प्रस्तावना

धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरे तापनि, थोरैले मात्र परमेश्‍वरप्रतिको विश्‍वासको अर्थ के हो र परमेश्‍वरको इच्छा अनुरूप हुन तिनीहरूले के गर्नुपर्छ भनी बुझ्दछन्। मानिसहरू “परमेश्‍वर” शब्द र “परमेश्‍वरको कार्य” जस्ता वाक्यांशहरूसित परिचित भए पनि तिनीहरूले परमेश्‍वरलाई नचिनेका कारणले, र तिनीहरूले उहाँको कार्यको बारेमा नजानेको कारणले यस्तो भएको हो। त्यसैले, परमेश्‍वरलाई नचिन्नेहरू सबै उहाँमाथिको विश्‍वासमा अलमलिनु कुनै अचम्म मान्नुपर्ने कुरा होइन। मानिसहरूले परमेश्‍वरप्रतिको विश्‍वासलाई गम्भीर रूपमा लिँदैनन्, र तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्ने कार्य धेरै नै अपरिचित र अनौठो लागेको कारणले गर्दा नै पूर्ण रूपमा यसो भएको हुन्छ। यसरी, तिनीहरूले परमेश्‍वरका मागहरू पूरा गर्न सक्दैनन्। अर्को शब्दमा भन्‍नुपर्दा, यदि मानिसहरूले परमेश्‍वरलाई चिन्दैनन्, र उहाँको कार्यको बारेमा जान्दैनन् भने, तिनीहरू परमेश्‍वरको प्रयोगका लागि योग्य हुँदैनन्, तिनीहरूले उहाँको इच्छा पूरा गर्ने कुरा त परै जाओस्। “परमेश्‍वरमाथिको विश्‍वास” भनेको परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु हो; परमेश्‍वरमा विश्‍वास गर्ने सम्बन्धमा सबैभन्दा सरल अवधारणा यही हो। यसबाहेक, परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु भनेको परमेश्‍वरमा साँचो रूपले विश्‍वास गर्नु सरह होइन; बरु, यो बलियो धार्मिक धारणा सहितको साधारण विश्‍वास हो। परमेश्‍वरप्रतिको साँचो विश्‍वासको अर्थ निम्न हुन्छन्: परमेश्‍वरले सबै थोकमाथि सर्वाधिकार राख्नुहुन्छ भन्‍ने विश्‍वासको आधारमा कुनै व्यक्तिले उहाँका वचनहरू र उहाँको कार्यको अनुभव गर्छ, उसको आफ्नो भ्रष्ट स्वभावलाई शुद्ध पार्छ, परमेश्‍वरको इच्छा पूरा गर्छ, र परमेश्‍वरलाई चिन्छ। यस प्रकारको यात्रालाई मात्र “परमेश्‍वरमाथिको विश्‍वास” भन्न सकिन्छ। तापनि मानिसहरूले परमेश्‍वरमाथिको विश्‍वासलाई प्रायजसो एउटा साधारण र सानोतिनो कुराको रूपमा हेर्छन्। यस्तो प्रकारले परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ गुमाइसकेका हुन्छन्, र तिनीहरूले आखिरीसम्म विश्‍वास गरिरहे पनि, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैनन्, किनकि तिनीहरू गलत बाटोमा हिँड्छन्। आज वचन र खोक्रा सिद्धान्तहरू अनुसार परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू पनि अझै छन्। तिनीहरूले आफूमा परमेश्‍वरमाथिको विश्‍वासको सारको अभाव छ भनी बुझ्दैनन्, र तिनीहरूले परमेश्‍वरको अनुमोदन पाउन सक्दैनन्। तापनि अझै तिनीहरू सुरक्षा र पर्याप्त अनुग्रहका आशिष्‌हरूको लागि परमेश्‍वरसँग प्रार्थना गर्छन्। हामी रोकिएर, हाम्रो मन शान्त पारौं, अनि आफैलाई सोधौं: के परमेश्‍वरमा विश्‍वास गर्नु पृथ्वीको सबैभन्दा सजिलो कुरा हुन सक्छ? के परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरबाट असीम अनुग्रह पाउनु बाहेक अरू केही होइन भन्‍ने हुनसक्छ? के परमेश्‍वरलाई नचिनी उहाँमा विश्‍वास गर्ने वा परमेश्‍वरमा विश्‍वास गरे पनि उहाँको विरोध गर्ने मानिसहरूले साँच्चै उहाँको इच्छा पूरा गर्न सक्छन्?

परमेश्‍वर र मानिसको बारेमा उही शब्दहरू प्रयोग गरी बताउन सकिँदैन। उहाँको सार र उहाँको कार्य मानिसका लागि अति नै अथाह र बुझ्नै नसकिने हुन्छन्। यदि परमेश्‍वरले व्यक्तिगत रूपले आफ्नो कार्य नगर्नुभएको भए र मानिसको संसारमा उहाँका वचनहरू नबोल्‍नुभएको भए, मानिसले कहिल्यै पनि परमेश्‍वरको इच्छा बुझ्न सक्‍नेथिएन। त्यसैले, आफ्नो सम्पूर्ण जीवन परमेश्‍वरमा समर्पण गर्नेहरूले पनि उहाँको अनुमोदन प्राप्त गर्न सक्‍नेथिएनन्। यदि परमेश्‍वरले कामको योजना बनाउनुभएन भने, मानिसले त्यो काम जति नै राम्रो गरे पनि त्यो सब व्यर्थको हुनेछ, किनकि परमेश्‍वरका विचारहरू सधैँ मानिसका विचारहरूभन्दा उच्च हुन्छन्, र परमेश्‍वरको बुद्धि मानिसको समझभन्दा धेरै हुन्छ। यसैले म भन्छु कि जसले परमेश्‍वर र उहाँको कार्यलाई “पूर्ण रूपमा बुझेको” दाबी गर्छन्, तिनीहरू धेरै अयोग्य छन्; तिनीहरू सबै आफैमा अति विश्‍वस्त र अनभिज्ञ छन्। मानिसले परमेश्‍वरको कार्यलाई परिभाषित गर्नु हुँदैन; अझ भन्‍ने हो भने, मानिसले परमेश्‍वरको कार्यलाई परिभाषित गर्न सक्दैन। परमेश्‍वरको नजरमा, मानिस कमिलाजस्तै महत्त्वहीन छ; त्यसैले मानिसले कसरी परमेश्‍वरको कार्यलाई बुझ्न सक्छ र? जसले गर्वसाथ “परमेश्‍वरले यसरी वा त्यसरी कार्य गर्नुहुन्न” वा “परमेश्‍वर यस्तो वा त्यस्तो हुनुहुन्छ” भन्छन्—के उनीहरू अहङ्कारसाथ बोलिरहेका हुँदैनन् र? हामी सबैले जान्नुपर्छ कि देहबाट आएको मानिस शैतानद्वारा भ्रष्ट पारिएको छ। मानवजातिको स्वभाव नै परमेश्‍वरको विरोध गर्ने हुन्छ। मानवजाति परमेश्‍वरको बराबरी हुनै सक्दैन, परमेश्‍वरको कार्यमा मानवजातिले सल्लाह दिने कुरा त परै जाओस्। जहाँसम्‍म परमेश्‍वरले मानिसलाई कसरी डोऱ्याउनुहुन्छ भन्‍ने सवाल छ, यो परमेश्‍वर आफैले गर्नुहुने कार्य हो। मानिसले यो वा त्यो विचार व्यक्त नगरी अधीनमा बस्नु नै उचित हुन्छ, किनकि मानिस धुलो मात्र हो। परमेश्‍वरको खोजी गर्नु नै हाम्रो अभिप्राय भएकोले, हामीले हाम्रा धारणाहरूलाई परमेश्‍वरको ध्यान जाओस् भनी उहाँको कार्यमा थप्‍नु हुँदैन, हामीले जानीजानी परमेश्‍वरको कार्यको विरोध गर्न आफ्नो भ्रष्ट स्वभावको अधिकतम प्रयोग गर्ने कुरा त परै जाओस्। के त्यसले हामीलाई ख्रीष्ट-विरोधीहरू बनाउँदैन र? त्यस्ता मानिसहरूले कसरी परमेश्‍वरमा विश्‍वास गर्न सक्छन्? हामी परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्छौं, र हामी उहाँलाई सन्तुष्ट पार्न र उहाँलाई हेर्न चाहन्छौं, त्यसैले हामीले सत्यताको बाटो खोज्नुपर्दछ, र परमेश्‍वर अनुरूप हुने उपायको खोजी गर्नुपर्छ। हामी उहाँप्रतिको हठपूर्ण विरोधमा खडा हुनु हुँदैन। त्यस्तो कार्यबाट के भलाइ हुन सक्छ र?

आज, परमेश्‍वरले नयाँ काम गर्नुभएको छ। तैँले यी वचनहरू स्वीकार गर्न सक्दैनस् होला, र ती तँलाई अनौठो लाग्न सक्छ, तर म तँलाई तेरो स्वाभाविकता प्रकट नगर्ने सल्लाह दिन्छु, किनकि परमेश्‍वरको अगाडि साँच्चै धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरूले मात्र सत्यता प्राप्त गर्न सक्छन्, अनि जो वास्तवमा भक्त छन् तिनीहरूले मात्र उहाँद्वारा अन्तर्दृष्टि र मार्गनिर्देशन पाउन सक्छन्। प्रतिफलहरू गम्भीर शान्तिको साथ सत्यताको खोजी गरेर प्राप्त गरिन्छ, झगडा र विवाद गरेर होइन। जब म “आज, परमेश्‍वरले नयाँ काम गर्नुभएको छ” भन्छु, तब म परमेश्‍वर देहमा फर्कनुहुने बारेमा कुरा गरिरहेको हुन्छु। सायद, तैँले यी वचनहरूलाई वास्ता गर्दैनस् होला; सायद, तँ ती वचनहरूलाई तुच्छ ठान्छस् होला; वा सायद, तँलाई तिनमा ठूलो रुचि छ होला। जेसुकै भए पनि, परमेश्‍वरको देखापराइको साँचो तृष्णा गर्नेहरू सबैले हतारमा निष्कर्ष निकाल्‍नुभन्दा यस तथ्यलाई सामना गर्न सक्छन् र ध्यानपूर्वक जाँच गर्छन् भन्‍ने मेरो आशा छ; एक बुद्धिमान् व्यक्तिले त्यसै गर्नुपर्छ।

यस्तो कुरालाई जाँच्नु त्यत्ति कठिन कार्य होइन, तर यसका निम्ति हामी प्रत्येकले यो एउटा सत्यतालाई जान्नु आवश्यक हुन्छ: जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँले आफूले गर्न चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्‍वर देह बन्नुभएको हुनाले, उहाँ जे हुनुहुन्छ त्यो अभिव्यक्त गर्नुहुनेछ, र सत्यतालाई मानिसकहाँ ल्याउन, उसलाई जीवन दिन, र उसका लागि बाटो देखाउन सक्नुहुनेछ। परमेश्‍वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले प्रकट गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट पुष्टि गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो साँचो बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी पहिचान मुख्य कुरा बाहिरी स्वरूपभन्दा बरु, उहाँको सारमा निहित हुन्छ (उहाँको कार्य, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरूमा)। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र जाँच्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अनभिज्ञ छ भन्‍ने देखाउँछ। बाहिरी स्वरूपले सार निर्धारण गर्न सक्दैन; अझ भन्‍ने हो भने, परमेश्‍वरको कार्य मानिसका धारणाहरूसँग कहिल्यै पनि मेल खाँदैन। के येशूको बाहिरी स्वरूप मानिसको धारणाहरूभन्दा विपरीत थिएन र? के उहाँको अनुहार र पोसाकले उहाँको वास्तविक पहिचानलाई प्रस्तुत गर्न सक्थे र? के सुरु-सुरुका फरिसीहरूले येशूको बाहिरी स्वरूपलाई हेरेकाले र उहाँको मुखका वचनहरूलाई हृदयमा स्वीकार नगरेकाले उहाँको विरोध गरेका होइनन् र? म आशा गर्छु, परमेश्‍वरको देखा पर्ने घटनाको खोजी गर्ने प्रत्येक दाजुभाइ-दिदीबहिनीहरूले इतिहासको त्रासदी दोऱ्याउनेछैनन्। तैँले आधुनिक समयको फरिसी बनेर परमेश्‍वरलाई फेरि क्रूसमा टाँग्‍नु हुँदैन। तैँले परमेश्‍वरको पुनरागमनलाई कसरी स्वागत गर्नुपर्छ त्यो राम्ररी विचार गर्नुपर्छ, अनि सत्यताको अधीनमा बस्ने व्यक्ति कसरी बन्ने त्यस विषयमा स्पष्ट विचार हुनुपर्छ। येशू बादलमा सवार भएर फर्केर आउनुहुने दिनको प्रतीक्षा गर्ने सबैको जिम्मेवारी यही हो। हामीले आफ्ना आत्मिक आँखाहरूलाई स्पष्ट देख्‍ने बनाउनुपर्छ, अनि बढाइचढाइ गरिएका काल्पनिक शब्दहरूको दलदलमा फस्नु हुँदैन। हामीले परमेश्‍वरको व्यावहारिक कार्यको बारेमा सोच्नुपर्छ, र परमेश्‍वरको व्यावहारिक पक्षलाई हेर्नुपर्छ। तिमीहरू प्रभु येशू बादलमा सवार भएर अचानक तिमीहरूको बीचमा आउनुहुने, र उहाँलाई कहिल्यै नचिनेका र नदेखेका, र उहाँको इच्छा कसरी पूरा गर्नुपर्छ भनी नजानेका तिमीहरूलाई लैजानुहुने दिनको चाहनामा बगेर सधैँ अन्तै जाने नगर वा आफै दिवा सपनामा बगेर नजाओ। व्यावहारिक विषयहरूमा अझ बढी सोचविचार गर्नु नै राम्रो हुन्छ!

तैँले यो पुस्तक अनुसन्धान गर्ने उद्देश्यले वा स्वीकार गर्ने मनसायले खोलेको हुन सक्छस्; तेरो मनोवृत्ति जस्तोसुकै होस्, म आशा गर्दछु, तैँले यो अन्त्यसम्म पढ्नेछस्, र यसलाई सजिलै पन्छाउनेछैनस्। सायद, यी वचनहरू पढिसकेपछि तेरो मनोवृत्ति परिवर्तन हुनेछ, तर त्यो तेरो प्रेरणामा र तेरो समझको हदमा निर्भर रहन्छ। तापनि, तैँले एउटा कुरा जान्नुपर्छ: परमेश्‍वरको वचनलाई मानिसको वचन बनाउन सकिँदैन, मानिसको वचनलाई कसैले परमेश्‍वरको वचन बनाउने कुरा त परै जाओस्। परमेश्‍वरद्वारा प्रयोग गरिएको मानिस देहधारी परमेश्‍वर होइन, अनि देहधारी परमेश्‍वर परमेश्‍वरद्वारा प्रयोग गरिएको मानिस होइन। यसमा, एउटा आधारभूत भिन्नता हुन्छ। सायद, यी वचनहरू पढिसकेपछि तँ तिनलाई परमेश्‍वरका वचनहरू मान्दैनस्, तर मानिसले प्राप्त गरेको अन्तर्दृष्टि मात्र ठान्छस् होला। त्यस्तो अवस्थामा, तँ अज्ञानताले अन्धो भएको छस्। परमेश्‍वरको वचन कसरी मानिसले प्राप्त गरेको अन्तर्दृष्टि जस्तो हुन सक्छ? देहधारी परमेश्‍वरका वचनहरूले एउटा नयाँ युग सुरु गर्दछन्, सारा मानवजातिलाई डोऱ्याउँछन्, रहस्यहरू प्रकट गर्दछन्, र मानिसले त्यो नयाँ युगमा लिनुपर्ने दिशा देखाउँछन्। मानिसले प्राप्त गर्ने अन्तर्दृष्टि भनेको अभ्यास वा ज्ञानका लागि सरल निर्देशनहरू मात्र हुन्। यसले सम्पूर्ण मानवजातिलाई नयाँ युगमा डोऱ्याउन वा परमेश्‍वर स्वयमका रहस्यहरू प्रकट गर्न सक्दैन। आखिर, परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ, र मानिस मानिस नै हो। परमेश्‍वरसित परमेश्‍वरको सार छ, र मानिससित मानिसको सार छ। यदि मानिसले परमेश्‍वरले बोल्नुभएका वचनहरूलाई पवित्र आत्माले दिनुभएको सरल अन्तर्दृष्टिको रूपमा हेर्छ भने र प्रेरितहरू र अगमवक्ताहरूले बोलेका वचनलाई परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्नुभएको वचनको रूपमा लिन्छ भने, त्यो मानिसको गल्ती हुनेछ। जे भए पनि, तैँले कहिल्यै पनि सही र गलतलाई मिसाउनु हुँदैन, उच्चलाई निम्न बनाउनु हुँदैन, वा गम्भीरलाई हलुका बनाउनु हुँदैन; जे भए पनि तैँले जुन कुरा सत्य हो भनी जान्दछस् त्यसलाई जानीजानी खण्डन गर्नु हुँदैन। परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्ने सबैले सही दृष्टिकोणबाट समस्याहरू जाँच्नुपर्छ, र परमेश्‍वरको नयाँ कार्यलाई र उहाँका नयाँ वचनहरूलाई उहाँद्वारा सृष्टि गरिएको प्राणीको परिप्रेक्ष्यबाट स्वीकार गर्नुपर्छ; नत्र, तिनीहरूलाई परमेश्‍वरले हटाउनुहुनेछ।

यहोवाको कामपछि, येशू मानिसहरूको माझमा आफ्‍नो काम गर्न देह बन्नुभयो। उहाँको काम एकलै गरिएको थिएन, तर यहोवाको कामको जगमाथि निर्माण गरिएको थियो। यो एउटा नयाँ युगको निम्ति गरिएको काम थियो जुन परमेश्‍वरले व्यवस्थाको युग अन्त्य गर्नुभएपछि गर्नुभयो। त्यसरी नै, येशूको काम समाप्त भएपछि, परमेश्‍वर अर्को युगको लागि आफ्नो काम गर्न अघि बढ्नुभयो, किनकि परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन कार्य सधैँ अगाडि बढिरहेको हुन्छ। जब पुरानो युग बित्छ, त्यसको स्थानमा एउटा नयाँ युग आउँछ, अनि पुरानो काम पूरा भएपछि, परमेश्‍वरको व्यवस्थापनलाई निरन्तरता दिने नयाँ काम हुनेछ। यो देहधारण परमेश्‍वरको दोस्रो देहधारण हो, जसले येशूको कामलाई पछ्याउँछ। निश्चय, यो देहधारण स्वतन्त्र रूपमा हुँदैन; यो व्यवस्थाको युग र अनुग्रहको युगपछिको तेस्रो चरणको काम हो। प्रत्येक पल्ट जब परमेश्‍वरले कामको नयाँ चरण थाल्नुहुन्छ, तब सधैँ नयाँ सुरुवात हुनु पर्दछ र त्यसले सधैँ एउटा नयाँ युग ल्याउनु पर्दछ। त्यस्तै प्रकारले परमेश्‍वरको स्वभावमा, उहाँको काम गर्ने तरिकामा, उहाँको काम गर्ने स्थानमा र उहाँको नाउँमा पनि त्यही अनुरूप परिवर्तनहरू हुन्छन्। त्यसैले, नयाँ युगमा मानिसलाई परमेश्‍वरको काम स्वीकार गर्न गाह्रो हुनु कुनै अचम्म मान्नु पर्ने कुरा होइन। तर मानिसले जसरी उहाँको विरोध गरे पनि, परमेश्‍वरले सधैँ आफ्नो काम गरिरहनुभएको छ, र सारा मानवजातिलाई अगाडि बढाइरहनुभएको छ। जब येशू मानिसको संसारमा आउनुभयो, उहाँले अनुग्रहको युग सुरु गर्नुभयो र व्यवस्थाको युगको अन्त्य गर्नुभयो। आखिरी दिनहरूमा, परमेश्‍वर फेरि देह बन्नुभएको छ, र उहाँको देहधारणसितै उहाँले अनुग्रहको युग समाप्त गर्नुभयो र परमेश्‍वरको राज्यको युग सुरु गर्नुभयो। परमेश्‍वरको दोस्रो देहधारणलाई स्वीकार गर्न सक्नेहरू जति सबैलाई परमेश्‍वरको राज्यको युगमा डोऱ्याइनेछ, र यसबाहेक तिनीहरूले व्यक्तिगत रूपमा परमेश्‍वरको मार्गदर्शन स्वीकार गर्न सक्षम हुनेछन्। येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसका पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभएको छ, र सजाय अनि न्यायको काम सुरु गर्नुभएको छ। यो कामले मानिसलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा आउनेहरू सबैले अझ उच्च सत्यता प्राप्त गर्नेछन् र अझ ठूला आशिष्‌हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्।

यदि मानिसहरू अनुग्रहको युगमा अल्झिरहन्छन् भने, तिनीहरू आफ्नो भ्रष्ट स्वभावबाट कहिल्यै पनि मुक्त हुनेछैनन्, परमेश्‍वरको अन्तर्निहित स्वभाव जान्ने कुरा त परै जाओस्। यदि मानिसहरू जहिले पनि अनुग्रहको प्रशस्तताको बीचमा जिउँछन्, तर तिनीहरूसँग परमेश्‍वरलाई चिन्‍ने वा उहाँलाई सन्तुष्ट पार्ने जीवनको बाटो छैन भने, तिनीहरूले उहाँमाथिको आफ्नो विश्‍वासमा उहाँलाई साँच्चिकै प्राप्त गर्न सक्नेछैनन्। यस किसिमको विश्‍वास वास्तवमै दयनीय हुन्छ। जब तैँले यो पुस्तक पढिसक्छस्, जब तैँले राज्यको युगको देहधारी परमेश्‍वरको कामको प्रत्येक चरणको अनुभव गरेको हुनेछस्, तब धेरै वर्षदेखिका तेरा इच्छाहरू अन्त्यमा साकार भएको महसुस गर्नेछस्। तैँले अहिले मात्र साँच्चै परमेश्‍वरलाई आमनेसामने देखेको, अहिले मात्र उहाँको मुहार एक टक लाएर हेरेको, उहाँको व्यक्तिगत वाणी सुनेको, उहाँको कामको बुद्धिलाई कदर गरेको र उहाँ कति वास्तविक र सर्वशक्तिमान् हुनुहुन्छ भनी जानेको महसुस गर्नेछस्। तैँले विगतका मानिसहरूले नदेखेका र उनीहरूसित नभएका धेरै थोकहरू प्राप्त गरेको महसुस गर्नेछस्। यस बेला, तैँले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो र परमेश्‍वरको इच्छा अनुरूप हुनु भनेको के हो त्यो स्पष्ट रूपमा जान्नेछस्। निश्चय नै, यदि तँ विगतका दृष्टिकोणहरूमा अल्झिबसिस्, र परमेश्‍वरको दोस्रो देहधारणको तथ्यलाई इन्कार वा अस्वीकार गरिस् भने, तँ खाली हात रहनेछस्, तैँले केही पनि प्राप्त गर्नेछैनस्, र अन्त्यमा तँ परमेश्‍वरको विरोध गरेकोमा दोषी ठहरिनेछस्। सत्यतालाई पालन गर्न र परमेश्‍वरको कामको अधीनमा बस्न सक्‍नेहरूलाई दोस्रो देहधारी परमेश्‍वर—सर्वशक्तिमानको नाउँमा दाबी गरिनेछ। तिनीहरूले परमेश्‍वरको व्यक्तिगत मार्गदर्शन स्वीकार गर्न, अझ धेरै र उच्च सत्यताहरू, साथै वास्तविक जीवन पनि प्राप्त गर्न सक्नेछन्। तिनीहरूले विगतका कुनै मानिसहरूले नदेखेको दर्शन देख्नेछन्: “अनि मसँग बोल्‍ने आवाजलाई हेर्न म फर्केँ। र फर्केपछि, मैले सुनका सात वटा सामदान; र सात वटा सामदानको बीचमा मानिसको पुत्रजस्तै, पाउसम्मै कपडा लगाउनुभएको र छातीमा सुनको फिता कस्‍नुभएको एक जनालाई देखेँ। उहाँको शिर र उहाँका केश ऊनजस्ता सेता, हिउँ जत्तिकै सेता थिए; र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता थिए; र उहाँका पाउहरू आगोको भट्टीमा जलाइएका उत्तम पित्तलजस्ता थिए; र उहाँको आवाज धेरै पानीको आवाजजस्तो थियो। अनि उहाँको दाहिने हातमा सात वटा तारा थिए: र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो: र उहाँको मुहार आफ्नो शक्तिमा चम्कने सूर्यजस्तै थियो” (प्रकाश १:१२-१६)। यो दर्शन परमेश्‍वरको सम्पूर्ण स्वभावको अभिव्यक्ति हो, र उहाँको सम्पूर्ण स्वभावको अभिव्यक्ति उहाँको वर्तमान देहधारणमा प्रकट हुने परमेश्‍वरको कार्यको अभिव्यक्ति पनि हो। सजाय र न्यायको प्रवाहमा, मानिसको पुत्रले वाणीहरूका माध्यमद्वारा आफ्नो अन्तर्निहित स्वभाव प्रकट गर्नुहुन्छ, उहाँको सजाय र न्यायलाई स्वीकार गर्ने सबैलाई मानिसको पुत्रको वास्तविक अनुहार देखाउनुहुन्छ, जुन यूहन्नाले देखेको मानिसको पुत्रको अनुहारको एक विश्‍वसनीय अनुहारको चित्रण हो। (निस्सन्देह, यी सबै कुरा तिनीहरूका निम्ति अदृश्य हुनेछन् जसले राज्यको युगमा हुने परमेश्‍वरको कामलाई स्वीकार गर्दैनन्।) परमेश्‍वरको वास्तविक अनुहार मानव भाषा प्रयोग गरेर पूर्ण रूपमा वर्णन गर्न सकिँदैन, त्यसैले परमेश्‍वरले मानिसलाई उहाँको वास्तविक अनुहार देखाउन त्यस्ता माध्यमहरू प्रयोग गर्नुहुन्छ जसद्वारा उहाँले अन्तर्निहित स्वभाव व्यक्त गर्नुहुन्छ। भन्न खोजेको के हो भने, मानिसको पुत्रको अन्तर्निहित स्वभावको कदर गर्ने सबैले मानिसको पुत्रको वास्तविक अनुहार देखेका हुन्छन्, किनकि परमेश्‍वर अति महान् हुनुहुन्छ र मानव भाषा प्रयोग गरेर उहाँलाई पूर्ण रूपमा बुझ्‍न सकिँदैन। मानिसले राज्यको युगको परमेश्‍वरको कामको प्रत्येक चरणको अनुभव गरेपछि, उसले यूहन्नाले सामदानहरूको माझमा हुनुभएको मानिसको पुत्रको बारेमा भनेका कुराहरूको सही अर्थ बुझ्नेछ: “उहाँको शिर र उहाँका केश ऊनजस्ता सेता, हिउँ जत्तिकै सेता थिए; र उहाँका आँखाहरू आगोका ज्वालाजस्ता थिए; र उहाँका पाउहरू आगोको भट्टीमा जलाइएका उत्तम पित्तलजस्ता थिए; र उहाँको आवाज धेरै पानीको आवाजजस्तो थियो। अनि उहाँको दाहिने हातमा सात वटा तारा थिए: र उहाँको मुखबाट धारिलो दुईधारे तरवार निस्केको थियो: र उहाँको मुहार आफ्नो शक्तिमा चम्कने सूर्यजस्तै थियो।” त्यस समय, तँलाई बिनाशङ्का यो थाहा हुनेछ कि यो साधारण मानिस, जसले धेरै कुरा भन्‍नुभएको छ, उहाँ निसन्देह दोस्रो देहधारी परमेश्‍वर हुनुहुन्छ। यस बाहेक, तैँले आफू कति आशिषित रहेछु भनी साँच्चिकै थाहा पाउनेछस्, र आफैलाई सबैभन्दा भाग्यमानी भएको महसुस गर्नेछस्। के तँ यो आशिष् स्वीकार गर्न तयार छैनस्?

यो पुस्तकको पहिलो भाग “प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू” हो। यी वचनहरूले अनुग्रहको युगको अन्त्यदेखि राज्यको युगको सुरुवातसम्मको परिवर्तनलाई प्रतिनिधित्व गर्छन्, र ती पवित्र आत्माले मण्डलीहरूलाई मानिसको पुत्रको बारेमा दिनुभएको सार्वजनिक गवाही हुन्। यी वचनहरू प्रकाशको पुस्तकका यी वचनहरूको पूर्णता पनि हुन्: “आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्।” यी वचनहरूले परमेश्‍वरले राज्यको युगमा सुरु गर्नुभएको प्रारम्‍भिक चरणको कामलाई प्रतिनिधित्व गर्छन्। यो पुस्तकको दोस्रो भाग मानिसको पुत्रले आफूलाई औपचारिक रूपमा प्रकट गर्नुभएपछि उहाँले व्यक्तिगत रूपमा बोल्‍नुभएका वचनहरूद्वारा निर्मित छ। यसमा विभिन्‍न प्रकारका वाणीहरू र वचनहरू समावेश छन्, यस छनोटमा विभिन्न प्रकारका वाणीहरू र वचनहरू सामेल छन्, जस्तै अगमवाणी, रहस्यहरूको प्रकाश, र जीवनको बाटो, जसको विषयवस्तु एकदम समृद्ध छ—त्यहाँ राज्यको भविष्यका लागि दिइएका अगमवाणीहरू, परमेश्‍वरको व्यवस्थापन योजनाका रहस्यहरूका प्रकाशहरू, मानव स्वभावको विश्लेषण, उत्साहहरू र चेतावनीहरू, कठोर न्यायहरू, सान्त्वनाका हृदयस्पर्शी वचनहरू, जीवनको चर्चा, प्रवेश गर्ने विषयमा उपदेश, र यस्तै अन्य कुराहरू छन्। संक्षेपमा भन्नुपर्दा, परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, साथै परमेश्‍वरको स्वभाव सबै उहाँको काम र उहाँका वचनहरूमा व्यक्त गरिएका छन्। निश्चय नै, वर्तमान देहधारणमा परमेश्‍वरको काम मुख्यत: सजाय र न्यायको माध्यमद्वारा उहाँको स्वभाव व्यक्त गर्नु हो। यही जगका आधारमा, उहाँले मानिसमा अझ धेरै सत्यता ल्याउनुहुन्छ, र उसलाई अभ्यास गर्ने अझ धेरै तरिकाहरू देखाउनुहुन्छ, त्यसरी मानिसलाई जित्ने र उसको आफ्नै भ्रष्ट स्वभावबाट उसलाई मुक्त गर्ने उहाँको उद्देश्य प्राप्त गर्नुहुन्छ। राज्यका युगमा परमेश्‍वरको कामको पछाडि यही नै लुकेको हुन्छ। के तँ नयाँ युगमा प्रवेश गर्न चाहन्छस्? के तँ आफ्नो भ्रष्ट स्वभावबाट आफूलाई मुक्त गर्न चाहन्छस्? के तँ अझ उच्च सत्यता प्राप्त गर्न चाहन्छस्? के तँ मानिसको पुत्रको वास्तविक अनुहार हेर्न चाहन्छस्? के तँ यो जीवनलाई महत्त्वपूर्ण बनाउन चाहन्छस्? के तँ परमेश्‍वरद्वारा सिद्ध बनाइन चाहन्छस्? त्यसोभए तैँले येशूको पुनरागमनलाई कसरी स्वागत गर्न लागेको छस्?

अर्को: परिचय

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्