परिचय

फेब्रवरी ११, १९९१ मा, परमेश्‍वरले पहिलो पटक मण्डलीमा आफ्‍नो वाणी दिनुभयो, र यो वाणीले त्यस बेला पवित्र आत्माको प्रवाहमा जिइरहेका हरेक व्यक्तिलाई असाधारण प्रभाव पारेको थियो। यो वाणीले “परमेश्‍वरको वासस्थान देखा परेको छ” र “ब्रह्माण्डका शिर, आखिरी दिनहरूका ख्रीष्ट—उहाँ चम्किलो सूर्य हुनुहुन्छ।” भनेर उल्‍लेख गर्यो। यी गहन महत्त्वका वचनहरूद्वारा, सबै मानिसहरूलाई नयाँ क्षेत्रमा ल्याइयो। यो वाणी पढ्ने सबैले नयाँ कार्य, परमेश्‍वरले सुरु गर्न लाग्‍नुभएको महान् कार्यको घोषणाको अनुभूति गरे। यही सुन्दर, सुमधुर, र संक्षिप्त वाणीले नै सबै मानवजातिलाई परमेश्‍वरको नयाँ कार्यमा र नयाँ युगमा ल्याएको थियो, र यस देहधारणमा परमेश्‍वरले गर्नुहुने कामको निम्ति जग बसाल्यो र मञ्‍च स्थापित गर्यो। के भन्‍न सकिन्छ भने, यस बेला परमेश्‍वरले बोल्‍नुभएको वाणी युगहरूलाई जोड्ने पुल हो, अनुग्रहको युगको सुरुवातपछि परमेश्‍वरले मानवजातिसँग सार्वजनिक रूपमा बोल्‍नुभएको यो पहिलो पटक हो, दुई हजार वर्षसम्‍म गुप्त रहेपछि उहाँले बोल्‍नुभएको यो पहिलो पटक हो, यसको साथै, परमेश्‍वरले राज्यको युगमा सुरु गर्न लाग्‍नुभएको कामको लागि यो प्रारम्भ, महत्त्वपूर्ण सुरुवात विन्दु थियो।

पहिलो पटक परमेश्‍वरले वाणी बोल्‍नुहुँदा, उहाँले अत्यन्तै शिष्ट र सरल भाषामा, साथै जुनसुकै बेला र सहजै प्राप्त गर्न सकिने जीवनको बन्दोबस्‍त प्रदान गर्दै तेस्रो व्यक्तिको परिप्रेक्ष्यबाट प्रशंसाको रूपमा बोल्‍नुभयो। यससँगै, उहाँले प्रभु येशूको पुनरागमनको उत्कट अपेक्षा गर्दै उहाँको अनुग्रहमा कसरी रमाउने सो कुरा जानेका मानिसहरूको यो सानो समूहलाई लिनुभयो, अनि तिनीहरूलाई चुपचाप रूपमा परमेश्‍वरको व्यवस्थापन योजनाको कामको अर्को चरणमा ल्याउनुभयो। यी परिस्‍थितिहरूमा, मानवजातिलाई परमेश्‍वरले अन्तिममा कस्तो प्रकारको काम गर्न लाग्‍नुभएको छ, वा अगाडिको बाटोमा के साँचेर राखिएको छ भन्‍ने कुरा थाहा थिएन, र त्यसको बारेमा कल्‍पना गर्ने आँट गर्नु त परै जाओस्। त्यसपछि, मानवजातिलाई चरणबद्ध रूपमा नयाँ युगमा ल्याउनको लागि परमेश्‍वरले थप वाणीहरू दिने कार्यलाई जारी राख्‍नुभयो। आश्‍चर्यजनक ढङ्गले, विषयवस्तुको हिसाबमा परमेश्‍वरको हरेक वाणी फरक छ, यसको साथै यसले फरक-फरक प्रशंसाको रूपहरू र अभिव्यक्तिका तरिकाहरू प्रयोग गर्छ। शैलीमा उस्तै तर विषयवस्तुमा विविध रहेका यी वाणीहरू अपरिहार्य रूपमा नै परमेश्‍वरको हेरचाह र वास्ताका भावनाहरूले भरिएका छन्, र लगभग प्रत्येकमा फरक-फरक विषयवस्तु सहितको जीवनका बन्दोबस्‍तहरू, साथै परमेश्‍वरले मानिसलाई दिनुभएको अनुस्मारक, प्रोत्‍साहन, र सान्त्वनाका वचनहरू छन्। यी वाणीहरूमा, यस्ता खण्डहरू बारम्बार देखिन्छन्: “तिनीहरू एक मात्र साँचो परमेश्‍वर देहधारी हुनुभएको छ, उहाँ ब्रह्माण्डका शिर हुनुहुन्छ, जसले सबै थोकलाई आज्ञा दिनुहुन्छ”; “विजयी राजा उहाँको महिमित सिंहासनमा बस्नुहुन्छ”; “उहाँले ब्रह्माण्डलाई आफ्नो हातमा समात्नुहुन्छ”; र यस्तै इत्यादि। यी खण्डहरूमा एउटा सन्देश व्यक्त गरिएको छ, वा के भन्‍न सकिन्छ भने, यी खण्डहरूले मानवजातिलाई एउटा सन्देश दिन्छ: परमेश्‍वर मानव संसारमा आइसक्‍नुभएको छ, परमेश्‍वरले अझै ठूलो कार्यको सुरुवात गर्न गइरहनुभएको छ, मानिसहरूको निश्‍चित समूहमा परमेश्‍वरको राज्य पहिले नै ओर्लिसकेको छ, र परमेश्‍वरले महिमा प्राप्त गरिसक्‍नुभएको छ र उहाँले उहाँका बहुसंख्यक शत्रुहरूलाई जितिसक्‍नुभएको छ। परमेश्‍वरका हरेक वाणीले हरेक मानवको हृदयलाई पकडमा लिन्छ। परमेश्‍वरले अझै नयाँ वचनहरू बोल्‍नुभएको होस् भनेर सबै मानवजातिले उत्कटताको साथ प्रतीक्षा गर्छन्, किनभने जब-जब परमेश्‍वर बोल्‍नुहुन्छ, उहाँले मानिसको हृदयलाई यसको जरैबाट हल्‍लाउनुहुन्छ, यति मात्र होइन, उहाँले मानिसको हरेक चाल र हरेक भावनालाई प्रशासन गर्नुहुन्छ र भरणपोषण गर्नुहुन्छ, ताकि मानवजातिले परमेश्‍वरका वचनहरूमा भरोसा गर्न र, अझै बढी, यसलाई सराहना गर्न थालोस्…। यसरी, अनजानमा धेरै जना मानिसहरूले लगभग बाइबललाई बिर्सिसकेका थिए, अनि पुराना शैलीका प्रवचनहरू र आत्मिक व्यक्तिहरूका लेखहरूलाई बेवास्ता समेत गर्न थालेका थिए, किनभने तिनीहरूले विगतका लेखहरूमा परमेश्‍वरका यी वचनहरूको कुनै आधार भेट्टाउन सकेनन्, न त यी वाणीहरू बोल्‍नुको पछाडि रहेका परमेश्‍वरको उद्देश्यलाई नै कहीँ भेट्टाउन सकेका थिए। त्यसो हुनाले, यसले यी वाणीहरू समयको सुरुवातदेखि कहिल्यै नदेखिएको वा नसुनिएको परमेश्‍वरको आवाज हुन्, ती वाणीहरू परमेश्‍वरको वचनमा विश्‍वास गर्ने कुनै पनि व्यक्तिको पहुँचभन्दा बाहिर छन्, र यी वाणीहरूले विगतका युगहरूको कुनै पनि आत्मिक व्यक्तिले भनेको कुनै पनि कुरा वा विगतमा परमेश्‍वरले दिनुभएका वाणीहरूलाई उछिन्छन् भन्‍ने कुरालाई स्वीकार गर्न यसले मानवजातिलाई झन् कति बढी बाध्य गराउँछ। यी प्रत्येक वाणीहरूद्वारा प्रोत्साहित भएर, मानवजाति अनजानमै पवित्र आत्माको कामको परिवेशमा, नयाँ युगको अग्र पङ्‌क्तिको जीवनमा प्रवेश गर्‍यो। परमेश्‍वरका वचनहरूले प्रोत्साहित भएर, अपेक्षापूर्ण भई मानवजातिले परमेश्‍वरका वचनहरूले व्यक्तिगत रूपमा डोर्‍याइनुको मिठासपनलाई चाखे। यो क्षणिक अवधि हरेक मानवले नित्य रहने स्मरणको रूपमा फर्केर हेर्ने समय हुनेछ भन्‍ने मलाई विश्‍वास छ, तर वास्तविकतामा यो अवधिमा मानवजातिले आनन्द लिएको कुरा पवित्र आत्‍माको कार्यको परिवेश बाहेक केही पनि थिएन, वा यसलाई औषधिको चक्कीको बाहिरपट्टि हालिएको गुलियो आवरण भनेर भन्‍न सकिन्छ। किनभने, यस विन्दुदेखि अघि, अझै पनि परमेश्‍वरका वचनहरूको अगुवाइमा हुँदा, अझै पनि पवित्र आत्माको परिवेशमा हुँदा, मानवजातिलाई अनजानमा परमेश्‍वरका वचनहरूको अर्को चरणमा लगियो, जुन राज्यको युगको परमेश्‍वरको काम र वाणीहरूको पहिलो कदम—सेवाकर्ताहरूको परीक्षा थियो।

सेवाकर्ताहरूको परीक्षाभन्दा पहिले बोलिएका वचनहरू प्रायजसो निर्देशन, अर्ती, हप्की, र अनुशासनको रूपमा दिइएको थियो, र कतिपय खण्डहरूमा तिनीहरूले अनुग्रहको युगमा लागू गरिएको पुरानो शैलीको सम्‍बोधनको प्रयोग गरे—जुन क्रममा, परमेश्‍वरको नजिक आउन मानवजातिलाई सहज होस् भनेर, वा मानवजातिले परमेश्‍वरसँगको तिनीहरूको सम्‍बन्धलाई घनिष्ठ सम्‍बन्ध ठानून् भनेर, परमेश्‍वरलाई पछ्याउनेहरूका निम्ति “मेरा पुत्रहरू” भन्‍ने वाक्यांशको प्रयोग गरे। यसरी, परमेश्‍वरले मानवजातिको आत्म-अभिमान, अहङ्कार, र अन्य भ्रष्ट स्वभावहरूमा जस्तो प्रकारको न्याय गर्नुभए पनि, मानिसले “परमेश्‍वर पिता” का वाणीहरूप्रति कुनै शत्रुता नराखिकन “पुत्र” भन्‍ने उसको पहिचानद्वारा यसलाई सामना गर्न र स्वीकार गर्न सक्थ्यो, यस बाहेक यो सम्‍बन्धमा “परमेश्‍वर पिता” ले आफ्‍ना “पुत्रहरू” लाई दिनुभएको प्रतिज्ञामाथि कहिल्यै शङ्का उठेको थिएन। यस अवधिमा, सम्पूर्ण मानवजातिले एक शिशुको जस्तो समस्याबाट मुक्त अस्तित्वको आनन्द उठायो, र यसले परमेश्‍वरको उद्देश्य हासिल गर्‍यो, अर्थात्, जब तिनीहरू “वयस्क अवस्थामा” प्रवेश गरे, तब उहाँले तिनीहरूमाथि न्याय गर्न थाल्‍नु हुनेथ्यो। यसले राज्यको युगमा परमेश्‍वरले औपचारिक रूपमा सुरु गर्नुहुने मानवजातिलाई न्याय गर्ने कार्यको लागि जग स्थापना पनि गर्‍यो। यस देहधारणमा परमेश्‍वरले गर्नुहुने काम मुख्य रूपमा सम्पूर्ण मानवजातिलाई न्याय गर्नु र विजय गर्नु नै भएको हुनाले, मानिसले आफ्नो खुट्टा जमिनमा टेक्ने बित्तिकै, परमेश्‍वर आफ्‍नो कामको विधिमा—उहाँले मानिसलाई न्याय गर्ने र उसलाई सजाय दिने काममा प्रवेश गरिहाल्‍नुभयो। स्पष्ट रूपमा नै, सेवाकर्ताहरूको परीक्षाभन्दा पहिले गरिएका सबै वाणीहरू परिवर्तनकालको माध्यमबाट अघि बढ्नको खातिर दिइएको थियो, जसको खास उद्देश्य देखिएको भन्दा फरक थियो। जतिसक्दो चाँडो उहाँले राज्यको युगको उहाँको कार्यलाई औपचारिक रूपमा सुरु गर्न सक्‍नुभएको होस् भन्‍ने नै परमेश्‍वरको उत्कट अभिप्राय थियो। मानवजातिलाई चिनीको आवरण हालिएको चक्कीहरू खुवाउँदै उसलाई फकाउँदै अघि बढाउनु कुनै पनि हालतमा उहाँको चाहना थिएन; बरु, उहाँले आफ्‍नो न्याय-आसनको अघि हरेक मानिसको साँचो मुहार हेर्ने उत्कट इच्‍छा गर्नुभयो, र उहाँले सारा मानवजातिले उहाँको अनुग्रह गुमाइसकेपछि तिनीहरूले उहाँप्रति राख्‍ने वास्तविक आचरणलाई हेर्ने अझै बढी उत्कट इच्‍छा गर्नुभयो। उहाँले परिणामहरू मात्रै हेर्न चाहनुभयो, प्रक्रिया होइन। तर त्यो बेला परमेश्‍वरको उत्कट अभिप्रायलाई बुझ्‍ने कोही पनि थिएन, किनभने मानव हृदयले यसको गन्तव्य र यसको भविष्यका सम्भावनाहरूप्रति मात्रै चासो राख्थ्यो। परमेश्‍वरको न्याय बारम्‍बार सम्पूर्ण मानवजातिप्रति लक्षित गरिएको छ भन्‍ने तथ्य त्यति आश्‍चर्यको कुरा होइन। परमेश्‍वरको अगुवाइमा मानवजातिले मानवजातिको सामान्य जीवन जिउन थालेपछि मात्रै मानवजातिप्रतिको परमेश्‍वरको आचरण परिवर्तन भयो।

१९९१ असामान्य वर्ष थियो; हामी यसलाई “सुनौलो वर्ष” भनी भनौं। परमेश्‍वरले राज्यको युगको नयाँ काम प्रारम्‍भ गर्नुभयो र उहाँको वाणी सम्पूर्ण मानवजातिप्रति लक्षित गर्नुभयो। उही समयमा, मानवजातिले अभूतपूर्व न्यानोपन प्राप्त गरे र मानिसलाई परमेश्‍वरले गर्नुहुने न्यायबाट आउने पीडा अझै बढी अनुभव गरे। मानवजातिले त्यो बेलासम्‍म अज्ञात रहेको मिठास चाखे, साथै त्यस बेलासम्‍म अज्ञात रहेको न्याय र त्याग पनि चाखे, मानौं यसले परमेश्‍वरलाई प्राप्त गरेको थियो, अनि फेरि, मानौं यसले परमेश्‍वरलाई गुमाएको थियो। सम्पत्तिमा कष्ट भोग्‍नु र घटी-कमीमा कष्ट भोग्‍नु—तिनलाई व्यक्तिगत रूपमा अनुभव गर्नेहरूलाई मात्रै यस्ता अनुभवहरू थाहा हुन्छ; ती त्यस्ता कुरा हुन् जसलाई व्याख्या गर्नको लागि मानिससँग न त क्षमता छ, न त माध्यम नै। छुन नसकिने अनुभव र सम्पत्तिको रूपमा परमेश्‍वरले हरेक मानिसलाई यही प्रकारका आघातहरू दिनुभएको छ। यस वर्षमा परमेश्‍वरले बोल्‍नुभएका वाणीहरूको विषयवस्तु वास्तवमा दुई मुख्य वर्गमा पर्छन्: पहिलो मानवजातिलाई उहाँको सिंहासनको अघि पाहुनाहरूको रूपमा आउन निम्तो दिनको लागि परमेश्‍वर मानिसहरूको संसारमा कहाँ ओर्लनुभयो भन्‍ने हो; दोस्रो, मानवले आफूलाई दिइएको कुरा खाने र पिउने काम गरिसकेपछि, उसलाई परमेश्‍वरले सेवाकर्ताको रूपमा कहाँ खटाउनुभयो भन्‍ने कुरा हो। अवश्य नै, यसमा कुनै शङ्कै छैन, पहिलो भाग मानवजातिको सबैभन्दा प्रिय र सबैभन्दा उत्कट चाहना हो, किनभने मानवजाति परमेश्‍वरको सबै कुरालाई उहाँमाथिको तिनीहरूको विश्‍वासको पात्र बनाउने कार्यमा आनन्द लिनेप्रति लागिपरेको धेरै भइसकेको थियो। यही कारणले गर्दा, परमेश्‍वरले आफ्‍ना वाणीहरू बोल्‍न थाल्‍ने बित्तिकै, मानवजाति राज्यमा प्रवेश गरेर परमेश्‍वरले तिनीहरूलाई विभिन्‍न प्रकारका इनामहरू दिऊन् भनी प्रतीक्षा गर्न तम्तयार भइसकेका थिए। यी परिस्‍थितिहरूमा रहेका मानिसहरूले आफ्‍ना स्वभाव रूपान्तरण गरेर, परमेश्‍वरलाई सन्तुष्ट तुल्याउने प्रयास गरेर, परमेश्‍वरको इच्‍छालाई बुझेर, र यस्तै इत्यादि कार्यद्वारा उचित मूल्य चुकाउँदै चुकाएनन्। झट्ट हेर्दा, आफूलाई समर्पित गर्ने र परमेश्‍वरको लागि काम गर्ने क्रममा मानवजाति अटुट रूपमा व्यस्त रहेको देखिन्थ्यो, जुन अवधिमा तिनीहरूले आशिषहरू प्राप्त गर्न वा राजाहरूका रूपमा शासन गर्नको लागि तिनीहरूले अर्को कुन कदम चाल्‍नुपर्छ भनेर आफ्‍नो हृदयको गहिराइको गुप्त स्थानमा वास्तवमा हिसाबकिताब गरिरहेका थिए। के भन्‍न सकिन्छ भने, मानव हृदयले परमेश्‍वरमा आनन्द गरिरहेको बेला, यसले परमेश्‍वरप्रति हिसाबकिताब गर्ने कार्य पनि गरिरहेको थियो। यस अवस्थामा रहेको मानवजातिलाई परमेश्‍वरले सबैभन्दा गहन घृणा र तिरस्कार गर्नुहुन्छ; कुनै पनि मानवले परमेश्‍वरलाई धोका दिएको वा उहाँलाई प्रयोग गरेको कुरा उहाँको स्वभावले सहँदैन। तर परमेश्‍वरको बुद्धि कुनै पनि मानवको पहुँचभन्दा बाहिर छ। यी सबै कष्टहरू भोग्‍ने क्रममा उहाँले आफ्‍नो वाणीहरूको पहिलो भाग बोल्‍नुभयो। परमेश्‍वरले कति धेरै कष्ट भोग्‍नुभयो, र यस बेला उहाँले कति धेरै वास्ता र विचार समर्पित गर्नुभयो, त्यो कुरा कुनै पनि मानवजातिले कल्‍पना गर्न सक्दैन। यी वाणीहरूको पहिलो भागको उद्देश्य भनेको पद र नाफाको सामना गर्दा मानिसले देखाउने सबै किसिमका कुरूपतालाई खुलासा गर्नु, र मानिसको लोप र घृणास्पद अवस्थालाई खुलासा गर्नु हो। भनाइमा, परमेश्‍वरले प्रेमिलो आमाको जस्तो इमानदार र उत्सुक शैलीमा आफ्‍ना वचनहरू बोल्‍नुहुने भए पनि, उहाँको हृदयको गहिराइको क्रोध मध्य दिनको घाम जस्तै चर्किन्छ, मानौं यो उहाँका शत्रुहरूप्रति लक्षित छ। मानवजातिको सामान्य स्वरूपको कमी भएका मानिसहरूको समूहसँग परमेश्‍वर कुनै पनि हालतमा बोल्‍न चाहनुहुन्‍न, त्यसकारण, जब-जब उहाँ बोल्‍नुहुन्छ, उहाँले आफ्‍नो हृदयको क्रोधलाई दबाइरहनुभएको हुन्छ, यसको साथै उहाँले आफूलाई उहाँका वाणीहरूको अभिव्यक्ति दिन बाध्य गरिरहनुभएको हुन्छ। यति मात्र कहाँ हो र, उहाँले सामान्य मानवता नभएको, तर्क-शक्ति नभएको, अत्यन्तै भ्रष्ट बनेको, लोभ गर्ने बानी परेको, र अत्यन्तै नराम्ररी परमेश्‍वरको विरुद्धमा अनाज्ञाकारी र विद्रोही मानवजातिसँग बोलिरहनुभएको छ। मानवजाति कुन हदसम्‍म खसेको छ त्यसको गहिराइ र मानवजातिप्रति परमेश्‍वरको घृणा र इन्कार कति हदसम्‍म पुगेको छ त्यसको बारेमा सहजै कल्‍पना गर्न सकिन्छ; मानवजातिलाई कल्‍पना गर्न कठिन कुरा भनेको तिनीहरूले परमेश्‍वरलाई दिएको चोट नै हो—त्यसलाई शब्‍दहरूमा व्याख्या गर्नु असम्‍भव छ। तर ठीक यही पृष्ठभूमिको आधारमा—जहाँ परमेश्‍वरको हृदयले कसरी कष्ट भोग्यो भन्‍ने कुरा कसैले पत्ता लगाउन सकेन, यसको साथै, मानवजाति कति अनुचित र असुधार्य थियो भन्‍ने कुरा कसैले पत्ता लगाएन—हरेक व्यक्तिले अलिकति पनि लाज वा हिचकिचाहट नमानी, तिनीहरूलाई परमेश्‍वरले मानिसको निम्ति तयार गर्नुभएका सबै इनामहरू परमेश्‍वरका पुत्रहरूको रूपमा प्राप्त गर्ने अधिकार छ भन्‍ने मानिलिए, यहाँसम्‍म कि तिनीहरूमध्ये कोही पनि पछि पर्न नचाहने र हार्छौं भन्‍ने ठूलो डर मान्‍ने अवस्थामा पुग्दै, एक-अर्काको डाह समेत गर्न पुगे। त्यो बेलाका मानिसहरूले परमेश्‍वरको नजरमा कस्तो स्थान ओगटेको थियो त्यो कुरा तैँले अहिलेसम्‍म त जानेको हुनुपर्छ। यस्तो जातिले कसरी परमेश्‍वरका इनामहरू प्राप्त गर्न सक्छ? तर परमेश्‍वरबाट मानिसले जे प्राप्त गर्छ त्यो सधैँको लागि सबैभन्दा बहुमूल्‍य सम्पत्ति हुन्छ, र यसको विपरीत, परमेश्‍वरले मानिसबाट प्राप्त गर्नुहुने कुरा अत्यन्तै पीडादायी हुन्छ। परमेश्‍वर र मानिसको सम्‍बन्ध सुरु भएदेखि नै, मानिसले परमेश्‍वरबाट सधैँ यही कुरा प्राप्त गरेको छ, र उसले यसको सट्टामा परमेश्‍वरलाई सधैँ यही कुरा दिएको छ।

परमेश्‍वर चिन्ताले जति नै जल्‍नुभए पनि, जब उहाँले यस मानवजाति पूर्ण रूपमा भ्रष्ट भएको देख्‍नुभयो, तब उहाँसँग यसलाई शोधन होस् भनेर अग्‍नि-कुण्डमा फ्याँक्‍नु बाहेक कुनै विकल्‍प थिएन। यो परमेश्‍वरका वाणीहरूको दोस्रो भाग हो, जसमा परमेश्‍वरले मानवजातिलाई उहाँका सेवाकर्ताहरूको रूपमा प्रयोग गर्नुभयो। यस खण्डमा, परमेश्‍वर नरम अवस्थाबाट कठोर अवस्थामा जानुभयो, र उही समयमा मानवजातिलाई छनौट गर्न दिनको लागि सेवाकर्ताहरू, परमेश्‍वरका मानिसहरू, र परमेश्‍वरका पुत्रहरू भन्‍ने विभिन्‍न वर्गहरू[क] लाई अघि सार्दै “परमेश्‍वरको व्यक्तित्व” लाई मानिसको भ्रष्ट प्रकृति खुलासा गर्ने बल्छीको रूपमा प्रयोग गर्दै विधी र लम्‍बाइ दुवै हिसाबमा थोरैदेखि धेरैको अवस्थामा जानुभयो। अवश्य नै, परमेश्‍वरले भविष्यवाणी गर्नुभएको जस्तै, कसैले पनि परमेश्‍वरको निम्ति सेवाकर्ता बन्‍ने छनौट गर्दैन, बरु सबै जनाले परमेश्‍वरको चुनिएको व्यक्ति बन्‍ने प्रयास गर्छन्। यस अवधिमा, परमेश्‍वरले बोल्‍नुभएको गम्‍भीरताको हद मानवजातिले कहिल्यै पनि अपेक्षा नगरेको, र कहिल्यै नसुनेको भए पनि, सधैँ ओहोदाप्रति अत्यन्तै चिन्तित हुने, र यस बाहेक, आशिषहरू जित्‍ने कार्यप्रति अत्यन्तै तल्‍लीन हुने प्रवृत्तिको कारण, तिनीहरूसँग परमेश्‍वरको बोल्‍ने शैली र उहाँको बोल्‍ने माध्यमको बारेमा कुनै धारणा निर्माण गर्ने समय थिएन, बरु, तिनीहरूको मनमा सधैँ तिनीहरूले आफ्‍नै ओहोदाको बारेमा र भविष्यमा के हुनेछ भन्‍ने बारेमा नै विचार गरिरहेका हुन्थे। यसरी, परमेश्‍वरका वाणीहरूले मानवजातिलाई उहाँले तिनीहरूको निम्ति तयार गर्नुभएको “भूलभूलैया” मा तिनीहरूलाई थाहै नभई ल्याए। भविष्य र आफ्‍नो गन्तव्यको प्रलोभनले थाहै नपाई लोभ्याएको कारण, मानवजातिले तिनीहरू परमेश्‍वरको व्यक्ति बन्न अपर्याप्त छन् भन्‍ने कुरा थाहा पाए, तैपनि तिनीहरू उहाँका सेवाकर्ताहरूको रूपमा काम गर्न अनिच्छुक थिए। यी विरोधाभासपूर्ण मानसिकताको बीचमा परेर, तिनीहरूले परमेश्‍वरले मानवजातिलाई दिनुभएको अभूतपूर्व न्याय र सजायलाई अचेत रूपमा स्वीकार गरे। प्राकृतिक रूपमा नै, यस प्रकारको न्याय र शोधन मानवजातिले कुनै पनि हालतमा स्वीकार गर्न नचाहने कुरा थियो। तैपनि, चाहेर होस् वा नचाहेर होस् अन्त्यमा सबै समर्पित होस् भनेर यो भ्रष्ट मानवजातिलाई नम्र रूपमा समर्पित हुन लगाउनको लागि चाहिने बुद्धि परमेश्‍वरसँग मात्रै छ, र उहाँसँग मात्रै त्यसो गर्ने शक्ति छ। मानवजातिसँग छनौट गर्ने कुनै विकल्‍पहरू छैनन्। परमेश्‍वरले मात्रै अन्तिम निर्णय गर्नुहुन्छ, र मानिसलाई सत्यता र जीवन दिन र उसलाई दिशा देखाउनको लागि परमेश्‍वरले मात्रै यस्तो विधिको प्रयोग गर्नुहुन्छ। यो विधि अपरिहार्य रूपमा नै परमेश्‍वरले मानिसमा गर्नुहुने काम हो, र कुनै शङ्का वा विवाद विना नै, यो मानिसको अपरिहार्य आवश्यकता पनि हो। परमेश्‍वरले मानवजातिलाई यो तथ्य बुझाउनको लागि यस्तो विधिमा बोल्‍नुहुन्छ र काम गर्नुहुन्छ: मानवजातिलाई मुक्ति दिने काम, परमेश्‍वरले उहाँको प्रेम र कृपाको कारण र उहाँको व्यवस्थापनको खातिर गर्नुहुन्छ; परमेश्‍वरको मुक्ति प्राप्त गर्ने क्रममा, मानवजाति यति हदसम्‍म पतित भएकोले गर्दा परमेश्‍वरले उससँग व्यक्तिगत रूपमा बोल्‍ने बाहेक केही पनि गर्नुहुन्न। जब मानिसले परमेश्‍वरको मुक्ति प्राप्त गर्छ, यो सबैभन्दा ठूलो अनुग्रह हो, र यो विशेष निगाह पनि हो; भन्‍नुको अर्थ, यदि परमेश्‍वरले आफ्‍ना वाणीहरू व्यक्तिगत रूपमा नै नबोल्‍नुभएको भए, मानवजातिको भाग्य लोप हुनेथियो। उही समयमा परमेश्‍वरले मानवजातिलाई घृणा गर्नुभए पनि, उहाँ अझै पनि मानिसको मुक्तिको लागि मूल्य चुकाउन तयार र तत्पर हुनुहुन्छ। यस बीच, मानिसले परमेश्‍वरप्रतिको आफ्‍नो प्रेम र उसले कसरी सबै कुरा परमेश्‍वरलाई अर्पण गर्छ त्यसको गुणगान गाउने क्रममा, उसले परमेश्‍वरको विरुद्ध विद्रोह गरिरहेको र परमेश्‍वरबाट हरेक प्रकारको अनुग्रह खोसेर लिइरहेको हुन्छ, यस क्रममा उसले परमेश्‍वरलाई चोट पुर्‍याउँछ र उहाँको हृदयमा अकथनीय पीडा ल्याउँछ। परमेश्‍वर र मानिसको निस्वार्थ र स्वार्थको बीचमा रहेको पूर्ण भिन्‍नता यही हो!

काम गर्ने र बोल्‍ने क्रममा परमेश्‍वर कुनै पनि निश्‍चित विधि पालन गर्न बाध्य हुनुहुन्‍न, तर परिणामहरू हासिल गर्ने कार्यलाई उहाँले आफ्‍नो उद्देश्य बनाउनुहुन्छ। यसकारणले गर्दा, उहाँका वाणीहरूको यो भागमा, परमेश्‍वरले आफ्‍नो पहिचानलाई स्पष्ट रूपमा प्रस्तुत नगर्ने निर्णय गर्नुभयो, तर “आखिरी दिनहरूका ख्रीष्‍ट,” “ब्रह्माण्डका शिर,” र यस्तै इत्यादि जस्ता केही शब्‍दहरू मात्रै खुलासा गर्नुभयो। यसले कुनै पनि हिसाबमा ख्रीष्टको सेवकाइ वा परमेश्‍वरसम्‍बन्धी मानवजातिको ज्ञान कुनैलाई प्रभाव पार्दैन, विशेष गरी, ती प्रारम्भिक दिनहरूमा मानवजाति “ख्रीष्ट” र “देहधारण” जस्ता अवधारणाहरूप्रति पूर्ण रूपमा अनजान थिए, त्यसकारण आफ्‍ना वाणीहरू व्यक्त गर्नको लागि परमेश्‍वर “विशेष कार्य” भएको व्यक्तिको रूपमा नम्र हुनुभयो। यो परमेश्‍वरको सावधानीपूर्ण वास्ता र विचार थियो, किनभने त्यो बेलाका मानिसहरूले यस प्रकारको सम्‍बोधनलाई मात्रै स्वीकार गर्न सक्थे। परमेश्‍वरले सम्‍बोधनको जस्तोसुकै शैली प्रयोग गर्नुभए पनि, उहाँको कामका परिणामहरूमा बाधा पुग्दैनन्, किनभने आफूले गर्ने सबै कुरामा परमेश्‍वरले मानिसलाई परिवर्तन हुन, मानिसलाई परमेश्‍वरको मुक्ति प्राप्त गर्न लगाउने उद्देश्य लिनुहुन्छ। उहाँले जे गर्नुभए पनि, परमेश्‍वरले सधैँ मानिसका खाँचोहरूलाई ध्यानमा राख्‍नुहुन्छ। परमेश्‍वरले काम गर्नु र बोल्‍नुको अभिप्राय यही हुन्छ। परमेश्‍वर मानवजातिको सबै पक्षहरूलाई ध्यान दिने कार्यमा पूर्ण रूपमा एकाग्र हुनुभए पनि, र उहाँले गर्नुहुने सबै कुरामा पूर्ण रूपमा बुद्धिमानी हुनुभए पनि, म यसो भन्‍न सक्छु: यदि परमेश्‍वरले आफ्‍नो गवाही आफै नदिनुभएको भए, सृष्टि गरिएको मानवजातिको बीचमा परमेश्‍वर स्‍वयम्‌लाई पहिचान गर्न सक्‍ने वा परमेश्‍वर स्‍वयम्‌को गवाही दिन खडा हुन सक्‍ने एक जना पनि हुनेथिएन। यदि परमेश्‍वरले आफ्‍नो कार्यमा “विशेष कार्य सहितको व्यक्ति” भन्‍ने वाक्यंशलाई सम्‍बोधनको एउटा तरिकाको रूपमा प्रयोग गरिरहनुभएको भए, परमेश्‍वरलाई परमेश्‍वरको रूपमा लिन सक्‍ने एक जना पनि मानिस हुनेथिएन—यो मानवजातिको लागि अफसोसको कुरा हो। भन्‍नुको अर्थ, सृष्टि गरिएको मानवजातिको बीचमा परमेश्‍वरलाई चिन्‍न सक्‍ने कोही पनि छैन, परमेश्‍वरलाई प्रेम गर्ने, परमेश्‍वरको बारेमा वास्ता गर्ने, र परमेश्‍वरको नजिक जाने कोही हुने कुरा त परै जाओस्। मानिसको विश्‍वास आशिषहरू जित्नको खातिर मात्रै हो। विशेष कार्य सहितको व्यक्तिको रूपमा रहेको परमेश्‍वरको पहिचानले हरेक मानिसलाई एउटा सङ्केत दिन्छ: मानवजातिले परमेश्‍वरलाई सृष्टि गरिएको मानवजातिमध्येको एक जनाको रूपमा सहजै स्वीकार गर्न सक्छ; मानवजातिले परमेश्‍वरलाई दिने सबैभन्दा ठूलो चोट र अपमान भनेको ठ्याक्‍कै के हो भने, जब परमेश्‍वर खुलेआम देखा पर्नुहुन्छ वा काम गर्नुहुन्छ, परमेश्‍वरलाई अझै पनि मानिसले इन्कार गर्छ र उसले उहाँलाई बिर्सने समेत गर्छ। मानवजातिलाई मुक्ति दिनको लागि परमेश्‍वरले सबैभन्दा ठूलो अपमान सहनुहुन्छ; सबै कुरा दिने क्रममा, उहाँको उद्देश्य भनेको मानवजातिलाई मुक्ति दिनु, मानवजातिबाट मान्यता प्राप्त गर्नु हो। यो सबैको लागि परमेश्‍वरले चुकाउनुभएको मूल्य भनेको विवेक भएको हरेकले कदर गर्नुपर्ने कुरा हो। मानवजातिले परमेश्‍वरका वाणीहरू र कार्यलाई प्राप्त गरेको छ, र परमेश्‍वरको मुक्ति प्राप्त गरेको छ। यसको साथै, कसैलाई पनि यो प्रश्‍न सोध्‍नुपर्छ भन्‍ने लागेको छैन: परमेश्‍वरले मानवजातिबाट के प्राप्त गर्नुभएको छ? परमेश्‍वरको हरेक वाणीबाट, मानवजातिले सत्यता प्राप्त गरेको छ, परिवर्तन हुन सकेको छ, जीवनको दिशा प्राप्त गरेको छ; तर परमेश्‍वरले त मानवजातिले परमेश्‍वरप्रतिको आफ्‍नो ऋणीपनको बारेमा व्यक्त गर्नको लागि प्रयोग गर्ने शब्‍दहरू र प्रशंसाका केही कानेखुसीका शब्‍दहरू बाहेक केही पनि प्राप्त गर्नुभएको छैन। परमेश्‍वरले मानिसबाट माग्‍नुहुने प्रतिफल अवश्य नै यो त होइन?

अहिले परमेश्‍वरका धेरै वाणीहरू व्यक्त गरिसकिएको भए पनि, धेरैजसो मानिसहरू परमेश्‍वरसम्‍बन्धी तिनीहरूको ज्ञान र बुझाइको सुरुवातलाई प्रतिनिधित्व गर्ने परमेश्‍वरका वचनहरूको चरणमा नै अझै पनि रोकिएका छन्, जुन चरणबाट तिनीहरू अघि बढेका छैनन्—यो साँच्‍चै नै पीडादायी विषय हो। “प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू” को यो भाग मानव हृदयलाई खोल्‍ने चाबी मात्रै हो; यहाँ रोकिनु भनेको परमेश्‍वरको अभिप्रायलाई पूरा गर्ने कार्यमा असफल हुनु हो। परमेश्‍वरले उहाँका वाणीहरूको यो भाग बोल्‍नुको उद्देश्य भनेको मानवजातिलाई अनुग्रहको युगबाट राज्यको युगमा ल्याउनु मात्रै हो; मानवजाति उहाँका वाणीहरूको यो भागमा अडिएर बसोस् वा तिनीहरूले उहाँका वाणीहरूको यो भागलाई मार्गनिर्देशनको रूपमा लिऊन् भन्‍ने उहाँको चाहना थिएन, नत्र, परमेश्‍वरका भविष्यका वाणीहरूको न त खाँचो हुनेथियो न त ती अर्थपूर्ण नै हुनेथिए। यदि परमेश्‍वरले उहाँका वाणीहरूको यो भागमा मानिसलाई प्राप्त गर्न लगाउनुभएको कुरामा प्रवेश गर्न नसक्‍ने अझै कोही छ भने, त्यो व्यक्तिको प्रवेश अज्ञात नै रहन्छ। परमेश्‍वरका वाणीहरूको यो भागमा परमेश्‍वरले राज्यको युगमा मानिसलाई दिनुभएको सबैभन्दा आधारभूत माग समावेश छ, र मानवजाति सही मार्गमा प्रवेश गर्ने एउटै मात्र तरिका यही मात्रै हो। यदि तँ केही पनि नबुझ्‍ने व्यक्ति होस् भने, तैँले यो भागका वचनहरू पढेर सुरु गर्नु नै राम्रो हुन्छ!

फूटनोट:

क. मूल पाठमा “भन्‍ने विभिन्‍न वर्गहरू” भन्‍ने वाक्यांश समावेश छैन।

अघिल्लो: अध्याय ९४

अर्को: अध्याय २७

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सम्बन्धित विषयवस्तु

प्रार्थनाको अभ्यासको सम्बन्धमा

तिमीहरू आफ्‍नो दैनिक जीवनमा प्रार्थनालाई कुनै महत्त्व दिँदैनौ। मानिसले प्रार्थनाको कुरालाई बेवास्ता गर्दछ। प्रार्थनाहरू लापरवाही हुने...

अभ्यास (४)

आज मैले कुरा गरेको शान्ति र आनन्द तैंले विश्‍वास गरेको र बुझेको जस्तो शान्ति होइन। तँ शान्ति र आनन्द भनेको दिनभरि खुसी रहनु, तेरो परिवारमा...

अध्याय १

सियोनमा प्रशंसा आएको छ र परमेश्‍वरको वासस्थान देखा परेको छ। सबै मानिसहरूले गुणगान गरेको त्यो महिमित पवित्र नाउँ फैलिन्छ। अहा, सर्वशक्तिमान्...

परमेश्‍वरको कामको दर्शन (१)

यूहन्नाले सात वर्ष येशूका निम्ति काम गरे, अनि येशू आउनुहुँदा अघिबाटै बाटो तयार पारिसकेका थिए। योभन्दा अघि यूहन्नाले प्रचार गरेका स्वर्ग...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्