सत्यता कसरी पछ्याउने (५)
के कतिपय मानिसहरूले हालसालै केही नकारात्मक अफवाहहरू सुनेका छन्? (छौँ।) यी अफवाहहरू सुन्दा तिमीहरूले कस्तो प्रतिक्रिया जनाएका थियौ? के तिमीहरू डरायौ? के तिमीहरूलाई जिज्ञासा भयो? के तिमीहरू यी अफवाहहरू केका बारेमा हुन् भनेर जान्न चाहन्छौ? (हामी जान्न चाहँदैनौँ, किनभने हामीलाई ठूलो रातो अजिङ्गरले प्रायजसो नभएको कुराबाट अफवाहहरू रच्छ भन्ने पहिले नै थाहा छ। यसले जे भने पनि, त्यो झूटो नै हुन्छ। त्यसकारण, हामीलाई यी अफवाहहरूका विवरणहरूमा चासो छैन र हामी यसले भन्ने दुष्ट शब्दहरू बुझ्ने प्रयास गर्न चाहँदैनौँ।) ठूलो रातो अजिङ्गरले मानिसहरूलाई बहकाउन र भ्रष्ट तुल्याउन सबै किसिमका अफवाहहरू रच्छ, र अफवाहहरू सुनेपछि, धेरै मानिसहरू बहकाउमा पर्छन्। कतिपय मानिसहरू डराउँछन् र तिनीहरूले साँचो मार्गलाई स्वीकार गर्ने आँट गर्दैनन्; यसलाई स्वीकार गरेका कतिपय मानिसहरू शङ्कालु पनि बन्छन् र तिनीहरूले उप्रान्त परमेश्वरमा विश्वास गर्न चाहँदैनन्। ठूलो रातो अजिङ्गरका अफवाहहरू सुन्नुभन्दा पहिले, यी मानिसहरूले कुनै शङ्काविना परमेश्वरमाथि आस्था राखेको र तिनीहरू परमेश्वरलाई पछ्याउन र आफ्नो कर्तव्य पूरा गर्न इच्छुक भएको जस्तो देखिन्थ्यो। तर अफवाहहरू सुनेपछि, तिनीहरूले तुरुन्तै शङ्काहरू पाल्न थाल्छन् र तिनीहरूमा उप्रान्त परमेश्वरलाई पछ्याउने र आफ्नो कर्तव्य पूरा गर्ने हृदय हुँदैन। विशेष गरी, ठूलो रातो अजिङ्गरले पक्राउ गरेका कतिपय मानिसहरूले यसको क्रूर यातनाको दबाबमा परेर हरेस खान्छन् र परमेश्वरको नामलाई इन्कार गर्छन्, र ती मानिसहरूमध्ये कतिले “तीन अभिव्यक्ति” मा हस्ताक्षर गर्छन् र तिनीहरू परमेश्वरलाई मौखिक रूपमा अपमान गर्न समेत बाध्य पारिन्छन्। त्यस्ता मानिसहरू निकै धेरै छन्। तिमीहरू सबैले धेरै अफवाह र नकारात्मक प्रचारबाजी सुनेका छौ र ठूलो रातो अजिङ्गरले परमेश्वरका विश्वासीहरूलाई पक्राउ गरेपछि, यसले तिनीहरूको मगजधुलाई गर्छ भन्ने पनि देखेका छौ—निश्चय नै, धेरै मानिसहरू बहकाउमा परेका छन्। यसका साथै, यसले परमेश्वरलाई धोका दिनेहरूलाई यसको सेवामा प्रयोग गर्छ, तिनीहरूलाई मण्डलीको निगरानी गर्न र परमेश्वरका विश्वासीहरूलाई पछ्याउन र चियोचर्चो गर्न लगाउँछ। धार्मिक विश्वासलाई नष्ट गर्न र परमेश्वरको मण्डलीलाई हटाउनका लागि, ठूलो रातो अजिङ्गरले परमेश्वरका चुनिएका मानिसहरूको दमन र पक्राउलाई महत्त्वपूर्ण राष्ट्रिय काम, राजनीतिक मिसनका रूपमा लिन्छ, र यसलाई सूक्ष्मता र मेहनतका साथ अघि बढाउँछ। यसले गर्दा परमेश्वरका धेरै विश्वासीहरूलाई डर लाग्छ, त्यसकारण तिनीहरूले परमेश्वरमा विश्वास गर्ने र आफ्नो कर्तव्य पूरा गर्ने आँट गर्दैनन्। विशेष गरी ठूलो रातो अजिङ्गरले रचेका अफवाहहरू सुनेपछि, धेरै मानिसहरू बहकाउमा पर्छन्। परमेश्वरको घरले यी अफवाहहरूलाई धेरै पहिले नै सारांशित गरेको छ र खुट्ट्याएको छ, त्यसकारण तिनका बारेमा यहाँ छलफल गर्नु आवश्यक छैन। यदि तैँले साँच्चै नै पक्राउको सामना गरिस्, र ठूलो रातो अजिङ्गरले तेरो मगजधुलाई गर्ने प्रयास गर्न यी अफवाहहरू प्रयोग गर्छ, तँलाई अडान लिन जबरजस्ती गर्छ, र “तीन अभिव्यक्ति” मा हस्ताक्षर गर्न जबरजस्ती गर्छ भने, तैँले के गर्नुपर्छ? तिमीहरूलाई अब ठूलो रातो अजिङ्गरले रचेका अफवाहहरू सबै झूटा, भ्रामक, र छली छन् भन्ने थाहा छ। तिमीहरूको मनोवृत्ति ती कुरा नसुन्ने, नहेर्ने, र तिनमा विश्वास नगर्ने भए पनि, यदि यी अफवाहहरू तेरो अघि राखिएका भए, र यसले गर्दा तैँले ती कुरा सुन्नुपरेको, देख्नुपरेको, र ती तथ्यगत छन् भनेर समेत सोच्नुपरेको भए, के तँ बहकिनेथिइस्? तैँले हृदयमा के सोच्नेथिइस्? के तँ तथ्यहरूका बारेमा सत्यता जान्न चाहनेथिइस्? के तँ तिनलाई पुष्टि गर्न चाहनेथिइस्? मानिसहरूलाई बहकाउन र डर देखाउनका लागि ठूलो रातो अजिङ्गरले अफवाहहरू रच्ने, वा मानिसहरूको मगजधुलाई गर्न र वैचारिक काम सञ्चालन गर्न अफवाह र नास्तिकता प्रयोग गर्ने हकमा भन्दा, के हामीले मानिसहरूमा प्रतिरोधात्मक क्षमता विकास गराउन सत्यतामा सङ्गति गर्नुपर्छ? के यो जरुरी काम हो? कतिपय मानिसहरू भन्छन्, “ठूलो रातो अजिङ्गरले हाम्रो बारेमा, विशेष गरी ख्रीष्ट, पवित्र आत्माले प्रयोग गर्नुभएको मानिस, र मण्डली र मण्डलीको कामबारे धेरै वर्षदेखि अफवाहहरू रच्दै आएको छ। हामीले ती कुराहरूलाई कहिल्यै स्पष्ट पारेका छैनौँ, हामी आफ्नो मनोवृत्ति वा दृष्टिकोणलाई स्पष्ट पार्न कहिल्यै अघि बढेका छैनौँ, कुनै प्रतिरक्षा कहिल्यै गरेका छैनौँ—के यो उचित कुरा हो?” कतिपय मानिसहरूले परमेश्वरमा विश्वास गर्न थालेको समयदेखि अहिलेसम्म, ठूलो रातो अजिङ्गर र धार्मिक संसारका विभिन्न अफवाहलाई कहिल्यै स्पष्ट रूपमा खुट्ट्याउन सकेका छैनन्। हृदयमा, तिनीहरूसँग सधैँ यी कुराहरूका बारेमा प्रश्न चिन्ह रहिआएको छ। यो प्रश्न चिन्हले पूर्ण अविश्वास, वा पूर्ण विश्वासलाई जनाउँदैन; बरु, यसको अर्थ तिनीहरूले यी कुराहरूलाई हेर्नका लागि मध्यवर्ती अडान लिन्छन्, र यी सबै कुराहरू ठूलो रातो अजिङ्गरले रचेका अफवाहहरू पनि हुन सक्छन्, वा ती तथ्यहरू पनि हुन सक्छन् भन्ने सोच्छन् भन्ने हुन्छ। के यो “हुन सक्छन्” ले सत्यताको खोजी गर्ने दृष्टिकोणलाई प्रतिबिम्बित गर्छ? (गर्दैन।) यो त अफवाहहरूलाई प्रमाणित र पुष्टि गर्नुपर्छ भन्ने विश्वास गर्ने दृष्टिकोण हो, वा प्रतीक्षा गर्ने र अवलोकन गर्ने, जानकार मानिसहरूले केही वास्तविक परिस्थितिहरू खुलासा गरून् भनेर प्रतीक्षा गर्ने दृष्टिकोण हो। मलाई भन, तिमीहरूलाई मानिसहरूले यी दुई दृष्टिकोणहरूमध्ये कुनै एउटालाई अपनाउँदा के-कस्ता परिणामहरू आउनेछन् भन्ने लाग्छ? के त्यस्ता मानिसहरू खतरामा हुन्छन्? यी दुई दृष्टिकोणहरूमध्ये कुनले मानिसहरूलाई दह्रिलो गरी खडा हुन सहयोग गर्न सक्छ? (यी दुई दृष्टिकोणहरूमध्ये कुनैले पनि मानिसहरूलाई दह्रिलो गरी खडा हुन सहयोग गर्न सक्दैन। यदि कुनै व्यक्तिमा यस्तो “हुन सक्छ” भन्ने सोचाइ छ भने, यसले ऊ अझै पनि साँचो मार्गबारे निश्चित छैन र ऊभित्र अझै पनि शङ्काका तत्त्वहरू छन् भन्ने देखाउँछ। यस्तो अवस्थामा, अफवाहहरू तिनीहरूका लागि ठूलो परीक्षा बन्छ। यदि मानिसहरू साँचो मार्गबारे निश्चित हुन सक्दैनन्, तिनीहरूले सत्यतामा विश्वास गर्न सक्दैनन्, र ठूलो रातो अजिङ्गरको सारलाई छर्लङ्ग देख्न सक्दैनन् भने, तिनीहरू वास्तवमा ठूलो खतरामा हुन्छन्।) यी मानिसहरू आजसम्म पनि साँचो मार्गबारे निश्चित छैनन्। तिनीहरूको सार के हो? (सारमा, तिनीहरू अविश्वासीहरू हुन्।) तिनीहरू अविश्वासीहरू हुन्। के यी दुई दृष्टिकोणहरूमध्ये कुनै एउटा राख्ने मानिसहरू धेरै छन्? अवश्य नै, धेरै छन्। जब यी मानिसहरूले अफवाहहरू सुन्छन्, तब तिनीहरूले हृदयमा परमेश्वरबारे शङ्काहरू विकास गर्छन् र तिनीहरू अफवाहहरूको चुरोमा पुग्न, ती साँचो हुन् कि झूटा हुन् भनेर पत्ता लगाउन चाहन्छन्। तर, यस मामलालाई समाधान गर्न कसरी सत्यताको खोजी गर्ने भनेर तिनीहरूलाई थाहा नहुने हुनाले, अन्तमा, तिनीहरूले यसलाई अनसुल्झा नै छोड्छन्। वास्तवमा, यो समस्या अझै पनि तिनीहरूको हृदयमा हुन्छ, र यो समाधान हुँदैन। जब तिमीहरूले यी अफवाहहरू सुन्छौ, तब के तिमीहरूले सत्यताको खोजी गर्छौ? के तिमीहरू अफवाहहरूलाई चिरफार गर्न र खुट्ट्याउन सत्यताको खोजी गर्छौ, कि तिमीहरू अफवाहहरू सही छन् कि गलत छन् भनेर छुट्याउन र ती वास्तवमा साँचो हुन् कि झूटा हुन् भनेर हेर्नका लागि तिनलाई एक-एक गरी जाँच्छौ? अफवाहहरू सुनेपछि, तिमीहरूले हृदयमा ती केवल झूटा हुन्, यो त ठूलो रातो अजिङ्गरले विशुद्ध रूपमा अफवाहहरू रचेको र बदनामी अभियान चलाएको हो भन्ने मात्रै सोच्छौ, तर तिमीहरूले सत्य र तथ्यहरूका आधारमा तिनलाई खण्डन गर्दैनौ, र वास्तवमा तिमीहरूको हृदयमा अझै पनि केही शङ्का हुन्छ र तिमीहरूले बस आफ्ना शङ्काहरूलाई सुल्झाउन यी धर्मसैद्धान्तिक अभिव्यक्तिहरू प्रयोग गर्छौ। के यसरी सोच्नुले तिमीहरूलाई दह्रिलो गरी खडा हुन सक्षम तुल्याउन सक्छ? के यो सत्यताको खोजी गर्नु हो? के यसले तैँले सत्यता बुझेको छस् र तैँले सत्यता प्राप्त गरेको छस् भन्ने देखाउँछ? के समस्या त्यसको जडबाटै समाधान भएको हुन्छ? (हुँदैन।) त्यसोभए, के तिमीहरू यो समस्या समाधान गर्नका लागि सत्यता प्रयोग गर्न चाहन्छौ, ताकि तिमीहरूले यी अफवाहहरू खुट्ट्याउन सक, तिमीहरू बहकाउमा नपर, तिमीहरूको हृदयमा कुनै प्रश्न नहोस्, र मप्रतिको तिमीहरूको शङ्का, आशङ्का, र रक्षात्मकतालाई पूर्ण रूपमा हटाउन सक? कतिपय मानिसहरू सोच्छन्, “हामीले परमेश्वरमा विश्वास गर्न थालेको समयदेखि अहिलेसम्म, हामीले तपाईँका प्रवचनहरू सुन्दै आएका छौँ र तपाईँको मलजल र रेखदेखलाई स्वीकार गर्दै आएका छौँ, र हामीले केही उपलब्धि प्राप्त गरेका र प्रगति गरेका छौँ। तर हामी वास्तवमा तपाईँसँग जिएका छैनौँ वा हामीले व्यक्तिका रूपमा तपाईँसँग वास्तविक सम्पर्क गरेका छैनौँ। त्यसकारण, हामी तपाईँ कस्तो व्यक्ति हुनुहुन्छ, तपाईँको व्यक्तित्व र चरित्र कस्तो छ, र तपाईँले कस्तो जीवन जिउनुहुन्छ भन्ने बारेमा पूर्ण रूपमा अन्धकारमा छौँ र अनजान छौँ। अर्थात्, जब यो देहको मानवताका विभिन्न प्रकटीकरण र प्रकाशहरू, साथै मेरो जीवन, र मानिसहरू र मामलाहरूलाई सम्हाल्ने मेरो मनोवृत्ति र निश्चित प्रकटीकरणहरूको कुरा आउँछ, तब मानिसहरूले सधैँ यी कुराहरूमा प्रश्न चिन्हहरू खडा गरेका छन् र ती कुराहरूप्रति सन्देह पालेका छन्। एक हिसाबमा, मानिसहरूले यी सन्देहहरू पाल्नुको कारण तिनीहरू आफै परमेश्वरको देहधारणबारे १००% निश्चित नहुनु हो, र अर्को हिसाबमा यसको कारण सत्यताबारे मानिसहरूको बुझाइ अत्यन्तै सतही भएकाले तिनीहरू धार्मिक संसारका अफवाहहरू वा ठूलो रातो अजिङ्गरको प्रभावमा पर्नु हो। त्यसकारण, तिमीहरूले मेरो बारेमा धेरै अनुमानहरू गरेका छौ। अवश्य नै, यी अनुमानहरूको विषयवस्तु निश्चय नै सकारात्मक वा उचित हुँदैन; यसमा निश्चय नै केही अँध्यारा र नकारात्मक तत्त्वहरू समावेश हुन्छन्। यी अनुमानहरू पाल्नु—यो तिमीहरूका लागि राम्रो कुरा हो कि नराम्रो कुरा हो? यो एउटा बोझ हो, एउटा बन्धन हो, कि एउटा प्रेरणा हो? तिमीहरूलाई के लाग्छ? (यदि मानिसहरूको हृदयमा यी नकारात्मक अनुमानहरू छन् भने, यो राम्रो कुरा नभई बोझ हो। यसले मानिसहरूलाई परमेश्वरप्रति प्रतिरक्षात्मक बनाउनेछ; यसले परमेश्वरमाथिको तिनीहरूको विश्वासमा सहयोग गर्न केही गर्नेछैन।) यी नकारात्मक कुराहरूले तिमीहरूमा कस्तो असर पार्छन्? तिनले के-कस्ता परिणामहरू ल्याउनेछन्? निश्चित वातावरणहरूमा, के यी कुराहरू तेरा लागि खतरनाक हुन्छन्? (हुन्छन्।) यी कुराहरू तेरा लागि बोझ भएका हुनाले र असल कुरा नभएका हुनाले, के तैँले तिनलाई समाधान गर्न सत्यता प्रयोग गर्नुपर्छ? कि तैँले तिनलाई पन्छाउनुपर्छ, तिनको झन्झट उठाउनु हुँदैन, र तिनका बारेमा विचार गर्नु हुँदैन, र तिनलाई समाधान गर्नका लागि कुनै समस्या पैदा नभएसम्म पर्खनुपर्छ? तिमीहरूको मनोवृत्ति के हो? (जब मैले अफवाहहरू सुनेँ, तब मैले ती कुरालाई पन्छाएँ र तिनको झन्झट उठाइनँ। तर भर्खरै, परमेश्वरको सङ्गतिमार्फत, मैले यी समस्याहरू देखा पर्दा तिनलाई सत्यताद्वारा समाधान गर्नैपर्छ भन्ने कुरा बुझेको छु। नत्र भने, व्यक्तिले आफ्नो हृदयमा भएको यो बोझ बिसाउन सक्दैन, र निश्चित परिस्थितिहरूमा, यसले खराब परिणामहरू ल्याउन सक्छ, यहाँसम्म कि परमेश्वरप्रति शङ्का गर्ने र परमेश्वरलाई इन्कार गर्ने परिणाम समेत निम्तिन सक्छ, जुन अत्यन्तै खतरनाक कुरा हो।) तैँले यी अफवाहहरू हुन् भनेर स्पष्ट रूपमा भने पनि, यदि तैँले यी अफवाहहरूलाई कहिल्यै साँचो रूपमा खुट्ट्याइनस् वा तीप्रति तँसँग सही मनोवृत्ति छैन, र तैँले सधैँ यी नकारात्मक कुराहरू हृदयमा बोकेर हिँड्छस् भने, तँ प्रायजसो तिनको बन्धनमा पर्नेछस्। यी अफवाहहरू तेरा लागि कुनै पनि बेला र कुनै पनि ठाउँमा विस्फोट हुन सक्ने टाइमबम जस्तै हुनेछन्। यसका परिणामहरू निस्सन्देह अकल्पनीय हुनेछन्, र तँ छिन्नभिन्न हुनेछस्। के “तीन अभिव्यक्ति” मा हस्ताक्षर गर्नेहरू बम विस्फोट गराएर आफैलाई छिन्नभिन्न पार्नेहरू होइनन् र? तिनीहरूले “तीन अभिव्यक्ति” मा हस्ताक्षर गरेपछि पनि, ठूलो रातो अजिङ्गरले छोड्दैन। यसले तिनीहरूले परमेश्वरलाई अपमान गर्ने केही कुरा मौखिक रूपमा भन्नुपर्छ, त्यसपछि मात्रै मामलालाई समाधान गरिएको ठान्न सकिन्छ भन्ने माग गर्छ। तिनीहरू हृदयमा अनिच्छुक भए पनि, तिनीहरूलाई आफूसँग कुनै विकल्प छैन भन्ने लाग्छ, र तिनीहरू जेल पर्नबाट जोगिन शैतानको अघि आत्मसमर्पण गर्छन्। परमेश्वरलाई मौखिक रूपमा अपमान गरेपछि, तिनीहरूलाई आशिष्हरू प्राप्त गर्ने तिनीहरूको आशा हराएको छ, तिनीहरू पूर्ण रूपमा खतम भएका छन् भन्ने लाग्छ। तिनीहरूले त्यसउप्रान्त ती अफवाहहरू साँचो हुन् कि झूटा हुन् भनेर सोच्नु आवश्यक हुँदैन, र परमेश्वरमा विश्वास गरेको धेरै वर्षको अवधिमा तिनीहरूले बोकेका चिन्ता, डर, कायरता, र भय पूर्ण रूपमा हराउँछन्। यसका साथै, मुक्ति पाउने तिनीहरूको आशा पनि चकनाचूर हुन्छ। मलाई भन, यदि मानिसहरूले देहधारी परमेश्वर वा यो प्रवाहप्रति शङ्का गरे पनि, के तिनीहरूले परमेश्वरलाई अपमान गर्नुपर्छ? (अहँ।) जब ठूलो रातो अजिङ्गरले तँलाई परमेश्वरलाई अपमान गर्न भन्छ, तब तैँले किन यसको पालना गर्छस्? जोसुकै भए पनि, कसैले साँचो मार्गलाई इन्कार गरे पनि, यो प्रवाहलाई इन्कार गरे पनि, उसले परमेश्वरलाई अपमान गर्नु हुँदैन। परमेश्वरलाई अपमान गर्नेहरू कस्ता मानिसहरू हुन्? (परमेश्वरलाई अपमान गर्न सक्ने मानिसहरू दुष्ट मानवता भएकाहरू हुन् र सत्यतालाई निकै घृणा गर्ने र शैतानको प्रभावमा समर्पित हुनेहरू पनि हुन्।) मलाई भन, यदि मानिसहरूले परमेश्वर अस्तित्वमा हुनुहुन्छ, परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, मानवजातिलाई परमेश्वरले सृष्टि गर्नुभएको हो, मानव जीवन परमेश्वरले दिनुहुन्छ, र परमेश्वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भनेर हृदयमा साँचो रूपमा विश्वास गर्छन् भने, के तिनीहरूले परमेश्वरलाई अपमानित गर्छन्? (गर्दैनन्।) कहिल्यै गर्दैनन्। परिस्थिति जस्तोसुकै भए पनि, तिनीहरूले परमेश्वरलाई अपमान गर्दैनन्। तिनीहरू सर्वशक्तिमान् परमेश्वरको नाम वा सर्वशक्तिमान् परमेश्वरको काम भएको यो प्रवाहप्रति शङ्का पाल्ने भए पनि, तिनीहरूले कहिल्यै परमेश्वरलाई अपमान गर्दैनन्। त्यसकारण, परमेश्वरलाई अपमान गर्न सक्ने व्यक्तिले यो प्रवाहलाई इन्कार गर्ने र देहधारी सर्वशक्तिमान् परमेश्वरलाई इन्कार गर्ने मात्र नभई उसले परमेश्वरको काम र परमेश्वरले व्यक्त गर्नुभएको सत्यतालाई पनि इन्कार गर्छ। त्यसोभए यस्ता मानिसहरू कुन वर्गमा पर्छन्? (तिनीहरू दियाबलसहरू हुन्; तिनीहरू हृदयमा परमेश्वरलाई इन्कार गर्ने मानिसहरू हुन्।) यस्ता मानिसहरू शैतान र दियाबलसहरूको समूहका हुन्; तिनीहरू परमेश्वरका चुनिएका मानिसहरू होइनन्, परमेश्वरका भेडा होइनन्—तिनीहरू गैर-मानव हुन्। कतिपय मानिसहरूलाई ठूलो रातो अजिङ्गरले पक्राउ गरेपछि, तिनीहरूले सत्यता नबुझेका हुनाले र तिनीहरूसँग कुनै खुट्ट्याउने क्षमता नहुने हुनाले, अफवाह सुनेर शङ्कालु बन्छन्न्। तिनीहरूले देहधारी परमेश्वरबारे शङ्काहरू विकास गर्छन्, र क्रूर यातनाको धम्की, प्रलोभन, र जबरजस्तीमा परेर, तिनीहरूले परमेश्वरको नामलाई इन्कार गर्छन्, पवित्र आत्माको काम भएको यो प्रवाहलाई इन्कार गर्छन्, र मण्डलीलाई इन्कार गर्छन्। यो त पहिले नै परमेश्वरलाई धोका दिनु सरह हो। तर कतिपय मानिसहरूले त परमेश्वरलाई अपमान समेत गर्न सक्छन्—यो विवेक र समझको पूर्ण कमी हुनु हो, यो क्षमा दिन नसकिने कुरा हो, र यो अक्षम्य पाप गर्नु हो। जब तैँले मानिसहरूलाई अपमान गर्छस्, वा तिनीहरूलाई आक्रमण गर्छस्, आलोचना गर्छस्, वा बदनाम गर्छस्, तब कानुनी शब्दमा यसलाई बढीमा बदनामीको अपराध वा, सबैभन्दा गम्भीर अवस्थामा, व्यक्तिगत आक्रमणका रूपमा परिभाषित गरिन्छ। यो खासै गम्भीर हुँदैन र यसले मृत्यु ल्याउँदैन। तर, जब कसैले परमेश्वरलाई अपमान गर्न सक्छ, तब समस्याको प्रकृति परिवर्तन हुन्छ। यो उप्रान्त परमेश्वरलाई अपमान गर्नमा मात्रै सीमित हुँदैन—यो परमेश्वरविरुद्ध ईश्वरनिन्दा गर्नु हो! ईश्वरनिन्दा गर्नु भनेको के हो? यसको अर्थ सकारात्मक कुराहरू, सत्यता, वा परमेश्वरलाई सीधै आक्रमण गर्नु, बदनाम गर्नु, अपमान गर्नु, वा निन्दा गर्नु हो—यी सबै ईश्वरनिन्दा हुन्। परमेश्वर पवित्र हुनुहुन्छ, परमेश्वर सर्वोच्च हुनुहुन्छ, परमेश्वर सारा मानवजातिमाथि सार्वभौम हुनुहुन्छ, मानवजातिलाई जीवन प्रदान गर्नुहुने परमेश्वर नै हुनुहुन्छ, र परमेश्वर नै मानव जीवनको स्रोत हुनुहुन्छ। परमेश्वरको सार, पहिचान, र हैसियत सर्वोच्च छ। परमेश्वर सिद्ध, असल, र पवित्र हुनुहुन्छ, उहाँ त्रुटिरहित र अनिन्दनीय हुनुहुन्छ। परमेश्वर पवित्र, सिद्ध, र सर्वोच्च हुनुभएकाले, र परमेश्वर मानवजातिलाई जीवन प्रदान गर्ने स्रोत हुनुभएकाले नै, सृजित मानवजातिद्वारा परमेश्वरप्रति लक्षित कुनै पनि बदनामी, आक्रमण, वा अपमान ईश्वरनिन्दा हो। अहिले तिमीहरूले “ईश्वरनिन्दा” भनेको के हो भन्ने कुरा बुझ्यौ होला, होइन र? (परमेश्वरप्रति लक्षित कुनै पनि आक्रमण, अपमान, वा निन्दा ईश्वरनिन्दा हो।) यदि “ईश्वरनिन्दा” भन्ने शब्दलाई व्याख्या गरिनुपर्छ भने, यसको अर्थ सकारात्मक कुराहरूको बदनामी, आलोचना, वा निन्दा गर्नु हो, र यो विशेष गरी सत्यता वा परमेश्वरको बदनामी, आलोचना, वा निन्दा हो। ईश्वरनिन्दा भनेको यही हो। त्यसकारण, “ईश्वरनिन्दा” भन्ने शब्दलाई परमेश्वरप्रतिको मानवजातिको बदनामी, अपमान, आक्रमण, वा आलोचनालाई वर्णन गर्नका लागि मात्रै प्रयोग गर्न सकिन्छ—यसरी वर्णन गर्नु तुलनात्मक रूपमा उचित हुन्छ। जब मानिसहरूले अरूलाई आलोचना गर्छन्, अपमान गर्छन्, आक्रमण गर्छन्, वा निन्दा गर्छन्, तब यदि यो तथ्यहरू अनुरूप छैन भने, यो बढीमा बदनामी हो। यदि यो तथ्यहरू अनुरूप छ भने, यो बदनामी होइन। तर, मानिसहरूले परमेश्वरलाई आलोचना र निन्दा गर्नु भनेको तथ्यहरूलाई बङ्ग्याउनु र सत्यलाई झूटमा परिणत गर्नु हो—यो ईश्वरनिन्दा हो। मानिसहरूले परमेश्वरलाई निन्दा गर्ने दुस्साहस गर्नुको प्रकृति के हो? के परमेश्वरमा पाप छ? (छैन।) परमेश्वर पवित्र हुनुहुन्छ, परमेश्वरमा पापरहित हुनुहुन्छ, त्यसकारण परमेश्वरप्रति लक्षित कुनै पनि बदनामी, आक्रमण, आलोचना, वा अपमानलाई ईश्वरनिन्दा भनिन्छ। परमेश्वरलाई अपमान गर्नेहरूले सोच्छन्, “मैले परमेश्वरलाई अपमान गर्ने केही कुराहरू भनेँ भने, म रिहा भएर खतराबाट उम्कन सक्छु। परिस्थितिहरूलाई हेर्दा, परमेश्वरले यो कुरालाई सम्झनुहुनेछैन।” मानव दृष्टिकोणबाट हेर्दा, यो केही अपमान मात्रै हो, जुन ठूलो समस्या हो जस्तो देखिँदैन। तर परमेश्वरले यस मामलालाई कसरी हेर्नुहुन्छ? तैँले परमेश्वरलाई अपमान गर्न सक्छस् भन्ने कुराले तैँले आफ्नो हृदयमा परमेश्वरलाई इन्कार गरिसकेको छस् भन्ने देखाउँछ। तैँले हृदयमा परमेश्वरप्रति घृणा पालेको हुनाले मात्रै तैँले उहाँलाई अपमान गर्न सक्छस्। तैँले सक्रिय रूपमा परमेश्वरलाई अपमान गरे पनि वा अरूले तँलाई उहाँको अपमान गर्न जबरजस्ती गरे पनि, यो परमेश्वरलाई इन्कार गर्नु र परमेश्वरलाई घृणा गर्नुको प्रकटीकरण नै हो। त्यसकारण, यस्तो व्यवहार र कार्य ईश्वरनिन्दा नै हो।
कतिपय मानिसहरूले कहिल्यै विभिन्न अफवाहहरूलाई छोड्न सक्दैनन्, र ती सत्य पनि हुन सक्छन् भनेर सधैँ सोच्ने गर्छन्। तिनीहरूले सधैँ शासक पार्टी, धार्मिक संसार, र गैरविश्वासीहरू अर्थात् ठूलो रातो अजिङ्गरले फैलाउने अफवाहहरू—विशेष गरी अनलाइनमा पोस्ट गरिएका ती अफवाह र टिप्पणीहरू—सत्य हुन् कि होइनन् भनेर पुष्टि गर्न चाहन्छन्। यदि परमेश्वरले कहिल्यै आफ्नो अडान प्रकट गर्नुहुन्नथ्यो वा उहाँको घरले कुनै स्पष्टीकरण प्रदान गर्नुहुन्नथ्यो हो भने, तिनीहरूले यी अफवाहहरू साँचो हुन् भन्ने कुरामा पूर्ण रूपमा विश्वास गर्नेथिए, र परमेश्वरलाई इन्कार गर्नेथिए र परमेश्वरलाई धोका दिनेथिए—यहाँ समस्या के हो? तिनीहरूले आखिर कुन आधारमा परमेश्वरमा विश्वास गर्छन्? यदि तिनीहरूको विश्वास अफवाहहरू साँचो हुन् कि होइनन् भन्ने कुरामा आधारित छ भने, त्यो ठूलो गल्ती हो। वास्तवमा, परमेश्वरको घरका प्रवचन र सङ्गतिहरू, र चलचित्रहरूमा धेरै अफवाहहरूलाई स्पष्ट रूपमा चिरफार र खण्डन गरिसकिएको छ; म यहाँ विस्तृत रूपमा जानु आवश्यक छैन। त्यसोभए तिमीहरू अझै पनि कुन-कुन प्रकारका अफवाहहरू पुष्टि गर्न चाहन्छौ? आज हामी यो विषयलाई उदाङ्गो पारौँ। यदि तिमीहरू अफवाहहरू पुष्टि गर्न चाहन्छौ भने, म तिमीहरूलाई ती कुराहरूका बारेमा मैले भन्नुपर्ने कुरा भन्नेछु, ताकि कतिपय मानिसहरूले यस्तो सोचिनरहून्, “के तपाईँ हामीबाट हामीले थाहा नपाऔँ भनी चाहने केही कुरा लुकाइरहनुभएको छ? हामीलाई सधैँ हामी तपाईँको कुरा पूर्ण रूपमा बुझ्न सक्दैनौँ जस्तो लाग्छ। हामीले तपाईँलाई पछ्याएका र धेरै सत्यता सुनेका भए पनि, हामीलाई अझै पनि अफवाहहरू साँचो हुन् कि झूटा हुन् भन्ने बारेमा हृदयमा अनिश्चित महसुस हुन्छ, त्यसकारण हामीमा सधैँ तिनलाई पुष्टि गर्ने विचार र सोच हुन्छ।” यदि तिमीहरू तिनलाई पुष्टि गर्न चाहन्छौ भने, साहसका साथ भन। यस विषयमा खुलस्त कुरा गरौँ। म तिमीहरूलाई ती कुराहरूका बारेमा आफूले भन्नुपर्ने कुरा भन्ने नै छु—लुकाउनुपर्ने कुरा केही छैन। के कसैले तिनलाई पुष्टि गर्न चाहन्छ? (अहँ।) तिमीहरूले ती कुराहरू पुष्टि गर्न नचाहनुको खास कारण तिमीहरूले ठूलो रातो अजिङ्गरका अफवाहहरूमा विश्वास नगर्ने आधारमा स्थापित भएको हो कि तिमीहरूमा “म यस विषयमा झन्झट उठाउन चाहन्नँ—म यसलाई छोडिदिनेछु” भन्ने मनोवृत्ति भएकाले हो? कि तिमीहरूलाई अफवाहहरू पुष्टि गरेपछि, तिमीहरू निराश हुनेछौ र तिमीहरूले परिणामको सामना गर्न सक्नेछैनौ भन्ने डर लागेकाले हो, र तिमीहरूलाई आफू दह्रिलो गरी खडा हुन सक्छु कि सक्दैदिन भन्ने थाहा नभएकाले, र तिमीहरूले त्यस्ता परिणामहरूको सामना गर्न नचाहेकाले हो? यी अफवाहहरूको विषयवस्तु जेसुकै भए पनि, तिमीहरूले तिनलाई पुष्टि गर्न चाहे पनि नचाहे पनि, तिमीहरूले यी अफवाहहरूका बारेमा मैले के भन्न चाहेको छु वा तीबारे मैले के टिप्पणी गरेको छु भन्ने कुरा सुन्न चाहेको भए पनि वा नचाहेको भए पनि, र तिमीहरूको मनोवृत्ति जस्तोसुकै भए पनि, मसँग एउटै मनोवृत्ति मात्रै हुन्छ: यदि तिमीहरूले सत्यता बुझ्छौ भने, स्वाभाविक रूपमै तिमीहरूले यी अफवाहहरूलाई खुट्ट्याउन सक्नेछौ; यदि तिमीहरू सत्यता बुझ्दैनौ र सत्यताको खोजी गर्दैनौ भने, म कुनै टिप्पणी गर्दिनँ। किनभने मैले सत्यता व्यक्त गर्ने धेरै वचन बोलेको छु; मैले तिमीहरूलाई यी अफवाहहरू व्याख्या गरिदिनु आवश्यक छैन—मैले गर्नुपर्ने काम यो होइन। के यति धेरै प्रवचन सुनेपछि पनि तिमीहरूले अझै पनि अफवाहहरू खुट्ट्याउन सक्दैनौ? सक्दैनौ भने, यसको अर्थ तिमीहरूले सत्यता बुझ्दैनौ भन्ने हुन्छ। सत्यता नबुझ्ने व्यक्तिलाई जति धेरै कुरा भनिए पनि, त्यो व्यर्थ नै हुन्छ—यो गैरविश्वासीहरूसँग कुरा गर्नु जस्तै हो; तैँले जति धेरै कुरा भने पनि, तिनीहरूले बुझ्नेछैनन्। त्यसकारण, कुनै अफवाहहरूका हकमा म कुनै टिप्पणी गर्दिनँ! म केही पनि व्याख्या गर्न चाहन्नँ, न त म केही भन्न नै चाहन्छु, न त म कुनै कुराको औचित्य साबित गर्न वा प्रतिरक्षा गर्न नै चाहन्छु। बाहिरी संसारमा जे भनिरहिएको भए पनि, म कुनै टिप्पणी गर्दिनँ! के तिमीहरूले यो कुरा स्पष्ट रूपमा सुनेका छौ? (छौँ।) “कुनै टिप्पणी गर्दिनँ”—यो एक प्रकारको मनोवृत्ति हो। यसका साथै, यस विषयमा मैले तिमीहरूलाई भन्न चाहने कुरा के हो? त्यो के हो भने, जहिले भए पनि, परमेश्वरको पहिचान र सार परिवर्तन हुँदैन, परमेश्वरको हैसियत परिवर्तन हुँदैन, परमेश्वरको स्वभाव परिवर्तन हुँदैन, परमेश्वरको अख्तियार र शक्ति परिवर्तन हुँदैन, परमेश्वर मानवजातिमाथि सार्वभौम हुनुहुन्छ र उहाँले तिनीहरूलाई जीवन प्रदान गर्नुहुन्छ भन्ने तथ्य परिवर्तन हुँदैन, परमेश्वरको देहधारणको तथ्य परिवर्तन हुँदैन, र परमेश्वर सत्यता,आर्ग, र जीवन हुनुहुन्छ भन्ने तथ्य कहिल्यै परिवर्तन हुँदैन। के तिमीहरूका शङ्काहरूलाई समाधान गर्न यी शब्दहरू पर्याप्त छन्? (छन्।) यस विषयमा मैले तिमीहरूलाई भन्ने कुरा यति मात्रै हो। यदि तिमीहरूले बुझ्यौ भने, यसलाई स्वीकार गर। यदि तिमीहरूले यो कुरा बुझेनौ भने, यसबारे चिन्तन गर्न समय निकाल। यदि तेरो हृदयमा अझै पनि शङ्काहरू छन् र यी वचनहरूले तेरा शङ्काहरूलाई समाधान गर्न सक्दैनन् भने, मैले अरू केही गर्न सक्दिनँ। परिस्थितिलाई आफ्नो बाटो समात्न दे। म तेरा लागि यति मात्रै गर्न र भन्न सक्छु। के यो शैली उचित छ? (छ।) के यी वचनहरूले मानिसहरूमा निश्चित प्रभाव पार्न सक्छन्? विभिन्न जटिल मामलाहरूको सामना गर्दा, यदि तँ र परमेश्वरबीचको सम्बन्धमा दरार देखा पर्यो, वा यदि तँमा परमेश्वरबारे गम्भीर शङ्काहरू पैदा भए, र यी वचनहरूले तैँले अहिले सामना गरिरहेको समस्यालाई समाधान गर्न सकेनन् भने, तँ अविश्वासी होस्। तैँले सत्यतालाई नभई शैतानका झूटहरू र शैतानले बोल्ने जस्तोसुकै दुष्ट शब्दहरूलाई स्वीकार गर्छस्। यो सुरुमा आदम र हव्वाको अवस्था जस्तै हो—परमेश्वरले भन्नुभयो, “तिमीहरूले बगैंचाको हरेक रूखको फल खान सक्छौ, तर असल र खराबको ज्ञानको रूखको फलचाहिँ खानु हुँदैन, किनभने तिमीहरू त्यसबाट खाएको दिन, अवश्य नै मर्नेछौ।” तिनीहरूले परमेश्वरका वचनहरू सुनेपछि तिनलाई हृदयमा राखे। तर जब शैतानले तिनीहरूलाई “परमेश्वरले तिमीहरूले असल र खराबको ज्ञानको रूखको फल खानु हुँदैन भनेर भन्नुभयो—यो कुरा साँचो नै हो भन्ने छैन। यदि तिमीहरूले यो खायौ भने, तिमीहरू अवश्य नै मर्नेछैनौ” भनेर भनेपछि, आदम र हव्वा तुरुन्तै शङ्कालु भए। तिनीहरूले परमेश्वरका वचनहरूलाई त्यागे र सर्पका वचनहरूमा विश्वास गरे। तिनीहरूले परमेश्वरले भन्नुभएको कुरा झूट हो भनेर शङ्का गरे। सर्पले भनेको कुराका कारण, तिनीहरूले परमेश्वरमा विश्वास गर्न वा उहाँको आज्ञापालन गर्न छोडे तर तिनीहरूले सर्पका झूटहरूलाई पूर्ण रूपमा पछ्याए। यसको अन्तिम परिणाम के थियो भन्ने कुरा स्पष्ट रूपमा देख्न सकिन्छ। सर्पले तिनीहरूलाई भनेको कुरामा विश्वास र स्वीकार गरिरहँदा, तिनीहरूले परमेश्वरले भन्नुभएको कुरा झूट हो भन्ने सोच्दै परमेश्वरले भन्नुभएको कुरालाई इन्कार पनि गरिरहेका थिए। तिनीहरूले परमेश्वरका वचनहरू साँचो हुन् भन्ने कुरामा विश्वास गर्न छोडे, र तिनीहरूले परमेश्वरको पहिचान र सारमा विश्वास गर्न छोडे। बरु, तिनीहरूले परमेश्वरप्रति शङ्कालु बने, र उहाँले तिनीहरूप्रति गुप्त मनसायहरू राख्नुहुन्छ र तिनीहरूलाई झूटहरूद्वारा छल गरिरहनुभएको छ भन्ने आशङ्का राखे। यसको विपरीत, तिनीहरूले सर्पले भनेको कुरा साँचो हो र सर्पले तिनीहरूको फाइदाका लागि बोलिरहेको छ भन्ने विश्वास गरे। अन्तिम परिणाम के भयो भने, तिनीहरू सर्पको प्रलोभनमा परे र शैतानले तिनीहरूलाई भ्रष्ट तुल्यायो। तिनीहरूले परमेश्वरको हेरचाहको बाटो बिराए, तिनीहरूले परमेश्वरको सुरक्षा गुमाए, र फर्केर आउन नसकिने बाटो लागे।
के तिमीहरूका लागि अफवाहहरूको समस्या समाधान भएको छ? यदि यो समाधान भएको छैन भने, बिस्तारै आफै यसबारे सोचविचार गर। अफवाहहरूलाई कसरी लिने भन्ने कुराको हकमा भन्दा, मैले धेरै सङ्गति गरिसकेको छु। यदि अझै पनि विभिन्न अफवाहहरूलाई छर्लङ्ग देख्न नसक्ने र तिनलाई खुट्ट्याउन नसक्ने मानिसहरू छन् भने, यसबारे सङ्गति गरेर आफै समाधान गर। यो मामला मुख्य मामिलाका रूपमा गन्ती नभए पनि, मानिसहरूको दैनिक जीवनमा यो प्रायजसो तिनीहरूको मनमा बाधा दिन र तिनीहरूको जीवनमा बाधा दिन सक्ने कुरा हो। कतिपय अफवाहहरू तुरुन्तै तेरो ज्यान लिने हदसम्म नपुगे पनि, ती तँलाई हुने एक प्रकारको सतावट पनि हुन्, मानिसहरूलाई नटोक्ने तर तिनीहरूलाई घिन लाग्ने किसिमको झिज्याउने भुसुना जस्तै—ती तँलाई बाधा दिन बेला-बेलामा देखा पर्छन्। विशेष गरी जब तँ कमजोर हुन्छस्, जब तैँले असफलता वा अड्चनहरूको सामना गर्छस्, वा तँ नकारात्मक हुन्छस्, तब तँलाई बाधा दिन, हृदयमा सास्ती दिन, तँलाई पछि तान्न, र बिस्तारै तँलाई डुब्न लगाउनका लागि यी अफवाह र दुष्ट शब्दहरू देखा पर्नेछन्। यसरी नै कतिपय मानिसहरू पछि हटेका छन् र तिनीहरूले विश्वास गर्न छोडेका छन्। हेर् त, समूह ख वा साधारण मण्डलीहरूमा पठाइने मानिसहरू ठूलो खतरामा छन्—तर के पूर्णकालीन रूपमा कर्तव्य पूरा गर्ने मानिसहरू खतरामा छैनन् र? तिनीहरूमध्ये कति जना पनि ठूलो खतरामा छन्। तिनीहरूमध्ये कुन समूहचाहिँ खतरामा छन्? निरन्तर सत्यता बुझ्न असफल हुने मानिसहरूको समूह। तिनीहरूले परमेश्वरका जति धेरै वचन सुनेका भए पनि, तिनीहरूले ती वचनहरू बुझ्दैनन्। हृदयमा, तिनीहरूले सधैँ शङ्का गर्छन्: “मैले किन परमेश्वरका कुन-कुन वचनहरू सत्यता हुन् भनेर पत्ता लगाउन सक्दिनँ? सबैले सत्यता नै मार्ग, र जीवन हो भनेर भन्छन्—मलाई किन यो जीवन हो भन्ने लाग्दैन? मैले पनि परमेश्वरका धेरै वचन सुनेको छु, तर मभित्रको जीवन परिवर्तन भएको छैन; म अझै पनि म नै हुँ, म परिवर्तन भएको छैनँ!” तिनीहरूले कहिल्यै सत्यता के हो भन्ने कुरा बुझ्दैनन्, तिनीहरूले कहिल्यै परमेश्वरको काम बुझ्दैनन्, र तिनीहरू सधैँ दर्शनहरूका बारेमा अस्पष्ट नै रहन्छन्। त्यस्ता मानिसहरू खतरामा हुन्छन्। यस्ता मानिसहरूले अफवाह सुन्दा, तिनलाई खुट्ट्याउन कहिल्यै सत्यताको खोजी गर्दैनन्; तिनीहरूलाई अफवाहबाट तर्किन र त्यसलाई इन्कार गर्न मात्रै आउँछ। यदि तिनीहरू ती कुराहरूबाट तर्कन सके भने, तिनीहरू भाग्यवश विपत्तिबाट जोगिन्छन्; यदि तिनीहरू ती कुराहरूबाट तर्कन सकेनन् भने, तिनीहरू शैतानको पकडमा पर्छन्। मलाई भन, के त्यस्ता मानिसहरूलाई शैतानले पकडमा पार्न सक्छ भन्ने कुरा संयोग हो? (होइन।) कहिल्यै सत्यता नबुझ्ने, परमेश्वरमा विश्वास गर्नु भनेको के हो भन्ने कुरा कहिल्यै नबुझ्ने मानिसहरू—के यी मानिसहरू परमेश्वरका भेडाहरू हुन्? के तिनीहरूले परमेश्वरका वचनहरू बुझ्न सक्छन्? (सक्दैनन्।) यी मानिसहरूले कहिल्यै परमेश्वरका वचनहरू बुझ्दैनन्, न त तिनीहरूले सत्यताको खोजी नै गर्छन्; अनि तिनीहरूलाई सधैँ यस्ता कुराहरूको चासो हुन्छ: “परमेश्वरको दिन कहिले आउनेछ? हामी कहिले स्वर्गको राज्यमा प्रवेश गर्नेछौँ?” परमेश्वरमा विश्वास गर्दा मानिसहरूले बुझ्नुपर्ने कुराहरूका हकमा भन्दा, तिनीहरूले तीमध्ये कुनै पनि कुरा बुझेका छैनन्। आखिर तिनीहरू कति अन्यौग्रस्त हुन सक्छन्! मलाई भन, जब म यस्तो अन्यौलग्रस्त व्यक्तिसँग बोल्छु, तब मेरो हृदयमा कस्तो अनुभूति हुन्छ? सम्मान कि शोक? कि त्यो आक्रोशको अनुभूति हुन्छ? यी मानिसहरूलाई देख्दा मलाई झिजो लाग्छ। यी अन्यौलग्रस्त मूर्खहरूले परमेश्वरमा विश्वास गरेर के प्राप्त गर्न सक्छन्? ठूलो रातो अजिङ्गरले तिनीहरूलाई पक्राउ गरेर तिनीहरूको मगजधुलाई गरेपछि, तिनीहरूलाई प्रकाश गरिन्छ र हटाइन्छ। यी मानिसहरूले अलिकति पनि सत्यता बुझ्दैनन्, र परमेश्वरको घरले त्यस्ता मानिसहरूलाई चाहँदैन। तिनीहरू प्रकाश गरिने र हटाइने त ठूलो रातो अजिङ्गरमार्फत नै हो। मलाई भन, के यो अप्रिय कुरा हो? (होइन।) यदि त्यस्ता मानिसहरूलाई ठूलो रातो अजिङ्गरले पक्राउ नगरेको भए, र यी अफवाहहरूले तिनीहरूलाई नबहकाएको भए, के तिनीहरू सधैँ मण्डलीमा टाँसिरहनेथिए? कुन-कुन परिस्थितिहरूले तिनीहरूलाई पछि हट्न लगाउन सक्छ? (तिनीहरूलाई त ठूलो रातो अजिङ्गरका अफवाहहरूले नै हटाउन सक्छ। तिनीहरूले अफवाह सुनेपछि र तिनलाई विश्वास गरेपछि, तिनीहरू पछि हट्छन्।) ठूलो रातो अजिङ्गर, अर्थात् यो प्रतिभारका दुष्ट पन्जाहरूद्वारा नै तिनीहरू पक्राउ गरिन्छन् र तिनीहरूले विश्वास गर्न छोड्छन्। वास्तवमा, यी मानिसहरूले सत्यता बुझ्न सक्दैनन्, कुनै कर्तव्य पूरा गर्न सक्दैनन्, र कुनै सेवा प्रदान गर्न सक्दैनन्। परमेश्वरको घरमा, तिनीहरूले सङ्ख्याहरू मात्रै पूरा गरिरहेका, सित्तैँमा खाइरहेका र मृत्युको प्रतीक्षा गरिरहेका हुन्छन्। तिनीहरूमध्ये प्रत्येक दयनीय स्थितिमा हुन्छन्, तैपनि तिनीहरूले आफू परमेश्वरका अनुयायीहरू, परमेश्वरका चुनिएका मानिसहरू भएको दाबी गर्छन्—के तिनीहरू लाजमर्दा मानिसहरू होइनन् र? परमेश्वरलाई पछ्याउनेहरू आत्माविनाका मृत मानिसहरू, पशुहरू नभई कम्तीमा पनि मानवचाहिँ हुनैपर्छ। तिनीहरू परमेश्वरले भन्नुहुने वचनहरू बुझ्न सक्ने मानिसहरू हुनैपर्छ। परमेश्वरका वचनहरू बुझ्न र सत्यता बुझ्न सक्ने मानिसहरू मात्रै परमेश्वरका भेडाहरू हुन्। परमेश्वरका भेडाहरूले मात्रै इमानदारी साथ आफ्नो कर्तव्य पूरा गर्न र परमेश्वरलाई पछ्याउन सक्छन्। जो परमेश्वरका भेडा होइनन्, तिनीहरू इमानदार अनुयायी होइनन्। तिनीहरू आशिष्हरू प्राप्त गर्ने उद्देश्य बोकेर मण्डलीमा घुसपैठ गर्छन्। तिनीहरूको हृदयमा परमेश्वर हुँदैन। तिनीहरूले जति वर्ष विश्वास गरे पनि, तिनीहरूसँग कहिल्यै परमेश्वरको डर मान्ने हृदय हुन सक्दैन। दियाबलसहरू, शैतानहरू, र फोहोरी पिशाचहरू र दुष्ट आत्मा लागेका मानिसहरूलाई पनि यो साँचो मार्ग हो भन्ने थाहा हुन्छ, र तिनीहरूले पनि आशिष्हरूको कामना गर्छन्। तर के परमेश्वर त्यस्ता मानिसहरूलाई चाहनुहुन्छ? (चाहनुहुन्न।) विभिन्न दुष्ट आत्मा र फोहोरी पिशाचहरूसँग पशुहरू हुन्छन्, र तिनीहरू धेरै वर्षको संवर्धनबाट गुज्रिएपछि पा र तिनीहरू अलौकिक प्राणी बनेपछि, तिनीहरू सधैँ मानव बन्न चाहन्छन्। तिनीहरू फोहोरी पिशाचहरू, दुष्ट आत्माहरू, वा विभिन्न पशु आत्माहरू जस्तै रहिरहन अनिच्छुक हुन्छन्; तिनीहरू उच्च स्तरमा उक्लिन चाहन्छन्—मानव बन्न चाहन्छन्। त्यसरी नै, यी अन्यौलग्रस्त मूर्खहरू पनि परमेश्वरका चुनिएका मानिसहरू बन्ने चाहना राख्दै आफ्नो स्तर बढाउन चाहन्छन्। मलाई भन, के परमेश्वर त्यस्ता मानिसहरूलाई चाहनुहुन्छ? चाहनुहुन्न। तिनीहरूले मण्डलीमा घुसपैठ गरे पनि, यो व्यर्थ हुनेछ; जेसुकै भए पनि तिनीहरूलाई पखालेर फाल्नैपर्छ। तिनीहरूलाई पखालेर फालेपछि, परमेश्वरको घर शुद्ध हुनेछ, र मण्डली शुद्ध हुनेछ। बाँकी रहेका मानिसहरू कम्तीमा पनि परमेश्वरको पहिचान र सारलाई स्वीकार गर्ने, परमेश्वर सत्यता, मार्ग, र जीवन हुनुहुन्छ भनेर स्वीकार गर्ने, र स्वेच्छाले परमेश्वरलाई सेवा प्रदान गर्न सक्नेहरू हुनैपर्छ। के ती अन्यौलग्रस्त मूर्खहरूले यो कुरा हासिल गर्न सक्छन्? तिनीहरू यो कुरा हासिल गर्नबाट निकै टाढा हुन्छन्। तिनीहरू सबै आत्माविनाका मरेका मानिसहरू हुन्, तैपनि तिनीहरू सधैँ आशिष्हरू चाहन्छन्, सधैँ राज्यमा प्रवेश गर्न चाहन्छन्, सधैँ स्वर्ग जान चाहन्छन्। तिनीहरूको महत्त्वाकाङ्क्षा र इच्छा सानो हुँदैन, तर तिनीहरूले आफू के हुँ भनेर समेत हेर्दैनन्—तिनीहरूले आफूलाई बढी आँक्छन्! त्यस्ता मानिसहरूलाई हटाउनु सही हुन्छ। के तिमीहरूलाई यो दयनीय कुरा हो जस्तो लाग्छ? (लाग्दैन।) सुरुदेखि नै, परमेश्वरले भन्नुभयो, “म मानिसहरूको धेरै सङ्ख्या नभई तिनीहरूको उत्कृष्टता चाहन्छु।” यो परमेश्वरले आफ्ना चुनिएका मानिसहरूका लागि तोक्नुभएको मानक हो, साथै मण्डलीमा रहेका मानिसहरूको सङ्ख्यासँग सम्बन्धित माग र सिद्धान्त हो। “म मानिसहरूको उत्कृष्टता चाहन्छु”—यहाँ, “उत्कृष्टता” ले राज्यका असल सिपाहीहरूलाई जनाउँछ कि विजेताहरूलाई जनाउँछ? दुवैमध्ये कुनै पनि कुरा सही होइन। सटीक रूपमा भन्दा, “उत्कृष्टता” ले जोसँग सामान्य मानवता छ, जो साँचो रूपमा मानव हुन्, तिनीहरूलाई जनाउँछ। परमेश्वरको घरमा, यदि तैँले मानवले पूरा गर्नुपर्ने कर्तव्यहरू पूरा गर्न सक्छस्, यदि तँलाई मानवका रूपमा प्रयोग गर्न सकिन्छ, र यदि तैँले अरूले तँलाई नतानी, नघिस्याई, वा नठेली मानवका जिम्मेवारी, कर्तव्य, र दायित्वहरू पूरा गर्न सक्छस् भने, र तँ व्यर्थको रद्दी होइनस्, तँ मुफ्तखोर होइनस्, तँ आवारा होइनस् भने—तैँले मानवका जिम्मेवारी र दायित्वहरू र मानवको मिसन वहन गर्न सक्छस् भने—मानवका रूपमा मानकअनुरूप हुनु भनेको यही मात्रै हो! के ती आवारा र आफ्ना उचित कामहरूमा ध्यान नदिनेहरूले मानवको मिसन वहन गर्न सक्छन्? (सक्दैनन्।) कतिपय मानिसहरू जिम्मेवारी वहन गर्न अनिच्छुक हुन्छन्; अरूले त्यो वहन गर्न सक्दैनन्—तिनीहरू व्यर्थका रद्दी हुन्। मानवका जिम्मेवारीहरू वहन गर्न नसक्नेहरूलाई मानव भन्न सकिँदैन। बौद्धिक रूपमा अशक्त, मूर्ख, मस्तिष्कमा समस्या भएका, वा शारीरिक रूपमा अशक्त मानिसहरूलाई हेर त—के तिनीहरूलाई मानकअनुरूपको मानव भन्न सकिन्छ? (सकिँदैन।) किन सकिँदैन? त्यस्ता मानिसहरूसँग जिउने कुनै क्षमता हुँदैन, बाँच्ने कुनै क्षमता हुँदैन, र आफ्नो हेरचाह गर्ने कुनै क्षमता हुँदैन। तिनीहरू सहयोग र हेरचाहका लागि पूर्ण रूपमा अरूमा भर पर्छन्, तिनीहरू आफूलाई भरणपोषण गर्ने क्षमताविना जिउँछन्, र तिनीहरूले मानवका जिम्मेवारी र दायित्वहरू वहन गर्न सक्दैनन्। परमेश्वरको घरमा आफ्नो कर्तव्य पूरा गर्न नसक्नेहरू सामान्य मानिसहरू होइनन्, र परमेश्वर तिनीहरूलाई चाहनुहुन्न। तँ अगुवा भए पनि वा कामदार भए पनि, वा तैँले व्यावसायिक सीपहरूसँग सम्बन्धित निश्चित काम गरिरहेको भए पनि, तैँले आफूले जिम्मेवारी लिएको काम वहन गर्न लिन सक्नैपर्छ। आफ्नो जीवन र अस्तित्व व्यवस्थापन गर्न सक्ने बाहेक, तेरो अस्तित्व सास फेर्नुसँग मात्रै सम्बन्धित हुँदैन, खानु, पिउनु, र रमाइलो गर्नुसँग मात्रै सम्बन्धित हुँदैन, तर परमेश्वरले तँलाई दिनुभएको मिसन वहन गर्नुसँग सम्बन्धित हुन्छ। त्यस्ता मानिसहरू मात्रै सृजित प्राणी कहलिन लायक हुन्छन् र मानव कहलिन लायक हुन्छन्। सधैँ सित्तैँमा खान चाहने र छल गरेर आफूलाई अन्त्यसम्मै कायम राख्ने र आशिष्हरू प्राप्त गर्ने आशामा जालझेल गरेर बाटो बनाई सधैँ ढाँट्ने प्रयास गर्ने परमेश्वरको घरमा रहेका मानिसहरूले कुनै पनि काम वा जिम्मेवारी वहन गर्न सक्दैनन्, कुनै मिसन वहन गर्न सक्नु त परको कुरा हो। त्यस्ता मानिसहरूलाई हटाउनैपर्छ, र यो दयनीय कुरा होइन। किनभने जेलाई हटाइँदै छ, त्यो मानव होइन—तिनीहरू मानव कहलिन लायक छैनन्। तैँले तिनीहरूलाई व्यर्थका मानिसहरू, आवारा, वा आलसी मानिस भन्न सक्छस्; जे भए पनि, तिनीहरू मानव कहलिन लायक हुँदैनन्। जब तैँले तिनीहरूलाई कुनै काम सुम्पन्छस्, तब तिनीहरूले यसलाई आत्मनिर्भर रूपमा पूरा गर्न सक्दैनन्; अनि जब तैँले तिनीहरूलाई कुनै कार्य सुम्पन्छस्, तब तिनीहरूले आफ्नो जिम्मेवारी वहन गर्न वा आफूले पूरा गर्नुपर्ने दायित्व पूरा गर्न सक्दैनन्—यस्ता मानिसहरू खतम हुन्छन्। तिनीहरू जिउन लायक हुँदैनन्; तिनीहरू मृत्यु पाउन लायक हुन्छन्। परमेश्वरले तिनीहरूलाई बाँच्न दिनु पहिले नै उहाँको अनुग्रह हो, र यो असाधारण निगाह हो।
अफवाहहरूको विषयको हकमा भन्दा, हामी यहीँ रोकिनेछौँ। यदि तिमीहरूसँग अझै पनि कुनै समस्याहरू छन् भने, तिमीहरूले तिनलाई उठाएर तिनका बारेमा सङ्गति गर्न वा तिनलाई आफै समाधान गर्न सत्यताको खोजी गर्न सक्छौ। हामी यसबारे अब कुरा गर्नेछैनौँ, हुन्छ? के कसैलाई कुनै आपत्ति छ? (छैन।) यदि मैले छलफल नगरेका कुनै समस्याहरू छन् भने, तिमीहरूले ती समाधान गर्ने उपाय आफै सोच्न सक्छौ। यस मामलामा, मैले आफ्नो जिम्मेवारी पूरा गरेको छु। मानौँ कसैले भन्छ, “हामीले अझै आफूले चाहेको उत्तर प्राप्त गरेका छैनौँ; ती अफवाहहरू साँचा हुन् कि झूटा हुन्? कृपया हामीलाई स्पष्ट उत्तर दिनुहोस्।” मैले तिमीहरूलाई स्पष्ट उत्तर दिएँ भने पनि, यसले कुन समस्या समाधान गर्न सक्छ? त्यसकारण म तिमीहरूले आफै यो उत्तर खोज्नुपर्छ भनेर भन्छु। यस विषयमा म कुनै टिप्पणी गर्दिनँ। यो सबै तिमीहरूसँग खुट्ट्याउने क्षमता छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ। सत्यता प्राप्त गरेका मानिसहरू कहिल्यै बहकाउमा पर्नेछैनन्। वास्तवमा, यी अफवाहहरूले धेरै मानिसहरूलाई प्रकाश गरेका छन्। वर्षौँदेखि परमेश्वरमा विश्वास गरेका तर सत्यता प्राप्त नगरेका मानिसहरू सबै प्रकाश भएका छन्—यो परमेश्वरको बुद्धि हो। मेरो उत्तर यही हो। बुझ्यौ? (बुझ्यौँ।) त्यसोभए, म तिमीहरूलाई के कुरा बताउन चाहन्छु त? म जे भन्न चाहन्छु, त्यो सबै “वचन देहमा देखा पर्नुहुन्छ” पुस्तकका खण्डहरू र सबै प्रवचनमा छ। यी वचनहरू मैले तिमीहरूलाई बताउन चाहेका कुराहरू हुन्। के ती पर्याप्त छैनन् र? (छन्।) यदि कतिपय मानिसहरूले अझै पनि, “त्यसोभए, अफवाहहरूका हकमा, के तपाईँसँग कुनै उत्तर छ?” भन्दै अड्डी कस्छन् भने, म छैन, म अझै पनि कुनै टिप्पणी गर्दिनँ भनेर भन्छु। मैले सबै प्रवचनमा आफूले भन्न चाहेका धेरै कुरा भनिसकेको छु। यदि तिमीहरू सत्यताको खोजी गर्न इच्छुक छौ, र तिमीहरूले यी वचनहरूलाई स्वीकार गर्न र पालना गर्न सक्छौ भने, तिमीहरूका समस्याहरू समाधान हुनेछन्। यदि तिमीहरूले यी वचनहरूलाई स्वीकार गरेनौ भने, तिमीहरूका समस्याहरू सधैँ समस्याहरू नै रहनेछन्। मैले आफ्नो जिम्मेवारी पूरा गरेको छु; अबदेखि मसँग यसको कुनै सम्बन्ध छैन। के तिमीहरूले स्पष्ट रूपमा सुन्यौ? (सुन्यौँ।)
हामी “सत्यता कसरी पछ्याउने” भन्ने विषयमा सङ्गतिलाई जारी राखौँ। यस अवधिमा, हामी अझै पनि “सत्यता कसरी पछ्याउने” भित्र “त्याग्नु” सँग सम्बन्धित विषयवस्तुमा छलफल गरिरहेका छौँ, र हामी “आफू र परमेश्वरबीचका पर्खालहरू र परमेश्वरप्रति व्यक्तिको शत्रुतालाई त्याग्नु” भन्ने प्रमुख विषयबारे कुरा गरिरहेका छौँ। यस विषयको पहिलो पक्ष भनेको परमेश्वरबारे आफ्ना धारणा र कल्पनाहरूलाई त्याग्नु हो। यस पक्षमा, हामीले परमेश्वरको कामबारे मानिसहरूमा रहेका धारणा र कल्पनाहरूबारे छलफल गरेका छौँ, जसमा एउटा तुलनात्मक रूपमा जटिल विषय समावेश छ: जन्मजात अवस्था, मानवता, र भ्रष्ट स्वभावहरूबीचका भिन्नताहरू। यसमा धेरै विवरणहरू छन्। जब मानिसहरूले दैनिक जीवनमा समस्याहरूको सामना गर्छन्, तब तिनीहरू सधैँ अवधारणाहरूमा अलमलिन्छन् र कुनै विषय कुन वर्गमा पर्छ वा तिनलाई कसरी छुट्ट्याउने भनेर स्पष्ट रूपमा खुट्ट्याउन सक्दैनन्। उदाहरणका लागि, निश्चित प्रकटीकरणहरूका सम्बन्धमा, मानिसहरूले ती मानवतासँग सम्बन्धित छन् कि जन्मजात अवस्थासँग सम्बन्धित छन् भनेर छुट्ट्याउन सक्दैनन्। अनि केही अन्य प्रकटीकरणहरूका हकमा, मानिसहरूले ती भ्रष्ट स्वभावसँग सम्बन्धित समस्या हुन् कि मानवतासँग सम्बन्धित समस्या हुन् भनेर भन्न सक्दैनन्। मानिसहरूले यी कुराहरू छुट्ट्याउन सक्दैनन्। मानिसहरूले प्रायजसो जन्मजात अवस्थाका निश्चित समस्या र त्रुटिहरूलाई भ्रष्ट स्वभावका रूपमा लिन्छन्, वा मानवताका निश्चित कमीकमजोरी र समस्याहरूलाई भ्रष्ट स्वभावका रूपमा लिन्छन्। कहिलेकाहीँ, यो भ्रष्ट स्वभावको प्रकटीकरण हुँदा समेत, तिनीहरूले यसलाई परिवर्तन हुन नसक्ने जन्मजात अवस्थाको प्रकटीकरणका रूपमा लिन्छन्। त्यसकारण, मानिसहरूले प्रायजसो परमेश्वरमा विश्वास गर्ने प्रक्रियाको दौरान जन्मजात अवस्था, मानवता, र भ्रष्ट स्वभावका विषयहरूका बारेमा धेरै अस्पष्ट महसुस गर्छन्, र ती कुरालाई छुट्ट्याउन सक्दैनन्। पछिल्लो पटक, हामीले यसको एक भागमा सङ्गति गर्यौँ र केही उदाहरणहरू पनि दियौँ, तर मलाई त्यो विस्तृत थिएन जस्तो लाग्छ। आज, हामी यी तीन वर्गभित्रका विषयहरूलाई लिनेछौँ र तिनमा अझै विशेष रूपमा सङ्गति गर्नेछौँ। म केही खास प्रकटीकरण र उदाहरणहरूबारे कुरा गर्नेछु, र त्यसपछि तिमीहरूले ती कुन वर्गमा पर्छन् भनेर खुट्ट्याउनेछौ: जन्मजात अवस्था, मानवता, कि भ्रष्ट स्वभाव। यदि तिमीहरूले तिनलाई खुट्ट्याउन सकेनौ भने, हामी तिनलाई सँगै हेर्नेछौँ। कस्तो लाग्यो? (राम्रो।) पछिल्लो पटक, हामीले जन्मजात अवस्थाबारे अलिक बढी सङ्गति गर्यौँ, त्यसकारण यस सम्बन्धमा तिमीहरूको खुट्ट्याउने क्षमता अवश्य नै केही स्पष्ट छ। तर, अझै पनि केही कुराहरू छन् जुन तुलनात्मक रूपमा अस्पष्ट वा मानवताभित्रका पक्षहरू जस्तै छन्, र मानिसहरूले अझै पनि तिनलाई जन्मजात अवस्थाअन्तर्गत वर्गीकृत गर्नुपर्छ कि मानवताअन्तर्गत भनेर छुट्ट्याउन सक्दैनन्। म केही प्रकटीकरण वा केही व्यवहार र कार्यहरू प्रस्तुत गर्नेछु, र त्यसपछि तिमीहरूले ती कुन पक्षअन्तर्गत वर्गीकृत गरिनुपर्छ भनेर भन्नेछौ। यसरी सङ्गति गर्नुको फाइदा के हो? जब कुनै प्रकटीकरण कुन पक्षमा पर्छ भनेर तँलाई थाहा हुन्छ, तब तैँले त्यसलाई कसरी लिने र त्यसलाई कसरी सम्हाल्ने भनेर थाहा पाउनेछस्।
हामी पहिलो प्रकटीकरणबाट सुरु गरौँ: कामकुराहरू लगनशीलताका साथ गर्नु, अर्थात् व्यक्ति धेरै मेहनती हुनु। यो कुन पक्षअन्तर्गत पर्छ? (यो व्यक्तिको मानवताको एउटा प्रकटीकरण हो।) त्यसोभए, यो मानवताको गुण हो कि अवगुण हो? (मानवताको गुण हो।) धेरै लगनशील र मेहनती हुनु मानवताको गुण हो। सफासुग्घर र स्वच्छता मन पराउनु, र सरसफाइ कायम राख्नु—यो कस्तो प्रकारको प्रकटीकरण हो? (मानवताको गुण हो।) (यो राम्रो जीवनशैलीको बानी हो, यो व्यक्तिको जन्मजात अवस्थाअन्तर्गत पर्छ।) के यो जन्मजात अवस्था हो? के यो व्यक्तिको मानवताको गुण र सबल पक्ष होइन र? (हो।) भर्खरै कसैले यो जन्मजात अवस्था हो भन्यो; यो गलत हो। यसमा व्यक्तिको मानवता, साथै जिउने बानीबेहोराहरू समावेश हुन्छन्; अवश्य नै, यो मानवताको गुण र सबल पक्ष पनि हो। अर्को प्रकटीकरण: कतिपय मानिसहरू अल्छी हुन्छन्; तिनीहरूलाई आराम मन पर्छ र तिनीहरूले परिश्रमलाई घृणा गर्छन्, र तिनीहरूलाई काम गर्न मन पर्दैन। काम नगर्दा, तिनीहरूले निकै सहज महसुस गर्छन्, तर जब तिनीहरूले काम गर्न थाल्छन्, तब तिनीहरूको मनस्थिति खराब हुन्छ—तिनीहरू झिजो मान्ने, चिढिने, र रिसाउने गर्छन्। जब गर्नुपर्ने काम हुन्छ, तब तिनीहरूले सुस्त महसुस गर्छन्, तिनीहरूमा ऊर्जाको कमी हुन्छ, र तिनीहरू काम गर्न चाहँदैनन्। तर, जब खानपिन र रमाइलो गर्ने कुरा आउँछ, तब तिनीहरूसँग असीम ऊर्जा हुन्छ। अल्छीपना—यो कस्तो प्रकारको समस्या हो? (खराब मानवता।) कम्तीमा पनि, यो मानवताको अवगुण हो, मानवतामा रहेको एउटा त्रुटि र गम्भीर समस्या हो। यो अझै खराब मानवताको स्तरमा पुगेको हुँदैन। यदि त्यस्ता मानिसहरूले अरूमाथि हुकुम चलाउन र मानिसहरूबाट फाइदा लिन मन पराउँछन्, र आफूले कुनै काम नगरी अरूलाई काम गर्न लगाउँछन् भने, यो कस्तो प्रकारको समस्या हो? (खराब मानवता।) जब तिनीहरूलाई केही काम गर्न भनिन्छ, तब तिनीहरूले त्यसबाट पन्छिन सबै किसिमका कारण र बहानाहरू खोज्छन्; तिनीहरूले पटक्कै काम गर्न चाहँदैनन्। तिनीहरूले आफ्ना अभिप्राय खुलस्त रूपमा बताउँदैनन् बरु विभिन्न विधि, जुक्ति, वा झूट र छलहरू प्रयोग गरेर अरूलाई काम गर्न लगाउने प्रयास गर्छन् र आफूचाहिँ फुर्सदको आनन्द लिन त्यसबाट पन्छिन्छन्। यो कस्तो प्रकारको समस्या हो? (भ्रष्ट स्वभाव, दुष्ट स्वभाव।) के यो भ्रष्ट स्वभाव मात्रै हो? अरूबाट फाइदा लिन र अरूमाथि हुकुम चलाउन मन पराउने मानिसहरूमा, पहिलो कुरा, खराब मानवता र नीच चरित्र हुन्छ। दोस्रो कुरा, अरूमाथि हुकुम चलाउने तिनीहरूका धूर्त तरिकाहरूले तिनीहरूको छली, दुष्ट स्वभावलाई खुलासा गर्छन्। अरूबाट फाइदा लिन र हुकुम चलाउन मन पराउने तिनीहरूका प्रकटीकरणहरूले तिनीहरूको मानवता खराब छ र तिनीहरूको भ्रष्ट स्वभाव गम्भीर—छली र दुष्ट—छ भन्ने दुवै कुरा देखाउँछ। हेर् त, कतिपय प्रकटीकरणहरूले केवल खराब मानवता वा व्यक्तिको मानवतामा भएको निश्चित कमीकमजोरीलाई मात्रै प्रतिबिम्बित गर्छन्, र ती भ्रष्ट स्वभावको स्तरमा पुग्दैनन्। तर, कतिपय प्रकटीकरणहरू, नीच मानवताको जगमा आधारित भएर, सीधै भ्रष्ट स्वभावहरूसँग सम्बन्धित हुन्छन्। त्यसकारण, कुनै पनि प्रकटीकरण त्यति सरल हुँदैन। कतिपय प्रकटीकरणहरूमा एउटा मात्रै नभई दुइटा समस्या समावेश हुन्छन्।
देखावटीपन—यो कुन पक्षअन्तर्गत पर्छ? (यो मानवताको अवगुण हो।) सही हो, यो मानवताको अवगुण हो। यदि यो केवल आफूलाई सिँगार्ने, आफूलाई सुन्दर देखाउने, र सुन्दर, राम्रो, आकर्षक, वा जवान भएकोमा प्रशंसा पाउन मन पराउने—अर्थात् अरूले आफ्नो रूपरङ्गबारे उच्च धारणा वा सकारात्मक दृष्टिकोण राखून् भन्ने चाहना राख्ने—कुरा मात्रै हो भने, यो मानवताको समस्यामा मात्रै सीमित हुन्छ। मानवताको कस्तो समस्या? स्पष्ट रूपमा, यो गुण नभई अवगुण हो। कतिपय मानिसहरूले भन्न सक्छन्, “सबैले सुन्दरता मन पराउँछन्—यो कसरी अवगुण हुन सक्छ?” त्यसोभए म देखावटीपनलाई मानवताको अवगुण किन भन्छु त? देखावटीपन एउटा अवगुण भएकाले, यसका प्रकटीकरणहरू जायज हुँदैनन्। देखावटीपन भनेको उचित, गरिमामय, भक्त, वा गम्भीर देखिनु, र अरूमा आफ्नो गरिमा र शालीनताको छाप छोड्नु होइन; यो उचित देखिने स्तरमा हुँदैन, बरु यो उचित देखिनमा जायज ध्यान केन्द्रित गराउने कार्यभन्दा बढी अत्यधिक र गम्भीर हुन्छ। जब मानिसहरू देखावटी हुन्छन्, तब तिनीहरूले आफूलाई सिँगार्न र प्रदर्शन गर्नमा विशेष ध्यान दिन्छन्, र अरूलाई आफ्नो रूपमा ध्यान केन्द्रित गराउँछन्, यहाँसम्म कि केही निर्लज्ज समेत हुन्छन्—अर्को शब्दमा भन्दा, यी मानिसहरू धेरै मामलाहरूमा रूपरङ्गद्वारा प्रभावित र बन्धनमा परेका हुन्छन्। यो मानवताको अवगुण हो। उदाहरणका लागि, कतिपय मानिसहरूलाई मेकअप नगरी बाहिर जान लाज लाग्छ। तिनीहरूले अत्तर नछर्की अरूलाई भेट्न लाज मान्छन्। तिनीहरू सधैँ यिनै कुराहरूमा नै तल्लीन रहन्छन्, सधैँ अरूले तिनीहरूलाई उच्च ठानून् र मन पराऊन् भनेर आफूलाई अत्यधिक रूपमा सिँगार्न चाहन्छन्। यो अति नै देखावटी हुनु हो—यस बिन्दुमा, यो अवगुण बन्छ। यो अवगुण सामान्य मानवताको दायरा र आवश्यक मानकभन्दा बाहिर गइसकेको हुन्छ। धेरै देखावटी हुनु मानवताको अवगुण हो। यस प्रकटीकरणसम्बन्धी हाम्रो छलफल यहीँ समाप्त हुन्छ।
अर्को प्रकटीकरण हो, प्रसिद्धि मन पराउनु। यो कस्तो प्रकारको प्रकटीकरण हो? (यो व्यक्तिको मानवताको कमीकमजोरी हो; यो आफूलाई अगाडि धकेल्न मन पराउनु, आफूलाई प्रदर्शन गर्न मन पराउनु हो।) त्यसोभए, के यसभित्र भ्रष्ट स्वभाव हुन्छ? (हुन्छ, किनभने यदि कसैले प्रसिद्धि मन पराउँछ भने, तिनीहरू आफूलाई प्रदर्शन गर्न चाहन्छन्, तिनीहरू अरूभन्दा फरक देखिन चाहन्छन्।) प्रसिद्धि मन पराउनु र सधैँ आफूलाई प्रदर्शन गर्न चाहनु—यो कस्तो प्रकारको समस्या हो? के यो तिनीहरूसँग अगुवाइ गर्ने क्षमता भएकाले हो, कि तिनीहरूले सत्यता बुझ्ने अनि तिनीहरूसँग बोझको बोध हुने भएकाले हो? यदि तिनीहरूसँग बोझको बोध छ, कार्य सामर्थ्य छ, र तिनीहरूले कुनै कामको जिम्मा लिन सक्छन् भने, यो प्रसिद्धि मन पराउनु होइन। त्यसोभए प्रसिद्धि मन पराउनु कस्तो प्रकारको समस्या हो? एउटा पक्षमा, यो व्यक्तिको मानवताको अवगुण हो। यस्ता मानिसहरू प्रसिद्धि मन पराउँछन्। तिनीहरू जहाँ गए पनि आफूलाई प्रदर्शन गर्न मन पराउँछन्, र अरूले आफूलाई देख्दैनन् कि भन्ने डर मान्छन्। तिनीहरू निकै देखावटी, अतिरञ्जित, र ठूलो स्वरमा बोल्ने समेत गर्छन्। जति धेरै मानिसहरू हुन्छन्, तिनीहरू त्यति नै धेरै बोल्न उत्सुक हुन्छन्, र सधैँ भीडमा आफ्नो स्थान बनाउन चाहन्छन्। प्रसिद्धि मन पराउनुलाई खराब मानवताको प्रकटीकरण मान्न सकिँदैन। यसमा व्यक्तिको चरित्र समावेश हुँदैन, र यो केवल मानवताको अवगुण, एक प्रकारको त्रुटि वा समस्या हो। म यसलाई मानवताको त्रुटि वा समस्या किन भन्छु? किनभने यो समझको कमी हुनुको प्रकटीकरण हो। यी मानिसहरू निरन्तर प्रसिद्धि खोज्छन्, तर के तिनीहरू साँच्चै कामको जिम्मा लिन सक्षम हुन्छन्? तिनीहरू किन सधैँ प्रसिद्धि चाहन्छन्? के यो तिनीहरू महत्त्वाकाङ्क्षा र चाहनाद्वारा प्रेरित भएकाले हो? के यो तिनीहरूलाई हैसियत पाउन, उच्च पारिन, र आफूलाई ध्यानको केन्द्र बनाउन मन परेकाले हो? के यो तिनीहरूलाई मानिसहरूमाझ प्रतिष्ठा पाउन, अरूभन्दा श्रेष्ठ हुन, र अरूलाई अगुवाइ गर्न मन परेकाले हो? (हो।) के यस्तो व्यक्तिको मानवता खुलासा भएको हुँदैन र? यो कस्तो प्रकारको मानवता हो? यसमा समझको कमी हुन्छ। के यो मानवताको अवगुण होइन र? (हो।) एउटा हिसाबमा, यो मानवताको अवगुण हो। अर्को हिसाबमा, यस्तो व्यक्तिले कहिलेकाहीँ मात्रै आफूलाई अगाडि धकेल्ने वा प्रदर्शन गर्ने गर्दैन; बरु, तिनीहरू महत्त्वाकाङ्क्षा र चाहनाद्वारा प्रेरित हुने, र तिनीहरूले हैसियत, शक्ति, र अन्तिम निर्णय गर्ने अधिकार मन पराउने हुनाले, प्रसिद्धि मन पराउँछन्। त्यसोभए, के यसमा भ्रष्ट स्वभाव पनि समावेश हुँदैन र? (हुन्छ।) यो कस्तो प्रकारको भ्रष्ट स्वभाव हो? (अहङ्कारी।) यो अहङ्कार हो। तिनीहरूलाई प्रसिद्धि लिने अधिकार केले दिन्छ? तिनीहरूलाई अन्तिम निर्णय गर्ने र अरूलाई अगुवाइ गर्ने अधिकार केले दिन्छ? कतिपय मानिसहरूले यसो भन्छन्, “मैले सत्यता बुझेको छु र मसँग बोझको बोध छ।” तँसँग बोझको बोध भए पनि, तैँले साँचो काम गर्न सक्छस् कि सक्दैनस् भनेर हेर्नु आवश्यक छ। तँसँग बोझको बोध छ र तँ यो काम गर्न चाहन्छस् भन्दैमा, तैँले वास्तवमा यसलाई राम्ररी गर्न सक्छस् भन्ने हुँदैन। यी दुई कुराहरूबीच कुनै तार्किक सम्बन्ध छैनन। यो काम गर्न चाहनु र गर्न मन पराउनुको अर्थ तँ यो गर्न सक्छस् वा तँ अगुवाइको काममा सक्षम छस् भन्ने हुँदैन। तँ प्रसिद्धि मन पराउँछस्, तँलाई हैसियत मन पर्छ—के यसको अर्थ सबैले तँलाई चुन्नैपर्छ भन्ने हुन्छ? मण्डलीका अगुवाहरू चुन्ने सिद्धान्तहरू के हुन्? (यो कुरा व्यक्तिसँग कार्य सामर्थ्य छ कि छैन, ऊ सत्यता पछ्याउने व्यक्ति हो कि होइन, र ऊ सही व्यक्ति हो कि होइन भन्ने कुरामा आधारित हुनैपर्छ।) कम्तीमा पनि, तँ सही व्यक्ति हुनैपर्छ। तँसँग आत्मिक बुझाइ हुनैपर्छ, सत्यता बुझ्ने क्षमता हुनैपर्छ, र कार्य सामर्थ्य पनि हुनैपर्छ। त्यसपछि मात्रै तैँले संवर्धन गरिने सर्तहरू पूरा गर्छस् र तँ संवर्धनका लागि उम्मेदवार बन्छस्। तैँले यी सबै सर्तहरू पूरा गर्नैपर्छ। यदि तैँले यीमध्ये कुनै पनि सर्तहरू पूरा गर्दैनस् भने, के तैँले प्रसिद्धि मन पराउँछस् भन्दैमा सबैले तँलाई अगुवाका रूपमा चुन्नेथिए? त्यस्तो कहिल्यै हुँदैनथियो। त्यसोभए यदि तँ सधैँ प्रसिद्धि मन पराउँछस्, सधैँ आफूलाई प्रदर्शन गर्न मन पराउँछस् भने, के यो अहङ्कार होइन र? (हो।) यो अहङ्कार र आफूलाई बढी आँक्नु हो। मानवताको दृष्टिकोणबाट हेर्दा, अहङ्कार भनेको समझको कमी हो। सत्यताद्वारा नापियो भने, यो भ्रष्ट स्वभाव हो, र यो शैतानी स्वभाव हो। प्रसिद्धि मन पराउने प्रकटीकरण मानवताको अवगुण र भ्रष्ट स्वभाव दुवै हो, जसमा दुइटा विषयहरू पनि समावेश हुन्छन्। प्रसिद्धि मन पराउनु कमजोर वा खराब मानवता भएको स्तरमा नपुगे पनि, यो समझको कमी हुनुको विशिष्ट प्रकटीकरण र अहङ्कारी स्वभावको प्रकटीकरण पनि हो। यदि कुनै व्यक्तिले केवल प्रसिद्धि मन पराउँछ, र उसले मानिसहरूलाई दमन गर्दैन वा सास्ती दिँदैन, र उसले कलह छर्न वा गुटबन्दी गर्न दुष्ट मानिसहरूका उपायहरू प्रयोग गर्दैन भने, यो उसको मानवताको अवगुण मात्रै हो। तर, यदि उसले दुष्ट मानिसहरू वा ख्रीष्ट विरोधीहरूका प्रकटीकरणहरू प्रकट गर्छ, र ऊ केही दुष्ट कार्यहरूमा पनि संलग्न हुन्छ भने, मानवताको यो अवगुण बढेर जान्छ—यो के बन्छ? खराब, भयानक र दुष्ट मानवता—यी पक्षहरू यस्तो मानवतालाई चित्रण गर्न प्रयोग गरिन्छन्। यसका साथै, त्यस्ता मानिसहरूले प्रकट गर्ने भ्रष्ट स्वभावका प्रकटीकरणहरूमा अहङ्कार र क्रूरता दुवै समावेश हुन्छन्; अवश्य नै, अझै धेरै विशिष्ट प्रकटीकरणहरू पनि हुन्छन्। त्यसकारण, त्यस्ता मानिसले यी भ्रष्ट स्वभावहरू कुन हदसम्म प्रकट गर्छन् भन्ने आधारमा तिनीहरूको मानवतालाई चित्रण गरिनुपर्छ। यदि तिनीहरूले केवल प्रसिद्धि मन पराउँछन्, र तिनीहरूले दुष्ट मानवताका प्रकटीकरणहरू देखाउँदैनन्—मानिसहरूलाई दमन नगरी वा सास्ती दिँदैनन्, गोप्य रूपमा गुटबन्दी र स्वतन्त्र राज्य स्थापना गर्दैनन्, वा मानिसहरूलाई बहकाउन र तिनीहरूलाई आज्ञापालन गराउन अपरम्परागत विधिहरू प्रयोग गर्दैनन् भने— प्रसिद्धि मन पराउनु मानवताको अवगुण मात्रै हो। तर एक पटक त्यस्ता दुष्ट कार्यहरू गरिसकेपछि, यो मानवताको अवगुण मात्रै रहँदैन। त्यसोभए यो कस्तो प्रकारको समस्या हो? (यो खराब, भयानक र दुष्ट मानवता हो।) हो ठ्याक्कै। त्यसउप्रान्त यो मानवताको अवगुण मात्रै हुँदैन, बरु, यो दुष्ट मानवता हुन्छ। प्रसिद्धि मन पराउनु मानवताको अवगुण मात्रै हो। यदि यस्तो व्यक्तिसँग आत्मिक बुझाइ, निश्चित क्षमता, र कार्य सामर्थ्य छ भने, के तिमीहरूले उसलाई अगुवाका रूपमा चुन्छौ? (चुन्छौँ।) तिमीहरूले उसलाई किन चुन्छौ? (किनभने ऊ दुष्ट व्यक्ति होइन।) उसको प्रसिद्धिको मोह भ्रष्ट स्वभावको प्रकटीकरण मात्रै हो। उसको प्रसिद्धिको मोहमा दुष्टताको कुनै तत्त्व हुँदैन, र ऊ दुष्ट व्यक्ति होइन। जबसम्म उसले अगुवा हुनका लागि चाहिने सर्तहरू पूरा गर्छ, तबसम्म उसलाई चुन्न र थप संवर्धन गर्न सकिन्छ। प्रसिद्धि मन पराउनु मानवतामा कमजोर समझ हुनुको प्रकटीकरण भए तापनि, उसले काम गर्न सक्छ, ऊसँग कार्य सामर्थ्य छ, आत्मिक बुझाइ छ, सत्यता बुझ्ने क्षमता छ, र यसका साथै ऊ केही काम गर्न र सुपरिवेक्षक बन्न इच्छुक छ भन्ने कुरालाई ध्यानमा राख्दा, उसलाई चुन्न सकिन्छ। उसलाई किन चुन्न सकिन्छ? किनभने उसको मानवता मानकअनुरूप छ, र उसको क्षमता पनि त्यस्तै छ। जबसम्म ऊ दुष्ट व्यक्ति वा ख्रीष्टविरोधी होइन, उसले मानिसहरूलाई सास्ती दिँदैन वा दमन गर्दैन, र उसले स्वतन्त्र राज्य स्थापना गर्ने प्रयास गर्दैन, तबसम्म उसलाई अगुवाका रूपमा चुन्न सकिन्छ। तर यदि उसको प्रसिद्धिको मोहमा दुष्ट मानवताका तत्त्वहरू छन् भने, के यस्तो व्यक्तिलाई चुन्नु हुन्छ? (हुँदैन।) उसलाई अगुवाका रूपमा चुन्नुअघि, उसले पहिले नै कुटिल उपायहरू प्रयोग गर्न, गोप्य रूपमा गुटबन्दी गर्न, र मतदानमा धाँधली गर्न थाल्छ। आफ्नो लक्ष्य हासिल गर्नका लागि, उसले गोप्य चालबाजीहरू गर्छ, र ऊ सत्यता पछ्याउनमा तुलनात्मक रूपमा इमानदार हुने र आफ्नो कर्तव्य पूरा गर्ने केही असल मानिसहरूका बारेमा अफवाहहरू रच्न र नराम्रो बोल्न समेत सक्षम हुन्छ। उसले सत्यता र मानव नैतिकताको विरुद्धमा जाने धेरै कामहरू गर्छ, र केही दुष्ट कार्यहरू गर्छ। के तिमीहरूले यस्तो व्यक्तिलाई अगुवाका रूपमा चुन्न सक्छौ? (सक्दैनौँ।) किन सक्दैनौ? (किनभने उसको मानवता दुष्ट हुन्छ।) तोकेरै भन्दा, यो ऊ दुष्ट व्यक्ति भएकाले हो; उसले मानिसहरूलाई प्रयोग गर्ने सम्बन्धी परमेश्वरको घरका सिद्धान्तहरू पूरा गर्दैन। परमेश्वरको घरले दुष्ट मानिसहरूलाई प्रयोग गर्दैन। यदि परमेश्वरका चुनिएका मानिसहरू दुष्ट मानिसहरूको हातमा परे भने परिणामहरू के हुन्छन्? एकातिर, तिनीहरूलाई सास्ती दिइनेछ र दमन गरिनेछ। अर्कोतिर, मण्डली खुकुलो बालुवाझैँ छरिनेछ र अव्यवस्थित बन्नेछ। यस्तो अवस्थामा, तैँले आफ्नो कर्तव्य पूरा गरिरहेको हुनेछैनस्, बरु दुष्ट मानिसहरूको सेवा गरिरहेको, दुष्ट मानिसहरूद्वारा नियन्त्रित भइरहेको, र दुष्ट मानिसहरूलाई पछ्याइरहेको हुनेछस्। यसका परिणामहरू के हुनेछन्? मुक्ति पाउने तेरो आशा बर्बाद हुनेछ। अब बुझिस्? (बुझेँ।) त्यसोभए, यदि दुई जना मानिसहरू दुवैले प्रसिद्धि मन पराउँछन् र दुवैमा अहङ्कारी भ्रष्ट स्वभाव छ भने, तिमीहरूले कुन आधारमा एक जनालाई अगुवा चुन्छौ? (उसको मानवताका आधारमा।) ठीक हो, तिनीहरूको मानवताका आधारमा। अहङ्कार, छलीपन, र हठीपन जस्ता विभिन्न भ्रष्ट स्वभावका प्रकटीकरणहरू विश्वव्यापी छन्; यस सम्बन्धमा सबै जना उस्तै हुन्छन्। त्यसोभए, भिन्नता कहाँ हुन्छ त? मानिसहरूको मानवतामा। सतही रूपमा, कतिपय मानिसहरू बढी अनियन्त्रित हुन्छन्, जबकि कतिपय बढी रूढिवादी हुन्छन्; कतिपय तुलनात्मक रूपमा अन्योलमा परेका र हतार गर्ने हुन्छन्, जबकि अरू तुलनात्मक रूपमा चतुर र सावधान हुन्छन्। कतिपय बढी बहिर्मुखी र हँसिला हुन्छन्, जबकि अरू बढी अन्तर्मुखी हुन्छन्। मानिसहरूका व्यक्तित्वका बाहिरी प्रकटीकरणहरू फरक-फरक हुन्छन्, र तिनीहरूको मानवता सार पनि निश्चय नै उस्तै हुँदैन। कतिपय मानिसहरूसँग विवेक र नैतिकताको सिमाना हुन्छ, जबकि अरूसँग हुँदैन। कतिपय त दुष्ट, निर्दयी, र क्रूर समेत हुन्छन्—तिनीहरूले कुनै सङ्कोच नमानी हत्या गर्छन् र मानिसहरूलाई हड्डीसहित निलिदिन्छन्। तिनीहरू जे पनि गर्न सक्षम हुन्छन्। त्यसकारण, दुष्ट मानिसहरूका लागि, अरूलाई सास्ती दिनु त केही पनि होइन। यदि तिमीहरू दुष्ट मानिसहरूको हातमा पर्यौ भने, तिमीहरूका राम्रा दिनहरू समाप्त हुनेछन्, त्यसपछि तिमीहरू अन्धकारमा जिउनेछौ। यदि कोही दुष्ट मानिसहरूको हातमा पर्यो भने, यो ठूलो रातो अजिङ्गरको हातमा पर्नु जस्तै हो। के तिमीहरूले यो अनुभव गरेका छौ? (छौँ।) दुष्ट मानिसहरूको मानवताको हिसाबमा सबैभन्दा प्रमुख र स्पष्ट प्रकटीकरणहरू दुष्टता, क्रूरता, निर्दयता, नैतिक सिमानाको अभाव, र विवेकको कुनै मानक नहुनु हुन्। परमेश्वर र सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिको हिसाबमा हेर्दा, तिनीहरूसँग परमेश्वरको डर मान्ने हृदय पटक्कै हुँदैन। तिनीहरू दुस्साहसी र बेपरवाह हुन्छन्, तिनीहरूमा विवेकको कुनै सिमाना नहुने हुनाले, तिनीहरूले जे पनि गर्ने आँट गर्छन्। सत्यताको हकमा, तिनीहरूले यसलाई अलिकति पनि स्वीकार गर्दैनन्। सतही रूपमा, तिनीहरूले आफ्नो कर्तव्यमा मेहनत गर्न र कष्ट सहन सक्छन्, र तिनीहरूले दान पनि दिन सक्छन्। तर, तिनीहरूले परमेश्वर र सत्यतासँग व्यवहार गर्ने तरिकामा अलिकति पनि डर मान्दैनन्। जब परमेश्वरको गवाही दिने, देहधारी परमेश्वरको गवाही दिने, परमेश्वरको पहिचान र सारको गवाही दिने, परमेश्वरका कार्यहरूको गवाही दिने, वा परमेश्वरले मानवजातिका लागि कसरी मूल्य चुकाउनुहुन्छ र परमेश्वरले मानवजातिलाई मुक्ति दिन आफ्नो रगत-पसिना र आफ्नो जीवन कसरी प्रयोग गर्नुहुन्छ भन्ने कुराको गवाही दिने कुरा आउँछ, तब तिनीहरूसँग भन्नलाई केही हुँदैन र तिनीहरू बोल्न चाहँदैनन्। तिनीहरूले हृदयमा परमेश्वरलाई घृणा गर्छन्। तर जब तिनीहरूले आफ्नो गवाही दिन्छन्, तब तिनीहरूसँग भन्ने कुरा धेरै हुन्छ र तिनीहरू अनवरत रूपमा बोल्छन्। प्रसिद्धि मन पराउनु मानवताको अवगुण मात्रै हो। यदि त्यस्ता मानिसहरूले दुष्टता गर्दैनन्, र तिनीहरूसँग विवेक र नैतिकताको सिमाना छ भने, तिनीहरूले केही सत्यता बुझ्न सक्ने सर्तमा, तिनीहरूले सामान्यतया आफ्नो विवेकको सिमानाअनुसार मामलाहरूलाई नाप्न सक्छन्; तिनीहरूको विवेकले काम गर्छ। उदाहरणका लागि, यदि तिनीहरूले विपरीत लिङ्गी कसैलाई मन पराउँछन् र तिनीहरूसँग नजिक हुन चाहन्छन् भने, तिनीहरूको मानवतामा विवेकको सिमाना र निष्ठा र लाजको बोध हुने हुनाले, तिनीहरूले स्वाभाविक रूपमा आफूलाई रोक्नेछन्। तर, दुष्ट मानिसहरूले त्यस्ता कुराहरूको वास्ता गर्दैनन्। यदि तिनीहरूले कसैलाई मन पराए भने, तिनीहरू जबरजस्ती उनीहरूसँग नजिक हुनेछन्; यदि अर्को पक्षले सहमति दिएन भने, तिनीहरूले उनीहरूलाई सास्ती दिने, वशमा पार्ने, वा उनीहरूका लागि समस्या खडा गर्ने सबै किसिमका उपायहरू रच्नेछन्। विवेकको सिमाना भएका मानिसहरू आफ्नो विवेकद्वारा रोकिन्छन्; तिनीहरूसँग निष्ठा र लाजको बोध हुने हुनाले, तिनीहरूले नगर्ने निश्चित अपराधहरू र ननाघ्ने निश्चित सीमाहरू हुन्छन्। यदि तिनीहरूले सत्यता बुझ्छन्, र त्यसप्रतिको तिनीहरूको स्वीकार तुलनात्मक रूपमा गहिरो र बलियो छ भने, तिनीहरूसँग परमेश्वरको डर मान्ने हृदय हुनेछ। तिनीहरू परमेश्वरदेखि भयभीत हुने र तिनीहरूले उहाँको डर मान्ने हुनाले, सामान्यतया निश्चित सीमाहरू नाघ्दैनन्। त्यसकारण, विवेकको सिमाना भएको कसैलाई अगुवाका रूपमा पाउनु तिमीहरूका लागि धेरै लाभदायक हुन्छ। कम्तीमा पनि, तिनीहरूले तँलाई चोट पुऱ्याउनेछैनन्, तँलाई बाधा दिने वा हानि गर्ने कुरा त परै जाओस्, र तिनीहरूले तिमीहरूलाई केही प्रबन्ध र मद्दत पनि प्रदान गर्न सक्छन्। तर, दुष्ट मानिसहरू फरक हुन्छन्। तिनीहरूले तँलाई बहकाउन शब्दहरू मात्रै प्रयोग गर्दैनन्; तिनीहरूले तँलाई सास्ती दिन, दमन गर्न, र कुल्चन विभिन्न विधिहरू पनि प्रयोग गर्छन्। यदि तैँले तिनीहरूको कुरा मानिनस्, तिनीहरूको कुरा सुनिनस्, वा कुनै कुरामा तिनीहरूसँग बहस गरिस् भने, तिनीहरूले तँलाई आक्रमण गर्ने मात्रै नभईतँलाई दोषी ठहराउनेछन्, लज्जित पार्नेछन्, र वशमा पार्न समेत खोज्नेछन्। यसरी, तँ पूर्ण रूपमा तिनीहरूको हातमा पर्नेछस्। साधारण भ्रष्ट मानिसहरू र दुष्ट मानिसहरूबीचको सबैभन्दा ठूलो भिन्नता तिनीहरूको मानवता असल छ कि दुष्ट छ, र तिनीहरूको विवेकले काम गर्छ कि गर्दैन भन्नेमा हुन्छ। दुष्ट मानिसहरूसँग विवेक हुँदैन, त्यसकारण तिनीहरूसँग निष्ठा वा लाजको बोध पनि हुँदैन र तिनीहरू कुनै पनि प्रकारको खराब काम गर्न सक्षम हुन्छन्। साधारण भ्रष्ट मानिसहरूको मानवतामा पनि अवगुण र त्रुटिहरू हुने भए तापनि, तिनीहरू विवेक र समझद्वारा रोकिने हुनाले, तिनीहरूले पार गर्न नसक्ने धेरै प्रकारका सीमाहरू हुन्छन्। तिनीहरूले परमेश्वरमा विश्वास नगरे पनि, तिनीहरूले निश्चित स्पष्ट दुष्टताहरू गर्नेछैनन्; उदाहरणका लागि, तिनीहरू यौनिक व्यभिचार वा चोरी जस्ता कार्यहरू गर्न असक्षम हुन्छन्। सोच् त: तैँले परमेश्वरमा विश्वास गर्नुअघि, तँ संसारमा हुँदा, यदि कसैले तँलाई अनुमति दियो भने के तँ व्यभिचारमा संलग्न हुन सक्थिस्? व्यभिचारले केलाई जनाउँछ? यसले धेरै यौन साथीहरू हुनु, यहाँसम्म कि एकै समयमा विपरीत लिङ्गका धेरै मानिसहरूसँग संलग्न हुनु, तर कुनै गल्तीको बोध वा भित्री दोष महसुस नगर्नुलाई जनाउँछ। के तिमीहरूले यस्तो काम गर्न सक्थ्यौ? (सक्दैनथ्यौँ।) ती व्यभिचारी महिला, वेश्या, र लम्पटहरूलाई हेर—तिनीहरूले त्यस्ता कामहरू गर्न सक्छन्। के तिमीहरू यी मानिसहरूभन्दा फरक छैनौ र? (छौँ।) भिन्नता कहाँ छ? यो व्यक्तिसँग मानवताको विवेक र समझ छ कि छैन भन्नेमा छ। विवेक र समझले तँलाई निष्ठा र लाजको बोध दिन्छ, त्यसकारण तैँले व्यभिचारका कार्यहरू गर्नेछैनस् र तँसँग एउटा मानक हुन्छ: “त्यसरी आफूलाई आचरणमा ढाल्नु राम्रो होइन; म त्यस्तो प्रकारको व्यक्ति बन्नेछैनँ। म आफू र ती मानिसहरूबीच स्पष्ट रेखा कोर्नेछु। मलाई कुटेर मारिए पनि, म व्यभिचारमा संलग्न हुनेछैनँ।” यदि कतिपय मानिसहरू त्यस्तो स्थितिमा परे भने, तिनीहरूले भन्नेछन्, “म बरु मर्न तयार छु तर त्यस्तो प्रकारको व्यक्ति बन्न तयार छैनँ!” कतिपय मानिसहरूले अपमान र अन्याय सहन्छन्, मन नलागी नलागी त्यसलाई स्विकार्छन्, तर तिनीहरू हृदयमा इच्छुक हुँदैनन् र त्यो परिस्थितिबाट बाहिर निस्कन कुनै पनि अवसरको फाइदा उठाउँछन्। तर, अरूले भने, अरूले रोक्न खोजे पनि, आफै त्यस्तो परिवेश खोज्नेछन्। तिनीहरूले त्यसबाट पैसा नकमाए पनि यस्तो काम गर्छन्—तिनीहरू केवल व्यभिचारमा संलग्न हुन रमाउँछन्, र यो लाभदायक छ कि छैन भन्ने कुराको वास्ता गर्दैनन्। के यी दुई प्रकारका मानिसहरू फरक छैनन् र? (छन्।) मानिसहरूको मानवताबीचको भिन्नता ठ्याक्कै यही नै हो। मानवतामा भएको भिन्नता निकै महत्त्वपूर्ण छ। यदि तिमीहरूले विभिन्न प्रकारका मानिसहरूमाझ मानवताका प्रकटीकरणहरूमा भएका भिन्नताहरूलाई छर्लङ्ग देख्न सक्यौ भने, तिमीहरूले मानिसहरूलाई खुट्ट्याउन सक्नेछौ। त्यसकारण, कुनै व्यक्तिलाई पूर्ण रूपमा उसको भ्रष्ट स्वभाव वा छोटो समयका लागि वा एउटै घटनामा भएको उसको प्रकटीकरण र प्रकाशका आधारमा मूल्याङ्कन गर्न सकिँदैन। बरु, ऊ वास्तवमा कस्तो प्रकारको व्यक्ति हो भन्ने कुरा उसको मानवता र उसको प्रकृति सारका आधारमा मूल्याङ्कन गरिनुपर्छ। प्रसिद्धि मन पराउने प्रकटीकरणबारे हाम्रो छलफल यहीँ समाप्त हुन्छ।
हामी अर्को प्रकटीकरणतर्फ जाऔँ। कतिपय मानिसहरू विधिपूर्वक, मानसिक रूपरेखाका साथ, र व्यवस्थित रूपमा काम गर्छन्; तिनीहरूले सोचविचार गरेर पहिले के गर्ने र पछि के गर्ने भनेर निर्धारण गर्न सक्छन्। तिनीहरूले हतारमा काम गर्नुको सट्टा चरणहरू पछ्याउँछन् र योजनाहरू बनाउँछन्। तिनीहरूले जे गरे पनि, तिनीहरूले चरणहरू पछ्याउँछन्, यहाँसम्म कि लुगा धुने जस्तो सबैभन्दा सरल कामका लागि पनि त्यसो गर्छन्। तिनीहरूले लुगालाई रङ्गअनुसार छुट्टउँछन्, गाढा र हल्का रङ्गका लुगाहरूलाई छुट्टाछुट्टै धुन्छन्; तिनीहरूले कति लुगा छ भन्ने आधारमा कति पानी र डिटर्जेन्ट प्रयोग गर्ने भनेर जान्दछन्, र खेर जान दिँदैनन्—यी सबै योजनाबद्ध, व्यवस्थित, सूक्ष्म, र किफायती हुन्छन्। यो कस्तो प्रकारको प्रकटीकरण हो? (यो मानवताको गुण र सबल पक्ष हो।) त्यसोभए के यो गुणले यस्तो व्यक्तिसँग असल मानवता छ भन्ने कुराको प्रतिनिधित्व गर्न सक्छ? (सक्दैन।) यो तिनीहरूको मानवताको गुण र सबल पक्ष मात्रै हो। यो व्यक्तिको चरित्र वा आत्मआचरणका सिद्धान्तहरू समावेश हुने स्तरमा पुग्दैन, न त यसमा भ्रष्ट स्वभाव नै समावेश हुन्छ। यो केवल जीवनशैलीको बानी वा जीवनप्रतिको मनोवृत्ति हो। कतिपय मानिसहरू मानसिक रूपरेखाका साथ, योजना बनाएर काम गर्छन्; तिनीहरूले ढाँचाहरू बोध गर्न सक्छन्, र जब काम सकिन्छ, तब अरूले त्यसलाई सन्तोषजनक पाउँछन्। यी राम्रो क्षमता भएका मानिसहरू हुन्। तर कमजोर क्षमता भएकाहरूका लागि, कुरा फरक हुन्छ—तिनीहरूले सबै कुरा अव्यवस्थित र अराजक रूपमा, मानसिक रूपरेखा वा योजनाविना, पूर्ण रूपमा जथाभाबी तरिकाले गर्छन्, जुन पूर्ण रूपमा अस्तव्यस्ततामा टुङ्गिन्छ। यो कस्तो प्रकारको समस्या हो? (मानवताको अवगुण।) मानवताको यो अवगुणमा के समावेश हुन्छ? (अत्यन्तै कमजोर क्षमता।) यस्ता अत्यन्तै कमजोर क्षमता भएका मानिसहरूलाई बस दिमाग नभएको भनिन्छ। जब म कतिपय मानिसहरूलाई “के तँ सुँगुर-दिमाग भएको होस्? यस्तो सरल कुरा पनि कसरी बुझ्न सक्दैनस्?” भनेर भन्छु, तब तिनीहरूले “मसँग दिमाग छैन” भनेर जवाफ दिन्छन्। “दिमाग नभएको” हुनुको अर्थ के हो? यसको अर्थ कुनै क्षमता नहुनु वा कमजोर क्षमता हुनु हो—यो क्षमताको समस्या हो। यो समस्या के अन्तर्गत आउँछ? के यो जन्मजात अवस्था होइन र? (हो।) यदि कोही जन्मजात रूपमै दिमागहीन छ भने, के उसलाई तालिम दिनुको कुनै अर्थ हुन्छ? यस्ता मानिसहरूले योजना वा मानसिक रूपरेखाविना नै सबै कुरा गर्छन्। एउटा सरल कामले तिनीहरूको पूरै दिन लिन्छ, र महत्त्वपूर्ण मामलाहरूमा ढिलाइ हुन्छ। यो कुनै क्षमता नहुनु वा कमजोर क्षमता हुनु हो। गैरविश्वासीहरूले प्रायजसो खराब मानवता भएका मानिसहरूलाई कुनै क्षमता नभएको भनेर वर्णन गर्छन्। उदाहरणका लागि, जब कसैले अर्को व्यक्तिले फोहोर फ्याँकिरहेको, फोहोरी भइरहेको, वा सार्वजनिक स्थानमा ठूलो स्वरमा चिच्याइरहेको, र अध्ययन गरिरहेका वा आराम गरिरहेका अरूलाई बाधा दिइरहेको देख्छ, तब तिनीहरूले त्यो व्यक्तिसँग कुनै क्षमता छैन भनेर भन्न सक्छन्। मेरा लागि, यो व्यवहारका मान्यताहरू नबुझ्नु र मानवताको कमी हुनु हो—यसलाई कुनै क्षमता नहुनु भनेर कसरी भन्न सकिन्छ? के “कुनै क्षमता नहुनु” ले यसलाई जनाउँछ त? “क्षमता” ले केलाई जनाउँछ? यसले कामकुराहरू गर्ने दक्षता र प्रभावकारितालाई जनाउँछ—यसलाई क्षमता भनिन्छ। त्यसोभए, के मानसिक रूपरेखाविना काम गर्ने मानिसहरू कमजोर क्षमताका हुन्छन्? (हुन्छन्।) यो मानवताको अवगुण पनि हो। के यो अवगुण जन्मजात हुन्छ? के यसलाई परिवर्तन गर्न सजिलो छ? के यसलाई तालिमद्वारा परिवर्तन गर्न सकिन्छ? के सुँगुरलाई रूख चढ्न लगाउन सकिन्छ र? सुँगुर त्यसका लागि बनेको हुँदैन—त्यससँग त्यो क्षमता हुँदैन। कामकुराहरू गर्दा मानसिक रूपरेखाको कमी हुनु क्षमताको समस्या हो।
दह्रिलो गरी काम सुरु गर्ने तर अन्त्यमा फितलो हुने—यो कस्तो प्रकारको समस्याअन्तर्गत पर्छ? (मानवताको एउटा अवगुण।) यो व्यक्तिको मानवताको एउटा अवगुण हो। कतिपय मानिसहरूले कुनै काम सुरु गर्दा, त्यसको योजना निकै राम्ररी बनाउँछन्, केही ठूला कदमहरू चाल्छन्, मानिसहरूको समूह जम्मा गर्छन्, प्रतिवेदनहरू तयार पार्छन्, कामहरू तोक्छन्न्, र सङ्कल्पका ठूला-ठूला अभिव्यक्तिहरू समेत दिन्छन्, तर तिनीहरूले काम गर्दै जाँदा, यी सबै कुरा हराएर जान्छन्, र तिनीहरूले के भइरहेको छ भनी अनुगमन, सुपरिवेक्षण, वा निरीक्षण गर्दैनन्। यदि सत्यता बुझ्ने कोही व्यक्ति सुपरिवेक्षण र मार्गदर्शन प्रदान गर्नका लागि त्यहाँ छैन भने, त्यो काम पूर्ण रूपमा त्यत्तिकै हराएर जान सक्छ, वा अवाञ्छनीय परिणामहरू समेत उत्पन्न हुन सक्छन्, जसले गर्दा काम पूर्ण रूपमा अस्तव्यस्त हुन्छ। यस्ता मानिसहरू पनि हुन्छन् जसले धर्मसिद्धान्तहरू निकै स्पष्ट र सफासँग बोल्न सक्छन्, तर जब वास्तवमा काम गर्ने कुरा आउँछ, तब तिनीहरूलाई कसरी अघि बढ्ने भन्ने थाहा हुँदैन र तिनीहरूसँग कुनै ठोस योजना हुँदैन। जब विशेष परिस्थिति वा अप्रत्याशित अवस्थाहरू देखा पर्छन्, तब तिनीहरूलाई ती कुराहरू कसरी सम्हाल्ने भन्ने थाहा हुँदैन, न त तिनीहरूले अरूसँग सङ्गति गर्छन्, न त तिनीहरूले आफूभन्दा माथिका मानिसहरूबाट खोजी गर्छन् वा तिनीहरूसँग परामर्श नै लिन्छन्। जब तिनीहरूले कुनै काम गर्न थाल्छन्, तब तिनीहरू आत्मविश्वासी देखिन्छन् र तिनीहरूले भव्य सुरुवात गर्छन्, मानौँ तिनीहरूले कुनै महत्त्वपूर्ण कुरा हासिल गर्न लागेका छन्, तर तिनीहरूले काम गर्दै जाँदा, तिनीहरूले उत्साह गुमाउँछन् र भाग्छन्—मानौँ तिनीहरू हावामा बिलाएका छन्। जब कसैले तिनीहरूलाई सोध्छ, “तिमी अहिले के काम गर्दैछौ? त्यो काम कस्तो हुँदैछ?”, तब तिनीहरूले जवाफ दिन्छन्, “त्यो पूरा हुनेछैन।” तैपनि तिनीहरूले आफूले कामहरू गर्न नसक्ने कुरा समयमै रिपोर्ट गर्न असफल हुन्छन्, र कुनै परिणामविना दुई-तीन महिनासम्म काममा ढिलाइ गर्छन्। के यो रिस उठ्दो कुरा होइन र? (हो।) त्यस्ता मानिसहरू साँच्चै घृणित हुन्छन्! यस्ता व्यक्तिमा दह्रिलो गरी काम सुरु गर्ने तर अन्त्यमा फितलो हुने बाहेक अर्को समस्या पनि हुन्छ: तिनीहरूले गर्ने हरेक काम जति धेरै गर्दै जान्छन् त्यति नै धेरै अस्तव्यस्त बन्दै जान्छ। सुरुमा, तिनीहरूसँग केही मानसिक रूपरेखा, केही विचार, र थोरै संरचना हुन सक्छ, तर तिनीहरूले काम गर्दै जाँदा, तिनीहरूका विचारहरू अन्यौलग्रस्त हुन्छन्। तिनीहरूले त्यो काम किन सुरु गरे वा तिनीहरूले कस्तो परिणाम हासिल गर्नुपर्ने हो भन्ने कुरा बिर्सन्छन्। जब कसैले तिनीहरूलाई केही खोजी गर्न सल्लाह दिन्छ, तब तिनीहरूले यसो भन्छन्, “केही पनि खोजी गर्नु आवश्यक छैन। हामी यो यसरी नै गर्दै गरौँ—जे भए पनि, कोही पनि त्यसै बसिरहेको छैन।” हेर् त, तिनीहरूले ठूलो उत्साहका साथ, गर्जिरहेको मेघजस्तै गरी काम सुरु गर्छन्। तर तिनीहरूले काम गर्दै जाँदा, कामहरू त्यत्तिकै हराएर जान्छन्। यो त आकाश गर्जनु तर नबर्सनु जस्तै हो—कुनै परिणाम नै हुँदैन। यदि तैँले कामका बारेमा सोधपुछ, अनुगमन, वा निरीक्षण गरिनस् भने, तिनीहरूले प्रतिवेदन समेत नदिई त्यसलाई अधुरै छोडिदिनेछन्। तिनीहरूले सुरुमा व्यक्त गरेको सङ्कल्प कहाँ गएको हुन्छ? त्यो बिर्सिसकिएको हुन्छ। तिनीहरूले सुरुमा लेखेको योजना नि? कुनै नामोनिसानविना हराएको हुन्छ। अनि तिनीहरूका सुरुका विचारहरू नि? ती हराएका हुन्छन्; ती बिर्सिसकिएको हुन्छ। तिनीहरू यस्तै किसिमको प्राणी हुन्! यस्तो व्यक्तिको सुरुको उत्साह देख्दा, तँलाई ऊ साँचो काम गर्ने व्यक्ति हो जस्तो लाग्छ। तर वास्तवमा, ऊ एकदमै बेकम्मा हुन्छ; ऊ वास्तविक धरातलमा रहेर काम गर्ने व्यक्ति हुँदै हुँदैन; ऊ अस्थिर व्यक्ति हुन्छ। ऊ प्रसिद्धि पाउन मात्रै इच्छुक हुन्छ, तर कष्ट सहन चाहँदैन र जिम्मेवारी लिन डराउँछ। उसले गर्ने हरेक काम अधुरै रहन्छ। त्यस्ता मानिसहरूको मानवता कस्तो हुन्छ? (खराब मानवता।) मलाई भन, के यस्तो व्यक्तिले केही हासिल गर्न सक्छ? (सक्दैन।) तिनीहरू सधैँ दह्रो सुरुवात गर्छन् तर अन्त्यमा फितला हुन्छन्, र पूर्ण रूपमा अस्तव्यस्त हुन्छन्—तिनीहरूको शैली यही हो। तिनीहरूले जुनसुकै कर्तव्य पूरा गरिरहेका भए पनि, तिनीहरूले सङ्गीत सुन्दै र गुनगुनाउँदै निकै उत्साहका साथ सुरु गर्छन्। तर केही समयपछि, तिनीहरूले चासो गुमाउँछन् र कामलाई त्यत्तिकै छोडेर जान्छन्। तिनीहरू कस्ता किसिमका प्राणीहरू हुन्? के त्यस्ता मानिसहरू घृणित हुँदैनन् र? (हुन्छन्।) तिनीहरूले आफूले पूरा गर्न नसक्ने भनी थाहा पाएका कामहरूलाई आफ्नो क्षमता देखाउने प्रयास गर्दै, घमण्ड गर्दै, र ठूला-ठूला दाबीहरू गर्दै लापरबाहीपूर्वक लिन्छन्—के तिनीहरूलाई आफ्नै क्षमता थाहा हुँदैन र? यदि तिनीहरूले काम गर्न वा परिणाम दिन सक्दैनन् भने, किन त्यसो भन्दैनन् त? तिनीहरूले काममा ढिलाइ गर्नु हुँदैन! बरु, तिनीहरू चुपचाप बस्छन्, र तँलाई मूर्ख बनाउने प्रयास गर्दै तेरो कामलाई रोक्छन्। के तिनीहरू नीच चरित्रका होइनन् र? (हुन्।) तिनीहरूको चरित्र अत्यन्तै नीच हुन्छ! के त्यस्ता मानिसहरूलाई कामहरू सम्हाल्ने जिम्मा दिन सकिन्छ? (सकिँदैन।) के तिनीहरू भरोसा गर्न लायक हुन्छन्? (हुँदैनन्।) त्यस्ता मानिसहरू भरोसा गर्न लायक हुँदैनन्। यदि तिनीहरूले तँलाई वचन दिए भने, के तैँले तिनीहरूलाई विश्वास गर्ने आँट गर्छस्? (गर्दिनँ।) तिनीहरू कस्ता मानिसहरू हुन्? के तिनीहरू धोकेबाजहरू होइनन् र? (हुन्।) तिनीहरूले तँलाई आर्थिक लाभ वा यौन उद्देश्यका लागि धोका नदिए पनि, तिनीहरूले आफूलाई आचरणमा ढाल्ने र परिस्थितिहरूलाई सम्हाल्ने तरिका अत्यन्तै घृणित र घिनलाग्दो हुन्छ। त्यसोभए, यी मानिसहरू यति घिनलाग्दा हुनुको मूल कारण के हो? तिनीहरू नीच चरित्रका हुन्छन्, आफ्नो आत्मआचरणमा आफ्नो स्थान जान्दैनन्, ठूला कुरा गर्न मन पराउँछन्, आफूसँग भएको भनी विश्वास गर्ने जुनसुकै क्षमता देखाउन मन पराउँछन्, प्रसिद्धि पाउन मन पराउँछन्, र आफूलाई प्रदर्शन गर्न मन पराउँछन्। तिनीहरूले गर्ने कुनै पनि काममा तिनीहरू कहिल्यै अडिग रहँदैनन्। साथ साथै, तिनीहरूले आफूलाई बढी आँक्छन्, र तिनीहरू आफ्नो कद र आफूले कस्तो किसिमका कामहरू सम्हाल्न सक्छु भन्ने बारेमा अनभिज्ञ हुन्छन्। तैपनि तिनीहरूले आफ्नो क्षमता देखाउने प्रयास गर्छन्, र जुनसुकै महत्त्वपूर्ण कामलाई साहसपूर्वक लिन्छन्। काम लिएपछि, तिनीहरूले त्यो राम्ररी नगर्दा र मुख्य मामलाहरूमा ढिलाइ गर्दा पनि, तिनीहरू उदासीन रहन्छन्; जबसम्म तिनीहरूले प्रसिद्धि पाउँछन्, तबसम्म तिनीहरूका लागि ठीकै हुन्छ। के तिनीहरू नीच, तुच्छ मानिसहरू होइनन् र? (हुन्।) त्यसोभए के यी मानिसहरूको मानवता अत्यन्तै खराब हुँदैन र? (हुन्छ।) यदि तिमीहरूले यस्तो व्यक्तिलाई भेट्यौ भने, के तिमीहरूले उसलाई ठूला वा महत्त्वपूर्ण कुराहरू सुम्पने आँट गर्छौ? (गर्दैनौँ।) उदाहरणका लागि, यदि तँ सुसमाचार प्रचार गर्न बाहिर जानुपर्छ र तँलाई आफ्नो सानो बच्चाको हेरचाह गर्न कसैको आवश्यकता छ भने, तैँले मद्दतका लागि कस्तो व्यक्ति खोज्नुपर्छ? के तैँले यस्तो व्यक्ति छान्ने आँट गर्छस्, जसमा जिम्मेवारीको कुनै बोध हुँदैन, जो निरन्तर लागिरहन सक्दैन, र जो भरोसा गर्न लायक हुँदैन? (गर्दिनँ।) किन गर्दैनस्? किनभने उसले तेरो बच्चा हराउन सक्छन्। यदि तैँले उसलाई तेरो बच्चा कसरी हरायो भनेर सोधिस् भने, उसले भन्नेछ, “मलाई थाहा छैन। म एकछिन झुलेको मात्रै थिएँ, र बच्चा हरायो। त्यसका लागि तिमीले मलाई कसरी दोष दिन मिल्छ? बच्चाको खुट्टा छ र ऊ आफै हिँड्न सक्छ—ऊ मसँग बाँधिएको थिएन। तिमीले मलाई दोष दिन मिल्दैन!” तिनीहरू जिम्मेवारीबाट पन्छिन समेत खोज्छन्! के यो निर्लज्ज बदमास होइन र? (हो।) जीवन र मृत्युका मामलाहरू त्यस्ता मानिसहरूलाई कदापि सुम्पन सकिँदैन। तिनीहरूको आत्मआचरणमा, तिनीहरू अस्थिर हुन्छन्, र तिनीहरूसँग कुनै निष्ठा वा इज्जत हुँदैन। जब समस्याहरू उत्पन्न हुन्छन्, तब तिनीहरूले निर्लज्जताको सहारा लिने र कुराहरूलाई इन्कार गर्ने आँट गर्छन्। दह्रिलो गरी काम सुरु गर्ने तर अन्त्यमा फितलो हुनु मानवताको एउटा अवगुण मात्रै भए पनि, यो विशेष अवगुण एउटा अत्यन्तै गम्भीर समस्या हो—यो निष्ठाको समस्या हो। कतिपय मानिसहरूले प्रसिद्धि मन पराउँछन्, र उत्सुकतापूर्वक कामहरू लिन्छन्, तर तिनीहरूले जिम्मेवारी लिने आँट गर्दैनन्। तिनीहरूले कठिनाइहरूको सामना गर्नेबित्तिकै, तिनीहरू तुरुन्तै जिम्मेवारीबाट पन्छिन्छन् र आफूलाई त्यस परिस्थितिबाट टाढा राख्छन्। तिनीहरू पूर्ण रूपमा गैर-जिम्मेवार हुन्छन्। तिनीहरू विशेष रूपमा अस्थिर पनि हुन्छन् र आफूले गर्ने कुनै पनि काममा अडिग रहन सक्दैनन्। जब यो यति खराब अवस्थामा पुग्छ, तब यो मानवताको एउटा अवगुण मात्रै रहँदैन—यो साँच्चै नै नीच चरित्र र खराब मानवता हुनु हो। म किन त्यस्ता मानिसहरूको मानवता खराब हुन्छ भनेर भन्छु? किनभने तिनीहरू भरोसा गर्न लायक हुँदैनन्—तैँले तिनीहरूलाई कुनै पनि कुरा सुम्पने आँट गर्दैनस्। तैँले तिनीहरूलाई जुनसुकै काम सुम्पे पनि, तिनीहरू सजिलै सहमत हुन्छन्, तर तँ फर्किनेबित्तिकै, तिनीहरू हराउँछन्, र तँलाई तिनीहरू के गर्दैछन् भन्ने भन्ने कुराको कुनै पत्तो हुँदैन। तिनीहरूलाई फेरि देख्नका लागि केही दिन समेत लाग्न सक्छ। यदि तैँले तिनीहरूलाई काम कसरी अघि बढिरहेको छ भनेर सोधिनस् भने, तिनीहरूले तँलाई केही नभएजस्तो गरी रिपोर्ट नै गर्नेछैनन्। तिनीहरू कस्ता किसिमका प्राणीहरू हुन्? तिनीहरू पूर्ण रूपमा गैर-जिम्मेवार हुन्छन्! तिनीहरू यस्तो सानो कुरामा समेत परीक्षामा असफल हुन्छन् र तिनीहरूमाथि भरोसा गर्न सकिँदैन। तँलाई तिनीहरूले अरू के हासिल गर्न सक्छन् भन्ने लाग्छ? (केही पनि सक्दैनन्।) यदि तैँले तिनीहरूलाई बच्चाको हेरचाह गर्ने जिम्मा दिइस् भने, कुनै पनि बेला समस्याहरू उत्पन्न हुन सक्छन्। बच्चा लडेर घाइते हुन सक्छ, उसले खान नहुने कुरा खान सक्छ, वा बाहिर खेल्न जाँदा, ऊ हराउन वा उसलाई खराब मानिसहरूले अपहरणमा गर्न सक्छन्—यी सबै सम्भावित परिणामहरू हुन्। किनभने तिनीहरू गैर-जिम्मेवार र अत्यन्तै नीच चरित्रका हुन्छन्, र तिनीहरूले आफूले गर्ने हरेक कुरामा विवेकको कुनै सीमा पालन गर्दैनन् र अरू सबै कुरालाई बेवास्ता गर्दै केवल आफ्नै स्वार्थी चाहनाहरू पूरा गर्नका लागि मात्रै काम गर्छन्। जब तैँले तिनीहरूलाई कुनै काम सुम्पन्छस्, तब तिनीहरूलाई इन्कार गर्दा तेरो अपमान हुन सक्छ भन्ने लाग्छ; आफ्नै घमण्डलाई ध्यानमा राखेर र आफ्नो अभिमानलाई सन्तुष्ट पार्न, तिनीहरू सहमत हुन्छन्, तर पछि, तिनीहरूले कुनै पनि जिम्मेवारी लिँदैनन्। तिनीहरूले ठूला-ठूला कुरा गर्छन् तर तिनीहरू कामलाई राम्ररी पूरा गर्न असफल हुन्छन्। भरोसा गर्न लायक नहुनु भनेको यही हो। के त्यस्ता मानिसहरू असल हुन्छन्? (हुँदैनन्।) के दह्रिलो गरी काम सुरु गर्ने तर अन्त्यमा फितलो हुने मानिसहरूलाई अगुवाका रूपमा छनोट गर्न सकिन्छ? (सकिँदैन।) किन सकिँदैन? (तिनीहरूले परमेश्वरको घरको कामलाई क्षति पुऱ्याउन सक्छन्।) ठीक भन्यौ। जब तिनीहरू बोल्छन् र प्रतिज्ञाहरू गर्छन्, तब तिनीहरूसँग क्षमता छ जस्तो देखिन्छ, र मानिसहरू ठूला कुरा गर्न सक्नेहरूलाई भरोसा गर्न इच्छुक हुन्छन्। तर जब वास्तवमा काम गर्ने कुरा आउँछ, तब तिनीहरूका कार्यहरू अप्रत्याशित हुन्छन्। तिनीहरूले गडबड गरे पनि, तिनीहरूले तँलाई जानकारी दिनेछैनन्; अनि यदि कुनै समस्या उत्पन्न भयो भने, तिनीहरूले तँलाई के भयो भनी स्पष्टीकरण दिनेछैनन्। तँ तिनीहरूले कामहरू राम्ररी सम्हाल्नेछन् भनी उत्सुकतापूर्वक आशा गरिरहेको हुन्छस्, तर तिनीहरू त्यसलाई बिगार्न पुग्छन् र तैँले तिनीहरूलाई सुम्पेको कुरालाई गम्भीर मामलाका रूपमा नलिई यसप्रति पूर्ण रूपमा उदासीन समेत हुन्छन्। तिनीहरूका कार्यहरूमा, तिनीहरू अस्थिर हुने गर्छन्। तिनीहरूमध्ये कतिले केवल आफ्नै रुचि, सोख, र जिज्ञासाका आधारमा काम गर्छन्; तिनीहरूमध्ये कतिले ध्यान आकर्षित गर्न मन पराउँछन् र केवल ध्यान आकर्षित गर्न र देखिनका लागि मात्रै कामकुरा गर्छन्। त्यस्ता मानिसहरू अस्थिर र गैर-जिम्मेवार हुन्छन्, र तिनीहरू वास्तविक धरातलमा रहेर काम गर्न असक्षम हुन्छन्। यो निकै समस्याजनक कुरा हो। यसले तिनीहरूसँग आत्मिक बुझाइ छ कि छैन, तिनीहरूले सत्यता स्वीकार गर्न सक्छन् कि सक्दैनन्, तिनीहरू समर्पित छन् कि छैनन्, वा तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् कि होइनन् भन्ने कुरालाई छोएको छैन—यसले अझै यी पक्षहरूलाई छोएको छैन। विशुद्ध रूपमा तिनीहरूको मानवताको हिसाबमा भन्दा, त्यस्ता मानिसहरू भरोसा गर्न लायक हुँदैनन्। के त्यस्ता मानिसहरूलाई अगुवाका रूपमा छनोट गर्न सकिन्छ? (सकिँदैन।) मानकअनुरूपको मानवता नभएका मानिसहरूमा संवर्धनका लागि समेत मूल्य हुँदैन। किन हुँदैन? किनभने तिनीहरूको चरित्र अत्यन्तै नीच हुन्छ—तिनीहरूमा आधारभूत निष्ठा र इज्जत समेत हुँदैन। त्यसकारण, तिनीहरू न त अगुवा बन्न योग्य हुन्छन्, न त अगुवाका रूपमा संवर्धन गरिन नै योग्य हुन्छन्।
अब, हामी कामहरू गर्दा सतर्क हुनेबारे छलफल गरौँ। यो कस्तो प्रकारको प्रकटीकरण हो? (यो मानवताको एउटा गुण हो।) कामकुराहरू गर्दा सतर्क हुनु, बेपरवाह नहुनु, र मामलाहरू उत्पन्न हुँदा तिनलाई शान्त भएर सामना गर्न र सत्यताको खोजी गर्न सक्नु—यो मानवताको एउटा गुण हो। यो दुष्ट समाजमा, जटिल पृष्ठभूमि भएका मानिसहरूका विभिन्न समूहहरूका बीचमा, तैँले विभिन्न मानिस, घटना र कामकुराहरूको उदयलाई सतर्कताका साथ सामना गर्नुपर्छ। तैँले परमेश्वरको घरमा आफ्नो कर्तव्य पूरा गरिरहेको बेला समेत, तैँले सामना गर्ने विभिन्न कुराहरूमध्ये केही जटिल परिस्थितिहरू हुन्छन्, र तैँले तिनलाई सतर्कताका साथ सामना गर्नुपर्छ। उदाहरणका लागि, तैँले आफ्नो कर्तव्य पूरा गरिरहेको बेला तँमाथि दुष्ट मानिसहरूले दिइरहने बाधा आइपर्दा, तैँले पहिले खुट्ट्याउन सिक्नुपर्छ, र त्यसपछि सत्यता सिद्धान्तहरूअनुसार त्यस स्थितिलाई सामना गर्नुपर्छ। आफ्नो कर्तव्यप्रति तैँले राख्नुपर्ने मनोवृत्ति यही हो। कामकुराहरू गर्दा सतर्क हुनुमा के कुरा समावेश हुन्छ? यसमा व्यक्तिको समझ समावेश हुन्छ। जब तैँले छर्लङ्ग देख्न नसक्ने मामलाहरूको सामना गर्छस्, तब तँ सतर्क हुनुपर्छ। तैँले केही सत्यताहरू बुझे पनि, जब तैँले अझै पनि केही विशेष मामलाहरूको अन्तर्निहित सार र मूल कारणलाई छर्लङ्ग देख्न सक्दैनस्, तब के तँ सतर्क हुनुपर्छ? (पर्छ।) यस्ता परिस्थितिहरूमा तँ अझै बढी सतर्क हुनु आवश्यक हुन्छ। सतर्क हुनु भनेको रूढिवादी हुनु वा साना-साना कदमहरू चाल्नु भन्ने होइन, न त यो काम गर्न आँट नगर्नु वा जिम्मेवारी लिन डराउनु नै हो—यसले यी कुराहरूलाई जनाउँदैन। यहाँ बोलिएको सतर्कताले मानवताको एउटा गुणलाई जनाउँछ। सतर्कताका विशिष्ट प्रकटीकरणहरू के हुन्? ती के हुन् भने, कुनै काम गर्दा, तैँले पहिले सत्यता सिद्धान्तहरूको खोजी गर्छस्, त्यसपछि त्यो काम वा त्यस कार्यका लागि अभ्यासका विशिष्ट कदमहरू, अभ्यासको विशिष्ट मार्ग, र इच्छित परिणामहरूको खोजी गर्छस्। अर्थात्, तैँले महत्त्वपूर्ण मामलाहरू र आफ्नो कर्तव्यलाई होसियार र सतर्क हृदयले सामना गर्छस्। अवश्य नै, कतिपय मानिसहरू आफ्नो दैनिक जीवनमा आइपर्ने विभिन्न समस्याहरूलाई सामना गर्दा पनि विशेष रूपमा सतर्क हुन्छन्; तिनीहरू लापरवाह हुँदैनन्, बरु अत्यन्तै सतर्क हुन्छन्। यो नराम्रो कुरा होइन; यसलाई मानवताको अवगुण नभई गुण पनि भन्न सकिन्छ। सतर्कतालाई मानवताको गुण भन्न सकिन्छ; सतर्क मनोवृत्ति हुनुले मानिसहरूलाई फाइदा मात्रै पुऱ्याउन सक्छ, र यसले मानिसहरूलाई कुनै पनि हालतमा नियन्त्रित गर्ने वा बन्धनमा पार्नेछैन। यदि मामलाहरू उत्पन्न हुँदा तैँले बोल्ने आँट गरिनस्, यदि तैँले केही गर्न वा कसैसँग अन्तरक्रिया गर्न आँट गरिनस् भने—यदि तँलाई झर्दै गरेको पात आफ्नो टाउकोमा ठोक्किन्छ कि भन्ने डर लाग्छ भने—यो अत्यधिक रूपमा सतर्क हुनु हो। सधैँ आफ्नै सानो संसारमा जिउनु, अति होसियार भएर आफ्ना दिनहरू बिताउनु—के यो सतर्कता हो? (होइन।) बाहिर किनमेल गर्न जाँदा ठगिन्छु कि भनी डराउनु, पसल खोल्दा पैसा गुमाउँछु कि भनी डराउनु, घर किन्दा त्यो कुनै कलङ्कित सम्पत्ति पो हुने हो कि भनी डराउनु, कम्प्युटर किन्दा त्यसमा भाइरस पो हुने हो कि भनी डराउनु—अत्यधिक डरले यति धेरै बाँधिनु कि तैँले केही गर्न आँट गर्दैनस् र तँलाई एक कदम चाल्न पनि गाह्रो हुन्छ—यी पक्कै पनि हामीले यहाँ बोलिरहेका प्रकारका सतर्कताका प्रकटीकरणहरू होइनन्। यी प्रकटीकरणहरूले व्यक्ति अज्ञानी, लाचार र काँतर, अपरिपक्व, र स्वतन्त्र रूपमा जिउने क्षमताविहीन छ भनी सङ्केत गर्छन्। ती कमजोर क्षमताका प्रकटीकरणहरू हुन्। अर्थात्, जब त्यस्ता व्यक्तिहरूले यो दुष्ट समाज र मानिसहरूका जटिल समूहहरूको सामना गर्छन्, तब तिनीहरूसँग कुनै पनि प्रतिउपाय हुँदैन। तिनीहरू सधैँ चिन्तित, भयभीत, र यति डराएका हुन्छन् कि तिनीहरू पछि हट्छन् र अगाडि बढ्ने आँट गर्दैनन्। कि त तिनीहरूलाई धोका पाइन्छ र ठगिइन्छ कि भन्ने डर हुन्छ, कि त तिनीहरूलाई आफूलाई हानि पुऱ्याइन्छ वा आफ्नो हत्या गरिन्छ कि भन्ने डर हुन्छ। तिनीहरूले कसैसँग अन्तरक्रिया गर्ने वा कुनै मामलाहरू सम्हाल्ने आँट गर्दैनन्। जब तिनीहरू काममा जान्छन्, तब तिनीहरूलाई आफ्नो तलब पाइँदैन कि भन्ने डर हुन्छ। कतिपय महिलाहरू दुर्व्यवहारमा परिन्छ कि भन्ने डरले काम गर्न समेत आँट गर्दैनन्। कतिपय मानिसहरू खराब मानिसहरूलाई भेटिन्छ कि भन्ने डरले घरबाट बाहिर निस्कन समेत आँट गर्दैनन्, र तिनीहरूलाई आफूले सामानहरू किनेमा ती लुटिन्छ कि भन्ने डर हुन्छ। छोटकरीमा, तिनीहरू सबै कुरादेखि डराउँछन्। के यो अत्यधिक सतर्क हुनु होइन र? यो अति होसियार हुनु हो। के तिनीहरू पागल होइनन् र? कतिपय मानिसहरूको यस्तो मानसिकता हुन्छ, तिनीहरू दिनभरि यो र त्यो कुराको चिन्ता गर्छन्, र परिणाम के हुन्छ भने तिनीहरूले कुनै मामलाहरू सम्हाल्ने वा बाहिर गएर मानिसहरूलाई भेट्ने आँट गर्दैनन्, र तिनीहरू घरमा मात्रै बस्न सक्छन्। तिनीहरू कस्ता व्यक्ति हुन्? (पागल व्यक्ति।) तिनीहरू पागल हुन्; तिनीहरू असामान्य हुन्, तिनीहरू अमानव हुन्। कुनै पनि निर्णय गर्ने क्षमता नभएको, आफूले गर्ने कुनै पनि कुरामा कुनै सिद्धान्त वा न्यूनतम मानक नभएको यस्तो व्यक्ति पशुको पुनर्जन्म हो, ऊसँग सामान्य मानवता हुँदैन, र ऊ अति होसियार हुनु सतर्कता होइन। सतर्कताले केलाई जनाउँछ? सतर्कता भनेको सावधान, विधिवत, र नियम-पालन गर्ने तरिकाले कामहरू गर्नु हो, र यस सिद्धान्तको जगमा, निकै कडाइका साथ काम गर्नु हो, र कामकुराहरू आइपर्दा हतार, बेपरवाह, वा आवेगमा नआई शान्त हुनु, र सत्यता सिद्धान्तहरूको खोजी गर्न र बुद्धिमानी विधिहरू खोज्न सक्नु हो। यसलाई सतर्कता भनिन्छ, र केवल यही सतर्कता मानवताको एउटा गुण हो।
ठूला कुरा गर्न र घमण्ड गर्न मन पराउने—यस्ता मानिसहरू धेरै हुन्छन्। यो दुष्ट समाजको एउटा प्रवृत्ति पनि हो। धेरै मानिसहरू बढाइचढाइ गरेर बोल्छन्, लापरबाहीपूर्वक कुराहरू बनाउँछन्, र मुखमा जे आयो त्यही बोल्छन्। तिनीहरूले भनेको कुरा तथ्यहरूसँग पटक्कै मेल खाँदैन र तिनीहरूले धेरै व्यर्थका कुरा गर्छन्। तिनीहरूमा कुनै निष्ठा र लाजको भावना नभए तापनि, तिनीहरू अझै पनि आफूलाई सक्षम ठान्छन्। के त्यस्ता मानिसहरू भरोसा गर्न लायक हुन्छन्? (हुँदैनन्।) के त्यस्ता मानिसहरूसँग निष्ठा वा इज्जत हुन्छ? (हुँदैन।) त्यस्ता मानिसहरूसँग कुनै निष्ठा र इज्जत हुँदैन, तिनीहरू सम्मानका लायक हुँदैनन्, र भरोसा गर्न लायक हुँदैनन्। त्यसोभए, के तिनीहरूलाई महत्त्वपूर्ण मामलाहरू सम्हाल्ने जिम्मा दिन सकिन्छ? (सकिँदैन।) त्यसोभए, घमण्ड गर्न मन पराउनु कस्तो प्रकारको समस्या हो? (यो मानवताको एउटा अवगुण हो।) यो मानवताको एउटा अवगुण हो, तर तैँले यो व्यक्तिको मानवतालाई पनि हेर्नुपर्छ—उसको मानवता दुष्ट छ कि छैन र उसले सकारात्मक कुराहरू स्वीकार गर्न सक्छ कि सक्दैन। यदि तिनीहरू केवल नीच छन् र, आफ्नो पारिवारिक जीवन वा सामाजिक वातावरणबाट धेरै वर्षसम्म प्रभावित भएर, घमण्ड गर्न र ठूला कुरा गर्न मन पराउने, गैर-जिम्मेवार तरिकाले र परिणामहरूको विचार नगरी बोल्ने खराब बानी विकास गरेका छन् भने, यो केवल तिनीहरूको मानवताको एउटा अवगुण हो। तिनीहरू खराब हुँदैनन्; तिनीहरू केवल गम्भीर रूपमा नीच भएको स्तरमा हुन्छन्। यदि यस्तो व्यक्तिले, घमण्ड गर्न मन पराउनु बाहेक, अरूसँग अन्तरक्रिया गर्दा निकै हुकुमी र क्रूर तरिकाले व्यवहार गर्छ, र उसले ठूला कुरा गर्नु र घमण्ड गर्नुपछाडिको उद्देश्य अरूलाई दबाउनु र आफूले घमण्ड गर्ने र बढाइचढाइ गर्ने कुराहरूलाई अरू मानिसहरूले गरेका वा अरू मानिसहरूसँग भएका कुराहरूभन्दा उच्च, राम्रो, र धेरै माथि भएको देखाउनु हो भने, यो अब तिनीहरू नीच हुनुको समस्या मात्र रहँदैन। यो कस्तो प्रकारको समस्या हो? (यो दुष्ट मानवताको समस्या हो।) यो दुष्ट मानवताको समस्या हो। त्यसोभए, के यहाँ कुनै भ्रष्ट स्वभाव समावेश छ? (छ।) कस्तो प्रकारको भ्रष्ट स्वभाव? (क्रूर स्वभाव।) तिनीहरूसँग अहङ्कारी, क्रूर स्वभाव हुन्छ। कतिपय मानिसहरू गम्भीर रूपमा नीच भएका हुनाले नै घमण्ड गर्न मन पराउँछन्। यो तिनीहरूको जिउने बानी र जिउने वातावरणले गर्दा भएको हो। तिनीहरूले सत्य बोल्नु, हृदयबाट बोल्नु, वास्तविक परिस्थितिहरूबारे छलफल गर्नु, वा जीवन र उचित मामलाहरूबारे कुरा गर्नुको अर्थ के हो भन्ने कुरा बुझ्दै बुझ्दैनन्। तिनीहरूमा यो चेतनाको कमी हुन्छ। तिनीहरूको परिवार र विद्यालयको वातावरणमा यस्तो शिक्षा हुँदैन, र तिनीहरू समाजमा प्रवेश गरेपछि झनै हुँदैन। फलस्वरूप, तिनीहरूको अन्तर्निहित नीचता धेरै गम्भीर हुन्छ। तिनीहरू गम्भीर हुँदैनन् र तिनीहरूमा उचित आचरण हुँदैन, र तिनीहरू केवल ठूला कुरा गर्न र अरूले आफूलाई उच्च ठानून् भनेर प्रदर्शन गर्न लागि घमण्ड गर्न मन पराउँछन्। तिनीहरूको हृदयमा, तिनीहरूसँग अरू कुनै महत्त्वाकाङ्क्षा, चाहना, वा आवश्यकताहरू हुँदैनन्। यदि तिनीहरूले केवल यी प्रकटीकरणहरू मात्रै देखाउँछन् भने, यो केवल नीचता हो; यो तिनीहरूको मानवताको एउटा अवगुण हो। तर यदि तिनीहरूको घमण्डको कुनै उद्देश्य छ, र घमण्डमार्फत तिनीहरूले आफूलाई निकै सक्षम र असाधारण रूपमा योग्य, साथै साधारण मानिसहरूभन्दा श्रेष्ठ, भिन्न, र धेरै माथि भएको रूपमा प्रस्तुत गर्छन् भने, यो अब नीच हुनुको समस्या मात्र रहँदैन। तिनीहरूको घमण्ड गर्ने मोहलाई विशिष्ट सोचाइले मार्गदर्शन गरेको हुन्छ, र त्यसलाई हैसियत, महत्त्वाकाङ्क्षा, र चाहनाको भोकले प्रेरित गरेको हुन्छ। तिनीहरूले अरूलाई दबाउन र प्रभावित पार्न, अरूलाई आफूभन्दा तुच्छ र आफू जत्तिको राम्रो नभएको महसुस गराउन, र आफूप्रति सम्मानजनक बनाउन र आफ्नो आज्ञापालन गराउनका लागि घमण्डलाई एक तरिकाका रूपमा प्रयोग गर्छन्। यो तिनीहरूको मानवताको दुष्टता हो। तिनीहरूको घमण्ड गर्ने मोहको उद्देश्यआफू फाइदाजनक स्थितिमा पुग्नु हुन्छ: “तिम्रो जे छ, मेरो पनि त्यही छ। तिमीले जे गर्न सक्छौ, मैले पनि त्यो गर्न सक्छु। तिमीलाई जे थाहा छ, मलाई पनि त्यो थाहा छ। तिमीले जे देखेका छौ, मैले पनि त्यो देखेको छु। म तिमीभन्दा कम छैन!” यस्तोसम्म हुन्छ कि यदि तैँले कुनै निश्चित खानेकुरा खाएको छस् भने, तिनीहरूले स्पष्ट रूपमै त्यो कहिल्यै नखाएको भए पनि, आफूले खाएको छु भनी दाबी गर्नेछन्—र त्यति मात्र होइन, तिनीहरूले आफूले त्योभन्दा धेरै खाएको, र आफूले खाएको खानेकुरा तैँले खाएको भन्दा मीठो थियो भनेर भन्नेछन्। तिनीहरूले नभएका कुराहरूबारे समेत घमण्ड गर्नेछन्। तिनीहरूको घमण्डको उद्देश्य के हुन्छ? यसको उद्देश्य तँलाई उछिन्नु, तँसँग प्रतिस्पर्धा गर्नु, र तँलाई तिनीहरू तँभन्दा राम्रा छन्, तिनीहरू तँभन्दा कुनै पनि हिसाबले कम छैनन् भन्ने कुरा महसुस गराउनु हो। तिनीहरू महत्त्वाकाङ्क्षा र चाहनाले प्रेरित हुन्छन्। त्यसोभए, के यस्तो महत्त्वाकाङ्क्षा र चाहनाले प्रेरित मानवताको प्रकटीकरण केवल नीचता हो, कि यो दुष्ट मानवता हो? (यो दुष्ट मानवता हो।) के यहाँ कुनै भ्रष्ट स्वभाव समावेश छ? (छ।) महत्त्वाकाङ्क्षा र चाहनाले प्रेरित हुनु—यो भ्रष्ट स्वभाव हो। कस्तो प्रकारको भ्रष्ट स्वभाव? (अहङ्कार र क्रूरता।) ठीक भनिस्। यी दुई प्रकारका भ्रष्ट स्वभावहरू हुन्छन्: अहङ्कार र क्रूरता। यसका साथै, थोरै दुष्टता पनि हुन्छ। अर्थात्, तैँले जे भने पनि, तिनीहरूले सधैँ त्यसलाई आफ्नो हृदयमा विचार गर्छन्, सधैँ त्यसबाट केही निहुँ बनाउने प्रयास गर्छन्, र सधैँ त्यसलाई दुष्ट विचार र चरम रायहरूका साथ सामना गर्छन्। उदाहरणका लागि, यदि तैँले “मेरो परिवारको गाडी टोयोटा हो; यो जापानी गाडी हो” भनेर भनिस् भने, तिनीहरूले यसो भन्छन्, “जापानी गाडीहरू राम्रा हुँदैनन्। जर्मन गाडीहरू राम्रा हुन्छन्। मैले पहिले चलाउने जर्मन गाडी साह्रै राम्रो चल्ने मात्रै थिएन, तर त्यो कहिल्यै नबिग्री दश वर्षभन्दा बढी समयसम्म खप्यो—त्यो तिम्रो गाडीभन्दा धेरै राम्रो छ!” तिनीहरूले तँलाई जसरी पनि उछिन्नैपर्छ। जब तैँले भन्छस्, “मैले त हाई स्कूल पनि पास गरेको छैन,” तब तिनीहरूले यसो भन्छन्, “मैले हाई स्कूल पास गरेको छु। तिमी मेरो डाहा गर्छौ, होइन त?” वास्तवमा, तिनीहरूले माध्यमिक स्तर पनि पास गरेका हुँदैनन्, तर तिनीहरू अझै पनि तँलाई उछिन्न चाहन्छन्। तिनीहरूलाई अरू मानिसहरूले आफ्नो डाहा गरेको, आफूलाई उच्च ठानेको, र आफूलाई सम्मान गरेको अनुभूतिमा आनन्द आउँछ। हेर् त, तिनीहरूले कुनै पनि व्यक्तिबाट प्राप्त गर्ने जानकारीप्रतिको तिनीहरूको प्रतिक्रिया सधैँ दुष्ट र चरम हुन्छ। तिनीहरूमा सामान्य मानवताको सोचाइको कमी हुन्छ। एक सामान्य व्यक्तिले अरू कसैले केही राम्रो कुरा छ भनी सुनेपछि यसो भन्न सक्छ, “तिमीसँग त्यो हुनु निकै राम्रो कुरा हो। के तिमीले मलाई त्यसका विशिष्ट विशेषता र फाइदाहरूबारे बताउन सक्छौ? म यसबारे थप जान्न चाहन्छु।” सामान्य मानवता भएको व्यक्तिले यसरी प्रतिक्रिया दिनेथियो। तर घमण्ड गर्न मन पराउने मानिसहरूसँग सामान्य मानवता हुँदैन। तिनीहरूले यस्तो सोच्छन्, “तिमीसँग त्यो किन हुनुपर्ने र मसँग नहुनुपर्ने? मसँग त्यो नभए पनि, मैले मसँग छ भन्नैपर्छ, र अझै, मैले मेरोचाहिँ तिम्रोभन्दा राम्रो छ भन्नैपर्छ!” यदि तिमीले तिनीहरूलाई त्यो निकालेर देखाउन भन्यौ भने, तिनीहरूले “म तिमीलाई देखाउँदिनँ!” भनेर भन्नेछन्, जबकि वास्तवमा तिनीहरूसँग त्यो हुँदै हुँदैन। के यो दुष्ट कुरा हो? (हो।) अर्को शब्दमा, जब तिनीहरूलाई केही हुन्छ, वा जब तिनीहरूले कुनै जानकारी देख्छन् वा प्राप्त गर्छन्, तब तिनीहरूको प्रतिक्रिया सधैँ चरम, मानवतासँग अमिल्दो, र दुष्ट हुन्छ, त्यसकारण तिनीहरूको स्वभावमा केही दुष्टता पनि हुन्छ। अर्को तरिकाले भन्दा, जब तँ तिनीहरूसँग सामान्य रूपमा कुराकानी वा सङ्गति गर्छस्, र तँलाई तैँले कुनै अनुचित मानसिक प्रतिक्रिया उत्पन्न गर्न सक्ने केही भनेको छैनस् भन्ने लाग्छ, तब तिनीहरूको दिमाग पहिले नै धेरै विचारहरूले भरिएको हुन्छ। तिनीहरूले पहिले नै तेरो डाहा गरिरहेका हुन्छन्, र तँप्रति अवज्ञाकारी र घृणित भएका हुन्छन्, साथै तँलाई दबाउन पनि चाहन्छन्। तिनीहरूको दिमाग यी कुराहरूले भरिएको हुन्छ। के तँ यो दुष्ट कुरा हो भनेर भन्दैनस् र? (भन्छु।) दुष्ट मानिसहरू शुद्ध हुँदैनन्। तिनीहरूले प्रकट गर्ने अधिकांश अभिव्यक्ति, शब्द, र कार्यहरू सामान्य मानवताको विवेक र समझसँग अमिल्दा हुन्छन्। तिनीहरूका शब्दहरूमा केही आक्रामकता हुन सक्छ; आक्रामकता समावेश हुनुका साथै, तिनीहरूका केही शब्दहरू असत्य हुन सक्छन्, र केही त घमण्ड हुन सक्छन्। किनभने तिनीहरूभित्र दुष्ट विचारहरू हुन्छन्, र यी दुष्ट विचारहरूद्वारा प्रेरित भएर, तिनीहरूले बोल्ने शब्दहरू सबै झूट हुन्छन्, ती सबै शैतान र दियाबलसहरूबाट उत्पन्न हुन्छन्। त्यस्ता मानिसहरूसँग कुनै मानवता हुँदैन; तिनीहरू अमानव हुन्। घमण्ड गर्न र ठूला कुरा गर्न मन पराउने मानिसहरूलाई दुई प्रकारमा विभाजन गर्न सकिन्छ। तिनीहरूलाई तिनीहरूको मानवताको सारका आधारमा चित्रण गरिनुपर्छ। अर्थात्, तिनीहरूसँग कस्तो समस्या छ भनी मूल्याङ्कन गर्न तिनीहरू नीच छन् कि छैनन् र तिनीहरूको मानवता दुष्ट छ कि छैन भनी हेर्नुपर्छ। यदि तिनीहरूमा दुष्ट मानवता छ र तिनीहरू गम्भीर रूपमा नीच छन्, र धेरै दुष्ट कार्यहरू गर्न सक्षम छन् भने, तिनीहरू असल मानिसहरू होइनन् र तिनीहरूलाई दुष्ट मानिसहरूका रूपमा चित्रण गरिनुपर्छ। तर, यदि तिनीहरू अलिकति ठूला कुरा गर्नमा र अलिकति नीचतामा मात्रै संलग्न हुन्छन्, तर तिनीहरूले कुनै खराब कामहरू गर्न सक्दैनन्, तिनीहरूसँग अझै पनि केही विवेक र समझ हुन्छ, र तिनीहरूले केही असल कामहरू पनि गर्न सक्छन् भने, तिनीहरूलाई अझै पनि असल मानवता भएका मानिसहरू मान्न सकिन्छ। यो ठूलो समस्या होइन, र यदि तिनीहरूको क्षमता राम्रो छ भने, तिनीहरूलाई सुपरिवेक्षक वा अगुवा वा कामदारहरूका रूपमा छनोट समेत गर्न सकिन्छ। यी दुवै प्रकारका मानिसहरूले ठूला कुरा गर्ने र घमण्ड गर्न मन पराउने भए तापनि, यो तिनीहरूको मानवता असल छ कि दुष्ट छ भन्ने कुरामा निर्भर हुन्छ। यदि तिनीहरू केवल नीच छन् भने, यो तिनीहरूको मानवताको एउटा अवगुण हो र यसमा भ्रष्ट स्वभाव समावेश हुँदैन। तर, यदि तिनीहरूको घमण्डको पछाडि अभिप्राय र महत्त्वाकाङ्क्षा छ भने, यसले दुष्ट मानवतालाई सङ्केत गर्छ, र यसमा भ्रष्ट स्वभाव समावेश हुन्छ। तिनीहरूको मानवताको हिसाबमा, यो दुष्ट हो; यसमा समावेश हुने भ्रष्ट स्वभावहरू अहङ्कार, दुष्टता, वा क्रूरता हुन्। यसमा खराब चरित्र र भ्रष्ट स्वभाव दुवै समावेश हुन्छ, होइन र? (हो।)
अब अर्को प्रकटीकरणबारे छलफल गरौँ: लापरवाही। आफूले गर्ने हरेक कुरामा लापरवाह हुनु—यो कुन पक्षअन्तर्गत पर्छ? (मानवताको एउटा अवगुण।) यस्ता मानिसहरूले हरेक कुरालाई मोटामोटी र सामान्य तरिकाले हेर्छन्, र मुख्य बुँदाहरू बुझ्न सक्दैनन्। तिनीहरूले हरेक कुरा हचुवाको भरमा गर्छन्। तिनीहरूले लेखन-पठनको काम वा दस्तावेज व्यवस्थापन जस्ता सूक्ष्म काम गर्न सक्दैनन्। तिनीहरूले सटीकता चाहिने कामहरू पनि सम्हाल्न सक्दैनन्। लुगा सिलाउँदा, तिनीहरूले कहिलेकाहीँ बाहुला हुनुपर्ने ठाउँमा सुरुवालको खुट्टा सिउँछन्, कहिलेकाहीँ लामो बाहुलालाई छोटो बनाउँछन्, वा २६ इन्चको कम्मरलाई २४ इन्चको बनाउँछन्। तिनीहरूले लुगा कि त धेरै ठूलो कि त धेरै सानो बनाउँछन्। तिनीहरूले जे गरे पनि, तिनीहरू सधैँ यति लापरवाह, यति बेपरवाह, र यति भद्दा हुन्छन् कि तिनीहरूले कुनै पनि काम राम्ररी गर्न सक्दैनन्। तिनीहरू कतिसम्म लापरवाह हुन सक्छन्? कुनै काम सम्हाल्न बाहिर जाँदा, तिनीहरूले आफूले ल्याउनुपर्ने कुराहरू समेत बिर्सन सक्छन्। उदाहरणका लागि, मुद्दाका लागि वकिललाई भेट्दा, तिनीहरूले आफ्नो परिचय पत्र, साथै वकिलले मागेको प्रमाण ल्याउन बिर्सन्छन्। तिनीहरूले धेरै कुराहरू पछाडि छोड्छन्। कहिलेकाहीँ, तिनीहरूलाई आफूले आफ्ना महत्त्वपूर्ण सामानहरू कहाँ राखेको छु भन्ने समेत थाहा हुँदैन र तिनीहरू याद गर्ने प्रयास गर्दैनन्। फलस्वरूप, तिनीहरूले प्रायजसो सामानहरू हराउँछन् र बिर्सन्छन्, र तिनीहरूले गर्ने कामहरू र तिनीहरूको दैनिक जीवन पूर्ण रूपमा अस्तव्यस्त हुन्छ। यस्ता मानिसहरू आफ्नो काम वा आफ्नो कर्तव्यलाई लिने तरिकामा कहिल्यै गम्भीर हुँदैनन्। तिनीहरूले जे गरे पनि सधैँ सरसरती र हचुवाको भरमा गर्छन्—तिनीहरूले हेर्ने कुराहरूलाई मोटामोटी रूपमा मात्रै बुझ्छन्, सुन्ने वचनहरूको मोटामोटी बुझाइ मात्रै प्राप्त गर्छन्, कुराहरू मोटामोटी र सामान्य रूपमा मात्रै भन्छन्, र आफ्नो स्मरणमा कुराहरूको मोटामोटी रूपरेखा मात्रै राख्छन्। फलस्वरूप, तिनीहरू महत्त्वपूर्ण वा गोप्य काम सम्हाल्न असक्षम हुन्छन्; तिनीहरू त्यस्ता कामहरूका लागि उपयुक्त हुँदैनन्। यदि तिनीहरूको लापरवाहीमा तिनीहरूको व्यक्तिगत जीवन वा सरसफाइ मात्रै समावेश हुन्छ, र त्यसले अरू मानिसहरू वा कुनै महत्त्वपूर्ण मामलाहरूलाई असर गर्दैन भने, यो केवल तिनीहरूको मानवताको एउटा अवगुण हो—जुनसुकै समस्या उत्पन्न भए पनि, तिनीहरूले आफैले जिम्मेवारी लिएपछि कुरा सकिन्छ। तर, यदि यसमा कर्तव्य, महत्त्वपूर्ण काम, कसैको नियति र भविष्यका सम्भावना, कोही बस्छ कि छोडेर जान्छ, इत्यादि समावेश छ भने, त्यस्ता मानिसहरू यी मामलाहरू सम्हाल्न अनुपयुक्त हुन्छन् किनभने तिनीहरू धेरै लापरवाह हुन्छन्। एकातिर, तिनीहरू यी मामलाहरूमा अति सावधान हुँदैनन्; तिनीहरूले केवल मोटामोटी रूपमा हेर्छन्, र आफ्नो दिमाग प्रयोग गर्न वा ती कुराहरू सम्हाल्न सोच र ऊर्जा लगाउन धेरै अल्छी हुन्छन्। अर्कोतिर, तिनीहरूको काम गर्ने शैली र तौरतरिका निरन्तर सरसरती र हचुवाको भरमा गर्ने हुन्छ, र तिनीहरूले प्रायजसो सामानहरू हराउँछन् र बिर्सन्छन्। यदि यो तिनीहरूको व्यक्तिगत जीवनसँग मात्रै सम्बन्धित छ भने, यो ठूलो समस्या होइन। तर, यदि यो महत्त्वपूर्ण काम वा गोप्य मामलाहरूसँग सम्बन्धित छ भने, तिनीहरूले कुराहरू बिगार्न सक्छन् वा ठूलो प्रकोप समेत निम्त्याउन सक्छन्। उदाहरणका लागि, कसैलाई तुरुन्तै पेरिस जानु आवश्यक छ, तर आफ्नो लापरवाहीका कारण, उसले रोमको हवाई टिकट किन्छ। ऊ निकै खुसी समेत हुन्छ, र भन्छ, “आज मैले किनेको टिकट त कति सस्तो!” अरूले त्यसलाई हेर्छन् र भन्छन्, “अवश्य पनि सस्तो छ—तिमी पेरिस जानुपर्ने थियो, तिमीले किन रोमको टिकट किन्यौ?” यो त अत्यन्तै लापरवाह हुनु हो! यस्ता मानिसहरूले हरेक कुरालाई उपेक्षा र झाराटारुवा मनोवृत्तिले हेर्छन्। तिनीहरूले कुनै कुरालाई मोटामोटी रूपमा बुझ्नका लागि एक नजर मात्रै हेर्छन् र कुरा त्यतिमै सकिन्छ। तिनीहरूसँग ठीक यस्तै प्रकारको गैर-जिम्मेवार मनोवृत्ति हुन्छ। अवश्य पनि, यो मनोवृत्ति कुनै पनि कुरामा आफ्नो हृदय लगाउन नचाहने र अल्छीपन देखाउने कार्यद्वारा पनि चित्रित हुन्ह्ह—तिनीहरू कुनै पनि कुरामा आफ्नो हृदय लगाउनमा, आफ्नो दिमाग प्रयोग गर्नमा, वा कुनै पनि मामला सम्हाल्दा सोचविचार गर्नमा धेरै अल्छी हुन्छन्। यस्ता लापरवाह मानिसहरू महत्त्वपूर्ण कामका लागि अनुपयुक्त हुन्छन्, विशेष गरी लेखन-पठनको काम, दस्तावेज व्यवस्थापन, वा गोप्य व्यावसायिक सीपहरूसँग सम्बन्धित कार्यहरूका लागि। त्यसोभए, यदि त्यस्ता मानिसहरू अगुवा बने भने, के तिनीहरू त्यस कार्यका लागि योग्य हुन सक्छन्? (सक्दैनन्। तिनीहरूको काम कहिल्यै राम्ररी भएको हुँदैन; यो सधैँ मोटामोटी र सामान्य रूपमा गरिएको हुन्छ, र यो सधैँ अधुरो छोडिएको हुन्छ। तिनीहरूले वास्तविक काम गर्न सक्दैनन्।) यस्ता मानिसहरूको काममा विवरणको कमी हुन्छ; तिनीहरू सधैँ सरसरती र हचुवाको भरमा काम गर्ने हुन्छन्, र तिनीहरूले मामलाहरूलाई सतही, झाराटारुवा तरिकाले सम्हाल्छन्। तिनीहरूका शब्दहरू पनि सधैँ अस्पष्ट हुन्छन्, र तिनीहरूले “मोटामोटी,” “सायद,” “सम्भवतः,” वा “हुन सक्छ” जस्ता शब्दहरू प्रयोग गर्ने गर्छन्। यस्ता मानिसहरूले केही पनि हासिल गर्न सक्दैनन्। परमेश्वरको घरका धेरै कामहरू, जस्तै प्रशासनिक काम, कर्मचारीसम्बन्धी काम, मण्डली जीवनसम्बन्धी काम, र सुसमाचारको काममा विशिष्ट विवरणहरू समावेश हुन्छन्। विस्तृत कामको सामना गर्दा, यस्ता लापरवाह मानिसहरूको टाउको दुख्छ र तिनीहरूले अलमल्लमा परेको महसुस गर्छन्, र निसास्सिएको महसुस गर्छन्; तिनीहरू यस्तो विस्तृत काममा संलग्न हुन अनिच्छुक हुन्छन्। तिनीहरूमा यो अल्छी मनोवृत्ति हुन्छ, त्यसकारण जब काम गर्ने कुरा आउँछ, तिनीहरूले सधैँ यस्तो सोच्छन्, “मोटामोटी काम गरे पुग्छ; आखिर, यो कामको प्रबन्धले भनेको कुरासँग लगभग मिल्दोजुल्दो छ।” तिनीहरूले सधैँ यो “लगभग मिले पुग्छ” भन्ने मनोवृत्ति कायम राख्छन्—के यसरी काम राम्ररी गर्न सकिन्छ? (सकिँदैन।) जब तिनीहरूले मानिसहरूको मूल्याङ्कन गर्छन्, तब तिनीहरूले त्यो पनि मोटामोटी रूपमै गर्छन्—तिनीहरूले अगुवा र कामदारहरूको मोटामोटी मूल्याङ्कन गर्छन्, र तिनीहरूले हरेक टोलीका सुपरिवेक्षकहरूको पनि मोटामोटी मूल्याङ्कन गर्छन्। जब कसैले सोध्छ, “त्यो सुपरिवेक्षकले परमेश्वरमा विश्वास गरेको कति भयो?” तब तिनीहरूले जवाफ दिन्छन्, “तीन वर्षभन्दा बढी भयो जस्तो लाग्छ।” तर परमेश्वरमा तीन वर्षदेखि विश्वास गरेको व्यक्तिले जग समेत बसालेको नहुन सक्छ—के यस्तो व्यक्ति सुपरिवेक्षकका रूपमा भरपर्दो हुन सक्छ? लापरवाह मानिसहरूले यो कुरा छर्लङ्ग देख्नै सक्दैनन्। त्यसकारण तिनीहरूको बोली सधैँ “मोटामोटी,” “सम्भवतः,” “सायद,” “हुन सक्छ,” र “जस्तो लाग्छ” जस्ता शब्दहरूले भरिएको हुन्छ; तिनीहरूले कहिल्यै सटीक शब्दहरू प्रयोग गर्दैनन्। जब कसैले सोध्छ, “के उसले परमेश्वरमा विश्वास गर्दा कहिल्यै अगुवाका रूपमा सेवा गरेको छ?” तब तिनीहरूले जवाफ दिन्छन्, “गरेको छैन जस्तो लाग्छ, किनभने मैले उसले यो कुरा उल्लेख गरेको सुनेको छैन।” हेर् त, तिनीहरूले कुनै पनि कुरालाई कहिल्यै सूक्ष्म रूपमा लिँदैनन्। यदि तैँले तिनीहरूलाई विवरणहरूका लागि दबाब दिइस् भने, तिनीहरू केवल भावना र छापमा भर पर्छन्। तिनीहरूले “म तुरुन्तै गएर सोध्छु र पुष्टि गर्छु” भनेर भन्दैनन्। तिनीहरूले त्यसलाई सूक्ष्मतापूर्वक लिँदैनन्। हरेक कुरामा, तिनीहरूले “मोटामोटी रूपमा ठीक” वा “लगभग मिले” सम्म ठीकै छ भनी ठान्छन्। कतिपय मानिसहरूले यसो भन्छन्, “किन यति सावधान भएर जिउने?” एक हिसाबमा यो कुरा साँचो भए तापनि—दैहिक जीवनसँग सम्बन्धित मामलाहरूका लागि, तँ अलि हचुवा हुन सक्छस्—जब मण्डलीका कामको कुरा आउँछ, तँ हचुवा हुन मिल्दैन। काममा हचुवा हुँदा त्यसले त्यो कामको परिणामलाई असर गर्छ। कुनै पनि काममा राम्रा परिणामहरू विशिष्ट योजना, प्रबन्ध, अनुगमन, सुपरिवेक्षण र आग्रहको कारणले मात्रै हासिल हुन्छ। यदि कार्यहरू मोटामोटी, हडबड तरिकाले गरिन्छ भने, कुनै पनि कामले कहिल्यै परिणाम दिन सक्दैन। त्यसकारण, लापरवाहीपन मानवताको एउटा अवगुण हो, र यस्ता लापरवाह मानिसहरू महत्त्वपूर्ण कामका लागि योग्य हुँदैनन्; विशेष गरी, तिनीहरू अगुवा र कामदारहरूको काम गर्न योग्य हुँदैनन्। मामला जेसुकै भए पनि, यस्ता मानिसहरूले केवल मोटामोटी रूपरेखा मात्रै सुन्छन् र त्यसपछि आफूले बुझेको छु भन्ने अनुमान गर्छन्। उदाहरणका लागि, मण्डलीहरू स्थापना गर्ने काममा, कसरी मण्डली स्थापना गर्ने, एउटा मण्डली स्थापना गर्न कति जना मानिसहरू चाहिन्छ, कति वटा मण्डलीले एउटा इलाका बनाउँछ, कति वटा इलाकाले एउटा क्षेत्र बनाउँछ—परमेश्वरको घरको कामका प्रबन्धमा यी सबैका लागि विशिष्ट नियमहरू छन्, साथै विशेष परिस्थितिहरूका लागि पनि अतिरिक्त विशिष्ट नियमहरू छन्। तर, लापरवाह मानिसहरूले न त यी नियमहरूको खोजी गर्छन् न त तीबारे जान्ने प्रयास नै गर्छन्, तैपनि अझै पनि कसरी अघि बढ्ने भनी थाहा भएको दाबी गर्छन्। विवरणहरू प्रदान गर्न लगाउँदा समेत, तिनीहरूले यस्तो जवाफ दिन्छन्, “यो त मण्डलीहरू स्थापना गर्नु मात्रै हो। एक निश्चित सङ्ख्यामा मानिसहरू भएपछि, स्थापना हुन्छ।” तर जब “यसलाई निश्चित रूपमा कसरी स्थापना गर्नुपर्छ?” भनेर सोधिन्छ, तब तिनीहरूलाई थाहा हुँदैन र तिनीहरूले विवरणहरू प्रदान गर्न सक्दैनन्। यदि तिनीहरू नयाँ अगुवा हुन् र तिनीहरूलाई अझै मण्डली कसरी स्थापना गर्ने भनी थाहा छैन भने, त्यो बुझ्न सकिन्छ। समस्या के हो भने तिनीहरूलाई थाहा हुँदैन तर तिनीहरू यसबारे सावधान पनि हुँदैनन्, र तिनीहरूले यसको अध्ययन पनि गर्दैनन्, र खोजी पनि गर्दैनन्। के यस्ता मानिसहरूले मण्डलीको काम राम्ररी गर्न सक्छन्? (सक्दैनन्।) यस्ता मानिसहरूका लागि, हामीसँग एउटा मात्रै शब्द छ—“छोडिहाल्!” तिनीहरू अगुवाइको कामका लागि योग्य हुँदैनन्। मानिसहरू समावेश हुने कामभन्दा अरू कुनै पनि काम जटिल हुँदैन। यदि तँसँग सतर्क र जिम्मेवार हृदयको कमी छ, र तेरो काम हचुवाको भरमा हुन्छ र सावधानीपूर्वक हुँदैन भने, तेरो क्षमता जतिसुकै राम्रो भए पनि, तँ अझै पनि त्यस भूमिकाका लागि योग्य हुनेछैनस्। धेरै लापरवाह हुनु, हरेक कुरा मोटामोटी रूपमा मात्रै गर्नु, रूपरेखामा मात्रै ध्यान केन्द्रित गर्नु, केवल औपचारिकता पूरा गर्नमा मात्रै ध्यान केन्द्रित गर्नु, विवरणहरूमा ध्यान केन्द्रित नगर्नु, कुराहरूलाई सूक्ष्मतापूर्वक लिन नजान्नु—यी सबैको अर्थ तँ अगुवा र कामदारहरूको कामका लागि बिलकुलै योग्य छैनस् भन्ने हुन्छ। बुझिस्? (बुझेँ।)
लापरवाही मानवताको एउटा अवगुण हो। त्यसोभए, कामहरू गर्दा होसियार र गम्भीर हुनु, साथै मुख्य, महत्त्वपूर्ण बुँदाहरूलाई बोध गर्न सक्नु, समस्याहरू कहाँ छन् भनी पहिचान गर्न सक्नु र समस्याहरूको सारलाई छर्लङ्ग देख्न सक्नु—के यो मानवताको गुण हो? (हो।) होसियार मानिसहरूको काम गर्ने मनोवृत्ति एकदमै उचित हुन्छ; तिनीहरू काम गर्दा एकदमै होसियार र इमानदार हुन्छन्, तिनीहरूले आफूलाई शान्त पार्न सक्छन् र हतार गर्दैनन्—यो मानवताको गुण हो। मानवताको यो गुण भएको व्यक्तिले पूर्णकालीन काम गर्न सक्ने भए तापनि, यदि ऊ कामकुरा गर्नमा धेरै सुस्त छ र कामसम्बन्धी उसको दक्षता उच्च छैन भने, परिणामहरू त्यति राम्रो हुनेछैन। यसमा के समावेश हुन्छ? यसमा क्षमता समावेश हुन्छ, जुन जन्मजात अवस्थाहरूमध्येको एक हो। के तँलाई होसियार हुने जोकोहीले पनि राम्रो काम गर्न सक्छ भन्ने लाग्छ? यो दृष्टिकोण गलत छ। कतिपय मानिसहरू काम गर्दा यति धेरै होसियार हुन्छन् कि तिनीहरू अलिक अत्तालिन्छन्। उदाहरणका लागि, तरकारी धुँदा, तिनीहरूले पातको अगाडिको भाग धुन्छन्, त्यसपछि पछाडिको भाग धुन्छन्, हरेक पहेँलो पात हटाउँछन्, र किराले खाएको हरेक प्वाल काटेर फाल्छन्, र तरकारीहरू पूर्ण रूपमा सफा धोइएको छ भनी सुनिश्चित गर्छन्। कामकुरा गर्दा धेरै होसियार हुनु मानवताको गुण हो, तर यदि कुनै व्यक्ति सिद्धान्तनिष्ठ नहुने हदसम्म र अत्यधिक तुच्छ कुराहरू गर्ने हदसम्म होसियार हुन्छ भने, त्यो अनावश्यक र अप्रभावकारी बन्छ। यसले कमजोर क्षमता हुनु, कामहरू पूरा गर्न नसक्नु, र काम वहन गर्न असक्षम हुनुलाई सङ्केत गर्छ। काम गर्दा होसियार हुने कतिपय मानिसहरूले सिद्धान्तहरू बोध गर्छन्, मुख्य, महत्त्वपूर्ण बुँदाहरू बोध गर्छन्, छिटो र फुर्तिलो ढङ्गले काम गर्छन्, तुरुन्तै निर्णय गर्छन्, र समस्याहरूलाई तुरुन्तै समाधान गर्न सक्छन्—यो राम्रो क्षमता हुनु हो। काम गर्दा होसियार हुनु भनेको काममा दक्ष हुनु होइन, न त यो काममा राम्रा परिणामहरू हासिल गर्नु बराबर नै हो। यसको अर्थ धैर्यतापूर्वक ध्यान केन्द्रित गर्न सक्नु, शान्त हुनु, हतार नगर्नु, र आडम्बरी नहुनु, र बेपरवाह नहुनु मात्रै हो। बढीमा, यो मानवताको गुण मात्रै हो, र यो राम्रो क्षमताको स्तरसम्म पुग्दैन। कतिपय मानिसहरू कामकुरा गर्दा एकदमै होसियार हुन्छन्, र तिनीहरू एकदमै इमानदार, न हतार गर्ने न त आत्तिने, र एकदमै शान्त देखिन्छन्। तर, तिनीहरू मामलाहरूलाई सम्हाल्नमा अदक्ष हुन्छन्, र महत्त्व र अत्यावश्यकताका आधारमा कुराहरूलाई प्राथमिकता दिन सक्दैनन्। तिनीहरू कुनै महत्त्वहीन काममा अल्झन्छन् र अनन्तसम्म त्यसमा काम गर्छन्, जसले गर्दा अरूलाई चिन्ता र दिक्क लाग्छ, र तिनीहरूलाई जोडले लात्ती हान्न मन लाग्छ। तिनीहरू एकदमै ढिलो काम गर्छन्, र तिनीहरूमा अलिकति पनि दक्षता हुँदैन—तिनीहरू केवल केही न कामका हुन्! सामान्य रूपमा बाँच्ने क्षमता भएको व्यक्तिले तिनीहरूभन्दा दश वा बीस गुणा छिटो काम गर्छ। तिनीहरू एकदमै ढिलो काम गर्छन्, र तिनीहरूले जति धेरै काम गरे पनि, तिनीहरूले कुनै विधि भेट्टाउन सक्दैनन्, सिद्धान्तहरू भेट्टाउन सक्दैनन्, तिनीहरूसँग कुनै सीप हुँदैन, र तिनीहरूमा दक्षताको कमी हुन्छ। एक घण्टा लाग्ने काममा तिनीहरूले पूरै एक दिन लगाउन सक्छन्, एक दिन लाग्ने काममा तिनीहरूले पाँच दिन लगाउन सक्छन्, र पाँच दिन लाग्ने काममा तिनीहरूले दश दिन लगाउन सक्छन्, जसले गर्दा तिनीहरूलाई हेर्दा तँलाई रिस र झिजो दुवै लाग्छ। कतिपय महिलाहरू मामलाहरूलाई सम्हाल्नमा सुस्त हुन्छन्। आफू छिट्टै केही कामका लागि बाहिर जानुपर्छ भन्ने राम्ररी थाहा भए पनि, तिनीहरू आफ्नो कपाल धुन जिद्दी गर्छन्। कपाल धुँदा, तिनीहरूले कुनै विधि भेट्टाउन सक्दैनन्। आफ्नो सबै कपाल एकैचोटि धुनुको सट्टा, तिनीहरू त्यसलाई एक-एक त्यान्द्रो गरेर धुन्छन्, र आधा घण्टापछि पनि तिनीहरूले धोएर सिध्याएका हुँदैनन्। के तिनीहरू पागल होइनन् र? कपाल धोएको कारणले, तिनीहरूले गर्नुपर्ने कामहरूमा ढिलाइ गर्छन्। मामलाहरू जति जरुरी हुन्छन्, तिनीहरूलाई त्यति नै कम अत्यावश्यकता महसुस हुन्छ, र तिनीहरू ती महत्त्वहीन मामलाहरूलाई सम्हाल्नमा समेत ध्यान केन्द्रित गर्छन्, र चिन्तित वा तनावग्रस्त महसुस नगरी महत्त्वपूर्ण कुराहरूमा ढिलाइ गर्छन्। यदि तैँले तिनीहरूलाई कर गरिस् भने, तिनीहरूसँग बहानाहरूको थुप्रो नै हुन्छ: “मैले गर्नुपर्ने यी कामहरूलाई नगरीकन कसरी छोड्न सक्छु र?” जब तैँले यस्ता मानिसहरूलाई देख्छस्, तब तैँले मनमा के सोच्छस्? तँलाई तिनीहरूलाई जोडले लात्ती हान्न मन लाग्छ। के यस्ता मानिसहरू लात्ती खान लायक हुँदैनन् र? (हुन्छन्।) यस्ता मानिसहरूका हकमा, यदि गर्नुपर्ने काम छ भने पनि, तिनीहरूलाई त्यो काम गराउनु आवश्यक हुँदैन। तिनीहरू एकदमै सुस्त गतिमा काम गर्छन् र एकदमै अयोग्य हुन्छन्! जब तिमीहरूले यसरी शङ्खेकिराको गतिमा काम गर्ने मानिसहरूलाई देख्छौ, तब के तिमीहरूलाई चिन्ता लाग्छ? (लाग्छ।) तिनीहरू भन्छन्, “म आफ्नो काममा होसियार छु!” म भन्छु, “तेरो होसियारीको के काम? अरू पनि तँभन्दा कम होसियार त छैनन्, तर तिनीहरूले तैँले भन्दा धेरै काम गर्छन् र अझै राम्ररी गर्छन्। के तेरो होसियारीले परिणामहरू हासिल गर्न सक्छ? मुख्य कुरा यही हो। यदि तँ कामकुरा गर्दा होसियार हुन्छस् र तैँले दक्षता र राम्रा परिणामहरू पनि हासिल गर्छस् भने, त्यो होसियारीको मूल्य हुन्छ। तर यदि तँ कामकुरा गर्दा होसियार मात्रै हुन्छस् र अन्तमा न परिणाम हासिल गर्छस् न त दक्षता नै भने, के त्यो उपयोगी हुन्छ? त्यो बेकम्मा हुन्छ!” कतिपय मानिसहरू लुगा सिलाउनमा अत्यन्तै होसियार हुन्छन्, तर तिनीहरूले कहिल्यै सही नाप लिन सक्दैनन्। तिनीहरूले लुगा लगाउने व्यक्तिलाई त्यो सुहाउँछ कि सुहाउँदैन भनेर सही रूपमा लेखाजोखा गर्न सक्दैनन्, बाहुला धेरै लामो छ कि धेरै छोटो छ, वा लुगा धेरै कसिलो छ कि धेरै खुकुलो छ भनेर तिनीहरूले भन्न सक्दैनन्, तिनीहरूलाई बाहुलाको मानक चौडाइ थाहा हुँदैन, र कलर उपयुक्त छ कि छैन भनेर तिनीहरूलाई थाहा हुँदैन। यस्ता मानिसहरूले सिलाएका लुगाहरू निश्चय नै मानकअनुरूप हुनेछैनन्। यदि कोही होसियार र सिद्धान्तनिष्ठ दुवै छ भने, यो साँच्चै नै मानवताको गुण हो। तर यदि कोही होसियार मात्रै छ र ऊसँग कुनै सिद्धान्त छैन, उसले मुख्य बुँदाहरू बोध गर्न सक्दैन, र सधैँ सानातिना मामलाहरूमा बबाल मच्चाउँछ र निरर्थक रूपमा तिनमा चिन्तन गर्छ भने, यो दिक्कलाग्दो कुरा हो। “होसियार” भन्ने शब्दलाई धेरैजसो मानिसहरूले सामान्यतया सकारात्मक शब्द मान्छन्, तर होसियारीका सबै उदाहरणहरू गुण हुँदैनन्। यो परिस्थितिमा भर पर्छ। कतिपय मानिसहरू कुनै सिद्धान्तविना अन्धाधुन्ध रूपमा होसियार हुन्छन्। यो होसियारी नभई अत्तालिनु र मुख्य बुँदाहरू बोध गर्न नसक्नु हो; यसले कमजोर क्षमतालाई सङ्केत गर्छ, र यो कामकुरा गर्ने सीप भेट्टाउन नसक्नु र सिद्धान्तहरू बोध गर्न नसक्नु हो। त्यसकारण, मेरो दृष्टिकोणमा, होसियारी एउटा प्रकटीकरण वा काम गर्ने तरिकाका रूपमा मानवताको गुण भए पनि, तैँले व्यक्तिको क्षमतालाई पनि हेर्नुपर्छ। यदि क्षमतालाई ध्यानमा राखिएन भने, काम गर्दा होसियार मनोवृत्ति हुनु पनि राम्रो नै हो। यदि कसैसँग क्षमता र कामकुरामा दक्षता दुवै छ, र उसले सिद्धान्तहरूको पालना गर्न सक्छ, र त्यसमाथि ऊ होसियार पनि छ भने, यो होसियारी साँच्चै नै सुनमा सुगन्ध हो र साँचो रूपमा मानवताको गुण हो।
अर्को प्रकटीकरणबारे कुरा गरौँ: देखाउन मन पराउनु। यो कुन किसिमको समस्याअन्तर्गत पर्छ? (भ्रष्ट स्वभाव।) उदाहरणका लागि, कतिपय मानिसहरू एकदमै छिटो टाइप गर्छन्। आफूसँग यो सामर्थ्य छ भनी अरूलाई थाहा दिनका लागि, तिनीहरूले जानाजानी किबोर्डलाई एकदमै ठूलो आवाजमा थिच्छन्, मानौँ तिनीहरू यसो भन्न खोज्दैछन्, “मेरो टाइपिङको लय मात्रै सुन त, अनि तिमीले म कति छिटो टाइप गर्छु भन्ने थाहा पाउनेछौ!” कतिपय मानिसहरू विश्वविद्यालयका स्नातकहरू हुन्छन्, त्यसकारण तिनीहरूलाई यस्ता कुराहरू भन्ने बानी हुन्छ, “हामी विश्वविद्यालयमा हुँदा,” “हाम्रा विश्वविद्यालयका प्राध्यापकहरू,” “हाम्रो विश्वविद्यालयको परिसर,” र यस्तै अन्य कुराहरू। यो कस्तो किसिमको प्रकटीकरण हो? (देखावटीपन।) यसलाई देखावटीपन भनिन्छ। कतिपय मानिसहरूले नयाँ गाडी किन्छन् र त्यो उच्च-स्तरीय प्रख्यात ब्रान्डको हो भनी अरूलाई थाहा हुँदैन कि भनेर डराउँछन्। गाडीबाट ओर्लिएपछि, तिनीहरू त्यहाँबाट जाँदैनन् बरु एक क्षणमा झ्यालमा औँलाको छाप छ कि भनेर हेर्छन्, र अर्को क्षणमा गाडीको रङमा कोतरिएको छ कि भनेर जाँच्छन्। तिनीहरू किन गाडीको वरिपरि घुमिरहन्छन्? तिनीहरू त्यो गाडी तिनीहरूको हो भनी अरूलाई थाहा दिनका लागि मात्रै यस्तो गर्छन्। यो कस्तो किसिमको प्रकटीकरण हो? (देखावटीपन।) कतिपय मानिसहरूसँग उच्च-स्तरीय फोन हुन्छ। अरूले त्यो देखून् भनेर, फोनमा चार्ज नहुँदा पनि, तिनीहरू फोनमा कुरा गरेजस्तो गर्छन्। यसलाई के भनिन्छ? (देखावटीपन।) तिनीहरू किन देखावटी गर्छन्? के यहाँ अभिमानले काम गरिरहेको हुँदैन र? कतिपय मानिसहरूले मल्स्याप्रोको रौँको कोट लगाउँछन्, र एकदमै न्यानो कोठाभित्र पसेपछि पनि, तिनीहरूले त्यो फुकाल्दैनन्। जब कसैले तिनीहरूलाई “के तिमीलाई गर्मी भएको छैन?” भनेर सोध्छ, तब तिनीहरूले जवाफ दिन्छन्, “छैन। मैले मल्स्याप्रोको रौँको कोट लगाएको छु—यो एकदमै न्यानो हुन्छ!” तिनीहरूले अरूलाई यसबारे केही पनि थाहा छैन भनी मानिलिन्छन्! त्यो फुकाल्दा, तिनीहरूले त्यसको लेबल देखाउनै पर्छ, र मानिसहरूलाई यसो भन्दै देखाउँदै हिँड्छन्: “यो कोट मल्स्याप्रोको रौँको मात्रै होइन, यो त यस्तो-यस्तो, एउटा उच्च-स्तरीय डिजाइनर ब्रान्डको पनि हो। तिमीलाई त यो थाहा पनि छैन!” यदि अरूलाई थाहा छैन भने, तैँले किन देखावा गरिरहेको छस् त? के त्यो व्यर्थमा देखाउनु होइन र? कतिपय मानिसहरू आफूलाई त मसामु प्रदर्शनसमेत धाक गर्छन्, र भन्छन्, “तपाईँले हाँसको भुवाको ज्याकेट लगाउनुभएको छ? तपाईँले मल्स्याप्रोको रौँको कोट लगाउनुपर्छ—त्यो एकदमै न्यानो हुन्छ!” म भन्छु, “त्यो न्यानो त हुन्छ, तर त्यो कोट एकदमै गह्रौँ हुन्छ!” तिनीहरू मल्स्याप्रोको रौँको कोट लगाउँछन् र आफूलाई मेरो अगाडि प्रदर्शनसमेत गर्छन्। मलाई भन, के यसरी देखाउन मन पराउने मानिसहरू सतही हुँदैनन् र? तिनीहरूको मानवताको हिसाबमा, तिनीहरूमा दुईवटा समस्याहरू हुन्छन्। एउटा त तिनीहरू निकै सतही हुन्छन्। जब तिनीहरूले खाने खाना, तिनीहरूले लगाउने लुगा, र तिनीहरूले प्रयोग गर्ने वस्तुहरू जस्ता बाहिरी सम्पत्ति र भौतिक वस्तुहरूको कुरा आउँछ, तब तिनीहरूले ती सबैको देखावा गर्न चाहन्छन्। तिनीहरूले देखावा गर्ने चाहनालाई दबाउन सक्दैनन् र सधैँ यी कुराहरू अरूलाई देखाउन चाहन्छन्, र तिनीहरूले लगाउने लुगा र प्रयोग गर्ने कुराहरू सबै उच्च-स्तरीय र असाधारण छन् भनी अरूलाई थाहा दिन चाहन्छन्। अरूलाई थाहा भएर के हुन्छ र? अरूले त्यो देखेर तिनीहरूबारे उच्च सोच नराखे पनि, तिनीहरूले त्यसलाई देखाइरहन्छन्। के यो सतही कुरा होइन र? (हो।) तिनीहरू सतही र केटाकेटी स्वभावका हुन्छन्—देखावा गर्न मन पराउने मानिसहरूको अर्को समस्या यही हो। मलाई भन, त्यसरी देखावा गरेर तिनीहरूले के पाउन सक्छन्? के यो केवल आफ्नो उपस्थिति महसुस गराउनका लागि हो? के यो जरुरी छ? के यो अनावश्यक छैन र? (छ।) सन् १९८० र १९९० को दशकमा, यदि कसैको छालाको जुत्ताको सोल एकनासले खिइएन भने, तिनीहरूले त्यसमा फलामको पाता ठोक्थे, जसले गर्दा हिँड्दा ठूलो आवाज आउँथ्यो। कतिपय मानिसहरूले त आफूसँग एक जोर छालाको जुत्ता छ भनी अरूलाई थाहा दिनका लागि मात्रै, लगाउनुभन्दा पहिले नै नयाँ छालाको जुत्तामा फलामको पाता ठोक्थे। यसले तिनीहरूलाई आत्मविश्वास दिन्थ्यो र आनन्दको अनुभूति गराउँथ्यो। तिनीहरूले यस्तो विश्वास गर्थे, “अरूको ध्यान पाउनु राम्रो कुरा हो। यसले मसँग आकर्षण छ र मेरो अस्तित्व प्रमाणित भएको छ भन्ने कुरा प्रमाणित गर्छ। त्यसकारण, मैले मेरा खुबीहरू, बलिया पक्षहरू, र मसँग भएका राम्रा कुराहरू सबैसँग बाँड्नुपर्छ।” के यो साँच्चै बाँड्नु हो? यसलाई धाक लगाउनु भनिन्छ। के यो संसारमा धाक लगाउन मन पराउने धेरै मानिसहरू छैनन् र? (छन्।) मानिसहरू सबैले यो एकदमै सामान्य कुरा हो भनी सोच्छन्, होइन र? त्यस्ता मानिसहरूलाई कसैले पनि तिरस्कार गर्दैन, न त कसैले तिनीहरूलाई अनौठो नजरले नै हेर्छ, किनभने संसार सबै किसिमका भौतिक र मौद्रिक सुखसयल, र हैसियतको सुखसयलमा लिप्त हुने मानिसहरूले भरिएको छ। त्यसकारण, यो संसारले यी कुराहरूलाई महिमा दिन्छ। परमेश्वरको घरमा, यस्ता मानिसहरूले अरूलाई घिन र हेय महसुस गराउँछन्। किन? परमेश्वरमा विश्वास गर्नेहरूले जग बसाल्ने सुरुवातदेखि लिएर बिस्तारै सत्यता र मानिस हुनुको मूल्य र अर्थ बुझ्दै जाँदा, भौतिक सुखसयल र संसारका केही सतही कुराहरूको कम वास्ता गर्न थाल्छन्। बाहिरी सम्पत्तिहरू पछ्याउने तिनीहरूको भित्री जोस घट्छ, तिनीहरूको पछ्याइका लक्ष्य र दिशाहरू परिवर्तन हुन्छन्, र तिनीहरूको भित्री संसारका आवश्यकताहरू फरक हुन्छन्। तिनीहरूले भौतिक आवश्यकताहरूप्रति फरक दृष्टिकोण विकास गर्छन्, र त्यस्ता कुराहरू सबै रित्ता छन् र तिनले तिनीहरूको हृदयका आवश्यकताहरूलाई पूरा गर्न सक्दैनन् भन्ने महसुस गर्छन्। त्यसकारण, सबै किसिमका कुराहरूको देखावा गर्ने र धाक लगाउने तिनीहरूको प्रवृत्ति कम हुन्छ। परमेश्वरका विश्वासीहरूले बढीमा के-कस्ता कुराहरूको देखावा गर्न वा धाक लगाउन सक्छन्? तिनीहरूले आफ्ना सीप वा सामर्थ्यहरू जस्ता कुराहरूको धाक लगाउन सक्छन्। उदाहरणका लागि, गाउन मन पराउने कतिपय मानिसहरू सधैँ अरूले आफ्नो आवाज सुनून् भन्ने चाहन्छन्। तिनीहरूले यसो भन्छन्, “मेरो आवाज कति राम्रो छ, सुन त!” तिनीहरूलाई अरूले आफू राम्रो गाउँछु भन्ने थाहा पाउँदैनन् कि भन्ने डर हुन्छ, र तिनीहरू यस कुरामा निरन्तर आफ्नो देखावा गर्न चाहन्छन्। सारांशमा, देखावा गर्न मन पराउनु मानवताको अवगुण हो। यो मानवतामा भएको अपरिपक्वता, केटाकेटीपन, र सतहीपनको प्रकटीकरण हो। जब मानिसहरूले केही शब्द र धर्मसिद्धान्तहरू मात्रै बुझ्छन् र तिनीहरूले साँचो रूपमा सत्यता प्राप्त गरेका वा सत्यता वास्तविकतामा प्रवेश गरेका हुँदैनन्, तब तिनीहरूले देखावा गर्न मन पराउने त्रुटि प्रदर्शन गर्ने सम्भावना धेरै हुन्छ, र मानवताको यो अवगुणलाई जित्न सजिलो हुँदैन। किनभने, मानिसहरूले सत्यता प्राप्त गर्नुभन्दा पहिले, तिनीहरूले देखावा गर्न र धाक लगाउन सक्ने कुराहरू नै जिउनका लागि तिनीहरूको पूँजी र आत्म-आश्वासन हुन्। तेरो आत्मआचरणमा तँसँग आत्मविश्वास हुन्छ र काम गर्नमा उत्प्रेरणा हुन्छ, किनभने तँ रूप, व्यवहार, सामर्थ्य, शिक्षाको स्तर, योग्यता, वा पेसागत सीपहरू जस्ता कुराहरूमा भर परेर जिउँछस्। त्यसकारण, धेरैजसो मानिसहरूले, फरक-फरक हदसम्म, देखावा गर्न मन पराउने त्रुटि प्रदर्शन गर्छन्, र यसलाई जित्न सजिलो हुँदैन, यसको विरुद्ध विद्रोह गर्न सजिलो हुँदैन। जब मानिसहरूले सत्यता बुझ्छन् र तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्छन्, तिनीहरूसँग निश्चित कद हुन्छ, र तिनीहरूले सत्यतासँग असम्बन्धित कुराहरूको कम वास्ता गर्छन्, तब तिनीहरूले देखावा गर्नु वा धाक लगाउनु आवश्यक छैन, र यी कुराहरूले व्यक्तिमा मानवता छ भन्ने कुराको प्रतिनिधित्व गर्दैन, न त व्यक्तिसँग कद छ भन्ने कुराको नै प्रतिनिधित्व गर्छ; र अवश्य नै, त्योभन्दा बढी, त्यसले व्यक्तिले मुक्ति पाएको छ वा ऊ सत्यता र परमेश्वरमा समर्पित हुन सक्छ भन्ने कुरालाई प्रतिनिधित्व गर्दैन। त्यसकारण, पहिले देखावा गर्न मन पराउने कतिपय मानिसहरूले सत्यता बुझ्दै र सत्यता वास्तविकतामा प्रवेश गर्दै जाँदा, तिनीहरूको यो चाहना बिस्तारै फिका हुँदै जान्छ, र मानवताको यो अवगुणलाई अजानमै जितिन्छ र यो हराएर जान्छ। उदाहरणका लागि, अलिकति महँगो टिसर्ट लगाएको कुनै व्यक्तिलाई लिऔँ। जब त्यो गल्तीले अलिकति फोहोर हुन्छ, तब ऊ एकदमै चिन्तित हुन्छ। अर्को व्यक्तिले उसलाई भन्छ, “तिमी किन यति धेरै चिन्तित भएको? तिमीले त्यसलाई धोयौ भने सफा हुँदैन र?” उसले जवाफ दिन्छ, “के तिमीलाई यो सर्ट २०० युआनमा किनेको हो भन्ने कुरा थाहा छ?” उसले अरूलाई थाहा दिनका लागि त्यसको मूल्य उल्लेख गर्नमा जोड दिन्छ; त्यसपछि मात्रै उसलाई सन्तुष्टि महसुस हुन्छ। यदि त्यो व्यक्तिले सत्यता बुझ्छ भने, उसले फेरि त्यस्ता मामलाहरूको सामना गर्दा तिनलाई सही रूपमा लिन सक्छ। उसले मूल्य उल्लेख गर्नेछैन, र यस बिन्दुमा, उसको अभिमान केही हदसम्म नियन्त्रित हुनेछ। के यसले उसको मानवता तुलनात्मक रूपमा परिपक्व भएको छ र अब त्यति सतही वा केटाकेटी स्वभावको छैन भन्ने देखाउँदैन र? (देखाउँछ।) उसको देखावा गर्न मन पराउने बानी, उसको मानवताको यो अवगुणलाई, यसरी जितिनेछ।
अर्को प्रकटीकरण गरिबलाई घृणा गर्नु र धनीको पक्ष लिनु हो। कतिपय मानिसहरूले जब कुनै धनी व्यक्तिलाई देख्छन्, तब तुरुन्तै यस्ता कुराहरू भन्दै उसको चापलुसी गर्न थाल्छन्, “तपाईँको अनुहारको छाला कति राम्रो छ। तपाईँ कति राम्रो देखिनुहुन्छ। तपाईँ यति कुलीन हुनुहुन्छ, तपाईँको थुक पनि हामी गरिब मानिसहरूभन्दा मूल्यवान् छ!” धनी मानिसहरू र पद र हैसियत भएकाहरूसँग बोल्दा, तिनीहरू विशेष गरी नरम हुन्छन्। तर जब तिनीहरूले कुनै किसानलाई देख्छन्, तब तिनीहरू सधैँ उसको खिल्ली उडाउन चाहन्छन्, र तिनीहरूका शब्दहरूले उसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तुच्छ देखाउँछन्। गरिब र धनीप्रतिको तिनीहरूको मनोवृत्ति पूर्ण रूपमा फरक हुन्छ। तिनीहरू धनीहरूको आवश्यकता पूरा गर्न इच्छुक हुन्छन्, यहाँसम्म कि स्वेच्छाले तिनीहरूको दास बन्न पनि तयार हुन्छन्। तर गरिबहरूको हकमा, कुरा फरक हुन्छ—जब गरिबहरूले कठिनाइहरूको सामना गर्छन् र मद्दत माग्छन्, तब तिनीहरूले वास्ता गर्दैनन्। निम्न पद र निम्न सामाजिक हैसियत भएका मानिसहरूप्रतिको तिनीहरूको व्यवहार उच्च सामाजिक हैसियत भएकाहरूप्रतिको भन्दा पूर्ण रूपमा फरक हुन्छ। गरिबलाई घृणा गर्नु र धनीको पक्ष लिनु भनेको यही हो। यो कस्तो किसिमको समस्या हो? (मानवताको अवगुण।) के यो मानवताको अवगुण हो? यो मानवताभित्रको कस्तो किसिमको समस्या हो? (नीच चरित्र हुनु।) यो मानवताभित्रको चरित्रको समस्या हो—नीच चरित्र हुनु। जब तिनीहरूले धनी मानिसहरूलाई देख्छन्, तब तिनीहरूले अत्यधिक दासतापूर्ण व्यवहार गर्दै, आज्ञाकारी सेवकहरू बन्छन्। जब तिनीहरूले गरिब मानिसहरूलाई देख्छन्, तब तिनीहरू आफू मालिक भएजस्तो व्यवहार गर्न चाहन्छन्। तिनीहरू कस्ता किसिमका जन्तुहरू हुन्? मानिसहरूलाई यसरी व्यवहार गर्दा यसले तिनीहरूमा कुनै सिद्धान्त छैन भन्ने देखाउँछ! गरिब मानिसहरूसँग पैसा मात्रै अलिक कम हुन्छ र तिनीहरूको जिउने अवस्था अलिकति कमजोर हुन्छ—तिनीहरूले तँलाई कसरी चिढ्याएका छन् र? के गरिब मानिसहरूको मानवता अवश्यै खराब नै हुन्छ भन्ने छ र? के धनी मानिसहरूको मानवता अवश्यै असल नै हुन्छ भन्ने छ र? के गरिबलाई घृणा गर्ने र धनीको पक्ष लिने मानिसहरूले अरूलाई सत्यता सिद्धान्तहरूका आधारमा नाप्छन् र हेर्छन्? स्पष्ट रूपमै त्यसो गर्दैनन्। तिनीहरूले जोसँग पैसा छ ऊ कुलीन र महान् हुन्छ, र जो गरिब छ ऊ तुच्छ र निम्न हुन्छ भन्ने विश्वास गर्छन्। मानिसहरूलाई नाप्ने तिनीहरूको मानक पैसा हो। के यस्ता मानिसहरू असल मानिसहरू हुन्? तिनीहरूको मानवता कस्तो हुन्छ? (तिनीहरूको मानवता खराब हुन्छ।) जब तिनीहरूले कुनै धनी व्यक्तिलाई देख्छन्, तब तिनीहरू चापलुसी गर्दै मुस्कुराउँछन्; जब तिनीहरूले कुनै गरिब व्यक्तिलाई देख्छन्, तब तिनीहरूको अनुहार तुरुन्तै अँध्यारो हुन्छ—तिनीहरूको अनुहार कति छिटो परिवर्तन हुन्छ! तिनीहरू धनी व्यक्तिको लागि दिशा-पिसाब गर्ने भाँडो बोक्न समेत इच्छुक हुन्छन्, तर गरिब व्यक्तिका लागि एक गिलास पानी खन्याउन समेत अनिच्छुक हुन्छन्। तिनीहरू कस्ता किसिमका जन्तुहरू हुन्? के तिनीहरू नीच चरित्रका होइनन् र? (हुन्।) के यस्ता मानिसहरू अगुवा हुनु राम्रो हो? (होइन।) किन होइन? कुन-कुन हिसाबमा तिनीहरू अगुवाहरूको भूमिकाका लागि अयोग्य हुन्छन्? (तिनीहरूले मानिसहरूलाई व्यवहार गर्ने तरिकामा कुनै सिद्धान्त हुँदैन, र तिनीहरूले मानिसहरूलाई छान्ने र प्रयोग गर्ने कुरा सत्यता सिद्धान्तहरूमा आधारित हुँदैन बरु कसैसँग सामाजिक हैसियत र पैसा छ कि छैन भन्ने कुरामा आधारित हुन्छ। यदि तिनीहरू अगुवा बने भने, तिनीहरूले हैसियत र पैसा भएकाहरूलाई प्रवर्धन गर्नेछन्। यदि प्रवर्धन गरिने यी मानिसहरू दुष्ट मानिसहरू हुन् भने, तब दुष्ट मानिसहरूले मण्डलीमा शक्ति हातमा लिनेछन्, र त्यो एउटा विपत्ति हुनेछ।) यस्ता मानिसहरू अगुवा हुन योग्य हुँदैनन्। एक हिसाबमा, तिनीहरू नीच चरित्रका हुन्छन्, र तिनीहरूले गर्ने काममा विवेकको कुनै मानक हुँदैन। अर्को हिसाबमा, यदि तिनीहरूलाई अगुवा बनाइयो भने, तिनीहरूले मण्डलीलाई समाजजस्तै बनाउनेछन्—तिनीहरूले अगुवाइ गर्ने मण्डली एउटा सामाजिक समूह बन्नेछ। तिनीहरूले धनी र प्रभावशाली, पद, हैसियत, र सम्पर्क भएका, र समाजमा फस्टाउनेहरूलाई प्रवर्धन गर्दै तिनीहरूलाई टोली अगुवा र सुपरिवेक्षकहरू बनाउनेछन्, जबकि असल मानवता, क्षमता भएका, र सत्यता पछ्याउने तर निम्न सामाजिक हैसियत भएका किसानहरू, गरिब मानिसहरू, र कम शिक्षित र मीठो-मीठो बोल्न नजान्नेहरूलाई खुट्टाले कुल्चिनेछन्। के यसले मण्डलीलाई समाजजस्तै बनाउँदैन र? के फरक हुनेछ र? समाजमा, धनी र हैसियत भएकाहरूकै हातमा शक्ति हुँदैन र? के पद, सम्पर्क, शक्ति, र प्रभाव भएकाहरूले नै समाजका सबै स्तर, क्षेत्र, र समूहहरूमा हैसियत राख्दैनन् र चर्चामा रहँदैनन् र? यदि परमेश्वरको घर समाजजस्तै हुन्थ्यो भने, के यो अझै पनि परमेश्वरको घर हुनेथ्यो र? यो उप्रान्त परमेश्वरको घर हुनेथिएन र यसलाई मण्डली भन्न सकिनेथिएन—यो एउटा सामाजिक समूह हुनेथ्यो। गरिबलाई घृणा गर्ने र धनीको पक्ष लिने मानिसहरू अगुवा बन्नुको परिणाम ठ्याक्कै यही हो। यस्ता मानिसहरू हैसियत भएको जोकोहीको पनि नोकर बन्छन्। मलाई भन, के नोकरजस्तै कार्य गर्ने मानिसहरूसँग कुनै सिद्धान्त हुन्छ? के तिनीहरूको आत्मआचरणमा कुनै सीमा हुन्छ? (हुँदैन।) यस्ता मानिसहरूको आत्मआचरणमा कुनै सिद्धान्त वा सीमा हुँदैन। खतरनाक वातावरणको सामना गर्दा, तिनीहरू यहूदा बन्न सक्छन्। यदि तिनीहरूको देश पतन हुने भयो भने, तिनीहरू देशद्रोही बन्नेछन्। यदि तिनीहरू सरकारी अगुवा बने भने, तिनीहरू गद्दार बन्नेछन्। तिनीहरू ठ्याक्कै यस्तै किसिमका जन्तुहरू हुन्! त्यसकारण, तिनीहरू अगुवा हुन योग्य हुँदैनन्। किनभने तिनीहरूले वास्तविक काम गर्नेछैनन् र दाजुभाइ-दिदीबहिनीहरूलाई हानि पुऱ्याउनेछन्, र साँचो रूपमा सत्यता पछ्याउने र मानवता भएका सबैलाई खुट्टाले कुल्चिनेछन् जबकि दुष्ट मानवता भएका, समाजमा हैसियत राख्ने र प्रख्यात र प्रभावशालीहरूलाई प्रवर्धन गर्नेछन्; यो त मानिसहरूलाई प्रवर्धन गर्ने परमेश्वरको घरका सिद्धान्तहरूको ठीक विपरीत कुरा हो। यदि यस्ता मानिसहरूले परमेश्वरको घरमा शासन गरे र शक्ति हातमा लिए भने, के मण्डलीको काम सहज र निर्बाध रूपमा अघि बढ्न सक्छ? (सक्दैन।) यिनीहरूको हातमा मण्डलीको काम र परमेश्वरका चुनिएका मानिसहरू बर्बाद हुनेछन्। यी मानिसहरूले एक-अर्कासँग मिलेमतो गर्नेछन्, एक-अर्कालाई प्रयोग गर्नेछन्, र एक-अर्कालाई समर्थन गर्नेछन्। सत्यता पछ्याउने दाजुभाइ-दिदीबहिनीहरूलाई सीमान्तकृत र बहिष्कृत गरिनेछ—तिनीहरूलाई ख समूहमा समेत खटाइन वा निकालिन सक्छ, र तिनीहरूका लागि बाहिर निस्कने कुनै बाटो छोडिनेछैन। के यस्तो हुन सक्दैन र? (सक्छ।) यी मानिसहरूबीचको सम्बन्ध कस्तो हुन्छ? जब तिनीहरू एकसाथ हुन्छन्, तब तिनीहरू एक-अर्कालाई साथी भन्छन्, एक-अर्कालाई अङ्गालो हाल्छन्, र समाजमा आफ्नो गौरवशाली इतिहासबारे धाक लगाउछन्, र तिनीहरूले एक-अर्काका लागि के गर्न सक्छन् भनी कुरा गर्छन् र त्यसपछि अर्कोले तिनीहरूका लागि के गर्न सक्छु भनी सोध्छ, र आपसी रूपमा एक-अर्कालाई प्रयोग गर्छन्। यी मानिसहरू समाजका मानिसहरूभन्दा कसरी फरक हुन्छन् र? जब तिनीहरू एकसाथ हुन्छन्, तब तिनीहरूले परमेश्वरको वचन खाने र पिउने गर्दैनन्, सत्यताबारे सङ्गति गर्दैनन्, आफ्नो व्यक्तिगत अनुभवात्मक बुझाइबारे सङ्गति गर्दैनन्, आफूलाई चिन्नेबारे कुरा गर्दैनन्, र आफ्ना भ्रष्ट स्वभावलाई चिरफार गर्दैनन्। बरु, तिनीहरूले समाजमा तिनीहरूका लागि कामहरू कति सफलतापूर्वक भएका छन्, तिनीहरूले गरेका कुन-कुन कुराहरूले तिनीहरूलाई चर्चामा ल्यायो, तिनीहरूको गौरवशाली इतिहास के हो, तिनीहरूले कुन-कुन अधिकारीहरूसँग खानपान गरे, तिनीहरूले कुन-कुन अधिकारीहरूको चापलुसी गरे भन्नेबारे मात्रै कुरा गर्छन्—तिनीहरूले यिनै कुराहरू मात्र गर्छन्। के यी मानिसहरू परमेश्वरका विश्वासीहरू हुन्? तिनीहरू हैसियत, पृष्ठभूमि, क्षमता, र माध्यमहरूलाई लिएर एक-अर्कासँग प्रतिस्पर्धा गर्छन्, जबकि एक-अर्कासँग मिलेमतो र एक-अर्कालाई प्रयोग पनि गर्छन्—तिनीहरूको सम्बन्ध यस्तै हुन्छ। यदि तँ एक साधारण व्यक्ति वा किसान होस् जसले तिनीहरूका लागि केही गर्न सक्दैन भने, तिनीहरूले तँलाई बेकम्मा, पूर्ण रूपमा तिनीहरूको ध्यानको लायक नभएको व्यक्तिका रूपमा हेर्छन्, र तँलाई पाखा लगाउँछन्। तिनीहरू एकसाथ हुँदा के कुरा गर्छन्? तिनीहरूले कुन लुगाको ब्रान्डले नयाँ वस्तु निकालेको छ, कुन नयाँ गाडी बजारमा आएको छ, कसले धेरै क्यारेटको हीरा किन्यो, कसको सम्पत्ति लिलाम भयो, कसको सेयर घट्यो वा बढ्यो, कसको कम्पनी सार्वजनिक भयो, कसले सरकारी अधिकारीहरूको चापलुसी गर्यो, कसले कुन गिरोहसँग मिलेमतो गर्यो, कसले कुनै काम गराउन कति उपहार दियो र कति पैसा खर्च गर्यो भन्नेबारे छलफल गर्छन्—यी सबै यिनै कुराहरू हुन्। मलाई भन, के यो घिनलाग्दो छैन र? यदि तिनीहरू सधैँ मण्डलीमा यी कुराहरूबारे कुरा गरिरहन्छन् भने, के मण्डली जीवन र मण्डलीको काम तिनीहरूद्वारा बिथोलिने र बर्बाद हुने हुँदैन र? मलाई भन, के यस्ता मानिसहरूलाई अगुवाका रूपमा छान्न सकिन्छ? (सकिँदैन।) तिनीहरू अवसरवादीहरू हुन्। जब तिमीहरूले मण्डलीमा यस्ता मानिसहरूलाई पत्ता लगाउँछौ, तब तिमीहरूले तिनीहरूलाई खुलासा गर्नुपर्छ र तिनीहरूलाई पखालेर खेदाउनुपर्छ—परमेश्वरको घरले यस्ता मानिसहरूलाई राख्दैन। परमेश्वरको घरमा अवसरवादीहरू केवल अल्याङटल्याङ गर्न र छलेर आशिष्हरू लिनका लागि मात्रै हुन्छन्। तिनीहरूले सत्यतालाई पटक्कै स्वीकार गर्दैनन् र कुनै पनि सकारात्मक कुराहरूलाई स्वीकार गर्दैनन्। यसबाहेक, यी मानिसहरूले कुनै इमानदारीविना आफ्नो कर्तव्य पूरा गर्छन्; तिनीहरू पटक्कै आफूलाई समर्पित गर्न चाहँदैनन् र केवल लाभहरू प्राप्त गर्न चाहन्छन्। यदि कुनै लाभ छैन भने, तिनीहरूले केही पनि गर्दैनन्। दाजुभाइ-दिदीबहिनीहरू आफ्नो कर्तव्य पूरा गर्न र लगनशीलताका साथ काम गर्नमा ध्यान केन्द्रित गरिरहेको बेला, तिनीहरूले आफ्नो कर्तव्यलाई पन्छाउँछन् र व्यक्तिगत मामलाहरूमा आफूलाई व्यस्त राख्छन्, यहाँसम्म कि खान, पिउन, र रमाइलो गर्नमा समेत लिप्त हुन्छन्। तिनीहरू प्रायजसो अनलाइन पनि जान्छन् र आफूलाई सबैभन्दा मन पर्ने वा चाहिने कुराहरू, जस्तै फेसन, सौन्दर्य र केशविन्यास, र उच्च-स्तरीय स्वास्थ्य उत्पादनहरू खोज्दै धेरै समय बिताउँछन्। तिनीहरूले जहाँ गए पनि, अहङ्कार गर्दै हिँड्छन् र अरूलाई छल्छन्; तिनीहरू आफ्नो किसिमका मानिसहरूलाई खोज्छन्, र जब तिनीहरूले आफूजस्तै कसैलाई भेट्टाउँछन्, तब तिनीहरू तुरुन्तै उनीहरूसँग घुलमिल हुन्छन्। तिनीहरू साँचो दाजुभाइ-दिदीबहिनीहरूसँग मिल्न सक्दैनन्, र मण्डलीमा तिनीहरू अनुपयुक्त र गैर-मानव हुन्छन्। जब तिमीहरूले यस्ता मानिसहरूलाई देख्छौ, तब तिमीहरू तिनीहरूबाट टाढा बस्नैपर्छ। यसबाहेक, यदि धेरैजसो मानिसहरू वा तिमीहरूका अगुवाहरूसँग कुनै खुट्ट्याउने क्षमता छैन र उनीहरूले अझै पनि तिनीहरूलाई साँचो रूपमा विश्वास गर्ने दाजुभाइ-दिदीबहिनीहरू मान्छन् भने, तिमीहरूले अगाडि बढेर तिनीहरूलाई खुलासा गर्नैपर्छ र तिनीहरूलाई पखालेर फाल्नैपर्छ। अब बुझ्यौ? यस्ता मानिसहरूलाई किन पखालेर फाल्नैपर्छ? (किनभने यस्ता मानिसहरूले मण्डलीमा सजिलै बाधा उत्पन्न गर्छन्, नकारात्मक वातावरण ल्याउँछन्, र अरूलाई आफ्नो कर्तव्य पूरा गर्न र सत्यता पछ्याउनमा प्रभाव पार्न सक्छन्।) ठ्याक्कै त्यही हो, तिनीहरूले मण्डलीको वातावरणलाई बिगार्छन्। तिनीहरू आफै पनि सत्यता पछ्याउँदैनन् र अरूलाई पनि प्रभाव पार्छन्, र तिनीहरूलाई पछि तान्छन्। एक डलर बराबरको काम गर्नका लागि, तिनीहरूले दश डलर ज्याला माग्छन्। यस्ता मानिसहरूलाई प्रयोग गर्नु त कुकुर पाल्नु जति पनि सार्थक हुँदैन। कम्तीमा एउटा कुकुरले घरको रखवाली गर्न र आफ्नो मालिकप्रति बफादार हुन सक्छ! यसले पर्दा पछाडि गोप्य चालहरू चाल्दैन, र यसले पछि तँलाई समस्या निम्त्याउँछ कि भनेर तैँले चिन्ता लिनु पर्दैन। यदि मण्डलीले गरिबलाई घृणा गर्ने र धनीको पक्ष लिने मानिसहरूलाई अनुमति दियो भने परिणामहरू के हुनेछन्? के तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई मद्दत गर्न सक्छन्? के तिनीहरू अरूका लागि लाभदायक हुन सक्छन्? (सक्दैनन्।) जब तिनीहरूलाई प्रकाश गरिन्छ र अरूले छर्लङ्ग देख्छन्, तब तिनीहरूलाई पखालेर फाल्नुपर्छ। यदि तिनीहरूलाई रहन दिइयो भने, तिनीहरूले केवल अवरोध गने र बाधा दिने मात्रै गर्नेछन्, समस्या मात्रै सिर्जना गर्नेछन्, र मण्डलीमा विनाश मात्रै ल्याउनेछन्। यदि तैँले तिनीहरूले ठूलो विपत्ति निम्त्याउञ्जेल पर्खिस्, र त्यसपछि बस फोहोर सफा गरिस् भने, त्यो धेरै समस्याजनक हुनेछ। हामी समस्या चाहँदैनौँ; हामी बरु आफूलाई चिन्ताबाट बचाउन चाहन्छौँ। मानिसहरूले गर्नुपर्ने धेरै काम र कर्तव्यहरू हुन्छन्—यी समस्याहरूलाई ननिम्त्याऊ।
अर्को प्रकारको व्यक्ति पनि हुन्छ: शक्तिमा हुनेहरूको चापलुसी गर्न मन पराउनेहरू। शक्तिमा हुनेहरूको चापलुसी गर्ने मानिसहरू असल हुन् कि खराब? (खराब हुन्।) कुन-कुन हिसाबमा तिनीहरू खराब हुन्? यस्तो व्यक्ति अत्यन्तै दम्भी हुन्छ। जब तिनीहरूले हैसियत भएको कसैलाई देख्छन्, तब तिनीहरू निरन्तर उसको चापलुसी गर्न हर प्रयास गर्छन्; तिनीहरू आफै अग्रसर भएर तिनीहरूसँग बोल्छन् र आफ्नो मनको कुरा खोल्छन्, तिनीहरूलाई खाना पस्किदिन्छन्, तिनीहरूका लुगा धोइदिन्छन्, र तिनीहरूका लागि सफा गरिदिन्छन्। तिनीहरूले गर्न नचाहने कुनै कुरा नै हुँदैन। यदि तँसँग कुनै हैसियत छैन भने, तिनीहरूले तँलाई नदेखेको जस्तो गर्छन्, र यदि तैँले आफै अग्रसर भएर तिनीहरूकहाँ जाने कोसिस गरिस् भने, जब तिनीहरूले तँलाई देख्छन्, तब तिनीहरूको अनुहार तुरुन्तै बिग्रिन्छ। के त्यस्ता मानिसहरू असल हुन्? यस्तो समस्या कस्तो पक्षअन्तर्गत पर्छ? (यस्तो व्यक्ति नीच चरित्रको र खराब मानवता भएको हुन्छ।) तिनीहरूको मानवता खराब हुन्छ र तिनीहरूको चरित्र नीच हुन्छ। तिनीहरूको मानवता कुन हदसम्म खराब हुन्छ? (तिनीहरूसँग निष्ठा वा इज्जत हुँदैन।) के सक्रिय रूपमा शक्तिमा हुनेहरूको चापलुसी गर्ने मानिसहरू असल मानिसहरू हुन्? (होइनन्।) त्यसोभए तिनीहरू कस्ता मानिसहरू हुन्? शक्तिमा हुनेहरूको चापलुसी गर्न मन पराउने मानिसहरूको चरित्र कस्तो हुन्छ? एउटै व्यक्तिसँग व्यवहार गर्दा तिनीहरूका दुईवटा फरक-फरक अनुहार हुन्छन्। अरूले तिनीहरूलाई छर्लङ्गै देख्लान् भन्ने कुरादेखि तिनीहरू डराउँदैनन् र तिनीहरूले आफ्ना यी पक्षहरूलाई स्वतन्त्र रूपमा प्रकट हुन समेत दिन्छन्। के यी मानिसहरूसँग निष्ठा वा लाजको कुनै बोध हुन्छ? (हुँदैन।) के निष्ठा वा लाजको कुनै बोध नभएका यी मानिसहरूलाई दुष्ट मानिसहरूका रूपमा वर्गीकरण गर्न सकिन्छ? (सकिन्छ।) तिनीहरूलाई किन दुष्ट मानिसहरूका रूपमा वर्गीकरण गर्न सकिन्छ? तिनीहरूले अरूलाई व्यवहार गर्ने तरिकामा दुईवटा फरक-फरक अनुहार हुन्छन्। हामी यी दुई फरक-फरक अनुहारको जडको विश्लेषण गरौँ। यी मानिसहरूले विशेष गरी हैसियत मन पराउँछन्, र तिनीहरूले पद र शक्ति भएका मानिसहरूलाई मन पराउँछन्। जब तिनीहरूले हैसियत भएका मानिसहरूलाई देख्छन्, तब तिनीहरू मुस्कुराउँछन्, पूर्ण रूपमा आज्ञाकारी हुन्छन्; तिनीहरू विना कुनै सङ्कोच तिनीहरूको चापलुसी र चाकरी गर्छन्, र निर्लज्ज भएर तिनीहरूलाई फुर्क्याउँछन्। तिनीहरूको लक्ष्य ती मानिसहरूसँग नजिकिनु भए पनि, वा तिनीहरूमा मूल्यवान् ठानिने र बढुवा पाउने गुप्त मनसाय भए पनि, अरूप्रतिको तिनीहरूको मनोवृत्ति समस्याग्रस्त हुन्छ र त्यसले सत्यता सिद्धान्तहरूलाई उल्लङ्घन गर्छ। त्यसोभए, हैसियत भएका मानिसहरूप्रति तिनीहरूको यस्तो मनोवृत्ति किन हुन्छ? (तिनीहरूका आफ्नै हितका खातिर।) यसले तिनीहरूले विशेष गरी हैसियत मन पराउँछन् भन्ने प्रमाणित गर्छ। तिनीहरू आफैमा क्षमताको कमी हुन्छ, वा तिनीहरूसँग हैसियत प्राप्त गर्ने योग्यता, अनुकूल अवस्था, वा अवसरहरू हुँदैनन्। तर, हैसियत भएकाहरूको चापलुसी गरेर अनि तिनीहरूको नजिक भएर, तिनीहरूले हैसियत पाउने आफ्नो चाहनालाई पूरा गर्न सक्छन्। त्यसकारण, तिनीहरूले विना कुनै सङ्कोच वा लाज अरूको चापलुसी गर्न र अरूलाई फुर्क्याउन सक्छन्। तिनीहरूको चरित्र निकै नीच हुन्छ। हैसियत भएको व्यक्ति कस्तो किसिमको व्यक्ति हो भन्ने कुराबारे तिनीहरूले वास्ता गर्दैनन्, न त तिनीहरूले यो व्यक्तिको मानवता असल छ कि खराब छ, वा यो व्यक्ति दुष्ट छ कि छैन भनेर नै खुट्ट्याउँछन्। यो व्यक्तिसँग हैसियत वा पैसा छ भने, ऊ दुष्ट व्यक्ति भए पनि, तिनीहरूले उसको चापलुसी गर्नेछन्। के तिनीहरू पूर्ण रूपमा सिद्धान्तविहीन हुँदैनन् र? (हुन्छन्।) तिनीहरूका लागि, हैसियत भएका मानिसहरूले जे भने पनि त्यो सही र असल हुन्छ, र तिनीहरूले जुनसुकै तरिकाले बोले पनि त्यो स्वीकार्य हुन्छ। कसैसँग हैसियत छ भने, तिनीहरूले त्यो व्यक्तिसँग राम्रो व्यवहार गर्छन्। तिनीहरूमा पूर्ण रूपमा सिद्धान्तको कमी हुन्छ र तिनीहरूले त्यो व्यक्तिसँग अस्वाभाविक रूपमा राम्रो व्यवहार गर्छन्। तिनीहरूसँग साँच्चै नै निष्ठा वा लाजको कुनै बोध हुँदैन। अरूले तिनीहरूलाई कसरी हेर्छन् वा मूल्याङ्कन गर्छन् भन्ने कुराको तिनीहरूले वास्ता गर्दैनन्। अरूले तिनीहरूका बारेमा के सोच्छन् भन्ने कुराबारे तिनीहरूलाई कुनै मतलब हुँदैन। तिनीहरूले मनमनै सोच्छन्, “मलाई हैसियत भएका मानिसहरू मन पर्छ। म तिनीहरूसँग राम्रो व्यवहार गर्न चाहन्छु। हैसियत हुनुमा के नै खराबी छ र? हैसियत नभएका तिमीहरू मेरो दयाको लायक छैनौ!” यस्ता मानिसहरूसँग कुनै सिद्धान्त वा इज्जत हुँदैन। अरूले तिनीहरूलाई कसरी हेर्छन् भन्ने कुराको तिनीहरूलाई वास्ता हुँदैन, न त तिनीहरू परमेश्वरले तिनीहरूलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ भन्ने कुराको नै वास्ता गर्छन्। यी नीच चरित्रका मानिसहरू हुन्। यसरी कार्य गर्दा, तिनीहरूको विवेकले केही महसुस गर्दैन, र तिनीहरूको समझसँग मूल्याङ्कन गर्ने कुनै मानक हुँदैन। तिनीहरूसँग कुनै न्यूनतम मानक हुँदैन, र तिनीहरूसँग आफूलाई आचरणमा ढाल्ने तरिकामा कुनै दृढता हुँदैन। हैसियत भएको कसैलाई भेट्दा, तिनीहरू तुरुन्तै खुम्चिन्छन् र घुँडा टेक्छन् र दासजस्तै बन्छन्, र आफ्नो समर्पित अधीनस्थको स्थान ग्रहण गर्छन्। जोसँग हैसियत हुन्छ, उही नै तिनीहरूको मालिक बन्छ। के त्यस्ता मानिसहरूसँग निष्ठा वा इज्जत हुन्छ? (हुँदैन।) तिनीहरू हैसियत भएका मानिसहरूप्रति सबैभन्दा घिनलाग्दो चापलुसीमा संलग्न हुन समेत सक्षम हुन्छन्, र तिनीहरूले जतिसुकै मानिसहरूको अगाडि पनि त्यसो गर्ने आँट गर्छन्। तिनीहरू अरूको दृष्टिकोण वा अरूले तिनीहरूलाई कसरी हेर्छन् भन्ने कुराको वास्ता गर्दैनन्, र तिनीहरूको लक्ष्य आफ्नै चाहनाहरूलाई पूरा गर्नु मात्रै हुन्छ। हैसियत भएका मानिसहरूप्रति तिनीहरू यसरी नै व्यवहार गर्छन्। तर जब हैसियत भएको व्यक्तिले त्यो गुमाउँछ, तब के हुन्छ? तब तिनीहरूले आफ्नो अनुहार फेर्छन्। तिनीहरूले त्यस व्यक्तिलाई कस्तो व्यवहार गर्छन् त? (तिनीहरूले तुरुन्तै उसलाई बेवास्ता गर्न थाल्छन्।) तिनीहरूको अनुहार तुरुन्तै अँध्यारो हुन्छ, र तिनीहरूको मनोवृत्ति पूर्ण रूपमा फरक बन्छ: “तैँले आफ्नो हैसियत गुमाइस्, र तँ अझै पनि मैले तँसँग राम्रो व्यवहार गरेको चाहन्छस्? सपनामा पनि नसोच्!” यदि हैसियत गुमाएको व्यक्तिले तिनीहरूलाई एक गिलास पानी खन्याइदिन भन्यो भने, तिनीहरूले उसलाई वास्ता गर्दैनन्। यदि उसले तिनीहरूलाई सहयोग गर्न भन्यो भने, तिनीहरूले उसलाई वास्ता गर्दैनन्। यदि उसले तिनीहरूसँग मनको कुरा गर्न चाह्यो भने, तिनीहरूले भन्छन्, “के तँ योग्य छस्? के तँसँग मसँग बोल्ने योग्यता छ? तँ आफूलाई को हुँ भन्ठान्छस्?” तिनीहरूको स्वभाव कति क्रूर हुन्छ! के हैसियत नहुनु अपराध हो? के कुनै व्यक्तिलाई उसको आधिकारिक पदबाट हटाइएपछि ऊ परिवर्तन हुन्छ र? के ऊ उही व्यक्ति रहँदैन र? किन ऊ अब त्यस्ता मानिसहरूसँग बोल्न अयोग्य हुन्छ? किन त्यस्ता मानिसहरूले उसलाई सहयोग गर्न सक्दैनन्? यदि कुनै जनावरलाई कठिनाइ परेर मानिसको सहयोग चाहियो भने पनि, विवेकको भावना, मानिसहरूले अझै पनि त्यसलाई सहयोग गर्नुपर्छ, नम्र रूपमा त्यसको हेरचाह गर्नुपर्छ, र त्यसको स्याहार गर्नुपर्छ—त्यसोभए मानिसका लागि त झन् कति धेरै गर्नुपर्छ? तैपनि तिनीहरूमा मानवीय दयाको यो सानो अंश पनि हुँदैन। यी प्रकटीकरणहरू बाहेक, कतिपय मानिसहरू अझै अघि बढ्छन्। तिनीहरूले मनमनै सोच्छन्, “पहिले, म तँलाई राम्रो व्यवहार गर्थेँ किनभने तँसँग हैसियत थियो। अब तैँले आफ्नो हैसियत गुमाएपछि, तँ अझै पनि म तँलाई आदर गरूँ र तँलाई आफ्नो इज्जत जोगाउन दिऊँ, कुराकानीको क्रममा तँलाई अप्ठ्यारो स्थितिमा पार्नबाट जोगिऊँओस्, र पहिलेको जस्तै तेरा आदेशहरू पालन गरूँ भन्ने अपेक्षा गर्छस्? त्यो त हुनै सक्दैन! मैले तँलाई नकुल्चेकोमा चाहिँ तँ कृतज्ञ हुनुपर्छ!” आखिर तिनीहरू कस्ता जन्तुहरू हुन्? जब कुनै व्यक्ति कठिनाइमा हुन्छ, तिनीहरूले उसलाई वास्ता नगर्ने मात्र होइन, तिनीहरूले उसको पिठ्युँ पछाडि उसलाई कुल्चन्छन्, र उसलाई धम्काउने र दमन गर्ने अवसरहरू खोज्छन्। तिनीहरू कस्ता मानिसहरू हुन्? (तिनीहरू दुष्ट मानिसहरू हुन्।) दुष्ट मानिसहरूका रूपमा तिनीहरूको साँचो अनुहार यसरी नै देखा पर्छ, होइन र? हैसियत भएका मानिसहरूप्रति, तिनीहरूले समर्पित अधीनस्थहरूले जस्तै व्यवहार गर्छन्, अत्यन्तै उचित व्यवहार गर्छन्, र तिनीहरूलाई मुस्कुराएर अभिवादन गर्छन्। तिनीहरू अरूको चापलुसी गर्दै सहमति जनाउनमा सिपालु हुन्छन्। यदि कुनै अधिकारीले चन्द्रमामा आलु फलाउन सकिन्छ भन्यो भने, तिनीहरूले हो मा हो मिलाउँदै भन्नेछन्, “चन्द्रमामा फलेको आलु त साँच्चै नै स्वादिष्ट हुन्छ!” तर जब त्यो अधिकारीले आफ्नो हैसियत गुमाउँछ, तब तिनीहरूको मनोवृत्ति पूर्ण रूपमा परिवर्तन हुन्छ। अब त्यो पूर्व अधिकारीले जे भने पनि, त्यो सही नै भए पनि, तिनीहरूले सुन्नेछैनन्। यदि यो पूर्व अधिकारीसँग साँचो बुझाइ भए पनि, तिनीहरूले त्यसलाई वास्ता गर्दैनन् र स्वीकार गर्न मान्दैनन्, र तिनीहरूले उसलाई अप्रिय ठान्छन्। तिनीहरूले हृदयमा सोच्छन्, “तँसँग हैसियत छैन, त्यसैले तैँले भनेको कुनै पनि कुराको कुनै वजन हुँदैन। तैँले भनेको कुरा सही भए पनि, त्यसको के काम? तँसँग सत्यता वास्तविकता भए पनि, म तँलाई मन पराउँदिनँ। मलाई हैसियत नभएका मानिसहरूलाई कुल्चन मन पर्छ—यदि मैले तिनीहरूलाई कुल्चिनँ भने, त्यो अवसर खेर जान्छ!” तिनीहरू कस्ता जन्तुहरू हुन्? यदि तँसँग हैसियत छैन भने, तिनीहरूले तँलाई अप्रिय ठान्छन्। तैँले तिनीहरूसँग जतिसुकै राम्रो व्यवहार गरे पनि, त्यो व्यर्थ हुन्छ। तैँले तिनीहरूलाई आफूसँग समान स्तरमा राखेर सिद्धान्तअनुसार व्यवहार गरे पनि, त्यसले तँप्रतिको तिनीहरूको मनोवृत्तिलाई परिवर्तन गर्न सक्दैन। के त्यस्ता मानिसहरूसँग मानवता हुन्छ? (हुँदैन।) तिनीहरूको मानवताको कमीको प्रकटीकरण के हो? के यो क्रूरता होइन र? (हो।) शक्तिमा हुनेहरूको चापलुसी गर्न मन पराउने मानिसहरूको स्वभाव अत्यन्तै क्रूर हुन्छ, र मलाई त्यस्ता मानिसहरू निकै घिनलाग्दो लाग्छ। त्यस्ता मानिसहरूको नजरमा, जब तँसँग हैसियत हुन्छ, तब तेरा त्रुटि र अवगुणहरू सबैलाई गुण र सबल पक्षको रूपमा हेरिन्छ। तर जब तँसँग हैसियत हुँदैन, तब तेरा सबल पक्ष र गुणहरू सबैलाई त्रुटि र कमीकमजोरीका रूपमा हेरिन्छ। तैँले भनेको कुनै पनि कुराको कुनै वजन हुँदैन, र तिनीहरूले तँबारे सबै कुरालाई अप्रिय ठान्छन्। तिनीहरू सधैँ तँलाई हेप्न, कुल्चन, र दमन गर्न चाहन्छन्। तिनीहरूको स्वभाव क्रूर हुन्छ, होइन र? (हो।) तिनीहरूले हैसियत नभएकाहरूलाई आफूले चाहे जसरी हेप्छन्। तिनीहरूलाई नम्र मानिसहरूलाई नधम्काउनु पाप हो जस्तो लाग्छ। तैँले तिनीहरूलाई नउक्साए पनि, तिनीहरूले सक्रिय रूपमा गल्ती खोज्नेछन्, तँलाई हेप्नेछन्, र तँलाई कुल्चनेछन्, र तँलाई अत्यन्तै घृणाले हेर्नेछन्। मानौँ हैसियत नहुनु पाप हो, जसले तँलाई जिउन वा तिनीहरूको उपस्थितिमा रहन अयोग्य बनाउँछ; मानौँ यदि तँसँग हैसियत छैन भने तैँले आफैमाथि समस्या ल्याएको छस् र तँ दुर्भाग्यको लायक छस्। तिनीहरू कस्ता जन्तुहरू हुन्? के त्यस्ता मानिसहरूलाई मण्डलीमा रहन दिनु हुन्छ? (हुँदैन।) के विशेष गरी शक्तिमा हुनेहरूको चापलुसी गर्न मन पराउने मानिसहरूलाई अगुवाका रूपमा छनोट गर्न सकिन्छ? (सकिँदैन।) किन सकिँदैन? तिनीहरूले हैसियत भएका मानिसहरूप्रति यसरी नै व्यवहार गर्छन्—यदि तिनीहरू आफैले हैसियत प्राप्त गरे भने, के तिनीहरू आफूलाई सर्वोच्च बनाउँदै अधिनायकवादी बन्नेथिएनन् र? त्यो विनाशकारी हुनेथियो! तिनीहरूले परमेश्वरको घरको कामका प्रबन्ध, मण्डलीको प्रशासनिक आदेश, र दाजुभाइ-दिदीबहिनीहरूको सुझावलाई बेवास्ता गर्नेथिए, र हैसियत नभएकाहरूले जे भने वा गरे पनि तिनीहरूलाई दमन समेत गर्नेथिए। मण्डली तिनीहरूद्वारा बर्बाद पारिनेथियो। यस्ता मानिसहरूसँग शक्तिको अत्यन्तै बलियो चाहना हुन्छ, र तिनीहरूले आफूले चाहेको कुरा पाएपछि, परिणामहरू अकल्पनीय हुन्छन्। शक्तिमा हुनेहरूको चापलुसी गर्ने मानिसहरू विशेष गरी क्रूर र असाध्यै नीच चरित्रका हुन्छन्। तिनीहरूको भ्रष्ट स्वभावका मुख्य विशेषताहरू के-के हुन्? (क्रूरता।) दुष्टता, क्रूरता, र सत्यताप्रतिको वितृष्णा। विशेष गरी दुष्ट कुरा के हो भने, तिनीहरूले एउटै व्यक्तिसँग व्यवहार गर्न पूर्ण रूपमा दुई फरक-फरक अनुहार प्रयोग गर्छन्, र तिनीहरू अत्यन्तै छिटो परिवर्तन हुन्छन्। के यो दुष्टता होइन र? (हो।) हैसियत नभएका मानिसहरूले तिनीहरूलाई नउक्साए पनि, तिनीहरूले आफै अग्रसर भएर उनीहरूलाई आक्रमण गर्नेछन्, हेप्नेछन्, र कुल्चनेछन्। के यो क्रूरता होइन र? (हो।) अर्को व्यक्तिसँग हैसियत भए पनि वा नभए पनि, तिनीहरूले सिद्धान्तअनुसार कार्य गर्न वा ऊसँग निष्पक्ष रूपमा व्यवहार गर्न सक्दैनन्। जब तैँले तिनीहरूलाई, “परमेश्वरको घरमा, सत्यताको शासन हुन्छ, र मानिसहरूलाई निष्पक्ष रूपमा व्यवहार गरिन्छ” भनेर भन्छस्, तब के तिनीहरूले यो स्वीकार गर्छन्? (गर्दैनन्।) तिनीहरूले एक कानले सुनेर अर्को कानले उडाइदिन्छन्, र तिनीहरूले यस्तो सोच्छन्, “केको निष्पक्षता? मानिसहरू त उच्च वा नीच, कुलीन वा तुच्छ मात्रै हुन्छन्। हैसियत भएकाहरू कुलीन हुन्; हैसियत नभएकाहरू रद्दी हुन्!” मानिसहरूलाई हेर्ने र व्यवहार गर्ने तिनीहरूको तर्क र सिद्धान्त यही हो। तिनीहरूले सत्यता सिद्धान्तहरूलाई स्वीकार गर्दैनन् र अझै पनि आफ्नो विकृत तर्क बोल्छन्। के तिनीहरू सत्यताप्रति वितृष्ण हुँदैनन् र? (हुन्छन्।) तिनीहरूले हैसियत र शक्तिलाई संसारसँग व्यवहार गर्ने आफ्नै तर्क र सिद्धान्तहरू, र संसारसँग व्यवहार गर्ने आफ्नै दृष्टिकोणहरू प्रयोग गरेर हेर्छन्, र मानिसहरूलाई कसरी व्यवहार गर्ने भन्ने बारेमा परमेश्वरको घरका माग र सिद्धान्तहरूको सट्टामा यी मामलाहरूलाई सम्हाल्न संसारसँग व्यवहार गर्ने आफ्नै सिद्धान्त र विधिहरू प्रयोग गर्छन्। के यो सत्यतालाई स्वीकार नगर्नु, खुलेआम सत्यताको विरोध गर्नु होइन र? तिनीहरूले हृदयमा सोच्छन्, “यदि तँसँग हैसियत छ भने, मेरो हृदयमा तँ नै मालिक होस्।” परमेश्वर र सत्यताका लागि तिनीहरूको हृदयमा कुनै स्थान हुँदैन। यो कस्तो स्वभाव हो? यति दबदबापूर्ण र यति मूर्खतापूर्वक हठी हुनु—के यो सत्यतालाई स्वीकार नगर्नु होइन र? के यो सत्यताप्रति वितृष्णा राख्नु होइन र? (हो।) यो ठ्याक्कै त्यस्तै स्वभाव हो। तिनीहरूको मानवताको हिसाबले मात्रै हेर्दा, त्यस्ता मानिसहरू नीच चरित्रका, पूर्ण रूपमा घिनलाग्दा, र सङ्गत गर्न लायक नभएका हुन्छन्। तर तिनीहरूको स्वभावको हिसाबले हेर्दा, यो तिनीहरू सङ्गत गर्न लायक छन् कि छैनन् भन्ने कुरा मात्रै होइन। यी मानिसहरूसँग क्रूर, दुष्ट स्वभावहरू हुन्छन्, र तिनीहरू मुक्तिको लागि लक्षित हुँदैनन्। तिनीहरू सबैलाई दण्ड दिइनेछ र तिनीहरू मर्नेछन्; तिनीहरूका कार्यहरू मृत्युदण्ड पाउने अपराध बराबर हुन्छन्। यी मानिसहरूले अन्धाधुन्ध शक्तिमा हुनेहरूको चापलुसी गर्छन् र चाटुकार कुकुरको जस्तो दासतापूर्ण व्यवहार देखाउँछन्, जुन घिनलाग्दो कुरा हो। मण्डली अगुवाहरूको पदमा, त्यस्ता मानिसहरू खतरा हुन्। यदि तिमीहरूले त्यस्ता मानिसहरूलाई मण्डली अगुवाका रूपमा छान्यौ भने, तिमीहरू विनाशमा पर्नेछौ। केही जिल्ला अगुवाहरू मूर्ख हुने हुनाले र तिनीहरूले मानिसहरूलाई छर्लङ्ग देख्न नसक्ने हुनाले, यस प्रकारको व्यक्तिलाई मण्डली अगुवाको उम्मेदवारका रूपमा समेत मनोनयन गर्छन्, जसको परिणामस्वरूप मण्डलीका दाजुभाइ-दिदीबहिनीहरू धोकामा पर्छन्। यस प्रकारका मानिसहरू, जो अरूको खुसामद गर्न, र शक्तिमा हुनेहरूको चापलुसी गर्न सिपालु हुन्छन्, र जो बाहिरी रूपमा धेरै जोसिला देखिन्छन् र अगुवाहरूको हरेक वचन पालन गर्छन्, तिनीहरू सजिलै उम्मेदवारका रूपमा छानिन्छन्। किनभने केही अगुवा र कामदारहरूलाई आफ्नो खुसामद गर्ने, र चाकरी गर्नेहरू मन पर्छ, र यस प्रकारको पाखण्डी व्यक्ति अगुवा बनेपछि उसले मण्डलीमा कस्ता परिणामहरू ल्याउनेछ भन्ने कुरा तिनीहरूले छर्लङ्ग देख्न सक्दैनन्। प्रायजसो, त्यस्ता मानिसहरू छानिएपछि र तिनीहरूले हैसियत पाएपछि, तिनीहरूको दुर्भावपूर्ण पक्ष तुरुन्तै बाहिर आउँछ र तिनीहरूले मण्डलीमा बाधा दिन थाल्छन्। तिनीहरूलाई छान्ने अगुवाहरूले आफूले छानेका मानिसहरू दुष्ट मानिसहरू हुन् भन्ने देख्दा पछुताउँछन्, तर तिनीहरूले आफ्नो कार्यले मण्डलीमा ल्याएका परिणामहरूलाई सुधार्न सक्दैनन्। यो पूर्ण रूपमा अगुवा र कामदारहरूमा भ्रष्ट स्वभाव हुनु र सिद्धान्तविना कार्य गर्नुको परिणाम हो। हैसियत र शक्तिलाई श्रद्धा गर्नेहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू होइनन्। तिनीहरूले हैसियत हुने जोकोहीको चापलुसी गर्छन्, र जब तिनीहरूले अगुवा र कामदारहरूलाई देख्छन्, तब तिनीहरूले चापलुसीपूर्ण मुस्कान दिन्छन्। केही अगुवाहरूले यो परीक्षालाई सहन सक्दैनन्; तिनीहरू मानिसहरूले चापलुसीपूर्ण मुस्कान दिएको देख्दा अत्यन्तै खुसी हुन्छन् र तिनीहरूले आफ्नै क्षमताको देखावा गर्न तिनीहरूलाई बढुवा गर्न चाहन्छन्। वास्तवमा, जब ती मानिसहरूले तिनीहरूको चापलुसी गर्छन् र तिनीहरूलाई चापलुसीपूर्ण मुस्कान दिन्छन्, तब तिनीहरूसँग दुर्भावपूर्ण मनसाय हुन्छ, तर यी अगुवाहरूले ती मानिसहरू साँच्चै नै असल छन् भन्ने सोच्छन्। ती मानिसहरू अगुवा बनेपछि, तिनीहरू कसैको अधीनमा बस्दैनन्, र तिनीहरूले आफूलाई बढुवा गर्ने अगुवाहरूलाई नै बेवास्ता गर्छन्। तब मात्रै ती अगुवाहरूले यी मानिसहरू असल होइनन्, र तिनीहरूले गलत मानिसहरूलाई बढुवा गरेछन् भन्ने महसुस गर्छन्। यस्तो अवस्थामा, के गर्नुपर्छ? के यो अवस्थालाई सुधार्नु पर्दैन र? (पर्छ।) यसलाई कसरी सुधार्नुपर्छ? (तिनीहरूलाई तुरुन्तै खुलासा गरिनुपर्छ र त्यसपछि बर्खास्त गरिनुपर्छ।) यी मानिसहरूले वास्तविक काम गर्न सक्दैनन्; तिनीहरू केवल अन्योलमा परेका मानिसहरू हुन् जसलाई शक्तिमा हुनेहरूको चापलुसी गर्न र चाकरी गर्न मात्रै आउँछ। अगुवाहरूले तिनीहरूलाई तुरुन्तै बर्खास्त गर्नुपर्छ, र त्यस समयमा तिनीहरू आँखा र हृदय दुवैमा अन्धा भएकोमा र तिनीहरूले मानिसहरूलाई खुट्ट्याउन नसकेकोमा, र गलत मानिसहरू छानेकोमा पछुताउनुपर्छ। अब, तुरुन्तै परिस्थिति सुधार्न अझै समय हुन्छ। के तिमीहरू अब शक्तिमा हुनेहरूको चापलुसी गर्ने त्यस्ता मानिसहरूलाई छर्लङ्ग देख्न सक्छौ? (सक्छौँ।) त्यस्ता मानिसहरू असल हुँदैनन्।
अब, हामी जन्मजात अवस्थाहरू समावेश भएका प्रकटीकरणहरूका बारेमा कुरा गरौँ। असाधारण स्मरणशक्ति हुनु—यो प्रकटीकरण कुन पक्षअन्तर्गत पर्छ? (जन्मजात अवस्थाहरू।) निकै राम्रो स्मरणशक्ति हुनु, कुराहरूलाई सही रूपमा याद गर्नु, लेखहरू, परमेश्वरका वचनहरूका खण्डहरू, भजनहरू, वा कामको प्रबन्धलाई निकै स्पष्ट र सही रूपमा याद गर्नु—यो कुन पक्षअन्तर्गत पर्नुपर्छ? (राम्रो क्षमता—एक जन्मजात अवस्था।) यो एक जन्मजात अवस्था हो। यो जन्मजात अवस्थाहरूको कुन विशिष्ट पक्षमा पर्छ भन्ने कुराको हकमा भन्दा, मलाई लाग्छ यो क्षमताअन्तर्गत पर्नु हुँदैन। यदि यो केवल राम्रो स्मरणशक्ति हुनु, कुराहरू याद गर्न सक्नु, धेरै कुरा याद गर्नु, सही रूपमा याद गर्नु, र कुराहरूलाई दृढतापूर्वक याद गर्नु मात्रै हो भने, यो बढीमा जन्मजात सामर्थ्य, प्रतिभा, र सक्षमताहरूको श्रेणीमा पर्छ। कसैको क्षमता राम्रो छ कि छैन भन्ने कुराको हकमा भन्दा, त्यो तिनीहरूको बुझ्ने क्षमता कस्तो छ भन्ने कुरामा निर्भर हुन्छ। यदि कसैको स्मरणशक्ति असाधारण रूपमा राम्रो छ, उसले गीतको एक खण्ड, ज्ञान र धर्मसिद्धान्तको एक अंश, वा कुनै व्यावसायिक सीपलाई निकै राम्रोसँग, निकै छिटो, र निकै दृढतापूर्वक याद गर्न सक्छ, तर उसले याद गर्ने कुराहरू केवल केही निर्देशात्मक र अटल कुराहरू हुन्, जसमा सत्यता सिद्धान्तहरू समावेश हुँदैनन् र जसलाई वास्तविक जीवन वा काममा लागू गर्न वा कार्यान्वयन गर्न सकिँदैन—यदि ऊसँग राम्रो स्मरणशक्ति मात्रै छ भने—यो उसको जन्मजात अवस्थाहरूभित्रको सामर्थ्य र सक्षमता मात्रै हो, यो कुरा उसको क्षमता समावेश हुने स्तरमा पुग्दैन। हामीले पहिले छलफल गरे अनुसार, क्षमता भनेको के हो? (कामकुराहरू गर्दाको दक्षता र प्रभावकारिता।) यदि तँसँग राम्रो स्मरणशक्ति र राम्रो क्षमता पनि छ भने, तँसँग कस्ता प्रकटीकरण र विशेषताहरू हुनुपर्छ? ती के हुन् भने, तैँले सुन्ने कुराहरूका हकमा, सही रूपमा याद गर्न सक्ने आधारमा, तैँले मुख्य बुँदाहरूलाई पनि बोध गर्न सक्छस्, सिद्धान्तहरू पत्ता लगाउन सक्छस्, अभ्यासको मार्ग र कार्यान्वयनको योजना पत्ता लगाउन सक्छस्, त्यसपछि वास्तविक जीवन र काममा यी कुराहरूलाई वास्तवमा नै लागू गर्न सक्छस्, र कुशलतापूर्वक र प्रभावकारी रूपमा कामहरू गर्न सक्छस्। यसको अर्थ तैँले याद गरेका परमेश्वरका वचनहरू र सत्यता सिद्धान्तहरू सैद्धान्तिक स्तरमा नरही तेरा कर्तव्य निर्वाहमा कार्यान्वयन हुन्छन् र तेरा सत्यता वास्तविकता बन्छन्, जसले मानिसहरूले देख्न सक्ने काममा परिणामहरू उत्पन्न गर्छन् र कामको दक्षतामा सुधार गर्छन्। यो राम्रो स्मरणशक्ति हुनु मात्र नभई राम्रो क्षमता हुनु पनि हो। राम्रो स्मरणशक्ति हुनु राम्रो क्षमता हुनु बराबर हो भन्नेचाहिँ होइन। बरु, बुझ्ने क्षमता हुनु, तँमाथि कुराहरू आइपर्दा सत्यताको खोजी गर्न र सत्यता अभ्यास गर्ने सिद्धान्तहरू पत्ता लगाउन सक्नु, र विचलनविना कामलाई कार्यान्वयन गर्नु र त्यो काम सही, छिटो, र प्रभावकारी रूपमा गर्नु—यसलाई मात्रै राम्रो क्षमता हुनु भनिन्छ। राम्रो क्षमता भनेको केही धर्मसिद्धान्तहरू बुझ्नु र त्यसपछि तीमध्ये धेरै कुरा फलाक्न सक्नु होइन। बरु, यो त केही सत्यता सिद्धान्तहरू बुझ्नु र बोध गर्नु, र त्यसपछि तेरो काम र कर्तव्यमा तिनलाई लचिलो रूपमा लागू गर्न सक्नु, तिनलाई तेरा वास्तविक जीवनको एक हिस्सा बनाउनु, र तिनलाई सिद्धान्तबाट वास्तविकतामा रूपान्तरण गर्नु हो, जसले सत्यता सिद्धान्तहरूलाई मानिसहरूमा प्रभाव पार्न र परिणामहरू हासिल गर्न दिन्छ, र मानिसहरूलाई लाभ र फाइदाहरू दिन्छ। क्षमता हुनु भनेको यही हो। यदि तँ शब्द र धर्मसिद्धान्तहरू बुझ्ने स्तरमा अड्किन्छस् र तैँले कामलाई कार्यान्वयन गर्न सक्दैनस्, र तैँले सिद्धान्त वा माध्यमहरू पत्ता लगाउन सक्दैनस्—अर्थात्, यदि सत्यता सिद्धान्तको यो पक्ष तेरा लागि सधैँ एक सिद्धान्त मात्रै रहन्छ, र तँसँग त्यसलाई वास्तविकतामा परिणत गर्ने कुनै उपाय, कुनै विधि, र कुनै मार्ग हुँदैन भने—यसलाई नै क्षमता नहुनु वा कमजोर क्षमता हुनु भनिन्छ। तेरो स्मरणशक्ति जतिसुकै राम्रो भए पनि, यदि यो साधारण मानिसहरूको भन्दा पनि बढी भएर लगभग एक असाधारण क्षमताको बिन्दुमा पुगे पनि, त्यसको अर्थ तँसँग राम्रो क्षमता छ भन्ने हुँदैन। राम्रो क्षमताले केलाई जनाउँछ? क्षमतालाई कसरी मापन गरिन्छ? (यो कुनै व्यक्तिले कामका सिद्धान्तहरू बुझ्न सक्छ कि सक्दैन र ती सिद्धान्तहरूलाई परिणामहरू हासिल गर्न ठीक तरिकाले कार्यान्वयन गर्न सक्छ कि सक्दैन भन्ने कुराद्वारा मूल्याङ्कन गरिन्छ।) यसलाई दक्षता र प्रभावकारिताद्वारा मूल्याङ्कन गरिन्छ, होइन र? (हो।) कतिपय मानिसहरूले कामका प्रबन्धहरू छिटो र सही रूपमा याद गर्न सक्छन्, र तिनीहरूले तिनलाई सैद्धान्तिक रूपमा पनि बुझ्न सक्छन्। तर, कार्यान्वयनको कुरा आउँदा, यदि कसैले तिनीहरूलाई, “यो काम कसरी गर्नुपर्छ? के तिमीसँग विचार, योजना, वा चरणहरू छन्?” भनेर सोध्यो भने, तिनीहरूले जवाफ दिन्छन्, “छैन, मलाई यो कसरी गर्ने भन्ने थाहा छैन।” यो क्षमता हुनु होइन। बढीमा, यो केवल एक क्षेत्रमा भएको सामर्थ्य हो। मलाई याद छ, जब हामीले पहिलो पटक यस विषयमा सङ्गति गरेका थियौँ, तब हामीले यो समस्याबारे छलफल गरेका थियौँ। तिमीहरूले बिर्सेका हुन सक्छौ, र यस पटक तिमीहरूले फेरि असाधारण स्मरणशक्तिलाई क्षमताअन्तर्गत वर्गीकरण गर्यौ। सधैँ कुनै व्यक्तिको सामर्थ्य र प्रतिभालाई गलत रूपमा बुझ्नु, र सधैँ कुनै निश्चित सामर्थ्य वा प्रतिभालाई राम्रो क्षमताअन्तर्गत वर्गीकरण गर्नु, एक गम्भीर गल्ती हो। यदि यो समस्या समाधान भयो र तिमीहरूले सामर्थ्य के हो, प्रतिभा वा सक्षमता के हो, र साँचो क्षमता के हो भन्ने कुरा बुझ्यौ भने, यो मानिसहरूलाई खुट्ट्याउनका लागि र तिमीहरूको आफ्नै जीवन वृद्धिका लागि लाभदायक हुनेछ। कम्तीमा, यसले तिमीहरूको अहङ्कारी स्वभावलाई अलिकति नियन्त्रण गर्न मद्दत गर्न सक्छ, ताकि तिमीहरूले उप्रान्त आफू गाउन वा नाच्न सक्ने भएकाले नै आफूसँग उत्कृष्ट क्षमता छ भनी गल्तीले विश्वास नगर। त्यसोभए के तिमीहरूले अझै पनि यस मामलालाई यसरी मूल्याङ्कन गर्न सक्छौ? (सक्दैनौँ।) त्यसोभए, गाउन सक्ने मानिसहरूसँग राम्रो क्षमता हुनका लागि वास्तवमा के हुनुपर्छ? (तिनीहरूसँग बुझ्ने क्षमता हुनुपर्छ, तिनीहरूले कुन तरिकाले गाउनु सिद्धान्तअनुरूप हुन्छ भनी जान्नुपर्छ, र पारखीपन पनि हुनुपर्छ।) पारखीपन धेरै महत्त्वपूर्ण छ। हेर् त, यी सबै मानिसहरूलाई केही सङ्गीत सिद्धान्त थाहा हुन्छ, तर तिनीहरूको गायनको प्रभाव फरक-फरक हुन्छ। कतिपय मानिसहरूले गाउने तरिका महसुस गर्न र खोज्न सक्छन्। तिनीहरूले विभिन्न गीतहरू, फरक-फरक धुनहरू, र विभिन्न मानिसहरूका फरक-फरक गायन शैलीहरू सुन्छन्, र कुन गायन तरिकाहरूले मन छुन्छन् र आनन्द दिन्छन् भनी सुन्छन्। तिनीहरूले यस प्रक्रियाबाट एक निश्चित अनुभूति पाउँछन् अनि त्यसपछि त्यो अनुभूतिको आधारमा अन्वेषण र तालिम जारी राख्छन्। केही समयपछि, तिनीहरूले आफ्नो गायनमा सुधार भएको महसुस गर्छन्, र अरू पनि त्यो सुन्न इच्छुक हुन्छन्। बिस्तारै, तिनीहरूले यसलाई सिद्धान्तहरूसँग तुलना गर्छन् र अभ्यासको यो मार्ग सही छ भनी पुष्टि गर्छन्। तिनीहरूले आफ्नो गाउने तरिका परिवर्तन गर्न र आफ्ना अघिल्ला गलत गायन विधिहरूलाई सुधार्न अभ्यासको मार्ग पत्ता लगाउन सक्षम हुन्छन्। त्यसपछि तिनीहरूले आफूले पत्ता लगाएका असल, सही, सकारात्मक तत्त्वहरूलाई आफ्नो गायनमा थप कार्यान्वयन र लागू गर्न सक्छन्। तिनीहरूले कुन गाउने तरिका सही छ र कुन तरिका गलत छ, र कुन गाउने तरिकाले राम्रो अनुभूति उत्पन्न गर्छ र कुन तरिकाले नराम्रो अनुभूति उत्पन्न गर्छ भनी बोध गर्न सक्छन्। यो राम्रो क्षमता हुनु हो। यदि तिनीहरूसँग केवल सैद्धान्तिक ज्ञान छ तर तिनीहरूले सिद्धान्तलाई आफ्नो वास्तविक गायनसँग जोड्न गर्न सक्दैनन्, र तिनीहरूको बुझाइ विकृत छ भने, तिनीहरूको क्षमता राम्रो हुँदैन। गाउने केही मानिसहरूलाई हेर—जब अरूले तिनीहरूले झुटो स्वर प्रयोग गरिरहेका छन् भनी औँल्याउँछन्, तब तिनीहरूले त्यसलाई स्वीकार गर्न सक्छन् र, एक वा दुई वर्षको तालिमपछि, त्यसलाई सच्याउँछन्। तिनीहरू अझै पनि गाउनमा धेरै निपुण नभए पनि, तिनीहरूले पहिले नै आफ्नो वास्तविक लय र स्वरमा गाइरहेका हुन्छन्। अर्कोतर्फ, कतिपय मानिसहरू झुटो स्वरमा गाउँछन्, र यो कुरा सुन्ने जोकोहीलाई पनि स्पष्ट हुन्छ, तर तिनीहरू अझै पनि आफूले आफ्नो साँचो स्वर, आफ्नो वास्तविक लय र स्वरमा गाइरहेको छु भनी सोच्छन्, र भिन्नता खुट्ट्याउन सक्दैनन्। यसले क्षमताको अभाव र पारखीपनको अभाव, कुराहरू बोध गर्न सक्ने असक्षमतालाई देखाउँछ। क्षमता र सामर्थ्यबीचको भिन्नता यही हो। यदि तँ गाउनमा प्रतिभाशाली छस् भने, त्यो तेरो सामर्थ्य हो; यो एक जन्मजात अवस्था हो। तर, तँ राम्रोसँग गाउन सक्छस् कि सक्दैनस् र यस क्षेत्र, यस पेसामा सार, सिद्धान्त, र आवश्यक कुराहरू बोध गर्न सक्छस् कि सक्दैनस् भन्ने कुरा क्षमतासँग सम्बन्धित हुन्छ। यदि तैँले सार, आवश्यक कुराहरू, र सिद्धान्तहरू बोध गर्न सक्छस् भने, तँ एक गायक, एक पोख्त गायक बन्न सक्छस्। यदि तँलाई गाउन मन पर्छ, तँ छिटो सिक्छस्, र धुन, ताल, र स्वरमा सही रूपमा निपुणता हासिल गर्छस् भने, यसलाई एक जन्मजात सामर्थ्य र यो विशेष व्यावसायिक सीपमा राम्रो हुनु मात्र भन्न सकिन्छ। तर, तेरो धेरै औसत र सीमित क्षमताका कारण, तँ सधैँ यसमा राम्रो हुनुमा मात्रै सीमित रहनेछस्। तँ आवश्यक कुराहरूमा निपुणता हासिल गर्ने स्तरमा पुग्न सक्नेछैनस् र तँ एक साँचो गायक र पोख्त गायक बन्न सक्नेछैनस्। यो तेरो क्षमताले लगाएको सीमा हो। राम्रो क्षमता भएका मानिसहरूसँग विकासको सम्भावना र ठाउँहुन्छ, जबकि औसत वा कमजोर क्षमता भएकाहरूसँग विकासको कुनै सम्भावना वा ठाउँ हुँदैन। त्यसैले, तेरा सामर्थ्यहरू जुनसुकै क्षेत्रमा भए पनि, यदि तेरो क्षमता कमजोर छ भने, तँ अनिवार्य रूपमा तेरो क्षमताद्वारा सीमित हुनेछस्। तँ कुनै निश्चित क्षेत्रमा जतिसुकै प्रतिभाशाली भए पनि, तँलाई त्यो जतिसुकै मन परे पनि, वा तेरो रुचि जतिसुकै ठूलो भए पनि, तेरो कमजोर क्षमताका कारण तँसँग विकासको कुनै सम्भावना हुनेछैन, किनभने तैँले आफ्नो क्षमतालाई पार गर्न सक्दैनस्। के तिमीहरूले बुझ्यौ? (बुझ्यौँ।) अब मैले यो भनिसकेपछि, के तिमीहरूले गाउनमा आत्मविश्वास गुमाउनेछौ? म केवल क्षमता र सामर्थ्यबीचको भिन्नताबारे सङ्गति गर्न तिमीहरूको एउटा सामर्थ्यलाई उदाहरणका रूपमा प्रयोग गर्दै यो मामलाका बारेमा बोलिरहेको छु। तर, परमेश्वरको घरले तिमीहरू साँचो पोख्त गायक बन्नुपर्ने, तिमीहरूले एक निश्चित उच्च स्तरको परिशुद्धताका साथ गाउनुपर्ने, एक विशेष गायन शैली विकास गर्नुपर्ने, वा गायनमा ठूलो सफलता हासिल गर्नुपर्ने माग गर्दैन। यी कुराहरू आवश्यक छैनन्। केवल आफ्नो विद्यमान क्षमता र सामर्थ्यको राम्रो उपयोग गर—त्यति भए पुग्छ। जबसम्म साँचो भावना र इमानदारीको अभिव्यक्ति हुन्छ, त्यो नै पर्याप्त हुन्छ। अब, मैले तिमीहरूमध्ये कतिपयको क्षमता कमजोर छ वा विकासका लागि थोरै ठाउँ भएको धेरै औसत क्षमता छ भनेर भनेका कारण निराश नहोओ वा हरेस नखाओ। त्यो अनावश्यक छ। के तिमीहरू निराश हुनेछौ? (अहँ।) तिमीहरूले यस मामलालाई सही रूपमा लिनैपर्छ। यदि मैले तिमीहरूका परिस्थितिहरूलाई उदाहरणका रूपमा प्रयोग नगरेको भए, तिमीहरूले यो बुझ्न सक्ने थिएनौ होला, तिमीहरूसँग पूर्ण बुझाइ हुने थिएन होला, र मैले जे भने पनि तिमीहरूले त्यसलाई हृदयमा लिने थिएनौ। तिमीहरूलाई राम्ररी बुझ्न मद्दत गर्न, मैले केही उदाहरणहरू दिनुपर्यो ताकि सबैले अझ राम्रोसँग बुझ्न सकून्। यसरी, क्षमता र सामर्थ्यबीचको भिन्नताबारे तिमीहरूको बुझाइ पनि अझ सही हुनेछ। के तिमीहरूलाई यसरी सङ्गति गरेकोमा आपत्ति छ? (अहँ, हामीलाई आपत्ति छैन।) तिमीहरूलाई आपत्ति छैन भने राम्रो भयो। यसलाई सही रूपमा लेओ। तिमीहरूले जसरी अभ्यास गर्नुपर्छ त्यसरी नै गर। यसमा आफ्नो हृदय लगाउनु, र राम्रो लक्ष्य र दिशातिर अभ्यास गर्नु त प्रगति नगर्नु वा आफ्नो पुरानो तरिकामा अड्किनुभन्दा सधैँ राम्रो हुनेछ। तेरो क्षमता सीमित वा कमजोर भए पनि, तैँले अझै पनि अभ्यास गर्ने प्रयास गर्नुपर्छ र तेरो सीमित क्षमताको दायराभित्र आफूले सक्दो हासिल गर्न कोसिस गर्नुपर्छ। हामीले हाम्रो सारा हृदय र सारा प्रयास अर्पित गर्नैपर्छ, यो कर्तव्य र यो कामलाई जिम्मेवारी र बफादारीको मनोवृत्तिका साथ गर्नुपर्छ। तैँले पछ्याउनुपर्ने अभ्यासको सिद्धान्त यही हो। तेरो सामर्थ्यमा विकासको सम्भावना छैन र भविष्यमा तँ चर्चामा आउन सक्नेछैनस् भन्दैमा तँ नकारात्मक बन्नु वा तैँले हरेस खानु हुँदैन। त्यो स्वीकार्य छैन, र यो स्पष्ट रूपमा यस मामलालाई लिँदा तैँले पछ्याउनुपर्ने सत्यता सिद्धान्त होइन। के तिमीहरूले बुझ्यौ? (बुझ्यौँ।)
यी तीनवटै क्षेत्रहरू—जन्मजात अवस्थाहरू, मानवता, र भ्रष्ट स्वभावहरूभित्र—धेरै निश्चित विवरणहरू छन् जसलाई बुझ्न आवश्यक छ। के हामीले यी मामलाहरूमा सङ्गति गर्नु आवश्यक छ? (छ।) धेरै पक्षहरूका हकमा, मानिसहरूसँग केवल सतही बुझाइ हुन्छ र तिनीहरूले तिनलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्दैनन्। तिनीहरूसँग केही सामर्थ्यहरू हुन सक्छन् र त्यसपछि तिनीहरू आफू कुलीन चरित्रको हुँ भन्ने सोच्छन्, र आफूलाई असल मानवता र उच्च क्षमता भएको, सम्माननीय र भ्रष्ट स्वभावहरूबाट मुक्त भएको व्यक्ति ठान्छन्। यो सबै मानिसहरूको यी विभिन्न समस्याहरूलाई स्पष्ट रूपमा खुट्ट्याउन नसक्ने असक्षमताबाट उत्पन्न हुन्छ। यस्ता किसिमका समस्याहरूमा विवरणहरू जति समावेश हुन्छन्, त्यति नै सङ्गति गर्नुपर्ने कुराहरू हुन्छन्; यसलाई केवल एक वा दुई सत्रमा समेट्न सकिँदैन, यसका लागि धेरै सङ्गतिहरू आवश्यक पर्छ। ल ठीक छ, आजका लागि हामी सङ्गति यहीं रोक्नेछौँ। छुटौँ है त!
अक्टोबर १४, २०२३