सत्यता कसरी पछ्याउने (८)

विगतका दिनहरूमा, हाम्रो सङ्गति विभिन्‍न पक्षहरूमा क्षमता कसरी खुट्ट्याउने भन्‍ने शीर्षकमा थियो, होइन? (हो।) क्षमताका विभिन्‍न पक्ष र स्तरहरूका विशिष्ट प्रकटीकरणहरूबारे हाम्रो सङ्गतिबाट, के तिमीहरू असल क्षमता के हो, औसत क्षमता के हो, कमजोर क्षमता के हो, र क्षमताको पूर्ण अभाव हुनु के हो भनेर सारांश गर्न सक्छौ? हामीले यस पक्षबारे निकै धेरै सङ्गति गरेका छौँ, त्यसकारण तिमीहरूले यो विषयवस्तुलाई सारांश गर्न र यसलाई दैनिक जीवनका विशिष्ट प्रकटीकरणहरूसँग मिलाउन सक्‍नुपर्छ। यसरी, तिमीहरूले आफूलाई र अरूलाई गर्ने मूल्याङ्कन तुलनात्मक रूपमा अझै सही हुनेछ। यदि तँलाई कसरी सारांश गर्ने भन्‍ने थाहा छैन भने, दैनिक जीवनमा निश्‍चित मानिसहरू भेट्दा, तैँले तिनीहरूलाई खुट्ट्याउन सक्‍नेछैनस्, र तैँले विभिन्‍न पक्षमा आफ्ना प्रकटीकरण र प्रकाशहरूलाई पनि खुट्ट्याउन सक्‍नेछैनस्। के त्यसको अर्थ तैँले सुनेको व्यर्थ भयो भन्‍ने हुनेछैन र? तँ सारांश गर्न सिपालु हुनुपर्छ। सारांश गर्नु भनेको के हो? यसको अर्थ यी सबै विभिन्‍न पक्षहरूको विशिष्ट विषयवस्तुभित्र, विभिन्‍न प्रकारका कामकुराहरूलाई खुट्ट्याउने वा बुझ्ने सिद्धान्तहरू खोज्नु हो। यसरी, सारांश गर्नुको उद्देश्य हासिल हुन्छ। जब तैँले सिद्धान्तहरू भेट्टाएको हुन्छस्, तब तैँले मानिसहरू र कामकुराहरूलाई हेर्न सत्यता सिद्धान्तहरू प्रयोग गर्न सक्‍नेछस्, र तैँले अरूलाई अनि आफूलाई पनि खुट्ट्याउन सक्‍नेछस्। यसले तैँले सत्यता बुझ्छस् भनेर प्रमाणित गर्छ। जब तैँले सत्यताको एउटा पक्ष बुझ्छस् र त्यसलाई लागू गर्न सक्छस्, तब तैँले यस पक्षमा सत्यता वास्तविकतामा प्रवेश हासिल गर्नेछस्। त्यसोभए, के हामीले क्षमताका विभिन्‍न पक्षहरूको विशिष्ट विषयवस्तुलाई सारांश गर्नु पर्दैन र? (पर्छ।) हामीले यसलाई सारांश गर्नुपर्छ। यसरी मात्रै तैँले क्षमतासँग सम्बन्धित सत्यता सिद्धान्तहरूलाई स्पष्ट रूपमा बुझ्न सक्छस्।

असल क्षमता भएका मानिसहरूको समग्र मूल्याङ्कन गर्नका लागि तैँले सिद्धान्तहरू जान्‍नुपर्छ, होइन र? (हो।) हामीले व्यक्तिको क्षमता के-कस्तो छ भनेर मूल्याङ्कन गर्नका लागि यी विशिष्ट प्रकटीकरणहरू प्रयोग गरेर, धेरै वटा विशिष्ट प्रकटीकरणहरूका बारेमा विस्तृत रूपमा सङ्गति गरेका छौँ। त्यसोभए, असल क्षमता भएका मानिसहरूका समग्र प्रकटीकरणहरू के-के हुन्? तिनीहरूसँग हृदयमा आफूलाई आचरणमा ढाल्‍न र व्यवहार गर्नका लागि निश्‍चित सिद्धान्तहरू हुन्छन्। तिनीहरूले सत्यता नबुझ्दा पनि वा सत्यता अझै नसुनेका भए पनि, तिनीहरूसँग मानिसहरू र कामकुराहरूलाई हेर्ने, साथै आफूलाई आचरणमा ढाल्‍ने र व्यवहार गर्ने केही आधारभूत सिद्धान्तहरू हुन्छन्। अर्थात्, तिनीहरूसँग आत्म-आचरणका निश्‍चित सीमाहरू हुन्छन्। निश्‍चित हदसम्‍म, यी सीमाहरू तुलनात्मक रूपमा सत्यता सिद्धान्तहरूसँग मिल्छन् वा तिनका नजिक हुन्छन्, र कम्तीमा पनि, ती मानवताको विवेक र समझका मानकहरूसँग मिल्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरू खाएर-पिएर अनि परमेश्‍वरका वचनहरूको मलजल र आपूर्ति स्वीकार गरेर केही सत्यताहरू बुझेपछि, तिनीहरूले धेरै मामला वा विशेष वातावरण अनुभव नगरेका भए पनि, तिनीहरू आफ्नो हृदयमा अझै पनि केही सत्यता सिद्धान्तहरू बुझ्न र बोध गर्न सक्छन्। त्यसपछि वास्तविक जीवनमा, तिनीहरू विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई सम्हाल्न यी सिद्धान्तहरू लागू गर्न सक्छन्। अवश्य नै, जब तिनीहरू विभिन्‍न मानिस, घटना, र कामकुराहरू सम्हाल्छन्, तब यो सरल र एकपक्षीय मामलाहरूलाई सम्हाल्ने कार्य मात्रै हुँदैन। बरु, जब तिनीहरूले विभिन्‍न जटिल र गन्जागोल भएका मानिस, घटना, र कामकुराहरूको सामना गर्छन्, तब तिनीहरूले ती कुराहरूलाई व्यवहार गर्न र सम्हाल्नका लागि परमेश्‍वरका वचनहरू र सत्यता सिद्धान्तहरू लागू गर्न सक्छन्। सिद्धान्तहरूसँग सम्बन्धित मामलाहरूमा असल क्षमता भएका मानिसहरूको प्रकटीकरण यही हो। तिनीहरूको क्षमता असल भएकाले, परमेश्‍वरका वचनहरूको मलजल र आपूर्तिद्वारा, तिनीहरू आफ्ना लागि विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई हेर्ने र सम्हाल्ने बारेमा परमेश्‍वरका वचनहरूमा रहेका सिद्धान्तहरू भेट्टाउन सक्छन्। यस्तो असल क्षमता भएका मानिसहरू स्वतन्त्र रूपमा कामको कार्यभार लिन सक्छन्, र हरेक कार्य आफै पूरा गर्न सक्छन्। यो असल क्षमताको प्रकटीकरण हो। मुख्य प्रकटीकरण के हो? (मुख्य प्रकटीकरण के हो भने तिनीहरू परमेश्‍वरका वचनहरूको मलजल र आपूर्तिद्वारा, विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई हेर्ने र सम्हाल्ने बारेमा परमेश्‍वरका वचनहरूमा रहेका सिद्धान्तहरू आफै भेट्टाउन सक्छन्, यसरी समस्याहरू आफै समाधान गर्न र स्वतन्त्र रूपमा कामको कमान लिन सक्छन्।) ठ्याक्कै मिलाइस्—परमेश्‍वरका वचनहरू खाएर-पिएर, तिनीहरू सत्यता बुझ्न र विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई हेर्ने र सम्हाल्ने सिद्धान्तहरू पत्ता लगाउन सक्छन्, यसरी तिनीहरूले काम आफै वहन गर्न सक्छन्। असल क्षमता हुनु भनेको यही मात्रै हो। यसभन्दा पहिले, हामीले के भनेका थियौँ भने काम आफै वहन गर्न सक्‍नुका लागि विभिन्‍न क्षमताहरू हुनु आवश्यक हुन्छ। अहिले, यसलाई मापन गर्न सत्यता सिद्धान्तहरू प्रयोग गर्दा, यो असल क्षमता भएका मानिसहरूको प्रकटीकरण हो।

औसत क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू के-के हुन्? तिनीहरू निश्चित रूपमा नै असल क्षमता भएका मानिसहरूभन्दा निकै खराब हुन्छन्। तर, मानिसहरूको क्षमता चाहे असल भए पनि वा औसत भए पनि, तिनीहरूले परमेश्‍वरका वचनहरूको आपूर्ति प्राप्त गर्नुअघि र सत्यता बुझ्नुअघि, तिनीहरूसँग आफूलाई आचरणमा ढाल्‍ने सही सिद्धान्तहरू हुनेछैनन्। आफूलाई आचरणमा ढाल्‍नुका सिद्धान्तहरूको बोध हासिले गर्ने कार्य परमेश्‍वरका वचनहरूको आपूर्ति प्राप्त गर्ने र सत्यता बुझ्ने जगमा नै गरिनुपर्छ। वास्तविक अनुभवहरूद्वारा मात्रै व्यक्ति आफूलाई आचरणमा ढाल्‍ने सिद्धान्तहरू बिस्तारै बुझ्न पुग्न सक्छ। यदि यो औसत क्षमता भएको व्यक्ति हो भने, परमेश्‍वरका वचनहरू पढ्दा, उसले परमेश्‍वरका वचनहरूमा व्यक्त गरिएका आधारभूत अर्थ र माग गरिएका मानकहरू मात्रै बुझ्न सक्छ। उसले यी कुराहरूलाई धर्मसिद्धान्तका हिसाबमा बुझ्छ, तर परिस्थितिहरूको सामना गर्दा, ऊ अझै पनि सत्यता सिद्धान्तहरू लागू गर्न सक्दैनन्। अरूको मार्गदर्शन र आपूर्तिद्वारा मात्रै, वा धेरै कुराहरू अनुभव गरेपछि मात्रै, उसले केही आधारभूत सत्यता सिद्धान्तहरू बुझ्न सक्छ। यहाँ “आधारभूत” ले के जनाउँछ? यसको अर्थ उसले बुझेका र बोध गरेका सिद्धान्तहरू मुख्य रूपमा एकपक्षीय र तुलनात्मक रूपमा सरल सिद्धान्तहरू हुन्छन्, र तिनले उसलाई साधारण समस्याहरू सम्हाल्न र समाधान गर्न सक्षम तुल्याउँछ, तर जटिल परिस्थिति वा प्रसङ्गहरू सामना गर्दा, उसलाई सिद्धान्तहरू अनुसार कसरी कार्य गर्ने भन्‍ने थाहा हुँदैन। ऊ केही जटिल समस्या वा बहुमुखी कार्यहरू सम्हाल्नका लागि सत्यता बुझेका मानिसहरूको मार्गदर्शन र सहयोगमा भर पर्नुपर्छ। औसत क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू यिनै हुन्। औसत क्षमता भएका मानिसहरूका प्रकटीकरणहरूमा के कुरा प्रबल हुन्छ? तिनीहरू परमेश्‍वरका वचनहरूमा स्वतन्त्र रूपमा सत्यता बुझ्न वा अभ्यासका सिद्धान्तहरू भेट्टाउन सक्दैनन्। तिनीहरू परमेश्‍वरले माग गर्नुहुने मानकहरू वास्तवमा के हुन् भन्‍ने कुरालाई सही रूपमा बुझ्न सक्दैनन्। तिनीहरूलाई तिनीहरूसँग सङ्गति गर्ने, साथ दिने, र कामकुराहरू जाँच्न सहयोग गर्ने, र स्पष्ट रूपमा बताउने र सम्झाउने व्यक्ति चाहिन्छ। यसरी मात्रै तिनीहरूलाई थाहा हुन्छ: “यो सत्यता सिद्धान्त हो। मैले यो याद गर्नैपर्छ। मैले यस अनुसार अभ्यास गर्नु नै पर्छ। मैले कामको यो प्रबन्ध अनुसार काम कार्यान्वयन गर्नैपर्छ।” यो तिनीहरूको बुझाइको सन्दर्भमा हो। दोस्रो, काम गर्ने सन्दर्भमा भन्दा, तिनीहरू आफूसँग अनुभव नभएको काम गर्दा, विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई हेर्न वा सम्हाल्न तुरुन्तै सत्यता सिद्धान्तहरू लागू गर्न सक्दैनन्। तिनीहरू केही आधारभूत सत्यता सिद्धान्तहरूका बुझेको आधारमा केही एकपक्षीय काम मात्रै सम्हाल्न सक्छन्। धेरै सत्यता सिद्धान्तहरू समावेश हुने जटिल काम सामना गर्दा, तिनीहरूलाई कामकुराहरूको जाँच गरिदिन, र सहयोग र आपूर्ति गरिदिन अरू कसैको आवश्यकता हुन्छ। औसत क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू यिनै हुन्। व्यक्तिगत बुझाइका हिसाबमा भन्दा, तिनीहरूलाई अरूले तिनीहरूसँग सङ्गति गरेर कामकुराहरू जाँच्न सहयोग गरिदिनुपर्छ। तिनीहरूले धेरै सुन्‍नुपर्छ—सत्यताको एउटा पक्ष मात्र होइन तर विभिन्‍न पक्षहरू सुन्‍नुपर्छ, र अन्त्यमा तिनीहरूलाई सत्यताका विभिन्‍न पक्षहरूका आधारभूत सिद्धान्तहरू के-के हुन् भनेर कसैले बताइदिनुपर्छ ताकि तिनीहरूले तीमध्ये केही कुरा हृदयमा बुझ्न सकून्। तर, जब तिनीहरूले जटिल परिस्थितिहरू सामना गर्छन्, तब तिनीहरूलाई त्यो कसरी बुझ्ने भन्‍ने फेरि थाहा हुँदैन र अझै पनि तिनीहरूले खोजी नै गर्नुपर्छ। यो तिनीहरूको बुझाइको सन्दर्भमा हो। जहाँसम्‍म काम वा वास्तविक जीवनका विभिन्‍न मामलाहरू सम्हाल्ने कुरा आउँछ, समस्याहरू सम्हाल्ने तिनीहरूको क्षमता एक-पक्षीय काम सम्हाल्नका लागि सत्यता सिद्धान्तहरू पालना गर्ने स्तरमा मात्रै पुग्‍न सक्छ। धेरै सत्यता सिद्धान्तहरू समावेश भएको जटिल काम सामना गर्दा, तिनीहरूलाई यो अलिक गाह्रो लाग्छ र तिनीहरूले कसैलाई खोज्‍नुपर्छ र कुराहरू जाँच्न लगाउनुपर्छ। तिनीहरूले आफै काम राम्ररी गर्न सक्छन् भन्‍ने कुराको प्रत्याभूति दिन सक्दैनन् र तिनीहरूले गर्ने कुरा सत्यता सिद्धान्तहरू अनुरूप छ कि छैन भनेर निर्धारित गर्न सक्दैनन्। कहिलेकहीँ, तिनीहरूको काममा विचलनहरू हुनेछन्। तर, यी विचलनहरू विचलन मात्रै हुन् र विकृतिहरू होइनन्। यदि ती विकृतिहरू भएका भए, यसले कमजोर क्षमताको सङ्केत गर्नेथियो। विचलन र विकृतिहरूका बीचमा भिन्‍नता छ: विचलनहरूको अर्थ काम पूर्ण रूपमा सत्यता सिद्धान्तहरू अनुरूप छैन, पर्याप्त रूपमा गरिएको छैन, वा त्यसमा पर्याप्त विचारको कमी छ, तर दिशा गलत छैन भन्‍ने हुन्छ। कुरा के मात्र हो भने, तिनीहरूसँग कामको पर्याप्त अनुभव नभएकोले, वा सत्यताबारे निकै सतही बुझाइ र सत्यता सिद्धान्तहरूको बोध पर्याप्त रूपमा सही नभएकोले, तिनीहरूको काम पर्याप्त रूपमा मानकअनुरूप हुँदैन। यो मानकअनुरूपको नजिक हुन सक्छ तर पूर्ण रूपमा मानकअनुरूप हुनका लागि त्यसमा अझै पनि सुधारको आवश्यकता पर्छ। औसत क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू यिनै हुन्। यस्तो प्रकारको व्यक्तिको मुख्य विशेषता के हो? (तिनीहरू स्वतन्त्र रूपमा कामको कुनै पनि विषयवस्तु उचित रूपमा गर्न सक्दैनन्; तिनीहरूलाई कुनै-कुनै काम पूरा गर्न अरूको सहयोग र साथ चाहिन्छ।) तिनीहरूको विशेषता के हो भने, चाहे तिनीहरूको बुझाइको हिसाबमा होस् वा आफ्नो कर्तव्य पुरा गर्ने हिसाबमा होस्, तिनीहरू तुलनात्मक रूपमा कमजोर हुन्छन्। तिनीहरूले साधारणता स्वतन्त्र रूपमा कुनै पनि काम उचित रूपमा गर्न सक्दैनन्, त्यसकारण तिनीहरूलाई अरूको सहयोग, जाँच, र प्रोत्साहन चाहिन्छ। त्यसकारण, औसत क्षमता भएका मानिसहरूमा हुनुपर्ने आधारभूत समझ भनेको कामकुरा गर्दा अझै धेरै खोजी गर्नु र अझै धेरै प्रतीक्षा गर्नु हो। जब तिनीहरूले कुनै कुरा छर्लङ्ग देख्‍न सक्दैनन्, तब तिनीहरूले तुरुन्तै र नम्रताको साथ खोजी गर्नुपर्छ—कि त आफ्नो आधारका रूपमा उपयोग गर्नका लागि परमेश्‍वरका वचनहरूमा रहेका सत्यता सिद्धान्तहरूको खोजी गर्नुपर्छ कि माथिल्लो स्तरका मानिसहरूबाट खोजी गर्नुपर्छ—र अन्धाधुन्ध वा अलमल्ल शैलीमा काम गर्नु हुँदैन। केही समयावधि काम गरेपछि, यदि तँ धेरै कुराहरूका बारेमा अन्योलमा हुन्छस् भने, तुरुन्तै तिनलाई सारांश र अभिलेख गर्, र माथिल्लो स्तरका मानिसहरूबाट खोजी गर्। यसको उद्देश्य भनेको तेरो माथिल्लो स्तरका मानिसहरूलाई तैँले यो अवधिमा गरेको काममा कुनै विचलन वा कमजोरीहरू छन् कि छैनन् भनेर जाँच र निरीक्षण गर्न दिनु हो। तँसँग कामको अनुभव छ भन्‍ने सोच्दै अत्यन्तै आत्म-धर्मी नबन्, र आफ्‍नो बारेमा अति राम्रो महसुस नगर्। तँमा आत्म-चेतना हुनु नै पर्छ। औसत क्षमताका प्रकटीकरणहरूका बारेमा पहिले नै छलफल गरिसकिएको छ, त्यसकारण औसत क्षमता भएका मानिसहरूका विशेषताहरू के-के हुन्? (तिनीहरू स्वतन्त्र रूपमा काम गर्न सक्दैनन्; तिनीहरूलाई साथ दिन, सहयोग गर्न, र कामकुराहरू जाँचिदिनका लागि अरूको आवश्यकता हुन्छ।) अनि परमेश्‍वरका वचनहरू बुझ्ने सन्दर्भमा तिनीहरूका विशेषताहरू के-के हुन्? (परमेश्‍वरका वचनहरू बुझ्ने सन्दर्भमा भन्दा, तिनीहरूले केही आधारभूत सिद्धान्तहरू मात्रै बुझ्न सक्छन् तर तिनलाई काममा व्यावहारिक रूपमा लागू गर्न सक्दैनन्।) अनि कार्य सामर्थ्यका हिसाबमा तिनीहरूको विशेषताहरू के-के हुन्? (कार्य सामर्थ्यका हिसाबमा भन्दा, औसत क्षमता भएका मानिसहरू विभिन्‍न मामलाहरू हेर्न वा सम्हाल्नका लागि तुरुन्तै सत्यता सिद्धान्तहरू लागू गर्न सक्दैनन्। यसका साथै, तिनीहरू एउटा कामको एउटा विषयवस्तु मात्रै कायम राख्‍न सक्छन्; धेरै वटा कामको विषयवस्तुको कुरा आउँदा, तिनीहरू सिद्धान्तहरू बुझ्न सक्दैनन्। तिनीहरू कामका विभिन्‍न विषयवस्तुहरूलाई राम्ररी पूरा गर्न महत्त्व वा आत्तुरी अनुसार प्राथमिकता दिन सक्दैनन्, काम उचित रूपमा प्रबन्ध गर्नु त परको कुरा हो। कसैले तिनीहरूका लागि कामकुराहरूको जाँच गरिदिनुपर्छ र तिनीहरूको दिशा मार्गदर्शन गरिदिनुपर्छ, र तिनीहरूलाई निरन्तर सहयोग र साथ दिनुपर्छ।) ठीक भनिस्। औसत क्षमता भएका मानिसहरूले स्वतन्त्र रूपमा कुनै एकपक्षीय काम गर्न सक्छन् वा, निश्‍चित स्तरको कामको अनुभव भएको आधारमा, केही सरल काम सम्हाल्न सक्छन्। तर, जटिल समस्याहरू सामना गर्दा, विशेष गरी धेरै सत्यता सिद्धान्तहरू समावेश भएको कामको सामना गर्दा, तिनीहरू अन्योलमा पर्छन् र कसरी अभ्यास गर्ने भनी जान्दैनन्। एक क्षण, तिनीहरू यो यसरी गर्नुपर्छ भन्‍ने सोच्छन्, र अर्को क्षण, तिनीहरू यो त्यसरी गर्नुपर्छ भन्‍ने सोच्छन्, तर कुन तरिका सत्यता सिद्धान्तहरू अनुरूप छ भन्ने तिनीहरूलाई थाहा हुँदैन। तिनीहरू अन्ततः कार्य पूरा भएपछि पैदा हुन सक्‍ने परिणामहरू मूल्याङ्कन गर्न सक्दैनन्। त्यस्ता परिस्थितिहरूमा, तिनीहरूसँग कुनै मार्ग हुँदैन। औसत क्षमता भएका मानिसहरू कामको एउटा विषयवस्तुका लागि योग्य हुन सक्छन्, तर काम धेरै विषयवस्तु वा अलिक जटिल काम सामना गर्दा, तिनीहरू अन्योलमा पर्छन्। उदाहरणका लागि, तिमीहरूमध्ये कतिपय अगुवा र कामदारहरूले तिनीहरूलाई काम खटाइँदा कामको एउटा विषयवस्तु सम्हाल्न सक्छन्, तर यदि तिनीहरूलाई कामका दुई वा दिन विषयवस्तु खटाइयो भने, तिनीहरूले ती काम सम्हाल्न सक्दैनन्। तिनीहरूले ती काम राम्ररी पूरा गर्न चाहे पनि, त्यो हासिल गर्न सक्दैनन्। काममा व्यस्त हुँदा, कसैले कुनै न कुनै समस्या उठाउने बित्तिकै, तिनीहरू अन्योलमा पर्छन् र तिनलाई कसरी समाधान गर्ने भन्‍ने तिनीहरूलाई थाहा हुँदैन। परिणाम स्वरूप, कामका कुनै पनि विषयवस्तु राम्ररी पूरा हुँदैनन्। औसत क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू यिनै हुन्। औसत क्षमता भएका मानिसहरूले एकै पटकमा कामको दुई-तीनवटा विषयवस्तु वहन गर्न सक्दैनन्। विशेष गरी जब तिनीहरूले जटिल वा विशेष परिस्थितिहरू सामना गर्छन्, तब तिनीहरू तुरुन्तै अन्योलमा पर्छन् र के गर्ने भन्‍ने तिनीहरूलाई थाहा हुँदैन। परिणाम स्वरूप, तिनीहरूले राम्ररी गर्न सक्‍ने काम राम्ररी पूरा हुँदैन, र तिनीहरू जिम्मेवार रहेका कामका विषयवस्तुहरूले समस्या सामना गर्छन् र तिनमा ढिलाइ हुन्छ। त्यसकारण, औसत क्षमता भएका मानिसहरूले कामका दुई-तीन वटा विषयवस्तुहरू वहन गर्न सक्दैनन् र तिनीहरू सरल र एकल कामका विषयवस्तुहरूका लागि मात्रै उपयुक्त हुन्छन्। कतिपय अगुवा र कामदारहरूले जहिले पनि, काम गर्नु अत्यन्तै सरल कुरा हो भन्‍ने सोच्छन्। जब अरू मानिसहरूले समस्याहरू औँल्याउँछन्, तब तिनीहरू सधैँ उदासीन हुन्छन् र तिनलाई समस्याहरूका रूपमा देख्दैनन्, र ती मानिसहरूको दिमागमा केही समस्या छ र तिनीहरूले कामकुराहरूलाई अत्यन्तै जटिल बनाइरहेका छन् भन्‍ने समेत सोच्छन्। अन्तमा, ठूला समस्याहरू देखा पर्छन्, र तिनीहरू तिनलाई समाधान गर्न सक्दैनन् अनि मात्रै माथिल्लो स्तरका मानिसहरूलाई तीबारे रिपोर्ट गर्छन्। त्यस्ता अगुवा र कामदारहरूमा अत्यन्तै थोरै अनुभव हुन्छ र अन्तर्ज्ञानको कमी हुन्छ। आफ्नो काममा, तिनीहरू सधैँ सबै कुरा सहज रूपमा अघि बढ्नेछ भन्‍ने अनुमान गर्छन्, केही प्रावधानहरू मात्र पालना गरिरहन्छन् र जिद्दी भएर एउटै मार्गमा लागिरहन्छन्। पैदा हुने समस्याहरू चाहे जति नै गम्भीर भए पनि, तिनीहरूले तिनलाई महसुस गर्न सक्दैनन्; यति मात्र होइन, यदि यी समस्याहरू समाधान भएनन् भने तिनले समग्र काममा ढिलाइ गर्नेछन् भन्‍ने कुरा तिनीहरू महसुस गर्न सक्दैनन्। औसत क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू यिनै हुन्।

सामान्यतया, यदि औसत क्षमता भएका मानिसहरू आफ्नो मानवताका सबै पक्षमा मानकअनुरूप छन् भने, तिनीहरू आधारभूत रूपमा एकपक्षीय कामका लागि योग्य हुन सक्छन्। तिनीहरूले स्वतन्त्र रूपमा वृहत् काम पूरा गर्न सक्दैनन् भन्‍नुको मेरो कारण के हो भने तिनीहरूको क्षमताले तिनीहरूलाई एकपक्षीय काम मात्रै राम्ररी गर्न सक्षम तुल्याउँछ। जब तिनीहरूको हित, रुचि, र सबल पक्षहरूसँग सम्बन्धित निश्‍चित कामको कुरा आउँछ, तब तिनीहरूको क्षमताका हिसाबमा, तिनीहरू यसका लागि योग्य हुन सक्छन्। तर, बहुमुखी कामका जटिलताहरू सामना गर्दा, तिनीहरू अन्योलमा पर्छन्। तिनीहरूसँग केही व्यावहारिक अनुभव भए पनि, तिनीहरूको क्षमता कार्यका लागि पर्याप्त हुँदैन। कतिपय मानिसहरू भन्छन्, “के म युवा भएकोले यस्तो भएको हो?” अहँ, होइन। यदि तेरो क्षमता औसत छ भने, तँ चालीस वा पचासको दशकमा पुगेपछि पनि, तँ बहुमुखी काम वहन गर्न अझै पनि सक्षम हुनेछैनस्। म किन यसो भन्छु? वास्तवमै काम गरेर केही अनुभव बटुलेपछि, तँ निश्‍चित एकपक्षीय काम सम्हाल्न सक्षम हुन सक्छस्। तर, तैँले मार्गदर्शन पाउँछस्, कामकुराहरू जाँचिदिने व्यक्ति छ, वा अरूले अनुगमन गर्छन् भने त्यस्ता परिस्थितिहरूमा मात्रै तैँले कामलाई स्वतन्त्र रूपमा राम्ररी पूरा गर्न सक्छस्—तँ सधैँका लागि स्वतन्त्र रूपमा बहुपक्षीय काम वहन गर्न नसक्‍ने नै हुन्छस्। यसले तँसँग औसत क्षमता छ भन्‍ने सङ्केत गर्छ। कतिपय मानिसहरू, धेरै वर्ष विभिन्‍न परिस्थितिहरू भोगेर केही अनुभव अनुभव बटुलेपछि, र केही सत्यता सिद्धान्तहरू बुझेपछि पनि, अझै बहुपक्षीय काम वहन गर्न सक्दैनन्, विशेष गरी तिनीहरू स्वतन्त्र रूपमा कामको कार्यभार लिने काम गर्न सक्दैनन्। जब तिनीहरू जटिल परिस्थितिहरू सामना गर्छन्, तब तिनीहरू अन्योलमा पर्छन् र महत्त्व वा आत्तुरी अनुसार कार्यहरूलाई प्राथमिकता दिन सक्दैनन्। त्यस्ता मानिसहरूको क्षमता निश्चित रूपमा नै औसत हुन्छ। कामको अनुभवले व्यक्तिको कार्य सामर्थ्यको एउटा पक्षलाई मात्रै गणना गर्छ; यो प्रमुख कारक होइन। प्रमुख कारक भनेको व्यक्तिको क्षमता र विभिन्‍न पक्षहरूमा रहेका उसका कुशलताहरू हुन्। कामको अनुभवले केही सन्दर्भ मात्रै दिन्छ। अवश्य नै, कामको अनुभव पनि बहुमूल्य हुन्छ किनभने यो व्यक्तिगत अनुभवबाट पैदा हुन्छ, तर कामको यो व्यावहारिक अनुभवले तँलाई बहुमुखी कामका सिद्धान्तहरू अझै सही रूपमा बुझ्न सक्षम तुल्याउन सक्दैन। यदि तेरो क्षमता असल छ र तँ साँच्चै सत्यता सिद्धान्तहरू बुझ्छस् भने, तँसँग कामको कुनै अनुभव नभए पनि वा तेरो व्यक्तिगत अनुभव व्यापक नभए पनि, तैँले समग्र काम आफै वहन गर्न र कामको कार्यभारको जिम्मा स्वतन्त्र रूपमा लिन सक्छस्। तर, औसत क्षमता भएका मानिसहरूले समग्र काम आफै पूरा गर्न सक्दैनन्; तिनीहरूले एकपक्षीय काम मात्रै पूरा गर्न सक्छन् र तिनीहरूलाई बारम्बार प्रोत्साहन, जाँच, सहयोग, र मार्गदर्शनको आवश्यकता हुन्छ। त्यसकारण, तिमीहरूमध्ये औसत क्षमता भएकाहरूका हकमा भन्दा, निश्‍चित एकपक्षीय काममा राम्ररी गर्न सक्नुको अर्थ तँ बहुमुखी काम गर्न योग्य छस् वा तैँले स्वतन्त्र रूपमा कामको कामको जिम्मा लिन सक्छस् भन्‍ने नसोच्। यो भ्रम र गलत बुझाइ हो। आफै निश्‍चित एकपक्षीय काम पूरा गर्न सक्नु र आफै बहुपक्षीय काम पूरा गर्न सक्नुको बीचमा एउटा अन्तर हुन्छ—त्यो के हो भने, कामको जिम्मा स्वतन्त्र रूपमा लिन सक्नु। यो कुरा तिमीहरूले अनुभवद्वारा बिस्तारै जान्‍नेछौ। यी वचनहरू बुझ्न सजिलो नहुन सक्छ—धेरै वर्ष अगुवा वा कामदारको रूपमा सेवा गरेका र व्यावहारिक अनुभव भएका मानिसहरूले मात्रै ती बुझ्न सक्छन्। साधारण दाजुभाइ-दिदीबहिनीहरूले यो कुरा नबुझ्न सक्छन्, होइन र? बहुपक्षीय काम वहन गरेका अगुवा र कामदारहरूसँग व्यावहारिक अनुभव हुन्छ र तिनीहरूले यसभित्रका भिन्‍नताहरू बुझ्छन्—आफ्नो काम कसरी गर्ने भन्‍ने बारेमा तिनीहरूसँग सिद्धान्तहरू हुन्छन्। तर औसत क्षमता भएका मानिसहरूमा यो कुराको कमी हुन्छ। यसरी औसत क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू पूर्ण रूपमा सारांश गरिएको छ।

यसपछि, हामी कमजोर क्षमता भएका मानिसहरूका प्रकटीकरणहरूलाई सारांश गरौँ। कमजोर क्षमता भएका मानिसहरूको प्रकटीकरण निश्चित रूपमा नै औसत क्षमता भएका मानिसहरूको भन्दा खराब हुन्छ। कमजोर क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू के-के हुन्? ती के हुन् भने, परमेश्‍वरका वचनहरू आफै खोजी गर्ने वा खाने-पिउने कार्यद्वारा, तिनीहरूले परमेश्‍वरका वचनहरूको हरेक वाक्य र खण्डको अर्थलाई शाब्दिक स्तरमा बुझ्न सके पनि—साथै परमेश्‍वरका अभिप्राय र मागहरू के हुन् भनेर बुझे पनि—तिनीहरू सत्यता सिद्धान्तहरू वा परमेश्‍वरले माग गर्नुहुने मानकहरू पटक्‍कै बुझ्दैनन्। अर्थात्, तिनीहरूले मानिसहरू र कामकुराहरूलाई कसरी हेर्ने वा आफूलाई कसरी आचरणमा ढाल्‍ने र व्यवहार गर्ने भन्‍ने बारेमा परमेश्‍वरले माग गर्नुहुने मानकहरू बुझ्दैनन्, न त तिनीहरू समावेश सत्यता सिद्धान्तहरू के हुन् भन्‍ने कुरा नै बुझ्छन्। जब तिनीहरू आफै परमेश्‍वरका वचनहरू खान्छन्-पिउँछन्, तब तिनीहरू यी कुराहरू बुझ्न सक्दैनन्, र दैनिक जीवनका मानिस, घटना, र कामकुराहरूसँग अनुभव गरेपछि पनि, तिनीहरू अझै पनि यी कुराहरू बुझ्दैनन्। सङ्गति गरेपछि पनि, सत्यता सिद्धान्तहरू के हुन् भन्‍ने बारेमा तिनीहरू स्पष्ट हुँदैनन्। यस्तो व्यक्तिको एउटा विशेषता हुन्छ: उसले सत्यता सिद्धान्तहरू के हुन् भन्‍ने कुरा नबुझे पनि, उसले आफ्ना भावनाहरूमा भर परेर आफूले पालना गर्नुपर्ने प्रावधानहरूको सारांश गर्न सक्छन्। तिनीहरूले याद गर्न सक्ने भनेकै प्रावधानहरू हुन्—एक प्रकारको कठोर धर्मसिद्धान्त वा नियमहरू। उदाहरणका लागि, परमेश्‍वरले सत्यता सिद्धान्तहरूको एउटा पक्षबारे सङ्गति गर्नुहुन्छ, यस विषयका धेरै कुरामध्ये मानिसहरूको सकारात्मक प्रकटीकरण, नकारात्मक प्रकटीकरण, शुद्ध बुझाइ, र विकृत बुझाइका उदाहरणहरू दिनुहुन्छ—कमजोर क्षमता भएका मानिसहरूले यसबाट अन्ततः के प्राप्त गर्छन्? तिनीहरू भन्छन्, “अब मैले बुझेँ। परमेश्‍वरले व्यक्तिलाई यो वा त्यो गर्न दिनुहुन्‍न। परमेश्‍वरले यो वा त्यो खान दिनुहुन्‍न। परमेश्‍वरले यी शब्दहरू, ती शब्दहरू बोल्न, वा ती शब्दावली प्रयोग गर्न दिनुहुन्‍न।” तिनीहरू यही याद गर्छन्, र यी नै सत्यता सिद्धान्तहरू हुन् भन्‍ने सोच्दै यस कुरालाई कडाइका साथ पालना गर्छन्। यदि तिनीहरूले यी प्रावधान, भनाइ, र व्यवहारका तरिकाहरू पालना गरे भने, तिनीहरूले सत्यता सिद्धान्तहरू पालना गरिरहेका हुन्छन् भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। तैँले तिनीहरूलाई यो त प्रावधानहरू पालना गर्नु मात्रै हो भनेर जति नै धेरै भने पनि, तिनीहरू यसलाई स्वीकार गर्दैनन्। तिनीहरू यी प्रावधानहरू पालन गर्न जिद्दी गर्छन्, यो परमेश्‍वरका वचनहरू अभ्यास गर्नु र सत्यता अभ्यास गर्नु हो भन्‍ने विश्‍वास गर्छन्। आत्मिक बुझाइ नभएका त्यस्ता मानिसहरूलाई निराकरण गर्ने कुनै उपाय छैन। यदि तिनीहरू प्रावधानहरू पालना गर्न इच्छुक छन् भने, तिनीहरूलाई त्यसो गर्न दिनुपर्छ—तिनीहरूका अभिप्राय गलत नभएसम्म, त्यो ठीकै हुन्छ। उदाहरणका लागि, एक पटक मैले यसो भनेको थिएँ, “जब तिमीहरू प्रार्थना गर्छौ, तब तिमीहरू भक्त हुनुपर्छ; त्यत्तिकै प्रार्थना नगर। उपयुक्त वातावरणहरूमा, प्रार्थना गर्न घुँडा टेकेर बस्‍नु, प्रार्थना गर्न परमेश्‍वरको अघि लम्पसार पर्नु नै सर्वोत्तम हुन्छ, र प्रार्थनाको अवधिमा, तँ परमेश्‍वरअघि शान्त हुनुपर्छ र हृदय केन्द्रित गरेर प्रार्थना गर्नुपर्छ। यो भक्त हुनु र परमेश्‍वरको डर मान्‍ने हृदय हुनु हो।” कमजोर क्षमता भएका मानिसहरूले यो सुनेपछि, एउटा प्रावधान मात्रै याद गरे: “भक्ति र परमेश्‍वरको डर मान्‍ने हृदयको साथ प्रार्थना गर्नका लागि, व्यक्तिले घुँडा टेक्नैपर्छ।” तिनीहरूले प्रार्थना गर्न घुँडा टेक्‍नुलाई सत्यता सिद्धान्तका रूपमा लिए, र यो सत्यताको अभ्यास गर्नु हो भन्‍ने विश्‍वास गर्दै त्यस अनुसार यसलाई पालन गरे। त्यसकारण, वातावरण जस्तोसुकै भए पनि, तिनीहरूले प्रार्थना गर्न घुँडा टेक्‍नमा जिद्दी गर्थे। खाना खाने बेला प्रार्थना गर्न चाहँदा पनि, तिनीहरू प्रार्थना गर्न टेबलमुनि घुँडा टेक्थे। खेतमा काम गर्दा, जमिन जति नै फोहोर भए पनि वा माटोमा जेसुकै भए पनि, तिनीहरू प्रार्थना गर्न घुँडा टेक्थे। गैरविश्‍वासीहरूका बीचमा हुँदा विपत्ति वा ठूला घटनाहरू सामना गर्दा पनि, यदि तिनीहरूले परमेश्‍वरलाई प्रार्थना गर्न चाहे भने, तिनीहरूले घुँडा टेकेर प्रार्थना गर्न गुप्त ठाउँ खोज्नुपर्थ्यो। तिनीहरूले यसरी प्रार्थना गर्नु मात्रै परमेश्‍वरका अभिप्रायहरू अनुरूप हुन्छ भन्‍ने विश्‍वास गर्थे, त्यसकारण परिस्थिति जेसुकै भए पनि, तिनीहरूलाई प्रार्थना गर्न घुँडा टेक्नैपर्थ्यो। तिनीहरूले यसो गरेर, सत्यताको अभ्यास गरिरहेका छन् भन्‍ने सोच्थे। यसका साथै, तिनीहरूले आफूलाई सबैभन्दा भक्त मानिसहरू, परमेश्‍वरको मार्गलाई सबैभन्दा नजिकबाट पछ्याउने मानिसहरू, सत्यतालाई सबैभन्दा बढी प्रेम गर्ने मानिसहरू, र सत्यता र परमेश्‍वरका वचनहरूमा सबैभन्दा बढी समर्पित हुन सक्‍ने मानिसहरू भन्‍ठान्थे। हेर् त, कमजोर क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू यिनै हुन्। यस्तो व्यक्ति बुझाइको हिसाबमा निकृष्ट र समस्याजनक हुन्छ। ऊ सधैँ एउटै वाक्य वा प्रावधानमा कडाइका साथ सिद्धान्तहरू तय गर्छ। ऊ सत्यता बुझ्नका लागि शब्दहरू बुझ्ने र ज्ञानको विधि प्रयोग गर्छ, र अवश्य नै, ऊ प्रावधान, शब्द, भनाइ, र औपचारिकताहरू पालना गरेर सत्यता अभ्यास पनि गर्छ। तैँले सत्यता सिद्धान्तहरूका बारेमा जसरी सङ्गति गरे पनि, उसले ती सुनेपछि, तिनलाई वाक्य, प्रावधान, व्यवहारका तरिकाहरू, वा नाराहरूका रूपमा मात्रै लिन्छ। उसका लागि, यो त नियमहरू पालना गर्नु मात्रै हो। उसले सत्यताको अभ्यासलाई यति सरल, के गर्न सकिन्छ र के गर्न सकिँदैन भनेर पालना गर्ने कार्यको रूपमा लिन्छ, त्यति हो।

कमजोर क्षमता भएका मानिसहरूले सबै कुरालाई मापन गर्न र लिनका लागि प्रावधानहरू प्रयोग गरेर मानिसहरू र कामकुराहरूलाई हेर्छन्, आफूलाई आचरणमा ढाल्छन्, र व्यवहार गर्छन्। बाहिरी वातावरण र वरपरका मानिस, घटना, र कामकुराहरू चाहे जसरी परिवर्तन भए पनि, तिनीहरू फेरबदल नै नगरी अडिग रूपमा एउटै प्रावधान पालना गर्छन्। यदि तैँले तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन् र सत्यता अभ्यास गर्दैनन् भनेर भनिस् भने, हृदयमा तिनीहरूलाई अन्याय गरियो भन्‍ने लाग्छ। तिनीहरू भन्छन्, “मैले निकै त्याग गरेको छु छु, धेरै कष्ट सहेको छु, परमेश्‍वरका धेरै वचनहरू अनुसरण गरेको छु, र परमेश्‍वरका धेरै वचनहरूको अभ्यास गरेको छु—त्यसोभए मैले सत्यतालाई प्रेम गर्दिनँ र सत्यता अभ्यास गर्दिनँ भनेर तिमी किन भन्छौ? म प्रावधानहरू पालना गर्छु भनेर समेत किन भन्छौ? मलाई अन्याय भएको छ!” तिनीहरूले त्यस्ता शब्दहरू बोल्न सक्छन् भन्‍ने कुराले के समस्यालाई सङ्केत गर्छ? कमजोर क्षमता भएका मानिसहरूका मुख्य प्रकटीकरणहरू के-के हुन्? तिनीहरूको क्षमता कुन-कुन तरिकाले कमजोर हुन्छ? तिनीहरूमा सत्यता बुझ्ने क्षमताको पूर्ण कमी हुन्छ, त्यसकारण सत्यताको कुनै पनि पक्षबारे जति नै धेरै सङ्गति गरिए पनि, तिनीहरूका लागि यो सबै सिद्धान्त होइन बरु कार्य गर्ने एउटा तरिका, एउटा नियम, एउटा वाक्यांश, वा एउटा औपचारिकतामा सीमित हुन्छ। यदि कसैले तिनीहरूको नियम उल्लङ्घन गर्ने वाक्य बोल्छ वा शब्द प्रयोग गर्छ भने, तिनीहरूका लागि, यो सत्यता सिद्धान्तहरूको उल्लङ्घन हो। यो समस्याजनक कुरा हो। त्यसकारण, कमजोर क्षमता भएका मानिसहरूले, एकातिर, तिनीहरूसँग सत्यता वास्तविकता छ भनेर निर्धारित गर्न विभिन्‍न प्रावधान, औपचारिकता, केवल शब्दहरू, र व्यवहारका तरिकाहरू प्रयोग गर्छन्। यसका साथै, अर्को समस्याजनक मामला पनि छ: तिनीहरू आफूले बारम्बार बोल्ने धर्मसिद्धान्तहरू, र आफूले प्रायजसो पालना गर्ने प्रावधान र व्यवहारका तरिकाहरू अरूलाई मापन गर्न र परमेश्‍वरलाई मापन गर्न समेत प्रायजसो प्रयोग गर्छन्। मापन गर्नुका साथसाथै, तिनीहरू प्रायजसो अरूलाई र परमेश्‍वरलाई आलोचना पनि गर्छन्, र अरूलाई र परमेश्‍वरलाई सीमित गर्छन्। उदाहरणका लागि, मैले एक पटक यसो भनेको थिएँ, “म सामान्यतया चिसो कुरा खाने आँट गर्दिनँ। ती खाएपछि, मेरो पेटले सहन सक्दैन, त्यसकारण म मूलतः यी काँचो र चिसो खानाहरू खाँदिनँ।” कमजोर क्षमता भएको कसैले यो सुनेर भन्यो, “अब मैले तपाईंको कुरा बुझेँ। भविष्यमा, म तपाईंलाई काँचो र चिसो खानेकुरा नदिने सुनिश्चित गर्नेछु। म तपाईंलाई कुनै पनि हालतमा कहिल्यै काँचो र चिसो खानेकुरा खान दिनेछैनँ।” तर जब गर्मीको चरम अवस्था आयो र मौसम अत्यन्तै गर्मी थियो, र खेतमा स्ट्रबेरीहरू पाके, तब एक दिन मैले खेतमा दुई वटा स्ट्रबेरी खाएँ, र यो देखेपछि, उसले यस्तो सोच्यो: “के तपाईंले कहिल्यै काँचो र चिसो कुरा खानुहुन्न होइन र? के स्ट्रबेरी चिसो हुँदैन र? के तपाईंले पहिले चिसो खानेकुराले तपाईँको पेट गडबड हुन्छ भनेर भन्‍नुभएको थिएन र? त्यसोभए तपाईंले आज किन स्ट्रबेरी खानुभयो? के तपाईंले झूट बोलिरहनुभएको छैन र?” उसले हृदयमा यस्तो सोचेको थियो; यति मात्र हो कि उसले यो कुरा ठुलो स्वरले भनेन। मलाई भन, के मामलाहरूप्रतिको उसको दृष्टिकोण सही थियो? (थिएन।) यो कसरी गलत थियो? (उसले परमेश्‍वरले बोल्नुभएको प्रसङ्गलाई ख्याल नगरी परमेश्‍वरले भन्‍नुभएको एउटा कुरालाई कामकुराहरू मापन गर्ने प्रावधानका रूपमा लिएको थियो।) मेरा यी शब्दहरूले केलाई जनाउँछन् भन्‍ने उसलाई थाहा भएन। सामान्य परिस्थितिहरूमा, कान्छो र चिसो खानेकुरा खाँदा मेरो पेट गडबड हुन्छ, तर अपवादहरू छन्। उदाहरणका लागि, जब मैले शारीरिक काम गरिरहेको हुन्छु र मेरो शरीर तातिन्छ, सँगसँगै मौसम पनि गर्मी भएकोले तीस डिग्री तापक्रम पुग्छ, र ती काँचो र चिसा खानाहरू त्यति चिसा हुँदैनन्, तब त्यस्ता परिस्थितिहरूमा, म थोरै मात्रामा खान सक्छु। मैले ती कुरा पटक्‍कै खानु हुँदैन भन्‍ने होइन। जब मैले “ती खान मिल्दैन” भनेर भनेँ, तब मैले साधारण परिस्थितिहरूलाई जनाइरहेको थिएँ; अत्यधिक गर्मीका मौसममा, थोरै मात्रामा खाँदा मलाई केही हुँदैन। कमजोर क्षमता भएको व्यक्तिले यी शब्दहरू बुझ्न सकेन। उसले ती कुरा सुनेपछि, तिनलाई प्रावधान वा सूत्रका रूपमा लियो। जब विशेष परिस्थितिहरू देखा पर्‍यो, उसले अझै पनि तिनलाई यो सूत्रमा मिलाउने प्रयास गऱ्यो। ती मिल्दैनन् भन्‍ने देखेपछि, उसले यो कुरा बुझ्‍न सकेन: “के तपाईंले काँचो र चिसो कुरा खानु हुँदैन भनेर भन्‍नुभएको होइन र? अहिले तपाईं कसरी ती खाँदै हुनुहुन्छ? के तपाईंले झूट बोलिरहनुभएको छैन र?” मेरा शब्दहरू बुझ्न नसक्‍नुका हिसाबमा उसको कमी कहाँ थियो? (ऊसँग कुनै बुझ्ने क्षमता थिएन।) उसको कमी वातावरण र विशेष परिस्थितिहरूको परिवर्तनका आधारमा यस मामलालाई मूल्याङ्कन र बुझ्न नसक्‍नुमा नै थियो। यदि पर्याप्त क्षमता भएको व्यक्तिले यो कुरा देख्यो भने, काम गरेपछि र मेरो शरीर तातो भएपछि, अनि गर्मीको मौसम छ र यी फलहरू त्यति चिसा छैनन् भन्‍ने तथ्यको साथै, थोरै मात्रामा खाँदा त्यो मेरा लागि समस्या होइन, र यो अत्यन्तै सामान्य कुरा हो भन्‍ने उसलाई थाहा हुनेछ। उसले यो कुरा बुझ्न र पत्ता लगाउन सक्छ। तर कमजोर क्षमता भएको व्यक्तिले यो कुरा पत्ता लगाउन सक्दैन; ऊ यही विन्दुमा अड्किन्छ र उसले हृदयमा धारणाहरू विकास गर्छ। धारणाहरू पैदा भएपछि परिणाम के हुन्छ? यसले तिनीहरूलाई सजिलै आलोचना र निन्दा गर्ने बनाउँछ। के कुरा यही होइन र? (हो।) अवश्य नै, यो सानो मामला ठूलो समस्या होइन, तर उसले यसलाई हृदयबाट त्याग्‍न नै सक्दैन: “के यो झूट बोल्नु होइन र? त्यसोभए तपाईं पनि झूट बोल्नुहुँदो रहेछ!” देखिस्, तिनीहरू यो अत्यन्तै सानो मामलालाई समेत सीमित गर्न र आलोचना गर्न हतार गर्छन्। अनि ठूला समस्याहरू आउनुभन्दा पहिले नै यस्तो हुन्छ—तिनीहरूले धारणाहरू विकास गरिसकेका हुन्छन्। कमजोर क्षमता भएका मानिसहरूले त्यस्ता स-साना मामलाहरूलाई समेत छर्लङ्ग देख्‍न सक्दैनन् र तिनीहरूसँग कुनै सुझबुझ हुँदैन। तिनीहरूले जुनसुकै समस्यालाई हेरिरहेका भए पनि, कडाइका साथ प्रावधानहरू लागू गर्छन्। तिनीहरूले प्रावधानहरू पालन गर्न सक्‍नेहरूसँग मात्रै सत्यता हुन्छ भन्‍ने विश्‍वास गर्छन्। तेरा शब्द र व्यवहारहरू सत्यता सिद्धान्तहरूसँग जसरी मिले पनि, ती कुरा त्यस्ता मानिसहरूका धारणा र कल्पनाहरूको विरुद्धमा गएसम्म र तिनीहरूले पहिचान गर्ने प्रावधानहरूसँग बाझिएसम्म, तिनीहरूले हृदयमा तँलाई आलोचना र निन्दा गर्नेछन्। तिनीहरूले यो कुरा ठूलो स्वरले नभने पनि, तिनीहरूले तेरा विरुद्धमा धारणा वा पूर्वाग्रहहरू विकास गर्नेछन्। कमजोर क्षमता भएका यी मानिसहरूले, चाहे जति धेरै प्रवचन सुने पनि वा तिनीहरूसँग सत्यताका जुनसुकै पक्षहरूबारे सङ्गति गरिए पनि, सधैँ सबै कुरालाई एउटै अभिव्यक्ति, व्यवहारको शैली, वा प्रावधानमा झार्छन्, र तिनीहरूले यी अभिव्यक्ति, व्यवहारका तरिका, र प्रावधानहरूलाई ठूलो उत्साहको साथ पालना गर्छन्; तिनीहरूले तिनीहरू सत्यता अभ्यास गर्ने मानिसहरू हुन्, र तिनीहरू साँच्‍चै नै सत्यतामा समर्पित हुन्छन् र साँच्चै परमेश्‍वरको डर मान्छन् भन्‍ने समेत विश्‍वास गर्छन्। तिनीहरूले परमेश्‍वरलाई साँच्‍चै प्रेम गर्छन् र संसारमा कसैले पनि परमेश्‍वरलाई तिनीहरूले भन्दा बढी प्रेम गर्दैन भन्‍ने सोच्दै कहिलेकहीँ तिनीहरू आँसु झर्ने गरी उत्प्रेरित समेत हुन्छन्। वास्तवमा, तिनीहरूले पालना गर्ने कुरा बस एउटै प्रावधान वा काम गर्ने एउटै तरिका मात्रै हुन्छ। तिनीहरूले सत्यता प्राप्त गरेका छन् र परमेश्‍वरले तिनीहरूलाई सिद्ध तुल्याउनुभएको छ भन्‍ने विश्‍वास गर्दै यसरी आफ्नो अभ्यास अघि बढाउँछन् र अपरिवर्तनीय रूपमा यसमा अडिग रहन सक्छन्। मलाई भन, के यो समस्याजनक कुरा होइन र? (हो।)

के तिमीहरूले मानिसहरूले प्रावधानहरू प्रायजसो पालना गरिरहेका घटनाहरू देख्छौ? (देख्छौँ।) उदाहरणका लागि, तैँले खाना पकाउने व्यक्तिलाई मौसम झन् गर्मी हुँदै गइरहेको छ, त्यसकारण हरेक दिन उसले मानिसहरूको भोक जगाउनका लागि ठन्डा गर्ने जडीबुटीको चिया वा चिसो पेय पदार्थ तयार गर्नुपर्छ, र खाना बनाउने क्रममा केही चिसा खानेकुराहरू—जसलाई पश्चिमी मानिसहरूले सलाद भन्छन्—दिनुपर्छ भनेर भन्छस्। कमजोर क्षमता भएको व्यक्तिले यो कुरालाई स्मृतिमा छाप्छ: जब मौसम अत्यन्तै गर्मी हुन्छ, तब मानिसहरूले चिसो खाना खानुपर्छ र चिसो पेय पदार्थ पिउनुपर्छ। उसले यो कुरा राम्ररी याद गर्छ र यसलाई लगनशीलताको साथ पालना गर्छ। तर, एक दिन, जब तापक्रम घट्छ, तब उसले मौसम चिसो छ कि छैन भन्‍ने कुरालाई बेवास्ता गर्छ र यसो सोच्छ, “अहिले गर्मी याम हो, त्यसकारण मैले चिसो खाना र चिसो पेय पदार्थहरू बनाउनुपर्छ। म तपाईंलाई पूर्ण रूपमा आनन्द दिन, तपाईंलाई पूर्ण रूपमा शीतल पार्नका लागि हरेक दिन ती बनाउनेछु। तापक्रम घट्छ कि घट्दैन मलाई मतलब छैन!” उसले चिसो खानेकुरा तयारी गर्ने मात्र होइन, नुडलहरू समेत, चिसो पानीमा पखाल्छ, अनि खानापछि चिसो पेय पदार्थ दिन्छन्, र केही बरफहरू समेत थपिदिन्छ। कतिपय मानिसहरू यो देखेपछि यसो भन्छन्: “आज अत्यन्तै चिसो छ। तिमीले कसरी अझै पनि चिसो खाना बनाउन सक्यौ? अनि तिमीले चिसो पेय पदार्थहरूमा बरफ समेत हाल्यौ—के तिमीले हामीलाई चिसोले मार्ने प्रयास गरिरहेका छौ?” खाना पकाउने व्यक्तिलाई चोट पुग्छ र उसले भन्छ, “के म साँच्‍चै यति दुर्भावपूर्ण छु? गर्मी याममा साह्रै गर्मी हुन्छ—के मैले सबैलाई शीतल होस् भनेर र अझै धेरै खाना रुचोस् भनेर सहयोग गर्नका लागि मात्रै यसो गरिरहेको छैनँ र? के यो सिद्धान्तहरू पछ्याउनु र सबैलाई ख्याल गर्नु होइन र? म कसरी गलत भएँ? अनि अहिले मैले तिमीहरूलाई चिसोले मार्ने प्रयास गरिरहेको छु भनेर भन्दैछौ—के ममा साँच्‍चै नै सदाचारको त्यस्तो कमी छ र? के मेरो मानवता साँच्‍चै त्यति कमजोर छ? तिमीहरू सबैले मलाई साह्रै बेवास्ता गर्छौ!” यसरी खाना बनाउँदा, के उसले सिद्धान्तहरू पालना गरिरहेको हुन्छ? यहाँ सिद्धान्त के हो? मौसम र तापक्रम अनुसार खाना र पेय पदार्थ समायोजन गर्नु हो। गर्मीमा मौसम तातो हुँदा, मानिसहरूको भोक जगाउन सक्‍ने तुलनात्मक रूपमा चिसो खानेकुरा वा पेय पदार्थहरू खानु—यो सिद्धान्त हो, होइन र? यो सिद्धान्त हो। तर अहिले, तापक्रम अचानक घटेको हुनाले, यो सिद्धान्तलाई कसरी लागू गर्नुपर्छ? (जब तापक्रम अचानक घट्छ, तब खाना पकाउने व्यक्ति उप्रान्त पहिले सल्लाह दिइएको जस्तै चिसो खानेकुरा वा सलाद तयार गर्नमा लागिरहनु हुँदैन, तर उसले मौसमअनुसार यसलाई समायोजन गर्नुपर्छ, बरु तातो खाना बनाउनुपर्छ। उसले प्रावधानहरू पालना गरिरहन मिल्दैन।) ठीक भन्यौ। गर्मीमा कहिलेकहीँ मौसम चिसो हुँदा, तँ गर्मीमा चिसो खाना र चिसो पेय पदार्थ बनाउने कार्यमा लागिरहनु हुँदैन—तैँले यो प्रावधान पालना गरिरहन मिल्दैन। जब तापक्रम अचानक घट्छ, तब मानिसहरूले उपभोग गर्ने खाना र पेय पदार्थ पनि तुरुन्तै परिवर्तन हुनुपर्छ। उप्रान्त चिसो खाना र चिसो पेय पदार्थहरू बनाउनु हुँदैन, र बरफहरू त निश्चय नै थप्नु हुँदैन। बरु, तैँले तातो खाना पकाउनुपर्छ, केही तातो नुडल बनाउनुपर्छ, तापक्रम र मौसम अनुसार खाना र पेय पदार्थहरू समायोजन गर्नुपर्छ। सिद्धान्त यही हो। तर कमजोर क्षमता भएको व्यक्ति, गर्मी याम भएसम्म, तापक्रम वा मौसमको अवस्था जेसुकै भए पनि, चिसो पेय पदार्थ र चिसो खानाहरू बनाउने कार्यमा लागिरहन्छ—यहाँ समस्या के हो? (प्रावधानहरू पालना गर्नु।) यो प्रावधानहरू पालना गर्नु, परिस्थिति अनुसार लचकताको साथ सिद्धान्तहरू लागू गर्न नसक्‍नु हो। कमजोर क्षमता भएका मानिसहरूले काम गर्ने तरिकाका हिसाबमा तिनीहरूका प्रकटीकरणहरू यिनै हुन्—तिनीहरूले एउटा अभिव्यक्ति याद गर्छन् र यसलाई पालना गर्नुपर्ने प्रावधानका रूपमा लिन्छन्, र वातावरण, मानिस, घटना, र कामकुराहरू चाहे जसरी परिवर्तन भए पनि, तिनीहरूले मामलाहरू सम्हाल्न लचकदार ढङ्गले सिद्धान्तहरू लागू गर्न सक्दैनन्। वास्तवमा, खाने-पिउने सम्बन्धी सिद्धान्तहरू स्थापित गरेर हासिल गर्नुपर्ने नतिजा भनेको मानिसहरूले आफ्नो शरीरलाई सहज महसुस गराउने तरिकाले खान्छन् भन्‍ने कुरालाई सुनिश्‍चित गर्नु हो। त्यस्ता सिद्धान्तहरू पटक्‍कै प्रावधानहरू होइनन्। तैपनि, तापक्रम वा मौसमलाई ख्याल नगरी, तँलाई खान सहज लाग्छ कि लाग्दैन भन्‍ने कुरालाई वास्ता नगरी, प्रावधानहरू पालना गर्नेहरू गर्मी याम भएसम्म चिसो खाना र चिसो पेय पदार्थ बनाउने कार्यमा लागिरहन्छन्—प्रावधानहरू पालना गर्नु भनेको यही हो। सिद्धान्तहरू अनुसार अभ्यास गर्नु भनेको गरिने सबै कुरा अन्तिम असल नतिजा हासिल गर्नमा केन्द्रित भएर गर्नु हो। तर, प्रावधानहरू पालना गर्दा, नतिजालाई बेवास्ता गरिन्छ र औपचारिकता र व्यवहार गर्ने तरिकामा मात्रै केन्द्रित भइन्छ। कमजोर क्षमता भएका मानिसहरूले समस्याहरूलाई ठ्याक्कै यसरी नै सम्हाल्छन्—जस्तोसुकै परिस्थितिहरू देखा परे पनि, तिनीहरूले तिनलाई सम्हाल्न एउटै शैली प्रयोग गर्छन्।

कमजोर क्षमता भएका मानिसहरूले आफ्नो बाटोमा आउने कुनै पनि कुरालाई छर्लङ्ग देख्‍न सक्दैनन्। परमेश्‍वरका वचनहरू पढ्दा वा प्रवचनहरू सुन्दा पनि, तिनीहरूको बुझाइमा केही विकृति हुन्छ र त्यसमा अपरिहार्य रूपमा विचलनहरू समावेश हुन्छन्। तिनीहरूले एउटा प्रावधान, व्यवहारको तरिका, वा विधिवत् कार्य पालना गरिरहेका हुन्छन्, जुन सत्यता सिद्धान्तहरूभन्दा पूर्ण रूपमा फरक हुन्छ, र परिणाम स्वरूप धेरै विकृत कुराहरू देखा पर्छन्। कुनै पनि मामलाका सन्दर्भमा, कमजोर क्षमता भएका मानिसहरूको बुझाइमा सधैँ अलिक विकृत प्रकृति हुन्छ भनेर भन्‍न सकिन्छ। सरल र सजिलै व्यवस्थापन गर्न सकिने कामकुराहरूमा तिनीहरू विकृति नदेखाई आज्ञापालन र समर्पणता हासिल गर्न सक्लान्, तर सिद्धान्त-आधारित मामलाहरू वा तुलनात्मक रूपमा जटिल समस्याहरूका हकमा, तिनीहरूले सत्यता सिद्धान्तहरू बोध गर्न सक्दैनन्, र प्रावधानहरू पालना गर्न मात्रै जान्दछन्। बुझ्यौ? (बुझ्यौँ।) कमजोर क्षमता भएका मानिसहरूमा सत्यता बुझ्ने क्षमताको पूर्ण कमी हुन्छ र तिनीहरूलाई प्रावधानहरू पालना गर्न मात्रै आउँछ। त्यस्ता मानिसहरू निकै समस्याजनक पनि हुन्छन्। तिनीहरू प्रावधानहरू पालना गर्न अत्यन्तै उत्साहित र सङ्कल्परत हुन्छन्। यदि तैँले तिनीहरूसँग सङ्गति गरेर “तिमीले जे गरिरहेका छौ, त्यो प्रावधानहरू पालना गर्नु हो, सत्यता सिद्धान्तहरू पालना गर्नु होइन” भनेर भनिस् भने, तिनीहरू यो कुरा स्वीकार गर्न सक्दैनन्। तिनीहरूलाई यस्तो लाग्छ: “मैले दृढतापूर्वक सिद्धान्तहरू पालना गरिरहेको छु र म अरूसँग सम्झौता गर्न सक्दिनँ! अरूले सिद्धान्तहरू पालना गर्दैनन् र यसका लागि निन्दित हुन्छन्, तर जब म तिनलाई पालना गर्छु, म पनि निन्दित हुन्छु। यो अन्यायपूर्ण कुरा हो!” तिनीहरू कति जिद्दी हुन्छन् हेर् त, तैँले तिनीहरूलाई मनाउन नै सक्दैनस्। के तिमीहरूले त्यस्ता मानिसहरू सामना गरेका छौ? (गरेका छौँ।) उदाहरणका लागि, म कतिपय मानिसहरूलाई यसो भन्छु, “यदि तँ नृत्य सिक्न चाहन्छस् भने, तैँले काममा व्यस्तता नभएको बेला हरेक दिन दुई घण्टा तालिम लिनका लागि छुट्याउन सक्छस्। यदि तैँले केही समयसम्म निरन्तरता दिइस् भने, सिक्‍नेछस्।” तिनीहरूलाई “हरेक दिन दुई घण्टा निरन्तर तालिम लिनु” भन्‍ने वाक्यांश याद हुन्छ र त्यसो गर्नु भनेको सत्यता अभ्यास गर्नु र सिद्धान्तहरूमा लागिरहनु हो भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। त्यसपछि, तिनीहरूले पूरा गरिरहेका कर्तव्यमा जति नै व्यस्तता भए पनि, तिनीहरू अझै पनि हरेक दिन दुई घण्टा नृत्यको तालिम लिनमा अडिग रहन्छन्। बिहानदेखि साँझसम्म मण्डलीको काममा अत्यन्तै व्यस्तता हुने र तिनीहरूसँग मूलतः दिनको दुई घण्टा बाँकी नहुने समयावधिमा पनि, तिनीहरू दुई घण्टासम्म नृत्यको तालिम लिने जिद कस्छन्। जब अरूले तिनीहरूलाई यसले मण्डलीको काममा ढिलाइ हुन सक्छ भनेर सम्झाउँछन्, तब तिनीहरू सुन्न मान्दैनन् र भन्छन्, “परमेश्‍वरले मलाई हरेक दिन दुई घण्टासम्म नृत्यमा तालिम लिन निर्देशन दिनुभएको छ। मैले यो गर्नु नै पर्छ। यदि मैले यसो गरिनँ भने, यसको अर्थ म अनाज्ञाकारी छु र ममा कुनै समर्पणता छैन भन्‍ने हुन्छ।” यदि तैँले तिनीहरूलाई यसो नगर्नू भनेर भनिस् भने, तिनीहरू अनिच्छुक हुन्छन्। तिनीहरूले कामका आवश्यकताहरू वा वातावरणका आवश्यकताहरूका आधारमा लचकताको साथ कामकुरा सम्हाल्न वा मेरा वचनहरू लागू गर्न सक्दैनन्। तिनीहरूले किन दुई घण्टा तालिम लिनुपर्छ, दुई घण्टा तालिम लिनुको महत्त्व के हो, वा यसले के नतिजा हासिल गर्ने उद्देश्य राख्छ भन्‍ने कुरा बुझ्दैनन्। तिनीहरू यी कुराहरू बुझ्दैनन् र यसबारे अस्पष्ट हुन्छन्। तिनीहरूका लागि, सत्यता अभ्यास गर्नु भनेको एउटै अभिव्यक्ति, प्रावधान, वा औपचारिकता पालना गर्नु मात्रै हो—तिनीहरूका दृष्टिकोणमा, त्यो सत्यता अभ्यास गर्नु हो। कुनै नतिजा हासिल भए वा नभए पनि अथवा नतिजा जेसुकै भए पनि, तिनीहरू जिद्दी भएर एउटै पथमा लागिरहन्छन्, नाकै भाँचिए पनि अड्डी छाड्दैनन्। तिनीहरूले आफ्नो अभ्यासमा बाटो बिराए पनि, तिनीहरूले निरन्तर त्यसरी नै काम गरिरहनेछन्। तिनीहरूले वाहियात व्यवहार गरिरहेका छन् भनेर भन्दा पनि, तिनीहरू अझै पनि त्यसो गर्न जिद्दी गर्छन्। के त्यस्ता मानिसहरू अत्यन्तै समस्याजनक हुँदैनन् र? तिनीहरूसँग चाहे जसले सङ्गति गरे पनि, काम गर्दैन। तैँले श्रमसाध्य रूपमा कुराहरू स्पष्ट रूपमा व्याख्या गरेपछि, तिनीहरूले आज यो मामला बुझ्न सक्लान्, तर भोलि तिनीहरूले अर्को मामलामा प्रावधानहरू पालना गर्नेछन्, अटुट रूपमा प्रावधानहरू पालना गर्नेछन्, र तैँले तिनीहरूलाई निरन्तर सच्याउनुपर्ने हुन्छ। तिनीहरू कि त बायाँ कि त दायाँतिर भड्किन्छन्, र तिनीहरूले यो वा त्यो मामलामा बाटो बिराइरहेका हुन्छन्—तिनीहरूले निरन्तर अटुट रूपमा बाटो बिराइरहन्छन्। तिनीहरूलाई हेर्दा तँ बेचैन हुन्छस्, तर तैँले जति नै प्रयास गरे पनि तिनीहरूलाई सच्याउन सक्दैनस्। किन? किनभने तिनीहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ। तिनीहरूले सकारात्मक र नकारात्मक कुराहरू, सही र गलत, ठीक र बेठीक, सत्यता र प्रावधानहरू बीचमा कहिल्यै भिन्‍नता छुट्याउन सक्दैनन्। तिनीहरूसँग यी कुराहरूलाई छुट्याउने कुनै मानका हुँदैन, तिनलाई छुट्याउने कुनै क्षमता हुँदैन, र तिनीहरूले तिनलाई बस छुट्याउन नै सक्दैनन्। त्यसकारण, कमजोर क्षमता भएका मानिसहरू प्रावधान-आधारित काम र घरका कामहरू, वा सत्यता सिद्धान्तहरूसँग असम्बन्धित एकपक्षीय काम मात्रै गर्न सक्छन्, जस्तै हरेक दिन नियमित समयतालिका पछ्याउनु, निश्‍चित समयमा एउटा काम गर्नु र अर्को निर्धारित समयमा अर्को काम गर्नु—अर्थात्, तिनीहरू काम राम्ररी गर्नका लागि तालिका पालना गर्दा, औपचारिकता कायम राख्दा, र काम गर्ने तरिकालाई पछ्याउँदा नै पर्याप्त हुने सरल कार्यहरू मात्रै सम्हाल्न सक्छन्। तर तिनीहरूले अलिक बढी जटिल काम सम्हाल्न सक्दैनन्। तिनीहरूबाट सत्यता सिद्धान्तहरू अनुसार काम गर्नुपर्छ र निश्‍चित नतिजाहरू हासिल गर्नुपर्छ भन्‍ने माग गरिएपछि, तिनीहरू यो कुरा हासिल गर्न सक्दैनन्। यदि तैँले तिनीहरूलाई सत्यता सिद्धान्तहरू लचकदार ढङ्गले लागू गर्न, उपयुक्त रूपमा विभिन्‍न समस्याहरू सम्हाल्न, र वातावरण अनुसार आफूलाई अनुकूल बनाउन माग गर्ने काम दिइस् भने, तिनीहरू अन्योलमा पर्छन् र तिनीहरूले यो काम पूरा गर्न सक्दैनन्। तिनीहरूलाई सहयोग गर्न र निर्देशन दिन कोही हुनु नै पर्छ; तैँले तिनीहरूले स्वतन्त्र रूपमा काम राम्ररी गर्छन् भनेर अपेक्षा गर्न सक्दैनस्। त्यस्ता मानिसहरूलाई कसरी व्यवहार गर्नुपर्छ? तिनीहरू हर दिन आफ्नो कर्तव्य पूरा गर्नमा अडिग रहन सक्‍ने भए पनि, अनपेक्षित परिस्थितिहरू सामना गर्दा, तिनीहरूलाई कसरी प्रतिक्रिया दिने भनी थाहा हुँदैन र तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न समेत छोड्न सक्छन्। त्यस्ता मानिसहरूका लागि, तिनीहरूको काम बारे बारम्बार सोधपुछ गर्नु र निरीक्षण गर्नु आवश्यक हुन्छ, र यो सोध्नुपर्छ, “यो अवधिमा, के मण्डलीको काममा कुनै अवरोध वा बाधाहरू आएका छन्? के तिमीलाई सम्हाल्‍न नआएका कुनै जटिल समस्याहरू छन्?” यसबारे विचार गरेपछि, तिनीहरू भन्छन्, “यो अवधिमा सबै कुरा ठीकठाक रहेको छ। सबैले आ-आफ्नो कर्तव्य पूरा गरिरहेका छन् र सामान्य रूपमा भेला भएर परमेश्‍वरका वचनहरू खान-पिउन सक्छन्। कसैले पनि अवरोध वा बाधा दिएको छैन, र अरूलाई बहकाउन कसैले भ्रमहरू फैलाएको मैले सुनेको छैनँ।” तिनीहरूले कुनै समस्याहरू पहिचान गर्न सक्दैनन् र के रिपोर्ट गर्ने भन्‍ने तिनीहरूलाई थाहा हुँदैन, न त तिनीहरूले प्रश्‍नहरू उठाउन समेत सक्छन्। त्यसकारण, तैँले तिनीहरूबाट, वास्तविक जीवनमा वा आफ्नो कर्तव्य पूरा गर्दा देखा पर्ने समस्याहरू आफै सम्हाल्छन् वा समाधान गर्छन् भन्ने अपेक्षा गर्न सक्दैनस्। न त तैँले तिनीहरूबाट, कुनै कुरा कसरी सम्हाल्ने भन्‍ने थाहा नभएको बेला आफूभन्दा माथि रहेका मानिसहरूबाट खोजी गर्छन् वा तिनीहरूलाई प्रश्‍नहरू सोध्छन् भन्‍ने नै अपेक्षा गर्न सक्छस्। तिनीहरूको क्षमता अपर्याप्त भएकोले तिनीहरूले यीमध्ये कुनै पनि कुरा हासिल गर्न सक्दैनन्। यदि त्यस्ता मानिसहरूले आफूभन्दा माथिका मानिसहरूलाई समस्याहरूका बारेमा रिपोर्ट गरेनन् भने, अरूले तिनीहरूसँग कुनै समस्या छैन भन्‍ने सोच्न सक्छन्। तर, यो कुरा साँचो होइन। तिनीहरू साधारण समस्याहरूलाई समेत पहिचान गर्न सक्दैनन्, र तिनीहरूका अगाडि समस्याहरू थुप्रिँदा पनि, तिनीहरू तिनलाई समस्याहरूका रूपमा लिँदैनन्। र त्यसकारण, तिनीहरू समस्याहरू पनि समाधान गर्दैनन्। तिनीहरूको शिर, दुई आँखा र दुई कान हुन्छ; तिनीहरू देख्‍न, सुन्‍न, र बोल्न सक्छन्, र तैपनि तिनीहरू समस्याहरू पहिचान गर्न वा समाधान गर्न सक्दैनन्। तिनीहरूमा क्षमता र समस्याहरू पहिचान गर्ने र सम्हाल्ने क्षमताको पूर्ण कमी हुने हुनाले, तिनीहरूको रूप जति नै चलाख देखिए पनि, यसको कुनै काम हुँदैन। तिनीहरूले आफूले देखेको वा सुनेको कुरालाई मनमा लिएर मन्थन गर्न र यी समस्याहरू हुन् कि होइनन् वा तिनलाई कसरी सम्हाल्नुपर्छ भनेर पत्ता लगाउनका लागि यसबारेमा विचार गर्न सक्दैनन्। यदि तिनीहरूले सत्यता सिद्धान्तहरूसँग सम्बन्धित समस्याहरूलाई सम्हाल्न नसकेमा, ती कुराहरूबारे आफूभन्दा माथि रहेका मानिसहरूलाई रिपोर्ट पनि गर्नेछैनन्। तिनीहरू यीमध्ये कुनै पनि कुरा गर्न पूर्ण रूपमा असमर्थ हुन्छन्। के यसले तिनीहरूको क्षमता कमजोर छ भन्‍ने देखाउँदैन र? के यी कमजोर क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू होइनन् र? (हुन्।) यदि तैँले कमजोर क्षमता भएको व्यक्तिलाई, “के यो अवधिमा काममा कुनै समस्याहरू आएका छन्? के तिमीले सिद्धान्तहरू नबुझेका कुनै क्षेत्रहरू छन्?” भनेर सोधिस् भने तिनीहरूले जवाफ दिन्छन्, “कुनै समस्या छैनन्; सबै जना व्यस्त रहेका छन्, र सबै कुरा निकै राम्ररी अघि बढिरहेको छ!” तिनीहरूका लागि, सबै कुरा ठीकै हुन्छ। अगुवा वा कामदारका रूपमा, यदि तिनीहरूले सबै कुरा ठीक छ भनेर भन्दा तैँले बस तीहरूलाई विश्‍वास गरिस् भने, तँ अत्यन्तै मूर्ख होस् र तँ तिनीहरू जस्तै कमजोर क्षमता भएको व्यक्ति होस्। असल क्षमता भएका मानिसहरूलाई समस्याहरूबारे कसरी सिक्‍ने भन्‍ने मात्रै थाहा हुँदैन तर तिनीहरूले ती समस्याहरूलाई आफै पहिचान गर्न सक्नुपर्छ। तिनीहरू समस्याहरूलाई लक्षित गरेर कुराकानीहरूमा संलग्‍न हुन सक्छन्, र तिनीहरूले कुरा गर्दै जाँदा, समस्याहरू स्वाभाविक रूपमा आफै देखा पर्छन्। जब तैँले समस्या पत्ता लगाउँछस् र कमजोर क्षमता भएको व्यक्तिलाई उसले त्यो कसरी सम्हाल्यो भनेर सोध्छस्, तब उसले प्रतिक्रिया दिन्छ, “कुन समस्या? मैले कसरी यो कुरा याद गरिनँ?” कमजोर क्षमता भएका मानिसहरूले समस्याहरू पहिचान गर्न सक्दैनन्, त्यसकारण काम गर्दा, तँ समस्याहरूका बारेमा सिक्न र तिनलाई पहिचान गर्न सिपालु हुनुपर्छ, समस्याहरूलाई हातमा लिनुपर्छ र छोड्नु हुँदैन, त्यसपछि तिनलाई सम्हाल्न र समाधान गर्न सहयोग गर्नुपर्छ। समस्याहरूलाई पहिचान गर्नका लागि कमजोर क्षमता भएका मानिसहरूसँग कसरी कुराकानी गर्ने, तिनीहरूलाई प्रश्नहरू कसरी सोध्‍ने र कुराकानी गर्दै सोधपुछ कसरी गर्ने भन्‍ने कुरा तँलाई थाहा हुनुपर्छ। तैँले कुराकानी गर्दै जाँदा, तिनीहरूले अनजानमा समस्याहरू आफै उठाउनेछन्। यसरी कुरा नगरी, यी समस्याहरू पहिचान गर्न असम्भव हुनेथियो। तैँले तिनीहरूसँग यसरी कुराकानी गर्ने हुनाले, तिनीहरू प्रोत्साहित हुन्छन् र तिनीहरूले अचानक यी समस्याहरू पहिचान गर्छन्। यदि तैँले परिस्थितिबारे सिक्न यो शैली प्रयोग गरिनस् भने, तिनीहरू आफूले देख्ने यी कुराहरूलाई समस्याका रूपमा देख्‍नेछैनन्। त्यसकारण, जब कुराकानीका अवधिमा समस्याहरू पत्ता लगाइन्छ, तब तिनलाई अलि-अलि गर्दै स्पष्ट पार्नुपर्छ, मञ्जन निचोरेर निकालिए जस्तै। सबै समस्याहरू समाधान भएपछि मात्रै तिनीहरूलाई अलिक लाज लाग्नेछ। के यसले तिनीहरूको क्षमता कमजोर छ भन्‍ने देखाउँदैन र? (देखाउँछ।) कमजोर क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू यिनै हुन्: समस्याहरू हुँदा पनि, तिनीहरू तिनलाई पहिचान गर्न सक्दैनन्, र तिनीहरूले समस्याहरूलाई पहिचान गर्न नसक्‍ने हुनाले, तिनलाई कहिल्यै उठाउन वा समाधान गर्न सक्दैनन्। मलाई भन्, यदि तिनीहरू समस्याहरू पहिचान गर्न सक्दैनन् भने, के तिनीहरू आफ्नो काम राम्ररी गर्न सक्छन्? के तिनीहरूले प्रावधानहरू पालना गरेर आफ्नो काम राम्ररी गर्न सक्छन्? (सक्दैनन्।) बिलकुलै सक्दैनन्। यो कमजोर क्षमता हुनुको एउटा प्रकटीकरण हो। यदि तैँले तिनीहरूको क्षमता कमजोर छ भनेर भनिस् भने, तिनीहरू यस्तो समेत सोच्छन्, “मेरो क्षमता उत्कृष्ट छ! परमेश्‍वरले कुनै कुराबारे बोल्‍नुभएपछि, म तुरुन्तै एउटा व्यवहार गर्ने तरिका वा प्रावधान बुझ्छु, र यसलाई जीवनभरि पालना गर्न सक्छु। देख्यौ? के मेरो क्षमता असल छैन र? तिमीहरू सबैजना मुख्य बुँदाहरू बुझ्न असफल हुन्छौ, तर म त बुझ्न सक्छु। उदाहरणका लागि, मलाई गर्मी याममा मौसम तातो हुन्छ र हामीले चिसो खाना खानुपर्छ भनेर भनिएको थियो। त्यसकारण, म चिसो खाना बनाइरहन्छु र चिसो पेय पदार्थहरू दिइरहन्छु—म परमेश्‍वरले भन्‍नुभएका कुराहरू पालना गर्न सक्छु। हेर त, तिमीहरू कसैले पनि यसलाई पालना गर्न सक्दैनौ, र तिमीहरू सधैँ सिद्धान्तहरूबारे कुरा गरिरहेका हुन्छौ। के सिद्धान्तहरू त प्रावधानहरू मात्रै होइनन् र? यदि तिमीले प्रावधानहरू पालना गऱ्यौ भने, के त्यो सिद्धान्तहरू पालना गर्नु होइन र?” तिनीहरू आफ्नो क्षमता असल छ भन्‍ने समेत सोच्छन्, र तिनीहरूले समस्याका मुख्य बुँदाहरू बुझ्न सक्छन्, र लामो प्रवचनबाट, तिनीहरूले पछ्याउनुपर्छ भन्‍ने ठानेको एउटा अभिव्यक्ति, व्यवहारको शैली, प्रावधान, वा एउटा वाक्यांश वा शब्द समेत चुन्न सक्छन् भन्‍ने विश्‍वास गर्छन्। मलाई भन्, के यो समस्याजनक कुरा होइन र? त्यस्ता मानिसहरू निकै धेरै छन्। जब तैँले सत्यताका विभिन्‍न विवरणहरूका बारेमा सङ्गति गर्छस्, तब तिनीहरूले बुझ्न सक्दैनन् र यसो समेत भन्छन्, “कस्तो झमेला! तिमी बोलेको-बोलै गर्छौ। के यो त ती शब्दहरू नबोल्नु वा त्यस्तो कुरा नगर्नु भन्‍ने मात्रै होइन र? त्यो एउटा अभिव्यक्ति पालना गर्, त्यत्ति त हो नि—यो एउटा अभिव्यक्तिको कुरा मात्रै हो। किन यसलाई यति झिजोलाग्दो बनाउनु? तिमी विभिन्‍न प्रकारका मानिसहरूको स्थिति, वातावरण, र मानवतालाई समेत छुट्याउँछौ, र विकृत र विशुद्ध बुझाइका बीचमा भिन्‍नता छुट्याउँछौ। के साँच्‍चै नै यति धेरै विवरणहरू समावेश हुन्छन् त? किन यति साह्रो तोकेर नै भन्‍ने? तिमी कति झर्को लाग्दो छौ!” तिनीहरूले अरूलाई समेत निन्दा गर्छन्। कमजोर क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू यिनै हुन्।

कमजोर क्षमता भएका मानिसहरूका विशेषताहरू के-के हुन्? तिनीहरू सत्यता सिद्धान्तहरू बुझ्दैनन्; सत्यता सिद्धान्तहरूको जुनसुकै पक्ष भए पनि, तिनीहरू त्यसलाई एक प्रकारको प्रावधान वा सूत्रका रूपमा लिन्छन्, त्यसपछि अथक जोसको साथ त्यसलाई पछ्याउँछन्। तिनीहरू धेरै धर्मसिद्धान्तहरू बोल्न सक्छन् र त्यसकारण आफूले सत्यता सिद्धान्तहरू बुझ्छु भन्‍ने सोच्छन्, तर वास्तवमा, तिनीहरूले सत्यता पटक्‍कै बुझ्दैनन्। यदि तैँले कमजोर क्षमता भएका यी मानिसहरूलाई काम गर्ने अगुवा र कामदारहरूका लागि रहेका केही सिद्धान्तहरू व्याख्या गरिदिइस्, तिनीहरूलाई यी सिद्धान्तहरूको बुझाइका आधारमा काम गर्न र विभिन्‍न समस्याहरू सम्हाल्न आग्रह गरिस् भने, तिनीहरूले ती कुराहरूलाई पटक्‍कै लागू गर्न सक्‍नेछैनन्। तिनीहरू यी सत्यता सिद्धान्तहरू बुझ्दैनन्, न त काम गर्दा यी सत्यता सिद्धान्तहरू लागू नै गर्न सक्छन्। जब तिनीहरू काम गर्न जान्छन्, तब यो पूर्ण रूपमा प्रावधानहरू पालना गर्नु, प्रक्रियाहरू पालना गर्नु, र यान्त्रिक रूपमा मान्यताहरू लागू गर्नु हुन्छ। कतिपय मानिसहरू सत्यता सिद्धान्तहरू पालना गर्न चाहन्छन्, तर तिनीहरूको क्षमता कमजोर भएकोले र तिनीहरूले सत्यताको बुझाइ प्राप्त गर्न नसक्‍ने हुनाले, तिनीहरू सिद्धान्तहरू पालना गर्न सक्दैनन्। तिनीहरूले जुनसुकै काम गरे पनि, समस्याहरू सामना गर्दा, तिनीहरूलाई के गर्ने थाहा हुँदैन र व्याकुल समेत हुन्छन्—तिनीहरूले कुनै पनि काम राम्ररी गर्न सक्दैनन्। जब माथिल्लो स्तरका मानिसहरूले सिद्धान्तहरूबारे सङ्गति गर्छन्, तब तिनीहरूलाई ती सबै कुरा बुझेको, बोध गरेको, जानेको छु, र याद गरेको छु भन्‍ने लाग्छ। तर जब तिनीहरू वास्तविक जीवनमा समस्याहरू सामना गर्छन्, तब तिनीहरू अन्योलमा पर्छन्, किनभने तिनीहरूले बुझेका धर्मसिद्धान्त र प्रावधानहरूको कुनै काम हुँदैन, त्यसकारण तिनीहरू सोच्छन्: “अब म के गर्ने?” तिनीहरूलाई काम कहाँ सुरु गर्ने थाहा हुँदैन, काम गर्नका लागि कुन-कुन विधिहरू प्रयोग गर्ने थाहा हुँदैन, कामका प्रबन्धहरू कसरी लागू गर्ने थाहा हुँदैन, र मण्डलीको कामको सामान्य प्रगति प्रत्याभूति गर्नका लागि तत्कालै कुन-कुन समस्याहरू समाधान गर्नुपर्छ भन्‍ने कुरा तिनीहरूलाई थाहा हुनु त परको कुरा हो—तिनीहरूलाई यीमध्ये कुनै कुरा थाहा हुँदैन। नतिजा स्वरूप, तिनीहरूले चाहे जति लामो समयसम्म काम गरे पनि, कुनै नतिजाहरू निस्किँदैनन्, र कामका प्रबन्धहरू कार्यान्वयन गर्न सकिँदैन। तिनीहरू मण्डली जीवनलाई कसरी असल बनाउने भन्‍ने समस्या समेत समाधान गर्न सक्दैनन्। तिनीहरू सबैभन्दा आधारभूत काम समेत कार्यान्वयन गर्न सक्दैनन् र यसलाई कसरी कार्यान्वयन गर्ने भन्‍ने तिनीहरूलाई थाहा हुँदैन। तिनीहरू मानिसहरूलाई धर्मसिद्धान्तहरू बताउन र प्रावधानहरू पालना गर्न आग्रह गर्न मात्रै सक्छन्। कामका प्रबन्धहरू कार्यान्वयन गर्ने र मण्डलीको ठोस काम गर्ने कुरा आउँदा, तिनीहरू अन्योलमा पर्छन् र यो काम गर्न सक्दैनन्। तिनीहरू मनमनै यसो सोच्छन्, “यी कामका प्रबन्धहरू कसरी कार्यान्वयन गर्नुपर्छ? कुन-कुन प्रावधानहरू पालना गर्नुपर्छ?” तिनीहरूले यी कुराहरूलाई स्पष्ट रूपमा देख्‍न सक्दैनन्। तर तिनीहरूसँग अझै पनि अन्तिम उपाय हुन्छ: तिनीहरूले धेरै भेलाहरू आयोजना गरेसम्म, समस्याहरू समाधान गर्न सकिन्छ भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। त्यसकारण, काम गर्ने तिनीहरूको तरिका भनेको अथक रूपमा भेलाहरू आयोजना गर्नु र अथक रूपमा प्रवचन दिनु हो। जब तिनीहरूको प्रचारले सबैलाई जोस्याउँछ र उत्साहित तुल्याउँछ, तब तिनीहरूले समस्याहरू सबै समाधान भएका छन् र अरू समस्याहरू छैनन्, र सबै जना उत्साहित भएसम्म, सबै काम उचित रूपमा पूरा हुन्छ भन्‍ने सोच्छन्। तर के हुन्छ भने, कैयौँ दिन भेला भएपछि, वास्तविक समस्याहरू समाधान नहुने मात्र होइन, र मानिसहरूले पूरा गर्ने कर्तव्यहरूले अझै पनि कुनै ननिकाल्ने मात्र होइन, तर मण्डलीको काममा पनि कुनै प्रगति हुँदैन। तैपनि तिनीहरूसँग अझै पनि प्रवचन दिने मुड हुन्छ। कमजोर क्षमता भएका मानिसहरूले चाहे जति लामो समय काम गरे पनि कुनै नतिजा हासिल गर्दैनन्, र तिनीहरूलाई जति धेरै समय दिइए पनि तिनीहरूले कामका प्रबन्धहरू कार्यान्वयन गर्न सक्दैनन्—तिनीहरूमा न त कार्यदक्षता हुन्छ न त प्रभावकारिता नै। कमजोर क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू यिनै हुन्। कमजोर क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू मैले भर्खरै व्याख्या गरे अनुसार हुन्छन्, क्षमता नै नभएका मानिसहरूका प्रकटीकरणहरूका बारेमा कुरा गरिरहनु पर्दैन। तिनीहरूले चाहे जति धेरै प्रवचन सुने पनि वा अरूले तिनीहरूसँग जति धेरै सत्यताबारे सङ्गति गरे पनि, तिनीहरूले सत्यता सिद्धान्तहरू बुझ्न सक्दैनन्, र पालना गर्नुपर्ने सबैभन्दा आधारभूत प्रावधानहरू समेत बुझ्न सक्दैनन्। जब कसैको क्षमता यो हदसम्म कमजोर हुन्छ, तब सत्यता सिद्धान्तहरू तिनीहरूको पहुँचभन्दा बाहिर हुन्छन्। अरूले तिनीहरूसँग सत्यताबारे सङ्गति गरे पनि, तिनीहरूले अभ्यासको मार्ग भेट्टाउन सक्दैनन्, र अभ्यास कसरी गर्ने भन्‍ने थाहा हुनुभन्दा पहिले तिनीहरूलाई कसैले निर्दिष्ट निर्देशन दिनुपर्छ। त्यस्ता मानिसहरू पशुहरूबाट पुनर्जन्म लिएका मानिसहरू झैँ हुन्छन्; तिनीहरूको मन सधैँ धमिलो र अस्पष्ट हुन्छ, र तिनीहरूले सिद्धान्तहरू के हुन् र प्रावधानहरू के हुन् भनेर कहिल्यै छुट्याउन सक्दैनन्। तिनीहरू हृदयमा यसो भन्छन्, “यी कुराहरू सुन्दा किन सधैँ मेरो टाउको दुख्छ र मलाई निद्रा लाग्छ?” अन्त्यमा, तिनीहरू यस्तो निष्कर्ष निकाल्छन्: “सत्यता सिद्धान्तहरू मेरो पहुँचभन्दा बाहिर मात्र छैनन्, तर म प्रावधानहरू समेत पालना गर्न सक्दिनँ, त्यसकारण भविष्यमा, मभित्र जति धेरै आगो छ त्यति नै धेरै आगो निकालेर जति सक्दो उज्यालो रूपमा चम्किनेछु, मेरो क्षमताले जति भ्याउँछ त्यति नै धेरै मेहनत गर्नेछु, र आफूले गर्न सक्‍ने काम मात्र गर्छु, र त्यो नै पर्याप्त हुन्छ।” यीमध्ये कतिले यसो भन्दै आफूलाई सान्त्वना समेत दिन्छन्, “मलाई प्रावधानहरू कसरी पालना गर्ने भन्‍ने थाहा छैन, न त म सत्यता सिद्धान्तहरू नै बुझ्छु, तर मसँग परमेश्‍वरलाई प्रेम गर्ने हृदय छ!” यदि तिनीहरूले परमेश्‍वरलाई साँच्चै प्रेम गर्न सक्थे भने, त्यो नराम्रो कुरा हुनेथिएन, तर यति कमजोर क्षमता भएकोले, तिनीहरू सत्यता समेत बुझ्दैनन्—के परमेश्‍वरप्रतिको तिनीहरूको प्रेम साँचो हुन सक्छ? कुनै क्षमता नभएका मानिसहरूमा सबै हिसाबमा बुझ्ने क्षमताको कमी हुन्छ र तिनीहरूसँग प्रावधानहरू पालना गर्ने क्षमता समेत हुँदैन। कमजोर क्षमता भएका कतिपय मानिसहरू, सत्यताको अभ्यास गर्दा, कम्तीमा पनि आंशिक रूपमा बुझेको सिद्धान्त, प्रावधान, वा सूत्रलाई पक्रन सक्छन्, र यसरी थोरै सत्यता अभ्यास गर्न सक्छन्। तर, क्षमता नभएका मानिसहरूले प्रावधान-आधारित कुराहरूलाई बुझ्न वा पालना गर्न समेत सक्दैनन्—यस्तो प्रकारको व्यक्ति झन् बढी दयनीय हुन्छ।

यदि हामीले यसरी सत्यता सिद्धान्तहरू प्रयोग गरेर मानिसहरूको क्षमता मूल्याङ्कन गर्‍यौँ भने, सम्बन्धित प्रकटीकरणहरू हामीले भर्खरै सङ्गति गरेका प्रकटीकरणहरू नै हुन्। त्यसकारण, यदि हामीले मानिसहरूको क्षमता मूल्याङ्कन गर्न तिनीहरूसँग आत्मिक बुझाइ छ कि छैन भन्‍ने तथ्यलाई प्रयोग गर्‍यौँ भने, हामीले यो कसरी गर्नुपर्छ? असल क्षमता भएका मानिसहरूमा निश्चित रूपमा नै आत्मिक बुझाइ हुन्छ, होइन र? (हो।) आत्मिक बुझाइ हुनुको अर्थ के हो भने तिनीहरूले सत्यता बुझ्न, सत्यता सिद्धान्तहरू बोध गर्न, र परमेश्‍वरमा विश्‍वास गर्ने प्रक्रियामा देखा पर्ने सत्यता सिद्धान्तहरूसँग सम्बन्धित विभिन्‍न समस्याहरूलाई सत्यता प्रयोग गरेर समाधान गर्न, साथै परमेश्‍वरको घरका विभिन्‍न आन्तरिक मामलाहरूलाई सम्हाल्न सत्यता प्रयोग गर्न सक्छन्। त्यसोभए बाहिरी संसारका विभिन्‍न मामलाहरू नि? असल क्षमता भएका मानिसहरूमा आत्मिक बुझाइ हुने हुनाले र तिनीहरूसँग विभिन्‍न मामलाहरू सम्हाल्ने सामर्थ्य हुने हुनाले, तिनीहरूले बाहिरी संसारका मामलाहरू सम्हाल्न तुलनात्मक रूपमा मानवता अनुरूप केही सिद्धान्तहरू वा सकारात्मक कुराहरूसँग नजिकका केही सिद्धान्तहरू पनि प्रयोग गर्न सक्छन्। सतही भिन्‍नताहरू भए पनि, विभिन्‍न कुराहरूका आधारभूत तत्त्वहरू एउटै हुन्छन्, र विभिन्‍न कुराहरू अन्तर्गतका सिद्धान्तहरू असल क्षमता भएका मानिसहरूले बोध गर्न सक्‍ने कुराहरू नै हुन्, त्यसकारण असल क्षमता भएका मानिसहरूमा आत्मिक बुझाइ हुन्छ भनेर सामान्यतया भन्‍न सकिन्छ। आत्मिक बुझाइ हुनुको अर्थ आत्मिक क्षेत्रसँग कुराकानी गर्न सक्नु होइन; बरु, यसको अर्थ व्यक्तिले विभिन्‍न कुराहरूका आधारभूत नियम र सिद्धान्तहरू बोध गर्न सक्छ भन्‍ने हुन्छ। यसलाई व्यक्त गर्ने सीधा, सरल, र स्पष्ट तरिका यही हो। बाहिरी संसारका आधारभूत नियमहरू र सत्यता समावेश गर्ने सिद्धान्तहरू बुझ्न सक्‍नु असल क्षमता भएका मानिसहरूको प्रकटीकरण हो। त्यसोभए, हामी औसत क्षमता भएका मानिसहरूमा आत्मिक बुझाइ छ कि छैन भन्‍ने आधारमा तिनीहरूको प्रकटीकरणलाई कसरी मापन गर्न सक्छौँ? औसत क्षमता भएका मानिसहरूमा आधा कुराका बारेमा आत्मिक बुझाइ हुन्छ तर अर्को आधा कुराका बारेमा हुँदैन, र तिनीहरूले कतिपय भागहरू बुझेका हुन्छन् जबकि अरू भागहरू बुझेका हुँदैनन्। तिनीहरूसँग आत्मिक बुझाइ भएका भागहरू तिनीहरूको क्षमताले भ्याउन सक्‍ने भागहरू हुन्। परमेश्‍वरमाथिको विश्‍वाससँग सम्बन्धित विभिन्‍न सत्यताहरूका बारेमा सङ्गति सुनेपछि, तिनीहरू ती कुरा बुझ्न सक्छन्, र कसैको निर्देशनविना पनि, तिनीहरूले तीभित्र बोध गरिनुपर्ने सिद्धान्तहरू पत्ता लगाउन सक्छन्। तिनीहरूसँग कुनै आत्मिक बुझाइ नभएका भागहरू तिनीहरूको क्षमताले भ्याउन नसक्‍ने भागहरू हुन्। अरूको मार्गदर्शन र निर्देशनविना, तिनीहरूसँग अभ्यासका कुनै सिद्धान्तहरू हुँदैनन्, तिनीहरूले आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्न वा समस्याहरू समाधान गर्न सक्दैनन्, र काम कसरी गर्ने र समस्याहरू कसरी सम्हाल्ने भनेर जान्‍नका लागि तिनीहरूलाई मलजल, मार्गदर्शन, र निर्देशन चाहिन्छ—तिनीहरूमा कुनै आत्मिक बुझाइ नहुनुका प्रकटीकरणहरू यिनै हुन्। औसत क्षमता भएका मानिसहरूसँग आधारभूत रूपमा आत्मिक बुझाइ हुन्छ भनेर भन्‍न सकिन्छ, तर असल क्षमता भएका मानिसहरूको तुलनामा तिनीहरूको आत्मिक बुझाइको स्तरको कमी हुन्छ—तिनीहरू आधा मात्रै बुझ्छन्। यो कहाँकमी हुन्छ? तिनीहरूले सत्यता सिद्धान्तहरू बोध गर्ने हदमा कमी हुन्छ—तिनीहरूले स्वतन्त्र रूपमा कामका विभिन्न पक्षहरू पूरा गर्न सक्दैनन्। अब, यदि हामीले कमजोर क्षमता भएका मानिसहरूलाई तिनीहरूसँग आत्मिक बुझाइ छ कि छैन भनेर मूल्याङ्कन गर्‍यौँ भने, यो कसरी गर्नुपर्छ? के यो मूल्याङ्कन गर्न सजिलो छ? के कमजोर क्षमता भएका मानिसहरूसँग आत्मिक बुझाइ हुन्छ? (हुँदैन।) तैँले कमजोर क्षमता भएका मानिसहरूको प्रकटीकरणलाई हेरेर मात्रै पनि तिनीहरूसँग कुनै आत्मिक बुझाइ हुँदैन भनेर भन्न सक्छस्, किनभने तिनीहरू प्रावधानहरू मात्रै पालना गर्छन्। क्षमताविनाका मानिसहरूमा वास्तवमा मानव आत्मा हुँदैन, र मानव आत्मा नहुनुको अर्थ तिनीहरू पशुहरू जस्तै आत्मिक बुझाइविहीन हुन्छन् भन्‍ने हुन्छ। त्यस्ता मानिसहरूका हकमा, तिनीहरूसँग आत्मिक बुझाइ छ कि छैन भनेर मूल्याङ्कन गर्नु अनावश्यक हुन्छ। जब आत्माविनाको व्यक्तिले कुनै पनि मामलालाई हेर्छ वा विभिन्‍न मानिसहरूसँग व्यवहार गर्छ, तब उसले तिनीहरूलाई मूल्याङ्कन गर्न सक्दैन, र सकारात्मक वा नकारात्मक कुराहरूका बारेमा तिनीहरूसँग कुनै दृष्टिकोण हुँदैन। तिनीहरूसँग आफ्नै हितहरूको रक्षा गर्ने र घाटाबाट जोगिने केही हिसाब-किताबहरू मात्रै हुन्छन्। जब तँ कुनै दृष्टिकोण व्यक्त गर्छस्, तब यदि तिनीहरू तँसँग परिचित छन् र तँसँग असल क्षमता र विशुद्ध बुझाइ छ, र तँ सकारात्मक व्यक्ति होस् भन्‍ने तिनीहरूलाई थाहा छ भने, तिनीहरू तेरो दृष्टिकोणसँग सहमत हुन्छन्। तर यदि तिनीहरू तँसँग परिचित छैनन् भने, तिनीहरूले तँलाई हेयको दृष्टिले हेर्छन्। तेरो दृष्टिकोण जति नै सही भए पनि वा यो सत्यता सिद्धान्तहरूसँग जति नै मिल्ने भए पनि, तिनीहरू यसलाई स्वीकार गर्दैनन्। तिनीहरूलाई यो सही छ भन्‍ने थाहा हुँदैन, यो मानिसहरूले स्वीकार गर्नुपर्ने कुरा हो भन्‍ने थाहा हुँदैन, र यो असल दृष्टिकोण तिनीहरूका लागि कति फाइदाजनक हुन सक्छ वा यसले तिनीहरूलाई कति धेरै सहयोग प्रदान गर्न सक्छ भन्‍ने थाहा हुँदैन—तिनीहरूलाई यो सबै कुराका बारेमा थाहा हुँदैन। जबकि, जब कुनै नकारात्मक व्यक्तिले नकारात्मक दृष्टिकोण अघि सार्छ, तब यदि यो नकारात्मक व्यक्तिले प्रभुत्व जमाइरहेको छ र यो व्यक्ति तिनीहरूले आदर र सम्‍मान गर्ने व्यक्ति हो भने, नकारात्मक दृष्टिकोण स्विकारेपछि त्यसले तिनीलाई हानि गर्नेछ भन्‍ने थाहा पाए पनि तिनीहरूले त्यसलाई स्वीकार गर्छन्। तिनीहरू कस्ता प्रकारका व्यक्ति हुन्? (कुनै क्षमता नभएका व्यक्ति।) तिनीहरू कुनै क्षमता नभएका व्यक्ति हुन्, जसको अर्थ तिनीहरूसँग कामकुराहरू खुट्ट्याउने सामर्थ्यको कमी हुन्छ। तिनीहरूले जुनसुकै परिस्थिति सामना गरे पनि, त्यसलाई छर्लङ्ग देख्‍न सक्दैनन् र तिनीहरूले कायम राख्नुपर्ने कुनै पनि सिद्धान्तहरू तिनीहरूलाई थाहा हुँदैन; यस्ता प्रकारको व्यक्तिले खराब वा दुष्ट मानिसहरूलाई पछ्याउँदा खराब कार्यहरू गर्न सक्छन्, र तिनीहरूले असल मानिसहरूलाई पछ्याउँदा केही असल कुराहरू गर्न सक्छन्—तिनीहरूमा कामकुराहरू खुट्ट्याउने क्षमताको कमी हुन्छ। त्यसकारण म तिनीहरू आत्मा नभएका मृत व्यक्ति हुन् भनेर भन्छु। कमजोर क्षमता भएका मानिसहरू, असल क्षमता भएका मानिसहरू वा सकारात्मक व्यक्तिहरूसँगसँगै धेरै वर्ष बिताएपछि, तिनीहरूले सुनेको र देखेको कुराले प्रभावित हुन सक्छन्, र तिनीहरूले केही राम्रा कुराहरू सिक्न, केही राम्रा प्रावधानहरू पालना गर्न, र केही सकारात्मक भनाइ र व्यवहारका तरिकाहरू वा सकारात्मक विचार र दृष्टिकोणहरू पालना गर्न सक्छन्। तर, आत्माविनाका मृत मानिसहरूले सकारात्मक विचार र दृष्टिकोणहरू, व्यवहार गर्ने असल तरिका र प्रावधानहरू, असल विचारको शृङ्खला, वा दैनिक जीवनका केही सकारात्मक जीवनशैली र सकारात्मक आम ज्ञानहरू सिक्न वा पालना गर्न समेत सक्दैनन्। जब तिनीहरू स्वतन्त्र रूपमा जिउन थाल्छन्, तब तिनीहरूको जिउने परिस्थिति—जुन अन्योलमा परेको व्यक्तिको जस्तो हुन्छ—पूर्ण रूपमा खुलासा हुन्छ। आत्मा नभएका मृत मानिसहरूका प्रकटीकरणहरू यिनै हुन्।

आत्मिक बुझाइ भएका मानिसहरूसँग कम्तीमा पनि औसत क्षमता हुन्छ। यदि सत्यता तिनीहरूको पहुँचमा छ र तिनीहरूले त्यो बुझ्न सक्छन् भने, तिनीहरू असल क्षमता भएका मानिसहरू हुन्। आत्मिक बुझाइ नभएका मानिसहरू निश्चित रूपमा नै या त कमजोर क्षमता भएका मानिसहरू हुन् अथवा कुनै क्षमता नभएका मानिसहरू हुन्—यी दुई प्रकारका मानिसहरूमा निश्चित रूपमा नै आत्मिक बुझाइको कमी हुन्छ। असल क्षमता भएका मानिसहरूमा मात्रै पूर्ण आत्मिक बुझाइ हुन्छ भनेर भन्‍न सकिन्छ, जबकि औसत क्षमता भएका मानिसहरूमा औसत स्तरको आत्मिक बुझाइ हुन्छ। अर्थात्, धेरै मामलाहरूमा तिनीहरूको क्षमतामा कमी हुन्छ र तिनीहरू आत्मिक बुझाइ हासिल गर्न सक्दैनन्। तिनीहरूले साधारण मामलाहरूमा मात्रै आत्मिक बुझाइ हासिल गर्न र स्वतन्त्र रूपमा कामकुराहरू सम्हाल्न सक्छन्। जब तिनीहरूले जटिल मामलाहरू वा बहुमुखी काम सामना गर्छन्, तब तिनीहरू यी कुराहरूलाई स्वतन्त्र रूपमा सम्हाल्न सक्दैनन् किनभने त्यसमा समावेश हुने सत्यता सिद्धान्तहरू तिनीहरूको पहुँच र बुझाइभन्दा बाहिर हुन्छन्। त्यसकारण, तिनीहरूको आत्मिक बुझाइको स्तर निकै औसत हुन्छ। कमजोर क्षमता भएका मानिसहरूको विशेषता के हो भने सत्यता सिद्धान्तहरू तिनीहरूको बुझाइभन्दा बाहिर हुन्छन्, र तिनीहरू प्रावधानहरू मात्रै पालना गर्छन्, किनभने तिनीहरू सत्यता सिद्धान्तहरू बुझ्न सक्दैनन्, र सत्यता सिद्धान्तहरूको अवधारणा के हो भन्‍ने समेत बुझ्दैनन्, र सत्यता सिद्धान्तहरू प्रावधानहरू मात्रै हुन् भन्‍ने विश्‍वास गर्छन्। त्यसकारण, यस प्रकारका मानिसहरूमा कुनै आत्मिक बुझाइ हुँदैन भन्‍ने कुरा अत्यन्तै स्पष्ट छ। तिनीहरूको आत्मिक बुझाइको कमीको एउटा मुख्य विशेषता के हो भने तिनीहरूले विभिन्‍न मानिस, घटना, र कामकुराहरूका बारेको बुझाइमा प्रकाश गर्ने विचार र दृष्टिकोणहरू सबै विकृत हुन्छन्। यहाँ “विकृत” शब्दलाई कसरी बुझ्नुपर्छ? यसको अर्थ सामान्य मानवताको सोचाइको गतिपथबाट पूर्ण रूपमा अलग हुनु र सामान्य मानवताका आवश्यकताहरूको गतिपथबाट पूर्ण रूपमा अलग हुनु हो—यो विकृत हुनु हो। जब तैँले यी मानिसहरूले भन्ने कुराको सोचाइको तर्क सुन्छस्, तब तँलाई त्यो अनौठो लाग्छ, र हरेक पटक तैँले तिनीहरूले कुनै कुराबारे दृष्टिकोण व्यक्त गरेको वा कुरा गरेको सुन्दा, तँ छक्क पर्छस्। “छक्‍क पर्नु” को अर्थ के हो? यसको अर्थ जब तैँले तिनीहरूले भनेको कुनै कुरा सुन्छस्, तब तँलाई यो अविश्‍वासनीय लाग्छ र तँ मनमनै सोच्छस्, “तिनीहरूमा कसरी यस्तो विचार आउन सक्छ? यो किन सामान्य मानिसहरूले सोच्ने कुराभन्दा यति फरक छ? यो विचार अत्यन्तै अनौठो छ—यो किन अलिक वाहियात लाग्दो छ?” तेरो हृदयमा, तँलाई यो कुरा निकै अप्ठ्यारो र हास्यास्पद लाग्छ। सधैँ अरूलाई छक्क पार्ने शब्दहरू बोल्ने मानिसहरू विकृतितर्फ ढल्किने मानिसहरू हुन्—विशेष गरी यस्ता मानिसहरू। उदाहरणका लागि, तँ तिनीहरूलाई सोध्छस्, “के तिमीले केही खायौ?” तिनीहरू जवाफ दिन्छन्, “आज निकै चिसो छ।” के यी दुई कुराहरूको बीचमा कुनै सम्बन्ध छ? (छैन।) तँ भन्छस्, “आज किन यति थोरै लुगा लगाउनुभएको?” तिनीहरू भन्छन्, “आज मैले एक कप अदुवा चिया पिएँ।” के तिनीहरूको जवाफ तेरो प्रश्‍नसँग कहिँकतै सम्बन्धित हुन्छ? के तिनीहरूका उत्तरमा सामान्य सोचाइ र तर्क समावेश हुन्छ? (हुँदैन।) सामान्य सोचाइ र तर्क भएको व्यक्तिले कसरी जवाफ दिनुपर्छ? तिनीहरूले यसो भन्‍न सक्छन्, “भित्र धेरै गर्मी भएकोले मैले यति थोरै लुगा लगाएको हुँ, त्यसबाहेक, बाहिर निकै घाम लागेको छ र तापक्रम तुलनात्मक रूपमा उच्च छ।” वा तिनीहरू यसो भन्‍न सक्छन्, “मैले भर्खरै कसरत गरिसकेको र मलाई गर्मी भएकोले मैले यति थोरै लुगा लगाएको हुँ।” तर यदि कसैले “तिमीले किन यति थोरै लुगा लगाएको?” भनेर सोध्यो भने, तिनीहरू “किनभने आज मैले न्यानो जुत्ता लगाइरहेको छु,” भनेर प्रतिक्रिया दिए भने, यो उत्तरसँग प्रश्‍नको कुनै सम्बन्ध हुँदैन। तिनीहरूको विचार शृङ्खला र तिनीहरूले सोच्दा तिनीहरूले पछ्याउने तर्क सामान्य मानवताको सोचाइ र तर्क अनुरूप हुँदैन। यो सामान्य मानवताको सोचाइ भएको कुनै पनि व्यक्तिले नबुझ्ने अत्यन्तै अनौठो विचार र अत्यन्तै अनौठो विचार शृङ्खला हो। त्यसकारण, तिनीहरूको उत्तर सुनेपछि, तँलाई त्यो अप्ठ्यारो खालको छ भन्ने लाग्छ। तँ तिनीहरूसँग कुराकानी गर्न चाहन्छस्, तर तँ तिनीहरूसँग जोडिनै सक्दैनस्—तिनीहरू सधैँ अप्रासङ्गिक उत्तर दिन्छन्, जसले गर्दा कुराकानीलाई जारी राख्‍न असम्भव हुन्छ। उदाहरणका लागि, एकजनाले लुगा सिलाउन सिकिरहेकी थिई, र मैले उसलाई सोधेँ, “लुगा सिक्‍ने काम कस्तो प्रगति भइरहेको छ? के तँ भुवादार लुगा बनाउन सक्छेस्?” सामान्य सोचाइ र तर्क अनुरूपको प्रतिक्रिया के हुनेथियो? (कि त “सक्छु” वा “सक्दिनँ हुनेथियो।”) त्यसले सामान्य सोचाइ र तर्क प्रतिबिम्बित गर्नेथियो। अथवा उसले यसो पनि भन्‍न सक्थी, “कहिलेकहीँ मेरो काम अलिक राम्रो हुन्छ, र मेरो प्रशिक्षकले यो ठीक छ, मुस्किलले स्वीकार्य छ भनेर भन्‍नुहुन्छ। तर अझै जटिल भागहरू बनाउँदा, मेरो काम अपर्याप्त हुन्छ र त्यो फेरि गर्नुपर्ने हुन्छ।” के यी प्रतिक्रियाहरू सामान्य सोचाइ र तर्क भएको व्यक्तिका हुन्? (हुन्।) सामान्य सोचाइ र तर्क नभएकी यो व्यक्तिले कसरी प्रतिक्रिया दिई? मैले सोधेँ, “के अहिले तँ यस्तो भुवादार लुगा बनाउन सक्छेस्?” उसले प्रतिक्रिया दिई, “म यहाँ पहिलो पटक आउँदा म यस्तो लुगा बनाउन सिक्दै थिएँ।” मैले सोधेँ, “त्यसोभए के तँ अहिले बनाउन सक्छेस् त?” उसले अझै पनि यस्तो प्रतिक्रिया दिई, “म यहाँ पहिलो पटक आउँदा म यस्तो लुगा बनाउन सिक्दै थिएँ।” मैले मनमनै सोचेँ, “मैले बुझिनँ। तँ पहिलो पटक आउँदा यस्तो लुगा बनाउन सिक्दै थिइस्, त्यसोभए के तँ अहिले यो बनाउन सक्छेस् त? मैले किन यो कुरा पत्ता लगाउन सकिनँ?” उसको प्रतिक्रिया सुनेपछि, मलाई अप्ठ्यारो लाग्यो। म उसले यस्तो लुगा बनाउन सक्छे कि सक्दिन भनेर सोधिरहेको थिएँ, र उसले पहिलो पटक आउँदादेखि नै यो लुगा बनाउन सिक्दै आइरहेको छु भनेर भनी। ऊ कसरी त्यो विषयलाई तर्काउन सफल भई भन्‍ने मलाई थाहा नै भएन—उसले यो कुरा गर्न सक्छे कि सक्दिन भन्‍ने कुरासँग यसको के सम्बन्ध थियो र? मैले मनमनै सोचेँ, “म विषयको यो तर्काइलाई बुझ्नै सक्दिनँ।” मैले “त्यसोभए अहिले बनाउन सक्छेस् त?” भनेर दुई-तीन पटक सोध्दा पनि, उसले यसो भन्दै जवाफ दिई, “म यहाँ पहिलो पटक आउँदा म यस्तो लुगा बनाउन सिक्दै थिएँ, र मेरा प्रशिक्षकले मलाई यो बनाउन मार्गदर्शन गरिरहेका थिए—म मुख्य रूपमा यसैमा लागिरहेको छु।” मैले अझै पनि आफूले खोजेको उत्तर प्राप्त गरिनँ, र आजसम्म, उसले त्यो बनाउन सक्छे कि सक्दिन भन्‍ने मलाई अझै थाहा छैन। उसका शब्दहरूको पछाडि रहेको तर्क र उसले किन यसरी बोली भनेर विश्लेषण गर। (उसको प्रतिक्रिया प्रश्‍नसँग अलिक अप्रासङ्गिक थियो। यो कुरा सुन्‍ने मानिसहरूले उसको भनाइको अर्थको अनुमान लगाउने प्रयास गर्नेछन्, तर उसले साँच्‍चै त्यो बनाउन सक्छे कि सक्दिन भन्‍ने तिनीहरूलाई अझै थाहा हुनेछैन।) उसले मलाई थाहा दिन चाही कि चाहिन? के ऊ मलाई सही उत्तर दिन चाहन्थी? यहाँ, उसले सङ्केत दिइरहेकी थिई: “मैले तपाईंलाई भनिसकेँ, म पहिलो पटक आउँदा, मैले मुख्य रूपमा यो बनाउन सिकिरहेकी थिएँ, र अहिले एक हप्ता भएको छ—त्यसकारण अवश्य नै म यो बनाउन सक्छु। के तपाईंले मेरो अर्थ बुझ्न सक्नु पर्दैन र? तपाईंले कसरी बुझ्न सक्नुहुन्न र?” के तिमीहरूले उसको प्रतिक्रियाबाट यो अर्थ बुझ्न सक्छौ? (सक्दैनौँ।) यदि उसको प्रतिक्रियाले तँलाई सही उत्तर बुझ्ने तुल्याउँथ्यो र उसले त्यो काम गर्न सक्छे कि सक्दिन भन्‍ने कुरा तँलाई थाहा हुन्थ्यो भने, उसको प्रतिक्रिया तर्कसङ्गत हुनेथियो। तर उसको प्रतिक्रियाले तँलाई अस्पष्ट अर्थ मात्रै दिन्छ र उसले त्यो काम गर्न सक्छे कि सक्दिन भन्‍ने कुरा साँचो रूपमा थाहा दिँदैन। सधैँ यसरी बोल्ने मानिसहरू—के तिनीहरू अत्यन्तै अलमल्ल हुँदैनन् र? यदि तिनीहरूले जानी-जानी यसरी प्रतिक्रिया दिइरहेका छन् भने, यो चरित्रको कुरा हो। यदि तिनीहरूले जानी-जानी यसो गरिरहेका छैनन् र तैँले प्राप्त गर्ने प्रयास गरिरहेको उत्तरसँग तिनीहरूको प्रतिक्रियाको कुनै सम्बन्ध हुँदैन भने, तिनीहरूको सोचाइ र तर्कमा समस्या छ। यदि तिनीहरूको सोचाइ र तर्कमा समस्या छ भने, के यसको अर्थ तिनीहरूको क्षमता कमजोर छ भन्‍ने हुँदैन र? के तिनीहरू विकृतितर्फ ढल्किँदैनन् र? (ढल्किन्छन्।) यो विकृतितर्फ ढल्कन सक्‍ने अवस्थाको प्रकटीकरण हो। त्यो व्यक्तिले सोचेको थियो, “म तपाईँलाई भनिरहेकी छु, म पहिलो पटक आउँदा यो काम गर्न सिकिरहेको थिएँ, त्यसकारण अपरिहार्य परिणाम के हो भने म यो काम गर्न सक्छु।” ऊ “म गर्न सक्छु” भन्‍ने उत्तर दिन चाहन्थी। तर, सामान्य सोचाइ भएका मानिसहरूले यो सुनेपछि सही उत्तर प्राप्त गर्दैनन्। त्यसकारण, “म पहिलो पटक आउँदा यो काम गर्न सिकिरहेकी थिएँ” भन्‍ने उसको प्रतिक्रियाको उसले यो काम गर्न सक्छे भनेर बताउन चाहेको कुरासँग कुनै तार्किक सम्बन्ध थिएन। त्यसोभए, के तिनको प्रतिक्रिया अन्योलग्रस्त शब्दहरू थिएनन् र? (थिए।) म राम्रोसँग कुराकानी गर्न सक्छु र मैले पहिले नै प्रश्‍नको उत्तर दिइसकेँ भन्‍ने सोच्दै अन्योलग्रस्त शब्दहरू बोल्नु—के यसले कमजोर क्षमतालाई प्रतिबिम्बित गर्दैन र? (गर्छ।) यो कमजोर क्षमताको एउटा प्रकटीकरण हो। त्यो व्यक्तिसँग सामान्य मानवताको सोचाइ र तर्क हुँदैन। तैँले चाहे जसरी सोधे पनि, उसले समस्याको जड के हो वा तँ किन एउटै कुरा सोधिरहन्छस् भन्‍ने कुरा महसुस गर्न सक्‍नेछैनँ। जब तँ तेस्रो पटक सोध्छस्, तब उसले अझै पनि उस्तै प्रतिक्रिया दिनेछे र उसलाई अधीर समेत महसुस हुनेछ, र ऊ सोच्नेछे, “तपाईँ किन सोधिरहनुहुन्छ? मैले तपाईँलाई पहिले नै बताइसकेकी छु, र पनि तपाईँ बुझ्नुहुन्न र सोधिरहनुहुन्छ!” तीन पटक सोधिएपछि पनि, उसलाई आफ्‍नो उत्तर अस्पष्ट छ र अर्को व्यक्तिले जान्‍न खोजेको कुरा त्यो होइन, उसले आफ्नो शब्द-शैली परिवर्तन गर्नुपर्छ र उसले त्यो काम गर्न सक्छे कि सक्दिन भनेर स्पष्ट रूपमा बताउनुपर्छ, र अर्को व्यक्तिलाई अनुमान गर्न लगाउनु हुँदैन भन्‍ने कुरा महसुस गर्न सक्‍नेछैन। उसले अरूलाई उसका शब्दहरूले कस्तो महसुस गराउँछन् वा अरूले ती शब्द सुनेपछि कसरी प्रतिक्रिया दिन्छन् भन्‍ने कुरा महसुस गर्न सक्दिन—ऊ यीमध्ये कुनै पनि कुरा महसुस गर्न सक्दिन। यसले ऊसँग कुनै क्षमता छैन भन्‍ने देखाउँछ। तैँले चाहे जति पटक सोधे पनि, उसले उही प्रतिक्रिया दिनेछे र उसले भनेको कुरा निष्कपट छ र त्यो झूटो होइन भन्‍ने समेत महसुस गर्नेछे, र यस्तो सोच्नेछे, “तपाईँले एउटै कुराबारे जति पटक सोधे पनि, मैले एउटै उत्तर दिएकी छु—म इमानदार व्यक्ति बन्‍ने अभ्यास गरिरहेकी छु, र म मेरो मनमा जे छ त्यही भन्छु।” के यो कमजोर क्षमताको प्रतिबिम्ब होइन र? (हो।) जब तैँले रामका बारेमा सोध्छस्, तब यस्तो प्रकारको व्यक्तिले सधैँ सिता र हरीका बारेमा कुरा गर्छ। जब तैँले सिता र हरीका बारेमा सोध्छस्, तब ऊ सधैँ रामका बारेमा कुरा गर्छ। सामान्य सोचाइविनाका मानिसहरूका विचारहरू अन्योलग्रस्त हुन्छन्, र तिनीहरूको सोचाइ गज्याङगुजुङ हुन्छ। यो कमजोर क्षमताको एउटा प्रमुख प्रकटीकरण हो। समग्रमा, फरक-फरक क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू यिनै हुन्। तैँले तिनीहरूको क्षमतालाई सत्यता सिद्धान्तहरू बुझ्ने र तिनलाई लागू गर्ने तिनीहरूको क्षमता वा तिनीहरूको अशक्तताको आधारमा मूल्याङ्कन गरे पनि, वा तिनीहरूमा आत्मिक बुझाइ छ कि छैन भन्‍ने आधारमा मूल्याङ्कन गरे पनि, प्रकटीकरणहरू यिनै हुन्। हामीले केही हदसम्‍म साधारण शब्दहरूमा कुरा गरेका भए पनि, के तिमीहरू मूलतः मेरा वचनहरूलाई वास्तविक जीवनसँग मिलाउन सक्दैनौ र? (सक्छौँ।) त्यसोभए, के हामीले क्षमताको विषयलाई लगभग सारांश गरिसकेका छैनौँ र? (छौँ।) क्षमताको विषयमा रहेको हाम्रो छलफल यहीँ समाप्त हुन्छ।

मलाई भन, के मानिसहरूको क्षमता असल छ कि खराब छ भन्‍ने कुरासँग मानिसहरूले परमेश्‍वरको विरुद्धमा गर्ने प्रतिरोध र विद्रोहको हदको कुनै सम्बन्ध हुन्छ? के मानिसहरू क्षमता कमजोर भएकोले परमेश्‍वरको प्रतिरोध गर्छन् र उहाँको विरुद्धमा विद्रोह गर्छन्? के तिमीहरूले कहिल्यै यो प्रश्‍नबारे विचार गरेका छौ? के यो विचार गर्न लायक प्रश्‍न हो? (हो।) कतिपय मानिसहरू भन्छन्, “हाम्रो क्षमता कमजोर भएकोले, परमेश्‍वरले हामीलाई दिनुभएको क्षमता असल नभएकोले, हामी परमेश्‍वरको विरुद्धमा गम्भीर रूपमा प्रतिरोध गर्छौँ र विद्रोह गर्छौँ।” के यो अभिव्यक्ति सही छ? (छैन।) जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरूका बीचमा रहेका भिन्‍नताहरूका बारेमा हामीले गरेको यसअघिको सङ्गतिका आधारमा भन्दा, क्षमता कुन वर्गमा पर्छ? (जन्मजात अवस्थाहरूमा।) यो जन्मजात अवस्थाहरूसँग सम्बन्धित हुन्छ। त्यसोभए, के तँलाई जन्मजात अवस्थाहरूका विभिन्‍न पक्षहरू मानिसहरूको मानवता र भ्रष्ट स्वभावहरूसँग सम्बन्धित छन् कि छैनन् भन्‍ने थाहा छ? क्षमताबाट सुरु गरौँ—के क्षमताले व्यक्तिले परमेश्‍वरको विरुद्धमा कति हदसम्‍म विद्रोह गर्छ र प्रतिरोध गर्छ भन्‍ने कुरालाई निर्धारित गर्छ? (गर्दैन।) यसले त्यस कुरालाई निर्धारित गर्दैन भनेर हामी किन भन्छौँ? यो मानिसहरूले परमेश्‍वरको प्रतिरोध गर्ने र उहाँको विरुद्धमा विद्रोह गर्ने कारणसँग सम्बन्धित छ। के मानिसहरूले आफ्‍नो क्षमता कमजोर भएका कारण परमेश्‍वरको विरुद्धमा विद्रोह गर्छन् र प्रतिरोध गर्छन्? (होइन, हामीमा भ्रष्ट स्वभाव भएकोले चाहिँ त्यसो गर्छौँ।) ठीक भन्यौ—यो वास्तविकता अनुरूप छ। परमेश्‍वरको विरुद्धको तेरो प्रतिरोध र विद्रोह, र सत्यतामा समर्पित हुन नसक्‍ने तेरो कमजोरीका कारण होइन, तर तेरा भ्रष्ट स्वभावका कारण हो। र त्यसैले, तैँले उहाँको प्रतिरोध गर्न सक्छस् भन्दैमा परमेश्‍वरले तँलाई कमजोर क्षमता दिनुभएको छ भनेर गुनासो गर्न मिल्दैन। क्षमता, वा तेरो जन्मजात अवस्थाहरूका अरू कुनै पनि पक्ष अन्तर्निहित रूपमा नै तँसँग भएका अवस्थाहरू हुन्; ती सृजित प्राणीका रूपमा तँसँग भएका नैसर्गिक, जन्मजात अवस्थाहरू हुन्। यो जन्मजात अवस्थाहरूको जुनसुकै पक्ष भए पनि, यसले परमेश्‍वरको प्रतिरोध गर्नमा अगुवाइ गर्दैन, र भ्रष्ट स्वभावहरूसँग यसको कुनै सम्बन्ध हुँदैन। उदाहरणका लागि, अल्गो हुनुको अर्थ तँसँग कम भ्रष्ट स्वभावहरू हुन्छन् भन्‍ने हुँदैन। सुन्दर हुँदैमा वा चम्किलो त्वचा छ भन्दैमा तँमा कुनै भ्रष्ट स्वभाव छैन भन्‍ने हुँदैन। मानिसहरूले आदर गर्ने र उच्च मान्ने जातिमा जन्मिनुको अर्थ तँमा कुनै भ्रष्ट स्वभाव छैन भन्‍ने हुँदैन। अर्को शब्दमा भन्दा, परमेश्‍वरले कुनै व्यक्तिलाई जुनसुकै जन्मजात अवस्थाहरू दिनुभए पनि, र व्यक्तिका जन्मजात अवस्थाहरू जेसुकै भए पनि, व्यक्तिका भ्रष्ट स्वभावहरूसँग तिनको कुनै सम्बन्ध हुँदैन। उदाहरणका लागि, व्यक्तिको रूपले उसलाई परमेश्‍वरको प्रतिरोध गर्ने बनाउँदैन। तर, मानिसहरूमा भ्रष्ट स्वभाव हुने हुनाले, जब कुनै व्यक्ति सुन्दर देखिन्छ, तब ऊ यस्तो सोच्न सक्छ, “म सुन्दर छु, त्यसकारण मैले हैसियत पाउनुपर्छ र आदर पाउनुपर्छ।” यी भ्रष्ट स्वभावका प्रकटीकरणहरू हुन्। कतिपय मानिसहरूले आफ्नो सामर्थ्यलाई प्रयोग गर्न आफ्नो सुन्दर रूपको प्रयोग गर्छन्, यसरी धेरै त्रुटिपूर्ण अभिव्यक्ति र व्यवहारहरू प्रकाश गर्छन्। यी सबै अभिव्यक्ति र कार्यहरू तिनीहरूका भ्रष्ट स्वभावले पैदा गरेका हुन्छन्, तिनीहरूको अन्तर्निहित अवस्थाहरूले होइनन्। तेरो क्षमता असल भए पनि वा कमजोर भए पनि, क्षमताले नै तँलाई परमेश्‍वरको प्रतिरोध गर्ने तुल्याउँदैन। यदि तेरो क्षमता राम्रो छ तर तँ सत्यता बुझ्दैनस् वा स्वीकार गर्दैनस् भने, तँसँग भ्रष्ट स्वभाव भएकाले तैँले अझै पनि परमेश्‍वरको प्रतिरोध गर्नेछस् र उहाँविरुद्ध विद्रोह गर्नेछस्। यदि तेरो क्षमता कमजोर छ तर तँ सत्यता स्वीकार गर्न सक्छस्, र परमेश्‍वरले तँलाई के गर् अथवा के नगर् भन्नुहुन्छ भन्‍ने कुरा बुझेपछि, तँ यसलाई पालना गर्न सक्छस्, र तँ आफ्नो भ्रष्ट स्वभावका आधारमा काम गर्ने गर्दैनस् भने, तैँले परमेश्‍वरविरुद्ध विद्रोह गर्नेछैनस्, न त तँ धूर्त र सुस्त नै हुनेछस्, वा झाराटारुवा, स्वेच्छाचारी, वा मनोमानी र लापरवाह नै हुनेछस्। तेरो क्षमता कमजोर भए पनि नभए पनि, तँमा भ्रष्ट स्वभाव भएसम्म, तैँले परमेश्‍वरका वचनहरू बुझ्न सके पनि, तैँले अझै पनि परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नेछस् र उहाँको प्रतिरोध गर्नेछस्। भ्रष्ट स्वभाव तेरो जीवनका रूपमा भएको हुनाले, तैँले स्वाभाविक रूपमै विभिन्‍न शैतानी विचार र दृष्टिकोणहरू, र संसारसँग व्यवहार गर्ने शैतानी दर्शनहरू, साथै मानिसहरू र कामकुराहरूलाई हेर्ने तेरो तरिकका शैतानी दृष्टिकोणहरू विकास गर्छस्, र तैँले धाक लगाउनेछस्, आफ्नो प्रतिरक्षा गर्नेछस्, र निरन्तर अरूभन्दा पृथक् देखिन र आफूलाई अरूमाथि राख्‍न, र अरूलाई नियन्त्रण गर्न र शासन गर्न समेत चाहनेछस्। यी सबै प्रकटीकरणहरू मानिसहरूको शैतानी प्रकृतिबाट आएका हुन्छन्। यदि तँ आफ्नो शैतानी प्रकृति र शैतानी जीवनका आधारमा विभिन्‍न कामकुराहरू गर्छस् भने, तेरो क्षमता असल भए पनि वा खराब भए पनि, तैँले परमेश्‍वरलाई प्रतिरोध गर्नेछस्। क्षमता आफैले परमेश्‍वरको प्रतिरोध गर्ने तुल्याउँदैन। तेरो क्षमता कमजोर छ, तर के तैँले परमेश्‍वरका वचनहरू बुझेसम्म ती अनुसार काम गर्न सक्छस्? यदि तँमा भ्रष्ट स्वभाव छैनन् वा तँ आफ्नो भ्रष्ट स्वभाव अनुसार जिउँदैनस् भने, तैँले अवश्य नै यो कुरा हासिल गर्न सक्छस्। उदाहरणका लागि निश्‍चित सामर्थ्यलाई लिऊँ—मानिसहरू प्रायजसो सोच्छन्, “मसँग यो सामर्थ्य भएको हुनाले, म अरूभन्दा श्रेष्ठ छु; परमेश्‍वरको घरमा मैले हैसियत पाउनुपर्छ, म परमेश्‍वरको घरमा अगुवा वा खम्बा हुनुपर्छ।” यी विचारहरू सामर्थ्य भएकाले पैदा हुँदैनन् बरु भ्रष्ट स्वभावले पैदा गरेका हुन्छन्। मानिसहरूमा जीवनका रूपमा भ्रष्ट स्वभाव हुने हुनाले, तिनीहरूले प्रकाश गर्ने, जिउने, र प्रदर्शन गर्ने सबै कुराहरू, साथै विभिन्‍न मानिस, घटना, र कामकुराहरूलाई हेर्ने तिनीहरूको दृष्टिकोण, अडान, र सिद्धान्तहरू, सबै तिनीहरूमा जीवनका रूपमा भ्रष्ट स्वभाव हुने भएकोले आएका हुन्छन्। यी कुराहरू परमेश्‍वरले तिनीहरूलाई दिनुभएको कुनै पनि जन्मजात अवस्थाले पैदा भएका हुँदैनन्। बुझ्यौ? (बुझ्यौँ।) मैले यी वचनहरूबारे सङ्गति गर्नुको अर्थ के हो? यो सङ्गतिको उद्देश्य भनेको तिमीहरूलाई आफ्नो वास्तविक परिस्थितिलाई अझै स्पष्ट रूपमा बुझ्न र पहिचान गर्न, र तिमीहरूको क्षमता कस्तो छ भनेर पहिचान गर्न सक्षम तुल्याउनु हो—समझ नभएको व्यक्ति नबन, र औसत क्षमता हुनु वा कमजोर क्षमता हुनुका बारेमा व्यर्थका बहसहरूमा संलग्‍न नहोऔ, वा तेरो क्षमता कमजोर छैन भनेर देखाउन व्यर्थका बहानाहरू समेत प्रस्तुत नगर्। यी कार्यहरूको कुनै मूल्य हुँदैन। यो सङ्गतिको उद्देश्य भनेको तँलाई आफ्नो क्षमता र विभिन्‍न क्षमताहरूलाई सही रूपमा बुझ्न, र त्यसपछि आफ्नो उचित स्थान खोज्न र आफ्नो उचित स्थान अनुसार आफूलाई आचरणमा ढाल्‍न सक्षम तुल्याउनु हो। यसले तँलाई उचित सृजित प्राणी बन्‍न, सृजित प्राणीका रूपमा रहेको तेरो स्थानमा उचित रूपमा खडा हुन, र सृजित प्राणीका कर्तव्यहरू पूरा गर्न थप सहयोग गर्नेछ। अवश्य नै यसले केही हदसम्‍म, तँलाई आफ्ना भ्रष्ट स्वभाव फाल्न थप सहयोग पनि गर्नेछ। तेरो क्षमता वा विभिन्‍न क्षमताहरू जुनसुकै स्तरमा भए पनि, तिनले तैँले परमेश्‍वरको विरुद्धमा कति हदसम्‍म प्रतिरोध गर्छस् र विद्रोह गर्छस् भन्‍ने कुरालाई निर्धारित गर्दैनन्। अर्को शब्दमा भन्दा, तेरा भ्रष्ट स्वभाव तेरो क्षमताको स्तरमा निर्भर हुँदैनन्, र ती तेरा जन्मजात अवस्थाहरू कस्ता छन् भन्‍ने कुरामा निर्भर हुनु त परको कुरा हो। मानिसहरूको भ्रष्ट स्वभाव तिनीहरूको जन्मजात र नैसर्गिक देहभित्र पैदा हुन्छ। शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याएपछि, तिनीहरूको भ्रष्ट स्वभाव तिनीहरूको भित्री जीवन बन्यो। जब तैँले अझै आफ्नो भ्रष्ट स्वभाव फालेको हुँदैनस्, तब तैँले यो शैतानी जीवनका आधारमा बोल्न र व्यवहार गर्नका लागि आफ्ना जन्मजात अवस्थाको फाइदा लिन्छस्। यसको अर्थ तैँले आफ्नो भ्रष्ट स्वभाव फाल्नुभन्दा पहिले, तैँले परमेश्‍वरले तँलाई तेरा आफ्नै उद्देश्यहरू हासिल गर्नका लागि दिनुभएका विभिन्‍न जन्मजात अवस्थाहरूको फाइदा लिइरहेको हुन्छस्। त्यसकारण, हामी यसो भन्‍न सक्छौँ: यदि तँ आफ्नो भ्रष्ट स्वभाव फाल्दैनस् भने, तैँले परमेश्‍वरले तँलाई दिनुभएका विभिन्‍न जन्मजात अवस्थाहरूको फाइदा लिइरहेको हुन्छस् वा त्यसलाई कुल्चीमिल्ची गरिरहेको हुन्छस्; यदि तँ आफ्नो भ्रष्ट स्वभाव फाल्नका लागि सत्यता पछ्याउने र सत्यता अभ्यास गर्ने प्रक्रियामा छस् भने, तैँले परमेश्‍वरले तँलाई दिनुभएका विभिन्‍न जन्मजात अवस्थाहरूको उचित र प्रभावकारी रूपमा फाइदा उठाइरहेको छस्; जब तँ भ्रष्ट स्वभावहरूलाई आफ्नो जीवनका रूपमा लिने व्यक्तिबाट सत्यतालाई आफ्नो जीवनका रूपमा लिने व्यक्तिमा रूपान्तरित हुन्छस्, तब तैँले परमेश्‍वरले तँलाई दिनुभएका जन्मजात अवस्थाहरूलाई उचित र सही तरिकाले प्रयोग गरिरहेको हुन्छस्—अर्को शब्दमा भन्दा, अझै अर्थपूर्ण तरिकाले त्यसो गरिरहेको हुन्छस्। के अब तिमीहरूले बुझ्यौ? जन्मजात अवस्थाहरू आफै परमेश्‍वरको विरुद्धमा मानवजातिले गर्ने प्रतिरोधको जड होइनन्। बरु, मानिसहरूको शैतानी भ्रष्ट स्वभाव र शैतानले मानिसहरूमा हालिदिएको जीवन नै परमेश्‍वर विरुद्धको मानवजातिको प्रतिरोध र विद्रोहको जड हो। के कुरा यही होइन र? (हो।) के तिमीहरूलाई यो समस्या अहिले मूलतः रूपमा स्पष्ट भएको छ? (भएको छ।)

हामीले क्षमताका विषयमा सङ्गति गर्नुभन्दा पहिले, हामीले तीन वटा पक्ष: जन्मजात अवस्था, मानवता, र भ्रष्ट स्वभावहरूका केही प्रकटीकरणहरूका बारेमा सङ्गति गरेका थियौँ। हामीले यसअघि कुन-कुन प्रकटीकरणहरूका बारेमा सङ्गति गर्‍यौँ? (यसअघि, सङ्गति गरिएका प्रकटीकरणहरूमा कार्यहरू गर्दाको लगनशीलता, संरचनाको साथ काम गर्ने, काम गर्दा दह्रिलो रूपमा सुरु गर्ने तर कमजोर रूपमा समाप्त गर्ने, र कामकुरा गर्दा सतर्क हुने, साथै ठूलो कुरा गर्ने र घमण्ड गर्ने, लापरवाह हुने, आफूलाई देखावट गर्न मन पराउने, गरिबलाई घृणा गर्ने र धनीलाई प्राथमिकता दिने, शक्ति भएका मानिसहरूको चापलुसी गर्ने, असाधारण स्मरण शक्ति हुने, र इत्यादि कुराहरू थिए।) हामी यी कुराहरूका बारेमा थप सङ्गति गर्नेछैनौँ। हामी जन्मजात अवस्था, मानवता, र भ्रष्ट स्वभावहरूका विभिन्‍न प्रकटीकरणहरूका बारेमा सङ्गति जारी राख्नेछौँ। जब यी प्रकटीकरणहरू देखा पर्छन्, तब तँलाई ती कुन प्रकारका प्रकटीकरणका हुन् भन्‍ने कुरा थाहा हुनैपर्छ, र तैँले तिनलाई छुट्याउन र खुट्ट्याउन सक्नैपर्छ; त्यसपछि मात्रै तैँले तिनलाई सही रूपमा लिन सक्छस्। यदि कुनै प्रकटीकरण जन्मजात अवस्थाहरूसँग सम्बन्धित छ, जुन अपरिवर्तनीय छ भने, तैँले त्यसबारे चिन्ता गर्नु पर्दैन। यदि यो मानवताका केही खराबी वा त्रुटिहरूमध्ये एउटा हो जसलाई जित्न, सुधार गर्न, वा परिवर्तन गर्न सकिन्छ भने, तैँले तिनलाई सुधार गर्ने र परिवर्तन गर्ने प्रयास गर्नुपर्छ। यदि तिनलाई जित्नु पर्ने आवश्यकता छैन र तिनले तेरो कर्तव्य निर्वाह वा सत्यता पछ्याइलाई असर गर्दैनन् भने, तैँले तिनलाई ध्यान दिनु पर्दैन। यदि कुनै प्रकटीकरण जन्मजात अवस्थाहरूको समस्या पनि होइन वा मानवताको समस्या पनि होइन, बरु त्यसमा भ्रष्ट स्वभावहरू समावेश छन् भने, त्यसलाई परिवर्तन गरिनु नै पर्छ। यदि तैँले त्यसलाई रूपान्तरण गरिनस् वा परिवर्तन गरिनस् भने, तँभित्र जरा गाडिरहेका र शक्ति चलाइरहेका भ्रष्ट स्वभावहरूले प्रभुत्व जमाउने जीवन लिएर, तैँले जिउने र प्रकाश गर्ने कुरा अरूसँग मिलेर बस्न नसक्‍नु वा अरूका लागि अप्रिय बन्‍नु र तिनीहरूलाई सच्याउन नसक्नु जस्ता सानातिना समस्याहरूमा मात्रै हुँदैनन्। बरु, तैँले जिउने र प्रकाश गर्ने कुरा सत्यता उल्लङ्घन गर्ने, सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने, परमेश्‍वरको प्रतिरोध गर्ने, परमेश्‍वरलाई इन्कार गर्ने, परमेश्‍वरप्रति शत्रुवत् बन्‍ने, र—यो पनि भन्‍न सकिन्छ—परमेश्‍वरको विरोधमा खडा हुने स्तरमा पुग्छ। भ्रष्ट स्वभावहरू ठ्याक्कै यस्तो प्रकृतिका हुने हुनाले नै, यी प्रकटीकरणहरूमा भ्रष्ट स्वभावहरू समावेश भएपछि, तैँले यी भ्रष्ट स्वभावहरूलाई चिन्न पुग्नु नै पर्छ, त्यसपछि सत्यता खोजी गर्नुपर्छ, सत्यता अभ्यास गर्ने सिद्धान्तहरू बुझ्नु र बोध गर्नुपर्छ, र यी भ्रष्ट स्वभावहरूलाई प्रतिस्थापन गर्न सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्नुपर्छ, ताकि यी भ्रष्ट स्वभावहरू तेरो जीवनमा उप्रान्त हाबी नहोऊन्, र तिनका ठाउँमा, सत्यता तेरो जीवन बनोस् र त्यो तेरो दैनिक जीवन र तैँले जिउने कुरामा हाबी होस्।

हामी जन्मजात अवस्था, मानवता, र भ्रष्ट स्वभावहरूका विभिन्‍न प्रकटीकरणहरूबारे सङ्गति जारी राख्नेछौँ। हामीले यसअघि सङ्गति गरेको अन्तिम प्रकटीकरण भनेको राम्रो स्मरण शक्ति हुनु हो, होइन र? (हो।) त्यसोभए भुलक्‍कडपन कुन पक्षसँग सम्बन्धित हुन्छ? (जन्मजात अवस्थाहरूसँग।) यो जन्मजात अवस्था र मानवताको खराबी पनि हो—यी दुई पक्षहरू मात्रै। के भुलक्‍कडपन भ्रष्ट स्वभाव हो? (होइन।) स्पष्ट रूपमा नै होइन। कतिपय मानिसहरूको स्मरण शक्ति प्राकृतिक रूपमा नै कमजोर भएकाले तिनीहरू भुलक्‍कड हुन्छन्, जबकि अरूको मष्तिष्क बुढो भएकोले र उमेर बढ्दै जाँदा स्मरणशक्ति घट्दै जाँदा तिनीहरू भुलक्‍कड बन्छन्। यदि भुलक्‍कडपन जन्मजात रूपमा आएको हो भने, यो जन्मजात अवस्थाहरूसँग सम्बन्धित हुन्छ; यदि यो हासिल गरिएको हो भने, यो मानवताको खराबी हो। प्राकृतिक रूपमा नै भुलक्‍कड हुनुलाई, अवश्य नै एउटा खराबी मानिन्छ, होइन र? (हो।)

कामकुराहरू गर्नुभन्दा पहिले योजना बनाउन सिपालु हुनु—यो कुन पक्षसँग सम्बन्धित छ? (मानवताको असल गुणसँग।) यो मानवताको असल गुण हो। कुनै कार्य गर्नुअघि, योजना बनाउन सिपालु मानिसहरू अग्रिम रूपमा योजना बनाउँछन्, त्यसपछि आवेगरहित, लापरवाह नभई, वा हतार नगरी चरणहरू पछ्याउँछन्। तिनीहरू दृढ रूपमा कार्य गर्छन्, मनपरी हतार-हतार कामकुरा गर्न जाँदैनन्, तर कसरी अघि बढ्ने, कोसँग अघि बढ्ने, विशेष परिस्थितिहरूमा के गर्ने, के-कस्ता कागजात वा सामानहरू ल्याउनुपर्छ, वातावरण अनुसार केही दैनिक आवश्यकताका सामानहरू ल्याउनुपर्छ कि पर्दैन, र इत्यादि कुराहरूका बारेमा अग्रिम रूपमा विचार गर्छन्। तिनीहरूले यी सबै कुराहरूलाई ख्याल गर्न सक्छन्। कामकुराहरू गर्नुभन्दा पहिले, तिनीहरू अझै धेरै कारकहरूका बारेमा ख्याल गर्दै र आफ्नो विचारमा अझै होसियार हुँदै पूर्ण रूपमा तयारी गर्छन्। तिनीहरूले अनुकूल र प्रतिकूल अवस्थाहरूका बीचमा रहेको भिन्‍नतालाई अग्रिम रूपमा मूल्याङ्कन गर्नेछन्, र तिनीहरूले सबैभन्दा राम्रो परिदृश्य र आइपर्न सक्ने सबैभन्दा खराब परिणामहरूका बीचमा भिन्‍नता छुट्याउनेछन्। तिनीहरूले सबैभन्दा राम्रा नतिजाहरू हासिल गर्न उचित प्रबन्धहरू मिलाउनेछन्। तिनीहरू योजना बनाउन र उचित प्रबन्धहरू गर्न सिपालु हुने हुनाले, तिनीहरूले सामान्यतया मामलाहरू अझै राम्ररी सम्हाल्छन्। तिनीहरूले प्रबन्ध गर्ने कुरा र तालिकाहरूमा अनपेक्षित परिस्थितिहरू झन्-झन् कम देखा पर्छन्, र तिनीहरूको कामका नतिजाहरू अझै राम्रा हुने गर्छन्। तिनीहरूसँग काम गर्ने मानिसहरूलाई बेचैनी हुँदैन बरु उल्टै तिनीहरू निकै सहज महसुस गर्छन्। त्यसोभए, के तुलनात्मक रूपमा भन्दा, योजना बनाउने कार्यमा सिपालु हुनु मानवताको असल गुण हो भनेर भन्‍न सकिन्छ? (सकिन्छ।) त्यसले योजना बनाउन सिपालु हुनुलाई समेट्छ। त्यसोभए, हिसाबकिताबे हुनु असल हो कि होइन? (यो असल होइन। यो मानवताको खराबी हो।) योजना बनाउन सिपालु हुनु मानवताको असल गुण र सबल पक्ष हो—यो सकारात्मक कुरा हो—जबकि हिसाबकिताबे हुनु मानवताको खराबी हो। उदाहरणका लागि, यदि दुई जना मानिसहरूले दश युआन पर्ने खाना खान्छन्, र हिसाबकिताब गर्ने व्यक्तिले पैसा तिर्दा, साढे पाँच युआन तिर्छ जबकि अर्को व्यक्तिले साढे चार युआन तिर्छ भने, उसलाई यस्तो लाग्छ: “यो सही होइन—उसले पचास पैसा कम तिरेको छ। यो निष्पक्ष र उचित हुनका लागि हरेक व्यक्तिले पाँच युआन तिर्नुपर्छ।” उसले यति थोरै रकमको समेत हिसाबकिताब गर्छ। यदि उसलाई घाटा भएको छ भन्‍ने लाग्यो भने, उसलाई असहज हुन्छ र तिनीहरूले सधैँ षड्यन्त्रका माध्यमहरूद्वारा आफ्नो घाटाको पूर्ति गर्ने अवसर खोजिरहेको हुन्छ। यदि उसले यसरी आफ्नो घाटाको पूर्ति गर्न सकेन भने, उसलाई भोक-निद्रा नै लाग्दैन। हिसाबकिताबे हुनु मानवताको एउटा खराबी हो। यदि यो अवस्था गम्भीर भयो र उसले ठूला मामलाहरूमा समेत हिसाब-किताब गर्छ, सधैँ अरूबाट लाभ निचोर्ने वा अरूबाट फाइदा लुट्ने प्रयास गर्छ, वा आफ्नो हिसाब-किताबका खातिर बारम्बार युक्तिहरूको सहारा लिन्छ भने, यो मानवताको खराबी मात्रै होइन बरु यसमा भ्रष्ट स्वभाव समावेश हुन्छ। यदि व्यक्तिले गर्ने हिसाब-किताबले अरूलाई असर गर्दैन वा तिनीहरूको हितमा हानि गर्दैन र यो दैनिक जीवनका सानातिना मामलाहरूमा मात्रै हुन्छ, जसले गर्दा अन्ततः मामलाहरू सम्हाल्दा बारम्बार असफलता वा कमजोर नतिजाहरू आउँछन् भने, यो मानवताको खराबी हो।

कन्जुस हुनु कस्तो समस्या हो? (मानवताको खराबी हो।) कन्जुस हुनुका प्रकटीकरणहरूमा के-के पर्छन्? उदाहरणका लागि, यदि कन्जुस व्यक्ति सवारी चलाएर कुनै ठाउँमा जान लागेको छ र कसैले “तिमी पनि त्यतै जाँदै रहेछौ, के मलाई पनि लैजान सक्छौ? पाँच मिनेट मात्रै लाग्नेछ, र म तिमीलाई पेट्रोलका लागि केही पैसा दिन सक्छु” भन्यो भने, ऊ सो व्यक्तिले पुगेपछि पैसा नतिर्ला कि भनेर डराउँछ र उसलाई लैजान इन्कार गर्ने बहाना खोज्छ—यो कन्जुस हुनु हो। कतिपय मानिसहरू यस्ता पनि हुन्छन्, जो कसैले तिनीहरूबाट कुनै कुरा सापट माग्दा र तिनीहरूले त्यो कुरा सापट दिन नचाहँदा, यसो भन्छन्, “म अहिले यसलाई प्रयोग गरिरहेको छु। म वास्तवमा तिमीलाई यो कुरा सापट दिने अवस्थामा छैनँ। तिमीले अरू कसैसँग माग्‍नुपर्छ।” तिनीहरू अत्यन्तै कृपण र छुद्र हुन्छन्; तिनीहरू सामान्य अन्तरव्यैयत्तिक अन्तरक्रिया गर्दैनन् र तिनीहरूलाई तिनीहरूबाट अरूले फाइदा लिनेछन् भन्‍ने निकै डर हुन्छ, जबकि आफूचाहिँ सधैँ अरूबाट फाइदा लिने आशा गर्छन्। कन्जुस हुनु भनेको यही हो। कतिपय मानिसहरू यस्ता पनि हुन्छन्, जसलाई तैँले खानेकुरा किन्न र अरू केही कुराहरू किन्न दश युआन सापट माग्दा, तिनीहरू यसबारे सोच-विचार गर्छन्: “म तिमीलाई खाना खाने पाँच युआन मात्रै दिनेछु—त्योभन्दा बढी एक पैसा पनि दिन्‍नँ!” भोलिपल्ट तिनीहरूले तँलाई भेट्दा, तिनीहरू यसो भनेर समेत सोध्छन्, “त्यो खाना कस्तो थियो? के तिमीले पाँच युआन सबै खर्च गऱ्यौ?” तिनीहरूका शब्दहरूले घुमाउरो रूपमा यसो भन्‍ने सङ्केत दिन्छन्, “तुरुन्तै मेरो पैसा फिर्ता दे! तैँले त्यो खानाको पैसा अझै मलाई तिर्न बाँकी नै छ। यदि तैँले मलाई पैसा फिर्ता दिइनस् भने, तैँले मलाई खाना किनेर खुवाउनुपर्छ!” यस्ता प्रकारका मानिसहरू आफूलाई आचरणमा ढाल्‍ने कार्यमा अत्यन्तै सानो मनका हुन्छन् र हिसाब-किताब गर्नमा सिपालु हुन्छन्। भौतिक सामानहरूका हकमा मात्र तिनीहरू हिसाब-किताब गर्न सिपालु हुँदैनन्, बरु तिनीहरू अन्तरव्यैयत्तिक अन्तरक्रियाहरूमा पनि हिसाब-किताब गर्न विशेष रूपमा सिपालु हुन्छन्। कसैले तिनीहरूलाई चाहे जे भने पनि, तिनीहरू सधैँ त्यसबारे सोच-विचार गर्छन् र त्यो कुरा पछाडि रहेको अर्थबारे मनन गर्छन्। यदि शब्दहरूले तिनीहरूलाई हानि गर्छ वा तिनीहरूका हितलाई अतिक्रमण गर्छ भने, तिनीहरू तुरुन्तै बदला लिन्छन्। कुराकानी गर्दा समेत, तिनीहरू फाइदा लिने प्रयास गर्छन् र कुनै नोक्‍सानी भोग्‍न जिद्दी रूपमा इन्कार गर्छन्। यो उप्रान्त सङ्कीर्ण हुनु वा कन्जुस हुनु मात्रै रहेन—यो भ्रष्ट स्वभाव हो। यदि यसमा दैनिक भौतिक र आर्थिक अन्तरक्रियाहरूमा सधैँ फाइदा उठाउने र घाटाबाट जोगिने प्रयास गर्ने कार्य मात्रै समावेश हुन्छ भने, यो मानवताको खराबी मात्रै हो र यो भ्रष्ट स्वभावको स्तरमा पुगेको हुँदैन। तर, यदि यसमा आफूलाई आचरणमा ढाल्ने र काम गर्ने सिद्धान्तहरू समावेश छन् भने, यो उप्रान्त मानवताको खराबी रहँदैन बरु यो भ्रष्ट स्वभावको स्तरमा पुगेको हुन्छ। त्यसोभए, उदारता केमा पर्छ? (मानवताको असल गुणमा।) यसलाई मानवताको असल गुण रूपमा वर्गीकरण गर्न सकिन्छ। अरूसँगका अन्तरक्रियामा, उदार मानिसहरूले नाफा र घाटाबारे त्यति धेरै चिन्ता गर्दैनन्। जब अरूले तिनीहरूबाट स-साना फाइदाहरू लिन्छन् वा केही कुरा लिन्छन्, वा कहिलेकहीँ जब कसैले तिनीहरूलाई सापटी पैसा तिर्न सक्दैन, तब तिनीहरूले त्यस्ता कुराहरूका बारेमा वास्तवमा हिसाब-किताब गर्दैनन्। तिनीहरू अरूप्रति तुलनात्मक रूपमा उदार र सहनशील हुन्छन्—यो मानवताको असल गुण हो।

सङ्कीर्णता कस्तो समस्या हो? (मानवताको खराबी।) यो मानवताको खराबी हो। सङ्कीर्णताका प्रकटीकरणहरू के-के हुन्? (सानातिना कुराहरूमा किचकिच गर्ने प्रवृत्ति।) उदाहरणका लागि, खाना खाँदै गर्दा, यदि तैँले त्यस सङ्कीर्ण व्यक्तिलाई “तिमीलाई साह्रै रुच्‍ने रहेछ—तिमी अधिकांश मानिसहरू भन्दा बढी खान्छौ” भनेर भनिस् भने, ऊ रिसाउँछ: “के तिमी मलाई घिचुवा भनिरहेको छौ?” तैँले तिनीहरूलाई अनजानमा चोट पुऱ्याउने वा व्याकुल पार्ने टिप्पणी गरिस्, र तिनीहरूले यसलाई मनमा लिन्छन् र यो कुरा त्याग्नेछैनन्। तिनीहरू तँसँग आधा महिनासम्म रिसाएर बस्न सक्छन् र तँसँग बोल्न नमान्न सक्छन्, र यसको कारण के हो भन्‍ने तँलाई थाहा नै हुनेछैन। वास्तवमा, तैँले तिनीहरूलाई गिल्ला गर्ने कुनै अभिप्रायविना सामान्य टिप्पणी मात्रै गरिरहेको थिइस्, तर तिनीहरूले अचानक यो टिप्पणीलाई पहाड बनाउँछन्, र तिनीहरूलाई हाँसोको पात्र बनाइएको विश्‍वास गरिरहेका हुन्छन्। तिनीहरूले यो सानो कुरालाई समेत मनमा लिन्छन् र अटुट रूपमा बढाइ-चढाइ गर्छन्, तिललाई पहाड बनाउँछन् र कुनै क्षमा देखाउँदैनन्—यो सङ्कीर्णता हो। यस्तो व्यक्ति कति सङ्कीर्ण हुन सक्छ? ऊ केटा-केटी जत्तिकै स्वेच्छाचारी हुन सक्छ—कसैले पनि उसलाई उक्साउने आँट गर्दैन। ऊसँग अन्तरक्रिया गर्दा, तँ सधैँ सतर्क हुनुपर्छ, र ऊसँग सामान्य रूपमा कुरा गर्ने आँट गर्नु हुँदैन, किनभने तैँले त्यसो गरिस् भने, तैँले भनेको कुनै पनि कुराले उसलाई चिढ्याउन वा चोट पुर्‍याउन सक्छ, र त्यसका परिणामहरू हुनेछन्—अर्को पटक जब तैँले उसलाई भेट्छस्, तब उसले तँलाई उदास अनुहारले हेर्नेछ, आँखा जुधाउन मान्नेछैन, र सामानहरूलाई हिर्काउने समेत गर्नेछ। यदि तैँले ऊसँग कुरा गर्ने प्रयास गरिस् भने, उसले तँलाई बेवास्ता गर्नेछ। न त ऊसँग कुराहरू छलफल गर्दा नत उसलाई मनाउने प्रयास गर्दा नै सार्थक हुनेछ। यदि तँ उसको छेउमा बसिस् भने, ऊ तँबाट टाढा बस्‍नेछ र तँलाई बेवास्ता गर्नेछ। उसको उमेर जतिसुकै भए पनि, उसले सधैँ बच्‍चाले जस्तै रिस पोखिरहेको हुन्छ र स्वेच्छाचारी रूपमा काम गरिरहेको हुन्छ—के यो सङ्कीर्णता होइन र? (हो।) यो मानवताको खराबी हो। यस्ता मानिसहरूसँग मिलेर बस्‍न निकै गाह्रो हुन्छ। जब दाजुभाइ-दिदीबहिनीहरूले खुलस्त हृदयले सँगै सङ्गति गर्छन्, र एक-अर्काका कमीकमजोरीहरूलाई औँल्याउँछन्, तब कसैले पनि यस प्रकारका मानिसहरूलाई कुनै कुरा औँल्याउने आँट गर्दैन। तर यदि तिनीहरूलाई त्यो सङ्गतिमा समावेश गरिएन भने, तिनीहरू असन्तुष्ट हुन्छन् र केही यस्ता विचारहरू खेलाउन थाल्छन्: “तिमीहरू सबैले खुलस्त हृदयले सँगै सङ्गति गर्छौ, एक-अर्कालाई सहयोग गर्छौ, तर तिमीहरूले मलाई दाजुभाइ-दिदीबहिनीका रूपमा व्यवहार गर्दैनौ।” तिनीहरूलाई केही नभन्दा पनि राम्रो हुँदैन—तैँले तिनीहरूलाई थोरै केही न केही कुरा त भन्‍नुपर्छ: “तिमी महान् छौ, तर कहिलेकहीँ तिम्रो रिस अलिक कडा हुन्छ। तर, हाम्रा पनि त्रुटिहरू छन् र हामी आफूले भनिरहेका कुराहरूमा प्रायजसो विचार पुऱ्याउँदैनौँ।” यदि तैँले यस कुरालाई त्यसरी भनिनस् र तिनीहरू रिसाहा छन् र कुण्ठित मनका छन् भनेर मात्रै भनिस् भने, त्यसले काम गर्नेछैन—तिनीहरू रिसाउनेछन्। तिनीहरूसँग अन्तरक्रिया गर्दा, तँ विशेष रूपमा होसियार हुनुपर्छ र होसियार भएर बोल्नुपर्छ। यदि तैँले एउटा अनुचित कुरा बोलिस् भने, तैँले परिणामहरू भोग्‍नुपर्ने हुन्छ। त्यसकारण, तिनीहरूसँग अन्तरक्रिया गर्नु निकै थकाइलाग्दो हुन्छ। गैर-विश्‍वासीहरूसँग यसका लागि एउटा शब्द छ, तिनीहरूले यस प्रकारका मानिसहरू “सिसाको मुटु” भएका मानिसहरू हुन् भनेर भन्छन्, अर्थात् तिनीहरूलाई विशेष रूपमा सजिलै चोट पुग्छ। सानो कुराले पनि, यस्ता मानिसहरूलाई चोट लाग्छ, तिनीहरू रुन थाल्छन्, खान मान्दैनन्, सुत्न सक्दैनन्, र नकारात्मक बन्छन्। तिनीहरू भन्छन्, “तिमीहरू सबैले म असल छैनँ भनेर भन्छौ। तिमीहरूमध्ये कसैले पनि मलाई मन पराउँदैनौ, तिमीहरू कसैले पनि मसँग कुरा गर्दैनौ, र तिमीहरू सबै मबाट टाढा बस्छौ र तिमीहरू मसँग नजिक हुन चाहँदैनौ।” के यो केटाकेटीपन होइन र? (हो।) कसैले भन्छ, “तिम्रो मन, सिसाजस्तै साह्रै नाजुक छ—सानो कुराले पनि टुक्रिन्छ। कसले तिमीलाई खुलासा गर्ने आँट गर्नेथियो र? कसले तिमीसँग व्यवहार गर्ने आँट गर्नेथियो र? सबैलाई त्यसो गर्न डर लाग्छ।” यस प्रकारका मानिसहरूमा दुष्ट मानवता हुन्छ भनेर भन्‍नु वस्तुगत हुनेछैन—तिनीहरू कुनै दुष्ट कार्यहरूमा साँच्‍चै नै संलग्‍न हुँदैनन्। यति मात्र हो कि तिनीहरू अत्यन्तै चिडचिडे हुन्छन्—तिनीहरू स्वेच्छाचारी, किचकिचे हुन्छन्, र तिनीहरूमा बच्‍चाको जस्तो रिस हुन्छ। तैँले तिनीहरूलाई छुनु वा उक्साउनु हुँदैन। यदि तैँले तिनीहरूसँग क्षमाशील व्यवहार गरिस् भने, तैँले तिनीहरूलाई हेयको दृष्टिले हेरिरहेको छस् र तिनीहरूलाई गम्भीरतापूर्वक लिइरहेको छैनस् भनेर भन्छन्; यदि तैँले तिनीहरूसँग गम्भीरता भइस् भने, तिनीहरू तैँले तिनीहरूसँग किचकिच गरिरहेको छस् भनेर भन्छन्—तैँले चाहे जे गरे पनि, गलत नै हुन्छ। यस्ता प्रकारका मानिसहरूसँग अन्तरक्रिया गर्दा, यदि तेरो शैली उचित छ र तैँले तिनीहरूलाई खुसी पार्न सक्छस् भने, तिनीहरूको क्षमता अलिक कमजोर नै भए पनि, तिनीहरूले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छन्। तर यदि तेरो शैली उपयुक्त छैन र कुनै कुराले तिनीहरूलाई व्याकुल तुल्याउँछ भने, तिनीहरू नकारात्मक बन्छन्, र तैँले तिनीहरूलाई फकाउने उपायहरू खोज्‍न आफ्नो दिमाग खियाउनुपर्छ। सङ्कीर्ण मान्छेहरू अत्यन्तै समस्याजनक हुन्छन्। सानो कुरामा, तिनीहरू धेरै बेरसम्‍म रुन सक्छन्, यहाँसम्म कि तिनीहरूको आँखा अत्यन्तै रातो हुन्छ। यदि सानो मामला तिनीहरूले भनेजस्तो भएन भने, तिनीहरूले घन्टौँसम्म ठुस्स पर्न सक्छन्। जब तिनीहरू रिसाउँछन्, तब तिनीहरू आधा महिनासम्‍म अरूलाई ध्यान नदिई वा अरूसँग नबोली बस्‍न सक्छन्। यस्ता मानिसहरू रिसाहा र सङ्कीर्ण हुन्छन्, तर पनि आफूले गर्नुपर्ने काम गर्छन्—यति मात्र हो कि तिनीहरू रिसका साथ सो काम गर्छन्। तिनीहरूको मनस्थितिमा सुधार आएपछि, तिनीहरू फेरि राम्ररी काम गर्न सक्छन्। समग्रमा, तिनीहरूको मानवताको यो खराबी र समस्या गम्भीर हुन्छ। तिनीहरूले तनावपूर्ण वातावरण सिर्जना गर्ने र आफू र अरू दुवैमाथि समस्या ल्याउने र बोझ हालिदिने सम्भावना हुन्छ। यस्ता प्रकारका मानिसहरूमा संसारसँग व्यवहार गर्दा वयस्कहरूमा हुनुपर्ने उदारता वा मनोवृत्ति हुँदैन। तिनीहरू लगभग दश वर्षको उमेरका केटाकेटी जस्तै हुन्छन्—तिनीहरू समझदार छन् भनेर भन्‍न सकिँदैन, किनभने तिनीहरू वास्तवमै समझदार हुँदैनन्, तर तिनीहरू अपरिपक्‍व छन् भनेर भन्‍न सकिँदैन, किनभने तिनीहरू सधैँ वयस्कले जस्तै बोल्छन्। यदि तैँले तिनीहरूलाई वयस्कहरूलाई जस्तो व्यवहार गरिस् भने, तैँले भनेको कुनै पनि कुराले तिनीहरूलाई अप्रसन्न पार्न र बाँधिएको जस्तो महसुस गराउन सक्छ, जसले गर्दा तिनीहरू अचानक बच्‍चा जस्तै रिसाउँछन्। तर यदि तैँले तिनीहरूलाई केटाकेटीलाई जस्तो व्यवहार गरिस् भने, तैँले तिनीहरूलाई हेयको दृष्टिले हेरिरहेको छस् भन्‍ने तिनीहरूलाई लाग्छ। छोटकरीमा भन्दा, तिनीहरू अत्यन्तै असामान्य हुन्छन्। यो मानवताको खराबी हो। यदि कुनै व्यक्तिमा यस्तो प्रकारको समस्या छ भने, ऊ परिवर्तन हुनुपर्छ अनि उदार र सहनशील हुन, सही तरिकाले र सही मनोवृत्तिले समस्याहरूलाई लिन र सम्हाल्न, र सामान्य मानिसहरूको तर्कसङ्गत तरिकाले अरूसँग अन्तरक्रिया गर्न सिक्नका लागि लागिपर्नुपर्छ। धेरैजसो मानिसहरूले सत्यता वा कामकुरा गर्ने सही तरिका स्वीकार नगरे पनि, तँ यसद्वारा बाँधिनु वा प्रभावित हुनु हुँदैन, न त तँ यसद्वारा प्रतिबन्धित हुनु वा सीमित हुनु नै पर्छ। तँ अझै पनि सही तरिकाले काम गर्नमा अडिग हुनुपर्छ। तँलाई गाह्रो लाग्यो भने पनि, हरेस नखा—यो पनि सिकाइको प्रक्रियाको भाग हो। बिस्तारै, तेरो मानवता, अन्तर्ज्ञान, र अरू पक्षहरू परिपक्‍व हुनेछन्, र तँ बढ्नेछस्। बढ्नुको चिन्ह के हो? यो धेरैजसो मानिसहरूसँग सामञ्जस्य रूपमा मिल्न सक्‍नु हो; यो कसैले तँलाई केही अप्रिय कुरा भन्दा, ठट्टा गर्दा, वा चोट पुर्‍याउने कुरा गर्दा, तैँले सहन, बुझ्न, र सही रूपमा लिन सक्‍नु हो। यदि अरूले भनेको कुरा अप्रिय सुनिन्छ तर त्यसले तेरो वास्तविक परिस्थिति प्रतिबिम्बित गर्छ भने, तैँले त्यसलाई स्वीकार गर्नुपर्छ र मान्‍नुपर्छ। यदि कसैले अनजानमा तँलाई चिढ्याउने केही कुरा भन्यो, र यो अनजानमा गरिएको हो भन्‍ने तैँले देखिस् भने, तैँले सहनशीलताको अभ्यास गर्ने छनौट गर्नुपर्छ। यदि कसैले जानी-जानी तँलाई निसाना बनायो र अत्यन्तै चोट पुऱ्याउने कुराहरू भन्यो भने, तँ शान्त हुनुपर्छ, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, र खोजी गर्नुपर्छ: “उसले किन मलाई यसरी निसाना बनाइरहेको छ? उसको अभिप्राय के हो? के ऊ दुष्ट व्यक्ति हो, कि यो भ्रष्ट स्वभावहरूको प्रकटीकरण हो? यदि ऊ दुष्ट व्यक्ति हो भने, म ऊप्रति अझै समझदार र सावधान हुनुपर्छ। यदि उसले भनेको कुरा सही छ र यो सत्यता अनुरूप छ भने, म यसलाई स्वीकार गर्नेछु; यदि यो गलत छ भने, ऊसँग बहस गर्नु पनि पर्दैन। यदि उसले भ्रष्ट स्वभाव प्रकाश गरिरहेको छ भने, उसले सत्यता स्वीकार गर्न सक्छ कि सक्दैन भनेर म हेर्नेछु। यदि उसले सत्यता स्वीकार गर्न सक्छ भने, म ऊसँग सत्यताबारे सङ्गति गर्नेछु। यदि ऊ सत्यतालाई स्वीकार गर्दैन भने, म सहनशीलताको अभ्यास मात्रै गर्न सक्छु।” के त्यसले समस्या समाधान गर्दैन र? यसरी, जब तैँले हर प्रकारका मानिसहरूसँग अन्तरक्रिया गर्छस्, तब तैँले पारस्परिक सहनशीलता र पारस्परिक सहयोगको साथ त्यसो गर्न सक्छस्, र तँ तिनीहरूसँग सामन्जस्य रूपमा मिलेर बस्‍न सक्छस्—सङ्कीर्ण व्यक्ति बन्‍नुभन्दा यो सधैँ राम्रो कुरा हुन्छ। एक हिसाबमा, सङ्कीर्ण मानिसहरूले, अरूलाई ठूलो असहजतामा पार्छन्, र अर्को हिसाबमा, तिनीहरू कुनै पनि समूहमा मिल्‍न असक्षम हुन्छन्, र तिनीहरू अत्यन्तै एक्लो र स्थानविहीन देखिन्छन्। कतिपय दयालु मानिसहरूले तँप्रति दयाको अनुभूति गर्नेछन्, र सबैले वास्तवमा तँलाई सहयोग गर्न चाहनेछन्, किनभने तिमीहरू सबै दाजुभाइ-दिदीबहिनीहरू हौ, तर जब तँ सधैँ आफूलाई एक्ल्याउँछस् र यसरी एकलै बस्छस्, तब के तँलाई तँ अरूको अगाडि अनौठो देखिन्छस् जस्तो लाग्दैन र? (लाग्छ।) तँ किन स्थानविहीन छस्? किनभने तँमा मानवताको यो खराबी छ, त्यसकारण तैँले यसलाई जित्न र क्रमिक रूपमा परिवर्तन हुन काम गर्नुपर्छ, होइन र? (हो।)

रिसाहा हुनु, आक्रोशित हुनु—यो कुन पक्षमा पर्छ? (मानवताको खराबीमा।) रिसाहा हुनुलाई आक्रोशित हुनु पनि भनेर भन्‍न सकिन्छ—के यो मानवताको खराबीका रूपमा गन्ती हुन्छ? (हुँदैन।) यसलाई कसरी हेर्नुपर्छ? त्यति रिस नगर्ने व्यक्तिले, मुस्कानको पछाडि आफ्नो द्वेष लुकाउने, सधैँ कोमल र मैत्रीपूर्ण शैलीमा बोल्ने, कसैसँग कहिल्यै बहस नगर्ने, र सधैँ अरूले सुन्‍न चाहेको कुरा बोल्ने गर्छ—के यो असल कुरा हो? (होइन।) यदि कसैले यो व्यक्ति खरो छ भनेर भन्यो भने, ऊ यसो भन्छ, “खरो हुनु राम्रो कुरा हो; खरो मानिसहरूले समस्या पैदा गर्दैनन्।” यदि कसैले उसलाई तालुखुइले भनेर भन्यो भने, ऊ यसो भन्छन्, “तालुखुइले हुनु राम्रो कुरा हो; तालुखुइले मानिसहरू चलाख हुन्छन्।” अर्थात्, अरूले चाहे जे भने पनि वा अरूले ऊसँग जसरी व्यवहार गरे पनि, ऊ कहिल्यै रिस देखाउँदैन वा रिसाउँदैन—के यस्तो प्रकारको व्यक्ति असल हुन्छ? (हुँदैन।) जब उसले वास्तवमा कुन मानिसहरूलाई मन पराउँछ, असल मानिसहरू र असल कामकुराहरू र दुष्ट मानिसहरू र दुष्ट कामकुराहरूका बारेमा उसको विचार र दृष्टिकोण के-के हुन्, र उसले असल मानिसहरूलाई अनुमोदन गर्छ र दुष्ट मानिसहरूलाई घृणा गर्छ कि, दुष्ट मानिसहरूलाई अनुमोदन गर्छ र असल मानिसहरूलाई घृणा गर्छ भन्‍ने कुरा आउँछ, यी कुराहरूका बारेमा ऊसँग कुनै स्पष्ट दृष्टिकोण वा अडान हुँदैन, र उसले कुनै पनि कुरामा टिप्पणी गर्दैन। उसले जुनसुकै मामला सामना गरे पनि, सधैँ मुस्कुराउँदै यसलाई पन्छाउँछ, र ऊ विशेष रूपमा मिलनसार हुन्छ र उसमा कुनै रिस हुँदैन। के यो मानवताको असल गुण हो? (होइन।) रिस नगर्नु मानवताको असल गुण होइन, त्योभए के रिसाहा हुनु मानवताको खराबी हो त? के व्यक्ति रिसाहा हुनु वा उसले रिस नगर्नुले उसको मानवता कस्तो छ भनेर निर्धारित गर्न सक्छ? (सक्दैन।) उदाहरणका लागि, कतिपय मानिसहरूले कसैले आफ्नो कर्तव्यमा झाराटारुवा व्यवहार गरिरहेको देख्छन् र वास्ता गर्दैनन्, कसैले मण्डलीको काममा बाधा दिइरहेकोको देख्छन् र तिनीहरूलाई आक्रोश महसुस हुँदैन; अनि तिनीहरू यसो समेत भन्छन्, “ठीक छ, तिमी सुध्रिनेछौ—जति समय लाग्छ, लगाऊ। परमेश्‍वरले हाम्रो लागि श्रमसाध्य अभिप्रायहरू राख्‍नुहुन्छ; हामीले परमेश्‍वरको प्रेम र उहाँको अनुग्रह तिर्नुपर्छ, र हामी झाराटारुवा हुनु हुँदैन। अर्को पटक यस कुरालाई ध्यान देऊ।” के यी मानिसहरू धेरै रिस नगर्ने हुन्छन्? (हुन्छन्।) कतिपय मानिसहरूले, कसैले परमेश्‍वरको घरका हितहरूको संरक्षण नगरिरहेको देख्दा, यसो भन्छन्, “के तिमीले परमेश्‍वरको घरका हितहरूको संरक्षण गर्ने प्रयास गर्न सक्छौ? यदि तिमीले परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गरेमा अत्यन्तै राम्रो हुनेथियो। हामी असल मानिसहरू बन्‍नुपर्छ—हामी असल मानिसहरू भएनौँ भने, परमेश्‍वरले हामीलाई मन पराउनुहुनेछैन। हामीले आफूलाई आचरणमा ढाल्‍ने तरिकामा, कम्तीमा पनि, हामीले परमेश्‍वरको घरका हितहरूको संरक्षण गर्नुपर्छ—भविष्यमा यस कुरालाई ध्यान देऊ।” के यसमा रिस देखाइएको छ? (छैन।) तिनीहरूले रिस देखाएका हुँदैनन्, होइन? कतिपय मानिसहरू जेसुकै भए पनि कहिल्यै रिसाउँदैनन्। जब तिनीहरू सुसमाचार प्रचार गर्दा कतिपय मानिसहरूले माथिलाई र परमेश्‍वरको घरलाई छल गर्नका लागि, प्रायजसो मानिसहरूको झूटो सङ्ख्या रिपोर्ट गरेका देख्छन्, तब तिनीहरू यसो भन्छन्, “यदि अधिकांश मानिसहरूले यस्तै झूटो सङ्ख्या रिपोर्ट गरिरहेका छन् भने, यो पवित्र आत्माको प्रवाहको काम हो—हामी यसमा समर्पित हुनैपर्छ!” कसैले यसो भन्दै तिनीहरूलाई खण्डन गर्छ, “झूटो सङ्ख्या रिपोर्ट गर्नु भनेको परमेश्‍वरसँग झूट बोल्नु र उहाँलाई छल गर्नु हो; म त्यसो गर्नु सक्दिनँ।” तिनीहरू जबाफ दिन्छन्, “किन सक्दैनौँ? अरूले झूटो सङ्ख्या रिपोर्ट गर्छन्, र खराब होइन असल समाचार मात्रै रिपोर्ट गर्छन्। तिमी किन यति मूर्ख भइरहेको छौ?” जब तिनीहरू मानिसहरूले झूटो सङ्ख्या रिपोर्ट गरिरहेका देख्छन्, तब तिनीहरू खुसी हुन्छन्। जब तिनीहरू कतिपय मानिसहरूले सिद्धान्तहरू कायम गरिरहेका र झूटो सङ्ख्या रिपोर्ट गर्न नमानेका देख्छन्, तब तिनीहरू रिसाउँछन् र क्रोधित हुन्छन्, टेबल ठटाउँछन्, र भन्छन्, “तिमीले किन झूटो सङ्ख्या रिपोर्ट गरिरहेका छैनौ? के तिमी पवित्र आत्माको प्रवाहको विरुद्धमा जान चाहन्छौ? यदि तिमीले झूटो सङ्ख्या रिपोर्ट गरेनौ भने, म तिमीलाई बर्खास्त गर्नेछु! म तिमीलाई निकाल्‍नेछु!” तिनीहरू यसरी रिसाउने बारेमा तिमीहरूलाई के लाग्छ? (यो खराब कुरा हो।) यो दुष्ट रिसको विस्फोटन हो। रिस गर्नु पर्ने बेलामा नरिसाउनु र रिस नगर्नु पर्ने बेलामा जथाभाबी रिसाउनु, दुष्ट कुराहरूलाई जायज भन्‍नु, झूटो सङ्ख्याको रिपोर्टलाई पवित्र आत्माको प्रवाह भन्‍नु र यसलाई अत्यन्तै प्रशंसा गर्नु, र यसलाई प्रवर्धन समेत गर्नु—के यो दुष्ट कुरा होइन र? (हो।) जब तिनीहरूले कसैले झूटो सङ्ख्या रिपोर्ट गर्न नमानेको देख्छन्, तब तिनीहरू उसलाई बर्खास्त गर्न वा निकाल्‍न चाहँदै टेबल ठटाउँछन्, रिसाउँछन्, र खाउँला झैँ गरी हेर्छन्—यो त “गर्जन जस्तो क्रोध” हो! ठूलो रातो अजिङ्गरको “गर्जन अभियान” छ; त्यो दियाबलसको त्यो शक्ति प्रदर्शनलाई “गर्जन अभियान” भनिन्छ, र यो यी मानिसहरूको “गर्जन जस्तो क्रोध” हो। यदि तँ झूटो सङ्ख्या रिपोर्ट गर्न मान्दैनस्, र तिनीहरूले टेबल ठटाउँछन् र तिमीहरूविरुद्ध आफ्नो गर्जन जस्तो क्रोध पोख्छन् भने, के यस्तो परिस्थितिमा, के तिमीहरू सिद्धान्तहरू पालना गर्ने, वास्तविक सङ्ख्याहरू मात्रै रिपोर्ट गर्ने र झूटो सङ्ख्या रिपोर्ट गर्न इन्कार गर्ने आँट गर्नेथियौ? के तिमीहरू खडा भएर यसो भन्दै तिनीहरूलाई आलोचना गर्ने र खुलासा गर्ने आँट गर्नेथियौ: “तिमी मानिसहरूलाई झूटो सङ्ख्या रिपोर्ट गर्न जबरजस्ती गरिरहेको छौ—तिमी दियाबलस हौ! झूटो सङ्ख्या रिपोर्ट गर्नमा ख्रीष्ट-विरोधीहरूलाई पछ्याउनुलाई तिमी पवित्र आत्माको प्रवाह समेत भन्छौ। के यो पवित्र आत्माको निन्दा गर्नु र परमेश्‍वरको निन्दा गर्नु होइन र? तिमी सही र गलतको बीचमा भिन्‍नता छुट्याउँदैनौ र पवित्र आत्माको निन्दा गर्छौ, र तैपनि तिमीले आफूलाई धर्मी स्वर्गदूत ठान्छौ। झूटो सङ्ख्या रिपोर्ट गर्ने तिम्रो मागविरुद्ध कसैलाई पनि जान दिँदैनौ, र तिमी रिस समेत पोख्छौ। तिमीसँग अलिकति पनि इन्साफको बोध छैन। तिमीले दुष्ट कुराहरूलाई खुलासा र निन्दा नगर्ने मात्र होइन, तर सत्यतामा लागिरहने र झूटो सङ्ख्या रिपोर्ट गर्न नमान्ने मानिसहरूप्रति आफ्नो रिस पनि पोख्छौ, र तिनीहरूमाथि आफ्नो ‘गर्जन जस्तो क्रोध’ समेत पोख्छौ। के यो परमेश्‍वरको घरको काममा जानी-जानी अवरोध गर्नु र बाधा दिनु होइन र? के यो व्यवहारको प्रकृति ठूलो रातो अजिङ्गरको व्यवहारसरह छैन र?” त्यसकारण, रिसाहा हुनु साँच्‍चै नै मानवताको खराबी हो कि मानवताको असल गुण हो भनेर फेरि हेर्दा, यसलाई सामान्यीकरण गर्न सकिँदैन। यो, कुन-कुन परिस्थितिहरूले व्यक्तिलाई रिस उठाउँछ र कुन-कुन परिस्थितिहरूले रिस उठाउँदैन, साथै त्यो व्यक्ति सामान्यतया किन रिसाहा छ भन्‍ने कुरामा निर्भर हुन्छ। यो कुरा त्यो व्यक्तिले के पछ्याइरहेको छ, त्यो व्यक्तिसँग आत्म-आचरणका सिद्धान्तहरू छन् कि छैनन्, र सत्यताप्रतिको उसको मनोवृत्ति ठ्याक्कै कस्तो छ, साथै परमेश्‍वर, परमेश्‍वरको काम, परमेश्‍वरको घरका हितहरू, र मण्डलीको कामप्रतिको उसको मनोवृत्ति कस्तो छ भन्‍ने कुरामा निर्भर हुन्छ। यदि सत्यता सिद्धान्तहरू पालना गर्न, परमेश्‍वरको घरका हितहरूको संरक्षण गर्न, र परमेश्‍वरको घरको कामको संरक्षण गर्नका लागि, उसले विभिन्‍न दुष्ट मानिसहरू, घटनाहरू, र कामकुराहरूको सामना गर्दा निरन्तर कडा रिस देखाउँछ भने, यो उसको मानवताको असल गुण हो। तर यदि ऊ विभिन्‍न दुष्ट कुराहरू वा परमेश्‍वरको प्रतिरोध गर्ने कामकुराहरूको सामना गर्दा ऊसँग त्यसको कुनै सम्बन्ध नै नभएको जस्तो गरी ऊ कहिल्यै क्रोधित हुँदैन वा रिसाउँदैन भने, यो उसको मानवताको खराबी होइन—यो कमजोर मानवता, इन्साफको बोधको कमी हो, र अवश्य नै यो भ्रष्ट स्वभावहरूको वर्गमा पर्छ। त्यसोभए, रिसलाई कसरी हेर्नुपर्छ? व्यक्तिले रिस गर्दैन भन्‍नुको अर्थ उसको मानवता असल नै छ भन्‍ने हुँदैन, र व्यक्तिको रिस कडा छ भन्‍नुको अर्थ उसको मानवता कमजोर नै छ भन्‍ने हुँदैन—यो उसको कडा रिस केतर्फ लक्षित हुन्छ भन्‍ने कुरामा निर्भर हुन्छ। यदि उसको कडा रिस दुष्ट, अन्धकारमय, र सत्यता अनुरूप नभएका कुराहरूप्रति लक्षित छ भने—यदि यो परमेश्‍वरको घरका सिद्धान्तहरू उल्लङ्घन गर्ने, परमेश्‍वरको घरका हितहरूमा हानि गर्ने, र मण्डलीको काममा अवरोध र बाधा दिने कुराहरूप्रति लक्षित छ भने—अनि यी कुराहरूबारे बेचैनी, व्याकुलता, र चिन्ता महसुस गरेकोले ऊ बारम्बार रिसाउँछ र रिस पोख्छ भने, यो खराब मानवता होइन। यो परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्नु हो, यो मानवताको असल गुण हो। यसविपरीत, यदि, यी नकारात्मक कामकुराहरू सामना गर्दा, उसले कुनै रिस देखाउँदैन, परमेश्‍वरको घर वा परमेश्‍वरको गवाहीका हितहरूको संरक्षण गर्न अघि बढ्दैन, र सत्यता सिद्धान्तहरू कायम रोक्दैन र यी कुराहरूलाई रोक्न वा प्रतिबन्धित गर्न अघि बढ्दैन, बरु यी अवरोध र बाधाहरूलाई विना रोकटोक बढ्न र फैलिन दिन्छ भने, त्यस्ता मानिसहरू त्यति नरिसाउने जस्ता देखिए पनि, वास्तवमा, तिनीहरूको चरित्र अत्यन्तै कमजोर हुन्छ। के कुरा यही होइन र? (हो।) कडा रिसको समस्यालाई कसरी हेर्नुपर्छ? यो कुरा व्यक्तिको कडा रिस के कुरातर्फ लक्षित हुन्छ भन्‍ने कुरामा निर्भर हुन्छ; तैँले त्यो व्यक्तिको चरित्र कस्तो छ, उसले के पछ्याउँछ र ऊ कुन मार्गमा हिँड्छ, र सत्यताप्रति, परमेश्‍वरप्रति, परमेश्‍वरको घरको कामप्रति, र परमेश्‍वरको घरका हितहरूप्रति उसको मनोवृत्ति कस्तो छ भनेर हेर्नुपर्छ। के यसलाई हेर्ने यो तरिका सही छ? (छ।) यदि कुनै व्यक्तिमा इन्साफको कुनै बोध छैन तर ऊ आफ्नो दैनिक जीवनमा मानिसहरूसँग सङ्गत गर्दा रिसाहा हुन्छ, सजिलै क्रोधित हुन्छ, र अत्यन्तै आक्रोशित हुन्छ, प्रायजसो रिसले चूर हुन्छ, र सानातिना मामलाहरूबारे अरूसँग बारम्बार मुखामुख झगडा र भनाभन गर्छ, फोहोरी भाषा समेत प्रयोग गर्छ भने, यो मानवताको खराबी होइन—यो अत्यन्तै कमजोर चरित्र हो। यसलाई भ्रष्ट स्वभावहरूका हिसाबमा हेर्दा, यो व्यक्तिको स्वभाव क्रूर हुन्छ, र कसैले पनि उसलाई उक्साउने आँट गर्दैन। उसले जायज कुराहरूको संरक्षण गर्न, सकारात्मक कुराहरूको संरक्षण गर्न, सत्यता सिद्धान्तहरू पालन गर्न, वा परमेश्‍वरको घरका हित र कामहरूको संरक्षण गर्नका लागि आफ्नो रिस पोख्दैन, बरु आफ्ना सबै हितहरू, आफ्नो प्रतिष्ठा, हैसियत, अभिमान, भौतिक सम्पत्ति, पैसा, इत्यादि कुराहरूको संरक्षण गर्नका लागि रिस गर्छ। त्यस्तो व्यक्तिको खराब रिसलाई अत्यन्तै कमजोर चरित्रका रूपमा वर्गीकरण गर्न सकिन्छ। कसैको कडा रिस केतर्फ लक्षित छ र त्यसपछाडिका अभिप्रायहरूलाई ख्याल गर्दै परिस्थितिका आधारमा कडा रिसलाई हेर्नुपर्छ। यदि, आफ्नै हितहरूको संरक्षण गर्न वा आफ्नो प्रतिष्ठा र हैसियतको रक्षा गर्नका लागि, उसले साँच्‍चै नै एउटा टिप्पणीका कारण रिस र क्रोध पोख्न सक्छन् भने, तिनीहरूको चरित्र अत्यन्तै कमजोर हुन्छ। यदि तिनीहरू आफ्नो व्यक्तिगत हितहरूसँग सम्बन्धित मामलाहरूमा सामान्यतया निकै उदार हुन्छन् भने—उदाहरणका लागि, जब मानिसहरूले कहिलेकहीँ तिनीहरूलाई लक्षित गर्ने र तिनीहरूको अभिमानलाई अलिक चोट पुर्‍याउने टिप्पणीहरू गर्छन्, वा तिनीहरूको अलिकति फाइदा उठाउँछन्, तब तिनीहरू प्रायजसो त्यसलाई जान दिन्छन् र रिस गर्दैनन्—यदि तिनीहरू सानातिना कुराहरूबारे किचकिच गर्दैनन् र अरूसँग सङ्गत गर्दा समन्वय गर्न सक्छन्, तैपनि कसैले मण्डलीको काममा अवरोध र बाधा दिइरहेको र परमेश्‍वरको घरका हितहरूमा हानि गरिरहेको देख्दा तिनीहरूले रिस गर्छन् भने, यो खराब चरित्र होइन। बरु, यो मानवतामा हुनुपर्ने इन्साफको बोध हो; यो मानवताको असल गुण हो।

घुर्की देखाउने प्रवृत्ति हुनु—यो कस्तो प्रकारको समस्यामा पर्छ? (मानवताको खराबीमा।) यो मानवताको खराबी हो। कस्तो प्रकारका मानिसहरूमा घुर्की देखाउने प्रवृत्ति हुन्छ? (सङ्कीर्ण मानिसहरू।) सङ्कीर्ण मानिसहरू, संवेदनशील मानिसहरू, र केटाकेटी सबैमा घुर्की देखाउने प्रवृत्ति हुन्छ। जब तिनीहरू कुनै सानो समस्या सामना गर्छन्, तब तिनीहरू झडङ्ग रिसाउँछन्, तँसँग बोल्न मान्दैनन्, तँलाई भेट्न मान्दैनन्, र तेरो फोन उठाउँदैनन्। तँ अनजानमा तिनीहरूलाई चोट पुऱ्याउने कुरा बोल्छस्, अनि तिनीहरू घुर्की देखाउन थाल्छन्, तँलाई लामो समयसम्म बेवास्ता गर्छन्, र यसबारे सोधियो भने पनि, तिनीहरू केही भन्दैनन्। तँ तिनीहरूलाई सोध्छस्, “के भयो? यदि समस्या छ भने, यसलाई समाधान गरौँ न। यदि म तिमीप्रति कुनै कुराको ऋणी छु भने, म त्यसको पूर्ति गर्नेछु। यदि मैले भनेको कुनै कुराले तिमीलाई चोट पुर्‍याएको छ भने, म माफी माग्छु, र तिमीले मलाई जे गर्न लगाउँछौ त्यही गर्न सक्छु।” तैपनि तिनीहरू अझै पनि मौन बस्छन्, र घुर्की देखाउँछन्। के त्यस्ता मानिसहरू समस्याजनक हुँदैनन् र? (हुन्छन्।) यो असामान्य मानवता हो। चरित्रसँग सम्बन्धित समस्याहरूको स्तरमा नउठ्ने मानवतासँग सम्बन्धित समस्याहरू सबै, मानवताका खराबीहरूमा पर्छन्। खराबीको अर्थ कुनै व्यक्तिमा, सामान्य मानवतामा हुनुपर्ने कुनै कुराको कमी छ भन्‍ने हुन्छ—आफूलाई आचरणमा ढाल्‍ने र मामलाहरू सम्हाल्ने व्यक्तिको मनोवृत्ति वा शैली असामान्य वा अपरिपक्‍व हुन्छ र यसले सामान्य मानवताको समझको मानक पूरा गर्दैन भन्‍ने हुन्छ। यो एउटा खराबी हो। एक हिसाबमा, घुर्की देखाउने प्रवृत्तिले, अरूलाई झर्को लगाउँछ, र तिनीहरूलाई त्यस्ता मानिसहरूसँग अन्तरक्रिया गर्न मन पर्दैन। यसका साथै, घुर्की देखाउने प्रवृत्ति हुनु केटाकेटी जस्तो अपरिपक्‍व हुनु हो। सामान्यतया, लगभग दश वर्षको उमेरका केटाकेटीले मात्रै यस्तो व्यवहार गर्छन्—वयस्कहरूमा यी प्रकटीकरणहरू हुँदैनन्। जब तँसँग त्यस्तो व्यक्तिको सम्बन्ध राम्रो हुन्छ, तब तिमीहरू दुई जना अविभाज्य हुन्छौ। तर जब तिमीहरूका बीचमा परिस्थितिहरू खराब हुन्छन्, तब तिनीहरू शत्रुवत् बन्छन्, घुर्की देखाउँछन्, तँसँग बोल्न मान्दैनन्, तैँले तिनीहरूलाई दिएको सबै कुरा फर्काउँछन्, र तँसँग सधैँका लागि सम्बन्ध तोड्छन्। तैपनि, कसलाई थाहा हुन्छ र—एक दिन तिनीहरू पहिलेको जत्तिकै मिल्न र नजिक हुन सक्छन्। यी अपरिपक्‍वताका प्रकटीकरणहरू हुन्। अपरिपक्‍वताका यी सबै प्रकटीकरणहरूलाई मानवताका खराबीहरू भनिन्छ। घुर्की देखाउने प्रवृत्ति हुनु मानवताको खराबी हो। घुर्की देखाउने प्रवृत्ति भएका मानिसहरूले कर्तव्य पूरा गर्दा काममा ढिलाइ गर्ने सम्भावना सबैभन्दा बढी हुन्छ। कसैले तिनीहरूलाई चोट पुऱ्याउने कुरा भनिदिएका कारण तिनीहरू कहिले कैयौँ दिनसम्‍म घुर्की देखाएर बस्‍न सक्छन् भन्‍ने तँलाई कहिल्यै थाहा हुँदैन। कर्तव्य चाहे जति नै महत्त्वपूर्ण भए पनि, तिनीहरू केही नबोली काम गर्न रोक्न सक्छन्। तैँले अझै पनि तिनीहरूले सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गरिरहेका छन् भन्‍ने सोच्लास्, तर वास्तवमा, तिनीहरूले आफ्नो काम गर्न धेरै पहिले नै रोकेका हुन्छन्। त्यसकारण, घुर्की देखाउने प्रवृत्ति भएका मानिसहरूलाई कहिल्यै महत्त्वपूर्ण काम नसुम्पनु अत्यावश्यक हुन्छ, विशेष गरी निर्णायक चरणका कामहरू, किनभने तिनीहरू अत्यन्तै स्वेच्छाचारी, सधैँ भावनात्मक हुन्छन्, र तिनीहरूमा घुर्की देखाउने प्रवृत्ति हुन्छ, र समझको कमी हुन्छ, जसले गर्दा तिनीहरूले सजिलै आफ्नो कर्तव्य पूरा गर्ने अवधिमा आफ्नो काम त्याग्‍न सक्छन्। यदि त्यो काम तिनीहरूले नै पूरा गर्नु नै पर्छ वा तिनीहरूलाई प्रतिस्थापन गर्न अरू कोही पनि छैन भने, तिनीहरूलाई काम खटाउँदा, तैँले कसैलाई तिनीहरूको कामको सुपरिवेक्षण गर्न लगाउनुपर्छ। यदि तिनीहरूको स्थान अरू कसैले लिन सक्छ भने, तिनीहरूलाई तुलनात्मक रूपमा महत्त्वपूर्ण काम खटाइनु हुँदैन। उदाहरणका लागि, कतिपय मानिसहरूसँग थोरै क्षमता हुन्छ र तिनीहरूले मण्डली अगुवाको काम सम्हाल्न सक्छन्, तर जब कुनै दाजुभाइ-दिदीबहिनीले तिनीहरूलाई चोट पुऱ्याउने कुरा भन्छ, तब तिनीहरू घुर्की देखाउँछन्: “मैले छोडेँ! तिमीहरूले जसलाई चाहन्छौ उसैलाई अगुवा बनाउन सक्छौ। म आफ्नो जीवन जिउन घर फर्केर जाँदैछु—मलाई पुग्यो!” तिनीहरूले घुर्की देखाउन थालेपछि, तिनीहरू आफ्नो कर्तव्य त्यागेर जान सक्छन्, र तिनीहरू कहिले फर्केर आउनेछन् कसलाई थाहा हुन्छ र। के त्यस्ता मानिसहरू भरपर्दा हुन्छन्? (हुँदैनन्।) तिनीहरूले आफ्नो कर्तव्य र मण्डलीको काममा आफ्नो रिस पोख्छन्, र कुनै पनि बेला आफ्नो कर्तव्य त्याग्छन्। के यो अपरिपक्‍वताको प्रकटीकरण होइन र? (हो।) तिनीहरूले कर्तव्य र मण्डलीको कामलाई बच्‍चाको खेल जस्तै, भाँडाकुटी खेलेको जस्तै ठान्‍नु—त्यो अपरिपक्‍वताको प्रकटीकरण हो। जब केटाकेटी भाँडाकुटी खेल्छन्, तब त्यो त खेल मात्रै हुन्छ—तिनीहरू उदास भए भने, तिनीहरू खेल्न छोड्छन्; त्यसले कुनै कुरामा ढिलाइ गर्दैन। तर मण्डलीको काम वा कुनै कर्तव्यलाई केटाकेटीको भाँडाकुटी खेलेजस्तै व्यवहार गर्नु, आफूलाई जहिले मन लाग्छ त्यही बेला छोड्नु—के त्यसले कामकुरामा ढिलाइ गर्दैन र? यसले तिनीहरूको आफ्नै मामलामा मात्रै ढिलाइ गर्दैन—यदि तिनीहरू मण्डली अगुवा हुन् भने, तिनीहरूले मण्डलीको काममा ढिलाइ गर्छन्। यदि तिनीहरू महत्त्वपूर्ण कर्तव्य पूरा गरिरहेका छन् भने, त्यो महत्त्वपूर्ण कर्तव्यमा ढिलाइ हुन्छ। त्यसकारण, प्रयोग गर्नका लागि मानिसहरूलाई छनौट गर्दा, तैँले तिनीहरूमा घुर्की देखाउने प्रवृत्तिको समस्या छ कि छैन भन्‍ने कुरालाई विचार गर्नुपर्छ। यदि तिनीहरूमा यो समस्या छ भने, के यो गम्भीर छ? यो कति गम्भीर छ? के तिनीहरूले आफ्नो काम त्याग्‍नेछन्? जब तिनीहरूले घुर्की देखाउँछन्, तब के तिनीहरूले रुष्ट हुन्छन्, तिनीहरू घर जान्छन्, र आफ्नो कर्तव्य पूरा गर्न छोड्छन्, र तिनीहरूलाई चाहे जसले बोलाए पनि फर्केर आउन मान्दैनन्? यस्ता खालका मानिसहरूलाई सम्हाल्न निकै गाह्रो हुन्छ। तिनीहरूलाई कहिल्यै प्रयोग नगर्—तिनीहरू चिढचिढे खालका हुन्छन्। तिनीहरूलाई फकाउँदा पनि हुँदैन, तिनीहरूलाई अनुशासित गर्दा पनि हुँदैन, र तैँले सत्यताबारे चाहे जसरी सङ्गति गरे पनि, तिनीहरूलाई त्यो स्वीकार गर्न गाह्रो हुन्छ। तिनीहरूले आफै पत्ता लगाएपछि र यो कुरा आफै बुझेपछि मात्रै तिनीहरू ठिक हुन र सामान्य समझमा फर्केर आउन सक्छन्। त्यसकारण, यदि कसैको मानवतामा भ्रष्ट स्वभाव हुनुको साथै, धेरै खराबी वा त्रुटिहरू पनि छन् भने, उसले कुनै अप्रिय कुरा सामना गरेपछि, यो कुराले उसलाई यति नकारात्मक बनाउन सक्छ कि ऊ ठिक हुन नै सक्दैन। ऊसँग केही सङ्कल्प भए पनि र ऊ मुक्ति प्राप्त गर्नका लागि सत्यता पछ्याउन इच्छुक भए पनि, र ऊसँग आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने र सृजित प्राणीका रूपमा मानकअनुरूप हुने मन भए पनि, जब कठिनाइ वा अप्रिय अवस्थाहरू देखा पर्छन्, तब ऊ उप्रान्त अघि बढ्न नै सक्दैन। त्यसकारण, यदि व्यक्तिले सत्यता पछ्याउन र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न चाहन्छ भने, उसले आफ्नो मानवतामा हुन सक्‍ने कुनै पनि खराबी वा त्रुटिहरूलाई समाधान गर्न सत्यताको खोजी गर्नुपर्छ। यदि तँसँग परमेश्‍वरको अत्यन्तै कामना गर्ने हृदय छैन वा सत्यताको तृष्णा गर्ने हृदय छैन, र तँ मानवताका यी खराबीहरूलाई जित्न अनिच्छुक छस् वा तँसँग त्यसो गर्ने पर्याप्त सङ्कल्प छैन भने, तैँले सामना गर्ने चुनौतीहरू कैयौँ हुनेछन्। यदि तैँले यी व्यक्तिगत खराबीहरूलाई समेत परिवर्तन गर्न वा जित्न सक्दैनस् भने, तेरो भ्रष्ट स्वभाव फाल्न अझै गाह्रो हुनेछ।

अब हामी “फाइदा लिन मन पराउने” बारेमा कुरा गरौँ—यो कस्तो प्रकारको समस्या हो? (मानवताको खराबी।) के यो मानवताको खराबी हो? फाइदा लिन मन पराउनु चरित्रको समस्या हो। यदि कसैले हरेक परिस्थितिमा, तरकारी, कागजको टुक्रा, वा पानीको सानो बोतल जस्ता सानो कुरामा समेत फाइदा लिन्छ भने, यो उसको चरित्रको समस्या हो—उसको चरित्र अत्यन्तै कमजोर हुन्छ। यो मानवताको खराबी होइन। बुझ्यौ? (बुझ्यौँ।) त्यस्ता मानिसहरूको चरित्र अत्यन्तै कमजोर हुन्छ र तिनीहरूमा कुनै निष्ठा हुँदैन। जब तिनीहरू पसलमा किनमेल गर्छन्, तब तिनीहरू सधैँ मोलतोल गर्ने प्रयास गर्छन् र छुट माग्छन्। जब तिनीहरू बजारमा सागसब्जी किन्छन्, तब तिनीहरू एक पैसाका लागि निरन्तर बहस गर्छन्। जब तिनीहरू होटलमा बस्छन् र तिनीहरूले एक पटक प्रयोग गर्न सकिने तौलिया, ब्रस, र दंतमन्जन जस्ता सित्तैका सामानहरू देख्छन्, तब तिनीहरू केही छुटाउँछु कि भन्‍ने डरले, एउटा पनि सामान नछोडी सबै घर लैजान्छन्। कतिपय मानिसहरू भन्छन्, “के तिनीहरू गरिब भएकाले तिनीहरू फाइदा लिन मन पराउँछन्?” होइन, यस्तो प्रकारको व्यक्तिको चरित्र नै यस्तै खालको हुन्छ। तिनीहरूको परिवारमा पैसाको कमी हुँदैन, तर पनि तिनीहरू फाइदा लिन जिद्दी कस्छन्। परमेश्‍वरमा विश्‍वास गरेपछि, यस्तो प्रकारको व्यक्तिले परमेश्‍वरको घरबाट समेत फाइदा लिन्छ। कतिपय मानिसहरू आफ्नो घरमा खाना खाँदैनन् बरु सधैँ सित्तैँमा खान अतिथिसेवा गर्नेको घरमा जान्छन्, र तिनीहरू त्यहाँ अतिथिसेवा गर्नेलाई काम सघाउन गएका हुन् भन्‍ने ढोँग गर्छन्। तिनीहरू कसैले नदेख्ने गरी दाजुभाइ-दिदीबहिनीहरूको सामान प्रयोग गर्छन्। तिनीहरू आफ्नै सामानहरू प्रयोग गर्नबाट पन्छिन्छन् र सधैँ अरूका सामानहरू प्रयोग गर्छन्। तिनीहरू आफ्नै लुगा लगाउँदैनन् र सधैँ अरू कसैको लुगा लगाउँछन्। जब तिनीहरू कसैले लुगा धोइरहेको देख्छन्, तब उनीहरूले धोइरहेको बेला तिनीहरूको पनि केही लुगा धोइदिन आग्रह गर्छन् र उनीहरूलाई सात-आठ वटा लुगा धुन लगाउन पुग्छन्—यो स्पष्ट रूपमा नै फाइदा लिनु हो। तिनीहरूको चरित्र बस यस्तै हुन्छ। तिनीहरूको परिवारसँग स्पष्ट रूपमा नै पैसा भए पनि, तिनीहरू अझै पनि दाजुभाइ-दिदीबहिनीहरूबाट पैसा सापट लिन्छन्। तिनीहरूले कहिले पैसा तिर्नेछन् भनेर सोधियो भने, तिनीहरू यसो भन्छन्, “पैसा भएपछि फिर्ता दिइहाल्छु। यदि मसँग पैसा छैन भने, म कसरी तिर्न सक्छु र? मसँग पैसा नै छैन—खालि मेरो ज्यान छ!” यी शब्दहरूको अर्थ के हो? तिनीहरू स्पष्ट रूपमा नै पैसा तिर्न चाहँदैनन् र तिनीहरूले पैसा तिर्ने कहिल्यै अभिप्राय राखेका थिएनन्—तिनीहरू फाइदा लिन, अरूको पैसा आफ्‍नो आनन्दका लागि प्रयोग गर्न र स्वतन्त्र रूपमा खर्च गर्न मात्रै चाहन्छन्। तिनीहरूको उद्देश्य यही हुन्छ। जब तिनीहरू कसैले नयाँ सामान किनेका देख्छन्, तब तिनीहरूलाई निकै चासो हुन्छ र तिनीहरू निरन्तर त्यो सापट लिने बारेमा सोच्छन्। यदि सामानको धनीलाई आवश्यकता छ र ऊ त्यो कुरा अरूलाई सापट दिन चाहँदैन भने, तिनीहरूले जसरी भए पनि जबरजस्ती मागेरै छाड्छन्। तिनीहरू यसलाई पुरानो भइञ्जेल वा भाँचिञ्जेल प्रयोग गर्छन् र पनि फर्काउँदैनन्, यसलाई आफ्नै सामान जस्तो गर्छन्। यस्तो प्रकारको व्यक्तिले जताततै फाइदा लिन्छ, सामानहरू सापट लिन्छ र कहिल्यै फर्काउँदैन। के यो मानवताको खराबी हो? (होइन।) यो कुनै निष्ठा नहुनु हो र यो अत्यन्तै कमजोर चरित्र हुनु हो। के तिमीहरूले कहिल्यै यस्तो प्रकारको व्यक्ति देखेका छौ? (छौँ।) यस्ता मानिसहरू धेरै छन्। मलाई भन, के यस्तो व्यक्तिले सत्यता अभ्यास गर्न सक्छ? (सक्दैन।) यीमध्ये धेरैजसो मानिसहरू कस्ता प्रकारका मानिसहरू हुन्? के तिनीहरू बदमासहरू होइनन् र? तिनीहरू अरूबाट जति नै धेरै फाइदा लिए पनि, तिनीहरूको विवेकले कुनै आत्म-दोष महसुस गर्दैनन्। मलाई भन, के तिनीहरूसँग विवेक हुन्छ? (हुँदैन।) विवेक नभएका मानिसहरू कस्ता प्रकारका व्यक्ति हुन्? तिनीहरू असल मानिसहरू हुन् कि दुष्ट मानिसहरू हुन् भनेर नभनौँ—कम्तीमा पनि, तिनीहरूसँग सत्यता अभ्यास गर्नका लागि चाहिने मानवताको सबैभन्दा आधारभूत मानक र सर्तहरू हुँदैनन्। हामीले यसअघि के सङ्गति गरेका थियौँ भने सत्यता अभ्यास गर्नका लागि, व्यक्तिमा कम्तीमा पनि विवेक हुनुपर्छ। व्यक्तिको विवेकमा लाजको बोध समावेश हुन्छ। के विवेकमा कुनै आत्म-दोष महसुस नगरी सधैँ अरूबाट फाइदा लिइरहने मानिसहरूमा लाजको बोध हुन्छ? (हुँदैन।) के लाजको बोध नभएका मानिसहरू सत्यता अभ्यास गर्न सक्छन्? (सक्दैनन्।) तिनीहरू केही महसुस नगरी अनि विवेकको कुनै हप्की महसुस नगरी दुष्कर्म गर्छन्। त्यसकारण, इन्साफपूर्ण कार्यहरू गर्नु र सही मार्गमा हिँड्नुमा तिनीहरूलाई कुनै चाख हुँदैन किनभने तिनीहरूको मानवतालाई त्यस्ता कुराहरूको आवश्यकता हुँदैन। तिनीहरूका आवश्यकताहरू के-के हुन्? अरूका हितहरू लिनु अनि आफ्नो सेवाका लागि तिनलाई प्रयोग गर्दै आफ्ना हितहरूमा कुनै पनि घाटा हुनबाट रक्षा गर्नु नै तिनीहरूको आवश्यकता हो। तिनीहरूको मानवतामा यस्तो व्यवहारका कारण कुनै हप्की वा आत्म-दोषको बोध हुँदैन, न त कुनै लाजको बोध नै हुन्छ। त्यसकारण, यस्तो व्यक्तिलाई सत्यता अभ्यास गर्न निकै गाह्रो हुन्छ। आफूलाई आचरणमा ढाल्‍ने तिनीहरूको संहिता यस्तो हुन्छ: चाहे भौतिक हिसाबमा होस् वा मनोवैज्ञानिक हिसाबमा होस्, तिनीहरूका लागि फाइदाजनक हुने कुनै पनि कुरालाई अलिकति पनि त्याग्‍नु हुँदैन। अरूका असल र बहुमूल्य कुराहरूका हकमा भन्दा, तिनीहरू सधैँ ती कुराहरू प्राप्त गर्न, हडप्न, वा जबरजस्ती खोस्‍न समेत चाहन्छन्। तिनीहरूले मौका पाएपछि, अरूका असल कुराहरू आफ्नो लागि हडप्नेछन्। तिनीहरूले आफूलाई अवसर गुमाउन दिन पटक्‍कै सक्दैनन्, र तिनीहरूले अवसर गुमाए भने, जीवनभरि त्यसबारे पछुतो गर्नेछन्। तिनीहरूले आफूलाई आचरणमा ढाल्‍ने तरिका सम्बन्धी तिनीहरूको संहिता यही हो। तिनीहरू यो संहिता द्वारा शासित हुने भएकाले, अरूबाट फाइदा लिँदा र अरूका फाइदाहरूलाई आफ्‍नो भनी दाबी गर्दा तिनीहरूलाई जायज लाग्छ र सहज महसुस हुन्छ, र तिनीहरूले उपलब्धिको ठूलो अनुभूति गर्छन्। यदि तिनीहरू फाइदा लिन असफल भए वा तिनीहरूले त्यसो गर्ने अवसर गुमाए भने, तिनीहरूलाई आफू असफल भएको भन्‍ने लाग्छ र तिनीहरू आफूलाई मूर्ख ठान्छन्। जब तिनीहरू फाइदा लिन्छन्, तब तिनीहरूलाई राम्रो, प्रसन्न, र शान्ति महसुस हुन्छ। तर जब तिनीहरू फाइदा लिने मौका देख्छन् र लिँदैनन्, तब तिनीहरूलाई उदासी र बेचैनी हुन्छ: “यदि मैले यो फाइदा लिइनँ भने, यो खेर गएको हुनेछ। यदि अरू कसैले यो लियो भने, के मलाई नै घाटा हुनेछैन र?” हेर त—के यो संहिताद्वारा शासित व्यक्ति असल व्यक्ति बन्‍ने प्रयास गर्न सक्छ? (सक्दैन।) सत्यता अभ्यास गर्दा, मानिसहरूले आफूले बहुमूल्य ठानेको अभिमान, हैसियत, र अरू मनोवैज्ञानिक कुराहरू, साथै केही भौतिक कुराहरू जस्ता धेरै कुराहरू त्याग्‍नुपर्छ। यी सबै व्यक्तिगत हितहरूसँग सम्बन्धित हुन्छन्, र सत्यता अभ्यास गर्नका लागि मानिसहरूले यी कुराहरू विरुद्धमा विद्रोह गर्नुपर्छ, तिनलाई जित्नुपर्छ, फ्याँक्‍नुपर्छ, र त्याग्‍नुपर्छ। फाइदा लिन मन पराउने मानिसहरूले यीमध्ये कुनै पनि कुरा पटक्‍कै गर्न सक्दैनन्। तिनीहरू आफ्नो अभिमान वा हैसियत त्याग्‍न सक्दैनन्, र तिनीहरू कुनै पनि भौतिक हितहरू त्याग्‍न त अझै कम सक्षम हुन्छन्। सत्यता अभ्यास गर्दा, तिनीहरू यीमध्ये कुनै पनि कुरा गर्न सक्दैनन्। त्यसोभए, के तिनीहरू सत्यता अभ्यास गर्न सक्छन् त? (सक्दैनन्।) त्यसकारण, तिनीहरूलाई सत्यता अभ्यास गर्न अत्यन्तै गाह्रो हुन्छ। तिनीहरू सबै मनोवैज्ञानिक र भौतिक असल कुराहरू आफ्नै लागि राख्‍न चाहन्छन् र तिनलाई कहिल्यै त्याग्‍न सक्दैनन्, जुन सत्यता अभ्यास गर्ने सिद्धान्तहरूसँग सीधै बाझिन्छ र त्यसको विपरीत जान्छ। त्यसकारण तिनीहरू सत्यता अभ्यास गर्न सक्दैनन्। फाइदा लिन विशेष रूपमा मन पराउनेहरूलाई हेर त—तिनीहरू कुन हदसम्म जान्छन्? कसैको घरमा जाँदा, तिनीहरू जानुभन्दा पहिले उनीहरूको पानी अलिकति पिएर अनि केही खानेकुरा खाएरै छाड्छन्। मलाई भन, के यस्तो प्रकारको चरित्र भएका मानिसहरूले सत्यता अभ्यास गर्न सक्छन्? (सक्दैनन्।) सबै कुरा मापन गर्ने तिनीहरूको मानक तिनीहरूले फाइदा लिन र लाभहरू प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने सिद्धान्तमा आधारित हुन्छ। व्यक्तिगत लाभ नै तिनीहरूले सबै कुरा मापन गर्ने सिद्धान्त हुन्छ। तिनीहरूको आफ्नो आचरण अरूबाट फाइदा लिने कार्यमा मात्रै केन्द्रित हुन्छ। तिनीहरूले घाटा नभोगेसम्म र फाइदा लिन सकेसम्म, तिनीहरूलाई त्यो सार्थक लाग्छ। तिनीहरू के विश्‍वास गर्छन् भने आफूलाई आचरणमा ढाल्दा, व्यक्तिले फाइदा लिन सक्‍नुपर्छ, र व्यक्तिले बारम्बार फाइदा लिएको छ भने मात्रै ऊ तीक्ष्ण-बुद्धिको र चलाख हुन्छ—यदि कसैलाई कसरी फाइदा लिने भन्‍ने थाहा छैन भने, त्यो व्यक्ति मूर्ख हो! आफूलाई आचरणमा ढाल्‍ने तिनीहरूको मानक भनेको फाइदा मात्रै लिनु र कहिल्यै घाटा नभोग्‍नु भन्‍ने हुन्छ। तिनीहरू यो शैलीलाई आफूलाई आचरणमा ढाल्‍ने मानकका रूपमा लिन्छन्—के तिनीहरू सत्यता अभ्यास गर्न सक्छन्? (सक्दैनन्।) के तिनीहरूका हृदयमा सत्यताका लागि कुनै ठाउँ हुन्छ? के यसले तिनीहरूका हृदयमा शक्ति लिन सक्छ? (सक्दैन।) त्यसोभए तिनीहरू के-कस्ता सत्यताहरू अभ्यास गर्न सक्छन्? (कुनै पनि सक्दैनन्।) तिनीहरू कुनै पनि सत्यता अभ्यास पटक्‍कै गर्न सक्दैनन्—तिनीहरूको चरित्र अत्यन्तै नीच हुन्छ, जसले गर्दा अरूले तिनीहरूलाई घृणा गर्छन्। कतिपय मानिसहरू परमेश्‍वरको घरमा कर्तव्य पूरा गर्छन्; परमेश्‍वरको घरले तिनीहरूलाई दैनिक प्रयोगका लागि केही सामाग्रीहरू प्रदान गर्छ, र तिनीहरू त्यो सामग्री सकियो भन्‍ने बहाना गर्दै बारम्बार थप सामग्रीको माग गर्छन्, जबकि वास्तवमा तिनीहरूसँग अझै केही सामग्री बाँकी हुन्छ। तिनीहरू किन सधैँ थप माग गर्छन्? तिनीहरू सोच्छन्, “यदि मैले यो कुराको फाइदा लिइनँ र अरू कसैले लियो भने, के मलाई नै घाटा हुँदैन र?” हेर त—यो कस्तो प्रकारको चरित्र हो? यस्तो व्यक्तिले सबै कुरा मापन गर्न प्रयोग गर्ने मानक उसले फाइदा लिन र लाभहरू प्राप्त गर्न सक्छ कि सक्दैन भन्‍ने सिद्धान्तमा आधारित हुन्छ। उसको हृदय पूर्ण रूपमा हितहरू सम्‍बन्धी विचारहरूले भरिएको हुन्छ। तैँले ऊसँग सकारात्मक कुराहरू वा सत्यताबारे चाहे जसरी सङ्गति गरे पनि, ऊ यसलाई स्वीकार गर्न मान्दैन, जुन उसको क्षमता वा उसले बुझ्न सक्छ कि सक्दैन भन्‍ने कुरासँग सम्बन्धित नै हुँदैन—उसले आफूलाई आचरणमा ढाल्‍ने तरिकाबारे रहेको उसको संहिता समस्याजनक हुन्छ। उसले सकारात्मक कुराहरूलाई पटक्‍कै स्वीकार वा अभ्यास गर्दैन, न त उसले सत्यता सिद्धान्तहरू नै पालना गर्छ। उसको चरित्र अत्यन्तै नीच हुन्छ। मलाई भन, के यस्तो प्रकारको व्यक्तिसँग सत्यताबारे सङ्गति गर्नु अत्यावश्यक हुन्छ? (हुँदैन।) किन हुँदैन? (किनभने उसले कहिल्यै सत्यता अभ्यास गर्नेछैन।) उसको मानवतामा विवेकको कमी हुन्छ र ऊसँग सत्यता अभ्यास गर्ने आधारभूत सर्तहरू हुँदैनन्। उसको हृदय फाइदा लिने र लाभहरू प्राप्त गर्ने कार्यमा मात्रै केन्द्रित हुन्छ। यस्तो प्रकारको व्यक्ति बस सत्यता सुन्न लायक हुँदैन र मुक्ति प्राप्त गर्ने सम्बन्धी प्रवचनहरू सुन्‍न लायक हुँदैन भनेर भन्‍न सकिन्छ। हेर त, फाइदा लिन मन पराउनु भनेको कस्तो समस्या हो भन्‍ने कुरा तिमीहरूले पूर्ण रूपमा बुझेका थिएनौ, थियौ त? तिमीहरूले यसलाई मानवताको खराबी समेत ठानेका थियौ। के यो मानवताको खराबी हो? (होइन।) अब तिमीहरू बुझ्छौ, होइन त? यो कस्तो समस्या हो? (यो चरित्रको समस्या हो—यस प्रकारको व्यक्तिको चरित्र नीच हुन्छ।)

अब हामी परोपकार गर्ने प्रवृत्तिका बारेमा कुरा गरौँ। यदि परोपकार गर्ने कुनै व्यक्तिको प्रवृत्तिको पछाडि कुनै मनसाय छैन, र यो उसको दैनिक जीवनको व्यवहार वा सामान्य अभ्यास मात्रै हो भने, परोपकार गर्ने यो प्रवृत्तिलाई मानवताको असल गुणका रूपमा लिनुपर्छ। जे भए पनि, दिनु भनेको लिनुभन्दा असल कुरा हो। कम्तीमा पनि, परोपकार गर्ने प्रवृत्ति भएको व्यक्तिमा अरूसँग सहानुभूति जनाउने हृदय हुन्छ, र उसको मानवताभित्र दयाको तत्त्व हुन्छ, र ऊ कन्जुस हुँदैन र उसले भौतिक कुराहरूलाई त्यति महत्त्व दिँदैन। यसका साथै, जब ऊसँग तुलनात्मक रूपमा प्रशस्त भौतिक सम्पत्ति हुन्छ, तब उसले आफ्नो अतिरिक्त सामान, वा आफूले प्रयोग नगर्ने तर अरूलाई प्रयोग गर्नका लागि उपयुक्त रहेका सामानहरू अरूलाई दिन्छ, जसले अरूको जीवन अलिक सहज वा सुविधाजनक बनाउँछ। यी कार्यहरूका पछाडि रहेको मनसायको आधारमा मूल्याङ्कन गर्दा, कम्तीमा पनि, परोपकार गर्ने प्रवृत्ति भएका मानिसहरूमा दयालु मानवता हुन्छ, र तिनीहरूले अरूसँग सहानुभूति जनाउने र अरूलाई दया गर्ने अत्यावश्यक प्रकटीकरणहरू देखाउँछन्—यो तिनीहरूको मानवताको असल गुण हो। त्यस्ता मानिसहरूको चरित्र तुलनात्मक रूपमा असल हुन्छ, अरूबाट फाइदा लिन र अरूको सम्पत्ति स्वेच्छाचारी ढङ्गले हडप्न मन पराउने दुष्ट मानिसहरूको भन्दा यो निकै असल हुन्छ—तिनीहरूमा कहीँकतै बढी निष्ठा हुन्छ। तिनीहरूले बदलामा केही नखोजी, अरूबाट प्रशंसा नखोजी वा राम्रो प्रतिष्ठा कायम राख्न नचाही परोपकार गर्छन् र अरूलाई सहयोग गर्छन्। यो तिनीहरूको आफूलाई आचरणमा ढाल्‍ने, वा जीवनशैलीप्रतिको मनोवृत्ति मात्रै हो। उदाहरणका लागि, जब तिनीहरूले कसैसँग लाउने लुगाको कमी छ भन्‍ने देख्छन्, तब तिनीहरू त्यस व्यक्तिलाई लगाउनका लागि आफ्नो फाल्टो लुगा तुरुन्तै दिन्छन्। जब तिनीहरूले अर्को व्यक्तिको परिवार गरिब छ र प्रायजसो खानका लागि पर्याप्त खानेकुरा पाउँदैनन् भन्‍ने देख्छन्, तब तिनीहरूले उनीहरूले आफ्नो परिवारका केही चामल दिन्छन् ताकि उनीहरूले पनि पर्याप्त मात्रामा खान पाऊन्। जब तिनीहरू नयाँ कम्प्युटर किन्छन् र अरूको कम्प्युटर प्रयोग गर्न नसकिने अवस्थामा पुग्‍न लागेको छ भन्‍ने देख्छन्, तब तिनीहरू आफ्नो पुरानो कम्प्युटर त्यो व्यक्तिलाई प्रयोग गर्न दिन्छन्। तिनीहरू बदलामा केही नखोजी परोपकार गर्छन्—तिनीहरूको चरित्र नै यस्तै हुन्छ। यो मानवताको असल गुण हो र यसलाई असल चरित्रको प्रकटीकरणका रूपमा पनि वर्गीकरण गर्न सकिन्छ। परोपकार गर्ने प्रवृत्ति राख्‍ने व्यवहार बिलकुलै खराब हुँदैन, तर कतिपय मानिसहरूमा, परोपकार गर्ने प्रवृत्ति हुने हुनाले, तिनीहरू प्रायजसो यसो सोच्छन्, “म दयालु छु, म आदर्शमय छु, म उदार छु। मेरो परोपकार र सहयोग प्राप्त गरेपछि धेरै मानिसहरूको जीवन सुधार भएको छ। म परमेश्‍वरको मुक्तिको पात्र हुँ। यदि परमेश्‍वरले म जस्तो व्यक्तिलाई मुक्ति दिनुभएन भने, उहाँले कस्तो व्यक्तिलाई चाहिँ मुक्ति दिनुहुनेछ त?” तिनीहरू प्रायजसो आफूलाई “परोपकार गर्ने प्रवृत्ति भएको असल व्यक्ति” का रूपमा लिन्छन्। मानौँ कसैले तिनीहरूलाई यसो भन्छ, “तिम्रो मानवता असल छैन। तिमीले सत्यता विरुद्ध जाने धेरै कुराहरू गर्छौ, र तिमी सत्यतालाई प्रेम गर्दैनौ।” यो सुनेपछि, तिनीहरू रिसाउनेछन्। यहाँ समस्या के हो? कतिपय मानिसहरूको परिवार तुलनात्मक रूपमा समृद्ध हुन्छन्, र तिनीहरूसँग उठबस गर्ने दाजुभाइ-दिदीबहिनीहरू सबैले तिनीहरूबाट निगाहहरू प्राप्त गरेका हुन्छन्। त्यसकारण ती मानिसहरू प्रायजसो मनन गर्छन्, “मैले मण्डलीका यी मानिसहरूलाई निकै राम्रो व्यवहार गरेको छु—तिनीहरू सबैले मबाट केही न केही सहयोग पाएका छन्। के यी मानिसहरूका हृदयमा मेरो प्रतिष्ठा र हैसियत छैन र? के मण्डलीमा सर्वोत्तम क्षमता र सबैभन्दा असल मानवता भएको व्यक्ति म नै होइनँ र? के म अगुवा हुनु पर्दैन र? के सबै दाजुभाइ-दिदीबहिनीहरूले मेरो कुरा सुन्‍नु पर्दैन र?” यो कस्तो समस्या हो? के यो भ्रष्ट स्वभावको समस्या होइन र? (हो।) तिनीहरूले अलिकति असल व्यवहार गर्ने भएकाले, तिनीहरूलाई उप्रान्त आफ्नो साँचो मापन थाहा हुँदैन, तिनीहरू यो व्यवहारलाई पुँजीका रूपमा लिन्छन्, सधैँ मण्डली अगुवा बन्‍न चाहन्छन्, र आफूलाई असाधारण ठानेर तिनीहरूको अहङ्कार फुल्छ। तिनीहरू परमेश्‍वरका वचनहरूले खुलासा गरेका विभिन्‍न भ्रष्ट स्वभावहरूलाई आफूसँग जोड्दैनन्। तिनीहरूले के विश्‍वास गर्छन् भने, परोपकार गर्ने तिनीहरूको प्रवृत्तिको अर्थ तिनीहरू असल व्यक्ति हुन्, तिनीहरूमा कुनै भ्रष्ट स्वभाव छैन, तिनीहरूले गर्ने सबै कुरा सही हुन्छ, र तिनीहरू मण्डलीमा अगुवा र नमुना हुनुपर्छ, र दाजुभाइ-दिदीबहिनीहरू सबैले तिनीहरूको अनुकरण गर्नुपर्छ। यी केका प्रकटीकरणहरू हुन्? (भ्रष्ट स्वभावका।) यो भ्रष्ट स्वभावको स्तरमा पुगेको हुन्छ। परोपकार गर्ने प्रवृत्ति मानवताको असल गुण भए पनि, यदि कसैले यसका कारण आफूलाई मुक्ति पाउन निश्‍चित भएको असल व्यक्तिका रूपमा मूल्याङ्कन गर्छ भने, के यस्तो प्रकारको सोचाइ र दृष्टिकोण सही हुन्छ? उसले परोपकार गर्ने प्रवृत्ति देखाउने उसको असल व्यवहारलाई असल चरित्र र कुलीन निष्ठा हुनु भन्ने ठान्छन्, र यसलाई सत्यता अभ्यास गरेको र परमेश्‍वरमा समर्पित भएको भन्ठान्छन्। यो ठूलो गल्ती हो। यो अहङ्कार र आत्म-धार्मिकता हो, र आत्म-सचेतनाको कमी हो। परोपकार गर्ने प्रवृत्तिलाई असल व्यवहार भन्‍न सकिन्छ। बढीमा, परोपकार गर्ने प्रवृत्ति भएको व्यक्तिको चरित्र तुलनात्मक रूपमा असल हुन्छ, फाइदा लिनेहरूका भन्दा निकै असल हुन्छ। तर, तँमा परोपकार गर्ने प्रवृत्ति रहेको यो असल व्यवहार छ भन्दैमा, तैँले तँ असल व्यक्ति होस्, तँसँग कुनै भ्रष्ट स्वभाव छैन र तँसँग सत्यता वास्तविकता छ, र तँ मण्डली अगुवा बन्‍न र अरूभन्दा माथि खडा भएर हुकुम चलाउन योग्य छस् भनेर दाबी गर्न सक्दैनस्। यो अहङ्कारी स्वभाव हो। तँमा परोपकार गर्ने र अरूलाई सहयोग गर्ने गरे पनि—तँसँग यीमध्ये केही सुकर्महरू भए पनि—जुन मानवताको असल गुण हो, यसले तँमा कुनै भ्रष्ट स्वभाव छैन भन्‍ने प्रमाणित गर्दैन। यदि तैँले परोपकार गर्ने र अरूलाई सहयोग गर्ने आफ्नो प्रवृत्तिलाई पुँजीका रूपमा लिन्छस् र मण्डली अगुवा बन्‍ने र आफूलाई अरूभन्दा माथि उठाउने महत्त्वाकाङ्क्षा विकास गर्छस् भने, यो भ्रष्ट स्वभावको समस्या हो। के अहिले तँ भिन्‍नता देख्‍न सक्छस्? असल चरित्र हुनुको अर्थ व्यक्तिमा कुनै भ्रष्ट स्वभाव छैन भन्‍ने हुँदैन। कतिपय मानिसहरू आधारभूत रूपमा अरूसँग निकै राम्ररी अन्तरक्रिया गर्छन् र सङ्गत गर्छन्—तिनीहरू अरूबाट फाइदा लिँदैनन् र तिनीहरू परोपकार समेत गर्छन् र अरूलाई सहयोग समेत गर्छन्—तिनीहरूसँग केही मानवताका गुणहरू हुन्छन्। तर, तिनीहरूसँग केही समय बिताएपछि, तँ तिनीहरू अत्यन्तै अहङ्कारी छन्, तिनीहरूलाई धाक लगाउन मन पर्छ, र तिनीहरू कहिलेकहीँ झूट समेत बोल्छन् र तिनीहरू निकै छली छन् भन्‍ने पत्ता लगाउँछस्। यदि तैँले तिनीहरूको आलोचना गरिस् भने, तिनीहरू त्यसलाई स्वीकार गर्न मान्दैनन् र अलिक आक्रामक हुन्छन्, र यसो भन्दै टेबल समेत ठटाउँछन्, “मैले परमेश्‍वरमा विश्‍वास गरेको यति धेरै वर्ष भयो—मबाट कसले परोपकार प्राप्त गरेको छैन र? दाजुभाइ-दिदीबहिनीहरूलाई सोध—के मैले कहिल्यै कसैबाट फाइदा लिएको छु? के मैले कहिल्यै कसैलाई हानि गरेको छु वा चोट पुर्‍याएको छु?” के अरूलाई हानि नगर्दैमा त्यसले तँलाई असल व्यक्ति बनाउँछ? के अरूलाई हानि नगर्नु भनेको व्यक्तिले गर्नुपर्ने न्यूनतम कुरा होइन र? तँसँग घमण्ड गर्ने के कारण छ? कसैलाई हानि नगर्नु वा चोट नपुऱ्याउनु त व्यक्तिले गर्नुपर्ने कुरा हो—यो पुँजी होइन। अरूबाट फाइदा नलिँदैमा तँ सत्यता अभ्यास गर्न र परमेश्‍वरमा समर्पित हुन सक्छस् भन्‍ने हुँदैन। तैँले आत्म-चिन्तन गर्न सिक्‍नुपर्छ र अरूको आलोचना र सहयोग स्वीकार गर्न सक्नुपर्छ—त्यसपछि मात्रै तँ समझ भएको व्यक्ति बन्‍नेछस्। तैँले भ्रष्ट स्वभाव प्रकाश गरेकोले र तेरा कार्यहरू सत्यता अनुरूप नभएकाले अहिले तँलाई काट-छाँटमा गरिएको हो। यो परोपकार गर्ने प्रवृत्तिको तेरो असल व्यवहार सकारात्मक कुरा हो भन्‍ने तथ्यलाई इन्कार गर्नु, वा तेरो चरित्रलाई इन्कार गर्नु होइन। बरु, तैँले गल्ती गरेकोले र सत्यता सिद्धान्तहरू उल्लङ्घन गरेकोले काट-छाँट र खुलासा अभ्यास गरिएका हुन्। यदि तँ यसलाई स्वीकार गर्न सक्छस् भने, तँ सत्यतालाई प्रेम गर्ने र सत्यता अभ्यास गर्न सक्‍ने व्यक्ति होस्। यदि तँ यसलाई स्वीकार गर्दैनस् भने, परोपकार गर्ने तेरो प्रवृत्ति, बढीमा, मानवताको असल गुण मात्र हो। तर तेरा भ्रष्ट स्वभावहरूभित्र रहेको अहङ्कार, क्रूरता, र दुष्टताले तँमा प्रभुत्व जमाउने हुनाले, तँ सत्यता स्वीकार गर्न सक्दैनस्, त्यसकारण तँ अत्यन्तै नीच छस्, र तँ व्यर्थ छस्। काट-छाँट सामना गर्दा, यस्ता प्रकारका मानिसहरू ठूलो भाँडभैलो गर्छन्, आफ्‍ना योग्यताहरूका बारेमा कुरा गर्छन्, र आफू संलग्‍न रहेका थोरै असल व्यवहारबारे धाक लगाउँछन्। तिनीहरू पागल कुकुरहरूले जस्तै व्यवहार गर्छन्, झोक्किन्छन्। अलिकति भएको तिनीहरूको त्यो असल छवि पूर्ण रूपमा बिलाउँछ, र तिनीहरूको प्रकृति पूर्ण रूपमा खुलासा हुन्छ। सबैले यो कुरा स्पष्ट रूपमा देख्छन् र भन्छन्, “यो व्यक्तिमा गम्भीर भ्रष्ट स्वभाव छ—ऊ दुष्ट व्यक्ति, र स्वाँठ हो! धन्‍न तिनीहरूलाई मण्डली अगुवाका रूपमा छनौट गरिएन। यदि तिनीहरू मण्डली अगुवा बनेका भए, तिनीहरूले अलिकति पनि आलोचना सहन सक्नेथिएनन्—यदि कसैले तिनीहरूलाई बर्खास्त गर्ने प्रयास गऱ्यो भने, तिनीहरूले त्यो व्यक्तिलाई कहिल्यै छोड्नेथिएनन् र उसका विरुद्धमा मृत्युसम्मै लडाइँ गर्नेथिए। त्यो विनाशकारी हुनेथियो!” यदि तैँले तिनीहरूको एउटा असल व्यवहार वा तिनीहरूको मानवताको एउटा गुणलाई मात्रै हेरिस् भने, तैँले तिनीहरूका भ्रष्ट स्वभाव कस्ता छन्, सत्यताप्रति तिनीहरूको मनोवृत्ति कस्तो छ, वा तिनीहरू सत्यतामा समर्पित हुन सक्छन् कि सक्दैनन् भन्‍ने कुरा देख्‍न नै सक्दैनस्। जब तिनीहरू भ्रष्ट स्वभाव प्रकाश गर्छन् त्यसपछि तिनीहरूले खुलासा र काट-छाँटबाट भोग्छन्, तब सत्यताप्रति तिनीहरूको मनोवृत्ति अलि अलि गर्दै देखा पर्नेछ र खुलासा हुनेछ। त्यसकारण, व्यक्तिको चरित्र, वा उसको मानवताको असल गुण र कमीकमजोरीहरूले, उसले सत्यता स्वीकार गर्छ कि गर्दैन भन्‍ने कुरालाई पूर्ण रूपमा निर्धारित गर्न सक्दैन। उसको चरित्र वा मानवताको असल गुण र कमीकमजोरीहरूलाई हेर्दा, सत्यताप्रतिको उसको मनोवृत्ति कस्तो छ भनेर देख्‍न पनि असम्भव हुन्छ। उसले भ्रष्ट स्वभाव प्रकाश गर्दा मात्रै, वा उसले खुलासा र काट-छाँट सामना गर्दा मात्रै, सत्यताप्रतिको उसको मनोवृत्ति प्रकाश हुनेछ, त्यसपछि मात्रै ऊ सत्यतालाई प्रेम गर्छ कि गर्दैन, सत्यताको अभ्यास गर्न सक्छ कि सक्दैन, र अन्तमा मुक्ति पाउने उसको आशा कति छ भन्‍ने कुरा थाहा पाउन सकिन्छ। त्यस्ता मानिसहरूको परोपकार गर्ने र अरूलाई सहयोग गर्ने प्रवृत्तिबाट, तिमीहरूले तिनीहरूमा मानवताका के-कस्ता असल गुण र खराबीहरू छन् भन्‍ने कुरा देख्‍न सक्छौ। त्यसपछि, तिनीहरूको समस्याहरूको शृङ्खलाबाट—जस्तै तिनीहरू अहङ्कारी र आत्म-धर्मी बन्‍नु, र परोपकार गर्ने र अरूलाई सहयोग गर्ने तिनीहरूको प्रवृत्तिका आधारमा अगुवा बन्‍न र अरूभन्दा माथि उठ्न चाहनुबाट—तैँले सत्यताप्रति तिनीहरूको मनोवृत्ति स्पष्ट रूपमा देख्‍न सक्छस्; अनि सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिबाट, तैँले तिनीहरूले मुक्ति प्राप्त गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरा स्पष्ट रूपमा देख्‍न सक्छस्। यी व्यवहारहरूद्वारा, तैँले तिनीहरूको मानवताको असल गुण र खराबीहरूलाई खुट्ट्याउन, तिनीहरूको चरित्रलाई खुट्ट्याउन सक्छस्, साथसाथै मानवता र भ्रष्ट स्वभावको बीचमा भिन्‍नता छुट्याउन सिक्न सक्छस्, तर तिनीहरूले अन्ततः मुक्ति पाउन सक्छन् कि सक्दैनन् वा तिनीहरूको नतिजा कस्तो हुनेछ भनेर तँ पूर्ण रूपमा भन्‍न सक्दैनस्। कसैले मुक्ति पाउन सक्छ कि सक्दैन भनेर मूल्याङ्कन गर्नु अलिक जटिल कुरा हो—तैँले तिनीहरूले भ्रष्ट स्वभाव प्रकाश गर्दा सत्यता स्वीकार गर्न, आत्म-चिन्तन गर्न, र साँचो पश्चात्ताप गर्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरालाई पनि हेर्नुपर्छ; यसलाई यी पक्षहरूका आधारमा मूल्याङ्कन गर्नुपर्छ।

घुलमेल हुन मन पराउनु—यो कुन पक्ष हो? (जन्मजात अवस्था।) यो जन्मजात अवस्था हो, मानिसहरूको समूहमा हुँदा संसारसँग व्यवहार गर्ने विधि हो। कतिपय मानिसहरूलाई अरूसँग सङ्गत गर्न मन पर्छ, तिनीहरू यसबाट कहिल्यै थाक्दैनन्, र अरू मानिसहरूको व्यक्तित्व जस्तोसुकै भए पनि, तिनीहरू उनीहरूसँग सङ्गत गर्न सक्छन् र इच्छुक हुन्छन्। तर, कतिपय मानिसहरू भीडबाट जोगिन मन पराउँछन् र अरूसँग सङ्गत गर्न अनिच्छुक हुन्छन्। व्यक्तिको जन्मजात व्यक्तित्वसँग यसको निश्‍चित सम्बन्ध हुन्छ। जब व्यक्तित्वको कुरा आउँछ, तब यसमा अवश्य नै जन्मजात अवस्थाहरू समावेश हुन्छन्। घुलमेल हुन मन पराउनु व्यक्तिको व्यक्तित्वसँग सम्बन्धित कुरा हो; यसमा मानवताका असल गुण वा खराबीहरू समावेश हुँदैनन्, र अवश्य नै यसमा कुनै भ्रष्ट स्वभाव समावेश हुँदैन। यो तुलनात्मक रूपमा सरल प्रकटीकरण हो। एकान्तप्रेमी हुनु—यो कुन पक्षमा पर्छ? (यो व्यक्तिको जन्मजात व्यक्तित्वको भाग हो।) (यो मानवताको एउटा खराबी हो।) यहाँ केही असहमति छ—त्यसोभए, एकान्तप्रेमी हुनु भनेको कस्तो समस्या हो? (एकान्तप्रेमी हुनुले व्यक्तिको व्यक्तित्व कमजोर छ भन्‍ने देखाउँछ।) कमजोर व्यक्तित्व हुनु मानवताको खराबी हो। व्यक्तित्व आफै पनि व्यक्तिको जन्मजात अवस्थाको एउटा पक्ष हो, त्यसकारण एकान्तप्रेमी हुने यो लक्षण जन्मजात अवस्था र मानवताको खराबी दुवै हो। यो भ्रष्ट स्वभावमा पर्दैन र यसमा व्यक्तिको आफ्नो आचरण समावेश हुँदैन। एकान्तप्रेमी हुनु भनेको सधैँ मानिसहरूबाट टाढा बस्नु, अरूसँग आफ्ना विचारहरू व्यक्त गर्न अनिच्छुक हुनु, एकलै काम गर्न मन पराउनु, अरूसँग सङ्गत गर्न मन नपराउनु, र मानिसहरूका बीचमा जिउन मन नलाग्‍नु हो। त्यस्ता मानिसहरूलाई एकलो वातावरण वा कुनामा बस्‍न मात्रै मन पर्छ। जब धेरै मानिसहरू हुन्छन्, तब तिनीहरू बोल्न अनिच्छुक हुन्छन्। तिनीहरू अरूसँग कुराकानी गर्न सिपालु हुँदैनन्। जब तिनीहरूले अरूसँग कुराकानी गर्छन्, तब तिनीहरूलाई बेचैनी हुन्छ र तिनीहरू आत्तिन्छन्, वा तिनीहरू केही लाजमर्दो र अप्ठ्यारो परिस्थितिमा पर्छन्। यो जन्मजात अवस्थाहरूमा रहेको व्यक्तित्वको समस्या हो र, अवश्य नै, यो मानवताको खराबी पनि हो, होइन र? (हो।)

अब हामी डरपोक हुनुका बारेमा हेरौँ—यो कस्तो प्रकारको समस्या हो? (जन्मजात अवस्था।) (मानवताको खराबी।) यो जन्मजात अवस्था हो र यो मानवताको खराबी पनि हो। मलाई भन, डरपोक हुनु भनेको के हो? राती बाहिर जान डर मान्नु, मूसा, खजुरो, र बिच्छीदेखि डराउनु, साथै समस्यामा पर्न डर मान्नु र जटिल समस्याहरूको सामना गर्न अनिच्छुक हुनु—यी सबै डरपोक हुनुका प्रकटीकरणहरू हुन्। कतिपय मानिसहरू सर्प देख्दा डराएर बेहोस हुन्छन्। कतिपय मानिसहरू कार दुर्घटनाबारे सुन्दा यति डराउँछन् कि तिनीहरू थरथरी काम्छन्। परमेश्‍वरका विश्‍वासीहरूलाई सताइन्छ र तिनीहरू पक्राउ पर्न, दण्डित हुन, र जेल पर्न सक्छन् भन्‍ने सुनेपछि कतिपय मानिसहरू यति डराउँछन् कि तिनीहरू विश्‍वास गर्ने आँट नै गर्दैनन्। रोलर कोस्टर चढ्ने आँट नगर्नेहरू पनि हुन्छन्। त्यस्ता मानिसहरू तिनीहरूले छर्लङ्ग देख्‍न नसक्‍ने सानो कुरा छ भने पनि वा त्यो तिनीहरूले पहिले नगरेको कुरा हो भने तिनीहरू त्यसमा सहभागिता जनाउने वा कुनै कुरा प्रयोग गर्ने आँट गर्दैनन्। तिनीहरू खतरनाक काम वा खतरनाक क्रियाकलापहरू प्रयास गर्ने आँट नगर्ने मात्र होइन, तर तिनीहरूलाई दैनिक जीवनमा सामान्य मानिसहरूले गर्नुपर्ने कामकुराहरू गर्न पनि डर लाग्छ। उदाहरणका लागि, यदि तिनीहरूलाई सवारी चालन सिक्‍न आग्रह गरियो भने, तिनीहरू यसो भन्छन्, “म सवारी चलाउने आँट गर्दिनँ। सडकमा धेरै कार हुन्छन्, र तिनीहरू यति द्रुत गतिमा चल्छन्—मैले ठक्कर खाएँ भने के गर्ने?” कसैले भन्छ, “तपाईं किन सधैँ कार दुर्घटनाबारे चिन्ता गर्नुहुन्छ? के सवारी चलाउँदा तपाईं अलि बढी सतर्क हुन सक्‍नुहुन्‍न र?” तर तिनीहरूलाई अझै पनि डर लाग्छ: “कार अघि बढ्न थालेपछि, मेरो नियन्त्रणभन्दा बाहिर जान्छ। यदि साँच्‍चै नै दुर्घटना भयो भने, कसैले पनि त्यसलाई नियन्त्रण गर्न सक्दैन!” तिनीहरू सधैँ नकारात्मक दिशामा सोच्छन्, त्यसकारण तिनीहरू केही पनि हासिल गर्न सक्दैनन्। डरपोक हुनु जन्मजात अवस्था हो, र यो मानवताको खराबी पनि हो। डरपोक मानिसहरू आफूले गर्ने सबै कुरामा अत्यन्तै सतर्क र होसियार हुन्छन्। तिनीहरू प्रायजसो ठूला गल्तीहरू गर्दैनन् वा ठूला गलत कार्यहरू गर्दैनन्। तर जुनसुकै दृष्टिकोणबाट हेर्दा पनि, यसलाई असल गुणका रूपमा लिन सकिँदैन—यो मानवताको खराबी हो। त्यसोभए साहसी हुने बारेमा के भन्‍ने? साहसी हुनुसँग सामान्यतया के-कस्ता शब्दावली जोडिन्छन्? (मूर्ख रूपमा साहसी हुनु, साहसका कारण लापरवाह रूपमा व्यवहार गर्नु।) “साहसका कारण लापरवाह रूपमा व्यवहार गर्नु,” “हदै साहसी हुनु,” र “अन्धाधुन्ध साहसी हुनु” सबैले साहसी हुनुलाई जनाउँछन्। त्यसोभए, साहसी हुनु राम्रो हो कि होइन? (त्यो मामलामा निर्भर हुन्छ।) त्यो परिस्थिति र तिनीहरू कस्ता प्रकारका व्यक्ति हुन् भन्‍ने कुरामा निर्भर हुन्छ। यदि मानवताको दृष्टिकोणबाट हेर्ने हो भने, साहसी हुनुलाई असल गुण वा कमजोरीका रूपमा वर्गीकरण गर्न सकिँदैन—हामी यसलाई जन्मजात अवस्थाका रूपमा वर्गीकरण गर्नेछौँ। व्यक्तिको साहस मामलाका हिसाबमा ख्याल गरिनुपर्छ; यसका साथै, तैँले तिनीहरूले कामकुरा गर्नुका कुनै सीमा छ कि छैन र तिनीहरूको चरित्र कस्तो छ भनेर हेर्नुपर्छ। यदि तिनीहरूको चरित्र खराब छ भने, साहसले तिनीहरूलाई जहाँसुकै कानुन तोड्न, दुष्कर्म गर्न, र अपराधहरू गर्न, फाइदा लिन, दुरुपयोगद्वारा लाभहरू लिन, र अरूलाई ठग्‍न र धोका दिन लगाउन सक्छ। यदि कसैले तिनीहरूलाई दुष्कर्म गर्न पैसा दियो भने, तिनीहरू त्यो काम गर्न सक्षम हुन्छन्। फाइदा लिनका लागि, तिनीहरू परिणामहरू वा अरूका बारेमा ख्याल नगरी कुनै पनि खराब कार्य गर्ने आँट गर्छन्। के यसरी साहसका कारण लापरवाह रूपमा काम गर्नु राम्रो कुरा हो? (होइन।) कतिपय मानिसहरूले आफ्नो व्यापारका खातिर जताततै अरूलाई छल गर्छन्। तिनीहरूले चलाउने व्यापार गैरकानुनी हुन्छ—यो वास्तविक कार्यसंचालन नभएको एउटा खोक्रो कम्पनी मात्रै हुन्छ। तर तिनीहरूको साहसका साथै छल गर्ने तिनीहरूको क्षमताका कारण, तिनीहरूले अल्पकालिक सम्पत्ति कमाउँछन्, तिनीहरू भव्य घरहरूमा जिउँछन्, र सेडान गाडी चलाउँछन्—तिनीहरूले अत्यन्तै सुखी जीवनको आनन्द लिन्छन्, तर तिनीहरूले आनन्द उठाउने पैसा र भौतिक सम्पत्तिहरू सबै तिनीहरूको साहसका परिणाम स्वरूप छलद्वारा प्राप्त भएका हुन्छन्। के यो असल कुरा हो? मलाई भन, के यो साहस असल कुरा हो? (होइन।) त्यसकारण, जब साहसी मानिसहरूको कुरा आउँछ, तब तैँले तिनीहरूले लिने मार्गलाई हेर्नुपर्छ। यदि तिनीहरू आफ्नो साहसका कारण अरूलाई ठग्‍ने र धोका दिने आँट गर्छन् भने, तिनीहरूले ठूलो दुष्कर्म गरिरहेका हुन्छन्। तँ अरूलाई जति धेरै धोका दिन्छस् र अरूबाट जति धेरै फाइदा लिन्छस्, भविष्यमा तैँले त्यति नै कठोर दण्ड प्राप्त गर्नेछस्, होइन र? के यसले विपत्ति ल्याउँदैन र? (ल्याउँछ।) यदि तँ डरपोक छस् र अरूलाई ठग्‍न र धोका दिन चाहन्छस् भने, तँ अलिक कम छलमा संलग्‍न हुनेछस्, र भविष्यमा तैँले प्राप्त गर्ने दण्ड अलि हल्का हुनेछ। त्यसकारण, सही मार्गमा नहिँड्ने त्यस्ता मानिसहरूका हकमा, के तिनीहरू अलिक डरपोक हुनु बढी राम्रो हो कि अलिक साहसी हुनु बढी राम्रो हो? (थोरै डरपोक हुनु नै बढी राम्रो कुरा हो।) सही मार्गमा नहिँड्ने, अरूलाई ठग्‍न र धोका दिन सक्षम, कानुनलाई बेवास्ता गर्ने र सधैँ आकस्मिक नाफा कमाउन कानुनी कमजोरीहरूको फाइदा लिन खोज्ने, र कुनै पनि बेला कानुन तोड्न सक्‍ने यी मानिसहरूका हकमा, साहस विपत्ति हो—यो तिनीहरूको मानवताको खराबी र त्रुटि हो। अर्कोतर्फ, डरपोक हुनु असल कुरा बन्न पुग्छ—यो तिनीहरूका लागि संरक्षण समेत हुन्छ। डरपोक मानिसहरूले आफ्नो परिवार र आफ्ना आधारभूत आवश्यकताहरू पूरा गर्न, र केही विलासीको पनि आनन्द उठाउन केही पैसा कमाउँछन्, र तिनीहरू त्यतिमा नै रोकिन्छन्। भविष्यमा तिनीहरूले प्राप्त गर्ने दण्ड अलिक हल्का हुनेछ। साहसी मानिसहरू लापरवाह रूपमा दुष्कर्म गर्ने, र अरूलाई धोका दिने र ठग्‍ने आँट गर्छन्, अरूसँग जे छ त्यो लिन्छन् ताकि तिनीहरूसँग आफूले आनन्द उठाउन मिल्ने कुरा अझ धेरै होऊन्। तिनीहरूले अरूबाट फाइदा लिन्छन्—के भविष्यमा तिनीहरूले यसको पूर्ति गर्नु पर्नेछैन र? (पर्नेछ।) यदि तिनीहरूले अर्को जीवन पाए भने, तिनीहरूले प्राप्त गर्ने दण्ड कठोर हुनेछ—तिनीहरूले एक-दुई वटा जीवनकालमा समेत यसको पूर्ति गर्न सक्दैनन् होला। कतिपय मानिसहरू आफ्नो सम्पूर्ण जीवन रेस्टुरेन्ट चलाउन वा व्यापार गर्नमा बिताउँछन्, दश-बीस लाख वा करोडौँ सम्पत्ति कमाउँछन्, तैपनि तिनीहरू आफैले यसको कुनै आनन्द उठाउन पाउँदैनन् किनभने त्यो सबै ऋण तिर्नका लागि प्रयोग हुन्छ। तिनीहरू सत्तरी-असीको दशकमा पुगेपछि पनि, तिनीहरूले अझै पनि तिरी सकेका हुँदैनन्। के भइरहेको हो? यो कारणात्मक प्रतिफल हो—यसको कारण सायद के हो भने आफ्नो पूर्व जन्ममा, तिनीहरूले लोभका कारण अरूबाट अति धेरै लिएका थिए, त्यसकारण तिनीहरूले यी कैयौँ जीवनकालमा ऋण तिरिरहेका हुन्छन्। के आफ्‍नो पूर्व जन्ममा, तिनीहरू अत्यन्तै लोभी, अत्यन्तै साहसी भएका, र तिनीहरूले अरूबाट धेरै फाइदा लिएका नतिजास्वरूप, तिनीहरूले अहिलेको वर्तमान जीवनमा प्रतिफल पाएका होइनन् र? (हुन्।) सही मार्गमा नहिँड्ने मानिसहरूका हकमा भन्दा, अलिक डरपोक हुनु तिनीहरूका लागि संरक्षण हुन्छ, जबकि साहस खराब लक्षण हो।

यदि व्यक्ति सही मार्गमा हिँड्छ भने, के साहस राम्रो हो? (हो।) यसबारे के कुरा राम्रो हुन्छ? (यदि तिनीहरू साहसी छन् भने, तिनीहरू सतावट सामना गर्दा अझै पनि परमेश्‍वरमा विश्‍वास गर्न अडिग रहन सक्छन्।) यो साहसले देहगत साहस मात्रै जनाउँदैन। यदि यो हिम्मत देहगत साहस हो भने, यो लापरवाह र हतारबाजी हो—यो कहीँकतै आवेग र अन्धोपन हो। उदाहरणका लागि, यदि तँ साहसी छस्, र तँलाई परमेश्‍वरमा विश्‍वास गरेका कारण पक्राउ गरिन्छ भने, के तँलाई यातना भोग्‍न डर लाग्नेछ? के तँलाई मृत्युको डर लाग्नेछ? के तँ बीस-तीस वर्ष जेल पर्न डर मान्‍नेछस्? यदि तँ डर मान्नेछस् भने, परमेश्‍वरमा विश्‍वास गर्न थाल्दा तैँले “मलाई डर लाग्दैन” भनेर भन्‍नु लापरबाही हो, साँचो साहस होइन। कस्तो प्रकटीकरण लापरबाही होइन र? के हो भने, जब तँ परमेश्‍वरमा विश्‍वास गर्न थाल्छस्, तब तँसँग निश्‍चित साहस हुन्छ, तर तँसँग साँचो विश्‍वास पनि हुन्छ। यो साँचो विश्‍वासले के जनाउँछ? यसको अर्थ परमेश्‍वरमा विश्‍वास गर्दा, तँसँग यस्तो सङ्कल्प हुन्छ: “यदि मैले परमेश्‍वरमा विश्‍वास गरेकोले सतावट भोगेँ, पक्राउ परेँ, र यातना भोगेँ भने, म आफ्नो ज्यान दिन तयार हुनुपर्छ। मलाई जसरी वा जति हदसम्‍म कष्ट दिइए पनि, म मण्डलीलाई घात गर्नेछैनँ वा म यहूदा बन्‍नेछैनँ—मलाई मृत्युको डर लाग्दैन!” यो एउटा पक्ष हो। अर्को पक्ष के हो भने, यदि तँलाई साँच्‍चै नै पक्राउ र सतावट गरियो, र ठूलो रातो अजिङ्गरले तँलाई मण्डलीलाई घात गर्न लगाउन धम्की दियो भने, तैँले शैतानका युक्तिहरू छर्लङ्ग देख्‍न सक्छस्, र तँ यसद्वारा बन्धनमा पर्दैनस्, र तँ यसो भन्छस्, “व्यक्तिको जीवन र मृत्यु लगायत उसको सबै कुरा परमेश्‍वरका हातमा हुन्छ। मलाई डर लाग्दैन!” यो लापरबाही पनि होइन, अनि साहस मात्रै पनि होइन; यो साँचो आस्था हो। यो साँचो आस्था हुनु र आफ्नो गवाहीमा दृढ रहन सक्‍नु नै तेरो असल गुण हो। मानौँ तँसँग साँचो आस्था छैन र तँ “मलाई डर लाग्दैन—धेरै भए, यो त केवल मृत्यु हो” मात्रै भन्छस्, तर जब तँ पक्राउ पर्छस्, तँ यति डराउँछस् कि पिसाब नै फेर्छस्। पक्राउ परेपछि, तैँले सोच्ने पहिलो कुरा के हुन्छ भने, “के मलाई यातना दिइनेछ? के मेरो देहले कष्ट भोग्‍नेछ? यदि मेरो शरीरमा फलामको विद्युतीय छापले पोलियो भने, के म त्यो सहन सक्‍नेछु? यदि यातना गम्भीर भयो भने, के म मर्नेछु? यदि म मरेँ भने, के परमेश्‍वरले मलाई याद गर्नुहुनेछैन? के मैले मुक्ति प्राप्त गर्न सक्नेछैनँ र? यदि मैले साँच्‍चै नै सहन सकिनँ भने, मैले मण्डलीलाई घात गर्नेछु र म यहूदा बन्‍नेछु। यदि म यहूदा बनेपछि मलाई दण्ड दिइयो र नष्ट गरियो भने, गरियोस्—कम्तीमा मैले अहिले त पीडा भोग्‍नेछैनँ।” त्यो अवस्थामा, के तैँले आफ्नो गवाही गुमाइरहेको हुँदैनस् र? मानौँ कम्युनिस्ट पार्टीले तँलाई धम्की दिन्छ, तँलाई ब्ल्याकमेल गर्न तेरो परिवार प्रयोग गर्छ—तेरा छोराछोरीलाई विश्‍वविद्यालयमा पढ्न दिँदैन, तेरा आमाबुबालाई मेडिकल इन्स्योरेन्सको सुविधा दिँदैन, तेरो परिवारका सबै अधिकारहरू खोस्छ—त्यसपछि तँ डराउनेछस् र तँसँग साँचो आस्था हुनेछैन। तेरो साहस कहाँ गएको हुनेछ? के तँ साँच्‍चै नै साहसी होस्? यदि तँसँग साँचो आस्था छैन भने, तेरो साहस लापरबाही मात्रै हो। तँसँग साँचो आस्था छ भने मात्रै तेरो हिम्मत साँचो हुन्छ। पक्राउ पर्नुभन्दा पहिले, यदि तैँले “परमेश्‍वरले मलाई पक्राउ पर्न दिनुहुनेछैन” भनेर सोच्थिस्, र यो विचारका कारण तँ साहसी बनेको थिइस् भने, त्यो साँचो दह्रिलोपन वा साँचो आस्था होइन। मानौँ, पक्राउ पर्नुभन्दा पहिले, तैँले यो सब कुराबारे विचार गरिसकेको छस् र तँ यसो भन्छस्, “व्यक्तिको जीवन र मृत्यु परमेश्‍वरका हातमा हुन्छ। यदि परमेश्‍वरले साँच्‍चै नै मेरो ज्यान लिन चाहनुहुन्छ भने, म समर्पित हुनुपर्छ। मेरो भविष्यको गन्तव्यको हकमा भन्दा, त्यो परमेश्‍वरको एउटै वचनले निर्धारित गर्छ। परमेश्‍वरले मलाई चाहे जसरी व्यवहार गर्नुभए पनि र उहाँले मलाई जुनसुकै गन्तव्य दिनुभए पनि, त्यो सबै परमेश्‍वरको धार्मिकता हो, र म समर्पित हुनेछु। यदि परमेश्‍वरले मलाई जेलमा मर्ने प्रबन्ध गर्नुहुन्छ भने, त्यो मेरा लागि सम्मानको कुरा हो—म परमेश्‍वरलाई यो जीवन अर्पण गर्न तयार छु। मैले चाहे जति नै ठूलो कष्ट भोगे पनि, मसँग एउटा अपरिवर्तनीय संहिता हुनेछ, जुन के हो भने, म आफ्नो जीवन परमेश्‍वरका हातमा सुम्पन्छु, र शैतानले मलाई चाहे जसरी कष्ट दिए पनि, बरबाद गरे पनि, वा यातना दिए पनि, म त्यससँग कहिल्यै हार मान्नेछैनँ। म मर्छु कि मर्दिनँ भन्‍ने बारे मलाई चिन्ता छैन। म मरे पनि, यो परमेश्‍वरको सार्वभौमिकतामा हुन्छ र उहाँले नै यसलाई पूर्वनिर्धारित गर्नुभएको हुन्छ। म अझै पनि परमेश्‍वरलाई धन्यवाद दिनेछु र उहाँको प्रशंसा गर्नेछु!” तँमा हुनुपर्ने आस्था त यस्तो प्रकारको हो; त्यस्तो आस्थाद्वारा मात्रै तँसँग साँचो हिम्मत हुन सक्छ। मानौँ, पक्राउ पर्नुभन्दा पहिले, तेरो जीवनमा साँच्‍चै नै यस्तो घटना घट्नुभन्दा पहिले, तैँले यी मामलाहरूलाई छर्लङ्ग देखेको हुन्छस्, तँसँग परमेश्‍वरमाथिको साँचो आस्था, परमेश्‍वरप्रति साँचो समर्पण, र जीवन र मृत्युका मामलाहरूका बारेमा साँचो बुझाइ र स्वीकार छ, र तैँले आफूलाई पूर्ण रूपमा परमेश्‍वरका हातमा सुम्पन सक्छस्, र, जब तँ साँच्‍चै पक्राउ पर्छस् र मृत्युको सम्भावनाको सामना गर्छस्, तब तेरो हृदयमा यी बुझाइहरू अपरिवर्तित नै रहन्छन् भने—तेरो आस्था डगमगाउनेछैन। परिस्थिति जेसुकै भए पनि, यदि तेरो आस्था तोडिँदैन वा पराजित हुँदैन भने, तँसँग सधैँ हिम्मत हुनेछ। मानौँ, पक्राउ पर्नुभन्दा पहिले, तेरो जीवनमा साँच्‍चै नै यस्तो घटना घट्नुभन्दा पहिले, तैँले यी कुराहरूबारे राम्ररी विचार गरेको छैनस् र कल्पनामा डुबेर यस्तो मात्रै सोच्छस्, “म आफ्नो ज्यान दिन इच्छुक छु। मलाई जीवन परमेश्‍वरले दिनुभएको थियो—सबैभन्दा खराब अवस्थामा, म परमेश्‍वरका लागि शहीदका रूपमा मर्नेछु!” त्यो अवस्थामा, जब ठूलो रातो अजिङ्गरले तँलाई यातना दिन्छ र त्यसपछि दश वर्षको जेल सजाय दिन्छ, तब तँ छक्क पर्नेछस्: “मलाई त मरेपछि नै कुरो टुङ्गिनेछ भन्‍ने लाग्थ्यो। यदि म शहीद भएको भए, परमेश्‍वरले मलाई सम्झनुहुनेथियो। म त्यो गवाही दिन असफल हुनेछु र, अन्त्यमा, मैले दश वर्षको जेल सजाय पाउनेछु भनेर मैले अपेक्षा नै गरेको थिइनँ। दश वर्ष—दश दिन वा दश महिना होइन! मैले कसरी यो सहने?” तैँले यसभन्दा पहिले यी कुराहरूका बारेमा विचार नगरेको हुनाले, के यस बेला तँलाई ती कुरा पत्ता लगाउन सजिलो हुनेछ? त्यो अलिक गाह्रो नै हुनेछ, होइन र? (हो।) जब कठिनाइहरू देखा पर्छन्, तब मानिसहरूले तिनलाई कसरी सम्हाल्ने र तीबाट कसरी उम्कने भन्‍ने बारेमा मात्रै सोच्छन्। यदि कठिनाइहरूबाट उम्कने तेरो इच्छा दह्रिलो छ भने, कष्टकर परिस्थितिका बीचमा ती सहने तेरो इच्छा अत्यन्तै कमजोर हुनेछ। त्यसकारण, कठिनाइहरू सामना गर्दा, तँलाई त्यस्तो वातावरणमा समर्पित हुन निकै गाह्रो हुन्छ। त्यसोभए त्यस्ता परिस्थितिहरूलाई कसरी समाधान गर्नुपर्छ? तैँले तुरुन्तै सत्यता खोजी गर्नुपर्छ र यी मामलाहरूका बारेमा राम्ररी सोच्नुपर्छ; तैँले सत्यता अभ्यास कसरी गर्ने भन्‍ने मार्ग पनि पत्ता लगाउनुपर्छ। उदाहरणका लागि, यदि तँलाई दश वर्ष जेल सजाय भयो भने, तैँले के सोच्नेछस्? “के मेरो श्रीमती (वा श्रीमान्) ले मसँग पारपाचुके गर्नेछन्? दश वर्षपछि मेरा छोराछोरी कति वर्षका हुनेछन्? मैले तिनीहरूप्रतिको आफ्नो जिम्मेवारी पूरा गरेको हुनेछैनँ—के तिनीहरूले बुढेसकालमा मलाई परित्याग गर्नेछन् र मेरो हेरचाह गर्न मान्‍नेछैनन्? रिहा भएपछि म कसरी जिउनेछु? दश वर्षपछि, मेरा आमाबुबा वृद्ध हुनेछन्, र मैले आमाबाबुप्रतिको आफ्नो जिम्मेवारी पूरा गरेको हुनेछैनँ—के त्यसले मलाई आमाबुबाप्रतिको कर्तव्य पूरा नगर्ने व्यक्ति तुल्याउनेछैन र? के दश वर्षपछि परमेश्‍वरको काम समाप्त हुनेछ? मैले जेलमा केही प्राप्त गरेको हुनेछैनँ—मैले कुनै पनि भेलामा सहभागिता जनाएको हुनेछैनँ, वा कुनै प्रवचन सुनेको हुनेछैनँ, र मैले सत्यता बुझेको हुनेछैनँ। के म यी दश वर्षको अवधिमा पछि परेको हुनेछैनँ र? के यसको अर्थ मलाई हटाइएको छ भन्‍ने हुनेछैन र? के परमेश्‍वरले अझै पनि मलाई चाहनुहुनेछ? यदि मैले यो कष्ट भोगेँ भने, के परमेश्‍वरले यो याद राख्नुहुनेछ? यदि उहाँले यो कुरा याद राख्नुभएन र मैले मुक्ति प्राप्त गर्न सकिनँ भने, के मैले जेलमा यो समय व्यर्थमा बिताएको हुनेछैनँ र? दश वर्षमा धेरै कुरा परिवर्तन हुनेछ, र मैले धेरै कुरा गुमाए पनि केही प्राप्त गर्नेछैनँ।” जब तैँले यी कुराहरूका बारेमा विचार गर्छस्, तब कठिनाइहरू पैदा हुन्छन्। तैँले यी कठिनाइहरूको सामना कसरी गर्नुपर्छ? के तैँले हरेक दिन कसरी पार गर्ने भनेर सोच्नु पर्दैन र? यदि तैँले यी कुराहरूका बारेमा राम्ररी विचार गरेको छैनस् र तँ सत्यता बुझ्ने र मामलाहरूलाई स्पष्ट रूपमा देख्ने अवस्थामा पुगेको छैनस् भने, जब तँ पक्राउ पर्छस्, तब तेरो जीवन र मृत्यु एउटै विचारमा नै निर्भर हुनेछ: एक क्षणको कायरता र डर, एउटा सोचाइ वा विचारले, तँलाई यहूदा बनाउन सक्छ, तैँले मण्डलीलाई घात गर्न सक्छस्, र तेरा पहिलेका सबै प्रयासहरूलाई बरबाद गर्न सक्छस्। यदि तैँले यस मामलालाई राम्ररी सोच्न वा यसलाई छर्लङ्ग देख्‍न सक्दैनस् भने, तँलाई तेरा सम्भाव्यता र नियतिका बारेमा चिन्ता नगरी बस्‍न निकै गाह्रो हुनेछ, र तेरो जीवन र मृत्युलाई परमेश्‍वरका हातमा सुम्पन र उहाँलाई आफ्‍नो इच्छा अनुसार योजनाबद्ध गर्न दिन निकै गाह्रो हुनेछ। यदि तँ जीवन र मृत्युका मामलाहरू छर्लङ्ग देख्‍न सक्दैनस् र अझै पनि आफ्नो भाग्य परीक्षण गर्ने, झारा टार्न चाहने मानसिकता बोक्छस् भने, जब तँमाथि वातावरण आउँछ, तब तँलाई प्रकाश गरिनेछ। पक्राउ परेर “तीन बयानको पत्र” मा हस्ताक्षर गरेर यहूदा बनेका सबै मानिसहरूले रातारात त्यसो गरेका थिए, र शैतानले तिनीहरूमा पशुको चिन्हको छाप हालेको थियो। व्यक्तिको जीवन र मृत्यु कहिलेकहीँ एउटै विचारमा नै निर्भर हुन्छ। सत्यताविना, सङ्कटबाट गुज्रन निकै गाह्रो हुन्छ। त्यसोभए, साँचो साहस भनेको के हो? यदि कसैले कठोर शक्तिको एउटा प्रस्फुटनमा भर परेर कुनै कुरा हासिल गर्छ भने, के त्यो साँचो साहस हो? होइन—त्यो त आवेग हो। साँच्चै हिम्मतिलो व्यक्तिको हृदयमा धेरै वटा सकारात्मक र नकारात्मक कुराहरूका बारेमा निश्‍चित स्तरको सुझबुझ हुन्छ। ऊ आन्तरिक रूपमा सकारात्मक कुराहरूप्रति सहमत जनाउन, त्यसलाई स्वीकार गर्न, र दृढ रूपमा पहिचान गर्न सक्षम हुन्छ, यसरी ऊ सत्यता र परमेश्‍वरको सार्वभौमिकतामा समर्पित हुन सक्‍ने अवस्थामा पुग्छ। यसरी मात्रै तँसँग साँचो हिम्मत हुन सक्छ। यदि तँसँग हृदयमा यी कुराहरू छैनन् भने, तेरो साहस मूर्खता मात्रै हो—नवजात बाछाले बाघको डर नमान्‍नु जस्तै हो। त्यसकारण, परमेश्‍वरको प्रतिरोध गर्ने देशमा, परमेश्‍वरमा विश्‍वास गर्न र उहाँलाई पछ्याउनका लागि हिम्मत मात्रै होइन तर, अझै महत्त्वपूर्ण रूपमा, आस्था चाहिन्छ। तँ साहसी भएकोले होइन, तर तँसँग आस्था भएकोले तैँले परमेश्‍वरमा विश्‍वास गर्ने आँट गर्छस्। कतिपय मानिसहरू भन्छन्, “म साहसी भएकोले र सतावटको डर नमान्‍ने भएकोले मात्रै मैले परमेश्‍वरमा विश्‍वास गरेको हुँ भन्‍ने मलाई लाग्छ।” यो अभिव्यक्ति सही हुन सक्छ। तँ दुस्साहसका कारण विश्‍वास गर्छस्, तर तेरो मूर्खता, अज्ञानता, र सरलताका आधारमा हेर्दा, परमेश्‍वरले तँलाई विशेष अनुग्रह देखाउनुहुन्छ, तेरा लागि निश्‍चित वातावरणहरू खडा गर्नुहुन्छ, साथै तँलाई सत्यताको मलजल र आपूर्ति दिनुहुन्छ। यसद्वारा, तँ निकै सत्यताहरू बुझ्न पुग्छस् र प्राप्त गर्छस्। समय बित्दै जाँदा, तेरो दुस्साहसले साँचो आस्थाका तत्त्वहरू प्राप्त गर्छ, र त्यसपछि मात्रै तेरो हिम्मत बढ्छ, र तँ भविष्यका वातावरण वा सतावट सामना गर्ने अझै बढी आँट गर्छस्। यदि कुनै व्यक्तिमा साँचो आस्था छैन र ऊ बलको प्रस्फुटनमा भर पर्छ अनि “म परमेश्‍वरमा विश्‍वास गर्ने आँट गर्छु! मलाई सतावटको वा पक्राउ पर्ने र जेल पर्ने डर लाग्दैन!” भनेर भन्छ भने—त्यस्तो हिम्मत लामो समयसम्म रहनेछैन। सत्यताको आपूर्तिबिना, तँलाई तालिम दिन, अभ्यास गर्न लगाउन, र विभिन्‍न कामकुराहरू सामना कसरी गर्ने भनेर सिकाउनका लागि परमेश्‍वरले वास्तविक जीवनमा वातावरणहरू खडा गर्नुभएन भने, तेरो साहस विशुद्ध रूपमा दुस्साहस मात्रै हुन्छ, र यो साँचो आस्था बिलकुलै हुँदैन। बुझिस्? (बुझेँ।) यदि यो साँच्‍चै नै दुस्साहस हो भने, त्यसले तँलाई लापरवाह, मूर्ख, र अज्ञानी व्यक्ति बनाउँछ। परमेश्‍वरमा विश्‍वास गर्ने कतिपय मानिसहरूका विचारहरू अत्यन्तै सरल हुन्छन्, र तिनीहरूले परमेश्‍वरलाई पछ्याउँदा के-कस्ता खतराहरू समावेश हुन्छन् भन्‍ने कुराबारे पूर्वानुमान नगरी अत्यन्तै कामकुराहरू अत्यन्तै सीधा हुन्छन् भन्ने कल्पना गर्छन्। तर जब तिनीहरूले बाधाहरू सामना गर्छन्, तब मात्रै तिनीहरू परमेश्‍वरलाई पछ्याउनु सीधा कुरा होइन भन्‍ने महसुस गर्छन्। यदि व्यक्तिको साहस मानवताको असल गुण हो भने, कम्तीमा पनि, ऊ सरल र सीधा हुन्छ, जटिल हुँदैन, र उसले अगाडिको खोला र पछाडिको पहिरोबारे चिन्ता गर्दैन। तर मानौँ तेरो साहस आशिष्‌हरू प्राप्त गर्ने अभिप्रायले उत्प्रेरित छ, र तँ यस्तो सोच्छस्, “यदि परमेश्‍वरमा विश्‍वास गरियो भने, स्वर्गमा जान सकिन्छ, ठूला आशिष्‌हरू प्राप्त गर्न सकिन्छ, र प्रकोपहरूबाट उम्कन सकिन्छ र मृत्युबाट जोगिन सकिन्छ, त्यसकारण जेसुकै आइपरे पनि, म विश्‍वास गर्नेछु!” अर्को शब्दमा भन्दा, तेरो विश्‍वास कठोर शक्तिको दुस्साहसी प्रस्फुटनले उत्प्रेरित हुन्छ हुन्छ; यो सरल रूपमा, तेरो परमेश्‍वरमा विश्‍वास गर्ने कामना होइन; बरु, यो आशिष्‌हरूको पछि लाग्नु हो। त्यो अवस्थामा, तेरो साहस बढीमा दुस्साहस हो र यसलाई मानवताको असल गुणका रूपमा वर्गीकरण गर्न सकिँदैन। त्यसकारण, जब साहसी मानिसहरूको कुरा आउँछ, तब तैँले तिनीहरूको मानवताको सार कस्तो छ भन्‍ने कुरा हेर्नुपर्छ। यदि तिनीहरूसँग कुनै विवेक र समझ छैन र तिनीहरू दुस्साहसी मात्रै छन् भने, तिनीहरूको मूल्य थोरै हुन्छ र तिनीहरूले कुनै अर्थपूर्ण कुरा हासिल गर्न सक्दैनन्। तर यदि तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्न र सत्यता स्वीकार गर्न सक्षम छन् भने, त्यस्ता मानिसहरूको मूल्य हुन्छ। यदि कुनै व्यक्ति साहसी छ तर उसमा कुनै बुझ्ने क्षमता छैन, उसले सत्यता बुझ्न सक्दैन, र उसले आशिष्‌हरू प्राप्त गर्नका खातिर मात्रै परमेश्‍वरमा विश्‍वास गर्छ, र ऊ आशिष्‌हरू प्राप्त गर्न आफ्नो परिवार र करियर त्याग्‍न इच्छुक हुन्छ र सतावटको डर मान्दैन भने—यो मानवताको असल गुण होइन बरु गलत विचार र दृष्टिकोण हो। के गलत विचार र दृष्टिकोणहरू परमेश्‍वरका अभिप्रायहरू अनुरूप हुन्छन्? (हुँदैनन्।) कुनै व्यक्ति डरपोक छ कि साहसी छ भन्‍ने कुरा उसको जन्मजात अवस्थासँग सम्बन्धित हुन्छ र उसको मानवताको सारसँग यसको त्यति सम्बन्ध हुँदैन।

यदि हामीले जन्मजात अवस्था, मानवता, र भ्रष्ट स्वभावहरूका विभिन्‍न प्रकटीकरणहरूका बारेमा सङ्गति नगरेका भए, के तिमीहरूले ती कुराहरू आफै खुट्ट्याउन सक्‍नेथियौ? (हामीले सायद सरल प्रकटीकरणहरू खुट्ट्याउन सक्‍नेथियौँ होला, तर अझै जटिल प्रकटीकरणहरू खुट्ट्याउन सक्‍नेथिएनौँ।) अहिले जन्मजात अवस्था, मानवता, र भ्रष्ट स्वभावहरूका बीचमा रहेका भिन्‍नताहरूका बारेमा सङ्गति गरिएका हुनाले, के अब तिमीहरू ती कुराहरूलाई खुट्ट्याउन सक्छौ त? (हामी तिनलाई पहिला भन्दा अलिक राम्ररी खुट्ट्याउन सक्छौँ।) त्यसोभए यदि मैले अझै केही असामान्य उदाहरणहरू दिएँ भने, के मैले सङ्गति गरेको कुराका आधारमा तिमीहरू तिनलाई खुट्ट्याउन सक्‍नेछौ? यो कुरा भन्‍न गाह्रो छ, होइन र? त्यसोभए अर्को पटक, हामी यस विषयसँग सम्बन्धित समस्याहरूबारे सङ्गति गर्न जारी राख्नेछौँ। हामीले थप सङ्गति गर्दै जाँदा, तिमीहरूले फरक-फरक प्रकारका समस्याहरूलाई खुट्ट्याउने केही नियमहरू पहिचान गर्नेछौ। मानवताका विभिन्‍न प्रकटीकरणहरू, जन्मजात अवस्थाहरू, र भ्रष्ट स्वभावहरूका हकमा भन्दा, तिमीहरूले सङ्गति गरिएका प्रकटीकरणहरूलाई सामान्यतया खुट्ट्याउन सक्छौ। सङ्गति नगरिएका प्रकटीकरणहरूका हकमा भन्दा, आत्मिक बुझाइ भएका वा सत्यताको खोजी कसरी गर्ने भन्‍ने थाहा भएका मानिसहरूले मात्रै तीमध्ये केही खुट्ट्याउन सक्छन्। कमजोर क्षमता भएका मानिसहरू चुक्छन् र तिनलाई खुट्ट्याउन सक्दैनन्, त्यसकारण तिनीहरूले अझै बढी सुन्‍नुपर्छ र अझै धेरै प्रश्‍नहरू सोध्नुपर्छ। यदि हामीले यी समस्याहरूका बारेमा सङ्गति गरेनौँ भने, ती तिमीहरूका लागि सधैँ अस्पष्ट नै रहनेछन्, र तिमीहरूले भन्‍ने कुरा पनि अस्पष्ट नै हुनेछ; तिमीहरूको बुझाइ र सत्यताबारे विशुद्ध बुझाइका बीचमा सधैँ एउटा अन्तराल हुनेछ, होइन र? (हो।)

आज हामीले क्षमताका मामलाहरूका बारेमा सङ्गति गऱ्यौँ। के अब तिमीहरू मानिसहरूको क्षमता कस्तो छ भनेर खुट्ट्याउन सक्छौ? (हामीले लगभग खुट्ट्याउन सक्छौँ।) यदि तिमीहरू त्यो खुट्ट्याउन सक्दैनौ भने, समय लगाएर कामकुराहरू अनुभव गर। दैनिक जीवनमा, तिमीहरूले यी मामलाहरू सामना गर्नेछौ। हाम्रो सङ्गतिका शब्दहरूलाई वास्तविक जीवनमा लागू गर्न, तिनलाई मानिसहरूका प्रकटीकरणहरूसँग अलि अलि गर्दै तुलना गर्न सिक—आफूलाई खुट्ट्याउन र अरूलाई खुट्ट्याउन, आफूलाई चिन्‍न र अरूलाई चिन्‍न सिक। बिस्तारै, तैँले यी कुराहरू मापन गर्न सक्‍नेछस् र तँसँग यसो गर्ने मानक हुनेछ। मानिसहरू र कामकुराहरूलाई हेर्ने, साथै आफूलाई आचरणमा ढाल्‍ने र व्यवहार गर्ने सिद्धान्तहरू झन्-झन् स्पष्ट हुँदै जानेछन्। हामीले जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरू खुट्ट्याउने विभिन्‍न पक्षहरूका बारेमा धेरै सङ्गति गरेका छौँ। हामीले मानवताका जुनसुकै प्रकटीकरण वा प्रकाशहरूका बारेमा सङ्गति गरे पनि, तीमध्ये कुनै पनि खोक्रा शब्दहरू होइनन्—यी सबै कुरालाई वास्तविक जीवनमा सामना गर्न, देख्‍न, र अनुभूत गर्न सकिन्छ। त्यसकारण, तैँले परमेश्‍वरका वचनहरूलाई विभिन्‍न कामकुराहरू र विभिन्‍न प्रकारका मानिसहरूसँग तुलना गर्दै हेर्न सिक्‍नुपर्छ। हाम्रो सङ्गतिदेखि वास्तविक जीवनसम्मका विभिन्‍न स्थिति र मामलाहरूलाई तुलना गर्न सिकेर मात्रै तैँले मानिसहरू र कामकुराहरूलाई हेर्ने, साथै आफूलाई आचरणमा ढाल्‍ने र व्यवहार गर्ने कार्यमा बिस्तारै प्रगति गर्न सक्छस्, सत्यतासँग सम्बन्धित विभिन्‍न मामलाहरूका बारेमा सही बुझाइ प्राप्त गर्न सक्छस्, र विभिन्‍न सत्यता सिद्धान्तहरू बिस्तारै बोध गर्न सक्छस्। बुझिस्? (बुझेँ।) हामीले छलफल गरेका मामलाहरू मुख्य रूपमा मानिसहरूले प्रदर्शन गर्ने विभिन्‍न स्थिति र प्रकटीकरणलाई चिन्‍नका लागि प्रयोग गरिने भए पनि, र तिनले तँलाई सीधै सत्यता बुझ्न र त्यसमा प्रवेश गर्न सहयोग नगरे पनि, यी सबै मामलाहरूले सत्यता र सत्यता सिद्धान्तहरू सम्बन्धी तेरो बुझाइ, साथै सत्यता र सत्यता सिद्धान्तहरूभित्रको तेरो प्रवेशमा असर गर्नेछन्। त्यसकारण, मानिसहरूका धारणाहरूमा, यी मामलाहरू मानवता, जन्मजात अवस्थाहरू, वा केही स्पष्ट भ्रष्ट स्वभावहरूसँग मात्रै सम्बन्धित छन् जस्ता देखिए पनि, हरेक मामला र हरेक अभिव्यक्ति मानिसहरूको सत्यता प्रवेशसँग सम्बन्धित हुन्छ। र त्यसकारण, यी मामलाहरू सत्यतामा प्रवेश गर्ने मार्गमा तैँले सामना गर्नैपर्ने कुराहरू हुन्—तँ ती कुराहरूबाट जोगिन सक्दैनस्। सकारात्मक होस् वा नकारात्मक होस्, मानवताका विभिन्‍न मामला र प्रकटीकरणहरू, सबै तैँले दैनिक जीवनमा विभिन्‍न वातावरणहरूमा सामना गर्ने र भेट्ने कुराहरू नै हुन्। यदि, जब तँ विभिन्‍न मामलाहरू सामना गर्छस्, तब तँ तीमध्ये कुनै पनि कुरालाई खुट्टयाउन सक्दैनस् र ती सबलाई सामान्यीकरण गर्छस् भने, र हाम्रो सङ्गतिका सत्यता सिद्धान्तहरूलाई प्रावधान वा धर्मसिद्धान्तहरूका रूपमा लिन्छस् भने, तँ कहिल्यै सत्यता वास्तविकतामा प्रवेश गर्न सक्‍नेछैनस्। किन? किनभने तैँले सत्यता के हो भन्‍ने कुरा कहिल्यै बुझ्नेछैनस्।

हुन्छ, आजको सङ्गति यति हो। छुटौँ!

नोभेम्बर २५, २०२३

अघिल्लो: सत्यता कसरी पछ्याउने (७)

अर्को: सत्यता कसरी पछ्याउने (९)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्