सत्यता कसरी पछ्याउने (३२)

पछिल्लो पटक, “सत्यता कसरी पछ्याउने” भन्‍ने विषयको हाम्रो सङ्गतिमा, हामीले “त्याग्‍नु” को अभ्यासको एउटा पक्षलाई समेटेका थियौँ, अर्थात् परमेश्‍वरबारे आफ्ना धारणा र कल्पनाहरू त्याग्‍ने कुरामा समावेश रहेको देहधारी परमेश्‍वरबारेका धारणा र कल्पनाहरूसँग सम्बन्धित पक्ष। होइन र? (हो।) देहधारी परमेश्‍वरबारे आफ्ना धारणा र कल्पनाहरू त्याग्‍ने विषयको हाम्रो सङ्गतिमा, हामीले दुई वटा मुख्य बुँदाहरू समेटेका थियौँ। के तिमीहरूलाई ती के हुन् भन्‍ने याद छ? (पहिलो, देहधारी परमेश्‍वरलाई स्वर्गमा हुनुहुने परमेश्‍वरसँग तुलना नगर्नु हो, र दोस्रो, देहधारी परमेश्‍वरलाई भ्रष्ट मानवजातिको स्तरमा नराख्नु हो।) तिमीहरूले यी दुई वटा मुख्य बुँदाहरू याद गरेका छौ, होइन र? (हो, गरेका छौँ।) देहधारी परमेश्‍वरलाई स्वर्गमा हुनुहुने परमेश्‍वरसँग तुलना नगर्नु, र देहधारी परमेश्‍वरलाई भ्रष्ट मानवजातिको स्तरमा नराख्नु—यी दुई वटा बुँदाहरूले परमेश्‍वरको देहलाई कसरी सही रूपमा लिने भन्‍ने कुराका मुख्य सिद्धान्तहरू निर्माण गर्छन्। हामीले केही विवरणहरूका बारेमा पनि सङ्गति गर्‍यौँ। यी दुई वटा मुख्य बुँदाहरूका बारेको हाम्रो सङ्गतिद्वारा, के तिमीहरूले देहधारी परमेश्‍वरलाई कसरी व्यवहार गर्ने भन्‍ने कुराका केही सिद्धान्तहरूको बुझाइ र बोध प्राप्त गर्नुपर्ने होइन र? जब तिमीले आफ्ना धारणा र कल्पनाहरूअनुसार देहधारी परमेश्‍वरलाई मापन गर्छौ, तब यदि तिमीले यी सिद्धान्तहरूसँग आफूलाई तुलना गर्‍यौ भने, के तिमीले देहधारी परमेश्‍वरलाई व्यवहार गर्ने सिद्धान्तहरू सही छन् कि छैनन् भनेर खुट्ट्याउन र चिरफार गर्न सक्दैनौ र? (सक्छु।) हामीले यी कुराहरूका बारेमा सङ्गति गरेपछि, सैद्धान्तिक रूपमा, देहधारी परमेश्‍वरबारे मानिसहरूका कतिपय धारणा र कल्पनाहरू समाधान भएको हुनुपर्छ। समग्रमा, यदि तिमीलाई परमेश्‍वरको देह कस्तो छ, र उहाँलाई कसरी चिन्नुपर्छ र उहाँलाई कसरी व्यवहार गर्नुपर्छ भन्‍ने कुराको बारेमा सकारात्मक रूपमा गवाही दिन भनियो भने, सायद तिमीसँग धेरै सकारात्मक ज्ञान हुनेछैन, न त यो निश्‍चित नै हुनेछ। तर, जब तिमीले देहधारी परमेश्‍वरबारे धारणा विकास गर्छौ र तिमी नकारात्मक स्थितिमा जिउँछौ, तब तिमीले तिनलाई समाधान गर्नका लागि केही सत्यता सिद्धान्तहरू प्रयोग गर्न सक्नुपर्छ। कम्तीमा पनि, देहधारी परमेश्‍वरको सामान्यता र व्यावहारिकता, र उहाँको सामान्य मानवता र बाहिरी रूपसँग सम्बन्धित मामलाहरूप्रतिको तिम्रो व्यवहारको हकमा, तिमीले यी कुराहरूलाई सही रूपमा बुझ्न र तिनलाई सही रूपमा लिन सक्छौ, होइन र? (हो।) तिमीसँग देहधारी परमेश्‍वरको सार र स्वभाव, वा उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको धेरै ज्ञान नभए पनि, यी सङ्गतिहरूद्वारा तिमीले कम्तीमा पनि देहधारी परमेश्‍वरबारे तिमीसँग भएका कतिपय धारणा र कल्पनाहरू वा भ्रामक बुझाइहरूलाई खुट्ट्याउन सक्छौ, र तिमीले उहाँको सामान्यता, व्यावहारिकता, र सामान्य मानवतालाई सही रूपमा लिन पनि सक्छौ। यस बिन्दुमा, यदि तिमीले फेरि केही धारणा र कल्पनाहरू वा भ्रामक बुझाइहरू विकास गर्‍यौ भने, तिमीले तिनलाई समाधान गर्नका लागि पहिले सङ्गति गरिएको कुरा प्रयोग गर्न सक्नेछौ। यसभन्दा पहिले, हामीले देहधारी परमेश्‍वरको सामान्यता र व्यावहारिकता, साथै सबै प्रकारका कुराहरू र निश्चित महत्त्वपूर्ण मामलाहरूप्रतिका उहाँका विचार र दृष्टिकोणहरू के-कस्ता छन् भन्‍ने बारेमा सङ्गति गरेका थियौँ। मानिसहरूले देहधारी परमेश्‍वर, यी व्यक्तिका बारेमा आधारभूत बुझाइ प्राप्त गरेका छन्, र देहधारी परमेश्‍वरको सामान्य मानवता, सामान्यता, र व्यावहारिकता ठ्याक्कै कस्तो छ भन्‍ने जानेका छन्। यी मामलाहरूका बारेमा गरिएका सङ्गतिद्वारा, मानिसहरूले परमेश्‍वरको देहको सबैभन्दा आधारभूत सही अवधारणा र सही परिभाषा प्राप्त गरेका छन्। मानिसहरूसँग यो सबैभन्दा आधारभूत सही अवधारणा र परिभाषा भएपछि, जब तिनीहरूले फेरि देहधारी परमेश्‍वरबारे धारणा र कल्पनाहरू विकास गर्छन्, तब के तिनीहरू व्यक्तिपरक स्तरमा, आफ्ना धारणाहरू त्याग्‍नका लागि अग्रसरता जनाउन सक्षम हुनेछन्? (हुनेछन्।) यसले केही हदसम्म, मानिसहरूले देहधारी परमेश्‍वरप्रति राख्ने प्रतिरोध, सतर्कता, शङ्का, गलत ठहराउने काम, वा निन्दालाई कम गर्छ। अवश्य नै, यसले केही हदसम्म परमेश्‍वरसँगको मानिसहरूको सम्बन्धलाई पनि सुधार्छ, र साथसाथै, यसले तिनीहरूलाई उहाँसँग अझै सही र अझै व्यावहारिक सम्बन्ध स्थापित गर्न पनि सक्षम तुल्याउँछ। यो सम्बन्ध मानिसहरूले आफ्ना धारणा र कल्पनाहरूका बीचमा परमेश्‍वरसँग स्थापित गर्ने सम्बन्धसँग भन्दा सत्यता सिद्धान्तहरूसँग अझै नजिकबाट मिल्छ, र मानिसहरू परमेश्‍वरको अझै नजिक पनि हुन्छन्, होइन र? (हो।)

देहधारी परमेश्‍वरबारे आफ्ना धारणा र कल्पनाहरू त्याग्‍ने कुराको हकमा, हामीले यसभन्दा पहिले यी दुई वटा मुख्य बुँदाहरूका बारेमा सङ्गति गरेका थियौँ: “देहधारी परमेश्‍वरलाई स्वर्गमा हुनुहुने परमेश्‍वरसँग तुलना नगर्नु, र देहधारी परमेश्‍वरलाई भ्रष्ट मानवजातिको स्तरमा नराख्नु।” जब तिमीहरूले देहधारी परमेश्‍वरबारे धारणा विकास गर्छौ, तब म के आशा गर्छु भने तिमीहरूले तिनलाई समाधान गर्न मैले सङ्गति गरेका र निष्कर्ष निकालेका यी दुई वटा मुख्य बुँदाहरू प्रयोग गर्न सक्छौ। सायद यी दुई वटा मुख्य बुँदाहरूले देहधारी परमेश्‍वरबारेका तिम्रा धारणा र कल्पनाहरूलाई पूर्ण रूपमा समाधान गर्न सक्दैनन् होला, तर कम्तीमा पनि तिनले तिमीलाई एउटा सृजित प्राणीको रूपमा रहेको आफ्नो उचित स्थान लिन, र एउटा सृजित प्राणीमा हुनुपर्ने सबैभन्दा आधारभूत मनोवृत्तिका साथ परमेश्‍वरको देहलाई लिन सक्षम तुल्याउन सक्छन्। यसरी, परमेश्‍वरको देहको सवालमा, तार्किक रूपमा भन्दा, यसलाई कम्तीमा पनि उचित र तर्कसङ्गत मान्न सकिन्छ; तिमीहरूका लागि, यसले ठूलो सुरक्षा प्रदान गर्छ। कामको तेस्रो चरण, यो विशेष अवधिको दौरान, परमेश्‍वरले विशेष तरिकाले काम गर्नुहुन्छ। यो विशेष तरिकामा यो पक्ष समावेश हुन्छ—परमेश्‍वरको देह। त्यसकारण, यस अवधिमा, मानिसहरूले देहधारी परमेश्‍वरलाई कसरी व्यवहार गर्ने भन्‍ने कुराको सत्यता बुझ्नैपर्छ, र तिनीहरूले यससँग सम्बन्धित समस्याहरूको सामना पनि गर्नैपर्छ। मानिसहरूले यी समस्याहरूको सामना गर्नैपर्ने हुनाले, तिनीहरू देहधारी परमेश्‍वरसँग सङ्गत गर्ने, कुराकानी गर्ने, र अन्तरक्रिया गर्ने कुराबाट जोगिनु हुँदैन—यो एउटा पक्ष हो; अर्को पक्ष के हो भने परमेश्‍वरबारे मानिसहरूका धारणाहरू पनि बेवास्ता गर्न नसकिने विषय हुन्। यी दुई कारणहरूले गर्दा, यदि कसैले देहधारी परमेश्‍वरबारे आफ्ना धारणा र कल्पनाहरू समाधान गर्न चाहन्छ भने, सबैभन्दा राम्रो विधि भनेको मैले तिमीहरूलाई बताएका दुई वटा सिद्धान्तहरू पालन गर्नु नै हो: देहधारी परमेश्‍वरलाई स्वर्गमा हुनुहुने परमेश्‍वरसँग तुलना नगर्नु, र देहधारी परमेश्‍वरलाई भ्रष्ट मानवजातिको स्तरमा नराख्नु। यी दुई वटा सिद्धान्तहरू पालन गर्ने कार्य गाह्रो नै छ भन्‍ने छैन, तैपनि यसलाई साँच्चै सजिलो भनेर पनि भन्न सकिँदैन—यसले निश्चित स्तरको कठिनाइ प्रस्तुत गर्छ। यस सन्दर्भमा रहेका समस्याहरू समाधान गर्दा र संलग्न सिद्धान्तहरू अभ्यास गर्दा तिमीले कुन अडान र दृष्टिकोण अपनाउँछौ, र तिमीले कुन स्थान लिन्छौ भन्‍ने कुरामा नै यो निर्भर हुन्छ। यदि तिमीले एउटा सृजित प्राणीको दृष्टिकोण अपनाउँछौ, र सत्यता खोज्ने र सकारात्मक कुराहरूलाई प्रेम गर्ने अडान अपनाउँछौ भने, सामान्य मानवताको हिसाबमा यससँग सम्बन्धित समस्याहरू समाधान गर्न सजिलो हुनुपर्छ। कम्तीमा पनि, जब तिमीले एउटा सृजित प्राणीको अडान र दृष्टिकोण अपनाउँछौ, तब तिमीले देहधारी परमेश्‍वरले गर्नुभएको काम र बोल्नुभएका वचनहरूलाई जाँच्नका लागि सामान्य मानवताको विवेक र समझ प्रयोग गर्नेछौ। जब तिमीले यस अडान र दृष्टिकोणबाट तिनलाई जाँच्छौ, तब तिमीले सत्यता धेरै नबुझे पनि वा सत्यता पटक्कै नबुझे पनि, तिमीले कम्तीमा पनि यी सामान्य व्यक्ति—देहधारी परमेश्‍वरलाई—आफ्नो विवेकअनुसार, समझदारीपूर्वक व्यवहार गर्नेछौ। जब तिमीले यी सामान्य व्यक्तिलाई समझदारीपूर्वक व्यवहार गर्छौ, तब तिमीले कम्तीमा पनि एउटा कुरा हासिल गर्न सक्छौ, र त्यो के हो भने तिमी उहाँप्रति शत्रुवत् हुनेछैनौ। यदि तिमीले यी व्यक्तिलाई एउटा सृजित प्राणीको दृष्टिकोण र अडानबाट हेर्दैनौ, र मानवताको विवेक र समझको दृष्टिकोणबाट उहाँसँग अन्तरक्रिया र कुराकानी गर्ने त झनै गर्दैनौ भने, तिमीले स्वाभाविक रूपमा भ्रष्ट मानवजातिको दृष्टिकोण र अडान अपनाउनेछौ, र तिमीले एउटा भ्रष्ट मानिससँग अन्तरक्रिया गरेजस्तै देहधारी परमेश्‍वरसँग सङ्गत र अन्तरक्रिया गर्नेछौ। त्यसपछि तिम्रा लागि देहधारी परमेश्‍वरलाई स्वर्गमा हुनुहुने परमेश्‍वरसँग तुलना नगर्ने र देहधारी परमेश्‍वरलाई भ्रष्ट मानवजातिको स्तरमा नराख्‍ने कार्य निकै गाह्रो हुनेछ, र तिमीलाई यी दुई वटा सिद्धान्तहरूअनुसार परमेश्‍वरको देहलाई व्यवहार गर्न निकै गाह्रो हुनेछ। स्वाभाविक रूपमा, त्यसपछि तिमी देहधारी परमेश्‍वरको विरोधमा खडा हुनेछौ र तिमीले उहाँलाई गहन-जाँच गर्नेछौ र उहाँको विश्लेषण गर्नेछौ, तिमी उहाँप्रति सतर्क रहनेछौ र तिमीले उहाँलाई शङ्का गर्नेछौ, र मानव धारणा र कल्पनाहरू वा मानिसका भ्रष्ट विचार र दृष्टिकोणहरूअनुसार उहाँलाई गलत ठहराउने र उहाँलाई व्यवहार गर्ने कुराको सम्भावना अझै बढी हुनेछ। यसरी, तिमी स्वाभाविक रूपमा उहाँको विरोधमा खडा हुनेछौ र तिमीले उहाँलाई शत्रुवत् नजरले हेर्नेछौ। जब तिमीले उहाँलाई शत्रुवत् नजरले हेर्छौ, तब तिमीले स्वाभाविक रूपमा सबै प्रकारका भ्रामक विचार र दृष्टिकोणहरू वा भ्रामक सोचाइहरू विकास गर्नेछौ। त्यसपछि, तिमीले आफूलाई उहाँकै स्तरमा राख्न सक्छौ; तिमीलाई उहाँप्रति डाहा हुन सक्छ; तिमीले उहाँलाई गलत बुझ्न, उहाँप्रति सतर्क रहन, र उहाँलाई गलत ठहराउन सक्छौ; तिमी आफ्नो हृदयमा उहाँसँग लड्न सक्छौ वा उहाँसँग खुलेरै लड्न समेत सक्छौ। यदि त्यसो भयो भने, तिमीले परमेश्‍वरको देहबारे आफ्ना धारणा र कल्पनाहरू कहिल्यै त्याग्न सक्नेछैनौ, र तिमीसँग तिनलाई समाधान गर्ने कुनै उपाय पनि हुनेछैन। यसको अर्थ के हुन्छ? यसको अर्थ तिमीले यी सामान्य व्यक्ति—देहधारी परमेश्‍वरसँग—एउटा सृजित प्राणी र सृष्टिकर्ताबीचको सम्बन्ध स्थापित गर्न सक्दैनौ भन्‍ने हुन्छ, जसको अर्थ तिमी र परमेश्‍वरको बीचमा कुनै सम्बन्ध छैन भन्‍ने पनि हुन्छ। कुनै सम्बन्ध नहुनुको अर्थ के हो? तिमी आफू परमेश्‍वरमा विश्‍वास गर्ने र परमेश्‍वरलाई पछ्याउने व्यक्ति हुँ भन्‍ने सोच्छौ, तर परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, उहाँले तिमीलाई यस हिसाबमा वास्तवमा काम गरेको देख्नुभएको हुँदैन, र उहाँले तिमीलाई आफ्नो अनुयायी वा आफ्नो भेडाको रूपमा स्वीकार गर्नुहुन्न। तिमी परमेश्‍वरको अनुयायी होइनौ र परमेश्‍वरको भेडा होइनौ—त्यसोभए त्यसको अर्थ के हो त? के तिमीले अझै पनि मुक्ति प्राप्त गर्न सक्छौ? के तिमीसँग मुक्ति प्राप्त गर्ने कुनै आशा हुन्छ? (हुँदैन।) मुक्ति प्राप्त गर्ने तिम्रो आशा अत्यन्तै झीनो हुन्छ। त्यसकारण, अन्तिम विश्लेषणअनुसार, मानिसले अन्ततः मुक्ति प्राप्त गर्न सक्छ कि सक्दैन भन्‍ने कुरा उसले परमेश्‍वरलाई कसरी व्यवहार गर्छ भन्‍ने कुरासँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ कि हुँदैन? (हुन्छ।) यो प्रत्यक्ष सम्बन्ध भएको हुनाले, यो कुनै साधारण सम्बन्ध होइन। त्यसकारण परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्नु कुनै सानोतिनो कुरा होइन, र मानिसले यसलाई सतर्कताका साथ लिनुपर्छ। यस्तो नसोच, “मसँग परमेश्‍वरबारे केही धारणाहरू मात्रै छन्। मसँग उहाँबारे वास्तविकताअनुरूप त्यति नरहेका र वास्तविक परिस्थितिहरूअनुरूप त्यति नरहेका केही कल्पनाहरू मात्रै छन्। यसले केही फरक पार्नु नपर्ने हो, र यसले मेरो सत्यताको खोजी र मुक्तिको प्राप्तिलाई असर गर्नेछैन।” यसले कुनै असर गर्दैन भन्नु गलत हो; त्यो तथ्यहरूअनुरूप हुँदैन। यदि परमेश्‍वरसँगको तिम्रो सम्बन्ध निकै टाढाको छ र तिमी र परमेश्‍वरको बीचमा धारणा र कल्पनाहरू मात्रै नभई धेरै कुराहरू खडा छन् भने, त्यसको अर्थ तिमी र परमेश्‍वरको बीचमा धेरै द्वन्द्व र बाधाहरू छन्, र धेरै समस्याहरू छन् भन्‍ने हुन्छ। यी समस्याहरूको मूल कारण पक्कै पनि परमेश्‍वरमा होइन, तर मानिसमा नै हुन्छ। तिमी र परमेश्‍वरको बीचमा धेरै समस्याहरू छन्, र तीमध्ये एउटा तिमी र देहधारी परमेश्‍वरको बीचमा रहेको समस्या नै हो। तिमी र देहधारी परमेश्‍वरको बीचमा रहेको सबैभन्दा महत्त्वपूर्ण र सबैभन्दा मुख्य समस्या भनेको देहधारी परमेश्‍वरबारेका तिम्रा धारणा र कल्पनाहरू हुन्। परमेश्‍वरको देहबारे धारणा र कल्पनाहरूले भरिपूर्ण हुनुको अर्थ तिमी उहाँप्रति शत्रुता र वैमनस्यताले भरिपूर्ण छौ भन्‍ने हुन्छ। यो शत्रुता र वैमनस्यताले भरिपूर्ण हुँदा, वास्तवमा, तिमीले खासमा परमेश्‍वरको देह हुनुहुने यी सामान्य व्यक्तिलाई इन्कार गरिरहेका हुन्छौ। किनभने तिम्रा धारणा र कल्पनाहरूमा भएको ईश्‍वर यस्तो छैन; तिम्रा धारणा र कल्पनाहरूमा भएको ईश्‍वर हरेक हिसाबमा परमेश्‍वरको देहभन्दा फरक छ। यदि तिमीसँग परमेश्‍वरको देहबारे धारणा र कल्पनाहरू छन् भने, तिमीले पछ्याउने र तिमीले विश्‍वास गर्ने कुरा तिम्रा धारणा र कल्पनाहरूमा भएको ईश्‍वर हो, र परमेश्‍वरको देहसँग यसको कुनै सरोकार हुँदैन। यसको अर्थ के हुन्छ? तिमीले पछ्याउने कुरा परमेश्‍वरको देह होइन, न त यो परमेश्‍वर स्वयम् नै हुनुहुन्छ। तिमीले पछ्याउने कुरा तिम्रा धारणा र कल्पनाहरूमा भएको मूर्ति होस् कि कुनै महान् वा अलौकिक व्यक्ति होस्, छोटकरीमा भन्दा, ऊ तिम्रा धारणा र कल्पनाहरूमा भएको ईश्‍वर नै हो; परमेश्‍वर स्वयमसँग उसको कुनै सरोकार हुँदैन, र परमेश्‍वरले तिमीले उहाँमा विश्‍वास गर्छौ भन्‍ने कुरालाई स्वीकार गर्नुहुन्न। त्यसकारण, यदि तिमी परमेश्‍वरको अनुयायी बन्न चाहन्छौ, परमेश्‍वरसँग सम्बन्ध स्थापित गर्न चाहन्छौ, र परमेश्‍वरले तिमीलाई आफ्नो अनुयायीको रूपमा मान्यता दिनुभएको र तिमीलाई उहाँले मुक्ति दिन चाहनुभएको भेडाको रूपमा मान्यता दिनुभएको चाहन्छौ भने, तिमीले पहिले देहधारी परमेश्‍वरलाई स्वीकार गर्नुपर्छ र उहाँका सबै कुरा स्वीकार गर्नुपर्छ। जब तिमीले यसो गर्छौ, तब परमेश्‍वरका आत्माको नजरमा, तिमीले देहधारी परमेश्‍वरलाई पूर्ण रूपमा स्वीकार गरेका हुन्छौ: तिमीले आफ्ना धारणा र कल्पनाहरू त्यागेका हुन्छौ र उहाँका सबै कुरा स्वीकार गरेका हुन्छौ। सबै कुरामा के-के समावेश हुन्छन्? यसमा उहाँको सामान्यता र व्यावहारिकता, उहाँको मानवता, उहाँको जीवन, साथै उहाँले तिमीलाई भन्नुहुने हरेक वचन, तिमीप्रतिका उहाँका सबै मागहरू, र तिमीप्रतिको उहाँको मनोवृत्ति समावेश हुन्छन्—तिमी यी सबै कुराहरू स्वीकार गर्न सक्षम हुन्छौ। तिमीले देहधारी परमेश्‍वरलाई लिन्छौ र उहाँलाई सृष्टिकर्ता र परमेश्‍वरको रूपमा व्यवहार गर्छौ; तिमीले पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई स्वर्गमा हुनुहुने परमेश्‍वरलाई जस्तै व्यवहार गर्छौ। जब पृथ्वीमा हुनुहुने परमेश्‍वर बोल्नुहुन्छ, तब त्यो स्वर्गमा हुनुहुने परमेश्‍वर स्वयम् तिमीसँग बोलिरहनुभएको जस्तै हुन्छ; तिमीले उहाँका वचनहरू सुन्छौ र उहाँका वचनहरू स्वीकार गर्छौ। उहाँप्रतिको तिम्रो समर्पण, र उहाँसम्बन्धी तिम्रा कुनै पनि मनोवृत्ति, विचार, र दृष्टिकोणहरू स्वर्गमा हुनुहुने अदृश्य परमेश्‍वर र तिम्रो मनमा हुनुहुने परमेश्‍वरप्रति तिमीसँग भएका मनोवृत्ति, विचार, र दृष्टिकोणहरू जस्तै हुन्छन्। तिमीसँग इमानदार र साँचो मनोवृत्ति, र समर्पित मानसिकता हुन्छ, जसमा आन्तरिक प्रतिरोध हुँदैन, वैमनस्यता हुँदैन, र तिरस्कार हुँदैन। यी व्यक्ति—देहधारी परमेश्‍वर—जतिसुकै सामान्य र व्यावहारिक भए पनि, र यी व्यक्तिलाई सांसारिक मानिसहरूको नजरमा पूर्ण रूपमा ध्यान दिन अयोग्य मानिए पनि—तिम्रो हृदयमा तिमी अझै पनि उहाँ स्वर्गमा हुनुहुने परमेश्‍वरको अभिव्यक्ति, र स्वर्गमा हुनुहुने परमेश्‍वरको मूर्तरूप हुनुहुन्छ भन्‍ने दृढ विश्‍वास गर्छौ। यी व्यक्तिबारे तिमीसँग भएका धारणाहरू र उहाँप्रतिको तिम्रो मनोवृत्ति गैरविश्‍वासीहरूको जस्तो हुनु हुँदैन। तिमीले देहधारी परमेश्‍वर हुनुहुने यी व्यक्तिलाई एउटा सृजित प्राणीको मानसिकता र मनोवृत्तिका साथ व्यवहार गर्नुपर्छ। मानौँ, उहाँले जेसुकै गर्नुभए पनि, उहाँले जेसुकै भन्नुभए पनि वा उहाँले तिमीसँग जेसुकै माग गर्नुभए पनि, तिमी उहाँलाई एउटा सृजित प्राणीको मानसिकता र मनोवृत्तिका साथ व्यवहार गर्न सक्षम हुन्छौ र, अझै एक कदम अगाडि बढेर, तिमी उहाँमा समर्पित हुन पनि सक्षम हुन्छौ। तिमीले भ्रष्टता प्रकट गरे पनि, धारणा र कल्पनाहरू राखे पनि, वा देहधारी परमेश्‍वरप्रति प्रतिरोधी महसुस गरे पनि, तिमी परमेश्‍वरले तिमीलाई सिकाउनुभएको तरिकामा—सत्यता सिद्धान्तहरू प्रयोग गरेर—यी कुराहरूलाई जाँच्न र समाधान गर्न सक्षम हुन्छौ। तिमी आफैलाई जाँच्न र आफैलाई काटछाँट गर्न सक्षम हुन्छौ, त्यसपछि तिमी पश्चात्ताप गर्न सक्षम हुन्छौ। यदि देहधारी परमेश्‍वरप्रति तिमीसँग यस्तो मनोवृत्ति छ भने, परमेश्‍वरले तिमीलाई स्वीकार गर्नुहुनेछ र परमेश्‍वरले तिम्रो विश्‍वासलाई मान्यता दिनुहुनेछ। यदि देहधारी परमेश्‍वरप्रति तिमीसँग यस्तो मनोवृत्ति छ र तिमीसँग साँचो समर्पण छ भने, र देहधारी परमेश्‍वरबारे मानिसहरूले ध्यान दिन अयोग्य मान्ने वा गिल्ला गर्ने कुराहरू हुँदा समेत, तिमीले अझै पनि तिनलाई सही रूपमा लिन सक्छौ, र उहाँप्रति समर्पण र उहाँप्रति प्रेम राख्न सक्छौ भने, मानिसको भित्री हृदयलाई गहन-जाँच गर्नुहुने परमेश्‍वरले तिम्रो हृदयलाई स्वीकार गर्नुहुनेछ र तिम्रो मनोवृत्तिलाई मान्यता दिनुहुनेछ। परमेश्‍वरले तिम्रो मनोवृत्तिलाई मान्यता दिनुहुन्छ र तिम्रो हृदयलाई स्वीकार गर्नुहुन्छ भन्‍ने कुरालाई केले पुष्टि गर्छ? यो तिमीमा हुने पवित्र आत्माको कामले हो: उहाँले तिमीलाई हर समय, सबै मामलाहरूमा, र सबै पक्षहरूमा मार्गदर्शन गर्नुहुन्छ, अगुवाइ गर्नुहुन्छ, र प्रबोधित गर्नुहुन्छ, तिमीलाई परमेश्‍वरका वचनहरूमा र सत्यतामा प्रबोधन र ज्योति दिनुहुन्छ। अरूले प्राप्त गर्न वा बुझ्न नसक्ने कुरा तिम्रा लागि निकै स्पष्ट हुन्छ। तिमीले जेसुकै गरे पनि, तिमीसँग पछ्याउने मार्ग हुन्छ, र अगाडिको बाटो धमिलो वा अस्पष्ट होइन, तर पूर्ण रूपमा उज्यालो हुन्छ। तिमीसँग हर समय र सबै मामलाहरूमा परमेश्‍वरको मार्गदर्शन हुन्छ, र तिमीलाई परमेश्‍वरमा समर्पित हुनु निकै सजिलो छ—यो गाह्रो कुरा होइन, र कठिन छैन भन्‍ने महसुस हुन्छ। के यो परमेश्‍वरले तिमीलाई पहिचान गर्नुहुन्छ र तिमीलाई स्वीकार गर्नुहुन्छ भन्‍ने कुराको पुष्टि होइन र? (हो।) यसका साथै, धेरै वटा प्रमुख मामलाहरूमा—जीवन र मृत्युका केही गम्भीर मामलाहरूमा, तिम्रो नियति निर्धारण गर्ने र तिम्रो गन्तव्य निर्धारण गर्ने मामलाहरूमा—परमेश्‍वरले तिमीलाई आशिष्‌ दिनुहुनेछ, तिमीलाई मार्गदर्शन गर्नुहुनेछ, र उहाँ तिमीप्रति असाधारण रूपमा अनुग्रही हुनुहुनेछ। विशेष गरी सतावटका केही परिस्थितिहरूमा, परमेश्‍वर तिमीप्रति निकै अनुग्रही बन्‍नुहुनेछ र उहाँले तिमीलाई सुरक्षा दिनुहुनेछ।

उहाँ तिमीप्रति अनुग्रही बन्‍नुहुन्छ र उहाँले तिमीलाई सुरक्षा दिनुहुन्छ भन्नुको अर्थ के हो? उदाहरणका लागि, जब तिमीले असाधारण परिस्थितिहरूको सामना गर्छौ र निकै खतरनाक देखिने जीवन र मृत्युको गम्भीर क्षणको सामना गर्छौ, तब परमेश्‍वरले यसरी काम गर्न सक्नुहुन्छ, जसले गर्दा तिमी दुष्ट मानिसहरू वा दुष्ट पिशाचहरूको शासनको आँखा अगाडिबाटै उम्कन सक्षम हुन्छौ। यो यस्तो हुन्छ मानौँ तिनीहरूले तिमीलाई देख्न सक्दैनन्, मानौँ तिमी पारदर्शी छौ, र तिमी शैतानको जालमा पर्नबाट जोगिँदै र शैतानको प्रभावअन्तर्गत पर्नबाट जोगिँदै, मुस्किलले खतराबाट उम्कन सक्षम हुन्छौ। परमेश्‍वरले तिमीलाई सुरक्षा दिनुहुन्छ, जसले गर्दा तिमीले उपयुक्त वातावरणमा निरन्तर परमेश्‍वरको काम अनुभव गरिरहन्छौ। के यो राम्रो कुरा होइन र? के यो परमेश्‍वरको विशेष अनुग्रही व्यवहार र विशेष सुरक्षा होइन र? (हो।) हेर त, कतिपय मानिसहरूले विशेष परिस्थितिहरूको सामना गर्दा तिनीहरू प्रकट हुन्छन् र हटाइन्छन्; यो परमेश्‍वरले यी मानिसहरूलाई निकाल्न ती परिस्थितिहरू प्रयोग गरिरहनुभएको कुरा हो। अवश्य नै, मानिसहरूलाई निकाल्ने कुरामा, धेरै तरिकाहरू हुन्छन्। उदाहरणका लागि, कतिपय मानिसहरू पक्राउ पर्छन्, झ्यालखानामा फालिन्छन्, त्यसपछि तिनीहरूले परमेश्‍वरलाई इन्कार गर्छन्। कतिपयले, क्रूर यातना भोगेपछि, “तीन बयान” मा हस्ताक्षर गर्छन् र परमेश्‍वरलाई धोका दिन्छन्। कतिपयले पक्राउ पर्ने र कुटपिटबाट मारिने डरले, उप्रान्त विश्‍वास गर्ने आँट गर्दैनन् र तिनीहरूको सातो जान्छ। यी सबै जीवन र मृत्युका गम्भीर मामलाहरू हुन्, र यी विशेष परिस्थितिहरू र विशेष अवस्थाहरूमा, यी मानिसहरू प्रकट हुन्छन् र हटाइन्छन्। जीवन र मृत्युका उस्तै गम्भीर मामलाहरूको सामना गर्दा, कतिपय मानिसहरूसँग परमेश्‍वरको सुरक्षा हुन्छ, जबकि अरूसँग हुँदैन। तिनीहरू सबैले परमेश्‍वरको सार्वभौमिकता र उहाँका योजनाबद्ध कार्यहरूको अनुभव गरे पनि, परमेश्‍वरले कतिपयलाई मुस्किलले खतराबाट उम्कन, बाँचिरहन, आफ्ना कर्तव्यहरू निर्वाह गरिरहन, र परमेश्‍वरको कामको अनुभव गरिरहन अनुमति दिनुहुन्छ, जबकि अरूले मुस्किलले खतराबाट उम्कने यो आशिष्‌ र अनुग्रही व्यवहारको आनन्द लिन पाउँदैनन्। हेर त, के तिनीहरू फरक छैनन् र? (छन्।) त्यसोभए, अन्ततः यो भिन्‍नताको मूल कारण के हुन्छ? यो एउटै कुरामा आएर टुङ्गिन्छ: परमेश्‍वरप्रतिको मानिसहरूको मनोवृत्ति फरक हुन्छ। यो मनोवृत्ति अत्यन्तै महत्त्वपूर्ण छ। होइन र? (हो।) यदि परमेश्‍वरप्रतिको तिम्रो मनोवृत्तिलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्छ र परमेश्‍वरले मान्यता दिनुहुन्छ भने, परमेश्‍वरलाई तिम्रो खाँचो हुनेछ र परमेश्‍वरले तिमीलाई प्रयोग गर्नुहुनेछ। यदि परमेश्‍वरले तिमीलाई प्रयोग गर्न चाहनुहुन्छ भने, मलाई भन त, उहाँले कसरी तिमीसँग सम्बन्धित सबै कुरामाथि सार्वभौमिकता प्रयोग गर्नुहुनेछ? के परमेश्‍वरले तिमीलाई निकाल्नुहुनेछ? के उहाँले तिमीलाई हटाउनुहुनेछ? (हटाउनुहुनेछैन।) परमेश्‍वरलाई त्यसो गर्न मन लाग्नेछैन, किनभने यस्ता मानिसहरू धेरै हुँदैनन्, त्यसैले परमेश्‍वरले तिमीलाई हटाउनुहुनेछैन। त्यसकारण, परमेश्‍वरप्रतिको व्यक्तिको मनोवृत्ति अत्यन्तै निर्णायक र अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यदि परमेश्‍वरप्रतिको व्यक्तिको मनोवृत्ति सही छ, ऊसँग समर्पित मनोवृत्ति छ, र परमेश्‍वरले स्वीकार गर्नुहुने मनोवृत्ति छ भने, परमेश्‍वरले उसलाई आशिष्‌ दिनुहुनेछ र उहाँ ऊप्रति अनुग्रही हुनुहुनेछ। यसको विपरीत, मानौँ व्यक्तिको हृदय परमेश्‍वरबारे धारणा र कल्पनाहरूले भरिपूर्ण छ र वैमनस्यताले भरिपूर्ण छ। उसले हरेक दिन परमेश्‍वरलाई गहन-जाँच गर्छ र ऊ परमेश्‍वरप्रति सतर्क रहन्छ, हरेक दिन परमेश्‍वरसँग लेनदेन गर्न र परमेश्‍वरसँग मोलतोल गर्न खोज्छ, र सत्यता खोज्ने अलिकति पनि अभिप्राय नराखी, ऊ हरेक दिन आफ्नो हृदयमा परमेश्‍वरप्रति अवज्ञाकारी हुन्छ, परमेश्‍वरप्रति रुष्ट, र परमेश्‍वरप्रति असन्तुष्ट हुन्छ। परमेश्‍वरप्रतिको आफ्नो मनोवृत्ति गलत छ भन्‍ने जानेर पनि, उसलाई कुनै पछुतो हुँदैन, ऊ फर्कंदैन, र ऊ आफ्नो गलत मनोवृत्तिमा लागिरहन्छ। परमेश्‍वरमाथिको तिम्रो विश्‍वासमा, तिमी सत्यता प्राप्त गर्न र उहाँबाट परमेश्‍वरको मुक्ति प्राप्त गर्न चाहन्छौ—के यी परिस्थितिहरूमा त्यो सम्भव हुन्छ? मलाई भन त, के परमेश्‍वर तिमीलाई मुक्ति दिन इच्छुक हुनुहुन्छ? परमेश्‍वरले मुक्ति दिनुहुने मानिसहरू भ्रष्ट मानवहरू नै भए पनि—परमेश्‍वरबारे धारणा र कल्पनाहरू राख्ने र परमेश्‍वरप्रति वैमनस्यताले भरिपूर्ण हुने मानवहरू नै भए पनि—जब तिमीले एउटा सृजित प्राणीले सृष्टिकर्ताको सन्दर्भमा गर्नुपर्ने कुरा कसरी गर्ने भनेर बुझ्छौ तर पनि तिमीले त्यो गर्दैनौ भने, मलाई भन त, तिमीप्रतिको परमेश्‍वरको मनोवृत्ति कस्तो हुन्छ? परमेश्‍वरले तिमीलाई जेसुकै गर्नुभए पनि, त्यो उचित र तर्कसङ्गत नै हुन्छ; तिमीले आफैलाई मात्रै दोष दिनुपर्छ, र तिमीले आफैमाथि यो ल्याएका हुन्छौ। होइन र? (हो।) यदि अन्य मामलाहरू समावेश छन्, उदाहरणका लागि, यदि तिमीले अरूसँग सुमधुर रूपमा सहकार्य गर्न सक्दैनौ, वा तिमी सधैँ अहङ्कारी र अभिमानी हुन्छौ, र एकलौटी रूपमा काम गर्छौ, र यी भ्रष्ट स्वभावहरू समयमै समाधान हुँदैनन् र तिमीसँग कुनै जीवन प्रवेश छैन भने, यो अझै पनि सबैभन्दा गम्भीर समस्या होइन। सबैभन्दा गम्भीर समस्या यही हो: तिमी परमेश्‍वरबारे धारणा र कल्पनाहरूले भरिपूर्ण छौ, तिमी सत्यताप्रति वितृष्णा र घृणाले भरिपूर्ण छौ, र तिमीले हरेक दिन परमेश्‍वरलाई गहन-जाँच गर्छौ; तिमीले आफ्नो केही कर्तव्य निर्वाह गरे पनि, तिमी अझै पनि परमेश्‍वरसँग मोलतोल गर्ने प्रयास गर्छौ, आफ्नो हृदयमा निरन्तर परमेश्‍वरसँग तर्क गर्ने प्रयास गर्छौ, र परमेश्‍वरले केही कुराहरू गर्दा गल्ती गर्नुभयो, र उहाँले तिम्रा चाहनाहरू सन्तुष्ट पार्नुभएन वा अन्य मामलाहरूमा तिमीलाई आशिष्‌ दिनुभएन भनेर गुनासो गर्नका लागि विभिन्न कारण र बहानाहरू खोज्छौ—एउटा सृजित प्राणीमा हुनुपर्ने परमेश्‍वरप्रतिको अलिकति पनि समर्पणविना, तिमी हरेक दिन आफ्नो हृदयमा परमेश्‍वरप्रति असन्तुष्ट, अवज्ञाकारी, र रुष्ट हुन्छौ। मलाई भन, परमेश्‍वरले तिमीलाई कसरी व्यवहार गर्नुहुनेछ? के परमेश्‍वर तिमीसँग सन्तुष्ट हुनुहुनेछ? (हुनुहुनेछैन।) त्यसोभए के परमेश्‍वरले तिमीलाई आशिष्‌ दिनुहुनेछ? (दिनुहुनेछैन।) यदि परमेश्‍वर तिमीसँग सन्तुष्ट हुनुहुन्न भने, के उहाँले अझै पनि तिमीलाई प्रयोग गर्नुहुनेछ? (गर्नुहुनेछैन।) परमेश्‍वरले तिमीलाई प्रयोग गर्नुहुनेछैन, र उहाँ तिमीसँग सन्तुष्ट हुनुहुन्न। त्यसोभए के परमेश्‍वरले तिमीलाई मुक्ति दिन चाहनुहुनेछ? यदि उहाँले तिमीलाई मुक्ति दिनुभयो भने, के उहाँलाई प्रसन्नता महसुस हुनेछ? (हुनेछैन।) यदि परमेश्‍वर प्रसन्न हुनुहुन्न र तिमीसँग सधैँ असन्तुष्ट हुनुहुन्छ भने, मलाई भन त, तिमी कस्तो अवस्थामा हुन्छौ? के पवित्र आत्माले तिमीमा काम गरिरहनुभएको हुन्छ? के तिमीसँग परमेश्‍वरको प्रबोधन र मार्गदर्शन हुन्छ? के तिमीसँग परमेश्‍वरको अगुवाइ हुन्छ? के तिमीसँग परमेश्‍वरको आशिष्‌ हुन्छ? (यीमध्ये कुनै पनि कुरा हुँदैन।) त्यसोभए यो परिस्थितिलाई उल्टाउनका लागि व्यक्तिले के गर्नुपर्छ? (व्यक्ति तुरुन्तै परमेश्‍वरमा समर्पित हुनुपर्छ र उसले साँचो पश्चात्ताप गर्नुपर्छ। ऊ परमेश्‍वरबारेका आफ्ना धारणा र कल्पनाहरूमा टाँसिइरहन छोड्नुपर्छ, हरेक दिन परमेश्‍वरलाई गहन-जाँच गर्न छोड्नुपर्छ, र परमेश्‍वरप्रति अवज्ञाकारी र रुष्ट हुन छोड्नुपर्छ; बरु, ऊ सचेत भई आफैविरुद्ध विद्रोह गर्न र सत्यता अभ्यास गर्न सक्षम हुनुपर्छ। यसरी मात्रै उसले परमेश्‍वरको आशिष्‌ पाउन सक्छ र उसले पवित्र आत्माको काम र अगुवाइ प्राप्त गर्न सक्छ।) व्यक्तिलाई पछुतो हुनुपर्छ, उसले आफ्ना हातमा भएको दुष्टता त्याग्नुपर्छ, र ऊ परमेश्‍वरतिर फर्कनुपर्छ; उसले यो स्थितिलाई उल्टाउनुपर्छ। तिमीले परमेश्‍वरप्रतिको आफ्‍नो गलत मनोवृत्ति परिवर्तन गर्नुपर्छ र परमेश्‍वरबारेका तिम्रा धारणा र कल्पनाहरू त्याग्नुपर्छ; त्यसपछि मात्रै परमेश्‍वरले तिमीलाई एउटा सृजित प्राणीको रूपमा मान्यता दिनुहुनेछ। तिमी सधैँ परमेश्‍वरसँग मोलतोल गर्ने प्रयास गर्छौ, तिम्रो हृदय परमेश्‍वरबारे धारणा र कल्पनाहरूले भरिपूर्ण छ, र तिमी सधैँ परमेश्‍वरप्रति असन्तुष्ट, अवज्ञाकारी, र रुष्ट हुन्छौ—के एउटा सृजित प्राणीले गर्नुपर्ने कुरा यही हो? (होइन।) त्यसोभए यो कस्तो प्रकारको व्यक्ति हो? (दियाबलस र शैतान।) के परमेश्‍वरले अझै पनि दियाबलसहरू र शैतानहरूलाई मुक्ति दिन सक्नुहुन्छ? (सक्नुहुन्न।) तिमीले आफ्नो अडान उल्टाउनुपर्छ। तिमी एउटा सृजित प्राणी हुनुपर्छ; तिमी दियाबलस वा शैतान हुनु हुँदैन। परमेश्‍वरले सृजित प्राणीहरूलाई मुक्ति दिनुहुन्छ; उहाँले दियाबलसहरू र शैतानहरूलाई मुक्ति दिनुहुन्न। यदि तिमी दियाबलस र शैतानको जस्तो व्यवहार गर्छौ, दियाबलसहरू र शैतानहरू हिँड्ने मार्गमा हिँड्छौ, र दियाबलसहरू र शैतानहरूले परमेश्‍वरलाई व्यवहार गर्ने मनोवृत्तिका साथ परमेश्‍वरलाई व्यवहार गर्छौ भने, परमेश्‍वरले तिमीलाई मुक्ति दिनु सम्भव हुँदैन। त्यसकारण, तिमीले जेसुकै गरे पनि, त्यो कुरा सहज रूपमा अघि बढ्नेछैन र तिमीले सधैँ बाधाको सामना गर्नेछौ; तिमीले जेसुकै गरे पनि, तिमीसँग न त परमेश्‍वरको मार्गदर्शन हुनेछ न त उहाँको प्रबोधन नै हुनेछ; र तिमीले जेसुकै गरे पनि, तिमीसँग कुनै मार्ग हुनेछैन, र तिम्रो आँखा अगाडिका सबै कुरा सधैँ कालो अँध्यारो हुनेछ—यो सधैँ तिमीले अँध्यारोमा छामछुम गरिरहेको जस्तै हुनेछ, र लामो समयसम्म छामछुम गरेपछि पनि, तिमीले अझै पनि मार्ग देख्न सक्नेछैनौ। तिमीले जति कम मार्ग देख्न सक्छौ, तिमीले परमेश्‍वरलाई त्यति नै बढी शङ्का गर्नेछौ; तिमीले परमेश्‍वरलाई जति बढी शङ्का गर्छौ, तिम्रो हृदय त्यति नै अँध्यारो बन्नेछ र यो त्यति नै तल भासिनेछ। तिमी परमेश्‍वरतिर फर्कनुपर्छ। फर्कनु अत्यन्तै महत्त्वपूर्ण छ। तिमी एउटा सृजित प्राणी बन्न इच्छुक नहोउञ्जेल, तिमीसँग परमेश्‍वरप्रति समर्पित मनोवृत्ति नहोउञ्जेल, तिमी परमेश्‍वरप्रति उप्रान्त शत्रुवत् नहोउञ्जेल र परमेश्‍वरप्रति उप्रान्त विरोधी नहोउञ्जेल, र तिमीसँग समर्पित मानसिकता नहोउञ्जेल तिमी फर्कनुपर्छ—त्यसपछि परमेश्‍वरले तिमीलाई स्वीकार गर्नुहुनेछ। यदि तिमीले यसरी कुराहरूलाई उल्टायौ भने, परमेश्‍वरले के गर्नुहुनेछ भनेर हेर अनि तिम्रो भित्री स्थिति परिवर्तन हुनेछ कि हुनेछैन भनेर हेर। बुझ्यौ? (बुझ्यौँ।)

देहधारी परमेश्‍वरप्रतिको सही मनोवृत्तिको बारेमा सङ्गति गर्नुको उद्देश्य मानिसलाई उहाँको सही परिभाषा प्राप्त गर्न र सत्यतासँग मिल्ने उहाँको सही ज्ञान प्राप्त गर्न सक्षम तुल्याउनु, त्यसपछि उहाँलाई सही मनोवृत्तिका साथ व्यवहार गर्न सक्षम तुल्याउनु हो। बाहिरी रूपमा उहाँ एक सामान्य व्यक्ति हुनुभए पनि, उहाँको पहिचान साधारण व्यक्तिको जस्तो होइन। तिमीले यो कुरा कहिल्यै बिर्सनु हुँदैन। यसलाई आफ्नो जगको रूपमा लिएर, परमेश्‍वरप्रतिको तिम्रो मनोवृत्ति विनासर्त समर्पित हुने र उहाँलाई पछ्याउने मनोवृत्ति हुनुपर्छ, र तिमीले कुनै बहाना बनाउनु हुँदैन। हामीले देहधारी परमेश्‍वरसम्बन्धी सत्यताहरूका बारेमा धेरै कुरा गरेका छौँ। निष्कर्षका साथ समाप्त गर्दा: मानिसले देहधारी परमेश्‍वरलाई कसरी चिन्नुपर्छ? म तिमीहरूलाई सबैभन्दा महत्त्वपूर्ण वचनहरू बताउनेछु—तिनलाई याद गर! देहधारी परमेश्‍वरसँग परमेश्‍वरको जीवन हुन्छ तर परमेश्‍वरको स्वरूप हुँदैन—यो एउटा पक्ष हो। अर्को पक्ष के हो भने देहधारी परमेश्‍वरको बाहिरी रूप मानवको जस्तो हुन्छ तर उहाँ भ्रष्ट मानवजातिको सदस्य हुनुहुन्न। यो परमेश्‍वरको देह हो। तिमीहरूले यी दुई वटा वाक्यहरू याद गर्नुपर्छ र समय मिल्नेबित्तिकै तिनमा मनन गर्नुपर्छ। जब तिमीले यस्तो प्रकारको समस्याको सामना गर्छौ, तब यी दुई वटा वाक्यहरूलाई लेऊ र तिनमा होसियारीसाथ विचार गर, र तिमीले सामना गरेको समस्यालाई कसरी सम्हाल्नुपर्छ भनेर हेर। के तिमीहरूले यी दुई वटा वाक्यहरू याद गरेका छौ? (हो, हामीले तिनलाई याद गरेका छौँ।) मलाई भन ती के हुन्। (देहधारी परमेश्‍वरसँग परमेश्‍वरको जीवन हुन्छ तर परमेश्‍वरको स्वरूप हुँदैन; देहधारी परमेश्‍वरको बाहिरी रूप मानवको जस्तो हुन्छ तर उहाँ भ्रष्ट मानवजातिको सदस्य हुनुहुन्न।) तिनलाई फेरि पढ। (देहधारी परमेश्‍वरसँग परमेश्‍वरको जीवन हुन्छ तर परमेश्‍वरको स्वरूप हुँदैन; देहधारी परमेश्‍वरको बाहिरी रूप मानवको जस्तो हुन्छ तर उहाँ भ्रष्ट मानवजातिको सदस्य हुनुहुन्न।) के यसले परमेश्‍वरको देहधारी रूपलाई संक्षेप गर्दैन र? (गर्छ।) तिमीहरूले यी वचनहरू याद गर्नुपर्छ र समय बित्दै जाँदा तिनमा मनन गर्नुपर्छ। जब तिमीहरूले यी दुई वटा पक्षहरू बुझ्छौ, तब तिमीहरूसँग देहधारी परमेश्‍वरको बारेमा केही ज्ञान हुनेछ।

अब हामीले देहधारी परमेश्‍वरलाई कसरी चिन्नुपर्छ भन्‍ने बारेमा सङ्गति गरिसकेका हुनाले, हामी यसबारे थप सङ्गति गरौँ र यसको सारांश निकालौँ। तिमीहरूले देहधारी परमेश्‍वरलाई कसरी सही रूपमा व्यवहार गर्नुपर्छ? तिमीहरूले आफ्ना धारणाहरू कसरी समाधान गर्नुपर्छ? तिमीहरूले देहधारी परमेश्‍वरसम्बन्धी आफ्ना विभिन्न गलत मनोवृत्ति, विचार, र दृष्टिकोणहरू कसरी समाधान गर्नुपर्छ? यसको लेखाजोखा गर। तिमीहरूले जस्तोसुकै प्रकारका समस्याहरूको सामना गरे पनि, तिनलाई कसरी समाधान गर्नुपर्छ? तिमीहरूले देहधारी परमेश्‍वरलाई कसरी सही रूपमा व्यवहार गर्नुपर्छ? मुख्य रूपमा, यो आफ्ना धारणा र कल्पनाहरू समाधान गर्ने कुरासँग सम्बन्धित छ। आफ्ना धारणा र कल्पनाहरू समाधान भएपछि, समस्या आफै पनि धेरै हदसम्म समाधान हुन्छ—त्यसपछि बाँकी रहने कुरा भनेको आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्नु हो। यस्तै होइन र? (हो।) त्यसोभए यस विषयमा सङ्गति गरौँ। जब तिमीसँग देहधारी परमेश्‍वरबारे धारणा र कल्पनाहरू हुन्छन्, तब तिमी तिनलाई कसरी सम्हाल्छौ र तिमी तिनलाई कसरी समाधान गर्छौ? तिनलाई समाधान गर्ने के-कस्ता मार्गहरू र के-कस्ता विधि र तरिकाहरू छन्? (जब मसँग देहधारी परमेश्‍वरबारे धारणा र कल्पनाहरू हुन्छन्, तब मैले यी धारणा र कल्पनाहरू किन विकास गरेको छु, र समस्याको जड के हो भनेर हेर्न म आत्म-चिन्तन गर्छु। चिन्तन गर्दा, म आफूमा छलीपन र दुष्टता जस्ता धेरै भ्रष्ट स्वभाव रहेको पाउँछु। यी भ्रष्ट स्वभावहरूका कारण, म परमेश्‍वरबारे धारणा र कल्पनाहरू विकास गर्छु र यसरी परमेश्‍वरका कार्य र वचनहरूप्रति शङ्कालु बन्छु। यसका साथै, मैले देहधारी परमेश्‍वरबारे अत्यन्तै कम बुझ्ने र जान्ने हुनाले, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ भन्‍ने कुरालाई म आफ्नै धारणा र कल्पनाहरूको दृष्टिकोणबाट हेर्छु। त्यसैले, एक हिसाबमा, म आफूभित्रका भ्रष्ट स्वभावहरू अनि त्रुटिपूर्ण विचार र दृष्टिकोणहरूलाई चिन्न पुग्छु, र अर्को हिसाबमा, म परमेश्‍वरलाई उहाँका वचनहरू र उहाँको कामबाट चिन्ने प्रयास गर्छु। परमेश्‍वरका हालैका सङ्गतिहरूपछि मैले यही कुरा बुझेको छु।) राम्रो। पहिले, यी व्यक्ति, जो देहधारी परमेश्‍वर हुनुहुन्छ, उहाँ मानिसहरूका बीचमा आउनुहुँदा उहाँ कसको प्रतिनिधित्व गर्नुहुन्छ, र उहाँ के काम गर्नुहुन्छ भनेर हेरौँ। मानिसहरूले आफ्ना धारणा र कल्पनाहरूभित्र देहधारी परमेश्‍वरको कस्तो परिभाषा र कस्तो दृष्टिकोण राख्छन् भन्‍ने कुराले तिनीहरूका धारणा र कल्पनाहरूमा भएको ईश्‍वर कस्तो हुन्छ भन्‍ने कुरालाई प्रतिनिधित्व गर्छ। मानिसहरूका धारणा र कल्पनाहरूमा भएको परमेश्‍वरको स्वरूप दुई प्रकारको हुन्छ: एउटा महामानवको स्वरूप हो, र अर्को महान् व्यक्तिको स्वरूप हो। महामानव भनेको सामान्य मानवताको दायराभन्दा बाहिर हुने असाधारण व्यक्ति हो र ऊ साधारण मरणशील व्यक्ति होइन। यसका साथै, उसमा सामान्य मानवता भए पनि, उसमा आम मानिसहरूका विशेषता, प्रकटीकरण, वा सोच्ने तरिकाहरू हुँदैनन्; मानिसको नजरमा एउटा महान् व्यक्ति जस्तै, ऊ साधारण मानिसहरूलाई पार गर्छ। मानिसहरूका धारणा र कल्पनाहरूमा भएको ईश्‍वर यी दुई प्रकारमा मात्रै सीमित हुन्छ: कि त महामानव कि त महान् व्यक्ति। त्यसैले, परमेश्‍वरको सार र परमेश्‍वरको जीवनका आधारमा जाँच्दा, परमेश्‍वरले देहधारण गर्नुहुँदा र उहाँ मानव बन्नुहुँदा, के तिमीहरूलाई उहाँले महान् व्यक्ति वा महामानव बन्‍ने छनौट गर्नुहुनेछ भन्‍ने लाग्छ? (लाग्दैन।) केले तिमीलाई यो कुरा स्पष्ट बनाउँछ? परमेश्‍वरले यसो गर्नुहुनेछैन भन्‍नेमा तिमी कसरी पक्‍का हुन सक्छौ? (परमेश्‍वरको स्वभाव र सारका आधारमा हेर्दा, परमेश्‍वर उच्च र महान् स्वरूप प्रस्तुत गर्न मन पराउनुहुन्न, त्यसैले परमेश्‍वरको देह साधारण, अनुल्लेखनीय, विनम्र, र गुप्त हुनुहुन्छ।) परमेश्‍वरको सारमा कुनै अहङ्कार हुँदैन, जसले परमेश्‍वर देह बन्नुहुँदा उहाँको छनौट एउटा साधारण, अनुल्लेखनीय व्यक्ति बन्‍ने हुन्छ भन्‍ने कुरा निर्धारण गर्छ। बाहिरी रूपमा, उहाँसँग उच्च स्वरूप हुँदैन, र भित्री रूपमा, उहाँसँग असाधारण मानवता हुँदैन। भित्रदेखि बाहिरसम्म, तिमीले उहाँलाई जसरी हेरे पनि, उहाँ साधारण र सामान्य नै हुनुहुन्छ। मानिसको नजरमा, परमेश्‍वरले यसरी काम गर्नु भनेको उहाँ विनम्र र गुप्त हुनु हो, र यो परमेश्‍वरको सार र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ भन्‍ने कुराबाट भएको प्रकटीकरण हो। वास्तवमा, परमेश्‍वर मानिसले देखून् भनेर जानी-जानी यसरी काम गर्नुहुन्न; परमेश्‍वरले यो छनौट गर्नु र परमेश्‍वरले यसरी काम गर्नु उहाँको जीवनको स्वाभाविक प्रकटीकरण हो। यो बनावटी होइन, न त यो कुनै देखावा नै हो। अर्थात्, मानिसका कल्पनाहरूमा परमेश्‍वर जतिसुकै उच्च र जतिसुकै सर्वोच्च भए पनि, परमेश्‍वरको जीवनको स्वाभाविक प्रकटीकरण विनम्र, गुप्त, र तडकभडकविहीन हुनु हो, र परमेश्‍वरले देहधारण गर्नुहुँदा, उहाँ एक साधारण, आम देह बन्नुहुन्छ—अर्थात्, उहाँको मानवता र बाहिरी रूप, उहाँको बोली, व्यवहार र आचरण, र अन्य हरेक पक्ष सामान्य नै हुन्छन्। यो सामान्यता अशिष्ट वा तल्लो स्तरको हुँदैन; बरु, उहाँको मानवता र विवेकशीलता सामान्य मानवताको दायराभित्र हुन्छन्, र उहाँको विवेक र समझ सामान्य हुन्छन्। यो यस मामिलाको एउटा पक्ष हो। यसका साथै, सामान्य मानवताको विवेक र समझको शासनअन्तर्गत, उहाँका विचार र दृष्टिकोणहरू, उहाँका विधि र काम गर्ने तरिकाहरू, र उहाँको आत्म-आचरणका सिद्धान्तहरू समेत सबै सत्यतासँग मिल्छन्। ती मानिसका लागि अनुल्लेखनीय देखिए पनि, र ती मानिसका लागि अत्यन्तै आम र अत्यन्तै साधारण देखिए पनि, तीमार्फत प्रकट हुने कुरा पनि परमेश्‍वरको जीवनको स्वाभाविक प्रकटीकरण नै हुन्छ। उहाँको मानवताको हिसाबमा होस् वा उहाँको दिव्य जीवनको प्रकटीकरणको हिसाबमा होस्, ती सबै परमेश्‍वरको सारसँग मिल्छन् र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ भन्‍ने कुरासँग पनि मिल्छन्; कुरा यत्ति हो कि, मानिसले यो कुरा पहिचान गर्दैन। मानिसको हृदय धारणा र कल्पनाहरूले भरिपूर्ण हुन्छ। मानिस परमेश्‍वरको मानवता र उहाँको दिव्यताका प्रकटीकरणहरू दुवै सकारात्मक हुन् भन्‍ने कुरा बुझ्दैन, र ऊ यी सकारात्मक कुराहरूका वास्तविकता हुन् भन्‍ने कुरा बुझ्दैन। मानिसलाई शैतानले भ्रष्ट तुल्याएको छ, र ऊ सकारात्मक कुराहरू के हुन् भन्‍ने बुझ्दैन, न त ऊ नकारात्मक कुराहरू के हुन् भन्‍ने नै बुझ्छ, र उसमा सही र गलत खुट्ट्याउने क्षमता नै हुँदैन, त्यसैले परमेश्‍वरबाट आउने कुराहरू—जुन सकारात्मक हुन्छन्, मानवतासँग मिल्छन्, र सत्यतासँग मिल्छन्—ती सबैलाई मानिसले प्रायजसो दोषी ठहराउँछ। तिनलाई दोषी ठहराइनुको कारण के हो भने, मानवहरू परमेश्‍वरबाट आउने सबै कुरालाई शैतानद्वारा भ्रष्ट तुल्याइएका विभिन्न विचार र दृष्टिकोणको अडानबाट हेर्छन्। तर जब तिमी यी सबै कुरालाई परमेश्‍वरले तिमीलाई सिकाउने विचार र दृष्टिकोणहरूको नजर र अडानबाट हेर्छौ, तब तिमीलाई परमेश्‍वरको देहबाट प्रकट हुने कुरा—चाहे उहाँको मानवताको हिसाबमा होस् वा उहाँको दिव्य जीवनको हिसाबमा होस्—महत्त्वहीन वा अनुल्लेखनीय छन् भन्‍ने लाग्नेछैन। जब तिमी सकारात्मक कुराहरू के हुन् भन्‍ने थाहा पाउँछौ र त्यसबारे निश्चित हुन्छौ, तब तिमीले देहधारी परमेश्‍वरका यी प्रकाश र प्रकटीकरणहरूलाई प्रेम गर्नेछौ जुन आम, साधारण हुन्छन्, र मानिसद्वारा अनुल्लेखनीय मानिन्छन्। तिमीले तिनलाई दोषी नठहराउने मात्र होइन, तिनलाई प्रेम गर्न पनि सक्नेछौ, र तिनलाई प्रेम गर्नबाहेक, उहाँलाई घृणा गर्नु र उहाँप्रति शत्रुवत् हुनुको सट्टा, तिमीसँग उहाँको अनुकरण गर्ने हार्दिक चाहना हुनेछ। परमेश्‍वरको देहलाई व्यावहारिक दृष्टिकोणबाट हेर्दा, उहाँसँग भएको कुरा सामान्य मानवता र परमेश्‍वरको जीवन हो। परमेश्‍वरको जीवनको हिसाबमा होस् वा उहाँको सामान्य मानवताको हिसाबमा होस्, जुन अनुल्लेखनीय र साधारण हुन्छ, उहाँ मानिसको नजरमा न त असाधारण देखिनुहुन्छ न त महान् नै। यो परमेश्‍वरको छनौट हो। यो परमेश्‍वरले यावत् थोक सृष्टि गर्नुभएजस्तै हो—हरेक कुरा यति वास्तविक छ, र मानिसको नजरमा हरेक कुरा यति अनुल्लेखनीय र साधारण देखिए पनि, ती सबै परमेश्‍वरको जीवन र अख्तियारद्वारा उत्पादन र सृष्टि गरिएका हुन्। रूखहरू, घाँस, र फूलहरू, समुद्रका माछाहरू, जमिनका विभिन्न जीवित प्राणी, आकाशका चराहरूलाई हेर—मानिसको नजरमा, यी हरेक कुराको जीवन यति अनुल्लेखनीय र निकै साधारण हुन्छ। ती पटक्कै असाधारण देखिँदैनन्, महान् देखिनु त झनै परको हो, तर तिनीहरूको जीवन सृष्टिकर्ताको हातबाट, सृष्टिकर्ताको सृष्टिबाट आएको हुन्छ। यो कुरा यति नै व्यावहारिक छ। भुइँका कमिलाहरूलाई हेर। के यस्ता साना कुराहरू परमेश्‍वरले सृष्टि गर्नुभएको हो? (हो।) ती पनि परमेश्‍वरले नै सृष्टि गर्नुभएको हो। मानिसहरूको दृष्टिकोणअनुसार त, यस्ता साना कुराहरू परमेश्‍वरको सृष्टिका लागि योग्य देखिँदैनन्; यदि परमेश्‍वरले सृष्टि गर्नुहुने हो भने, उहाँले ब्रह्माण्ड, ताराले भरिएको आकाश, र आकाशगङ्गा र सबै तारापुञ्जजस्ता भव्य कुराहरू सृष्टि गर्नुहुनेथियो, जबकि कमिला र कीराहरूजस्ता साना कुराहरू परमेश्‍वरको हातबाट आउनु हुँदैन। तर तिनीहरूको जीवन वास्तवमै परमेश्‍वरबाट नै उत्पन्न भएको हुन्छ। मानिसहरूको दृष्टिकोणअनुसार, कुनै महान् व्यक्ति वा महामानवले तिनीहरूले तुच्छ ठान्ने यी कुराहरू गर्नेथिएन। तर परमेश्‍वरका लागि त, उहाँले यावत् थोक सृष्टि गर्नुहुँदा ठूलो र सानोबीच कुनै भिन्नता थिएन। स्थूलदेखि सूक्ष्मसम्मका यावत् थोक सृष्टिकर्ताको सृष्टिबाट आएका हुन्छन्। परमेश्‍वरका लागि, जब उहाँले यावत् थोक सृष्टि गर्नुभयो, तब रोजीछानी गर्ने कुरा थिएन, न त मानवहरूको बुझाइअनुसारका व्यक्तिगत प्राथमिकताहरू नै थिए। यस मानवजातिलाई जेसुकै आवश्यक पर्छ, परमेश्‍वरले त्यही सृष्टि गर्नुभयो र परमेश्‍वर आपूर्ति गर्नुहुन्छ। मानिसको नजरमा धेरै कुरा यति तुच्छ हुन्छन् कि ती उल्लेख गर्न लायक हुँदैन, तैपनि ती परमेश्‍वरको सृष्टिबाट नै आएका हुन्छन्; र धेरै कुराले मानवजातिको उत्तरजीवितामा अत्यन्तै सानो भूमिका खेल्ने तथ्यको बाबजुद, ती पनि परमेश्‍वरको सृष्टिबाट नै आएका हुन्छन्। हेर त, के परमेश्‍वरको जीवनको सार प्रेमपूर्ण छ? (हो, छ।) परमेश्‍वरसँग अनुल्लेखनीय पक्ष छ र उहाँसँग साधारण पक्ष छ, र अवश्य नै, उहाँसँग असाधारण पक्ष पनि छ। अझै सटीक रूपमा भन्दा, यो असाधारणपन परमेश्‍वरको सर्वशक्तिमान्‌ता र परमेश्‍वरको अख्तियारबाट आउँछ। तर परमेश्‍वरको हकमा, भ्रष्ट मानवहरूजस्तो उहाँ आफू असाधारण वा महान् रहेको महसुस गर्नुहुन्न। परमेश्‍वरले गर्ने सबै कुरा सामान्य हुन्छ, यो स्वाभाविक रूपमा पनि हुन्छ, र अवश्य नै, यो उहाँको जीवन र अख्तियारको स्वाभाविक प्रकटीकरण पनि हो।

देहधारी परमेश्‍वरले कस्तो प्रकारको स्वरूप र कस्तो प्रकारको बाहिरी रूप छनौट गर्नुहुन्छ, उहाँसँग कस्तो प्रकारको मानवता र कस्तो प्रकारको व्यक्तित्व हुन्छ, उहाँले कस्तो प्रकारको जीवनशैली र बाँच्ने तरिका छनौट गर्नुहुन्छ, र उहाँसँग आत्म-आचरणका कस्ता सिद्धान्तहरू हुन्छन्—यी सबै मानिसहरूले देख्न सक्ने कुराहरू नै हुन्। हेर त, के परमेश्‍वरका छनौटहरू भ्रष्ट मानवहरूका छनौटहरू, वा शैतान र दियाबलसहरूका छनौटहरू जस्तै हुन्छन् त? (हुँदैनन्।) ती कसरी फरक हुन्छन्? (परमेश्‍वरले छनौट गर्नुहुने कुरा अउल्लेखनीय, साधारण, र सामान्य हुन्छ, जबकि भ्रष्ट मानवहरू र शैतानले छनौट गर्ने कुराहरू बाहिरी रूपमा तुलनात्मक रूपमा असाधारण, महान्, र अलौकिक देखिने कुराहरू हुन्छन्।) परमेश्‍वरको यो छनौटबाट, मानिसले परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यस कुराका कुन-कुन पक्षहरू देख्न सक्छ? यसमा परमेश्‍वरसम्बन्धी मानिसको ज्ञान समावेश हुन्छ। परमेश्‍वरको स्वभाव विनम्र र गुप्त हुन्छ, र अहङ्कारबाट मुक्त हुन्छ; देहधारी परमेश्‍वर सामान्य र साधारण हुनुहुन्छ, असाधारण हुनुहुन्न, र निकै व्यावहारिक हुनुहुन्छ भन्‍ने तथ्यबाट नै यो कुरा देख्न सकिन्छ। परमेश्‍वरसँग उच्च स्वरूप छ, परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ, र परमेश्‍वरसँग अख्तियार छ, तर जब परमेश्‍वर देह बन्नुहुन्छ, तब उहाँले यस्तो साधारण व्यक्ति र साधारण बाहिरी रूप छनौट गर्नुहुन्छ, र पनि कामको जिम्मेवारी लिन सक्नुहुन्छ। त्यसैले, परमेश्‍वरको मूल अभिप्रायबाट जाँच्दा, के परमेश्‍वरले देखावटी गर्न मन पराउनुहुन्न, देखावटी गर्न चाहनुहुन्न, र देखावटी गर्नुहुन्न भन्‍ने कुरा साँचो होइन र? (हो।) त्यसोभए यी “नगर्ने” कुराहरूबाट, के हामी परमेश्‍वरसँग अहङ्कारी स्वभाव हुँदैन भनेर निश्चित हुन सक्छौँ? (सक्छौँ।) परमेश्‍वरको देहको बाहिरी रूपबाट जाँच्दा र देहधारी परमेश्‍वरको हरेक पक्षलाई हेर्दा, उहाँ मानिसले उहाँलाई अत्यन्तै उच्च, अत्यन्तै असाधारण, अत्यन्तै असामान्य, अरू सबैभन्दा अत्यन्तै फरक, वा अत्यन्तै अद्वितीय रूपमा हेरोस् भन्‍ने चाहनुहुन्न। परमेश्‍वरले यी कुराहरू चाहनुहुन्न भन्नुको अर्थ उहाँले कहिल्यै यसरी सोच्नुहुन्न भन्‍ने हुन्छ। उहाँको स्वाभाविक प्रकटीकरण भनेको एक साधारण व्यक्ति—नगण्य, विनम्र, भद्र, र निष्कपट—बन्‍ने छनौट गर्नु, र व्यावहारिक र मर्यादित तरिकाले एक साधारण व्यक्ति बन्नु, आफ्नो मर्यादामा रहनु, र आफूले गर्नुपर्ने कामलाई उचित रूपमा गर्नु र त्यसलाई पूरा गर्नु हो। हेर त, परमेश्‍वरको मनमा यही कुरा हुन्छ; सुरुदेखि नै देहधारी परमेश्‍वरका सोचाइ र विचारहरू यिनै हुन्। त्यसैले मलाई भन, परमेश्‍वरले किन यसो भन्नुहुन्न, “म सृष्टिकर्ता हुँ, म ब्रह्माण्ड र यावत् थोकको सार्वभौम हुँ। यदि म देह बनेँ र साधारण परिवारमा जन्मेँ भने, त्यो पटक्कै सुहाउँदैन, र डुँडमा जन्मने कुरा त झनै असम्भव छ। म राजदरबारमा नै जन्मनुपर्छ। देहधारी परमेश्‍वर—ख्रीष्टसँग—राजकीय पहिचान हुनुपर्छ। जुनसुकै राजवंश भए पनि, उहाँ मानवजातिमाझ सबैभन्दा प्रख्यात परिवारमा जन्मनुपर्छ”? मलाई भन, के परमेश्‍वरले यसरी सोच्नुहुनेछ? के परमेश्‍वरले यस्ता छनौटहरू गर्नुहुन्छ, र के परमेश्‍वरलाई यस्ता आवश्यकताहरू हुन्छन्? (हुँदैनन्।) परमेश्‍वरले यस्ता छनौटहरू गर्नुहुन्न—के यो उहाँले आफैलाई रोक्नुभएको, देखावा प्रस्तुत गर्नुभएको, वा मानिसले देखून् भनेर नाटक गर्नुभएको हो? (यीमध्ये कुनै पनि होइन।) त्यसोभए यो के हो त? (यो परमेश्‍वरको जीवन सारको प्रकटीकरण हो।) यो परमेश्‍वरको सारको प्रकटीकरण हो। यसरी नै, परमेश्‍वरले स्वाभाविक रूपमा साधारण परिवारमा जन्मने, र साधारण व्यक्ति बन्‍ने छनौट गर्नुहुन्छ। उहाँको हुर्काइ पनि अत्यन्तै सरल हुन्छ; उहाँ प्रख्यात परिवारबाट आउनुहुन्न, उहाँको सामाजिक पृष्ठभूमि पनि अत्यन्तै सरल हुन्छ, र उहाँले उच्च शिक्षा प्राप्त गर्नुभएको हुँदैन। हेर त, कामकुराहरू गर्दा परमेश्‍वरका सोचाइ, विचार, र दृष्टिकोणहरू भ्रष्ट मानवहरू र शैतानका भन्दा फरक हुन्छन्। भ्रष्ट मानवहरूले कसरी छनौट गर्नेथिए? प्रख्यात परिवारमा जन्मने, विलासी जीवन बिताउने, असामान्य पारिवारिक र सामाजिक पृष्ठभूमि हुने, हैसियत हुने र शक्ति हुने, उच्च शिक्षा प्राप्त गर्ने, विद्वान, प्रतिभाशाली, र सीपयुक्त हुने, सुन्दर बाहिरी रूप हुने, बोलीमा विशिष्ट हुने—छोटकरीमा भन्दा, हरेक हिसाबमा साधारण मानिसहरूभन्दा फरक हुने। हेर त, मानिसले छनौट गर्ने कुरा यही हो। यदि शैतान मानिसहरूका बीचमा कामकुराहरू गर्न आउने हो भने, यसको छनौट के हुनेथियो? यदि यसलाई साधारण परिवारमा जन्मने, समाजको सबैभन्दा तल्लो तहमा जन्मने भनियो भने, के यो इच्छुक हुनेथियो? (हुनेथिएन।) त्यसोभए यसले कसरी छनौट गर्नेथियो? (यसले प्रख्यात परिवार वा राजदरबारमा जन्मने छनौट गर्नेथियो, अर्थात्, निकै उच्च हैसियत भएको परिवारमा।) यसले निकै उच्च सामाजिक हैसियत भएको परिवारमा जन्मने छनौट गर्नेथियो, जहाँ धेरै पुस्तादेखि वंशावलीमा प्रधानमन्त्री, प्रमुख नेता, राज्य सचिव, जनरल, र मार्सलहरू लगायतका दरबारिया अधिकारीहरू भरिएका हुन्छन्—एउटा प्रख्यात परिवार। यसले यस्तो प्रकारको परिवार छनौट गर्नेथियो। यसका साथै, शैतान आफै सबै क्षेत्रमा उच्च प्रतिभाशाली हुनेथियो र मानिसहरूमाझ उत्कृष्ट हुनेथियो, होइन र? (हो।) शैतान र भ्रष्ट मानवहरूले किन यस्ता छनौटहरू गर्छन्? यस्ता छनौटहरू गर्नुको पछाडि के अभिप्राय हुन्छ? (मानिसहरूले तिनीहरूलाई मूर्तिका रूपमा पूजा गरून् र तिनीहरूलाई उच्च सम्मान गरून् भन्‍ने।) मलाई भन, अरूले सधैँ आफूलाई मूर्तिको रूपमा पूजा गरून् भन्‍ने चाहने, अरूले आफूलाई उच्च सम्मान गरून् भन्‍ने चाहने, र अरूले आफ्नो प्रशंसा गरून् भन्‍ने चाहने स्वभाव कस्तो प्रकारको स्वभाव हो? यो कुन सारबाट प्रकट हुन्छ? (अहङ्कार।) तिमीहरू किन यो अहङ्कार हो भनेर भन्छौ? यदि कोही सक्षम छ र उसले मानिसहरूलाई उसलाई मूर्तिको रूपमा पूजा गर्न लगाउँछ भने, त्यसमा के खराबी हुन्छ र? मानिसहरूले परमेश्‍वरलाई पनि पछ्याउँछन् र परमेश्‍वरको आराधना गर्छन्, त्यसोभए के मानिसहरूले परमेश्‍वरलाई पनि मूर्तिको रूपमा पूजा गर्छन् त? यहाँ के भिन्नता छ? यदि कुनै व्यक्ति उच्च र सक्षम छ, र अरूले उसलाई मूर्तिको रूपमा पूजा गर्छन् भने, त्यो अरू मानिसहरूको समस्या हो—मूर्तिको रूपमा पूजा गरिने व्यक्तिसँग यसको के सरोकार हुन्छ र? त्यसोभए मूर्तिको रूपमा पूजा गरिने व्यक्तिसँग अहङ्कारी स्वभाव हुन्छ भनेर तिमीहरू किन भन्छौ? (मानिसहरूलाई शैतानले भ्रष्ट तुल्याएको छ र तिनीहरू शैतानका विभिन्न भ्रष्ट स्वभावहरूले भरिपूर्ण छन्; तिनीहरूमा धाक लगाउन वा देखावटी गर्न लायकका केही पनि हुँदैन। तैपनि मानिसहरू सधैँ अरूलाई उनीहरूको उच्च सम्मान गर्न लगाउन र उनीहरूलाई मूर्तिको रूपमा पूजा गर्न लगाउन देखावटी गर्न चाहन्छन्। यो अहङ्कारी स्वभाव हो, र यो लाजमर्दो कुरा हो।) तिमीहरूले भनेको कुरा सैद्धान्तिक रूपमा सही छ, तर समस्याको मूल कारण अझै स्पष्ट रूपमा व्याख्या गरिएको छैन। यसमा सत्यताको एउटा पक्ष पनि समावेश छ, जुन तिमीहरूले बुझ्नुपर्छ। शैतानसँग सत्यता हुँदैन, न त यससँग परमेश्‍वरको अख्तियार वा परमेश्‍वरको सर्वशक्तिमान्‌ता नै हुन्छ, यससँग परमेश्‍वरको सार हुने कुरा त झनै परको हो। शैतानमा प्रेम गर्न लायकको केही पनि हुँदैन। यसले मानिसलाई सत्यता प्रदान गर्न सक्दैन, न त यसले मानिसको नियतिमाथि सार्वभौमिकता नै राख्न सक्छ; यसको नियति अझै पनि परमेश्‍वरको हातमा हुन्छ, र परमेश्‍वरले नै यसको नियतिलाई नियन्त्रण गर्नुहुन्छ। यो मानवजातिको परमेश्‍वर होइन, न त यो मानवजातिको प्रभु नै हो, यो यावत् थोकको सृष्टिकर्ता हुनु त झनै परको कुरा हो। यो के हो त? यसको स्वभाव र सारबाट जाँच्दा, यो भ्रष्टता, दुष्टता, र क्रूरताले भरिपूर्ण छ। यो सबै सकारात्मक कुराहरूको विरोधी हो, र यो सबै नकारात्मक कुराहरूको पराकाष्ठा हो। यसले कुनै पनि जीवित प्राणी वा मानवजातिलाई सत्यता दिन, मार्ग दिन, वा बाँच्ने अधिकार दिन सक्दैन, न त यसले मानवजातिलाई मुक्ति नै दिन सक्छ। यसले मानिसलाई गर्ने भनेको उसलाई बरबाद गर्ने, भ्रष्ट तुल्याउने, भ्रमित पार्ने, र लोभ्याउने, उसलाई पतित बनाउने, उसलाई परमेश्‍वरको विरोधी बनाउने, र उसलाई सकारात्मक कुराहरूप्रति शत्रुवत् बनाउने मात्रै हो। त्यसकारण, शैतान मानवजातिको आराधनाको अयोग्य छ। यो मानवजातिको आराधनाको अयोग्य छ, तैपनि यो अझै पनि परमेश्‍वरको स्थानमा खडा हुन र मानवजातिले यसको आराधना गरून् भन्‍ने चाहन्छ—के यो निर्लज्जता होइन र? (हो।) यो प्रकृतिमा निर्लज्जता हो; स्वभावको हिसाबमा भन्दा, कस्तो प्रकारको स्वभावले यस्तो गराउँछ? (अहङ्कार र अभिमान।) यो अहङ्कार र अभिमानले गर्दा हुन्छ। अहङ्कारी र अभिमानी हुनुको प्रकटीकरण भनेको समझ नहुनु हो। समझ नभएका मानिसहरू अहङ्कारी र अभिमानी हुन सक्छन्। सामान्य मानवताको समझ नभएको व्यक्तिको स्वभाव अहङ्कारी र अभिमानी, र पूर्ण रूपमा अराजक समेत हुन्छ। यस्तो व्यक्ति एउटा शैतान हो। मानवजातिलाई शैतानले भ्रष्ट तुल्याएको छ, त्यसोभए के तिनीहरूसँग यस्तो प्रकारको स्वभाव हुन्छ त? (हुन्छ।) अहङ्कार र अभिमानको यो स्वभावले गर्दा, मानिस समझविहीन बन्छ, उसको समझ विकृत बन्छ, त्यसकारण ऊ परमेश्‍वरको आराधना गर्न असक्षम हुन्छ। मानिस परमेश्‍वरको आराधना गर्न असक्षम हुन्छ, र उसले सकारात्मक कुराहरूलाई प्रेम गर्दैन, तैपनि ऊ सधैँ अरूले उसलाई मूर्तिको रूपमा पूजा गरून् भन्‍ने चाहन्छ। यसले उसलाई ठ्याक्कै शैतान जस्तै बनाउँछ। शैतानले के छनौट गर्नेथियो भनेर हेर। यदि यो मानव बन्ने हो भने, यसले महान् व्यक्ति वा अलौकिक व्यक्ति बन्‍ने छनौट गर्नेथियो; यसले साधारण व्यक्ति वा आम व्यक्ति बन्‍ने, परमेश्‍वरको आराधना गर्न सक्ने साधारण र अउल्लेखनीय सृजित प्राणी बन्‍ने छनौट गर्नेथिएन। यसले यो मार्ग छनौट गर्नेथिएन। यसले अलौकिक व्यक्ति बन्‍ने, महान् व्यक्ति बन्‍ने, मानिसहरूमाझ उत्कृष्ट बन्‍ने, मानवजातिलाई अगुवाइ गर्न सक्ने र मानवजातिलाई नियन्त्रण गर्न सक्ने व्यक्ति बन्‍ने, र अरूलाई आफ्नो उच्च सम्मान गर्न लगाउन सक्ने, उसलाई मूर्तिको रूपमा पुज्‍न अरूलाई लगाउन सक्ने, र उसलाई पछ्याउन अरूलाई लगाउन सक्ने व्यक्ति बन्‍ने छनौट गर्नेथियो। त्यसपछि यसले मानिसलाई अझै भ्रमित पार्ने र भ्रष्ट तुल्याउनेथियो, उसलाई यसको भ्रष्टतामा पतित बनाउनेथियो, परमेश्‍वरबाट टाढा लैजानेथियो, साँचो मार्गबाट भड्काउनेथियो, र परमेश्‍वरको विरोधी बनाउनेथियो। हेर त, शैतानले यसरी छनौट गर्नेथियो। त्यसैले, यसका छनौटहरूका आधारमा जाँच्दा, शैतानको जीवन सार के हो त? के यसमा सुन्दरता र भलाइ छ? (छैन।) के यसमा विनम्रता छ? (छैन।) के यो सकारात्मक छ? (छैन, यो पूर्ण रूपमा नकारात्मक छ।) यसको विपरीत, परमेश्‍वरको जीवन कस्तो छ, र परमेश्‍वरको सार कस्तो छ? (निकै सुन्दर र असल छ।) परमेश्‍वरको जीवन सार सुन्दर र असल छ, र यो मानिसको प्रेमको योग्य छ; परमेश्‍वर मानिसद्वारा पछ्याइन योग्य हुनुहुन्छ र उहाँ मानिसद्वारा आराधना गरिन योग्य हुनुहुन्छ। यदि मानिसले अहङ्कारी स्वभाव भएको शैतानको आराधना गर्छ भने, उसलाई के हुनेछ? ऊ झन्-झन् पतित, झन्-झन् अहङ्कारी बन्दै जानेछ, सही र गलत खुट्ट्याउन झन्-झन् असक्षम बन्दै जानेछ, र उसले सकारात्मक कुराहरूलाई झन्-झन् घृणा गर्नेछ र ऊ परमेश्‍वरबाट टाढा हुँदै जानेछ। तर यदि मानिसले परमेश्‍वरको आराधना गर्छ र परमेश्‍वरलाई पछ्याउँछ भने नि? त्यसोभए परिणाम फरक हुनेछ। मानिसको विवेक र समझ झन्-झन् सामान्य बन्दै जानेछ, उसले सकारात्मक कुराहरूलाई झन्-झन् प्रेम गर्नेछ, र उसले आफ्नो जीवनको जे कुरा प्रकट गर्छ त्यो सकारात्मक कुराहरूसँग झन्-झन् नजिक, र परमेश्‍वरबाट प्रकट हुने व्यावहारिकता, साधारणपन, सामान्यता, र अउल्लेखनीय कुरासँग झन्-झन् नजिक हुँदै जानेछ। जब तिमीले अहङ्कारको भ्रष्ट स्वभावलाई फाल्छौ, तब तिमीले स्वाभाविक रूपमा साधारण, सामान्य, र व्यावहारिक मानवता पनि प्रकट गर्नेछौ, र साथसाथै, तिमीले साधारण, सामान्य, र अउल्लेखनीय रहेका सृजित प्राणीहरू जस्ता सकारात्मक कुराहरूलाई पनि मन पराउनेछौ। जब परमेश्‍वरका वचनहरू तिम्रो जीवन बन्छन्, तब तिमीले प्रेम गर्ने कुराहरू फरक हुनेछन्, तिमीले छनौट गर्ने मार्ग फरक हुनेछ, र कुनै पनि कुरासम्बन्धी तिम्रा दृष्टिकोण र छनौटहरू पनि फरक हुनेछन्। होइन र? (हो।)

परमेश्‍वरको देहको बाहिरी रूप र सबै पक्षहरूमा उहाँका अवस्थाहरू, साथै उहाँसँग भएका सबै कुराहरूमध्ये तिमीले जे देख्न र सुन्न सक्छौ—यी सबै परमेश्‍वरबाट आएका हुन्छन्। ती परमेश्‍वरले देह बन्नुभन्दा पहिले छनौट गर्नुभएका कुराहरू हुन्, र ती परमेश्‍वरका आफ्नै कार्य पनि हुन्। त्यसोभए, परमेश्‍वरको देहलाई हेरेर भन्दा, परमेश्‍वरले मानिसहरूका बीचमा आउनुहुँदा, कुनै महामानव वा महान् व्यक्तिको भूमिका खेलिरहनुभएको छैन—उहाँले केवल साधारण, सामान्य देहधारी परमेश्‍वर स्वयम्‌को रूपमा काम गरिरहनुभएको छ, र भ्रष्ट मानवजातिले मान्ने वा भ्रष्ट मानवजातिलाई मन पर्ने महामानवहरू वा महान् व्यक्तिहरूसँग उहाँको पटक्कै कुनै सरोकार हुँदैन। त्यसकारण, यदि तिमी देहधारी परमेश्‍वरलाई स्वीकार गर्न चाहन्छौ भने, तिमीले पहिले देहधारी परमेश्‍वर महामानव वा महान् व्यक्ति हुनुपर्छ भन्‍ने मागलाई त्याग्नुपर्छ; तिमीले यो आवश्यकतालाई त्याग्नुपर्छ, यो चाहनालाई त्याग्नुपर्छ, र यो गलत विचार र दृष्टिकोणलाई त्याग्नुपर्छ। देहधारी परमेश्‍वरको साधारणपन, अउल्‍लेखनीयता, सामान्यता, र व्यावहारिकतालाई स्वीकार गर्नु, र देहधारी परमेश्‍वर महान् र असाधारण हुनुपर्छ भन्‍ने तिम्रो मागलाई त्याग्नु: देहधारी परमेश्‍वरप्रति एउटा सृजित प्राणीमा हुनुपर्ने सबैभन्दा आधारभूत मनोवृत्ति यही हो, र यो तिम्रो विवेकशीलताभित्र तिमीसँग हुनुपर्ने कुरा पनि हो। देहधारी परमेश्‍वर महान् र असाधारण हुनुपर्छ भन्‍ने मागलाई त्याग्नुका साथै, केही निश्‍चित मामलाहरूमा तिमीले के जान्नुपर्छ भने, पृथ्वीमा आफ्नो काम गर्न आउनुहुँदा, देहधारी परमेश्‍वर कुनै मानव उद्यममा संलग्न रहनुहुन्न। पहिलो, उहाँ वैज्ञानिक अनुसन्धानमा संलग्न रहनुहुन्न। दोस्रो, उहाँ न त ज्ञानलाई लोकप्रिय बनाउन, न त सिद्धान्तहरू प्रदान गर्न, सीपहरू सिकाउन, वा अन्योलहरू हटाउन आउनुभएको हो। त्यसैले, देहधारी परमेश्‍वर कुनै विद्वानको भूमिका खेल्न आउनुभएको होइन; उहाँ प्राध्यापक हुनुहुन्न, उहाँ विद्वान हुनुहुन्न, न त उहाँ कुनै प्रकारको बुद्धिजीवी नै हुनुहुन्छ। तिम्रो दृष्टिकोणमा, तिमीलाई देहधारी परमेश्‍वर कुनै सामान्य व्यक्ति नहुनुभएकोले र उहाँले कुनै साधारण भूमिका नखेल्नुहुने भएकोले, उहाँले उच्च शिक्षा प्राप्त गर्नुभएको हुनुपर्छ, उहाँ उच्च रूपमा शिक्षित र सुसंस्कृत हुनुपर्छ, उहाँसँग असाधारण ज्ञान र सिद्धान्तहरू हुनुपर्छ, वा उहाँ विभिन्न विषय र प्राविधिक सीपहरूमा निपुण हुनुपर्छ भन्‍ने लाग्छ—तिमीले यसरी सोच्नु गलत हो। परमेश्‍वर मानव उद्यममा संलग्न रहनुहुन्न; उहाँ प्राविधिक सीपहरू, व्यावसायिक सीपहरू, वा सांसारिक ज्ञानसम्बन्धी मानवजातिका कुनै पनि खोजहरूमा संलग्न रहनुहुन्न। उहाँ के गर्न आउनुभएको हो त? उहाँ परमेश्‍वरको आफ्नै व्यवस्थापन अघि बढाउन आउनुभएको हो। परमेश्‍वरको आफ्नै व्यवस्थापन के हो? यो सत्यता प्रयोग गरेर अनि उहाँका वचनहरू प्रयोग गरेर काम गर्नु र मानिसलाई मुक्ति दिनु हो—परमेश्‍वरको व्यवस्थापन यही हो। उहाँ एक साधारण व्यक्ति हुनुभए पनि, र उहाँसँग मानवको बाहिरी रूप भए पनि, उहाँले गर्नुहुने कुरा मानिसको काम होइन तर परमेश्‍वरको काम हो। उहाँले गर्नुहुने कुरा परमेश्‍वरको छ हजार वर्षको व्यवस्थापनको योजनाभित्रको एउटा काम हो, र परमेश्‍वरको नजरमा, यो काम परमेश्‍वरको व्यवस्थापन हो। उहाँले परमेश्‍वरको व्यवस्थापन अघि बढाइरहनुभएको छ, परमेश्‍वरको मण्डलीको व्यवस्थापन गरिरहनुभएको छ, परमेश्‍वरको कामको व्यवस्थापन गरिरहनुभएको छ, मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको कामको व्यवस्थापन गरिरहनुभएको छ, परमेश्‍वरको अधुरो कामको व्यवस्थापन गरिरहनुभएको छ, र एउटा यस्तो कामको व्यवस्थापन गरिरहनुभएको छ जसमा परमेश्‍वरका वचनहरूलाई लिने, र सत्यतालाई लिने, र तिनलाई मानिसभित्र लागू गर्ने कुरा समावेश हुन्छ ताकि ती उसको जीवन बनून्। त्यसकारण, यदि तिमीले आफ्नो हृदयमा वा तिम्रा धारणा र कल्पनाहरूमा देहधारी परमेश्‍वर उच्च रूपमा शिक्षित हुनुपर्छ, उहाँले कडा व्याकरणीय तरिकाले बोल्नुपर्छ, र उहाँले उच्च सिद्धान्तहरूका बारेमा बोल्नुपर्छ भन्‍ने विश्‍वास गर्छौ भने, तिमी गलत छौ। मानिसहरूका बीचमा आउनुहुँदा, देहधारी परमेश्‍वरले कुनै पनि प्रकारको मानव शिक्षा प्राप्त गर्ने अभिप्राय कहिल्यै राख्नुभएको छैन, उहाँले कुनै पनि मानव प्राविधिक वा व्यावसायिक सीप वा ज्ञान सिक्ने अभिप्राय कहिल्यै राख्नुभएको छैन, र उहाँले मानव ज्ञान प्राप्त गरेर कुनै मानव करियर पछ्याउने, र यसरी मानवजातिका बीचमा जिउने र बाँच्ने लक्ष्य हासिल गर्ने अभिप्राय कहिल्यै राख्नुभएको छैन। जब तिमीसँग देहधारी परमेश्‍वरबारे यी धारणा र कल्पनाहरू हुन्छन्, तब तिमीले तिनलाई समाधान गर्नका लागि सत्यता खोज्नुपर्छ, र तिमीले देहधारी परमेश्‍वरलाई सही रूपमा व्यवहार गर्नुपर्छ। अर्थात्, तिमीले देहधारी परमेश्‍वरलाई एउटा सृजित प्राणीको मनोवृत्तिका साथ हेर्नुपर्छ, यी साधारण व्यक्तिलाई एउटा भ्रष्ट मानवको नजरबाट हेर्ने होइन। परमेश्‍वरले मानिसहरूका बीचमा आफ्नो काम गर्नुहुन्छ, परमेश्‍वरका वचनहरू व्यक्त गर्नुहुन्छ, परमेश्‍वरको स्वभाव व्यक्त गर्नुहुन्छ, मानवजातिलाई परमेश्‍वरको सत्यता आपूर्ति गर्नुहुन्छ, र मानवजातिलाई मार्ग र जीवन प्रदान गर्नुहुन्छ। यी साधारण व्यक्ति, परमेश्‍वरको देहसँग, यो कामको अभिभारा उठाउन सक्षम हुनका लागि एउटा कुरा मात्रै हुनु आवश्यक हुन्छ। यो एउटा कुरा के हो? उहाँसँग परमेश्‍वरको जीवन मात्रै हुनु आवश्यक हुन्छ—त्यति नै पर्याप्त हुन्छ। उहाँ कति शिक्षित हुनुहुन्छ, उहाँसँग गहन ज्ञान छ कि छैन, उहाँले उच्च शिक्षा प्राप्त गर्नुभएको छ कि छैन, उहाँसँग सामाजिक अनुभव छ कि छैन र उहाँसँग अन्तर्ज्ञान छ कि छैन, उहाँले के-कस्ता कुराहरू अनुभव गर्नुभएको छ, उहाँले कुनै निश्चित राष्ट्र वा कुनै निश्चित वंशका मानिसहरूको संस्कृतिको अनुसन्धान गर्नुभएको छ कि छैन, उहाँले मानव संस्कृतिको कुनै निश्चित पक्षको सार बुझ्नुहुन्छ कि बुझ्नुहुन्न, उहाँले कुनै निश्चित क्षेत्रमा मानवजातिको ज्ञान र सामान्य चेतनालाई बुझ्नुभएको छ कि छैन, उहाँसँग के-कस्ता वरदान र सक्षमताहरू छन्, इत्यादि कुराहरूको हकमा भन्दा—यी सबै कुरा महत्त्वपूर्ण छैनन्। महत्त्वपूर्ण कुरा के हो भने उहाँसँग भएको जीवन, उहाँले प्रकट गर्नुहुने जीवन नै उहाँका लागि परमेश्‍वरको आफ्नै कामको अभिभारा उठाउनका लागि पर्याप्त छ, उहाँका लागि परमेश्‍वरका वचनहरू र परमेश्‍वरको काम लिन, र तिनलाई व्यक्त गर्न, त्यसपछि तिनलाई मानिसमाथि लागू गर्न, भ्रष्ट मानवजातिलाई तिनीहरूका भ्रष्ट स्वभावहरूबाट मुक्त गर्न, र मानिसलाई परमेश्‍वरको अघि ल्याउन पर्याप्त छ ताकि उसले मुक्ति प्राप्त गर्न सकोस्। परमेश्‍वरको कामको अभिभारा उठाउनका लागि उहाँलाई यति नै पर्याप्त हुन्छ। त्यसकारण, यदि तिमीले देहधारी परमेश्‍वर असल पृष्ठभूमि र प्रख्यात परिवारबाट आउनुभएको हुनुपर्छ, उहाँले उच्च शिक्षा प्राप्त गर्नुभएको हुनुपर्छ, उहाँ वाक्पटु र बोल्नमा सिपालु हुनुपर्छ, उहाँले लेखहरू लेख्न सक्नुपर्छ, सङ्गीत रचना गर्न सक्नुपर्छ, र नाच्न सक्नुपर्छ, र उहाँ निकै प्राविधिक सीप र ज्ञानका क्षेत्रहरूमा निपुण हुनुपर्छ भन्‍ने माग गर्छौ भने, म भन्छु तिमी गलत छौ—तिमीले गलत ठाउँमा खोजिरहेका छौ। यदि तिमी विश्‍वविद्यालयमा, राजनीतिक वृत्तमा, वा विभिन्न उद्योग र क्षेत्रहरूमा थियौ भने, प्राध्यापक, अगुवा, वा प्रमुख कार्यकारी अधिकृतसँग त्यस्ता मागहरू गर्नु उचित र तर्कसङ्गत हुन सक्थ्यो, तर यदि तिमीले देहधारी परमेश्‍वरसँग यी कुराहरू हुनुपर्छ भन्‍ने माग गर्छौ भने, म भन्छु तिमी गम्भीर रूपमा गलत छौ; तिमीसँग यस्तो विचार हुनु अत्यन्तै विद्रोही कुरा हो। तिमीले देहधारी परमेश्‍वरसँग यी मागहरू पटक्कै गर्नु हुँदैन। तिमीले किन यी मागहरू गर्न सक्दैनौ? हामीले भर्खरै के भन्यौँ भने देहधारी परमेश्‍वर कुनै मानव उद्यममा संलग्न रहनुहुन्न, न त उहाँले परमेश्‍वरको व्यवस्थापनभन्दा बाहिरको काम नै गर्नुहुन्छ। त्यसकारण, यदि तिमीसँग देहधारी परमेश्‍वरबारे यी धारणा र कल्पनाहरू छन् वा यी मागहरू छन् भने, एक हिसाबमा, यो समझहीन कुरा हो, र अर्को हिसाबमा, तिमीले अपनाइरहेको दृष्टिकोण गलत छ। यदि यी दुई वटा समस्याहरू समाधान भए भने, देहधारी परमेश्‍वरबारेका तिम्रा धेरै धारणाहरू समाधान गर्न सजिलो हुनेछ, होइन र? (हो।) यदि तिमीले अपनाइरहेको दृष्टिकोण गलत छ भने, तिमीले त्यसलाई सच्याउनुपर्छ। देहधारी परमेश्‍वरको हकमा, तिमीले उहाँलाई परमेश्‍वरको देहमा लागू हुने मानक र सिद्धान्तहरूअनुसार मापन गर्नुपर्छ, होइन र? के उहाँले सत्यता व्यक्त गर्न सक्नुहुन्छ, र के उहाँसँग परमेश्‍वरको जीवन छ? के उहाँले प्रकट गर्नुहुने कुरा परमेश्‍वरको स्वभाव हो र के यो परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यही हो? मानवजातिका लागि, के उहाँले व्यक्त गर्नुहुने र उहाँबाट प्रकट हुने कुराहरू सत्यता हुन्, के ती मानवजातिलाई आवश्यक पर्ने कुराहरू हुन्, र के ती मानिसलाई आफ्ना भ्रष्ट स्वभावहरू फाल्न र मुक्ति प्राप्त गर्न सक्षम तुल्याउनका लागि पर्याप्त छन्? उहाँले व्यक्त गर्नुहुने सत्यताहरू होऊन् वा उहाँले गर्नुहुने काम होस्, वा उहाँको काम गर्ने विधिहरू नै होऊन्, के तिनले तिमीलाई परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्गमा हिँड्न सक्षम तुल्याउँछन्, के तिनले तिमीलाई परमेश्‍वरको आराधना गर्न सक्षम तुल्याउँछन्, र के तिनले अन्ततः तिमीलाई परमेश्‍वरको अधीनमा रहन र उहाँको डर मान्न सक्षम तुल्याउन सक्छन्? यदि त्यसो हो भने, उहाँ परमेश्‍वरको देह हुनुहुन्छ भनेर तिमी निश्चित हुनका लागि यति नै मात्रै पर्याप्त हुन्छ। धेरै हिसाबमा, उहाँले मानवजातिका मागहरू पूरा गर्नुभएको छैन र मानवजातिका धारणा र कल्पनाहरू पनि पूरा गर्नुभएको छैन भने पनि, त्यसको अर्थ तिम्रा धारणा र कल्पनाहरू समझहीन छन्, तथ्यहरूअनुरूप छैनन्, र सकारात्मक कुराहरू होइनन्, वा तिम्रा मागहरू अत्यन्तै कडा र समझहीन छन्, र तिम्रा मागहरू पटक्कै सकारात्मक कुराहरू होइनन्, तर तिनले शैतानलाई प्रतिनिधित्व गर्छन् भन्‍ने मात्रै हुन्छ। तिमीले देहधारी परमेश्‍वरमाथि राख्ने यी समझहीन मागहरू शैतानले प्रभु येशूलाई आफ्नो आराधना गर्न माग गरेजस्तै हुन्। शैतानले प्रभु येशूलाई एउटा अत्यन्तै अग्लो डाँडामा लग्यो, उहाँलाई संसारका सबै राज्यहरू र तिनको महिमा देखायो, र उहाँलाई भन्यो, “यदि तिमीले घोप्टो परेर मेरो आराधना गर्यौ भने, यी सबै महिमा र धनसम्पत्ति तिम्रा हुनेछन्।” प्रभु येशूले के भन्नुभयो? (प्रभु येशूले भन्‍नुभयो: “यहाँबाट गइहाल्, शैतान: किनकि यस्तो लेखिएको छ, तैँले परमप्रभु तेरा परमेश्‍वरको आराधना गर्नू र उहाँको मात्र सेवा गर्नू” (मत्ती ४:१०)।) के प्रभु येशू यसमा सहमत हुनुभयो? (हुनुभएन।) प्रभु येशू यसमा सहमत हुनुभएन; उहाँले यसको छललाई छर्लङ्गै देख्नुभयो। हेर त, परमेश्‍वरप्रतिको शैतानको मनोवृत्ति यस्तै हुन्छ। यदि तिमीसँग देहधारी परमेश्‍वरप्रति यस्तो प्रकारको मनोवृत्ति छ भने, र यदि, उहाँका वचनहरू सुनिसकेको र उहाँको काम स्वीकार गरिसकेको, र उहाँसँग परमेश्‍वरको पहिचान छ, परमेश्‍वरको सार छ, र परमेश्‍वरको जीवन छ भन्‍ने कुरामा निश्चित भइसकेको परिस्थिति र सन्दर्भमा, तिमी अझै पनि उहाँसँग यी समझहीन मागहरू गर्छौ वा उहाँबारे यी धारणा र कल्पनाहरू राख्छौ भने, त्यो शैतानले प्रभु येशूलाई आफ्नो आराधना गर्न माग गरेजस्तै हो। यी दुई कुराहरूको प्रकृति एउटै हुन्छ। बुझ्यौ? (बुझ्यौँ।)

परमेश्‍वरको देहसँग परमेश्‍वरको जीवन छ र परमेश्‍वरको सार छ, र उहाँले परमेश्‍वरको स्वभाव व्यक्त गर्न सक्नुहुन्छ। उहाँबाट प्रकट हुने कुरामा परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो समावेश हुन्छ। यो परमेश्‍वरको पूर्ण अभिव्यक्ति नभए पनि, उहाँबाट प्रकट हुने कुरा र उहाँले व्यक्त गर्नुहुने कुरा सबै परमेश्‍वरको जीवन सारका प्रकटीकरणहरू हुन्। जब तिमी यसबारे पक्‍का हुन्छौ, तब उहाँ परमेश्‍वरको देह हुनुहुन्छ भन्‍ने कुरामा तिमी पक्‍का हुनुपर्छ—यसमा कुनै गल्ती हुँदैन। जब तिमी यसबारे पक्‍का हुन्छौ, तब तिमीले आफ्ना धारणाहरू त्याग्नुपर्छ र आफ्ना समझहीन मागहरू त्याग्नुपर्छ। कतिपय मानिसहरूले यी कुराहरू त्याग्न सजिलो छैन भनेर भन्छन्। वास्तवमा, यो कुरा गाह्रो छैन; यो त तिमीले सत्यता स्वीकार गर्न सक्छौ कि सक्दैनौ भन्‍ने कुरामा मात्रै निर्भर हुन्छ। यदि तिमीले सत्यता स्वीकार गर्न सक्छौ भने, यी कुराहरू त्याग्न सजिलो हुन्छ। यदि तिमीले स्वेच्छाले र खुसीसाथ यो व्यक्तिलाई स्वीकार गर्छौ भने—उहाँको पहिचान स्वीकार गर्छौ, उहाँको सार स्वीकार गर्छौ, र उहाँले भन्नुहुने र गर्नुहुने कुराहरू, साथै तिमीप्रतिका उहाँका मागहरू स्वीकार गर्छौ भने—तिमीले उहाँको सामान्यता र व्यावहारिकता स्वीकार गर्नुपर्छ। जब तिमीले उहाँको सामान्यता र व्यावहारिकता स्वीकार गर्छौ र तिमी स्वेच्छाले उहाँको अधीनमा रहन्छौ, तब उहाँका वचनहरू फेरि गम्भीरतापूर्वक पढ, र तिमीभित्र कस्ता प्रकारका परिवर्तनहरू आउनेछन् भनेर हेर। सबै प्रकारका कुराहरूलाई कसरी व्यवहार गर्ने भन्‍ने बारेमा मैले यी सबै वचनहरूमा तिमीहरूलाई भनेका विचार र दृष्टिकोणहरू, साथै त्यस्ता मामलाहरूलाई व्यवहार गर्ने अभ्यासका सिद्धान्तहरू र तिनलाई समाधान गर्ने मार्गहरूलाई पनि हेर, र ती सही मार्ग हुन् कि होइनन् र ती सत्यता हुन् कि होइनन् भनेर हेर; ती परमेश्‍वरले यावत् थोक सृष्टि गर्नुभएका नियमहरूअनुरूप छन् कि छैनन्, र ती यावत् थोकमाथिको परमेश्‍वरको सार्वभौमिकता पछाडिको सारअनुरूप छन् कि छैनन् भनेर हेर। यदि तिमीले यी वचनहरूलाई प्रार्थनार्थ पढ्न र तिनलाई तिम्रो जीवनको रूपमा स्वीकार गर्न आफ्नो हृदयलाई शान्त पार्यौ भने, तिमीभित्र बिस्तारै परिवर्तनहरू आउनेछन्। सकारात्मक कुराहरूप्रतिको तिम्रो प्रेमले बिस्तारै नकारात्मक कुराहरूप्रतिको तिम्रो प्रेमलाई उछिन्नेछ, र तिमीले सकारात्मक कुराहरूलाई प्रेम गर्ने हदले तिमीले नकारात्मक कुराहरूलाई प्रेम गर्ने हदलाई उछिन्नेछ। यो फसल कटनी गरेपछि, अर्को परिणाम के हुन्छ भने तिमीले बिस्तारै शैतानका नकारात्मक कुराहरूप्रति घृणा महसुस गर्न थाल्नेछौ। ती दुष्ट कुराहरू भए पनि, वा विभिन्न भ्रामक विचार र दृष्टिकोणहरू भए पनि, वा दुष्ट स्वभावहरू भए पनि, तिमीले थाहै नपाई यी कुराहरूलाई घृणा गर्न थाल्नेछौ, र तिमीले यी नकारात्मक कुराहरूविरुद्ध विद्रोह गर्नेछौ, तीबाट आफूलाई टाढा राख्नेछौ, र तिनलाई इन्कार गर्नेछौ। यो तिम्रा लागि ठूलो कुरा हो। यसको अर्थ तिमी उप्रान्त शैतानद्वारा नियन्त्रित हुनेछैनौ, र उप्रान्त त्यसद्वारा भ्रष्ट भइरहनेछैनौ भन्‍ने हुन्छ। यसको अर्थ तिमीले मुक्तिको मार्गमा पहिले नै पाइला टेकिसकेका छौ, तिमीसँग मुक्ति प्राप्त गर्ने आशा छ, र तिमीले मुक्ति प्राप्त गर्नै लागेका छौ भन्‍ने हुन्छ। त्यसैले परमेश्‍वरले व्यक्त गर्नुभएका यी वचनहरूलाई हेर: व्यक्तिगत वाक्यहरू जस्ता साना कुराहरूदेखि लिएर, त्यसमा भएका हरेक विचार र दृष्टिकोण जस्ता ठूला कुराहरूसम्म, र अझै अगाडि बढेर हरेक प्रकारका कामकुराहरू गर्ने सिद्धान्त, दिशा, र लक्ष्यहरूसम्म—के यी वचनहरू मानवजातिलाई आवश्यक पर्ने कुराहरू होइनन् र? के ती जीवनको आपूर्ति होइनन् र? (हुन्।) जब तिमीले तिनलाई बारम्बार प्रार्थनार्थ पढ्छौ, मनन गर्छौ, र अनुभव गर्छौ, तब यदि तिमीलाई यी वचनहरू जीवनको स्रोत हुन्, ती परमेश्‍वरबाट आएका हुन्, र ती सत्यता, मार्ग, र जीवन हुन् भन्‍ने लाग्छ भने, तिमीले बिस्तारै परमेश्‍वरको देहसँग सम्बन्धित रहेका तिम्रा विभिन्न धारणा, कल्पना, र समझहीन मागहरू त्याग्नेछौ। यसका साथै, तिमीसँग बिस्तारै परमेश्‍वरको देहको साधारणपन, सामान्यता, र व्यावहारिकताको सही बुझाइ हुनेछ। तिनलाई सही रूपमा बुझ्नुका साथै, तिमीले तिनलाई स्वीकार पनि गर्नेछौ, त्यसपछि तिमी स्वेच्छाले अधीनमा रहनेछौ, र परमेश्‍वरको देहको सामान्यता, व्यावहारिकता, र साधारणपन अत्यन्तै अद्भुत छन् भन्‍ने महसुस गर्नेछौ! जब तिमीलाई परमेश्‍वरको देहको साधारणपन, सामान्यता, र व्यावहारिकता सकारात्मक कुराहरू हुन् भन्‍ने लाग्छ, तब तिमीले परमेश्‍वरको देहजस्तै साधारण, सामान्य, र व्यावहारिक व्यक्ति बन्‍ने आकाङ्क्षा राख्नेछौ; उहाँले आफूलाई आचरणमा ढाल्ने तरिका र उहाँका कार्यका सिद्धान्तहरू सबै तिमीले अनुकरण गर्ने कुराहरू बन्नेछन्। यसका साथै, तिमीलाई आफूसँग भ्रष्ट स्वभावहरू छन्, र साधारण, सामान्य, र व्यावहारिक व्यक्ति बन्नु अत्यन्तै गाह्रो कुरा हो भन्‍ने लाग्नेछ, तर तिम्रो हृदयमा देहधारी परमेश्‍वरप्रति तिरस्कारको सट्टा एक प्रकारको प्रशंसा विकास हुनेछ। हेर त, परमेश्‍वरको देहसँग परमेश्‍वरको जीवन छ। बाहिरी रूपमा उहाँ एक साधारण, सामान्य व्यक्ति जस्तो देखिनुहुन्छ, तर उहाँ मानिसहरूका बीचमा जिउनुहुँदा र अस्तित्वमा रहनुहुँदा, र उहाँले आफूलाई आचरणमा ढाल्नुहुँदा र कार्य गर्नुहुँदा, उहाँ भ्रष्ट मानवजातिका भ्रष्ट स्वभावहरूद्वारा कहिल्यै नियन्त्रित वा प्रभावित हुनुहुन्न। तिमीले यस्तो प्रकारको जीवनको आकाङ्क्षा राख्नेछौ, र यस बिन्दुमा, तिमीलाई यी भ्रष्ट स्वभावहरू हुनु भनेको लज्जित पार्ने कुरा हो भन्‍ने लाग्नेछ, र तिमीलाई हैरानी महसुस हुनेछ। तिमीले परमेश्‍वरको देहबारे तिम्रा धारणा र कल्पनाहरू त्यागेपछि, र उहाँबारे तिम्रा समझहीन मागहरू त्यागेपछि, तिमीले उहाँका वचनहरू स्वीकार गर्नेछौ, र अन्ततः तिमीले देहधारी परमेश्‍वर, जसमा परमेश्‍वरको जीवन छ, उहाँका प्रकटीकरणहरू, जियाइ, र सामान्यता र व्यावहारिकताको आकाङ्क्षा राख्नेछौ। परमेश्‍वरको कामलाई स्वीकार गर्ने र त्यसको अधीनमा रहन सक्‍ने अवस्था यसै जगमा आधारित हुन्छ: तिमीले पहिले परमेश्‍वरको देहलाई स्वीकार गर्नुपर्छ, त्यसपछि देहधारी परमेश्‍वरबारे आफ्‍ना धारणा, कल्पना, र समझहीन मागहरू त्याग्नुपर्छ। अवश्य नै, त्याग्नु भनेको अभ्यासको अन्तिम मार्ग होइन। देहधारी परमेश्‍वरबारे तिम्रा धारणा, कल्पना, र समझहीन मागहरूलाई त्याग्नुको अन्तिम लक्ष्य भनेको तिमी उहाँले तिमीलाई दिनुहुने सबै शिक्षाहरू स्वीकार गर्न, उहाँले तिमीलाई दिनुहुने वचनहरूको आपूर्ति स्वीकार गर्न, उहाँले तिमीसँग गर्नुहुने मागहरू स्वीकार गर्न, र उहाँले तिमीसँग गर्नुहुने मागहरूको अधीनमा रहन सक्ने बिन्दुमा पुग्न सक्षम हुनु हो। यसरी मात्रै तिमीसँग मुक्ति प्राप्त गर्ने आशा हुन सक्छ। त्यसकारण, देहधारी परमेश्‍वरको सामान्यता र व्यावहारिकता, साथै मानिसका धारणा र कल्पनाहरूले प्रस्तुत गर्ने विभिन्न समस्याहरू भनेका मानिसका लागि एउटा ठूलो बाधा हुन्। जब तिमीले यो ठूलो बाधालाई लिएर यसलाई समाधान गर्छौ र यसलाई हटाउँछौ, र तिमी उहाँबाट आउने वचनहरू स्वीकार गर्न सक्षम हुन्छौ, उहाँले व्यक्त गर्नुहुने सत्यताहरूको अधीनमा रहन र उहाँले व्यक्त गर्नुहुने वचनहरूको अधीनमा रहन सक्षम हुन्छौ, तब तिमी पूर्ण रूपमा मुक्ति प्राप्त गर्न सक्षम हुनेछौ।

के देहधारी परमेश्‍वरबारे तिम्रा धारणा र कल्पनाहरू त्याग्न सजिलो छ? (यदि कसैले सत्यता स्वीकार गर्न सक्छ भने, तिनलाई त्याग्न सजिलो नै हुन्छ।) ठीक भन्यौ। तिमीले यो सजिलो छ भनेर भन्न सक्छौ, तर तिमीले यो निकै गाह्रो छ भनेर पनि भन्न सक्छौ। यदि तिमी हठी भई उहाँको विरोध गर्छौ र यी व्यक्तिप्रति सधैँ शत्रुवत् हुन्छौ भने, तिमीलाई परमेश्‍वरबारे तिम्रा धारणा र कल्पनाहरू त्याग्न सजिलो हुनेछैन। यदि तिमीले सधैँ शैतानको दृष्टिकोण अपनाउँछौ, शैतानको जस्तै अडान र जस्तै दृष्टिकोणहरू राख्छौ, र तिमी देहधारी परमेश्‍वरप्रति सधैँ शत्रुवत् हुन्छौ भने, तिमीले उहाँको सामान्यता र व्यावहारिकता कहिल्यै स्वीकार गर्न सक्नेछैनौ, र तिमीले सधैँ उहाँलाई घृणा गर्नेछौ। तर यदि तिमीले एउटा सृजित प्राणीको दृष्टिकोण अपनाउँछौ, र तिमीले परमेश्‍वरलाई व्यवहार गर्ने र सृष्टिकर्तालाई व्यवहार गर्ने विचार, दृष्टिकोण, र अडानका साथ परमेश्‍वरको देहलाई व्यवहार गर्छौ, र तिमीले देहधारी परमेश्‍वरले व्यक्त गर्नुभएको सत्यता स्वीकार गर्न सक्छौ भने, उहाँबारे तिम्रा धारणा, कल्पना, र समझहीन मागहरू त्याग्न सजिलो हुनेछ, र तिनलाई समाधान गर्ने एउटा मार्ग हुनेछ। तर, यदि देहधारी परमेश्‍वरबारे तिम्रा धारणाहरू अत्यन्तै गम्भीर छन् र तिमीले सत्यता पटक्कै स्वीकार गर्दैनौ भने; यदि तिम्रो हृदयमा तिमीले देहधारी परमेश्‍वरलाई घृणा गर्छौ र उहाँसँग सधैँ समझहीन मागहरू गर्छौ भने; यदि तिमी उहाँप्रति शत्रुवत् समेत हुन्छौ र अन्तसम्मै उहाँको विरोध गर्ने जिद्दी गर्छौ भने, तिमीलाई उद्धार गर्न सकिँदैन। जानी-जानी देहधारी परमेश्‍वरलाई शत्रु बनाएर के तिमीले मृत्युलाई निम्त्याइरहेका हुँदैनौ र? म किन यो मृत्युलाई निम्त्याउनु हो भनेर भन्छु? यी व्यक्तिले तिमीप्रति कुनै शत्रुता वा रिस राख्नुहुन्न, तैपनि तिमी उहाँप्रति यति धेरै शत्रुवत् हुन्छौ। के तिम्रो प्रकृति सारमा कुनै समस्या हुँदैन त? (हुन्छ।) मैले तिमीलाई कहिल्यै चिढ्याएको छैन वा तिमीलाई हानि गरेको छैन, न त तिमीसँग मेरो कुनै व्यक्तिगत सङ्गत नै छ। त्यसोभए तिमी किन मलाई मेरो हालमा छोड्न मान्दैनौ, र सधैँ यस्तो शत्रुवत् मनोवृत्ति राख्छौ? म तिमीलाई सत्यता आपूर्ति समेत गर्छु र तिम्रा लागि मुक्तिको मार्ग देखाइदिन्छु, तैपनि तिमी मप्रति यति धेरै शत्रुवत् हुन्छौ। त्यसोभए, स्पष्ट रूपमा, समस्या ममा होइन, तर तिमीमा छ। समस्या तिमीमा नै भएकोले, तिमीले आफ्नो समस्या समाधान गर्नुपर्छ। मैले तिमीलाई तिम्रो समस्याको सार, यसको मूल कारण, र यसलाई समाधान गर्ने मार्ग औँल्याइदिएको छु। तिमीले आफ्नो समस्या समाधान गर्न सत्यता नखोज्ने मात्र होइन, तर तिमी मप्रति यति धेरै शत्रुवत् पनि हुन्छौ। त्यसोभए, तिम्रो समस्या कुनै साधारण समस्या होइन; बरु, तिम्रो प्रकृति सारमा नै गम्भीर समस्या छ। यदि तिमी देहधारी परमेश्‍वरप्रति सधैँ शत्रुवत् हुन्छौ भने, तिमीले मृत्युलाई निम्त्याइरहेका हुन्छौ; तिमीले आफ्नै विनाश खोजिरहेका हुन्छौ र आफ्नै सर्वनाश ल्याइरहेका हुन्छौ। के त्यो मृत्यु पाउन योग्य हुनु होइन र? (हो।) परमेश्‍वरको देह जतिसुकै सामान्य र व्यावहारिक भए पनि, उहाँको जीवनशैली, जीवनका बानीबेहोरा, वा दैनिक दिनचर्याको कुनै पक्ष—वा उहाँको मानवताको कुनै पक्ष—तिमीलाई अवगुण जस्तो लागे पनि, के यी अवगुणहरू कुनै प्रकारका पाप हुन्, र के ती कुनै प्रकारका भ्रष्टता हुन्? (होइनन्।) यदि ती भ्रष्टता होइनन्, तैपनि तिमीले सधैँ तिनलाई दोषी ठहराउँछौ भने, के यो त तिम्रो समस्या होइन र? तिमी किन आफ्नै धारणा र कल्पनाहरूलाई चिरफार गर्दैनौ र दोषी ठहराउँदैनौ? तिमी किन शैतानलाई दोषी ठहराउँदैनौ? शैतान र दियाबलसहरूले यति धेरै दुष्टता गरेका छन्, यति धेरै पाखण्ड र भ्रमहरू फैलाएका छन्, र परमेश्‍वरलाई बदनाम गर्ने र उहाँको निन्दा गर्ने यति धेरै वचनहरू बोलेका छन्—तिमीलाई यसबारे किन कुनै चेतना छैन? तिमी किन शैतान र दियाबलसहरूलाई घृणा गर्दैनौ? के यो समस्या होइन र? (हो।) तिमी निरन्तर परमेश्‍वरको देहमा मानिसहरूले देख्ने कमीकमजोरी वा अपर्याप्तताहरूमा, वा मानिसहरूले महान् वा असाधारण नमान्ने प्रकटीकरणहरूमा ध्यान केन्द्रित गर्छौ, र यी कुराहरूलाई त्याग्न मान्दैनौ, यहाँसम्म कि यी कुराहरूलाई लिएर तिनलाई गल्ती, भ्रष्टता, र पापको रूपमा लिन्छौ। यो कस्तो प्रकारको समस्या हो? यसलाई शत्रुवत् हुनु भनिन्छ। शत्रुवत् हुनुको अर्थ के हो? (विरोधी र घृणापूर्ण हुनु।) यसको शाब्दिक अर्थ यही हो। परमेश्‍वरको देहप्रति शत्रुवत् हुनु भनेको सकारात्मक कुराहरूप्रति शत्रुवत् हुनु र सकारात्मक कुराहरूलाई प्रेम नगर्नु हो। यसको अर्थ यस्तो सोच्नु हो: “तपाईं यति साधारण, सामान्य, र व्यावहारिक हुनुहुन्छ; तपाईंले सत्यता व्यक्त गरे पनि, मलाई वास्ता छैन। मलाई एउटा साधारण, सामान्य व्यक्तिले सत्यता व्यक्त गरेको मन पर्दैन। मलाई यो सकारात्मक कुरा मन पर्दैन।” यसका साथै, कतिपय मानिसहरूले देहधारी परमेश्‍वरलाई स्वीकार गर्छन् र पछ्याउँछन्, उहाँको काम स्वीकार गर्छन्, उहाँका प्रवचनहरू सुन्छन्, र आफ्ना कर्तव्यहरू पनि निर्वाह गर्छन्, तर तिनीहरूले यी साधारण व्यक्ति, देहधारी परमेश्‍वरलाई सधैँ गहन-जाँच गर्छन्: “तपाईंमा के-कस्ता अपर्याप्तताहरू छन्, र तपाईंमा के-कस्ता समस्याहरू छन्? के तपाईंमा त्यस्ता कुनै कुराहरू छन् जसलाई मैले तपाईंको कमजोरीको रूपमा समात्न सक्छु? मैले तपाईंका समस्याहरू सुँघेर पत्ता लगाउनुपर्छ, र तपाईंको मानवताका अवगुणहरू पत्ता लगाउनुपर्छ।” तिनीहरूले समस्या हो भनी ठान्ने कुनै कुरा पत्ता लगाउनेबित्तिकै, त्यो तिनीहरूका लागि ठूलो कुरा बन्छ। तिनीहरूले धारणाहरू विकास गर्न थाल्छन्, तर तिनीहरूले तिनलाई समाधान गर्न सत्यता खोज्दैनन्, न त तिनीहरूले सङ्गति गर्न कुनै व्यक्तिलाई नै खोज्छन्; बरु, तिनीहरूले यो समस्यालाई लिन्छन् र यसलाई आफ्नो हृदयमा असीमित रूपमा ठूलो बनाउँछन्। तिनीहरूले परमेश्‍वरको देहलाई एउटा न्यायाधीशले अपराधीलाई व्यवहार गरेजस्तै व्यवहार गर्छन्, र आफ्नो हृदयमा यस्तो निर्धारण गर्छन्: “तपाईंले जेसुकै गरे पनि, त्यो गलत हुन्छ। तपाईंले सत्यता व्यक्त गर्न र मानिसलाई जीवन आपूर्ति गर्न सके पनि, तपाईं अझै पनि मेरो शत्रुताको तारो हुनुहुन्छ। तपाईंलाई साधारण व्यक्ति बन्न कसले भन्यो र? साधारण व्यक्ति हुनुको अर्थ तपाईं मबाट उम्कन सक्नुहुनेछैन भन्‍ने हो।” तिनीहरूले कामको यो चरणलाई स्वीकार गरेका भए पनि र यसलाई परमेश्‍वरको देहलाई पछ्याएको, सर्वशक्तिमान्‌ परमेश्‍वरको नाम स्वीकार गरेको, र परमेश्‍वरको यो नामअन्तर्गत परमेश्‍वरको मुक्ति स्वीकार गरेको भनेर राम्रो सुनिने वर्णन दिए पनि, तिनीहरूले आफ्नो उचित स्थान पत्ता लगाएका हुँदैनन्, न त तिनीहरूले आफ्नो उचित स्थान नै लिएका हुन्छन्। तिनीहरूले कुन स्थान लिइरहेका हुन्छन्? तिनीहरूले शैतानको स्थान लिइरहेका हुन्छन्; तिनीहरूले गैरविश्‍वासीहरू र अविश्‍वासीहरूको स्थानबाट परमेश्‍वरलाई व्यवहार गरिरहेका हुन्छन्। यो मृत्युलाई निम्त्याउने स्थान हो, र यो मृत्युलाई निम्त्याउने मार्ग पनि हो। ती अविश्‍वासीहरू, गैरविश्‍वासीहरू, र दियाबलसहरू र शैतानहरूका हकमा भन्दा, जब तिमीले तिनीहरूलाई परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ र परमेश्‍वरले सत्यता आपूर्ति गर्नुहुन्छ, परमेश्‍वरका वचनहरू सबै सत्यता हुन्, र तिनले मानिसलाई मुक्ति प्राप्त गर्न दिन सक्छन् भनेर भन्छौ, तब तिनीहरूले मौखिक रूपमा यसलाई स्वीकार त गर्छन्, तर पछि, देहधारी परमेश्‍वरप्रति लक्षित केही नकारात्मक प्रचार र आधारहीन अफवाहहरू सुनेपछि, तिनीहरूले परमेश्‍वरलाई इन्कार गर्छन् र उहाँलाई उप्रान्त स्वीकार गर्दैनन्। मण्डलीका मानिसहरूले नि? कतिपय मानिसहरूले प्रवचनहरू पनि सुनेका हुन्छन्, आफ्ना कर्तव्यहरू पनि निर्वाह गरेका हुन्छन्, र अहिलेसम्म परमेश्‍वरलाई पछ्याएका पनि हुन्छन्, तर देहधारी परमेश्‍वरप्रतिको तिनीहरूको व्यवहारमा, ती अविश्‍वासीहरू र दियाबलसहरू र शैतानहरूले जस्तै, तिनीहरूले पनि उहाँलाई निरन्तर गहन-जाँच गर्छन्, आफ्नो हृदयमा उहाँप्रति प्रतिरोध राख्छन्, धारणाहरू राख्छन् र तिनलाई कहिल्यै त्याग्दैनन् वा समाधान गर्दैनन्। यो स्पष्ट रूपमा देहधारी परमेश्‍वरलाई अपराधीको रूपमा व्यवहार गर्नु हो, जबकि तिनीहरूले चाहिँ इन्साफ कायम गर्न चाहने न्यायाधीशहरू जस्तै व्यवहार गर्छन्। के मानिसहरूसँग इन्साफ हुन्छ? मानिसहरूसँग निष्पक्षता वा समझदारी समेत हुँदैन। देहधारी परमेश्‍वरलाई यसरी व्यवहार गरेर, मानिसहरूले गलत स्थान लिइरहेका हुन्छन्। यदि तिमीले आफू परमेश्‍वरको अनुयायी र एउटा सृजित प्राणी हुँ भन्‍ने कुरालाई साँच्चै स्वीकार गर्छौ भने, तिमीले देहधारी परमेश्‍वरलाई एउटा सृजित प्राणीको दृष्टिकोणबाट हेर्नुपर्छ। यदि तिमी परमेश्‍वरका सृजित प्राणीहरूमध्ये एक बन्न साँच्चै इच्छुक छौ भने, देहधारी परमेश्‍वरप्रतिको तिम्रो व्यवहारमा एउटा न्यायाधीशले अपराधीलाई हेर्ने जस्तो नजर र मनोवृत्ति नअपनाऊ। उहाँ तिमीले गलत ठहराउने व्यक्ति हुनुहुन्न, न त उहाँ तिम्रो नजरमा पापी नै हुनुहुन्छ। उहाँको मानवता र उहाँको बाहिरी रूप जतिसुकै सामान्य र व्यावहारिक भए पनि—एक कदम पछाडि हटेर हेर्दा, उहाँको मानवताका प्रकटीकरणहरूका कतिपय भागहरूलाई तिमीले ध्यान दिन अयोग्य माने पनि, वा तिमीलाई ती अवगुणहरू हुन् भन्‍ने लागे पनि—उहाँ पापी हुनुहुन्न। उहाँमा अवगुणहरू भए पनि, त्यो भ्रष्टता होइन; त्यसले उहाँले सत्यता व्यक्त गर्ने कुरालाई असर गर्दैन, त्यसले उहाँले तिमीलाई मुक्ति दिने कुरालाई असर गर्दैन, र त्यसले उहाँले परमेश्‍वरको आफ्नै काम गर्ने कुरालाई असर गर्दैन। उहाँ अझै पनि पृथ्वीमा परमेश्‍वरको मूर्तरूप हुनुहुन्छ; उहाँ पृथ्वीमा परमेश्‍वरको प्रतिनिधि हुनुहुन्छ, र उहाँको पहिचान परिवर्तन हुनेछैन। यदि तिमीले आफ्नै माग र दृष्टिकोणअनुसार उहाँलाई हेर्ने जिद्दी गर्छौ, र देहधारी परमेश्‍वरलाई एउटा सृजित प्राणीको दृष्टिकोणबाट व्यवहार गर्दैनौ भने, तिमी ठूलो खतरामा हुन्छौ र तिमी ख्रीष्टविरोधीको मार्गमा हिँड्ने सम्भावना हुन्छ। अर्को शब्दमा भन्दा, तिमीसँग मुक्ति प्राप्त गर्ने कुनै आशा समेत हुँदैन। के यस्तै हुने होइन र? (हो।) त्यसकारण, तिमीले देहधारी परमेश्‍वरलाई कसरी व्यवहार गर्छौ भन्‍ने कुराको हकमा, तिमीलाई तिम्रा धारणा र कल्पनाहरू जतिसुकै तर्कसङ्गत लागे पनि, र तिमीले सुन्ने नकारात्मक प्रचार र आधारहीन अफवाहहरू जतिसुकै गम्भीर भए पनि, तिमीले होसियारीपूर्वक सोच्नुपर्छ र खुट्ट्याउने क्षमता प्रयोग गर्नुपर्छ, र तिमीले एउटा सृजित प्राणीमा हुनुपर्ने दृष्टिकोण र अडानलाई दृढतापूर्वक पक्रनुपर्छ। यो परमेश्‍वर पहिलो पटक देह बन्नुभएको बेला जस्तै हो—मानिसहरूसँग येशूबारे धेरै विचार र धारणाहरू थिए। मानिसहरूले उहाँलाई चिनेनन्, र तिनीहरूलाई उहाँ परमेश्‍वरको देह हुनुहुन्छ भन्‍ने कुरा थाहा थिएन। अवश्य नै, त्यो बेला, मानिसहरू देहधारणसम्बन्धी सत्यताबारे पूर्ण रूपमा अनभिज्ञ थिए; तिनीहरूलाई यसबारे पटक्कै कुनै जानकारी थिएन। मानिसहरूले येशूलाई गुरुका रूपमा, शिक्षकका रूपमा, आत्मिक व्यक्तिका रूपमा, वा अगमवक्ताका रूपमा हेर्थे। मानिसहरूले उहाँलाई जसरी हेरे पनि, परमेश्‍वरले तिनीहरूलाई त्यसको दोष दिनुभएन, किनभने त्यो बेला परमेश्‍वरले धेरै सत्यता व्यक्त गर्नुभएको थिएन, देहधारणसम्बन्धी सत्यता व्यक्त गर्नु त झनै परको कुरा हो। त्यस सन्दर्भमा, परमेश्‍वरले मानिसहरूलाई उहाँबारे यी धारणा, विचार, र दृष्टिकोणहरू राखेकोमा दोषी ठहराउनुभएन। तिमीले परमेश्‍वरलाई अगमवक्ताको रूपमा हेरे पनि वा आत्मिक व्यक्तिको रूपमा हेरे पनि, तिमीले परमेश्‍वरलाई आफ्नो शत्रुको रूपमा पटक्कै हेर्नु हुँदैन वा उहाँलाई गहन-जाँच गर्नु हुँदैन र उहाँ पापी हुनुभएजस्तै गरी उहाँप्रति शत्रुवत् व्यवहार गर्नु हुँदैन। परमेश्‍वरले तिमीलाई उहाँलाई नचिनेकोमा दोषी ठहराउनुहुन्न, न त उहाँले तिमीलाई त्यसको दोष नै दिनुहुन्छ, तर यदि तिमी उहाँ परमेश्‍वरको देह हुनुहुन्छ भन्‍ने कुरामा निश्चित छौ र तिमी अझै पनि उहाँप्रति शत्रुवत् हुन्छौ भने, यस कुराको प्रकृति गम्भीर हुन्छ। परमेश्‍वरको देह जतिसुकै सामान्य र व्यावहारिक भए पनि, र उहाँ मानिसका धारणाहरूअनुरूप नभए पनि, मानिसका मागहरूअनुरूप नभए पनि, यी कुराहरू भ्रष्टता होइनन्, र ती नकारात्मक कुराहरू होइनन् भन्‍ने कुरामा तिमी निश्चित हुनुपर्छ। यदि तिमीले यी कुराहरू स्वीकार गर्न सक्दैनौ भने, त्यो ठीकै छ; म तिमीलाई त्यसो गर्न जबरजस्ती गर्नेछैनँ। तर उहाँप्रति शत्रुवत् नहोऊ, उहाँप्रति विरोधी नहोऊ, र उहाँलाई गहन-जाँच नगर। तिमीसँग सत्यता खोज्ने हृदय हुनुपर्छ, सकारात्मक कुराहरू स्वीकार गर्ने मानसिकता हुनुपर्छ, र परमेश्‍वरको अधीनमा रहने मानसिकता हुनुपर्छ। कम्तीमा पनि, उहाँलाई गहन-जाँच नगर, उहाँलाई हेला नगर, र उहाँप्रति शत्रुवत् नहोऊ। त्यसपछि, बिस्तारै सत्यता खोज, आफ्ना समस्याहरू अलि-अलि गर्दै समाधान गर, आफ्नो उचित स्थान पत्ता लगाऊ, र यससँग सम्बन्धित तिम्रा समस्याहरू समाधान गर्न एउटा सृजित प्राणीको रूपमा आफ्नो उचित स्थान लेऊ। तिमीले आफ्नो हृदयमा यो कुरा याद राख्नुपर्छ: तिमीले अहिले पछ्याइरहेका व्यक्ति ख्रीष्ट हुनुहुन्छ, परमेश्‍वरको देह हुनुहुन्छ, पृथ्वीमा परमेश्‍वरको मूर्तरूप हुनुहुन्छ, र पृथ्वीमा परमेश्‍वरको अभिव्यक्ति हुनुहुन्छ; तिमीले पछ्याउनुपर्ने कुरा सत्यता हो, र तिमीले प्राप्त गर्नुपर्ने कुरा मुक्ति हो; तिमीले पछ्याइरहेको व्यक्ति कुनै महान् वा प्रख्यात व्यक्ति हुनुहुन्न, राजनीतिज्ञ हुनुहुन्न, वा महामानव हुनुहुन्न, अगमवक्ता वा प्रेरित त झनै हुनुहुन्न; र उहाँबारे तिमीसँग भएको कुनै पनि धारणा वा कल्पना, साथै तिम्रा धारणा र कल्पनाहरूसँग सम्बन्धित सत्यताअनुरूप नहुने कुनै पनि माग गलत हुन्, र तिमीले यी गल्तीहरू समाधान गर्नुपर्छ, र तिमीले तिनलाई त्याग्नुपर्छ। परमेश्‍वरको देह अगमवक्ता, प्रेरित, वा आत्मिक व्यक्ति हुनुहुन्न। त्यसोभए के उहाँ तिमीहरूको अगुवा हुनुहुन्छ त? (हुनुहुन्‍न।) तिमीहरू किन त्यसो भन्छौ? (परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ; परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ। अगुवाहरूले मानिसको कर्तव्य निर्वाह गर्छन्।) अगुवाहरूले मण्डलीको अगुवाइ गर्ने कर्तव्य निर्वाह गर्छन्—के देहधारी परमेश्‍वरले यो कर्तव्य निर्वाह गर्नुहुन्छ? (गर्नुहुन्न, परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ र सत्यता आपूर्ति गर्नुहुन्छ; उहाँले आफ्नो सेवकाइ पूरा गरिरहनुभएको छ।) अगुवा र कामदारहरूले मण्डलीको अगुवाइ गर्ने कर्तव्य निर्वाह गर्छन्, जबकि देहधारी परमेश्‍वरले परमेश्‍वरको आफ्नै व्यवस्थापनको काम गर्नुहुन्छ। तिमीहरूले यो कुरा बुझ्यौ, होइन र? (हो।) म तिमीलाई तिमीले देहधारी परमेश्‍वरसँगको तिम्रो सम्बन्ध सच्याउनुपर्छ भनेर बताउन यी सबै कुराहरू सङ्गति गर्छु। उहाँ तिम्रो हाकिम हुनुहुन्न, तिम्रो सुपरिवेक्षक हुनुहुन्न, तिम्रो मालिक हुनुहुन्न; उहाँ तिम्रो डाक्टर हुनुहुन्न, तिम्रो शिक्षक वा प्राध्यापक त झनै हुनुहुन्न; र, अवश्य नै, उहाँ तिम्रो अगुवा हुनुहुन्न। उहाँ परमेश्‍वरको देह हुनुहुन्छ। उहाँले गर्नुहुने कुरा भनेको परमेश्‍वरको आफ्नै काम हो, र उहाँले परमेश्‍वर स्वयम्‌लाई प्रतिनिधित्व गर्नुहुन्छ। त्यसकारण, उहाँले गर्नुहुने काम कुनै हाकिम वा मालिकको काम होइन। उहाँ कुनै पनि व्यावसायिक वा प्राविधिक काममा संलग्न हुनुहुन्न, उहाँले कारखानाहरू चलाउनुहुन्न वा संस्थाहरू खडा गर्नुहुन्न, न त उहाँले मानिसहरूका बीचमा कुनै प्रकारको समूह नै भेला गर्नुहुन्छ। उहाँले गर्नुहुने कुरा भनेको परमेश्‍वरको आफ्नै व्यवस्थापनको काम हो—मानवजातिलाई मुक्ति दिनका लागि सत्यता व्यक्त गर्ने काम। अर्थात्, उहाँले व्यक्त गर्नुहुने सत्यताहरू र उहाँले गर्नुहुने काम मानवजातिलाई मुक्ति दिने काम हुन्, र तिनमा परमेश्‍वरको व्यवस्थापन समावेश हुन्छ। उहाँ कुनै निश्चित युगको निश्चित अवधिमा परमेश्‍वरले खडा गर्नुभएको आत्मिक व्यक्ति, अगमवक्ता, वा प्रेरित हुनुहुन्न, बरु परमेश्‍वरको देह हुनुहुन्छ। उहाँ युगको सुरुवात गर्नुहुने, मानिसलाई अर्को युगमा डोऱ्याउनुहुने व्यक्ति हुनुहुन्छ, र उहाँले यस युगमा परमेश्‍वरको स्वभाव र सारलाई प्रतिनिधित्व गर्नुहुन्छ। यति सङ्गति गरेपछि, परमेश्‍वरको देहबारे तिमीहरूका धेरै धारणा र कल्पनाहरू समाधान भएका छन्, होइन र? (हो।) परमेश्‍वरको देहले युगको काम गर्नुहुन्छ, कुनै खास अवधिको काम होइन; त्यसकारण, उहाँ मानवजातिको अगुवा हुनुहुन्न, न त कुनै खास अवधि, कुनै खास जाति, वा कुनै खास क्षेत्रीय मण्डलीको अगुवा नै हुनुहुन्छ। उहाँले मानवजातिलाई मुक्ति दिने काम गर्नुहुन्छ। उहाँले गर्नुहुने काममा परमेश्‍वरको व्यवस्थापन समावेश हुन्छ; यसमा कुनै खास मण्डलीको सामान्य मामिला, प्रशासन, कर्मचारी, काम, वा मण्डलीको जीवन समावेश हुँदैन। त्यसकारण, उहाँ मानिसको अगुवा हुनुहुन्न, होइन र? (हो।)

परमेश्‍वरको देहलाई कसरी व्यवहार गर्ने, र देहधारी परमेश्‍वरबारे मानिसका धारणाहरूलाई कसरी समाधान गर्ने भन्‍ने कुरा मानिसले बुझ्नैपर्ने एउटा महत्त्वपूर्ण सत्यता हो। हामीले मुख्य रूपमा सत्यताको बारेमा सङ्गति गर्दै आएका छौँ र मानिसले देहधारी परमेश्‍वरलाई व्यवहार गर्दा ऊसँग हुने विभिन्‍न धारणा र कल्पनाहरू, साथै उसले प्रकट गर्ने विभिन्‍न भ्रष्ट स्वभावहरूलाई समाधान गर्दै आएका छौँ। हामीले मुख्य रूपमा कुन-कुन पक्षहरूका बारेमा सङ्गति गरेका छौँ? तिनलाई संक्षेपमा भन। (पहिलो पक्ष के हो भने मानिसले परमेश्‍वरको देहको साधारणपन, सामान्यता, र व्यावहारिकतालाई स्वीकार गर्नुपर्छ, र देहधारी परमेश्‍वर महान् र असाधारण हुनुपर्छ भन्‍ने आफ्नो मागलाई त्याग्नुपर्छ। दोस्रो पक्ष के हो भने मानिसले जब परमेश्‍वर देह बन्नुहुन्छ र पृथ्वीमा आउनुहुन्छ, तब उहाँ मानव उद्यमहरूमा संलग्न भइरहनुभएको हुँदैन, उहाँले मानवजातिमाझ कुनै पेसा पछ्याइरहनुभएको वा कुनै प्रकारको अभियान सुरु गरिरहनुभएको हुँदैन, र उहाँले राजनीतिज्ञको रूपमा काम गरिरहनुभएको हुँदैन भन्‍ने कुरा महसुस गर्नुपर्छ। बरु, उहाँले परमेश्‍वरको आफ्नै व्यवस्थापन अघि बढाइरहनुभएको हुन्छ, मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको कामलाई व्यवस्थापन गरिरहनुभएको हुन्छ। तेस्रो पक्ष के हो भने मानिसले आफूलाई आफ्नो उचित स्थानमा राख्नुपर्छ र देहधारी परमेश्‍वरलाई एउटा सृजित प्राणीको स्थान र दृष्टिकोणबाट व्यवहार गर्नुपर्छ। मानिसले सधैँ परमेश्‍वरप्रति सतर्क रहने, उहाँबारे अनुमान गर्ने, उहाँलाई गहन-जाँच गर्ने, वा उहाँप्रति शत्रुवत् हुने गर्नु हुँदैन, देहधारी परमेश्‍वरलाई उहाँ कुनै पापीझैँ गरी गलत ठहराउनु हुँदैन; यो मृत्युलाई निम्त्याउने मार्ग हो।) यदि हामीले यी पक्षहरूका बारेमा सङ्गति नगरेको भए, के तिमीहरूले आफै मनन गरेर र अनुभव गरेर मात्रै तिनलाई बुझ्न सक्नेथियौ र? (हामीले केही सतही धर्मसिद्धान्तहरू मात्रै बुझ्न सक्नेथियौँ, र हामीले अनुभव गर्न सक्ने कुरा निकै सीमित हुनेथियो।) यी वचनहरूलाई अझै स्पष्ट र सरल रूपमा बोलिनुपर्थ्यो; अरू कुनै तरिकाले काम गर्नेथिएन, किनभने तिमीहरूले आफै तिनलाई अनुभव गर्न वा तिनलाई बुझ्‍न सक्नेथिएनौ। भर्खरै जम्मा कति वटा बुँदाहरूलाई समीक्षा गरियो? (तीन वटा।) अझै एउटा बुँदा छ। हामी हाम्रो सङ्गतिलाई जारी राखौँ।

मैले यस विषयवस्तुका बारेमा सङ्गति गरेपछि पनि, यदि तिमीले देहधारी परमेश्‍वरबारेका तिम्रा धारणाहरू त्याग्न सकेनौ भने के हुन्छ? के यस्तो हुन्छ र? (हुन्छ।) यस्तो हुने हुनाले, हामीले यसबारे सङ्गति गर्नुपर्छ। कतिपय मानिसहरूले धेरै प्रवचनहरू सुनेका हुन्छन्, र देहधारणसम्बन्धी सत्यताहरू पनि सुनेका हुन्छन्, तर तिनीहरूले अझै पनि देहधारी परमेश्‍वरबारे आफ्ना धारणाहरू त्याग्न सक्दैनन्। यसलाई समाधान गर्ने एउटा मार्ग छ। यदि तिमी अझै पनि देहधारी परमेश्‍वरबारे धेरै धारणा र कल्पनाहरू राख्छौ, र अझै पनि उहाँसँग धेरै अनुचित मागहरू गर्छौ—जुन मागहरू तिमीलाई सायद अत्यन्तै उचित र अत्यन्तै तर्कसङ्गत लाग्छन्—अनि यदि तिमी निरन्तर तिम्रा त्रुटिपूर्ण र बेतुके विचार र दृष्टिकोणहरूमा टाँसिइरहन्छौ र तिनलाई त्याग्न सक्दैनौ, तिमी तिनलाई त्याग्न इच्छुक पनि हुँदैनौ भने, तिमीले के गर्नुपर्छ? समाधान अत्यन्तै सरल छ: तिमीले उहाँले व्यक्त गर्नुहुने सत्यताहरू सुन्नमा मात्रै ध्यान केन्द्रित गर्नुपर्छ, र यी सामान्य व्यक्तिको बारेमा धेरै सोच्नु वा उहाँलाई गहन-जाँच गर्नु हुँदैन। उदाहरणका लागि, उहाँ कस्तो देखिनुहुन्छ, उहाँ कति वर्षको हुनुहुन्छ, उहाँको व्यक्तित्व कस्तो छ, उहाँको मानवता कस्तो छ, उहाँको दैनिक दिनचर्या कस्तो छ, इत्यादि—उहाँका, यी व्यक्तिका यी सबै विभिन्‍न पक्षहरूलाई अहिलेका लागि पन्छाएर राख र संयमित मनोवृत्ति अपनाऊ, र पहिले उहाँ व्यावहारिक देहधारी परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गर। तिमीसँग धेरै धारणाहरू भए पनि, अहिलेका लागि तिनलाई बेवास्ता गर। तिनलाई बेवास्ता गर्नु भनेको एउटा निष्क्रिय मनोवृत्ति हो। त्यसोभए, अभ्यासको सक्रिय विधि के हो त? यो भनेको तिम्रा सबै ऊर्जालाई लिएर त्यसलाई सबै प्रवचन र सङ्गतिहरूमा लगाउनु, र त्यसलाई परमेश्‍वरका वचनहरूमा लगाउनु, र सत्यताको बुझाइ हासिल गर्नका लागि यी कुराहरूबाट सत्यता खोज्नु हो। यी व्यक्ति, अर्थात् देहधारी परमेश्‍वरको हकमा भन्दा, उहाँलाई गहन-जाँच नगर। तिमीले उहाँलाई अन्त्यसम्मै गहन-जाँच गरे पनि, तिमीले यसबाट केही पनि प्राप्त गर्नेछैनौ। यदि तिमीले यी व्यक्ति, देहधारी परमेश्‍वरलाई स्वीकार गर्न सक्दैनौ भने, उहाँले व्यक्त गर्नुहुने यी वचनहरूलाई नजिकबाट जाँच गर र गम्भीरतापूर्वक पढ, र उहाँले बोल्नुहुने वचनहरू उपयोगी छन् कि छैनन् र ती तिम्रा लागि लाभदायक छन् कि छैनन्; तिनले तिमीलाई शुद्ध पार्न र तिमीलाई मुक्ति दिन सक्छन् कि सक्दैनन्; र तिनले तिम्रा धार्मिक धारणाहरू, परमेश्‍वरबारेका तिम्रा धारणा र कल्पनाहरू, परमेश्‍वरप्रतिको तिम्रो विद्रोहीपन, र तिम्रा विभिन्‍न भ्रष्ट स्वभावहरूलाई खुलासा गर्छन् कि गर्दैनन् भनेर हेर। यदि यी वचनहरूले त्यस्ता कुराहरूलाई साँच्चै खुलासा गर्छन् भने, यसबारे विचार गर: के तिमीले तिनलाई आफैसँग जोड्न सक्छौ? के तिम्रा समस्याहरू खुलासा हुँदैछन्? के खुलासा तथ्यपरक छ? जब तिमीले खुलासा साँच्चै तथ्यपरक छ भन्‍ने पत्ता लगाउँछौ, र तिमीले यी वचनहरू स्वीकार गर्छौ, र तिमीमा भ्रष्टता छ भनेर स्वीकार गर्छौ, र—यी वचनहरूले खुलासा गर्ने कुरा कुनै स्थिति भए पनि वा कुनै निश्चित प्रकारको स्वभाव भए पनि—यी वचनहरू सही छन् र तिनले तिमीसँग भएको समस्यालाई औँल्याउँछन् भनेर स्वीकार गर्छौ भने, हरेस नखाऊ, तर पढ्न जारी राख। तिमीले पढिसकेपछि र तिमीमा भ्रष्ट स्वभावहरू छन् र तिमीले परमेश्‍वरप्रति शत्रुता र विद्रोहीपन राख्छौ भनेर महसुस गरेपछि, यी कुराहरू समाधान गर्ने कुनै मार्ग छ कि छैन भनेर हेर, र तिमीले तिनलाई कसरी समाधान गर्नुपर्छ भनेर पत्ता लगाऊ। पहिले, तिम्रा त्रुटिपूर्ण र बेतुके विचार र दृष्टिकोणहरू र तिम्रा भ्रष्ट स्वभावहरूलाई समाधान गर्नका लागि परमेश्‍वरले बोल्नुभएका यी वचनहरूभित्र सकारात्मक विचार र दृष्टिकोणहरू खोज। यदि तिमीले आफै तिनलाई भेट्टाउन सकेनौ भने, तिमीले आफ्नो वरिपरिका दाजुभाइ-दिदीबहिनीहरूलाई मद्दत माग्‍न सक्छौ। उदाहरणका लागि, मानौँ तिमीले तिमीमा छली स्वभाव छ भन्‍ने पत्ता लगायौ। त्यस्तो अवस्थामा, वचन देहमा देखा पर्नुहुन्छका वचनहरूभित्र छली स्वभाव समाधान गर्ने कुनै मार्ग छ कि छैन भनेर हेर। मलाई भन, छली स्वभाव समाधान गर्ने सबैभन्दा सरल र सबैभन्दा सजिलो तरिका के हो? (इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्नु।) ठीक भन्यौ, इमानदार व्यक्ति बन्‍ने अभ्यास गर्नु—छली स्वभाव समाधान गर्ने मार्ग यही हो। मार्ग भेट्टाएपछि, तिमीले अभ्यास गर्नैपर्छ। जब तिमीले अभ्यास गर्छौ, तब तिमीले इमानदार व्यक्ति बन्‍ने—इमानदारीपूर्वक बोल्‍ने र इमानदार मनोवृत्ति राख्‍ने—कार्य सजिलो छैन भन्‍ने पत्ता लगाउनेछौ। यदि तिमीले मानिसको छली स्वभावलाई खुलासा गर्ने परमेश्‍वरका ती वचनहरूलाई फर्केर हेर्‍यौ भने, तिमीले खुलासा अत्यन्तै सही, अत्यन्तै उपयुक्त, अत्यन्तै निश्‍चित, र अत्यन्तै गहन छ, र तिमीले ती सबैलाई आफ्नै स्थितिसँग जोड्न सक्छौ भन्‍ने पत्ता लगाउनेछौ। त्यसोभए यसलाई आफ्नै स्थितिसँग दाँजेर हेरेपछि तिमीले के गर्नुपर्छ? तिमी नकारात्मक बन्नु हुँदैन, तर तिमीले यसलाई सही रूपमा लिनुपर्छ, र इमानदार व्यक्ति कसरी बन्‍ने भनेर खोजी गर्नुपर्छ। त्यसोभए, के इमानदार व्यक्ति बन्‍ने कुनै मार्ग छ त? परमेश्‍वरका वचनहरूले यसबारे विस्तृत रूपमा उल्लेख गर्छन्, र तिमीलाई कसरी इमानदार व्यक्ति बन्‍ने र कसरी इमानदारीपूर्वक बोल्ने भनेर बताउँछन्। परमेश्‍वरका वचनहरूमा तिमी हरेक प्रकारको परिस्थितिमा कसरी इमानदार व्यक्ति बन्‍नुपर्छ भन्‍ने मार्ग समावेश छ, जस्तै आफ्नो कर्तव्य निर्वाह गर्दा, अरू मानिसहरूसँग अन्तरक्रिया र सङ्गत गर्दा, वा अरूसँग सहकार्य गर्दा। यदि तिमीले परमेश्‍वरका वचनहरूमा तिमीलाई बताइएका मार्ग र सिद्धान्तहरूअनुसार अभ्यास गर्‍यौ, इमानदारीपूर्वक बोल्ने र इमानदारीपूर्वक काम गर्ने अभ्यास गर्‍यौ भने, तिम्रो छली स्वभाव बिस्तारै परिवर्तन हुनेछ। यदि तिमीले यसरी परमेश्‍वरका वचनहरूमार्फत सत्यता खोज्यौ र आफैलाई चिनेर परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्‍यौ भने, तिमीभित्रका भ्रष्ट स्वभावहरू अलि-अलि गर्दै बिस्तारै परिवर्तन हुनेछन्। तिम्रो स्थिति पनि परिवर्तन हुनेछ, तिम्रा विभिन्‍न धारणा र कल्पनाहरू र त्रुटिपूर्ण र बेतुके विचार र दृष्टिकोणहरू परिवर्तन हुनेछन्, र तिमीले सबै प्रकारका कुराहरूलाई हेर्ने दृष्टिकोण, तरिका, र विधिहरू पहिलेभन्दा फरक हुनेछन्। यसका साथै, तिमीले सकारात्मक कुराहरू र नकारात्मक कुराहरूलाई खुट्ट्याउने र परिभाषित गर्ने दृष्टिकोण र आधार पनि पहिलेभन्दा फरक हुनेछन्। तिमीले पहिले धेरै कुराहरूलाई सकारात्मक कुराहरूका रूपमा हेर्थ्यौ, तर अब तिमीले ती सबै नकारात्मक कुराहरू हुन् भनेर स्पष्ट रूपमा देख्नेछौ—तिम्रा दृष्टिकोणहरू पहिलेभन्दा पूर्ण रूपमा फरक हुनेछन्। यसरी नै अनुभव गर, र तिमीमा बिस्तारै परिवर्तनहरू आउनेछन्। अरूसँग मैत्रीपूर्ण रूपमा कसरी सहकार्य गर्ने, मानिसहरूलाई कसरी हेर्ने, मानिसहरूलाई कसरी व्यवहार गर्ने, र मानिसहरूलाई व्यवहार गर्ने सिद्धान्तहरू के-के हुन् भन्‍ने जस्ता केही निश्‍चित मामलाहरू पनि छन्—यी सबै कुराहरूका बारेमा परमेश्‍वरका वचनहरूमा बोलिएका छन्। तिनले नकारात्मक दृष्टिकोणबाट कुराहरूलाई खुलासा गर्छन्, साथै सकारात्मक दृष्टिकोणबाट मार्गदर्शन पनि प्रदान गर्छन्। तिनले समस्याको सारलाई नै खुलासा गर्छन् र यसको प्रकृतिलाई ठहर गर्छन्, साथै निश्चित तरिका अपनाउँदा आउने परिणामहरूका बारेमा पनि छलफल गर्छन्, र तिनले तिमीलाई यस्तो प्रकारको समस्या समाधान गर्ने सत्यता सिद्धान्तहरू र अभ्यासका मार्गहरू पनि बताउँछन्। अवश्य नै, यी वचनहरूमा मानिसहरूले सत्यता अभ्यास गर्दा आउने विभिन्‍न स्थितिहरू, इत्यादि लगायतका केही विवरणहरू पनि समावेश हुन्छन्। यी वचनहरू पढेपछि, तिमीले भित्र पोषण र भरणपोषण प्राप्त गर्छौ कि गर्दैनौ भनेर हेर। यदि, यी व्यक्तिलाई, अर्थात् देहधारी परमेश्‍वरलाई गहन-जाँच गर्नुको सट्टा, तिमीले उहाँका वचनहरू पढ्नमा र, उहाँका वचनहरूमार्फत, सत्यता बुझ्न र आफैलाई चिन्तन गर्नमा मात्रै ध्यान केन्द्रित गर्‍यौ भने, तिम्रो भित्री स्थिति परिवर्तन हुन्छ कि हुँदैन भनेर हेर, अनि यी वचनहरूमा सत्यता समावेश छ कि छैन र ती सबै सकारात्मक कुराहरू हुन् कि होइनन् भनेर हेर। यी वचनहरूमा मानव जीवनको लागि कुनै मार्ग समावेश छ कि छैन, तिनले तिम्रो जीवन परिवर्तन गर्न सक्छन् कि सक्दैनन्, तिनले तिम्रो जीवनको लक्ष्य र दिशा परिवर्तन गर्न सक्छन् कि सक्दैनन्, तिनले तिमीलाई जीवनमा सही लक्ष्य र दिशा प्रदान गर्छन् कि गर्दैनन्, र तिनले तिमीलाई तिम्रा भ्रष्ट स्वभावहरू फाल्न र मुक्ति प्राप्त गर्न सक्षम तुल्याउन सक्छन् कि सक्दैनन् भनेर हेर। जब तिमीले यी वचनहरू अनुभव गर्छौ र बुझ्छौ, र तिमीले अन्ततः केही प्राप्त गर्छौ, तब तिमीले यी व्यक्तिका बारेमा—देहधारी परमेश्‍वरका बारेमा—फेरि विचार गर्दा, तिमीसँग फरक दृष्टिकोण हुनेछ। तिमीलाई यस्तो महसुस हुनेछ, “म पहिले कसरी यति मूर्ख हुन सकेँ? मसँग देहधारी परमेश्‍वरबारे किन यति धेरै धारणाहरू थिए? यी व्यक्तिको बाहिरी रूप सामान्य थियो, र उहाँको बोली असाधारण नभई अत्यन्तै साधारण थियो भन्‍ने देखेर, मैले उहाँलाई हेला गरेँ, र मेरो हृदयमा मैले उहाँलाई बेवास्ता गरेँ र तिरस्कार गरेँ, र म उहाँप्रति शत्रुवत् समेत भएँ। अब, उहाँका वचनहरू पढेर र उहाँको काम अनुभव गरेर यी कुराहरू प्राप्त गरेपछि, जब म यी व्यक्तिका बारेमा फेरि विचार गर्छु, तब म उहाँलाई निकै राम्रो दृष्टिकोणले हेर्छु। मसँग अब त्यति धेरै धारणाहरू छैनन्, र म लगभग उहाँलाई सही रूपमा व्यवहार गर्न सक्छु। मैले अझै पनि कहिलेकहीँ मेरो हृदयमा उहाँबारे धारणाहरू विकास गर्न सके पनि, यसले उप्रान्त मैले उहाँलाई कसरी पछ्याउँछु र म उहाँको अधीनमा कसरी रहन्छु भन्‍ने कुरालाई असर गर्दैन, र उहाँप्रतिको मेरो मनोवृत्तिमा सुधार आएको छ।” तिमीले पहिले आफ्नो हृदयमा यी व्यक्तिलाई हेला गर्थ्यौ, र यस्तो सोच्थ्यौ, “के ऊ परमेश्‍वर हुन सक्छ र? ती वचनहरू परमेश्‍वरले बोल्नुभएको थिए; यी व्यक्तिसँग तिनको के सरोकार छ र?” यस्तो प्रकारको सोचाइ कति केटाकेटीको जस्तो, बेतुकको, र हास्यास्पद थियो, र त्यो मानव मूर्खता र अज्ञानता, र मानव भ्रष्टताको कारणले गर्दा भएको थियो भन्‍ने कुरा तिमीले अहिले मात्रै देख्छौ। हेर त, यी व्यक्तिप्रतिको, अर्थात् देहधारी परमेश्‍वरप्रतिको तिम्रो दृष्टिकोण परिवर्तन भएको छ। यो केमा आधारित हुन्छ? तिमीले धेरै कुराहरूलाई हेर्ने आधार पूर्ण रूपमा परिवर्तन भएको छ, र तिमीले कुराहरूको सही र गलत अनि सकारात्मकता र नकारात्मकतालाई खुट्ट्याउने र मापन गर्ने आधार पहिलेभन्दा फरक छ भन्‍ने तथ्यमा यो कुरा आधारित छ। तिम्रो आधार अब सही छ, र तिमीले सत्यतालाई आफ्नो मापदण्डको रूपमा लिएर वास्तविक जीवनमा तिमीसँग नजिकबाट सम्बन्धित रहेका केही कुराहरूलाई, र देहधारी परमेश्‍वरलाई परमेश्‍वरका वचनहरूअनुसार मापन गर्न सक्छौ। जब तिमीले अब यी व्यक्तिका बारेमा फेरि विचार गर्छौ, तब तिमीलाई उहाँ उप्रान्त त्यति तुच्छ हुनुहुन्न, उप्रान्त तिम्रो ध्यान दिन अयोग्य हुनुहुन्न भन्‍ने महसुस हुन्छ, र ख्रीष्ट नै सत्यता, मार्ग, र जीवन हुनुहुन्छ, उहाँले धारण गर्नुहुने सामान्य मानवता भ्रष्ट स्वभावहरूबाट मुक्त छ, र उहाँले जिउनुहुने कुरा सबै सत्यता वास्तविकता नै हो—हामीले अनुकरण गर्नुपर्ने र जिउनुपर्ने मानव स्वरूप ठ्याक्कै यही हो भन्‍ने कुरा तिमीले देख्न सक्छौ। तिमीमा यो परिवर्तन आएपछि, तिमी उप्रान्त उहाँप्रति शत्रुवत् हुनेछैनौ वा तिमीले आफ्नो हृदयमा उहाँलाई अस्वीकार गर्नेछैनौ। के यो राम्रो परिवर्तन होइन र? (हो।) यो राम्रो परिवर्तन हो। त्यसोभए यो राम्रो परिवर्तन केबाट सुरु हुन्छ? (मानिसहरूले परमेश्‍वरका वचनहरू अनुभव गर्ने र अभ्यास गर्ने, त्यसपछि बिस्तारै परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी स्वीकार गर्ने कार्यबाट सुरु हुन्छ, जसले तिनीहरूको जीवन परिवर्तन गरेर अझै राम्रो हुने अवसर दिन्छ र तिनीहरूले कुराहरूलाई हेर्ने तरिकामा परिवर्तन ल्याउन सक्छ। यो यस्तो प्रकारको बुझाइ भएपछि आउने परिवर्तन हो।) तिमीमा यो परिवर्तन आएपछि, तिमीले पहिले सधैँ इमानदार व्यक्ति बन्‍ने अभ्यास गरिरहेको व्यक्तिलाई देख्दा ऊ अत्यन्तै निष्कपट र अत्यन्तै दयनीय छ—ऊ समाजमा अवांछित छ—भन्‍ने सोच्थ्यौ होला र तिमी त्यस्तो व्यक्तिसँग सङ्गत गर्न इच्छुक हुनेथिएनौ होला, तर अहिले तिमीले कुराहरूलाई कसरी हेर्छौ? अहिले तिमीले यो व्यक्ति इमानदार छ, उसमा विवेक छ, ऊ दयालु छ, र उसले सकारात्मक कुराहरू पछ्याउँछ भन्‍ने देख्छौ। तिमीले उसलाई सकारात्मक पात्र र असल व्यक्तिको रूपमा हेर्छौ, र तिमी त्यस्ता मानिसहरूसँग सङ्गत गर्न इच्छुक हुन्छौ। तिमीले सकारात्मक कुराहरूलाई प्रेम गर्न थालेका हुन्छौ, र तिमीले सुरुमा प्रेम गरेका र सकारात्मक कुराहरू मानेका कुराहरू नकारात्मक कुराहरू हुन्, र कुराहरूप्रतिका तिम्रा दृष्टिकोणहरू विकृत थिए भन्‍ने तिमीले महसुस गर्छौ। त्यसैगरी, देहधारी परमेश्‍वरप्रतिको तिम्रो दृष्टिकोण पनि परिवर्तन भएको हुन्छ। सुरुमा, तिमीले यी साधारण, सामान्य व्यक्ति ध्यान दिन अयोग्य छ भन्‍ने सोच्थ्यौ। तिमीले परमेश्‍वरका वचनहरू कति महान् छन् र सत्यता कति महान् छ भन्‍ने कुरा त स्वीकार गर्थ्यौ, तर तिमीले यी व्यक्तिलाई हेला गर्थ्यौ। यी वचनहरू खाएर अनि पिएर, तिम्रो दृष्टिकोण अहिले फरक छ, र तिमीले कुराहरूलाई हेर्ने तरिका, विधि, र आधार सबै फरक छन्। जब तिमीले अब यी व्यक्तिका बारेमा फेरि विचार गर्छौ, तब तिमीले यस्तो सोच्छौ, “उहाँ साधारण र सामान्य हुनुभए पनि, उहाँले सत्यता व्यक्त गर्न सक्नुहुन्छ। उहाँले श्रेय नलिईकन यति महान् काम गर्नुभएको छ, अनि उहाँले गैरविश्‍वासी संसारमा हैसियत भएका महान् व्यक्तित्वहरू र प्रसिद्ध मानिसहरूले जस्तो धाक लगाउने वा घमण्ड गर्ने पनि गर्नुहुन्‍न। यो कति दुर्लभ कुरा हो! देहधारी परमेश्‍वर भ्रष्ट मानवजातिभन्दा फरक हुनुहुन्छ! यदि मैले संसारको कुनै महान् व्यक्तित्व, प्रसिद्ध व्यक्ति, वा अलौकिक व्यक्तिलाई पछ्याइरहेको थिएँ भने, के मैले यस्तो व्यवहार पाउनेथिएँ र? के म त्यस्तो व्यक्तिको नजिक जान सक्नेथिएँ र? के उसले मलाई कुनै ध्यान दिनेथियो र?” हेर त, तिम्रो मनोवृत्ति अहिले फरक छ, होइन र? तिमीले धर्मसिद्धान्तको स्तरमा परमेश्‍वरको देहको साधारणपन, सामान्यता, र व्यावहारिकतालाई स्वीकार गरेका हुन्छौ, र परमेश्‍वरलाई मान्यता दिन थालेका हुन्छौ। धर्मसिद्धान्तको स्तरमा, तिमीले यो सकारात्मक कुरा हो, नकारात्मक कुरा होइन, र यसलाई मानवजातिले निन्दा गर्नु हुँदैन वा हेला गर्नु हुँदैन, बरु यो मानिसले अनुकरण गर्नुपर्ने र बहुमूल्य ठान्नुपर्ने कुरा हो भनेर महसुस गर्न थालेको हुन्छौ। के यो ठूलो परिवर्तन हो? (अँ, हो।) यदि तिमी ज्ञान प्राप्त गर्न र धर्मशास्त्र अध्ययन गर्नका लागि मानव शक्तिमा भर पर्छौ, र यी साधारण व्यक्ति, देहधारी परमेश्‍वरलाई गहन-जाँच गर्छौ—यदि तिमीले सधैँ उहाँलाई गहन-जाँच गर्छौ, तिमी उहाँप्रति शत्रुवत् हुन्छौ, र उहाँलाई अस्वीकार गर्छौ, तर तिमीले उहाँका वचनहरू पढ्दै पढ्दैनौ वा उहाँले व्यक्त गर्नुहुने सत्यताहरू र विभिन्न कुराहरूप्रतिको उहाँका विचार र दृष्टिकोणहरूलाई स्वीकार गर्दैनौ भने, के तिम्रा यी समस्याहरू समाधान हुन सक्छन्? के तिमीमा त्यस्तो प्रकारको परिवर्तन आउनेछ? (आउनेछैन।) तिमीमा पक्कै पनि त्यसरी परिवर्तन आउनेछैन। हेर त, जब त्यही व्यक्तिले शैतानका विचार र दृष्टिकोणहरूलाई स्वीकार गर्छ, र उसको जीवन शैतानका विचार र दृष्टिकोणहरू र शैतानी भ्रष्ट स्वभावहरूले भरिपूर्ण हुन्छ, तब सकारात्मक कुराहरूप्रतिको उसको मनोवृत्ति तिनलाई हेला गर्ने र तीप्रति शत्रुवत् हुने खालको हुन्छ। यस्तो किन हुन्छ? उसमा अहङ्कारी स्वभाव र दुष्ट स्वभाव हुन्छ; उसमा सत्यताप्रति वितृष्ण हुने स्वभाव, र हठी स्वभाव हुन्छ। जब उसमा शैतानका यी स्वभावहरू हुन्छन्, तब उसले सकारात्मक कुराहरूलाई हेला गर्छ र ऊ तीप्रति शत्रुवत् हुन्छ, र उसले तिनलाई तिरस्कार र निन्दा समेत गर्छ। तर, जब तिमीले सत्यता स्वीकार गर्छौ र परमेश्‍वरबाट आउने विभिन्न विचार र दृष्टिकोणहरूलाई स्वीकार गर्छौ, तब सकारात्मक कुराहरूप्रतिको तिम्रो दृष्टिकोण परिवर्तन हुन थाल्न सक्छ र तिमीले मुक्ति प्राप्त गर्नुभन्दा पहिले समेत यो कस्तो हुने गर्थ्यो, त्योभन्दा यो फरक हुन सक्छ। त्यसपछि, जब परमेश्‍वरका वचनहरूले तिमीभित्र जरा गाड्न थाल्छन् र ती टुसाउन थाल्छन् र ती तिम्रो जीवन बन्नै लागेका हुन्छन्, तब सकारात्मक कुराहरूप्रतिको तिम्रो मनोवृत्ति उप्रान्त तिनलाई अस्वीकार गर्ने खालको हुँदैन, बरु तिनको लागि अलिकति तृष्णा र प्रेम राख्ने खालको हुन्छ। त्यसपछि, यदि तिमीले सत्यता पछ्याउन जारी राख्यौ, र तिमीले सत्यता खोज्न, सत्यता अभ्यास गर्न, र परमेश्‍वरका वचनहरू अनुभव गर्न जारी राख्यौ भने, के तिमीले सत्यता बुझ्न र सत्यता अभ्यास गर्न सक्नेछैनौ र? के तिमी शैतानका विचार र दृष्टिकोणहरू वा भ्रष्ट स्वभावहरूबाट प्रभावित र नियन्त्रित हुने सम्भावना कम हुनेछैन र? (हुनेछ।) तिमीमा देहधारी परमेश्‍वरप्रति अझै बढी अधीनता हुनेछ। सुरुमा, तिमीले यी व्यक्तिलाई ध्यान दिन अयोग्य रहेको मान्थ्यौ। जब उहाँले तिम्रा धारणाहरूसँग नमिल्ने कुनै कुरा भन्नुहुन्थ्यो वा जब उहाँले तिम्रो कामलाई निर्देशन दिनुहुँदा तिमीलाई उहाँप्रति अवज्ञाकारी भएको महसुस हुन्थ्यो, तब तिमीले उहाँलाई हेला गर्थ्यौ। उहाँले सत्यता मात्रै बुझ्नुहुन्छ र सत्यता व्यक्त गर्न मात्र सक्नुहुन्छ, तर उहाँ उच्च शिक्षित वा सिपालु हुनुहुन्न भन्‍ने तिमी सोच्थ्यौ, त्यसैले तिमीले उहाँका सुझाव र मद्दतलाई स्वीकार गर्नेथिएनौ। अब, उहाँका वचनहरू खाएर अनि पिएर यी सत्यताहरू बुझेपछि, के तिमीसँग अझै पनि यो मनोवृत्ति हुनेछ? (हुनेछैन।) तिमीले अझै पनि उहाँविरुद्ध विद्रोह गर्न, उहाँको अधीनमा रहन इन्कार गर्न, वा उहाँप्रति प्रतिरोधी महसुस गर्न सक्छौ, वा तिमीले उहाँका वचनहरूलाई बेवास्ता गर्न सक्छौ, वा उहाँको कुनै खास मागबारे धारणाहरू राख्न र अवज्ञाकारी महसुस गर्न सक्छौ। तर, तिम्रो व्यक्तिपरक इच्छा र चेतनाको दृष्टिकोणबाट हेर्दा, उहाँप्रतिको तिम्रो मनोवृत्ति पहिले नै अधीनमा रहन इच्छुक हुनेतर्फ ढल्किसकेको हुन्छ। तिम्रो हृदयदेखि, उहाँका वचनहरू नै सत्यता, मार्ग, र जीवन हुन् भनेर तिमीले स्वीकार गर्छौ। आफ्नो विश्‍वासमा तिमी गलत भएका छैनौ, र तिमीले पछ्याउने व्यक्ति कुनै साधारण व्यक्ति नभई देहधारी व्यावहारिक परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने तिमीलाई महसुस हुन्छ। यसरी, के परमेश्‍वरमाथिको तिम्रो विश्‍वासको जगले जरा गाडेको हुँदैन र? (हुन्छ।) साँचो रूपमा परमेश्‍वरलाई पछ्याउनुको अर्थ यही हो। धर्मसिद्धान्त, रूप, र मौखिक दाबीहरूको हिसाबमा परमेश्‍वरलाई पछ्याउने कुरादेखि लिएर, देहधारी परमेश्‍वरको सक्रिय रूपमा अधीनमा रहन, परमेश्‍वरको हरेक वचनको अधीनमा रहन, र आफ्नो मन र चेतनाको स्थितिमा परमेश्‍वरको हरेक निश्‍चित मागको अधीनमा रहन इच्छुक हुने कुरासम्म—यस प्रक्रियाको सबैभन्दा महत्त्वपूर्ण भाग के हो? (परमेश्‍वरका वचनहरू अनुभव गर्नु र तिनलाई बुझ्नु।) मानिसले देहधारी परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरू अनुभव गर्नैपर्छ। तिमीले पहिले उहाँका वचनहरू स्वीकार गर्नुपर्छ, त्यसपछि तिमी यी वचनहरूको अधीनमा रहनुपर्छ, तिनलाई अनुभव गर्नुपर्छ, र तिनलाई बुझ्‍नुपर्छ। जब तिमीले यी वचनहरू अनुभव गर्छौ र तिनलाई बुझ्छौ, र यी वचनहरू नै सत्यता, मार्ग, र जीवन हुन् भन्‍ने कुरामा तिमी निश्चित हुन्छौ, तब देहधारी परमेश्‍वरप्रतिको तिम्रो शत्रुता, तिरस्कार, अवज्ञा, र रुष्टता अलि-अलि गर्दै समाधान हुनेछन्। तिमीले उहाँका वचनहरू जति धेरै खान्छौ र पिउँछौ र उहाँका वचनहरू जति धेरै अनुभव गर्छौ, तिमीले त्यति नै बढी सत्यता बुझ्न र आफैलाई चिन्न सक्छौ, र तिम्रा भ्रष्ट स्वभावहरू समाधान हुन त्यति नै सजिलो हुनेछ; र सुरुमा उहाँप्रति तिमीसँग भएका ती धारणा र कल्पनाहरू र अनुचित मागहरू त्यसै अनुरूप घट्नेछन् र कम हुनेछन्। जब तिमीसँग देहधारी परमेश्‍वरबारे झन्-झन् कम धारणाहरू हुन्छन्, र झन्-झन् बढी साँचो ज्ञान हुन्छ, र तिमीसँग व्यावहारिक परमेश्‍वरप्रति साँचो अधीनता हुन्छ, तब यसको अर्थ तिमीसँग स्वर्गमा हुनुहुने परमेश्‍वरप्रति साँचो अधीनता छ भन्‍ने हुन्छ। के कुरा यही होइन र? (हो।) के त्यसपछि परमेश्‍वरप्रतिको तिम्रो अधीनताको समस्या समाधान हुनेछैन र?

मलाई भन, के देहधारी परमेश्‍वरले खेल्नुहुने भूमिका महत्त्वपूर्ण छ? (छ।) देहधारी परमेश्‍वर सृजित मानवहरूका लागि सृष्टिकर्तासँग सामान्य सम्बन्ध स्थापित गर्ने एउटा पुल हुनुहुन्छ। देहधारी परमेश्‍वर एउटा अपरिहार्य कडी हुनुहुन्छ, र उहाँले एउटा अपरिहार्य भूमिका खेल्नुहुन्छ। देहधारी परमेश्‍वरले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई रिपोर्ट गर्दै, “फलानो व्यक्ति तपाईंलाई पछ्याउनमा इमानदार छ, र फलानो व्यक्ति सधैँ तपाईंको विरुद्धमा विद्रोही र अवज्ञाकारी छ, र ऊसँग तपाईंको बारेमा खराब मनोवृत्ति छ” भनेर नभन्नुहुने भए पनि—उहाँले स्वर्गमा हुनुहुने परमेश्‍वर, सृष्टिकर्तालाई त्यस्ता रिपोर्टहरू नगर्नुभए पनि वा यो जानकारी नदिनुभए पनि, जब व्यक्तिसँग देहधारी परमेश्‍वरको अधीनमा रहने इच्छा हुन्छ, र देहधारी परमेश्‍वरको अधीनमा रहने मनोवृत्ति हुन्छ, तब यसले उसँग स्वर्गमा हुनुहुने परमेश्‍वरप्रति अधीनता छ र सही मनोवृत्ति छ भन्‍ने देखाउँछ भनेर म किन भन्छु? यहाँ के सम्बन्ध हुन्छ? के तिमीहरूले यसलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्छौ? यहाँ कुञ्जी के हो? के देहधारी परमेश्‍वरले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सक्नुहुन्छ? सैद्धान्तिक रूपमा, उहाँले सक्नुहुन्न, किनभने देहधारी परमेश्‍वर उहाँको मानवताद्वारा सीमित हुनुहुन्छ र देहका विभिन्न कार्यहरूद्वारा सीमित हुनुहुन्छ। बाहिरी रूपमा, उहाँमा स्वर्गमा हुनुहुने परमेश्‍वरको अख्तियार र शक्ति, र विशेष गरी सर्वशक्तिमान्‌ता छैन। तर, उहाँसँग स्वर्गमा हुनुहुने परमेश्‍वरसँग मिल्‍ने एउटा कुरा छ। के तिमीहरूलाई त्यो के हो भन्‍ने थाहा छ? (देहधारी परमेश्‍वर र स्वर्गमा हुनुहुने परमेश्‍वरको स्वभाव, सार, र जीवन एउटै हो।) त्यो सैद्धान्तिक कुरा हो—निश्‍चित रूपमा भन्दा, उहाँहरूसँग मिल्‍ने कुरा के हुन्छ? (देहधारी परमेश्‍वर र स्वर्गमा हुनुहुने परमेश्‍वर दुवैसँग सत्यता छ।) ठीक भन्यौ। मानिसले सम्पर्क गर्न सक्ने कुरा भनेको स्वर्गमा हुनुहुने परमेश्‍वर र पृथ्वीमा हुनुहुने देहधारी परमेश्‍वर दुवैले भन्नुभएका र गर्नुभएका सबै कुरा सत्यता हुन् भन्‍ने तथ्य हो; यस सन्दर्भमा उहाँहरू ठ्याक्कै उस्तै हुनुहुन्छ। किन उहाँहरू दुवैले व्यक्त गर्नुहुने कुरा सत्यता हो? किनभने उहाँहरूसँग एउटै जीवन सार छ, र पृथ्वीमा हुनुहुने परमेश्‍वर—देहधारी परमेश्‍वरसँग—स्वर्गमा हुनुहुने परमेश्‍वरको जीवन छ, त्यसैले उहाँले स्वर्गमा हुनुहुने परमेश्‍वरका सत्यताहरू व्यक्त गर्न सक्नुहुन्छ। त्यसोभए जब व्यक्तिसँग देहधारी परमेश्‍वरको अधीनमा रहने इच्छा हुन्छ र उहाँको अधीनमा रहने मनोवृत्ति हुन्छ, तब ऊ स्वर्गमा हुनुहुने परमेश्‍वरको अधीनमा रहन सक्षम हुन्छ भनेर म किन भन्छु? यसबारे सोच: यहाँ के सम्बन्ध हुन्छ? यहाँ कुञ्‍जी सत्यतामा निहित छ। (सत्यता स्वीकार गर्न सक्षम हुनु र सत्यताको अधीनमा रहनु भनेको वास्तवमा स्वर्गमा हुनुहुने परमेश्‍वरको अधीनमा रहनु हो।) ठीक भन्यौ। जब तिमी परमेश्‍वरको अधीनमा रहन्छौ, तब तिमी परमेश्‍वरको पदवी नामको अधीनमा रहिरहेका हुँदैनौ, उहाँको नामको अधीनमा रहिरहेका हुँदैनौ, उहाँको हैसियतको अधीनमा रहिरहेका हुँदैनौ; बरु, तिमी सत्यताको अधीनमा रहिरहेका हुन्छौ। परमेश्‍वर सत्यताको मूर्तरूप हुनुहुन्छ। यदि तिमी सत्यताको अधीनमा रहन सक्छौ भने, तिमी परमेश्‍वरले गर्नुहुने सबै कुरा, परमेश्‍वरको स्वभाव, परमेश्‍वरको सार, परमेश्‍वरको सार्वभौमिकता, परमेश्‍वरका प्रबन्धहरू, परमेश्‍वरका पूर्वनिर्धारणहरू, परमेश्‍वरका योजनाबद्ध कार्यहरू, र परमेश्‍वरले तिमीलाई दिनुहुने सजाय र न्याय, र परमेश्‍वरले तिमीलाई गर्नुहुने निन्दा र श्रापको समेत अधीनमा रहन सक्छौ। परमेश्‍वर र सत्यता एक हुनुहुन्छ। त्यसोभए देहधारी परमेश्‍वरले व्यक्त गर्नुहुने कुरा के हो? (देहधारी परमेश्‍वरले व्यक्त गर्नुहुने कुरा सत्यता हो।) उहाँले व्यक्त गर्नुहुने कुरा पूर्ण रूपमा सत्यता हो। उहाँसँग परमेश्‍वरको जीवन, परमेश्‍वरको स्वभाव, र परमेश्‍वरको सार हुने हुनाले, उहाँले मानिसलाई गर्नुहुने सबै कुरा र उहाँले व्यक्त गर्नुहुने सबै कुरा सत्यता नै हुन्छ। उहाँले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्नुहुने हुनाले र उहाँ स्वर्गमा हुनुहुने परमेश्‍वरको मूर्तरूप हुनुभएकाले नै, उहाँले व्यक्त गर्नुहुने कुरा पूर्ण रूपमा सत्यता हुन्छ; यो कुरा निशङ्कोच रूपमा पक्‍का कुरा हो। यदि तिमी सत्यताको अधीनमा रहन सक्छौ भने, मलाई भन त, के तिमी देहधारी परमेश्‍वरको अधीनमा रहन सक्छौ? (सक्छु।) देहधारी परमेश्‍वरको सार सत्यता हो। यदि तिमी सत्यताको अधीनमा रहन सक्छौ भने, मलाई भन, के तिमी स्वर्गमा हुनुहुने परमेश्‍वरको अधीनमा रहन सक्छौ? (सक्छौँ।) स्वर्गमा हुनुहुने परमेश्‍वरले भन्नुहुने कुरा र पृथ्वीमा हुनुहुने परमेश्‍वरले व्यक्त गर्नुहुने कुरा एकसमान हुन्छन्। उहाँहरू रूपमा जतिसुकै फरक हुनुभए पनि, उहाँहरूको जीवनको प्रकटीकरण पूर्ण रूपमा उस्तै हुन्छ। अवश्य नै, यो व्यापक हिसाबमा भनिएको कुरा हो। हामीले यसलाई निश्‍चित रूपमा कसरी भन्नुपर्छ? हामीले के भन्नुपर्छ भने सबै प्रकारका मानिसहरू, घटनाहरू, र कामकुराहरूलाई कसरी लिने भन्‍ने बारेमा उहाँहरूका राय र दृष्टिकोणहरू पूर्ण रूपमा उस्तै हुन्छन्, र ती सबै सत्यता हुन्, र विशेषगरी देहधारी परमेश्‍वरले हरेक कामकुरा गर्नुहुने दृष्टिकोण, तरिका, र विधिहरू स्वर्गमा हुनुहुने परमेश्‍वरका दृष्टिकोण, तरिका, र विधिहरूसँग पूर्ण रूपमा उस्तै हुन्छन्। यो तिमीले स्पष्ट रूपमा देख्नैपर्ने कुरा हो। देहधारी परमेश्‍वरले भन्नुहुने र गर्नुहुने कुरा र स्वर्गमा हुनुहुने परमेश्‍वरले भन्नुहुने र गर्नुहुने कुराबीच के कुनै विरोधाभासहरू हुन्छन्? उदाहरणका लागि, कुनै खास मामलामा स्वर्गमा हुनुहुने परमेश्‍वरको एउटा दृष्टिकोण हुन्छ, तर देहधारी परमेश्‍वरले नयाँ मार्ग बनाउनुहुन्छ र स्वर्गमा हुनुहुने परमेश्‍वरको दृष्टिकोणसँग केही भिन्नताहरू भएको नयाँ दृष्टिकोण ल्याउनुहुन्छ—के यस्तो हुन सक्छ? (हुन सक्दैन।) के यस्तो कहिल्यै हुनेछैन भन्‍ने कुरा पक्‍का हो? (हो।) यो पूर्ण रूपमा पक्‍का कुरा हो। त्यस्ता गल्तीहरू कहिल्यै हुनेछैनन्; त्यस्ता विरोधाभासहरू कहिल्यै हुनेछैनन्। उदाहरणका लागि, स्वर्गमा हुनुहुने परमेश्‍वरले आफूले सृष्टि गर्नुभएका सबै कुरालाई प्रेम गर्नुहुन्छ, र आफूले सृष्टि गर्नुभएका सबै कुरालाई बहुमूल्य ठान्नुहुन्छ र तिनको वास्ता गर्नुहुन्छ। त्यसोभए, जब परमेश्‍वर देहमा आउनुहुन्छ, तब के उहाँमा यी भावनाहरूको कमी हुन्छ, र के उहाँमा त्यो उच्च दृष्टिकोण र स्थितिको कमी हुन्छ, परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुरालाई बहुमूल्य नठान्ने, परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुरालाई अनमोल नमान्ने, र अझै बढी परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिको वास्ता नगर्ने रहनुहुन्छ? के यो समस्या उत्पन्न हुनु सम्भव छ? (सम्भव छैन।) देहधारी परमेश्‍वरको जीवन परमेश्‍वरको नै जीवन हो, जसको अर्थ उहाँसँग परमेश्‍वरको सार छ भन्‍ने हुन्छ। हरेक व्यक्तिसँग जीवन हुन्छ। उसका सबै कार्य र कामहरू, र उसले विकास गर्ने सबै विचार, दृष्टिकोण, र कामकुराहरू गर्ने सिद्धान्तहरू उसको जीवनद्वारा नियन्त्रित र निर्देशित हुन्छन्। ऊसँग कस्तो प्रकारको जीवन छ भन्‍ने कुराले नै उसले प्रकट गर्ने विचार र दृष्टिकोणहरूलाई निर्धारण गर्छ। देहधारी परमेश्‍वरसँग भएको कुरा परमेश्‍वरको जीवन हो। त्यसोभए, के उहाँले प्रकट गर्नुहुने विचार र दृष्टिकोणहरू सबै सत्यतासँग सम्बन्धित हुँदैनन् र, र के ती सबै सत्यता होइनन् र? (हुन्।) त्यसोभए स्वर्गमा हुनुहुने परमेश्‍वरको हकमा त यो लागू हुन्छ भनेर भनिरहनु पर्दैन। के यसरी सङ्गति गर्दा यो निश्‍चित हुन्छ? (हुन्छ।)

हामीले भर्खरै सत्यताको अधीनमा रहनु भनेको देहधारी परमेश्‍वरको अधीनमा रहनु हो भनेर उल्लेख गर्‍यौँ। त्यसोभए, जब व्यक्तिसँग देहधारी परमेश्‍वरको अधीनमा रहने इच्छा हुन्छ, र उहाँको अधीनमा रहने मनोवृत्ति हुन्छ, तब ऊ परमेश्‍वरको अधीनमा रहन वा मुक्ति प्राप्त गर्नबाट टाढा हुँदैन, हुन्छ त? (हुँदैन।) सायद कतिपय मानिसहरूले यसो भन्न सक्छन्, “तपाईंले किन आफूलाई यति उच्च भएको भनी कुरा गर्नुहुन्छ?” म उच्च होइन; सत्यता उच्च हो। मैले तिमीलाई म जो व्यक्ति हुँ त्यसको अधीनमा रहन भनिरहेको छैनँ, न त मैले तिमीलाई मेरो व्यक्तित्व, मेरो जीवनशैली, वा मेरा व्यक्तिगत रुचि र प्राथमिकताहरूको अधीनमा रहन नै भनिरहेको छु। मैले तिमीलाई सत्यताको अधीनमा रहन भनिरहेको छु। जबसम्म तिमी सत्यताको अधीनमा रहन्छौ, र सत्यताप्रति तिमीसँग अधीनताको मनोवृत्ति हुन्छ र अधीनताको मानसिकता हुन्छ, तब तिमी स्वर्गमा हुनुहुने परमेश्‍वरप्रति अधीनता हासिल गर्न सक्षम हुनेछौ। जब तिमीले स्वर्गमा हुनुहुने परमेश्‍वरप्रति अधीनता हासिल गर्न सक्छौ, तब तिमीसँग मुक्ति प्राप्त गर्ने आशा हुनेछ। यसबाहेक, यो अधीनता मानिसका धारणा र कल्पनाहरूको अधीनता होइन, र यो कृत्रिम अधीनता होइन, न त यो कुनै प्रकारको अख्तियारप्रतिको अनुपालन नै हो; बरु, यो त सत्यताप्रतिको अधीनता हो। कतिपय मानिसहरूले यसो भन्छन्, “सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीमा, परमेश्‍वरको घरमा, ख्रीष्टले शक्ति हातमा लिनुहुन्छ।” म भन्छु तिमीले आधा कुरा मात्रै सही भनेका छौ। “ख्रीष्टले शक्ति हातमा लिनुहुन्छ” भनेर मात्रै भन्दा म जो व्यक्तिको रूपमा छु, अन्तिम निर्णय गर्ने व्यक्ति म नै हुँ भन्‍ने जस्तो देखिन्छ। म तिमीहरूको अगुवा होइनँ, न त म मण्डलीको कामका सबै पक्षहरूलाई समग्र रूपमा निरीक्षण नै गर्छु—अन्तिम निर्णय गर्ने अधिकार म एकलैसँग कसरी हुन सक्छ र? “ख्रीष्टले शक्ति हातमा लिनुहुन्छ” भन्‍ने भनाइ सैद्धान्तिक रूपमा सही छ, तर यो पर्याप्त रूपमा सटीक छैन; सही रूपमा भन्दा, शक्ति हातमा लिने त सत्यता हो। सत्यताले शक्ति हातमा लिनुको अर्थ के हो? यसको अर्थ हामीले हरेक व्यक्तिलाई मापन गर्ने र सबै मामलाहरूलाई मापन गर्ने, र हामीले सबै कुरा गर्ने सिद्धान्त, मानक, दिशा, र लक्ष्यहरू पूर्ण रूपमा सत्यतामा आधारित हुन्छन् भन्‍ने हुन्छ। यो सत्यतामा आधारित हुन्छ भन्नु भनेको यसलाई तुलनात्मक रूपमा प्रस्तुत गर्ने व्यापक तरिका हो। तोकेरै भन्दा, यसको अर्थ यी कुराहरू पूर्ण रूपमा देहधारी परमेश्‍वरले व्यक्त गर्नुभएका विभिन्न सत्यता र विभिन्न वचनहरूमा आधारित हुन्छन् भन्‍ने हुन्छ। यी वचनहरूमा हरेक मामलाको विस्तृत चिरफार र खुलासा, साथै सबै कुरा गर्नका लागि अभ्यासका सिद्धान्तहरू समावेश हुन्छन्। अवश्य नै, हरेक मामलाको चिरफार र खुलासालाई हेर्दा, साथै अभ्यासका सिद्धान्तहरूलाई हेर्दा, परमेश्‍वरका वचनहरूको हरेक अध्यायले सत्यताको एउटा पक्षमा सङ्गति गर्छ। त्यसकारण, मण्डलीमा जस्तोसुकै समस्याहरू उत्पन्न भए पनि वा व्यक्तिहरूले जस्तोसुकै भ्रष्ट स्वभावहरू प्रकट गरे पनि, ती सबैलाई परमेश्‍वरका वचनहरूअनुसार समाधान गर्न सकिन्छ। सबै प्रकारका कुराहरू सम्हाल्ने र सबै प्रकारका कुराहरू गर्ने सिद्धान्तहरू पूर्ण रूपमा परमेश्‍वरका वचनहरूमा आधारित हुन्छन्। व्यापक रूपमा भन्दा, ती सत्यतामा आधारित हुन्छन्; अझै तोकेर अनि सटीक रूपमा भन्दा, ती परमेश्‍वरका वचनहरूमा आधारित हुन्छन्। त्यसोभए परमेश्‍वरको घरमा, अर्थात् मण्डलीमा कसले शक्ति हातमा लिन्छ? (सत्यताले शक्ति हातमा लिन्छ।) मण्डली कुनै एक व्यक्तिको हुकुममा चल्दैन, न त यो कुनै एक व्यक्तिद्वारा नियन्त्रित नै हुन्छ, यो कुनै एक व्यक्तिद्वारा स्थापित हुनु त झनै परको कुरा हो। बरु, यो परमेश्‍वरद्वारा स्थापित भएको हुन्छ; यो परमेश्‍वरले निर्माण गर्नुभएको मण्डली हो, र यो परमेश्‍वरको कार्य हो। मण्डलीले अन्ततः परमेश्‍वरका वचनहरूमा आधारित भएर र सत्यतामा आधारित भएर सबै प्रकारका कुराहरू सम्हाल्छ—शक्ति हातमा लिने सत्यता नै हो। सत्यताले शक्ति हातमा लिने हुनाले, के परमेश्‍वरले शक्ति हातमा लिइरहनुभएको हुन्छ, र पवित्र आत्माले शक्ति हातमा लिइरहनुभएको हुन्छ भनेर भन्न सकिन्छ? यी भनाइहरू सबै सही छन्, होइन र? (हो।) सत्यताले शक्ति हातमा लिनुको अर्थ परमेश्‍वरका वचनहरूले शक्ति हातमा लिइरहेका छन्, र परमेश्‍वरको अख्तियारले काम गरिरहेको छ भन्‍ने पनि हुन सक्छ। मण्डली, परमेश्‍वरको घर, परमेश्‍वरको अख्तियार र बुद्धिले काम गर्ने ठाउँ हो। हेर त, यसरी विस्तृत रूपमा व्याख्या गरेर, तिमीहरूले यो सबै बुझ्न सक्छौ।

जब तिमीले यी व्यक्ति, अर्थात् देहधारी परमेश्‍वरलाई सत्यता र स्वर्गमा हुनुहुने परमेश्‍वरको सम्बन्धमा कसरी स्थान दिने भन्‍ने कुरालाई उचित रूपमा बोध गर्छौ र पूर्ण रूपमा बुझ्छौ, तब तिमी देहधारी परमेश्‍वरबारे आफ्ना धारणाहरू सामान्य धारणा भए पनि वा विशेष धारणा भए पनि, तिनलाई बिस्तारै त्याग्न सक्षम हुनेछौ। यहाँ मुख्य कुरा के हो भने, तिमीले सत्यता पछ्याउनुपर्छ। यदि तिमीले यी व्यक्तिलाई निरन्तर रूपमा गहन-जाँच गर्नमा र उहाँलाई बुझ्ने प्रयास गर्नमा मेहनत लगाउँछौ भने, तिमीले निकाल्न सक्ने एउटै मात्र निष्कर्ष के हुन्छ? तिमीले उहाँ एक साधारण व्यक्ति मात्रै हुनुहुन्छ भन्‍ने सोच्नेछौ। यदि तिमी यस्तो निष्कर्षमा पुग्यौ भने, तिम्रो अन्तिम परिणाम के हुनेछ भनेर कल्पना गर्न गाह्रो हुँदैन—यो त्यति आशाजनक देखिँदैन। यदि तिमीले यी व्यक्ति, अर्थात् देहधारी परमेश्‍वरबारे धेरै धारणाहरू बनाउँछौ, तर सत्यता पछ्याउन छोड्दैनौ, र तिमीले उहाँका वचनहरूमा र सत्यतामा नै सत्यता खोज्न मेहनत लगाउँछौ भने, सत्यताले तिम्रा सबै धारणाहरू समाधान गर्नेछ। सत्यताले मानिसका सबै भ्रष्ट स्वभावहरू र उसका विभिन्न समस्याहरू समाधान गर्न सक्छ। चाहे ती भ्रष्ट स्वभावहरूले गर्दा भएका समस्याहरू होऊन् वा मानव धारणाहरूले गर्दा भएका समस्याहरू होऊन्—जस्तोसुकै समस्या भए पनि—जबसम्म तिमीले सत्यता पछ्याउँछौ, तबसम्‍म ती सबै समाधान हुन सक्छन्। यो कुरा त तिमीले यसरी अभ्यास गर्न सक्छौ कि सक्दैनौ भन्‍ने कुरामा मात्रै निर्भर हुन्छ। यदि तिमीले अभ्यास गर्दैनौ, र आफ्ना समस्याहरू समाधान गर्न सत्यता खोज्दैनौ भने, तिमीले सय वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरे पनि, तिमी अझै पनि धारणाहरूले भरिपूर्ण हुनेछौ, अनि त्यसलाई त्याग्न तिमीलाई गाह्रो हुनेछ। तिमीले जतिसुकै लामो समयसम्म परमेश्‍वरलाई पछ्याए पनि, तिमी नहटाइए पनि वा निष्कासित नभए पनि, र तिमीले अझै पनि मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गरे पनि, तिमी परमेश्‍वरको अनुयायी हुनेछैनौ। बढीमा, तिमी एक धार्मिक विश्‍वासी, मण्डलीको एक साधारण मित्र मात्रै हुनेछौ। तिमीले दुष्टता नगरेको, वा अवरोध नगरेको, वा बाधा नदिएको भए पनि, र तिमी कामकुराहरू गर्नमा निकै धूर्त नभएको भए पनि, कसैले तिमीलाई नपक्रिए पनि वा तिम्रो कमजोरी नसमाते पनि, र तिमीलाई ननिकालिएको भए पनि—चिन्ता गर्नुपर्ने एउटा कुरा हुन्छ: यति लामो समयसम्म पछ्याएर पनि, तिमीसँग परमेश्‍वरको अलिकति ज्ञान समेत कसरी छैन? तिमीले यी व्यक्ति देहधारी परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्न भनेर निर्धारण गरेका छैनौ—के यो दयनीय कुरा होइन र? उहाँ देहधारी परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्न भनेर तिमीले निर्धारण गरेका छैनौ, र तिमी अझै पनि उहाँबारे धारणाहरूले भरिपूर्ण छौ। यसको अर्थ के हो? यो तिम्रो लागि राम्रो सङ्केत हो कि खराब सङ्केत हो? (खराब सङ्केत हो।) कति खराब? यसले कस्ता परिणामहरू ल्याउनेछ? (हामीले सत्यता र जीवन प्राप्त गर्नेछैनौँ, र हामीसँग मुक्ति हासिल गर्ने कुनै आशा हुनेछैन। हाम्रो परिणाम भनेको नाश हुनु नै हुनेछ।) तिमी देहधारी परमेश्‍वरलाई पछ्याउँछौ, र तिमीले मानिसलाई मुक्ति दिने परमेश्‍वरको कामको यो ठूलो अवसरको सामना गरेका छौ, तैपनि तिमीले सत्यता र जीवन प्राप्त गरेका छैनौ, र मुक्ति हासिल गरेका छैनौ। मलाई भन त, के तिमी मूर्ख छैनौ र? यस्तो ठूलो अवसर—त्यसमाथि, एउटै मात्र अवसर—र तिमीले यसको फाइदा उठाउन सकेनौ। तिमीले यसलाई गुम्न दियौ, र अन्ततः तिमी, एउटा सृजित प्राणी, केही पनि नभएर टुङ्गिनेछौ। के यो दयनीय कुरा होइन र? (हो।) यो मार्गमा हिँड्नु दयनीय कुरा भएको हुनाले, मानिसहरूले के गर्नुपर्छ? देहधारी परमेश्‍वरले आफ्नो काम गर्नुहुने समय भनेको एउटा विशेष अवधि हो, र मानवजातिका लागि यो एउटा निकै राम्रो अवधि पनि हो; यो एउटा निकै राम्रो अवधि हो जसमा मानवजातिले परमेश्‍वरलाई चिन्न, सृष्टिकर्तालाई चिन्न, र अन्ततः मुक्ति हासिल गर्न सक्छ। तर, यदि मानिसले, यस अवधिमा, परमेश्‍वरले ठूलो मात्रामा काम गर्नुभएको र ठूलो सङ्ख्यामा वचनहरू बोल्नुभएको भए पनि, अझै सत्यता प्राप्त गरेन भने, परमेश्‍वरलाई दोष दिन सकिँदैन। परमेश्‍वरले तिमीलाई मुक्ति दिनुहुन्न भन्‍ने होइन; बरु, तिमी आफैले यो अवसरको कदर गर्दैनौ, र यस अवधिमा सत्यता पछ्याउँदैनौ र तिमी सृष्टिकर्ताको प्रभुत्वमा फर्कँदैनौ, र अन्त्यमा तिमी नाश हुनेछौ भन्‍ने हो। अर्थात्, यस अवधिमा तिमी अझै पनि मुक्तिको मार्गमा लागेका छैनौ, र तिमीले मुक्ति हासिल गर्ने आफ्नो आशालाई पूर्ण रूपमा बरबाद गरेर टुङ्ग्याउँछौ, त्यसैले त्यो बेला पछुतो गर्नुको कुनै फाइदा हुँदैन। यदि तिमी अझै पनि यी व्यक्ति, अर्थात् देहधारी परमेश्‍वरबारे धेरै धारणा र कल्पनाहरू राख्छौ, र उहाँप्रति अझै पनि धेरै अनुचित मागहरू राख्छौ भने, मेरो नजरमा, यो वास्तवमा कुनै समस्या होइन। तिमीसँग जस्तोसुकै धारणाहरू भए पनि, जबसम्म तिमीले सत्यता पछ्याउँछौ, तबसम्‍म ती सबै समाधान हुन सक्छन्। मानिसमा धारणा र कल्पनाहरू हुनुको मूल कारण के हो भने उसले परमेश्‍वरलाई चिन्दैन र सत्यता बुझ्दैन, वा उसले परमेश्‍वरलाई चिन्ने कुनै अवसर पाएको हुँदैन। त्यसमाथि, हजारौँ वर्षदेखि शैतानले मानवजातिलाई गरेको भ्रष्टताले धेरै धारणाहरू लिएर तिनलाई मानिसको हृदयको गहिराइमा रोपेको छ, जसले गर्दा उसले आफूलाई परमेश्‍वरबाट टाढा राख्छ, अनि यसले गर्दा परमेश्‍वरप्रति उसको शत्रुता पनि बारम्बार उत्पन्न हुन्छ। अझै तोकेरै भन्दा, यसले मानिसलाई परमेश्‍वरबारे धेरै धारणा र कल्पनाहरू राख्ने, र उहाँप्रति धेरै वटा अनुचित मागहरू राख्ने तुल्याएको छ। परमेश्‍वरले वास्तवमा यी सबै वस्तुगत तथ्यहरूको अस्तित्वलाई निकै स्पष्ट रूपमा देख्नुहुन्छ, र परमेश्‍वर ती कुराप्रति निकै परिचित हुनुहुन्छ। तर, परमेश्‍वरप्रतिको मानिसको मनोवृत्ति शत्रुवत् भएकोले र उसमा अधीनताको मनोवृत्तिको कमी भएकोले परमेश्‍वरले मानिसलाई त्याग्नुहुन्न। यसको विपरीत, परमेश्‍वर स्वयम् देह बन्नुहुन्छ र ठ्याक्कै यस्तै मानिसहरूको समूहमाथि काम गर्नुहुन्छ, यसमा समावेश हुने कुनै झमेलामा नअल्झिकन मानिसलाई मुक्ति दिन सत्यता व्यक्त गर्नुहुन्छ, र उसलाई सत्यता बुझ्न र परमेश्‍वरका अभिप्रायहरू बुझ्न मद्दत गर्नका लागि इमानदार र अटल धैर्यताका साथ सत्यता सङ्गति गर्नुहुन्छ। परमेश्‍वरको इमानदार र अटल धैर्यता र श्रमसाध्य अभिप्रायहरूको अन्तिम लक्ष्य, केवल मानिसलाई परमेश्‍वरको आराधना गर्न सक्षम तुल्याउने कार्य जस्तो सरल छैन; बरु, यो उसलाई अन्ततः बाँच्न सक्षम हुने आशा दिनु, र बाँच्‍ने अवसर दिनु हो। कसैले यो अवसर प्राप्त गर्नका लागि पूरा गर्नुपर्ने सर्त के हो भने उसले परमेश्‍वरका वचनहरू स्वीकार गर्नुपर्छ र सत्यतालाई आफ्नो जीवनको रूपमा स्वीकार गर्नुपर्छ, र ऊ एउटा नयाँ मानव बन्नुपर्छ। त्यसपछि मात्रै ऊ बाँच्न योग्य हुनेछ; त्यसपछि मात्रै ऊ परमेश्‍वरले सृष्टि गर्नुभएका यावत् थोकका बीचमा बाँच्न जारी राख्न योग्य हुनेछ। परमेश्‍वरले मानिससँग गर्नुहुने एउटै मात्र माग यही हो, र उहाँले उसको लागि खडा गर्नुभएको एउटै मात्र सर्त पनि यही हो। उहाँका औपचारिक प्रवचनहरू होऊन् वा उहाँले सङ्गति गर्नुहुने वचनहरू र उहाँले सामान्य समयमा व्यक्तिहरू वा विशेष टोलीहरूसँग गर्नुहुने काम होऊन्, देहधारी परमेश्‍वरले गर्नुहुने सबै कुराको पछाडि वास्तवमा परमेश्‍वरको एउटै मात्र उद्देश्य हुन्छ, त्यो भनेको मानिसलाई परमेश्‍वरको मान्यता, ग्रहण, र स्वीकृति—तिमी परमेश्‍वरको एउटा सृजित प्राणी हौ भन्‍ने उहाँको स्वीकृति—प्राप्त गर्न दिनु हो। परमेश्‍वरका लागि, यसको उद्देश्य भनेको मानिसलाई सृष्टिकर्तालाई चिन्न र सृष्टिकर्ताको अघि फर्कन सक्षम तुल्याउनु हो। देहधारी परमेश्‍वरले गर्नुहुने काम ठ्याक्कै यही हो, र यसले हासिल गर्ने परिणाम भनेको यसले मानिसलाई सृष्टिकर्तालाई चिन्न सक्षम तुल्याउँछ, र परमेश्‍वरले पनि मानिसलाई मान्यता दिनुहुन्छ; यो ठ्याक्कै यही काम हो। देहधारी परमेश्‍वरले गर्नुभएको काम मानिसका लागि यति महत्त्वपूर्ण र यति लाभदायक भएको हुनाले, र यसले उसलाई अलिकति पनि हानि नगरी अनगिन्ती लाभहरू दिने हुनाले, तिमी किन सधैँ उहाँप्रति विरोधी हुनुपर्ने? तिमी किन सधैँ उहाँलाई गहन-जाँच गर्छौ र उहाँलाई शत्रुवत् नजरले हेर्छौ? समस्या मानिसमा नै हुन्छ। तिमी सधैँ उहाँको जीवनलाई गहन-जाँच गर्छौ, उहाँको व्यक्तित्वलाई गहन-जाँच गर्छौ, उहाँका रुचि र सोखहरूलाई गहन-जाँच गर्छौ, र उहाँको हरेक पक्षबारे सबै प्रकारका धारणा र कल्पनाहरू, अनुचित मागहरू, र निन्दाहरू समेत निर्माण गर्छौ। एउटा सृजित मानवका लागि, यो कहिल्यै नहुनु पर्ने कुरा हो। तिमीहरूप्रतिका देहधारी परमेश्‍वरका मागहरू उच्च छैनन्। यसका साथै, म उचित सीमाभित्र रहने र साँच्चै असल व्यवहार गर्ने व्यक्ति हुँ। मैले तिमीहरूसँग सम्बन्धित कुनै पनि महत्त्वाकाङ्क्षा कहिल्यै राखेको छैन। म तिमीहरूलाई मेरो अगाडि दण्डवत् गर भनेर भन्दिनँ, म तिमीहरूलाई मलाई प्रतिष्ठापित गर भनेर भन्दिनँ, र म तिमीहरूलाई मेरो अगाडि झुक्न भन्दिनँ, र म तिमीहरूलाई मेरो हरेक वचन पालन गर भनेर भन्‍नु त झनै परको कुरा हो। म केवल सत्यता सङ्गति गर्छु, तिमीहरूलाई सत्यताले मलजल गर्छु र आपूर्ति गर्छु, तिमीहरूलाई मार्गदर्शन र सहायता गर्छु, तिमीहरूलाई सही मार्गमा डोर्‍याउँछु, तिमीहरूलाई परमेश्‍वरको अघि ल्याउँछु, तिमीहरूलाई सत्यता बुझ्न सक्षम तुल्याउँछु, र तिमीहरूलाई सत्यता स्वीकार गर्न र सत्यताको अधीनमा रहन सक्षम तुल्याउँछु, र अन्ततः तिमीहरूलाई सत्यतालाई आफ्नो जीवनको रूपमा लिने मानिसहरू बनाउँछु, र त्यस बिन्दुमा मैले मेरो काम पूर्ण रूपमा पूरा गरेको हुनेछु र मेरो कार्य पूरा गरेको हुनेछु। के यसले तिमीहरूलाई कुनै पनि हानि नगरी अनगिन्ती लाभहरू दिँदैन र? (दिन्छ।) यदि तिमीले मैले व्यक्त गर्ने सत्यताहरू सुन्दैनौ, तर त्यसको सट्टा मलाई गहन-जाँच गर्छौ, र मलाई गिल्ला गर्ने, गलत ठहराउने, र दोषी ठहराउने समेत गर्छौ भने, के तिम्रो मानवतामा समस्या हुँदैन र? (हुन्छ।) के तिमी सत्यतालाई प्रेम गर्ने व्यक्ति हुन्छौ? (हुँदिनँ।) म तिमीहरूसँग अत्यधिक मागहरू गर्दिनँ, न त म कुनै अनुचित मागहरू नै गर्छु। म तिमीहरूलाई मेरो आराधना गर्नका लागि झुक्न भनेर कहिल्यै भन्दिनँ, न त म तिमीहरूलाई मलाई प्रतिष्ठापित गर भनेर नै भन्छु। म बदलामा केही नमागी तिमीहरूलाई आपूर्ति गर्छु, र तिमीहरूलाई मानव जीवनको मार्ग र मुक्तिको मार्ग देखाउँछु। यदि तिमीहरू अझै पनि सधैँ मलाई गहन-जाँच गर्छौ भने, त्यो अत्यन्तै अनुचित कुरा हो। तिमीले मेरो बारेमा कुनै पनि कुरा गहन-जाँच गर्नु गलत कुरा हो—त्यो समझ वा मानवता नहुनुको प्रकटीकरण हुनेछ। एउटा साँचो सृजित प्राणीले परमेश्‍वरलाई गहन-जाँच गर्दैन, न त उसले सत्यतालाई नै गहन-जाँच गर्छ; बरु, उसले विनासर्त आफूलाई अधीनमा राख्छ र त्यो कुरा स्वीकार गर्छ। स्पष्ट रूपमा भन्दा: तिमीले सधैँ मेरो पिठ्यूँ पछाडि मलाई गहन-जाँच गरिरहेका हुन्छौ; तैपनि, म तिमीसँग बस्दिनँ, म तिमीसँग दिनरात बिताउँदिनँ, र म तिम्रो लागि कामकुराहरू गाह्रो बनाउँदिनँ—मलाई गहन-जाँच गर्नमा यति धेरै मेहनत लगाएर तिमीले के प्राप्त गर्न सक्छौ र? मैले तिमीलाई हानि गरेको छैन, न त मैले तिमीमाथि कहिल्यै नियन्त्रण नै प्रयोग गरेको छु। म तिमीलाई पर्याप्त मात्रामा स्वतन्त्रता दिन्छु। यसबाहेक, मैले तिमीलाई जे कुराले मलजल गर्छु र आपूर्ति गर्छु ती पूर्ण रूपमा सत्यता हुन्, पूर्ण रूपमा सकारात्मक कुराहरू हुन्, र पूर्ण रूपमा तिम्रो लागि लाभदायक कुरा हुन्। त्यसोभए तिमी किन सधैँ मलाई गहन-जाँच गर्छौ? यो तिमीले समाधान गर्नुपर्ने कुरा हो, र यसलाई समाधान गर्ने मार्गमा, हामीले भर्खरै भनेजस्तै, सत्यता प्रयोग गर्ने कार्य समावेश हुन्छ। हेर त, मैले तिमीहरूलाई दिएको मार्ग निकै स्पष्ट छ, होइन र? के म तिमीहरूप्रति पर्याप्त इमानदार र पर्याप्त सहनशील भएको छैन र? (हुनुभएको छ।) म तिमीलाई दोषी ठहराउँदिनँ, र तिमीले यसो गरेको कारणले तिमीलाई के हुनेछ वा तिम्रो भविष्य कस्तो हुनेछ भनेर म निर्धारण गर्दिनँ। म केवल तिमीलाई सत्यता पछ्याउन, र आफ्ना समस्याहरू समाधान गर्नका लागि सत्यता प्रयोग गर भनेर भन्छु। चाहे त्यो नकारात्मक स्थिति होस्, सत्यताअनुरूप नहुने दृष्टिकोण वा तरिका होस्, वा परमेश्‍वरबारेका तिम्रा धारणा र कल्पनाहरू वा परमेश्‍वरप्रतिको तिम्रो शत्रुता नै किन नहोस्, जस्तोसुकै समस्या भए पनि, जस्तोसुकै नकारात्मक कुरा भए पनि—यी र यस्ता अरू कुराहरू सबै सत्यताद्वारा समाधान हुन सक्छन्। यो त तिमीले सत्यता स्वीकार गर्न र सत्यता अभ्यास गर्न सक्छौ कि सक्दैनौ भन्‍ने कुरामा मात्रै निर्भर हुन्छ। यदि तिमी अलिकति विवेक भएको र अझै पनि केही मात्रामा विवेकशीलता कायम राख्ने व्यक्ति हौ भने, तिमीले सत्यता पछ्याउनुपर्छ। तिमीले यो अवसर गुमाउनु हुँदैन। तिमीले आफ्नो ध्यान यी व्यक्ति, अर्थात् देहधारी परमेश्‍वरलाई गहन-जाँच गर्नमा होइन, तर सत्यता पछ्याउन र मुक्ति हासिल गर्नमा केन्द्रित गर्नुपर्छ। तिमीले उहाँलाई अन्त्यसम्म गहन-जाँच गर्न सक्छौ र पनि सत्यता प्राप्त गर्न सक्दैनौ; तिमीले अन्ततः कटनी गर्ने कुरा सत्यता हुनेछैन। यसको विपरीत, तिमीले उहाँलाई जति बढी गहन-जाँच गर्छौ, तिमी परमेश्‍वरबाट त्यति नै टाढा हुन्छौ। तिमीले उहाँलाई जति बढी गहन-जाँच गर्छौ, परमेश्‍वरप्रतिको तिम्रो शत्रुता त्यति नै गम्भीर बन्छ। मानिस परमेश्‍वरप्रति शत्रुवत् भएको उहाँलाई मन पर्दैन। यदि तिमीसँग कुनै समस्याहरू छन् भने, तिम्रा भ्रष्ट स्वभावहरू निकै गम्भीर भए पनि, तिम्रा समस्याहरू निकै गम्भीर भए पनि, र तिम्रा धारणा र कल्पनाहरू निकै गम्भीर भए पनि, तर तिम्रो मनोवृत्ति निकै राम्रो छ र तिमीसँग परमेश्‍वरको अधीनमा रहने इच्छा छ भने, र तिमीले “म परमेश्‍वरको अधीनमा रहन चाहन्छु। म मेरा धारणा र कल्पनाहरू समाधान गर्ने, र परमेश्‍वरप्रतिको मेरो शत्रुवत् मनोवृत्ति समाधान गर्ने उद्देश्यले सत्यता खोजिरहेको छु। परमेश्‍वरले मलाई प्रबोधित गर्नुभएको होस्” भनेर भन्छौ भने—यदि तिमीसँग यस्तो प्रकारको मनोवृत्ति छ भने, के तिमी अझै पनि आफ्ना समस्याहरू समाधान गर्न सकिँदैन कि भनेर डराउनेछौ? तिम्रा समस्याहरू समाधान गर्न निकै सजिलो हुन्छ। यदि तिमीले तिनलाई समाधान गर्न चाहँदैनौ भने, त्यो फरक कुरा हो; तिम्रो स्थिति फरक हुनेछ, र तिमीलाई एउटा सृजित प्राणीको रूपमा व्यवहार गर्न सकिनेछैन—तिमी एउटा छुट्टै वर्गमा पर्नेछौ। त्यसोभए त्यो अर्को वर्ग के हुनेछ त? यो हामीले अब कुरा गर्ने प्रकारका मानिसहरूसँग सम्बन्धित छ: आफ्ना धारणाहरू समाधान गर्न नचाहने र आफ्ना धारणाहरू त्याग्न नचाहने प्रकारका मानिसहरू।

कसैसँग सधैँ देहधारी परमेश्‍वरबारे धारणाहरू हुँदा त्यो कस्तो प्रकृति हो भन्‍ने कुरा हामीले पहिले नै चिरफार गरिसकेका छौँ, र हामीले धारणाहरू त्याग्ने मार्गबारे पनि सङ्गति गरेका छौँ। त्यसोभए आफ्ना धारणाहरू त्याग्न नचाहनु कस्तो प्रकारको समस्या हो? यस्ता मानिसहरू हुन्छन् नै, होइन र? (हो।) कतिपय मानिसहरू आफ्ना धारणाहरूमा जोडतोडले टाँसिन्छन् र तिनीहरूले तिनलाई त्याग्दैनन्। तिनीहरूले यस्तो सोच्छन्, “देहधारी ईश्‍वर एक साधारण व्यक्ति मात्रै हो। उसले धेरै सत्यताहरू व्यक्त गर्न सके पनि, मैले उसको पिठ्यूँ पछाडि के गर्छु भन्‍ने कुरा उसलाई पक्कै पनि थाहा हुँदैन। मैले नराम्रा कामहरू गरे पनि, म तिनलाई ऊबाट लुकाउन सक्छु, र मैले समस्याहरू समाधान गर्न सत्यता खोज्नु पर्दैन। ऊ एक साधारण व्यक्ति मात्रै हो भन्‍ने कुरामा म निश्चित छु; उसले, परमेश्‍वरका आत्माले जस्तै, सबै कुराहरू गहन-जाँच गर्न वा मानिसको हृदयको अन्‍तस्‍करणलाई गहन-जाँच गर्न सक्दैन। ऊसँग परमेश्‍वरको अख्तियार छैन, र ऊसँग परमेश्‍वरको सर्वशक्तिमान्‌ता हुनु त झनै परको कुरा हो। बोल्ने, सत्यता व्यक्त गर्ने र मण्डलीका केही कामहरू गर्ने बाहेक, उसले अरू केही गर्न सक्दैन, त्यसैले म ऊसँग डराउँदिनँ, म उसको विरोध मात्रै गर्नेछु, म आफूले चाहेको कुरा मात्रै गर्नेछु, र मैले आफ्नो हृदयमा ख्याति, प्राप्ति, र हैसियत पछ्याए पनि, उसलाई अझै पनि थाहा हुनेछैन। ऊ एक साधारण व्यक्ति मात्रै हो। ऊ परमेश्‍वर हुनु सम्भव नै छैन। मसँग उसको बारेमा धारणाहरू भए पनि, उसले मलाई केही गर्न सक्दैन। म उसलाई आफ्नो हृदयमा परमेश्‍वरको रूपमा व्यवहार गर्न सक्दिनँ।” यो ठ्याक्कै त्यतिखेरका पावलको जस्तै हो। पावलले प्रभु येशूलाई स्वीकार नै गरेनन्। उनले प्रभु येशू जीवित परमेश्‍वरका पुत्र हुनुहुन्छ भन्‍ने कुरा स्वीकार गरेनन्, न त उनले प्रभु येशू नै ख्रीष्ट हुनुहुन्छ भन्‍ने कुरा स्वीकार गरे। उनले प्रभु येशूले व्यक्त गर्नुभएका सत्यताहरू स्वीकार गरेनन्, न त उनले परमेश्‍वरको रूपमा रहेको प्रभु येशूको पहिचानलाई नै स्वीकार गरे। उनले उहाँलाई एक साधारण व्यक्तिको रूपमा मात्रै व्यवहार गरे, प्रेरित वा अगमवक्ताको रूपमा समेत व्यवहार गरेनन्। उनले प्रभु येशूलाई स्वीकार गरेनन्, तैपनि उनले अझै पनि उहाँबाट आशिष्‌ प्राप्त गर्न चाहन्थे—के यो निर्लज्जता होइन र? कतिपय मानिसहरू आशिष्‌ प्राप्त गर्ने आफ्नो चाहना सन्तुष्ट पार्न, र हैसियत प्राप्त गर्ने आफ्नो चाहना सन्तुष्ट पार्नका लागि मण्डलीमा मन नलागी-नलागी परमेश्‍वरलाई पछ्याउँछन्, तर तिनीहरूसँग जस्तोसुकै धारणाहरू भए पनि, तिनीहरू तिनलाई समाधान गर्नका लागि सत्यता खोज्दैनन्। तिनीहरूसँग देहधारी परमेश्‍वरलाई स्वीकार गर्ने अलिकति पनि इच्छा हुँदैन, र अवश्य नै तिनीहरूसँग अधीनमा रहने इच्छा त झनै कम हुन्छ, र तिनीहरूसँग अधीनताको मनोवृत्ति हुने कुरा त झनै परको हो। त्यस्ता मानिसहरू परमेश्‍वरका शत्रुहरू हुन्। तिनीहरू देहधारी परमेश्‍वरप्रति विरोधी हुने मात्रै होइनन्, तर अझै बढी, तिनीहरू सत्यताप्रति नै विरोधी हुन्छन्। देहधारणको तथ्य आफैमा सत्यताको एउटा पक्ष हो, तैपनि तिनीहरूले आफ्नो हृदयमा यो तथ्यलाई इन्कार गर्छन्। आफ्नो हृदयमा, तिनीहरूले परमेश्‍वरको देहलाई मानिलिँदैनन् वा स्वीकार गर्दैनन्, र तिनीहरूले देहधारी परमेश्‍वरसँग परमेश्‍वरको जीवन छ भन्‍ने कुरालाई मान्यता दिँदैनन्। तिनीहरूले यस्तो सोच्छन्, “तिमी एउटा मुखपात्र मात्रै हौ, परमेश्‍वरले तिमीलाई जे भन्न लगाउनुहुन्छ तिमी त्यही मात्रै भन्छौ। बढीमा, तिमी एउटा अगमवक्ता जस्तै हौ। यदि परमेश्‍वरले काम गर्नुभएन भने, तिमी केही पनि होइनौ!” कतिपय मानिसहरूले त अझै नराम्रा कुराहरू समेत भन्छन्। त्यसकारण, यस्ता मानिसहरूको नजरमा, देहधारी परमेश्‍वर एक प्रेरित, अगमवक्ता, वा आत्मिक व्यक्ति समेत हुनुहुन्न, तर उहाँ त अरूले हेला गर्ने एक साधारण व्यक्ति मात्रै हुनुहुन्छ। त्यस्ता मानिसहरूले देहधारी परमेश्‍वरको कामलाई स्वीकार गर्दैनन्, न त तिनीहरूले उहाँको पहिचान र सारलाई नै स्वीकार गर्छन्, र तिनीहरूले देहधारी परमेश्‍वरको जीवनको आपूर्तिलाई स्वीकार गर्नु त झनै परको कुरा हो। अवश्य नै, तिनीहरूले उहाँले व्यक्त गर्नुहुने सबै सत्यताहरू स्वीकार गर्दैनन् भन्‍ने कुरा त झनै साँचो हो। त्यसोभए तिनीहरू किन अझै पनि परमेश्‍वरको घरमा बस्छन्? किनभने तिनीहरूसँग महत्त्वाकाङ्क्षाहरू हुन्छन् र आशिष्‌ प्राप्त गर्ने चाहना हुन्छ। कतिपय मानिसहरूसँग मण्डलीमा अन्य मनसायहरू हुन्छन्, सायद मण्डलीको आडमा आफ्नै दुनो सोझ्याउन र कुनै प्रकारका फाइदाहरू प्राप्त गर्ने मनसाय हुन सक्छ। छोटकरीमा भन्दा, त्यस्ता मानिसहरूसँग पक्कै पनि व्यक्तिगत महत्त्वाकाङ्क्षा र मनसायहरू हुन्छन्। हामीले त्यस्ता मानिसहरूलाई सत्यता स्वीकार गर्नमा कर गर्नु पर्दैन, र तिनीहरूका समस्याहरू समाधान गर्न तिनीहरूसँग सत्यता सङ्गति गर्ने कुनै उपाय हुँदैन। किनभने तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् र सत्यतालाई अलिकति पनि स्वीकार गर्दैनन्, र किनभने तिनीहरूले आफ्नो हृदयमा देहधारी परमेश्‍वरलाई इन्कार गर्छन्, र ख्रीष्ट परमेश्‍वर स्वयम् हुनुहुन्छ भन्‍ने कुरालाई मानिलिँदैनन्। त्यस्ता मानिसहरूले ख्रीष्टलाई मानिलिँदैनन्, तर उहाँलाई इन्कार गर्छन्; तिनीहरू ख्रीष्ट-विरोधीहरू हुन्। तिनीहरूको प्रकृति सार ख्रीष्ट-विरोधीको सार हो, र तिनीहरू शैतानको प्रकारका हुन्। त्यस्ता मानिसहरूले सकारात्मक कुराहरूमा कहिल्यै विश्‍वास गर्दैनन् वा सकारात्मक कुराहरूलाई पहिचान गर्दैनन्। तिनीहरू हैसियतमा मात्रै विश्‍वास गर्छन्, परमेश्‍वरबाट आशिष्‌ प्राप्त गर्न सकिन्छ भन्‍ने कुरामा मात्रै विश्‍वास गर्छन्, र स्वर्गमा हुनुहुने परमेश्‍वरले मात्रै मानिसलाई आशिष्‌ दिन सक्नुहुन्छ र मानिसलाई राम्रो गन्तव्य दिन सक्नुहुन्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूको दृष्टिकोणमा, यदि परमेश्‍वरका आत्माले तिनीहरूमाथि काम गर्नुभयो भने, तिनीहरू पनि ख्रीष्ट हुनेथिए, तिनीहरू पनि परमेश्‍वर स्वयम् हुनेथिए, तिनीहरूले पनि परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्नेथिए, र तिनीहरूसँग पनि परमेश्‍वरको जीवन हुन सक्नेथियो, जुन पावलले भनेको जस्तै हो, “मेरा लागि जिउनु ख्रीष्ट हो” (फिलिप्पी १:२१)। त्यस्ता मानिसहरूको सार पावलको जस्तै हुन्छ। तिनीहरू सबै अहङ्कारी र आत्म-धर्मी हुन्छन्, र कसैको अगाडि झुक्दैनन्। तिनीहरूसँग निकै ठूला महत्त्वाकाङ्क्षा र चाहनाहरू हुन्छन्, र तिनीहरूले ख्रीष्टलाई कहिल्यै गम्भीरतापूर्वक लिँदैनन्। तिनीहरू ख्रीष्टको समान स्तरमा हुन चाहन्छन्, र तिनीहरूले ख्रीष्टको पहिचान पनि प्राप्त गर्न चाहन्छन्। तिनीहरूको दृष्टिकोणमा, यदि परमेश्‍वरले तिनीहरूमाथि काम गर्नुभयो भने, र यदि तिनीहरूले मण्डलीलाई नियन्त्रण गर्न सके र तिनीहरूसँग हैसियत भयो भने, तिनीहरू ख्रीष्ट बन्न सक्नेथिए; यदि तिनीहरूको शक्ति पर्याप्त रूपमा ठूलो भयो भने, र यदि तिनीहरूको अधिकार क्षेत्र पर्याप्त रूपमा फराकिलो भयो र तिनीहरूसँग पर्याप्त अनुयायीहरू भए भने, तिनीहरू ख्रीष्टको समान स्तरमा हुन सक्नेथिए र तिनीहरूसँग ख्रीष्टको जस्तै पहिचान हुन सक्नेथियो। मलाई भन त, के यस्ता मानिसहरूलाई सत्यता स्वीकार गर्न र परमेश्‍वरका वचनहरू स्वीकार गर्न कर गरिरहनु अझै पनि आवश्यक हुन्छ र? (हुँदैन।) मलाई पनि त्यस्तो लाग्दैन, र म त्यस्ता मानिसहरूलाई कर गर्न चाहन्नँ। तिनीहरूलाई किन कर नगर्ने? (यस्ता मानिसहरूसँग ख्रीष्ट-विरोधीहरूको सार हुन्छ। तिनीहरूले सत्यता स्वीकार गर्नु र सकारात्मक कुराहरू स्वीकार गर्नु असम्भव हुन्छ। त्यसैले तिनीहरूलाई कर गर्नु आवश्यक हुँदैन।) बाहिरी रूपमा तिनीहरू ख्रीष्टप्रति विरोधी हुन्छन्, तर वास्तवमा, के तिनीहरू ख्रीष्टप्रति मात्रै विरोधी हुन्छन् त? (तिनीहरू सत्यताप्रति विरोधी हुन्छन्।) तिनीहरू सत्यताप्रति, सकारात्मक कुराहरूप्रति, र परमेश्‍वरप्रति विरोधी हुन्छन्, होइन र? (हो।) परमेश्‍वरले यति धेरै वचनहरू व्यक्त गर्नुभएको छ र ती सबै सत्यता हुन्—के यी मानिसहरूले यो कुरालाई मानिलिन्छन्? (मानिलिँदैनन्।) तिनीहरूको सारको आधारमा हेर्दा, तिनीहरूले यसलाई मानिलिँदैनन्। तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्‍ने कुरालाई मानिलिँदैनन्, न त तिनीहरूले परमेश्‍वरका वचनहरूले मानिसलाई परिवर्तन गर्न सक्छन्, ती मानिसको जीवन बन्न सक्छन्, र तिनले मानिसलाई बाँच्न दिन सक्छन् भन्‍ने कुरालाई नै मानिलिन्छन्। देहधारी परमेश्‍वरले व्यक्त गर्नुभएका यी वचनहरू सत्यता हुन् भन्‍ने कुरालाई तिनीहरूले मानिलिँदैनन्। त्यसोभए के तिनीहरूले देहधारी परमेश्‍वरसँग परमेश्‍वरको जीवन र सार छ भन्‍ने कुरालाई मानिलिन्छन् त? (लिँदैनन्।) तिनीहरूले देहधारी परमेश्‍वरसँग परमेश्‍वरको जीवन र सार छ भन्‍ने कुरालाई नमान्‍ने हुनाले, के तिनीहरूले स्वर्गमा हुनुहुने परमेश्‍वरको जीवन र सारलाई मानिलिन्छन् त? (लिँदैनन्।) तिनीहरूले स्वर्गमा हुनुहुने परमेश्‍वरको जीवन र सारलाई नमान्‍ने हुनाले, के तिनीहरूले परमेश्‍वरको पहिचान र हैसियतलाई मानिलिन्छन् त? (तिनीहरूले त्यसलाई पनि मानिलिँदैनन्।) तिनीहरूले परमेश्‍वरको पहिचान र हैसियतलाई नमान्‍ने हुनाले, के तिनीहरूले परमेश्‍वरले यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने कुरालाई मानिलिन्छन् त? (मानिलिँदैनन्।) तिनीहरूले परमेश्‍वरले यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने कुरालाई नमान्‍ने हुनाले, के तिनीहरू परमेश्‍वरका योजनाबद्ध कार्यहरूको अधीनमा रहन सक्छन् त? (सक्दैनन्।) तिनीहरू अधीनमा रहन नसक्ने हुनाले, तिनीहरूले के गर्नेछन्? तिनीहरूले अवज्ञा देखाउनेछन्, र तिनीहरूले परमेश्‍वरलाई इन्कार गर्नेछन् र परमेश्‍वरलाई प्रतिस्थापन गर्न खोज्नेछन्। तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू यिनै हुन्, र तिनीहरूले गर्ने हरेक कुरा यही लक्ष्य हासिल गर्न र यही परिणाम हासिल गर्नमा लक्षित हुन्छ। त्यस्ता मानिसहरूले मण्डलीमा शक्ति हातमा लिन मात्रै चाहन्छन्, परमेश्‍वरलाई प्रतिस्थापन गर्न चाहन्छन्, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्न चाहन्छन्। परमेश्‍वरलाई इन्कार गर्नुका पछाडि तिनीहरूको उद्देश्य भनेको परमेश्‍वरलाई पछ्याउनबाट मानिसहरूलाई रोक्नु हो; परमेश्‍वरले व्यक्त गर्नुभएका सबै सत्यताहरूलाई इन्कार गर्नुको पछाडि तिनीहरूको उद्देश्य भनेको मानिसहरूलाई परमेश्‍वरबाट टाढा राखेर त्यसको सट्टा तिनीहरूलाई पछ्याउन लगाउनु हो। तिनीहरूले परमेश्‍वरलाई प्रतिस्थापन गर्ने भ्रमात्मक प्रयास गर्छन् र मानिसहरूलाई अझै भ्रमित पार्ने र भ्रष्ट तुल्याउने र मानवजातिलाई नियन्त्रण गर्ने आफ्नो लक्ष्य हासिल गर्नका लागि, मानिसहरूलाई आफ्नो आराधना गर्न लगाउन तिनीहरूले परमेश्‍वरको स्थान लिने प्रयास गर्छन्। यस प्रकारका मानिसहरू—अर्थात् ख्रीष्ट-विरोधीहरूको—प्रकृति सार यही हो, र यो तिनीहरूका सबै कार्य र कामहरू पछाडि लुकेको साँचो तस्विर पनि हो। तिनीहरूसँग ख्रीष्ट-विरोधीको स्वभाव हुने हुनाले र तिनीहरूसँग शैतानी प्रकृति सार हुने हुनाले, तिनीहरूले मानिसहरूलाई भ्रमित पार्न, मानिसहरूलाई फसाउन, र मानिसहरूलाई नियन्त्रण गर्नका लागि अपरिहार्य रूपमा धेरै कुराहरू बोल्नेछन् र धेरै कुराहरू गर्नेछन्। तिनीहरूले आफ्नो अधीनमा ठूलो सङ्ख्यामा अनुयायीहरू जम्मा गरेपछि र तिनीहरूसँग पर्याप्त शक्ति भएपछि, तिनीहरूले जताततै भ्रम र पाखण्डहरू फैलाउँदै, समस्या खडा गर्न थाल्नेछन्, र यसो भन्‍नेछन्, “यो देहधारी ईश्‍वरले चिह्न र आश्‍चर्यकर्महरू नगर्ने हुनाले, र सबै कुराहरू गहन-जाँच गर्न असक्षम हुने हुनाले, हामीसँग तिम्रो बारेमा यति धेरै धारणाहरू हुनु सामान्य कुरा हो। सायद कुनै दिन तिमीले वाणीहरू दिन र वचनहरू बोल्न छोड्नेछौ, तिमीसँग व्यक्त गर्नका लागि थप सत्यताहरू हुनेछैनन्, र तिम्रो मिसन पूरा हुनेछ, त्यसपछि तिमी उप्रान्त बेकामको हुनेछैनौ। त्यस्तो अवस्थामा, हामी यी वचनहरूलाई लिनेछौँ र हाम्रो आफ्नै छुट्टै समूह खडा गर्नेछौँ, आफ्नै गुट बनाउनेछौँ, र छुट्टै शक्ति आधार स्थापित गर्नेछौँ। हामी स्वर्गमा हुने ईश्‍वरलाई मात्रै स्वीकार गर्छौँ, हामी स्वर्गमा हुने ईश्‍वरमा मात्रै विश्‍वास गर्छौँ, हामी स्वर्गमा हुने ईश्‍वरलाई मात्रै पछ्याउँछौँ, र हामी स्वर्गमा हुने ईश्‍वरलाई मात्रै आराधना गर्छौँ। देहधारी ईश्‍वरको मिसन यहीँ समाप्त हुन्छ, त्यसैले उसले गरेका सबै कुराहरू केही पनि होइनन्।” तिनीहरूले परमेश्‍वरका वचनहरूलाई लिन्छन् र आफ्नै छुट्टै समूह खडा गर्छन् र आफ्नै गुट बनाउँछन्, र एउटा नयाँ सम्प्रदाय सिर्जना गर्छन्। मण्डलीको नाम सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली नहुन सक्छ; यसलाई सर्वज्ञानको मण्डली वा सर्व-सम्पन्न मण्डली जस्तो कुनै नाम दिइन सक्छ। तिनीहरूले परमेश्‍वरका यी वचनहरूलाई लिन्छन् र तिनलाई आफ्नै जस्तो गरी हडप्छन्। के तिमीहरूले यो कुरालाई स्वीकार गर्नेछौ? के तिमीहरूले यसमा सहमति जनाउनेछौ? (जनाउनेछैनौँ।) किन जनाउनेछैनौ? के यसमा तिमीहरूको कुनै भनाइ हुनेछ? के तिमीहरूसँग यसबारे निर्णय गर्ने अधिकार हुनेछ? (हामीले तिनीहरूलाई अस्वीकार गर्न सक्नेछौँ, त्यसपछि तिनीहरूलाई खुलासा गर्न सक्नेछौँ।) तिमीहरूले तिनीहरूलाई कसरी खुलासा गर्नेछौ? अभ्यासको निश्‍चित मार्ग के हुनेछ? (हामीले तिनीहरूलाई सत्यताअनुसार ठहर गर्नेछौँ। यसको सारअनुसार, तिनीहरूको व्यवहारले एउटा स्वतन्त्र राज्य खडा गर्ने र छुट्टै गुट स्थापित गर्ने, परमेश्‍वरलाई प्रतिस्थापन गर्ने भ्रमात्मक प्रयास गर्ने कार्यलाई प्रस्तुत गर्छ—अर्थात्, तिनीहरूले मानिसहरूको हृदय जित्न परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरू प्रयोग गर्न चाहन्छन्। ख्रीष्ट-विरोधीको सार यही हो। तिनीहरूलाई पछ्याउनेहरू र तिनीहरू स्वयम् दुवै नै हटाइनेछन् र नाश हुनेछन्।) यस सन्दर्भमा अभ्यासका केही निश्‍चित मार्गहरू छन्। हामी तिनका बारेमा सङ्गति गरौँ।

जब कसैले परमेश्‍वरका वचनहरूलाई लिन्छ र तिनलाई आफ्नै जस्तो गरी हडप्छ, र ऊ आफ्नै उद्यममा संलग्न हुन्छ, तब यो मामलालाई कसरी हेर्नुपर्छ, र यसलाई कसरी सम्हाल्नुपर्छ? पहिले मानव दृष्टिकोणबाट यो मामलालाई कसरी हेर्ने र सम्हाल्ने भन्‍ने बारेमा कुरा गरौँ। मानव दृष्टिकोणबाट हेर्दा, वचन देहमा देखा पर्नुहुन्छका खण्ड एकदेखि सातसम्म यी व्यक्ति, अर्थात् देहधारी परमेश्‍वरले नै व्यक्त गर्नुभएको थियो। त्यस्तो अवस्थामा, ती उहाँको निजी सम्पत्ति हुन्। भन्नुको अर्थ, म आफैसँग तिनको विशेष अधिकार छ। ती मण्डलीका होइनन्, न त ती कुनै एउटा समूहका नै हुन्, र ती कुनै एउटा जातिको मानवको हुनु त झनै परको कुरा हो। स्वामित्वको हिसाबमा, वचन देहमा देखा पर्नुहुन्छका यी खण्डहरू मेरो निजी सम्पत्ति हुन्, र कसैसँग पनि तिनलाई किन्ने, बेच्ने, वा व्यवस्थापन गर्ने अधिकार छैन। कसको भनाइ लागू हुन्छ भन्‍ने हिसाबमा, तिनलाई बाँडफाँड गर्ने अधिकार मसँग मात्रै छ; यी पुस्तकहरू कसले पढ्न पाउँछ र कसले पाउँदैन, र ती निःशुल्क हुन्छन् कि तिनका लागि भुक्तानी आवश्यक हुन्छ भन्‍ने कुरामा मेरो मात्रै भनाइ लागू हुन्छ। यदि तिमीले सुटुक्क यी पुस्तकहरूलाई लियौ भने, त्यसलाई के मानिन्छ? (चोरी गरेको।) यसलाई चोरी, लुटपाट मानिन्छ। यदि तिमीले मेरो अनुमतिविना सुटुक्क परमेश्‍वरका वचनहरूका यी पुस्तकहरू लियौ, किन्यौ, वा बेच्यौ भने, वा मानिसहरूलाई आफ्नो पक्षमा पार्न र आफ्नो शक्ति विकास गर्नका लागि तिनलाई प्रयोग गर्‍यौ भने, यसले चोरी गर्नुलाई जनाउँछ। चोरी एउटा गैरकानुनी कार्य हो, र यसलाई कानुनअन्तर्गत अपराधीकरण गरिएको छ। मैले तिमीलाई मुद्दा हाल्न सक्छु, वा मैले तिमीलाई मुद्दा हाल्नका लागि मण्डलीलाई अधिकार दिन सक्छु; हामी यसलाई कानुनी माध्यमबाट समाधान गर्न सक्छौँ। किनभने तिमीले मेरो सहमति वा अधिकारविना मेरो निजी सामानहरू लिएका छौ, र तिनलाई आफ्ना व्यक्तिगत मामलाहरूमा संलग्न हुनका लागि प्रयोग गरेका छौ, जसले चोरी गर्नुलाई जनाउँछ र त्यो कानुनअन्तर्गत गैरकानुनी हुन्छ। मानव दृष्टिकोणबाट यो मामलालाई यसरी हेरिन्छ र सम्हालिन्छ। त्यसोभए सत्यताको दृष्टिकोणबाट यो मामलालाई कसरी हेरिन्छ त? सत्यता जीवन हो, र यो मार्ग हो; यो तिमीले यी पुस्तकहरूको पाठ लिएर मात्रै प्राप्त गर्न सक्ने कुरा होइन। सत्यता कुनै नारा वा लेख होइन; यो कुनै सिद्धान्त वा ज्ञानको टुक्रा होइन। सत्यता मानिसको जीवन बन्नुपर्छ, यसले उसको मार्गलाई मार्गदर्शन गर्नुपर्छ, र यसले उसलाई मुक्ति हासिल गर्न सक्षम तुल्याउनुपर्छ। यी पुस्तकहरूलाई लिएर तिनलाई आफ्नै जस्तो गरी हडप्नु भनेको, एक हिसाबमा, गैरकानुनी हो। अर्को हिसाबमा, परमेश्‍वरका वचनहरूलाई लगेर आफ्नै छुट्टै समूह खडा गर्नु, र तिनलाई आफ्नै उद्यममा संलग्न हुन, आफ्नै हैसियतको रक्षा गर्न, वा आफूले चाहेका कुराहरू प्राप्त गर्नका लागि प्रयोग गर्नु—परमेश्‍वरले यसलाई कसरी हेर्नुहुन्छ र उहाँले यसलाई कसरी ठहर गर्नुहुन्छ भन्‍ने कुरा तिमीलाई थाहा हुनुपर्छ। सत्यता परमेश्‍वरको जीवन हो, कुनै वस्तु होइन, र यसलाई किन्न वा बेच्नका लागि परमेश्‍वरले मानिसहरूलाई अनुमति दिनुहुन्न। सत्यता जीवनको जिउँदो पानी हो। यसलाई व्यापारमा परिणत गरिएपछि, वस्तुमा परिणत गरिएपछि, परमेश्‍वरले काम नगर्ने मात्र होइन, तर मानिसले सत्यता पनि प्राप्त गर्न सक्दैन, र यसबाहेक परमेश्‍वरले त्यस्ता काम गर्नेहरूलाई पक्कै पनि सजिलै छोड्नुहुनेछैन। जब कसैले परमेश्‍वरका वचनहरूलाई लिन्छ र तिनलाई आफ्नै जस्तो गरी हडप्छ, र ऊ आफ्नै उद्यममा संलग्न हुन्छ, तब यो कार्य प्रकृतिको हिसाबमा केसरह हुन्छ? यो प्रकृतिको हिसाबमा परमेश्‍वरले “परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ; परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुभयो” भन्नु र मानवजातिले त्यसको सट्टा “मानवजातिलाई परमेश्‍वरले सृष्टि गर्नुभएको होइन, तर यो त बाँदरबाट विकसित भएको हो” भनेर भन्नु जस्तै हो। जब तैँले परमेश्‍वरको सृष्टिलाई इन्कार गर्छस् र परमेश्‍वरको अख्तियारलाई इन्कार गर्छस्, तब तँ उप्रान्त एक साधारण भ्रष्ट मानव रहँदैनस्, तर परमेश्‍वरप्रति विरोधी दुष्ट दियाबलस बन्छस्। तैँले आफूलाई परमेश्‍वरको विरोधमा राखेको हुन्छस् र तँ उहाँसँग मेलमिलाप गर्न नसकिने हुन्छस्। परमेश्‍वरको नजरमा, तँ शैतान हुन्छस्, तँ दियाबलस हुन्छस्। उहाँले तँलाई मुक्ति नदिने मात्र होइन, तर तँ जस्ता मानिसहरूका लागि सजाय भनेको पावललाई कारबाही गरिएको तरिका जस्तै हुनेछ—अनन्त श्राप! अनन्त श्राप आत्मिक क्षेत्रमा हुने सबैभन्दा गम्भीर सजाय हो। यसको अर्थ आत्मिक क्षेत्रमा अनन्त सजाय पाउनु, निरन्तर सजाय पाउनु हो—यसको अर्थ तेरो लागि सबै कुराको अन्त्य हुनु भन्‍ने हुनेछ। तैँले परमेश्‍वरको कुरालाई लिइस् र खोसिस्, यसलाई किन्ने र बेच्ने वस्तुमा परिणत गरिस्, जुन परमेश्‍वरले घृणा गर्नुहुने कुरा हो। त्यस्ता मानिसहरूले आफ्ना कार्यहरूको मूल्य चुकाउनुपर्छ; मुख्य अपराधी र मतियार दुवैलाई एउटै व्यवहार गरिनेछ—तिनीहरूलाई पक्कै पनि सजिलै छोडिनेछैन! त्यस्ता मानिसहरूप्रतिको परमेश्‍वरको मनोवृत्ति यही हो, र यो कुरा पक्कै पनि कहिल्यै परिवर्तन हुनेछैन। त्यस्ता मानिसहरूका लागि सजाय भनेको अनन्त श्राप नै हो। भौतिक संसारमा जिउने मानिसहरूले यस प्रकारको सजाय बुझ्न सक्दैनन् होला। यस प्रकारको सजाय आत्मिक क्षेत्रको सबैभन्दा गम्भीर सजाय हो। अनन्त श्राप आगो र गन्धकको कुण्डमा फालिनु वा नरकको अठारौँ तहमा पठाइनुभन्दा बढी गम्भीर हुन्छ। त्यस्तो व्यक्तिका लागि, परमेश्‍वरद्वारा यसरी ठहर गरिनु एउटा विपत्ति हो; उसले भविष्यमा पाउने सजाय भनेका हजारौँ विपत्तिहरू हुनेछन्। अहिले हामी उसले कस्तो प्रकारको सजाय पाउनेछ भन्‍ने कुरामा चिन्तित छैनौँ; छोटकरीमा भन्दा, व्यक्तिले यस्तो काम गरेपछि, त्यसका परिणामहरू विचार गर्न नसकिने गरी भयानक हुन्छन्। मुख्य अपराधी होस् वा मतियार, स्वेच्छाले काम गरेको होस् वा दबाबमा परेर, व्यक्तिले यस्तो काम गरेपछि र त्यसमा भाग लिएपछि, उसले भयानक मूल्य चुकाउनुपर्नेछ। परमेश्‍वरले त्यस्ता काम गर्नेहरूलाई पक्कै पनि सजिलै छोड्नुहुनेछैन! यदि तिमीसँग परमेश्‍वरबारे सरल, साधारण धारणा र कल्पनाहरू मात्रै छन् भने, परमेश्‍वरले तिमीलाई दोषी ठहराउनुहुनेछैन। परमेश्‍वरले तिमीलाई एउटा सृजित प्राणीको रूपमा, मुक्ति पाउनुपर्ने व्यक्तिको रूपमा व्यवहार गर्नुहुनेछ, र तिमीलाई सत्यता आपूर्ति गर्नुहुनेछ। तर जब तिमी परमेश्‍वरलाई त्याग्ने, परमेश्‍वरसँग बाटो अलग गर्ने, परमेश्‍वरको सत्यतालाई मानिलिन इन्कार गर्ने, सकारात्मक कुराहरूलाई मानिलिन इन्कार गर्ने, र परमेश्‍वरसँगको सम्बन्ध तोड्ने अभिप्राय राख्छौ, तब परमेश्‍वर तिमीप्रति नरम हुनुहुनेछैन। उहाँले उप्रान्त प्रशस्त कृपा देखाउनुहुनेछैन, र थप कुनै कृपा हुनेछैन—यो एउटा डरलाग्दो परिणाम हो। अवश्य नै, यदि मण्डलीले त्यस्ता मानिसहरूलाई फेला पार्‍यो भने, यसले तिनीहरूलाई उपयुक्त समयमा र उपयुक्त परिस्थितिहरूमा सिद्धान्तहरूअनुसार कारबाही गर्न सक्छ। त्यस्ता मानिसहरूप्रति पक्कै पनि कुनै कोमलता देखाइनेछैन, किनभने तिनीहरूले प्रकट गर्ने कुरा र तिनीहरूका प्रकटीकरणहरूका आधारमा, तिनीहरूको प्रकृति सार साधारण भ्रष्ट मानवजातिको जस्तो हुँदैन, तिनीहरूमा परमेश्‍वरप्रति अलिकति पनि अधीनता हुँदैन, र तिनीहरूले खेल्ने भूमिका दियाबलस शैतानको जस्तो हुन्छ—तिनीहरू अन्त्यसम्म परमेश्‍वरप्रति विरोधी हुन मात्रै चाहन्छन्। दियाबलस शैतान र ठूलो रातो अजिङ्गर जस्तै, त्यस्ता मानिसहरू अन्त्यसम्म परमेश्‍वरप्रति विरोधी हुन चाहन्छन्। त्यसोभए, जब परमेश्‍वरको काम समाप्त हुन्छ, तब अन्ततः त्यस्ता मानिसहरूका लागि एउटै मात्र परिणाम हुनेछ, त्यो भनेको सजाय भोग्नु हो। कतिपय नष्ट हुनेछन्, र कतिपयले अनन्त श्रापको सामना गर्नेछन्, अनन्त सजाय भोग्नेछन्। त्यस्ता मानिसहरूलाई गरिने कारबाही कडा र गम्भीर हुन्छ। त्यसकारण, जुनसुकै अवधि भए पनि, जुनसुकै युग भए पनि, परमेश्‍वरसँग बाटो अलग गर्न र आफ्नै छुट्टै समूह खडा गर्न चाहने, र पवित्र आत्माको प्रवाहप्रति विरोधी वा परमेश्‍वरको कामप्रति विरोधी हुने जोकोहीका लागि—तेरो प्रभाव जस्तोसुकै भए पनि, तँ आत्मिक व्यक्ति हुन सक्छस्, तँ प्रेरित हुन सक्छस्, तँ अगमवक्ता हुन सक्छस्—जबसम्म तँ परमेश्‍वरप्रति विरोधी र सत्यताप्रति विरोधी हुन्छस्, तबसम्‍म परमेश्‍वरको नजरमा तँ शैतान र दियाबलसहरूको होस्, तँ विरोधी शक्तिको हिस्सा होस्, र तँ पावलको प्रकारको व्यक्ति होस्—परमेश्‍वरले तँलाई पक्कै पनि मुक्ति दिनुहुनेछैन! परमेश्‍वरले मुक्ति दिनुहुनेहरू मुक्ति पाउन सक्ने मानिसहरू हुन्, तर मुक्ति पाउन नसक्नेहरूका लागि, परमेश्‍वरसँग तिनीहरूलाई व्यवहार गर्ने आफ्नै तरिका र विधिहरू पनि छन्, तिनीहरूलाई तह लगाउने योजनाहरू छन्, र तिनीहरूलाई कारबाही गर्ने माध्यमहरू छन्। यदि मण्डलीमा सधैँ परमेश्‍वरका वचनहरू चोरेर, तिनलाई आफ्नै मामलाहरूका लागि प्रयोग गर्न, वा सधैँ आफ्नै छुट्टै समूह खडा गर्न चाहने—सधैँ यी वचनहरूमाथि खराब मनसाय राख्‍ने त्यस्ता मानिसहरू देखा परे भने, मण्डलीले तिनीहरूलाई तुरुन्तै तह लगाउनुपर्छ। बुझ्यौ? (बुझ्यौँ।)

अनुग्रहको युगमा प्रभु येशूलाई पछ्याउने चेलाहरूमध्ये कति जनाले उहाँलाई चिनेका थिए? तिनीहरूमध्ये कसले प्रभु येशू नै प्रभु हुनुहुन्छ, उहाँ नै ख्रीष्ट हुनुहुन्छ भनेर पहिचान गरे? (पत्रुसले मात्र प्रभु येशू नै ख्रीष्ट हुनुहुन्छ भनेर पहिचान गरे।) पत्रुसले कसरी प्रभु येशू नै प्रभु हुनुहुन्छ, उहाँ नै ख्रीष्ट हुनुहुन्छ भनेर पहिचान गरे? (यो पवित्र आत्माको प्रबोधन र ज्योतिबाट भएको थियो।) सही हो, तिनलाई प्रबोधित गर्नुहुने परमेश्‍वर नै हुनुहुन्थ्यो, र तिनलाई यसो भन्न प्रेरित गर्नुहुने पवित्र आत्मा नै हुनुहुन्थ्यो। तर, पत्रुस स्वयम्‌को हकमा भन्दा—व्यक्तिपरक रूपमा भन्दा—तिनलाई परमेश्‍वरको पहिचान वा परमेश्‍वरको जीवन सारको ज्ञान थिएन। अर्थात्, तिनका नजरमा, तिनले यी व्यक्तिमा, अर्थात् देहधारी परमेश्‍वरमा परमेश्‍वरको जीवन, पहिचान, र सारको कुनै पनि पुष्टि पाएनन्। तिनले त्यो देख्न सकेनन्। तिनले पहिले प्रकाश पाए र त्यसपछि प्रभु येशूको ज्ञान प्राप्त गरे भन्‍ने होइन। तिनले प्रभु येशूका वचनहरू, कार्यहरू, जीवन, र स्वभावका प्रकटीकरणहरू देखे तापनि, यी परमेश्‍वरको जीवन स्वभावका प्रकटीकरणहरू हुन् भन्‍ने तिनलाई थाहा थिएन। अर्थात्, परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ भन्‍ने बारेमा तिनलाई केही पनि थाहा थिएन; तिनलाई केवल प्रभु येशू एक असल व्यक्ति हुनुहुन्छ, र उहाँले प्रचार गर्नुभएको कुरा असल छ भन्‍ने महसुस भयो, र तिनी उहाँलाई पछ्याउन मात्रै इच्छुक थिए। अरू चेलाहरूका हकमा भन्दा, तिनीहरूसँग पत्रुससँग भएको जति थोरै ज्ञान पनि थिएन भन्‍ने कुरा त भनिरहनु पर्दैन। के प्रभु येशूलाई यसबारे थाहा थियो? (थाहा थियो।) प्रभु येशूलाई मानिसहरूका स्थिति र कदका बारेमा अत्यन्तै स्पष्ट रूपमा थाहा हुन्थ्यो। त्यसोभए के प्रभु येशूले यी कुराहरूका बारेमा कुनै निर्णयात्मक निष्कर्ष निकाल्नुहुन्थ्यो? के उहाँले तिनीहरूलाई हप्काउनुहुन्थ्यो? (अहँ।) प्रभु येशूले यी कुराहरूका बारेमा कुनै निर्णयात्मक निष्कर्ष निकाल्नुहुन्थेन, र उहाँले तिनीहरूलाई कहिल्यै हप्काउनुहुन्थेन। उहाँले कहिलेकाहीँ तिनीहरू अल्पविश्‍वासी छन् भनेर मात्रै भन्नुहुन्थ्यो, त्यसपछि धैर्यताका साथ तिनीहरूलाई आपूर्ति गर्नुहुन्थ्यो र मार्गदर्शन गर्नुहुन्थ्यो, परमेश्‍वरले मानिसहरूलाई बुझाउन चाहनुभएको मार्ग वा सत्यताको निश्चित पक्षलाई मानिसहरूले बुझ्न सकून् भनेर उदाहरणहरू दिनुहुन्थ्यो र उपमाहरू दिनुहुन्थ्यो। यस प्रक्रियाभरि, सुरुदेखि अन्त्यसम्म, मानिसहरूलाई प्रभु येशू नै परमेश्‍वर हुनुहुन्छ र उहाँसँग परमेश्‍वरको जीवन छ भन्‍ने थाहा थिएन—तर यसबारे परमेश्‍वरको मनोवृत्ति कस्तो थियो? मानिसहरूलाई थाहा नहुनु अत्यन्तै सामान्य कुरा थियो, र परमेश्‍वरले यो कुरालाई कहिल्यै सम्झिरहनुभएन वा यसका लागि मानिसहरूलाई जवाफदेही ठहराउनुभएन; यो कुनै समस्या थिएन, र यो मानिसहरूको गल्ती थिएन। परमेश्‍वरले केवल मानिसहरूलाई आपूर्ति गर्नुभयो र अटुट धैर्यताका साथ मानिसहरूलाई मार्गदर्शन गर्नुभयो, परमेश्‍वरको पहिचानभित्र रहेर तिनीहरूलाई उहाँको जीवन आपूर्ति गर्नुभयो। मानिसहरूले उहाँलाई नचिने पनि केही फरक पर्दैनथ्यो; मानिसहरूले उहाँलाई पछ्याएसम्म, ढिलो-चाँडो तिनीहरूले उहाँलाई चिन्नेथिए, उहाँ परमेश्‍वर हुनुहुन्छ र उहाँसँग परमेश्‍वरको जीवन छ भन्‍ने महसुस गर्नेथिए, र उहाँलाई स्वीकार गर्नेथिए। त्यस बेलाको परमेश्‍वरको देहधारी शरीरले मानिसका लागि पापबलिका रूपमा मात्रै काम गर्‍यो। समयको सीमितता, साथै परमेश्‍वरको कामको चरणहरू र अन्य कारक तत्वहरूले गर्दा, परमेश्‍वरले सत्यताका सबै पक्षहरूलाई लिएर त्यस युगका मानिसहरूलाई एक-एक गरेर बताउनुभएन, न त उहाँले तिनका बारेमा यति निश्‍चित र व्यवस्थित तरिकाले स्पष्ट रूपमा सङ्गति नै गर्नुभयो। त्यसकारण, परमेश्‍वरले मानिसहरूलाई उहाँबारे धारणाहरू राखेकोमा जवाफदेही ठहराउनुभएन। जब प्रभु येशू उहाँको पुनरुत्थान र स्वर्गारोहणपछि फेरि मानिसहरूका अगाडि देखा पर्नुभयो, तब मानिसहरूले देखेका प्रभु येशू वास्तवमा स्वरूप र बाहिरी रूपमा पहिलेको जस्तै हुनुहुन्थ्यो; उहाँको शरीरका मौलिक विशेषताहरू मात्रै फरक थिए। तर, मानिसहरूसँग अझै पनि परमेश्‍वरको कुनै ज्ञान थिएन। तिनीहरूसँग अझै पनि परमेश्‍वरको जीवन, परमेश्‍वरको सार, परमेश्‍वरको स्वभाव, वा मानिसका लागि परमेश्‍वरका विभिन्न मागहरूका बारेमा कुनै ज्ञान थिएन। प्रभु येशू पुनरुत्थान हुनुभएपछि, उहाँले मानिसहरूलाई कुराहरू स्पष्ट रूपमा व्याख्या गर्ने धेरै अवसरहरू वा परिस्थितिहरू पक्कै पनि पाउनुभएको थियो होला, तर परमेश्‍वरले त्यसो गर्नुभएन, किनभने मानिसहरूको कद अत्यन्तै सानो थियो र तिनीहरूले यी कुराहरू बोध गर्न सक्दैनथे। सत्यता स्वीकार गर्ने पाठहरू र परमेश्‍वरलाई चिन्ने पाठहरू—विशेष गरी परमेश्‍वरको पहिचान र सार, परमेश्‍वरको सर्वशक्तिमान्‌ता, र अन्य पक्षहरूलाई चिन्ने पाठहरू—सबैभन्दा गहन कुराहरू हुन्, र ती दीर्घकालीन कार्यहरू हुन्। मानिसहरूले परमेश्‍वरसँग नजिकबाट सङ्गत र अन्तरक्रिया गर्नुपर्छ, जसमा परमेश्‍वरले तिनीहरूलाई आमनेसामने, हृदयदेखि हृदयसम्म, र हातमा हात मिलाएर मार्गदर्शन र आपूर्ति गर्नुहुन्छ। जब मानिसहरू वास्तवमा परमेश्‍वरको सम्पर्कमा आउँछन्, तिनीहरूले परमेश्‍वरको वचन सुन्छन्, परमेश्‍वरको वचन अनुभव गर्छन्, वास्तविक जीवनमा धेरै कुराहरू व्यक्तिगत रूपमा नै अनुभव गर्छन्, अझै धेरै अनुभवहरू र प्रत्यक्ष बुझाइ प्राप्त गर्छन्, र यी सबै कुराहरू जम्मा गर्छन्, तब मात्रै तिनीहरूसँग परमेश्‍वरको अलिकति ज्ञान हुनेछ—सायद दस हजार भागको एक भाग। जब यो दस हजार भागको एक भाग ज्ञान बिस्तारै जम्मा हुँदै जान्छ, तब अलि-अलि गर्दै मानिसहरूले सामान्यतया परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने पुष्टि गर्नेछन्, सामान्यतया परमेश्‍वर पवित्र हुनुहुन्छ भन्‍ने कुरालाई सुनिश्चित गर्नेछन्, र सामान्यतया परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ र परमेश्‍वरले मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने कुरा थाहा पाउनेछन्। जब यो अवधारणाले मानिसहरूको हृदयमा जरा गाड्छ, तब परमेश्‍वरको दृष्टिकोणमा तिनीहरूसँग लगभग उहाँको ज्ञान हुन्छ, र उहाँमाथिको तिनीहरूको विश्‍वास साँचो हुन्छ। जब मानिसहरूसँग परमेश्‍वरप्रति साँचो विश्‍वास हुन्छ र तिनीहरूले परमेश्‍वर नै सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने पुष्टि गर्छन्, तब परमेश्‍वरको दृष्टिकोणमा, तिनीहरू सृजित प्राणीहरूका रूपमा मानकअनुरूप हुन्छन्; अर्थात्, तिनीहरू पहिले नै सृष्टिकर्ताको अगाडि फर्किसकेका हुन्छन्। हेर त, परमेश्‍वरको यति थोरै ज्ञान हुनुको अर्थ, परमेश्‍वरको दृष्टिकोणमा, तिमीले उहाँ सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुरा पहिले नै निर्धारण गरिसकेका छौ, र उहाँले यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ र उहाँले मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ, उहाँले भन्नुहुने र गर्नुहुने सबै कुरा सत्यता हुन्, उहाँले व्यक्त गर्नुहुने सबै कुरा सत्यता हुन्, र उहाँबाट प्रकट हुने कुरा र मानवजातिप्रतिका उहाँका मागहरू सबै मानवजातिलाई आवश्यक पर्ने कुराहरू हुन्, र ती सबै सकारात्मक कुराहरू हुन् भन्‍ने कुरा निर्धारण गरिसकेका छौ भन्‍ने हुन्छ। परमेश्‍वर सबै सकारात्मक कुराहरूको स्रोत हुनुहुन्छ, यसबारे तिमी निश्चित छौ, तर तिमी अझै पनि धेरै विवरणहरूबारे पूर्ण रूपमा अज्ञानी र अस्पष्ट छौ होला, तिमीसँग तथ्यात्मक आधार छैन होला, र तिमीले पुष्टि प्राप्त गर्न सकेका छैनौ होला। तर, समग्र रूपमा भन्दा, अय्यूब वा पत्रुसले जस्तै, परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ र परमेश्‍वरले मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ, र तिमी परमेश्‍वरको अख्तियारअन्तर्गत र परमेश्‍वरको सार्वभौमिकताको अधीनमा रहेको एउटा सानो मानव, एउटा सानो सृजित प्राणी मात्रै हौ भन्‍ने कुरा तिमीले पहिले नै निर्धारण गरिसकेका हुन्छौ। तिमीले सृष्टिकर्ताको अधीनमा रहन, सृष्टिकर्ताको आराधना गर्न, उहाँले व्यक्त गर्नुहुने सत्यताको अधीनमा रहन, र तिमीप्रतिका उहाँका सबै मागहरू स्वीकार गर्न स्वाभाविक रूपमा एउटा सृजित प्राणीको दृष्टिकोण अपनाएका छौ। जब तिमीसँग यस्तो इच्छा हुन्छ, यस्तो सचेतना हुन्छ, र यस्तो जन्मजात प्रवृत्ति हुन्छ, तब परमेश्‍वरका नजरमा तिमी मानकअनुरूपको सृजित प्राणी हुन्छौ। मानवजातिप्रतिका परमेश्‍वरका मागहरू उच्च छैनन्, होइन र? (छैनन्।) यी मागहरू पूरा गर्नका लागि एउटा सबैभन्दा आधारभूत सर्त छ: कम्तीमा पनि, परमेश्‍वरबारे तिम्रा धारणा र कल्पनाहरू, परमेश्‍वरप्रतिका तिम्रा अनुचित मागहरू, र परमेश्‍वरप्रतिको तिम्रो शत्रुता समाधान हुनुपर्छ। परमेश्‍वरले तिमीसँग उहाँको यस्तो गहन ज्ञान होस् भन्‍ने माग गर्नुहुन्न, तर उहाँलाई तिमीप्रतिको तिम्रो शत्रुता र उहाँप्रतिको तिम्रो विरोधी अडानलाई उहाँप्रतिको अधीनता र उहाँको अधीनमा रहने इच्छामा परिवर्तन गर्न माग गर्नुहुन्छ। तैपनि मानिसहरूले यो सानो माग समेत पूरा गर्न सक्दैनन्। यस्ता धेरै मानिसहरू हुन्छन् जसलाई तिमीले मण्डलीको अलिकति काम गर्ने जिम्मा सुम्पिँदा समेत तिनीहरू स्वीकार गर्न र अधीनमा रहन इच्छुक हुँदैनन्, र तिनीहरूले यति कामको समेत जिम्मेवारी लिन सक्दैनन्। यदि तिनीहरूलाई ठूलो जहाज बनाउन भनिएको भए के हुन्थ्यो? के तिनीहरूले त्यस बेला स्वीकार गर्न र अधीनमा रहन सक्थे? के तिनीहरूले यो कामको जिम्मेवारी लिन सक्थे? उदाहरणका लागि, मानौँ कुनै दिन परमेश्‍वरले बाढी आउँदैछ भन्नुभयो, र तिमीलाई जहाज बनाउन भन्नुभयो। यदि तिमी परमेश्‍वरबारे धारणाहरूले भरिपूर्ण थियौ भने, तिमीले यस्तो सोच्नेथियौ, “जहाज बनाउँदा यति धेरै कठिनाइहरू आउँछन्। यसका लागि यति धेरै वर्ष लाग्‍नेछ। मैले मेरो बाँकी जीवनभरि अरू केही पनि गर्न पाउनेछैनँ। यो काम मैले लिन सक्नेभन्दा ठूलो भयो।” तिमीले मनमनै यस्तो पनि सोच्नेथियौ, “तपाईं को हुनुहुन्छ? मैले तपाईंको कुरा किन सुन्‍ने?” परमेश्‍वरले भन्नुहुनेथियो, “म परमेश्‍वर हुँ, म तिम्रो सृष्टिकर्ता हुँ।” त्यसपछि तिमीले यस्तो मनन गर्नेथियौ, “के सृष्टिकर्ताले यसरी बोल्न सक्नुहुन्छ? के सृष्टिकर्ताले मानिसहरूसँग यस्ता मागहरू गर्न सक्नुहुन्छ? परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ, त्यसकारण उहाँ आफैले किन ठूलो जहाज बनाउनुहुन्न? किन मलाई नै यो बनाउन लगाउनुहुन्छ? यो बनाउन कति वर्ष लाग्छ? यो बनाएपछि मैले के फाइदाहरू पाउँछु?” इत्यादि। तिमीले यी सबै प्रश्नहरू र कठिनाइहरू उठाउनेथियौ, र तिमीले परमेश्‍वरसँग मोलतोल गर्ने प्रयास गर्नेथियौ। उहाँ सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने तिमीलाई थाहा हुनेथिएन, न त तिमीले उहाँको सोर नै पहिचान गर्न सक्नेथियौ, र उहाँका मागहरूप्रति तिमीसँग अलिकति पनि इच्छा वा अधीनताको मनोवृत्ति हुनेथिएन। यदि परमेश्‍वरप्रतिको तिम्रो मनोवृत्ति यस्तो हुन्थ्यो भने, यसले तिमी सृष्टिकर्तालाई चिन्दैनौ भन्‍ने कुरा प्रमाणित गर्नेथियो। त्यस्तो अवस्थामा, परमेश्‍वरले तिमीलाई कसरी हेर्नुहुनेथियो? परमेश्‍वरले तिमीलाई एउटा सृजित प्राणीको रूपमा मान्यता दिनुहुनेथिएन। जब परमेश्‍वरले तिमीसँग मागहरू गर्नुहुन्थ्यो, तब तिमीले उहाँप्रति यस्तो मनोवृत्ति अपनाउनेथियौ। तिम्रो स्थिति देखेर, परमेश्‍वरले आफ्नो हृदयमा यसो भन्नुहुनेथियो, “तिमीलाई हटाउनुपर्छ,” र तिमी, एउटा सृजित प्राणीको रूपमा, परमेश्‍वरको नजरबाट स्थायी रूपमा हराउनेथियौ, र एउटा सृजित प्राणीको रूपमा रहेको तिम्रो पहिचान परमेश्‍वरद्वारा स्थायी रूपमा खारेज हुनेथियो। यो स्थायी रूपमा खारेज भएपछि, सायद तिमी कहाँ गयौ भन्‍ने कुरा परमेश्‍वरले पटक्कै वास्ता गर्नुहुनेथिएन, वा सायद उहाँले तिमीलाई तिम्रो पहिचान सुहाउँदो स्थान दिनुहुनेथियो र तिमी जहाँ जानुपर्ने हो तिमीलाई त्यहीँ पठाउनुहुनेथियो। परमेश्‍वरले तिमीलाई उप्रान्त मूल्यवान् ठान्नुहुनेथिएन वा तिम्रो बारेमा उप्रान्त चिन्ता गर्नुहुनेथिएन। यसको विपरीत, यदि परमेश्‍वरले तिमीलाई उहाँका अभिप्रायहरू बताउनुभयो, उहाँले संसारलाई नष्ट गर्न बाढी प्रयोग गर्न लाग्नुभएको छ भनेर भन्नुभयो, र तिमीलाई जहाज बनाउनू भनेर भन्नुभयो भने, तिमीले यो सुन्नेथियौ र मनमनै यस्तो सोच्नेथियौ, “उहाँ सृष्टिकर्ता हुनुहुन्छ, होइन र? यो सृष्टिकर्ताको आवाज हो। सृष्टिकर्ताको कार्यभार मेरो जीवनमा आएको छ—उहाँले मलाई जहाज बनाउन भनिरहनुभएको छ।” तिमीले लापरवाह हुने आँट गर्नेथिएनौ; तिमी घोप्टो पर्नेथियौ र तिमीले तुरुन्तै परमेश्‍वरको कार्यभार स्वीकार गर्नेथियौ, तिमीसँग अवज्ञा देखाउने कुनै अभिप्राय हुनेथिएन, र तिमीसँग अधीनताको मनोवृत्ति मात्रै हुनेथियो। परमेश्‍वरले तिमीलाई बताउनुभएका विवरणहरू—कस्तो प्रकारको काठ प्रयोग गर्ने, जहाज बनाउन कति समय खर्च गर्ने, इत्यादि—तिमीले तिनलाई एक-एक गरेर टिपोट पनि गर्नेथियौ, तिनलाई ध्यानपूर्वक टिपोट गर्नेथियौ, र तिनलाई कागजमा लेख्नेथियौ र हृदयमा राख्नेथियौ। परमेश्‍वरले तिमीलाई निर्देशन दिनुभएको हरेक कदमलाई तिमीले गम्भीरतापूर्वक लिनेथियौ। परमेश्‍वरबारे तिम्रो बुझाइ त्यति व्यापक नभए पनि, र परमेश्‍वरबारे तिम्रो ज्ञान त्यति गहिरो वा त्यति निश्‍चित नभए पनि—तिमीले परमेश्‍वरलाई नदेखेको वा उहाँसँग नजिकबाट सङ्गत र अन्तरक्रिया नगरेको हुनाले—तिमीले परमेश्‍वरको आवाज पहिचान गर्नेथियौ, परमेश्‍वरले मानवजातिसँग मागहरू गर्ने तरिकाहरू र उहाँको बोल्ने तरिका पहिचान गर्नेथियौ, तिमीले तिनलाई बुझ्नेथियौ र तिमी ती कुराहरूप्रति परिचित हुनेथियौ। त्यसैले, जब परमेश्‍वरले तिमीसँग यस्तो माग गर्नुहुन्थ्यो, तब तिमी जिम्मेवारीबाट पन्छिन सक्नेथिएनौ, र तिमीले यो परमेश्‍वरको कार्यभार हो, र यो परमेश्‍वरले तिमीलाई दिनुभएको मिसन हो भनेर यसलाई पूर्ण हृदयले स्वीकार गर्नेथियौ; तिमी यसलाई पूरा गर्न इच्छुक हुनेथियौ, र तिमी यसलाई राम्ररी पूरा गर्न चाहनेथियौ। जब तिमीसँग यस्तो इच्छा हुन्छ र यस्तो मनोवृत्ति हुन्छ, तब परमेश्‍वरका नजरमा, उहाँले कार्यभार दिनुभएको व्यक्ति सच्चा व्यक्ति हुन्छ। एक हिसाबमा, तिमीले सृष्टिकर्तालाई पहिचान गर्छौ, र अर्को हिसाबमा, तिमी परमेश्‍वरको अधीनमा रहन इच्छुक हुन्छौ। तिमी परमेश्‍वरले तिमीलाई दिनुभएको निकै कठिन काम स्वीकार गर्नका लागि इच्छुक हुन्छौ, र जतिसुकै ठूला कठिनाइहरू भए पनि, तिमी यसबाट पन्छिँदैनौ, तिमीले यसलाई इन्कार गर्दैनौ, अवज्ञा देखाउँदैनौ, र तिमी शत्रुवत् हुँदैनौ। बरु, तिमी परमेश्‍वरको कार्यभार स्वीकार गर्नका लागि आफूसँग भएको सबै कुरा लगाउँछौ, र तिमी आफ्नो मिसन पूरा गर्नका लागि परमेश्‍वरप्रति आफ्नो अर्पण चढाउँछौ। यसरी, जब परमेश्‍वरले तिम्रो भित्री हृदयलाई गहन-जाँच गर्नुहुन्छ, तब उहाँले तिमीलाई उहाँका सृजित प्राणीहरूमध्ये एकको रूपमा पहिचान गर्नुहुनेछ। अनि तिमी, यो सृजित प्राणीले, परमेश्‍वरबाट के प्राप्त गर्छौ? तिमीले परमेश्‍वरप्रतिको एउटा सृजित प्राणीको अर्पण वा अधीनतालाई प्रमाणित गर्ने “पहिचान पत्र” प्राप्त गर्छौ। परमेश्‍वरका नजरमा, उहाँले तिमीलाई मान्यता दिनुहुन्छ; उहाँले तिमी मानकअनुरूपको सृजित प्राणी हौ भन्‍ने कुरा पुष्टि गर्नुहुन्छ, र यसरी तिमीले निश्चितता प्राप्त गर्छौ। तिमीले परमेश्‍वरको वास्ता र स्याहार प्राप्त गर्ने मात्र होइन, तर तिमीले परमेश्‍वरद्वारा मानवजातिलाई प्रतिज्ञा गरिएको सबैभन्दा उत्तम आशिष्‌ पनि प्राप्त गरेका हुन्छौ; तिमीले परमेश्‍वरले मानवजातिलाई प्रतिज्ञा गर्नुभएको कुरा प्राप्त गरेका हुन्छौ। यो ठूलो कुरा हो! यो प्रमुख मामला सुल्झिएपछि, तिमी एउटा सृजित प्राणीको रूपमा सुरक्षित हुन्छौ, र तिमीले आफूलाई यस्तो सोध्दै उप्रान्त चिन्तित हुनु वा सुर्ता गर्नु आवश्यक हुँदैन, “के शैतानले मलाई प्रलोभनमा पार्नेछ वा मलाई आक्रमण गर्नेछ? के मलाई शैतानले बन्दी बनाउनेछ? के मलाई ख्रीष्ट-विरोधीहरूले सास्ती दिनेछन्? के मलाई मण्डलीबाट निष्कासित गरिनेछ?” तिमीले ती कुराहरूका बारेमा फेरि कहिल्यै सुर्ता गर्नुपर्नेछैन। त्यस बेला, तिमी अय्यूबले आनन्द लिएका सबै कुराको आनन्द लिन सक्षम हुनेछौ। अवश्य नै, अय्यूबसँग भएको एउटा कुरा छ जुन आजको मानवजातिले प्राप्त गर्न सक्दैन: अय्यूब मानवजातिका लागि एउटा उदाहरण हुन्। तिमीहरूले उदाहरण बन्ने प्रयास गर्नु पर्दैन, तर कम्तीमा पनि, तिमीहरूले अय्यूबलाई जस्तै गरिएको व्यवहारको आनन्द लिनेछौ, र परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको कुराको आनन्द लिनेछौ। यो परमेश्‍वरले इतिहासभरि मानवजातिलाई दिनुभएको सबैभन्दा ठूलो आशिष्‌ हो; यो मानवजातिले सृष्टिकर्ताबाट प्राप्त गरेको सबैभन्दा ठोस प्रतिज्ञा हो। यी कुराहरू प्राप्त गरेपछि, तिमीले अरू के माग्नेथियौ र? यावत् थोकहरूमध्ये सबैभन्दा आशिषित जीवित प्राणी, सबैभन्दा आशिषित सृजित प्राणी तिमी नै हौ, त्यसैले मलाई भन त, तिमीले अरू के माग्छौ र? यो “आशिष्‌” सृष्टिकर्ताद्वारा व्यक्तिगत रूपमा तिमीलाई प्रदान गरिएको र व्यक्तिगत रूपमा तिमीलाई दिइएको छ। मलाई भन, यो आशिष्‌ कति ठूलो हुनुपर्छ? त्यसैले, मानिसहरूका धारणा र कल्पनाहरू समाधान गर्नका लागि तिनीहरूसँग परमेश्‍वरको बारेमा यस्तो गहन ज्ञान, यस्तो व्यापक ज्ञान, वा यस्तो सही ज्ञान हुनु आवश्यक छैन; बरु तिमीले तिम्रा सबैभन्दा आधारभूत धारणा र कल्पनाहरू, भ्रष्ट मानवजातिसँग सम्बन्धित धारणा र कल्पनाहरू, र परमेश्‍वरको विरोधी हुने धारणा र कल्पनाहरूलाई लिनुपर्छ, र तिनलाई समाधान गर्नुपर्छ। देहधारी परमेश्‍वरप्रतिको तिम्रो अधीनतालाई असर गर्ने र सत्यताप्रतिको तिम्रो अधीनतालाई असर गर्ने सबै धारणा र कल्पनाहरू, र परमेश्‍वरप्रतिका अनुचित मागहरू पनि तिमीले त्याग्नुपर्छ। पहिले तिनलाई त्याग, त्यसपछि बिस्तारै तिनलाई समाधान गर। जब तिमीले यी समस्याहरू लिएर सत्यता प्रयोग गरी तिनलाई समाधान गरेको दिन आउँछ, र तिमी परमेश्‍वरको अगाडि आएका हुन्छौ, तब तिमी सुरक्षित हुनेछौ र तिमीलाई शैतानले उप्रान्त बन्दी बनाउनेछैन। ती धारणा र कल्पनाहरू, र परमेश्‍वरप्रतिका ती अनुचित मागहरू—चाहे ती देहधारी परमेश्‍वरप्रति लक्षित होऊन्, परमेश्‍वरका आत्माप्रति लक्षित होऊन्, वा स्वर्गमा हुनुहुने परमेश्‍वरप्रति लक्षित होऊन्—जे भए पनि ती तिमी र परमेश्‍वरको बीचमा खडा हुने खाडल हुन्, साथै परमेश्‍वरको बारेमा रहेको तिम्रो ज्ञानको बाटोमा खडा हुने सबैभन्दा ठूलो बाधा हुन्। अवश्य नै, ती तिमी सत्यताको अधीनमा रहने र परमेश्‍वरको अधीनमा रहने र तिमीले यसरी मुक्ति प्राप्त गर्ने बाटोमा खडा हुने सबैभन्दा ठूलो कठिनाइ हुन् भन्‍ने कुरा त झनै साँचो हो। यो कठिनाइ समाधान भएपछि, तिमी चरणबद्ध रूपमा र अलि-अलि गर्दै सत्यतामा प्रवेश गरेपछि, तिमीले आफ्‍ना भ्रष्ट स्वभावहरूका हरेक पक्षलाई समाधान गरेपछि, तिमीले एउटा सृजित प्राणीको रूपमा सामना गर्ने कठिनाइहरू सबै समाधान हुनेछन्। निष्कर्षमा भन्नुपर्दा, सबैभन्दा महत्त्वपूर्ण समस्या के हो? एउटा सृजित प्राणीले एउटा सृजित प्राणीको रूपमा आफ्नो उचित स्थान लिनुपर्छ। एउटा सृजित प्राणीलाई किन सृजित प्राणी भनिन्छ? किनभने यो सृष्टिकर्ताले बनाउनुभएको जीवित प्राणी हो। तिमी सृष्टिकर्ताले बनाउनुभएको जीवित प्राणी भएको हुनाले, तिमी विनासर्त सृष्टिकर्ताको अधीनमा रहनुपर्छ र सत्यताको अधीनमा रहनुपर्छ; त्यसपछि मात्रै तिमीले सृष्टिकर्ताबाट मान्यता प्राप्त गर्न सक्छौ। सृष्टिकर्ताको मान्यता प्राप्त गर्नबाट रोक्‍ने पहिलो बाधा के हो? यो एउटा सृजित प्राणीको रूपमा आफ्नो उचित स्थान लिनु र सृष्टिकर्तासँग सम्बन्ध स्थापित गर्नु हो। तिमी परमेश्‍वरलाई पछ्याउने व्यक्ति हौ; तिमी रमिते होइनौ। तिमी परमेश्‍वरको सृजित प्राणी हौ; तिमी शैतान होइनौ, तिमी अरू कुनै जीवित प्राणी होइनौ। तिम्रो जिम्मेवारी भनेको सृष्टिकर्ताका वचनहरूको अधीनमा रहनु र सृष्टिकर्ताको सार्वभौमिकता र प्रबन्धहरूको अधीनमा रहनु हो। यो तिम्रो जिम्मेवारी र दायित्व हो, र तिमीले पछ्याउनुपर्ने कुरा पनि यही हो। यदि तिमीले मुक्ति प्राप्त गर्ने हो भने, र यदि तिमी सृष्टिकर्तालाई पहिचान गर्न र सृष्टिकर्ताको मान्यता प्राप्त गर्न सक्षम हुन चाहन्छौ भने, तिमीले पहिले परमेश्‍वरसँग सम्बन्ध स्थापित गर्नुपर्छ, होइन र? (हो।)

परमेश्‍वरसँग सम्बन्ध स्थापित गर्नका लागि तिमीले के-कस्ता समस्याहरू समाधान गर्नुपर्छ? (हामीले सृजित प्राणीहरूका रूपमा रहेको आफ्नो उचित स्थान लिनुपर्छ।) तिमीले एउटा सृजित प्राणीको रूपमा रहेको आफ्नो उचित स्थान कसरी लिन सक्छौ? (हामी सृजित प्राणीहरू हौँ भन्‍ने कुरा स्वीकार गरेर अनि परमेश्‍वरबारेका हाम्रा धारणा र कल्पनाहरू त्यागेर।) परमेश्‍वरबारेका तिम्रा धारणा र कल्पनाहरू त्यागेर, र सचेत भई र सक्रिय रूपमा परमेश्‍वरको अधीनमा रहेर र सत्यताको अधीनमा रहेर; यो सचेतनाका साथ तिम्रो मनोवृत्ति र मानसिकता सुध्रिनेछ, परमेश्‍वरसँगको तिम्रो सम्बन्ध बिस्तारै सामान्य बन्नेछ, र तिमी र परमेश्‍वरको बीचमा सम्बन्ध स्थापित हुनेछ। यो भन्न सजिलो छ, तर गर्न त्यति सजिलो छैन। अब, जतिसुकै कठिनाइहरू भए पनि, तिनलाई एक-एक गरेर समाधान गर्नका लागि सत्यता खोज। तिमीलाई थाहै नभई, तिम्रा समस्या र कठिनाइहरू बिस्तारै कम हुनेछन्, परमेश्‍वरबारेका तिम्रा धारणाहरू घट्नेछन्, र तिमी र परमेश्‍वरको बीचमा रहेका द्वन्द्व र समस्याहरू झन्-झन् कम हुनेछन्। यो बिन्दुमा पुगेपछि, तिमीले परमेश्‍वरसँगको तिम्रो सम्बन्ध अझै नजिक भइरहेको छ भनेर भन्छौ, कि अझै टाढा भइरहेको छ भनेर भन्छौ? (नजिक।) त्यसोभए, परमेश्‍वरसँगको नजिकको सम्बन्धले के-कस्ता असल परिणामहरू ल्याउनेछ? (हाम्रो हृदयमा शान्ति र स्थिरताको बोध हुन्छ।) तिमीले यस्तो महसुस गर्न सक्छौ। तोकेरै भन्दा, तिमीले आफ्नो दैनिक जीवनमा सामना गर्ने कुराहरूलाई अलिक स्पष्ट रूपमा देख्न सक्नेछौ। कुन-कुन कुराहरू परमेश्‍वरबाट आउँछन् र कुन-कुन कुराहरू मानव इच्छाबाट आउँछन्, तिमीले सामना गर्ने कुराहरूमा परमेश्‍वरले तिमीसँग के माग गर्नुहुन्छ, तिमीले के गर्नुपर्छ, र यी कुराहरू गर्नका लागि निर्देशन, लक्ष्य, र सिद्धान्तहरू के-के हुन् भन्‍ने कुरामा तिमी आफ्नो हृदयमा झन्-झन् स्पष्ट हुनेछौ। बारम्बार परमेश्‍वरको नजिक जाँदा र उहाँसँग सामान्य सम्बन्ध हुँदा यसले प्रतिविम्बित गर्ने असल परिणाम यही हो। यदि परमेश्‍वरसँगको तिम्रो सम्बन्धमा दूरी छ, र समस्याहरूको सामना गर्दा तिमीले परमेश्‍वरलाई प्रार्थना गर्दैनौ वा सत्यता खोज्दैनौ भने, तिम्रा लागि तिम्रो दैनिक जीवनमा आइपर्ने कुराहरू धमिला हुनेछन् र तिमीले तिनलाई स्पष्ट रूपमा देख्न सक्नेछैनौ। तिमीलाई कुन-कुन कुराहरू परमेश्‍वरको सार्वभौमिकताबाट आएका हुन्छन् र सकारात्मक हुन् भन्‍ने थाहा हुनेछैन, न त कुन-कुन कुराहरू शैतानबाट आएका हुन्छन् र शैतानका प्रलोभन र बाधाहरू हुन् भन्‍ने नै तिमीलाई थाहा हुनेछ; तिमीले यी कुराहरूलाई स्पष्ट रूपमा खुट्ट्याउन सक्नेछैनौ। यो यस मामलाको एउटा पक्ष हो। यसका साथै, तिमीसँग परमेश्‍वरका मागहरू, परमेश्‍वरका परीक्षाहरू, वा उहाँले खडा गर्नुहुने वातावरणहरूको सामना गर्दा, तिनलाई कसरी लिने भन्‍ने कुराको मार्ग हुनेछैन; तिम्रो अगाडिका सबै कुराहरू पूरै अँध्यारो हुनेछन्। तर यदि तिमीसँग परमेश्‍वरसँगको नजिकको सम्बन्ध छ, र तिमी परमेश्‍वरको वचन खान र पिउन इच्छुक छौ र तिनमा खोजी गर्न कडा मेहनत गर्न इच्छुक छौ भने, परमेश्‍वरले तिमीलाई उहाँका वचनहरूबाट प्रबोधन र ज्योति प्राप्त गर्न अनुमति दिनुहुनेछ। तिम्रो अगाडिको मार्ग स्पष्ट हुनेछ; समस्याहरूको सामना गर्दा, तिमी अन्योलमा पर्नेछैनौ, र तिमीसँग अभ्यासको मार्ग हुनेछ। तिमीले एक-दुई दिनसम्म केही कुराहरू बुझ्दैनौ होला, तर तीनदेखि पाँच दिनपछि, सिद्धान्तहरू बिस्तारै तिम्रा लागि प्रष्ट र स्पष्ट हुनेछन्, र तिमीले कसरी अभ्यास गर्ने भन्‍ने कुरा जान्नेछौ। के कामकुराहरू गर्ने यो तरिका तिमीलाई निकै राम्रो लाग्दैन र? (लाग्छ।) तिम्रा लागि, स्पष्ट मार्ग हुनु राम्रो कुरा हो। तिम्रो मार्ग जति स्पष्ट हुन्छ, तिमीले त्यति नै धेरै कुराहरू अनुभव गर्छौ, र तिमीले जति धेरै सत्यता सिद्धान्तहरू बोध गर्छौ, तिमीले त्यति नै धेरै कुरा प्राप्त गर्नेछौ, होइन र? तिमीले जति धेरै कुरा प्राप्त गर्छौ, तब के सकारात्मक कुराहरू र नकारात्मक कुराहरू खुट्ट्याउने तिम्रो क्षमता त्यति नै बलियो हुनेछैन र? (हुनेछ।) जब सकारात्मक र नकारात्मक कुराहरू खुट्ट्याउने तिम्रो क्षमता बलियो हुन्छ, तब समस्याहरूको सामना गर्दा तिमीले के गर्ने भन्‍ने कुराका सिद्धान्तहरू स्पष्ट हुनेछन्। सिद्धान्तहरू स्पष्ट भएपछि, तिमीले घुमाउरो बाटो लिनेछैनौ वा सजिलै अवरोध र बाधाहरू खडा गर्नेछैनौ, र तिमी छिट्टै अघि बढ्नेछौ। के तिमी यसरी मुक्ति प्राप्त गर्ने अवस्थाको झन्-झन् नजिक पुग्नेछैनौ र? (हो।) मानौँ कुनै व्यक्तिले सत्यता पछ्याउँदैन, र परमेश्‍वरसँगको सम्बन्धमा सधैँ दूरी कायम राख्छ; ऊ प्रायजसो आफ्नो हृदयमा अन्धकारमा हुन्छ, र उसलाई कुन दिशातिर अघि बढ्ने भन्‍ने थाहा हुँदैन। जब उसले समस्याहरूको सामना गर्छ, तब उसलाई ती परमेश्‍वरबाट आएका हुन् कि मानिसबाट आएका हुन्, ती परमेश्‍वरद्वारा योजनाबद्ध गरिएका हुन् कि मानिसहरूले खडा गरेका बाधाहरू हुन् भन्‍ने थाहा हुँदैन; उसले यी समस्याहरूलाई कुन सिद्धान्तहरूद्वारा व्यवहार गर्नुपर्छ, वा उसले कसरी अभ्यास गर्नुपर्छ भन्‍ने कुरा उसलाई थाहा हुँदैन। समस्याहरू खडा हुँदा ऊ भ्रमित हुन्छ। कहिलेकाहीँ उसले अन्जानमै शैतानको भूमिका खेल्छ र अवरोध र बाधाहरू खडा गर्ने कुराहरू गर्छ, र जब पछि उसलाई निराकरण गरिन्छ, तब पछुतो गर्नका लागि ढिला भइसकेको हुन्छ। हेर त, तिमीले गलत मार्ग लिएका हुन्छौ, होइन र? तिमीले केही गलत गरेका हुन्छौ, सिद्धान्तहरू उल्लङ्घन गरेका हुन्छौ, मण्डलीको काममा अवरोध र बाधा पुर्याएका हुन्छौ, र तिमीलाई निराकरण गरिएको हुन्छ। जब तिमीले पछि चिन्तन गर्छौ, तब तिमीसँग कुनै प्रबोधन वा ज्योति हुँदैन, र पवित्र आत्माले तिमीमा काम गरिरहनुभएको हुँदैन; तिम्रो मनमा र तिम्रो हृदयमा सबै कुरा एक आपसमा गाँठो परेको धागोको डल्लो जस्तो हुन्छ। यो किन गाँठो परेको धागोको डल्लो जस्तो हुन्छ? शैतानले तिमीलाई भित्रबाट नियन्त्रण गरिरहेको हुन्छ र परमेश्‍वरले तिमीमा उप्रान्त काम गर्नुहुन्न, त्यसैले तिमी निकै दयनीय देखिन्छौ र तिमीसँग पछ्याउने कुनै मार्ग हुँदैन। तिमीले जेसुकैको सामना गरे पनि, त्यसलाई कसरी लिने भन्‍ने तिमीलाई थाहा हुँदैन। अगाडि जानु गलत हुन्छ, पछाडि जानु पनि गलत हुन्छ; देब्रे जानु गलत हुन्छ, दाहिने जानु पनि गलत हुन्छ। तिमीलाई सही रूपमा कसरी काम गर्ने भन्‍ने समेत थाहा हुँदैन। तिमीलाई एक तरिकाले काम गर्दा गल्ती गर्छु कि भन्‍ने डर हुन्छ, र अर्को तरिकाले काम गर्दा गल्ती गर्छु कि भन्‍ने डर हुन्छ, त्यसैले तिमीले केही पनि गर्दैनौ। के केही पनि नगर्दा यसले अन्ततः कुनै परिणामहरू ल्याउनेछ? के यसले तिमीलाई केही प्राप्त गर्न दिनेछ? जब तिम्रो जीवनमा यति धेरै कुराहरू आइपर्छन् र तिमीलाई के गर्ने भन्‍ने थाहा हुँदैन, तब मलाई भन, के तिमीले अझै पनि केही प्राप्त गर्न सक्छौ? के तिमीसँग अझै पनि अनुभवहरू हुन सक्छन्? अनुभवहरू नहुनुको अर्थ के हो? यसको अर्थ तिमी परमेश्‍वरको वचनको अगुवाइमा जिइरहेका छैनौ, तिमीले सत्यता प्राप्त गरेका छैनौ, र तिमीले कुनै पनि कुराका बारेमा सत्यता सिद्धान्तहरू प्राप्त गरेका छैनौ भन्‍ने हुन्छ। त्यसोभए सत्यता कहिले तिम्रो जीवन बन्न सक्छ त? यदि सत्यता कहिल्यै तिम्रो जीवन बन्न सक्दैन, तिनलाई अभ्यास गर्न र अनुभव गर्नका लागि वास्तविक जीवनमा ल्याउन सकिँदैन, र तिमीसँग सत्यताका कुनै व्यक्तिगत अनुभवहरू कहिल्यै हुँदैनन् भने, तिमीले कहिले मुक्ति प्राप्त गर्न सक्नेछौ त? के तिमीसँग अझै पनि मुक्ति प्राप्त गर्ने कुनै आशा हुनेछ? (हुनेछैन।)

यस विषयमा यति धेरै सङ्गति गरिसकिएको हुनाले, परमेश्‍वरसँग सम्बन्ध स्थापित गर्नका लागि तिमीहरूले अन्ततः कसरी अभ्यास गर्नुपर्छ भन्‍ने कुरा अब के तिमीहरूले बुझ्यौ? (हामीले सृजित प्राणीहरूका रूपमा आफ्नो उचित स्थान लिनुपर्छ, परमेश्‍वरबारे हाम्रा धारणाहरू र गलत बुझाइहरू त्याग्नुपर्छ, परमेश्‍वरको अधीनमा बस्ने इच्छा राख्नुपर्छ, र हामी अन्ततः कुनै सर्तविना परमेश्‍वरको अधीनमा बस्न सक्षम हुनुपर्छ। हामीले यी लक्ष्यहरूतर्फ सक्रिय रूपमा प्रयास गर्नुपर्छ।) तिमीमा यस्तो प्रकारको मानसिकता हुनुपर्छ। सुरुमा अभ्यास गर्न थाल्दा यो केही हदसम्म गाह्रो हुन सक्छ। यो त्यति सहज रूपमा अघि बढ्दैन होला, र तिमीले कामकुराहरू अलिक भद्दा र कष्टकर रूपमा गर्छौ होला। यी कठिनाइहरूको सामना गर्दा, कमजोर नबन, नकारात्मक नबन, र हरेस नखाऊ। अभ्यासलाई जारी राख। तिम्रो मार्ग सही भएसम्म र तिमीसँग अधीनमा रहने इच्छा भएसम्म, ढिलो-चाँडो तिमीले परमेश्‍वरले व्यक्तिगत रूपमा तिमीलाई मार्गदर्शन गरिरहनुभएको छ भन्‍ने कुरा पत्ता लगाउनेछौ। तिमीसँग परमेश्‍वरको अधीनमा रहने मानसिकता र सत्यता पछ्याउने मानसिकता हुनुपर्छ, तिमीसँग सक्रिय रूपमा परमेश्‍वरको अधीनमा रहने इच्छा हुनुपर्छ, र तिमीले उहाँको विरोध गर्नु हुँदैन। परमेश्‍वरले अरू मानिसहरूलाई आशिष्‌ दिए पनि तिमीलाई आशिष्‌ नदिए पनि, वा उहाँले अरू मानिसहरूलाई स्पष्ट रूपमा प्रबोधित र अगुवाइ गर्नुभए पनि तिमीलाई प्रबोधित र अगुवाइ गर्नुभएन भने पनि, वा उहाँले अरू मानिसहरूलाई बढुवा दिनुभए पनि तिमीलाई बढुवा दिनुभएन भने पनि, तिमी रिसाउनु हुँदैन वा तिमीले डाहा गर्नु हुँदैन। किन हुँदैन? किनभने यसरी काम गर्नुमा परमेश्‍वरको आफ्नै उद्देश्य हुन्छ, र यसको महत्त्व हुन्छ। परमेश्‍वरसँग आफूले चाहेअनुसार काम गर्ने स्वतन्त्रता हुन्छ। तिमी एउटा सृजित प्राणी हौ भन्‍ने कुरा तिमीले कहिल्यै बिर्सनु हुँदैन। तिमीले परमेश्‍वरसँग अनुचित मागहरू गर्नु हुँदैन। यदि परमेश्‍वरले अरू मानिसहरूलाई प्रयोग गर्नुभयो र तिमीलाई प्रयोग गर्नुभएन, र तिमीलाई अगुवाको रूपमा सेवा दिन लगाउनुभएन भने, एउटा साधारण अनुयायी मात्रै बन; तिमीले गर्नुपर्ने कुरा भनेको परमेश्‍वरको अधीनमा रहनु मात्रै हो। तिम्रो क्षमता कमजोर भएकोले तिमी मण्डलीको कामको अभिभारा उठाउन असक्षम रहेको हुन सक्छ, वा तिमीसँग आवश्यक कद नै नभएको हुन सक्छ। तिमीलाई कामको जिम्मा लिन भनिएपछि, यदि परमेश्‍वरले अरू मानिसहरूलाई भन्दा तिमीलाई बढी प्रबोधन दिनुभयो भने, यसले सजिलै तिम्रो अहङ्कारी स्वभावलाई बढावा दिनेछ। त्यसकारण, परमेश्‍वरले तिमीलाई प्रबोधित नगर्नु वा तिमीलाई अगुवाको रूपमा सेवा दिन नलगाउनु भनेको तिम्रो लागि एउटा सुरक्षा हो; तिमीले यसमा रहेका परमेश्‍वरका श्रमसाध्य अभिप्रायहरू बुझ्नुपर्छ। परमेश्‍वरले तिमीप्रति पक्कै पनि कुनै भित्री उद्देश्य राख्नुहुन्न; बरु, उहाँसँग श्रमसाध्य अभिप्रायहरू हुन्छन्। तिमीसँग परमेश्‍वरप्रतिको अधीनता हुनुपर्छ; तिमीले नबुझे पनि, तिमी अधीनमा रहनुपर्छ, र तिमी अन्त्यसम्मै अधीनमा रहनुपर्छ। कतिपय मानिसहरूले यसरी अधीनमा रहनु अत्यन्तै मूर्खतापूर्ण र अत्यन्तै सुस्त हुनु हो, र यसले कुनै इज्जत वा मानव अधिकारविहीन बनाउँछ भनेर भन्न सक्छन्, र यसका लागि तिमीले यसो भन्नुपर्छ, “जे भए पनि म अधीनमा रहनेछु!” यो कतिपय विश्‍वासीहरूलाई दुष्ट मानिसहरूले धम्की दिएको जस्तै हो: “यदि तिमीले परमेश्‍वरमा विश्‍वास गर्‍यौ भने, म सरकारलाई खबर गर्नेछु र तिमीलाई पक्राउ गर्न लगाउनेछु!” यसका लागि विश्‍वासीहरूले भन्छन्, “जे भए पनि म विश्‍वास गर्ने नै छु!” परमेश्‍वरप्रतिको तिम्रो अधीनतामा यस्तो प्रकारको जोस हुनुपर्छ। तिमी किन यसरी अधीनमा रहनुपर्छ? जब तिमीले यसरी अधीनताको अभ्यास गर्छौ तब मात्रै परमेश्‍वरको अधीनमा रहने तिम्रो इच्छा परमेश्‍वरको अधीनमा रहने वास्तविकता र कार्य बन्न सक्छ। तिमीले नबुझेका धेरै सत्यताहरू भए पनि, तिमीले अभ्यासका सिद्धान्तहरू नबुझेका र परमेश्‍वरका अभिप्रायहरू नबुझेका धेरै मामलाहरू भए पनि, र तिमीसँग परमेश्‍वरको बारेमा धेरै ज्ञान नभए पनि, यदि तिमीले वास्तविक जीवनमा र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा अधीनमा रहने अभ्यास गर्न सक्यौ भने, तिम्रो इच्छा बिस्तारै तिम्रो वास्तविकता, तिम्रो जियाइ, र तिमीले प्रकट गर्ने कुरा नै बन्नेछ। जब तिमीले आफ्ना महत्त्वाकाङ्क्षाहरू, चाहनाहरू, र प्रतिस्पर्धात्मकतालाई त्याग्छौ, तिम्रो अहङ्कारी स्वभाव, र तिम्रा व्यक्तिगत रुचि र सोखहरू जस्ता कुराहरूविरुद्ध विद्रोह गर्छौ, र तिमी परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूको अधीनमा रहन्छौ, तब परमेश्‍वरको नजरमा, तिमीसँग परमेश्‍वरको अधीनमा रहने इच्छा र परमेश्‍वरको अधीनमा रहने मनोवृत्ति मात्रै हुँदैन, तर तिमीसँग परमेश्‍वरको अधीनमा रहनुको वास्तविकता नै हुन्छ। सायद कुनै दिन, जब परमेश्‍वरले तिम्रो कद पर्याप्त छ, र तिमीले उहाँको अनुग्रही व्यवहार र विशेष सुरक्षा, वा उहाँको विशेष प्रबोधन र मार्गदर्शनलाई लिन सक्छौ भन्‍ने देख्नुहुन्छ, तब उहाँले तिमीमा केही विशेष काम गर्नुहुनेछ। परमेश्‍वरले विशेष काम गर्नुहुने कतिपय मानिसहरूका हकमा भन्दा, परमेश्‍वरको नजरमा, तिनीहरूसँग उहाँले माग गर्नुहुने मानकअनुरूपको मानवता हुन सक्छ, वा तिनीहरूसँग उहाँले माग गर्नुहुने क्षमता हुन सक्छ, वा उहाँले तिनीहरूको खोजीलाई उपयुक्त मान्न सक्नुहुन्छ, वा तिनीहरूमा उहाँले प्रयोग गर्न सक्ने केही कुरा हुन सक्छ, अनि उहाँले यी मानिसहरूमा केही काम गर्नुहुन्छ—त्यो परमेश्‍वरको छनौट हो। परमेश्‍वरले कसरी काम गर्नुहुन्छ भन्‍ने कुरामा उहाँसँग स्वतन्त्रता हुन्छ, तर कतिपय मानिसहरूमा कुनै समझ हुँदैन र तिनीहरूले सधैँ परमेश्‍वरसँग मागहरू गर्छन्। तिनीहरूले यसो भन्छन्, “परमेश्‍वर धर्मी हुनुहुन्न। उहाँले किन त्यो व्यक्तिलाई माथि उठ्न र देखिन दिनुहुन्छ? उहाँले किन उसलाई प्रयोग गर्नुहुन्छ र मलाईचाहिँ प्रयोग गर्नुहुन्न?” यदि तिमीलाई प्रयोग गरियो भने, के तिमीले काम राम्ररी गर्न सक्नेथियौ? तिमी सधैँ माथि उठ्न र देखिन, र देखावा गर्न चाहन्छौ; यदि तिमीलाई प्रयोग गरियो भने, यसले तिम्रा भ्रष्ट स्वभावहरूलाई बढावा दिने काम मात्रै गर्नेछ। परमेश्‍वरको घरले जसलाई प्रयोग गरे पनि वा नगरे पनि, त्यो सत्यता सिद्धान्तहरूमा आधारित हुन्छ। जब तिमी यो परिस्थितिमा पर्छौ, तब तिमी अधीनमा रहनैपर्छ र तिमीले सत्यता खोज्नैपर्छ। यदि, सत्यता खोजेर, आत्म-चिन्तन गरेर, र आफैलाई चिरफार गरेर, तिमीले तिमीसँग अझै पनि हैसियत र प्रतिष्ठाका लागि ठूलो चाहना र महत्त्वाकाङ्क्षा छ भन्‍ने देख्यौ भने, तिमीले परमेश्‍वरले अरू मानिसहरूलाई प्रयोग गर्नु र तिमीलाई प्रयोग नगर्नु पूर्ण रूपमा उचित हो, र यो तिम्रो लागि एउटा सुरक्षा हो भन्‍ने कुरा महसुस गर्नुपर्छ। यो तिम्रा धारणाहरूअनुरूप भए पनि वा नभए पनि, र तिमीले यसलाई स्वीकार गर्न सके पनि वा नसके पनि, जेसुकै भए पनि, तिमीले एउटा सृजित प्राणीको दृष्टिकोण र स्थान लिनुपर्छ र अधीनताको मनोवृत्ति अपनाउनुपर्छ, वा कम्तीमा पनि अधीनमा रहने इच्छा राख्नुपर्छ। अधीनमा रहने इच्छाले केलाई जनाउँछ? यसले यस कुरालाई जनाउँछ: “मलाई जेसुकै भए पनि वा नभए पनि, मैले पहिले मेरो हृदयलाई तयार गर्नुपर्छ। म परमेश्‍वरको अधीनमा बस्‍ने हृदयका साथ सबै कुरा स्वीकार गर्न र सामना गर्न सक्षम हुनुपर्छ। यो मसँग हुनुपर्ने समझ हो, मैले गर्नुपर्ने अभ्यास हो, र यो एउटा सृजित प्राणीको रूपमा सृष्टिकर्ताप्रति मसँग हुनुपर्ने मनोवृत्ति पनि हो।” अधीनमा रहने इच्छा भनेको यही हो। तिमीसँग यो इच्छा भएपछि, तिमीलाई केही कुराहरू आइपर्दा परमेश्‍वरको अधीनमा रहनका लागि तिमीलाई कम गाह्रो हुनेछ। के यो तिम्रो लागि सुरक्षा होइन र? (हो।) यो सुरक्षा पाएपछि, तिमीले निकै कम गल्तीहरू गर्नेछौ र निकै कम गलत बाटोहरू लिनेछौ। यसले तिमीलाई अवरोध र बाधा दिनबाट रोक्नेछ, तिमीलाई अघि सर्नबाट रोक्नेछ, र साथसाथै तिमीलाई श्रेष्ठताको स्थान लिन र स्वेच्छाचारी र एकलौटी रूपमा काम गर्नबाट रोक्नेछ। यसले तिमीलाई धेरै अपराधहरू गर्नबाट रोक्छ, र तिमीलाई परमेश्‍वरले दोषी ठहराउनुहुने धेरै दुष्ट कार्यहरू गर्नबाट रोक्छ। यसरी, जब कुनै दिन तिमीले सत्यता बुझ्छौ, साँच्चै आफैलाई चिन्छौ, तिमी सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम हुन्छौ, र तिमीले धेरै असल कार्यहरू गर्छौ, तब तिम्रो कद अलि-अलि गर्दै बढेको हुनेछ, र तिमीले गलत बाटो लिने वा गल्ती गर्ने सम्भावना कम हुनेछ। अर्थात्, जब तिमीले कामकुराहरू गर्छौ, तब तिमीले अवरोध र बाधा दिने, स्वेच्छाचारी र एकलौटी रूपमा काम गर्ने, वा लापरवाह रूपमा दुष्कर्म गर्ने सम्भावना कम हुनेछ, र खराब कुराहरू गर्ने र दुष्टता गर्ने सम्भावना कम हुनेछ। के त्यसपछि तिमी भविष्यमा दण्डित हुने सम्भावना कम हुनेछैन र? के यो राम्रो कुरा होइन र? (हो।) त्यसकारण, अगाडिको बाटो जस्तोसुकै भए पनि, र परमेश्‍वरले तिम्रो लागि जस्तोसुकै वातावरण खडा गर्नुभए पनि, तिमीले पहिले अधीनमा रहने इच्छा तयार गर्नुपर्छ, र परमेश्‍वरसँगका तिम्रा अनुचित मागहरू र परमेश्‍वरबारेका तिम्रा धारणा र कल्पनाहरू त्याग्नुपर्छ। तिमीले पहिले आफैलाई इन्कार गर्नुपर्छ, आफ्ना धारणा र कल्पनाहरू त्याग्नुपर्छ, र अधीनमा रहने इच्छा राख्नुपर्छ। एउटा सृजित प्राणीको रूपमा तिमीसँग हुनुपर्ने विचार र दृष्टिकोणहरू यिनै हुन्, र एउटा सृजित प्राणीसँग सृष्टिकर्ताप्रति हुनुपर्ने मनोवृत्ति पनि यही हो। तिमीसँग अधीनताको मनोवृत्ति भएपछि, परमेश्‍वरको नजरमा एउटा सृजित प्राणीको रूपमा तिम्रो लागि अझै आशा हुन्छ, र तिमीसँग सिद्ध पारिनका लागि एउटा आधारभूत सर्त हुन्छ। यसरी मात्रै परमेश्‍वरले बिस्तारै तिमीमा सिद्ध पार्ने काम गर्नुहुनेछ, तिमीलाई प्रबोधित गर्नुहुनेछ र तिमीलाई ज्योति दिनुहुनेछ, वा तिमीलाई ताडना दिनुहुनेछ र अनुशासित गर्नुहुनेछ, तिम्रो परीक्षा गर्नुहुनेछ, वा तिमीलाई बोक्नका लागि भारी बोझहरू दिनुहुनेछ; यसरी मात्रै सिद्ध पार्ने यो कामलाई बिस्तारै अघि बढाइनेछ।

अब हामी संक्षेप गरौँ: देहधारी परमेश्‍वरबारे धारणा र कल्पनाहरू त्याग्ने सबैभन्दा आधारभूत अभ्यास के हो? (परमेश्‍वरको अधीनमा रहने इच्छा राख्नु।) पहिले, तिमीसँग परमेश्‍वरको अधीनमा रहने इच्छा हुनुपर्छ। परमेश्‍वरको अधीनमा रहनु महत्त्वपूर्ण कुरा हो, र सुरुमा यसलाई व्यवहारमा लागू गर्न सजिलो हुँदैन। तिमीसँग पहिले अधीनमा रहने इच्छा हुनुपर्छ, र तिम्रो सचेतना वा तिम्रो मुड र मनको स्थितिमा, तिमीसँग परमेश्‍वरको अधीनमा रहने सङ्कल्प हुनुपर्छ। तिमीसँग यो सङ्कल्प भएपछि, तिमीले यसलाई बिस्तारै अभ्यासमा बदल्नुपर्छ। यसरी, तिमी बिस्तारै एउटा सृजित प्राणीको स्थानतर्फ अघि बढिरहेका हुन्छौ। मौलिक रूपमा, तिमीले एउटा भ्रष्ट मानव, शैतानको जमात, शैतानको वंशज, परमेश्‍वरप्रति शत्रुवत् शक्ति, र परमेश्‍वरको विरोधीको दृष्टिकोण र स्थानबाट परमेश्‍वरमा विश्‍वास गर्थ्यौ। तिमी परमेश्‍वरप्रति विरोधी थियौ, र तिमीले सधैँ परमेश्‍वरलाई गहन-जाँच गर्थ्यौ। यो स्पष्ट रूपमा एउटा सृजित प्राणीमा हुनुपर्ने मनोवृत्ति होइन। त्यसैले आजदेखि, तिमीले परमेश्‍वरको अधीनमा रहन इच्छुक हुने दृष्टिकोण र अडान लिनुपर्छ, र तिमीसँग यस्तो प्रकारको मनोवृत्ति हुनुपर्छ: “परमेश्‍वरले जेसुकै भन्नुभए पनि, म सुन्‍नेछु। परमेश्‍वरले जेसुकै गर्नुभए पनि, म स्वीकार गर्नेछु र अधीनमा रहनेछु। यदि मैले केही कुरा बुझिनँ भने, म सत्यता खोज्नेछु वा सङ्गति गर्न कसैलाई भेट्नेछु, र परमेश्‍वरको अधीनमा रहन सक्षम हुने प्रयास गर्नेछु।” जब तिमीले यस्तो प्रकारको इच्छा र सचेतना तयार गर्छौ, र सृष्टिकर्ताप्रति यस्तो प्रकारको मनोवृत्ति अपनाउँछौ, तब तिमीले आफैलाई एउटा सृजित प्राणीको स्थानमा राखेका हुन्छौ। त्यसपछि, तिमी परमेश्‍वरप्रति उप्रान्त विरोधी हुनेछैनौ, तिमी एउटा सृजित प्राणीको रूपमा ज्ञानी भएर आफ्नो उचित स्थान लिन सक्षम हुनेछौ, र तिमीसँग सृष्टिकर्ताप्रति एउटा सृजित प्राणीमा हुनुपर्ने मनोवृत्ति हुनेछ। कतिपय मानिसहरूले यसो भन्छन्, “यो मनोवृत्तिले मेरो सचेतनामा जरा गाड्नु निकै गाह्रो छ। मैले के गर्नुपर्छ?” त्यसो हो भने, तिमीले बारम्बार प्रार्थना गर्नुपर्छ, र परमेश्‍वरलाई यसो भन्नुपर्छ, “परमेश्‍वर, मेरो भ्रष्टता निकै गहिरो छ। ममा किन कहिल्यै पनि तपाईंप्रति अधीनता हुँदैन? मेरो हृदयमा तपाईंका लागि किन कुनै ठाउँ छैन? म यसरी जिउन चाहन्न, म तपाईंको विरुद्धमा खडा हुन चाहन्न, न त म तपाईंप्रति शत्रुवत् हुन नै चाहन्छु; म तपाईंको अधीनमा रहन इच्छुक छु। म तपाईंलाई ममा काम गर्नुहोस्, मलाई अगुवाइ र मार्गदर्शन गर्नुहोस्, तपाईंका वचनहरूका सम्बन्धमा मलाई प्रबोधित गर्नुहोस्, र म विद्रोही हुँदा मलाई ताडना दिनुहोस् भनी बिन्ती गर्छु। म तपाईंलाई मेरो हृदयको सिंहासनमा बस्न र राजाका रूपमा शक्ति हातमा लिनुहोस्, र मेरो हृदयमा तपाईंका लागि ठाउँ बनाउनुहोस् भनी बिन्ती गर्छु। म तपाईंको अधीनमा रहन इच्छुक छु। म तपाईंलाई हर समय र सबै मामलाहरूमा मलाई मार्गदर्शन गर्नुहोस् भनी बिन्ती गर्छु।” तिमीले परमेश्‍वरलाई आफ्नो मनोवृत्ति व्यक्त गर्दै र परमेश्‍वरलाई आफ्नो भित्री हृदय जान्न दिँदै, यसरी प्रार्थना गर्नुपर्छ। तिमीले परमेश्‍वरको गहन-जाँच स्वीकार गर्नुपर्छ: परमेश्‍वरले तिम्रो भित्री हृदयलाई गहन-जाँच गर्नुभएको कुरा स्वीकार गर, र परमेश्‍वरले तिम्रा विभिन्‍न व्यवहार र अभ्यासहरूलाई गहन-जाँच गर्नुभएको कुरा पनि स्वीकार गर; तिमीले प्रार्थना गर्नुपर्छ र परमेश्‍वरलाई काम गर्न दिनुपर्छ। जब तिमीसँग यो मनोवृत्ति हुन्छ, तब बाहिरी रूपमा यसको अर्थ के हुन्छ? यसको अर्थ तिमीले शैतानसँगको सम्बन्ध तोड्न चाहन्छौ; तिमी उप्रान्त परमेश्‍वरको विरुद्धमा खडा हुँदैनौ र तिमी उप्रान्त परमेश्‍वरको विरोध गर्दैनौ; तिमी सृष्टिकर्तालाई आफ्नो प्रभु र आफ्नो परमेश्‍वरको रूपमा स्वीकार गर्न, र उहाँलाई आफ्नो नियतिमाथि सार्वभौमिकता राख्न र प्रबन्ध गर्न दिन व्यक्तिपरक रूपमा इच्छुक हुन्छौ; र तिमी सृष्टिकर्ताको विरुद्धमा खडा हुन उप्रान्त शैतानका विचार र दृष्टिकोणहरू प्रयोग गर्दैनौ, र शैतानलाई उप्रान्त दुःख दिन वा तिमीमाथि नियन्त्रण गर्न दिँदैनौ भन्‍ने हुन्छ। यसको अर्थ तिमीले शैतानलाई एउटा घोषणा जारी गरेका छौ भन्‍ने हुन्छ, र यसको अर्थ तिमी शैतानसँगको सम्बन्ध तोड्न कटिबद्ध छौ भन्‍ने हुन्छ। जब परमेश्‍वरले तिम्रो कटिबद्धता देख्नुहुन्छ र तिम्रो सङ्कल्प देख्नुहुन्छ, तब उहाँले तिमीलाई गहन-जाँच गर्नुहुनेछ, र उहाँले तिम्रो जाँच गर्नुहुनेछ। यदि तिम्रो कटिबद्धता र सङ्कल्पले परमेश्‍वरको गहन-जाँच र जाँच सहन सक्छ भने, तिम्रो भित्री स्थिति परिवर्तन हुन्छ कि हुँदैन, र परमेश्‍वरमाथिको तिम्रो विश्‍वास बढ्छ कि बढ्दैन भनेर हेर। यदि परमेश्‍वरले उहाँको गहन-जाँच र जाँचको हिसाबमा तिमीले मापदण्ड पूरा गरेको र उत्तीर्ण भएको पाउनुभयो भने, परमेश्‍वरले तिमीमा काम गर्नुहुन्छ कि गर्नुहुन्न भनेर हेर, अनि त्यो बेला तिमी कस्तो स्थितिमा हुन्छौ भनेर हेर। यदि परमेश्‍वरले तिमी उत्तीर्ण भएको पाउनुभयो भने, तिमी, एउटा सानो सृजित प्राणीले, सृष्टिकर्ताबाटको मान्यता र स्वीकृति प्राप्त गर्न थाल्नेछौ। परमेश्‍वरले तिम्रो बारेमा के कुरा स्वीकार गर्नुहुनेछ? उहाँले तिमी उहाँको अनुयायी हौ र तिमी उहाँले मुक्ति दिन चाहनुभएको व्यक्ति हौ भन्‍ने कुरा स्वीकार गर्नुहुनेछ। त्यसपछि परमेश्‍वरले तिमीले बोकेको शैतानको छापलाई मेटाउनुहुनेछ र हटाउनुहुनेछ, र उहाँले व्यक्तिगत रूपमा तिमीलाई अगुवाइ गर्नुहुनेछ, तिमीलाई मुक्ति दिन तिमीमा काम गर्नुहुनेछ, र तिमी परमेश्‍वरको मुक्तिको कामको एउटा सदस्य बन्नेछौ। हेर त, तिमीले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, बिन्ती गर्नुपर्छ, र पुकार्नुपर्छ; तिमी हर समय परमेश्‍वरको अघि आउनुपर्छ। परमेश्‍वरले तिम्रो साँचो हृदय देख्न चाहनुहुन्छ। जब परमेश्‍वरले अब्राहामको परीक्षा गर्नुभयो, तब उहाँले तिनलाई भन्नुभयो, “मैले तिमीलाई दिएको तिम्रो छोरा इसहाकलाई लेऊ, र उसलाई बलिदानको रूपमा चढाऊ।” अब्राहाम सहमत भए, तर अब्राहाम सहमत भएपछि परमेश्‍वरले यो माग फिर्ता लिनुभएन; बरु, उहाँले तिनलाई अवलोकन गर्नुभयो। जब परमेश्‍वरले तोक्नुभएको दिन आयो, तब तिनले दाउरा तयार गरे र आफ्नो बच्चालाई त्यसमाथि राखे। यी सबै कार्यहरू परमेश्‍वरको आँखा अगाडि खुला रूपमा भइरहेका थिए र उहाँले तिनलाई पूर्ण रूपमा हेरिरहनुभएको थियो; परमेश्‍वरले सबै कुरा स्पष्ट रूपमा देख्नुभयो। तर, यो भइरहँदा, परमेश्‍वर अब्राहामसँग बोल्नुभएन, न त उहाँले तिनलाई रोक्नुभयो र तिनलाई रोकिन नै भन्नुभयो। परमेश्‍वरले निरन्तर तिनको हृदयलाई अवलोकन गरिरहनुभएको थियो र गहन-जाँच गरिरहनुभएको थियो। यो प्रक्रिया महत्त्वपूर्ण छ; तिमीले गर्ने सबै कुराले परमेश्‍वरको गहन-जाँच र जाँच सहन सक्नुपर्छ। अन्तिम क्षणमा मात्रै परमेश्‍वरले तिमी उहाँले मान्यता दिनुहुने व्यक्ति हौ कि होइनौ भनेर निर्धारण गर्नुहुनेछ। यो अब्राहामलाई भएको कुराजस्तै हो—तिनले आगो उठाए, दाउरा बाले, आफ्नो छोरालाई बाँधे, र छुरी उठाए, त्यसपछि मात्रै परमेश्‍वरले तिनलाई रोकिन आज्ञा दिनुभयो। यही महत्त्वपूर्ण क्षणमा, परमेश्‍वरको नजरमा, इसहाकलाई चढाउने अब्राहामको हृदय साँचो भयो, त्यसपछि मात्रै अब्राहामका कार्यहरूलाई परमेश्‍वरले मान्यता दिनुभयो र स्मरण गर्नुभयो। त्यसैले, कसैले पनि परमेश्‍वरसँग झारा टार्न सक्दैन; तिमीले उहाँलाई आफ्नो साँचो हृदय देखाउनुपर्छ। परमेश्‍वरले तिमीलाई झाराटारुवा हुन अनुमति दिनुहुन्न। परमेश्‍वरप्रतिको व्यक्तिको साँचो हृदयमा झूट वा दूषणको अलिकति पनि नामोनिसान हुनु हुँदैन। बुझ्यौ? (बुझ्यौँ।) कुनै पनि व्यक्तिका लागि, परमेश्‍वरले उसलाई गहन-जाँच गर्ने र जाँच गर्ने विधि यही हो; यो सबैका लागि उस्तै हुन्छ। तिमीले तिमीसँग परमेश्‍वरप्रति साँचो हृदय छ, तिमी परमेश्‍वरप्रति बफादार छौ, र तिमी परमेश्‍वरको अधीनमा रहन इच्छुक छौ भनेर भन्छौ, तर आफैले त्यसो भन्नुको कुनै फाइदा छैन। परमेश्‍वरले तिमीलाई गहन-जाँच गर्नुहुनेछ, र उहाँले तिम्रो जाँच पनि गर्नुहुनेछ; तिमीले उहाँको गहन-जाँच र जाँच सहन सक्नुपर्छ। जब तिमीले आफ्नो सम्पूर्ण शरीर र मन, र आफ्नो साँचो हृदय अर्पण गरेका हुन्छौ, तब परमेश्‍वरले त्यो क्षणमा तिम्रो हृदय साँचो छ, र तिमी दूषणविहीन र ढोँगविहीन छौ भन्‍ने कुरा देख्नुहुन्छ; परमेश्‍वरले त्यो क्षणमा तिमी मानकअनुरूप छौ भन्‍ने देख्नुहुन्छ। यसका साथै, जब तिमीसँग परमेश्‍वरप्रति पूर्ण रूपमा साँचो हृदय हुन्छ—शतप्रतिशत एकचित्त भएको र उप्रान्त दुई मन नभएको हृदय हुन्छ—तब मात्रै शैतानले तिमीलाई आक्रमण गर्न नसकिने व्यक्तिको रूपमा देख्नेछ; अर्थात्, शैतानले तिमीलाई फेरि लैजानु सम्भव हुँदैन, शैतानले तिमीलाई फेरि भ्रष्ट तुल्याउनु सम्भव हुँदैन। शैतानसँग तिमीलाई भ्रष्ट तुल्याउने, तिमीलाई भ्रमित पार्ने, वा तिम्रो शोषण गर्ने कुनै अवसर हुनेछैन। त्यसपछि मात्रै परमेश्‍वरले तिमीलाई मान्यता दिनुहुनेछ। यो परमेश्‍वरको न्यूनतम मानक हो, र परमेश्‍वरले यस मामलामा काम गर्नुहुने सिद्धान्त यही हो। त्यसकारण, परमेश्‍वरले गर्नुहुने कुनै पनि कुरा अनावश्यक वा मूल्यविहीन हुँदैन। परमेश्‍वरले गर्नुहुने सबै कुरा मानिसका लागि, परमेश्‍वर स्वयम्‌का लागि, र शैतानका लागि उचित र तर्कसङ्गत हुन्छ। उहाँले आफूले गर्ने कुराको लेखाजोखा हरेक पक्षलाई दिन सक्नुहुन्छ, र यो सबै सत्यताअनुरूप हुन्छ र सिद्धान्तहरूअनुरूप नै हुन्छ। परमेश्‍वरसँग कुनै व्यक्तिगत पक्षपात हुँदैन। उहाँले यसो भन्नुहुनेछैन, “मैले तिमीलाई छानेँ, त्यसैले मलाई तिमीप्रति स्नेह छ, र तिमी मैले बहुमूल्य ठानेको व्यक्ति हौ। मैले तिमीलाई मन पराएको हुनाले, तिम्रो एउटा असल गुणले मात्रै पनि तिम्रा सबै खराबीहरूलाई ढाक्न सक्छ, र तिमीमा कुनै भ्रष्टता हुँदैन।” यसरी हुँदैन; शैतानले आरोपहरू लगाउनेछ। परमेश्‍वरले सिद्धान्तहरूअनुसार काम गर्नुहुन्छ र उहाँले शैतानलाई पूर्ण रूपमा कायल पार्नुपर्छ। हेर त, सृष्टिकर्ताले काम गर्ने तरिकामा उहाँ कति कठोर हुनुहुन्छ भन्‍ने कुरा यसैबाट देखिन्छ। परमेश्‍वरले कहिल्यै पनि यसो भन्नुहुनेछैन, “मैले छानेकाहरूले कुनै गल्ती गर्न सक्दैनन्।” परमेश्‍वरले यसरी काम गर्नुहुनेछैन। परमेश्‍वरले भावना वा मानव भावनाहरूको रङविना काम गर्नुहुन्छ। उहाँ निस्वार्थ हुनुहुन्छ, र उहाँ धर्मी हुनुहुन्छ, त्यसैले उहाँ सत्यता हुनुहुन्छ भनेर भनिन्छ। परमेश्‍वर सत्यता हुनुहुन्छ भन्‍ने यो एउटा तथ्यलाई मात्रै विचार गर्दा पनि, यावत् थोकले र जीवित प्राणीहरूले परमेश्‍वरको आराधना गर्नुपर्छ; सत्यता भनेको शैतानसँग नहुने कुरा हो। त्यसकारण, एउटा सृजित प्राणीका लागि, तिमीप्रतिका परमेश्‍वरका मागहरू कहिल्यै खुकुलो भएका छैनन्। जोकोहीप्रतिका परमेश्‍वरका मागहरू सिद्धान्तहरूमा आधारित हुन्छन्; मानव शब्दहरूमा भन्दा, उहाँ उच्च सिद्धान्तवादी हुनुहुन्छ। परमेश्‍वर उच्च सिद्धान्तवादी हुनुहुन्छ भन्‍ने कुरा कुन-कुन तरिकाले प्रकट हुन्छ? परमेश्‍वरलाई चिन्नेसम्बन्धी भाषामा भन्दा, परमेश्‍वर धर्मी हुनुहुन्छ, उहाँमा कुनै व्यक्तिगत पक्षपात वा दूषणहरू छैनन्, परमेश्‍वरले जोकोहीमा गर्नुहुने काम भावनाहरूले रङ्गिएको हुँदैन, र ती मानव इच्छाबाट उत्पन्न हुने भावनाहरूबाट मुक्त हुन्छ भन्‍ने तथ्यबाट नै यो कुरा देख्न सकिन्छ। परमेश्‍वरले कतिपय मानिसहरूलाई राम्रो र अरूलाई खराब व्यवहार गर्नुहुन्छ भन्‍ने हुँदैन, वा उहाँ कतिपयसँग नजिक र अरूसँग टाढा हुनुहुन्छ भन्‍ने हुँदैन; परमेश्‍वरको तर्फबाट भन्दा, उहाँले सबै मानिसहरूलाई कसरी व्यवहार गर्नुहुन्छ भन्‍ने कुरामा उहाँका सिद्धान्तहरू हुन्छन्। यदि तिमी सत्यताको अधीनमा रहँदैनौ, यदि तिमीले परमेश्‍वरका मागहरू पूरा गर्न सक्दैनौ, र यदि तिमीले सृष्टिकर्ताको आराधना गर्न र सृष्टिकर्ताको अधीनमा रहन एउटा सृजित प्राणीको स्थान लिँदैनौ भने, तिमीलाई परमेश्‍वरले पूर्वनिर्धारण गर्नुभएको र छान्नुभएको भए पनि, तिमीलाई उसै गरी हटाइनेछ, र तिमीले अझै पनि गैरविश्‍वासीहरूले जस्तै परमेश्‍वरको महान् दिनको न्याय र उहाँको धर्मी दण्ड प्राप्त गर्नेछौ। परमेश्‍वरमा कुनै दैहिक भावना छैन; उहाँ निस्वार्थ र धर्मी हुनुहुन्छ। बुझ्यौ? (बुझ्यौँ।) के परमेश्‍वरले व्यवस्थाको युग र अनुग्रहको युगमा आफ्ना सेवकहरूलाई कसरी व्यवहार गर्नुभयो भन्‍ने तिमीले देखेका छौ? परमेश्‍वरले अनुग्रहको युगमा नोआ, अब्राहाम, अय्यूब, र पत्रुस जस्ता प्रेरितहरूलाई कसरी व्यवहार गर्नुभयो? परमेश्‍वरको हकमा भन्दा, उहाँले कुनै पनि सृजित प्राणीलाई व्यवहार गर्ने तरिकामा, उहाँले नियमहरूअनुसार र सिद्धान्तहरूअनुसार कडाइका साथ त्यसो गर्नुहुन्छ; उहाँले कसैलाई पनि पक्षपात गर्नुहुन्‍न। तिमी यसबारे पक्‍का भएपछि, के तिमी सृष्टिकर्ताको आराधना गर्दा र सृष्टिकर्ताको अधीनमा रहँदा तिमीलाई घाटा हुन्छ भनेर भन्छौ? (भन्दैनौँ।) यदि तिमीले कुनै मानवलाई पछ्याइरहेका थियौ, र तिमीलाई गलत व्यक्तिलाई पछ्याइरहेको छु र आफू ठगिएको र धोकामा परेको छु भन्‍ने डर लागेको थियो भने, तिमीले सधैँ आफ्नो लागि उम्कने बाटो छोड्नुपर्नेथियो र सधैँ केही कुरा जोगाएर राख्नुपर्नेथियो। तर तिमीले सृष्टिकर्तालाई पछ्याइरहेका छौ, त्यसकारण के तिमीले अझै पनि आफ्नो लागि उम्कने बाटो छोड्नुपर्छ र? (पर्दैन।) यदि तिमीले आफ्नो साँचो हृदय देखाउँछौ र यसलाई परमेश्‍वरमा चढाउँछौ, र तिमीसँग परमेश्‍वरप्रति साँचो अधीनता छ भने, तिमीले अन्ततः प्राप्त गर्ने कुरा भनेको परमेश्‍वरको प्रतिज्ञा र आशिष्‌ हो, र यसरी तिमीले ठूलो फाइदा प्राप्त गर्छौ—तिमीलाई घाटा हुँदैन। यदि तिमी मानिसहरूप्रति इमानदार छौ भने, र यदि तिमी कुनै खराब व्यक्तिको फेला पर्‍यौ भने तिमी ठगिने र धोकामा पर्ने सम्भावना हुन्छ। यदि तिमीले कुनै मानवलाई पछ्यायौ भने तिमी ठगिने र धोकामा पर्ने सम्भावना हुन्छ, तर यदि तिमीले परमेश्‍वरलाई पछ्यायौ र तिमी सत्यताको अधीनमा रहने र परमेश्‍वरको अधीनमा रहने मार्गमा हिँड्यौ भने धोकामा पर्ने कुनै सम्भावना हुँदैन। परमेश्‍वरको अधीनमा रह, उहाँका योजनाबद्ध कार्यहरू र प्रबन्धहरूको अधीनमा रह, र देहधारी परमेश्‍वरले भन्नुहुने सबै कुराको अधीनमा रह, त्यसपछि तिमीले अन्ततः परमेश्‍वरको आशिष्‌ र प्रतिज्ञा प्राप्त गर्न सक्छौ कि सक्दैनौ भनेर हेर। चिन्ताको कुरा भनेको तिमीले आफ्नो साँचो हृदय देखाउन सक्दैनौ होला, र तिम्रो साँचो हृदयले परमेश्‍वरको गहन-जाँच र जाँच सहन सक्दैन होला भन्‍ने मात्रै हो। यदि यसले तिनलाई सहन सकेन भने तिमीले के गर्नुपर्छ? तिमीले निरन्तर आफ्नो साँचो हृदय देखाउनुपर्छ—परमेश्‍वरलाई धोका दिने प्रयास नगर। यदि तिमीले परमेश्‍वरलाई धोका दिने प्रयास गर्‍यौ भने, मलाई भन त, के परमेश्‍वरलाई थाहा हुनेछ? (थाहा हुनेछ।) यदि तिमीले परमेश्‍वरको अधीनमा रहन इच्छुक छु भनेर भन्छौ, तर कामकुराहरू हुँदा तिमीले आफ्नै हित र भविष्यबारे विचार गर्छौ, आफ्नै अभिमान र हैसियतबारे विचार गर्छौ, र आफ्नै खाने, लाउने, र आनन्द लिने कुराबारे विचार गर्छौ, र यसैबीच तिमीले कहिल्यै सत्यता अभ्यास गर्दैनौ भने, परमेश्‍वरले तिमीलाई लिएर पन्छाउनुहुनेछ। उहाँले भन्नुहुनेछ, “तिमी मेरो आशिष्‌ र प्रतिज्ञाको योग्य छैनौ!” तिमीले झूट बोल्ने बाहेक केही गर्दैनौ, परमेश्‍वरलाई धोका दिने प्रयास गर्ने बाहेक केही गर्दैनौ, त्यसैले परमेश्‍वरले तिमीप्रति वितृष्णाको बोध महसुस गर्नुहुन्छ र उहाँले तिमीलाई बेवास्ता गर्नुहुन्छ। तिमीले परमेश्‍वरको हृदयलाई लिएर त्यसलाई चकनाचुर पारेका छौ, र उहाँले अब तिमीलाई बेवास्ता गर्नुहुन्छ—के यो राम्रो कुरा हो? (होइन।) यसले के सङ्केत गर्छ? के तिमीले अझै पनि मुक्ति हासिल गर्न सक्नेछौ? परमेश्‍वरले तिमीलाई बेवास्ता गर्नुहुन्छ—तिमीले उप्रान्त आफ्नो साँचो हृदय चढाउनु पर्दैन, र तिमीले कुनै पनि प्रकारको मूल्य चुकाउनु पर्दैन, न त तिमीले कुनै कठिनाइ नै सहनुपर्छ, र कुनै अनुशासन, कुनै ताडना, र कुनै परीक्षा हुनेछैन, जसले तिमीलाई निकै आरामदायी र निकै सहज रूपमा जिउनका लागि छोडिदिन्छ। यो राम्रो कुरा हो कि खराब कुरा हो? (खराब कुरा हो।) मैले देखेअनुसार, यस्तो व्यक्ति मरेकै बेस हुन्छ। जब परमेश्‍वरले समेत तिमीलाई चाहनुहुन्न भने, जिउनुको के अर्थ हुन्छ र? सास फेर्नु समेत अनावश्यक हुनेछ।

हुन्छ, आजको सङ्गति यति हो। छुटौँ!

डिसेम्बर १४, २०२४

अघिल्लो: सत्यता कसरी पछ्याउने (३१)

अर्को: सत्यता कसरी पछ्याउने (३३)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्