१०. मुक्ति पाउनको लागि इमानदार हुनुपर्छ
अगष्ट २०२१ मा, म नयाँ विश्वासीहरूलाई मलजल गर्न फ्रेन्च नयाँ विश्वासीहरूको मण्डलीमा आएँ। केही समयपछि, मैले एक जना नयाँ विश्वासीसँग अहङ्कारी स्वभाव छ, उनले प्रायजसो आफ्नै विचारहरूमा जोड दिन्छिन्, र आफ्ना ब्रदर-सिस्टरहरूसँग काम गर्न सक्दिनन् भन्ने थाहा पाएँ। अरूले उनका समस्याहरू औँल्याइदिँदा, उनी यस कुरालाई स्वीकार गर्न मान्दिनथिइन्, सही र गलतको विषयमा तर्क गर्थिन्, र अरू मानिसहरूलाई तिनीहरूको पछाडि आलोचना गर्ने र दोष दिने गर्थिन्, जसले गर्दा अरूलाई उनीबाट बाधा भएको थियो र यसले परमेश्वरको घरको काममा बाधा पुर्याएको थियो। सिद्धान्तहरू अनुसार, उनी कर्तव्यको लागि योग्य थिइनन्, र मैले उनीसँग सङ्गति गरेर उनलाई आफ्नो कर्तव्यबाट बर्खास्त गरेँ। तर त्यो बेला, मलाई केही समस्या भएको थियो। म पहिलो पटक अगुवा बनेकी थिएँ, मैले यस विषयमा कसैलाई कहिल्यै सङ्गति दिएकी थिइनँ, र यो काम कसरी गर्ने मलाई थाहा थिएन, तर सुपरभाइजरलाई सोध्ने पनि मन थिएन किनभने यो कुरा नजानेकोमा उनले मलाई अयोग्य ठान्छिन्, मेरा कमीकमजोरीलाई स्पष्ट रूपमा देख्छिन्, र उप्रान्त मलाई योग्य ठान्ने वा जगेर्ना गर्ने गर्दिनन् भन्ने डर लागेको थियो। मलाई मेरो मौखिक फ्रेन्च पनि राम्रो छैन, त्यसकारण मैले नयाँ विश्वासीहरूको कुरा बुझिनँ, वा मैले भन्न चाहेको कुरा व्याख्या गर्न सकिनँ भने, नयाँ विश्वासीमा धारणाहरू हुनेछन् र पछि हट्नेछन्, र मैले यसको जिम्मेवारी लिनुपर्छ भन्ने लाग्थ्यो। मैले मनमनै तर्क गरेँ, र अन्तिममा यस कुरालाई सम्हाल्ने जिम्मा नयाँ विश्वासीको मण्डलीका अगुवा, ब्रदर क्लोडलाई दिएँ। मैले यो कार्य ब्रदर क्लोडलाई कसरी आफै समस्याहरू समाधान गर्ने भनेर सिकाउनको लागि तालिम पनि हो भनेर समेत आफ्नो कार्यलाई सही साबित गर्ने प्रयास समेत गरेँ। तर पछि, ब्रदर क्लोडले सङ्गतिको बेला स्पष्ट रूपमा नबोलेको हुनाले, त्यस नयाँ विश्वासी पछि हटे र विश्वास गर्न छोडे। यसको कारण, ब्रदर क्लोड अत्यन्तै निराश भए। उनले आफू मूर्ख भएकोले सङ्गति गर्न सक्दिन भनेर भने। त्यो बेला, मैले आफ्नो समस्यालाई विश्लेषण गर्न तिनीसँग मन खोलेर कुरा गरिनँ। मैले केही भएको छैन जस्तै गरी तिनीसँग सङ्गति गरेँ र तिनले गरेको गडबडीलाई बिर्सिदिएँ। मैले आफ्नो वास्तविक अवस्थालाई प्रकट गरिनँ र म समस्याहरू समाधान गर्न सक्छु भनेर तिनलाई सोँच्न लगाउन भूलमा पारेँ।
केही दिनपछि, एउटा भेलामा, हाम्रा अगुवाले के बताए भने, मलजल गर्ने कति जना सेवकहरूले आफ्नो कर्तव्य गैरजिम्मेवार तरिकाले गरेका छन्। तिनीहरूले आफै समस्याहरू समाधान गरेनन्, तर नयाँ अगुवालई त्यसो गर्न लगाए, जसले गर्दा समस्याहरू समाधान भएनन् र नयाँ विश्वासीहरूले समूह त्यागे। अगुवाले मेरो समस्यालाई त्यसरी सीधै औँल्याएको देखेर, मलाई लाज लाग्यो। मलाई निकै अप्ठ्यारो लाग्यो। मैले सोचेँ, “हरेक मण्डलीका सुपरभाइजर र मलजल कार्यकर्ता सबै यहीँ छन्। अब तिनीहरूले मलाई के सोच्छन्? तिनीहरूले पक्कै पनि म पूर्ण रूपमा भरपर्दो छैन भनेर सोच्छन् होला।” अगुवाले आफ्नो कुरा सकेपछि, उनले सबै जनालाई बोल्न अनुरोध गरे। मैले सोचेँ, “अगुवाले यहाँ यति सीधै कुरा गरेकी छिन्, र दोषी व्यक्ति म नै थिएँ। मैले अहिले सक्रिय रूपमा सङ्गति गरिनँ भने, के म काट-छाँट र निराकरणलाई स्वीकार गर्ने आचरण नभएको व्यक्तिजस्तो देखिँदिनँ र? त्यसले पक्कै पनि मेरो अगुवामा खराब छाप छोड्नेछ।” आफ्नो इज्जतलाई पुनर्स्थापित गर्नको लागि, सुरुमा मैले नै सङ्गति गरेँ, र अलिक रुन्चे शैलीमा भनेँ, “मैले यस्तो हुन दिएकोमा मलाई अत्यन्तै पछुतो भएको छ। अहिले मलाई म अत्यन्तै अजिम्मेवार व्यक्ति रहेछु भन्ने थाहा भएको छ।” आफ्नो “ज्ञान” देखाइ सकेपछि, मैले यसो भन्दै आफ्नो बारेमा व्याख्या गर्न थालेँ, “सुरुमा, मैले नयाँ विश्वासीको कठिनाइहरूलाई जान्न धेरै मूल्य चुकाएकी थिएँ, र उनलाई प्रेम पूर्वक परमेश्वरको वचनमा सङ्गति गरेकी थिएँ, तर मसँग कामको कुनै अनुभव नभएको, र भाषिक अवरोधको कारण, मैले नयाँ अगुवालाई यो कुरा सुल्झाउन लगाएकी हुँ। मैले त्यसो गर्नुका परिणामहरूलाई ध्यान दिइनँ, त्यसैले नयाँ विश्वासी पछि हटेको हो।” यो कुरापछि, एक जना सिस्टरले मलाई मेसेज गरेर सीधै भनिन्, “तपाईंको बोल्ने शैली अत्यन्तै नरम देखिन्थ्यो। यो त नाटक गरेको जस्तो देखिन्थ्यो। मलाई अप्ठ्यारो लागिरहेको थियो। आफू गलत छु भन्ने कुरा तपाईंलाई पहिले नै थाहा थियो, र हामीले तपाईंलाई यस्तो कुरा नभनोस् भनेर चाहनुभएको जस्तो देखिन्थ्यो।” त्यो मेसेज पढेपछि, मेरो अनुहार तुरुन्तै लाजले रातो भयो। मलाई त चलाकी गर्दा रङ्गे हात पक्रिएको जस्तो लाग्यो। यो निकै लाजमर्दो कुरा थियो। त्यसपछि, सिस्टरले भनेका कुराहरू सधैँ मेरो मनमा गुञ्जिन्थे। उनले मेरा समस्याहरूलाई त्यसरी सीधै औँल्याएकी थिइन्, र यसमा पक्कै पनि परमेश्वरको इच्छा थियो। मैले उचित रूपमा मनन गरेर यस कुरालाई बुझ्नुपर्छ। मनन गरेपछि, मैले के महसुस गरेँ भने जब-जब मैले कुनै गल्ती गर्थेँ र मलाई निराकरण गरिन्थ्यो, तब-तब म सक्रिय भएर आफ्ना समस्याहरूलाई स्वीकार गर्थेँ त्यसपछि सबैको सहानुभूति प्राप्त गर्न र तिनीहरूले मेरो कुरा बुझून् भनेर म दुःखी र शोकित शैलीमा आफ्ना वास्तविक कठिनाइहरूको बारेमा बताउँथेँ, ताकि सबैले मलाई क्षमा गरून् र उप्रान्त मलाई जिम्मेवार नतुल्याऊन्। यसले अरूलाई म काट-छाँट र निराकरण स्वीकार गर्न सक्छु भन्ने पनि अनुभव गराउँथ्यो, जसले गर्दा उनीहरूले मलाई राम्रो सोच्थे। यसको बारेमा मनन गरिसकेपछि, मैले मेरा शब्दहरूमा धेरै छल लुकेका हुन्छन् भन्ने थाहा पाएँ। त्यसपछि, मैले खान र पिउनका लागि यस विषयमा परमेश्वरको वचनका खण्डहरू खोजेँ।
एक दिन, मलाई बाइबलमा उल्लेख परमेश्वर र शैतान बीचको कुराकानी याद आयो। “अनि यहोवाले शैतानलाई भन्नुभयो, तँ कहाँबाट आइस्? तब शैतानले यसो भन्दै यहोवालाई जवाफ दियो, पृथ्वीमा यताउता हिँड्डुल गर्दै र तलमाथि गर्दै आएँ” (अय्यूब १:७)। त्यसपछि मैले शैतानले बोल्ने तरिकाको बारेमा परमेश्वरले गर्नुभएको विश्लेषण पढेँ, जसमा यसो भनिएको छ, “शैतानका शब्दहरूमा केही निश्चित विशेषताहरू हुन्छन्: शैतानले जे बोल्छ त्यसले तँलाई टाउको कन्याउने बनाउँछ, तँ त्यसका शब्दहरूको स्रोत पत्ता लगाउन असक्षम हुन्छस्। कहिलेकाहीँ शैतानसँग मनसायहरू हुन्छन् र त्यसले जानाजानी बोल्छ, र कहिलेकाहीँ त्यसको आफ्नै प्रकृतिद्वारा सञ्चालित भई, यी शब्दहरू स्वतस्फूर्त रूपमा निस्कन्छन् र सीधै शैतानको मुखबाट आउँछन्। शैतानले यी शब्दहरूलाई मनन गर्दै लामो समय बिताउँदैन; यी शब्दहरूलाई विचारै नगरीकन व्यक्त गरिन्छ। जब परमेश्वरले शैतानलाई तँ कहाँबाट आएको होस् भनी सोध्नुभयो, तब त्यसले केही दोहोरो अर्थ लाग्ने शब्दहरूद्वारा जवाफ दियो। तैँले आफू धेरै अलमलिएको महसुस गर्छस्, तँलाई शैतान कहाँबाट आएको हो भनी ठ्याक्कै थाहा हुँदैन। तिमीहरूमाझ यस्तै किसिमले बोल्ने कोही छन्? यो कस्तो खालको बोल्ने तरिका हो त? (यो अस्पष्ट छ र यसले एक निश्चित जवाफ दिँदैन।) यस किसिमको बोल्ने तरिकालाई वर्णन गर्न हामी कस्ता शब्दहरूको प्रयोग गर्नुपर्छ? यो बहकाउने र गलत दिशातर्फ डोर्याउने किसिमको छ। मानौँ, कोही आफूले हिजो के गरेका थियौँ भनी अरूलाई थाहा नहोस् भन्ने चाहन्छन्। तैँले तिनीहरूलाई सोध्छस्: ‘मैले तपाईंलाई हिजो देखेको थिएँ। तपाईं कहाँ जाँदै हुनुहुन्थ्यो?’ तिनीहरू हिजो कहाँ गएका थिए भनी तिनीहरूले तँलाई सीधा कुरा बताउँदैनन्। बरु, तिनीहरू भन्छन्: ‘हिजोको दिन कस्तो व्यस्त दिन थियो। कस्तो थकान लगायो!’ के तिनीहरूले तेरो प्रश्नको जवाफ दिए त? तिनीहरूले जवाफ त दिए, तर तिनीहरूले तैँले चाहेको जवाफ दिएनन्। योचाहिँ मानिसको बोलीभित्रको कुटिलताको ‘विशिष्ट प्रतिभा’ हो। त्यसको अर्थ के हो भनी तैँले कहिल्यै पत्ता लगाउन सक्दैनस्, न त तँलाई तिनीहरूका शब्दहरूको स्रोत र अभिप्राय नै कहिल्यै थाहा हुन्छ। तिनीहरूले के कुरा लुकाउन खोजिरहेका छन् भनी तँलाई थाहा हुँदैन किनकि तिनीहरूको हृदयमा तिनीहरूको आफ्नै कथा हुन्छ—यो कपटीपन हो। के तिमीहरूको माझमा पनि प्रायजसो यसरी नै बोल्ने कोही छ? (हो।) त्यसो भए तिमीहरूको उद्देश्य के हो त? के कहिलेकाहीँ तिमीहरूका आफ्नै चाहनाहरूलाई सुरक्षित राख्न, कहिलेकाहीँ तिमीहरूको आफ्नै अभिमान, पद र छवि कायम राखिराख्न, र तिमीहरूको निजी जीवनका कुराहरू गोप्य राख्न हो? उद्देश्य जेसुकै होस्, यो तिमीहरूका रुचिहरूबाट अलग गर्न नसकिने हुन्छ, यो तिमीहरूका रुचिहरूसँग सम्बन्धित हुन्छ। के यो मानिसको प्रकृति होइन र? यस किसिमको प्रकृति भएको व्यक्ति शैतानसँग नजिकको सम्बन्ध भएको व्यक्ति हुन्छ, होइन भने त्यो त्यसको परिवार हुन्छ। हामी यसलाई यसरी भन्न सक्छौँ, के हामी त्यस्तै हुँदैनौँ र? सामान्यतया भन्नुपर्दा, यस्तो प्रकटीकरण घृणित र तिरस्कारयोग्य हुन्छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ४)। विगतमा, शैतानले धोकापूर्ण र भ्रामक तरिकाले बोल्छ भनेर परमेश्वरले दिनुभएको विश्लेषण पढ्दा, मलाई सधैँ यी विधिहरूको प्रयोग गर्न सक्ने व्यक्ति अवश्य नै षड्यन्त्रकारी र छली व्यक्ति हो भन्ने लाग्थ्यो। तर जब मैले फेरि यसलाई पढेँ, तब म पनि यी कुराहरू खुलासा र प्रकट गर्छु भन्ने मलाई थाहा भयो। अगुवाले मलाई मेरा ब्रदर-सिस्टरहरूको अगाडि खुलासा गर्दा, मैले बाहिरी रूपमा यसलाई स्वीकार गरेँ र म गैरजिम्मेवर भएँ भनेर मानिलिएँ, तर मैले यसलाई साँचो रूपमा स्वीकार गरिनँ, र ममाथि अन्याय भएको छ भन्ने अनुभव गरेँ। मैले यो कर्तव्य पूरा गर्न थालेको धेरै भएको थिएन, त्यसकारण मेरा समस्याहरू स्वाभाविकै हुन् भन्ने मलाई लागेको थियो। किन उनले अलिकति इज्जतको ठाउँ पनि नछोडी भेलामा सीधै मेरो खुलासा गरिन्? त्यसपछि, सबैले अवश्य नै म भरोसा गर्न लायक छैन र गैरजिम्मेवार व्यक्ति हुँ भनेर ठानेका हुनुपर्छ। यस कुराले चिन्तित हुँदा, मलाई के पनि लाग्यो भने मैले त्यो परिस्थितिमा अभिव्यक्ति दिइनँ भने, सबैले म काट-छाँट र निराकरण स्वीकार गर्दिन र मैले आफ्ना समस्याहरूलाई बुझेकी छैन भन्ने सोच्नेछन्, त्यसकारण तिनीहरूले मलाई हेर्ने दृष्टिकोण अझै खराब हुनेछ। आफ्नो इज्जतलाई पुनर्स्थापित गर्नको लागि, मैले सक्रिय भएर आफ्नो गल्ती स्वीकार गरेँ, र जानी-जानी रुन्चे शैलीमा नरम बोल्दै सबैलाई म गलत छु भन्ने पहिले नै थाहा थियो, मलाई ग्लानि र दुःख लागेको छ, र तिनीहरूले मलाई अब दोष दिनेछैनन् भनी बताएँ। म मेरा गल्तीहरूलाई सुधार गर्न र सत्यतालाई स्वीकार गर्न सक्छु भनेर देखाउन चाहन्थेँ। झट्ट हेर्दा, मैले आफूलाई चिनेकी छु जस्तो देखिन्थ्यो, तर वास्तवमा मैले अरूको मुख बन्द गर्न यो विधि प्रयोग गरेकी थिएँ। अगुवाले मेरा समस्याहरूका बारेमा कुरा गरिरहोस् वा मलाई जिम्मेवार तुल्याओस् भन्ने मेरो चाहना थिएन। मेरो वास्तविक अभिप्राय यही थियो। यस विषयमा मनन गर्ने क्रममा, मैले मेरो प्रकृति शैतानको जस्तै कुटिल र धूर्त छ भन्ने थाहा पाएँ। मेरा सबै शब्दहरू मानिसहरूलाई धोका दिने छलले भरिएका थिए। मैले आफ्नो कर्तव्य गैरजिम्मेवारी पूर्वक पूरा गरेकी थिएँ र ममा समस्या हुँदा अगुवाले औँल्याएकी थिइन्। मैले पश्चात्ताप नगरेकी मात्र होइन, तर आफ्नो इज्जत र हैसियतको रक्षा गर्न, अरूको अगाडि मैले आफूलाई चिनेको बहाना बनाएँ, ताकि तिनीहरूले मलाई सत्यता स्वीकार गर्न सक्ने व्यक्तिको रूपमा हेरून्। म साँच्चै नै धूर्त र छली थिएँ। खुलस्त बोल्ने र आफूलाई चिन्ने कार्य सत्यताको अभ्यास गर्नुको प्रकटीकरण हुनुपर्ने हो, तर मेरो स्वीकार र अङ्गीकारमा चलाकी र छलहरू लुकेका थिए। झट्ट हेर्दा, मैले आत्मज्ञानको बारेमा कुरा गरिरहेकी थिएँ, तर वास्तवमा, म आफ्नो प्रतिरक्षा गरिरहेकी र जिम्मेवारीबाट पन्छिरहेकी थिएँ। म अत्यन्तै धूर्त थिएँ!
एक दिन, मैले परमेश्वरको वचनको अर्को खण्ड भेटेँ जसमा मानिसहरूको दुष्ट स्वभावको खुलासा गरिएको छ। परमेश्वर भन्नुहुन्छ, “समान्यतया छलीपन बाहिरी रूपमा देख्न सकिन्छ: कुनै व्यक्तिले टालमटोल गर्छ वा आलङ्कारिक भाषा प्रयोग गर्छ, अनि उसले के सोचिरहेको छ भनेर कसैले पनि बुझ्न सक्दैन। त्यो छलीपन हो। दुष्टताको मूल विशेषता के हो? त्यो के हो भने तिनीहरूका शब्दहरू अत्यन्तै मिठा सुनिन्छन्, साथै बाहिरबाट हेर्दा सबथोक सही देखिन्छन्। कुनै समस्या देखिँदैन, र हरेक कोणबाट कामकुराहरू निकै राम्रा देखिन्छन्। जब तिनीहरू केही गर्छन्, तैँले तिनीहरूले कुनै विशेष माध्यमहरू प्रयोग गरेको देख्दैनस्, अनि बाहिरबाट हेर्दा कमजोरी वा खोटको कुनै सङ्केत हुँदैन, तैपनि तिनीहरू आफ्नो लक्ष्य हासिल गर्छन्। तिनीहरू अत्यन्तै गोप्य तरिकाले कामकुरा गर्छन्। ख्रीष्टविरोधीहरूले यसरी नै मानिसहरूलाई भ्रममा पार्छन्। यस्ता मानिस र मामलाहरू खुट्ट्याउन सबैभन्दा गाह्रो हुन्छ। कतिपय मानिस प्रायः सही कुराहरू भन्छन्, कर्णप्रिय बहानाहरू बनाउँछन्, अनि मानिसहरूको आँखामा छारो हाल्न मानव स्नेहअनुरूपका निश्चित धर्मसिद्धान्त, भनाइ, वा कार्यहरू प्रयोग गर्छन्। तिनीहरू आफ्ना अव्यक्त उद्देश्यहरू पूरा गर्नका निम्ति एउटा काम गरेको बहाना बनाएर अर्कै काम गर्छन्। यो दुष्टता हो, तर धेरैजसो मानिस यी व्यवहारहरूलाई छलीपन ठान्छन्। मानिसहरूले दुष्टतालाई सीमित मात्रामा बुझेका र विश्लेषण गरेका हुन्छन्। वास्तवमा, छलीपनलाई भन्दा दुष्टतालाई खुट्ट्याउन धेरै गाह्रो हुन्छ किनकि त्यो बढी गोप्य हुन्छ, अनि त्यसका विधि र कार्यहरू बढी जटिल हुन्छन्। यदि कुनै व्यक्तिमा छली स्वभाव छ भने, सामान्यतया अरूले ऊसँग कुरा गरेको एकदुई दिनमै उसको छलीपन पत्ता लगाउन सक्छन्, वा तिनीहरूले त्यस व्यक्तिका कार्य र शब्दहरूमा उसको छली स्वभाव देख्न सक्छन्। तर, मानौँ त्यो व्यक्ति दुष्ट छ: यो केही दिनमै खुट्ट्याउन सकिँदैन, किनकि छोटो अवधिमा कुनै ठूला घटना वा विशेष परिस्थिति नआई, उसले बोलेको सुनेर मात्र कुनै पनि कुरा खुट्ट्याउन सजिलो हुँदैन। ऊ सधैँ सही कुराहरू भन्ने र गर्ने गर्छ, अनि एकपछि अर्को सही धर्मसिद्धान्त प्रस्तुत गर्छ। ऊसँग केही दिन अन्तरक्रिया गरेपछि, तँलाई यो व्यक्ति निकै राम्रो छ, कामकुरा त्याग्न, आफूलाई समर्पित गर्न सक्छ, उसमा आत्मिक बुझाइ रहेछ, परमेश्वरलाई प्रेम गर्ने हृदय रहेछ, र उसको कार्यशैलीमा विवेक र समझ दुवै रहेछ भन्ने लाग्ला। तर उसले केही मामला सम्हालेपछि, तैँले उसका बोली र व्यवहारमा अति धेरै कुरा, अति धेरै शैतानी अभिप्रायहरू मिसिएका रहेछन् भन्ने देख्छस्। तँलाई यो व्यक्ति इमानदार नभई छली हो—दुष्ट कुरा हो भन्ने महसुस हुन्छ। ऊ बारम्बार सत्यतासँग मिल्दो र मानव स्नेहसहितका सही शब्द र मिठा वाक्यांशहरू प्रयोग गरेर मानिसहरूसँग अन्तरक्रिया गर्छ। एकातिर, ऊ आफूलाई स्थापित गर्छ, र अर्कोतिर, अरूलाई भ्रममा पारेर मानिसहरूमाझ प्रतिष्ठा र हैसियत प्राप्त गर्छ। यस्ता व्यक्तिहरू अत्यन्तै भ्रामक हुन्छन्, अनि तिनीहरूले शक्ति र हैसियत प्राप्त गरेपछि धेरै मानिसलाई भ्रममा पार्न र हानि पुऱ्याउन सक्छन्। दुष्ट स्वभावका मानिसहरू अत्यन्तै खतरनाक हुन्छन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु पाँच: तिनीहरूले मानिसहरूलाई भ्रममा पार्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रणमा राख्छन्)। दुष्ट स्वभाव भएका मानिसहरूको मुख्य गुण भनेको तिनीहरूले कुरा लुकाउँछन् भनेर परमेश्वरको वचनले प्रकट गरेको छ। अरूबाट आफ्ना अभिप्रायहरूलाई लुकाउन, तिनीहरूले आफ्नो गुप्त अभिप्राय हासिल गर्न सधैँ सही शब्दहरू, र बाहिरी रूपमा सिद्धान्त-केन्द्रित देखिने विधिहरू प्रयोग गर्छन्। मैले आफूले गरेका कुराहरू सम्झेँ र त्यसमा मैले त्यही चलाकी प्रयोग गरेकी रहेछु भन्ने थाहा पाएँ: मैले नयाँ विश्वासीका समस्याहरूलाई समाधान गर्न सकिनँ, त्यसकारण मैले मेरो सुपरभाइजरबाट आफ्नो साँचो कदलाई लुकाउन, मैले त्यो समस्या नयाँ अगुवाको काँधमा सुम्पिदिएँ। मैले उत्कृष्ट लाग्दो बहाना पनि बनाएँ: यो कसरी आफै समस्याहरू समाधान गर्ने भनेर ब्रदर क्लोड सिकाउनको लागि तालिम हो। अन्त्यमा, तिनले यसलाई राम्ररी सम्हालेनन्, र मैले तिनलाई तिनका विचलनहरू पत्ता लगाउन सहयोग गरेँ। मैले मेरो वास्तविक स्थितिको खुलासा मात्रै नगरेकी होइन, तर म यी समस्याहरू समाधान गर्न सिपालु छु भनेर तिनलाई सोच्ने बनाउनको लागि मैले तिनमा राम्रो छाप छोड्ने प्रयास पनि गरेँ। मेरो अगुवाले मेरो खुलासा गरेपछि, सबैको हृदयमा रहेको मेरो छविलाई पुनर्स्थापित गर्न, मैले अरूको मुख थुनिदिन मेरा गल्तीहरूलाई सक्रिय रूपमा स्वीकार गरेँ, र सबैको सहानुभूति र बुझाइ जित्न, र म सत्यतालाई स्वीकार गर्न सक्ने, आफूलाई चिनेको, र पश्चात्तापी आचरण भएको व्यक्ति हुँ भनेर तिनीहरूलाई सोच्ने बनाउनको लागि मैले रुन्चे शैली पनि प्रयोग गरेँ। त्यसरी, तिनीहरूले उप्रान्त मलाई यसको जिम्मेवार तुल्याउनेथिएनन्। परमेश्वरका वचनहरू प्रयोग गरेर मेरा बोलीवचन र कामको बारेमा मनन गरिसकेपछि, म साँच्चै कति भयानक व्यक्ति रहेछु भन्ने कुरा मैले थाहा पाएँ। मैले आफ्नो खराब अभिप्रायहरूलाई लुकाएर सबैलाई छल गर्न, भ्रममा पार्न, र पूर्ण रूपमा छल गर्न, र अन्तिममा आफैलाई स्थापित गर्नका लागि मानिसहरूका भावना र सत्यतासँग मिल्ने जस्ता देखिने शब्दहरूको प्रयोग गरेँ। यो महसुस गरिसकेपछि मात्रै म कुटिल, छली, र घुसघुसे व्यक्ति हुँ भन्ने कुरा थाहा पाएँ। मानिसहरू दुष्ट छन् भनेर परमेश्वरको वचनले प्रकट गरेको देख्दा, मैले परमेश्वरको वचनलाई कहिल्यै पनि आफूमा लागू गरिनँ, र म त्यस्तो व्यक्ति होइन भन्ने सोच्थेँ, तर मेरो परिस्थितिले मेरो खुलासा गरेपछि, र परमेश्वरको वचनको आधारमा मनन गरेपछि, मैले बल्ल आफ्नो दुष्ट स्वभावको बारेमा थोरै ज्ञान प्राप्त गरेँ।
पछि, मैले निरन्तर मनन गरिरहेँ। म धेरै कुरामा मेरो दुष्ट स्वभाव प्रकट गर्छु भन्ने थाहा पाएँ। मलाई याद आयो, केही समय अघि नै, सुपरभाइजरले मलाई सिस्टर वाङ्गलाई एउटा काम दिएर मेरो त्यो काम उनले नै गरून् भनेर अह्राएकी थिइन्। यो बन्दोबस्तको बारेमा सुन्दा, म खिन्न भएँ। मैले यो कामको इन्चार्जको रूपमा दुई वर्षभन्दा बढी काम गरेकी थिएँ, र मलाई यो कर्तव्यमा कसैले पनि प्रतिस्थापन गर्न सक्दैन भन्ने लागेको थियो। यो काम अरू कसैलाई दिइन्छ भन्ने मलाई लागेको थिएन। म यसको इन्चार्ज भइरहन सक्छु कि भनेर सुपरभाइजरलाई सोध्न मन थियो, तर सुपरभाइजरले मलाई अत्यन्तै महत्त्वाकांक्षी र अव्यावहारिक ठान्नेछ भन्ने डर लागेको थियो, त्यसकारण मैले केही पनि भनिनँ। बाहिरी रूपमा, मैले भनेको मानेँ, तर काम सुम्पिँदा, यस कामका मुख्य विवरणहरू जानी-जानी उल्लेख गर्न सुपरभाइजर र सिस्टर वाङ्गको उपस्थितिलाई प्रयोग गरेँ। मैले यो कर्तव्य पूरा गर्दा सिकेका अनुभव र सिद्धान्तहरूलाई एक-दुई हप्तामा सिक्न सकिँदैन भनेर तिनीहरूले देखून् भन्ने म चाहन्थेँ, ताकि सुपरभाइजरले मलाई यो कर्तव्य पूरा गरिरहन दिन सकून्। निश्चित रूपमा, मैले यो काम हस्तान्तरण गरेपछि, सुपरभाइजरले मलाई अलिक बढी समयसम्म सिस्टर वाङ्गलाई अभ्यास गर्न पथप्रदर्शन गर्न सक्छु कि भनेर सोधिन्। यो सुन्दा मलाई निकै खुशी लाग्यो। म कामको इन्चार्ज भइरहन नसके पनि, मैले भनेको कुराले उद्देश्य पूरा गरेको थियो। त्यसपछि, जब सिस्टर वाङ्गलाई आफ्नो कर्तव्यमा समस्या र कठिनाइहरू हुन्थ्यो, तब उनी मलाई अवस्थाको बारेमा मूल्याङ्कन र अवलोकन गर्न लगाउन मकहाँ आउथिन्, र मलाई हरेक काम पुनरावलोकन गर्न पनि अनुरोध गर्थिन्। यसरी, मैले चुपचाप शक्तिलाई फेरि आफ्नै हातमा लिएँ। त्यो बेलाको मेरो व्यवहारलाई हेर्दा, मैले अवश्य नै उनले मेरो स्थान लिएको चाहँदिनथिएँ, तर म अहङ्कारी र अव्यावहारिक छु भनेर सुपरभाइजरलाई नसोचून् भनेर, मैले आफ्नो पूँजीको धाक लगाउन हस्तान्तरण गर्ने मौकालाई प्रयोग गरेँ भन्ने थाहा हुन्छ। थाहै नपाई, मैले सुपरभाइजरको अनुमोदन पाएँ। मैले वैधानिक रूपमा नै शक्ति पाएँ र यसलाई पकडमा लिएँ र “चालक” रूपमा आफ्ना अभिप्रायहरूलाई लुकाएँ। कुटिल माध्यम र युक्तिहरूमा म निकै माहिर थिएँ! मैले आफ्नो बारेमा जति मनन गरेँ, मलाई त्यति नै डर लाग्यो। म त्यस्तो व्यक्ति रहेछु भनेर समेत मलाई विश्वास गर्न झण्डै गाह्रो भएको थियो।
पछि, मैले ख्रीष्ट-विरोधीहरूका दुष्ट स्वभावहरूलाई प्रकट गर्ने परमेश्वरका वचनहरूका दुई वटा खण्ड पढेँ, जुन खण्डहरूले मलाई आफ्नो बारेमा केही ज्ञान प्रदान गरे। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ, “ख्रीष्टविरोधीहरूका दुष्टतामा एउटा स्पष्ट विशेषता हुन्छ, र म यसलाई चिन्ने रहस्य तिमीहरूलाई बताउनेछु: तिनीहरूको बोली र व्यवहार एउटै हुन्छ, तैँले तिनीहरूको मन बुझ्न वा तिनीहरूको हृदय बुझ्न सक्दैनस्। तिनीहरूले तँसँग कुरा गर्दा, आफ्नो आँखा सधैँ यताउता घुमाइरहेका हुन्छन्, र तिनीहरूले कस्तो किसिमको षड्यन्त्र बुनिरहेका छन् भन्ने कुरा तैँले थाहा पाउन सक्दैनस्। कहिलेकाहीँ, तिनीहरूले तँलाई तिनीहरू निष्ठावान् वा निकै इमानदार छन् भन्ने महसुस गराउँछन्, तर वास्तविकता यस्तो हुँदैन—तैँले तिनीहरूको वास्तविकता कहिल्यै देख्न सक्दैनस्। तेरा हृदयमा कुनै खास अनुभूति हुन्छ, तिनीहरूका सोचमा गहन धूर्तता, अथाह गहिराइ छ, तिनीहरू छली हुन् भन्ने अनुभूति हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई))। “यहाँ, ‘कुटिल’ को अर्थ अनिष्टकर र धूर्त हो, र यसले असामान्य व्यवहारलाई जनाउँछ। यो असामान्यताले गहिरो रूपमा लुकेको र यस्ता मानिसहरूले के सोचिरहेका वा गरिरहेका छन् भनी औसत व्यक्तिले बुझ्न नसक्ने हुनुलाई जनाउँछ। अर्को शब्दमा, यस्तो व्यक्तिका कार्यहरूका विधि, मनसाय, र सुरुवात बुझ्न निकै कठिन हुन्छन्, र कहिलेकाहीँ तिनीहरूको व्यवहार पनि गुपचुपको र गोप्य हुन्छ। छोटकरीमा भन्नुपर्दा, व्यक्तिको कुटिलपनको प्रकटीकरण र स्थितिलाई व्याख्या गर्न सक्ने एउटा शब्द छ, त्यो हो ‘पारदर्शिताको कमी,’ जसले गर्दा अरूले तिनीहरूलाई बुझ्न सक्दैनन्। ख्रीष्टविरोधीहरूका कार्यहरूको प्रकृति यस्तै हुन्छ—अर्थात्, जब तँलाई तिनीहरूले कुनै काम गर्नुका अभिप्राय स्पष्ट छैन भन्ने महसुस र आभास हुन्छ, तब तँलाई ती निकै डरलाग्दा लाग्छन्, तर छोटो समयमा वा कुनै कारणवश तैँले तिनीहरूका मनसाय र अभिप्रायहरू अझै पनि बुझ्न सक्दैनस्, र थाहै नपाई तँलाई तिनीहरूका कार्यहरू कुटिल छन् भन्ने अनुभूति हुन्छ। किन तँलाई यस्तो अनुभूति हुन्छ? किनभने एकातिर तिनीहरू के भन्छन् वा गर्छन् भनेर कसैले बुझ्न सक्दैन। अर्कोतिर तिनीहरू प्रायजसो घुमाउरो तरिकाले बोल्छन्, तँलाई बहकाउँछन्, र अन्त्यमा तँलाई तिनीहरूका कुन अभिव्यक्तिहरू सही र कुन गलत हुन्, अनि तिनीहरूका शब्दहरूको वास्तविक अर्थ के हुन् भनेर अनिश्चित बनाउँछन्। तिनीहरूले झूट बोल्दा, तँलाई त्यो नै सत्यता हो भन्ने लाग्छ; तँलाई कुन अभिव्यक्ति सही वा गलत हो भनी थाहा हुँदैन, र आफूलाई प्राय: मूर्ख बनाइएको र झुक्याइएको महसुस हुन्छ। यस्तो भावना किन आउँछ? किनभने यस्ता मानिसहरू कहिल्यै पारदर्शी रूपमा काम गर्दैनन्; तैँले तिनीहरू के गरिरहेका छन् वा केमा व्यस्त छन् भनेर प्रस्टसित देख्न सक्दैनस्, जसले गर्दा तँमा तिनीहरूप्रति शङ्का जाग्छै जाग्छ। अन्त्यमा, तैँले तिनीहरूको स्वभाव छली, अनिष्टकर, र दुष्ट पनि छ भन्ने देख्छस्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु छ)। परमेश्वरका वचनहरूले ख्रीष्ट-विरोधीहरूको स्वभाव अत्यन्तै दुष्ट हुन्छ भनेर प्रकट गरेका छन्। तिनीहरूले भन्ने र गर्ने कुरामा सधैँ गोप्य अभिप्राय हुन्छ, जुन कुराले गर्दा तिनीहरूको वास्तविकता देख्न सकिँदैन। आफ्नो उद्देश्य हासिल गर्नको लागि, मानिसहरूलाई छल गर्न र अन्योलमा पार्ने तिनीहरूले प्रायजसो भ्रामक र कुटिल विधिहरूको प्रयोग गर्छन्। तिनीहरूले सबैलाई पूर्ण रूपमा छल गर्छन्, ताकि तिनीहरूको कुरा सही हो कि गलत हो भन्ने कुरा कसैले नजानून्। मैले मेरो व्यवहार पनि ख्रीष्ट-विरोधीको जस्तै छली छ भन्ने थाहा पाएँ। मेरा बोलीवचन र व्यवहारमा सधैँ गुप्त अभिप्रायहरू हुन्थे। आफ्नो कर्तव्यमा कठिनाइ आइपर्दा, यसबाट कसरी बच्ने भनेर म आफ्नो दिमाग खियाउँथेँ, र मेरो सुपरभाइजरले मेरो वास्तविक कद नदेखोस् भनेर लुकाउने प्रयास पनि गर्थेँ। मेरा अगुवाहरूले मेरो कर्तव्यका समस्याहरू खुलासा गर्दा, मानिसहरूलाई म सत्यता व्यक्त गर्ने व्यक्ति हुँ भनेर कसरी सोच्न लगाउने भनेर मात्रै विचार गर्थेँ, यसको साथै, म आफ्नो जिम्मेवारीबाट पछि हट्ने प्रयास गर्थेँ। जब म शक्ति हात पार्न र आफ्नो पदलाई कायम राख्न चाहन्थेँ, तब म मेरा महत्वाकांक्षाहरूलाई कसरी प्रकट नगरी बस्ने, र मेरो सुपरभाइजरलाई कसरी त्यो काम मलाई नै गर्न र अन्तिम निर्णय गर्न दिन लगाउने भनेर सोच्थेँ। कुनै कुराले मेरो प्रतिष्ठा र हैसियतलाई खतरामा पार्दा, म आफूलाई कसरी ढाकछोप गरेर अरूलाई अन्योलमा पार्ने भनेर मात्रै विचार गर्थेँ। अगुवा र सुपरभाइजरहरूको अगाडि, म हरेक शब्द बोल्नुभन्दा पहिले कुन-कुन शब्दले मेरो उद्देश्य हासिल गर्न र मेरो वास्तविक विचारलाई लुकाउन सहयोग गर्छ भनेर होशियारीको साथ विचार गर्थेँ। त्यस्ता मानिसहरूले ख्रीष्ट-विरोधीले गर्ने काम नै गरिरहेका हुन्छन् भनेर परमेश्वरले भन्नुभएको छ! यस विषयमा मनन गर्ने क्रममा, मलाई अलिक डर लाग्यो। हामी इमानदार मानिसहरू भएको र आफूले जे सोच्यो त्यही भएको परमेश्वर चाहनुहुन्छ, जसमा हामीले प्रकट गर्ने भ्रष्टता, हामीले नबुझेका र गर्न नसक्ने कुराहरू पनि पर्छन्। तर म आफूलाई कसरी ढाकछोप गर्ने, मानिसहरूलाई मेरो आदर गर्ने बनाउने, र आफ्नो छवि कसरी कायम राख्ने भन्ने बारेमा मात्रै विचार गर्थेँ। मैले गर्ने सबै कुरा सोचविचार गरिएको, धूर्त, र कुटिल हुन्थ्यो, र म शैतानको छली र दुष्ट स्वभाव मात्रै प्रकट गर्थेँ। यो कुरा महसुस गरिसकेपछि, मेरो मनमा एकपछि अर्को दृश्य देखा पर्न थाले। मलाई मेरो बाल्यकालको कुरा याद आयो। मेरी आमाले मलाई यस्तो कुरा सिकाउनुहुन्थ्यो, “छिटो कुद्ने घोडालाई चाबुक हान्नुपर्दैन, ठूलो बज्ने ढ्याङ्ग्रोलाई ठूलो लौरो चाहिँदैन,” त्यसकारण म सधैँ “छिटो कुद्ने घोडा” र “ठूलो बज्ने ढ्याङ्ग्रो” अनि “आज्ञाकारी” र शिष्ट बच्चा बन्ने प्रयास गर्थेँ। मैले कुनै गल्ती गरेँ भने, कसैले नसम्झाई म यसलाई स्वीकार गरिहाल्थेँ। बच्चा हुँदा मेरा आमाबुबाले मलाई बिरलै गाली गर्ने वा अनुशासनमा राख्ने गर्नुहुन्थ्यो, त्यसकारण मलाई चलाक भएर अनि आफ्ना गल्तीहरू स्वीकार गरेर धेरै कष्टबाट बच्न सकिन्छ भन्ने लाग्थ्यो। उदाहरणको लागि, यदि म जाँचमा फेल भएँ भने, मेरा आमाबुबाले मलाई दोष लगाउने वा दण्ड दिने नगरून् भनेर, तिनीहरू बोल्नुभन्दा पहिले नै, म रुन थाल्थेँ, र आफूलाई बिचरा र विवश रूपमा प्रस्तुत गर्ने प्रयास गर्थेँ, किनभने मेरा आमाबुबाले म रोएको हेर्न सक्नुहुन्नथियो। म थप तनाव लिन सक्दिन भन्ने डरले, उहाँहरूले मलाई दोष दिनुहुन्नथियो। बरु, उहाँहरूले मलाई सान्त्वना दिनुहुन्थ्यो। जब-जब म रुन्थेँ र बिचरा भएको बहाना गर्थेँ, तब-तब म मेरा आमाबुबाको दण्डबाट उम्कन्थेँ। मेरो आत्मम्मान यथास्थितिमा नै कायम रह्यो, र म आफूले लिनुपर्ने जिम्मेवरीबाट बच्थेँ। परमेश्वरमा विश्वास गरेपछि पनि म यस्तै थिएँ। मैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न नसक्दा र जिम्मेवारीहरू लिनु पर्दा, म आफ्नो कर्तव्यमा मैले देखाएको लापरवाही र गैरजिम्मेवारपूर्ण व्यवहारलाई लुकाउन चलाकी गरेर बिचरा भएको बहाना गर्थेँ, र आफ्नो पक्षमा तर्क गर्थेँ ताकि कसैले पनि मेरो काट-छाँट र निराकरण नगरून्। यी शैतानी दर्शनशास्त्रहरूको आधारमा जिएँ भने म झन्-झन् धूर्त र छली हुँदै जान्छु भन्ने मलाई थाहा भयो। म सधैँ कुन तरिकाले व्यवहार गर्दा ठीक हुन्छ भनेर विचार गरिरहेकी हुन्थेँ, र विभिन्न धूर्त चालहरू सिकेकी थिएँ, र आफूलाई शैतानको मूर्त रूप तुल्याएकी थिएँ। सबैभन्दा भयानक कुरा त चलाकी र छल गर्नु मलाई लगभग सामान्य नै लाग्थ्यो। यदि ब्रदर-सिस्टरहरूले मलाई स्मरण नगराएका र मेरो खुलासा नगरेका भए, मैले अलिकति पनि चेतना पाउनेथिइनँ वा कुनै लाज मान्नेथिइनँ। मलाई परमेश्वरको यो वचन याद आयो, “परमेश्वरले इमानदार मानिसहरूलाई मुक्ति दिनुहुन्छ, र उहाँले उहाँको राज्यको लागि चाहनुहुने व्यक्तिहरू पनि इमानदार मानिसहरू नै हुन्। यदि तँ झूट बोल्न र जालझेल गर्न सक्छस् भने, तँ छली, कुटिल, र कपटी व्यक्ति होस्; तँ इमानदार व्यक्ति होइनस्। यदि तँ इमानदार व्यक्ति होइनस् भने, परमेश्वरले तँलाई कुनै पनि हालतमा मुक्ति दिनुहुनेछैन, न त तैँले मुक्ति पाउने सम्भावना नै हुन्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमान्दार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। “यदि तिमीहरूका शब्दहरू बहानाहरू र मूल्यहीन औचित्यहरूले भरिएका छन् भने, म भन्छु कि तिमीहरू सत्यता अभ्यास गर्न अनिच्छुक व्यक्तिहरू हौ। यदि तँसँग तैँले बाँड्न नचाहने धेरै गोप्य कुराहरू छन् भने, यदि तँ ज्योतिको मार्ग खोजी गर्नका लागि आफ्ना गोप्य कुराहरू—आफ्ना कठिनाइहरू अरूसामु ल्याउन अत्यन्तै वितृष्ण छस् भने, म भन्छु तँ सजिलैसँग मुक्ति नपाउने र सजिलैसँग अँध्यारोबाट बाहिर नआउने व्यक्ति होस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तीन अर्तीहरू)। परमेश्वरका वचनहरूबाट हामी के देख्न सक्छौं भने, परमेश्वरले छली मानिसहरूलाई घृणा र इन्कार गर्नुहुन्छ, छली मानिसहरूको हृदयमा अन्धकारका धेरै पक्षहरू हुन्छन्। तिनीहरूको बोलीवचन र व्यवहारले सधैँ छल गर्छ र अन्योलमा पार्छ, र तिनीहरूले कहिल्यै पनि परमेश्वरको वचन अभ्यास गर्दैनन्। तिनीहरूले परमेश्वरमा जति नै धेरै वर्ष विश्वास गरेको भए पनि, तिनीहरूको भ्रष्ट स्वभाव कहिल्यै परिवर्तन हुँदैन, र तिनीहरूले कहिल्यै पनि मुक्ति हासिल गर्न सक्दैनन्। यो कुरालाई पहिचान गरिसकेपछि, म वास्तविक खतरामा छु भन्ने मलाई थाहा भयो! मैले परमेश्वरसँग म पश्चात्ताप गर्न चाहन्छु भनेर प्रार्थना गरेँ, र मलाई साँचो रूपमा परिवर्तन हुन अगुवाइ र सहयोग गर्नुहोस् भनी परमेश्वरलाई अनुरोध गरेँ।
एक दिन, मैले परमेश्वरको वचनमा यो कुरा पढेँ, “इमानदार व्यक्ति बन्; तेरो हृदयमा भएको छलटबाट छुट्कारा पाउन परमेश्वरलाई प्रार्थना गर्। प्रार्थनाको माध्यमबाट आफूलाई सधैँ शुद्ध पार्, प्रार्थनाको माध्यमबाट परमेश्वरका आत्माद्वारा उत्प्रेरित बन्, र तेरो स्वभाव बिस्तारै परिवर्तन हुनेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रार्थनाको अभ्यासको सम्बन्धमा)। “समस्या जे भए पनि, उत्पन्न हुने कुनै पनि समस्याको समाधान गर्नका लागि तैँले सत्यताको खोजी गर्नुपर्छ, अनि कुनै पनि प्रकारले आफैलाई फरक रूपमा देखाउने वा अरूको अगाडि झूटो अनुहार धारण गर्ने गर्नु हुँदैन। तेरा दोषहरू, तेरा कमीहरू, तेरा गल्तीहरू, तेरो भ्रष्ट स्वभाव—ती सबैका बारेमा पूर्ण रूपमा खुला बन्, र ती सबैका विषयमा सङ्गति गर्। ती कुरालाई भित्र लुकाएर नराख्। आफैलाई कसरी खुलस्त बनाउनुपर्छ सो सिक्नु नै जीवन प्रवेश गर्नेतर्फको पहिलो कदम हो, र यो पहिलो बाधा हो, जसमाथि विजय पाउन सबैभन्दा गाह्रो हुन्छ। तैँले यसमाथि विजय पाएपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुन्छ। यो कदम उठाउनुले के कुराको सङ्केत गर्छ? यसको अर्थ, तैँले आफ्नो हृदय खोल्दैछस् र तेरा राम्रा वा नराम्रा, सकारात्मक वा नकारात्मक, सबै कुरा देखाउँदैछस्, अरू मानिस र परमेश्वरले देख्ने गरी आफैलाई उदाङ्गो पार्दैछस्; परमेश्वरबाट केही लुकाएको छैनस्, केही गोप्य कुरा राखेको छैनस्, कुनै कुरालाई ढाकेर राखेको छैनस्, छल र चालबाजीबाट मुक्त छस्, र यस्तै गरी अरू मानिसहरूसँग खुला र इमानदार हुँदैछस्। यस प्रकारले, तँ ज्योतिमा जिउँछस्, र परमेश्वरले मात्र तँलाई छानबिन गर्नुहुन्न, तर अरू मानिसहरूले तँ सिद्धान्त र केही हदसम्म पारदर्शितासहित काम गर्दछस् भन्ने कुरा पनि देख्न सक्नेछन्। तैँले कुनै तरिका प्रयोग गरी आफ्नै प्रतिष्ठा, छवि, र हैसियत जोगाउनु आवश्यक पर्दैन, न त आफ्ना गल्तीहरूलाई ढाकछोप गर्नु वा छद्म रूप दिनु नै आवश्यक पर्छ। तैँले यी व्यर्थका प्रयासहरूमा संलग्न हुनु आवश्यक छैन। यदि तैँले यी कुराहरूलाई छोड्न सक्छस् भने, तँ तनावरहित हुनेछस्, बन्धन र पीडारहित भई बाँच्नेछस्, र पूर्ण रूपमा ज्योतिमा रहेर जिउनेछस्। सङ्गति गर्दा कसरी खुल्ने भनेर सिक्नु नै जीवन प्रवेश गर्ने पहिलो कदम हो। त्यसपछि, तैँले आफ्ना सोचविचार र कार्यहरूलाई कुन-कुन गलत छन् र कुन-कुनलाई परमेश्वरले मन पराउनुहुन्न भनी हेर्नको लागि चिरफार गर्न सिक्नुपर्छ, र तैँले तिनलाई तुरुन्तै उल्ट्याएर सुधार गर्नु आवश्यक छ। तिनलाई सुधार गर्नुको उद्देश्य के हो त? यसको उद्देश्य तँभित्र भएका शैतानको स्वामित्वमा रहेका कुराहरूलाई हटाएर तिनलाई सत्यताले प्रतिस्थापन गर्दै सत्यतालाई स्वीकार गर्नु र अपनाउनु हो। पहिले, तैँले सबै कामकुरा तेरो ढाँट्ने र छल्ने कुटिल स्वभावअनुसार गर्थिस्; तँलाई आफूले नढाँटीकन त कुनै काम पूरा गर्नै सक्दिनँ भन्ने लाग्थ्यो। अहिले तैँले सत्यता बुझेको छस् र शैतानको काम गर्ने तौरतरिकालाई घिनाउँछस्, तँ अब त्यस तरिकाले कामकुराहरू गर्दैनस्, तँ इमानदारी, शुद्धता, र समर्पणको मानसिकतासाथ काम गर्छस्। यदि तँ कुनै कुरा पनि लुकाउँदैनस्, बाहिरी खोल ओढ्दैनस्, बहाना गर्दैनस्, कुराहरू ढाक्दैनस् भने, यदि तँ दाजुभाइ-दिदीबहिनीहरूको सामु आफैलाई उदाङ्गो पार्छस्, तेरा भित्री सोच र विचारहरूलाई लुकाउँदैनस्, बरु अरूलाई तेरो निष्कपट मनोवृत्ति हेर्न दिन्छस् भने, सत्यले बिस्तारै तँमा जरा गाड्नेछ, यो फुल्नेछ र फल्नेछ, र यसले अलिअलि गर्दै परिणाम दिनेछ। यदि तेरो हृदय धेरै नै इमानदार छ, र धेरै नै परमेश्वरमा केन्द्रित छ भने र यदि तैँले आफ्नो कर्तव्य पूरा गर्दा परमेश्वरको घरको हितको रक्षा गर्न जान्दछस्, यी हितहरूको रक्षा गर्न नसक्दा तँलाई ग्लानि महसुस हुन्छ भने, यो कुरा सत्यले तँमा प्रभाव पारेको छ र त्यो तेरो जीवन बनेको छ भन्ने प्रमाण हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरको वचनले मेरो हृदय छोयो। परमेश्वरले दिनुभएको मापदण्ड वास्तवमा अत्यन्तै सरल छ। हामीले शुद्ध र इमान्दारीपूर्वक बोल्नुपर्छ र व्यवहार गर्नुपर्छ, आफ्नो हृदयमा, हामीले कुनै छल बोक्नु हुँदैन, र कुनै देखावटी रूप वा ठगी सोच राख्नु हुँदैन, परमेश्वरप्रति हाम्रो हृदय इमानदार हुनुपर्छ, र हामी अरूप्रति इमानदार हुनुपर्छ। यदि हामीले कुनै गल्ती गरेका छौँ र झूट बोलेका छौँ भने, हामीले यसलाई स्वीकार गरेर आफ्नो बारेमा मनन गर्नुपर्छ, र इमानदार हृदयले सत्यतालाई स्वीकार गर्नुपर्छ। यसरी मात्रै हाम्रो शैतानी स्वभाव क्रमिक रूपमा समाधान हुँदै जान सक्छ। कतिपय ब्रदर-सिस्टरहरूलाई काट-छाँट र निराकरण गरिँदा, त्यो बेला तिनीहरूलाई लाज लागे पनि, तिनीहरूले यसलाई स्वीकार गरेर पालना गर्न सक्छन्। पछि, तिनीहरूले सत्यताको खोजी गर्न, आफ्नो बारेमा मनन गर्न, र आफ्नो असफलताको कारण भेट्टाउन सक्छन्। समय बित्दै जाँदा, तिनीहरूले अझै बढी प्रगति गर्छन्, र आफ्नो कर्तव्यमा अझै प्रभावकारी बन्छन्, र तिनीहरूसँग परमेश्वरको अगुवाइ र आशिष्हरू हुन्छ। तर म भनेँ, आफ्नो छवि र हैसियतलाई कायम राख्न, म आफ्नो जिम्मेवारीबाट पन्छिन र काट-छाँट, निराकरण, र न्यायबाट उम्कन सधैँ निश्चित माध्यमहरूको प्रयोग गर्थेँ, र मैले बाठो तरिकाले काम गरिरहेकी छु भन्ने मलाई लाग्थ्यो। मैले अन्त्यमा यसबाट के पाएँ? परमेश्वरमा वर्षौंदेखि विश्वास गरेपछि पनि, मेरो जीवन स्वभाव परिवर्तन भएको थिएन। म अझै पनि धूर्त, छली, दुष्ट, र स्वार्थी थिएँ। म सिद्धान्तहरू नबुझी आफ्नो कर्तव्य पूरा गर्थेँ र समस्याहरू कसरी समाधान गर्ने मलाई थाहा हुँदैनथियो। मैले बल्ल जिम्मेवारीबाट जोगिन र काट-छाँट र निराकरणबाट उम्किनको लागि चलाकी गरेर, मैले वास्तवमा परमेश्वरको मुक्तिलाई इन्कार गरिरहेकी र सत्यता प्राप्त गर्ने मेरा मौकाहरूलाई बरबाद गरिरहेकी थिएँ भन्ने थाहा पाएँ। र जब-जब म जिम्मेवरीबाट पन्छिन चलाकीहरूको प्रयोग गर्थेँ, तब-तब मैले के भन्ने र के बहाना बनाउने भनेर आफ्नो दिमाग खियाउनुपर्थ्यो। म यसबाट एक पटक उम्कन सक्थेँ, तर अर्को पटक मेरो प्रतिष्ठा र इज्जत खतरामा पर्दा, मैले मानिसहरूलाई छल गर्न अर्को तरिकाको बारेमा सोच्नु पर्थ्यो। हरेक दिन यस्तो छली र कपटी स्थितिमा जिउनु निकै थकाइलाग्दो, र परमेश्वरले घृणा र इन्कार गर्ने कुरा थियो, र अन्त्यमा मैले सत्यता प्राप्त गर्ने र मुक्ति पाउने मेरा अवसरहरूलाई गुमाउनेथिएँ। यो चलाकी हुँदै होइन। यो त अज्ञानता र मूर्खता थियो। जब मैले यो कुरा महसुस गरेँ, मलाई उत्कट रूपमा आफ्नो छली र दुष्ट स्वभावलाई समाधान गर्न र इमानदार व्यक्ति बन्ने चाहना भयो।
पछि, मैले नयाँ विश्वासीलाई सङ्गति दिन ब्रदर क्लोडलाई अनुरोध गर्नुको पछाडि रहेको मेरो वास्तविक दुष्ट मनसायको बारेमा उनलाई थाहा छैन भन्ने बारेमा याद आयो। यदि मैले उनलाई मन खोलेर बताइनँ भने, उनलाई मेरो वास्तविक अवस्थाको बारेमा थाहा हुनेथिएन, उनले अझै मलाई आदर गर्नेथिए, र अझै पनि नकरात्मक स्थितिमा रहनेथिए र उनलाई काम गर्न सकिनँ भन्ने लाग्नेथियो। त्यसकारण, म ब्रदर क्लोडकहाँ गएँ, उनलाई नयाँ विश्वासीसँग सङ्गति गर्न पठाउनुको पछाडि रहेको मेरा अभिप्रायहरूको बारेमा मन खोलेर बताएँ, र त्यस मामलाबाट मैले सिकेको कुरा पनि भनेँ। मैले उनलाई के पनि बताएँ भने, म नै यसको सबैभन्दा बढी दोषी हुँ र म स्वार्थी र घृणित छु। आफ्नो इज्जत र हितहरूको रक्षा गर्न, मैले तिनलाई छल गरेर जिम्मेवारी लिन लगाएकी थिएँ। त्यसपछि, उनले मलाई आत्म-चिन्तन, ज्ञान, र यस मामलाबाट आफूले सिकेको कुरा बताए। उनको सङ्गति सुनेपछि, मलाई निकै ठूलो सहजताको अनुभूति भयो। सत्यताको अभ्यास गरेर अनि इमानदार व्यक्ति बनेर मात्रै हामीले शान्ति र सुरक्षाको महसुस गर्न सक्छौँ भन्ने बारेमा मैले साँचो रूपमा अनुभव गरेँ।
त्यसपछि, मेरो सुपरभाइजरले हाम्रो काममा भएको गडबडीको बारेमा छलफल गर्न एउटा भेला आयोजना गरिन्। त्यो महिना मेरो प्रभावकारीता निकै घटेको रहेछ। काम सम्बन्धी त्यस भेलामा, परमेश्वरले मेरो हरेक वचन र कार्य जाँच गरेर मैले कसरी व्यवहार गर्छु, म आफ्नो इज्जत र हैसियतको रक्षा गर्न पुरानै चलाकी र छलको प्रयोग गरेर, मेरा कमीकमजोरी र समस्याहरूलाई ढाकछोप गर्छु कि गर्दिन, वा म आफ्ना समस्याहरूलाई सामना गरेर, खुलस्त बोल्दै, इमानदार व्यक्ति बन्छु कि बन्दिनँ भनेर हेर्नुहुन्छ भन्ने मलाई स्पष्ट रूपमा थाहा थियो। मेरो इज्जतमा हानि भए पनि मैले सत्यताको अभ्यास गर्ने अठोट गरेँ। त्यसकारण मैले, यो अवधिमा मैले अल्यङटल्याङ गरेको र चलाकीहरू प्रयोग गरेको बारेमा खुलस्त बताएँ, र म मेरा विचलन र समस्याहरूलाई हेरेर, आफ्नो कर्तव्यप्रतिको मेरो आचरणलाई परिवर्तन गर्छु, र अझै बढी प्रभावकारी हुने प्रयास गर्छु भनेर भनेँ। यो सङ्गतिपछि, मैले ठूलो सहजताको अनुभव गरेँ, र आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने इच्छा र उत्प्रेरणा जाग्यो। मैले मेरो कुरा सकेपछि, मेरा ब्रदर-सिस्टरहरूले मलाई नीच ठानेनन्। बरु, तिनीहरूले हाम्रो कर्तव्य राम्ररी पूरा गर्नको लागि अभ्यासका केही मार्गहरूको बारेमा छलफल गरे। तिनीहरूको सङ्गतिबाट मैले धेरै कुरा प्राप्त गरेँ, र आफ्ना बिचलनहरूलाई परिवर्तन गर्ने तरिकाहरूका बारेमा पनि सिकेँ। त्यसपछि, मैले यिनै मार्गहरू अनुसार अभ्यास गरेँ, अनि आफ्नो काममा बिस्तारै प्रभावकारी हुँदै गएँ। यो देख्दा, म परमेश्वरप्रति अत्यन्तै कृतज्ञ भएँ।
यस अनुभवबाट मैले हामीले आफ्नो कर्तव्यमा जस्तो गल्ती गरे पनि वा जस्तो भ्रष्टता प्रकट गरे पनि, हामीले परिस्थितिहरूलाई शान्त भएर सामना गर्यौँ, हृदयको कुरा खोल्यौँ, र सत्यताको खोजी गर्यौँ भने, कसैले हामीलाई नीच नठान्ने मात्र होइन, तर हामीले आफ्नो बारेमा मनन गर्न र आफ्नो कर्तव्य अझै राम्ररी पूरा गर्न सक्छौँ भन्ने अनुभव गरेँ। मलाई सत्यताको अभ्यास गर्ने र इमानदार मानिसहरूमा मात्रै चरित्र र गौरव हुन्छ, र तिनीहरूले मात्रै सहजता र स्वतन्त्रताको साँचो अनुभव गर्न सक्छन् भन्ने कुरा साँचो रूपमा अनुभूति गरेँ।