सत्यता कसरी पछ्याउने (२६)
हालै, हामीले देहधारी परमेश्वरको विषयमा सङ्गति गरेका छौँ। यो विषय “सत्यता कसरी पछ्याउने” भन्ने विषयभित्रकै “त्याग्नु” भन्ने अभ्याससँग सम्बन्धित छ, र हामीले “आफू र परमेश्वरबीचका पर्खालहरू र परमेश्वरप्रतिको शत्रुतालाई त्याग्नु” भन्ने विषय अन्तर्गत रहेको “परमेश्वरबारे आफ्ना धारणा र कल्पनाहरूलाई त्याग्नु” भन्ने विषयमा सङ्गति गर्यौँ। हामीले यस पक्षबारे धेरै पटक सङ्गति गरेका छौँ, जसमा मुख्य गरी देहधारी परमेश्वरलाई कसरी व्यवहार गर्ने भन्नेबारे छलफल गरेका छौँ। हामीले यो विषयवस्तुलाई दुई विषयमा विभाजन गर्यौँ। के तिमीहरूले मलाई ती दुई विषय के हुन् भनी बताउन सक्छौ? (देहधारी परमेश्वरको सम्बन्धमा, परमेश्वरले हामीलाई अभ्यासका दुई वटा सही सिद्धान्तहरू दिनुभएको छ: पहिलो हो, उहाँलाई स्वर्गमा हुनुहुने परमेश्वरसँग तुलना नगर्नु, र दोस्रो हो, उहाँलाई भ्रष्ट मानवजातिको बराबरीमा नराख्नु।) हामीले यी दुई विषयहरूका केही विवरणहरूमा सङ्गति गरेका छौँ, जसमा देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकताका केही प्रकटीकरणहरू समावेश थिए। यसमा देहधारी परमेश्वरले मानिसहरूमाझ जिउँदा, अस्तित्वमा रहँदा, आफूलाई आचरणमा ढाल्दा र काम गर्दा कुन-कुन निश्चित सिद्धान्तहरू पालन र अनुसरण गर्नुहुन्छ भन्नेबारे सङ्गति गरिएको थियो। देहधारी परमेश्वर, अर्थात् विशेष पहिचान भएको यो व्यक्तिले मानिसहरूमाझ जिउँदा के-कस्ता प्रकटीकरणहरू प्रदर्शन गर्नुहुन्छ भनी मानिसहरूलाई बुझ्न र जान्न सक्षम बनाउनका लागि यी विषयहरूको सङ्गति प्रयोग गरिन्छ। हामीले मुख्यतया देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकताको विषयमा सङ्गति गर्यौँ, र निकै निश्चित कुराहरूमा सङ्गति गर्यौँ। यो सुनेपछि तिमीहरूमा कस्तो प्रभाव पर्यो? तिमीहरूमा देहधारी परमेश्वरबारेका धारणा र कल्पनाहरू घटे, कि तिमीहरूमा केही नयाँ धारणाहरू पलाएका छन्? (हामीमा देहधारी परमेश्वरबारेका धारणा र कल्पनाहरू घटेका छन्।) त्यसोभए, के यस विषयको सङ्गतिले देहधारी परमेश्वरलाई चिन्न मानिसहरूलाई मदत गर्छ? (हो, गर्छ।) त्यो त निकै राम्रो कुरा हो।
देहधारी परमेश्वरको विषयमा हाम्रो सङ्गति मुख्यतया देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकतासम्बन्धी विशेष प्रकटीकरण र अभ्यासहरूको वरिपरि घुम्छ, जसको उद्देश्य मानिसहरूलाई विशेष पहिचान भएको यस व्यक्ति, देहधारी परमेश्वरबारे अझ ठोस बुझाइ प्रदान गर्नु हो। त्यसोभए, के तिमीहरूलाई देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकता जति धेरै बुझिन्छ, त्यति नै उहाँ खासै उल्लेखनीय नभई एक सामान्य व्यक्ति मात्रै हुनुहुन्छ भन्ने महसुस हुन्छ, र देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकता जति धेरै बुझिन्छ, त्यति नै कम उहाँको ईश्वरीय आभा महसुस हुन्छ भन्ने लाग्छ? के तिमीहरूमा यस्ता सोचहरू आउँछन्? (आउँदैनन्। देहधारी परमेश्वरका केही व्यावहारिक जियाइ र प्रकटीकरणहरूबारे कुरा गरिएको परमेश्वरद्वारा प्रस्तुत केही उदाहरणहरू सुनेर मलाई के लाग्यो भने, परमेश्वरको बाहिरी स्वरूप मात्रै साधारण र सामान्य हो, तर उहाँको सामान्य मानवताका प्रकटीकरणहरूले हामी मानवहरूका प्रकटीकरणहरूलाई मजाले उछिन्छन्; ती त हामीले हासिल गर्नै नसक्ने कुरा हुन्। परमेश्वरको सामान्य मानवतामा कुनै भ्रष्ट स्वभाव, कुनै अहङ्कार वा छलीपन, कुनै मानवीय घमण्ड वा भोगविलास हुँदैन। देहधारी परमेश्वर बाहिरबाट साधारण र सामान्य देखिनुभए तापनि, उहाँको विनम्रताबाट उहाँको महानता देख्न सकिन्छ। मलाई यस्तै महसुस हुन्छ।) सामान्यतया, मानवजातिबीचका प्रसिद्ध मानिस, महान् मानिस, वा दक्ष प्रमुख व्यक्तित्वहरूले विभिन्न पक्षहरूमा आफ्नो परिचय दिँदा, के तिनीहरूले आफ्नो सामान्यता, व्यावहारिकता, साधारणपन, र सामान्यपनका बारेमा कुरा गर्छन्? (गर्दैनन्।) यदि भ्रष्ट मानवजातिमध्येको कसैले अरूलाई चिनाउन आफ्नो परिचय दिन्छ भने, ऊ कति साधारण, आम र सामान्य छ भनेर उसले कहिल्यै वर्णन गर्दैन। यसको विपरीत, आफ्नो परिचय र वर्णनहरूमार्फत, उसले मानिसहरूलाई आफू अरूभन्दा फरक, असाधारण, महान्, र अलौकिक क्षमताहरू भएको महसुस गराउने प्रयास गर्छ। यदि कसैले उसलाई एक विलक्षण व्यक्तिका रूपमा समेत लिन सक्यो भने, ऊ अझ खुसी हुनेछ। हेर त, भ्रष्ट मानिसहरूले आफ्नो परिचय कसरी दिन्छन्। पहिले, तिनीहरूले आफू कति सिद्ध छु, कति अवगुण वा त्रुटिरहित छु भनी वर्णन गर्छन्। तिनीहरूले आफ्नो पारिवारिक पृष्ठभूमि कति गौरवशाली छ, आफ्नो हैसियत कति आदर्शमयी छ, आफूसँग के-कस्ता शैक्षिक योग्यताहरू छन्, र आफ्नो रूपरङ्गमा के कुरा उत्कृष्ट छ भनेर पनि देखाउँछन्। तिनीहरूको अनुहारमा कोठी भए पनि, तिनीहरूले त्यसलाई वर्णन गर्न एउटा अद्वितीय तरिका खोज्छन्, र यसो भन्छन्, “हेर त, यो कोठी बसेको ठाउँ पनि असामान्य छ; भनिन्छ, यो ठाउँमा कोठी हुने मानिसहरूको भाग्यमा धन वा कुलीनता लेखिएको हुन्छ।” जब तिनीहरूको रूपरङ्गको कुरा आउँछ, तिनीहरूले आफ्नो अनुहारको हरेक विशेषता कसरी अद्वितीय छ, र अनुहारशास्त्रमा आफ्नो अनुहारको हरेक विशेषताका लागि, भाग्यमा धन वा कुलीनता लेखिएको हुनु, वा उचाइमा पुग्न सक्नु, र मानिसहरूका बीचमा, तिनीहरू सानो पोखरीमा नअट्ने ज्यादै ठूलो माछा हुनु जस्ता के-कस्ता सकारात्मक व्याख्याहरू छन् भनेर बताउँदै आडम्बरपूर्वक घोषणा गर्छन्। यसबाहेक, तिनीहरू विशेष गरी निश्चित क्षेत्रहरूमा आफ्ना प्रतिभा र सामर्थ्यहरू, आफ्ना सोचाइ र विचारहरू कति असाधारण र फरक छन् भनी सान देखाउन, र तिनीहरूले कुन-कुन समूहहरूमा के-कस्ता उपलब्धिहरू हासिल गरेका छन्, प्रख्यात व्यक्तित्वहरूले कसरी तिनीहरूको प्रशंसा गर्छन्, तिनीहरूलाई उच्च ठान्छन्, र तिनीहरूको ईर्ष्या र सराहना गर्छन्, वा तिनीहरूले कुन उद्योगमा कति ठूलो योगदान दिएका छन्, र तिनीहरूका हाकिमहरूले तिनीहरूलाई कति कदर गर्छन् भनेर सान देखाउन मन पराउँछन्। तिनीहरूले भनेको कुरा साँचो होस् वा नहोस्, आफ्नो आत्म-परिचयको हरेक पक्षमा, तिनीहरूले मानिसहरूलाई आफू अरूभन्दा फरक, मानिसहरूमध्ये आफू एक मात्र, अद्वितीय रहेको, र आफूले सबै साधारण मानिसहरूलाई उछिनेको महसुस गराउने प्रयास गर्छन्। तिनीहरूले सबैलाई तुच्छ दृष्टिले हेर्छन्; तिनीहरूले अरू सबै नीच मानिस र तुच्छ सर्वसाधारण भएको देख्छन्, जबकि तिनीहरू आफै मात्र सबैभन्दा महान्, सबैभन्दा कुलीन, र सबैभन्दा असाधारण भएको देख्छन्। यदि तैँले तिनीहरूलाई तिनीहरूको शैक्षिक योग्यताका बारेमा सोधिस् भने, तिनीहरूले आफूले एक प्रतिष्ठित विश्वविद्यालयबाट स्नातक गरेको, आफूसँग स्नातकोत्तर वा विद्यावारिधिको उपाधि भएको भन्नेछन्, जबकि वास्तविकतामा, तिनीहरूले साधारण विश्वविद्यालयमा मात्रै पढेका हुन्छन्। तिनीहरूले आफ्ना अवगुण, त्रुटि, भ्रष्ट स्वभाव, आफ्नो नीच चरित्रका पक्षहरू, वा आफूले गरेका गलत कामहरूका बारेमा कहिल्यै बोल्दैनन्। आफूलाई अरूको अघि चिनाउनलाई आफ्नो परिचय दिने कुरा हो भने, तिनीहरूले आफ्नो सान देखाउने, प्रशंसा गर्ने, र आफूलाई आकर्षक ढङ्गले प्रस्तुत गर्ने हरेक उपाय प्रयोग गर्ने प्रयास गर्नेछन्, र आफूलाई धेरै महान्, असाधारण, र असामान्य भनी वर्णन गर्नेछन्। तिनीहरू बिरामी परे पनि, तिनीहरूले यो “धनी मानिसको रोग” हो भनेर भन्नेछन्, जसले गर्दा मानिसहरूलाई तिनीहरू सुकुमार, पुल्पुलिएका, र अरूभन्दा फरक छन् भन्ने महसुस हुन्छ। कुनै पनि हालतमा, तिनीहरूले मानिसहरूलाई आफू एक साधारण, सामान्य व्यक्ति मात्रै भएको महसुस गराउन दिनेछैनन्। बरु, मानिसहरूले तिनीहरूलाई आदरभावले हेरून्, उच्च सम्मान गरून्, र तिनीहरूको प्रशंसा गरून् भनेर तिनीहरूले हरेक उपाय प्रयोग गरिहेर्छन्। यदि मानिसहरूले तिनीहरूलाई पछ्याउन र आफ्नो हृदयमा तिनीहरूका लागि ठाउँ राख्न सके भने, तिनीहरू आफैसँग अझ बढी हर्षित हुन्छन्। यदि तैँले तिनीहरू साधारण र सामान्य हुन्, आम जनताका सदस्य हुन् भनेर भनिस् भने, तिनीहरूले आफ्नो इज्जत पूरै गुमेको र तैँले तिनीहरूको स्वाभिमानमा साँच्चै चोट पुऱ्याएको महसुस गर्छन्; यसो भन्दा तिनीहरू मर्छन् जस्तै गर्छन्। आफ्नो जीवनभरि, तिनीहरू अद्वितीय र असाधारण हुन खोज्छन्। तिनीहरूका भ्रष्ट स्वभाव र यस्ता चाहनाहरूका कारण, धेरै मानिसहरूले अक्सर आफूलाई धेरै उच्च, शानदार, र कुलीन देखाउन बाहिरी छवि विकास गर्छन्, र तिनीहरूले धारण गर्ने बाहिरी चालढाल, तिनीहरूका बोलीवचन, र तिनीहरूका कार्यहरूले एक महान् व्यक्तित्वको आभा झल्काउँछन्। कुनै पनि समूहमा, यदि कसैले तिनीहरूलाई “मैले तपाईँलाई यो भीडमा एकै नजरमा देखेँ; तपाईँको हेराइ, तपाईँको अनुहारका विशेषताहरू, र तपाईँको ओजबाट, म तपाईँ साधारण व्यक्ति हुनुहुन्न भनेर भन्न सक्छु” भनेर भन्यो भने, तिनीहरू निकै खुसी हुन्छन्। तिनीहरूले यो कुरालाई असीमित हदसम्म बढाइचढाइ गर्नेछन्, र आफ्नो बाँकी जीवनभरि, ती शब्दहरू तिनीहरूको मुखमै झुण्डिरहन्छन्, र तिनीहरूले जताततै यसो भन्दै धाक लगाउछन्, “भीडमा, मानिसहरूले मलाई एकै नजरमा चिन्न सक्छन् र म अगुवा हुँ, सानो पोखरीमा नअट्ने ज्यादै ठूलो माछा हुँ, साधारण व्यक्ति होइन भन्ने देख्न सक्छन्!” तिनीहरू विशेष गरी यस प्रकारको व्यक्ति हुन मन पराउँछन्, विशेष गरी आफूलाई एक असाधारण, असामान्य, अरूभन्दा फरक, र एक अद्वितीय व्यक्तिको स्थानमा राख्नसमेत मन पराउँछन्। अरू धेरैले समाजमा प्रसिद्ध व्यक्ति, महान् व्यक्ति र हैसियत र पद भएकाहरूलाई विशेष ध्यान दिन्छन्, तिनीहरूबारे कुनै पनि समाचार, तिनीहरूका बोलीवचन र कार्यहरू, र तिनीहरूको दैनिक जीवनलाई ध्यान दिन्छन्। यो ध्यानको उद्देश्य मनोरञ्जनका लागि नभई तिनीहरूको नक्कल गर्न र तिनीहरूलाई पछ्याउनका लागि हो। यी मानिसहरूले जे खान्छन् र जे लाउँछन्, उनीहरूमाझ जे लोकप्रिय छ, तिनीहरूले त्यसैको नक्कल गर्छन्। यी मानिसहरूले जुन विषयहरूमा छलफल गर्छन्, तिनीहरूले पनि त्यही विषयमा छलफल गर्छन्। पूरै प्रचलनबाट बाहिर परिने डरले, पछि पर्ने र हेयको नजरले हेरिने डरले, तिनीहरूले धेरै नजिकबाट पछ्याउँछन्। तिनीहरू भीडमा एक उत्कृष्ट र असाधारण व्यक्ति बन्न चाहन्छन्, र सामान्य, साधारण व्यक्ति बन्न पटक्कै इच्छुक हुँदैनन्। कतिपय मानिसहरू औसत क्षमताका भए पनि, तिनीहरूमा कुनै सामर्थ्य वा प्रतिभा नभए पनि, र तिनीहरूका जन्मजात अवस्थाहरू हरहिसाबमा अत्यन्तै साधारण र सामान्य भए पनि, तिनीहरू साधारण व्यक्ति हुन, एक नाम नचलेको व्यक्ति हुन अनिच्छुक हुन्छन्। बरु, तिनीहरू आफूलाई धेरै उच्च र शानदार देखाउन सिँगारिन्छन्, वा आफूलाई कुनै नाम नचलेको व्यक्तिका रूपमा नभई धेरै असामान्य व्यक्तिका रूपमा वर्णन गर्छन्। कतिले त महान् व्यक्तित्वहरू, सक्षम र योग्य मानिसहरू, र उत्कृष्ट सीप भएकाहरूको नक्कल गर्नसमेत कडा मेहनत गर्छन्। तिनीहरूले यी मानिसहरूले के गर्छन्, भन्छन्, र छलफल गर्छन् भनी हेर्छन्, र तिनीहरूको नक्कल गर्छन्, तिनीहरूजस्तै असाधारण महान् व्यक्तित्व बन्ने, र उप्रान्त साधारण, सामान्य मानिस नरहने प्रयास गर्छन्। त्यसकारण, जब हामी देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकतामा सङ्गति गर्छौँ, तब कतिपय मानिसहरूले अनिवार्य रूपमै यस्तो सोच्छन्: “मानिसहरूले आफूलाई अरूभन्दा निकै फरक, निकै असाधारण र महान् ठानी जोडदार रूपमा आफ्नो प्रशंसा गर्ने, आफूलाई राम्रो देखाउने, र फाइँफुट्टी लगाउने गर्छन्, तर तपाईँ त आफूलाई सधैँ निकै सामान्य र व्यावहारिकभनेर वर्णन गर्नुहुन्छ। के यो अलिकति अनुचित भएन र? के यो अलिकति मूर्खतापूर्ण भएन र? तपाईँ देहधारी ख्रीष्ट हुनुहुन्छ, तपाईँको यस्तो उच्च पहिचान छ, र तपाईँको शिरमा यति ठूलो प्रभामण्डल र यति ठूलो मुकुट छ। तपाईँले आफूलाई एक साधारण, सामान्य, र व्यावहारिक व्यक्तिका रूपमा कसरी वर्णन गर्न सक्नुहुन्छ? अनि, मानिसहरूले विश्वास गर्दैनन् कि भन्ने डरले, तपाईँ आफू कति सामान्य, व्यावहारिक, र साधारण छु भनी प्रमाणित गर्न धेरै उदाहरणहरू पनि दिनुहुन्छ। यो स्वाभाविक रूपमा केही अचम्मलाग्दो छ।” यो कुरा मानवीय धारणाहरू अनुरूप नभए पनि, वास्तवमा तथ्यहरू यिनै हुन्। देहधारी परमेश्वरको सामान्यता, व्यावहारिकता, र साधारणपनका विशेष प्रकटीकरणहरू यस्तै छन्; यो एक तथ्य हो, म यसलाई मनगढन्ते बनाउन सक्दिनँ। कतिपय मानिसहरूले भन्छन्: “मानिसहरूलाई तपाईँ अरूभन्दा फरक र असाधारण हुनुहुन्छ र तपाईँको पहिचान र छवि निकै उच्च र प्रभावशाली छ भन्ने महसुस गराउन तपाईँले कम्तीमा केही उदाहरणहरू उल्लेख गर्नु पर्दैन?” तिमीहरूलाई निराश तुल्याएकोमा म दुःखी छु, तर साँच्चै त्यस्ता कुनै उदाहरणहरू छैनन्। वास्तवमा, मैले जीवनमा र काममा आफूलाई आचरणमा ढाल्ने र कार्य गर्ने तरिकाहरूबारे मेरा वर्णनहरू नै देहधारी परमेश्वरका साँचो प्रकटीकरणहरू हुन्; यो त्यति नै वस्तुगत छ। यो सबै वास्तवमा यस्तै हो; मानिसहरूलाई म अरूभन्दा फरक, असाधारण, महान्, वा उच्च, प्रभावशाली छवि भएको देखाउनका लागि कुनै उदाहरणहरू छैनन्। कतिपय मानिसहरूले भन्छन्, “के तपाईँले कुनै मनगढन्ते कुरा बनाउन सक्नुहुन्न र? त्यसले मानिसहरूको हृदयमा राम्रो छाप छोड्नेथियो, र तिनीहरूलाई निराश तुल्याउनेथिएन। तपाईँ आफूलाई निकै सामान्य र व्यावहारिक, एक साधारण व्यक्तिका रूपमा मात्रै वर्णन गर्नुहुन्छ; तपाईँको छवि पटक्कै उच्च छैन! अझै पनि तपाईँलाई कसले आदर्श मान्नेछ र आदरभावले हेर्नेछ? यदि मानिसहरूले तपाईँलाई आदरभावले हेर्दैनन् वा आदर्श मान्दैनन् भने, के तिनीहरूले अझै पनि आफ्नो हृदयमा तपाईँका लागि ठाउँ राख्न सक्छन्?” म त भन्छु, म साँच्चै यो कुरा खोज्दिनँ। यदि तँ मलाई आदरभावले हेर्दैनस् वा आदर्श मान्दैनस् भने पनि ठीकै छ; म त्यो कुरालाई निकै सहज रूपमा लिन्छु। कतिपय मानिसहरूले भन्छन्, “यदि मानिसहरूले तपाईँलाई आदरभावले हेर्दैनन् वा आदर्श मान्दैनन् भने, के त्यसलाई पनि परमेश्वरलाई पछ्याएको भनिन्छ र?” तैँले मलाई आदरभावले हेर्छस् कि हेर्दैनस् वा आदर्श मान्छस् कि मान्दैनस् भन्ने कुराहरू महत्त्वपूर्ण होइनन्; मलाई साँच्चै तिनको वास्ता छैन। यदि तैँले मलाई आदरभावले हेर्दैनस् वा आदर्श मान्दैनस्, तर तैँले मैले भनेको हरेक वचन, मैले सङ्गति गरेको सत्यताको हरेक पक्षलाई आफ्नो हृदयले मनन गर्न सक्छस्, तिनलाई परमेश्वरका वचनका रूपमा स्वीकार गर्न सक्छस्, र यी वचनहरूका आधारमा आफूलाई आचरणमा ढाल्न, कार्य गर्न, र मानिस र कामकुराहरूलाई हेर्न सक्छस् भने, त्यो नै पर्याप्त छ—मेरा वचनहरू व्यर्थमा बोलिएका हुनेछैनन्। मानौँ तैँले मलाई आदरभावले हेर्दैनस् वा आदर्श मान्दैनस्, तर मैले बोल्ने वचनहरू र मैले प्रचार गर्ने प्रवचनहरूले तँलाई परमेश्वरसामु ल्याउँछन्, तँलाई सत्यता कसरी पछ्याउने भनी जान्न सक्षम तुल्याउँछन्, हरेक मामिलाको सामना गर्दा सत्यता सिद्धान्तहरूअनुसार कसरी कार्य गर्ने भनी जान्न सक्षम तुल्याउँछन्, आफूलाई कसरी आचरणमा ढाल्ने र कार्य गर्ने भनी सिक्न, एक सृजित प्राणीको कर्तव्य कसरी पूरा गर्ने भनी सिक्न, परमेश्वरप्रति कसरी बफादार हुने र मानकअनुरूप हुने तरिकाले आफ्नो कर्तव्य कसरी पूरा गर्ने भनी जान्न, कसरी परमेश्वरमा समर्पित हुने, परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने भनी जान्न, र अन्ततः तँलाई आफ्ना भ्रष्ट स्वभावहरू फाल्न र परमेश्वरद्वारा प्राप्त गरिन सक्षम तुल्याउँछन्। त्यसो हुँदा मेरा वचनहरू व्यर्थमा बोलिएका हुनेछैनन्, र तिनको उद्देश्य हासिल भएको हुनेछ। मेरो हकमा, यदि तिमीहरू मलाई सही तरिकाले व्यवहार गर्न सक्छौ, मलाई सिद्धान्तहरूअनुसार निष्पक्ष र उचित रूपमा व्यवहार गर्न सक्छौ भने, त्यो नै पर्याप्त हुन्छ। तिमीहरूप्रतिका मेरा मागहरू उच्च छैनन्। मैले पहिले हाम्रो अन्तरक्रियाका लागि तीन सिद्धान्तहरू उल्लेख गरेको छु: ख्रीष्टसँग स्पष्टवादी हुनु, उहाँलाई आदर गर्नु, र उहाँका वचनहरू पालन गर्नु। यदि तिमीहरूले यी तीन सिद्धान्तहरूअनुसार अभ्यास गर्न सक्छौ भने, त्यो नै पर्याप्त हुन्छ। मलाई मानिसहरूले आदर्श मान्न आवश्यक छैन, न त मलाई मानिसहरूको प्रशंसा वा उच्च सम्मान नै आवश्यक छ। मानिसहरूले आफ्नो हृदयमा मेरो छवि राख्न आवश्यक छैन। मलाई यी कुराहरूमा रुचि छैन। धेरै मानिसहरूले विशेष गरी उच्च छवि भएका, अरूभन्दा फरक, असाधारण रूपमा सक्षम, र उत्कृष्ट व्यक्तित्वहरूलाई आदर्श मान्छन्, र देहधारी परमेश्वर एक सामान्य, व्यावहारिक, र साधारण मानिसको पुत्र हुन सक्नुहुन्न भनी विश्वास गर्छन्। जसले मलाई कहिल्यै भेटेका छैनन्, तिनीहरूले स्वाभाविक रूपमै मेरो छवि साधारण मानिसहरूको भन्दा उच्च, विशेष गरी प्रभावशाली छ भन्ने अनुमान गर्छन्। तैँले पटक्कै यसरी सोच्नु हुँदैन। म पटक्कै प्रभावशाली छैनँ; म कदमा निकै सानो र उचाइमा होचो छु। दैनिक जीवनमा, मेरा बोलीवचन र कार्यहरू निकै सामान्य र व्यावहारिक हुन्छन्। मेरो दैनिक जीवनका सबै पक्ष—मेरो लुगा लगाउने तरिका, मेरा लुगाफाटा, खानपान, आवास, र यातायात—निकै साधारण छन्। म कहिल्यै अनुपम हुन खोज्दिनँ, न त म कहिल्यै अद्वितीय हुन नै खोज्छु। म केवल नियमअनुसार कामकुरा गर्न, आफ्नो स्थानअनुसार आफूलाई आचरणमा ढाल्न, आफ्नो काम राम्ररी गर्न, आफ्नो सेवकाइ पूरा गर्न, र भन्नुपर्ने कुराहरू स्पष्ट र विस्तृत रूपमा भन्न मात्रै खोज्छु। आफूलाई आचरणमा ढाल्ने र व्यवहार गर्ने मेरा सिद्धान्तहरू यिनै हुन्। मसँग अरूभन्दा फरक हुने, असाधारण र महान् हुने मानवीय पछ्याइ छैन, न त म कहिल्यै भीडमा एकै नजरमा चिनिन नै खोज्छु। यदि तैँले मलाई भीडमा चिनिनस् भने पनि, म पटक्कै दुःखी वा निराश हुनेछैन, न त मैले कहिल्यै आफ्नो इज्जत गएको महसुस गर्नेछु, र अवश्य पनि, म तैँले मलाई चिढ्याइरहेको छस् भनेर पक्कै भन्नेछैन।
जब म बोल्छु र काम गर्छु र तिमीहरूसँग सम्पर्कमा हुन्छु, तब मैले सत्यताको कुनै पनि पक्षमा सङ्गति गरिरहेको भए पनि, वा कुनै पनि पक्षका समस्याहरू समाधान गर्न सङ्गति गरिरहेको भए पनि, वा केवल दैनिक मामलाहरूबारे कुराकानी गरिरहेको वा कुनै विषयमा कुरा गरिरहेको भए पनि, म सधैँ तिमीहरूलाई मेरो कुरा बुझाउने प्रयास गर्छु, र मैले जेसुकैको बारेमा कुरा गरे पनि, म मानिसहरूलाई फाइदा होस् भनेर त्यसो गर्छु। अवश्य पनि, यदि त्यो सङ्गति सत्यतासँग सम्बन्धित समस्याहरूबारे हो भने, त्यसले मानिसहरूलाई सत्यता अभ्यास गर्ने सिद्धान्तहरू प्राप्त गर्न र ती समस्याहरू समाधान गर्ने मार्गहरू पत्ता लगाउन सक्षम तुल्याउन झनै जरुरी हुन्छ। यदि यो केवल दैनिक मामिलाहरूसम्बन्धी कुराकानी हो भने, त्यो झनै सामान्य कुरा हो, किनभने यो सामान्य मानवताको एउटा आवश्यकता हो। सामान्य मानवताको यो आवश्यकताले केलाई जनाउँछ? यसको अर्थ के हो भने, कहिलेकाहीँ मानिसहरूले आफ्नो दैनिक जीवनमा देखेका र सुनेका कुराहरू बताउन र बाँड्न आवश्यक हुन्छ। दैनिक मामलाबारे कुरा गर्नु, गफ गर्नु, र अरूसँग कुरा बाँड्नु सबै नै सामान्य मानवताको विवेक र चेतनाका आवश्यकताहरू हुन्। मेरो हकमा भन्दा, कुराहरू बाँड्नु भनेको बढीजसो तँलाई यो संसार, यो समाज, र यो मानवजातिबारे थप बुझ्न मद्दत गर्नु, र यो समाज र यो मानवजातिमाझ हुने केही कुराहरूलाई तैँले कसरी हेर्नुपर्छ, दुष्ट प्रवृत्तिहरूलाई कसरी बुझ्नुपर्छ, विभिन्न कुराहरूलाई कसरी बुझ्नुपर्छ, र विभिन्न प्रकारका मानिसहरूलाई कसरी बुझ्नुपर्छ भन्ने कुरा बताउनु पनि हो। दैनिक मामिलाहरूबारे गफ वा कुराकानी गर्दा पनि, म समय-समयमा, वा संक्षिप्त रूपमा मानिस, घटना, र कामकुराहरूसँग सम्बन्धित केही अत्यावश्यक विषयहरूबारे छलफल गर्नेछु। त्यसैले, जुनसुकै अवसरमा पनि, जब मानिसहरू मेरो सम्पर्कमा हुन्छन्, तब तिनीहरूले म पटक्कै असाधारण नभएको, बरु सामान्य, व्यावहारिक, र साधारण भएको देख्छन्, सुन्छन्, र बुझ्छन्। यस्तो मानवीय स्वरूपमा जिउँदा, मानिसहरूसँग बस्दा मलाई निकै स्वतन्त्र र सहज महसुस हुन्छ। यदि तँलाई मेरा कुनै कार्यहरू असाधारण र अरूका भन्दा फरक छन्, वा मेरो बाहिरी अनुहारका विशेषताहरूको कुनै भाग वा मेरो अन्य कुनै पक्ष अरूका भन्दा फरक वा विशेष गरी असाधारण छ भन्ने लाग्छ भने, यदि तैँले त्यसरी सोच्छस् भने, मलाई धेरै असहज र अप्ठ्यारो महसुस हुनेछ। मलाई मानिसहरूले यस्ता कुरा भनेको साँच्चै मन पर्दैन, र मानिसहरूले मलाई त्यसरी हेरेको पनि साँच्चै मन पर्दैन। विशेष गरी कतिपय मानिसहरूले मलाई पहिलो पटक भेट्दा मलाई नियालेर हेर्छन्, मेरा आँखाको हेराइ, मेरा अनुहारका विशेषताहरू जाँच्छन्, मैले प्रयोग गर्ने हरेक शब्द र मेरो स्वरको लबज ध्यान दिएर सुन्छन्, र म तिनीहरूले कल्पना गरेजस्तै असाधारण र अरूभन्दा फरक छु कि छैनँ भनी हेर्न चाहन्छन्। म त भन्छु, त्यसो गर्न आवश्यक छैन; मलाई नियालेर हेर्न वा छानबिन गर्न आवश्यक छैन। म एक अत्यन्तै साधारण र सामान्य व्यक्ति हुँ। तैँले मसँग अन्तरक्रिया गर्दा, तँ तनावमुक्त, स्वतन्त्र, र सहज हुनुपर्छ। यदि तैँले सधैँ नियालेर हेर्छस् र छानबिन गर्छस् भने, तैँले जति धेरै छानबिन गर्छस्, तँ त्यति नै थकित हुनेछस्, र तँ त्यति नै अन्योलमा पर्नेछस्। यदि तैँले मलाई छानबिन गरिस् र नियालेर हेरिस् भने, मलाई तँप्रति झन्-झन् मन बढी अरुचि र घृणा महसुस हुनेछ। तैँले मलाई जतिसुकै छानबिन गरे पनि, यदि तैँले मैले भनेको कुरा बुझ्दैनस्, मेरा वचनहरूले वास्तवमा केलाई जनाउँछन्, र यहाँ बुझ्नुपर्ने सत्यता सिद्धान्तहरू के हुन् भनी जान्दैनस् भने, तेरो छानबिनको के काम भयो र? तेरो छानबिन झन् घिनलाग्दो हुन्छ। एक पटक, कसैले लामो समयदेखि नियालिरहेको थियो कि अनजानमै देख्यो, मलाई थाहा छैन—तर उसले मेरा आँखामा एउटा चम्किलो बिन्दु छ, र म परमेश्वर हुँ भन्ने देखाउन एकै नजर नै पर्याप्त छ भनेर भन्यो। मैले भनेँ, “तैँले अरू के देखिस्? के तैँले परमेश्वरको आत्मा परेवाजस्तै ममाथि ओर्लनुभएको देखिस्? के तैँले मेरो मुखबाट दुईधारे तरवार निस्केको देखिस्? के तैँले मेरो पूरै शरीर ज्योतिको स्तम्भजस्तो देखिस्? के तैँले मेरो हातमा फलामको डन्डा देखिस्? तैँले मेरा आँखामा एउटा चम्किलो बिन्दु देखेको भन्छस्, तर तैँले भनेको कुरा गलत छ। बाइबलले भन्छ, ‘उहाँका आँखाहरू आगोका ज्वालाजस्ता थिए।’ तेरो बुझाइअनुसार, तैँले परमेश्वरको ईश्वरीय आभा जस्तो कुनै कुरा बोध गर्नका लागि मेरा दुवै आँखाहरू ज्वालाजस्तै बलेको देख्नुपर्थ्यो, तर तैँले एउटा चम्किलो बिन्दु मात्रै देखिस्, त्यसैले त्यसको अर्थ तैँले परमेश्वरको बदनाम गरिरहेको छस्।” ल भन्, यो व्यक्तिले आफैलाई मूर्ख बनाएन र? के यो सानो कदको प्रकटीकरण होइन र? (हो।) म तँलाई भन्छु, तैँले यी कुराहरूलाई नियाल्नु वा छानबिन गर्नु आवश्यक छैन। तँलाई सत्यता वास्तविकतामा प्रवेश गर्न र मुक्तिको मार्गमा लाग्न सक्षम हुनका लागि मैले व्यक्त गरेका यी वचनहरू मात्र सुने पनि पुग्छ। यदि तैँले नियाल्न जिद्दी गरिस् भने, के-कस्ता समस्याहरू उत्पन्न हुनेछन्? कुनै परिणाम नआउने मात्रै होइन, तैँले परमेश्वरलाई अलिकति पनि चिन्न सक्नेछैनस्, र परमेश्वरबारे तेरा धारणाहरू झन्-झन् बलिया हुँदै जानेछन्। देहधारी परमेश्वर उहाँले भन्ने गरेको परमेश्वरको व्यक्तित्व वा परमेश्वरको साँचो शरीर, वा प्रकाशको पुस्तकमा परमेश्वरले अगमवाणी गर्नुभएको परमेश्वरको छवि, वा मानवजातिले विगतका अभिलेखहरूमार्फत देखेको परमेश्वरको छविसँग पटक्कै सम्बन्धित हुनुहुन्न। त्यसैले, तैँले देहधारी परमेश्वरलाई जतिसुकै नियालेर हेरे पनि, उहाँ सधैँ सामान्य र व्यावहारिक, एक साधारण व्यक्ति हुनुहुन्छ; उहाँले तँलाई असाधारण वा अरूको भन्दा फरक पक्ष देखाउनुहुनेछैन। त्यसोभए मैले यी शब्दहरूमार्फत के भन्न खोजेको हुँ त? म तँलाई के मात्रै भनिरहेको छु भने, तैँले देहधारी परमेश्वरलाई नियाल्नु वा छानबिन गर्नु हुँदैन। तैँले परमेश्वरको जति धेरै छानबिन गर्छस्, उहाँ तँबाट त्यति नै टाढा हुनुहुनेछ। यदि तैँले उहाँको छानबिन गर्दैनस्, बरु तँ विशुद्ध रूपमा समर्पित हुन्छस् र सत्यता स्वीकार गर्न सक्षम हुन्छस् भने, पवित्र आत्माले तँलाई अन्तर्दृष्टि र ज्योति दिनुहुनेछ, र तँलाई सत्यता बुझ्न मार्गदर्शन गर्नुहुनेछ। यदि तैँले सधैँ उहाँलाई नियालिस् र छानबिन गरिस् भने, पवित्र आत्माले तँलाई त्याग्नुहुनेछ। पवित्र आत्माले तँलाई त्याग्नुभएपछि, तेरो दृष्टिमा पूरै अँध्यारो छाएझैँ र तैँले केही पनि छुट्याउन नसकेझैँ हुनेछ। तैँले परमेश्वरका वचनहरू पढ्दा बुझ्नेछैनस्; तँलाई कुनै पनि कुरा आइपर्दा, तैँले त्यसलाई छर्लङ्गै देख्न वा के गर्ने भनी जान्न सक्नेछैनस्, र अरूसँग सङ्गति गर्दा, तँलाई कहाँबाट सुरु गर्ने भन्ने थाहा हुनेछैन। तैँले पहिले गर्न सक्ने सबैभन्दा सरल काम गर्दा पनि तँलाई धेरै अप्ठ्यारो महसुस हुनेछ र तँ अलमलमा पर्नेछस्। कामकुराहरू पूर्ण रूपमा बिग्रिने नै त्यही बेलामा हो। के यी राम्रा सङ्केतहरू हुन्? (होइनन्।) त्यसैले, जब यी सङ्केतहरू देखा पर्छन्, तब तँ तुरुन्तै पछाडि फर्कनुपर्छ र तैँले परमेश्वरलाई नियाल्न र छानबिन गर्न छोड्नुपर्छ। अनि यी सङ्केतहरू देखा नपर्दा पनि त्यस्तो काम गर्नु हुँदैन। तैँले किन त्यसो गर्नु हुँदैन? यो मार्गले कहीँ पनि पुऱ्याउँदैन; तैँले लिनुपर्ने मार्ग यो होइन। परमेश्वरलाई पछ्याउँदा तैँले लिनुपर्ने मार्ग भनेको परमेश्वरलाई नियाल्नु, छानबिन गर्नु, वा जाँच गर्नु नभई सत्यतालाई स्विकार्नु र परमेश्वरमा समर्पित हुनु हो। विशेष गरी देहधारी परमेश्वरको हकमा, यदि तैँले उहाँलाई कहिल्यै देखेको छैनस् र तँलाई उहाँ कस्तो देखिनुहुन्छ भनी थाहा छैन भने, पहिलो पटक भेट्दा उहाँलाई ध्यान दिएर आँक्नु सामान्य नै हो। उहाँलाई आँकेपछि, तँमा उहाँको केही छाप पर्छ, र तैँले उहाँको आवाजलाई प्रवचनका रेकर्डिङहरूमा बोलिने आवाजसँग तुलना गर्न सक्छस्, “ए, देहधारी परमेश्वर यस्तो देखिनुहुँदो रहेछ, उहाँको उचाइ यति रहेछ, उहाँले यसरी लुगा लगाउनुहुँदो रहेछ। उहाँ साँच्चै सामान्य, व्यावहारिक, र साधारण हुनुहुँदो रहेछ—परमेश्वरका वचनहरूमा वर्णन गरिएको जस्तै यो सबै साँचो रहेछ।” यति नै पर्याप्त छ; त्यहीँ रोकी। आफ्नो हृदयमा यो मामिलाको छानबिन गर्ने प्रयास गरिरहने नगर्। त्यसपछि, तैँले परमेश्वरले के सङ्गति गरिरहनुभएको छ भनी ध्यान दिएर सुन्नुपर्छ, परमेश्वरले सङ्गति गरिरहनुभएको मामिलामा सत्यताको कुन पक्ष समावेश छ भनी मनन गर्नुपर्छ, त्यसलाई तुरुन्तै लेख्नुपर्छ, त्यसपछि त्यसलाई मनन गर्न आफ्नो हृदय प्रयोग गर्नुपर्छ, र त्यो बुझेपछि, त्यसलाई अभ्यासमा लागु गर्नुपर्छ। ख्रीष्ट—देहधारी परमेश्वर—लाई व्यवहार गर्ने सही तरिका यही हो। मैले जतिसुकै सङ्गति गरे पनि, मैले जुनसुकै विषयवस्तुमा सङ्गति गरे पनि, जब यो देहधारी परमेश्वरसँग सम्बन्धित हुन्छ, तब म उहाँलाई असाधारण, महान्, अद्वितीय, वा अरूभन्दा फरक हुनुसँग जोड्नु वा त्यसरी चिन्नुको सट्टा तिमीहरूलाई परमेश्वरको सामान्यता, व्यावहारिकता, र साधारणपन चिनाउने प्रयास गर्छु। मैले चर्चा गर्ने हरेक मामिला, मैले दिने हरेक उदाहरण देहधारी परमेश्वरको सामान्यता, व्यावहारिकता, र साधारणपनको यो विषयसँग सम्बन्धित हुन्छ। म अरूभन्दा फरक, असाधारण, वा महान् छु, मसँग अगुवाको जस्तो हाउभाउ, महान् व्यक्तिको जस्तो सदाशयता, वा महान् व्यक्तिको जस्तो फराकिलो मन र उचाइ छ भनी तँलाई गलत रूपमा सोच्न लगाउन म बिलकुलै मनगढन्ते कुरा बनाउनेछैन। म तँलाई भन्छु, म “उचाइ” वा “फराकिलो मन” भनेको के हो भनेर कहिल्यै बुझ्दिनँ, न त म ती पक्षहरूबारे मनन गर्छु वा त्यसमा मेरो हृदय लगाउँछु। म के मनन गर्छु त? म तिमीहरूसँग कुन विषयहरूमा सङ्गति गर्दा तिमीहरूलाई सत्यता वास्तविकतामा ल्याउन सकिन्छ, कुन विषयहरूले तिमीहरूलाई झकझकाउन, अगुवाइ गर्न, मद्दत गर्न, र मार्गदर्शन गर्न सक्छ, ताकि तिमीहरूमा कष्ट भोग्ने र मूल्य चुकाउने इच्छा र सङ्कल्प होस्, र तिमीहरू सत्यता पछ्याउन, आफ्नो कर्तव्य राम्ररी पूरा गर्न, र मुक्ति प्राप्त गर्न सक्षम होओ भन्नेबारे मनन गर्छु। म सधैँ कुन विषयहरूमा बोल्ने र कुन प्रवचनहरू प्रचार गर्ने भनी मनन गर्छु, ताकि मानिसहरू मुक्तिको मार्गमा लाग्न सकून्, तिनीहरूले मानकअनुरूप हुने तरिकाले आफ्नो कर्तव्य पूरा गर्न सकून्, र तिनीहरू साँचो सृजित प्राणी बन्न सकून्। मैले जुनसुकै विषयमा बोले पनि, म सधैँ तिमीहरूलाई मानकअनुरूपका सृजित प्राणी बन्न, परमेश्वरमा समर्पित हुन सिक्न, र परमेश्वरको डर मान्ने हृदय विकास गर्न मद्दत गर्ने प्रयास गर्छु। मैले कुन वचनहरू बोलेँ भने तिमीहरूले मलाई आदरभावले हेर्छौ होला, वा कस्ता कामकुरा गरेँ भने तिमीहरूले मेरो प्रशंसा गर्छौ होला, ताकि तिमीहरूलाई हृदयमा म एक प्रसिद्ध वा महान् व्यक्तिजस्तै अगम्य छु भन्ने महसुस होस् भनेर म कहिल्यै मनन गर्दिनँ; मेरो हृदयमा त्यस्ता कुनै पनि कुरा छैन। मैले कसरी बोल्नुपर्छ, मेरो बोल्ने शैली कस्तो हुनुपर्छ, वा मैले कस्तो स्टाइल अपनाउनुपर्छ, जसले तिमीहरूलाई म धेरै उच्च छु भन्ने महसुस गराओस्, तिमीहरूलाई मलाई बुझ्न वा मकहाँ आउन नसक्ने बनाउओस्, र तिमीहरूलाई धेरै तुच्छ र अज्ञानी देखिने बनाओस् भनेर मैले कहिल्यै सोचेको छैन। म हृदयमा यी कुराहरू कहिल्यै सोच्दिनँ, र मेरो आफ्नै हैसियत, छवि, वा पहिचानको रक्षा गर्न कहिल्यै बोल्दिनँ वा काम गर्दिनँ; म केवल पूर्ण हृदयले मेरो सेवकाइ पूरा गर्छु।
म कहिलेकाहीँ थाकेको बेला दाजुभाइ-दिदीबहिनीहरू बस्ने ठाउँतिर हिँडडुल गर्न र यताउति हेर्न जान्छु। कहिलेकाहीँ म तरकारी बारी, सुँगुरहरू, र भेडाहरूलाई हेर्दै खेतबारीतिर पनि डुल्छु। जब म बिरालोको बच्चा देख्छु, तब म त्यसलाई पनि सुमसुम्याउँछु, अँगालो हाल्छु, र त्यससँग कुरा गर्छु। जब म एउटा प्यारो कुकुरको छाउरो देख्छु, तब म त्यसलाई पनि अँगालो हाल्छु। एउटी माउ कुकुरले दश वटाभन्दा बढी छाउराहरू जन्माएकी थिई। ऊ मानिसहरूको अगाडि यति खुसी हुन्थी, मानौँ उसले केही श्रेय कमाएकी छे। मैले उसको प्रशंसा गर्दै भनेँ: “अब तँ आफैसँग खुसी भइस्, होइन र? हेर्, तैँले यति धेरै छाउराहरू जन्माएकी छस्, तैँले साँच्चै ठूलो काम गरिस्, धेरै राम्रो, स्याबास!” मैले त्यसलाई सुमसुम्याएँ र त्यसलाई अँगालो हालेँ। म कुकुरको खोर, खेत र तरकारी बारीहरूमा पनि जान्छु, र वरिपरि सबैतिर हेर्छु; साँच्चै राम्रो लाग्छ। मलाई भन्, के ती महान् व्यक्तित्वहरू यी फोहोरी, गन्हाउने, र भद्रगोल ठाउँहरूमा जान्छन्? जाँदैनन्। विशेष गरी कुकुरको खोर र सुँगुरको खोरजस्ता अप्रिय गन्ध आउने ठाउँहरूमा—धेरैजसो मानिसहरू त्यहाँ जान चाहँदैनन्। मलाई पनि दुर्गन्ध वा अप्रिय गन्धहरू मन पर्दैन, तर कुकुरको छाउरोबाट आउने थोरै गन्ध त सहन सकिन्छ। कहिलेकाहीँ कुकुरका छाउराहरू मेरो शरीरमा घसिन्छन्, मेरो अनुहारमा चुम्बन गर्छन् र चाट्छन्, र म तिनीहरूलाई अँगालो हाल्छु। जनावरहरू धेरै सरल हुन्छन्; तिनीहरू आफ्ना मालिकहरूलाई भरोसा गर्छन् र तिनीहरू सतर्क रहनु पर्दैन, त्यसैले तिनीहरू हृदय सन्तुष्ट हुञ्जेल आफ्ना मालिकहरूसँग खेल्न र अन्तरक्रिया गर्न सक्छन्। तिनीहरूको जीवन त्यति नै सरल हुन्छ। कतिपय मानिसहरू सधैँ आफूलाई कुकुर मन पर्छ, साना जनावरहरू मन पर्छ, र साना जनावरहरूको हेरचाह गर्छु भनेर भन्छन्, तर जब तिनीहरूलाई कुकुरको छाउरोलाई अँगालो हाल्न लगाइन्छ, तब तिनीहरू त्यसो गर्न अनिच्छुक हुन्छन्। तिनीहरू भन्छन्, “कुकुरहरू फोहोरी र गन्हाउने हुन्छन्, र तिनीहरूमा भाइरस पनि हुन सक्छ!” म भन्छु, “तँ कति किचकिचे छस्। के तँलाई साना जनावरहरू मन पर्दैन? यो त तिनीहरूलाई साँच्चै मन पराउनु होइन।” यस्ता मानिसहरू निकै पाखण्डी हुँदैनन् र? (हुन्छन्।) तिनीहरू आफूलाई साधारण मानिस ठान्दैनन्; तिनीहरू आफूलाई कुलीन, प्रतिष्ठित, र महान् व्यक्तित्व ठान्छन्, त्यसैले तिनीहरू मानिसहरूले तुच्छ ठान्ने यी साना जनावरहरूसँग कसरी अन्तरक्रिया गर्न सक्थे र? तिनीहरूले तिनलाई हातले छोए भने पनि, तिनीहरूले तुरुन्तै हात धुनुपर्छ र त्यसलाई कीटाणुरहित बनाउनुपर्छ, र तिनीहरू लुगा समेत फेर्छन्, र घर पुगेपछि, तिनीहरू तुरुन्तै नुहाउँछन्। तिनीहरूले सरसफाइलाई यो हदसम्म लैजान्छन्। मलाई भन्, के यस्ता मानिसहरू अनौठा हुँदैनन् र? यदि तँलाई साँच्चै साना जनावरहरू मन पर्दैन भने, नाटक नगर्। मानिसहरूले तैँले नाटक गरिरहेको देख्नेबित्तिकै, तिनीहरूले तँ निकै पाखण्डी र जाली रहेछस् भन्ने थाहा पाउँछन्, तँलाई देख्दा तिनीहरूलाई वाकवाकी लाग्छ, र तिनीहरूले तँबारे नराम्रो धारणा बनाउँछन्। यदि तँलाई जनावरहरू मन पर्दैन भने, पटक्कै नाटक नगर् वा आफूलाई राम्रो देखाउने प्रयास नगर्। तैँले जति धेरै आफूलाई राम्रो देखाउने प्रयास गर्छस्, मानिसहरूले तँलाई त्यति नै कुरूप र नीच ठान्नेछन्। इमानदार र सच्चा हुनु योभन्दा निकै राम्रो कुरा हो। यदि तँ इमानदार र सच्चा हुन सक्दैनस् भने, यसले तेरो मानवतामा समस्या छ भन्ने प्रमाणित गर्छ। जेसुकै भए पनि, देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकता एउटा तथ्य हो, र उहाँको साधारणपन पनि एउटा तथ्य नै हो। धेरै मानिसहरूले उहाँसँग सम्पर्कमा रहेर यी कुराहरू देखेका छन् र यी तथ्यहरू हुन् भन्ने जानेका छन्। यी तिमीहरूले सबैभन्दा बढी बुझ्नुपर्ने र जान्नुपर्ने तथ्यहरू हुन्। यस्तो साधारण, सामान्य व्यक्ति देहधारी परमेश्वर हुनुहुन्छ, र यो कुरा मानिसहरूका धारणाहरूको विपरीत हुन्छ। यदि उहाँले ठूलो वा सानो जस्तोसुकै कामकुरा गर्नुभए पनि आफू अरूभन्दा फरक छु भनेर आडम्बर देखाउँदै, र आफूलाई अलग देखाउने प्रयास गर्दै भ्रष्ट मानवजातिले जस्तै व्यवहार गर्नुभएको भए, त्यो सायद मानिसहरूका धारणाहरूअनुरूप हुनेथियो। एकातिर भ्रष्ट मानवजातिका विभिन्न प्रकटीकरण छन्, र अर्कोतिर देहधारी परमेश्वर हुनुहुन्छ, जसले यति धेरै सत्यता व्यक्त गर्नुभए तापनि, अझै पनि एक साधारण व्यक्तिजत्तिकै सामान्य देखिने प्रकटीकरणहरू देखाउनुहुन्छ—यीमध्ये कुन प्रकारका प्रकटीकरणहरू मानिसहरूलाई फाइदा पुर्याउने सकारात्मक कुरा हुन्? कुनचाहिँ मानिसहरूले घृणा गर्ने र इन्कार गर्ने नकारात्मक कुरा हो? के तिमीहरू अब यसलाई केही हदसम्म खुट्ट्याउन सक्छौ? (सक्छौँ।) त्यसोभए हामी थप विवरणमा प्रवेश गर्न आवश्यक छैन; हामी पछिल्लो पटकको विषयलाई निरन्तरता दिऔँ।
पछिल्लोपटक, हामीले देहधारी परमेश्वरबारेका धारणा र कल्पनाहरू त्याग्नेसम्बन्धी अर्को विषयमा सङ्गति गरेका थियौँ: देहधारी परमेश्वरलाई भ्रष्ट मानवजातिको बराबरीमा राखेर उल्लेख नगर्नु भन्ने बारेमा, होइन र? (हो।) यस विषयमा, मैले देहधारी परमेश्वर उहाँको मानवताको दृष्टिकोणबाट आफूलाई कसरी आचरणमा ढाल्नुहुन्छ र कार्य गर्नुहुन्छ भन्नेबारे उहाँका केही निश्चित प्रकटीकरण, साथै उहाँको स्वभाव सारका केही प्रकटीकरण—छल नगर्नु, प्रतिस्पर्धा नगर्नु, सङ्घर्ष नगर्नु, दाउपेच नगर्नु, अरूलाई नहोच्याउनु, प्रतिकार नगर्नु, नलोभ्याउनु आदि—लाई सूचीकृत गरेको थिएँ। यीमध्ये, हामीले पछिल्लोपटक छल नगर्नु, प्रतिस्पर्धा नगर्नु, र सङ्घर्ष नगर्नु भन्ने बारेमा अलिकति सङ्गति गर्यौँ। यसपटक हामीले कुन प्रकटीकरणका बारेमा सङ्गति गर्नुपर्छ? (दाउपेच नगर्नु।) छल नगर्नु, प्रतिस्पर्धा नगर्नु, र सङ्घर्ष नगर्नुजस्तै, दाउपेच नगर्नु पनि एउटा सिद्धान्त हो जसद्वारा देहधारी परमेश्वरले, यस साधारण व्यक्तिले आफूलाई आचरणमा ढाल्नुहुन्छ र कार्य गर्नुहुन्छ। यस सिद्धान्तमा अवश्यै उहाँको मानवता सार र उहाँको स्वभाव पनि समावेश हुन्छ। दाउपेच नगर्नु पनि देहधारी परमेश्वर, यस साधारण व्यक्तिको स्वभाव सारको एक निश्चित प्रकटीकरण, वा आत्म-आचरणको एउटा पक्ष हो। के “दाउपेच नगर्नु” भन्ने वाक्यांश बुझ्न सजिलो छ? के तिमीहरू सबैले यो बुझ्यौ? (बुझ्यौँ।) दाउपेच नगर्नुको सबैभन्दा आधारभूत बुझाइ भनेको षड्यन्त्र नगर्नु, र जुक्ति वा धूर्त दाउपेचहरूको सहारा नलिनु हो। अर्थात्, जब म तिमीहरूसँग सम्पर्कमा आउँछु र तिमीहरूसँग संलग्न हुन्छु, तब चाहे काममा होस् वा दैनिक जीवनमा होस्, म सधैँ इमानदार र सच्चा हुन्छु। म जुक्तिहरूको सहारा लिन्नँ, धूर्त दाउपेचहरूमा संलग्न हुन्नँ, वा षड्यन्त्र गर्दिनँ। बरु, म साँचो बोल्छु, मेरो हृदयमा जे छ त्यही भन्छु र तिमीहरूलाई जस्ताको त्यस्तै कुराहरू बताउँछु। म तिमीहरूविरुद्ध दाउपेच गर्दिनँ वा तिमीहरूलाई छल गर्दिनँ। म तिमीहरूको भरोसा जित्न मिठामिठा कुराहरू प्रयोग गरेर तिमीहरूलाई आफूलाई समर्पित गर्न, कष्ट भोग्न, र मूल्य चुकाउन इच्छुक बनाउनेछैन। के तिमीहरूले मैले यस्ता कामहरू गरेको देखेका छौ? (छैनौँ।) जब म तिमीहरूलाई सोध्छु, तिमीहरूले पक्कै पनि अहँ भनेर भन्नेछौ, तर के तिमीहरू यस कुरालाई चित्रण गर्न एउटा उदाहरण दिन सक्छौ? यदि तिमीहरूमध्ये प्रत्येकले एउटा उदाहरण दिन सक्यौ भने, यो तथ्य अकाट्य रूपमा प्रमाणित हुनेछ, र तिमीहरूसँग साँच्चै यो कुरा—दाउपेच नगर्नु भन्ने बारेमा केही बुझाइ हुनेछ। उदाहरणका लागि, कसैले संसारमा आफूले केही सीप सिकेको र एउटा निश्चित पेसा बुझेको छु भनेर भन्छ। संयोगवश परमेश्वरको घरमा उसले सिकेको यस पेसासँग सम्बन्धित काम वा कार्य हुन्छ। म ऊसँग कुरा गर्छु, र उसलाई भन्छु, “तैँले यस पेसाबारे अलिअलि बुझेको रहेछस्, र संयोगवश परमेश्वरको घरसँग यस क्षेत्रमा काम छ। के तँ आफ्नो पेसागत ज्ञानका आधारमा र तेरो क्षेत्रका नियम वा सिद्धान्तहरूअनुसार यो काम राम्ररी गर्न सक्छस्? यदि तँ इच्छुक छस् भने, यो काम तेरो हो।” के यसमा कुनै दाउपेचपूर्ण वा शोषणकारी शब्दहरू छन्? के यसमा षड्यन्त्र लुकाउने कुनै शब्दहरू छन्? (छैनन्।) के तिमीहरू छैनन् भन्ने कुरामा निश्चित छौ? (छौँ।) तैँले आफैलाई सिफारिस गरिस् र यो पेसा बुझेको छस् भनेर आफ्नो परिचय दिइस्, र मैले तेरो अवस्थाबारे थाहा पाएँ, त्यसकारण मैले यो काम तँलाई सुम्पेँ। यदि तँ यो काम गर्न इच्छुक छस्, र “म यो परमेश्वरबाट आएको भनेर स्वीकार गर्छु; म यो काम, यो कर्तव्य लिन्छु” भनेर भन्छस्, अर्थात्, तैँले यो काम स्वेच्छाले गरिरहेको छस् भने, तैँले यो राम्ररी गर्नुपर्छ। यदि तँ इच्छुक छैनस् भने, तैँले मेरो अगाडि नै यो कर्तव्य पूरा गर्न चाहँदैनस् भनी भन्न सक्छस्। के म तँलाई जबरजस्ती गर्थेँ र? (अहँ।) मानिसहरूलाई व्यवहार गर्ने मेरो सिद्धान्तअनुसार, म तँलाई जबरजस्ती गर्नेछैनँ। म कुनै पनि हालतमा घोडालाई पानी पिउन जबरजस्ती गर्नेछैनँ, र तँलाई मेरो व्यक्तिगत इच्छाअनुसार काम गर्न बाध्य पार्नेछैनँ। म तँलाई तैँले गर्न नचाहे पनि कामकुरा गर्न लगाउनेछैनँ, वा मसँग यो पहिचान भएकाले, मेरा वचनहरूमा वजन हुनैपर्छ, वा ती कुनै सम्राटको जस्तै निश्चित र अपरिवर्तनीय हुनैपर्छ भनेजस्तो व्यवहार गर्नेछैनँ। म मानिसहरूलाई सहनशीलताका साथ व्यवहार गर्छु; म तँलाई आफैँ छनौट गर्ने स्वतन्त्रता दिन्छु। म सधैँ परमेश्वरको घरको कामका आवश्यकताहरूका आधारमा कामको प्रबन्ध गर्छु। यदि त्यस क्षेत्रमा अनुभव भएका वा त्यस क्षेत्रमा जानकार व्यक्तिहरू छन् जो उक्त काम गर्न इच्छुक छन् र त्यसलाई अझ राम्रोसँग गर्न सक्छन् भने, त्यो पक्कै पनि निकै राम्रो कुरा हो। यदि कसैले त्यो बुझ्दैन भने, हामीसँग भएको क्षमताले, हामी जति सक्छौँ त्यति गर्छौँ, जुन हदसम्म सक्छौँ त्यही हदसम्म गर्छौँ। मेरो सिद्धान्त यही हो। यदि तँलाई कुनै निश्चित काम गर्न खटाइयो, तर तैँले “म यो काम गर्न चाहन्नँ। मलाई मानिसहरूद्वारा शोषित हुन वा परमेश्वरको घरद्वारा निर्देशित हुन मन पर्दैन; म आफ्नै छनौटहरू गर्छु” भनेर भनिस् भने ठिकै छ, परमेश्वरको घरले तँलाई प्रयोग गर्नेछैन। आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको मानिसले खुसीसाथ र इच्छाले गर्ने कुरा हो। मानिसहरू परमेश्वरमा विश्वास गरेपछि आफ्नो कर्तव्य पूरा गर्न इच्छुक हुँदा मात्रै मण्डलीले तिनीहरूका लागि कामको प्रबन्ध गर्न सक्छ। यदि तँ आफ्नो कर्तव्य पूरा गर्न इच्छुक छैनस् भने, परमेश्वरको घरले तँलाई जबरजस्ती गर्नेछैन, र झन् मैले आफ्नो पहिचान वा हैसियत प्रयोग गरेर तँलाई मण्डलीको काम गर्न बाध्य पार्नु त परै जाओस्। परमेश्वरका चुनिएका मानिसहरूले पूर्ण रूपमा सत्यता बुझेर नै आफ्नो कर्तव्य निर्वाह गर्ने र काम गर्ने गर्छन्। जब मानिसहरूले सत्यता बुझ्दैनन्, तब परमेश्वरको घरले तिनीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्न जबरजस्ती गर्नेछैन वा माग गर्नेछैन, र झन् मैले मानिसहरूलाई पूर्ण रूपमा मेरो इच्छाअनुसार कार्य गर्न लगाउनु त परको कुरा हो। त्यसैले, यदि म तँलाई केही काम गर्न लगाउन चाहन्छु भने, म त्यो सिधै भन्नेछु। म बिलकुलै जुक्तिहरूको सहारा लिनेछैनँ, वा अप्रत्यक्ष सङ्केत दिनेछैनँ, वा आफ्नो तात्पर्य बुझ्न लगाउनका लागि छद्म भाषा प्रयोग गर्नेछैनँ। म त्यसो गर्नेछैनँ। यदि तँसँग परमेश्वरको घरका लागि केही काम गर्ने कद र बोझको बोध छ भने, म तँलाई सिधै सोध्नेछु, “के तँ यो काम लिन इच्छुक छस्?” वा म अझ सिधै भन्नेछु, “यो काम लिइहाल्।” म सिधै बोल्छु, सबै कुरा सरल भाषामा बोल्छु। तँ मानिस होस् भने, बुझ्न सकिहाल्छस्। तैँले मेरा वचनहरूको वास्तविक अर्थ के हो वा मैले किन त्यसो भनेँ भनी सोच्न र पत्ता लगाउन आफ्नो दिमाग खियाइरहनु पर्दैन। म तँलाई मेरा वचनहरूको अर्थ पत्ता लगाउन दिमाग खियाउन लगाउनेछैनँ; म तँलाई सिधै भन्नेछु। मेरा वचनहरूको शाब्दिक अर्थ जे हो, कुरा त्यही हो। यसबाहेक, म तँलाई किन यो काम गर्न लगाउँछु? किनभने तँ परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह गरिरहेको व्यक्ति होस्, र तँ परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्न इच्छुक छस्। त्यसोभए, परमेश्वरको घरको जुन काममा तैँले आफ्नो भूमिका निर्वाह गर्न आवश्यक हुन्छ, त्यो कामको जिम्मा लिने दायित्व तेरो हो। मैले तँलाई जुनसुकै काम वा जुनसुकै कार्यहरू सुम्पे पनि, मैले तँलाई परमेश्वरमा विश्वास गर्ने व्यक्तिका रूपमा हेर्ने हुनाले म तँलाई ती पूर्ण रूपमा सुम्पन्छु। तैँले तिनलाई आफ्नो जिम्मेवारी, दायित्व, र कर्तव्यका रूपमा स्वीकार गर्नुपर्छ; त्यसो गर्नु सही हो। चाहे तँलाई काम सुम्पनु होस् वा कार्यहरू दिनु होस्, यो सबै तैँले सृजित प्राणीको कर्तव्य पूरा गर्न सकोस् भनेर हो, र साथै तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता खोजोस् र सत्यता प्राप्त गरोस् भनेर पनि हो। यहाँ कुनै लेनदेनको सम्बन्ध छैन, न त म तँलाई फकाइरहेको वा छल गरिरहेको नै हुन्छु। बोलिएका यी सबै वचन र दिइएका कार्यहरू सकारात्मक र खुला हुन्छन्; कुनै गोप्य कुराहरू हुँदैनन्। तीसँग पैसा, भौतिक वस्तुहरू, वा स्वार्थको कुनै सम्बन्ध हुँदैन, न त शोषण गर्ने वा शोषित हुने कुराको नै कुनै सम्बन्ध हुन्छ। यो परमेश्वरको घरले नाफा कमाउनका लागि तेरो सामर्थ्य, सीप, वा पेसागत ज्ञान प्रयोग गर्ने मामला बिलकुलै होइन; परमेश्वरको घरले त्यसो कहिल्यै गर्नेछैन। आफ्नो कर्तव्य निर्वाह गर्ने कार्य पूर्ण रूपमा तत्परता र इच्छुकताबाट आउँछ; परमेश्वरको घरले कहिल्यै कसैलाई जबरजस्ती गर्दैन। तैँले यो कर्तव्य स्वीकार गर्नु भनेको तैँले सृजित प्राणीका रूपमा गर्नुपर्ने कुरा हो। यो कर्तव्य निर्वाह गर्नु भनेको तैँले परमेश्वरको काम अनुभव गर्ने र मुक्ति प्राप्त गर्ने मार्ग पनि हो। तैँले आफ्नो कर्तव्य निर्वाह गरेर परमेश्वरमा समर्पित हुन सिक्छस्, सत्यता प्राप्त गर्छस्, र यसरी परमेश्वरको स्वीकृति, सम्झना, र मान्यता प्राप्त गर्छस्। तैँले अर्पित गरेको कुराबाट तैँले पाउनुपर्ने फल यही हो। त्यसकारण, तैँले यो कामलाई कुनै शङ्का वा सन्देहविना आफ्नो कर्तव्यका रूपमा स्वीकार गर्नुपर्छ। म तँलाई जे गर्न लगाउन चाहन्छु, तँलाई त्यो साँचो रूपमा भन्नेछु। मलाई सरल रूपमा बोल्न मन पर्छ। मैले तँलाई तीन वर्षको बच्चालाई जस्तो फकाउनु, सिधा कुरा नगर्नु, घुमाउरो कुरा गर्नु, र तँलाई राम्रा कुराहरू भन्नु आवश्यक छैन। म त्यसो गर्नेछैनँ। यदि तँ गाउन वा नाच्न सक्छस्, र तँमा यी जन्मजात अवस्थाहरू छन् भने, जब तँलाई यो कर्तव्य गर्ने प्रबन्ध मिलाइन्छ, तब तैँले यसलाई स्वीकार गर्नुपर्छ। यदि तँ, “मेरो जन्मजात अवस्थाका आधारमा, म यो कर्तव्यका लागि त्यति योग्य छैनँ। के मैले यो कर्तव्य निर्वाह नगर्दा हुन्छ?” भनेर भन्छस् भने, त्यो ठिकै हुन्छ। यो तेरो स्वतन्त्रता हो; म तँलाई जबरजस्ती गर्नेछैनँ।
मैले जे भने पनि वा तिमीहरूलाई जे गर्न लगाए पनि, त्यसमा कुनै दाउपेच समावेश हुँदैन। जब म अगुवा र कामदारहरूसँग कुरा गर्छु, तब म तिनीहरूलाई सोध्छु, “आजभोलि मण्डली जीवन कस्तो छ? नयाँ विश्वासीहरूले मण्डली जीवन जिउन थालेका छन्—तिनीहरूमा अझै के-कस्ता समस्याहरू छन्? के ती समाधान भएका छन्? परमेश्वरको घरका चलचित्र वा अनुभवात्मक गवाहीहरू हेरेपछि तिनीहरूका विचारहरू कस्ता हुन्छन्?” कतिपय अगुवा र कामदार जवाफ दिन सक्दैनन्। तिनीहरू मनमनै सोच्छन्, “के तपाईँले मलाई छक्क्याएर मेरो वास्तविक अवस्था प्रकट गराउन खोज्नुभएको हो? के तपाईँले मैले कुनै वास्तविक काम गरेको छु कि छैनँ भनेर जाँचिरहनुभएको हो? मैले होसियारीसाथ जवाफ दिनैपर्छ र म लापरवाह हुनु हुँदैन! राम्ररी गरिएको कामका बारेमा म कुरा गर्न सक्छु, तर यदि कुनै काम गरिएको छैन वा राम्ररी गरिएको छैन भने, मैले त्यो पटक्कै उल्लेख गर्नु हुँदैन। मैले उल्लेख गर्नेबित्तिकै, त्यसले समस्या खुलासा गर्नेछ!” त्यसैले, जब तिनीहरू आफ्नो कामका बारेमा रिपोर्ट गर्छन्, तब तिनीहरू सधैँ एउटा थप शब्द बोल्न अनिच्छुक हुन्छन्, र समस्याहरू खुलासा हुन्छन् भनेर धेरै डराउँछन्। यस्ता मानिसहरूको मन जटिल हुन्छ। जब म तिनीहरूलाई केही सोध्छु, तब शब्दहरू वास्तवमा तिनीहरूको मुखैमा हुन्छन्, तर तिनीहरू ती तिधै भन्दैनन्। तिनीहरूले मनमा सोच्नुपर्छ र त्यसलाई विश्लेषण गर्नुपर्छ, “तपाईँ किन यो सोध्दै हुनुहुन्छ? म कसरी उचित रूपमा जवाफ दिन सक्छु ताकि एकातिर, तपाईँले वास्तविक अवस्था थाहा पाउनुहुनेछैन, र अर्कोतिर, तपाईँ सन्तुष्ट हुनुहुनेछ?” वास्तवमा, म आफूले बोल्ने एउटै शब्दलाई पनि मानसिक रूपमा छान्दिनँ। प्रश्नहरू सोध्दा मेरो स्थिति कस्तो हुन्छ? जब म कसैलाई देख्छु र ऊ कुन कामका लागि जिम्मेवार छ भन्ने थाहा पाउँछु, तब म तुरुन्तै उसले कुन-कुन निश्चित कार्यहरू गर्न सक्छ, उसले आफ्नो काममा कस्ता समस्याहरू सामना गर्न सक्छ, र उसले कस्ता कठिनाइहरू सामना गर्न सक्छ भन्नेबारे सोच्छु। यी कुराहरू सोचेर, म उसलाई सिधै सोध्छु, “आजभोलि तैँले जिम्मेवारी लिएका मण्डलीहरूको मण्डली जीवन कस्तो छ? के मण्डली अगुवा र डिकनहरू सबै उपयुक्त छन्? के दाजुभाइ-दिदीबहिनीहरूले परमेश्वरका वचनहरू कसरी खाने र पिउने भनेर जानेका छन्? के तिनीहरूमध्ये धेरैजसो आत्मिक भक्तिमा संलग्न हुन्छन्? के तिनीहरू आफ्नो फुर्सदको समयमा भजन र नृत्यहरू सिक्छन्? सुसमाचारको काम कसरी अघि बढिरहेको छ?” मैले सोध्ने हरेक प्रश्न प्रत्यक्ष र सिधा हुन्छ, जसमा कुनै जाँच वा गुप्त मनसायहरू हुँदैनन्। म केवल काम र मानिसहरूको जीवन प्रवेशलाई ख्याल गरिरहेको हुन्छु। तैँले जस्तोसुकै जवाफ दिए पनि, आफूलाई जाँचमा परेको पाउनेछैनस्, न त म कुनै कुरालाई तेरो कमजोरीको फाइदा उठाउने साधनका रूपमा तँविरुद्ध प्रयोग नै गर्नेछु; तेरो आफ्नो वास्तविकता प्रकट हुने वा कुनै कुरालाई तेरो कमजोरीको फाइदा उठाउने साधनका रूपमा प्रयोग गरिने कुनै समस्या हुँदैन। म केवल कामका बारेमा पत्ता लगाउने प्रयास गरिरहेको हुन्छु, म जानाजानी कसैको अवस्थाबारे सोधपुछ गरिरहेको हुँदिनँ, न त मैले सम्हाल्न वा बर्खास्त गर्न कसैलाई निशाना बनाइरहेको नै हुन्छु। मण्डली वर्ग सङ्घर्ष वा गुटगत विवादहरूमा संलग्न हुँदैन—यसले त वास्तविक काम गर्छ। कहिलेकाहीँ जब म दाजुभाइ-दिदीबहिनीहरूलाई वा अगुवा र कामदारहरूलाई भेट्छु, तब म केवल यत्तिकै कुराकानी गर्न चाहन्छु, र केही हार्दिक वचनहरू बोल्न र केही दैनिक कुराहरूबारे बात मार्न चाहन्छु। कहिलेकाहीँ म मण्डलीको काममा अझै के-कस्ता समस्याहरू छन् भनेर पनि सोध्छु। मैले बोल्ने सबै कुरा दैनिक भाषामा हुन्छ, ती साँचो वचनहरू हुन्छन्। उदाहरणका लागि, म तिमीहरूलाई सोध्छु, “आजभोलि मण्डली जीवन कस्तो छ? के दाजुभाइ-दिदीबहिनीहरूले हरेक भेलाबाट लाभ उठाउन सक्छन्? के मण्डली जीवन जिउनुले वास्तविक समस्याहरू समाधान गर्न मद्दत गर्न सक्छ?” कतिपय मानिस यस्तो जवाफ दिन्छन्, “आजभोलि मण्डली जीवन राम्रो छैन। हामी भेला भए तापनि, कुनै ठूलो लाभ हुँदैन, र आधारभूत समस्याहरू समाधान हुन सक्दैनन्।” त्यसपछि म सोध्छु, “समस्या कहाँ छ त?” धेरैजसो मानिसले जवाफ दिन सक्दैनन्। मलाई भन त, के मेरो प्रश्नमा कुनै पासो छ? के यसको पछाडि कुनै षड्यन्त्र छ? पटक्कै छैन। म कामका बारेमा जान्न र अवस्था बोध गर्नका लागि मात्रै सोध्छु, ताकि म तिमीहरूसँग सत्यतामा सङ्गति गर्न र समस्याहरू समाधान गर्न सकूँ। तिमीहरूले जस्तोसुकै जवाफ दिए पनि, आफूलाई जाँचमा परेको पाउनेछैनौ। तुलनात्मक रूपमा अलिक सरल रहेका कतिपय मानिस साँचो बोल्न सक्छन्। तिनीहरू भन्छन्, “दाजुभाइ-दिदीबहिनीहरूले भर्खरै परमेश्वरको काम स्वीकार गरेका छन् र तिनीहरूसँग अझै धेरै अनुभव छैन। भेलाको दौरान तिनीहरूसँग भन्नलाई केही हुँदैन। यदि तिनीहरूले परमेश्वरका धेरै वचन पढे भने, तिनीहरूले ती बुझ्न सक्दैनन्, र तिनीहरूलाई निद्रा पनि लाग्छ र तिनीहरू ती कुरा ग्रहण गर्न सक्दैनन्। हामीलाई यो कसरी समाधान गर्ने भन्ने थाहा छैन।” म भन्छु, “यो समाधान गर्न त सजिलो छ। सबैले पहिले एउटा भजन गाउन सक्छन्, त्यसपछि तिनीहरू एक छिन नाच्न सक्छन्, त्यसपछि तिनीहरूले परमेश्वरका केही वचन पढ्न सक्छन्। जो-जोसँग बुझाइ छ, तिनीहरूले आफ्नो बुझाइका बारेमा कुरा गर्न सक्छन्, र जो-जोसँग अनुभव छ, तिनीहरूले आफ्नो अनुभवका बारेमा कुरा गर्न सक्छन्। जो-जोसँग कुनै बुझाइ वा अनुभव छैन, तिनीहरूले पनि आफ्ना वास्तविक कठिनाइहरू पनि उठाउन सक्छन् र अनुभव भएका दाजुभाइ-दिदीबहिनीहरूलाई ती समाधान गर्न मद्दत गर्न दिन सक्छन्। यसरी भेलाहरू फलदायी हुनेछैनन् र? सानो कद भएकाहरूको पनि आत्मिक वृद्धिविकास हुन सक्छ।” हेर् त, के त्यसले समस्या समाधान गर्दैन र? जब म मानिसहरूसँग कुराकानी गर्छु, कहिलेकाहीँ केही प्रश्नहरू सोध्छु, तब जटिल मन भएका कतिपय मानिसहरू यस्तो सोच्छन्, “तपाईँको प्रश्न निकै ठाडो छ। मलाई तपाईँले यो सोध्नुको अर्थ थाहा छैन। म आफ्नो जवाफमा होसियार हुनैपर्छ!” म भन्छु, तैँले गलत बुझिस्। मैले जोसँग कुराकानी गरे पनि वा जे-जस्ता प्रश्नहरू सोधे पनि, अन्तिम लक्ष्य सधैँ समस्याहरू पत्ता लगाउनु र समाधान गर्नु, तँलाई सहयोग गर्नु र मार्गदर्शन गर्नु, र तँलाई समस्याहरू समाधान गर्न मद्दत गर्नु नै हुन्छ। सर्वप्रथम, यो तँलाई उदाङ्गो पार्न र तँलाई मूर्ख देखाउनका लागि होइन। दोस्रो, यो तैँले साँचो बोलिरहेको छस् कि छैनस् वा तँ निष्कपट व्यक्ति होस् कि होइनस् भनी जाँच्नका लागि होइन। तेस्रो, यो तँलाई छक्क्याएर तेरो वास्तविक अवस्था प्रकट गराउनका लागि होइन। चौथो, यो तँ उक्त काम गर्न सक्षम छस् कि छैनस् वा तँ वास्तविक काम गर्न सक्छस् कि सक्दैनस् भनी जाँच्नका लागि त झनै होइन। वास्तवमा, मैले तँसँग जसरी कुराकानी गरे पनि, यो सबै तँलाई आफ्नो कर्तव्य पूरा गर्न, काम राम्ररी गर्न, र समस्याहरू समाधान गर्न मद्दत र मार्गदर्शन गर्नका लागि हो। कतिपय मानिसहरू मेरा सरल सोधपुछहरूका बारेमा बढ्ता सोच्छन्, र त्यहाँ केही लुकेको अर्थ छ कि भनेर धेरै डराउँछन्। कतिले त म तिनीहरूविरुद्ध दाउपेच गर्दैछु भन्ने शङ्का समेत गर्छन्। म स्पष्ट रूपमा तँलाई समस्याहरू समाधान गर्न मद्दत गर्न चाहन्छु, तैपनि तँ गल्तीले म तेरो विरुद्धमा दाउपेच गर्दैछु भन्ने सोच्छस्। के यो त मलाई अन्याय गर्नु होइन र? (हो।) त्यसोभए यहाँ समस्या के हो त? मानव हृदय छली हुन्छ! मानिसहरूले ठूलो स्वरमा “तपाईँ परमेश्वर हुनुहुन्छ, मैले तपाईँलाई सत्यता बताउनैपर्छ, र म तपाईँसँग खुला हुनैपर्छ। म तपाईँलाई पछ्याउँछु, म तपाईँमा विश्वास गर्छु!” भनेर भने पनि, भित्रभित्रै तिनीहरू त्यस्तो सोच्दैनन्। मेरा प्रश्नहरू जतिसुकै साधारण र सरल भए पनि, मानिसहरूले तिनलाई प्रायः अति संवेदनशील तरिकाले अर्थ्याउँछन्। तिनीहरूका अनुमानहरू र त्यसपछि छानबिनमार्फत, तिनीहरू धेरै घुमाउरा बाटाबाट गुज्रन्छन् र तिनीहरूले अन्तिम जवाफ भेट्टाए जस्तो देखिन्छ, तर वास्तवमा, त्यो कुरा मेरा वचनहरूको मूल अभिप्रायबाट धेरै टाढा हुन्छ। यो स्पष्ट रूपमा एउटा अत्यन्तै सरल प्रश्न हो, तैपनि तिनीहरू यस कुराबारे बढ्ता सोच्छन्। के यस्ता मानिसहरू अति संवेदनशील हुँदैनन् र? मैले जे सोधे पनि, त्यो सुनेपछि तिनीहरूको हृदयमा खैलाबैला मच्चिन्छ: “तपाईँ किन यो सोध्दै हुनुहुन्छ? म तपाईँलाई सन्तुष्ट पार्ने र कुनै पनि त्रुटि प्रकट नगर्ने तरिकाले कसरी जवाफ दिन सक्छु? मैले पहिले के भन्नुपर्छ, र पछि के भन्नुपर्छ?” कुनै ढिलाइविना, तीनदेखि पाँच सेकेन्डभित्र शब्दहरू बाहिर आउँछन्। तिनीहरूको दिमाग कम्प्युटरभन्दा छिटो चल्छ। किन यति छिटो चल्छ? वास्तवमा, यो प्रक्रिया तिनीहरूका लागि बानी बनिसकेको हुन्छ; यो मानिसहरूसँग व्यवहार गर्ने र मामिलाहरू सम्हाल्ने तिनीहरूको सामान्य चाल र शैली हो। तिनीहरू सबैको विरुद्धमा दाउपेच गर्छन्। त्यसैले, मेरा सोधपुछहरू जतिसुकै सरल भए पनि, तिनीहरू त्यसबारे बढ्ता सोच्छन्, र मेरो केही उद्देश्य वा लक्ष्य छ भन्ने विश्वास गर्छन्। तिनीहरू आफ्नो हृदयमा सोच्छन्, “यदि मैले साँचो जवाफ दिएँ भने, के मैले आफ्नो वास्तविक अवस्था खुलासा गर्नेछैन र? त्यो त आफैलाई घात गर्नु बराबर हो। म तपाईँलाई मेरो वास्तविक अवस्था पत्ता लगाउन दिन सक्दिनँ। त्यसोभए मैले कसरी उपयुक्त रूपमा जवाफ दिनुपर्छ? म कसरी तपाईँलाई खुसी र सन्तुष्ट पार्न सक्छु, तपाईँमा मेरो राम्रो छाप छोड्न सक्छु, र तपाईँलाई मलाई प्रयोग गरिरहन लगाउन सक्छु?” हेर त, यी मानिसहरू कति छली हुन्छन्! यी मानिसहरूको मन निकै जटिल हुन्छ। मैले तिनीहरूसँग जसरी कुरा गरे पनि, तिनीहरूले शङ्का र छानबिन गर्नेछन्। के यस्ता मानिसहरूले सत्यता अभ्यास गर्न सक्छन्? के तिनीहरू परमेश्वरका निम्ति प्रयोगयोग्य हुन सक्छन्? पटक्कै सक्दैनन्। किनभने यस्ता मानिसहरूको मन निकै जटिल हुन्छ, र पटक्कै सरल हुँदैन; तिनीहरूसँग लामो समयसम्म सम्पर्कमा रहने जोकोहीले यो कुरा देख्न सक्छ। मानिसहरू दाउपेच गर्नमा निकै सिपालु हुन्छन्, तर के मैले तिमीहरूसँग बोल्दा र कुराकानी गर्दा कहिल्यै तिमीहरूविरुद्ध दाउपेच गरेको छु र? (छैन।) मैले तेरो व्यक्तिगत स्थितिबारे पत्ता लगाउने प्रयास गरिरहेको भए पनि वा तेरो कामको अवस्थाबारे पत्ता लगाउने प्रयास गरिरहेको भए पनि, यो सधैँ तँलाई मद्दत गर्न, काममा भएका समस्याहरू समाधान गर्नका लागि हुन्छ। यदि तैँले गल्ती गरिस् र तँमाथि काटछाँट वा बर्खासी आइपर्यो भने पनि, म तेरो विरुद्धमा दाउपेच गर्नेछैन वा तँलाई सास्ती दिनेछैन। समस्या समाधान भएपछि, त्यो सकिन्छ। परमेश्वरको घरले तेरो विरुद्धमा दाउपेच गर्नेछैन वा तँलाई सास्ती दिनेछैन, र म तेरा गल्तीहरूलाई कमजोरीको फाइदा उठाउने अस्त्रका रूपमा समातेर छोड्न नमान्ने, वा तँलाई बदनाम गर्ने र सबैलाई तँलाई एक्ल्याउन र इन्कार गर्न लगाउने तरिकाहरू सोच्ने, अनि तँलाई आशाहीन महसुस गराएर आफै राजीनामा दिन लगाउने कार्य त पट्टकै गर्नेछैनँ। म पटक्कै त्यसो गर्नेछैनँ। यदि तँ अगुवा वा कामदार हुन उपयुक्त छैनस् भने, म बढीमा यति भन्नेछु, “तेरो क्षमता निकै कमजोर रहेछ, र तँमा आत्मिक बुझाइको कमी छ। तँ अगुवा वा कामदार हुन उपयुक्त छैनस्। यदि तँ अगुवा वा कामदारका रूपमा चुनिइस् भए पनि, तैँले वास्तविक काम गर्न सक्नेछैनस्।” परमेश्वरको घरले यस कारणले गर्दा तँलाई पटक्कै सास्ती दिनेछैन वा तेरो विरुद्धमा दाउपेच गर्नेछैन।
परमेश्वरको घरले कस्ता मानिसहरूलाई बढुवा र प्रयोग गर्छ, र कस्तालाई गर्दैन, कस्ता मानिसहरूलाई संवर्धन गर्छ, र कस्ता मानिसहरूलाई गर्दैन भन्ने कुराका सिद्धान्तहरू छन्; यो सबै परमेश्वरको घरको कामका आवश्यकताहरूमा आधारित हुन्छ। जोसुकैलाई बढुवा र प्रयोग गरिए पनि, त्यसो गर्नुको उद्देश्य तिनीहरूलाई संवर्धन गर्नु हो ताकि तिनीहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सकून् र परमेश्वरको काम कसरी अनुभव गर्ने भनी जान्न सकून्, र तिनीहरूले काम वहन गर्न र सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न सकून्। जुनसुकै समस्या समाधान भइरहेको भए पनि, त्यसको उद्देश्य तिनीहरूलाई थप सत्यता बुझ्न सक्षम तुल्याउनु, र तिनीहरूले सामना गर्ने विभिन्न मानिस, घटना, र कामकुराहरूबाट पाठ सिक्न र खुट्ट्याउने क्षमता प्राप्त गर्न सिक्न सक्षम तुल्याउनु हो। यसरी, तिनीहरूलाई सबै पक्षमा सत्यता वास्तविकतामा प्रवेश गर्न सजिलो हुन्छ। यो तँलाई सेवा गर्न लगाउन तेरो फाइदा उठाउने कुरा होइन, कुनै उपयुक्त व्यक्ति भेट्टाउन नसकिएकाले खाली पद भर्न तेरो फाइदा उठाउने, अनि कुनै उपयुक्त व्यक्ति आएपछि तँलाई निकालिदिने कुरा त झनै होइन। कुरा त्यस्तो होइन। वास्तवमा, यो त तँलाई आफूलाई तालिम दिने मौका दिनु हो। यदि तँ सत्यता पछ्याउँछस् भने, तँ दृढ रहनेछस्; यदि तँ सत्यता पछ्याउँदैनस् भने, तँ अझै पनि दृढ रहन सक्नेछैनस्। परमेश्वरको घरले तँलाई मन नपराएकाले, यसले तँमाथि प्रभुत्व जमाउनेछ र तँलाई हटाउने मौका खोज्नेछ भन्ने कुरा बिलकुलै होइन। जब परमेश्वरको घरले तँलाई संवर्धन र बढुवा गर्ने भनेर भन्छ, तब यसले साँच्चै तँलाई संवर्धन गर्नेछ। महत्त्वपूर्ण कुरा त तँ सत्यताका लागि कसरी लागिपर्छस् भन्ने नै हो। यदि तैँले अलिकति पनि सत्यता स्वीकार गरिनस् भने, परमेश्वरको घरले तँलाई त्याग्नेछ र उप्रान्त तँलाई संवर्धन गर्नेछैन। कतिपय मानिसहरूको क्षमता कमजोर भएकाले र तिनीहरू वास्तविक काम गर्न नसक्ने हुनाले, केही समयको संवर्धनपछि, तिनीहरूलाई बर्खास्त गरिन्छ। कतिपयले संवर्धनको अवधिमा अलिकति पनि सत्यता स्वीकार गर्दैनन्, मनमानी ढङ्गले कार्य गर्छन्, र परमेश्वरको घरको काममा अवरोध गर्छन् र बाधा दिन्छन्, अनि तिनीहरू बर्खास्त हुन्छन्। अझै अरू कतिपयले त सत्यता पटक्कै पछ्याउँदैनन्, तिनीहरू ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्छन्, सधैँ ख्याति, प्राप्ति, र हैसियतका लागि काम गर्छन्, अनि तिनीहरू बर्खास्त हुन्छन् र हटाइन्छन्। यी अवस्थाहरू सबैलाई मानिसहरूलाई प्रयोग गर्नेसम्बन्धी परमेश्वरको घरका सिद्धान्तहरूअनुसार नै सम्हालिन्छ। परमेश्वरको घरले सत्यता स्वीकार गर्न सक्ने र सत्यताका लागि लागिपर्नेहरूले केही गल्तीहरू गरेर अपराध गरे पनि, तिनीहरूलाई अझै पनि संवर्धन गर्नेछ। यदि ऊ सत्यता स्वीकार गर्न सक्ने व्यक्ति होइन भने, र ऊमाथि काटछाँट आइपर्दा ऊ सत्यता स्वीकार गर्दैन भने, उसलाई सीधै बर्खास्त गरिनुपर्छ र हटाइनुपर्छ। कतिपय मानिसहरू भन्छन्: “के यो कसैको सक्दो फाइदा उठाएर उसलाई फ्याँकिदिनु जस्तै होइन र? के यो मानिसहरूलाई शोषण गर्नु होइन र?” मलाई भन्, शोषण गर्नका लागि कुनै मूल्य बाँकी नभएकाले परमेश्वरको घरले कहिल्यै कसैलाई बर्खास्त गरेको, हटाएको, वा उप्रान्त संवर्धन गर्न छोडेको छ र? के यस्तो कुरा कहिल्यै भएको छ? (छैन।) त्यसोभए परमेश्वरको घरले कस्ता परिस्थितिहरूमा मानिसहरूलाई बर्खास्त गर्छ वा हटाउँछ? (परमेश्वरको घरले कसैलाई तब मात्र बर्खास्त गर्छ वा हटाउँछ, जब उसले काम वहन गर्न सक्दैन, वा जब उसले अवरोध र बाधा उत्पन्न गर्छ र दुष्टता गर्छ।) कसैलाई पनि कुनै कारणविना बर्खास्त गरिँदैन। कतिपयको क्षमता कमजोर हुन्छ र तिनीहरू ठोस काम गर्न सक्दैनन्। कतिपयसँग निश्चित क्षमता त हुन्छ तर तिनीहरू ठोस काम गर्दैनन् वा परमेश्वरको घरको हितको रक्षा गर्दैनन्; तिनीहरू आफूले गर्न सक्ने काम गर्दैनन्, तिनीहरू मण्डलीको काममा रुचि लिन र त्यो काम गरेर आफूलाई थकाउन इच्छुक हुँदैनन्, कष्ट भोग्न र मूल्य चुकाउन इच्छुक हुँदैनन्, र मानिसहरूलाई चिढ्याउन इच्छुक हुँदैनन्। यस्ता मानिसहरू वास्तविक काम गर्न सक्दैनन्, त्यसैले तिनीहरूलाई हटाइनुपर्छ; तिनीहरूले उप्रान्त त्यो पद ओगट्नु उपयुक्त हुँदैन। तिनीहरू मण्डलीको काममा बाधा मात्रै दिँदैनन्, परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा पनि असर गर्छन्। यस्तो परिस्थितिमा, तिनीहरूमा आत्म-चेतना हुनुपर्छ र तिनीहरूले तुरुन्तै राजीनामा दिनुपर्छ, र वास्तविक काम गर्न सक्नेहरूलाई यो कामको जिम्मा लिन दिनुपर्छ। कतिपय मानिसहरू वास्तविक काम गर्दैनन् तैपनि हैसियतका फाइदाहरूको आनन्द लिन्छन्, र अवरोध र बाधा समेत उत्पन्न गर्छन्। तिनीहरू सधैँ माथिले तिनीहरूका समस्याहरू पत्ता लगाउनेछन् र तिनीहरूलाई बर्खास्त गर्नेछन् भनेर चिन्तित हुन्छन्, त्यसैले आफ्नो कामका बारेमा रिपोर्ट गर्ने समय आएपछि, तिनीहरू सत्यता खोज्न केही प्रश्न उठाए जस्तो गर्छन् र विशेष रूपमा सक्रिय देखिन्छन्, र माथिमा राम्रो छाप छोड्न र आफूहरू सत्यता खोज्ने र वास्तविक काम गर्न सक्ने मानिसहरू भएको प्रमाणित गर्न चाहन्छन्। माथिले मानिसहरू राम्ररी बोल्न सक्छन् कि सक्दैनन्, तिनीहरू प्रश्नहरू उठाउन सिपालु छन् कि छैनन्, वा तिनीहरू तीक्ष्णबुद्धिका छन् कि छैनन् भन्ने आधारमा तिनीहरूलाई बढुवा र प्रयोग गर्दैनन्, बरु मानिसहरू सत्यतालाई प्रेम गर्छन् कि गर्दैनन्, तिनीहरू सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन्, र तिनीहरू अर्पित भई आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन् कि सक्दैनन् भन्ने आधारमा तिनीहरूलाई छान्छन् र संवर्धन गर्छन्। कतिपय यस्ता मानिसहरू पनि छन् जसले ठोस काम नगर्ने वा परमेश्वरको घरको हितको रक्षा नगर्ने मात्रै होइन, अवरोध र बाधा पनि उत्पन्न गर्छन् र परमेश्वरको घरको हितमाथि घात गर्छन्। परमेश्वरको घरका कार्य प्रबन्धहरूले के गर्न अनुमति छैन र के गर्नुपर्छ भन्ने कुरा स्पष्ट रूपमा तोकेको हुन्छ, तैपनि तिनीहरूले एउटै पनि कुरा लागू गर्दैनन् र जथाभावी कुकर्म समेत गर्छन्। यस्ता मानिसहरू धेरै छन्, र तिनीहरू सबैलाई बर्खास्त गरिएको छ। परिस्थिति जस्तोसुकै भए पनि, जब परमेश्वरको घरले यी मानिसहरूलाई बढुवा गर्छ, तब त्यो सधैँ तिनीहरूलाई संवर्धन गर्न र तिनीहरूलाई सत्यता वास्तविकतामा डोऱ्याउनका लागि गरिएको हुन्छ, र तिनीहरूले मण्डलीको काम राम्ररी पूरा गर्न सकून् र आफूले पूरा गर्नुपर्ने कर्तव्यहरू निर्वाह गर्न सकून् भन्ने आशा गरिन्छ। यदि तँ मूर्ख भएकाले र तँमा अन्तर्ज्ञानको कमी भएकाले वा तेरो क्षमता कमजोर भएकाले तँ कुनै काम कसरी गर्ने भनी जान्दैनस् भने पनि, जबसम्म तँ सत्यता सिद्धान्तहरूका लागि लागिपर्छस्, तँमा यो जिम्मेवारी बोध हुन्छ, तँ यो काम राम्ररी गर्न इच्छुक हुन्छस्, र मण्डलीको कामको रक्षा गर्न सक्छस्, तबसम्म तैँले विगतमा केही मूर्खतापूर्ण कामहरू गरेको भए पनि परमेश्वरको घरले अझै पनि तँलाई संवर्धन गर्नेछ। कतिपय मानिसहरूको क्षमता अलि कमजोर भए पनि, तिनीहरू केही सरल काम गर्न सक्छन्। समस्याहरू समाधान गर्न सत्यताबारे तिनीहरूले गर्ने सङ्गतिले राम्रा नतिजाहरू ल्याउन नसके पनि, तिनीहरू मण्डलीको कामको रक्षा गर्न सक्छन्। हरेक भेलामा सत्यताको जुनसुकै पक्षमा सङ्गति गरिए पनि, तिनीहरू त्यसलाई स्वीकार गर्न र आज्ञाकारी र समर्पित हुन सक्छन्। यदि कुनै काम राम्ररी गरिएन भने, तिनीहरू त्यसबाट पाठ सिक्न सक्छन्। तिनीहरूको क्षमता अलि कमजोर भए पनि, तिनीहरूको हृदय सत्यताका लागि लागिपर्न सक्छ। तिनीहरूले केही समय काम गरेपछि प्रगति गर्छन्, र तिनीहरूका नतिजाहरू झन्-झन् राम्रा हुँदै जान्छन्। मेरो नजरमा, यस्ता मानिसहरूले मुक्ति प्राप्त गर्ने आशा हुन्छ। धेरैजसो मानिसहरू राम्रो क्षमता भएकाहरूले मुक्ति प्राप्त गर्ने सम्भावना हुन्छ भन्ने विश्वास गर्छन्। मेरो विचारमा, अनिवार्य रूपमै त्यस्तो हुँदैन। मुख्य कुरा त मानिसहरूले सत्यता पछ्याउनुपर्छ ताकि तिनीहरूले पवित्र आत्माको काम प्राप्त गर्न, आफ्ना भ्रष्ट स्वभावहरू फाल्न र मुक्ति प्राप्त गर्न सकून् भन्ने हो। कतिपय मानिसहरूको क्षमता औसत हुन्छ र तिनीहरूको कर्तव्यका नतिजाहरू पनि औसत नै हुन्छ, तर परमेश्वरको घरबाट वर्षौँसम्म मलजल र प्रबन्ध पाएपछि, तिनीहरू आफ्नो हृदयलाई सत्यतामा लगाउन थाल्छन्, र तिनीहरू साँच्चै केही सत्यता बुझ्न पुग्छन्। तिनीहरूले केही व्यावहारिक अनुभवहरू पनि प्राप्त गर्छन्, केही कुरालाई छर्लङ्गै देख्न सक्छन्, र केही समस्या समाधान गर्न सक्छन्, र मण्डलीको काममा झन्-झन् धेरै प्रगति गर्छन्। यो निकै राम्रो कुरा हो; यस्ता मानिसहरू संवर्धन गर्न लायक हुन्छन्। तँ यो कामका लागि पूर्ण रूपमा दक्ष नहुन सक्छस्, तर कम्तीमा पनि तैँले यो काम गर्ने कुरामा माथिले तँलाई केही हदसम्म अनुमोदन गर्छन्। मलाई भन्, के मानिसहरूलाई कर्तव्य पूरा गर्ने प्रबन्ध मिलाउनु तिनीहरूलाई शोषण गर्नु हो त? (होइन।) तँ जति धेरै काम गर्न सक्षम भए पनि, वा तेरो क्षमता जस्तोसुकै भए पनि, तँलाई बढुवा र प्रयोग गर्नु भनेको तँलाई शोषण गर्नु होइन। बरु, यसको अभिप्राय त तँलाई काम गर्नमा तालिम लिन दिनका लागि यो अवसर प्रयोग गर्नु हो, र तेरो सत्यताको पछ्याइमार्फत र तैँले गर्ने कडा परिश्रम र उठाउने भारी बोझमार्फत तँलाई सिद्ध पार्नु हो। एकातिर, यसले व्यक्तिगत रूपमा तँलाई सिद्ध पारिरहेको हुन्छ; अर्कोतिर, यसले परमेश्वरको घरको काम पनि पूरा गरिरहेको हुन्छ। तैँले असल कार्यहरू पनि तयार गरेको हुन्छस् र आफ्नो व्यक्तिगत जीवन प्रवेशमा पनि लाभ कमाएको हुन्छस्। त्यो कति राम्रो कुरा हो! त्यो त एउटै चालमा दुई वटा राम्रा नतिजाहरू प्राप्त गर्नु हो। प्रकट गरिएका र हटाइएकाहरूमध्ये कतिपयले एक पटक भनेका थिए, “के तिमीहरू मलाई परमेश्वरको घरको सेवा गर्न लगाउनका लागि शोषण गर्न खोजिरहेका छौ? गरेको गर्यै हो! म त्यति मूर्ख छैन!” तिनीहरू यस्ता शब्दहरू बोल्न समेत सक्षम हुन्छन्—के तिनीहरू साँच्चै परमेश्वरमा विश्वास गर्छन्? के यस्ता मानिसहरूले सत्यता बुझ्छन्? मानिसहरूलाई अलिकति कर्तव्य पूरा गर्न लगाउनु कसरी तिनीहरूलाई शोषण गर्नु हो त? यदि तँ साँच्चै सत्यता बुझ्ने व्यक्ति होस् भने, तैँले सृष्टिकर्ताका अभिप्रायहरू बुझ्नुपर्छ र तैँले एक सृजित प्राणीको कर्तव्य पूरा गर्नुपर्छ। यो एक मानवका रूपमा आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्नु हो। यदि तँसँग यति विवेक र समझ समेत छैन भने, के तँ एक सृजित प्राणी भनिन लायक हुन्छस्? यदि तँसँग साँच्चै विवेक र समझ छ भने, तैँले आफ्नो कर्तव्यलाई सही तरिकाले लिनुपर्छ। यदि तँसँग यसका लागि क्षमता छ भने, तँ सत्यताका लागि लागिपर्नुपर्छ। यदि तँ सक्रिय रूपमा आफ्नो भूमिका निर्वाह गर्न इच्छुक छस् भने, परमेश्वरको घरले तँलाई निश्चित काम गर्न, कुनै बोझ उठाउन प्रबन्ध गर्नेछ। यो तेरो विरुद्ध दाउपेच गर्नु वा तँलाई शोषण गर्नु होइन, बरु तँलाई बढुवा गर्नु, तँलाई संवर्धन गर्नु, तँलाई तालिम लिन दिनु, र तँलाई सत्यता वास्तविकतामा डोर्याउनु हो। यो कुरा यति सरल छ। कतिपय मानिसहरू भन्छन्: “म अब बूढो भएँ, मेरो जोश अपर्याप्त छ, र मेरो शारीरिक शक्ति कमजोर हुँदैछ। म अबदेखि यो बोझ उठाउन चाहन्नँ। के म राजीनामा दिन सक्छु?” म भन्छु, त्यो चाहिँ ठीक छ, तर राजीनामा दिनुअघि, तैँले यसबारे होसियारीसाथ सोच्नैपर्छ। यदि यो साँच्चै शारीरिक कारणले नभई तेरा व्यक्तिगत विचारहरू परिवर्तन भएकाले, तैँले केही कुराबारे पुनर्विचार गरेकाले, तँ कष्ट भोग्न डराउने हुनाले, थाक्न डराउने हुनाले, माथि चढेपछि झन् नराम्ररी खसूँला भनी डराउने हुनाले, सधैँ टुप्पोमा निस्याइलो हुन्छ भन्ने सोच र दृष्टिकोण राख्ने हुनाले त्यसो भएको हुन्छ भने—तँ होसियार हुनैपर्छ। यो आज्ञा, यो विशेष कर्तव्यलाई इन्कार नगर्; तैँले यसबारे होसियारीसाथ विचार गर्नैपर्छ। यस्ता अवसरहरू बिरलै आउँछन्—ती दुर्लभ हुन्छन्, होइन र? सायद तँ जिद्दी गर्दै भन्छस्, “तैँले मलाई मनाउनु पर्दैन। मैले यसबारे लामो समयसम्म सोचेको छु र निर्णय गरिसकेको छु। तँ मलाई मनाउन सक्दैनस्; म अब उप्रान्त यो थकान सहनै चाहन्नँ। अरू सबै जनालाई आराम छ, म मात्रै किन यति धेरै थाक्नुपर्ने? के मेरो भाग्यमा कष्ट भोग्नु नै लेखेको छ? म यस्तो कष्ट सहन इच्छुक छैन! म आफूलाई भाग्यको हातमा छोड्न इच्छुक छैन! मण्डलीले मेरो विरुद्ध दाउपेच गर्नु हुँदैन; म मण्डलीको दास होइन, न त मैले आफूलाई मण्डलीलाई बेचेको नै छु!” तैँले यी अप्रिय शब्दहरू भनिरहनु हुँदैन; धेरै बोलिस् भने तैँले धेरै पापहरू गर्नेछस्, र तैँले आफूले बोलेका शब्दहरू र गरेका छनौटहरूका लागि जिम्मेवारी लिनुपर्छ। सर्वप्रथम, तँ आशिष्हरू पाउन परमेश्वरमा विश्वास गर्छस्; तैँले आफूलाई परमेश्वरको घरलाई बेचेको छैनस्। दोस्रो, तैँले आफूलाई परमेश्वरको घरलाई बेच्न चाहिस् भने पनि, परमेश्वरको घरले अझै पनि तँसँग यो मूल्य छ कि छैन, तँलाई किन्नु उपयोगी हुन्छ कि हुँदैन भनी होसियारीसाथ विचार गर्नुपर्नेछ। त्यसैले यदि तँ परमेश्वरको घरले तेरो विरुद्ध दाउपेच गरिरहेको छ र तँलाई सेवा गर्न लगाउन शोषण गर्न चाहन्छ भन्ने सोच्छस् भने, तैँले गलत सोचिरहेको छस्, किनभने परमेश्वरको घरले मानिसहरूलाई जाँच्ने मानकहरू भनेको तिनीहरू इमानदारीपूर्वक परमेश्वरमा विश्वास गर्छन् कि गर्दैनन्, तिनीहरू सत्यतालाई प्रेम गर्छन् कि गर्दैनन्, र तिनीहरू परमेश्वरका वचनहरू पालन गर्न र परमेश्वरमा समर्पित हुन सक्छन् कि सक्दैनन् भन्ने कुराहरू हुन्। परमेश्वरको घरले यी मानकहरूका आधारमा मानिसहरूलाई छान्छ र संवर्धन गर्छ। यदि तँ परमेश्वरको घरका बारेमा यति नराम्रो सोच्छस् भने, तँसँग विवेक वा समझ छैन, र तँ पूर्ण रूपमा बेकम्मा छस्। परमेश्वरको घरले तँलाई तेरो कर्तव्य पूरा गर्न प्रयोग नगर्ने मात्रै होइन, यसले तँलाई, अर्थात् एक अविश्वासीलाई तुरुन्तै हटाउनुपर्ने पनि हुन्छ। यदि तँ परमेश्वरको इमानदार विश्वासी होइनस् भने, तैँले तुरुन्तै परमेश्वरको घर छोड्नुपर्छ; परमेश्वरको घरमा झारा टारेर नबस्। तँ परमेश्वरको घरको होइनस्; परमेश्वरको घरलाई यस्ता मानिसहरू चाहिँदैन। तुरुन्तै गइहाल्।
चाहे म कुराकानी गरिरहेको होऊँ वा औपचारिक रूपमा सङ्गति र प्रचार गरिरहेको होऊँ, मैले बोल्ने हरेक वचन, मैले कुरा गर्ने हरेक मामिला, र मैले सङ्गति गर्ने सत्यताको हरेक पक्षमा मेरो उद्देश्य तिमीहरूलाई तिमीहरूका आफ्नै भ्रष्ट स्थितिहरू चिन्न, तिमीहरूका अवगुण, कमी, अपर्याप्तता र कठिनाइहरू पहिचान गर्न, र सबैभन्दा महत्त्वपूर्ण कुरा, विभिन्न पृष्ठभूमि र वातावरणमा तिमीहरूका आफ्नै भ्रष्ट स्वभाव र तिमीहरूको भ्रष्टताका प्रकटीकरणहरू चिन्न सक्षम बनाउनु हो। आफ्ना भ्रष्ट स्वभावहरू चिनिसकेपछि, तिमीहरूले आफूलाई अझ गहिरो गरी बुझ्नेछौ, तिमीहरूले आफ्नो क्षमता थाहा पाउनेछौ, तिमीहरू अलि बढी समझदार बन्नेछौ। अनि तिमीहरूले आफूलाई परमेश्वरका वचनहरूसँग दाँज्नेछौ, र आफ्ना कठिनाइहरू समाधान गर्न परमेश्वरका वचनहरूमा अभ्यासका सान्दर्भिक सिद्धान्तहरू र अभ्यासका मार्गहरू भेट्टाउनेछौ, चाहे यो दैनिक जीवनमा तिमीहरूले प्रकट गर्ने भ्रष्ट स्वभावहरू समाधान गर्ने कुरा होस् वा तिमीहरूको मानवतामा रहेका कमीहरू समाधान गर्ने कुरा होस्। बिस्तारै, तिमीहरूले यी भ्रष्ट स्वभावहरू र परमेश्वरले घृणा गर्ने विभिन्न शैतानी सोच र दृष्टिकोणहरूलाई फाल्नेछौ, र सत्यतालाई स्वीकार गरेर, कामकुराहरूप्रतिको आफ्ना दृष्टिकोण र आफ्ना जीवन स्वभावहरूमा साँचो परिवर्तनहरू हासिल गर्नेछौ। परमेश्वरको अभिप्रायअनुसारको एउटै मात्र मार्ग यही हो। मैले बोल्ने यी सबै वचनमा, चाहे दैनिक जीवनमा तिमीहरूसँग कुराकानी गर्दा होस् वा औपचारिक रूपमा सङ्गति र प्रचार गर्दा होस्, हरेक वचन तिमीहरूका खास स्थितिहरूका आधारमा बोलिन्छ। म यी वचनहरू बोल्छु किनभने मैले तिमीहरूका आवश्यकताहरू देखेको छु। मैले सूचीकृत गर्ने तथ्यहरूलाई अलिकति प्रशोधन गरिएको हुन सक्छ, तर यी उदाहरणहरू तिमीहरूको भ्रष्टताका प्रकटीकरणहरू र तिमीहरूका कार्यहरूका तथ्यहरूका आधारमा छानिएका प्रतिनिधिमूलक उदाहरणहरू हुन्। यी तथ्य र उदाहरणहरू प्रयोग गरेर, म मानवजातिका भ्रष्ट स्वभावहरू र प्रकृति सारलाई खुलासा गर्छु ताकि मानिसहरूले आत्मचिन्तन गर्न सकून्, र यसले राम्रा नतिजाहरू दिनेछ। त्यसकारण, मैले जुनसुकै विषयमा सङ्गति गरे पनि, पहिलो, त्यसमा कुनै पासोहरू हुँदैनन्; दोस्रो, त्यसमा कुनै षड्यन्त्रहरू हुँदैनन्; अनि तेस्रो, त्यसमा कुनै जाँचहरू हुँदैनन्। यो सबै तिमीहरूलाई परमेश्वरका अभिप्रायहरू र परमेश्वरका मागहरू अझ राम्ररी बुझ्न, सत्यता सिद्धान्तहरूअनुसार मानिसहरू र कामकुराहरूलाई हेर्न, र आफूलाई आचरणमा ढाल्न र कार्य गर्न, र अन्ततः परमेश्वरसामु आउन र उहाँप्रति समर्पणता र डर राख्न सक्षम तुल्याउनका लागि हो। यी सबै तथ्यहरू हुन्। त्यसैले, जब म दैनिक जीवनमा हुने केही मामिलाका बारेमा तिमीहरूसँग कुराकानी वा भलाकुसारी गर्छु, वा कामसम्बन्धी औपचारिक गफगाफ र सोधपुछमा संलग्न हुन्छु, तब जतिसुकै वर्ष बिते पनि, के तैँले फर्केर हेर्दा मेरा वचनहरूमा कुनै षड्यन्त्र वा पासोहरू देख्छस्? (देख्दिनँ।) के तिमीहरूलाई शोषण गर्ने कुनै अभिप्राय हुन्छ? के धम्की दिएर तिमीहरूबाट पैसा असुल्ने कुनै अभिप्राय हुन्छ? (हुँदैन।) के तिमीहरू पक्का छौ? (छौँ।) उदाहरणका लागि, कुनै व्यक्ति फार्ममा पशुपालनका लागि जिम्मेवार छ। म उसलाई एउटा कुखुराले अण्डा पार्न कति दिन लगाउँछ भनेर सोध्छु, र उसले मनमनै सोच्छ: “तपाईँले यो सोध्नुको अर्थ के हो? के तपाईँले मैले कुखुरालाई राम्ररी खुवाइरहेको छु कि छैन भनेर हेर्न खोज्नुभएको हो? त्यसोभए मैले कसरी उपयुक्त जवाफ दिनुपर्छ? यदि मैले तिनले दिनमा एउटा अण्डा पार्छन् भनेर भनेँ भने, त्यो वास्तवमा सम्भव छैन; त्यो झूट बोल्नु हुनेछ। यदि मैले तिनले दुई वा तीन दिनमा एउटा अण्डा पार्छन् भनेर भनेँ भने, के तपाईँ मैले कुखुरालाई राम्ररी खुवाएको छैन, र मैले तिनलाई पौष्टिक आहारा दिएको छैन भनेर सोच्नुहुनेछ? त्यसो भए मैले कसरी उपयुक्त जवाफ दिनुपर्छ?” ऊ आफ्नो हृदयमा सोचिरहन्छ र कहिल्यै जवाफ दिँदैन। वास्तवमा, यो कुरा सोध्नुमा मेरो अरू कुनै अभिप्राय हुँदैन; म केवल कुखुरा कसरी पालिँदैछ भन्ने बारेमा केही जानकारी लिन चाहन्छु। तर मैले सोध्नेबित्तिकै, उसले त्यसबाट बेसी अर्थ निकाल्छ र मैले यो सोध्नुको अर्थ के होला भनेर अनुमान गरिरहन्छ। मलाई भन्, के यस्ता मानिसहरूसँग व्यवहार गर्न गाह्रो हुन्छ? के यस्ता मानिसहरूसँग सम्पर्कमा रहँदा सामान्य रूपमा कुराकानी गर्न पनि सम्भव हुन्छ? कुराकानी गर्न असम्भव हुन्छ। मेरो एउटा बानी छ: मलाई सधैँ वरपर गएर कुराहरू जाँच्न मन पर्छ। कहिलेकाहीँ म केही समस्याहरू पत्ता लगाउँछु। यदि यो वातावरणीय सरसफाइको समस्या हो भने, त्यसलाई सफा गर्नुपर्छ। यदि यो कर्मचारीहरूको समस्या हो भने, समायोजनहरू गरिनुपर्छ। यदि यो पेसागत सीपसँग सम्बन्धित समस्या हो भने, हामीले परामर्श लिनुपर्छ र सिक्नुपर्छ। जब समस्याहरू पत्ता लगाइन्छन्, तिनलाई सच्याइनुपर्छ। धेरै समस्याहरू दैनिक कुराकानीको क्रममा अनजानमा नै पत्ता लगाइएका छन् र समाधान गरिएका छन्; केही वास्तविक समस्याहरू सजिलै समाधान गरिएका थिए। त्यसैले, मसँग सम्पर्कमा आउँदा र मसँग संलग्न हुँदा मानिसहरू यति धेरै अत्तालिनु आवश्यक छैन। मानिसहरूसँग सम्पर्कमा रहँदा धेरै समस्याहरू पत्ता लगाइन्छन् र तिनलाई सजिलै समाधान गरिन्छ। मानिसहरूसँग सम्पर्कमा रहनु र मानिसहरूसँग कुराकानी गर्नु अत्यन्तै जरुरी हुन्छ; यो कुरा परिस्थितिबारे जान्नु र समस्याहरू पत्ता लगाउनुसँग मात्रै सम्बन्धित नभई साथसाथै समस्याहरू समाधान गर्नुसँग पनि सम्बन्धित हुन्छ। के यो प्राप्ति होइन र? (हो।) जब म मानिसहरूसँग कुराकानी गर्छु, तब कतिपयले साँचो बोल्छन्, जबकि अरू निकै जटिल तरिकाले सोच्छन् र साँचो बोल्ने आँट गर्दैनन्, अनि मेरा वचनहरूमा गुप्त अर्थहरू छन् कि वा म कसैको विरुद्धमा दाउपेच गर्न खोजिरहेको छु कि भनेर सधैँ सोचिरहन्छन्। त्यसैले, मैले तिनीहरूलाई केही सोध्नेबित्तिकै, तिनीहरू अत्तालिन्छन् र तिनीहरूको निधारबाट पसिना आउन थाल्छ। म भन्छु, “गर्मी त छैन, तर तँलाई किन पसिना आइरहेको छ?” तिनीहरू भन्छन्, “तपाईँलाई गर्मी नलागेको हुन सक्छ, तर मलाई त लागेको छ! तपाईँले भन्नुभएको कुराले मलाई यति धेरै तर्सायो कि मेरो मुटु झन्डै छातीबाट बाहिर निस्कियो। अहिले मेरो हत्केला र पैतालाबाट पसिना आइरहेको छ, मेरो मुटु ढुकढुक गरिरहेको छ, र मलाई के गर्ने भन्ने थाहा छैन।” म भन्छु, “तँ अत्तालिनु आवश्यक छैन। म त केवल सामान्य रूपमा कुरा गरिरहेको छु, केवल गफ गरिरहेको छु। यदि साँच्चै कुनै समस्या छ भने, हामी त्यसलाई समाधान गरिहाल्नेछौँ नि। मलाई यति डरलाग्दो नसोच्, मानौँ कुनै समस्या पत्ता लगाउनुको अर्थ म तेरो सम्पूर्ण परिवारलाई मारिदिनेछु भन्ने हो। म मानिसहरूलाई ‘समाधान’ गर्दिनँ; म त समस्याहरू पो समाधान गर्छु। समस्याहरू समाधान गर्नु चाहिँ मुख्य कुरा हो।” तँसँग कस्तो प्रकारको आस्था हुनुपर्छ? एकातिर, म निश्चित रूपमा सिद्धान्तहरूअनुसार, पूर्ण रूपमा न्यायपूर्वक कार्य गर्छु। म भावना बगेर, जिद्दी भएर, वा मनमानी ढङ्गले कार्य गर्नेछैनँ: म तँलाई मन नपराउने, त्यसपछि तँमा खोट देखाउने, किचकिच गर्ने, वा गल्ती खोज्ने, अनि त्यसपछि तँलाई निकालेर मलाई मन पर्ने कसैलाई काम गर्न लगाउने कार्य गर्नेछैनँ। अर्कोतिर, म सबैसँग वास्तविक परिस्थिति र वास्तविक समस्याका आधारमा व्यवहार गर्छु; त्यहाँ सिद्धान्तहरू छन्। मानिसहरूलाई गल्ती गर्न, मूर्ख, कमजोर, र नकारात्मक हुन अनुमति हुन्छ। तर एउटा कुराको अनुमति हुँदैन: यदि तँ उपद्रवी छस् र जानाजानी मण्डलीको काममा अवरोध गर्छस् र बाधा दिन्छस् भने, तैँले आत्म-चिन्तन गर्नुपर्छ। यदि तँ परमेश्वरको घरको हितको रक्षा गर्दैनस्, यदि तँ सधैँ परमेश्वरको घरको हितमाथि घात गर्छस् भने, मण्डलीका लागि तैँले आफ्नो कर्तव्य निर्वाह गर्नु आवश्यक छैन; परमेश्वरको घरले तँलाई प्रतिस्थापन गर्न एक उपयुक्त व्यक्ति खोज्नुपर्नेछ। यो सिद्धान्तहरूअनुसार कार्य गर्नु हो। म कसरी समस्याहरू समाधान गर्छु, म कसरी मामिलाहरू सम्हाल्छु, म कसरी मानिसहरूसँग व्यवहार गर्छु—यो सबै सिद्धान्तहरूअनुसार गरिन्छ। यदि मैले तँमा कुनै समस्या पत्ता लगाएँ भने म तँलाई कारबाही गर्नेछु भनेर तैँले चिन्ता लिनु पर्दैन; यो कुरा त्यो कस्तो समस्या हो भन्नेमा निर्भर हुन्छ, र परिस्थितिलाई समस्याको प्रकृतिअनुसार सम्हालिनेछ। यदि तेरो समस्याको प्रकृति त्यति धेरै गम्भीर छैन भने, यदि तैँले यो जानाजानी गरेको नभई एक क्षणिक भूल वा मूर्खताले गर्दा भएको हो भने, त्यसलाई सत्यताको सङ्गतिमार्फत समाधान गरिनेछ। पाठ सिक् र फेरि गल्ती नगर्। कहिलेकाहीँ मानिसहरूमा ज्ञान र अनुभवको कमी भएकाले र तिनीहरूले निश्चित पेसागत सीपहरू नबुझेकाले यस्तो हुन्छ; त्यस्तो अवस्थामा, तुरुन्तै पेसागत सीपहरू सिक् र अल्छी नगर्। तर यदि यो जानाजानी र नियतवश गरिएको हो भने, यदि तँ यो कर्तव्य पूरा गर्न इच्छुक छैनस् र जानाजानी परमेश्वरको घरको सम्पत्तिमा क्षति समेत पुऱ्याउँछस् भने, यसलाई गम्भीर रूपमा सम्हाल्नुपर्छ। जसलाई बर्खास्त गर्नुपर्छ, उसलाई बर्खास्त गरिनेछ, र जसलाई अन्तै पठाइनुपर्छ, उसलाई पठाइनेछ; डराएर कुनै फाइदा छैन। यदि तिमीहरूमा यो आस्था छ भने, जब म तिमीहरूसँग बोल्छु र मामिलाहरू सम्हाल्छु, तब तिमीहरूले धेरै सहज महसुस गर्नेछौ। जब म तँसँग बोल्छु वा काम वा पेसागत मामिलाहरूबारे छलफल गर्छु, तब तैँले निस्फिक्र हुन जान्नुपर्छ, तैँले परमेश्वर कसैको विरुद्ध दाउपेच गर्नुहुन्न, न त उहाँ तेरो विरुद्ध दाउपेच गर्नुहुनेछ भन्ने कुरा जान्नुपर्छ; तँ ढुक्क हुन सक्छस्। यदि तँसँग यति आस्था पनि छैन भने, यदि तँ परमेश्वर दयालु र धर्मी हुनुहुन्छ भन्ने विश्वास गर्दैनस् भने, जब तँ म परमेश्वरमा विश्वास गर्छु, देहधारी परमेश्वरलाई पछ्याउँछु, ख्रीष्टलाई पछ्याउँछु भनेर भन्छस्—तब तेरो आस्था कहाँ हुन्छ? तँ उहाँसँग कसरी खुला हुन सक्छस्? यदि तँ हरेक मोडमा उहाँदेखि सतर्क रहन्छस्, उहाँबारे अनुमान गर्छस्, उहाँमाथि शङ्का गर्छस्, र उहाँको छानबिन गर्छस् भने, तँमा उहाँप्रति साँचो आस्था छैन। यदि तँसँग यस व्यक्तिप्रति साँचो भरोसा, साँचो आस्था छैन भने, तँ मेरा वचनहरूमा कुन हदसम्म विश्वास गर्न सक्छस् र? के तैँले साँच्चै विश्वास गर्न, साँच्चै स्वीकार गर्न सक्ने कुनै अभिव्यक्ति छ? लगभग कुनै पनि छैन, होइन र? (हो।)
एक पटक, म एउटा मण्डलीमा परिस्थिति कस्तो रहेछ भनेर हेर्न गएँ। जब म कोठाभित्र पसेँ, तब मैले सुरुमा सबैलाई अभिवादन गरेँ। केही मानिसहरू आए, तुरुन्तै मलाई बस्नका लागि कुर्सी दिए, अनि त्यसपछि तिनीहरूले केही कुराबारे छलफल गरिरहेका थियौँ भनेर भने। तिनीहरू कुरा गरिरहेकै बेला, मैले अचानक एकैछिन अघि कोठामा चार-पाँच जना मानिस भएको, तर अहिले दुई जना मात्रै बाँकी रहेको कुरा याद गरेँ। मैले त सायद तिनीहरू कपाल कोर्न र ताजा हुन आफ्नो कोठामा गएका होलान् र एकैछिनमा बाहिर आउलान् भन्ने सोचेको थिएँ, तर म त्यहाँ निकै बेरसम्म बसेँ र पनि तिनीहरू बाहिर आएनन्। त्यसपछि मैले बुझेँ: तिनीहरूले मलाई स्वागत गरेनन्; म असुविधाजनक समयमा आएको थिएँ। म नबोलाइएको पाहुना थिएँ। मेरो आगमनले तिनीहरूलाई नियन्त्रित र असहज महसुस गरायो। तिनीहरूले सोचे, “के तपाईँको भ्रमणको केही उद्देश्य छ?” तिनीहरूलाई पासोमा पर्ने, छल गरिने, र कुनै षड्यन्त्र को डर थियो, त्यसकारण तिनीहरूले मसँग आमनेसामने भेट गर्न इन्कार गरे र मसँग कुराकानी वा अन्तरक्रिया गर्न इन्कार गरे। यो कुनै अतिशयोक्ति होइन, न त मैले कुनै कुरा थपेर यसलाई सजाएको नै छु। म कुनै कथा सुनाइरहेको छैनँ—यो साँच्चै भएको थियो। सायद म ढोका खोलेर गएपछि मात्रै तिनीहरूले अन्तमा राहतको सास फेरे, र भने, “बल्ल उहाँ जानुभयो! ओहो, म त डरले झन्डै मरेँ!” मैले मनमनै सोचेँ, के मसँग त्यस्तो ठूलो “आकर्षण” छ कि म मानिसहरूलाई यो हदसम्म तर्साउन सक्छु? मलाई भन, जब मानिसहरूले यस्ता प्रकटीकरणहरू देखाउँछन्, तब यसले कस्तो समस्यालाई सङ्केत गर्छ? मैले साँच्चै नै मानिसहरूले यसरी परमेश्वरमा विश्वास गरेको कहिल्यै देखेको छैन। यस्तो व्यक्ति अँध्यारा कुनाहरूमा बस्न मन पराउँछ; ऊ उज्यालोमा बस्न मन पराउँदैन, र ऊ खुला र स्पष्ट तरिकाले जिउन मन पराउँदैन। मलाई भन, जब म तिमीहरूसँग सम्पर्कमा हुन्छु, तब के तिमीहरूलाई अप्ठ्यारो र व्यग्र महसुस हुन्छ, र मसँग कुराकानी गर्ने चाहना हुँदैन? कि तिमीहरू मसँग सम्पर्कमा आउन इच्छुक हुन्छौ, केही सत्यता प्राप्त गर्न चाहन्छौ, र यसले तिमीहरूलाई अलिकति व्यग्र बनाए पनि तिमीहरू वास्ता गर्दैनौ? तिमीहरूको मनस्थिति कस्तो हुन्छ? (हामीलाई अलि व्यग्र महसुस भए पनि, हामीले सत्यता बुझ्न र केही लाभ उठाउन सकेमा ठीकै हुन्छ।) मेरो सम्पर्कमा आएर मसँग दुई-तीन घण्टा कुराकानी गरेपछि, धेरैजसो मानिसलाई मेरो सङ्गतिका धेरै वचन अत्यन्तै महत्त्वपूर्ण लाग्छ, तिनीहरूलाई ती वचन आफूले पहिले कहिल्यै नसुनेका कुराहरू हुन् भन्ने लाग्छ, त्यसकारण तिनीहरूलाई त्यस दिन यी वचनहरू सुन्नु अत्यन्तै सार्थक थियो भन्ने लाग्छ, र तिनीहरू मेरो सङ्गति सुन्न निकै इच्छुक बन्छन्। यदि मैले कहिलेकाहीँ केही अनौपचारिक कुराकानी गरेँ भने, तिनीहरू अलिकति निराश हुन्छन र तिनीहरूले मेरा वचनहरूबाट केही प्राप्त गर्न सके भने मात्रै तिनीहरू सन्तुष्ट हुन्छन्। त्यस्ता मानिसहरूका लागि, म वास्तविक जीवनका मामिलाहरूलाई समावेश गर्दै केही सत्यताबारे सङ्गति गर्न इच्छुक हुन्छु, ताकि सबैले लाभ उठाउन सकून्। कतिपय मानिसहरूले मलाई देख्दा, म तिनीहरूलाई केही अवस्थाहरूका बारेमा सोधूँला, अनि त्यसपछि जवाफ दिन नजानेर तिनीहरू अप्ठ्यारोमा पार्लान् भनेर सधैँ डराउँछन्। त्यस्ता मानिसहरूको मन निकै जटिल हुन्छ; ती सरल हुँदैनन्। अन्य मानिसहरू सत्यता खोज्न इच्छुक हुन्छन्, तिनीहरू हाँसोको पात्र बनिन्छ कि भन्ने डर नमानी आफूसँग भएका जुनसुकै कठिनाइहरू खुलेर बाँड्छन्—त्यो सही तरिका हो। हाम्रो सञ्चार र संवादको सिद्धान्त भनेको हाम्रो हृदय खोल्नु र हाम्रो मनमा जे छ त्यही भन्नु, सत्य बोल्नु हो। म सामान्य मानवताभित्र रहेर तिमीहरूसँग संलग्न हुन्छु र अन्तरक्रिया गर्छु। मेरो पहिचान र हैसियतका कारण, म तिमीहरूभन्दा धेरै जान्दछु, त्यसकारण मैले अवश्य नै नै धेरै बोल्नुपर्छ। यदि तिमीहरू सुन्न इच्छुक छौ भने, तिमीहरूले केही प्राप्त गर्न सक्छौ; यदि तिमीहरू सुन्न इच्छुक छैनौ भने, म तिमीहरूलाई जबरजस्ती गर्नेछैनँ। यदि तिमीहरूसँग हामीले छलफल गर्ने विषयहरूबारे अन्तर्ज्ञान, विचार, अनुभव, बुझाइ, वा ज्ञान छ भने, तिमीहरूले पनि ती बाँड्न सक्छौ। यसलाई नै अन्तरक्रिया भनिन्छ; यो सामान्य मानवता हो। यदि तँलाई मैले भनेको कुरा निकै महत्त्वपूर्ण लाग्छ भने, तैँले ध्यान दिएर सुन्नुपर्छ। यदि तँ मैले भनेको कुरा ग्रहण गर्न सक्दैनस् भने, म बोल्न छोड्नेछु र तँलाई बोल्न दिनेछु। यदि तँसँग भन्नका लागि केही छैन भने, म तँलाई प्रश्नहरू सोध्नेछु र तँलाई मार्गदर्शन गर्नेछु। उदाहरणका लागि, म यस्तो सोधूँला, “हालै तेरो मण्डली जीवन कस्तो चलिरहेको छ? के तेरो कर्तव्य निर्वाहमा कुनै कठिनाइहरू छन्?” यदि तँलाई कठिनाइहरू आइपरेका छन् भने, तैँले तीबारे सत्यतापूर्वक बोल्नुपर्छ, र म तँलाई ती समाधान गर्न मद्दत गर्नेछु। यसलाई नै अन्तरक्रिया भनिन्छ, र यो सामान्य मानवताभित्र हुनुपर्ने कुरा हो। के यो सबैले मन पराउने कुरा होइन र? (हो।) यदि तँसँग विवेक र समझ छ भने, तेरो मानवता सामान्य हुनेछ, र हाम्रो कुराकानी र गफगाफ निष्कपटता, भरोसा, र आदरको जगमा निर्माण हुन सक्छ, जसले गर्दा हामी खुलस्त भएर आफ्नो हृदयमा भएका कुराहरू बोल्न सक्छौँ। यदि तँसँग विवेक र समझ छैन, र तँ सत्यता खोज्न चाहँदैनस् भने, तँसँग अभ्यास गर्नका लागि एउटा मात्रै मार्ग हुन्छ: अबदेखि, छानबिन नगर्न, मेरा वचन र अभिव्यक्तिहरूबाट मेरो मन पढ्ने प्रयास नगर्न, बन्धनमा नपर्न, र परीक्षाका वचनहरू नबोल्न सिक्। कसैले भन्ला, “म यी कुराहरू हासिल गर्न सक्दिनँ।” त्यसोभए, आफ्नो मुख बन्द राख्। यदि तँलाई चुप लाग्न भनियो, तर तँ चाहिँ म तेरो विरुद्ध दाउपेच गरिरहेको छु र तँलाई बन्धनमा पारिरहेको छु भनेर सोच्छस् भने, त्यसलाई पनि सम्हाल्न सजिलो छ: तँ चुपचाप जान सक्छस्। मैले भेट्ने जोसुकैबाट पनि म कुनै माग गर्दिनँ, र म मानिसहरूलाई कहिल्यै बन्धनमा पार्दिनँ। यदि कसैले सधैँ ममा गल्ती खोज्छ, र म ऊसँग बोले पनि वा नबो,e पनि त्यो कहिल्यै उसका लागि ठीक हुँदैन भने, म त्यस्तो व्यक्तिबाट टाढा रहन र ऊसँग सम्पर्क नगर्न मात्रै सक्छु। यदि कतिपय मानिसहरू सधैँ मसँग सम्पर्कमा रहन डराउँछन्, सधैँ मैले तिनीहरूविरुद्ध दाउपेच गर्नेछु भनी सोच्छन्, तैपनि केही सत्यता प्राप्त गर्न मेरो सम्पर्कमा आउन चाहन्छन् भने, म भन्छु, त्यस्तो मानसिकता राखेर तैँले सत्यता प्राप्त गर्न सक्दैनस्; तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होइनस्। तँ सधैँ मानिसहरूका बारेमा सबैभन्दा नराम्रो सोच्छस्, तँजस्तो असल कोही छैन भन्ने विश्वास गर्छस्। मैले तँलाई जे भने पनि, तँ सधैँ म तेरो विरुद्ध दाउपेच गरिरहेको हुनुपर्छ भन्ने सोच्छस्। तँ मलाई विश्वास गर्दैनस् र मलाई भरोसा गर्दैनस्। त्यस अवस्थामा, हामी मेलमिलापमा बस्नु असम्भव हुन्छ; कम्तीमा पनि, हामी मानवताको हिसाबमा मिल्दैनौँ। हाम्रो कुनै साझा सोख वा रुचि छैन, पछ्याउने वा आकाङ्क्षा राख्ने कुनै साझा लक्ष्य छैन। मानवताको हिसाबमा, तैँले हिँड्ने मार्ग, तेरो खुसी, रिस, दुःख, र आनन्द, र तेरा रुचि र सोखहरू मेराभन्दा फरक छन्। तैँले मन पराउने सबै कुरा नकारात्मक हुन्छन्, जबकि मैले कुरा गर्न चाहने विषयहरू सबै सकारात्मक कुराहरूसँग सम्बन्धित हुन्छन्। तँ सधैँ मेरो छानबिन गर्ने प्रयास गर्छस्। मैले जुनसुकै सत्यताबारे सङ्गति गरे पनि, तँ सधैँ त्यसमा कुनै षड्यन्त्र छ कि, म दाउपेच गरिरहेको छु कि, तैँले कुनै हानि भोग्लास् कि वा धोका खानुपर्ला कि भनेर सोच्छस्। यदि तँ सधैँ यी कुराहरू सोचिरहेको हुन्छस् भने, हामी एक-अर्कासँग बोल्छौँ र संलग्न हुँदा कस्तो प्रकारको दृश्य उत्पन्न होला? (असहजता।) त्यस परिस्थितिमा, मलाई तेरो वरपर रहँदा असहज महसुस हुनेथियो, र तँलाई मेरो वरिपरि रहँदा असहज महसुस हुनेथियो; हामी दुवैलाई असहज महसुस हुनेथियो। यसरी एक-अर्काको वरिपरि रहनु आपसी सास्ती मात्रै हुनेथिएन र? के त्यसमा कुनै खुसी हुनेथियो? त्यसमा कुनै खुसी हुनेथिएन। यदि तँ मैले भन्ने कुरा सुन्न मन पराउँछस् भने, यदि तँ सुन्न इच्छुक छस् भने, यदि मैले कुरा गर्ने विषयहरू तैँले आकाङ्क्षा राख्ने, तेरो हृदयमा कदर गर्ने, तैँले पछ्याउने कुराहरू हुन्, र तिनले तेरो मानवताका आवश्यकताहरू पूरा गर्न सक्छन् भने, हामी त्यहाँ चुपचाप बसे पनि हाम्रो हृदयमा कुनै वितृष्णा वा प्रतिरोध हुनेथिएन। हामी अन्तरक्रिया गर्न सक्थ्यौँ, र, सँगै बसेर हामी मेलमिलाप हासिल गर्न सक्थ्यौँ। तर मानौँ, मैले बोल्ने वचनहरू अत्यन्तै व्यावहारिक र मानिसहरूका लागि लाभदायक भए पनि तँ ती सुन्नै चाहँदैनस् र आफ्नो हृदयमा वितृष्णा र प्रतिरोध समेत महसुस गर्छस्। तँ मैले बोल्ने सकारात्मक कुराहरू, र समस्याहरू समाधान गर्न मैले बोल्ने सत्यतामाथिको सङ्गतिका वचनहरू, विशेष गरी भ्रष्ट स्वभावहरू समाधान गर्ने बारेका विषयहरू साँच्चै ग्रहण गर्न सक्दैनस्, र तँलाई म तेरो मगजधुलाइ गरिरहेको छु, तँलाई धोका दिइरहेको छु, सुसमाचार प्रचार गर्न र परमेश्वरको घरको प्रभाव विस्तार गर्न थप मानिसहरू प्राप्त गर्न तँलाई प्रयोग गर्ने प्रयास गरिरहेको छु भन्ने समेत लाग्छ। त्यसो हो भने त, तँ नै गलत छस्। तँ सधैँ विकृत तरिकाले सोच्छस्, सधैँ तथ्यलाई बङ्ग्याउन, सेतोलाई कालो भन्न, र सत्यता अनुरूपका सकारात्मक कुराहरूलाई समेत सामाजिक प्रचलनहरूसँग नमिल्ने नकारात्मक, दुष्ट कुराहरूका रूपमा वर्णन गर्न चाहन्छस्। मैले जे भने पनि, तँ त्यो सत्यता हो, त्यो सकारात्मक कुरा हो भन्ने विश्वास गर्दैनस्। त्यसपछि हामी संवाद गर्न सक्दैनौँ; कुनै साझा भाषा नभएकाले, हामी सामञ्जस्यतासाथ बस्न सक्दैनौँ। हामी एउटै टेबलमा खान सक्दैनौँ; हामी एउटै हृदय र मनको हुन सक्दैनौँ। त्यसोभए तँ कस्तो प्रकारको व्यक्ति होस्? ठ्याक्कै भन्नुपर्दा, तँ परमेश्वरको घरको हिस्सा होइनस्; तँ एक गैरविश्वासी होस्। मैले कुरा गर्ने विषयहरू जति नै उचित भए पनि, वा अभ्यासका मार्गहरू र अभ्यासका सिद्धान्तहरू जति नै उचित भए पनि, तँ सधैँ तिनको अर्कै अर्थ लगाउँछस्। तँ सधैँ तिनलाई दुष्ट नजरबाट र दुष्ट अडान र दृष्टिकोणबाट हेर्छस्, बुझ्छस्, र अर्थ्याउँछस्; तँ मैले बोल्ने अभ्यासका सही मार्गहरू र अभ्यासका सिद्धान्तहरूलाई स्वीकार गर्दैनस्। त्यसकारण, मैले बोलेको सुन्दा तँलाई असहज महसुस हुन्छ। किन असहज महसुस हुन्छ? किनभने यी तेरा मानवताका आवश्यकताहरू होइनन्। तँलाई के चाहिन्छ? स्वतन्त्रताको पछि लाग्नु, धन कमाउनु, खानु, पिउनु, र खुसी रहनु। तेरो जीवनका आदर्श वाक्यहरू “मीठो खानु र राम्रो लगाउनु नै जीवन हो” र “आज छ आजै रमाऊ” भन्ने हुन्। तँलाई के मन पर्छ? तँलाई दुष्ट प्रचलनहरू, अनौठा लुगाहरू, सेलिब्रिटीहरू र प्रसिद्ध मानिसहरू, र मानिसको असामान्यता र महानता मन पर्छ। त्यसो भएको हुनाले, तँ परमेश्वरको साँचो विश्वासी होइनस्, तँ परमेश्वरको घरको हिस्सा होइनस्; तेरो मानवतालाई सकारात्मक कुराहरूको आवश्यकता छैन। जब म तँसँग संलग्न हुन्छु, तब मैले जे भने पनि, जे गरे पनि, वा जसरी गरे पनि, सामान्य मानवताको विवेक, समझ, वा आवश्यकता नभएकाहरूका लागि, यो सबै एउटा सिद्धान्त, एउटा भनाइ, एउटा विधि मात्र हुन्छ। कति त यस्तो पनि सोच्छन्, “जब तपाईँ बोल्नुहुन्छ, तब तपाईँ निकै विस्तृत रूपमा बोल्नुहुन्छ, र उदाहरणहरू समेत दिनुहुन्छ। के यो तपाईँका विचार र दृष्टिकोणहरूलाई मानिसहरूको हृदयमा गहिरो गरी रोप्ने प्रयास मात्र होइन र? के यो मानिसहरूलाई तपाईँका विचार र दृष्टिकोणहरू स्वीकार गर्न लगाउने, तिनीहरूको मगजधुलाइ गर्ने, र समयसँगै तिनीहरूलाई तपाईँका विभिन्न विचार र दृष्टिकोणले भावशून्य बनाउने प्रयास मात्र होइन र?” यदि तँ साँच्चै यस्तो महसुस गर्छस् भने, यदि तँ यी वचनहरू सत्यता होइनन्, मानिसहरूले स्वीकार र अभ्यास गर्नुपर्ने साँचो मार्ग होइनन्, मानिसहरूले पालन गर्नुपर्ने सिद्धान्तहरू पनि होइनन् भनी विश्वास गर्छस् भने, तैँले तिनलाई स्विकार्न इन्कार गरे हुन्छ; त्यो तेरो स्वतन्त्रता हो। तैँले मण्डली छोड्न पनि सक्छस्। तँसँग आफ्नो लागि छनोट गर्ने अधिकार छ, र सत्यतालाई स्वीकार गर्न इन्कार गर्ने अधिकार पनि छ। तर तथ्यलाई नबङ्ग्या वा सेतोलाई कालो नभन्। सत्यता हर समय सत्यता नै हुन्छ; केही दियाबलस र शैतानहरूले यसलाई इन्कार र निन्दा गरेकै कारणले यो सत्यता हुन छोड्दैन, धेरै मानिसले यसलाई मन पराउँदैनन् वा स्वीकार गर्न सक्दैनन् भन्दैमा यो सत्यता हुन छोड्ने कुरा त परै जाओस्। सत्यता सदासर्वदा अस्तित्वमा रहन्छ; यो अनन्त रूपमा अपरिवर्तनीय छ। जतिसुकै मानिसहरूले यसलाई स्वीकार गर्न सके पनि, सत्यता सधैँ सत्यता नै हुन्छ। तिमीहरूसँगका मेरा गफगाफ, संवाद, र अन्तरक्रियाहरू पूर्ण रूपमा तिमीहरूले ममाथि राखेको भरोसाको जगमा निर्माण भएका हुन्छन्; यो सबैभन्दा आधारभूत सिद्धान्तहरूमध्ये एक हो। भरोसा हासिल गर्नका लागि चाहिने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मैले बोल्ने हरेक वचन, मैले सोध्ने हरेक प्रश्न, वा मैले कुरा गर्ने हरेक मामलामा कुनै दाउपेच, कुनै षड्यन्त्र, कुनै पासो, र पक्कै पनि तिमीहरूलाई गरिने कुनै परीक्षा छैन भन्ने कुरा तिमीहरू सबैले आफ्नो हृदयमा पुष्टि गर्नु हो। त्यसकारण तिमीहरू ढुक्क हुन सक्छौ—म तिमीहरूसँग संलग्न हुँदा, यसले तिमीहरूलाई पूर्ण रूपमा स्वतन्त्र र तनावमुक्त महसुस गराउनुपर्छ। यदि तिमीहरूलाई मसँग संलग्न हुँदा स्वतन्त्र वा तनावमुक्त महसुस हुँदैन, तिमीहरू कि त बन्धनमा परेको कि त धेरै असहज महसुस गर्छौ, वा तिमीहरू हृदयमा सधैँ सतर्क रहन्छौ भने, म त भन्छु, यो साँच्चै मेरो समस्या नभई तिमीहरूको समस्या हो। तिमीहरूको समस्या कुन पक्षमा छ? तिमीहरू आफै नै तिमीहरूलाई के समस्याहरू छन् र तिमीहरू आफ्नो हृदयमा के सोचिरहेका छौ भन्ने कुरामा स्पष्ट हुनुपर्छ; त्यसपछि, निश्चित समस्याहरूलाई निश्चित रूपमा समाधान गर। तिमीहरू जे-जति समस्याहरू पत्ता लगाउन सक्छौ, तिनलाई समाधान गर। यदि तिमीहरूले धेरै समस्या पत्ता लगायौ भने, तिनलाई टिपोट गर, अनि त्यसपछि तिनलाई एक-एक गरी समाधान गर। यदि हरेक समस्या एकै पटकमा समाधान गर्न सकिँदैन भने, तिनलाई एक-एक गरी, बिस्तारै समाधान गर। जब यी कुराहरू हुन्छन्, तब तैँले जाँच्नु र चिन्तन गर्नुपर्छ, त्यस समयमा तैँले वास्तवमा के सोचिरहेको थिइस्, तँ कुन-कुन मामलाहरूबारे त्यसरी सोच्छस्, र तँ कुन-कुन मामलाहरूबारे के-कस्ता दृष्टिकोणहरू विकास गर्छस् भनी हेर्नुपर्छ; त्यसपछि बिस्तारै तिनलाई समाधान गर्नुपर्छ। एक दिन, जब तैँले आफ्नो हृदयका यी विचार र दृष्टिकोणहरूलाई त्याग्छस्, तब यी समस्याहरू सबै समाधान हुन्छन्, र तैँले साँच्चै सत्यता बुझ्छस् र सत्यताको मूल्य देख्छस्, त्यसपछि तैँले ममाथि भरोसा गर्नेछस्। तैँले म कुनै पनि व्यक्ति र कुनै पनि समस्यालाई सत्यता सिद्धान्तहरू अनुसार व्यवहार गर्न सक्छु र तेरो विरुद्ध पटक्कै दाउपेच गर्नेछैन भनी विश्वास गर्नेछस्। फलस्वरूप, हाम्रो अन्तरक्रिया तनावमुक्त र हर्षमय बन्न सक्छ, हामी सामञ्जस्यतामा जिउन सक्छौँ, र त्यसपछि हाम्रो यो सामञ्जस्यताबाट खुसी प्राप्त हुन सक्छ। खुसी, आनन्द, शान्ति, र हर्ष पाउनु—के त्यो राम्रो कुरा होइन र? (हो।)
म कहिलेकाहीँ मानिसहरूको सम्पर्कमा आउँदा तिनीहरूले कति वर्षदेखि परमेश्वरमा विश्वास गरेका छन् भनेर सोध्छु। कसैले भन्छ, उसले विश्वास गरेको तीन वर्ष मात्रै भयो र उसलाई लाज लाग्छ। उसले हृदयमा आफूले परमेश्वरमा छोटो समयदेखि विश्वास गरेको र आफ्नो कद सानो भएको सोच्छ, त्यसकारण जब उसले आफूलाई दश, बीस, वा तीस वर्षदेखि विश्वास गर्नेहरूसँग तुलना गर्छ, तब उसले सधैँ आफू हीन, तिनीहरूभन्दा तल्लो दर्जाको भएको महसुस गर्छ। उसले मनमनै सोच्छ, “के तपाईँले यो कुरा मैले परमेश्वरमा छोटो समयदेखि विश्वास गरेको छु, मेरो कद सानो छ, र परमेश्वरको घरले मलाई अपवादका रूपमा बढुवा गरेको छ भनेर मलाई सम्झाउन, र मलाई परमेश्वरको घरप्रति गहन रूपमा कृतज्ञ महसुस गराउनका लागि सोध्नुभएको हो?” यस्तो प्रश्नले उसलाई किन यति धेरै अप्ठ्यारो महसुस गराउँछ? किनभने उसले मेरा वचनहरूमा षड्यन्त्र छ र म उसको विरुद्ध दाउपेच गर्ने प्रयास गरिरहेको छु भन्ने सोच्दै मेरो प्रश्नलाई बढ्ता जटिल बनाउँछ। उसले यस्तो सरल प्रश्नमा धेरै तहका अर्थहरू लगाउँछ। तीन वर्षदेखि विश्वास गरेको छु भनेर भनिसकेपछि, उसले आफू कठिन परिस्थितिमा परेको महसुस गर्छ। के ऊ आफ्नो हृदयमा मेरो प्रश्नदेखि असन्तुष्ट हुँदैन र? वास्तवमा, म यो प्रश्न कुनै निश्चित अभिप्रायविना सोध्छु, र यसले तँलाई कठिन परिस्थितिमा पार्ला भन्ने अपेक्षा गर्दिनँ। त्यसोभए, तँलाई किन आफू कठिन परिस्थितिमा परेको छु जस्तो लाग्छ? किनभने तेरो मन निकै जटिल छ। के मेरो प्रश्न कुनै पनि हिसाबमा गलत छ? (छैन।) म यो त्यत्तिकै सोधिरहेको छु। यदि मैले तँलाई तेरा कति जना रोमान्टिक साथीहरू थिए भनेर सोधेँ भने, त्यो अनुपयुक्त होला, किनभने त्यो तेरो निजी मामिलाको चियोचर्चो गर्नु हुनेछ। तर म जे सोधिरहेको छु, त्यो परमेश्वरमाथिको तेरो आस्थासँग सम्बन्धित कुरा हो—म तँलाई तैँले कति वर्षदेखि परमेश्वरमा विश्वास गरेको छस् भनेर सोधिरहेको छु। के त्यो उचित छैन र? (छ।) त्यसोभए तँ किन जवाफ दिने आँट गर्दैनस्? यो साँच्चै मेरो समस्या होइन; यो तेरो समस्या हो। तेरो मन निकै जटिल छ। के भएर तेरो यो मन जटिल भएको हो त? तेरो स्वभाव दुष्ट र छली भएकाले होइन र? (हो।) म तँलाई तैँले कति वर्षदेखि परमेश्वरमा विश्वास गरेको छस् भनेर किन सोध्छु? म तेरो कद कस्तो छ, तैँले कुन-कुन सत्यताहरू बुझेको छस्, तैँले जग बसालेको छस् कि छैनस्, तँलाई के-कस्ता कठिनाइहरू छन्, तैँले कुनै कर्तव्य पूरा गर्न सक्छस् कि सक्दैनस्, र तैँले कुनै परीक्षाहरू अनुभव गरेको छस् कि छैनस् भनी पत्ता लगाउन यो सोध्छु। यी कुराहरूका आधारमा, म तँसँग केबारे सङ्गति गर्ने, के-कस्ता विषयहरू प्रस्ताव गर्ने भनी निर्धारण गर्छु, त्यति मात्रै हो। मेरो यस्तो सरल विचारलाई तँ मेरो गुप्त मनसाय भएको भनी गलत व्याख्या गर्छस्, जसले गर्दा तँलाई मप्रति वितृष्णा लाग्छ। मलाई भन् त, यो त मैले आफ्ना असल अभिप्रायको बदलामा समस्या पाउनु मात्रै होइन र? (हो।) जब म तँलाई तैँले कति वर्षदेखि परमेश्वरमा विश्वास गरेको छस् भनेर सोध्छु, तब के मेरो अभिप्रायमा तँलाई होच्याउने कुरा अलिकति पनि हुन्छ? (हुँदैन।) के त्यसमा कुनै दुर्भावना हुन्छ? के त्यसमा तँलाई अप्ठ्यारो महसुस गराउने र नराम्रो देखाउने कुनै अभिप्राय हुन्छ? (हुँदैन।) चाहे तैँले परमेश्वरमा विश्वास गरेको केही महिना भएको होस् वा एक-दुई वर्ष भएको होस्, मेरो अभिप्राय तँलाई मद्दत गर्नु मात्रै हो। तँ आफ्नो पछ्याइमा निकै इमानदार, निकै उत्साही भएको देखेर, तैँले यति धेरै कष्ट भोगेको, यस्तो मूल्य चुकाएको, र यति धेरै त्यागेको देखेर, म तँसँग कुराकानी गर्न चाहन्छु ताकि तैँले सामान्यतया नपाउने कुरा प्राप्त गर्न सक्। तैँले कति वर्षदेखि विश्वास गरेको छस् भनी सोध्नु, एकातिर, तँप्रतिको चिन्ताबाट आउँछ, र अर्कोतिर, तँलाई कदर गर्ने भावबाट आउँछ। के यसमा कुनै दुर्भावना हुन्छ? (हुँदैन।) यो निकै उचित प्रश्न हो, तैपनि त्यो व्यक्तिले यसलाई बङ्ग्याएर के बनाएको छ? “तपाईँ मैले परमेश्वरमा लामो समयदेखि विश्वास गरेको छैन, मेरो कद सानो छ र म कुनै सत्यता बुझ्दिनँ, म अरूभन्दा खराब छु, म हीन छु भनेर सबैले थाहा पाऊन् भन्ने चाहनुहुन्छ, र तपाईँ मलाई लज्जित पार्न चाहनुहुन्छ।” यदि तँ त्यसरी सोच्छस् भने, हामी अझै अन्तरक्रिया गर्न सक्छौँ र? (सक्दैनौँ।) त्यसकारण, हामीले अन्तरक्रिया हासिल गर्न र हामी सामञ्जस्यतामा जिउनका लागि चाहिने पहिलो कुरा के हो भने, तिमीहरूले ममाथि भरोसा गर्नैपर्छ र ममाथि शङ्का वा मबारे अनुमान गर्नै हुँदैन। यदि हामीबीच कुनै अन्तरक्रिया हुँदैन भने, समस्या कहाँ हुन्छ? यो त मानिसहरूमा हुन्छ; अर्थात्, मानिसहरूमा सबै प्रकारका कठिनाइहरू हुन्छन्। अनि यी विभिन्न कठिनाइ केबाट उत्पन्न हुन्छन्? ती मानिसहरूका विभिन्न गलत विचार र दृष्टिकोणहरूबाट उत्पन्न हुन्छन्। त्यसोभए, भर्खरै उल्लेख गरिएको व्यक्तिमा के-कस्ता गलत विचार र दृष्टिकोणहरू छन्? ऊ सोच्छ, परमेश्वरमा तीन वर्षदेखि विश्वास गरेको हुनाले ऊ मण्डलीको नयाँ विश्वासी हो छोटो समयदेखि मात्रै विश्वास गर्नु लाजमर्दो कुरा हो र यसले उसलाई हीन बनाउँछ, र उसले सत्यताबारे अत्यन्तै कम बुझ्छ र अझै पनि अनुभवात्मक गवाहीहरू बाँड्न सक्दैन। यसरी, उसले आफूलाई “दोस्रो दर्जाको नागरिक” का रूपमा, अरूले तुच्छ ठानेको व्यक्तिका रूपमा हेर्छ, र उसलाई यसबारे कुरा गर्न लाजमर्दो र अपमानजनक लाग्छ। अर्कोतिर, अरूले परमेश्वरमा दश वा बीस वर्षदेखि विश्वास गरेका हुन्छन्, जबकि उसले केवल तीन वर्षदेखि विश्वास गरेको हुन्छ, त्यसकारण उसलाई अरूले उसलाई यसो भन्नेछन् भन्ने चिन्ता लाग्छ, “तिमीले यतिका वर्षसम्म के गरिरहेका थियौ? तिमीले किन पहिले नै स्वीकार गरेनौ? के तिम्रो विगत अलिक लाजमर्दो छ?” सांसारिक मानिसहरूको नजरमा, योग्यता, अनुभव, र पृष्ठभूमिलाई ठूलो महत्त्व दिइन्छ, र तिनीहरूले मानिसहरूलाई विभिन्न दर्जामा वर्गीकरण गर्न यी कुराहरू प्रयोग गर्छन्। त्यसोभए यो व्यक्तिको दृष्टिकोण के हो त? उसले मानिसहरूको पृष्ठभूमि र अनुभवहरूलाई पनि ठूलो महत्त्व दिन्छ, त्यसकारण उसको हृदयमा, कसैले परमेश्वरमा तीन, पाँच, दश, बीस, कि तीस वर्षदेखि विश्वास गरेको छ भन्ने आधारमा तिनीहरूका फरक-फरक दर्जा हुन्छन्। यो दर्जाले उसलाई उसको तीन वर्षको आस्था त “दोस्रो दर्जाको नागरिक” हुनुझैँ मण्डलीमा अलिक लज्जास्पद कुरा हो। उसका लागि, यो लाजको चिह्न, अपमान हो। ऊ परमेश्वरमा विश्वास गरेका वर्षहरूको सङ्ख्यालाई धेरै महत्त्वपूर्ण ठान्छ, र संयोगवश उसले तीन वर्षदेखि मात्रै विश्वास गरेको हुन्छ। यदि तीनको पछाडि शून्य थपियो भने, यो तीस वर्षको आस्था बन्नेथियो, त्यसपछि उसलाई यो गौरवशाली कुरा हो भन्ने लाग्नेथियो। उसले यसो भन्नेथियो: “म परमेश्वरको काम स्वीकार गर्ने पहिलो समूहमध्येको एक थिएँ। परमेश्वर देखा पर्न र काम गर्न सुरु गर्नुभए लगत्तै मैले उहाँलाई पछ्याएँ। यतिका वर्षहरूमा, म जताततै सुसमाचार प्रचार गर्दै छु र परमेश्वरको गवाही दिँदै आइरहेको छु, उहाँको राज्य निर्माण गर्न परमेश्वरको साथमा लडिरहेको छु! म परमेश्वरको घरको एक अनुभवी, एक संस्थापक व्यक्तित्व हुँ!” उसलाई यो निकै गौरवशाली कुरा हो भन्ने लाग्नेथियो। भर्खरै परमेश्वरको काम स्वीकार गरेका कतिपय मानिसहरूले परमेश्वरले यति धेरै सत्यता व्यक्त गर्नुभएको छ र परमेश्वरको घरमा यति धेरै अनुभवात्मक गवाहीहरू छन् भनी देख्छन्, र तिनीहरूलाई आफूले परमेश्वरमा विश्वास गर्न धेरै ढिलो गरेँ भन्ने लाग्छ। यदि तिनीहरूले विश्वास गरेको एकदेखि तीन वर्ष जति भएको छ भनेर बताए भने, तिनीहरूलाई बोल्न गाह्रो लाग्छ, र तिनीहरू आफ्नो हृदयमा सोच्छन्: “मैले यतिका वर्षसम्म किन विश्वास गरिनँ? परमेश्वरले यति धेरै सत्यता व्यक्त गर्नुभयो, तैपनि मैले किन अनुसन्धान गरिनँ? मलाई परमेश्वरमा विश्वास गर्न कसले रोक्यो? कसले मलाई यस्तो नमीठो कष्ट दियो? यसो गर्ने त ती धार्मिक पाष्टरहरू हुन्; ती मानिसहरू साँच्चै नै मानिसहरूका आत्मालाई निल्ने दियाबलसहरू र शैतानहरू हुन्। यदि म स्वर्गको राज्यमा प्रवेश गर्न सकिनँ भने, मैले तिनीहरूसँग हिसाब मिलाउनुपर्नेछ!” त्यसपछि तिनीहरू फेरि सोच्छन्, “धत्, यो मेरो नमीठो भाग्य मात्रै हो; मसँग त्यो आशिष् छैन।” तर त्यसपछि तिनीहरू सोच्छन्, “होइन, त्यो कुरा सही होइन। परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ; परमेश्वरले म, यो हराएको सानो भेडालाई आफ्नो घरमा योभन्दा पहिले नै किन ल्याउनुभएन?” अनि यसरी तिनीहरू परमेश्वरमाथि दोष थोपर्छन्। वास्तवमा, तिनीहरूले जे सोचे पनि, सर्वप्रथम, तीन वर्ष विश्वास गर्ने र तीस वर्ष विश्वास गर्नेसम्बन्धी तिनीहरूको दृष्टिकोण गलत छ। तिनीहरू मानिसहरूको दर्जा निर्धारण गर्न उनीहरूको आस्थाको अवधि प्रयोग गर्छन्, र छोटो अवधिको आस्थाले व्यक्तिलाई हीन बनाउँछ भन्ने ठान्छन्। तिनीहरूले यो दृष्टिकोण विकास गरेपछि, जब म तिनीहरूलाई तिनीहरूले कति वर्षदेखि विश्वास गरेका छन् भनेर सोध्छु, तब तिनीहरूलाई बोल्न लाज लाग्छ। “तीन वर्ष” भन्दा तिनीहरूलाई धेरै अप्ठ्यारो लाग्छ, निकै सरम लाग्छ, निकै लाज लाग्छ, मानौँ तिनीहरूको मूल्य र दर्जा तुरुन्तै खुलासा भयो। तिनीहरू यसलाई धेरै महत्त्वपूर्ण ठान्छन्; यही दृष्टिकोणले नै मेरो प्रश्नप्रतिको तिनीहरूको मनोवृत्तिलाई प्रभाव पार्छ। होइन र? (हो।) मानौँ उसको दृष्टिकोण यस्तो थियो: “मैले परमेश्वरमा तीन वर्षदेखि विश्वास गरेको छु भन्ने कुरा तथ्य हो, र केवल तीन वर्षको आस्थाले गर्दा, मेरो कद साँच्चै नै सानो छ। धेरै सत्यताका हकमा त म धर्मसिद्धान्तहरू समेत स्पष्ट रूपमा व्याख्या गर्न सक्दिनँ। परमेश्वरले मलाई मैले कति वर्षदेखि विश्वास गरेको छु भनेर सोध्नुभएकाले, म सत्य मात्रै बोल्नेछु। लाज मान्नुपर्ने केही छैन। परमेश्वसामु सबै कुरा खुला हुन्छन्, सबै कुरा उदाङ्गो हुन्छन्। परमेश्वरले जे सोध्नुभए पनि म जवाफ दिनेछु।” यदि उसले यसरी सोचेको भए, यो सरल हुनेथियो। यसमा कुनै पहिचान, हैसियत, मूल्य, वा दर्जा समावेश हुनेथिएन। ऊ कुनै पनि गलत विचार वा दृष्टिकोणद्वारा बाँधिएको, प्रभावित भएको, नियन्त्रित भएको, वा चालबाजी गरिएको हुनेथिएन, र अन्त्यमा, उसले सजिलै र इमानदारीपूर्वक “मैले परमेश्वरमा तीन वर्षदेखि विश्वास गरेको छु” भनेर भन्न सक्नेथियो। त्यसपछि म यस्तो सोध्दै कुरालाई जारी थिएँ, “तैँले परमेश्वरमा तीन वर्षदेखि विश्वास गरेको छस्; के तँ दर्शनहरूसम्बन्धी सत्यताहरूबारे स्पष्ट छस्?” यदि कुनै जटिल मन भएको व्यक्ति हुन्थ्यो भने, उसले यस्तो सोच्नेथियो: “यदि मैले म स्पष्ट छैन भनेँ भने, के त्यसको मतलब मैले मेरो आस्थामा मेरो उचित काममा ध्यान दिएको छैन भन्ने हुँदैन र? तीन वर्षदेखि विश्वास गरेर पनि दर्शनहरूसम्बन्धी सत्यताहरूबारे अझै स्पष्ट नहुनुको मतलब मैले लगनशील रूपमा परमेश्वरका वचनहरू खाएको र पिएको छैन भन्ने हुँदैन र? तर यदि मैले म स्पष्ट छु भनेँ भने, परमेश्वरले यस विषयमा सङ्गति गर्नुहुनेछैन, र मैले यो अवसर गुमाउनेछु। यदि मैले म स्पष्ट छैन भनेँ भने, के उहाँले मसँग अलिकति बढी सङ्गति गर्नुहोला, अलिकति थप्नुहोला त? यदि मैले म स्पष्ट छु भनेँ भने, उहाँले मेरा लागि केही थप्नुहुनेछैन, तर सायद उहाँले मलाई उच्च ठान्नुहुनेछ कि?” हेर् त, ऊ फेरि बाङ्गोटिङ्गो तरिकाले सोच्दैछ, होइन र? के यस्तो व्यक्तिको मन निकै जटिल हुँदैन र? (हुन्छ।) त्यस्ता मानिसहरू साँच्चै नै समस्याग्रस्त हुन्छन्। तिनीहरू जोसुकैसँग कुरा गरिरहेका भए पनि, सधैँ आफ्नो इज्जत नगुमाई वा आफ्नो हितमा कुनै हानि नहुने गरी कसरी जवाफ दिने भनेर हिसाबकिताब गरिरहेका हुन्छन्। यसका साथै, तिनीहरू सधैँ आफूप्रतिको अरूको मनोवृत्तिलाई नियालेर हेरिरहेका हुन्छन्, सधैँ अरूलाई कसरी आफूलाई उच्च ठान्न लगाउने, र आफ्नो हैसियत कसरी उकास्ने भनेर हिसाबकिताब गरिरहेका हुन्छन्। तिनीहरू सधैँ यी कुराहरूबारे हिसाबकिताब गरिरहेका हुन्छन्, त्यसकारण तिनीहरूलाई सङ्गतिमा खुलस्त हुन र आफ्नो हृदयमा भएका कुराहरू बोल्न सजिलो हुँदैन। जब म उसलाई “परमेश्वरमाथिको तेरो आस्थामा, के तँ दर्शनहरूसम्बन्धी सत्यताहरूबारे स्पष्ट छस्?” भनेर सोध्छु, तब के यो प्रश्नको दोस्रो तहको अर्थ हुन्छ र? (हुँदैन।) म किन यो प्रश्न सीधै सोध्छु? सामान्यतया, एकदेखि तीन वर्ष जति विश्वास गरेकाहरूलाई अझै पनि दर्शनहरूसम्बन्धी सत्यताहरूमा सङ्गतिको आवश्यकता हुन्छ; यो सामान्य कुरा हो। यदि तिनीहरू दर्शनहरूसम्बन्धी सत्यताहरूबारे स्पष्ट छन् भने, तिनमा सङ्गति गर्न आवश्यक छैन, र हामी अन्य विषयहरूमा कुरा गर्न सक्छौँ। यदि तिनीहरूले “म अझै पनि दर्शनहरूसम्बन्धी सत्यताहरूबारे त्यति स्पष्ट छैन, विशेष गरी मानिसलाई मुक्ति दिने परमेश्वरको न्यायको कामसम्बन्धी सत्यता, जुन धेरै गहन छ, मैले अझै पनि यो बुझेको छैन। तपाईँ यसबारे सङ्गति गर्न सक्नुहुन्छ कि?” भनेर बताए भने, हामीले एउटा साझा विषय भेट्टाएका हुनेछौँ, र म यसबारे सङ्गति गर्नेछु। यदि सबैले यो एक पटक फेरि सुने भने, तिनीहरूले अलिकति बढी लाभ उठाउनेछन्, होइन र? (हो।) कतिपय मानिसहरू बुझ्दैनन् तर पनि बुझेको जस्तो गर्छन्। तँ केका लागि नाटक गरिरहेको छस्? तँ नाटक गरिरहन्छस्, जसले तँ सबै कुरा बुझ्छस्, र यदि मैले थप कुरा भनेँ भने त्यो अनावश्यक हुनेछ भन्ने सङ्केत गर्छ। त्यस अवस्थामा, म केही पनि भन्नेछैन, र तैँले केही पनि प्राप्त गर्नेछैनस्। त्यसकारण, परिस्थिति जस्तोसुकै भए पनि, यदि तँ शङ्काविना, मेरा वचनहरूको बढ्ता अर्थ नलगाई, सत्यतापूर्वक बोल्न सक्छस् भने, हाम्रो कुराकानी र संवाद जीवन्त अन्तरक्रियाको स्तरमा पुग्न सक्छ। हामी सबैले मन पराउने विषयहरूमा छलफल गर्दै सामान्य मानवताभित्र रहेर संवाद गर्न, संलग्न हुन, र अन्तरक्रिया गर्न सक्छौँ। के त्यो राम्रो होइन र? (हो।) यसरी, तिमीहरूले केही लाभ हासिल गर्नेछौ। कतिपय मानिसहरू निकै हिसाबी हुन्छन्। जब म तिनीहरू दर्शनहरूसम्बन्धी सत्यताहरूबारे स्पष्ट छन् कि छैनन् भनेर तिनीहरूलाई सोध्छु, तब तिनीहरू आफ्नो हृदयमा सोच्छन्, “यो सोध्नुपछाडिको तपाईँको तात्पर्य के हो? के तपाईँ म साँचो मार्गबारे निश्चित छु कि छैन, मैले जग बसालेको छु कि छैन, मेरो क्षमता कस्तो छ भनी हेर्न, मेरो क्षमता जाँच्न खोज्दै हुनुहुन्छ? त्यसोभए मैले म स्पष्ट छु भनेर भन्नैपर्छ।” त्यसकारण तिनीहरू यसो भन्छन्: “यी तीन वर्षमा, म निरन्तर परमेश्वरका वचनहरू खाँदै र पिउँदै आइरहेको छु, मैले परमेश्वरको घरका धेरै चलचित्र हेरेको छु, म प्रायजसो प्रवचन र सङ्गति सुन्छु, र म प्रायजसो भेलाहरूमा मेरो आफ्नै अनुभवात्मक बुझाइ बाँड्छु। म दर्शनहरूसम्बन्धी यी सबै सत्यताहरूबारे स्पष्ट छु।” यो भन्नुको पछाडि तिनीहरूको उद्देश्य के हुन्छ? तिनीहरू ममा राम्रो छाप छोड्न चाहन्छन्, मलाई तिनीहरूको क्षमता धेरै राम्रो छ भनी महसुस गराउन र तिनीहरूलाई उच्च ठान्न लगाउन चाहन्छन्। के तँलाई म उसले यी केही शब्दहरू बोलेकै कारण उसलाई उच्च ठान्छु भन्ने लाग्छ? (अहँ।) के म कसैलाई यति सजिलै उच्च ठान्छु होला त? पटक्कै ठान्दिनँ; उसले यो कुरा गलत बुझ्यो। यदि तँ दर्शनहरूसम्बन्धी सबै सत्यताबारे स्पष्ट छु भनेर भन्छस् भने, म तँलाई जाँच्छु। म तँलाई तैँले प्रायजसो पढ्ने दर्शनहरूसम्बन्धी सत्यताहरूबारे जाँच्छु। परमेश्वर किन सजाय र न्यायको काम गर्नुहुन्छ? सजाय र न्यायद्वारा हासिल गर्ने अभिप्राय राखिएको मुख्य प्रभाव के हो? तेरो आस्थाका यी तीन वर्षको दौरान, के तैँले सजाय र न्यायको कामको कुनै अनुभव गरेको छस्? के तैँले एक पटक पनि सजाय र न्याय अनुभव गरेको छस्? सजाय र न्याय अनुभव गर्दा, के तैँले सत्यता सिद्धान्तहरू बोध गरिस्? के तँलाई परमेश्वरका अभिप्रायहरू के हुन् भनी थाहा भयो? के तँ एउटा निश्चित अनुभव बाँड्न सक्छस्? धेरैजसो मानिसहरू केही धर्मसिद्धान्त मात्रै फलाक्छन् र कुनै पनि व्यावहारिक अनुभवात्मक बुझाइ बाँड्न सक्दैनन्। मानिसहरूमा धेरै कुराहरूको कमी हुन्छ, त्यसकारण जब हामी कुराकानी गर्छौँ, तब छलफल गर्नका लागि धेरै विषयहरू हुन्छन्। तर जुनसुकै प्रकारको विषयमा छलफल गरिए पनि, तैँले जति जान्दछस् त्यति नै सङ्गति गर्नुपर्छ। यदि तँलाई केही थाहा छैन भने, थाहा छैन भनेर भन्। विकृत तरिकाले नसोच्। तँलाई जे प्रश्न सोधिएको छ, त्यसैको जवाफ दे। त्यस क्षणमा तैँले हृदयमा जे सोचिरहेको हुन्छस् त्यही भन्। वास्तविक परिस्थिति जस्तोसुकै भए पनि, त्यसबारे साँचो बोल्। कुरा नघुमा, थपथाप नगर्, आफूलाई राम्रो देखाउन र आफूलाई सिँगार्न गर्न झूटो छाप छोड्ने कुराहरू नभन्, झूट नबोल् र छल नगर्। यी सबै तैँले गर्न नहुने कुराहरू हुन्। त्यसकारण, मैले तँलाई जुनसुकै प्रश्न सोधे पनि वा जुनसुकै प्रकारको विषयमा सङ्गति गरे पनि, तैँले जति जान्दछस् त्यति नै भन्। यदि मैले तँ सत्यताको कुनै निश्चित पक्ष बुझ्दैनस्, वा तेरो बुझाइ धर्मसैद्धान्तिक छ, वा तेरो बोध विकृत छ र तँसँग गलत विचार र दृष्टिकोणहरू छन् भनी पत्ता लगाएँ भने, म तँलाई तुरुन्तै सच्याउनेछु, मार्गदर्शन दिनेछु, र मद्दत गर्नेछु, ताकि तँ सत्यताको यो पक्ष बुझ्न सक्, तँसँग शुद्ध बुझाइ होस्, र अभ्यासको सही मार्ग होस्। यसरी, हाम्रो सङ्गति प्रभावकारी हुनेछ। त्यसकारण, कुनै विषयमा सङ्गति गर्नेसम्बन्धी सिद्धान्त सत्यतापूर्वक बोल्ने जगमा, संयुक्त सङ्गति र छलफल वा सत्यता र सकारात्मक कुराहरूबारे गरिने आदानप्रदानको जगमा निर्माण हुन्छ, ताकि मानिसहरू सङ्गति भइरहेको सकारात्मक विषयबारे अझ स्पष्ट हुन सकून्, तिनीहरूले यसलाई अझ सही रूपमा बुझ्न सकून्, र तिनीहरूसँग अभ्यासको अझ स्पष्ट मार्ग होस्। यो कुरा शङ्का, दाउपेच, र धोकाको जगमा निर्माण हुनु हुँदैन।
के तिमीहरूलाई देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकता जस्ता विषयहरूमा सङ्गति गर्नु राम्रो हो जस्तो लाग्छ? (राम्रो हो।) अनि यो कसरी राम्रो हो त? (हामीलाई लाग्छ, यसले देहधारी परमेश्वरबारेका हाम्रा धारणा र कल्पनाहरूलाई समाधान गर्न सक्छ।) कतिपय मानिसहरूभन्छन्, “तपाईँले हामीसामु आफ्नो साँचो स्वरूप उदाङ्गो पार्नुभएको छ, र अब हामीलाई तपाईँ कस्तो व्यक्ति हुनुहुन्छ भन्ने थाहा भयो। तपाईँ स्पष्ट सत्यता बोलेर साह्रै सोझो बन्दै हुनुहुन्छ! तपाईँमा सामान्य र व्यावहारिक हुनुका यी प्रकटीकरणहरू छन्, तर तपाईँ कसरी स्पष्ट सत्यता बोल्न सक्नुहुन्छ? तपाईँले मानिसहरूलाई तपाईँ रहस्यमय, बुझ्न नसकिने, उच्च, र अगम्य हुनुहुन्छ भनी महसुस गराउनुपर्छ। तपाईँले मानिसहरूको विरुद्धमा दाउपेच नगरे पनि, तपाईँले आफूले त्यसो गर्न सक्छु भनेर भन्नुपर्छ। तपाईँले आफूमा मानिसहरूलाई चालबाजी गर्ने कला र तिनीहरूलाई प्रयोग गर्ने कला भएको, छत्तीस युक्तिहरू जानेको, र तपाईँ सबै प्रकारका मानिसहरूलाई तपाईँको सेवामा लगाउन सक्ने भएको दाबी गर्नुपर्छ। यसरी बोलेर मात्र मानिसहरूले तपाईँलाई आदर्श मान्नेछन्; तपाईँले स्पष्ट सत्यता बोल्नु हुँदैन। तपाईँले यस्तो स्पष्ट सत्यता बोल्दा, मलाई तपाईँ पटक्कै रहस्यमय वा बुझ्न नसकिने हुनुहुन्न जस्तो किन लाग्छ? तपाईँ परमेश्वरजस्तो हुनुहुन्न भन्ने किन लाग्छ? संसारका ती महान् व्यक्तिहरूलाई हेर्नुहोस् त—सैन्य मामिला वा राजनीतिमा संलग्न हुनेहरू, र विगतका युगहरूका राजाहरू। ती महान् व्यक्तिहरू, ती असाधारण मानिसहरूमध्ये कसले कहिल्यै स्पष्ट सत्यता बोल्यो र? के तिनीहरूमध्ये कसैले कहिल्यै ऊ सामान्य, व्यावहारिक, र साधारण, केवल एक सामान्य व्यक्ति हो भनेर भनेको छ? तिनीहरू मानिसहरूले आफूलाई अरूभन्दा फरक, स्वर्गबाट पठाइएको, र अहिले एक सामान्य व्यक्ति बनेको भए तापनि, आफू अझै पनि रहस्यमय र बुझ्न नसकिने, र साधारण मानिसहरूका लागि अगम्य रहेको सोचून् भन्ने चाहन्छन्—त्यसपछि मात्र मानिसहरूमाथि शासन गर्न सजिलो हुन्छ!” ती राजाहरू सबैसँग साम्राज्यवादी शासनका कलाहरू थिए, र तिनीहरूका मन्त्रीहरू र आम जनताहरूले तिनीहरू कस्ता प्रकारका मानिसहरू हुन् भनी छर्लङ्गै देख्न सक्दैनथे। त्यो भनाइ के हो अरे? “सम्राटको इच्छा बुझ्न कठिन हुन्छ, र उसको आज्ञा उल्लङ्घन गर्न सकिँदैन।” गैरविश्वासी संसारका पदाधिकारीहरू सबैको यस्तै मानसिकता हुन्छ; एउटा सानो विभाग प्रमुख, शाखा प्रमुख, वा प्रबन्धकको समेत यस्तै मानसिकता हुन्छ। तिनीहरू मानिसहरूले आफ्नो वास्तविक क्षमता, आफ्नो मानवतामा भएका त्रुटिहरू, आफूले गरेका गल्तीहरू, वा आफ्ना कार्यहरूमा रहेका कमजोरीहरू छर्लङ्गै देखून् भन्ने चाहँदैनन्। तिनीहरूका कमजोरीहरू पत्ता लागेपछि, तिनीहरूले तिनलाई ढाकछोप गर्न र लुकाउन सक्दो प्रयास गर्छन्, र यदि तिनीहरूका खराब कामहरू खुलासा भए र प्रकाशमा आए भने, तिनीहरूले त्यसपछि बलिको बोका खोज्छन्। त्यसो गर्नुका पछाडि तिनीहरूको उद्देश्य मामिलाको सत्यतालाई ढाकछोप गर्नु हो ताकि मानिसहरूले तिनीहरूलाई निरन्तर आदरभावले हेरिरहून् र आदर्श मानिरहून्। यस्तो व्यक्तिले जे गरे पनि, उसले आफ्नै लक्ष्यहरू प्राप्त गर्न पूर्वचिन्तन र योजनाका साथ त्यो कुरा गर्छ, ताकि सबैले ऊ साधारण व्यक्ति होइन, उसले परिस्थितिलाई नियन्त्रण गर्न सक्छ, ऊ नै सूत्रधार हो भन्ने महसुस गरून्। उसले कहिल्यै ऊ एक सामान्य, व्यावहारिक, र साधारण व्यक्ति हो भनेर मानिसहरूलाई बिलकुलै थाहा दिनेछैन। वास्तवमा, ऊ केवल एक साधारण भ्रष्ट मानव हो, जोसँग औसत व्यक्तिभन्दा निकै धेरै धूर्त युक्तिहरू हुन्छन्, र ऊ षड्यन्त्र र जालसाजीहरूमा संलग्न हुन सिपालु हुन्छ। उसले आफ्नो मानवता कति कुटिल र दुर्भावपूर्ण छ भनी मानिसहरूलाई कसरी थाहा दिन सक्थ्यो र? के त्यसले उसको छविलाई धमिल्याउनेथिएन र? भ्रष्ट मानवहरू सबैको यस्तै मानसिकता हुन्छ, र तिनीहरू सबै ढोँगी फरिसीहरूजस्तै कपटी, कुटिल र दुर्भावपूर्ण हृदय भएका हुन्छन्। तिनीहरूले परमेश्वर देहधारी हुन सक्नुहुन्छ भनी आफ्नो हृदयमा स्वीकार गरे तापनि, तिनीहरू देहधारी परमेश्वर एक साधारण, सामान्य व्यक्ति हुनुहुनेछ भनेर कसरी विश्वास गर्न सक्छन्? तिनीहरू परमेश्वर साँच्चै देह बन्नुभयो भने, कम्तीमा पनि मानिसहरूले उहाँको देहमा उहाँको ईश्वरीय प्रभामण्डल र परमेश्वरको पहिचान र सारका विभिन्न सङ्केतहरू देख्न सक्नुपर्छ भनी आफ्नो हृदयमा विश्वास गर्छन्। तिनीहरू दृढतापूर्वक यो पनि विश्वास गर्छन्, “सबै मानिसहरूलाई हेर्दा, देहधारी परमेश्वरसँग असङ्ख्य जनसमूहलाई हेयको नजरले हेर्ने दृष्टिकोण र व्यवहार हुनुपर्छ, तर म तपाईँमा यी कुराहरू देख्न सक्दिनँ। तपाईँ सधैँ नियममा रहेर आफूलाई आचरणमा ढाल्छु र आफ्नो उचित स्थानअनुसार कामकुरा गर्छु भनेर पनि भन्नुहुन्छ। के यसले तपाईँ वास्तवमा एक साधारण व्यक्ति हुनुहुन्छ भन्ने कुरालाई पूर्ण रूपमा खुलासा गर्दैन र? के मानिसहरूको हृदयमा रहेको देहधारी परमेश्वरको उच्च, रहस्यमय र बुझ्न नसकिने छवि पूर्ण रूपमा नष्ट हुँदैन र?” के तिमीहरूलाई यो विनाश राम्रो हो जस्तो लाग्छ? (हो, राम्रो हो। यसले हाम्रा धारणा र कल्पनाहरूलाई नष्ट गर्छ।) म यी वचनहरू ठ्याक्कै तिमीहरूका सपना र तिमीहरूका धारणा र कल्पनाहरूलाई नष्ट गर्नका लागि बोल्छु, ताकि तिमीहरू अबउप्रान्त सपनामा नभई वास्तविकतामा जिउन सक। यो कुरा मैले तिमीहरूलाई पालन गर्न माग गरेका सत्यता सिद्धान्तहरू: तिमीहरूले नियममा रहेर आफूलाई आचरणमा ढाल्नुपर्छ, तिमीहरूले आफ्नो उचित स्थानअनुसार कामकुरा गर्नुपर्छ, र तिमीहरू एक सृजित प्राणीको स्थानमा उभिएको साधारण व्यक्ति बन्नुपर्छ भन्ने कुरासँग पूर्ण रूपमा मेल खान्छ, किनभने म स्वयम् यसरी नै कामकुरा गर्छु। तिमीहरूसँग अन्तरक्रिया गरिरहेको बेला, र मेरो व्यक्तिगत जीवनमा, म कहिल्यै घमण्ड गर्दिनँ वा खोक्रा कुरा बोल्दिनँ, न त म कहिल्यै आडम्बर गर्छु वा तडकभडक देखाउँछु। यो यस्तो कुरा हो, जुन तिमीहरू सबैले देख्न र महसुस गर्न सक्छौ। साथै, म कहिल्यै कसैको विरुद्धमा दाउपेच गर्दिनँ, जब म कामकुराहरू गर्छु तब म धूर्त हुँदिनँ र कहिल्यै सुस्त हुँदिनँ, र म नियममा रहेर आफूलाई आचरणमा ढाल्छु। विवेकको यो न्यूनतम मानकलाई कायम राख्नैपर्छ। कतिपय मानिसहरू बोल्दा र कार्य गर्दा दाउपेच प्रयोग गर्छन्, अरूलाई मीठा-मीठा कुराहरू भन्छन्, अनि त्यसपछि तिनीहरूलाई आफ्नो पासोमा पार्न, आफूलाई सेवा गर्न लगाउन र आफूलाई सेवा प्रदान गर्न लगाउन हरसम्भव उपाय प्रयास गर्छन्। म त्यस्ता कामहरू गर्दिनँ। यदि मलाई कुनै कुरामा कसैको मद्दत चाहियो भने, म उसलाई सीधै अह्राउनेछु। कतिपय मानिसहरू भन्छन्, “तपाईँको यो पहिचान र हैसियत छ, त्यसैले कसैलाई कुनै काम गर्न लगाउनु भनेको तपाईँले एक शब्द बोल्दा मात्रै हुने कुरा होइन र?” यो एक शब्द बोल्दा मात्रै हुने कुरा भए पनि, मैले यसलाई नियममा रहेर नै सम्हाल्नुपर्छ, र मैले मानिसहरूलाई जबरजस्ती गर्न मिल्दैन, झन् तिनीहरूले गर्न नचाहेको काम गर्न तिनीहरूलाई बाध्य पार्न त सक्दै सक्दिनँ। यदि तँ इच्छुक छस् भने, गर्; यदि तँ इच्छुक छैनस् भने, तैँले अस्वीकार गर्न सक्छस्। तर, यदि मैले तँलाई केही गर्न भनेँ भने, म सधैँ स्पष्ट सत्यता बोल्नेछु। म तँलाई छल गर्न कहिल्यै कुरा गोलमाल वा घुमाइफिराइ कुरा गर्नेछैन, वा तँलाई पासोमा पार्न प्रलोभन देखाउनेछैन, अनि त्यसपछि तँलाई स्वेच्छाले मेरो सेवा गर्न र मलाई सेवा प्रदान गर्न लगाउनेछैन; अनि, तेरो विरुद्धमा दाउपेच गरिसकेपछि, तैँले स्वेच्छाले नै यो गरेको होस् भनी भन्न लगाउने र मैले तँलाई कुनै ऋण तिर्नु छैन भन्ने महसुस गराउने पनि छैन। म यस्तो कहिल्यै गर्नेछैन। यी अभ्यासहरू—चाहे ती अरूलाई प्रयोग गर्ने कला, खेलका नियमहरू, मानिसहरूसँग खेल्ने युक्तिहरू, वा अरूलाई चालबाजी गर्ने शाही रणनीतिहरू भनेर मानिसहरूले भन्ने कुराहरू भए पनि नभए पनि—यीमध्ये कुनै पनि कुरा ममा छैन। म मानिसहरूसँग खेलबाड गर्दिनँ—अरूले गर्लान्, तर म त्यसो गर्नेछैन, न त म तिनीहरूको नक्कल गर्नेछु वा तिनीहरूबाट सिक्नेछु। मैले युद्ध कला वा छत्तीस युक्तिहरू जस्ता कुराहरू कहिल्यै पढेको छैन, र म बोल्दा कहिल्यै छलकपट गर्ने वा कालोलाई सेतो भन्ने काम गर्नेछैन। जब म बोल्छु र काम गर्छु, तब एक भनेको एक हुन्छ, र दुई भनेको दुई नै हुन्छ। यसको एउटै अपवाद के हो भने, विशेष परिस्थितिहरूका कारण, म कुराहरूलाई बुद्धिमानी तरिकाले प्रस्तुत गर्न सक्छु, तर यो कुरा केवल मानिसहरूका कमजोरी र कठिनाइहरू, र तिनीहरूको सानो कदको ख्याल राखेर मात्रै गरिएको हुन्छ। यो तिनीहरूलाई सुरक्षा दिन र कदर गर्नका लागि हो, र यसमा कुनै द्वेष हुँदैन, त्यसैले यो पनि दाउपेच होइन। सायद कतिपय मानिसहरू “त्यसोभए तपाईँको हृदय र मनमा संसारका प्रसिद्ध र महान् मानिसहरूका विभिन्न युक्तिहरू रहेनछन्। त्यसोभए तपाईँ यति सरल हुनुहुँदो रहेछ!” भन्ने सोचेर धेरै निराश हुन सक्छन्। के यति सरल हुनु राम्रो होइन र? दाउपेच नगर्नुको अर्थ म मानिसहरूलाई छर्लङ्गै देख्न सक्दिनँ भन्ने होइन; यसको अर्थ म कुराहरूको मूल-तत्त्व र सारलाई छर्लङ्गै देख्न सक्दिनँ भन्ने होइन; यसको अर्थ म सबै प्रकारका मानिस, घटना र कामकुराहरूलाई कसरी सम्हाल्ने भनी जान्दिनँ भन्ने होइन। म मानिसहरूलाई भ्रममा पार्न युक्तिहरू प्रयोग गर्नु, धोकामा संलग्न हुनु, वा तिनीहरूलाई खेलाउनुको सट्टा दाउपेच नगरीकन पनि वातावरण र पृष्ठभूमिअनुसार सबै प्रकारका मानिस, घटना र कामकुराहरूलाई उपयुक्त र सही रूपमा सम्हाल्न सिद्धान्तहरू लागू गर्न सक्छु, र तिनलाई परमेश्वरको सार्वभौमिकता र प्रबन्धहरूअन्तर्गत स्वाभाविक रूपमा तिनीहरूको भूमिका निर्वाह गर्न र तिनका नियम र कानुनहरूभित्र जिउन लगाउन सक्छु। मैले काम गर्ने सिद्धान्तहरू, मैले विभिन्न समस्याहरूलाई सम्हाल्ने सिद्धान्तहरू, र मैले सबै प्रकारका मानिस, घटना र कामकुराहरूलाई व्यवहार गर्ने सिद्धान्तहरू सबैका बारेमा वर्षौँदेखिका मेरा सङ्गति र प्रवचनहरूमा छलफल गरिएका छन्। जब म यी कुराहरूबारे बोल्छु, तब मैले नारा लगाइरहेको हुँदिनँ; यी कुराहरू मेरा विचारहरू र मेरो मानवता सारबाट आउँछन्, र म सबै प्रकारका मानिस, घटना र कामकुराहरूलाई सम्हाल्न मेरा विचार र दृष्टिकोणहरू पनि लागू गर्छु। त्यसोभए, जब म सबै प्रकारका मानिस, घटना र कामकुराहरूलाई सम्हाल्न मेरा विचार र दृष्टिकोणहरू लागू गर्छु, वा तिनलाई यी सिद्धान्तहरूअनुसार सम्हाल्छु, तब तिमीहरू अन्तिम परिणाम परमेश्वरको मार्ग पछ्याउनु हो कि त्यसको विरुद्ध विद्रोह गर्नु हो भनेर भन्छौ? (परमेश्वरको मार्ग पछ्याउनु।) त्यसकारण, म, देहधारी परमेश्वर, मानिसहरूका नजरमा जतिसुकै सामान्य, व्यावहारिक, र साधारण—पटक्कै रहस्यमय नभएको—देखिए पनि, यसले तिमीहरूको सत्यताको बुझाइलाई पटक्कै असर गर्नेछैन, न त म तिमीहरूलाई बहकाउने नै छु। यसको विपरीत, मैले स्वयम् आफूलाई आचरणमा ढाल्ने र कार्य गर्ने तरिकामा सिद्धान्तहरू हुने हुनाले नै, यदि तिमीहरूले सत्यता पछ्याउन सक्छौ, मैले भन्ने गरेका सिद्धान्तहरूअनुसार आज्ञाकारी रूपमा र नियममा रहेर आफूलाई आचरणमा ढाल्न र कार्य गर्न सक्छौ, र मैले औँल्याएका दिशा र लक्ष्यहरूअनुसार अभ्यास गर्न सक्छौ भने, ढिलोचाँडो तिमीहरूले मुक्ति प्राप्त गर्नेछौ, परमेश्वरप्रति समर्पणता हासिल गर्नेछौ, र तिमीहरू परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति बन्नेछौ। यो एउटा निश्चित कुरा हो। मुक्ति प्राप्त गर्न सक्नु—के यो साँचो रूपमा परमेश्वरमा विश्वास गर्नेहरूले पछ्याउने लक्ष्य होइन र? त्यसोभए, तिमीहरू अरू के खोजी गर्छौ? म रहस्यमय र बुझ्न नसकिने, उच्च, वा अरूभन्दा फरक छु कि छैन, वा ममा तिमीहरूले कल्पना गर्न नसक्ने वा तिमीहरूसँग नभएका केही विशेष क्षमताहरू छन् कि छैनन् भन्ने कुरा महत्त्वपूर्ण छैन। यसबाहेक, यदि तिमीहरूलाई म सामान्य र व्यावहारिक छु र तिमीहरूको पूजा वा आदरको योग्य छैन भन्ने लाग्छ भने, त्यो पनि महत्त्वपूर्ण छैन। के महत्त्वपूर्ण छ त? महत्त्वपूर्ण कुरा त के हो भने, म, यो नगण्य व्यक्ति, यो साधारण र सामान्य व्यक्तिले बोल्ने वचनहरूले तिमीहरूलाई परमेश्वरसामु ल्याउने पक्का छ, र तिमीहरूलाई मुक्ति हासिल गर्न सक्षम तुल्याउने पक्का छ। अर्को एउटा कुरा पनि निश्चित छ: यदि तिमीहरूले मैले बोलेका यी वचनहरूअनुसार अभ्यास र अनुभव गर्यौ भने, एक दिन तिमीहरूका विचार, दृष्टिकोण, र जीवन स्वभावहरू सबै रूपान्तरित हुनेछन्, र तिमीहरू एक नयाँ मानव बन्नेछौ भन्ने निश्चित छ। तँ नयाँ मानवजातिको सदस्य बन्न सक्छस्—त्यसबारे म निश्चित हुन सक्छु। के तिमीहरू यसबारे पक्का छौ? (छौँ।)
के तिमीहरूले अब देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकताका प्रकटीकरणहरूबारे केही नयाँ बुझाइ प्राप्त गर्यौ? (गर्यौँ।) यदि तिमीहरूले मैले आफूलाई आचरणमा ढाल्ने र कार्य गर्ने तरिका, र मेरा विचार र दृष्टिकोणहरू सबै सामान्यता र व्यावहारिकताको दायराभित्र छन् भन्ने देख्यौ भने, र यदि मेरा कार्य गर्ने सिद्धान्तहरू र मेरा विचार र दृष्टिकोणहरूले तिमीहरूलाई कुनै पनि समयमा प्रभाव पार्न सक्छन् र तिमीहरूले तिनलाई स्वेच्छाले स्वीकार गर्नेछौ भने, म निश्चित रूपमा एउटा कुरा भन्नेछु: तिमीहरूले यसरी सत्यतालाई प्रेम गर्ने हुनाले, तिमीहरू देहधारी परमेश्वरका सामान्य र व्यावहारिक प्रकटीकरणहरूबाट सत्यता खोज्न सक्षम रहेका हुनाले, र देहधारी परमेश्वरले आफूलाई आचरणमा ढाल्ने सिद्धान्तहरू र विभिन्न सन्दर्भमा उहाँका विचार र दृष्टिकोणहरूलाई पनि स्वीकार गर्न सक्ने हुनाले, तिमीहरूका पछ्याइहरू र तिमीहरूको आत्मआचरणको दिशा स्वाभाविक रूपमा सकारात्मक दिशामा विकसित हुनेछ। अर्थात्, तिमीहरूले विश्वास गरिरहँदा, तिमीहरूमा झन्-झन् बढी सामान्य मानवता हुनेछ र तिमीहरू झन्-झन् बढी मानव रूपमा जिउनेछौ, र तिमीहरू परमेश्वरका मागहरूको झन्-झन् नजिक पुग्नेछौ, र अन्ततः तिमीहरूले मुक्ति प्राप्त गर्नेछौ। तिमीहरूले यस्ता लाभहरू प्राप्त गर्ने कुरा देहधारी परमेश्वर, यो साधारण, सामान्य व्यक्तिद्वारा गरिने मलजल र प्रबन्धसँग सीधै सम्बन्धित छ। यदि तिमीहरू देहधारी परमेश्वरको सामान्यता र व्यावहारिकताका यी सार र प्रकटीकरणहरू, साथै उहाँले आफूलाई आचरणमा ढाल्ने तरिका र उहाँले त्यसो गर्नुपछाडिका उहाँका मान्यताहरूलाई स्वीकार गर्न र प्रेम पनि गर्न सक्छौ भने, तिमीहरूका प्रकटीकरणहरू र तिमीहरूको मानवता झन्-झन् राम्रो हुँदै जानेछन्। ती झन्-झन् राम्रो हुँदै जानेछन् भन्नुको अर्थ के हो? तँ झन्-झन् असल व्यक्तिजस्तो बन्नेछस् भनेर भन्नु अलि खोक्रो हुन सक्छ। यो “झन्-झन् राम्रो हुँदै जानु” को अर्थ तेरो विवेक र तेरो चेतना सकारात्मक दिशामा विकसित हुनेछ भन्ने हो। तर, यदि तँ देहधारी परमेश्वरको सामान्यता, व्यावहारिकता, र साधारणपनलाई घृणा गर्छस् वा तीदेखि विकर्षित हुन्छस्, वा त्यसको विरुद्धमा भेदभाव पनि गर्छस्, त्यसलाई स्वीकार गर्दैनस्, त्यसप्रति प्रतिरोधी महसुस गर्छस्, र त्यसको खिल्ली उडाउँछस् भने, तँलाई उहाँले व्यक्त गर्ने सबै सत्यतालाई स्वीकार गर्न निकै गाह्रो हुनेछ, र तँलाई उहाँमा भएको सामान्य मानवताको व्यावहारिक महत्त्व र प्रभावबारे बुझ्न गाह्रो हुनेछ। यसको विपरीत, तैँले परमेश्वरको सामान्य मानवतामा उहाँले व्यक्त गरेका सबै सत्यताहरूप्रति वितृष्णा राख्ने र तिनलाई घृणा गर्ने समेत गर्नेछस्। यसरी, तँलाई सामान्य व्यक्तिका रूपमा जिउन र परमेश्वर प्रसन्न हुने व्यक्ति बन्न निकै गाह्रो हुनेछ, किनभने तैँले आराधना गर्ने कुराहरू सकारात्मक नभई नकारात्मक कुराहरू हुन्। समाजका प्रख्यात व्यक्तिहरू र हस्तीहरू, र सामाजिक प्रवृत्तिहरू नै तैँले तृष्णा गर्ने र आराधना गर्ने कुराहरू हुन्। त्यस अवस्थामा, तैँले हिँड्ने मार्ग गलत हुन्छ, र तेरो पछ्याइ र विकासको दिशाको हकमा एउटा कुरा निश्चित छ: तँ सकारात्मक दिशामा नभई घातक दिशामा विकसित हुनेछस्। उदाहरणका लागि, म मानिसहरूविरुद्ध दाउपेच गर्दिनँ भनेर भन्छु, र कतिपय मानिसहरू भन्छन्, “यदि तपाईँ मानिसहरूको विरुद्धमा दाउपेच गर्नुहुन्न भने, तपाईँ कसरी यति ठूलो काम गर्न सक्नुहुन्छ? मानिसहरूसँग अन्तरक्रिया र व्यवहार गर्दा, तपाईँले दाउपेच गर्नैपर्छ। यदि तपाईँलाई दाउपेच गर्न आउँदैन भने, तपाईँ मानिसहरूलाई खेलाउन सक्नुहुन्न, र तपाईँ यो कामका लागि योग्य हुनुहुनेछैन।” म त भन्छु, यदि तँ यस्ता कुराहरू भन्न सक्छस् भने, तँ सिद्धिएको छस्। तेरा विचार र दृष्टिकोणहरू विकृत मात्रै छैनन्, तर त्योभन्दा पनि बढी, ती दुष्ट छन्। तँ सही मार्गमा लाग्न असम्भव छ, किनभने तेरो मानवतामा सत्यतालाई प्रेम गर्ने र सकारात्मक कुराहरूलाई प्रेम गर्ने तत्त्वको कमी छ। तँ मुक्तिको मार्गमा लाग्न असम्भव छ।
जब म सामान्य मानवताभित्र रहेर मानिसहरूसँग कुराकानी गर्छु, तब कुराकानी सहज रूपमा अघि नबढ्ने समस्या अक्सर उत्पन्न हुन्छ। मैले सहज रूपमा अघि नबढ्नु भन्नुको अर्थ के हो? कहिलेकाहीँ, जब म कसैसँग पूर्ण रूपमा सामान्य तरिकाले अन्तरक्रिया र कुराकानी गरिरहेको हुन्छु, तब तिनीहरूले कुराहरूलाई अति जटिल बनाउँछन् वा तीबारे धेरै सोच्छन्, र कुराकानी अगाडि बढ्नै सक्दैन। यदि यो अगाडि बढ्न सक्दैन भने, म के गर्छु? म त्यो व्यक्तिसँग अन्तरक्रिया गर्न छोडिदिन्छु—म अरूसँग अन्तरक्रिया गर्न सक्ने, कुराकानी र गफ गर्न जान्ने, सामान्य मानवताको सोचाइ भएको व्यक्ति खोज्छु, अनि त्यसपछि बरु ऊसँग गफगाफ र अन्तरक्रिया गर्छु। तिमीहरूसँगको मेरो सम्पर्कमा, मैले देख्ने सबैभन्दा सामान्य अवस्था के हो भने, मानिसहरूलाई यस्तो लाग्छ, “मानिसहरूसँग बोल्दा र कुराकानी गर्दा, तपाईँको पहिचान र हैसियतले धेरै ठूलो प्रभाव पार्छ। तपाईँ देहधारी परमेश्वर हुनुहुन्छ, र हामी सृजित प्राणी हौँ। यदि हामीले केही गलत भन्यौँ भने, हामीले आफूलाई समान हैसियतमा राख्ने र परमेश्वरको स्वभावलाई चिढ्याउने सम्भावना हुन्छ। साथै, देहधारी परमेश्वरका रूपमा, तपाईँको काम मानवजातिलाई मुक्ति दिनु हो, र तपाईँ परमेश्वर स्वयम्लाई प्रतिनिधित्व गर्नुहुन्छ, त्यसैले तपाईँको जिम्मेवारी वा तपाईँले गर्ने काम केवल भ्रष्ट मानवजातिको मुक्तिको समस्या समाधान गर्नका लागि सत्यता व्यक्त गर्ने मात्रै हुन सक्छ। तपाईँले कामका बारेमा, वा ईश्वरत्वबाट उत्पन्न हुने विषयहरूका बारेमा मात्रै कुरा गर्नुपर्छ। तपाईँले सामान्य मानव जीवन—खाना, लत्ताकपडा, आवास, र यातायातका मामिलाहरूका बारेमा कुरा गर्न, वा फलानो व्यक्ति कस्तो छ भनेर कुरा गर्न मिल्दैन। यदि तपाईँले ती कस्ता छन् भनी कुरा गर्नुभयो भने, तपाईँले तिनलाई नराम्रो ठहर्याइरहनुभएको हुन्छ वा तपाईँमा गुप्त उद्देश्यहरू हुन्छन्।” मानिसहरूले यी धारणाहरू राख्ने हुनाले, तिनीहरू देहधारी परमेश्वरलाई गैर-मानव प्राणीका रूपमा वर्गीकरण गर्छन्। त्यसैले, जब म सामान्य सोचाइ र सामान्य मानवता नभएका मानिसहरूसँग अन्तरक्रिया गर्छु, र म दैनिक मामिला वा दैनिक आवश्यकताहरूका बारेमा अलिकति कुरा गर्छु, तब कतिपयले मानसिक अवरोध खडा गर्दै यस्तो सोच्छन्, “यसबारे कुरा गर्नुको के अर्थ छ र? यो आत्मिक कुरा होइन! साथै, के तपाईँले यो कुरा उठाउनुपछाडि कुनै गुप्त उद्देश्य राख्नुभएको छ?” यदि मैले कुनै व्यक्तिको अवस्थाबारे छलफल गरेँ भने, कतिपयले सोच्छन्, “के यो पिठ्यूँ पछाडि मानिसहरूलाई नराम्रो ठहर गर्नु वा तिनीहरूको विरुद्धमा दाउपेच गर्नु हो? के तपाईँले तिनीहरूका लागि केही सोच्नुभएको छ? तपाईँले तिनीहरूलाई बढुवा गर्नुहुनेछ कि हटाउनुहुनेछ? तपाईँले तिनीहरूलाई प्रयोग गरिरहनुहुनेछ कि बर्खास्त गर्नुहुनेछ?” यदि मैले कसैको समस्याबारे कुरा गरेँ भने, कतिपयले सोच्छन्, “के तपाईँलाई त्यो व्यक्ति मन पर्दैन वा त्यस व्यक्तिप्रति घृणा महसुस हुन्छ? के उसले तपाईँलाई चोट पुर्याउन केही गर्यो? के उसले तपाईँलाई चिढ्याउन केही भन्यो वा गर्यो?” विशेष गरी अगुवा र कामदारहरूसँग सम्बन्धित संवेदनशील विषयहरूबारे छलफल गर्दा, कतिपय त यस कुरामा संलग्न हुन अझ बढी डराउँछन्, र यसो भन्छन्, “तपाईँले यी कुराहरू कामका लागि भन्दै हुनुहुन्छ, तर हामी तपाईँसँग यसबारे छलफल गर्नेछैनौँ। यी संवेदनशील विषयहरू हुन्। हामीले केही गलत भन्यौँ भने, तपाईँले हामीलाई खुलासा र काटछाँट गर्नुहुनेछ, र तपाईँले हाम्रा भ्रष्टताका प्रकटीकरणहरू देख्नुहुनेछ र हामीबारे तपाईँमा नराम्रो छाप पर्नेछ, जुन उचित होइन।” कहिलेकाहीँ म केही निश्चित विषयहरू उठाउँछु, जस्तै, “तिमीहरूको परिवारमा कसले परमेश्वरमा विश्वास गर्छ?” भनेर सोध्छु। मुख्य भूमि चीनमा यो एक संवेदनशील विषय हो। तर, मुख्य भूमिमा, यो कुरा तैँले तुलनात्मक रूपमा लामो समयदेखि सङ्गत गरेका र तँ निकै परिचित भएका निश्चित व्यक्तिहरूलाई सोध्नु संवेदनशील मानिँदैन—विदेशमा त यो झन् कम संवेदनशील मानिन्छ। तर यदि मैले यो कुरा सोधेँ भने, कतिपय मानिसहरू जवाफ दिने आँट समेत गर्दैनन्। तिनीहरू सोच्छन्, “मेरो परिवारमा कसले विश्वास गर्छ भनी सोधेर के तपाईँ मेरो पृष्ठभूमि खोतल्न खोज्दै हुनुहुन्छ?” यदि मैले “तिमीहरूको स्थानीय मण्डलीमा कति जना मानिसहरू छन्? मण्डली अगुवा को हो?” भनेर सोधेँ भने, तिनीहरू यस्तो सोच्छन्, “ओहो, तपाईँ त मण्डलीबारे पत्ता लगाउन खोज्दै हुनुहुन्छ कि क्या हो? म यसबारे तपाईँसँग कुरा गर्न सक्दिनँ। यदि मैले केही कुरा भनेँ र मण्डली अगुवाले थाहा पायो भने, समस्या हुनेछ।” हेर, तिनीहरू मण्डलीका मामिलाहरूबारे कुरा गर्दा समेत सतर्क हुन्छन्, र तिनीहरू केही पनि भन्न डराउँछन्। धेरै मानिसहरू मण्डली अगुवा र मण्डलीको कामसँग सम्बन्धित विषयहरूबारे छलफल गर्ने, वा आफूलाई मनमा लागेको कुरा स्वतन्त्र रूपमा भन्ने आँट गर्दैनन्। यसको एउटा मुख्य कारण मण्डलीको अवस्था खुलासा हुने र अगुवा र कामदारहरूलाई चिढ्याउने डर, र साथसाथै, अनजानमा आफ्नै विचार र दृष्टिकोणहरू प्रकट हुने र काटछाँट वा खुलासामा पर्ने डर हो। यो यस्तो कुरा हो जुन तिनीहरूले भएको हेर्न चाहँदैनन्। त्यसैले, जब म धेरै मानिससँग अन्तरक्रिया गरिरहेको हुन्छु, तब साधारण कुराकानी समेत सहज रूपमा अघि बढ्न सक्दैन। जब म मन र पृष्ठभूमि जटिल भएका गैरविश्वासीहरूसँग अन्तरक्रिया गरिरहेको र कामकुराहरू सम्हालिरहेको, तब कामकुराहरू सम्हालिसकेपछि, म तुरुन्तै जान्छु—म गहिरो सम्बन्ध बनाउन वा धेरै नजिक हुन सक्दिनँ। तर जब म दाजुभाइ-दिदीबहिनीहरूसँग अन्तरक्रिया गरिरहेको हुन्छु, तब म धेरैजसो मानिसहरू पनि त्यस्तै हुन्छन् भन्ने पाउँछु: म धेरै नजिक हुन वा गहिरो सम्बन्ध बनाउन सक्दिनँ। म आफूलाई श्रेष्ठ ठान्छु र धेरैजसो मानिसहरूसँग अन्तरक्रिया गर्न चाहन्नँ भन्ने होइन; बरु, जब म तिनीहरूको नजिक जान वा तिनीहरूसँग सम्पर्क गर्न खोज्छु, तब तिनीहरू अवचेतन रूपमा पछि हट्छन् वा मदेखि टाढा बस्छन्। तँ मदेखि किन टाढा बस्छस्? यदि तैँले केही गलत कुरा भनिस् भने, म तँलाई दोषी ठहराउनेछैन वा त्यसलाई ठूलो कुरा बनाउनेछैन। यदि तँ अगुवा वा कामदार होस् भने, हामी सत्यताबारे सङ्गति गर्न सक्छौँ र तैँले नबुझेको कुनै पनि पक्षबारे कुराकानी गर्न सक्छौँ। यदि तँ साधारण ब्रदर वा सिस्टर होस् र तैँले साँच्चै केही गलत कुरा भनिस् वा केही त्रुटिपूर्ण विचार र दृष्टिकोणहरू राखिस् भने, त्यो त म तँसँग यसबारे कुरा गर्न इच्छुक छु कि छैनँ भन्ने कुरामा निर्भर हुन्छ। यदि मैले तेरो क्षमता कमजोर छ र तँमा बुझ्ने क्षमताको कमी छ, र तैँले कुनै पनि कुरा छर्लङ्गै देख्न सक्दैनस् भन्ने देखेँ भने, म तँसँग कुराकानी गर्न चाहन्नँ, र हामीले कुराकानी गर्यौँ भने पनि, त्यसले कुनै परिणाम दिनेछैन। तर, यदि तेरो क्षमता राम्रो छ, तँसँग बुझ्ने क्षमता छ, र तँ केही कुराहरू छर्लङ्गै देख्न सक्छस् भने, तँसँग कुराकानी गर्दा परिणामहरू आउन सक्छन्, र यो व्यर्थमा सास खेर फाल्ने कार्य हुनेछैन। मैले सामान्य रूपमा जोसुकैसँग कुराकानी गरे पनि वा मैले जे-जस्ता समस्याहरू पत्ता लगाए पनि, मेरो हृदयमा म, सर्वप्रथम, तिनीहरूलाई दोषी ठहराउनेछैन, दोस्रो, म तिनीहरूलाई सराप्नेछैन, र तेस्रो, म तिनीहरूको परिणाम निर्धारण गर्नेछैन। त्यसरी काम गर्नु निराधार हुनेछ, र म मूर्ख कामहरू गर्दिनँ। सामान्य मानवताको हिसाबमा, कहिलेकाहीँ जब म कुनै परिचित व्यक्तिलाई भेट्छु, तब म थोरै कुराकानी र गफ गर्न मात्रै चाहन्छु। यदि तँ इच्छुक छस् भने, म तँसँग कुरा गर्नेछु। छैनस् भने, म तँलाई जबरजस्ती गर्नेछैन। कतिपय मानिसहरू मसित कुराकानी गर्न डराउँछन्। मैले जे भने पनि, तिनीहरू मप्रति सतर्क हुन्छन् र तिनीहरू केही गलत बोल्ने र मलाई तिनीहरूको विरुद्धमा इख राख्ने कुनै कुरा दिने डरले आफ्नो दृष्टिकोण व्यक्त गर्दैनन्। यदि मैले तँ आफ्नो हृदयमा भएको कुरा बोल्न अनिच्छुक छस् भन्ने देखेँ भने, म उपयुक्त बिन्दुमा रोकिनेछु। यदि तँ सधैँ मप्रति सतर्क रहन्छस्, सधैँ म तेरो विरुद्धमा दाउपेच गरिरहेको छु भनेर डराउँछस् भने, म तँसँग कुरा गर्न इच्छुक हुनेछैन। मलाई भन्, मेरो यो चेतना सामान्य छ? (छ।) जब म कसैसँग कुराकानी र गफगाफ गर्छु, तब सधैँ कुनै न कुनै प्रकारको प्रसङ्ग हुन्छ। उदाहरणका लागि, यदि तँ खेतमा पशुपालन गर्ने कामका लागि जिम्मेवार छस् भने, हामी पशुपालनबारे कुरा गर्नेछौँ। यदि तँ मण्डली अगुवा होस् भने, हामी मण्डलीका मामिलाहरूबारे, दाजुभाइ-दिदीबहिनीहरूसँग सम्बन्धित मामिलाहरूबारे, दाजुभाइ-दिदीबहिनीहरूको वर्तमान स्थिति कस्तो छ, वा मण्डली जीवन कस्तो छ भन्नेबारे छलफल गर्नेछौँ। यदि तँ सुसमाचार प्रचारक होस् भने, हामी सुसमाचारको कामबारे कुरा गर्नेछौँ। यो सामान्य मानवताको दायराभित्र रहेर मानिसहरूसँग संलग्न हुनु हो, र यो मेरो कामको एउटा अंश पनि हो। कतिपय मामिलाहरू मण्डलीको कामसँग सम्बन्धित हुँदैनन् तर ती अझै पनि परमेश्वरको घरका सामान्य मामिलाहरू हुन्छन्। हामी भेट्दा यी कुराहरूबारे कुराकानी गर्नु सामान्य हो। तैँले परमेश्वरको घरमा मामिलाहरू सम्हालिरहेको र आफ्नो कर्तव्य पूरा गरिरहेको छस्, त्यसैले जब हामी भेट्छौँ, तब मैले तँलाई अभिवादन गर्नुपर्छ र तँसँग कुराकानी गर्नुपर्छ, र तँलाई कुनै कठिनाइ छ कि छैन भनी हेर्नुपर्छ। कहिलेकाहीँ, सामान्य कुराकानीको दौरान, म यस्तो केही कुरा सोध्छु, “पछिल्ला दुई रातमा तापक्रम घटेको छ—के तिमीहरूको ठाउँमा चिसो भएको छ?” कतिपयले यो कुरा सुन्न चाहँदैनन्, र यस्तो सोच्छन्, “हामी वयस्क हौँ; हाम्रो बारेमा तपाईँले चिन्ता गर्नुपर्छ र?” असल अभिप्रायको कदर हुँदैन, होइन र? अरू बेला, जब म भान्सामा जान्छु, तब म सोध्छु, “यस वर्षका तरकारीहरू कस्ता छन्? खान पुग्ने छन्? तिमीहरूलाई कुन तरकारी वा खानेकुरा मन पर्छ?” यी निकै सामान्य कुराहरू हुन्, होइनन् र? (हुन्।) तर मानिसहरूको हृदय अत्यन्तै जटिल हुन्छ, र कतिपय अवस्थाहरूमा, सामान्य रूपमा तिनीहरूसँग अन्तरक्रिया र कुराकानी गर्दा कुराहरू सहज रूपमा अघि बढ्दैनन्। यस्तो किन हुन्छ? किनभने मानिसहरू सधैँ आफ्ना समस्या र आफ्ना साँचो अवस्थाहरू प्रकट होलान् भनेर डराउँछन्। अनि अरू चाहिँ केदेखि डराउँछन्? तिनीहरू यो कुरादेखि डराउँछन्: “यदि मैले मेरो साँचो अवस्था प्रकट गरेँ भने, तपाईँले भेलाहरूमा तपाईँका प्रवचनहरूमा मलाई खुलासा गर्नुहुनेछ, र मलाई निशानाका रूपमा प्रयोग गर्नुहुनेछ।” तँ किन निशाना बन्न सक्दैनस् र? जब म तेरा समस्याहरूसँग सम्बन्धित सत्यताबारे सङ्गति गर्छु, तब त्यसले तिनलाई समाधान गर्छ। के यो तैँले पाएको अतिरिक्त कुरा होइन र? के यो तेरो सौभाग्य होइन र? यो राम्रो कुरा हो। यसले म तँलाई गम्भीर रूपमा लिन्छु र तँलाई अलिकति ख्याल गर्छु भन्ने कुरा प्रमाणित गर्छ। के यो सही हो? यदि मैले तँलाई ध्यानै नदिएको भए र तँ मेरो हृदयमा नभएको भए, र यदि मैले तँमा कुनै समस्याहरू पत्ता लगाएर पनि तिनलाई वास्तै नगरेको र तँलाई मार्गदर्शन र सङ्गति नगरेको भए, के तैँले सत्यता बुझ्न र आफ्ना समस्याहरू समाधान गर्न सक्थिस् र? के तँ त्यसदेखि खुसी हुन्थिस्? यदि तँ त्यस कुरादेखि सन्तुष्ट हुन्थिस्, र “परमेश्वरले खुलासा गर्ने कुनै पनि समस्या मसित सम्बन्धित छैन, त्यसैले यसले ममा कुनै समस्या छैन भन्ने प्रमाणित गर्छ” भनी सोच्थिस् भने, यदि तैँले परमेश्वरको काम यसरी अनुभव गर्थिस् भने, तँ सत्यता पछ्याउने व्यक्ति हुनेथिइनस्। कतिपय मानिसहरू वर्षौँको आस्थापछि पनि कहिल्यै कुनै काटछाँटमा परेका हुँदैनन्, तिनीहरूले एक पटक पनि प्रतिभारका रूपमा सेवा गरेका हुँदैनन्, तैपनि तिनीहरू गौरवान्वित र भाग्यमानी महसुस गर्छन्, र आफू धेरै राम्रो भएको, आफूमा कुनै समस्या नभएको, र आफूले निश्चित रूपमा मुक्ति पाउने भनी सोच्छन्। के यो अत्यन्तै समस्याजनक कुरा होइन र? यस्तो व्यक्तिले अवश्य नै मुक्ति प्राप्त गर्न सक्दैन।
सामान्य मानवताको सोचाइ भएका मानिसहरूले सामान्य मानवताभित्र रहेर अरूसँग कुराकानी र अन्तरक्रिया गर्दा सामान्य मानवताको विवेक र समझको बोधलाई पछ्याउनेछन्। यो बोध भएपछि, तिनीहरूसँग अरूलाई कसरी व्यवहार गर्ने भन्नेबारे न्यूनतम मानक र सिद्धान्तहरू हुन्छन्। जब तँ सामान्य मानवताको सोचाइभित्र रहेर मानिसहरूसँग कुराकानी र अन्तरक्रिया गर्छस्, तब एकातिर, मानिसहरूले तँसँग मानवताको विवेकको सचेतना छ भन्ने महसुस गर्न सक्छन्। अर्कोतिर, तँ शिष्टताको भावनाले व्यवहार गर्छस्, जसले गर्दा तँ अरूका लागि अप्रिय बन्दैनस्। अनि अर्को महत्त्वपूर्ण कुरा के हो भने, जब तँ अरूसँग कुराकानी र अन्तरक्रिया गर्छस्, तब तिनीहरूले तैँले भनेका कुराहरूबाट लाभ उठाउनेछन् र मानवतालाई चाहिने केही कुराहरू प्राप्त गर्नेछन्। यसलाई नै हामी मानिसहरूसँग अन्तरक्रिया र कुराकानी गर्नु भनेर भन्छौँ। कुराकानी गर्नु भनेको के हो? सरल भाषामा भन्दा, यो अनौपचारिक गफगाफ गर्नु हो। धेरैजसो मानिसहरूलाई अनौपचारिक गफगाफ कसरी गर्ने भन्ने थाहा हुँदैन; तिनीहरू बोल्नेबित्तिकै, तर्क-वितर्क गर्न र बाझ्न उन्मुख भइहाल्छन्, वा तिनीहरू धाक लगाउँछन् र अरूलाई आफूले भनेको कुरा मान्न लगाउन अर्ती दिन्छन्। अलिकति वाक्पटुता भएकाहरू मुख खोल्नेबित्तिकै अरूलाई प्रचार गर्न र उनीहरूको गुरु बन्न चाहन्छन्। यी प्रकटीकरणहरू सबै भ्रष्ट स्वभावहरूका प्रकटीकरणहरू हुन्। भ्रष्ट स्वभाव भएका मानिसहरूले अरूसँग सामान्य रूपमा अनौपचारिक गफगाफ गर्न सक्दैनन्। तिनीहरू केही समयका लागि सामान्य रूपमा बोले भने पनि, त्यो टिक्न सक्दैन। कुनै बिन्दुमा पुगेपछि, तिनीहरू तर्क गर्न थाल्छन्, अनुहार रातो बनाउँछन् र तिनीहरू त्यसमा पूर्ण रूपमा फस्छन्। यो सामान्य अनौपचारिक गफगाफ होइन। सामान्य अनौपचारिक गफगाफ भनेको निश्चय नै सही र गलतबारे बहस गर्नु, वा झगडा र विवाद गर्नु होइन, मानिसहरूलाई नराम्रो ठहराउनु वा निन्दा गर्नु त झनै होइन। हामी अनौपचारिक गफगाफलाई परिभाषित गरौँ। यो जानकारीको आदानप्रदान र बाँडचुड गर्नु हो—यसलाई नै हामी अनौपचारिक गफगाफ भन्छौँ। के यो परिभाषा सही छ? (सही छ।) यो कुन हिसाबमा सही छ? जानकारीको आदानप्रदान र बाँडचुड गर्ने कार्य सामान्य मानवताको विवेक र चेतनाको जगमा बनेको हुन्छ। हेर—विवेक र समझ भएका मानिसहरूले कसरी गफगाफ र कुराकानी गर्छन्? तिनीहरू तर्क गर्दैनन्, र तिनीहरू एक-अर्कालाई आदर गर्न सक्षम हुन्छन्, तिनीहरू अर्को व्यक्तिलाई लाभ पुर्याउँछन्। अर्कोले बाँडेको कुरा सुनेपछि, तिनीहरूले केही नयाँ जानकारी प्राप्त गर्छन्। त्यसपछि, तिनीहरूले पनि आफूलाई थाहा भएको केही जानकारी अर्को व्यक्तिलाई बताउँछन्, ताकि अर्को व्यक्तिले पनि लाभ उठाओस् र, आफ्नो मानवताभित्र, अनुभव, अन्तर्ज्ञान, र ज्ञान प्राप्त गरोस्। त्यस व्यक्तिलाई आदर गर्नु र ऊसँग समान स्तरमा रहेर मिल्नुका सिद्धान्तहरूका आधारमा आफूलाई थाहा भएको जानकारी अर्को व्यक्तिसँग बाँड्नु, र त्यसपछि अर्को व्यक्तिले आफूसँग बाँडेको जानकारी प्राप्त गर्नु—के यो आपसी सहयोग होइन र? यो समानता, आपसी सहयोग, मेलमिलाप, र निष्पक्षताको जगमा बनेको हुन्छ। कुराकानी र अनौपचारिक गफगाफको अर्थ यही हो। मलाई भन, के मेरो परिभाषा सही छ? (सही छ।) यस सिद्धान्तका आधारमा गफगाफ र कुराकानीको अभ्यास गर्नु सही हुन्छ। यदि कुराकानी र गफगाफहरू दाउपेच, तर्क, सङ्घर्ष, छलछाम, युक्ति, जालझेल, र जाँचहरूले भरिएका छन् भने, र यदि प्रकट भएका सबै कुरा भ्रष्ट स्वभावहरू हुन् भने, यी सबैआपसी दमन हुन्, जसमा हरेक व्यक्तिले आडम्बर देखाइरहेको, एक-अर्कासँग प्रतिस्पर्धा गरिरहेको, कसले अझ ठूल्ठूला कुरा बोल्छ वा कसले धेरै बोल्छ भनी होडबाजी गरिरहेको हुन्छ भने, यो सामान्य कुराकानी होइन। यो सामान्य मानवताको विवेक र चेतनाको दायराभित्रको कुराकानी होइन। यो कुराकानी जानकारीको आदानप्रदान र बाँडचुड होइन, बरु खुला र गोप्य सङ्घर्ष र बाझाबाझ हो। होइन र? (हो।)
अरूसँग दाउपेच नगरी कुराकानी गर्नका लागि, तैँले सामान्य मानवताको विवेक र चेतनाको दायराभित्र रहेर कुराकानी गर्न सिक्नैपर्छ। कुराकानीको उद्देश्य अरूलाई मद्दत गर्नु र तिनीहरूबाट मद्दत र लाभहरू प्राप्त गर्नु पनि हो। यो सामान्य कुराकानी हो, र यसरी तैँले दाउपेच नगरी कुराकानी गर्न सक्छस्। गैरविश्वासीहरूको कुराकानी र गफगाफलाई हेर् त; के त्यसले सामान्य कुराकानीको प्रभाव हासिल गर्न सक्छ? (सक्दैन।) जब भ्रष्ट मानिसहरू कुराकानी र गफगाफ गर्छन्, तब के तिनीहरूको कुराकानीको विषयवस्तु, मनसाय र लबज सामान्य हुन्छ? (हुँदैन।) तिनीहरूको कुराकानी भाले जुधाइ वा कुकुरको लडाइँ जस्तै हुन्छ। के तिनीहरूको कुराकानी सहज रूपमा अघि बढ्न सक्छ? (सक्दैन।) तिनीहरू अरूसँग दाउपेच नगर्ने वा उनीहरूसँग तर्क नगर्ने काम समेत गर्न सक्दैनन्। कुराकानीलाई सहज रूपमा अघि बढाउनका लागि प्रेमको हृदय, एक-अर्कालाई मद्दत गर्ने चाहना, र कमजोरीहरूलाई हटाउन एक-अर्काको सामर्थ्यबाट सिक्ने इच्छुकता चाहिन्छ। जब म तिमीहरूसँग कुराकानी र गफगाफ गर्छु, तब मैले मात्रै दाउपेच नगरेर पुग्दैन; तिमीहरूले पनि दाउपेच नगरी र शङ्का नगरी यस सिद्धान्तअनुसार अभ्यास गर्नुपर्छ। यदि मैले दाउपेच गरिनँ तर तिमीहरू निरन्तर दाउपेच गरिरहेका हुन्छौ, र तिमीहरू आफै दाउपेच गर्ने मात्रै होइन, मैले पनि दाउपेच गरिरहेको छु भनी शङ्का गर्छौ भने, हाम्रो कुराकानी सहज रूपमा अघि बढ्न सक्दैन, न त हामीले साँचो, लाभदायक अन्तरक्रिया हासिल गर्न वा हामी मेलमिलापमा रहन नै सक्छौँ। कतिपय मानिसहरूले जब म आएको देख्छन्, तब तिनीहरू तुरुन्तै लुक्ने ठाउँ खोज्छन्। यदि तिनीहरू साँच्चै मबाट टाढा बस्न सकेनन् भने, अनिच्छापूर्वक मलाई अभिवादन गर्छन्, तर तिनीहरू हृदयमा मलाई भेट्न चाहँदैनन्, र यस्तो सोच्छन्, “कस्तो झन्झट। तपाईँ फेरि हाम्रो वास्तविक अवस्थाबारे पत्ता लगाउन यहाँ आउनुभयो। त्यसो गरेपछि, तपाईँले फेरि सत्यता सिद्धान्तहरूबारे सङ्गति गर्नुहुनेछ र हामीलाई लज्जित पार्नुहुनेछ। हामी के गर्ने?” यदि तँ मलाई भेट्न वा मसँग अन्तरक्रिया गर्न अनिच्छुक छस्, र मसँग अन्तरक्रिया गर्दा तँलाई भित्रबाट थकित महसुस हुन्छ, र तँलाई सधैँ म तँसँग दाउपेच गर्ने प्रयास गरिरहेको हुन्छु भन्ने लाग्छ भने, म आइरहेको देख्दा, त मबाट टाढा बस्न सक्छस्। यदि तँलाई मसँग अन्तरक्रिया गर्दा, मैले दाउपेच गर्दिनँ र यसले तँलाई सहजता, हर्ष, स्वतन्त्रता र आराम दिन्छ भन्ने लाग्छ भने, हामी भेटौँ, गफगाफ गरौँ, र हालखबर के-कस्तो छ भनी सोधखोज गरौँ। यदि तैँले मलाई “तपाईँलाई आजकाल कस्तो छ?” भनेर सोधिस् भने, म इमानदारीपूर्वक जवाफ दिनेछु। यदि मैले तँलाई “आजकाल कस्तो छ? के तैँले जीवनमा कुनै जीवन प्रगति गरेको छस्? के तैँले आफ्नो कर्तव्य निर्वाह गरेर कुनै लाभहरू प्राप्त गरेको छस्?” भनेर सोधेँ भने, र तैँले पनि इमानदारीपूर्वक जवाफ दिन सकिस् भने, त्यो धेरै राम्रो हो। हरेक भेटघाट सौहार्दपूर्ण वातावरणमा अघि बढ्न सक्छ। यदि मानिसहरूले मलाई देख्दा तिनीहरू सधैँ मबाट लुक्नु सही होइन भने, के जानाजानी मेरो अनुग्रह पाउन सधैँ झूटो चापलुसीमा संलग्न हुनु सही हो त? (होइन।) यो किन सही होइन? (चापलुसी गर्न मन पराउनु भनेको झूटोपन र छल बराबर हो। हामीले अझ साँचो रूपमा बोल्नु राम्रो हो, र हामीले परमेश्वरलाई सामान्य मानसिकताले व्यवहार गर्नु मात्र आवश्यक छ। एक हिसाबमा, हामी उहाँसँग खुलस्त हुनुपर्छ। अर्को हिसाबमा, हामीले चापलुसी गर्नु हुँदैन, जानाजानी परमेश्वरलाई खुसी पार्ने प्रयास गर्नु हुँदैन, वा जानाजानी उहाँसँग नजिकिने प्रयास गर्नु हुँदैन।) मेरो एउटा मात्रै माग छ: जब म तँलाई देख्छु, तब मबाट नलुक्, र जब म तँलाई खोजिरहेको हुँदिनँ, तब मलाई हैरान नपार्। तैँले जे गर्नुपर्ने हो त्यही गर्, र सबै कुरालाई सामान्य बना। म तिमीहरूको कर्तव्य निर्वाहमा असर पार्नेछैन, र तिमीहरूले पनि मलाई असर पार्नु हुँदैन। मबाट लुक्नु र मलाई हैरान पार्नु दुवै नै मसँग सम्पर्कमा रहँदा र अन्तरक्रिया गर्दा मानिसहरूले पछ्याउनुपर्ने सिद्धान्त होइनन्। त्यसोभए सिद्धान्त के हो? सामान्य मानवताको विवेक र समझको दायराभित्र रहेर कुराकानी गर्नु, र स्पष्ट रूपमा बातचीत गर्न र स्पष्ट सत्य बोल्न सक्षम हुनु हो; मैले जे सोधे पनि, तैँले सत्यतापूर्वक जवाफ दिनुपर्छ। मानिसहरू किन स्पष्ट सत्य बोल्न सक्दैनन्? उदाहरणका लागि, मानौँ मैले तँलाई “तैँले यो महिना सुसमाचार प्रचार गरेर कति जना मानिसहरू प्राप्त गरिस्?” भनेर सोधेँ, र तँ जवाफ दिन चाहँदैनस्। यदि मैले तँलाई असहज लागेको देखेँ भने, म थप दबाब दिनेछैन। म मानिसहरूलाई कठिन परिस्थितिमा पार्न चाहन्नँ, र म कसैलाई पनि बोल्न जबरजस्ती गर्दिनँ। कतिपय मानिसहरूले अरूले जे सोधे पनि, सधैँ यस्तो सोच्छन्, “यो सोध्नुको अर्थ के हो?” तिनीहरू सीधै जवाफ दिन चाहँदैनन्, र गलत जवाफ दिएर आफूलाई समस्यामा पार्नदेखि धेरै डराउँछन्। यदि तँ सधैँ यसरी नै अनुमान र दाउपेच गरिरहेको हुन्छस् भने, हामी कुराकानी गर्न सक्दैनौँ। तैँले सधैँ मेरा प्रश्नहरूको अर्थको छानबिन गरिरहनु पर्दैन, न त तैँले मसँग दाउपेच नै गर्नुपर्छ। यदि तँ सरल हुन सक्छस् र आफ्नो मनको कुरा खोल्न सक्छस् भने, हामी एक-अर्कासँग कुराकानी गर्न सक्छौँ। यो सजिलो छ कि छैन? (सजिलो छ।) यो भन्न त सजिलो छ, तर वास्तवमा गर्न अलि गाह्रो हुन सक्छ। यो भनेजस्तो सजिलो छैन। उदाहरणका लागि, यस्तो हुन सक्छ, मैले एक पटक तँलाई एउटा प्रश्न सोधेँ, र तैँले त्यसबेला सत्य बोलिनस्—तैँले झूट बोलिस्। त्यो सम्पर्क र कुराकानी असफल भयो। असफल भएपछि, तैँले के गर्नुपर्छ? अर्को पटक भेट्दा यो कुरा स्वीकार गर्ने हिम्मत गर्: “मैले पछिल्लो पटक झूट बोलेँ। अबदेखि, म स्पष्ट सत्य बोल्नेछु।” त्यसपछि म तँलाई प्रोत्साहन दिनेछु—म तेरा लागि ताली बजाउनेछु र तँलाई स्याबासी दिनेछु: तँ सत्यता अभ्यास गर्न र एक इमानदार व्यक्ति बन्न सफल भएको हुन्छस्। के त्यो निकै राम्रो कुरा होइन र? (हो।)
दाउपेच नगर्ने विषयमा सङ्गति गर्दा, जतिसुकै उदाहरणहरू दिइए पनि, तिमीहरूलाई भनिएको कुरा एउटा सिद्धान्त हो। के तिमीहरूलाई त्यो सिद्धान्त के हो भन्ने थाहा छ? (भ्रष्ट मानवजातिको दृष्टिकोण प्रयोग गरेर परमेश्वरलाई मापन नगर्नू वा परमेश्वरमाथि शङ्का नगर्नू।) ठीक भन्यौ। परमेश्वरलाई भ्रष्ट मानवजातिको दृष्टिकोणले व्यवहार नगर। त्यसोभए, कुन सिद्धान्त पछ्याउनुपर्छ? (परमेश्वरलाई परमेश्वरका रूपमा व्यवहार गर।) उहाँलाई मानवका रूपमा व्यवहार गर्नु ठिक होइन र? उहाँलाई एक सामान्य, साधारण व्यक्तिका रूपमा व्यवहार गर्नु ठिक होइन र? तैँले उहाँलाई परमेश्वरका रूपमा व्यवहार गरे पनि वा मानवका रूपमा व्यवहार गरे पनि, अन्तरवैयक्तिक संलग्नताका लागि सबैभन्दा महत्त्वपूर्ण सिद्धान्त भनेको एक-अर्कासँग खुलस्त हुनु हो। जब म तँसँग बोल्छु र कामकुरा गर्छु, तब म तँसँग दाउपेच गर्दिनँ, र तँ पनि मसँग खुलस्त हुनुपर्छ। त्यसोभए, यदि कसैले तँसँग दाउपेच गर्छ भने, के तैँले पनि ऊसँग दाउपेच गर्नुपर्छ? (होइन।) यदि कसैले तँसँग दाउपेच गर्छ भने, तैँले उसलाई पनि सिद्धान्तहरूअनुसार व्यवहार गर्नुपर्छ। त्यो सही तरिका हो। मैले तँसँग दाउपेच नगर्ने भएकाले मात्रै तँ दाउपेच वा शङ्का नगरी मसँग खुलस्त भएर हुँदैन। बरु, अरूले तँसँग दाउपेच गरे भने पनि, तैँले सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न र मामिलाहरू सम्हाल्न सक्छस्। यो नै सिद्धान्तहरूको पालना गर्नु हो। कतिपय मानिसहरू यसो भन्छन्, “तिनीहरूले मसँग दाउपेच गरे—म कसरी बदला नलिई बस्न सक्छु? यदि मैले तिनीहरूलाई पाठ सिकाइनँ र तिनीहरूलाई यसरी नै मलाई हेप्न दिएँ भने, के म घाटामा पर्दिनँ र? के मलाई हेप्न त्यति सजिलो छ?” मलाई भन, के तिनीहरूको तर्क सही छ? खुनको बदला खुन, ज्यानको बदला ज्यान—यो कुरा संसारका मानिसहरूमाझ सही देखिन्छ। तर यदि सत्यताद्वारा मापन गर्ने हो भने, यो भनाइ गलत छ। तिनीहरूले तँसँग दाउपेच गर्नु भनेको दुष्ट कार्य हो। यदि तैँले तिनीहरूसँग दाउपेच गर्न उही तरिका प्रयोग गर्दै बदला लिइस् भने, परमेश्वरको नजरमा, सार एउटै हुन्छ; दुवै दुष्ट कार्यहरू हुन्। परमेश्वरले तिनीहरूले तँसँग दाउपेच गरेका कारण, तैँले प्रतिकार गर्नु पूर्ण रूपमा न्यायोचित र सिद्धान्तहरूअनुसार छ, र यो दुष्ट कार्य होइन भनेर भन्नुहुनेछैन। परमेश्वर तैँले तिनीहरूसँग किन दाउपेच गरिस् भनेर हेर्नुहुन्न; उहाँले तेरो कार्य आफैमा दाउपेच हो कि होइन, यो दुष्ट कार्य हो कि होइन, र तैँले यो मामिलालाई सत्यताद्वारा मापन गरेर लिन्छस् कि मानवीय नैतिक दृष्टिकोणद्वारा मापन गरेर लिन्छस् भनी हेर्नुहुन्छ। यदि मामिलालाई मानवीय नैतिक दृष्टिकोणद्वारा मापन गरियो भने, “खुनको बदला खुन, ज्यानको बदला ज्यान” भन्ने भनाइलाई उपयुक्त मानिनेछ। तिनीहरूले पहिले तँसँग दाउपेच गरे, त्यसैले तैँले उही माध्यम प्रयोग गरेर प्रतिकार गर्नु र तिनीहरूसँग दाउपेच गर्नु उचित हुन्छ, र तिनीहरूले त्यस्ता परिणामहरू स्वीकार गर्नुपर्छ। यदि मानवीय दृष्टिकोणबाट, मानवीय नैतिक दृष्टिकोण प्रयोग गरेर मापन गरियो भने, यो गलत होइन। अनि यदि कानुनद्वारा मापन गरियो भने, सायद यो गैरकानुनी होइन। तर परमेश्वरको नजरमा, यो सत्यताको विपरीत कुरा हो। सत्यताको विपरीत हुने कुनै पनि कुरा दुष्ट कार्य हो र त्यस कार्यलाई परमेश्वरको नजरमा दोषी ठहराइन्छ। तैँले प्रतिकार गर्नु वैध भए पनि, तेरो प्रतिकार उचित र नैतिक रूपमा न्यायोचित भएकै भरमा मात्रै परमेश्वरले तँलाई दोषी नठहराई छोडिदिनुहुनेछैन। परमेश्वरले तिनीहरूले तँसँग दाउपेच गरेपछि तैँले तिनीहरूलाई कुन तरिकाले व्यवहार गर्छस् भन्ने कुरालाई हेर्नुहुनेछ। यदि तैँले तिनीहरूलाई उही तरिकाले व्यवहार गरिस् भने, परमेश्वरले तँलाई दोषी ठहराउनुहुनेछ। तर यदि तैँले तिनीहरूलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गरिस् र परमेश्वरले तँलाई सिकाउनुभएको तरिकाले निष्पक्ष र न्यायपूर्ण रूपमा व्यवहार गरिस् भने, नैतिक रूपमा मानिसहरूमा धारणाहरू हुन सक्छन् र तिनीहरूले तँलाई दोषी ठहराउन सक्छन्, र कानुनी रूपमा तँलाई दोषी ठहराइन सक्छ, तर परमेश्वरको नजरमा, परमेश्वरले यस मामिलामा तैँले सिद्धान्तअनुसार काम गरिस् र यो दुष्ट कार्य होइन भनेर भन्नुहुन्छ—उहाँले तँलाई दोषी ठहराउनुहुनेछैन। यदि तँ मानिसहरूसँग सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्न सक्छस् भने, यो सत्यता अभ्यास गर्नु हो। तैँले ख्रीष्टलाई तेरा धारणाहरू र कल्पनाहरूअनुसार वा तेरा भ्रष्ट स्वभावहरूमा आधारित भएर व्यवहार गर्नु हुँदैन, वा उहाँविरुद्ध छलछाम र युक्तिहरू प्रयोग गर्नु हुँदैन। तैँले मानिसहरूलाई व्यवहार गर्ने तरिका पनि यस्तै हुनुपर्छ। यदि तँ ख्रीष्ट, यो साधारण व्यक्तिलाई, सही तरिकाले व्यवहार गर्न सक्छस् भने, त्यसरी नै तँ अरूलाई पनि सही तरिकाले व्यवहार गर्न सक्छस्। व्यक्ति जोसुकै भए पनि, तैँले उसलाई व्यवहार गर्ने तरिकामा सही मनोवृत्ति अपनाउनुपर्छ। यसरी, मानिसहरूलाई व्यवहार गर्ने तेरा सिद्धान्तहरू र विधिहरू सही हुनेछन्। यदि तैँले मानिसहरूप्रतिको तेरो मनोवृत्तिमा वा तिनीहरूलाई कसरी व्यवहार गर्ने भन्नेबारे तेरा विचार र दृष्टिकोणहरूमा त्रुटि गरिस् भने, तैँले तुरुन्तै परमेश्वरका वचनहरूअनुसार आत्मचिन्तन गर्नेछस् र तेरा विचार र दृष्टिकोणहरू सच्याउनेछस्, साथसाथै निरन्तर आफ्नो व्यवहारलाई नियमन गर्नेछस्, र बिस्तारै, मानिसहरूलाई कसरी व्यवहार गर्ने भन्नेबारे तेरा विचार र दृष्टिकोणहरू र आफूलाई आचरणमा ढाल्ने र कार्य गर्नेसम्बन्धी तेरा सिद्धान्तहरू झन्-झन् सत्यताअनुरूप हुँदै जानेछन्। जब सत्यता सिद्धान्तहरू तेरो जीवन बन्छन्, तब तेरो भ्रष्ट स्वभाव फालिएको र रूपान्तरण भएको हुनेछ, र तैँले मानिसहरूलाई निष्पक्ष र न्यायपूर्ण रूपमा, र परमेश्वरका अभिप्रायहरूअनुसारको तरिकाले व्यवहार गर्न सक्नेछस्। यदि तिनीहरू तँसँग दाउपेच गर्दैनन् भने, तँ तिनीहरूसँग दाउपेच नगर्नु सही हो भन्ने सोच्छस्। तर यदि तिनीहरू तँसँग दाउपेच गर्छन्, र तँ तिनीहरूसँग दाउपेच गर्नबाट आफूलाई रोक्न सक्छस्, बरु सत्यता खोज्छस् र तिनीहरूलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्छस् भने, के त्यो प्रगति होइन र? के त्यो रूपान्तरण होइन र? (हो।) यदि तिनीहरू तँसँग दाउपेच गर्छन् र तँ पनि तिनीहरूसँग दाउपेच गर्छस् भने, के तँ पनि तँलाई दाउपेच गर्ने व्यक्तिकै बाटोमा हिँडिरहेको हुँदैनस् र? त्यस अवस्थामा, तँ र संसारका मानिसहरूबीच के फरक हुन्छ र? मानिस, कामकुराहरू, अनि आफूलाई आचरणमा ढाल्ने र कार्य गर्नेबारे तेरा दृष्टिकोणहरू परिवर्तन भएका हुँदैनन्। ती परमेश्वरका वचनहरू वा सत्यता सिद्धान्तहरूमा आधारित हुँदैनन्, बरु संसारका मानिसहरूका सिद्धान्तहरूमा आधारित हुन्छन्: जसले तँसँग दाउपेच गर्छन्, तँ पनि तिनीहरूसँग दाउपेच गर्छस्—खुनको बदला खुन र ज्यानको बदला ज्यान हुन्छ। तँ संसारका मानिसहरूभन्दा, गैरविश्वासीहरूभन्दा फरक हुँदैनस्। कसैले तँसँग दाउपेच गरे पनि वा नगरे पनि, यदि तैँले ऊसँग कहिल्यै दाउपेच गर्दैनस् बरु उसलाई परमेश्वरका वचनहरूअनुसार र सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्छस् भने, यो अडान र दृष्टिकोण सही छ; यो सत्यता अभ्यास गर्नु हो। अनुग्रहको युगमा, प्रभु येशूले मानिसहरूलाई के भन्नुभयो? यदि कसैले तेरो दाहिने गालामा हिर्काउँछ भने, तैँले के गर्नुपर्छ? (प्रभु येशूले भन्नुभयो, “जसले तेरो दाहिने गालामा हिर्काउँछ, त्यसतिर अर्को गाला पनि फर्काइदे” (मत्ती ५:३९)।) कतिपय मानिसहरू यसो भन्छन्, “यदि तिनीहरूले मलाई हिर्काए भने, म पनि तिनीहरूलाई हिर्काउनेछु! यदि तिनीहरूले मेरो देब्रे गालामा हिर्काए भने, म तिनीहरूको देब्रे गालामा हिर्काउनेछु। यदि तिनीहरूले मेरो दाहिने गालामा हिर्काए भने, म तिनीहरूको दाहिने गालामा हिर्काउनेछु। यस कुरालाई नैतिक वा कानुनी रूपमा गलत ठहराइँदैन।” परमेश्वर भन्नुहुन्छ, “गलत। यदि तिनीहरूले तेरो देब्रे गालामा हिर्काए भने, तेरो दाहिने गाला पनि तिनीहरूतिर फर्काइदे। जवाफी प्रहार नगर्।” के तँ त्यो गर्न सक्छस्? परमेश्वरको माग मानवीय नजरमा स्वीकार्य भए पनि वा नभए पनि—सायद कतिपय मानिसहरूका लागि, यो एउटा मूर्ख भनाइ, एक मूर्खतापूर्ण अभ्यास हो—यो तँसँग परमेश्वरले गर्ने माग हो। के तँ यसो गर्न सक्छस्? तँ भन्छस्, “म यो गर्न सक्दिनँ। यदि तिनीहरूले मेरो देब्रे गालामा हिर्काए भने, मैले तिनीहरूलाई जवाफी प्रहार गर्नैपर्छ, नत्र मेरो स्वाभिमान र गरिमा जानेछ, र मैले आफ्नो इज्जत पूर्ण रूपमा गुमाएको हुनेछु।” तेरो यो भनाइ भ्रष्ट मानवजातिमाझ मान्य भए पनि वा नभए पनि, यदि परमेश्वरको नजरमा तेरो भनाइ गलत छ, तेरो दृष्टिकोण गलत छ, र तेरो व्यवहार गलत छ भने, तेरो व्यवहार परमेश्वरको नजरमा दोषी ठहरिन्छ। यो दोषी ठहरिनुको कारण के हो? किनभने तैँले परमेश्वरका वचनहरू सुनिनस्, तैँले परमेश्वरको मार्ग पछ्याइनस्। परमेश्वरले तँलाई यदि कसैले तेरो देब्रे गालामा हिर्काउँछ भने, तैँले आफ्नो दाहिने गाला पनि तिनीहरूतिर फर्काउनुपर्छ भनेर भन्नुभयो। के तैँले त्यसो गरिस् त? परमेश्वर तँलाई यति मात्र सोध्नुहुन्छ: के तैँले परमेश्वरका वचनहरू सुनिस्? के तैँले परमेश्वरले तँलाई निर्देशन दिनुभएअनुसार अभ्यास गरिस्? यदि तैँले यसरी अभ्यास गरिनस् भने, तैँले परमेश्वरको मार्ग पछ्याइनस् र तँ परमेश्वरविरुद्ध विद्रोह गर्ने व्यक्ति होस्; तँ सत्यता अभ्यास गर्ने व्यक्ति होइनस्, र परमेश्वरका वचनहरूअनुसार कामकुराहरूलाई हेर्ने र आफूलाई आचरणमा ढाल्ने व्यक्ति होइनस्। त्यस अवस्थामा, परमेश्वर तँलाई मन पराउनुहुन्न, तँ परमेश्वरले स्वीकार गर्ने व्यक्ति होइनस्, र परमेश्वरको नजरमा, तैँले फर्काएको त्यो थप्पड एक दुष्ट कार्य हो। सायद तैँले सधैँ यो पूर्ण रूपमा न्यायोचित छ, यो तेरो गरिमा र अधिकारहरूको रक्षा गर्ने एक आवश्यक माध्यम हो भन्ने सोच्नेछस् होला। तर परमेश्वरको नजरमा, त्यो थप्पडको अर्थ तैँले परमेश्वरको मार्ग पछ्याएको छैनस्, न त तँ त्यो पछ्याउन चाहन्छस्, तँ परमेश्वरका वचनहरू सुन्दैनस्, र तेरो नजरमा, परमेश्वरका वचनहरू धर्मसिद्धान्त, खोक्रा शब्दहरू मात्र हुन्। तँ परमेश्वरका वचनहरू प्रचार मात्रै गर्छस् तर कहिल्यै ती अभ्यास गर्दैनस्। परमेश्वरले तँलाई परमेश्वरको मार्ग नपछ्याउने व्यक्तिका रूपमा चित्रण गर्नुहुनेछ। त्यसोभए के तैँले त्यसपछि पनि परमेश्वरको स्वीकार्यता प्राप्त गर्न सक्छस्? यदि तँ परमेश्वरको मार्ग पछ्याउँदैनस् भने, परमेश्वरका वचनहरू कहिल्यै तेरो जीवन बन्न सक्दैनन्। तैँले जतिसुकै आफ्नो तर्क प्रस्तुत गर्दै बहस गरे पनि, परमेश्वरले सुन्नुहुनेछैन। परमेश्वरले यसो भन्नुहुनेछैन, “कसैले विनाकारण तेरो देब्रे गालामा हिर्कायो, र तँ निकै दयनीय छस्। तेरो गरिमाको रक्षा गर्न, तैँले जवाफी प्रहार गर्न सक्छस्। जवाफी प्रहार गरेपछि, तैँले प्रार्थना गर्न र आफ्नो पाप स्वीकार गर्न सक्छस्, र परमेश्वरले तँलाई क्षमा गर्नुहुनेछ र तँलाई दोषी ठहराउनुहुनेछैन।” परमेश्वरले त्यसो भन्नुभएन। परमेश्वरले यदि कसैले तेरो देब्रे गालामा हिर्काउँछ भने, तैँले आफ्नो दाहिने गाला पनि तिनीहरूतिर फर्काइदे भनेर भन्नुभयो। यदि तँ त्यो गर्न सक्छस् भने, तँ परमेश्वरको मार्ग पछ्याउने व्यक्ति होस्। यदि तँ सक्दैनस् भने, परमेश्वरको नजरमा, तँ परमेश्वरविरुद्ध विद्रोह गर्ने व्यक्ति, परमेश्वरका वचनहरू अभ्यास नगर्ने वा परमेश्वरको मार्ग नपछ्याउने व्यक्ति, एक दुष्ट व्यक्ति होस्। दुष्ट मानिसहरूप्रति परमेश्वरको मनोवृत्ति कस्तो हुन्छ? परमेश्वर भन्नुहुन्छ, “मबाट दूर होओ! म तिमीहरूलाई चिन्दिनँ।” परमेश्वरलै त्यस्ता मानिसहरूको खाँचो हुँदैन। बुझिस्? (बुझेँ।) दाउपेचमा पनि त्यही कुरा लागू हुन्छ। तँ भन्छस्, “तिनीहरूले मसँग दाउपेच गरे, त्यसकारण मैले तिनीहरूसँग दाउपेच गर्दा के गलत भयो र?” तैँले मानिसहरूसँग दाउपेच गर्नु नै गलत हो। यो कुन हिसाबमा गलत हो? यो गलत हो किनभने दाउपेच गर्नु आफैमा एक दुष्ट कार्य हो, असल कार्य होइन। त्यसैले, जब तिनीहरूले मानिसहरूसँग दाउपेच गर्छन्, तब परमेश्वरले तिनीहरूलाई दोषी ठहराउनुहुन्छ। यदि तैँले पनि त्यही गरिस् भने, परमेश्वरले तँलाई पनि त्यसरी नै दोषी ठहराउनुहुनेछ। तैँले दाउपेचबाट मुक्त हुने तरिकाले, परमेश्वरले स्वीकार गर्ने तरिकाले कार्य गर्नुपर्छ। तेरो कर्तव्य भनेको परमेश्वरले तँलाई बताउनुभएको अभ्यासको मार्ग र सिद्धान्तहरूअनुसार अभ्यास गर्नु हो, आफ्नो तर्क प्रस्तुत गर्दै बहस गर्नु वा आफ्नो व्यक्तिगत गरिमा वा इज्जतको रक्षा गर्नु होइन। तेरो व्यक्तिगत इज्जत, हैसियत, र गरिमा महत्त्वपूर्ण छैनन्। के महत्त्वपूर्ण छ त? महत्त्वपूर्ण कुरा भनेको परमेश्वरका वचनहरू तँमा कार्यान्वयन भएका छन् कि छैनन्, परमेश्वरका वचनहरू तेरो जीवन बनेका छन् कि छैनन्, तँ परमेश्वरका वचनहरूअनुसार जिएको छस् कि छैनस्, र परमेश्वरका वचनहरू तँमा पूरा भएका छन् कि छैनन् भन्ने नै हो। बुझिस्? (बुझेँ।) कतिपय मानिसहरू यसो भन्छन्, “तिनीहरूले मलाई सरापे, त्यसैले म पनि तिनीहरूलाई सराप्नेछु।” के यसो भन्नु सही हो? (होइन।) अरूले भन्छन्, “तिनीहरू सधैँ मसँग तुच्छ व्यवहार गर्छन्, त्यसकारण म किन तिनीहरूसँग तुच्छ व्यवहार गर्न सक्दिनँ र? यदि मैले त्यसो गरिनँ भने, के म मूर्ख देखिनेछैन र?” के अरूले तँलाई कसरी हेर्छन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ? (हुँदैन।) मानिसहरू सधैँ इज्जतको चिन्ता गर्छन्, सधैँ अरूले तिनीहरूलाई मूर्ख र बेवकूफ देख्लान् कि भनेर डराउँछन्। वास्तवमा, अरूले तँलाई कसरी हेर्छन् भन्ने कुराले फरक पार्दैन। के कुराले फरक पार्छ? जब तिनीहरूले तँलाई मूर्ख, बेवकुफका रूपमा हेर्छन्, जब तिनीहरूले तेरो खिल्ली उडाउँछन्, तब तँ कस्तो प्रतिक्रिया दिन्छस्? तैँले उग्रताका साथ, मानवीय विधि र माध्यमहरूका साथ प्रतिक्रिया दिन्छस् कि परमेश्वरले तँलाई बताएका सिद्धान्तहरूअनुसार प्रतिक्रिया दिन्छस्? के तैँले परमेश्वरका वचनहरूअनुसार अभ्यास गरेको छस्? के तैँले दृढतापूर्वक आफ्नो कर्तव्य पालन गरेको छस्? तिनीहरूले तँलाई हाँसोमा उडाए र मूर्ख भने भन्दैमा, तँ भाँडभैलो मच्चाउँछस् र कामबाट हात झिक्छस्, “तैँले मलाई मूर्ख देखिस्, त्यसैले म अब यो काम गर्दिनँ!” तैँले तिनीहरूका लागि यो गरिरहेको छैनस्। यदि तैँले आफ्नो कर्तव्य छोडिस् भने, परमेश्वरले के भन्नुहुनेछ? “कसैले तँलाई मूर्ख भनेको कारणले, तैँले मैले तँलाई सुम्पेको कर्तव्य छोडिस्। तँसँग कुनै बफादारी छैन!” परमेश्वरले यसलाई यसरी हेर्नुहुनेछ। यदि तेरो हृदयमा साँच्चै परमेश्वर हुनुहुन्छ भने, यदि तँमा साँच्चै परमेश्वरप्रति बफादारी छ भने, यदि कसैले तँलाई हाँसोमा उडाउँछ र तँलाई मूर्ख भन्छ भने, तैँले पहिले यो सोच्नुपर्छ: “तँ मलाई मूर्ख भन्छस्, तँ मलाई बेवकूफ भन्छस्, र तँ मेरो पिठ्यूँ पछाडि हाँस्छस्। म तँसँग बहस गर्नेछैन र म तँविरुद्ध इख राख्नेछैन। म मूर्ख छु र मेरो क्षमता कमजोर छ, तर परमेश्वरले मलाई उचाल्नुभएको छ र उहाँ मलाई घृणा गर्नुहुन्न। यो कर्तव्य मलाई तैँले दिएका होइनस्, यो त मलाई परमेश्वरले दिनुभएको हो: यो त परमेश्वरले मलाई दिनुभएको आज्ञा हो। तैँले मलाई उच्च ठाने पनि वा नठाने पनि त्यसले फरक पार्दैन। मैले तँलाई देखाउन आफ्नो कर्तव्य पूरा गरिरहेको छैन। मेरो कर्तव्य निर्वाह गर्नु मेरो सङ्कल्प हो। मैले मेरो कर्तव्य राम्ररी निर्वाह गर्नैपर्छ, र म परमेश्वरप्रति बफादार हुनैपर्छ। मैले यो कर्तव्यलाई कदर गर्नैपर्छ, र परमेश्वरले मलाई गर्नुभएको उत्थान र ममाथि राख्नुभएको भरोसामा खरो उत्रनैपर्छ। म आफ्नो कर्तव्यप्रति बफादार हुनैपर्छ। तैँले मलाई मूर्ख भनेको कारणले म आफ्नो कर्तव्य छोड्न र परमेश्वरलाई निराश पार्न सक्दिनँ। त्यसले त मलाई साँच्चै मूर्ख तुल्याउनेछ।” के यसरी सोच्नु सिद्धान्तहरूअनुसार हुँदैन र? के यो उग्रता त्याग्नु होइन र? यो उग्रताका साथ प्रतिक्रिया दिनु होइन। जब तिमीहरू यसरी कार्य गर्न सक्छौ, तब तिमीहरू साँच्चै परिवर्तन भएका हुनेछौ, र तिमीहरूसँग कद हुनेछ। तिमीहरू मानिस, घटना, वा कामकुराहरूद्वारा बाँधिनेछैनौ। परिस्थिति जस्तोसुकै भए पनि, तिमीहरूले परमेश्वरका वचनहरू र सत्यता सिद्धान्तहरूलाई मनमा दृढतापूर्वक राख्नेछौ, र कुनै पनि मामिलालाई उग्रता, भावना, वा मनस्थिति, वा व्यक्तिगत प्राथमिकता, चाहना, वा महत्त्वाकाङ्क्षाहरूका आधारमा लिनेछैनौ। परमेश्वरका वचनहरू तेरो हृदयका सबैभन्दा उच्च र महान् कुराहरू हुनेछन्, र जब केही हुन्छ, तब तैँले पहिले परमेश्वरका वचनहरू खोज्नेछस्, “परमेश्वरका वचनहरूले यसो भन्छन्, त्यसैले म तिनलाई दृढतापूर्वक पालना गर्नेछु। अरूले मलाई मूर्ख देखे पनि फरक पर्दैन। महत्त्वपूर्ण कुरा त परमेश्वरले मलाई कसरी हेर्नुहुन्छ भन्ने नै हो। म मूर्ख भए पनि र मेरो क्षमता कमजोर भए पनि, परमेश्वरले मलाई गर्नका लागि एउटा कर्तव्य निर्वाह सुम्पनुभएको छ। मैले परमेश्वरबाट कति ठूलो उत्थान पाएको छु! यो एउटा आशिष् हो!” यदि तँ आफूले सामना गर्ने कुराहरूलाई परमेश्वरका वचनहरूअनुसार लिन सक्छस् भने, तैँले सत्यता सिद्धान्तहरूअनुसार कसरी अभ्यास गर्ने भन्ने कुरा जान्नेछस्।
हामी दाउपेच नगर्ने विषयमा कुरा गर्न जारी राखौँ। दैनिक जीवनमा, मानिसहरूलाई आइपर्ने विभिन्न कुराहरूमा अरूले तिनीहरूविरुद्ध प्रायजसो दाउपेच गर्छन्। कोही-कोही तँसँग ख्याति र प्राप्तिका लागि होडबाजी गर्छन्, कोही-कोही तँसँग सही र गलतबारे बहस गर्छन्, कोही-कोही तँसँग एउटै शब्दलाई लिएर समेत तर्क गर्छन्, कोही-कोही तेरो पिठ्यूँ पछाडि तेरो आलोचना गर्छन् र तँलाई कमजोर पार्छन्, र कोही-कोही तँलाई ठेस लगाउँछन् र तँसँग अनुचित व्यवहार गर्छन्। विभिन्न मानिसहरूका दाउपेचहरूको सामना गर्नुपर्दा, तँ तिनलाई कसरी सम्हाल्छस्? तैँले दृढतापूर्वक एउटा सिद्धान्त पालन गर्नैपर्छ: “अरूले मेरो विरुद्ध जति नै दाउपेच गरे पनि, म तिनीहरूको विरुद्ध दाउपेच गर्नेछैन; म तिनीहरूबाट टाढै बस्नेछु! मैले परमेश्वरका अभिप्रायहरू के हुन् र उहाँ म के-कस्तो पाठ सिकूँ भन्ने चाहनुहुन्छ भन्ने कुरा बुझ्नैपर्छ। म मेरो अडानमा दृढ रहनैपर्छ र मैले परमेश्वरका वचनहरू अभ्यास गर्नैपर्छ र आफ्नो कर्तव्यमा अडिग रहनैपर्छ। परमेश्वरका वचनहरूका सिद्धान्तहरूअनुसार कार्य गर्नु कहिल्यै गलत हुनेछैन र त्यसले कहिल्यै हानि गराउनेछैन। अरूले मलाई जति नै उच्च ठाने पनि, त्यो मुकुट वा इनाम होइन; त्यो त विपद् हो!” यदि तैँले यस्तो सिद्धान्त पालन गरिस् भने, त्यसले तँलाई दुष्टता गर्नबाट र परमेश्वरद्वारा दोषी ठहराइनबाट सक्छ। यदि तँ तेरो जीवनभरि एक सृजित प्राणीको स्थानमा दृढ रहन सकिस्, तैँले एक सृजित प्राणीको कर्तव्य पूरा गर्न सकिस्, र परमेश्वरले तँलाई सुम्पेको काम आफ्नो सारा हृदय र मनले पूरा गर्न सकिस्, र तैँले आफ्ना सबै विचार आफ्नो कर्तव्य पूरा गर्नमा समर्पित गरिस् भने—चाहे तँ त्यसमा यति मग्न भइस् कि तैँले खान र सुत्न नै बिर्सिस् वा तैँले आफ्नो दिमागलाई नै थाकाइस् भने पनि—तैँले परमेश्वरले तँलाई सुम्पेको काम राम्ररी गरिस्, र तैँले मानकअनुरूप हुने तरिकाले आफ्नो कर्तव्य पूरा गरिस् भने, तैँले मूल्यवान् जीवन जिउनेछस्। यस जीवनमा, हामीले ठूला कामकुराहरू गर्ने, कुनै पनि कार्यहरू सम्हाल्ने, वा कुनै चमत्कार गर्ने कोसिस गर्नु हुँदैन। हामी केवल नगण्य मानिसहरू हौँ र हामीले परमेश्वरका वचनहरू अझ धेरै पढ्नुपर्छ, हामीमाथि आइपर्ने कुराहरूमा सत्यता बुझ्ने कोसिस गर्नुपर्छ, हाम्रा जिम्मेवारीहरू पूरा गर्नुपर्छ, र हामीले जे गर्नुपर्छ त्यो राम्ररी गर्नुपर्छ। हामीले हामी हरेक मामिलामा सत्यता सिद्धान्तहरूअनुरूप हुन सक्छौँ, हामीले पूरा गर्ने कर्तव्य कार्य-प्रबन्धहरूले माग गरेका सिद्धान्तहरूअनुरूप छ, र हामीले गर्ने हरेक कुराको उत्प्रेरणा, उद्देश्य, र सिद्धान्तहरूलाई होसियारीसाथ जाँच्दा, ती सबै परमेश्वरका वचनहरूका मागहरूअनुरूप छन्, र छानबिन र परमेश्वरको जाँचमा खरो उत्रन सक्छन् भन्ने कुरा सुनिश्चित गर्नुपर्छ। हरेक दिन, तँ शान्ति र हर्षसाथ आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्छस्, र तँ सधैँ परमेश्वरसामु जिउँछस्। जब तेरो हृदयमा परमेश्वरलाई भन्ने केही कुरा हुन्छ, तब तँ उहाँलाई प्रार्थना गर्छस्; जब तँसँग प्रार्थना गर्ने कुनै शब्द हुँदैन, तब पनि तँ आफ्नो हृदयमा परमेश्वरको नजिक जान सक्छस्, र तैँले प्रार्थना गर्दा परमेश्वरको अन्तर्दृष्टि र मार्गदर्शन प्राप्त गर्छस्, र तँ उहाँद्वारा उत्प्रेरित हुन्छस्। तँ आफ्नो कर्तव्य पूरा गर्दा परमेश्वरप्रति बफादार पनि हुन सक्छस्, र आफूलाई खुला र सोझो तरिकाले आचरणमा ढाल्न सक्छस्। त्यो कति अद्भुत कुरा हो! मानिसहरूलाई व्यवहार गर्दा र तिनीहरूसँग संलग्न हुँदा र कुराकानी गर्दा, सामान्यतया तँमा झन्-झन् कम खोट र अपराधहरू हुन्छन्। अरूले तेरो विरुद्ध जसरी नै दाउपेच गरे पनि, तँ उग्रतासाथ प्रतिक्रिया दिँदैनस्। जब-जब तँलाई आफ्नो उग्रतामाथि विजय प्राप्त गर्न असमर्थ भएको महसुस हुन्छ, तब-तब तँ परमेश्वरलाई प्रार्थना गर्छस्; जब तँ कमजोर हुन्छस्, तब पनि तँ परमेश्वरलाई प्रार्थना गर्छस्। जब पवित्र आत्माले तँलाई अलिकति उत्प्रेरित गर्नुहुन्छ, तब तैँले त्यस कुरामाथि विजय प्राप्त गर्ने सामर्थ्य पाउनेछस्, र तैँले त्यो अड्चनलाई नाघ्नेछस्। तैँले हरेक पटक मानिसहरूको दाउपेच, आक्रमण, प्रतिकार, र यस्तै अन्य कुराहरूको सामना गर्दा, त्यो कुरा अड्चनलाई पार गर्नुजस्तै हुन्छ, कठिनाइमाथि विजय प्राप्त गरेजस्तै हुन्छ। तैँले अन्ततः यी सबै दाउपेचहरूमाथि विजय प्राप्त गर्न सक्छस्, तँविरुद्धका मानिसहरूका आक्रमण, प्रतिकार, र सङ्घर्षहरूमाथि विजय प्राप्त गर्न सक्छस्, तैँले उग्रता वा भ्रष्ट स्वभावहरूका आधारमा प्रतिक्रिया दिँदैनस्, बरु तँ सिद्धान्तहरू पालन गर्न सक्षम हुन्छस्। तब तँ साँच्चै एक विजेता हुन्छस्। त्यो कति अद्भुत कुरा हो! तर, मानौँ तँ दिनभरि उग्रता र भ्रष्ट स्वभावहरूमा जिउँछस्। जब कसैले तेरो विरुद्ध दाउपेच गर्छ वा केही अप्रिय कुरा भन्छ, तब तैँले त्यसलाई मनमा लिन्छस्, त्यसदेखि अत्यन्तै दिक्क हुन्छस्, आकुलव्याकुल हुन्छस्, तेरा आँखाहरू रिसले बल्छन्, र तँ क्रोधले जल्छस्। अथवा, तैँले अप्रिय शब्दहरू सुनेपछि, तेरो हृदयमा असहज महसुस हुन्छ, तेरो मुखमा फोकाहरू उठ्छन्, तेरो भोक-प्यास हराउँछ, र तँ राती सुत्न सक्दैनस्। तब, तँ परमेश्वरबाट टाढिन्छस्। तँ कि त उग्रतामा जिउँछस् कि त भावनाहरूमा, हरेक दिन दुःखमा बिताउँछस्, परमेश्वरका वचनहरू सामान्य रूपमा खान र पिउन सक्दैनस्, आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्न सक्दैनस्, र तेरो हृदय यी सही र गलतका मामिलाहरूद्वारा ओगटिएको र तिनमा अल्झिएको हुन्छ। अल्झिएपछि, तँलाई मुक्त हुन धेरै कठिन हुन्छ, र कहिलेकाहीँ तँ महिनौँसम्म पनि मुक्त हुन सक्दैनस्। यदि यो विवाह वा मुद्दाजस्तो कुनै ठूलो मामला हो भने, दाउपेच अझ गम्भीर हुन्छ, र एक पटक तँ यी कुराहरूमा अल्झिएपछि, महिनौँ—वा वर्षौँ—त्यसै बित्छन्, र तेरो जीवनका सबैभन्दा उत्तम वर्षहरू खेर जान्छन्। अन्त्यमा, तेरो पूरै जीवन खेर जान्छ—तैँले आफ्नो कर्तव्य राम्ररी पूरा गरेको हुनेछैनस्, र तैँले सत्यता प्राप्त गरेको हुनेछैनस्। के यसको अर्थ तँ पूर्ण रूपमा बरबाद भइस् भन्ने हुँदैन र? यदि तँ निरन्तर विवाद, दाउपेच, सङ्घर्ष, र तुच्छतामा जिइरहेको हुन्छस् भने, के तँ अझै पनि आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छस् र? तैँले आफ्नो कर्तव्य राम्ररी पूरा नगर्ने मात्र होइन, दाउपेच र सङ्घर्ष गरेर, तैँले धेरै दुष्ट कार्यहरू पनि थुपार्नेछस्। मानिसहरूबीचको दाउपेच र सङ्घर्षहरूमा जिउँदा, तैँले कति धेरै खराब कामकुराहरू गर्नेछस्, कति धेरै अहङ्कारी वचनहरू, विद्रोही वचनहरू, सत्यता उल्लङ्घन गर्ने वचनहरू, र परमेश्वरको प्रतिरोध गर्ने वचनहरू बोल्नेछस्? यी सबैलाई दियाबलसहरूका वचनहरूका रूपमा वर्गीकृत गरिन्छ। कतिपय वचनहरू ठूलो स्वरमा नबोलिए पनि, ती तेरो दिमागमा प्रशोधन हुन्छन्; तैँले आफ्नो हृदयमा मानिसहरूलाई घृणा गर्छस्, दुर्व्यवहार गर्छस्, र सराप्छस्। यी कुराहरू परमेश्वरका नजरमा दिनको घामजस्तै छर्लङ्ग हुन्छन्। जब तँलाई कुनै कुरा आइपर्छ, तब तेरा युक्तिदाउपेचहरू के हुन्छन्, तैँले कसरी योजना बनाउँछस्, र तँ कसरी अभ्यास गर्छस् भन्ने कुरा परमेश्वरले देख्नुहुन्छ। यी दाउपेच र सङ्घर्षहरूमा जिउँदा, तँ कहिल्यै आत्मचिन्तन गर्न र पश्चात्ताप गर्न र परमेश्वरसामु आफ्ना पापहरू स्वीकार गर्न जान्दैनस्, न त तँ यी मामिलाहरूमा सत्यता खोज्न नै जान्दछस्, बरु अन्धाधुन्ध रूपमा तिनको “आनन्द लिन्छस्”। तँ शारीरिक र मानसिक रूपमा थकित भए पनि, तैँले कहिल्यै आत्मचिन्तन गर्दैनस् वा परमेश्वरलाई प्रार्थना गर्दैनस् र परमेश्वरको ताडना र मार्गदर्शन स्वीकार गर्दैनस्, परमेश्वरका वचनहरूलाई आफ्नो हृदयमा स्वीकार गर्दैनस्, र परमेश्वरलाई शासन गर्न दिँदैनस्। तँ कहिल्यै परमेश्वरका वचनहरू अभ्यास गर्ने सङ्कल्प गर्दैनस्। यसले तँ परमेश्वरमा इमानदारीपूर्वक विश्वास गर्ने र सत्यता पछ्याउने व्यक्ति होइनस् भन्ने प्रमाणित गर्छ। परमेश्वरमा इमानदारीपूर्वक विश्वास गर्ने र सत्यता पछ्याउनेहरू आफ्नो हृदयमा सत्यता कसरी अभ्यास गर्ने र मानव रूपमा कसरी जिउने भन्ने कुरामा केन्द्रित हुन्छन्, र तिनीहरू अरू सबै कुराभन्दा माथि परमेश्वरको अनुमोदनलाई महत्त्व दिन्छन्। यसले तिनीहरूलाई सङ्घर्ष र दाउपेचहरूबाट अलग रहन सक्षम बनाउँछ; तिनीहरूको हृदय प्रायजसो परमेश्वरको नजिक जान सक्छ र तिनीहरू परमेश्वरसामु जिउन सक्छन्। फलस्वरूप, तिनीहरूका कर्तव्यहरूले झन्-झन् ठूलो फल फलाउँछन्, तिनीहरूले यसरी जिउनुमा मूल्य छ र यसले मानवजातिलाई केही योगदान दिन्छ भन्ने महसुस गर्छन्, र त्यसैले तिनीहरूको हृदयमा साँचो शान्ति र हर्ष हुन्छ। तिनीहरूले एक सृजित प्राणीको कर्तव्य पूरा गर्न सक्ने भएकाले, तिनीहरूले जिउने हरेक दिनको साँचो मूल्य र अर्थ हुन्छ। तर यदि तँ विभिन्न प्रकारका सङ्घर्ष र दाउपेचहरूमा जिउँछस् भने, तैँले जीवित रहेको हरेक दिन पापहरू थुपारिरहेको हुन्छस्। तँ एक सृजित मानवले जिउनुपर्ने मूल्य र अर्थअनुसार जिउन असफल हुने मात्र होइन, तैँले आफ्नो भविष्यका लागि पापहरू पनि थुपार्छस्। परमेश्वर हृदयमा तँलाई झन्-झन् धेरै तिरस्कार गर्नुहुन्छ, र उहाँ तँप्रति झन्-झन् निराश बन्नुहुन्छ। यदि परमेश्वरले तँप्रतिको उहाँका ख्याल र अपेक्षाहरू व्यर्थ हुन लागेको देख्नुभयो भने, परमेश्वरले तँप्रति कस्तो महसुस गर्नुहुनेछ? यदि तैँले गर्ने कामहरूले परमेश्वरलाई झन्-झन् निराश बनाउँछ, परमेश्वरलाई झन्-झन् हतोत्साहित बनाउँछ, यहाँसम्म कि एक दिन तँ साँच्चै पछि फर्किँदैनस् र परमेश्वर तँलाई त्याग्न चाहनुहुन्छ भने, तब मलाई भन्, तेरो जीवन र परमेश्वरमाथिको तेरो आस्थाको के मूल्य र अर्थ हुन्छ र? तेरो जीवनमा के आशा बाँकी रहन्छ र? अरूले तेरो विरुद्ध दाउपेच गर्छन् र तेरो आलोचना गर्छन् भन्दैमा, तँ आफ्नो अभिमानका लागि लड्न, र आफ्नै इज्जत र सम्मान फिर्ता लिन मानिसहरूसँग कलहमा फस्छस् र आफ्ना उचित कामहरूमा ढिलाइ गर्छस्। कहिलेकाहीँ, कसैले केही अप्रिय कुरा भन्यो वा तँलाई चिढ्याउने गरी कुनै निश्चित तरिकाले हेर्यो, र तेरो इज्जत गुम्यो र तेरो आत्म-सम्मानमा चोट पुर्यायो भन्दैमा, तँ आफ्नो हृदयमा समेत क्रोधित हुन्छस् र त्यस व्यक्तिसँग अनवरत रूपमा विवादहरूमा अल्झिन्छस्। अनि अन्त्यमा के हुन्छ? तैँले आफ्नो सबै बहुमूल्य समय यी कुराहरूमा खेर फाल्छस्, मुक्ति प्राप्त गर्ने तेरो मौकालाई नाश गर्छस् र कुनै पनि सत्यता प्राप्त गर्दैनस्। फलस्वरूप, परमेश्वरले तँलाई तिरस्कार गर्नुहुन्छ, त्यस उप्रान्त तँलाई वास्ता नै गर्नुहुन्न, र तँ पूर्ण रूपमा बरबाद हुन्छस्। त्यसोभए, यी कुराहरू सङ्गति गरेर म तिमीहरूलाई के भन्न खोज्दैछु? आफूलाई कसरी आचरणमा ढाल्ने भन्ने कुरा छनौट गर्नु, आफूलाई कुन तरिकाले आचरणमा ढाल्ने भन्ने कुरा छनौट गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। मानिसहरूका बीचमा जिउँदा, हरेक व्यक्तिले प्रायः दाउपेच, सङ्घर्ष, व्यक्तिगत स्वार्थमा हुने लाभ र हानि, र प्रशंसा, आलोचना, दोषारोपण, र निन्दाका विभिन्न आवाज सामना गर्नेछ; सबैले यी कुराहरू सामना गर्नेछन्। म पनि यस संसारमा यो युगसम्म जिएको छु, र म पनि शून्यतामा जिउँदिनँ। मैले पनि यी कुराहरू सामना गर्ने गर्छु, तर मेरो हृदयले दाउपेच गर्नेछैन। मलाई हेर—म कसरी जिएको छु? यी कुराहरूले मेरो जीवन वा मेरो कामलाई अलिकति पनि असर गर्दैनन्। हरेक दिन, म केवल आफ्नो काम गर्नमा केन्द्रित हुन्छु। अहिलेसम्म जिउँदा, म बाहिरी वातावरणबाट प्रभावित भएको छैन। मेरो पहिचान र हैसियत, मानिसहरूको नजरमा रहेको मेरो मूल्य—यीमध्ये कुनै पनि कुरा प्रभावित भएका छैनन्। यति मात्र होइन, तिमीहरूले भूलवश म अत्यन्तै उँचो, अत्यन्तै असाधारण, र अरूभन्दा अत्यन्तै फरक छु भनी सोच्नेछौ कि भनेर म चिन्तित समेत छु, त्यसैले मैले मेरो सामान्यता, व्यावहारिकता, र साधारणपनका केही वास्तविक उदाहरणहरू अझ निश्चित तरिकाले दिनुपर्छ ताकि तिमीहरूले मेरो मूर्तिपूजा नगर र मेरो बारेमा केही अवास्तविक कल्पना र धारणाहरू नराख। मैले यी कुराहरू भनेपछि मात्रै कतिपय मानिसहरूले म एक साधारण, सामान्य व्यक्ति मात्रै हुँ भन्ने देख्छन्, र त्यसपछि तिनीहरू मप्रति उदासीन हुन्छन्। मलाई यी कुराहरूको वास्ता छैन। तँ मैले बोलेका यी वचनहरू स्वीकार गर्न सक्छस् भने, त्यति नै पर्याप्त छ; मेरो अरू कुनै माग छैन। यदि तिमीहरूले दिनभरि मलाई टुलुटुलु हेरिरहने, मलाई छानबिन गर्ने, मेरो हाउभाउ पढ्ने गरिरह्यौ भने, त्यसले मलाई असहज बनाउँछ। मलाई मानिसहरूले मेरो मूर्तिपूजा गरेको वा मेरो चापलुसी गरेको मन पर्दैन, र मलाई मानिसहरू सधैँ मेरो वरिपरि झुम्मिएको त झनै मन पर्दैन। मलाई शान्त मन पर्छ। हेर् त, के म यी वर्षहरूमा निकै राम्ररी जिएको छैन र? त्यसोभए तिमीहरू पनि किन त्यसरी नै जिउने प्रयास गर्दैनौ? तँ ख्याति र प्राप्तिका लागि होडबाजी नगरी, हैसियतका लागि होडबाजी नगरी, आफ्नै गरिमाको रक्षा नगरी, र शब्दहरूमा कुनै अख्तियारका लागि सङ्घर्ष नगरी बाँच्न सक्छस् कि सक्दैनस् भनेर हेर्। यदि तैँले परमेश्वरका वचनहरू र परमेश्वरका मागहरूअनुसार व्यवहार गरिस्, जिइस्, आफूलाई आचरणमा ढालिस्, कामहरू गरिस्, र आफ्नो कर्तव्य पूरा गरिस् भने, तेरो जीवन कस्तो हुनेछ हेर्—तैँले हर्ष प्राप्त गर्नेछस् कि र तेरो हृदयमा शान्ति हुनेछ कि भनी हेर्। जिउने फरक तरिका अपनाएर हेर्, सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्, र स्पष्ट लक्ष्यहरू राख्, त्यसपछि तैँले अगाडि एउटा उज्यालो भविष्य देख्नेछस्। यदि तँ सधैँ कसले तेरो विरुद्ध दाउपेच गरिरहेको छ, कसले तेरो हैसियतमा असर गर्छ, कसको प्रतिष्ठा तेरोभन्दा उच्च छ, कसले तेरो पिठ्यूँ पछाडि तेरो कुरा काटिरहेको छ, र यस्तै अन्य कुराहरूको हिसाबकिताब गरिरहन्छस्, र यी कुराहरूको बीचमा जिउँछस् भने, तेरा लागि अगाडि कुनै मार्ग हुँदैन, केवल अन्धकार हुन्छ। तँ सधैँ हराएको हुनेछस्, र तैँले यस्तो महसुस गर्नेछस्, “मेरो जीवन थकाइलाग्दो छ, कुनै खुसी छैन, मसँग कुनै आशिष् छैन!” तँ परमेश्वरले तँलाई दिनुभएका आशिष्हरूको आनन्द लिँदैनस्, बरु तँ नरकमा घुस्रिरहन्छस्। मलाई भन्, के तैँले आशिष्हरू पाउन सक्छस्? के तैँले हर्ष र शान्ति पाउन सक्छस्?
यी विषयहरूमा सङ्गति गर्दा तिमीहरूलाई कस्तो लाग्छ? (राम्रो लाग्छ।) कुन हिसाबमा राम्रो लाग्छ? (हामीलाई यसले हामीले वास्तविक जीवनमा सामना गर्ने कठिनाइहरू र हामीले प्रकट गर्ने भ्रष्ट स्वभावहरू सुल्झाउन सक्छ भन्ने लाग्छ। परमेश्वरले हाम्रा लागि केही निश्चित मार्गहरू पनि औँल्याउनुभएको छ: अरूविरुद्ध सङ्घर्ष र दाउपेच गर्नबाट कसरी बच्ने, र मानिस, घटना, र कामकुराहरूको बन्धनबाट कसरी मुक्त हुने र ज्योतिमा कसरी जिउने।) यी सिद्धान्तहरूमा सङ्गति गर्नुको मुख्य उद्देश्य के हो? यो तँलाई अरूसँग सङ्घर्ष गर्ने जीवनबाट उम्कन मद्दत गर्नका लागि मात्र होइन; मुख्य कुरा तँलाई सामान्य मानवताभित्र जिउन र सामान्य मानवताको जीवन जिउन सक्षम बनाउनु हो। यदि तैँले परमेश्वरका वचनहरूअनुसार कार्य गरिस् भने, तैँले परमेश्वरप्रतिको समर्पणता हासिल गर्न सक्छस्, उहाँका वचनहरू र सत्यतालाई आफ्नो जीवन बनाउन सक्छस्, मुक्ति प्राप्त गर्न सक्छस्, र तँ परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्छस्: तँ यस्तो व्यक्ति बन्न सक्छस्। बुझिस्? (बुझेँ।) यो अरूसँग दाउपेच गर्ने र सङ्घर्ष गर्ने जीवनबाट उम्कनका लागि मात्र होइन; यदि यो त्यसका लागि मात्र भएको भए, तैँले सत्यता प्राप्त गर्नेथिइनस्। मलाई भन्, सत्यता प्राप्त नगरी, कुनै व्यक्तिको अभ्यासको लक्ष्य के हुन्छ? के यो अझै पनि खोक्रो हुँदैन र? यस समाजमा, मानिसहरूमाझ जिउँदा, तँलाई कुनै कुरा आइपर्दा तँसँग सधैँ आफ्नै विचार र दृष्टिकोणहरू हुनेछन्; कुनै पनि विचार वा दृष्टिकोण नहुनु असम्भव छ, मानौँ तँ शून्यमा बाँचिरहेको छस्। यस्तो स्थिति अस्तित्वमा हुँदैन। जब कसैले तेरो विरुद्धमा दाउपेच गर्दैन वा तँसँग सङ्घर्ष गर्दैन, तब तैँले अरूविरुद्ध दाउपेच नगर्न वा अरूसँग सङ्घर्ष नगर्न सक्छस्। तर जब कसैले तेरो विरुद्धमा दाउपेच गर्छ वा तँसँग सङ्घर्ष गर्छ, तब तँ के गर्छस्? “म तिनीहरूसँग सङ्घर्ष गर्नेछैन, म तिनीहरूविरुद्ध दाउपेच गर्नेछैन” जस्ता नाराहरू लगाउँदैमा समस्या समाधान हुन्छ र? (हुँदैन।) त्यसोभए समस्यालाई कसरी समाधान गरिनुपर्छ? कतिपय मानिसहरू यसो भन्दै नारा लगाउँछन्, “के म अझैसम्म दाउपेच गर्नका लागि निकै बूढो भइसकेको छैन र? परमेश्वरको काम यति अघि बढिसक्यो, तैपनि म अझै दाउपेच गरिरहेको छु? ती कुराहरूका बारेमा दाउपेच गर्नुको के फाइदा छ र?” के यी शब्दहरूले समस्या समाधान गर्न सक्छन्? (सक्दैनन्।) धेरैजसो मानिसहरूले आफूमाथि कुनै कुरा आइपर्दा अझै पनि आफ्नो हृदयमा त्यसलाई छोड्न सक्दैनन् र अझै पनि अरूसँग दाउपेच र सङ्घर्ष गर्छन्। त्यसोभए यो समस्यालाई कसरी समाधान गरिनुपर्छ? यसलाई परमेश्वरका वचनहरू र सत्यता सिद्धान्तहरूअनुसार मानिसहरूका विचार र दृष्टिकोण, र तिनीहरूका भ्रष्ट स्वभावहरूका समस्याहरू हल गरेर समाधान गरिनुपर्छ। तैँले सही विचार वा दृष्टिकोण प्राप्त गरेपछि, त्यस्ता मामिलाहरूप्रतिको तेरो दृष्टिकोण, मनोवृत्ति, र अडान परिवर्तन हुन्छ। त्यस्ता मामिलाहरूप्रतिका तेरा भावनाहरू फरक हुनेछन्; तँलाई अरूसँग सङ्घर्ष गर्नु अर्थहीन छ—यसले तेरो ऊर्जा खेर फाल्छ, काममा बाधा पुर्याउँछ, भित्री असहजता उत्पन्न गराउँछ, र यसमा कुनै हर्ष वा शान्ति हुँदैन भन्ने महसुस हुनेछ। त्यसपछि, जब तैँले परमेश्वरका वचनहरूमा त्यस्ता मामिलाहरूको निन्दा पढ्छस्, तब तेरो हृदयमा यी मामिलाहरूप्रतिको दृष्टिकोण पूर्ण रूपमा परिवर्तन हुनेछ, तेरो भावनात्मक स्थिति फरक हुनेछ, अरूसँग सङ्घर्ष गर्ने तेरो झकझकाहट कम हुनेछ, तेरो रिस घट्नेछ, र तेरो उग्रता हराउनेछ। यदि अरूले तँसँग सङ्घर्ष गरे, निरन्तर तँलाई उक्साए भने, तँ प्रभावित हुनेछैनस्, र तँलाई यो ठूलो कुरा होइन र तिनीहरूसँग सङ्घर्ष गर्न आवश्यक छैन भन्ने महसुस हुनेछ। दर्शकहरूले समेत हेरेर बसिरहन नसकेर यसो भन्नेछन्, “तिनीहरू तिमीलाई त्यस्तो व्यवहार गर्छन्, तिमीलाई कसरी केही महसुस नभएको? के तिमी मूर्ख हौ?” तँ भन्छस्, “म यस्ता मामिलाहरूलाई धेरै गम्भीर रूपमा लिन्थेँ; आकाश नै खसे जस्तो महसुस हुन्थ्यो। मैले तिनीहरूलाई कुराहरू स्पष्ट नपार्दा, वा यदि तिनीहरूले मलाई कुनै जवाफ नदिँदा, म पक्कै पनि यसलाई कुरालाई सजिलै छोड्दिनथेँ। तर अहिले कुरा फरक छ। म अब अरूसँग दाउपेच वा सङ्घर्ष गर्दिनँ, तर म बूढो भएकाले नभई मैले परमेश्वरका वचनहरूमा मानवजातिको भ्रष्ट सारलाई छर्लङ्गै देखेको हुनाले यस्तो भएको हो। तिनीहरूको बानीबेहोरा परमेश्वरका वचनहरूमा खुलासा गरिएका दुष्ट व्यक्ति, ख्रीष्टविरोधी, शैतानका नमूना प्रकाश र प्रकटीकरणहरू हुन्। ममा पनि पहिले यी प्रकटीकरणहरू थिए, तर अहिले, परमेश्वरका वचनहरूमा म के देख्छु भने, यस प्रकारको साँचो अनुहार, यस प्रकारको स्वभाव निकै कुरूप र घिनलाग्दो छ; परमेश्वर यसलाई घृणा गर्नुहुन्छ! अहिले म आफै यसलाई घृणा गर्छु, र म हृदयमा त्यो भ्रष्ट स्वभावमा जिउन इच्छुक छैन। त्यसैले जब तिनीहरू फेरि मसँग सङ्घर्ष गर्छन्, मलाई तिनीहरूप्रति दिक्क र घिन मात्रै लाग्छ, र सङ्घर्ष गर्ने कुनै रुचि वा चाहना हुँदैन। परमेश्वरका वचनहरूमा, मैले अभ्यासका सिद्धान्तहरू पनि भेट्टाएको छु, र मलाई त्यस्ता मानिसहरूलाई कसरी व्यवहार गर्ने भन्ने थाहा छ।” परमेश्वरका वचनहरूले के भन्छन्? एकातिर, परमेश्वरका वचनहरूले त्यस्ता मानिसहरूलाई खुलासा र चित्रण गर्छन्; अर्कोतिर, परमेश्वर अरूलाई व्यवहार गर्ने सिद्धान्त भनेको तिनीहरूलाई निष्पक्ष रूपमा व्यवहार गर्नु हो भनेर मानिसहरूलाई भन्नुहुन्छ। यदि तिनीहरू साँचो दाजुभाइ-दिदीबहिनीहरू हुन्, र तिनीहरू भ्रष्ट स्वभावहरू प्रकट गर्छन् भने, हामीले तिनीहरूलाई प्रेमसाथ व्यवहार गर्नुपर्छ, तिनीहरूका अपराध र भ्रष्ट स्वभावहरू समाधान गर्न सत्यतामा सङ्गति गर्नुपर्छ, ताकि तिनीहरूले उप्रान्त परमेश्वरको प्रतिरोध नगरून् वा अपराध नगरून्। सायद सहायतामार्फत, तिनीहरूका समस्याहरू समाधान हुनेछन्। यदि तिनीहरू सहायता स्वीकार गर्दैनन्, सत्यता स्वीकार गर्न सक्दैनन्, तर आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन् र मण्डलीको काममा बाधा दिँदैनन् भने, तिनीहरूलाई मण्डलीमा रहेर आफ्नो कर्तव्य पूरा गर्न दिनुपर्छ। यदि तिनीहरू आफ्नो कर्तव्य राम्ररी पूरा गर्दैनन् र अझै पनि अरूसँग सङ्घर्ष र दाउपेच गर्छन्, र बाधा उत्पन्न गर्छन् भने, तिनीहरूलाई परमेश्वरको घरका प्रशासनिक आदेशहरू र मानिसहरूलाई व्यवहार गर्नेसम्बन्धी परमेश्वरको घरका सिद्धान्तहरूअनुसार पखालेर मिल्काइनुपर्छ। के तब हाम्रो हृदयले शान्ति पाउनेछैन र? परमेश्वरको घरसँग कुहिएका आलुहरूसँग व्यवहार गर्ने सिद्धान्त र मार्गहरू छन्। यी मानिसहरूलाई कसरी खुट्ट्याउने र निराकरण गर्ने, यी मानिसहरूलाई कस्तो व्यवहार गर्ने—यी सबैका लागि परमेश्वरका वचनहरूमा सिद्धान्त र मार्गहरू छन्। यदि मानिसहरूले परमेश्वरका वचनहरूअनुसार अभ्यास गरे भने, त्यसलाई सजिलै र हर्षसाथ सम्हालिनेछ, तिनीहरूलाई यो कठिन मामला हो भन्ने महसुस हुनेछैन, तिनीहरूको हृदय पटक्कै विचलित हुनेछैन, र यसलाई निकै स्वाभाविक रूपमा समाधान गरिनेछ। यदि तिनीहरूले केही वर्षअघि यस्ता मामिलाहरू सामना गरेका भए, तिनीहरूले तिनलाई पार गर्न सक्नेथिएनन्, तिनलाई कसरी समाधान गर्ने भनी जान्नेथिएनन्। तर अहिले, केही वर्षको जीवन अनुभवसँगै, यो मामला अब तिनीहरूका लागि कठिनाइ होइन; तिनीहरू यसलाई समाधान गर्न सक्छन्। अचानक, तिनीहरूले आफ्नो कद बढेको र आफू साँच्चै परिवर्तन भएको पाउँछन्। तब यीमध्ये धेरैजसो मानिसहरूले कस्तो महसुस गर्छन्? “पहिले, मलाई सधैँ मेरो क्षमता कमजोर छ भन्ने लाग्थ्यो, र म प्रायः परमेश्वरविरुद्ध विद्रोह र उहाँको प्रतिरोध गर्थेँ, मानौँ म मुक्ति पाउनै नसक्ने व्यक्ति हुँ। अहिले, यो मामला सम्हालेपछि, मलाई कुनै कठिनाइ छैन, म समस्याहरू समाधान गर्न सक्छु, र मसँग आशा छ भन्ने महसुस भयो।” के आशा? (मुक्ति प्राप्त गर्ने आशा।) जब तँ मुक्ति प्राप्त गर्ने आशा देख्छस्, तब तँ अगाडि ज्योति देख्छस् कि अन्धकार? (ज्योति।) यसले त्यो भनाइ पूरा गर्छ—ज्योतिले मलाई बोलाइरहेको छ। होइन र? (हो।) जब तेरो कद यो स्तरमा पुग्न सक्छ, तब तैँले सत्यता अभ्यास गर्न वास्तवमा नारा लगाउन आवश्यक छैन भन्ने कुरा साँच्चै महसुस गर्नेछस्; यो यति सजिलो र हर्षमय छ। जबसम्म तँ परमेश्वरका वचनहरू स्वीकार गर्छस्, जबसम्म तँ परमेश्वरबाट आउने सत्यता सिद्धान्तहरू स्वीकार गर्छस्, तबसम्म सत्यता अभ्यास गर्न त्यति नै सजिलो हुन्छ, र तैँले थाहै नपाई तेरो कद बढ्छ। जब तँलाई आफ्नो कद बढेको, तँ परिवर्तन भएको, र परमेश्वरमाथिको तेरो विश्वासका वर्षहरूले फल फलाएको र ती वर्षहरू व्यर्थमा नगएको महसुस हुन्छ, तब यदि कसैले “मैले परमेश्वरमा विश्वास गरेर के पाएँ र? मैले परमेश्वरमा विश्वास गरेको २० वर्षको अवधिमा, मैले कष्ट भोग्ने र मेहनत लगाउने काम मात्रै गरेको छु; मैले यति धेरै कुरा त्यागेको र अर्पित गरेको छु, तैपनि एउटै आशिष् पनि पाएको छैन—अनवरत थकान मात्रै पाएको छु!” भनेर भन्दै अहङ्कारी शब्दहरू बोल्यो भने, तैँले आफ्नो हृदयमा उसलाई तुच्छ ठान्नेछस्, “यो व्यक्तिसँग कुनै विवेक छैन, र यसले दुष्ट शब्दहरू मात्र बोल्छ! ऊ कति दयनीय देखिन्छ भन्ने कुरालाई हेर्दा, उसले साँच्चै केही पनि पाएको छैन—उसले गर्न सक्ने भनेको अनुचित हुने र अड्चन पैदा गर्ने मात्रै हो, र उसले भन्न सक्ने कुराहरू अहङ्कारी शब्दहरू मात्रै हुन्!” तिनीहरू सधैँ भन्छन्, “मैले परमेश्वरमा विश्वास गरेर के पाएँ र?” त्यसोभए तँ परमेश्वरमा विश्वास गरेर वास्तवमा के पाउने आशा गर्छस्? के तैँले भौतिक अनुग्रह र आशिष्हरू पाउने आशा गरिरहेको छस्, कि तैँले सत्यता प्राप्त गर्ने र मुक्ति हासिल गर्ने आशा गरिरहेको छस्? परमेश्वरमा विश्वास गर्दा व्यक्तिले छनौट गर्नुपर्ने मार्ग यही हो। तँ वास्तवमा कुन मार्गमा हिँडिरहेको छस्? यदि तँ सत्यता पछ्याउने व्यक्ति होस्, र तँ आफूले बुझेका सबै सत्यतालाई अभ्यासमा लागू गर्छस् र तिनलाई तेरो वास्तविकता बनाउँछस् भने, तैँले अनन्त जीवन प्राप्त गरेको हुनेछस्, र परमेश्वरको आखिरी दिनहरूको काम अनुभव गरेपछि, तैँले व्यर्थमा विश्वास गरेको हुनेछैनस्। यदि तँ केवल अनुग्रहको आनन्द लिनमा मात्र केन्द्रित हुन्छस् तर सत्यता र जीवन प्राप्त गर्दैनस्, र “मैले के पाएँ र?” भन्दै परमेश्वरविरुद्ध गुनासो गर्छस् भने, यसले तँ सत्यता पछ्याउने व्यक्ति होइनस् भन्ने कुरा प्रमाणित गर्छ। तैँले जतिसुकै अनुग्रहको आनन्द लिए पनि, यदि तैँले अलिकति पनि सत्यता पाएको छैनस् भने, तेरो आस्था निकै दयनीय छ; यसले तँ एक अन्धो व्यक्ति होस् भन्ने देखाउँछ। अहिले, परमेश्वर मानिसहरूलाई जीवन आपूर्ति गर्न सत्यता व्यक्त गर्नुहुन्छ, हरेक दिन नयाँ वचनहरू बोल्नुहुन्छ, यति धेरै बोल्नुहुन्छ कि मानिसहरूले तिनलाई अनन्तसम्म खान, पिउन, र तिनको आनन्द लिन सक्छन्। अभ्यास गरिनुपर्ने र प्रवेश गरिनुपर्ने धेरै सत्यता छन्; धेरै सत्यतालाई एउटा जीवनकाल भरिमा पनि अनुभव गर्न सकिँदैन। धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेका र सत्यता पछ्याउनेहरूले धेरै कुरा, र यति प्रचुर मात्रामा पाएका छन्। तर यदि मानिसहरू सत्यता पछ्याउँदैनन्, सत्यतालाई प्रेम गर्दैनन्, र सत्यता अभ्यास गर्दैनन् भने, तिनीहरूले सधैँ आफूले केही पनि नपाएको महसुस गर्नेछन्। सत्यताको आनन्द लिनेहरू आफू साँच्चै यी वचनहरूले भरिपूर्ण भएको महसुस गर्छन्। अहिले, चाहे सत्यताको हिसाबमा होस् वा भौतिक आशिष्को हिसाबमा होस्, परमेश्वरले मानिसहरूलाई प्रदान गर्ने कुरा प्रचुर छ; परमेश्वरको घर दूध र मह बग्ने भूमि हो भनेर भन्न सकिन्छ। भेलाहरूमा खाइने र पिइने परमेश्वरका वचनहरू निकै प्रचुर छन्; अनुभवात्मक गवाहीहरू, चलचित्रहरू, भजनहरू, नृत्यहरू—सबै प्रचुर मात्रामा छन्। भौतिक कुराहरू—खाना, लुगाफाटा, र दैनिक प्रयोगका वस्तुहरू—पनि प्रचुर छन्। यसका साथै, परमेश्वरद्वारा स्थापित ठूलो रातो अजिङ्गरले प्रदान गरेको सेवा, ख्रीष्टविरोधी र झूटा अगुवाहरूका प्रस्तुतिहरू, र हरेक दिन मानिसहरूका अगाडि देखिने विभिन्न प्रकारका नकारात्मक कुराहरूको प्रदर्शनले मानिसहरूलाई पाठ सिक्न र खुट्ट्याउने क्षमता वृद्धि गर्न दिन्छ। यदि तैँले एकै पटकमा पूरै पाठ सिक्न सकिनस् भने, परमेश्वरले तेरा लागि वातावरण, मानिस, घटना, र कामकुराहरू खडा गरिरहनुहुनेछ, र तैँले पर्याप्त मात्रामा सिकिसकेपछि मात्रै तिनलाई हटाउनुहुनेछ। त्यसकारण, यदि तँ परमेश्वरको काम स्वीकार गर्न सक्छस्, यदि तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् भने, तैँले एक प्रचुर भोजमा सहभागी भइरहेको हुन्छस्। केही वर्षको आस्थाले तँलाई ठूलो प्रगति र वास्तविक परिवर्तन दिनेछ। परमेश्वरले यत्तिका वर्षहरूमा आफ्ना चुनिएका मानिसहरूलाई व्यक्तिगत रूपमा गोठालो गर्नुभएको, मलजल गर्नुभएको, र अगुवाइ गर्नुभएको छ। सत्यता स्वीकार गर्न सक्ने सबैले आफूले धेरै पाएको महसुस गर्न सक्छन्, र तिनीहरूमा केही साँचो परिवर्तनहरू आएका हुन्छन्। विशेष गरी, पूर्णकालीन रूपमा आफ्नो कर्तव्य पूरा गर्नेहरू अझ धेरै परिवर्तन भएका हुन्छन्। तँ परमेश्वरलाई पछ्याउँदा, मार्ग झन्-झन् उज्यालो हुँदै जान्छ, र तँसँग मुक्ति प्राप्त गर्ने र स्वर्गको राज्यमा प्रवेश गर्ने साँचो विश्वास छ भनी महसुस गर्न सक्छस्। तर यदि तँ सधैँ सत्यता स्वीकार गर्न मान्दैनस्, र तँ आफ्नो हृदयमा सत्यता अभ्यास गर्न अनिच्छुक हुन्छस् भने, तैँले आफूसँग मुक्तिको कुनै आशा छ भन्ने कुरा महसुस गर्न सक्नेछैनस्। तैँले आफूवरपरका मानिसहरूलाई सोधिरहनेछस्, “के तिमीलाई ममा आत्मिक बुझाइ छ जस्तो लाग्छ?” यदि कसैले, “तिमीमा आत्मिक बुझाइ छ जस्तो लाग्दैन” भनेर भन्यो भने, तैँले सोच्नेछस्, “खत्तम भयो, मेरो कुनै आशा छैन!” वास्तवमा, तँसँग कुनै आशा नभएको होइन; तैँले सत्यता चाहिँ नपछ्याएको होस्। यदि तैँले सत्यता बुझिस् र सत्यता अभ्यास पनि गर्न सकिस् भने, तैँले बिस्तारै आत्मिक बुझाइ प्राप्त गर्नेछस्। तँसँग आत्मिक बुझाइ भएपछि, तैँले झन्-झन् धेरै सत्यता बुझ्नेछस्, र तैँले हरेक पक्षमा केही अनुभवात्मक गवाही बाँड्न सक्नेछस्। तँलाई भित्रभित्रै सम्पन्न भएको र धेरै सन्तुष्ट भएको महसुस हुनेछ, र परमेश्वरलाई पछ्याएर तैँले धेरै कुरा पाएको महसुस हुनेछ। होइन र? (हो।) यदि कुनै व्यक्तिले सत्यता अभ्यास गर्दैन वा त्यसलाई आफ्नो जीवनका रूपमा स्वीकार गर्दैन भने, उसले हृदयमा सधैँ हराएको र लक्ष्यहीन महसुस गर्नेछ, र ऊसँग साँचो विश्वास हुनेछैन। उसले सधैँ आफू वरपरका मानिसहरूलाई आफूसँग मुक्ति पाउने कुनै आशा छ कि छैन भनेर सोधिरहनेछ। कतिपयले अरूलाई आफूमा आत्मिक बुझाइ छ कि छैन भनेर निरन्तर सोधिरहन्छन्, र आफूमा आत्मिक बुझाइ छ कि छैन भन्ने कुरालाई आफूसँग आशा छ कि छैन भन्ने प्रमाणका रूपमा लिन्छन्। मलाई भन्, के यस्ता मानिसहरू मूर्ख होइनन् र? (मूर्ख हुन्।) तँसँग आत्मिक बुझाइ भए पनि वा नभए पनि, तैँले सत्यताका लागि लागिपर्नुपर्छ—अनि यसलाई बुझ्न मात्र लागिपर्ने नभई यसलाई अभ्यास गर्न पनि लागिपर्नुपर्छ। तैँले सत्यता बुझ्न र सत्यता अभ्यास गर्न सकेपछि, मुक्ति प्राप्त गर्ने आशा हुनेछैन र? के त्यसो होइन र? (हो।) तिमीहरूले यो विषयमा विचार गर्नुपर्छ।
आजका लागि हाम्रो सङ्गति यति नै हो। अलबिदा।
सेप्टेम्बर ७, २०२४