अध्याय ३८

मानवजातिको अन्तर्निहित गुणहरूलाई, अर्थात्, मानवजातिको साँचो अनुहारलाई ध्यानमा राखी हेर्दा, आजको दिनसम्‍म अघि बढ्न सक्नु त्यति सहज रहेन, र यसद्वारा मात्रै परमेश्‍वरको महान् शक्ति साँचो रूपमा स्पष्ट भएको छ। देहको सारलाई, साथै अहिलेसम्‍म मानिसलाई ठूलो रातो अजिङ्गरले भ्रष्ट तुल्याएको तथ्यलाई ध्यानमा राखी हेर्दा, यदि परमेश्‍वरका आत्माको अगुवाइ नपाएको भए, ऊ कसरी आजको दिनसम्‍म खडा भइरहन सक्थ्यो र? मानिस परमेश्‍वरको सामु आउन योग्य छैन, तर उहाँको व्यवस्थापनको खातिर र ढिला हुनुभन्दा पहिले नै उहाँको महान् कामलाई पूरा गर्नको लागि, परमेश्‍वरले मानवजातिलाई प्रेम गर्नुहुन्छ। साँचो भन्ने हो भने, मानवजातिप्रतिको परमेश्‍वरको प्रेम कुनै पनि मानिसले आफ्‍नो जीवनकालमा पैँचो तिर्न नसक्‍ने कुरा हो। सायद आफ्‍नो जीवन बलिदान गरेर परमेश्‍वरको अनुग्रहको ऋण तिर्न चाहने केही छन् होला, तर म तँलाई भन्छु: मानिस परमेश्‍वरको अघि मर्न अयोग्य छ, त्यसकारण उसको मृत्यु व्यर्थ हुनेछ। किनभने परमेश्‍वरको नजरमा, मानिसको मृत्यु उल्‍लेख गर्न पनि लायक छैन, भूइँमा मरेको कमिलाको जस्तै यसको एक पैसाको पनि मूल्य हुँदैन। म मानवजातिलाई आफूलाई त्यति धेरै मूल्यवान् नठान्‍न, र परमेश्‍वरको लागि मर्दा यसको बोझ ताइ पर्वतको जस्तै हुन्छ भनेर नसोच्‍न सल्‍लाह दिन्छु। वास्तवमा, मानिसको मृत्यु प्वाँख जस्तै हल्‍का छ, त्यो उल्‍लेख गर्न समेत योग्य छैन। फेरि, मानिसको देह प्रकृतिले नै मर्ने पनि निश्‍चित छ, त्यसकारण आखिरमा पृथ्वीमा भौतिक शरीरको अन्त्य हुनैपर्छ। यो साँचो तथ्य हो, जसलाई कसैले पनि नकार्न सक्दैन। यो मैले मानव जीवनको अनुभवको सम्पूर्णताबाट प्राप्त गरेको “प्रकृतिको नियम” हो, त्यसकारण मानिसलाई थाहै नभई परमेश्‍वरले मानिसको अन्त्य यसरी तोकिदिनुभएको छ। के तैँले बुझिस्? परमेश्‍वरले भन्‍नुभएका यी वचनहरू स्वाभाविकै हुन्, “म मानवजातिको अवज्ञालाई घृणा गर्छु। किन हो भन्‍ने मलाई थाहा छैन; यस्तो लाग्छ मैले मानिसलाई सुरुदेखि नै घृणा गरेको छु, तैपनि मलाई उप्रति गहन सहानुभूति छ। तसर्थ, मैले मानिसहरूलाई सधैँ मप्रति दुई प्रकारको मनोवृत्ति धारण गर्ने तुल्याएको छु—किनभने म मानिसलाई प्रेम गर्छु, र म उसलाई घृणा पनि गर्छु।”

कसले परमेश्‍वरलाई उहाँको उपस्थिति वा उहाँको देखापराइको लागि प्रशंसा गर्दैन? यस बेला, यो अवस्था यस्तो छ मानौं मैले मानिसभित्रको अपवित्रता र अधर्मलाई पूर्ण रूपमा बिर्सेको छु। म मानवजातिको आत्म-धार्मिकता, अहमता, अवज्ञा, विरोध, र तिनीहरूका सबै विद्रोहीपनलाई लिन्छु र तिनलाई मेरो मस्तिष्कको पछिल्‍लो भागमा राखेर बिर्सिदिन्छु। मानवजाति के हो भन्‍ने सम्‍बन्धी यी अवस्थाहरूको कारण परमेश्‍वर विवशतामा पर्नुहुन्न। म पनि परमेश्‍वरजस्तै “उही कष्टमा सहभागी भएको हुनाले,” म पनि यो समस्याबाट आफूलाई मुक्त गर्छु, नत्र म थप रूपमा मानिसको बन्धनमा पर्नेछु। किन यी सबै झमेलामा पर्ने? मानिस मसँग परमेश्‍वरको परिवारमा सहभागी हुन अनिच्छुक भएको हुनाले, मैले तिनीहरूलाई जबरजस्ती गर्न कसरी मेरो शक्तिको प्रयोग गर्न सक्छु र? मानवजातिको निम्ति उत्पीडक कामहरू म गर्दिन, र यसमा कुनै आश्‍चर्य छैन कि, म परमेश्‍वरको घरानामा जन्‍मेको हुनाले, मानिस र म सधैँ फरक छौं। यसले उसलाई उसको आजको विवश हारको स्थितिमा पुर्‍याएको छ। तर म मानिसका कमजोरीहरूको लागि ठूलो आड दिने कार्यलाई जारी राख्छु; मसँग के विकल्‍प छ र? के म विवश भएकोले होइन र? परमेश्‍वर मानवजातिको “कार्य एकाइ” बाट “अवकाश लिने” चाहनुहुन्छ, र उहाँले “पेन्सन” माग गर्नुहुन्छ भन्‍ने कुरामा कुनै आश्‍चर्य छैन। जब म मानिसको दृष्टिकोणबाट बोल्छु, मानिसले मेरो कुरा सुन्दैन, तर के म परमेश्‍वरको दृष्टिकोणबाट बोल्दा समेत मानिसले कहिल्यै आज्ञा उल्‍लङ्घन गर्न छोडेको छ र? सायद, परमेश्‍वरले मानवजातिको “कार्य एकाइ” बाट अचानक “अवकाश लिने” दिन आउनेछ, अनि जब त्यो समय आउँछ, परमेश्‍वरको वचन अझै कठोर बन्‍नेछ। आज, सायद मेरो कारणले गर्दा परमेश्‍वर यसरी बोल्‍नुहुन्छ, अनि, यदि त्यो दिन आयो भने, परमेश्‍वर मजस्तो बिस्तारै र धैर्यताका साथ “किन्डरगार्टेनका बच्चाहरूलाई कथा सुनाउने” बन्‍नुहुनेछैन। सायद मैले भनेको कुरा त्यति उचित नहोला, तर देहधारी परमेश्‍वरको कारणले गर्दा मात्रै परमेश्‍वरले मानिसमाथिको आफ्‍नो पकडलाई थोरै खुकुलो पार्न इच्‍छुक हुनुहुन्छ; अन्यथा, यसको परिणाम कल्‍पना गर्न पनि अत्यन्तै भयानक हुनेथियो। परमेश्‍वरले भन्‍नुभएकै छ, “मैले एक पटक मानिसहरूलाई तिनीहरूको देहका इच्‍छाहरूमा स्वतन्त्र भई लिप्त हुन दिँदै निश्‍चित हदसम्‍म तिनीहरूमाथिको पकडलाई खुकुलो बनाएको थिएँ—अनि यसैको कारण तिनीहरूले कुनै संयमता नअपनाई बेलगाम रूपमा व्यवहार गर्ने आँट गरे, जसबाट तिनीहरूले मलाई साँचो रूपमा प्रेम गर्दैनन् भन्‍ने देखिन्छ, किनभने तिनीहरू सबै देहमा जिइरहेका छन्।” परमेश्‍वरले यहाँ किन “तिनीहरूको इच्‍छाहरूमा लिप्त हुन,” र “देहमा जिइरहेका छन्” भनेर भन्‍नुहुन्छ? साँचो भन्ने हो भने, मानिसले मेरो अर्थ-अनुवादविना नै यी वचनहरूलाई प्राकृतिक रूपमा बुझ्‍नेछन्। सायद हामी बुझ्दैनौं भन्‍ने कतिपय छन् होलान्, तर म भन्छु, यो त पहिले नै उत्तर थाहा भएर पनि, बहाना बनाउने कार्य हो। स्मरणका केही शब्‍दहरू: परमेश्‍वरले, “मैले मानिसलाई माग्‍ने भनेको उसले मसँग सहकार्य गरोस् भन्‍ने मात्रै हो” भनेर किन भन्‍नुहुन्छ? किन परमेश्‍वरले मानव प्रकृति परिवर्तन गर्न कठिन छ भनेर भन्‍नुहुन्छ? परमेश्‍वरले किन मानव प्रकृतिलाई यति घृणा गर्नुहुन्छ? मानव प्रकृतिका कुराहरू वास्तवमा के-के हुन्? मानव प्रकृतिभन्दा बाहिरका कुराहरू के-के हुन्? के यी प्रश्‍नहरूलाई चिन्तन गरेको व्यक्ति कोही छ? सायद यो मानिसको लागि नयाँ विषय होला, तर यसलाई राम्ररी विचार गर्न म मानिसलाई अनुरोध गर्छु, नत्र त मानिसले “मानव प्रकृति परिवर्तन गर्न कठिन छ” भन्नेजस्ता वाक्यांशहरूले परमेश्‍वरलाई सधैँ चिढ्याउनेछन्। त्यसरी उहाँको विरुद्धमा जानुको के अर्थ हुन्छ? आखिर, के यो समस्या निम्त्याउन खोज्नु होइन र? के यसको अन्त्य ढुङ्गामा फ्याँकिएको अन्डाको जस्तै हुनेछैन र?

वास्तविकतामा, मानिसलाई दिइने सबै जाँच र परीक्षाहरू परमेश्‍वरले मानिसलाई सिक्‍न लगाउनुहुने पाठहरू हुन्। परमेश्‍वरको अभिप्रायअनुसार, मानिसले यी कुराहरू हासिल गर्न सक्छ, चाहे त्यसको लागि उसले आफूले प्रेम गरेको कुरालाई बलिदान दिनु नै किन नपरोस्, तर मानिसले सधैँ आफूलाई नै प्रेम गर्ने हुनाले, उसले साँचो रूपमा परमेश्‍वरसँग सहकार्य गर्न सक्दैन। परमेश्‍वरले मानिसबाट त्यति धेरै कुरा माग्‍नुहुन्‍न! उहाँले मानिसबाट माग्‍नुहुने सबै कुरा सहजै र खुशीसाथ हासिल गरिने कुरा हुन्; यति मात्रै हो कि, मानिस कठिनाइ भोग्‍न इच्‍छुक छँदै छैन। कसैको सन्तान भएपछि, व्यक्तिले आफ्‍नो बाबुआमाको हेरचाह गर्नको लागि मितव्ययी ढङ्गले जिएर अनि बचत गरेर आफ्‍नो कर्तव्य पूरा गर्न सक्छ। तैपनि तिनीहरूलाई आफूले राम्ररी खान पाउनेछैन, वा आफ्नो वस्‍त्र अत्यन्तै सरल हुनेछ भन्‍ने डर हुन्छ, त्यसकारण, कुनै न कुनै कारणले, तिनीहरूले आफ्‍नो आमाबाबुको प्रेमिलो हेरचाहको निम्ति तिर्नुपर्ने ऋण पूरै बिर्सन्छन्, मानौं आमाबाबुलाई हेरचाह गर्ने कामले बच्चाले करोडौँ कमाउञ्‍जेल पर्खिरहन सक्छ। यसमा म के देख्छु भने मानिसहरूको हृदयमा आमाबाबुप्रति कुनै सन्तानोचित प्रेम हुँदैन—तिनीहरू सबै सन्तानोचित प्रेमविनाका छोराहरू हुन्। सायद मेरो अभिव्यक्ति अत्यन्तै चरम होला, तर तथ्यहरूको सामुन्ने म निरर्थक कुरा बोल्‍न सक्दिन। आफूलाई सन्तुष्ट तुल्याउनको खातिर म परमेश्‍वरलाई विरोध गर्न “अरूको अनुकरण गर्न” सक्दिन। पृथ्वीको कुनै पनि मानिससँग सन्तान-प्रेमी हृदय नभएको हुनाले नै परमेश्‍वरले भन्‍नुभयो: “स्वर्गमा, मेरो शत्रु शैतान नै हो; पृथ्वीमा, मेरो शत्रु मानिस नै हो। स्वर्ग र पृथ्वीबीचको एकताको कारण, म तिनीहरू सबैलाई नौं पुस्तासम्‍म दोषी ठहर्‍याउनेछु।” शैतान परमेश्‍वरको शत्रु हो; परमेश्‍वरले त्यसो भन्‍नुको कारण के हो भने यसले परमेश्‍वरलाई उहाँको महान् निगाह र दयाको ऋण तिर्दैन, बरु यसले त “उल्टो चाल चल्छ” र त्यसो गर्नै क्रममा, परमेश्‍वरप्रति सन्तानीय भक्ति देखाउने आफ्‍नो कर्तव्य पूरा गर्दैन। के मानिसहरू यस्तै छैनन् र? तिनीहरूले आफ्‍ना “बाबुआमा” प्रति कुनै सन्तानोचित आदर देखाउँदैनन् र तिनीहरूले आफ्‍ना “बाबुआमा” को प्रेमिलो हेरचाहको बदलामा तिर्नुपर्ने ऋण कहिल्यै तिर्दैनन्। पृथ्वीका मानिसहरू स्वर्गको शैतानकै वंशका हुन् भन्‍ने कुरालाई देखाउन यो नै पर्याप्त छ। परमेश्‍वरलाई विरोध गर्ने क्रममा मानिस र शैतान एउटै मन र एउटै मस्तिष्कका हुन्छन्, त्यसकारण परमेश्‍वरले तिनीहरूलाई नौं पुस्तासम्‍म दण्ड दिनुहुनेछ र कसैलाई माफी दिनुहुनेछैन भन्‍ने कुरामा कुनै आश्‍चर्य छैन। विगतमा, परमेश्‍वरले स्वर्गका आफ्‍ना समर्पित सेवकलाई मानवजातिको व्यवस्थापन गर्न लगाउनुभयो, तर यसले आज्ञापालन गरेन, बरु आफ्‍नै रिस र विद्रोहमा लिप्त भयो। के विद्रोही मानवजाति पनि यही मार्गमा अघि बढिरहेको छैन र? परमेश्‍वरले “लगाम” जति कसिलो गर्नुभए पनि, मानिसहरू झकझकिनेछैनन् र आफ्नो मार्गबाट फर्कन सक्नेछैनन्। मेरो दृष्टिकोणमा, यदि मानवजातिले यही कार्यलाई जारी राख्‍ने हो भने, तिनीहरूले आफ्‍नै बरबादी निम्त्याउनेछन्। सायद अब तैँले परमेश्‍वरका यी वचनहरूको साँचो अर्थ बुझिस् होला: “मानिसहरूले आफ्‍नो पुरानो प्रकृतिसँगको रहिरहेको सम्‍बन्धलाई तोड्न सक्दैनन्।” परमेश्‍वरले मानिसलाई धेरै पटक यो कुरा स्मरण गराउनुभएको छ: “मानिसको अवज्ञाको कारण, म उसलाई त्याग्‍नेछु।” परमेश्‍वरले किन बारम्‍बार यो कुरा भन्‍नुहुन्छ? के परमेश्‍वर साँच्‍चै त्यति निर्दयी हुन सक्‍नुहुन्छ? परमेश्‍वरले “म मानवजाति मध्येको एक होइन” भनेर पनि किन भन्‍नुहुन्छ? धेरै फोकट दिनहरूमा, यी विस्तृत कुराहरूलाई होसियारीसाथ विचार गर्ने कोही छ? म मानवजातिलाई आफूमा परमेश्‍वरका वचनहरू अझै ठूलो जोसका साथ लागू गर्न र तिनलाई झारातिरुवा शैलीमा नलिन आग्रह गर्छु; त्यस्तो झारातिरुवा शैलीले तँलाई वा अरू कसैलाई पनि फाइदा पुर्‍याउँदैन। जुन कुरा भन्‍नु आवश्यक छैन त्यो कुरा नभन्‍नु नै राम्रो हुन्छ, र सोच्न आवश्यक नरहेको कुरा नसोच्‍नु नै राम्रो हुन्छ। के यो अझै सरल हुनेथिएन र? त्यस्तो अभ्यासबाट के गलत कुरा आउन सक्छ र? परमेश्‍वरले पृथ्वीको आफ्‍नो काम समाप्त भएको घोषणा गर्नुभन्दा पहिले, कसैले पनि “अघि बढ्ने कार्य” लाई रोक्‍नु हुँदैन; कसैले पनि आफ्‍नो कर्तव्यप्रति हात धुनु हुँदैन। अहिले त्यसो गर्ने समय होइन; परमेश्‍वरको लागि पथप्रदर्शक वा नेतृत्वकर्ताको काम गर्ने साहस नगर। अहिले नै रोकिनु र अघि बढ्न छोड्नु एकदमै चाँडो हुन्छ—तँलाई के लाग्छ?

परमेश्‍वरले मानवजातिलाई सजायको बीचमा ल्याउनुहुन्छ, र उहाँले तिनीहरूलाई मृत्युको वातावरणमा ल्याउनुहुन्छ, तैपनि, यसको विपरीत, परमेश्‍वरले मानिसलाई पृथ्वीमा के गर्न लगाउनुहुन्छ? अवश्य नै, मानिसको उद्देश्य भनेको परमेश्‍वरको घरमा दराजको काम गर्नु होइन—यस्तो वस्तु जसलाई खान वा लगाउन सकिँदैन, हेर्न मात्रै सकिन्छ। यदि त्यस्तो भएको भए त, मानिसहरूलाई देहमा त्यति धेरै कष्ट भोगाउन किन त्यति धेरै जटिल प्रक्रियाहरू प्रयोग गर्नुपर्थ्यो र? परमेश्‍वर भन्‍नुहुन्छ, “म मानिसलाई ‘मृत्युदण्ड दिइने ठाउँ’ मा लैजान्छु, किनभने मानिसको अपराध मेरो सजाय पाउनको लागि पर्याप्त छ।” के परमेश्‍वरले यस पटक मानिसहरूलाई आफै मृत्युदण्ड दिने ठाउँमा जान दिनुहुन्छ? किन कसैले पनि “उहाँको कृपाको लागि बिन्ती” गर्दैन? त्यसो भए, मानिसले कसरी सहकार्य गर्नुपर्छ? के परमेश्‍वरले न्याय गर्नुहुँदा मानिसले भावनाको प्रभावमा नआई परमेश्‍वरले जस्तै व्यवहार गर्न सक्छ? यी वचनहरूको प्रभावकारिता, मानिसले कसरी व्यवहार गर्छ भन्‍ने कुरामा नै मुख्य रूपमा निर्भर हुन्छ। जब बाबुले आफूले कमाएको पैसा घर लिएर आउँछ, तब यदि उसँग कसरी सहकार्य गर्ने वा परिवारको व्यवस्थापन कसरी गर्ने भन्‍ने कुरा आमालाई थाहा हुँदैन भने, त्यो घरको स्थिति कस्तो हुनेछ? अहिले मण्डलीको अवस्थालाई हेर: अगुवाहरूका रूपमा तिमीहरूलाई यसको बारेमा कस्तो अनुभूति हुन्छ? तिमीहरूले आफ्‍ना व्यक्तिगत मननहरूको बारेमा छलफल गर्न भेला आयोजना गर्दा राम्रो हुन्छ। यदि आमाले घरका कुराहरू बरबाद गरेकी छिन् भने, त्यस्तो परिवारका छोराछोरी कस्ता हुनेछन्? टुहुरा-टुहुरीजस्ता? कि भिखारीजस्ता? परमेश्‍वरले यसो भन्‍नुभएको स्वाभाविकै हो: “सबै मानिसहरूले मेरो प्रकृति ईश्‍वरीय प्रकृति हो जसमा ‘बौद्धिक गुण’ को कमी छ भन्‍ने ठान्छन्, तर मेरो मानवताद्वारा म सबै कुरा देख्‍न सक्छु भन्‍ने कुरालाई कसले बुझ्‍न सक्छ?” किनभने त्यस्तो स्पष्ट अवस्थामा, परमेश्‍वरले उहाँको ईश्‍वरीयताबाट बोल्‍नुपर्ने कुनै आवश्यकता छैन। यो त परमेश्‍वरले भन्‍नुभएको यो वचन जस्तै हो, “काँटी ठोक्‍नको लागि ढुङ्गा फुटाउने घनको प्रयोग गर्नुपर्ने कुनै आवश्यकता छैन।” सायद, यस पटक “मानिसहरूका बीचमा, मलाई प्रेम गर्ने कोही पनि छैन” भन्‍ने परमेश्‍वरको उक्तिको बारेमा केही व्यावहारिक अनुभव पाएका कतिपय मानिसहरू छन्। यस बिन्दुमा, यो कुरा परमेश्‍वरले भन्‍नुभएको जस्तै छ: “तिनीहरू मामलाहरूको वर्तमान स्थितिमा आइपुगेका हुनाले, मानिसहरू सबैले मन नलागी-नलागी आफ्‍नो शिर झुकाउँछन्—तर तिनीहरूको हृदयमा, तिनीहरू अविश्‍वस्त अवस्थामा नै रहन्छन्।” यी वचनहरू दूरबीन जस्तै छन्। भविष्यमा चाँडै नै, मानिस अर्को परिस्थितिमा हिँडिसकेको हुनेछ। सुधार हुन नसक्‍नु भनेको यही हो। के तिमीहरूले यो कुरा बुझ्यौ? परमेश्‍वरका यी दुई प्रश्‍नहरूको उत्तर यही हो: “के म गइहाल्‍नेछु भनेर डराएको कारण मात्रै मानिसहरू पापबाट अलग बस्दैनन् र? तिनीहरूले सजायको डर मान्‍ने हुनाले मात्रै तिनीहरूले गुनासो गर्दैनन् भन्‍ने कुरा साँचो होइन र?” वास्तवमा, वर्तमान चरणका मानिसहरू सबै केही हदसम्‍म सुस्त छन्, मानौं तिनीहरू थकाइले शिथिल भएका छन्। तिनीहरू परमेश्‍वरको काममा ध्यान दिने मनस्थितिमा छँदै छैनन्, बरु तिनीहरू आफ्‍नै देहको खातिर बन्दोबस्‍त र प्रावधानहरू गर्ने कार्यमा मात्रै लागिपरेका छन्। कुरा यही हो नि, होइन त?

अघिल्लो: अध्याय ३६

अर्को: अध्याय ३९

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वर स्वयम् अद्वितीय ७

सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ (१)परमेश्‍वरको अख्तियार, परमेश्‍वरको धर्मी स्वभाव, र परमेश्‍वरको पवित्रताको संक्षिप्त...

परमेश्‍वर स्वयम् अद्वितीय ८

सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ (२)हामी हाम्रो पछिल्लो विषयको सङ्गतिलाई निरन्तरता दिनेछौं। हाम्रो गत सङ्‍गतिको विषय के...

राज्यको स्तुतिगान

भीडहरूले मेरो जयजयकार गर्छन्, भीडहरूले मेरो प्रशंसा गर्छन्; सबै मुखले एउटै साँचो परमेश्‍वरको नाउँ लिन्छन्, सबै मानिसहरूले मेरा कामहरू हेर्न...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्