सत्यता कसरी पछ्याउने (७)
व्यक्तिको क्षमता मूल्याङ्कन गर्नका लागि ११ वटा मानक
पछिल्लो भेलामा हामीले क्षमता भनेको के हो, साथै कुनै व्यक्तिको क्षमताको मूल्याङ्कन कसरी गर्ने भन्नेबारे सङ्गति गर्यौँ। हामीले कुनै व्यक्तिको क्षमताको मूल्याङ्कन गर्ने जम्मा कति वटा मानक सूचिकृत गरेका थियौँ? (एघार वटा।) यी एघार वटा मानकहरू फेरि एकचोटी भन त। (सिक्ने सामर्थ्य, कामकुरा बुझ्ने सामर्थ्य, बोध सामर्थ्य, कामकुरा स्विकार्ने सामर्थ्य, संज्ञानात्मक सामर्थ्य, तजबिज गर्ने सामर्थ्य, वस्तुहरूको परख गर्ने सामर्थ्य, परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य, निर्णय गर्ने सामर्थ्य, कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य, नवप्रवर्तनको सामर्थ्य।) यी एघारमध्ये हरेक सामर्थ्य कुनै व्यक्तिको समग्र क्षमताको मापनको एउटा हिस्सा हो। पछिल्लो पटक, हामीले तीमध्ये दस वटा सामर्थ्यबारे, कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यसम्म सङ्गति गर्यौँ। प्रत्येक सामर्थ्यका हकमा, हामीले राम्रो क्षमता, औसत क्षमता, खराब क्षमता, र क्षमता नहुनुका प्रकटीकरणका बारेमा सङ्गति गर्यौँ। क्षमता नभएका मानिसहरूमा मूलतः सबल पक्ष हुँदैन, साँचो सोख वा रुचिहरू हुँदैनन्। कुनै पनि कुरा आइपर्दा, तिनीहरूसँग राय हुँदैन र तजबिज गर्ने सामर्थ्य हुँदैन। तिनीहरूमा मानिस, घटना र कामकुराहरूको परख गर्ने सामर्थ्य हुँदैन; तिनीहरूमा कुनै पनि कुरालाई स्विकार्ने सामर्थ्य पनि हुँदैन, र अवश्य पनि तिनीहरूमा परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य वा निर्णय गर्ने सामर्थ्य हुन्छ भनेर त झन् भन्नै मिल्दैन। त्यस्ता मानिसहरूमा कुनै सबल पक्ष नहुने भएकाले, तिनीहरू कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यसँग त झनै कम जोडिएका हुन्छन्।
नम्बर १०: कामकुराहरूको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य
कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यका सम्बन्धमा भन्नुपर्दा, पछिल्लो भेलामा, हामीले त्यस विषयवस्तुको एउटा पाटोबारे सङ्गति गर्यौँ। कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यले मुख्यगरी केलाई जनाउँछ? मूल्याङ्कनले मानिस, घटना, र कामकुराहरूका सोच, विचार र अडानहरू, साथै वकालत गरिएका विषयवस्तुहरूको परख गर्ने सामर्थ्य भन्ने अर्थमा मानिसहरूले भन्ने गरेको भेदलाई जनाउँछ। कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यमा मुख्यगरी निश्चित मामलाहरूका सम्बन्धमा व्यक्तिका विचार र दृष्टिकोणहरू पर्छन्; अर्थात् विचारको क्षेत्रसँग सम्बन्धित कुरा पर्छन्। यदि तँसित यी कुराहरूको परख गर्ने र तिनको कदर गर्ने सामर्थ्य छ भने, तँ कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य भएको व्यक्ति होस्। यदि तँ विचार र दृष्टिकोणहरूसँग सम्बन्धित यी समस्याहरू हेर्न जान्दैनस् र आधारभूत रूपमा तिनलाई बुझ्न सक्दैनस् भने, तँसँग कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य भएको मान्न सकिँदैन—तँसित यो सामर्थ्यको कुनै सम्बन्ध छैन। तर, जब तँमाथि कुनै कुरा आइपर्छ, तब यदि तैँले यो कुराको स्रोत र यसका पछाडिको उद्देश्य परख गर्न सक्छस्, यसले व्यक्त गर्ने र वकालत गर्ने विचार र दृष्टिकोणहरू सही छन् कि छैनन् भनी परख गर्न सक्छस्, साथै यी विचार र दृष्टिकोणहरू खरो उत्रन सक्छन् कि सक्दैनन्, ती सकारात्मक कुरा हुन् कि नकारात्मक, र ती कामकुराको विकासको नियमसँग मिल्छन् कि मिल्दैनन् वा परमेश्वरद्वारा सिर्जित यावत् थोकलाई शासित गर्ने नियमभित्रका घटनाहरूसँग नजिक छन् कि छैनन् भनेर पनि परख गर्न सक्छस् भने—यदि तँसित यस किसिमको कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य छ भने, यसले तेरो क्षमता अत्यन्तै राम्रो छ भन्ने कुरा प्रमाणित गर्छ। यदि यस कुराले वकालत गर्ने विचार र दृष्टिकोणहरू, वा यसले प्रवर्धन गर्ने दिशा र लक्ष्यहरूमा त्रुटिहरू, विकृतिहरू, मानवता वा तार्किक विचारसँग नमिल्दा कुराहरू, वा मूलतः परमेश्वरद्वारा सिर्जित यावत् थोकलाई शासन गर्ने वस्तुगत नियमहरूसँग नमिल्ने कुराहरू छन् भने—यदि तैँले यो सब पत्ता लगाउन सक्छस्, र के सही र के गलत छ भन्ने दुइटै कुरा पत्ता लगाउन सक्छस् भने, तँसित कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य छ र कामकुराको मूल्याङ्कन र कदर गर्ने तेरो सामर्थ्य उच्च छ भन्ने प्रमाणित गर्न यो नै काफी हुन्छ; तँसित यो सामर्थ्य भएको तथ्यको अर्थ तेरो क्षमता धेरै राम्रो छ भन्ने हुन्छ। उदाहरणका लागि, जब तैँले मण्डलीको कुनै दाजुभाइ वा दिदीबहिनीद्वारा लिखित एउटा लेख पढ्छस्, तब तैँले कामकुरासम्बन्धी उसको बुझाइ, मानिसहरूको प्रकृति सारसम्बन्धी उसको बुझाइ, र परमेश्वरका वचनहरूसम्बन्धी उसको बुझाइ सत्यता सिद्धान्तहरूसँग मिल्दा छन् कि छैनन्, लेखमा व्यक्त गरिएका दृष्टिकोणहरू विकृत पो छन् कि, र तिनीहरूको नजरिया र तिनीहरूले लिने अडान सही छन् कि गलत छन् भनी पत्ता लगाउन सक्छस्—तैँले यी सबै कुरा पत्ता लगाउन सक्छस्। यदि तँ त्यस लेखभित्रका सही विचार र दृष्टिकोणहरूसित सहमत हुन सक्छस्; र यदि तँ त्यस लेखभित्रका भ्रामक विचार र दृष्टिकोणहरूको परख गर्न र तिनलाई सच्याउन पनि सक्छस्, र तँलाई त्यस्ता विचार र दृष्टिकोणहरू किन गलत हुन्, र तिनले तार्किक सोचाइका कुन-कुन पक्षहरू वा सकारात्मक कुराका कुन-कुन वस्तुगत नियमहरू उल्लङ्घन गर्छन् भन्ने थाहा छ, र अझ गहिराइमा, तिनले सत्यता सिद्धान्तहरूका कुन-कुन पक्षहरू उल्लङ्घन गर्छन्, जसका बारेमा परमेश्वरले मानवजातिलाई सचेत गराउनुभएको छ भनेर तैँले देख्न सक्छस् भने—यसले तेरो क्षमता राम्रो छ भन्ने प्रमाणित गर्छ। पहिलो कुरा, यदि तैँले यस लेखमा सिक्नलायक सकारात्मक कुराहरू के-के छन् भनी देख्न सक्छस्, र यसले मानिसहरूलाई कस्ता सकारात्मक दिशा प्रदान गर्छ, साथै यसले कस्ता सकारात्मक प्रबन्ध, सहयोग, र साथ ल्याउँछ भन्ने कुरा पनि मूल्याङ्कन गर्न सक्छस् भने—अनि, यसबाहेक, यदि तैँले यस लेखमा कुन-कुन प्रतिकूल, नकारात्मक, र विकृत कुराहरू छन्; त्यसमा मानिसहरूको सोचाइलाई खराब दिशामा लैजान सक्ने कस्ता भ्रामक विचार र दृष्टिकोणहरू छन्, र तिनले मानिसहरूमाथि कस्ता नकारात्मक प्रभाव पार्न सक्छन्; यी भ्रामक कुराहरूलाई कसरी सच्याइनुपर्छ; र मानिसहरूलाई अझ बढी लाभ हुन सकोस् भनेर निश्चित कमीकमजोरीलाई कसरी पूर्ति गर्नुपर्छ भन्ने थाहा पाउन सक्छस् भने—यो कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य हुनुको एउटा प्रकटीकरण हो। उदाहरणका लागि, नृत्य सिक्ने क्रममा, जब तैँले कुनै नृत्य प्रस्तुति हेर्छस्, तब तैँले कुन चालहरू अत्यन्तै मानवीकृत छन्, जसले मानवताभित्रकै विचार र इच्छाहरू व्यक्त गर्छन्, जुन मानवताको दृष्टिकोणबाट उत्पत्ति हुन्छन्, मानवतामा आधारित छन्, र सामान्य मानवताको विवेक र समझका आवश्यकताहरूसँग अत्यन्तै मेल खान्छन् भनी पत्ता लगाउन सक्छस्; अनि तैँले कुन-कुन चालहरू, अनुहारका हाउभाउहरू, र शारीरिक हाउभाउका अभिव्यक्तिका विधिहरू, साथै तिनमा वकालत गरिएका विचारहरू सकारात्मक र कुनै व्यक्तिको आत्मिक संसारलाई समृद्ध पार्न सक्ने किसिमका छन् भनी पत्ता लगाउन सक्छस्—तैँले यी सबै कुरा देख्न सक्छस्। तँ नृत्य गर्न वा केही सामान्य चालहरू प्रस्तुत गर्न सक्षम मात्र छैनस्—बरु, तैँले कुनै नृत्य प्रस्तुतिमा वकालत गरिएका विचारहरू बुझ्न सक्छस्; तैँले त्यसभित्रका विचारहरूको अर्थका साथै यी विचारहरूको मार्गदर्शनमा अपनाइएका नृत्यका स्वरूपहरू बुझ्न सक्छस्। यदि नृत्यका स्वरूपहरू र शारीरिक हाउभाउ मानिसहरूका लागि फाइदाजनक छन्, र ती तैँले सिक्नु, स्विकार्नु र आत्मसात् गर्नुपर्ने कुरा हुन्—तँ यी कुराहरू देख्न र सिक्न सक्छस्, र तँ यसका सकारात्मक तत्त्व हरू स्विकार्न सक्छस् भने—यो कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य हुनुको प्रकटीकरण हो। अवश्य पनि, यदि उक्त नृत्यले मानवतासँग नमिल्दा केही विकृत विचारहरू प्रस्तुत गर्छ, र तैँले पनि ती बुझ्न सक्छस्, त्रुटिहरू कहाँ छन् भनी परख गर्न सक्छस्, साथै तँलाई यस प्रस्तुतिको स्वरूपमा के गलत छ, र त्यसलाई मार्गदर्शन गर्ने विचारहरू के-के हुन् भन्ने पनि थाहा छ भने—यदि तैँले यो सब देख्न र परख गर्न सक्छस् भने, यो पनि कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य हुनुको एउटा प्रकटीकरण नै हो। यी दुई उदाहरणहरू दिएपछि, के अब तिमीहरूले कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य के हो भनी बुझ्छौ? के कसैसँग राम्रो क्षमता र कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य छ कि छैन भनी मापन गर्ने यो मानक स्थापित भएको छ? (भएको छ।)
यदि तैँले केही कुरा देख्छस् र त्यसले वकालत गर्ने विचार र दृष्टिकोणहरू वा त्यसले लिने नजरिया र अडान थाहा पाउछस्, तर तँलाई यी विचार र दृष्टिकोणहरू सही हुन् कि गलत भन्ने थाहा छैन भने, तँसित कामकुराको परख गर्ने खासै धेरै सामर्थ्य छैन। तँलाई “यो नृत्य निकै राम्रो छ; यो लेख निकै राम्रो छ; यो चलचित्र निकै राम्रो छ; यसको कलात्मक मूल्य छ, र यसका अभिव्यक्ति शैलीहरू उत्कृष्ट छन्” भन्ने मात्र लाग्न सक्छ, र तैँले यसलाई केवल उद्योगका दृष्टिकोणबाट वा ज्ञानका दृष्टिकोणबाट नियालेर यसबारे जान्नेछस्, तर यस कुराले वकालत गरेका विचार र दृष्टिकोणहरू सही हुन् कि गलत, ठीक हुन् कि बेठीक, सकारात्मक हुन् कि नकारात्मक भनी निर्धारण गर्न सक्नेछैनस्; अनि तैँले सायद यस्ता प्रश्नहरू सोध्नेछस्, “के यी विचार र दृष्टिकोणहरू सत्यतासित मिल्दा छन्? के यो कार्य मानवतासँग मिल्दो छ? के यो वस्तुहरूको विकासका नियमसँग मिल्छ? के यस्ता मानिसहरू अस्तित्वमा हुन्छन्? के यस्ता घटनाहरू घटेका छन्? के यो सकारात्मक कुरा हो?” यदि तैँले बोल्ने हरेक वाक्य प्रश्नवाचक चिन्हमा टुङ्गिन्छ भने, तँसित कामकुराको परख गर्ने सामर्थ्यको कमी छ। यदि तँलाई त्यसमा संलग्न प्राविधिक, व्यावसायिक वा ज्ञानमा आधारित पक्षहरू मात्र थाहा छ, तर वैचारिक तहका कुराहरूका सम्बन्धमा तँसित ती सही हुन् कि गलत, ठीक हुन् कि बेठीक भनी तजबिज गर्ने सामर्थ्य छैन भने, यसले तेरो क्षमताबारे के बताउँछ? यसले तँसँग औसत क्षमता छ भन्ने जनाउँछ। तँसित कामकुराको मूल्याङ्कन र कदर गर्ने केही सामर्थ्य भए पनि, तेरो सामर्थ्य लेखकका विचारलाई प्राविधिक, व्यावसायिक दृष्टिकोणबाट कदर गर्नमा नै सीमित छ। तँ उक्त लेखकले जे गर्यो त्यो किन गर्यो भन्ने कुरा मात्र बोध गर्न वा बुझ्न सक्छस्, तर तँ उसले वकालत गर्ने विचार र दृष्टिकोणहरू सही हुन् कि होइनन्, र ती सकारात्मक कुरा हुन् कि होइनन्, वा यी विचार र दृष्टिकोणहरू एक पटक प्रस्तुत भइसकेपछि तिनले मानिसहरूमा कति ठूलो प्रभाव पार्छन्, वा त्यो प्रभाव सकारात्मक हुन्छ कि नकारात्मक, वा तिनले मानिसहरूमा कस्ता परिणामहरू ल्याउँछन् भनी मूल्याङ्कन गर्न सक्दैनस्—तँलाई यीमध्ये केही पनि थाहा हुँदैन। यस स्तरका आधारमा भन्नुपर्दा, त्यस्ता मानिसहरूको क्षमता औसत मात्र हुन्छ। तिनीहरू सराहना मात्र सक्छन् तर मूल्याङ्कन गर्न सक्दैनन्, र त्यसकारण कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य भएको क्षमतामा पुग्न सक्दैनन्। कतिपय मानिसले जुनसुकै कर्तव्य निर्वाह गर्ने भए पनि, तिनीहरूमा कामकुराको परख गर्ने सामर्थ्य ज्यादै कमजोर हुन्छ। तिनीहरू कामकुरा जसरी गरे पनि स्वीकार्य हुने भन्ठान्छन्। तिनीहरूका दृष्टिकोण र मनोवृत्ति अत्यन्तै धमिला र पूर्णतया अस्पष्ट हुन्छन्। अरू जोसुकैले जेसुकै भने पनि, तिनीहरू त्यो स्विकार्न सक्छन्, किनकी तिनीहरूमा सही दृष्टिकोणहरू वा अभ्यासका सिद्धान्तहरू हुँदैनन्। फलस्वरूप, तिनीहरूले कुनै पनि कर्तव्य राम्ररी पूरा गर्दैनन्। तिनीहरूले जुनसुकै काम लिए पनि, तिनीहरू आफ्नो कामका क्रममा उत्पन्न हुने विभिन्न विचार र दृष्टिकोणहरूका सकारात्मकता वा नकारात्मकता, र उचितता वा अनुचितताको परिभाषा दिने र सीमारेखा कोर्ने सम्बन्धमा अत्यन्तै धमिला र अस्पष्ट हुन्छन्। मानिसहरूले तिनीहरूलाई “यस किसिमको विचार वा दृष्टिकोण पैदा भएको छ—के यो सही हो?” भनेर सोध्दा तिनीहरू यसो भन्छन्, “मानिसहरूको मन स्वतन्त्र हुन्छ। त्यसलाई सीमित पारिनु हुँदैन। विविधता हुन जरुरी छ—कुनै पनि प्रकारको विचार प्रस्तुत गर्न वा व्यक्त गर्न दिइनुपर्छ।” विभिन्न विचारहरूको अस्तित्वका सम्बन्धमा तिनीहरूको दृष्टिकोण यही हो। भन्नुको मतलब, जस्तोसुकै विचार वा दृष्टिकोणहरू पैदा भए पनि—चाहे ती ठीक हुन् वा बेठीक, सही हुन् वा गलत—तिनीहरू ती सबैलाई रहन दिनुपर्ने, र ती स्वतन्त्र रूपमा प्रस्तुत गरिनुपर्ने विश्वास गर्छन्। तिनीहरू सोच्छन् कि, यदि कसैले कुनै तरिकाले सोच्छ, यदि कसैलाई केही आवश्यकता छ, यदि कुनै विचारको श्रोता छ वा त्यसलाई समर्थन गर्ने मानिसहरू छन् भने, त्यसको अस्तित्वमा मूल्य रहेको हुन्छ। तिनीहरूको यो विचार र दृष्टिकोण निकै अस्पष्ट हुन्छ। गैरविश्वासीहरूका शब्दमा भन्नुपर्दा, यो प्रायः सीमाबिनाको एउटा “धूमिल क्षेत्र” मा अस्तित्वमा रहन्छ। यस्ता मानिसहरूसँग कामकुरा सही हुन् कि गलत हुन् भनी तजबिज गर्ने कडा मानक वा मापदण्डहरू हुँदैनन्। यो पनि भन्न सकिन्छ कि त्यस्ता मानिसहरूमा कुनै अडान हुँदैन, कुनै वास्तविक विचार वा दृष्टिकोणहरू हुँदैनन्। अवश्यै, यो पनि भन्न सकिन्छ कि यी मानिसहरूमा कुनै पनि कुराका सम्बन्धमा सकारात्मक वकालत हुँदैन। त्यसोभए, के त्यस्ता मानिसहरूले सत्यता स्विकार्न सक्छन् त? के तिनीहरूले सत्यता बुझ्न सक्छन् त? यो कुरा भन्न साँच्चिकै गाह्रो छ। कमजोर क्षमता हुनु समस्याको कुरा हो। जब कमजोर क्षमता भएका मानिसहरूले दुइटा विचार वा दृष्टिकोणहरू एकै पटक आइपरेको देख्छन्, तब तिनीहरूसँग आफ्नो व्यक्तिगत राय हुँदैन; तिनीहरूलाई कुन सही र कुन गलत हो भन्ने थाहा हुँदैन। तिनीहरू जुन पक्ष बढी बलियो छ त्यसैको पछि लाग्छन्। यसलाई अडान नहुनु भनिन्छ। यस्ता मानिसहरू अलमल्ल परेका व्यक्ति हुन्। हामी तिनीहरूको मानवताको पछ्याइ कस्तो छ वा तिनीहरूको चरित्र कस्तो छ भन्नेबारे छलफल गर्नेछैनौँ—सिर्फ कामकुराको मूल्याङ्कन र कदर गर्ने तिनीहरूको सामर्थ्यका हिसाबमा भन्नुपर्दा, यस्ता मानिसहरूको क्षमता औसत मात्र हुन्छ। म किन यसो भन्छु? किनकी तिनीहरूको क्षमताले तिनीहरूलाई वैचारिक तहमा केही कुराहरूको कदर गर्न सक्षम तुल्याउने भए पनि, तिनीहरूमा कामकुराको प्रामाणिकता मूल्याङ्कन गर्ने र कामकुरा ठीक छन् कि बेठीक छन्, सही छन् कि गलत छन् भनी परख गर्ने सामर्थ्य हुँदैन। त्यसकारण, तिनीहरूको क्षमतालाई औसतको वर्गमा राखिन्छ। कामकुराको मूल्याङ्कन गर्ने सम्बन्धमा, तिनीहरूका विचार, दृष्टिकोण र अडानहरू निकै अस्पष्ट हुन्छन्, र तिनीहरूसँग आधार वा मापदण्डका रूपमा सकारात्मक कुराहरू हुँदैनन्, त्यसैले तिनीहरूले केही असल कुराहरू त गर्न सक्छन्, तर साथसाथै केही खराब कुराहरू पनि गर्न सक्छन्। तिनीहरूले अरूलाई फाइदा हुने र मानवतालाई सहायता दिने केही तुलनात्मक रूपमा सही कुराहरू गर्न सक्छन्, तर त्यो सँगसँगै, तिनीहरूले अरूलाई हानि गर्ने र तिनीहरूमाथि प्रतिकूल प्रभाव पार्ने कुराहरू पनि गर्न सक्छन्। त्यसकारण, त्यस्ता मानिसहरूको क्षमता औसत मात्र हुन्छ। उदाहरणका लागि, मानौँ एउटा त्यस्तो चलचित्र छ, जसमा निर्देशकले वकालत गरेका विचारहरू तुलनात्मक रूपमा सकारात्मक र मानवीय छन्, र ती मानवताका आवश्यकताहरूसँग तुलनात्मक रूपमा मेल खाने कुराहरू—लोकतन्त्र, स्वतन्त्रता, मानव अधिकार, र अन्य सकारात्मक कुराहरू जस्ता आजको समाजमा न्यायोचित ठानिने आवश्यकताहरू हुन्—र उक्त चलचित्रमार्फत, निर्देशकले मानिसहरूलाई ती कुरा जान्न मद्दत गर्न मानव विचारको गहिराइमा रहेका यी कुराहरू बाहिर ल्याउँछ। यदि औसत क्षमता भएको व्यक्तिले यो चलचित्र हेरेमा, उसले ती विचारहरू राम्रा र सही छन् भनी चिन्न सक्छ। उसले ती विचारहरू आजको समाजमा तुलनात्मक रूपमा चर्चित र आदरणीय छन् भनी देख्न सक्छ; उसले उक्त निर्देशकले वकालत गरेका विचारहरूको उचितता बोध गर्न सक्छ। तर यदि यो चलचित्रमा निर्देशकले केही तुलनात्मक रूपले विशिष्ट विचारहरूको—अर्थात् धेरैजसो वयस्कहरू र बोध सामर्थ्य भएका मानिसहरूले नसोच्ने, अत्यन्तै अतिवादी कुराहरू र, यो पनि भन्न सकिन्छ कि, बिरलै देखिने वा वस्तुहरूको सामान्य विकासका नियमअनुसार लगभग असम्भव हुने कुराहरूको—पनि वकालत गर्छ भने, कामकुराको मूल्याङ्कन र कदर गर्ने औसत सामर्थ्य भएका मानिसहरूले उक्त चलचित्र हेर्दा तिनलाई खुट्ट्याउन सक्ने थिएनन्। तिनीहरूले यस्तो सोच्ने थिए, “निर्देशकले वकालत गरेका यी विशेष विचारहरू गलत छैनन्। यी कुराहरूलाई थोरै मानिसहरूले मात्र मन पराउने र अपनाउने भए पनि, यी विचारहरूलाई आजको समाजमा सम्मान गर्नैपर्छ; तिनलाई सार्वजनिक गरिनुपर्छ ताकि तिनलाई सबैले चिन्न र स्विकार्न सकून्।” हेर्, चाहे निर्देशकले उही चलचित्रमा वकालत गरेका कुराहरू सकारात्मक होऊन्, वा चाहे तिनले मानिसहरूमा नकारात्मक प्रभाव पारून्, तिनीहरूले तिनलाई स्विकार्नेछन् र अत्यन्तै कदर समेत गर्नेछन्। तिनीहरूका लागि सही र गलतबीच कुनै स्पष्ट वा निश्चित भिन्नता हुँदैन। त्यसकारण, तिनीहरूले यस चलचित्रका सकारात्मक कुराहरू स्विकार्न सक्छन्, र तिनीहरूले नकारात्मक कुराहरू पनि स्विकार्न सक्छन्। तिनीहरूले यी कुराहरू स्विकार्न सक्ने हुनाले तिनलाई लागु समेत गर्नेछन्। तिनीहरूले यी कुरालाई तिनीहरूका आफ्नै विचार र दृष्टिकोणहरू व्यक्त गर्ने कृतिमा समाहित गर्नेछन्, वा तिनलाई दैनिक जीवनमा अरूमा स्थापित गरेर तिनीहरूलाई प्रभाव पार्नेछन्। सकारात्मक कुराहरूले मानिसहरूमा अवश्यै राम्रो प्रभाव पार्नेछन् जबकि नकारात्मक कुराहरूले मानिसहरूमा पक्कै पनि नकारात्मक प्रभाव नै पार्नेछन्। त्यसकारण, त्यस्ता मानिसहरूले राम्रा कुराहरू गरिरहँदा केही नराम्रा कुराहरू पनि गर्नेछन्। भन्नुको मतलब, उदाहरणका लागि, तँलाई भोक लाग्दा तिनीहरूले तँलाई एक बटुको खीर दिनेछन्, तर त्यो सफा हुनेछैन र त्यसमा केही बालुवा मिसिएको हुनेछ, र लामो समयसम्म त्यो खानु तेरो स्वास्थ्यका लागि हानिकारक हुनेछ। अथवा तिनीहरूले तँलाई एक बटुको खाना दिनेछन्, तर त्यसमा झिँगा र लामखुट्टेजस्ता चीजहरू मिसिएका हुनेछन्। तँलाई त्यो स्वादिष्ठ लाग्ला, तर त्यसमा शरीरका लागि केही हानिकारक कीटाणु हुन्छन्। त्यस्ता मानिसहरूले तेरो भोक मेटाएका र पेट भरिदिएका हुने भए पनि, तिनीहरूले तेरो शरीरलाई केही प्रतिकूल असरहरू पनि पारेका हुनेछन्। त्यसरी नै, यदि तँमा खुट्ट्याउने क्षमताको कमी छ भने, कुनै कृति हेर्दा तैँले त्यसका केही गलत विचार र दृष्टिकोणहरू स्विकार्ने उच्च सम्भावना हुन्छ, जसका कारण तँ त्यसद्वारा भ्रमित र विषाक्त हुनेछस्। त्यसकारण, कामकुराको परख गर्ने सामर्थ्य राख्नु पनि निकै महत्त्वपूर्ण हुन्छ। कामकुराको मूल्याङ्कन र कदर गर्ने क्षमताका हिसाबमा औसत सामर्थ्य भएका मानिसहरूका प्रकटीकरणहरू यिनै हुन्।
अर्को स्तर भनेको कमजोर क्षमता भएका मानिसहरू हो। कमजोर क्षमता भएका मानिसहरूमा कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य हुँदैन। अर्थात्, कुनै पनि कुरा हेर्दा, तिनीहरूलाई कुन विचार र दृष्टिकोणहरू राख्दा सही हुन्छ र कस्तो नजरिया वा अडान लिँदा सही हुन्छ भन्ने थाहा हुँदैन। तिनीहरूलाई त मानिसहरूले यस मामलामा कस्ता किसिमका गलत विचार र दृष्टिकोणहरू बोकेका हुन्छन्, वा त्यस्ता मामलाहरू सामना गर्दा मानिसहरू कस्ता विचारद्वारा शासित हुने गर्थे भन्ने समेत थाहा हुँदैन—यसमा तार्किक सोचाइ संलग्न हुन्छ, र कमजोर क्षमता भएका मानिसहरू यससम्म पुग्नै सक्दैनन्, त्यसैले तिनीहरूले कामकुराको कदर गर्न सक्ने कुरै भएन। जब कोही कामकुराको कदर गर्न सक्षम हुन्छ, तब मात्र उसको कामकुराको कदर गराइ कस्तो छ वा ऊसँग कामकुराको मूल्याङ्कन गर्ने सामर्थ्य छ कि छैन भनेर भन्न सकिन्छ। यदि उसले कामकुराको कदर समेत गर्न सक्दैन भने, उसमा कामकुराको मूल्याङ्कन गर्ने सामर्थ्य छ कि छैन भनेर छलफल गर्नुको अर्थ नै रहँदैन। उदाहरणका लागि, कतिपय मानिसहरू कुनै लेख पढेपछि यसो भन्छन्: “यस लेखमा आलङ्कारिक भाषा प्रयोग गरिएको छ, यो निकै लयबद्ध रूपमा व्यक्त गरिएको छ, र हास्यरसले भरिएको छ। यो लेख गजब तरिकाले लेखिएको छ!” कसैले सोध्छ: “लेखकले यस लेखमा के-कस्ता विचार र दृष्टिकोणहरू व्यक्त गर्न खोजेको छ? यस किसिमका मानिस, घटना र कामकुराप्रति उसको मनोवृत्ति के छ?” “ओहो, त्यसमा कुनै मनोवृत्ति छ र? त्यसमा विचार र दृष्टिकोणहरू पनि छन् र? मैले त त्यो यादै गरिनँ। जे होस्, मलाई लाग्छ उसको लेख राम्रोसँग लेखिएको छ, र मलाई त्यो पढ्दा मज्जा आयो।” अर्को पक्षले सोध्छ: “त्यसोभए तिमीलाई उसले व्यक्त गरेका कुन विचार र दृष्टिकोणहरू मज्जा लग्यो? के तिमीलाई कुन अनुच्छेद वा कथाले लेखकका कस्ता विचार र दृष्टिकोणहरू व्यक्त गर्छ, र उक्त लेखले भन्न खोजेको मुख्य कुरा के हो भन्ने थाहा छ?” तिनीहरू भन्छन्: “मैले त्यो अझैसम्म पत्ता लगाएको छैन।” तिनीहरूले त्यसलाई थप दुई-तीन पटक पढ्छन् र अझै पनि उक्त लेख राम्रोसँग लेखिएको र वाग्मितापूर्ण मात्र लाग्छ। यसले व्यक्त गर्ने विचार र दृष्टिकोणहरू त तिनीहरूले बुझ्नै सक्दैनन्। यसले तिनीहरूको क्षमता कस्तो छ भन्ने कुरा खुलासा गर्छ, गर्दैन र? यदि तिनीहरूले यो लेख पढ्छन् र उक्त लेखले व्याख्या गरेका विचार र दृष्टिकोणहरू बुझ्न सक्दैनन् भने, यति मात्र भन्न सकिन्छ कि तिनीहरूमा कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यको कमी छ र तिनीहरू कमजोर क्षमता भएका व्यक्ति हुन्। यदि लेखमा प्रस्ट भाषा प्रयोग गरिएको छ र त्यसले नै सही विचार र दृष्टिकोणहरू बुझाउँछ, तर तिनीहरूले त्यो अझै बुझ्न सक्दैनन् भने, यसले तिनीहरूको क्षमता अत्यन्तै कमजोर छ भन्ने प्रमाणित गर्छ। तिनीहरू “लेख राम्ररी लेखिएको छ, भाषा एकनासको छ, र लेखन शैली राम्रो छ” मात्र भन्न सक्छन्, तर तिनीहरूले उक्त लेखमा छलफल गरिएका तथ्यहरू वस्तुगत छन् कि छैनन्, त्यसले मानिसहरूलाई के महसुस गराउँछ, वा पाठकहरूले त्यसबाट के सिक्न र लिन सक्छन् भन्ने जानेका वा बुझेका हुँदैनन्—तिनीहरूले अझै पनि लेखकलाई नै सोध्नुपर्ने हुन्छ। यसले त्यस्ता मानिसहरूमा कमजोर क्षमता हुन्छ भन्ने कुरा पूर्ण रूपमा प्रमाणित गर्छ। तिनीहरूको कमजोर क्षमता कसरी प्रदर्शित हुन्छ? तिनीहरूको कमजोर क्षमता तिनीहरूले विचार र दृष्टिकोणहरू के हुन् भनी नबुझ्ने, कामकुरालाई कसरी कदर गर्ने भनी नबुझ्ने, र अवश्य पनि, त्योभन्दा बढी, तिनीहरू कामकुराको मूल्याङ्कन गर्न पूर्ण रूपमा असक्षम हुने कुरामा प्रदर्शित हुन्छ। समग्रमा, यसलाई कामकुराको मूल्याङ्कन र कदर गर्ने क्षमताको कमी हुनु भनिन्छ। कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यको कमी भएका मानिसहरू औसत क्षमता भएका मानिसहरूभन्दा कसरी खराब हुन्छन् भने, तिनीहरूमा कामकुराको मूल्याङ्कन गर्ने सामर्थ्य नहुने मात्र नभई कामकुरालाई कदर गर्ने सामर्थ्य समेत हुँदैन। त्यसकारण, विचार र दृष्टिकोणको स्तरका कुराहरू, तार्किक सोचाइ, अथवा कुनै कुरा मानवतासँग वा वस्तुहरूको वस्तुगत नियमसँग मिल्छ कि मिल्दैन भन्ने सम्बन्धमा, तिनीहरूले ती छर्लङ्गै देख्न सक्दैनन् र तिनलाई कदर गर्न जानेका हुँदैनन्। तिनीहरू यस लेखले कुनै विचार वा दृष्टिकोणहरू व्याख्या गर्छ कि गर्दैन भन्ने समेत बुझ्न सक्दैनन्, ती विचार र दृष्टिकोणहरू सही छन् कि गलत छन् भनी परख गर्नु त झन् परको कुरा हो। तिनीहरू विद्यालय गएकाले मात्र तिनीहरूले शब्द, ज्ञान, प्राविधिक सीप, र पेसाहरूसम्बन्धी कुराहरू पढ्न सकेका हुन्, तर तिनीहरू कामकुरा पढ्न, हेर्न, र सुन्ने स्तरमै सीमित रहन्छन् र तिनलाई कदर गर्न सक्दैनन्। त्यस्ता मानिसहरू कमजोर क्षमता हुनेहरू हुन्। कमजोर क्षमता भएका मानिसहरूले प्राविधिक सीप र पेसा वा ज्ञानका स्तरसँग सम्बन्धित कुराहरूबारे कुरा गर्न सक्छन्, जस्तै कुनै कुरा कुन चर्चित व्यक्तिको कृति हो, कुन चर्चित व्यक्तिको चर्चित भनाइ उद्धृत गरिएको छ, कुन अभिव्यक्ति शैलीको सन्दर्भ लिइएको छ, वा त्यो कुरा हासिल गर्न कुन प्राविधिक सीप वा पेसा उपयोग गरिएको छ—तिनीहरूले यी कुराहरू बुझ्न सक्छन्। तर, तिनीहरूले यी पेसा र प्राविधिक सीप वा ज्ञानको स्तरका आधारमा वकालत गरिएका र व्यक्त गरिएका अवधारणाहरू बुझ्दैनन्, साथै यी चीजहरूका पछाडिका परिकल्पना र प्रस्तुतिका अवधारणा, आधार, वा मूल तत्त्वहरू के-के हुन् भन्ने कुरा पनि बुझ्दैनन्। कमजोर क्षमता हुनु भनेको यही नै हो। त्यस्ता मानिसहरूको एउटा विशेषता हुन्छ: तिनीहरू समस्याहरूबारे मनन गर्न वा सोच्न जान्दैनन्। तिनीहरू कुनै चीजले निम्त्याएका परिघटनाका मूल कारण र सार, अथवा यी परिघटनाहरूको विकासको भावी दिशा र तिनले मानिस, घटना र कामकुराहरूमाथि पार्ने प्रभावको परख गर्न, तजबिज गर्न, वा थाहा पाउन जान्दैनन्। त्यस्ता मानिसहरूमा सामान्य सोचाइ हुँदैन। तिनीहरूले बुझ्न सक्ने कुरा र बोध गर्न सक्ने जीवन अनुभव अत्यन्तै सीमित हुन्छन्। जे-जस्ता जटिल मामलाहरू सामना गर्नु परे पनि, तिनीहरूले ती बुझ्न वा छर्लङ्गै देख्न सक्दैनन्। भन्नुको अर्थ, तिनीहरूले केही कुराका सम्बन्धमा आफूले सुनेका शब्दहरू र सतही रूपमा देखेका पाठका साथै त्यसमा संलग्न बाह्य स्वरूप र विधिहरूबारे सोच्न मात्र सक्छन्, र तिनीहरू त्यो स्तरसम्म मात्र पुग्छन्। विभिन्न कुराबीचका सम्बन्ध, तर्क, र आपसी प्रभावहरू जस्ता झनै गहिरा पक्षहरूको कुरा गर्नुपर्दा, तिनीहरू न त तिनका बारेमा सोच्छन् न तिनका बारेमा सोच्न सक्षम नै हुन्छन्। कतिपय मानिसहरू त केही कुराका बारेमा यति धेरै सोच्छन् कि तिनीहरूको भोक र निन्द्रा नै हराउँछ, वा तिनीहरू अवसादी हुन्छन्, र अझै पनि त्यो छर्लङ्गै देख्न सक्दैनन्। कमजोर क्षमता हुनु भनेको यही हो। कुनै व्यक्तिले कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य राख्छ कि राख्दैन भन्ने कुराको मापन, कुनै मामला सामना गर्दा, उसले विभिन्न कुराबीचका जटिल सम्बन्ध, सम्पर्क, वा आपसी प्रभावहरूका साथै तिनले त्यसपछि पार्न सक्ने प्रभावहरूका सम्बन्धमा केही सम्भावना प्रस्तुत गर्नका लागि तजबिज गर्न सक्छ कि सक्दैन भन्नेमा भर पर्छ। यदि कुनै व्यक्तिले कसैले के भन्यो वा गर्यो भनेर भन्न मात्र सक्छ, आफूले सुनेको वा देखेको कुरा जस्ताको तस्तै सुनाउन मात्र सक्छ तर केही पनि खुट्ट्याउन सक्दैन र कुनै पनि समस्याहरू बुझ्न सक्दैन भने, यसले उसमा सामान्य सोचाइ छैन भन्ने जनाउँछ। सोच्ने सामर्थ्य नभएका मानिसहरूमा कामकुराको कदर गर्ने सामर्थ्य हुँदैन, र अवश्य पनि तिनीहरूमा कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य पनि हुँदैन, साथै तिनीहरू सोच्न जान्दैनन्। त्यसोभए हामीले यो सामर्थ्यबारे छलफल गर्न किन आवश्यक छ? यदि मानिसहरूमा भौतिक संसारको कदर गर्ने विभिन्न सामर्थ्यको कमी छ भने, यस्ता मानिसहरूको क्षमता कमजोर हुन्छ। तिनीहरू सोच्न जान्दैनन् र तिनीहरूको सोचाइमा तर्क हुँदैन, त्यसकारण त्यस्ता मानिसहरूमा सत्यता बोध गर्ने सामर्थ्य हुँदैन। किनभने एक हिसाबले सत्यतामा मानिसहरूको वास्तविक जीवनका समस्याहरूका विभिन्न पक्षहरू संलग्न हुन्छन्; सँगसँगै, त्यसमा मानिसहरूले आफ्ना भ्रष्ट स्वभावहरू फाल्नका लागि अभ्यास गर्नुपर्ने विभिन्न सिद्धान्तहरू पनि संलग्न हुन्छन्। अवश्य पनि, त्यसमा मानिसहरूले वास्तविक जीवनमा सामना गर्ने विभिन्न किसिमका एकलपक्षीय वा जटिल बहुपक्षीय समस्याहरू र तीबीचका सम्बन्धहरू अझ बढी संलग्न हुन्छन्। चाहे त्यो एउटा मात्र सत्यताबारे होस् वा बहुसङ्ख्यक अन्तरसम्बन्धित सत्यताहरूबारे होस्, कुनै पनि सत्यता कुनै प्रावधान हुँदैन; बरु, ती त कुराहरूको श्रेणी मापन गर्ने सिद्धान्त वा मापदण्डहरू हुन्। सिद्धान्त र मापदण्डहरूबारे कुरा गर्नुपर्दा, ती प्रावधान वा सूत्र होइनन्, जस्तो कि एकमा एक जोडे दुई हुन्छ। ती सूत्र नभएकाले, वास्तविक जीवनमा मामलाहरू सामना गर्नुपर्दा, मानिसहरूले मानवताका कुन-कुन समस्याहरू संलग्न छन्, यस पक्षमा मानवताका प्रकटीकरणहरूमा भ्रष्ट स्वभावका तत्त्वहरू छन् कि छैनन्, र उही प्रकारको भ्रष्ट स्वभावका कस्ता स्थिति र प्रकटीकरणहरू हुन्छन्, साथै त्यसलाई रूपान्तरण गर्नका निम्ति मानिसहरूले सत्यताका कुन-कुन पक्षहरू अभ्यास र पालना गर्नुपर्छ भनी मनन र खोजी गर्न सक्नुपर्छ—मानिसहरूले यो सबै बुझ्न आवश्यक छ। यदि तँलाई सत्यताका शब्दहरू मात्र थाहा छ तर सत्यताको यो पक्षमा कुरा गरिएका सिद्धान्तहरू के-के हुन् भन्ने थाहा छैन भने, तैँले तिनलाई वास्तविक जीवनका कुराहरूसित जोडेर हेर्न जान्नेछैनस्, न त तैँले सत्यता अभ्यास गर्न नै जान्नेछस्। यदि तँसित सत्यता बोध गर्ने सामर्थ्य छैन भने, तैँले त्यसलाई आफूभित्रै रहेका समस्याहरूसित वा तैँले वास्तविक जीवनमा सामना गर्ने समस्याहरूसित जोडेर हेर्न सक्नेछैनस्। तँलाई सत्यताका कति वटा पक्षहरू संलग्न छन्, अभ्यास र प्रवेशको मार्ग के हो, वा तैँले के-कस्ता समस्याहरू समाधान गर्नुपर्छ भनेर थाहा हुनेछैन। अवश्य पनि, तैँले परमेश्वरका वचनहरूमा आधारित भएर मानिस र कामकुरालाई हेर्ने वा आफूलाई आचरणमा ढाल्ने र व्यवहार गर्ने, अथवा तैँले सत्यता सिद्धान्तहरू पालना गर्न वा सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न सक्ने त सम्भावना नै छैन। यदि तँसित मानव जीवनसँग सम्बन्धित निश्चित मानिस, घटना र कामकुराको कदर गर्ने सामर्थ्य छैन, तिनका बारेमा कुनै विचार वा दृष्टिकोणहरू छैनन्, र तैँले मूलतः सोचाइको स्तरसँग सम्बन्धित कुराहरू बोध गर्न सक्दैनस्, तँसित तिनको कदर गर्ने सामर्थ्य छैन र तिनको मूल्याङ्कन गर्ने सामर्थ्य त झनै छैन भने, यो भन्न सकिन्छ कि तँसित सत्यता बोध गर्ने सामर्थ्य छैन। यदि तँसित सत्यता बोध गर्ने सामर्थ्य छैन र तँ सत्यता बुझ्न सक्दैनस् भने, तैँले आफ्नो मानवतामा रहेका खोटहरू बदल्न र आफ्ना भ्रष्ट स्वभावहरू फाल्न के कुरा प्रयोग गर्नेछस्? यदि तँसित सत्यता बोध गर्ने सामर्थ्य छैन भने, तँलाई आफूसामु रहेको मामलामा कुन-कुन सत्यता सिद्धान्तहरू संलग्न छन् भनेर थाहा हुनेछैन। अवश्य पनि तँलाई तैँले कस्ता सत्यता सिद्धान्तहरू पालना गर्नुपर्छ भन्ने पनि थाहा हुनेछैन। त्यस अवस्थामा, तैँले अन्धाधुन्ध काम गर्नेछस्—कि त प्रावधानहरू पालना गर्नेछस्, कि धारणा र कल्पनाहरूका आधारमा कार्य गर्नेछस्, कि नत्र जथाभावी गलत कार्यहरू गर्नेछस्। सत्यता नबुझ्नाले यी परिणामहरू, यी प्रकटीकरणहरू निम्त्याउँछन्।
कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यका विषयमा कुरा गर्नुपर्दा, त्यो भ्रष्ट स्वभावहरू फाल्नका लागि सत्यता पछ्याउने मामलासँग सम्बन्धित नभए पनि, मानव जीवनकै सन्दर्भमा, यदि तैँले कामकुराको कदर गर्ने सामर्थ्य राख्दैनस् भने, तँसित तैँले देख्ने कुनै पनि कुराबारे कुनै दृष्टिकोण हुँदैन, न त वैचारिक तहमा कुनै राय नै हुन्छ—तँ हरेक कुरालाई यसरी हेर्छस् मानौँ तेरा आँखामा एक-पत्रे पट्टी लागेको छ, जसका कारण तैँले त्यहाँ कुनै समस्या छ भनी देख्न सक्दैनस्—र तँलाई पूरै घटनाक्रम वा संलग्न मानिस, घटना र कामकुराहरू मात्र थाहा छ, तर तँलाई समस्याको सार के हो, वा मानिसहरूका सम्बन्धित विचार दृष्टिकोणहरू के हुन् भन्ने कुरा थाहा छैन भने, यसले तँ कमजोर क्षमता भएको व्यक्ति भएको जनाउँछ। किनभने तँसित आफ्नो जीवनका सारा समस्याहरूका सम्बन्धमा कुनै पनि विचारहरू छैनन्। तँ वैचारिक तहमा समस्याहरूबारे विचार गर्न, सोच्न, वा तिनलाई परिभाषित गर्न जान्दैनस्। तँ आफ्नै उमेर, आफ्नो मानवताको परिपक्वता, वा विगतका आफ्ना अनुभवहरूका आधारमा कुनै कुरा वास्तवमा कस्तो किसिमको समस्या हो, तैँले त्यसबाट के सिक्नु र आत्मसात् गर्नुपर्छ, त्यसले तँमाथि कस्तो प्रभाव पार्छ, त्यसले तँलाई कस्ता पाठहरू सिकाउँछ, यस प्रकारको समस्यालाई तैँले कुन दृष्टिकोणबाट हेर्ने र सम्हाल्ने गर्नुपर्छ, वा फेरि यस्तो मामला सामना गर्नुपर्यो भने तैँले कसरी व्यवहार गर्नुपर्छ र के कुराबाट जोगिनुपर्छ भन्ने कुरा विचार गर्न जान्दैनस्। तँमा यी सबै चिन्तनहरू छैनन्। तँमाथि जेसुकै आइपरे पनि, तँ जनावर जतिकै बोधो छस् र तँसित कुनै दृष्टिकोण छैन। तँ जतिसुकै उमेरसम्म बाँचे पनि वा तैँले जतिसुकै अनुभव बटुलेको भए पनि, तँ अझै समस्याहरूबारे सोच्न जान्दैनस्। तँ विभिन्न पक्षहरूका समस्याहरूमाथि चिन्तन गर्नका निम्ति विगतका आफ्नै अनुभवहरू, आफ्नो ज्ञान, र आफूले सिकेका कुरालाई प्रयोग गर्न जान्दैनस्। यस्ता मानिसहरू कमजोर क्षमता भएकाहरू हुन्। कमजोर क्षमता भएका मानिसहरू सत्यतामा प्रवेश गर्ने त परै जाओस्—दैनिक जीवनका सानातिना कुरामा समेत तिनीहरू कुनै पनि ढाँचा निकाल्न सक्दैनन्। तिनीहरू चालीस-पचास वा सत्तरी-असी वर्षसम्म बाँचे पनि कुनै पनि अनुभवहरू बाँड्न नसक्ने अन्योलग्रस्त मानिस नै रहन्छन्। त्यस्ता व्यक्तिहरू मन्द बुद्धिका मानिस हुन्, जोसँग कुनै विचार हुँदैन। तिनीहरूको क्षमता कमजोर हुने र तिनीहरूमा कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य नहुने भएकाले, त्यस्ता मानिसहरू जति वर्षसम्म बाँचे पनि, तिनीहरूले कहिल्यै कुनै पनि कुरालाई वैचारिक तहमा हेर्दैनन्। तिनीहरू कामकुरालाई कसरी हेर्ने भनी जान्दैनन् र कुनै पनि कुरा छर्लङ्गै देख्न सक्दैनन्। त्यसकारण, कसैको क्षमता, विशेषगरी उसमा कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य छ कि छैन भनी लेखाजोखा गर्दा, उसको उमेर वा उसका विगतका अनुभवहरू नहेर्। त्यसको सट्टामा, तैँले के हेर्नुपर्छ? (हामीले ऊसँग विचारहरू छन् कि छैनन् भनेर हेर्नुपर्छ।) भन्नुको मतलब, चालीस वा पचास वर्षसम्म विभिन्न मानिस, घटना र कामकुराहरू अनुभव गरिसकेपछि उसले वैचारिक तहमा कुनै व्यक्तिगत बुझाइ प्राप्त गरेको छ कि छैन, साथै उसका विगतका अनुभवहरूमा मानव जीवनको मूल्य, मानिसहरूले लिने मार्ग, वा मानव सोचाइको गहिराइ र तिनीहरूको आत्मिक संसारसँग सम्बन्धित कुराहरू समावेश छन् कि छैनन् भन्ने कुरा हेर्नुपर्छ। यदि उसका अनुभवहरू निश्चित मामलाहरूसँग मात्र सम्बन्धित छन् र तिनमा वैचारिक तहका कुराहरू समावेश छैनन् भने, उसले कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य राख्दैन। उदाहरणका लागि, कतिपय मानिसहरू प्रायः यसो भन्छन्, “हाम्रो पुस्तामा, हामीलाई हातमुख जोड्न धौधौ पर्थ्यो। राम्रो कुरा खान पाउनु सजिलो थिएन; हामीले नयाँ वर्षमा वा अन्य चाडपर्वमा मात्र केही मासु खान सक्थ्यौँ। हाम्रो पुस्ताका मानिसहरू अत्यन्तै सरल र निष्कपट हुन्थे, र हामी अत्यन्तै साधारण लुगा लगाउँथ्यौँ।” तिनीहरू यस्तै कुरा गरिरहन्छन्। त्यसमा अरूले यसो भन्छन्, “तिमीहरूको पुस्ता किन त्यस्तो सम्झन लायक छ? के त्यस्ता कुनै कुराहरू छन्, जसबाट हामी युवाहरूले सिक्न सकौँ र जसका बारेमा हामीले वैचारिक तहमा कुराकानी गर्न सकौँ?” तिनीहरू यस्तो जबाफ दिन्छन्, “हाम्रो पालामा, जब हामी लडाइँ गर्न युद्धभूमिमा जान्थ्यौँ, हामी दिनौँसम्म सुत्दैनथ्यौँ किनभने हामी निरन्तर अघि बढिरहनुपर्थ्यो। कहिलेकाहीँ त हामीले दिनभरि एक छाक खाना पनि खान पाउँदैनथ्यौँ। जब हामी क्याम्पमा पुग्थ्यौँ, नयाँ भर्ती भएकाहरू सिधै सुत्न जान्थे, तर हामी पुराना सैनिकहरू पहिले खाना खाएर त्यसपछि सुत्न जान्थ्यौँ। नत्र, खाना खाने समय सकिएपछि हामीले फेरि यात्रा गर्नुपर्थ्यो, र हामी बाटोमा भोकै हुनेथियौँ।” अरूले भन्छन्, “यो त एउटा घटना मात्र हो; यो वैचारिक तहको कुरामा गनिँदैन। हामी युवाहरूले सिक्नलायक केही कुरा सुनाऊ, अथवा केही पाठहरू सुनाऊ, जसले हामीलाई घुमाउरो बाटो नअपनाउन र मूर्खताका कारण गल्तीहरू नगर्न वा निम्न स्तरका भुलचुक नगर्न मदत गर्न सकून्।” तिनीहरू भन्छन्, “त्यस समयमा, हामी आजकालका अल्छी, घिचुवा, र सहजता मन पराउने तर कामलाई घृणा गर्ने युवाहरू जस्ता थिएनौँ। त्यस बेलामा, हामी अझ बढी कठिनाइ सहन, अझ बढी काम गर्न, र राम्रो कार्यप्रदर्शन गर्न मात्र चाहन्थ्यौँ, ताकि हामीले हाम्रा अगुवाहरूको ध्यान आकर्षित गर्न र बढुवा पाउन सकौँ।” के यी शब्दहरूमा वैचारिक तहको केही कुरा छ? (छैन।) यो सुनेपछि, के तँलाई यी कुनै आत्मिक गुरुका शब्द हुन्, गैरविश्वासीहरूले भन्ने गरेका प्रेरणादायी कुरा हुन् भन्ने महसुस हुन्छ? के यसले तेरो सोचलाई फराकिलो बनाउने, तेरो सोचाइको स्तर बढाउने, कामकुराबारे तेरो संज्ञानात्मक सामर्थ्य बढाउने, वा तँलाई केही नयाँ कुरा वा तैँले यसअघि कहिल्यै नसोचेका सही विचार र दृष्टिकोणहरू पत्ता लगाउन मदत गर्ने गर्छ? (गर्दैन।) त्यसोभए के त्यस्ता मानिसहरूसँग कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य हुन्छ? तैँले तिनीहरूलाई वैचारिक तहसँग सम्बन्धित मामलाहरूबारे जसरी सोधे पनि, तिनीहरूबाट केही पनि पाउनेछैनस्। वास्तवमा तिनीहरू बोल्न अनिच्छुक भएको होइन; यति मात्र हो कि तिनीहरूभित्र केही पनि हुँदैन। कमजोर क्षमता हुनु भनेको यही हो। तिनीहरूको उमेर पचास वा साठी वर्ष पुग्दा पनि तिनीहरूसित कुनै विचार वा दृष्टिकोणहरू हुँदैनन्; तिनीहरू यसरी नै अल्याङटल्याङ गर्दै जीवन बिताउँछन्। तिनीहरूलाई थाहै हुँदैन कि जिउनु भनेको भावी अवसरहरू, असल परिवार, राम्रो जागिर, वा राम्रो जीवन पछ्याउनु मात्र होइन, बरु वैचारिक तहका त्यस्ता मामलाहरू पनि छन्, जसलाई हृदयको गहिराइमा चिन्तन, मनन, र निरन्तर मन्थन गर्न आवश्यक हुन्छ। तिनीहरूलाई मानव जीवनको मार्गमा मानिसहरूले धेरै अज्ञात कुराहरूको सामना गर्नेछन् भन्ने कुरा थाहै हुँदैन, न त तिनीहरूले त्यसलाई कसरी सामना गर्नुपर्छ भन्ने नै थाहा हुन्छ। जब तिनीहरूमाथि केही पनि आइपरेको हुँदैन, तिनीहरू घुमाउरो बाटो नहिँड्न वा गलत मार्गमा नजान अग्रिम रूपमा सोच्ने वा मनन गर्ने गर्दैनन्। तिनीहरूले अनुभव गरेका केही कुराहरूमा तिनीहरूले किन निश्चित तरिकाले व्यवहार गरे, त्यसरी व्यवहार गर्नु ठीक थियो कि बेठीक, वा खुसीसाथ जिउन, शान्त मनले जिउन, र व्यर्थको नभई मूल्यवान् जीवन जिउन तिनीहरू अगाडिको बाटोमा कसरी हिँड्नुपर्छ भन्ने पनि तिनीहरूलाई थाहा हुँदैन। त्यस्ता मानिसहरूमा कमजोर क्षमता हुने भएकाले तिनीहरू यी मामलाहरूबारे सोच्दैनन्। जब यी मानिसहरू साठी वर्षका हुन्छन्, तिनीहरू केवल विगतलाई सम्झिँदै बस्छन्, र यसो भन्छन्, “म जवान छँदा सुन्दर र प्रतिभाशाली थिएँ; धेरै मानिसहरू मेरा पछि लाग्थे! आह, जवानीमा…।” तिनीहरू जहिले पनि आफ्ना गौरवमय दिनहरूका कथाहरू मात्र सुनाउँछन्, ती कुरा जुन उल्लेख गर्न लायक पनि हुँदैनन्। कमजोर क्षमता भएका मानिसहरू जति वर्षसम्म बाँचे पनि मानव जीवन, मानिसहरूले लिने मार्ग, वा मानिसहरूले जिउनुपर्ने तरिकासँग सम्बन्धित मामलाहरूबारे सोच्दैनन्। तिनीहरू मानिसहरूले विभिन्न मामलाहरू सम्हाल्ने क्रममा कस्ता प्रकारका दृष्टिकोणहरू अपनाउनुपर्छ भन्नेबारे सोच्दैनन्। फलस्वरूप, तिनीहरू जसरी जिए पनि तिनीहरूको सोचाइको स्तरमा सुधार आउनेछैन, तिनीहरूका विचारमा गहनता हुनेछैन, तिनीहरूको आत्मिक संसार दरिद्र रहनेछ, र तिनीहरूले साँचो जीवन अनुभव पाउनेछैनन्। कमजोर क्षमता हुनु भनेको यही हो। त्यस्ता मानिसहरूसँग अन्तरक्रिया गर्दा, बिस वर्षको उमेरमा, तिनीहरू अत्यन्तै बचकाना र सरल हुन्छन्, तिनीहरू आवेगी र अत्यन्तै रिसाहा हुन्छन्। तिनीहरू तीस वर्ष पुगेपछि पनि त्यस्तै खराब हुन्छन्। पचास वर्षको उमेरमा, तिनीहरूको बोल्ने तरिका उही स्तरको हुन्छ—तिनीहरूले थोरै सरल वाक्यांशहरू मात्र भन्न जानेका हुन्छन्। तिनीहरूको मुहारमा अझ धेरै चाउरीपना र बुढ्यौलीका दागहरू हुन्छन्, र तिनीहरूको कपाल झन् धेरै फुलेको हुन्छ। तिनीहरूको उमेर ढल्केको प्रस्टै हुन्छ, तर तिनीहरूसँग कुनै विचार वा दृष्टिकोणहरू हुँदैनन्। अरूसँग कुराकानी गर्दा, तिनीहरूसँग भन्नलाई कहिल्यै केही पनि हुँदैन। तिनीहरूको जीवनको यतिका वर्ष खेर गएका हुन्छन्, र तिनीहरूले कुनै प्रगति गरेका हुँदैनन्। कमजोर क्षमता भएका मानिसहरू जीवनमा यस्तै हुन्छन्, र यदि तिनीहरू परमेश्वरमा विश्वास गर्छन् भने, तिनीहरूका प्रकटीकरणहरू सुरुदेखि अन्त्यसम्म उस्तै हुन्छन्। उमेरमा बिसका दशकमा पहिलो पटक परमेश्वरमा विश्वास गर्दा तिनीहरू यस्तै हुन्छन्। तीस वा पचास वर्ष पुग्दा पनि तिनीहरू अझै यस्तै हुन्छन्, तिनीहरूले बिलकुलै प्रगति हासिल गरेका हुँदैनन्। तिनीहरू अझै पनि पहिलेकै जस्तै कुरा गर्छन्। यति मात्र हो कि तिनीहरूले परमेश्वरमा विश्वास गर्ने क्रममा केही कुराहरू अनुभव गरेका हुन्छन्, केही शब्द र धर्मसिद्धान्तहरू बुझेका हुन्छन्, र तिनीहरूले आत्मिक शब्दावलीहरू अझ पूर्ण रूपमा बोल्न सक्छन्। तर, तिनीहरूसँग कुनै वास्तविक अनुभवात्मक बुझाइ हुँदैन। तिनीहरूका विचारहरूमा अझै पनि गहनता हुँदैन, कामकुराबारे तिनीहरूका दृष्टिकोणहरू बदलिएका हुँदैनन्, परमेश्वर र सत्यतासम्बन्धी तिनीहरूको ज्ञान बढेको हुँदैन, र तिनीहरूको आत्मज्ञान वृद्धि भएको हुँदैन। तिनीहरूमा कुनै परिवर्तन आएको हुँदैन, होइन त? (हो।) स्मरण गरेर वा समयको प्रभावमार्फत केही शब्द र धर्मसिद्धान्तहरू वा आत्मिक शब्दावलीहरू सञ्चित गर्नु परिवर्तन होइन, त्यो प्रगति होइन, र त्यो पक्कै पनि प्राप्ति होइन। कमजोर क्षमता भएका मानिसहरूको प्रकटीकरण ठ्याक्कै यही हो। तिनीहरूले जति ठूला उतारचढावहरू भोगे पनि, वा जतिसुकै झट्का, असफलता, वा कुण्ठाहरू अनुभव गरे पनि, तिनीहरूले कुनै पाठ सिक्दैनन् वा कुनै अनुभव हासिल गर्दैनन्, र लाभदायक कुरा केही पनि प्राप्त गर्न सक्दैनन्। एक पटक कुनै कुरा समाप्त भएपछि, तिनीहरूका लागि त्यो पूरै समाप्त भएको हुन्छ—तिनीहरूले प्रक्रिया मात्र पूरा गर्छन् र अन्त्यमा केही पनि हासिल गर्दैनन्। यस्ता मानिसहरूलाई अत्यन्तै दयनीय भनेर वर्णन गर्न सकिन्छ। त्यस्ता मानिसहरूमा कामकुराको मूल्याङ्कन र कदर गर्ने क्षमता नहुने भएका कारणले नै हामी तिनीहरूमा अत्यन्तै कमजोर सामर्थ्य हुन्छ भनेर भन्छौँ। तिनीहरूमा सत्यता बुझ्ने सामर्थ्य हुन्छ भनेर त झन् भन्नै मिल्दैन, न त तिनीहरूमा कुनै परिवर्तन आएको छ भनेर नै भन्न मिल्छ।
कमजोर क्षमता भएका मानिसहरूका हकमा भन्नुपर्दा, कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यका हिसाबले, तिनीहरू योग्य हुँदैनन्। क्षमता नै नभएकाहरूको कुरा गर्नुपर्दा, तिनीहरूमा कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य झनै हुँदैन—तिनीहरू कामकुराको कदर गर्न सक्दैनन्, र तिनको मूल्याङ्कन गर्न त झनै सक्दैनन्। जब तैँले केही कुराबारे आफ्ना विचार र दृष्टिकोणहरू राख्छस्, तब कमजोर क्षमता भएका मानिसहरू त्यो सुनेर स्तब्ध हुन्छन् र कुनै प्रतिक्रिया देखाउँदैनन्। हृदयमा तिनीहरू यस्तो सोच्छन्, “यसमा विचार र दृष्टिकोणहरू छन् रे? मैले यो कुरा किन नबुझेको त?” तिनीहरूले तेरो कुरा थोरै बुझ्न सक्ने भए पनि, तिनीहरूले त्यसलाई शब्द र धर्मसिद्धान्त वा सूत्रका रूपमा मात्र सुन्न सक्छन्। जहाँसम्म क्षमता नै नभएका मानिसहरूको कुरा छ, जब तिनीहरूले केही कुराभित्रका विचार र दृष्टिकोणहरू, वा समस्याको सार र त्यस सम्बन्धमा मानिसहरूले लिनुपर्ने अडानबारे अरूले सङ्गति गरेको सुन्छन्, तिनीहरूले त्यो बुझ्नै सक्दैनन्। तिनीहरूलाई त्यो कुरा अलि गहन छ भन्ने मात्र लाग्छ, तर त्यो तिनीहरूले बुझ्नै नसक्ने हुन्छ। तैँले विचार र बुझाइबारे जति बढी सङ्गति गर्छस्, तिनीहरू उति बढी अलमलमा पर्छन्। तिनीहरू यस्तो महसुस गर्छन्, “यो साधारण मामला कसरी जटिल बन्यो? मैले किन विचार, दृष्टिकोण, वा अडानहरूबारे केही पनि बुझ्न नसकेको? कस्तो अडान? हामीले केवल परमेश्वरमा राम्ररी विश्वास र आफ्ना कर्तव्य राम्ररी पूरा गरे मात्र पुग्छ, त्यसपछि परमेश्वरले अनुमोदन गर्नुहुनेछ। किन कसैले जति लामो समयसम्म परमेश्वरमा विश्वास गर्छ, त्यति नै कुरा झन् जटिल बन्छ? तपाईँको कुरा सुन्दा त राज्यमा कोही पनि प्रवेश गर्न सक्दैन जस्तो लाग्यो!” के तँ त्यस्ता मानिसहरूसँग कुराकानी गर्न सक्छस्? (सक्दिनँ।) तैँले तिनीहरूसँग कुराकानी गर्न नसक्ने मात्र होइन, तिनीहरूले केही अविवेकी कुराहरू पनि भन्न सक्छन्: “के तपाईँले उल्लेख गर्नुभएका ती विचार र दृष्टिकोणहरू वास्तवमै अत्यन्तै राम्रा र अत्यन्तै सही छन्? मलाई त त्यस्तो लाग्दैन! मानिसहरू कहिल्यै पैसाविना रहन सक्दैनन्। मानिसहरूलाई जहिले पनि राम्रो खानु र राम्रा कुराहरू उपभोग गर्नुपर्छ। खर्च गर्नका लागि पैसा र खानका लागि राम्रो खाना छैन भने, कसैले आफ्नो कर्तव्य कसरी पूरा गर्न सक्छ?” यो कस्तो खालको तर्क हो? तिनीहरू यसो भन्छन्, “तपाईँ सधैँ मानव जीवनबारे, मानिसका मूल्य, विचार, र दृष्टिकोणहरू अनि मानिसहरूले लिने मार्गबारे कुरा गरिरहनुहुन्छ। तपाईँ किन खाने र लाउनेबारे कुरा गर्नुहुन्न? तपाईँ किन आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सकियोस् भन्नका लागि कसरी आफ्नो शरीरको ख्याल राख्ने भन्नेबारे कुरा गर्नुहुन्न?” तिनीहरू यी कुराहरूबारे सोचिरहेका हुन्छन्—के तिनीहरूले अझै पनि सत्यता बुझ्न सक्छन्? तैँले यस्ता मानिसहरूसँग कुराकानी गर्न सक्दै सक्दैनस्। जब तैँले तिनीहरूसँग कुरा गर्ने प्रयास गर्छस्, तिनीहरू पैसा कमाउने बारेमा मात्र कुरा गर्छन्। तिनीहरू पैसा कमाउने, आफ्नो जीवन जिउने, संसार पछ्याउने, र खाँदै, पिउँदै र रमाउँदै जीवन बिताउने कुरालाई मानव जीवनका ठूला मामलाहरू र मानिसहरूले जीवनमा हिँड्नुपर्ने मार्गका रूपमा लिन्छन्। जहाँसम्म मानिसहरूले परमेश्वरमा विश्वास गरेर पछ्याउनु र प्राप्त गर्नुपर्ने चीजको कुरा छ, यी कुराहरू त तिनीहरूका विचार वा चेतनामा नै हुँदैनन्। तिनीहरू विश्वास गर्छन् कि मानिसहरूले परमेश्वरमा जति वर्ष विश्वास गरे पनि, तिनीहरूले अझै पनि खानु र जिउनु नै पर्छ, र पैसाविना राम्रोसँग जिउनु सम्भव नै हुँदैन—पैसा हुनु भनेको राम्रो जीवन हुनु हो, र पैसा छैन भने जीवन चल्न सक्दैन। यो नै तिनीहरूको तर्क हो; त्यस्ता मानिसहरूमा विकृति आउने सम्भावना हुन्छ। विकृति आउने सम्भावना भएका मानिसहरूमा सही विचार वा दृष्टिकोणहरू हुँदैनन्; तिनीहरू प्राणविनाका मानिस जस्तै हुन्। त्यस्ता मानिसहरूको जीवन र सुँगुर वा कुकुरको जीवनबीच के भिन्नता छ? (कुनै भिन्नता छैन।) यदि तैँले एउटा कुकुर वा बिरालोलाई आज्ञाकारी बनाउन र अनुशासित बच्चा जस्तो व्यवहार गराउनका लागि शिक्षा दिने कोसिस गरिस् भने, के त्यसले बुझ्न सक्छ? (सक्दैन।) एउटा कुकुरले बढीमा के बुझ्न सक्छ? यदि तैँले त्यसलाई “बस्” भनिस् र त्यसपछि एक टुक्रा मासु दिइस् भने, त्यसलाई याद हुनेछ। त्यसपछि, तैँले “बस्” भन्नेबित्तिकै, चाहे त्यो जतिसुकै टाढा होस्, त्यो तुरुन्तै भुइँमा बस्छ र तैँले मासु दिन्छस् कि भनेर पर्खन्छ। कुकुरले यो यान्त्रिक कार्य सम्झन सक्छ; यदि तैँले त्यसलाई भुइँमा बस्दा इनाम पाइन्छ भन्ने थाहा दिइस् भने, त्यसले आज्ञापालन गर्नेछ। त्यसका सोचाइहरू त्यति सामान्य हुन्छन्। त्यसोभए, क्षमता नभएका मानिसहरूको र जनावरहरूको सोचाइबीच कति ठूलो भिन्नता हुन्छ? (उल्लेखनीय भिन्नता हुँदैन।) हरेक दिन खाना खाइसकेपछि जनावरहरू बाहिर खेल्न जान्छन्। जब फेरि खाने समय आउँछ र तैँले तिनीहरूलाई बोलाउँछस्, तब तिनीहरू तुरुन्तै दौडेर आउँछन्। चाहे तैँले तिनीहरूलाई बाँधेर राख् वा भुइँमा बस्न लगा, तिनीहरूले मान्नेछन्। त्यस्तो किन हुन्छ? किनकि तिनीहरूले खाना खान पाउँछन्। त्यो थोरै खानाका निम्ति तिनीहरू खुसीसाथ तेरा आदेशहरू पालन गर्न तयार हुन्छन्। जनावरहरूको सोचाइ यति सामान्य हुन्छ। तिनीहरूका लागि, आफूलाई फाइदा हुने कुनै प्रावधान वा सूत्र पालना गर्नु नै पर्याप्त हुन्छ; तिनीहरू अरू धेरै कुरा सोच्दैनन्। परमेश्वरले जनावरहरूलाई दिने जन्मजात प्रवृत्तिहरू यी कुराहरूमै सीमित हुन्छन्, जुन तिनीहरूको अस्तित्व टिकाइराख्न पर्याप्त हुन्छ, र परमेश्वरले तिनीहरूलाई कुनै आज्ञा गर्नुभएको हुँदैन, त्यसैले जनावरहरूले जीवन, भविष्य, आफ्नो गन्तव्य, वा आफ्ना जिम्मेवारी र दायित्वहरूको ख्याल गर्नुपर्दैन। तिनीहरूले कुन मार्ग लिने भन्नेबारे वा अर्थपूर्ण जीवन पछ्याउने, आदि कुराहरूको पनि ख्याल गर्नुपर्दैन। तर मानिसहरू फरक हुन्छन्। परमेश्वरले मानिसहरूलाई विभिन्न जन्मजात प्रवृत्तिहरू प्रदान गर्नुभएको छ र तिनीहरूको जीवनका रूपमा सत्यता पनि प्रदान गर्नुभएको छ। त्यसकारण, परमेश्वरसित मानिसहरूका लागि माग गरिएका मानकहरू हुन्छन्। तसर्थ, मानिसहरूले यी मामलाहरूबारे सोचविचार गर्नुपर्छ; यसो गर्नु मात्र तिनीहरूले जीवनका रूपमा सत्यता प्राप्त गर्नका लागि लाभदायी हुन्छ। यो मानिसहरूले लिनुपर्ने जिम्मेवारी र दायित्व हो, र यो अवश्यै तिनीहरूको अधिकार पनि हो। तर यदि तैँले यो अधिकार अभ्यास गर्न सक्दैनस् वा तँसित समस्याहरूबारे सोच्ने यो सामर्थ्य छैन भने, यसले तेरो क्षमता निकै कमजोर छ भन्ने प्रमाणित गर्छ। मानवहरूको तहका जीवित प्राणीहरूमध्ये तँ कमजोर क्षमता भएकाहरूको श्रेणीमा पर्छस्। तँ आफैले सोच्न सक्दैनस्, र अरूले तँलाई कामकुराहरू बुझाउँदा पनि तँ बुझ्न सक्दैनस्। अझ गम्भीर अवस्थामा त तँ अरूलाई प्रतिरोध, गिल्ला, उपहास, वा आलोचना समेत गर्छस्। यदि तेरो क्षमता यो हदसम्म कमजोर छ भने, त्यसको अर्थ तँसित कुनै क्षमता छँदै छैन भन्ने हुन्छ। उदाहरणका लागि, क्षमताविनाको व्यक्तिले एउटा अनुभवात्मक गवाही लेख पढ्छ, र तैँले उसलाई सोध्छस्, “के यो लेख राम्रो छ?” उसले भन्छ, “यो निकै राम्रो छ। प्रत्येक अनुच्छेद सही तरिकाले छुट्याइएको छ, र विरामचिह्न धेरैजसो सही छ। पहिलो अनुच्छेदले समय र स्थानको व्याख्या गर्छ, दोस्रो अनुच्छेदले पात्रहरूको पृष्ठभूमिको व्याख्या गर्छ, तेस्रो अनुच्छेदले कथाको सिलसिला वर्णन गर्न थाल्छ, र त्यसपछि त्यो उत्कर्ष र निष्कर्षतर्फ अघि बढ्छ।” यदि तैँले त्यसपछि उसलाई लेखकका विचार र दृष्टिकोणहरू के हुन् भनेर सोधिस् भने, उसले भन्छ, “विचार र दृष्टिकोणहरू छन् र? लेखकले उद्धृत गरेका परमेश्वरका वचनहरूको खण्डले उसका विचार र दृष्टिकोणहरू व्यक्त गर्छ।” तैँले सोध्छस्, “के उसले उद्धृत गरेका परमेश्वरका वचनहरू सान्दर्भिक छन्? के उसले व्यक्त गर्न चाहेका विचार र दृष्टिकोणहरू सही छन्?” उसले थाहा छैन भन्छ। त्यसपछि तैँले यस्ता प्रश्नहरू सोध्छस्, “के लेखकले बाँडेको बुझाइ साँचो र व्यावहारिक छ? के उसले बुझेको कुरा धर्मसिद्धान्त हो, कि त्यो वास्तविकताको नजिक छ? के यसले अरूको आत्मिक उन्नति गराउँछ वा तिनीहरूका लागि यसको मूल्य छ? के यसले पाठकहरूलाई सहयोग वा लाभ प्रदान गर्छ?” उसलाई यीमध्ये केही पनि थाहा हुँदैन र उसले यो बुझ्न सक्दैन। निकै कमजोर क्षमता हुनु भनेको यही हो। यदि तैँले ऊसँग लेखमा भएका विचार र दृष्टिकोणहरूका त्रुटिहरूबारे, कुन-कुन भाग व्यावहारिक छन् र कुन-कुन छैनन् भन्नेबारे सङ्गति गरिस् भने, उसलाई अझै पनि थाहा हुँदैन र उसले त्यसलाई लेखसँग जोड्न सक्दैन। के यसले क्षमताको कमी देखाउँछ? (देखाउँछ।) भएका समस्याहरूबारे अरूले सङ्गति गर्दा पनि उसलाई अझै थाहा हुँदैन। के यसले क्षमताको कमी देखाउँदैन र? यो कतिपय मण्डली अगुवाहरू जस्तै हो: जब दुष्ट मानिस वा अविश्वासीहरू मण्डलीमा देखा पर्छन्, उनीहरूलाई कसरी तह लगाउने भनेर तिनीहरूलाई थाहा हुँदैन। तैँले तिनीहरूसँग सत्यता सिद्धान्तहरू सङ्गति गरेपछि, तिनीहरूले बुझ्दैनन् र तँलाई उदाहरण दिन लगाउँछन्। तैँले एउटा उदाहरण दिएपछि, तिनीहरूले अझै पनि उनीहरूलाई तह लगाउन जान्दैनन्। तिनीहरू यसो भन्छन्, “कृपया मलाई सिकाउनुहोस्। म त्यो व्यक्तिलाई ठ्याक्कै कसरी तह लगाऊँ? के म उसलाई साधारण मण्डलीमा राखूँ, समूह ‘ख’ मा राखूँ, कि निकालूँ? म त्यो व्यक्तिसँग कसरी सङ्गति गरूँ? कृपया मलाई एक-एक शब्द बुझाउनुस्। म त्यो रेकर्ड गर्नेछु र त्यसपछि त्यसलाई हुबहु पालना गरेर परिस्थितिलाई सम्हाल्नेछु—त्यसरी म गर्न सक्छु।” तिनीहरू नै यस्ता भएपछि तिनीहरूसँग सिद्धान्तहरू सङ्गति गर्नुको के अर्थ? तैँले उदाहरणहरू दिँदा पनि तिनीहरूले बुझ्दैनन् र मामलालाई सम्हाल्न सक्दैनन्। त्यस्ता मानिसहरूमा बोध सामर्थ्य हुँदै हुँदैन। अन्त्यमा, तिनीहरू अझै सोध्छन्, “भन्नुस्, यो वर्तमान समस्याबारे मैले के गर्नुपर्छ, अनि म गरिहाल्छु।” तैँले तिनीहरूलाई उक्त मामला सम्हाल्न कहाँ जाने, त्यो काम फत्ते गर्न कसलाई के भन्ने, र त्यो मामलालाई कुन हदसम्म सम्हालेपछि त्यसलाई पूर्ण रूपमा समाधान भएको मानिन्छ भनेर भन्छस्। तैँले बुझाइसकेपछि, तिनीहरूले बुझेजस्तो देखिन्छ, तर तिनीहरूले अझै पनि त्यसलाई सम्हाल्न सक्दैनन्, र त्यो पूरा गर्न तैँले तिनीहरूसँग सहकार्य गर्ने कोही खोज्नुपर्छ। त्यस्ता मानिसहरू साह्रै मन्द बुद्धिका हुन्छन् र तिनीहरूसँग क्षमता हुँदैन। उदाहरणका लागि, मानौँ तैँले नृत्य सिक्दै गरेका मानिसहरूलाई कुनै निश्चित नृत्यका चालहरू निकै राम्रा छन् भनेर भन्छस् र तिनीहरूलाई ती सिक्नका लागि एउटा भिडियो देखाउँछस्। केही दिनपछि, जब तैँले तिनीहरूलाई कति प्रगति भयो भनेर सोध्छस्, केही मन्द बुद्धिका मानिसहरूले कुन चालहरू राम्रा हुन् भनी चिन्न सकिनँ भनेर भन्नेछन्। तिनीहरूसँग शिक्षण सामग्रीहरू भए पनि तिनीहरूले त्यो सिक्न सक्दैनन्। तिनीहरूले कुन चालहरू राम्रा छन् वा कुन चालहरू उपयोगी छन् भनेर थाहा पाउँदैनन्, र तिनीहरू छान्न जान्दैनन्। तिनीहरूले अन्त्यमा के गर्छन्? तिनीहरूले एउटा जुक्ती लाउँछन्; तिनीहरू यसो भन्छन्, “सिक्नका लागि मलाई केही नृत्य चालहरू छानिदिनुहोस्, अनि म तिनलाई पछ्याउँछु—कुरै सकिन्छ।” तिनीहरूसँग यस्तो सीप हुन्छ; तिनीहरूले सिद्धान्तहरू त बुझ्दैनन्, तर तिनीहरूमा थोरै भए पनि चतुराइ हुन्छ। के तिनीहरू ठ्याक्कै यन्त्रमानव जस्तै होइनन् र? तिनीहरूसँग ज्ञान र शिक्षा होला, तर तिनीहरूमा कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य हुँदैन—क्षमता नहुनु भनेको यही नै हो। तिनीहरूलाई तैँले सिक्न भनेको कुरा किन सिक्नुपर्छ भन्ने थाहा हुँदैन। तैँले तिनीहरूलाई जे कुरा नसिक्न भन्छस्, तिनीहरूलाई ती कुरामा के समस्या छ वा तिनीहरूले ती किन सिक्नु हुँदैन भन्ने थाहा हुँदैन। बताइसकेपछि पनि तिनीहरूले त्यो अझै देख्न सक्दैनन्। ल भन्, के त्यस्ता मानिसहरूमा क्षमता हुन्छ? (हुँदैन।) कामकुराबारे संज्ञानात्मक सामर्थ्य नहुनु, र स्वतन्त्र रूपले सही र गलतको परख गर्ने र तजबिज गर्ने सामर्थ्य नहुनु—कुनै क्षमता नहुनु भनेको यही हो। गाईवस्तु वा घोडालाई जस्तै तिनीहरूलाई पनि डोर्याउन सधैँ कोही न कोही चाहिन्छ—त्यसोभए, के तिनीहरू साधन मात्र होइनन् र? यदि तँसित क्षमता भएको भए, के तँलाई अझै पनि कसैले डोर्याउनुपर्थ्यो र? त्यसोभए, तेरो दिमाग केका लागि हो? तेरो दिमागको काम छैन। किटेरै भन्नुपर्दा, तँसित कुनै क्षमता छैन। तैँले अरूका कुरा सुन्नुपर्छ र तँ तिनीहरूद्वारा डोर्याइनुपर्छ—तँ एउटा साधन मात्र होस्। यस्ता मानिसहरूले जति लामो समयसम्म कुनै निश्चित पेसा अध्ययन गरे पनि वा तिनीहरूले त्यससँग सम्बन्धित जतिसुकै सिद्धान्तहरू सुने पनि, तिनीहरूले अझै ती बुझ्न वा बोध गर्न सक्दैनन्। अन्त्यमा, तिनीहरूले यी सिद्धान्तहरू लागु वा कार्यान्वयन गर्न जान्दैनन्। यिनीहरू सबैभन्दा कमजोर क्षमता भएका मानिस हुन्—जसमा कुनै क्षमता हुँदैन। कतिपय मानिस भन्छन्, “तिनीहरूमा कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य छैन र तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा सधैँ तिम्रो अगुवाइ पछ्याउँछन् भन्दैमा त्यसको अर्थ तिनीहरूमा कमजोर क्षमता छ भन्ने नसोच्नू। वास्तवमा, तिनीहरूमा सत्यता बुझ्ने सवालमा मात्र क्षमता नभएको हो। जब तिनीहरूका आफ्नै हितसम्बन्धी मामलाहरूको कुरा आउँछ, तिनीहरू सधैँ आफूलाई घाटा हुनबाट जोगिनका लागि भएभरका उपायहरू सोच्छन्। यी कुराहरूमा तिनीहरू तेजिला हुन्छन्—तिनीहरू पक्कै पनि मन्द बुद्धिका मानिस होइनन्। मण्डलीमा, तिनीहरू मन्द बुद्धिका जस्ता देखिन्छन्, तर यदि तिनीहरू संसारमा फर्कने हो भने, तिनीहरू मन्द बुद्धिका हुनेथिएनन्। तिनीहरूलाई रमाइलो लाग्ने कुरामा, तिनीहरूसँग विचारहरू हुन्छन् र तिनीहरूले कृतिहरू सिर्जना गरेका हुन्छन्; सायद तिनीहरूले केही सफलता प्राप्त गर्न सक्छन्।” मण्डलीमा त्यस्ता मानिसहरू पनि छन्, जसले लापरवाह दुष्कर्महरू गर्छन्, र सबैले तिनीहरूमा कमजोर क्षमता छ भन्छन्, तर तिनीहरू आफै विश्वस्त हुँदैनन्: “तिमी ममा कमजोर क्षमता छ भन्छौ, तर यदि म गैरविश्वासी संसारमा हुन्थेँ भने, म अझै पनि पैसा कमाउन र जीविका चलाउन सक्थेँ। म अझै पनि फस्टाउन सक्थेँ—मैले अरूले भन्दा नराम्रो गर्नेथिएँ भन्ने निश्चित छैन!” के गैरविश्वासी संसारले सबथोक सत्यता सिद्धान्तहरूद्वारा मापन गर्छ? के त्यो जगका रूपमा परमेश्वरका वचनहरूमा भर पर्छ? यदि पर्दैन भने, तिनीहरूका सिर्जित कृतिहरू गैरविश्वासी संसारमा मान्य हुन सके भने पनि, यसले तिनीहरूमा क्षमता छ भन्ने प्रमाणित गर्दैन। उदाहरणका लागि, कतिपय मानिसहरूले चित्र बनाउँछन्, र पहिलो नजरमा, रङ्ग, संरचना, प्रकाश, आकृतिहरूको अनुपात, र तिनीहरूको चित्रका अन्य पक्षहरू निकै राम्रा देखिन्छन्। तर, जब तिनीहरूले परमेश्वरका घरमा केही प्राचीन सन्तहरूको चित्र बनाउँछन्, तब समस्याहरू उत्पन्न हुन्छन्। म भन्छु, “यो चित्रकारका कृतिहरू गैरविश्वासीहरूमाझ धेरै बिक्री हुने गर्थे, र मानिसहरूले तिनको प्रशंसा गर्थे। तर मलाई किन उसले गरेका अब्राहाम, अय्यूब, र नोआका चित्रणहरू अनौठा लाग्छन्? फरक-फरक युगका यी तीन जना मानिसहरू कसरी एउटै परिवारका जस्ता देखिने भए? तिनीहरू प्राचीन इस्राएली थिए, र तिनीहरूको मुहारको हाड संरचनाले त्यस जातीय समूहका विशेषताहरू प्रतिविम्बित गर्नुपर्छ। तिनीहरूलाई हरेक पात्रको व्यक्तित्व थाहा नभए पनि, कम्तीमा, तिनीहरूले त्यो जातिका अस्थिपञ्जरका संरचना र विशेषताहरू कस्ता हुन्छन् भनेर बुझ्नुपर्छ। तिनीहरूले चित्र बनाइरहेको व्यक्ति जुन युगको भए पनि, उसको कपाल, अनुहारका विशेषता, आँखाको रङ्ग, र अनुहारको आकृतिमार्फत उसका जातीय विशेषताहरूलाई जोड दिइनुपर्छ र प्रस्ट पारिनुपर्छ।” तैपनि कसरी तिनीहरूले चित्रित गरेका विभिन्न युगका व्यक्तित्वहरू फरक-फरक उमेरका भए पनि, तिनीहरू सबैका हाड संरचनाहरू तिनीहरूका जातीय समूहसँग मिल्ने देखिँदैनन्? तिनीहरू सबैका मुहार आयताकार छन्; कान्छाहरू थोरै मात्र चाउरी परेका छन् र तिनीहरूको कपाल बढी गाढा छ भने जेठाहरू धेरै चाउरी परेका छन्, तिनीहरूको छाला बढी गाढा छ र कपाल धेरै फुलेको छ। यी व्यक्तित्वहरूका विशेषताहरू मूलतः उस्तै छन्: फराकिलो, आयताकार मुहार, अग्लो कद, र अत्यन्तै बलियो शारीरिक संरचना। म भन्छु, “यी सबै व्यक्तित्वहरू किन उस्तै देखिन्छन्? तिनीहरू अत्यन्तै मिल्दाजुल्दा छन् र तिनीहरूलाई छुट्ट्याउने विशेषताहरू छैनन्।” चित्रकार आफैले उक्त समस्या देखेको हुँदैन। सायद उसले यस प्रकारका धेरै चित्र बनाएको छ, उसको शिल्प अत्यन्तै परिष्कृत भइसकेको छ, र उसको शैली स्थिर भइसकेको छ। जब उसले व्यक्तित्वहरूका चित्र बनाउँछ, पुरुषहरूको मुहारको आकार लगभग सधैँ उस्तै हुन्छ, र उसले भिन्न पात्रहरूका मुहारका अद्वितीय विशेषताहरू उतार्न सक्दैन। के कामकुराको मूल्याङ्कन र कदर गर्ने उसको सामर्थ्य अलि कमजोर होइन र? (हो।) चित्र बनाइसकेपछि, उसलाई चित्रित गरेका मुहारका विशेषताहरू त्यस जातीय समूहका हाड संरचनासँग मेल खान्छन् कि खाँदैनन् भनेर थाहा हुँदैन; ऊ ती विशेषताहरूबारे निश्चित हुँदैन। के तिमीहरू यस क्षेत्रमा उसको क्षमता औसत छ भन्छौ कि कमजोर छ भन्छौ? (कमजोर।) के अरूले सुझावहरू दिएपछि उसले तिनलाई सच्याउन सक्छ? एक पटक, मैले उसलाई सुझाव दिएँ, तर पछि उसको काम देख्दा, त्यो अझै उस्तै थियो। त्यस बिन्दुमा, थप केही भन्नु आवश्यक हुँदैन—थप व्याख्या गरे पनि त्यो उसको बुझाइको दायराभन्दा बाहिर हुनेछ।
मानिसहरूको कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यसँग सम्बन्धित समस्याहरूका बारेमा कुरा गर्नुपर्दा, विभिन्न स्तरका क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू यिनै हुन्। राम्रो क्षमता भएका मानिसहरूले कामकुराको कदर गर्न मात्र नभई तिनको मूल्याङ्कन गर्न पनि सक्छन्। अझ राम्रो क्षमता भएकाहरूले सही विचार र दृष्टिकोणहरू भेट्टाएपछि, तिनका लागि वकालत गर्नेछन् र ती अरूलाई बाँड्नेछन् वा प्रदान गर्नेछन्, अनि गलत विचार र दृष्टिकोणहरू भेटिएमा तिनीहरूले तिनको परख गर्न र सच्याउन सक्छन्। औसत क्षमता भएका मानिसहरूमा कामकुराको कदर गर्ने निश्चित सामर्थ्य हुन्छ तर कामकुराको मूल्याङ्कन गर्ने सामर्थ्य हुँदैन—तिनीहरूले वैचारिक तहका कुराहरूको परख गर्न सक्दैनन्। कमजोर क्षमता भएका मानिसहरूले वैचारिक तहका कुराहरू बुझ्दैनन्, त्यसैले तिनीहरूमा कुराहरू परख गर्ने कुनै सामर्थ्य हुन्छ भन्न मिल्दैन। क्षमता नभएका मानिसहरूले यी कुराहरू बिलकुलै बुझ्न सक्दैनन्। कसैले तिनीहरूलाई यी कुराहरू बुझाए पनि, तिनीहरूले अझै पनि वास्तवमा कस्ता विचार र दृष्टिकोणहरूबारे छलफल गरिँदै छ भनी बुझ्न सक्दैनन्। तिनीहरूका लागि, यो अर्को ग्रहबारे कथा सुनेझैँ हुन्छ—यो पूर्ण रूपमा तिनीहरूको बुझाइभन्दा बाहिर हुन्छ। कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यका सन्दर्भमा फरक-फरक क्षमता भएका मानिसहरूले देखाउने फरक-फरक विशेषताहरू यिनै हुन्।
नम्बर ११: नवप्रवर्तनको सामर्थ्य
व्यक्तिको क्षमताको मूल्याङ्कन गर्ने एघारौँ मानक भनेको नवप्रवर्तनको सामर्थ्य हो। नवप्रवर्तनको सामर्थ्य भनेको तैँले केही कुराका आधारभूत तत्त्व, सिद्धान्त, र नियमहरू थाहा पाएपछि प्राप्त हुने बुझाइका आधारमा तँसँग भएको सिर्जनात्मक सामर्थ्य हो। यो सिर्जनात्मक सामर्थ्यले यस कुरालाई यसको मूल जगमा सुधार गर्नु, यसको विकास गर्नु, यसको प्रभावको क्षेत्र बढाउनु, वा यसलाई कुनै निश्चित कुराको नयाँ पुस्तामा परिणत गर्नुलाई जनाउँछ—यसलाई नै नवप्रवर्तनको सामर्थ्य भनिन्छ। किटेरै भन्नुपर्दा, यसको मतलब कुनै निश्चित कुराका वस्तुगत नियमहरू सही रूपमा बोध गरेपछि, त्यस जगमा तैँले तिनलाई वास्तविक जीवनमा लागु गर्न, तिनको प्रयोगको दायरा ठूलो र फराकिलो बनाउन, र वस्तुहरूको विकासको नियमसँग मेल खाने यी आधारभूत तत्त्व र सिद्धान्तहरूलाई अझ धेरै मानिसहरूको सेवा गर्न दिन सक्छस्, ताकि अझ धेरै मानिसहरूले यसबाट लाभ र सहयोग प्राप्त गरून्। एक त, तैँले यी आधारभूत तत्त्व र सिद्धान्तहरूलाई टिकाएर राखिरहेको छस्, र निरन्तर तिनको प्रभावको दायरा र ती ग्रहण गर्ने मानिसहरूको सङ्ख्या बढाइरहेको छस्। यसको अतिरिक्त, तैँले तिनलाई अझ व्यावहारिक ढङ्गले र एक कदम अघि बढेर एउटा शाब्दिक प्रस्तुतिबाट ठोस कुरामा रूपान्तरित गरिरहेको छस्, जसबाट मानिसहरूले वास्तविक लाभ प्राप्त गर्न सक्छन्। नवप्रवर्तनको सामर्थ्य हुनु भनेको यही हो। यदि कुनै व्यक्तिले आफ्नो पारिवारिक वातावरण र हुर्काइको पृष्ठभूमि, साथै आफूले प्राप्त गर्ने ज्ञानका आधारमा कुनै कुराका आधारभूत तत्त्व, सिद्धान्त, र विकासका नियमहरू सही रूपमा बुझ्न सक्छ, यी आधारभूत तत्त्व र सिद्धान्तहरू लागु गर्न र तिनलाई अवधारणाबाट ठोस कुरामा परिणत गर्न जान्दछ—ऊ शब्द र धर्मसिद्धान्तको तहमै रोकिँदैन, बरु तिनलाई वास्तविक जीवनमा लागु गर्छ, तिनलाई मानिसको जीवनको हिस्सा बनाउँछ र तिनलाई जनसेवामूलक नतिजामा परिणत गर्दै मानिसहरूलाई तिनबाट लाभ र सहयोग लिन दिन्छ, र मानिसहरूको जीवन अझ सहज र सुविधाजनक बनाउँछ भने—यदि कसैले यो स्तर हासिल गर्न सक्छ भने, ऊ नवप्रवर्तनको सामर्थ्य भएको र राम्रो क्षमता भएको व्यक्ति हो। भन्नुको मतलब, यदि तैँले वस्तुहरूको विकासका नियमका आधारभूत तत्त्वहरू र सत्यता सिद्धान्तहरू बुझेको आधारमा कुनै कुराको प्रवर्धन, कायम राख्ने कार्य, विस्तार, वा नवीकरणलाई साकार पार्न सक्छस् भने—यदि तँसित यो सामर्थ्य छ वा तँ यीमध्ये कुनै पनि कुरा हासिल गर्न सक्छस्, र कुनै सकारात्मक कुराका आधारभूत तत्त्व र नियमहरू वा सत्यताका सिद्धान्तहरूलाई मानिसहरूमाझ कार्यान्वयन हुन, मूर्त रूप लिन, र विस्तार हुन दिन सक्छस् भने—यसले तेरो क्षमता राम्रो छ भन्ने प्रमाणित गर्छ। तैँले त्यसलाई अझ गहिरो तहमा पुर्याउन नसके पनि, कम्तीमा, यदि तैँले त्यसलाई टिकाउन, विस्तार गर्न, र मूर्त रूप दिन सक्छस्, र त्यसको सकारात्मक प्रभावलाई बढाउन सक्छस् भने, यसले प्रमाणित गर्छ कि तँ नवप्रवर्तनको सामर्थ्य भएको व्यक्ति होस्। यदि तँ यो सामर्थ्य राख्दैनस्, र तँसित सकारात्मक कुराहरूका नियमहरू बोध गर्ने सामर्थ्य मात्र छ, तर यो बोध सामर्थ्य शाब्दिक र सैद्धान्तिक बुझाइको तहमा मात्र रहन्छ, अनि तँ तिनलाई मानिसहरूमा कार्यान्वयन गर्न वा मूर्त बनाउन, र तिनलाई मानिसहरूका लागि सेवामुखी र लाभदायक बनाउन सक्दैनस् भने, तँसित नवप्रवर्तनको सामर्थ्य छैन। तँ आधारभूत तत्त्व, सिद्धान्त, नियम, र विधानहरूलाई व्यावहारिक रूपमा सञ्चालन र लागु गर्न सक्षम हुनैपर्छ—त्यसपछि मात्र तँसँग नवप्रवर्तनको सामर्थ्य भएको भन्न मिल्छ। यो सामर्थ्य भएकाहरू मात्र राम्रो क्षमताका मानिस हुन्। उदाहरणका लागि, कतिपय अगुवा र कामदारहरू वा सुपरिवेक्षकहरूले परमेश्वरका घरका सिद्धान्त र प्रबन्धहरू बुझ्नेबित्तिकै तिनलाई कार्यान्वयन गर्न सक्छन्। तिनीहरूले प्रत्येक कामका सत्यता सिद्धान्तहरू परमेश्वरका चुनिएका मानिसहरूमा कार्यान्वयन गर्छन्, जसले गर्दा अझ धेरै मानिसहरूले सत्यता बुझ्न मद्दत प्राप्त गर्छन् र मण्डलीको काम व्यवस्थित तरिकाले अघि बढ्छ—अर्थात्, त्यो सिद्धान्तहरूको दायराभित्र सकारात्मक रूपमा चक्कर लगाउँछ, कुनै विचलनबिना निरन्तर विकास भइरहन्छ र अघि बढिरहन्छ। मानिसहरूले यसबाट कस्तो नतिजा देख्छन्? हरेकले यो कामको दायराभित्र आफूले जे गर्नुपर्ने हो त्यो गर्छ, हरेकले सिद्धान्तहरू बुझ्छ र सिद्धान्तहरूअनुसार कार्य गर्छ, काममा कुनै विचलन हुँदैन, र यो कामले निरन्तर नयाँ नतिजाहरू वा कामका नयाँ उपजहरू सिर्जना गर्छ। यस क्रममा विशेष परिस्थितिहरू उत्पन्न भए पनि, सुपरिवेक्षकहरूले तिनलाई कामका आधारभूत तत्त्व, प्रबन्ध, र सिद्धान्तहरूअनुसार लचिलो रूपमा सम्हाल्न जानेका हुनेछन्। तिनीहरूको अगुवाइमा, यो काम निरन्तर व्यवस्थित ढङ्गले अघि बढ्छ र मूलतः रोकिँदैन। भन्नुको मतलब, चाहे जस्तोसुकै परिस्थिति उत्पन्न होस्, जोसुकै आएर बाधा देओस् वा भ्रमहरू फैलाओस्, त्यसले कामको व्यवस्थित प्रगतिमा असर गर्नेछैन; काम निरन्तर अघि बढ्छ। के यो कामका आधारभूत तत्त्वहरू र यससँग सम्बन्धित सत्यता सिद्धान्तहरू निरन्तर कायम भइरहेका छन् भनेर भन्न सकिन्छ? (सकिन्छ।) यस कामका आधारभूत तत्त्व र सिद्धान्तहरूको कार्यान्वयन, कायम गर्ने कार्य, र बढावामार्फत यस काममा अवरोध पुगेको छैन; व्यवस्थित तवरले यसको निरन्तर कार्यान्वयन र कायम भइरहेको हुन्छ, र सँगसँगै फरक-फरक समयमा कामका राम्रा नतिजाहरू उत्पन्न हुन्छन्। यी कामका नतिजाहरूको प्रभाव निरन्तर ठूलो हुँदै गइरहेको हुन्छ, र धेरैभन्दा धेरै मानिसहरूले त्यसबाट लाभ लिइरहेका हुन्छन्। लाभ लिनेहरूले वास्तवमा यी सुपरिवेक्षकहरूले बुझ्न र स्विकार्न सक्ने कार्य बन्दोबस्तहरूका विभिन्न सिद्धान्त, आधारभूत तत्त्व, र कठोर प्रबन्धहरूबाट समेत लाभ लिइरहेका हुन्छन्। नवप्रवर्तनको सामर्थ्य हुनु भनेको यही हो। भन्नुको मतलब, राम्रो क्षमता भएको व्यक्तिले आफूले बुझेका र स्विकारेका कार्य सिद्धान्तहरू र सत्यता सिद्धान्तहरूलाई आफू जिम्मेवार रहेका काममा निरन्तर कार्यान्वयन गर्न र सबैमा कार्यान्वयन गर्न सक्छ, जसले गर्दा काम व्यवस्थित तवरले चल्न वा अघि बढ्न सक्छ। सँगसँगै, कामका नतिजाहरू आवधिक रूपमा वा अनियमित रूपमा उत्पन्न हुनेछन्; गैरविश्वासीहरू यसलाई “उत्पाद पैदा गर्नु” भन्छन्—अर्थात्, कामका नतिजाहरू निरन्तर देखा पर्दै जान्छन्, र कामका नतिजाहरू देखा परेपछि तिनले अझ ठूलो प्रभाव ल्याउनेछन् र ती अझ धेरै मानिससम्म पुग्नेछन्। यो सामर्थ्य बोकेका मानिसहरूले अन्ततः कामका नतिजाहरू निरन्तर बढाउन सक्छन्, ताकि धेरैभन्दा धेरै मानिस लाभान्वित होऊन्। त्यस्ता मानिसहरू राम्रा क्षमता भएका मानिस हुन्। तेरो नवप्रवर्तनको सामर्थ्यद्वारा तेरो क्षमताको मूल्याङ्कन गर्नका लागि, कार्य सिद्धान्तहरू, कार्य प्रबन्धहरू, र सत्यता सिद्धान्तहरू बोध गरेपछि, तिनलाई कार्यान्वयन, बढावा, र विस्तार गर्ने तेरो सामर्थ्य कस्तो छ; अर्थात्, यो काम कायम राख्ने तेरो सामर्थ्य कस्तो छ भनी हेर्न जरुरी हुन्छ। दोस्रो कुरा, तैँले गर्ने काम कति जना मानिसहरूसम्म पुगेको छ, तेरो काम पुगेका मानिसहरूको दायरा कति ठूलो छ, प्रभावको मात्रा कति ठूलो छ, र तेरो कार्यदक्षता र कामका नतिजाहरू कस्ता छन् भनी हेर्न जरुरी हुन्छ। यदि तेरो कार्यदक्षता उच्च छ, तेरा कामका नतिजाहरू राम्रा छन्, र तेरो काम पुगेका मानिसहरूको दायरा निरन्तर बढ्दै जान्छ भने, तेरो क्षमता राम्रो छ। यदि तेरो काम थोरै सङ्ख्याका मानिसहरूसम्म पुगेको छ, तेरो कार्यदक्षता कम छ, नतिजाहरू खराब छन्, र निरन्तर पुनः काम गर्नुपर्ने, रोक्नुपर्ने, र छिद्रहरू टाल्नुपर्ने हुन्छ भने, तेरो क्षमता औसत छ। यदि कुनै व्यक्तिले कार्य सिद्धान्तहरू, कार्य प्रबन्धहरू, र अन्य पक्षहरू निकै राम्रोसँग र चाँडै बुझ्छ, तर उसको कार्यान्वयनको प्रगति ज्यादै ढिलो छ र उसको दक्षता ज्यादै कम छ—सामान्य परिस्थितिहरूमा, नतिजाहरू एक महिनामा प्राप्त हुन सक्छन्, तर उसलाई तीन महिना वा छ महिना नै लाग्छ, तैपनि प्राप्त नतिजाहरू ज्यादै औसत हुन्छन्, त्यो थोरै सङ्ख्याका मानिसहरूकहाँ पुग्छ, र मानिसहरूलाई उल्लेखनीय लाभ मिलेको हुँदैन भने—त्यस्तो व्यक्ति औसत क्षमताको हुन्छ।
कतिपय मानिसहरू निश्चित सिद्धान्त वा आधारभूत तत्त्वहरू बुझेपछि, त्यतिखेर शाब्दिक अर्थ मात्र बुझ्छन् र यी सिद्धान्तहरू वा आधारभूत तत्त्वहरू संलग्न हुने तिनीहरूको कामका मानिस, घटना, वा कामकुराहरूसँग त्यसलाई कुनै पनि प्रकारले जोड्न सक्दैनन्। तिनीहरू केवल सिद्धान्त र आधारभूत तत्त्वहरूलाई प्रावधान वा धर्मसिद्धान्तका रूपमा सुन्छन्, र ती सुनेपछि, तिनीहरूले हृदयमा कुनै योजना बनाउँदैनन् र ती कार्यान्वयन गर्न वा कार्य बन्दोबस्तहरू र आफूले बुझेका आधारभूत तत्त्व वा सिद्धान्तहरूलाई वास्तविक जीवनमा लागु गर्न जान्दैनन्। तिनीहरूले मूलतः वास्तविक जीवन र यी आधारभूत तत्त्व वा सिद्धान्तहरूबीच कुनै पनि सम्बन्ध जोड्न सक्दैनन्। वास्तविक जीवन वा कामको कुरा गर्नुपर्दा, तिनीहरूले सिद्धान्तहरू, आधारभूत तत्त्वहरू, र वस्तुहरूको विकासका नियमहरूलाई पाखा लगाउँछन्, तिनलाई लागु गर्न सक्दैनन्, र आफूलाई जे मन लाग्यो त्यही मात्र गर्छन्। अहिलेका लागि तिनीहरूको मानवता राम्रो छ कि खराब छ, वा तिनीहरूको चरित्र कस्तो छ, वा तिनीहरूले कुनै कुरा जानाजान गर्दैनन् कि, वा तिनीहरू कुनै कुरा गर्न चाहँदैनन् कि भन्नेबारे कुरै नगरौँ—क्षमताका हिसाबले मात्र भन्नुपर्दा, त्यस्ता मानिसहरूमा कमजोर क्षमता हुन्छ। चाहे तिनीहरू जहाँसुकै जाऊन्, तिनीहरूले अरूसित धेरै धर्मसिद्धान्तहरू बोल्न, केही आधारभूत तत्त्वहरूबारे कुरा गर्न, र तथाकथित वस्तुहरूको विकासका केही नियमबारे छलफल गर्न सक्छन्। तिनीहरूमा निकै उच्च तहको विचार र बोध सामर्थ्य भएको देखिन्छ, र तिनीहरूमा केही क्षमता भएझैँ देखिन्छ। तर, जब तिनीहरूलाई कुनै काममा खटाइन्छ, तब एक वा दुई महिना बितिसक्दा पनि कुनै नतिजा आउँदैन, र तिनीहरूबाट कुनै अद्यावधिक जानकारी प्राप्त हुँदैन। आफ्नो सङ्कल्प व्यक्त गर्ने समयमा, तिनीहरू निकै राम्रोसँग बोल्छन्, तर वास्तवमै त्यो काम गर्नुपर्दा के गर्ने भनेर तिनीहरूलाई थाहै हुँदैन। “माथिकाले सिद्धान्तहरू निकै स्पष्टसित बुझाएका छन्, त्यसैले अब मैले के गर्नुपर्छ? मैले सुपरिवेक्षकका रूपमा कसलाई र प्रचारकका रूपमा कसलाई नियुक्त गर्नुपर्छ, अनि बाह्य मामलाहरू कसले सम्हाल्नुपर्छ? के गर्ने भनेर मलाई थाहा छैन! तर मैले ठूला दाबी गरेँ र आफ्नो सङ्कल्प व्यक्त गरेँ, त्यसैले मैले त्यो गर्नैपर्छ!” तिनीहरू यति व्यग्र हुन्छन् कि तिनीहरू भित्रभित्रै तातिन्छन् र तिनीहरूको मुखमा घाउ आउँछ, तिनीहरू खान वा सुत्न सक्दैनन्, र अन्ततः जिङ्ग्रिङ्ग पर्छन् र अभिभूत हुन्छन्, तैपनि के गर्ने भनेर तिनीहरूलाई अझै थाहा हुँदैन। कमजोर क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू यिनै हुन्। तिनीहरूका लागि काम बन्दोबस्त गर्दा, तिनीहरूले जोसका साथ त्यस्ता साहसी र ठूला शब्दहरू बोलेर जसरी गहन प्रतिज्ञा गर्ने र आफ्नो सङ्कल्प व्यक्त गर्ने भए पनि—तैँले तिनीहरू काम गर्न सक्छन् कि सक्दैनन्, तिनीहरूसँग चरण र योजनाहरू छन् कि छैनन्, र कसरी कार्य बन्दोबस्तहरू लागु गर्ने र सिद्धान्तहरूअनुसार कार्य गर्ने भनेर तिनीहरूले बुझेका छन् कि छैनन् भनी हेर्नुपर्छ। यदि तिनीहरूले यो बुझ्दैनन् वा गर्न सक्दैनन् भने, तिनीहरूमा कमजोर क्षमता छ। यदि तिनीहरू धर्मसिद्धान्तहरू मात्र बुझ्छन् तर सिद्धान्तहरू लागु गर्न सक्दैनन्, अनि अन्धाधुन्ध र जथाभावी कार्य मात्र गर्छन् भने, यसले पनि कमजोर क्षमता नै देखाउँछ। यदि तैँले सिद्धान्तहरू, आधारभूत तत्त्वहरू, वा कामकुराका विकासका नियमहरू प्रभावकारी रूपले र वास्तविक जीवनमा कार्यान्वयन गर्न सक्दैनस् भने, चाहे तँ व्यग्र भए पनि र अत्तालिए पनि वा तैँले लापरवाह दुष्कर्महरू गरे पनि, यी कमजोर क्षमताका प्रकटीकरणहरू हुन्। के यी शब्दहरू सही छन्? (छन्।) कतिपय मानिसहरू अन्धाधुन्ध कार्य गर्छन् भने अरूले त्यो गर्न जान्दैनन् र त्यो गर्ने आँट गर्दैनन्—तिनीहरूलाई कहाँबाट सुरु गर्ने भन्नेसमेत थाहा हुँदैन। नवप्रवर्तनको सामर्थ्यका हिसाबले, कमजोर क्षमता भएका मानिसहरूका विशिष्ट प्रकटीकरणहरू यी हुन् कि, तिनीहरूले विशिष्ट, वास्तविक काममा आधारभूत तत्त्व र सिद्धान्तहरू लागु गर्न जानेका हुँदैनन्; तिनीहरू शब्दहरू सुगा रटाइ गर्न, धर्मसिद्धान्तहरू सिक्न, र प्रावधानहरू याद गर्न मात्र सक्छन्। धर्मसिद्धान्त र प्रावधानहरू याद मात्र गर्नु बेकार हो, र त्यसले तँसँग नवप्रवर्तनको सामर्थ्य भएको सङ्केत गर्दैन। तँसँग नवप्रवर्तनको सामर्थ्य छ कि छैन भन्ने कुरा यसबाट प्रस्ट हुन्छ कि, तैँले यी आधारभूत तत्त्व, सिद्धान्त, र नियमहरूलाई वास्तविक जीवनमा कार्यान्वयन गर्न सक्छस् कि सक्दैनस्, यी आधारभूत तत्त्व र सिद्धान्तहरूसँग सम्बन्धित काम राम्रोसँग गर्न सक्छस् कि सक्दैनस्, ताकि यी आधारभूत तत्त्व र सिद्धान्तहरू शब्द र धर्मसिद्धान्त, प्रावधान, र सूत्रहरूमा सीमित नरहून्, बरु मानिसहरूको जीवनमा कार्यान्वयन होऊन् र मानिसहरूमा लागु होऊन्, जसका कारण मानिसहरूले ती प्रयोग गर्न र तीबाट लाभ र सहायता लिन सकून्, र ती जीवनमा अभ्यासको मार्ग, वा जियाइको मार्गदर्शन, दिशा, र लक्ष्य बन्न सकून्। यदि कुनै व्यक्तिमा यो नवप्रवर्तनको सामर्थ्य छैन र उसले शब्द र धर्मसिद्धान्तहरू ओकल्न र नाराहरू फलाक्न मात्र जानेको छ, र आफ्नो कर्तव्य निर्वाह गर्ने समय आउँदा उसले यी सिद्धान्त र आधारभूत तत्त्वहरूलाई प्रयोगमा ल्याउन सक्दैन भने, त्यस्तो अगुवा वा सुपरिवेक्षकलाई पछ्याउने मानिसहरूले सत्यताको यो पक्षमा अभ्यासका सिद्धान्तहरू प्राप्त गर्नेछैनन्। त्यस्ता अगुवा वा सुपरिवेक्षकहरू कमजोर क्षमताका मानिस हुन्, तिनीहरू काम गर्न असक्षम हुन्छन्, र पहिचान भएपछि तिनीहरूलाई रिपोर्ट गरेर हटाइनुपर्छ। कसैले कुनै कामको जिम्मेवारी लिन सक्छ कि सक्दैन भनी मूल्याङ्कन गर्नका लागि, तैँले पहिले हेर्नुपर्छ कि कार्य बन्दोबस्तहरू पढेर सत्यता सिद्धान्तहरू बुझेपछि उसले ती बन्दोबस्त गर्न र कार्यान्वयन गर्न अनि कामलाई चलायमान बनाउन सक्छ कि सक्दैन। मण्डलीमा जति जना मानिसहरू भए पनि, यदि उसले मण्डलीका सबै कामहरूलाई चलायमान बनाउन सक्छ, र ऊ जति जना मानिसहरूको कामका लागि जिम्मेवार भए पनि—चाहे त्यो पचास होस् वा सय—उसले कामलाई फस्टाउँदो बनाउन सक्छ, जसले गर्दा सबैका आ-आफ्नो स्थान हुने र सबैले काम गर्न र सत्यता सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य पूरा गर्न सक्ने कुरा सुनिश्चित हुन्छ भने, त्यस्तो व्यक्तिलाई अगुवा वा सुपरिवेक्षकका रूपमा निर्वाचित गर्नका लागि विचार गर्न सकिन्छ। तैँले अवश्यै उसको चरित्र कस्तो छ, ऊ सच्चा व्यक्ति हो कि होइन, र ऊ सत्यता पछ्याउने व्यक्ति हो कि होइन भनेर पनि हेर्नैपर्छ—यी कुराहरू जान्न अत्यावश्यक छ! परमेश्वरका चुनिएका मानिसहरूलाई सत्यता वास्तविकतामा डोर्याउनका निम्ति अगुवा वा कामदारसँग कम्तीमा पनि यी पक्षहरूमा क्षमता र कद हुनैपर्छ, ताकि सबैले कार्य बन्दोबस्तहरू वा सत्यता सिद्धान्तहरूअनुसार काम गर्न र आफ्नो कर्तव्य पूरा गर्न सकून्—यसरी, परमेश्वरका चुनिएका मानिसहरूले ऊबाट लाभ पाउन सक्छन्। यदि तिनीहरूसँग यो सामर्थ्य छैन भने, तिनीहरूलाई छान्न मिल्दैन। यदि तैँले त्यस्तो व्यक्ति छानिस् भने, हरेक दिन हल्लिँदै उसको पछि लागेर कुनै काम नगर्दा तेरो देहलाई आराम त मिल्ला, तर तँ तेरो आत्मामा परिपुष्ट हुनेछस्? यदि तैँले हरेक दिन भेलाहरूमा केही घण्टा उसले धर्मसिद्धान्तहरू प्रचार गरेको सुनेर बिताउँछस्, तर कुनै वास्तविक काम गर्दैनस् भने, के यो आफ्नो कर्तव्य पूरा गर्नु हो? (होइन।) उसले हरेक दिन तँलाई धर्मसिद्धान्तहरू प्रचार गर्छ, तर तेरा कानहरू समृद्ध हुने भए पनि तँ आफ्नो कर्तव्य निर्वाह गरिरहेको हुँदैनस् र उसको पछि लागेर बिनाउद्देश्य अलमलिरहेको हुन्छस्। त्यस अवस्थामा, तँ ऊद्वारा बहकाइएको र अड्चनमा पारिएको हुन्छस्। यदि तँ उसले बोलेका ती नीरस शब्द र धर्मसिद्धान्तहरू सुनिरहन्छस्, र अन्त्यमा तैँले आफ्नो कर्तव्य पूरा गर्दैनस् वा बफादारी देखाउँदैनस्, र सत्यतामा कुनै वास्तविक अनुभव प्राप्त गरेको हुँदैनस्, परमेश्वरले सुम्पनुभएको काममा बफादारी देखाउँदैनस्, कामलाई चलायमान बनाउँदैनस् वा कुनै नतिजा हासिल गर्दैनस्—ताकि परमेश्वरले मानिसहरूबाट नतिजाहरू माग्नुहुँदा, प्रस्तुत गर्नलाई तँसित केही पनि हुँदैन भने—के तैँले घाटा भोगेको हुँदैनस् र? त्यसकारण, यदि तैँले यसअघि त्यस्ता मानिसहरू अगुवाका उम्मेदवार हुन् भनेर सोचेको थिइस् भने, अब तुरुन्तै आफ्नो दृष्टिकोण परिवर्तन गरेर त्यस्ता मानिसहरूलाई उम्मेदवारको सुचीबाट हटाइदे। तिनीहरूलाई अगुवाका रूपमा चयन गर्नै हुँदैन। कमजोर क्षमता भएका र नवप्रवर्तनको सामर्थ्य नभएका मानिसहरू कहाँ चुक्छन्? तिनीहरू यो कुरामा चुक्छन् कि, तिनीहरू केवल कुर्सीमा बसेर आदेश दिन मात्र जान्दछन् तर कहिल्यै आफ्ना विचारहरूलाई वास्तविक जीवनको काममा लागु गर्न जान्दैनन्, र तिनीहरू वास्तविक काम गर्न सक्दैनन्। यदि त्यस्ता मानिसहरू अगुवा बनेमा कस्ता परिणामहरू आउलान्? तिनीहरूले कामलाई पूरै लथालिङ्ग मात्र पार्नेछन्। यदि तिनीहरूले मूलभूमि चीनमा मण्डली अगुवाका रूपमा सेवा गरेका भए, तिनीहरूले पूरै मण्डलीलाई सखाप पार्नेथिए। तिनीहरू आफैले सत्यता प्राप्त गर्न नसक्ने मात्र नभई तिनीहरूले अगुवाइ गरेका मानिसहरूको जीवनमा पनि क्षति पुग्नेछ। यदि तैँले त्यस्ता मानिसहरूलाई तत्काल पहिचान गरेर हटाउन सक्छस् भने, कतिपय विपत्तिहरू रोक्न सकिनेछ र मण्डलीको कामले क्षति भोग्नुपर्नेछैन। तर यदि तैँले त्यस्ता मानिसहरूकै अनुयायी रहेर तिनीहरूको अगुवाइ स्विकार्छस् भने, तेरो मुक्ति प्राप्त गर्ने आशा तिनीहरूद्वारा नष्ट पारिन सक्छ, र त्यसपछि तेरो मुक्तिको अवसर गुम्नेछ। त्यसकारण, नवप्रवर्तनको सामर्थ्य भनेको कुनै अगुवा वा कामदार वा सुपरिवेक्षकका लागि अत्यन्त महत्त्वपूर्ण क्षमता हो। यदि तँमा काम गर्ने आधारभूत क्षमता र सामर्थ्य छैन भने, तँ अत्यन्त सजग हुनैपर्छ र जोसका भरमा अघि बढ्नु हुँदैन, साथै तैँले सधैँ पृथक् बन्ने र अगुवा वा सुपरिवेक्षक हुने चाहना राख्नु हुँदैन। त्यसो गर्नाले तँलाई मात्र नभई अरूलाई पनि मुक्ति प्राप्त गर्नमा बाधा हुन्छ। यदि तैँले आफूलाई मात्र बाधा दिन्छस् भने, तैँले आफ्नो मृत्यु मात्र निम्त्याएको हुन्छस्, तर यदि तैँले दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा दिन्छस् भने, के तैँले धेरै मानिसहरूलाई हानि गरिरहेको हुँदैनस् र? तँलाई आफ्नै जीवनको वास्ता नहोला, तर अरूलाई त आफ्नो जीवनको वास्ता हुन्छ नि। त्यसमाथि, तेरो आफ्नै दैनिक जीवन वा वित्तीय सफलतालाई बाधा दिनु ठूलो कुरा होइन, तर मण्डलीको काममा बाधा दिनु सानो मामला हुँदै होइन। के तँ त्यस्तो जिम्मेवारी वहन गर्न सक्छस्? यदि तँ साँच्चिकै विवेक भएको व्यक्ति होस् र तैँले यस मामलाले महत्त्वपूर्ण जिम्मेवारी बोकेको हुन्छ, र मण्डलीको काममा बाधा दिनु भनेको तैँले जिम्मेवारी लिन सक्ने कुरै होइन भन्ने महसुस गर्छस् भने, तैँले आवश्यक परेको जुनसुकै उपाय अपनाएर देखावटी गर्नु र नेतृत्वका लागि होड गर्नै हुँदैन। यदि तँसँग क्षमता र कद छैन भने, सधैँ पृथक् बन्ने कोसिस नगर्। अख्तियारप्रतिको तेरो लालसा पूरा गर्नकै लागि मण्डलीको काममा बाधा दिने वा परमेश्वरका चुनिएका मानिसहरूलाई सत्यतामा प्रवेश गर्न र असल गन्तव्य प्राप्त गर्नमा बाधा दिने काम नगर्—यो एउटा अधर्म हो! तँसित अलिकति आत्म-सचेतना हुनुपर्छ। तँ जे कुरामा सक्षम छस् त्यो गर् र सधैँ अगुवा बन्ने आकाङ्क्षा नराख्। अगुवा हुनुबाहेक, तैँले गर्न सक्ने अरू धेरै कर्तव्यहरू छन्। अगुवा हुनु तेरो अनन्य अधिकार होइन, र त्यो तेरो पछ्याइ बन्नु हुँदैन। यदि तँसित अगुवा बन्ने क्षमता र कद छ, र तँसित बोझको भावना पनि छ भने, अरूलाई तेरो चयन गर्न दिनु राम्रो हुन्छ। यो अभ्यासले मण्डलीको काम र त्यसमा संलग्न सबैलाई फाइदा हुन्छ। यदि तँसित अगुवा बन्ने क्षमता छैन भने, तैँले केही दया देखाएर अरूका भविष्यका लागि केही जिम्मेवारी लिनुपर्छ। सधैँ अगुवा बन्ने होड नगर् र अरूलाई बाधा नदे। कमजोर क्षमता हुनुका बाबजुद अगुवा बनेर मण्डलीको कामको जिम्मेवारी लिन चाहनुले समझको कमी देखाउँछ। यदि तँसित क्षमता र कद छैन भने, बस आफ्ना कर्तव्यहरू राम्रोसँग पूरा गर्। साँचो रूपमा आफ्ना कर्तव्यहरू पूरा गर्नुले तँमा केही समझ छ भन्ने देखाउँछ। तेरो सामर्थ्यअनुसार जे काम गर्न सक्छस् त्यो गर्; महत्त्वाकाङ्क्षा र चाहनाहरू नराख्। मण्डलीको कामलाई बेवास्ता गरेर आफ्ना व्यक्तिगत चाहनाहरू मात्र पूरा गर्न नखोज्—यसले तँ र मण्डली दुवैलाई हानि गर्छ। यो नै नवप्रवर्तनको सामर्थ्यका हिसाबले कमजोर क्षमता भएका मानिसहरूको प्रकटीकरण हो।
कमजोर क्षमता भएका मानिसहरू नवप्रवर्तनको सामर्थ्य हुने स्तरसम्म पुगेका हुँदैनन्—जसको क्षमता नै छैन, तिनीहरूमा त झनै यो सामर्थ्य हुँदैन। त्यस्ता मानिसहरूले कामकुराका आधारभूत तत्त्वहरू, कामकुराका विकासका नियमहरू, वा सत्यता सिद्धान्तहरू सुन्दा ती बिलकुलै बुझ्न सक्दैनन्। परमेश्वरका वचनहरू पढ्दा, तिनीहरूले यी सत्यता सिद्धान्तहरू हुन् भनेर देख्न सक्ने भए पनि, तिनीहरूले सिद्धान्तहरूलाई ती लागु हुने दायरासँग वा तिनमा संलग्न मानिस र मामलाहरूसँग जोड्न सक्दैनन्। तिनीहरू यस्तोसम्म सोच्छन्, “सत्यताबारे यो सङ्गति अति विस्तृत छ, र यसको मात्रा पनि धेरै छ। यी वचनहरू सुन्दा, म यी सिद्धान्त हुन् भनेर बुझ्न सक्छु, तर मलाई ती सिद्धान्तहरूको परिभाषा के हो वा उक्त सिद्धान्तहरूले सीमाङ्कन गर्ने दायरा के हो भन्ने कुरा थाहा छैन।” यदि तिनीहरूलाई सिद्धान्तहरूको परिभाषा समेत थाहा छैन भने, तिनीहरूलाई निश्चय नै ती कसरी कार्यान्वयन वा अभ्यास गर्ने भनेर थाहा हुँदैन। उदाहरणका लागि, जब केही आइपर्छ र त्यसलाई सम्हाल्नुपर्ने हुन्छ, तब अरूले तिनीहरूलाई “तिमीले सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्छ” भनेर भन्छन्। तिनीहरूले भन्छन्: “मलाई त सिद्धान्तहरूअनुसार कसरी अभ्यास गर्ने भन्नेसमेत थाहा छैन। मलाई यो मामला कुन सिद्धान्तसँग सम्बन्धित छ भन्ने थाहा छैन।” अरूले तिनीहरूलाई यो मामला सम्हाल्दा अभ्यास गर्नुपर्ने सिद्धान्त बुझाएपछि पनि तिनीहरूलाई अझै के गर्ने भनेर थाहा हुँदैन। त्यस्ता मानिसहरूमा अत्यन्तै कमजोर क्षमता हुन्छ; तिनीहरू मानव भाषासमेत बुझ्न सक्दैनन्, र तिनीहरू प्रयोग गरिन झनै अयोग्य हुन्छन्। के यसले त्यस्ता मानिसहरू यति असक्षम हुन्छन् कि तिनीहरूलाई सहयोग गर्नै सकिँदैन भन्ने देखाउँदैन र? सहयोग गर्नै नसकिनेगरी असक्षम मानिसहरूमा सामान्य मानवताको सोचाइ र कामकुरा बुझ्ने सामर्थ्य हुँदैन, तार्किक सोचाइको त कुरै छाडौँ। त्यसकारण, सत्यता सिद्धान्तहरू वा विभिन्न आधारभूत तत्त्वहरू र नियमहरू बुझ्ने मानिसहरूले क्षमता नभएका मानिसहरूसँग कुराकानी गर्नु सम्भव नै हुँदैन; तिनीहरू सर्वसम्मतिमा पुग्न सक्दैनन्, र अवश्य पनि तिनीहरूको साझा भाषा हुँदैन। तिनीहरू किन कुराकानी गर्न सक्दैनन्? एउटा सारभूत समस्या छ, त्यो के हो भने, विभिन्न कुराबारे संज्ञान राख्ने, कामकुराको परख गर्ने, तजबिज गर्ने, बुझ्ने र स्विकार्ने यी दुई किसिमका मानिसहरूका सामर्थ्यहरू एउटै स्तरमा वा एउटै मार्गमा हुँदैनन्—ती एक अर्कालाई कहिल्यै नछुने दुई समानान्तर रेखा जस्तै हुन्। यो अलि अमूर्त रूपमा भनिएको हो। यसलाई अझ ठोस तरिकाले भन्नुपर्दा, यी दुई किसिमका मानिसहरूको क्षमतामा आकाश-जमिनको फरक हुन्छ, र त्यो एउटै स्तरको हुँदैन। त्यसकारण, एउटै मामलाका सम्बन्धमा तिनीहरूको तजबिज गर्ने सामर्थ्य, कामकुराको परख गर्ने सामर्थ्य, वा संज्ञानात्मक सामर्थ्य कहिल्यै समान हुँदैन। भन्नुको मतलब, राम्रो क्षमता वा औसत क्षमता भएका मानिसहरूले जे चिन्न सक्छन्, क्षमता नभएकाहरूले त्यो बिलकुलै चिन्दैनन्—तिनीहरू यस मामिलामा त्यो स्तरमा झनै पुग्न सक्दैनन्, र सधैँ चुक्छन्, मानौँ तिनीहरूमा त्यो अन्तर्निहित सक्षमता नै छैन। उदाहरणका लागि, कुखुरी परिपक्व बनेपछि त्यसले स्वतः अण्डा पार्छ। उत्पादन थोरै भए पनि त्यसले अण्डा चाहिँ पार्छ, किनकी त्यसमा त्यो अन्तर्निहित सक्षमता हुन्छ। तर, भालेलाई जति राम्रो खाना दिए पनि त्यसले अण्डा पार्न सक्दैन, किनभने त्योसँग त्यो अन्तर्निहित सक्षमता हुँदैन। भालेले भन्छ: “ममा अण्डा पार्ने अन्तर्निहित सक्षमता नभए पनि म बिहान बास्न सक्छु!” चाहे तँ जति पटक बासे पनि वा तेरो स्वर जति चर्को भए पनि, त्यसको अर्थ यो होइन कि तैँले अण्डा पार्न सक्छस्। कुखुरी बास्दैन तर त्योसँग अण्डा पार्ने खुबी हुन्छ। म तिमीहरूलाई किन यो उदाहरण दिइरहेको छु? किनकी क्षमता नभएका मानिसहरू त्यस्ता विकृत, भ्रामक, र तर्कहीन तर्क गर्छन्—यसलाई क्षमता नहुनु भनिन्छ। त्यसकारण, क्षमता नभएका मानिसहरूसँग राम्रो क्षमता भएका, औसत क्षमता भएका, वा कमजोर क्षमता भएका मानिसहरूले नै मामलाहरूबारे कुराकानी र छलफल गर्दा पनि, त्यो अनौठो लाग्छ। कमजोर क्षमता भएका मानिसहरूसँग तैँले अझै पनि केही सरल र सजिलै बुझिने मामलाहरूबारे कुराकानी गर्न सक्छस्। तर क्षमता नै नभएका मानिसहरूसँग कसैले पनि कुराकानी गर्न सक्दैन, किनकी तिनीहरूमा बोध सामर्थ्य हुँदैन र कुनै पनि कुराबारे कुनै विचार वा दृष्टिकोण हुँदैन। यो क्षमता नभएका मानिसहरूको वर्णन वा व्याख्या हो। तैँले कुनै कुराबारे तिनीहरूसित कुराकानी गर्दा, तैँले त्यो कुरा राम्रोसँग र प्रस्ट रूपमा बुझाए पनि, र तिनीहरूले बुझेको छु भनेर भने पनि, त्यही कुरा दोहोरिँदा, तिनीहरूले अझै पनि बुझ्दैनन् र फेरि विकृत र भ्रामक तर्क गर्नेछन्। ल भन्, के त्यस्ता मानिसहरूले सत्यता बुझ्न सक्छन्? (सक्दैनन्।) तिनीहरूमा कामकुराको परख गर्ने वा तिनका बारेमा संज्ञान राख्ने सामर्थ्य हुँदैन—तिनीहरूले कसरी सत्यता बुझ्न सक्थे र? तिनीहरूले सत्यता बुझ्न सक्छन् भन्नु पूरै बकवास हुनेछ। क्षमता नभएका मानिसहरूमा नवप्रवर्तनको सामर्थ्य हुँदैन, त्यसैले यस सम्बन्धमा तिनीहरूका प्रकटीकरणहरू यस्तै हुन्छन्। तिनीहरूले कुनै पनि आधारभूत तत्त्व वा सिद्धान्तहरू नबुझ्ने हुनाले, तिनीहरूले गर्ने कुनै पनि काममा कुनै योजना हुँदैन। तिनीहरूका मनमा कुनै योजना वा चरणहरू हुँदैनन्, र तिनीहरूले कुनै पनि आधारभूत तत्त्व वा सिद्धान्तहरू त झनै कार्यान्वयन गर्न सक्दैनन्। तिनीहरूले जे गर्छन्, त्यो पूरै भद्रगोल हुन्छ, पूरै अस्तव्यस्त हुन्छ। त्यस्ता मानिसहरूले शारीरिक मेहनत लगाउन र शारीरिक कार्य गर्न मात्र सक्छन्। तिनीहरूले जसोतसो एउटा सामान्य, एकल कार्य मात्र गर्न सक्छन्; आखिरमा, तिनीहरू साधारण मानिस हुन्, जो एकल कार्यमा लाग्न सक्छन्, तर जब परिस्थिति कुनै कामको जिम्मेवारी लिने तहमा पुग्छ, तब तिनीहरू त्यसका लागि योग्य हुँदैनन्। त्यस्ता मानिसहरू कुनै बहुमूल्य वा प्राविधिक दक्षता आवश्यक पर्ने काम गर्न असमर्थ हुन्छन्। तिनीहरूले शारीरिक श्रम, खेतीपातीको काम, वा पशुपालन जस्ता केही सानातिना कामहरू मात्र गर्न सक्छन्, र त्यति बेला पनि तिनीहरूलाई कुनै सुपरिवेक्षकले निरीक्षण र सहयोग गर्नुपर्ने हुन्छ। कहिलेकाहीँ, तिनीहरू खराब मुडमा हुँदा कसैले तिनीहरूलाई सम्झाइ-बुझाइ गर्नुपर्छ; र कहिलेकाहीँ तिनीहरू विकृतिमा फस्दा वा नकारात्मक बन्दा, कसैले तिनीहरूलाई सोच्ने तरिकामा सल्लाह दिनुपर्ने हुन्छ। सानातिना कामका लागि समेत कसैले तिनीहरूको कामको मूल्याङ्कन गर्नुपर्ने हुन्छ; नत्र, समस्या र त्रुटिहरू उत्पन्न हुनेछन्, र उक्त काम फेरि गर्नुपर्ने हुन्छ। यदि तिनीहरूले सामग्रीहरू खेर फालिरहेका हुँदैनन् भने, तिनीहरूले ऊर्जा, वा पानी, विद्युत, र ग्याँस खेर फालिरहेका हुन्छन्। पश्चिमा देशहरूमा, तिनीहरूलाई निरन्तर अरूद्वारा रिपोर्ट गरिन्छ र प्रहरीद्वारा जरिवाना तिराइन्छ। निगरानी गर्ने कोही छैन भने, तिनीहरू सानातिना कामहरूसमेत राम्ररी गर्न सक्दैनन्—तिनीहरू यति समस्याजनक र दयनीय हुन्छन्। क्षमता नभएका मानिसहरूका प्रकटीकरणहरू यिनै हुन्। के त्यस्ता मानिसहरू केवल बेकामे र मूर्ख होइनन् र? के तिनीहरूलाई अझै पनि मानवका रूपमा प्रयोग गर्न सकिन्छ? वास्तवमा, परमेश्वरका घरमा, त्यस्ता मानिसहरूले थोरै शारीरिक मेहनत लगाउन मात्र सक्छन्। जब मण्डलीको कामको कुरा आउँछ, तिनीहरूले त्यो गर्नै सक्दैनन्; तिनीहरू केही पनि गर्न सक्दैनन्। शारीरिक मेहनत आवश्यक पर्ने काममा पनि तिनीहरूले ती काम स्वतन्त्र रूपमा पूरा गर्न सक्दैनन् र तिनीहरूले गर्ने काममा अरूको निर्देशन, सुपरिवेक्षण र मूल्याङ्कन आवश्यक पर्छ। तर जब तिनीहरूले शारीरिक मेहनत आवश्यक पर्ने कामहरू गर्छन्, तब तिनीहरूले यो आफ्नो प्रतिभाभन्दा तल्लो स्तरको भएको, तिनीहरू योग्यता बढी भएको ठान्छन्, अनि तिनीहरूले अवज्ञा गर्छन् र यस्तो गुनासो समेत गर्छन्: “ती प्राविधिक कम्प्युटरको काम गर्ने, लेख लेख्ने, गीत गाउने र नृत्य गर्ने, वा अभिनय गर्ने मानिसहरूलाई हेर्नुहोस् त—तिनीहरू कति आकर्षक देखिन्छन्! तर म त दिनभर तेल र धुवाँसँग जुध्दै अतिथिसत्कार र खाना बनाउने काम मात्र गर्न सक्छु। केही वर्षमा, म जीर्ण आइमाईमा परिणत हुनेछु। हेर्नुहोस् त, म कति दयनीय छु!” तिनीहरू यो काम गर्दा सधैँ निकै दयनीय महसुस गर्छन्, तर तिनीहरूले किन यस किसिमको काम मात्र गर्न सक्छन् भन्नेबारे रोकिएर सोच्दैनन्। तिनीहरूले आफू अरू काम सम्हाल्न साँच्चिकै सक्षम रहेको वा नरहेको भनेर मापन गर्दैनन्। तिनीहरूको क्षमता कमजोर भएकाले शारीरिक मेहनत आवश्यक पर्ने केही कामहरू गर्दा तिनीहरू सधैँ दुःखी हुन्छन्। यदि तिनीहरूको क्षमता साँच्चिकै राम्रो हुँदो हो त, तिनीहरू दुःखी हुने थिएनन्। तिनीहरूको क्षमता पहिल्यै यति कमजोर छ कि तिनीहरू शारीरिक कामहरू मात्र गर्न सक्छन्, तैपनि तिनीहरू त्यसलाई आफ्नो प्रतिभाभन्दा तल्लो स्तरको ठान्छन्। के तिनीहरू मूर्ख होइनन् र? त्यस्ता मानिसहरू साँच्चिकै मूर्ख हुन्। यस किसिमका मानिसहरू शारीरिक मेहनत आवश्यक पर्ने कामहरू समेत राम्रोसँग पूरा गर्न सक्दैनन्। खाना बनाउँदा, तिनीहरूले कि त अति धेरै बनाउँछन् कि अति कम बनाउँछन्, र तिनीहरूले जति लामो समयसम्म पकाउने काम गरे पनि, तिनीहरूलाई अझै पनि खाना बनाउँदा अपनाउनुपर्ने तरिका थाहा हुँदैन। तैपनि, तिनीहरू अझै त्यस्ता कामहरू आफ्नो प्रतिभाभन्दा तल्लो स्तरको भएको, आफ्नो योग्यता बढी भएको ठान्छन्, र आफूले शारीरिक मेहनत आवश्यक पर्ने काम गर्न नहुने सोच्छन्। तिनीहरू आफू सचिवका रूपमा कुनै कार्यालयमा काम गरिरहेको, परमेश्वरका घरमा केही कामको जिम्मेवारी बोकिरहेको, वा कम्तीमा मण्डली अगुवाका रूपमा सेवा गरिरहेको हुनुपर्ने सोच्छन्। के यो पूर्णतया समझ नहुनु होइन र? ल भन्, तँ कस्तो कामका लागि योग्य छस्? यदि तँ कुनै किसिमको कामका लागि योग्य छैनस्, र परमेश्वरको घरले तेरो भरणपोषण गर्दागर्दै पनि तँलाई शारीरिक मेहनत आवश्यक पर्ने कामहरू दिइन्छ भने, के यो तेरो बढाइ होइन र? तैपनि तँ असन्तुष्ट नै हुन्छस्। के तेरो समझ अत्यन्तै कमजोर होइन र? (हो।) के समझ र क्षमताबीच कुनै सम्बन्ध छ? (छ।) आफूलाई नचिन्नु, आफ्नो क्षमताको स्तर के हो भनेर थाहा नपाउनु, सधैँ आफ्नो क्षमता उच्च छ भन्ने सोच्नु—के यी कमजोर क्षमताका प्रकटीकरणहरू होइनन् र? (हो।) राम्रो क्षमता भएका मानिसहरूले आफूलाई कसरी मूल्याङ्कन गर्ने भनेर जान्नेछन्, र मूल्याङ्कन गरेपछि, तिनीहरूले आफ्नो क्षमताको स्तर थाहा पाउनेछन्। आफ्नो क्षमता के हो भनी निर्धारण गरेपछि, तिनीहरूले मण्डलीमा आफ्नो स्थान भेट्टाउन सक्नेछन्। तिनीहरूले जे गरे पनि ढुक्क महसुस गर्नेछन्, र आफूले पूरा गर्ने कर्तव्यलाई तर्कसङ्गत रूपमा लिन सक्नेछन्। तिनीहरूलाई शारीरिक मेहनत आवश्यक पर्ने कामहरू अह्राइए पनि, तिनीहरूले ती काम गर्दा शान्त र न्यायोचित महसुस गर्नेछन्; तिनीहरू हृदयको गहिराइदेखि नै त्यसमा समर्पित र सहमत हुनेछन्, र यो काम र यस कार्यलाई स्विकार्नेछन्। यसलाई चेतना हुनु भनिन्छ। यदि कोही आफ्नो कर्तव्य निर्वाह गर्दा कहिल्यै ढुक्क हुँदैन, सधैँ दुखित महसुस गर्छ, र आफूलाई गर्न भनिएको कुनै पनि कार्य आफ्नो प्रतिभाभन्दा तल रहेको सोच्छ भने, के उसमा समझको कमी छैन र? (छ।)
समग्र रूपमा मानिसहरूको क्षमताको मूल्याङ्कन कसरी गर्ने
हामीले अब व्यक्तिको क्षमताको मूल्याङ्कन गर्ने एघार वटा सामर्थ्यमध्ये अन्तिम सामर्थ्य अर्थात् नवप्रवर्तनको सामर्थ्यबारे छलफल सिद्ध्याएका छौँ। यी एघार वटा सामर्थ्यमा सङ्गति गरेपछि, के तिमीहरू आफ्नो क्षमताबारे धेरथोर प्रस्ट भएका छौ? (छौँ।) त्यसोभए, के तिमीहरू त्यसको मूल्याङ्कन गर्न सक्षम छौ? के तिमीहरू साँच्चिकै आफ्नो क्षमता के हो भनी सही रूपमा मूल्याङ्कन गर्न सक्छौ? तेरो आफ्नो क्षमता राम्रो, औसत, वा कमजोर छ, वा छँदै छैन भनी निर्धारण गर्ने सम्बन्धी मापनको एउटा मानक हुन्छ—तैँले एउटै मात्र पक्ष हेर्नु हुँदैन; त्यसको समग्र रूपमा मूल्याङ्कन गर्न जरुरी हुन्छ। त्यसोभए, कुनै व्यक्तिको क्षमता के हो भनी मूल्याङ्कन गर्नका लागि कुन-कुन पक्षहरू हेरिनुपर्छ? हामीले सङ्गति गरेका एघार वटा सामर्थ्यका प्रकटीकरणहरूलाई हेर्दा, कुनै व्यक्तिमा राम्रो क्षमता छ भनी मूल्याङ्कन गर्नका लागि, कम्तीमा पनि, उसमा केही तुलनात्मक रूपले महत्त्वपूर्ण सामर्थ्य हुनैपर्छ। एकछिन विचार गर्: एघार वटा सामर्थ्यहरूमध्ये कुनै व्यक्तिमा राम्रो क्षमता छ भनी देखाउन सक्ने मुख्य सामर्थ्यहरू कुन-कुन हुन्? के तँ यसलाई मापन गर्न सक्छस्? यसको क्रम अन्तिम सामर्थ्यबाट पहिलो सामर्थ्यतर्फ अघि बढ्नुपर्छ: राम्रो क्षमता भएको व्यक्तिमा कम्तीमा नवप्रवर्तनको सामर्थ्य हुनैपर्छ; अर्को भनेको कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य, निर्णय गर्ने सामर्थ्य, र परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य हो; त्यसपछि आउँछ कामकुराको परख गर्ने सामर्थ्य, तजबिज गर्ने सामर्थ्य, र संज्ञानात्मक सामर्थ्य; अन्त्यमा आउँछ कामकुरा स्विकार्ने सामर्थ्य, बोध सामर्थ्य, कामकुरा बुझ्ने सामर्थ्य, र सिक्ने सामर्थ्य। क्रम यस्तो छ। क्रमलाई किन उल्टो पारिएको हो? हामीले सुरुमा मिलाएको क्रम निम्नदेखि उच्च थियो, तर कुनै व्यक्तिमा राम्रो क्षमता छ कि छैन भनी मूल्याङ्कन गर्नका लागि, त्यसलाई उच्चदेखि निम्न गरेर मिलाइएको हो। राम्रो क्षमता भएको व्यक्तिमा कम्तीमा नवप्रवर्तनको सामर्थ्य हुनैपर्छ। यसमा पहिले नै निर्णय गर्ने सामर्थ्य, कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य, र कामकुराको परख गर्ने सामर्थ्य भएको आधारमा पुगिन्छ। यदि तँ कामकुराबारे संज्ञान राख्न, तिनको परख र तजबिज गर्न सक्षम छस्, साथै तँ कामकुरा बुझ्ने सामर्थ्य पनि राख्छस्, र त्यसपछि नवप्रवर्तन गर्न सक्छस् भने, त्यसले तँलाई राम्रो क्षमता भएको व्यक्ति बनाउँछ। त्यस्ता मानिसहरू नेतृत्व सामर्थ्य भएका, निर्णय गर्ने तहमा प्रवेश गर्न सक्षम मानिस हुन्; तिनीहरू अगुवा बन्नमा प्रतिभाशाली हुन्छन्, र कुनै निश्चित कार्यक्षेत्रको जिम्मा सम्हाल्न सक्छन्। यिनीहरू राम्रो क्षमता भएका मानिस हुन्। औसत क्षमता भएका मानिसहरू ती हुन्, जसको नवप्रवर्तनको सामर्थ्यदेखि सिक्ने सामर्थ्यसम्मका सबै पक्षमा औसत सामर्थ्य हुन्छ। कामकुरा गर्नमा तिनीहरूका दक्षता र नतिजाहरू दुइटै औसत हुन्छन्। यिनीहरू औसत क्षमता भएका मानिस हुन्। औसत क्षमता भएका मानिसहरूको प्रमुख प्रकटीकरण के हो? त्यो के हो भने, सिद्धान्तहरूसम्बन्धी तिनीहरूको बोध र बुझाइमा गहनता हुँदैन र ती खासै सटीक हुँदैनन्। कार्यान्वयन र अभ्यास गर्दा सधैँ छिद्र र विचलनहरू हुन्छन्। तिनीहरू सधैँ केही न केही छुटाइरहेका हुन्छन्, कहिले यो त कहिले त्यो बिर्सन्छन्, र सबै कुरालाई समग्र रूपमा ध्यान दिन सक्दैनन्। उदाहरणका लागि, तिनीहरू मण्डली अगुवाका रूपमा चुनिन्छन् तर समग्र रूपमा कामका सबै पक्षहरूको जिम्मेवारी लिन सक्दैनन्। तिनीहरू सुसमाचारको कामका लागि जिम्मेवार हुँदा सुसमाचारको काममा मात्र केन्द्रित हुन्छन् र अन्य काममा ध्यान पुर्याउन सक्दैनन्। तिनीहरूले सुसमाचारको काम चलायमान राख्लान् तर तिनीहरूसँग लेखन-पठनको काम वा चलचित्र निर्माणको कामबारे प्रश्न सोध्ने समय नै हुँदैन। यस्तो किन हुन्छ? किनभने तिनीहरूको क्षमता पूर्णतया औसत हुन्छ र तिनीहरूले कामको एउटा पक्ष मात्र सम्हाल्न सक्छन्; तिनीहरू मुस्किलले एउटा कार्यक्षेत्रमा योग्य हुन सक्छन्, तर जब तिनीहरूलाई अन्य काममा पनि ध्यान पुर्याउन भनिन्छ, तब तिनीहरूले चर्को रूपमा गुनासो गर्न थाल्छन् र अत्यधिक दबाबमा पर्छन्, जसका कारण कुनै पनि काम राम्रोसँग गर्न सक्दैनन्। तिनीहरूको काममा सधैँ कसैले सुपरिवेक्षण गर्नुपर्ने, सम्झाइदिनुपर्ने, निरीक्षण र जाँच गर्नुपर्ने हुन्छ। तिनीहरूका छेउमा सधैँ कोही हुनैपर्छ जसले तिनीहरूलाई साथ देओस्, सत्यता सङ्गति गरोस्, कामका सिद्धान्तहरू र सम्भावित विचलन र छिद्रहरूलाई बारम्बार जोड देओस्। तिनीहरूलाई सधैँ कसैले सम्झाइरहनुपर्छ। तिनीहरूलाई किन सधैँ कसैले सम्झाउनु र निर्देशनहरू दिनुपर्छ? त्यो तिनीहरूको कार्य अनुभव पर्याप्त नभएकाले नभई तिनीहरूको क्षमता औसत भएकाले हो। तिनीहरूले उत्पन्न हुने सम्भावना भएका परिस्थिति र समस्याहरूको पूर्वानुमान गर्न सक्दैनन्, वा तिनीहरूले पूर्वानुमान गर्न सक्ने कुरा निकै सीमित हुन्छ। त्यसकारण, तिनीहरूलाई मार्गदर्शन, जाँच, र अनुगमन गर्न छेउमा सधैँ कोही हुनैपर्छ, जसले बारम्बार तिनीहरूको कामको प्रगतिबारे सोध्नुपर्ने हुन्छ। कामको प्रगतिबारे सोध्दा, तिनीहरूले कि त एउटा काम गरेकै हुँदैनन्, कि अर्को काम बिर्सेका हुन्छन्; नत्र, तिनीहरूले कुनै पक्षलाई बेवास्ता गरेका हुन्छन् वा तिनीहरूलाई कसरी अगाडि बढ्ने भन्ने थाहा हुँदैन, तैपनि तिनीहरू अझै पनि कसलाई सोध्ने वा कसरी खोज्ने भन्ने जान्दैनन्, र अझै पर्खिरहेका हुन्छन्। छोटकरीमा भन्नुपर्दा, कामका लागि योग्य हुने तिनीहरूको सामर्थ्य धेरै औसत हुन्छ। यो “औसत” को तिनीहरूसँग कति सङ्कल्प छ, तिनीहरू कति बलिया छन्, काम गर्न कति मन पराउँछन्, वा कति कठिनाइ सहन र मूल्य तिर्न सक्छन् भन्नेसित कुनै सम्बन्ध हुँदैन—यीसँग त्यसको कुनै सम्बन्ध हुँदैन। बरु, यसले तिनीहरूको कार्य सक्षमता औसत हुनुलाई मात्र जनाउँछ। अर्कोतिर, राम्रो क्षमता भएका मानिसहरूले मूलतः आफ्नो काममा ठूला गल्तीहरू गर्दैनन्। तिनीहरूले पालना गर्ने सिद्धान्त, दिशा, र वृहत् कार्यविधि मूलतः सही हुन्छन्। तिनीहरूले अक्सर सानातिना विवरणहरू छुटाउन सक्ने भए पनि, यी विवरणहरूले समग्र कामका प्रभावकारिता र नतिजाहरूलाई असर गर्दैनन्। यिनीहरू राम्रो क्षमता भएका मानिस हुन्। कुनै पनि मानव सिद्ध त अवश्यै हुँदैन। राम्रो क्षमता भएका मानिसहरूको काममा पनि सानातिना छिद्रहरू हुन सक्छन्, तिनीहरूले कहिलेकाहीँ क्षणिक रूपमा केही कुरा छुटाउँछन्, वा हालसालै अर्को काममा व्यस्त भएका कारणले कुनै एउटा कामलाई थोरै बेवास्ता गर्छन्। तर, तिनीहरूको क्षमताका हिसाबले मात्र भन्ने हो भने, तिनीहरूले झट्टै परिस्थितिलाई उल्टाएर त्यसलाई व्यवस्थापन र नियन्त्रण गर्न सक्छन्, जसले गर्दा समग्र काम सारगत रूपमा त्रुटिरहित हुने, र समग्र काम सामान्यतः सत्यता सिद्धान्तहरू, कार्य बन्दोबस्तहरू, वा प्रशासनिक आदेशका प्रबन्धहरूसँग मेल खाने गरी व्यवस्थित तरिकाले अघि बढ्ने सुनिश्चित हुन्छ। ख्रीष्टविरोधी वा दुष्ट मानिसहरूले तिनीहरूको कामको दायराभित्र बाधाहरू निम्त्याउँदा पनि, तिनीहरूमा परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य हुने भएकाले, तिनीहरूले परिस्थितिलाई झट्टै सम्हाल्नेछन्। तिनीहरूले अवसर पाउनेबित्तिकै उक्त मामलालाई सम्हाल्नेछन् र हल गर्नेछन्, जसले गर्दा मण्डलीको काम चाँडै सही बाटोमा आउने र दाजुभाइ-दिदीबहिनीहरूका लागि आफ्नो कर्तव्य निर्वाह गर्ने वातावरण प्रभावित नहुने सुनिश्चित हुन्छ। अनपेक्षित परिस्थितिहरू उत्पन्न हुँदा पनि, राम्रो क्षमता भएका मानिसहरूले तिनलाई सम्हाल्न जानेका हुन्छन्। तिनीहरूले पहिले त्यस्ता परिस्थितिहरू नसम्हालेका भए पनि, सिद्धान्तहरू खोज्न जानेका हुनेछन्। तिनीहरूसँग कामकुरा परख गर्ने, तजबिज गर्ने, र तिनका बारेमा संज्ञान राख्ने सामर्थ्य हुने भएकाले, तिनीहरूले तुरुन्तै समस्याहरूलाई सिद्धान्तहरूअनुसार समाधान गर्नेछन्। तिनीहरूसँग समस्याहरू समाधान गर्ने सामर्थ्य अवश्यै हुन्छ। कामकुराको परख गर्ने, परिस्थितिहरूलाई सम्बोधन गर्ने, र तजबिज गर्ने तिनीहरूका सामर्थ्यहरूले तिनीहरूलाई अनपेक्षित परिस्थितिहरूलाई छिट्टै साम्य र शान्त पार्न सक्षम तुल्याउँछन्, जसले गर्दा मण्डलीको कामको सामान्य र व्यवस्थित प्रगतिको र परमेश्वरका घरका हितहरूको रक्षा हुन्छ, जसले त्यस्ता परिस्थितिहरू नदोहोरिने वा लामो समयसम्म असाम्य नरहने सुनिश्चित गर्छ। सँगसँगै, तिनीहरूले कामकुरा सम्हाल्दा प्रयोग गर्ने सिद्धान्तहरू र हासिल गर्ने अन्तिम नतिजाहरू दुवैले परमेश्वरका घरका हितहरूको रक्षा गर्नमा टेवा पुर्याउँछन्। उच्च प्रभावकारिता र राम्रा नतिजा नै राम्रो क्षमता भएका मानिसहरूले आफ्नो काममा हासिल गर्न सक्ने कुराहरू हुन्। तर, जब औसत क्षमता भएका मानिसहरूले मण्डलीको काम वा दैनिक जीवनमा आइपर्ने समस्याहरू सम्हाल्छन्, तब तिनीहरू अलि दबाबमा पर्छन् र तिनीहरूलाई त्यो अलि कठिन लाग्छ। तिनीहरूले समस्याहरू सम्हाल्ने तरिका प्रायः अप्रभावकारी र निकै सुस्त हुन्छ। जुन समस्याहरू एक वादुई दिनमा समाधान गर्नुपर्ने हो, तिनीहरूले ती छर्लङ्गै देख्न नसक्ने भएकाले, तिनीहरूले प्रतीक्षा गर्नुपर्ने हुन सक्छ, र तीनदेखि पाँच दिनसम्म मनन गर्नुपर्ने हुन सक्छ। तिनीहरू परिस्थितिलाई उल्टाउनका लागि निर्णायक निर्णय गर्न सक्दैनन् बरु असहाय हुन्छन्, र परिस्थितिलाई निरन्तर बिग्रन दिन मात्र सक्छन्। तिनीहरूले तथ्यहरू पुष्टि गर्ने, परिस्थितिबारे सम्बन्धित मानिसहरूलाई सोध्ने, वा समस्याहरू वर्गीकरण गर्ने र माथिल्लो तहमा तिनको रिपोर्ट गर्ने जस्ता केही सामान्य कार्यहरू मात्र सम्हाल्न सक्छन्। अरूले दुई दिनमा समाधान गर्न सक्ने समस्याहरू समाधान गर्न तिनीहरूलाई आधा महिना लाग्न सक्छ। समस्याहरू अन्ततः समाधान भए पनि, लामो ढिलाइले मण्डलीको काममा केही क्षति पुर्याउँछ। यो समयमा, कतिपय मानिसहरू ख्रीष्टविरोधीहरूको बहकाउमा पर्न सक्छन्, भेटीहरू हराउन सक्छन्, वा समस्याहरू तत्काल समाधान नगरिएकाले निश्चित कामहरूले क्षति बेहोर्न सक्छन्। त्यसपछि क्षतिपूर्ति वा राहत प्रदान गरिने, र तह लगाइनुपर्ने मानिसहरूलाई अन्त्यमा तह लगाइए पनि, नतिजा र दक्षता निकै औसत हुन्छन्। यो आगो निभाउने काम जस्तै हो: राम्रो क्षमता भएका मानिसहरूमा आगो निभाउने कला हुन्छ, जसले राम्रा नतिजाहरू दिन्छन् र आर्थिक क्षतिबाट जोगाउँछन्। तर, औसत क्षमता भएका मानिसहरूले अनुचित विधिहरू अपनाउने, आपत्कालीन उपाय नहुने, सुस्त तरिकाले कार्य गर्ने, अनि तिनीहरूसँग समस्या समाधान गर्नका लागि निर्णायक निर्णयहरू गर्ने र मुख्य कुराहरू बुझ्ने सामर्थ्य नहुने हुनाले, उनीहरू अझ ठूला क्षतिहरू निम्त्याउँछन्। कतिपय मानिसहरू “म आफूले पुर्याएका क्षतिहरूका लागि क्षतिपूर्ति प्रदान गर्न इच्छुक छु” भन्छन्। यदि त्यो आर्थिक क्षति मात्र हो भने, क्षतिपूर्तिले समस्या हल हुन सक्छ। तर यदि ठूलो रातो अजिङ्गरको पक्राउको सामना गर्दा तैँले त्यसलाई उचित रूपमा सम्हाल्न सकिनस्, जसले गर्दा मण्डलीको काममा क्षति पुग्यो भने, के तैँले त्यसको क्षतिपूर्ति तिर्न सक्छस्? के तैँले ढिलो भएको काम र गुमेको समयको क्षतिपूर्ति तिर्न सक्छस्? अनपेक्षित घटनाहरू आइपर्दा, औसत क्षमता भएका मानिसहरूको परिस्थितिहरूलाई सम्बोधन गर्ने, तजबिज गर्ने, कामकुराको परख गर्ने, र निर्णय गर्ने सामर्थ्य समेत सबै औसत हुने भएकाले, तिनीहरूले समस्याहरू सुस्त रूपमा र अत्यन्तै कम दक्षता साथ सम्हाल्छन्, र तिनीहरूका आपत्कालीन उपायहरू अप्रभावकारी हुन्छन्, जसको फलस्वरूप अन्त्यमा कामका नतिजाहरू असन्तोषजनक हुन्छन् र केही क्षति पुग्छ। समस्याहरू अन्ततः समाधान भए पनि, लामा ढिलाइहरू हुने र दक्षता घट्ने हुनाले, यसलाई क्षति नै मानिन्छ। त्यसकारण, यी मानिसहरूलाई औसत क्षमता भएको भनी चित्रण गरिन्छ। कतिपय मानिसहरू भन्छन्, “त्यो न्यायोचित होइन। तिनीहरूले पनि मेहनत लगाएका छन्, कडा परिश्रम गरेका छन्, र समस्याहरू समाधान गरेका छन्। तपाईँले अझै पनि तिनीहरूको क्षमता औसत छ भनेर कसरी भन्न सक्नुहुन्छ?” त्यस्ता मामलाहरूलाई भावना वा संवेगमा आधारित भएर मूल्याङ्कन गर्न मिल्दैन। वस्तुगत र न्यायोचित रूपमा, साथै कुनै व्यक्तिको क्षमताले हासिल गर्न सक्ने स्तरको हिसाबले भन्नुपर्दा, तेरो क्षमता औसत नै हो। त्यो किन औसत हो? किनभने तेरोभन्दा उच्च क्षमता भएका मानिसहरू छन्; तिनीहरूको मानवता लगभग तेरो जस्तै भएको परिस्थितिमा, राम्रो क्षमता भएका मानिसहरूले तेरोभन्दा राम्रो दक्षता र नतिजाका साथ समस्याहरू सम्हाल्छन्, र क्षतिहरू तेरोभन्दा साना हुन्छन्। त्यसकारण, तेरो क्षमतालाई औसतका रूपमा मात्र वर्गीकृत गर्न सकिन्छ। बुझिस्? (बुझेँ।) त्यस्ता मानिसहरूलाई औसत क्षमता भएको भनेर चित्रण गर्नुको कारण के हो भने, आफ्ना कार्यहरूमा तिनीहरूले भन्दा राम्रा दक्षता र नतिजाहरू हासिल गर्ने राम्रो क्षमता भएका मानिसहरू हुन्छन्। त्यसकारण, तिनीहरूको क्षमता औसत नै हो। यो व्याख्या न्यायोचित र मनासिब छ। कतिपय मानिसहरू भन्छन्, “तिनीहरूमा इमानदारी छ, र तिनीहरूले यो कार्यमा मन लगाएका छन्; तिनीहरूले धेरै कठिनाइ सहेका छन् र तिनीहरूले सानो मूल्य चुकाएको होइन।” त्यसो भन्नुको के काम? के त्यसको अर्थ तिनीहरूमा राम्रो क्षमता छ भन्ने हो? तिनीहरूका मानवता, भावना, वा इच्छाहरू जस्तोसुकै भए पनि, तिनीहरूको क्षमताका हिसाबले मात्र भन्ने हो भने, यी औसत क्षमता हुनुका प्रकटीकरणहरू हुन्।
कमजोर क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू के-के हुन्? विभिन्न क्षमताहरूका दृष्टिकोणबाट हेर्दा, कमजोर क्षमता भएका मानिसहरूले तुलनात्मक रूपमा केही सिक्ने क्षमता र कामकुरा बुझ्ने क्षमता राख्छन्। जब तिनीहरूले निश्चित ज्ञान, मत, व्यावसायिक सीप, वा शैक्षिक विषयहरू सिक्छन्, तब तिनीहरूले तिनलाई मजबुत र सटीक रूपमा सम्झन सक्छन्, र मुख्य बुँदाहरू आफ्नो नोटबुकमा टिप्छन्। तिनीहरूले शिक्षा प्राप्त गरेका हुनाले, तिनीहरूको कामकुरा बुझ्ने सामर्थ्य ज्यादै कमजोर हुँदैन; त्यो औसत स्तरमा पुग्न सक्छ। तर, तिनीहरूमा कामकुरा स्विकार्ने सामर्थ्य र कामकुराको परख गर्ने सामर्थ्यजस्ता बोध सामर्थ्यपछि आउने सामर्थ्यहरू हुँदैनन्। भन्नुको मतलब, तिनीहरूको सामर्थ्य मत, ज्ञान, प्राविधिक सीप, वा व्यवसायहरूलाई पाठ्य स्तरमा सिक्न र बुझ्नमै सीमित रहन्छ। वास्तविक जीवनमा मानिसहरूलाई हेर्ने, मामलाहरू सम्हाल्ने, समस्याहरू समाधान गर्ने, र कार्य बन्दोबस्तहरू कार्यान्वयन गर्ने सम्बन्धमा तिनीहरू पछि पर्छन्। तिनीहरूको सामर्थ्य सिक्ने सामर्थ्य र कामकुरा बुझ्ने सामर्थ्यमा नै सीमित रहन्छ; तिनीहरूले बोध सामर्थ्य हासिल गर्न सक्छन्, तर तिनीहरू कामकुरा स्विकार्ने सामर्थ्यमा पछि पर्छन्। कामकुरा स्विकार्ने सामर्थ्य राख्ने मानिसहरूले यी सिद्धान्तहरू, मतहरू, र आधारभूत तत्त्वहरू वास्तविक जीवनका कुन कुराहरूसँग मेल खान्छन्, साथै कुन-कुन व्यावहारिक र लागु गर्न मिल्ने छन्, कुन-कुन व्यावहारिक छैनन्, र आफ्ना लागि कुन-कुन उपयुक्त छन् र कुन-कुन उपयुक्त छैनन् भनेर थाहा पाउन सक्छन्। तर, कमजोर क्षमता भएका मानिसहरूले यी कुराहरू छर्लङ्गै देख्न सक्दैनन्। उदाहरणका लागि, अनलाइनमा विभिन्न स्वास्थ्यसम्बन्धी ज्ञान र सुगठन तालिमसम्बन्धी सामग्रीहरू उपलब्ध छन्। कमजोर क्षमता भएका मानिसहरूले पनि यी स्रोतहरूबाट व्यायाम गर्ने र आफ्नो हेरचाह गर्ने तरिकाहरू सिक्न सक्छन्। तिनीहरूले सिक्ने सामर्थ्य, कामकुरा बुझ्ने सामर्थ्य, र बोध सामर्थ्य राख्छन्, र तिनीहरू आफूलाई मन पर्ने चीज खोज्न पनि जान्दछन्। तर, यीमध्ये कुन कुराहरू व्यावहारिक, प्रभावकारी, र मानिसहरूलाई साँच्चिकै चाहिने हुन् भन्ने सम्बन्धमा, कमजोर क्षमता भएका मानिसहरूले यो कुरा पहिचान गर्न सक्दैनन्। तिनीहरू कामकुरा स्विकार्ने सामर्थ्यमा पछि पर्छन्। आज अनलाइनमा तोफुसँग उमालेको पालुङ्गो अत्यन्त पौष्टिक हुन्छ भनेर लेखिएको छ, त्यसैले तिनीहरूले त्यो हरेक दिन खान्छन्। तर त्यो केही समयसम्म खाएपछि, तिनीहरूले त्यसका प्रभावहरू कस्ता छन् वा त्यसले अनलाइनमा दाबी गरिएजस्तो प्रभाव पारेको छ कि छैन भनेर केही थाहा पाउँदैनन्। पछि, अनलाइनमा पालुङ्गो र तोफु सँगै पकाउन हुँदैन भन्ने लेखिएको हुन्छ, अनि यो सुनेपछि, तिनीहरूले फेरि कहिल्यै पालुङ्गो र तोफु मिसाएर पकाउँदैनन्। पालुङ्गो र तोफु साँच्चिकै अत्यन्त पौष्टिक हुन्छन् कि ती सँगै पकाउन मिल्दैन भन्ने कुरा तिनीहरूलाई थाहा हुँदैन र तिनीहरूले सोध्दा पनि सोध्दैनन्; तिनीहरू अन्धाधुन्ध पालना गर्न मात्र जान्दछन्। आजकाल सूचना अत्यन्तै विकसित भएको छ; विभिन्न समाचारहरू अत्यन्तै जटिल हुन्छन्। तिनीहरूले के ठीक र के बेठीक वा के सही र के गलत हो भनेर चिन्न सक्दैनन्। तिनीहरू सबथोक पढ्छन् र सुन्छन्, जुन कुरा पहिले सुनिएको छैन, जुन नयाँ लाग्छ वा गहन देखिन्छ, त्यो राम्रो नै हुनुपर्छ भन्ने विश्वास गर्छन्। उदाहरणका लागि, चकलेट खानु मुटुका लागि राम्रो हो भनेर अनलाइनमा भनिएको हुन्छ, त्यसैले तिनीहरू हरेक दिन चकलेट खान्छन्। फलस्वरूप, तिनीहरूको भित्री ताप बढ्छ, तिनीहरूको मुखमा घाउ आउँछ, आँखा राता हुन्छन्, र तिनीहरूलाई कान बज्ने समस्या हुन्छ। वास्तवमा, सन्तुलित मात्रामा चकलेट खाँदा मुटुका लागि राम्रो हुन्छ भनेर भनिएको थियो, तर तिनीहरूले “सन्तुलित मात्रामा” भन्ने शब्दहरू सम्झेनन्। तिनीहरू मुख्य बुँदा बुझ्न असमर्थ हुन्छन् र अन्त्यमा आफूलाई नै हानि गर्छन्। केही दिनपछि, अब अनलाइनमा भनिएको हुन्छ: “चकलेट खानु मुटुका लागि नराम्रो हो, र धेरै खाँदा तौल पनि बढ्न सक्छ।” पहिचान गर्न सक्ने मानिसहरूले धेरै खानु शरीरका लागि नराम्रो हो, तर सन्तुलित मात्रामा खानु राम्रो हो भनेर थाहा पाउँछन्। तर, तिनीहरूले यो पहिचान गर्न सक्दैनन्; यो सुनेपछि, तिनीहरूले चकलेट खान पूरै बन्द गर्छन्। तिनीहरू एउटा चरमदेखि अर्को चरमतिर झुल्छन्, कि त अत्यधिक बायाँतिर कि अत्यधिक दायाँतिर झुक्छन्, तैपनि तिनीहरू आफू आधुनिकताको अग्रपङ्क्तिमा रहेको ठान्छन्: “हेर, इन्टरनेटले जे राम्रो हो भन्छ, म त्यो खान्छु; त्यसले जे नराम्रो हो भन्छ, म त्यो खान्नँ। म समयको प्रवृत्तिसँगै चल्ने व्यक्ति हुँ।” वास्तवमा, तिनीहरू कामकुराको परख गर्ने सामर्थ्य नै नभएका मानिस हुन्, अलमल्ल परेका व्यक्ति हुन्, जो अन्धाधुन्ध भीडका पछि लाग्छन्। अनलाइनमा सबै प्रकारका जानकारीहरू हुन्छन्, र धेरैजसो दाबी सही हुँदैनन्। थोरै मात्रामा सही जानकारी र दाबीहरू पनि अवश्यै हुन्छन्। तैँले तिनको परख गर्न सक्नुपर्छ। कस्तो जानकारी स्विकार्ने भन्ने सन्दर्भमा, तैँले त्यसलाई आफ्ना आवश्यकताहरूअनुसार, त्यो तेरा लागि लाभदायक छ कि छैन, र जानकारी सकारात्मक छ कि छैन भनी मापन गर्नुपर्छ। कमजोर क्षमता भएका मानिसहरूमा त्यस्ता कुराहरूको परख गर्ने सामर्थ्य हुँदैन। तिनीहरू कामकुरा स्विकार्ने सामर्थ्यको स्तरदेखिका सबै सामर्थ्यमा पछि पर्छन्। तिनीहरू कामकुरा पाठ्य, सैद्धान्तिक, र ज्ञानको स्तरमा सिक्नमा र बुझ्नमा नै सीमित रहन्छन्, र तिनीहरूमा केही बोध सामर्थ्य हुन्छ। तर, जहाँसम्म विभिन्न दाबी सही हुन् कि होइनन् र ती मूल्यवान् र अर्थपूर्ण छन् कि छैनन् भनी थप परख गर्ने कुरा छ, कमजोर क्षमता भएका मानिसहरूमा यो कुराको तजबिज गर्ने र परख गर्ने सामर्थ्य हुँदैन। अनि त्यसपछि परिस्थितिलाई सम्बोधन गर्ने सामर्थ्यको कुरा आउँछ, र कमजोर क्षमता भएका मानिसहरूमा त्यो पनि हुँदैन। जब वास्तविक जीवनमा वा अस्तित्वको मार्गमा आइपर्ने विभिन्न समस्याहरूको कुरा आउँछ, तिनीहरू आफूलाई थाहा भएका वा आफूले बोध गरेका सत्यता सिद्धान्तहरूका आधारमा तिनलाई सम्हाल्न सक्दैनन्। तिनीहरूले जतिसुकै शब्द र धर्मसिद्धान्तहरू बोल्न सक्ने भए पनि, यी खोक्रा र अव्यावहारिक हुन्छन्। आफ्ना वरपर वा अस्तित्वको मार्गमा देखा पर्ने समस्याहरूलाई निराकरण गर्न तिनीहरू आफ्नै तुच्छ चालबाजीहरूमा भर पर्छन्; तिनीहरू केवल घाटा बेहोर्नबाट बच्ने कोसिस गर्छन्, बस त्यतिमै सीमित हुन्छन्, जबकि आफूले बुझेका सिद्धान्तहरू अनुभव गर्ने, बोध गर्ने, वा पुष्टि गर्ने तहमा पुग्न सक्दैनन्। अझ, कमजोर क्षमता भएका मानिसहरूमा संज्ञानात्मक सामर्थ्य पनि हुँदैन। भन्नुको मतलब, कुनै समस्या उत्पन्न हुँदा तिनीहरू कुनै पनि निष्कर्ष निकाल्न वा मामिलाकै सार, त्यसपछाडिको मूल कारण, वा त्यसले भविष्यमा निम्त्याउन सक्ने परिणामहरू नै चिन्न सक्दैनन्। कमजोर क्षमता भएका मानिसहरूलाई यी कुराहरूबारे कसरी सोच्ने भनेर बिलकुलै थाहा हुँदैन, झन् आफूले बुझेका सत्यता वा विभिन्न कुराका सिद्धान्त र व्यवस्थाहरूलाई त्यस्ता समस्याहरू सामना गर्न र सम्हाल्नका लागि लागु गर्नु त परको कुरा हो। तिनीहरूको क्षमता कमजोर हुने हुनाले तिनीहरूको सोचाइ सरल र सतही हुन्छ, र मामिलाहरूबारे तिनीहरूको दृष्टिकोणमा विचलनहरू हुन्छन्। अझ भन्नुपर्दा, झनै बढी समस्याजनक कुरा त के छ भने, तिनीहरू कुन दृष्टिकोणबाट कामकुरालाई सही रूपमा हेर्न सकिन्छ भनेर जान्दैनन्। त्यसकारण, तिनीहरूले कुनै पनि कुराको सार छर्लङ्गै देख्न सक्दैनन्, न त कुनै पनि कुराको सहीपन अथवा ठीक वा बेठीक मूल्याङ्कन गर्न नै सक्छन्। तजबिजबिना, तिनीहरू परख गर्न सक्दैनन्; त्यसोभए, अवश्य पनि तिनीहरूसँग परिस्थितिहरूलाई सम्बोधन गर्ने सामर्थ्य पनि हुँदैन, निर्णय गर्ने सामर्थ्य त झन् परको कुरा हो। कतिपय मानिसहरू भन्छन्, “कमजोर क्षमता भएका मानिसहरूले पनि हरेक दिन के खाने र के लाउने भन्ने जानेका हुन्छन्, र आफ्ना दैनिक जीवन व्यवस्थापन गर्न सक्छन्।” क्षमता हुनुको अर्थ त्यो होइन। क्षमता हुनुले जीवनमा र अस्तित्वको मार्गमा सामना गरिने विभिन्न सारगत समस्याहरूलाई आफूले बुझ्ने सत्यता सिद्धान्तहरूअनुसार सम्हाल्न सक्नुलाई जनाउँछ। जीवनमा सामना गरिने विभिन्न समस्याहरूमा व्यक्तिको मूल्याङ्कन गर्नु, मामला सम्हाल्नु, आदि पर्छन्। अस्तित्वको मार्गमा आइपर्ने समस्याहरूमा सही र गलतका ठूला विषयहरू सामना गर्ने, तेरा लागि परमेश्वरद्वारा खडा गरिएका वातावरणहरू, परमेश्वरको सार्वभौमिकता, भविष्य र गन्तव्यसँग सम्बन्धित मामलाहरू र अगाडिको मार्ग चुन्ने तरिका, आदि पर्छन्—यी सबै अस्तित्वसँग सम्बन्धित समस्याहरूमा पर्छन्। यदि कसैसँग जीवनमा वा अस्तित्वको मार्गमा आइपर्ने समस्याहरू सम्हाल्ने सामर्थ्य छैन भने, यसको अर्थ उसमा निर्णय गर्ने सामर्थ्य छैन। त्यस्ता मानिसहरू मानसिक रूपमा शून्य हुन्छन्, त्यसैले तिनीहरूका सन्दर्भमा कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्यबारे कुरा गर्नु अलिक अनुचित हुन्छ। अन्तिम सामर्थ्य, अर्थात् नवप्रवर्तनको सामर्थ्य, अवश्य पनि कमजोर क्षमता भएका मानिसहरूको पहुँचभन्दा अझ बाहिर हुन्छ। यो पशुहरूको राजा सिंह हो कि बाघ हो भनेर छलफल गर्नु जस्तै हो। कम्तीमा पनि, दुवै योग्य उम्मेदवार हुन्, किनभने सिंह र बाघ दुवैमा पशुहरूमाझ शासकका रवैया र सामर्थ्यहरू हुन्छन्। तिनको आ-आफ्नो बल हुन्छ, र एक अर्कासँग तुलना गर्दा, तिनीहरू बराबर हुन सक्छन्, जसले तिनीहरूलाई पशुहरूको राजाको उपाधिका लागि प्रतिस्पर्धा गर्न योग्य तुल्याउँछ। यदि तैँले पशुहरूको राजा को हो भनी निर्णय गर्नका लागि हरिण, जरायो, वा याकलाई सिंह र बाघसँग तुलना गरिस् भने, मानिसहरू तँलाई हेरेर हाँस्नेछन्। तिनीहरू तँलाई हेरेर किन हाँस्नेछन्? (किनभने यी जनावरहरू तुलनीय छैनन्।) तिनीहरू एउटै स्तरमा छैनन्, तिनीहरू एउटै तौल वर्गमा पनि पर्दैनन्; तिनीहरू तुलनीय छैनन्। त्यसैगरी, कमजोर क्षमता भएका मानिसहरूमा कुनै विचार हुँदैन, र तिनीहरूसँग मानसिक तहमा कुनै पनि व्यक्ति, घटना वा कामकुराको मूल्याङ्कन वा कदर गर्ने सामर्थ्य हुँदैन। त्यसकारण, त्यस्ता मानिसहरूमा कामकुराको मूल्याङ्कन र कदर गर्ने क्षमता हुन्छ कि हुँदैन भन्नेबारे कुरा गर्नु पनि बेकारको कुरा हो। कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य तुलनात्मक रूपमा उन्नत कुरा हो र यो राम्रो क्षमता भएका मानिसहरूमा लागु हुन्छ। झन् नवप्रवर्तनको सामर्थ्य त अझ बढी, राम्रो क्षमता भएका मानिसहरूमा लागु हुन्छ। नवप्रवर्तनको सामर्थ्य भनेको वास्तविक जीवनमा कुनै पनि कुरालाई व्यावहारिक रूपमा सम्हाल्ने व्यक्तिको सामर्थ्यद्वारा मूल्याङ्कन गरिन्छ। कमजोर क्षमता भएका मानिसहरूमा आफूले गर्ने कुनै पनि कुरामा सोच र चरणहरूको मात्र कमी हुने होइन, तिनीहरूसँग काम सम्पन्न गर्ने सामर्थ्य पनि हुँदैन, त्यसैले तिनीहरूमा कुनै नवप्रवर्तनको सामर्थ्य छ भन्न मिल्दैन। त्यसोभए क्षमता नभएका मानिसहरूमा कस्ता सामर्थ्यहरू हुन्छन्? क्षमता नभएका धेरैजसो मानिसहरूको एउटा साझा विशेषता हुन्छ: तिनीहरूको कुनै बलियो पक्ष हुँदैन। अभिव्यक्तिको सामर्थ्यका हिसाबले, तिनीहरूमा केही पनि हुँदैन; कुनै प्राविधिक र व्यावसायिक सबल पक्षका हिसाबले पनि तिनीहरूमा केही पनि हुँदैन; यहाँसम्म कि सरसफाइ जस्तो सबैभन्दा सरल काम गर्न पनि तिनीहरूसँग कुनै शीघ्र र स्पष्ट समाधानहरू हुँदैनन्, कुनै उपायहरू हुँदैनन्, र कुनै क्रमबद्धता हुँदैन। कुनै सरल काम निर्वाह गरेबाट नै तैँले क्षमता नभएका मानिसहरूका विशेषताहरू के-के हुन् भनी देख्न सक्छस्। क्षमता नभएका मानिसहरूको सबैभन्दा प्रस्ट विशेषता के हो भने, हरेक पक्षमा तिनीहरूसँग सामर्थ्य हुँदैन। सरल रूपमा भन्नुपर्दा, तिनीहरू आफ्नै मानव जीवन वा सबैभन्दा आधारभूत आवश्यकताहरू समेत व्यवस्थापन गर्न सक्दैनन्—यी सबै पूरै अव्यवस्थित हुन्छन् र तिनमा कुनै पनि सिद्धान्तहरू हुँदैनन्। क्षमता नभएका मानिसहरूको सबैभन्दा सटीक वर्णन भनेको तिनीहरू केही पनि हासिल गर्न सक्दैनन् र आफ्ना आधारभूत दैनिक आवश्यकताहरू पूरा गर्नका निम्ति मात्र जिउँछन् भन्ने हो—त्योभन्दा बढी केही पनि होइन। विभिन्न स्तरका क्षमता भएका मानिसहरूका प्रकटीकरणहरू, साथै तिनीहरूका क्षमता र सामर्थ्यका विशेषताहरू सबै प्रस्ट रूपमा व्याख्या गरिएका छन्। यदि तिमीहरूले बुझेका छौ भने, तिमीहरूले फरक-फरक क्षमताका मानिसहरूलाई कसरी खुट्ट्याउने र व्यवहार गर्ने भनेर सिक्न सक्नेछौ।
कसरी आफ्नो क्षमतालाई ठीक तरिकाले लिने
क्षमता भनेको के हो, साथै मानिसहरूको क्षमताको स्तर र प्रकारलाई कसरी विभाजन गर्ने भन्नेबारे सङ्गति गरेर तिमीहरूले सुनिसकेपछि, के तिमीहरूलाई कुनै फाइदा भयो? (भयो।) के तिमीहरूलाई आफ्नो क्षमता कमजोर छ भन्ने साँच्चिकै थाहा छ? (छ।) क्षमता नभएका कतिपय मानिसहरू यसो भन्छन्: “मसँग कसरी कुनै पनि क्षमता नभएको? मेरो क्षमता औसत वा कमजोर भएको भए पनि ठिकै हुनेथियो।” कुनै पनि क्षमता नभएको, बेकुफ, मूर्ख, वा बेकामे व्यक्ति भएको स्तरमा झर्न कोही पनि इच्छुक हुँदैन, तर संयोगवश, कतिपय मानिस आफ्ना प्रमुख प्रकटीकरणहरू र यी वर्षहरूमा आफ्नो कर्तव्य निर्वाह गर्नुका नतिजाहरूका आधारमा आफ्नो मूल्याङ्कन गर्दा, तिनीहरू साँच्चिकै क्षमता नभएका मानिसका स्तरमा पर्छन्। के यसले कतिपय मानिसहरूलाई नकारात्मक बनाउँछ? जब धेरै कुराहरू प्रस्ट पारिँदैनन्, तब मानिसहरू मूर्खतापूर्वक “मसँग सक्षमता छ, मसँग सामर्थ्य छ, म बुद्धिमान् छु, मेरो क्षमता खराब छैन, म कुलीन हुँ, म परमेश्वरका राज्यमा कोही हुँ, म एउटा स्तम्भ, एउटा मुख्य आधार हुँ” भन्ने सोच्छन्, मूर्खतापूर्वक आफ्ना स्वैरकाल्पनिक सपनाहरूमा टाँसिएर अत्यन्तै राम्रो, अत्यन्तै आत्मविश्वासी महसुस गर्छन्, र आफूमा सम्भाव्यता र आशा छ भन्ने सोच्छन्; तिनीहरू नकारात्मक हुँदैनन्, र उद्देश्य बोकेर जिउँछन्। तर, तिनीहरूले साँचो तथ्यहरू थाहा पाएपछि, तिनीहरू “के यसको अर्थ मैले मुक्ति प्राप्त गर्ने आशा छैन भन्ने होइन र?” भन्ने सोचेर दुःखी बन्छन् र नकारात्मक स्थितिमा पर्छन्। यी कुराहरू प्रस्ट नपारिएमा मानिसहरू मूर्खतापूर्वक अहङ्कारी बन्छन्; कुनै व्यक्ति जति मूर्ख छ, ऊ त्यति नै अहङ्कारी हुन्छ, र त्यति नै उसको अहङ्कार असीमित बन्छ। जो चलाख छन्, तिनीहरूले यतिका वर्षमा सत्यताको आपूर्ति स्विकारेपछि, चिन्तन र आत्मजाँच गर्नेछन्, सत्यतालाई आफूसँग तुलना गर्नेछन्, तिनीहरूको अहङ्कारी स्वभावका प्रकटीकरणहरू क्रमिक रूपमा कम हुँदै जानेछन्। एउटा व्यक्तिको क्षमता जति कमजोर हुन्छ, ऊ त्यति नै मूर्खतापूर्वक अहङ्कारी हुन्छ। एउटा यस्तो भनाइ छैन र: “तिनीहरू केही होइनन्, तर कसैका अगाडि झुक्दैनन्”? यो भनाइ अत्यन्तै सुहाउँदो छ; जो केही पनि होइनन्, तिनीहरू कसैका अगाडि झुक्दैनन्। किन? किनभने तिनीहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ। कुन हदसम्म? कुनै पनि बौद्धिकता नहुने, आफ्नो सामर्थ्यको हद थाहा नहुने, आफ्नो बौद्धिकताको माप थाहा नहुने, सधैँ आफूभन्दा राम्रा मानिसहरू हुन्छन् भनेर थाहा नहुने, र राम्रो क्षमता भनेको के हो भनेर थाहा नहुने हदसम्म। अनि तिनीहरूको अहङ्कार कुन हदसम्म पुग्छ? त्यो हेर्दा मानिसहरूलाई घिन र वाकवाक लाग्ने हदसम्म—यो मूर्खतापूर्ण अहङ्कार हो। “तिनीहरू केही होइनन्, तर कसैका अगाडि झुक्दैनन्” भन्नुको मतलब तिनीहरूले केही पनि हासिल गर्न सक्दैनन्, तिनीहरूको आफ्नै जीवनका मामलाहरू पूरै अस्तव्यस्त हुन्छन्, तिनीहरूले केही पनि छर्लङ्गै देख्न सक्दैनन्, तिनीहरूका कुनै विचार वा दृष्टिकोणहरू हुँदैनन्, तिनीहरूले अरूका दृष्टिकोणहरू सही र सटीक छन् कि छैनन् भनेर भन्न सक्दैनन्, र तिनीहरू यस्तो सोच्दै मूर्खतापूर्वक आफ्नो अहङ्कार कायम राख्छन्, “मसँग क्षमता छ, मसँग सामर्थ्य छ, म बुद्धिमान् छु, म अरूभन्दा राम्रो छु!” भन्ने हो। ल भन, के तिनीहरूलाई कसैका अगाडि नझुक्ने मूर्ख रूपमा अहङ्कारी मानिस हुन दिनु राम्रो हो, कि तिनीहरूको क्षमता कमजोर छ, तिनीहरू केही होइनन्, मूर्ख, बेकामे, र मानसिक रूपमा कमजोर मानिस हुन् भनेर तिनीहरूलाई थाहा दिनु राम्रो हो, ताकि तिनीहरू नकारात्मक बनून्? तिमीहरू कुन रोज्छौ? (तिनीहरूलाई नकारात्मक हुन दिने, किनभने यदि तिनीहरू मूर्ख रूपमा अहङ्कारी भएमा, तिनीहरूले सिद्धान्तहरू उल्लङ्घन हुने कामकुरा गर्ने सम्भावना हुन्छ, र तिनीहरूले मण्डलीको काममा बाधा र अवरोध पुर्याउन सक्छन्।) यदि तिनीहरू नकारात्मक बनेमा, तिनीहरू मानवताको समझमा फर्कन र अझ शिष्ट बन्न सक्छन्, तिनीहरूले बाधा र अवरोध पुर्याउने कामकुरा कम गर्न सक्छन्। यो तिनीहरूका लागि एउटा सुरक्षा हो। तिनीहरूले अरूलाई फाइदा हुने धेरै कामहरू नगरेका भए पनि, बाधा र अवरोध पुग्ने कामकुरा कम गर्नुको मतलब तिनीहरूले धेरै कम अपराध र दुष्ट कार्यहरू गर्नेछन्, र तिनीहरू भविष्यमा दण्डित हुने सम्भावना कम हुनेछ भन्ने हो, होइन र? (हो।) तिनीहरूले मुक्ति प्राप्त गर्न सक्नु तुलनात्मक रूपमा टाढाको कुरा भएकाले, त्यो विषयमा प्रवेश नगरी, के तिनीहरूले परमेश्वरका प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने र परमेश्वरको स्वभाव चिढ्याउने सम्भावना कम हुनेछ? अनि के तिनीहरू बाँच्ने सम्भावना बढ्नेछ? (बढ्नेछ।) यी लाभहरूको दृष्टिकोणबाट हेर्दा, मानिसहरूलाई आफ्नै क्षमता चिन्न र अन्त्यमा तिनीहरूमा कुनै क्षमता नभएको महसुस गराएर नकारात्मक बन्न दिनु वास्तवमा राम्रो कुरा हुन्छ। नत्र, जब मानिसहरूले “तिमी केही होइनौ, तैपनि कसैका अगाडि झुक्दैनौ—यो मूर्ख अहङ्कार हो!” भनेर भन्दा, तिनीहरूले त्यो छर्लङ्गै देख्न वा चिन्न सक्दै सक्दैनन्; तिनीहरूले अवज्ञा गर्छन् र अझै सोच्छन्, “मेरो क्षमता कमजोर छैन! अनि तिमी मलाई मूर्ख रूपमा अहङ्कारी भन्छौ। म मूर्खभन्दा धेरै राम्रो छु!” यसले तिनीहरू साँच्चिकै मूर्ख हुन्, तिनीहरूको बौद्धिकता अत्यन्तै न्यून छ, र तिनीहरूले आफूमा कुनै क्षमता नभएको तथ्यलाई अझ बढी स्विकार्नुपर्छ भन्ने कुरालाई अझ बढी प्रमाणित गर्छ। यो तथ्य स्विकार्नुका फाइदाहरू के-के छन्? यो तँलाई नकारात्मक बनाउनका लागि नभई आफूलाई सही तरिकाले व्यवहार गर्न र मूर्खतापूर्ण तरिकाले कार्य नगर्न मद्दत गर्नका लागि हो। मानिसहरूमा भ्रष्ट स्वभाव हुने र कुनै पनि प्रकारको आत्मज्ञान नहुने भएकाले तिनीहरू अहङ्कारी हुन्छन्। तर, कतिपय मानिसहरूको अहङ्कार सामान्य अहङ्कार हुन्छ। उदाहरणका लागि, कतिपय मानिसहरूसँग जेल बसेको वा कष्ट सहेको पुँजी हुन्छ, तिनीहरूले मण्डलीलाई निश्चित तरिकाले योगदान गरेका हुन्छन्, वा तिनीहरूसँग त्यस्ता वरदानहरू हुन्छन्, जसले तिनीहरूलाई अरूभन्दा राम्रा बनाउँछन्; तिनीहरूसँग केही पुँजी हुनुका साथै एउटा अहङ्कार स्वभाव पनि हुने भएकाले, तिनीहरूले अहङ्कार प्रकट गर्नुलाई अझै पनि बुझ्न सकिने कुरा मान्न सकिन्छ। तर यदि तँ केही होइनस्, यदि तैँले मूलभूत रूपमा केही पनि हासिल गर्न सक्दैनस्, कुनै योगदानहरू गरेको छैनस्, र तँसित बलिया पक्षहरू त झनै छैनन्, तैपनि तँ अझै अहङ्कारी छस् भने, यसले अर्थ राख्दैन—यसमा चेतनाको कमी छ। अब यो कुरा तँलाई प्रस्ट पारिएको छ: तँसित कुनै क्षमता छैन, तँ केही पनि होइनस्, र तँसित कुनै पनि प्रकारका बलिया पक्षहरूसमेत छैनन्। तेरो दिमाग खोक्रो छ, र विचार भएका मानिसहरूसँग तुलना गर्दा, तेरो दिमागमा सारतत्त्व छैन। तँ पनि मानव नै भए पनि, तँ तिनीहरूभन्दा निकै पछि परेको छस्; परमेश्वरको विचारमा, तैँले मानव हुनुको मानक पूरा गर्दैनस्। त्यसोभए, तँ अझै के कुराबारे अहङ्कारी भइरहेको छस्? परमेश्वरका वचनको मापनअनुसार, तैँले मानव हुने मानक पूरा गर्दैनस्। परमेश्वरका नजरमा, तँलाई मानवका रूपमा व्यवहार गरिनु हुँदैन। तर परमेश्वरको अनुग्रह विशाल भएकाले परमेश्वरले तँलाई उच्च पार्नुभएको छ, चुन्नुभएको छ, मानवका रूपमा व्यवहार गर्नुभएको छ, र तँलाई परमेश्वरका घरमा कर्तव्य पूरा गर्न दिनुभएको छ। के परमेश्वरले तँलाई मानवका रूपमा व्यवहार गर्नुको उद्देश्य तैँले परमेश्वरलाई र परमेश्वरले आपूर्ति गर्नुहुने सत्यतालाई यस्तो मूर्ख रूपमा अहङ्कारी तरिकाले व्यवहार गरेको हेर्नका लागि हो? तैँले आफ्नो कर्तव्य र जीवनलाई यसरी व्यवहार गरेको हेर्नका लागि हो? होइन। परमेश्वरले तँलाई मानवका रूपमा व्यवहार गर्ने र मानवले बुझ्नुपर्ने विभिन्न सत्यताहरू बताउनुहुने हुनाले, उहाँले तँ साँचो मानव बन्न सक्छस् भन्ने आशा गर्नुहुन्छ, तँ मानवमा हुनुपर्ने विचारहरू स्विकार्न सक्छस् र मूर्ख रूपमा अहङ्कारी हुनेछैनस् भन्ने आशा गर्नुहुन्छ। त्यसकारण, नकारात्मक हुनु गलत हो—तँ नकारात्मक हुनु हुँदैन। परमेश्वरले तँलाई तेरो क्षमताका आधारमा व्यवहार वा बेवास्ता गर्नुभएको छैन, बरु तँलाई सामान्य व्यक्तिका रूपमा व्यवहार गर्नुभएको छ र यस तरिकाले प्रयोग गर्नुभएको छ, त्यसैले तँ परमेश्वरको यो अनुग्रहको लायक बन्नुपर्छ र तैँले परमेश्वरलाई निराश पार्नु हुँदैन। तँसँग जस्तो क्षमता छ र तैँले जे काम गर्न सक्छस्, त्यो काम मात्र राम्रोसँग गर्। ठूला-ठूला विचारहरू फलाक्ने कोसिस नगर्, व्यक्तिले गर्न नहुने काम नगर्, र व्यक्तिले बोक्न नहुने अत्यधिक विचार वा महत्त्वाकाङ्क्षाहरू नबोक्। व्यक्तिले गर्नुपर्ने काम गर् अनि परमेश्वरको बढाइ योग्य बन्। के यो उचित होइन र? के यसले नकारात्मक हुने समस्या समाधान गर्दैन र? (गर्छ।)
फरक-फरक क्षमता भएका मानिसहरूका विभिन्न प्रकटीकरणहरू खुट्ट्याउनु र यी विशिष्ट उदाहरणहरू दिनुको उद्देश्य तँलाई तीसँग परस्पर सम्बन्ध बनाउन मद्दत गर्नु हो। यो तैँले आफ्नो स्थानलाई सही रूपमा चिन्न, आफ्नो क्षमता र विभिन्न अवस्थाहरूलाई विवेकपूर्ण रूपमा लिन, र परमेश्वरले गर्नुभएको तेरो खुलासा, न्याय, र काटछाँट, वा तेरा लागि बन्दोबस्त गरिएको कामलाई विवेकपूर्ण रूपमा लिन सक्, र तैँले प्रतिरोध र विकर्षण देखाउनुभन्दा हृदयको गहिराइदेखि नै समर्पित र कृतज्ञ हुन सक् भन्नका लागि हो। जब मानिसहरूले आफ्नो क्षमतालाई विवेकपूर्ण रूपमा लिन र त्यसपछि आफ्नो पदलाई सही रूपमा चिन्न सक्छन्, परमेश्वरले चाहनुभएझैँ सृजित प्राणीका रूपमा व्यावहारिक तरिकाले व्यवहार गर्छन्, आफ्नो अन्तर्निहित क्षमताका आधारमा आफूले गर्नुपर्ने काम उचित रूपमा पूरा गर्छन्, साथै आफ्नो बफादारी र सारा मेहनत समर्पित गर्छन्, तब तिनीहरूले परमेश्वरलाई सन्तुष्ट तुल्याउँछन्। परमेश्वरले तँलाई यो क्षमता र यी अवस्थाहरू दिनुभएकाले, परमेश्वरले तँलाई कठिन लाग्ने कामकुरा जबरजस्ती गराउनुहुनेछैन, उहाँले माछालाई जमिनमा जिउन बाध्य पार्नुहुनेछैन। परमेश्वरले तँलाई जति दिनुभएको छ, उहाँले तँलाई त्यति मात्र अर्पण गराउनुहुन्छ। परमेश्वरले तँलाई जे दिनुभएको छैन, उहाँले त्यो अत्यधिक माग गर्नुहुनेछैन। यदि तँ निरन्तर आफूबाट अत्यन्तै उच्च मागहरू गर्छस्, बलियो व्यक्ति, अतिमानव, असाधारण व्यक्ति बन्न खोज्छस् भने, यसले तँसित एउटा भ्रष्ट स्वभाव छ भन्ने सङ्केत गर्छ—यो महत्त्वाकाङ्क्षा हो। यदि तेरो क्षमता राम्रो छ भने, तैँले बढी कामको जिम्मेवारी लिन्छस्; यदि तेरो क्षमता औसत छ भने, तैँले कम कामको मात्र जिम्मेवारी लिन सक्छस्। तैँले जस्तो कर्तव्य पूरा गर्न सक्ने भए पनि, त्यसमा आफ्नो सबथोक लगा, आफ्नो बफादारी लगा, र सिद्धान्तहरूअनुसार कार्य गर्—ठूला-ठूला विचारहरू फलाक्ने कोसिस नगर्। सधैँ तँ साधारण व्यक्ति होइनस् भनेर प्रमाणित गर्न चाहनु, सधैँ अरूले तँलाई उच्च ठानून् भन्ने चाहनु—यो गलत हो। यसले तँमा आत्म-सचेतनाको ठूलो अभाव रहेको, तँलाई आफ्नो औकात थाहा नभएको देखाउँछ। यदि तँ आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरूअनुसार पछ्याइरहन्छस् भने, तेरा लागि परिणामहरू राम्रा हुनेछैनन्। त्यसकारण, कमजोर क्षमता भएका मानिसहरूले सधैँ अगुवा, टोली प्रमुख, वा सुपरिवेक्षक बन्ने आकाङ्क्षा राख्नु हुँदैन; तिनीहरूले अति उच्च लक्ष्य राख्नु हुँदैन। यदि तेरो क्षमता कमजोर छ भने, कमजोर क्षमता भएका मानिसहरूले गर्न सक्ने कामकुरा मात्र कर्तव्यनिष्ठ भएर गर्। यदि तँमा सोचहरू छैनन् र तैँले कुनै पनि काम सम्हाल्न सक्दैनस् भने, जबरजस्ती नगर्—परमेश्वरले तँलाई त्यो क्षमता दिनुभएको छैन, त्यसैले उहाँले तँबाट धेरै उच्च मागहरू गर्नुभएको छैन। जहाँसम्म सत्यता सिद्धान्तहरूको कुरा छ, तैँले जति मात्रामा बुझ्न र स्विकार्न सक्छस्, त्यति मात्रामा ती अभ्यास गर्—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। परमेश्वरले तँलाई जे दिनुभएको छ, तँ त्यति मात्रै बुझ्न सक्छस्। के तैँले यी कुराहरू आफ्नो कर्तव्यमा वा परमेश्वरले तँलाई सुम्पनुभएको आज्ञामा लागु गरेको छस्? यदि तैँले ती लागु गरेको छस् भने, तैँले आफ्नो सबथोक दिएको र बफादारी अर्पण गरेको छस्। परमेश्वर सन्तुष्ट हुनुहुनेछ, र तँ सृजित प्राणीका रूपमा मानकअनुरूपको हुनेछस्। यदि तेरो क्षमता कमजोर छ भने, परमेश्वरले तँबाट राम्रो क्षमता भएका मानिसहरूको मानकअनुसार कुनै मागहरू गर्दै गर्नुहुनेछैन। परमेश्वरले त्यसो गर्नुहुनेछैन। जसको क्षमता छैन, तिनीहरू सबैभन्दा तल्लो स्तरको क्षमताका मानिसमा पर्छन्। यदि परमेश्वरका केही विश्वासीहरूमा कुनै क्षमता छैन भने, तिनीहरूले कसरी अभ्यास गर्नुपर्छ? के तँ परमेश्वरलाई पछ्याउन चाहन्छस्? के तँ मानिससम्बन्धी सबथोकमाथि परमेश्वर सार्वभौम हुनुहुन्छ भनेर स्वीकार गर्छस्? के तँ तेरा लागि परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन चाहन्छस्? यदि तँ स्विकार्न र समर्पित हुन इच्छुक छस् भने, आफ्नो हृदयलाई शान्त पार् अनि तेरा लागि परमेश्वरका सारा बन्दोबस्तहरू स्विकार्। तेरो क्षमताअनुसार, तैँले त्यस्ता केही कामहरू मात्र गर्न सक्छस्, जसका लागि शारीरिक मेहनत आवश्यक पर्छ, जुन देखिँदैनन्, जसलाई मानिसहरूले हेयको नजरले हेर्छन् र सम्झिँदैनन्—यदि तेरो परिस्थिति यस्तै छ भने, तैँले त्यो परमेश्वरबाट आएको भनी स्विकार्नुपर्छ र गुनासाहरू पाल्नु हुँदैन, र अझ बढी, तैँले आफ्नै इच्छाका आधारमा कर्तव्यहरू छनौट गर्नु हुँदैन। परमेश्वरका घरले तेरा लागि जे बन्दोबस्त गर्छ, त्यही गर्, र यदि त्यो तेरो क्षमताभित्रै पर्छ भने, तैँले त्यो राम्रोसँग गर्नुपर्छ। उदाहरणका लागि, यदि तँलाई सुँगुरपालनमा खटाइयो भने, तैँले तिनलाई राम्रोसँग खुवाउनुपर्छ ताकि दाजुभाइ-दिदीबहिनीहरूले राम्रो सुँगुरको मासु खान पाऊन्। यदि तँलाई कुखुरापालनमा खटाइयो भने, तैँले तिनलाई राम्रोसँग खुवाउनु र व्यवस्थापन गर्नुपर्छ ताकि अण्डा पार्ने समयमा तिनले सामान्य रूपमा अण्डा पारून्, साथै तैँले तिनलाई अन्य जनावरबाट पनि जोगाउनुपर्छ, ताकि तैँले पालेका कुखुरा देख्ने सबैले ती राम्ररी पालिएका रहेछन् भनून्। यसले तँ परमेश्वरले सिर्जना गर्नुभएका सबै कुरालाई प्रिय ठान्छस्, र तैँले तिनलाई राम्रोसँग व्यवस्थापन गर्न सक्छस् भन्ने प्रमाणित गर्छ; यसले चाहे त्यो जस्तो किसिमको प्राणी वा जनावर होस्, तैँले त्यसलाई आफ्नो जिम्मेवारी र आफूले निर्वाह गर्नुपर्ने कर्तव्यका रूपमा लिएर प्रिय ठान्न र राम्रोसँग व्यवस्थापन गर्न सक्छस् भन्ने प्रमाणित गर्छ। तैँले अरू काम गर्न नसक्ने, मण्डलीका काममा प्रमुख र निर्णायक भूमिका खेल्न नसक्ने, र तैँले उल्लेखनीय योगदानहरू नगरेको भए पनि, यदि तैँले कुनै मामुली काममा आफ्नो पूरै मेहनत र बफादारी लगाउन सकिस् र परमेश्वरलाई सन्तुष्ट तुल्याउन मात्र खोजिस् भने, त्यो नै काफी हुन्छ। यो परमेश्वरले गर्नुभएको तेरो बढाइलाई खेर नफाल्नु हो। काम फोहर वा थकाइलाग्दो पो छ कि, तैँले ती काम गर्दा अरूले देख्ने हुन् कि, ती काम गरेकोमा मानिसहरूले तँलाई प्रशंसा गर्नेछन् कि हेयका नजरले हेर्नेछन् भन्ने आधारमा काम रोज्न नखोज्। यी कुराहरूबारे नसोच्; खालि त्यो परमेश्वरबाट आएको भनी स्विकार्न, समर्पित हुन, र आफूले पूरा गर्नुपर्ने कर्तव्यहरू पूरा गर्नतिर लाग्। क्षमता नभएका मानिसहरूका प्रकटीकरणहरूबारे सङ्गति गर्दा, मैले तँ मूर्ख, बेकामे व्यक्ति होस्, र तँ मानसिक रूपमा कमजोर छस् भनेर भनुँला। तर, यदि तैँले आफूलाई सुम्पिएको कामको जिम्मेवारी लिन सक्छस्, र अन्त्यमा परमेश्वरले गर्नुभएको तेरो बढाइ वा परमेश्वरले प्रदान गर्नुभएको तेरो जीवनको सासलाई निराश पार्दैनस्, तँ व्यर्थमा जिउँदैनस् वा खाँदैनस्, परमेश्वरले मानवजातिका लागि आपूर्ति गर्नुहुने कुनै पनि भौतिक कुराहरू तैँले व्यर्थमा उपभोग गर्दैनस्, र तँ परमेश्वरको मुखबाट निस्केका वचनहरूअनुरूपको हुनबाट चुक्दैनस् भने, त्यो नै पर्याप्त हो। क्षमताका हिसाबले तँ पूर्ण व्यक्ति हुने खालको नभए पनि, यदि तैँले यो बफादारी र इमानदारीका साथ आफ्नो कर्तव्य पूरा गर्न सक्छस् र आफ्नो काम गर्न सक्छस् भने, कम्तीमा, परमेश्वरको हृदयमा, तँ सृजित प्राणीका रूपमा मानकअनुरूपको छस्। परमेश्वरले चाहनुहुने भनेकै यो बफादारी र इमानदारी हो; उहाँ त्यस्तो सृजित प्राणी चाहनुहुन्छ, जो मानकअनुरूप होस्। परमेश्वरका घरले तेरा लागि जस्तो कर्तव्य बन्दोबस्त गरे पनि, तैँले त्यो परमेश्वरबाट आएको भनी स्विकार्छस्, अनि स्विकार्न र समर्पित हुन सक्छस्। यो नै सबैभन्दा मूल्यवान् कुरा हो। यदि तैँले परमेश्वरले तँबाट जे माग गर्नुहुन्छ त्यो गरेको छस्, र आफूले सक्ने सबै कुरा अर्पण गरेको छस् भने, के परमेश्वरले अझै पनि तँबाट उच्च मागहरू गर्नुहुनेछ? यदि तेरो इमानदारी र बफादारी परमेश्वरका नजरमा मूल्यवान् देखिन्छन् भने, तेरो जीवनको मूल्य छ। के यो बुझाइ राम्रो छ? (छ।)
कतिपय मानिसहरू भन्छन्: “मलाई अझै पनि म त्यो बुझ्दिनँ जस्तो लाग्छ। परमेश्वर किन मानिसहरूमा सबै प्रकारका क्षमताहरू हुने पूर्वनियोजन गर्नुहुन्छ? परमेश्वर मानिसहरूले उहाँका लागि गवाही दिऊन्, सत्यता अभ्यास गरून्, र आफ्ना भ्रष्ट स्वभावहरू फालून् भन्ने चाहनुहुने हुनाले, उहाँले मानिसहरूलाई राम्रो क्षमता दिन किन सक्नुहुन्न? के मानिसहरूलाई राम्रो क्षमता दिन परमेश्वरलाई अत्यन्तै गाह्रो पर्छ र? यदि परमेश्वरले मानिसहरूलाई सबै क्षेत्रका सामर्थ्यहरू—संज्ञानात्मक सामर्थ्य, तजबिज गर्ने सामर्थ्य, कामकुराको परख गर्ने सामर्थ्य, परिस्थितिलाई सम्बोधन गर्ने सामर्थ्य, निर्णय गर्ने सामर्थ्य, नवप्रवर्तनको सामर्थ्य, र अझ बढी, कामकुराको मूल्याङ्कन र कदर गर्ने सामर्थ्य राख्ने तुल्याउनुभएको भए—मानिसहरूलाई सबै क्षेत्रका सामर्थ्यहरू दिनुभएको भए, के मानिसहरूको क्षमता राम्रो हुनेथिएन र? उहाँले मानिसहरूलाई औसत क्षमता नै दिनुभएको भए पनि, के तिनीहरू सत्यतालाई औसत तहमा बुझ्न सक्षम हुनेथिएनन् र? यदि मानिसहरूले सत्यता बुझ्न सक्छन् भने, के तिनीहरू सत्यता अभ्यास गर्न सक्षम हुनेथिएनन् र? अनि के तिनीहरू आफ्ना भ्रष्ट स्वभावहरू फालेर मुक्ति हासिल गर्न सक्षम हुनेथिएनन् र?” मानिसहरूले यी विचारहरू राख्नुमा के समस्या छ? मानिसहरू परमेश्वरले किन तिनीहरूलाई यति औसत क्षमता दिनुहुन्छ भन्ने बुझ्दैनन्। राम्रो क्षमता भएका अगुवाहरू भेट्टाउन कठिन छ, र मण्डलीको काम राम्रोसँग गर्न अत्यन्तै गाह्रो छ। मानिसहरू सोच्छन्, “यदि परमेश्वरले मानिसहरूलाई राम्रो क्षमता दिनुभएको भए, के अगुवाहरू भेट्टाउन सजिलो हुनेथिएन र? के मण्डलीको काम गर्न सजिलो हुनेथिएन र? परमेश्वरले मानिसहरूलाई राम्रो क्षमता किन दिनुहुन्न?” त्यसलाई परमेश्वरका घरको समग्र कामको दृष्टिकोणबाट हेर्दा, अवश्य पनि, यदि राम्रो क्षमता भएका मानिसहरू अझ धेरै भएका भए, मण्डलीको काम वास्तवमै सजिलो हुनेथियो। तर, एउटा आधार हुन्छ: परमेश्वरका घरमा, परमेश्वर आफ्नै काम गरिरहनुभएको हुन्छ, र मानिसहरूले निर्णायक भूमिका खेल्दैनन्। त्यसकारण, मानिसहरूको क्षमता राम्रो, औसत, वा कमजोर छ भन्ने कुराले परमेश्वरको कामका नतिजाहरू निर्धारण गर्दैन। हासिल गर्नुपर्ने अन्तिम नतिजाहरू परमेश्वरले पूरा गर्नुहुन्छ। सबथोकको अगुवाइ परमेश्वरले नै गर्नुहुन्छ; सबथोक पवित्र आत्माको काम हो। परमेश्वरको कामको दृष्टिकोणबाट, यो मामलालाई यसरी व्याख्या गरिनुपर्छ—यो एउटा कारण हो। अर्को कारण पनि छ: शैतानद्वारा भ्रष्ट पारिएपछि, मानिसहरूले शैतानका भ्रष्ट स्वभावहरूलाई आफ्नो जीवनको सारका रूपमा बोकेका हुन्छन्; अर्थात्, तिनीहरू सबै आफ्ना भ्रष्ट स्वभावअनुसार जिउँछन्, र तिनीहरूको जीवन तिनीहरूका भ्रष्ट स्वभावहरूद्वारा शासित हुन्छ। यसको साथै, यदि कुनै व्यक्तिले राम्रो वा असाधारण क्षमता राख्छ, र सबै क्षेत्रमा उसका सामर्थ्यहरू पूर्ण, सिद्ध र खोटरहित छन् भने, यसले उसका भ्रष्ट स्वभावहरूलाई बढावा दिनेछ। यसले उसका भ्रष्ट स्वभावहरूको असीमित रूपमा बढोत्तरी गर्नेछ, तिनलाई अनियन्त्रित बनाउनेछ, र त्यस व्यक्तिलाई अझ बढी अहङ्कारी, हठी, छली, र दुष्ट बनाउनेछ। उसले सत्यता स्विकार्नुको कठिनाइ बढ्नेछ, र उसका भ्रष्ट स्वभावहरू समाधान गर्ने कुनै उपाय हुनेछैन। यो अर्को कारण हो। यसका साथै, परमेश्वरले मानिसहरूलाई त्यस्तो क्षमता दिनुहुन्छ, किनभने परमेश्वरले जुन मानवजातिलाई मुक्ति दिन चाहनुहुन्छ, त्यो अन्तर्निहित रूपमा अपूर्ण मानवजाति हो, जोसँग सबै पक्षहरूमा औसत र त्रुटिपूर्ण सामर्थ्यहरू हुन्छन्। यसबाहेक, परमेश्वरका वचनहरू र सत्यता जान्ने काम विभिन्न सामर्थ्य प्रयोग गरेर मात्र हासिल हुँदैन; त्यसका लागि एउटा प्रक्रिया आवश्यक पर्छ। यो प्रक्रियामा के-के पर्छन्? यसमा वातावरणमा आउने परिवर्तन, व्यक्तिको उमेर वृद्धि, जीवन अनुभव र ज्ञानको वृद्धि, र विभिन्न वातावरणहरूमार्फत प्राप्त भएको अनुभव पर्छन्, जसले मानिसहरूलाई तिनीहरूको अन्तर्निहित क्षमता र जन्मजात प्रवृत्तिहरूका आधारमा, परमेश्वरका वचनहरूमा भएको सत्यताले वास्तवमा के जनाउँछ भनी क्रमिक रूपमा बुझ्ने र जान्ने तुल्याउँछन्; त्यसपछि, तिनीहरूले परमेश्वरका वचनहरू स्विकार्छन् र अभ्यास गर्छन्। त्यस्तो प्रक्रियामार्फत, परमेश्वरका वचनहरूमा भएको सत्यतालाई कुनै व्यक्तिमा ढालेर त्यसलाई उसको जीवन बनाइन्छ—त्यो जियाइको सिद्धान्त वा जियाइको दर्शन र माध्यम बन्दैन; बरु, परमेश्वरका वचनहरू उसको अस्तित्वका जग बन्छन्। त्यस्तो व्यक्ति नयाँ व्यक्ति, भर्खरै जन्मिएको जीवन हो। यो अत्यावश्यक प्रक्रिया हो। सबै पक्षमा तेरा क्षमता र सामर्थ्यहरू अत्यन्तै राम्रा र उच्च भए पनि, यी प्रक्रियाहरूलाई छुटाउन मिल्दैन। एक सृजित मानवका रूपमा, परमेश्वरका वचनहरूलाई अन्ततः तेरो जीवनमा रूपान्तरित गर्दा, अनुभव गर्नैपर्ने पूरै प्रक्रियाको कुनै पनि चरणलाई कसैले पनि छोड्न मिल्दैन। अर्थात्, सबैले परमेश्वरप्रति धारणा, कल्पना, प्रतिरोध, विरोध, र विद्रोह विकास गर्नेछन्। तिनीहरू सबैले झटका, असफलता, ठेस, बर्खासी, काटछाँट, न्याय, र सजाय भोग्नेछन्, विभिन्न वातावरणहरू अनुभव गर्नेछन्, विभिन्न प्रकारका मानिसहरू र त्यस्तै अन्य प्रक्रियाहरू सामना गर्नेछन्। चाहे तेरो क्षमता जति राम्रो वा उच्च होस्, अथवा सबै पक्षमा तेरा सामर्थ्यहरू जति बलिया होऊन्, यी प्रक्रिया वा चरणहरूमध्ये कुनैलाई पनि छोड्न मिल्दैन। त्यसकारण, यदि परमेश्वरले तँलाई अति नै उच्च क्षमता र सामर्थ्यहरू दिने हो भने पनि, त्यो अझै पनि खेर जानेथ्यो। तँ साधारण, औसत व्यक्ति बन्नु नै उत्तम हुन्छ। तेरो मानवतामा केही खोटहरू हुन सक्लान्, तर तैँले परमेश्वरको काम अनुभव गर्न, परमेश्वरका वचनहरू सुनेपछि ती बुझ्न, र आफ्ना कमजोरी र खोटहरू चिन्न सक्छस्। यसरी, पहिलो कुरा, तैँले प्राप्त गर्ने कुरा बढी व्यावहारिक हुन्छ, र तैँले परमेश्वरबाट बढी प्राप्त गर्छस्; अर्को कुरा, तैँले आफ्ना प्राकृतिक सामर्थ्यहरू अझ सही रूपमा चिन्छस्, र तँ अझ बढी विवेकी बन्छस्। त्यसैले परमेश्वरले सबैलाई राम्रो क्षमता दिने अभिप्राय राख्नुहुन्न—उहाँले मानिसहरूलाई औसत क्षमता दिनुहुन्छ।
मानिसहरूको क्षमताको मूल्याङ्कन गर्ने विभिन्न सामर्थ्यका यी विशिष्ट प्रकटीकरणहरूबारे सुनेपछि, तिमीहरूले आफ्नो मूल्याङ्कन गर्छौ र थाहा पाउँछौ कि बढीमा तिमीहरूसँग औसत क्षमता मात्र छ, जुन राम्रो क्षमता हुने स्तरमा पुग्दैन। त्यसोभए, राम्रो क्षमताको स्तरमा पुग्ने को-को हुन्छन्? तिनीहरू पवित्र आत्माद्वारा प्रयोग गरिने मानिसहरू हुन्छन्। यदि परमेश्वरले तँलाई राम्रो क्षमता दिनुहुन्छ भने, तैँले राम्रो क्षमतासँग मिल्ने काम नै सम्हाल्नुपर्छ। यदि तैँले त्यस्तो काम सम्हाल्नुपर्ने कुनै आवश्यकता छैन भने, परमेश्वरले तँलाई औसत क्षमता दिनु नै धेरै राम्रो कुरा हो—यो परमेश्वरको अनुग्रह हो। यदि परमेश्वरले तँलाई औसत क्षमता दिनुभयो भने, तैँले धेरै ठूलो काम गर्न सक्दैनस्, त्यसैले तँ अहङ्कारी बन्न सक्दैनस्। यो तेरा लागि सुरक्षा हो। तँलाई औसत क्षमता दिइएपछि, तँसित धाकरवाफ लाउने पुँजी हुँदैन, न त तैँले धर्ती हल्लिने कुनै योगदान नै दिन सक्छस्। तैँले सधैँ यस्तो सोच्नुपर्छ, “मेरो क्षमता औसत छ; म न त यो क्षेत्रमा राम्रो छु, न त्यो क्षेत्रमा नै। मैले आफ्नो कर्तव्य पूरा गर्दा सावधान भएर सत्यता सिद्धान्तहरू खोज्नैपर्छ।” जब तँलाई सबै पक्षहरूमा आफूमा कमी छ जस्तो लाग्छ, तब तँ अझ शिष्ट र अझ नियमपालन गर्ने, र अझ संयमित बन्छस्। उदाहरणका लागि, चाहे तिमीहरूले जेसुकै काम गर, चाहे तँ सुपरिवेक्षक होस् वा साधारण सदस्य, यदि कुनै निश्चित अवधिमा तेरो काम तुलनात्मक रूपमा सहज तरिकाले अघि बढ्छ, त्यसले केही नतिजाहरू ल्याउँछ, र उपलब्धिहरू तुलनात्मक रूपमा उत्कृष्ट हुन्छन्, र तैँले माथिबाट अनुमोदन प्राप्त गर्छस् भने, तेरो मानसिकता कस्तो हुनेथ्यो? (हामी दम्भी बन्नेथियौँ, आफू असल भएको ठान्नेथियौँ, र हामीलाई उप्रान्त सत्यता खोज्न सजिलो हुनेथिएन।) त्यसपछि तँलाई नियमहरू पालना गर्न र आफूलाई आचरणमा ढाल्दा विनम्र रहन कठिन हुनेथियो। यो तेरा लागि निकै खतरनाक प्रलोभन हो; यो राम्रो सङ्केत होइन। तर, विभिन्न सामर्थ्यका हिसाबले तँमा कमी र खोटहरू भएकाले, र काम गर्दा तैँले कि त एउटा पक्षलाई ख्याल गर्न नसक्ने कि अर्को पक्ष अनुमान गर्न नसक्ने वा नदेख्ने र बिर्सने, कहिले एउटा पक्षका सम्बन्धमा काटछाँटमा पर्ने वा कहिले अर्को पक्षमा झट्का र धक्काहरू सामना गर्ने हुनाले, हृदयको गहिराइमा, तैँले आफूलाई निरन्तर चेतावनी दिन्छस्: “म सक्षम छैनँ। मेरो क्षमता कमजोर छ, र म सत्यता बुझ्दिनँ। म सिद्धान्तहरू बुझ्दिनँ।” यसरी, तँ कामकुरा गर्दा निकै सजग बन्छस्, गल्तीहरू गर्न र काटछाँटमा पर्नबाट निकै डराउँछस्, बाधा र अवरोध पुर्याउनबाट निकै डराउँछस्, र क्षति निम्त्याउनेगरी काममा छिद्रहरू सिर्जना गर्नबाट निकै डराउँछस्। विभिन्न पक्षमा तँमा सामर्थ्यको कमी हुने वा त्यो निकै औसत हुने भएकाले, कामका लागि योग्य हुने तेरो सक्षमता पनि निकै औसत हुन्छ, साथै तैँले गर्ने काम निकै औसत हुन्छ। त्यसैले तँलाई धाकरवाफ लाउनुपर्ने केही छैन भन्ने लाग्छ—तैँले कठिनाइपूर्वक केही नतिजा हासिल गर्न सकिस् भने पनि, तैँले पर्दापछाडि धेरै कठिनाइ सहेपछि र अत्यन्तै ठूलो मेहनत लगाएपछि मात्र ती हासिल गर्छस्। तँ अरूका अगाडि आफू सक्षम र निकै सिपालु भएको ढोँग गर्न चाहन्छस्, तर तेरो हृदयमा आत्मविश्वास हुँदैन। तँलाई थाहा छ कि तैँले जे गरे पनि, तँ त्यो राम्रोसँग गर्न सक्दैनस्, र अझै पनि माथिले त्यसको जाँच गर्नुपर्छ। कतिपय कुरामा, काटछाँटको सामना गर्नुपर्दा मात्र तैँले आफू कहाँ गलत छु भनेर थाहा पाउँछस्, र आफ्नो क्षमता कति साह्रो कमजोर छ भनेर देख्छस्। यसरी, तँ अहङ्कारी बन्न सक्नेछैनस्। अर्थात्, तेरो वरपर सधैँ तेरोभन्दा उत्कृष्ट क्षमता भएको कोही न कोही हुनेछ, साथै सत्यता र परमेश्वरका माग गरिएका मानकहरूले तँलाई सधैँ रोकिरहेका हुनेछन्। तँलाई यस्तो महसुस हुन्छ, “मैले गर्न सकेको थोरै काम माथिको छानबिन र निर्णयले गर्दा मात्र सम्भव भएको हो; माथिकाले बारम्बार जाँच, परीक्षण, र सच्याउने काम गरेकाले मात्र त्यो पूरा भएको हो। मसँग घमण्ड गर्नका लागि केही छैन।” तैँले अर्को पटक केही काम गर्दा, तँ अझै पनि आफ्नो सीप प्रदर्शन गर्नेबारे सोच्छस्, तर अझै पनि त्यो राम्रोसँग गर्न सक्दैनस् र कहिल्यै उत्कृष्ट बन्न सक्दैनस्। तेरा क्षमता र सामर्थ्यहरू सीमित भएकाले गर्दा नै तैँले आफ्नो कर्तव्य निर्वाह गर्नुका नतिजाहरू सधैँ औसत हुन्छन्, सधैँ तैँले आदर्श मान्ने तह वा मानकमा पुग्न सक्दैनन्। त्यसकारण, अचेतन रूपमा, तैँले निरन्तर यो महसुस गर्दै जान्छस् कि तँ कुनै उत्कृष्ट, श्रेष्ठ वा असाधारण व्यक्ति होइनस्। क्रमिक रूपमा, तैँले बुझ्न थाल्छस् कि तेरो क्षमता तैँले कल्पना गरे जति राम्रो छैन, बरु एकदमै साधारण छ। यो वृद्धिशील प्रक्रियाले तँलाई आफूलाई चिन्न निकै मद्दत गर्छ—तैँले व्यावहारिक तरिकाले केही असफलता र झट्काहरू अनुभव गर्छस्, र भित्री रूपमा चिन्तन गरेपछि, तैँले आफ्नो स्तर, सामर्थ्य र क्षमताको अझ सटीक मूल्याङ्कन गर्छस्। तैँले झन्-झन् बुझ्दै जान्छस् कि तँ राम्रो क्षमताको व्यक्ति होइनस्, तँसित केही सबल पक्ष र वरदानहरू, तजबिज गर्ने थोरै सामर्थ्य भए पनि, वा कहिलेकाहीँ तँसित केही युक्ति वा योजनाहरू भए पनि, तँ अझै सत्यता सिद्धान्तहरूको स्तरसम्म पुगेको छैनस्, परमेश्वरका मागहरू र सत्यताका मानकहरूभन्दा धेरै टाढा छस्, र सत्यता वास्तविकता हुनुको मानकबाट त झनै टाढा छस्—अचेतन रूपमा, तैँले आफूबारे यस्ता मूल्याङ्कन र आकलनहरू गर्छस्। आफ्नो मूल्याङ्कन र आकलन गर्ने क्रममा, तेरो आत्मज्ञान झन्-झन् सटीक बन्दै जान्छ, साथै तेरा भ्रष्ट स्वभावहरू र भ्रष्टताका प्रकटीकरणहरू झन्-झन् कम हुनेछन्, झन् रोकिनेछन् र नियन्त्रित बन्नेछन्। अवश्य पनि, तेरा भ्रष्ट स्वभावहरू नियन्त्रित हुनु नै उद्देश्य होइन। उद्देश्य चाहिँ के हो? उद्देश्य के हो भने, तेरा भ्रष्ट स्वभावहरू नियन्त्रित हुँदै गर्दा, तैँले विस्तारै सत्यताको खोजी गर्न र शिष्ट रूपमा आफूलाई आचरणमा ढाल्न सिक्दै जान्छस्, सधैँ ठूला-ठूला विचारहरू फलाक्न वा आफ्ना सीपहरू प्रदर्शन गर्न खोज्दैनस्, सधैँ प्रतिस्पर्धात्मक हिसाबले सबैभन्दा राम्रो वा बलियो बन्ने कोसिस गर्दैनस्, र सधैँ आफूलाई प्रमाणित गर्ने कोसिस गर्दैनस्। यो सचेतना तेरो हृदयमा लगातार कुँदिँदै जाँदा, तैँले मनन गर्नेछस्, “मैले यसो गर्नुका सत्यता सिद्धान्तहरू के-के हुन्, र यसबारे परमेश्वरले के भन्नुहुन्छ भनेर खोजी गर्नैपर्छ।” यो सचेतना बिस्तारै तेरो हृदयको गहिराइभित्र स्थापित हुनेछ, र तैँले जति मात्रामा परमेश्वरको वचन र सत्यताको खोजी, स्वीकार र ग्रहण गर्छस्, त्यो झन्-झन् उच्च हुनेछ, जुन तेरा लागि मुक्ति प्राप्त गर्ने आशाको सङ्केत हो। तैँले सत्यतालाई जति बढी स्विकार्न सक्छस्, तेरा भ्रष्ट स्वभावहरू त्यति कम प्रकट हुनेछन्; अझ राम्रो नतिजा त के हो भने, तैँले परमेश्वरको वचनलाई अभ्यासको मानकका रूपमा प्रयोग गर्ने अवसरहरू अझ धेरै पाउनेछस्। के यो बिस्तारै मुक्तिको मार्गमा लाग्नु होइन र? के यो राम्रो कुरा होइन र? (हो।) तर यदि तेरा सबै सामर्थ्य मानिसहरूमाझ श्रेष्ठ र सिद्ध अनि असाधारण छन् भने, के तँ मामलाहरू सम्हाल्ने र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा अझै पनि सत्यताको खोजी गर्न सक्छस्? त्यो कुरा भन्न गाह्रो छ। सबै क्षेत्रमा असाधारण सामर्थ्य भएका व्यक्तिका लागि आफूलाई चिन्न शान्त हृदय र विनम्र मनोवृत्तिका साथ परमेश्वरसामु आउन, आफ्ना खोट र भ्रष्ट स्वभावहरू थाहा पाउन, अनि सत्यताको खोजी गर्ने, सत्यतालाई स्विकार्ने, र त्यसपछि सत्यतालाई अभ्यास गर्ने बिन्दुमा पुग्न निकै कठिन हुन्छ। यसो गर्न अत्यन्तै कठिन हुन्छ, होइन र? (हो।)
औसत क्षमता भएका मानिसहरूमा परमेश्वरका असल अभिप्रायहरू हुन्छन्; अत्यन्तै कमजोर क्षमता भएका मानिसहरूमा पनि परमेश्वरका असल अभिप्रायहरू हुन्छन्। परमेश्वरले तँलाई मुक्ति दिन चाहनुहुने भएकाले तँलाई अत्यन्तै राम्रो क्षमता दिनुहुन्न। किन? परमेश्वर मानिसहरूलाई विभिन्न जन्मसिद्ध अवस्थाहरू दिनुहुन्छ, जस्तै तिनीहरूको पारिवारिक पृष्ठभूमि, रूप, जन्मजात प्रवृत्तिहरू, व्यक्तित्व, र विभिन्न जीवन सामर्थ्य। परमेश्वर मानिसहरूलाई निश्चित सबल पक्ष, रुचि, र सोखहरू पनि दिनुहुन्छ, र कतिपय मानिसलाई त विशेष वरदानहरू समेत प्रदान गर्नुहुन्छ। यो नै पर्याप्त हुन्छ। यी तेरो व्यक्तिगत अस्तित्वलाई कायम राख्नका लागि पर्याप्त हुन्छन्। यीसँगै तँसित स्वतन्त्र रूपमा जिउने सामर्थ्य र अवस्थाहरू हुन्छन् र, निश्चित स्तरको क्षमताका आधारमा, तैँले परमेश्वरका वचनहरू स्विकार्न, विभिन्न मात्रामा आफ्ना भ्रष्ट स्वभावहरू फाल्न, र मुक्ति प्राप्ति हासिल गर्न सक्छस्। यही कारणले गर्दा परमेश्वरले मानिसहरूलाई अत्यन्तै उच्च क्षमता दिनुहुन्न। परमेश्वरले मानिसहरूलाई अत्यन्तै उच्च क्षमता दिनुहुन्न। एक त, यो कुरा मानिसहरू यो आधारभूत अवस्थाले गर्दा अलि व्यावहारिक रहन सकून्, र आफू साधारण, औसत, र भ्रष्ट स्वभाव भएका मानिस भएको अनुभूतिमा आधारित भएर, तिनीहरूले स्वेच्छाले परमेश्वरको काम र परमेश्वरको मुक्ति स्विकार्न सकून् भन्नका लागि हो। यसरी मात्र मानिसहरूसित परमेश्वरका वचनहरू स्विकार्ने आधारभूत अवस्था हुन्छ। अर्को कुरा, यदि मानिसहरूमा निकै राम्रो क्षमता र अत्यन्तै तीव्र दिमाग छ, र सबै पक्षमा तिनीहरूको सामर्थ्य निकै बलियो छ, तिनीहरू सबै असाधारण छन्, जसले गर्दा संसारमा तिनीहरूको सब थोक सहज रूपमा चलिरहेको छ—तिनीहरूले व्यवसायमा धेरै पैसा कमाइरहेका छन्, तिनीहरूको राजनीतिक करियर निकै सहजतापूर्वक अघि बढिरहेको छ, तिनीहरूले जुनसुकै परिस्थितिमा सहजै काम गरिरहेका छन्, र पानीभित्रको माछाझैँ अनुभूति गरिरहेका छन् भने—त्यस्ता मानिसहरू सजिलै परमेश्वरसामु आउन र परमेश्वरको मुक्ति स्विकार्न सक्दैनन्, होइन र? (हो।) परमेश्वरले मुक्ति दिनुहुने अधिकांश मानिसहरू संसारमा वा समाजका मानिसहरूमाझ उच्च पदमा हुँदैनन्। तिनीहरूका क्षमता र सामर्थ्य औसत वा कमजोरसमेत हुने, र तिनीहरूले संसारमा लोकप्रियता वा सफलता पाउन सङ्घर्ष गर्ने, तिनीहरूलाई संसार सधैँ उजाड र अन्यायी भएको महसुस हुने भएकाले, तिनीहरूलाई आस्थाको आवश्यकता हुन्छ, र अन्ततः तिनीहरू परमेश्वरसामु आउँछन् र परमेश्वरको घरभित्र प्रवेश गर्छन्। यो परमेश्वरले मानिसहरूलाई रोज्दा तिनीहरूलाई दिनुहुने एउटा आधारभूत अवस्था हो। यो आवश्यकता हुँदा मात्र तैँले परमेश्वरको मुक्ति स्विकार्ने चाहना राख्न सक्छस्। यदि सबै पक्षहरूमा तेरा अवस्थाहरू संसारमा केही हासिल गर्न लागिपर्नका लागि राम्रा र उचित छन्, र तँ सधैँ आफ्नो नाम राख्न चाहन्छस् भने, तँसँग परमेश्वरको मुक्ति स्विकार्ने चाहना हुनेथिएन, न त तैँले परमेश्वरको मुक्ति प्राप्त गर्ने अवसर नै पाउनेथिइस्। तँसित औसत वा कमजोर क्षमता हुन सक्ने भए पनि, परमेश्वरको मुक्ति पाउने अवसर हुने भएकाले तँ अझै पनि गैरविश्वासीहरूभन्दा निकै बढी आशिषित् हुन्छस्। त्यसकारण, कमजोर क्षमता हुनु तेरो कमजोरी होइन, न त यो तैँले आफ्ना भ्रष्ट स्वभावहरू फाल्ने र मुक्ति हासिल गर्ने काममा हुने अवरोध नै हो। अन्तिममा भन्नुपर्दा, तँलाई यो क्षमता दिनुभएको परमेश्वरले नै हो। तँसित त्यति नै हुन्छ जति परमेश्वरले तँलाई दिनुहुन्छ। यदि परमेश्वरले तँलाई राम्रो क्षमता दिनुहुन्छ भने, तँसित राम्रो क्षमता हुन्छ। यदि परमेश्वरले तँलाई औसत क्षमता दिनुहुन्छ भने, तेरो क्षमता औसत हुन्छ। यदि परमेश्वरले तँलाई कमजोर क्षमता दिनुहुन्छ भने, तेरो क्षमता पनि कमजोर नै हुन्छ। यो कुरा बुझेपछि, तैँले यो परमेश्वरबाट आएको भनी स्विकार्नुपर्छ र तँ परमेश्वरका सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्नुपर्छ। समर्पित हुनका लागि कुन सत्यता आधार बन्छ? त्यस्ता बन्दोबस्तहरूमा परमेश्वरका असल अभिप्रायहरू हुन्छन्; परमेश्वर श्रमसाध्य रूपमा विचारशील हुनुहुन्छ, र मानिसहरूले गुनासो गर्न वा परमेश्वरको हृदयलाई गलत रूपमा बुझ्न हुँदैन भन्ने सत्यता। परमेश्वरले तँलाई न त तेरो राम्रो क्षमताका कारण उच्च सम्मान गर्नुहुनेछ, न तेरो कमजोर क्षमताका लागि तिरस्कार वा घृणा नै गर्नुहुनेछ। परमेश्वरले के कुरालाई घृणा गर्नुहुन्छ? परमेश्वरले घृणा गर्ने भनेको मानिसले सत्यतालाई प्रेम वा स्वीकार नगर्नु, सत्यतालाई बुझ्ने तर अभ्यास नगर्नु, आफूले गर्न सक्ने काम नगर्नु, आफ्ना कर्तव्यमा आफ्नो सबथोक दिन नसक्नु तर सधैँ अत्यधिक चाहनाहरू राख्नु, सधैँ हैसियत चाहनु, सधैँ पदका लागि होड गर्नु, र सधैँ उहाँप्रति मागहरू राख्नु हो। परमेश्वरलाई घिनलाग्दो र घृणास्पद लाग्ने कुरा नै यही हो। सुरुमै तँसित कमजोर क्षमता छ वा क्षमता नै छैन, जसले गर्दा तँ कुनै पनि काम गर्न असक्षम छस्, तैपनि तँ सधैँ अगुवा बन्न चाहन्छस्; तँ सधैँ पद र शक्तिका लागि होड गर्छस्, र सधैँ भविष्यमा तँ राज्यमा प्रवेश गर्न, आशिष् प्राप्त गर्न, र राम्रो गन्तव्यमा पुग्न सक्छस् भनेर परमेश्वरले निश्चित जबाफ दिनुहोस् भन्ने चाहन्छस्। परमेश्वरले तँलाई रोज्नु नै अत्यन्तै ठूलो बढाइ हो, तर तँ औँलो दिँदा डुँडुलो निल्न खोज्छस्। परमेश्वरले तँलाई तैँले प्राप्त गर्नुपर्ने चीज दिनुभएको छ, र तैँले परमेश्वरबाट धेरै कुरा पाइसकेको छस्, तर तँ अझै अव्यावहारिक मागहरू राख्छस्। परमेश्वरले यही कुरालाई घृणा गर्नुहुन्छ। तेरो क्षमता निकै कमजोर छ, वा, तँ मानव बौद्धिकताको स्तरमा समेत पुग्दैनस्, तैपनि परमेश्वरले तँलाई जनावरझैँ व्यवहार गर्नुभएको छैन, बरु अझै मानवकै रूपमा व्यवहार गर्नुहुन्छ। त्यसकारण, तैँले मानवले गर्नैपर्ने काम गर्नुपर्छ, मानवले भन्नै पर्ने कुरा भन्नुपर्छ, र परमेश्वरले तँलाई दिनुभएको सबथोक उहाँबाट आएको भनी स्विकार्नुपर्छ। तैँले जे कर्तव्य पूरा गर्न सक्छस्, त्यो गर्। परमेश्वरलाई निराश नबना। परमेश्वरले तँलाई मानवका रूपमा व्यवहार गर्ने भएकै कारण “परमेश्वरले मलाई मानवका रूपमा व्यवहार गर्नुहुने हुनाले, उहाँले मलाई योभन्दा राम्रो क्षमता दिनुपर्छ, मलाई टोली प्रमुख, सुपरिवेक्षक, वा अगुवा हुन दिनुपर्छ। उहाँले मैले थकाइ लाग्ने कुनै काम गर्नु नपर्ने, परमेश्वरको घरले निःशुल्क रूपमा मेरो भरणपोषण गर्ने, र मैले मेहनत लगाउन वा थकाइ सहन नपर्ने वातावरण सिर्जना गरेर मलाई जे मन लाग्छ त्यो गर्न दिनुभए उत्तम हुनेथियो” भन्दै औँलो दिँदा डुँडुलो निल्न नखोज्। यी सबै अनुचित माग हुन्। यी सृजित प्राणीमा हुनुपर्ने वा उसले अघि सार्नुपर्ने प्रकटीकरणहरू वा अनुरोधहरू होइनन्। परमेश्वरले तँलाई तेरो कमजोर क्षमताअनुसार व्यवहार गर्नुभएको छैन, बरु त्यसको सट्टामा तँलाई रोज्नुभएको र कर्तव्य पूरा गर्ने अवसर दिनुभएको छ। यो परमेश्वरको बढाइ हो। तैँले औँलो दिँदा डुँडुलो निल्न खोज्ने र परमेश्वरसँग अनुचित मागहरू राख्ने गर्नु हुँदैन। बरु, तैँले परमेश्वरलाई धन्यवाद दिनुपर्छ, र परमेश्वरको प्रेमको ऋण तिर्नका लागि आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। यो परमेश्वरले तँबाट गर्नुहुने माग हो। तेरो क्षमता कमजोर छ, तर परमेश्वरले राम्रो क्षमता भएका मानिसहरूका मानकअनुसार तँबाट माग गर्नुभएको छैन। तँमा क्षमता र बौद्धिकताको कमी छ, तर तँ राम्रो क्षमता भएका मानिसहरू पुग्न सक्ने मानकमा पुग्नुपर्छ भनेर परमेश्वरले माग गर्नुभएको छैन। तँ जे गर्न सक्षम छस्, त्यही मात्र गर्। परमेश्वर माछालाई जमिनमा जिउन बाध्य पार्नुहुन्न। यति मात्र हो कि, तँ नै सधैँ अत्यधिक चाहनाहरू राख्छस्, र सधैँ साधारण व्यक्ति, कमजोर क्षमता भएको औसत व्यक्ति बन्न अनिच्छुक हुन्छस्; कुरा के हो भने, तँ आफूलाई चर्चामा नल्याउने यी श्रमसाध्य कामहरू गर्न चाहँदैनस्, र आफ्नो कर्तव्य पूरा गर्दा तँ सधैँ कठिनाइलाई मन पराउँदैनस् र थकाइबाट टाढै रहन्छस्, रोजीछाडी काम गर्छस्; तँ सधैँ मनोमानी गर्छस् र सधैँ तेरा आफ्नै योजना र प्राथमिकताहरू हुने गर्छन्—परमेश्वरले तँलाई अन्याय गर्नुभएको होइन। त्यसोभए, मानिसहरूले कसरी आफ्नो क्षमतालाई सही रूपमा लिनुपर्छ? पहिलो कुरा, परमेश्वरले तँलाई जस्तो क्षमता दिनुहुन्छ, तैँले त्यो परमेश्वरबाट आएको भनी स्विकार्नुपर्छ र तँ परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुनुपर्छ। यो नै मानिसहरूमा हुनुपर्ने सबैभन्दा आधारभूत विचार र दृष्टिकोण हो। यो दृष्टिकोण सही छ, र यो जुनसुकै परिस्थितिमा खरो उत्रन्छ। परिस्थितिहरू जति परिवर्तन भए पनि सधैँ स्थिर रहने सत्यता सिद्धान्त यही नै हो। अर्को कुरा, चाहे तेरो क्षमता राम्रो, औसत, वा कमजोर होस्, वा हुँदै नहोस्, तैँले आफ्नो क्षमताले हासिल गर्न सकिने काम गर्नुपर्छ। तैँले न त केही कुरा लुकाएर राख्नुपर्छ, न उत्कृष्ट देखिन खोज्नुपर्छ। चाहे तेरो क्षमता राम्रो होस् या औसत, तँ आफ्नो क्षमता र सामर्थ्यका दायराभित्र पर्ने कामकुरा मात्र गर्न सक्छस्; धाकरवाफ देखाउनुपर्ने कुरा नै छैन—परमेश्वरले तँलाई दिनुभएको कुरा नै त्यही हो; तैँले त्यो अर्पण गर्नुपर्छ। तेरो पूरै सत्त्व, तेरो सास, तेरा जन्मसिद्ध अवस्थाहरू, तेरो क्षमताका सबै पक्षमा तेरा सामर्थ्यहरू परमेश्वरले दिनुभएको हो। अहिले तैँले बुझेका विभिन्न सत्यता सिद्धान्तहरू पनि परमेश्वरले नै प्रदान गर्नुभएको हो। परमेश्वरको कामविना र परमेश्वरले मानिसहरूलाई प्रदान गर्नुहुने विभिन्न जन्मसिद्ध अवस्थाहरूबिना, मानिसहरू एक मुट्ठी माटोबाहेक केही पनि होइनन्। त्यसकारण, मानिसहरूले धाकरवाफ देखाउनुपर्ने कुरा केही छैन। यो दोस्रो पक्ष हो। अर्को पक्ष पनि छ: चाहे तेरो क्षमता औसत वा कमजोर होस् या हुँदै नहोस्, तैँले त्यसलाई सही रूपमा लिनैपर्छ। पहिले, तेरो क्षमता कुन स्तरमा पर्छ भनेर चिन्, त्यसपछि तेरो अन्तर्निहित क्षमताका आधारमा तैँले जे गर्नुपर्ने हो, त्यो गर्। सधैँ आफ्ना सामर्थ्यभन्दा बाहिर गएर आफूले पूरा गर्नै नसक्ने कामकुरा गर्ने कोसिस नगर्, सधैँ आफूलाई मानिसहरूसामु वा परमेश्वरसामु प्रमाणित गर्ने कोसिस नगर्। तैँले केही पनि प्रमाणित गर्न सक्दैनस्। तैँले यसरी आफूलाई जति प्रमाणित गर्न खोज्छस्, त्यति नै तेरो क्षमता कमजोर छ, तँलाई आफ्नो औकात थाहा छैन भन्ने प्रमाणित हुन्छ, र त्यति नै तँमा समझ छैन र अत्यन्तै भ्रष्ट स्वभाव छ भन्ने प्रमाणित हुन्छ। जसरी पनि आफ्नो क्षमता बदल्ने वा सबै पक्षमा आफ्ना सामर्थ्यहरू सुधार्ने कोसिस नगर्, बरु आफ्ना अन्तर्निहित क्षमता र सामर्थ्यहरूलाई सटीक रूपमा चिन्ने र सही रूपमा लिने गर्। यदि तैँले आफूमा कहाँ कमी छ भनेर पत्ता लगाइस् भने, जुन क्षेत्रमा छोटो समयमा प्रगति हासिल गर्न सकिन्छ, ती क्षेत्रहरूलाई शीघ्र रूपमा अध्ययन गरेर ती क्षेत्रका कमीकमजोरीहरू पूर्ति गर्न खोज्। जुन क्षेत्रहरूमा तँ पुग्नै सक्दैनस्, जबरजस्ती पुग्न नखोज्। आफ्नो वास्तविक परिस्थितिअनुसार कार्य गर्; तेरा आफ्नै क्षमता र सक्षमताका आधारमा कामकुरा गर्। अन्तिम सिद्धान्त भनेको परमेश्वरको वचन, मानवप्रति परमेश्वरका मागहरू, र सत्यता सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य पूरा गर्नु हो। तेरो क्षमता जुन स्तरको भए पनि, तँ विभिन्न मात्रामा सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न र आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्छस्; तैँले परमेश्वरका मानकहरू पूरा गर्न वा तिनमा खरो उत्रन सक्छस्। यी सत्यता सिद्धान्तहरू खोक्रो कुरा हुँदै होइनन्। ती कदापि मानवताभन्दा बाहिर जाँदैनन्। ती सबै सृजित मानवजातिका भ्रष्ट स्वभाव, जन्मजात प्रवृत्तिहरू, साथै विभिन्न सामर्थ्य र क्षमताहरूका लागि विशेष रूपमा बनाइएका अभ्यासका मार्ग हुन्। त्यसकारण, तेरो क्षमता जे भए पनि, तेरा सामर्थ्यहरू जहाँसुकै अपर्याप्त वा खोटो भए पनि, त्यो कुनै समस्या होइन; यदि तैँले साँच्चिकै सत्यता बुझ्छस् र तँ सत्यता अभ्यास गर्न इच्छुक छस् भने, अघि बढ्ने मार्ग हुनेछ। कुनै व्यक्तिको क्षमता र सामर्थ्यका निश्चित पक्षहरूमा रहेका कमजोरीहरूले उसलाई सत्यता अभ्यास गर्न कदापि बाधा पुर्याउँदैनन्। यदि तँमा तजबिज गर्ने सामर्थ्य वा अन्य कुनै सामर्थ्यको कमी छ भने, तैँले अझ बढी खोजी र सङ्गति गर्न सक्छस्—सत्यतालाई बुझेकाहरूबाट निर्देशन र सुझावहरू माग्न सक्छस्। जब तैँले अभ्यासका सिद्धान्त र मार्गहरू बुझ्छस् र बोध गर्छस्, तब तैँले आफ्नो कदका आधारमा आफ्नो सारा मेहनत लगाएर तिनलाई अभ्यास गर्नुपर्छ। स्विकार्ने र अभ्यास गर्ने—तैँले गर्नुपर्ने नै यही हो। के मेरो यस्तो सङ्गतिले तँलाई बुझ्न मद्दत गर्छ? (हामीले अलि बढी बुझ्यौँ।)
परमेश्वर किन मानिसहरूमा सबै किसिमका क्षमताहरू हुने पूर्वनियोजन गर्नुहुन्छ? परमेश्वरले किन मानिसहरूलाई सिद्ध क्षमता दिनुहुन्न? हामीले यस सम्बन्धमा परमेश्वरका अभिप्रायहरू के-के हुन् र मानिसहरूले त्यसलाई कसरी सही रूपमा लिनुपर्छ भन्ने सम्बन्धी कति वटा पक्षहरूबारे सङ्गति गरेका छौँ? तिनको सारांश निकालौँ। पहिलो पक्ष भनेको त्यो परमेश्वरबाट आएको भनी स्विकार्नु हो। यो मानिसहरूले राख्नुपर्ने सबैभन्दा आधारभूत विचार र दृष्टिकोण हो। दोस्रो पक्ष भनेको आफ्नो क्षमता के हो भनी चिन्नु र मूल्याङ्कन गर्नु, साथै आफ्नो क्षमता र सक्षमताका आधारमा व्यवहार गर्नु र आफ्नो कर्तव्य पूरा गर्नु हो। आफ्नो क्षमता र सक्षमताभन्दा बाहिरका कुराहरू गर्ने कोसिस नगर्। तैँले जे गर्न सक्छस्, त्यो इमानदारीपूर्वक र व्यावहारिक तरिकाले राम्रोसँग गर्। तैँले जे गर्न सक्दैनस्, त्यसमा जबरजस्ती नगर्। तेस्रो पक्ष के हो? (हामीले सधैँ आफ्नो क्षमता बदल्ने इच्छा गर्नु हुँदैन। चाहे हाम्रो क्षमता औसत होस्, कमजोर होस्, वा हुँदै नहोस्, हामीले त्यसलाई सही रूपमा लिनैपर्छ। हामीले सधैँ आफ्नो क्षमता राम्रो छ भनी परमेश्वरसामु प्रमाणित गर्ने इच्छा गर्नु हुँदैन। यो अनुचित कुरा हो।) ठीक भनिस्। आफ्नो क्षमतालाई सही रूपमा लिने गर्। गुनासो नगर्। परमेश्वरले तँलाई जति दिनुभएको छ, उहाँले तँबाट त्यति मात्र माग गर्नुहुनेछ। परमेश्वरले तँलाई जे दिनुभएको छैन, परमेश्वरले तँबाट त्यो कुरा माग गर्नुहुन्न। उदाहरणका लागि, यदि परमेश्वरले तँलाई औसत क्षमता वा कमजोर क्षमता दिनुभएको छ भने, उहाँले तँ अगुवा, टोली प्रमुख, वा सुपरिवेक्षक हुनुपर्ने माग तँबाट गर्नुहुन्न। तर, यदि परमेश्वरले तँलाई वाक्पटुता, आफ्नो कुरा व्यक्त गर्ने सामर्थ्य, वा कुनै निश्चित वरदान दिनुभएको छ, र उहाँ तैँले यो वरदानसँग सम्बन्धित काम गर्नुपर्ने माग गर्नुहुन्छ भने, तैँले त्यो काम राम्ररी गर्नुपर्छ। परमेश्वरले तँलाई दिनुभएका अवस्थाहरूमा खरो उत्रन असफल नहो। तैँले परमेश्वरले प्रदान गर्नुभएका कामकुरालाई खेर फाल्नु हुँदैन, तिनलाई पूर्ण रूपमा उपयोग गर्नुपर्छ र राम्रोसँग लागु गर्नुपर्छ, तिनलाई सकारात्मक कुरामा लागु गर्नुपर्छ र मानवजातिलाई फाइदा हुने मूल्यवान् कार्य नतिजाहरू निकाल्नुपर्छ। त्यसो गरे गजब हुनेथियो, होइन र? (हो।) यसबाहेक, तैँले थाहा पाउनैपर्छ कि परमेश्वरले असल अभिप्रायले नै मानिसहरूलाई विभिन्न क्षमता दिनुहुन्छ। परमेश्वरले तँलाई मुक्ति दिन चाहनुहुने भएकाले नै उहाँले तँलाई अत्यन्तै राम्रो क्षमता दिनुभएको छैन। यसमा परमेश्वरको श्रमसाध्य अभिप्राय छ। परमेश्वरले तँलाई औसत वा कमजोर क्षमता दिनु भनेको तेरा लागि सुरक्षा हो। यदि मानिसहरूमा अत्यधिक राम्रो वा असाधारण क्षमता हुँदो हो त, तिनीहरूलाई संसार र शैतानको पछि लाग्न सजिलो हुनेथियो, र तिनीहरू सजिलै परमेश्वरमा विश्वास गर्न आउने थिएनन्। संसारका विभिन्न उद्योग र क्षेत्रमा भएका उत्कृष्ट व्यक्तिहरूलाई हेर्—तिनीहरू कस्ता किसिमका मानिस हुन्? तिनीहरू सबै धूर्त योजनाकार, देहधारी दियाबलस हुन्। यदि तैँले तिनीहरूलाई परमेश्वरमा विश्वास गर्न आग्रह गरिस् भने, तिनीहरू सोच्छन्, “परमेश्वरमा विश्वास गरेर कहीँ पनि पुगिन्न—असक्षम मानिसहरूले मात्र परमेश्वरमा विश्वास गर्छन्!” अत्यधिक राम्रो क्षमता, ठूला सक्षमता भएका र उन्नत रणनीति जानेका मानिसहरू शैतानद्वारा बन्दी बनाइन्छन्। तिनीहरू पूर्णतया आफ्ना भ्रष्ट स्वभावहरूअनुसार र पूर्ण रूपमा संसारका लागि जिउँछन्। त्यस्ता मानिसहरू सबै देहधारी दियाबलस हुन्। ल भन्, के परमेश्वरले त्यस्ता मानिसहरूलाई मुक्ति दिनुहुन्छ? (दिनुहुन्न।) त्यसोभए, के तिमीहरू देहधारी दियाबलस बन्न इच्छुक छौ, कि साधारण व्यक्ति, कमजोर क्षमता भएको तर परमेश्वरको मुक्ति प्राप्त गर्न सक्ने व्यक्ति बन्न इच्छुक छौ? (हामी साधारण मानिस बन्न इच्छुक छौँ।) यी दुई प्रकारका मानिसहरूमध्ये कुन चाहिँ आशिषित् हुन्छ? ती मानिसहरू, जो संसारमा सफल हुन्छन्, प्रतिष्ठित बन्छन्, ख्यातिप्राप्त हुन्छन्, उच्च अधिकारी वा धनाढ्य मानिस बन्छन्, जोसँग आफूलाई चाहिने सब थोक हुन्छ र खर्च गर्नका लागि असीमित पैसा हुन्छ—के तिमीहरू त्यस्ता मानिस बन्न इच्छुक छौ, कि परमेश्वरसामु आएर औसत क्षमता भएका सरल र साधारण मानिस बन्न? तेरो रोजाइ के हो? (सरल र साधारण मानिस बन्ने।) यदि तँ यो जीवनमा राम्रो भौतिक जीवनको आनन्द लिन नचाहने, प्रतिष्ठा प्राप्त गर्न नचाहने, यो संसारमा उपस्थितिको आभास नहुने, र सबैका नजरमा तुच्छ ठानिने औसत क्षमता भएको सरल र साधारण व्यक्ति बन्न रोज्छस्, यस प्रकारको व्यक्ति बन्न र परमेश्वरले मानिसहरूलाई दिनुहुने मुक्तिको अवसरलाई प्रिय ठान्न वा प्राप्त गर्न चाहन्छस् भने—यदि यो तेरो रोजाइ हो, यदि तँ मुक्ति प्राप्त गर्ने र यस संसारलाई नपछ्याउने छनौट गर्छस्, र हृदयमा तँ यो संसारको नभई परमेश्वरको हुन चाहन्छस् भने, परमेश्वरले तँलाई दिनुभएको क्षमतालाई तैँले तिरस्कार गर्नु हुँदैन। तेरो क्षमता निकै कमजोर भएको वा परमेश्वरले तँलाई कुनै क्षमता नदिनुभएको भए पनि, तैँले यो तथ्यलाई खुसीका साथ स्विकार्नुपर्छ र, परमेश्वरले तँलाई दिनुभएका विभिन्न सामर्थ्यका अन्तर्निहित अवस्थाहरूमा, तैँले एक सृजित प्राणीको कर्तव्य पूरा गर्नुपर्छ। अर्को पक्ष के हो भने, परमेश्वरले मानिसहरूलाई दिनुहुने क्षमता निकै राम्रो नभई—साधारण मानिसहरूको क्षमता मात्र हुने भए पनि—र सबै पक्षमा उहाँले तिनीहरूलाई दिनुहुने सामर्थ्यहरू औसत वा कमजोर नै भए पनि, मानिसहरूले अभ्यास गर्नुपर्ने सबैभन्दा आधारभूत सत्यताहरू, जुन परमेश्वरले मानिसहरूलाई सिकाउनुहुन्छ, यदि तिनीहरू मन लगाएर ती अभ्यास गर्न इच्छुक छन् भने, ती अझै पनि प्राप्त र हासिल गर्न सकिन्छ। तेरो क्षमता निकै कमजोर भएको, र तेरो बोध सामर्थ्य, कामकुरा स्विकार्ने सामर्थ्य, तजबिज गर्ने सामर्थ्य, र कामकुराको परख गर्ने सामर्थ्य निकै कमजोर भए पनि वा हुँदै नभए पनि, यदि तँसित सबैभन्दा आधारभूत मानवता र समझ छ भने, परमेश्वरले तँलाई जिम्मा लगाउने कार्य र कामहरू पूरा गर्न र राम्ररी सम्पन्न गर्न सकिन्छ। त्यसबाहेक, परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने सबैभन्दा आधारभूत तरिका, जुन परमेश्वरले मानिसहरूबाट माग गर्नुहुन्छ, त्यो तैँले पालना गर्न सक्ने कुरा हो; त्यो तैँले प्राप्त गर्न र हासिल गर्न सक्ने कुरा हो। त्यसकारण, परमेश्वरले कहिल्यै तँलाई निकै राम्रो क्षमता दिने अभिप्राय राख्नुभएको छैन। यदि परमेश्वरले तँलाई राम्रो क्षमता र केही विशेष सक्षमताहरू दिनुभएर त्यसले गर्दा तँ संसारमा देहधारी दियाबलस बनेको भए, परमेश्वरले तँलाई मुक्ति दिनुहुनेथिएन। के अब तिमीहरू यस मामलामा परमेश्वरको हृदय बुझ्न सक्छौ? (सक्छौँ।) यदि तिमीहरू परमेश्वरको हृदय बुझ्न सक्छौ भने, त्यो राम्रो कुरा हो; तिमीहरूले यो सत्यता बुझ्नेछौ र आफ्नो क्षमतालाई सही रूपमा लिनेछौ; यस सम्बन्धमा थप कठिनाइहरू हुनेछैनन्। यहाँबाट मानिसहरूले केवल आफूले गर्नैपर्ने काम गर्नुपर्छ। त्यो एउटा मात्र काम भए पनि, त्यसलाई राम्ररी सम्पन्न गर्नमा आफ्नो हृदय र मेहनत लगा अनि परमेश्वरले तँप्रति राख्नुभएका अपेक्षाहरू पूरा गरेरै छोड्। बुझिस्? (बुझेँ।) यस विषयमा आजको सङ्गति यतिमै टुङ्ग्याऔँ। फेरि भेटौँला!
नोभेम्बर ११, २०२३