्ण रूपमा परमेश्वरको मार्गदर्शन र अनुग्रह हो भन्ने मलाई थाहा थियो। जति धेरै म यस्ता अनुभवहरू प्राप्त गर्छु, त्यति नै मलाई के महसुस हुन्छ भने आफ्नो वास्तविक अवस्थाबारे खुलस्त हुनु, आफूलाई ढाकछोप वा बहनाबाजी नगर्नु, र लगनशीलतापूर्वक आफ्नो कर्तव्य पूरा गर्नु एउटा यस्तो अभ्यास हो जसले मेरो हृदयमा शान्ति ल्याउँछ। परमेश्वरलाई धन्यवाद!